तँ किन प्रतिभार हुन अनिच्छुक छस्?

विजय गरिएका व्यक्तिहरू प्रतिभारहरू हुन्, र मानिसहरू सिद्ध तुल्याइएपछि मात्र आखिरी दिनहरूको कामका आदर्श र दृष्टान्तहरू बन्छन्। पूर्ण तुल्याइनुअघि तिनीहरू पर्णिकाहरू, औजारहरूका साथै सेवाका वस्तुहरू हुन्छन्। परमेश्‍वरद्वारा पूर्ण रूपमा विजय गरिएका मानिसहरू उहाँको व्यवस्थापन कार्यको मूर्तरूपका साथै आदर्श र दृष्टान्तहरू हुन्। मैले त्यस्ता मानिसहरूको वर्णन गर्न प्रयोग गरेका वचनहरू साधारण हुन सक्छन्, तर तिनले धेरै रोचक कथाहरू उजागर गर्छन्। तिमीहरू थोरै विश्‍वास भएकाहरू सधैँ आफ्नो अनुहार रातो नहुञ्जेल एक साधारण नाम-पदवीको बारेमा बहस गर्दछौ, र कहिलेकहीँ त्यसैको परिणामस्वरूप सम्बन्धहरूसमेत बिग्रन्छन्। यो केवल एउटा सानो नाम-पदवी भए पनि तिमीहरूको सोच र तिमीहरूको विश्‍वासमा यो एक नगण्य उपाधिभन्दा निकै ठूलो कुरा मात्र होइन, यो त तिमीहरूको नियतिसित जोडिएको एउटा महत्त्वपूर्ण विषय पनि हो। त्यसकारण, विवेक नभएका व्यक्तिहरूले प्रायः यस्ता तुच्छ कुरामा ठूलो नोक्सानी भोग्छन्—यो थोरै बचत गरेर धेरै गुमाउनु मात्र हो। केही महत्त्वहीन नाम-पदवीका निम्ति तिमीहरू भाग्नेछौ र कहिल्यै फर्कनेछैनौ। यस्तो किन हुन्छ भने तिमीहरूले जीवनलाई महत्त्वहीन रूपमा हेर्छौ र आफूलाई सम्बोधन गर्ने नामलाई धेरै महत्त्व दिन्छौ। त्यसैले तिमीहरूको आत्मिक जीवनमा, र तिमीहरूको व्यावहारिक जीवनमा पनि तिमीहरूले आफ्ना कदसम्बन्धी धारणाहरूको कारण धेरै वटा जटिल र अनौठा कथाहरू निर्माण गर्छौ। हुन सक्छ, तिमीहरूले स्वीकार नगरौला, तर म तिमीहरूलाई के भन्छु भने तिमीहरू अझै व्यक्तिगत रूपमा त्यस्ता व्यक्तिहरूको सम्पर्कमा आएको नभए पनि त्यस्ता मानिसहरू वास्तविक जीवनमा साँच्चै अस्तित्वमा छन्। यस प्रकारका कुराहरू तिमीहरू प्रत्येकको जीवनमा घटित भएका छन्। यदि तिमीहरू विश्‍वास गर्दैनौ भने, तल दिइएको एउटी बहिनी (वा एक जना भाइ) को छोटो विवरण हेर। यो सम्भव छ कि त्यो व्यक्ति वास्तवमै तँ नै होस्, वा हुन सक्छ त्यो तेरो जीवनमा परिचित कोही व्यक्ति हो। यदि म गल्ती छैन भने, यो छोटो विवरणले तैँले गरेको अनुभवको वर्णन गर्छ। त्यो वर्णनमा केही पनि कमी छैन, एउटै विचार वा धारणा पनि छोडिएको छैन, सबै कुराहरूलाई सम्पूर्ण रूपमा यो कथाभित्र लेखिएका छन्। तँलाई विश्‍वास लागेन भने, पहिले यो पढ्।

यो एक “आत्मिक व्यक्ति” को एउटा सानो अनुभव हो।

मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूले गरेका धेरै कुरा परमेश्‍वरको इच्छाबमोजिम नभएको देखेर उनी चिन्तित भइन्‌, त्यसैले उनले तिनीहरूलाई गाली गर्न थालिन्‌: “तिमीहरू नीच प्राणीहरू! के तिमीहरूसित विवेक छैन? तिमीहरू वास्तवमा किन विवेकहीन कुराहरू गर्दैछौ? तिमीहरू जे मन लाग्यो त्यो गर्न छोडेर किन सत्यको खोजी गर्दैनौ? … र मैले यी कुराहरू तिमीहरूलाई भनिरहेछु, तर यही बेला म आफैलाई घृणा गर्छु। म परमेश्‍वर अधैर्यताले जल्नुभएको देख्छु र आफूभित्र आगोको अनुभव गर्छु। म परमेश्‍वरले मलाई सुम्पनुभएको कामलाई पूर्ण रूपमा पूरा गर्न साँच्चै नै इच्छुक छु र म साँच्चै नै तिमीहरूको सेवामा रहन चाहन्छु। यति मात्र हो कि अहिले म अति कमजोर छु। परमेश्‍वरले हामीमाथि धेरै समय बिताउनुभएको छ र धेरै वचनहरू बोल्नुभएको छ, तर हामी अझै पनि उस्तै छौं। म सधैँ आफ्नो हृदयमा परमेश्‍वरको धेरै ऋणी भएको महसुस गर्छु…।” (उनी रुन थालिन्, बोल्न असमर्थ भइन्।) त्यसपछि उनले प्रार्थना गर्न थालिन्: “हे परमेश्‍वर! म तपाईंसँग बिन्ती गर्छु, मलाई शक्ति दिनुहोस् र मलाई तपाईंले पहिले उत्प्रेरित गर्नुभएको भन्दा बढी उत्प्रेरित गर्नुहोस्, र तपाईंका आत्माले ममा काम गरून्। म तपाईंसँग सहकार्य गर्न इच्छुक छु। तपाईं आखिरमा महिमा प्राप्त गर्नुभइञ्जेलसम्म, म अहिले नै आफैलाई सम्पूर्ण रूपमा तपाईंलाई दिन तयार छु, चाहे त्यसको निम्ति मैले आफ्नो जीवन नै दिनु किन नपरोस्। हामी ठूला प्रशंसाहरू अर्पण गर्न चाहन्छौं ताकि हाम्रा दाजुभाइ-दिदीबहिनीहरू तपाईंको पवित्र नाउँको प्रशंसा गर्न, तपाईंलाई प्रकट गर्न, तपाईंको काम साँचो हो भनी प्रमाणित गर्न, तपाईंले बोक्नुभएका बोझहरूका निम्ति तपाईंलाई सारा वास्ता प्रकट गर्न खुसीसाथ गीत गाउन र नाच्न सकून्…।” उनले यसरी गम्भीरतासाथ प्रार्थना गरिन्, र पवित्र आत्माले साँच्चै नै उनलाई एउटा बोझ दिनुभयो। यस अवधिमा, उनले असाधारण बोझ पाइन्, र उनले सारा दिन पढ्न, लेख्न, र सुन्नमा बिताउने गर्थिन्। उनी सम्भवतः व्यस्त हुन सकिने हदसम्म नै व्यस्त थिइन्। उनको आत्मिक स्थिति उत्कृष्ट थियो, र उनी आफ्नो हृदयमा सधैँ ऊर्जावान् र बोझ भएकी थिइन्। बेला-बेलामा उनी कमजोर हुन्थिन् र विघ्नवाधा भोग्थिन्, तर धेरै समय नबित्दै उनी आफ्नो सामान्य स्थितिमा फर्कन्थिन्। यस प्रकारको समयपछि, द्रुत गतिमा उनको प्रगति हुन्थ्यो, उनले परमेश्‍वरका धेरै वचनहरूको बारेमा केही बुझाइ प्राप्त गर्न सक्थिन्, र उनले भजनहरू पनि चाँडै सिक्थिन्—समग्रमा, उनको आत्मिक स्थिति उत्कृष्ट थियो। जब उनले मण्डलीका धेरै कुराहरू परमेश्‍वरको इच्छाअनुरूप नभएको देखिन्, तब उनी चिन्तित भइन् र उनले आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरूको निन्दा गर्दै भनिन्: “के यो तिमीहरूको कर्तव्यप्रतिको भक्ति हो? किन तिमीहरू यति थोरै मूल्य तिर्न पनि असमर्थ छौ? यदि तिमीहरू यो काम गर्न चाहँदैनौ भने, म गर्नेछु…।”

जब उनमा बोझ थियो, उनले आफ्नो विश्‍वासमा अझै बलियो महसुस गरिन्, किनकि पवित्र आत्माले धेरैभन्दा धेरै काम गरिरहनुभएको थियो। कहिलेकहीँ उनले केही कठिनाइहरूको सामना गर्थिन् र नकारात्मक बन्थिन्, तर उनी यी सबैमाथि विजय पाउन सक्षम थिइन्। अर्थात्, जब उनले पवित्र आत्माको काम अनुभव गर्थिन्, उनको अवस्था राम्रो हुँदाहुँदै पनि, उनी अझै पनि कुनै खास कठिनाइहरूको सामना गर्न वा केही हदसम्म कमजोर हुनबाट बच्न सक्दिनथिन्। यस्ता कुराहरू अपरिहार्य रूपमा घटित हुन्थे, तर चाँडै नै उनी ती अवस्थाहरूबाट बाहिर आउन सक्थिन्। जब उनी कमजोर महसुस गर्थिन्, तब उनी प्रार्थना गर्थिन् र आफ्नै कद वास्तवमै अपर्याप्त भएको महसुस गर्थिन्, तर उनी परमेश्‍वरसँग सहकार्य गर्न इच्छुक थिइन्। परमेश्‍वरले जे गर्नु भए पनि, उनी उहाँको इच्छा पूरा गर्न र उहाँका सबै प्रबन्धहरू पालन गर्न इच्छुक थिइन्। त्यहाँ उनको बारेमा निश्चित धारणा र पूर्वाग्रहहरू भएका केही व्यक्तिहरू थिए, तर उनले आफूलाई बेवास्ता गरी सक्रियतासाथ उनीहरूको सङ्गतिमा संलग्न हुन सक्षम थिइन्। पवित्र आत्माले उहाँको सामान्य काम गरिरहनुभएको बेला मानिसहरूका अवस्थाहरू यस्तै हुन्छन्। केही समय बितेपछि, परमेश्‍वरको काम परिवर्तन हुन थाले, र सबै मानिसहरू कामको अर्को चरणमा प्रवेश गरे, जसमा परमेश्‍वरले उनीहरूको लागि भिन्नै मापदण्डहरू तय गर्नुभएको थियो। त्यसैले त्यहाँ नयाँ वचनहरू बोलिए, जसले मानिसहरूको लागि नयाँ मापदण्डहरू तय गर्‍यो: “… मसित तिमीहरूका निम्ति घृणा मात्र छ, आशिष्‌हरू छँदै छैनन्। मैले तिमीहरूलाई आशिष् दिने कुरा कहिल्यै सोचेको छैनँ, न त मैले कहिल्यै तिमीहरूलाई पूर्ण गर्ने विचार नै गरेको छु, किनकि तिमीहरू अति नै विद्रोही छौ। तिमीहरू बेइमान र छली छौ, र तिमीहरूमा योग्यताको कमी छ र तिमीहरू निम्न कदका छौ, त्यसैले तिमीहरू मेरो नजरभित्र वा मेरो हृदयमा कहिल्यै पनि रहेका छैनौ। मेरो काम तिमीहरूलाई दोषी ठहराउने अभिप्रायले मात्र गरिन्छ; मेरो हात तिमीहरूबाट कहिल्यै पनि टाढा भएको छैन, न त मेरो ताडना नै टाढा रहेको छ। मैले तिमीहरूलाई निरन्तर न्याय गरेको र सराप दिएको छु। तिमीहरूले मलाई नबुझ्ने भएकोले मेरो क्रोध सधैँ तिमीहरूमाथि खनिएको छ। मैले सधैँ तिमीहरूको बीचमा काम गरेको भए पनि तिमीहरूले तिमीहरूप्रतिको मेरो मनोवृत्तिलाई जान्नुपर्छ। यो घृणाबाहेक अरू केही होइन—अरू कुनै मनोवृत्ति वा धारणा छैन। म यति मात्र चाहन्छु कि तिमीहरूले मेरो बुद्धि र मेरो महान् शक्तिका लागि प्रतिभारको रूपमा काम गर। तिमीहरूको विद्रोहीपनद्वारा मेरो धार्मिकता प्रकट हुने भएकोले तिमीहरू मेरा प्रतिभार बाहेक अरू केही होइनौ। मैले तिमीहरूलाई मेरो कामका प्रतिभार, मेरो कामका सहायक अङ्ग बन्‍न लगाएको छु…।” “सहायक अङ्ग” र “प्रतिभार” भन्‍ने शब्दहरू देख्नेबित्तिकै उनले सोच्न थालिन्: “यी वचनहरूको आधारमा मैले कसरी पछ्याउने? त्यस्तो मूल्य चुकाएपछि पनि म अझै प्रतिभार मात्र हुँ। के प्रतिभार भनेको एउटा सेवा-कर्ता मात्र होइन र? विगतमा, हामी सेवा-कर्ताहरू हुनेछैनौं, हामी परमेश्‍वरका मानिसहरू हुनेछौं भनिएको थियो, तर के हामी आज पनि सेवा-कर्ताको भूमिकामा छैनौं र? के सेवा-कर्ताहरूमा जीवनको अभाव हुँदैन र? मैले जति धेरै कष्ट सहे पनि परमेश्‍वरले त्यसका लागि मेरो प्रशंसा गर्नुहुनेछैन! म प्रतिभार बनिसकेपछि, के यो समाप्त हुँदैन र? …” उनले यस विषयमा जति धेरै सोचिन् त्यत्ति नै बढी उनी दुःखी बनिन्। उनले मण्डलीमा आएर आफ्ना दाजुभाइ तथा दिदी-बहिनीहरूको अवस्था देख्दा झनै नराम्रो महसुस गरिन्: “तिमीहरू ठीक छैनौ! म ठीक छैनँ! म नकारात्मक भएकी छु। उफ्! के गर्न सकिन्छ? परमेश्‍वरले अझै पनि हामीलाई चाहनुहुन्न। यस प्रकारको काम गर्नुभएर उहाँले हामीलाई नकारात्मक नबनाउनुहुने कुनै कुरै छैन। मलाई थाहा छैन ममा के गलत छ। म प्रार्थना पनि गर्न चाहन्नँ। जे होस्, म अहिल्यै ठीक छैनँ र वास्तवमै आफ्नो आन्तरिक उत्साह बटुल्न सक्दिनँ। मैले धेरै चोटि प्रार्थना गरेको छु, तर म अझै गर्न सक्दिनँ, र म त्यो गरिरहन चाहन्नँ। म यसलाई यसरी नै हेर्छु। परमेश्‍वर भन्नुहुन्छ, हामी प्रतिभारहरू हौं, त्यसो भए के प्रतिभारहरू केवल सेवा-कर्ताहरू होइनन् र? परमेश्‍वर भन्नुहुन्छ, हामी प्रतिभारहरू हौं, उहाँका छोराहरू होइनौं, अनि उहाँका मानिसहरू पनि होइनौं। हामी उहाँका छोराहरू होइनौं, झन् उहाँका ज्येष्ठ छोराहरू हुने त कुरै छोडौं। हामी केही पनि होइनौं, केवल प्रतिभारहरू हौं। यदि हामी त्यही हौं भने, के हामीले राम्रो परिणाम पाउन सम्भव छ त? प्रतिभारहरूको कुनै आशा हुँदैन किनकि तिनीहरूसँग जीवन हुँदैन। यदि हामी उहाँका छोराहरू, उहाँका मानिसहरू हुन्थ्यौं भने, त्यसमा आशा हुनेथियो—हामी पूर्ण तुल्याइन सक्थ्यौं। के प्रतिभारहरूले परमेश्‍वरको जीवन बोक्न सक्छन्? के परमेश्‍वरले उहाँको सेवा गर्नेहरूमा जीवन हालिदिन सक्नुहुन्छ? उहाँले प्रेम गर्नुहुने व्यक्तिहरू तिनीहरू हुन् जोसँग उहाँको जीवन छ, र जोसँग उहाँको जीवन छ तिनीहरू मात्र उहाँका छोराहरू, उहाँका मानिसहरू हुन्। म नकारात्मक र कमजोर भए पनि म आशा गर्छु, तिमीहरू सबै नकारात्मक छैनौ। मलाई थाहा छ, यसरी पछाडि फर्कंदा र नकारात्मक हुँदा त्यसले परमेश्‍वरको इच्छा पूरा गर्न सक्दैन, तर म प्रतिभार हुन तयार छैन। म एक प्रतिभार बन्न डराउँछु। जे होस्, मसँग त्यति ऊर्जा मात्र छ, र म अब निरन्तरता दिन सक्दिनँ। म आशा गर्छु, मैले जे गरें त्यस्तो तिमीहरूमध्ये कसैले पनि गर्नेछैनौ, बरु मबाट केही हदसम्म प्रेरणा प्राप्त गर्न सक्नेछौ। मलाई लाग्छ, म मर्न पनि सक्छु! मैले मृत्युको सामना गर्नुभन्दा अघि म तिमीहरूलाई केही अन्तिम कुराहरू छोडिराख्नेछु—म आशा गर्छु, तिमीहरू अन्त्यसम्म प्रतिभारहरूको रूपमा काम गर्न सक्नेछौ; हुन सक्छ, अन्त्यमा परमेश्‍वरले प्रतिभारहरूको प्रशंसा गर्नुहुनेछ…।” जब दाजुभाइ-दिदीबहिनीहरूले यो देखे तब उनीहरूले अचम्मित हुँदै भने: “उनी कसरी त्यति नकारात्मक हुन सक्छिन्? के उनी पछिल्ला दुई-चार दिन पूर्ण स्वस्थ थिइनन् र? उनले किन अचानक सबै बल गुमाइन्? उनी किन सामान्य नभएकी हुन्?” उनले भनिन्: “म सामान्य भइरहेकी छैन नभन। वास्तवमा, म मेरो हृदयमा सबै कुरामा स्पष्ट छु। मलाई थाहा छ, मैले परमेश्‍वरको इच्छा पूरा गरेकी छैनँ, तर के यो मैले उहाँको प्रतिभारको रूपमा कार्य गर्न नचाहेकीले गर्दा होइन र? मैले केही खराब गरेकी छैनँ। हुन सक्छ, एक दिन परमेश्‍वरले ‘प्रतिभारहरू’ भन्‍ने नामलाई बदलेर ‘प्राणीहरू’ बनाउनुहुनेछ, र त्यत्ति मात्र होइन, उहाँद्वारा महत्त्वपूर्ण रूपमा प्रयोग गरिएकाहरूलाई उहाँका प्राणीहरू बनाउनुहुनेछ। के यसमा केही आशा छैन? म आशा गर्छु, तिमीहरू नकारात्मक वा निराश हुनेछैनौ, र परमेश्‍वरको अनुसरण गरिरहनेछौ र प्रतिभारहरूको रूपमा आफूले सक्दो सेवा गर्नेछौ। जुनै अवस्था भए पनि, म निरन्तरता दिन सक्दिनँ। मेरा कार्यहरूले तिमीहरूलाई सीमित नबनाओस्।” अरू मानिसहरूले यो कुरा सुने, र भने, “तपाईंले उहाँलाई पछ्याउन छाड्नुभयो भने पनि, हामी निरन्तरता दिनेछौं, किनकि परमेश्‍वरले हामीलाई कहिल्यै अनुचित व्यवहार गर्नुभएको छैन। हामी तपाईंको नकारात्मकताद्वारा बाध्य हुनेछैनौं।”

केही समयसम्म यो अनुभवबाट गुज्रिसकेपछि पनि उनी अझै प्रतिभार हुने कुरामा नकारात्मक अवस्थामा थिइन्, त्यसैले मैले उनलाई भनें: “तँलाई मेरो कामको बारेमा केही ज्ञान छैन। तँसँग मेरा वचनहरूको भित्री सत्य, सार, वा अपेक्षित परिणामबारे कुनै बुझाइ छैन। तँलाई मेरो कामका लक्ष्यहरू थाहा छैन, न त यसभित्रका ज्ञान-बुद्धि नै थाहा छ। तँमा मेरो इच्छाको कुनै बोध छैन। तँ पछि हट्न मात्र जान्दछस्, किनकि तँ एक प्रतिभार होस्—तँले आफैलाई हैसियतको कुरामा धेरै लगाइराख्छस्! तँ कति मूर्ख छस्! मैले तँलाई विगतमा धेरै कुरा भनेको थिएँ। मैले भनेको थिएँ कि म तँलाई सिद्ध पार्नेछु; के तैँले भुलिस्? मैले प्रतिभारको बारेमा कुरा गर्नुभन्दा अघि के मैले सिद्ध पार्ने कुरा गरेको थिइनँ र?” “पर्खनुहोस्, मलाई यसको बारेमा सोच्न दिनुहोस्। हो, त्यो सही हो! तपाईंले प्रतिभारको विषयमा कुरा गर्नुभन्दा पहिले ती कुराहरू गर्नुभएको थियो!” “जब मैले सिद्ध पार्ने कुरा गरेको थिएँ, तब के मैले मानिसहरूलाई विजय गरिएपछि मात्र सिद्ध पार्न सकिनेछ भनेको थिइनँ र?” “थियो!” “के मेरा वचनहरू निष्कपट थिएनन् र? के ती असल नियतले भनिएका थिएनन् र?” “हो! तपाईं परमेश्‍वर हुनुहुन्छ, तपाईंले कहिल्यै पनि बेइमानी पूर्वक कुरा गर्नुभएको छैन—यो कुरालाई कसैले पनि इन्कार गर्ने आँट गर्न सक्दैन। तर तपाईं अत्यन्तै धेरै तरिकाले बोल्नुहुन्छ।” “के मेरा बोल्ने तरिकाहरू कामका विभिन्न चरणहरू अनुसार बदलिँदैन र? के मैले भनेका कुराहरू तेरा आवश्यकताहरूको आधारमा गरिएका र भनिएका छैनन् र?” “तपाईं मानिसहरूको आवश्यकताअनुसार काम गर्नुहुन्छ र तपाईंले उनीहरूका खाँचोहरू पूरा गरिदिनुहुन्छ। यो असत्य होइन!” “त्यसो भए, के मैले तँलाई भनेका कुराहरू लाभदायक छैनन् र? के मेरा सजायहरू तेरै खातिर प्रदान गरिएका छैनन् र?” “तपाईं अझै कसरी भन्न सक्नुहुन्छ कि यो मेरो खातिर हो! तपाईंले मलाई मरणासन्न हुने गरी सजाय दिनुभयो—म अझ अरू जिउन चाहन्नँ। आज तपाईं यो भन्नुहुन्छ, भोलि तपाईंले त्यो भन्नुहुन्छ। मलाई थाहा छ, तपाईंले मेरो आफ्नै खातिर मलाई सिद्ध पार्दैहुनुहुन्छ, तर तपाईंले मलाई सिद्ध पार्नुभएको छैन—तपाईंले मलाई प्रतिभार बनाउनुहुन्छ र अझै पनि तपाईं मलाई दण्ड दिनुहुन्छ। तपाईं मलाई घृणा गर्नुहुन्छ, हैन र? कसैले पनि तपाईंका वचनहरूमा विश्‍वास गर्ने हिम्मत गर्दैन, र अहिले मात्र मैले स्पष्ट बुझेँ कि तपाईंको सजाय तपाईंको हृदयको घृणालाई ठीक पार्नलाई हो, मलाई मुक्ति दिनलाई होइन। तपाईंले पहिले मबाट सत्य लुकाउनुभयो; तपाईंले भन्नुभयो कि तपाईंले मलाई सिद्ध पार्नुहुनेछ र त्यो सजाय मलाई सिद्ध पार्नका निम्ति हुनेछ। यसैले मैले सधैँ तपाईंको आज्ञा पालन गरेको छु; मैले सोचेकै थिइनँ, आज मैले प्रतिभारको उपाधि धारण गर्नेछु। हे परमेश्‍वर, के तपाईंले मलाई अरू कुनै अरू कार्य गर्न लगाउनुभएको भए राम्रो हुनेथिएन र? के तपाईंले मलाई एउटा प्रतिभारको टोपी नै लगाइदिनुपर्थ्यो र? मैले राज्यमा द्वारपाल हुने कुरासमेत स्वीकार गर्नेथिएँ। म वरिपरि दौडँदै छु र आफैलाई अर्पित गर्दै छु, तर अन्त्यमा मेरा हातहरू खाली छन्—मसँग एक पैसा पनि छैन। तैपनि तपाईं अहिले मैले तपाईंको प्रतिभारको रूपमा काम गर्नुपर्छ भनेर भन्नुहुन्छ। मैले आफ्नो अनुहारसमेत कसरी देखाउन सक्छु र?” “तैँले के कुरा गर्दैछस्? मैले विगतमा यति धेरै न्यायको काम गरेको छु र तँ त्यो बुझ्दैनस्? के तैँले आफैलाई राम्ररी बुझेको छस्? के ‘प्रतिभार’ को उपाधि वचनहरूको न्याय पनि होइन र? के तँ प्रतिभारहरू सम्बन्धी मेरा सबै कुराकानीहरू एउटा विधि पनि हो, तेरो न्याय गर्ने तरिका पनि हो भनी सोच्छस्? त्यसो भए, तैँले कसरी मलाई पछ्याउँछस्?” “मैले अझसम्म तपाईंलाई कसरी पछ्याउने भनी योजना बनाएको छैन। पहिले मैलै जान्नुपर्छ: म प्रतिभार हुँ वा होइन? के प्रतिभारहरूलाई पनि सिद्ध पार्न सकिन्छ? के ‘प्रतिभार’ को उपाधि बदल्न सकिन्छ? के मैले एक प्रतिभार भएर सानदार गवाही दिन सक्छु, र त्यसपछि सिद्ध तुल्याइने व्यक्ति बन्न सक्छु, जो परमेश्‍वरलाई प्रेम गर्ने व्यक्तिको एक उदाहरण हुन्छ, र जो परमेश्‍वरको घनिष्ठ हुन्छ? के म पूर्ण बनाइन सक्छु? मलाई सत्य भन्नुहोस्!” “के तँलाई सधैँ विकसित भइरहने, सधैँ परिवर्तन भइरहने कुराहरूबारे थाहा छैन? जबसम्म तँ एक प्रतिभारको रूपमा तेरो वर्तमान भूमिकामा आज्ञाकारी हुन इच्छुक हुन्छस् तँ बदलिन सक्छस्। तँ एक प्रतिभार होस् वा नहोस् भन्‍ने कुराको तेरो भवितव्यसँग कुनै सरोकार छैन। मुख्य कुरा के हो भने तँ जीवनको स्वभावमा परिवर्तन भएको व्यक्ति हुन सक्छस् कि सक्दैनस् भन्‍ने हो।” “तपाईंले मलाई सिद्ध पार्न सक्नुहुन्छ कि हुन्न के त्यो भन्न सक्नुहुन्छ?” “जबसम्म तैँले पछ्याउँछस् र आखिरीसम्म आज्ञापालन गर्छस्, तबसम्म म प्रत्याभूति दिन्छु कि म तँलाई सिद्ध बनाउन सक्छु।” “अनि मैले कस्तो किसिमको कष्ट भोग्नुपर्नेछ?” “तैँले कठिनाइको साथसाथै वचनहरूको न्याय र सजायको पनि अनुभव गर्नुपर्नेछ, विशेष गरी वचनहरूको सजाय, जुन प्रतिभारको दण्डजस्तै हो!” “प्रतिभारको रूपमा पनि उस्तै दण्ड? ठीक छ, यदि म कठिनाइबाट गुज्रेपछि तपाईंद्वारा सिद्ध पारिन सक्छु भने, यदि त्यहाँ आशा छ भने, त्यो त राम्रो हो। यदि यो केवल आशाको एक त्यान्द्रो मात्र हो भने पनि त्यो एउटा प्रतिभार हुनुभन्दा राम्रो हो। त्यो ‘प्रतिभार,’ भन्‍ने नाम-पदवी अति नै नराम्रो सुनिन्छ। म एक प्रतिभार बन्न इच्छुक छैनँ!” “प्रतिभारसित त्यत्ति नराम्रो के कुरा छ र? के प्रतिभारहरू उनीहरू आफैमा पूर्ण रूपले असल हुँदैनन् र? के प्रतिभारहरू आशिष्‌को आनन्द लिन अयोग्य छन् र? यदि म प्रतिभारहरूले आशिष्‌हरूको आनन्द लिन सक्छन् भन्छु भने, तैँले आशिष्‌हरूको आनन्द लिन सक्छस्। के मेरो कामको कारण मानिसहरूको नाम-पदवी बदलिन्छ भन्‍ने कुरा सत्य होइन र? तैपनि एउटा सामान्य उपाधिको कुराले मात्र पनि तँलाई यति धेरै चिन्तित पार्दैछ? तँ यस प्रकारको प्रतिभार हुनु तँलाई ठीक सुहाउँछ। के तँ पछ्याउन इच्छुक छस् कि छैनस्?” “ठीक छ, के तपाईं मलाई पूर्ण बनाउन सक्नुहुन्छ कि हुन्न? के तपाईं मलाई तपाईंका आशिष्‌हरूको आनन्द लिन दिनुहुन्छ?” “के तँ अन्त्यसम्म पछि लाग्न इच्छुक छस् वा छैनस्? के तँ आफैलाई अर्पण गर्न इच्छुक छस्?” “मलाई यसको बारेमा सोच्न दिनुहोस्। एउटा प्रतिभारले पनि तपाईंको आशिष्‌को आनन्द लिन सक्छ, र उसलाई पूर्ण तुल्याउन सकिन्छ। मलाई पूर्ण तुल्याइसकेपछि म तपाईंको घनिष्ठ हुनेछु र तपाईंको इच्छालाई सम्पूर्ण रूपले बुझ्नेछु, र तपाईंसँग जे छ त्यो मसँग पनि हुनेछ। तपाईं जुन कुरामा आनन्द लिन सक्षम हुनुहुन्छ म त्यसमा आनन्द लिन सक्षम हुनेछु, र तपाईं जे कुरा जान्नुहुन्छ त्यो कुरा म जान्नेछु। … कठिनाइबाट गुज्रेर गएपछि र सिद्ध पारिएपछि, म आशिष्‌हरूको आनन्द लिन सक्नेछु। त्यसो भए मैले कस्ता आशिष्‌हरूको आनन्द लिन पाउनेछु त?” “तैँले कस्ता आशिष्‌हरू पाउनेछस् भनी चिन्ता नगर्। यदि मैले तँलाई यी कुराहरू भनें भने पनि ती तेरो कल्पनाभन्दा बाहिरका छन्। एक राम्रो प्रतिभार बने पछि, तँलाई विजय गरिनेछ, र तँ एक सफल प्रतिभार हुनेछस्। यो विजय प्राप्त गरिएको व्यक्तिको आदर्श र दृष्टान्त हो, तर निश्चय नै तँलाई विजय गरिएपछि मात्र तँ एउटा आदर्श र दृष्टान्त बन्न सक्छस्।” “एउटा आदर्श र दृष्टान्त भनेको के हो?” “यो सबै अन्यजातिहरूका लागि आदर्श र दृष्टान्त हो, अर्थात् तिनीहरूको लागि जसलाई विजय गरिएको छैन।” “यसमा कति जना मानिसहरू पर्छन्?” “धेरै मानिसहरू। यो तिमीहरूमध्ये चार वा पाँच हजार मानिस मात्र होइन—सारा संसारमा यो नाउँलाई स्वीकार गर्ने सबैलाई विजय गरिनु नै पर्छ।” “त्यसो भए यो केवल पाँच वा दस सहरहरू मात्र होइन!” “अब यसबारे चिन्ता नगर्, र आफूलाई बढी नै चिन्तित नपार्। अहिले तैँले कसरी प्रवेश प्राप्त गर्न सक्छस् त्यसमा ध्यान दे! म प्रत्याभूति दिन्छु, तँलाई पूर्ण बनाइन सकिन्छ।” “कुन हदसम्म? अनि मैले के-कस्ता आशिष्‌हरूको आनन्द लिन सक्छु?” “तँ किन यति धेरै चिन्तित हुन्छस्? तँलाई पूर्ण बनाइन सकिन्छ भनेर मैले प्रत्याभूति दिएको छु त। के म भरोसायोग्य छु भन्‍ने कुरा तैँले भुलिस्?” “यो सत्य हो कि तपाईं भरोसायोग्य हुनुहुन्छ, तर तपाईंको बोल्ने केही तरिकाहरू सधैँ परिवर्तन हुन्छन्। आज तपाईं मलाई पूर्ण पारिनेछ भनी प्रत्याभूति दिनुहुन्छ, तर भोलि तपाईं यो त अनिश्चित छ भन्न सक्नुहुन्छ। अनि केही मानिसहरूलाई तपाईं भन्नुहुन्छ ‘म प्रत्याभूति दिन्छु, तँजस्तो कसैलाई पनि पूर्ण बनाउन सकिँदैन।’ मलाई थाहा छैन तपाईंका वचनहरूलाई के हुँदैछन्। म त्यसमा विश्‍वास गर्ने आँट गर्दिनँ।” “त्यसो भए के तँ आफैलाई अर्पण गर्न सक्छस् कि सक्दैनस्?” “के अर्पण गर्नु?” “तेरो भविष्य र तेरा आशाहरू अर्पण गर्।” “ती कुराहरू त छोड्न सजिलो छ! मुख्य कुरा भनेको ‘प्रतिभार’ को उपाधि हो—म वास्तवमै त्यो चाहन्नँ। यदि तपाईंले मबाट त्यो नाम-पदवी हटाउनुभयो भने म कुनै पनि कुराका निम्ति खुल्ला हुनेछु, जेसुकै पनि गर्न सक्नेछु। के यी केवल साना कुराहरू होइनन् र? के तपाईं त्यो पद हटाउन सक्नुहुन्छ?” “त्यो त सजिलो हुन्छ, होइन र? यदि म तँलाई त्यो नाम-पदवी दिन सक्छु भने, म निश्चय नै त्यो हटाउन पनि सक्छु। तर अहिले त्यो समय होइन। तैँले पहिले यो कामको चरणको अनुभव पूरा गर्नुपर्छ, अनि मात्र तैँले नयाँ उपाधि प्राप्त गर्न सक्छस्। कुनै व्यक्ति जति धेरै तँजस्तो हुन्छ उत्ति नै बढी उसले एउटा प्रतिभार हुनुपर्छ। तँ एउटा प्रतिभार हुन जति धेरै डराउँछस्, त्यत्ति नै बढी म तँलाई त्यो नाम दिनेछु। तँजस्तो व्यक्तिलाई कडा अनुशासन कारबाही र व्यवहार गरिनुपर्छ। व्यक्ति जति धेरै विद्रोही हुन्छ, उत्ति नै बढी तिनीहरू सेवा-कर्ताहरू हुनेछन् र अन्त्यमा तिनीहरूले केही पनि पाउनेछैनन्।” “मैले धेरै लगनसाथ खोजी गरिरहेको छु तर पनि किन म ‘प्रतिभार’ नाउँ त्याग्न सक्दिनँ? हामीले यी सारा वर्षहरूमा तपाईंलाई पछ्याएका छौं र थोरै दुःख भोगेका छैनौं। हामीले तपाईंका लागि धेरै कुराहरू गरेका छौं। हामीले बतास र वर्षा भोगेका छौं, हामी आफ्नो युवा अवस्थाको अन्त्यतिर पुग्दै छौं। हामीले न त विवाह गरेका छौं न त परिवार सुरु गरेका छौं, र त्यसो गर्ने हामीमध्ये कोही अझै बाहिर आउँछन्। म उच्च माध्यमिक अध्ययन गरूञ्जेल स्कूलमा बसें, तर तपाईं आउनुभएको सुन्नासाथ मैले विश्‍वविद्यालय जाने मौका छोडिदिएँ। अनि तपाईं भन्नुहुन्छ, हामी प्रतिभारहरू हौं! हामीले यति धेरै गुमाएका छौं! हामीले यी सबै कुराहरू गरेका छौं, तर अहिले यस्तो देखिन्छ कि हामी केवल तपाईंका प्रतिभारहरू हौं। यो देखेर मेरा पुराना सहपाठी र दौँतरीहरूले के सोच्लान्? जब उनीहरूले मलाई देख्छन् र मेरो कद र मेरो पदको बारेमा सोध्छन्, म तिनीहरूलाई त्यो कुरा बताउन कसरी लज्जित नहुँला र? सुरुमा, मैले तपाईंप्रतिको आफ्नो विश्‍वासका निम्ति जुनसुकै मूल्य पनि चुकाएँ, अरू सबैले मलाई मूर्ख ठानेर मेरो हाँसो उडाए। तर मैले तपाईंलाई पछ्याइरहेँ अनि विश्‍वास नगर्ने ती सबैलाई देखाउन सक्ने मेरो दिन आउला भनी आशा गरिरहेँ। तर यसको सट्टा, आज तपाईंले मलाई म एक प्रतिभार हुँ भनी भन्नुभयो। यदि तपाईंले मलाई सबैभन्दा तल्लो उपाधि दिनुभएको भए, यदि तपाईंले मलाई राज्यका मानिसहरूमध्ये एक जना हुन दिनुभएको भए त्यो राम्रो हुनेथियो! म तपाईंको चेला वा तपाईंको विश्‍वासपात्र हुन सकिनँ भने पनि तपाईंको अनुयायी बन्नु राम्रै हुन्छ! हामीले धेरै वर्षदेखि तपाईंलाई पछ्याएका छौं, हाम्रा परिवारहरूलाई त्यागेका छौं, र अहिलेसम्म खोज्दै आउन धेरै गाह्रो भएको छ, तर यसको सट्टामा हामीले पाएको देखाउन सकिने कुरा भनेको ‘प्रतिभार’ को उपाधि मात्र हो! मैले तपाईंका लागि सबै कुरा त्यागेको छु; मैले सबै सांसारिक सम्पत्तिहरू छोडिदिएको छु। पहिले, कसैले मलाई सम्भावित जीवन-साथीसँग परिचय गरायो। ऊ वास्तवमै सुन्दर र राम्रो पहिरनवाला थियो; ऊ एक उच्च-सरकारी अधिकारीको छोरो थियो। त्यसबेला म ऊप्रति चासो राख्थेँ। तर मैले परमेश्‍वर आउनुभएको छ र उहाँले आफ्नो काम गरिरहनुभएको छ, र तपाईंले हामीलाई राज्यमा लैजाँदैहुनुहुन्छ र हामीलाई सिद्ध बनाउँदैहुनुहुन्छ, र तपाईंले हामीलाई अलिकति पनि समय नगुमाई सबै कुरा छोड्ने संकल्प गर्न आग्रह गर्नुभएको छ भन्‍ने कुरा सुन्नासाथ मैले आफूमा संकल्पको पूर्ण कमी भएको देखें। त्यसपछि मैले आफैलाई कठोर बनाएँ र त्यो अवसरलाई अस्वीकार गरें। त्यसपछि, उसले मेरो परिवारका निम्ति धेरै पटक उपहारहरू पठायो, तर मैले ती उपहारहरू हेर्दै हेरिनँ। के तपाईं त्यस बेला म दुःखी थिएँ भनी सोच्नुहुन्छ? यो औधी राम्रो कुरा थियो, तर त्यो व्यर्थ भएको छ। म कसरी दुःखी हुन सक्दिनथिएँ र? म यसबारे धेरै दिनसम्म दुःखी बनें यहाँसम्म कि म रातमा सुत्न सक्दिनथिएँ, तर अन्त्यमा मैले त्यो कुरा छाडिदिएँ। प्रत्येक चोटि मैले प्रार्थना गर्दा मलाई पवित्र आत्माले उत्प्रेरित गर्नुहुन्थ्यो जो भन्नुहुन्थ्यो: ‘के तँ मेरो लागि सबै कुरा त्याग्न इच्छुक छस्? के तँ मेरो लागि आफैलाई अर्पण गर्न इच्छुक छस्?’ जब म तपाईंका ती वचनहरू विचार गर्थेँ, म रुन्थेँ। म धेरै प्रभावित भएको थिएँ र उदासीमा म कति चोटि रोएँ त्यो मलाई नै थाहा छैन। एक वर्षपछि मैले सुनें कि त्यो व्यक्तिले बिहे गरेछ। भन्नु नपर्ला, म दुःखी थिएँ, तर पनि मैले तपाईंको खातिर त्यो कुरालाई छोडिदिएँ। अनि अरू सबै त कुरै नगरौं, मेरो भोजन र कपडाहरू पनि घटिया छन्—मैले त्यो विवाह छोडिदिएँ, मैले यी सबै त्यागेँ, त्यसकारण तपाईंले मलाई प्रतिभारको रूपमा व्यवहार गर्नु हुँदैन! मैले मेरो विवाह, मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण घटना त्यागिदिएँ, यी सबै मैले आफैलाई तपाईंमा अर्पण गर्नका लागि गरें। एक व्यक्तिको सम्पूर्ण जीवन एक राम्रो जीवनसाथी पाउनु र एक खुसीको परिवार प्राप्त गर्नुभन्दा बढी अरू केही होइन। मैले यो सब, सबैभन्दा राम्रो कुरो छोडिदिएँ, र अहिले मसँग केही छैन र म एकलो छु। तपाईं मलाई कहाँ पठाउन चाहनुहुन्छ? मैले तपाईंलाई पछ्याउन थालेदेखि नै पीडा भोगेको छु। मैले राम्रो जीवन बिताएको छैनँ। मैले आफ्नो परिवार र आफ्नो पेशाका साथै दैहिक आनन्दहरू त्यागेको छु, र हामी सबैले गरेका यो बलिदान अझै पनि तपाईंका आशिष्‌हरू पाउन पर्याप्त छैन? त्यसैले अहिले यो ‘प्रतिभार’ को कुरा आयो। परमेश्‍वर, तपाईंले अति नै गर्नुभएको छ! हामीलाई हेर्नुहोस्—यो संसारमा हामीले भर पर्न सक्ने केही पनि छैन। हामीमध्ये कतिले हाम्रा छोराछोरीलाई त्यागेका छौं, कतिले आफ्नो काम, आफ्नो पति/पत्नी,[क] आदि इत्यादि त्यागेका छन्; हामीले सबै शारीरिक सुखहरू त्यागेका छौं। हाम्रो निम्ति अरू के आशा छ? हामी संसारमा कसरी जीवित रहन सक्छौं? के हामीले गरेका यी बलिदानहरू एक पैसा मूल्यको पनि छैनन्? के तपाईं ती सब देख्न सक्नुहुन्न? हाम्रो कद तुच्छ छ र हाम्रो योग्यतामा कमी छ—हामी त्यो स्विकार्छौं, तर तपाईंले हामीबाट चाहनुभएको कुरामा हामीले कहिले ध्यान दिएका छैनौ र? अहिले तपाईंले निर्दयतापूर्वक हामीलाई छोड्दै हुनुहुन्छ र त्यसको साटोमा हामीलाई ‘प्रतिभार’ को उपाधि दिँदैहुनुहुन्छ? के हाम्रो बलिदानले हाम्रो निम्ति ल्याएको सबै कुरा यही नै हो? अन्त्यमा, यदि मानिसहरूले मलाई परमेश्‍वरमा विश्‍वास गरेर के पायौ भनी प्रश्न गरे भने के म तिनीहरूलाई वास्तवमै यो ‘प्रतिभार’ भन्‍ने शब्द देखाउन सक्छु? म एक ‘प्रतिभार’ हुँ भन्न म कसरी मुख खोल्न सक्छु? म यो कुरा मेरा बाबुआमालाई बताउन सक्दिनँ, र म मेरो पहिलेको सम्भावित जीवनसाथीलाई बताउन सक्दिनँ। मैले त्यत्ति धेरै मूल्य चुकाएको छु, र यसको बदलामा मैले जे बन्न पाएँ त्यो ‘प्रतिभार’ हो! आह! म धेरै दुःखी महसुस गर्छु!” (उनले आफ्नो तिघ्रोमा बारम्बार मुक्का हान्दै रुन थालिन्।) “यदि मैले अहिले तँलाई प्रतिभारको उपाधि दिँदिनँ, बरु तँलाई मेरा मानिसहरूमध्ये एक बनाउनेछु र तँलाई अगाडि बढ्ने र सुसमाचार फैलाउने निर्देशन दिन्छु भनें भने, यदि मैले तँलाई काम गर्ने हैसियत दिएँ भने, के तँ त्यो काम गर्न सक्छस्? तैँले यो कामको एकपछि अर्को चरणबाट वास्तवमा के प्राप्त गरेको छस्? तैपनि अझै तँ यहाँ छस्, तेरो कथाले मलाई आनन्द दिँदैछस्—तँलाई सरम नै छैन! तँ भन्दैछस् कि तैँले मूल्य चुकाएर पनि केही प्राप्त गरेको छैनस्। के मैले तँलाई व्यक्तिलाई प्राप्त गर्ने मेरा सर्तहरू नबताएको हुन सक्छ? मेरो काम कसका लागि हो? के तँलाई थाहा छ? यहाँ तैँले पुराना गुनासोहरू बल्झाउँदैछस्! के तँ अब एक मानिसको रूपमा समेत गणना हुन्छस् र? के तैँले भोगेको कुनै पनि पीडा तेरो आफ्नै इच्छाले प्राप्त गरेको होइन र? अनि के तेरा दुःखहरू आशिष् प्राप्त गर्नका लागि भोगिएका थिएन र? के तैँले मेरा सर्तहरू पूरा गरिस्? तँ केवल आशिष् प्राप्त गर्न चाहन्छस्। तँलाई कुनै सरम नै छैन! मैले तँलाई दिएका सर्तहरू के सधैँ अनिवार्य थिए र? यदि तँ मलाई पछ्याउन इच्छुक छस् भने तैँले सबै कुरामा मेरो आज्ञा पालन गर्नैपर्छ। सर्तहरूसँग सम्झौता गर्ने प्रयास नगर्। आखिर, मैले तँलाई अघि नै भनेको थिएँ कि यो मार्ग दुःखको मार्ग हो। यो डरलाग्दा सम्भावनाहरूले भरिएको छ, राम्रो कुरा थोरै मात्र पाइन्छ। के तैँले भुलिस्? मैले यो धेरै पटक भनेको छु। यदि तँ कष्ट भोग्न इच्छुक छस् भने मेरो पछि लाग्। यदि तँ कष्ट भोग्न इच्छुक छैनस् भने, रोकी। म तँसँग जबरजस्ती गर्दिनँ—तँ आउन वा जान स्वतन्त्र छस्! तैपनि, मेरो काम यसरी नै गरिन्छ र तेरो व्यक्तिगत विद्रोहको कारण म आफ्नो सम्पूर्ण काममा ढिलाइ गर्न सक्दिनँ। तँ आज्ञापालन गर्न इच्छुक नहोलास्, तर अरूहरू इच्छुक छन्। तिमीहरू सबै हताश भएका मानिसहरू हौ! तिमीहरू कुनै पनि कुराको डर मान्दैनौ! तैँले मसँग सर्तहरूको सम्झौता गर्दैछस्—के तँ बाँच्न चाहन्छस् कि चाहँदैनस्? तँ आफ्नै निम्ति योजना बनाउँछस् र तेरो आफ्नै प्रसिद्धि र फाइदाका लागि संघर्ष गर्छस्। के मेरो काम सबै तिमीहरूका लागि होइन र? के तँ अन्धो छस्? म देह बन्नुभन्दा पहिले तैँले मलाई देख्न सक्दैनथिस्, र तैँले बोलेका यी वचनहरू त्यसबेला क्षमायोग्य थिए, तर अहिले मैले देहधारण गरेको छु र मैले तिमीहरूमाझ काम गर्दैछु, तैपनि तँ देख्न सक्दैनस्? तँ के बुझ्दैनस्? तँ भन्छस् कि तैँले हानि खपिस्; यसैले म तिमीहरू हताश भएका मानिसहरूलाई मुक्ति दिन देह बनेको छु र धेरै कामहरू गरेको छु, र अहिले पनि तँ गुनासो गर्दैछस्—के तैँले हानि खपेको छु भन्छस् होइन? के मैले गरेका सबै काम तिमीहरूको लागि होइन र? म मानिसहरूको वर्तमान कदअनुसार यो उपाधि प्रयोग गर्दछु। यदि म तँलाई ‘प्रतिभार’ भन्छु भने तँ तुरुन्तै एक प्रतिभार बन्छस्। त्यसरी नै, यदि म तँलाई ‘परमेश्‍वरका मानिसहरूमध्ये एक’ भन्छु भने, तँ तुरुन्तै त्यस्तो बन्छस्। म तँलाई जे भनेर बोलाउँछु, तँ त्यही होस्। अनि मेरा थोरै शब्दहरू तेरो निम्ति रिसउठ्दो छन्? त्यसो भए, मलाई माफ गर्। यदि तैँले अब आज्ञापालन गर्दैनस् भने, अन्त्यमा तँ श्रापित हुनेछस्—के तब तँ खुसी हुन्छस्? तँ जीवनको मार्गमा ध्यान दिँदैनस्, तर तेरो हैसियत र नाम-पदवीमा मात्र ध्यान दिन्छस्; तेरो जीवन कस्तो किसिमको छ? म तैँले ठूलो मूल्य चुकाएको कुरा इन्कार गर्दिनँ छस्, तर तेरो आफ्नै कद र अभ्यासलाई हेर्—र अहिले पनि तँ सर्तहरूको विषयमा सम्झौता गर्ने कोसिस गर्दैछस्। के तैँले तेरो संकल्पद्वारा प्राप्त गरेको कद यही हो त? के तँसँग अलिकति पनि इमानदारीता छ? के तेरो विवेक छ? के गल्ती गर्ने म हुँ? के मैले तँलाई दिएका सर्तहरू गलत थिए? त्यसो भए, त्यो के हो? म तँलाई केही दिनका लागि एक प्रतिभारको रूपमा काम गर्न लगाउन चाहन्छु र अझै पनि तँ त्यसो गर्न इच्छुक छैनस्। त्यो कस्तो प्रकारको संकल्प हो? तिमीहरू सबै कमजोर इच्छा भएका कायरहरू हौ। तँजस्ता मानिसहरूलाई अब दण्ड दिनु नै पर्ने भो!” मैले एक पटक यो भनेपछि, उनले एक वचन पनि बोलिनन्।

अहिले यस प्रकारको कामको अनुभव गर्नका निम्ति तिमीहरूसँग परमेश्‍वरको कामका चरणहरू र मानिसलाई रूपान्तरण गर्ने उहाँका तरिकाहरूको केही बुझाइ हुनुपर्छ। रूपान्तरणको नतिजा प्राप्त गर्ने यो एक मात्र तरिका हो। तिमीहरूको खोजीमा, तिमीहरूसँग अत्यन्तै धेरै धारणा, आशा र भविष्यहरू छन्। अहिलेको काम तिमीहरूको हैसियतको चाहना र असाधारण चाहनाहरूको निराकरण गर्नको निम्ति हो। आशा, हैसियत र धारणाहरू सबै शैतानिक स्वभावका उत्कृष्ट प्रतिनिधित्वहरू हुन्। शैतानको विषले सधैँ मानिसहरूका विचारहरूलाई नष्ट गर्छ र मानिसहरू शैतानका यी परीक्षाहरूदेखि मुक्त हुन सधैँ असमर्थ छन्, त्यही कारणले नै मानिसहरूका हृदयमा यी कुराहरूको अस्तित्व छ। तिनीहरू पापको माझमा जिउँछन् तापनि यसलाई पाप भनी विश्‍वास गर्दैनन्, तैपनि तिनीहरू सोच्छन्: “हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, त्यसैले उहाँले हामीलाई आशिष्‌हरू दिनुपर्छ र हाम्रो निम्ति सबै कुरा उचित तवरले व्यवस्था गर्नुपर्छ। हामी परमेश्‍वरमा विश्‍वास गर्छौं, यसैले हामी अरूभन्दा श्रेष्ठ हुनुपर्छ र हाम्रो हैसियत र भविष्य अरूको भन्दा अझ धेरै हुनुपर्छ। हामीले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, उहाँले हामीलाई असीमित आशिष्‌हरू दिनुपर्छ। अन्यथा, यसलाई परमेश्‍वरमाथि गरिने विश्‍वास भनिने थिएन।” धेरै वर्षसम्म, आफ्नो अस्तित्वका निम्ति मानिसहरू भर परेका सोचहरूले तिनीहरूका हृदयलाई यति हदसम्म बिगारेका छन् कि तिनीहरू छली, डरपोक र घृणित बनेका छन्। तिनीहरूमा इच्‍छाशक्ति र सङ्कल्पको अभाव मात्र नभएर, तिनीहरू लोभी, अहङ्कारी र मनमानी गर्ने पनि भएका छन्। तिनीहरूसँग स्वयम्‌लाई उछिन्‍ने सङ्कल्पको अभाव छ, र त्योभन्दा बढी, यी अँध्यारा प्रभावहरूबाट मुक्त हुने अलिकति पनि साहस तिनीहरूसँग छैन। मानिसहरूका विचार र जीवन यति कुहिएका छन् कि परमेश्‍वरमाथि विश्‍वास गर्ने सम्बन्धमा तिनीहरूका दृष्टिकोणहरू अझ पनि असहनीय रूपले घृणित छन् र त्योभन्दा बढी, जब मानिसहरूले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासको सम्बन्धमा आफ्ना दृष्टिकोणहरू राख्छन् त्यो सुन्‍न नसकिने किसिमका हुन्छन्। मानिसहरू सबै डरपोक, अयोग्य, घृणित र कमजोर छन्। अन्धकारका शक्तिहरूप्रति तिनीहरूले घृणाको महसुस गर्दैनन् र तिनीहरू ज्योति र सत्यताप्रति प्रेमको महसुस गर्दैनन्; बरु तिनलाई निष्कासित गर्ने भरमग्दुर प्रयास तिनीहरू गर्छन्। के तिमीहरूका अहिलेका सोच र दृष्टिकोणहरू यस्तै छैनन् र? “मैले परमेश्‍वरमाथि विश्‍वास गर्ने हुनाले ममाथि आशिष्‌हरूको वर्षा हुनुपर्छ र मेरो हैसियत कहिले पनि फुत्केर नगएको होस् र त्यो गैरविश्‍वासीहरूको भन्दा उच्‍च रहनुपर्छ भन्‍ने कुरालाई सुनिश्‍चित गरिनुपर्छ।” तिमीहरूले आफूभित्र त्यस किसिमको दृष्टिकोण केवल एक वा दुई वर्षदेखि मात्र होइन तर धेरै वर्षदेखि राखेका छौ। तिमीहरूको कारोबारी तरिकाको सोचाइ अति विकसित भएको छ। तिमीहरू आज यस चरणमा आइपुगेको भए तापनि तिमीहरूले हैसियतलाई अझ पनि छाडेका छैनौ तर एक दिन तिमीहरूको हैसियत गुम्‍नेछ र तिमीहरूको नाम नष्ट हुनेछ भन्‍ने गहिरो डरको साथ यसको बारेमा निरन्तर सोधपुछ गर्नमा सङ्घर्ष गर्छौ र दिनहुँ यसको अवलोकन गर्छौ। मानिसहरूले सहजता प्रतिको आफ्नो चाहनालाई कहिल्यै पन्छाएका छैनन्। यसैले, आज म यसरी तिमीहरूको न्याय गर्दैछु, अन्त्यमा तिमीहरूसँग कुन हदसम्म बुझाइ हुनेछ? तिमीहरूले आफ्नो हैसियत उच्च नभए पनि परमेश्‍वरको उचाइको आनन्द लिएका छौं भनी भन्‍नेछौ। तिमीहरूको जन्म तुच्छ भएकोले तिमीहरूको कुनै हैसियत छैन, तर परमेश्‍वरले तिमीहरूलाई उचाल्नुहुने भएकोले तिमीहरूले हैसियत प्राप्त गर्छौ—यो उहाँले तिमीहरूलाई दिनुभएको कुरा हो। आज तिमीहरू व्यक्तिगत रूपमा परमेश्‍वरको प्रशिक्षण, उहाँको दण्ड, र उहाँको न्याय प्राप्त गर्न सक्छौ। यो पनि उहाँले उचाल्नुभएको कार्य नै हो। तिमीहरू व्यक्तिगत रूपमा उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त गर्न सक्षम छौ। यो परमेश्‍वरको महान् प्रेम हो। युगौंयुगदेखि त्यहाँ एक जना पनि त्यस्तो व्यक्ति छैन जसलाई उहाँको शुद्धीकरण र प्रज्वलन प्राप्त भएको छ, र एक जना व्यक्ति पनि उहाँका वचनहरूद्वारा सिद्ध हुन सकेको छैन। अहिले परमेश्‍वर तिमीहरूलाई शुद्ध पार्दै, तिमीहरूका भित्री विद्रोहीपन प्रकट गर्दै तिमीहरूसँग आमनेसामने बोल्दैहुनुहुन्छ—यो निश्चय नै उहाँले उचाल्नुभएको कार्य हो। मानिसहरूसँग के-कस्ता योग्यताहरू छन्? चाहे तिनीहरू दाऊदका छोराहरू हुन् वा मोआबका सन्तानहरू, समग्रमा, मानिसहरू सृष्टि गरिएका प्राणीहरू हुन्, जोसँग घमन्ड गर्न लायकको केही पनि छैन। तिमीहरू परमेश्‍वरका प्राणीहरू भएकाले तिमीहरूले प्राणीको कर्तव्य पूरा गर्नुपर्छ। तिमीहरूका लागि अरू आवश्यक सर्तहरू छैनन्। तिमीहरूले यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर! चाहे मेरो हैसियत होस् वा नहोस्, म अब आफूलाई बुझ्छु। यदि मेरो हैसियत उच्च छ भने यो तपाईंले उचाल्नुभएकोले गर्दा हो, र यदि यो तुच्छ छ भने यो तपाईंको पूर्वनिर्धारणले गर्दा हो। सबै कुरा तपाईंको हातमा छन्। मसँग न त कुनै विकल्प छ, न कुनै गुनासो छ। म यस देशमा र यी मानिसहरूको बीचमा जन्मनुपर्छ भनी तपाईंले नै पूर्वनिर्धारित गर्नुभयो, र मैले गर्नुपर्ने भनेको तपाईंको अधीनमा पूर्ण रूपमा आज्ञाकारी हुनु मात्र हो, किनकि सबै कुरा तपाईंले पूर्वनिर्धारित गर्नुभएको प्रबन्धभित्र छन्। म हैसियतको बारेमा विचार गर्दिनँ; आखिर, म एक प्राणी मात्र हुँ। यदि तपाईंले मलाई अतल कुण्डमा, आगो र गन्धकको कुण्डमा राख्नुभयो भने, म एक प्राणीबाहेक अरू केही पनि होइन। यदि तपाईं मलाई प्रयोग गर्नुहुन्छ भने म एक प्राणी हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्छ भने पनि म एक प्राणी नै हुँ। यदि तपाईं मलाई सिद्ध पार्नुहुन्न भने पनि म तपाईंलाई प्रेम गर्नेछु, किनकि म एक प्राणीभन्दा बढी अरू केही होइन। म सृष्टिका परमप्रभुद्वारा सृष्टि गरिएको एक क्षुद्र प्राणीबाहेक अरू केही पनि होइन, सृष्टि गरिएका सारा मानिसहरूमध्ये एक जना मात्र हुँ। तपाईंले नै मलाई सृष्टि गर्नुभयो, र अब एकचोटि फेरि तपाईंले मलाई तपाईंको इच्छाअनुसार गर्न आफ्नो हातमा राख्नुभएको छ। म तपाईंको औजार र तपाईंको प्रतिभार बन्न इच्छुक छु, किनकि सबै कुरा तपाईंले नै पूर्वनिर्धारण गर्नुभएको हो। यसलाई कसैले परिवर्तन गर्न सक्दैन। सबै थोक र सबै घटनाहरू तपाईंको हातमा छन्।” जब त्यो समय आउँछ जसले तँलाई हैसियतको बारेमा सोचविचार गर्न दिँदैन, तब तँ त्यसबाट मुक्त हुनेछस्। तब मात्र तँ आत्मविश्‍वास र हिम्मतका साथ खोजी गर्न सक्षम हुनेछस्, र तब मात्र तेरो हृदय कुनै पनि करकापबाट मुक्त हुन सक्छ। एक पटक मानिसहरू यी कुराहरूबाट मुक्त भए भने त्यसपछि उनीहरूलाई कुनै चिन्ताहरू हुँदैनन्। अहिले तिमीहरूमध्ये धेरैका चिन्ताहरू के-के छन्? तिमीहरू सधैँ हैसियतद्वारा विवश हुन्छौ र निरन्तर आफ्नै सम्भाव्यताहरूप्रति चिन्तित रहन्छौ। तिमीहरू जहिल्यै पनि परमेश्‍वरका वाणीहरूको पृष्ठ पल्टाउँछौ, मानवजातिको गन्तव्यको बारेमा बताउने भनाइहरू पढ्ने इच्छा राख्छौ र तिमीहरूका सम्भाव्यताहरू के-के हुन् र तिमीहरूको गन्तव्य के हुनेछ भनी जान्न चाहन्छौ। तिमीहरू सोच्छौ, “के साँच्चै मेरा कुनै सम्भाव्यताहरू छन्? के परमेश्‍वरले तिनलाई हटाइदिनुभएको छ? परमेश्‍वरले म एक प्रतिभार हुँ मात्र भन्नुहुन्छ; त्यसो भए, मेरा सम्भाव्यताहरू के-कस्ता छन् त?” तिमीहरूलाई आफ्ना सम्भाव्यताहरू र भवितव्यलाई पन्छाउन गाह्रो हुन्छ। तिमीहरू अब अनुयायी हौ र तिमीहरूले यस चरणको कामको बारेमा केही समझ प्राप्त गरेका छौ। यद्यपि, तिमीहरूले अझ पनि आफ्नो हैसियतको इच्छालाई पन्छाएका छैनौ। तिमीहरूको हैसियत उच्च हुँदा तिमीहरू असल तवरले खोजी गर्छौ, तर तिमीहरूको हैसियत कम हुँदा तिमीहरू खोजी नै गर्दैनौ। हैसियतका आशिष्‌हरू सधैँ तिमीहरूको मनमा हुन्छन्। किन अधिकांश मानिसहरूले आफूलाई नकारात्मकताबाट हटाउन सक्दैनन्? के उत्तर सधैँ “आशाहीन सम्भावनाहरूको कारणले” भन्‍ने हुँदैन र? परमेश्‍वरका वाणीहरू जारी भएलगत्तै तिमीहरू आफ्नो हैसियत र पहिचान के हो भनी हेर्न हतार गर्छौ। तिमीहरू हैसियत र पहिचानलाई प्राथमिकतामा राख्छौ, र ईश्‍वरीय दर्शनलाई दोस्रो स्थानमा झार्छौ। तेस्रो स्थानमा त्यो कुरा हुन्छ जसमा तिमीहरू प्रवेश गर्नुपर्छ, अनि चौथो स्थानमा परमेश्‍वरको वर्तमान इच्छा हुन्छ। तिमीहरू पहिले परमेश्‍वरले तिमीहरूलाई दिनुभएको उपाधि “प्रतिभार” बदलिएको छ कि छैन भनी हेर्छौ। तिमीहरूले पढेको पढेकै गर्छौ, र जब तिमीहरूले “प्रतिभार” को उपाधि हटाइएको देख्छौ, तब तिमीहरू खुसी हुन्छौ र परमेश्‍वरलाई प्रशस्त रूपमा धन्यवाद दिन्छौ र उहाँको महान् शक्तिको प्रशंसा गर्छौ। तर यदि तिमीहरूले आफूलाई अझै प्रतिभारहरू नै भएको देख्यौ भने, तिमीहरू दुःखी हुन्छौ र तिमीहरूको हृदयको उत्साह तुरुन्तै हराउँछ। तैँले जति यस किसिमले खोजी गर्छस्, तैँले त्यति नै कम कटनी गर्छस्। व्यक्तिको हैसियतको इच्छा जति ठूलो हुन्छ, तिनीहरूसँग त्यति नै धेरै गम्भीर निराकरण गरिनुपर्ने हुन्छ र तिनीहरू त्यति नै ठूलो शोधन भएर जानुपर्ने हुन्छ। यस्ता मानिसहरू बेकम्मा हुन्छन्! तिनीहरूले यी कुराहरूलाई पूर्ण रूपमा छोड्नको लागि तिनीहरूको यथेष्ट निराकरण र न्याय गरिनुपर्छ। यदि तिमीहरू अन्त्यसम्मै यसरी पछि लाग्यौ भने, तिमीहरूले केही पनि कटनी गर्नेछैनौ। जीवनको पछि नलाग्‍नेहरूलाई रूपान्तरण गर्न सकिँदैन र सत्यको निम्ति नतिर्खाउनेहरूले सत्य प्राप्त गर्न सक्दैनन्। तैँले व्यक्तिगत रूपान्तरण र प्रवेशको पछि लाग्‍ने कुरामा ध्यान दिँदैनस्, तर परमेश्‍वरमाथिको तेरो विश्‍वासमा अवरोध गर्ने र उहाँको नजिक लानबाट तँलाई रोक्‍ने असामान्य इच्छा र चीजहरूमा ध्यान दिन्छस्। के ती कुराहरूले तेरो रूपान्तरण गर्न सक्छन्? के तिनीहरूले तँलाई राज्यभित्र ल्याउँछन्? यदि सत्यको खोजी गर्नु तेरो खोजीको उद्देश्य होइन भने, तैँले यस मौकाको फाइदा लिएर यसमा सफल हुनको निम्ति संसारतिर फर्कनुपर्छ। तेरो समय यसरी फाल्‍नु उचित हुँदैन—तैँले आफैलाई किन कष्ट दिने? तैँले सुन्दर संसारमा भएका सबै किसिमका चीजहरूको आनन्द लिन सक्थिस् भन्‍ने कुरा सत्य होइन? पैसा, सुन्दर स्त्रीहरू, हैसियत, अभिमान, परिवार, बालबच्चाहरू र अन्य—के संसारका यी उत्पादनहरू तैँले आनन्द मनाउन सक्‍ने सर्वोत्तम कुराहरू होइनन् र? तैँले सुख पाउने ठाउँ कहाँ पाउलास् भनेर यहाँ भौतारिनुको के फाइदा? मानिसको पुत्रको शिर राख्‍ने ठाउँ कहीँ छैन, यसैले तैँले आरामको ठाउँ कसरी पाउन सक्थिस्? उहाँले तेरो निम्ति आराम गर्ने एउटा सुन्दर ठाउँ कसरी सृजना गर्न सक्‍नुहुन्थ्यो र? के त्यो सम्भव छ? मेरो न्याय बाहेक, आज तैँले सत्यको बारेमा शिक्षाहरू मात्र प्राप्त गर्न सक्छस्। तैँले मबाट सान्त्वना प्राप्त गर्न सक्दैनस् र तैँले दिनरात चाहना गर्ने गुलाबको ओछ्यान प्राप्त गर्न सक्दैनस्। म तँलाई संसारको धनसम्पत्ति दिनेछैन। यदि तैँले साँच्चिकै पछ्याइस् भने म तँलाई जीवनको मार्ग सम्पूर्ण रूपमा दिन, तँलाई पानीमा फर्किएको माछा जस्तो बनाउन इच्छुक छु। यदि तैँले साँच्चिकै पछ्याउँदैनस् भने, म सबै फिर्ता लिनेछु। आरामको लोभ गर्नेहरूलाई म मेरा मुखका वचनहरू दिन तयार छैनँ, जो सुँगुर र कुकुरहरू जस्ता छन्।

फूटनोट:

क. मूल पाठमा “पत्नीहरू” भनेर पढिन्छ।

अघिल्लो: विजयको कामको भित्री सत्यता (१)

अर्को: विजयको कामको दोस्रो चरणका प्रभावहरू कसरी हासिल हुन्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्