४. धार्मिक संसारले पागलले झैँ सर्वशक्तिमान् परमेश्वरको विरोध गर्दछ र निन्दा गर्दछ। यसले ख्रीष्ट-विरोधीको वफादार समर्थक बन्दै एकपछि अर्को दुष्ट कार्य गरेको छ। तर धार्मिक संसारले परमेश्वरमा विश्वास गर्नु, तर आखिरी दिनहरूको परमेश्वरको कामको विरोध गर्नुको परिणाम र अन्त्य के हुनेछ?
सन्दर्भका लागि बाइबलका पदहरू:
“मानिसका सबै किसिमका पापहरू र ईश्वरनिन्दा क्षमा गरिनेछन्: तर मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्वरनिन्दा क्षमा गरिनेछैन। र जसले मानिसको पुत्रको विरुद्धमा वचन बोल्छ, उसलाई क्षमा दिइनेछ: तर जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा” (मत्ती १२:३१-३२)।
“अनि तिनले ठूलो सोरले बलसाथ कराउँदै भने, बेबिलोन पतन भयो, महान् बेबिलोन पतन भयो, र यो दियाबलसहरूको वासस्थान, र हर फोहोरी आत्माको अखडा बनेको छ, र हर अशुद्ध र घृणित पक्षीको गुण बनेको छ। किनभने सबै जातिहरूले यसको व्यभिचारी क्रोधको मद्य पिएका छन्, र पृथ्वीका राजाहरूले यससँग व्यभिचार गरेका छन्, र पृथ्वीका व्यापारीहरू यसका प्रशस्त भोगविलासमार्फत धनी भएका छन्” (प्रकाश १८:२-३)।
“बरै बिचरा, त्यत्रो ठूलो सहर बेबिलोन, त्यति शक्तिशाली सहर! एकै घण्टामा तेरो न्याय हुन्छ” (प्रकाश १८:१०)।
परमेश्वरका सान्दर्भिक वचनहरू:
ख्रीष्टले बोल्नुभएको सत्यतामा भर नपरीकन जीवन प्राप्त गर्न चाहनेहरू पृथ्वीका सबैभन्दा हास्यास्पद मानिसहरू हुन्, र ख्रीष्टले ल्याउनुभएको जीवनको मार्गलाई स्वीकार नगर्नेहरू स्वैरकल्पनामा हराएका छन्। त्यसैले म भन्छु, आखिरी दिनहरूका ख्रीष्टलाई स्वीकार नगर्नेहरूलाई परमेश्वरले सदासर्वदा नै घिनाउनुहुनेछ। ख्रीष्ट नै आखिरी दिनहरूमा राज्यमा प्रवेश गर्ने मानिसको प्रवेशद्वार हुनुहुन्छ, र उहाँलाई छलेर भित्र जान सक्ने कोही पनि छैन। ख्रीष्टमार्फत बाहेक परमेश्वरद्वारा कोही पनि सिद्ध पारिँदैनन्। तँ परमेश्वरमा विश्वास गर्छस्, त्यसकारण उहाँका वचनहरू स्विकारेर उहाँको वचनप्रति समर्पित हुनैपर्छ। सत्यता र जीवनको आपूर्ति स्वीकार गर्न असमर्थ हुने, अनि आशिष्हरू प्राप्त गर्नेबारेमा मात्रै विचार गर्ने नगर्। ख्रीष्ट आखिरी दिनहरूमा आउनुहुन्छ, ताकि उहाँले उहाँमा इमानदारीसाथ विश्वास गर्नेहरू सबैलाई जीवन प्रदान गर्न सक्नुहोस्। यो काम पुरानो युगलाई समाप्त गरेर नयाँ युगमा प्रवेश गर्नका खातिर अस्तित्वमा हुन्छ, र यो काम नयाँ युगमा प्रवेश गर्ने सबैले हिँड्नैपर्ने मार्ग हो। यदि तँ ख्रीष्टलाई स्विकार्दैनस्, त्यसमाथि उहाँलाई दोषी ठहराउँछस्, ईश्वरनिन्दा गर्छस्, वा उहाँलाई सताउँछस् भने, तँ अवश्यम्भावी रूपमा अनन्तकालसम्म जल्नेछस् र परमेश्वरको राज्यमा कहिल्यै प्रवेश गर्नेछैनस्। यस्तो किन हुन्छ भने, यी ख्रीष्ट स्वयम् नै पवित्र आत्माको अभिव्यक्ति, परमेश्वरको अभिव्यक्ति, पृथ्वीमा आफ्नो काम गर्नका लागि परमेश्वरले कार्यभार दिनुभएको जन हुनुहुन्छ, त्यसैले म भन्छु कि यदि आखिरी दिनहरूका ख्रीष्टले गर्नुभएका सबै कुरालाई तैँले स्वीकार गर्न सक्दैनस् भने, तैँले पवित्र आत्माको ईशनिन्दा गर्छस्। पवित्र आत्माको ईशनिन्दा गर्नेहरूले पाउनुपर्ने दण्ड सबैका लागि प्रष्टै छ। म तँलाई यो पनि भन्छु: यदि तैँले आखिरी दिनहरूका ख्रीष्टको प्रतिरोध गरिस् भने, यदि तैँले आखिरी दिनहरूका ख्रीष्टलाई इन्कार गरिस् भने, यसका लागि तेरो तर्फबाट कसैले पनि परिणामहरू भोग्न सक्नेछैन। यसको साथै, यस बिन्दुदेखि तैँले परमेश्वरको अनुमोदन प्राप्त गर्ने अर्को मौका पाउनेछैनस्; यदि तैँले आफ्ना गल्ती सच्याउने इच्छा गरिस् भने पनि, तैँले फेरि परमेश्वरको मुहार देख्न सक्नेछैनस्। यस्तो किन हुन्छ भने, तैँले जसको प्रतिरोध गरिरहेको छस्, त्यो कुनै मानव होइन, तैँले जसलाई इन्कार गरिरहेको छस्, त्यो कुनै नगण्य व्यक्ति नभई ख्रीष्ट हुनुहुन्छ। के तँलाई यसका परिणामहरू के हुन्छन् भन्ने थाहा छ? तैँले सानो गल्ती गरिरहेको छैनस्, बरु जघन्य पाप गरिरहेको छस्। त्यसैले म हरेक व्यक्तिलाई सत्यताको अघि आफ्नो दारा नदेखाउन र आफ्ना नङ्ग्रा प्रदर्शन नगर्न वा स्वेच्छाचारी आलोचना नगर्न सल्लाह दिन्छु, किनकि सत्यताले मात्रै तँलाई जीवन दिन सक्छ, र सत्यताबाहेक अरू केहीले पनि तँलाई पुनर्जन्म पाउन र फेरि परमेश्वरको मुहार देख्न सक्षम तुल्याउन सक्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। आखिरी दिनहरूका ख्रीष्टले मात्रै मानिसलाई अनन्त जीवनको मार्ग दिन सक्नुहुन्छ
देहधारी परमेश्वरमा विश्वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्वरमा विश्वास नगर्नेहरू र परमेश्वरको अस्तित्वमा बिलकुलै विश्वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्वरलाई पहिचान नगर्ने जो-कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्वरलाई पहिचान नगर्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट विरोधी हो! यदि परमेश्वरमा विश्वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्हरू मात्र प्राप्त गर्न खोज्नेहरू होइनन् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वर र मानिस एकसाथ विश्राममा प्रवेश गर्नेछन्
२,००० वर्ष पहिले यहूदीहरूले येशूलाई क्रूसमा टाँगे पश्चात् तिनीहरूले कस्तो परिणाम भोगे भनी स्मरण गर—तिनीहरूलाई इस्राएलबाट निष्कासित गरियो र तिनीहरू संसारभरिका देशहरूमा भागे, धेरै जना मारिए, र पूरै यहूदी जाति त्यसको देशको विनाशको अभूतपूर्व पीडामा पर्यो। तिनीहरूले परमेश्वरलाई क्रूसमा टाँगेका थिए—तिनीहरूले जघन्य पाप गरे—र परमेश्वरको स्वभावलाई उक्साए। तिनीहरूको कार्यका लागि तिनीहरूले मूल्य तिर्नै पऱ्यो र तिनीहरूले आफ्ना कार्यहरूका सबै नतिजाहरू भोग्नै पऱ्यो। तिनीहरूले परमेश्वरको निन्दा गरे, परमेश्वरलाई अस्वीकार गरे, यसरी तिनीहरूको एउटा मात्र नियति थियो: परमेश्वरद्वारा दण्डित हुनु। यो तिनीहरूका देश र जातिमाथि तिनीहरूका शासकहरूले ल्याएका तीता नतिजाहरू र प्रकोप थिए।
आज, परमेश्वर आफ्नो काम गर्नका लागि मानिसहरूमाझ फर्कनुभएको छ, र आफ्नो काममा उहाँको पहिलो गन्तव्य अधिनायकवादको प्रतीक: चीन हो, जुन नास्तिकवादको कट्टर गढ हो। परमेश्वरले आफ्नो बुद्धि र शक्तिद्वारा एक समूह मानिसहरू प्राप्त गर्नुभएको छ। यस दौरान, उहाँलाई चीनको सत्ताधारी दलले हरेक तरिकाले खेदो गरेर हरप्रकारको कष्ट दिएको छ, त्यसैले उहाँसँग आफ्नो टाउको ढल्काउने कुनै ठाउँ छैन र आश्रय पाउने कुनै स्थान छैन। यसको बाबजुद, परमेश्वरले गर्ने अभिप्राय राख्नुभएको कामलाई उहाँले गर्न जारी राख्नुहुन्छ: उहाँले वचनहरू बोल्नुहुन्छ र वाचन गर्नुहुन्छ, साथै सुसमाचार फैलाउनुहुन्छ। परमेश्वरको सर्वशक्तिमान्तालाई कुनै पनि व्यक्तिले बुझ्न सक्दैन। परमेश्वरलाई आफ्नो शत्रु ठान्ने देश, चीनमा परमेश्वरले आफ्नो काम कहिल्यै रोक्नुभएको छैन। बरु, अझ धेरै मानिसहरूले उहाँको काम र वचनलाई स्वीकार गरेका छन्, किनकि परमेश्वरले जतिसक्दो मानवजातिको हरेक सदस्यलाई मुक्ति दिनुहुन्छ। हामी सबैले विश्वास गर्छौँ कि परमेश्वरले हासिल गर्न चाहनुभएको कुरालाई कुनै देश वा शक्तिले रोक्न सक्दैन, र जसले उहाँको काममा अवरोध पुऱ्याउन खोज्छन्, उहाँको वचनको प्रतिरोध गर्छन्, र जसले उहाँको योजनामा बाधा दिन्छन् र त्यसलाई बिगार्ने कोसिस गर्छन् तिनीहरू अन्त्यमा परमेश्वरद्वारा दण्डित हुनेछन्। परमेश्वरको कामको प्रतिरोध गर्ने कुनै पनि व्यक्तिलाई उहाँले नरकमा फालिदिनुहुनेछ; परमेश्वरको कामको प्रतिरोध गर्ने कुनै पनि राष्ट्रलाई परमेश्वरले विनाश गर्नुहुनेछ; परमेश्वरको कामको विरोधमा उठ्ने कुनै पनि राष्ट्रलाई उहाँले यस पृथ्वीबाट पूर्ण रूपमा मेटाउनुहुनेछ, र त्यो अस्तित्वमा रहनेछैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परिशिष्ट २: परमेश्वरले सबै मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ
संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ! ओहो, धार्मिक संसार! पृथ्वीमा मेरो अख्तियारद्वारा कसरी यो नष्ट हुन सक्दैन? कसले अझै मविरुद्ध विद्रोह गर्ने र मेरो विरोध गर्ने हिम्मत गर्नेछ? शास्त्रीहरूले? सबै धार्मिक अधिकारीहरूले? के पृथ्वीमा भएका शासक र अखितियारवालहरूले? स्वर्गदूतहरूले? कसले मेरो शरीरको सिद्धता र पूर्णताको उत्सव मनाउँदैन? सबै मानिसहरूमध्ये कसले निरन्तर प्रशंसा गाउँदैन, र मेरो कारण को लगातार आनन्दित छैन? म ठूलो रातो अजिङ्गरको गुफा भएको देशमा बस्छु, तैपनि त्यसले मलाई डरले काँप्ने वा भाग्ने बनाउँदैन किनकि यहाँका सबै मानिसहरूले यसलाई घृणा गर्न थालेका छन्। कुनै कुराले पनि अजिङ्गरको अगाडि अजिङ्गरकै लागि कहिल्यै आफ्नो “कर्तव्य” गरेको छैन; बरु, सबै कुराले तिनीहरूलाई जे उचित लाग्छ त्यो गरेका छन्, र हरेकले आफ्नै बाटो हिँडेका छन्। पृथ्वीका देशहरू कसरी विनाश नहोलान् र? पृथ्वीका देशहरू कसरी पतन नहोलान् र? मेरा मानिसहरू कसरी खुसीले कराउन नसक्लान् र? तिनीहरूले कसरी खुसीले गाउन नसक्लान् र?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २२
पुरानो संसार अस्तित्वमा रहँदा, म प्रत्येक देशमाथि आफ्नो क्रोध बर्साउनेछु र सारा ब्रह्माण्डलाई सार्वजनिक गरिने प्रशासनिक आदेशहरू जारी गर्नेछु, र ती उल्लङ्घन गर्ने जोकोहीलाई सजाय दिइनेछ:
म सारा ब्रह्माण्डसँग बोल्दा, सबै मानिसले मेरो आवाज सुन्छन्, अर्थात् सबै मानिसले मैले ब्रह्माण्डभरि गरेका सबै कार्य देख्छन्। मेरा अभिप्रायविरुद्ध जानेहरू, अर्थात् मानिसका कार्यहरूद्वारा मेरो विरोध गर्नेहरू मेरो सजायमा ढल्नेछन्। म आकाशका अनगिन्ती ताराहरूलाई नवीकरण गर्नेछु; मैले गर्दा नै घाम र जून पनि नवीकरण हुनेछन्, आकाशहरू यसउप्रान्त पहिलेजस्तो रहँदैनन् र संसारका सबै थोक नवीकरण हुनेछन्—यो सब मेरा वचनहरूको कारण पूर्ण हुनेछ। ब्रह्माण्डभित्रका सबै देशहरू पुनर्विभाजित हुनेछन् र मेरो राज्यद्वारा प्रतिस्थापित गरिनेछन्, ताकि पृथ्वीका देशहरू सदाका लागि हराएर जाऊन्, र त्यहाँ मलाई आराधना गर्ने राज्य मात्र होस्; पृथ्वीका सबै देशहरू नष्ट हुनेछन् र ती अस्तित्वमा रहन छोड्नेछन्। ब्रह्माण्डभित्रका मानव जातिमध्ये, जो दियाबलसका हुन् तिनीहरू सबै सखाप हुनेछन्। शैतानको पूजा गर्ने सबै मेरो प्रज्वलित अग्निमा खस्नेछन्—अर्थात्, अहिले प्रवाहभित्र रहेकाहरूबाहेक, सबैलाई खरानीमा परिणत गरिनेछ। जब म प्रत्येक मानिसलाई सजाय दिन्छु, तब धार्मिक समुदायहरू विभिन्न हदमा, मेरो राज्यमा फर्कनेछन्, अनि मेरा काममार्फत विजय गरिनेछन्, किनभने तिनीहरूले सेतो बादलमा सवार पवित्र जन आइसक्नुभएको छ भनेर देखेका हुनेछन्। सबै मानिसहरूलाई तिनीहरूका प्रकारअनुसार वर्गीकृत गरिनेछ, र तिनीहरूले आफ्ना कार्यहरूअनुसारका विभिन्न सजाय पाउनेछन्; र मेरो प्रतिरोध गरेकाहरू सबै नष्ट हुनेछन्, अनि पृथ्वीमा आफ्ना कार्यहरूमा मलाई समावेश नगर्नेहरूका हकमा, तिनीहरूले आफूलाई जसरी व्यवहार गरेका हुन्छन् सोही कारण तिनीहरू मेरा पुत्रहरू र मेरा मानिसहरूको अधीनमा रही पृथ्वीमा अस्तित्वमा रहिरहनेछन्। म असङ्ख्या देश र असङ्ख्य मानिसहरूकहाँ देखा पर्नेछु, र म पृथ्वीमा आफ्नै आवाज व्यक्त गर्नेछु, मेरो महान् कामको पूर्ती घोषणा गर्नेछु, सबै मानिसलाई यो उनीहरूकै आँखाले देख्न दिनेछु।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। सम्पूर्ण ब्रह्माण्डलाई परमेश्वरका वचनहरू, अध्याय २६