३४. घरको बन्धनबाट मुक्त भएँ
सन् २०१२ को जूनमा मैले सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कार्य स्वीकार गरेँ। मैले परमेश्वरका वचनहरू पढेर, सर्वशक्तिमान् परमेश्वर मानवजातिलाई मुक्ति दिन पृथ्वीमा आउनुभएका मुक्तिदाता, फर्की आउनुभएका प्रभु येशू हुनुहुन्छ भनी निश्चित रूपमा थाहा पाएँ, र म उत्साहले भरिएँ। मैले मेरा श्रीमानलाई सम्झेँ, जो चीनमा स्नातक तहमा विद्यार्थी छँदा आफ्ना सुपरिवेक्षकसँग मण्डलीमा अक्सर जाने गर्नुहुन्थ्यो। उनी विदेश गएपछि पनि स्थानीय चिनियाँ समुदायसँग मण्डलीमा जाने गर्नुहुन्थ्यो। म उहाँलाई जतिसक्दो चाँडो सुसमाचार सुनाउन चाहन्थेँ।
सेप्टेम्बरको सुरुमा मेरा श्रीमान् चीन फर्किनुभयो र मैले उहाँलाई सर्वशक्तिमान् परमेश्वरका आखिरी दिनहरूको कामबारे गवाही दिएँ। सुसमाचार सुनेपछि मलाई चकित पार्दै अनलाइनमार्फत् उहाँले चिनियाँ कम्युनिस्ट पार्टीले रचेका हरप्रकारका अफवाह र सर्वशक्तिमान् परमेश्वरको मण्डलीको बदनाम गर्ने नकरात्मक फन्डाहरू फेला पार्नुभयो। अनि, उहाँले मलाई रिसले चूर भएर हेर्नुभयो र चिच्याउनुभयो, “यहाँ हेर! तिमीले जेमा विश्वास गर्छौ, त्यो पूर्वीय ज्योति हो, जसविरुद्ध वर्षौंदेखि चिनियाँ कम्युनिष्ट पार्टीले कारवाही चलाउँदै आएको छ। तिनीहरूले पक्राउ गर्नेबित्तिकै तिमीलाई सजाय दिएर जेल पठाउनेछन्। अबउप्रान्त तिमीलाई यसमा विश्वास गर्ने अनुमति छैन!” त्यसपछि उहाँले परमेश्वरका वचनहरूको मेरा सबै पुस्तकहरू च्यातिदिनुभयो। त्यस समयमा, त्यति बेला, मैले सोचेँ, एकछिनका लागि चिनियाँ कम्युनिष्ट पार्टीको धोकामा परेको कारण मेरो श्रीमानले मेरो विरोध गर्नुभएको हो तर उहाँले पछि बुझ्नुहुनेछ। तर जेसुकै भए पनि परमेश्वरमा विश्वास गर्नु जीवनको सही मार्ग हो भन्ने मलाई थाहा थियो, र म यसलाई कदापि त्याग्नेवाला थिइनँ। त्यसपछि, मेरो श्रीमानले मेरा गतिविधिहरू पत्ता लगाउन हरदिन मलाई फोन गर्नुभयो। त्यस समयमा, म स्नातक तहको विद्यार्थी थिएँ, त्यसैले, उहाँको निगरानीदेखि बच्न, मैले स्कुलनजिकैका भेलाहरूमा भाग लिन्थेँ र सप्ताहान्तहरूमा मात्रै घर जान्थेँ। सन् २०१२ को अन्त्यमा, चिनियाँ कम्युनिष्ट पार्टीले सर्वशक्तिमान् परमेश्वरको मण्डलीको विरुद्धमा अझ उन्मत्त रूपमा दमन र पक्राउ अभियान सुरु गर्यो। इन्टरनेट, टिभी र पत्रपत्रिकाहरूमा जताततै सर्वशक्तिमान् परमेश्वरको मण्डलीलाई भत्सर्ना र निन्दा गर्ने अफवाह र भ्रमहरू थिए, र सरकाले यही बहानामा हरठाउँबाट विश्वासीहरूलाई पक्राउ गर्दै आएको थियो। परमेश्वरमा विश्वास गरेको कारण मलाई पक्राउ गरिनेछ भनी मेरो श्रीमान् डराउनुभएको थियो, जसले उहाँ र हाम्री छोरीलाई असर गर्न सक्नेथियो, त्यसैले मप्रति उहाँका प्रतिबन्धहरू झन् झन् कडा हुँदै गए। यदि मैले परमेश्वरमा विश्वास गर्न जारी राखेमा उहाँले सम्बन्धविच्छेद गर्नेछु भनेरसमेत मलाई धम्की दिनुभयो। यो सुनेर म धेरै उदास भएँ। चीनमा रही परमेश्वरमा विश्वास गर्दा हामीले जेल सजायको खतरा मात्र होइन, हाम्रा गैरविश्वासी परिवारको सतावट पनि भोग्छौँ। हाम्रो निम्ति परिस्थिति धेरै कठिन छ! हामीले सम्बन्धविच्छेद गर्यौँ भने हाम्रो छोरीलाई के होला? मलाई कर्तव्य निर्वाह गर्न कुनै रुचि भएन। म वास्तवमै दयनीय अवस्थामा थिएँ।
जब एकजना सिस्टरले मेरो अवस्थाको बारेमा जानिन्, तब उनले मेरो लागि परमेश्वरको वचनबाट एउटा खण्ड पढिदिइन्। परमेश्वर भन्नुहुन्छ: “परमेश्वरले मानिसहरूमा गर्ने कामको प्रत्येक कदम बाहिरी रूपमा मानिसहरूबीचको अन्तरक्रियाजस्तो देखिन्छ, मानौँ यो मानव प्रबन्ध वा मानव बाधाबाट उत्पन्न भएको हो। तर कामको प्रत्येक कदमपछाडि, र आइपर्ने सबै कुरा परमेश्वरसामु शैतानले थापेको बाजी हो, र तिनका लागि मानिसहरू परमेश्वरका लागि गवाहीमा दृढ रहनु आवश्यक हुन्छ। उदाहरणका लागि, अय्यूबको परीक्षा लिइएको घटना लिऊँ: पर्दापछाडि, शैतान परमेश्वरसँग बाजी थापिरहेको थियो, र अय्यूब भने मानिसहरूका कार्य र बाधाहरूको सामना गरिरहेको थियो। तिमीहरूमा परमेश्वरले गर्नुहुने कामको प्रत्येक कदमपछाडि शैतानले परमेश्वरसँग थापेको बाजी हुन्छ—यसको पछाडि एउटा लडाइँ हुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई प्रेम गर्नु मात्रै साँचो रूपमा परमेश्वरलाई विश्वास गर्नु हो)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने बाह्य रूपमा यी कठिन परिस्थितिहरू मेरो श्रीमानले मलाई प्रतिबन्ध लगाउनु र सताउनु थियो, तर वास्तवमा यसको पछाडि शैतानको चालबाजी र बाधा थियो। परमेश्वरले मलाई मुक्ति दिन गर्न चाहनुहुन्छ तर शैतानले चाहिँ मलाई परमेश्वरलाई त्याग्न र उहाँको मुक्ति गुमाउने तुल्याउन र अन्त्यमा गएर आफूसितै नरकमा घिस्याउनका निम्ति सबै प्रकारका बाधा र अवरोधहरू ल्याउँछ। शैतान अति अनिष्टकारी र क्रुर छ! यो कुरा थाहा पाएपछि, मैले परमेश्वरलाई प्रार्थना गरेँ, “परमेश्वर, मेरो कद अति सानो छ, त्यसैले तपाईंले मलाई विश्वास दिनुहोस् र मलाई शैतानका विघ्नवाधाहरूविरुद्ध दृढ़ भई खडा हुन सक्षम तुल्याउनुहोस् भनी बिन्ती गर्छु। मेरो श्रीमाले मसित सम्बन्धविच्छेद नै गरे पनि म तपाईंलाई विश्वासघात गर्ने छैन, म शैतानका युक्तिहरूमा फस्नेछैनँ।” मैले प्रार्थना गरिसकेपछि, मलाई सहन धेरै गाह्रो भएन, अनि मैले सुसमाचार फैलाउन र आफ्नो कर्तव्य पूरा गर्न जारी राखेँ।
यसको केही समयपछि नै, एउटा भेलामा हुँदा मलाई प्रहीले पक्राउ गर्यो। प्रहरीले मलाई “सामाजिक व्यवस्था बिथोलेको” आरोप लगाए र तीस दिनसम्म हिरासतमा राखे। सोधपुछ गर्दा, प्रहरीले मलाई धम्क्याए, “परमेश्वरमा विश्वास गरेको कारण तिमी पक्राउ परेको कुरा तिम्रो स्कुललाई थाहा भइसक्यो र तिमीलाई निष्कासन गर्ने भनेका छन्। तर, तिमीले हामीसित सहकार्य गर्यौ र तिमीलाई जे थाहा छ, सो हामीलाई बतायौ भने, हामी तिम्रो पक्षमा डिनसित कुरा गर्नेछौँ र तिम्रो स्नातकको पढाइ जारी रहन सक्नेछ। यसबारेमा गम्भीर भएर सोच!” तिनीहरू गएपछि, मैले जेलको चिसो फलामे डन्डीलाई हेरेँ, मलाई पूरै हताश र दयनीय महसुस भयो। मैले सोचेँ, “यदि परमेश्वरमा विश्वास गरेको कारण मलाई स्कुलबाट निकालियो भने, यो राजनैतिक मामला हुनेछ, र यो मेरो विद्यार्थी अभिलेख र प्रहरी फाइलमा अभिलेख गरिनेछ। कुनै अस्पतालले पनि मलाई कहिल्यै रोजगार दिनेछैन, र डाक्टर हुने मेरो सपना चकनाचूर हुनेछ। ३० वर्षको उमेरमै मेरो अध्ययन, काम र भविष्य सबै सकिनेछ। म भविष्यमा कसरी जिउने? मैले मेरा वरिपरिका मानिसहरूको भेदभाव र उपहासलाई कसरी सामना गर्ने?” केही दिनसम्म, मैले राम्रोसित खान र सुत्न सकिनँ।
त्यस समयमा, मैले यसबारे बारम्बार प्रार्थना गर्थें। एक बिहान, मैले आफैलाई अचेतन रूपले “सबैभन्दा अर्थपूर्ण जीवन” शीर्षकको परमेश्वरको वचनको भजन गुनगुनाइरहेको पाएँ: “तँ सृजित प्राणी होस्—तैँले अवश्य पनि परमेश्वरको आराधना गर्नुपर्छ र अर्थपूर्ण जीवन पछ्याउनुपर्छ। तँ मानव भएकाले तैँले आफूलाई परमेश्वरप्रति समर्पित गर्नुपर्छ र सबै दुःख भोग्नुपर्छ। तैँले आज आफूलाई परेको सानो कष्टलाई खुसीसाथ र निर्धक्क भएर स्वीकार गर्नुपर्छ, अनि अय्यूब र पत्रुसले जस्तो अर्थपूर्ण जीवन जिउनुपर्छ। तिमीहरू सही मार्ग पछ्याउने र सुधारको खोजी गर्ने मानिस हौ। तिमीहरू ठूलो रातो अजिङ्गरको देशमा खडा हुन्छौ र तिमीहरू ती हौ, जसलाई परमेश्वर धर्मी भन्नुहुन्छ। के त्यो सबैभन्दा अर्थपूर्ण जीवन होइन र?” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यास (२))। मैले त्यो भजन गाउँदा त्यसले विशेष रूपले मेरो हृदय छोएको महसुस गरेँ, र मैले मेरा आँसुहरू रोक्न सकिनँ। म सृष्टि गरिएको एक प्राणी हुँ र मैले अवश्य नै परमेश्वरलाई विश्वास र आराधना गर्नुपर्छ। यो मैले गर्ने स्वाभाविक र सही कुरा हो। प्रभुमा विश्वास गर्ने परिवारमा मेरो जन्म हुने कुरा परमेश्वरले नै निर्धारित गर्नुभयो ताकि सानै उमेरदेखि नै मैले परमेश्वरको अस्तित्वलाई जान्न सकूँ। आखिरी दिनहरूमा, परमेश्वरले ममाथि अनुग्रह देखाउनुभयो र प्रभुको आवाज सुन्ने र उहाँलाई ग्रहण गर्ने मौका दिनुभयो। उहाँले मलाई परमेश्वरको वचनको सिञ्चन र आपूर्ति उपभोग गर्ने, त्यसको न्याय र शुद्धीकरणलाई स्वीकार गर्ने र परमेश्वरमार्फत मुक्ति प्राप्त गर्ने मौका दिनुभयो। यो अविश्वसनीय आशिष् हो! पुस्तौँपुस्ता परमेश्वरलाई पछ्याएका धेरै मानिसहरूको बारेमा मैले सोचेँ। परमेश्वरको सुसमाचार फैलाउन, तिनीहरूले सतावट र कठिनाइ सहे, धेरैले त आफ्नो जीवन पनि दिए। तिनीहरू सबैले परमेश्वरका निम्ति सुन्दर, गुञ्जायमान् गवाही सृजना गरे। त्यसको तुलनामा त मेरो थोरै कष्ट के नै थियो र? मैले सोचेँ, “यदि मैले आफ्ना स्वार्थहरू र भविष्यलाई रक्षा गर्न परमेश्वरलाई विश्वास गर्न छोड्छु भने, के मसित अझै विवेक हुन्छ त? के म मानिस कहलिन योग्य हुन्छु र?” यो सोचले मलाई शक्ति दियो र मैले शपथ खाएँ मलाई निष्कासन गरिए गरियोस् वा मेरो भविष्य र भवितव्य पछि जेसुकै होस्, र मेरो वरिपरिका मानिसहरूले मलाई जसरी तिरष्कार र निन्दा गरे नि गरून्, म कहिल्यै पनि परमेश्वरलाई विश्वासघात गर्नेछैनँ र म परमेश्वरको गवाही भई खडा हुनेछु। मलाई अन्तिमपटक सोधपुछ गर्दा, मैले धेरै शान्तपूर्वक प्रहरीलाई बताएँ, “यदि स्कुलले मलाई निष्कासन गर्यो भने, म यति मात्र आग्रह गर्छु कि तपाईंले मेरो श्रीमानलाई स्कुल गएर मेरा सरसामान लिइदिन भनिदिनुहोस्।” जब प्रहरीले म दृढ रहेको देखे, तिनीहरू निरुत्साहित भएर गए। म परमेश्वरप्रति धेरै कृतज्ञ थिएँ।
मलाई रिहा गरिएपछि, मेरो श्रीमानले मलाई रिसाउँदै भन्नुभयो, “प्रहरीले मलाई भनेको छ, यदि परमेश्वरलाई फेरि विश्वास गरेर तिमी पक्राउ पर्यौ भने एक महिनाको कैद मात्र हुनेछैन। यसले म र मेरी छोरीलाई पनि असर गर्नेछ। हाम्री छोरीको विश्वविद्यालय र जागिरको सम्भाव्यतामा असर पर्नेछ, र उनले राम्रो सार्वजनिक सेवामा काम गर्न सक्नेछैनन्। के तिमीले बुझ्यौ? परमेश्वरलाई विश्वास गरेको कारण तिमीलाई पक्राउ गरिएकोले मैले पनि एक महिना कष्ट भोगेँ। म कतिचोटि रोएँ भनी म तिमीलाई बताउन सक्दिनँ, र म झण्डैले गाडी दुर्घटनामा परेँ। तिमीलाई थुनाकेन्द्रबाट निकाल्न म सहयोगको भीख माग्दै हिँडेँ र आफैलाई पूरै लज्जित बनाएँ! म फेरि कहिल्यै पनि त्यसरी कष्ट भोग्न चाहन्नँ। के तिमी विश्वास गर्न छोड्न र हाम्रो परिवारको बारेमा ज्यादा सोच्न सक्दैनौ?” त्यसपछि, मलाई मेरा दाजुभाइ-दिदीबहिनीहरूसित सम्पर्क गर्नदेखि रोक्न, उहाँले मलाई अपराधी नै हो कि जस्तो गरी निगरानी गर्नुभयो। उहाँले मलाई घर छोड्न दिनुभएन र बिलकुलै कुनै स्वतन्त्रता दिनुभएन। उहाँ काममा जानुहुँदा उहाँले मलाई हेर्न आफ्नी आमा लगाउनुभयो। उहाँले म कहाँ छु र के गरिरहेको छु भनेर सोध्न निरन्तर फोन गर्नुहुन्थ्यो। चिनियाँ कम्युनिष्ट पार्टीलाई अवज्ञा गरेमा हुने परिणामहरूको बारेमा मलाई सचेत गराउन र परमेश्वरमा विश्वास गर्नेबारेमा मसित रहेका विचारहरूलाई निर्मूल गर्न उहाँले चिनियाँ कम्युनिष्ट पार्टीका विभिन्न क्रान्तिकारी गतिविधिहरू र तिनीहरूले प्रयोग गर्ने हिंस्रक विधिहरूको बारेमा मलाई निरन्तर बताउनुहुन्थ्यो। उहाँले यस्तो पनि बताउनुभयो, “चिनियाँ कम्युनिष्ट पार्टीले तिम्रो मण्डलीको बारेमा रचेका अफवाहहरू झुटो हुन् भन्ने मलाई थाहा छ। तिमी परमेश्वरमा विश्वास गर्न चाहन्छौ तर तिनीहरूले गर्न दिँदैनन्। तिमीले अवज्ञा गरेमा, तिनीहरूले तिम्रो जीवन बर्बाद गरिदिनेछन्। सांस्कृतिक क्रान्तिको समयमा र जून ४ को घटनामा दुःखद मृत्यु भोगेका मानिसहरूलाई हेर। यदि तिमीले चिनियाँ कम्युनिष्ट पार्टीलाई अप्रसन्न तुल्यायौ भने, तिमी विदेश भाग्न पनि सक्दैनौँ।” मेरी सासुले पनि थपेर भन्नुभयो, “चिनियाँ कम्युनिष्ट पार्टी राम्रो छैन तर तिनीहरूसित शक्ति छ। हामी केवल महत्वहीन, साधारण मानिसहरू हौँ, तिनीहरूको विरोध गर्न हामीसँग पर्याप्त बल छैन।” त्यसपछि, मलाई परमेश्वरमा विश्वास गरेको कारण स्कूलबाट निष्कासित गरियो, र मेरो श्रीमानले हाम्रो परिवारमा भएका सबै खराब कुराहरूका निम्ति परमेश्वरप्रतिको मेरो विश्वासलाई दोष्याए। जब-जब कुनै कुराले उहाँलाई कष्ट दिन्थ्यो, तब-तब उहाँले मलाई हप्काउनुहुन्थ्यो, गिल्ला गर्नुहुन्थ्यो र मेरो खोइरो नै खन्नुहुन्थ्यो। यस प्रकारको जीवनले मलाई निकै निराश स्थितिमा पुर्यायो, त्यसमाथि, मैले परमेश्वरको वचन पढ्न वा मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई सम्पर्क गर्न सक्दिनथेँ। त्यसैले, म विशेष रूपले दयनीय थिएँ, ती दिनहरू कहिले सकिनेछन्? मलाई थाहै थिएन।
त्यस समयमा, म प्रायः परमेश्वरलाई अन्तर्दृष्टि दिन, मार्गदर्शन गर्न र मलाई उहाँको इच्छा बुझ्न मदत माग्दै प्रार्थना गर्थें। एकदिन, मैले परमेश्वरको वचनको एउटा खण्ड स्मरण गरेँ: “त्यस ठूलो रातो अजिङ्गरले परमेश्वरलाई सताउँछ अनि त्यो परमेश्वरको शत्रु हो, यसैले, यस देशमा रहेका मानिसहरू परमेश्वरमा विश्वास गरेका कारण अपमान र सतावटको सिकार बन्छन्…। परमेश्वरलाई विरोध गर्ने देशमा यो सुरु भएको कारण, परमेश्वरका सबै कामले प्रचण्ड बाधाहरूको सामना गर्छ, अनि उहाँका धेरै वचनहरूतुरुन्तै पूरा हुन सक्दैनन्; यसर्थ, मानिसहरू परमेश्वरका वचनका कारण शोधन गरिन्छन्, जुन पनि कष्टकै भाग हो। त्यो ठूलो रातो अजिङ्गरको देशमा आफ्नो काम पूरा गर्नु परमेश्वरको निम्ति अत्यन्तै गाह्रो हुन्छ—तथापि यही कठिनाइद्वारा नै परमेश्वरले उहाँको बुद्धि र उहाँका अचम्मका कामहरू प्रकट गर्दै, अनि मानिसहरूको यो समूहलाई पूर्ण बनाउन यो मौका प्रयोग गर्दै, उहाँ आफ्नो कार्यको एउटा चरण गर्नुहुन्छ” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?)। परमेश्वरको वचनबाट, मैले बुझेँ कि ठूलो रातो अजिङ्गरले परमेश्वरलाई घृणा गर्छ र उन्मत्त रूपमा उहाँको विरोध गर्छ, चीनमा परमेश्वरका विश्वासीहरूको हैसियतमा हामीले धेरै कष्ट भोग्न विवश छौँ, तर यो कष्ट धेरै अर्थपूर्ण छ। परमेश्वरले हाम्रो विश्वासलाई सिद्ध गर्न र हामीलाई अन्तर्ज्ञान दिनलाई त्यस प्रकारको सतावट र संकष्टको प्रयोग गर्नुहुन्छ। मैले परमेश्वरमा विश्वास गरेको कारणले मात्रै, चिनियाँ कम्युनिष्ट पार्टीले मलाई हिरासतमा राख्यो, स्कुललाई मलाई निष्कासन गर्न लगायो, र मलाई धम्क्याउन र मलाई साँचो बाटो त्याग्न दवाब दिन मेरो परिवारको काम र भविष्यलाई प्रयोग गर्यो। चिनियाँ कम्युनिष्ट पार्टी साँच्चै नै दुष्ट छ! मेरो श्रीमानले मलाई परमेश्वरमा विश्वास गर्नदेखि रोक्ने कोसिस गर्नुभयो किनकि उहाँ तिनीहरूका हिंस्रक कार्बाहीहरूदेखि डराउनुभयो। चिनियाँ कम्युनिष्ट पार्टीको सतावटलाई व्यक्तिगत रूपले अनुभव गर्दा यसले मलाई यसको डरलाग्दो दुष्टता र सत्यलाई घृणा गर्ने पैशाचिक सार देखायो। मैले सोचेँ, “जति बढी चिनियाँ कम्युनिष्ट पार्टीले मलाई सताउँछ, त्यति नै बढी म त्यसलाई इन्कार र परित्याग गर्नेछु र अन्त्यसम्मै परमेश्वरलाई पछ्याउनेछु।” दश महिनापछि, बल्ल मैले दाजुभाइ-दिदीबहिनीलाई सम्पर्क गर्ने मौका पाएँ। अन्त्यमा मैले परमेश्वरको वचन फेरि पढ्न पाउँदा, म अत्यन्तै उत्साहित भएँ, अनि झन् बढी परमेश्वरको वचनको अनमोलता महसुस गरेँ। मैले जति धेरै पढेँ, त्यति नै धेरै आफूलाई ज्योति र जोस मिलेको महसुस गरेँ।
थुप्रै महिनाहरूपछि एकदिन, मेरो श्रीमानले मेरो कोठामा मेरो उपासनाको नोटबुक भेट्टाउनुभयो। जब परमेश्वरमा मैले अझै विश्वास गरिरहेको उहाँले थाहा पाउनुभयो, उहाँ रिसले चूर हुनुभयो र एक मुक्का हालेर मलाई भुईंमा ढाल्नुभयो, त्यसपछि कम्तीमा २० चोटि मेरो टाउकोमा मुक्का बर्साउनुभयो। मलाई तिरिमिरी झ्याइँ भयो, र मेरो टाउकोमा ठूल्ठूला टुटुल्काहरू उठे। मेरो श्रीमानको अनुहार रिसले बलेको र मेरो छ वर्षीया छोरी भयभीत भएर बिलौना गर्न थालेको मलाई सम्झना छ, “मम्मीलाई नहिर्काउनुहोस्! मम्मीलाई नहिर्काउनुहोस्! …” मेरो श्रीमानले मेरो कठालो समातेर मलाई ढोकाबाहिर फ्याँक्नुभयो र रिसले चूर हुँदै भन्नुभयो, “यदि तँ अझै परमेश्वरमा विश्वास गरिरहन्छस् भने मेरो घरबाट बाहिर निस्किहाल्!” जब मैले मेरो श्रीमान्लाई बदलिएको, क्रुर र निर्दयी भएको र हामी वर्षौंसम्म सँगै बस्दा पनि पटक्कै वास्ता नगरेको देखेँ, मेरो हृदय टुट्यो। तर त्योभन्दा पनि, मेरी छोरी उहाँको प्रचण्ड रिसदेखि भयभीत भएको देख्नु सबैभन्दा असहनीय कुरा थियो। उहाँ मेरो नजिकै आउँदा, उनी सोच्थिन् कि उहाँले मलाई पिट्न लागिरहनुभएको छ, त्यसैले, उनी मेरो सामुन्ने दगुर्थिन् र मलाई बचाउन आफ्ना साना पाखुराहरू उठाउँथिन् अनि भन्थिन्, “तपाईं मम्मीदेखि टाढा बस्नुहोस्!” कहिलेकाहीँ, म माथि भर्याङमा हुँदा, मेरो श्रीमान् भर्याङको नजिक आउनुभयो भने मेरी छोरीले उहाँलाई चिच्याएर माथि नजानू भन्थिन्। हरेकपल्ट म मेरी छोरीको अनुहार डर र चिन्ताले भरिएको देख्थेँ, त्यो त्यस्तो कलिलो उमेरमा घरेलु हिंसाको सामना गर्नुपर्दाको मनोवैज्ञानिक क्षति थियो, यो मेरो हृदयलाई चक्कुले धसेजस्तै थियो अनि मैले ठूलो रातो अजिङ्गरलाई झन् बढी घृणा गरेँ। यी सबै विध्वंशहरू कम्युनिष्ट पार्टीको सतावटद्वारा भएको थियो।
एक दिन, मेरो श्रीमान् काम सिध्याएर फर्किनुभयो र मोबाइल झिकेर रिसाउँदै भन्नुभयो, “हेर, चिनियाँ कम्युनिष्ट पार्टीले फेरि कति धेरै मानिसहरूलाई पक्राउ गर्यो। के तिमी अझै विश्वास गर्न चाहन्छौ? के तिमी मर्न चाहन्छौ? तिमी परमेश्वरमा विश्वास गर्न सक्छौ तर मलाई र मेरी छोरीलाई तिमीसँगै नघिस्याऊ। यदि तिमी फेरि पक्राउ पर्यौ भने हाम्रो जीवन असम्भव हुनेछ। यदि तिमीले परमेश्वरमा विश्वास गर्ने बाटो लिन्छौ भनी मलाई थाहा भएको भए, म तिमीसित कहिल्यै बिहे गर्ने थिइनँ।” मेरो श्रीमानले भन्नुभएको कुराले मलाई गहिरो चोट पुर्यायो। मैले पहिलेको समयलाई याद गरेँ मैले परमेश्वरमा विश्वास गरेकोले उहाँले मलाई अपराधीलाई भन्दा पनि कम स्वतन्त्रता दिनुभएको थियो, मलाई बारम्बार पिट्नुभएको थियो र यसले मेरो छोरीलाई मानसिक चोट पुर्याएको थियो, र मैले अब ज्यादा सम्झौता गर्न सक्दिनँ भन्ने महसुस गरेँ, त्यसैले, सम्बन्धविच्छेद गर्ने मेरो श्रीमानको अनुरोधमा म सहमत भएँ। मैले दृढ भई परमेश्वरमा विश्वास गर्न जारी राखेको देख्नुभएपछि, उहाँले मेरो भाइलाई बोलाउनुभयो र मलाई मनाउन आग्रह गर्नुभयो। मेरो भाइले सधैँ मलाई प्रेम गर्थ्यो र ऊ मेरो बारेमा सधैँ गर्व गर्थ्यो, तर मलाई चिनियाँ कम्युनिष्ट पार्टीले सताउने गरेको कारणले, मलाई स्कुलबाट निकालिएको र स्नातक तहको अध्ययन जारी राख्न निषेधित गरिएको थियो। त्यसपछि पनि मैले सम्बन्धविच्छेद गरेमा म पूर्ण रूपमा गाउँलेहरूको हाँसोको पात्र हुनेथिएँ। भाइ अति निरुत्साहित हुनेथियो! भाइको कसरी सामना गने हो, मलाई थाहा थिएन, मैले आफ्नो हृदयमा परमेश्वरलाई पुकारेँ र मलाई सुरक्षा दिन उहाँसित बिन्ती गरेँ ताकि म परमेश्वरको निम्ति गवाही भई खडा हुन सकूँ, ताकि जस्तोसुकै घटना घटे पनि, मैले कहिल्यै परमेश्वरमाथिको आफ्नो विश्वास नत्यागूँ। त्यसपछि, मैले परमेश्वरको वचनको एउटा खण्ड स्मरण गरेँ: “तँभित्र मेरो साहस हुनुपर्छ, र गैरविश्वासी आफन्तहरूको सामना गर्नका लागि तँसँग सिद्धान्तहरू हुनुपर्छ। तैपनि, तँ मेरो लागि कुनै पनि अन्धकारको शक्तिसामु झुक्नु हुँदैन। सिद्ध मार्गमा हिँड्नका लागि तँ मेरो बुद्धिमा भर पर्नैपर्छ, र शैतानका कुनै पनि षड्यन्त्रहरूलाई सफल हुन दिनु हुँदैन” (वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय १०)। ठीक हो। परमेश्वरले मानवजातिको सृष्टि गर्नुभयो, र परमेश्वरमा विश्वास गर्नु र परमेश्वरलाई पछ्याउनु स्वाभाविक र सही कुरा हुन्। हामी आफ्नो बाटोको छनौटमा दृढ भई खडा हुनुपर्छ र हामी शैतानद्वारा मूर्ख बनिनुहुन्न। हामीले सबैभन्दा घनिष्ठ मानिसहरूलाई पनि हस्तक्षेप गर्न दिन सक्दैनौँ। मेरो भाइ आएपछि उसको सामु मेरा श्रीमानले मेरो आलोचना गरिरहनुभयो र मैले परमेश्वरमा विश्वास गर्नु हुँदैन भनी भन्नुभयो। जब मेरो श्रीमानले म शान्त भएको देख्नुभयो, तब उहाँले मलाई हिर्काउन आफ्नो हात उठाउनुभयो तर मेरो भाइले उहाँलाई रोक्यो। मेरो भाइले शान्तपूर्वक मलाई भन्यो, “तपाईं वयस्क व्यक्ति हुनुहुन्छ र आफ्नो जीवनको बारेमा तपाईंले आफ्नै निर्णयहरू लिन सक्नुहुन्छ। तर, यदि तपाईंले सम्बन्धविच्छेद गर्नुभयो भने तपाईंको छोरीलाई के हुनेछ, त्यसबारेमा तपाईंले सोच्न आवश्यक छ। यदि मेरो छोरीलाई के भयो भनी तपाईंले हेर्नुभयो भने, तपाईंको छोरीलाई के हुनेछ भनी तपाईंले थाहा पाउनुहुनेछ। …” मेरा भाइका शब्दहरूले मलाई एकछिन दुःखी बनायो, मैले उसको सम्बन्धविच्छेदको बारेमा सोचेँ, कसरी उसकी छोरीलाई गिल्ला गरिन्थ्यो र उसलाई वरपरका मानिसहरूद्वारा तुच्छ नजरले हेरिन्थ्यो भनी सोचेँ। आमाविना बच्चा कति दयनीय हुन्छ। त्यस मोडमा परिस्थिति जस्तो थियो, त्यसअनुसार मैले सम्बन्धविच्छेद गरेमा मेरी छोरीको जिम्मा मेरो श्रीमानले पाउनुहुन्थ्यो, र उनी आमाविहीन बच्चा बन्थिन्। के उनले शिक्षक र सहपाठीहरूबाट भेदभाव र गिल्ला सहनेछैनन् र? म उनको छेउमा नहुँदा यदि उनी अविश्वासी पिता र बाजेबज्यूसित बसिन् भने, के उनी परमेश्वरमा विश्वास गर्ने बाटोमा हिँड्न सक्नेछिन् र? उनी कति सानै छिन् भनी सोच्दा, उनीसित अलग्गिने कुरा मैले सहन नसकेको अनुभूति गरेँ। म त्यस समयमा साँच्चै नै दयनीय थिएँ, त्यसैले मैले परमेश्वरसित प्रार्थना गरेँ, “परमेश्वर, म मेरी छोरीलाई जान दिन सक्दिनँ। मलाई सधैँ उनको भविष्यको लागि पीडा महसुस हुन्छ। मलाई अन्तर्दृष्टि दिन, मार्गदर्शन गर्न र मेरो हृदयलाई सुरक्षा दिन म तपाईंलाई बिन्ती गर्छु।”
त्यसपछि, मैले परमेश्वरका वचनहरूको दुई वटा खण्डहरू पढेँ: “जन्म दिने र हुर्काउनेबाहेक, व्यक्तिको जीवनमा आमाबुबाले बोक्ने जिम्मेवारी भनेको उसलाई हुर्कनका लागि बाहिरी रूपमा वातावरण प्रदान गर्नु मात्रै हो, र त्यो त्यहीँ सकिन्छ, किनभने कुनै पनि व्यक्तिको भाग्यमा सृष्टिकर्ताको पूर्वनियोजनले मात्रै प्रभाव पार्छ। कसैको भविष्य कस्तो हुनेछ भन्ने कुरा कुनै पनि व्यक्तिले नियन्त्रण गर्न सक्ने कुरा होइन; यो धेरै अघि नै पूर्वनियोजित हुन्छ, र व्यक्तिका आमाबुबाले समेत उसको भाग्य परिवर्तन गर्न सक्दैनन्। भाग्यको हकमा, सबै जना स्वतन्त्र हुन्छन्; सबैको आफ्नै भाग्य हुन्छ। त्यसैले, कसैका आमाबुबाले उसको जीवनको भाग्यलाई पटक्कै विफल पार्न सक्दैनन्, न त उसले जीवनमा खेल्ने भूमिकाको हकमा तिनीहरूले उसलाई कुनै मद्दत नै गर्न सक्छन्। व्यक्ति जुनसुकै परिवारमा जन्मन पूर्वनियोजित भए पनि, र ऊ जुनसुकै वातावरणमा हुर्के पनि, यी कुराहरू उसको जीवनको मिसन पूरा गर्नुका पूर्वसर्तहरू भन्दा बढी केही होइनन् भन्न सकिन्छ। तिनले कुनै पनि हिसाबमा व्यक्तिको जीवनको भाग्य वा उसले आफ्नो मिसन पूरा गर्ने नियतिको प्रकारलाई निर्धारण गर्दैनन्। यसर्थ, कसैका पनि आमाबुबाले उसलाई उसको जीवनको मिसन पूरा गर्न सहयोग गर्न सक्दैनन्, न त कुनै नातेदारले उसलाई जीवनमा आफ्नो भूमिका पूरा गर्न मद्दत गर्न सक्छ। व्यक्तिले आफ्नो मिसन कसरी पूरा गर्छ र उसले कस्तो प्रकारको जियाइ वातावरणमा आफ्नो भूमिका लिन्छ भन्ने कुरा पूर्ण रूपमा उसको जीवनको भाग्यमा निर्भर हुन्छ। अर्को शब्दमा भन्नुपर्दा, कुनै पनि वस्तुगत परिस्थितिहरूले सृष्टिकर्ताद्वारा पूर्वनियोजित कसैको मिसनलाई प्रभाव पार्न सक्दैनन्। सबै जना आफू हुर्केको विशेष वातावरणमा परिपक्वतामा पुग्छन्; त्यसपछि, एक-एक कदम गर्दै, तिनीहरू जीवनमा आफ्नै मार्गमा हिँड्न थाल्छन् र तिनीहरूका लागि सृष्टिकर्ताद्वारा प्रबन्ध गरिएको नियति पूरा गर्छन्। स्वाभाविक र स्वचालित रूपमा, तिनीहरू मानवजातिको विशाल सागरमा प्रवेश गर्छन् र जीवनमा आफ्नो स्थान ग्रहण गर्छन्, र, सृष्टिकर्ताको पूर्वनियोजनको खातिर र उहाँको सार्वभौमिकताको खातिर, तिनीहरूले सृजित प्राणीका रूपमा आफ्ना जिम्मेवारीहरू पूरा गर्न थाल्छन्” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। “मानिसहरूका योजना र कल्पनाहरू पूर्ण छन्; के तिनीहरूलाई आफूले जन्माउने सन्तानहरूको सङ्ख्या, आफ्ना छोराछोरीको रूप, क्षमता, इत्यादि आफूले निर्णय गर्ने कुरा होइनन्, अनि आफ्ना सन्तानको नियति आफ्नो हातमा त झनै छैन भन्ने कुरा थाहा छैन र? मानिसहरू आफ्नै नियतिका मालिक होइनन्, तैपनि तिनीहरू युवा पुस्ताको नियति परिवर्तन गर्ने आशा गर्छन्; तिनीहरू आफ्नै नियतिबाट उम्कन असमर्थ छन्, तैपनि तिनीहरू आफ्ना छोराछोरीहरूको नियति हेरफेर गर्ने प्रयास गर्छन्। के तिनीहरू आफूलाई बढ्ता आँकिरहेका छैनन् र? के यो मानवीय मूर्खता र अज्ञानता होइन र?” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३)। परमेश्वरका वचनहरूबाट मैले के बुझेँ भने, परमेश्वरले नै सबै कुरा सृष्टि गर्नुभयो र सबै कुरामा उहाँकै सार्वभौमिकता छ र मानिसहरूको नियति पूरै परमेश्वरको हातमा छ। आमाबुबाहरू केवल बच्चाहरूलाई हुर्काउनका लागि हुन्, तिनीहरूले बच्चाको नियति परिवर्तन गर्न सक्दैनन्। म सधैँ सोच्थेँ, म मेरो छोरीको भाग्यलाई प्रभाव पार्न र नियन्त्रण गर्न सक्छु, र म उनको छेउमा भएसम्म उनले खुशी भेट्टाउन सक्छिन्, र म उनलाई परमेश्वरमाथिको विश्वासको बाटोमा डोर्याउन सक्छु। तर दोहोर्याएर सोच्दा त, मेरो आफ्नै भाग्यमाथि पनि नियन्त्रण थिएन, तब म कसरी आफ्नी छोरीको नियति नियन्त्रण गर्न सकूँला? केही दिनअघि मेरी छोरी बिरामी भएको र बेहोस भएको बारेमा मैले सोचेँ, तर उनको पीडालाई कम गराउन मैले केही गर्न सकिनँ, मैले केवल उभिएर हेर्न मात्र सकेँ। मैले मेरी छोरीलाई सुरक्षा गर्न परमेश्वरसित याचना मात्र गर्न सकेँ। भीर चढ्दा ठेस लागेर मेरी छोरी लडिन् र भीरबाट खसिन्। मैले केही गर्न सकिनँ। तर उनी भीरको किनारातिर रहेको सुकेको रूखद्वारा अद्भूत तरिकाले बचिन्। यी घटनाहरूबाट मैले बुझेँ कि मैले मेरी छोरीलाई हरसम्भव प्रकारले हेरविचार गरे पनि उनी बिरामी पर्नेछैनन् वा उनले कुनै विपद् भोग्नुपर्नेछैन भन्ने कुराको कुनै निश्चयता छैन। मानिसहरूको जीवन परमेश्वरका हातमा छ। तिनीहरूले जीवन यात्राको दौरान सहने कष्ट र तिनीहरूले लिने मार्ग धेरैअघि नै परमेश्वद्वारा पूर्वानिर्धारित गरिएका थिए। यी कुरामा मानिसहरूको कुनै निर्णय चल्दैन र कुनै प्रभाव हुँदैन। यी कुराहरू बुझेपछि, मैले छुटकारा पाएको महसुस गरेँ। मैले मेरो बच्चालाई परमेश्वरको हातमा राखिदिनुपर्छ र परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूलाई शिरोपर गर्नुपर्छ भन्ने महसुस गरेँ। सृष्टि प्राणीको हैसियतले मैले गर्नुपर्ने त्यही थियो।
पछि, जब मैले दृढ भएर परमेश्वरमा विश्वास गरेको देख्नुभयो, तब उहाँले मसित सम्बन्धविच्छेद गर्ने निर्णय गर्नुभयो। उहाँले मलाई केही नलिई घरबाट निस्कन लगाउनुभयो र छोरीको पालनपोषण गर्ने अधिकार मलाई दिन पनि इन्कार गर्नुभयो। उहाँले मेरो भेटघाटको अधिकार पनि खोस्न चाहनुहुन्थ्यो। जब मैले उहाँसित सम्पत्तिको बाँडफाँडको बारेमा सोधेँ, उहाँले स्टीलको कपले मेरो टाउकोमा हिर्काउने प्रयाससमेत गर्नुभयो। मैले यसरी आफैलाई बचाउन आफ्नो हातलाई प्रयोग गरेँ तर मेरा नाडीहरूमा चोट लाग्यो, जसले गर्दा मैले दुई महिनाभन्दा बढी समयसम्म गह्रौँ सामानहरू उठाउन सकिनँ। उहाँले मलाई थुप्रैचोटि पिठ्यूँमा पनि क्रूरतापूर्वक हिर्काउनुभयो, जसले गर्दा म एक महिनाभन्दा बढी समयसम्म नराम्रोसित खोकेँ। ती सबैपछि पनि, मैले कामबाट बचाएको हजारौँ पैसा उहाँले खोस्नुभयो। उहाँले भन्नुभयो, “तिमी परमेश्वरमा विश्वास गर्छौ, होइन र? तिम्रै परमेश्वरलाई नै खाना र कपडा दिनू भन न।” जब मेरो श्रीमान् यसरी अविवेकी र क्रूर भएको देखेँ, तब मैले परमेश्वरका वचनहरू स्मरण गरेँ: “मानौँ परमेश्वरको उल्लेख गर्दा कुनै व्यक्ति अत्यन्तै क्रोधित हुन्छ र रिसाउँछ: के उसले परमेश्वरलाई देखेको छ? के उसलाई परमेश्वर को हुनुहुन्छ भनी थाहा छ? उसलाई परमेश्वर को हुनुहुन्छ भनी थाहा छैन, ऊ उहाँमा विश्वास गर्दैन, परमेश्वरले ऊसँग बोल्नुभएको छैन, र परमेश्वरले उसलाई कहिल्यै रिस उठाउनुभएको छैन—त्यसोभए ऊ किन रिसाउँछ? के हामी यो व्यक्ति दुष्ट हो भन्न सक्छौँ? सांसारिक प्रवृत्तिहरू, खानपान, र सुखचैनको खोजी, अनि सेलिब्रेटीहरूको पूजा—यीमध्ये कुनै पनि कुराले त्यस्तो व्यक्तिलाई रिस उठाउँदैन। तर, ‘परमेश्वर’ भन्ने शब्द वा परमेश्वरका वचनहरूको सत्यताको उल्लेख गर्नेबित्तिकै, ऊ रिसाउँछ। के यो दुष्ट प्रकृति हुनु होइन र? यो उनीहरूको दुष्ट प्रकृति हो भनी प्रमाणित गर्न यो नै पर्याप्त छ” (वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ५)। परमेश्वरका वचनहरूले जे प्रकट गर्यो, त्यसले मलाई परमेश्वरलाई विरोध गर्ने मेरो श्रीमानको दुष्ट प्रकृति स्पष्टसित देखायो। सुरुमा, जब मेरो श्रीमानले मैले सर्वशक्तिमान् परमेश्वरमा विश्वास गर्छु भन्ने कुरा जान्नुभयो, तब उहाँ विशेष रूपले आक्रामक हुनुभयो उहाँले परमेश्वरको वचनका मेरा पुस्तकहरू पनि च्यातिदिनुभयो। पछि, उहाँले पागलले झैँ मलाई परमेश्वरमा विश्वास गर्नदेखि रोक्ने कोसिस गर्न थाल्नुभयो र मलाई कैदीसरह व्यवहार गर्नुभयो, मलाई कुनै स्वतन्त्रता दिनुभएन, र मलाई बारम्बार क्रुरतापूर्वक पिट्नुभयो। उहाँले मलाई मार्न चाहनुभएको जस्तो देखिन्थ्यो। जब हामीले सम्बन्धविच्छेद गर्यौँ, तब मलाई निराशमा धकेल्न र मेरो लागि जीवन जिउनै असम्भव तुल्याउन उहाँले मेरा सबै सम्पत्तिहरू खोस्नुभयो। मलाई परमेश्वरलाई विश्वासघात र इन्कार गर्ने तुल्याउनु नै उहाँको लक्ष्य थियो। तब मैले मेरो श्रीमानको प्रकृति सार स्पष्टसित देखेँ। उहाँ परमेश्वरलाई घृणा गर्ने र विरोध गर्ने दियाबलस नै हुनुहुन्थ्यो। मेरो श्रीमान् र मेरो साझा भाषा थिएन। उहाँसित बस्दा मसित कुनै स्वतन्त्रता हुँदैनथ्यो, अनि मैले पिटाइ खान्थेँ र ममाथि बन्देज लगाइएको थियो। यो पीडादायी कुरा थियो। यो कसरी घर थियो र? यी त अरु केही नभई, साङलाहरू थिए। त्यो नरक थियो।
सम्बन्धविच्छेद पछि, मेरो श्रीमानले मलाई फेरि कहिल्यै बाधा र बन्देज लगाएनन्। म भेलाहरूमा जान सक्थेँ र सामान्य रीतिले परमेश्वरका वचनहरू पढ्न सक्थेँ, अनि मैले चाँडै नै मण्डलीका जिम्मेवारीहरू सम्हाल्न सकेँ। मैले ठूलो राहत र छुटकारा महसुस गरेँ। मलाई मुक्ति दिनुभएकोमा परमेश्वरलाई धन्यवाद होस्।