६९. म किन बोझ लिँदिनँ?

डेसी, दक्षिण कोरिया

अक्टोबर २०२१ मा, मैले भिडियो कार्य सुपरभाइजरको रूपमा अभ्यास गरिरहेको थिएँ। काममा म ब्रदर लियो र सिस्टर क्‍लेयरसँग साझेदार थिएँ। तिनीहरू दुवैले मभन्दा पहिलेदेखि यो कर्तव्य निभाउँदै आएका थिए र दुवैसँग धेरै अनुभव थियो, र धेरैजसो कामको फलोअप र हेरविचार गर्न तिनीहरू अग्रसर हुन्थे। साथै, मैले भर्खरै मात्र अभ्यास गर्न सुरु गरेकी थिएँ र मैले नबुझेका कामका पक्षहरू धेरै थिए, त्यसैले स्वाभाविक रूपमै, मैले सानो भूमिका लिएँ। मलाई लाग्थ्यो, मेरो काममा कुनै समस्या नहुन्जेल, सबै कुरा ठीकठाक हुनेछ र अरूले अघि आएर बाँकी कुरा हल गर्न सक्‍नेछन्। त्यसरी, मैले धेरै चिन्ता गर्नु पर्दैन र मलाई कसैले पनि जिम्‍मेवार तुल्याउँदैन। क्रमिक रूपमा, मैले झन्झन् कम बोझ लिन थालेँ र फलस्वरूप ती दुईको कामबारे मेरो बुझाइ र सहभागिता निकै कम थियो। हामीले कामको छलफल गर्दा म कुनै पनि विचार व्यक्त गर्दिनथेँ, र खाली समयमा म आनन्द लिँदै सांसारिक भिडियोहरू हेर्थेँ। मलाई यसरी कर्तव्य निभाउनु ठीकै हुन्छ जस्तो लाग्थ्यो।

एक दिन, दिँउसोतिर, एक अगुवा अचानक मकहाँ आए र मलाई लियो र क्‍लेयर कर्तव्य निभाउन अन्यत्र जाँदै छन् भनेर थप जिम्‍मेवारी लिन, थप मेहनत गर्न, र भिडियोको काम जिम्‍मा लिन अनुरोध गरे। यो अचानकको परिवर्तनले एक छिन त मेरो होसै उड्यो। मैले यो कर्तव्य निभाउन थालेको धेरै भएको थिएन, र फलोअप गर्नुपर्ने काम टन्‍नै थियो, के यो त झन् तनावपूर्ण भएन र? तिनीहरूको जिम्‍माको काम निकै जटिल थियो र यसको लागि निरन्तर ध्यान दिनुपर्थ्यो। सीपको कमी भएकाहरूलाई बाटो देखाउन मैले सामग्रीहरू खोज्‍नुपर्थ्यो। लियो र क्‍लेयर निकै दक्ष थिए र सामान्यतया अत्यन्तै व्यस्त हुन्थे। भर्खरै काम सुरु गरेको कारण मैले त झन् अवश्यै धेरै समय लगाउनुपर्थ्यो। के अब मैले कहिल्यै खाली समय पाउँला त? मैले यो जिम्‍मेवारीको बोझ लिन नसकेर काममा ढिलाइ भयो भने, के मबाट अपराध हुँदैन र? यो जिम्‍मेवारीको लागि अगुवाले मभन्दा उपयुक्त अरू कसैलाई खोज्नु नै बेस हुन्छ भन्‍ने लाग्यो। मैले केही नबोलेको देखेर, अगुवाले मलाई मेरो मनमा के छ भनेर सोधे। मेरो मन अटेरी भयो र मलाई केही पनि भन्‍न मन लागेन। हामीले कामको छलफल गरिसकेपछि, म चुपचाप गइहालेँ। मैले आफू एक्लैले लिनुपर्ने सबै समस्या र कठिनाइहरूबारे सोच्दा, मलाई तनावले उकुसमुकुस भयो र अबका दिनहरू सहन नसकिने होलान् जस्तो लाग्यो। मैले यसलाई जसरी हेरे पनि, मलाई आफू यो जिम्‍मेवारीको लायक नरहेजस्तो लाग्यो। त्यसपछि अगुवाले मलाई मेरो स्थितिबारे सोध्दै एउटा मेसेज पठाए, र मैले तुरुन्तै प्रतिक्रिया दिएँ: “मलाई यो काम लिऊँ जस्तो लागेको छैन। सायद तपाईंले अझ उपयुक्त कसैलाई खोज्‍नुहुन्थ्यो कि?” त्यसपछि अगुवाले मलाई सोधे: “के आधारमा तपाईंले आफूलाई अनुपयुक्त ठान्‍नुहुन्छ?” यो प्रश्‍नको प्रतिक्रिया कसरी दिने मलाई साँच्‍चै थाहा थिएन। मैले अहिलेसम्‍म प्रयाससमेत गरेकी थिइनँ, र म यसको लायक छु छुइनँ थाहै थिएन। तर कामको तनाव र यसमा लाग्‍ने शारीरिक मेहनतबारे सोच्दा मलाई यो काम इन्कार गर्न मन लागेको थियो। के यो जिम्‍मेवारीबाट पन्छिनु र कर्तव्य इन्कार गर्नु थिएन र? अनि मैले आफ्नो जीवनमा हरदिन आउने कुराहरू परमेश्‍वरले नै अनुमति दिनुभएको हुन्छ र मैले यी कुरा स्विकार्नुपर्छ भन्‍ने सोचेँ। त्यसैले मैले परमेश्‍वरसँग प्रार्थना गरेँ: “परमेश्‍वर, मेरा दुई सहकर्मीहरूलाई स्थानान्तर गरिँदै छ र म एकलैले सबै काम गर्नुपर्ने भएको छ। ममा अटेरीपन आएको र भनेको नमानूँ जस्तो भएको छ। यस्तो स्थिति गलत हो भन्‍ने थाहा छ, तर मैले तपाईंको इच्‍छा बुझेकी छैन। बिन्ती मलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहोस्, ताकि आफूले आफूलाई चिन्‍न र समर्पित हुन सकूँ।”

पछि गएर, एक सिस्टरले मलाई परमेश्‍वरको वचनको एउटा खण्ड पठाइन्, जसले वास्तवमा मेरै स्थिति बताउँथ्यो। परमेश्‍वर भन्नुहुन्छ: “इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर परमेश्‍वरका वचनहरूबारे कहिल्यै सोच्दैनस् र जे मन लाग्यो त्यही गर्छस्। के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? स्पष्ट रूपमा, त्यो होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा अर्पित हुनुपर्छ, र परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न लागिपर्नुपर्छ। यसले आफूलाई केही तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नमा आफ्‍नो सारा हृदय र बल लगाउनु, परमेश्‍वरको घरले सुम्पेका कामहरू उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्। यदि के गर्नुपर्छ भनेर तैँले बुझ्छस् र तँलाई थाहा छ तर तैँले गर्दैनस् भने, तैँले आफ्नो कर्तव्यमा आफ्नो सारा हृदय र बल लगाइरहेको छैनस्। बरु तँ धूर्त छस् र लटरपटर गरिरहेको छस्। के यसरी आफ्ना कर्तव्य निर्वाह गर्ने मानिसहरू इमानदार हुन् त? अवश्य होइनन्। परमेश्‍वर यस्ता धूर्त र छली मानिसहरूलाई प्रयोग गर्नुहुन्न; तिनीहरूलाई हटाउनैपर्छ। परमेश्‍वरले इमानदार मानिसहरूलाई मात्र कर्तव्य निर्वाह गर्न प्रयोग गर्नुहुन्छ। बफादार श्रमिकहरूसमेत इमानदार हुनैपर्छ। निरन्तर झाराटारुवा, धूर्त हुने र लटरपटर गर्ने सबै मानिसहरू छली हुन्, र तिनीहरू सबै पिशाच हुन्। तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरमा साँचो विश्‍वास गर्दैन, र तिनीहरू सबैलाई हटाइनेछ। कतिपय मानिस सोच्छन्, ‘इमानदार व्यक्ति बन्‍नु सजिलो छ, साँच्चै सजिलो छ। यो त सत्य बोल्‍नु र झूट नबोल्‍नु मात्रै हो।’ यो विचार तिमीहरूलाई कस्तो लाग्छ? के इमानदार व्यक्ति बन्नुको दायरा यति सीमित छ? निश्चित रूपमा छैन। तैँले आफ्नो हृदयलाई प्रकट गर्नुपर्छ र त्यो परमेश्‍वरलाई दिनुपर्छ। इमानदार व्यक्तिमा यस्तै मनोवृत्ति हुनुपर्छ। त्यसैले त इमानदार हृदय अत्यन्तै बहुमूल्‍य हुन्छ। यसले के सङ्केत गर्छ? के सङ्केत गर्छ भने, इमानदार हृदयले तेरो व्यवहारलाई नियन्त्रण र तेरो स्थितिलाई परिवर्तन गर्न सक्छ। यसले तँलाई सही निर्णय गर्न, र परमेश्‍वरमा समर्पित भएर उहाँको अनुमोदन प्राप्त गर्न अगुवाइ गर्न सक्छ। यस्तो हृदय साँच्चै मूल्यवान् हुन्छ। यदि तँसँग यस्तो इमानदार हृदय छ भने, तँ जिउनुपर्ने स्थिति त्यही हो, तैँले त्यसरी नै व्यवहार गर्नुपर्छ र त्यसरी नै आफूलाई समर्पित गर्नुपर्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्‍वरको वचनले मलाई अत्यन्तै लज्‍जित तुल्यायो। कर्तव्यको सामना गर्दा, इमानदार मानिसहरू त्यो कर्तव्य लिँदा त्यसबाट आउने खतराको बारेमै विचार गर्दैनन्, तिनीहरूले कष्ट भोग्‍ने डरले कर्तव्यबाट पन्छिने वा कर्तव्य अस्वीकार गर्ने त झन् कुरै नगरौँ। बरु, तिनीहरूले यसलाई सुरुमै स्विकारेर यसमा सर्वस्व सुम्पन्छन्। यो मात्रै इमानदार मनोवृत्ति हो। त्यसपछि मैले कर्तव्यप्रतिको मेरो मनोवृत्तिबारे सोचेँ। मेरा दुई सहकर्मीहरू स्थानान्तर हुन लागेको सुन्‍नेबित्तिकै, मलाई मेरो कामको बोझ बढ्ने, चिन्ता थपिने, र लिनुपर्ने तनाव धेरै हुने चिन्ता लाग्यो। काम राम्ररी भएन भने, मैले त्यसको जिम्‍मेवारी लिनुपर्थ्यो, त्यसैले आफ्‍नो जिम्‍मेवारीबाट पन्छिन मैले आफू योग्य नभएको बहाना बनाउन खोजेँ। म साँच्‍चै छली थिएँ र ममा विवेक थिएन। मलाई याद छ, म सधैँ प्रार्थनामा परमेश्‍वरको बोझ लिन्छु भनेर वाचा गर्थेँ, तर त्यसलाई व्यवहारमा लागू गर्ने समयमा, मैले मेरो देहको कुरा सुनेँ, कुनै पनि सत्यता अभ्यास गरिनँ, र परमेश्‍वरलाई छल गर्न खोक्रा शब्‍दहरू प्रयोग गरेँ। यदि म साँच्‍चै परमेश्‍वरको इच्‍छा पालना गर्थेँ, तर म काम गर्न असक्षम छु भनी जान्दथेँ, र उपयुक्त अरू कोही भेट्टाउन सक्दिनथेँ भने, मैले भिडियोको काममा असर हुन नदिनँ आफ्‍नो सीप बढाउन जोड दिएर अरूसँग सहकार्य गर्नुपर्थ्यो। विवेक र मानवता भएको व्यक्तिले गर्नुपर्ने यही हो। यदि अन्त्यमा म साँच्‍चै काम गर्न नसक्‍ने भएर मलाई स्थानान्तर वा बर्खास्त गरिन्थ्यो भने, म परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित नै हुन्थेँ। यसरी अभ्यास गर्नु मात्रै तर्कसङ्गत हुन्छ। यो सोच्दा मन अलिक शान्त भयो।

पछि, मैले परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढेँ, जसले मलाई कर्तव्यप्रतिको मेरो मनोवृत्तिबारे केही बुझाइ प्रदान गर्‍यो। परमेश्‍वर भन्नुहुन्छ: “सत्यताको पछि नलाग्ने सबैले जिम्‍मेवारी नलिने मनस्थितिले आफ्‍नो कर्तव्य पूरा गर्छन्। ‘कसैले अगुवाइ गऱ्यो भने, म पछ्याउँछु; उसले जहाँ डोऱ्याउँछ, म त्यहीँ जान्छु। उसले मलाई जे गर्न लगाउँछ म त्यही गर्नेछु। जहाँसम्‍म जिम्‍मेवारी र चासो लिने, वा कुनै कुरा गर्न अझै धेरै समस्या झेल्ने, आफ्‍नो सारा हृदय र शक्तिले केही गर्ने कुरा छ—म त्यो गर्न चाहन्नँ।’ यी मानिसहरू मूल्य चुकाउन अनिच्‍छुक हुन्छन्। तिनीहरू खटिन मात्रै इच्छुक हुन्छन्, जिम्‍मेवारी लिन इच्छुक हुँदैनन्। व्यक्तिले साँचो रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने मनोवृत्ति यो होइन। व्यक्तिले आफ्‍नो कर्तव्य निर्वाहमा आफ्‍नो हृदय लगाउन सिक्नैपर्छ, र विवेक भएको व्यक्तिले यो कुरा गर्न सक्छ। यदि व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्नमा कहिल्यै हृदय लगाउँदैन भने, त्यसको अर्थ उसमा विवेक छैन, र विवेकविनाका मानिसहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन् भनेर म किन भन्छु? तिनीहरू परमेश्‍वरलाई कसरी प्रार्थना गर्ने र पवित्र आत्माको अन्तर्दृष्टि खोजी गर्ने त्यो जान्दैनन्, न त परमेश्‍वरका अभिप्रायहरूलाई कसरी ख्याल गर्ने, परमेश्‍वरका वचनहरू मनन गर्नमा आफ्‍नो हृदय कसरी लगाउने भन्‍ने नै जान्दछन्, साथै सत्यता कसरी खोजी गर्ने, परमेश्‍वरका मागहरू र उहाँको चाहनाहरू बुझ्‍न कसरी खोजी गर्ने भन्‍ने नै जान्दछन्। सत्यता खोजी गर्न नसक्‍नु भनेको यही हो। के तिमीहरू त्यस्ता स्थितिहरू अनुभूत गर्छौ, जसमा तिमीहरूलाई जे आइपरे पनि, वा तिमीहरूले जे कर्तव्य निर्वाह गरे पनि, तिमीहरू प्रायः परमेश्‍वरसामु आफूलाई शान्त पार्न, र उहाँका वचनहरू मनन गर्नमा, र सत्यता खोजी गर्नमा, अनि परमेश्‍वरका अभिप्रायहरूअनुसार हुने तरिकामा तिमीहरू आफ्‍नो कर्तव्य कसरी निर्वाह गर्न सक्छौ र त्यो कर्तव्य मानकअनुरूप निर्वाह गर्नका लागि तिमीहरूमा के-कस्ता सत्यताहरू हुनुपर्छ भनेर मनन गर्नमा हृदय लगाउन सक्छौ? के तिमीहरू धेरै पटक यसरी नै सत्यता खोजी गर्छौ? (गर्दैनौ।) आफ्नो हृदयलाई आफ्नो कर्तव्यमा लगाउन र जिम्मेवारी उठाउन सक्‍ने बन्न तैँले कष्ट सहनु र मूल्य चुकाउनु आवश्यक हुन्छ—यी कुराहरूबारे कुरा गर्नु मात्र पर्याप्त हुँदैन। यदि तँ आफ्नो हृदय कर्तव्यमा लगाउँदैनस्, बरु सधैँ परिश्रम गर्न चाहन्छस् भने, तेरो कर्तव्य निश्चित रूपले राम्रोसँग गरिएको हुँदैन। तैँले केवल झारा टारिरहेको हुन्छस्, त्योभन्दा बढी केही होइन, र तैँले आफ्नो कर्तव्य राम्ररी गरिस् कि गरिनस् त्यो जान्‍नेछैनस्। यदि तैँले आफ्नो हृदय त्यसमा लगाइस् भने तैँले बिस्तारै सत्य बुझ्न थाल्नेछस्; यदि तैँले आफ्नो हृदय त्यसमा लगाइनस् भने तैँले सत्यता बुझ्नेछैनस्। जब तँ आफ्नो हृदयलाई कर्तव्य निर्वाह गर्नमा र सत्यता पछ्याउनमा लगाउँछस्, तब तँ बिस्तारै परमेश्‍वरका अभिप्रायहरू बुझ्न सक्‍ने, आफ्नो भ्रष्टता र कमीकमजोरीहरू थाहा पाउने, र आफ्ना सबै विविध स्थितिहरू सम्हाल्न सक्‍ने हुनेछस्। जब तैँले परिश्रम गर्न मात्रै ध्यान दिन्छस्, र आत्मचिन्तन गर्नमा हृदय लगाउँदैनस्, तब तैँले आफ्‍नो हृदयको साँचो स्थिति अनि फरक फरक वातावरणहरूमा तँमा हुने विभिन्न प्रतिक्रिया र भ्रष्टताका प्रकटीकरणहरू पत्ता लगाउन सक्‍नेछैनस्। यदि समस्याहरू हल नभई थाँती नै रहँदा परिणाम के हुन्छ भन्‍ने कुरा तँलाई थाहा छैन भने, तँ ठूलो समस्यामा छस्। तसर्थ, परमेश्‍वरलाई अन्योलग्रस्त तरिकाले विश्‍वास गर्नु अस्वीकार्य हुन्छ। तँ हरेक समय, हरेक स्थानमा परमेश्‍वरअघि जिउनुपर्छ; तँलाई जेसुकै आइपरे पनि, तैँले सधैँ सत्यताको खोजी गर्नैपर्छ, र यसो गर्दा तैँले आत्मचिन्तन पनि गर्नैपर्छ, र तेरो स्थितिमा के-कस्ता समस्याहरू छन् भनेर पनि जान्नैपर्छ, अनि ती समाधान गर्न तुरुन्तै सत्यता खोजी गर्नैपर्छ। त्यसरी मात्रै तैँले आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस् र तँ मण्डलीको काममा ढिलाइ गराउनबाट बच्‍न सक्छस्। सबैभन्दा महत्त्वपूर्ण, तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गर्नेछस् मात्र होइन, तर तँसँग जीवन प्रवेश पनि हुनेछ र तैँले आफ्ना भ्रष्ट स्वभावहरू पनि हल गर्नेछस्। यसरी मात्रै तँ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्‍नेछस्। यदि तैँले हृदयमा प्रायः मनन गर्ने कुरा तेरो कर्तव्यसित सम्बन्धित कामकुराहरू वा सत्यतासँग सम्बन्धित कामकुराहरू होइनन्, र बरु तँ बाहिरी कुराहरूमा अल्झिन्छस्, र तँ देहका कामकुराहरूमा डुबेर जिउँछस् भने, के तैँले सत्यता बुझ्‍न सक्नेछस् र? के तँ आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न र परमेश्‍वरसामु जिउन सक्छस् र? अवश्यै सक्दैनस्। त्यस्तो व्यक्तिले मुक्ति प्राप्त गर्न सक्दैन(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। इमानदार व्यक्ति भएर मात्र वास्तविक मानव रूपमा जिउन सकिन्छ)। यस्तो मनोवृत्तिको खुलासा गर्ने क्रममा परमेश्‍वरले साँच्‍चै मेरै चित्र कोरिरहनुभएको थियो। यो कर्तव्य सुरु गर्दा, म कुनै जिम्‍मेवारी लिँदिनथेँ। मैले मेरा सहकर्मीहरू मभन्दा अनुभवी छन् भन्‍ने देखेँ, त्यसैले लुरुक्‍क परेर पछाडि बसेँ, र मेरो आफ्‍नो काममा केही नभएसम्म सबै कुरा ठिकठाक हुनेछन् भन्‍ने लाग्थ्यो। यसो गर्दा, म सम्‍मानित देखिनेछु र आफूलाई थकाइरहनुपर्नेछैन भन्‍ने सोच्थेँ, त्यसैले मैले आफ्‍नो काममा मात्रै ध्यान दिएँ र तिनीहरू जिम्‍मेवार रहेको कामप्रति कहिल्यै चिन्ता गरिनँ, न त त्यसमा देखिएका समस्या वा कठिनाइहरूलाई गम्‍भीरतासाथ नै लिएँ। अगुवाले हाम्रो समूहको काम किन प्रभावकारी भएको छैन भनी सोध्दा, मसँग कुनै उत्तर हुँदैनथ्यो। अविश्‍वासीहरूले आफ्‍नो जागिरलाई यसरी नै लिन्छन्। मैले कर्तव्यमा परमेश्‍वरको इच्‍छा कहाँ पालन गर्दै थिएँ र? मेरो काममा समस्याहरू देखा पर्दा, म सत्यता खोजी गर्ने वा विचलनहरूको निचोड पत्ता लगाउने गर्दिनथेँ, न त कार्यक्षमता कसरी बढाउने भनेर नै विचार गर्थेँ। मलाई त सधैँ मेरा सहकर्मीहरूले यी समस्या सम्हाल्न सक्छन् भने, मैले अलिअलि आराम गर्दा भइहाल्छ नि भन्‍ने लाग्थ्यो। जब समय हुन्थ्यो, तब म देहमा रमाउँथेँ वा सांसारिक भिडियोहरू हेर्थेँ। म झन्झन् सुखभोगी हुँदै गएँ र परमेश्‍वरबाट झन्झन् टाढा भएँ। मैले आफूमा कर्तव्यप्रति कुनै लगाव नभएको देखेँ। मैले यसलाई केवल जागिरको रूपमा लिइरहेकी थिएँ। यसरी त मैले कसरी आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्थेँ र? यस बेला बल्‍ल महसुस भयो, परमेश्‍वरले मलाई अभ्यास गर्ने, चिन्ता गर्न सिक्‍ने, सक्रिय भई जिम्‍मेवारी लिने, कठिनाइहरूमा परमेश्‍वरमा भरोसा गर्ने, र सत्यता सिद्धान्तहरू सिक्‍ने मौका दिनलाई मेरो “पछि हट्ने बानी” हटाउने बन्दोबस्तहरू मिलाउनुभएको रहेछ। अझ महत्त्वपूर्ण कुरा त यसले मलाई कर्तव्यप्रतिको मेरो सुस्त र गैरजिम्‍मेवार मनोवृत्तिले परमेश्‍वरमा घृणा जगाइरहेको कुरा बुझ्न मदत गर्‍यो। कामको तनावले अब मलाई आफ्‍नो कर्तव्यमा अझ बढी लगनशील हुन र आफ्‍नो कर्तव्य पर्याप्त तवरले निभाउनेतर्फ मेहनत गर्न बाध्य पार्थ्यो। परमेश्‍वरका अभिप्रायहरू बुझेपछि, म यी परिस्‍थितिहरूमा समर्पित हुन तयार भएँ। त्यसपछिका केही दिनसम्‍म, मैले मन लगाएर आफ्‍नो काममा दुःख गर्न थालेँ। मैले भिडियोको काममा रहेका समस्याहरू पत्ता लगाउनेबित्तिकै, तिनलाई टिपोट गरी समाधान गर्ने उपाय खोज्‍न थालेँ। मैले अध्ययन योजना बनाएँ र सक्दो चाँडो कामलाई हातमा लिन लागिपरेँ। मेरो स्थिति ठीकमा आएपछि, मसँग कामको लागि अझै बढी समय हुन थाल्यो, र मैले मेरा दिनहरू झनै शान्ति अनुभव गर्दै बिताउन थालेँ।

पछि, मैले अर्की सिस्टरसँग कार्य साझेदारी गर्न थालेँ। सुरुमा, म अझै बढी जिम्‍मेवार हुनुपर्छ भन्‍नेबारे सोच्थेँ, तर केही समयपछि, उनमा निकै दक्षता र मभन्दा धेरै व्यावसायिक सीप रहेको थाहा पाएँ, त्यसकारण मैले उनलाई केही काम सुम्पेर त्यो कामको बारेमा बिर्सिदिन्थेँ। कहिलेकहीँ, आफ्‍नो प्रतिष्ठालाई कायम राख्‍न, म छलफलमा सहभागी हुन्थेँ तर सुझावहरू दिन्थिनँ, मलाई लाग्थ्यो: “तिमीले यी कामहरू सम्‍हाल्‍न सक्छौ, त्यसकारण मैले चिन्ता गर्नुपर्दैन र म केही समय आनन्दले बस्‍न सक्छु।” अगुवाले मलाई कामबारे अलिक बढी चिन्ता गर्न चेतावनी दिइन्, र उनले यसो भनेको केही दिन त म चिन्ता गर्थेँ, तर केही समयपछि नै पुरानो शैलीमै फर्कन्थेँ। कहिलेकहीँ, दाजुभाइ-दिदीबहिनीहरूले काममा देखा परेका र तुरुन्तै समाधान गरिनुपर्ने जटिल समस्याहरूबारे मेसेज पठाउँथे, तर यो मूल रूपमा ती सिस्टरले फलोअप गरिरहेको काम हो भन्‍ने जान्‍नेबित्तिकै, म झमेला लिन चाहन्‍नथेँ। म जानीजानी मेसेजलाई अनरिड गर्थेँ र देखे नि नदेखेजस्तो गर्थेँ, म ती सिस्टरले नै पछि त्यो सम्‍हाल्‍न सक्छिन् भन्‍ने सोच्थेँ। यो गैरजिम्‍मेवारी हो भन्‍ने लागे पनि, कामको प्रगति सामान्यै रहेको कारण, म यसबारे त्यति सोच्दिनथेँ। केही महिनापछि, हामी भिडियो कार्यका अलगअलग भागहरूको जिम्‍मेवार व्यक्ति बन्यौँ। यसपटक, मसँग कोही पनि सहयोगी थिएन र मैले धेरै कठिनाइ र समस्याहरू भोग्‍नुपर्ने निश्‍चित छ भनेर मलाई थाहा भयो। तर मैले आफ्‍नो कर्तव्यप्रति जिम्‍मेवारी नलिएको अनि यो अवस्था मेरो लागि कसरी राम्रो हुन्छ भन्‍नेबारे सोच्दा, मैले आफैलाई समर्पित भएर काम सुरु गर्न जोड दिएँ। तर जब मैले वास्तवमा काम सुरु गरेँ, मलाई थाहा भयो कि मैले फलोअप गर्नुपर्ने धेरै काम थिए, र मैले हरेक दिन पूरा गर्नुपर्ने कामहरू कहिल्यै नसकिने जस्ता देखिन्थे। साथै, मेरो कामको सीप त्यति राम्रो थिएन र झन्झन् बढी समस्या देखा पर्न थाले। मैले बनाएको हर भिडियोमा सुझावहरू आउँथे र हर सुझावको प्रतिक्रिया दिन मैले सोच्‍नुपर्थ्यो। क्रमिक रूपमा, मसँग भएको थोरै उत्साह पनि समाप्त भयो, र म प्रायजसो सोच्थेँ, “मैले यति धेरै प्रयास गरिरहेकी छु र पनि धेरै समस्या आइरहेका छन्, त्यसकारण अगुवाले मभन्दा उपयुक्त व्यक्ति खोज्दा राम्रो हुन्छ।” त्यसको केहीपछि नै, हाम्रा धेरै भिडियोहरू एकपछि अर्को गर्दै फिर्ता आए, र फेरि दोहोर्‍याएर बनाउनुपर्ने भो। र मलाई झन् निराश लाग्यो। आफूले सामना गरेका ती जटिल समस्याहरू सुल्झाउन पनि मन लाग्‍न छोड्यो र मलाई कर्तव्यमा अरूसँग साझेदारी गर्दाका दिनहरू झनै याद आउन थाल्यो, जुन बेला म तिनीहरूको पछाडि लुक्‍न पाउँथेँ र धेरै तनाव लिनुपर्दैनथ्यो। मलाई आफ्‍नो कर्तव्यप्रति कुनै जाँगर चल्‍दैनथ्यो, हिँड्दा जिउ भारी हुन्थ्यो। त्यसपछि महसुस भयो, मैले अब यस्तो स्थितिमा कर्तव्य निभाइरहनु हुँदैन, अनि मैले परमेश्‍वरसँग प्रार्थना गरेँ। खोजी गर्दा, मलाई अचानक नोआको याद आयो। तिनले ठूलो जहाज बनाउने क्रममा धेरै कठिनाइ र असफलताहरू सामना गरे, तर तिनले कहिल्यै हरेस खाएनन्, बरु १२० वर्षसम्‍म काम गरिरहे, अनि अन्तिममा ठूलो जहाज बनाइसकेर परमेश्‍वरको आज्ञा पूरा गरे। तर एकदुई कठिनाइहरू सामना गर्दा नै म आफ्‍नो बोझ फ्याकेँर भाग्‍न चाहन्थेँ। के म कायर भइरहेकी थिइनँ र? यो सोचेपछि, मैले केही मात्रामा साहस बटुलेँ र मेरो कामका समस्याहरू सामना गर्न सक्षम भएँ।

मैले मेरो भक्तिको समयमा, परमेश्‍वरका वचनहरूको यो खण्ड पढेँ: “सबै झूटा अगुवाहरूले वास्तविक काम कहिल्यै गर्दैनन्। तिनीहरू आफ्नो अगुवाइको भूमिका कुनै आधिकारिक पद भएझैँ गर्छन्, आफ्नो हैसियतका फाइदाहरूमा पूर्ण रूपमा रमाउँछन्, र तिनीहरू आफूले अगुवाका रूपमा पूरा गर्नुपर्ने कर्तव्य र आफूले गर्नुपर्ने कामलाई घाँडोझैँ, झमेलाझैँ ठान्छन्। तिनीहरू आफ्ना हृदयमा मण्डलीको कामप्रति प्रतिरोधले भरिएका हुन्छन्: तिनीहरूलाई कामको सुपरिवेक्षण गर्न र अनुगमन गरेर समाधान गर्न त्यसभित्रका के-कस्ता समस्याहरू छन् भनी जान्‍न लगाइयो भने, तिनीहरू अनिच्छाले भरिन्छन्। यो अगुवाहरू र कामदारहरूले गर्नुपर्ने काम हो, यो तिनीहरूको जिम्मेवारी हो। यदि तैँले यो काम गर्दैनस् भने र यदि तँ यो काम गर्न अनिच्छुक छस् भने, तँ किन अझै पनि अगुवा वा कामदार बन्‍ने इच्छा गर्छस्? के तँ परमेश्‍वरका अभिप्रायहरूलाई ख्याल गर्नका लागि आफ्नो कर्तव्य पूरा गर्छस् कि एउटा अधिकारी बनेर हैसियतका फाइदाहरूमा रमाउनका लागि? यदि तँ कुनै आधिकारिक पद पाउन मात्र अगुवा बनिस् भने, के यो अलि लाजमर्दो कुरा होइन र? यस्ता मानिसहरूको चरित्र सबैभन्दा नीच हुन्छ, तिनीहरूमा कुनै मर्यादा, र लाज हुँदैन। यदि तँ देहसुखमा रमाउन चाहन्छस् भने, तँ तुरुन्तै संसारमा फर्कनुपर्छ, र होड गरेर बलजफती आफूले जति सक्छस् त्यति खोसेर लिनुपर्छ र त्यसमा कसैले दखल दिने छैन। परमेश्‍वरको घर परमेश्‍वरका चुनिएका मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने र उहाँको आराधना गर्ने ठाउँ हो; यो मानिसहरूले सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने ठाउँ हो। यो कोही व्यक्ति देहसुखमा लिप्त हुने ठाउँ होइन, झन् मानिसहरूलाई राजकुमारझैँ जिउन दिने ठाउँ हुनु त परको कुरा हो। … कतिपय मानिसहरूले जुन काम गरे पनि वा जुन कर्तव्य निर्वाह गरे पनि, तिनीहरू त्यसमा अक्षम हुन्छन्, तिनीहरूले यसको जिम्मेवारी थेग्नै सक्दैनन्, र तिनीहरू कुनै व्यक्तिले पूरा गर्नुपर्ने कुनै पनि दायित्व वा जिम्‍मेवारीहरू पूरा गर्न सक्दैनन्। के तिनीहरू रद्दी होइनन् र? के तिनीहरू अझै पनि मानव भनिन लायक हुन्छन् र? बुद्धु, मानसिक रूपले अक्षम, र शारीरिक कमजोरी भएकाहरूबाहेक, आफ्ना कर्तव्य र जिम्‍मेवारीहरू पूरा गर्नु नपर्ने जीवित मानिस कोही छ र? तर यस्तो व्यक्ति सधैँ छट्टु र कामचोर हुन्छ, र आफ्‍नो जिम्‍मेवारी पूरा गर्न चाहँदैन; यसको आशय के हो भने, तिनीहरू उचित मानव हुने इच्छा गर्दैनन्। परमेश्‍वरले तिनीहरूलाई मानव बन्‍ने मौका दिनुभयो, र उहाँले तिनीहरूलाई क्षमता र वरदान दिनुभयो, तैपनि तिनीहरूले यी कुरालाई आफ्‍नो कर्तव्य पूरा गर्नमा प्रयोग गर्न सक्दैनन्। तिनीहरूले केही गर्दैनन्, हरेक मोडमा आनन्द लिन मात्र चाहन्छन्। के त्यस्तो व्यक्ति मानव भनिन लायक हुन्छ? तिनीहरूलाई जुनसुकै काम दिइएको भए पनि, चाहे त्यो काम महत्त्वपूर्ण वा साधारण होस्, अथवा कठिन वा सरल होस्, तिनीहरू सधैँ झाराटारुवा र छट्टु अनि कामचोर हुन्छन्। समस्याहरू पैदा हुँदा, तिनीहरू आफ्‍नो जिम्‍मेवारी अरू मानिसहरूको काँधमा थोपर्न चाहन्छन्, कुनै जिम्‍मेवारी वहन गर्दैनन्, अनि आफ्ना परजीवी जीवन जिइरहन चाहन्छन्। के तिनीहरू बेकारका रद्दी होइनन् र? समाजमा, जीविकोपार्जनका लागि कसले पो आफ्‍नै भर पर्नु पर्दैन र? व्यक्ति वयस्क भएपछि, उसले आफ्‍नो ज्यान आफै पाल्‍नुपर्छ। तिनीहरूका आमाबुबाले आफ्‍नो जिम्‍मेवारी पूरा गरिसकेका हुन्छन्। तिनीहरूका आमाबुबाले तिनीहरूलाई सहयोग गर्ने इच्छा गरे पनि, तिनीहरूलाई त्यो कुरामा अप्ठ्यारो लाग्‍छ। तिनीहरूले आफ्ना आमाबुबाले आफूलाई हुर्काउने आफ्‍नो मिसन पूरा गरेका छन् र आफू सक्षम वयस्क हुँ, र आफू आत्मनिर्भर भई बाँच्‍न सक्‍नुपर्छ भन्‍ने कुरा बुझ्न सक्‍नुपर्छ। के वयस्कमा कम्तीमा पनि यतिको समझ हुनुपर्दैन र? यदि कसैमा साँच्चै समझ छ भने, उसले आफ्‍ना आमाबुबासँग हात पसारिरहनु नपर्ने हो; उसलाई अरू हाँस्लान्, र आफ्नो इज्जत जाला भन्‍ने डर हुनेछ। त्यसोभए, सहजतालाई मन पराउने र कामलाई घृणा गर्ने मानिसहरूमा समझ हुन्छ? (हुँदैन।) तिनीहरू सधैँ सित्तैमा केही पाउन चाहन्छन्; तिनीहरू कहिल्यै कुनै जिम्‍मेवारी पूरा गर्न चाहँदैनन्, आकासबाट मिठाइ झरेर तिनीहरूको मुखमा परोस् भन्‍ने कामना गर्छन्; तिनीहरू कामै नगरी दिनमा तीन पटक खान चाहन्छन्, बस कसैले भात पस्केर देओस् भन्‍ने चाहना गर्छन्, र मिठो-मिठो खान र पिउन चाहन्छन्। के यो परजीवीको मानसिकता होइन र? अनि परजीवी मानिसहरूमा विवेक र समझ हुन्छ त? के तिनीहरूमा सत्यनिष्ठा र मर्यादा हुन्छ त? कदापि हुँदैन। तिनीहरू केही न कामका भातमाराहरू, विवेक वा समझविनाका पशुहरू हुन्। तिनीहरूमध्ये कोही पनि परमेश्‍वरको घरमा रहन लायक हुँदैनन्(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरको वचनले मलाई मनन गर्न बाध्य गर्‍यो: कामका समस्याहरू अनुगमन गर्नु र बुझ्‍नु, र तिनलाई सुल्झाउन सत्यता खोजी गर्नु नै अगुवा र सेवकको काम हो, तर झूटा अगुवाहरूले यसलाई बोझको रूपमा लिन्छन्। यसले तिनीहरू आफ्‍नो कर्तव्य निभाउन होइन, पदका लाभहरूमा रमाउन आएका हुन् भन्‍ने देखाउँछ। मैले मेरो व्यवहार पनि यस्तै रहेको थाहा पाएँ। मैले देखिएका समस्या र कठिनाइहरूबारे जिम्‍मेवारी लिएर तिनलाई समाधान गर्नुपर्थ्यो, र यसलाई सत्यता खोजी गरेर आफ्‍ना कमीकमजोरी पूर्ति गर्ने अवसरको रूपमा लिनुपर्थ्यो, र यसबाट मलाई अझै छिटो प्रगति गर्न मदत मिल्ने थियो। तर कठिनाइहरू धेरै भएको कारण म आफ्‍नो कर्तव्य इन्कार गर्न चाहन्थेँ। सुपरभाइजरको रूपमा, मैले कुनै वास्तविक काम गरिनँ वा वास्तविक समस्याहरू सुल्झाइनँ। के यसो गरेर मैले हैसियतका लाभहरू मात्रै चाहिरहेकी थिइनँ र? आफ्‍नो व्यवहारलाई फर्केर हेर्दा थाहा हुन्छ, मेरा साझेदारहरू हुँदा मैले काम गरिरहेजस्तो देखिन्थ्यो, तर वास्तवमा हामीहरू धेरैमाझ ती कामको बाँडफाँट हुन्थ्यो, र मैले त्यति धेरै कामको जिम्‍मेवारी लिनुपर्दैनथ्यो। मेरो कर्तव्य सहज बन्थ्यो, त्यसकारण मैले निकै सहज समय बिताइरहेकी थिएँ। जब मेरा दुई साझेदारहरू स्थानान्तर भए, तब कामको दबाब ममाथि आयो, र जिम्‍मेवारी उठाउन मैले कष्ट भोग्‍नुपर्ने भयो, त्यसैले मनमा प्रतिरोध जाग्यो, यहाँसम्‍म कि परमेश्‍वरलाई धोका दिएर कर्तव्य इन्कार गर्न समेत मन लाग्यो। पछि, परमेश्‍वरको वचन खाएर-पिएर मैले आफ्‍नो स्थितिमा सुधार त ल्याएँ, तर मभन्दा बढी अनुभवी सिस्टरसँग काम गर्न थाल्दा, मैले फेरि पनि कम जिम्‍मेवारी लिन थालेँ, र मैले फेरि पनि फिक्री गर्न छोडी, फुर्सदिलो पाराले कर्तव्य निभाउन थालेँ। यसपटक भिडियोको कामको एकल जिम्‍मेवारी दिइएपछि र कठिनाइहरू थुप्रिएपछि, मलाई फेरि भाग्‍न मन लाग्यो। मलाई थाहा भयो, कर्तव्यप्रतिको मेरो मनोवृत्ति धोकेबाज रहेछ र शारीरिक कठिनाइ वा जिम्‍मेवारीको बोझ देख्‍नेबित्तिकै म बहाना बनाउन तयार हुने रहेछु। मलाई सधैँ सजिलो र तनावरहित काम लिन मन लग्थ्यो, तर वास्तवमा, हर काममा केही न केही कठिनाइ हुन्छ, र मैले आफ्‍नो भ्रष्ट स्वभाव हल नगरे, कुनै पनि कर्तव्य राम्ररी निभाउन सक्दिनथेँ। म प्रकृतिले नै सत्यताप्रति दिक्‍क मान्‍ने र सकारात्मक कुराहरूलाई प्रेम नगर्ने व्यक्ति हुँ भन्‍ने थाहा भयो। म कर्तव्य निभाउन होइन, आशिष्‌हरू प्राप्त गर्नका लागि त्यो स्थानमा थिएँ। अन्त्यमा, यस्तो विश्‍वासबाट केही पनि प्राप्त हुँदैन! खास गरी, मैले परमेश्‍वरको वचनमा यो कुरा पढेँ: “तिनीहरू सधैँ सित्तैमा केही पाउन चाहन्छन्; तिनीहरू कहिल्यै कुनै जिम्‍मेवारी पूरा गर्न चाहँदैनन्, आकासबाट मिठाइ झरेर तिनीहरूको मुखमा परोस् भन्‍ने कामना गर्छन्; तिनीहरू कामै नगरी दिनमा तीन पटक खान चाहन्छन्, बस कसैले भात पस्केर देओस् भन्‍ने चाहना गर्छन्, र मिठो-मिठो खान र पिउन चाहन्छन्। के यो परजीवीको मानसिकता होइन र?” म परमेश्‍वरले खुलासा गर्नुभएको व्यक्तिजस्तै थिएँ, म कहिल्यै बिउ नछर्ने तर बाली भित्र्याउन चाहने, र अरूको मेहनतको फल मात्र खाने व्यक्ति थिएँ। अनि, के म कसिङ्गर थिइनँ र? मैले जति सोचेँ, आफूप्रति त्यति नै घृणा जाग्यो। विगतमा, मलाई लाठे भएर पनि घरबाहिर नजाने, आमाबुबाबाट फाइदा लिने, र कुनै जिम्‍मेवारी नलिने र यसरी आमाबुबाकै भरमा खाएर बस्‍ने मानिसहरूप्रति साह्रै घृणा लाग्थ्यो। तिनीहरू केही न कामका हुन्छन्। तर मेरो अहिलेको व्यवहार तिनीहरूको भन्दा कसरी फरक थियो र? आफैलाई धिक्‍कार्दै, मैले परमेश्‍वरसँग प्रार्थना गरेँ: “हे परमेश्‍वर, मैले बल्‍ल म साँच्‍चै स्वार्थी र कर्तव्यप्रति बेइमान छु भन्‍ने थाहा पाएँ। मैले सधैँ आफ्‍नै देहबारे मात्रै सोचेँ र परजीवी बन्‍न चाहेँ। मलाई यी भ्रष्ट विचारहरूदेखि साँच्‍चै डर लाग्छ। मण्डलीमा अपर्झट सहकार्य जरुरी रहेका धेरै कामहरू छन्, र पनि मैले प्रगति गर्ने वा कुनै बोझ लिने प्रयास गरिरहेकी छैनँ। म खत्तम रहेछु।”

मैले केही सोचविचार पनि गरेँ। जब मेरो काममा तनाव र कठिनाइहरू बढ्थे, तब किन म सधैँ भाग्‍न र कर्तव्य इन्कार गर्न चाहन्थेँ? यसको मूल कारण वास्तवमा के थियो? मैले खोजी गर्ने क्रममा, परमेश्‍वरका वचनहरू पढेँ: “आज, मैले भन्‍ने वचनहरूलाई तँ विश्‍वास गर्दैनस्, र तँ तिनलाई ध्यानै दिँदैनस्; जब यो काम फैलिने दिन आउँछ र तैँले यसको सम्पूर्णता देख्छस्, तब तँ पछुताउनेछस्, र त्यतिबेला तँ अक्‍क न बक्‍क हुनेछस्। आशिष्‌हरू छन्, तैपनि तँ तिनको आनन्द लिन जान्दैनस्, र सत्यता छ, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ आफैमाथि समस्या ल्याउँदैनस् र? आज, परमेश्‍वरको कामको अर्को चरण सुरु हुन बाँकी नै भए पनि, तँबाट गरिएका मागहरू र तँलाई जिउन लगाइएका कुराहरूमा केही पनि अतिरिक्त छैन। काम धेरै छन्, र सत्यता धेरै छन्; के ती तैँले थाहा पाउन लायक छैनन् र? के सजाय र न्याय तेरो आत्मालाई बिउँझाउन असक्षम छ? के सजाय र न्याय तँलाई आफूले आफैलाई घृणा गर्ने बनाउन असक्षम छ? के तँ शैतानको प्रभावमा रही शान्ति र आनन्द एवम् थोरै दैहिक आराममा जिउनमै सन्तुष्ट छस्? के तँ सबै मानिसहरूमध्ये सबैभन्दा नीच छैनस् र? मुक्ति देखेका तर त्यसलाई प्राप्त गर्नुको पछि नलाग्ने मानिसहरूजत्तिको मूर्ख अरू कोही पनि हुँदैन; देहमा लिप्त हुने र शैतानको आनन्द लिने मानिसहरू यिनै हुन्। परमेश्‍वरमाथिको तेरो आस्थामा तँ कुनै पनि कठिनाइ वा सङ्कष्टहरू नहोऊन्, वा थोरै पनि कष्ट नहोओस् भन्‍ने आशा गर्छस्। तँ सधैँ त्यस्ता कुराहरू पछ्याउँछस् जुन व्यर्थ छन्, र तँ जीवनलाई कुनै महत्त्व दिँदैनस्, बरु आफ्‍नै विलासी विचारहरूलाई सत्यताभन्दा अगाडि राख्छस्। तँ कति बेकामे छस्! तँ सुँगुरजस्तै जिउँछस्—तँ अनि सुँगुर र कुकुरहरूको बीचमा के भिन्‍नता छ र? सत्यता नपछ्याउने, बरु देहलाई प्रेम गर्नेहरू सबै नै पशु होइनन् र? ती आत्माविहीन मृत मानिसहरू सबै जिउँदा लासहरू होइनन् र? तिमीहरूका माझमा कतिवटा वचनहरू बोलिएका छन्? के तिमीहरूका माझमा थोरै मात्र काम गरिएको छ? तिमीहरूका माझमा मैले कति प्रदान गरेको छु? त्यसोभए तैँले त्यो किन प्राप्त गरेको छैनस्? तँलाई केका बारेमा गुनासो गर्नु छ? के तँ देहसित ज्यादै मोहित भएकोले तैँले केही पनि प्राप्त नगरेको कुरा साँचो होइन र? अनि, के तेरा विचारहरू अत्यन्तै अत्यधिक भएकाले यस्तो भएको होइन र? के तँ अत्यन्तै मूर्ख भएकोले यस्तो भएको होइन र? यदि तैँले यी आशिष्‌हरू प्राप्त गर्न सक्दैनस् भने, के तैँले परमेश्‍वरलाई तँलाई मुक्ति नदिएको भनी दोष दिन मिल्छ? तँ केवल परमेश्‍वरमा विश्‍वास गरेपछि शान्ति प्राप्त गर्न सकूँ—आफ्ना छोराछोरी रोगमुक्त होऊन्, श्रीमान्‌ले राम्रो जागिर पाऊन्, छोराले असल श्रीमती पाऊन्, छोरीले असल श्रीमान् पाऊन्, आफ्नो गोरु र घोडाले राम्ररी खेत जोतून्, बालीनालीका लागि वर्षभरि राम्रो मौसम होस् भन्ने खोजी गर्छस्। तैँले खोजी गर्ने कुरा यही हो। तेरो खोजी भनेको केवल आराममा जिउनु—तेरो परिवारमा कुनै दुर्घटना नहोस्, तँलाई समस्याले नछोओस्, तँलाई कष्ट नपरोस्, तेरो परिवारको अन्‍न-बाली बाढीले नबगाओस्—कुनै पनि विपत्तिले असर नपारोस्, ‘परमेश्‍वरको अङ्गालोमा’ जिउन पाइयोस्, आरामदायी निवासमा जिउन पाइयोस् भन्‍ने हो। सधैँ देहको खोजी गर्ने तँजस्तो कायर—के तँसँग हृदय छ, के तँसँग आत्मा छ? के तँ पशु होइनस् र? बदलामा केही पनि नमागी म तँलाई साँचो मार्ग प्रदान गर्छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ अझै पनि परमेश्‍वरमा विश्‍वास गर्नेहरूमा पर्छस्? म तँलाई साँचो मानव जीवन दिन्‍छु, तैपनि तँ त्यसलाई पछ्याउँदैनस्। के तँ सुँगुर र कुकुरसँग एउटै प्रकारको छैनस् र? सुँगुरहरू मानिसको जीवन पछ्याउँदैनन्, तिनीहरू पखालिनुको पछि लाग्दैनन्, र तिनीहरू जीवन के हो भन्‍ने कुरा बुझ्दैनन्। हरेक दिन, टन्‍न खाएपछि तिनीहरू त्यत्तिकै सुत्छन्। मैले तँलाई साँचो मार्ग प्रदान गरेको छु, तैपनि तैँले त्यो प्राप्त गरेको छैनस्: तेरो हात रित्तो छ। के तँ यो जीवनलाई अर्थात् सुँगुरको जीवनलाई निरन्तरता दिन इच्छुक छस्? त्यस्ता मानिसहरू जीवित हुनुको अर्थ के छ र? तेरो जीवन घृणित र नीच छ, तँ फोहोर र दुराचारमाझ जिउँछस्, र तँ कुनै पनि लक्ष्य पछ्याउँदैनस्, त्यसकारण, के तेरो जीवन सबैभन्दा नीच छैन र? के तँसँग परमेश्‍वरको सामना गर्ने दुस्साहस छ? तैँले यसरी नै अनुभव गरिरहिस् भने, के तैँले केही पनि प्राप्त नगर्ने होइन र? तँलाई साँचो मार्ग प्रदान गरिएको छ, तर तैँले अन्त्यमा त्यो प्राप्त गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरा तेरो आफ्‍नै पछ्याइमा निर्भर हुन्छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान)। परमेश्‍वरका कठोर वचनहरूबाट, मलाई के अनुभव भयो भने परमेश्‍वरले सहजता चाहने मानिसहरूलाई सबैभन्दा बढी घृणा र इन्कार गर्नुहुन्छ, र उहाँको लागि, तिनीहरू पशु मात्र हुन्। तिनीहरू प्रगति गर्न काम गर्न मन नगर्ने, फोकटमा बस्‍न रुचाउने बेकामे अल्छीहरू हुन्, र अन्तिममा, तिनीहरूले कुनै पनि कर्तव्य उचित रूपमा निभाउँदैनन् र कुनै सत्यता प्राप्त गर्दैनन्। तिनीहरू कसिङ्गर हुन्। म पनि यस्तै थिएँ। मलाई मेरो कर्तव्य सहजसाथ अघि बढोस्, र जबसम्‍म म त्यो कर्तव्यमा हुन्छु र मलाई बर्खास्त गरिँदैन वा हटाइँदैन, तबसम्म सबै ठिकै हुन्छ भन्‍ने लाग्थ्यो। तर मैले कष्ट भोग्‍नुपर्ने वा मूल्य चुकाउनुपर्ने कठिनाइहरू आउनेबित्तिकै, म पछि हट्थेँ। म सरल र सीधा कामहरू मात्र रोज्‍न चाहन्थेँ, र म शैतानका जीवन सिद्धान्तहरू लिएर हिँड्थेँ जस्तै, “जिउँदै हुँदा जीवनको आनन्द लिनुपर्छ” र “आफूले आफूलाई राम्रो व्यवहार गर्नुपर्छ।” यी दृष्टिकोण र विचारहरू हाबी भएको कारण, म सधैँ सहजताको तृष्णा गर्थेँ र मेरो जिम्‍माको काम थुप्रिँदा मलाई झर्को लाग्थ्यो, र यसले मेरो खाली समय घटाउँछ भन्‍ने चिन्ता हुन्थ्यो। जब मैले थप सीपहरू सिक्‍नुपर्ने हुन्थ्यो, तब म यसको लागि मूल्य चुकाउँदिनथेँ। फलस्वरूप, केही समयपछि पनि मैले आफ्‍नो सीपमा कुनै प्रगति गरेकी हुँदिनथेँ र काम गर्न सक्दिनथेँ। कहिलेकहीँ त म आफ्‍नो कर्तव्य बेवास्ता गरेर सीप सिक्‍ने बहानामा सांसारिक भिडियोहरूसमेत हेर्थेँ, यसरी आत्मामा झन्झन् सुस्त र अँधेरो हुँदै जान्थेँ। सुपरभाइजरको रूपमा, काममा समस्याहरू देखा पर्दा, मैले सक्रिय भएर फलोअप गरी तिनलाई समाधान गर्नुपर्थ्यो, तर समस्याहरू अलिक जटिल भएको जान्‍नेबित्तिकै, म तिनलाई बेवास्ता गर्न कुनै उपाय लगाउँथेँ, यसरी कामको प्रगतिमा ढिलाइ गराउँथेँ। अझ गम्‍भीर कुरा त मेरो स्थान लिएर मेरो तनाव हल्‍का गरिदिने कुनै व्यक्ति खोज्‍ने ममा निरन्तर इच्‍छा थियो। भिडियो बनाउनु अति महत्त्वपूर्ण छ भन्‍ने मलाई थाहा थियो, तैपनि म आफ्‍नो देहलाई सन्तुष्ट पार्थेँ र हरेक महत्त्वपूर्ण क्षणमा आफ्‍नो जिम्‍मेवारी लिनको सट्टा भाग्थेँ। म त ठ्याक्‍कै त्यस्तो बच्‍चाजस्तो थिएँ, जसलाई आमाबुबाले हुर्काएर वयस्क बनाउँछन्, तर परिवारको लागि परित्याग गर्ने समय आएपछि, ऊ कष्ट भोग्‍न डराउँछ र जिम्‍मेवारी लिन अनिच्‍छुक हुन्छ। यस्तो व्यक्तिमा कुनै विवेक हुँदैन, यस्तो मानिस अकृतज्ञ नीच हुन्छ। मलाई मेरो व्यवहार पनि यस्तै थियो भन्‍ने याद आयो। परमेश्‍वरले मलाई यस बिन्दुसम्‍म डोर्‍याउँदै यस्तो महत्त्वपूर्ण कर्तव्य निभाउन दिएर मलाई अनुग्रह गर्नुभएको थियो, तैपनि मलाई सधैँ कष्ट भोग्‍न डर लाग्थ्यो र म देहको कुरा मात्र सुन्थेँ। ममा कुनै पनि विवेक थिएन! म सधैँ आफ्‍नो कर्तव्यका कठिनाइहरूबारे गुनासो गर्थेँ र आफ्‍नो शारीरिक सहजता त्याग्‍न मान्दिनथेँ। मैले सत्यता प्राप्त गर्ने मौका गुमाइरहेकी मात्र थिइनँ, आफ्‍नो कर्तव्यलाई समेत भताभुङ्ग तुल्याएर अपराधबाहेक केही कमाइरहेकी थिइनँ। अन्तिममा, मलाई परमेश्‍वरले अवश्यै इन्कार गर्नुहुने र हटाउनुहुने थियो!

मैले अभ्यासको मार्ग खोजी गर्न थालेँ। मैले परमेश्‍वरका वचनहरू पढेँ: “मानिलिऊँ, मण्डलीले तेरो लागि एउटा कार्यको प्रबन्ध गर्छ, र तँ यसो भन्छस्, ‘यो कार्यले मलाई अरूको ध्यान आकर्षित गर्न दिए पनि वा नदिए पनि, यो कार्य मलाई दिइएको हुनाले, म यसलाई राम्ररी गर्नेछु र यो जिम्मेवारी वहन गर्नेछु। यदि मलाई अतिथिसत्कारको कार्य प्रबन्ध गरियो भने, म त्यो राम्ररी गर्न सकेजति सबै गर्नेछु; म दाजुभाइ-दिदीबहिनीहरूको राम्रो हेरचाह गर्नेछु र सबैको सुरक्षा सुनिश्चित गर्नका लागि सक्दो गर्नेछु। यदि मलाई सुसमाचार प्रचार गर्ने कामको प्रबन्ध गरियो भने, म सत्यताले आफूलाई सुसज्जित पारेर प्रेमका साथ सुसमाचार राम्ररी प्रचार गर्दै आफ्नो कर्तव्य पूरा गर्नेछु। यदि मलाई विदेशी भाषा सिक्ने कामको प्रबन्ध गरियो भने, म पूरै हृदय लगाएर त्यो अध्ययन गर्नेछु र मेहनत गर्नेछु, र जतिसक्दो चाँडो, एकदुई वर्षभित्रै यसमा निपुण हुन खोज्नेछु, ताकि मैले विदेशीहरूलाई परमेश्‍वरका बारेमा गवाही दिन सकूँ। यदि मलाई गवाही लेखहरू लेख्न लगाइयो भने, म यसो गर्न निष्ठापूर्वक आफूलाई प्रशिक्षित गर्नेछु, कामकुराहरूलाई सत्यता सिद्धान्तअनुसार हेर्नेछु, र म भाषाबारे सिक्नेछु। मैले सुन्दर गद्य शैलीमा लेख लेख्न नसके पनि कम्तीमा प्रस्ट रूपमा आफ्नो अनुभवात्मक गवाही सुनाउन, सत्यताबारे विस्तृत रूपमा सङ्गति गर्न, र परमेश्‍वरको साँचो गवाही दिन सक्षम हुनेछु, ताकि मानिसहरू मेरा लेखहरू पढेर सच्चिन र लाभ उठाउन सकून्। मण्डलीले मलाई जुन काम दिए पनि म आफ्‍नो सारा हृदय र शक्तिले त्यो गर्नेछु। यदि मैले कुनै कुरा बुझिनँ वा कुनै समस्या आइपर्‍यो भने, म परमेश्‍वरलाई प्रार्थना गर्नेछु, सत्यताको खोजी गर्नेछु, सत्यता सिद्धान्तहरूअनुसार समस्याहरूलाई हल गर्नेछु, र कार्य राम्ररी गर्नेछु। मेरो कर्तव्य जे भए पनि, म यसलाई राम्ररी पूरा गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न आफूसँग भएको सबै कुरा प्रयोग गर्नेछु। मैले जेसुकै हासिल गर्न सके पनि, म आफूले वहन गर्नुपर्ने जिम्‍मेवारी वहन गर्न सक्दो गर्नेछु, र कम्तीमा पनि, म आफ्‍नो विवेक र समझविरुद्ध जानेछैनँ, वा झारा टार्नेछैनँ, वा कामचोर र छट्टु बन्‍नेछैनँ, वा अरूको मेहनतको फलमा लिप्त हुनेछैनँ। मैले गर्ने कुनै पनि काम विवेकको मानकभन्दा मुनि हुनेछैन।’ यो त आत्म-आचरणको न्यूनतम मानक हो, र यसरी आफ्‍नो कर्तव्य पूरा गर्ने व्यक्ति विवेक र समझ भएको व्यक्ति कहलिन सक्छ। आफ्‍नो कर्तव्य पूरा गर्नमा तँमा कम्तीमा पनि स्पष्ट विवेक हुनैपर्छ, र कम्तीमा पनि आफ्नो तीन छाक खानाको लायक हुनुपर्छ र ती सित्तैँमा खानु हुँदैन। यसलाई जिम्‍मेवारीको बोध हुनु भनिन्छ। तेरो क्षमता बलियो भए पनि वा कमजोर भए पनि, र तैँले सत्यता बुझे पनि वा नबुझे पनि, जे भए पनि, तँमा यस्तो मनोवृत्ति हुनैपर्छ: ‘यो काम मलाई दिइएको हुनाले, मैले यसलाई गम्‍भीरतासाथ लिनैपर्छ; मैले यसलाई मेरो चासोको विषय बनाउनुपर्छ, र यसलाई राम्ररी पूरा गर्न आफ्‍नो सारा हृदय र शक्ति प्रयोग गर्नैपर्छ। मैले यसलाई पूर्ण रूपमा राम्ररी गर्न सक्छु कि सक्दिनँ भन्‍नेबारे ग्यारेन्टी दिन नसके पनि, मेरो मनोवृत्ति भनेको यसलाई आफूले सकेजति राम्ररी निर्वाह गर्ने हो, र म यसबारे अवश्य नै झाराटारुवा हुनेछैनँ। यदि काममा कुनै समस्या उत्पन्‍न भयो भने, मैले जिम्‍मेवारी लिनुपर्छ, र यसबाट पाठ सिकेको सुनिश्‍चित गरेर आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्नुपर्छ।’ यो सही मनोवृत्ति हो। के तिमीहरूमा यस्तो मनोवृत्ति छ?(वचन, खण्ड ५। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू। अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू (८))। परमेश्‍वरको वचनले मलाई साँच्‍चै प्रेरणा दियो। मण्डलीले मलाई यो कामको इन्चार्ज बनाएको हुनाले, मैले वयस्क व्यक्तिले लिन सक्‍ने सबै जिम्‍मेवारी लिनुपर्थ्यो। मेरो क्षमता जति नै उच्‍च भए पनि, म आफ्‍नो काममा जति नै सक्षम भए पनि, वा मैले आफ्‍नो कर्तव्यमा जति नै कठिनाइहरू सामना गरे पनि, म पछि हट्नु हुँदैनथ्यो, कम्‍मर कसेर यो काम गर्न आफ्‍नो सर्वस्व सुम्पनुपर्थ्यो। पछि, जब हामी भिडियो बनाइसक्थ्यौँ र अरूको सुझाव प्राप्त गर्थ्यौँ, तब मलाई थाहा नभएको समस्या भए पनि वा त्यो कसरी सुल्झाउने भनेर नजाने पनि, म सधैँ सक्रिय भएर यसलाई सुल्झाउने मार्ग खोज्थेँ वा सल्‍लाह लिन अनुभवी व्यक्ति खोज्‍ने प्रयास गर्थेँ। क्रमिक रूपमा, म यी सीपहरूप्रति परिचित र सिद्धान्तहरूबारे स्पष्ट हुँदै गएँ। पहिले, कुनै जटिल समस्या आउनेबित्तिकै, म प्राय मेरा साझेदारहरूको काँधमा त्यो काम हालिदिन्थेँ, ग्रुप च्याट मेसेजहरूको जबाफ तुरुन्तै दिँदिनथेँ, र अल्याङटल्याङ गर्थेँ। अहिले म आफ्‍नो कर्तव्यमा सक्रिय भएर जिम्‍मेवारी लिन र अझै बोझ लिन सक्‍ने भएकी छु। हाम्रो सहकार्यमा कठिनाइहरू आउने भए पनि, जब म परमेश्‍वरमा पूरै मनले भर पर्छु, अनि सबैसँग छलफल गर्छु, हामीले लिनुपर्ने मार्ग स्पष्ट हुँदै जान्छ।

यो अनुभवपछि मात्रै मलाई म कति स्वार्थी र छली रहेछु, आफ्‍नो कर्तव्यमा कति विश्‍वासघाती र अल्छी, अनि जिम्‍मेवारी लिन नचाहने व्यक्ति रहेछु भन्‍ने थाहा भयो। जब मैले आफ्‍नो मनोवृत्ति सुधार गरेँ, र परमेश्‍वरको बोझबारे ध्यान दिएर सहकार्यमा लागिपर्न इच्‍छुक भएँ, तब मैले परमेश्‍वरको नेतृत्व र मार्गदर्शन देखेँ, मभित्र विश्‍वास प्राप्त भयो, अनि म आफ्‍नो कर्तव्यमा ध्यान दिने समझदार र विश्‍वसनीय व्यक्ति बन्‍न इच्‍छुक भएँ।

अघिल्लो: ६८. परमेश्‍वरको गवाही कसरी दिने अब मलाई थाहा भयो

अर्को: ७०. परमेश्‍वर चीनमा देखा पर्नु र काम गर्नु धेरै अर्थपूर्ण छ

सम्बन्धित विषयवस्तु

४५. परमेश्‍वरको अगाडि जिउनु

योङ्ग्सुइ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “वास्तविकतामा प्रवेश गर्नका लागि, व्यक्तिले सबै थोकलाई वास्तविक जीवनतर्फ...

६५. अहङ्कारको हल गरी मानव रूप प्राप्त गर्न सकिन्छ

झेन्क्षिङ्ग, अमेरिकामेरो कथा मार्च २०१७ मा सुरु हुन्छ। मैले मुख्यतः चलचित्रका पोस्टरहरू र भिडियोका थम्‍बनेलहरू बनाउने कामसँगै मण्डलीको लागि...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्