३. धार्मिक संसारमा, पाष्टरहरू र एल्डरहरूसँग नै अधिकार हुन्छ। तिनीहरू पाखण्डी फरिसीहरूको बाटो हिँड्छन्, र हामी तिनीहरूलाई पछ्याउने र तिनीहरूले जे भन्छन् त्यही गर्ने भए पनि, हामी प्रभु येशूमा विश्‍वास गर्छौं, पाष्टरहरू र एल्डरहरूमा होइन। त्यसोभए हामी फरिसीहरूको बाटोमा हिँड्छौं भनी तपाईं कसरी भन्न सक्नुहुन्छ? के तपाईंले धर्मका परमेश्‍वरमा विश्‍वास गर्ने हामीले साँच्चै मुक्ति पाउनेछैनौं भनी भन्दैहुनुहुन्छ?

सन्दर्भका लागि बाइबलका पदहरू:

“तिनीहरू अन्धाहरूका अन्धा अगुवाहरू हुन्। र यदि अन्धोले अन्धोलाई डोर्‍यायो भने दुवै खाडलमा खस्‍नेछन्” (मत्ती १५:१४)

“किनकि यी मानिसहरूका अगुवाहरूले तिनीहरूलाई गल्ती गर्ने तुल्याउँछन्; र तिनीहरूद्वारा अगुवाइ गरिएकाहरू नष्ट हुनेछन्” (यशैया ९:१६)

“ज्ञानको कमीका कारण मेरा मानिसहरू नष्ट पारिन्छन्” (होशे ४:६)

परमेश्वरका सान्दर्भिक वचनहरू:

के तिमीहरू फरिसीहरूले येशूको विरोध गर्नुको जड जान्‍न चाहन्छौ? के तिमीहरू फरिसीहरूको सार जान्‍न चाहन्छौ? तिनीहरू मसीहका बारेमा कल्पनाहरूले भरिएका थिए। अझ के भने, तिनीहरूले मसीह आउनुहुन्छ भनी विश्‍वास मात्रै गरे, तर जीवन सत्यतालाई भने पछ्याएनन्। त्यसैले, तिनीहरू आज पनि अझै मसीहको प्रतीक्षा गर्छन्, किनभने तिनीहरूसित जीवनको मार्गको कुनै ज्ञान छैन र सत्यताको मार्ग के हो भन्‍ने कुरा तिनीहरूलाई थाहा छैन। तिमीहरूलाई यस्ता मूर्ख, हठी र अज्ञानी मानिसहरूले कसरी परमेश्‍वरको आशिष्‌ प्राप्‍त गर्न सक्थे भन्ने लाग्छ? तिनीहरूले मसीहलाई कसरी देख्‍न सक्थे? तिनीहरूले येशूको विरोध गरे, किनभने तिनीहरूलाई पवित्र आत्माको कामको दिशा थाहा थिएन, र येशूले बोल्नुभएको सत्यताको मार्ग थाहा थिएन, र, किनभने तिनीहरूले मसीहलाई झनै बुझेका थिएनन्। तिनीहरूले मसीहलाई कहिल्यै नदेखेका, र मसीहसँग कहिल्यै सङ्गत नगरेकाका हुनाले, तिनीहरूले मसीहको नाउँमा मात्रै टाँसिने तर मसीहको सारलाई हरसम्भव मध्यमहरूद्वारा विरोध गरिरहने गल्ती गरे। सारमा यी फरिसीहरू हठी र अहङ्कारी थिए र तिनीहरूले सत्यता पालन गर्दैनथे। परमेश्‍वरप्रति तिनीहरूको विश्‍वासको सिद्धान्त यस्तो थियोः तिम्रो प्रचार जति नै गहन भए पनि, तिम्रो अख्तियार जति नै उच्‍च भए पनि, तिमीलाई मसीह नभनिएसम्म तिमी ख्रीष्ट होइनौ। के यो विश्‍वास वाहियात र हास्यास्पद छैन र? म तिमीहरूलाई अझै सोध्छु: तिमीहरूसित येशूको थोरै पनि बुझाइ नभएकाले, तिमीहरूलाई पनि त्यो समयका फरिसीहरूको गल्ती गर्न अत्यन्त सजिलो छैन र? के तिमीहरूले सत्यताको मार्ग खुट्ट्याउन सक्छौ? के तिमीहरूले ख्रीष्टको विरोध गर्नेछैनौ भनी साँच्‍चै प्रत्याभूति गराउन सक्छौ? के तिमीहरूले पवित्र आत्माको काम अनुसरण गर्न सक्छौ? तिमीहरूलाई आफूले ख्रीष्टको विरोध गर्नेछु कि गर्नेछैनँ भनेर थाहा छैन भने, म भन्छु, तिमीहरू पहिले नै मृत्युको मुखमा जिइरहेका छौ। मसीहलाई नचिन्‍नेहरू सबैले येशूको विरोध गर्न, येशूलाई इन्कार गर्न र उहाँको निन्दा गर्न सक्थे। येशूलाई नबुझ्ने मानिसहरू सबैले उहाँलाई इन्कार गर्न सक्छन् र गालीगलौज गर्न सक्छन्। तिनीहरूले येशूको पुनरागमनलाई शैतानको बहकाउका रूपमा झनै देख्‍न सक्छन् र अझ धेरै मानिसहरूले देहमा फर्कनुभएका येशूको निन्दा गर्नेछन्। के यी सबै कुराहरूले तिमीहरूलाई भयभीत बनाउँदैनन्? तिमीहरूले सामना गर्ने कुरा पवित्र आत्माविरुद्धको ईश्‍वरनिन्दा, मण्डलीहरूका लागि पवित्र आत्माले बोल्नुभएका वचनहरूको विनाश र येशूले व्यक्त गर्नुभएका सबै कुराहरूको तिरस्कार हुनेछ। यदि तिमीहरू नै यति धेरै अन्योलमा छौ भने, तिमीहरूले येशूबाट के प्राप्‍त गर्न सक्छौ? यदि तिमीहरू आफ्ना त्रुटिहरू स्विकार्न हठपूर्वक इन्कार गर्छौ भने, तिमीहरूले सेतो बादलमा येशू देह भई फर्कनुहुँदा उहाँले गर्नुहुने काम कसरी बुझ्न सक्छौ? म तिमीहरूलाई यो भन्छुः सत्यतालाई नस्विकार्ने, तर सेतो बादलमा येशूको आगमनलाई अन्धाधुन्ध प्रतीक्षा गर्ने मानिसहरू पक्कै पनि तिनै हुन् जसले पवित्र आत्माविरुद्ध ईशनिन्दा गर्छन् र तिनीहरू नष्ट पारिने श्रेणीका मानिस हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

हरेक धर्म र सम्प्रदायका अगुवाहरूलाई हेर्—ती सबै अहङ्कारी र आत्म-धर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा मार्गनिर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नका निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न बिलकुलै सक्थेनन् भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? आखिरमा, तिनीहरूसँग केही ज्ञान हुन्छ र तिनीहरूले केही धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्‍ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई छल्न र मानिसहरूलाई आफ्नो अगाडि ल्याउनका निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्‍वरमा नाम मात्रको विश्‍वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो मार्गको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये केहीले भन्छन्, “आस्थाका मामलामा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्‍वरमाथि विश्‍वास गर्ने र सत्यता स्वीकार गर्ने कुरा आउँदा मानिसहरूलाई कसरी अरूको सहमति र स्वीकृति आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो मार्ग स्वीकार गर्ने कार्यमा ठेस लाग्‍ने बाधाहरू बनेका छैनन् र? त्यस्ता मानिसहरू पावलकै प्रकारका हुन्। … विगतमा, मानिसहरूले उहाँमाथि गर्ने विश्‍वास साँचो वा झुटो जे-जस्तो भए पनि, तिनीहरूले अरूलाई नै पछ्याए पनि, वा तिनीहरूले सत्यता पछ्याउँदै नपछ्याए पनि, परमेश्‍वर मानिसहरूसँग कडा हुनुहुन्थेन, किनकि उहाँद्वारा पूर्वनिर्धारित गरिएका र चुनिएकाहरूले आखिरी चरणमा उहाँसामु आएर उहाँको न्याय स्विकार्नैपर्नेछ भनेर उहाँले पहिल्यै तोकिसक्नुभएको थियो। यदि परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकारिसकेपछि पनि मानिसहरूले अझै अरूलाई नै आराधना गर्न र पछ्याउन जारी राख्छन् भने, र यदि तिनीहरूले सत्यता पछ्याउनुको सट्टा आशिष् र ताज पछ्याउँछन् भने, त्यो अक्षम्य हुन्छ। त्यस्ता मानिसहरूको अन्त्य पावलको जस्तै हुनेछ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, न्यायलाई त झनै गर्दैनन्। त्यसको साटो, तिनीहरू शक्ति र धनसम्पत्तिलाई प्रेम गर्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा शक्ति भएका सम्प्रदायहरूको मात्र खोजी गर्छन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यताको मार्गलाई स्विकारेका भए पनि, तिनीहरू अर्ध-विश्‍वास गर्नेहरू मात्र हुन्; तिनीहरू आफ्नो सम्पूर्ण हृदय र मन दिन सक्षम छैनन्; तिनीहरू मुखले परमेश्‍वरप्रति आफूलाई समर्पित गर्ने बारेमा शब्दहरू बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका मन ख्याति, प्राप्ति र महिमाका विचारले भरिएका हुन्छन्। तिनीहरूले त्यस्तो नगण्य व्यक्तिले त्यति धेरै मानिसहरूलाई विजय गर्न सक्छ, त्यति मामुली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्‍ने कुरा विश्वास नै गर्दैनन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगण्य मानिसहरू परमेश्‍वरद्वारा चुनिएका मानिसहरू हुन् भन्‍ने कुरा विश्वास नै गर्दैनन्। यदि यस्ता मानिसहरू परमेश्‍वरका मुक्तिका पात्रहरू हुन्थे भने, तिनीहरू स्वर्ग र पृथ्वी उलटपुलट हुनेथिए र सम्पूर्ण मानिसहरू पेट मिचीमिची हाँस्नेथिए भन्‍ने विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वरले यस्ता मानिसहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्‍वर स्वयम् बन्नेथिए भन्‍ने विश्‍वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्‍वासले दूषित भएका हुन्छन्; विश्‍वास नगर्ने भन्दा बढी, तिनीहरू पूर्णतः असमझ पशुहरू हुन्। किनकि तिनीहरूले हैसियत, प्रतिष्ठा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र सम्मान गर्छन्, र ख्रीष्टले डोर्‍याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्‍मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतातर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काएका पूर्ण रूपमा विश्‍वासघाती हुन्।

तँ ख्रीष्टको विनम्रतालाई कदर गर्दैनस्, तर विख्यात दर्जाका झूटा गोठालाहरूलाई श्रद्धा गर्छस्। तँ ख्रीष्टको प्रेमिलो स्वभाव वा बुद्धिलाई कदर गर्दैनस्, तर तँ संसारका फोहोरसँग सँगै लाग्ने व्यभिचारीहरूलाई मन पराउँछस्। तँ ख्रीष्टले आफ्नो शिर राख्ने ठाउँ नपाएको पीडाको खिसीटिउरी मात्र गर्छस्, तर तँ भेटीहरूको सिकार गर्ने र विलासितामा जिउने लासहरूलाई सम्मान गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तँ बेपरवाह र स्वेच्छाचारी ख्रीष्टविरोधीहरूका हातमा आफूलाई खुसीसाथ सुम्पन्छस्, यद्यपि तिनीहरूले तँलाई केवल देह, शब्दहरू दिन्छन् र नियन्त्रण गर्छन्। अहिले पनि, तेरो हृदय अझै तिनीहरूतर्फ, तिनीहरूको प्रतिष्ठातर्फ, तिनीहरूको हैसियततर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। र तैपनि तँ ख्रीष्टको कामलाई स्वीकार गर्न गाह्रो मान्‍ने र यसलाई स्विकार्न अनिच्छुक हुने मनोवृत्ति अपनाउन जारी राख्छस्। केवल यसैका कारण म के भन्छु भने, तँ ख्रीष्टलाई मान्ने आस्थारहित छस्। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकाले हो। ठूला व्यक्तित्वहरूको शृङ्खला सधैँ तेरो हृदयमा अग्लो भई दृढ उभिरहेको हुन्छ; तँ तिनीहरूका कुनै पनि शब्द र काम बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टका हकमा लागू हुँदैन। तेरो हृदयमा, उहाँ सधैँभरि नगण्य, सधैँभरि डरको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै साधारण हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ उच्चताबाट टाढा हुनुहुन्छ।

जे भए पनि, म भन्छु, सत्यतालाई मूल्यवान् नठान्नेहरू सबै अविश्‍वासी र सत्यताका विश्‍वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको अनुमोदन प्राप्त गर्नेछैनन्। के अब तैँले तँभित्र कति धेरै अविश्‍वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? म तँलाई यो अर्ती दिन्छु: तैँले सत्यताको मार्ग चुनेको हुनाले, तैँले आफूलाई सम्पूर्ण हृदयले अर्पण गर्नुपर्छ; द्विविधापूर्ण वा अर्ध-हृदयको नबन्। तैँले यो बुझ्नुपर्छ कि परमेश्‍वर संसारको परमेश्वर हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको परमेश्वर नै हुनुहुन्छ, बरु उहाँ त उहाँमा साँच्चै विश्‍वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँमा अर्पित र बफादार हुनेहरू सबैको परमेश्वर हुनुहुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। के तँ परमेश्‍वरको साँचो विश्‍वासी होस्?

समझ नभएकाहरूको स-साना चलाकीले गर्दा तिनीहरू दुष्टहरूको हातमा विनाश हुन पुग्छन्, तिनीहरू कहिल्यै नफर्कने गरी दुष्टहरूको प्रलोभनमा परेर जान्छन्। उनीहरू त्यस्तै व्यवहार गरिने योग्यका हुन्छन्, किनकि उनीहरू सत्यलाई प्रेम गर्दैनन्, किनकि तिनीहरू सत्यको पक्षमा खडा हुन असमर्थ हुन्छन्, किनकि तिनीहरूले दुष्ट मानिसहरूलाई पछ्याउँछन् र दुष्ट मानिसहरूका पक्षमा खडा हुन्छन्, र किनकि तिनीहरू दुष्ट मानिसहरूसँग षड्यन्त्र गर्छन् र परमेश्‍वरको प्रतिरोध गर्छन्। ती दुष्ट मानिसहरूले जे कुरा विकिरण गर्छन् त्यो खराब हो भनी उनीहरू राम्ररी जान्दछन्, तापनि उनीहरू आफ्नो हृदय कठोर बनाउँदछन् र तिनीहरूका पछि लाग्नलाई सत्यतर्फ आफ्नो पिठिउँ फर्काउँछन्। सत्यको अभ्यास नगर्ने तर विनाशकारी र घिनलाग्दा कामहरू गर्ने यी सबै मानिसहरूले के सबै खराबी गरिरहेका हुँदैनन्? तिनीहरूका माझमा कोही राजाजस्तो व्यवहार गर्ने र उनीहरूलाई पछ्याउनेहरू पनि हुन्छन्, तैपनि, के परमेश्‍वरको प्रतिरोध गर्ने तिनीहरूको प्रकृति त्यस्तै छैन र? परमेश्‍वरले उनीहरूलाई मुक्ति दिनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग के बहाना हुनसक्छ? परमेश्‍वर धर्मी हुनुहुन्न भनेर दाबी गर्न तिनीहरूसँग कुन बहाना हुनसक्छ? के उनीहरूका आफ्नै खराबीले उनीहरूलाई नष्ट पारिरहेको हुँदैन र? के उनीहरूका आफ्नै विद्रोहीपनले उनीहरूलाई नरकतिर तानिरहेको हुँदैन र? सत्यको अभ्यास गर्ने मानिसहरूले अन्त्यमा मुक्ति पाउनेछन् र सत्यको कारण तिनीहरू सिद्ध बनाइनेछन्। सत्यको अभ्यास नगर्नेहरूले अन्त्यमा सत्यको कारण आफैमाथि विनाश ल्याउनेछन्। सत्यको अभ्यास गर्ने र नगर्नेहरूलाई यी अन्त्यहरूले पर्खेर बसेका छन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

परमेश्‍वरलाई पछ्याउँछौं भनी दाबी गर्नेहरूले आफ्ना आँखाहरू खोल्नु र उनीहरूले वास्तवमा कसमाथि विश्‍वास गर्छन् भनी राम्ररी हेर्नु राम्रो हुन्छ: तैँले विश्‍वास गरेको साँच्चै परमेश्‍वर हुनुहुन्छ कि शैतान हो? यदि तैँले विश्‍वास गरेको व्यक्ति परमेश्‍वर हुनुहुन्न, तर तेरा आफ्नै मूर्तिहरू हो भनी जान्दछस् भने तैँले आफैलाई एक विश्‍वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। यदि तैँले कसमाथि विश्‍वास गर्छस् भनी साँच्चै जान्दैनस् भने, फेरि तैँले आफैलाई एक विश्‍वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। त्यसो भन्नु ईश्‍वरनिन्दा हुनेछ! कसैले पनि तँलाई परमेश्‍वरमा विश्‍वास गर्न बाध्य पार्दैन। तिमीहरू ममा विश्‍वास गर्छु भनेर नभन; मसँग यस्तै कुराकानी धेरै भएको छ, र म त्यो फेरि सुन्न चाहन्‍नँ, किनकि जुन कुरामा तिमीहरू विश्‍वास गर्छौ ती तिमीहरूका हृदयभित्रका र तिमीहरूका स्थानीय बदमासहरूका मूर्तिहरू हुन्। सत्य सुन्दा जो आफ्ना टाउको हल्लाउँछन्, जो मृत्युको कुरा सुन्दा हाँस्छन् तिनीहरू सबै शैतानका सन्तानहरू हुन्, तिनीहरू ती मानिसहरू हुन् जसलाई हटाइनेछ। मण्डलीका धेरै जनामा समझशक्ति छैन। जब मानिसहरू बहकिन घटनाहरू हुन्छन्, तब तिनीहरू विपरीत रूपमा शैतानको पक्षमा खडा हुन्छन्; तिनीहरूलाई शैतानको नोकर भन्दा तिनीहरूआफूलाई अत्यन्तै अन्याय भएको मसुससमेत गर्छन्। मानिसहरूले आफूसँग समझशक्ति छैन भने पनि, तिनीहरू सधैँ गैर-सत्यताको पक्षमा खडा हुन्छन्, महत्त्वपूर्ण समयमा सत्यताको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यताका निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै समझशक्तिको कमी छ? तिनीहरू किन विपरीत रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्‍द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले असमझहरूले खराबीलाई प्रेम गर्छन् भन्‍ने देखाउँदैन र? के यसले तिनीहरू शैतानको बफादार अण्डा हुन् भन्‍ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्‍ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने तैँले सत्यको अभ्यास गर्नेहरूलाई किन कदर गर्दैनस्, र तँ सत्यता प्रयोग नगर्नेहरूले केही प्रतिक्रिया दिने बित्तिकै तिनीहरूका पछि लाग्छस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग विवेक छ कि छैन त्यसको मलाई कुनै मतलब छैन। तैँले कति ठूलो मूल्य तिरेको छस् त्यसको मलाई कुनै मतलब छैन। तेरा बल जति नै ठूलो भए पनि मलाई कुनै मतलब छैन, तँ स्थानीय बदमास वा झन्डा बोक्ने अगुवा जो भए पनि मलाई कुनै मतलब छैन। यदि तेरा शक्तिहरू महान् छन् भने पनि त्यो शैतानको सामर्थ्यको सहायताले मात्र हो। यदि तेरो इज्जत ठूलो छ भने पनि त्यो केवल तेरो वरिपरि सत्यको अभ्यास नगर्नेहरू धेरै भएकोले गर्दा मात्र हो। यदि तँ निष्कासन गरिएको छैनस् भने त्यो यसकारण हो कि अहिले निष्कासनको कामको समय भएको छैन; बरु, यो हटाउने काम गर्ने समय हो। अहिले तँलाई निष्कासन गर्ने कुनै हतार छैन। म केवल त्यस दिन पर्खिरहेको छु जब तँलाई हटाएपछि तँलाई दण्ड दिनेछु। जसले सत्यको अभ्यास गर्दैन त्यसलाई हटाइनेछ!

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी

परमेश्‍वरका विश्‍वासीहरूको सङ्ख्या जति नै धेरै भए पनि, यदि तिनीहरूको विश्‍वासलाई परमेश्‍वरले कुनै धार्मिक समूहको विश्‍वासका रूपमा चित्रण गर्नुभएको छ भने, यी मानिसहरू परमेश्‍वरको काम र मुक्तिका निसाना होइनन्, र परमेश्‍वरले यसबारे निर्णय गरिसक्‍नुभएको हुन्छ—यी मानिसहरूलाई मुक्ति पाउन सकिँदैन। किन म यसो भनिरहेको छु? परमेश्‍वरको काम वा मार्गदर्शनविनाको कुनै समूह, जो उहाँप्रति समर्पित हुँदैन वा उहाँको आराधना बिलकुलै गर्दैन, त्यसले परमेश्‍वरमा नाउँको मात्र विश्‍वास गर्ला, तर तिनीहरू धर्मका पाष्टर र एल्डरहरूको पछि लाग्छन् र आज्ञापालन गर्छन्, र धर्मका पाष्टर र एल्डरहरू सारले नै शैतानी र पाखण्डी हुन्छन्। त्यसकारण, ती मानिसहरू शैतान र दियाबलसहरूलाई पछ्याउँछन्। तिनीहरू आफ्ना हृदयमा परमेश्‍वरप्रतिको विश्‍वास अभ्यास गरिरहेका छन्, तर खासमा, तिनीहरू मान्छेको चलाक प्रभावमा पर्दै छन्, मानवका योजनाबद्द कार्य र प्रभुत्वका पकडमा पर्छन्। त्यसैले, मूलभूत रूपमा भन्‍नुपर्दा, तिनीहरू शैतान र दियाबलसहरू, अनि परमेश्‍वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरू, अनि परमेश्‍वरका शत्रुहरूलाई पछ्याउँछन्। के परमेश्‍वरले यस्ता मानिसहरूको गिरोहलाई मुक्ति दिनुहुनेछ? (अहँ।) किन दिनुहुनेछैन? के यस्ता मानिसहरू पश्चात्ताप गर्न सक्छन्? सक्दैनन्; तिनीहरूले पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास गरेको नाममा मानव कार्य र व्यवसायहरूमा संलग्न हुन्छन्, मान्छेको मुक्तिका लागि परमेश्‍वरको व्यवस्थापन योजनाविपरीत जान्छन्, फलस्वरूप परमेश्‍वरले तिनीहरूलाई अन्तिम परिणामस्वरूप तिरस्कार गर्नुहुनेछ। परमेश्‍वरले यी मानिसहरूलाई मुक्ति दिनु असम्भव छ; तिनीहरू पश्चात्ताप गर्न सक्दैनन्, र तिनीहरूलाई शैतानले जितेको कारण परमेश्‍वरले तिनीहरू शैतानलाई नै जिम्मा लगाउनुहुन्छ। के परमेश्‍वरप्रतिको विश्‍वासले उहाँको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्‍ने कुरा त्यो विश्‍वास कति वर्षदेखिको हो भन्‍नेमा भर पर्छ? के त्यो व्यक्तिले मान्‍ने अनुष्ठान वा पालना गर्ने नियमहरूमा भर पर्छ? के परमेश्‍वर मानव अभ्यासहरूलाई हेर्नुहुन्छ? के उहाँ तिनीहरूको सङ्ख्या हेर्नुहुन्छ? (अहँ।) त्यसोभए, उहाँ के हेर्नुहुन्छ त? जब परमेश्‍वरले मानिसहरूको कुनै समूह छान्‍नुभएको हुन्छ, तब तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन, उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ कि दिनुहुनेछैन भनेर केको आधारमा मापन गर्नुहुन्छ? त्यो तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्‍ने कुरामा आधारित हुन्छ; त्यो तिनीहरू हिँड्ने मार्गमा आधारित हुन्छ। … तैँले जति नै प्रवचनहरू सुनेको भए पनि वा जति नै सत्यताहरू बुझेको भए पनि,—यदि तँ अझै पनि मान्छेलाई पछ्याउँछस्, शैतानलाई पछ्याउँछस्, र अन्त्यमा परमेश्‍वरको मार्ग पछ्याउन सक्दैनस्, न त उहाँको भय मान्‍न र दुष्टताबाट अलग रहन नै सक्छस् भने, परमेश्‍वर यस्तै मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। धर्मका मानिसहरू बाइबलको धेरै ज्ञान प्रचार गर्न सक्लान्, र तिनीहरूले केही आत्मिक धर्मसिद्धान्त बुझ्लान्, तर तिनीहरू परमेश्‍वरको काममा समर्पित हुन, वा उहाँका वचनहरू अभ्यास र अनुभव गर्न, वा उहाँलाई साँचो रूपमा आराधना गर्न सक्दैनन्, न त उहाँको भय मान्‍न र दुष्टताबाट अलग रहन नै सक्छन्। तिनीहरू सबै पाखण्डी हुन्, परमेश्‍वरप्रति साँच्चै समर्पित हुने मानिस होइनन्। परमेश्‍वरका नजरमा, यस्ता मानिसहरूलाई कुनै सम्प्रदाय, मानव समूह, मानव गुट, शैतानको वासस्थानका रूपमा परिभाषित गरिन्छ। समग्रमा, तिनीहरू शैतानको गिरोह, ख्रीष्टविरोधीहरूको राज्य हुन्, र परमेश्‍वर तिनीहरूलाई पूर्ण रूपले तिरस्कार गर्नुहुन्छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्‍वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्‍न सकिन्छ

परमेश्‍वरको नयाँ कार्यलाई स्वीकार नगर्नेहरू परमेश्‍वरको उपस्थितिविहीन छन्, यसको साथै परमेश्‍वरका आशिषहरू र सुरक्षारहित छन्। तिनीहरूको धेरैजसो वचन र कार्यहरूले पवित्र आत्माको कामको विगतका मागहरूलाई पक्रिराख्छ; ती धर्मसिद्धान्त हुन्, सत्यता होइनन्। यी मानिसहरूको एकसाथको भेला धर्मबाहेक केही पनि होइन भन्‍ने कुरालाई प्रमाणित गर्न त्यस्ता धर्मसिद्धान्त र नियम नै पर्याप्त छन्; तिनीहरू चुनिएकाहरू वा परमेश्‍वरका कार्यको पात्रहरू होइनन्। तिनीहरूका बीचको सबैका भेलालाई धर्मको भव्य समाज मात्रै भन्‍न सकिन्छ र मण्डली भन्‍न सकिँदैन। यो अपरिवर्तनीय तथ्य हो। तिनीहरूसँग पवित्र आत्माको नयाँ कार्य छैन; तिनीहरूले जे गर्छन् त्यो धर्मको सूचकजस्तो देखिन्छ, तिनीहरूले जे जिउँछन् त्यो धर्मले भरिपूर्ण देखिन्छ; तिनीहरूमा पवित्र आत्‍माको उपस्थिति र काम छैन, पवित्र आत्‍माको अनुशासन वा अन्तर्दृष्टि प्राप्त गर्नको लागि योग्य हुनु त परै जाओस्। यी मानिसहरू सबै निर्जीव लासहरू र कीराहरू हुन् जसमा आत्मिकता छैन। तिनीहरूसँग मानिसको विद्रोहीपन र विरोधबारे कुनै ज्ञान छैन, मानिसको सबै दुष्कर्मबारे कुनै ज्ञान छैन, परमेश्‍वरको सारा काम र परमेश्‍वरका वर्तमान अभिप्रायबारे तिनीहरूले जान्‍नु त परै जाओस्। तिनीहरू सबै अज्ञानी, नीच मानिसहरू हुन् र तिनीहरू मैल हुन् जो विश्‍वासी भन्‍न योग्य छैनन्! तिनीहरूले गर्ने कुनै पनि कुराले परमेश्‍वरको व्यवस्थापनमा कुनै योगदान दिँदैन, यसले परमेश्‍वरको योजनाहरूलाई बिगार्ने कुरा त परै जाओस्। तिनीहरूका वचन र कार्यहरू अत्यन्तै घृणित, अत्यन्तै दयनीय, र उल्‍लेख गर्न समेत अयोग्य छन्। पवित्र आत्‍माको प्रवाहभित्र नहुनेहरूले गर्ने कुनै पनि कामले पवित्र आत्‍माको नयाँ कामसँग कुनै सम्‍बन्ध राख्दैन। यसले गर्दा, तिनीहरूले जेसुकै गरे तापनि, तिनीहरू पवित्र आत्माको अनुशासनरहित, साथै, पवित्र आत्माको अन्तर्दृष्टिरहित छन्। तिनीहरू सबै त्यस्ता मानिस हुन् जोसँग सत्यताका लागि कुनै प्रेम छैन र जसलाई पवित्र आत्माले तिरस्कार गर्नुभएको छ। तिनीहरूलाई दुष्ट काम गर्नेहरू भनिन्छ किनभने तिनीहरू देहमा हिँड्छन् र परमेश्‍वरको नाम लिएर आफूलाई जे मन लाग्छ त्यही गर्छन्। जब परमेश्‍वर काम गर्नुहुन्छ, तिनीहरू जानी-जानी उहाँप्रति शत्रु बन्छन् र उहाँको विपरीत दिशातर्फ दौडन्छन्। मानिसले परमेश्‍वरसँग सहकार्य गर्न नसक्‍नु आफैमा अत्यन्तै विद्रोहीपूर्ण छ, त्यसकारण के जानी-जानी परमेश्‍वरको विपरीत दौडने मानिसहरूले निश्‍चित रूपमा नै आफ्‍ना उचित दण्ड पाउनेछैनन् र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको कार्य र मानिसको अभ्यास

ख्रीष्‍टले बोल्‍नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्‍टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्‍पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्‍टलाई स्वीकार नगर्नेहरूलाई परमेश्‍वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्‍ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्‍ने कोही पनि छैन। ख्रीष्‍टमार्फत बाहेक परमेश्‍वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्‌हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्‍वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्‍नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्‍वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्‍म जल्नेछस् र परमेश्‍वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्‍ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्‍वरको अभिव्यक्ति, पृथ्वीमा आफ्‍नो काम गर्नका लागि परमेश्‍वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्‍टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्‍माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्‍टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्‍वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्‍ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्‍नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी आलोचना नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्‍म पाउन र फेरि परमेश्‍वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्‍टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्‍नुहुन्छ

अघिल्लो: २. पाष्टरहरू र एल्डरहरूले धेरै वर्षदेखि प्रभुमा विश्‍वास गरेका छन्, तिनीहरूमा बाइबलको धेरै ज्ञान हुन्छ, र तिनीहरूको विश्‍वास हाम्रो भन्दा श्रेष्ठ हुन्छ, त्यसैले प्रभुमा विश्‍वास गर्दा हामीले तिनीहरूको कुरा सुन्नुपर्छ। तपाईं प्रभु येशू फर्केर आउनुभएको छ र परमेश्‍वरको घरबाट सुरु गर्दै न्यायको काम गरिरहनुभएको छ भनी गवाही दिनुहुन्छ, तर धेरैजसो पाष्टरहरू र एल्डरहरूले यो कुरालाई स्वीकार गर्दैनन्, यहाँसम्म कि यसको विरोध र निन्दा समेत गर्छन्। त्यसैले हामी पनि यसलाई स्वीकार गर्न सक्दैनौं।

अर्को: १. चिनियाँ संविधानले स्पष्ट रूपमा धार्मिक विश्‍वासको स्वतन्त्रता तोकेको छ। परमेश्‍वरमा विश्‍वास गर्नु एउटा अपरिवर्तनीय सिद्धान्त हो, यो तार्किक र कानुन अनुरूप छ। त्यसोभए चिनियाँ कम्युनिस्ट पार्टीले किन चिनियाँ जनतालाई विश्‍वास गर्ने स्वतन्त्रताको अधिकारबाट वञ्चित गर्दै धार्मिक विश्‍वासलाई आक्रमण, दमन र नष्ट गर्ने प्रयास गर्दछ? यसले किन क्रान्तिकारी साधनहरू प्रयोग गर्दै इसाईहरूलाई दमन गर्दै, सताउँदै, र मृत्यु हुनेसम्मको यातना दिँदै तिनीहरूसित घोर अपराधीसँग जस्तो व्यवहार गर्छ?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्