३. मानिसहरूको देहको जीवन एकै क्षणमा, केही दशकमा समाप्त हुन्छ। पछाडि फर्केर हेर्दै, तिनीहरू आफ्नो जीवनलाई सम्झन्छन्: स्कूल गएको, काम गरेको, बिहे गरेको, छोराछोरी जन्माएको, मृत्यु पर्खेको, तिनीहरूको सम्पूर्ण जीवन परिवार, पैसा, हैसियत, सम्पत्ति र इज्जतको लागि व्यस्त बनेर यताउता दौडधूप गर्नुमा बितेको हुन्छ, मानव अस्तित्वको वास्तविक दिशा र उद्देश्यबाट पूर्ण रूपमा वञ्चित रहेको हुन्छ, र जीवित रहनुमा कुनै महत्त्व वा अर्थ पाउन सकेको हुँदैन। त्यसैले मानिसहरू एक पुस्तादेखि अर्को पुस्तासम्म यस्तो पीडादायक र खोक्रो तरिकाले जिउँछन्। किन मानिसहरूको जीवन यति पीडादायी र खोक्रो छ? र मानव अस्तित्वको पीडा र खोक्रोपनको समाधान कसरी गर्न सकिन्छ?
परमेश्वरका सान्दर्भिक वचनहरू:
मानिसहरूले आफ्नो जीवनभर जन्म, बुढ्यौली, रोग र मृत्युको पीडा कहाँबाट आउँछ र किन मानिसले यी कुराहरू भोग्छ भनेर बुझ्नुपर्छ। सुरुमा मानिसलाई सृष्टि गर्दा के यी कुराहरू अस्तित्वमै नभएका होइनन् र? यी पीडाहरू कहाँबाट आए? यी पीडाहरू शैतानले मानिसलाई प्रलोभित र भ्रष्ट पारेर पतित बनाएपछि आएका थिए। मानिसको देहको पीडा, समस्याहरू र खालीपन अनि मानिसको संसारमा भएका सबै निकृष्ट कुराहरू—ती सबै शैतानले मानिसलाई भ्रष्ट पारेपछि देखा परे। शैतानले मानिसलाई भ्रष्ट पारेपछि, शैतानले मानिसलाई सताउन थाल्यो र फलस्वरूप मानिस अझ गिर्यो, उसको रोग अझ गम्भीर भयो, उसको पीडा अझ ठूलो भयो र ऊभित्र यो संसार खाली र दयनीय छ, र यो संसारमा बाँच्न असम्भव छ र यो संसारमा बाँच्नु झन् निराशाजनक छ भन्ने भावना बढ्न थाल्यो। यसरी मानिसको यो सबै पीडा शैतानले ल्याएको थियो र मानिस शैतानद्वारा भ्रष्ट पारिएर पतित भएपछि आएको थियो।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरले सांसारिक कष्ट चाख्नुको महत्त्व
मानवजातिले सामाजिक विज्ञानहरूलाई स्थापित गरेदेखि मानवको मनचाहिँ विज्ञान र ज्ञानद्वारा भरिएको छ। मानवजातिलाई शासन गर्नका लागि विज्ञान र ज्ञान औजार बनेका छन्, र परमेश्वरलाई आराधना गर्न मानवका निम्ति पर्याप्त स्थान छैन, र परमेश्वरको आराधना गर्न अझ बढी अनुकूल परिस्थिति छैन। मानव हृदयमा परमेश्वरको स्थान सधैँ झन्झन् तल खस्केको छ। मानवको हृदयमा परमेश्वर नहुनुहुँदा, उसको भित्री संसार अँध्यारो, आशाविहीन, र खाली छ। यसरी नै परमेश्वरले मानवलाई सृष्टि गर्नुभयो भन्ने सत्यताको विरोध गर्न, मानवजातिको हृदय र मनलाई सामाजिक विज्ञानका सिद्धान्तहरू, मानव विकासवादको सिद्धान्त, र अन्य सिद्धान्तहरूले भर्न धेरै सामाजिक वैज्ञानिकहरू, इतिहासकारहरू, र राजनीतिज्ञहरू अगाडि आएका छन्। अनि यस तरिकाले, परमेश्वरले सबै थोक सृष्टि गर्नुभयो भनी विश्वास गर्नेहरू पहिलेभन्दा नै थोरै भएका छन्, र विकासवादको सिद्धान्तमा विश्वास गर्नेहरू सङ्ख्यामा पहिलेभन्दा धेरै भएका छन्। पुरानो करारीय युगमा भएका परमेश्वरका काम र उहाँका वचनहरूका अभिलेखहरूलाई धेरै मानिसहरूले दन्त्यकथा र पौराणिक कथाका रूपमा लिएका छन्। परमेश्वरको गरिमा र महानता, परमेश्वरको अस्तित्व र सबै थोकमाथि उहाँको प्रभुत्व छ भन्ने सिद्धान्तप्रति मानिसहरू आफ्ना हृदयमा उदासीन बन्छन्। मानवजातिको अस्तित्व र देशहरू र राज्यहरूका नियति तिनीहरूका लागि महत्त्वपूर्ण रहँदैनन्, र मानव केवल खाने, पिउने, र सुखको खोजीमा मात्र सरोकार राखी खोक्रो संसारमा बस्छ। … आज परमेश्वरले आफ्नो काम कहाँ गर्नुहुन्छ भनी केही मानिसहरूले मात्र खोज्छन् वा मानवको गन्तव्यमा उहाँले कसरी नेतृत्व दिनुहुन्छ र प्रबन्ध मिलाउनुहुन्छ भनी खोजेका हुन्छन्। अनि यसरी, मानवलाई थाहा नै नभई मानव सभ्यता मानवका चाहनालाई काट्न थोरै सक्षम हुन्छ, अनि यस किसिमको संसारमा जिउँदा त, पहिले नै बितेर गइसकेकाहरूभन्दा पनि कम खुशी छौं भन्ने अनुभूति गर्ने मानिसहरू समेत धेरै छन्। उच्च सभ्यता प्राप्त गरेका देशहरूका मानिसहरूले पनि यस किसिमका गुनासोहरू पोख्छन्। किनभने परमेश्वरको मार्गदर्शनविना, शासक र समाजशास्त्रीहरूले मानव सभ्यता कायम राख्न आफ्नो दिमाग खियाए पनि, यसले कुनै फाइदा गर्दैन। मानिसको हृदयमा भएको खालीपनलाई कुनै व्यक्तिले पनि भर्न सक्दैन, किनकि कुनै पनि व्यक्ति मानिसको जीवन हुन सक्दैन, र कुनै पनि सामाजिक सिद्धान्तले मानिसलाई खालीपनका समस्याहरूबाट स्वतन्त्र पार्न सक्दैन। विज्ञान, ज्ञान, स्वतन्त्रता, प्रजातन्त्र, आनन्द, र सहजताले मानिसलाई अस्थायी सान्त्वना मात्र दिन्छन्। यी कुराहरू हुँदा पनि, मानिसले अनिवार्य रूपमा पाप गर्छ र समाजको अन्यायबारे गुनासो गर्छ। यी कुराहरू हुनुले मानिसको अन्वेषण गर्ने तृष्णा र कामना रोक्न सक्दैनन्। यो हुनुको कारण चाहिँ के हो भने, मानिसलाई परमेश्वरले सृष्टि गर्नुभयो र तिनीहरूका अर्थहीन बलिदान र अन्वेषणहरूले झन्झन् तिनीहरूमाथि हैरानी ल्याउन मात्र सक्छन्, र मानिसलाई लगातार बेचैनीको अवस्थामा हुने तुल्याउँछ, मानवजातिको भविष्यलाई कसरी सामना गर्ने वा अगाडि रहेको मार्गलाई कसरी सामना गर्ने भन्ने उसलाई थाहा हुँदैन, यहाँसम्म कि ऊ विज्ञान र ज्ञानसँग पनि डराउँछ, र ऊ खालीपनको अनुभूतिसँग झन् बढी डराउँछ। यस संसारमा, तँ चाहे स्वतन्त्र देशमा जिउने भए पनि वा मानवअधिकार नभएको देशमा जिउने भए पनि, मानवजातिको भवितव्यबाट उम्कन तँ पूर्ण रूपमा असक्षम हुन्छस्। तँ शासक वा शासित, जे भए पनि, मानवजातिका नियति, रहस्यहरू, र गन्तव्य अन्वेषण गर्ने तेरो कामनाबाट उम्कन पूर्ण रूपमा असक्षम हुन्छस्, खालीपनको अवर्णनीय भावनाबाट उम्कन त अझै बढी असक्षम हुन्छस्। सबै मानवजातिका लागि सामान्य भएका यस्ता घटनाहरूलाई, समाजशास्त्रीहरूले सामाजिक घटनाहरू भन्छन्, तैपनि यस्ता समस्याहरू समाधान गर्न कुनै पनि महान् व्यक्ति अगाडि आउन सक्दैन। आखिर, मानिस मानिस नै हो, अनि परमेश्वरको हैसियत र जीवनलाई कुनै पनि मानिसले प्रतिस्थापित गर्न सक्दैन। मानवजातिलाई चाहिने भनेको सबैलाई राम्रोसँग खुवाइने, सबै समान र स्वतन्त्र हुने निष्पक्ष समाज मात्र होइन; मानवजातिलाई चाहिने त परमेश्वरको मुक्ति र मानवजातिका लागि उहाँको जीवनको आपूर्ति हो। मानिसले परमेश्वरको जीवनको आपूर्ति र उहाँको मुक्ति प्राप्त गरेपछि मात्र उनीहरूका आवश्यकताहरू, उनीहरूको अन्वेषण गर्ने कामना, र उनीहरूको हृदयको खालीपन समाधान हुन्छ। यदि एक देश वा जातिका मानिसहरूले परमेश्वरको मुक्ति र हेरचाह पाउन सक्दैनन् भने, त्यस्तो देश वा जाति पतन, अन्धकारतर्फ बढ्नेछ, र फलस्वरूप परमेश्वरद्वारा नष्ट गरिनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
मानिसहरू यो जीवन गरिबी वा समृद्धिमा बिताउँछन् र लामो वा छोटो जीवन जिउँछन्। केही आम मानिस हुन्छन् भने अरू उच्च पदका अधिकृत र अभिजात वर्गका हुन्छन्। समाजमा हरेक तहका मानिसहरू हुन्छन्, तर तिनीहरू सबै मूलतः उही तरिकाले जिउँछन्: तिनीहरू आफ्ना चाहना, आकाङ्क्षा र शैतानी स्वभावअनुसार ख्याति र लाभका निम्ति प्रतिस्पर्धा गर्छन्, र यी लक्ष्यहरू हासिल नगरेसम्म व्यग्र नभई बस्दैनन्। मानिसहरूले यस्ता परिस्थितिहरू देख्दा, यसो सोच्लान्, “मानिसहरू किन यसरी जिउँछन्? के अर्को कुनै पनि मार्ग लिन मिल्दैन र? के मानिसहरू साँच्चै नमरुञ्जेल राम्ररी खान-पिउन मात्रै जिउँछन् त? तिनीहरू त्यसपछि कहाँ जान्छन्? मानिसका यति धेरै पुस्ता किन यसरी जिउँदै आएका छन्? यो सबैको जड के हो?” मानिसहरूलाई तिनीहरू कहाँबाट आएका हुन्, तिनीहरूको जीवनको मिसन के हो, वा रेखदेखकर्ता को हो र यो सबैमाथि कसले सार्वभौमिकता राख्छ भनेर थाहा हुँदैन। पुस्ताहरू एकपछि अर्को गर्दै आउँछन् अनि जान्छन्, र हरेक पुस्ता उही तरिकाले जिउँछ अनि मर्छ। तिनीहरू सबै उही तरिकाले आउँछन् अनि जान्छन्, र कसैले पनि वास्तविक जिउने विधि वा मार्ग भेट्टाउँदैन। कसैले पनि यसको सत्यता खोज्दैन। प्राचीन कालदेखि अहिलेसम्म, मानिसहरू उही तरिकाले जिउँदै आएका छन्। तिनीहरू सबै खोजिरहेका र पर्खिरहेका छन्, मानवता कस्तो हुनेछ भनेर हेर्ने आशा गरिरहेका छन्, तर कसैले पनि त्यो जानेको वा देख्न पाएको छैन। अन्त्यमा, मानिसहरूलाई यो सबमाथि शासन गर्ने र सार्वभौमिकता राख्ने को हुनुहुन्छ वा उहाँ हुनुहुन्छ कि हुनुहुन्न भन्ने पनि थाहा छैन। तिनीहरूलाई यसको उत्तर थाहा छैन, र तिनीहरू असहाय रूपमा, वर्षैपिच्छे तृष्णा गर्दै, दिन-दिनै सहँदै आजको दिनसम्म जिइरहन बाहेक केही गर्न सक्दैनन्। यदि मानिसहरूलाई यो सबै हुने कारण थाहा भएको भए, के यसले तिनीहरूलाई जीवन कसरी जिउनुपर्छ भनी पछ्याउनुपर्ने मार्ग दिनेथियो? के तिनीहरू त्यसपछि यो कष्टबाट उम्कन र उप्रान्त मानव इच्छा र आशाअनुसार जिउनु नपर्ने बन्न सक्नेथिए? जब मानिसहरूले तिनीहरू किन जिउँछन्, किन मर्छन्, र यो संसारको रेखदेखकर्ता को हो भनेर बुझ्छन्; जब तिनीहरूले सृष्टिकर्ताले नै सबथोकमाथि सार्वभौमिकता राख्नुहुन्छ बुझ्छन्, तब तिनीहरूसँग पछ्याउने मार्ग हुन्छ। तिनीहरूले अघि बढ्ने बाटो भेट्टाउन परमेश्वरका वचनमा सत्यता खोज्नुपर्छ र आफ्नै इच्छा र आशामा भर पर्दै यस्तो दुःखमा जिउनुपर्दैन भनेर थाहा पाउनेछन्। यदि मानिसहरूले तिनीहरू किन जिउँछन् र मर्छन् भन्ने प्रश्नको उत्तर पत्ता लगाए भने, के सबै मानव दुःख र कठिनाइहरूको समाधान हुँदैन र? के यसले मानिसहरूलाई छुटकारा दिँदैन र? मानिसहरूले साँच्चै छुटकारा पाएका हुनेछन्, र तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुनेछन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
“सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्वर” भन्ने भजन सुनेपछि, तिमीहरूले हृदयमा के मनन गर्नुपर्छ? मानवजातिलाई तिनीहरू किन जिउँछन्, किन मर्छन्, र वास्तवमा, यो संसार र यावत थोकका सार्वभौम अनि सबथोकमाथि शासन गर्नुहुने को हुनुहुन्छ, र उहाँ ठ्याक्कै कहाँ हुनुहुन्छ, र उहाँले मानिसबाट के माग गर्नुहुन्छ भन्ने थाहा भएको भए—यदि मानवजातिले यी कुराहरू बुझ्न सक्ने भए, तिनीहरूलाई सृष्टिकर्ताप्रति कस्तो व्यवहार गर्ने, उहाँलाई कसरी आराधना गर्ने र उहाँमा कसरी समर्पित हुने भनेर थाहा हुनेथियो, तिनीहरूले हृदयमा साथ पाउनेथिए, तिनीहरू शान्त र खुसी हुनेथिए, र उप्रान्त यस्तो यातना र पीडामा जिउने थिएनन्। अन्तिम विश्लेषणमा, मानिसहरूले सत्यता बुझ्नैपर्छ। तिनीहरूले आफ्नो जीवनका लागि छनौट गर्ने मार्ग महत्त्वपूर्ण हुन्छ र तिनीहरूको जिउने तरिका पनि महत्त्वपूर्ण हुन्छ। व्यक्तिको जिउने तरिका र उसले हिँड्ने मार्गले उसको जीवन हर्षमय हुन्छ कि दुःखी भन्ने कुरा निर्धारण गर्छ। यो मानिसहरूले बुझ्नुपर्ने कुरा हो। मानिसहरूले यो भजन सुन्दा, हृदयमा यस्तो गहन अनुभूति गर्न सक्लान्: “समस्त मानवजातिको जीवनशैली यस्तै खालको हुन्छ; प्राचीन मानिसहरू पनि अपवाद थिएनन्, र आधुनिक मानिसहरू पुराना मानिसजस्तै छन्। आधुनिक मानिसहरूले यी शैली बदलेका छैनन्। त्यसोभए, के मानवजातिमाझ कोही सार्वभौम, सबथोकका रेखदेखकर्ता पौराणिक परमेश्वर हुनुहुन्छ त? यदि मानवजातिले सबथोकका रेखदेखकर्ता परमेश्वर भेट्टाउन सक्छ भने, के मानवजाति खुसी महसुस गर्न सक्षम हुनेछैन र? अब महत्त्वपूर्ण कुरा भनेको मानवजातिको जरा पत्ता लगाउनु हो। यो जरा कहाँ छ? यो जरा पत्ता लगाएपछि, मानवजाति अर्कै खालको क्षेत्रमा जिउन सक्छ। यदि मानवजाति यो पत्ता लगाउन असक्षम हुन्छ, र सधैँ जस्तो उही खालको जीवन जिइरहन्छ भने, के तिनीहरूले खुसी प्राप्त गर्न सक्नेछन्?” यदि मानिसहरू परमेश्वरमा विश्वास गर्दैनन् भने, तिनीहरूलाई मानवजाति गहन रूपमा भ्रष्ट छ भनी थाहा भए पनि, तिनीहरू के नै गर्न सक्छन्? के तिनीहरूले भ्रष्टताको वास्तविक समस्या समाधान गर्न सक्छन्? के तिनीहरूसँग मुक्तिको मार्ग हुन्छ? तैँले आफूलाई बदल्ने र मानव स्वरूप जिउने इच्छा राखे पनि, के तँ त्यसो गर्न सक्छस्? तँसँग त्यसो गर्ने मार्ग नै छैन! उदाहरणका लागि, केही मानिसहरू आफ्ना छोराछोरीका लागि जिउँछन्; तँ आफूलाई त्यस्तो गर्ने इच्छा छैन भनेर भन्लास्, तर के तैँले यो हासिल गर्न सक्छस्? केही मानिसहरू सम्पत्ति, ख्याति र लाभका निम्ति दौडधुप गर्छन् र व्यस्त रहन्छन्। तँ आफूमा यी कुराहरूका निम्ति दौडधुप गर्ने इच्छा छैन भनेर भन्लास्, तर के तैँले साँच्चै यो हासिल गर्न सक्छस्? तँ अनजानमै यो मार्गमा हिँडिसकेको छस्, र तैँले जीवनशैली बदल्न चाहे पनि, सक्दैनस्। तँ यो संसारमा कसरी जिउँछस् भन्ने कुरा तेरो हातबाहिर छ! यसको जड के हो? यसको जड मानिसहरू साँचो परमेश्वरमा विश्वास गर्दैनन् र तिनीहरूले सत्यता प्राप्त गरेका छैनन् भन्ने हो। मानिसको आत्मालाई के कुराले टिकाउँछ? तिनीहरू केमा आत्मिक साथ खोज्छन्? मानिसहरू आत्मिक साथका निम्ति पारिवारिक पुनर्मिलन; वैवाहिक परमानन्द; भौतिक कुराहरूको भोग; सम्पत्ति, ख्याति र लाभ; आफ्नो प्रतिष्ठा, भावना, र पेशा; र आफ्नो आउने पुस्ताको खुसीमा भर पर्छन्। के आत्मिक साथका लागि यी कुराहरूमा भर नपर्ने कोही छ? छोराछोरी भएकाहरू त्यो कुरा आफ्ना छोराछोरीमा पाउँछन्; छोराछोरी नभएकाहरू त्यो कुरा आफ्नो पेशा, विवाह, समाजमाझ आफ्नो हैसियत, अनि ख्याति र लाभमा पाउँछन्। तसर्थ यसरी पैदा हुने जीवन पद्धतिहरू सबै उस्तै हुन्छन्; ती शैतानको नियन्त्रण र शक्तिद्वारा नियन्त्रित हुन्छन्, र आफ्नो अभिप्राय त्यस्तो नभए पनि, सबै मानिसहरू ख्याति, लाभ, भविष्य, पेशा, विवाह, परिवार वा आउने पुस्ता वा दैहिक सुखको खातिर दौडधुप गर्छन् र व्यस्त रहन्छन्। के यो सही मार्ग हो? मानिसहरूले यो संसारमा जतिसुकै व्यस्त रहेर दौडधुप गरे पनि, तिनीहरू पेशागत रूपमा जतिसुकै निपुण भए पनि, तिनीहरूको परिवार जतिसुकै खुसी र ठूलो भए पनि, तिनीहरूको हैसियत जतिसुकै प्रतिष्ठित भए पनि-के तिनीहरू मानव जीवनको सही मार्गमा हिँड्न सक्षम हुन्छन्? ख्याति, लाभ, संसार वा पेशा पछ्याएर, के तिनीहरू परमेश्वरले यावत् थोकको सृष्टि गर्नुभयो र उहाँ मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य देख्न सक्छन्? यो सम्भव छैन। मानिसहरूले जे पछ्याए पनि, वा तिनीहरू जुन मार्गमा हिँडे पनि, यदि तिनीहरूले परमेश्वरले मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य स्विकार्दैनन् भने, तिनीहरूले हिँड्ने मार्ग गलत हुन्छ। त्यो सही मार्ग होइन, बरु टेढो, दुष्ट मार्ग हो। तैँले आफ्नो आत्मिक साथबाट सन्तुष्टि प्राप्त गरेको वा नगरेको भए पनि त्यसले फरक पार्दैन, र त्यो साथ कहाँबाट प्राप्त गर्छस् भन्ने कुराले पनि फरक पार्दैन; त्यो वास्तविक आस्था होइन, र मानव जीवनका निम्ति त्यो सही मार्ग होइन। सच्चा आस्था हुनु भनेको के हो? यो त परमेश्वरको देखापराइ, काम र परमेश्वरले व्यक्त गर्नुभएका सबै सत्यता स्विकार्नु हो। यो सत्यता मानव जीवनका निम्ति सही मार्ग र मानिसहरूले पछ्याउनुपर्ने सत्यता र जीवन हो। जीवनमा सही मार्ग हिँड्नु भनेको परमेश्वरलाई पछ्याउनु र उहाँका वचनहरूको अगुवाइमा सत्यता बुझ्न, असल-खराब छुट्टयाउन, सकारात्मक के हो र नकारात्मक के हो भनी जान्न, र उहाँको सार्वभौमिकता र सर्वशक्तिमानता बुझ्न सक्नु हो। जब मानिसहरूले आफ्नो हृदयमा परमेश्वरले स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टि गर्नु मात्र भएको नभई, उहाँ ब्रह्माण्ड र सबथोकमाथि सार्वभौम पनि हुनुहुन्छ भनेर साँच्चै बुझ्छन्, तिनीहरूले उहाँका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन, उहाँका वचनअनुसार जिउन, उहाँको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छन्। मानव जीवनको सही मार्गमा हिँड्नु भनेको यही हो। जब मानिसहरूले जीवनमा सही मार्ग लिन्छन्, तिनीहरूले ज्योतिमा जिउन र परमेश्वरको आशिष् र अनुमोदन पाउन मानिसहरू किन जिउँछन् र तिनीहरू कसरी जिउनुपर्छ भनेर बुझ्न सक्छन्।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
कतिपय मानिसहरूसँग “नियति भनेकै त्यही हो” भन्ने वाक्यको बारेमा उल्लेखनीय, गहन बुझाइ हुन्छ, तैपनि तिनीहरूले परमेश्वरको सार्वभौमिकतामा अलिकति पनि विश्वास गर्दैनन्; परमेश्वरले नै मानव नियतिलाई बन्दोबस्त र योजनाबद्ध गर्नुहुन्छ भन्नेमा तिनीहरू विश्वास गर्दैनन्, र तिनीहरू परमेश्वरको सार्वभौमिकतामा समर्पित हुन अनिच्छुक हुन्छन्। त्यस्ता मानिसहरूसित छालहरूसँगै यताउता हुत्तिँदै र बहावसँगै बहँदै समुद्रमा तैरिएझैँ, निष्क्रिय रूपले प्रतीक्षा गर्दै आफैलाई नियतिको हातमा समर्पित गर्नेबाहेक अन्य विकल्प हुँदैन। तैपनि तिनीहरू मानव नियति परमेश्वरको सार्वभौमिकताको अधीनमा छ भनी स्वीकार गर्दैनन्; तिनीहरूले आफै परमेश्वरको सार्वभौमिकता जान्न पहल गरेर परमेश्वरको अख्तियारको ज्ञान हासिल गर्न, परमेश्वरको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुन, नियतिको प्रतिरोध गर्न छोड्न, र परमेश्वरको हेरचाह, सुरक्षा र मार्गनिर्देशनमा जिउन सक्दैनन्। अर्को शब्दमा भन्दा, नियतिलाई स्वीकार गर्नु र सृष्टिकर्ताको सार्वभौमिकतामा समर्पित हुनु एउटै कुरा होइन; व्यक्तिले नियतिमा विश्वास गर्छ भन्दैमा उसले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्वीकार्छ, चिन्छ, र जान्दछ भन्ने हुँदैन; नियतिमा विश्वास गर्नु भनेको यसको सत्यता र यसको सतही प्रकटीकरणलाई पहिचान गर्नु मात्रै हो। यो कुरा सृष्टिकर्ताले मानवजातिको नियतिमाथि कसरी शासन गर्नुहुन्छ भन्ने कुरा जान्नुभन्दा फरक छ, सृष्टिकर्ता यावत् थोकको नियतिमाथिको प्रभुत्वको स्रोत हुनुहुन्छ भन्ने कुरा पहिचान गर्नुभन्दा फरक छ, र अवश्य नै मानवजातिको नियतिसम्बन्धी सृष्टिकर्ताको योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुभन्दा कोसौँ टाढा छ। मानौँ कुनै व्यक्तिले नियतिमा विश्वास मात्रै गर्छ, र त्यसबारे उसको भावना गहन समेत छ, तर ऊ मानिसहरूको नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकतालाई जान्न र मानिलिन, यसमा समर्पित हुन र यसलाई स्वीकार गर्न सक्दैन भने, त्यस्तो अवस्थामा, उसको जीवन दुःखान्त हुनेछ; त्यो जीवन खेर गएको हुनेछ, त्यो खोक्रो हुनेछ। तिनीहरू अझै पनि सृष्टिकर्ताको प्रभुत्वमा आफूलाई समर्पण गर्न, त्यस शब्दको सच्चा अर्थमा सृजित मानव बन्न, अनि सृष्टिकर्ताको मान्यता प्राप्त गर्न असमर्थ हुनेछन्। सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा जान्ने र अनुभव गर्ने व्यक्ति सकारात्मक स्थितिमा हुनुपर्छ, नकारात्मक वा लत्तो छाड्ने स्थितिमा हुनु हुँदैन। उसले सबै कुरा भाग्यमा लेखिएको हुन्छ भनेर मान्दै गर्दा, ऊसँग हृदयमा जीवन र नियतिको सही परिभाषा हुन्छ, र त्यो के हो भने, मानिसको सम्पूर्ण जीवन सृष्टिकर्ताको सार्वभौमिकता अन्तर्गत हुन्छ। जब उसले आफू हिँडेको बाटोलाई फर्केर हेर्छ, जब उसले आफ्नो जीवन यात्राको हरेक चरणलाई सम्झन्छ, तब उसले आफ्नो यात्रा कठिन भए पनि वा सुगम भए पनि, हरेक चरणमा परमेश्वरले नै उसको मार्गमा मार्गनिर्देशन गरिरहनुभएको उसका निम्ति त्यसको योजना बनाइरहनुभएको देख्छ। उसले आफूलाई थाहै नपाई आजसम्म डोर्याउने परमेश्वरको ध्यानपूर्ण योजना, साथै उहाँको होसियारीपूर्ण बन्दोबस्त नै थियो भन्ने कुरा बुझ्छ। तिनीहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता स्वीकार गर्न सक्नु, उहाँको मुक्ति स्वीकार गर्न सक्नु व्यक्तिको जीवनको सबैभन्दा ठूलो आशिष् हो भन्ने थाहा हुन्छ! यदि नियतिप्रति व्यक्तिको मनोवृत्ति नकारात्मक छ भने, ऊ परमेश्वरले उसका लागि बन्दोबस्त गर्नुभएका सबै कुराहरूको प्रतिरोध गरिरहेको छ र उसमा समर्पित मनोवृत्ति छैन भन्ने प्रमाणित गर्छ। यदि मानव नियतिमाथि परमेश्वरको सार्वभौमिकताप्रति कुनै व्यक्तिको मनोवृत्ति सकारात्मक छ भने, जब उसले आफ्नो यात्रालाई फर्केर हेर्छ, जब उसले परमेश्वरको सार्वभौमिकता साँच्चै अनुभव गर्छ, तब उसले परमेश्वरले बन्दोबस्त गरेका सबै कुरामा समर्पित हुने झन् सच्चा रूपमा इच्छा गर्नेछ, र ऊसँग परमेश्वरलाई आफ्नो नियति योजनाबद्ध गर्न दिन र परमेश्वरविरुद्ध विद्रोह गर्न छाड्न थप सङ्कल्प र आस्था हुनेछ। किनभने उसले के देख्छ भने जब मानिसहरूले नियति के हो भनेर जान्दैनन् वा परमेश्वरको सार्वभौमिकतालाई बुझ्दैनन्, तिनीहरू जानीजानी कुहिरोभित्र सङ्घर्ष गरिरहेका र ठक्कर खाइरहेका हुन्छन्, र त्यो यात्रा अत्यन्तै कठिन, र यसले हृदयलाई ज्यादै चोट दिन्छ। त्यसकारण, जब मानिसहरूले मानव नियतिमाथि परमेश्वर सार्वभौम हुनुहुन्छ भनेर थाहा पाउँछन्, तब चलाखहरू नियतिविरुद्ध सङ्घर्ष गरिरहनु र आफ्ना तथाकथित जीवन लक्ष्यहरू आफ्नै तरिकाले पछ्याइरहनुभन्दा बरु परमेश्वरको सार्वभौमिकतालाई जान्ने र स्वीकार गर्ने, अनि आफूले “आफ्नै दुई हातद्वारा सुन्दर जीवन निर्माण गर्ने प्रयास गर्दाका” पीडादायी दिनहरूलाई बिदा गर्ने निर्णय गर्छन्। जब कुनै व्यक्ति परमेश्वरविहीन हुन्छ, जब उसले उहाँलाई देख्न सक्दैन, जब उसले परमेश्वरको सार्वभौमिकतालाई साँचो रूपमा र स्पष्ट रूपमा जान्न सक्दैन, तब हरेक दिन अर्थहीन, मूल्यहीन र अवर्णनीय पीडादायी हुन्छ। व्यक्ति जहाँ भए पनि, र उसको जागिर जे भए पनि, उसका बाँच्ने माध्यमहरू र उसले पछ्याउने लक्ष्यहरूले उसलाई अन्तहीन मनोव्यथा र पार गर्न कठिन पीडाबाहेक केही दिँदैनन्, जसलाई उसले फर्केर हेर्नै सक्दैनन्। कुनै व्यक्तिले सृष्टिकर्ताको सार्वभौमिकतालाई स्विकारेर, उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति समर्पित भएर, अनि साँचो मानव जीवन प्राप्तिलाई पछ्याएर मात्रै, ऊ क्रमिक रूपमा हृदयको सबै चोट र पीडाबाट स्वतन्त्र हुन सक्छ, र उसले बिस्तारै आफूलाई मानव जीवनका सबै रिक्तताबाट मुक्त गर्न सक्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३
मानिसहरूले परमेश्वरका योजनाबद्ध कार्यहरू र परमेश्वरको सार्वभौमिकतालाई नजान्ने हुनाले, तिनीहरूले आफ्ना वर्तमान परिस्थितिहरू परिवर्तन गर्ने र आफ्नो नियति बदल्ने व्यर्थको आशा गर्दै, सधैँ अवज्ञाकारी र विद्रोही मनोवृत्तिका साथ नियतिको सामना गर्छन्, र सधैँ परमेश्वरको अख्तियार र सार्वभौमिकता, र नियतिमा रहेका कुराहरूबाट उम्किन चाहन्छन्। तर तिनीहरू यसमा कहिल्यै सफल हुन सक्दैनन् र तिनीहरू हर मोडमा पछारिन्छन्। तिनीहरूको प्राणको गहिराइमा हुने यो सङ्घर्षले तिनीहरूलाई पीडा दिन्छ, र यो पीडा तिनीहरूको हड्डीमै खोपिन्छ, र उही बेला तिनीहरूलाई आफ्नो जीवन खेर फाल्ने तुल्याउँछ। यो पीडाको कारण के हो त? के यो परमेश्वरको सार्वभौमिकताको कारण हो कि व्यक्ति अभागी भएर जन्मेकोले गर्दा हो? अवश्य नै, दुवै सत्य होइन। आधारभूत रूपमा, मानिसहरूले लिने मार्गहरू, तिनीहरूले आफ्नो जीवन जिउन रोज्ने तरिकाहरूका कारण यस्तो हुन्छ। कतिपय मानिसहरूले यी कुराहरू अनुभव नगरेका हुन सक्छन्। तर जब तैँले मानव नियतिमाथि परमेश्वरले सार्वभौमिकता राख्नुहुन्छ भनेर साँच्चै जान्दछस्, साँच्चै मान्न पुग्छस्, जब तैँले परमेश्वरले तेरा लागि सार्वभौमिकता राख्नुहुने र प्रबन्ध गर्नुहुने सबै कुराहरू तेरा लागि अत्यन्तै धेरै फाइदाजनक र सुरक्षात्मक हुन्छ भनी साँच्चै बुझ्छस्, तब तैँले आफ्नो पीडा बिस्तारै हल्का भएको अनुभव गर्छस्, र तेरो सम्पूर्ण सारत्व बिस्तारै सहज, स्वतन्त्र र रिहा बन्छ। अधिकांश मानिसहरूका स्थितिहरूको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले व्यक्तिपरक हिसाबमा पहिलेजस्तो जिउन र आफ्नो पीडाबाट राहत पाउन नचाहने भए पनि, तिनीहरूले मानव नियतिमाथिको सृष्टिकर्ताको सार्वभौमिकताको व्यवहारिक मूल्य र अर्थलाई वस्तुपरक रूपमा स्वीकार गर्न सक्दैनन्; वस्तुगत हिसाबमा, तिनीहरू सृष्टिकर्ताको सार्वभौमिकतालाई साँचो रूपमा पहिचान गर्न र यसमा समर्पित हुन सक्दैनन्, तिनीहरूले सृष्टिकर्ताका योजनाबद्ध कार्य र बन्दोबस्तहरूलाई कसरी खोजी र स्वीकार गर्ने भन्नेबारेमा जान्नु त परै जाओस्। त्यसैले, यदि मानिसहरूले मानव नियतिमाथि र सम्पूर्ण मानव मामलाहरूमाथि सृष्टिकर्ताको सार्वभौमिकता छ भन्ने तथ्यलाई साँचो रूपमा पहिचान गर्न सक्दैनन् भने, यदि तिनीहरू सृष्टिकर्ताको प्रभुत्वमा साँचो रूपमा समर्पित हुन सक्दैनन् भने, तिनीहरू “आफ्नो नियति आफ्नै हातमा हुन्छ” भन्ने विचारद्वारा सञ्चालित हुन र बन्धनमा पर्न कठिन हुनेछैन। तिनीहरूले नियति र सृष्टिकर्ताको अख्तियारविरुद्धको आफ्नो तीव्र संघर्षको पीडालाई हटाउन कठिन हुनेछ, अनि, अवश्य पनि तिनीहरूले साँचो रूपमा स्वतन्त्र र मुक्त हुन, र परमेश्वरको आराधना गर्ने मानिस बन्न पनि कठिन नै हुनेछ। यो स्थितिबाट आफूलाई उम्काउने सबैभन्दा सरल तरिका भनेको जीवन जिउने आफ्नो पुरानो तरिकालाई बिदा गर्नु हो; आफ्नो जीवनका पहिलेका लक्ष्यहरूलाई बिदा गर्नु हो; आफ्नो पहिलेको जिउने तरिका, जीवनसम्बन्धी दृष्टिकोण, पछ्याइ, चाहना, र आकाङ्क्षाहरूलाई सारांश र चिरफार गर्नु हो; त्यसपछि तिनलाई परमेश्वरका अभिप्राय र उहाँले मानिसबाट गर्नुहुने मागसँग तुलना गरेर तीमध्ये कुनै परमेश्वरका अभिप्रायहरूसँग मिल्ने छन् कि छैनन्, र तीमध्ये कुनै परमेश्वरका मागहरू अनुरूप छन् कि छैनन्, तीमध्ये कुनैले जीवनको सही मूल्य प्रदान गर्छन् कि गर्दैनन्, व्यक्तिलाई सत्यता झन्झन् बढी बुझ्न अगुवाइ गर्छन् कि गर्दैनन्, र व्यक्तिलाई मानवता र मानवजातिको स्वरूपमा जिउने तुल्याउँछन् कि तुल्याउँदैनन् भनेर हेर्नु हो। जब तैँले मानिसहरूले जीवनमा पछ्याउने विभिन्न लक्ष्यहरू र तिनीहरूका विभिन्न जिउने तरिकाहरूलाई बारम्बार अनुसन्धान र होसियारीसाथ चिरफार गर्छस्, तब तैँले तीमध्ये एउटै पनि मानवजातिलाई सृष्टि गर्दा सृष्टिकर्ताले राख्नुभएको मौलिक अभिप्रायअनुरूप नरहेको पाउनेछस्। ती सबैले मानिसहरूलाई सृष्टिकर्ताको सार्वभौमिकता र हेरचाहबाट टाढा लैजान्छन्; ती सबै मानिसहरूलाई भ्रष्ट तुल्याउने, तिनीहरूलाई नर्कतर्फ डोर्याउने पासोहरू हुन्। तैँले यो कुरालाई पहिचान गरिसकेपछि, तैँले के गर्नुपर्छ भने जीवनसम्बन्धी तेरो पुरानो दृष्टिकोणलाई छोड्नुपर्छ, विभिन्न पासोहरूबाट टाढा बस्नुपर्छ, र परमेश्वरलाई तेरो जीवन नियन्त्रण गर्न र तेरा लागि प्रबन्धहरू गर्न दिनुपर्छ, कुनै पनि व्यक्तिगत रोजाइ नगरी परमेश्वरका योजनाबद्ध कार्यहरू र मार्गदर्शनमा मात्रै समर्पित हुने खोजी गर्, र परमेश्वरलाई आराधना गर्ने व्यक्ति बन्। यो कुरा सुन्दा सहज लाग्छ, तर गर्नचाहिँ कठिन छ। केही मानिसहरूले यसको पीडा सहन सक्छन्, अन्य व्यक्तिहरूले सक्दैनन्। केही व्यक्तिहरू अनुपालन गर्न इच्छुक हुन्छन्, अरूहरूचाहिँ अनिच्छुक हुन्छन्। जो अनिच्छुक छन् तिनीहरूमा त्यसो गर्ने इच्छा र सङ्कल्पको कमी हुन्छ; तिनीहरू परमेश्वरको सार्वभौमिकताको बारेमा स्पष्ट रूपमै सचेत हुन्छन्, तिनीहरूलाई मानव नियतिको योजना र बन्दोबस्त गर्ने परमेश्वर नै हुनुहुन्छ भन्ने कुरा पूर्ण रूपमा थाहा हुन्छ, तैपनि तिनीहरूले लात मार्दै संघर्ष गर्छन् र आफ्नो नियति परमेश्वरको हातमा राख्ने र परमेश्वरको सार्वभौमिकतामा समर्पित हुने कुरालाई स्वीकार गर्दैनन्; अझ भन्ने हो भने, तिनीहरूले परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रति खेद प्रकट गर्छन्। त्यसकारण, आफू कति सक्षम छु भनी हेर्न चाहने मानिसहरू सधैँ नै हुनेछन्; तिनीहरू आफ्नै दुई हातले आफ्नो नियति परिवर्तन गर्न, वा आफ्नै शक्तिले खुशी हासिल गर्न, परमेश्वरको अख्तियारको सीमाबाहिर गई परमेश्वरको सार्वभौमिकताभन्दा माथि उठ्न सकिन्छ कि सकिन्न भनी हेर्न चाहन्छन्। मानिसको दुःखान्त भनेको उसले खुसीयालीपूर्ण जीवन पछ्याउँछ भन्ने होइन, उसले ख्याति र लाभ पछ्याउँछ वा कुहिरोभित्र आफ्नै नियतिसँग सङ्घर्ष गर्छ भन्ने होइन, बरु उसले सृष्टिकर्ताको अस्तित्व देखिसकेपछि, मानव नियतिमाथि सृष्टिकर्ताले नै सार्वभौमिकता राख्नुहुन्छ भन्ने तथ्य जानिसकेपछि, अझै पनि गलत मार्गबाट फर्किन सक्दैन, आफ्ना खुट्टाहरूलाई दलदलबाट तान्न सक्दैन, बरु आफ्नो हृदयलाई कठोर बनाउँछ र आफ्ना त्रुटिहरूमै दृढ रहन्छ भन्ने हो। ऊ त बरु हिलोमै लुटपुटिरहन्छ, सृष्टिकर्ताको सार्वभौमिकताविरुद्ध हठी भएर प्रतिस्पर्धा गर्छ, तीतो अन्त्य नआउन्जेल प्रतिरोध गर्छ, अलिकति पछुतोसमेत मान्दैन। जब ऊ टुट्छ र रक्ताम्मे हुन्छ, तब मात्र उसले अन्त्यमा हरेस खाने र पछि फर्कने निर्णय गर्छ। मानिसको साँचो दुःखान्त यही हो। त्यसैले, म भन्छु, समर्पित हुन रोज्नेहरू बुद्धिमान् हुन्, जबकि सङ्घर्ष गर्न र भाग्न रोज्नेहरू मूर्ख र जिद्दी हुन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। परमेश्वर स्वयम् अद्वितीय ३