१. हामी विश्वास गर्छौं, त्यो ठूलो सेतो सिंहासनको न्यायले परमेश्वरले स्वर्गमा सजाउनुहुने त्यो ठूलो टेबललाई सङ्केत गर्दछ, जहाँ प्रत्येक व्यक्तिले घुँडा टेकेर आफ्नो सम्पूर्ण जीवनमा गरेका पापहरू स्वीकार गर्छन्, त्यसपछि परमेश्वरले तिनीहरू स्वर्गको राज्यमा प्रवेश गर्नेछन् कि नरकमा खस्नेछन् त्यो निर्णय गर्नुहुन्छ। यस बीचमा, तपाईं परमेश्वर देह बनेर पृथ्वीमा आउनुभएको छ र उहाँले सत्यता व्यक्त गर्दै हुनुहुन्छ र आखिरी दिनहरूको न्यायको काम गर्दै हुनुहुन्छ भनी गवाही दिनुहुन्छ। यो हाम्रो आफ्नै बुझाइभन्दा फरक किन छ? आखिरी दिनहरूमा हुने परमेश्वरको न्याय भनेको के हो?
सन्दर्भका लागि बाइबलका पदहरू:
“किनभने परमेश्वरको घरानाबाट न्याय सुरू हुने समय आएको छ” (१ पत्रुस ४:१७)।
“अनि यदि कुनै मानिसले मेरा वचनहरू सुन्छ तर तिनलाई पालन गर्दैन भने, म त्यसको न्याय गर्दिनँ: किनभने म संसारलाई न्याय गर्न होइन, तर मुक्ति दिन आएँ। मलाई इन्कार गर्ने र मेरा वचनहरू नस्विकार्नेलाई न्याय गर्ने एउटा छ: मैले बोलेको त्यो मार्गले आखिरी दिनमा उसको न्याय गर्नेछ” (यूहन्ना १२:४७-४८)।
“पिताले कुनै मानिसको न्याय गर्नुहुन्न, तर पुत्रलाई नै सबै न्याय सुम्पनुभएको छ” (यूहन्ना ५:२२)।
“र न्याय गर्ने अख्तियार पनि दिनुभएको छ, किनभने उहाँ मानिसको पुत्र हुनुहुन्छ” (यूहन्ना ५:२७)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
विगतमा बताइएको, परमेश्वरको घरमा सुरु हुने न्यायमा, यी शब्दहरूमा सम्बोधन गरिएको “न्याय” ले अन्तिम दिनहरूमा परमेश्वरको सिंहासनका सामु आउने व्यक्तिहरूलाई उहाँले दिने न्यायलाई जनाउँछ। अन्तिम दिनहरू आएपछि, परमेश्वरले स्वर्गमा एउटा ठूलो टेबुल खडा गर्नुहुनेछ, त्यसमाथि एउटा सेतो कपडा राखिनेछ, अनि त्यसपछि, सबै मानिसहरू भूइँमा घुँडा टेकिरहँदा ठूलो सिंहासनमा बसेर, उहाँले प्रत्येक व्यक्तिका पापहरू खुलासा गर्नुहुनेछ र तिनीहरूलाई स्वर्गमा उचालिने वा आगो र गन्धकको कुण्डमा पठाइने भनी उहाँले निर्णय गर्नुहुनेछ भन्ने खालका अलौकिक कल्पनाहरूमा विश्वास गर्ने व्यक्तिहरू पनि सायद छन्। मानवले जे कुराको कल्पना गरे पनि, यसले परमेश्वरको कामको सारलाई परिवर्तन गर्न सक्दैन। मानवका कल्पनाहरू उसका विचारहरूका सृजना बाहेक अरू केही होइनन्; तिनीहरू मानवका मगजबाट आउँछन्, मानवले देखेका र सुनेका कुराहरूलाई जम्मा भएर जोडिएका हुन्छन्। त्यसकारण म भन्दछु, कि तिनीहरूले अनुमान गरेका चित्रहरू जतिसुकै बुद्धिमान् भए पनि, तिनीहरू केवल व्यङ्ग्य-चित्रहरू मात्र हुन् र तिनीहरूले परमेश्वरको कामको योजनालाई प्रतिस्थापन गर्न सक्दैनन्। जे नै भए पनि, मानवलाई शैतानले भ्रष्ट पारेको छ, यसैले उसले कसरी परमेश्वरका विचारहरूलाई बुझ्न सक्छ र? मानवले परमेश्वरको न्यायको कामलाई शानदार कुराको रूपमा कल्पना गर्छ। परमेश्वर आफैले नै न्यायको काम गर्नुहुने हुनाले, यो काम अथाह तहको हुने, र मरणशीलले बुझ्न नसक्ने, र यसले स्वर्गलाई थर्काउने, र पृथ्वीलाई हल्लाउने हुनेछ; यदि यसो होइन भने, यो कसरी परमेश्वरले गर्नुहुने न्यायको काम हुन सक्छ? यो न्यायको कार्य भएको हुनाले, परमेश्वरले काम गर्नुहुँदा खास गरी उहाँचाहिँ दबाब दिने र गौरवशाली हुनैपर्छ र न्याय गरिएकाहरू आँसु झार्दै चिच्याउने र कृपाको निम्ति आफ्ना घुँडा टेक्नेहरू हुनेछन् भनी उनले विश्वास गर्छन्। यस्तो दृश्य अवश्य पनि भव्य हुन्छ, र अति रोमाञ्चक हुन्छ…। परमेश्वरको न्यायको काम आश्चर्यपूर्ण हुन्छ भनी प्रत्येकले कल्पना गर्छ। तथापि, परमेश्वरले मानवका बीचमा आफ्नो न्यायको काम लामो समयदेखि सुरु गर्नुभएको भए पनि, तँ थकित निद्रामा आराम गरिरहेको छस् भनी के तँलाई थाहा छ? परमेश्वरको न्यायको काम औपचारिक रूपमा नै सुरु भयो भनी तैँले विचार गरेको समयमा, परमेश्वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्नुभएको हुनेछ? त्यसबेला, सायद, तैँले भर्खर मात्र जीवनको अर्थलाई बुझ्न लागेको हुनेछस्, तर परमेश्वरको दण्डको निर्दयी कार्यले तँलाई अझै गहिरो निद्रामा, नरकमा ल्याउनेछ। तब मात्र तैँले परमेश्वरको न्यायको कार्य पूरा भइसकेको एक्कासि महसुस गर्नेछस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
कतिपयले परमेश्वर कुनै अज्ञात समयमा पृथ्वीमा आउनुहुनेछ र मानिससामु देखा पर्नुहुनेछ, त्यसपछि उहाँले सम्पूर्ण मानवजातिलाई व्यक्तिगत रूपमा न्याय गर्नुहुनेछ र कसैलाई पनि नछुटाई एक-एक गरेर जाँच्नुहुनेछ भन्ने विश्वास गर्छन्। यसरी सोच्नेहरूलाई देहधारणको कामको यस चरणबारे थाहा छैन। परमेश्वर मानिसहरूलाई एकपछि अर्को गर्दै न्याय गर्नुहुन्न, न त तिनीहरूलाई एक-एक गरेर जाँच उत्तीर्ण गर्न लगाइन्छ; त्यसो गर्नु न्यायको काम हुँदैन। के सम्पूर्ण मानवजातिको भ्रष्टता उस्तै होइन र? के सम्पूर्ण मानवजातिको सार उस्तै होइन र? न्याय गरिने त मानवजातिको भ्रष्ट सार, शैतानद्वारा भ्रष्ट पारिएको मानिसको सार, र मानिसका सबै पाप हुन्। परमेश्वर मानिसका सानातिना र महत्त्वहीन गल्तीहरूलाई न्याय गर्नुहुन्न। न्यायको काम प्रतिनिधिमूलक हुन्छ, र यो विशेष गरी कुनै निश्चित व्यक्तिका लागि गरिँदैन। बरु, यो त सम्पूर्ण मानवजातिको न्यायको प्रतिनिधित्व गर्नका लागि मानिसहरूको एउटा समूहलाई न्याय गरिने काम हो। देहमा परमेश्वरद्वारा गरिएको काम भनेको सम्पूर्ण मानवजातिको कामको प्रतिनिधित्व गर्नका लागि मानिसहरूको एउटा समूहमा उहाँको प्रत्यक्ष काम प्रयोग गर्नु हो, जसपछि यो बिस्तारै फैलिन्छ। न्यायको काम पनि यस्तै हुन्छ। परमेश्वर कुनै निश्चित प्रकारको व्यक्ति वा मानिसहरूको निश्चित समूहलाई न्याय गर्नुहुन्न, बरु सम्पूर्ण मानवजातिको अधार्मिकतालाई न्याय गर्नुहुन्छ, जस्तै मानिसले परमेश्वरको विरोध गर्नु, वा मानिसले उहाँको डर नमान्नु, वा मानिसले परमेश्वरको काममा बाधा दिनु। न्याय गरिने त परमेश्वरको विरोध गर्ने मानवजातिको सार हो, र यो न्यायको काम आखिरी दिनहरूको विजयको काम हो। मानिसले देखेको देहधारी परमेश्वरको काम र वचन आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनअघिको न्यायको काम हो, जुन विगतमा मानिसहरूले आफ्ना धारणाहरूमा पालेका थिए। देहधारी परमेश्वरले हाल गरिरहेको काम ठ्याक्कै ठूलो सेतो सिंहासनअघिको न्याय हो। आजका देहधारी परमेश्वर आखिरी दिनहरूको दौरान सम्पूर्ण मानवजातिलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। यो देह र यस देहको काम, वचन, र सम्पूर्ण स्वभाव नै उहाँको सम्पूर्णता हो। यस देहको कामको दायरा सीमित भए पनि, र यसमा सम्पूर्ण ब्रह्माण्डलाई सिधै नसमेटे पनि, न्यायको कामको सार सम्पूर्ण मानवजातिको प्रत्यक्ष न्याय हो—यो काम चीनका चुनिएका मानिसहरूका खातिर मात्रै होइन, न त यो थोरै सङ्ख्याका मानिसका खातिर नै गरिन्छ। देहमा परमेश्वरको कामको दौरान, यस कामको दायरामा सम्पूर्ण ब्रह्माण्ड समावेश नभए पनि, यसले सम्पूर्ण ब्रह्माण्डको कामको प्रतिनिधित्व गर्छ, र उहाँले आफ्नो देहको कामको दायराभित्र काम सम्पन्न गर्नुभएपछि, येशूको पुनरुत्थान र स्वर्गारोहणपछि उहाँको सुसमाचार फैलिएजस्तै गरी, उहाँले तुरुन्तै ब्रह्माण्डभित्रको हरेक ठाउँमा यो काम फैलाउनुहुनेछ। चाहे यो आत्माको काम होस् वा देहको काम होस्, यो सीमित दायराभित्र गरिने, तर सम्पूर्ण ब्रह्माण्डको कामको प्रतिनिधित्व गर्ने काम हो। आखिरी दिनहरूको दौरान, परमेश्वर आफ्नो देहधारी पहिचानमा देखा परेर आफ्नो काम गर्नुहुन्छ, र देहमा हुनुहुने परमेश्वर सेतो ठूलो सिंहासनअघि मानिसको न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। चाहे उहाँ आत्मा हुनुहोस् वा देह हुनुहोस्, न्यायको काम गर्नुहुने जन आखिरी दिनहरूमा मानवजातिलाई न्याय गर्नुहुने परमेश्वर हुनुहुन्छ। यो उहाँले गर्ने कामद्वारा निर्धारण गरिन्छ, उहाँको बाहिरी रूप वा अन्य केही कारकद्वारा गरिँदैन। मानिसले यी वचनहरूबारे धारणाहरू पाले पनि, देहधारी परमेश्वरले सम्पूर्ण मानवजातिलाई न्याय र विजय गर्नुभएको तथ्यलाई कसैले पनि इन्कार गर्न सक्दैन। मानिसले यसबारे जेसुकै सोचे पनि, तथ्यहरू आखिर तथ्य नै हुन्। कसैले पनि “काम परमेश्वरले गर्नुभएको हो, तर देह परमेश्वर हुनुहुन्न” भनेर भन्न सक्दैन। यो एउटा भ्रम हो, किनभने यो काम देहमा हुनुहुने परमेश्वरबाहेक अरू कसैले पनि गर्न सक्दैन। यो काम पूरा भइसकेको हुनाले, यस कामपछि मानिसलाई न्याय गर्ने परमेश्वरको काम दोस्रो पटक देखा पर्नेछैन; परमेश्वरले आफ्नो दोस्रो देहधारणमा सम्पूर्ण व्यवस्थापनको सबै काम सम्पन्न गरिसक्नुभएको छ, र परमेश्वरको कामको चौथो चरण हुनेछैन। किनभने न्याय गरिने भनेको मानिसलाई हो, देहको र भ्रष्ट तुल्याइएको मानिसलाई हो, र प्रत्यक्ष रूपमा न्याय गरिने शैतानको आत्मालाई होइन, त्यसकारण न्यायको काम आत्मिक क्षेत्रमा नभई मानिसमाझ गरिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। भ्रष्ट मानवजातिलाई देहधारी परमेश्वरको मुक्ति बढी चाहिएको हुन्छ
आखिरी दिनहरूका ख्रीष्टले मानिसलाई सिकाउन, मानिसको सारलाई खुलासा गर्न, र मानिसका शब्द र कार्यहरूलाई चिरफार गर्न विभिन्न सत्यताहरू प्रयोग गर्नुहुन्छ। यी वचनहरूमा मानिसको कर्तव्य, मानिस कसरी परमेश्वरमा समर्पित हुनुपर्छ, मानव कसरी परमेश्वरप्रति बफादार हुनैपर्छ, मानिसले कसरी सामान्य मानवता जिउनुपर्छ, र साथसाथै, परमेश्वरको बुद्धि र स्वभाव जस्ता विभिन्न सत्यताहरू समावेश भएका हुन्छन्। यी सबै वचन मानिसको सार र उसका भ्रष्ट स्वभावहरूप्रति लक्षित हुन्छन्। खास गरी, मानवले कसरी परमेश्वरलाई इन्कार गर्छ भनी खुलासा गर्ने वचनहरू मानव कसरी शैतानको मूर्तरूप र परमेश्वरविरुद्धको विरोधी शक्ति हो भन्नेतर्फ झन् बढी लक्षित हुन्छन्। परमेश्वरले आफ्नो न्यायको काम गर्नुहुँदा, उहाँले मानिसको प्रकृतिलाई केही शब्दहरूले पूर्ण रूपमा व्याख्या गर्नुहुन्न; उहाँले लामो समयसम्म खुलासा र काँटछाँट गर्नुहुन्छ। खुलासा गर्ने र काँटछाँट गर्ने यी सबै फरक-फरक विधिहरूलाई साधारण वचनले प्रतिस्थापन गर्न सकिँदैन; बरु खुलासा र काटछाँटको उहाँको काम गर्न मानिससँग बिलकुलै नभएको सत्यता प्रयोग गरिन्छ। यस्ता विधिहरूलाई मात्र न्याय भन्न सकिन्छ; यस्तो न्यायद्वारा मात्र मानव वशमा आउन र उहाँबारे पूर्णतः विश्वस्त हुन सक्छ, र त्यसमाथि परमेश्वरको साँचो ज्ञान प्राप्त गर्न सक्छ। न्यायको कामले ल्याउने कुरा भनेको मानवले परमेश्वरको साँचो मुहारलाई र उसको आफ्नै विद्रोहीपनको सत्यतालाई बुझ्नु हो। न्यायको कामले मानवलाई परमेश्वरका अभिप्रायहरू, परमेश्वरको कामको उद्देश्य, र उसले बुझ्नै नसक्ने रहस्यहरूको धेरै बुझाइ प्राप्त गर्न सक्षम बनाएको छ। यसले मानवलाई उसको भ्रष्ट सार र उसका भ्रष्टताका जडहरू पहिचान गर्ने र चिन्ने, र साथसाथै उसको कुरूप अनुहार पत्ता लगाउने पनि तुल्याएको छ। यी सबै असरहरू न्यायको कामद्वारा ल्याइएका हुन्छन्, किनकि यस कामको सारचाहिँ वास्तवमा परमेश्वरमा आस्था राख्नेहरू सबैका लागि परमेश्वरको सत्यता, मार्ग, र जीवन खोल्नु हो। यो परमेश्वरद्वारा गरिएको न्यायको काम हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
आजको विजयको कामको उद्देश्य मानिसको अन्त्य कस्तो हुनेछ भनी स्पष्ट पार्नु हो। किन आजको सजाय र न्यायलाई आखिरी दिनहरूमा ठूलो सेतो सिंहासनको अघि हुने न्याय हो भनेर भनिन्छ? के तँ यो देख्दैनस्? विजयको काम किन अन्तिम चरणमा छ? के यो सबै वर्गका मानिसहरूको अन्त्य कस्तो प्रकारको हुनेछ भन्ने कुरा स्पष्ट रूपमा प्रस्तुत गर्नका निम्ति होइन र? के यो सजाय र न्यायको विजयको क्रममा सबैलाई आफ्नो वास्तविक रङ्ग देखाउन र त्यसपछि आ-आफ्नै प्रकारअनुसार वर्गीकृत हुन दिनका लागि होइन र? यसलाई मानवजातिउपर विजय गर्नु भन्नुभन्दा बरु प्रत्येक वर्गको व्यक्तिले कस्तो प्रकारको अन्त्यको सामना गर्नुपर्छ त्यो देखाउनु हो भन्नु राम्रो हुन्छ। यो मानिसहरूको पापहरूको न्याय गर्ने र त्यसपछि विभिन्न वर्गका मानिसहरूलाई खुलासा गर्दै, त्यसमार्फत तिनीहरू दुष्ट वा धर्मी के हुन् भनेर निर्णय गर्नु हो। विजयको कामपछि, असललाई इनाम र दुष्टलाई दण्ड दिने काम हुन्छ। पूर्ण रूपमा समर्पित हुनेगर्ने मानिसहरूलाई—अर्थात् पूर्ण रूपले जितिएका मानिसहरूलाई—सम्पूर्ण ब्रह्माण्डमा परमेश्वरको कार्य फैलाउने अर्को चरणमा राखिनेछ; अनि नजितिएकाहरूलाई अन्धकारमा राखिनेछ र तिनीहरूले विपत्तिको सामना गर्नेछन्। यसरी मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकरण गरिनेछ, दुष्ट हरूलाई दुष्टहरूको समूहमा, फेरि सूर्यको किरणमा नहुने गरी राखिनेछन्, र धर्मीहरू असल मानिसहरूको समूहमा राखिनेछन् र तिनीहरूले ज्योति प्राप्त गर्नेछन् र सदासर्वदा ज्योतिमा जिउनेछन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको वास्तविक कथा (१)
न्यायको काम परमेश्वरको आफ्नै काम भएको हुनाले, प्राकृतिक रूपमा यसलाई परमेश्वर आफैले नै कार्यान्वयन गर्नुपर्ने हुन्छ; उहाँको सट्टामा मानिसले यो गर्न सक्दैन। न्याय भनेको मानवजातिलाई विजय गर्नका लागि सत्यताको प्रयोग भएको हुनाले, मानिसमाझ यो काम गर्नका लागि परमेश्वर अझै पनि देहधारी स्वरूपमा प्रकट हुनुहुनेछ भन्ने कुरामा कुनै प्रश्न छैन। अर्थात्, आखिरी दिनहरूका ख्रीष्टले सारा संसारभरिका मानिसहरूलाई सिकाउन र सबै सत्यता जान्ने तुल्याउन सत्यता प्रयोग गर्नुहुनेछ। परमेश्वरको न्यायको काम यही नै हो। परमेश्वरको दोस्रो देहधारणका सन्दर्भमा धेरैलाई असहज महसुस हुन्छ, किनकि न्यायको काम गर्नका लागि परमेश्वर देह बन्नुहुनेछ भन्ने कुरा विश्वास गर्न मानिसहरूलाई कठिनाइ हुन्छ। तर पनि, परमेश्वरको काम मानवका अपेक्षाहरूभन्दा प्रायः धेरै पर हुन्छ, र मानव दिमागलाई यो स्वीकार गर्न कठिन हुन्छ भन्ने कुरा मैले तँलाई बताउनै पर्छ। किनभने मानिसहरू पृथ्वीमा गोब्रेकीराहरू मात्र हुन्, जबकि परमेश्वर ब्रह्माण्ड भर्नुहुने सर्वोच्च हुनुहुन्छ; मानिसको दिमाग फोहोर पानीको खाडलजस्तो हो, जसले कीराहरूमात्रै जन्माउँछ, तर परमेश्वरका विचारहरूद्वारा निर्देशित कामको प्रत्येक कदम परमेश्वरको बुद्धिको फल हो। मानिसहरूले जहिले पनि परमेश्वरसँग प्रतिस्पर्धा गर्ने कोसिस गरिरहेका हुन्छन्, जसलाई म भन्छु, अन्त्यमा को हार्नेछ भन्ने कुरा स्वयम् सिद्ध छ। तिमीहरूले आफूलाई सुनभन्दा बढी मूल्यवान् नठान भनी म तिमीहरू सबैलाई अर्ती दिन्छु। यदि अरूले परमेश्वरको न्यायलाई स्वीकार गर्न सक्छन् भने, तँ किन सक्दैनस्? तँ अरूहरूभन्दा कति माथि खडा छस्? यदि अरूले सत्यताको सामु आफ्ना शिरहरू झुकाउन सक्छन् भने, तँ पनि किन सक्दैनस्? परमेश्वरको कामको गति रोक्नै नसकिने छ। तैँले दिएको “योगदान” का कारण मात्रै उहाँले न्यायको काम फेरि दोहोऱ्याउनुहुने छैन, र अनि यति असल अवसरलाई जान दिएकोमा तँ पछुतोले भरिनेछस्। यदि तँ मेरा वचनहरूलाई विश्वास गर्दैनस् भने, केवल तँलाई न्याय गर्नहेतु आकाशको ठूलो सेतो सिंहासनलाई पर्खी! तँलाई थाहा हुनैपर्छ कि सबै इस्राएलीहरूले येशूलाई इन्कार गरे र नकारे, तैपनि येशूले सबै मानवजातिलाई दिनुभएको छुटकाराको तथ्य सारा ब्रह्माण्डभर र पृथ्वीको अन्त्यसम्म फैलिएको छ। के यो परमेश्वरले धेरै पहिले हासिल गर्नुभएको तथ्य होइन र? तँलाई स्वर्ग लैजानका लागि यदि तँ अझै येशूलाई पर्खिरहेको छस् भने, तँ मृत काठको हठी ठुटो होस् भनी म भन्दछु।[क] येशूले तँजस्तो सत्यताप्रति अबफादार र आशिषमात्र खोज्ने झूटो विश्वासीलाई स्वीकार गर्नुहुनेछैन। त्यसविपरीत, दस हजारौँ वर्षसम्म जलिरहन उहाँले तँलाई बिना कुनै कृपा आगोको कुण्डमा फालिदिनुहुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ
फूटनोटहरू:
क. काठको ठुटा: चिनियाँ टुक्का, जसको अर्थ “कामै नलाग्ने” भन्ने हुन्छ।