७६. क्रुर यातनाको एक रात
सन् २००६, अप्रिल महिनाको एक दिन म इसाईहरूको एउटा समूहलाई सर्वशक्तिमान् परमेश्वरका राज्यको सुसमाचार सुनाउन गएँ, तर तिनीहरूले स्वीकार गरेनन्। पछि, म फेरि तिनीहरूलाई सुसमाचार सुनाउन गएँ, तर मलाई कुकुर लगाएर खेदाए। धेरै दिनपछि, म काममा रहेको बेला, सादा पोसाकका दुई प्रहरी मैले काम गर्ने ठाउँमा आए र उनीहरूलाई म त्यतिखेर बस्ने गरेको ठाउँमा लैजान दबाब दिए। मलाई लाग्यो ती इसाईहरूले मेरो विरुद्ध उजुरी दिएको हुनुपर्छ। मलाई चिन्ता र डर लाग्यो—मलाई थाहा थियो मैले आफ्नो अपार्टमेन्टमा राखेको परमेश्वरका वचनको पुस्तक भेटे भने, मलाई निश्चय नै पक्राउ गर्नेछन्। मैले परमेश्वरलाई निरन्तर प्रार्थना गरिरहेँ, “हे परमेश्वर, तिनीहरूले आज मलाई साँच्चिकै पक्राउ गरे भने, यो तपाईंकै अनुमतिले हुनेछ। म आफूलाई तपाईंकै हातमा सुम्पन तयार छु। बिन्ती मेरो रक्षा गर्नुहोस्, मलाई शक्ति र आस्था दिएर आफ्नो गवाहीमा दृढ रहन मार्गदर्शन गर्नुहोस्।” म बस्ने ठाउँ आइपुगेपछि, कुनै परिचय नबताई मेरा व्यक्तिगत सामानहरू खानतलासी गर्न थाले, अन्तमा वचन देहमा देखा पर्नुहुन्छ पुस्तकको एक प्रति, एउटा सुसमाचार पुस्तक, र एउटा सिडी प्लेयर भेटे। त्यसपछि, मलाई काउन्टीको सार्वजनिक सुरक्षा विभाग लगे।
एउटा अधिकारीले मलाई सोध्यो: “के तँ सर्वशक्तिमान् परमेश्वरको विश्वासी होस्? कति मानिसलाई धर्म परिवर्तन गराइस्? तेरो नेता को हो?” मैले जवाफ दिएँ: “हो, म सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छु। तर हामी आफ्नै तरिकाले आस्थाको अभ्यास गर्छौँ र सुसमाचार सुनाउँछौँ। हाम्रो नेताहरू छैनन्।” यो सुनेर उ धेरै रिसायो र मेरो पेटमा जोडले लात्तीले हान्यो, म लडखडडिँदै पर हुत्तिएँ। मलाई थाहा थियो, पक्राउ परेपछि सम्भवत: म यातनाबाट उम्कन सक्दिनँ—परमेश्वरको विश्वासी र अनुयायी भएर चीनमा बस्ने हामी सबैले यस्तो दिन भोग्ने निश्चित छ। यो कठिन परीक्षाबाट पार पाउन मैले परमेश्वरमा भर पर्नु थियो—मैले सैतानसामु घुँडा टेक्नु हुँदैनथ्यो। त्यो अधिकारीले मलाई द्वेषपूर्णतरिकाले केरकार गर्दै भन्यो: “तँ कहिले मण्डलीमा सामेल भइस्? तँलाई ती पुस्तक कसले दियो? ऊ कहाँ बस्छ?” मैले जवाफ नदिएपछि, उसले मेरो हात पछाडि लगेर फलामको कुर्सीमा हतकडी लगायो। त्यही बेला, सार्वजनिक सुरक्षा विभाग प्रमुख वाङ्ग भित्र आएर चिच्याउँदै भने: “तिमीले के गरेको? उसको हतकडी खोलिहाल!” त्यसपछि, मुस्कुराउँदै उनी मेरो सामु आए, मेरो काँध थपथपाए, र ईमानदार भएजस्तो गरेर भने: “हेर बुढा मान्छे, म तिम्रो राम्रो होस् भन्ने मात्र चाहन्छु। मलाई थाहा छ, तिम्रालागि काम सजिलो छैन। तिमीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीबारे थाहा भएको सबै बतायौ भने तिमीले हजारौँ युआन इनाम पाउनेछौ।” मैले यो सैतानको धूर्त षड्यन्त्र हो भन्ने बुझिहालेँ: त्यो अधिकारीले मलाई पैसाको इनाम प्रस्ताव गरेर मण्डलीको जानकारी दिन, परमेश्वरप्रति विश्वासघात गर्न, र ब्रदर-सिस्टरहरूलाई बेच्न लोभ्याउने प्रयास गर्दै थियो। मैले मनमनै सोचेँ: “तिमीहरूले मलाई सुनको पहाड नै दिने प्रस्ताव गरे पनि म झुक्ने छैन। मण्डलीका हितमा कहिल्यै विश्वासघात गर्ने छैन।” म आश्वस्त नभएको देखेर उसले भन्यो: “आफूलाई थाहा भएको कुरा मात्रै मलाई भन्यौ भने भविष्यमा हामीले पाउने लाभको एक हिस्सा पनि तिमीलाई दिउँला।” मलाई उप्रति निकै घृणा लाग्यो र उसले भनेका हरेक कुरालाई वेवास्ता गरेँ। मैले केही नभन्ने बुझेपछि ऊ तुरुन्त दुष्ट बन्यो। उसले क्रोधित हुँदै कडा स्वरमा भन्यो: “यसलाई आफ्ना लागि के राम्रो भन्ने थाहै छैन। यसलाई जे गर्नुपर्ने हो गर” र त्यसपछि ऊ हुर्रिँदै बाहिर गयो। एउटा अधिकारीले मलाई धम्की दिँदै भन्यो: “इमानदार भएर आफूलाई थाहा भएको कुरा बताइनस् भने, तेरा लागि परिस्थिति राम्रो हुँदैन।” यति भनेर उसले मलाई अनुहारमा जोडले थप्पड हान्यो, लात्ताले हानेर भुइँमा लडायो, अनि मेरो हात पछाडि मोडेर फलामको कुर्सीमा हतकडी लगायो। मलाई कस्तो यातना दिने हो भन्ने सोचेर म केही डराएँ, त्यसैले मनमनै परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, आज म प्रहरीको हातबाट मर्ने-नमर्ने पूर्ण रूपमा तपाईंकै हातमा छ। बिन्ती मलाई आस्था र शक्तिले भरिदिनुहोस्—मेरा ब्रदर-सिस्टरलाई बेच्न र तपाईंप्रति विश्वासघात गर्नबाट बच्न मद्दत गर्नुहोस्।” प्रार्थना सकेपछि मलाई अचानक दानियलको कथा याद आयो। दानियललाई सिंहको खोरमा हालिएको थियो, तर उनी आस्थावान् थिए, परमेश्वरलाई प्रार्थना गरी उहाँमा भर परे, त्यसैले परमेश्वरले सिंहको मुख बन्द गरिदिएर उनलाई हानि पुर्याउन दिनुभएन। म थाहा थियो, मैले पनि परमेश्वरमा आस्था राख्नुपर्छ र प्रहरीले जस्तोसुकै यातना दिए पनि उहाँप्रतिको मेरो गवाहीमा दृढ रहनुपर्छ।
त्यसपछि, तिनीहरूले मलाई फेरि तिनै प्रश्नहरूमाथि केरकार गरे, तर मैले कुनै जवाफ दिइनँ, त्यसैले तिनीहरूले मलाई घिसारेर आँगनमा लगे, मेरो अगाडि पाँच छ वटा परमेश्वरका वचनका पुस्तक राखे, मेरो घाँटीमा “पन्थको सदस्य” लेखेर प्लेकार्ड झुन्ड्याए। मेरो औँलाको छाप लिनुअघि मेरो फोटो खिचे, र मलाई गुप्त यातना कक्षमा लगे। मलाई त्यो कक्षमा प्रवेश गर्ने बित्तिकै मेरो रगत जमेको महसुस भयो—त्यो कक्ष विविध यातना दिने सामग्रीहरूले भरिएका थिए। त्यहाँ फलामको अग्लो खापा, बाघे कुर्सी र खुट्टा बाँध्ने साङ्ला थिए, दसभन्दा बढी ठुला साना बाकस अरू विविध किसिमका यातनाऔजारले भरिएका थिए। भित्तामा छालाको कोर्रा, बेकलाइट रड, च्याप्ने औजारहरू, र मैले कहिल्यै नदेखेका अन्य धेरै ससाना औजार थिए। त्यो कक्षमा सयभन्दा बढी यातना दिने औजार थिए होलान्। अचानक मेरो गर्धनको रौँ खडा भएको, मेरो खुट्टा चल्न छाडेको महसुस भयो। मैले मनमनै सोचेँ: “तिनीहरूले मलाई यातना दिने योजना नभएको भए मलाई यहाँ ल्याउँदैनथे। म यहाँबाट जिउँदै निस्कन पाउँछु—पाउँदिनँ भन्ने कसले जान्दछ र। सायद मैले तिनीहरूलाई केही असम्बन्धित जानकारी दिएँ भने, मलाई छोड्लान् कि र मैले यो ठाउँमा कष्ट भोग्नु नपर्ला। मैले तिनीहरूलाई केही बताइनँ भने त पक्कै कडा यातना देलान्।” त्यही बेला, मलाई दानियलका तीन जना साथीको कथा याद आयो—सुनको मूर्तिसामु झुक्न नचाहेकाले तिनीहरूलाई आगोको भट्टीमा हालियो, तिनीहरूले परमेश्वरलाई धोका दिनुभन्दा बरु मर्छौँ भनेका थिए। परमेश्वरले ती तीनै जनाको रक्षा गर्नुभयो, कसैलाई पनि आगोले अलिकति पनि पोलेन। यसले मलाई परमेश्वरको सर्वशक्तिमान् सार्वभौमिकताको स्मरण गरायो; उहाँप्रतिको मेरो आस्था ताजा भयो। मैले थाहा पाएँ, मेरो भाग्य, म मर्ने वा बाँच्ने सबै परमेश्वरको हातमा छ। तिनीहरूले मलाई जस्तोसुकै यातना दिएपनि म परमेश्वरमै भर पर्नुपर्ने र उहाँप्रतिको मेरो गवाहीमा दृढ रहनुपर्ने थियो। त्यसपछि, दुई युवा अधिकारी भित्र आए र फलामको खापालाई मेरो उचाइअनुसार मिलाए, र मेरा खुट्टाका औँलाले मात्र भुइँ छुने गरी मेरो हात त्यसको तेर्सो डण्डीमा लगेर बाँधे। एउटा अधिकारी खतरनाक तरिकाले गर्जियो: “तँलाई बोल्न लगाउने प्रयासमा हामीले एक दिन पूरै खेर फाल्यौँ, अब तँलाई तड्पाउने समय आएको छ!” मेरा हात र पाखुराले मेरो पूरै शरीरको भार थामेका थिए। मेरो पूरै शरीरमा अत्यन्त असहज भइरहेको थियो। केही बेरपछि, मेरा हात र पाखुरामा दुखाइ बढ्न थाल्यो, ती बिस्तारै च्यातिँदै छन् जस्तो लाग्न थाल्यो। यति धेरै दुख्यो कि म त पीडाले चिच्याएँ। मैले पूरै दिन केही खाएकी थिइनँ, त्यसैले मलाई रिँगटा र वाकवाकीको महसुस भयो। यो मैले सहन सक्नेभन्दा निकै धेरै थियो। आफ्नो पीडा बीच, मैले अचानक परमेश्वरका यी वचन सम्झेँ: “सायद, तिमीहरू सबैलाई यी वचनहरू थाहा छ होला: ‘किनभने हाम्रो हल्का र क्षणिक कष्टले हाम्रा निम्ति महिमाको अझै अत्याधिक र अनन्त भारको काम गर्छ।’ तिमीहरू सबैले यी वचनहरू पहिल्यै सुनिसकेका छौ, तापनि तिमीहरूमध्ये कसैले पनि त्यसको सही अर्थ बुझेनौ। आज, तिमीहरू त्यसको साँचो महत्त्वको बारेमा पूरै सचेत छौ। यी वचनहरूलाई परमेश्वरले आखिरी दिनहरूमा पूरा गर्नुहुनेछ, अनि ती वचनहरू त्यो देशमा फन्को मारेर बस्ने ठूलो रातो अजिङ्गरद्वारा क्रूरतासाथ सताइएकाहरूमा पूरा हुनेछन्। त्यस ठूलो रातो अजिङ्गरले परमेश्वरलाई सताउँछ अनि त्यो परमेश्वरको शत्रु हो, यसैले, यस देशमा, मानिसहरू परमेश्वरमा विश्वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्, अनि परिणामस्वरूप, यी वचनहरू मानिसहरूको यही समूह, अर्थात् तिमीहरूमा पूरा हुन्छन्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्वरका वचनबाट मैले बुझेँ, उहाँले आफ्ना चुनिएका मानिसलाई सिद्ध बनाउन ठुलो रातो अजिङ्गरलाई सेवामा लगाउँदै हुनुहुन्छ। मेरो आस्थालाई सिद्ध बनाउन मलाई यातना दिइँदै थियो—यो यातनाको विशेष अर्थ थियो—त्यसैले मैले यति धेरै नकारात्मक र कमजोर हुन छोड्नुपर्थ्यो। त्यसपछि, मैले परमेश्वरलाई प्रार्थना गर्दै भनेँ: “हे परमेश्वर! तिनीहरूले मलाई जसरी यातना दिउन् वा मैले जतिसुकै पीडा खप्नु परोस्, म मेरा ब्रदर-सिस्टरलाई बेच्ने वा तपाईंलाई धोका दिने कहिल्यै गर्नेछैन!” त्यसपछि, म करिब दुई घण्टा त्यहीँ झुन्डिरहनु पर्यो।
रातको ८ बजे भन्दा केही पछि, स्की मास्क लगाएका चार जना युवक कोठामा आए, एउटाले कटु व्यङ्ग गर्दै भन्यो: “अनि, हामीलाई कस्तो छ त? आराम त होला नि, हैन?” यति भनेर उसले भित्ताबाट छालाको कोर्रा लियो र यसले मेरो पाखुरामा हान्न थाल्यो। प्रत्येक कोर्राले यस्तो लाग्थ्यो मानौँ मेरो हड्डीबाट जबर्जस्ती मासु च्यातिँदै छ—यो असह्य पीडादायी थियो। उसले मलाई कम्तीमा पचास साठी कोर्रा हान्यो, र ऊ थाकेपछि अर्कोले हान्न सुरु गर्यो। त्यो बेला म, तिनीहरूले यति जोडले कोर्रा हानिरहे र मेरा पाखुरा भाँचिए भने त म सामान्य जीवन जिउन नसक्ने हुँला भनेर केही चिन्तित भएँ, त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरेँ: “हे परमेश्वर, म सब थोक तपाईंकै हातमा सुम्पन्छु। म अपाङ्ग भएनि-नभएनि, म तपाईंको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित रहन्छु।” उनीहरूले कोर्रा हान्दा हान्दा थाकेपछि मात्र मलाई खापाबाट तल झारे। मेरो पूरै शरीर शिथिल भएको थियो र म तुरुन्तै भुइँमा ढलेँ। तर तिनीहरूको यातना अझै सकिएको थिएन—त्यसपछि, तिनीहरूले मलाई बाघे कुर्सीमा बाँधेर सोधपुछ गरिरहे। एउटा अधिकारी गर्जियो: “हामीलाई साँचो कुरा नबताएसम्म यहाँबाट जिउँदै निस्कन्छु भनेर आसै नगर्! आफूलाई थाहा भएको कुरा इमानदारीपूर्वक भन्, अनि तँलाई जान दिन्छौँ। सीसीपीले तँप्रति घातक शत्रुता राख्छ—यसले तँजस्ता विश्वासीलाई कट्टर शत्रु मान्छ। यसले तँ लगायत तिमीहरू सबैलाई सिध्याउन र मार्न चाहन्छ। यो सीसीपीको नीति हो—यसले अलिकति पनि छुट नदिई तँजस्ता सर्वशक्तिमान् परमेश्वरका विश्वासीहरूको ज्यान लिन सक्छ!” मैले दृढतापूर्वक उत्तर दिएँ: “मलाई केही थाहा छैन। मैले तपाईंहरूलाई भन्न सक्ने केही छैन।” मैले अझै पनि सहयोग नगरेको देखेर तिनीहरूले मलाई बाघे कुर्सीबाट निकालेर भुइँमा लडाए। त्यसपछि प्रत्येकले कालो, ३० इन्च लामो, स्टिल बलहरूले भरिएको ३—४ इन्च चौडा एउटा बेकलाइट रड बोके र मेरो दुईतिर उभिएर, मेरो शरीरभरि क्रूरतापूर्वक हिर्काउन थाले। ती रडको प्रत्येक प्रहारले मेरो शरीर थर्थराउँथ्यो। म पीडाले मडारिएँ, पूरा वेदनाले चिच्याइरहेँ। मलाई सास फेर्न गाह्रो भइरहेको थियो; दुखाइ कति असह्य थियो भनेर व्यक्त गर्ने शब्द नै छैन। तिनीहरूले सबभन्दा धेरै मेरो चाकमा हिर्काए—यो क्रम चलिरह्यो, अनि मलाई तिनीहरूले मेरो आन्द्रै निक्लिने गरी हिर्काइरहे झैँ भएको थियो। असह्य पीडा खब्दै म रिसले चिच्याएँ: “तिमीहरूले मलाई कुटेर मार्न लाग्दै छौ! मेरो ज्यान लिन खोजेको हो! साँच्चिकै हत्यारा र आगजनी गर्नेहरूलाई गएर किन समात्दैनौ? मैले यो क्रूरता भोग्नुपर्ने गरी कुन कानुन तोडेको छु? के तिमीहरू मानव त हौ?” यो कुरा सुनेर एउटा अधिकारी झन् क्रुद्ध भयो, र मलाई यति जोडले हिर्काउन थाल्यो कि उसको बेकलाइट रड नै दुई टुक्रा भयो, त्यसमा भएका स्टिलका बलहरू भुइँमा छरिए। सबै अधिकारीहरू कर्कश स्वरमा हाँस्न थाले। त्यसपछि, एउटा अधिकारीले दाँत किट्दै मलाई भन्यो: “तैँले कुनै कानुन तोडेको छैनस्? सीसीपीले कुनै पनि धार्मिक विश्वासलाई अनुमति दिँदैन। चीनका जनताले कम्युनिस्ट पार्टीलाई मात्र विश्वास गर्नुपर्छ। तिमीहरू सीसीपीको शत्रु हौ, र यसले तिमीहरू सबैलाई नष्ट गर्नेछ, मार्नेछ र पूर्ण रूपमा निर्मूल पार्नेछ!” उसले यसो भनिसकेपछि, तिनीहरूले एउटा बाकसबाट दुइटा लामो कोर्रा निकालेर भने: “हामीले सुन्न खोजेको कुरा अझै भन्दैनस्? त्यसो भए अर्को स्वाद चखाउँछौँ—तँलाई यसको स्वाद कस्तो लाग्छ हेर्!” तिनीहरूले मलाई खडा हुने आदेश दिए र दुई जनाले हिंस्रक क्रोधमा मलाई असह्य पीडा हुनेगरी, जोडले कोर्रा लगाउन थाले। तिनीहरू कोर्राले लगाउँदा लगाउँदै थाकेपछि अरू दुई अधिकारीले पालो दिए, र पिटाइ जारी राखे, कम्तीमा चार चोटि पालो गरे, प्रत्येक कुटाइ कम्तीमा ३० मिनेटसम्म चल्थ्यो। अन्तमा, म हलचल गर्न नसक्ने भई भुइँमा ढलेँ, तर तिनीहरूले फेरि मलाई माथि ताने र सोधपुछ जारी राखे। जब मैले केही बताइनँ, तिनीहरूले मलाई कोर्राले हिर्काउने र मेरो खुट्टामा लात्ताले हान्ने गरिरहे। मलाई तिनीहरूले मेरो खुट्टा नै भाँचिदिएजस्तो लाग्यो। म केही कमजोर हुन थालेँ र सोचेँ: “मैले तिनीहरूलाई केही बताइनँ भने विभिन्न यातना युक्ति अपनाउँदै मलाई तड्पाइरहनेछन्। तिनीहरूले यातनै दिएर मार्न पनि सक्छन्। तर मैले केही भनेमा म यहुदा बन्नेछु र मैले परमेश्वरसामु गरेको प्रतिज्ञा छल ठहरिनेछ। यसले परमेश्वरलाई ठेस पुग्नेछ, र झन् नमज्जाको कुरा त, यसले उहाँको तितो घृणालाई जगाउनेछ।” मेरो मनमा यही विचार खेलिरह्यो—मैले केही भन्नुहुन्छ कि हुँदैन? त्यही बेला, मलाई येशूको क्रुसीकरण याद आयो, र मैले परमेश्वरका यी वचन सम्झेँ: “यरूशलेमतर्फ जाने बाटोमा येशू ठूलो वेदनामा हुनुहुन्थ्यो, मानौं उहाँको मुटुमा छुरी रोपेको थियो, तापनि उहाँमा आफ्नो वचनबाट पछि फर्कने अलिकति पनि इच्छा थिएन; सधैँ एउटा प्रबल शक्तिले काम गरिरहेको थियो, र त्यो शक्तिले उहाँलाई क्रूसमा टाँगिने स्थानतर्फ बढ्न बाध्य बनायो। अन्त्यमा, उहाँलाई क्रूसमा टाँगियो र मानवजातिको छुटकाराको काम पूरा गर्दै उहाँ पापी मानिस सरह हुनुभयो। उहाँ मृत्यु र पातलका बन्धनहरू तोडेर स्वतन्त्र हुनुभयो। उहाँको सामुन्ने मृत्यु, नरक र पातालले आफ्नो शक्ति गुमाए, र उहाँद्वारा पराजित भए” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरका अभिप्रायहरू अनुसार कसरी सेवा गर्ने)। सम्पूर्ण मानवजातिलाई मुक्ति दिन, प्रभु येशू क्रुसमा चढ्न, अपमान र पीडा सहन, अनि आफ्नै जीवन अर्पण गर्न तयार हुनुभयो। परमेश्वरको मानवजातिप्रतिको प्रेम यति महान् छ! मनमा यस्तो विचार लिएर, मैले भित्रैदेखि प्रोत्साहित हुँदै मौन प्रतिज्ञा गरेँ: “यातनाबाट मर्नु नै परे पनि म यहुदा बनेर परमेश्वरलाई धोका दिने छैन!” त्यसपछि, तिनीहरूले मलाई यसो भन्दै धम्क्याइरहे: “हामीले जान्न खोजेको कुरा भनिनस् भने तँलाई कुटेर मार्दिन्छौँ र तँलाई जलाएर खरानी बनाउन शव दाहगृह पठाउँछौँ। कि त, हामी तेरो शरीर इँटाभट्टामा पठाइदिन्छौँ र त्यहाँ तँलाई पिसेर इँटा बनाउँछन्।” त्यो बेला, मलाई डर लाग्यो, तर मलाई थाहा थियो, कुटाइबाट म बाँच्ने नबाँच्ने कुरा तिनीहरूको अधिकारमा थिएन। सबै थोक परमेश्वरको हातमा थियो, र म उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन तयार थिएँ। त्यही बेला, मैले मण्डलीका किताब अझै पनि आफैँसँग भएको कुरा झट्ट सम्झिएँ, र मेरा कुनै पनि ब्रदर-सिस्टरलाई म पक्राउ परेको थाहा थिएन। ती किताब प्रहरीले फेला पारेमा मण्डलीका लागि ठुलो क्षति हुने थियो। म आत्तिन थालेँ, अनि परमेश्वरलाई प्रार्थना गरे, “परमेश्वर, मेरो जीवन महत्त्वपूर्ण छैन, तर मण्डलीका पुस्तकको रक्षकका रूपमा मैले ती पुस्तक सुरक्षित रहने सुनिश्चित गर्नुपर्छ। अहिलेसम्म मलाई यहाँबाट जीवितै निस्किने-ननिस्किने थाहा छैन। म यी सबै कुरा तपाईंकै हातमा सुम्पन्छु र मेरा लागि बाटो खोलिदिन बिन्ती गर्दछु।” प्रार्थना सकेपछि, केही अद्भुत कुरा भयो: कोर्राको हिर्काइबाट मलाई पीडा हुन छाड्यो। परमेश्वरले मेरो पीडा भगाउन मद्दत गरिरहनु भएको मैले थाहा पाएँ र म उहाँप्रति असाध्यै कृतज्ञ भएँ। तिनीहरूले मलाई त्यहाँ हलचल नगरी, चिच्याउन छोडेर लडिरहेको देखेपछि, कोर्रा हान्न झटपट बन्द गरे। एक जनाले मेरो नाकमा औँला हाले, र आत्तिँदै भने: “यसको हालत त खराब छ। यसलाई यहाँबाट बाहिर निकालौँ—हाम्रो निगरानीमा ऊ मर्यो भने हामी त साँच्चै ठुलो समस्यामा पो हुनेछौँ।” परमेश्वरले मेरा लागि बाटो खोलिदिनु भएको र मेरो रक्षा गरिरहनुभएको मैले थाहा पाएँ, नत्र म पक्कै त्यहाँ मर्ने थिएँ।
पछि, दुई जना अधिकारीले मलाई घिसार्दै बाहिर ल्याए र मलाई खेतमा फालेर हिँडे। म भुइँमा हलचल नगरी लडिरहेँ। रातको करिब दुई बजेको हुनुपर्छ। त्यो बेला, मेरो मनमा एउटा मात्र विचार थियो: मैले घाम उदाउनुअघि नै मेरा ब्रदर-सिस्टरलाई पुस्तक सार्नुपर्छ भनी बताउनु छ, ताकि ती प्रहरीको हातमा नपरून्। मैले उठ्ने कोसिस गरेँ, तर निकै घाइते थिएँ। मैले आफूसँग भएको सारा तागत लगाएँ, तर उभिन सकिनँ। म निकै चिन्तित भएँ, र आत्तिएँ, त्यसैले, हतार हतार परमेश्वरलाई प्रार्थना गरी शक्ति दिन बिन्ती गरेँ। प्रार्थनापछि, मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ: “यो वा त्यो कुराको डर नमान्, सेनाहरूका सर्वशक्तिमान् परमेश्वर अवश्य नै तेरो साथमा हुनुहुनेछ; उहाँ तेरो सहायक शक्ति हुनुहुन्छ, र उहाँ तेरो ढाल हुनुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २६)। परमेश्वरका वचनले मलाई आस्था दिए। अर्को ३० मिनेटपछि, मैले फेरि उभिने कोसिस गरेँ, र चार-पाँच पटकको प्रयासपछि, म बल्ल उठ्न सकेँ। घाम उदाएकै थिएन र बाटोमा अझैपनि पूरै अँध्यारो थियो। म जसोतसो असह्य पीडा खप्दै एक एक पाइला गर्दै ब्रदर चेङ्ग यीको घरतिर बढेँ। त्यहाँ पुगेपछि, उनलाई तत्कालै सारा हाल बताएँ र परमेश्वरका वचनको पुस्तक तत्कालै सारिहाल्न ब्रदर-सिस्टरलाई निर्देशन दिन अनुरोध गरेँ। उनलाई जानकारी दिएपछि, म लडखडाउँदै आफ्नो अपार्टमेन्टतिर लागेँ। बिहानको करिब ३ बजेको हुँदो हो। बत्ती बालेपछि त मैले त्यो ठाउँ पूरै भद्रगोल भएको पाएँ। मेरो घरलाई के भएको थियो र? मेरा सिरक, सिरानी, डसना र लुगाहरू सबै भुइँमा फालिएका थिए। पूरै अपार्टमेन्ट उल्टापाल्टा बनाइएको थियो। आफ्नो घाउचोटलाई हेर्दै जाँदा म नराम्रोसँग क्षतविक्षत भएको देखेँ: मेरो खुट्टाको मासु मेरो पाइन्टभित्र टाँसिएको थियो मलाशयको चार इन्चजति भाग बाहिर निस्केको थियो र मासु मर्न लागे जस्तो देखिन्थ्यो। मलाई अत्यन्तै पीडा भइरहेको थियो, सास फुलेको थियो र लाग्थ्यो म अन्तिम स्थितिमा छु। मेरो चोट अत्यन्त गम्भीर थियो—म हिँड्न सक्दिनथेँ र पानीको एक घुट्को समेत पिउन सक्दिनथेँ। मैले मनमनै सोचेँ: “यति चोटपटक लागेर म बाँच्न सक्छु त? म बाँचे भने पनि, अपाङ्ग हुँला कि? मैले भविष्यमा आफैँ काम गर्न सकुँला त? मेरा पत्नी र छोराछोरी सीसीपीको झुटले भ्रमित भएर मेरो आस्थाको विरोधी बनेका छन्। यदि म अपाङ्ग भएँ भने, तिनीहरूले मेरो हेरचाह गर्ने छैनन्…।” मैले जति सोचेँ, उति नराम्रो लाग्यो। त्यसैले परमेश्वरलाई प्रार्थना गरेँ। प्रार्थना गर्दै गर्दा मैले परमेश्वरका यी वचन सम्झेँ: “ब्रह्माण्डमा हुने सबै कुरामध्ये, त्यहाँ यस्तो केही छैन जसमा मेरो निर्णय हुँदैन। के त्यस्तो कुनै कुरा छ जुन मेरो हातमा छैन?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरू, अध्याय १)। निश्चय नै, मेरो भाग्य परमेश्वरको हातमा थियो। म बाँच्ने वा मर्ने, म अपाङ्ग हुने नहुने परमेश्वरको निर्णयमा थियो। मलाई थाहा थियो मैले आफूलाई परमेश्वरसमक्ष सुम्पनुपर्छ र बन्दोबस्त गर्ने जिम्मा उहाँलाई नै दिनुपर्छ। म अपाङ्ग भएँ भने पनि, म समर्पित हुनेछु। मेरा पत्नी र छोराछोरीले मेरो हेरचाह नगरे पनि परमेश्वर मेरो साथमा हुनुहुन्छ र मेरा ब्रदर-सिस्टरले मेरो रेखदेख गर्नेछन्, तसर्थ म जसरीपनि बाँच्ने छु भन्ने मलाई थाहा थियो। यो बुझेपछि, मलाई त्यति पीडा र वेदना हुन छाड्यो।
ब्रदर यु झिजियान बिहानको ४ बजे मेरो घर आइपुगे। उनी आएपछि मलाई हिँडडुल गर्न नसक्ने गरी ओछ्यानमा देखेर उनले मेरा कम्बल ताने र मेरो पाइन्टमा रगतको टाटा रहेको, खुट्टामा गहिरो घाउ र मासु फाटेको, मलाशय र मासुका भागहरू पाइन्टमा टाँसिएको देखे। यो देखेर उनी रोए र एक भाँडो तातो पानी ल्याए, पानी ल्याउँदा पनि रोइरहेका थिए। मेरो पाइन्ट काटेर मासुमा तातो पानीको पट्टी लगाउँदै बिस्तारै एक एक गरी पाइन्टमा टाँसिएको मासुलाई एक एक गर्दै हटाउँदै लगे। घुँडामुनिको छालामा यति गहिरो घाउ थियो, हड्डी नै बाहिर देखिन्थ्यो। आज पनि, म त्यो दुःस्वप्न सम्झन सक्दिनँ। मेरा घाउहरू गम्भीर थिए तर मेरो परिचय पत्र देखाएर उपचार गर्दा प्रहरीले भेट्ला र पक्रेला भन्ने डरले गर्दा अस्पताल जाने हिम्मत गरिनँ। मैले मेरा ब्रदर-सिस्टरहरूलाई पनि जोखिममा पार्ने थिएँ। त्यो समयमा, म आफ्नो ख्याल राख्न सक्दिनथेँ, र झिजियान जोखिम मोलेरै हरेक दिन मेरो रेखदेखका लागि आउँथे। उनी आस्थामा नयाँ थिए र मलाई कसरी पिटिएको थियो भन्ने देखेर उनी भयभीत र कमजोर होलान् भन्ने डर थियो। मैले उनलाई भनेँ: “यो कठिन परीक्षाबाट गुज्रनु मेरा लागि राम्रो कुरा भयो—यसले मलाई शैतान वास्तवमा के हो भनेर देख्न मद्दत गरेको छ।” मलाई अचम्म पार्दै, झिजियानले भने: “मेरो चिन्ता नगर्नुहोस्। म आफैँले अब सीसीपी एउटा राक्षस हो जसले परमेश्वरको विरोध गर्दछ र मानवजातिप्रति क्रूरता अपनाउँछ भन्ने देखेको छु। हामी परमेश्वरप्रतिको हाम्रो गवाहीमा दृढ रहनुपर्छ।” त्यो एक हप्ता, मैले आफ्नो खसेको मलाशयको भाग हरेक दिन नुन पानीले सफा गरेँ र परम्परागत उपचार पनि गराएँ। अन्ततःपक्राउ परेको आठ दिनपछि बाहिर निस्केको भाग निको भयो। दुई हप्तापछि, म फेरि हिँडडुल गर्न सक्ने भएँ।
त्यसपछि, हरेक १५ दिनमा प्रहरी मलाई सोधपुछ गर्न र सताउन आउँथ्यो। हरेक पटक, तिनीहरूले मलाई मण्डलीबारे प्रश्न सोधेर हैरान बनाउँथे र अरू सदस्यहरूसँग अहिले पनि सम्पर्कमा रहे नरहेको सोध्थे। तिनीहरूले यसो भन्दै मलाई थर्काउँथे: “तैँले साँचो कुरा भनिनस् भने तेरो मुद्दा हामी कहिल्यै छोड्दैनौँ!” मैले मनमनै सोचेँ: “तिमीहरू सबै को हौ भन्ने मैले देखिसकेँ। तिमीहरूमलाई जतिसुकै बलजफ्ती गर वा थर्काउ, म तिमीहरूसामु कहिल्यै झुक्ने छैन। मबाट परमेश्वरलाई धोका दिन लगाउने कुरा बिर्सिदिए हुन्छ!” सन् २००६ मा पक्राउ परेदेखि २००८ सम्मको दुई वर्षको छोटो अवधिमा, प्रहरी कम्तीमा २५ पटक मलाई सोधपुछ गर्न आयो। तिनीहरूले मलाई निरन्तर निगरानीमा राखेकाले मैले ब्रदर-सिस्टरहरू समस्यामा पर्लान् भन्ने डरले भेट्ने आँट गरिनँ, त्यसैले म गाउँमा रहेको मेरो परिवारको घर फर्कन बाध्य भएँ।
पछि, मेरो मलाशय र ढाड त पूरै ठिक भयो, तर खुट्टामा लागेको चोटको असर भने पछिसम्म अनुभव भइरह्यो। दाहिने खुट्टा अझै पनि कटकटी खान्छ, र निकै कमजोर छ, बादल वा वर्षाको मौसममा म खोच्याउँदै हिँड्छु। सबभन्दा नराम्रो असर छालामा परेको छ। घाउका सबै पाप्रा उप्किएर रङ्ग उडेका, काला दागहरू देखिन्छन्, र मेरो पूरै शरीर हेरिनसक्नुका खाल्डा र बाक्ला गाँठाले भरिएको छ, त्यहाँ एकदमै चिलाउने ससाना सेता फोका छन्। नुहाउँदा वा गर्मी हुँदा फोकाको चिलाइ आलो घाउमा नुन छर्केभन्दा पीड़ादायी हुन्छ। यति चिलाउँछ कि सहनै मुस्किल हुन्छ—कहिलेकाहीँ प्रभावित भागमा खोलाको ढुङ्गाले रगड्नुपर्छ, अथवा चक्कुले घोचेर पीप निकालेपछि मात्र राहत महसुस हुन्छ। मलाई यो पीडाले दिनरात सताएको १५ वर्षभन्दा बढी भएको छ। यो समयमा, मैले धेरै निजी क्लिनिक धाएर धेरै परम्परागत चिनियाँ डाक्टरलाई भेट्न गएको छु, उपचारमा १०,५०० युआन खर्च भइसक्यो, तर कुनै सुधार छैन। अत्यन्त शारीरिक पीडा सहनुपर्दा, मेरा ब्रदर-सिस्टरसँग सम्पर्क गर्न र सामान्य मण्डली जीवन बिताउन नसक्दा, म गहिरो पीडा महसुस गर्थेँ र प्रायः रुँदै परमेश्वरलाई प्रार्थना गर्थेँ, उहाँलाई मेरो छेउमा रहेर आस्था र शक्ति दिन बिन्ती गर्थेँ। ती अँध्यारा दिनहरूमा परमेश्वरको रक्षा र मार्गदर्शन नपाएको भए, म यसबाट कहिल्यै पार पाउने थिइनँ।
पक्राउ परेको १५ वर्ष भएछ, अनि जब म चिन्तन गर्छु मैले साँच्चि नै केही हदसम्म कष्ट सहेको भए पनि मैले ठुलो रातो अजिङ्गर के हो भनेर साँच्चिकै देख्न र यसको राक्षसी सार चिन्न पाएको छु। मैले परमेश्वरका यी वचन पढेँ: “सहस्राब्दीदेखिको घृणा हृदयमा जमेको छ, हजारौं वर्षको पापमय अवस्था हृदयमा कुँदिएको छ—यसले कसरी घृणा पैदा गर्दैन? परमेश्वरको लागि बदला लेऊ, उहाँको शत्रुलाई पूर्ण रूपमा नाश पार, त्यसलाई अब जथाभाबी दगुरि हिँड्न नदेऊ, र त्यसलाई तानाशाहीले जस्तो शासन गर्न नदेऊ! समय अहिले नै हो: त्यस दियाबलसको घृणित अनुहार तोड्न र अन्धो पारिएका र हरप्रकारका दुःख र कठिनाइ झेलेका मानिसहरूलाई तिनीहरूको पीडाबाट उठ्ने र त्यो बूढो दियाबलसको विरुद्ध विद्रोह गर्नका निम्ति मानिसले धेरै समयदेखि आफ्ना सबै शक्ति जम्मा गर्दैआएको छ, उसले आफ्ना सबै प्रयासहरू समर्पण गरेको छ र यसका लागि हरेक मूल्य चुकाएको छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। काम र प्रवेश (८))। परमेश्वरका वचन मनन गरेर, सीसीपी कति क्रूर र बर्बर छ भन्ने अझ स्पष्ट देखेको छु। यसले धार्मिक स्वतन्त्रताको दाबी गर्छ, तर गुप्त रूपमा इसाईहरूलाई जथाभाबी पक्रेर सताउँछ, मानवजातिलाई मुक्ति दिने परमेश्वरको कार्यलाई पूरै दबाउन र चीनलाई नास्तिक देश बनाउन खोज्छ। यो राक्षसी गिरोह हो जसले सत्यतालाई घृणा र परमेश्वरको विरोध गर्छ। मैले साँच्चि नै सीसीपीको कुरूप अनुहार देखेको छु र यसलाई पूरै घृणा र यस विरुद्ध विद्रोह गर्न पुगेको छु। यो अनुभवबाट, परमेश्वरले कसरी सधैँ मेरो रेखदेख र रक्षा गरिरहनुभएको छ भन्ने थाहा पाएको छु। हरेक पटक मलाई पीडा वा कमजोरी महसुस हुँदा, परमेश्वरका वचनले मलाई निर्देशन र मार्गदर्शन गर्थे, मलाई शक्ति र आस्था दिन्थे। मैले मानवजातिप्रति परमेश्वरको साँचो प्रेम, उहाँको चमत्कारिकता र सर्वशक्तिमानता अनुभव गरेँ। यसले परमेश्वरप्रतिको मेरो आस्था धेरै मजबुत बनायो। चाहे अगाडिको बाटो जस्तोसुकै अप्ठेरो होस्, मेरो शरीरले जतिसुकै कष्ट सहनु परोस्, म परमेश्वरलाई अन्तसम्मै पछ्याउनेछु!