४. यदि हामी परमेश्‍वरमा विश्‍वास गर्दैनौं, र असल कामहरू गर्ने र कुनै दुष्ट काम नगर्ने सद्‍गुणी मात्र छौं भने, के हामी परमेश्‍वरद्वारा मुक्ति पाउन सक्छौं?

परमेश्वरका सान्दर्भिक वचनहरू:

मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको व्यवहार असल छ उनीहरू धर्मी हुन्छन्, जबकि जसको व्यवहार घिनलाग्दो छ उनीहरू दुष्ट हुन्छन्। परमेश्‍वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँको अधीनमा हुन्छ कि हुँदैन भन्‍ने कुरामा आधारित हुन्छ; आफूलाई परमेश्‍वरको अधीनमा राख्ने व्यक्ति धर्मी व्यक्ति हो, जबकि त्यसो नगर्ने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कार्यहरू प्रयोग गर्ने इच्छा गर्छन्, र कतिपय मानिस असल गन्तव्य हासिल गर्न राम्रा शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूको परिणाम उनीहरूको व्यवहार वा बोलीवचनका आधारमा निर्धारण गर्नुहुन्छ भनी सबैले गलत विश्वास गर्छन्; यसकारण, धेरै मानिसहरू यसको फाइदा उठाएर बेइमानीपूर्वक आफ्ना लागि क्षणिक अनुग्रह प्राप्त गर्ने इच्छा गर्छन्। आउने विश्रामको समयमा बाँच्ने मानिसहरू सबैले दुःखको दिन सहेका र परमेश्‍वरको गवाही दिएका हुनेछन्; उनीहरू सबै आफ्ना कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरमा समर्पित भएका मानिसहरू हुनेछन्। जो सेवा गर्ने अवसरलाई केवल सत्यता अभ्यास गर्नबाट पन्छिनका लागि प्रयोग गर्ने इच्छा गर्छन् तिनीहरू रहनेछैनन्। हरेक व्यक्तिको परिणामको प्रबन्ध गर्न परमेश्‍वरसँग उपयुक्त मानकहरू छन्; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरणअनुरूप मात्र गर्नुहुन्न, न त कुनै व्यक्तिले एउटा समयावधिमा कस्तो कार्य गर्छ भन्‍ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ कसैले उहाँका निम्ति विगतमा गरेको सेवाका कारण उसका सारा दुष्ट कार्यप्रति कदापि उदार हुनुहुनेछैन, न त कसैले केही समयका लागि आफूलाई उहाँप्रति समर्पित गरेको कारण उहाँले उसलाई मृत्युबाट जोगाउनुहुनेछ। आफ्नो दुष्टताको बदलाबाट कोही जोगिन सक्दैन, र कोही पनि आफ्ना दुष्ट कार्यहरू ढाक्न र त्यसरी विनाशको दुःखबाट जोगिन सक्दैन। यदि मानिसहरूले आफ्ना कर्तव्यहरू साँच्चिकै पूरा गर्न सक्छन् भने, यसको अर्थ उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा बफादार छन् र इनाम खोज्दैनन्, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा दुःखपिर भोगून्। यदि मानिसहरू आशिष्‌हरू देख्दा, परमेश्‍वरप्रति बफादार हुन्छन्, तर कुनै आशिष्‌हरू देख्न नसक्दा चाहिँ आफ्नो बफादारी गुमाउँछन् भने, र यदि यी मानिसहरू—जसले एक समय परमेश्‍वरका निम्ति बफादारीपूर्वक परिश्रम गरे—अन्त्यमा अझै गवाही दिन वा आफूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, यस्ता मानिसहरू अझै पनि विनाशका पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू सधैँभरि बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

म प्रत्येक व्यक्तिको गन्तव्य निजको उमेर, वरिष्ठता, वा कष्टको परिमाणका आधारमा निर्धारित गर्दिनँ, ऊ कति दयनीय छ भन्ने कुराका आधारमा त झनै गर्दिनँ, बरु ऊसँग सत्यता छ कि छैन भन्‍ने आधारमा गर्दछु। योभन्दा अर्को कुनै विकल्प छैन। परमेश्‍वरको इच्छालाई नपछ्याउने सबैले विना कुनै अपवाद दण्ड पाउनेछन् भनेर तिमीहरूले बुझ्नैपर्छ। यो कुनै व्यक्तिले परिवर्तन गर्न नसक्ने कुरा हो। तसर्थ, दण्डित हुनेहरू सबै परमेश्‍वरको धार्मिकताका लागि अनि उनीहरूले गरेका असङ्ख्य दुष्कर्मका लागि प्रतिफलका रूपमा दण्डित भएका हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आफ्नो गन्तव्यको लागि पर्याप्त असल कार्यहरू तयार गर्

केवल व्यवहारमा आउने परिवर्तनहरू दिगो हुँदैनन्; यदि मानिसहरूको जीवन स्वभावमा कुनै परिवर्तन आएन भने, ढिलोचाँडो, तिनीहरूले आफ्नो साँचो रूप देखाउनेछन्। किनभने व्यवहारमा आउने परिवर्तनहरूको स्रोत भनेको उत्साह हो, र त्यसमाथि, पवित्र आत्मा यस समयमा केही काम गरिरहनुभएको हुन्छ, र त्यसैले मानिसहरूलाई छोटो समयका लागि जोसिलो बन्न वा केही दया देखाउन अत्यन्तै सजिलो हुन्छ। जसरी गैरविश्‍वासीहरू भन्छन्, “एउटा असल कामकुरा गर्न सजिलो हुन्छ; जीवनभरि असल कामकुराहरू गर्नचाहिँ गाह्रो हुन्छ।” मानिसहरूले किन आफ्‍नो जीवनभरि नै असल कामकुरा गरिरहन सक्दैनन्? किनभने प्रकृतिअनुसार मानिसहरू दुष्ट, स्वार्थी, र भ्रष्ट हुन्छन्। व्यक्तिको व्यवहार उसको प्रकृतिद्वारा निर्देशित हुन्छ; त्यस व्यक्तिको प्रकृति जस्तो छ, उसका प्राकृतिक प्रकटीकरणहरू पनि उस्तै हुन्छन्, र उसले प्राकृतिक रूपमा जे प्रकट गर्छ त्यसले मात्र उसको प्रकृतिको प्रतिनिधित्व गर्दछ। ढोँगहरू टिक्न सक्दैनन्। जब परमेश्‍वरले मानिसलाई मुक्ति दिनका लागि काम गर्नुहुन्छ, त्यो मानिसलाई असल व्यवहारले सिँगार्नका निम्ति हुँदैन—परमेश्‍वरको कामको उद्देश्य मानिसहरूको स्वभावलाई रूपान्तरण गर्नु, तिनीहरूलाई भित्रैदेखि रूपान्तरित गरेर नयाँ मानिस बनाउनु हो। परमेश्‍वरले मान्छेलाई गर्ने न्याय, सजाय, परीक्षा, र शोधन सबैले उसको स्वभाव परिवर्तन गर्न मदत गर्छन् ताकि उसले परमेश्‍वरप्रति समर्पण र बफादारी हासिल गर्न, र साँचो रूपमा उहाँको आराधना गर्न सकोस्। परमेश्‍वरले आफ्नो काममा हासिल गर्न चाहने नतिजा यही हो, र परमेश्‍वरको कामको लक्ष्य पनि यही हो। असल व्यवहार गर्नु भनेको परमेश्‍वरप्रति समर्पित हुनु होइन, यो ख्रीष्टसँग मिल्ने हुनु बराबर त झनै होइन। व्यवहारमा आउने परिवर्तनहरू सिद्धान्तमा आधारित हुन्छन् र उत्साहको कारण उत्पन्न हुन्छन्; ती परमेश्‍वरको साँचो ज्ञान वा सत्यमा आधारित हुँदैनन्, ती पवित्र आत्माको मार्गनिर्देशनमा निर्भर हुनु त झनै परको कुरा हो। कतिपय समयमा मानिसहरूले पवित्र आत्माबाट अन्तर्दृष्टि र मार्गदर्शन पाउने भए पनि, त्यो तिनीहरूको जीवनको प्रकटीकरण होइन। तिनीहरू अझै पनि सत्यता वास्तविकताहरूमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूको जीवन स्वभाव किमार्थ परिवर्तन भएको हुँदैन। व्यक्तिको व्यवहार जतिसुकै राम्रो भए पनि, त्यसले ऊ परमेश्‍वरप्रति समर्पित हुन्छ वा ऊ सत्यतालाई व्यवहारमा लागु गर्छ भन्‍ने कुरा प्रमाणित गर्दैन। व्यवहारमा हुने परिवर्तनहरूले जीवन स्वभावका परिवर्तनहरूलाई प्रतिनिधित्व गर्दैनन् र तिनलाई जीवनका प्रकटीकरणहरूमा गन्‍न सकिँदैन।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

तेरो असल व्यवहारको के अर्थ छ? के त्यसले परमेश्‍वरको उपासना गर्ने हृदयको ठाउँ लिन सक्छ? तँ केही असल कामकुरा गरेर मात्रै परमेश्‍वरको आशिष् प्राप्त गर्न सक्दैनस्, र तँ उत्पीडन र दमनमा परेको छस् भन्दैमा परमेश्‍वरले तँलाई भएको अन्याय निवारण गर्नुहुनेछैन र तेरो खातिर बदला लिइदिनुहुनेछैन। जो परमेश्‍वरमा विश्‍वास गरे पनि परमेश्‍वरलाई चिन्दैनन् तर राम्रो गर्छन्—के तिनीहरूलाई पनि सजाय दिइँदैन र? तँ केवल परमेश्‍वरमा विश्‍वास गर्छस्, केवल परमेश्‍वरले तँलाई भएको अन्याय निवारण गरिदिनुहोस् र तिनको बदला लिइदिनुहोस् भन्‍ने चाहन्छस्, र तँ परमेश्‍वरले तँलाई तेरो त्यो दिन दिनुहोस् भन्‍ने चाहन्छस्, जुन दिन तैँले अन्ततः आफ्‍नो शिर ठाडो गर्न सक्‍नेछस्। तर तँ सत्यतालाई बेवास्ता गर्छस्, र तँ सत्यता जिउने तृष्णा गर्दैनस्। तँ यो कठिन, रित्तो जीवनबाट उम्कन त झनै सक्षम छैनस्। बरु, देहमा र पापको बीचमा आफ्नो जीवन जिउने क्रममा, तँ परमेश्‍वरले तँलाई भएको अन्याय निवारण गरिदिनुहुन्छ र तेरो अस्तित्वको कुहिरो हटाइदिनुहुन्छ भन्ने अपेक्षाका साथ उहाँलाई हेर्छस्। तर के यो सम्भव छ? यदि तँसँग सत्यता छ भने, तैँले परमेश्‍वरलाई पछ्याउन सक्छस्। यदि तँसँग जियाई छ भने, तँ परमेश्‍वरको वचनको प्रकटीकरण हुन सक्छस्। यदि तँसँग जीवन छ भने, तैँले परमेश्‍वरको आशिष्‌ पाउन सक्छस्। सत्यता भएकाहरूले परमेश्‍वरको आशिष्‌को आनन्द लिन सक्छन्। परमेश्‍वरले पूर्ण हृदयले उहाँलाई प्रेम गर्ने र कष्ट र दुःख सहनेहरूका लागि न्याय सुनिश्चित गर्नुहुन्छ, तर आफूलाई मात्र प्रेम गर्ने र शैतानको छलको शिकार भएकाहरूका लागि भने त्यो सुनिश्‍चित गर्नुहुन्‍न। सत्यतालाई प्रेम नगर्नेहरूमा कसरी असलपन हुन सक्छ? देहलाई मात्र प्रेम गर्नेहरूमा कसरी धार्मिकता हुन सक्छ? के धार्मिकता र असलपन दुवैका बारेमा सत्यताको सन्दर्भमा मात्र कुरा गरिँदैन र? के ती कुरा पूर्ण हृदयले परमेश्‍वरलाई प्रेम गर्नेहरूका लागि मात्र आरक्षित गरिँदैनन् र? जो सत्यतालाई प्रेम गर्दैनन् र जो दुर्गन्धित लासबाहेक केही पनि होइनन्—के यस्ता सबै मानिसले दुष्टता पालेका हुँदैनन् र? जो सत्यता जिउन सक्दैनन्—के ती सबै सत्यताका शत्रु होइनन् र? अनि, तिमीहरूचाहिँ नि?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्

के परमेश्‍वरसामु सिद्ध पारिएर पवित्र जन वा धर्मी व्यक्ति बन्नु त्यति सजिलो छ र? “यस पृथ्वीमा कोही पनि धर्मी छैन, धर्मीहरू यस संसारमा छैनन्” भन्‍ने भनाइ साँचो हो। जब तिमीहरू परमेश्‍वरसामु आउँछौ, तब तिमीहरू के लगाइरहेका छौ भन्ने कुरालाई ख्याल गर, तिमीहरूको हरेक शब्द, कार्य, र चाल, तिमीहरूको हरेक सोच र विचार, र तिमीहरूले हरेक दिन देख्ने सपनाहरूलाई समेत ख्याल गर—ती सबै तिमीहरूकै खातिर हुन्। के यो यो नै साँचो वस्तुस्थिति होइन र? “धार्मिकता” को अर्थ अरूलाई दान दिनु होइन, यसको अर्थ आफ्नो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्नु होइन, र यसको अर्थ झगडा र विवाद वा लुटपाट र चोरी गर्न छोड्नु होइन। धार्मिकता भनेको समय वा स्थानको पर्वाह नगरी, प्रभु येशूले गर्नुभएका सबै कुराजस्तै, परमेश्‍वरको आज्ञालाई आफ्नो कर्तव्यको रूपमा लिनु र परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरूलाई स्वर्गबाट गरिएको आह्वानका रूपमा लिएर तीप्रति समर्पित हुनु हो। परमेश्‍वरले जुन धार्मकिताबारे बोल्नुभएको छ त्यो यही हो। लूतलाई धर्मी भन्न सकिन्थ्यो किनभने तिनले आफ्नो लाभ र क्षतिलाई ख्याल नगरी परमेश्‍वरद्वारा पठाइएका दुई स्वर्गदूतलाई बचाए; यति मात्र भन्न सकिन्छ कि तिनले त्यस समयमा जे गरे त्यसलाई धर्मी भन्न सकिन्छ, तर तिनलाई धर्मी मानिस भन्न सकिँदैन। लूतले परमेश्‍वरलाई देखेका हुनाले मात्रै तिनले स्वर्गदूतहरूको बदलामा आफ्ना दुई छोरी दिएका थिए, तर विगतका तिनका सबै व्यवहार धार्मिकताको पक्षमा थिएनन्। त्यसकारण म भन्छु “यस पृथ्वीमा कोही पनि धर्मी छैन।” पुनर्स्थापनाको प्रवाहमा भएकाहरूमध्ये, कसैलाई पनि धर्मी व्यक्ति भन्न सकिँदैन। तेरा कार्यहरू जतिसुकै राम्रा भए पनि, तैँले परमेश्‍वरको नामलाई जतिसुकै महिमा दिएजस्तो देखिए पनि, अरूलाईपिट्ने र सराप्ने काम नगर्दैमा, वा अरूबाट लुटपाट र डकैती नगर्दैमा, तँलाई धर्मी भन्न मिल्दैन, किनभने यो त कुनै सामान्य व्यक्तिमा पनि हुन सक्ने कुरा हो। अहिलेको मुख्य कुरा भनेको तँ परमेश्‍वरलाई चिन्दैनस्। यति मात्र भन्न सकिन्छ कि वर्तमान अवस्थामा तँसँग थोरै सामान्य मानवता छ, तर परमेश्‍वरले उल्लेख गर्नुभएको धार्मिकताका कुनै तत्त्व छैन, र त्यसैले तैँले गर्ने कुनै पनि कुराले तँ परमेश्‍वरलाई चिन्छस् भनी प्रमाणित गर्न सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। दुष्टलाई निश्‍चय नै दण्ड दिइनेछ

तँ तेरा नातेदारहरू, मित्रहरू, पत्नी (वा पति), छोरा-छोरीहरू, र आमाबुबाप्रति असाधारण रूपमा मिलनसार र अर्पित होलास् र कहिल्यै पनि अरूको फाइदा नउठाउलास्, तर यदि तँ ख्रीष्टसँग मिल्न सक्दैनस्, यदि तँ उहाँसँग सद्भावमा अन्तरक्रिया गर्न सक्दैनस् भने, तैँले आफ्‍ना छिमेकीहरूको राहतका निम्ति आफ्‍नो सब थोक खर्चिन्छस् या आफ्नो बुबा, आमा, र आफ्नो घरपरिवारका सदस्यहरूलाई मिहिन रूपमा हेरचाह नै गर्छस् भने पनि, म त भन्छु, तँ अझै पनि दुष्ट व्यक्ति होस्, अनि त्यसमाथि तँ धूर्त छलहरूले भरिएको व्यक्ति होस्। तँ अरूसँग मिल्छस् वा केही असल कामहरू गर्छस् भन्दैमा आफूलाई ख्रीष्टसँग मिल्ने नठान्। के तँलाई परोपकारी मनसायद्वारा तैँले स्वर्गका आशिष्‌हरू ठगेर लिन सक्छस् भन्‍ने लाग्छ? के तँलाई केही असल कामहरू गर्नु तेरो समर्पणको विकल्प हो भन्‍ने लाग्छ? तिमीहरूमध्ये कोही पनि काटछाँट गरिनुलाई स्वीकार गर्न सक्दैनौ, तिमीहरू सबैलाई ख्रीष्टको सामान्य मानवतालाई अपनाउन गाह्रो लाग्छ, र त्यसमाथि, तिमीहरू निरन्तर परमेश्‍वरप्रति आफ्नो समर्पणको ढोल पिटिरहेका हुन्छौ। तिमीहरूको जस्तो विश्‍वासले उचित दण्ड निम्त्याउनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। ख्रीष्टसँग नमिल्नेहरू निश्‍चय नै परमेश्‍वरका विरोधी हुन्

हिजोआज, पछ्याउने र नपछ्याउनेहरू दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू फरक छन्। सत्यता जान्न र सत्यता अभ्यास गर्न पछ्याउनेहरू नै ती मानिस हुन्, जसकहाँ परमेश्‍वरले मुक्ति ल्याउनुहुनेछ। साँचो मार्ग थाहा नहुनेहरू पिशाच र शत्रु हुन्; उनीहरू प्रधान स्वर्गदूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्‍वरका भक्त विश्‍वासीहरू समेत—के उनीहरू पिशाच पनि होइनन् र? असल विवेक भएकाहरू, तर साँचो मार्ग स्वीकार नगर्ने मानिसहरू पिशाच हुन्; उनीहरूको सार भनेको परमेश्‍वरको प्रतिरोध गर्ने सार हो। साँचो मार्ग स्वीकार नगर्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कष्ट सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। संसारलाई त्याग्न अनिच्छुक हुनेहरू, आफ्ना बाबुआमासँग अलग हुन नसक्नेहरू, र आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न नसक्नेहरू परमेश्‍वरविरुद्ध विद्रोही हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्ने जोकोही पनि पिशाच हो, र, अझ भन्नुपर्दा, उसलाई नष्ट गरिनेछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्

अघिल्लो: ३. मानिसहरूको देहको जीवन एकै क्षणमा, केही दशकमा समाप्त हुन्छ। पछाडि फर्केर हेर्दै, तिनीहरू आफ्नो जीवनलाई सम्झन्छन्: स्कूल गएको, काम गरेको, बिहे गरेको, छोराछोरी जन्माएको, मृत्यु पर्खेको, तिनीहरूको सम्पूर्ण जीवन परिवार, पैसा, हैसियत, सम्पत्ति र इज्जतको लागि व्यस्त बनेर यताउता दौडधूप गर्नुमा बितेको हुन्छ, मानव अस्तित्वको वास्तविक दिशा र उद्देश्यबाट पूर्ण रूपमा वञ्चित रहेको हुन्छ, र जीवित रहनुमा कुनै महत्त्व वा अर्थ पाउन सकेको हुँदैन। त्यसैले मानिसहरू एक पुस्तादेखि अर्को पुस्तासम्‍म यस्तो पीडादायक र खोक्रो तरिकाले जिउँछन्। किन मानिसहरूको जीवन यति पीडादायी र खोक्रो छ? र मानव अस्तित्वको पीडा र खोक्रोपनको समाधान कसरी गर्न सकिन्छ?

अर्को: ५. परमेश्‍वरमा विश्‍वास गर्नु राम्रो हो, तर मलाई लाग्छ सबै धर्मले मानिसहरूलाई असल मानिस हुन सिकाउँछन्। त्यसैले मानिसहरूले जुनै धर्ममा विश्‍वास गरे पनि, त्यसले केही फरक पर्दैन, जबसम्म तिनीहरू इमानदार हुन्छन् र कुनै दुष्ट काम गर्दैनन्, तबसम्‍म परमेश्‍वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछ?

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ९)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्