२. परमेश्वरको राज्यको मार्ग सधैँ सहज हुन्छ भन्ने छैन
मेरो जन्म इसाई परिवारमा भएको हो, र प्रभुलाई विश्वास गर्ने कार्यमा मैले सानैदेखि मेरो आमाबुबालाई पछ्याएको थिएँ। म बारम्बार मण्डली भेलाहरूमा जान्थेँ र मण्डलीका विभिन्न क्रियाकलापहरूमा सहभागी हुन्थेँ। मार्च २०२० को एक दिन, मैले एक जना सिस्टरलाई फेसबुकमा भेटेँ। हामीले प्रभुमाथिको विश्वासबारे कुरा गर्यौँ, र यी सिस्टरले बताएका कुराहरू निकै नयाँ लाग्यो। उदाहरणको लागि, उनले मलाई स्वर्गको राज्यमा प्रवेश गर्ने मापदण्ड थाहा छ कि छैन भनेर सोधिन्, र यो विषयले तुरुन्तै ममा उत्सुकता जगायो। मैले सोचेँ, “मैले प्रभुमा विश्वास गरेको यति धेरै भयो, तर पाष्टर र एल्डरहरूले कहिल्यै पनि स्वर्गको राज्यमा प्रवेश गर्ने मापदण्डबारे छलफल गरेका छैनन्। हामीले गरेको विश्वासद्वारा हामी स्वर्गको राज्यमा प्रवेश गर्न सक्छौँ कि सक्दैनौँ भन्नेबारे मैले पनि कहिल्यै विचार गरेको छुइनँ।” यस विषयमा मैले सुनेको यो पहिलोपटक थियो, र मलाई यसको उत्तर जान्ने जिज्ञासा भयो। पछि, भेलाहरूमा सहभागी भएर अनि सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेपछि मैले के थाहा पाएँ भने, शैतानद्वारा भ्रष्ट तुल्याइएपछि, हामीभित्र पापी प्रकृति विकास भएको छ, र हामी प्रायजसो पाप गर्ने गर्छौँ। यदि हामीले यो पापी प्रकृतिलाई हटाएनौँ भने, हामी पापबाट उम्कन सक्दैनौँ। यस्ता फोहोरी र भ्रष्ट मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न योग्य हुँदैनन्, किनभने परमेश्वर धर्मी र पवित्र हुनुहुन्छ, र मानिसहरूले पवित्र नभईकन परमेश्वरलाई देख्न सक्दैनन्। उनले मलाई यसो पनि भनिन्, “प्रभु येशू धेरै सत्यता व्यक्त गर्न र मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्न सर्वशक्तिमान् परमेश्वरको रूपमा फर्किनुभएको छ। हाम्रो पापी प्रकृतिलाई हटाउन र हामीलाई पापबाट पूर्ण रूपमा मुक्त गर्नको लागि उहाँले यो काम गर्नुहुन्छ। परमेश्वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गरेर र हाम्रो भ्रष्टताबाट शुद्ध भएर मात्रै हामी स्वर्गको राज्यमा प्रवेश गर्न योग्य हुन्छौँ।” उनले मलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरूका दुई वटा खण्डहरू पनि पढेर सुनाइन्: “तैँले येशू आखिरी दिनहरूको अवधिमा ओर्लनुहुनेछ भन्ने मात्रै जान्दछस्, तर उहाँ खास कसरी ओर्लनुहुनेछ? भर्खरै छुटकारा पाएको, र परमेश्वरद्वारा परिवर्तन भई नसकेको, वा सिद्ध भई नसकेको तिमीहरूजस्तो पापी, के तँ परमेश्वरको हृदय अनुसारको बन्न सक्छस्? अझै पनि तेरो पुरानो मनुष्यतामा रहेको तेरो विषयमा भन्दा, तँलाई येशूले मुक्ति दिनुभएको थियो, र परमेश्वरले दिनुभएको मुक्तिको कारण तँलाई पापीको रूपमा गन्ती गरिँदैन भन्ने कुरा साँचो हो, तर तँ पापी छैनस्, र तँ अशुद्ध छैनस् भन्ने कुरालाई यसले प्रमाणित गर्दैन। तँ परिवर्तन भएको छैनस् भने तँ कसरी सन्तमय बन्न सक्छस्? भित्री रूपमा, तँ अपवित्रता, स्वार्थ र छुद्रले भरिएको छस्, तैपनि तँ अझै येशूसँग अवरोहण गर्न चाहन्छस्—तँ धेरै भाग्यमानी हुनुपर्छ! परमेश्वरमाथिको भरोसामा तैँले एउटा कदमलाई चुकाएको छस्: तँलाई छुटकारा मात्रै दिइएको छ, तर तँ परिवर्तन भएको छैनस्। तँ परमेश्वरको हृदय अनुसारको बन्नको लागि, परमेश्वरले तँलाई व्यक्तिगत रूपमै परिवर्तन गर्ने र धुने काम गर्नुपर्छ; यदि तँलाई छुटकारा मात्रै दिइएको हो भने, तैँले पवित्रता प्राप्त गर्न सक्नेछैनस्। यसरी तँ परमेश्वरको कार्यको असल आशिषहरूमा सहभागी हुन अयोग्य हुनेछस्, किनभने मानिसलाई व्यवस्थापन गर्ने परमेश्वरको कार्यको चरणलाई तैँले चुकाएको छस्, जुन परिवर्तन हुने र सिद्ध पारिने कार्यको मुख्य चरण हो। भर्खरै छुटकारा दिइएको पापी, तैँले प्रत्यक्ष रूपमा परमेश्वरको उत्तराधिकार प्राप्त गर्न सक्दैनस्” (वचन देहमा देखा पर्नुहुन्छको “पद र पहिचानको सम्बन्धमा”)। “येशूले मानिसको माझमा धेरै काम गर्नुभए पनि, उहाँले सारा मानवजातिको छुटकारा मात्र पूरा गर्नुभयो र मानिसको पापको बलि बन्नुभयो; उहाँले मानिसलाई उसका सबै भ्रष्ट स्वभावबाट मुक्त गर्नु भएन। मानिसलाई पूर्ण रूपमा शैतानको प्रभावबाट मुक्त गर्नको निम्ति येशूले पापको बलि बनेर मानिसका पापहरू बोक्न मात्र आवश्यक थिएन, तर मानिसलाई शैतानी रूपमा भ्रष्ट पारेको उसको स्वभावबाट पूर्ण रूपमा छुटकारा दिन परमेश्वरले अझ ठूलो काम गर्नु आवश्यक थियो। यसैले अब, मानिसका पापहरू क्षमा गरिएका छन्, मानिसलाई नयाँ युगतिर डोऱ्याउन परमेश्वर देहमा फर्केर आउनुभएको छ, र सजाय अनि न्यायको काम सुरु गर्नुभएको छ। यो कामले मानिसलाई एक उच्च क्षेत्रमा पुर्यायो। उहाँको प्रभुत्वमा आउनेहरू सबैले अझ उच्च सत्यता प्राप्त गर्नेछन् र अझ ठूला आशिषहरू प्राप्त गर्नेछन्। तिनीहरू साँच्चिकै ज्योतिमा जिउनेछन्, र तिनीहरूले सत्यता, बाटो र जीवन प्राप्त गर्नेछन्” (वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावना)। ती सिस्टरले मसित परमेश्वरका वचनहरूसम्बन्धी उनको बुझाइबारे पनि सङ्गति गरिन्। त्यो सुनिसकेपछि, मैले मेरा आफ्नै र मेरा ब्रदर-सिस्टरहरूका कार्यहरू र आचरणको बारेमा विचार गरेँ। मैले के कुरा स्वीकार गर्नुपर्यो भने, प्रभुमाथिको हाम्रो विश्वासमा, हाम्रा पापहरू क्षमा भएका थिए, हामीले प्रचुर मात्रमा प्रभुको अनुग्रह उपभोग गरेका थियौँ, हामीले केही असल कार्यहरू गर्थ्यौँ, हामी दयालु थियौँ, र हामीले अरूलाई कुट्ने वा हप्काउने गर्दैनथ्यौँ, तर हामीले अझै पनि प्रायजसो झूट बोल्ने र पाप गर्ने गर्थ्यौँ, हामी अहङ्कारी थियौँ र अरूलाई नीच ठान्थ्यौँ, ख्याति र प्राप्तिको लागि अरूसँग प्रतिस्पर्धा गर्थ्यौँ, र अझै पनि अरूको डाहा गर्ने र अरूलाई घृणा गर्ने गर्थ्यौँ। हामी सबै नै पाप गर्ने अनि स्वीकार गर्ने दुष्चक्रमा फसेका थियौँ, र हामी निरन्तर पापसँग संघर्ष गर्थ्यौँ। सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढिसकेपछि मात्रै मैले हामीभित्र रहेको पापी प्रकृतिलाई नहटाइएको भएर यस्तो भएको भन्ने थाहा पाएँ। सर्वशक्तिमान् परमेश्वरका वचनहरूबाट, मैले पापबाट उम्कने र परमेश्वरबाट मुक्ति पाउने मार्ग पनि भेट्टाएँ। त्यो के हो भने, हामीले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्नैपर्छ। हाम्रो भ्रष्ट स्वभाव धोइएपछि मात्रै हामी परमेश्वरको राज्यमा प्रवेश गर्न योग्य हुन्छौँ। मलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरू अत्यन्तै असल र व्यावहारिक लाग्यो। उहाँका वचनहरूले मेरो हृदय उज्यालो पारे र मलाई मैले पहिले कहिल्यै नबुझेका सत्यताहरू बुझ्न मदत गरे। त्यसपछि, मैले लगनशील भई सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेँ, सक्रिय रूपमा अनलाइन भेलाहरूमा सहभागी भएँ, परमेश्वरको वचनको ज्ञान र बुझाइबारे ब्रदर-सिस्टरहरूसँग सङ्गति गरेँ, र हरेकपटकको भेला मलाई निकै फलदायी र आनन्दपूर्ण लाग्थ्यो। केही समयपछि, मैले पहिले प्रभुमाथि विश्वास गर्दाको समयमा बाइबल पढेर नबुझेका धेरै सत्यता र रहस्यहरू बुझेँ, जस्तै देहधारण भनेको के हो, झूटा ख्रीष्टहरूबाट साँचो ख्रीष्टलाई कसरी छुट्याउने, परमेश्वरको नाममा के रहस्य छ, परमेश्वरको व्यवस्थापन योजनाको उद्देश्य के हो, शैतानले मानवजातिलाई कसरी भ्रष्ट पार्छ, परमेश्वरले मानवजातिलाई मुक्ति दिन कसरी चरणबद्ध रूपमा काम गर्नुहुन्छ, पृथ्वीमा परमेश्वरको राज्य कसरी साकार हुन्छ, आदि इत्यादि। सर्वशक्तिमान् परमेश्वरका वचनहरूमा, पहिले मैले बाइबल पढ्दा मलाई अन्योल गराएका धेरै कुराहरूको उत्तर पनि भेटेँ। मैले यी सत्यता र रहस्यहरूलाई परमेश्वर स्वयम्ले मात्रै प्रकट गर्न सक्नुहुन्छ र कुनै पनि मानवमा यी रहस्यहरू खोल्ने सामर्थ्य छैन भन्ने महसुस गरेँ। त्यसकारण, मैले सर्वशक्तिमान् परमेश्वरको वचन नै सत्यता र परमेश्वरको आवाज हो, र सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने निर्धारित गरेँ। म अत्यन्तै उत्साहित भएँ। मैले धेरै साथीहरूलाई प्रभुको पुनरागमनको शुभ समाचार सुनाएँ, र तिनीहरूलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामबारे अनुसन्धान गर भनेँ।
तर केही समयपछि नै, मेरो क्षेत्रको सबैभन्दा उच्च र अख्तियारपूर्ण इसाई मण्डली—उत्तरपूर्व भारतको बप्तिस मण्डलीले—विश्वासीहरूमाझ केही यस्ता दस्तावेजहरू फैलाउन थाले, जुन सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई निन्दा गर्न धार्मिक पाष्टरहरूले कपोलकल्पित रूपमा सिर्जना गरेका थिए। यी दस्तावेजहरू चिनियाँ कम्युनिस्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई गरेको निन्दा र बदनामीका कुराहरूले भरिएको थियो, र तिनीहरूले अनुयायीहरूलाई मण्डलीका भेलाहरूमा सहभागी हुनबाट निषेध गरे। यो सामग्री भारतका प्रमुख टिभी स्टेसनहरूबाट पनि प्रसारण गरियो। टिभी वा कम्प्युटर खोलेर समाचार हेर्नेबित्तिकै, यस्तो नकारात्मक प्रचारबाजी देख्न सकिन्थ्यो। चाँडै नै यो देशभरि फैलियो। धार्मिक संसारका यी पाष्टर र अगुवाहरूले सर्वशक्तिमान् परमेश्वरलाई निन्दा र दोषारोपण गर्न जानीजानी तथ्यहरू बङ्ग्याएको, र अफवाह र भ्रमहरू फैलाएको देख्दा, मलाई निकै रिस उठ्यो र दुःख लाग्यो। त्यो बेला, मसँग परमेश्वरको आखिरी दिनहरूको कामबारे अनुसन्धान गर्दै गरेका धेरै जना भेला समूहबाट बाहिरिए किनभने तिनीहरू छलमा परेका थिए। कतिले त मलाई समेत भड्काउने प्रयास गर्थे, र भन्थे, “ यो चिनियाँ कम्युनिस्ट पार्टीले दोषी ठहराएको मण्डली हो, र यसमा विश्वास गर्नु हुँदैन।“ तिनीहरूले साँचो मार्गलाई त्यागेको देख्दा म खिन्न भएँ, र मलाई तिनीहरूप्रति दःख लाग्यो। चिनियाँ कम्युनिस्ट पार्टी एक नास्तिक पार्टी हो। यसले परमेश्वरमा विश्वास गर्दै गर्दैन, र यसले धार्मिक आस्था राख्नेहरूलाई निरन्तर सताउँछ। परमेश्वरको आवाज सुन्नु वा परमेश्वरको कामको अनुसन्धान गर्नुको सट्टा किन यी मानिसहरू एक नास्तिक राजनीतिक पार्टी, चिनियाँ कम्युनिस्ट पार्टीलाई विश्वास गर्न चाहन्छन्? तिनीहरू कसरी यति मूर्ख हुन सक्छन्? ठीक त्यही बेला, मेरो गाउँको एक जना साथीले मेरो वाट्स्एपमा रहेको “प्रभु फर्केर आइसक्नुभएको छ, र ख्रीष्टको राज्य पृथ्वीमा आएको छ” भन्ने पोस्ट देखे र म सर्वशक्तिमान् परमेश्वरको मण्डलीका भेलाहरूमा सहभागी हुने गरेको छु कि भनेर सोधे। मैले भनेँ, “हो त।” तिनले मलाई यसमा विश्वास गर्नु हुँदैन भनेर भने। तिनले मलाई सर्वशक्तिमान् परमेश्वरको मण्डलीबारे निन्दापूर्ण टिप्पणी र भ्रमहरू पनि पठाए, र भने, “पाष्टरले हामीलाई सर्वशक्तिमान् परमेश्वरलाई नपछ्याउनू भनेर चेतावनी दिएका छन्। आखिरी दिनहरूमा प्रभुको पुनरागमन देहधारी शरीरमा अवश्य हुन सक्दैन, त्यसैले हामी सर्वशक्तिमान् परमेश्वरको मण्डलीका भेलाहरूमा सहभागी हुनु हुँदैन।” मलाई उनका शब्दहरूको त्यति प्रभाव परेन, किनभने त्यो बेला सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ब्रदर-सिस्टरहरूले मसँग देहधारणको सत्यताबारे सङ्गति गरेर आखिरी दिनहरूमा प्रभु देहधारी भई फर्कनुहुनेछ, जुन धेरै पहिले नै परमेश्वरले योजना गर्नुभएको हो, र यसलाई प्रभु येशूका अगमवाणीहरूले प्रमाणित गर्छन् भनेर भनेका थिए। प्रभु येशूले भन्नुभयो: “जसरी बिजुली पूर्वबाट चम्किन्छ र पश्चिमतिर पनि चम्किन्छ; मानिसको पुत्रको आगमन पनि त्यस्तै हुनेछ” (मत्ती २४:२७)। “किनभने जसरी चट्याङ्गले आकाशमुनिको एउटा भागलाई उज्यालो बनाउँदा आकाशमुनिको अर्को भागलाई पनि चम्किलो बनाउँछ; मानिसको पुत्र पनि उनको दिनमा त्यस्तै हुनेछन्। तर सुरूमा उहाँले धेरै कुराहरूको कष्ट भोग्नुपर्छ, र यस पुस्ताद्वारा इन्कार गरिनुपर्छ” (लूका १७:२४-२५)। “यसकारण, तिमीहरू पनि तयार हौ: किनभने मानिसको पुत्र तिमीहरूले नसोचेको समयमा आउँछ” (मत्ती २४:४४)। प्रभु येशूले आखिरी दिनहरूमा हुने आफ्नो पुनरागमनको बारेमा अगमवाणी गर्दा, उहाँले धेरैपटक “मानिसको पुत्रको आगमन,” “मानिसको पुत्र … आउँछ,” र “मानिसको पुत्र पनि उनको दिनमा” भनेर उल्लेख गर्नुभयो। यहाँ, “मानिसको पुत्र” ले देहधारी शरीरलाई जनाउँछ। आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्वर आउनुभएको छ र धेरै सत्यता व्यक्त गर्नुभएको छ। उहाँ नै मानिसको पुत्रको आगमन, मुक्तिदाताको देखापराइ हुनुहुन्छ, र यसले प्रभु येशू को अगमवाणीलाई पूरा गर्छ। मैले के पनि थाहा पाएँ भने परमेश्वर मात्रै सत्यता, बाटो, र जीवन हुनुहुन्छ। यदि कुनै व्यक्तिले सत्यता र परमेश्वरका वचनहरू व्यक्त गर्न सक्छ, र आखिरी दिनहरूको परमेश्वरको न्याय र शुद्धीकरणको काम गर्न सक्छ भने, यो व्यक्ति पक्कै पनि देहधारी परमेश्वर हुनुपर्छ। उहाँको स्वरूप जति नै साधारण देखिए पनि, वा उहाँसँग हैसियत वा शक्ति भए पनि नभए पनि, उहाँका वचनहरू र काम नै सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्। उहाँको पहिचान र हैसियत प्रमाणित गर्ने सर्वोत्तम तरिका यही हो। मैले मेरो साथीलाई आफूले बुझेको कुरा बताउँदै भनेँ, “परमेश्वर नै सृष्टिका प्रभु हुनुहुन्छ, उहाँले जे चाहनुहुन्छ त्यही गर्न सक्नुहुन्छ। हामी मानवले खोजी गर्नुपर्छ, परमेश्वरलाई आलोचना र सीमाङ्कित गर्नु हुँदैन। सर्वशक्तिमान् परमेश्वरको मण्डलीका भेलाहरू मेरो लागि अत्यन्तै फाइदाजनक छन्, र ती भेलाहरूले मलाई धेरै सत्यताहरू बुझ्न मदत गर्छन्, त्यसकारण म त्यहाँ जान छोड्दिनँ। हामीले परमेश्वरमा विश्वास गर्दा, परमेश्वरको आवाज सुन्नुपर्छ, अन्धाधुन्ध रूपमा मानिसहरूको कुरा सुन्नु हुँदैन। बाइबलले भन्छ: ‘हामीले मानिसको होइन परमेश्वरको आज्ञा मान्नुपर्छ’ (प्रेरित ५:२९)।” त्यसपछि, मेरो साथीले अत्यन्तै गम्भीर हुँदै भने, “यदि तिमी सर्वशक्तिमान् परमेश्वरलाई नै पछ्याइरहन्छौ भने, तिमी गाउँमा आएपछि, सर्वोच्च परिषदले तिमीलाई प्रश्न गर्नेछ। पाष्टरले तिमीलाई यसमा विश्वास गर्न दिनेछैन, र गाउँलेहरूले तिमीलाई इन्कार गर्नेछन्। के तिमीले यी कुराहरू विचार गरेका छौ?” मैले भनेँ, “मानिसहरूद्वारा इन्कार गरिनु डरलाग्दो कुरा होइन। डरलाग्दो कुरा त परमेश्वरका पाइलाहरूलाई पछ्याउन नसक्नु र परमेश्वरद्वारा त्यागिनु हो। यदि सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भने, र हामीले यसलाई स्वीकार गरेनौँ भने, हामी विपत्तिमा पर्नेछौँ, र हामीले रुनु र दाह्रा किट्नुपर्नेछ भनेर सोचेको छौ? प्रभुको पुनरागमन महत्त्वपूर्ण विषय हो, त्यसैले तिमीले किन खोजी र अनुसन्धान गर्दैनौ?” तर, उनले मेरो सल्लाहलाई अझै इन्कार गरे।
पछि, सर्वशक्तिमान् परमेश्वरमाथिको मेरो विश्वासबारे मेरा बुबाआमालाई ती साथीले बताएछन्। त्यसपछिको पूरै हप्ता, मेरा बुबाआमाले मलाई हरेक दिन फोन गर्दै गाली गर्नुहुन्थ्यो, र भन्नुहुन्थ्यो, “पाष्टरले हामीलाई तँलाई सर्वशक्तिमान् परमेश्वरको मण्डलीको भेलाहरूमा जानबाट रोक्नु भनेको छ। तैँले ती भेलाहरूमा जान बन्द गर्नुपर्छ, र त्यो मण्डली छोड्नुपर्छ!” म उहाँहरूलाई भन्थेँ, “सर्वशक्तिमान् परमेश्वरको मण्डली पाष्टरले भनेजस्तो होइन। तिनीहरूको भेलाले मलाई मैले पहिले नबुझेका धेरै सत्यता बुझ्न मदत गरेको छु। यो साँचो मार्ग हो, र म गलत बाटोमा लागेको छैन।” म उहाँहरूलाई सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामको गवाही दिन चाहन्थेँ, तर उहाँहरू अफवाहहरूको यति बहकाउमा पर्नुभएको थियो कि मलाई थप बोल्नै दिनुहुन्नथ्यो। पछि, महामारीको कारण, म स्कूलबाट घर फर्केर गएँ। म नियमित रूपमा अनलाइन भेलाहरूमा सहभागी भएको देखेर, मेरा बुबाआमाले मलाई रोक्ने प्रयास गर्नुभयो। छरछिमेकीले पनि मेरो बारे कुरा गर्थे, र सर्वशक्तिमान् परमेश्वरमा विश्वास गरेको र पाष्टरको कुरा नमानेको कारण म पागल भएको छु भनेर भन्थे। यी कुरा सुन्दा मेरा बुबाआमा अझै रिसाउनुभयो। घर आएर उहाँहरूले मलाई हकार्नुभयो, “गाउँलेहरूले तँलाई के भन्छन् थाहा छ? अझै पनि तँ हामीले भनेको मान्दैनस् र ती भेलाहरूमा सहभागी हुन्छस्?” मैले भनेँ, “हो, म अझै भेलाहरूमा सहभागी हुन्छु।” मेरा बुबाआमा अत्यन्तै रिसाउनुभयो, र मलाई रोक्न अझै धेरै प्रयास गर्नुभयो। उहाँहरूले मलाई भेलाहरूको बेला प्रायजसो अवरोध गर्नुहुन्थ्यो, जसले गर्दा म शान्तिले सहभागी हुन सक्दिनथेँ। एकपटक, म भेलापछि प्रार्थना गरिरहेको थिएँ, र मैले आँखा खोल्दा, अचानक मेरो छेउमा उभिएर बुबाले मलाई हेरिरहनुभएको देखेँ; म झसङ्ग भएँ र मेरो धड्कन बढ्यो। त्यसपछि उहाँले मलाई चिच्याउँदै भन्नुभयो, “अहिले नै इन्टरनेट चुडाएर तेरो भेलासेला छोडिहाल्!” मैले मेरा बुबाआमालाई भनेँ, “प्रभु येशू वास्तवमै सर्वशक्तिमान् परमेश्वरको रूपमा फर्किसक्नुभएको छ र उहाँले नयाँ काम गर्दै हुनुहुन्छ। यदि हामीले परमेश्वरका पाइलाहरू पछ्याएर आखिरी दिनहरूको परमेश्वरको न्यायको काम स्वीकार गर्दैनौँ भने, र यदि हामी पापबाट मुक्त हुँदैनौँ भने, हामीले मुक्ति पाउन र परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैनौँ, र अन्त्यमा, हामी विपत्तिमा पर्नेछौँ र दण्डित हुनेछौँ।” तर उहाँहरूले मैले भनेको कुरा सुन्दै सुन्नुभएन र पाष्टरले प्रचार गरेकै अफवाह र भ्रमहरू दोहोर्याइरहनुभयो। उहाँहरूले परमेश्वर स्त्रीको रूपमा देहधारी हुनु असम्भव छ भनेर भन्नुभयो। मैले सोचेँ, “मैले उहाँहरूसँग कसरी सङ्गति गर्न सक्छु?” अनि, मलाई सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ब्रदर-सिस्टरहरूले पढेर सुनाएका सर्वशक्तिमान् परमेश्वरको वचनको एउटा खण्ड याद आयो: “परमेश्वरले गर्नुभएको कामको हरेक चरणको आफ्नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा हुनुहुन्थ्यो, र यसपटक परमेश्वर आउनुहुँदा, उहाँ महिलाको स्वरूपमा हुनुहुन्छ। यसबाट के देख्न सकिन्छ भने परमेश्वरले सृष्टि गर्नुभएको पुरुष र स्त्री दुवैलाई उहाँको काममा प्रयोग गर्न सकिन्छ, र उहाँको लागि लिङ्गको कुनै भिन्नता हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई मन लागेको कुनै पनि देह लिन सक्नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे यो पुरुष होस् या स्त्री, जबसम्म यो उहाँको देहधारी शरीर हो, तबसम्म यसले परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि उहाँ आउनुहुँदा येशू स्त्रीको रूपमा देखा पर्नुभएको भए, अर्को शब्दमा भन्दा, यदि पवित्र आत्माद्वारा शिशु बालक नभई शिशु बालिका गर्भमा बसेको भए, कामको त्यो चरण उही रूपमा पूरा हुनेथ्यो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनुपर्थ्यो, तर कामचाहिँ उही रूपमा पूरा हुनेथ्यो। हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ” (वचन देहमा देखा पर्नुहुन्छको “दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्”)। मलाई याद छ, तिनीहरूले मलाई परमेश्वरको देहधारण हुनु भनेको देह धारण गरी परमेश्वरका आत्मा साधारण व्यक्ति बन्नु हो, त्यसकारण उहाँ पुरुष वा स्त्री जे भए पनि, उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, र उहाँले सत्यता व्यक्त गर्न र परमेश्वरको काम गर्न सक्नुहुन्छ भनेर सङ्गति गरेका थिए। प्रभु येशू पुरुष हुनुहुन्थ्यो। उहाँ मानवजातिको लागि क्रूसमा टाँगिनुभयो र मानिसहरूको पाप बोक्नुभयो, र यसरी मानवजातिलाई छुटकारा दिने काम पूरा गर्नुभयो। आखिरी दिनहरूमा, परमेश्वर महिलाको रूपमा देहधारी हुनुभएको छ, र प्रभु येशूको कामको जगमा रही, उहाँले मानिसहरूलाई मुक्ति दिन चाहिने सबै सत्यता व्यक्त गर्नुहुन्छ, र मानिसहरूलाई न्याय गर्ने र शुद्ध पार्ने काम गर्नुहुन्छ। त्यसकारण, देहधारी परमेश्वर पुरुष वा स्त्री जे भए पनि, उहाँले व्यक्त गर्नुहुने सत्यता र उहाँले गर्नुहुने काम परमेश्वरका आत्माको काम हो, र ती सबैले मानवजातिलाई छुटकारा र मुक्ति दिलाउन सक्छन्। यसको साथै, आखिरी दिनहरूमा, यदि परमेश्वर महिलाको रूपमा देहधारी भई आउनुहुन्छ भने, मानिसहरूले परमेश्वर पुरुष हुनुहुन्छ र महिला हुन सक्नुहुन्न भन्ने सोच्दै उहाँलाई परिभाषित गर्नेछैनन्। यो सोचेपछि, मैले मेरा बुबाआमासँग यसो भन्दै सङ्गति गरेँ, “परमेश्वरले आफ्नै स्वरूपमा पुरुष र स्त्री सृष्टि गर्नुभयो, त्यसकारण देहधारी परमेश्वर स्वाभाविक रूपमै पुरुष वा स्त्री हुन सक्नुहुन्छ। उहाँको शारीरिक स्वरूपले फरक पार्दैन। उहाँले मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्न सक्नुहुन्छ, र उहाँ परमेश्वरका आत्माको देहधारण, परमेश्वर स्वयम् हुनुहुन्छ भन्ने कुराचाहिँ महत्त्वपूर्ण छ।” मेरा बुबाआमाले मेरो कुरा इन्कार गर्न सक्नुभएन, त्यसकारण उहाँहरूले भन्नुभयो, “तँ सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भनेर भन्छस्, तर हामीलाई विश्वास लागेन। पाष्टर र एल्डरहरूले स्वीकार गरेपछि मात्रै हामी यसलाई स्वीकार गर्नेछौँ। पाष्टरले सर्वशक्तिमान् परमेश्वर एक साधारण व्यक्ति हो, साधारण परिवारमा जन्मेको व्यक्ति हो भनेर भन्छन्, त्यसकारण यो परमेश्वरको देहधारण हुन सक्दैन।” यसको जबाफमा, मैले उहाँहरूलाई भनेँ, “जब प्रभु येशू काम गर्न आउनुभयो, तब यहूदी धर्मका मुख्य पूजाहारीहरू, शास्त्रीहरू, र फरिसीहरूले उहाँको सामान्य जन्म र स्वरूपको कारण उहाँलाई परमेश्वरको रूपमा पहिचान गरेनन्। प्रभु येशूलाई इन्कार गर्दै, तिनीहरू भन्थे, ‘के यिनी सिकर्मीका छोरा होइनन् र? के यसकी आमाको नाम मरियम होइन र?’ यी फरिसीहरूले प्रभु येशू स्वरूपलाई मात्रै हेरे। उहाँका वचनहरू र काम परमेश्वरबाट आएका हुन् कि होइनन् भन्ने कुरालाई अनुसन्धान गरेनन्। तिनीहरूले आफ्नो अहङ्कारी स्वभावद्वारा उहाँ साधारण मानिस हुनुहुन्छ, परमेश्वर हुनुहुन्न भनेर मूल्याङ्कन गरे। तिनीहरूले अफवाहहरू फैलाए, र प्रभु येशूलाई निन्दा गरे र दोष दिए। यहूदी धर्मका विश्वासीहरूले तिनीहरूको आराधना र आज्ञापालन गर्थे, त्यसकारण प्रभुलाई क्रूसमा टाँग्ने कार्यमा उनीहरूले तिनीहरूलाई पछ्याए। आखिरमा, तिनीहरूले परमेश्वरबाट आउने मुक्ति गुमाए र दण्डित भए। आज पनि यस्तै भइरहेको छ। यी पाष्टर र एल्डरहरूले सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता र परमेश्वरको आवाज हुन् कि होइनन् भनेर अनुसन्धान गर्दैनन्। तिनीहरूले अन्धाधुन्ध सर्वशक्तिमान् परमेश्वरलाई इन्कार गर्ने र दोष दिने मात्र गर्छन्, र उहाँको जन्म र पारिवारिक पृष्ठभूमिको बारेमा प्रश्न गर्छन्। के यो कार्य फरिसीहरूले प्रभु येशूलाई दोष दिएको जस्तै छैन र?” मलाई मेरा ब्रदर-सिस्टरहरूले पढेर सुनाएको परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको सार हुनेछ, र जो देहधारी परमेश्वर हुनुहुन्छ उहाँमा परमेश्वरको अभिव्यक्ति हुनेछ। परमेश्वर देह बन्नुहुने हुनाले, उहाँले आफूले गर्न चाहेको कार्यलाई अगाडि बढाउनुहुनेछ, र परमेश्वर देह बन्नुभएको हुनाले, उहाँ जे हुनुहुन्छ त्यो प्रकट गर्नुहुनेछ, र सत्यतालाई मानिसकहाँ ल्याउन सक्नुहुनेछ, उसलाई जीवन दिनुहुनेछ, र उसका लागि बाटो देखाउनुहुनेछ। परमेश्वरको सार नभएको देह निश्चित रूपमा देहधारी परमेश्वर होइन; यसमा कुनै शङ्का छैन। यदि मानिसले यो परमेश्वरको देहधारी शरीर हो कि होइन भनी जाँच गर्न चाहन्छ भने, उसले त्यसलाई उहाँले प्रकट गर्ने स्वभाव र उहाँले बोल्ने वचनहरूबाट पुष्टि गर्नुपर्दछ। भन्नुको अर्थ के हो भने, यो परमेश्वरको देहधारी शरीर हो कि होइन, वा यो सत्य बाटो हो कि होइन भनी पुष्टि गर्न उसले उहाँको सारको आधारमा पहिचान गर्नुपर्छ। त्यसैले, यो देहधारी परमेश्वरको शरीर हो कि होइन भनी पहिचान गर्ने मुख्य कुरा बाहिरी स्वरूपभन्दा बरु, उहाँको सारमा लुकेको हुन्छ (उहाँको कार्य, उहाँका वाणीहरू, उहाँको स्वभाव, र अन्य धेरै कुराहरूमा)। यदि मानिसले उहाँको बाहिरी स्वरूपलाई मात्र जाँच्छ, र त्यसको फलस्वरूप उहाँको सारलाई बेवास्ता गर्छ भने, त्यसले मानिस मूर्ख र अनभिज्ञ छ भन्ने देखाउँछ” (वचन देहमा देखा पर्नुहुन्छको प्रस्तावना)। मैले मेरा आमाबुबालाई भनेँ, “सर्वशक्तिमान् परमेश्वरको देह परमेश्वरको देहधारण हो कि होइन भन्ने कुराको हाम्रो निर्धारण उहाँले सत्यता व्यक्त गर्ने र मानवजातिलाई मुक्ति दिने काम गर्न सक्नुहुन्छ कि सक्नुहुन्न भन्ने कुरामा आधारित हुनुपर्छ, उहाँको स्वरूप साधारण छ कि छैन भन्ने कुरामा होइन। यसबारेमा विचार गर्नुहोस्, के हामीले प्रभु येशूलाई उहाँको देहगत स्वरूपको कारण विश्वास गरेका हौँ? होइन। हामी प्रभु येशूमा विश्वास गर्छौँ किनभने हामीले बाइबलमा भएका प्रभु येशूका वचनहरू पढेका छौँ, र उहाँका वचनहरू सत्यता हुन्, र उहाँले मानवजातिलाई पापबाट छुटकारा दिन सक्नुहुन्छ भनेर देखेका छौँ, र हामीले प्रभुको धेरै अनुग्रह प्राप्त गरेका छौँ। म आज सर्वशक्तिमान् परमेश्वरलाई विश्वास गर्छु किनभने मैले सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता हुन् भन्ने देखेको छु। ती वचनमा अख्तियार र शक्ति छ, र ती परमेश्वरको आवाज हुन्। अनि मैले उहाँ देहधारी परमेश्वर, फर्कनुभएका प्रभु येशू हुनुहुन्छ भन्ने विश्वास गरेँ। तपाईंहरूले पनि सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्नुपर्छ। अन्धाधुन्ध पाष्टरको कुरा सुनेर पाष्टरले जे भन्छन् त्यही पत्याउनु हुँदैन। यदि तिनीहरू गलत मार्ग हिँड्छन्, परमेश्वरको विरोध गर्छन्, र परमेश्वरलाई दोष दिन्छन् भने, के तपाईंहरू परमेश्वरलाई विरोध गर्ने र दोष दिने काममा तिनीहरूलाई पछ्याउनुहुनेछ?” मेरो कुरा सुनेपछि, मेरा आमाबुबा अत्यन्तै रिसाउनुभयो, र भन्नुभयो, “तैँले पाष्टर र एल्डरहरूको विरोध गर्ने आँट गरिस् भने, तँलाई गाउँलेहरूले लखेट्नेछन्। तेरो त अझै उमेर पनि पुगेको छैन, तँ कहाँ जान्छस्? त्यस्तो भयो भने हामी तँलाई सहयोग गर्न सक्दैनौँ! यस्ता कुराहरू गर्न छोड्, र अरूलाई सर्वशक्तिमान् परमेश्वरको गवाही नदे। पाष्टर र एल्डरहरूले स्वीकार गरेपछि, हामी यसलाई स्वीकार गरौँला। अहिलेको लागि, आफूलाई समस्यामा नपार्।” मैले उहाँहरूसँग जसरी सङ्गति गरे पनि, उहाँहरूले पटक्कै सुन्नुहुन्नथ्यो, र मलाई नराम्ररी हकार्नुहुन्थ्यो, र भन्नुहुन्थ्यो, “हामीले तेरो पढाइ, अनि खान र लाउनमा कति धेरै खर्च गरेका छौँ, तर तँ कति अटेरी भएको। तँ हाम्रो लागि निराशा बनेको छस्।” त्यो बेला, मेरा दुई दाइहरू पनि आमाबुबाकै पक्षमा थिए। मेरो परिवारका कसैले पनि मेरो सल्लाह मानेनन्। मैले तिनीहरूलाई सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ भनेर बताउने प्रयास गरेँ, र मैले हासिल गरेका कुराहरू तिनीहरूलाई बताउने प्रयास गरेँ, तर मैले जे भने पनि, तिनीहरूले सुन्न मान्दैनथे। मेरा आमाबुबा र गाउँलेहरूले विगतमा मसँग निकै राम्रो व्यवहार गर्नुहुन्थ्यो, तर अहिले मैले सर्वशक्तिमान् परमेश्वरलाई विश्वास गरेको कारण, मप्रतिको उहाँहरूको मनोवृत्ति बदलिएको थियो। उहाँहरूको नजरमा म खलनायाक र बहिष्कृत व्यक्ति बनेको थिएँ। घरमा समेत, मेरो परिवारले मलाई वास्ता गर्छन् जस्तो लागेन। मलाई एकलो र दयनीय महसुस हुन्थ्यो। तर जेसुकै आइपरे पनि मैले भेलाहरूमा सहभागी हुन छोड्नु हुँदैन भन्ने मलाई थाहा थियो, किनभने मैले भेलाहरूमा सहभागिता जनाएर आफूलाई सत्यताले सुसज्जित पारिनँ भने, त्यस्तो परिस्थितिको सामना गर्न असम्भव हुनेथ्यो। पछि, अनावश्यक कलहबाट जोगिनको लागि, मैले तिनीहरूबाट लुकेर गोप्य रूपमा भेलाहरूमा जानुपर्थ्यो। मैले कुराकानी र सङ्गति गर्न सक्दिनथेँ। ब्रदर-सिस्टरहरूसित चुपचाप टेक्स्टमा मात्रै कुराकानी गर्न सक्थेँ।
एक रात, पाष्टर र तिनका एक सहकर्मी अचानक मेरो घर आए। हेर्नको लागि छरछिमेक र केही गाउँलेहरू पनि आए। पाष्टरले मलाई सोधे, “सर्वशक्तिमान् परमेश्वरको मण्डलीका यी भेलाहरूमा तिमीले के विषयमा कुराकानी गर्यौ?” मैले भनेँ, “सर्वशक्तिमान् परमेश्वरको मण्डलीले प्रभु येशू फर्केर आइसक्नुभएको छ, र उहाँ देहधारी सर्वशक्तिमान् परमेश्वर हुनुहुन्छ, र उहाँले आखिरी दिनहरूको न्यायको काम गर्दै हुनुहुन्छ भन्ने गवाही दिन्छ। हामीले कस्ता मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्, मुक्ति प्राप्त गर्नको लागि कसरी खोजी गर्ने, र यस्तै अन्य विषयहरूमा पनि सङ्गति गर्छौँ।” त्यसपछि, पाष्टरले तिरस्कारपूर्ण भावमा सोधे, “त्यसो भए मलाई भन, कस्ता मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्?” मैले जवाफ दिएँ, “बाइबलले भन्छ, ‘मलाई प्रभु, प्रभु भन्ने हरेक व्यक्ति स्वर्गको राज्यमा प्रवेश गर्नेछैन; तर ऊ प्रवेश गर्नेछ जसले मेरो पिताको इच्छालाई पूरा गर्छ जो स्वर्गमा हुनुहुन्छ’ (मत्ती ७:२१)। ‘त्यसकारण तिमीहरू पवित्र हुनुपर्छ, किनकि म पवित्र छु’ (लेवी ११:४५)। यी पदहरूबाट हामी के देख्न सक्छौँ भने, यदि हामी स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्छौं भने, हामी पाप गर्नबाट बच्नुपर्छ र भ्रष्ट स्वभावहरूबाट शुद्ध हुनुपर्छ, अनि परमेश्वरको इच्छा पछ्याउने मानिसहरू बन्नुपर्छ। हामी अहिले अझै पनि पापमै जिइरहेका छौँ। हामी बारम्बार झूट बोल्छौं र पाप गर्छौं, र हामी परमेश्वरका वचनहरू अभ्यास गर्न सक्दैनौं, त्यसकारण हामी स्वर्गको राज्यमा प्रवेश गर्न सक्दैनौँ। पहिले त मलाई हामी किन पाप गर्ने, स्वीकार गर्ने, फेरि पाप गर्ने चक्रमा फसेका छौँ भन्नेबारेमा अन्योल हुन्थ्यो। किन हामी पापको बन्धनबाट मुक्त हुन सक्दैनौँ? सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेपछि मात्रै मैले बल्ल बुझेँ—जब हामी प्रभुमा विश्वास गर्छौँ, तब हाम्रा पाप क्षमा हुन्छन्, तर हाम्रो पापी प्रकृति, हाम्रो पापको जड हटेको हुँदैन, त्यसकारण हामी अझै पनि झूट बोलिरहन्छौँ र पाप गरिरहन्छौँ। बाइबलले भन्छ: ‘पवित्रताविना कुनै मानिसले प्रभुलाई देख्नेछैन’ (हिब्रू १२:१४)। प्रभु पवित्र हुनुहुन्छ, त्यसकारण यदि हामीले अझै पनि पाप गर्छौँ र परमेश्वरको विरोध गर्छौँ भने, हामी परमेश्वरको राज्यमा प्रवेश गर्न सक्दैनौँ। अहिले प्रभु येशू आखिरी दिनहरूको न्यायको काम गर्न फर्केर आउनुभएको छ। उहाँले मानवजातिलाई शुद्ध पार्ने र मुक्ति दिने सबै सत्यता व्यक्त गर्नुहुन्छ, र यसले प्रभु येशूको यो अगमवाणी पूरा गर्छ: ‘मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ’ (यूहन्ना १६:१२-१३)। सर्वशक्तिमान् परमेश्वरले धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। उहाँले परमेश्वरको व्यवस्थापन योजनाको रहस्यलाई मात्रै प्रकट गर्नुहुन्न, उहाँले त मानवजातिको पापको मूल कारणसमेत खुलासा गर्नुहुन्छ, र अहङ्कार, छल, दुष्टता, आदि इत्यादिजस्ता मानिसहरूको पापी प्रकृतिको न्याय र खुलासा गर्नुहुन्छ। उहाँले परमेश्वरमाथिको हाम्रो विश्वासका विविध दुषितताहरू र स्वर्गको राज्यमा प्रवेश गर्नको लागि मात्रै परमेश्वरमा विश्वास गर्नेजस्ता अन्य गलत अभिप्राय र दृष्टिकोणहरू पनि खुलासा गर्नुहुन्छ। सर्वशक्तिमान् परमेश्वरको मण्डलीका ब्रदर-सिस्टरहरूले परमेश्वरका वचनहरूको न्याय र सजाय अनुभव गर्छन्, क्रमिक रूपमा आफ्नै शैतानी प्रकृति र भ्रष्टताको सत्यता महसुस गर्छन्, साँचो पश्चात्ताप गर्छन्, र अन्त्यमा पापको बन्धबाट मुक्त भई आफ्नो भ्रष्ट स्वभावलाई शुद्ध पार्न सक्षम हुन्छन्। राज्यको युगमा परमेश्वरको वचनले हासिल गर्ने प्रभाव यही हो। यदि हामी स्वर्गको राज्यमा प्रवेश गर्न चाहन्छौँ भने, हामीले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार गर्नैपर्छ, र हाम्रो भ्रष्टता धोइएपछि मात्रै हामी परमेश्वरको राज्यमा प्रवेश गर्न योग्य हुन्छौँ।” मेरो कुरा सकिएपछि, पाष्टरले भने, “तिमी सत्यताको तृष्णा गर्छौ भन्ने मलाई थाहा छ, तर तिमी अझै सानै छौ। तिमीले बाइबल त्यति धेरै बुझेको छैनौ, त्यसकारण तिमी सहजै धोकामा पर्न सक्छौ। अहिले, तिमीले सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउनु छोडेर, प्रभुको अघि आफ्ना पापहरू स्वीकार गर्ने, पश्चात्ताप गर्ने, र तिनीहरूको भेलामा सहभागी हुन छोड्ने काम गर्नु जरुरी छ।” पाष्टरले तिनको कुरा मैले वास्ता नगरेको देखे, अनि भने, “तिमी मेरो भेडा हौ। तिमीले कसरी मेरो आज्ञा नमान्ने आँट गर्छौ? तिमीले अहिले नै पश्चात्ताप गर्नुपर्छ, सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई छोड्नुपर्छ, र सर्वशक्तिमान् परमेश्वरको नाममा प्रार्थना गर्न छोड्नुपर्छ।” मैले तुरुन्तै तिनलाई भने, “म कहिल्यै पनि सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन छोड्दिनँ।” तिनी अत्यन्तै रिसाए, र मलाई चेतावनी दिए, “मण्डलीको सर्वोच्च परिषदले मलाई तिम्रो ‘रेखदेख’ गर्ने जिम्मा दिएको छ। यदि तिमीले सर्वशक्तिमान् परमेश्वरमाथिको विश्वासलाई जारी राख्यौ भने, तिमीलाई सोधपुछको लागि सर्वोच्च परिषदमा लगिनेछ। याद गर, त्यस्तो हुनेबित्तिकै, तिम्रो पढाइमा मात्रै असर पर्नेछैन, मण्डलीभित्र तिम्रो प्रतिष्ठामा दागसमेत लाग्नेछ। भविष्यमा तिमीले जागिरसमेत नपाउन सक्छौ। किन व्यर्थै समस्यामा पर्ने?” पाष्टरले त्यसो भनेको सुन्दा, मलाई निकै तनाव भयो, किनभने मण्डलीको सर्वोच्च परिषदले एकपटक सोधपुछ गरेपछि, तिनीहरूले मलाई कहिल्यै त्यतिकै छोड्नेछैनन् भन्ने मलाई थाहा थियो। यदि मैले सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन छोडिनँ भने, भविष्यमा मलाई प्रमाणपत्र चाहिँदा गाउँ प्रमुखले यसमा हस्ताक्षर गरिदिनेछैनन्, र मैले जागिरसमेत नपाउन सक्छु। पढाइ सकेपछि मैले जागिर पाउन सकूँ भनेर मेरा आमाबुबाले मलाई कलेज पठाउनुभएको थियो। मैले जागिर नै नभेट्ने भएपछि, मेरा आमाबुबाले पक्कै पनि मलाई सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्नबाट अझ धेरै बाधा दिने नै थिए। यसबाहेक, मैले भर्खरै सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न थालेको थिएँ, र मैले थोरै मात्र सत्यता बुझेको थिएँ। यदि मलाई सोधपुछको लागि लगियो, र मैले आफूलाई आक्रमण गर्ने मानिसहरूको समूह सामना गर्नुपर्यो भने, के म सामना गर्न सक्छु त? यदि मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्ने जिद्दी गरेँ भने, के तिनीहरूले मलाई स्कूलबाट निकाल्लान्? के तिनीहरूले मलाई इन्कार गर्न अरू सबै विश्वासीहरूलाई उक्साउँलान्? यसबारे विचार गर्दा, मलाई निकै चिन्ता लाग्यो, त्यसैले मैले परमेश्वरसँग मनमनै प्रार्थना गरेँ, र मलाई अगुवाइ गर्न अनुरोध गरेँ, र म उहाँको लागि दह्रिलो गवाही भई खडा हुन चाहन्छु भनी भनेँ। प्रार्थना गरिसकेपछि, मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरूबारे सोचेँ: “तिमीहरू सँधै जागा र पर्खिरहनुपर्छ, र तिमीहरूले मेरो सामु अझै बढी प्रार्थना गर्नुपर्छ। तिमीहरूले शैतानका विभिन्न षड्यन्त्रहरू र धूर्त चलाकीहरूलाई पहिचान गर्नुपर्छ, आत्माहरूलाई चिन्नुपर्छ, मानिसहरूलाई जान्नुपर्छ, र हरेक प्रकारका मानिसहरू, घटनाहरू, र थोकहरूलाई छुट्याउन सक्नुपर्छ” (वचन देहमा देखा पर्नुहुन्छको, प्रारम्भमा ख्रीष्टका वाणीहरूको “अध्याय १७”)। “शैतान मानिसहरूको हृदयमा भएको मेरो ज्ञान निल्दै, आफ्ना दाह्राहरू किट्दै र त्यसको अन्तिम मृत्युको यातनामा नङ्ग्राहरू गाड्दै सधैँ हाजिर रहन्छ। के तिमीहरू यो समयमा त्यसका धूर्त युक्तिहरूको सिकार बन्न चाहन्छौ? मेरो काम अन्ततः पूरा हुने यो समयमा के तिमीहरू आफ्नो जीवन नाश पार्न चाहन्छौ?” (वचन देहमा देखा पर्नुहुन्छको, सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूको “अध्याय ६”)। परमेश्वरको वचनबाट मैले के बुझेँ भने ममाथि आइपरेका यी घटनाहरू शैतानका छलहरू हुन्। शैतानले परमेश्वरलाई पछ्याउनबाट मलाई बाधा दिन र रोक्न चाहन्थ्यो। मेरो कद सानो थियो र मैले थोरै मात्र सत्यता जानेको थिएँ, तर म दह्रिलो गरी खडा भई शैतानलाई लज्जित पार्न परमेश्वरमा भर पर्न तयार थिएँ। त्यसैले, मैले पाष्टरलाई भनेँ, “म भेलाहरूमा सहभागी हुन छोड्दिनँ। म सर्वशक्तिमान् परमेश्वरलाई निरन्तर पछ्याइरहनेछु।” मैले पाष्टरको कुरा नमानेको देख्दा मेरा आमाबाबु अत्यन्तै रिसाउनुभयो। मेरो बुबाले मलाई खाउँलाझैँ गरी हेर्दै चिच्याउनुभयो, “तैँले भनेको नमान्ने दुस्साहस कसरी गरिस्? पाष्टर जानुभन्दा पहिले, तैँले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्न छोड्छु भनेर शपथ खानुपर्छ!” पाष्टरले मलाई धम्की पनि दिए, र मैले एक हप्ताभित्र भेलाहरूमा जान छोडिनँ भने, तिनले मलाई सोधपुछको लागि सर्वोच्च परिषदमा लैजानुपर्नेछ भने। तैपनि, मलाई कुनै पछुतो भएन, किनभने मेरो निर्णय सही छ भन्ने मलाई राम्ररी थाहा थियो। मैले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्नुभन्दा पहिले, मैले परमेश्वरमा विश्वास गरेको थिएँ, तर स्वर्गको राज्यमा प्रवेश गर्ने मापदण्डहरू बुझेको थिइनँ। कहिलेकहीँ, मेरो मन काल्पनिक कुराहरूले भरिन्थे, र मैले बारम्बार पाप गरिरहने हुनाले र म राज्यमा प्रवेश गर्न सक्छु कि सक्दिनँ थाहा नभएको हुनाले, कहिलेकहीँ म निकै दोधारमा हुन्थेँ। अहिले, मैले बल्ल बुझेँ। सर्वशक्तिमान् परमेश्वरका वचनहरूले मात्रै मलाई यो दुष्ट संसारलाई स्पष्ट रूपमा देख्न र शैतानले मानवजातिलाई कसरी भ्रष्ट पार्छ भन्ने कुरा बुझ्न मदत गरे। यदि मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरू नपढेको भए, मैले पापका बन्धनहरूबाट कसरी उम्कने वा शैतानको भ्रष्टताबाट कसरी उम्कने भन्नेबारेमा थोरै पनि ज्ञान पाउँदिनथेँ। त्यसकारण, तिनीहरूले मलाई जसरी बाधा दिए पनि, म कहिल्यै पनि सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन छोड्नेवाला थिइनँ। पाष्टरले मसित यो कुरा छोड्ने कुनै अभिप्राय छैन भन्ने देखे, र उनी रिसाउँदै गए।
मैले पाष्टरको कुरा मानिनँ भनेर मेरा आमाबुबा पनि रिसाउनुभयो, र उहाँहरूले मलाई क्रोधित हुँदै भन्नुभयो, “तैँले पाष्टरको कुरासमेत इन्कार गर्ने र मण्डलीले निषेध गरेको कुरा गर्ने आँट गरिस्। प्रचलनअनुसार, तँलाई गाउँबाट निकालिनुपर्छ। गाउँलेहरूले तँलाई इन्कार गरे भने, भविष्यमा तँलाई प्रमाणपत्र निकाल्नुपर्दा, गाउँ प्रमुखले त्यसमा हस्ताक्षर गरिदिनेछैन। तैँले जागिर पनि पाउन सक्नेछैनस्। के तैँले यी परिणामहरूबारे विचार गरेको छस्? त्यसपछि तँ कहाँ जान्छस्? तँ त विद्यार्थी मात्रै होस्। तेरो कुनै बस्ने ठाउँ छैन, र तैँले काम पनि पाउनेछैनस्। तँ कसरी बाँच्छस्?” मेरो बुबाले मजस्तो छोरा पाएर लज्जित भएँ भनेर पनि बताउनुभयो। मैले उहाँहरूको लागि ठूलो बदनामी ल्याएँ, र त्यसैले भविष्यमा म उहाँहरूको छोरा हुनेछैन भनेर उहाँले भन्नुभयो। मेरो सारा जीवनमा, मेरो बुबाले मलाई यसरी गाली गरेको सुनेको यो पहिलोपटक थियो। उहाँले निर्दयतापूर्वक अबउप्रान्त म उहाँको छोरा होइन समेत भन्नुभयो। मेरा आमाबुबाले यस्तो कुरा भन्नुहुन्छ भनेर मलाई विश्वासै लागेको थिएन। मलाई यति दुःख लाग्यो कि मैले केही भन्न सकिनँ। त्यसपछि मेरो बुबाले अझै भन्नुभयो, “म तँलाई फेरि भन्छु, तैँले सर्वशक्तिमान् परमेश्वरमा नै विश्वास गरिरहन्छस् भने, मैले तँलाई हुर्काउँदा खर्च गरेको सबै पैसा फिर्ता ले।” जब मेरो बुबाले सबै गाउँलेहरूको अगाडि त्यसो भन्नुभयो, तब म निकै अपमानित र दुःखित भएँ। विगतमा मेरा आमाबुबाले मसँग राम्रो व्यवहार गर्नुभएको थियो। दश जना छोराछोरीमध्ये, मेरा आमाबुबाले मलाई नै बढी मन पराउनुहुन्थ्यो र मबाट नै सबैभन्दा धेरै अपेक्षा गर्नुभएको थियो। उहाँहरूले मलाई यस्तो कठोर कुरा कहिल्यै भन्नुभएको थिएन, तर अहिले उहाँहरूको मनोवृत्ति पूर्ण रूपमा परिवर्तन भएको थियो। मलाई मेरा आमाबुबाको दयालु व्यवहार याद आयो, र मलाई उहाँहरूसँग नराम्रो सम्बन्धमा रहन मन थिएन। मलाई अत्यन्तै कमजोर महसुस भयो, र के गर्ने मलाई थाहा थिएन, त्यसकारण मैले परमेश्वरलाई प्रार्थना गरेँ र मलाई यो परिस्थितिको सामना गर्न अगुवाइ गर्नुहोस् भनेर उहाँलाई अनुरोध गरेँ। पछि, मलाई परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो। “तैँले सत्यताको लागि कष्ट भोग्नैपर्छ, तैँले आफैलाई सत्यतामा समर्पित गर्नैपर्छ, तैँले सत्यताको लागि अपमान सहनैपर्छ र अझै बढी सत्यता प्राप्त गर्नको लागि तैँले अझै बढी कष्टमार्फत गुज्रनैपर्छ। तैँले गर्नुपर्ने कुरा यही हो। शान्तिपूर्ण पारिवारिक जीवनको खातिर तैँले सत्यतालाई फ्याँक्नु हुँदैन र क्षणिक सुखचैनको खातिर तैँले आफ्नो जीवनको प्रतिष्ठा र सत्यनिष्ठालाई गुमाउनु हुँदैन। तैँले जुन कुरा सुन्दर र असल छन् ती सबै कुराको खोजी गर्नुपर्छ, र तैँले जीवनमा अझै अर्थपूर्ण रहेको मार्गलाई पछ्याउनुपर्छ। यदि तैँले त्यस किसिमको अशिष्ट जीवन जिउँछस् र कुनै पनि उद्देश्यहरूलाई पछ्याउँदैनस् भने, के तैँले आफ्नो जीवनलाई खेर फाल्दैनस् र? यस्तो जीवनबाट तैँले के प्राप्त गर्न सक्छस्? एउटा सत्यताको खातिर पनि तैँले देहका सबै सुखचैनहरूलाई त्याग्नुपर्छ, र थोरै सुखचैनको खातिर सारा सत्यतालाई फ्याँक्नु हुँदैन। यस किसिमका मानिसहरूसँग कुनै सत्यनिष्ठा वा प्रतिष्ठा हुँदैन; तिनीहरूको अस्तित्वको कुनै अर्थ हुँदैन!” (वचन देहमा देखा पर्नुहुन्छको “पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान”)। परमेश्वरको वचनले मलाई उत्प्रेरणा दियो। मैले सत्यता प्राप्त गर्नको लागि कष्ट भोग्नुपर्छ भन्ने कुरा बुझेँ। मेरो परिवारले मेरो विरोध गरे पनि, पाष्टरले मलाई बाधा दिए पनि, र गाउँलेहरूले मेरो आलोचना गरे पनि, र मैले पीडा र अलि कमजोर अनुभूति गरे पनि, र तिनीहरूले जे भने पनि, म सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन छोड्न सक्दिनथेँ। सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर अनि भेलाहरूमा ब्रदर-सिस्टरहरूको सङ्गति सुनेर, मैले धेरै सत्यता र रहस्यहरू बुझेको थिएँ, र मैले हृदयमा सर्वशक्तिमान् परमेश्वर नै फर्कनुभएका प्रभु येशू, अर्थात् आखिरी दिनहरूका ख्रीष्ट हुनुहुन्छ भन्ने निश्चित गरिसकेको थिएँ, त्यसकारण म भेलाहरूमा सहभागी हुन छोड्न सक्दिनथेँ। यदि म भेलाहरूमा सहभागी हुन छोडेँ भने, अवस्था शान्त हुनेछ भन्ने मलाई थाहा थियो। मेरो परिवारले मलाई विरोध गर्न छोडेर मलाई पहिलेजस्तै व्यवहार गर्नेथ्यो, र मप्रति कोही पनि हाँस्नेथिएन, तर मैले सत्यता प्राप्त गर्ने र परमेश्वरले दिनुहुने मुक्ति पाउने मौका गुमाउनेथेँ। मैले आफैलाई मैले विश्वास त्याग्नु हुँदैन, र मेरो परिवारले अस्वीकार गर्यो भन्दैमा परमेश्वरलाई धोका दिनु हुँदैन भनेर भनेँ। सर्वशक्तिमान् परमेश्वरका वचनहरू सत्यता हुन्। शैतानले मानवजातिलाई कसरी भ्रष्ट तुल्याउँछ भन्ने कुरा सर्वशक्तिमान् परमेश्वरले मात्रै हामीलाई बताउन सक्नुहुन्छ, र उहाँले मात्रै हामीलाई पापबाट उम्कने र परमेश्वरबाट मुक्ति प्राप्त गर्ने मार्ग औँल्याइदिनुभएको छ। आज मैले सत्यता प्राप्त गर्नको लागि कष्ट भोग्न सक्नु सार्थक कुरा थियो। त्यसकारण, मैले अबउप्रान्त मेरो परिवारका पावन्दीहरू नसहने अठोट गरेँ। उहाँहरूले अबउप्रान्त मेरो ट्युसनको पैसा नदिनुभए पनि, मलाई गाउँबाट निकालियो र जीवन कठिन भयो भने पनि, म परमेश्वरमा विश्वास गर्न र सत्यताको खोजी गर्न छोड्नेवाला थिइनँ।
अर्को हप्ता, पाष्टरले दुई जना सहकर्मीलाई हाम्रो घरमा हरेक रात आउने बन्दोबस्त गरेछन्। मलाई भेलाहरूमा सहभागी हुन रोक्नको लागि तिनीहरू हरेक दिन एउटै कुरा दोहोर्याइरहन्थे। तर तिनीहरूले जे भने पनि, म भेलामा सहभागी भइरहेँ। ती दिनहरूमा, म बारम्बार परमेश्वरलाई प्रार्थना गर्थेँ, र मेरो हृदय शान्त पार्नुहोस् र मलाई यी वाधाहरूबाट बचाउनुहोस् भन्दै अनुरोध गर्थेँ। पछि, यो विषयमा एकदमै धेरै हल्ला फैलियो भने हाम्रो परिवारलाई सबैले गिल्ला गर्नेछन् भन्ने डरले, मेरो काका नयाँ उपायको बारेमा छलफल गर्न पाष्टरकहाँ गएछन्। तिनीहरूले मलाई एक जना ईश्वरशास्त्रीकहाँ लगे, जो ईश्वरविज्ञानमा विद्यावारिधी गरेका र बाइबलप्रति एकदमै परिचित व्यक्ति रहेछन्। भेटेपछि, ईश्वरशास्त्रीले मलाई प्रश्न गरे, “तिमी किन सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छौ? के तिमीलाई सर्वशक्तिमान् परमेश्वर एक साधारण व्यक्ति मात्रै हुन् भन्ने थाहा छ? तिमीले किन व्यक्तिमा विश्वास गर्नुपर्यो?” मैले तुरुन्तै जबाफ दिएँ, “सर्वशक्तिमान् परमेश्वर देहधारी परमेश्वर हुनुहुन्छ। उहाँ साधारण व्यक्ति जस्तो देखिनुहुन्छ, तर उहाँभित्र परमेश्वरका आत्मा हुनुहुन्छ, र उहाँ परमेश्वरका आत्माको देहधारण हुनुहुन्छ। उहाँमा सामान्य मानवता मात्रै होइन, पूर्ण ईश्वरीयता पनि छ। प्रभु येशू जस्तै; बाहिरी रूपमा उहाँ साधारण मानिस हुनुहुन्थ्यो, तर उहाँ वास्तवमा देहधारी मानिसको पुत्र, परमेश्वर स्वयम् हुनुहुन्थ्यो। उहाँले सत्यता व्यक्त गर्न र मानवजातिलाई छुटकारा र मुक्ति दिने काम गर्न सक्नुहुन्थ्यो। आखिरी दिनहरूमा सर्वशक्तिमान् परमेश्वर आउनुभएको छ। उहाँले परमेश्वरको छ हजार वर्षे व्यवस्थापन योजना, देहधारणको रहस्य र मानिसहरूलाई शुद्ध पार्न र मुक्ति दिन आखिरी दिनहरूमा परमेश्वरले कसरी न्यायको काम गर्नुहुन्छ भन्नेजस्ता सत्यताका विविध रहस्यहरू प्रकट गर्नुभएको छ। मानवजातिले किन पाप गर्छ त्यसको मूल कारण पनि उहाँले प्रकट गर्नुभएको छ। यदि उहाँ साधारण व्यक्ति हुनुभएको भए, के उहाँले त्यति धेरै सत्यता व्यक्त गर्न सक्नुहुन्थ्यो र? परमेश्वर सृष्टिका प्रभु हुनुहुन्छ, सत्यताको स्रोत हुनुहुन्छ, र उहाँले मात्र सत्यता व्यक्त गर्न सक्नुहुन्छ, संसारको कुनै पनि चर्चित व्यक्ति वा महान् मानिसले यी सत्यताहरू व्यक्त गर्न सक्दैन! परमेश्वर स्वयम्ले मात्रै यी सत्यताहरू व्यक्त गर्न सक्नुहुन्छ। परमेश्वरले बाहेक अरू कसैले पनि यसलाई व्यक्त गर्न सक्दैन। सर्वशक्तिमान् परमेश्वरले व्यक्त गर्नुभएका सबै सत्यताहरू उहाँ देहधारी परमेश्वर, अर्थात् परमेश्वर स्वयम् हुनुहुन्छ भन्ने प्रमाणित गर्न काफी छन्।” मैले यी कुरा भनिसक्नेबित्तिकै, विद्यावारिधी गरेका ईश्वरशास्त्रीले मलाई रोके र भने, “तिमीले भनेको कुरा गलत छ। परमेश्वरका सबै वचनहरू बाइबलमै छन्, र बाइबलभन्दा बाहिर कुनै पनि नयाँ वचन हुन सक्दैन। सर्वशक्तिमान् परमेश्वरका वचनहरू परमेश्वरका नयाँ वचनहरू हुन सक्दैनन्।” मैले यसो भन्दै तिनको खण्डन गरेँ, “के तपाईंसँग यसको कुनै बाइबलीय आधार छ? प्रभु येशूका वचनहरूमा कुनै प्रमाण छ? प्रभु येशूले भन्नुभयो: ‘मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तैपनि, जब उहाँ, अर्थात् सत्यका आत्मा आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा अगुवाइ गर्नुहुनेछ’ (यूहन्ना १६:१२-१३)। आखिरी दिनहरूका थुमाले चर्मपत्रको मुट्ठो खोल्नुहुनेछ भनेर बाइबलले अगमवाणी गरेको छ। यी सबैले के देखाउँछन् भने आखिरी दिनहरूमा आउनुभएपछि परमेश्वरले बोल्नुहुनेछ। यदि तपाईंले भन्नुभएजस्तै, परमेश्वरले बाइबलभन्दा बाहिर कुनै पनि नयाँ वचन बोल्नुहुन्न भने, के त्यो प्रभुको पुनरागमनमा बोलिने सबै वचन र कामलाई इन्कार गर्नु हुँदैन र?” तिनमा अधैर्यता छायो, र तिनले मेरो कुरै सुनेनन्। तिनले सर्वशक्तिमान् परमेश्वरलाई दोष दिने केही कुरा बोले र मलाई पूर्वीय ज्योतिको कुरा सुन्न छोड्नू भनेर बारम्बार भनिरहे। त्यसपछि तिनले आफ्नो ईश्वरविज्ञानको डिग्री कति उत्कृष्ट छ, प्रभुको लागि प्रचार गर्न तिनले कति कष्ट भोगे, आदि इत्यादि कुराको धाक लगाउन थाले। तिनले म उमेरले सानो भएकोले बाइबल बुझ्न सक्दिनँ र मैले तिनको कुरा सुन्नुपर्छ, र सर्वशक्तिमान् परमेश्वरको मण्डलीका मानिसहरूसँग भेट्न छोड्नुपर्छ पनि भने। मेरो अङ्कलले पनि सहमति जनाउँदै भने: “धार्मिक संसारले दोष दिने कुरालाई हामीले विश्वास गर्नु हुँदैन। उहाँ आफ्नो बाइबलीय ज्ञानको कारण प्रसिद्ध ईश्वरशास्त्री हुनुहुन्छ, र तैँले भाग्यले मात्र उहाँसँग बोल्ने मौका पाएको होस्। आशा छ तैँले उहाँको कुरा मानेर भेलाहरूमा जान छोड्नेछस्।” मैले तिनीहरूलाई भनेँ, “पापमा जिउनेबारेमा मलाई अन्योल थियो। मानिसहरू किन पापबाट मुक्त हुन सक्दैनन् मैले त्यसको कारण भेट्न सकेको थिइनँ। सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेपछि मात्रै हामीभित्र पापी प्रकृति भएकोले यस्तो भएको हो भन्ने मलाई थाहा भयो। यदि हाम्रो पापी प्रकृति हटेन भने, हामी पापको बन्धनबाट कहिल्यै पनि मुक्त हुनेछैनौँ।” मैले तिनीहरूलाई देहधारणको सत्यताबारे पनि गवाही दिएँ। मैले त्यो कुरा बताएपछि, ती ईश्वरशास्त्रीले मैले भनेको कुराबाट आफूले उत्प्रेरणा प्राप्त गरेको कुरा बताए। तिनले मेरो कुरा अत्यन्तै राम्रो लागेको, र भविष्यमा यसबारेमा छलफल गर्ने आशा गरेको बताए, तर मैले सर्वशक्तिमान् परमेश्वरलाई ग्रहण गर्नु हुँदैन भनेर तिनले जोड दिए। ती ईश्वरशास्त्री बाइबलप्रति परिचित रहेका, ईश्वरशास्त्र सम्बन्धी धेरै ज्ञान भएका, र राम्रो प्रतिष्ठा भएका व्यक्ति भए पनि, वास्तविकतामा तिनी आत्मिक रूपमा गरिब रहेछन् र तिनले कुनै सत्यता बुझेका रहेनछन् भन्ने थाहा पाएँ। तिनी अत्यन्तै अहङ्कारी पनि थिए, र तिनले सत्यता स्विकार्न सक्दैनथे, र परमेश्वरको आखिरी दिनहरूको कामको बारेमा अनुसन्धान गर्ने कार्यमा कुनै चासो लिँदैनथे। प्रभु येशूलाई विरोध गर्ने फरिसीहरूले जस्तै, तिनले आखिरी दिनहरूमा भएको सर्वशक्तिमान् परमेश्वरको देखापराइ र उहाँको कामलाई निन्दा गरिरहे। त्यो कुराकानीले सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउने मेरो संकल्पमा कुनै परिवर्तन ल्याएन। यसको विपरीत, यसले मलाई धार्मिक संसारका यी पाष्टर, एल्डर र ईश्वरशास्त्रीहरूको वास्तविकता थाहा पाउन सहयोग गर्यो। मैले तिनीहरूलाई आदर र सराहना गर्न छोडेँ। यस अवधिमा भेलाहरूमा सहभागी भएर अनि सर्वशक्तिमान् परमेश्वरको वचन पढेर, मैले धार्मिक संसारमा रहेका भ्रमहरूको बारेमा पनि केही समझशक्ति प्राप्त गरेँ। यसले मलाई सर्वशक्तिमान् परमेश्वरको वचन सत्यता हो र सर्वशक्तिमान् परमेश्वर नै एक मात्र साँचो परमेश्वरको प्रकटीकरण हुनुहुन्छ भन्ने कुरामा अझै धेरै निश्चयता प्रदान गर्यो।
एउटा भेलामा, मैले ब्रदर-सिस्टरहरूसँग मेरो हालैका परिस्थितिहरूबारे कुरा गरेँ, र तिनीहरूले मसित परमेश्वरका केही वचनहरू बाँडे जसले मलाई यो आत्मिक युद्धमा देखा पर्ने झूटा गोठाला र ख्रीष्टविरोधीहरूबारे केही समझ प्रदान गरे। प्रभु येशूले भन्नुभयो: “तर शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र जानलाई प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ” (मत्ती २३:१३)। “शास्त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्कार छ! किनभने एक जनालाई आफ्नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ” (मत्ती २३:१५)। परमेश्वरका वचनहरू पढेपछि र तिनीहरूको सङ्गति सुनेपछि, मेरो हृदय निकै उज्यालो भयो। मैले देखेँ, धार्मिक संसारका यी पाष्टर र अगुवाहरू त आफूलाई असल व्यक्तिको रूपमा प्रस्तुत गर्न खोजिरहने फरिसीहरूजस्तै रहेछन्। तिनीहरूले सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको कामलाई इन्कार गर्ने र दोष दिने गर्छन् र परमेश्वरको आवाज सुन्न र प्रभुलाई स्वागत गर्नबाट मानिसहरूलाई रोक्नको लागि सकेजति सबै गर्छन्। परमेश्वरको राज्यमा प्रवेश गर्ने मानिसहरूका लागि तिनीहरू ठेस लाग्ने ढुङ्गा हुन्। तिनीहरू आफु पनि परमेश्वरको राज्यमा प्रवेश गर्दैनन्, साथमा अरूलाई पनि प्रवेश गर्नबाट रोक्छन्। तिनीहरू साँच्चै नै दुष्ट छन्! सर्वशक्तिमान् परमेश्वर भन्नुहुन्छ, “भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू पनि छन् तर उनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कार्यको उद्देश्य बुझेको हुँदैन। उनीहरूमध्ये एक जना पनि परमेश्वरलाई जान्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्वरको इच्छामा एकचित्त हुने बारेमा त कुरै नगरौं। उनीहरू सबै जना परमेश्वरलाई प्रवचन सुनाउन उचाइमा उभिएका व्यर्थका दुष्ट मानिसहरू हुन्। उनीहरूले परमेश्वरको ध्वजा बोके तापनि जानीबुझीकनै परमेश्वरको विरोध गर्छन्। परमेश्वरमा विश्वास भएको दाबी गर्दै उनीहरूले मान्छेको मासु खान्छन् र रगत पिउँछन्। त्यस्ता सबै मानिस मान्छेको आत्मा विनाश गर्ने दियाबलसहरू हुन्, सही मार्गमा हिँड्ने प्रयास गरिरहेका व्यक्तिहरूलाई रोक्ने प्रमुख दुष्टात्माहरू हुन्, र परमेश्वरको खोजी गर्ने व्यक्तिहरूलाई अवरोध गर्ने बाधा-अड्चनहरू हुन्। उनीहरू ‘स्वस्थ विधान’ का जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्वरविरुद्ध उभिन अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा कसरी उनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्? उनीहरू मानव आत्मा विनाश गर्नमा समर्पित जीवित शैतान हुन् भन्ने कुरा कसरी ती अनुयायीहरूले थाहा पाउन सक्छन्?” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको विरोध गर्नेहरू हुन्”)। “हरेक सम्प्रदायका अगुवाहरूलाई हेर—ती सबै अहङ्कारी र स्वधर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै कल्पनाहरूद्वारा निर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नको निम्ति वरदानहरू र विद्वत्तममा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न नसक्ने हो भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? जे भए पनि, तिनीहरूसँग केही ज्ञान छ र तिनीहरूले केही धर्मसिद्धान्तहरूको प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई आफ्नो अगाडि ल्याउन र उनीहरूलाई छल्नको निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्वरमा नाममात्रको विश्वास गर्छन्, तर वास्तवमा तिनीहरूले आफ्ना अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो बाटोको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये कसैले भन्छन्, ‘हाम्रो विश्वासको बारेमा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।’ परमेश्वरमाथिको तिनीहरूको विश्वासको माध्यम एउटा मानव हो; के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो बाटो स्वीकार गर्ने कुरामा ठेस लाग्ने बाधाहरू बनेका छैनन् र? त्यस्ता मानिसहरू पावल जस्तै हुन्” (आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरूको “सत्यताको खोजी गर्नु मात्रै साँचो रूपमा परमेश्वरमा विश्वास गर्नु हो”)। परमेश्वरले सत्यतालाई घृणा गर्ने र परमेश्वरको विरोध गर्ने धार्मिक अगुवाहरूको सारलाई स्पष्ट रूपमा खुलासा गर्नुभएको छ। सर्वशक्तिमान् परमेश्वर देखा पर्नुभएको छ र उहाँले धेरै सत्यता व्यक्त गर्नुभएको छ, तर तिनीहरूले खोजी गर्दै गर्दैनन्। परमेश्वरको आवाजलाई सुन्नुको सट्टा, तिनीहरू नास्तिक पार्टी, अर्थात् चिनियाँ कम्युनिस्ट पार्टीले फैलाएका अफवाहहरू सुन्छन्, सर्वशक्तिमान् परमेश्वरको आखिरी दिनहरूको देखापराइ र कामलाई निन्दा गर्छन्, र विश्वासीहरूलाई धोका दिन र हामीलाई प्रभुको आवाज सुनेर उहाँलाई स्वागत गर्नबाट रोक्नलाई भ्रमहरू फैलाउँछन्। यो मुक्ति पाउने र स्वर्गको राज्यमा प्रवेश गर्ने हाम्रो मौकालाई बरबाद गर्नु हो। यी पाष्टर र एल्डरहरूले बारम्बार मण्डलीका मानिसहरूलाई बाइबल व्याख्या गरिदिने भए पनि, परमेश्वर र उहाँको कामको बारेमा तिनीहरूसँग अलिकति पनि ज्ञान हुँदैन। तिनीहरूले परमेश्वरप्रति कुनै डर पनि मान्दैनन्। तिनीहरूको सार र प्रकृति फरिसीहरूको जस्तै हुन्छ। तिनीहरू सबै नै सत्यतालाई घृणा गर्ने र परमेश्वरको विरोध गर्ने ख्रीष्टविरोधीहरू हुन्। त्यसपछि मलाई यहूदी धर्मका विश्वासीहरूले कसरी अन्धाधुन्ध धार्मिक अगुवाहरूको आराधना गर्थे, र परिणामस्वरूप, तिनीहरूले परमेश्वरले दिनुहुने मुक्ति गुमाए भन्ने कुरा याद आयो। मेरा आमाबुबाले पनि पाष्टर र एल्डरहरूको आराधना गर्नुहुन्थ्यो। उहाँहरूले प्रभुमा विश्वास गर्नुभएको धेरै वर्ष भएको भए पनि, उहाँहरूको हृदयमा परमेश्वरको निम्ति कुनै स्थान थिएन। उहाँहरूले सत्यता बुझ्नुभएको थिएन र उहाँहरूमा समझशक्तिको कमी थियो। पाष्टर र एल्डरहरूले भनेको मान्नेहरूले प्रभुलाई नै पालना गरिरहेका र पछ्याइरहेका हुन्छन् भन्ने उहाँहरू सोच्नुहुन्थ्यो। पाष्टर र एल्डरहरूले जेसुकै नै भने पनि, मेरा आमाबुबाले मान्नुहुन्थ्यो। प्रभुलाई स्वागत गर्नेजस्तो महत्त्वपूर्ण विषयमा, उहाँहरूमा समझशक्तिको पूरै अभाव थियो र उहाँहरू अन्धाधुन्ध पाष्टरको कुरा सुन्नुहुन्थ्यो, र मैले सर्वशक्तिमान् परमेश्वरका वचनहरूको बारेमा गवाही दिँदा, उहाँहरूले फिटिक्कै सुन्नुभएन, र सर्वशक्तिमान् परमेश्वरलाई दोष दिन त्यही पाष्टर र विद्यावारिधीवाला ईश्वरशास्त्रीका शब्दहरू नै दोहोर्याइरहनुभयो। उहाँहरूले यसोसमेत भन्नुभयो, “यो साँचो मार्ग नै भए पनि, पाष्टर र एल्डरहरूलेले स्वीकार नगरेसम्म हामी यसलाई स्वीकार गर्दैनौँ।” मेरा आमाबुबा अत्यन्तै दयनीय हुनुहुन्छ भन्ने थाहा पाएँ। उहाँहरूले कसरी प्रभुमा विश्वास गरिरहनुभएको थियो र? के उहाँहरूले पाष्टर र एल्डरहरूमा विश्वास गरिरहनुभएको थिएन र? मैले मेरा आमाबुबालाई भनेँ, “तपाईंहरू अनुग्रहको युगमा जन्मनुभएको भए, जब प्रभु येशू काम गर्न देखा पर्नुहुन्थ्यो, तब तपाईंहरू पनि विगतको यहूदी धर्मका विश्वासीहरूजस्तै भएर प्रभु येशूलाई विरोध गर्ने र दोष दिने कार्यमा फरिसीहरूलाई पछ्याउनुहुनेथ्यो, किनभने तपाईंहरू पाष्टर र एल्डरहरूको कुरा मात्रै मान्नुहुन्छ। यदि पाष्टर र एल्डरहरूले कुनै कुरालाई झूटो भनी निन्दा गरे भने, तपाईंहरूले पनि त्यही भन्नुहुन्छ, तर तपाईंहरू आफैले भने साँचो मार्गको बारेमा अनुसन्धान गर्दै गर्नुहुन्न, न त परमेश्वरको आवाज सुन्ने प्रयास नै गर्नुहुन्छ। के यो कार्य फरिसीहरूलाई पछ्याएर प्रभु येशूलाई दोष दिनेहरूको कार्यजस्तै छैन र? के तपाईंहरूले यसरी असल परिणाम प्राप्त गर्न सक्नुहुन्छ?” ती दिनहरूमा घटेका घटनाहरूको दौरान, मैले मेरा आमाबुबाबारे केही समझ प्राप्त गरेँ, र म अबउप्रान्त मेरा भावनाहरूको बन्धनमा थिइनँ, त्यसकारण मैले परमेश्वरको लागि गवाहीको रूपमा खडा हुने सङ्कल्प गरेँ।
त्यो बेला, मैले जे गरे पनि मेरा आमबुबाले मलाई निगरानी गरिरहनुहुन्थ्यो। घरमा म शान्तिले भेलाहरूमा सहभागी हुन पाउँदिनथेँ। त्यो बेला, राती भेलाहरूमा सहभागी हुनको लागि म हाम्रो गाउँको छेउमा रहेको सानो जङ्गलमा लुकेर जानुपर्थ्यो। त्यहाँ धेरै लामखुट्टे र कीराफट्याङ्ग्रा लाग्थ्यो। मलाई लामखुट्टेले नराम्ररी टोक्थ्यो, र बस्नको लागि सहज स्थान भेट्टाउन सक्दिनथेँ। कहिलेकहीँ राती अबेरसम्म म जङ्गलमै हुन्थेँ। म भेलाहरूमा सहभागी भइरहेको छु भन्ने कुरा मेरो आमाबुबालाई थाहा नहोस् भनेर, म सुत्नको लागि थाहा नपाउने गरी बिस्तारै घरमा छिर्नुपर्थ्यो, र म राती राम्ररी सुतेँ भनेर देखाउनको लागि सबेरै उहाँहरूभन्दा पहिले नै उठ्नुपर्थ्यो। दिनमा, प्रायजसो म मेरा आमाबुबालाई सघाउन खेत जान्थेँ। केही समयपछि, मलाई थकाइ र निद्रा लाग्थ्यो। म अत्यन्तै लखतरान हुन्थेँ। मलाई अलिक कमजोर महसुस हुन थाल्यो, र यी दिनहरूको अन्त्य कहिले हुन्छ थाहा थिएन। कहिलेकहीँ त मलाई के समेत लाग्थ्यो भने, यदि मैले मेरो आमाबुबाको कुरा सुनेँ र भेलाहरूमा जान छोडेँ भने, मैले त्यति धेरै कष्ट भोग्नुपर्दैन, मेरा छरछिमेकीहरू मप्रति हाँस्नेछैनन्, र यसले मेरो जागिरको खोजीलाई असर गर्नेछैन। यी कुराहरूको बारेमा विचार गर्दा, म अलिक आत्तिन्थेँ। तर म फेरि हरेक भेलामा मैले केही सत्यता बुझ्न सकेको थिएँ, र यी मैले पहिले कहिल्यै नसुनेका सत्यताहरू थिएँ भन्नेबारेमा सोच्थेँ। मलाई त्यो कुरा त्याग्ने इच्छा हुँदैनथ्यो। त्यो बेला, मलाई परमेश्वरको वचनको एउटा भजनले निकै प्रोत्साहन दिएको थियो, मैले यो भजन धेरैपटक सुनेँ। “आखिरी दिनहरूको काममा हामीबाट ठूलो विश्वास र प्रेमको आवश्यक हुन्छ। थोरै लापरवाहीको कारण हामीले ठक्कर खान सक्छौं, किनकि यस चरणको काम पहिलेका सबै चरणहरू भन्दा फरक छ: परमेश्वरले जे सिद्ध पार्दै हुनुहुन्छ त्यो मानवजातिको विश्वास हो, जुन अदृष्य र अमूर्त दुवै छ। परमेश्वरले जे गर्नुहुन्छ त्यो वचनहरूलाई विश्वासमा, प्रेममा र जीवनमा परिवर्तन गर्नु हो। मानिसहरू त्यो विन्दुमा पुग्नुपर्छ जहाँ तिनीहरूले सयौं शुद्धीकरणहरू सहन गरिसकेका हुन्छन् र तिनीहरूले अय्यूबको भन्दा ठूलो विश्वास धारण गरिसकेका हुन्छन्। तिनीहरूले परमेश्वरलाई नछाडीकनै अविश्वसनीय कष्ट र हरप्रकारका यातना सहन गर्नुपर्छ। जब तिनीहरू मृत्युसम्मै आज्ञाकारी रहन्छन्, र तिनीहरूसँग परमेश्वरमाथिको ठूलो विश्वास हुन्छ, तब परमेश्वरको कामको यो चरण पूरा हुन्छ” (थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस्को “जुन कुरा परमेश्वरले सिद्ध पार्नुहुन्छ त्यो विश्वास हो”)। यो गीतबाट मैले कष्टको बेला मेरो देह कमजोर र दयनीय हुन सक्छ, तर यस्तो बेला, मैले देहलाई परित्याग गर्न सिक्नुपर्छ भन्ने कुरा बुझेको थिएँ। यदि मैले मेरो देहलाई पछ्याउँथे भने, म परमेश्वरलाई सन्तुष्ट पार्न सक्दिनथेँ, र परमेश्वरमाथिको विश्वास पनि गुमाउनेथेँ। मलाई हरेक भेला मेरो जीवनको लागि फाइदाजनक छ र मैले प्राप्त गर्ने सत्यता अमूल्य सम्पत्ति हो भन्ने राम्ररी थाहा थियो। राती अबेरसम्म जङ्गलमा बसेर भेलामा सहभागी हुनु शारीरिक रूपमा थकाइलाग्दो र कठिन भए पनि, यो मेरो लागि म सत्यता प्राप्त गर्न कष्ट भोग्न सक्छु कि सक्दिनँ र मसँग परमेश्वरमाथिको साँचो विश्वास छ कि छैन भन्ने कुरा हेर्ने जाँच पनि थियो। मेरा आमाबुबा मैले संसारको ख्याति र सम्पत्तिको पछि लागेर राम्रो जागिर खोजेको, मेरो परिवारलाई सुखी जीवन दिएर गौरवान्वित तुल्याएको चाहनुहुन्थ्यो। उहाँहरूले चाहनुभएको र अपेक्षा गर्नुभएको कुरा यही थियो। तर मैले मेरा आमाबुबाको कुरा सुनेर भेलाहरूमा जान छोडेको भए, मैले यी कुराहरूको कष्ट त भोग्नुपर्दैनथ्यो, तर मैले सत्यता प्राप्त गर्नेथिनँ। म पहिले जस्तो थिएँ त्यस्तै हुन्थेँ, मनोरञ्जन लिन र देहका कुराहरू पछ्याउनमा मात्रै लागिपर्थेँ, र ती सबै अर्थहीन कुरा हुन्। अहिल म परमेश्वरको आखिरी दिनहरूको कामलाई स्वीकार गर्न र परमेश्वरबाट आपूर्ति हुने धेरै सत्यताको आनन्द लिन सक्छु, र यो नै मेरो लागि सबैभन्दा ठूलो आशिष् थियो। सत्यता बुझ्न पाउने मौकाको तुलनामा मैले भोगेको थोरै कष्ट त केही पनि थिएन। यसबारेमा विचार गरेपछि, म देहका सुखलाई त्याग्न र मेरो बारेमा मेरो परिवारले के भन्छन् भन्नेबारेमा वास्ता गर्न छोड्न तयार भएँ। मैले यी कठिनाइहरूलाई जित्न परमेश्वरमा भरोसा गर्न सकूँ भनेर मात्रै कामना गरेँ। पछि, सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढेर, मेरो स्थिति क्रमिक रूपमा सुधार हुँदै गयो। बिस्तारै, मैले के पनि बुझेँ भने त्यो वातावरणको त्यस्तो कठिनाइमा मात्रै मैले परमेश्वरको इच्छालाई अझै धेरै खोजी गर्न र परमेश्वरमा साँचो विश्वास गर्न सक्थेँ, र यसको लागि, म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ छु!
मैले जङ्गलमा गएर भेलाहरूमा सहभागी हुने कार्यलाई निरन्तरता दिइरहेँ। तर एकपटक, भेलामा बसिरहेको बेला, कसैले थाहा पाएर मेरो आमाबुबालाई भनिदिएछ। भोलिपल्ट बिहानको खाजा खाने समयमा, मेरी आमाले मलाई भन्नुभयो, “तैँले ईश्वरविज्ञानको डाक्टरलाई भेटेपछि भेलाहरूमा सहभागी हुन छोडिस् भन्ने लागेको थियो। तँ रातीराती जङ्गल गएर भेलामा सहभागी हुन्छस् भन्ने थाहा थिएन। तँलाई डर लाग्दैन?” यसो भन्ने क्रममा, उहाँ रुन थाल्नुभयो। मेरो अगाडि मेरी आमालाई रोएको देखेको त्यो पहिलोपटक थियो। के भन्ने मलाई थाहै भएन। मेरो आँखामा आँसु छचल्किए। म मेरा आमाबुबालाई दुःखी तुल्याउन चाहन्नथेँ, तर म सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउन छोड्न सक्दिनँ भन्ने मलाई थाहा थियो। मनभित्र एकदमै धेरै अन्तर्द्वन्द्व चल्यो। त्यो बेला, मलाई सर्वशक्तिमान् परमेश्वरका वचनहरूको एउटा खण्ड याद आयो: “परमेश्वरले आफ्नो काम गर्नुहुन्छ, परमेश्वरले एक व्यक्तिलाई वास्ता गर्नुहुन्छ, यो व्यक्तिलाई हेरचाह गर्नुहुन्छ, र त्यसै समयमा शैतानले उहाँको हरेक पाइलामा समस्या खडा गर्छ। परमेश्वरले जसलाई कृपा गर्नुहुन्छ, शैतानले पनि त्यसको पछिपछि लागेर त्यसलाई हेरिरहन्छ। यदि परमेश्वरले यो व्यक्तिलाई चाहनुहुन्छ भने शैतानले परमेश्वरलाई बाधा दिन आफ्नो भएभरको शक्ति लगाउँछ, परीक्षा गर्न, बाधा दिन र परमेश्वरले गर्नुहुने कामलाई बिगार्न विभिन्न दुष्ट चालहरू प्रयोग गर्छ, त्यसले आफ्नो गुप्त उद्देश्य हासिल गर्न यी सबै कार्य गर्छ। यो उद्देश्य के हो त? परमेश्वरले कुनै पनि व्यक्तिलाई प्राप्त गर्नुभएको त्यसले चाहँदैन; परमेश्वरले चाहनुभएको सबैलाई त्यसले आफ्नो बनाउन चाहन्छ, त्यो तिनीहरूमा बास गर्न चाहन्छ, तिनीहरूलाई नियन्त्रण गर्न चाहन्छ, तिनीहरूलाई वशमा पार्न चाहन्छ, ताकि तिनीहरूले त्यसको आराधना गरून्, ताकि दुष्ट कार्य गर्नमा तिनीहरू पनि त्यससँगै सहभागी होऊन्। के यो शैतानको दुष्ट आशय होइन र? … परमेश्वरसँग युद्ध गर्ने क्रममा, र उहाँको पिछा गर्ने क्रममा, शैतानको उद्देश्य भनेको परमेश्वरले गर्न चाहनुभएको सबै कामलाई विनाश गर्नु, परमेश्वरले आफ्नो बनाउन चाहनुभएका मानिसहरूलाई कब्जा र नियन्त्रण गर्नु, र परमेश्वरले प्राप्त गर्न चाहनुभएकाहरूलाई पूर्ण रूपमा नष्ट गर्नु हो। यदि तिनीहरूलाई नष्ट गरिएन भने तिनीहरू शैतानको अधीनमा आउँछन्, शैतानद्वारा प्रयोग गरिन्छन्—त्यसको उद्देश्य यही हो” (वचन देहमा देखा पर्नुहुन्छको “परमेश्वर स्वयम् अद्वितीय ४”)। परमेश्वरका वचनहरू मनन गरिसकेपछि, मैले यो कुरा बुझेँ। परमेश्वरले मानिसहरूलाई मुक्ति दिन काम गर्नुहुन्छ, जबकि शैतानले परमेश्वरलाई बाधा दिन र परमेश्वरलाई पछ्याउन र परमेश्वरको मुक्ति स्वीकार गर्नबाट मानिसहरूलाई रोक्न सक्दो प्रयास गर्छ। यति बेला, मैले अय्यूबकी पत्नीले उनलाई परमेश्वरलाई त्याग्न लगाउन परीक्षा गरेको घटना सम्झेँ। यो त शैतानको चलाकी थियो। मैले यो बेला कसरी मेरा साथीहरूले मलाई बाधा दिए, मेरो पाष्टर र परिवारले मलाई अवरोध र धम्की दिए, र मलाई परमेश्वरमा विश्वास गर्न छोड्न दबाब दिए भनेर सोचेँ। यी सबै शैतानका परीक्षा र चालहरू थिए। मेरो परिवारले मलाई गाउँबाट धपाइनेछ र मेरो जाने ठाउँ कहीँ हुनेछैन भन्ने डर लागेको कुरा गर्यो। मेरी आमाले पनि उहाँलाई मेरो बारेमा चिन्ता लागेको कुरा गर्नुभयो। यी शब्दहरू सुन्दा उहाँलाई मेरो फिक्री भएजस्तो लाग्थ्यो, तर वास्तवमा यो त परमेश्वरलाई पछ्याउनबाट मलाई रोक्नको लागि शैतानले मेरो परिवारलाई प्रयोग गरेको अवस्था थियो। शैतान चाहन्थ्यो कि मैले यो मार्ग छोडूँ, पाष्टरलाई पछ्याइरहुँ, धर्ममा रहिरहूँ, र परमेश्वरले दिनुहुने मुक्ति गुमाऊँ। म शैतानको छलमा पर्नु हुँदैनथ्यो। त्यसपछि, मैले भेलाहरूमा सहभागी हुने र सर्वशक्तिमान् परमेश्वरका वचनहरू पढ्ने कार्यलाई जारी राखेँ। आगामी दिनहरूमा, मैले अझै पनि शैतानका परीक्षाहरू र घेराबन्दीको सामना गर्नुपर्ने हुन सक्छ, र मैले धेरै प्रतिरोधहरू भोग्नुपर्ने हुन सक्छ, तर मलाई सर्वशक्तिमान् परमेश्वरको वचन नै सत्यता हो भन्ने कुरा हृदयबाट नै थाहा छ। मैले सर्वशक्तिमान् परमेश्वरको वचन पढ्न, परमेश्वरको कामको अनुभव गर्न, र सत्यता प्राप्त गर्न पाउनु नै मेरो लागि अत्यन्तै अर्थपूर्ण छ। मैले जति नै कष्ट भोगे पनि, यो कष्टको लायक छ!