७. दुर्व्यवहार र यातनाका दिनहरू

चेन छिन्जिए, चीन

सन् २००६ को गर्मी यामको एक दिन बिहान ११ बजेतिर, मलाई पाहुना राख्‍ने सिस्टरको घरमा म परमेश्‍वरको वचनका केही भजनहरू सुन्दै बसिरहेकी थिएँ, त्यसै बेला अचानक पुलिसहरू कोठामा प्रवेश गरे, अनि म र मलाई पाहुना राख्‍ने सिस्टर झाओ गुइलान, अनि उनकी छ वर्षकी छोरीलाई समातेर पुलिस चौकीमा लिएर गए।

हामी चौकीमा प्रवेश गर्नेबित्तिकै, केही महिला प्रहरीहरूले हामीलाई जबरजस्ती लुगा खोल्‍न लगाए। मेरो भित्री लुगा मात्रै बाँकी भएपछि, सबै नफुकाल्दिऊन् भनेर मैले तिनीहरूबाट छलिने प्रयास गरेँ। एउटी महिला अफिसर जङ्गिँदै आई, मेरा भित्री लुगाहरू खोली, यसलाई होसियारीसाथ छामछुम गरी, त्यसपछि जाँच गर्ने क्रममा यसलाई च्यातिदिई। तिनीहरूले पूरै शरीर खानतलासी गरेपछि, हामीलाई एउटा कार्यालयमा लगियो। त्यहाँ प्रहरीहरू मेरो साथमा भेटिएको ठेगाना पुस्तिका अल्टाइपल्टाइ गरिरहेका थिए। मेरो ठेगानामा धेरै फोन नम्‍बरहरू देखेर, तिनीहरूले म पक्‍कै पनि अगुवा हुँ भन्‍ने अड्कल काटे, त्यसैले तिनीहरूले मेरो मुद्दा प्रान्तीय सार्वजनिक सुरक्षा कार्यालयमा रिपोर्ट गर्छौँ भने। झु नामको शाखा प्रमुखले मलाई सोध्यो, “कहिलेदेखि सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्न थालिस्? मण्डलीमा तेरो भूमिका के छ?” मैले केही बोलिनँ, त्यसकारण उसले मेरो चिउँडो जोडले अँठ्याउँदै मेरो शिर माथि उठायो—उसले यति कसिलो गरी निचोरिरहेको थियो कि म हलचल गर्नै सकिनँ। उसले अश्‍लील शैलीमा मुस्कुराउँदै भन्यो, “तँ त्यति नराम्री पनि रहिनछस्, र तँ राम्री र जवान रहिछस्। तैँले अरू जे पनि गर्न सक्थिस्, तर तँ परमेश्‍वरमा विश्‍वास गर्न चाहन्छस्!” अरू पुलिसहरू एक छेउमा उभिएर खितखिताइरहेका थिए। मलाई रिस उठ्यो र आक्रोश जाग्यो। सोचेँ, “यो कस्तो किसिमको ‘जनप्रहरी’ हो? यो त डाँकूको जत्था हो, यी पशुहरू हुन्!” प्रमुख झुले मेरो व्यक्तिगत जानकारीका बारेमा अनि मण्डलीको अगुवा को हुन् भनेर बारम्‍बार सोधिरह्यो। मैले तिनीहरूलाई केही नभनेपछि, एउटा पुलिसले मलाई नराम्ररी हिर्काउन थाल्यो। कुटाइले मलाई रिँगटा लाग्यो र आँखा मधुरो भयो; म लडिरहन्थे, र उसले मलाई उठाउँदै हिर्काइरहन्थ्यो। यस क्रममा उसले मलाई चिच्याउँदै यसो भन्यो, “सरकारले धेरै पहिल्यै उर्दी जारी गरेर भनेको छ, तिमीहरूलाई मार्नु अपराध होइन, तिमीहरूलाई कुटेर मारे पनि फरक पर्दैन! तँ मरिस् भने, हामी तँलाई माथि जङ्गलमा लगेर गाड्न सक्छौँ। कसैलाई पनि थाहा हुँदैन!” उसको नीच र अत्यन्तै दुष्ट अनुहार देखेर म आत्तिएँ र डराएँ—तिनीहरूले मलाई साँच्‍चै कुटेर मार्छन् कि भन्‍ने डर लाग्यो। मैले परमेश्‍वरलाई हृदयबाट अटुट रूपमा पुकारिरहेँ, मेरो हृदयको रक्षा गर्नुहोस् भनेर अनुरोध गरिरहेँ। त्यो बेला परमेश्‍वरका वचनहरूको एउटा खण्ड मेरो मनमा आयो: “सत्तामा हुनेहरू बाहिरबाट द्वेषपूर्ण देखिन सक्छन्, तर नडराऊ, किनकि तिनीहरूसित थोरै विश्‍वास छ। जहिलेसम्म तिमीहरूको विश्‍वास बढ्छ, कुनै पनि कुरा अति कठिन हुनेछैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय ७५)। यो साँचो हो। सबै कुरामथि परमेश्‍वरको शक्ति हाबी हुन्छ, त्यसकारण पुलिसहरू जति नै क्रूर र निर्दयी भए पनि, त्यो कुरा पनि परमेश्‍वरकै हातमा थियो। यदि परमेश्‍वरले मलाई मर्न अनुमति दिनुभएन भने, शैतानले समेत मेरो ज्यान लिन सक्दैनथ्यो। पुलिसहरूले मलाई कुटेर नै मारे पनि, मेरो प्राण अझै परमेश्‍वरकै हातमा हुने थियो। परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिए, र म बिस्तारै शान्त हुन सक्षम भए।

आफूले चाहेको उत्तर नपाएपछि, प्रमुख झुले क्रोधित हुँदै भन्यो, “तँलाई राम्रो मुखले भन्दा हुँदैन रहेछ। आज म तेरो मुख खोलेरै छोड्छु। मबाट कोही उम्कन सक्दैन—यो दुई दिनमा मैले अरू दुई जना मानिसहरू झुण्ड्याएर मारिसकेको छु।” त्यसपछि दुई पुलिसहरू आएर मलाई हतकडी लगाइदिए, र मलाई फलामको ढोकामा झुण्ड्याए, र पुरै शरीरको वजन नाडीमा पर्‍यो। त्यसपछि तिनीहरूले गुइलानलाई घिस्याउँदै ल्याए। उनको अनुहार कुटेर सुन्‍निएको थियो र उनको कपाल जगल्टिएको थियो। पुलिसहरूले उनलाई पनि फलामको ढोकामा झुण्ड्याए। हाम्रो पीडा देखेर प्रमुख झुले दुष्ट शैलीमा मुस्कुराउँदै भन्यो, “ल, अब मजा गर्,” त्यसपछि फर्केर बाहिर गयो। समय बित्दै जाँदा, त्यसरी हतकडी लगाइएको कारण मेरो नाडीमा दबाब बढ्दै गयो र झन्झन् पीडा भयो, मेरा पाखुराका जोर्नीहरू चुँडिनै लागेजस्तो भयो। यति पीडा भयो कि मेरो पूरै शरीरमा पसिना आयो। केही समयपछि नै मेरो पूरै शरीर भिज्यो। पीडा कम गर्ने प्रयासमा, मैले मुठ्ठी कसेँ र फलामको ढोकाको बारमा कुर्कुच्‍चा अड्याउने सक्दो प्रयास गरेँ, तर खुट्टा चिप्‍लिरहन्थ्यो। मेरो मुटु ढुकढुक गरिरहेको थियो र मलाई सास फेर्न गाह्रो भइरहेको थियो। मलाई म निस्सासिन लागेको छु जस्तो लाग्यो। प्रमुख झुले विगत दुई दिनमा दुई जना मानिसहरूलाई मर्ने गरी झुण्याएको छु भनेर भनेको सम्झिँदा मलाई निकै डर लाग्यो; मलाई म त्यहीँ मर्छु कि भन्‍ने चिन्ता लाग्यो। मैले परमेश्‍वरलाई प्रार्थना गरिरहेँ, “हे परमेश्‍वर, म अब यो सहन सक्दिनँ। अब धेरै थाम्‍न सक्दिनँ—बिन्ती छ, मलाई बचाउनुहोस्…।” प्रार्थना गरेपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा भजन याद आयो। परमेश्‍वर भन्नुहुन्छ: “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, तिम्रो कष्ट जति ठूलो भए पनि परमेश्‍वरलाई प्रेम गर्ने प्रयास गर)। परमेश्‍वरका वचनहरूले मलाई तुरुन्तै विश्‍वास र शक्ति दिए। मेरो जीवन र मृत्यु परमेश्‍वरकै हातमा थिए, र परमेश्‍वरको अनुमतिविना म मर्ने थिइनँ। अनि ममा एक मुठी सास बाँकी रहे पनि, म परमेश्‍वरमा समर्पित भएर उहाँप्रतिको मेरो गवाहीमा म दह्रिलो गरी खडा हुनुपर्थ्यो। त्यसकारण, मैले परमेश्‍वरलाई प्रार्थना र भरोसा गरिरहेँ, र थाहै नपाई, म बिस्तारै शान्त हुन सक्षम भएँ र मलाई त्यति धेरै पीडा हुन छोड्यो। शिर फर्काएर हेर्दा, मैले गुइलियानको अनुहारमा सङ्कल्‍पको अभिव्यक्ति देखेँ, र मैले परमेश्‍वरलाई मनमनै धन्यवाद दिएँ। परमेश्‍वरले दिनुभएको शक्ति र विश्‍वासकै कारण हामीले यति धेरै सहन सक्यौँ भन्‍ने मलाई थाहा थियो।

पुलिसहरूले हामीलाई बिहान ४ बजेतिर झारे। हाम्रा हातखुट्टा अचेत थिए, केही थाहा हुँदैनथ्यो, त्यसकारण हामी भूइँमा लड्यौँ, हाम्रो सास मात्रै बाँकी थियो। हामीलाई पीडामा देखेर, प्रमुख झुले आफूप्रति निकै खुसी हुँदै मलाई सोध्यो, “तैँले यसबारेमा केही विचार गरिस्? हतकडीमा झुण्डिँदा मजा आउँदैन होला, होइन?” मैले उसको कुरा बेवास्ता गरेँ। मैले यातना सहन सक्दिनँ र अवश्य नै मेरा ब्रदर-सिस्टरहरूलाई बेचिदिन्छु भन्‍ने अनुमान गर्दै ऊ आफैप्रति अत्यन्तै विश्‍वस्त देखिन्थ्यो। तर तिनीहरूले हामीलाई जति धेरै सताउँथे, त्यति नै धेरै म तिनीहरू कति दुष्ट र जङ्गली छन् भनेर देख्‍न सक्थेँ, कम्युनिस्ट पार्टी परमेश्‍वर विरोधी भूत हो भनेर स्पष्ट बुझ्न सक्थेँ, र म आफ्‍नो गवाहीमा खरो उत्रिएर शैतानलाई लज्‍जित पार्नुपर्छ भन्‍ने मेरो विश्‍वासमा अझ दृढ हुन्थेँ, र यो कुरा उसलाई थाहा थिएन। तिनीहरूले यो क्रम भोलि दिउँसोसम्‍म जारी राखे। त्यसपछि मैले प्रमुख झुले कल उठाएको, र यसो भनेको सुनेँ, “यो आइमाइलाई केही गरे पनि सीप लागेन—न त फकाउँदा न त तर्साउँदा पार लाग्छ। मैले यस्ता मामलाहरू सम्‍हालेको दशकौँ भयो, तर यस्तो कठोर व्यक्ति कहिल्यै देखेको थिइनँ!” फोन राखेपछि, उसले मलाई सराप्‍न थाल्यो, “तिमीहरू सर्वशक्तिमान्‌ परमेश्‍वरका विश्‍वासीहरू ढुङ्गाभन्दा कठोर हुँदा रहेछौ! तर तेरो मुख खोल्‍न सक्दिनँ भन्‍ने कुरामा म विश्‍वास गर्दिनँ। आज म तँलाई अर्कै ठाउँ लानेछु, त्यहाँ तँलाई त्यति सहज हुनेछैन। कसरी तेरो मुख खोल्‍नुपर्छ, मलाई थाहा छ!” त्यसपछि, ऊ र अर्को पुलिस अर्को कोठामा गए। उसले यसो भनेको मैले स्पष्ट सुनेँ, “त्यसलाई सर्पको खाडलमा नाङ्गै फ्याँकिदे। त्यसपछि त्यो बोल्‍न बाध्य हुनेछे!” “सर्पको खाडल” भन्‍ने शब्‍द सुन्दा म तर्सिएँ र मलाई साह्रै डर लाग्यो। सबैतिर सर्प घस्रिएको सम्झिँदा मेरो जिउ सिरिङसिरिङ भयो, त्यसकारण मैले परमेश्‍वरलाई तुरुन्तै प्रार्थना गरेँ, र तिनीहरूले मलाई सर्पको खाडलमा फ्याँके पनि म यहूदा बनेर उहाँलाई धोका नदिऊँ भनी उहाँसित साहस मागेँ। प्रार्थना गरिसकेपछि मलाई सिंहको खोरमा दानिएललाई फालिएको घटना याद आयो; तिनीहरूले तिनलाई टोकेनन्, किनभने परमेश्‍वरले यस्तो कुराको अनुमति दिनुभएन। के म पनि पूर्ण रूपमा परमेश्‍वरको हातमा थिइनँ र? यी कुराहरू सोच्दा म बिस्तारै शान्त भएँ। पछि, प्रमुख झुले एउटा फोन उठाएपछि, एउटा अर्जेन्ट मामला सम्‍हाल्‍न जानु छ भन्दै अर्को प्रहरीसँग हतारहतार निस्कियो। ऊ जानेबित्तिकै, मलाई निगरानी गर्न बसेको प्रहरीलाई उसको परिवारबाट उसको छोरालाई केही भयो, र ऊ नाजुक अवस्थामा छ भन्‍ने कल आयो। उसले मलाई फलामको कुर्सीमा हतकडी लगायो र हतारहतार गयो। परमेश्‍वरले मेरो प्रार्थना सुन्‍नुभएर मलाई उम्‍कने बाटो दिनुभएको हो भन्‍नेमा मलाई कुनै शङ्का भएन। मैले फेरि प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले तपाईंका अचम्‍मका कामहरू देखेँ, र म तपाईंलाई धन्यवाद दिन्छु!”

त्यो साँझ, ऊ यति रिसायो कि उसले मलाई सुत्नै दिएन। मलाई साह्रै निद्रा लागिरहेको थियो, तर मैले आफ्‍नो आँखा बन्द गर्नेबित्तिकै, एउटा पुलिसले मेरो काँधमा समातेर नराम्ररी झकझक्याउँथ्यो र भन्थ्यो, “सुत्छस्? सुत्छस्?” म यति तर्सिन्थेँ कि मुटु ढुकढुक गरिरहेको हुन्थ्यो। तिनीहरूले मलाई त्यसरी नै तर्साइरहन्थे र मलाई मण्डलीको जानकारी मागिरहन्थे। पुलिसहरूले मलाई चार दिन, चार रात यातना दिए, र मलाई खान, पिउन, वा सुत्‍न दिएनन्। यातनाले म साह्रै कमजोर भएकी थिएँ, पेटमा छुरी घोपेजस्तो पीडा हुन्थ्यो, सास फेर्न गाह्रो भइरहेको थियो, र मेरो शरीर साह्रै थाकेको थियो। तर तिनीहरूले मलाई जसरी सोधपुछ गरे पनि, मैले तिनीहरूलाई एउटा कुरा पनि भनिनँ। प्रमुख झुले तिनीहरूको कुनै पनि तरिकाले काम नगरिरहेको देखेपछि, ऊ ड्याम्‍म ढोका बजारेर रिसाउँदै गयो। ऊ फर्केर आउँदा, उसले आफूसित केही लेखिएका तीनचार पत्ता कागज ल्यायो। उसले ती कागजहरू टेबलमा बजारेर मलाई स्वीकारपत्रमा हस्ताक्षर गरेर औँठाछाप लगाउन भन्यो। मैले भनेँ, “मैले यस्तो केही भनेकी छैनँ, त्यसकारण म हस्ताक्षर गर्दिनँ।” उसले अरू पुलिसहरूलाई सङ्केत दियो, त्यसपछि तिनीहरू हतारहतार आएर कतिले मेरो पाखुरा समाए, र कतिले मेरो नाडी जोडतोडले निचोरे र मुड्की खोल्‍न बाध्य पारे, अनि जबरजस्ती त्यो नक्‍कली स्वीकारपत्रमा पुरै हत्केलाको छाप लगाउन लगाए। प्रमुख झुले कागज उठाएर खुसी हुँदै भन्यो, “देखिस्! अझै मसँग लडाइँ गर्ने प्रयास गर्छस्? केही नबोली धर पाउँछु भन्‍ने सोच्छस्? म तँलाई अझै दोषी ठहराएर दश वर्षको सजाय दिन सक्छु!”

त्यो रात पुलिसहरूले मलाई एउटा पुरानो कारखानाको खाली भवनमा लगे र मलाई जुत्ता र मोजा खोल्‍न लगाए, त्यसकारण म खाली खुट्टा भएँ। त्यसपछि दुई जना मेरो छेउछेउमा उभिएर दुवैले मेरो पाखुरा पक्रेर, मलाई अँध्यारो भित्री गल्‍लीतिर लगे, र भित्र जाँदा त्यो झन्झन् अँध्यारो हुँदै गयो। म डरले थुरथुर भएँ। तिनीहरूले मलाई फलामका तीन वटा ढोकाबाट अगाडि लगे र एउटा कोठाभित्र हुत्याइदिए। मैले एक पुरुषलाई कुनामा ठूलाठूला साङ्‍लाले बाँधिएको देखेँ, उसका हातखुट्टा फारेर तन्काइएका थिए, र ऊ पीडाले कमजोर भएर ऐयाऐया गरिरहेको थियो। पर्खालमा त्यस्ता धेरै सङ्लाहरू झुण्ड्याइएका थिए, र त्यहाँ इलेक्ट्रिक बेटन र फलामका लौराहरू थिए। मलाई म नर्कमा झरेछु जस्तै लाग्यो। मलाई अत्यन्तै डर लाग्यो र यसपटक म पक्‍कै त्यहीँ मर्छु जस्तो लाग्यो। मैले परमेश्‍वरलाई बारम्‍बार प्रार्थना गरिरहेँ। त्यसपछि एउटा पुलिसले धम्कीको शैलीमा भन्यो, “छिटो गरिस् भने, गल्ती स्विकार्ने अझै समय छ। बोल्छस् कि बोल्दैनस्?” मैले भने, “मैले कुनै पनि कानुन तोडेकी छैनँ। मैले स्विकार्नुपर्ने केही पनि छैन।” उसले मलाई रूखो शैलीमा हेर्‍यो, हात हल्‍लायो, त्यसपछि दुई पुरुष प्रहरीहरू ब्‍वाँसोजस्तै उफ्रिँदै मेरो छेउ आए, र मलाई तुरुन्तै भुइँमा थिचे। मैले सक्दो उम्कने प्रयास गरेँ, तर तिनीहरूले मलाई मेरो खुट्टामा घुँडाले थिचे र मैले रोक्‍ने सक्दो प्रयास गर्दा पनि तिनीहरूले मेरो सट र पाइन्ट च्यातिदिए। तिनीहरूले मेरा सबै लुगाहरू च्यातिदिए, र मलाई उँधोमुन्टो नाङ्गै भूइँमा घोप्ट्याए। त्यसपछि, तिनीहरूले मेरो फिलामा घुँडाले बेस्सरी थिचेर मेरा हातहरू पछाडि बटारे, जसले गर्दा म हलचल गर्नै सकिनँ। अर्को पुलिसले इलेक्ट्रिक बेटन ल्याएर मेरो कम्‍मर, ढाड र चाकभरि उन्माद रूपमा करेन्ट लगाउन थाल्यो। हरेकपटक करेन्ट लगाउँदा करेन्ट लगाइएको ठाउँ सुनिन्थ्यो र मासु लट्टिन्थ्यो, र यस्तो पीडा हुन्थ्यो कि मानौँ घोचेर मेरो हड्डी नै प्वाल पारिएको छ। म अनियन्त्रित रूपमा कामिरहेकी थिएँ र मेरा खुट्टाहरू नराम्ररी भूँइमा ठोक्‍किरहेका थिए। मैले जति संघर्ष गर्थेँ, तिनीहरूले मलाई त्यति नै कसेर पक्रन्थे। एउटा पुलिसले यो परिस्थितिको फाइदा उठाउँदै मेरो चाक समात्यो र केही फोहोरी शब्‍द बोल्दै पागलझैँ हाँस्यो। अर्को पुलिसले करेन्ट लगाउँदै मलाई चिच्याएर भन्यो, “बोल्छस् कि बोल्दैनस्? कस्‍सम, म तँलाई बोल्‍न लगाएरै छाड्छु!” मलाई पाँच-छपटक करेन्ट लगाएपछि, तिनीहरूले मलाई उत्तानो पारेर, मेरा फिलाहरूमा घुँडाले जोरले थिचे, र मेरो छाती, पेट, अनि योनाङ्गको छेउछाउ करेन्ट लगाइरहे। तिनीहरूले मेरो पेटमा झट्का दिँदा मेरो भुँडी र आन्द्रा गुन्टा परेजस्तै लाग्यो—अत्यन्तै पीडा भयो। मेरो छातीमा झट्का लगाउँदा, मेरो मुटु खुम्चेजस्तो लाग्यो र सास फेर्न गाह्रो भयो। तिनीहरूले मेरो योनाङ्ग छेउछाउ झट्का दिँदा तीखातीखा काँटीहरू मेरो जीउमा गाडेजस्तै लाग्यो, र मैले सास फेर्नै सकिनँ। त्यस्तो पीडालाई शब्‍दले व्याख्या गर्नै सकिँदैन।

त्यसपछि म बेहोस भएँ। तिनीहरूले मलाई चीसो पानीले छ्यापेर बिउँझाउनुपहिले कति समय बित्यो मलाई थाहा भएन, त्यसपछि तिनीहरूले मलाई झट्का दिइरहे। एक पुलिसले मेरो स्तनका टुप्‍पाहरूसमेत चिमोट्यो, तान्यो र बेस्सरी थिच्यो, र उसले यो कार्य चारपाँच मिनेट दोहोर्‍याइरह्यो। मलाई त मेरा स्तनका टुप्‍पाहरू चुँडिनै लागेजस्तो लाग्यो—दुखाइ एकदमै बढी थियो। अर्को पुलिसले यस क्रममा मेरा स्तनहरूमा झट्का दिइरहेको थियो। उसले झट्का लगाउँदा हरेकपटक नै, मेरो स्तनको मासु उक्‍काएर निकालिएजस्तो, मेरो मुटु चल्नै छोड्लाजस्तो लाग्थ्यो। मलाई जीउभरि पसिना आइरहेको थियो र जिउ कामेको काम्यै गरिरह्यो। तिनीहरूले मलाई झट्का दिइरहे, मेरो जीउ खेलाइरहे, र पुरै समय घिनलाग्दा कुराहरू बोलिरहे। मलाई त तिनीहरू नर्कका दुष्टात्‍मा र दियाबलसहरू नै हुन् जस्तो लाग्यो, जोसँग आफ्नै मनोरञ्जनका लागि मानिसहरूलाई यातना दिने विशेषज्ञता छ। पछि, मलाई यति पीडा भयो कि मैले आफ्‍नो पिसाब रोक्‍ने क्षमतै गुमाएँ, र फेरि बेहोस भएँ। केही समय बित्यो, र कति समय बित्यो मलाई थाहा भएन, तर तिनीहरूले मलाई फेरि पनि चिसो पानी खन्याएर बिउँझाए र छाती, पेट, र योनाङ्ग छेउछाउ झट्का दिइरहे। मलाई ती सब झट्काले मेरो शरीर जलिरहेजस्तो लाग्यो। एक पुलिसले मलाई जोडले झट्कार्दै भन्यो, “अहिले तेरो परमेश्‍वर कहाँ छ? उसलाई बचाउन आउनू भन्! तेरो परमेश्‍वर मै हुँ!”

बारम्‍बार झट्का दिँदा म बेहोस हुन्थेँ, र तिनीहरूले मलाई बारम्‍बार पानी छ्यापेर ब्युँझाउँथे। अन्तिममा, ममा बल गर्ने वा हल्लिनेसमेत शक्ति थिएन। म दुःख, क्रोध र पीडा सहँदै अधमरो भई भुइँमा लडिरहेँ। तिनीहरूले मलाई थप कतिबेर यातना दिँदै दुर्व्यवहार गर्ने हो मलाई थाहै थिएन। त्यसपछि मैले साँच्‍चै नै सहन सकिनँ र यो कष्टबाट चाँडै उम्‍कन मलाई आफ्‍नै जिब्रो टोकेर आत्महत्या गर्न मन लाग्यो। म ढल्‍नै लागेको बेला, मलाई यो भजन याद आयो: “शैतानले लुटेको छ हदैसम्म मलाई। देखेको छु मैले दियाबलसको अनुहार। भुल्न सक्दिनँ म युगौँको घृणा। शैतानसामु झुक्नुभन्दा मर्नु हो उत्तम! केवल मानिसलाई मुक्ति दिन परमेश्‍वर हुनुभएको छ देह, भोग्नुभएको छ कष्ट र अपमान। गरेको छु मैले परमेश्‍वरको प्रेमको यत्ति धेरै उपभोग, आराम गरूँ म कसरी, त्यसको ऋण नतिरी? मानवको रूपमा म उठ्नैपर्छ र चढाउनैपर्छ आफ्नो जीवन परमेश्‍वरको गवाही दिन। मेरो शरीर खिएर जाला, यद्यपि मुटु झन् बलियो बन्छ। पछुतोविना मर्नेछु म परमेश्‍वरको लागि। यदि एक पटक खुसी पार्न सकेँ भने परमेश्‍वरलाई, मृत्युसम्म समेत हुनेछु खुसीले समर्पित। यदि एक पटक खुसी पार्न सकेँ भने परमेश्‍वरलाई, मृत्युसम्म समेत हुनेछु खुसीले समर्पित।” मैले परमेश्‍वरले कसरी मानवजातिलाई बचाउनकै लागि देहधारण गर्नुभयो र ठूलो अपमान सहनुभयो, अनि कसरी उहाँले हामीलाई मलजल र भरणपोषण गर्न आफ्‍ना वचनहरू प्रदान गर्नुनुहुन्छ भन्‍नेबारेमा सोचेँ। परमेश्‍वरले हाम्रो लागि यस्तो ठूलो मूल्य चुकाउनुभएको छ, र म पक्राउ परेपछि उहाँले सधैँ मेरो साथमा रहेर मलाई अगुवाइ र सुरक्षा दिइरहनुभएको थियो। मैले परमेश्‍वरको धेरै अनुग्रह पाएकी थिएँ, तर मैले उहाँको लागि के गरेकी थिएँ र? वितेका युगहरूका सन्तहरूले आफूलाई बलिदान गर्न र आफ्‍नै रगत बगाउन, र परमेश्‍वरको लागि शहीद बन्‍न सके, तर मैलेचाहिँ थोरै कष्ट भोग्दा नै मृत्युको सहारा लिएर यसबाट उम्‍कन चाहेँ। म कति कायर रहेछु! यो कसरी परमेश्‍वरको गवाही भयो र? के मैले शैतानलाई मप्रति हाँस्‍न दिइरहेकी थिइनँ र? यस्तो सोचेपछि, मैले मनमनै प्रार्थना गरेँ, “परमेश्‍वर, शैतानले मलाई जसरी यातना दिए पनि, म कहिल्यै झुक्‍नेछैनँ। म तपाईंको लागि जिउनेछु।”

त्यसपछि तिनीहरूले मलाई झट्का दिइरहे, र त्यसपछि मैले आफ्‍नो दाँत बाँधे र केही आवाज निकालिनँ। करेन्ट लागेर अन्तिमपटक म बेहोस भएपछि, मैले आफूलाई एक यस्तो स्थानमा उभिरहेको पाएँ, जहाँबाट पर मैले चीलको चुच्‍चोजस्तो पहाड देख्थेँ, जसको वरिपरि सुकेका रुखहरू, र सुक्‍खा र मरेका बाँस, फूलहरू, र घाँसपातहरू थिए। पहाड मात्रै हरियो थियो। सुक्खा र ओठ फुटेका धेरै मानिसहरू पहाडतर्फ चढिरहेका थिए, र कति मानिसहरू त तिर्खाएर बाटोमै मरे। मलाई पनि साह्रै तिर्खा लागेको थियो, र म पहाडको फेदमा पुगेपछि, मैले यसबाट पानी बगिरहेको आवाज सुनेँ। म हतारहतार पहाड चढ्न थालेँ र सङ्घर्ष गर्दै आधा बाटो पुगेपछि, आफ्‍नो शिर उठाएर चीलको चुच्‍चोबाट झरिरहेको पानी पिउन सक्षम भएँ। यो अत्यन्तै मीठो थियो! पानी पिइरहेको बेला, मैले गीत गाइरहेको सुनेँ। मैले आफ्‍नो शिर फर्काएर हेर्दा, भजन गाइरहेका सेतो वस्‍त्रधारी मानिसहरूको दुइटा पङ्क्ति देखेँ; तिनीहरू स्वर्गदूतहरूजस्तै देखिन्थे। त्यो भजनका शब्‍दहरू यस्ता थिए: “कामको यस चरणमा हामीबाट ठूलो विश्‍वास र प्रेमको आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामीले ठक्कर खान सक्छौं, किनकि यस चरणको काम पहिलेका सबै चरणहरू भन्दा फरक छ: परमेश्‍वरले जे सिद्ध पार्दै हुनुहुन्छ त्यो मानवजातिको विश्‍वास हो, जुन अदृष्य र अमूर्त दुवै छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्‍वासमा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन् र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्‍वास धारण गरिसकेका हुन्छन्। तिनीहरूले परमेश्‍वरलाई नछाडीकनै अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ। जब तिनीहरू मृत्युसम्मै आज्ञाकारी रहन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो विश्‍वास हुन्छ, तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, जुन कुरा परमेश्‍वरले सिद्ध पार्नुहुन्छ त्यो विश्‍वास हो)। त्यो भजनको आवाज उपत्यकाभरि गुन्जिरहेको थियो—त्यो स्पष्ट, सुमधुर र सुन्दर थियो। त्यो सुन्दा मलाई औधी आनन्द र प्रेरणादायी लाग्यो। त्यसपछि, म अचानक बिउँझिएँ। म अत्यन्तै धेरै पीडामा थिएँ, तर हृदयमा शान्ति छाएको थियो। मैले एउटा पुलिस थकित भएर स्याँस्याँ गर्दै कुर्सीमा आराम गरिरहेको देखेँ। अर्को पुलिसले भन्यो, “म त छक्‍कै परेँ। यो आइमाई त फलामले बनेकी रहिछे—त्यसलाई केहीले पनि मार्दैन।” यो सुनेपछि मैले परमेश्‍वरप्रति धन्यवाद र प्रशंसा चढाएँ। परमेश्‍वरले नै मलाई अन्तर्दृष्टि र अगुवाइ प्रदान गरिरहनुभएको थियो, मलाई यो दर्शन देखाउनुभएको थियो, मलाई शक्ति दिनुभएको अनि यो कठिन घडीमा डोर्‍याउनुभएको थियो। परमेश्‍वरमाथिको मेरो विश्‍वास झन् बढ्यो। पछि, एउटा पुलिसले मेरो सट र पाइन्ट भुइँमा फ्याँक्यो र उदास हुँदै गयो। म बिजुलीको झट्काले कमजोर भएकी थिएँ र उठ्न नसक्‍ने गरी पीडा भइरहेको थियो। धेरै बल लगाएपछि, मैले घस्रिँदै आफ्‍नो लुगा लगाउन सकेँ, तर मेरो भित्री लुगा कहीँ देखिएन र तिनीहरूले मेरो लुगा धुजाधुजा पारेका थिए। मैले यसद्वारा आफूलाई मुस्किलले मात्रै ढाक्‍न सक्थेँ। मलाई करेन्टको झट्काले मेरो एक तह छाला उक्‍किएको छ जस्तो लाग्यो, र मेरो लुगा टाँसिएर साह्रै दुख्थ्यो। करेन्टको झट्काले मेरो जीउमा लागेको घाउ निको हुन एक वर्षभन्दा बढी लाग्यो, र यसले छोडेका अवशिष्ट लक्षणहरू कहिल्यै निको भएनन्। त्यहाँदेखि नै, मेरो पूरै शरीर प्राय आफै बाउँडेर कामिरहन्छ—म दाँत किट्छु र पूरै शरीर गुम्ल्याएर बस्छु। राती यस्तो भयो भने, म राम्ररी सुत्‍न सक्दिनँ, र भोलिपल्‍ट म थकित र शक्तिहीन हुन्छु।

मेरो पक्राउको पाचौँ दिनमा, पुलिसले मलाई थुनाघर लगे। पाँच दिनसम्‍म केही नखाई र नपिई बस्दा, मेरो घाँटी सुक्खा भएर म केही निल्‍न नसक्‍ने भएकी थिएँ। अरू कैदीहरूले चिसो सुक्खा बासी भात ल्याएर चपस्टिकले मेरो मुख खोलेर जबरजस्ती कोचारिदिए र चिच्याउँदै भने, “छिटो गरेर निलिहाल्, नत्र तेरो हालत के हुनेछ, हेरौँला!” मलाई त काँडा निलेजस्तै भयो—घाँटी यति दुख्यो कि आँसु नै झर्‍यो। त्यहाँ त्यस्तो अपमान र दुर्व्यवहार सामान्य कुरा थियो। एक दिन नाइके कैदीले कहाँबाट एउटा कैँची ल्याएछ, त्यसपछि मलाई भुइँमा सुताएर अरू कैदीहरूलाई कस्तो शैलीमा कपाल काटिदिऊँ भनेर सोध्यो। तिनीहरूमध्ये एक जनाले यसो भन्यो, “त्यो धर्म मान्‍ने आइमाई हो, त्यसको कपाल बोक्सीको जस्तो बनाइदिनुहोस्!” नाइके कैदीले तुरुन्तै मेरो चुल्ठो काटेर फ्याँकिदियो, र अरूचाहिँ मेरो कपाल बिगार्देको देखेर उत्साहित हुँदै हाँस्‍न थाले। तिनीहरूमध्ये एक जनाले यसो भन्यो, “त्यसलाई साधुनीको जस्तो कपाल बनाइदिनुहोस्!” नाइके कैदीले मेरो कपालको धेरै जसो भाग काटेर फ्याँकिदियो जसले गर्दा तालु देखिन थाल्यो, र अरूहरू फेरि पनि मरीमरी हाँस्‍न थाले। यो अपमान मेरो लागि साह्रै असहनीय थियो, र मैले आँसु रोक्‍नै सकिनँ। हतकडीले झुण्ड्याएको र करेन्ट लगाइएकोले मैले आफ्‍नो हातखुट्टा उचाल्‍न सक्दिनथेँ, र हिँड्न खोज्दा साह्रै खुट्टा दुख्थ्यो। तैपनि मैले अरूसँग दैनिक कसरत गर्नुपर्थ्यो, खुट्टा धेरै माथि उठाउँदै र भुइँमा बजार्दै, ठूलोठूलो आवाज निकाल्नुपर्थ्यो। यसरी हलचल गर्दा हरेकपटक नै साह्रै पीडा हुन्थ्यो। मेरो पूरै शरीर कमजोर हुन्थ्यो र जाँगर हराउँथ्यो अनि अरूको चालअनुसार कसरत गर्न सक्दिनथेँ, त्यसकारण नाइके कैदीले मेरो शरीर तानेर डाम बनाइदिन्थ्यो। महिनावारीको बेला अझै असहज हुन्थ्यो। कुनै ट्वाइलेट पेपर थिएन, मसँग कुनै अन्डरवेर थिएन, र नाइके कैदीले मलाई जेलमा लगाउने एउटा पोसाक मात्रै दिएको थियो, जसले गर्दा मेरो पाइन्टमा रगत लागेको थियो र मैले त्यो फेर्न सकिनँ। पोसाकको कपडा पनि निकै खस्रो थियो, त्यसकारण रगत सुकेपछि यो निकै कडा बन्यो। मेरो योनाङ छेउछाउ झट्का लगाइएको घाउ निको भएको थिएन, त्यसकारण हिँड्दा साह्रै दुख्थ्यो र हामीले कसरत गर्दा, लुगाले ती घाउमा पाछ्थ्यो, जुन चक्‍कुले काटेको जस्तै दुख्थ्यो। सबैभन्दा खराब कुरा त टोइलेट पेपर नहुनु नै थियो, मसँग आफूलाई सफा गर्न चिसो पानी प्रयोग गर्नेबाहेक अरू कुनै विकल्‍प हुँदैनथ्यो। विश्‍वास गर्नुभन्दा पहिले मलाई रक्तस्रावको रोग थियो, र चिसो पानीको कारण त्यो बल्झिन्छ कि भन्‍ने मलाई चिन्ता थियो। ती दिनहरूमा, म नरोई बस्न सक्दिनथेँ र म जिउँदै निस्किँदिनँ होला जस्तो लाग्थ्यो। यो सबै कहिले समाप्त हुन्छ मलाई थाहा थिएन, र म त्यो भूतहरूको जेलमा थप एक क्षण पनि बस्‍न चाहँदिनथेँ। मेरो कष्ट निश्‍चित बिन्दुमा पुगेपछि, मैले फेरि मृत्युबारे सोचेँ। अनि, मेरो हृदय परमेश्‍वरबाट टाढा गइरहेको छ भन्‍ने महसुस भयो, र मैले प्रार्थना गरेँ र मलाई आफ्‍नो परिस्थितिबाट पार पाउन अगुवाइ गर्नुहोस् भनी परमेश्‍वरसित अनुरोध गरेँ। त्यसपछि एक दिन, मलाई परमेश्‍वरका वचनहरूको यो खण्ड याद आयो: “जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्‍वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्‍न सक्‍ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्‍वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्‍वास हो(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ)। परमेश्‍वरका वचनहरूमार्फत मैले के बुझेँ भने, उहाँले मलाई जाँच्‍नका लागि, ममा उहाँप्रति साँचो विश्‍वास छ कि छैन भनेर हेर्नका लागि उहाँले मलाई ठूलो रातो अजिङ्गरको सतावट अनुभव गर्न लगाउनुभएको हो। यसले गर्दा मलाई अय्‍यूब र पत्रुसको बारेमा याद आयो। अय्यूबलाई शैतानले आक्रमण गरेर यातना दिएको थियो—तिनको पूरै जीउभरि खटिरा निस्केको थियो, तिनी अत्यन्तै ग्रसित भए, र तिनी आफ्‍नो जिउ माटोको खपटाले कन्याउँदै खरानीमा नाङ्गै बस्थे। तैपनि, तिनले परमेश्‍वरलाई दोष दिएनन्, बरु उहाँको नाउँको प्रशंसा गरिरहे। परमेश्‍वरको निम्ति पत्रुसलाई उँधोमुन्टो क्रूसमा टाँगियो र तिनी मृत्युसम्‍मै समर्पित हुन सके, यसरी तिनले सानदार गवाही दिए। तिनीहरू दुवैले आफ्‍नो कष्टको माझबाट परमेश्‍वरलाई गवाही दिए। तिनीहरूको तुलनामा, मेरो विश्‍वास साँच्‍चै नै निकै थोरै थियो। मैले यसबारेमा जति विचार गरेँ, म त्यति नै लज्‍जित भएँ, त्यसकारण मैले मनमनै प्रार्थना गरेँ: “हे परमेश्‍वर, कष्ट जति नै भए पनि, म तपाईंलाई नै पछ्याउन चाहन्छु! ठूलो रातो अजिङ्गरले मलाई जति यातना दिन्छ, म त्यति नै तपाईंमा भरोसा गर्न र आफ्‍नो गवाहीमा दह्रिलो गरी खडा हुन अनि शैतानलाई लज्जित पार्न चाहन्छु!”

त्यसपछि एक दिन पुलिसहरूले मेरो श्रीमान बोलाए। तिनीहरूले यातना दिएर मलाई मान्छेजस्तो समेत नदेखिने अवस्थामा पुर्‍याएको देखेर, तिनी त्यही रुन थाले र भने, “तिमीले कसरी यस्तो कष्ट सहन सक्यौ? प्रमुख झुले भन्‍नुभएको, तिमीले आफूलाई थाहा भएको कुरा भन्यौ भने, हामी घर जान पाउछौँ।” अझै नबोलेको देखेर, प्रमुख झुले मेरी छोरीलाई कल गर्‍यो। उसले रुँदै भनी, “आमा, कहाँ हुनुहुन्छ? शिक्षकहरू र स्कूलका अरू बच्‍चाहरूले मलाई पन्थ अगुवाकी छोरी भन्छन्। तिनीहरू सबैले मलाई हेप्छन् र बेवास्ता गर्छन्। म हरेक दिन कक्षाको कुनामा रुँदै लुकेर बस्छु...।” त्यो सुन्‍नै नसकेर मैले कानबाट फोन हटाएँ। मलाई मुटुमा छुरा गाडिएझैँ अनुभव भयो र आँसु रोक्‍नै सकिनँ। प्रमुख झुले यही मौका छोपी भन्यो, “हामीलाई भने पुगिहाल्छ। हामीलाई मण्डलीको पैसा राखेको एउटा घर बता, एउटा मात्र, त्यसपछि तँ आफ्‍नो परिवारसँग भेट्न पाउँछस्।” त्यो बेला मलाई अलिक कमजोर महसुस भइरहेको थियो। यदि मैले कहिल्यै केही भनिनँ भने, मेरो श्रीमान र छोरी पनि मुछिनेछन्, त्यसकारण सायद मैले त्यति महत्त्वपूर्ण नरहेका केही जानकारीहरू दिँदा होला भन्‍ने लाग्यो। तर त्यसपछि मलाई यो त परमेश्‍वरको इच्‍छाअनुरूप छैन भन्‍ने महसुस भयो, मैले तुरुन्तै प्रार्थना गरेँ, र परमेश्‍वरलाई मेरो हृदयको रक्षा गर्न अनुरोध गरेँ ताकि मैले शैतानको यो परीक्षा पार गर्न सकूँ। त्यसपछि मलाई परमेश्‍वरले भन्‍नुभएको कुरा याद आयो: “मेरा मानिसहरू मेरो निम्ति मेरो घरको ढोकाको सुरक्षा गर्दै हर समय शैतानका धूर्त युक्तिहरूप्रति सावधान रहनुपर्छ गर्नुपर्छ … ताकि शैतानको पासोमा पर्न नपरोस्, जुन बेला पछुतो गर्नको लागि धेरै ढिलो भइसकेको हुनेछ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय ३)। परमेश्‍वरका वचनहरूको अन्तर्दृष्टि ठीक समयमा आयो। मलाई परमेश्‍वरलाई धोका दिन लगाउन शैतानले मेरो परिवारप्रतिको मेरो प्रेम प्रयोग गर्ने प्रयास गरिरहेको छ भन्‍ने अचानक महसुस भयो। म यसको जालमा पर्नु हुँदैनथ्यो—मैले मेरो परिवारको लागि ब्रदर-सिस्टरहरूलाई धोका दिनु हुँदैनथ्यो। त्यसपछि मलाई परमेश्‍वरका यी वचनहरू याद आयो: “तैँले सत्यताको लागि कष्ट भोग्‍नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ र अझै बढी सत्यता प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टमार्फत गुज्रनैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्‍नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्‍नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। जब मैले परमेश्‍वरका वचनहरू मनन गरेँ, मलाई ठूलो पछुतो र आत्मग्‍लानि भयो। मलाई शैतानले अय्यूबलाई गरेको परीक्षा, तिनले आफ्‍ना छोराछोरी र सबै सम्पत्ति गुमाएको, तैपनि तिनले परमेश्‍वरलाई दोष नदिएको घटना याद आयो। तिनले परमेश्‍वरमाथिको आफ्‍नो विश्‍वास कायम राखे र उहाँको लागि सुन्दर र सानदार गवाही दिए। तर प्रहरीबाट भएका परीक्षाहरू सामना गर्दा, म मेरा ब्रदर-सिस्टरहरूलाई बेचेर आफ्‍नो परिवारका हितहरू रक्षा गर्न र परमेश्‍वरलाई पिठ्युँ फर्काउन तयार भएँ। ममा साँच्‍चै विवेकको कमी थियो; म अति स्वार्थी र घृणित थिएँ, र परमेश्‍वरलाई चोट पुर्‍याउने व्यक्ति थिएँ। जबजब म हैरान हुन्थेँ, तबतब परमेश्‍वर मलाई अगुवाइ गर्दै र सुरक्षा दिँदै, आफ्‍ना वचनहरूद्वारा मलाई विश्‍वास र शक्ति दिँदै मेरो साथमा हुनुहुन्थ्यो। मप्रतिको उहाँको प्रेम वास्तविक थियो, र मैले निर्णय गर्ने बेलामा, मेरो श्रीमान र छोरीको लागि अरू मण्डली सदस्यहरूलाई धोका दिनु हुँदैनथ्यो। हरेकको जीवनको नियति परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको हुन्छ, र मेरो श्रीमान र छोरीको नियति परमेश्‍वरको हातमा थियो, शैतानले त्यसको निर्णय गर्न पाउँदैनथ्यो। मैले सबै कुरा परमेश्‍वरलाई सुम्पनुपर्छ भन्‍ने मलाई थाहा थियो। यसबारेमा त्यसरी विचार गर्दा, मेरो परिवारले सामना गरिरहेको कुराले मलाई अशान्ति भएन, र मैले देहलाई पन्छ्याएर परमेश्‍वरको गवाहीमा दह्रिलो गरी खडा हुने अठोट गरेँ।

मलाई पक्राउ गरिएको २८ औँ दिनमा, पुलिसले मलाई र गुइलियानलाई थुनाकेन्द्र पठाए, र हामीलाई यौन रोग लागेका वेश्‍याहरूसँग थुने। त्यो पुलिससमेत नजिक जान मन नगर्ने कोठा थियो। कतिपय कैदीहरूको जीउभरि खटिरा आएको थियो र तिनीहरूको छाला कुहेर झर्न थालेका थिए, र कतिको योनाङ्गमा घाउ भएको थियो जसले गर्दा तिनीहरूलाई सहनै नसकिने पीडा भइरहेको थियो; तिनीहरूले आफैलाई फोहोर तन्‍नाले ढाकेका थिए, र कङ्क्रिटको ओछ्यानमा तलमाथि गरिरहन्थे। कुनै औषधी उपलब्‍ध थिएन, त्यसकारण तिनीहरूले आफ्‍नो पीडा कम गर्न नुन र मञ्‍जन मात्रै प्रयोग गर्न सक्थे। तिनीहरूले धोएर बाहिर सुकाउन राखेका कतिपय अन्डरवेयरहरूका सिउनी भित्रबाट बाहिर गङ्गटो हिँडिरहेका हुन्थे। मैले मनमनै सोचेँ, “यो मान्छे बस्‍ने ठाउँ होइन; यो त रोगको खाडल हो! यदि यहाँ हुँदा मलाई कुनै यौन रोग लाग्यो, वा एड्स भयो भने म कसरी जिउने?” डर लागेको कारण, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ र मलाई रक्षा र अगुवाइ गर्नुहोस् भनी अनुरोध गरेँ। त्यसपछि मलाई उहाँले भन्‍नुभएको कुरा याद आयो: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय १)। हो, सबै कुरा परमेश्‍वरकै हातमा छन्, र यदि उहाँले अनुमति दिनुभएन भने, यी महिलाहरूसँग बस्दा पनि मलाई सङ्क्रमण हुने थिएन; यदि मलाई साँच्‍चै सङ्क्रमण भयो भने, त्यो मैले अनुभव गर्नैपर्ने कुरा हुने थियो। यी कुराहरू सोचेपछि मेरो डर हटायो र मैले शान्त भएर परिस्थिति सामना गर्न सकेँ। त्यसपछिका छ महिनासम्‍म, मैले यी कैदीहरूसँग सुत्‍ने र खानपान गर्ने गरे पनि, परमेश्‍वरको सुरक्षाले गर्दा मलाई कुनै सङ्क्रमण भएन।

थुनाकेन्‍द्रमा हुँदा, पुलिसहरूले मसँग नजिक भएर मण्डलीको जानकारी लिनका लागि दुई जासूसहरू नियुक्त गरेका थिए। थुनाकेन्द्रमा राखिएको केही समयपछि नै, अर्की कैदीले मसँग आफूलाई नजिक तुल्याउने प्रयास गर्न थाली, उसले आफू पनि विश्‍वासी बन्‍न चाहेको, र मण्डलीका अगुवा वा सेवकहरूलाई निकै आदर गर्छु भनेर भनी, त्यसपछि मलाई म अगुवा हुँ कि भनेर सोधी। त्यस बेला म तुरुन्तै सतर्क भइहालेँ र मैले तुरुन्तै विषय परिवर्तन गरेँ। त्यसपछि, उसले परमेश्‍वरमाथिको विश्‍वासको बारेमा कुरा उठाउनेबित्तिकै, म कुराकानीको विषय बदल्थेँ, त्यसकारण उसले मबाट केही पनि पाइन। त्यसको केही समयपछि नै ऊ थुना केन्‍द्रबाट गइहाली। त्यसको केहीपछि, म पुरुषहरूको कोठा छेउबाट गइरहेको बेला, एउटा कैदीले मतिर एउटा कागजको टुक्रा फाल्यो। यसमा सुसमाचार प्रचार गरेकोले ऊ पक्राउ परेको र डेढ वर्षको जेल सजाय भएको भनी लेखिएको थियो। उसले हामीले एकअर्कालाई सहयोग गर्न सकौँ भन्‍ने आशा गरेको, र मैले उसको पत्रको जबाफ दिने अपेक्षा रहेको पनि भनिएको थियो। मैले ऊ साँच्‍चै विश्‍वासी हो कि होइन भनेर सोचिरहेकी थिएँ। उसको पत्रको जबाफ दिने कि नदिने भनेर हिचकिचाइरहेको बेला, परमेश्‍वरका वचनहरूको एउटा खण्ड मनमा आयो: “तिमीहरू सँधै जागा र पर्खिरहनुपर्छ, र तिमीहरूले मेरो सामु अझै बढी प्रार्थना गर्नुपर्छ। तिमीहरूले शैतानका विभिन्‍न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई पहिचान गर्नुपर्छ, आत्माहरूलाई चिन्‍नुपर्छ, मानिसहरूलाई जान्नुपर्छ, र हरेक प्रकारका मानिसहरू, घटनाहरू, र थोकहरूलाई छुट्याउन सक्‍नुपर्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १७)। परमेश्‍वरका वचनहरू मेरो लागि तत्‍कालीन चेतावनीका घण्टी थिए। के यो शैतानको एउटा युक्ति हुन सक्छ? त्यो बेला मैले यस कुरालाई स्पष्ट रूपमा देख्‍न सकिनँ, त्यसकारण मैले परमेश्‍वरलाई बारम्‍बार प्रार्थना गरिरहेँ, र यो कुरा प्रकट गरिदिन अनुरोध गरिरहेँ। एक हप्तापछि सबै जना कैदीहरू आँगनमा भेला भएको बेला, मैले त्यस मानिसलाई देखेँ। उसको कपाल खौरिएको थिएन त्यसकारण म अन्योलमा परेँ—सबै पुरुष कैदीहरूलाई जेल सजाय भएपछि तिनीहरूको कपाल खौरिएको हुन्छ, त्यसकारण किन उसको कपाल अझै बाँकी छ? यस विषयमा मनन गरिरहेको बेला, मेरो छेउकी एक महिला कैदीले मलाई थपथप्याउँदै उसलाई देखाएर प्रसन्‍न शैलीमा भनी, “त्यो मान्छे त प्रहरी हो, उसले पहिले मेरो सेवाको लागि पैसा दिएको थियो।” मलाई तुरुन्तै ऊ पुलिस हो, र मलाई कुरा खोल्न लगाउन मेरो नजिक हुने प्रयास गरिरहेको थियो भन्‍ने थाहा भयो। ठूलो रातो अजिङ्गरसित हरकिसिमका युक्तिहरू रहेछन् भनेर मैले साँच्‍चै देखेँ—यो अत्यन्तै खराब र घृणास्पद छ! मैले परमेश्‍वरलाई उहाँको सुरक्षाको लागि हृदयबाट धन्यवाद दिएँ, जसले गर्दा मैले बारम्‍बार शैतानका चलाकीहरू देख्‍न, र ती चलाकीहरूमा पर्नबाट रोक्‍न सकेकी थिएँ।

सन् २००७ को जनवरीमा, पुलिसले मलाई गुइलियान र लागूऔषधका दोषी अरू तीन जनालाई श्रम शिविर पठाए। त्यस दिन मैले अनुभव गरेको अपमान म कहिल्यै बिर्सिँदिनँ। हामी पुग्दा, मध्यदिन भएको थियो र अलिअलि हिउँ परिरहेको थियो; अरू सयौँ कैदीहरू खानाको लागि श्रम शिविरको आँगनमा लाइन बसिरहेका थिए। पुलिसहरू अँध्यारो अनुहार लिएर हामीकहाँ आए र लागू औषधका दोषीहरूलाई केही खाना लिन जाओ भनी भने, र त्यहाँ गुइलियान र म मात्रै बाँकी भयौँ। त्यसपछि तिनीहरूले हामीलाई सबै लुगा फुकाउन आदेश दिए। ती सबै कैदीहरूले हेरिरहेको बेला तिनीहरूले हाम्रो खानतलासी पो गर्न लागे कि भनेर सोचेँ। मैले लुगा नफुकाएपछि, दुई जना पुलिसहरूले हामीलाई आक्रमण गरे र म र गुइलियान दुवैको जबरजस्ती लुगा फुकाइदिए। मेरो लागि त, ती सबै मानिसहरूका अघि नाङ्गै पारिनु मार्नुभन्दा पनि खराब अवस्था थियो। हरेक आँखाले हामीलाई हेरिरहेका थिए, र मैले शिर निहुराएँ, हातले छाती छोपेँ, र टुक्रुक्‍क बसेँ। एउटा पुलिसले मलाई पक्रेर उठायो र मेरो हात टाउकोपछाडि लगाएर दुबै खुट्टा फारेर सबै कैदीहरूलाई हेर्न, अनि ठिङ्ग्रिएर बस्‍न लगायो। गुइलियानले पनि त्यसै गर्नुपर्‍यो, र मैले उनको पूरै शरीर काँपिरहेको देखेँ। उनी यति दुब्‍ली भइसकेकी थिइन् कि उनको हाड र छाला मात्र बाँकी थियो, र उनको शरीरमा केही खतहरू थिए—उनलाई पनि धेरै यातना दिइएको थियो होला। पुलिसहरूले हामीतिर देखाउँदै अरूलाई चिच्याउँदै भने, “यी दुई जना सर्वशक्तिमान्‌ परमेश्‍वरमा विश्‍वास गर्छन्। यदि तिमीहरू कोही विश्‍वासी बन्यौ भने, तिमीहरूको हालत पनि यस्तै हुनेछ!” यसले गर्दा कैदीहरूमाझ धेरै खासखुस चल्‍न थाल्यो, र तिनीहरूमध्ये कतिले गिल्‍ला गर्दै भने, “तिमीहरूको परमेश्‍वर आएर किन तिमीहरूलाई बचाउँदैन?” हामीले सयौँ मानिसहरूका अगाडि यसरी १० मिनेटसम्‍म ठिङ्ग्रिएर बस्‍नुपर्‍यो। मैले त्यस्तो अपमान पहिले कहिल्यै भोगेकी थिइनँ, र म नरोई बस्‍नै सकिनँ। त्यहाँ पर्खाल भएको भए, म त्यसमा टाउको ठोक्‍काएर आफ्‍नो जीवन अन्त्य गर्न चाहन्थेँ। त्यसपछि मलाई मण्डलीको एउटा भजन याद आयो: “दियाबलसका छलहरू बर्बर, दुष्ट र साँच्‍चै अधम छन्। दियाबलसको अनुहार स्पष्ट रूपमा देखेपछि, म ख्रीष्‍टलाई अझै बढी प्रेम गर्छु। म कहिल्यै पनि शैतानसामु झुक्ने छैन वा व्यर्थको जीवन जिउने छैन। म सबै कष्ट, कठिनाइ र पीडा सहनेछु अनि काला रातहरू भएर गुज्रनेछु। परमेश्‍वरलाई सान्त्वना दिन, म विजयी गवाही दिने छु र शैतानलाई लाजमा पार्ने छु” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, अन्धकार र दमनबीच खडा हुँदा)। भजनका यी शब्‍दहरूबारे सोच्दा, मलाई प्रभु येशू क्रूसमा टाँगिएको घटना याद आयो—रोमी सेनाहरूले उहाँलाई कुटे, अपमान गरे, र उहाँको अनुहारमा थुके। परमेश्‍वर पवित्र हुनुहुन्छ, त्यसकारण उहाँले त्यस्तो कष्ट सहनुनपर्ने हो, तर मानवजातिलाई मुक्ति दिन उहाँले चरम पीडा र अपमान सहनुभयो, र अन्त्यमा हाम्रो लागि उहाँ क्रूसमा टाँगिनुभयो। उहाँले अत्यन्तै ठूलो अपमान र कष्ट सहनुभयो। तर भ्रष्ट मानवको रूपमा, म अपमानित भएको कारण मर्न चाहन्थेँ र मसँग कुनै गवाही थिएन। परमेश्‍वरलाई पछ्याएकोमा मलाई भूतहरू र शैतानले अपमानित गरेका थिए—यो धार्मिकताको लागि गरिएको सतावट थियो, र महिमावान्‌ कुरा थियो! कम्युनिस्ट पार्टीले मलाई जति धेरै अपमानित गर्‍यो र सतायो, त्यति नै मैले यो कति घृणित र दुष्ट छ भनेर देख्‍न सक्थेँ, र त्यति नै यसलाई म इन्कार गर्न र त्याग्‍न सक्थेँ, अनि परमेश्‍वरप्रतिको गवाहीमा दह्रिलो गरी खडा हुने मेरो सङ्कल्पमा अडिग रहन सक्थेँ।

त्यसपछि जेलका दुई पहरेदारहरूले हामीलाई लगेर भर्‍याङको छेउमा उभाउन लगाए, र त्यो बेला अरू दुई कैदीहरू दौडँदै आएर हामीलाई मुक्‍का र लात हान्‍न थाले, मेरो कपाल तानेर पर्खालमा टाउको ठोक्‍काइदिए, जसले गर्दा मेरो कानै झननन भयो। केही छिनपछि नै मैले केही सुन्‍न सकिनँ र मलाई मेरो टाउको चिरा परेजस्तो लाग्यो। गुइलियानको आँखा, नाक, मुख, र कानबाट रगत आइरहेको थियो। कुटपिटपछि, कैदीहरूले हामीलाई बालकुनीमा तान्दै लगेर दण्डस्वरूप उभिन लगाए। त्यो बेला हिउँ धेरै परिरहेको थियो, चिसो बतास चलिरहेको थियो, र राती भएको कारण तापक्रम माइनस सातआठ डिग्रीभन्दा कम भएको थियो। हामीले लामो अन्डरवेयर मात्रै लगाएका थियौँ, त्यसकारण चिसोले कामिरहेका थियौँ। त्यसरी उभिँदा सहनै नसकिने अवस्थामा पुगेपछि मलाई आफू उभिएको शैली बदल्न मन लाग्यो, त्यसकारण मैले मेरो खुट्टा अलिकति सारेकी थिएँ, तर नाइके कैदी झम्टिएर कुटुँलाझैँ गरी आई। भोलिपल्‍ट, चिसोले गर्दा मेरो पूरै शरीर दुखिरहेको थियो र मेरो मुटुले काम नगर्लाजस्तै भएको थियो। खुट्टामा घोचेको जस्तो पीडा हुन्थ्यो। त्यो अनुभव मृत्युभन्दा पनि खराब थियो, र हरेक मिनेट कटाउन निकै कठिन हुन्थ्यो। पीडा चरम अवस्थामा पुगेपछि, मलाई साँच्‍चै बालकुनीबाट हाम फालेर जीवन अन्त्य गर्न मन लाग्यो। तर त्यस बेला मलाई अचानक यसरी सोच्‍नु परमेश्‍वरको इच्‍छाअनुरूप होइन भन्‍ने महसुस भयो, त्यसकारण मैले हतारहतार उहाँलाई पुकारेँ, “हे परमेश्‍वर, म अब सहनै नसक्‍ने अवस्थामा पुगेकी छु। म यो अब साँच्‍चै सहन सक्दिनँ—बिन्ती छ मलाई विश्‍वास दिनुहोस्, ताकि मैले यो कष्ट सहन सकूँ।” प्रार्थना गरेपछि मलाई परमेश्‍वरका वचनहरूको एउटा भजन याद आयो: “यी आखिरी दिनहरूमा तिमीहरूले परमेश्‍वरको गवाही दिनैपर्छ। तिमीहरूका दु:ख-कष्टहरू जतिसुकै ठूलो भए पनि तिमीहरू अन्त्यसम्मै हिँड्नुपर्छ, र तिमीहरूको अन्तिम सासमा पनि तिमीहरू परमेश्‍वरप्रति विश्‍वासयोग्य रहनुपर्छ र आफुलाई उहाँकै कृपामा छोड्नुपर्छ; केवल यो मात्रै परमेश्‍वरलाई साँचो रूपले प्रेम गर्नु हो, र यो मात्र बलियो र जोडदार गवाही हो(थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्, तिम्रो कष्ट जति ठूलो भए पनि परमेश्‍वरलाई प्रेम गर्ने प्रयास गर)। परमेश्‍वरले मलाई सधैँ अगुवाइ गरिरहनुभएको, वास्ता गरिरहनुभएको, र हेरिरहनुभएको छ भन्‍ने महसुस भयो। आफूले अनुभव गरेको कष्ट र अपमानको बारेमा सोच्दा, मलाई के महसुस भयो भने, परमेश्‍वरले मलाई अगुवाइ नगर्नुभएको भए वा उहाँका वचनहरूले मलाई विश्‍वास र शक्ति नदिएका भए, मैले ती भूतहरूको दुर्व्यवहार सहन सक्दिनथेँ। त्यो दिनसम्‍म कसरी जिउने भनेर परमेश्‍वरले मलाई देखाउनुभएको थियो, र मैले शैतानको अघि उहाँको गवाही दिन सकूँ भन्‍ने उहाँले आशा गर्नुभएको थियो। तर अहिले, आफूलाई थोरै शारीरिक कठिनाइबाट बचाउनका लागि, म आफ्‍नो जीवन समाप्त गर्न चाहन्थेँ। म अत्यन्तै कमजोर थिएँ। यो कसरी परमेश्‍वरको गवाही भयो र? के मर्नुको अर्थ म शैतानका युक्तिहरूमा परेको भन्‍ने हुँदैनथ्यो र? म मर्नु हुँदैनथ्यो, बरु आफ्‍नो गवाहीमा दह्रिलो भई खडा भएर शैतानलाई लज्‍जित पार्नुपर्थ्यो। यसबारेमा यसरी सोच्दा, थाहै नपाई मलाई जाडो लाग्‍न छोड्यो, र पूरै शरीर न्यानो लाग्‍न थाल्यो।

नाइके कैदीले हामीलाई तेस्रो दिनको मध्य दिनपछि मात्रै उभिन छोड्ने अनुमति दिई। गुइलियान र मेरो दुवै जनाको खुट्टा साह्रै सुन्‍निएका थिए र त्यहाँ रगत जमेर ढुङ्गै भएजस्तो लाग्थ्यो। हाम्रो खुट्टाभरि रगतका नसाहरू देखिन्थे र हाम्रो पाइतालामा साह्रै पीडा भइरहेको थियो, तर मैले अझै पनि परमेश्‍वरलाई धन्यवाद दिएँ। त्यस्तो चिसो र हिउँ परेको मौसममा, गुइलियान र म केही पनि खान वा पिउन नपाई दुई दिन, दुई रातसम्‍म बालकुनीमा उभियौँ, तर हामी कठ्याङ्ग्रिएर मरेनौँ, र हामीलाई सर्दीसमेत लागेन। यो परमेश्‍वरको सुरक्षा थियो।

श्रम शिविरमा समय बिताउँदा, हरेक दिन मैले बाह्र घण्टाभन्दा बढी र २२ घण्टासम्‍म कडा परिश्रम गर्नुपर्थ्यो, र मैले आफ्‍नो काम पूरा गर्न नसक्दा मलाई प्राय नाइके कैदीले कुटपिट गर्ने र दण्ड दिने गर्थी। तर परमेश्‍वरले मलाई अन्तर्दृष्टि र मार्गनिर्देशन दिइरहनुभयो, जसले गर्दा मैले नर्कजस्तो कैदी जीवनको डेढ वर्ष पार गर्न सकेँ। यो पूरै समय मलाई हेरचाह र सुरक्षा गर्दै परमेश्‍वर मेरो साथमा रहनुभयो। मलाई धेरैपटक यातना दिइयो र अपमान गरियो, यहाँसम्‍म कि मलाई आफ्‍नो जीवन अन्त्य गर्ने मन भयो, तैपनि परमेश्‍वरका वचनहरूले मलाई विश्‍वास र शक्ति दिइरहे, हरेक आँधीको माझबाट मलाई डोर्‍याइरहे। परमेश्‍वरले मलाई यो जीवन दिनुभएको छ! ठूलो रातो अजिङ्गरको दमन अनुभव गरेर मैले के सिकेँ भने हामीले साँचो रूपमा भरोसा गर्न सक्‍ने भनेको परमेश्‍वर मात्रै हुनुहुन्छ; उहाँले मात्रै मानवजातिलाई साँचो रूपमा प्रेम गर्नुहुन्छ, र उहाँले मात्रै हामीलाई शैतानको भ्रष्टता र विनाशबाट बचाउन, अनि हामीलाई ज्योतिमा जिउन डोर्‍याउन सक्‍नुहुन्छ। म परमेश्‍वरलाई धन्यवाद दिन्छु!

अघिल्लो: ६. परमेश्वरविरुद्ध प्रतिरक्षात्मक हुनुको परिणाम के हुन्छ

अर्को: ८. मण्डलीहरूको बाँडफाँडबाट सिकेका पाठहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६५. अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्