१. बाइबलमा पावलले भनेका छन्, “हरेक प्राण उच्च शक्तिहरूको अधीनमा बसोस्। किनभने परमेश्वरबाहेक अरू कुनै शक्ति छैन” (रोमी १३:१)। “यसैले तपाईंहरू आफैलाई र सारा बगाललाई ध्यान दिनुहोस्, जसमाथि पवित्र आत्माले तपाईँहरूलाई निगरानीकर्ता बनाउनुभएको छ, परमेश्वरको मण्डलीलाई खुवाउनका निम्ति” (प्रेरित २०:२८)। धार्मिक संसारका धेरैजसो मानिसहरू पावलका वचनहरूलाई स्वीकार गर्दै पाष्टरहरू र एल्डरहरू प्रभुद्वारा नियुक्त गरिन्छन्, र तिनीहरूले मण्डलीहरूमा प्रभुको सेवा गर्छन् भन्ने विश्वास गर्छन्। जसले पाष्टरहरू र एल्डरहरूका कुरा सुन्छन् र आज्ञापालन गर्छन्, तिनीहरूले प्रभुको आज्ञापालन गर्छन् र उहाँलाई पछ्याउँछन्, अनि पाष्टरहरूको वचन सुन्नु नै प्रभुको वचन सुन्नु हो भनी तिनीहरूले विश्वास गर्छन्। के यो प्रभुको इच्छा अनुरूप छ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“हामीले मानिसको होइन परमेश्वरको आज्ञा मान्नुपर्छ” (प्रेरित ५:२९)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
भव्य मण्डलीहरूमा बाइबल पढ्ने र दिनभरि नै वाचन गरिरहने व्यक्तिहरू छन्, तैपनि उनीहरूमध्ये एक जनाले पनि परमेश्वरको कामको उद्देश्य बुझ्दैन। उनीहरूमध्ये एक जना पनि परमेश्वरलाई चिन्न सक्षम छैन, उनीहरूमध्ये कोही परमेश्वरका अभिप्रायअनुसारको हुन त झनै सक्दैन। उनीहरू सबैजना “परमेश्वर” लाई भाषण दिन उचाइमा उभिएका व्यर्थ, नीच मानिसहरू हुन्। उनीहरू परमेश्वरको ध्वजा बोके तापनि जानाजानी परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्, जसले मान्छेको मासु खाँदै र रगत पिउँदै गर्दा परमेश्वरमा विश्वास गरेको पर्चा बोक्छन्। त्यस्ता सबै मानिस मान्छेको प्राण निल्ने दुष्ट दियाबलसहरू हुन्, मानिसहरूको सही मार्गमा हिँड्ने थालनीलाई जानीजानी बाधा दिने पिशाचका प्रमुख हुन्, र मानिसहरूको परमेश्वरको खोजीमा अवरोध दिने बाधा-अड्चनहरू हुन्। उनीहरू “स्वस्थ शारीरिक गठन” भएका जस्तो लाग्न सक्छन् तर उनीहरू मानिसहरूलाई परमेश्वरको प्रतिरोध गर्न अगुवाइ गर्ने ख्रीष्टविरोधीहरूबाहेक केही होइनन् भन्ने कुरा उनीहरूका अनुयायीहरूले कसरी थाहा पाउन सक्छन्? उनीहरू मानव प्राण निल्न प्रतिबद्ध जीवित दियाबलस हुन् भन्ने कुरा कसरी तिनीहरूका अनुयायीहरूले थाहा पाउन सक्छन्?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरलाई नचिन्ने सबै मानिस परमेश्वरको प्रतिरोध गर्ने मानिस हुन्
हरेक धर्म र सम्प्रदायका अगुवाहरूलाई हेर्—ती सबै अहङ्कारी र आत्म-धर्मी छन् र तिनीहरूले गर्ने बाइबलको व्याख्याहरूमा सन्दर्भको अभाव हुन्छ र ती तिनीहरूका आफ्नै धारणा र कल्पनाहरूद्वारा मार्गनिर्देशित हुन्छन्। तिनीहरू सबै आफ्ना काम गर्नका निम्ति वरदानहरू र ज्ञानमा भर पर्छन्। यदि तिनीहरूले प्रचार गर्न बिलकुलै सक्थेनन् भने, के मानिसहरूले तिनीहरूलाई पछ्याउलान्? आखिरमा, तिनीहरूसँग केही ज्ञान हुन्छ र तिनीहरूले केही धर्मसिद्धान्तहरू प्रचार गर्न सक्छन् वा अरूलाई कसरी जित्ने र केही जुक्तिहरूको प्रयोग कसरी गर्ने भन्ने तिनीहरूलाई थाहा छ। तिनीहरूले मानिसहरूलाई छल्न र मानिसहरूलाई आफ्नो अगाडि ल्याउनका निम्ति यी कुराहरूको प्रयोग गर्छन्। यी मानिसहरूले परमेश्वरमा नाम मात्रको विश्वास गर्छन्, तर वास्तवमा तिनीहरूले यी अगुवाहरूलाई पछ्याउँछन्। जब साँचो मार्गको प्रचार गर्दै गरेको कोहीसँग तिनीहरूको जम्काभेट हुन्छ, तिनीहरूमध्ये केहीले भन्छन्, “आस्थाका मामलामा हामीले हाम्रो अगुवासँग परामर्श लिनुपर्छ।” परमेश्वरमाथि विश्वास गर्ने र सत्यता स्वीकार गर्ने कुरा आउँदा मानिसहरूलाई कसरी अरूको सहमति र स्वीकृति आवश्यक पर्दो रहेछ, हेर्—के यो समस्या होइन र? त्यसो भए ती अगुवाहरू के बनेका छन् त? के तिनीहरू फरिसीहरू, झूटा गोठालाहरू, ख्रीष्ट विरोधीहरू र मानिसहरूले साँचो मार्ग स्वीकार गर्ने कार्यमा ठेस लाग्ने बाधाहरू बनेका छैनन् र? त्यस्ता मानिसहरू पावलकै प्रकारका हुन्। … विगतमा, मानिसहरूले उहाँमाथि गर्ने विश्वास साँचो वा झुटो जे-जस्तो भए पनि, तिनीहरूले अरूलाई नै पछ्याए पनि, वा तिनीहरूले सत्यता पछ्याउँदै नपछ्याए पनि, परमेश्वर मानिसहरूसँग कडा हुनुहुन्थेन, किनकि उहाँद्वारा पूर्वनिर्धारित गरिएका र चुनिएकाहरूले आखिरी चरणमा उहाँसामु आएर उहाँको न्याय स्विकार्नैपर्नेछ भनेर उहाँले पहिल्यै तोकिसक्नुभएको थियो। यदि परमेश्वरको आखिरी दिनहरूको काम स्विकारिसकेपछि पनि मानिसहरूले अझै अरूलाई नै आराधना गर्न र पछ्याउन जारी राख्छन् भने, र यदि तिनीहरूले सत्यता पछ्याउनुको सट्टा आशिष् र ताज पछ्याउँछन् भने, त्यो अक्षम्य हुन्छ। त्यस्ता मानिसहरूको अन्त्य पावलको जस्तै हुनेछ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन
परमेश्वरलाई पछ्याउने कार्यमा प्रमुख महत्त्वको कुरा भनेको सबै कुरा परमेश्वरको आजको वचनअनुसार नै हुनुपर्छ भन्ने हो: तैँले जीवन प्रवेश वा परमेश्वरका अभिप्रायहरूलाई पूरा गर्न खोजिरहेको भए तापनि, सबै कुरा परमेश्वरको आजको वचन वरिपरि नै केन्द्रित हुनुपर्छ। यदि तैँले जेबारे सङ्गति गर्छस् र जे कुरामा प्रवेश गर्न खोज्छस् ती परमेश्वरको आजको वचनवरिपरि केन्द्रित छैनन् भने, तँ परमेश्वरका वचनहरूप्रति अपरिचित छस्, र तँमा पवित्र आत्माको कार्यको पूर्ण अभाव छ। परमेश्वरले चाहनुहुने भनेका उहाँका पाइलाहरूलाई पछ्याउने मानिसहरू नै हुन्। तैँले पहिले बुझेको कुरा जति सुन्दर र शुद्ध भए तापनि, परमेश्वरले त्यो चाहनुहुन्न, र तैँले यस्ता कुराहरूलाई पन्छाउन सक्दैनस् भने, यी कुराहरू भविष्यमा तेरो प्रवेशमा निकै ठूलो वाधा हुनेछन्। पवित्र आत्माको वर्तमान ज्योतिलाई पछ्याउन सक्नेहरू सबै आशिषित हुन्छन्। विगतका युगका मानिसहरूले पनि परमेश्वरका पाइलाहरूलाई पछ्याए, तैपनि तिनीहरूले आजको दिनसम्म पछ्याउन सकेनन्; आखिरी दिनहरूका मानिसहरूको आशिष् नै यही हो। पवित्र आत्माको वर्तमान कार्यलाई पछ्याउन सक्ने, र उहाँले तिनीहरूलाई जता डोर्याउनुभए पनि परमेश्वरलाई नै पछ्याउने गरी परमेश्वरका पाइलाहरूलाई पछ्याउन सक्नेहरू—यिनीहरू परमेश्वरद्वारा आशिषित मानिसहरू हुन्। पवित्र आत्माको वर्तमान कार्यलाई नपछ्याउनेहरू परमेश्वरका वचनहरूको कार्यमा प्रवेश गरेका हुँदैनन्, र तिनीहरूले जति नै धेरै काम गरे तापनि, वा तिनीहरूको कष्ट भोगाइ जति नै ठूलो भए तापनि, वा तिनीहरूले जति नै धेरै दौडधूप गरे पनि, यीमध्ये कुनै पनि कुरा परमेश्वरको लागि कुनै अर्थको हुँदैन, र उहाँले तिनीहरूलाई अनुमोदन गर्नुहुनेछैन। … “पवित्र आत्माको कार्यलाई पछ्याउनु” को अर्थ परमेश्वरको आजका अभिप्रायहरूलाई बुझ्नु, परमेश्वरका वर्तमान मापदण्डहरूअनुसार काम गर्न सक्नु, आजको परमेश्वरमा समर्पित हुन र उहाँलाई पछ्याउन, र परमेश्वरका सबैभन्दा नयाँ वाणीहरूअनुसार प्रवेश गर्न सक्नु भन्ने हुन्छ। पवित्र आत्माको कार्यलाई पछ्याउने र पवित्र आत्माको प्रवाहमा रहने व्यक्ति यही मात्रै हो। त्यस्ता मानिसहरूले परमेश्वरको प्रशंसा प्राप्त गर्न र परमेश्वरलाई देख्न सक्ने मात्रै होइनन्, तिनीहरूले त परमेश्वरको हालैको कामबाट परमेश्वरको स्वभावलाई पनि जान्न सक्छन्, र उहाँको हालैको कामबाट मानिसका धारणाहरू र विद्रोहीपनलाई, अनि मानिसको स्वभाव र सारलाई पनि जान्न सक्छन्; यसको साथै, तिनीहरूको सेवाको अवधिमा तिनीहरूले आफ्नो स्वभावमा क्रमिक रूपमा परिवर्तन हासिल गर्न पनि सक्छन्। यस्ता मानिसहरू मात्रै परमेश्वरलाई प्राप्त गर्न सक्ने, र यथार्थ रूपमा साँचो मार्ग भेट्टाउन सफल भएका मानिसहरू हुन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पदचापहरू पछ्याऊ
परमेश्वरमा विश्वास गर्ने मानिसहरूले उहाँमा समर्पण र उहाँको आराधना गर्नुपर्छ। कुनै व्यक्तिलाई ठूलो बनाउने वा उच्च ठान्ने नगर्; परमेश्वरलाई पहिलो स्थानमा, तैँले उच्च ठान्ने मानिसहरूलाई दोस्रोमा र तँ आफैलाई तेस्रो स्थानमा नराख्। कुनै व्यक्तिले तेरो हृदयमा स्थान पाउनु हुँदैन, र तैँले मानिसहरूलाई—विशेष गरी तैँले श्रद्धा गर्ने मानिसहरूलाई परमेश्वर समान वा उहाँको बराबर ठान्नु हुँदैन। यो परमेश्वरको निम्ति असहनीय हुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरले चुन्नु भएका मानिसहरूले राज्यको युगमा पालन गर्नैपर्ने दश प्रशासनिक आदेश
कतिपय मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, न्यायलाई त झनै गर्दैनन्। त्यसको साटो, तिनीहरू शक्ति र धनसम्पत्तिलाई प्रेम गर्छन्; यस्ता मानिसहरूलाई शक्ति खोज्नेहरू भनिन्छ। तिनीहरूले संसारमा शक्ति भएका सम्प्रदायहरूको मात्र खोजी गर्छन्, र तिनीहरूले सेमिनरीहरूबाट आएका पाष्टर र शिक्षकहरूलाई मात्र खोजतलास गर्दछन्। तिनीहरूले सत्यताको मार्गलाई स्विकारेका भए पनि, तिनीहरू अर्ध-विश्वास गर्नेहरू मात्र हुन्; तिनीहरू आफ्नो सम्पूर्ण हृदय र मन दिन सक्षम छैनन्; तिनीहरू मुखले परमेश्वरप्रति आफूलाई समर्पित गर्ने बारेमा शब्दहरू बोल्छन्, तर तिनीहरूका नजर महान् पाष्टर र शिक्षकहरूमा केन्द्रित हुन्छन्, र तिनीहरूले ख्रीष्टलाई दोस्रो नजर पनि लगाउँदैनन्। तिनीहरूका मन ख्याति, प्राप्ति र महिमाका विचारले भरिएका हुन्छन्। तिनीहरूले त्यस्तो नगण्य व्यक्तिले त्यति धेरै मानिसहरूलाई विजय गर्न सक्छ, त्यति मामुली व्यक्तिले मानिसलाई सिद्ध पार्न सक्छ भन्ने कुरा विश्वास नै गर्दैनन्। तिनीहरूले धूलो र गोबरको थुप्रोमध्येका नगण्य मानिसहरू परमेश्वरद्वारा चुनिएका मानिसहरू हुन् भन्ने कुरा विश्वास नै गर्दैनन्। यदि यस्ता मानिसहरू परमेश्वरका मुक्तिका पात्रहरू हुन्थे भने, तिनीहरू स्वर्ग र पृथ्वी उलटपुलट हुनेथिए र सम्पूर्ण मानिसहरू पेट मिचीमिची हाँस्नेथिए भन्ने विश्वास गर्छन्। तिनीहरू परमेश्वरले यस्ता मानिसहरूलाई सिद्ध पार्न चुन्नुहुन्थ्यो भने, ती महान् मानिसहरू परमेश्वर स्वयम् बन्नेथिए भन्ने विश्वास गर्छन्। तिनीहरूका दृष्टिकोणहरू अविश्वासले दूषित भएका हुन्छन्; विश्वास नगर्ने भन्दा बढी, तिनीहरू पूर्णतः असमझ पशुहरू हुन्। किनकि तिनीहरूले हैसियत, प्रतिष्ठा र शक्तिलाई मात्र मूल्यवान् ठान्दछन् र तिनीहरूले ठूला समूह र सम्प्रदायहरूलाई मात्र सम्मान गर्छन्, र ख्रीष्टले डोर्याउनुभएका मानिसहरूप्रति तिनीहरूसँग अलिकति पनि सम्मान हुँदैन; तिनीहरू त ख्रीष्टतर्फ, सत्यतातर्फ र जीवनतर्फ आफ्नो पिठ्यूँ फर्काएका पूर्ण रूपमा विश्वासघाती हुन्।
तँ ख्रीष्टको विनम्रतालाई कदर गर्दैनस्, तर विख्यात दर्जाका झूटा गोठालाहरूलाई श्रद्धा गर्छस्। तँ ख्रीष्टको प्रेमिलो स्वभाव वा बुद्धिलाई कदर गर्दैनस्, तर तँ संसारका फोहोरसँग सँगै लाग्ने व्यभिचारीहरूलाई मन पराउँछस्। तँ ख्रीष्टले आफ्नो शिर राख्ने ठाउँ नपाएको पीडाको खिसीटिउरी मात्र गर्छस्, तर तँ भेटीहरूको सिकार गर्ने र विलासितामा जिउने लासहरूलाई सम्मान गर्छस्। तँ ख्रीष्टसँगै कष्ट भोग्न इच्छुक छैनस्, तर तँ बेपरवाह र स्वेच्छाचारी ख्रीष्टविरोधीहरूका हातमा आफूलाई खुसीसाथ सुम्पन्छस्, यद्यपि तिनीहरूले तँलाई केवल देह, शब्दहरू दिन्छन् र नियन्त्रण गर्छन्। अहिले पनि, तेरो हृदय अझै तिनीहरूतर्फ, तिनीहरूको प्रतिष्ठातर्फ, तिनीहरूको हैसियततर्फ, तिनीहरूका प्रभावतर्फ फर्किन्छ। र तैपनि तँ ख्रीष्टको कामलाई स्वीकार गर्न गाह्रो मान्ने र यसलाई स्विकार्न अनिच्छुक हुने मनोवृत्ति अपनाउन जारी राख्छस्। केवल यसैका कारण म के भन्छु भने, तँ ख्रीष्टलाई मान्ने आस्थारहित छस्। तैँले आजको दिनसम्म उहाँलाई पछ्याउनुको कारण तँसँग अन्य कुनै विकल्प नभएकाले हो। ठूला व्यक्तित्वहरूको शृङ्खला सधैँ तेरो हृदयमा अग्लो भई दृढ उभिरहेको हुन्छ; तँ तिनीहरूका कुनै पनि शब्द र काम बिर्सन सक्दैनस्, न त तिनीहरूका प्रभावमय शब्द र हातहरूलाई नै बिर्सन सक्छस्। तेरो हृदयमा तिनीहरू सदा सर्वोच्च र सदा नायकहरू हुन्छन्। तर यो कुरा आजको ख्रीष्टका हकमा लागू हुँदैन। तेरो हृदयमा, उहाँ सधैँभरि नगण्य, सधैँभरि डरको अयोग्य हुनुहुन्छ। किनकि उहाँ अत्यन्तै साधारण हुनुहुन्छ, उहाँको प्रभाव अत्यन्तै कम छ र उहाँ उच्चताबाट टाढा हुनुहुन्छ।
जे भए पनि, म भन्छु, सत्यतालाई मूल्यवान् नठान्नेहरू सबै अविश्वासी र सत्यताका विश्वासघातीहरू हुन्। यस्ता मानिसहरूले कहिल्यै ख्रीष्टको अनुमोदन प्राप्त गर्नेछैनन्। के अब तैँले तँभित्र कति धेरै अविश्वास छ र तँसँग ख्रीष्टप्रति कति धेरै धोका छ भनी पहिचान गरेको छस्? म तँलाई यो अर्ती दिन्छु: तैँले सत्यताको मार्ग चुनेको हुनाले, तैँले आफूलाई सम्पूर्ण हृदयले अर्पण गर्नुपर्छ; द्विविधापूर्ण वा अर्ध-हृदयको नबन्। तैँले यो बुझ्नुपर्छ कि परमेश्वर संसारको परमेश्वर हुनुहुन्न न त उहाँ कुनै व्यक्तिको परमेश्वर नै हुनुहुन्छ, बरु उहाँ त उहाँमा साँच्चै विश्वास गर्नेहरू सबै, उहाँको आराधना गर्नेहरू सबै, र उहाँमा अर्पित र बफादार हुनेहरू सबैको परमेश्वर हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। के तँ परमेश्वरको साँचो विश्वासी होस्?
परमेश्वरका विश्वासीहरूको सङ्ख्या जति नै धेरै भए पनि, यदि तिनीहरूको विश्वासलाई परमेश्वरले कुनै धार्मिक समूहको विश्वासका रूपमा चित्रण गर्नुभएको छ भने, यी मानिसहरू परमेश्वरको काम र मुक्तिका निसाना होइनन्, र परमेश्वरले यसबारे निर्णय गरिसक्नुभएको हुन्छ—यी मानिसहरूलाई मुक्ति पाउन सकिँदैन। किन म यसो भनिरहेको छु? परमेश्वरको काम वा मार्गदर्शनविनाको कुनै समूह, जो उहाँप्रति समर्पित हुँदैन वा उहाँको आराधना बिलकुलै गर्दैन, त्यसले परमेश्वरमा नाउँको मात्र विश्वास गर्ला, तर तिनीहरू धर्मका पाष्टर र एल्डरहरूको पछि लाग्छन् र आज्ञापालन गर्छन्, र धर्मका पाष्टर र एल्डरहरू सारले नै शैतानी र पाखण्डी हुन्छन्। त्यसकारण, ती मानिसहरू शैतान र दियाबलसहरूलाई पछ्याउँछन्। तिनीहरू आफ्ना हृदयमा परमेश्वरप्रतिको विश्वास अभ्यास गरिरहेका छन्, तर खासमा, तिनीहरू मान्छेको चलाक प्रभावमा पर्दै छन्, मानवका योजनाबद्द कार्य र प्रभुत्वका पकडमा पर्छन्। त्यसैले, मूलभूत रूपमा भन्नुपर्दा, तिनीहरू शैतान र दियाबलसहरू, अनि परमेश्वरको प्रतिरोध गर्ने दुष्ट शक्तिहरू, अनि परमेश्वरका शत्रुहरूलाई पछ्याउँछन्। के परमेश्वरले यस्ता मानिसहरूको गिरोहलाई मुक्ति दिनुहुनेछ? (अहँ।) किन दिनुहुनेछैन? के यस्ता मानिसहरू पश्चात्ताप गर्न सक्छन्? सक्दैनन्; तिनीहरूले पश्चात्ताप गर्नेछैनन्। तिनीहरू परमेश्वरमा विश्वास गरेको नाममा मानव कार्य र व्यवसायहरूमा संलग्न हुन्छन्, मान्छेको मुक्तिका लागि परमेश्वरको व्यवस्थापन योजनाविपरीत जान्छन्, फलस्वरूप परमेश्वरले तिनीहरूलाई अन्तिम परिणामस्वरूप तिरस्कार गर्नुहुनेछ। परमेश्वरले यी मानिसहरूलाई मुक्ति दिनु असम्भव छ; तिनीहरू पश्चात्ताप गर्न सक्दैनन्, र तिनीहरूलाई शैतानले जितेको कारण परमेश्वरले तिनीहरू शैतानलाई नै जिम्मा लगाउनुहुन्छ। के परमेश्वरप्रतिको विश्वासले उहाँको अनुमोदन प्राप्त गर्छ कि गर्दैन भन्ने कुरा त्यो विश्वास कति वर्षदेखिको हो भन्नेमा भर पर्छ? के त्यो व्यक्तिले मान्ने अनुष्ठान वा पालना गर्ने नियमहरूमा भर पर्छ? के परमेश्वर मानव अभ्यासहरूलाई हेर्नुहुन्छ? के उहाँ तिनीहरूको सङ्ख्या हेर्नुहुन्छ? (अहँ।) त्यसोभए, उहाँ के हेर्नुहुन्छ त? जब परमेश्वरले मानिसहरूको कुनै समूह छान्नुभएको हुन्छ, तब तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन, उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछ कि दिनुहुनेछैन भनेर केको आधारमा मापन गर्नुहुन्छ? त्यो तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भन्ने कुरामा आधारित हुन्छ; त्यो तिनीहरू हिँड्ने मार्गमा आधारित हुन्छ। परमेश्वरले मान्छेलाई अहिले जति धेरै सत्यता अनुग्रहका युगमा भन्नुभएको थिएन होला, र ती निर्दिष्ट थिएनन् होला, तैपनि उहाँले मान्छेलाई सिद्ध पार्न सक्नुभयो, अनि त्यतिबेला मुक्ति दिन सकिने मानिसहरू पनि थिए। त्यसोभए, यदि हालको युगका अत्यन्तै धेरै सत्यता सुनेका र परमेश्वरका अभिप्रायहरू बुझ्ने मानिसहरू उहाँको मार्ग पछ्याउन वा मुक्तिका मार्गमा हिँड्न सक्दैनन् भने, अन्त्यमा तिनीहरूको परिणाम के हुनेछ? तिनीहरूको अन्तिम परिणाम इसाई धर्म र यहूदी धर्मका विश्वासीहरूको जस्तै हुनेछ—उनीहरूले जस्तै तिनीहरूले पनि मुक्ति प्राप्त गर्न सक्नेछैनन्। यो परमेश्वरको धर्मी स्वभाव हो। तैँले जति नै प्रवचनहरू सुनेको भए पनि वा जति नै सत्यताहरू बुझेको भए पनि,—यदि तँ अझै पनि मान्छेलाई पछ्याउँछस्, शैतानलाई पछ्याउँछस्, र अन्त्यमा परमेश्वरको मार्ग पछ्याउन सक्दैनस्, न त उहाँको भय मान्न र दुष्टताबाट अलग रहन नै सक्छस् भने, परमेश्वर यस्तै मानिसहरूलाई तिरस्कार गर्नुहुन्छ। धर्मका मानिसहरू बाइबलको धेरै ज्ञान प्रचार गर्न सक्लान्, र तिनीहरूले केही आत्मिक धर्मसिद्धान्त बुझ्लान्, तर तिनीहरू परमेश्वरको काममा समर्पित हुन, वा उहाँका वचनहरू अभ्यास र अनुभव गर्न, वा उहाँलाई साँचो रूपमा आराधना गर्न सक्दैनन्, न त उहाँको भय मान्न र दुष्टताबाट अलग रहन नै सक्छन्। तिनीहरू सबै पाखण्डी हुन्, परमेश्वरप्रति साँच्चै समर्पित हुने मानिस होइनन्। परमेश्वरका नजरमा, यस्ता मानिसहरूलाई कुनै सम्प्रदाय, मानव समूह, मानव गुट, शैतानको वासस्थानका रूपमा परिभाषित गरिन्छ। समग्रमा, तिनीहरू शैतानको गिरोह, ख्रीष्टविरोधीहरूको राज्य हुन्, र परमेश्वर तिनीहरूलाई पूर्ण रूपले तिरस्कार गर्नुहुन्छ।
—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। परमेश्वरको डर मानेर मात्रै मुक्तिको मार्गमा पाइला चाल्न सकिन्छ
परमेश्वरलाई पछ्याउँछौं भनी दाबी गर्नेहरूले आफ्ना आँखाहरू खोल्नु र उनीहरूले वास्तवमा कसमाथि विश्वास गर्छन् भनी राम्ररी हेर्नु राम्रो हुन्छ: तैँले विश्वास गरेको साँच्चै परमेश्वर हुनुहुन्छ कि शैतान हो? यदि तैँले विश्वास गरेको व्यक्ति परमेश्वर हुनुहुन्न, तर तेरा आफ्नै मूर्तिहरू हो भनी जान्दछस् भने तैँले आफैलाई एक विश्वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। यदि तैँले कसमाथि विश्वास गर्छस् भनी साँच्चै जान्दैनस् भने, फेरि तैँले आफैलाई एक विश्वासी हुँ भनेर दाबी नगर्नु नै राम्रो हुन्छ। त्यसो भन्नु ईश्वरनिन्दा हुनेछ! कसैले पनि तँलाई परमेश्वरमा विश्वास गर्न बाध्य पार्दैन। तिमीहरू ममा विश्वास गर्छु भनेर नभन; मसँग यस्तै कुराकानी धेरै भएको छ, र म त्यो फेरि सुन्न चाहन्नँ, किनकि जुन कुरामा तिमीहरू विश्वास गर्छौ ती तिमीहरूका हृदयभित्रका र तिमीहरूका स्थानीय बदमासहरूका मूर्तिहरू हुन्। सत्य सुन्दा जो आफ्ना टाउको हल्लाउँछन्, जो मृत्युको कुरा सुन्दा हाँस्छन् तिनीहरू सबै शैतानका सन्तानहरू हुन्, तिनीहरू ती मानिसहरू हुन् जसलाई हटाइनेछ। मण्डलीका धेरै जनामा समझशक्ति छैन। जब मानिसहरू बहकिन घटनाहरू हुन्छन्, तब तिनीहरू विपरीत रूपमा शैतानको पक्षमा खडा हुन्छन्; तिनीहरूलाई शैतानको नोकर भन्दा तिनीहरूआफूलाई अत्यन्तै अन्याय भएको मसुससमेत गर्छन्। मानिसहरूले आफूसँग समझशक्ति छैन भने पनि, तिनीहरू सधैँ गैर-सत्यताको पक्षमा खडा हुन्छन्, महत्त्वपूर्ण समयमा सत्यताको पक्षमा कहिल्यै खडा हुँदैनन्, तिनीहरू कहिल्यै पनि खडा भएर सत्यताका निम्ति तर्क गर्दैनन्। के तिनीहरूमा साँच्चै समझशक्तिको कमी छ? तिनीहरू किन विपरीत रूपमा शैतानको पक्ष लिन्छन्? किन तिनीहरू सत्यको समर्थनमा निष्पक्ष र उचित एउटै शब्द पनि कहिल्यै बोल्दैनन्? के यो स्थिति वास्तविक रूपमा उनीहरूको क्षणिक भ्रमको कारण उत्पन्न भएको हो? मानिसहरूमा चेतनाको जति कमी हुन्छ तिनीहरू सत्यको पक्षमा खडा हुन त्यत्ति नै कम सक्षम हुन्छन्। यसले के देखाउँछ? के यसले असमझहरूले खराबीलाई प्रेम गर्छन् भन्ने देखाउँदैन र? के यसले तिनीहरू शैतानको बफादार अण्डा हुन् भन्ने देखाउँदैन र? किन तिनीहरू सधैँ शैतानको पक्षमा उभिन र त्यसको भाषा बोल्न सक्षम हुन्छन्? तिनीहरूका कुरा र काम, तिनीहरूको अनुहारका भावहरू नै तिनीहरू कुनै पनि प्रकारले सत्यलाई प्रेम गर्नेहरू होइनन् भनेर प्रमाणित गर्न पर्याप्त हुन्छ; बरु तिनीहरू सत्यलाई घृणा गर्नेहरू हुन्। तिनीहरू शैतानको पक्षमा खडा हुन सक्नुले नै शैतानले यी स-साना भूतहरूलाई साँच्चै प्रेम गर्छ भन्ने पर्याप्त प्रमाण हो, जसले आफ्नो सारा जीवन शैतानका निम्ति लडाइँ गर्दै बिताउँछन्। के यी सबै तथ्यहरू पर्याप्त रूपमा स्पष्ट छैनन्? यदि तँ साँच्चै सत्यतालाई प्रेम गर्ने व्यक्ति होस् भने तैँले सत्यको अभ्यास गर्नेहरूलाई किन कदर गर्दैनस्, र तँ सत्यता प्रयोग नगर्नेहरूले केही प्रतिक्रिया दिने बित्तिकै तिनीहरूका पछि लाग्छस्? यो कस्तो प्रकारको समस्या हो? तँसँग विवेक छ कि छैन त्यसको मलाई कुनै मतलब छैन। तैँले कति ठूलो मूल्य तिरेको छस् त्यसको मलाई कुनै मतलब छैन। तेरा बल जति नै ठूलो भए पनि मलाई कुनै मतलब छैन, तँ स्थानीय बदमास वा झन्डा बोक्ने अगुवा जो भए पनि मलाई कुनै मतलब छैन। यदि तेरा शक्तिहरू महान् छन् भने पनि त्यो शैतानको सामर्थ्यको सहायताले मात्र हो। यदि तेरो इज्जत ठूलो छ भने पनि त्यो केवल तेरो वरिपरि सत्यको अभ्यास नगर्नेहरू धेरै भएकोले गर्दा मात्र हो। यदि तँ निष्कासन गरिएको छैनस् भने त्यो यसकारण हो कि अहिले निष्कासनको कामको समय भएको छैन; बरु, यो हटाउने काम गर्ने समय हो। अहिले तँलाई निष्कासन गर्ने कुनै हतार छैन। म केवल त्यस दिन पर्खिरहेको छु जब तँलाई हटाएपछि तँलाई दण्ड दिनेछु। जसले सत्यको अभ्यास गर्दैन त्यसलाई हटाइनेछ!
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सत्यताको अभ्यास नगर्नेहरूलाई एउटा चेतावनी