६२. आफ्नो अहङ्कारबाट बिउँझँदा
मैले २०१५ मा सुसमाचार प्रचारको काम गर्न थालेँ, र परमेश्वरको अगुवाइमा केही सफलता प्राप्त गरेँ। कहिलेकहीँ मैले प्रचार गरेका मानिसहरूसित बलियो धारणा हुन्थ्यो र तिनीहरू सुसमाचारबारे थप अनुसन्धान गर्न चाहँदैनथिए। त्यसकारण मैले परमेश्वरलाई प्रार्थना र भरोसा गर्दै धैर्यताका साथ तिनीहरूसँग सत्यतामा सङ्गति गर्थें, अनि तिनीहरूले परमेश्वरका आखिरी दिनहरूको कार्यलाई तुरुन्तै स्वीकार गर्थे। मैले आफ्नो कर्तव्यमा केही उपलब्धि हासिल गरिसकेपछि, मलाई आफू अन्य दाजुभाइ-दिदीबहिनीहरूभन्दा राम्रो छु, म दुर्लभ प्रकारका प्रतिभा हुँ भन्ने लाग्यो।
त्यसपछि मेरा सहकर्मी लियाम र म दुवैले एकएक वटा मण्डलीको लागि मलजल गर्ने काम लियौं। मैले काम गर्ने मण्डली ठूलो र त्यहाँ निकै धेरै सदस्य थिए, त्यसकारण काम सुरु गर्दा, म सधैँ परमेश्वरलाई प्रार्थना र भरोसा गरिरहेको अनि दाजुभाइ-दिदीबहिनीहरूसँग विभिन्न विषयमा छलफल गरिरहेको हुन्थेँ। केही समयपछि नै सबै कुरा ठीकठाक अघि बढ्न थाल्यो। धेरैजसो दाजुभाइ-दिदीबहिनी नियमित रूपमा भेलामा उपस्थित भइरहेका थिए र आफ्नो कर्तव्यमा निकै सक्रिय रहन्थे। मलाई आफैप्रति निकै खुसी लागिरहेको थियो। मैले के सोचिरहेको थिएँ भने, यति ठूलो मण्डली र यति धेरै सदस्य भए पनि मैले यति चाँडै परिणामहरू हासिल गरिरहेको छु, त्यसैले मसँग पक्कै पनि अलिकति क्षमता छ जस्तो देखिन्छ। मैले लियामको मलजलको काम त्यति राम्ररी अघि नबढिरहेको पनि देखेँ, उनको मण्डलीका केही मलजलकर्ताहरू उपयुक्त थिएनन् र तिनीहरूको कर्तव्यलाई काटछाँट गर्नु आवश्यक थियो, र कतिपय नकारात्मक अवस्थामा भएकोले तिनीहरूलाई सङ्गतिको आवश्यकता थियो। त्यसकारण मैले तिनलाई अलिक तुच्छ दृष्टिले हेरेँ र तिनले मेरो मद्दत लिएर मात्र यी समस्या समाधान गर्न सक्छन् भन्ने सोचेँ। त्यसपछि म तिनको काममा संलग्न हुन थालेँ, यस क्रममा भेलाहरूमा सबैसित गल्ती र कमीकमजोरीको कुरा उठाएँ, अरूका नकरात्मक स्थितिमा सहयोग गर्न परमेश्वरका वचनहरूमा सङ्गति गरेँ, अयोग्य सदस्यहरूका कर्तव्यलाई काटछाँट गरेँ। काम निकै चाँडै नै अघि बढ्यो। मैले हाम्रा समस्याहरूलाई त्यति चाँडो समाधान गरेकोले आफूलाई झनै अत्यावश्यक र दुर्लभ प्रकारका प्रतिभा ठानेँ। यसपछि, मेरो अहङ्कार त्यतिकै बढ्दै गयो। दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कर्तव्यमा मन लगाएन भनेर म अक्सर गुनासो गर्थें र उनीहरूलाई यसो भन्दै हप्काउँथेँ: “मलजलको काममा यत्तिका ढिलाइ भएको छ। परमेश्वरको इच्छा खोज्ने र काम ठीकसित गर्ने कुनै व्यक्ति छ? तपाईंहरू सबै अत्यन्तै गैरजिम्मेवार र लापरवाह हुनुभएको छ। विगत केही हप्तामा थोरै प्रगति हुनु राम्रै हो, नत्र यो ढिलाइको जिम्मेवारी कसले लिन सक्थ्यो?” कसैले पनि एक शब्द बोल्ने आँट गरेन। मेरो प्रतिक्रया कतै अनुचित पो भयो कि भनेर सोचेँ, तर कडा शैली अपनाइनँ भने तिनीहरूले मतलब गर्दैनन् भन्ने विचार गरेँ। म दाजुभाइ-दिदीबहिनीहरूलाई प्राय हेयको नजरले हेर्थेँ, र तिनीहरूका काममा समस्या र विचलनहरू भेट्टाउँदा तिनीहरूलाई गाली गर्थेँ र मैले भनेजस्तै गरी काम गर्न लगाउँथेँ, त्यसैले समयसँगै तिनीहरू मदेखि टाढा हुँदै गए र तिनीहरूले सामान्यतया कामसम्बन्धी विषयबाहेक अरू कुनै पनि विषयमा मसित कहिल्यै कुरा गरेनन्। कहिलेकहीँ तिनीहरू सँगै मिलेर कुरा गरिरहेका र हाँसिरहेका हुन्थे, तर म देखा पर्नेबित्तिकै तिनीहरू तितरबितर भइहाल्थे, मानौँ तिनीहरू मदेखि थुरथुर नै हुन्छन्। काम बिगारेर गाली खाइने डरले तिनीहरूले कुनै समस्या आइपर्नेबित्तिकै मलाई सोध्थे र मेरो निर्णय पर्खन्थे। यो परिस्थिति देख्दा मलाई अलिक असहज महसुस भयो। म एकतन्त्री पो भइरहेको छु कि र ख्रीषविरोधीको मार्गमा पो हिँडिरहेको छु कि भन्ने सोचेँ। तर पछि मैले म काममा दृढ हुनुपर्छ भन्ने सोचाइ राखेँ। मैले अलिक कडा व्यवहार गरिनँ भने कसैले पनि कुरा सुन्नेथिएन। त्यसरी त हामी कसरी अघि बढ्थ्यौं र? सीधै समस्याहरू औंल्याउनु भनेको ममा धार्मिकताको बोध हुनु हो भन्ने लागेको थियो। त्यसपछि, मेरो अहङ्कार झनै तीब्र भयो र ठूलो होस् वा सानो सबै कुरामा मैले नै अन्तिम निर्णय गर्नुपर्थ्यो अनि सदस्यहरूलाई कसरी बाँडफाँड र व्यवस्थित गर्ने भन्नेबारे फलोअप गर्नुपर्थ्यो, किनभने समूहमा कोही पनि म जत्तिको क्षमतावान् छैन भन्ने मलाई लाग्थ्यो। मैले तिनीहरूसँग छलफल गर्दा समेत हामी सधैँ मैले चाहेअनुसार नै गर्ने निर्णय गर्न पुग्थ्यौं, त्यसकारण यदि मैले तुरुन्तै निर्णय गरिहालेँ भने हामी समय बचाउन सक्छौं भन्ने मलाई लाग्थ्यो। कोही बेला मेरा अगुवा भेलामा आउँथे र म उनलाई केही जस्तो ठान्दिनथिएँ र यस्तो सोच्थेँ, “तिमी अगुवा भएर के भयो त? के तिमी सुसमाचार सुनाउन र गवाही दिन सक्छौ? के तिमी यो कामको एउटा पक्षसमेत गर्न सक्छौ? यदि तिमीले भेलाहरूमा व्यावहारिक काम नगरी सङ्गति मात्रै गर्न सक्छौ भने, तिमी मेरो बराबरीमा आउँदैनौ।” त्यसकारण अगुवाले हाम्रो काम कसरी अघि बढिरहेको छ भनेर सोध्दा, बोल्न मन लागेको बेला धेरै कुरा बताउँथेँ, तर बोल्न मन नलागेको बेला उनलाई एकदुई शब्द बोलेर टारिदिन्थेँ। यसबारे कुरा गर्नुपर्ने कुनै आवश्यकता छैन भन्ने मलाई लाग्थ्यो, किनभने आखिर त्यो काम गर्ने व्यक्ति म नै हुन्थेँ। अगुवाले सबै कुरामा म आफैले निर्णय गरेँ र दाजुभाइ-दिदीबाहिनीहरूसँग मिलेर राम्ररी काम गरिनँ भन्दै मेरो अहङ्कार खुलासा गरिदिए। यसरी निराकरण र काटछाँट गरिँदा, मैले उनको अघि आफू अहङ्कारी छु भनेर स्वीकार त गरेँ, तर त्यसलाई त्यति ध्यान दिइनँ। मलाई आफूसँग राम्रो क्षमता छ र म सक्षम छु, त्यसकारण म आफ्नो काम राम्ररी गर्छु भने, थोरै अहङ्कारी हुँदैमा के फरक पर्छ र भन्ने मलाई लाग्यो। साथै, मण्डलीका धेरैजसो कामको नेतृत्व मैले नै गरिरहेको थिएँ, त्यसकारण तिनीहरूले मलाई के गर्छन् र—बर्खास्त? अगुवाले मलाई गरेको निराकरण र काटछाँटलाई मैले अलिकति पनि स्वीकार गरिनँ र मलाई जसरी मन लाग्यो त्यसरी नै सबै कुरा हातमा लिएर परमेश्वरद्वारा खुलासा नभइन्जेल आफ्नो कर्तव्य निर्वाह गरिरहेँ।
एक पटक नयाँ स्थापित एउटा मण्डलीलाई मलजल कामको लागि थप मानिसहरूको आवश्यकता पर्यो, र मैले यसबारे लियाम र अरूसँग छलफल नगरी त्यहाँ सहयोग गर्न एक जना सिस्टरलाई पठाएँ। मैले के सोचेको थिएँ भने, म जे सुझाव दिन्छु त्यो तिनीहरूले सामान्यतया स्वीकार गर्छन् नै, त्यसकारण मैले आफै निर्णय गर्नु ठीकै हुन्छ। तर पछि मैले ती सिस्टरको सत्यतबारे बुझाइ अति सतही भएकोले उनी काम गर्न असक्षम भइन् र व्यावहारिक समस्याहरू समाधान गर्न सकिनन् भनेर थाहा पाउँदा म त चकित परेँ। यसले गर्दा मण्डलीको काममा गम्भीर बाधा पुग्यो र पछि उनलाई अर्को कर्तव्यमा खटाउनुपऱ्यो। तर मैले अझै पनि आत्मसमीक्षा गरिनँ। पछि, मेरो कठोर अहङ्कार र मैले आफ्नो कर्तव्यमा सत्यता सिद्धान्तहरू खोजी गर्न वा अरूलाई तिनीहरूका कर्तव्यमा सिद्धान्तहरू पछ्याउन अगुवाइ गर्न नसकेको कारण सबै जना कुनै परिणाम नै हासिल नगरी दौडधूप गर्नमा व्यस्त भइरहेका थिए। मैले हाम्रो कार्य प्रगतिमा साँच्चै बाधा पुर्याएँ। तैपनि, म आफ्ना समस्याहरूबारे पूर्णतया अनभिज्ञ थिएँ—मैले केवल अरूलाई आफ्ना बोझ नबोकेकोमा दोष दिएँ। केही समयसम्म, मलाई वर्णनै गर्न नसकिने पूर्वाभास भयो, मानौं कुनै भयानक कुरा आइपर्न लागेको छ। भेला वा प्रार्थनामा के भन्ने मलाई थाहा हुँदैनथियो, र मलाई कामसम्बन्धी भेलाहरूमा निन्द्रा लाग्थ्यो अनि ममा कुनै कुराबारे अन्तर्दृष्टि हुँदैनथियो। मानसिक रूपमा मलाई धमिलो महसुस भइरहेको थियो र मसँग कुनै काम गर्ने सामर्थ्य थिएन, तर आराम गर्न मात्रै मन लाग्थ्यो। मैले पवित्र आत्माको काम गुमाएको छु भन्ने थाहा पाएँ, तर किन गुमाएँ भन्ने थाहा थिएन। मैले परमेश्वरलाई प्रार्थना गरेँ र मलाई आफ्नो बारेमा बुझ्न सहायता गर्नुहोस् भनी अनुरोध गरेँ।
केही दिनपछि मेरा अगुवा भेलामा आए अनि मलाई निराकरण गरे र मेरो व्यवहार खुलासा गरिदिए। उनले भने, “तपाईं अहङ्कारी हुनुभएको छ। तपाईंले सधैँ मानिसहरूलाई घमण्ड देखाउँदै हप्काउनुहुन्छ, विवश पार्नुहुन्छ, र अक्सर आफ्नो वरिष्ठता प्रदर्शन गर्नुहुन्छ। तपाईं कसैको कुरा सुन्नुहुन्न र तपाईंसँग काम गर्न गाह्रो छ। त्यसबाहेक, तपाईंले अरू कोहीसँग छलफल नगरी जे मन लाग्यो त्यही गर्नुहुन्छ, तपाई स्वेच्छाचारी र एकतन्त्री हुनुहुन्छ। तपाईंको व्यवहारको आधारमा हामीले तपाईंलाई बर्खास्त गर्ने निर्णय गरेका छौँ।” उनको हरेक शब्दले मेरो हृदय वारपार छेँड्यो। मैले कस्तो व्यवहार गर्दै आएको थिएँ, त्यसबारे विचार गरेँ। म जहिले पनि केवल आफ्नै तरिकामा काम गर्थें अनि म तानाशाह भएको थिएँ। के त्यो ख्रीष्टविरोधी जस्तै भएन र? त्यो सोच्दा मलाई निकै डर लाग्यो र मनमनै सोचेँ: के परमेश्वरले मलाई खुलासा गर्दैहुनुहन्छ र हटाउँदैहुनुहुन्छ? के मेरो वर्षौंको विश्वास यसरी अन्त्य हुँदैछ? केही दिनसम्म म जिउँदो लासझैँ भएँ। बिउँझिएको क्षणदेखि नै मलाई डर लाग्थ्यो, र दिनको सामना कसरी गर्ने भनेर मलाई थाहा हुँदैनथ्यो। मैले परमेश्वरलाई यसो भन्दै प्रार्थना गरेँ, “हे परमेश्वर, यसमा तपाईंको दयालु इच्छा लुकेको छ भन्ने मलाई थाहा छ, तर यसबाट कसरी गुज्रने मलाई थाहा छैन। हे परमेश्वर, म अति निराश छु। कृपया तपाईंको इच्छा बुझ्न मलाई अन्तर्दृष्टि दिनुहोस्।” त्यसपछि मैले परमेश्वरका यी वचनहरू पढेँ: “परमेश्वरले हरेक दिन तँलाई के आइपर्छ, वा तैँले कति धेरै काम गर्छस्, वा तैँले त्यसमा कति धेरै मेहनत गर्छस् भन्ने कुरालाई हेर्नुहुन्न—उहाँले त ती कुराहरूप्रति तेरो मनोवृत्ति के छ भन्ने कुरालाई हेर्नुहुन्छ। अनि तैँले यी कुराहरू जुन मनोवृत्तिले, र जुन तरिकाले गर्छस्, त्यो केसँग सम्बन्धित हुन्छ? यो कुरा तैँले सत्यता खोजी गर्छस् कि गर्दैनस् भन्ने कुरासँग, र साथै तेरो जीवन प्रवेशसँग पनि सम्बन्धित हुन्छ। परमेश्वरले तेरो जीवन प्रवेश, अर्थात् तैँले हिँड्ने मार्ग हेर्नुहुन्छ। यदि तँ सत्यता पछ्याउने मार्गमा हिँड्छस् र तँसँग जीवन प्रवेश हुन्छ भने, तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तँ अरूसँग मिलेर सहकार्य गर्न सक्षम हुनेछस्, र तँले सहजै मानकअनुरूप तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्नेछस्। तर, आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सधैँ तँसँग पूँजी छ, तैँले तेरो कामको क्षेत्र बुझेको छस्, तँसँग अनुभव छ, र तैँले परमेश्वरका अभिप्रायहरूलाई वास्ता गर्छस्, अनि अरूले भन्दा बढी सत्यताको खोजी गर्छस् भन्ने जोड दिन्छस्, र त्यसपछि यी कुराहरूको कारण, यदि तँ आफू अन्तिम निर्णय गर्न योग्य छु भनी सोच्छस्, र अरू कसैसँग केही कुराबारे पनि छलफल गर्दैनस्, र सधैँ नियमलाई आफ्नै हातमा लिएर, आफ्नै व्यवसाय सञ्चालन गर्छस्, र सधैँ ‘फूलेको एउटै फूल’ बन्न चाहन्छस् भने, के तँ जीवन प्रवेशको मार्गमा हिँड्छस् र? हिँड्दैनस्—यो त हैसियतको खोजी हो, यो पावलको मार्ग हिँड्नु हो, यो जीवन प्रवेशको मार्ग होइन” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्नो कर्तव्य मानकअनुरूप निर्वाह गर्नु भनेको के हो?)। “एकजना व्यक्तिले केही वर्षदेखि सुसमाचार प्रचार गर्दै आइरहेको थियो र ऊसँग त्यसबारे केही अनुभव थियो। उसले सुसमाचार प्रचार गर्दा धेरै कष्ट भोग्यो, र बन्दी बनेर धेरै वर्षको जेल सजायसमेत पायो। बाहिर निस्केपछि, उसले सुसमाचार प्रचार गर्न जारी राख्यो, र सयौँ मानिसहरूलाई विश्वासी बनायो, र तीमध्ये केही त प्रतिभावान् व्यक्तिहरू निस्किए; कति त अगुवा वा सेवकहरूका रूपमा समेत छनौट भए। परिणामस्वरूप, यस व्यक्तिले आफूलाई ठूलो स्याबासीको योग्य ठान्यो, र यसलाई उसले धाक लगाउने पूँजीका रूपमा प्रयोग गर्दै ऊ जहाँ जान्थ्यो त्यहाँ आफ्नै प्रदर्शन गर्ने र आफ्नै गवाही दिने गर्यो: ‘म आठ वर्ष जेल बसेँ, र आफ्ना गवाहीमा दृढ रहेँ। मैले सुसमाचार प्रचार गर्दै गर्दा धेरै मानिसहरूलाई विश्वासमा ल्याएको छु, तीमध्ये कति त अहिले अगुवा वा कामदार बनेका छन्। परमेश्वरका घरमा, मैले श्रेय पाउनुपर्छ, मैले योगदान दिएको छु।’ जहाँसुकै सुसमाचार प्रचार गरिरहेको भए पनि, उसले स्थानीय अगुवा वा कामदारहरूलाई धाक लगाएरै छाड्थ्यो। उसले यसो पनि भन्थ्यो, ‘तपाईंहरूले मेरो कुरा सुन्नैपर्छ; मसँग बोल्दा तपाईंहरूका वरिष्ठ अगुवाहरूसमेत विनम्र हुनैपर्छ। विनम्र नहुने जोकोहीलाई म पाठ सिकाउनेछु!’ यो व्यक्ति त धमासे हो, होइन र? यस्तो व्यक्तिले सुसमाचार प्रचार नगरेको र ती मानिसहरूलाई विश्वासमा नल्याएको भए, के ऊ त्यस्तो आडम्बरी हुन्थ्यो त? वास्तवमा ऊ त्यस्तै हुन्थ्यो। ऊ त्यति आडम्बरी हुनुले आडम्बर उसको प्रकृतिमै हुन्छ भन्ने प्रमाणित गर्छ। यो उसको प्रकृति सार हो। ऊ यति अहङ्कारी बन्छ कि उसमा थोरै समझ पनि हुँदैन। सुसमाचार प्रचार गरेर एकदुई जना मानिसहरूलाई विश्वासमा ल्याएपछि, तिनीहरूको अहङ्कारी प्रकृति बढ्छ, र तिनीहरू अझै बढी आडम्बरी बन्छन्। त्यस्ता मानिसहरूले जहाँ गए पनि आफ्नो पूँजीको धाक लगाउँछन्, जहाँ गए पनि श्रेय लिने प्रयास गर्छन्, र विभिन्न तहका अगुवाहरू बराबर हुने प्रयास गर्दै तिनीहरूलाई दबाबसमेत दिन्छन्, अनि परमेश्वरका घरमा आफू वरिष्ठ अगुवा हुनुपर्छ भन्नेसमेत सोच्छन्। यस्तो व्यक्तिको व्यवहारमा जे प्रकट हुन्छ त्यसको आधारमा, हामी यस्ता व्यक्तिहरूसँग कस्तो प्रकृति हुन्छ, र तिनीहरूको नतिजा सम्भवतः कस्तो होला भनी स्पष्ट हुनुपर्छ। जब कुनै दुष्ट पिशाचले परमेश्वरको घरमा घुसपैठ गर्छ, तब उसले थोरै श्रम गरेपछि आफ्नो साँचो रूप देखाइहाल्छ; त्यस्ता व्यक्तिहरूलाई जसले काटछाँट गरे पनि तिनीहरूले कसैको कुरा सुन्दैनन्, र परमेश्वरको घरविरुद्ध लडाइँ जारी राख्छन्। तिनीहरूको व्यवहारको प्रकृति कस्तो हुन्छ? परमेश्वरको नजरमा, तिनीहरूले काल खोजिरहेका हुन्, र तिनीहरूले आफैलाई नमारेसम्म विश्राम गर्नेछैनन्। यसलाई उल्लेख गर्ने एउटै मात्र उचित तरिका यही हो” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सुसमाचार प्रचार गर्नु सबै विश्वासीहरूले पूरा गर्नुपर्ने कर्तव्य हो)। परमेश्वरका यी वचनहरू पढ्दा म डरले थुरथुर भएँ। परमेश्वरले मेरो सामने आएर मलाई खुलासा गर्दैहुनुहुन्छ, र मेरो स्थिति र मैले कुनै व्यक्तिलाई नबताएका सबैभन्दा गहिरा रहस्यहरू प्रकट गर्दैहुनुहुन्छ जस्तो लाग्यो। सुसमाचार सुनाउने कामका यी वर्षहरूमा मैले केही परिणाम हासिल गरेको थिएँ, त्यसकारण मैले ठूलो योगदान दिएको छु, ममा दुर्लभ प्रतिभा छ र मैले गरेको सबै कुराबारे अक्सर भित्री हिसाबकिताब राखेको छु भनेर सोच्थेँ। म श्रेय पाउन योग्य छु र म मण्डलीको खम्बा हुँ भन्ने मलाई लाग्यो। मैले यी कुरालाई व्यक्तिगत पूँजीको रूपमा लिएँ, अहङ्कारी हुँदै सबै जनालाई तुच्छ ठानेँ। मानिसहरूलाई हेपेर हप्काउन पनि मलाई मन पर्थ्यो, जसले दाजुभाइ-दिदीबहिनीहरूलाई विवश पारिरहेको थियो। सबै कुरामा मैले नै अन्तिम निर्णय गर्नुपर्ने हुन्थ्यो र म आफ्नो कर्तव्यमा सहकार्य गर्दिनथिएँ, तर त्यसको साटो मैले एकतन्त्री बनेर आफूलाई जे मन लाग्यो त्यही गरेँ, अनि गम्भीर रूपमा मण्डलीको काममा बाधा पुऱ्याएँ र ढिलाइ गरेँ। अगुवाले मेरो निराकरण गर्दा समेत मैले कुनै ध्यान दिइनँ। मैले आफ्नो वरिष्ठता प्रदर्शनसमेत गरेँ। मैले उनलाई तुच्छ ठानेँ र उनी मभन्दा कुनै पनि हिसाबले असल छैनन् भन्ने सोचेँ। मैले उनको सुपरिवेक्षण वा मार्गदर्शन स्वीकार गर्न चाहिनँ। म सबै कुराको निर्णय आफै गर्न चाहन्थेँ। मैले आशा गरेअनुसार दाजुभाइ-दिदीबहिनीहरू नजिउँदा, तिनीहरूलाई यसो भन्दै हप्काउँथेँ, “यदि तपाईंहरूले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुभएन भने, बर्खास्त गरिनेछ र हटाइनेछ।” त्यसले गर्दा तिनीहरू काममा लागिपर्थे, किनभने तिनीहरूलाई निराकरण गरिने वा गल्ती गरेमा आफ्नो कर्तव्य गुम्ने र अनुचित स्थितिमा जिउन पुगिने डर थियो। त्यो कसरी कर्तव्य पूरा गरेको भयो र? के त्यो दुष्कर्म गर्नु, परमेश्वरको विरोध गर्नु थिएन र? त्यो सोच्दा मलाई निकै डर लाग्यो। त्यस्तो दुष्ट काम गरेर दाजुभाइ-दिदीबहिनीहरूलाई यति धेरै विवश पार्ने र चोट पुर्याउने, यतिका हदसम्म हाम्रो काममा बाधा दिने र रोकावट ल्याउने त्यस्तो दुष्ट काम गर्छु भनेर मैले कहिल्यै सोचेको थिइनँ। मैले परमेश्वरको विरुद्धमा लडाइँ गरिरहेको थिएँ, तर उहाँलाई सन्तुष्ट पार्न मैले मेरो कर्तव्य गरिरहेको छु भनेर सोचेँ। म साह्रै अन्धो, अज्ञानी र अविवेकी व्यक्ति थिएँ! त्यसरी काम गर्नु भनेको काल खोजिरहेको हुनु हो भनेर मैले परमेश्वरका वचनहरूबाट बुझेँ। परमेश्वरले व्यक्त गर्नुभएको “काल खोजिरहेका” भन्ने वाक्यांशमा, परमेश्वरले त्यस्ता व्यक्तिलाई कति घृणा, कति छिःछिः र कति दूरदूर गर्नुहुन्छ र त्यसले उहाँलाई कति दुःखी बनाउँछ भनेर अनुभूति गरेँ। यो दुःखलाग्दो कुरा थियो, मानौं परमेश्वरले मलाई मृत्युदण्ड दिनुभएको छ। म आफ्नो कर्तव्यको लागि सबै कुरा त्याग्न सक्छु, यसमा सधैँ सफल हुनेछु, त्यसकारण परमेश्वरले अवश्य नै मलाई अनुमोदन गर्नुहुन्छ र थोरै अहङ्कारले त्यति मतलब राख्दैन भन्ने सोचेको थिएँ। तर त्यसपछि मलाई के महसुस भयो भने, यदि मैले सत्यता खोजी गरिनँ वा स्वभावगत परिवर्तन हासिल गर्न चुकेँ भने, मैले जति नै बलिदान गरे पनि वा कर्तव्यमा जति नै उपलब्धि हासिल गरे पनि, म केवल सवा-कर्ता हुन्थेँ। परमेश्वरका वचनहरूको न्याय र प्रकाशले मलाई चिढ्याउन नसकिने उहाँको धर्मी स्वभाव देखायो। परमेश्वर आफ्नो व्यवहारमा पूर्णतया सिद्धान्त-केन्द्रित हुनुहुन्छ भन्ने मैले बुझेँ। यदि व्यक्तिले यो संसारमा केही उपलब्धि हासिल गर्यो भने, ऊसँग केही पूँजी र लाभकारी माध्यम हुन सक्छ। तर परमेश्वरको घरमा, सत्यता र धार्मिकता नै सर्वेसर्वा हुन्छन्। मण्डलीमा पूँजी र लाभको प्रयोग गर्नु भनेको आफूलाई मृत्युको मुखमा हाल्नु हो र यसले उहाँको स्वभावलाई चिढ्याउँछ।
पछि, मैले आफ्नो कर्तव्यमा थोरै कुरा हासिल गरेपछि किन आफूसित केही पूँजी भएको अनि म त्यति लापरवाह, अहङ्कारी र तानाशाह हुन थालेँ भनेर सोचिरहेको थिएँ। म कस्तो प्रकारको प्रकृतिको नियन्त्रणमा परिरहेको थिएँ? मैले परमेश्वरका वचनहरूमा यो कुरा पढेँ: “यदि तैँले आफ्नो हृदयमा साँच्चै सत्यतालाई बुझ्छस् भने, सत्यता अभ्यास गर्न र परमेश्वरमा समर्पित हुन जान्नेछस् अनि तँ सत्यताको पछि लाग्ने मार्गमा स्वाभाविक रूपले हिँड्नेछस्। यदि तँ हिँड्ने मार्ग सही र परमेश्वरका अभिप्रायअनुरूप छ भने, पवित्र आत्माको कामले तँलाई त्याग्नेछैन—यस अवस्थामा तैँले परमेश्वरलाई धोका दिने सम्भावना कमभन्दा कम हुँदै जानेछ। सत्यताविना दुष्टता गर्न सजिलो हुन्छ, र तैँले नचाहँदा नचाहँदै पनि त्यो गर्नेछस्। उदाहरणका लागि, यदि तँमा अहङ्कारी र अभिमानी स्वभाव भएको भए, परमेश्वरको प्रतिरोध नगर भनेर भनिँदा कुनै फरक पर्ने थिएन, किनभने तैँले आफूलाई नियन्त्रण गर्न सक्ने थिइनस्—यो तेरा लागि अनायासै हुने कुरा हुनेथियो। तैँले जानाजानी त्यसो गर्ने थिइनस्; तैँले आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको प्रभुत्वमा परेर त्यसो गर्ने थिइस्। तेरो अहङ्कार र अभिमानले तँलाई परमेश्वरलाई हेयको नजरले हेर्न र उहाँलाई बेवास्ता गर्न लगाउनेथ्यो; तिनले तँलाई आफूलाई उच्च पार्नतिर प्रवृत्त गर्नेथिए, र तँलाई हरेक मोडमा आफूलाई प्रदर्शन गर्ने तुल्याउनेथिए; तिनले तँलाई अरूलाई हेयको नजरले हेर्न लगाउनेथिए, र तेरो हृदयमा आफूबाहेक अरू कसैलाई नराख्न लगाउनेथिए; तिनले तेरो हृदयबाट परमेश्वरको स्थान खोस्नेथिए, र अन्ततः तँलाई परमेश्वरको स्थानमा बस्न र मानिसहरूलाई तँप्रति समर्पित हुन माग गर्न लगाउनेथिए, र तँलाई आफ्नै विचार, सोच, र धारणाहरूलाई सत्यताका रूपमा पुज्न लगाउनेथिए। आफ्नो अहङ्कारी र अभिमानी प्रकृतिको वशमा पर्ने मानिसहरूले कति धेरै खराबी गरेका छन्!” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यता पछ्याएर मात्रै स्वभावमा परिवर्तन हासिल गर्न सकिन्छ)। “शैतानको स्वभावहरूभित्र धेरै प्रकारका भ्रष्ट स्वभावहरू समावेश हुन्छन्, तर सबैभन्दा स्पष्ट र झट्ट देखिनेचाहिँ अहङ्कारी स्वभाव हो। अहङ्कार नै मानिसका भ्रष्ट स्वभावहरूको मूल कारण हो। मानिसहरू जति धेरै अहङ्कारी हुन्छन्, त्यति नै समझ विहीन हुन्छन्, र तिनीहरू जति धेरै समझविहीन हुन्छन्, तिनीहरूले परमेश्वरको प्रतिरोध गर्ने त्यति नै धेरै सम्भावना हुन्छ। यो समस्या कति गम्भीर छ? मानिसहरूमा अहङ्कारी स्वभावहरू हुने भएकाले, तिनीहरूले अरू सबैलाई आफूभन्दा तल्लो स्तरको सम्झने मात्र होइन, तर सबैभन्दा खराब कुरा त, तिनीहरूमा परमेश्वरका लागि कुनै सम्मान समेत हुँदैन, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय पटक्कै हुँदैन। मानिसहरूले परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने भए पनि, तिनीहरूले उहाँलाई परमेश्वरको रूपमा बिलकुलै व्यवहार गर्दैनन्। तिनीहरूले सधैँ तिनीहरूसँग सत्यता छ भन्ने ठान्छन् र आफैलाई अरूभन्दा श्रेष्ठ ठान्छन्। अहङ्कारी स्वभावको सार र जड यही हो, र यो शैतानबाट आउँछ। यसैले, अहङ्कारको समस्यालाई समाधान गरिनुपर्छ। अन्य सबैलाई आफूभन्दा तल रहेको ठान्नु सानोतिनो कुरा हो। महत्त्वपूर्ण विषय त के हो भने, अहङ्कारी स्वभावले मानिसहरूलाई परमेश्वर, उहाँको सार्वभौमिकता, उहाँको बन्दोबस्तमा समर्पित हुनदेखि रोक्छ, र यसले मानिसहरूलाई निरन्तर शक्तिका निम्ति परमेश्वरसँग प्रतिस्पर्धा गर्ने र अरूलाई नियन्त्रण गर्ने प्रयास गर्न लगाउँछ। यस्तो किसिमको व्यक्तिमा परमेश्वरको डर मान्ने हृदय अलिकति पनि हुँदैन, उसले परमेश्वरलाई प्रेम गर्ने वा ऊ उहाँमा समर्पित हुने त कुरै नगरौँ। मानिसहरू जो अहङ्कारी र अभिमानी छन्, विशेष गरी ती जो यति अहङ्कारी छन् कि आफ्नो समझ गुमाएका छन्, तिनीहरू परमेश्वरप्रतिको आफ्नो विश्वासमा उहाँमा समर्पित हुन सक्दैनन्, बरु आफ्नै बढाइ गर्छन् र आफ्नै गवाही दिन्छन्। यस्ता मानिसहरू परमेश्वरलाई सबैभन्दा बढी प्रतिरोध गर्छन्, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय फिटिक्कै हुँदैन। यदि मानिसहरू आफूमा परमेश्वरको डर मान्ने हृदय हुने अवस्थासम्म पुग्ने इच्छा राख्छन् भने, तिनीहरूले पहिले आफ्नो अहङ्कारी स्वभावको समाधान गर्नुपर्छ। व्यक्तिले अहङ्कारी स्वभाव सुल्झाउन परमेश्वरको न्याय र सजाय अनुभव गर्नैपर्छ। जब कुनै व्यक्तिले अहङ्कारी स्वभाव शैतानी स्वभाव हो, र अहङ्कारी स्वभाव शैतानको दुष्ट, कुरूप अनुहार हो भनी महसुस गर्छ, तब ऊसँग परमेश्वरको डर मान्ने हृदय हुनेछ। व्यक्तिको अहङ्कारी स्वभावलाई जति राम्ररी निराकरण गरिन्छ, ऊसँग त्यति नै बढी समझ हुन्छ, र ऊ त्यति नै बढी परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छ। परमेश्वरको डर मान्ने हृदयले मात्रै व्यक्ति परमेश्वरमा समर्पित हुन, र सत्यता प्राप्त गर्न र उहाँलाई चिन्न सक्छ। जसले सत्यता प्राप्त गर्छन् तिनीहरू मात्रै साँच्चै मानव हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। परमेश्वरका वचनहरूले मलाई परमेश्वरप्रति अवाज्ञा र विरोधको जड अहङ्कार हो भन्ने सिकाए। जब कसैसँग अहङ्कारी प्रकृति हुन्छ, तब तिनीहरूले आफूलाई परमेश्वरको विरोध गर्न र खराबी गर्नबाट रोक्न सक्दैनन्। यस समय अवधिमा मैले प्रकट गरेका कुराबारे चिन्तन गर्दा, यो कुरा अहङ्कारी प्रकृतिको नियन्त्रणको अधीनमा थियो। मैले केही कुरा हासिल गरेपछि मेरो खुट्टा भूँइमा थिएन, मसँग राम्रो क्षमता छ, म सक्षम छु, म दुर्लभ प्रतिभा हुँ र मण्डली मविना अघि बढ्न सक्दैन भन्ने सोचेँ। मैले अरू दाजुभाइ-दिदीबहिनीहरूलाई तुच्छ ठानेँ, उनीहरूलाई हप्काउन र विवश पार्न अक्सर आफ्नो पदको दुरुपयोग गरेँ उनीहरूलाई केही जस्तो ठानिनँ। कुनै कुराबारे अरू कसैसँग छलफल नगरेर म आफ्नो कर्तव्यमा तानाशाह र स्वेच्छाचारी भएँ। मलाई म एकलै पनि काम गर्न सक्छु र एकतर्फी निर्णय गर्न सक्छु भन्ने लाग्थ्यो। म अत्यन्तै अहङ्कारी थिएँ र ममा परमेश्वरको भय मान्ने हृदय थिएन। अगुवाले मेरो निराकरण गर्दा, मैले आफ्नो अहङ्कारलाई स्वीकार गरेँ, तर त्यसको साँचो रूपमा मतलब राखिनँ। मलाई त अहङ्कार नराम्रो कुरा होइन भन्ने समेत लाग्यो, मलाई बोलाइनुको अर्थ मसँग केही सीप छन् भनेर सोचेँ। यदि मसँग केही पूँजी नहुनु हो भने, किन म अहङ्कारी हुनेथिएँ र? म अत्यन्तै अव्यावहारिक र लाज पचेको व्यक्ति थिएँ। म “समस्त ब्रह्माण्डमा, सर्वोच्च शासन गर्ने म मात्र हुँ” भन्ने शैतानको विषअनुसार जिउँदै, आफूलाई मण्डलीमा राजाको रूपमा काम गरिरहेको थिएँ र सबै कुरामा एकलौटी अन्तिम निर्णय गर्थें। म ठूलो रातो अजिङ्गरको तानाशाहीभन्दा कसरी फरक भएँ र? ठूलो रातो अजिङ्गर अहङ्कारी र अन्यायी छ, यसले त्यसको कुरा नसुन्ने कुनै पनि व्यक्तिलाई दमन गर्न अभूतपूर्व हिंसात्मक माध्यमको प्रयोग गर्छ। म कसैको दृष्टिकोणलाई स्वीकार नगरी मण्डलीमा तानाशाही र हठी भएको थिएँ। के त्यो प्रकारको स्वभाव ठूलो रातो अजिङ्गरको जस्तै थिएन र? त्यसपछि मात्र मलाई म कति अहङ्कारी भएको रहेछु, मैले अरू कसैलाई वा परमेश्वरलाई समेत वास्ता गरेको छैनँ, म अनजानमै सत्यताविरुद्ध गइरहेको छु, परमेश्वरविरुद्ध होड गर्दैछु र उहाँविरुद्धको मार्गमा हिँडिरहेको छु भन्ने कुरा थाहा पाएँ। यदि मैले पश्चात्ताप नगरेको भए, परमेश्वरले अवश्य नै मलाई ठूलो रातो अजिङ्गरलाई जस्तै सरापेर दण्ड दिनुहुनेथियो। त्यसपछि मैले मेरो अहङ्कारी प्रकृतिका परिणामहरू कति गम्भीर रहेछन्, मेरो समस्या मैले पहिला सोचेझैँ अलिकति भ्रष्टता प्रकट गर्नु जस्तो सरल होइन रहेछ भन्ने कुरा एकदमै स्पष्टसित देखेँ। त्यो सोच्दा मैले अरूलाई हपारेको, हेपेको र आफूलाई उचालेको, संसारमा मेरो बराबरी गर्ने कोही छैन जस्तै गरी बोलेको र आफूलाई प्रस्तुत गरेको कुरा मलाई याद आयो। मलाई आफैप्रति वाकवाकी र घृणा लाग्यो। अनि, मैले राम्ररी सत्यता पछ्याउनुपर्छ, सबै कुरामा सिद्धान्तहरू पालन गर्नुपर्छ, परमेश्वरको भय मान्ने हृदय धारण गर्नुपर्छ र अहङ्कारी प्रकृतिअनुसार जिउन र परमेश्वरको विरोध गर्न छोड्नुपर्छ भन्ने सङ्कल्प गरेँ।
पछि मैले आफ्ना कर्तव्यमा प्राप्त गर्न सकिने सफलताहरूलाई उचित रूपमा कसरी लिने भन्ने बारेमा खोजी गरिरहेको बेला परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “के तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरको मार्गदर्शन र पवित्र आत्माको अन्तर्दृष्टि महसुस गर्न सक्षम छौ? (छौँ।) यदि तिमीहरू पवित्र आत्माको काम महसुस गर्न सक्षम छौ, तैपनि मात्तिन्छौ, र आफूसँग वास्तविकता छ भनी सोच्छौ भने, यहाँ के भइरहेको छ? (जब हाम्रो कर्तव्यले केही फल फलाउँछ, तब हामी आधा श्रेय परमेश्वरलाई जान्छ, र आधा हामीलाई जान्छ भन्ने सोच्छौँ। हामी हाम्रो सहकार्यभन्दा महत्त्वपूर्ण कुरा केही छैन, र योविना परमेश्वरको अन्तर्दृष्टि सम्भव हुनेथिएन भन्ने सोचेर हाम्रो सहकार्यलाई असीमित रूपमा ठूलो पार्छौँ।) त्यसोभए, परमेश्वरले तँलाई किन अन्तर्दृष्टि दिनुहुन्छ? के परमेश्वरले अरूलाई पनि अन्तर्दृष्टि दिन सक्नुहुन्छ? (सक्नुहुन्छ।) जब परमेश्वरले कसैलाई अन्तर्दृष्टि दिनुहुन्छ, तब त्यो परमेश्वरको अनुग्रहद्वारा हुन्छ। अनि तैँले आफ्नो पक्षबाट पूरा गरेको त्यो थोरै सहकार्य के हो? के यसका लागि तैँले श्रेय पाउनुपर्छ, कि यो तेरो कर्तव्य र जिम्मेवारी हो? (यो हाम्रो कर्तव्य र जिम्मेवारी हो।) जब तँ यसलाई आफ्नो कर्तव्य र जिम्मेवारीका रूपमा पहिचान गर्छस्, तब तँसँग सही मनस्थिति हुन्छ र तैँले यसको श्रेय लिन खोज्नेबारे सोच्नेछैनस्। यदि तँ सधैँ ‘यो मेरो योगदान हो। के मेरो सहकार्यविना परमेश्वरको अन्तर्दृष्टि सम्भव हुनेथियो? यस कामका लागि मानिसको सहकार्य आवश्यक हुन्छ; धेरैजसो भाग हाम्रो सहकार्यले नै पूरा हुन्छ’ भन्ने सोच्छस् भने, तँ गलत छस्। यदि पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभएको छैन, र कसैले पनि तँलाई सत्यता सिद्धान्तहरूबारे सङ्गति दिएको छैन भने, तैँले कसरी सहकार्य गर्न सक्छस्? यदि तँलाई परमेश्वरले के माग गर्नुहुन्छ र अभ्यासको मार्ग के हो भन्ने थाहा छैन भने, तैँले परमेश्वरप्रति समर्पित हुन र सहकार्य गर्न चाहिस् भने पनि, कसरी गर्ने भनेर तँलाई थाहा हुनेछैन। तब, के तेरो यो ‘सहकार्य’ खोक्रो शब्द मात्र हुनेछैन र? यदि तैँले साँचो रूपमा सहकार्य गर्दैनस्, र आफ्नै विचारहरूअनुसार मात्रै काम गरिरहेको छस् भने, के तैँले निर्वाह गर्ने कर्तव्य मानकअनुरूप हुन सक्छ? कदापि हुन सक्दैन। यसले एउटा समस्याको सङ्केत गर्छ। त्यो समस्या के हो? कुनै व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, उसले नतिजा हासिल गर्छ कि गर्दैन, मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्छ कि गर्दैन, र परमेश्वरको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा परमेश्वरको काममा निर्भर हुन्छ। तैँले आफ्ना जिम्मेवारीहरू र कर्तव्य निर्वाह गरिस् भने पनि, यदि परमेश्वरले काम गर्नुहुन्न, वा तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्न, र तँलाई आफ्नो मार्ग, आफ्नो दिशा वा आफ्ना लक्ष्यहरू थाहा छैन भने, अन्त्यमा यसबाट कस्तो नतिजा आउनेछ? त्यतिका समय परिश्रम गरेपछि, तैँले आफ्नो कर्तव्य उचित रूपमा निर्वाह गरेको हुनेछैनस्, न त सत्यता र जीवन नै प्राप्त गरेको हुनेछस्—त्यो सब व्यर्थ भएको हुनेछ। त्यसैले, तैँले मानकअनुरूप आफ्नो कर्तव्य निर्वाह गर्नु, दाजुभाइ र दिदीबहिनीहरूलाई उन्नयन गर्नु र परमेश्वरको अनुमोदन प्राप्त गर्नु पूरै परमेश्वरमै निर्भर हुन्छ! मानिसहरूले ती कुरा मात्र गर्न सक्छन् जसमा तिनीहरू सक्षम छन्, जुन कुरा तिनीहरूले गर्नुपर्छ र जुन कुरा तिनीहरूका अन्तर्निहित क्षमताभित्र छ—योभन्दा बढी होइन। त्यसपछि आखिरमा तैँले आफ्नो कर्तव्यमा नतिजाहरू हासिल गर्नु परमेश्वरका वचनहरूको मार्गदर्शन साथै पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइमा निर्भर हुन्छ; त्यसपछि मात्र तैँले सत्यता बुझ्न र परमेश्वरले प्रदान गरेको मार्ग र उहाँले तय गरेको सिद्धान्तअनुसार उहाँको आज्ञा पूरा गर्न सक्छस्। यो त परमेश्वरको अनुग्रह र आशिष् हो, अनि यदि मानिसहरूले यसलाई देख्न सक्दैनन् भने, तिनीहरू अन्धा हुन्” (वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। व्यक्तिको आत्मआचरणलाई मार्गदर्शन गर्नुपर्ने सिद्धान्तहरू)। मैले कर्तव्यमा केही कुरा हासिल गर्नु भनेको पूर्ण रूपमा परमेश्वरको अनुग्रह र पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शनद्वारा प्राप्त कुरा थियो भनेर परमेश्वरका वचनहरूबाट बुझेँ। मानिसलाई मलजल गर्न र भरणपोषण गर्न परमेश्वर देह हुनुभयो र उहाँले सत्यता व्यक्त गर्नुभयो, सत्यता सिद्धान्तहरूका सबै पक्षमा स्पष्टसित र ठोस रूपमा सङ्गति गर्नुभयो। त्यसपछि मात्र मैले केही सत्यता बुझेँ, आफ्नो कर्तव्यमा दिशा प्राप्त गरेँ र अभ्यासको मार्ग पाएँ अनि यो मसँग असल क्षमता भएकोले वा मैले केही काम गर्न सक्ने भएकोले हुँदै होइन। परमेश्वरका वचनहरूको अगुवाइ वा पवित्र आत्माको अन्तर्दृष्टिविना मेरो क्षमता जति नै भए पनि वा म जति राम्रो बोल्न सक्ने भए पनि, कहिल्यै केही हासिल गर्नेथिइनँ। र मैले गरेको यो थोरै काम सृष्टि गरिएको प्राणीको रूपमा मैले पूरा गरेको कर्तव्य थियो। यो मेरो जिम्मेवारी थियो। कर्तव्य जेसुकै भए पनि यो सृष्टि गरिएको प्राणीले गर्नुपर्ने कुरा हो। हासिल गरिएको कुनै पनि कुरा केवल गरिनुपर्ने कुरा हो र यो हाम्रो व्यक्तिगत योगदान वा पूँजी हुनु हुँदैन। तैपनि, म कस्तो छु भन्ने मलाई थाहा थिएन। केही उपलब्धिहरू प्राप्त गर्नुको अर्थ मेरो क्षमता राम्रो छ र म आफ्नो काममा राम्रो छु भन्ने मलाई लागेको थियो र मैले त्यस कुरालाई फाइदा लिने स्रोतको रूपमा लिएको थिएँ। म परमेश्वरको महिमा चोर्ने प्रयास गर्दै आफैप्रति अत्यन्तै खुसी थिएँ। म साह्रै अहङ्कारी र अव्यावहारिक थिएँ! वास्त्वमा, यसबारे विचार गर्दा, मैले अहङ्कारी भई काम गर्दा केही पनि हासिल गरिनँ मात्रै होइन, तर हाम्रो काममा अक्सर ढिलाइ पनि गराएँ। जस्तै, मैले लापरवाहीसाथ मलजलको काममा गलत व्यक्तिलाई राख्दा, धेरै जना नवप्रवेशीहरूले आफूलाई चाहिएको मलजल र पोषण समयमा प्राप्त गर्न सकेनन्, मण्डलीको काममा गम्भीर रूपले वाधा पुग्यो। त्यति नै बेला, म सत्यता सिद्धान्तहरूभित्र प्रवेश गरिरहेको थिइनँ वा अरूलाई तिनीहरूको कर्तव्यमा सिद्धान्तहरू पछ्याउन नेतृत्व गरिरहेको थिइनँ। त्यसको अर्थ, हामीले आफ्ना कर्तव्यमा उपलब्धि हासिल गरिरहेका थिएनौं र त्यसले हाम्रो प्रगतिमा ढिलाइ गर्यो। तर मैले ती सबै कुरामा कहिल्यै चिन्तन गरिनँ। बरु, आफैलाई स्याबासी दिएँ र अझ धेरै अहङ्कारी बनेँ, मण्डलीको काम मविना चल्न सक्दैन भन्ठानेँ। तर यदि परमेश्वरले मलाई अन्तर्दृष्टि दिन सक्नुभयो भने, अवश्य नै अरूलाई पनि अन्तर्दृष्टि दिन सक्नुहुन्थ्यो, त्यसैलेमेरो बर्खासीपछि पनि मण्डलीको काम सामान्य रूपमा नै अघि सक्नेथिएन र? मण्डली मविना अघि बढ्नै सक्दैन भन्ने मैले सोचेँ, किनभन म अहङ्कारी र अज्ञानी थिएँ। मलाई अनुग्रहको युगका पावलबारे याद आयो। तिनले केही काम गरेपछि आफूसँग केही पूँजी छ भन्ने सोचेँ, त्यसकारण तिनले अरू कसैको बारेमा केही सोचेनन्। तिनले आफू सबैभन्दा महान चेलाभन्दा कम नरहेको प्रत्यक्ष रूपमा भने, र अक्सर पत्रुसलाई हेप्थे। अन्त्यमा, तिनले परमेश्वरसँग इनाम अर्थात् मुकुट माग्न आफ्नो कामलाई प्रयोग गर्ने प्रयास गरे। तिनी यति हदसम्म अहङ्कारी थिए कि तिनले आफ्नो तर्कशक्ति गुमाएका थिए। के म पनि पावल जस्तै थिइनँ र? म तिनकै मार्गमा थिएँ। परमेश्वरका वचनहरूको न्याय र प्रकाश नभएको भए, मलाई अझै पनि आफना समस्याबारे थाहा हुनेथिएन र आफूलाई महान् सोचिरहेको हुनेथिएँ। यी सबै देख्दा, मलाई साँच्चै आफूप्रति घृणा जाग्यो। मैले परमेश्वरमा पाप स्वीकार गरेर पश्चात्ताप गर्न चाहेँ।
त्यसपछि परमेश्वरका वचनहरूको एउटा खण्ड पढेँ: “के कसैलाई परमेश्वरले मानवजाति र सारा सृष्टिबीच कति वर्षदेखि काम गरिरहनुभएको छ भन्ने थाहा छ? परमेश्वरले काम गर्नुभएको र सारा मानवजातिलाई व्यवस्थापन गर्नुभएको ठ्याक्कै कति वर्ष भयो भन्ने कुरा अज्ञात छ; कसैले पनि ठ्याक्कै सङ्ख्या दिन सक्दैन, र परमेश्वर यी कुराहरूबारे मानवजातिलाई बताउनुहुन्न। तैपनि, यदि शैतानले यस्तो काम गऱ्यो भने, के यसले यसबारे बताउनेथिएन र? अवश्य नै बताउनेथियो। यसले अझ धेरै मानिसलाई बहकाउन र अझ धेरै मानिसलाई यसको योगदानबारे सचेत गराउनका लागि आफ्नो प्रदर्शन गर्न चाहन्छ। परमेश्वरले किन यी कुराहरूका बारेमा बताउनुहुन्न? परमेश्वरको सारको एउटा नम्र र गुप्त पक्ष छ। नम्र र गुप्त हुनुको विपरीत के हो? यो अहङ्कारी हुनु र आफूलाई देखाउनु हो। … परमेश्वर मानवजातिलाई अगुवाइ गर्दै, यस्तो ठूलो काम गर्नुहुन्छ, र उहाँ सम्पूर्ण ब्रह्माण्डको नेतृत्व गर्नुहुन्छ। उहाँको अख्तियार र शक्ति अत्यन्तै विशाल छ, तैपनि उहाँले कहिल्यै ‘मेरो शक्ति असाधारण छ’ भनेर भन्नुभएको छैन। उहाँ सबै थोकमाझ लुकेर बस्नुहुन्छ, सबै कुरामाथि शासन गर्नुहुन्छ, मानवजातिलाई खुवाउनुहुन्छ र भरणपोषण गर्नुहुन्छ, र सबै मानवजातिलाई पुस्तौँ पुस्तासम्म निरन्तर अघि बढ्न दिनुहुन्छ। उदाहरणका लागि, हावा र घामलाई वा पृथ्वीमा मानव अस्तित्वका लागि आवश्यक रहेका सबै भौतिक कुरालाई लिऊँ—ती सबै निरन्तर रूपमा चलिरहन्छन्। परमेश्वरले मानिसका लागि प्रदान गर्ने कुरामा कुनै प्रश्न छैन। यदि शैतानले कुनै असल काम गरेको भए, के यसले चुपचाप काम गर्नेथ्यो, र अज्ञात नायक बन्नेथ्यो? कहिल्यै त्यसो गर्नेथिएन। त्यो त मण्डलीमा रहेका कतिपय ख्रीष्टविरोधी जस्तै हो, जसले पहिले खतरनाक काम गरेका थिए, विभिन्न कुरा त्यागेका थिए र कष्ट भोगेका थिए, सायद जेलसमेत गएका थिए; कति जनाले परमेश्वरको घरको कामको एउटा पक्षमा योगदान दिएका पनि हुन सक्छन्। तिनीहरू यी कुरा कहिल्यै बिर्सँदैनन्, तिनीहरू ती कुराका लागि जीवनभरको श्रेय पाउनुपर्छ भन्ने सोच्छन्, तिनीहरू यी कुरालाई आफ्नो जीवनकालको पूँजी ठान्छन्—यसले मानिसहरू कति सानो छन् भन्ने कुरा देखाउँछ! मानिसहरू साँच्चै नै साना हुन्छन्, र शैतान निर्लज्ज हुन्छ” (वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग दुई))। “परमेश्वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ र मानवजातिको हेरचाह गर्नुहुन्छ, र मानवजातिको निम्ति चासो देखाउनुहुन्छ, साथै उहाँले निरन्तर र अटुट रूपमा मानवजातिको भरणपोषण गर्नुहुन्छ। उहाँले आफ्नो हृदयमा यसलाई थप काम वा धेरै श्रेय लिनुपर्ने कुरा हो भन्ने महसुस गर्नुहुन्न। न त उहाँले कहिल्यै मानवजातिलाई मुक्ति दिने, तिनीहरूको निम्ति आपूर्ति गर्ने र तिनीहरूलाई सबै कुरा प्रदान गर्ने कुराले मानवजातिको निम्ति ठूलो योगदान गरिरहेको छ भन्ने नै ठान्नुहुन्छ। उहाँले चुपचाप शान्तिसाथ उहाँको आफ्नै तरिकाले र उहाँको आफ्नै सार र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ त्यस मार्फत मानवजातिको भरणपोषण गर्नुहुन्छ। मानवजातिले उहाँबाट जति भरणपोषण र जति सहायता पाए पनि परमेश्वरले कहिल्यै त्यसको श्रेय लिने बारेमा सोच्नुहुन्न वा त्यसो गर्ने कोसिस गर्नुहुन्न। यसको निर्धारण परमेश्वरको सारले गर्छ र ठ्याक्कै यही नै परमेश्वरको स्वभावको साँचो अभिव्यक्ति हो” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् १)। मैले परमेश्वरका वचनहरूमा मनन गरेँ, र उहाँको स्वभाव र सार कति दयालु छन् भन्ने देखेँ! परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ जसले सबै थोकमाथि शासन गर्नुहुन्छ र सबैको पूर्णरूपले भरणपोषण गर्नुहुन्छ। उहाँ फेरि देह बन्नुभएको छ, मानवजातिलाई मुक्ति दिन सत्यता व्यक्त गर्नुभएको छ र हाम्रो लागि ठूलो मूल्य चुकाउनुभएको छ। तर उहाँले यसलाई मानवजातिप्रति ठूलो योगदान हो भनेर कहिल्यै सोच्नुभएको छैन। उहाँले कहिल्यै पनि यसबारे धाक लगाउने वा घमण्ड गर्ने गर्नुभएको छैन। उहाँले आफ्ना सबै काम चुपचाप गर्नुहुन्छ। परमेश्वरको सार असाध्यै दयालु, कुनै पनि प्रकारको अहङ्कार वा आडम्बरविहीन छ। उहाँ प्रेम र अनन्त प्रशंसाको योग्य हुनुहुन्छ। म नगण्य मानव हुँ, अरू केही होइन, तर म अझै एकदमै अहङ्कारी थिएँ, जहिले पनि अन्तिम निर्णय गर्ने चाहन्थेँ। म अलिकति सफलताले पनि मात्तिएको थिएँ, मानौं मैले कुनै महान् काम गरेको छु, कुनै ठूलो योगदान दिएको छु। म सबैलाई तुच्छ ठान्थेँ र आफ्नो तरिकाले काम गर्न लगाउँथेँ। म अत्यन्तै अव्यावहारिक र सतही व्यक्ति थिएँ। परमेश्वर अत्यन्तै नम्र र गुप्त हुनुहुन्छ, र उहाँको सार अत्यन्तै दयालु छ, यसले मलाई मेरो अहङ्कारी स्वभाव कति दुःखलाग्दो र घिनलाग्दो छ भनेर अझ धेरै महसुस गराउँछ र यसबाट जतिसक्दो चाँडो अलग भएर मानव रूपमा जिउनको लागि साँचो अर्थमा सत्यता सिक्ने चाहना जगाउँछ।
त्यसपछि, एउटा भेलामा मैले परमेश्वरका वचनहरूको यो खण्ड पढेँ। परमेश्वर भन्नुहुन्छ: “आज परमेश्वर तिमीहरूको न्याय गर्नुहुन्छ, तिमीहरूलाई सजाय दिनुहुन्छ, र तिमीहरूलाई दोषी ठहराउनुहुन्छ, तर तैँले के थाहा पाउनुपर्छ भने, तँलाई दोषी ठहराउनुको उद्देश्य तैँले आफैलाई चिन्नु हो। उहाँ तँलाई दोषी ठहराउनुहुन्छ, सराप्नुहुन्छ, न्याय गर्नुहुन्छ, र सजाय दिनुहुन्छ, ताकि तँ आफूलाई चिन्न सक्, ताकि तेरो स्वभाव परिवर्तन हुन सकोस्, र यसभन्दा पनि बढी, ताकि तँ आफ्नो मूल्य जान्न सक्, र परमेश्वरका सबै कार्य धर्मी छन् र उहाँको स्वभाव र उहाँको कामका आवश्यकताहरूअनुसार छन्, र उहाँ मानिसको मुक्तिसम्बन्धी आफ्नो योजनाअनुसार काम गर्नुहुन्छ, अनि उहाँ मानिसलाई प्रेम गर्नुहुने र मुक्ति दिनुहुने, अनि न्याय गर्नुहुने र सजाय पनि दिनुहुने धर्मी परमेश्वर हुनुहुन्छ भनी देख्न सक्” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। तैँले हैसियतका आशिष्हरूलाई पन्छ्याउनुपर्छ र मानिसलाई मुक्ति दिने परमेश्वरको अभिप्रायलाई बुझ्नुपर्छ)। यो कुरा पढ्दा, परमेश्वरका वचनहरूद्वारा म अत्यन्तै प्रभावित भएँ र अलिक राम्ररी उहाँको इच्छालाई बुझेँ। मैले आफ्नो अहङ्कारी स्वभावमा भर पर्दै र काममा बाधा पुऱ्याउँदै आफ्नो कर्तव्य निर्वाह गरिरहेको थिएँ, त्यसकारण मण्डलीले मलाई सिद्धान्तहरूको आधारमा बर्खास्त गऱ्यो। परमेश्वरले मलाई खुलासा गर्दैहुनुहुन्छ र हटाउँदैहुनुहुन्छ भनेर सोचेँ, अनि उहाँले मलाई निन्दा गर्दैहुनुहुन्छ र मैले मुक्ति पाउन सक्दिनँ भन्ने मलाई लाग्यो। मैले बल्ल महसुस गरेँ, बर्खास्त हुनु भनेको पर्दाफास हुनु वा हटाइनु होइन रहेछ। त्यो बर्खास्तीले मैले चालिरहेको दुष्ट कदमलाई समयमै रोक्यो। यसले मलाई आफ्नो भ्रष्ट स्वभावबारे अवगत गरायो र म गलत मार्गमा छु भनेर देखायो। त्यो परमेश्वरको मुक्ति र मप्रतिको उहाँको सच्चा प्रेम थियो।
त्यसपछि, मैले एउटा भेलामा पहिला म आफ्नो कर्तव्यमा कत्ति अहङ्कारी भएको थिएँ, मैले दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी चोट पुर्याएको थिएँ, र बर्खास्त भएपछि कसरी मनन गरेँ भन्नेबारे आफूलाई खुलासा र चिरफार गरेँ। सुरुमा त, म यति अमानवीय बनेकोमा सबैले मलाई घृणा गर्नेछन् र मसँग कुनै सम्बन्ध राख्न चाहँदैनन् होला भन्ने मैले सोचेको थिएँ, तर अचम्मको कुरा, तिनीहरूले मलाई त्यस्तो केही गरेनन्। त्यसपछि त मलाई तिनीहरूप्रति झनै ऋणी भएको महसुस समेत भयो। मैले आफ्नो अहङ्कारी स्वभावद्वारा सबैलाई चोट पुर्याइरहेको थिएँ, म अत्यन्तै अमानवीय व्यक्ति भएको थिएँ। पछि, जब मैले फेरि पनि दाजुभाइ-दिदीबहिनीहरूसँग एउटा कर्तव्य लिएँ, म निकै सामान्य भएँ। मैले दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूको गल्तीको निम्ति तुच्छ ठान्न वा इन्कार गर्न छोडेँ र तिनीहरूलाई उचित तरिकामा व्यवहार गर्न सकेँ। मैले समस्याहरूका विषयमा अरूले दिने सुझावहरू सचेत भई सुन्ने प्रयास पनि गर्न थालेँ, र आफूलाई अत्यन्तै बढी भरोसा गर्न र मनमानी गर्न छोडेँ। केही समयपछि मेरो स्थितिमा राम्रो परिवर्तन आयो र म फेरि सुपरिवेक्षकको रूपमा नियुक्त भएँ। यो त परमेश्वरले मलाई उठाउनुभएको र अनुग्रह गर्नुभएको हो भनेर मलाई भित्रैबाट थाहा भयो। म पहिले आफ्नो कर्तव्यमा कत्ति अहङ्कारी भएको थिएँ, अनि मैले मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा कति बाधा र रोकावट ल्याएको थिएँ र कसरी मण्डलीले मलाई त्यस्तो महत्त्वपूर्ण कर्तव्य पूरा गर्ने अर्को मौका दिएको थियो भनेर सोचेँ। मैले साँच्चै नै परमेश्वरको कृपा र कोमलता अनुभव गरेँ। त्यसपछि मैले आफ्नो कर्तव्यमा स्वेच्छाचारी व्यवहार नगर्न आफ्नो अहङ्कारी स्वभावमा भर पर्न छोडेँ, र अलिअलि भए पनि ममा परमेश्वरको भय मान्ने हृदय थियो, र आफ्नो कर्तव्यमा म निरन्तर उहाँलाई प्रार्थना गरिरहेको हुन्थेँ। मैले समाधान गर्न नसक्ने कुनै समस्या आइपर्दा, सँगै सत्यता सिद्धान्तहरू खोजी गर्न सकौँ भनेर अरूसँग यसबारे छलफल गर्थें। केही समयसम्म त्यसो गरिसकेपछि मलाई हाम्रो सम्पूर्ण समूहको कार्य-प्रस्तुतिमा निकै सुधार भएको छ भन्ने महसुस भयो। मैले सबै कुरा आफै गर्दा र सहकार्य नगर्दा वा कामकुराबारे अरूसित छलफल नगर्दा, मलाई निकै थकाइ लाग्थ्यो। मैले धेरै कुरालाई राम्रोसँग ध्यान दिइरहेको वा विचार गरिररहेको थिइनँ, त्यसैले हामीले असल परिणामहरू प्राप्त गरेनौँ। तर अहिले म दाजुभाइ-दिदीबहिनीहरूले सामना गरेका समस्याबारे छलफल गर्छु र हामी एकअर्काको कमीकमजोरीलाई आपसी सामर्थ्यले परिपूर्ति गर्छौं, यसले गर्दा समस्याहरू समाधान गर्न निकै सजिलो हुन्छ। अरूसँग सहकार्य गरेर मैले तिनीहरूसँग साँच्चै सबल पक्ष छन् भन्ने देख्न सकेँ। तिनीहरूमध्ये कतिपयले आफ्ना कर्तव्यमा सत्यता खोज्न ध्यान दिन्छन् र सिद्धान्तअनुसार कार्य सञ्चालन गर्छन्। कतिपयसँग त्यति धेरै क्षमता नभए पनि, तिनीहरू लगनशील छन् र मण्डलीको कामलाई समर्थन गर्छन्। ती मसँग नभएका सबल पक्ष हुन्। पहिला म आफूलाई अरूभन्दा उच्च र बलियो ठान्थेँ, अक्सर आफूलाई उचाल्थेँ र तिनीहरूलाई हपार्थेँ, सबैलाई विवश र विमुख पारिएको महसुस गराउँथेँ। तर अहिले मलाई थाहा छ, म केवल सृष्टि गरिएको एक भ्रष्ट मानव हुँ, अनि मलाई अरू सबैभन्दा विशेष बनाउने त्यस्तो कुनै कुरा छैन। म दाजुभाइ-दिदीबहिनीहरूसँग सामान्य तवरमा अन्तरक्रिया गर्छु र मिलेर सहकार्य गर्छु। म आफ्ना दोषहरू सुधार्न दाजुभाइ-दिदीबहिनीहरूको सामर्थ्यबाट सिक्न सक्छु। यो, जिउने निकै स्वतन्त्र र सजिलो तरिका हो।
लगभग एक वर्षपछि हाम्रा अगुवाले सारांश सभाको बन्दोबस्त गरे, ताकि सबैले त्यस वर्ष आफूले सिकेका र अनुभव गरेका कुरामा सङ्गति गर्न सकून्। मैले त्यस वर्ष आफूले प्राप्त गरेका कुराबारे विचार गर्दै चुपचाप सुनेँ। त्यसपछि मलाई के महसुस भयो भने, परमेश्वरले मलाई प्रतिस्थापित गरेर बचाउनुभएको रहेछ। यदि त्यस्तो नभएको भए, मैले आफ्नो अहङ्कारी स्वभाव कति गम्भीर छ, मसँग केही वरदान भएको हुनाले म आफैप्रति गर्व गर्ने र स्वेच्छाचारी छु भन्ने कुरा अझै देख्नेथिइनँ, अनि मैले परमेश्वरको विरोध गरिरहेको छु भनेर अझै बुझेको हुनेथिइनँ। परमेश्वरको अनुशासन अनि उहाँका वचनहरूको प्रकाशमार्फत मात्रै मैले आफ्नो अहङ्कारी स्वभावलाई चिन्न सकेँ। यसले मलाई परमेश्वरको धर्मी स्वभावबारे पनि केही सिकायो र मलाई अलिअलि भए नि परमेश्वरको भय मान्ने हृदय धारण गर्ने बनायो। परमेश्वरको मुक्तिप्रति म अत्यन्तै कृतज्ञ छु!