२. हामी विश्वास गर्छौं, कि मृत्युपछि मानिसका पापहरू पाप शुद्धीकरण गर्ने स्थानमा पखालिइन्छन्, त्यसपछि मानिसहरू स्वर्गको राज्यमा प्रवेश गर्न सक्छन्। तैपनि तपाईं परमेश्वरको आखिरी दिनहरूको न्यायको कामलाई स्वीकार नगर्नेहरू शुद्ध हुनेछैनन्, र यसैले स्वर्गको राज्यमा प्रवेश गर्ने योग्य हुनेछैनन् भनी गवाही दिनुहुन्छ। तपाईंले त्यसो भन्नुको अर्थ के हो? वास्तवमा मानिसहरू स्वर्गको राज्यमा कसरी प्रवेश गर्न सक्छन्?
सन्दर्भका लागि बाइबलका पदहरू:
“तपाईंको सत्यताद्वारा तिनीहरूलाई पवित्र पार्नुहोस्: तपाईंको वचन सत्यता हो। जसरी तपाईंले मलाई संसारमा पठाउनुभएको छ, त्यसरी नै मैले पनि तिनीहरूलाई संसारमा पठाएको छु। … अनि तिनीहरूका खातिर म आफैलाई पवित्र पार्छु, ताकि तिनीहरू पनि सत्यताद्वारा पवित्र पारिन सकून्” (यूहन्ना १७:१७-१९)।
“अझै पनि मैले तिमीहरूलाई भन्नुपर्ने कुराहरू धेरै छन्, तर अहिले तिमीहरूले ती सहन सक्दैनौ। तर, जब उहाँ, सत्यताका आत्मा, आउनुहुन्छ, उहाँले तिमीहरूलाई सारा सत्यतामा मार्गदर्शन गर्नुहुनेछ: किनभने उहाँ आफ्नो तर्फबाट बोल्नुहुनेछैन; तर उहाँले जे सुन्नुहुन्छ उहाँले त्यही बोल्नुहुनेछ: र उहाँले तिमीहरूलाई आउनेवाला कुराहरू देखाउनुहुनेछ” (यूहन्ना १६:१२-१३)।
“अनि यदि कुनै मानिसले मेरो वचन सुन्छ अनि विश्वास गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर मुक्ति दिन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एक जना हुनुहुन्छ: मैले बोलेको त्यो वचनले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्ना १२:४७-४८)।
“किनभने परमेश्वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
तिमीहरूले परमेश्वरका अभिप्रायहरू देख्न सक्नुपर्छ, अनि परमेश्वरको कार्य स्वर्ग र पृथ्वी अनि सारा थोकहरूको सृष्टि जस्तो सरल छैन भन्ने देख्नुपर्छ। किनभने, आजको कार्य भ्रष्ट भएका, चरम रूपमा लट्टिएकाहरूको रूपान्तरण हो, यो तिनीहरूलाई शुद्ध गर्नका लागि हो जो सृजित त गरिए तर शैतानद्वारा प्रशोधित भए। यो आदम अनि हव्वाको सृष्टि होइन, न त ज्योतिको सृष्टि, अथवा हरेक वनस्पति अनि पशुको सृष्टि नै हो। परमेश्वरले शैतानद्वारा भ्रष्ट तुल्याइएका कुराहरूलाई शुद्ध गर्नुहुन्छ अनि तिनीहरूलाई नयाँ गरी प्राप्त गर्नुहुन्छ; तिनीहरू उहाँको आफ्नै स्वामित्वका कुराहरू बन्छन्, अनि तिनीहरू उहाँको महिमा बन्छन्। यो मानिसले कल्पना गरे जस्तो स्वर्ग र पृथ्वी अनि त्यसमा भएका यावत् थोकहरूको सृष्टि जस्तो सरल हुँदैन, र यो मानिसले कल्पना गरे जस्तो शैतानलाई अतल कुण्डमा सराप्ने काम जस्तो सरल पनि हुँदैन; बरु, यो मानिसलाई रूपान्तरण गर्ने, नकारात्मक कुराहरूलाई, उहाँसँग नभएका कुराहरूलाई सकारात्मक र उहाँसँग हुने कुराहरू बनाउने काम हो। परमेश्वरको कामको यस चरण पछाडिको सत्यता यही नै हो। तिमीहरूले यस कुरालाई बुझ्नैपर्छ अनि कुराहरूलाई ज्यादै सरल बनाउन छाड्नैपर्छ। परमेश्वरको काम अन्य साधारण कामहरू जस्तो हुँदैन। यसको अद्भुतता अनि बुद्धि मान्छेको समझदेखि बाहिरको कुरा हो। परमेश्वरले यावत् थोकहरूलाई कामको यस चरणको समयमा सृष्टि गर्नुहुन्न, न त उहाँले तिनीहरूलाई नष्ट नै गर्नुहुन्छ। बरु, उहाँले आफैले सृष्टि गर्नुभएका यावत् थोकहरूलाई रूपान्तरण गर्नुहुन्छ, अनि शैतानले दूषित पारेको सबै कुराहरूलाई शुद्ध गर्नुहुन्छ। अनि यस किसिमले परमेश्वर एउटा महान् उद्यममा लाग्नुहुन्छ। परमेश्वरको कामको सम्पूर्ण महत्त्व यही हो। के यी वचनहरूमा तिमीहरूले परमेश्वरको काम साँच्चै नै सरल छ भन्ने देख्छौ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के परमेश्वरको कार्य मानिसले सोचे झैँ सरल छ र?
आखिरी दिनहरूको काममा, वचनको शक्ति चिह्न र चमत्कारका कार्यहरूको प्रकटीकरणभन्दा अझ ठूलो हुन्छ, र वचनको अख्तियारले चिह्न र चमत्कारहरूको अख्तियारलाई उछिन्छ। वचनले मानिसको हृदयको गहिराइमा गाडिएका सबै भ्रष्ट स्वभावलाई खुलासा गर्दछ। तँसित तिनलाई आफै पत्ता लगाउने कुनै उपाय छैन। जब वचनद्वारा तिनलाई खुलासा गरिन्छ तब तैँले तिनलाई प्राकृतिक रूपमै पत्ता लगाउनेछस्; तैँले आफ्नो अनुमोदन दिनुपर्नेछ, र तँ पूर्ण रूपमा विश्वस्त हुनेछस्। के यो वचनको अख्तियार होइन र? यो आज वचनको कामद्वारा प्राप्त गरिने नतिजा हो। त्यसकारण, रोग निको पारेर र भूतहरू निकालेर मानिस उसका पापहरूबाट पूर्ण रूपले मुक्त हुन सक्दैन, न त चिह्न र चमत्कारहरू देखाएर नै उसलाई सम्पूर्ण रूपमा पूर्ण बनाउन सकिन्छ। रोग निको पार्ने र भूतहरू धपाउने अख्तियारले मानिसलाई अनुग्रह मात्र दिन्छ, तर मानिसको शरीर अझै पनि शैतानकै हुन्छ, र ऊभित्र त्यो भ्रष्ट शैतानिक स्वभाव अझै रहिरहन्छ। अर्को शब्दमा भन्ने हो भने, जुन कुरा अझै धोइएको हुँदैन त्यो अझै पाप र फोहोरसँग सम्बन्धित हुन्छ। वचनको माध्यमबाट धोइएपछि मात्र र पवित्र पारिन सक्छ। जब मानिसबाट भूतहरू निकालिन्थ्यो र उसले छुटकारा पाउँथ्यो, त्यसको मतलब ऊ शैतानको हातबाट खोसिएर परमेश्वरमा फर्कियो भन्ने मात्र हुन्थ्यो। तापनि, परमेश्वरद्वारा शुद्ध नपारी वा परिवर्तन नगरी ऊ भ्रष्ट मानिसजस्तो नै रहन्छ। मानिसभित्र अझै पनि फोहोर, विरोध, र विद्रोहीपन हुन्छ; परमेश्वरले छुटकारा दिनुभएकोले मानिस उहाँकहाँ फर्केको मात्र हुन्छ, तर ऊसँग परमेश्वरको बारेमा रत्तीभर पनि ज्ञान हुँदैन र अझै पनि ऊ उहाँको विरोध गर्न र उहाँलाई धोका दिन सक्षम हुन्छ। मानिसलाई छुटकारा दिनुभन्दा अघि, शैतानका धेरै वटा विषहरू ऊभित्र पहिल्यै रोपिएका थिए, र शैतानद्वारा भ्रष्ट तुल्याइएको हजारौँ वर्षपछि, ऊसँग भित्र परमेश्वरको प्रतिरोध गर्ने एउटा प्रकृति हुन्छ। यसकारण, जब मानिसलाई छुटकारा दिइयो, त्यो छुटकारा भन्दा अरू केही पनि थिए न। अर्थात्, मानिसलाई ठूलो मूल्यमा किनेर फिर्ता लिइएको थियो, तर ऊभित्रको विषाक्त प्रकृति हटाइएको थिएन। यस्तो फोहोरी मानिसले परमेश्वरलाई सेवा गर्न योग्य हुनुभन्दा अघि परिवर्तन भोग्नैपर्छ। यस न्याय र सजायको कामको माध्यमबाट, मानिसले आफैभित्र भएको फोहोरी र भ्रष्ट सारलाई पूर्ण रूपमा चिन्न पुग्नेछ, र ऊ पूर्णतः परिवर्तन हुन र शुद्ध गरिन सक्षम हुनेछ। यसरी मात्र मानिस परमेश्वरको सिंहासनको अघि फर्केर आउन योग्य हुन सक्छ। हालका सबै काम मानिस शुद्ध पारिन र परिवर्तित हुन सकोस् भनेर गरिन्छ; वचनको न्याय र सजाय, अनि शोधनको माध्यमबाट मानिसले आफ्नो भ्रष्टता फाल्न अनि ऊ शुद्ध पारिन सकोस् भनेर गरिन्छ। कामको यो चरण मुक्तिको काम हो भनी ठान्नुको साटो यो शुद्धीकरणको काम हो भन्नु बढी उचित हुन्छ। वास्तवमा, यो चरण विजयको काम पनि हो, साथ साथै यो मुक्तिको कामको दोस्रो चरण पनि हो। वचनको न्याय र सजायमार्फत नै मानिस परमेश्वरद्वारा प्राप्त गरिन पुग्छ, र वचनमार्फत गरिने शोधन, न्याय, र खुलासाले नै मानिसको हृदयभित्रका सबै अशुद्धता, धारणा, मनसाय र व्यक्तिगत आशाहरूलाई पूर्ण रूपमा प्रकट गर्छन्। मानिसलाई छुटकारा दिइएको र उसका पापहरू क्षमा गरिएका भए पनि, यसलाई केवल परमेश्वरले उसका अपराधहरू याद नगर्नुभएको र उसका अपराधहरूअनुसार ऊसँग व्यवहार नगर्नुभएको मान्न सकिन्छ। तर, मानिस पापबाट मुक्त नभईकन देहमा जिउँछ, र ऊ निरन्तर पाप गरिरहन, अटुट रूपमा आफ्नो शैतानी भ्रष्ट स्वभावहरू प्रकट गरिरहन मात्र सक्छ। मानिसले जिउने जीवन यही हो, पाप गर्ने र क्षमा गरिने एउटा निरन्तर चक्र। अधिकांश मानिसहरूले दिनमा पाप गर्छन् र साँझमा स्वीकार गर्छन्। अनि त्यसैले, पापबलि मानिसका लागि सदासर्वदा प्रभावकारी भए पनि, त्यसले मानिसलाई पापबाट बचाउन सक्दैन। मुक्तिको काम आधा मात्र सम्पन्न भएको छ, किनकि मानिसमा अझै पनि भ्रष्ट स्वभावहरू छन्। … आफ्ना पापहरूबारे सचेत हुनु मानिसका निम्ति सजिलो छैन, र ऊसँग गहिरो जरा गाडेको आफ्नो प्रकृतिलाई चिन्ने कुनै उपाय छैन। वचनको न्यायमार्फत मात्रै यो नतिजा हासिल गर्न सकिन्छ। यसरी मात्र मानिसलाई यस बिन्दुबाट बिस्तारै परिवर्तन गर्न सकिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। देहधारणको रहस्य (४)
आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानव कसरी सामान्य मानवतामा जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव, र इत्यादि जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचनहरू मानवका सार र उसका भ्रष्ट स्वभावप्रति निर्देशित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र उहाँ विरुद्धको शत्रुशक्ति हो भन्ने सन्दर्भमा बोलिएका हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई एक-दुईवटा शब्दहरूले व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन, तर मानिससँग पूर्णतया नभएको सत्यताले प्रतिस्थापन गर्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णत: विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्राय, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्ने तुल्याउँछ। यसले मानवलाई आफ्नो भ्रष्ट सार, उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै मानवका कुरूपता पत्ता लगाउने पनि तुल्याउँछ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवनलाई खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
तँलाई थाहा हुनुपर्छ कि परमेश्वरद्वारा मानिसहरूलाई सिद्ध र पूर्ण बनाउने र मानिसहरूलाई प्राप्त गर्ने कार्यले तिनीहरूका देहमा तरवार र चोटहरू, अन्त्यहीन दुःख, जलन, क्रूर न्याय, सजाय, र श्रापहरू अनि असिम परीक्षाहरूबाहेक अरू केही ल्याउँदैन। मानिसको व्यवस्थापन कार्यको भित्री कथा र सत्यता यही हो। तैपनि, यी सबै कुराहरू मानिसको देहतर्फ लक्षित हुन्छन्, र शत्रुताका सबै वाणहरू निर्दयतापूर्वक मानिसको देहप्रति नै लक्षित गरिन्छन् (किनकि मानिस निर्दोष छ)। यो सबै नै उहाँको महिमा र गवाही अनि उहाँको व्यवस्थापनका लागि हो। यस्तो किन हुन्छ भने उहाँको काम मानवजातिका लागि मात्र होइन, यो त सम्पूर्ण योजनाका लागि पनि हो, साथै उहाँले मानवजातिलाई सृष्टि गर्नुभएको समयको उहाँको सुरुको अभिप्राय पूरा गर्नलाई पनि हो। त्यसकारण, सायद मानिसको नब्बे प्रतिशत अनुभवमा दुःख र अग्निपरीक्षा सामेल हुन्छ, र त्यहाँ मानिसको देहले चाहना गरेका मीठा र खुसीयालीका दिनहरू या त थोरै हुन्छन् या त हुँदै हुँदैनन्। मानिसले देहमा परमेश्वरसित सुन्दर समय बिताउँदै खुसीका क्षणहरू अनुभव गर्न सक्ने त झन् कुरै आउँदैन। देह फोहोरी छ, त्यसैले मानिसको देहले जे देख्छ वा जे उपभोग गर्छ त्यो परमेश्वरको सजायबाहेक अरू केही हुँदैन, जसलाई मानिसले असंवेदनशील पाउँछ, यस्तो लाग्छ त्यसमा सामान्य अनुभूतिकै अभाव छ। यस्तो किन हुन्छ भने परमेश्वरले आफ्नो धर्मी स्वभाव प्रकट गर्नुहुन्छ, जुन मान्छेप्रति असंवेदनशील हुन्छ, र उहाँको त्यो धर्मी स्वभावले मानिसका उल्लङ्घनहरू सहँदैन र शत्रुहरूलाई घृणा गर्छ। परमेश्वरले कुनै पनि उपायद्वारा उहाँको सम्पूर्ण स्वभाव खुल्लमखुल्ला प्रकट गर्नुहुन्छ, र त्यसमार्फत शैतानसँगको उहाँको छ हजार वर्षे लडाइँ अर्थात् सारा मानवजातिको मुक्तिको काम र प्राचीन कालको शैतानलाई नाश पार्ने काम समाप्त गर्नुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। मानवजातिलाई व्यवस्थापन गर्ने उद्देश्य
मानिसले उहाँको ज्ञान प्राप्त गर्न सकोस्, अनि उहाँको गवाहीको खातिर परमेश्वरले न्याय र सजायको काम गर्नुहुन्छ। मानिसको भ्रष्ट स्वभावलाई उहाँले न्याय नगरिकन, मानिसले सम्भवतः उहाँको धर्मी स्वभावलाई जान्न सक्दैन, जसले कुनै अपराध सहँदैन, न त मानिसले परमेश्वरको आफ्नो पुरानो ज्ञानलाई नयाँमा परिणत गर्न सक्छ। उहाँको गवाहीको खातिर, र उहाँको व्यवस्थापनका खातिर, उहाँले आफ्नो सम्पूर्णतालाई सार्वजनिक गर्नुहुन्छ, यस प्रकारले मानिसहरूलाई उहाँ सार्वजनिक रूपमा देखा परेर, परमेश्वरको ज्ञान प्राप्त गर्न, आफ्नो स्वभावमा रूपान्तरित हुन, र जोडदार गवाही दिन सक्षम बनाउनुहुन्छ। मानिसको स्वभाव रूपान्तरण परमेश्वरका विभिन्न प्रकारका कामहरूद्वारा प्राप्त हुन्छ; उसको स्वभावमा त्यस्तो परिवर्तनहरूविना, मानिस परमेश्वरको गवाही दिन र परमेश्वरका अभिप्रायहरू अनुरूप हुन असमर्थ हुन्छ। मानिसको स्वभाव रूपान्तरणले मानिसले आफूलाई शैतानको बन्धन र अन्धकारको प्रभावबाट स्वतन्त्र बनाएको, र वास्तवमा परमेश्वरको कार्यको प्रारूप र नमूना भएको छ, परमेश्वरको साक्षी भएको छ, र परमेश्वरका अभिप्रायहरू अनुरूप भएको छ भन्ने सङ्केत गर्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई चिन्नेहरूले मात्र परमेश्वरको गवाही दिन सक्छन्
आखिरी दिनहरूमा परमेश्वरको न्याय र सजायको काममा, अर्थात्, अन्तिम शुद्धीकरणको कामको अवधिमा—दृढ रहन सक्नेहरू नै परमेश्वरसँगै अन्तिम विश्राममा प्रवेश गर्नेहरू हुनेछन्; यसरी, विश्राममा प्रवेश गर्नेहरू सबै परमेश्वरको अन्तिम शुद्धीकरणको काम भोगेपछि मात्र शैतानको प्रभावलाई तोडेर मुक्त भएका र उहाँद्वारा प्राप्त गरिएका हुनेछन्। यी मानव, जो अन्ततः परमेश्वरद्वारा प्राप्त गरिएका हुनेछन्, अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई शुद्धीकरण गर्नु हो, अन्तिम दिनको विश्रामका खातिर हो; नत्र, मानवजातिको कुनै पनि सदस्य तिनीहरूको प्रकारअनुसार वर्गीकृत हुन, वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्वरको शुद्धीकरणको कामले मात्र मानवको अधार्मिकता पखाल्नेछ, र उहाँको सजाय र न्यायको कामले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूको खुलासा गर्नेछ, जसले गर्दा मुक्ति दिन सकिनेलाई मुक्ति दिन नसकिनेबाट र बाँकी रहनेहरूलाई बाँकी नरहनेहरूबाट खुट्ट्याइनेछ। जब यो काम समाप्त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च क्षेत्रमा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरू मानव विश्रामको दिनमा प्रवेश गर्नेछन् र परमेश्वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्वरका लागि श्रम पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूको खराबीको कारण साथै मुक्त गरिनलाई तिनीहरूको विद्रोहीपन र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, खराब काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्वरविरुद्ध विद्रोही भएका छन् वा छैनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको मुक्तिको काम गर्न सुरु गर्नुभएदेखि नै मानिसहरूलाई असल र खराबमा छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो, उहाँको काम समाप्त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्नुहुनेछ भन्ने होइन। बरु, उहाँको काम पूर्ण रूपमा समाप्त भएपछि मात्रै यो काम पूरा हुनेछ। दुष्टलाई दण्ड र असललाई इनाम दिने परमेश्वरको अन्तिम कामको एउटै उद्देश्य भनेको नै पूरै मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले विशुद्ध रूपमा शुद्ध पारिएको मानवजातिलाई अनन्त विश्राममा ल्याउन सक्नुहोस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्वरले दुष्टलाई नष्ट पार्नुभएन, तर बाँकी रहन दिनुभयो भने, सारा मानवजाति विश्राममा प्रवेश गर्न अझै पनि असमर्थ हुनेथियो, र परमेश्वर सारा उनीहरूलाई अझ उत्तम क्षेत्रमा ल्याउन असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण रूपमा सिद्धिने थिएन। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र पारिनेछ; यसरी मात्र परमेश्वर शान्तिपूर्वक विश्राममा बस्न सक्नुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्