८. मण्डलीहरूको बाँडफाँडबाट सिकिएका पाठहरू

रीज, अमेरिका

२०२१ को सुरुतिर, धेरै नयाँ मण्डलीहरू स्थापना भएकाले, अगुवाले मेरा सहकर्मीहरू र मबीच मण्डलीहरू पुनः बाँडफाँड गर्ने निर्णय गरिन्। सुरुमा त यसबारे मेरो कुनै धारणा थिएन, तर मैले परिस्थितिबारे थप थाहा पाएपछि भने, आफूले सदस्यहरू आस्थामा अझै स्थापित नभइसकेका र अगुवा अनि डिकनहरू अझै छानिने क्रममा रहेका अलि बढी समस्याग्रस्त मण्डलीहरूको रेखदेख गर्नुपर्ने रहेछ भनेर थाहा पाएँ। तर सिस्टर लिलीले जिम्मा लिएका मण्डलीहरूले भने मेरा मण्डलीले भन्दा धेरै राम्रो गरिरहेका थिए। ती मण्डलीहरूमा राम्रो क्षमता भएका नयाँ विश्वासीहरू थिए, जो राम्ररी स्थापित भइसकेका थिए, र तिनमा जिम्मेवार अगुवाहरू र डिकनहरू थिए। मैले उनको ईर्ष्या नगरी रहन सकिनँ। म किन राम्रा मण्डलीहरू उनले पाइन्, जबकि मेरा मण्डलीहरू भने समस्याग्रस्त छन् भन्ने सोचिरहेकी थिएँ। यसले मेरो धेरै प्रयास खर्च गराउनेवाला थियो! यदि मैले कामहरू राम्ररी सञ्चालन गर्न सकिनँ भने, अगुवाले मेरो बारेमा के सोच्लिन्? के उनले ममा कार्य सामर्थ्य छैन र म केही पनि गर्न सक्दिनँ भन्लिन्? उनले पक्कै पनि मलाई त्यति राम्रो मान्ने छैनन्। मलाई एकदम असन्तुष्टि महसुस भयो। पछि, जबजब म ती मण्डलीका भेलाहरूमा सहभागी हुन्थेँ, त्यहाँ धेरै समस्याहरू हुन्थे र तिनलाई समाधान गर्न धेरै समय लाग्थ्यो। यसको मतलब मैले खासै आरामको समय पाइरहेकी थिइनँ, र म आफ्नो कर्तव्यमा सङ्घर्ष गरिरहेकी थिएँ। म, लिलीले एक घण्टामा गर्ने काम सिध्याउन मलाई दुई-तीन घण्टा लागिरहेको हुन्छ भन्ने सोचिरहेकी थिएँ। पहिलो कुरा त मेरो आफ्नै क्षमता र कार्य सामर्थ्य नै सीमित थिए, त्यसमाथि यी मण्डलीहरूमा यति धेरै समस्याहरू थिए। यदि मैले यति धेरै समय र प्रयास लगाएर पनि उल्लेखनीय प्रगति गरिरहेकी छैनँ भने, अगुवाले मेरा परिणामलाई लिलीका परिणामसँग तुलना गर्न पुगेमा, उनले मलाई पक्कै पनि औसत ठान्नेछिन्, र मैले राम्रो गरिरहेकी छैनँ अनि म लिली जत्तिकी छैनँ भन्ने महसुस गर्नेछिन्। ती दिनहरूमा म एकदमै खराब स्थितिमा थिएँ र समस्याहरू आउँदा, म दिक्दार र खिन्न महसुस गर्थेँ। म शारीरिक र भावनात्मक दुवै रूपमा थकित थिएँ। त्यसैले, म प्रार्थना गर्न र खोज्न परमेश्‍वरसामु आएँ, र भनेँ, “हे परमेश्‍वर, मलाई थाहा छ तपाईंले कामका जिम्मेवारीको यो बाँडफाँडलाई अनुमति दिनुभएको छ र मैले तपाईंका योजनाबद्ध कार्यहरूमा समर्पित हुनुपर्छ, तैपनि म प्रतिरोधी महसुस गर्छु। कृपया मलाई तपाईंका अभिप्राय र मेरो आफ्नै भ्रष्टता बुझ्न अन्तर्दृष्टि दिनुहोस्।”

पछि, मैले परमेश्‍वरका वचनहरू देखेँ: “तैँले धेरै कुरा सिकेको छस् र परमेश्‍वरले तँलाई धेरै कुरा दिनुभएको छ, त्यसकारण तँलाई गह्रौँ बोझ दिनु सही हुन्छ। यो तँलाई दुःख दिनका लागि गरिएको हुँदैन, तँलाई दिइएको बोझ तेरो लागि एकदमै सही हुन्छ। यो तेरो कर्तव्य हो, त्यसकारण रोज्‍ने र छान्‍ने, वा इन्कार गर्ने, वा यसबाट पन्छिने प्रयास नगर्। किन तँलाई यो कठिन लाग्छ? वास्तवमा, तैँले यसमा हृदय लगाइस् भने, यसलाई पूरा गर्न सकिहाल्छस्। तँलाई यो कठिन लाग्‍नु, र आफूलाई अनुचित व्यवहार गरिएको, र जानीजानी दुःख दिइएको जस्तो लाग्‍नु भनेको भ्रष्ट स्वभावको प्रकटीकरण हो, यो आफ्‍नो कर्तव्यलाई इन्कार गर्नु, र यसलाई परमेश्‍वरबाट आएको भनी स्वीकार नगर्नु हो; यो सत्यता अभ्यास गर्नु होइन। जब तँ आफ्‍नो कर्तव्यमा रोज्‍ने र छान्‍ने काम गर्छस्, अनि घिउजस्तो र सजिलो, र आफूलाई राम्रो देखाउने काम गर्छस् भने, यो शैतानको भ्रष्ट स्वभाव हो। यदि तँ आफ्‍नो कर्तव्यलाई स्वीकार गर्न, र समर्पित हुन सक्दैनस् भने, यसले तँ अझै पनि परमेश्‍वरप्रति विद्रोहपूर्ण छस्, र तैँले उहाँलाई विरोध गरिरहेको, इन्कारिरहेको र पन्छाइरहेको छस् भन्‍ने प्रमाणित गर्छ—यो एउटा भ्रष्ट स्वभाव हो। त्यसो भए, यो भ्रष्ट स्वभाव हो भन्‍ने तँलाई थाहा भएपछि तैँले के गर्नुपर्छ? जब कसैलाई दिइएको काम पूरा गर्न सजिलो छ, तर तँलाई दिइएको कामले तँलाई लामो समयसम्‍म व्यस्त राख्छ, अनि अनुसन्धान गर्न धेरै समय लाग्छ भन्‍ने तँलाई लाग्छ भने, यसले तँलाई बेखुसी बनाउँछ। के तँलाई बेखुसी महसुस हुनु सही कुरा हो? अवश्य होइन। त्यसो भए, यो कुरा गलत हो भन्‍ने तँलाई बोध भएपछि तैँले के गर्नुपर्छ? यदि तँ प्रतिरोध गर्दै यसो भन्छस् भने, ‘हरेक पटक तिनीहरूले कामको बाँडफाँट गर्दा मलाई गाह्रो, फोहोरी र परिश्रम गर्नुपर्ने काम दिन्छन्, र अरूलाई हलुका, सरल र उच्‍च प्रतिष्ठावाला काम दिन्छन्। के तिनीहरूले मलाई जे पनि गराउँदा हुने व्यक्ति सम्झेको हो? यो काम बाँडफाँट गर्ने निष्पक्ष तरिका होइन!’—यदि तेरो सोच यस्तो हो भने, त्यो गलत छ। तर कामको बाँडफाँटमा तलमाथि जेसुकै भए पनि, वा त्यो बाँडफाँट मनासिब र बेमनासिब जुनसुकै रूपले गरिए पनि, परमेश्‍वरले सूक्ष्म जाँच गर्नुहुने कुराचाहिँ के हो? उहाँले छानबिन गर्नुहुने कुरा व्यक्तिको हृदय हो। उहाँले व्यक्ति हृदयदेखि नै समर्पणकारी छ कि छैन, परमेश्‍वरको लागि उसले केही बोझ बोक्न सक्छ कि सक्दैन र ऊ परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हो कि होइन भनी हेर्नुहुन्छ। परमेश्‍वरको मापदण्डबाट मापन गर्दा, तैँले गरेका बहानाहरू अमान्य छन्, कर्तव्यमा तेरो कार्यसम्पादन मापदण्डअनुरूप छैन र तँसँग सत्यता वास्तविकता छैन। तँसँग समर्पणता बिलकुलै छैन र केही परिश्रमपूर्ण वा सिकसिकलाग्दो काम गर्नुपर्दा तँ गुनासो गर्छस्। यहाँ यो कस्तो समस्या हो? सर्वप्रथम त, तेरो मानसिकता गलत छ। यसको अर्थ के हो? यसको अर्थ कर्तव्यप्रतिको तेरो मनोवृत्ति गलत छ। यदि तँ आफ्नै गर्व र हितबारे सोचिरहन्छस्, परमेश्‍वरका अभिप्रायप्रति विचारशील हुँदैनस्, र कुनै समर्पणता देखाउँदैनस् भने, त्यो तैँले कर्तव्यप्रति राख्नुपर्ने सही मनोवृत्ति होइन। यदि तँ इमानदार भएर परमेश्‍वरको लागि आफूलाई खर्चेको हुन्थिस् र तँसँग परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुन्थ्यो भने, सिकसिकलाग्दो, परिश्रमपूर्ण र गाह्रो काम तँ कसरी सम्हाल्नेथिस्? तेरो मानसिकता फरक हुनेथ्यो: तैँले कठिन हुने जुनसुकै काम रोज्नेथिस् र काँधमा भारी बोझ उठाउन खोज्नेथिस्। अरू मानिसहरूले गर्न नमानेका काम तैँले लिनेथिस्, अनि तैँले यो काम केवल परमेश्‍वरको प्रेमका खातिर र उहाँलाई सन्तुष्ट बनाउनको लागि गर्नेथिस्। यसो गर्दा तँलाई आनन्द आउनेथ्यो, र तैँले कुनै गुनासो गर्नेथिनस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरका वचनहरू पढेर, मैले अघिल्ला केही दिनहरूमा आफूले देखाएको आचरणबारे चिन्तन गरेँ। मैले आफूले जिम्मा लिएका मण्डलीका सदस्यहरूको जग खासै राम्रो नभएको, तिनीहरूमध्ये थोरै मात्र कर्तव्य निर्वाह गर्न तयार रहेका देखेपछि, मैले एकदम प्रतिरोधी महसुस गरेँ। सबै पदहरूका लागि अगुवा र डिकनहरू छानिएका थिएनन्, र विभिन्न परियोजनाहरू व्यवस्थापन गर्न गाह्रो थियो। तिनलाई मिलाउन समय र ऊर्जा लाग्थ्यो, तर पनि कामहरू राम्ररी नहुन सक्थे, जुन मेरो लागि राम्रो देखिने थिएन। म त अरूले मलाई सम्मान गरून् भनेर केवल आफूले चिन्ता लिनु नपर्ने र सजिलै परिणामहरू प्राप्त गर्न सकिने राम्रा मण्डलीहरू व्यवस्थापन गर्न चाहन्थेँ। मैले काम पुनः बाँडफाँड गरिएको तरिका निष्पक्ष थिएन, लिलीले सजिलो काम पाइन् जसले गर्दा उनले राम्रो गरेको देखिन्छ जबकि मैले गाह्रो र थकाउने काम पाएँ, र यहाँ म अरूभन्दा विशिष्ट देखिन सक्दिनँ भन्ने सोचिरहेँ। मैले यसबारे प्रतिरोधी महसुस गरेँ र सजिलै समर्पित हुन चाहिनँ। परमेश्‍वरका वचनहरूको प्रकाशद्वारा मैले के देखेँ भने म किचकिच गरिरहेकी थिएँ, र आफूलाई फाइदा नहुने कर्तव्यको विरोध गरिरहेकी थिएँ। म कर्तव्यलाई अस्वीकार गरिरहेकी थिएँ र अलिकति पनि समर्पित थिइनँ। मैले सधैँ आफू आफ्नो कर्तव्यमा इमानदार र जिम्मेवार छु भन्ने सोचेकी थिएँ, र यसरी पूर्ण रूपमा प्रकटित हुनेछु भनेर कहिल्यै सोचेकी थिइनँ। मैले के देखेँ भने म आफ्नो कर्तव्यमा गलत अभिप्राय र दृष्टिकोणहरू ल्याइरहेकी थिएँ। परमेश्‍वरमा समर्पित हुनु र उहाँको प्रेमको बदला चुकाउनुको सट्टा, म अरूबाट प्रशंसा र स्याबासी चाहन्थेँ। आफ्नो कर्तव्यलाई यसरी लिनु परमेश्‍वरको दृष्टिमा घृणास्पद हो

पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड भेट्टाएँ: “यदि तँ सबै कुरामा अर्पित हुन र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न चाहन्छस् भने, तैँले एउटा मात्र कर्तव्य निर्वाह गरेर त्यसो गर्न सक्दैनस्; तैँले परमेश्‍वरले तँलाई दिने कुनै पनि आज्ञा स्वीकार गर्नैपर्छ। चाहे त्यो तँलाई चाख लाग्‍ने र तेरा रुचिहरूसित मेल खाने कुरा होस्, वा त्यो तँलाई गर्न आनन्द नलाग्‍ने, वा तैँले पहिले कहिल्यै नगरेको र तँलाई गाह्रो लाग्‍ने कुरा होस्, तैँले त्यो स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ। तैँले त्यो केवल स्वीकार गर्नुपर्ने मात्रै होइन, बरु सक्रिय रूपमा सहकार्य गर्नैपर्छ, पेसागत सीपहरू सिक्नैपर्छ, अनि अनुभवहरू र प्रवेश पनि प्राप्त गर्नैपर्छ। तैँले कष्ट, थकान, अपमान, वा बहिष्करण भोगिस् भने पनि, तैँले अर्पणका साथ त्यसो गर्नैपर्छ। यसरी अभ्यास गरेर मात्रै तैँले सबै कुरामा अर्पित हुन र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्नेछस्। तैँले यसलाई आफ्नै उद्यमका रूपमा नभई आफूले पूरा गर्नुपर्ने कर्तव्यका रूपमा निर्वाह गर्नुपर्छ। तैँले कर्तव्यलाई कसरी बुझ्नुपर्छ त? कर्तव्य भनेको सृष्टिकर्ता—परमेश्‍वरले—कसैलाई गर्न दिनुभएको काम हो; मानिसहरूले पाउने कर्तव्य यसरी नै आउँछ। परमेश्‍वरले तँलाई दिनुभएको आज्ञा नै तेरो कर्तव्य हो, र तैँले परमेश्‍वरले मापदण्ड दिनुभएअनुसार आफ्‍नो कर्तव्य निर्वाह गर्नु पूर्ण रूपमा प्राकृतिक र उचित कुरा हो। यदि तँ यो कर्तव्य परमेश्‍वरको आज्ञा हो, र यो तँमाथि आइरहेको परमेश्‍वरको प्रेम र आशिष् हो भनी स्पष्टसँग देख्‍न सक्छस् भने, तैँले परमेश्‍वरलाई प्रेम गर्ने हृदयले आफ्‍नो कर्तव्य स्वीकार गर्न र आफ्‍नो कर्तव्य निर्वाह गर्दा तैँले परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्न सक्‍नेछस्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न सबै कठिनाइ पार गर्न सक्‍नेछस्। परमेश्‍वरको लागि साँचो रूपमा आफैलाई समर्पित गर्नेहरूले कहिल्यै परमेश्‍वरको आज्ञा इन्कार गर्नु हुँदैन; तिनीहरूले कहिल्यै कुनै कर्तव्य इन्कार गर्नु हुँदैन। परमेश्‍वरले तँलाई जे-जस्तो कर्तव्य सुम्पनुभए पनि, त्यसमा जति नै कठिनाइ संलग्न भए पनि, तैँले यसलाई इन्कार गर्नु हुँदैन बरु स्वीकार गर्नुपर्छ। अभ्यासको मार्ग यही हो, जुन परमेश्‍वरलाई सन्तुष्ट पार्न सत्यता अभ्यास गर्नु र सबै कुरामा अर्पित हुनु हो। यहाँ मुख्य कुरा के हो? ‘सबै कुरा’ भन्‍ने शब्द हो। ‘सबै कुरा’ तेरा चाहनासँग नमिल्न सक्छन्, र ती तँलाई सधैँ गर्न मन पर्ने वा स्वीकार गर्न खुसी लाग्ने कुराहरू नहुन सक्छन्। तँ निपुण नभएका र तैँले गर्न सिक्नैपर्ने केही काम हुन्छन्; केही कठिन हुन्छन्; अरूमा तैँले कष्ट भोग्नुपर्ने हुन्छ। तर त्यो जेसुकै भए पनि, यदि त्यो परमेश्‍वरले तँलाई सुम्पनुभएको कुरा हो भने, तैँले त्यसलाई परमेश्‍वरबाट आएको हो भनेर स्वीकार गर्नुपर्छ; तैँले यो कर्तव्य सम्हाल्नुपर्छ, र यो पूरा गर्नमा आफ्नो हृदय लगाउनुपर्छ, ताकि तैँले आफ्नो बफादारी चढाउन र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न सक्। अभ्यासको मार्ग भनेको यही हो। जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यताको खोजी गर्नुपर्छ र कस्तो अभ्यास परमेश्‍वरका अभिप्रायहरू अनुरूप हुन्छ भन्‍ने पत्ता लगाएपछि, तैँले त्यसरी नै अभ्यास गर्नुपर्छ। यसो गरेर मात्रै तँ सत्यता अभ्यास गरिरहेको हुन्छस्, र यसरी मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छस्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। कर्तव्य हाम्रा लागि परमेश्‍वरको आज्ञा हो र यो हाम्रो जिम्मेवारी र दायित्व हो। यो जतिसुकै गाह्रो होस्, वा यसले कुनै महिमा ल्याओस्-नल्याओस्, हामी यसलाई स्विकार्न बाध्य छौँ। हामीले आफ्नो कर्तव्यलाई यही तरिकाले हेर्नुपर्छ, र एक सृजित प्राणीको परमेश्‍वरसामु हुनुपर्ने समझ यही हो। मैले अहिले रेखदेख गरेका मण्डलीहरू मैले चाहेजस्ता थिएनन् र मेरो हैसियतप्रतिको इच्छा पूरा हुने थिएन, तर मैले परमेश्‍वरबाट यो आज्ञा स्वीकार गर्नुपर्थ्यो र आफ्नो कर्तव्यलाई आफ्नाे पछ्याइपछाडि गलत दृष्टिकोण राखेर हेर्न छोड्नुपर्थ्यो। त्यसैले, म, परमेश्‍वरका योजनाबद्ध कार्यहरूमा समर्पित हुने, आफ्नो कर्तव्यमा आफूले सकेजति गर्ने, नयाँ विश्वासीहरूलाई राम्ररी मलजल गर्ने र उनीहरूलाई चाँडै साँचो मार्गमा स्थापित हुन मद्दत गर्ने चाहना राख्दै परमेश्‍वरसामु प्रार्थना गर्न आएँ। प्रार्थना गरेपछि, मैले केही शान्त महसुस गरेँ, र कामको पुनः बाँडफाँडको मामिलाका कारण त्यति दिक्दार भइनँ।

सुसमाचारको विस्तारसँगै, झन्-झन् धेरै मण्डलीहरू स्थापना भए, त्यसैले अगुवाले हाम्रा जिम्मेवारीहरू पुनः बाँडफाँड गरे। मेरो जिम्मेवारीको दायराभित्रका मण्डलीहरूमध्ये, अरूभन्दा अलि राम्रो गरिरहेको एउटा मण्डली, र आफ्नो मलजल गर्ने काममा राम्रो काम गरिरहेकी एउटी सिस्टरलाई, अन्य सहकर्मीहरूको जिम्मामा दिइयो। म यसबारे दुःखी र असन्तुष्ट भएँ। मलाई उनीहरू मैले सबैभन्दा धेरै समस्या भएका मण्डलीहरू जिम्मा लिएको, र मैले पहिल्यैदेखि काममा सङ्घर्ष गरिरहेको मेरो अवस्था राम्ररी बुझ्थे भन्ने लाग्यो। बल्लतल्ल मसँग राम्ररी काम गरिरहेकी एउटी मलजल गर्ने सिस्टर थिइन्, तर अब उनलाई पनि लगिँदै थियो। म आफ्नो कामबाट केही देखाउन कसरी पो सक्थेँ र? मैले खराब परिणामहरू ल्याइरहेँ भने सबैले मेरो बारेमा के सोच्लान्? उनीहरूले मलाई असक्षम र केही काम गर्न नसक्ने ठान्नेछन्। त्यो त अत्यन्त नराम्रो हुनेछ! त्यसपछि म सहकर्मीहरूका सभाहरूमा आफ्नो अनुहार कसरी देखाउन सकूँला? यो कुरा मनमा खेलाउँदा मेरा आँखाबाट आँसु झरे। मैले आफू फेरि कामको पुनः बाँडफाँडप्रति असन्तुष्ट र अनाज्ञाकारी भइरहेको महसुस गरेँ। तुरुन्तै मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र आफैमा चिन्तन गरेँ। त्यसपछि मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ: “तिनीहरूले चाहे जुनै कार्यको जिम्मा लिए पनि ख्रीष्टविरोधीहरू परमेश्‍वरको घरका हितहरूबारे कहिल्यै केही पनि सोच्दैनन्। तिनीहरू आफ्ना हितहरू प्रभावित भएका छन् कि छैनन् भन्‍ने कुरालाई मात्र ख्याल गर्छन्, र आफ्नो अगाडि भएको र आफूलाई फाइदा गर्ने थोरै कामको बारेमा मात्र सोच्छन्। तिनीहरूका लागि मण्डलीको प्राथमिक काम आफ्नो फुर्सदको समयमा गर्ने काम मात्र हुन्छ। तिनीहरू यसलाई कुनै गम्भीरतासाथ लिँदै लिँदैनन्। तिनीहरूलाई ठेलियो भने मात्र तिनीहरू चलमलाउन थाल्छन्, आफूलाई मनपर्ने काम मात्र गर्छन् र आफ्नो शक्ति र हैसियत कायम राख्नका निम्ति मात्र काम गर्छन्। तिनीहरूको नजरमा परमेश्‍वरको घरद्वारा प्रबन्ध गरिएको कुनै पनि काम, सुसमाचार फैलाउने काम र परमेश्‍वरका चुनिएका जनहरूको जीवन प्रवेशको कुनै महत्त्व हुँदैन। … ख्रीष्टविरोधीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरूले सधैँ आफू चर्चामा आउन सक्छु कि सक्दिनँ भन्ने कुरालाई ख्याल गर्छन्; जबसम्म कुनै कर्तव्यले तिनीहरूको ख्याति बढाउन सक्छ, तबसम्म तिनीहरूले दिमाग खियाउनेछन् र त्यो कसरी गर्ने र त्यसलाई कसरी अगाडि बढाउने भनी सिक्न हर सम्भव तरिका अपनाउने प्रयास गर्नेछन्। तिनीहरू अरूभन्दा माथि उठ्न सकुन्जेल सन्तुष्ट हुन्छन्। तिनीहरू जे गरिरहेका वा जे कुराका बारेमा सोचिरहेका भए पनि, तिनीहरू हरेक मोडमा आफ्नै ख्याति, प्राप्ति, र हैसियतको लागि मात्रै सोच्छन्। तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरू को श्रेष्ठ छ, कसले जित्छ, र कसको ठूलो प्रतिष्ठा छ भनी हेर्न मात्रै प्रतिस्पर्धा गर्छन्। तिनीहरू कति जना मानिसले आफूलाई आदर्श मान्छन् र आदरभावले हेर्छन्, कति जना मानिसहरूले आफ्नो कुरा सुन्छन् र आफूलाई पछ्याउँछन् भन्‍नेबारे मात्र चासो राख्छन्। तिनीहरूले कहिल्यै सत्यताबारे सङ्गति गर्दैनन् वा वास्तविक समस्याहरू समाधान गर्दैनन्। तिनीहरूले सिद्धान्तहरूअनुसार परिस्थितिहरूलाई सम्हाल्ने तरिकाले आफ्नो कर्तव्य कसरी निर्वाह गर्ने भनी कहिल्यै ख्याल गर्दैनन्, न त तिनीहरू आफूमा अर्पण छ कि छैन, तिनीहरूले आफ्ना जिम्मेवारीहरू पूरा गरेका छन् कि छैनन्, तिनीहरूको काममा कुनै विचलन, भूलचुक, वा समस्याहरू छन् कि छैनन् भनी आत्मचिन्तन गर्छन्, र परमेश्‍वरका मागहरू के-के हुन्, र परमेश्‍वरका अभिप्रायहरू के-के हुन् भन्ने कुरालाई त झनै ख्याल गर्दैनन्। तिनीहरूले यी सबै कुराहरूप्रति अलिकति पनि ध्यान दिँदैनन्। तिनीहरू ख्याति, प्राप्ति, र हैसियतका लागि, र आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्नका लागि मात्रै आफ्नो काममा डुब्छन्। के यो स्वार्थीपन र दुष्टताको प्रकटीकरण होइन र? यसले तिनीहरूका हृदयहरू महत्त्वाकाङ्क्षा, चाहना, र अनुचित मागहरूले भरिएका छन्, र तिनीहरूको हरेक कार्य तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरूद्वारा निर्देशित हुन्छ भन्‍ने तथ्यलाई पूर्ण रूपमा खुलासा गर्छ। तिनीहरूले जे गरे पनि, तिनीहरूका कार्यहरूको उत्प्रेरणा र स्रोत आफ्नै महत्त्वाकाङ्क्षा, चाहना, र अनुचित मागहरूबाट आउँछन्। यो स्वार्थीपन र दुष्टताको एउटा नमुना प्रकटीकरण हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। परिशिष्ट चार: ख्रीष्टविरोधीहरूको चरित्र र तिनीहरूको स्वभाव सारको सारांश (भाग एक))। परमेश्‍वरका वचनहरूमा ख्रीष्टविरोधीहरू कति स्वार्थी र नीच हुन्छन्, उनीहरूको आफ्नो कर्तव्यमा आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू हुन्छन्, र उनीहरूको मुख्य चिन्ता सधैँ आफ्नै हितको रक्षा गर्नु हो भन्नेबारे बताइएको छ। आफूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, उनीहरू परमेश्‍वरका अभिप्रायप्रति कसरी ध्यान दिने, वा आफ्नो कर्तव्य कसरी राम्ररी निर्वाह गर्ने, वा मण्डलीको काममा कुनै हानि नहोस् भन्ने कुरा कसरी सुनिश्चित गर्ने भन्नेबारे कहिल्यै सोच्दैनन्। उनीहरू मण्डलीको हितको वास्तै नगरी केवल ख्याति र प्राप्तिको बारेमा मात्र सोच्छन्। मैले प्रकट गरेको कुराका सन्दर्भमा, आफ्नो जिम्मामा रहेका मण्डलीहरूमा यति धेरै समस्या देख्दा, परमेश्‍वरमा भर परेर, ती मण्डलीहरूलाई सहयोग गर्न आफूले सकेजति गर्छु भन्ने कुरा सोच्नुको सट्टा, मेरो मनमा सबैभन्दा पहिले आएको कुरा भनेको खराब नतिजा ल्याएका कारण अरूले मलाई हेपे भने त्यो कति डरलाग्दो होला भन्ने विचार थियो। काम पुनः बाँडफाँड गरिएको तरिकाप्रति म प्रतिरोधी र आक्रोशित थिएँ, र मैले आफ्नो कर्तव्य निर्वाह गर्नमा समेत आलटाल गरेँ। मैले आफ्नो कार्यक्षेत्रकी एक सक्षम सिस्टरलाई अर्को मण्डलीमा सारिँदै छ भन्ने कुरा थाहा पाउँदा, मेरो पहिलो प्रतिक्रिया भनेको, अब मसँग एक बलियो सहकर्मीको कमी भयो र परिणामहरू खस्किनेछन्, जसले गर्दा अगुवाले म कामको लागि योग्य छैन भन्ने सोच्नेछिन् भन्ने थियो। म केवल आफ्नै ख्याति, प्राप्ति र हैसियतको रक्षा गर्ने, र कसरी धेरै प्रयासविना नै राम्रो प्रभाव पार्न र प्रशंसा कमाउँदै उम्किन सकिन्छ भन्नेबारे मात्रै सोच्थेँ। मैले मण्डलीको कामको बृहत् चित्र हेरिरहेकी थिइनँ। म स्वार्थी र नीच थिएँ, र यसले ममा भएको ख्रीष्टविरोधीको स्वभावलाई प्रकट गर्‍यो। वास्तवमै यसबारे सोच्दा, मैले मलाई बढी चुनौतीपूर्ण मण्डलीहरूको जिम्मेवारी दिनुमा परमेश्‍वरको अभिप्राय रहेछ भन्ने थाहा पाएँ। धेरै समस्या भएका मण्डलीहरू, र अझै स्थापित नभएका नयाँ विश्वासीहरू—यी कठिनाइहरूले मलाई परमेश्‍वरमा अझ बढी भर पर्न र तिनलाई समाधान गर्न सत्यता खोज्न आवश्यक तुल्याए। मैले नयाँ विश्वासीहरूलाई सहयोग गर्न र मलजल गर्न अझ बढी मूल्य चुकाउनुपर्थ्यो ताकि उनीहरूले चाँडै परमेश्‍वरको कामको सत्यता थाहा पाऊन् र साँचो मार्गमा जग बसालून्। यो मेरो लागि राम्रो अभ्यास थियो। र जति कामकुराहरू कठिन हुँदै गए, म सत्यता खोज्न र समाधानहरू पत्ता लगाउन त्यति नै बाध्य भएँ, र यसरी म धेरै सत्यताहरू प्राप्त गर्न सक्थेँ। यो मेरो जीवन प्रवेशका लागि राम्रो थियो। तब मैले के महसुस गरेँ भने यो कर्तव्य कसैले जानाजानी मेरा लागि कामकुराहरू कठिन बनाउनका लागि दिएको होइन। यसमा परमेश्‍वरको अनुमोदन थियो र यो लाभदायक थियो। मैले यसलाई स्वीकार गर्न र समर्पित हुन, र यसमा आफ्नो हृदय लगाउन आवश्यक थियो। यो बोधले मेरो मनोवृत्ति परिवर्तन गर्न मद्दत गर्‍यो, र मैले कामकुराहरूप्रति त्यति नराम्रो महसुस गरिनँ।

त्यसपछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढेँ जसले मलाई मेरो समस्या अझ राम्ररी बुझ्न मद्दत गर्‍यो। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “यदि कसैले सत्यलाई प्रेम गर्छु भन्छ र उनीहरू सत्यको पछि लाग्छौँ भनी भन्छन्, तर सारगत रूपमा उनीहरूको पछ्याउने लक्ष्य भनेको, आफैलाई विशिष्ट बनाउनु, धाकरवाफ देखाउनु, मानिसहरूलाई उनीहरूको बारेमा उच्‍च सोच्ने बनाउनु, उनीहरूका आफ्नै स्वार्थ पूरा गर्नु हो र उनीहरू परमेश्‍वरमा समर्पित हुन वा उहाँलाई सन्तुष्ट पार्न आफ्नो कर्तव्य निर्वाह गर्दैनन्, बरु त्यसको सट्टा ख्याति, प्राप्ति र हैसियत हासिल गर्न कर्तव्य निर्वाह गर्छन् भने, उनीहरूको खोजी अवैध हुन्छ। यस्तो मामिला हुँदा, जब मण्डलीको कामको कुरा आउँछ, के उनीहरूका कार्यहरू बाधा-व्यवधान हुन्छन्, कि उनीहरूले यसलाई अगाडि बढाउन सहयोग गर्छन्? उनीहरू स्पष्ट रूपमा बाधा-व्यवधान हुन्; उनीहरूले यसलाई अगाडि बढाउँदैनन्। केही मानिसहरू मण्डलीको काम गर्ने झन्डा फहराउँदै, आफ्नै व्यक्तिगत ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने, आफ्नै उद्यममा संलग्न हुने, आफ्नै सानो समूह, आफ्नै सानो राज्य बनाउने गर्छन्—के यस किसिमका व्यक्तिहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका हुन्छन् र? उनीहरूले गर्ने सबै कामहरूले आधारभूत रूपमा बाधा दिन्छन्, अवरोध पुऱ्याउँछन् र मण्डलीको कामलाई हानि गर्छन्। तिनीहरूको ख्याति, प्राप्ति र हैसियतको खोजीको परिणाम के हुन्छ? सबैभन्दा पहिले, यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरका वचनहरू सामान्य रूपमा कसरी खान्छन् र पिउँछन्, र कसरी सत्यता बुझ्छन् भन्‍ने कुरामा असर पुर्‍याउँछ, यसले उनीहरूको जीवन प्रवेशमा बाधा उत्पन्‍न गर्छ, उनीहरूलाई परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा प्रवेश गर्नबाट रोक्छ, र उनीहरूलाई गलत मार्गमा डोर्‍याउँछ—र यसले परमेश्‍वरका चुनिएका मानिसहरूलाई हानि गर्छ र बरबादीमा पुर्‍याउँछ। अनि, यसले अन्त्यमा मण्डलीको कामलाई के गर्छ? यो बाधा, क्षति, र विघटन हो। मानिसहरूले ख्याति, प्राप्ति र हैसियतको खोजी गर्दाको परिणाम यही हो। उनीहरूले यसरी कर्तव्य निर्वाह गर्दा, के यसलाई ख्रीष्टविरोधीको मार्ग हिँड्नु भनेर परिभाषित गर्न सकिँदैन? जब परमेश्‍वरले मानिसहरूलाई ख्याति, प्राप्ति र हैसियत त्याग्न लगाउनुहुन्छ, तब उहाँले तिनीहरूको स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार हटाइरहनुभएको हुँदैन; बरु, ख्याति, प्राप्ति र हैसियतको पछि लाग्‍ने क्रममा, मानिसहरूले मण्डलीको काम र परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशमा बाधा र अवरोध पुर्‍याउँछन्, र अझ धेरै मानिसलाई परमेश्‍वरका वचनहरू खान र पिउन र सत्यता बुझ्न, अनि परमेश्‍वरको मुक्ति प्राप्त गर्नमा समेत असर पुर्‍याउँछन्, त्यसैले यसो गरिन्छ। यो नकार्न नसकिने तथ्य हो। जब मानिसहरू आफ्‍नै ख्याति, प्राप्ति र हैसियत पछ्याउँछन्, तब तिनीहरू सत्यता पछ्याउँदैनन् र तिनीहरूले अर्पित भएर आफ्‍नो कर्तव्य पूरा गर्दैनन् भन्‍ने कुरा निश्‍चित हुन्छ। तिनीहरूले ख्याति, प्राप्ति र हैसियतको खातिर मात्र बोल्‍ने र व्यवहार गर्नेछन्, र तिनीहरूले गर्ने सबै काम अपवादरहित रूपमा तिनै कुराको लागि हुन्छ। त्यसरी व्यवहार र काम गर्नु भनेको ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नु हो भन्‍नेमा कुनै सन्देह छैन; यो परमेश्‍वरको काममा अवरोध गर्नु र बाधा दिनु हो, र यसका विविध र हरेक परिणामहरूले राज्यको सुसमाचारको फैलावट र मण्डलीभित्रको परमेश्‍वरको इच्‍छा अघि बढाउनमा रोकावट पैदा गरिरहेका हुन्छन्। त्यसकारण, ख्याति, प्राप्ति र हैसियत पछ्याउने मानिसहरू परमेश्‍वरको प्रतिरोध गर्ने मार्गमा हिँडिरहेका छन् भनेर निश्‍चयका साथ भन्‍न सकिन्छ; उनीहरू जानीजानी उहाँको प्रतिरोध गरिरहेका र उहाँलाई इन्कार गरिरहेका छन्—अनि परमेश्‍वरको प्रतिरोध गर्न शैतानसँग सहकार्य गरिरहेका र उहाँविरुद्ध उभिरहेका छन्। यो मानिसहरूद्वारा गरिने ख्याति, प्राप्ति र हैसियतको खोजीको प्रकृति हो। मानिसहरूले आफ्ना हितहरू पछ्याउनुको त्रुटि भनेको उनीहरूले पछ्याउने लक्ष्यहरू शैतानी हुन्—र ती दुष्ट र अन्यायपूर्ण लक्ष्यहरू हुन्। जब मानिसहरूले ख्याति, प्राप्ति र हैसियतजस्ता आफ्नै हितहरू पछ्याउँछन्, उनीहरू अनजानमै शैतानको औजार, शैतानका लागि निकासद्वार, र त्योभन्दा पनि बढी, शैतानकै मूर्तरूप बन्छन्। उनीहरूले मण्डलीमा नकारात्मक भूमिका खेल्छन्; मण्डलीको कामप्रति, र मण्डलीको सामान्य जीवन र परमेश्‍वरका चुनिएका मानिसहरूको सामान्य खोजीप्रति, उनीहरूले पार्ने प्रभाव भनेको बाधा पुर्‍याउने र कमजोर पार्ने मात्र हो; उनीहरूको केवल प्रतिकूल र नकारात्मक प्रभाव हुन्छ। जब कसैले सत्यताको खोजी गर्छ, उसले परमेश्‍वरका अभिप्राय र उहाँको बोझलाई ख्याल गर्न सक्छ। आफ्‍नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूले हरेक पक्षबाट मण्डलीको कामलाई समर्थन गर्छन्। अनि तिनीहरू परमेश्‍वरलाई उचाल्‍न र उहाँको गवाही दिन सक्छन्। यसले दाजुभाइ-दिदीबहिनीहरूलाई फाइदा पुर्‍याउँछ, र उनीहरूलाई साथ, र भरणपोषण पाउन अनुमति दिन्छ, अनि यसले गर्दा परमेश्‍वरले महिमा र गवाही प्राप्त गर्नुहुन्छ, जसले शैतानलाई लज्जित पार्छ। तिनीहरूको खोजीको फलस्वरूप, परमेश्‍वरले साँच्‍चै नै परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने, र परमेश्‍वरको साँचो आराधना गर्न सक्‍ने सृष्टि गरिएको प्राणी प्राप्त गर्नुहुन्छ। तिनीहरूको खोजीको कारण नै परमेश्‍वरको इच्‍छा पूरा हुन्छ, र परमेश्‍वरको काम अघि बढ्न सक्छ। परमेश्‍वरको नजरमा, त्यस्तो पछ्याइ सकारात्मक हुन्छ, यो ज्योतिले भरिएको हुन्छ। यस्तो पछ्याइ परमेश्‍वरका चुनिएका मानिसहरूका लागि अत्यन्तै लाभदायक हुन्छ, अनि मण्डलीको कामका लागि निकै फाइदाजनक हुन्छ, यसले कामकुरा अघि बढाउन मद्दत गर्छ, र यो परमेश्‍वरद्वारा अनुमोदित हुन्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग एक))। परमेश्‍वरका वचनहरूले मलाई मेरो स्वार्थको पछ्याइलाई अझ राम्ररी बुझ्न मद्दत गरे। मैले के महसुस गरेँ भने जब मानिसहरू स्वार्थ पछ्याउँछन्, उनीहरू शैतानको पक्षमा काम गरिरहेका हुन्छन्, र मण्डलीको काममा अवरोध पुऱ्याउने उसको हतियार बनिरहेका हुन्छन्। त्यसअघि, मैले सोचेकी थिएँ स्पष्ट रूपमा मण्डलीको काम र जीवनमा बाधा दिने जस्ता, प्रस्टै देखिने दुष्ट कामकुराहरू गर्दा मात्रै, व्यक्ति शैतानका नोकरको रूपमा कार्य गरिरहेको हुन्छ। तर अब मैले हाम्रो कर्तव्यमा खालि स्वार्थी हितहरू पछ्याउने र मण्डलीका हितलाई बेवास्ता गर्ने कार्यले, मण्डलीको काममा अवरोध र बाधा पुऱ्याएर नकारात्मक प्रभाव पार्छ भन्ने बुझेँ। मैले आफ्नो कर्तव्य पूरा गर्दा कसरी आफ्नै खुलासा गरेकी थिएँ भन्नेबारे सोचेँ। बाहिरबाट हेर्दा मैले कहिल्यै काममा ढिलासुस्ती नगरेकी, दुःख भोग्न र अहोरात्र काम गर्न सकेकी, र कहिल्यै स्पष्ट रूपमा अवरोधपूर्ण केही नगरेकी जस्तो देखिए तापनि, मेरो अभिप्राय गलत थियो। म परमेश्‍वरलाई सन्तुष्ट पार्न राम्रो काम गरिरहेकी थिइनँ, बरु आफूलाई विशिष्ट देखाउन र प्रशंसा पाउनका लागि गरिरहेकी थिएँ। जब मलाई आफ्नो भागमा परेका मण्डलीहरूप्रति असन्तुष्टि भयो, म नकारात्मक भएँ र काममा ढिलासुस्ती गरेँ। मैले केवल समर्पित भएर आफ्नो कर्तव्य कसरी उत्कृष्ट रूपमा पूरा गर्ने भन्नेबारे, वा ब्रदर-सिस्टरलाई कसरी तुरुन्तै सहयोग गर्न सक्छु भन्नेबारे सोच्न सकिनँ। अञ्जानमै, मैले हाम्रो मलजलको काममा बाधा पुर्‍याइसकेकी रहेछु। मेरा सहकर्मीहरूभन्दा मसँग धेरै अनुभव रहेको कुरा सत्य थियो। अन्य कतिपय सिस्टरहरू काममा नयाँ थिए र मण्डलीका धेरै कामहरूसँग अपरिचित थिए, त्यसैले मण्डलीको समग्र दृष्टिकोणबाट हेर्दा—उनीहरूलाई राम्रा मण्डलीहरू र काम गर्ने मानिसहरू जिम्मा लगाउनु सही थियो। तर म स्वार्थी भइरहेकी थिएँ, राम्रा मण्डलीहरू र काम गर्ने मानिसहरू मेरो जिम्मेवारीको दायरामा नै रहुन् भन्ने चाहन्थेँ। तर, मैले चाहेजस्तो, नयाँ सहकर्मीहरूलाई समस्याग्रस्त मण्डलीहरूको जिम्मेवारी दिएर काम गर्दा, त्यसले हाम्रो काममा असर पार्ने थियो र दक्षता घटाउने थियो, र त्यो समग्रमा मण्डलीका लागि हानिकारक हुने थियो। मेरा मण्डलीहरूमा धेरै समस्याहरू थिए, तर यो वास्तवमा मेरो लागि राम्रो प्रशिक्षण थियो। मैले अलिकति बढी प्रयास र सोचाइ लगाएमा, म अझै पनि केही काम गर्न सक्थेँ, र हाम्रा कर्तव्यमा हाम्रो समग्र दक्षता सुधार हुन सक्थ्यो। के त्यो सबैभन्दा उत्तम प्रबन्ध थिएन र? यतिबेला, मैले मण्डलीहरूको पुनः बाँडफाँडको मामिलाले मेरो स्वार्थी, नीच मानसिकतालाई कसरी उदाङ्गो पारेको रहेछ भन्ने कुरा बुझेँ। मैले आफ्नो कर्तव्यमा स्वार्थ समावेश गर्दा त्यसले मण्डलीको काममा अवरोध मात्र पुर्‍याउन सक्ने रहेछ भन्ने बुझेँ। मैले विगतमा कसरी आफूले प्रतिष्ठा र हैसियतको पछि लागेर, र आफ्नो व्यक्तिगत हितको रक्षा गरेर अपराध गरेकी थिएँ भन्नेबारे सोचेँ। मैले परिवर्तन गरिनँ र हठपूर्वक आफ्नै हित पूरा गरिरहेँ भने, मैले फेरि पनि मण्डलीको काममा अवरोध पुर्‍याउनेछु र परमेश्‍वरद्वारा तिरस्कृत हुनेछु भन्ने मलाई थाहा थियो। यो बोधले मलाई डर लाग्यो। मैले पश्चात्ताप गर्दै परमेश्‍वरलाई प्रार्थना गरेँ: “हे परमेश्‍वर, आफ्नो कर्तव्यमा मैले मण्डलीको समग्र कामप्रति कुनै ख्याल नगरी वा तपाईंको अभिप्रायप्रति ध्यान नदिई केवल आफ्नै हितको रक्षा गर्नुबाहेक केही गरेकी छैन। मेरोजस्तो मानवता भएको व्यक्ति कर्तव्य लिन योग्य छैन। हे परमेश्‍वर, म साँच्चै पश्चात्ताप गर्न चाहन्छु।”

त्यसपछि मैले परमेश्‍वरका वचनहरूमा अभ्यासको मार्ग भेट्टाएँ: “कर्तव्य निर्वाह गर्ने सबैका हकमा, तिनीहरूको सत्यताको बुझाइ जतिसुकै गहन वा सतही भए पनि, सत्यता वास्तविकतामा प्रवेश गर्ने सबैभन्दा सरल अभ्यास भनेको हरेक मोडमा परमेश्‍वरको घरका हितहरूका बारेमा सोच्नु, आफ्ना स्वार्थी चाहनाहरू, व्यक्तिगत नियत, मनसाय, इज्जत, र हैसियतलाई त्याग्नु, र परमेश्‍वरको घरका हितहरूलाई पहिलो स्थानमा राख्नु हो—तिनीहरूले गर्नुपर्ने न्यूनतम कुरा यही हो। यदि कर्तव्य निर्वाह गर्ने व्यक्तिले यति पनि गर्न सक्दैन भने, उसले आफ्नो कर्तव्य निर्वाह गरिरहेको छ भनेर कसरी भन्न सकिन्छ र? त्यो त आफ्नो कर्तव्य निर्वाह गरेको नै भएन। तैँले सर्वप्रथम परमेश्‍वरको घरको हितबारे सोच्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्नुपर्छ, साथै मण्डलीको कामको बारेमा सोच्नुपर्छ। यी कुराहरूलाई नै सबैभन्दा सुरुमा र पहिलो प्राथमिकतामा राख्; त्यसपछि मात्र तैँले तेरो हैसियतको स्थिरता वा अरूले तँलाई कसरी लिन्छन् सोबारे सोच्न सक्छस्। यसलाई दुई चरणमा विभाजन गर, अलिकति सम्झौता गर—के तिमीहरूलाई यसले कामकुरा अलि सजिलो बनाउँछ जस्तो लाग्दैन? यदि तैँले केही समय यसरी अभ्यास गरिस् भने, तँलाई परमेश्‍वरलाई सन्तुष्ट पार्नु गाह्रो कुरा होइन भन्‍ने महसुस हुन थाल्नेछ। यसबाहेक, यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्‍वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्‍ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्‍ने महसुस हुनेछ। तेरा आफ्नै स्वार्थहरू सन्तुष्ट पार्ने तेरो चाहना क्रमिक रूपमा कम हुँदै जानेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)। परमेश्‍वरका वचनहरूपढेर मैले हरेक कुरामा व्यक्तिगत लाभ होइन, मण्डलीको हितलाई पहिलो स्थानमा राख्नुपर्छ भन्ने सिकेँ। ख्याति, प्राप्ति र हैसियत अस्थायी हुन्, र ती कुराहरू पछ्याउनु अर्थहीन छ। परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने एउटै तरिका भनेको भ्रष्ट स्वभावमा नजिउनु, सत्यता अभ्यास गर्नु, र परमेश्‍वरका अभिप्राय पूरा गर्नु हो। यो कुरा बुझ्नु अन्तर्दृष्टिपूर्ण थियो। जिम्मेवारीहरू जसरी बाँडफाँड गरिए पनि, मैले आफ्नो व्यक्तिगत हित र आफ्नो प्रतिष्ठा अनि हैसियतको रक्षा गर्ने कुरालाई विचार गरिरहन मिल्दैनथ्यो। मैले समर्पित भएर आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्थ्यो। मैले परमेश्‍वरसामु जिउन र उहाँको छानबिन स्विकार्नमा ध्यान केन्द्रित गर्नुपर्थ्यो। अरूले मेरो बारेमा जेसुकै सोचे पनि, मैले आफ्नो कर्तव्यमा आफ्नो हृदय लगाएर आफ्ना जिम्मेवारीहरू पूरा गर्नुपर्छ। यो परमेश्‍वरका अभिप्रायअनुरूप थियो।

त्यसपछिका दिनहरूमा, म आफ्ना हितको बारेमा नसोची आफ्नो कर्तव्यमा तनमनले लागेँ। त्यसो गर्दा, मैले आफूलाई आफ्नो भ्रष्ट स्वभावद्वारा त्यति बाँधिएको र प्रभावित नभएको महसुस गरेँ। एक दिन, एक जना सिस्टरले मसँग कामबारे छलफल गरिरहेका बेला, आफ्नो अंग्रेजी बोलाइ त्यति राम्रो नभएको र उनले आफ्नो एउटा मण्डलीमा जाँच गर्दा दोभाषे चाहिने भएकोले, उनी सङ्घर्ष गरिरहेकी र काम प्रभावित भइरहेको बताइन्। मेरो अंग्रेजी ठीकै भएकोले, मैले सायद हामी मण्डली साटासाट गर्न सक्छौँ र म त्यो मण्डलीको जिम्मा लिन सक्छु भन्ने सोचेँ। तर तुरुन्तै, मेरो मनमा के आयो भने उनको मण्डलीमा धेरै समस्याहरू छन्, र त्यसको जिम्मेवारी लिँदा थोरै प्रगतिका लागि धेरै प्रयास लाग्नेछ। अनि त्यसपछि मानिसहरूले मेरो बारेमा के सोच्लान्? मैले मण्डली साटसाट नगर्नु नै राम्रो भन्ने सोचेँ। तर त्यतिखेरै मैले म फेरि आफ्नो मान-प्रतिष्ठा र हैसियतको बारेमा सोच्दै, हिसाबकिताब गरिरहेकी छु भन्ने महसुस गरेँ, त्यसैले मैले आफैविरुद्ध विद्रोह गर्न तयार भएर परमेश्‍वरलाई प्रार्थना गरेँ। मलाई म पहिले जस्तै केवल आफ्नै हितको बारेमा सोचेर आफ्नो भ्रष्ट स्वभावमा जिइरहन मिल्दैन भन्ने थाहा थियो। यदि यो परिवर्तनले मण्डलीको कामलाई फाइदा पुग्थ्यो भने, मैले त्यसै गर्नुपर्थ्यो। त्यसपछि, मैले अन्य सहकर्मीहरूका जिम्मेवारी क्षेत्रहरूबारे केही सोचविचार गरेँ र ती सिस्टरसँग मण्डली साटासाट गर्नु मेरा लागि साँच्चै उत्तम छ भन्ने निष्कर्ष निकालेँ। मैले आफ्ना विचारहरू अगुवालाई सुनाएँ र त्यस विषयमा केही विचार गरेपछि, उनी र अन्य सहकर्मीहरू सहमत भए। हामीले आवश्यक परिवर्तनहरू गरेपछि म ढुक्क भएँ, र शब्दमा व्यक्त गर्न नसकिने आनन्दको अनुभूति गरेँ। जसरी परमेश्‍वर भन्नुहुन्छ: “यदि तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न सक्छस्; आफ्ना दायित्व र कर्तव्य पूरा गर्न सक्छस्; आफ्ना स्वार्थी चाहना, नियत, र मनसायहरूलाई पन्छाउन सक्छस्; परमेश्‍वरका अभिप्रायहरूको ख्याल गर्न सक्छस्; र परमेश्‍वरको घरका हितहरू, मण्डलीको काम, र तैँले पूरा गर्नुपर्ने कर्तव्यलाई पहिलो स्थानमा राख्न सक्छस् भने, केही समय यसरी अनुभव गरेपछि, तँलाई यसरी आफूलाई आचरणमा ढाल्नु राम्रो हो, मानिसहरू इमानदार र स्पष्ट तरिकाले जिउनुपर्छ, र तिनीहरूले कायर, फोहोरी, नीच अस्तित्व जिउनु हुँदैन, बरु तिनीहरू सोझो र न्यायवान् हुनुपर्छ भन्‍ने महसुस हुनेछ। तँलाई यो एउटा व्यक्तिले जिउनुपर्ने स्वरूप हो भन्‍ने महसुस हुनेछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रष्ट स्वभावहरू फालेर मात्रै स्वतन्त्रता र छुटकारा प्राप्त गर्न सकिन्छ)

त्यसपछि, म आफू जिम्मेवार रहेका मण्डलीहरूप्रति नकारात्मक हुन छोडेँ, र हरेक मण्डलीको कामको रेखदेख गर्न आफूले सक्दो प्रयास गरेँ। मलजल गर्ने व्यक्तिहरूले आफ्नो कामको सङ्घर्षबारे गुनासो गर्दा, म उनीहरूका गलत दृष्टिकोणहरू सच्याउन उनीहरूसँग परमेश्‍वरका वचनहरूमा सङ्गति गर्थेँ, अनि ती कठिनाइहरू समाधान गर्न सँगै परमेश्‍वरमा भर पर्दै र सत्यता खोज्दै अघि बढ्थेँ। जब मैले नयाँ विश्वासीहरूमा धेरै समस्याहरू छन्, र तिनीहरूमध्ये केही नियमित रूपमा भेलामा उपस्थित भइरहेका छैनन् भन्ने देखेँ, मैले कामबारे गुनासो गर्न छोडेँ र बरु ब्रदर-सिस्टरहरूसँग व्यक्तिगत रूपमा कुरा गरेर उनीहरूको सङ्घर्ष बुझ्ने, र उनीहरूसँग परमेश्‍वरका वचनहरूमा सङ्गति गर्ने कुरालाई महत्त्व दिएँ। पर्याप्त अगुवा र डिकनहरूको व्यवस्था नभएको सन्दर्भमा, मैले क्षमतावान् व्यक्तिहरूलाई संवर्धन गर्ने काममा बढी मेहनत गरेँ। मैले राम्रो क्षमता भएका र ती भूमिकाहरू लिनका लागि संवर्धन गर्न उपयुक्त रहेका ब्रदर-सिस्टरहरूसँग कर्तव्य निर्वाह गर्नुको महत्त्व र सिद्धान्तहरूबारे सङ्गति गरेँ, र उनीहरूसँगै काम गर्दै समय बिताएँ। जब मैले मण्डलीहरूमा कतिपय निकै जटिल कामहरू बेवास्ता गरिएका देखेँ, म ती कामहरू जिम्मा लिन अगाडि सरेँ। त्यतिबेला मलाई आफूले ती कामहरू राम्ररी गर्न सक्छु-सक्दिनँ भन्ने थाहा थिएन, तर मेरो हृदयमा भने मलाई मैले कामकुराहरूलाई जस्ताको तस्तै छोड्न मिल्दैन भन्ने थाहा थियो। केवल स्वार्थी भई आफ्नै जिम्मेवारीको दायरा विचार गर्नुको सट्टा, मैले परमेश्‍वरको अभिप्रायको ख्याल गर्दै मण्डलीको समग्र कामलाई सम्हाल्नुपर्थ्यो। केही समयपछि काममा प्रगति भयो, र मैले व्यवस्थापन गरिरहेका सबै मण्डलीहरूका लागि अगुवा र डिकनहरू छानिए। पहिलेभन्दा दोब्बर मानिसहरूले कर्तव्य ग्रहण गरिरहेका थिए, र भर्खरै संवर्धन गरिएका कतिपय सदस्यहरूले आफ्नै जिम्मेवारीको दायरा सम्हाल्न सक्षम भए। पहिले त्यति राम्रो काम नभएका मण्डलीहरूमा, कामको हरेक पक्षमा सुधार हुँदै थियो। मैले काममा परमेश्‍वरको प्रभुत्व वास्तवमै देख्न सकेँ। मैले परमेश्‍वर मानिसहरूबाट हृदय र आज्ञापालन चाहनुहुन्छ, त्यसैले यदि हामी उहाँका अभिप्रायप्रति ध्यान दिन सक्छौँ र आफ्नै हितको सट्टा केवल मण्डलीको कामको बारेमा सोच्छौँ भने, हामी परमेश्‍वरको मार्गदर्शन प्राप्त गर्न सक्छौँ भन्ने साँचो रूपमा अनुभव गरेँ। यो कुराको बुझाइले परमेश्‍वरमाथिको मेरो आस्थालाई बलियो बनायो। सर्वशक्तिमान् परमेश्‍वरलाई धन्यवाद होस्!

अघिल्लो: ७. दुर्व्यवहार र यातनाका दिनहरू

अर्को: ९. धर्ममा सत्यता प्राप्त गर्न सकिँदैन

सम्बन्धित विषयवस्तु

७७. बिमारी मार्फत फसल काटियो

झाङ्ग ली, चीनवर्ष २००७ मेरो जीवनको ठूलो मोड थियो। त्यो वर्ष मेरा श्रीमान् कार दुर्घटनामा परेर थला पर्नुभयो। हाम्रा दुई बच्चाहरू अझै सानै...

६९. सही मार्गमा फर्केर आउनु

चेन गुवाङ्ग, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ...

७५. रोगको कठिन परीक्षा

झोङ्गछिन, चीनसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “मेरा कार्यहरू समुद्र किनारका बालुवाका कणहरूभन्दा धेरै छन् र मेरो बुद्धि सोलोमनका सबै...

४१. ईर्ष्यालाई महानताले हटाऔं

फु डान, चीनकेही वर्ष पहिले, मण्डलीको अगुवाइका कार्य जिम्मेवारीहरूमा मलाई मद्दत गर्नको लागि सिस्टर जियाओजीलाई हाम्रो मण्डलीमा सरुवा गरिएको...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्