६५. कर्तव्य भनेको आशिषका लागि मोलतोलको सामग्री होइन
म सधैँ बिमार परिरहन्छु। एघार वर्ष हुँदा ममा एप्लास्टिक एनिमिया रोग देखियो, त्यसैले मेरो रोग प्रतिरोधक प्रणाली एकदमै कमजोर छ। म शारीरिक रूपमा कमजोर छु, र शरीरमै शक्ति छैन, र अलि परसम्म हिँड्नेबित्तिकै थकित हुन्छु। मेरो अवस्था गम्भीर हुँदा म ओछ्यानमै थल्लिन्छु। मेरो डाक्टर भन्थे, त्यो बेला मेरो रोग प्रतिरोधक क्षमता कम भएकाले मलाई सङ्क्रमण हुन सक्छ, जसले गर्दा लामो समयसम्म ज्वरो आउन सक्छ। उनले मलाई चोटपटक लागेमा रक्तस्राव नरोकिन सक्छ र जीवन खतरामा पर्न सक्छ भनेर नि भने। सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको काम स्विकारेपछि मेरो स्वास्थ्य सुध्रियो, र मैले मण्डलीमा एउटा कर्तव्य पनि लिएँ। धेरै वर्ष बित्यो, तर ममा रोगको कुनै लक्षण देखिएन। म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ थिएँ।
पछि, मैले भिडियो निर्माणको काम गर्न थालेँ। मैले धेरै सम्मानित महसुस गरेँ, किनकि मण्डलीका चलचित्र र भिडियोहरूले परमेश्वरको कामको गवाही दिइरहेका थिए, र यो काम गर्नु विशेष अर्थपूर्ण थियो। साथै, सोचेँ, यदि म परिश्रमपूर्वक परमेश्वरप्रति समर्पित भएँ र परमेश्वरको गवाही दिने राम्रा भिडियोहरू बनाएँ भने, यी महत्त्वपूर्ण पुण्य कार्यहरूमा मेरो हिस्सेदारी हुनेछ। यसरी मैले परमेश्वरको सुरक्षा प्राप्त गर्नेछु र निश्चय नै महाविपत्तिहरूबाट बाँच्नेछु। त्यसैले, मैले आफ्ना व्यवसायिक सीप र सिद्धान्तहरूमा कडा मिहिनेत गरेँ, र परमेश्वरको गवाही हुने धेरै भिडियोहरू निर्माण गर्न प्रयास गरेँ। हरेकपटक एउटा भिडियो तयार हुँदा र मैले बनाउन सहयोग गरेको खण्डलाई हेर्दा, म अत्यन्तै खुसी हुन्थेँ र मेरो कर्तव्य पूरा गर्न अझै प्रेरित महसुस गर्थेँ। अझ राम्रो काम निर्माण गर्न, मैले आफूलाई अनुसन्धान र आफ्नो सीपको विकासमा समर्पित गरेँ, र आफ्ना ब्रदर-सिस्टरहरूसँग कामकुराबारे छलफल गरेँ, कहिलेकाहीं त रातको तीन बजेसम्म चल्थ्यो। कमजोर भएकाले, राति ढिलोसम्म जागा रहनु मेरो शरीरका लागि हानिकारक थियो। तर म फेरि सोच्थेँ, “केही वर्षदेखि मेरो स्वास्थ्यमा कुनै समस्या देखिएको छैन, र म आफ्नो कर्तव्य राम्रोसँग पूरा गर्न मात्रै यसरी ढिलोसम्म जागा बसिरहेको छु। साथै, म पर्याप्त मात्रामा प्रभावकारी हुँदै आएको छु, त्यसैले म विश्वस्त छु परमेश्वरले मलाई सुरक्षित राख्नुहुनेछ। जबसम्म मैले राम्रो परिणाम हासिल गर्छु र आफ्नो कर्तव्यमा ठूलो योगदान गर्छु, मसँग मुक्तिको धेरै आशा रहन्छ। त्यसका लागि अझै बढी कष्ट झेल्नु पर्छ भने पनि मलाई मान्य छ।”
एक दिन, मेरो सुपरभाइजरले मलाई भने, “श्याओचेन्, तपाईँको स्वास्थ्य राम्रो छैन। अहिले हाम्रो कामको भार निकै धेरै छ, र तपाईंले यस्तै गरिरहनुभो भने तपाईँको समस्या बल्झेला कि भन्ने हामीलाई चिन्ता लाग्छ। किन अस्पताल गएर जाँच गराउनुहुँदैन? यदि सबै कुरा ठीक भए, तपाईँ आफ्नो कर्तव्य निरन्तर गर्न सक्नुहुन्छ। तर यदि केही समस्या छ भने, स्वास्थ्यलाभ गर्न केही समय लिनू र उपचारको क्रममा पनि आफूले सकेको गर्नू।” यो सुनेर म अस्थिर स्थितिमा थिएँ। मैले सोचेँ, “यो हाम्रा लागि एउटा महत्वपूर्ण समय हो, र मेरा ब्रदर-सिस्टरहरूआफ्ना कर्तव्यमा व्यस्त छन्। यदि मलाई गम्भीर स्वास्थ्य समस्या भएको रहेछ भने, तबदेखि म आफ्नो कर्तव्य निर्वाह गर्न सक्दिनँ। के म अझै मुक्ति पाउन सक्थेँ होला?” यो सोचेर म केही नकारात्मक हुन पुगेँ। त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरेँ, र उहाँसँग अन्तर्दृष्टि मागेँ ताकि म उहाँको अभिप्राय थाहा पाउन, आफ्नो भ्रष्ट स्वभावलाई बुझ्न सकूँ, र उहाँको योजनाबद्ध कार्य र बन्दोबस्तप्रति समर्पित हुन सकूँ।
मैले परमेश्वरका यी वचनहरू पढेँ: “आजभोलि, धेरैजसो मानिसहरू यस्तै प्रकारको अवस्थामा छन्: आशिष्हरू प्राप्त गर्नको लागि, मैले आफूलाई परमेश्वरमा समर्पित गर्नुपर्दछ र उहाँको निम्ति मूल्य चुकाउनुपर्छ। आशिष्हरू प्राप्त गर्नका लागि, मैले परमेश्वरका लागि सबै कुरा त्याग्नैपर्छ; मैले उहाँले मलाई सुम्पनुभएको काम पूरा गर्नुपर्छ र मैले मेरो कर्तव्य राम्रोसँग निर्वाह गर्नुपर्छ। यस्तो स्थिति आशिष्हरू पाउने अभिप्रायको प्रभुत्वमा हुन्छ, जुन परमेश्वरबाट इनाम र मुकुट प्राप्त गर्ने उद्देश्यले आफूलाई पूर्णतया उहाँमा अर्पण गर्नुको एउटा उदाहरण हो। त्यस्ता मानिसहरूको हृदयमा सत्यता हुँदैन, र यो निश्चित छ कि उनीहरूको बुझाइमा केही वचन र धर्मसिद्धान्त मात्र हुन्छ, जसलाई उनीहरूले जहाँ गए पनि देखाउँदै हिँड्छन्। उनीहरूको मार्ग पावलको मार्ग हो। त्यस्ता मानिसहरूको विश्वास भनेको निरन्तर परिश्रम गर्ने कार्य हो, र तिनीहरूले आफ्नो हृदयको गहिराइमा के सोचेका हुन्छन् भने, उनीहरूले जति धेरै परिश्रम गर्छन् त्यसले परमेश्वरप्रतिको उनीहरूको बफादारितालाई त्यतिकै प्रमाणित गर्छ; उनीहरूले जति धेरै परिश्रम गर्छन्, उहाँ त्यति नै धेरै निश्चित रूपमा सन्तुष्ट हुनुहुनेछ; र उनीहरूले जति धेरै परिश्रम गर्छन्, उनीहरू त्यति नै बढी परमेश्वरबाट मुकुट प्राप्त गर्ने योग्यका हुनेछन्, र उनीहरूले पाउने आशिष्हरू त्यति नै ठूला हुनेछन्। उनीहरूलाई के लाग्छ भने, यदि उनीहरूले कष्ट भोग्न, प्रचार गर्न र ख्रीष्टको लागि ज्यान दिन सके भने, यदि उनीहरूले आफ्नै जीवन बलिदान दिन सके भने, र यदि परमेश्वरले आफूलाई सुम्पनुभएका सबै जिम्मेवारीहरू उनीहरूले पूरा गर्न सके भने, उनीहरू परमेश्वरद्वारा सबैभन्दा बढी आशिषित हुने मानिसहरूमध्येमा पर्नेछन्, र उनीहरूले मुकुटहरू पाउने निश्चित हुनेछ। पावलले ठ्याक्कै यही कल्पना गरेका थिए र यही कुरा पछ्याएका थिए। तिनले हिँडेको मार्ग ठीक यही थियो, र यस्तै विचारहरूको मार्गदर्शनमा तिनले परमेश्वरको सेवा गर्ने काम गरे। के त्यस्ता विचार र उद्देश्यहरू शैतानी स्वभावबाट उत्पन्न हुँदैनन् र? यो त पृथ्वीमा हुँदा आफू ज्ञानको पछि लाग्नुपर्छ, र त्यो प्राप्त गरेपछि भीडबाट माथि उठ्न, अधिकृतहरू बन्न र प्रतिष्ठा पाउन सकिन्छ भन्ने कुरामा विश्वास गर्ने सांसारिक मानिसहरू जस्तै हो। उनीहरूलाई के लाग्छ भने, प्रतिष्ठा प्राप्त गरेपछि उनीहरूले आफ्नो महत्त्वाकाङ्क्षा पूरा गर्न र आफ्ना व्यवसायहरू र पारिवारिक अभ्यासलाई समृद्धिको एक निश्चित तहसम्म ल्याउन सक्छन्। के सबै गैरविश्वासीहरू यही मार्गमा हिँड्दैनन् र? यो शैतानी स्वभावको प्रभुत्वमा परेका मानिसहरू आफ्नो विश्वासमा पावलजस्तो मात्र हुन सक्छन्। उनीहरू सोच्छन्: ‘मैले आफैलाई परमेश्वरप्रति समर्पित गर्न सबै कुरा त्याग्नैपर्छ। म परमेश्वरसामु अर्पित हुनैपर्छ र आखिरमा, मैले अवश्य नै ठूला इनाम र ठूला मुकुट पाउनेछु।’ सांसारिक थोकहरूको पछि लाग्ने सांसारिक मानिसहरूको मनोवृत्ति पनि यस्तै हुन्छ। उनीहरू कुनै पनि हालतमा फरक हुँदैनन्, र उनीहरू उस्तै प्रकृतिको अधीनमा हुन्छन्। जब संसारमा मानिसहरूसित यस प्रकारको शैतानी स्वभाव हुन्छ, तब उनीहरूले ज्ञान, शिक्षा प्राप्त गर्न खोज्छन्, प्रतिष्ठा, र भीडभन्दा अलग हुन खोज्छन्। उनीहरूले परमेश्वरमा विश्वास गरे भने, ठूला मुकुट र ठूला आशिष्हरू पाउने कोसिस गर्नेछन्। परमेश्वरमा विश्वास गरेपछि, यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् भने, निश्चय नै उनीहरूले यही मार्ग लिनेछन्। यो अपरिवर्तनीय तथ्य हो, र यो प्राकृतिक नियम हो। सत्यता नपछ्याउने मानिसहरूले हिँड्ने मार्ग पत्रुसको भन्दा बिलकुलै विपरीत मार्ग हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने)। परमेश्वरका वचनहरूले मेरो अवस्था सही रूपमा प्रकट गरे। मैले सोचेँ कि कष्ट सहनु, राम्रा गुणस्तरीय भिडियोहरू बनाउन मूल्य चुकाउनु, र राज्यको सुसमाचार प्रचारमा मेरो योगदान गर्नुले, मलाई परमेश्वरबाट प्रशंसा र आशिष मिल्नेछ, र अन्त्यमा मैले इनाम र मुक्ति प्राप्त गर्नेछु। यसका निम्ति, म अबेर रातिसम्म कुनै गुनासो नगरी बस्थेँ, तर जब स्वास्थ्य समस्याका कारण यसो गरिरहन नसकिने देखियो, मेरो आशिष् पाउने चाहना चकनाचुर भयो, त्यसैले मैले कर्तव्य निर्वाह गर्ने इच्छाशक्ति गुमाएँ—बढी प्रयास गर्न चाहिनँ। परमेश्वरमाथिको मेरो विश्वास सधैं लेनदेनजस्तो थियो। मैले मिहिनेत गरेर राम्रा भिडियोहरू बनाएँ ताकि मण्डलीले मलाई महत्त्वपूर्ण भूमिका देओस्, र मैले परमेश्वरसँग अनुग्रह र आशिष् माग्न सकूँ। म सधैँ भन्थेँ म परमेश्वरका निम्ति कष्ट सहन र आफैलाई समर्पित गर्न इच्छुक छु, तर यो केवल उहाँको आशिष् प्राप्त गर्नका लागि थियो। मैले परमेश्वरलाई धोका दिइरहेको र प्रयोग गरिरहेको थिएँ। मेरा अभिप्रायहरू घृणास्पद थिए! यो सोच्दा, मैले महसुस गरेँ कि अब म यस अवस्थालाई प्रतिरोध गरिरहन हुँदैन, म समर्पित हुन आवश्यक छ। मैले सत्यता खोजेर परमेश्वरमाथिको मेरो विश्वासमा रहेका भ्रष्ट स्वभाव र अशुद्धताहरूलाई समाधान गर्नुपर्ने थियो।
त्यसपछि, म अस्पतालमा परीक्षणको लागि गएँ। रक्त परीक्षणहरूले विभिन्न सूचकहरू हुनुपर्नेभन्दा कम देखाए, र मेरो प्लेटलेट्सको सङ्ख्या सामान्यभन्दा निकै कम थियो। डाक्टरले उचित हेरचाह नगर्दा सानो घाउले पनि गम्भीर रक्तस्राव निम्त्याउन सक्छ भन्नुभयो। मेरा सुपरभाइजर र ब्रदर-सिस्टरहरूले मलाई केही समय आराम गर्न र स्वास्थ्य सुधार भएपछि मेरो कर्तव्यलाई जारी राख्न सुझाव दिए। त्यसैले, म उपचारको लागि घर गएँ, र थप चेकजाँचका लागि नियमित रूपमा आउने गर्थेँ। केही महिना बितिसक्दा पनि स्वास्थ्यमा सुधार आएको थिएन, र म चिन्तित हुँदै गएँ, त्यसैले म औषधिका लागि एउटा बुढो चाइनिज वैद्यलाई भेट्न गएँ। उनले भने, “तपाईंको निको हुने प्रक्रिया ढिलो हुनेछ। तपाईंको स्वास्थ्य कमजोर छ, र ठिक हुन धेरै समय लाग्नेछ।” यो कुरा मेरा लागि अत्यन्त निराशाजनक थियो। सोचेको थिएँ घर गएर उपचार भएपछि मेरो अवस्था सुधार हुनेछ, र म भिडियोको काममा फर्कन सक्नेछु। मैले उपचार गराएको झण्डै एक वर्ष भइसकेको थियो, तर पनि म किन निको भइरहेको थिइनँ? त्यस वर्ष, परमेश्वरको घरले धेरै चलचित्र र भिडियोहरू निर्माण गर्यो, तर मेरो स्वास्थ्यको कारणले म सहभागी हुन सकिनँ। भविष्यमा यो कर्तव्य गर्न सक्दिनँ होला भन्ने मलाई डर लाग्यो। पर्याप्त असल कर्मबिना, जब परमेश्वरको काम समाप्त हुन्छ, के म त्यसबखत पनि मुक्ति पाउन सक्छु? यसबारे जतिसोचेँ, म त्यति नै नकारात्मक भएँ। घर जाने बाटोमा, मैले आफूलाई असहाय र एक्लो महसुस गरेँ, र गुनासो नगरी रहन सकिनँ, “मेरा ब्रदर-सिस्टरहरू स्वस्थ रहँदा, म चाहिँ किन यसरी बिरामी परिरहेको छु?” मलाई ठूलो अन्याय भएको महसुस भयो। घर पुगेपछि केही कुराले पनि मेरो मनोबल बढाउन सकेन। मैले सोचेँ, “यो मेरो शरीरको अवस्था यस्तै हो। मैले जति नै प्रयास गरे पनि म यो अवस्थालाई परिवर्तन गर्न सक्दिनँ। यदि म महत्त्वपूर्ण काममा सहभागी हुन सक्दिनँ भने, मैले मुक्ति पाउने के आशा रह्यो र?” मैले आफैँमा पूर्ण रूपले हार मान्न थालेँ। हरेक दिन, मैले धर्मनिरपेक्ष चलचित्र र टिभी हेर्दै र अनलाइन मानिसहरूसँग कुरा गर्दै समय बिताएँ। परमेश्वरसँगको मेरो सम्बन्ध टाढा हुँदै गयो, र मेरो मन झन् अन्धकार र खाली हुँदै गयो। एकदिन, मैले अचानक महसुस गरेँ “के यो स्थिति म गैरविश्वासी भएको जस्तै त होइन? यो कसरी विश्वासी भएको जस्तो हो र? यदि म यसै बाटोमा अगाडि बढिरहेँ भने म अझ भ्रष्ट हुँदै जानेछु, र अन्ततः परमेश्वरले मलाई हटाउनु हुनेछ।” यस विचारले अन्ततः मेरो मनमा केही डर उत्पन्न गर्यो। म अब यसरी अगाडि बढ्न सक्दिनँ भन्ने मलाई थाहा थियो, तर आफ्ना समस्याहरू समाधान गर्न, मैले सही रूपमा आत्मचिन्तन र सत्यताको खोजी गर्नु आवश्यक थियो।
मेरो खोजीमा, मैले परमेश्वरका वचनको एउटा खण्ड पढेँ: “जब मानिसहरूले सत्यता स्वीकार गर्न सक्दैनन्, तब यो सबैभन्दा विद्रोही कुरा हुन्छ, र तिनीहरू सबैभन्दा बढी खतरामा हुन्छन्। यदि तिनीहरूले कहिल्यै सत्यता स्वीकार गर्न सक्दैनन् भने, तिनीहरू अविश्वासी हुन्। यदि यस्तो व्यक्तिको आशिष् पाउने इच्छा चकनाचुर भयो भने, उसले परमेश्वरलाई छोड्नेछ। किन यस्तो हुन्छ? (किनभने तिनीहरूले पछ्याउने कुरा भनेको आशिष् र अनुग्रह उपभोग गर्न हो।) तिनीहरू परमेश्वरमा विश्वास त गर्छन् तर सत्यता पछ्याउँदैनन्। तिनीहरूका लागि, मुक्ति त आभूषण र राम्रो सुनिने शब्द मात्र हो। तिनीहरूको हृदयले इनाम, मुकुट, र मनपर्दा वस्तुहरू पछ्याउँछ—तिनीहरू यो जुनीमा सयगुणा र आउँदो संसारमा अनन्त जीवन प्राप्त गर्न चाहन्छन्। यदि तिनीहरूले यी कुराहरू प्राप्त गर्न सकेनन् भने, विश्वास गर्नेछैनन्; तिनीहरूको साँचो अनुहार देखा पर्नेछ, र तिनीहरूले परमेश्वरलाई छोड्नेछन्। तिनीहरूले हृदयमा विश्वास गर्ने कुरा परमेश्वरको काम होइन, न त यो परमेश्वरले व्यक्त गर्ने सत्यता नै हो, र तिनीहरूले पछ्याउने कुरा मुक्ति होइन, झन् सृजित प्राणीका रूपमा राम्रोसित कर्तव्य निभाउने हुनु त परै जाओस्; बरु, यो त पावलको जस्तै कुरा हो—प्रचुर आशिष् पाउनु, ठूलो शक्ति प्राप्त गर्नु, ठूलो मुकुट लगाउनु, र परमेश्वरकै स्तरमा हुनु हो। यी कुराहरू तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहना हुन्। त्यसकारण, परमेश्वरको घरमा कुनै फाइदा वा मनपर्दा वस्तुहुँदैपिच्छे, तिनीहरू त्यो प्राप्त गर्न संघर्ष गर्छन्, योग्यता र वरिष्ठताअनुसार मानिसहरूलाई श्रेणीबद्ध गर्न थाल्छन्, र मनमनै सोच्छन्, ‘म योग्य छु। मैले पनि यसको हिस्सा पाउनुपर्छ। मैले यो प्राप्त गर्न संघर्ष गर्नैपर्छ।’ तिनीहरू आफूलाई परमेश्वरको घरको अग्रणी स्थानमा राख्छन्, र त्यसपछि परमेश्वरको घरका यी फाइदाहरू उपभोग गर्नु मात्रै उचित कुरा हो भन्ने सोच्छन्। … स्पष्टै छ, उसको हृदय पहिले नै उसले पछ्याएका यी कुराहरूले भरिएको थियो, र उसले पछ्याएका कुराहरू सत्यतासँग पूर्ण रूपमा मिल्दैनन् भन्ने कुरा देखाउन यही नै पर्याप्त छ। उसले जति धेरै काम गरे पनि, उसको उद्देश्य र अभिप्राय मुकुट प्राप्त गर्नुबाहेक अरू केही थिएन—त्यो पावलको उद्देश्य र अभिप्रायजस्तै थियो—र ऊ यसैमा चिपिक्क टाँसिरहन्थ्यो र यसलाई कहिल्यै छोड्थेन। उसलाई सत्यता जसरी सङ्गति गरिए पनि, उसलाई जसरी काटछाँट, खुलासा र चिरफार गरिए पनि, ऊ अझै पनि आशिष् पाउने अभिप्रायमै जिद्कसिरहन्थ्यो र त्यसलाई त्याग्दैनथ्यो। उसले परमेश्वरको अनुमोदन प्राप्त नगरेपछि र आशिष् पाउने आफ्नो इच्छा चकनाचुर भएको देखेपछि, ऊ नकारात्मक बन्यो र पछि हट्यो, अनि कर्तव्य त्याग्यो र भाग्यो। उसले साँचो रूपमा कर्तव्य पूरा गरेको वा राज्यको सुसमाचार प्रचारमा राम्रो सेवा गरेको थिएन, र यसले उसमा परमेश्वरप्रति साँचो विश्वास थिएन, ऊ साँचो रूपमा समर्पित भएको थिएन, र ऊसँग साँचो अनुभवात्मक गवाहीको अंश पनि थिएन भन्ने कुरा पूर्ण रूपमा खुलासा गर्छ—ऊ त भेडाको भेसमा भेडाको बगामा घुसेको ब्वाँसो मात्रै थियो। अन्ततः भित्रैदेखि अविश्वासी रहेको यस व्यक्तिलाई पूर्ण रूपमा खुलासा गरियो र हटाइयो, अनि विश्वासीका रूपमा रहेको उसको जीवन समाप्त भयो” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग पाँच))। परमेश्वरका वचनहरूले मभित्रका घृणित अभिप्रायहरूलाई पूर्ण रूपमा प्रकट गरे। म घर गएर स्वास्थ्यलाभ गर्न राजी भए पनि, मनमा भने अझै पनि चाँडो निको भएर फेरि भिडियो निर्माणमा सहभागी हुन चाहन्थेँ। सोचेँ, यदि मैले मुक्तिको सम्भावना बढाउनु छ भने आफ्नो कर्तव्य अझै बढी गर्नु आवश्यक छ। कैयौँ उपचारपछि पनि मैले आफ्नो इच्छित नतिजा प्राप्त नगरेपछि मलाई अब आफूले महत्त्वपूर्ण कर्तव्य निभाउने मौका पाउँदिनँ, र आशिष पाउने आशा पूर्णतया चकनाचूर भयो भन्ने लाग्यो, र ममा परमेश्वरमा विश्वास गर्ने प्रेरणा नै रहेन। मलाई लाग्यो, परमेश्वरले मलाई अन्याय गरिरहनुभएको छ; म अरकच्च परेँ र असन्तुलित भएँ, त्यसैले मैले हार मान्न थालेँ। म अब परमेश्वरका वचन खान वा पिउन चाहन्नथेँ, र प्रार्थनामा मलाई रुचि थिएन। मैले संसारिक प्रवृत्तिहरू पछ्याएर परमेश्वरलाई असन्तुष्टि पोखेँ। मैले बुझेँ, ममा विश्वास थियो र मैले आशिष् पाउन मात्र आफ्नो कर्तव्य निभाएको थिएँ। आशिष् नपाउँदा, मैले परमेश्वरप्रति वैरभाव राखेँ र शैतानी स्वभाव मात्र देखाएँ। ममा विवेक वा समझ थिएन। यसले मेरो पहिलाको सबै प्रयास झुठो र परमेश्वरलाई धोका दिनका लागि थियो भन्ने प्रमाणित गऱ्यो। मेरो विश्वासको यतिका वर्षमा, परमेश्वरले मलाई एकदमै धेरै सत्यता र अनुग्रह दिनुभएको थियो। परमेश्वरको सुरक्षाविना, मेरो स्वास्थ्य धेरै अघि खस्किसकेको हुनेथ्यो, तर मैले परमेश्वरलाई धन्यवाद दिन र उहाँको ऋण चुकाउन मात्र असफल भइन, गुनासो पनि गरेँ। म पूर्ण रूपमा अनुचित र मानवताहीन थिएँ! यसबारे सोच्दा म पछुतो र आत्मघृणाले भरिएँ। म आशिष् पाउने आफ्नो अभिप्राय साँच्चै हटाउन र आफूलाई परमेश्वरविरुद्ध जान रोक्न चाहन्थेँ, त्यसैले मैले प्रार्थना गरी आफूलाई चिन्न परमेश्वरलाई अन्तर्दृष्टि मागेँ।
त्यसपछि मैले परमेश्वरका वचनको यो खण्ड पढेँ: “आशिषित हुनु मानिसहरूका लागि पछ्याउने उचित उद्देश्य नभएकाले, उचित उद्देश्यचाहिँ के हो त? सत्यता पछ्याउनु, स्वभाव परिवर्तन पछ्याउनु, र परमेश्वरका सबै योजनाबद्ध कार्य र प्रबन्धहरूमा समर्पित हुन सक्षम हुनु: मानिसहरूले पछ्याउनुपर्ने उद्देश्यहरू यिनै हुन्। उदाहरणका लागि, मानौँ तँलाई काटछाँट गरिएकाले तँमा धारणा र गलतफहमीहरू पैदा हुन्छन्, र तँ समर्पित हुन असमर्थ बन्छस्। तँ किन समर्पित हुन सक्दैनस्? किनभने तँलाई तेरो गन्तव्य वा आशिषित हुने तेरो सपनामा चुनौती खडा भएको छ भन्ने लाग्छ। तँ नकारात्मक र उद्विग्न बन्छस्, र आफ्नो कामबाट विमुख हुन र कर्तव्य त्याग्न चाहन्छस्। यसको कारण के हो? तेरो पछ्याइमा समस्या छ। त्यसोभए यसलाई कसरी समाधान गर्नुपर्छ? तैँले यी गलत विचारहरूलाई तुरुन्तै त्याग्नु जरुरी छ, र तेरो भ्रष्ट स्वभावको समस्या समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नु अनिवार्य छ। तैँले आफूलाई यसो भन्नुपर्छ, ‘म आफ्नो कामबाट बिमुख हुनुहुँदैन, मैले अझै पनि सृजित प्राणीले गर्नुपर्ने कर्तव्य राम्रोसँग पूरा गर्नुपर्छ, र आशिषित हुने मेरो चाहनालाई पन्छ्याउनुपर्छ।’ जब तैँले आशिषित हुने चाहना त्याग्छस्, र तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस्, तेरो काँधबाट बोझ हट्छ। अनि के तँ अझै पनि नकारात्मकता हुन सक्नेछस् त? कहिलेकहीँ तँ अझै पनि नकारात्मक हुने भए पनि, तँ यसले आफूलाई बाँध्न दिँदैनस्, र हृदयमा, तँ प्रार्थना गरिरहन्छस् र लडिरहन्छस्, आशिषित हुने र गन्तव्य पाउने तेरो पछ्याइको उद्देश्यलाई सत्यताको पछ्याइमा परिणत गर्छस्, र तँ मनमनै सोच्छस्, ‘सत्यता पछ्याइ सृजित प्राणीको कर्तव्य हो। आज निश्चित सत्यताहरू बुझ्नुजत्तिको महान् फसल अरू कुनै हुँदैन, यो नै सबैभन्दा ठूलो आशिष् हो। यदि परमेश्वरले मलाई चाहनुहुन्न, र मैले राम्रो गन्तव्य पाउँदिनँ, अनि आशिषित हुने मेरो आशा चकनाचुर हुन्छ भने पनि, मैले अझै आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु, यसो गर्नु मेरो दायित्व हो। कारण जेसुकै भए पनि, म यसलाई मेरो उचित कर्तव्य निर्वाहमा असर गर्न दिनेछैनँ, म यसलाई परमेश्वरको आज्ञा पूरा गर्नमा असर गर्न दिनेछैनँ; म यही सिद्धान्तअनुसार आफूलाई आचरणमा ढाल्छु।’ अनि के यसरी, तैँले देहका बन्धनहरूलाई पार गरेको हुँदैनस् र?” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यताको अभ्यासमा मात्र जीवन प्रवेश हुन्छ)। यो पढेर मैले किन गुनासो गरेँ, किन नकारात्मक भएँ, र आशिष पाउने आशा टुट्दा किन हार मानेँ भनी बुझ्न पाएँ। पछ्याइप्रतिको मेरो गलत दृष्टिकोण नै समस्याको जड थियो। म आशिष र राम्रो गन्तव्य पछ्याइरहेको थिएँ, त्यसैले त्यो पाउने आशा गुम्नेबित्तिकै अघि बढ्नै नसक्ने गरी असाध्यै नकारात्मक भएँ। आशिष पाउने मेरो चाहना अत्यन्तै बलियो थियो। तर म एक सृजित प्राणी हुँ, र मैले आशिष वा राम्रो गन्तव्य प्राप्त गरे नि नगरे नि, आफ्नो कर्तव्य निभाउनुपर्छ। मैले आशिष पाइनँ भने पनि, आफ्नो जिम्मेवारी र कर्तव्य पूरा गरेँ भने, कम्तीमा मलाई कुनै पछुतो हुनेछैन। यो विचार मेरा लागि अन्तर्दृष्टि दिने थियो। मैले परमेश्वरका वचनमा देखाइएको बाटोअनुसार अभ्यास गर्नुपर्थ्यो, आशिष् पाउने आफ्नो चाहना त्याग्नुपर्थ्यो र पछ्याइप्रतिको गलत दृष्टिकोण बदल्नुपर्थ्यो, र आफूले सक्ने कुनै पनि कर्तव्य पूरा गर्नुपर्थ्यो। कुनै दिन मेरो स्वास्थ्य बिग्रिएको भए पनि, मैले परमेश्वरलाई दोष दिन मिल्दैनथ्यो। यो नै सृजित प्राणीमा हुनुपर्ने समझ हो। म अहिले अरू कर्तव्य निभाउन सक्दिनथेँ, तर घरमा लेख लेख्ने अभ्यास गर्न, आफ्नो अनुभव र ज्ञानबारे लेखेर भेलामा ब्रदर-सिस्टरसँग बाँड्न सक्थेँ। त्यसरी, मैले आफ्नो भागको काम गरिरहेको थिएँ। यसो गर्दा मैले अत्यन्तै राहत महसुस गरेँ।
एक वर्षपछि, म केही औषधि लिन अस्पताल जाँदा, डाक्टरले भने, “तपाईं निको हुनुभयो र अब औषधि लिन आवश्यक छैन। आफ्नो स्वास्थ्यलाई नै अझ बढी ख्याल गर्नुहोस् र धपेडी नगर्नुहोस्।” डाक्टरले त्यसो भनेको सुनेर म एकदमै उत्साहित भएँ, र परमेश्वरलाई बारम्बार धन्यवाद दिएँ। यसपछि, मैले परमेश्वरका वचनमा यो पढेँः “म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, उनीहरू कति दयनीय छन् भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु उनीहरूसँग सत्यता छ कि छैन भन्ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्)। ठ्याक्कै! परमेश्वर मानिसको परिणाम तिनीहरूसँग सत्यता छ कि छैन भन्ने आधारमा निर्धारण गर्नुहुन्छ, र अन्ततः सत्यता प्राप्त गर्न नसक्नेहरूले मुक्ति प्राप्त गर्न सक्दैनन्। यदि मैले आफ्नो आस्थामा सत्यता पछ्याइनँ वा स्वभाव परिवर्तन गरिनँ, र अन्त्यमा मेरो भ्रष्ट स्वभाव शुद्ध भएन भने, जति नै धेरै योगदान गरे पनि वा आफूलाई जति नै समर्पित गरे पनि म मुक्ति प्राप्त गर्न सक्दिनँ। तर म मिहिनेतको सहायताले परमेश्वरलाई धोका दिएर आशिष र अनुग्रह पाउन चाहन्थेँ। के यो बकम्फुसे कुरा होइन? यो केवल मेरो इच्छावादी सोच मात्र थियो! बाहिरबाट हेर्दा, रोगका कारण मैले मेरो कर्तव्य पूरा गर्ने अवसर गुमाएको जस्तो देखिन्थ्यो, तर मेरो रोगी स्वास्थ्यले मेरो गलत दृष्टिकोण र भ्रष्ट स्वभावलाई प्रकट गर्यो, जसले मलाई विगतमा फर्कन र सत्यताका पछ्याइमा ध्यान केन्द्रित गर्न मदत गर्यो। यो मेरा लागि परमेश्वरको महान सुरक्षा र मुक्ति थियो। यसले मलाई ठूलो पछुतो र ऋणको भावनाले भर्यो, त्यसैले मैले प्रार्थना गरेँ, “परमेश्वर! म मेरो लक्ष्यप्राप्तिको गलत दृष्टिकोणलाई बदल्न चाहन्छु। म अब आशिष र इनामहरूको पछि लाग्न चाहन्न। भविष्यमा म जुनसुकै कर्तव्य गरूँ, म सत्यता पछ्याउन, स्वभाव परिवर्तनमा लाग्न, र तपाईंलाई सन्तुष्ट पार्ने मेरो कर्तव्य पूरा गर्न चाहन्छु।”
त्यसपछि, मैले आफ्नो कर्तव्यलाई कसरी लिने भन्नेबारे परमेश्वरका केही वचन पढेँ जसले मेरो आँखा खोलिदिए। परमेश्वरका वचनहरूले भन्छन्: “तेरो कर्तव्य मानकअनुरूप तरिकाले निर्वाह गर्नका निम्ति, तैँले परमेश्वरमा कति वर्षदेखि विश्वास गरेको छस्, तैँले कति वटा कर्तव्यहरू निर्वाह गरेको छस् भन्ने कुराको कुनै महत्त्व हुँदैन, न त तैँले परमेश्वरको घरमा कति योगदान दिएको छस् भन्ने कुराको नै महत्त्व हुन्छ, तँ आफ्नो कर्तव्यमा कतिको अनुभवी छस् भन्ने कुरा त परै जाओस्। परमेश्वरले हेर्नुहुने मुख्य कुरा भनेको, व्यक्तिले कुन बाटो लिन्छ भन्ने तथ्य हो। अर्को शब्दमा, उहाँले सत्यताप्रतिको व्यक्तिको आचरण र व्यक्तिका कार्यहरूको पछाडिका सिद्धान्तहरू, दिशा, मूल र सुरुवाती बिन्दुलाई हेर्नुहुन्छ। परमेश्वरले यी कुराहरूमा ध्यान केन्द्रित गर्नुहुन्छ; तिनै कुराहरूले तँ हिँड्ने बाटो निर्धारित गर्छन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। “परमेश्वरको निम्ति योगदान दिने सबैले इनाम प्राप्त गर्नुपर्छ भनेर मानिसले सोच्छ, र योगदान जति ठूलो हुन्छ, त्यति नै बढी तिनीहरूले परमेश्वरको निगाह प्राप्त गर्नुपर्छ भनेर भन्ने गरिन्छ। मानिसको दृष्टिकोणको सार लेनदेनमा आधारित छ, र सृष्टि गरिएको प्राणीको रूपमा उसले आफ्नो कर्तव्य सक्रिय रूपमा निर्वाह गर्ने प्रयास गर्दैन। परमेश्वरका लागि, मानिसहरूले जति बढी परमेश्वरप्रति साँचो प्रेम र परमेश्वरप्रति पूर्ण समर्पण गर्न खोज्छन्—अर्थात्, सृष्टि गरिएको प्राणीको रूपमा तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न खोज्छन् भने—तिनीहरूले त्यति नै बढी परमेश्वरको अनुमोदन प्राप्त गर्न सक्छन्। परमेश्वरको दृष्टिकोण भनेको मानिसलाई उसको मूल कर्तव्य र प्रतिष्ठालाई पुनर्प्राप्त गर्न लगाउनु हो। मानिस सृष्टि गरिएको प्राणी हो, र त्यसकारण मानिसले परमेश्वरबाट कुनै पनि मागहरू गरेर आफैलाई नाघ्नु हुँदैन, र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्यलाई पूरा गर्नेबाहेक अरू केही पनि गर्नु हुँदैन। पावल र पत्रुसको गन्तव्यको मापन सृष्टि गरिएका प्राणीको रूपमा तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न सके कि सकेनन् भन्ने कुराअनुसार गरियो, तिनीहरूका योगदानको आकारअनुसार गरिएन; तिनीहरूले सुरुदेखि नै जे कुराको खोजी गरे त्यसअनुसार तिनीहरूको गन्तव्य निर्धारित भयो, तिनीहरूले कति धेरै काम गरे, वा अरू मानिसहरूले तिनीहरूको मुल्याङ्कन कसरी गरे त्यसअनुसार निर्धारित भएन। त्यसकारण, सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य सक्रियताको साथ पूरा गर्न खोज्नु नै सफलताको मार्ग हो; परमेश्वरप्रतिको साँचो प्रेमको मार्ग खोज्नु नै सबैभन्दा सही मार्ग हो; आफ्नो पुरानो स्वभाव परिवर्तन गर्न खोज्नु, र परमेश्वरप्रतिको चोखो प्रेमको खोजी गर्नु नै सफलताको मार्ग हो। सफलताको त्यस्तो मार्ग नै सृष्टि गरिएको प्राणीको मूल कर्तव्य साथै मूल स्वरूप पुनर्प्राप्त गर्ने मार्ग हो। पुनर्प्राप्तिको मार्ग यही हो, र सुरुदेखि अन्त्यसम्मै परमेश्वरको सम्पूर्ण कार्यको उद्देश्य पनि यही नै हो” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ)। परमेश्वरका वचन पढेपछि, मैले देखेँ कि मानिसका कर्तव्यहरूमा साच्चै नै उच्च वा निम्नको भेद छैन। मानिसहरूले मुक्ति पाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा उनीहरूले के कर्तव्य निभाउँछन् वा कति ठूलो काम गर्छन् भन्नेमा निर्भर गर्दैन। जबसम्म मानिसले सत्यता पछ्याउँछ, सृजित प्राणीको कर्तव्य पूरा गर्दछ, र जीवन स्वभावमा परिवर्तन ल्याउँछ, उसले परमेश्वरबाट मुक्ति पाउन सक्छ। कर्तव्य पूरा गर्नु सृजित प्राणीहरूको जिम्मेवारी हो। यो प्रत्येक व्यक्तिले गर्नुपर्ने कुरा हो। यो व्यक्तिगत फाइदा लिने साधन होइन, न त इनामका लागि सौदाबाजी गर्ने साधन नै हो। मैले आशिष पाए पनि नपाए पनि, मैले मेरो कर्तव्य पूरा गर्नुपर्छ। त्यसपछि, मेरो शारीरिक अवस्थाको आधारमा मण्डलीले मलाई उपयुक्त कर्तव्यको व्यवस्था गर्यो।
अब, म आफ्नो भविष्य र गन्तव्य राम्रो हुन्छ कि हुँदैन भनेर चिन्तित भइरहन्न। मलाई थाहा छ कि मैले जे कर्तव्य गरेपनि, सत्यता बुझ्नु र प्राप्त गर्नु सबैभन्दा महत्त्वपूर्ण कुरा हो। भविष्यमा मेरो परिणाम राम्रो भए नि नभए पनि, जबसम्म म आफ्नो कर्तव्यमा जिम्मेवारी पूरा गर्न सक्छु, तबसम्म म सहज र शान्त महसुस गर्नेछु। परमेश्वरलाई धन्यवाद!