सत्यता कसरी पछ्याउने (२)
केही समयदेखि हामीले सत्यता कसरी पछ्याउने भन्ने अभ्यासको पहिलो प्रमुख बुँदाको बारेमा छलफल गरिरहेका छौं, जुन “त्याग्नु” भन्ने विषय हो। पछिल्लो पटक हामीले “त्याग्नु” भन्ने विषयको तेस्रो बुँदालाई हेरेका थियौँ—आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको व्यक्तिको शत्रुतालाई त्याग्नु—जुन पूर्ण रूपमा नयाँ विषयवस्तु थियो। यो विषयवस्तुको एउटा मात्रै पक्ष छैन; यसमा धेरै बुँदाहरू र धेरै विषयवस्तुहरू समावेश छन्। परमेश्वरको कामको प्रक्रियामा मानिसहरूले अनुभव गर्ने कुराहरू यिनै विषयवस्तुहरू हुन्, र ती कुराहरू मानिसहरूको जीवन र पछ्याइहरूसँग सीधै सम्बन्धित हुन्छन्, त्यसकारण हामीले साँच्चै नै सङ्गति गर्नु नै पर्ने पहिलो पक्ष भनेको परमेश्वरको बारेमा रहेका मानिसहरूका धारणा र कल्पनाहरू हुन्। यो विषय मानिसहरूले परमेश्वरमा विश्वास गर्ने मार्गमा हिँड्ने प्रक्रियामा आफू टाढा बस्नै नसक्ने विषय हो। मैले पछिल्लो पटक यो विषयवस्तुको एउटा भागमा सङ्गति गरेको थिएँ। कसैले मैले निश्चित रूपमा के विषयमा सङ्गति गरेँ भनेर हामीलाई बताओस्। (पछिल्लो पटक, परमेश्वरले आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको व्यक्तिको शत्रुतालाई त्याग्ने बारेमा सङ्गति गर्नुभयो। परमेश्वरले सुरुमा परमेश्वरको कामको बारेमा रहेका हाम्रा धारणा र कल्पनाहरूलाई खुलासा गर्नुभयो। उदाहरणका लागि, हामीसँग परमेश्वरको दिनको बारेमा धारणा र कल्पनाहरू छन्, र हामी परमेश्वरको काम अत्यन्तै अलौकिक छ र पवित्र आत्माले मानिसहरूमा काम गर्नुभयो र तिनीहरूलाई छुनुभयो भने, मानिसहरूले कुनै पनि समस्याहरू समाधान गर्न सक्नेछन् र तिनीहरूको भ्रष्ट स्वभाव परिवर्तन हुनेछ भन्ने पनि विश्वास गर्छौं। यी धारणा र कल्पनाहरूलाई खुलासा गर्ने क्रममा, परमेश्वरले हामीलाई के भन्नुभयो भने, उहाँले आफ्नो काममा हासिल गर्ने अभिप्राय राख्नुभएको परिणाम भनेको हामीमा आफ्ना वचनहरू लागू गर्नु हो, ताकि हाम्रो दैनिक जीवनमा परिस्थितिहरू आइपर्दा, हामीले परमेश्वरका वचनहरू र सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्न सकौँ—यो हामी प्रत्येकका लागि परमेश्वरले दिनुभएको मापदण्ड हो।) यसमा अरू कसले थप्न सक्छ? (पछिल्लो पटक परमेश्वरले के तथ्यमा पनि सङ्गति गर्नुभयो भने, मानिसहरूले परमेश्वरले तिनीहरूको अस्थायी प्रकटीकरणको आधारमा तिनीहरूको फैसला गर्नुहुन्छ भनेर विश्वास गर्छन्, र तिनीहरूले बाहिरी नियमहरू र बाहिरी असल व्यवहारहरू पालना गरेर तिनीहरूले परमेश्वरलाई सन्तुष्ट पार्न र मुक्ति प्राप्त गर्न सक्छन् भन्ने पनि सोच्छन्—यी सबै मानिसहरूका धारणा र कल्पनाहरू हुन्। यसको साथै, जब मानिसहरू कमजोर हुन्छन् वा तिनीहरूले विद्रोहीपन र भ्रष्टता प्रकट गर्छन्, तब तिनीहरूले परमेश्वरले तिनीहरूलाई अनुशासनमा राख्नुहुनेछ र दण्ड दिनुहुनेछ भन्ने विश्वास गर्छन्—यो पनि धारणा र कल्पना नै हो। मानिसहरूका यी धारणा र कल्पनाहरूलाई परमेश्वरले खुलासा गर्नुभएको कुराबाट, हामीले के बुझेका छौं भने परमेश्वरले हाम्रो बाहिरी असल व्यवहारलाई चाहनुहुन्न, न त हामीले निश्चित बाहिरी अभ्यास र नियमहरू पालना गरेको नै चाहनुहुन्छ। बरु, उहाँले हामीलाई परिस्थितिहरू आइपर्दा, हामीले सत्यता सिद्धान्तहरू खोजी गर्न र हामी सत्यता वास्तविकतामा प्रवेश गर्न सकौँ भन्ने आशा गर्नुहुन्छ।) हरेक व्यक्तिमा फरक-फरक हदसम्म यी धारणा र कल्पनाहरू हुन्छन्, होइन र? (हो।) मानिसहरूले सत्यता पछ्याउन थाल्नुभन्दा पहिले, वा जब तिनीहरूले सत्यता बुझेका हुँदैनन् र अझै सत्यता प्राप्त गरेका हुँदैनन्, तब तिनीहरूले परमेश्वरले कसरी काम गर्नुहुन्छ भन्ने बारेमा अनुमान गर्न वा परमेश्वरले कसरी काम गर्नुहुनेछ भन्ने बारेमा निष्कर्ष निकाल्नका लागि यी धारणा र कल्पनाहरू प्रयोग गर्ने प्रवृत्ति तिनीहरूमा हुन्छ। यसको साथै, तिनीहरूले आफ्नो बारेमा, आफ्नो नतिजाको बारेमा र तिनीहरूले भविष्यमा आशिष् पाउनेछन् कि दुर्भाग्य भोग्नेछन् फैसला गर्नका लागि यी अनुमानहरू प्रयोग गर्ने प्रवृत्ति पनि तिनीहरूसँग हुन्छ। त्यसकारण, मानिसहरूले सत्यता पछ्याउने प्रक्रियामा, यी धारणा र कल्पनाहरू धेरै हदसम्म मानिसहरूले परमेश्वरको कामलाई स्वीकार गर्ने, सत्यता पछ्याउने, र सत्यता प्राप्त गर्ने कार्यका बाधाहरू बनेका हुन्छन्। भन्नुको अर्थ, यदि मानिसहरूले यी धारणा र कल्पनाहरूलाई त्याग्न सक्दैनन्, र तिनीहरूले सधैँ तिनलाई परमेश्वरमा विश्वास गर्ने र उहाँलाई पछ्याउने तिनीहरूको उत्प्रेरणा र जडको रूपमा लिन्छन् भने, यी धारणा र कल्पनाहरूले तिनीहरूलाई सत्यता पछ्याउन र प्राप्त गर्नबाट निकै हदसम्म बाधा दिनेछन्। अनि अन्त्यमा तिनीहरूले परमेश्वरको अघि रहेको आफ्नो मूल्य, पहिचान, र हैसियत निर्धारित गर्न, र तिनीहरूले परमेश्वरको घरमा कस्तो व्यवहार प्राप्त गर्न सक्नेछन्, तिनीहरूको गन्तव्य के हुनेछ र तिनीहरूले भविष्यमा के-कस्ता आशिष्हरू प्राप्त गर्नेछन्, तिनीहरूसँग कति धेरै अख्तियार हुनेछ र तिनीहरूले कति वटा सहरमाथि शासन गर्नेछन्, र तिनीहरू स्वर्गको खम्बा वा मूल खम्बा बन्नेछन् कि हुनेछैनन्, वा तिनीहरूले यस जीवनमा कति कुरा प्राप्त गर्न सक्छन् र तिनीहरूले आउने संसारमा कति कुरा प्राप्त गर्न सक्छन् भनेर निर्धारित गर्नका लागि मात्रै आफ्ना धारणा र कल्पनाहरूको प्रयोग गर्न सक्छन्। यी धारणा र कल्पनाहरू मानिसहरूको जीवन र पछ्याइहरूसँग सम्बन्धित हुने हुनाले, उसले मानिसहरूले लिने मार्गहरूमा असर गर्छन् र अवश्य नै, उसले मानिसहरूको अन्तिम नतिजा र गन्तव्यमा पनि असर गर्छन्। मानिसहरू आफ्ना धारणा र कल्पनाहरूमा रहेर जिउँछन् र तिनीहरूले त्यसैलाई पछ्याउँछन्; त्यसकारण, अपरिहार्य रूपमा नै तिनीहरूले यी धारणा र कल्पनाहरूका आधारमा सबै कुरा हेर्छन्, र सबै कुराको बारेमा मूल्याङ्कन र निर्धारण गर्छन्। त्यसकारण, परमेश्वरले जसरी सत्यता प्रदान गर्नुभए पनि र मानिसहरूलाई कुन दृष्टिकोण अपनाउनुपर्छ र कुन मार्ग लिनुपर्छ भनेर भन्नुभए पनि, मानिसहरूले आफ्ना धारणा र कल्पनाहरूलाई त्याग्दैनन् भने, तिनीहरू ती अनुसार जिइरहनेछन्, र यी धारणा र कल्पनाहरू स्वाभाविक रूपमा नै मानिसहरूको जीवन र तिनीहरूले बाँच्ने नियमहरू बन्नेछन्, र ती कुराहरू मानिसहरूले सबै प्रकारका घटना र कामकुराहरूलाई सम्हाल्ने तरिका र विधिहरू अपरिहार्य रूपमा नै बन्नेछन्। मानिसहरूका धारणा र कल्पनाहरू तिनीहरूले मानिस र कामकुराहरूलाई हेर्ने र आफ्नो आनीबानी र व्यवहार प्रस्तुत गर्ने सिद्धान्त र मापदण्ड बनेपछि, तिनीहरूले परमेश्वरमा जसरी विश्वास गरे पनि, वा तिनीहरूले जसरी पछ्याए पनि, र तिनीहरूले जति नै धेरै कठिनाइ भोगे पनि वा जति नै धेरै मूल्य चुकाए पनि, यो सबै व्यर्थ हुनेछ। यदि कुनै व्यक्ति आफ्ना धारणा र कल्पनाहरू अनुसार जिउँछ भने, यो व्यक्तिले परमेश्वरलाई विरोध गरिरहेको हुन्छ र ऊ उहाँको विरुद्धमा विरोधी हुन्छ; ऊसँग परमेश्वरले तय गर्नुभएका वातावरणहरू वा उहाँका मापदण्डहरूप्रति साँचो समर्पण हुँदैन। त्यसोभए, अन्तिममा, तिनीहरूको परिणाम अत्यन्तै दुःखदायी हुनेछ। यदि तैँले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको छ, र उहाँको लागि आफूलाई समर्पित गरेको छस्, सबैतिर दौडधूप गरेको छस् र ठूलो मूल्य चुकाएको छस्, तर तैँले गर्ने सबै कुराको सुरुवाती बिन्दु र स्रोत तेरा आफ्नै धारणा र कल्पनाहरू हुन् भने, तैँले परमेश्वरलाई साँचो रूपमा स्वीकार गर्दैनस् र तँ उहाँमा समर्पित हुँदैनस्। यी धारणा र कल्पनाहरू पुस्तकहरूबाट, समाजबाट आए पनि, वा तेरा व्यक्तिगत इच्छा र हितहरूबाट आए पनि, छोटकरीमा भन्दा, ती धारणा र कल्पनाहरू हुन् भने, ती सत्यता होइनन्; अनि ती सत्यता होइनन् भने, ती सत्यताप्रति विरोधी हुन्छन्, मानिसहरूले सत्यतालाई स्वीकार गर्ने कार्यमा ठेस लाग्ने ढुङ्गा, र परमेश्वर र सत्यताको शत्रु बन्छन्। त्यसकारण, तँ आफ्ना धारणा र कल्पनाहरू अनुसार जिउँछस् भने, तैँले यी धारणा र कल्पनाहरू अनुसार सबै कुरालाई मापन गर्नेछस् र हेर्नेछस्, र ती कुराहरूका कारण तँ अन्तिममा परमेश्वरले तेरो लागि तय गर्नुभएका वातावरणहरू विरुद्धमा, र तँमाथि रहेको परमेश्वरको अगुवाइ वा सार्वभौमिकताको विरुद्धमा विद्रोह गर्नेछस् भन्ने कुरा निश्चित हुन्छ। छोटकरीमा भन्दा, यहाँ कुनै साँचो स्वीकार र समर्पणता हुँदैन। किन? किनभने तैँले जति धेरै कठिनाइ भोगे पनि वा तैँले जति धेरै मूल्य चुकाए पनि, तँ आफ्ना धारणा र कल्पनाहरू अनुसार जिउँछस् भने, तैँले भोग्ने कठिनाइहरू र चुकाउने मूल्य सत्यता सिद्धान्तहरू अनुरूप हुँदैनन्, र सत्यतासँग तिनको कुनै सम्बन्ध हुँदैन; तैँले भोग्ने कठिनाइहरू र चुकाउने मूल्य मानव धारणा र कल्पनाहरू, र तेरा रुचिहरूमा आधारित हुन्छन्, र ती तेरा देहगत इच्छाहरूलाई सन्तुष्ट पार्न र तेरा निश्चित उद्देश्यहरूलाई पूरा गर्नका लागि हुन् भनेर भन्न सकिन्छ। यो त पावलले प्रकट गरेको कुरा जस्तै हो: उसले धेरै काम गर्यो र धेरै दौडधूप गर्यो, युरोपको धेरैजसो ठाउँमा सुसमाचार प्रचार गर्यो, तर उसले जति नै धेरै कठिनाइ भोगे पनि र जति नै मूल्य चुकाए पनि, वा जति नै दौडधूप गरे पनि, ऊसँग कहिल्यै पनि सत्यता अनुरूपका विचार र दृष्टिकोणहरू थिएनन्, उसले कहिल्यै पनि सत्यतालाई स्वीकार गर्दैनथियो, र उसमा कहिल्यै पनि परमेश्वरमा समर्पित हुने मनोवृत्ति र त्यसको वास्तविक अनुभव थिएन—ऊ सधैँ आफ्नै धारणा र कल्पनाहरूमा जिउँथ्यो। उसको निश्चित धारणा र कल्पना के थियो? यो उसले दौड पूरा गरेर असल लडाइँ लडेपछि, उसको लागि धार्मिकताको मुकुट राखिएको छ भन्ने थियो—यो पावलको धारणा र कल्पना थियो। उसको धारणा र कल्पनाको निश्चित सैद्धान्तिक आधार के थियो? परमेश्वरले कुनै व्यक्तिको परिणाम उसले गरेको दौडधूपको मात्रा, उसले चुकाएको मूल्य, र उसले कति कठिनाइ भोगेको छ त्यसको आधारमा निर्धारित गर्नुहुन्छ। पावलले आफ्नो धारणा र कल्पनाको यस्तो सैद्धान्तिक आधारमा अनजानमा ख्रीष्ट-विरोधीहरूको मार्ग लिएको थियो। परिणाम स्वरूप, जब ऊ बाटोको अन्त्यमा पुग्यो, तब उसले परमेश्वरलाई विरोध गर्ने उसका व्यवहार र प्रकटीकरणहरूका बारेमा वा परमेश्वरलाई विरोध गर्ने उसको सारको बारेमा कुनै बुझाइ प्राप्त गरेको थिएन, उसले कुनै पश्चात्ताप गर्नु त परको कुरा हो। उसले परमेश्वरमा विश्वास गर्ने क्रममा अझै पनि आफ्नो मूल धारणा र कल्पनालाई कायम राखेको थियो, र ऊसँग परमेश्वरप्रति अलिकति पनि साँचो समर्पण नभएको मात्र होइन, तर यसको विपरीत, उसले यसको साटोमा परमेश्वरबाट असल परिणाम र गन्तव्य प्राप्त गर्नका लागि अझै बढी हकदार छु भन्ने विश्वास गरेको थियो। “यसको साटोमा” भनेर भन्नु भनेको त यसलाई राम्रो सुनिने र सभ्य तरिका भन्नु हो, तर वास्तवमा यो विनिमय, वा लेनदेन समेत थिएन—उसले सीधै परमेश्वरलाई यी कुराहरू मागिरहेको, परमेश्वरबाट सीधै माग गरिरहेको थियो। उसले कसरी परमेश्वरबाट ती कुराहरू माग गर्यो? यो त ठ्याक्कै उसले भनेको जस्तै थियो, “मैले आफ्नो यात्रा पूरा गरेको छु, मैले असल लडाइँ लडेको छु—अब महिमाको मुकुट मेरो भएको छ। यो मैले पाउनुपर्ने कुरा हो र परमेश्वरले मलाई दिनुपर्ने कुरा हो।” पावलले लिएको मार्ग परमेश्वरप्रतिको प्रतिरोधको मार्ग थियो, जसले गर्दा ऊ विनाशमा पुग्यो, र उसले पाएको अन्तिम परिणाम भनेको दण्ड पाउनु थियो। यो कुरालाई परमेश्वरको बारेमा रहेको उसको धारणा र कल्पनाबाट अलग गर्न सकिँदैनथियो। ऊ सधैँ आफ्नो धारणा र कल्पनामा जिद्दी भएर लागिरहन्थ्यो; उसले परमेश्वरले भन्नुभएका कुराहरू, परमेश्वरले मानिसहरूलाई प्रदान गर्नुभएका सत्यताहरू, अर्थात् जीवनको मार्गलाई पन्छाएर बेवास्ता गर्थ्यो, र घृणा र तिरस्कारको मनोवृत्ति समेत अपनाउँथ्यो, र उसले येशू ख्रीष्ट परमेश्वरको देहधारण हुनुहुन्छ भन्ने तथ्यलाई समेत मानेको वा स्वीकार गरेको थिएन। ऊ बाटोको अन्त्यमा पुगेपछि, ऊ पहिले जस्तै आफ्नो धारणा र कल्पनामा अडिग रह्यो, र उसले परमेश्वरको विरुद्धमा आफूलाई खडा गरिरह्यो, र ऊ अन्तिममा विनाशको अपरिहार्य परिणामतिर लाग्यो। त्यसकारण, यदि परमेश्वरमा विश्वास गर्ने प्रक्रियामा, मानिसहरूले आफ्ना सबै नकारात्मक भावनाहरूलाई त्याग्न सक्छन्, र तिनीहरूलाई सत्यता पछ्याउनबाट रोक्ने वास्तविक जीवनका केही कुराहरूलाई त्याग्न सक्छन्, तैपनि आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू वा परमेश्वरप्रतिको तिनीहरूको शत्रुतालाई त्याग्न सक्दैनन् भने, यो अत्यन्तै पछुतो लाग्दो र दुःखदायी कुरा हुनेछ, र अन्त्यमा, मानिसहरूले पावलले जस्तै दण्ड पाउने परिणाम प्राप्त गर्नेछन्। त्यो कुरामा कुनै शङ्का छैन। त्यसकारण, “त्याग्नु” को अभ्यास गर्ने क्रममा, “आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्नु” भन्ने विषयवस्तु सबैभन्दा अपरिहार्य र महत्त्वपूर्ण छ र यसलाई बेवास्ता गर्नु हुँदैन। तैँले प्रायजसो जाँच गर्नुपर्ने कुरा यही हो: परमेश्वरसँगको तेरो सम्बन्धमा र तैँले परमेश्वरको काम अनुभव गर्ने प्रक्रियामा, तँसँग अझै पनि सत्यता, परमेश्वरका इच्छाहरू, वा परमेश्वरका मापदण्डहरू अनुरूप नरहेका र तेरो र परमेश्वरको बीचमा खडा हुने के-कस्ता धारणा र कल्पनाहरू छन्। तैँले यी कुराहरूलाई जाँच्नुपर्छ, परमेश्वरका वचनहरूसँग तुलना गर्नुपर्छ, त्यसपछि तिनलाई त्याग्नुपर्छ। त्याग्नुको उद्देश्य भनेको प्रक्रियाबाट गुज्रनु होइन, तर सत्यतालाई स्वीकार गर्नु, यस विषयमा परमेश्वरले मानिसहरूका अघि सार्नुभएका सत्यता सिद्धान्तहरूलाई स्वीकार गर्नु, र आफ्ना धारणा र कल्पनाहरूलाई प्रतिस्थापन गर्न, र आफ्नो पछ्याइ अनि पछ्याइको दिशाको पछाडि रहेको दृष्टिकोणलाई परिवर्तन गर्न यी सत्यता सिद्धान्तहरू प्रयोग गर्नु हो, ताकि तँ आफ्नो धारणा र कल्पनाहरू अनुरूप हुनुको सट्टा आफ्नो जीवनमा र परमेश्वरलाई पछ्याउने प्रक्रियामा परमेश्वर अनुरूप हुन सक्। परमेश्वरको काम भनेको मानिसहरूका धारणा र कल्पनाहरूलाई समाधान गर्नु हो, र उहाँले मानिसहरूलाई तिनीहरूका धारणा र कल्पनाहरूलाई समाधान गर्न पनि सत्यता प्रदान गर्नुहुन्छ। परमेश्वरले मानिसहरूका धारणा र कल्पनाहरूलाई समाधान गरेर, तिनीहरूलाई उहाँले तय गर्नुहुने हरेक वातावरणलाई लिन, र आफूले जीवनमा सामना गर्ने हरेक मामलालाई लिनका लागि सही विचार, सोचाइ, अडान, र दृष्टिकोणहरू राख्न सहयोग गर्नुहुन्छ। परमेश्वरले मानिसहरूका धारणा र कल्पनाहरूलाई पूरा गर्नका लागि होइन, तर तिनीहरूका धारणा र कल्पनाहरूलाई प्रतिकार गर्न, र अन्तमा तिनीहरूलाई आफ्ना धारणा र कल्पनाहरूलाई त्याग्न र परमेश्वरको बारेमा ज्ञान प्राप्त गर्न सहयोग गर्नका लागि आफ्नो काम गर्नुहुन्छ र आफ्ना वचनहरूद्वारा सत्यता प्रदान गर्नुहुन्छ।
हामीले यसभन्दा पहिले परमेश्वरको कामको बारेमा रहेका मानिसहरूका केही धारणा र कल्पनाहरूका बारेमा सङ्गति गरेका छौं। यी धारणा र कल्पनाहरू बाहेक, मानिसहरूमा परमेश्वरको कामका बारेमा अरू केही धारणा र कल्पनाहरू पनि हुन्छन् जसलाई सत्यता पछ्याउने प्रक्रियामा तिनीहरूले त्याग्नुपर्ने हुन्छ। उदाहरणका लागि, मानिसहरूले के विश्वास गर्छन् भने, परमेश्वरको कामलाई स्वीकार गरेपछि, यदि तिनीहरूले सत्यता पछ्याउन सके भने, तिनीहरू पूर्ण रूपमा नवीकरण हुनेछन्, र तिनीहरूले परमेश्वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा लिएपछि, तिनीहरूले पूर्ण रूपमा नयाँ जीवन प्राप्त गर्नेछन्, र नयाँ व्यक्तिको रूपमा पुनर्जन्म पाउनेछन्। तिनीहरूले आफ्नो क्षमतामा सुधार आएको हुनेछ र तिनीहरूको अन्तर्निहित क्षमता पनि केही हदसम्म परिवर्तन भएको हुनेछ, त्यसकारण तिनीहरूले कहिल्यै अपेक्षा नगरेका कुराहरू प्रायजसो तिनीहरूको जीवनमा आइपर्छन् भन्ने विश्वास गर्छन्। अर्थात्, तिनीहरूले आफ्नो क्षमता र जन्मजात क्षमताभन्दा बाहिरका कुराहरू गर्न सक्ने मात्र होइन, तर तिनीहरूले ती अत्यन्तै सजिलै र सहजताका साथ गर्न पनि सक्नेछन्। यति मात्र होइन, परमेश्वरमा विश्वास गर्ने प्रक्रियामा, कतिपय मानिसहरूले प्रायजसो के समेत महसुस गर्छन् भने तिनीहरूले सत्यता पछ्याउन थालेपछि, तिनीहरूको व्यक्तित्व र स्वभावमा सुधार आएको छ, तिनीहरूको आँखाको क्षमता पहिलेको भन्दा राम्रो भएको छ, र तिनीहरूको सुन्ने क्षमता पहिलेको भन्दा राम्रो भएको छ। बेला-बेलामा, तिनीहरूले ऐनामा हेर्छन् र आफू परी जस्तै झन्-झन् भइरहेको छु भन्ने महसुस गर्छन्; तिनीहरूलाई आफू झन्-झन् सुन्दर देखिएको छु, र तिनीहरू पहिलेको भन्दा निकै उज्यालो देखिएका छन् भन्ने लाग्छ। कतिपय मानिसहरूलाई तिनीहरूको जीवनका केही बानीबेहोरा परिवर्तन भएका छन् र तिनीहरूको जीवनशैली फरक भएको छ भन्ने समेत लाग्छ—विगतमा, तिनीहरू ढिलो सुते भने, तिनीहरूले निरन्तर हाइ काढ्थे, तर तिनीहरूले सत्यता पछ्याउन थालेपछि, यी प्रतिक्रियाहरू हराएका छन्, र तिनीहरूलाई यो कुरा विशेष रूपमा आश्चर्यजनक लाग्छ। मानिसहरूका धारणा र कल्पनाहरूमा, तिनीहरूले के विश्वास गर्छन् भने सत्यता पछ्याउन थालेपछि, परमेश्वरले तिनीहरूमा केही काम गर्नुहुनेछ ताकि तिनीहरूले अनपेक्षित रूपान्तरणहरू अनुभव गरून्। यसमा तिनीहरूको क्षमतामा रातारात सुधार हुने कार्य समावेश हुन्छ—तिनीहरू औसत क्षमताको वा अत्यन्तै कमजोर क्षमताको व्यक्तिबाट अत्यन्तै चलाख, सक्षम, र अनुभवी व्यक्तिमा परिणत हुनेछन्, र तिनीहरू क्षमता र बुद्धि भएको व्यक्ति बन्नेछन्, र तिनीहरूको सोचाइको क्षेत्र पनि माथि उठ्नेछ। जब मानिसहरूले सुरुमा परमेश्वरमा विश्वास गर्न थाल्छन् र सत्यता पछ्याउने निर्णय गर्छन्, तब तिनीहरूले सत्यता पछ्याउने बारेमा लालची किसिमको हदभन्दा बढी र अवास्तविक कल्पनाहरू गरेका हुन्छन्, छोटकरीमा भन्दा, तीमध्ये कुनै पनि कुरा खासमा वास्तविकता अनुरूप हुँदैनन्। मानिसहरूले के विश्वास गर्छन् भने तिनीहरूले सत्यता पछ्याए भने, तिनीहरूका धेरै पक्षहरू माथि उठ्नेछन्, र अघि बढ्नेछन्, र कतिपय क्षेत्रमा तिनीहरूले साधारण मानिसहरूलाई समेत उछिन्नेछन्। त्यसकारण, कतिपय मानिसहरूले आफूलाई लीयू चाओ, अरूले मा चाओ, र अरूले नुआ चाओ भनेर भन्छन्। यी नामहरूले क्रमशः गधा, घोडा, र गोरुलाई जित्नु भन्ने अर्थ दिन्छन्—अर्थात्, घोडाभन्दा छिटो दौड्न र गधा वा गोरुभन्दा बढी बल प्राप्त गर्न सक्नु। गधाहरू सामान्यतया गह्रौँ कुराहरू तान्नलाई निकै बलिया हुन्छन्, घोडाका खुट्टाहरू अत्यन्तै दह्रिला हुन्छन्, र गोरुको तागत निकै राम्रो हुन्छ, त्यसकारण यी मानिसहरूले आफूलाई लीयू चाओ, मा चाओ, र नू चाओ भनेर भन्छन्। हेर् त, तिनीहरूले आफूले छनौट गर्ने नामहरूलाई विशेष ध्यान दिन्छन्। मानिसहरूले आफ्नो लागि छनौट गर्ने नामहरूबाट के देख्न सकिन्छ भने मानिसहरूसँग परमेश्वरको कामको बारेमा आफ्नै बुझाइ हुन्छ; दुःखको कुरा, यो बुझाइ सत्यता अनुरूप हुँदैन र यो सकारात्मक हुँदैन—यो मानिसहरूको धारणा र कल्पना हो। यो धारणा र कल्पना विकृत भए पनि वा चरम भए पनि, छोटकरीमा भन्दा, यो तथ्यहरू र सत्यतासँग मिल्दैन; यो अत्यन्तै खोक्रो छ र अलौकिक कुराहरूसँग सम्बन्धित छ। परमेश्वरले मानिसहरूमा काम गर्ने सिद्धान्त यही हो: मानिसहरूमा जस्तोसुकै क्षमता भए पनि, वा तिनीहरूमा जस्तोसुकै काम गर्ने क्षमता वा परिस्थितिहरूलाई सम्हाल्ने क्षमता भए पनि, तिनीहरूको जन्मजात क्षमता जस्तो भए पनि, र तिनीहरूको व्यक्तित्व, बानी, जीवनशैली, हित र रुचिहरू जस्तो भए पनि, वा तिनीहरू जुन लिङ्गका भए पनि, छोटकरीमा भन्दा, परमेश्वरको काम भनेको मानिसहरूलाई तिनीहरूको अन्तर्निहित क्षमता, जन्मजात क्षमता, व्यक्तित्व, बानी, तिनीहरूको जिउने सही तरिकाहरू, र तिनीहरूको वैध चासो र रुचिहरू, र इत्यादि कुराहरूका आधारमा सत्यता बुझ्न, सत्यतालाई स्वीकार गर्न, सत्यतामा समर्पित हुन, त्यसपछि सत्यता वास्तविकतामा प्रवेश गर्न सहयोग गर्ने परिणाम हासिल गर्नु हो। त्यसोभए, कुन आधारमा यो परिणाम हासिल हुन्छ? मानिसहरूमा सत्यता बुझ्ने र जान्ने क्षमता छ, र तिनीहरूमा सामान्य मानवता छ भन्ने आधारमा यो हासिल हुन्छ। यो तथाकथित उच्च मानवताको आधारमा हासिल हुँदैन, न त यो अलौकिक मानवताको आधारमा नै हासिल हुन्छ। त्यसकारण, हामीले सत्यताका जुनसुकै पक्षहरूमा सङ्गति गरे पनि, यो सबै तँसँग सामान्य मानवता छ र तँसँग सत्यतालाई बुझ्ने क्षमता छ भन्ने आधारमा तँलाई ती कुराहरूमा प्रवेश गर्न सहयोग गर्नका लागि हो। तैपनि, मानिसहरूका धारणा र कल्पनाहरू यसको ठीक विपरीत हुन्छन्। मानिसहरूले के विश्वास गर्छन् भने परमेश्वरको कामले मानिसहरूमा हासिल गर्ने परिणाम र उहाँले व्यक्त गर्नुहुने सत्यता तिनीहरूको अन्तर्निहित क्षमता र जन्मजात क्षमताको विरुद्धमा जान्छ, र यो तिनीहरूको व्यक्तित्व, बानी, हित, र रुचिहरूको विरुद्धमा पनि जान्छ। मानिसहरूले वास्तविक रूपमा सत्यताको खोजी गर्ने प्रयास गर्नुको सट्टा प्रायजसो तिनीहरूको जीवनमा कुनै आश्चर्यकर्म हुनेछ, अलौकिक कुरा वा तिनीहरूको आफ्नै क्षमता र अन्तर्निहित क्षमताभन्दा बाहिरको र अप्रत्याशित कुरा हुनेछ भन्ने आशा गर्छन्। यो तथ्यले के प्रमाणित गर्छ? के मानिसहरूले सत्यता पछ्याइलाई विशेष रूपमा अलौकिक र खोक्रो कुराको रूपमा लिँदैनन् र? के तिनीहरूले परमेश्वरले मानिसहरूमा काम गर्ने तरिकालाई विशेष रूपमा अलौकिक र खोक्रा ठान्दैनन् र? (हो।) मानिसहरूले प्रायजसो तिनीहरूले सत्यता जति पछ्याउँछन्, तिनीहरूको क्षमता त्यति नै माथि उठ्नेछ, वा धेरै प्रवचन सुनेपछि र धेरै सत्यता स्वीकार गरेपछि र बुझेपछि, तिनीहरूको क्षमता पहिलेको भन्दा बढी हुनेछ भन्ने आशा गर्छन्। यो धारणा र कल्पना हो, होइन र? (हो।) उदाहरणका लागि कुनै पेसा सिक्ने कार्यलाई लिऊँ: जब तैँले स्कूलमा अध्ययन गरिरहेको थिइस्, यदि तैँले कुनै पेसामा विशेषज्ञता प्राप्त गर्न चाहन्थिस् भने, तैँले यस पेसाको ज्ञानलाई नियमित रूपमा कण्ठ गरेर, बिहानदेखि साँझसम्म अध्ययन गर्नुपर्थ्यो, र आफ्नो खाली समयमा पनि यसलाई सिक्न मेहनत गर्नुपर्थ्यो। तैँले परमेश्वरमा विश्वास गर्न थालेपछि, तँलाई के लाग्छ भने, पवित्र आत्माले काम गर्नुभयो भने, मानिसहरूको क्षमतामा सुधार हुनेछ, तिनीहरू रूपान्तरण हुनेछन्, र तिनीहरू पहिलेको भन्दा फरक हुनेछन्। त्यसकारण, तैँले के निर्धारित गर्छस् भने परमेश्वरले जसरी काम गर्नुभए पनि, व्यक्तिले सहकार्य मात्रै गर्नुपर्छ, र सत्यता पछ्याउन र व्यावसायिक ज्ञान सिक्नमा मेहनत गर्नु पर्दैन; व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्नु नै पर्याप्त हुन्छ—उसले यसरी परमेश्वरमा विश्वास गरे पनि उसले प्रगति गरेको हुनेछ। के मानिसहरूले यस कुराको कल्पना यसरी नै गर्दैनन् र? (हो।) मलाई भन, के यो पछ्याउने सही तरिका हो? के यसरी पछ्याउँदा यसले साँचो रूपान्तरण ल्याउन सक्छ? (अहँ, सक्दैन।) रूपान्तरण हुन सक्दैन। उदाहरणका लागि, कतिपय मानिसहरूले के सोच्छन् भने राम्ररी गाउनका लागि तिनीहरूले अरूको योग्यताबाट सिक्नका लागि बिहानदेखि साँझसम्म अभ्यास गर्नुपर्छ, अरूका विधिहरू चोर्नुपर्छ, र सबै किसिमका गीतहरू सुन्नुपर्छ, र यसरी मात्रै तिनीहरूले उपलब्धिहरू प्राप्त गर्न सक्छन्। यसको विपरीत, कतिपय मानिसहरूले के विश्वास गर्छन् भने गायन त प्रतिभामा निर्भर हुन्छ; तिनीहरूले के सोच्छन् भने यदि व्यक्तिमा गायनको वरदान छ र उसलाई गायन मन पर्छ भने, उसले राम्रोसँग गाउन सक्छ, र यदि कसैसँग गायनको वरदान वा गायनको रुचि छैन भने, उसले राम्ररी गाउनका लागि, भावनाको साथ गाउनका लागि पवित्र आत्माको उत्प्रेरणामा भरोसा गर्नुपर्छ, ताकि उसले गाएको सुन्दा अरूले आनन्द प्राप्त गरून्। परिणाम स्वरूप, धेरैजसो मानिसहरूले सधैँ यस्तो भ्रम बोकेका हुन्छन्; तिनीहरूले आत्माको छुवाइमा भरोसा गर्छन्, नत्र भने तिनीहरूले गाउनका लागि मुख खोल्दैनन्। यो धारणा र कल्पना हो, होइन र? कतिपय मानिसहरूले के सोच्छन् भने व्यावसायिक ज्ञान सिक्न त्यति धेरै मेहनत गर्नु पर्दैन, र मानिसहरूले सत्यता पछ्याए भने, परमेश्वरले काम गर्नुहुनेछ, र मानिसहरूले ती विना अर्थका त्यागहरू गर्नु व्यर्थ र बेकाम हुन्छ। तिनीहरूले के सोच्छन् भने परमेश्वरले काम गर्नुभएपछि, मानिसहरूले लगाउने कुनै पनि परिश्रमभन्दा यो बढी फाइदाको हुन्छ, त्यसकारण मानिसहरूले इमानदारिताको साथ आफ्नो कर्तव्य पूरा गर्छन् र परमेश्वरमा आफ्नो हृदय समर्पित गर्न तयार हुन्छन् भने, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछ, र तिनीहरूको क्षमता र योग्यताहरू तुरुन्तै सामान्य मानवताको दायराभन्दा माथि उचालिनेछन्—तिनीहरूले यसभन्दा पहिले तिनीहरूले नबुझेका कुराहरू बुझ्न सक्नेछन्, र यसभन्दा पहिले तिनीहरूले एकै पटकमा दुई वटा लाइन समेत पढ्न नसके पनि, परमेश्वरमा विश्वास गर्न थालेपछि एकै पटकमा दश वटा लाइन पढ्न र ती सबै कुरालाई याद गर्न सक्नेछन्। तर तिनीहरूले जति नै धेरै तालिम लिए पनि, तिनीहरूले अझै पनि यो कुरा हासिल गर्न सक्दैनन्, त्यसकारण तिनीहरूले यस्तो सोच्छन्, “के परमेश्वरले मलाई अनुग्रह दिइरहनुभएको छैन र? के म आफ्नो कर्तव्य निर्वाह गर्दा पर्याप्त रूपमा परिश्रम गरिरहेको र इमानदार बनिरहेको छैनँ र?” के यस्तै हुन्छ त? (होइन।) तैँले के सोच्छस् भने, तैँले आफ्नो क्षमता र योग्यताहरूको दायरालाई जितेर जति धेरै अलौकिक कुरा हासिल गर्न सक्छस्, यसले यो परमेश्वरको काम हो भन्ने कुरालाई त्यति नै प्रमाणित गर्छ; यदि तेरो इमानदारीता र सहकार्य गर्ने तेरो इच्छा झन्-झन् बढ्यो भयो भने, परमेश्वरले तँमा झन्-झन् बढी काम गर्नुहुनेछ, र तेरो क्षमता र योग्यता झन्-झन् ठूलो हुनेछ। के यो मानिसहरूमा हुने धारणा र कल्पना होइन र? (हो।) के तिमीहरूले विशेष गरी यसरी सोच्ने प्रवृत्ति हुन्छ? (हो।) यसरी सोच्नुको परिणाम के हुन्छ? के यो सधैँ असफलता र नतिजाको कमी हुनु होइन र? कतिपय मानिसहरू यसो भन्दै नकारात्मक समेत बन्छन्, “मैले परमेश्वरलाई आफ्नो सक्दो इमानदारीता दिएँ—परमेश्वरले मलाई किन राम्रो क्षमता दिनुहुन्न? परमेश्वरले मलाई किन अलौकिक क्षमताहरू दिनुहुन्न? म किन सधैँ कमजोर हुन्छु? मेरो क्षमतामा सुधार आएको छैन, म स्पष्ट रूपमा केही पनि देख्न सक्दिनँ, र जटिल मामलाहरूको सामना गर्दा म अन्योलमा पर्छु। पहिले पनि यस्तै थियो, अहिले पनि किन उस्तै छ? यसको साथै, आफ्नो कर्तव्य निर्वाह गर्ने र समस्याहरू सम्हाल्ने क्रममा, म किन कहिल्यै पनि आफ्नो देहलाई जित्न सक्दिनँ? मैले केही धर्मसिद्धान्तहरू बुझेको छु, तर पनि, म परिस्थितिहरूलाई स्पष्ट रूपमा देख्न सक्दिनँ, र मामलाहरूलाई सम्हाल्ने क्रममा, म अनिर्णयमा नै हुन्छु, र म अझै पनि राम्रो क्षमता भएका मानिसहरूको तुलनामा कमजोर हुन्छु। मेरो काम गर्ने क्षमता पनि कमजोर छ, र मेरो कर्तव्य निर्वाह प्रभावकारी छैन। मेरो क्षमतामा पटक्कै सुधार आएको छैन! के भइरहेको छ? के परमेश्वरप्रतिको मेरो इमानदारीता अपर्याप्त भएको हो? कि परमेश्वरले मलाई मन पराउनुहुन्न? ममा के कुराको कमी छ र?” कतिपय मानिसहरूले विभिन्न कारणहरू खोज्छन् र यो तथ्यलाई परिवर्तन गर्न धेरै तरिकाहरू प्रयोग गर्छन्, जस्तै अझै धेरै प्रवचनहरू सुन्नु, परमेश्वरका अझै धेरै वचनहरू याद गर्नु, अझै धेरै आत्मिक भक्तिका नोटहरू लेख्नु, साथै मानिसहरूले सत्यतामा सङ्गति गरेको अझै धेरै सुन्नु, र अझै धेरै खोजी गर्नु, तर अन्तिम परिणाम अझै पनि निराशाजनक हुन्छ। परमेश्वरमा विश्वास गरेको तीनदेखि पाँच वर्ष भए पनि तिनीहरूको क्षमता र काम गर्ने क्षमता पहिलेको जस्तै रहन्छ, र त्यसमा कुनै सुधार हुँदैन। त्यसपछि तिनीहरूले आफ्नो व्यक्तित्वलाई हेर्छन् र तिनीहरू अझै पनि पहिलेको जस्तै कायर, बूढो गोरु जस्तो ढिलो छन् भन्ने देख्छन्, वा तिनीहरूमा अझै पनि अधीर व्यक्तित्व छ, र तिनीहरूले सबै कुरालाई उन्मत्त रूपमा सम्हाल्छन्—कुनै रूपान्तरण आएको छैन भन्ने पत्ता लगाउँछन्! अरूले के अवलोकन गर्छन् भने पछिल्लो समय तिनीहरूको चासो र रुचिहरू परिवर्तन भएका छैनन्, र तिनीहरूका केही कमीकमजोरी, बानीबेहोरा, र त्रुटिहरू पनि परिवर्तन भएका छैनन् जस्तो देखिन्छ। अझै राती ढिलो सुत्न र बिहान ढिलो उठ्न मन पराउने अरूका यी जीवनका बानीबेहोराहरू पनि अपरिवर्तित नै छन् भन्ने पत्ता लगाउँछन्। त्यसकारण तिनीहरू सबैले सोच्छन्, “के भइरहेको छ? के पवित्र आत्माले ममा काम गरिरहनुभएको छैन? के परमेश्वरले मलाई त्याग्नुभएको छ? के परमेश्वर मप्रति खुशी हुनुहुन्न र? के मैले गलत मार्ग लिएको छु? के मैले गलत मार्ग पछ्याइरहेको छु? के मैले आफ्नो कर्तव्य निर्वाह गर्नमा पर्याप्त रूपमा मन लगाएको छैनँ र? के मैले पर्याप्त रूपमा मूल्य चुकाएको छैनँ र?” तिनीहरूले सबै किसिमका कारणहरू खोज्छन्, तर पनि कुनै परिणाम प्राप्त गर्दैनन्। तिनीहरूमा परिणामहरूको कमी हुनुको कारण के हो? (यसको कारण तिनीहरू सधैँ आफ्नै धारणा र कल्पनाहरूमा जिउँछन् भन्ने हो। तिनीहरूले के सोच्छन् भने परमेश्वरमा विश्वास गरेपछि, तिनीहरू उहाँप्रति इमानदार भए भने, परमेश्वरले काम गर्नुभएपछि तुरुन्तै, तिनीहरूको क्षमता र काम गर्ने क्षमतामा सुधार आउनेछ—तिनीहरूका त्यस्ता विचारहरू तिनीहरूका धारणा र कल्पनाहरूबाट आएका हुन्छन्।) मानिसहरूका धारणा र कल्पनाहरूले तिनीहरूको पछ्याइका उद्देश्य र विधिहरू, तिनीहरूले लिने मार्गहरू निर्धारित गर्छन्, र अन्तिममा तिनीहरूको प्राप्ति र परिणामहरूलाई निर्धारित गर्छन्। यदि मानिसहरूमा त्यस्ता धारणा र कल्पनाहरू छन् भने तिनीहरूले के प्राप्त गर्नेछन्? के तिनीहरूले सत्यता प्राप्त गर्नेछन्? के तिनीहरूले परमेश्वरमाथिको साँचो विश्वास र परमेश्वरप्रतिको साँचो प्रेम प्राप्त गर्नेछन्? के तिनीहरूले परमेश्वरप्रति साँचो समर्पण प्राप्त गर्नेछन्? (गर्नेछैनन्।) तिनीहरूले यीमध्ये कुनै पनि कुरा प्राप्त गर्नेछैनन्।
परमेश्वरमा विश्वास गर्दा, व्यक्तिले परमेश्वरको कामले मानिसहरूमा भएको कुन कुरा परिवर्तन गर्न खोजेको हो, उहाँले मानिसहरूको भ्रष्टताको समस्यालाई कसरी समाधान गर्नुहुन्छ, र उहाँले मानिसहरूद्वारा के पूरा गर्न चाहनुहुन्छ भनी बुझ्नुपर्छ—यी विषयहरूमा स्पष्टसँग सङ्गति गरिनुपर्छ, होइन र? समग्रमा भन्दा, परमेश्वरले आफ्नो कामद्वारा मानिसहरूमा के-कस्ता प्रभावहरू हासिल गर्ने अभिप्राय राख्नुहुन्छ भन्ने कुरालाई व्यक्तिले बुझ्नुपर्छ। पहिलो, परमेश्वरको कामको यो चरणमा, उहाँले सत्यता व्यक्त गरिरहनुभएको छ र जीवन प्रदान गरिरहनुभएको छ। मानिसहरूलाई सत्यता प्रदान गर्ने काममा, मानिसहरूले वास्तविक जीवनमा सबै प्रकारका मानिस, घटना र कामकुराहरूको सामना गर्दा पालना गर्नुपर्ने सत्यताका सिद्धान्तहरूका बारेमा स्पष्ट रूपमा सङ्गति गर्ने कार्य समावेश हुन्छ, ताकि तिनीहरूले ती कुराहरू बुझेपछि, यी सत्यता सिद्धान्तहरू अनुसार मानिसहरू र कामकुराहरूलाई हेर्न, र आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्न सकून्, र यस आधारमा तिनीहरूको भ्रष्ट स्वभाव समाधान हुन्छ, र तिनीहरूले यी भ्रष्ट स्वभावहरूलाई त्याग्न र तिनीहरू परमेश्वरमा साँचो र पूर्ण रूपमा समर्पित हुन सक्छन्। अवश्य नै, यो मुक्ति पाउनुको लक्षण पनि हो, र यो मुक्ति पाउनुको साँचो प्रकटीकरण हो जुन कुरालाई अन्तिममा मानिसहरूमा देख्न सकिन्छ। परमेश्वरले मानिसहरूलाई सत्यता प्रदान गर्ने सम्पूर्ण प्रक्रियामा, समाधान गर्नुपर्ने मुख्य समस्याहरू के-के हुन्? समाधान गर्नुपर्ने समस्याहरू मुख्य रूपमा दुई प्रकारका छन्। समाधान गर्नुपर्ने पहिलो प्रकारको समस्या मानिसहरूका धारणाहरू हुन्। शैतानबाट आउने मानिसहरूका विभिन्न प्रकारका भ्रामक, विकृत र तिनीहरूले दह्रिलो गरी पक्रेर राखेका विचार र दृष्टिकोणहरूलाई सामूहिक रूपमा मानिसहरूका धारणाहरू भनेर भनिन्छ। यी गलत विचार र दृष्टिकोणहरूले मानिसहरूको विचार र व्यवहारलाई नियन्त्रण गर्छन्, र ती कुराहरू मानिस र परिस्थितिहरूलाई हेर्ने, र आफ्नो आचरण र व्यवहार प्रस्तुत गर्ने तिनीहरूको आधारभूत विचारको सिद्धान्त बनेका हुन्छन्, त्यसकारण तिनलाई पूर्ण रूपमा समाधान गर्नुपर्छ। यो मानिसहरूको विचारसँग सम्बन्धित समस्या हो जसलाई समाधान गर्नुपर्छ। समाधान गर्नुपर्ने अर्को प्रकारको समस्या भनेको मानिसहरूको भ्रष्ट स्वभाव हो। भ्रष्ट स्वभावहरू मण्डली जीवनमा प्रायजसो सङ्गति गरिने, छलफल गरिने, र चिरफार गरिने विषय हुन्। कतिपय भ्रष्ट स्वभावहरू मानिसहरूका भ्रमपूर्ण विचार र दृष्टिकोणहरूले पैदा गरेका हुन्छन्, जबकि अरू भ्रष्ट स्वभावहरू विशुद्ध रूपमा शैतानी स्वभावहरू हुन्। परमेश्वरले मानिसहरूमा आफ्नो काम र वचनहरूद्वारा समाधान गर्ने अभिप्राय राख्नुभएका दुई वटा कुराहरू तिनीहरूका धारणा र तिनीहरूको भ्रष्ट स्वभाव हुन्। अघिल्लो कुरा व्यक्तिले मानिसहरू र परिस्थितिहरूलाई कसरी हेर्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ, जबकि पछिल्लो कुरा व्यक्तिले आफ्नो आनीबानी र व्यवहार कसरी प्रस्तुत गर्छ भन्ने कुरासँग सम्बन्धित हुन्छ। जब यी दुई कुराहरू समाधान हुन्छन् र मानिसहरूले सत्यता प्राप्त गरेका हुन्छन् र तिनीहरू परमेश्वरमा समर्पित हुन र उहाँसँग मिल्न सक्छन्, तब परमेश्वरको कामले यसको प्रभाव हासिल गरेको हुनेछ, र परमेश्वरको काम समाप्त भएको हुनेछ। तैपनि, परमेश्वरको कामको सम्पूर्ण प्रक्रियामा—चाहे त्यो परमेश्वरले काम गर्ने तरिका, उहाँको कामका निश्चित चरणहरू होस्, वा उहाँले व्यक्त गर्नुहुने हरेक सत्यता होस्—यीमध्ये कुनै पनि कुरा मानिसहरूको व्यक्तित्व, क्षमता, योग्यता, जन्मजात क्षमता, जीवनका बानी र जीवनशैली, वा तिनीहरूका हित र रुचिहरू जस्ता पक्षहरूप्रति लक्षित गरिएको हुँदैन। अर्को शब्दमा भन्दा, परमेश्वरको कामको उद्देश्य, लक्ष्य, र महत्त्व भनेको मानिसहरूको अन्तर्निहित क्षमता र योग्यताहरू, जन्मजात क्षमता, व्यक्तित्व, र इत्यादि कुरालाई परिवर्तन गर्नु होइन। तँसँग जस्तोसुकै क्षमता र काम गर्ने क्षमता भए पनि, वा तेरो अन्तर्निहित व्यक्तित्व, जीवनका बानीबेहोरा, जन्मजात क्षमता, र अरू विभिन्न पक्षहरू जस्तो भए पनि, परमेश्वरले यीमध्ये कुनै पनि कुरालाई हेर्नुहुन्न। उहाँले तँ सामान्य मानवता भएको व्यक्ति होस् कि होइनस् भनेर मात्रै हेर्नुहुन्छ, त्यसपछि यस आधारमा उहाँले तँलाई सत्यता प्रदान गर्नुहुन्छ र तँमा काम गर्नुहुन्छ। परमेश्वरले तँलाई सत्यताका जुनसुकै पक्षहरू प्रदान गर्नुभए पनि, वा उहाँले तँमा जुनसुकै प्रकारको काम गर्नुभए पनि, अन्तिममा यो तेरो अन्तर्निहित क्षमता र जन्मजात क्षमतालाई परिवर्तन गर्नका लागि होइन, यो तेरो क्षमता वा जन्मजात क्षमतालाई बढाएर त्यसलाई सुधार गर्न, वा त्यसलाई विशेष रूपमा अलौकिक बनाउनका लागि होइन—यीमध्ये कुनै पनि पक्षहरू परमेश्वरले आफ्नो कामद्वारा परिवर्तन गर्न चाहनुहुने निसानाहरू होइनन्। त्यसकारण, तैँले परमेश्वरमा विश्वास गरेको जति वर्ष भए पनि, वा तैँले जति धेरै प्रवचन सुने पनि, वा तैँले परमेश्वरका वचनहरूमा जति धेरै मेहनत गरे पनि, तेरो अन्तर्निहित क्षमता उस्तै रहनेछ र यो परिवर्तन हुनेछैन। तैँले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएकोले, प्रवचन सुनेको धेरै वर्ष भएकोले, र धेरै वर्ष दौडधूप गरेको र मेहनत गरेकोले यो परिवर्तन हुनेछैन। अवश्य नै, तेरो व्यक्तित्व, जन्मजात क्षमता, जीवनका बानीबेहोरा, चासो, रुचिहरू, र इत्यादि कुराहरूमा पनि यही कुरा लागू हुन्छ; तैँले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएकै भरमा र आफ्नो कर्तव्य निर्वाह गरेको धेरै वर्ष भएकै भरमा ती परिवर्तन हुनेछैनन्। मानिसहरूका धारणाहरूमा, यो परिवर्तनको अर्थ अवश्य नै तल्लो स्तरमा झर्नु होइन, तर उत्थान गर्नु हो—यी कुराहरूलाई पहिलेको भन्दा उच्च र असल बनाउनु हो। अर्थात्, परमेश्वरको काम जुनसुकै चरणमा भए पनि, वा उहाँले यसलाई गर्न जुनसुकै विधि प्रयोग गर्नुभए पनि, उहाँको कामले मानिसहरूको अन्तर्निहित क्षमता, काम गर्ने क्षमता, जन्मजात क्षमता, व्यक्तित्व, र इत्यादि कुराहरूलाई परिवर्तन गर्दैन। त्यसकारण, यदि तेरो क्षमता कमजोर छ र तँसँग अहिले अगुवा वा सेवक बन्ने, वा निश्चित कामको सुपरभाइजर बन्ने क्षमता छैन भने, तँसँग अबको २०-३० वर्षभित्र यो क्षमता पनि हुनेछैन; अनि सत्यता पछ्याएको कारण तैँले अन्तमा मुक्ति पाए पनि, तँसँग यो क्षमता अझै हुनेछैन। तेरो क्षमता परिवर्तन हुनेछैन। के त्यसपछि तेरो जन्मजात क्षमता परिवर्तन हुनेछ? सबैले जन्म, वृद्धावस्था, रोग, र मृत्युको अनुभव गर्छन्, र ठूला घटनाहरूको सामना गर्दा, तिनीहरू आत्तिन्छन्, डराउँछन्, भयभीत हुन्छन्, र इत्यादि—यी प्रवृत्तिहरू पनि परिवर्तन हुँदैनन्। उदाहरणका लागि, जब मानिसहरूले विशेष रूपमा ठूलो आवाज सुन्छन्, तब तिनीहरू सबै आफ्नो शिर ढाकेर सुरक्षित ठाउँमा लुक्छन्—जन्मजात गुण हो। जब तेरो हातले आगो वा अरू कुनै कुरालाई छुन्छ, तब तैँले जन्मजात गुण अनुसार यसलाई तान्छस्, वा जब तैँले कुनै दुःखद खबर सुन्छस्, तब तँ स्वभावैले रूपमा भित्री रूपमा काँप्छस् र भयभीत हुन्छस्। जब तैँले खतराको सामना गर्छस्, तब स्वभावैले तेरो पहिलो विचार यस्तो हुनेछ, “के म सुरक्षित छु? के यो खतरा मतर्फ आइरहेको छ?” यो जन्मजात गुण हो। यसको साथै, जब कसैले तँलाई प्रहार गर्न हात उठाउँछ, तब तँ आफूलाई रक्षा गर्न स्वभावैले तर्किनेछस्; जब धूलो वा पानी तेरो आँखामा पस्छ, तब स्वभावैले आँखा बन्द गर्नेछस्; अनि जब तँलाई दाँत दुख्छ, तब तैँले बारम्बार हातले दाँत छुनेछस्। तँसँग अन्तर्निहित रूपमा प्राकृतिक प्रतिक्रिया हुनेछ, तँसँग निश्चित प्रकटीकरण हुन्छ, वा तैँले स्वाभाविक रूपमा आउने कार्य गर्नेछस्। मानिसहरू यी जन्मजात प्रतिक्रियाहरू लिएर जन्मिन्छन्। कसैले पनि तिनलाई हटाउन सक्दैन, र परमेश्वरले पनि तिनलाई परिवर्तन गर्नुहुनेछैन। परमेश्वरले मानिसहरूलाई सृष्टि गर्नुहुँदा तिनीहरूका लागि यी जन्मजात प्रतिक्रियाहरू स्थापित गरिदिनुभएको थियो, र तिनको उद्देश्य मानिसहरूलाई रक्षा गर्नु हो। ती सृष्टि गरिएको मानवमा हुनुपर्ने कुरा हुन्। परमेश्वरले यी जन्मजात क्षमताहरूलाई खोस्नुहुनेछैन, र तैँले सत्यता पछ्याएको कारण पनि तिनलाई गुमाउनेछैनस्। मैले यसो भन्नुको अर्थ के हो? मेरो तात्पर्य के हो भने तैँले सत्यता पछ्याएको छस्, धेरै सत्यता बुझेको छस्, र तँमा परमेश्वरप्रति साँचो समर्पणता छ भन्दैमा तँलाई आगो लागेको बेला डर नलाग्ने वा तैँले तातो तेलको हात हाल्दा पोलेको महसुस नगर्ने भन्ने हुँदैन—यो असम्भव कुरा हो। कसैले यस्तो गवाही दियो भने तँलाई के लाग्नेथियो? के तैँले तिनीहरूलाई डाहा गर्नेछस् र आदर गर्नेछस्? यसप्रति तैँले कस्तो मूल्याङ्कन र चित्रण गर्नेछस्? कम्तीमा पनि, यो अलौकिक घटना हो, र परमेश्वरले यस्तो काम गर्नुहुन्न। परमेश्वरले मानवजातिका लागि सृष्टि गर्नुभएका जन्मजात क्षमताहरूका हकमा भन्दा, तैँले सत्यता पछ्याएको छस् भन्दैमा परमेश्वरले तेरा यी जन्मजात क्षमताहरूलाई खोस्नुहुनेछैन, न त उहाँले यी जन्मजात क्षमताहरूलाई अलौकिक शक्तिहरूमा नै रूपान्तरण गर्नुहुनेछ। उदाहरणका लागि, मानौँ तँ अँध्यारो ठाउँमा छस् र तैँले केही पनि देख्न सक्दैनस्; तैँले स्वभावलै रूपमा आफ्नो वरिपरिको कुरा महसुस गर्न हात पसार्नेछस्, र तेरो वरिपरिका आवाजहरूलाई छुट्याउन आफ्नो कानले ध्यान दिएर सुन्नेछस्, स्वभावैले तँलाई अघि बढ्ने बाटो महसुस हुनेछ। तैँले सत्यता पछ्याएको छस् भन्दैमा तैँले देहलाई पार गर्नेछस् भन्ने हुँदैन—जति अँध्यारो हुन्छ, तेरो आँखा त्यति नै प्रखर हुन्छ, र तैँले त्यति स्पष्ट रूपमा देख्न सक्छस् र आफ्नो कुराहरू पत्ता लगाउन तँलाई त्यति सजिलो हुन्छ भन्ने हुँदैन—यो अलौकिक कुरा हो, र यो परमेश्वरले गर्नुहुने कुरा होइन। तैँले धेरै सत्यता बुझेको भए पनि, र तैँले सत्यतामा समर्पित हुन र सत्यतालाई अभ्यास गर्न सके पनि, यदि यस विषयमा तेरो जन्मजात क्षमता उस्तै रहन सक्छ र यो घट्दैन भने, त्यो आफैमा नै ठूलो कुरा हो, तैपनि तँ ती कुरा अलौकिक बनून् भन्ने चाहन्छस्—यो असम्भव कुरा हो! यसको साथै, कामकुरालाई हेर्ने र कामकुरालाई सम्हाल्ने व्यक्तिको क्षमता र समस्याहरू समाधान गर्ने उसको क्षमता पनि परमेश्वरले आफ्नो कामद्वारा परिवर्तन गर्ने अभिप्राय राख्नुहुन्न। परिस्थितिहरूलाई सम्हाल्ने व्यक्तिको क्षमता एउटा हिसाबमा उसको क्षमतामा निर्भर हुन्छ, र अर्को हिसाबमा उसको अन्तर्निहित बुद्धिमा निर्भर हुन्छ, र उसको बुद्धिको क्षमतामा उसको वरदान पनि समावेश हुन्छ। कतिपय मानिसहरू बाहिरी मामलाहरू सम्हाल्ने निश्चित क्षमता र वरदान लिएर जन्मिन्छन्, अर्थात्, तिनीहरू सोच्न र सामाजिक रूपमा घुलमेल हुन सिपालु हुन्छन्, तिनीहरू विशेष घुलमेल क्षमता लिएर जन्मिन्छन्, र तिनीहरूलाई मानिसहरूसँग कसरी अन्तरक्रिया गर्ने, परिस्थितिहरूलाई कसरी हेर्ने, र निश्चित मामलाहरूलाई कसरी सम्हाल्ने भन्ने थाहा हुन्छ। तिनीहरूको मनमा, सबै प्रकारका कुराहरूका हकमा निकै स्पष्ट सोच हुन्छ, र त्यो अत्यन्तै तर्कसंगत पनि हुन्छ। जब तिनीहरूले कुनै कुरा हेर्छन्, तब तिनीहरूले कुनै विचलन वा हास्यास्पदताविना विषयको सारलाई बुझ्न, र तुलनात्मक रूपमा सटीक रूपमा समस्याहरू सम्हाल्न सक्छन्। यस्तो व्यक्तिमा मामलाहरू सम्हाल्ने क्षमता हुन्छ। कतिपय मानिसहरू यो क्षमता लिएर जन्मिँदैनन्, र तिनीहरूलाई पुस्तकहरू पढ्न, फूलहरू रोप्न, घाँस रोप्न, चराचुरुङ्गी हुर्काउन, र इत्यादि कुराहरू मन पर्छ। यसलाई के भनिन्छ? जीवनको परिष्कृत र सहज शैली हुनु भनेको यही हो। यी मानिसहरू भव्यता र सुशीलताको पछि लाग्ने मानिसहरू हुन्। तिनीहरू घुलमेल हुन वा बाहिरी मामलाहरू सम्हाल्न सिपालु हुँदैनन्, र तिनीहरूसँग यो क्षमता हुँदैन। जब तिनीहरू बाहिर गएर मामिलाहरू सम्हाल्नुपर्छ, वकिलसँग परामर्श लिनुपर्छ वा कुनै प्रतिष्ठित व्यक्तिसँग अन्तरक्रिया गर्नुपर्छ, तब तिनीहरू एकदमै डरपोक र भयभीत हुन्छन्, र त्यो व्यक्तिको आँखामा हेर्ने हिम्मत गर्दैनन्, र जब तिनीहरूलाई प्रश्नहरू सोधिन्छ, तब तिनीहरू अकमकाउँछन् र के भन्ने सो थाहा पाउँदैनन्। तिनीहरू व्यर्थका हुन्छन्, होइन र? जब यस्तो व्यक्तिले कुनै समस्याको सामना गर्दैन, तब ऊ यस्तो कुराको घमण्ड गर्न निकै सिपालु हुन्छ, र उसले यसो भन्छ, “मैले यस्तो-त्यस्तो कुरा गरेँ, मेरो विगत यति-उति शानदार थियो, मैले एउटा पटक यस्ता-यस्ता मानिसहरूसँग अन्तरक्रिया गरेको थिएँ, र मैले यस्ता-त्यस्ता सेलिब्रेटीहरूलाई चिनेको छु...।” तैपनि, जब तिनीहरूलाई वास्तवमा कुनै कुरा सम्हाल्न पठाइन्छ, तब तिनीहरू कुनै नाम-निशाना नदेखिने गरी हराउँछन्। तिनीहरूले गर्न सक्ने एउटै मात्र कुरा भनेको घमण्ड गर्नु हुन्छ, र तिनीहरूसँग कुनै वास्तविक प्रतिभा वा ज्ञान हुँदैन, र तिनीहरूसँग मामलाहरू सम्हाल्ने कुनै क्षमता हुँदैन। के कसैले सत्यता पछ्याएर मामलाहरू सम्हाल्नमा रहेको उसको खराबीको तथ्यलाई परिवर्तन गर्न सकिन्छ? दुःखको कुरा, अहँ, सकिँदैन। अन्तर्मुखी व्यक्तित्व भएका र बाल्यकालदेखि अरू मानिसहरूको सामना गर्न डराउने ती व्यक्तिहरूलाई हेर् त। जब तिनीहरू बीस-तीसको दशकमा हुन्छन्, तब मानिसहरूसँग कुरा गर्दा वा मानिसहरूसँग अन्तरक्रिया गर्ने मामलाहरू सम्हाल्दा तिनीहरू अझै पनि निकै डराउँछन्। तिनीहरू अधबैँसे हुँदासम्म पनि, भीडको अगाडि बोल्दा तिनीहरूलाई अझै लाज लाग्छ र तिनीहरू रातो हुन्छन्। त्यस्ता मानिसहरूले बाँचुञ्जेलसम्म कहिल्यै पनि व्यापक संसारको सामना गर्न सक्नेछैनन्। अरू मानिसहरू यस हिसाबमा फरक हुन्छन्, किनभने तिनीहरूलाई किशोर-किशोरी हुँदादेखि नै मानिसहरूसँग कुरा गर्न र अन्तरक्रिया गर्न मन पर्छ। जस्तोसुकै प्रतिष्ठित व्यक्तिसँग अन्तरक्रिया गरे पनि, तिनीहरू डराउँदैनन्, र तिनीहरूले जेसुकै गरे पनि, तिनीहरू तनावमा हुँदैनन् वा अत्तालिँदैनन्। तिनीहरूमा समझ हुन्छ, त्यसकारण तिनीहरूलाई स्टेजमा डर लाग्दैन। मानिसहरू जति धेरै हुन्छन्, तिनीहरू त्यति नै खुशी र उत्साहित हुन्छन्, र तिनीहरूले त्यति नै बढी प्रस्तुति दिन चाहन्छन्। के परमेश्वरको काम अनुभव गरेर व्यक्तिको व्यक्तित्व र मामलाहरू सम्हाल्ने उसको क्षमता परिवर्तन हुन सक्छ? (सक्दैन।) परमेश्वरले मानिसहरूका यी कुराहरूलाई परिवर्तन गर्नुहुन्न। कतिपय मानिसहरूलाई मामलाहरू सम्हाल्ने तिनीहरूको कमजोर क्षमता तिनीहरूको मानवताको कमीकमजोरी हो भन्ने थाहा हुन्छ, त्यसकारण तिनीहरूले यसलाई जित्न कठिन परिश्रम गर्छन्। सायद, जब तिनीहरू आधाबैँसे वा वृद्धावस्थाको उमेरमा पुग्छन्, तब दशकौँको प्रयासपछि र प्रशस्त अनुभव जम्मा गरेपछि, तिनीहरूले केही तत्कालीन मामलाहरूलाई मुस्किलले झेल्न सक्छन्; तर तिनीहरूसँग अझै पनि जीवन-मृत्युका महत्त्वपूर्ण मामलाहरू सम्हाल्ने क्षमता हुनेछैन। निश्चित रूपमा कतिपय मानिसहरू वृद्ध अवस्थामा पुगेपछि आफै केही पनि सम्हाल्न सक्दैनन्; तिनीहरूले जेसुकै सम्हाल्ने प्रयास गरे पनि, तिनीहरूले यसलाई पूर्ण रूपमा बरबाद गर्छन्—तिनीहरूले यो कुराको बोझलाई काँधमा हाल्न सक्दैनन्—तिनीहरूले आफ्नो पारिवारिक मामलाहरू सम्हाल्ने बोझ समेत लिन सक्दैनन्। अनि तिनीहरूले के गर्छन्? कतिपय अवस्थामा, तिनीहरूका छोराछोरीसँग मामलाहरू सम्हाल्ने क्षमता हुन्छ, त्यसकारण यी मानिसहरूले आफ्ना छोराछोरीबाट सहयोग लिन्छन्, जबकि तिनीहरूले तिनीहरूका लागि पहिले नै गरिएका कुराहरूको आनन्द लिन्छन्। तिनीहरूले सोच्छन्, “मैले योगदान दिएको छु, मसँग मामलाहरू सम्हाल्ने क्षमता छ,” तर वास्तवमा, तिनीहरूसँग यो क्षमता हुँदैन। तिनीहरूका छोराछोरी, जो अहिले वयस्क भएका छन् र जिम्मेवारी लिन सक्ने भएका छन्, तिनीहरूले नै यी मामलाहरू सम्हालेका हुन्छन्। यी मानिसहरू अहिले जवान हुँदा जत्तिको नर्भस र कामकुरा सम्हाल्नमा डर मान्ने गर्दैनन् होला, तर यसको अर्थ मामलाहरू सम्हाल्ने तिनीहरूको क्षमता परिवर्तन भएको छ वा सुधार भएको छ भन्ने हुँदैन। यसको अर्थ के हुन्छ? यसको अर्थ तिनीहरू वृद्ध भएका छन्, तिनीहरूले अनुभव प्राप्त गरेका छन्, र तिनीहरूलाई अबदेखि डर लाग्दैन भन्ने हुन्छ। “अबदेखि डर लाग्दैन” ले केलाई जनाउँछ? तिनीहरूले धेरै कुरा अनुभव गरेका र परिस्थितिहरूका शैलीहरू पत्ता लगाएका हुनाले तिनीहरूले अझै खुलस्त रूपमा कुराहरूलाई हेर्न सक्छन्, त्यसकारण यदि तिनीहरू साँच्चै नै अलिकति खतरामा परे भने, तिनीहरू डराउनेछैनन्, र तिनीहरूले यस्तो सोच्नेछन्: “अँ, म यहाँ छु। यदि तिमीहरूलाई पैसा चाहियो भने, मसँग पैसा छैन; यदि तिमीहरूलाई मेरो ज्यान चाहिएको हो भने, ज्यान हाजिर छ—तिमीहरूलाई जे मन लाग्छ त्यही गर!” के त्यस्ता मानिसहरूले कुनै प्रगति गरेका हुन्छन्? तिनीहरूले पटक्कै कुनै प्रगति गरेका हुँदैनन्—कुराहरू सम्हाल्ने क्रममा तिनीहरू अझै पनि निकै लापरवाह र भ्रमित हुन्छन्। तिनीहरू पहिले जत्तिकै हतार र अधीर हुन्छन्। तिनीहरूले पहिले काम गर्न असफल भएका थिए, र अहिले पनि तिनीहरू अलिकति पनि परिवर्तन भएका हुँदैनन्। तिनीहरू यस्तै हुन्छन्। मलाई भन, वास्तवमा कुरा यस्तै होइन र? (हो।)
तिमीहरूमध्ये सबै उमेरका मानिसहरू छौ। अहिलेसम्म, के तैँले कहिल्यै कुनै विशेष कुरा अनुभव गरेको छस्—सत्यता पछ्याउने प्रक्रियामा, तेरो क्षमता पूर्ण रूपमा परिवर्तन भएको छ र पहिलेको भन्दा निकै राम्रो भएको छ, वा तेरो जन्मजात क्षमता परिवर्तन भएको छ? के तैँले कहिल्यै यस्तो अनुभव गरेको छस्? (छैनँ।) त्यसोभए, के कसैले कहिल्यै यसो भनेको छ, “म पहिले निकै काम नलाग्ने व्यक्ति थिएँ। म बोल्न सक्ने व्यक्ति थिइनँ, मसँग कुनै क्षमता वा सीप थिएन, र मसँग घुलमेल हुने क्षमता थिएन। अहिले मैले परमेश्वरको कामलाई स्वीकार गरेको हुनाले, म बोल्न सिपालु छु, मसँग घुलमेल हुने क्षमताहरू छन्, र परिस्थितिहरूलाई सम्हाल्दा, म चलाख हुन्छु र मसँग प्रतिभा छ, र परिस्थितिहरूलाई कसरी सम्हाल्ने भन्ने मलाई थाहा छ”? के कसैसँग यस्तो अनुभव छ? (छैन।) कतिपयले भन्छन्, “मेरो जीवनमा ती कुराहरू घटेका नभए पनि, परमेश्वरमा विश्वास गरेपछि परमेश्वरको काम अनुभव गर्ने प्रक्रियामा, मलाई मेरो व्यक्तित्व परिवर्तन भएको छ जस्तो लाग्छ। म ढिलो बोल्थेँ, र सबैले मलाई “भकभके” भनेर भन्थे। मेरो अर्को उपनाम पनि थियो, जुन “सुस्ते” हो। मैले परमेश्वरमा विश्वास गर्न थालेपछि, मेरो प्रतिक्रिया पहिलेको भन्दा छिटो भएको छ, र म छिटो बोल्छु र काम गर्छु। म कामहरू पनि छिटो र प्रभावकारी रूपमा सम्हाल्छु।” के त्यस्ता कुराहरू हुन्छन्? (हुँदैनन्।) एउटा अवस्था छ जहाँ यो सम्भव हुन सक्छ। उदाहरणका लागि, जब कतिपय मानिसहरूले विदेशी भाषा सिक्छन् र सुरुमा बोल्ने अभ्यास गर्छन्, तब तिनीहरूले निकै ढिलो, एक-एक शब्द बोल्छन्। अरूले के सोच्छन् भने यी मानिसहरू जन्मजात रूपमा ढिलो स्वभाव भएकाले यति ढिलो बोल्छन्। चार-पाँच वर्षपछि, यी मानिसहरू त्यो विदेशी भाषा बोल्ने मानिसहरूसँग बारम्बार सम्पर्कमा भएका हुनाले, तिनीहरूले आफ्नो मातृभाषा जत्तिकै यो भाषालाई सहज रूपमा बोल्छन्, र अरूले यस्तो सोच्छन्, “त्यो व्यक्तिको व्यक्तित्व परिवर्तन भएको छ। पहिले तिनीहरू बिस्तारै बोल्थे र मानिसहरू सुन्दा झर्को मान्थे, तर अहिले तिनीहरू एकदमै धाराप्रवाह बोल्छन्—तिनीहरू सिपालु बनेका छन्। तिनीहरूले बोल्ने सीधा र स्पष्ट तरिकाको आधारमा हेर्दा, तिनीहरूले उत्साहको साथ मामलाहरू सम्हाल्छन् र तिनीहरूमा राम्रो व्यक्तित्व छ भन्ने कुरा थाहा पाउन सकिन्छ।” यस अवस्थामा, के तिनीहरूको व्यक्तित्वमा परिवर्तन आएको हुन्छ? (हुँदैन।) वास्तवमा, यो सामान्य शैली हो। यो कुनै पनि प्रकारको पेसा सिक्ने क्रममा सामान्य रूपमा देखिने प्रक्रिया हो—यो व्यक्तित्व परिवर्तनको प्रक्रिया होइन। चाहे यो क्षमता, प्रतिभा र जन्मजात क्षमता होस्, वा व्यक्तित्व, बानी, चासो, र रुचिहरू होस्, यीमध्ये कुनै पनि पक्षहरू परमेश्वरले आफ्नो कामद्वारा परिवर्तन गर्न चाहनुहुने कुराहरू होइनन्। यदि तैँले मानिसहरूलाई सत्यता प्रदान गर्नका लागि परमेश्वरले काम गर्नु र बोल्नुको उद्देश्य भनेको मानिसहरूका यी सबै अन्तर्निहित गुणहरूलाई परिवर्तन गर्नु हो भन्ने सधैँ विश्वास गर्छस्, र त्यसपछि मात्रै व्यक्तिलाई परमेश्वरले भन्नुभए अनुसार पूर्ण रूपमा पुनर्जन्म भएको, र साँचो रूपमा नयाँ व्यक्ति बनेको भनेर लिन सकिन्छ भन्ने सोच्छस् भने, तँ गम्भीर रूपमा गलत छस्। यो मानव धारणा र कल्पना हो। यो कुरा बुझेपछि, तैँले त्यस्ता धारणा, कल्पना, अनुमान, वा भावनाहरूलाई त्याग्नुपर्छ। अर्थात्, सत्यता पछ्याउने प्रक्रियामा, तैँले यी कुराहरूलाई सारांशित गर्न सधैँ भावना वा अनुमानहरूमा भरोसा गर्नु हुँदैन: “के मेरो क्षमतामा सुधार आएको छ? के मेरो जन्मजात क्षमता परिवर्तन भएको छ? के मेरो व्यक्तित्व पहिलेको जस्तै खराब छ? के मेरो जीवनशैली परिवर्तन भएको छ?” यी कुराहरूका बारेमा मनन नगर्; यस्तो मनन व्यर्थ हुन्छ, किनभने परमेश्वरले परिवर्तन गर्ने अभिप्राय राख्नुभएका पक्षहरू यी होइनन्, र परमेश्वरका वचन र कामले कहिल्यै पनि यी कुराहरूलाई लक्षित गरेका छैनन्। परमेश्वरको कामले कहिल्यै पनि मानिसहरूको क्षमता, जन्मजात क्षमता, व्यक्तित्व, र इत्यादि कुरालाई परिवर्तन गर्ने उद्देश्य राखेको छैन, न त परमेश्वरले कहिल्यै पनि मानिसहरूका यी पक्षहरूलाई परिवर्तन गर्ने उद्देश्यले नै बोल्नुभएको छ। यसको तात्पर्य के हो भने परमेश्वरको कामले मानिसहरूलाई तिनीहरूको अन्तर्निहित अवस्थाको आधारमा सत्यता प्रदान गर्छ, जसको उद्देश्य मानिसहरूलाई सत्यता बुझ्न लगाउनु त्यसपछि सत्यतालाई स्वीकार गर्न र त्यसमा समर्पित हुन लगाउनु हो। अर्को शब्दमा भन्दा, तँसँग जस्तोसुकै क्षमता भए पनि, र तेरो व्यक्तित्व र जन्मजात क्षमता जस्तो भए पनि, परमेश्वरले तेरो अन्तर्निहित क्षमता, जन्मजात क्षमता, र व्यक्तित्व परिवर्तन गर्नुको सट्टा तँमा सत्यता ल्याउन, तेरा पुराना धारणा र भ्रष्ट स्वभावहरूलाई परिवर्तन गर्न चाहनुहुन्छ। अहिले तिमीहरूले बुझ्यौ, होइन त? परमेश्वरको कामले के कुरालाई परिवर्तन गर्ने उद्देश्य राख्छ? (परमेश्वरको कामले मानिसहरूमा रहेका पुराना धारणा र भ्रष्ट स्वभावहरूलाई परिवर्तन गर्ने उद्देश्य राख्छ।) अहिले तिमीहरूले यो सत्यता बुझेपछि, तैँले ती अवास्तविक र अलौकिक कुराहरूसँग सम्बन्धित कल्पना र धारणाहरूलाई त्याग्नुपर्छ, र आफूलाई मापन गर्न वा आफूबाट माग गर्नका लागि यी धारणा र कल्पनाहरूलाई प्रयोग गर्नु हुँदैन। बरु, तैँले परमेश्वरले तँलाई दिनुभएका विभिन्न अन्तर्निहित अवस्थाहरूका आधारमा सत्यताको खोजी गर्नुपर्छ र त्यसलाई स्वीकार गर्नुपर्छ। यसको अन्तिम उद्देश्य के हो? यो के हो भने, तैँले आफ्नो अन्तर्निहित अवस्थाहरूको आधारमा सत्यता सिद्धान्तहरू बुझेको छस्, आफूले सामना गर्ने विभिन्न परिस्थितिहरूको सामना गर्दा अभ्यास गर्नुपर्ने हरेक सत्यता सिद्धान्त बुझेको छस्, र तैँले यी सत्यता सिद्धान्तहरू अनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्न, र आफ्नो आनीबानी र व्यवहार प्रस्तुत गर्न सक्छस्। यसो गर्दा यसले परमेश्वरका मापदण्डहरू पूरा गर्छ। किनभने परमेश्वरका वचन र कामको उद्देश्य भनेको मानिसहरूलाई महामानव वा अलौकिक शक्ति भएका मानिसहरूमा रूपान्तरण गर्नुको सट्टा, मानिसहरूमा सत्यताहरू हालिदिनु हो, ताकि ती तिनीहरूको अभ्यासका सिद्धान्त र मापदण्डहरू बनून्, र ती मानिस र परिस्थितिहरूलाई हेर्ने, र आफ्नो आनीबानी र व्यवहार प्रस्तुत गर्ने आधार बनून्, र ती तिनीहरूको जीवन बनून्। मैले “महामानव” र “अलौकिक शक्ति भएका मानिसहरू” भन्नुको अर्थ के हो? आफ्नो जन्मजात क्षमतालाई पार गर्न, आफ्नो योग्यताको दायरालाई पार गर्न, आफ्नो क्षमतालाई पार गर्न, र आफ्नो लिङ्गलाई समेत पार गर्न, र आफ्नो लिङ्गभन्दा बाहिर जिउन सक्नु—के यी अलौकिक शक्तिहरू होइनन् र? (हुन्।) उदाहरणका लागि, कतिपय मानिसहरूले विशेष भाषा अध्ययनमा संलग्न नभई धेरै वा दश वटाभन्दा बढी भाषा बोल्न सक्छन्। के यो अलौकिक कुरा हो? (हो।) यो अलौकिकता मानव क्षमता, योग्यता र अन्तर्निहित क्षमताभन्दा बाहिर जान्छ, होइन र? (हो।) यति मात्र होइन, विभिन्न भाषा बोल्दा, तिनीहरूले फरक-फरक पुरुष र महिलाको आवाज समेत निकाल्न सक्छन्। के यो अझै अलौकिक कुरा होइन र? (हो।) तिनीहरूले जति धेरै वटा भाषा बोले पनि, तिनीहरू अलमलिँदैनन्, र तिनीहरूले जति लामो समयसम्म बोले पनि तिनीहरूलाई थकाइ लाग्दैन, र तिनीहरूले पानी नपिए पनि, तिनीहरूलाई तिर्खा लाग्दैन। यसको साथै, तिनीहरूले जति बोल्छन्, तिनीहरूको आँखा त्यति प्रखर हुन्छ, तिनीहरूको अनुहार त्यति उज्यालो हुन्छ, र तिनीहरू पूर्ण रूपमा उत्साहित देखिन्छन्। के यो अलौकिक कुरा होइन र? (हो।) बोल्दा तिनीहरूलाई गोली लाग्यो भने पनि, तिनीहरू ठीकै हुन्छन् र बोलिरहन्छन्। त्यो अझै अलौकिक कुरा हो, होइन र? (हो।) जब तिनीहरूले गोली देख्छन्, तब तिनीहरूले यसबाट तर्किने प्रयास समेत गर्दैनन्, बरु सीधै यसको सामना गर्छन्। गोली तिनीहरूको छाती छेडेर जान्छ, तर तिनीहरू दह्रिलो गरी खडा हुन्छन् र डगमगाउँदैनन्। तिनीहरूलाई कुनै पनि हालतमा असर पर्दैन, र तिनीहरूको शिरको एउटा केशमा समेत चोट पुग्दैन। यो जन्मजात क्षमतालाई उछिन्नु हो, होइन र? (हो।) यी सबै घटनाहरूले मानवको जन्मजात क्षमतालाई जित्छन्। सबैभन्दा गम्भीर कुरा के हो भने तिनीहरू असामान्य व्यक्ति बनेका हुन्छन्, अर्थात्, साधारण मानिसहरूभन्दा फरक, सामान्य मानिसहरूको क्षमता र योग्यताहरूलाई उछिनेकोने, र सामान्य मानिसहरूको जन्मजात क्षमतालाई उछिनेको व्यक्ति बनेका हुन्छन्। सबै पक्षमा तिनीहरूको प्रकटीकरण साधारण मानिसहरूको भन्दा फरक हुन्छ र ती विशेष रूपमा अलौकिक हुन्छन्। यसको अर्थ समस्या हो। के तिनीहरू अझै पनि सामान्य व्यक्ति हुन्छन्? (हुँदैनन्।) त्यसोभए तिनीहरू के हुन्? (दुष्ट आत्मा।) तिनीहरू दुष्ट आत्मा हुन्। के तिमीहरू यसलाई पछ्याउन चाहन्छौ? (चाहँदैनौँ।) तिमीहरू कसैले पनि चाहँदैनौ, त्यसकारण के तिमीहरूलाई परमेश्वरको कामले मानिसहरूलाई त्यति हदसम्म परिवर्तन गर्नेछ भन्ने लाग्छ? के परमेश्वरको कामको उद्देश्य भनेको व्यक्तिहरूलाई असामान्य मानिसहरूमा रूपान्तरण गर्नु हो? (होइन।) यो तँलाई सत्यतालाई स्वीकार गर्न र उहाँले तेरो लागि तय गर्नुभएका वातावरणहरूलाई सामान्य मानवताको दायराभित्र अनुभव गर्न लगाउनु हो, ताकि यसबाट तैँले परमेश्वरले आफ्नो काम गर्ने परिश्रमी अभिप्रायहरू, वा तेरा आफ्नै अपर्याप्तता र त्रुटिहरू, वा तेरा आफ्नै भ्रष्ट स्वभावहरू बुझ्न सक्, त्यसपछि, यो बुझाइको आधारमा, सत्यताको खोजी गरेर यसलाई अभ्यास गर्, र क्रमिक रूपमा सत्यतामा प्रवेश गर्—यो प्रक्रिया ढिलो हुन्छ र अलौकिक पटक्कै हुँदैन। जब कतिपय मानिसहरू नकारात्मक भइरहेका हुन्छन्, तब तिनीहरूले यसो भन्न मन पराउँछन्: “मैले परमेश्वरमा विश्वास गरेको यति धेरै वर्ष भयो, तर मैले के पाएँ?” तैँले केही प्राप्त गरेको छैनस् भनेर भन्छस्, तर तैँले निम्न कुराको बारेमा ध्यान दिएर सोच्नुपर्छ। परमेश्वरमा विश्वास गरेको यति धेरै वर्ष भएको हुनाले, के अहिले तँसँग धेरै कुराहरूको बारेमा स्पष्ट दृष्टिकोण छ? के तैँले विश्वास गरेको जति लामो समय हुन्छ, तँलाई त्यति नै शान्ति र निर्धक्क महसुस हुन्छ, र यो जीवनको सही मार्ग हो भन्ने तँलाई त्यति नै लाग्छ भन्ने हुन्छ? यदि तँलाई यस्तो लाग्छ भने, यसको अर्थ तैँले साँच्चै नै केही कुरा प्राप्त गरेको छस् भन्ने हुन्छ। तैँले कुनै भौतिक कुराहरू प्राप्त नगरे पनि, तैँले पैसा, हैसियत, ख्याति, प्राप्ति प्राप्त नगरे पनि—तैँले हातमा समात्न वा आँखाले हेर्न सक्ने कुराहरू नपाए पनि—तैँले हृदयमा केही सत्यता बुझेको हुन्छस्। तैँले परमेश्वरको वास्तविक अस्तित्व र सबै थोकमाथि रहेको उहाँको सार्वभौमिकताको बारेमा केही बुझाइ प्राप्त गरेको छस्। यसको साथै, तैँले मानिसहरूका लागि परमेश्वरका अभिप्रायहरू र उहाँका मापदण्डहरू पनि बुझेको छस्, र सृष्टि गरिएको प्राणी भनेको के हो र तैँले कुन कर्तव्य पूरा गर्नुपर्छ भन्ने कुरा तँलाई थाहा छ। अनि यदि अहिले, तँलाई कर्तव्य पूरा गर्न दिइएन भने, तँलाई व्याकुलता हुनेछ र तेरो जीवन खोक्रो छ भन्ने महसुस हुनेछ। के यो सबैले तैँले परमेश्वरमा विश्वास गरेर पहिले नै फाइदाहरू प्राप्त गरिसकेको छस् भन्ने देखाउँदैन र? तैँले प्राप्त गरेको कुरा कुनै पनि भौतिक कुराभन्दा बढी मूल्यवान् छ। परमेश्वरको कामले मानिसहरूमा हासिल गर्ने प्रभावहरू यिनै हुन्। उहाँले मानिसहरूलाई मानवता, मानवको जन्मजात क्षमता, वा देहका सामान्य आवश्यकता र सामान्य प्रकटीकरणहरूलाई नाघ्ने केही अलौकिक, अनि अवास्तविक परिवर्तनहरूबाट गुज्रन सहयोग गर्ने अभिप्राय राख्नुभएको छैन। बरु, उहाँले मानिसहरूलाई सामान्य मानवताको दायराभित्र रहेका सबै किसिमका वातावरणहरू अनुभव गर्न, र यस प्रक्रियामा, क्रमिक रूपमा र बिस्तारै सबै किसिमका बुझाइ र अनुभवहरू प्राप्त गर्न सहयोग गर्ने अभिप्राय राख्नुहुन्छ। छोटकरीमा भन्दा, यो प्रगतिशील र ढिलो प्रक्रियामा, मानिसहरूका विचार र धारणाहरू बिस्तारै परिवर्तन हुन्छन्, मानिसहरू र परिस्थितिहरूलाई हेर्ने तिनीहरूको दृष्टिकोण परिवर्तन हुन्छन्, सबै प्रकारका मानिस, घटना, र परिस्थितिहरूलाई सम्हाल्ने तिनीहरूको दृष्टिकोण र तरिकाहरू परिवर्तन हुन्छन्, तिनीहरूको केही भ्रष्ट स्वभाव पहिलेको जस्तो स्पष्ट हुँदैन, र तिनीहरूको विवेक र समझ केही हदसम्म पुनर्स्थापित हुन्छ। तिनीहरूले ती अवास्तविक, भ्रमपूर्ण, रित्तो, खोक्रा, वा अलौकिक कुराहरूका सट्टा यी वास्तविक फाइदाहरू प्राप्त गर्छन्।
परमेश्वरले मानवजातिलाई मुक्ति दिने काम क्रमिक रूपमा गर्नुहुन्छ, र अवश्य नै अझै अर्को प्राथमिक सिद्धान्त पनि छ, जुन के हो भने आफ्नो काम गर्दा, परमेश्वरले परिस्थितिहरूलाई आफ्नै मार्गमा अघि बढ्न दिनुहुन्छ। “परिस्थितिहरूलाई आफ्नै मार्गमा अघि बढ्न दिनु” भन्ने यो सिद्धान्तलाई बुझ्न मानिसहरूलाई अलिक गाह्रो हुन सक्छ। परिस्थितिहरूलाई आफ्नै मार्गमा अघि बढ्न दिनु भनेको के हो? यसको अर्थ, चाहे परमेश्वरले मानिसहरूमा काम गरिरहनुभएको होस् वा मानिसहरूसँग बोलिरहनुभएको होस्, उहाँले कसैलाई कहिल्यै पनि काम गर्न जबरजस्ती गर्नुहुन्न। परमेश्वरले अरू मानिसहरूका लागि जस्तै तेरो लागि वातावरणहरू तय गर्नुहुन्छ, र अरू मानिसहरूलाई जस्तै तँलाई पनि सत्यता प्रदान गर्नुहुन्छ। उहाँले तय गर्नुभएका वातावरणहरूलाई तैँले कसरी हेर्नुपर्छ र बुझ्नुपर्छ, र तैँले ती कुरालाई कुन दृष्टिकोण र मनोवृत्तिले लिनुपर्छ भन्ने कुराको हकमा भन्दा, परमेश्वरसँग स्पष्ट वचनहरू छन् र उहाँले तँलाई स्पष्ट सत्यता सिद्धान्तहरू बताउनुभएको छ। तैँले तिनलाई कसरी लिन्छस् भन्ने कुराको हकमा भन्दा, त्यो तेरो आफ्नै स्वतन्त्र निर्णय हो। तैँले सत्यतालाई स्वीकार गर्न र आफूलाई चिन्ने कार्यलाई छनौट गर्न सक्छस्, वा तैँले सत्यतालाई इन्कार गर्ने कार्यलाई छनौट गर्न सक्छस्; तैँले परमेश्वरले योजनाबद्ध गर्नुभएका वातावरणहरू अनुसार तेरो प्रकटीकरणलाई स्वीकार गर्ने कुरा छनौट गर्न सक्छस्, वा तैँले परमेश्वरको कामलाई बेवास्ता गर्ने कुरा छनौट गर्न सक्छस्—तँसँग छनौट गर्ने पूर्ण स्वतन्त्रता छ। उदाहरणका लागि, तैँले निर्वाह गर्नुपर्ने कर्तव्यको हकमा भन्दा, तैँले यसलाई आफ्नो सारा हृदय र शक्तिले निर्वाह गर्ने निर्णय गर्न सक्छस्, वा तैँले झाराटारुवा मनोवृत्तिले निर्वाह गर्ने निर्णय गर्न सक्छस्। यो पूर्ण रूपमा तेरो व्यक्तिगत निर्णयमा आधारित हुन्छ, र अवश्य नै, यो तेरो आफ्नै क्षमता, योग्यता, जन्मजात क्षमता, र इत्यादिमा पनि आधारित हुन्छ। परमेश्वरले फाल्टो काम गर्नुहुन्न—अर्थात्, सामान्य परिस्थितिहरूमा, परमेश्वरले मनाउने वा कर गर्ने कुनै थप काम गर्नुहुन्न। यसको अर्थ के हो? यसको अर्थ परमेश्वरले तेरो लागि वातावरण तय गर्नुहुन्छ—यो त परमेश्वरले तेरो लागि तातो र चिसो खानेकुरा, भात र सूप, फलफूल, पेय पदार्थ, र इत्यादि कुराहरू सहितको भोज तय गर्नुभएको जस्तै हो, र तैँले जे छनौट गर्छस्, परमेश्वरले तँलाई स्वतन्त्रता दिनुहुन्छ—तैँले जुनसुकै छनौट गरे पनि, तँसँग त्यसो गर्ने स्वतन्त्रता हुन्छ, र परमेश्वरले हस्तक्षेप गर्नुहुन्न, तर मानिसहरूलाई भरणपोषण गर्न सत्यता व्यक्त गर्नमा मात्रै ध्यान दिनुहुन्छ। कतिपय मानिसहरूले भोजको स्वादिष्ट पकवान वास्तवमा कस्तो छ भनेर नचाखी भोजलाई झट्ट हेर्छन्। तिनीहरूले भोजको बारेमा टिप्पणी मात्रै गर्छन्, केही धर्मसिद्धान्तहरू बोल्छन्, त्यसपछि जान्छन्। अरूले भोज हेर्ने, यसको स्वादिष्ट खानालाई बेवास्ता गर्ने, र कुनै मनोवृत्ति वा विचार नलिई जाने मात्रै निर्णय गर्छन्। अरूले व्यक्तिगत रूपमा यसको स्वाद चाखेका र यसको स्वादिष्ट व्यञ्जन खाएका हुन्छन्, र स्वादिष्ट खानाहरूमध्ये कुनै एउटा कसरी बनाउने भनेर पनि सिकेका हुन्छन्। परमेश्वरले तय गर्नुभएको वातावरणमा, तेरो मनोवृत्ति जस्तोसुकै भए पनि—तैँले यसलाई स्वागत गर्ने, वा यसलाई इन्कार गर्ने र नकार्ने, वा यसलाई घृणा गर्ने र यसप्रति शत्रुवत् बन्ने, र इत्यादि किसिमको भए पनि, परमेश्वरको दृष्टिकोणमा त यी सबै कुरा मनोवृत्तिहरू हुन्। परमेश्वरले मानिसहरूका विभिन्न मनोवृत्तिहरूलाई कसरी लिनुहुन्छ र सम्हाल्नुहुन्छ? मानिसहरूलाई धेरै सत्यता प्रदान गरिसकेपछि, परमेश्वरले तिनीहरूप्रति राख्नुहुने मनोवृत्ति भनेको निगरानी गर्नु र रेकर्ड राख्नु मात्रै हो। मानिसहरूले के छनौट गर्छन् वा तिनीहरूको मनोवृत्ति के हो भन्ने कुराको हकमा भन्दा, परमेश्वरले हस्तक्षेप गर्नुहुन्न—परमेश्वरसँग यो मामलाको कुनै सम्बन्ध हुँदैन। त्यसोभए, यो मामला के कुरा कुरासँग सम्बन्धित हुन्छ? यो तैँले कुन मार्ग रोज्छस्, तैँले अन्तिममा के प्राप्त गर्छस्, र तेरो आफ्नै अन्तिम परिणाम के हो त्यससँग सम्बन्धित हुन्छ। यस विषयमा, परमेश्वरले कुनै थप र सहजिकरणको काम गर्नुहुन्न, तर उहाँले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू मात्रै पूरा गर्नुहुन्छ। उहाँले तँलाई सत्यता प्रदान गरिसक्नुभएपछि र सबै प्रकारका मानिस, घटना, र परिस्थितिहरूलाई सम्हाल्ने सिद्धान्तहरू बताउनुभएपछि, उहाँले तेरो लागि वातावरण पनि तय गर्न सक्नुहुन्छ। तैपनि, तैँले गर्ने अन्तिम निर्णय वा तैँले लिने मार्गको बारेमा परमेश्वरले हस्तक्षेप गर्नुहुन्न—उहाँले तँलाई आफै छनौट गर्न दिनुहुन्छ। उदाहरणका लागि, यदि तँ अगुवा वा सेवकको रूपमा निर्वाचित भइस् भने, तैँले सत्यता सिद्धान्तहरू र परमेश्वरको घरका कामका बन्दोबस्तहरू अनुसार काम गर्ने, वा आफ्ना रुचिहरू अनुसार स्वेच्छाचारी र लापरवाह रूपमा काम गर्ने निर्णय गर्न सक्छस्। यदि तैँले सबै कुरा सत्यता सिद्धान्तहरू अनुसार सम्हाल्ने र आफ्नो कर्तव्य कामका बन्दोबस्तहरू अनुसार पूरा गर्ने निर्णय गरिस् भने, परमेश्वरले यसको अवलोकन गर्नुहुनेछ र यसको बारेमा विवरण राख्नुहुनेछ, र अन्तमा तैँले सत्यता प्राप्त गरेको हुनेछस् र तँ परमेश्वरमा समर्पित हुनेछस्—यो एउटा परिणाम हो। यदि तैँले आफ्नै इच्छा अनुसार काम गर्छस्, र परमेश्वरको घरको कामका बन्दोबस्तहरू र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्दै स्वेच्छाचारी र लापरवाही ढङ्गले काम गर्छस् भने, यो पनि एउटा निर्णय हो र यसले तैँले लिइरहेको मार्गलाई प्रतिनिधित्व गर्छ, र परमेश्वरले यसको बारेमा पनि अवलोकन गर्नुहुनेछ र यसको विवरण राख्नुहुनेछ, र अवश्य नै तेरो परिणाम के हुनेछ भन्ने कुराको बारेमा उल्लेख गरिरहनु पर्दैन। यदि तैँले सत्यता र जीवन प्राप्त गरेको छस् भने, यसले तँलाई परमेश्वरको अनुमोदन प्राप्त गर्न र राम्रो गन्तव्यको रक्षा गर्न पनि तँलाई सहयोग गर्नेछ।
मानिसहरूले के विश्वास गर्छन् भने परमेश्वरको काममा उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरू समावेश हुन्छन्। त्यसोभए मानिसहरूका धारणा र कल्पनाहरूमा परमेश्वरले गर्नुहुने योजनाबद्ध कार्य र बन्दोबस्तहरू के-के हुन्? ती एक प्रकारका प्रभाव हुन्, अर्थात्, परमेश्वरले गुप्तमा मानिसहरूलाई ठूलो जालमा ढाकिरहनुभएको हुन्छ, तिनीहरूको सबै व्यवहार र तिनीहरू रहेका वातावरणहरूलाई प्रभावित गरिरहनुभएको हुन्छ, र तिनीहरूले गर्ने सबै कुराको निगरानी गरिरहनुभएको हुन्छ। यी मानिसहरूमा हुने धारणा र कल्पनाहरू हुन्, होइनन् र? (हुन्।) परिणाम स्वरूप, मानिसहरू हृदयमा परमेश्वरप्रति सतर्क हुन र उहाँप्रति डराउन थाल्छन्, र यो परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूका बारेमा रहेका तिनीहरूका धारणा र कल्पनाहरूले गर्दा पैदा भएको हुन्छ। यसरी तिनीहरूलाई त्रासित र सतर्क हुनु परमेश्वरप्रतिको साँचो समर्पणता र डर होइन, तर विद्रोहीपन र प्रतिरोधको एउटा रूप हो। मानिसहरूले के सोच्छन् भने परमेश्वर सर्वशक्तिमान् र सर्वव्यापी हुनुहुन्छ, र तिनीहरूले जे गरे पनि “जब मानिसले काम गर्छ, तब स्वर्गले हेरिरहेको हुन्छ” भन्ने कुरा लागू हुन्छ। तिनीहरूले के सोच्छन् भने परमेश्वरले तिनीहरूको हृदय, हात-खुट्टा बाँधेर राख्ने, तिनीहरूलाई छनौट गर्ने स्वतन्त्रता नदिने, र तिनीहरूलाई सत्यताको अभ्यास गर्न जबरजस्ती गर्ने, तिनीहरूलाई आफ्नो विचार र दृष्टिकोण परिवर्तन गर्न, र परमेश्वरको इच्छा अनुसार काम गर्न जबरजस्ती गर्ने उद्देश्यले निरन्तर तिनीहरूको रेखदेख गरिरहनुभएको हुन्छ। यी सबै मानव धारणाहरू हुन्। कडाइका साथ भन्दा, यो परमेश्वरको विरुद्धमा गरिने एक प्रकारको ईश्वरनिन्दा हो। वास्तवमा, परमेश्वरले कहिल्यै पनि मानिसहरूलाई जबरजस्ती गर्ने, बाँध्ने, वा चालबाजीमा पार्ने अभिप्राय राख्नुभएको छैन। परमेश्वरले कहिल्यै पनि मानिसहरूलाई बन्धनमा पार्नुहुन्न वा कर गर्नुहुन्न, र उहाँले मानिसहरूलाई जबरजस्ती गर्नु त परको कुरा हो। परमेश्वरले मानिसहरूलाई प्रशस्त स्वतन्त्रता दिनुहुन्छ—उहाँले मानिसहरूलाई आफूले हिँड्नुपर्ने मार्ग छनौट गर्न दिनुहुन्छ। तँ परमेश्वरको घरमा भए पनि, र तँलाई परमेश्वरले पूर्वनिर्धारित गर्नुभएको र चुन्नुभएको भए पनि, तँ अझै पनि स्वतन्त्र हुन्छस्। तैँले परमेश्वरका विभिन्न मापदण्ड र बन्दोबस्तहरूलाई इन्कार गर्ने निर्णय गर्न सक्छस्, वा तैँले तिनलाई स्वीकार गर्ने निर्णय गर्न सक्छस्; परमेश्वरले तँलाई स्वतन्त्र रूपमा छनौट गर्ने मौका दिनुहुन्छ। तर तैँले जे छनौट गरे पनि, वा तैँले जसरी व्यवहार गरे पनि, वा तैँले सामना गरेको मामलालाई सम्हाल्ने तेरो दृष्टिकोण जे भए पनि, वा तैँले यसलाई समाधान गर्न अन्तिममा जे-कस्ता माध्यम र विधिहरू प्रयोग गरे पनि, तैँले आफ्ना कार्यहरूका लागि जिम्मेवारी लिनु नै पर्छ। तेरो अन्तिम परिणाम तेरो व्यक्तिगत मूल्याङ्कन र परिभाषाहरूमा आधारित हुँदैन, बरु परमेश्वरले तेरो बारेमा विवरण राखिरहनुभएको हुन्छ। परमेश्वरले धेरै सत्यता व्यक्त गर्नुभएपछि, र मानिसहरूले यति धेरै सत्यता सुनेपछि, परमेश्वरले आफूले भन्नुभएको कुरा, उहाँले के माग गर्नुहुन्छ त्यो कुरा, र मानिसहरूका लागि उहाँले तय गर्नुभएका सिद्धान्तहरूका आधारमा हरेक व्यक्तिका सही र गलत कुराहरूलाई कडाइका साथ मापन गर्नुहुनेछ र हरेक व्यक्तिको अन्तिम परिणाम निर्धारित गर्नुहुनेछ। यस मामलामा, परमेश्वरको छानबिन, र परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरू परमेश्वरले मानिसहरूलाई चालबाजीमा गर्नु, वा उहाँले मानिसहरूलाई बन्धनमा पार्नु होइन—तँ स्वतन्त्र छस्। तँ परमेश्वरको विरुद्धमा सतर्क हुनु पर्दैन, न त तैँले डर वा असहजताको महसुस नै गर्नुपर्छ। तँ सुरुदेखि अन्त्यसम्मै स्वतन्त्र व्यक्ति होस्। परमेश्वरले तँलाई स्वतन्त्र वातावरण, स्वतन्त्र निर्णय गर्ने इच्छा, र स्वतन्त्र रूपमा छनौट गर्ने ठाउँ दिनुहुन्छ, जसले गर्दा तैँले आफै निर्णय गर्न सक्छस्, र तैँले जुनसुकै परिणाम प्राप्त गरे पनि त्यो तैँले लिने मार्गद्वारा नै पूर्ण रूपमा निर्धारित हुन्छ। यो निष्पक्ष कुरा हो, होइन र? (हो।) यदि, अन्तिममा, तैँले मुक्ति पाइस्, र तँ परमेश्वरमा समर्पित हुने र परमेश्वरसँग मिल्ने व्यक्ति होस्, र तँ परमेश्वरले स्वीकार गर्नुहुने व्यक्ति होस् भने, तैँले आफ्नो सही निर्णयहरूको कारण यो कुरा प्राप्त गरेको हुन्छस्; यदि, अन्तिममा, तैँले मुक्ति पाएको हुँदैनस्, र तँ परमेश्वर अनुरूप हुन सक्दैनस्, र तँलाई परमेश्वरले प्राप्त गर्नुहुनेछैन, र तँ परमेश्वरले स्वीकार गर्नुहुने व्यक्ति होइनस् भने, त्यो पनि तेरो आफ्नै निर्णयमा निर्भर हुन्छ। त्यसकारण, आफ्नो काममा, परमेश्वरले मानिसहरूलाई छनौट गर्ने धेरै ठाउँ दिनुहुन्छ, र उहाँले मानिसहरूलाई पूर्ण स्वतन्त्रता पनि दिनुहुन्छ। किनभने परमेश्वरले मानिसहरूको परिणाम र गन्तव्य लगायत सबै मानिस, घटना, र परिस्थितिहरूलाई मापन गर्न सत्यताको प्रयोग गर्नुहुन्छ। मानिसहरूको परिणाम र गन्तव्य पनि सत्यताको प्रयोगद्वारा निर्धारित हुन्छन्—परमेश्वरको कामको सिद्धान्त यही हो, जुन कहिल्यै परिवर्तन हुँदैन। तैँले परमेश्वरको डर मान्ने, उहाँको विरुद्धमा सतर्क हुने, र डरपोक र समर्पित भएर बाटोको अन्त्यसम्म हिँडेकै भरमा उहाँले तँलाई स्वीकार गर्नुहुनेछैन, अनुग्रह देखाउनुहुनेछैन, र मुक्ति दिनुहुनेछैन; न त परमेश्वरले तैँले गरेको कुनै पनि योगदानको कारण नै तँलाई मुक्ति दिनुहुनेछ। अर्को शब्दमा भन्दा, कुनै व्यक्तिले आफूले पाउनुपर्ने नतिजा वा राम्रो गन्तव्य प्राप्त गर्दा त्यसमा कुनै अपवाद हुनेछैन—हरेक व्यक्तिले जुनसुकै परिणाम प्राप्त गरे पनि त्यसलाई उसले लिने मार्गले निर्धारित गरेको हुन्छ। म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। मानौँ परमेश्वरले तेरो लागि वातावरण तय गर्नुभएको छ, र यस वातावरणमा, तैँले गर्नुपर्ने कुरा भनेको आफ्नो अपराधहरूका बारेमा चिन्तन गर्नु र तिनलाई चिन्नु, र आफ्नो भ्रष्ट स्वभाव, भ्रमपूर्ण विचार र दृष्टिकोण, कमीकमजोरी र अपर्याप्तताहरू, वा परमेश्वरको बारेमा रहेका तेरा केही गलतबुझाइ र गुनासाहरूलाई चिन्नु हो। तैँले आफूलाई रक्षा गर्न बहानाहरू बनाउन र कमजोर तर्कहरू प्रस्तुत गर्न छोड्नुपर्छ र यसको सट्टा समर्पित हुन, आफ्नो वर्तमान परिस्थितिलाई परिवर्तन गर्न सम्बन्धित सत्यताहरू खोजी गर्न, र सत्यतालाई स्वीकार गर्न र त्यसपछि सत्यता सिद्धान्तहरू अनुसार काम गर्न सक्नुपर्छ। त्यसो गरेर तैँले चाहेको प्रभाव हासिल गर्नेछस्। जब फेरि तेरो जीवनमा यस्तै कुराहरू आइपर्छन्, तब तैँले स्वाभाविक रूपमै सत्यता सिद्धान्तहरू अनुसार अभ्यास गर्नेछस्, र तँलाई सहयोग गर्न परमेश्वरले विशेष वातावरणहरू तय गरिरहनु पर्दैन। यो मानिसहरूले हासिल गर्न सक्ने कुरा हो, र तिनीहरूले यो हासिल गर्न सके भने, परमेश्वरले कुनै अनावश्यक काम गर्नुहुनेछैन। तर सत्यता नपछ्याउनेहरूका हकमा भन्दा, परमेश्वरको मनोवृत्ति फरक हुन्छ। कतिपय मानिसहरूले परिस्थितिहरू आइपर्दा सत्यताको खोजी गर्दैनन् वा आफ्नो बारेमा चिन्तन गर्दैनन्, बरु तिनीहरू नकारात्मक र जिद्दी भएर परमेश्वर र अरू मानिसहरूका बारेमा गुनासो गरिरहन्छन्। तिनीहरूले परमेश्वरको बारेमा धारणाहरू विकास गर्ने मात्र होइन, तर तिनीहरूले उहाँलाई आलोचना पनि गर्छन्। यदि कसैले तिनीहरूलाई काट-छाँट गर्यो र खुलासा गर्यो भने, तिनीहरूले आफूलाई सही साबित गर्ने बहानाहरू खोज्छन्, र तिनीहरू निष्क्रिय भएर आफ्नो काममा सुस्त पनि हुन सक्छन्, वा कामकुराहरूलाई कमजोर समेत बनाउन सक्छन्। त्यस्ता मानिसहरू परिवर्तन नहुने मानिसहरू हुन्, र परमेश्वरले तिरस्कार गर्नुहुने मानिसहरू हुन्। यदि तँसँग परमेश्वरमा विश्वास गर्ने क्रममा सत्यताप्रति केही चासो छ, र तँ प्रवचनहरू सुन्न र सत्यताप्रतिका लागिपर्न तयार छस्, र तँसँग अलिक सकारात्मक मनोवृत्ति छ भने, परमेश्वरले तेरो हृदयलाई छानबिन गर्नुहुनेछ, र तैँले सत्यताको खोजी गर्दा तँलाई अलिक उत्प्रेरित गर्नुहुनेछ, त्यसपछि तैँले सत्यताको अभ्यास गर्न सक्छस् कि सक्दैनस् भनेर उहाँले छानबिन गर्नुहुनेछ। तर यदि तैँले नकारात्मक बन्ने र आफ्नो काममा सुस्त हुने, बहानाहरू बनाउने र आफूलाई सही साबित गर्ने, र सबै ठाउँमा सानो कुरालाई ठूलो बनाउने निर्णय गर्ने गर्छस्, र आफूलाई चिन्ने वा पश्चात्ताप गर्ने निर्णय गर्दैनस् भने, परमेश्वरले के गर्नुहुनेछ र उहाँले तँलाई कसरी निराकरण गर्नुहुनेछ? के-कस्ता परिवर्तनहरू देखा पर्छन् भनेर परमेश्वरले चुपचाप अवलोकन गर्नुहुनेछ। परमेश्वरले तँलाई उत्प्रेरित गर्नुहुनेछैन, न त उहाँले तँलाई उहाँका वचनहरू पढ्न र सत्यताको खोजी गर्न कर नै गर्नुहुनेछ। परमेश्वर संलग्न हुनुहुनेछैन वा उहाँले हस्तक्षेप गर्नुहुनेछैन—उहाँले तँलाई आफ्नो हृदय सन्तुष्ट हुने गरी तमासा देखाउन दिनुहुनेछ। जब तेरो विवेक बिउँझन्छ र तैँले “मैले यसो गर्नु हुँदैनथियो” भन्ने सोच्छस्, वा तैँले कहिलेकहीँ तेरो वर्तमान परिस्थितिसँग मिल्ने अनुभवको गवाही सुन्छस् र त्यो व्यक्तिले कसरी व्यवहार गर्यो भनेर पत्ता लगाउँछस्, त्यसपछि तैँले गरेको काम अनुचित, तर्कहीन, र लाजमर्दो कुरा थियो महसुस गर्छस्, र तेरो हृदयमा अलिकति पीडा हुन्छ, तब त्यहाँदेखि, तँ नकारात्मक वा कमजोर हुनेछैनस्, र तँलाई आफूलाई सही साबित गर्नका लागि मुख खोल्न लाज लाग्नेछ, र कामकुराहरूलाई बाधा दिने र कमजोर बनाउने तेरा विचार वा कार्यहरू झन्-झन् कम हुनेछन्, र ती झन्-झन् कम रूपमा गम्भीर हुनेछन्। यो कुरा अन्तिममा जति हदसम्म बढे पनि, जेसुकै भए पनि, यो सबै तेरो आफ्नै व्यवहार हो। परमेश्वरले अन्तमा तँलाई मूल्याङ्कन गर्ने प्रमाण खोज्ने उद्देश्यले गुप्तमा र चुपचाप हेरिरहनुभएको हुन्छ। यो त निनवे सहर नष्ट हुन लागेको बेला जस्तै हो, जुन बेला परमेश्वरले निनवेवासीहरूलाई सन्देश दिनका लागि मात्रै योनालाई पठाउनुभयो। परमेश्वरले तिनीहरूलाई आफ्नो पाप स्वीकार गर्न, पश्चात्ताप गर्न, वा आफ्ना समस्याहरू बुझ्न लगाउनुभएन—उहाँले यी कुराहरू गर्नुभएन। परमेश्वरले योनालाई सन्देश दिन मात्रै पठाउनुभयो, यसको साथै यो सूचना सुनेपछि तिनीहरूले कस्तो प्रतिक्रिया दिए र कार्यहरू गरे, र माथिदेखि तलसम्मका सबै मानिसहरूको योजना के थियो, र परमेश्वरबाट आएको यो सूचनाप्रति तिनीहरूको मनोवृत्ति के थियो भनेर हेर्न गुप्तमा अवलोकन गर्नुभयो। उहाँले गुप्तमा अवलोकन मात्रै गर्नुभयो। “अवलोकन” को अर्थ के हो? यसको अर्थ परमेश्वरले परिस्थितिहरू कसरी अघि बढ्छन् त्यसलाई र परिस्थितिहरू परिवर्तन हुने दिशाको प्रक्रियालाई नियाल्नुहुन्छ, र उहाँले कुनै पनि हालतमा हस्तक्षेप गर्नुहुन्न। परमेश्वरले योनालाई ती केही वाक्यहरू सुनाउन लगाउने बाहेक, उहाँले कुनै थप काम गर्नुभएन, न त उहाँले मानिसहरूलाई सल्लाह दिने कुनै काम नै गर्नुभयो, यति मात्र होइन, सुनाउनका लागि थप कुनै शब्दहरू थिएनन्, तर योनाको मुखबाट आएका ती केही वाक्यहरू मात्रै थिए। अवश्य नै, आजका मानिसहरूमाथि परमेश्वरले गर्नुहुने कामका सिद्धान्तहरू अपरिवर्तित नै छन्—उहाँले अझै पनि यसरी नै काम गर्नुहुन्छ, र मानवजातिप्रतिको परमेश्वरको मनोवृत्ति सुरुदेखि अन्त्यसम्मै यही हो। उहाँले कसैलाई परिवर्तन गर्न चाहनुभए पनि वा व्यक्तिको जीवनमा कुनै कुरा हासिल गर्न चाहनुभए पनि, आफ्नो कामप्रति रहेको परमेश्वरको मनोवृत्ति, सिद्धान्त, र विधिहरू परिवर्तन हुँदैनन्। किन? परमेश्वरले जीवित मानिसहरू, स्वतन्त्र इच्छा भएका मानवहरूलाई सृष्टि गर्नुभएको हो, मेसिन वा कठपुतलीहरूलाई होइन। जब परमेश्वरले सत्यता व्यक्त गर्नुहुन्छ वा कुनै कुरा हासिल गर्न चाहनुहुन्छ, तब उहाँले प्रायजसो सुरुमा तिनीहरूलाई उहाँका अभिप्रायहरू बुझ्न लगाउने प्रयास गर्न सहयोग गर्ने वातावरण तय गर्नुहुन्छ, र कहिलेकहीँ उहाँले मानिसहरूलाई उहाँका अभिप्राय र मापदण्डहरू के-के हुन् भनेर सीधै भन्नुहुन्छ; बाँकी कुरा मानिसहरूले आफ्नो स्वतन्त्र इच्छा र आफूसँग भएका विभिन्न अवस्थाहरूका आधारमा गर्ने निर्णयमा निर्भर हुन्छ। निनवेवासीहरूप्रति परमेश्वरको मनोवृत्ति यही थियो, र उहाँले अहिले मुक्ति दिन चाहनुहुने मानिसहरूप्रति उहाँको मनोवृत्ति अपरिवर्तित नै छ। परमेश्वरको कामका सिद्धान्तहरू परिवर्तन भएका छैनन्; परमेश्वरले सधैँ यसरी नै काम गर्नुहुन्छ, र उहाँले सृष्टि गर्नुभएका मानव-प्राणीहरूमा गर्नुहुने कामका सिद्धान्तहरू सधैँ यस्तै छन्। योनाले निनवेका मानिसहरूलाई सूचना दिएपछि, ऊ शान्त हुने ठाउँ खोज्न गयो र परमेश्वरको सन्देश सहरको माथिबाट तलसम्म फैलाएपछि निनवेवासीहरूका बीचमा कस्तो आघातपूर्ण प्रभाव हुन्छ र गतिविधि पैदा हुन्छ भनेर हेर्नका लागि सहरका मानिसहरूलाई छेउबाट नियालेर हेरिरह्यो, र परमेश्वरले निनवेलाई नष्ट गर्न लाग्नुभएको छ भन्ने खबर सबैले सुनेका थिए—उसले अवलोकन मात्रै गर्यो। अवश्य नै, यो अवलोकनको लागि समय लाग्यो, र यस प्रक्रियाको अवधिमा, परमेश्वरले यी सबै कुराहरूमा आएका परिवर्तनहरूलाई हेरिरहनुभएको थियो। यदि परिस्थितिहरू असल दिशामा अघि बढे भने, अवश्य नै परमेश्वर प्रसन्न हुनुहुनेथियो; यदि परिस्थितिहरू खराब दिशामा अघि बढे भने, उहाँ शोकित हुन सक्नुहुन्थ्यो, तर त्यो परिस्थितिमा निर्भर हुनेथियो। परमेश्वरले नै मानिसहरूलाई सृष्टि गर्नुभएको हुनाले परमेश्वरले शोक गर्नुहुनेथियो, र मानिसहरूले विनाशको सामना गर्दा, वा ज्यान गुमाउने अवस्थाको सामना गर्दा परमेश्वरले शोक गर्नुहुन्छ। तैपनि, भ्रष्ट मानिसहरूको यति अबुझ र मन्द बुद्धि भएको, र यति विद्रोही भएको देख्दा, परमेश्वर दुःखित हुनुहुन्न। परमेश्वरले आफ्नो मूल योजना अनुसार, उहाँले काम गर्ने तरिकाहरू अनुसार, र उहाँले सृजित प्राणीहरूलाई निराकरण गर्ने तरिका र सिद्धान्तहरू अनुसार आफूले गर्नुपर्ने कुरा गर्नुहुनेछ। यहाँ कुनै मानव अनुभूति वा भावनाहरू हुँदैनन्, तर काम सृष्टिकर्ताका काम गर्ने सिद्धान्त र मापदण्डहरू मात्रै हुन्छन्। त्यसकारण यस सन्दर्भमा, मानिसहरूले परमेश्वरका विचार र दृष्टिकोणहरूका बारेमा अडकल र अनुमानहरू गर्नका लागि सृजित मानवहरूको संकुचित मानसिकतालाई प्रयोग गर्नुको सट्टा, आफ्नै धारणाहरूलाई त्याग्नुपर्छ र मानिसहरूलाई व्यवहार गर्ने परमेश्वरको मनोवृत्ति र विधिहरूलाई सटीक रूपमा बुझ्नुपर्छ। परमेश्वरले तँमा काम गर्नुहुन्छ, तेरो लागि वातावरण तय गर्नुहुन्छ, र तँलाई तालिम दिन र अभ्यास गर्न सहयोग गर्नका लागि मानिस, घटना, र परिस्थितिहरू मिलाउनुहुन्छ, र उहाँले तँमा सत्यता लागू गर्न चाहनुहुन्छ—कामहरू यसरी गर्नुको परमेश्वरको मूल अभिप्राय के हो? यो जीवनलाई आदर गर्ने र कदर गर्ने सिद्धान्तमा आधारित छ। यो सृष्टि गरिएको मानवप्रतिको सृष्टिकर्ताको भावना होइन—परमेश्वरसँग कुनै भावनाहरू हुँदैनन्। यो मूल अभिप्रायको सिद्धान्तले मानवको देहगत सम्बन्धका भावनाहरूलाई उछिन्छ, र अवश्य नै, यो कुनै प्रकारको स्नेह पनि होइन—यो जीवनलाई कदर गर्ने र आदर गर्ने सिद्धान्तबाट पैदा हुन्छ। कतिपय मानिसहरूले भन्छन्: “के यो परमेश्वरको विचारको व्यापकता हो? के यो उहाँको उच्च स्तरको अस्तित्व हो?” के तिमीहरूलाई त्यस्तो लाग्छ? (लाग्दैन।) तैँले मानिसहरूलाई व्याख्या गर्न “स्तरको अस्तित्व” र “विचारको व्यापकता” भन्ने शब्दहरू प्रयोग गर्न सक्छस्, तर ती शब्दहरूलाई परमेश्वरमा लागू नगर्। यो न त विचारको व्यापकता हो न त यो अस्तित्वको स्तर नै हो। एक हिसाबमा, यसलाई सृष्टिकर्ताको प्रेमिलोपन भनेर भन्न सकिन्छ, र अर्को हिसाबमा, यो परमेश्वरको पहिचान र सारको प्रकटीकरण हो भनेर पनि भन्न सकिन्छ। परमेश्वरले कुनै पनि सृजित प्राणीको जीवनलाई बहुमूल्य ठान्नुहुन्छ र कदर गर्नुहुन्छ, तर यो कदर र आदरको आधारमा, परमेश्वरले आफ्ना सिद्धान्तहरूमा सम्झौता गर्नुहुन्न, र यी सिद्धान्तहरू भावना वा देहका होइनन्। ती केका हुन्? ती सत्यताका सिद्धान्तहरू हुन्, जुन परमेश्वरको स्वामित्वमा मात्रै हुन्छ। यसको बारेमा विचार गर त, यदि मानिसहरूको छोराछोरी छन् भने, तिनीहरूले तिनीहरूलाई हदभन्दा बढी माया गर्छन् र तिनीहरूप्रति गहन भावनाहरू बोक्छन्। तिनीहरूले आफ्ना छोराछोरीलाई दुई हातमा राखेर दिनभरि तिनीहरूसँग बस्न सकूँ भन्ने समेत चाहन्छन्। परमेश्वरसँग मानिसहरूप्रति त्यस्तो कुनै भावना वा स्नेह हुँदैन। मानिसहरूको रगतको बन्धनको कारण, तिनीहरूले आफ्ना छोराछोरीप्रति त्यस्ता भावनाहरू विकास गर्छन्, र त्यस्ता भावनाहरूले मानिसहरूलाई आफ्नो समझ र सिद्धान्तहरू गुमाउने तुल्याउँछन्। ती सामान्य मानवताको प्राकृतिक वा सामान्य प्रकटीकरणहरू होइनन्, न त ती प्रेमको प्रकटीकरण नै हुन्। ती पूर्ण रूपमा भावना र जिद्दीपन हुन्—ती रगतको सम्बन्धबाट पैदा हुने भावनाहरू हुन्। भावनाहरू सत्यता होइनन्, र ती सामान्य मानवतामा हुनुपर्ने कुराहरू होइनन्; ती नकारात्मक कुराहरू हुन्। परमेश्वरले मानवजातिलाई पुलपुल्याउनुहुन्न वा मात्तिने बनाउनुहुन्न। मानवजातिप्रतिको परमेश्वरको मनोवृत्ति के हो? परमेश्वरले तँलाई छनौट गर्नुहुन्छ, र तँप्रति जिम्मेवार बन्नुहुन्छ, र सृष्टि गरिएको मानवको जीवनलाई कदर गर्ने र जीवनलाई आदर गर्ने सिद्धान्तको आधारमा, तँलाई सत्यता र जीवन प्रदान गर्न काम गर्नुहुन्छ र मूल्य चुकाउनुहुन्छ, र वचनहरू बोल्नुहुन्छ। तर परमेश्वरले मानिसहरूले कल्पना गर्ने जस्तो तरिकाले काम गर्नुहुन्न, अर्थात् तँलाई दह्रिलो गरी पक्रेर, वा अझै बोलचालको भाषामा भन्दा, तँलाई धम्कयाउँदै तह लगाएर काम गर्नुहुन्न। त्यस्तो हुँदैन। परमेश्वरले मानिसहरूलाई हप्काउनुहुन्न; उहाँले मानिसहरूलाई कहिल्यै पनि कुनै कुरा गर्न जबरजस्ती गर्नुहुन्न। परमेश्वरमाथिको आफ्नो विश्वासमा आशिष्हरू प्राप्त गर्नका लागि, मानिसहरूले सधैँ परमेश्वरलाई धम्क्याउन चाहन्छन्, र सधैँ परमेश्वरलाई जबरजस्ती आशिष्हरू दिन लगाउन चाहन्छन्, र धम्क्याएर तह लगाउन चाहन्छन्, सधैँ उहाँलाई तिनीहरूलाई आशिष् दिन बाध्य पार्न चाहन्छन्, र उहाँले तिनीहरूलाई स्वर्गको राज्यमा प्रवेश गर्न दिनुभएको होस् भनी परमेश्वरमा टाँसिन र उहाँलाई धम्क्याएर तह लगाउन पनि चाहन्छन्। के कुरा यही होइन र? (हो।) परमेश्वरले तँलाई धम्क्याएर तह लगाउनुहुन्न। “धम्क्याएर तह लगाउनु” भन्ने बोलचालको भाषा प्रयोग गर्नु राम्रो त होइन, तर यो अलिक स्पष्ट छ र मानिसहरूलाई बुझ्न सजिलो छ। परमेश्वरले तँलाई कडाइका साथ पकडमा राखिरहनुभएको छैन—तँ स्वतन्त्र छस्। यदि परमेश्वरले तेरो जीवनलाई आदर गर्नुहुन्छ, कदर गर्नुहुन्छ, र बहुमूल्य ठान्नुहुन्छ त्यसकारण तैँले परमेश्वरले तँमा गर्नुहुने यो सबै कामलाई कदर गर्छस् भने, उहाँले तेरो लागि कुनै पनि वातावरण योजनाबद्ध गर्नुहुँदा र मिलाउनुहुँदा तँ उहाँबाट सतर्क हुने, गलतफहमीहरू बोक्ने, उहाँप्रति प्रतिरोधी महसुस गर्ने, वा उहाँलाई इन्कार गर्ने छनौट गर्नु हुँदैन। बरु, तैँले सृजित प्राणीले गर्नुपर्ने कुरा गर्नुपर्छ र सृष्टिकर्ताप्रति सृष्टि गरिएको प्राणीमा हुनुपर्ने मनोवृत्ति अर्थात् समर्पण र स्वीकार देखाउनुपर्छ। होइन र? (हो।) अहिले यो पक्षमा स्पष्ट रूपमा सङ्गति गरिएको छ।
मानिसहरूले परमेश्वरको कामलाई लिने तरिकाले पहिले नै तिनीहरूका एउटा धारणा र कल्पनालाई खुलासा गरिसकेको हुन्छ। यो धारणा र कल्पना के हो? मानिसहरूले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई उहाँले तिनीहरूलाई चालबाजी र नियन्त्रण गर्नुहुने कार्यको रूपमा व्याख्या गर्छन्। के परमेश्वरले यसरी नै काम गर्नुहुन्छ? (गर्नुहुन्न।) मानिसहरूको हृदयभित्र, तिनीहरूलाई परमेश्वरको बारेमा स्पष्ट रूपमा डर लाग्छ। परमेश्वरको बारेमा उल्लेख गर्दा मात्रै पनि, तिनीहरूलाई उहाँ डरलाग्दो हुनुहुन्छ र प्रिय हुनुहुन्न भन्ने लाग्छ। यदि तैँले परमेश्वरका वचनहरू सुन्दैनस् र तँ उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुँदैनस् भने, तैँले उहाँका वचनहरू सुनेर उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित नभएसम्म उहाँ तँसँग रिसाउनुहुनेछ, र उहाँले तँलाई पूर्ण नबनाएसम्म उहाँले हरेस खाउनुहुनेछैन भन्ने तिनीहरूले विश्वास गर्छन्। के यो मानिसहरूमा हुने धारणा होइन र? मानिसहरूले परमेश्वरलाई के भनी कल्पना गर्छन्? के तिनीहरूले उहाँलाई तानाशाहीको रूपमा कल्पना गर्दैनन् र? तिनीहरूले के सोच्छन् भने तैँले उहाँको शासनलाई स्वीकार गर्नुपर्छ, उहाँका नीतिहरूलाई स्वीकार गर्नुपर्छ, र उहाँप्रति आदरणीय हुनुपर्छ र उहाँले तँलाई जे गर्न लगाउनुहुन्छ त्यही गर्नुपर्छ, र तैँले उहाँको पिठ्युँ पछाडि उहाँको बारेमा कुरा गर्नु हुँदैन, र उहाँले तेरो लागि तय गर्नुभएका वातावरणहरूलाई स्वीकार गर्नुपर्छ, र स्वीकार गरिनस् भने, तँलाई दण्डित गरिनेछ र तैँले दण्ड भोग्नेछस्। के परमेश्वरले साँच्चै नै यसरी काम गर्नुहुन्छ त? (गर्नुहुन्न।) परमेश्वरले तँलाई आदर गर्नुहुन्छ र तेरो लागि जिम्मेवारी लिनुहुन्छ। परमेश्वरले सृजित मानवहरूको जीवनलाई कदर गर्नुहुन्छ। मानिसहरू आफ्नो लागि के राम्रो हो भनेर पहिचान गर्नमा असफल हुनु हुँदैन, वा उहाँको दयाप्रति अकृतज्ञ हुनु हुँदैन। यदि तैँले परमेश्वरको दयालाई कदर गर्छस् भने, तैँले उहाँले तय गर्नुभएका वातावरणहरूलाई स्वीकार गर्नुपर्छ र तिनलाई उहाँबाट आएको हो भनेर स्वीकार गर्नुपर्छ। तैँले यसमा रहेका सत्यताहरूलाई स्वीकार नगरे पनि, तैँले ती सत्यता सिद्धान्तहरू नबुझे पनि, र तैँले के अभ्यास गर्नुपर्छ वा के परिवर्तन गर्नुपर्छ भन्ने नबुझे पनि, कम्तीमा पनि तँ परमेश्वरबाट सतर्क हुनु वा उहाँलाई गलत रूपमा बुझ्नु हुँदैन—तैँले हासिल गर्नुपर्ने कुरा यही हो। तैँले यी वातावरणहरूबाट केही प्राप्त नगरे पनि, परमेश्वरका इच्छाहरूलाई गलत रूपमा नबुझ्। परमेश्वरले तँबाट केही कुरा प्राप्त गर्ने प्रयास गरिरहनुभएको छैन। तँ सानो सृजित प्राणी मात्रै होस्, त्यसकारण परमेश्वरले तँबाट के प्राप्त गर्न खोज्नुहुन्छ र? आज तेरो जीवन र तैँले आनन्द लिने सबै कुरा परमेश्वरले तँलाई दिनुभएको हो, त्यसरी नै तैँले बुझेको थोरै धर्मसिद्धान्त पनि तँलाई दिइएको नै हो। तेरो स्वतन्त्र इच्छा, तेरो क्षमता, तेरा वरदानहरू, र तेरा ठूला-साना दुवै क्षमता र सीपहरू सबै परमेश्वरले तँलाई दिनुभएको हो। परमेश्वरले तँबाट के कुरा प्राप्त गर्न खोज्नुपर्छ र? यदि उहाँले तँमा सत्यता लागू गरेर तँलाई उहाँमा समर्पित हुन र उहाँको डर मान्न लगाउनुभएपछि परमेश्वरले महिमा प्राप्त गर्नुहुन्छ, र परमेश्वरले तँबाट यही कुरा प्राप्त गर्न खोजिरहनुभएको छ भन्ने तँलाई लाग्छ भने, के तैँले उहाँलाई आफ्ना खराब मापदण्डहरू अनुसार आलोचना गरिरहेको हुँदैनस् र? यो परमेश्वरको विरुद्धमा गरिएको ईश्वरनिन्दा हो, होइन र? (हो।) परमेश्वरले मानिसहरूबाट के महिमा प्राप्त गर्न सक्नुहुन्छ? अन्त्यमा, ठोस फाइदाहरू प्राप्त गर्नेहरू त मानिसहरू आफै हुन्छन्। उहाँले आफ्नो काम पूरा गर्नुभन्दा पहिले नै, महिमा प्राप्त गरिसक्नुभएको हुन्छ, किनभने परमेश्वर स्वयम् नै महिमित हुनुहुन्छ—उहाँको सत्यता र अख्तियार शैतानको हारको प्रमाण हो, र ती सबै नै सकारात्मक कुराहरूको वास्तविकता हुन्। परमेश्वर स्वयम् नै महिमित हुनुहुन्छ, त्यसकारण के उहाँले अझै पनि तँ जस्तो सृष्टि गरिएको सानो प्राणीबाट थोरै महिमा प्राप्त गर्नु आवश्यक छ र? परमेश्वरले मानिसहरूबाट केही कुरा प्राप्त गर्ने प्रयास गर्नुहुन्न। यदि उहाँले कुनै कुरा प्राप्त गर्न खोज्नुहुन्छ भने, यो मानिसहरूलाई अन्तिममा उहाँको व्यवस्थापन योजना अनुसार उहाँका मापदण्डहरू पूरा गर्न सहयोग गर्नु हो, र मानिसहरूले मुक्ति प्राप्त गरेपछि र तिनीहरू परमेश्वर अनुरूप बन्न सकेपछि, उहाँले विश्राम लिनुहुनेछ—मानवजातिको मुक्तिको कारण, परमेश्वरले विश्राम लिनुहुनेछ—परमेश्वरले प्राप्त गर्न खोज्नुहुने कुरा यही हो। त्यसोभए, के अन्तमा ठोस फाइदाहरू प्राप्त गर्ने मानिसहरू नै होइनन् र? मानिसहरूले सत्यता प्राप्त गरेका हुनेछन्, तिनीहरूलाई जीवनमा हराएको महसुस हुनेछैन—तिनीहरूसँग दिशा र मार्ग हुनेछ—र तिनीहरू परमेश्वर अनुरूपका हुनेछन् र तिनीहरूले उहाँको विरुद्धमा विद्रोह गर्न छोड्नेछन्, तिनीहरूलाई उप्रान्त कुनै पनि दुष्ट शक्तिले बन्धनमा पार्नेछैन, तिनीहरू साँचो सृजित प्राणी हुनेछन्, र तिनीहरूले मृत्युको सामना गर्न छोड्नेछन्—त्यो कति ठूलो सम्मानको कुरा हो! सबैभन्दा बढी ठोस फाइदाहरू प्राप्त गर्नेहरू मानव नै हुन्, अर्थात् परमेश्वरको काम र परमेश्वरको मुक्तिलाई स्वीकार गर्ने मानिसहरू। के यो पक्षमा स्पष्ट रूपमा सङ्गति गरिएको छ? यसमा रहेको मानिसहरूको धारणा र कल्पना के हो? (तिनीहरूले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई उहाँले मानिसहरूलाई चालबाजी र नियन्त्रण गर्नुभएको हो भनेर व्याख्या गर्छन्।) यदि हामीले यसको बारेमा सङ्गति नगरेका भए, मानिसहरूको मनमा सधैँ तिनीहरूले व्यक्त गर्न नसक्ने वा व्यवस्थित सिद्धान्तमा नबनिएका केही विचार र दृष्टिकोणहरू हुनेथियो। यी कुराहरूले तिनीहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्ने कार्यप्रति बन्धनमा नपार्ने भए पनि, वा तिनीहरूको दैनिक जीवनमा स्पष्ट रूपमा असर नगर्ने भए पनि, तिनले सत्यता पछ्याउने तिनीहरूको कार्य, परमेश्वरप्रतिको तिनीहरूको मनोवृत्ति, र परमेश्वरसँगको तिनीहरूको सम्बन्धमा गम्भीर असर पार्नेथिए। त्यसकारण, मानिसहरूले त्याग्नुपर्ने कुराहरू यिनै हुन्। यो समस्या समाधान भएपछि, तैँले आफू र परमेश्वरको बीचमा रहेको पर्खाललाई त्यागेको हुनेछस्, र सत्यता पछ्याउने तेरो मार्गमा रहेको एउटा बाधा हटाइएको हुनेछ, जसले गर्दा तँलाई सत्यता पछ्याउन सजिलो हुनेछ। जब वास्तविक कठिनाइहरू समाधान हुन्छन्, तब तँ र परमेश्वरको बीचमा रहेका पर्खाल र बाधाहरू घट्नेछन्, ताकि तैँले आफ्नो कर्तव्य अझै सहजै निर्वाह गर्न र सत्यताको अभ्यास गर्न सक्न सक्छस्। यो त युद्ध क्षेत्रमा जानु जस्तै हो—युद्धमा जाँदा हल्का भारी बोक्नु राम्रो हो कि गह्रौँ भारी बोक्नु राम्रो भन्ने तिमीहरूलाई लाग्छ? कुनचाहिँ अलिक बढी सहज हुन्छ? (हल्का भारी बोकेर युद्धमा जानु।) हल्का भारी बोकेर युद्धमा जानका लागि, पिठ्युँमा हतियार बोकेर जानु नै पर्याप्त हुन्छ—त्यो सरल र सजिलो हुन्छ। यदि त्यस बाहेक, यदि तैँले भाँडो र सरसामान, वा सौन्दर्य साधन र फिट्नेस् उपकरणहरू बोकेको छस् भने, भारी अत्यन्तै गह्रौँ हुनेछ; यति धेरै कुरा लडाइँमा बोकेर जाँदा तँलाई पीडादायी हुनेछ, र लडाइँ गर्न असहज हुनेछ। यी धारणा र कल्पनाहरू मानिसहरूले बोक्ने फरक-फरक प्रकारका बोझहरू जस्तै हुन्, र तिनीहरू जहाँ गए पनि तिनीहरूसँग रहने समस्या र बोझहरू हुन्। छोटकरीमा भन्दा, बेला-बेलामा यी कुराहरूले तँलाई असर गर्नेछन् र सत्यता पछ्याउन र अभ्यास गर्नबाट तँलाई बाधा दिनेछन्। जब कुनै ठूला समस्याहरू हुँदैनन्, तब तँसँग कुनै ठूला समस्याहरू छैनन् जस्तो देखिनेछ। तर सिद्धान्तका ठूला समस्याहरू देखा परेपछि, तँसँग तँलाई परमेश्वरबाट अलग गर्ने यी कुराहरूको एउटा पर्खाल हुनेछ। जब यी कुराहरू बाहिर आउँछन्, तब तँलाई परमेश्वरसँगको तेरो सम्बन्धमा समस्या छ, तँ र परमेश्वरको बीचमा द्वन्द्व छ भन्ने महसुस हुनेछ; परमेश्वरमाथिको तेरो विश्वासको हृदय त्यति शुद्ध हुनेछैन, र तँसँग धेरै कठिनाइहरू हुनेछन्। तर जब तैँले यी कुराहरूलाई त्यागिदिन्छस्, तब तँलाई राम्रो लाग्नेछ, तेरो हृदय ढुक्क हुनेछ र मुक्त हुनेछ, र बन्धन वा नियन्त्रणमा पर्न छोड्नेछ। बेला-बेलामा यी कुराहरू तेरो अवचेतन मन वा विचारहरूमा देखा पर्ने भए पनि, तैँले ती कुराहरूलाई आधारभूत रूपमा समाधान गरिसकेको हुनेछस्, र जब तैँले फेरि कामहरू गर्नेछस्, तब तँलाई ती काम गर्दा निकै सहज हुनेछ र तैँले ती काम अझै सरल रूपमा गर्नेछस्। यी धारणा र कल्पनाहरूले अझै पनि तेरो मनको गहिराइमा सूक्ष्म प्रभाव पार्न सक्ने भए पनि, कम्तीमा पनि तैँले ती सकारात्मक कुराहरू होइनन् भन्ने कुरालाई आफ्नो व्यक्तिपरक इच्छामा स्पष्ट रूपमा देखेको हुनेछस्, त्यसकारण व्यक्तिपरक रूपमा तैँले तिनलाई त्याग्नेछस् र तिनले तँलाई असर गर्नेछैनन्। यसरी, तैँले आफू र परमेश्वरको बीचमा रहेको यो पर्खाललाई लगभग त्यागेको हुनेछस् र समाधान गरेको हुनेछस्।
हामी प्रायजसो सत्यता पछ्याउने विषयमा यसरी सङ्गति गर्छौं। के तिमीहरूले सत्यता पछ्याउनुको महत्त्वलाई महसुस गर्न सक्छौ? जब तिमीहरूलाई तिमीहरूसँग परिचित रहेका तिमीहरूका वरिपरिका मानिसहरूलाई मण्डलीले सम्हालेका, कतिलाई सफाइ गरिएको वा निष्कासित समेत गरिएको तिमीहरूले देख्यौ, तब के तिमीहरूले यसको बारेमा कुनै विचार गरेका थियौ? के तिमीहरूले यसबाट कुनै अनुभव वा पाठहरू प्राप्त गर्यौ? समूह खमा सारिएका अनि हटाइएका मानिसहरूका मुख्य समस्याहरू के-के हुन्? (जब मैले मसँग परिचित रहेका मेरो वरिपरिका कतिपय मानिसहरूलाई समूह खमा स्थानान्तर गरिएका वा निकालिएका देखेँ, तब यसले मेरो हृदय र मनमा हलचल मच्चायो। तिनीहरूले परमेश्वरमा विश्वास गरेको धेरै वर्ष भएको भए पनि, तिनीहरूले वास्तवमा सत्यता पछ्याउँदैनन्, र यदि मैले पनि परिस्थितिहरू आइपर्दा सत्यता पछ्याइनँ र सत्यताको खोजी गरिनँ भने, मलाई पनि अन्तिममा तिनीहरूलाई जस्तै हटाइनेछ।) यी मानिसहरूलाई सम्हाल्ने बारेमा परमेश्वरको घरका सिद्धान्तहरू के-के थिए भन्ने तँलाई थाहा छ? के तिनीहरू कमजोर मानवता भएकाले र तिनीहरूले सत्यता नपछ्याएकोले, र तिनीहरू अप्रिय लागेकोले मात्रै परमेश्वरको घरले तिनीहरूलाई हटाएको हो? (होइन।) त्यसोभए, के ठेगान नलगाइएका सबै मानिसहरूको मानवतामा कुनै समस्या हुँदैन, तिनीहरू सबैले सत्यतालाई प्रेम गर्छन्, सत्यता पछ्याउँछन्, र तिनीहरू सत्यतामा समर्पित हुन सक्छन्, र तिनीहरूले परमेश्वरलाई प्रेम गर्न र डर मान्न सक्छन् भन्ने हो? के कुरा त्यही हो? (होइन।) के ती मानिसहरूले सत्यतालाई प्रेम नगर्ने र यसलाई वितृष्ण गर्ने हुनाले मात्रै परमेश्वरको घरले ती मानिसहरूलाई सफाइ गरेको वा समूह खमा सारेको हो? के तिनीहरू कमजोर मानवताका भएकाले र तिनीहरूले सत्यतालाई स्वीकार गर्न पूर्ण रूपमा इन्कार गरेकाले, वा तिनीहरूको खराब रूप वा केही अस्थायी अपराधको कारण तिनीहरूलाई ठेगान लगाइएको हो? के परमेश्वरको घरले मानिसहरूलाई सम्हाल्ने सिद्धान्त यही हो? (होइन।) के कसैले सत्यता नपछ्याएकोले नै परमेश्वरको घरले उसलाई तह लगाउँछ, कर्तव्य पूरा गर्नबाट अयोग्य तुल्याउँछ, र निकाल्छ भन्ने हो? (होइन।) त्यसोभए यसले किन यी मानिसहरूलाई ठेगान लगाएर हटायो? (किनभने तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गरेनन् र तिनीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याए, जसले गर्दा परमेश्वरको घरको काममा गम्भीर घाटा भयो।) के मुख्य कारण यही थियो? (हो।) अरू के-कस्ता कारणहरू थिए? के निरन्तर झूटो बोलेकोमा कसैलाई कहिल्यै हटाइएको छ? (छैन।) के कसैले कहिल्यै सत्यतालाई प्रेम नगरेको र सत्यताप्रति वितृष्ण गरेको कारण उसलाई हटाइएको छ? के आफ्नो कर्तव्य पूरा गर्दा बेइमानी भएकोले कसैलाई कहिल्यै हटाइएको छ? (छैन।) के यी मानिसहरूलाई हटाइएको कुरा दुःखको कुरा हो भन्ने तँलाई लाग्छ? के तिनीहरूमध्ये कसैलाई अन्याय गरिएको थियो? (थिएन।) अवश्य नै तिनीहरूमध्ये कसैलाई पनि अन्याय गरिएको थिएन। यी मानिसहरूले गरेका दुष्ट कार्यहरूका अनुसार त, तिनीहरू आत्मिक क्षेत्रमा जाँदा अठार पटक मर्न लायक हुन्छन्, र तिनीहरू सबैलाई दण्ड दिइनु नै पर्छ—मर्ने फेरि जीवित हुने, फेरि दण्डित हुने, फेरि मर्ने, फेरि जीवित हुने, र फेरि दण्डित हुने, अनि फेरि मर्ने—तिनीहरू जम्मा अठार पटक मर्न लायक हुन्छन्। तिनीहरूले धेरै दुष्ट कार्यहरू गरेका हुन्छन् र तिनीहरूको पाप घृणित हुन्छन्! त्यसोभए यी मानिसहरूलाई किन ठेगान लगाएर निष्कासित गरियो? किनभने तिनीहरूलाई ठेगान लगाउनुको कुनै विकल्प थिएन—तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गरिरहेका थिएनन्, तिनीहरूले बाधा र अवरोधहरू ल्याइरहेका थिए, र तिनीहरूले कामकुरा कमजोर तुल्याइरहेका थिए! कतिपयले त के समेत सोच्छन् भने यी मानिसहरूलाई झूट बोल्न मन पराउने भएकाले र तिनीहरूमा कमजोर मानवता भएकाले, वा तिनीहरूले हैसियत र शक्तिका लागि प्रतिस्पर्धा गर्ने र आफ्नो कर्तव्य निर्वाह गर्दा बफादार नहुने हुनाले तिनीहरूलाई तह लगाइएको हो भन्ने समेत सोच्छन्; अरू भ्रमित मानिसहरूले तिनीहरूले सत्यतालाई प्रेम नगर्ने र सत्यता नपछ्याउने हुनाले यस्तो भएको हो भनेर भन्छन्। त्यसोभए, के तिमीहरूले सत्यतालाई प्रेम गर्छौ? के नहटाइएका सबै मानिसहरूले सत्यतालाई प्रेम गर्छन् र सत्यता पछ्याउँछन्? (पछ्याउँदैनन्।) यीमध्ये कुनै पनि कुरा तथ्यहरू होइनन्। वास्तवमा, यी मानिसहरूलाई ठेगान लगाइयो र निष्कासित गरियो किनभने आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामा, तिनीहरूले बाधा र अवरोधहरू ल्याउने र विभिन्न कुराहरूलाई कमजोर बनाउने भूमिका खेलेका थिए, तिनीहरूले शैतान र दियाबलसहरू र ठूलो रातो अजिङ्गरले गर्न चाहेका तर गर्न नसकेका कुराहरू गरे, यसरी तिनीहरूले परमेश्वरको घरका प्रशासनिक आदेशहरूलाई गम्भीर रूपमा उल्लङ्घन गरे र परमेश्वरलाई गम्भीर रूपमा रिस उठाए। तिनीहरूलाई हटाउनुको कुनै विकल्प नगरेको कारण मात्रै तिनीहरूलाई हटाइएको हो। परमेश्वरको घर मानिसहरूप्रति निर्दयी र कठोर छ भन्ने होइन, र परमेश्वरले मानिसहरूलाई मौका दिनुहुन्न भन्ने होइन। बरु, ती मानिसहरू आफ्नो व्यवहारमा हदभन्दा बढी भए, बाधा र अवरोधहरू ल्याए, र तिनीहरूले मण्डलीको काममा ल्याएका घाटाहरू अत्यन्तै ठूला थिए। तिनीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका थिएनन्, र तिनीहरूले परिश्रम समेत गरिरहेका थिएनन्; तिनीहरूले बाधा र अवरोधहरू ल्याइरहेका थिए, र तिनीहरूले दुष्कर्म गरिरहेका थिए। परमेश्वरका चुनिएका कुनै पनि व्यक्तिलाई मण्डलीमा यस्ता मानिसहरू आएको मन पर्दैन। यदि तैँले मण्डलीमा गिल्ला गर्ने कुरा भनिस् वा झूट बोलिस् भने, यो तेरो व्यक्तिगत व्यवहार मात्रै हो, यति मात्रै हो कि तैँले सत्यतालाई प्रेम गर्दैनस् र सत्यता पछ्याउँदैनस्, र यसले बाधा वा अवरोध ल्याउँदैन भने, कसैले पनि तँलाई तह लगाउनेछैन; यदि कहिलेकहीँ तँ आफ्नो कर्तव्य निर्वाह गर्दा अलिक झाराटारुवा हुन्छस्, तर प्रायजसो तँ प्रभावकारी हुन्छस् भने, तैँले बाधा वा अवरोध पैदा गर्दैनस् भने, परमेश्वरको घरले तँलाई बस्ने र कर्तव्य निर्वाह गर्ने मौका दिनेछ, र सिद्धान्तहरू अनुसार तँसँग व्यवहार गर्नेछ। तैपनि, यी मानिसहरूले बाधा र अवरोधहरू ल्याए। तिनीहरूले लापरवाह रूपमा दुष्कर्म गरे, र तिनीहरूले हरेक हिसाबमा सिद्धान्तहरू उल्लङ्घन गरे, जसले गर्दा ठूलो अन्योलता पैदा भयो; मण्डलीको कामका सबै पक्षहरू कमजोर भए, र धेरै दाजुभाइ-दिदीबहिनीहरूले निर्वाह गरेका कर्तव्यका फलहरू पूर्ण रूपमा खेर गए। तिनीहरूको बाधा र अवरोधहरूका परिणामहरू अत्यन्तै गम्भीर हुन्छन्, र तिनलाई समाधान गर्न अनगिन्ती अरू मानिसहरूलाई अनगिन्ती घण्टा लाग्छ, त्यसकारण यी मानिसहरूलाई हटाइनु नै पर्थ्यो! यसरी मात्रै दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य सामान्य रूपमा पूरा गर्न र असल परिणामहरू हासिल गर्न सकून् भनेर तिनीहरूलाई रक्षा गर्न सकिन्थ्यो। यी दुष्ट मानिसहरू र ख्रीष्ट-विरोधीहरूलाई हटाएर मात्रै दाजुभाइ-दिदीबहिनीहरूका लागि काम गर्ने र जिउने उचित वातावरण सिर्जना गर्न सम्भव भयो। यदि यी दुष्ट मानिसहरू र ख्रीष्ट-विरोधीहरू मण्डलीमा नै बसे भने, तिनीहरू एक किसिमको पीडा मात्रै हुनेथिए, र तिनीहरू जहाँ गए पनि फोहोरी र भताभुङ्ग वातावरण र अराजकता हुनेथियो। तिनीहरूले गरेको कुनै पनि कुराले श्रमको मापदण्ड समेत पूरा गर्दैनथियो। तिनीहरूले बाधा दिने, कमजोर पार्ने, र तोड्ने काम मात्रै गर्थे। तिनीहरूले गर्ने सबै कुरा मण्डलीको काम र मण्डली जीवनमा बाधा र अवरोध ल्याउनका लागि थियो। के तिनीहरू शैतानका सेवकहरू होइनन् र? के त्यस्ता मानिसहरू मण्डलीमा रहन सक्छन्? तिनीहरू साधारण भ्रष्ट मानिसहरू होइनन्, तर शैतानका सेवकहरू हुन्! यी मानिसहरूले के गरे? तिनीहरूले परमेश्वरका भेटीहरू उडाए र गैर-विश्वासीहरूलाई विनासर्त दिए—तिनीहरूले गैर-विश्वासीहरूलाई अत्यन्तै उदारताको साथ पैसा दिन्थे, र तिनीहरूले नमागे पनि जबरजस्ती तिनीहरूलाई दिन्थे। जब तिनीहरूले गैर-विश्वासीहरूलाई केही काम गर्न लगाउँथे र गैर-विश्वासीहरूले सय डलरले पुग्छ भनेर भन्थे, तब तिनीहरूले तीन सय डलर दिन जिद्दी गर्थे, र जब गैर-विश्वासीहरूले तीन सय डलर माग्थे, तब पाँच सय डलर तिर्न जिद्दी गर्थे, र गैर-विश्वासीहरूलाई ज्याला तिरेपछि पनि थप बोनस समेत दिन्थे। जति धेरै भेटी खर्च गरिए पनि, तिनीहरूले यसको बारेमा माथिलाई सोध्दैनथिए, बरु आफै निर्णय गर्थे। तिनीहरूले जुनसुकै काम गरे पनि, तिनीहरूले यसलाई परमेश्वरको घरका कामका बन्दोबस्तहरू अनुसार, वा परमेश्वरको घरले दिएका सिद्धान्तहरू अनुसार पूरा गर्दैनथिए, र अवश्य नै, तिनीहरूले यसलाई सत्यता सिद्धान्तहरू अनुसार पूरा गर्दैनथिए। तिनीहरूले परमेश्वरको घरका हितहरूको रक्षा नगरी आफ्नै इच्छाहरूलाई पछ्याउँथे र आफूलाई जे मन लाग्यो त्यही गर्थे। तिनीहरूले परमेश्वरको घरका हितहरूको रक्षा गर्नुभन्दा गैर-विश्वासीहरूको रक्षा गर्थे, र तिनीहरूले जताततै परमेश्वरका भेटीहरू बरबाद गर्थे। के त्यो तिनीहरूले कमाएको पैसा थियो? गैर-विश्वासीहरूलाई बोनस र उपहार दिने कार्यमा तिनीहरूले पटक्कै कन्जुस गर्थेनन्, र कसैलाई पनि तिनीहरूसँग असहमत हुन दिँदैनथिए, र तिनीहरूसँग असहमत हुने जोकोहीलाई तिनीहरूले हप्काउँथे। के तँलाई यस्ता मानिसहरू परमेश्वरमा विश्वास गर्ने र परमेश्वरलाई पछ्याउने मानिसहरू हुन् भन्ने लाग्छ? तिनीहरू मैला हुन्, होइनन् र? के यस्ता मानिसहरूलाई हटाउनुपर्छ? (पर्छ।) यी मानिसहरूले अरू के-कस्ता दुष्कर्महरू गरे? सुसमाचार प्रचार गर्दा तिनीहरूले परमेश्वरको घरलाई छल गर्नका लागि झूटा सङ्ख्याहरू टिपोट गर्थे, र झूटा सङ्ख्याहरू टिपोट नगर्ने जोकोहीलाई निर्दयी रूपमा कष्ट दिन्थे र दमन गर्थे। तिनीहरूले अरूलाई झूटा सङ्ख्याहरू टिपोट गर्न जबरजस्ती गर्थे, र तिनीहरूलाई त्यसो गर्ने बाहेक अरू कुनै विकल्प दिँदैनथिए। तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? के तिनीहरू मानिसहरू समेत हुन् त? यदि तैँले तिनीहरू कमजोर मानवता भएका मानिसहरू मात्रै हुन्, तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, र सत्यता पछ्याउँदैनन् भनेर भनिस् भने, के यो अभिव्यक्ति सही हुन्छ? के यो व्यर्थको कुरा हुँदैन र? (हुन्छ।) तिनीहरूले सत्यतालाई प्रेम नगर्ने र सत्यता नपछ्याउने मात्र होइन, तर तिनीहरूसँग सामान्य मानवता समेत हुँदैन, सत्यतालाई प्रेम गर्ने र पछ्याउने कुरा त परै जाओस्—तिनीहरू त दियाबलसहरू जस्तै हुन्! अहिले तिमीहरूले यो कुरा स्पष्ट रूपमा देख्यौ, होइन र? (हो।) यी मानिसहरूको प्रकृति के हो? (दियाबलसहरूको प्रकृति।) तिनीहरूमा दियाबलसहरूको प्रकृति हुन्छ। हटाइएपछि, यी मानिसहरू अवज्ञाकारी बने, र तिनीहरूलाई अन्यायमा परेको महसुस समेत भयो, र तिनीहरूले यसो भने, “म निर्दोष छु, मैले त्यसो गरेको छैनँ!” तथ्यहरू तिनीहरूको आँखा अगाडि हुन्थे, तर तिनीहरूले यसलाई स्वीकार गर्न मान्थेनन् र जिद्दी भएर आफ्नो बहानामा समेत लागिरहन्थे र तिनीहरू अन्त्यसम्मै अवज्ञाकारी नै बने; के यसले तिनीहरूलाई सफाइ गर्नु सही थियो भन्ने प्रमाणित गर्दैन र? यदि यस्ता मानिसहरूलाई हटाइएन भने परिणामहरू के हुनेछन्? के तिनीहरूले पश्चात्ताप गर्नेछन्? तैँले तिनीहरूलाई कर्तव्य पूरा गर्न जारी राख्ने मौका दिए पनि र तिनीहरूलाई काट-छाँट मात्रै गरिस् भने पनि, के तिनीहरूले पश्चात्ताप गर्न र तिनीहरू सुधार हुन सक्छन्? (अहँ, सक्दैनन्।) तिनीहरूले कुनै पनि हालतमा पश्चात्ताप गर्न सक्दैनन्। यो कस्तो प्रकृति सार हो? कस्तो प्रकारका मानिसहरूले पश्चात्ताप गर्न सक्दैनन्, र तथ्यहरूको सामना गर्दा पनि पश्चात्ताप गर्दैनन्? (दियाबलसहरूले।) दियाबलसहरू, शैतानको सार भएका मानिसहरू, दुष्ट आत्माहरू, र फोहोरी पिशाचहरूले पश्चात्ताप गर्नेछैनन्; तैँले सत्यतामा जसरी सङ्गति गरे पनि, तिनीहरूले पश्चात्ताप गर्नेछैनन्। तिनीहरूले आफ्नो दुष्कर्मका तथ्यहरूलाई समेत स्वीकार गर्दैनन्, त्यसकारण के तिनीहरूले सत्यतालाई स्वीकार गर्न र आफूलाई चिन्न सक्छन् त? तिनीहरूले अवश्य नै त्यसो गर्दैनन्! यदि तिनीहरूले आफ्नो दुष्कर्मका तथ्यहरूलाई स्वीकार गर्न सक्थे भने, तिनीहरूले सत्यतालाई स्वीकार गर्ने मौका पाउनेथिए, तर तिनीहरूले तथ्यहरूलाई समेत स्वीकार गर्दैनन्, र आफ्ना कार्यहरूको प्रकृतिलाई मानिलिने वा स्वीकार गर्ने गर्दैनन्—त्यस्ता मानिसहरूले पश्चात्ताप गर्न सक्दैनन्। तिनीहरू सदोमीहरू जस्तै हुन्—यदि तैँले सदोमीहरूलाई “यदि तिमीहरूले पश्चात्ताप गरेनौ भने, परमेश्वरले यो सहरलाई नष्ट गर्नुहुनेछ” भनेर भनेको भए, के तिनीहरूले यसलाई स्वीकार गर्नेथिए? यी शब्दहरू सुनेपछि तिनीहरूको मनोवृत्ति कस्तो हुनेथियो? तिनीहरूले कुरा सुनेका छैनन् जस्तो व्यवहार गर्थे र कुनै पश्चात्ताप नगरी आफ्नै चासो अनुसार काम गरिरहन्थे, आफूलाई जे मन लाग्यो त्यही गर्थे। त्यसकारण, तिनीहरूको अन्तिम परिणाम स्वरूप, तिनीहरू नष्ट भए। मण्डलीमा बाधा र अवरोधहरू ल्याउने यी मानिसहरूका हकमा भन्दा, परमेश्वरले तिनीहरूलाई अवसर दिनुभयो र पनि तिनीहरूले तिनलाई कदर गरेनन् वा पश्चात्ताप गरेनन्, र तिनीहरूले परमेश्वरको अन्त्यसम्मै विरोध गर्न जिद्दी गरे। यी मानिसहरूसँग कुनै विवेक वा समझ हुँदैन—के तिनीहरू दया पाउन लायक हुन्छन्? (अहँ, हुँदैनन्।) के यी मानिसहरूको रक्षा गर्नेहरूमध्ये दया पाउन लायक कोही हुन्छ? के तिनीहरूलाई आदर गर्ने, तिनीहरूले धेरै वर्ष कष्ट भोगेका छन् र मूल्य चुकाएका छन्, र तिनीहरूले अत्यन्तै परिश्रम र अत्यन्तै लगनशीलताको साथ काम गरेका छन्, र तिनीहरूमध्ये कतिसँग निकै राम्रो क्षमता छ, र तिनीहरूसँग काम गर्ने ठूलो क्षमता र नेतृत्वको सीप छ, र तिनीहरूलाई निकालिएकोमा पछुतो लागेको छ भन्ने महसुस गर्ने कोही छ? के यो दया हो? (अहँ, होइन।) यो दयाको कुरा होइन, जसको अर्थ तिनीहरूलाई निकाल्नु सही कुरा थियो। यी मानिसहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् कि सक्दैनन् र तिनीहरूले कुन मार्गमा हिँडिरहेका छन् भन्ने कुरा मात्रै अवलोकन गरेर हेर। यदि मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्दा बाधा वा अवरोधहरू समेत ल्याए भने, तिनीहरू मानवजातिको मैला हुन्! सृजित प्राणीले आफ्नो कर्तव्य निर्वाह गर्नु सही कुरा हो, र त्यो कर्तव्य जेसुकै भए पनि, तिनीहरूले आफ्नो जिम्मेवारी पूरा गर्नु नै पर्छ। यदि तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा मापदण्ड अनुरूप हुँदैन भने पनि, तिनीहरूले कम्तीमा पनि बाधा र अवरोधहरू पैदा गर्नु हुँदैन! बाधा र अवरोधहरू ल्याउनु शैतानले गर्ने कुरा हो; यो भ्रष्ट मानिसहरूले गर्ने कुरा हुनु हुँदैन। भ्रष्ट मानिसहरूलाई शैतानले भ्रष्ट तुल्याएको छ र तिनीहरूले परमेश्वरको विरोध नगरी बस्न सक्दैनन्; तैपनि, सामान्य मानवता, विवेक, र समझ भएका मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा जानी-जानी बाधा र अवरोधहरू पैदा गर्दैनन्। किनभने तिनीहरूको विवेक र समझले तिनीहरूलाई बन्धनमा पार्छ, त्यसकारण तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने प्रक्रियामा परमेश्वरको घरको काममा बाधा, अवरोध पुर्याउँदैनन्, वा त्यसलाई कमजोर पार्दैनन्। व्यक्तिले मापदण्ड अनुरूप आफ्नो कर्तव्य निर्वाह गर्न नसके पनि, यसलाई औसत मापदण्ड अनुसार निर्वाह गर्नु उचित हुन्छ, र यसले कम्तीमा पनि विवेक र समझको मापदण्ड पूरा गर्छ। तैपनि, यी मानिसहरूले यो मापदण्ड समेत पूरा गर्न सक्दैनन्, त्यसकारण अन्तमा तिनीहरू यस विन्दुमा मात्रै पुग्न सक्छन्—तिनीहरूले गरेका धेरै दुष्ट कार्यहरूका कारण तिनीहरूलाई परमेश्वरको घरबाट निकालिन्छ वा निष्कासित गरिन्छ। यी मानवजातिका मैला हुन्!
यसपछि, हामी “आफू र परमेश्वरको बीचमा रहेका पर्खालहरू र परमेश्वरप्रतिको आफ्नो शत्रुतालाई त्याग्नु” भन्ने विषयमा रहेका धारणा र कल्पनाहरूका समस्याहरूका बारेमा कुरा गरौँ, जुन सत्यता कसरी पछ्याउने भन्ने अभ्यासभित्र पर्ने “त्याग्नु” को तेस्रो विषयवस्तु हो। हामीले परमेश्वरको कामको बारेमा रहेका कतिपय मानिसहरूका धारणा र कल्पनाहरूका बारेमा कुरा गरेका छौं। अहिले यसलाई हेर्दा, के मानिसहरूमा परमेश्वरको कामको बारेमा अरू केही धारणा र कल्पनाहरू हुँदैनन् र? के यी धारणा र कल्पनाहरूले मानिसहरूले परमेश्वरको कामलाई कसरी लिन्छन्, तिनीहरूले परमेश्वरको कामलाई कसरी अनुभव गर्छन्, र तिनीहरूले परमेश्वरको कामलाई कसरी बुझ्छन् र चिन्छन् भन्ने कुरामा असर गर्नेछन्? मण्डलीमा देखा पर्ने विभिन्न प्रकारका मानिसहरूका बीचमा, एउटा प्रकार भनेको दुष्ट मानिसहरू र ख्रीष्ट-विरोधीहरू हुन्। तिनीहरूले गरेको जुनसुकै दुष्कर्मले गर्दा तिनीहरूलाई तह लगाइएको भए पनि, र मण्डलीले तिनीहरूलाई जुनसुकै मामलामा निकालेको वा निष्कासित गरेको भए पनि, परमेश्वरको घरले अविश्वासी, दुष्ट मानिसहरू, र ख्रीष्ट-विरोधीहरूलाई सफाइ गर्यो भन्ने बारेमा निश्चित धारणाहरू राख्ने मानिसहरू सधैँ हुन्छन्, र यी धारणा र कल्पनाहरू तिनीहरूसँग परमेश्वरको काम वा परमेश्वरको सार्वभौमिकताको बारेमा कुनै बुझाइ नभएकोले आएका हुन्छन्। मानिसहरूका धारणा र कल्पनाहरूमा, मण्डली भनेको परमेश्वरले पृथ्वीमा काम गर्नुहुने ठाउँ हो, त्यसकारण मण्डली मानिसहरूले परमेश्वरको सार्वभौमिकता देख्ने सबैभन्दा प्रत्यक्ष ठाउँ हो, र परमेश्वरको सार्वभौमिकता प्रकट हुने सबैभन्दा प्रत्यक्ष र स्पष्ट ठाउँ यही हो भनेर पनि भन्न सकिन्छ। तैपनि, यस ठाउँमा, मानिसहरूले प्रायजसो तिनीहरूका धारणाहरूसँग नमिल्ने कतिपय मानिस, घटना, र परिस्थितिहरू देखा पर्छन् भन्ने देख्छन्। मानिसहरूले आफ्ना धारणाहरूमा के सोच्छन् भने, मण्डली परमेश्वरको कामसँग सम्बन्धित ठाउँ भएको हुनाले, यो मित्रता र शान्ति, प्रेम र सहनशीलता, र आनन्द र सहजताले भरिएको मौन र शान्त ठाउँ हुनुपर्छ। तिनीहरूले के विश्वास गर्छन् भने दुष्ट मानिसहरू र ख्रीष्ट-विरोधीहरू जस्ता व्यक्तिहरू कहिल्यै पनि मण्डलीमा देखा पर्नु हुँदैन, र दुष्ट मानिसहरूले दुष्कर्म गर्ने घटनाहरू हुनु हुँदैन। अनि तिनीहरूले के सोच्छन् भने परमेश्वरको सार्वभौमिकतामा, मण्डलीमा सत्यता सिद्धान्तहरू उल्लङ्घन हुनुको कुनै घटना हुनु हुँदैन, मानव इच्छा, मानव भावनाहरू, र मानवतासँग नमिल्ने व्यवस्था विहीन मानिसहरू वा कुनै पनि प्रकारका व्यवस्था विहीन कुराहरू हुनु त परको कुरा हो। तिनीहरूले के विश्वास गर्छन् भने मण्डलीमा सबै कुरा मौन, शान्त, मनमोहक, सकारात्मक, आशावादी, र उत्थानात्मक हुनुपर्छ, र मानवजातिका आवश्यकताहरू अनुरूप नभएका कुनै झगडा, वा कुनै घृणित वा कुरूप कुराहरू समेत हुनु हुँदैन। यी सबै मानिसहरूका धारणाहरू हुन्। तैपनि, तथ्यहरू मानिसहरूका धारणा र कल्पनाहरूसँग मिल्दैनन्। अवधि वा कामको चरण जेसुकै भए पनि, मण्डलीमा, कतिपय दुष्ट मानिसहरू र ख्रीष्ट-विरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध ल्याउने, परमेश्वरको घरको कामका निश्चित पक्षहरूलाई तोड्ने, मण्डलीको कामको सुव्यवस्थामा बाधा र अवरोध ल्याउने, र अरू त्यस्ता कुराहरूका घटनाहरू सधैँ देखा पर्छन्। जब यी कुराहरू देखा पर्छन्, तब मानिसहरूलाई यो असोचनीय छ भन्ने लाग्छ, र तिनीहरूको हृदय विवशता, गैरबुझाइ, र अन्योलताले भरिएको हुन्छ, र तिनीहरूले सोच्छन्, “के परमेश्वर साँच्चै अस्तित्वमा हुनुहुन्छ? परमेश्वरले मानवजातिमाथि कसरी सार्वभौमिकता राख्नुहुन्छ र आफ्नो मण्डलीलाई कसरी शासन गर्नुहुन्छ, आफ्नो घरलाई कसरी शासन गर्नुहुन्छ? परमेश्वर साँच्चै नै यसप्रति चिन्तित हुनुहुन्छ कि हुनुहुन्न? परमेश्वर कहाँ हुनुहुन्छ? जब यी अन्यायपूर्ण कुराहरू घट्छन् र जब दुष्ट मानिसहरू देखा पर्छन् र तिनीहरूले बाधाहरू ल्याउँछन्, तब किन तिनीहरूलाई रोक्न कोही पनि अघि सर्दैन, र परमेश्वर पनि अघि बढेर तिनीहरूलाई रोक्नुहुन्न? वास्तवमा के भइरहेको छ? के मण्डली परमेश्वरको घर होइन र? के परमेश्वरलाई पछ्याउनेहरू उहाँका चुनिएका मानिसहरू होइनन् र? परमेश्वरले किन आफ्नो घरको रेखदेख वा रक्षा गर्नुहुन्न? परमेश्वरले किन आफ्ना चुनिएका मानिसहरूलाई सुरक्षित राख्नुहुन्न ताकि तिनीहरू सुरक्षित ठाउँमा, आश्रयस्थानमा शान्तिपूर्वक बस्न सकून्?” मानिसहरूमा हुने यी शङ्का र यो गलतबुझाइ मानिसहरूका विभिन्न धारणाहरूले पैदा गरेका हुन्छन्, होइन र? (हो।) त्यसोभए, यी धारणाहरू मुख्य रूपमा केका बारेमा हुन्छन्? के ती परमेश्वरको काम र परमेश्वरको सार्वभौमिकतासँग सम्बन्धित हुँदैनन् र? दुष्ट मानिसहरूले दुष्कर्म गर्ने र बाधा र अवरोध ल्याउने जस्ता घटनाहरू मण्डलीमा देखा पर्ने हुनाले, र मानिसहरूले यी कुराहरू नबुझ्ने हुनाले, तिनीहरूलाई यी कुराहरूको उत्पत्ति र तिनको अन्तिम परिणाम के हुनेछ भन्ने कुरा पारदर्शी रूपमा देख्न गाह्रो हुन्छ। मानिसहरूले यी कुराहरूलाई पारदर्शी रूपमा देख्न नसक्ने हुनाले, तिनीहरूले परमेश्वरको बारेमा सबै किसिमका विचार, र धारणाहरू विकास गर्छन्। कतिपय मानिसहरूले सोच्छन्, “परमेश्वरको घरले दुष्ट मानिसहरू र ख्रीष्ट-विरोधीहरूलाई प्रेम गर्नुपर्छ। यदि परमेश्वरको घरले तिनीहरूलाई प्रेम देखाएन भने, के यो समाज जस्तै हुनेछैन र? समाजमा, सधैँ मानिसहरूको एउटा समूहले अर्को समूहलाई कष्ट दिइरहन्छ, र यो सबै शक्ति र प्रभावका लागि प्रतिस्पर्धा गर्नका लागि गरिएको हुन्छ। के दुष्ट मानिसहरूलाई निकालेर अनि निष्कासित गरेर परमेश्वरको घरले पनि मानिसहरूलाई कष्ट दिइरहेको हुँदैन र? परमेश्वरको घरमा बस्नु त्यति सुरक्षित छैन! यदि तिमीले साँच्चै नै कुनै सङ्कष्टमय परिस्थितिहरूको सामना गर्यौ भने, तिमी अन्यायमा पर्न र हटाइन सक्छौ, र कसैले पनि तिमीलाई निर्दोष साबित गर्नेछैन! परमेश्वर वास्तवमा कहाँ हुनुहुन्छ? परमेश्वर किन बाहिर आएर केही भन्नुहुन्न वा केही गर्नुहुन्न? हामीलाई तपाईंको अस्तित्व, तपाईंको सर्वशक्तिमान्तालाई देखाउनुहोस्, हामीले तपाईंको सार्वभौमिकतालाई आफ्नै आँखाले हेरौँ, त्यसरी हामीलाई सहज हुनेछ, होइन र?” मण्डलीमा, जब-जब मानिसहरूले आफूले बुझ्न नसक्ने केही घटनाहरू अनुभव गर्छन्, तब-तब तीमध्ये कतिमा असहजता र शङ्का जस्ता भावनाहरू पैदा हुन्छन्, र कतिले यी घटनाहरूबाट जोगिन समेत चाहन्छन्, र अरू नकारात्मकतामा पर्छन्; खास गरी कतिपयले, ख्रीष्ट-विरोधीहरूद्वारा बहकाइएका र ठगिएका हुनाले, आफूलाई त्याग्छन्, र कतिलाई त, तिनीहरू ख्रीष्ट-विरोधीहरूद्वारा बहकाइएका र शोषण गरिएका हुनाले र तिनीहरूका सहकर्मी बनेका हुनाले, मण्डलीले आत्म-चिन्तन गर्नका लागि अलग समेत गरिन्छ वा हटाउँछ। यी सबै कुराहरूलाई बुझ्न नसकिने कुरा ठान्ने बाहेक, मानिसहरूले परमेश्वरको अस्तित्वमा पनि शङ्का गर्छन्। किनभने परमेश्वरमाथिको धेरैजसो मानिसहरूको विश्वासको मुख्य स्रोत भनेको परमेश्वर यावत् थोकमाथि, सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भन्ने तिनीहरूको विश्वास नै हुन्छ। अर्थात्, धेरै मानिसहरूले परमेश्वरले सबै कुरा, यावत् थोक, र मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ भन्ने विश्वास गर्छन्, त्यसकारण तिनीहरूले परमेश्वरको अस्तित्व, र परमेश्वरको पहिचान र सारमा विश्वास गर्छन्। तैपनि, तिनीहरूको वरिपरि हुने यी कुराहरूले गर्दा तिनीहरूले परमेश्वरको सार्वभौमिकतामाथिको आफ्नो विश्वासमा शङ्का गर्न र हिचकिचाउन थाल्छन्, त्यसपछि तिनीहरूले परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्यमा शङ्का गर्न थाल्छन्, र परमेश्वरमाथिको तिनीहरूको विश्वास पनि ढलपलिन थाल्छ, त्यसकारण यो सम्पूर्ण श्रृंखलावद्ध समस्याहरू पैदा हुन्छन्। मानिसहरूमा परमेश्वरको सार्वभौमिकताको बारेमा सबै किसिमका धारणा र कल्पनाहरू हुन्छन्, र यी धारणा र कल्पनाहरू अवश्य नै सत्यता वा तथ्यहरूसँग मिल्दैनन्, बरु ती मानिसहरूको भ्रमपूर्ण अर्थ्याइ वा गलतफहमीहरू हुन्। त्यसकारण, यसपछि हामी तैँले देख्न र अनुभव गर्न सक्ने तेरो वरिपरिका सबै मानिस, घटना, र परिस्थितिहरूमा परमेश्वरले कसरी सार्वभौमिकता राख्नुहुन्छ, यो सबैमाथि परमेश्वरको सार्वभौमिकताका सिद्धान्तहरू के-के हुन्, र उहाँले हासिल गर्ने अभिप्राय राख्नुभएको उद्देश्य के हो भन्ने बारेमा सङ्गति गर्नेछौं।
“परमेश्वरको सार्वभौमिकता” भन्ने शब्दले अत्यन्तै व्यापक विषयवस्तुहरूलाई समावेश गर्छ। व्यापक वातावरणलाई पन्छाएर, मण्डलीको हकमा भन्दा, परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य वास्तविक छ। परमेश्वरको सार्वभौमिकता खोक्रो वाक्यांश होइन, न त यो एउटा घटना मात्रै हो, तर यसका वास्तविक उदाहरणहरू, र वास्तविक परिणामहरू छन्। त्यसोभए मण्डलीमा रहेको परमेश्वरको सार्वभौमिकताका सिद्धान्तहरू के-के हुन्? सुरुमा हामी यसको बारेमा विचार गरौँ: के परमेश्वरसँग कुन-कुन मानिसहरूलाई मण्डलीमा स्वीकार गरिन्छ भन्ने कुराको सार्वभौमिकता हुन्छ र उहाँले ती कुराको बन्दोबस्त गर्नुहुन्छ? (हो, उहाँले गर्नुहुन्छ।) यो खोक्रो कुरा होइन। परमेश्वरको सुसमाचार र परमेश्वरका वचनहरू कुन-कुन मानिसहरूका अघि आउँछन्, र कुन-कुन मानिसहरूले परमेश्वरको कामलाई स्वीकार गर्न सक्छन्, र कुन-कुन मानिसहरू मण्डलीमा प्रवेश गर्न सक्छन्—यी सबै कुरा परमेश्वरले तोक्नुभएको हुन्छ। अहिलेका लागि, हामी यी मानिसहरूको मानवताको बारेमा, र तिनीहरू दुष्ट मानिसहरू हुन् कि होइनन् भन्ने बारेमा कुरा नगरौँ; तिनीहरू मण्डलीमा प्रवेश गर्न पाउनुको अर्थ परमेश्वरले नै यो कुरा तोक्नुभएको हो भन्ने हुन्छ। के परमेश्वरले तोक्नुहुने यो कुरा परमेश्वरको सार्वभौमिकताको एउटा पक्ष हो? (हो।) सर्वप्रथम, हामी एउटा कुरामा निश्चित हुन सक्छौं, जुन के हो भने हरेक व्यक्तिको मण्डली प्रवेश परमेश्वरले तोक्नुभएको हुन्छ। “परमेश्वरले तोक्नु” भन्ने शब्द अलिक अमूर्त सुनिन्छ, त्यसकारण “परमेश्वरले नै अन्तिम निर्णय गर्नुहुन्छ, परमेश्वरले ढोकाको पहरा गर्नुहुन्छ” भनेर मात्रै भनौँ। परमेश्वर नै राज्यको ढोका हुनुहुन्छ र मण्डलीको ढोका पनि हुनुहुन्छ। कस्तो प्रकारका मानिसहरू आधिकारिक रूपमा मण्डलीका, परमेश्वरको घरका सदस्यहरू बन्न सक्छन् भन्ने कुराको हकमा परमेश्वरले ढोकाको पहरा गर्नुहुन्छ। तिनीहरू अविश्वासीहरू भए पनि वा मण्डलीमा घुसपैठ भएका दुष्ट मानिसहरू भए पनि, वा परमेश्वरमा विश्वास गर्न रुचि राख्ने असल मानिसहरू भए पनि वा सत्यतालाई स्वीकार गर्न र परमेश्वरलाई पछ्याउन सक्ने असल मानिसहरू भए पनि, यदि तिनीहरू मण्डलीमा आबद्ध भए र तिनीहरू मण्डलीका सदस्य बने भने, यो कुनै पनि व्यक्तिले निर्णय गर्न सक्ने कुरा होइन, तर यो परमेश्वरको सार्वभौमिकता, बन्दोबस्त, र नियुक्तिले गर्दा भएको हुन्छ। तिनीहरूसँग परमेश्वरमा विश्वास गर्ने निश्चित खोटो नियत वा उद्देश्यहरू भए पनि नभए पनि, वा तिनीहरूको मानवता जस्तो भए पनि, वा तिनीहरूको शिक्षाको स्तर र सामाजिक पृष्ठभूमि जस्तो भए पनि, तिनीहरू मण्डलीमा सहभागी हुन र उहाँको अघि आउन सक्छन् भनेर निर्णय गर्ने परमेश्वर नै हुनुहुन्छ—ढोकाको पहरा गर्ने परमेश्वर नै हुनुहुन्छ। के मानिसहरूले ढोकामा उचित रूपमा पहरा गर्न सक्छन्? (अहँ, सक्दैनन्।) मानिसहरूले यस विषयमा निर्णय गर्न सक्दैनन्, र यो मानिसहरूको इच्छामा निर्भर हुँदैन। उदाहरणका लागि, जब तैँले कुनै व्यक्ति चलाख छ र समाजमा उसको हैसियत छ भन्ने देख्छस्, तब तैँले सोच्छस्, “यो व्यक्ति मण्डली अगुवाको रूपमा परमेश्वरको घरमा आउन सक्यो भने राम्रो हुनेथियो। हाम्रो मण्डलीमा त्यस्ता मानिसहरूको कमी छ।” तर परमेश्वरले तिनीहरूलाई चाहनुहुन्न; उहाँले तिनीहरूलाई उत्प्रेरित गर्नुहुन्न। जब अरू मानिसहरूले तिनीहरूलाई सुसमाचार प्रचार गर्छन् र परमेश्वरका वचनहरूमा सङ्गति गर्छन्, तब तिनीहरूले आफूले सुनेको कुरा बुझ्दैनन्। जब तिनीहरूले अरू कुनै कुरा सुन्छन्, तब तिनीहरूले यसलाई बुझ्न सक्छन्; तिनीहरूले परमेश्वरका वचनहरू सुन्दा मात्रै बुझ्न सक्दैनन्, र तिनीहरू मूर्खहरू जस्तै हुन्छन्—के त्यस्ता मानिसहरू अझै पनि मण्डलीमा प्रवेश गर्न सक्छन्? तिनीहरूलाई आशिष्हरू प्राप्त गर्ने चासो भए पनि, तिनीहरूले आफ्नो हृदय शान्त पार्न सक्दैनन् र परमेश्वरका वचनहरू सुन्दा र सत्यतामा सङ्गति गर्दा तिनीहरू चुपचाप बस्न सक्दैनन्, र दुई-तीन वटा प्रवचन सुनेपछि, तिनीहरू आउन छोड्छन्। त्यस्ता मानिसहरूमा कुनै वास्तविक विश्वास हुँदैन, त्यसकारण के तिनीहरूप्रतिको तेरो असल अभिप्रायले कुनै प्रभाव पार्छ? के तैँले तिनीहरूलाई मण्डलीमा ल्याउन सक्नेछस्? सक्नेछैनस्। त्यस विषयमा परमेश्वरले नै अन्तिम निर्णय गर्नुहुन्छ। परमेश्वरले त्यस्ता मानिसहरूलाई चाहनुहुन्न भनेर भन्नुहुन्छ, र सेवा प्रदान गर्ने कार्यमा होस् वा कुनै भूमिका निर्वाह गर्ने कार्यमा होस्, उहाँले तिनीहरूलाई चाहनुहुन्न। त्यसकारण, यदि तैँले असल अभिप्रायहरू लिएर तिनीहरूलाई आफूसँगै ताने पनि, यो व्यर्थ हुनेछ, र अन्त्यमा, तिनीहरू जानु नै पर्छ। तिनीहरू मण्डलीका सदस्यहरू बन्नु असम्भव हुन्छ; तिनीहरूलाई जुनसुकै व्यक्तिले साथमा ल्याए पनि, यो व्यर्थ हुनेछ। यो मानिसहरूले निर्णय गर्न नसक्ने मामला हो; यो कुरा परमेश्वरले तोक्नुभएको कुरा हो, र परमेश्वरले ढोकामा पहरा गर्नुहुन्छ। कतिपय मानिसहरूसँग सामाजिक हैसियत हुँदैन, तिनीहरू महत्त्वपूर्ण व्यक्तिहरू हुँदैनन्, र तिनीहरू औसत क्षमताका हुन्छन् र तिनीहरू असाधारण देखिँदैनन्, तर तिनीहरू निकै सरल र सीधा हुन्छन्, र तिनीहरूलाई परमेश्वरमाथिको विश्वासका मामलाहरूमा चासो हुन्छ। तिनीहरूसँग जति नै कठिनाइ भए पनि, तिनीहरूलाई परमेश्वरबाट अलग गर्न सकिँदैन, र तिनीहरूको जोश अत्यन्तै ठूलो हुन्छ—यो जोशिलो ऊर्जा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले देख्न पाउँदा खुशी हुने कुरा हो, र परमेश्वरलाई पनि यो देख्दा खुशी लाग्छ—वास्तवमा, तिनीहरू परमेश्वरको आत्माद्वारा उत्प्रेरित भएका हुनाले नै तिनीहरू यति उत्साहित हुन्छन्। तिनीहरू मण्डलीमा प्रवेश गरेपछि र मण्डलीका मानिसहरू सबै असल मानिसहरू हुन्, जसले हरेक दिन परमेश्वरका वचनहरू खाने-पिउने र सत्यतामा सङ्गति गर्ने गरिरहेका छन् भन्ने देखेपछि, तिनीहरूलाई यस कुराले अत्यन्तै प्रोत्साहन दिन्छ र यो जीवनको सही मार्ग हो भन्ने महसुस हुन्छ, त्यसकारण तिनीहरूले सुसमाचार प्रचार गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न थाल्छन् र तिनीहरू परमेश्वरका अनुयायीहरू बन्छन्। तिनीहरूले परमेश्वरमा विश्वास गर्न सक्छन् भनेर कसले निर्णय गर्छ? (परमेश्वरले नै निर्णय गर्नुहुन्छ।) निर्णय गर्ने परमेश्वर नै हुनुहुन्छ। परमेश्वरले तिनीहरूलाई मण्डलीमा प्रवेश गर्न दिनुभएकोले मात्रै तिनीहरूले परमेश्वरमा विश्वास गर्न सक्छन्। यदि परमेश्वरले तिनीहरूमा काम गर्नुभएन र तिनीहरूलाई चलाउनुभएन भने, तिनीहरूले परमेश्वरमा विश्वास गर्न सक्नेथिएनन्, र यदि तिनीहरूलाई जबरजस्ती मण्डलीमा तानियो भने, तिनीहरू ढिलो-चाँडो छोडेर जानुपर्छ। मानिसहरूमा तिनीहरूको अन्तर्निहित गुणभित्र सत्यतालाई स्वीकार गर्ने कुनै क्षमता हुँदैन; तिनीहरूले सत्यतालाई प्रेम गर्न र सत्यतालाई स्वीकार गर्न सक्छन् भन्ने तथ्यले परमेश्वरले तिनीहरूमा काम गर्नुहुन्छ भन्ने कुरालाई प्रमाणित गर्छ। यदि परमेश्वरले तिनीहरूमा काम गर्नुहुन्छ भने, तिनीहरू मण्डलीका सदस्यहरू बन्न सक्छन्—सबै प्रकारका मानिसहरू मण्डलीमा प्रवेश गर्ने पूर्वसर्त यही हो, र परमेश्वरले तिनीहरूलाई चाहनुहुने पूर्वसर्त यही हो। तिनीहरूले मण्डलीमा जुनसुकै भूमिका खेले पनि, कुनै पनि हालतमा, परमेश्वरले आफ्नो घरको ढोकामा पहरा गर्नुहुन्छ। यदि उहाँले तिनीहरूलाई प्रवेश गर्न दिनुभएन भने, तिनीहरू ढोकाभन्दा बाहिर हुन्छन्; यदि उहाँले तिनीहरूलाई प्रवेश गर्न दिनुभयो भने, तिनीहरू ढोकाभित्र हुन्छन्। त्यसकारण, मण्डलीको सदस्य बन्नु त्यति सरल कुरा होइन। परमेश्वरले मानिसहरूलाई स्वीकार गर्ने आधारको रूपमा के-कस्ता सिद्धान्तहरूले काम गर्छन् भन्ने कुराको हकमा भन्दा, अवश्य नै, परमेश्वरका आफ्नै सिद्धान्तहरू छन्। हामीले परमेश्वरले कस्तो व्यक्ति चाहनुहुन्छ र कस्तो व्यक्ति चाहनुहुन्न भन्ने बारेमा सङ्गति गर्नेछैनौँ—यो अत्यन्तै जटिल कुरा हो। यो जटिल छ भनेर मैले किन भनेँ? मण्डलीमा को-को प्रवेश गर्छन्, कुन अवधिमा तिनीहरूले कस्तो भूमिका खेल्छन्, र तिनीहरूले कुन कर्तव्य पूरा गर्छन् वा कुन अवधिमा तिनीहरूले कुन महत्त्वपूर्ण काम लिन्छन्, र कुन अवधिमा तिनीहरू परमेश्वरको घरका कामका आवश्यकताहरू र यसका कर्मचारी आवश्यकताहरू अनुरूप हुन्छन् भन्ने कुराको बारेमा परमेश्वरसँग योजना हुन्छ। परमेश्वरले वर्तमान क्षणमा काम गर्नुको सट्टा ठूलो र समग्र स्तरमा विधिवत् र नियन्त्रण गर्नुहुन्छ—यो अत्यन्तै जटिल मामला हो, र यसलाई केही शब्दमा स्पष्ट रूपमा व्याख्या गर्न सकिँदैन, त्यसकारण हामी विवरणहरूमा प्रवेश गर्नेछैनौँ। छोटकरीमा भन्दा, कुनै व्यक्ति परमेश्वरको घरको ढोकाबाट प्रवेश गर्न सक्छ कि सक्दैन भन्ने कुरालाई कुनै पनि व्यक्तिले निर्धारित गर्दैन; यस कुरामाथि परमेश्वरले सार्वभौमिकता राख्नुहुन्छ र यस कुराको बन्दोबस्त गर्नुहुन्छ। परमेश्वरको घरमा प्रवेश गरेपछि, सबै प्रकारका मानिसहरूले सबै प्रकारका कर्तव्यहरू निर्वाह गर्छन्, सबै प्रकारका भूमिकाहरू खेल्छन्, र सबै प्रकारका मार्गहरू हिँड्छन्। यी सबै प्रकारका मानिसहरूमा सबै किसिमका फरक-फरक प्रकटीकरणहरू हुन्छन्, चाहे ती असल होस् वा खराब, सकारात्मक होस् वा नकारात्मक, सक्रिय होस् वा निष्क्रिय होस्—यी सबै कुरा परमेश्वरको सार्वभौमिकता र शासनमा हुन्छन्।
परमेश्वरको सार्वभौमिकताको अर्थ सबै कुरा उहाँको शासनमा प्राकृतिक रूपमा अघि बढ्छ र सबै कुरा यसको प्राकृतिक मार्ग अनुसार अघि बढ्छ भन्ने हुन्छ; कुनै पनि घटना संयोगवश हुँदैन, र कुनै पनि घटनाको विकास र परिवर्तनहरू कुनै पनि व्यक्तिले सुरु गरेको वा निर्धारित गरेको हुँदैनन्—यी सबै कुरामाथि परमेश्वरको सार्वभौमिकता हुन्छ। निश्चित रूपमा नै, कुनै पनि घटनाको अन्तिम परिणाम र विशेषता पनि त्यस्तो घटनाको सार र यसमा संलग्न हुने प्रकारका मानिसहरूको सारमा आधारित हुन्छ, र घटनालाई चित्रण गर्ने आधार पूर्ण रूपमा परमेश्वरका वचनहरू र परमेश्वरले तोक्नुभएका सिद्धान्तहरू नै हुन्छन्। कुनै पनि प्रकारको घटना संयोगवश हुँदैन, र कुनै पनि प्रकारको घटनाको अन्तिम परिणाम मानिसहरूले निर्धारित गर्दैनन्। वास्तवमा, कुनै पनि प्रकारको घटनाको सुरुवात परमेश्वरले नै मिलाउनुहुन्छ र पैदा गर्नुहुन्छ। जब परमेश्वरले कुनै प्रकारको घटना पैदा गर्नुहुन्छ, तब उहाँले कुनै प्रकारको व्यक्तिले यसमा काम गर्न लगाउनुहुन्छ, र त्यस्तो व्यक्तिले सेवाकर्ता वा प्रतिभारको भूमिका खेल्न सक्छ, उसले नकारात्मक भूमिका खेल्न सक्छ, वा सकारात्मक भूमिका खेल्न सक्छ। तर उसले जुनसुकै भूमिका खेले पनि, यी सबै कुराहरूको सुरुवात परमेश्वरले नै मिलाउनुभएको हुन्छ। यस विषयमा परमेश्वरले बन्दोबस्तहरू गर्नुका दुई वटा व्याख्याहरू छन्। एउटा व्याख्या के हो भने परमेश्वरले व्यक्तिगत रूपमा केही सकारात्मक बन्दोबस्तहरू गर्नुहुन्छ र केही सकारात्मक दिशा र सुपरिवेक्षण प्रदान गर्नुहुन्छ, र केही सकारात्मक व्यक्तित्वहरूलाई कुनै घटना सुरु गर्न लगाउनुहुन्छ—“परमेश्वरका बन्दोबस्तहरूको” एउटा व्याख्या यही हो। अर्को व्याख्या के हो भने परमेश्वरले निश्चित कुराहरू गर्न एक प्रकारको आत्मा परिचालन गरेर पठाउनुहुन्छ। मानिसहरूको नजरमा यी कुराहरू नकारात्मक र दुष्ट हुन्छन्, त्यसकारण यी नकारात्मक र दुष्ट पात्रहरू अवश्य नै नकारात्मक व्यक्तित्वहरू हुन्, अर्थात्, परमेश्वरले सुरुदेखि नै आफ्नो घरमा प्रवेश गराउनका लागि प्रतिभार र नकारात्मक शिक्षण सामग्रीहरूका रूपमा तोक्नुभएका मानिसहरू। परमेश्वरले तिनीहरूलाई यी भूमिकाहरू खेल्न लगाउनुहुन्छ, किनभने तिनीहरूको प्रकृति सारले गर्दा, तिनीहरूले खेल्न सक्ने भूमिकाहरू यी मात्रै हुन्, र उहाँले तिनीहरूलाई धीत मर्ने गरी काम गर्न र प्रतिभारको रूपमा तिनीहरूले गर्नुपर्ने कुरा धीत मर्ने गरी गर्न दिनुहुन्छ। सम्पूर्ण प्रक्रियाभरि, चाहे त्यो सकारात्मक व्यक्तित्वहरूको प्रकटीकरण होस् वा नकारात्मक व्यक्तित्वहरूको प्रकटीकरण होस्, यी सबै मामलाहरूलाई लिने र सम्हाल्ने कार्यबारे परमेश्वरको सिद्धान्त भनेको तिनीहरूलाई आफ्नै प्राकृतिक मार्ग लिन दिनु हो। यी कुराहरूलाई हेर्दा र सम्हाल्दा, सकारात्मक व्यक्तित्वहरूमा केही सकारात्मक दृष्टिकोणहरू हुन्छन्, र मानवता र विवेकको मापदण्ड अनुरूपका केही दृष्टिकोणहरू हुन्छन्। तिनीहरूमध्ये कतिले केही भ्रष्ट स्वभावहरू प्रकट गरे पनि—मानिसहरूलाई खुशी पार्ने व्यक्ति बन्ने केही प्रकटीकरणहरू देखाए पनि, वा अरू केही भ्रष्ट स्वभावहरू प्रकट गरे पनि—तिनीहरूले कम्तीमा पनि मानवताको विवेक र समझलाई पक्रिराख्छन्, अर्थात्, तिनीहरूले आफ्नो आनीबानीको मुख्य आधारलाई पक्रिराख्छन्। अनि नकारात्मक व्यक्तिको हकमा भन्दा, परमेश्वरले तिनीहरूले गर्ने कुनै पनि कुरामा हस्तक्षेप वा अगुवाइ गर्नुहुन्न, तर तिनीहरूलाई आफै प्राकृतिक रूपमा अघि बढ्न दिनुहुन्छ; तिनीहरूले पनि आफ्नो हृदयले चाहे अनुसार काम गर्छन्, र आफ्नो घृणित अवस्थालाई खुलासा गर्छन् र आफ्नो हृदयले चाहे अनुसार निश्चित कुराहरू गर्छन्। तिनीहरूले परमेश्वरले खुलासा गर्नुहुने नकारात्मक व्यक्तित्वहरू, अर्थात् दुष्ट मानिसहरू र ख्रीष्ट-विरोधीहरूको भूमिका सफलतापूर्वक खेल्छन्, जसले गर्दा अरूले दियाबलसहरू कस्ता मानिसहरू हुन्, दुष्ट मानिसहरू कस्ता मानिसहरू हुन्, र ख्रीष्ट-विरोधीहरू कस्ता मानिसहरू हुन्, र परमेश्वरले खुलासा गर्नुहुने ख्रीष्ट-विरोधीहरू, दुष्ट मानिसहरू, शैतानहरू, र दियाबलसहरूको घृणित रूप वास्तवमा के हो भन्ने कुरा वास्तविक जीवनमा स्पष्ट रूपमा देख्न सक्छन्। यदि यी नकारात्मक व्यक्तित्वहरूलाई वास्तविक जीवनमा जीवित शिक्षण सामग्रीको रूपमा प्रयोग गरिएन भने, तेरो मनमा, दियाबलसहरू र शैतानहरू सधैँ अमूर्त हुनेछन्, र सधैँ अनुमान वा चित्र मात्रै हुनेछन्। तर अहिले यी जीवित उदाहरणहरू तेरो आँखा अगाडि राखिएका छन्, र मानव छाला लगाएका यी दियाबलसहरू तेरो आँखा अगाडि स्पष्ट रूपमा जिइरहेका छन्, र तिनीहरूको बोलीवचन र आचरण, तिनीहरूको हरेक शब्द र व्यवहार, तिनीहरूको अनुहारको अभिव्यक्ति, र तिनीहरूको आवाजको शैली समेत तेरो जीवनमा, तेरो आँखा अगाडि स्पष्ट रूपमा देखा पर्छन्, र ती तेरो मनमा छापिएका हुन्छन्। यो तेरो लागि नराम्रो कुरा होइन। मण्डलीमा यस्ता कुराहरू बारम्बार देखा पर्छन्। पहिलो पटक यस्तो भएको बेला, तँलाई असहज लाग्छ र तैँले परमेश्वरलाई प्रार्थना गर्नुपर्छ भन्ने लाग्छ। दोस्रो पटक यस्तो भएको बेला, तैँले सोच्छस्, “मैले आफूलाई रक्षा गर्न सत्यताको प्रयोग गर्न सिक्नुपर्छ, र अर्को पटक मैले यस्तो व्यक्तिलाई भेट्दा, म ऊबाट जोगिनुपर्छ,” अनि तैँले आफूलाई कसरी रक्षा गर्ने र दुष्ट मानिसहरूबाट कसरी टाढा बस्ने भनेर सोच्न थाल्छस्। यस्तो व्यक्ति तेस्रो पटक देखा पर्दा, तैँले यस्तो सोच्छस्, “यी मानिसहरू किन ठूलो रातो अजिङ्गर जस्तै, शैतान जस्तै बोल्छन्? के तिनीहरूले भन्ने कुराहरू बहकाउने कुराहरू होइनन् र? के तिनीहरू दुष्ट मानिसहरू होइनन् र? यी प्रकटीकरणहरू देखाउने मानिसहरू ख्रीष्ट-विरोधीहरू हुन् भनेर परमेश्वरका वचनहरूले भनेका छन् जस्तो लाग्छ। मैले तिनीहरूलाई खुट्ट्याउनुपर्छ र खुलासा गर्नुपर्छ, म तिनीहरूको बहकाउमा पर्नु हुँदैन, र म तिनीहरूबाट टाढा बस्नुपर्छ।” बारम्बार यस्तो कुरा अनुभव गरेर, तैँले ख्रीष्ट-विरोधीहरू, दुष्ट मानिसहरू, शैतानहरू, र दियाबलसहरूलाई चिन्ने बारेमा, र बाधा र अवरोधहरू के-के हुन् भन्ने बारेमा अझै स्पष्ट र विस्तृत बुझाइ प्राप्त गर्छस्। तेरो बुझाइ अब शब्द र धर्मसिद्धान्तहरूमा सीमित हुँदैन, तस्विरहरूमा सीमित हुनु त परको कुरा हो। बरु तैँले वास्तविक जीवनमा यी कुराहरूलाई झन्-झन् राम्ररी पहिचान गर्न सक्षम हुन्छस्, यसको साथै, तैँले यी मानिसहरूलाई सत्यताको प्रयोग गरेर हेर्न, र सत्यताको प्रयोग गरेर यी कुराहरूलाई समाधान गर्न सक्छस्। अवश्य नै, जब यी कुराहरू देखा पर्छन्, तब तैँले यी मानिसहरूप्रति कुन अडान अपनाउनुपर्छ, तिनीहरूलाई कुन दृष्टिकोणबाट हेर्नुपर्छ, र तिनीहरूसँग कस्तो सम्बन्ध कायम राख्नुपर्छ भन्ने बारेमा सोच्दै निरन्तर आफ्ना दृष्टिकोण र अडानहरूलाई सुधार गरिरहेको हुन्छस्। जब तैँले यी कुराहरूको सामना गर्छस्, तब तैँले अवचेतन रूपमा यी समस्याहरूका बारेमा मनन गर्नेछस्, उत्तरहरू खोज्न र निष्कर्ष निकाल्न निरन्तर सत्यताको खोजी गर्नेछस्, र अन्तिममा केही कुरा प्राप्त गर्नेछस्। यस प्रक्रियाको अवधिमा, परमेश्वरले केवल मानिसहरूलाई सत्यता प्रदान गर्नुहुन्छ र तिनीहरूलाई सत्यता बुझ्न सहयोग गर्नुहुन्छ, चाहे त्यो सत्यतामा सङ्गति गरेर होस् वा मानिसहरूलाई तिनीहरूको जीवनमा आइपर्ने कुराहरूमा सत्यता बुझ्न सहयोग गरेर होस्—समग्रमा भन्दा, परमेश्वरले यो परिस्थितिलाई पहिले नै रोक्नुहुन्न। यदि यो घटना घट्नु नै पर्छ, र यो परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेश र मण्डलीको कामका लागि फाइदाजनक छ भने, परमेश्वरले यसलाई मानिसहरूमा आइपर्न दिनुहुनेछ, र उहाँले यसलाई रोक्नुहुनेछैन, तर यसलाई यसको प्राकृतिक गति अनुसार विकास हुन दिनुहुनेछ। यसरी काम गर्नुको पछाडि परमेश्वरको उद्देश्य भनेको एक हिसाबमा मानिसहरूलाई हटाउनु हो, र अर्को हिसाबमा, मानिसहरूलाई सिद्ध पार्नु हो। अवश्य नै, मानिसहरूलाई हटाउँदा उहाँले पक्कै पनि प्रतिभारको रूपमा काम गर्ने र सेवा प्रदान गर्न योग्य नरहेका मानिसहरूलाई निसाना बनाउनुहुन्छ, जब कि मानिसहरूलाई सिद्ध पार्दा, उहाँले आफ्ना चुनिएकाहरूलाई—सत्यता पछ्याउन इच्छुक हुनेहरूलाई निसाना बनाउनुहुन्छ। यसको दुई वटा महत्त्व छ। एउटा महत्त्व के हो भने दुष्ट मानिसहरूले प्रस्तुत गर्ने कार्य प्रस्तुतिको माध्यमबाट, तिनीहरूलाई खुलासा गरिन्छ, मण्डलीबाट हटाइन्छ, र निकालिन्छ। अर्को के हो भने, यी दुष्ट मानिसहरूले क्रमिक रूपमा कार्य प्रस्तुति दिने र प्रतिभारको रूपमा काम गर्ने प्रक्रियामा, परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरका वचनहरूमा सत्यतालाई चिन्न, र बुझ्न सिक्न सक्छन्; यसरी, परमेश्वरले व्यावहारिक तरिकाले मानिसहरूमा सत्यता लागू गर्नुहुन्छ—अर्थात्, परमेश्वरले खुलासा गर्नुहुने सबै प्रकारका दुष्ट मानिसहरू, ख्रीष्ट-विरोधीहरू, शैतानहरू, र दियाबलसहरूको दुष्ट सारका सबै प्रकटीकरणहरूलाई मानिसहरूको वास्तविक जीवनमा प्रदर्शन हुन दिनुहुन्छ, र यसले मानिसहरूलाई विभिन्न प्रकारका दुष्ट व्यक्ति, घटना, र कुराहरूका बारेमा स्पष्ट बुझाइ र ज्ञान प्राप्त गर्न सहयोग गर्छ। उदाहरणका लागि, मानौँ परमेश्वरले तँलाई यसो भन्नुभएको छ, “तैँले हातले बलिरहेको कोइला छुनु हुँदैन; तेरा औँलाहरू पोलिनेछन् र तँलाई पीडा हुनेछ। बलिरहेको कोइला कस्तो देखिन्छ तँलाई थाहा हुँदैन, त्यसलाई छुँदा कस्तो महसुस हुन्छ तँलाई थाहा हुँदैन, र उहाँले तँलाई यो कुरा बताउनुभएपछि, तैँले एउटा धर्मसिद्धान्त बुझेको हुन्छस्। त्यसपछि कतिपय मानिसहरूले बलिरहेको कोइलालाई भकुण्डो जस्तो गोलो वा लामो पाता जस्तो हुन्छ होला भनेर कल्पना गर्छन्। अनि बलिरहेको कोइलाको रङ्ग कस्तो हुन्छ? त्यसलाई छुँदा कस्तो महसुस हुन्छ? त्यसलाई छुँदा कस्तो पीडा हुन्छ? तँलाई थाहा हुँदैन। तैँले कल्पना गरेको बलिरहेको कोइला तेरो मनले कल्पना गर्न सक्ने कुराको चित्र मात्रै हो, र वास्तविक कुरासँग यसको कहिल्यै पनि कुनै सम्बन्ध हुनेछैन। त्यसकारण, एउटा दिन, जब परमेश्वरले तगारीमा बलिरहेको कोइला निकाल्नुहुन्छ र तेरो अगाडि राख्नुहुन्छ, तब तैँले त्यसलाई चिन्दैनस्, र त्यो निकै तातो देखिन्छ भन्ने मात्रै तँलाई लाग्छ। तैँले त्यसलाई छुँदा औँलामा तातो हुन्छ कि हुँदैन भनेर हेर्नका लागि तँ होसियारीको साथ त्यसतिर हात पसार्छस्। परमेश्वरले भन्नुहुन्छ, “तैँले छोएर हेर्न सक्छस्, तर धेरै बेर नछुनू, नत्र तेरो छाला डढ्नेछ।” कतिपय मानिसहरू मूर्ख हुन्छन्—तिनीहरूले पाँचै औँला फैलाएर कोइला समात्छन्, र तिनीहरूको पूरै हात डढ्छ अनि त्यसमा पानी फोका आउँछ। अरू चलाख र सतर्क हुन्छन्—तिनीहरूले एउटा औँला पसारेर कोइलालाई हल्का मात्रै छुन्छन् र एक सेकेन्डभित्र यसो भन्दै हात हटाउँछन्, “अहो, तातो रहेछ! यो साँच्चै नै जलिरहेको छ!” तैँले यसलाई छुन पाँच औँला प्रयोग गरे पनि वा एउटा औँला प्रयोग गरे पनि, तैँले छुने कुरा तस्विर वा शब्दहरू होइन तर वास्तविक कुरा हो, र तेरो बाँकी जीवनभरि, तैँले जलेको कोइला छुनुको अनुभूति र अनुभव, र जलेको कोइलाले तेरो लागि के अर्थ दिन्छ भन्ने कुरा कहिल्यै बिर्सिनेछैनस्। जब तैँले फेरि बलिरहेको कोइला देख्छस्, तब तैँले अरूलाई यसो भन्नेछस्: “तपाईंले न्यानो रहन, र लुगा सुकाउन र रोटी तताउन प्रयोग गर्न सक्नुहुन्छ, तर तपाईंले त्यसलाई हातले कहिल्यै छुनु हुँदैन। छुनुभयो भने तपाईंलाई पोल्नेछ र पानी फोका आउनेछ।” मानिसहरूले यसो भन्न सक्छन्: “त्यसोभए मलाई पोल्यो र पानी फोका आयो भने के हुन्छ?” अनि तैँले यसो भनेर जवाफ दिनेछस्: “कम्तीमा पनि, तपाईंले हातले केही पनि समात्न सक्नुहुनेछैन, र तपाईंलाई हातले खान पनि असहज हुनेछ र शारीरिक काम गर्न अझै अप्ठ्यारो हुनेछ।” यो अनुभवबाट बोलेको कुरा हो, होइन र? त्यो गहन अनुभवपछि, तातो कोइलाले पोलेको अनुभूति तेरो यादमा गहन रूपमा गाडिएको हुनेछ, त्यसकारण तैँले फेरि कहिल्यै पनि बलिरहेको कोइला छुनेछैनस्। परमेश्वरले सबै थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ र मानिसहरूले ती कुराहरूबाट पाठहरू सिकून् र फाइदा लिन सकून्, र उहाँले मानिसहरूलाई प्रदान गर्नुहुने सत्यता र वचनहरू तिनीहरूमा साँचो रूपमा लागू हुन सकून् भनेर सबै कुरालाई मिलाउनुहुन्छ र मानिसहरूको जीवनमा सबै किसिमका कुराहरू आइपर्न लगाउनुहुन्छ, यसरी परमेश्वरका वचन र सत्यताहरू मानिसहरूको हृदयमा रहेका धर्मसिद्धान्त, नारा, वा प्रावधानहरूका रूपमा रहँदैनन्, तर तिनीहरू आफ्नो जीवन, र अस्तित्वका लागि तिनीहरूले भरोसा गर्ने सिद्धान्त र मापदण्डहरू बन्छन्, र ती तिनीहरूको जीवनको भाग बन्छन्—यसरी, परमेश्वरको कामले आफ्नो प्रभाव हासिल गर्नेछ।
जब परमेश्वरको सार्वभौमिकताको कुरा आउँछ, तब मानिसहरूले के कुरा देख्नुपर्छ भने परमेश्वरले कुनै घटनाको सुरुवात मिलाउनुहुन्छ, त्यसपछि यसको विकासको मार्गनिर्देशन दिनुहुन्छ र अगुवाइ गर्नुहुन्छ; घटनाको अन्त्यमा परिणाम के हुन्छ, सत्यता पछ्याउनेहरूले यसबाट के प्राप्त गर्छन् र कति प्राप्त गर्छन्, यो घटना र यसमा संलग्न मानिसहरू र परिस्थितिहरू कहाँ पुग्छन्, र ती कुराहरूलाई अन्तिममा कसरी मिलाइन्छ भन्ने कुरालाई पनि परमेश्वरले नै निर्धारित गर्नुहुन्छ—सबै थोकमाथि रहेको परमेश्वरको सार्वभौमिकताको सिद्धान्त यही हो। परमेश्वरले हरेक घटनाको सुरुवात, प्रक्रिया, र परिणामलाई मात्रै पूर्वनिर्धारित गर्नुहुन्छ, र उहाँले सम्पूर्ण घटनालाई आफूले तय गरेको दिशामा स्वतन्त्र रूपमा विकास हुन दिनुहुन्छ, जसको उद्देश्य भनेको सबै कुरालाई प्राकृतिक शैलीहरू अनुरूप राख्नु, वा परमेश्वरले हासिल गर्ने अभिप्राय राख्नुभएका प्रभाव हासिल गर्नका लागि कुनै विकृति हुन नदिई वा प्रक्रियाबाट गुज्रन नदिई सबै कुरालाई आफ्नो काम गर्न दिनु हो। होइन र? (हो।) उदाहरणका लागि, जब परमेश्वरले कुनै घटना सुरु गर्ने र घट्ने कुरा मिलाउनुहुन्छ, तब उहाँले यस घटनाको सम्पर्कमा आउने मानिसहरूको मनोवृत्ति, र यसप्रति तिनीहरूको दृष्टिकोण के-के हुन्छन् भनेर अवलोकन गर्न थाल्नुहुन्छ—तिनीहरूले यसलाई ध्यान दिएर हेर्छन् कि यसलाई ध्यान दिन चाहँदैनन्, र तिनीहरू हृदयदेखि यसमा संलग्न हुन्छन् कि तिनीहरूले यसलाई इन्कार गर्छन्, प्रतिरोध गर्छन्, र तिनीहरू यसबाट जोगिन्छन्—परमेश्वरले विभिन्न प्रकारका मानिसहरूको प्रकटीकरणहरू अवलोकन गरिरहनुभएको हुन्छ। त्यसोभए, के परमेश्वरले विभिन्न प्रकारका मानिसहरूको प्रकटीकरणमा हस्तक्षेप गर्नुहुन्छ? परमेश्वरले हस्तक्षेप गर्नुहुन्न। परमेश्वरले तँलाई स्वतन्त्र रूपमा छनौट गर्ने अधिकार दिनुहुन्छ। तैँले यस घटनालाई ठूलो महत्त्व दिन र यसको बारेमा अत्यन्तै इमानदारिताको साथ सोच्न सक्छस्, वा तैँले यसलाई बेवास्ता गर्ने र यसप्रति उदासीन हुने मनोवृत्ति अपनाउन सक्छस्, र अवश्य नै, तैँले यसबाट अलग बस्ने, यसबाट जोगिने, र यसमा सहभागी नहुने मनोवृत्ति पनि अपनाउन सक्छस्—परमेश्वरले चुपचाप अवलोकन गर्नुहुन्छ। तर सम्पूर्ण घटनाको देखापराइ र सुरुवातलाई परमेश्वरले नै सुरु गर्नुभएको हुन्छ। कुनै घटनामाथि रहेको परमेश्वरको सार्वभौमिकताको प्रारम्भिक चरण यही हो। जब यो घटना विकास हुन थाल्छ, यसमा कुन-कुन मानिसहरू सहभागी हुन्छन्, कुन-कुन मानिसहरू यसमा संलग्न हुन्छन्, र तिनीहरू यसमा संलग्न भएपछि घटना कुन दिशामा अघि बढ्छ भन्ने कुराको हकमा भन्दा, अवश्य नै यी सबै मानिसहरूलाई मिलाउनुहुने र बन्दोबस्त गर्नुहुने परमेश्वर नै हुनुहुन्छ, ताकि घटना परमेश्वरले चाहनुभएको दिशा र प्रभाव अनुसार अघि बढोस्। त्यसरी नै, जब यो घटना बाहिर प्रकट हुन्छ र सम्पूर्ण मामला चरम अवस्थामा पुग्छ, तब पनि परमेश्वरले अझै पनि विभिन्न प्रकारका मानिसहरूको मनोवृत्ति, प्रकटीकरण, विचार, र दृष्टिकोणहरूलाई निगरानी गरिरहनुभएको हुन्छ। तैँले यो घटनालाई साँच्चै हृदयमा लिन्छस् कि लिँदैनस्, तँ यो घटनाप्रति अत्यन्तै गम्भीर, कठोर, र इमानदार छस् कि छैनस्, वा तँ यसप्रति उदासीन छस् कि छैनस्, तँ यसलाई बेवास्ता गर्छस्, र तँ यसप्रति अत्यन्तै स्तब्ध छस् कि छैनस्, वा तैँले यसबाट टाढा बस्ने र यसलाई घृणा गर्ने मनोवृत्ति अपनाउँछस् कि अपनाउँदैनस् भन्ने कुरालाई उहाँले हेरिरहनुभएको हुन्छ। तँ सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् कि होइनस्, र तँ परमेश्वरका वचनहरू, परमेश्वरका मापदण्डहरू, र सत्यताको हकमा इमानदार व्यक्ति होस् कि होइनस् भनेर उहाँले हेरिरहनुभएको हुन्छ। सम्पूर्ण घटनाको विकासको प्रक्रियामा, तेरो मनोवृत्ति झन्-झन् स्पष्ट हुँदै जान्छ, र परमेश्वरले सत्यताप्रतिको तेरो मनोवृत्ति, उहाँले तय गर्नुभएका वातावरणहरूप्रतिको तेरो मनोवृत्तिलाई झन्-झन् स्पष्ट रूपमा देख्नुहुनेछ, र सत्यता पछ्याउने कार्यप्रतिको तेरो मनोवृत्तिलाई पनि स्पष्ट रूपमा देख्नुहुनेछ। जब सम्पूर्ण घटना यसको अन्त्यतर्फ अघि बढ्छ र यसको अपरिहार्य परिणाम देखा पर्छ, तब परमेश्वरले अझै पनि तैँले सम्पूर्ण घटनाबाट के प्राप्त गरेको छस्, तैँले आफ्नो मनमा के सोचिरहेको छस्, र तैँले के-कस्ता हिसाब-किताब गरिरहेको छस् भन्ने कुरालाई हेरिरहनुभएको हुन्छ। उहाँले तैँले आफूलाई रक्षा गर्नका लागि अनुभव प्राप्त गर्न र यस घटनाबाट पाठहरू सिक्नमा मात्रै ध्यान दिइरहेको छस् कि, अर्थात् मानिसहरूलाई खुशी पार्ने व्यक्ति बनिरहेको छस् कि तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गर्छस् र तँ पहिले जस्तो भ्रमित छैनस् भन्ने कुरा हेरिरहनुभएको छ। यो घटनाप्रतिको तेरो मनोवृत्ति के हो, तैँले मौन भएर कुनै दृष्टिकोण व्यक्त गर्छस् कि गर्दैनस्, तँलाई व्यक्तिगत रूपमा असर नगर्ने कुनै पनि कुराबाट अलग हुन्छस् कि हुँदैनस्, वा यो घटनाको सामना गर्दा तँमा शुद्ध बुझाइको कमी मात्रै हुँदैन, तर परमेश्वरप्रतिको तेरो गलतफहमी र गुनासाहरू पनि अझै गम्भीर भएका हुन्छन्, र तैँले उहाँका बारेमा अझै धेरै धारणा र कल्पनाहरू विकास गरेको हुन्छस् कि हुँदैनस्, यहाँसम्म कि तँ यसबाट जोगिन समेत चाहन्छस् भन्ने कुरालाई पनि परमेश्वरले हेर्नुहुनेछ। सबै प्रकारका घटनाहरू घट्दा विभिन्न प्रकारका मानिसहरूको विचार र दृष्टिकोण फरक-फरक हुन्छन्, र परमेश्वरले ती सबै कुरालाई अवलोकन गरिरहनुभएको र विवरण राखिरहनुभएको हुन्छ। कुनै पनि वर्ष, कुनै पनि दिन, र कुनै पनि घण्टा, मिनेट, वा सेकेन्डमा, तैँले के सोचिरहेको छस्, के भनिरहेको छस्, के हिसाब-किताब गरिरहेको छस्, के योजना बनाइरहेको छस्, तैँले सत्यताहरूको कुन पक्ष बुझेको छस्, कसैले सत्यताको कुनै पक्षको बारेमा सङ्गति गर्दा तेरो मनोवृत्ति कस्तो छ, तैँले यसको विरोध गर्छस् र वितृष्ण गर्छस् र तँ त्यो सुन्न चाहन्छस् कि चाहँदैनस्, कि त उम्कने योजना बनाउँछस्—परमेश्वरले यी सबै कुराहरूलाई छानबिन गर्नुहुन्छ। मण्डली, परमेश्वरको घर, वा आफ्नो वरिपरि देखा पर्ने मानिस, घटना, र परिस्थितिहरूप्रति कहिल्यै पनि कुनै मनोवृत्ति नभएका, मूर्खहरू जस्तै अबुझ र मन्दबुद्धिका मानिसहरू पनि हुन्छन्। तिनीहरूले यस्तो सोच्दै आफ्नो दृष्टिकोणलाई दह्रिलो गरी समातिरहन्छन्: “मैले दुष्कर्म गरिनँ र बाधा वा अवरोध पैदा गरिनँ, वा अरूलाई आलोचना गरिनँ, र कुनै पनि मानिस, घटना, वा परिस्थितिहरूको सामना गर्दा म कुनै टिप्पणी गर्दिनँ वा मसँग कुनै मनोवृत्ति वा दृष्टिकोण हुँदैन, र म रोबटले जस्तै व्यवहार गर्छु र नियम पालना गर्ने तरिकाले आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्छु र राम्रो रूपमा काम गर्छु भने, त्यो नै पर्याप्त हुन्छ।” यो पनि एक प्रकारको सोचाइ र दृष्टिकोण हो। अवश्य नै, परमेश्वरले यस्तो सोचाइ र दृष्टिकोणलाई अवलोकन गर्नुहुनेछ र त्यसको विवरण राख्नुहुनेछ। सबै थोक र घटना अनि मानिसहरूको वरिपरि हुने हरेक निश्चित कुरामाथि हुने परमेश्वरको सार्वभौमिकताको उद्देश्य भनेको मानिसहरूका लागि वातावरण तय गर्नु र तिनीहरूलाई जीवित शिक्षण सामग्रीहरू प्रदान गर्नु हो, ताकि सबै किसिमका कुराहरूको सामना गर्दा, विभिन्न प्रकारका मानिसहरूले आफ्नो सबैभन्दा साँचो पक्ष देखाऊन्, र परमेश्वर र सत्यताप्रतिको आफ्नो सबैभन्दा साँचो विचार र दृष्टिकोण, र आफ्नो सबैभन्दा साँचो मनोवृत्ति देखाऊन्। मानिसहरूमा रहेका यी मनोवृत्तिहरू पूर्ण रूपमा स्वतन्त्रता र उन्मुक्तिको स्थितिमा प्रकट हुन्छन्। परमेश्वरले कहिल्यै पनि हस्तक्षेप गर्नुहुन्न, हात हाल्नुहुन्न, वा चालबाजी गर्नुहुन्न, उहाँले विभिन्न प्रकारका मानिसहरूलाई आफ्नो हृदयले चाहे अनुसार र तिनीहरूको प्राकृतिक मार्ग अनुसार आफ्ना विचार, दृष्टिकोण, र मनोवृत्तिहरू व्यक्त गर्न दिनुहुन्छ, र अन्तिममा विभिन्न प्रकारका मानिसहरूलाई तिनीहरूको प्रकटीकरण अनुसार प्रकाश गर्नुहुन्छ र व्यवहार गर्नुहुन्छ। “विभिन्न प्रकारका मानिसहरू” मा को समावेश हुन्छ? परमेश्वरले विभिन्न प्रकारका मानिसहरूका लागि के-कस्ता बन्दोबस्तहरू गर्नुहुन्छ? परमेश्वरले सत्यतालाई प्रेम गर्नेहरूलाई सत्यता प्राप्त गर्न सहयोग गर्नुहुन्छ; उहाँले सत्यताप्रति चासो नभएका तर श्रम गर्न तयार हुनेहरूलाई त्यसो गर्नका लागि बस्न सहयोग गर्नुहुन्छ; सत्यताप्रति घृणा गर्ने र वितृष्ण गर्नेहरूका हकमा भन्दा, उहाँले सत्यताप्रति वितृष्ण गर्ने तिनीहरूको मनोवृत्ति प्रकाश गर्नुहुन्छ, तर यदि तिनीहरू सेवा दिनका लागि बस्न सक्छन् वा तिनीहरू सेवा दिनका लागि उपयुक्त छन् भने, परमेश्वरले यी राम्रा मानिसहरूलाई छनौट गरेर सेवा दिनका लागि तिनीहरूलाई हक दिनुहुनेछ, जब कि यदि तिनीहरू सेवा दिनका लागि उपयुक्त छैनन्, वा तिनीहरूले बाधा र अवरोधहरू ल्याउन सक्ने हदसम्म सत्यताप्रति वितृष्ण गर्छन् भने, परमेश्वरले तिनीहरूलाई ठीक समय र अवसरमा निकाल्नुहुनेछ। परमेश्वरले गर्नुहुने यो सबै काम मानिसहरूका धारणाहरूसँग मिल्दैन, होइन र? (हो।) के मानिसहरूले यसमा परमेश्वरको सहनशीलता र प्रेमिलोपनलाई देख्न सक्छन्? (यी कुराहरूबाट, हामीले के देख्न सक्छौं भने यो व्यावहारिक कामद्वारा, परमेश्वरले मानिसहरूलाई अनुभव गर्न अगुवाइ गर्नुहुन्छ, र यो सबै कामको पछाडि मानिसप्रतिको परमेश्वरको प्रेम लुकेको हुन्छ।) यो कामभित्र परमेश्वरका गहन अभिप्रायहरू, उहाँको कामको बुद्धि, र उहाँले मुक्ति दिने अभिप्राय राख्नुभएका मानवजातिप्रतिको उहाँको जिम्मेवार मनोवृत्ति समावेश हुन्छन्। अर्को पक्ष पनि छ, जुन के हो भने परमेश्वरसँग भएका कुराहरू र अस्तित्व मानवसँग हुने कुराहरू होइनन्। परमेश्वर आफूले गर्ने सबै कुरामा अत्यन्तै मेहनती र इमानदार हुनुहुन्छ, र उहाँले कहिल्यै लापरवाही गर्नुहुन्न। विशेष गरी मानिसहरूले सत्यता प्राप्त गर्ने मामलामा, उहाँ अत्यन्तै मेहनती र इमानदार हुनुहुन्छ; मानिसहरूको जीवन र मानिसहरूका परिणामहरूका लागि जिम्मेवारी लिनका लागि, परमेश्वरले यसरी नै काम गर्नुपर्छ। अवश्य नै, परमेश्वरका लागि, उहाँको सार र उहाँसँग भएका कुराहरू र अस्तित्व ठीक यस्तै हुन्छन्। आफ्नो जीवन, र नतिजा र गन्तव्यप्रतिको तेरो मनोवृत्ति जस्तोसुकै भए पनि, चाहे त्यो गम्भीर र मेहनती मनोवृत्ति भए पनि वा झाराटारुवा मनोवृत्ति भए पनि, जेसुकै भए पनि, परमेश्वरका लागि, उहाँले तँलाई छनौट गर्नुभएको हुनाले र उहाँले तँलाई सत्यता प्रदान गर्नुभएको हुनाले र तँलाई मुक्ति दिन चाहनुभएको हुनाले, उहाँले तेरो हरेक शब्द र व्यवहार, र सबै कुराप्रति रहेको तेरो मनोवृत्तिलाई पूर्ण रूपमा बुझ्नुहुनेछ, र उहाँले अन्तमा तेरा सबै मनोवृत्तिको आधारमा तेरो नतिजा निर्धारित गर्नुहुनेछ। अनि तेरा सबै मनोवृत्तिको आधारमा, उहाँले तँ अन्तिममा सत्यता प्राप्त गर्ने, र परमेश्वरमा समर्पित हुने र उहाँसँग मिल्ने व्यक्ति बन्नेछस् कि बन्नेछैनस् भन्ने कुरालाई हेर्नुहुनेछ। सायद तँ परमेश्वरले मानिसहरूलाई मुक्ति दिनुहुने कुराको बारेमा कहिल्यै इमानदार भएको छैनस्, यसको बारेमा कहिल्यै ध्यान दिएर मनन गरेको छैनस्, र परमेश्वरले मानिसहरूलाई कसरी मुक्ति दिनुहुन्छ भन्ने तँलाई थाहा छैन होला। तैपनि, सृष्टि गरिएको मानवजातिमाथि सार्वभौमिकता राख्नुहुने सृष्टिकर्ताको रूपमा, उहाँ मानिसहरू जस्तै भ्रमित र अन्योलमा हुनुहुन्न; उहाँले मानवजातिलाई मुक्ति दिने काम गम्भीर रूपमा गर्नुहुन्छ। उहाँले तँलाई सृष्टि गर्नुभयो र छनौट गर्नुभयो। उहाँले मानिसहरूलाई पूर्ण रूपमा मुक्ति दिनेछु भनी प्रतिज्ञा गर्नुभयो, त्यसकारण उहाँले यो काम हासिल गर्नुहुनेछ र उहाँ अन्त्यसम्मै जिम्मेवार रहनुहुनेछ। त्यसकारण, परमेश्वरले आफ्नो काम पूरा गर्नु र अन्तसम्मै जिम्मेवारी लिनुका वास्तविक प्रकटीकरण र वास्तविक कामका विषयवस्तुहरू हुन्छन्। परमेश्वरले यसरी नै काम गर्नुहुन्छ, र यो उहाँको इमानदार र तत्पर मनोवृत्ति हो। परमेश्वरले तँसँग झाराटारुवा व्यवहार गर्नुहुन्न, वा तँलाई कुनै नारा बताएर पन्छ्याउनुहुन्न, र परमेश्वरको कामले मानिसहरूलाई मुक्ति दिनका लागि उहाँले चुकाउनुहुने वास्तविक मूल्य, र मानिसहरूप्रति उहाँको जिम्मेवार मनोवृत्तिलाई अझै राम्ररी प्रतिबिम्बित गर्छ।
मानिसहरूले परमेश्वरले मानिसहरूलाई दिनुहुने मुक्ति र सबै थोकमाथि राख्नुभएको परमेश्वरको सार्वभौमिकताको सिद्धान्त र उद्देश्य बुझेपछि, के यस विषयमा परमेश्वरको बारेमा रहेका तिनीहरूका धारणा र कल्पनाहरू केही हदसम्म समाधान हुनेछैनन् र? (हुनेछन्।) यस विषयमा मानिसहरूले के कुरा बुझ्नुपर्छ? के हो भने, परमेश्वरले सार्वभौमिकता राख्नुहुने सबै प्रकारका मामलाहरूमा होस् वा एउटा निश्चित मामलामा होस्, मानिसहरूको सहकार्य ८०-९० प्रतिशत हुन्छ, र सम्बन्धित मामलाप्रतिको तिनीहरूको विचार र दृष्टिकोण, र मनोवृत्ति परमेश्वरको नजरमा अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यदि तैँले परिस्थितिहरू आइपर्दा कुनै कुरा बोलिनस् र आफ्नो अडान देखाइनस् भने, परमेश्वरले तँलाई ध्यान दिनुहुनेछैन र बेवास्ता गर्नुहुनेछ भन्ने नसोच्। यदि तँलाई परमेश्वरले तँलाई बेवास्ता गर्नुभएको होस् भन्ने चाहन्छस् भने, तैँले परमेश्वरमा विश्वास नगर्नु नै राम्रो हुन्छ। तँ परमेश्वरको घरमा भएको हुनाले र परमेश्वरले तँलाई छनौट गर्नुभएको हुनाले, परमेश्वरले तँलाई पटक्कै बेवास्ता गर्नुहुनेछैन। परमेश्वरको नजरमा सबै कुराको छानबिन हुन्छ, उहाँले तँ सानो व्यक्तिलाई त झनै छानबिन गर्नुहुन्छ। तँ कमिला भए पनि, यदि तँलाई परमेश्वरले छनौट गर्नुभएको हो भने, परमेश्वरले तँलाई निरन्तर छानबिन गर्नुहुन्थ्यो र अगुवाइ गर्नुहुन्थ्यो। परमेश्वरले तँलाई छानबिन गर्नुहुन्छ, त्यसकारण तैँले आफूमा आइपर्ने कुराहरूलाई स्वीकार मात्रै गर्नुपर्छ। ती कुराहरूबाट नतर्की—तर्किनु बुद्धिमानी निर्णय होइन। तैँले तिनको सामना गर्नु नै पर्छ। तैँले तिनको सामना गरेपछि र तँसँग स्पष्ट मनोवृत्ति भएपछि मात्रै, उहाँले तेरो लागि तय गर्नुभएका वातावरणहरूमा, परमेश्वरले तँलाई बुझ्न दिनुभएका सत्यताहरू तैँले प्राप्त गर्ने अवसर प्राप्त गर्नेछस्, जब कि तीबाट तर्किँदा त्यसले तँलाई मौनतामा सत्यताहरू बुझ्न सक्ने तुल्याउनेछैन। दर्शनहरूसँग सम्बन्धित सत्यताहरू बाहेक, अरू सत्यताहरू अर्थात्, मानव जीवन र अस्तित्वसँग सम्बन्धित सबै प्रकारका सत्यताहरू वातावरण वा भूमिका खेल्ने कुनै प्रकारको व्यक्तिको व्यवहारको प्रसंगबाट व्यक्त हुन्छन्। मानिसहरूले यी सत्यताहरूका वास्तविकताहरूका वास्तविक अनुभव र बुझाइ प्राप्त गरेपछि मात्रै तिनलाई साँचो रूपमा बुझ्न सक्छन्। धेरैजसो मानिसहरूले यो कुरालाई स्पष्ट रूपमा देख्न सक्दैनन्, र विभिन्न प्रकारका सत्यताहरूप्रतिको तिनीहरूको मनोवृत्ति मनतातो हुन्छ, र तिनीहरू यी वातावरणहरूबाट निरन्तर तर्किन पनि चाहन्छन्, र तिनीहरूले वास्तविक समस्याहरूका बारेमा सत्यताको खोजी गर्न चाहँदैनन्। तिनीहरूले सत्यताको आधारमा फरक-फरक प्रकारका मानिसहरू र घटनाहरूलाई खुट्टयाउन जान्दैनन्, न त तिनीहरूले विभिन्न समस्याहरू समाधान गर्न सत्यता लागू गर्न तालिम नै लिन्छन्। तिनीहरूको जीवनमा जेसुकै आइपरे पनि, तिनीहरूसँग कुनै मनोवृत्ति वा दृष्टिकोण हुँदैन, र तिनीहरू सङ्गति र छलफलहरूमा सहभागी हुँदैनन्। तिनीहरू हरेक दिन परमेश्वरलाई प्रार्थना गर्न, परमेश्वरका वचनहरू पढ्न, भजनहरू सिक्न, र आफ्नो कर्तव्य पूरा गर्नमा मात्रै सन्तुष्ट हुन्छन्, त्यति हो। म तँलाई एउटा कुरा भन्नेछु, जुन के हो भने श्रमकर्ताका विशेषताहरू कस्ता हुन्छन् भने ऊ मेहनत गर्न मात्रै तयार हुन्छ, र उसलाई सत्यताको कुनै पनि पक्षप्रति चासो हुँदैन वा सत्यताको कुनै पनि पक्षको बारेमा इमानदारिताको साथ सोच्न मन लाग्दैन, र उसलाई काम गर्न समस्या हुन्छ—यो व्यक्ति श्रमकर्ता हो। यदि तँ शैतानको सेवक, वा कुनै दुष्ट व्यक्ति वा ख्रीष्ट-विरोधी होइनस् भने, बढीमा तँ श्रमकर्ता मात्रै हुन सक्छस्। तर मुक्ति हासिल गर्न सक्ने परमेश्वरका मानिसहरूका हकमा कुरा फरक हुन्छ। तिनीहरू श्रम गर्न र थोरै मेहनत गर्नमा मात्रै सन्तुष्ट हुँदैनन्, तर तिनीहरूले सबै प्रकारका मानिस, घटना, र परिस्थितिहरूका बारेमा विभिन्न सत्यताहरू सिक्छन् र बुझ्छन्, त्यसपछि यी सत्यताहरूका आधारमा विभिन्न प्रकारका मानिसहरू र घटनाहरूलाई हेर्छन् र सम्हाल्छन्। यसरी, विभिन्न सत्यताहरू क्रमिक रूपमा तिनीहरूमा लागू हुन्छन्, र ती क्रमिक रूपमा तिनीहरूको जीवन र तिनीहरूको कार्य र आत्म-आचरणका सिद्धान्तहरू बन्छन्। सत्यता तेरो जीवन बनेपछि मात्रै तँ परमेश्वरमा समर्पित हुन र परमेश्वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्नेछस्; नत्र भने, यो प्रभाव हासिल गर्न सकिँदैन। परिस्थितिहरूको अनुभव गर्न नडराओ, र मानिसहरूलाई खुट्ट्याउन नडराओ। सबै प्रकारका घटनाहरू घट्नु नराम्रो कुरा होइन, र यसमाथि परमेश्वरको सार्वभौमिकता हुन्छ। परमेश्वरले सार्वभौमिकता राख्नुहुन्छ र बन्दोबस्तहरू गर्नुहुन्छ भने, तँलाई केको डर? परमेश्वरले सार्वभौमिकता राख्नुहुन्छ र बन्दोबस्तहरू गर्नुहुन्छ भने, तेरो हकमा, कुनै घटना घट्नु कम्तीमा पनि दुर्भावनापूर्ण कुरा वा परीक्षाको कुरा हुँदैन। बरु, यो तँलाई पाठहरू सिक्न, सुधार हुन र फाइदा लिन सहयोग गर्न, र तँलाई सिद्ध बनाउनका लागि दिइएको हुन्छ। यदि तँ परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्छस्, तैँले आफूमा आइपर्ने कुरालाई सकारात्मक शिक्षाको रूपमा लिन सक्छस्, र सत्यताको खोजी गर्न र आफूले सिक्नुपर्ने पाठहरू सिक्न सक्छस् भने, स्वाभाविक रूपमा र अपरिहार्य रूपमा नै सत्यताले तेरो जीवनमा काम गर्नेछ र यो तेरो जीवन बन्नेछ। त्यसकारण, धेरैजसो मानिसहरूले विभिन्न घटनाहरूको सामना गर्दा उदासीनता, तर्काइ, गैर-सहभागिता, र गैर-संलग्नताको मनोवृत्ति अपनाउनु, र दृष्टिकोणहरू व्यक्त नगर्नु वा सङ्गति नगर्नु गलत हुन्छ—यो अनुचित कुरा हो। यो गलत र अनुचित कुरा हो भनेर मैले किन भनेँ? यो मनोवृत्तिले तँलाई परमेश्वरको मुक्ति वा उहाँका असल अभिप्रायहरूमा चासो छैन, र तँलाई परमेश्वरद्वारा सिद्ध तुल्याइने कुरामा चासो छैन, र तैँले यसलाई ध्यान दिँदैनस् र इन्कार गर्छस् भन्ने कुरा परमेश्वरलाई देखाउँछ। जब परमेश्वरले तेरो मनोवृत्ति यही हो भन्ने देख्नुहुन्छ, तब के उहाँले अझै पनि तँलाई मुक्ति दिन चाहनुहुन्छ? अनि यदि परमेश्वरले तँलाई मुक्ति दिन चाहनुभयो भने पनि, तैँले सहकार्य गरिनस् भने उहाँले तँलाई कसरी मुक्ति दिन सक्नुहुन्छ? भनाइ नै छ, “यसको आशा छैन”, र यो भनाइले ठीक यस्तै व्यक्तिलाई जनाउँछ।
परमेश्वरको सम्पूर्ण व्यवस्थापन योजनाभित्र, विशेष गरी उसको कामको यो अन्तिम चरणभित्र, उहाँले धेरै सत्यताहरू व्यक्त गरेको छ, र ती सबै सुनेका छन्। तैँले तीमध्ये जतिलाई अनुभव गरेको वा बुझेको भए पनि, कम्तीमा पनि तैँले तिनलाई जानेको छस्, त्यसकारण परमेश्वरले हस्तक्षेप र सरलीकरणको कुनै थप काम गर्नुहुनेछैन। परमेश्वरले तँलाई आइपर्ने सबै कुरामा तैँले देखाउने मनोवृत्ति, साथै तेरो सहकार्यको प्रतीक्षा गर्नुहुन्छ—उहाँले तेरो मनोवृत्ति, तेरो दृष्टिकोण, तेरा पछ्याइहरू, र तैँले लिने मार्ग हेर्न चाहनुहुन्छ। यदि, तैँले मानिस, घटना, र परिस्थितिहरूको सामना गर्दा हरेक पटक, तँसँग कुनै मनोवृत्ति र दृष्टिकोणहरू छैनन्, र तँसँग भन्नलाई सधैँ केही कुरा हुँदैन भन्ने कुरा परमेश्वरले विवरण राख्नुहुन्छ भने, मलाई भन, के तँ मूर्ख होइनस् र? कस्ता मानिसहरूसँग भन्नलाई सधैँ केही हुँदैन? के बहिरा, गूँगो, सुस्त मनस्थिति भएका, वा मूर्खहरूसँग होइन र? परमेश्वरले तँसँग कुनै मनोवृत्ति छैन भन्ने कुराको विवरण राख्नुहुन्छ, त्यसकारण जब उहाँले अन्तमा तँलाई अङ्क दिनुहुन्छ, तब तैँले शून्य अङ्क प्राप्त गर्नेछस्। जब तेरो जीवनमा कुनै कुरा आइपर्छ, तब परमेश्वरले सोध्नुहुन्छ, “के तँ मूल्य चुकाउन इच्छुक छस्?” अनि तैँले “हो, म तयार छु!” भनेर भन्छस्, र उहाँले सोध्नुहुनेछ, “के तँसँग सङ्कल्प छ? के तैँले शपथ खाएको छस्?” अनि तैँले जवाफ दिन्छस्, “छ!” यदि तँसँग यो सङ्कल्प मात्रै छ, तर यो वातावरण अनुभव गरेर के प्राप्त गरेको छस् भनेर सोधियो भने, तँसँग भन्ने कुरा केही हुँदैन, र तैँले अनुभव गरेको हरेक वातावरणबाट केही पनि प्राप्त गरेको छैनस् भने, अन्त्यमा, जब परमेश्वरले तँलाई अङ्क दिनुहुन्छ, तब यो दुई अङ्क मात्रै हुनेछ। किन दुई अङ्क? तेरो थोरै सङ्कल्पको कारण नै तैँले दुई अङ्क प्राप्त गरेको हुनेछस्। मलाई भन्, के तँ त्यसपछि त खतम हुनेछैनस् र? के तँसँग अझै पनि मुक्ति पाउने आशा हुनेछ? तैँले आफै लागि लागिपरेर पो मुक्ति पाउने आशा प्राप्त हुन्छ। यो तैँले सत्यता पछ्याउने मार्गमा हिँड्ने निर्णय गरे बापत प्राप्त गर्ने फल हो। त्यसकारण तँलाई जेसुकै आइपरे पनि, यसप्रति नडरा वा यसबाट जोगिने प्रयास नगर्, र हातले आफ्नो टाउको छोपेर कछुवा जस्तै आफ्नो खोलमा नलुक्—बरु, यसलाई सकारात्मक र सक्रिय रूपमा सामना गर्। यदि तँ डरपोक छस् र परिस्थितिहरूप्रति डराउँछस्, र तैँले कुनै पनि कुराको मूल्याङ्कन गर्ने आँट गर्दैनस्—चाहे त्यो कुरा जेसुकैसँग सम्बन्धित होस्—किनभने तैँले गलत कुरा बोलिस् भने अरूले तँलाई खुलासा गर्नेछन् र तेरो वास्तविकता देख्नेछन् भन्ने डर हुन्छ भने, र तँ सधैँ डराउँछस् र कहिल्यै सहभागी हुँदैनस् भने, यसको अर्थ तैँले आफ्नो मौका गुमाइरहेको छस् भन्ने हुन्छ! तैँले आफ्नो कर्तव्य निर्वाह गर्न धेरै ऊर्जा लगाएको हुन सक्छस्, तर वास्तवमा तैँले आफ्नो परिणाम धेरै पहिले नै निर्धारित गरिसकेको हुन्छस्। अन्त्यमा, तैँले दुई अङ्क मात्रै प्राप्त गर्नेछस्, त्यसकारण के तँ बेकामे मूर्ख होइनस् र? के दुई अङ्क प्राप्त गर्नु बेकामे मूर्ख हुनु जस्तै होइन र? अनि तैँले दुई अङ्क मात्रै प्राप्त गर्नेछस्, त्यसकारण के यो जीवनकालमा परमेश्वरमाथिको तेरो विश्वास व्यर्थ हुनेछैन र? यो परमेश्वरको कामको अन्तिम चरण हो, यदि यस पटक तेरो विश्वास व्यर्थ भएको छ भने, तेरो परिणाम निर्धारित हुनेछ। परमेश्वरले फेरि कहिल्यै पनि मानवजातिलाई मुक्ति दिने काम गर्नुहुनेछैन। यो अन्तिम मौका हो—यदि तँ अझै पनि यसका लागि लागिपर्दैनस् र तँ यसलाई त्यतिकै छोड्छस्, र तैँले मुक्ति प्राप्त गर्न सकिनस् भने, त्यो कति दुःखको कुरा हुनेछ! तैँले परमेश्वरको कामको अनुभव गरेको जति वर्ष भए पनि, तैँले कम्तीमा पनि उत्तीर्ण अङ्क प्राप्त गर्नुपर्छ, त्यसपछि अझै बाँच्ने आशा हुनेछ। यदि तेरो श्रम मापदण्ड अनुसार छैन, र तैँले धेरै बाधा र अवरोधहरू पनि ल्याएको छस् भने, तैँले कुनै फल पटक्कै कटनी गरेको हुनेछैनस्, र मुक्ति प्राप्त गर्ने तेरो आशा शून्य हुनेछ। परमेश्वरले तय गर्नुहुने हरेक वातावरणमा, दर्शक नबन्; सहभागी बन्, यसको भाग बन्। तर तैँले कम्तीमा पनि पालना गर्नुपर्ने एउटा सिद्धान्त छ: बाधाहरू पैदा नगर्। तैँले सहभागिता जनाउन र आफ्ना विचार र मूल्याङ्कनहरू व्यक्त गर्न सक्छस्, र तैँले सर्वसाधारणले जस्तै बोले पनि र शब्द र धर्मसिद्धान्तहरू मात्रै बोले पनि, त्यसले केही फरक पार्दैन। तैपनि, तैँले सत्यताको खोजी गर्ने, सत्यताको अभ्यास गर्ने, र सत्यतामा समर्पित हुने सिद्धान्त र अभिप्राय लिएर हरेक मामलामा सहभागिता जनाउनुपर्छ—त्यसपछि मात्रै तेरो मुक्तिको आशा हुन्छ। मुक्तिको आशा कुन आधारमा स्थापित हुन्छ? यो तैँले हरेक मामला आइपर्दा सत्यताप्रति लागिपर्न, सत्यताको बारेमा मनन गर्न, र सत्यतामा मेहनत गर्न सक्ने कुराको आधारमा स्थापित हुन्छ। यस आधारमा मात्रै तैँले सत्यता बुझ्न, सत्यताको अभ्यास गर्न, र मुक्ति प्राप्त गर्न सक्छस्। तैपनि, यदि तँ परिस्थितिहरू आइपर्दा सधैँ दर्शक बन्छस्—कुनै मूल्याङ्कन वा चरित्र चित्रण गर्ने काम गर्दैनस्, र कुनै व्यक्तिगत विचार व्यक्त गर्दैनस्—र तँसँग कुनै कुराको बारेमा कुनै दृष्टिकोण हुँदैन, वा, तँसँग दृष्टिकोण भए पनि, तैँले ती कुरा व्यक्त गर्दैनस्, र ती सही छन् कि गलत छन् भन्ने तँलाई थाहा हुँदैन, तर तिनलाई मनमा राखेर तिनको बारेमा विचार मात्रै गर्छस् भने, तैँले सत्यता प्राप्त गर्नेछैनस्। यसको बारेमा विचार गर्, यो त ठूलो भोजमा बसेर भोकै बस्नु जस्तै हो। के तँ दयनीय हुँदैनस् र? परमेश्वरको काममा, यदि तैँले विश्वास गरेको दश वर्ष भएको छ र त्यति समयदेखि तँ दर्शक नै भएर बसेको छस्, वा विश्वास गरेको २०-३० वर्ष भएको छ र त्यति समयदेखि तँ दर्शक नै भएर बसेको छस् भने, अन्त्यमा, जब तेरो परिणाम निर्धारित गर्ने समय आउँछ, तब परमेश्वरले तेरो विवरणमा दिनुहुने अङ्क दुई मात्र हुनेछ, त्यसकारण तँ बेकामे मूर्ख हुनेछस्, र सत्यता प्राप्त गर्ने तेरो मौका र मुक्ति पाउने तेरो आशा आफै पूर्ण रूपमा बरबाद हुनेछ। अन्त्यमा, तँलाई बेकामे मूर्खको रूपमा नाम दिइनेछ, र यसले तँलाई सही रूपमा सेवा गर्नेछ, होइन र? (हो।) बेकामे मूर्ख नबन्नुको रहस्य के हो? (यसको रहस्य दर्शक बनेर बस्नु हो।) दर्शक बनेर बस्नु। तैँले परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण सत्यता प्राप्त गर्नका लागि तैँले परमेश्वरको काम अनुभव गर्नुपर्छ। कतिपयले सोध्न सक्छन्, “त्यसोभए, के तपाईंले मलाई सबै कुरामा सहभागी हुन लगाइरहनुभएको छ? तर मानिसहरूले भन्छन्, ‘तिम्रो चासो नभएको कुराको बारेमा टिप्पणी नगर।’” तँलाई सहभागी हुन लगाउनु भनेको तँलाई सत्यताको खोजी गर्न र आफूले सामना गर्ने कुराहरूबाट पाठहरू सिक्न लगाउनु हो। उदाहरणका लागि, जब तैँले निश्चित प्रकारको व्यक्तिलाई भेट्छस्, तब तैँले उसका प्रकटीकरणहरू र उसले गर्ने कुराहरूबाट समझशक्ति प्राप्त गर्नुपर्छ। यदि तिनीहरूले सत्यता उल्लङ्घन गरे भने, तिनीहरूले के गरेर सत्यता उल्लङ्घन गरेका हुन् भन्ने कुरा तैँले पत्ता लगाउनुपर्छ। यदि अरूले यो व्यक्ति दुष्ट व्यक्ति हो भनेर भन्छन् भने, दुष्ट व्यक्तिको रूपमा चित्रण गरिनका लागि उसले के भनेको र के गरेको हो र उसमा के-कस्ता दुष्कर्मका प्रकटीकरणहरू छन् भनेर तैँले पत्ता लगाउनुपर्छ। यदि अरूले यो व्यक्तिले परमेश्वरको घरका हितहरूको रक्षा गर्दैन र परमेश्वरको घरको खर्च प्रयोग गरेर बाहिरी मानिसहरूलाई सहयोग गर्छ भनेर भन्छन् भने, तैँले यो व्यक्तिले के गरिरहेको छ भन्ने बारेमा सोधपुछ गर्नुपर्छ। अनि सोधपुछ गरेपछि, यी कुराहरू जान्नु मात्रै पर्याप्त हुँदैन। तैँले यस्तो कुराको बारेमा पनि मनन गर्नुपर्छ: “के मैले त्यस्ता कुराहरू गर्न सक्छु? यदि कसैले मलाई याद दिलाएन भने, मैले पनि त्यस्ता कुराहरू गर्छु होला, अनि के त्यसपछि त मैले पनि त्यो व्यक्तिको जस्तै परिणाम प्राप्त गर्दिनँ र? के यो खतरनाक कुरा हुँदैन र? खुसीको कुरा, परमेश्वरले मलाई सचेत गराउनका लागि यो वातावरण तयार गर्नुभएको छ, जुन मेरो लागि सबैभन्दा ठूलो सुरक्षा हो!” यसको बारेमा मनन गरेपछि, तैँले एउटा कुरा महसुस गर्छस्: तैँले त्यस्तो व्यक्तिले पछ्याइरहेको मार्गलाई पछ्याउनु हुँदैन, तँ त्यस्तो व्यक्ति बन्नु हुँदैन, र तैँले आफूलाई चेतावनी दिनुपर्छ। तैँले जस्तोसुकै कुराहरूको सामना गरे पनि, तैँले ती कुराहरूबाट पाठहरू सिक्नुपर्छ। यदि तैँले पूर्ण रूपमा नबुझेका र तँलाई हृदयमा अनौठा लागेका कुराहरू छन् भने, तैँले ती कुराहरूका बारेमा प्रश्नहरू गर्नुपर्छ र तिनको बारेमा पत्ता लगाउनुपर्छ, र सत्यताको खोजी गरेर वास्तविक स्थितिको बारेमा सुनिश्चित गर्नुपर्छ। यो जिज्ञासा होइन; यो इमानदारिता हो। इमानदार हुनु भनेको झारा टार्नु वा भिडलाई पछ्याउनु होइन—यो जिम्मेवारी लिने मनोवृत्ति हो। समस्याहरूका बारेमा स्पष्टता प्राप्त गरेर तिनलाई समाधान गर्न सत्यताको खोजी गर्दा मात्रै, भविष्यमा यस्तै परिस्थितिको सामना गर्दा, तँसँग अभ्यासको मार्ग हुनेछ, तैँले सटीक रूपमा अभ्यास गर्न सक्नेछस्, र तँलाई शान्ति र सहजताको महसुस हुनेछ। तैँले सबै मामलाहरूमा अरूलाई पछ्याउनु र बतास जता चल्यो त्यतै जानुको सट्टा तथ्यहरूको साँचो स्थितिलाई बुझ्ने प्रयास गर्ने र ती तथ्यहरूबाट सत्यता प्राप्त गर्ने र मानिसहरू र परिस्थितिहरूलाई कसरी हेर्ने भनेर सिक्ने सिद्धान्तको आधारमा इमानदारिताको साथ काम गरिरहेको हुन्छस्। आफ्नो व्यवहारमा इमानदार बनेर मात्रै तैँले सत्यताको अभ्यास गर्न र सिद्धान्तहरू अनुसार काम गर्न सक्छस्। इमानदार नरहेका मानिसहरूले अरूलाई पछ्याउने र जता बतास चल्यो त्यतै जाने सम्भावना हुन्छ, र यसरी, तिनीहरूले सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने सम्भावना हुन्छ। उदाहरणका लागि, मानौँ कसैले निरन्तर झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छ र यसरी ऊ आफ्नो कर्तव्य निर्वाह गर्नमा अयोग्य हुन्छ। तैँले भन्छस्, “तिनीहरू हेर्दा त ठीकै देखिन्छन्। तिनीहरूले झाराटारुवा व्यवहार गरिरहेका छन् भन्ने कुरा मैले कसरी थाहा पाइनँ? के म तिनीहरूको बहकाउमा परेँ? तिनीहरूले कुन-कुन तरिकाले आफ्नो कर्तव्यमा झारा टारिरहेका थिए? तिनीहरूले झाराटारुवा तरिकाले के-कस्ता कुराहरू गरे?” जब अरू कसैले तँलाई त्यो व्यक्तिले झाराटारुवा व्यवहार गरेको केही तरिका बताउँछ, तब तैँले भन्छस्, “त्यो व्यक्ति नाटक गर्नमा साँच्चै सिपालु रहेछ! झट्ट हेर्दा ऊ ठीकै देखिन्थ्यो, र उसले निकै राम्रा कुराहरू गर्थ्यो। उसले भन्थ्यो, ‘परमेश्वरले हामीलाई यति धेरै अनुग्रह दिनुभएको छ—हामी विवेक रहित बस्नु हुँदैन, हामीले आफ्नो कर्तव्य उचित रूपमा पूरा गर्नुपर्छ!’ तिनीहरूले यसो भनेको सुनेपछि, तिनीहरूले आफ्नो कर्तव्य बफादारिताको साथ पूरा गरिरहेका छन् भन्ने मलाई लाग्यो; तिनीहरू यति झाराटारुवा छन् भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ! के म बहकाउमा परेको छैनँ र? ममा मानिसहरूको बारेमा समझशक्तिको कमी थियो, र मैले सत्यता सिद्धान्तहरू अनुसार मानिसहरू र परिस्थितिहरूलाई हेर्दिनथिएँ वा मानिसहरूसँग व्यवहार गर्दिनथिएँ। मैले त्यो व्यक्तिले आफ्नो कर्तव्यमा प्राप्त गरेका परिणामहरू, वा तिनको निश्चित व्यवहार र प्रकटीकरणहरू, वा उसको सारलाई नहेरी त्यो व्यक्तिले कति राम्रो बोल्छ भनेर मात्रै हेरेँ—यस विषयमा मैले गल्ती गरेँ। बाहिरबाट असल देखिने मानिसहरू अनिवार्य रूपमा असल नहुन सक्छन्, र तिनीहरूले राम्रा सुनिने कुराहरू भने पनि, तिनीहरूले आफूले भनेको कुरा साँचो रूपमा नगर्न सक्छन्, र तिनीहरू विवेक र मानवता भएका मानिसहरू नै हुन सक्छन् भन्ने हुँदैन। अबदेखि, मैले मानिसहरूलाई परमेश्वरका वचनहरू अनुसार हेर्नुपर्छ, र मानिसहरूलाई खुट्ट्याउन सिक्नुपर्छ। मलाई फेरि मूर्ख बन्नु हुँदैन!” हेर् त, जेसुकै भए पनि, तँ अलिक इमानदार छस् र तैँले सत्यताको खोजी गर्छस्, त्यसपछि निष्कर्ष निकाल्छस् भने, तैँले केही कुरा प्राप्त गर्नेछस्। यदि तैँले यी फाइदाहरू प्राप्त गरिस् भने, के त्यो राम्रो कुरा होइन र? (हो।) तैँले मानिसहरूलाई खुट्याउने कार्यमा केही कुरा सिकेको हुनेछस् र केही हदसम्म फाइदा पाएको हुनेछस्—सत्यताप्रति इमानदार भएर र मेहनत गरेर तैँले प्राप्त गर्ने कुरा यही हो। मानौँ तँ यसरी इमानदार छैनस्। जब तैँले कुनै व्यक्ति आफ्नो कर्तव्यमा सधैँ झाराटारुवा भएकोले उसलाई घर पठाइएको छ भन्ने सुन्छस्, तब तैँले यस्तो सोध्दैनस्, “ऊ किन झाराटारुवा भएको? उसलाई किन पठाइयो?” बरु तैँले मनमनै सोच्छस्, “झाराटारुवा हुँदैमा के भयो र? जे भए पनि, मलाई पठाइएको छैन, त्यसकारण सबै कुरा ठीकै छ।” त्यस्तो अवस्थामा, के तैँले यस मामलाबाट अलिकति चेतावनी प्राप्त गरेको हुनेछस्, अलिकति पाठ सिकेको हुनेछस्, वा अलिकति समझशक्ति विकास गरेको हुनेछस्? त्यस्तो हुँदैन। किन हुँदैन? किनभने तँलाई त्यस्ता कुराहरूप्रति चासो हुँदैन वा तँ ती कुराहरूप्रति गम्भीर हुँदैनस्, र तैँले आफ्नो जीवन प्रवेश वा सत्यता पछ्याइका लागि कुनै बोझ लिँदैनस्, र तँ सत्यता पछ्याउने र जीवन प्रवेशका मामलाहरूका बारेमा रहेको अरूको सङ्गतिमा चासो राख्दैनस् र सहभागी हुँदैनस्, र बढीमा, तैँले झाराटारुवा रूपमा सहमतिका केही शब्दहरू बोल्छस्, त्यति हो। के यस्ता मानिसहरू धेरै हुन्छन्? जब परिस्थितिहरू आइपर्छन्, तब तिनीहरूलाई लापरवाह हुन र झारा टार्न मनपर्छ, र आफ्नो जीवन प्रवेश वा सत्यता पछ्याइका लागि तिनीहरूले कुनै बोझ लिँदैनन्। अरूसँग अन्तरक्रिया गर्दा अलिकति गफ गर्न मन पराउने बाहेक, तिनीहरूलाई जीवन प्रवेशसँग सम्बन्धित कुराहरू वा परमेश्वरले तय गर्नुभएका वातावरणहरूमा मानिसहरूले सिक्नुपर्ने पाठहरू जस्ता कुराहरूमा पटक्कै चासो हुँदैन। तिनीहरू आफ्नो हातमा भएको सानो काम सकेपछि, टोलाएर बस्छन्, केही समय सुत्न वा आराम गर्न मात्रै चाहन्छन्, र तिनीहरूले आफ्नो जीवन प्रवेशका लागि कुनै बोझ लिँदैनन्। यी मानिसहरूमा थोरै सङ्कल्प र थोरै इच्छाहरू बाहेक, तिनीहरूले अन्तिममा कुनै सत्यता प्राप्त गर्दैनन्, र अन्त्यमा, तिनीहरूको कुल अङ्क दुई मात्रै हुन सक्छ, तिनीहरूले आफ्नो बेकामे मूर्खतालाई त्याग्न सक्नेछैनन्, त्यसकारण, यस जीवनमा तिनीहरू समाप्त हुनेछन्। यदि तँ यस पटक खतम भइस् भने, तँ साँच्चै नै खतम हुनेछस्, र तैँले मुक्ति पाउने कुनै आशा हुनेछैन, किनभने तेरो नतिजा निर्धारित भइसकेको हुनेछ। सृजित प्राणीले अन्तिममा प्राप्त गर्ने अङ्क उसको परिणामसँग सीधै सम्बन्धित हुन्छ। यदि तैँले उतीर्णाङ्क प्राप्त गरिस् भने, तेरो परिणाम के हुनेछ भने तैँले मुक्ति पाउँछस्। यदि तैँले उतीर्णाङ्क प्राप्त गरिनस् भने, तेरो परिणाम राम्रो हुनेछैन। यही बेला मानिसहरूका परिणामहरू निर्धारित हुन्छन्, र परिणाम निर्धारित भएपछि, यो स्थायी हुन्छ र यो परिवर्तन हुँदैन। असल परिणामको लागि लागिपर्ने अर्को मौका हुनेछैन र यसलाई परिवर्तन गर्ने कुनै मौका हुनेछैन—तेरो नियति एक पटक सधैँको लागि निर्धारित हुनेछ। बुझिस्? के यो तँलाई डर देखाउनका लागि हो? (होइन।) यसको बारेमा विचार गर्—परमेश्वरले मानवजातिलाई व्यवस्थापन गर्ने र मुक्ति दिने काम गरिरहनुभएको छ, र उहाँले मानिसहरूमा हुनुपर्ने विभिन्न सत्यताहरू प्रदान गरिरहनुभएको छ—परमेश्वरले कति पटक यस्तो काम गर्न सक्नुहुन्छ? (यो एक पटक मात्रै।) यो काम पहिले कहिल्यै भएको छैन, र फेरि कहिल्यै हुनेछैन। एउटै मात्र समय यही हो, र यो पूरा भएपछि, परमेश्वरको महान् काम पूर्ण रूपमा हासिल हुनेछ। “पूर्ण रूपमा हासिल हुनु” को अर्थ के हो? यसको अर्थ उहाँले फेरि यो काम गर्नुहुनेछैन, र उहाँले त्यसो गर्ने कुनै योजना बनाउनुभएको छैन। त्यसकारण, यस पटक मानिसहरूको अन्तिम परिणाम जेसुकै भए पनि, तिनलाई अन्तिम रूपमा निर्णय गरिनेछ र ती परिवर्तन हुनेछैनन्। परमेश्वरले मानिसहरूलाई फेरि काम गर्ने वा फेरि आफ्नो जीवन जिउने मौका दिनुहुनेछैन। बितेको समय कहिल्यै फर्केर आउनेछैन, र कुनै परिवर्तन हुनेछैन। त्यसकारण यदि तैँले यो अवसरलाई प्रयोग गरिनस् भने, मुक्ति पाउने मौका गुमाउनेछस्। यदि तैँले परमेश्वरले तय गर्नुभएका विभिन्न वातावरण र विभिन्न मानिस, घटना, र परिस्थितिहरूलाई बेवास्ता गरिस्, ती कुराहरूका हकमा तँ अबुझ र मूर्ख हुन्छस्, र ती कुराहरूलाई उदासीनताको साथ लिन्छस् भने, तँ बेकामे मूर्ख हुन्छस्। तैँले समेत आफ्नो नतिजा र गन्तव्यलाई गम्भीरतापूर्वक लिँदैनस् भने, कसले तँलाई ध्यान दिनेछ? तँलाई यो कुरा धेरै पटक भनिएको छ तर तैँले यसलाई गम्भीरतापूर्वक लिँदैनस्, त्यसकारण तँ बेकामे मूर्ख होइनस् भने के होस् र? मुक्ति पाउने कुरा जत्तिको महत्त्वपूर्ण अरू केही छैन। के कुरा त्यही होइन र? (हो।) अवश्य नै, मैले भर्खरै भने जस्तै, व्यक्तिको अन्तिम परिणाम परमेश्वरले सार्वभौमिकता राख्नुभएका विभिन्न वातावरणहरूमा देखा पर्ने उसको समग्र प्रकटीकरणहरूद्वारा निर्धारित हुन्छ, त्यसकारण मानिसहरूले दैनिक जीवनमा देखा पर्ने उसको समग्र प्रकटीकरणहरूप्रति ध्यान दिनुपर्छ। यहाँ अभिप्राय भनेको तँलाई कुरा काट्न र विवादमा पर्न लगाउनु होइन, तर तँलाई तेरो वर्तमान वातावरण र परिस्थितिहरूको आधारमा, र सके जति हदसम्म सत्यता बुझ्न र सत्यतामा प्रवेश गर्न, सत्यता पछ्याउने मार्गमा हिँड्न लगाउनु, र हामीले पहिले सङ्गति गरेका “त्याग्नुका” तीन वटा बुँदाहरूमा परमेश्वरको काम पूरा हुनुभन्दा पहिले प्रवेश गर्न लगाउनु हो—त्यसपछि तैँले ६० वा त्योभन्दा बढी अङ्क प्राप्त गरेको हुनेछस्, र तँ मुक्ति पाएको व्यक्ति हुनेछस्। तैपनि, यदि तँ यी तीन वटा कुराहरूमध्ये कुनै पनि कुराको स्तरको नजिक समेत पुग्दैनस्, वा यदि तँ तीमध्ये कुनैमा उतीर्ण हुँदैनस्, र यदि तँसँग तीमध्ये कुनैमा वास्तविक प्रवेश छैन भने, तैँले उतीर्णाङ्क प्राप्त गर्नेछैनस्, र तँ मुक्ति पाउने व्यक्ति हुनेछैनस्। बुझिस्? (बुझेँ।)
तिमीहरूले अहिले के कुरालाई अभ्यास गर्नमा ध्यान दिनुपर्छ? परमेश्वरले तय गर्नुभएका वातावरणहरूमा सत्यताको खोजी गर्नु र पाठहरू सिक्नु। यदि तँ हरेक दिन सत्यता नपछ्याई मेहनत गर्न र काम गर्नमा मात्रै सन्तुष्ट हुन्छस् भने, तँ त श्रमकर्ता मात्रै होस्। यदि तैँले मेहनत गरेको छस्, परमेश्वरले तय गर्नुभएका विभिन्न वातावरणहरू अनुभव गरेको छस्, र केही सत्यताहरू बुझेको छस्; अनि तैँले जति धेरै सत्यता प्राप्त गरे पनि, अन्तिममा ठूला भए पनि साना भए पनि, धेरै भए पनि थोरै भए पनि फाइदाहरू प्राप्त गरेको छस्; अनि यी कुराहरू प्राप्त गर्न तँलाई निकै लामो समय लागेको भए पनि र तेरो प्रगति ढिलो भए पनि, तँ कम्तीमा पनि परमेश्वरको कामको बहाबमा छस्, र तँ फाइदाहरू प्राप्त गर्ने व्यक्ति होस् भने, तँसँग मुक्ति पाउने मौका हुनेछ। अहिले तिमीहरूले गर्नुपर्ने सबैभन्दा आधारभूत कुरा के हो? तँ सबै प्रकारका जटिल र अर्थहीन मामलाहरूबाट बाहिर निस्कनुपर्छ र तैँले सत्यता पछ्याउने कार्यमा आफ्नो हृदय लगाउनुपर्छ; तैँले छोटो अवधिमा आफ्ना विभिन्न स्थितिहरूको बारेमा भेउ पाउन, आफ्नो मुख्य कमजोरी, कमजोरी, र समस्याहरूलाई चिन्न, त्यसपछि तिनलाई समाधान गर्न सत्यताको खोजी गर्नुपर्छ, ताकि तँसँग पछ्याउने मार्ग र पछ्याउने उद्देश्य होस्, र तैँले पूरा गर्ने कर्तव्यमा पालना गर्नुपर्ने स्पष्ट सत्यता सिद्धान्तहरू होस्। तैँले खुट्टाले अन्धाधुन्ध जहाँ लैजान्छ त्यहाँ जाने शिर नभएको कुखुराले जस्तै दौडधूप गर्नुको सट्टा—जुन खतरनाक कुरा हो—त्यसो गर्नुको सट्टा तँसँग आफ्ना कमीकमजोरीहरू, आफ्नो कर्तव्य, र आफ्नो वातावरणको बारेमा पछ्याउनलाई स्पष्ट उद्देश्य र दिशा हुनुपर्छ। तैँले मेहनत मात्रै गर्ने तर सत्यता प्राप्त नगर्ने आफ्नो जीवनको स्थिति र वर्तमान परिस्थितिलाई त्याग्नुपर्छ। दर्शक बनेर नबस्, र सबै किसिमका विवादहरूमा नफस्। यदि तँ ती कुराहरूमा फस्न चाहँदैनस् भने, तैँले सत्यता सिद्धान्तहरूमा मेहनत गर्न सिक्नुपर्छ। यदि तैँले प्रत्येक सत्यता सिद्धान्तहरू बुझेको छस् भने, तँ यस्ता विवादहरूबाट उम्कन सक्नेछस्। मैले किन यसो भनेँ? तैँले विभिन्न सत्यताहरू बुझेपछि मात्रै तँ तीमा प्रवेश गर्न सक्छस् र तैँले सत्यता वास्तविकतामा प्रवेश गर्ने आशा प्राप्त गर्न सक्छस्। त्यसपछि जब तैँले विभिन्न कुरामा सहभागिता जनाउँछस्, तब तँसँग सिद्धान्तहरू हुनेछन् र यी कुराहरूको सामना कसरी गर्ने भन्ने तँलाई थाहा हुनेछ। यदि तँ दर्शक बनेर बस्न मात्रै छोडिस्, तर हरेक सत्यताप्रति पूर्ण रूपमा भ्रमित छस्, र तैँले कुनै सत्यता बुझेको छैनस्, र तैँले सिद्धान्त र केही शब्दहरू मात्रै बुझेको छस्, र तँलाई फरक-फरक प्रकारका मानिसहरूलाई कसरी खुट्ट्याउने भन्ने थाहा हुँदैन, र जब तैँले समस्याहरूको सामना गर्छस् तब तैँले घटनाहरूको क्रमको बारेमा मात्रै कुरा गर्छस्, र को सही थियो र को गलत थियो भनेर मूल्याङ्कन गर्ने बाहेक केही गर्दैनस्, र अन्त्यमा तैँले सत्यता प्राप्त गर्दैनस् भने, कुनै पनि मामलामा रहेको तेरो सहभागिता व्यर्थ हुन्छ। यस्तो सहभागिता केमा परिणत हुन्छ? यो विवाद पैदा गर्ने कार्यमा परिणत हुन्छ। त्यसकारण, तैँले सत्यता सिद्धान्तहरूमा मेहनत गर्न सिक्नुपर्छ, र तँ तिनलाई लागू गर्ने बारेमा झन्-झन् स्पष्ट भएपछि—र तैँले झन्-झन् सटीक रूपमा त्यसो गर्न थालेपछि—तँसँग सत्यतामा प्रवेश गर्ने आशा हुनेछ, त्यसपछि तँसँग मुक्ति पाउने आशा पनि हुनेछ।
परमेश्वरले मानिसहरूका लागि तय गर्नुभएका वातावरणहरूमा तिनीहरूले कसरी सत्यता प्राप्त गर्न सक्छन् भन्ने कुराको हकमा भन्दा, हामीले भर्खरै अभ्यासका कति वटा सिद्धान्तहरूका बारेमा सङ्गति गरेका छौं? दर्शक बनेर नबस्ने, र अरू के छ? (मेहनत मात्रै नलगाउनु।) मेहनत गर्नमा मात्रै सन्तुष्ट हुने तर सत्यता पछ्याउन अनिच्छुक हुने स्थितिबाट तैँले आफूलाई टाढा राख्नुपर्छ। अरू के छ? (सबै प्रकारका विवादहरूमा नफस्ने।) सबै प्रकारका विवादहरूमा नफस्ने, सबै प्रकारका जटिल मामलाहरूमा नफस्ने—सत्यता सिद्धान्तहरू पालना गर्नुलाई यी कुराहरूले प्रतिस्थापन नगर्। तिमीहरूले यी सबै सिद्धान्तहरू पालना गर्नुपर्छ। यदि तँ ती कुरामा दह्रिलो गरी लागिरहिस् भने, तँ सत्यता पछ्याउनबाट टाढा हुनेछैनस् र चाँडै तँ सत्यता पछ्याउने वास्तवमा प्रवेश गर्न सक्नेछस्। के यसलाई अभ्यास गर्न सजिलो छ? मैले मण्डलीका मानिसहरूसँग अन्तरक्रिया गरेको धेरै वर्ष भएको छ, तर निकै थोरैले मात्रै मलाई जीवन प्रवेशको बारेमा वा सत्यता सिद्धान्तहरूसँग सम्बन्धित प्रश्नहरू सोध्छन्, र थोरै मानिसहरूले मात्रै आफ्नो व्यक्तिगत स्थितिको बारेमा कुरा गर्छन् त्यसपछि अभ्यासका मार्गहरू खोज्छन्। बरु, कतिपय मानिसहरूले सत्यतासँग कुनै सम्बन्ध नभएका प्रश्नहरू सोध्छन्, र तिनीहरूले “खोजी” जस्ता शब्दहरू समेत प्रयोग गर्छन्। जब म “खोजी” भन्ने शब्द सुन्छु, तब म अत्यन्तै ध्यान दिएर र गम्भीरताको साथ सुन्छु, र तिनीहरूलाई मेरो पूर्ण ध्यान दिन्छु, तर जब तिनीहरूले सानातिना बाहिरी मामलाको बारेमा सोधिरहेका हुन्छन्, तब मलाई घिन लाग्छ। म भन्छु, “मण्डलीको काम वा जीवन प्रवेशसँग तैँले सोधिरहेको कुराको कुनै सम्बन्ध छैन। “खोजी” भन्ने शब्द प्रयोग नगर्। तैँले “खोजी” भन्ने शब्दलाई अपमानित गरिरहेको छस्। के “खोजी” भन्ने शब्दलाई अनुचित रूपमा प्रयोग गर्न सकिन्छ? (अहँ, सकिँदैन।) कसैले मलाई यसो भनेर समेत सोधेको थियो, “मेरो छोराको ढाडमा कोठी छ। कतिपय मानिसहरूले यो कोठीको अर्थ ऊ अभागी छ भनेर भन्छन्, र अरूले कोठी बढिरहेको ठाउँमा रोग लाग्ने सम्भावना हुन सक्छ भनेर भन्छन्। जे भए पनि, ऊ अभागी छ कि छैन मलाई त्यसको वास्ता छैन, तर यदि यो उसको स्वास्थ्यका लागि साँच्चै नै हानिकारक छ भने, के तपाईंलाई यो कोठी हटाउनुपर्छ भन्ने लाग्छ?” यदि तिमीहरूलाई यो कुरा सोधियो भने, तिमीहरूले कसरी जवाफ दिनेछौ? के तिमीहरूलाई यो सत्यतासँग सम्बन्धित छ भन्ने लाग्छ? के यो मण्डलीको कामसँग सम्बन्धित छ? (अहँ, छैन।) यो यीमध्ये कुनै पनि कुरासँग सम्बन्धित छैन, त्यसकारण के म यस विषयमा ध्यान दिन बाध्य छु? (होइन।) म त्यस्तो कुनै बाध्यतामा छैनँ। त्यसकारण मैले भनेँ, “तेरो छोराको शरीरमा कोठी छ भन्ने तथ्यसँग सत्यताको कुनै सम्बन्ध छैन। यसको बारेमा मलाई नसोध्, तर गएर डाक्टरलाई सोध्। म तेरो परिवारको डाक्टर होइनँ।” के मैले यस विषयमा ध्यान दिनुपर्छ भन्ने तिमीहरूलाई लाग्छ? (अहँ, तपाईंले ध्यान दिनु पर्दैन।) तैँले जसलाई सोधे पनि, कोही पनि यस विषयमा ध्यान दिन तयार हुनेछैन। तिनीहरूलाई जिम्मेवारी लिन डर लाग्छ भन्ने होइन। बरु, तिनीहरूसँग त्यस्ता कुराहरूप्रति चासो गर्ने कुनै दायित्व हुँदैन। तेरो छोराको कोठी हटाउनु वा नहटाउनुले मण्डलीको काममा असर गर्छ? के यसले तेरो कर्तव्य निर्वाह गर्ने तेरो आफ्नै कार्यमा असर गर्नेछ? यो मामलासँग मेरो कुनै सम्बन्ध छैन। यसको बारेमा मलाई नसोध्, यो व्यर्थको कुरा हो। सत्यतासँग यसको कुनै सम्बन्ध हुँदैन, तैपनि तैँले अझै पनि “खोजी” भन्ने शब्द प्रयोग गर्छस्। तैँले “खोजी” भन्ने शब्दलाई अशुद्ध पार्छस्—यो घृणित कुरा हो! कसैले यसो भनेर पनि सोध्यो: “मेरो आँगनमा कछुवा आएको छ, मैले यसलाई समात्ने कि नसमात्ने? म तपाईंबाट यो कुराको खोजी गर्न चाहन्छु।” त्यसले मबाट उत्तर खोज्न यो प्रश्न अघि सार्यो—के तँलाई मैले त्यसलाई जवाफ दिनुपर्छ जस्तो लाग्छ? (होइन।) उसले भन्यो, “मैले यसलाई पक्रेर कानुन तोडेँ भने के गर्ने? यदि मैले कानुन तोडेँ र तपाईंले मलाई रोक्नुभएन भने, तपाईं जिम्मेवार हुनुहुनेछ!” तैँले के भन्नेथिइस्? (तैँले आफ्नै इच्छाले पक्रिने निर्णय गरिस्—तैँले कानुन तोड्नुसँग मेरो कुनै सम्बन्ध छैन।) तैँले कानुन तोड्छस् कि तोड्दैनस् त्यो तेरो मामला हो, र मसँग यसको कुनै सम्बन्ध हुँदैन। तैँले मलाई मण्डलीको कामका सिद्धान्तहरू र सत्यता सिद्धान्तहरू जस्ता कुराहरूका बारेमा प्रश्नहरू गर्न सक्छस्, तर कानुनी मामलाहरूका हकमा, वकील खोज्—तँ जुन देशमा बस्छस्, त्यहाँको वकीलसँग सल्लाह लिइ। म वकील होइनँ, त्यसकारण त्यस्ता कुराहरूका बारेमा मलाई नसोध्। म यहाँ सत्यता व्यक्त गर्न र मानवजातिलाई मुक्ति दिने काम गर्न आएको हुँ। म केवल सत्यता प्रदान गर्छु र सिद्धान्तहरूमा सङ्गति गर्छु। तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् भन्ने कुराको हकमा भन्दा, मसँग यसको कुनै सम्बन्ध हुँदैन; त्यो तेरो आफ्नै मामला हो। अनि तेरो आफ्नै जीवनका व्यक्तिगत मामलाहरूका बारेमा कुरै नगरौँ—तैँले ती कुराहरूका बारेमा मलाई सोध्नु हुँदैन, र तँलाई उत्तर दिने मेरो दायित्व हुँदैन। कुरा यही हो, होइन र? (हो।)
परमेश्वरको कामसँग सम्बन्धित यो विषय मानिसहरूको अन्तिम परिणामहरूसँग जोडिएको छ, त्यसकारण मानिसहरूले परमेश्वरको कामलाई स्वीकार गर्दा र अनुभव गर्दा आफूसँग धारणा र कल्पनाहरू बोकेर लैजानु हुँदैन; तिनीहरूले यी धारणा र कल्पनाहरूलाई जडबाट त्याग्नुपर्छ र तिनलाई आफू र परमेश्वरको बीचमा अस्तित्वमा रहन दिनु हुँदैन। सही विचार, दृष्टिकोण, र मनोवृत्तिहरूद्वारा परमेश्वरको कामलाई लिएपछि मात्रै मानिसहरूले सत्यता बुझ्न र प्राप्त गर्ने अवसर प्राप्त गर्न सक्छन्; सही मनोवृत्ति र सही विचार र दृष्टिकोणहरूद्वारा परमेश्वरको कामलाई लिएपछि मात्रै मानिसहरूले परमेश्वरको कामलाई साँचो रूपमा बुझ्न र अनुभव गर्न सक्छन्, र अन्तिममा, परमेश्वरको कामभित्रबाट, तिनीहरूले प्राप्त गर्नुपर्ने सत्यताहरू प्राप्त गर्न सक्छन्। त्यसकारण, तैँले जेसुकै कुरालाई त्यागे पनि, समग्रमा भन्दा, यो सबै तँलाई सही मार्गमा हिँड्न र सत्यता पछ्याउने मार्गमा हिँड्न सहयोग गर्नका लागि हो, र अन्तिम परिणाम र उद्देश्य भनेको तँलाई सत्यता सिद्धान्तहरू बुझ्न र सत्यता प्राप्त गर्न सहयोग गर्नु बाहेक अरू केही पनि हुँदैन। यो विषयवस्तुको बारेमा हामीले गरेको सङ्गतिको अन्तिम उद्देश्य यही हो। हामीले जुनसुकै विषयमा सङ्गति गरेका भए पनि, यसको अन्तिम उद्देश्य भनेको मानिसहरूलाई सत्यता वास्तविकतामा प्रवेश गर्न सहयोग गर्नु हो। यदि तैँले सत्यता बुझेको छस्, र तँसँग धेरै मामलाहरूमा आधारको रूपमा सत्यता सिद्धान्तहरू छन्, र तँ अब दिशाहीन, उद्देश्य विहीन छैनस्, वा काम गर्ने क्रममा अन्योलमा परेको हुँदैनस् भने, यसको अर्थ तेरो क्षमतामा सुधार आएको छ भन्ने हुँदैन, तर तँसँग तेरो कार्य र आनीबानीका मापदण्डहरूका रूपमा परमेश्वरको सत्यता, परमेश्वरका वचनहरू छन् भन्ने हुन्छ। अर्थात्, तेरो जन्मजात क्षमता, योग्यता, र प्रतिभाको आधारमा, तैँले सत्यता बुझेको छस् र तेरो आनीबानीका मापदण्डहरू छन्, त्यसकारण तँ यो संसारमा र सबै थोकको बीचमा स्वतन्त्र रूपमा जिउन सक्ने सृजित मानव होस्। त्यस्तो मानव मात्रै सृजित मानवको मापदण्डको स्तरमा हुन्छ—यो सृजित मानवको मापदण्ड हो। बुझिस्? (बुझेँ।) त्यसोभए आजको हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। बिदा!
जुलाई १५, २०२३