विजयको कामको भित्री सत्यता (३)

विजयको कामको लक्षित प्रभाव, सबैभन्दा बढी, मानिसको देहले अबउप्रान्त विद्रोह नगरोस्; अर्थात्, मानिसको दिमागले परमेश्‍वरबारे नयाँ ज्ञान प्राप्त गरोस्, मानिसको हृदयले परमेश्‍वरको पूरा आज्ञापालन गरोस् र मानिसले परमेश्‍वरको निम्ति हुने आकांक्षा राखोस् भन्‍ने हो। मानिसहरूले आफ्नो स्वभाव वा देह परिवर्तन हुँदा त्यसलाई विजय प्राप्त भएको कुराको रूपमा लिँदैनन्; जब मानिसको सोच, चेतना र समझ परिवर्तन हुन्छ, भन्‍नुको अर्थ, जब तेरो सम्पूर्ण मनोवृत्ति परिवर्तन हुन्छ—त्यसबेला तँ परमेश्‍वरद्वारा जितिएको हुन्छस्। जब तैँले आज्ञापालन गर्ने सङ्कल्प गर्छस् र नयाँ मानसिकता अपनाउँछस्, जब तैँले परमेश्‍वरका वचनहरू र काममा आफ्नो कुनै पनि विचार वा अभिप्रायहरू ल्याउँदैनस् र जब तेरो दिमागले सामान्य रूपमा सोचविचार गर्न सक्छ—भन्नुको मतलब, जब तैँले सम्पूर्ण हृदयले आफैलाई परमेश्‍वरको निम्ति प्रयोगमा ल्याउँछस्—तब तँ त्यस्तो मानिस बन्छस्, जो पूर्ण रूपमा जितिएको हुन्छ। धर्ममा, धेरै मानिसहरूले आफ्नो जीवनभरि ठूलो दुःख भोग्छन्: तिनीहरूले आफ्नो देहलाई वशमा राख्छन् र आफ्नो क्रूस बोक्छन् र मृत्यु हुन लाग्दासमेत तिनीहरूले कष्ट भोग्छन् र सहन्छन्! कोही-कोही त आफ्नो मृत्यु हुने बिहानसम्म उपवास बसिरहेका हुन्छन्। तिनीहरूले आफ्नो सारा जीवनभरि राम्रो भोजन र वस्त्र अस्वीकार गर्छन्, केवल कष्टमा मात्र ध्यान दिन्छन्। तिनीहरू आफ्नो शरीरलाई वशमा राख्‍न र आफ्नो देहलाई परित्याग गर्न सक्षम हुन्छन्। कष्ट भोग्‍न सक्‍ने तिनीहरूको जोस सराहनीय हुन्छ। तर तिनीहरूको सोचविचार, धारणा, मनोवृत्ति र वास्तवमा तिनीहरूको पुरानो स्वभावलाई अलिकति पनि निराकरण गरिएको हुँदैन। तिनीहरूमा आफ्नैबारे साँचो ज्ञानको कमी हुन्छ। तिनीहरूको मस्तिष्कमा एक परम्परागत, अस्पष्ट परमेश्‍वरको प्रतिरूप हुन्छ। परमेश्‍वरका लागि कष्ट भोग्‍ने तिनीहरूको सङ्कल्प तिनीहरूका जोश र तिनीहरूको मानवताको असल चरित्रबाट आउँछ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले न त उहाँलाई बुझ्छन्, न त उहाँको इच्छाबारे तिनीहरूलाई केही थाहा नै हुन्छ। तिनीहरू केवल काम गर्छन् र परमेश्‍वरका लागि अन्धाधुन्ध कष्ट भोग्छन्। तिनीहरूले समझलाई कुनै प्रकारको महत्त्व दिँदैनन्, आफ्नो सेवाले वास्तवमै परमेश्‍वरको इच्छा पूरा गर्ने कुरा सुनिश्‍चित गर्न त्यत्ति वास्ता गर्दैनन्, तिनीहरूलाई परमेश्‍वरको ज्ञान कसरी प्राप्त गर्ने भन्‍ने कुरा थाहा हुनु त परै जाओस्। तिनीहरूले सेवा गरेका परमेश्‍वर उहाँको अन्तर्निहित स्वरूपमा हुनुहुन्‍न, बरु तिनीहरूले कल्पना गरेका परमेश्‍वर, तिनीहरूले सुनेका परमेश्‍वर वा लिखित दन्त्यकथाहरूमा पढेका परमेश्‍वर मात्र हुनुहुन्छ। त्यसपछि परमेश्‍वरका निम्ति कष्ट भोग्‍न आफ्ना उर्वर कल्पनाहरू र धर्मीपन प्रयोग गर्छन् र परमेश्‍वरले गर्न चाहनुभएको परमेश्‍वरको काम गर्न थाल्छन्। तिनीहरूको सेवा अति नै अवास्तविक हुन्छ, यहाँसम्म कि व्यावहारिक रूपमा तिनीहरूमध्ये कसैले पनि साँचो रूपले परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न सक्दैन। तिनीहरूले जति नै खुसीसाथ दु:ख भोगे पनि, सेवाबारे तिनीहरूको मूल दृष्टिकोण र तिनीहरूको मस्तिष्कमा रहेको परमेश्‍वरको प्रतिरूप अपरिवर्तित रहन्छ, किनभने तिनीहरूले परमेश्‍वरको न्याय, सजाय, शोधन र सिद्धता भोगेका हुँदैनन्, न त कसैले तिनीहरूलाई सत्यताको प्रयोग गरी डोर्‍याएको नै हुन्छ। तिनीहरूले मुक्तिदाता येशूमा विश्‍वास गरे पनि तिनीहरूमध्ये कसैले पनि मुक्तिदातालाई देखेका हुँदैनन्। तिनीहरूले उहाँलाई केवल दन्त्यकथा र सुनेका कुराहरूको माध्यमबाट जान्दछन्। फलस्वरूप, तिनीहरूको सेवा आँखा बन्द गरेर बिनाउद्देश्य गरिएको कामभन्दा बढी हुँदैन, त्यो एक अन्धोले आफ्नो बुबाको सेवा गरेको जस्तो हुन्छ। त्यस्तो सेवाबाट अन्त्यमा के हासिल गर्न सकिन्छ? अनि यसलाई कसले अनुमोदन गर्नेछ? सुरुदेखि अन्त्यसम्म, तिनीहरूको सेवा एक समान रहन्छ; तिनीहरूले केवल मानवनिर्मित पाठहरू सिक्छन् र तिनीहरूको सेवा केवल तिनीहरूको आफ्नै प्राकृतिकपन र तिनीहरूका आफ्नै रुचिहरूमा आधारित हुन्छ। यसले कस्तो इनाम ल्याउन सक्छ? येशूलाई देख्‍ने पत्रुसले पनि परमेश्‍वरको इच्छाअनुसार सेवा गर्न जान्दैनथे; तिनले यो कुरा अन्त्यतिर, आफ्नो बुढेसकालमा मात्र जाने। यसले निराकरण वा काटछाँटको अलिकति पनि अनुभव नगरेका र कसैद्वारा नडोर्‍याइएका अन्धा व्यक्तिहरूबारे के भन्छ? के आज तिमीहरूमध्ये धेरैको सेवा ती अन्धा मानिसहरूको जस्तो छैन र? न्याय प्राप्त नगरेका, काटछाँट र निराकरण नभोगेका र परिवर्तन नभएका सबै व्यक्तिहरू—के तिनीहरू सबै अधुरो रूपमा मात्रै जितिएका छैनन् र? त्यस्ता मानिसहरू कुन कुरामा काम लाग्छन्? यदि तेरो सोच, जीवनबारे तेरो ज्ञान र परमेश्‍वरसम्बन्धी तेरो ज्ञानले कुनै नयाँ परिवर्तन देखाउँदैन र तैँले वास्तवमा केही पनि प्राप्त गर्दैनस् भने, तैँले आफ्नो सेवामा कुनै उल्लेखनीय कुरा कहिले पनि हासिल गर्नेछैनस्! दर्शन र परमेश्‍वरको कामको नयाँ ज्ञानविना, तँलाई जितिएको हुँदैन। तब परमेश्‍वरलाई पछ्याउने तेरो तरिका कष्ट भोग्‍ने र उपवास बस्‍नेहरूको जस्तो थोरै मूल्यको हुनेछ! यो ठ्याक्कै के हो भने, तिनीहरूले जे गर्छन् त्यसमा गवाही थोरै मात्र हुन्छ, त्यसैले म भन्छु, तिनीहरूको सेवा व्यर्थ छ! आफ्नो जीवनभरि तिनीहरूले कष्ट भोग्छन् अनि झ्यालखानमा समय बिताउँछन्; तिनीहरू सधैँ सहनशील र प्रेमिलो हुन्छन् अनि सधैँ क्रूस बोक्छन्, संसारद्वारा तिनीहरूको हाँसो उडाइन्छ र तिनीहरूलाई अस्वीकार गरिन्छ, तिनीहरूले हरप्रकारका कठिनाइ अनुभव गर्छन् र तिनीहरू अन्त्यसम्म आज्ञाकारी भए तापनि, अझै पनि जितिएका हुँदैनन् र जितिएको कुराको कुनै गवाही दिन सक्दैनन्। तिनीहरूले ठूलो पीडा भोगेका हुन्छन्, तर भित्रचाहिँ परमेश्‍वरलाई पटक्‍कै चिन्दैनन्। तिनीहरूका पुराना सोचहरू, पुराना धारणाहरू, धार्मिक अभ्यासहरू, मानवनिर्मित ज्ञान र मानवीय विचारहरूलाई निराकरण गरिएको छैन। तिनीहरूमा नयाँ ज्ञानको कुनै छनक नै छैन। परमेश्‍वरसम्बन्धी तिनीहरूको ज्ञान थोरै पनि सत्य वा सही हुँदैन। तिनीहरूले परमेश्‍वरको इच्छालाई गलत बुझेका हुन्छन्। के यो परमेश्‍वरप्रति सेवा हो र? विगतमा परमेश्‍वरसम्बन्धी तेरो ज्ञान जे-जस्तो भए पनि, यदि त्यो आज त्यस्तै रहिरहन्छ भने, र परमेश्‍वरले जे गर्नुभए पनि उहाँसम्बन्धी तेरो ज्ञान तैँले तेरा आफ्नै धारणा र विचारहरूमा आधारित गर्न जारी राख्छस् भने, भन्‍नुको अर्थ, यदि तँमा परमेश्‍वरसम्बन्धी कुनै नयाँ र साँचो ज्ञान छैन भने, र यदि तँ परमेश्‍वरको साँचो रूप र स्वभावलाई जान्‍न असफल हुन्छस् भने, यदि परमेश्‍वरसम्बन्धी तेरो ज्ञान सामन्ती, अन्धविश्‍वासपूर्ण सोचबाट निर्देशित छ र मानव कल्पना र धारणाबाट उत्पन्न भएको छ भने, तँ जितिएको छैनस्। मैले तँलाई अहिले धेरै वचनहरू बताउनु भनेको तँलाई यी वचनहरू जान्‍न दिनु र यो ज्ञानले तँलाई अझ नयाँ र सही ज्ञानमा डोऱ्याओस् भनेर हो; मैले यी कुराहरू भन्नुको उद्देश्य तँमा भएका ती पुराना धारणाहरू र पुरानो ज्ञान मेटाउनको लागि पनि हो ताकि तैँले नयाँ ज्ञान प्राप्त गर्न सकोस्! यदि तैँले साँच्‍चै मेरा वचनहरू खाइस् र पिइस् भने, तेरो ज्ञानमा धेरै परिवर्तन हुनेछ। जबसम्म तँ आज्ञाकारी हृदयसहित परमेश्‍वरका वचनहरू खान्छस् र पिउँछस्, तबसम्म तेरो दृष्टिकोणलाई उल्टाइनेछ। जबसम्म तँ बारम्बार दोहोरिने सजायहरू स्वीकार गर्न सक्छस्, तबसम्म तेरो पुरानो मानसिकता बिस्तारै परिवर्तन हुनेछ। जबसम्म तेरो पुरानो मानसिकताको स्थान पूर्ण रूपमा नयाँ मानसिकताले लिन्छ, तबसम्म तेरो अभ्यास पनि सोहीअनुरूप परिवर्तन हुनेछ। यस तरिकाले, तेरो सेवा झन्-झन् लक्ष्यमा केन्द्रित हुनेछ र तँ झन् बढी परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम हुनेछस्। यदि तैँले तेरो जीवन, मानव जीवनसम्बन्धी तेरो ज्ञान र परमेश्‍वरसम्बन्धी तेरा धेरै धारणाहरू परिवर्तन गर्न सकिस् भने, तेरो प्राकृतिकपन बिस्तारै घट्दै जान्छ। जब परमेश्‍वरले मानिसहरूलाई जित्‍नुहुन्छ, तब यो र यस्तो कुनै पनि कुरामा त्यसको प्रभाव हुँदैन, यो मानिसहरूभित्र हुन आउने प्रभाव हो। यदि परमेश्‍वरप्रतिको तेरो विश्‍वासमा तैँले आफ्नो देहलाई वशमा राख्‍न र सहन अनि कष्ट भोग्न मात्र जानेका छस् भने, र त्यो सही हो कि गलत भनी तँलाई थाहा छैन, त्यो कसको खातिर गरिएको हो भन्‍ने पत्तोसमेत छैन भने, त्यस्तो अभ्यासले कसरी परिवर्तनतर्फ डोर्‍याउन सक्छ र?

यो बुझ कि मैले तिमीहरूसँग मागेको कुराचाहिँ तिमीहरूको देहलाई दासत्वमा राख वा तिमीहरूका दिमागलाई स्वतन्त्र रूपमा सोचविचार गर्नबाट रोक भनेको होइन। यो न त त्यस कामको लक्ष्य हो, न त यो काम अहिले गर्नु नै आवश्यक छ। अहिले, तिमीहरूसँग सकारात्मक पक्षको ज्ञान हुनुपर्दछ, जसले गर्दा तिमीहरू आफैलाई परिवर्तन गर्न सक्छौ। सबैभन्दा आवश्यक कार्य भनेको तिमीहरूले आफैलाई परमेश्‍वरको वचनले सुसज्‍जित पार्नु हो, जसको अर्थ, तिमीहरूले आफूलाई अहिले वर्तमान सत्यता र दर्शनले सुसज्‍जित पार्नु र त्यसपछि अघि बढ्नु र त्यसलाई व्यवहारमा अपनाउनु हो भन्‍ने हुन्छ। यो तिमीहरूको जिम्मेवारी हो। मैले तिमीहरूलाई अझ ठूलो अन्तर्दृष्टि खोज्नु र प्राप्त गर्नु भनेको होइन। वर्तमानमा, तिमीहरूसँग त्यसको लागि चाहिने कद छैन। तिमीहरूले गर्नैपर्ने भनेको यति मात्र हो कि तिमीहरूले परमेश्‍वरका वचनहरू खान र पिउनका लागि जे गर्न सक्छौ त्यो गर। तिमीहरूले परमेश्‍वरको कामलाई बुझ्नुपर्दछ र तिमीहरूको प्रकृति, तिमीहरूको सार र तिमीहरूको पुरानो जीवनलाई जान्‍नुपर्छ। खास गरी, तिमीहरूले विगतका ती गलत र निरर्थक अभ्यासहरू र तिमीहरू संलग्‍न रहेका ती मानवले गर्ने कार्यहरू जान्‍नु आवश्यक छ। परिवर्तन हुनको निम्ति तिमीहरूले आफ्नो सोचविचार परिवर्तन गर्दै सुरु गर्नुपर्छ। सुरुमा, तिमीहरूका पुराना सोचविचारलाई नयाँ सोचविचारले प्रतिस्थापन गर र तिमीहरूका ती नयाँ सोचविचारलाई तिमीहरूका वचन र कार्यहरू अनि तिमीहरूका जीवन नियन्त्रित गर्न देऊ। आज तिमीहरू प्रत्येकबाट मागिएको कुरा यही हो। अन्धाधुन्ध अभ्यास नगर वा अन्धाधुन्ध पछि नलाग। तिमीहरूसँग एउटा आधार र एउटा लक्ष्य हुनुपर्दछ। आफैलाई मूर्ख नबनाऊ। परमेश्‍वरप्रतिको तिमीहरूको विश्‍वास वास्तवमा केको लागि हो, त्यसबाट के प्राप्त हुनुपर्दछ र अहिले तिमीहरू कहाँ प्रवेश गर्नुपर्छ त्यो तिमीहरूलाई थाहा हुनुपर्दछ। तिमीहरूले यो सब जान्‍नु अत्यावश्यक छ।

तिमीहरू अहिले जे कुरामा प्रवेश गर्नुपर्छ त्यो कुरा तिमीहरूको जीवनलाई माथि उठाउने र तिमीहरूका क्षमता बढाउने कार्य हो। यसबाहेक, तिमीहरूले आफ्नो विगतका ती पुराना दृष्टिकोणहरू परिवर्तन गर्नु, तिमीहरूका सोचविचार परिवर्तन गर्नु र तिमीहरूका धारणाहरू परिवर्तन गर्नु आवश्यक छ। तिमीहरूको सम्पूर्ण जीवन नवीकरण गर्नु आवश्यक छ। जब परमेश्‍वरका कामहरूबारे तिमीहरूको ज्ञान परिवर्तन हुन्छ, जब तिमीहरूमा परमेश्‍वरले भन्‍नुहुने सबै कुराको सत्यताको नयाँ ज्ञान हुन्छ र जब तिमीहरूभित्रको ज्ञान उच्‍च हुन्छ, तब तिमीहरूको जीवनले अझ राम्रो नयाँ मोड लिन्छ। मानिसहरूले गर्ने र भन्‍ने सबै कुरा अहिले व्यावहारिक हुन्छन्। यी धर्मसिद्धान्तहरू होइनन्, बरु मानिसहरूलाई आफ्नो जीवनको लागि आवश्यक पर्ने कुराहरू र तिनीहरूमा हुनुपर्ने कुराहरू हुन्। विजयको कामको अवधिमा मानिसहरूमा हुने परिवर्तन, मानिसहरूले अनुभव गर्नुपर्ने परिवर्तन यही नै हो र यो तिनीहरू जितिएपछिको प्रभाव हो। जब तैँले आफ्नो सोचविचार परिवर्तन गरेको, नयाँ मनोवृत्ति अपनाएको, आफ्ना धारणा र अभिप्रायहरू र आफ्नो विगतका तार्किक दलिलहरूलाई उल्टाएको, तँभित्र जरा गाडेका कुराहरूलाई त्यागेको र परमेश्‍वरप्रतिको विश्‍वासको नयाँ ज्ञान प्राप्त गरेको हुन्छस्, तब तैँले दिने गवाहीहरू उच्‍च हुनेछन् र तेरो सम्पूर्ण अस्तित्व नै साँचो रूपमा परिवर्तन भएको हुनेछ। यी सबै अति व्यावहारिक, सबैभन्दा वास्तविक र सबैभन्दा आधारभूत कुरा हुन्—विगतमा मानिसहरूले बुझ्न नसकेका कुराहरू र तिनीहरू संलग्‍न हुन असक्षम भएका कुराहरू हुन्। ती आत्माको साँचो काम हुन्। विगतमा तैँले बाइबललाई कतिसम्म ठीक प्रकारले बुझ्थिस्? आज यसलाई तुलना गर् अनि तैँले थाहा पाउनेछस्। विगतमा तैँले मोशा, पत्रुस, पावल, वा ती सबै बाइबलीय भनाइ र दृष्टिकोणहरूलाई दिमागी रूपमा माथि उठाइस् र तिनीहरूलाई वेदीमा राखिस्। अब, तँलाई यदि बाइबललाई वेदीमा राख्‍न भनियो भने के तँ त्यो काम गर्नेछस्? तैँले बाइबलमा मानिसद्वारा लेखिएका धेरै विवरणहरू देख्‍नेछस्, र बाइबल भनेको मानिसले अभिलेख गरेको परमेश्‍वरका दुई चरणको कामको विवरण मात्र हो। यो इतिहासको पुस्तक हो। के यसको अर्थ, त्यससम्बन्धी तेरो ज्ञान परिवर्तन भएको छ भन्‍ने होइन र? यदि तैँले आज मत्तीको सुसमाचारको पुस्तकमा दिइएको येशूको वंशावली हेरिस् भने, तैँले यसो भन्‍नेछस्, “येशूको वंशावली? मूर्ख कुरा! यो योसेफको वंशावली हो, येशूको होइन। येशू र योसेफबीच कुनै सम्बन्ध छैन।” जब तैँले अहिले बाइबल हेर्छस्, त्यसबारे तेरो ज्ञान फरक छ अर्थात् तेरो दृष्टिकोण परिवर्तन भएको छ अनि त्यस विषयमा तैँले धर्मका अग्रज विद्वानहरूले भन्दा उच्‍च ज्ञान ल्याउँछस्। जब कसैले त्यो वंशावलीमा केही छ भन्छ, तब तैँले यस्तो जबाफ दिनेछस्, “यसमा के छ र? अझै अगाडि बढेर वर्णन गर्नुहोस् न। येशू र योसेफ सम्बन्धित छैनन्। के तपाईंलाई त्यो थाहा छैन र? के येशूको वंशावली हुन सक्छ? येशूका पुर्खाहरू कसरी हुन सक्छन्? उहाँ कसरी मानिसका सन्तान हुन सक्‍नुहुन्छ? उहाँको देह मरियमबाट जन्मेको थियो; उहाँका आत्मा परमेश्‍वरका आत्मा हुनुहुन्छ, मानिसको आत्मा होइन। येशू परमेश्‍वरका प्रिय पुत्र हुनुहुन्छ अनि के उहाँको वंशावली हुन सक्छ त? पृथ्वीमा हुनुहुँदा उहाँ मानवजातिको सदस्य हुनुहुन्‍नथियो अनि उहाँको वंशावली कसरी हुन सक्छ?” जब तैँले वंशावलीको विश्लेषण गर्छस् र भित्री सत्यतालाई स्पष्टसँग व्याख्या गर्छस्, तैँले जे बुझेको छस् त्यो भन्छस्, तब त्यो व्यक्ति अवाक् बन्नेछ। केही मानिसहरूले बाइबललाई सन्दर्भको रूपमा लिएर तँलाई सोध्नेछन्, “येशूको वंशावली थियो। के तपाईंको आजका परमेश्‍वरको वंशावली छ?” अनि तैँले तिनीहरूलाई आफ्नो ज्ञान बताउनेछस्, जुन सबैभन्दा वास्तविक हो र यस तरिकाले, तेरो ज्ञानले एक प्रभाव प्राप्त गरेको हुनेछ। वास्तवमा, येशूको योसेफसँग कुनै सम्बन्ध थिएन, अब्राहामको कुरा त परै छाडौँ उहाँ इस्राएलमा जन्मनु मात्र भएको थियो। तर, परमेश्‍वर एक इस्राएली वा इस्राएलीहरूको सन्तान हुनुहुन्‍न। इस्राएलमा जन्मेको कारणले नै परमेश्‍वर इस्राएलीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ भन्‍ने हुँदैन। उहाँले आफ्नो कामको खातिर मात्र देहधारणको कार्य सम्पन्‍न गर्नुभयो। परमेश्‍वर सारा ब्रह्माण्डभरिका सबै सृष्टिहरूका परमेश्‍वर हुनुहुन्छ। उहाँले केवल इस्राएलमा पहिला आफ्नो कामको एक चरण सम्पन्‍न गर्नुभयो, त्यसपछि उहाँले अन्यजातिहरूको राष्ट्रहरूमाझ काम गर्न थाल्नुभयो। तर, मानिसहरूले येशूलाई इस्राएलीहरूका परमेश्‍वर माने र यसबाहेक उहाँलाई इस्राएलीहरूको माझमा र दाऊदका सन्तानहरूको माझमा राखे। बाइबलले भन्छ कि ती दिनहरूको अन्त्यमा, अन्यजाति राष्ट्रहरूको माझमा यहोवाको नाउँ महान् हुनेछ, जसको अर्थ, परमेश्‍वरले आखिरी दिनहरूमा अन्यजाति राष्ट्रहरूमाझ काम गर्नुहुनेछ भन्‍ने हो। परमेश्‍वर यहूदियामा देहधारी हुनुभएको कुराले परमेश्‍वरले यहूदीहरूलाई मात्र प्रेम गर्नुहुन्छ भन्‍ने सङ्केत गर्दैन। कामको निम्ति आवश्यक परेकोले मात्र त्यसो भएको थियो; (इस्राएलीहरू उहाँका चुनिएका मानिसहरू भएकाले) परमेश्‍वरले इस्राएलमा मात्र देहधारण गर्न सक्‍नुहुन्थ्यो भन्‍ने होइन। के परमेश्‍वरका चुनिएका मानिसहरू अन्यजाति राष्ट्रहरूमाझ पनि पाइँदैनन् र? येशूले यहूदियामा काम गरिसक्‍नुभएपछि त्यो काम अन्यजाति राष्ट्रहरूमा फैलियो। (इस्राएलीहरूले इस्राएलका बाहेक अरू सबै जातिलाई “अन्यजाति” भन्थे)। वास्तवमा, ती अन्यजाति राष्ट्रहरूमा पनि परमेश्‍वरका चुनिएका मानिसहरू थिए; यति मात्र हो कि त्यो समय त्यहाँ कुनै काम गरिएको थिएन। मानिसहरूले इस्राएललाई धेरै महत्त्व दिन्छन्, किनकि पहिलो दुई चरणको काम इस्राएलमा भएको थियो र अन्यजाति राष्ट्रहरूमा कुनै काम गरिएको थिएन। अन्यजाति राष्ट्रहरूमाझको काम आज मात्रै सुरु हुँदै छ, त्यसकारण मानिसहरूले यसलाई स्वीकार गर्न धेरै गाह्रो मान्छन्। यदि तैँले यी सबै कुरा स्पष्टसँग बुझ्न सकिस् भने, यदि तैँले त्यसलाई सही प्रकारले आत्मसात् र कदर गर्न सकिस् भने, आजका र विगतका परमेश्‍वरबारे सही ज्ञान प्राप्त गर्नेछस् र यो नयाँ ज्ञान सम्पूर्ण इतिहासका सन्तहरूमा भएको परमेश्‍वरसम्बन्धी ज्ञानभन्दा उच्‍च हुनेछ। यदि तैँले आजको कामको अनुभव गर्छस् र आज परमेश्‍वरले व्यक्तिगत रूपमा बोल्नुभएका वाणीहरू सुन्छस्, तैपनि तँमा परमेश्‍वरबारे सम्पूर्ण ज्ञान छैन र तेरो खोज सधैँको जस्तै रहन्छ भने, र त्यसलाई तैँले कुनै नयाँ कुराले प्रतिस्थापन गर्दैनस् भने, विशेष गरी यदि तैँले विजयको यी सबै कामको अनुभव गर्छस्, तापनि अन्त्यमा तँमा कुनै पनि प्रकारको परिवर्तन देखिँदैन भने, के तेरो विश्‍वास आफ्नो भोक मेटाउन रोटीको खोजी गर्ने मानिसहरूको जस्तो हुँदैन र? त्यस्तो अवस्थामा, त्यो विजयको कामले तँमा कुनै प्रभाव पारेको हुनेछैन। त्यसपछि, के तँ पनि हटाइनुपर्ने मानिसहरूमध्ये एक हुँदैनस् र?

जब विजयको सबै काम समाप्त हुन्छ, त्यसबेला तिमीहरू सबैले यो बुझ्नु आवश्यक हुन्छ कि परमेश्‍वर इस्राएलीहरूको मात्र नभई सारा सृष्टिका पनि परमेश्‍वर हुनुहुन्छ। उहाँले इस्राएलीहरूलाई मात्र नभई सारा मानवजातिलाई नै सृष्टि गर्नुभएको हो। यदि तँ परमेश्‍वर इस्राएलीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ वा परमेश्‍वरले इस्राएलदेखि बाहिर देहधारण गर्नु असम्भव छ भनेर भन्छस् भने, तैँले विजयको कामको क्रममा कुनै पनि ज्ञान हासिल गर्नु अझै बाँकी नै हुन्छ अनि परमेश्‍वर तेरा परमेश्‍वर हुनुहुन्छ भनी तैँले अलिकति पनि स्वीकार गर्दैनस्; तँ केवल यति बुझ्छस् कि परमेश्‍वर इस्राएलबाट चीन सर्नुभयो र उहाँलाई तेरा परमेश्‍वर हुन कर लगाइँदै छ। यदि अझै पनि तँ परिस्थितिलाई यसरी हेर्छस् भने, तँमा मेरो काम निष्फल भएको छ र मैले भनेको एउटै कुरा पनि तैँले बुझेको छैनस्। यदि आखिरीमा तैँले पनि मत्तीले जस्तै उपयुक्त पुर्खाहरू चुनेर, मेरो सही पूर्वज खोजेर—परमेश्‍वरका दुईवटा देहधारणमा उहाँका दुईवटा वंशावली छन् भनेर—मेरो अर्को वंशावली लेख्छस् भने के त्यो संसारमा सबैभन्दा ठूलो ठट्टा हुनेछैन र? के तँ मेरो वंशावली भेट्टाउने “राम्रै मनसाय भएको व्यक्ति”, परमेश्‍वरलाई विभाजन गर्ने व्यक्ति बनेको छैनस् र? के तँ यो पापको बोझ बोक्‍न सक्षम छस्? विजयका यी सबै कामपछि पनि यदि तँ अझै परमेश्‍वर सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्दैनस् भने, यदि तँ अझै पनि परमेश्‍वर इस्राएलीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ भनी सोच्छस् भने, के तँ खुल्लमखुल्ला परमेश्‍वरको विरोध गर्ने व्यक्ति हुँदैनस् र? आज तँलाई जित्‍नुको उद्देश्य परमेश्‍वर तेरा परमेश्‍वर र अरूका पनि परमेश्‍वर हुनुहुन्छ भनी तँलाई स्वीकार गराउनु हो र सबैभन्दा महत्त्वपूर्ण कुरा, उहाँ उहाँलाई प्रेम गर्ने सबैका र सारा सृष्टिका परमेश्‍वर हुनुहुन्छ भनी तँलाई स्वीकार गराउनु हो। उहाँ इस्राएलीहरूका परमेश्‍वर र मिश्रका मानिसहरूका परमेश्‍वर हुनुहुन्छ। उहाँ बेलायतीहरूका परमेश्‍वर र अमेरिकीहरूका परमेश्‍वर हुनुहुन्छ। उहाँ आदम र हव्वाका परमेश्‍वर मात्र हुनुहुन्‍न, उहाँ त तिनीहरूका सबै सन्तानहरूका पनि परमेश्‍वर हुनुहुन्छ। उहाँ स्वर्गमा भएका सबै थोक र पृथ्वीमा भएका सबै थोकका परमेश्‍वर हुनुहुन्छ। सबै परिवारहरू, चाहे ती इस्राएली हुन् वा अन्यजातिहरू, सबै एकै परमेश्‍वरका हातमा छन्। उहाँले हजारौं वर्षसम्म इस्राएलमा काम मात्र गर्नुभएन र उहाँ एक पटक यहूदियामा जन्मनुभएको मात्र होइन, उहाँ त आज चीनमा ओर्लनुभएको छ, यो त्यही ठाउँ हो जहाँ ठूलो रातो अजिङ्गर गुँडुलिएर बसेको छ। यदि यहूदियामा जन्म भएकोले उहाँलाई यहूदीहरूका राजा बनाइयो भने, के उहाँ तिमीहरू सबैका माझमा ओर्लनुभएको कुराले उहाँलाई तिमीहरू सबैका परमेश्‍वर बनाउँदैन र? उहाँले इस्राएलीहरूलाई डोर्‍याउनुभयो र उहाँ यहूदियामा जन्मनुभएको थियो र अन्यजाति देशमा पनि जन्मनुभएको छ। के उहाँले गर्नुभएका सबै काम उहाँले सृष्टि गर्नुभएको सम्पूर्ण मानवजातिका लागि होइन र? के उहाँले इस्राएलीहरूलाई सय गुणा प्रेम र अन्यजातिहरूलाई हजार गुणा घृणा गर्नुहुन्छ? के यो तिमीहरूको धारणा होइन र? यो कुरा परमेश्‍वर कहिले पनि तिमीहरूका परमेश्‍वर हुनुहुन्‍नथियो भन्‍ने होइन, बरु तिमीहरूले उहाँलाई स्वीकार गर्दैनौ भन्‍ने हो; परमेश्‍वर तिमीहरूका परमेश्‍वर बन्‍न अनिच्छुक हुनुहुन्छ भन्‍ने होइन, बरु तिमीहरूले उहाँलाई अस्वीकार गर्छौ भन्‍ने हो। सृष्टि गरिएका प्राणीहरूमध्ये कोचाहिँ सर्वशक्तिमान्‌को हातमा छैन र? आज तिमीहरूलाई जित्‍नुको उद्देश्य परमेश्‍वर केवल तिमीहरूकै परमेश्‍वर हुनुहुन्छ भनी तिमीहरूलाई स्वीकार गर्न लाउनु होइन र? यदि तिमीहरू अझै पनि परमेश्‍वर इस्राएलीहरूका मात्र परमेश्‍वर हुनुहुन्छ र इस्राएलका दाऊदको घराना परमेश्‍वरको जन्मको उत्पत्ति हो र इस्राएलबाहेक अरू कुनै पनि राष्ट्र परमेश्‍वरलाई “जन्माउन” योग्य छैन भनी विचार गर्छौ भने, र अन्यजाति परिवारले यहोवाको कामलाई व्यक्तिगत रूपमा स्वीकार गर्ने कुरा त परै छाडौं भनेर भन्छौ भने—यदि तँ अझै पनि यस्तै विचार गर्छस् भने, के त्यसले तँलाई हठी विरोधी बनाउँदैन र? सधैँ इस्राएलमा नै केन्द्रित नहोऊ। परमेश्‍वर आज यहाँ तिमीहरूमाझ हुनुहुन्छ। तैँले स्वर्गतिर नै हेरिरहनु पर्दैन। स्वर्गमा हुनुहुने परमेश्‍वरको तृष्णा नगर! परमेश्‍वर तिमीहरूको माझमा आउनुभएको छ अनि उहाँ कसरी स्वर्गमा हुन सक्‍नुहुन्छ? तैँले धेरै लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको छैनस्, तापनि उहाँबारे तँसित धेरै वटा धारणाहरू छन्, यहाँसम्म कि तँ एकै क्षण पनि इस्राएलीहरूका परमेश्‍वरले उहाँको उपस्थितिद्वारा तिमीहरूलाई अनुग्रहित पार्ने कृपा गर्नुहुन्‍न भनी सोच्ने साहस गर्दैनस्। तिमीहरू असाध्यै फोहोरी भएकोले गर्दा, परमेश्‍वर तिमीहरूकहाँ व्यक्तिगत रूपमा कसरी देखा पर्नुहुन्छ भन्‍ने कुरा सोच्न तिमीहरूले साहस गर्छौ भन्ने त कुरै नगरौँ। न त तिमीहरूले कहिल्यै अन्यजाति देशमा परमेश्‍वर व्यक्तिगत रूपले ओर्लन सक्‍नुहुन्छ भनेर नै सोचेका छौ। उहाँ त सीनै पर्वतमा वा जैतून डाँडामा ओर्लनुपर्ने र इस्राएलीहरूकहाँ देखा पर्नुपर्ने हो। के अन्यजातिहरू सबै (अर्थात्, इस्राएलदेखि बाहिरका मानिसहरू) उहाँको घृणाका पात्रहरू होइनन् र? उहाँले कसरी व्यक्तिगत रूपमा उनीहरूका माझमा काम गर्न सक्‍नुहुन्छ? यी त तिमीहरूले धेरै वर्षदेखि विकास गर्दै आएका, तिमीहरूभित्र गहिरो जरा गाडेका धारणाहरू हुन्। आज तिमीहरूलाई जित्‍नुको उद्देश्य तिमीहरूका ती धारणाहरूलाई चकनाचूर पार्नु हो। यसरी तिमीहरूले सीनै पर्वतमा वा जैतून डाँडामा होइन, बरु उहाँले कहिल्यै नडोर्‍याउनुभएका, तिमीहरूको माझमा परमेश्‍वरको व्यक्तिगत आगमनलाई देख्छौ। परमेश्‍वरले इस्राएलमा उहाँका दुई चरणको काम सम्पन्‍न गर्नुभएपछि, इस्राएलीहरू र सबै अन्यजातिहरूले परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभएको भए पनि, उहाँ केवल इस्राएलीहरूका निम्ति मात्र परमेश्‍वर हुन चाहनुहुन्छ, अन्यजातिहरूका निम्ति होइन भन्‍ने धारणा राखे। इस्राएलीहरू निम्‍न कुरा विश्‍वास गर्छन्: परमेश्‍वर हाम्रो मात्र परमेश्‍वर हुन सक्‍नुहुन्छ, तिमीहरू अन्यजातिहरूका परमेश्‍वर हुनुहुन्‍न र तिमीहरूले यहोवालाई आदर नगरेकोले, यहोवा हाम्रा परमेश्‍वरले तिमीहरूलाई घृणा गर्नुहुन्छ। ती यहूदी मानिसहरूले निम्‍न कुरामा पनि विश्‍वास गर्दछन्: प्रभु येशूले हामी यहूदी जातिको रूप धारण गर्नुभयो र उहाँ यहूदी मानिसहरूको चिह्न बोक्‍नुहुने परमेश्‍वर हुनुहुन्छ। हाम्रो माझमा नै परमेश्‍वरले काम गर्नुहुन्छ। परमेश्‍वरको स्वरूप र हाम्रो स्वरूप समान छन्; हाम्रो स्वरूप परमेश्‍वरको स्वरूप नजिक छ। प्रभु येशू हामी यहूदीहरूका राजा हुनुहुन्छ; अन्यजातिहरू त्यस्तो ठूलो मुक्ति पाउन योग्य छैनन्। प्रभु येशू हामी यहूदीहरूका लागि पापबलि हुनुहुन्छ। कामका ती दुई चरणको आधारमा इस्राएलीहरू र यहूदी मानिसहरूले यी सबै धारणाहरू स्थापित गरे। तिनीहरू धाक जमाउँदै परमेश्‍वर तिनीहरूका आफ्नै हुनुहुन्छ भनी दाबी गर्छन्, तिनीहरू परमेश्‍वरलाई अन्यजातिहरूका परमेश्‍वर हुन दिँदैनन्। यसरी, अन्यजातिहरूका हृदयमा परमेश्‍वर एउटा रिक्त स्थानको रूपमा रहनुभयो। तिनीहरू सबैले परमेश्‍वर अन्यजातिहरूका परमेश्‍वर हुन चाहनुहुन्‍न र उहाँले इस्राएलीहरू—उहाँका चुनिएका मानिसहरू—र यहूदी मानिसहरू, विशेष गरी उहाँलाई पछयाउने चेलाहरू मात्र मन पराउनुहुन्छ भनी विश्‍वास गरेका कारणले यस्तो भएको हो। के तँलाई यहोवा र येशूले गर्नुभएको काम सम्पूर्ण मानवजातिलाई बचाउनका लागि हो भन्ने थाहा छैन? के तँ अब परमेश्‍वर इस्राएलबाहिर जन्मेका तिमीहरू सबैका परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार गर्छस्? के परमेश्‍वर आज यहाँ तिमीहरूको माझमा हुनुहुन्‍न र? यो सपना हुन सक्दैन, सक्छ त? के तिमीहरू यो वास्तविकतालाई स्वीकार गर्दैनौ? तिमीहरू यसलाई विश्‍वास गर्ने वा त्यसबारे विचार गर्ने आँट गर्दैनौ। तिमीहरूले यसलाई जसरी हेरे पनि, के परमेश्‍वर यहाँ तिमीहरूको माझमा हुनुहुन्‍न र? के तिमीहरू अझै पनि यी वचनहरू विश्‍वास गर्न डराउँछौ? यस दिनदेखि यता, के सबै जितिएका मानिसहरू र परमेश्‍वरको अनुयायी बन्‍न चाहनेहरू परमेश्‍वरका चुनिएका जनहरू होइनन् र? तिमीहरू सबै, जो आज अनुयायीहरू हौ, के तिमीहरू इस्राएलदेखि बाहिरका चुनिएका जनहरू होइनौ र? के तिमीहरूको हैसियत पनि इस्राएलीहरूको जस्तै छैन र? तिमीहरूले स्वीकार गर्नुपर्ने कुरा के यही होइन र? के तिमीहरूलाई जित्‍ने कामको लक्ष्य यही होइन र? तिमीहरूले परमेश्‍वरलाई देख्‍न सक्‍ने भएकोले, उहाँ सुरुदेखि र भविष्यमा पनि, सदासर्वदा तिमीहरूको परमेश्‍वर बन्‍नुहुनेछ। जबसम्म तिमीहरू उहाँलाई पछयाउने, उहाँको बफादार, आज्ञाकारी प्राणीहरू हुने इच्छा गरिरहन्छौ, तबसम्म उहाँले तिमीहरूलाई त्याग्‍नुहुनेछैन।

मानिसहरू परमेश्‍वरलाई प्रेम गर्न जति नै महत्त्वाकाङ्क्षी भए पनि, तिनीहरू प्रायः आजको दिनसम्म उहाँलाई पछ्याउनमा आज्ञाकारी रहँदै आएका छन्। अन्त्य नभएसम्म, कामको यो चरण समाप्त नहुञ्‍जेल, तिनीहरूले पूर्ण रूपमा पश्‍चात्ताप गर्नेछन्। त्यही बेला नै हो जब मानिसहरू साँच्‍चै जितिनेछन्। अहिले, तिनीहरू केवल विजयको प्रक्रियामा छन्। जुन क्षण काम समाप्त हुन्छ, तिनीहरू पूर्ण रूपमा जितिनेछन्, तर अहिलेको अवस्था त्यो होइन! सबै जना विश्‍वस्त भए पनि, त्यसको अर्थ तिनीहरू पूर्ण रूपमा जितिएका छन् भन्‍ने होइन। किनकि वर्तमानमा, मानिसहरूले केवल वचनहरू देखेका छन्, र तथ्यात्मक घटनाहरू देखेका छैनन्, र तिनीहरूले जति नै गहिरो रूपमा विश्‍वास गरे पनि, तिनीहरू अनिश्‍चित नै रहन्छन्। यसैले अन्तिम तथ्यात्मक घटनासँग मात्र, वचनहरू वास्तविकता बनेपछि मात्र, मानिसहरू पूर्ण रूपले जितिनेछन्। अहिले, यी मानिसहरू जितिन्छन्, किनकि तिनीहरूले धेरै रहस्यहरू सुन्छन् जुन तिनीहरूले पहिले कहिल्यै सुनेका थिएनन्। तर तिनीहरू प्रत्येक र हरेकभित्र, तिनीहरूले अझै केही तथ्यात्मक घटनाहरूलाई हेरिरहेका र पर्खिरहेका छन्, जसले तिनीहरूलाई परमेश्‍वरको प्रत्येक वचन वास्तविक भएको देखाउँछ। तब मात्र तिनीहरू पूर्ण रूपमा विश्‍वस्त हुनेछन्। अन्त्यमा, जब सबैले यथार्थ बनेका वास्तविकताहरू देखेका हुन्छन् र यी वास्तविकताहरूले तिनीहरूलाई निश्‍चित महसुस गराएका हुन्छन्, तब तिनीहरूका हृदय, तिनीहरूका बोलीवचन र तिनीहरूका आँखाहरूले दृढ विश्‍वास देखाउँछन् र तिनीहरू हृदयको गहिराइबाट पूर्ण रूपले विश्‍वस्त हुन्छन्। मानिसको स्वभाव यस्तो हुन्छ: तिमीहरूले यी वचनहरू सबै सत्य हुँदै आएको देख्‍नु आवश्यक छ, तिमीहरूले केही तथ्यात्मक घटनाहरू भइरहेको देख्‍नु आवश्यक छ र केही मानिसहरूमाथि विपत्ति आइपरेको देख्‍नु आवश्यक छ र त्यसपछि तिमीहरू भित्रैदेखि पूर्ण रूपमा विश्‍वस्त हुनेछौ। यहूदीहरूजस्तै, तिमीहरू पनि चिन्ह र आश्‍चर्यकर्महरू देख्ने कुरामै केन्द्रित हुन्छौ। तर तिमीहरू चिन्ह र आश्‍चर्यकर्महरू छन् र तिमीहरूका आँखा ठूलो गरी खोल्नका लागि वास्तविकताहरू घटित भइरहेका छन् भनी बुझ्न निरन्तर असफल भएका छौ। चाहे त्यो आकाशबाट ओर्लंदै गरेको कोही होस् वा तिमीहरूसँग बोल्ने बादलको खामो होस्, वा तिमीहरूमध्ये कोही एकको लागि मैले गरेको मन्त्रतन्त्र होस् वा तिमीहरूमाझ मेरो मेघगर्जनजस्तो गहिरो सोर होस्, तिमीहरूले सधैँ यस किसिमको घटना सधैँ देख्‍न चाहेका छौ र सधैँ देख्न चाहनेछौ। के भन्‍न सकिन्छ भने, परमेश्‍वरमा विश्‍वास गर्दा तिमीहरूको सबैभन्दा ठूलो इच्छा परमेश्‍वर आऊन् र तिमीहरूलाई व्यक्तिगत रूपमा एउटा चिन्ह देखाऊन् भन्‍ने हो। अनि तिमीहरू सन्तुष्ट हुनेछौ। तिमी मानिसहरूलाई जित्‍नका लागि, मैले स्वर्ग र पृथ्वीको सृष्टिमा गरेको जस्तै काम गर्नुपर्दछ र त्यसबाहेक, तिमीहरूलाई कुनै प्रकारको चिन्ह देखाउनुपर्छ। त्यसपछि तिमीहरूका हृदयहरू पूर्ण रूपमा जितिनेछ।

अघिल्लो: विजयको कामको भित्री सत्यता (२)

अर्को: विजयको कामको भित्री सत्यता (४)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

मानिसले आजको काम र भविष्यको कामबारे थोरै जान्दछ तर उसले त्यो गन्तव्य बुझ्दैन जसमा मानवजाति प्रवेश गर्नेछ। एक सृष्टि भएको हैसियतले, मानिसले...

आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्त गर्न सक्छ?

परमेश्‍वरका कार्यहरू सदैव अघि बढिरहन्छन्, र उहाँको कामको उद्देश्य परिवर्तन नभए पनि, उहाँले काम गर्ने तरीका नित्य परिवर्तन हुन्छ, जसको आशय...

बाइबल सम्बन्धमा (१)

परमेश्‍वरमाथिको विश्‍वासमा बाइबललाई कसरी हेर्नुपर्छ? यो सिद्धान्तको प्रश्‍न हो। हामी किन यो प्रश्‍नबारे कुरा गर्दैछौं? किनकि भविष्यमा...

तँ कोप्रति निष्ठावान् छस्?

अहिले, प्रत्येक दिन तिमीहरू जिउनु महत्वपूर्ण छ र तिमीहरूको गन्तव्य र तिमीहरूको भवितव्यको लागि यो अत्यन्तै महत्त्वपूर्ण छ, त्यसैले तिमीहरूले...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्