४०. जन्जिर

सन् २००४ मा, मैले सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको काम स्विकारेँ, र त्यसको तुरुन्तैपछि सुमाचार सुनाएकामा मेरो रिपोर्ट गरियो। त्यो दिन, म अस्पतालमा काम गरिरहेकी थिएँ, र मेरी सहकर्मीले मलाई अस्पतालका निर्देशकले खोजिरहेका छन् भनेर बताइन्। म निर्देशकको कार्यालयमा गएँ र त्यहाँ वर्दीमा दुई जना अग्ला-अग्ला पुलिस अफिसरहरू उभिरहेका देखेँ। तिनीहरूले मलाई यसो भने, “तपाईं पूर्वीय ज्योतिमा विश्वास गर्नुहुन्छ र सुसमाचार प्रचार गरिरहनुभएको छ भनेर कसैले रिपोर्ट गरेको छ। पूर्वीय ज्योतिलाई राष्ट्रले कारबाहीको मुख्य निशाना बनाएको छ, र यसका विश्वासीहरू सबै राजनीतिक अपराधी हुन् जसलाई जेलसजाय हुनेछ!” तिनीहरूले मलाई यदि मैले परमेश्‍वरमा विश्वास गरिरहेँ भने, तिनीहरूले चाहेको कुनै पनि समयमा मलाई जागिरमा प्रतिबन्ध लगाउन सक्नेछन्, र म काममा गए पनि पैसा नपाउन सक्छु भनेर धम्की पनि दिए। मेरा श्रीमानको काम, र मेरो छोरोको विश्वविद्यालयमा भर्ना हुने, सेनामा भर्ती हुने वा विदेश जाने योग्यतामा समेत असर पर्नेछ। तिनीहरूले मलाई प्रचार गर्दै गरेको भेटेमा, जेल हालिनेछ भनेर भने। यसले गर्दा म चिन्तित भएँ, र सोचेँ, “यदि मैले आफ्नो आस्था त्यागिनँ भने, प्रहरीले दुःख दिन छोड्नेछैन। यदि मेरो जागिर गुम्यो र श्रीमानको व्यापारमा असर पऱ्यो भने, कसरी हामीले जीवन धान्ने? यदि मलाई पक्रेर जेल हालियो भने, मेरो कलिलो छोरोको हेरचाह कसले गर्नेछ? यदि मेरो आस्थाले गर्दा उसका सम्भावनाहरूमा असर पऱ्यो भने, म त एकदमै दुःखी आमा बन्नेछु।” त्यसबारे जति धेरै सोचेँ, उति नै दुःखी भएँ। मैले तुरुन्तै परमेश्‍वरलाई पुकारेर मेरो हृदयको रक्षा गर्नुहोस् भनेँ। त्यो क्षण, मैले परमेश्‍वरका वचनको एउटा खण्ड सम्झेँ: “तँ यस संसारमा रुँदै आएको क्षणदेखि नै, तैँले आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छस्। परमेश्‍वरको योजना र उहाँको निर्धारणका खातिर तैँले आफ्नो भूमिका खेल्छस् र तैँले आफ्नो जीवन यात्रा सुरु गर्छस्। तेरो पृष्‍ठभूमि जस्तोसुकै भए पनि र तेरो अगाडि जस्तोसुकै यात्रा भए तापनि, जेसकै भए पनि, स्वर्गको योजनाबद्ध कार्य र प्रबन्धबाट कोही पनि उम्कन सक्दैन, अनि कसैले पनि आफ्‍नो नियति नियन्त्रण गर्न सक्दैन, किनकि सबै थोकमाथि सार्वभौम हुनुहुने उहाँ मात्र यस्तो काम गर्न सक्षम हुनुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर मानिसको जीवनको स्रोत हुनुहुन्छ)। मैले परमेश्‍वरको वचन मनन गरेपछि के बुझेँ भने, सबैको नियति परमश्वरको शासनको अधीनमा हुन्छ। हाम्रो परिवारमा आइपर्ने जुनसुकै कुरा परमश्वरका हातमा थिए, र त्यो कुनै व्यक्तिले निर्णय गर्ने कुरा थिएन। परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, र मानिसहरूले परमेश्‍वरमा विश्वास गर्नु र उहाँलाई आराधना गर्नु स्वाभाविक र सही कुरा हो। तर अहिले प्रहरीले मलाई धम्क्याउन, अनि साँचो मार्ग त्याग्न र परमेश्‍वरलाई विश्वासघात गर्न बाध्य बनाउन मेरो र मेरा श्रीमानको जागिर अनि मेरो छोराको भविष्यलाई प्रयोग गरिरहेको थियो कति साह्रो घृणास्पद! तुरुन्तै मैले के मन बनाएँ भने, मेरा जीवनमा जेजस्तो आइपरे पनि, म शैतानसँग सम्झौता गर्नेछैनँ। प्रहरीले मलाई मेरा ब्रदर-सिस्टरहरूको रिपोर्ट गर्ने माग गऱ्यो, तर मैले त्यसलाई बेवास्ता गरेँ, र अन्त्यमा तिनीहरू गए।

त्यसपछि, तिनीहरू प्रायजसो अस्पतालमा आएर म अझै परमेश्‍वरमा विश्वास गर्छु कि गर्दिनँ र सुसमाचार प्रचार गरिरहेको छु कि छैन भनेर सोध्थे। कहिलेकाहीँ मैले शल्यक्रिया गर्दागर्दै त्यो जति नै अर्जेन्ट भए पनि त्यसलाई बीचैमा रोक्नुपर्थ्यो। त्यसले गर्दा मलाई रिस उठ्न थालेको थियो। सोच्थेँ, मैले केही खराब गरेकी छैनँ, मैले परमेश्‍वरमा विश्वास गरिरहेकी र सही मार्ग पछ्याइरहेकी मात्र छु, तर किन प्रहरीले मलाई दुःख दिइरहेको छ र मलाई आफ्नो काम शान्तिसित गर्न दिइरहेको छैन? ममाथि लगातार अनुसन्धान गरिएको कुराले गर्दा अस्पतालमा होहल्ला मच्चियो। सहकर्मीहरूले मलाई खतरनाक व्यक्ति ठाने। कतिपयले पिठ्यूँपछाडि मेरो कुरा गर्थे, र कतिपयले त सिधै सोधे, “तिमी परमेश्‍वरमा विश्वास गरेर के गरिरहेकी छौ? किन प्रहरीले तिमीमाथि सधैँ अनुसन्धान गरिरहेको छ? तिम्रो आस्थाले गर्दा प्रहरी हाम्रो ढोकामै आइपुगेको छ। यो निकै गम्भीर कुरा हो।” मप्रति निर्देशकको मनोवृत्ति पनि बद्लियो। उनी मलाई सधैँ सम्मान गर्थे, तर त्यस घटनापछि, उनले मलाई देख्दैपिच्छे, यसरी सोध्थे, “तिमी प्रचार गर्न गएकी छैनौ नि, हैन त?” उनले मलाई चौबिसै घण्टा फोन अन राख्नू भनेर पनि भने, ताकि मलाई जहिले पनि सम्पर्क गर्न सकियोस्। एकपटक, निर्देशकले मलाई यसो भने, “परमेश्‍वरप्रतिको तिम्रो विश्वासका कारण प्रहरी धेरैपटक यहाँ आइसकेको छ। तिमीले विश्वास गर्न छोड्नुपर्छ। तिमीले सधैँ आफ्नो काम राम्ररी गरेकी छौ, र सबैले तिम्रो इज्जत गर्छन्। आस्थाले गर्दा आफ्नो भविष्य बरबाद नगर। त्यसो गर्नु उचित होइन। यदि तिमीलाई पक्राउ गरियो वा त्योभन्दा खराब भयो भने, तिम्रो हाकिमको नाताले मलाई पनि ठूलो समस्या हुनेछ।” मेरा निर्देशकले निरन्तर निगरानी गर्ने र सहकर्मीहरूले सतर्कको नजरले हेर्ने त्यस अवधिभरि म दुःखित र निराश भएँ, मैले परमेश्‍वरलाई आस्था र शक्तिका लागि प्रार्थना गरेँ, र यी कठिन परिस्थितिहरूमा दह्रिलो रहन उहाँसँग मद्दत मागेँ। त्यसपछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ: “त्यस ठूलो रातो अजिङ्गरले परमेश्‍वरलाई सताउँछ अनि त्यो परमेश्‍वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्‍वरमा विश्‍वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्…। परमेश्‍वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्‍वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरूतुरुन्तै पूरा हुन सक्दैनन्; यसर्थ, मानिसहरू परमेश्‍वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्‍वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्‍वरले उहाँको बुद्धि र उहाँका अचम्‍मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्‍वरका वचनबाट मैले उहाँको अभिप्राय बुझेँ। चीनमा कम्युनिस्ट पार्टीको शासन छ, र त्यहाँ परमेश्‍वरको सबैभन्दा तीव्र प्रतिरोध हुन्छ। चीनमा आस्थाका मानिसहरू नसताइने र अपमानित नहुने त कुरै छैन, तर परमेश्‍वर कम्युनिस्ट पार्टीको सतावटलाई हाम्रो विश्वास सिद्ध पार्ने माध्यमका रूपमा प्रयोग गर्नुहुन्छ, त्यसद्वारा उहाँले विजेताहरूको समूह बनाउनुहुन्छ। परमेश्‍वरको बुद्धि यस्तो हुन्छ। मैले परमेश्‍वरमा विश्वास गरेकी र सही मार्गमा हिँडेकी कारण, म प्रहरीको उत्पीडन र निगरानी सँगसँगै सहकर्मी र साथीहरूको अपमान र आलोचना खेप्दै थिएँ। अनि यो सबको पछाडि एउटा उद्देश्य थियो। यो बुझेपछि मलाई त्यति नराम्रो लागेन। कम्युनिस्ट पार्टीले मलाई जति नै सताउने र अवरोध पुऱ्याउने प्रयास गरे पनि, म अन्त्यसम्मै परमेश्‍वरलाई पछ्याउनेछु भनेर मनमनै प्रतिज्ञा गरेँ।

त्यो बेला मेरा श्रीमान् व्यापारका सिलसिलामा बाहिर गएका थिए, र मैले उनलाई प्रहरी अनुसन्धानबारे बताइनँ किनभने म उनलाई चिन्तित बनाउन चाहन्नथेँ। उनी जनवरी २००५ मा यात्राबाट फर्के, र के भएको थियो भन्ने थाहा पाएपछि उनी छाँगोबाट खसेझैँ भए। उनले एकदमै कठोरतासाथ मलाई, सर्वशक्तिमान् परमेश्‍वरका विश्वासीहरू राजनीतिक अपराधी भएको जो कुनै पनि बेला पक्राउ र जेल पर्न सक्ने अनि हिरासतमा मरणासन्न हुनेगरी कुटिन सक्ने कुरा आफूले थाहा पाएको बताए। उनले हाम्रो छोराको भविष्य र हाम्रा आफन्तहरूको जागिरमा असर पर्ने बताए, र मलाई सर्वशक्तिमान् परमेश्‍वरमा विश्वास गर्न छोड्नू भनेर भने। सोचेँ, “मेरा श्रीमानको प्रभुमाथिको विश्वास नाम मात्रको छ। उनले वास्तवमा केही बुझेका छैनन्। उनमा यस्ता चिन्ता हुनु सामान्य हो। कम्युनिस्ट पार्टीले हामी विश्वासीहरूलाई असाध्यै सताउँछ, हाम्रा परिवारका सदस्यहरूको समेत पछि लाग्छ। कसलाई पो डर लाग्दैन र?” मैले कसरी उनी सारा समय व्यापारका सिलसिलामा बाहिरै रहेका कारण, त्यसको अर्थ मैले उनलाई सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूको कामबारे गवाही दिने मौका पाएकी छैनँ भनेर पनि सम्झेँ। हामीलाई उचित कुराकानी गर्न यो अवसर चाहिएको थियो, त्यसैले मैले उनीसँग धेरै सङ्गति गरेँ, तर उनले पटक्कै सुनेनन्। उनले जीवन राम्रोसँग चलिरहेको छ र हामीले केवल प्रभु येशूको अनुग्रहमा रमाउनुपर्छ र न्यायको काम स्विकार्नु आवश्यक छैन भन्दै त्यतिकै कुरा टकटकाए। उनलाई यदि म पक्राउ परेँ भने हाम्रो परिवार त्यसमा मुछिन्छ भन्ने डर थियो, त्यसैले उनले मलाई परमेश्‍वरमा विश्वास गर्नदेखि रोक्ने कोसिस गर्न थाले। त्यसपछि, उनले मलाई एकदमै निगरानी गर्न थाले। यदि म कामपछि समयमा घर आइपुगिनँ भने, उनले मलाई कहाँ छु भनेर फोन गर्थे र घर आउनू भन्थे, अनि उनी साँझमा पहिले जस्तो आफ्ना साथीहरूलाई भेट्न जान छोडे। बरु, उनी मलाई निगरानी गर्दै घरमै बस्थे। जब म भेलामा सहभागी हुने समय हुन्थ्यो, तब उनले मलाई उनका लागि अन्य कुरा गर्न लगाउँथे। उनले मलाई परमेश्‍वरमा विश्वास गर्न वा कर्तव्य निभाउनदेखि रोक्न हरसम्भव प्रयास गरे। सुरुमा त मलाई एकदमै बन्धनमा परेको महसुस भयो, तर पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड सम्झेँ: “तँभित्र मेरो साहस हुनुपर्छ, र विश्‍वास नगर्ने आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिप्रति समर्पित हुनु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि मेरो बुद्धिमा भर पर्; शैतानका कुनै पनि षड्यन्त्रलाई प्रभाव पार्न नदे(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १०)। मैले परमेश्‍वरको वचन मनन गर्दा के बुझेँ भने, यसो हेर्दा त मेरा श्रीमानले मलाई परमेश्‍वरमा विश्वास गर्न रोक्ने प्रयास गरिरहेको जस्तो देखिन्थ्यो, तर पर्दापछाडि भने शैतानले परिस्थिति हेरफेर गरिरहेको र अवरोध पुऱ्याइरहेको थियो, मलाई परमेश्‍वरलाई विश्वासघात गर्न र इन्कार गर्न लगाउन चालहरू प्रयोग गरिरहेको थियो। म शैतानसामु झुक्नु हुँदैनथ्यो। पछि, मैले मेरा श्रीमानको निगरानीबाट उम्कने बहाना भेट्टाएँ, र म भेलाहरूमा गएँ र गोप्य रूपमा आफ्ना कर्तव्यहरू पूरा गरेँ। मैले मेरा श्रीमान् कम्युनिस्ट पार्टीको सतावटदेखि डराउनेछैनन् र सर्वशक्तिमान् परमेश्‍वरको काम जाँच्ने कोसिस गर्नेछन् भन्ने आशामा उनीसँग कुरा गर्ने मौका पनि खोजिरहेकी थिएँ। तर मेरा श्रीमान् सधैँ पादरी र ननहरूले विश्वास गर्न थालेपछि विश्वास गर्छु भनेर बहाना बनाउँथे। उनले म पक्राउ परेर जेल नपरूँ भनी मलाई भेलामा वा सुसमाचार सुनाउन पनि नजानू भने। मैले मेरा श्रीमानले सत्यताप्रति पटक्कै चासो नराखेको वा प्रभुको आगमन नस्विकारेको देखेँ, त्यसैले मैले उनीसँग त्यसबारे कुरै गर्न छोडेँ। सोचेँ, “जे भए पनि, मैले परमेश्‍वरमा विश्वास गर्नुपर्छ र आफ्नो कर्तव्य निभाउनुपर्छ। म उनीबाट बन्धनमा पर्नु हुँदैन।”

त्यो वर्ष वसन्त उत्सवपछि, मेरा श्रीमान् व्यापारका सिलसिलामा यात्रामा निस्कनुको साटो मेरो निगरानी गर्न घरमै बसे। एक दिन, उनले रुँदै घुँडा टेके र मलाई बिन्ती गरे, “तिमी सधैँ भेलाका लागि र सुसमाचार सुनाउन बाहिर जान्छौ। यदि तिमी पक्राउ भएर जेल पऱ्यौ भने भविष्यमा कसरी हामीले जीवन धान्ने? यस परिवारलाई के हुनेछ, हाम्रो छोरालाई के हुनेछ? तिमीले हाम्रो परिवारबारे, र हाम्रो छोराको भविष्यबारे सोच्नुपर्छ।” इमानदारीसाथ भन्नुपर्दा, मैले हामी सँगै बसेका यतिका वर्षमा मेरो श्रीमान् रोएको कहिल्यै देखेकी थिइनँ। उनलाई यसरी घुँडा टेकेर मलाई बिन्ती गरेको देख्दा मलाई नराम्रो लाग्यो, र म पनि रुन थालेँ। मैले उनलाई सान्त्वना दिन यसो भनेँ, “सबै कुरा परमेश्‍वरकै हातमा छन्। म पक्राउ पर्नेनपर्ने, र भविष्यमा हाम्रो छोरालाई के होला—यो सबै परमेश्‍वरद्वारा निर्धारित छ। हामीले गर्न सक्ने भनेको परमेश्‍वरमा भर पर्नु र यो अनुभव जिउनु हो। हामीले यी कुराबारे चिन्ता गर्नु पर्दैन।” मेरा श्रीमानले आँखाभरि आँसु पारेर मन्टो हल्लाए र भने, “प्रहरी तिम्रो पछि लागिसकेको छ। यदि तिमीले यसरी विश्वास गरिरह्यौ भने, ढिलो-चाँडो पक्राउ पर्नेछौ, र त्यसपछि सबै कुरा बरबाद हुनेछ।” आफ्ना श्रीमानलाई यस्ता पीडामा देखेर, मलाई साह्रै दुःख लाग्यो। यो सब कम्युनिस्ट पार्टीको काम थियो! हामी परमेश्‍वरमा विश्वास गर्छौँ र सुसमाचार सुनाउँछौँ ताकि मानिसहरूले परमेश्‍वरका आखिरी दिनहरूको मुक्ति स्विकार्न र विपत्तिबाट बच्न सकून्। यो मानिसहरूलाई मुक्ति दिनु हो, योभन्दा उचित कुरा अरू छैन, तर कम्युनिस्ट पार्टीले उन्मत्त भई हामीलाई अवरोध र बाधा पुऱ्याउने प्रयास गर्छ। त्यो परमेश्‍वरविरोधी शैतान र पिशाचबाहेक अरू केही होइन! परमेश्‍वरका वचनले भन्छ: “प्राचीनका पुर्खाहरू? प्रिय अगुवाहरू? तिनीहरू सबैले परमेश्‍वरको विरोध गर्छन्! तिनीहरूका हस्तक्षेपले आकाशमुनिका सबैलाई अन्धकार र अराजकताको स्थितिमा छोडेको छ। धार्मिक स्वतन्त्रता? नागरिकहरूका वैधानिक अधिकार र हितहरू? ती सबै पाप ढाक्ने युक्तिहरू हुन्। … परमेश्‍वरको काममा त्यस्तो अभेद्य बाधा किन पार्नु? परमेश्‍वरका मानिसहरूलाई धोका दिन किन विभिन्न युक्तिहरू प्रयोग गर्नु? साँचो स्वतन्त्रता र वैधानिक अधिकार र हितहरू कहाँ छन्? निष्पक्षता कहाँ छ? सान्त्वना कहाँ छ? न्यानोपन कहाँ छ? परमेश्‍वरका मानिसहरूसित चलाकी गर्न किन छलपूर्ण युक्तिहरू प्रयोग गर्नु?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। काम र प्रवेश (८))। कम्युनिस्ट पार्टीले धार्मिक स्वतन्त्रतालाई बढावा दिएजस्तो देखिन्छ, तर वास्तवमा त्यसले विश्वासीहरूलाई दबाउँछ र पक्राउ गर्छ, अनि मानिसहरूको जागिर र परिवारलाई प्रयोग गरेर तिनीहरूलाई परमेश्‍वरलाई नकार्न र विश्वासघात गर्न बाध्य पार्छ। असाध्यै घृणास्पद! यदि कम्युनिस्ट पार्टीको सतावट नभएको भए, म र मेरा श्रीमानबीच यो परिस्थिति कहिल्यै खडा हुनेथिएन र मेरा श्रीमान् यति भयभीत हुनेथिएनन्। कम्युनिस्ट पार्टीको दुष्ट हात जहाँ पर्छ, त्यसले त्यहाँ विपत्ति ल्याउँछ। मेरा श्रीमान् डराएका थिए, उनी आफ्नो जागिर र परिवार जोगाउन चाहन्थे, र त्यही कारण उनले मलाई आस्था त्याग्न कर गर्दै कम्युनिस्ट पार्टीसँगै लागिरहेका थिए। तर म उनले भनेझैँ गर्न गइरहेकी थिइनँ। म त आफ्नो आस्थालाई बलियो बनाएर परमेश्‍वरसँगै जानु थियो।

त्यसपछि, मेरा श्रीमानले अनलाइनमा सर्वशक्तिमान् परमेश्‍वरको मण्डलीविरुद्ध कम्युनिस्ट पार्टीले गरेको थुप्रै निन्दा पढे, अनि उनी आफ्नो व्यापार यात्रामा जानुभन्दा मेरो निगरानी गरेर घरमै बस्थे। उनी म आफ्नो विश्वासमार्फत् कोकोसँग सम्पर्कमा रहेँ र मैले कसलाई फोन गरेँ भनेर यताउता सोधखोज पनि गर्थे। उनले टेलिकम कम्पनीमा गएर मेरो छ महिनाको कल रेकर्ड प्रिन्टसमेत गराएर ल्याए, र त्यसपछि मलाई ती नम्बरहरूबारे एक-एक गर्दै सोधे। मेरो निगरानी गर्न, उनले मलाई हरेक दिन काममा पुऱ्याउँथे र कामबाट ल्याउँथे। उनले म जहाँ गयो त्यहीँ पिछा गर्थे र मलाई एक्लै घरबाहिर जान दिँदैनथे। मलाई पटक्कै स्वतन्त्रता थिएन—त्यो जन्जिरले बाँधिएजस्तो थियो। म मण्डली जीवन जिउन र आफ्नो कर्तव्य निभाउन सक्दिनथेँ, जसले गर्दा मलाई साह्रै नराम्रो लाग्थ्यो, त्यसैले म मेरो श्रीमानको असावधानीको फाइदा उठाउँदै खुसुक्कै निस्केर सुसमाचार सुनाउँथेँ। एकपटक, उनले मलाई रिसाउँदै भने, “यदि तिमी अझै मैले हरसमय निगरानी गर्दासमेत बाहिर गएर प्रचार गर्दै छौ भने, मैले गर्न सक्ने साँच्चै केही छैन। अहिले कम्युनिस्ट पार्टीको शासन छ, र त्यसले तिमीलाई तिम्रो आस्था पछ्याउन दिनेछैन। यदि तिमीले यसै गरिरह्यौ भने, तिमी ढिलो या चाँडो पक्राउ पर्नेछौ र हाम्रो परिवार टुट्नेछ। त्यसैले सम्बन्धविच्छेद गरौँ। हाम्रो सम्बन्धविच्छेद भएपछि तिमी जे चाहन्छौ त्यही विश्वास गर्न सक्छौ, हाम्रो छोरा वा अरू कसैलाई पनि असर पर्दैन।” उनले सम्बन्धविच्छेद चाहेको सुन्दा मलाई विश्वासै लागेन। मैले त परमेश्‍वरमा विश्वास मात्र गरिरहेकी थिएँ। यो कसरी हुन गयो? के हामी यतिका वर्ष सँगै बसेको व्यर्थ भयो? मेरो एकदमै राम्रो परिवारलाई कम्युनिस्ट पार्टीले टुक्राउने कुरा सोच्दा, एकदमै दुःख लाग्यो। यो मेरा लागि असह्य कुरा थियो। मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, कृपया मलाई आस्था र शक्ति दिनुहोस्, ताकि म यी कठिन परिस्थितिहरूमा दह्रो रहन सकूँ।” प्रार्थना गरेपछि, मैले परमेश्‍वरको वचनको यो खण्ड सम्झेँ: “कामको यस चरणमा हामीबाट निकै ठूलो आस्था र प्रेम आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामी लड्खडाउन खान सक्छौँ, किनकि कामको यो चरण पहिलेका सबै चरणहरू भन्दा फरक छ: जुन कुरा परमेश्‍वरले सिद्ध पार्दै हुनुहुन्छ त्यो मानिसहरूको आस्था हो, जुन अदृश्य र अमूर्त दुवै छ। परमेश्‍वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई आस्थामा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौँ शोधनहरू सहिसकेका हुन्छन् र तिनीहरूसँग अय्यूबको भन्दा ठूलो आस्था हुन्छ, जसका लागि तिनीहरूले कहिल्यै परमेश्‍वरलाई नछाडीकनै अविश्‍वसनीय कष्ट र हरप्रकारका यातना सहनुपर्छ। जब तिनीहरू मृत्युसम्मै समर्पित हुन्छन्, र तिनीहरूसँग परमेश्‍वरमाथिको ठूलो आस्था हुन्छ, तब परमेश्‍वरको कामको यो चरण पूरा हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। मार्ग … (८))। मैले परमेश्‍वरको वचन मनन गरेपछि के बुझेँ भने, परमेश्‍वर आफ्ना अखिरी दिनहरूको काममा, मानिसहरूको आस्था र प्रेमलाई सिद्ध पार्न आफ्ना वचन अनि विभिन्न परीक्षा र शोधनहरू प्रयोग गर्नुहुन्छ। मैले शैतानले अय्यूबलाई गरेको परीक्षा सम्झेँ। उनले एकै रातमा आफ्नो छोराछोरी र सम्पत्ति गुमाए, अनि त्यसपछि उनको जीउभरि खटिरा आयो। यस्तो ठूलो सङ्कष्टबीच, अय्यूबले कहिल्यै गुनासो गरेनन्, बरु परमेश्‍वरको नामको प्रशंसा गरिरहे। उनी आफ्नो सारा परीक्षाभरि परमेश्‍वरका गवाहीमा दृढ रहे। त्यसपछि मैले आफूबारे सोचेँ। मेरो परिवार कम्युनिस्ट पार्टीको सतावटका कारण टुक्रिँदै थियो, र मैले पहिल्यै गुनासो गर्दै थिएँ। मैले आफू एकदमै सानो कद भएको र ममा पटक्कै गवाही नभएको देखेँ। मलाई साह्रै पछुतो भयो, त्यसैले मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, र मेरा श्रीमानले सम्बन्धविच्छेद गरे पनि, म देह र परिवारका खातिर सत्यता त्याग्नेछैनँ भनेर प्रतिज्ञा गरेँ।

केही दिनपछि, मेरा श्रीमानले अप्रत्याशित रूपमा मलाई माफी मागे र आफू गलत भएको बताए। उनले आफूले सम्बन्धविच्छेदको कुरा गर्नुहुन्थेन, र त्यो केवल कम्युनिस्ट पार्टीको उग्र दबाबको कारण भएको थियो भनेर भने। केही क्षणपछि उनले अचानक यसो भने, “यदि म तिमीलाई मनाउन सक्दिनँ भने, सर्वशक्तिमान् परमेश्‍वरप्रतिको विश्वासमा म नै तिमीसँग आबद्ध हुनेछु।” यो अचानकको बदलाबले म चकित भएँ तर मलाई उनले राम्ररी विचार गरेको हुनुपर्छ भन्ने लाग्यो, त्यसैले हामी दुईले मिलेर सँगै घरमा परमेश्‍वरको वचन पढ्यौँ। एक हप्तापछि, उनले मलाई भेलामा लैजान आग्रह गरे। मलाई उनको व्यवहार अलि अनौठो लाग्यो, त्यसैले म मानिनँ। उनले मतिर फर्केर यसो भन्दा म छक्क परेँ, “यदि तिमी मलाई भेलामा लाँदैनौ भने, म फिटिक्कै विश्वास गर्नेछैनँ।” उनले मलाई मेरो मन बदल्न मनाउनका लागि यसो गरेको भनेर पनि भने। त्यसपछि मात्र मलाई मेरा श्रीमानले सर्वशक्तिमान् परमेश्‍वरमा विश्वास गरेको नाटक गरिरहेका रहेछन्, र उनको उद्देश्य हाम्रो भेला कहाँ हुन्छ भनेर पत्ता लगाएर मलाई अझ राम्ररी निगरानी र नियन्त्रण गर्न सकियोस् भन्ने रहेछ भनेर थाहा भयो। उनले त्यस्तो हास्यास्पद कुनै कुरा गर्लान् भन्ने मैले सोचेकी थिइनँ। त्यहाँदेखि हामीबीच शीत युद्ध चल्यो। एक दिन, म घरमा परमेश्‍वरो वचन पढिरहेकी थिएँ, मेरा श्रीमानले ढोका ढकढकाउँदै भने, “हामी यसरी बस्न सक्दैनौँ।” मैले ढोका खोल्नासाथ उनले पागलले जस्तो आक्रमण गरेर मेरो घाँटी अँठ्याउँदै कराए, “तिमीले किन सर्वशक्तिमान् परमेश्‍वरमा विश्वास गर्नुपर्‍यो? के तिम्रा लागि उहाँ परिवार र छोराभन्दा पनि महत्त्वपूर्ण हुनुहुन्छ?” उनको अँठ्याइ यति कसिलो थियो कि मलाई पीडा भयो र सास फेर्नै सकिनँ, त्यसैले मैले तुरुन्तै परमेश्‍वरलाई पुकारेर मलाई बचाउन भनेँ। मैले बल गरेँ र उनले छोडिदिए। त्यो घटनाले म एकदमै बेचैन र असाध्यै दुःखी भएँ। पछि, मैले परमेश्‍वरको वचनको एउटा खण्ड पढेँ: “पतिले उसको पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नीले उनको पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्‍त पार्नु होइन र?(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। मैले परमेश्‍वरको वचन मनन गर्दा, मेरा श्रीमानले मलाई साँच्चै प्रेम गर्छन् कि गर्दैनन् भनेर आफैलाई सोधेँ। मैले हाम्रो विवाहको यतिका वर्षबारे फर्केर सोचेँ। मैले हाम्रो परिवारका लागि गरेका त्यागहरूबारे मेरा श्रीमानलाई जतिको स्पष्ट थाहा अरू कसैलाई थिएन, र मैले बच्चैदेखि प्रभुमा विश्वास गरेको र प्रभुको आगमनलाई पर्खेको उनलाई थाहा थियो। तर मैले प्रभुलाई स्वागत गर्दा, उनले मलाई साथ दिएनन्। वास्तवमा, उनले मविरुद्ध कम्युनिस्ट पार्टीको पक्ष लिए, सम्बन्धविच्छेद गर्ने धम्की दिए र मलाई घाँटी निमोठेर मार्ने प्रयाससमेत गरे। त्यो सब उनको आफ्नै स्वार्थ जोगाउनका लागि थियो। त्यसमा श्रीमान् र श्रीमतीलाई बाँध्नुपर्ने आदर अलिकति पनि थिएन। कसरी यसलाई प्रेम भन्न सकिन्थ्यो र? मैले के पनि सम्झेँ भने, मेरा श्रीमानले प्रभु येशूमा विश्वास गरे पनि, अनुग्रह पाउन मात्र विश्वास गरेका थिए। उनले प्रभुको आगमनलाई पटक्कै पर्खेका थिएनन्। उनलाई कम्युनिस्ट पार्टीद्वारा पक्राउ होइन्छ भन्ने र शैतानको शासनदेखि यस्तो डर थियो कि उनले परमेश्‍वर सत्यता व्यक्त गर्न र मुक्तिको काम गर्न आउनुहुँदा उहाँक आखिरी दिनहरूको काम स्विकारेनन्। अनि उनले मलाई विश्वासबाट तर्काउने प्रयास गर्दै कम्युनिस्ट पार्टीको पक्ष लिए। मैले मेरा श्रीमान् परमेश्‍वरको साँचो विश्वासी पटक्कै होइनन् भन्ने बुझेँ। उनी अविश्वासी थिए। परमेश्‍वरका वचनहरूले भन्छन्: “विश्‍वासी र गैरविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्)। म र मेरा श्रीमान् एउटै मार्गमा फिटिक्कै थिएनौँ, त्यसैले मैले उनलाई मलाई नियन्त्रित गर्न दिनु हुन्थेन। त्यसपछि, मैले आफ्नो आस्था नत्याग्ने देखेपछि मेरा श्रीमानले धेरैपटक सम्बन्धविच्छेद गर्ने धम्की दिए। मलाई आफ्नो परिवार वास्तवमै गुमाउने विचार असह्य हुन्थ्यो, त्यसैले मैले हरेक दिन परमेश्‍वरलाई प्रार्थना गरेर मार्गदर्शन मागेँ।

एक दिन, मैले परमेश्‍वरको वचनको एउटा खण्ड देखेँ: “सामान्य व्यक्ति, र परमेश्‍वरप्रतिको प्रेम पछ्याउने व्यक्तिका रूपमा, परमेश्‍वरका मानिसहरूमध्ये एक बन्‍न राज्यमा प्रवेश गर्नु तेरो साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र अर्थपूर्ण जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहका लागि जिउँछन्, र तिनीहरू शैतानका लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरका लागि जिउँछौ, र परमेश्‍वरको इच्छा पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै म भन्छु कि तिमीहरूको जीवन सबैभन्दा अर्थपूर्ण छ। परमेश्‍वरद्वारा चुनिएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा अर्थपूर्ण जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैन(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ)। म के सोच्ने गर्थेँ भने, सुखी परिवार पाउनु, आफ्ना श्रीमानसँग प्रेमिलो सम्बन्ध बनाउनु र आफ्नो भौतिक आवश्यकता पूरा गर्नु, सुखीपनको परिभाषा हो, र त्यसरी जिउनु अर्थपूर्ण हो। तर अहिले, त्यो तथाकथित वैवाहिक प्रेम कमजोर रहेछ भन्ने देखेँ। भनाइ नै छ: पति र पत्नी एकै गुँडका दुई चरा हुन्; विपत्ति आउँदा ती आ-आफ्नो बाटो लाग्छन्। विगतमा, मैले आफ्नो परिवार र श्रीमानका लागि कडा परिश्रम गर्दा, उनले मेरो खुबै ख्याल गर्थे, तर अहिले ममा आस्था भएपछि, उनलाई कम्युनिस्ट पार्टीले विश्वासीहरूलाई सताउँदा उनका आफ्नै हित खतरामा पर्छ भन्ने लाग्यो, त्यसैले उनी मलाई सताउनतिर लागे र सम्बन्धविच्छेदको माग गरे। सोझै भन्नुपर्दा, पति र पत्नीका रूपमा हाम्रो “प्रेम” दुई व्यक्तिले एकअर्कालाई प्रयोग गर्नु मात्र थियो। यस्ता जीवनमा खुसी कहाँ हुन्छ र? उनले अघिल्ला महिनाहरूभरि मेरो निगरानी गरेको अनि मलाई भेलामा जान र आफ्नो कर्तव्य निभाउन नदिएको सम्झेँ। मैले सत्यतामा सङ्गति गर्न आफ्ना ब्रदर-सिस्टिरहरूसँग भेट गर्न पाइनँ, मलाई घरमा बसेर परमेश्‍वरको वचन पढ्दा हृदयमा शान्ति भएन, र मैले सुसमाचार सुनाउन बाहिर जाँदा आफ्ना श्रीमानलाई सम्हाल्ने तरिकाहरूबारे सोच्नुपऱ्यो। मसँग आस्था राख्ने स्वतन्त्रता पटक्कै थिएन, मानौँ म अदृश्य डोरीले बाँधिएकी छु जसले मेरो जीवन निचोडिरहेको थियो। यदि यस्तै भइरहेमा, मेरो जीवनले दुःख पाउनेथ्यो र मैले सत्यता र मुक्ति पाउने मौका पनि गुमाउनेथेँ। त्यो उचित कुरा थिएन। यसै बेला मलाई वैवाहिक प्रेमसहितको पारिवारिक जीवन साँचो खुसी थिएन भनेर झन्-झन् प्रस्ट थाहा भयो। मैले सत्यता पछ्याएर र सृजित प्राणीको कर्तव्य निभाएर मात्र अर्थपूर्ण जीवन जिउन सक्थेँ। मैले प्रभु येशूका वचनहरू पनि सम्झेँ: “मलाईभन्दा बढी आफ्ना बुबा वा आमालाई प्रेम गर्ने मेरो लायक हुँदैन: अनि मलाईभन्दा बढी छोरा वा छोरीलाई माया गर्ने मेरो लायक हुँदैन। र आफ्नो क्रूस बोकेर मेरो पछि नलाग्‍ने, मेरो योग्य हुँदैन(मत्ती १०:३७-३८)। मलाई युगानु युगका सन्तहरू र उनीहरूले कसरी परमेश्‍वरको आज्ञा पूरा गरे भनेर याद आयो, उनीहरूले आफ्नो घरबार र जीविका त्यागेका थिए अनि सुसमाचार सुनाउन र परमेश्‍वरको गवाही दिन सागरहरू पार गरेका थिए, उनीहरूले कष्टहरू भोगेका र आफ्नो जीवनसमेत त्यागेका थिए। उनीहरूको गवाहीले परमेश्‍वरको अनुमोदन पायो। र अहिले परमेश्‍वर मप्रति अनुग्रही भइरहनुभएको थियो, मलाई आखिरी दिनहरूको मुक्ति पाउन उहाँसामु ल्याइरहनुभएको थियो। यो एकपटक मात्र मिल्ने अवसर थियो! यदि मैले आफ्ना श्रीमानको बन्धनका कारण आफ्नो कर्तव्य उचितसित निभाउन नसकेकी भए, म परमेश्‍वरसामु निर्दयी व्यक्ति र अयोग्य हुनेथेँ! मैले त्यो जानेर अघिका सन्तहरूले जस्तै गर्नेछु, सबै कुरा त्याग्नेछु, परमेश्‍वरलाई पछ्याउनेछु, अनि सृजित प्राणीको कर्तव्य निभाउनेछु भनी प्रतिज्ञा गरेँ। यसरी म सार्थक जीवन जिउनेथिएँ।

एक साँझ म भेलाबाट घर आएर ढोका खोल्दा अवाक् भएँ। भित्र मानिसहरू टनाटन थिए। त्यहाँ मेरा श्रीमानका आफन्तहरूलगायत मेरा सहकर्मी र साथीसँगी थिए, अनि तिनीहरूले मलाई देख्नेबित्तिकै मलाई आस्था त्याग्न मनाउने प्रयास गर्दै एकैसाथ बोल्न थाले। कतिपयले आफूले समाचारमा सर्वशक्तिमान् परमेश्‍वरका धेरै विश्वासीलाई भर्खरै कम्युनिस्ट पार्टीले पक्रेको, र कतिपयलाई कम्तीमा १० वर्ष जेलसजाय दिइएको देखेको कुरा बताए। अरूले चाहिँ त्यो पक्रेर जेल हाल्ने कुरा मात्र होइन; सर्वशक्तिमान् परमेश्‍वरका धेरै विश्वीसीलाई हिरासतमा अपाङ्ग बनाइएको वा मारिएको छ, अनि तिनीहरूका परिवारहरूलाई पनि मुछेको छ भनेर भने। कतिपयले चाहिँ कम्युनिस्ट पार्टीले निन्दात्मक भ्रमहरू र मण्डलीबारेका हल्लाहरू पनि दोहोऱ्याए, र परमेश्‍वरका विश्वासीहरूले आफ्नो परिवार त्याग्छन् भनेर भने। यो सब सुनेर मलाई साह्रै रिस उठ्यो। सोचेँ, “यदि कम्युनिस्ट पार्टीको सतावट नहुनु हो भने, मेरो परिवारले मलाई यसरी विरोध र आक्रमण गर्नेथिएन। कम्युनिस्ट पार्टीले तथ्यहरू बङ्ग्याउँछ र हल्लाहरू फैलाउँछ ताकि सत्यता नजान्ने मानिसहरू परमेश्‍वरको विरोधमा त्योसँग आबद्ध होऊन्। त्योसँगै तिनीहरू परमेश्‍वरद्वारा दोषी ठहराइन्छन्, र त्योसँगै तिनीहरू अन्त्यमा नष्ट हुनेछन्। यो पूर्ण दुष्टता छ!” मैले यसो भन्दै तिनीहरूको कुरा खण्डन गरेँ, “यदि तपाईंहरू आस्था हुनु भनेको के हो भनेर बुझ्नुहुन्न भने, बकवास कुरा नगर्नुहोस्। यी सब जोखिमका बाबजुद किन म परमेश्‍वरमा विश्वास गर्न जिद् कस्छु? किनभने मुक्तिदाता आउनुभएको छ, र मानवजातिलाई शैतानको प्रभावबाट मुक्ति दिन र विपत्तिबाट बचाउन धेरै सत्यता व्यक्ति गर्नुभएको छ। यो एकपटक मात्र मिल्ने अवसर हो! तर कम्युनिस्ट पार्टीले परमेश्‍वरमा आस्था राख्न दिँदैन। त्यसले परमेश्‍वरमा विश्वास गर्ने मानिसहरूलाई उन्मत्त भै थिचोमिचो गर्छ र सताउँछ, तिनीहरूमध्ये धेरैलाई पक्रन्छ र थुन्छ। धेरै मानिस घर फर्कन सक्दैनन्, धेरै जनालाई अपाङ्ग बनाइएको छ र कुटेर मारिएको छ, अनि धेरै इसाई परिवार टुक्रिएका छन्। के त्यो सब कम्युनिस्ट पार्टीको काम होइन र? स्पष्टतया आस्थाका मानिसहरूलाई सताउने र इसाई परिवारहरू टुक्राउने कम्युनिस्ट पार्टी नै हो, तर त्यसले कुरा बङ्ग्याउँछ र परमेश्‍वरका विश्वासीहरूले आफ्नो परिवार त्यागिरहेका छन् भनेर भन्छ। के त्यो सत्यलाई उल्टाउनु होइन र? तपाईंहरू चिनियाँ कम्युनिस्ट पार्टीलाई घृणा गर्नुहुन्न तर मलाई परमेश्‍वरमा विश्वास गर्नदेखि रोक्न चाहनुहुन्छ। के तपाईंहरू सही र गलत छुट्याउन सक्नुहुन्न? आस्थाको मार्ग मेरो आफ्नौ छनौट हो। म जेल गएँ भने पनि, सर्वशक्तिमान् परमेश्‍वरलाई पछ्याउन सङ्कल्पित छु।” तिनीहरूले मलाई मनाउन नसक्ने देखे, र अन्त्यमा तिनीहरू सबै गए। मेरा श्रीमानले कठोरतासाथ भने, “कसैले पनि तिम्रो मन बदल्न सक्दैन जस्तो देखिन्छ, त्यसैले सम्बन्धविच्छेद गरौँ। तिमी सर्वशक्तिमान् परमेश्‍वरमा विश्वास गर्छौ, जसको अर्थ राज्यले तिमीलाई आक्रमण गर्नेछ र पक्रनेछ। जब त्यो हुन्छ, तब तिमीले आफ्नो जागिर, हाम्रो परिवार र सायद तिम्रो जीवनसमेत गुमाउनेछौ। तर बाँकी हामी बाँच्न चाहन्छौँ, त्यसैले सम्बन्धविच्छेद नै एकमात्र उपाय हो। कम्युनिस्ट पार्टीले मानिसहरूलाई असम्भव परिस्थितिमा धकेल्छ।” यो कुराले मेरो मन चसक्क दुख्यो, तर निर्णय गर्ने समय आएको छ भनेर मलाई निश्चित रूपमा थाहा भयो। मैले विश्वास गर्ने र परमेश्‍वरलाई पछ्याउने, अनि सत्यता र जीवनको पछि लाग्ने निर्णय गरेँ, जबकि मेरा श्रीमानले आफ्नो जागिर र भविष्यका लागि कम्युनिस्ट पार्टीको पक्ष लिने निर्णय गरे। त्यसैले, हामी आ-आफ्नो अलग मार्गमा लाग्नुपऱ्यो। त्यो बेला, मैले परमेश्‍वरलाई प्रार्थना गरेँ, “हे परमेश्‍वर, जे भए पनि म अन्तसम्म तपाईंलाई पछ्याउनेछु।” भोलिपल्ट बिहान, म र मेरा श्रीमान् सम्बन्धविच्छेदको प्रक्रिया पूरा गर्न नागरिक मामिला ब्युरोमा गयौँ, र बाह्र वर्षको वैवाहिक जीवनलाई टुङ्गायौँ। त्यहाँदेखि, मैले सामान्य रूपमा भेलाहरूमा जान र आफ्नो कर्तव्य निभाउन सकेकी छु, र मलाई एकदमै शान्ति महसुस भएको छ। मलाई लाग्छ, सृजित प्राणीको कर्तव्य निभाउनु नै अर्थपूर्ण जीवन जिउने एकमात्र तरिका हो।

अघिल्लो: ३८. असफलताहरूबाट सिकेका पाठहरू

अर्को: ४१. ईर्ष्या घृणित कुरा हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

३९. अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

२७. मेरो कर्तव्य सम्‍बन्धी मेरा मनसायहरूलाई सुधार्दा

जिया यु, चीनगत जुनमा म मण्डलीको अगुवाको रूपमा निर्वाचित भएको थिएँ। त्यस बेला, म खुशी भएँ र मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले मेरो बारेमा...

१७. कमजोर क्षमता बहाना होइन

झुइक्‍वी, चीनविगतका समयमा, मैले मेरो कर्तव्य गर्ने समयमा कठिनाइको सामना गर्नु पर्दा, वा मैले नराम्रोसँग काम गर्दा, मेरो क्षमता कमजोर भएर हो...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्