८. तपाईंले आखिरी दिनका परमेश्वर एउटी महिलाको रूपमा देहधारण हुनुभएको छ भनी गवाही दिनुहुन्छ। हामी त्यो कुरा स्वीकार गर्न सक्दैनौं। बाइबलमा लेखिएको छ, कि येशूले स्वर्गका परमेश्वरलाई पिता भन्नुभयो, र स्वर्गका परमेश्वरले येशूलाई प्रिय पुत्र भन्नुभयो। के पिता र पुत्रहरू पुरुष होइनन् र? बाइबलले यो पनि भन्छ कि, “स्त्रीको शिर पुरुष हो” (१ कोरिन्थी ११:३)। त्यसैले महिलाहरूको कुनै अधिकार हुँदैन, त्यसो भए तपाईंले किन आखिरी दिनका परमेश्वर एउटी महिलाको रूपमा देहधारण हुनुभएको छ भनी भन्नुहुन्छ?
परमेश्वरका सान्दर्भिक वचनहरू:
परमेश्वरले गर्नुभएको कामको हरेक चरणको आफ्नै व्यवहारिक महत्त्व छ। त्यो बेला, येशू आउनुहुँदा, उहाँ पुरुषको स्वरूपमा आउनुभयो, र यस पटक परमेश्वर आउनुहुँदा, उहाँको स्वरूप महिलाको छ। यसबाट के देख्न सकिन्छ भने, परमेश्वरले सृष्टि गर्नुभएको पुरुष र महिला दुवै उहाँको काममा उपयोगी हुन सक्छन्, र उहाँका लागि लिङ्गको कुनै भिन्नता हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँले आफूलाई मन लागेको कुनै पनि देह धारण गर्न सक्नुहुन्छ, र त्यो देहले उहाँलाई प्रतिनिधित्व गर्न सक्छ; चाहे त्यो पुरुष होस् या महिला, जबसम्म यो उहाँको देहधारी शरीर हो, तबसम्म यसले परमेश्वरलाई प्रतिनिधित्व गर्न सक्छ। यदि येशू आउनुहुँदा उहाँ महिलाका रूपमा देखा पर्नुभएको भए, अर्को शब्दमा भन्दा, यदि पवित्र आत्माले शिशु बालक नभई शिशु बालिकाको गर्भधारण गर्नुभएको भए, कामको त्यो चरण उही रूपमा पूरा हुनेथ्यो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण पुरुषद्वारा पूरा गरिनुपर्थ्यो, तर कामचाहिँ उही रूपमा पूरा हुनेथ्यो। हरेक चरणमा गरिएको कामको उत्तिकै महत्त्व छ; कुनै पनि चरणको काम दोहोरिँदैन, न त यो अर्कोसँग बाझिने नै गर्छ। त्यो समयमा, येशूले आफ्नो काम गर्ने क्रममा, उहाँलाई एक मात्र पुत्र भनियो, र “पुत्र” ले पुरुष लिङ्गलाई जनाउँछ। हालको यो चरणमा किन एक मात्र पुत्र भनेर उल्लेख गरिँदैन? किनकि कामका आवश्यकताहरूले येशूको भन्दा फरक लिङ्गमा परिवर्तन हुनुपर्ने बाध्यता सिर्जना गरेको छ। परमेश्वरको लागि लिङ्गमा कुनै भिन्नता हुँदैन। उहाँले आफ्नो इच्छाअनुसार आफ्नो काम गर्नुहुन्छ, र आफ्नो काम गर्ने क्रममा उहाँ कुनै पनि प्रतिबन्धहरूको अधीनमा हुनुहुन्न, उहाँ त विशेष स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्नै व्यवहारिक महत्त्व छ। परमेश्वर दुईपटक देह बन्नुभयो, र आखिरी दिनहरूको अवधिमा भएको उहाँको देहधारण अन्तिमपटक हो भन्ने कुरा आफैमा स्पष्ट छ। आफ्ना सबै कार्यहरूलाई प्रकट गर्नको लागि उहाँ आउनुभएको छ। यदि यो चरणमा मानिसले देख्ने गरी व्यक्तिगत रूपमै काम गर्नको लागि उहाँ देह नबन्नुभएको भए, परमेश्वर पुरुष मात्रै हुनुहुन्छ, स्त्री हुनुहुन्न भन्ने धारणालाई मानिसले सदासर्वदा पक्रिराख्नेथ्यो। यसभन्दा पहिले, सारा मानवजातिले परमेश्वर पुरुष मात्रै हुन सक्नुहुन्छ र स्त्रीलाई परमेश्वर भनेर भन्न सकिँदैन भनेर विश्वास गर्यो, किनभने सारा मानवजातिले स्त्रीहरूमाथि पुरुषहरूकै अख्तियार हुन्छ भन्ने ठाने। तिनीहरूले कुनै पनि स्त्रीले अख्तियार लिन सक्दैन, पुरुषहरूले मात्रै सक्छ भन्ने विश्वास गरे। यति मात्र होइन, पुरुस नै स्त्रीको प्रमुख हो र स्त्रीले पुरुषको आज्ञापालन गर्नैपर्छ, उसलाई उछिन्न सक्दैन भनेरसमेत तिनीहरूले भने। विगतका समयहरूमा, जब पुरुष नै स्त्रीको प्रमुख हो भनेर भनियो, यो आदम र हव्वाप्रति लक्षित थियो, जो सर्पद्वारा छलिएका थिए—यो सुरुमा यहोवाले सृष्टि गर्नुभएकै पुरुष र स्त्रीप्रति लक्षित थिएन। अवश्य नै, स्त्रीले आफ्नो पतिको आज्ञापालन गर्नैपर्छ र उसलाई प्रेम गर्नैपर्छ, र पतिले आफ्नो परिवारलाई खुवाउन र सहारा दिन सिक्नैपर्छ। यी यहोवाले निर्धारित गरेका नियम र विधानहरू हुन् जसलाई मानवजातिले आफ्नो पृथ्वीको जीवनमा पालन गर्नैपर्छ। यहोवाले स्त्रीलाई भन्नुभयो, “तेरो इच्छा तेरो पतितिर हुनेछ, र त्यसले तँमाथि शासन गर्नेछ।” मानवजाति (अर्थात्, पुरुष र स्त्री दुवै) ले यहोवाको प्रभुत्वको अधीनमा रही सामान्य जीवन जिउन सकून्, र मानवजातिको जीवनमा संरचना होस्, र तिनीहरूको जीवनमा अव्यवस्थितपन नआओस् भनेर मात्रै उहाँले यो कुरा बोल्नुभएको थियो। त्यसकारण, पुरुष र स्त्रीले कस्तो व्यवहार गर्नुपर्छ भन्ने विषयमा यहोवाले उचित नियमहरू बनाउनुभयो, तर ती नियम पृथ्वीमा जिइरहेका सबै सृजित प्राणीहरूसँग मात्रै सम्बन्धित थियो, र परमेश्वरको देहधारणसँग यसको कुनै सम्बन्ध थिएन। परमेश्वर कसरी उहाँका सृजित प्राणीहरूजस्तै हुन सक्नुहुन्छ? उहाँका वचनहरू उहाँले सृष्टि गर्नुभएका मानवजातितर्फ मात्रै लक्षित थिए; मानवजातिले सामान्य जीवन जिओस् भनेर मात्रै उहाँले पुरुष र स्त्रीका लागि नियमहरू स्थापित गर्नुभयो। सुरुमा, जब यहोवाले मानवजातिलाई सृष्टि गर्नुभयो, उहाँले पुरुष र स्त्री दुवै प्रकारका मानवजाति बनाउनुभयो; त्यसैले उहाँको देहधारणहरूमा पुरुष र स्त्रीको विभाजन छ। उहाँले आदम र हव्वासँग बोल्नुभएका वचनहरूको आधारमा आफ्नो कामको निर्णय गर्नुभएन। उहाँले सुरुमा मानवजाति सृष्टि गर्नुभएको समयको उहाँको सोचअनुसार नै उहाँ दुईपटक देह बन्नुहुने कुरा पूर्ण रूपमा निर्धारित भएको थियो; अर्थात्, तिनीहरू भ्रष्ट हुनुभन्दा पहिलेको पुरुष र स्त्रीको आधारमा उहाँले आफ्ना दुई देहधारणहरूको काम पूरा गर्नुभयो। यदि सर्पको छलमा परेका आदम र हव्वासँग यहोवाले बोल्नुभएका वचनहरूलाई मानवजातिले लिएका, र तिनलाई परमेश्वरको देहधारणमा लागू गरेका भए, के येशूले पनि आफ्नी पत्नीलाई जसरी पत्नीलाई प्रेम गर्नुपर्छ त्यसरी नै प्रेम गर्नु पर्दैनथ्यो र? यसरी, के परमेश्वर अझै परमेश्वर नै हुनुहुनेथ्यो र? अनि यस्तो हुँदा, के उहाँले अझै आफ्नो कामलाई पूरा गर्न सक्षम हुनुहुनेथ्यो र? यदि परमेश्वरको देहधारण स्त्री बन्नु गलत हुन्थ्यो भने, परमेश्वरले स्त्रीलाई सृष्टि गर्नु सबैभन्दा ठूलो गल्ती हुँदैनथ्यो र? यदि मानिसहरूले अझै परमेश्वर स्त्रीको रूपमा देहधारी हुनु गलत हो भन्ने विश्वास गर्छन् भने, येशू जसले विवाह गर्नुभएन र त्यसैले आफ्नी पत्नीलाई प्रेम गर्न सक्नुभएन, के उहाँ पनि वर्तमान देहधारणजत्तिकै गल्ती हुनुहुन्थेन र? तँ वर्तमानको दिनमा परमेश्वरको देहधारणको सत्यतालाई मापन गर्नको लागि यहोवाले हव्वासँग बोल्नुभएका वचनहरूको प्रयोग गर्छस्, त्यसकारण तैँले अनुग्रहको युगमा देह बन्नुभएका प्रभु येशूको बारेमा राय बनाउनको लागि यहोवाले आदमसँग बोल्नुभएका वचनहरूको प्रयोग गर्नैपर्छ। के यी एउटै र उही होइनन्? तैँले सर्पले छल नगरेको पुरुषअनुसार प्रभु येशूको मापन गर्छस्, त्यसैले तैँले आजको देहधारणको सत्यताको बारेमा सर्पले छल गरेको स्त्रीअनुसार राय बनाउन सक्दैनस्। यो अनुचित हुनेछ! तैँले परमेश्वरलाई यसरी मापन गर्दा, तँमा तर्कशक्ति छैन भन्ने प्रमाणित हुन्छ। जब यहोवा दुईपटक देह बन्नुभयो, उहाँको देहको लिङ्ग सर्पको छलमा नपरेका पुरुष र स्त्रीसँग सम्बन्धित थियो; सर्पको छलमा नपरेका ती पुरुष र स्त्रीअनुसार नै उहाँ दुईपटक देह बन्नुभएको थियो। येशूको पुरुषत्व, सर्पको छलमा परेको आदमको जस्तै थियो भनेर नसोच। उहाँहरू पूर्ण रूपमा असम्बन्धित हुनुहुन्छ, उहाँहरू फरक प्रकृतिका पुरुषहरू हुनुहुन्छ। येशूको पुरुषत्वले उहाँ सबै स्त्रीहरूका प्रमुख हुनुहुन्छ, तर सबै पुरुषहरूका प्रमुख हुनुहुन्न भनेर अवश्य नै प्रमाणित गर्दैन? के उहाँ (पुरुष र स्त्री दुवै लगायत) सारा यहूदीहरूका राजा हुनुहुन्न र? उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, स्त्रीको प्रमुख मात्रै नभई पुरुषको पनि प्रमुख हुनुहुन्छ। उहाँ सृष्टि गरिएका सारा प्राणीहरूका प्रभु हुनुहुन्छ र सृष्टि गरिएका सारा प्राणीहरूका प्रमुख हुनुहुन्छ। येशूको पुरुषत्व स्त्रीको प्रमुखको प्रतीक हो भनेर तैँले कसरी निर्धारित गर्छस्? के यो ईश्वरनिन्दा हुनेछैन र? येशू भ्रष्ट नपारिएको पुरुष हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ; उहाँ ख्रीष्ट हुनुहुन्छ; उहाँ प्रभु हुनुहुन्छ। उहाँ कसरी आदमजस्तो भ्रष्ट पारिएको पुरुष हुन सक्नुहुन्छ? येशू परमेश्वरका सबैभन्दा पवित्र आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। उहाँ आदमको पुरुषत्व भएको परमेश्वर हुनुहुन्छ भनेर तैँले कसरी भन्न सक्छस्? त्यस्तो भएमा, के परमेश्वरका सबै कार्य गलत हुन्थेन र? के सर्पको छलमा परेका आदमको पुरुषत्वलाई यहोवाले येशूभित्र समायोजन गर्नुहुन्थ्यो? के वर्तमान समयको देहधारण येशूभन्दा फरक लिङ्गका तर प्रकृतिमा उहाँजस्तै हुनुहुने देहधारी परमेश्वरको कामको अर्को घटना होइन र? के तँ अझै पनि देहधारी परमेश्वर स्त्री हुन सक्नुहुन्न किनभने सर्पले सुरुमा स्त्रीलाई नै छल गरेको थियो भनेर भन्ने आँट गर्छस्? के तँ अझै पनि स्त्री सबैभन्दा अशुद्ध र मानवजातिको भ्रष्टताको स्रोत भएकीले, परमेश्वर स्त्रीको रूपमा देह बन्ने सम्भावना हुन सक्दैन भनेर भन्ने आँट गर्छस्? के तँ “स्त्रीले सधैँ पुरुषको आज्ञापालन गर्नुपर्छ र उसले कहिल्यै पनि परमेश्वरको प्रकटीकरण वा प्रत्यक्ष प्रतिनिधित्व गर्न सक्दिन” भनेर भनिरहने आँट गर्छस्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
यदि परमेश्वर केवल पुरुषको रूपमा देहमा आउनुभयो भने, मानिसहरूले उहाँलाई पुरुषहरूका परमेश्वर झैँ पुरुषको रूपमा परिभाषित गर्नेथिए, र उहाँ महिलाहरूका पनि परमेश्वर हुनुहुन्छ भनी कहिल्यै विश्वास गर्नेथिएनन्। तब मानिसहरूले परमेश्वरलाई पुरुषकै लिङ्गको मान्नेथिए, परमेश्वरलाई पुरुषहरूका शिर मान्नेथिए—त्यसोभए महिलाको हकमा के हुन्छ? यो अनुचित छ; यो पक्षपातपूर्ण व्यवहार होइन र? यदि त्यसो हो भने परमेश्वरले मुक्ति दिनुभएकाहरू सबै उहाँजस्तै पुरुषहरू हुनेथिए, र एउटै पनि महिलाले मुक्ति पाउने थिएन। जब परमेश्वरले मानव जातिलाई सृष्टि गर्नुभयो, उहाँले आदमलाई सृष्टि गर्नुभयो र हव्वालाई सृष्टि गर्नुभयो। उहाँले आदमलाई सृष्टि मात्र गर्नुभएन, उहाँले नर र नारी दुवैलाई उहाँको आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो। परमेश्वर केवल पुरुषहरूका परमेश्वर मात्रै हुनुहुन्न, तर उहाँ महिलाहरूका परमेश्वर पनि हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (३)
यदि येशूको काम मात्रै पूरा भएको थियो, र आखिरी दिनहरूको यो चरणको कार्यद्वारा यसलाई परिपूरण गरिएको थिएन भने, मानिस सँधैभरि नै, येशू मात्रै परमेश्वरका एकमात्र पुत्र हुनुहुन्छ, अर्थात् परमेश्वरको एउटा मात्रै पुत्र छ, त्यसपछि अर्को नाम लिएर आउने जोकोही परमेश्वरको एकमात्र पुत्र हुँदैनथ्यो, परमेश्वर स्वयम् हुने कुरा त परै जाओस् भन्ने धारणामा टाँसिइरहन्थ्यो। पापबलिको रूपमा सेवा गर्ने वा परमेश्वरको तर्फबाट शक्ति लिने र सारा मानवजातिलाई छुटकारा दिलाउने जोसुकै पनि परमेश्वरका एकमात्र पुत्र हुन सक्छ भन्ने धारणा मानिसमा छ। आउने व्यक्ति पुरुष हो भने, उहाँलाई परमेश्वरका एकमात्र पुत्र र परमेश्वरका प्रतिनिधिको रूपमा लिन सकिन्छ भनेर विश्वास गर्नेहरू पनि छन्। येशू यहोवाका पुत्र, उहाँका एकमात्र पुत्र हुनुहुन्छ भनेर भन्नेहरू समेत छन्। के त्यस्ता धारणाहरू हदभन्दा बढी भएनन् र? यदि कामको यो चरण अन्तिम युगमा नगरिएको भए, परमेश्वरको अघि सारा मानवजाति कालो छायामा छोपिन्थे। यदि यस्तो भएको भए, पुरुषले आफैलाई स्त्रीभन्दा उच्च ठान्नेथ्यो, स्त्रीहरूले कहिल्यै पनि आफ्नो शिर ठाडो पार्न सक्दैनथे, र एक जना स्त्रीलाई पनि मुक्त गर्न सकिँदैनथ्यो। मानिसहरूले सँधै परमेश्वर पुरुष हुनुहुन्छ, र यसअलावा उहाँले सँधै स्त्रीलाई तुच्छ ठान्नुहुन्छ र उसलाई मुक्ति दिनुहुन्न भनेर विश्वास गर्छन्। यदि यस्तो हुन्थ्यो भने, यहोवाले सृष्टि गर्नुभएका र भ्रष्ट तुल्याइएका सबै स्त्रीहरूले मुक्ति पाउने मौका कहिल्यै पाउँदैनथे भन्ने कुरा सत्य हुन्थेन र? त्यसपछि, यहोवाले स्त्रीलाई सृष्टि गर्नुभएको, अर्थात् हव्वालाई सृष्टि गर्नुभएको बेकार हुन्थेन र? अनि के स्त्री अनन्तमा नाश हुन्थिन र? यसकारणले गर्दा, स्त्रीलाई मात्र होइन सम्पूर्ण मानवजातिलाई मुक्त गर्नको लागि आखिरी दिनहरूको कार्यको चरण पूरा गरिन्छ। यदि परमेश्वर स्त्रीको रूपमा देहधारी हुनुभयो भने, यो महिलालाई मुक्ति दिनको लागि मात्रै हुनेछ भनेर यदि कसैले ठान्छ भने, त्यो व्यक्ति वास्तवमा नै मूर्ख हुनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
येशू र म एउटै आत्माबाट आएका हौं। हाम्रा देहहरूमा हामी सम्बन्धित नभए पनि, हाम्रा आत्मा एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम उही नभए पनि, सारमा हामी उस्तै छौं; हाम्रा देहहरूले फरकफरक रूपहरू लिन सक्छन्, तर यो कुरा युगको परिवर्तन र हाम्रो कामका फरकफरक आवश्यकताहरूको कारणले गर्दा भएको हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसकारण हामीले अघि बढाउने काम र मानिसलाई हामीले प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। यही कारणले गर्दा, यो दिनमा मानिसले जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जसको कारण युगको परिवर्तन नै हो। उहाँहरू लिङ्गमा र उहाँहरूका देहको स्वरूपमा फरक हुनुहुन्छ, र उहाँहरू एउटै परिवारमा न्मनुभएको थिएन, उही समयअवधिमा जन्मने कुरा त परै जाओस्, तैपनि उहाँहरूका आत्मा एउटै हो। उहाँहरूका देहमा न त रगतको नाता छ न त कुनै पनि प्रकारको भौतिक साइनो नै छ, तैपनि उहाँहरू दुई फरक समयअवधिका परमेश्वरका देहधारणहरू हुनुहुन्छ भन्ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्वरका देहधारणहरू हुनुहुन्छ भन्ने कुरा अकाट्य सत्य हो। तैपनि, उहाँहरू एउटै रक्तवंशको हुनुहुन्न र उहाँहरूले एउटै मानव भाषा बोल्नुहुन्न (एक जना पुरुष हुनुहुन्थ्यो जसले यहूदीहरूको भाषा बोल्नुहुन्थ्यो र अर्काचाहिँ महिला हुनुहुन्छ जसले चिनियाँ भाषा मात्रै बोल्नुहुन्छ)। यिनै कारणहरूले गर्दा, आफूले गर्नुपर्ने काम गर्नको लागि उहाँहरू फरकफरक देशमा र फरकफरक समयअवधिमा पनि जिउनु भयो। उहाँहरू एउटै आत्मा हुनुहुन्छ, उहाँहरूमा एउटै सार छ भन्ने तथ्यको बाबजुत पनि, उहाँहरूका देहहरूको बाहिरी भेषहरूमा कुनै ठोस समानता छैनन्। उहाँहरू दुवै उही मानवतामा हुनुहुन्छ, तर जहाँसम्म उहाँहरूका देहहरूको बाहिरी रूप र उहाँहरूको जन्मका परिस्थितिहरूको सवाल छ, उहाँहरू उही हुनुहुन्न। उहाँहरूको सम्बन्धित काममा वा उहाँहरूबारेको मानिसको ज्ञानमा यी कुराहरूले कुनै प्रभाव पार्दैनन्, किनभने अन्तिम विश्लेषणमा उहाँहरू एउटै आत्मा हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैन। रगतद्वारा उहाँहरू सम्बन्धित नभए पनि, उहाँहरूको सम्पूर्ण अस्तित्व उहाँहरूका आत्माहरूको नियन्त्रणमा छ, जसले उहाँहरूलाई फरक समयअवधिमा फरक काम दिनुहुन्छ, र उहाँहरूको देह फरकफरक वंशमा पर्छन्। यहोवाका आत्मा येशूका आत्माका पिता हुनुहुन्न र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्न: उहाँहरू एउटै र उही आत्मा हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्वर र येशूमा रगतको सम्बन्ध छैन, तर उहाँहरू एउटै हुनुहुन्छ, किनभने उहाँहरूका आत्मा एउटै हुनुहुन्छ। परमेश्वरले कृपा र प्रेमिलो-दयालुपनको कामका साथै मानिसको धर्मी न्याय र सजाय गर्ने अनि मानिसमा श्राप हालिदिने काम गर्न सक्नुहुन्छ; र अन्तिममा, उहाँले संसारलाई नष्ट गर्ने र दियाबलसलाई दण्ड दिने काम गर्न सक्नुहुन्छ। के उहाँले यो सबै आफै गर्नुहुन्न र? के यो परमेश्वरको सर्वशक्तिमान्ता होइन र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
परमेश्वर पवित्र आत्मा अर्थात् सात गुणा तीव्र आत्मा वा सबै कुरालाई समेट्ने आत्मा मात्र हुनुहुन्न, तर एक साधारण अर्थात् अत्यन्तै साधारण मनुष्य पनि हुनुहुन्छ। उहाँ पुरुष मात्र नभएर स्त्री पनि हुनुहुन्छ। तिनीहरू उस्तै हुन् किनकि ती दुबै मानिसहरू हुन् र फरक यति मात्र हो कि एक जना पवित्र आत्माद्वारा गर्भमा आउनुभयो भने अर्कोचाहिँ मानिसद्वारा, तथापि उहाँ आत्माद्वारा सीधै आउनुभएको हो। दुबै जना उस्तै हुनुहुन्छ किनकि दुबैले परमेश्वर पिताको काम गर्ने देहधारी शरीरका परमेश्वर हुनुहुन्छ, उहाँहरू बीचको फरक यही हो कि एक जनाले छुटकाराको काम गर्नुभयो भने अर्कोले विजयको काम गर्नुहुन्छ। दुबैले परमेश्वर पिताको प्रतिनिधित्व गर्नुहुन्छ, तर एक प्रेम र दयाले भरिएको उद्धारक हुनुहुन्छ भने अर्कोचाहिँ क्रोध र न्यायले भरपूर धार्मिकताका परमेश्वर हुनुहुन्छ। एक छुटकाराको काम सुरुवात गर्ने सर्वोच्च सेनापति हुनुहुन्छ भने अर्को विजयको काम पूरा गर्ने धर्मी परमेश्वर हुनुहुन्छ। एक जना सुरु हुनुहुन्छ भने अर्को अन्त्य। एक जना पापरहितको शरीर हुनुहुन्छ भने अर्को छुटकाराको कामलाई पूरा गर्ने, कामलाई जारी राख्ने र कहिले पनि पाप नगर्ने शरीर हुनुहुन्छ। दुबै छुट्टाछुट्टै शरीरमा बास गर्ने, छुट्टै ठाउँमा जन्म लिनुभएका र हजारौँ वर्षको अन्तरमा आउनुभएका एउटै आत्मा हुनुहुन्छ। यद्यपि उहाँहरूको काम एक-अर्कामा परिपूरक छ, कुनै द्वन्द्व नभएको र एउटै सासमा भन्न सकिने किसिमको छ। दुवै मानिसहरू हुनुहुन्छ तर एउटाचाहिँ छोरा र अर्कोचाहिँ शिशु छोरी हुनुहुन्थ्यो। यतिका वर्षसम्म, मानिसहरूले आत्मा र मानिस, पुरुषलाई मात्र होइन, तर मानव धारणाहरूसँग मेल नखाने धेरै कुराहरू पनि देखेका छन्, यसरी, मानिसहरूले मलाई कहिले पनि पूर्ण रूपमा बुझ्न सक्दैनन्, र तिनीहरू म अस्तित्वमा वास्तवमै भएजस्तो, तैपनि म मिथ्या सपना भएजस्तो सधैँ मलाई आधा विश्वास गर्छन् र आधा शङ्का गर्छन्, त्यसकारण, आजको दिनसम्म, मानिसहरूले परमेश्वर के हुनुहुन्छ भनेर अझै जान्दैनन्। के तँ एउटा सामान्य वाक्यमा मेरो सारांश साँच्चै निकाल्न सक्छस्? के तँ साँच्चै, “येशू नै परमेश्वर हुनुहुन्छ, र परमेश्वर नै येशू हुनुहुन्छ” भन्ने हिम्मत गर्न सक्छस्? के तँ साँच्चै “परमेश्वर नै आत्मा हुनुहुन्छ र आत्मा नै परमेश्वर हुनुहुन्छ” भन्ने हिम्मत गर्छस्? के तँ “परमेश्वर देहको भेषमा आउनुभएको मानव मात्र हुनुहुन्छ” भन्ने हिम्मत गर्न सक्छस्? के तँमा साँच्चै “येशूको स्वरूप परमेश्वरको महान् स्वरूप हो” भन्ने हिम्मत छ? परमेश्वरको स्वभाव र स्वरूपलाई पूर्ण रूपमा व्याख्या गर्नका निम्ति के तँ आफ्नो साहित्यिक क्षमता प्रयोग गर्न सक्छस्? के तँ “परमेश्वरले आफ्नो स्वरूपमा पुरुषलाई मात्र बनाउनुभयो, महिलालाई होइन” भन्ने हिम्मत गर्न सक्छस्? यदि तैँले यसो भनिस् भने कुनै पनि महिला मैले चुनिएका भित्र पर्दैनन्, महिलाहरू मानवजातिको एक वर्ग हुनु त परै जाओस्। अब परमेश्वर के हुनुहुन्छ भन्ने कुरा तँ साँच्चै जान्दछस्? के परमेश्वर मानव हुनुहुन्छ? के परमेश्वर आत्मा हुनुहुन्छ? के परमेश्वर साँच्चै पुरुष हुनुहुन्छ? के मैले गर्न लागेको काम येशूले मात्र पूरा गर्न सक्नुहुन्छ? यदि मेरो सारको सारांश निकाल्न माथिका मध्ये कुनै एउटाको मात्रै छनौट गर्छस् भने, तँ अत्यन्तै अज्ञानी बफादार भक्त होस्। यदि मैले एक पटक मात्र देहधारणको काम गरेँ भने, के तिमीहरू मलाई सीमित गर्नेथियौ? के तैँले मलाई एकै नजरमा पूर्ण रूपमा साँच्चै बुझ्न सक्छस्? तेरा जीवनकालमा तैँले भोगेका कुराहरूकै आधारमा पूर्ण रूपमा साँच्चै मेरो सारांश निकाल्न सक्छस्? यदि मेरा दुवै देहधारणहरूमा मैले एउटै काम गरेको भए, तिमीहरूले मलाई कसरी बुझ्नेथियौ? के तिमीहरू मलाई सधैँका निम्ति क्रूसमा टाँगिदिने थियौ? के परमेश्वर तैँले भनेजस्तो साधारण हुनुहुन्छ?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको बारेमा तेरो बुझाइ के छ?