विजयको कामको भित्री सत्यता (२)

तिमीहरू राजाको रूपमा शासन गर्न खोज्थ्यौ, र आज तिमीहरूले यसलाई पूर्ण रूपमा त्याग्न अझै बाँकी छ; तिमीहरू अझै पनि राजाको रूपमा शासन गर्न, स्वर्गहरूलाई नियन्त्रण गर्न र पृथ्वीलाई थाम्‍न चाहन्छौ। अब, यो प्रश्‍नलाई विचार गर: के तँसँग त्यस्ता योग्यताहरू छन्? के तँ पूर्ण रूपमा चेतनाहीन भइरहेको छैनस् र? तैँले जे खोज्छस् र जुन कुरामा ध्यान दिन्छस्, के त्यो वास्तविक छ? तँमा सामान्य मानवता पनि छैन—के यो दयनीय कुरा होइन र? यसैले, आज म केवल विजय गर्ने, गवाही दिने, तेरो क्षमता सुधार गर्ने, र सिद्ध हुने मार्गमा प्रवेश गर्ने कुरा गर्दछु, र अरू केही कुरा गर्दिनँ। कतिपय मानिसहरू विशुद्ध सत्यताबाट थकित छन्, र जब तिनीहरूले सामान्य मानवताको र मानिसहरूको क्षमता सुधारका यी सबै कुरा देख्छन्, तिनीहरू अनिच्छुक हुन्छन्। सत्यतालाई प्रेम नगर्नेहरूलाई सिद्ध बनाउन सजिलो हुँदैन। तिमीहरू आज प्रवेश गर्छौ, र परमेश्‍वरको इच्छाअनुसार, एक-एक चरण गर्दै कार्य गर्छौ भने, के तिमीहरू हटाइन सक्छौ? मुख्य भूमि चीनमा परमेश्‍वरले यति धेरै काम—यति ठूलो परिमाणको काम—गरिसक्नुभएपछि, र उहाँले यति धेरै वचनहरू बोल्नुभएपछि, के उहाँले आधा बाटोमा छोड्नुहुन्थ्यो? के उहाँले मानिसहरूलाई अतल कुण्डमा लैजानुहुन्थ्यो? आज, महत्त्वपूर्ण कुरा यो हो कि तिमीहरूले मानिसको सारलाई चिन्‍नुपर्दछ, र तिमीहरूले कुन कुरामा प्रवेश गर्नुपर्दछ भनेर जान्नुपर्छ; तैँले जीवन प्रवेश, र स्वभावमा हुने परिवर्तन, वास्तवमा कसरी जितिने, र कसरी पूर्ण रूपमा परमेश्‍वरको आज्ञा पालन गर्ने, कसरी परमेश्‍वरको अन्तिम गवाही दिने, र कसरी मृत्युसम्मै आज्ञाकारी हुने भन्‍ने कुराहरूको बारेमा बातचित गर्नैपर्छ। तैँले यी कुराहरूमा ध्यान केन्द्रित गर्नैपर्छ, र जुन कुरा वास्तविक वा महत्त्वपूर्ण छैन त्यसलाई पहिले पन्छ्याएर बेवास्ता गर्नुपर्दछ। आज, तँ कसरी जितिने, र मानिसहरू जितिएपछि तिनीहरूले कस्तो व्यवहार गर्छन् त्यो बारेमा सचेत हुनुपर्दछ। सायद तँलाई जितिएको छ भनेर भन्छस् होला, तर के तँ मृत्युसम्म आज्ञापालन गर्न सक्छस्? कुनै सम्भावनाहरू भए पनि वा नभए पनि तँ अन्त्यसम्म पछि लाग्नुपर्छ, वातावरण जस्तै भए पनि तैँले परमेश्‍वरप्रतिको विश्‍वास गुमाउनु हुँदैन। आखिरीमा, तैँले गवाहीका दुई पक्ष प्राप्त गर्नुपर्छ: अय्यूबको गवाही—मृत्युसम्मको आज्ञाकारिता; र पत्रुसको गवाही—परमेश्‍वरप्रतिको सर्वोच्च प्रेम। एउटा पक्षमा, तँ अय्यूबजस्तै हुनुपर्छ: तिनले सबै भौतिक सम्पत्तिहरू गुमाए, र शरीर पीडाले ढाक्यो, तापनि तिनले यहोवाको नाउँ त्यागेनन्। यो अय्यूबको गवाही थियो। पत्रुसले मृत्युसम्म परमेश्‍वरलाई प्रेम गर्न सके। जब तिनलाई क्रूसमा टाँगियो र तिनले मृत्युको सामना गरे, त्यस बेला पनि तिनले परमेश्‍वरलाई प्रेम गरिरहे; तिनले आफ्नै सम्भावनाहरूको बारेमा सोचेनन् वा सुन्दर आशा वा असाधारण विचारहरूको पछि लागेनन्, तिनी केवल परमेश्‍वरलाई प्रेम गर्न र परमेश्‍वरका सबै प्रबन्धहरूको पालन गर्न लागिपरे। तैँले गवाही दिनेबारे विचार गर्नुभन्दा अघि, जितिएर सिद्ध बनाइएपछिको कुनै व्यक्ति बन्नु भन्दा पहिले, तैँले यस्तै स्तर प्राप्त गर्नुपर्छ। आज, यदि मानिसहरूले साँच्चै आफ्नो सार र दर्जा थाहा पाउने हो भने, के उनीहरूले अझै पनि सम्भावना र आशाहरू खोज्ने थिए? तैँले जान्नुपर्ने कुरा यो हो: परमेश्‍वरले मलाई सिद्ध बनाउनु भए पनि वा नबनाउनु भए पनि, म परमेश्‍वरको पछि लाग्नुपर्छ; अहिले उहाँले गर्नुहुने सबै कुरा असल छन् र ती मेरो खातिर गरिएका हुन्, ताकि हाम्रो स्वभाव परिवर्तन हुन सकोस् र हामी आफैलाई शैतानको प्रभावबाट छुटाउन सकौं, फोहोरको भूमिमा जन्‍मेर पनि आफैलाई अशुद्धताबाट मुक्त गर्न सकौं, फोहोर र शैतानको प्रभावलाई फाल्न सकौं, त्यसलाई पछाडि छोड्न सकौं। अवश्य, तँबाट चाहेको कुरा यही नै हो, तर परमेश्‍वरका निम्ति यो मानिसहरूले आज्ञापालन गर्ने सङ्कल्प गरून् र तिनीहरू परमेश्‍वरका सबै योजनाहरूको अधीनमा बस्न सकून् भनी गरिने विजयको कार्य मात्रै हो। यही तरिकाले, सबै कुराहरू सम्पन्न हुनेछन्। आज, अधिकांश मानिसहरू अघि नै जितिसकिएका छन्, तर तिनीहरूभित्र अझै पनि विद्रोही र अनाज्ञाकारी धेरै कुरा छन्। मानिसहरूको वास्तविक कद अझै पनि धेरै सानो छ, र आशाहरू र सम्भावनाहरू छन् भने मात्र तिनीहरू जोसले भरिन सक्छन्; आशा र सम्भावनाहरूको अभावमा, तिनीहरू नकारात्मक बन्छन्, र परमेश्‍वरलाई छोड्ने मन गर्छन्। यसबाहेक, मानिसहरूमा सामान्य मानवतामा जिउन प्रयास गर्ने कुनै ठूलो चाहना छैन। यो अस्वीकार्य छ। यसैले, मैले अझै पनि विजयको कुरा गर्नैपर्छ। वास्तवमा, विजय भएकै समयमा सिद्धता पनि हुन्छ: जब तँ जितिन्छस्, तब सिद्ध बन्नुको पहिलो प्रभावहरू पनि प्राप्त गरिन्छ। जहाँ जितिने र सिद्ध बनाइने कुराबीच भिन्नता हुन्छ, त्यो पनि मानिसहरूमा भएको परिवर्तनको तहअनुसार हुन्छ। सिद्ध बनाइनुको पहिलो चरण जितिनु हो, अनि त्यसको अर्थ तिनीहरू पूर्णरूपमा सिद्ध भइसकेका छन् भन्‍ने होइन, न त यो तिनीहरू पूर्ण रूपमा परमेश्‍वरद्वारा प्राप्त गरिएका छन् भन्‍ने कुराको प्रमाण नै हो। मानिसहरू जितिएपछि, तिनीहरूको स्वभावमा केही परिवर्तनहरू हुन्छन्, तर त्यस्ता परिवर्तनहरू परमेश्‍वरबाट पूर्ण रूपमा प्राप्त भएका व्यक्तिहरूका भन्दा निकै कम हुन्छन्। आज, जे गरिन्छ त्यो मानिसहरूलाई सिद्ध बनाउने—तिनीहरूलाई जित्ने प्रारम्भिक काम हो—अनि यदि तैँले विजय हुने कामलाई प्राप्त गर्न सक्दैनस् भने, तँसँग सिद्ध हुने र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त हुने कुनै माध्यम हुनेछैन। तैँले दण्ड र न्यायको थोरै वचनहरू प्राप्त गर्नेछस्, तर तिनले तेरो हृदय पूर्ण रूपमा परिवर्तन गर्न सक्‍नेछैनन्। यसैले तँ हटाइनेछस्; त्यो टेबलमाथिको भव्य भोज हेर्नु, तर नखानु भन्दा त्यत्ति फरक हुँदैन। के यो तेरो लागि दुःखद परिदृश्य हुँदैन र? त्यसकारण तैँले परिवर्तनहरू खोज्नुपर्दछ: चाहे त्यो जित्ने होस् वा सिद्ध पारिने, ती दुवै तँभित्र परिवर्तनहरू भएका छन् कि छैनन्, र तँ आज्ञाकारी छस् कि छैनस् भन्‍ने कुरासित सम्बन्धित हुन्छन्, अनि त्यसले तँ परमेश्‍वरद्वारा प्राप्त हुन सक्छस् कि सक्दैनस् भन्‍ने कुरा निश्चित गर्दछ। यो जान् कि “जितिनु” र “सिद्ध बनाइनु” परिवर्तन र आज्ञाकारिताको मात्रामा साथै परमेश्‍वरप्रतिको तेरो प्रेम कति शुद्ध छ भन्‍ने कुरामा आधारित हुन्छन्। आज चाहिने कुरा भनेको तँ पूर्ण रूपमा सिद्ध हुन सक्‍नु नै हो, तर सुरुमा तँलाई जितिनुपर्छ—तँमा परमेश्‍वरको सजाय र न्यायको पर्याप्त ज्ञान हुनुपर्दछ, उहाँलाई पछ्याउने विश्‍वास हुनुपर्दछ, र तँ परिवर्तन खोज्ने र परमेश्‍वरको ज्ञानको खोजी गर्ने व्यक्ति बन्नुपर्छ। तब मात्र तँ त्यो व्यक्ति बन्नेछस् जो सिद्ध बन्‍न लागिपर्छ। तिमीहरूले बुझ्नुपर्दछ, कि सिद्ध हुने क्रममा तँ जितिनेछस्, र जितिने क्रममा तँ सिद्ध बनाइनेछस्। आज, तँ सिद्ध बनाइन वा तेरो बाहिरी मानवतामा परिवर्तन ल्याउन र तेरो क्षमतामा सुधार गर्न लागिपर्न सक्छस्, तर प्रमुख महत्त्वको कुरा यो हो कि तैँले आज परमेश्‍वरले गर्नुहुने सबै कुराको अर्थ छ र त्यो लाभदायक छ भनी बुझ्न सक्नेछस्: यसले तँ फोहोर देशमा जन्मेको व्यक्तिलाई फोहोरबाट उम्कन र त्यसलाई फाल्न सक्‍ने, यसले तँलाई शैतानको प्रभावलाई जित्न, र शैतानको अन्धकारको प्रभावलाई त्याग्‍न सक्‍ने बनाउँछ। यी कुराहरूमा ध्यान दिँदा, तँ फोहोरको यो देशमा सुरक्षित हुनेछस्। आखिरमा, तँलाई के गवाही दिन लगाइन्छ? तँ फोहोरको देशमा जन्मेको छस्, तर तँ पवित्र बन्न सक्छस्, र शैतानको सत्तामा जिउने गरी फेरि कहिल्यै फोहोरद्वारा दूषित हुँदैनस्, तर आफैलाई शैतानको प्रभावबाट छुटाउँछस्, शैतानको कब्जा वा उत्पीडनमा पर्दैनस्, सर्वशक्तिमानका हातहरूमुनि जिउँछस्। शैतानसितको लडाइँमा पाएको विजयको गवाही र प्रमाण यही नै हो। तैँले शैतानलाई त्याग्न सक्छस्, तैँले आफ्नो जियाइमा शैतानी स्वभावहरू प्रकट गर्दैनस्, बरु परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले माग गर्नुभएअनुसार नै जिउनेछस्: सामान्य मानवता, सामान्य ज्ञान, सामान्य अन्तर्दृष्टि, परमेश्‍वरलाई प्रेम गर्ने सामान्य संकल्प, र परमेश्‍वरप्रतिको बफादारीता। यो परमेश्‍वरको सृष्टिले वहन गर्नुपर्ने गवाही हो। तैँले यसो भन्छस्, “हामी फोहोरको देशमा जन्मिएका छौं, तर परमेश्‍वरको सुरक्षाको कारण, उहाँको नेतृत्वको कारण, र उहाँले हामीलाई जित्नुभएको कारण, हामीले आफैलाई शैतानको प्रभावदेखि छुटाएका छौं। आज हामीले आज्ञापालन गर्न सक्नु पनि परमेश्‍वरले हामीलाई विजय गर्नुभएको प्रभाव हो, अनि यो हामी असल भएकोले, वा हामीले स्वाभाविक रूपले परमेश्‍वरलाई प्रेम गरेकोले होइन। परमेश्‍वरले हामीलाई चुन्नुभएकोले र हामीलाई पूर्वनियुक्त गर्नुभएकोले आज हामीलाई विजय गरिएको, र उहाँको गवाही दिन सक्छौं, उहाँको सेवा गर्न सक्छौं; यसरी, उहाँले हामीलाई चुन्नुभएको र रक्षा गर्नुभएकोले पनि, हामी शैतानको सत्ताबाट बचाइएका र छुटाइएका छौं, अनि फोहोरलाई त्यागेर ठूलो रातो अजिङ्गरको देशमा शुद्ध हुन सक्छौं।” यसबाहेक, तँ बाहिरी रूपमा जसरी जिउँछस् त्यसले तँमा सामान्य मानवता छ भन्‍ने देखाउँछ, तैँले जे भन्छस् त्यो अर्थपूर्ण हुन्छ, र तँ सामान्य व्यक्तिको स्वरूप जिउँछस्। अरूले तँलाई हेर्दा यसो नभनून्: “के यो ठूलो रातो अजिङ्गरको स्वरूप होइन?” दिदी-बहिनीहरूको आचरण दिदी-बहिनीको लागि सुहाउँदो छैन; दाजुभाइहरूको आचरण दाजु-भाइको लागि सुहाउँदो छैन; अनि तँमा सन्तहरूको शिष्टता पटक्‍कै छैन। तब मानिसहरूले भन्‍नेछन्, “परमेश्‍वरले तिनीहरूलाई मोआबको सन्तान भन्नुभएको ठीकै हो, उहाँ पूर्ण रूपमा सही हुनुहुन्छ।” यदि मानिसहरूले तिमीहरूलाई हेरेर “परमेश्‍वरले तिमीहरूलाई मोआबको सन्तान भन्नुभए पनि, तिमीहरूको जियाइलाई हेर्दा त तिमीहरूले शैतानको प्रभावलाई त्यागिसकेका छौ भन्‍ने प्रमाणित गर्छ; ती कुराहरू तिमीहरूभित्र भए पनि, तिमीहरूले तिनलाई त्याग्‍न सक्छौ, यसले तिमीहरू पूर्ण रूपमा जितिएका छौ भन्‍ने देखाउँदछ” भनी भन्दा, तिमीहरू अर्थात् जितिएका र बचाइएकाहरूले भन्‍नेछौ, “हामी मोआबका सन्तान हौं भन्‍ने कुरा साँचो हो, तर हामी परमेश्‍वरद्वारा मुक्त भएका छौं, र विगतमा मोआबका सन्तान त्यागिएका र श्रापित थिए, र इस्राएलका मानिसहरूद्वारा अन्यजातिहरूको माझमा निर्वासित थिए, आज परमेश्‍वरले हामीलाई मुक्त गर्नुभएको छ। हामी सबै मानिसहरूमध्ये सबैभन्दा भ्रष्ट छौं भन्‍ने कुरा साँचो हो—यो परमेश्‍वरले घोषणा गर्नुभएको हो, यो तथ्य हो, र यो कसैले इन्कार गर्न नसक्ने कुरा हो। तर आज हामी त्यो प्रभावबाट उम्केका छौं। हामी हाम्रा पुर्खालाई घृणा गर्दछौं, हामी हाम्रा पुर्खाको बाटो त्याग्‍न, त्यसलाई पूर्ण रूपले त्याग्न परमेश्‍वरको इच्छाबमोजिम काम गर्दै र उहाँले हामीबाट गर्नुभएका मागहरू प्राप्त गर्दै र परमेश्‍वरको इच्छाको सन्तुष्टि हासिल गर्दै, परमेश्‍वरका सबै व्यवस्थाहरू पालन गर्दछौं। मोआबले परमेश्‍वरलाई धोका दिए, तिनले परमेश्‍वरको इच्छाअनुसार कार्य गरेनन्, र परमेश्‍वरले तिनलाई घृणा गर्नुभयो। तर हामीले परमेश्‍वरको हृदयको ख्याल राख्नुपर्दछ, र आज, हामी परमेश्‍वरको इच्छा बुझ्दछौं, त्यसैले हामी परमेश्‍वरलाई धोका दिन सक्दैनौं, र हामीले हाम्रो पुरानो पुर्खालाई त्याग्नुपर्छ!” पहिले मैले ठूलो रातो अजिङ्गरलाई त्याग गर्ने कुरा गरें, र आज, यो मुख्य रूपले मानिसको पुरानो पुर्खालाई त्याग गर्ने कुरा हो। यो मानिसहरूको विजयको एउटा गवाही हो, र तँ आज जसरी प्रवेश गरे पनि, यस क्षेत्रमा तेरो साक्षीमा कमी हुनु हुँदैन।

मानिसहरूको क्षमता धेरै कमजोर छ, तिनीहरूमा सामान्य मानवताको धेरै कमी छ, तिनीहरूका प्रतिक्रियाहरू एकदमै सुस्त, एकदमै अल्छी छन्, शैतानको भ्रष्टताले तिनीहरूलाई बोधो र मन्द बुद्धिको बनाएको छ, र तिनीहरू एक-दुई वर्षमा पूर्ण रूपमा परिवर्तन हुन नसके पनि, तिनीहरूसँग सहकार्य गर्ने संकल्प हुनुपर्छ। यो शैतानको सामु एउटा गवाही हो पनि भन्न सकिन्छ। आजको गवाही वर्तमान विजयको कामद्वारा प्राप्त गरेको प्रभाव हो, साथै भविष्यका अनुयायीहरूका लागि नमुना र आदर्श हो। भविष्यमा, यो सबै राष्ट्रहरूमा फैलिनेछ; चीनमा गरिएको काम सबै देशहरूमा फैलिनेछ। मोआबका सन्तान विश्‍वका सबैभन्दा नीच मानिसहरू हुन्। कतिले सोध्छन्, “के हामका सन्तान सबैभन्दा नीच होइनन् र?” ठूलो रातो अजिङ्गरको सन्तान र हामका सन्तानहरू प्रतिनिधित्वको हिसाबले फरक-फरक महत्त्वका छन्, र हामका सन्‍तानहरू एउटा फरक विषय हुन्: तिनीहरू जति नै श्रापित भए पनि, तिनीहरू नोआका सन्‍तान नै हुन्; तर, मोआबको उत्पत्ति भने शुद्ध थिएन: मोआब व्यभिचारबाट आएको थियो, र यसै कुरामा भिन्नता छ। ती दुवै वर्ग श्रापित भए पनि तिनीहरूको ओहोदा एउटै थिएन, यसकारण मोआबका सन्तानहरू सबैभन्दा नीच मानिसहरू हुन्—र सबैभन्दा नीच मानिसहरूलाई जित्नुभन्दा बढी विश्‍वसनीय तथ्य अरू हुन सक्दैन। आखिरी दिनहरूको कामले सबै नियमहरू तोड्दछ, अनि तँ श्रापित भए पनि वा दण्डित भए पनि, जबसम्म तैँले मेरो काममा सहायता गर्छस् र आजको विजयको कामका निम्ति उपयोगी हुन्छस्, तब तँ मोआबको सन्तान भए पनि वा ठूलो रातो अजिङ्गरको सन्तान नै भए पनि, तैँले कामको यस चरणमा परमेश्‍वरको सृष्टिको कर्तव्य पूरा गर्छस् र तैँले गर्न सक्ने सक्दो गर्छस् भने, पाउनु पर्ने प्रभाव प्राप्त हुनेछ। तँ ठूलो रातो अजिङ्गरको सन्तान होस्, र तँ मोआबको सन्तान होस्; समग्रमा भन्‍ने हो भने, जो मासु र रगतका हुन् तिनीहरू सबै परमेश्‍वरका सृष्टि हुन् र तिनीहरू सृष्टिकर्ताद्वारा बनाइएका थिए। तँ परमेश्‍वरको सृष्टि होस्, तँसँग कुनै विकल्प हुनु हुँदैन, र यो तेरो कर्तव्य हो। अवश्य, आज सृष्टिकर्ताको काम सम्पूर्ण ब्रह्माण्डप्रति निर्देशित छ। तिमीहरू जुन वंशबाट आएको सन्तान भए पनि, सबैभन्दा महत्त्वपूर्ण कुरा तिमीहरू परमेश्‍वरका सृष्टि, तिमीहरू—जो मोआबको सन्तान हौ—परमेश्‍वरका सृष्टिका भाग हौ, फरक यति मात्र छ कि तिमीहरूको मूल्य कम छ। आज, परमेश्‍वरको काम सबै प्राणीहरूको माझमा र सारा ब्रह्माण्डमा गरिने भएकोले, सृष्टिकर्ता उहाँको काम गर्नका निम्ति कुनै पनि मानिसहरू, विषयहरू वा थोकहरू चुन्न स्वतन्त्र हुनुहुन्छ। तँ कुन वंशबाट आएको होस् भन्‍ने कुरालाई उहाँले परवाह गर्नुहुन्न; तँ उहाँका सृष्टिमध्येको एउटा होस्, र तँ उहाँको काम, अर्थात् विजय र गवाहीको कामका निम्ति फाइदाजनक हुन्छस् भने, उहाँले तँभित्र कुनै संकोचविना उहाँको काम पूरा गर्नुहुनेछ। यसले मानिसहरूका परम्परागत धारणाहरूलाई चकनाचूर पार्छ, जुनचाहिँ यही हुन् कि परमेश्‍वरले अन्यजातिहरूका बीचमा कहिल्यै पनि काम गर्नुहुनेछैन, विशेष गरी तिनीहरूका माझमा जो श्रापित र तुच्छ छन्; किनकि जो श्रापित छन्, तिनीहरूबाट भविष्यमा आउने सबै पुस्ताहरू पनि सदाका लागि श्रापित हुनेछन्, जसको निम्ति मुक्ति पाउने कुनै पनि सम्भावना हुँदैन; परमेश्‍वरले कहिल्यै पनि अन्यजातिहरूको देशमा ओर्लेर काम गर्नुहुनेछैन, र उहाँले फोहोरको देशमा कहिल्यै पनि खुट्टा टेक्नुहुनेछैन, किनकि उहाँ पवित्र हुनुहुन्छ। परमेश्‍वरको आखिरी दिनहरूको कामद्वारा यी सबै धारणाहरू चकनाचूर पारिएका छन्। यो जान कि परमेश्‍वर सबै सृष्टिका परमेश्‍वर हुनुहुन्छ, स्वर्गहरू, पृथ्वी र सबै थोकमाथि उहाँको अधिकार छ, अनि उहाँ इस्राएलका मानिसहरूका मात्र परमेश्‍वर हुनुहुन्न। त्यसैले, चीनमा भएको यो कामको ठूलो महत्त्व छ, अनि के यो सबै देशहरूमा फैलिनेछैन र? भविष्यको ठूलो गवाही चीनमा मात्र सीमित हुनेछैन; यदि परमेश्‍वरले तिमीहरूलाई जित्नु मात्र सक्नुभयो भने, के भूतात्माहरू विश्‍वस्त हुन सक्छन्? तिनीहरू विजय हुनु भनेको के हो, वा परमेश्‍वरको महान् शक्ति भनेको के हो बुझ्दैनन्, अनि जब सारा ब्रह्माण्डमा रहेका परमेश्‍वरका चुनिएका मानिसहरूले अन्तिम प्रभावहरू देख्छन्, तब सबै प्राणीहरू जितिनेछन्। मोआबका सन्तानहरूभन्दा बढी पिछडिएको वा भ्रष्ट कोही पनि छैन। सबैभन्दा भ्रष्ट, परमेश्‍वरलाई स्वीकार नगर्ने वा परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास नगर्ने मानिसहरू जितिएपछि, अनि तिनीहरूले आफ्‍नो मुखले परमेश्‍वरलाई स्वीकार गरे, उहाँलाई प्रशंसा गरे, अनि उहाँलाई प्रेम गर्न सके भने मात्रै यो विजयको गवाही बन्‍नेछ। तिमीहरू पत्रुस नभए पनि, तिमीहरू पत्रुसको स्वरूपमा जिउँछौ, तिमीहरूले पत्रुसको र अय्यूबको गवाही धारण गर्न सक्छौ, र यो सबैभन्दा ठूलो गवाही हो। अन्त्यमा तिमीहरूले यसो भन्‍नेछौ: “हामी इस्राएलीहरू होइनौं, तर मोआबको त्यागिएका सन्तान हौं, हामी पत्रुस होइनौं, जसको क्षमता प्राप्त गर्न हामी असक्षम छौं, न त अय्यूब हौं, अनि हामीलाई परमेश्‍वरको लागि दुःख भोग्ने र आफैलाई परमेश्‍वरमा समर्पण गर्ने पावलको संकल्पसित तुलना गर्न सकिँदैन, र हामी धेरै पछौटे हौं, र यसैले हामी परमेश्‍वरको आशिष प्राप्त गर्न अयोग्य छौं। आज पनि परमेश्‍वरले हामीलाई माथि उठाउनुभएको छ; त्यसकारण हामीले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ, र हामी अपर्याप्त क्षमता वा योग्यताका भए पनि, हामी परमेश्‍वरलाई सन्तुष्ट पार्न तयार छौं—हामीसँग यो संकल्प छ। हामी मोआबका सन्तानहरू हौं, र हामी श्रापित थियौं। यो परमेश्‍वरको घोषणा थियो, र हामी यसलाई परिवर्तन गर्न सक्दैनौं, तर हाम्रो जीवनशैली र हाम्रो ज्ञान परिवर्तन हुन सक्छ, र हामी परमेश्‍वरलाई सन्तुष्ट पार्ने सङ्कल्‍प गर्छौं।” जब तँसँग यो संकल्प हुन्छ, तब त्यसले तिमीहरूलाई विजय गरिँदैछ भन्‍ने प्रमाणित गर्दछ।

अघिल्लो: विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

अर्को: विजयको कामको भित्री सत्यता (३)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्