अध्याय ३

आज अनुग्रहको युग होइन, न त कृपाको युग नै हो, यो त राज्यको युग हो, जसमा परमेश्‍वरका मानिसहरूलाई प्रकट गरिन्छ, यो त परमेश्‍वरले ईश्‍वरीयताद्वारा प्रत्यक्ष रूपमै काम गर्नुहुने युग हो। तसर्थ, परमेश्‍वरका वचनहरूको यो अध्यायमा, परमेश्‍वरले उहाँका वचनहरूलाई स्वीकार गर्ने सबैलाई आत्मिक क्षेत्रमा डोर्‍याएर लैजानुहुन्छ। प्रारम्‍भिक अनुच्छेदमा, उहाँले अग्रिम रूपमा नै यी तयारीहरू गर्नुहुन्छ, र यदि व्यक्तिसँग परमेश्‍वरका वचनहरूको ज्ञान छ भने, उसले दाखको फल पाउन दाखकै बोटलाई पछ्याउँछ, र परमेश्‍वरले आफ्‍ना मानिसहरूमा के हासिल गर्न चाहनुहुन्छ त्यसलाई उसले प्रत्यक्ष रूपमा बुझ्‍नेछ। पहिले, मानिसहरूलाई “सेवाकर्ताहरू” भन्‍ने पदवी नामद्वारा जाँच गरिएको थियो, र आज, तिनीहरूलाई परीक्षामा पारिसकेपछि, तिनीहरूको तालिम औपचारिक रूपमा सुरु भएको छ। यसको साथै, विगतका वचनहरूको जगको आधारमा मानिसहरूसँग परमेश्‍वरको कार्यको कामको बारेमा अझै ठूलो ज्ञान हुनुपर्छ, र तिनीहरूले वचनहरू र व्यक्तिलाई, अनि आत्मा र व्यक्तिलाई अखण्डित पूर्णताको रूपमा हेर्नुपर्छ—एउटै मुख, एउटै हृदय, एउटै कार्य, र एउटै स्रोतको रूपमा हेर्नुपर्छ। यो मापदण्ड सृष्टिपछि परमेश्‍वरले मानिसलाई दिनुभएको सबैभन्दा ठूलो मापदण्ड हो। यसबाट के देख्‍न सकिन्छ भने, परमेश्‍वरले आफ्‍ना प्रयासका केही भाग आफ्‍ना मानिसहरूलाई समर्पित गर्न चाहनुहुन्छ, उहाँले तिनीहरूमा केही चिन्‍ह र अचम्‍मका कामहरू देखाउन चाहनुहुन्छ, र सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँले सबै मानिसहरूलाई परमेश्‍वरका काम र वचनहरूको सम्पूर्णता पालन गर्न लगाउन चाहनुहुन्छ। एक हिसाबमा, परमेश्‍वर स्‍वयम्‌ले आफ्‍नो गवाही दिनुहुन्छ, र अर्को हिसाबमा, उहाँले आफ्‍ना मानिसहरूलाई मापदण्डहरू दिनुभएको छ, र मानिसहरूका निम्ति प्रत्यक्ष रूपमा परमेश्‍वरका प्रशासनिक आदेशहरू जारी गर्नुभएको छ: तसर्थ, तिमीहरूलाई मेरा मानिसहरू भनेर बोलाइने हुनाले, परिस्थिति पहिलेजस्तो छैन; तिमीहरूले मेरो आत्माका वाणीहरूलाई सुन्‍नुपर्छ र पालना गर्नुपर्छ, र मेरो कार्यलाई नजिकबाट पछ्याउनुपर्छ; तिमीहरूले मेरो आत्मा र मेरो देहलाई अलग गर्न सक्दैनौ, किनभने हामी अन्तर्निहित रूपमा एउटै हौं, र प्रकृतिले नै अखण्डित छौं। यसमा, मानिसहरूलाई देहधारी परमेश्‍वरको बेवास्ता गर्नबाट रोक्‍नको लागि, फेरि पनि “किनभने हामी अन्तर्निहित रूपमा एउटै हौं, र प्रकृतिले नै अखण्डित छौं” भन्‍ने वचनहरूमा जोड दिइएको छ; त्यस्तो बेवास्ता मानिसको कमजोरी हुने भएकोले, यसलाई फेरि एकपटक परमेश्‍वरका प्रशासनिक आदेशहरूमा सूचीकृत गरिएको छ। यसपछि, परमेश्‍वरले मानिसहरूलाई परमेश्‍वरका प्रशासनिक आदेशहरू उल्‍लङ्घन गर्नुका परिणामहरूको बारेमा कुनै कुरा नलुकाई यसरी बताउनुभएको छ, “तिनीहरूले घाटा बेहोर्नेछन्, र तिनीहरूले आफ्‍नै तीतो कचौराबाट मात्रै पिउन सक्‍नेछन्।” मानिस कमजोर भएको हुनाले, यी वचनहरू सुनेपछि, ऊ आफ्‍नो हृदयमा परमेश्‍वरप्रति अझै बढी सावधान नभई रहन सक्दैन, किनभने “तीतो कचौरा” मानिसहरूलाई केही समयको लागि चिन्तन गर्ने बनाउन पर्याप्त हुन्छ। परमेश्‍वरले उल्‍लेख गर्नुभएको यो “तीतो कचौरा” को बारेमा मानिसहरूसँग विभिन्‍न अर्थ-अनुवादहरू हुन सक्छन्: वचनहरूको न्यायमा पर्नु वा राज्यबाट निष्कासित हुनु, वा केही समयको लागि अलग गरिनु, वा आफ्‍नो देह शैतानद्वारा भ्रष्ट तुल्याइनु र दुष्ट आत्‍माहरूको वशमा पर्नु, वा परमेश्‍वरका आत्माद्वारा त्यागिनु, वा आफ्‍नो देहलाई समाप्त पारिनु र पातालमा फ्याँकिनु। यी अर्थ-अनुवादहरू मानिसहरूका सोचले हासिल गर्न सक्‍ने कुरा हुन्, त्यसकारण आफ्‍नो कल्‍पनामा, मानिसहरू तीभन्दा बाहिर जान सक्दैनन्। तर परमेश्‍वरका विचारहरू मानिसका जस्ता छैनन्; भन्‍नुको अर्थ, “तीतो कचौरा” ले माथिका मध्ये कुनै कुरालाई जनाउँदैन, बरु यसले त परमेश्‍वरको निराकरण प्राप्त गरिसकेपछि परमेश्‍वरसम्‍बन्धी मानिसहरूको ज्ञानको हदलाई जनाउँछ। यसलाई अझै स्पष्ट रूपमा भन्दा, जब कसैले परमेश्‍वरका आत्मा र उहाँका वचनहरूलाई स्वेच्छाचारी ढङ्गले अलग गर्छ, वा वचनहरू र व्यक्तिलाई, वा आत्मा र उहाँले धारण गर्नुभएको देहलाई अलग गर्छ, उसले परमेश्‍वरका वचनहरूमा परमेश्‍वरलाई चिन्‍न नसक्‍ने मात्र होइन, ऊ त आफूलाई परमेश्‍वरको बारेमा थोरै शङ्का लाग्दा, हरेक बिन्दुमा अन्धो समेत बन्‍नेछ। मानिसहरूले कल्‍पना गरेजस्तो तिनीहरूलाई सीधै अलग गरिँदैन; बरु, तिनीहरू क्रमिक रूपमा परमेश्‍वरको सजायमा पर्छन्—भन्‍नुको अर्थ, तिनीहरू ठूलो महाविपत्तिमा पर्छन्, र तिनीहरूसँग मिल्ने कोही पनि हुन सक्दैन, मानौँ तिनीहरूलाई दुष्ट आत्‍माहरू लागेको छ, र मानौं तिनीहरू जता उड्यो त्यतै ठोक्किने टाउको नभएका झीँगाहरू हुन्। यसको बावजुद पनि, तिनीहरूले अझै पनि छोडेर जान सक्दैनन्। तिनीहरूको हृदयमा, कामकुराहरू व्याख्या गर्नै नसकिने गरी कठिन हुन्छन्, मानौँ तिनीहरूको हृदयमा व्याख्या गर्नै नसकिने कष्ट छ—तैपनि, तिनीहरूले आफ्‍नो मुख खोल्‍न सक्दैनन्, र तिनीहरूले परमेश्‍वरलाई अनुभव गर्न सक्दैनन् र दिनभरि बेहोसीमा नै बिताउँछन्। यस्ता परिस्‍थितिहरूमा परमेश्‍वरका प्रशासनिक आदेशहरूले तिनीहरूलाई चुनौती दिन्छन्, ताकि तिनीहरू कुनै पनि आनन्द नभए पनि मण्डलीलाई छोडेर जाने आँट नगरून्—यसैलाई “आन्तरिक र बाहिरी आक्रमण” भनेर भनिन्छ, र मानिसहरूलाई यो सहनु अत्यन्तै कठिन हुन्छ। यहाँ भनिएको कुरा मानिसहरूका धारणाहरूभन्दा फरक छ—किनभने, ती परिस्थितिहरूमा पनि तिनीहरूले परमेश्‍वरको खोजी गर्न जान्दछन्, र परमेश्‍वरले तिनीहरूप्रति पिठ्यूँ फर्काउनुभएपछि, यस्तो हुन्छ, र अझै महत्त्वपूर्ण कुरा के हो भने, अविश्‍वासीजस्तै, तिनीहरू पनि परमेश्‍वरलाई अनुभूति गर्न पूर्ण रूपमा असमर्थ हुन्छन्। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई सीधै मुक्ति दिनुहुन्‍न; जब तिनीहरूको तीतो कचौरा रित्तो हुन्छ, त्यही समय नै तिनीहरूको आखिरी दिन आइपुगेको हुन्छ। तर अहिले, तिनीहरूले थप अलिकति आनन्द लिने चाहना गर्दै अझै पनि परमेश्‍वरको इच्‍छाको खोजी गर्छन्—तर विशेष परिस्‍थितिहरू छैनन् भने, यो समय विगतको भन्दा फरक हुन्छ।

यसपछि, परमेश्‍वरले सबैको निम्ति सकारात्मक पक्षहरूको बारेमा पनि व्याख्या गर्नुभएको छ, यसरी तिनीहरूले फेरि पनि जीवन प्राप्त गर्छन्—किनभने, विगतको समयमा, परमेश्‍वरले सेवाकर्ताहरूको कुनै जीवन छैन भनेर भन्‍नुभएको थियो, तर परमेश्‍वरले आज अचानक “भित्री जीवन” को बारेमा कुरा गर्नुभएको छ। जीवनसम्‍बन्धी यो कुराकानीद्वारा मात्रै मानिसहरूले तिनीहरूभित्र अझै पनि परमेश्‍वरबाट प्राप्त जीवन हुन सक्छ भनेर जान्‍न सक्छन्। यसरी, परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम धेरै हदसम्‍म वृद्धि हुन्छ, र तिनीहरूले परमेश्‍वरको प्रेम र कृपाको बारेमा अझै ठूलो ज्ञान प्राप्त गर्छन्। तसर्थ, यी वचनहरू देखिसकेपछि, सबै मानिसहरूले आफ्ना पहिलेका गल्तीहरूको पश्‍चात्ताप गर्छन्, र गुप्त रूपमा पछुतोको आँसु बगाउँछन्। धेरैजसोले तिनीहरूले परमेश्‍वरलाई सन्तुष्ट तुल्याउनैपर्छ भनेर चुपचाप निर्णय गर्छन्। कहिलेकहीँ, परमेश्‍वरका वचनहरूले मानिसहरूको हृदयको अन्तस्करणलाई छेड्छ, जसले गर्दा मानिसहरूलाई ती वचनहरू स्वीकार गर्न कठिन हुन्छ, र मानिसहरूलाई शान्तिमा रहन कठिन हुन्छ। कहिलेकहीँ, परमेश्‍वरका वचनहरू इमानदार र तत्पर हुन्छन्, र तिनले मानिसहरूको हृदयलाई न्यानो बनाउँछन्, र त्यसरी मानिसहरूले ती वचनहरू पढेपछि, यो धेरै वर्ष हराएपछि थुमाले आफ्‍नी आमालाई देखेको जस्तै हुन्छ। तिनीहरूका आँखा आँसुले भरिन्छन्, तिनीहरू भावनाले ओतप्रोत हुन्छन्, र सुँक्‍क-सुँक्‍क गर्दै विक्षिप्त भएर, परमेश्‍वरको अङ्गालोमा आउन आतुर हुन्छन्, धेरै वर्षदेखि तिनीहरूको हृदयमा लुकेर बसेको अवर्णनीय पीडाबाट मुक्त भएर परमेश्‍वरको निम्ति तिनीहरूको वफादारिता देखाउन चाहन्छन्। धेरै महिनाको जाँचको कारण, तिनीहरू अति संवेदनशील बनेका छन्, मानौं तिनीहरूलाई भर्खरै स्‍नायुघात भएको छ, धेरै वर्षदेखि ओछ्यान परेको अशक्त जस्तो बनेका छन्। परमेश्‍वरका वचनहरूसम्‍बन्धी तिनीहरूको विश्‍वासमा तिनीहरूलाई दह्रिलो बनाउनको लागि, परमेश्‍वरले निम्‍न वचनहरूलाई जोड दिनुहुन्छ: “मेरो कामको अर्को चरण सहजताको साथ र कुनै बाधाविना अघि बढ्न सकोस् भनेर, म मेरो घरका सबैलाई जाँच्‍न वचनहरूको शोधन प्रयोग गर्छु।” यहाँ परमेश्‍वर भन्‍नुहुन्छ, “मेरो घरका सबैलाई जाँच्‍न”; नियालेर पढ्दा यसले हामीलाई के बताउँछ भने जब मानिसहरूले सेवाकर्ताको रूपमा काम गरिरहेका हुन्छन्, तब तिनीहरू अझै पनि परमेश्‍वरको घरभित्रका मानिसहरू हुन्छन्। यसको साथै, यी वचनहरूले “परमेश्‍वरका मानिसहरू” भन्‍ने पदवी नामप्रति परमेश्‍वरको सच्चापनलाई जोड दिन्छन्, अनि यसले मानिसहरूको हृदयलाई केही हदसम्‍म ढुक्‍क तुल्याउँछ। त्यसकारण, मानिसहरूले परमेश्‍वरका वचनहरू पढेपछि, वा “परमेश्‍वरका मानिसहरू” भन्‍ने पदवी नामलाई प्रकट गर्न अझै बाँकी भएको बेला तिनीहरूमा आउने विभिन्‍न प्रकटीकरणहरूको बारेमा परमेश्‍वरले किन बारम्‍बार औंल्याउनुहुन्छ? के यो परमेश्‍वर मानिसहरूको हृदयको गहिराइलाई देख्‍नुहुने परमेश्‍वर हुनुहुन्छ भनेर देखाउनको लागि मात्रै हो? यो त कारणको एउटा भाग मात्रै हो—र यहाँ, यसको अतिरिक्त महत्त्व मात्रै छ। सबै मानिसहरूलाई पूर्ण रूपमा विश्‍वस्त तुल्याउनको लागि, हरेक व्यक्तिले परमेश्‍वरका वचनहरूबाट तिनीहरूका आफ्‍नै अपर्याप्तताहरू र आफ्‍नो जीवनसम्‍बन्धी तिनीहरूका पहिलेका त्रुटिहरूलाई जान्‍न सकून्, र अझै महत्त्वपूर्ण कुरा, कामको अर्को चरणको लागि जग निर्माण गर्नको निम्ति परमेश्‍वरले त्यसो गर्नुहुन्छ। मानिसहरूले आफूलाई चिन्‍ने कार्यको आधारमा मात्रै परमेश्‍वरलाई चिन्‍ने प्रयास गर्न र परमेश्‍वरको अनुकरण गर्न सक्छन्। यी वचनहरूका कारण, मानिसहरू नकारात्मक र निष्क्रिय अवस्थाबाट सकारात्मक र सक्रिय अवस्थामा परिवर्तन हुन्छन्, र यसले परमेश्‍वरको कार्यको दोस्रो भागलाई जरा गाड्न सक्षम तुल्याउँछ। के भन्‍न सकिन्छ भने, कामको यो चरणलाई जगको रूपमा लिँदा, परमेश्‍वरको कार्यको दोस्रो भाग सरल विषय बन्छ, जसको लागि थोरै प्रयासको मात्रै आवश्यकता पर्छ। तसर्थ, जब मानिसहरूले आफ्‍नो हृदयमा भएको दुःखी भावनालाई हटाएर सकारात्मक र सक्रिय बन्छन्, तब परमेश्‍वरले यसलाई उहाँका मानिसहरूबाट अरू मापदण्डहरू पूरा गराउने अवसरको रूपमा प्रयोग गर्नुहुन्छ: “मेरा वचनहरूलाई कुनै पनि समय वा स्थानमा प्रस्फुटन र व्यक्त गरिन्छ, त्यसकारण तिमीहरूले मेरो सामुन्ने सधैँ आफूलाई जान्‍नुपर्छ। किनभने, आखिर आज पहिले आएको कुराजस्तो होइन, र तैँले जे इच्‍छा गर्छस् त्यो अबउप्रान्त प्राप्त गर्न सक्दैनस्। बरु, मेरा वचनहरूको मार्गनिर्देशनमा, तिमीहरू आफ्‍नो शरीरलाई वशमा राख्‍न सक्‍ने बन्‍नुपर्छ; तिमीहरूले मेरा वचनहरूलाई तिमीहरूको मुख्य आधारको रूपमा प्रयोग गर्नुपर्छ, र तिमीहरूले लापरवाही रूपमा काम गर्नु हुँदैन।” यसमा, परमेश्‍वरले “मेरा वचनहरू” भन्‍ने पदावलीलाई मुख्य रूपमा जोड दिनुभएको छ; विगतमा पनि, उहाँले “मेरा वचनहरू” भन्‍ने पदावलीको प्रयोग धेरै पटक गर्नुभयो, त्यसकारण हरेक व्यक्तिले यसलाई केही ध्यान नदिई रहन सक्दैन। यसरी, परमेश्‍वरको कार्यको अर्को चरणको केन्द्रबिन्दुको बारेमा सूचित गरिएको छ: सबै मानिसहरूले परमेश्‍वरका वचनहरूप्रति आफ्‍नो ध्यान केन्द्रित गर्नुपर्छ, र तिनीहरूसँग अरू कुनै कुराप्रतिको प्रेम हुनु हुँदैन। सबैले परमेश्‍वरका मुखबाट बोलिएका वचनहरूलाई कदर गर्नुपर्छ, र तिनलाई हल्‍कासाथ लिनु हुँदैन; यसरी मण्डलीको पहिलेका परिस्‍थितिहरूलाई समाप्त गरिनेछ, जुन अवस्थामा एक जना व्यक्तिले परमेश्‍वरका वचनहरू पढ्थे र धेरैले आमेन भनेर आज्ञापालन गर्थे। त्यो बेला, मानिसहरूले परमेश्‍वरका वचनहरूलाई जानेका थिएनन्, बरु ती वचनहरूलाई आफ्‍नो प्रतिरक्षा गर्ने हतियारको रूपमा लिएका थिए। यस कुरालाई उल्ट्याउनको लागि, पृथ्वीमा हुनुहुने परमेश्‍वरले मानिसलाई एउटा नयाँ, उच्‍च आज्ञा गर्नुभएको छ। परमेश्‍वरका उच्‍च मापदण्डहरू र कडा सर्तहरूलाई देखेर नकारात्मक र निष्क्रिय बन्‍नबाट मानिसहरूलाई रोक्‍नको लागि, परमेश्‍वरले मानिसहरूलाई धेरै पटक यसो भन्दै प्रोत्साहन दिनुभएको छ: “आजको अवस्थामा परिस्थिति आइपुगेको हुनाले, तिमीहरूले आफ्‍ना विगतका कर्म र कार्यहरूको बारेमा अत्यन्तै पीडा र पछुतो मान्‍नु पर्दैन। मेरो उदारता समुद्र र आकाशजस्तै असीमित छ—मानिसका क्षमताहरू र मेरो बारेमा उसको ज्ञान कसरी मेरो लागि मेरा हत्केलाको पछाडिको भागजस्तै परिचित नहुन सक्थ्यो र?” यी तत्पर र इमानदार वचनहरूले अचानक मानिसहरूको मनमस्तिष्क खोलिदिन्छ र तिनीहरूलाई तुरुन्तै हताश अवस्थाबाट परमेश्‍वरलाई प्रेम गर्ने अवस्थामा, सकारात्मक र सक्रिय अवस्थामा लैजान्छ, किनभने परमेश्‍वरले मानिसहरूको हृदयमा भएको कमजोरीलाई हटाउँदै बोल्‍नुहुन्छ। यो कुरालाई थाहै नपाई, मानिसहरूले तिनीहरूको विगतका कार्यहरूको कारण परमेश्‍वरको अघि सधैँ लज्‍जित महसुस गर्छन्, र तिनीहरूले बारम्‍बार ग्‍लानि व्यक्त गर्छन्। यसर्थ, परमेश्‍वरले यी वचनहरूलाई विशेष गरी प्राकृतिक र सामान्य रूपमा प्रकट गर्नुहुन्छ, ताकि मानिसहरूले परमेश्‍वरका वचनहरू कठोर र निरस छन् भन्‍ने अनुभूति नगरून्, बरु ती कडा र कोमल, अनि स्पष्ट र जीवन्त दुवै छन् भन्‍ने अनुभव गरून्।

सृष्टिदेखि आजको दिनसम्‍म, परमेश्‍वरले आत्मिक संसारबाट नै मानिसको निम्ति सबै कुरा चुपचाप मिलाउनुभएको छ, र आत्मिक संसारको सत्यताको बारेमा मानिसलाई कहिल्यै व्याख्या गरिदिनुभएको छैन। तैपनि, आज, परमेश्‍वरले आन्तरिक रूपमा हुने युद्धको छोटो विवरण दिनुहुन्छ, जसले प्राकृतिक रूपमा नै मानिसहरूलाई अन्योल तुल्याउँछ, परमेश्‍वर प्रगाढ र बुझ्‍न नसकिने हुनुहुन्छ भन्‍ने तिनीहरूको बोधलाई अझै गहन तुल्याउँछ, र परमेश्‍वरका वचनहरूको स्रोत पत्ता लगाउन तिनीहरूको लागि अझै कठिन तुल्याउँछ। आत्मिक संसारको युद्धरत स्थितिले सबै मानिसहरूलाई आत्मामा ल्याउँछ भनेर भन्‍न सकिन्छ। यो भविष्यको कामको पहिलो महत्त्वपूर्ण भाग हो, र यो मानिसहरूलाई आत्मिक क्षेत्रमा प्रवेश गर्न समर्थ तुल्याउने इसारा हो। यसबाट, के देख्‍न सकिन्छ भने, परमेश्‍वरको कार्यको अर्को चरण मुख्य रूपमा आत्मामा केन्द्रित छ, जसको मुख्य उद्देश्य भनेको देहमा रहनुभएका परमेश्‍वरका आत्माको आश्‍चर्ययुक्त कार्यहरूको बारेमा सबै मानिसहरूलाई अझै ठूलो ज्ञान दिएर परमेश्‍वरप्रति निष्ठावान रहनेहरू सबैलाई शैतानको मूर्खता र प्रकृतिको अझै ठूलो ज्ञान दिनु हो। तिनीहरू आत्मिक क्षेत्रमा जन्‍मेका नभए पनि, तिनीहरूलाई यस्तो लाग्छ मानौं तिनीहरूले शैतानलाई देखेका छन्, र तिनीहरूमा यो अनुभूति आएपछि, परमेश्‍वरले तुरुन्तै बोल्‍ने अर्को शैलीको प्रयोग गर्नुहुन्छ—र मानिसहरूले यस्तो किसिमको सोचाइ प्राप्त गरिसकेपछि, परमेश्‍वरले सोध्‍नुहुन्छ: “म किन तिमीहरूलाई यति जरुरीको साथ तालिम दिँदैछु? किन म तिमीहरूलाई आत्मिक संसारको तथ्यहरू बताउँछु? किन म तिमीहरूलाई बारम्‍बार सम्झाउँछु र सल्लाह दिन्छु?” अनि यस्तै-यस्तै प्रश्‍नहरूको श्रृंखला, जसले मानिसहरूको मनमा विभिन्‍न प्रश्‍नहरू उठाउँछन्: परमेश्‍वर किन यो शैलीमा बोल्‍नुहुन्छ? उहाँले किन आत्मिक संसारका विषयहरूको बारेमा बोल्‍नुहुन्छ, र मण्डली निर्माणको अवधिमा उहाँले मानिसहरूलाई दिनुभएका मापदण्डहरूको बारेमा बोल्‍नुहुन्‍न? परमेश्‍वरले किन रहस्यहरू प्रकट गरेर मानिसहरूको धारणाहरूलाई प्रहार गर्नुहुन्‍न? अलिकति बढी विचारशील बनेर मात्रै, मानिसहरूले परमेश्‍वरको कार्यका चरणहरूको बारेमा अलिकति ज्ञान प्राप्त गर्छन्, यसरी जब भविष्यमा तिनीहरूले परीक्षाहरूको सामना गर्छन्, तिनीहरूमा शैतानप्रति वास्तविक घृणाबोध पैदा हुन्छ। अनि तिनीहरूले भविष्यमा परीक्षाहरूको सामना गर्नु परे पनि, तिनीहरूले अझै पनि परमेश्‍वरलाई चिन्‍न र अझै गहन रूपमा शैतानलाई घृणा गर्न, र शैतानलाई सराप्‍न सक्छन्।

अन्त्यमा, परमेश्‍वरको इच्‍छा पूर्ण रूपमा मानिसलाई प्रकट गरिन्छ: “मेरो प्रत्येक वचनलाई तिमीहरूका आत्माभित्र जरा हाल्न अनि फक्रन दिँदै, अनि फल फलाउन र त्योभन्दा अझ महत्त्वपूर्ण, धेरै फल फलाउन दिन। किनकि मैले चहकिला, लहलहाउँदा फूलहरू मागेको होइनँ, तर प्रशस्त फल मागेको हुँ, त्यस्तो फल जसले आफ्नो पाकेको रूप हराउँदैन।” परमेश्‍वरले आफ्‍ना मानिसहरूलाई बारम्‍बार दिनुभएका मापदण्डहरूमध्ये, सबैभन्दा वृहत् यही नै हो, यो महत्त्वपूर्ण बुँदा हो, र यसलाई सीधा रूपमा प्रस्तुत गरिएको छ। म सामान्य मानवतामा काम गर्ने अवस्थाबाट पूर्ण ईश्‍वरीयतामा काम गर्ने अवस्थामा स्थानान्तर भएको छु; तसर्थ, विगतमा, मेरा सरल रूपमा बोलिएका वचनहरूमा, मैले थप कुनै व्याख्याहरू थप्‍न आवश्यक थिएन, र धेरैजसो मानिसहरूले मेरा वचनहरूको अर्थलाई बुझ्‍न सकेका थिए। परिणाम के भएको थियो भने, त्यो बेला मानिसहरूको लागि आवश्यक सर्त भनेको मानिसहरूले मेरा वचनहरू जानून् र वास्तविकताको बारेमा बोल्‍न सकून् भन्‍ने मात्रै थियो। तर, यो चरण भने अत्यन्तै फरक छ। मेरो ईश्‍वरीयताले पूर्ण रूपमा स्थान लिएको छ, र मानवताले सहभागिता जनाउने कुनै स्थान बाँकी छैन। तसर्थ, मेरा मानिसहरूमध्येका व्यक्तिहरूले मेरा वचनहरूको साँचो अर्थ बुझ्‍न चाहन्छन् भने, तिनीहरूलाई अत्यन्तै कठिन हुन्छ। मेरा वाणीहरूबाट मात्रै तिनीहरूले अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छन्, र यदि यो प्रणालीको प्रयोग गरिएन भने, मेरा वचनहरूको उद्देश्यलाई बुझ्‍ने कुनै पनि सोच दिवास्वप्न मात्रै हुन्छन्। जब सबै मानिसहरूले मेरा वाणीहरूलाई स्वीकार गरेर मेरो बारेमा ठूलो ज्ञान प्राप्त गरिसकेका हुन्छन्, त्यो समय मेरा मानिसहरूले मेरो अनुरूप जीवन जिउने समय हो, त्यो मैले देहमा गर्ने मेरो काम समाप्त भएको समय हो, र मेरो ईश्‍वरीयताले देहमा पूर्ण रूपमा जिएको समय हो। यस बेला, सबै मानिसहरूले देहमा जिएको मलाई चिन्‍नेछन्, र परमेश्‍वर देहमा देखा पर्नुहुन्छ भनेर साँचो रूपमा भन्‍न सक्‍नेछन्, अनि यो नै यसको फल हुनेछ। यो मण्डली निर्माणको कार्यद्वारा परमेश्‍वर दिक्‍क हुनुभएको छ भन्‍ने कुराको थप प्रमाण हो—अर्थात्, “हरित गृहका फूलहरू ताराहरू जत्तिकै असङ्ख्य छन्, र तिनले तारिफ गर्ने भीडहरूलाई खिँच्छन्, तैपनि तिनीहरू ओइलिएपछि, तिनीहरू शैतानका छलपूर्ण युक्तिहरू जस्तै नष्ट हुन्छन्, र कसैले पनि तिनमा कुनै चासो देखाउँदैन।” मण्डली निर्माणको कार्यको अवधिमा परमेश्‍वरले व्यक्तिगत रूपमा काम गर्नुभएको भए पनि, उहाँ सधैँ नयाँ रहनुहुने र कहिल्यै पुरानो नरहनुहुने परमेश्‍वर हुनुभएकोले, उहाँलाई विगतका कुराहरूको यादले कहिल्यै सताउँदैन। मानिसहरूलाई विगतको बारेमा विचार गर्नबाट रोक्‍नको लागि, उहाँले “तिनीहरू शैतानका छलपूर्ण युक्तिहरू जस्तै नष्ट हुन्छन्,” भन्‍ने वचनहरूको प्रयोग गर्नुहुन्छ, जसले परमेश्‍वरले धर्मसिद्धान्तहरूको पालन गर्नुहुन्‍न भन्‍ने कुरालाई देखाउँछ। कतिपय मानिसहरूले परमेश्‍वरको इच्‍छालाई गलत रूपले अर्थ लगाउन सक्छन्, र यस्तो प्रश्‍न गर्न सक्छन्: यो परमेश्‍वर स्‍वयम्‌ले नै गर्नुभएको काम भएको हुनाले, उहाँले किन “फूलहरू ओइलिएपछि, कसैले पनि तिनमा कुनै चासो देखाउँदैन” भनी भन्‍नुभयो? यी वचनहरूले मानिसहरूलाई प्रकाश दिन्छ। सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तिनले मानिसहरूलाई नयाँ, र सही सुरुवाती बिन्दु प्रदान गर्छन्; तब मात्रै तिनीहरूले परमेश्‍वरको इच्‍छालाई पूरा गर्न सक्‍नेछन्। आखिरमा, परमेश्‍वरका मानिसहरूले परमेश्‍वरलाई साँचो, बाध्यताले होइन तर स्वेच्छाले, र तिनीहरूको हृदयबाट निस्केको प्रशंसा चढाउन सक्छन्। परमेश्‍वरको ६,०००-वर्षे व्यवस्थापन योजनाको केन्द्रमा यही कुरा छ। अर्थात्, यो ६,०००-वर्षे व्यवस्थापन योजनाको चरम बिन्दु त्यही नै हो: सबै मानिसहरूलाई परमेश्‍वरको देहधारणको महत्त्वको बारेमा जान्‍ने तुल्याउनु—तिनीहरूलाई परमेश्‍वर कसरी देह बन्‍नुहुन्छ, भन्‍नुको अर्थ, परमेश्‍वरले देहमा गर्नुहुने कर्महरूको बारेमा जान्‍ने तुल्याउनु—ताकि तिनीहरूले अस्पष्ट परमेश्‍वरलाई इन्कार गरून्, र आजका परमेश्‍वर, र हिजोका परमेश्‍वर, र त्योभन्दा पनि मुख्य कुरा, भोलिका परमेश्‍वरलाई चिनून्, जो वास्तवमै र साँचो रूपमा अनन्‍तदेखि अनन्‍तसम्‍म अस्तित्वमा हुनुहुन्छ। त्यसपछि मात्रै परमेश्‍वर विश्राममा प्रवेश गर्न सक्‍नुहुन्छ!

अघिल्लो: अध्याय १

अर्को: अध्याय ४

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्