विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नका लागि मात्र आफ्ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन् (भाग आठ)
आ. ख्रीष्टविरोधीहरूका हितहरू
घ. तिनीहरूका सम्भावना र नियति
सुरुमा हामी पछिल्लो भेलामा के विषयमा सङ्गति गर्यौँ त्यसको पुनरावलोकन गरौँ। (पछिल्लो पटक परमेश्वरले ख्रीष्टविरोधीहरूले आफ्नो सम्भाव्यता र नियतिलाई कसरी लिन्छन् भन्ने विषयको दोस्रो बुँदा—ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यलाई कसरी लिन्छन्—भन्ने बारेमा सङ्गति गर्यौँ। ख्रीष्टविरोधीहरू आफ्नो कर्तव्यप्रति तीन प्रकारका मनोवृत्ति राख्छन्। पहिलो, परमेश्वरले मानवजातिलाई भरणपोषण र अगुवाइ गर्दै आउनुभएको छ, त्यसकारण परमेश्वरको अघि सृजित प्राणीको रूपमा आफ्नो कर्तव्य निर्वाह गर्नु एकदम उचित, प्राकृतिक, र मान्य कुरा हो, र यो मानवजाति बीचको सबैभन्दा न्यायसङ्गत र सुन्दर कुरा हो, तर ख्रीष्टविरोधीहरू यसलाई एक प्रकारको लेनदेनको रूपमा लिन्छन् र कर्तव्य निर्वाह गर्ने कार्यलाई राम्रो सम्भाव्यता र असल गन्तव्यसित साट्न चाहन्छन्। दोस्रो, जब परमेश्वरले काम गरिरहनुभएको हुन्छ, तब उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुहुन्छ; ख्रीष्टविरोधीहरूले परमेश्वरको वचनलाई सत्यताको रूपमा, मानवजातिले मुक्ति पाउनको लागि धारण गर्नुपर्ने, पछ्याउनुपर्ने, स्विकार्नुपर्ने, र प्रवेश गर्नुपर्ने कुराको रूपमा नहेर्ने मात्र होइन, बरु उल्टै, तिनीहरूले सम्भाव्यता, गन्तव्य, प्रतिष्ठा, र हैसियतप्रतिको पछ्याइलाई सत्यता र आफूले पालना र प्राप्त गर्नुपर्ने कुराहरूको रूपमा लिन्छन्। तेस्रो, परमेश्वरले मानवजातिलाई व्यवस्थापन गर्न र मुक्ति दिन काम गर्नुहुन्छ, तर ख्रीष्टविरोधीहरूको दृष्टिकोणमा यो एउटा लेनदेन र खेल मात्रै हो; तिनीहरू मानिसहरूले कठिन परिश्रम र लेनदेनद्वारा मात्रै स्वर्गको राज्यका आशिष्हरू प्राप्त गर्न सक्छन् भन्ने विश्वास गर्छन्। मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गर्न लगाउने परमेश्वरको सत्यताप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्तिको आधारमा हेर्दा, तिनीहरूको स्वभाव दुष्ट हुन्छ।) अरू केही थप्नु छ? (ख्रीष्टविरोधीहरूले आशिष्हरू प्राप्त गर्ने एउटै मात्र तरिका भनेको आफ्नो कर्तव्य निर्वाह गर्नु हो भन्ठान्छन्। आशिष्हरू प्राप्त गर्ने तिनीहरूको इच्छा भताभुङ्ग भएपछि, तिनीहरूले तुरुन्तै आफ्नो कर्तव्य त्याग्न वा परमेश्वरलाई समेत त्याग्न सक्छन्। आशिष्हरू प्राप्त गर्ने आफ्नो इच्छा भताभुङ्ग हुँदा ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तो हुन्छ।) (ख्रीष्टविरोधीहरूले साँचो रूपमा पश्चात्ताप गर्दैनन्। जब तिनीहरूले बाधा र व्यवधानहरू ल्याएका वा दुष्ट कार्यहरू गरेको कारण तिनीहरूलाई बर्खास्त वा बहिष्कार गरिन्छ, र जब परमेश्वरको घरले तिनीहरूलाई कर्तव्य निर्वाह गर्ने अर्को मौका दिन्छ, तब तिनीहरू कृतज्ञ हुँदैनन्। बरु, तिनीहरूले यसो भन्दै गुनासो र आलोचना गर्छन्, “मेरो आवश्यकता पर्दा तपाईं मलाई फर्काउनुहुन्छ, तर नपर्दा मलाई लत्याउनुहुन्छ।” यसले ख्रीष्टविरोधीहरू कहिल्यै पश्चात्ताप गर्दैनन् भन्ने देखाउँछ।) छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यप्रति गर्ने व्यवहार र परमेश्वरको वचनप्रति गर्ने व्यवहारमा प्रकट हुने सारहरू आधारभूत रूपमा उस्तै हुन्छन्; तिनीहरूले यी फरक-फरक कुराहरूप्रति व्यवहार गर्दा उस्तै स्वभाव र सार प्रकट गरिरहेका हुन्छन्। हामीले ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्यप्रतिको व्यवहारमा प्रकट गर्ने सबै सारहरूबारे पछिल्लो पटक नै लगभग सङ्गति गरिसकेका छौँ। पहिलो, तिनीहरूले परमेश्वरको वचन सत्यता हो भनेर विश्वास गर्दैनन् र स्वीकार गर्न मान्दैनन्; दोस्रो, तैँले तिनीहरूसँग परमेश्वरको वचनमा सङ्गति गरे पनि, र तिनीहरूले सत्यता बुझे पनि, तिनीहरूले यसलाई स्विकार्दैनन्; तेस्रो, तिनीहरू परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन मान्दैनन्; चौथो, तिनीहरूले कहिल्यै साँचो रूपमा पश्चात्ताप गर्दैनन्। के यी तिनीहरूका प्रकटीकरणका सार होइनन् र? (हुन्।) के तिमीहरूले यी चार बुँदाहरू सारांशित गरेका छौ? (छैनौँ।) तिमीहरूले बताएका धेरैजसो कुराहरू हामीले पछिल्लो पटक सङ्गति गरेका केही प्रकटीकरणहरू थिए, तर तिमीहरूले यी प्रकटीकरणहरूको पछाडि के-कस्ता सारहरू लुकेका हुन्छन् भन्ने कुरा अझै पनि छर्लङ्गसित देखेका छैनौ। सत्यता र परमेश्वरको अघि ख्रीष्टविरोधीहरूले प्रकट गर्ने सार सधैँ मान्न, स्वीकार गर्न, समर्पित हुन, वा पश्चात्ताप गर्न इन्कार गर्नु हो। ख्रीष्टविरोधीहरूले परमेश्वरको वचन र आफ्नो कर्तव्यलाई यसरी नै लिने हुनाले, काटछाँटमा पर्नुलाई तिनीहरूले कसरी लिन्छन्? तिनीहरूमा यसअघि उल्लेख गरिएका सारहरू छन् भनेर देख्न, र तिनीहरू ख्रीष्टविरोधी, परमेश्वरका शत्रु, र सत्यताका शत्रुहरू हुन् भनेर पुष्टि गर्न मानिसहरूलाई सक्षम तुल्याउने अरू के-कस्ता प्रकटीकरणहरू छन्? यो तेस्रो विषयवस्तु हो, जसबारे आज हामी सङ्गति गर्नेछौँ: ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो सम्भाव्यता र नियतिलाई कसरी लिन्छन् भन्ने बारेको यो तेस्रो उप-विषय हो। हेर त, हरेक सत्यता सङ्गति गर्नको लागि यस्तो विशिष्ट सङ्गति र विशिष्ट खोजी र मनन आवश्यक पर्छ। यदि मैले व्यापक अर्थमा मात्रै कुरा गरेँ भने, तैँले हरेक सत्यता वास्तविकताहरूलाई थप विशिष्ट रूपमा बुझ्न सक्नेछैनस्। ठीक छ, अब हामी पछिल्लो पटक हामीले सङ्गति गरेको विषयवस्तुलाई थप समीक्षा गर्नेछैनौँ। यस पटक, हामी तेस्रो बुँदाबारे औपचारिक रूपमा सङ्गति गर्नेछौं।
३. ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई कसरी लिन्छन्
काटछाँट हुनु भनेको परमेश्वरमा विश्वास गर्ने हरेकले अनुभव गर्न सक्ने कुरा हो। विशेषगरी कर्तव्य निर्वाह गर्ने क्रममा, काटछाँटमा परेको अनुभव बढ्दै जाँदा, धेरैजसो मानिसहरूलाई काटछाँटमा पर्नुको अर्थ झन्झन् बढी थाहा हुँदै जान्छ। तिनीहरूलाई काटछाँटमा पर्नुका धेरै फाइदाहरू छन् भन्ने लाग्छ, र तिनीहरूले काटछाँटमा पर्नुलाई झन्झन् सही रूपमा लिन सक्छन्। अवश्य नै, व्यक्तिले कर्तव्य निर्वाह गर्न सक्छ भने, उसले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, उसले काटछाँट हुने मौका पाउनेछ। साधारण मानिसहरूले काटछाँट हुनुलाई सही रूपमा लिन सक्छन्। एक हिसाबमा, तिनीहरूले परमेश्वरप्रति समर्पित हृदयसाथ काटछाँट हुन स्विकार्न सक्छन्, र अर्को हिसाबमा, तिनीहरूले आफूमा के-कस्ता समस्याहरू छन् भनेर मनन गर्न र जान्न पनि सक्छन्। सत्यता पछ्याउने मानिसहरूले काटछाँटमा पर्नुलाई कसरी लिन्छन् भन्ने आम मनोवृत्ति र दृष्टिकोण यही हो। त्यसोभए, के ख्रीष्टविरोधीहरूले पनि काटछाँटमा पर्नुलाई यसरी नै लिन्छन् त? अवश्य नै लिँदैनन्। काटछाँटमा पर्नुलाई कसरी लिने भन्ने सन्दर्भमा, ख्रीष्टविरोधीहरू र सत्यता पछ्याउने मानिसहरूको मनोवृत्ति अवश्य नै फरक हुनेछ। सर्वप्रथम त, काटछाँट हुने कुरा आउँदा, ख्रीष्टविरोधीहरूले त्यो स्वीकार गर्न सक्दैनन्। अनि तिनीहरूले यसलाई स्वीकार गर्न नसक्नुका कारणहरू छन्, जसमध्ये एउटा मुख्य कारण के हो भने, काटछाँट गरिँदा, तिनीहरूलाई आफ्नो इज्जत गुमेको, आफ्नो प्रतिष्ठा, हैसियत र मर्यादा गुमेको, र सबैको अघि आफ्नो शिर उठाउन नसकिने अवस्थामा पुगेको अनुभव हुन्छ। यी कुराहरूले तिनीहरूको हृदयमा असर पर्छ, त्यसकारण तिनीहरूलाई काटछाँटमा पर्न स्विकार्न निकै गाह्रो हुन्छ, र जसले तिनीहरूलाई काटछाँट गर्छ उसले तिनीहरूलाई आक्रमण गर्न त्यसो गरेको हो र ऊ तिनीहरूको शत्रु हो भन्ने सोच्छन्। काटछाँट गरिँदा ख्रीष्टविरोधीहरूले राख्ने मानसिकता यही हो। यसबारेमा, तिमीहरू निश्चित हुन सक्छौ। काटछाँट गरिँदा नै वास्तवमा, कुनै व्यक्तिले सत्यता स्विकार्न सक्छ कि सक्दैन र ऊ साँच्चै समर्पित हुन सक्छ कि सक्दैन भन्ने कुरा सबैभन्दा बढी खुलासा हुन्छ। ख्रीष्टविरोधीहरू काटछाँटप्रति यति धेरै प्रतिरोधी हुनु नै तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र यसलाई अलिकति पनि स्विकार्दैनन् भन्ने कुरा देखाउन पर्याप्त छ। त्यसकारण समस्याको जड यही हो। तिनीहरूको घमण्ड चुरो कुरा होइन; सत्यता स्वीकार नगर्नु नै समस्याको सार हो। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तिनीहरूसँग निराकरण गर्ने व्यक्तिले राम्रो स्वर र मनोवृत्ति प्रयोग गरोस् भनी तिनीहरू चाहन्छन्। यदि यसो गर्ने व्यक्तिको भाव गम्भीर र मनोवृत्ति कठोर छ भने, लाजले गर्दा ख्रीष्टविरोधीले विरोध गर्छ र ऊ अवज्ञाकारी र क्रोधित हुन्छ। तिनीहरूबारे खुलासा गरिएको कुरा सही हो कि होइन वा यो तथ्य हो कि होइन भन्ने कुरालाई तिनीहरू कुनै ध्यान दिँदैनन्, र तिनीहरूले कहाँ गल्ती गरे वा तिनीहरूले सत्यता स्विकार्नुपर्छ कि पर्दैन भन्ने कुरा पनि वास्ता गर्दैनन्। तिनीहरूले आफ्नो स्वाभिमान र प्रतिष्ठामा प्रहार भएको छ कि छैन भन्ने मात्रै विचार गर्छन्। ख्रीष्टविरोधीहरूले काटछाँट मानिसहरूको लागि उपयोगी हुन्छ, प्रेमपूर्ण हुन्छ र मुक्ति दिने हुन्छ, त्यो मान्छेको लागि फाइदाजनक हुन्छ भनेर मान्न पटक्कै सक्दैनन्। तिनीहरूले यो कुरा देख्न समेत सक्दैनन्। के यो तिनीहरूको अन्धाधुन्ध र अव्यावहारिक कार्य होइन र? त्यसकारण, काटछाँट सामना गर्दा, ख्रीष्टविरोधीले कस्तो स्वभाव प्रकट गर्छ? शङ्कै छैन, त्यो सत्यताप्रति वितृष्णा राख्ने, साथै अहङ्कारी र हठी स्वभाव हो। यसले ख्रीष्टविरोधीहरूको प्रकृति र सार सत्यताप्रति वितृष्णा राख्ने र यसलाई घृणा गर्ने खालको हुन्छ भन्ने तथ्य खुलासा गर्छ। त्यसकारण, ख्रीष्टविरोधीहरूलाई काटछाँटमा पर्न सबैभन्दा बढी डर लाग्छ; तिनीहरूलाई काटछाँट गरिनेबित्तिकै, तिनीहरूको कुरूप स्थिति पूर्ण रूपमा खुलासा हुन्छ। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरूले के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छन्, र तिनीहरूले के-कस्ता कुराहरू भन्न वा गर्न सक्छन्, जसले गर्दा अरूले ख्रीष्टविरोधीहरू साँच्चै नै ख्रीष्टविरोधीहरू हुन्, तिनीहरू साधारण भ्रष्ट व्यक्तिभन्दा फरक छन्, र तिनीहरूको प्रकृति सार सत्यता पछ्याउने मानिसहरूको भन्दा फरक हुन्छ भनेर स्पष्ट रूपमा देख्न सक्छन्? म केही उदाहरण दिन्छु, र तिमीहरूले तिनको बारेमा सोच्न र थप्न सक्छौ। जब ख्रीष्टविरोधीहरू काटछाँटमा पर्छन्, तब तिनीहरूले सुरुमा हिसाबकिताब गर्छन् र सोच्छन्: “कस्तो व्यक्तिले मलाई काटछाँट गरिरहेको छ? उसले के कुरा लक्षित गरिरहेको छ? उसलाई यसबारेमा कसरी थाहा भयो? उसले मलाई किन काटछाँट गर्यो? के उसले मलाई तिरस्कार गर्छ? के मैले उसलाई चिढ्याउन केही भनेको छु? के मसँग कुनै असल कुरा भएर पनि उसलाई नदिएकोले उसले मलाई बदला लिइरहेको छ, र उसले मलाई ब्लाकमेल गर्न यो अवसर प्रयोग गरिरहेको छ?” तिनीहरूले आफ्ना अपराधहरू, विगतका दुष्कर्महरू, र आफूले खुलासा गरेका भ्रष्ट स्वभावहरू मनन गर्नु र चिन्नुको सट्टा, काटछाँट हुँदाको मामलामा सुरागहरू खोज्न चाहन्छन्। तिनीहरूलाई यसमा केही शङ्कास्पद कुरा छ भन्ने लाग्छ। तिनीहरूले काटछाँट गरिनुलाई यसरी नै लिन्छन्। के यहाँ कुनै साँचो स्वीकार छ त? के कुनै साँचो ज्ञान वा मनन छ त? (छैन।) धेरैजसो मानिसहरूलाई तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गरेकोमा काटछाँट गरिएको हुन्छ। तिनीहरूले अज्ञानताको कारण कुनै गलत काम गरेको र परमेश्वरको घरका हितहरूमा धोका दिएको कारण पनि यसो गरिएको हुन्छ। तिनीहरूले आफ्नो कर्तव्यमा झारा टार्ने प्रयास गरेर परमेश्वरको घरको काममा घाटा भएको कारण पनि यसो गरिएको हुन सक्छ। सबैभन्दा घृणित कुरा के हो भने मानिसहरूले जानी-जानी बेलगाम रूपमा आफ्नो खुशी काम गर्छन्, सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरको काममा बाधा र व्यवधान ल्याउँछन्। मानिसहरूलाई काटछाँट गरिनुका प्राथमिक कारणहरू यिनै हुन्। कुनै व्यक्तिलाई काटछाँट गर्नुपर्ने परिस्थितिहरू जे-जस्तो भए पनि, यसप्रति हुनुपर्ने सबैभन्दा महत्त्वपूर्ण मनोवृत्ति के हो? पहिला, तैँले यो कुरा स्विकार्नैपर्छ। तँलाई जसले जुनसुकै कारण काटछाँट गरिरहेको भए पनि, यो कठोर नै भए पनि, वा जुनसुकै भाव र शब्दले यसो गरिए पनि, तैँले यसलाई स्वीकार गर्नुपर्छ। त्यसपछि, तैँले आफूले के गलत काम गरिस्, के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गरेको छस्, र तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गरिस् कि गरिनस्, त्यस कुरालाई पहिचान गर्नुपर्छ। सबैभन्दा पहिलो र मुख्य रूपमा, तँमा हुनुपर्ने मनोवृत्ति यही हो। अनि के ख्रीष्टविरोधीहरूमा त्यस्तो मनोवृत्ति हुन्छ त? हुँदैन; सुरुदेखि अन्त्यसम्मै, तिनीहरूले प्रतिरोध र खिन्नताको मनोवृत्ति देखाउँछन्। त्यस्तो मनोवृत्तिको साथमा, के तिनीहरू परमेश्वरसामु शान्त हुन, र विनम्र रूपमा काटछाँट स्विकार्न सक्छन्? अहँ, सक्दैनन्। त्यसो भए, तिनीहरूले के गर्छन् त? सर्वप्रथम, तिनीहरूले जोडतोडले तर्क गर्छन् र औचित्य प्रस्तुत गर्छन्, र मानिसहरूले बुझ्ने र क्षमा गर्ने आशामा आफूले गरेका गल्तीहरू र आफूले प्रकट गरेको भ्रष्ट स्वभावको प्रतिरक्षा र बचाउ गर्छन्, ताकि तिनीहरूले कुनै जिम्मेवारी लिनु वा तिनीहरूलाई काटछाँट गर्ने वचनहरू स्विकार्नु नपरोस्। तिनीहरूले काटछाँटको सामना गर्दा कस्तो मनोवृत्ति देखाउँछन्? “मैले पाप गरेको छैन। मैले केही गल्ती गरेको छैन। यदि मैले गल्ती गरेको भए, त्यसको कारण छ; यदि मैले गल्ती नै गरेको छु भने पनि मैले जानी-जानी गरेको होइन, मैले यसको जिम्मेवारी लिनुपर्ने हो। सानोतिनो गल्ती कसले पो गर्दैन र?” तिनीहरूले यस्ता अभिव्यक्ति र वाक्यांशहरूलाई लिन्छन्, तर तिनीहरूले सत्यताको खोजी गर्दैनन्, न त तिनीहरूले आफूले गरेका गल्तीहरू वा प्रकट गरेका भ्रष्ट स्वभावहरू नै स्विकार्छन्—र तिनीहरूले दुष्कर्म गर्नुको पछाडि के मनसाय र लक्ष्य थियो भनेर त झन् किमार्थ स्वीकार गर्दैनन्। तिनीहरूले गरेका गल्तीहरू जति नै स्पष्ट भए पनि वा तिनीहरूले जति नै ठूलो घाटा गराएका भए पनि, तिनीहरूले यी कुराहरूप्रति आँखा चिम्लिदिन्छन्। तिनीहरूलाई अलिकति पनि दुःख वा ग्लानि हुँदैन, र तिनीहरूको विवेकमा कुनै धिक्कारको अनुभूति हुँदैन। बरु, तिनीहरूले आफ्नो सारा शक्ति प्रयोग गरेर आफूलाई सही साबित गर्छन्, र गम्भीर तर्कवितर्क गर्छन् र यस्तो सोच्छन्, “हरेक व्यक्तिसित उचित दृष्टिकोण हुन्छ। हरेकको आफ्नै कारण हुन्छ; यो कुरा त बोल्नमा को सिपालु छ भन्ने कुरामा निर्भर हुन्छ। यदि मैले मेरो स्पष्टीकरण र व्याख्या बहुमतद्वारा पारित गराउन सकेँ भने, मैले जित्छु, र तिमीले बोल्ने सत्यताहरू सत्यता हुँदैनन्, र तिम्रा तथ्यहरू मान्य हुँदैनन्। के तिमी मलाई दोषी ठहर्याउन चाहन्छौ? त्यो कदापि हुनेछैन!” जब कुनै ख्रीष्टविरोधी काटछाँटमा पर्छ, तब तिनीहरू आफ्नो हृदय र प्राणको गहिराइभित्र, पूर्ण रूपमा र दृढतापूर्वक यसप्रति प्रतिरोधी हुन्छन् र तिनिहरूले यसलाई घृणा र इन्कार गर्छन्। तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ, “तिमीले जे भने पनि, तिमी जति नै सही भए पनि, म स्वीकार गर्नेछैनँ, र म यसलाई मान्नेछैनँ। म दोषी छँदै छैनँ।” तथ्यहरूले जसरी तिनीहरूको भ्रष्ट स्वभावलाई प्रकाश पारे पनि, तिनीहरूले यसलाई मान्ने वा स्विकार्ने गर्दैनन्, बरु तिनीहरूको विरोध र प्रतिरोधलाई जारी नै राख्छन्। अरूले जे भने पनि, तिनीहरूले यसलाई स्वीकार गर्ने वा मान्ने गर्दैनन्, बरु यस्तो सोच्छन्, “कसले कुरामा जित्ने रहेछ हेरौँ; कसले राम्रो बोल्ने रहेछ हेरौँ।” यो काटछाँट गरिँदा ख्रीष्टविरोधीहरूले राख्ने एक प्रकारको मनोवृत्ति हो।
व्यक्तिले सत्यता स्वीकार गर्न सक्छ कि सक्दैन भन्ने कुरा ऊ काटछाँटमा पर्दा नै खुलासा हुन्छ। शब्द र सिद्धान्तहरू बोल्दा ख्रीष्टविरोधीहरू पूरै स्पष्ट रूपमा बोल्छन्, तर तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूले विरोध, तर्क र प्रतिरोध गरिरहन्छन्, र सत्यता पटक्कै स्वीकार गर्दैनन्। तिनीहरूले प्रायजसो बोल्ने गरेका कुनै पनि शब्द र सिद्धान्तहरू अभ्यास गर्न सक्दैनन्। किन यस्तो हुन्छ? यसको कारण के हो भने ख्रीष्टविरोधीहरू सारगत रूपमा सत्यताप्रति वितृष्ण हुन्छन्। ख्रीष्टविरोधीहरूको स्वभाव चरम रूपमा क्रूर र अहङ्कारी हुन्छ। सत्यता र तथ्यहरूप्रतिको तिनीहरूको मनोवृत्ति सधैँ हठ, प्रतिरोध, र विमुखताको मनोवृत्ति हुन्छ। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तब आफ्नो प्रतिष्ठा कायम राख्न आफूलाई सक्दो धेरै सही साबित गर्ने र स्पष्टीकरण दिनेबाहेक, तिनीहरूमा यस्तो दह्रिलो दृढ निश्चयता पनि हुन्छ: “म कुनै व्यक्तिमा होइन, परमेश्वरमा विश्वास गर्छु। परमेश्वर धर्मी छन्, र त्यो व्यक्तिले मलाई जसरी काटछाँट गरे पनि, उसले मेरो नियति निर्धारण गर्न सक्दैन। म सत्यता स्वीकार गर्दिनँ, तर उसले यसबारे के गर्न सक्छ र?” तिनीहरू हृदयमा यस्तो सोच्दै अवज्ञाकारी हुन्छन्, “पृथ्वीमा भएको त्यो व्यक्तिले जति नै सही वा सत्यता अनुरूपका कुराहरू बोले पनि, ती सत्यता होइनन्, स्वर्गको परमेश्वरका प्रत्यक्ष वाणीहरू मात्रै सत्यता हुन्; पृथ्वीमा भएको त्यो व्यक्तिले मानिसहरूलाई जसरी न्याय र सजाय गरे पनि, र जसरी काटछाँट गरे पनि, ऊ धर्मी होइन, स्वर्गका परमेश्वर मात्रै धर्मी छन्।” तिनीहरूको अव्यक्त तात्पर्य के हो? “पृथ्वीको परमेश्वरले भनेका कुराहरू जति नै सही वा सत्यता अनुरूप भए पनि, ती सत्यता होइनन्। स्वर्गका परमेश्वर मात्रै सत्यता हुन्, स्वर्गका परमेश्वर नै सबैभन्दा महान् छन्। पृथ्वीका परमेश्वरले पनि सत्यता व्यक्त गर्न सक्ने भए पनि, उनलाई स्वर्गका परमेश्वरसँग तुलना गर्न सकिँदैन।” के तिनीहरूको तात्पर्य यही होइन र? (हो।) “म त स्वर्गका परमेश्वरमा विश्वास गर्छु, पृथ्वीका परमेश्वरमा होइन। यस्तो साधारण व्यक्ति तिमीले बोल्ने वचनहरू जति नै सही वा सत्यता अनुरूप भए पनि, तिमी स्वर्गका परमेश्वर होइनौ। स्वर्गका परमेश्वर सबै थोकमाथि सार्वभौम छन्। स्वर्गका परमेश्वरले मेरो नियति निर्धारित गर्छन्। पृथ्वीका परमेश्वरले मेरो नियति निर्धारित गर्न सक्दैनन्। पृथ्वीका परमेश्वरले भनेका कुराहरू जति नै सत्यता अनुरूप भए पनि, म उनलाई स्वीकार गर्नेछैनँ। म स्वर्गका परमेश्वरलाई मात्रै स्वीकार गर्छु र उनीप्रति मात्रै समर्पित हुन्छु। स्वर्गका परमेश्वरले मसँग जे-जस्तो व्यवहार गरे पनि, म त्यसमा समर्पित हुनेछु।” यी सबै शब्दहरू ख्रीष्टविरोधीहरूले काटछाँटमा पर्दा प्रकट गर्ने शब्दहरू हुन्। यी सबै तिनीहरूको हृदयबाट आएका शब्दहरू हुन्। तिनीहरूका यी हार्दिक शब्दहरूले पूर्ण रूपमा तिनीहरूको स्वभाव प्रतिनिधित्व गर्छन् र सत्यताप्रति वितृष्णा राख्ने र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सार प्रकट गर्छन्। जब ख्रीष्टविरोधीहरूले यी शब्दहरू प्रकट गर्छन्, तब तिनीहरूको साँचो अनुहार पूर्ण रूपमा उदाङ्गो हुन्छ। यो भन्न सकिन्छ कि यी शब्दहरू बोल्न सक्ने जोकोही व्यक्ति सच्चा ख्रीष्टविरोधी र पक्का दियाबलस र शैतान हो। कतिपय ख्रीष्टविरोधीहरूले चाहिँ काटछाँटमा पर्दा अटेरी मनोवृत्ति देखाउँछन् जुन न त ज्यू-ज्यू गर्ने खालको न त कज्याउने खालको नै हुन्छ। तिनीहरूले सत्यता स्वीकार गर्दैनन् र काटछाँट हुन मान्दैनन्, न त तिनीहरूले आफूलाई नै साँचो रूपमा चिन्छन्। बरु, तिनीहरू आफ्नो दृढ निश्चयतामै फर्कन्छन् र यसलाई आफ्नो प्रतिष्ठा, हैसियत, र उपस्थिति बोध रक्षा गर्न प्रयोग गर्छन्, र यसरी आफ्नो अविश्वासी सार पूर्ण रूपमा खुलासा गर्छन्। तिनीहरूले सबैलाई खण्डन गर्न र हराउन, र सत्यता र पृथ्वीका परमेश्वरलाई इन्कार गर्न “म कुनै व्यक्तिमा होइन, परमेश्वरमा विश्वास गर्छु, र परमेश्वर धर्मी छन्” भन्ने शब्दहरू प्रयोग गर्छन्। यसको साथै, तिनीहरूले यी शब्दहरू प्रयोग गरेर आफ्नै पापप्रतिको आफ्नो जिम्मेवारी ढाकछोप गर्छन् र त्यसबाट उम्कन्छन्, र आफ्नो भ्रष्ट स्वभाव र आफ्नो प्रकृति सार ढाकछोप गर्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो दुष्ट कार्यहरू ढाकछोप गर्न आफ्नो दृढ निश्चयता र सिद्धान्तहरू प्रयोग गर्छन्, र तिनीहरूले आफूलाई सान्त्वना दिन र रक्षा गर्न पनि तिनको प्रयोग गर्छन्। तिनीहरूले आफूलाई कसरी सान्त्वना दिन्छन्? तिनीहरूले सोच्छन्, “ठीक छ, पृथ्वीमा भएको यो व्यक्तिले भनेको कुराको कुनै महत्त्व छैन। उनले भन्ने कुराहरू जति नै सही भए पनि, म तिनलाई स्वीकार गर्नेछैनँ। मैले तिनलाई स्वीकार नगरेसम्म, उनले भन्ने कुराहरू तथ्य होइनन् र ती सत्यता अनुरूप हुँदैनन्। त्यसकारण, मैले आफूले गर्ने कुनै पनि गल्ती, दुष्कर्म, वा अपराधहरूको जिम्मेवारी लिनुपर्दैन, मैले पहिलेजस्तै आफूलाई मनलाग्दो गर्न, छाती फुलाउँदै घुमिहिँड्न, र आफ्नै तरिकाले काम गर्न सक्छु।” त्यसकारण, ख्रीष्टविरोधीहरू आशिष्हरू प्राप्त गर्ने आफ्नो इच्छा र अभिप्रायमा अन्त्यसम्मै अडिग रहँदै कुनै शङ्काविना र कुनै लाजविना यसरी नै आफ्नो बाटो हिँडिरहन्छन्। ख्रीष्टविरोधीहरूको साँचो रूप यही हो।
जब ख्रीष्टविरोधीहरू काटछाँटमा पर्छन्, तब तिनीहरू खुलासा हुन्छन्। यही नै तिनीहरूको प्रकृति सार खुलासा हुने सम्भावना बढी भएको समय हो। सबभन्दा पहिलो कुरा: के तिनीहरूले आफ्नो दुष्ट कार्य स्वीकार गर्न सक्छन्? दोस्रो कुरा: के तिनीहरूले आफ्नो बारेमा मनन गर्न र आफूलाई चिन्न सक्छन्? अनि तेस्रो कुरा: के काटछाँटमा पर्दा तिनीहरूले यसलाई परमेश्वरबाट आएको भनी स्विकार्न सक्छन्? यी तीन मापनहरूद्वारा, ख्रीष्टविरोधीको प्रकृति सार देख्न सकिन्छ। यदि कुनै व्यक्ति काटछाँटमा पर्दा समर्पित हुन सक्छ, र आफ्नो बारेमा मनन गर्न सक्छ, र यसरी भ्रष्टता र भ्रष्ट सारका आफ्नै प्रकटीकरणहरू चिन्न सक्छ भने, त्यो व्यक्ति सत्यता स्वीकार गर्न सक्ने व्यक्ति हो। ऊ ख्रीष्टविरोधी होइन। ख्रीष्टविरोधीमा यी तीन वटै कुराको कमी हुन्छ। ख्रीष्टविरोधीले यसको सट्टा अर्कै कुरा गर्छ, कसैले अपेक्षा नगरेको कुरा गर्छ—अर्थात्, जब ऊ काटछाँटमा पर्छ, तब उसले आधारहीन प्रत्यारोप लगाउँछ। यस्ताहरूले आफ्नो गल्ती स्वीकार गर्नु र आफ्नो भ्रष्ट स्वभाव स्वीकार गर्नुको सट्टा, आफूलाई काटछाँट गर्ने व्यक्तिलाई दोष दिन्छन्। तिनीहरूले कसरी त्यसो गर्छन्? तिनीहरूले भन्छन्, “सबै काटछाँट सही हुन्छ भन्ने छैन। काटछाँट त मान्छेको दोषारोपण, मान्छेको न्यायसँग जोडिने कुरा हो; यो कार्य परमेश्वरको खातिर गरिएको हुँदैन। परमेश्वर मात्रै धर्मी हुन्छन्। अरूलाई दोष दिनेहरूलाई दोषी ठहराइनुपर्ने हुन्छ।” के यो आधारहीन प्रत्यारोप होइन र? त्यस्तो आधारहीन प्रत्यारोप लगाउने व्यक्ति कस्तो व्यक्ति हो? मूर्खतापूर्ण रूपमा समस्याजनक व्यक्ति, जो समझप्रति प्रतिरोधी छ, त्यस्तो व्यक्तिले मात्रै त्यसो गर्छ, र दियाबलसहरू र शैतानजस्तो व्यक्तिले मात्रै त्यसो गर्छ। विवेक र समझ भएको व्यक्तिले त्यस्तो कुरा कहिल्यै गर्नेछैन। त्यसकारण, काटछाँटमा पर्दा आधारहीन प्रत्यारोप लगाउनेहरू दुष्ट मानिसहरू नै हुनुपर्छ। तिनीहरू सबै दियाबलसहरू हुन्। जब ख्रीष्टविरोधीहरूले आधारहीन प्रत्यारोपहरू लगाउँछन्, तब तिनीहरूले प्रायजसो के भन्छन्? “म परमेश्वरमा विश्वास गर्छु, र परमेश्वर धर्मी छन्! म कुनै व्यक्तिमा होइन, परमेश्वरमा समर्पित हुन्छु! सबै काटछाँट सही हुन्छ भन्ने छैन। यदि परमेश्वरले मलाई काटछाँट गरे भने, म यसलाई स्वीकार गर्नेछु, तर यदि मानिसहरूले मलाई काटछाँट गरे भने, म स्वीकार गर्नेछैनँ!” ख्रीष्टविरोधीहरूले भन्ने पहिलो कुरा हो, “परमेश्वर धर्मी छन्!” तैँले सुन्न सक्छस्, तिनीहरूको स्वर शैलीमा खराब मानसिकता हुन्छ। तिनीहरूले भन्ने दोस्रो कुरा हो, “म कुनै व्यक्तिमा होइन, परमेश्वरमा समर्पित हुन्छु!” के तिमीहरूले यी दुई अभिव्यक्ति सुनेका छौ? (छौँ।) के तिमीहरूले कहिल्यै त्यस्तो कुरा बोलेका छौ? (छैनौँ।) धेरैजसो मानिसहरूले यी दुई अभिव्यक्ति व्यक्त गर्ने आँट गर्दैनन्। तिनीहरूको जीवनमा तिनीहरूले सकारात्मक ठानेका र तिनीहरूले स्वीकार गर्नुपर्ने भनी ठानेका कुरा आइपर्दा मात्रै तिनीहरूले यसो भन्छन्: “परमेश्वर साँच्चै नै धर्मी हुनुहुन्छ, मलाई काटछाँट गरिनु र अनुशासनमा राखिनु सही हो।” तिनीहरूले यसलाई सकारात्मक तरिकाले स्वीकार गर्छन्, र यी वचनहरू आफ्नो हितहरू रक्षा गर्न वा आफूलाई सही साबित गर्न र व्याख्या गर्न कदापि प्रयोग गरिरहेका हुँदैनन्। तिनीहरूले यी वचनहरू र यो तथ्यलाई साँचो रूपमा हृदयको गहिराइबाट स्वीकार गर्छन् र मान्छन्। तर ख्रीष्टविरोधीहरूको मनोवृत्ति फरक हुन्छ। काटछाँटको प्रसङ्गमा, तिनीहरूले यस्तो स्वर शैली वा यस्तो अभिप्राय प्रयोग गरेर यसो भन्न सक्छन्, “म परमेश्वरमा विश्वास गर्छु, र परमेश्वर धर्मी छन्! म कुनै व्यक्तिमा होइन, परमेश्वरमा समर्पित हुन्छु!” यसको अर्थ के हो? के तिनीहरू सत्यता स्विकार्ने मानिसहरू हुन्? अवश्य नै होइनन्। तिनीहरूले काटछाँट परमेश्वरबाट आउँछ र यसलाई परमेश्वरले अनुमोदन गर्नुहुन्छ भन्ने कुरा इन्कार गर्छन्। तिनीहरूले यसलाई परमेश्वरबाट आएको भनी स्वीकार गर्न नसक्नुले नै तिनीहरूले सबै थोकमाथि रहेको परमेश्वरको सार्वभौमिकता स्वीकार गर्दैनन् र परमेश्वरका वचनहरू सत्यता हुन् भन्ने विश्वास गर्दैनन् भन्ने कुरा पूर्ण रूपमा प्रमाणित गर्छ। तब, तिनीहरूले कसरी परमेश्वर धर्मी हुनुहुन्छ भनेर स्वीकार गर्न सक्छन् र? तिनीहरूले अरूलाई दोष दिन, तिनीहरूसँग प्रतिकूल व्यवहार गर्ने, तिनीहरूलाई काटछाँट गर्ने, र तिनीहरूको भ्रष्ट स्वभाव खुलासा गर्ने मानिसहरूलाई दोष दिन बाहिरी रूपमा सही देखिने यी शब्दहरू प्रयोग गरिरहेका हुन्छन्। के यी दुष्ट मानिसहरूका कार्यहरू होइनन् र? तिनीहरू दुष्ट मानिसहरू हुन्। दुष्ट मानिसहरूले जटिल परिस्थितिमा परमेश्वरको प्रतिरोध गर्न र सत्यताको विरोध गर्न सही शब्दहरू प्रयोग गर्न सक्छन्, र आफ्ना हितहरू, आफ्नो छवि, र आफ्नो इज्जत र प्रतिष्ठा रक्षा गर्न सही शब्दहरू प्रयोग गर्न सक्छन्। के यो लाजमर्दो कुरा होइन र? “दुष्ट मानिसले आफ्नो अनुहार कठोर बनाउँछ” (हितोपदेश २१:२९), यो वाक्य दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूमा पुष्टि हुन्छ। ख्रीष्टविरोधीहरू यस्तै मानिसहरू हुन्।
ख्रीष्टविरोधीहरूले भन्ने अर्को कुरा हो: “म कुनै व्यक्तिमा होइन, परमेश्वरमा विश्वास गर्छु!” के यो वाक्य झट्ट हेर्दा गलत सुनिन्छ? (सुनिँदैन।) परमेश्वरमा विश्वास गर्नु अवश्य नै सही कुरा हो—कसैले पनि कुनै व्यक्तिमा विश्वास गर्नु हुँदैन। यी शब्दहरू अत्यन्तै राम्रा र सही छन्, र यिनमा केही पनि गलत छैन। तर दुःखको कुरा, यो वाक्य ख्रीष्टविरोधीको मुखबाट निस्कँदा यसको अर्थ परिवर्तन हुन्छ। यो अर्थ परिवर्तनले के देखाउँछ? यसले देखाउँछ कि, ख्रीष्टविरोधीहरूले आफूलाई समस्याबाट मुक्त गर्न र आफूलाई सही साबित गर्न सही शब्दहरू प्रयोग गर्छन्। यी शब्दहरू बोल्नुको पछाडि तिनीहरूको अभिप्राय के हुन्छ? तिनीहरूले यी शब्दहरू बोल्नुको कारण के हो? यसले तिनीहरूको सारका के-कस्ता पक्षहरू प्रमाणित गर्छ? (सत्यता स्वीकार नगर्ने, सत्यतालाई घृणा गर्ने।) ठीक भन्यौ, तिनीहरूले सत्यता स्वीकार गर्दैनन्। ठीक छ, तिनीहरूले सत्यता स्वीकार गर्दैनन्, तर के तिनीहरूले खुलस्तसित “म यो स्वीकार गर्दिनँ; तिमीले भनेको कुरा सही भए नि, म यो स्वीकार गर्दिनँ” भनेर भन्नेछन् त? यदि तिनीहरूले यसो भन्थे भने, मानिसहरूले तिनीहरूलाई चिन्न सक्नेथिए, र सबैले तिनीहरूलाई इन्कार गर्नेथिए, र तिनीहरूले आफ्नो स्थान कायम राख्न नसक्नेथिए, त्यसकारण तिनीहरूले यसो भन्न सक्दैनन्। तिनीहरूले यी कुराहरू हृदयमा स्पष्ट रूपमा बुझेका हुन्छन्। यहीँनेर ख्रीष्टविरोधीहरूको छल र दुष्टता हुन्छ। तिनीहरूले सोच्छन्, “यदि मैले खुलस्त रूपमा तिम्रो विरोध गरेँ, खुलस्तसित तिमी विरुद्ध सोर मच्चाएँ र तिम्रो विरोध गरेँ भने, तिमी मलाई सत्यता नस्विकार्ने व्यक्ति भनी भन्नेछौ। त्यसकारण म सत्यता स्वीकार गर्दिनँ भन्ने कुरा तिमीलाई देखाउनेछैनँ। म यो मामला समाधान गर्न र आफूलाई रक्षा गर्न अरू माध्यमहरू प्रयोग गर्नेछु।” त्यसकारण, तिनीहरूले भन्छन्: “म कुनै व्यक्तिमा होइन, परमेश्वरमा विश्वास गर्छु!” तिनीहरूले परमेश्वरमा विश्वास गरे पनि वा कुनै व्यक्तिमा विश्वास गरे पनि, हामीले यहाँ चिरफार गरिरहेको कुरा ख्रीष्टविरोधीहरूले सत्यता स्वीकार गर्छन् कि गर्दैनन् भन्ने हो। के तिनीहरूले यसो भनेर अवधारणाहरू मिसाइरहेका हुँदैनन् र? तिनीहरूले अवधारणाहरू मिसाइरहेका हुन्छन् र मानिसहरूको आँखामा छारो हाल्ने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूले सत्यता स्वीकार गर्दैनन् भन्ने कुरा देख्नबाट मानिसहरूलाई रोक्न, तिनीहरूले परमेश्वरलाई स्वीकार गर्छु र सत्यतालाई स्वीकार गर्छु, परमेश्वरमा विश्वास गर्छु र परमेश्वर सत्यता हुनुहुन्छ भनेर विश्वास गर्छु, र परमेश्वर सत्यता हुनुभएकोले, परमेश्वर व्यक्ति बन्न सक्नुहुन्न, र उहाँ व्यक्ति बन्नुभयो भने, उहाँसँग सत्यता हुँदैन, र त्यो व्यक्ति परमेश्वर हुँदैन भनेर भन्छन्। यसको आधारमा मूल्याङ्कन गर्दा, के तिनीहरू ख्रीष्टविरोधीहरूको रूपमा पहिले नै खुलासा भइसकेका छैनन् र? तिनीहरूले परमेश्वर ख्रीष्ट बन्न र साधारण व्यक्ति बन्न सक्नुहुन्छ भन्ने कुरा स्वीकार गर्दैनन्। तिनीहरूले सोच्छन् कि स्वर्गको परमेश्वर, अदृश्य र अमूर्त परमेश्वर, र मान्छेद्वारा स्वेच्छाचारी ढङ्गले कल्पना र प्रयोग गर्न सकिने परमेश्वर मात्रै परमेश्वर हुनुहुन्छ। के यो दृष्टिकोण र पावलको दृष्टिकोणको बीचमा कुनै समानताहरू छन्? (छन्।) पृथ्वीको ख्रीष्टप्रति पावलको मनोवृत्ति के थियो? के उसले उहाँको अस्तित्व मान्यो? के उसले उहाँलाई स्वीकार गर्यो? (गरेन।) पावलले भन्यो: “ख्रीष्ट जीवित परमेश्वरका पुत्र हुन्, र हामी पनि जीवित परमेश्वरका पुत्रहरू हौँ। यसको अर्थ हामी सबै ख्रीष्टका दाजुभाइ-दिदीबहिनी हौँ, र वरिष्ठताको हिसाबले, हामी सबै समान छौँ। हामीले विश्वास गर्ने परमेश्वर स्वर्गमा छन्। पृथ्वीमा कुनै पनि परमेश्वर छैन। त्यसकारण गलत नबुझ, पृथ्वीमा रहेको यो व्यक्ति ख्रीष्ट हो, उनी परमेश्वरका पुत्र हुन्। उनी परमेश्वरजस्तै होइनन्। उनले स्वर्गको परमेश्वरको प्रतिनिधित्व गर्न सक्दैनन्, मान्छेले उनलाई सत्यताको रूपमा लिन मिल्दैन, र मान्छेले उनलाई पछ्याउनुपर्दैन।” हामीले “म कुनै व्यक्तिमा होइन, परमेश्वरमा विश्वास गर्छु” भनी ख्रीष्टविरोधीहरूले भन्ने शब्दहरूबाट के कुरा चिरफार गर्न सक्छौ? पावलजस्तै, तिनीहरूले स्वर्गको अस्पष्ट परमेश्वरलाई मात्रै मान्छन्, र ख्रीष्ट परमेश्वर हुनुहुन्छ भनेर मान्दैनन्। अर्को शब्दमा भन्दा, तिनीहरूले परमेश्वर देह बनेर साधारण व्यक्ति बन्नुभएको छ भन्ने तथ्य स्विकार्दैनन्—यो कुरामा ख्रीष्टविरोधीहरू ठ्याक्कै पावलजस्तै हुन्छन्। तिनीहरूको आशय यस्तो हुन्छ: “यदि तिमी परमेश्वरमा विश्वास गर्छौ भने, कुनै व्यक्तिमा होइन, परमेश्वरमा विश्वास गर। कुनै व्यक्तिमा विश्वास गर्नु व्यर्थ हुन्छ, र व्यक्तिमा विश्वास गरेर आशिष्हरू प्राप्त गर्न सकिँदैन। परमेश्वरमा विश्वास गर्नको लागि तिमीले स्वर्गको परमेश्वर, अर्थात् अदृश्य परमेश्वरमा विश्वास गर्नुपर्छ। स्वर्गको परमेश्वर अत्यन्तै महान् र सर्वशक्तिमान् छन्, तर पृथ्वीको परमेश्वरले के गर्न सक्छन् र? उनले केही सत्यता व्यक्त गर्न र केही सही वचन बोल्न मात्र सक्छन्।” यी शब्दहरूको आधारमा तिनीहरूको सार चिरफार र मूल्याङ्कन गर्दा थाहा हुन्छ: तिनीहरूले ख्रीष्टलाई विरोध गरिरहेका छन्, ख्रीष्टलाई स्विकारिरहेका छैनन्, र परमेश्वर देह बन्नुभएको तथ्य इन्कारिरहेका छन्। तिनीहरू पूर्णतया ख्रीष्टविरोधीहरू हुन्।
जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, जब तिनीहरूले बाधाहरू सामना गर्छन्, र जब कसैले तिनीहरूको खुलासा गर्छ, तब तिनीहरूले आफूलाई रक्षा गर्न, अर्को व्यक्तिले तिनीहरूलाई खुलासा गरेको इन्कार्न, र अर्को व्यक्तिले तिनीहरूलाई काटछाँट गरेको इन्कार्न “परमेश्वर धर्मी छन्” भन्ने वाक्यांश प्रयोग गर्छन्। मामला जेसुकै भए पनि, तिनीहरूलाई काटछाँट गरिँदा, तिनीहरूको प्रमुख मनोवृत्ति अवज्ञा, प्रतिरोध, र अस्वीकार गर्ने हुन्छ, र तिनीहरू आफूलाई सही साबित गर्न र रक्षा गर्न सक्दो प्रयास गर्छन्। कतिले त यसोसमेत भन्छन्: “समयले सबै कुरा प्रकाश गर्नेछ। परमेश्वर धर्मी छन्। परमेश्वरले नै मलाई एकदिन यो कुरा प्रकाश गरून्!” तिनीहरू भ्रष्ट मानिसहरू भएकाले, तिनीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा परमेश्वरको घरको काममा जति नै ठूलो घाटा ल्याए पनि, तिनीहरूले यसबारे कुनै वास्ता गर्ने वा ध्यान दिने गर्दैनन्। यदि यो तथ्य खुलासा भयो भने पनि, तिनीहरूले अझै यी घाटाहरू तिनीहरूकै कारणले आएका हुन् भनेर स्वीकार गर्दैनन् र तिनीहरू जिम्मेवारी लिन अनिच्छुक हुन्छन्। अन्त्यमा पनि तिनीहरू अझै परमेश्वरले नै तिनीहरूलाई यो कुरा प्रकाश गरेको चाहन्छन्, मानौँ परमेश्वर तिनीहरूको सेवामा हुनुहुन्छ, र तिनीहरूले गल्ती गर्दा उहाँले तिनीहरूको प्रतिरक्षा गर्नुपर्छ, मानौँ उहाँ त्यस्तो परमेश्वर हुनुहुन्छ। तिनीहरूले सत्यता स्विकार्दैनन्, तिनीहरूले काटछाँटमा पर्न स्विकार्न सक्दैनन्, र आफूलाई चिन्न सक्दैनन्, तर त्यति मात्रै होइन—तिनीहरूले त परमेश्वरलाई तिनीहरूको लागि स्पष्टीकरण दिन र पुष्टि गर्न समेत अनुरोध गर्छन्। के यो लाजमर्दो कुरा होइन र? यो त अति लाजमर्दो कुरा हो! ख्रीष्टविरोधीहरू सबै हदैसम्म लाजमर्दा हुन्छन्, र तिनीहरू हदैसम्म दुष्ट पनि हुन्छन्। यो एउटा पक्ष हो। ख्रीष्टविरोधीहरू काटछाँटमा पर्दा तिनीहरूले प्रायजसो कुन-कुन दुई अभिव्यक्ति बोल्छन्? (“म कुनै व्यक्तिमा होइन, परमेश्वरमा विश्वास गर्छु!” “परमेश्वर धर्मी छन्!”) तिनीहरूले नियमित रूपमा प्रयोग गर्ने भनाइहरू यिनै हुन्। तिनीहरूले अरू कुनै पनि प्रकारको झूटो तर्क बोल्न सक्दैनन्, तिनीहरूले त्यसो गर्ने आँट गर्दैनन्। तिनीहरूले गलत कुरालाई सही कुरामा परिणत गर्ने, दुष्ट कुरालाई न्यायसङ्गत कुरामा परिणत गर्ने, र आफ्नो गल्ती र आफूले निम्त्याएका घाटाहरूलाई उचित कुरामा परिणत गर्ने प्रयास गर्दै मानिसहरूलाई बहकाउन र आफ्नै पक्षमा अनुचित तर्क गर्न यी दुई सही अभिव्यक्तिहरू प्रयोग गर्छन्। तिनीहरूले यी सबै कुराहरूलाई एकै पटकमा रद्द गर्न, पूर्ण रूपमा मेटाउन, र ती अस्तित्वमा छैनन् भन्ने नाटक गर्न यी दुई अभिव्यक्तिहरू प्रयोग गर्न चाहन्छन्, र तिनीहरूले सधैँ विश्वास गर्दै आएजसरी नै विश्वास गरिरहन्छन्। के ख्रीष्टविरोधीहरूको यो प्रकटीकरणमा पश्चात्ताप हुन्छ? (अहँ, हुँदैन।) तिनीहरू पश्चात्तापी नभएको मात्र होइन, तिनीहरूले त ख्रीष्टविरोधीहरूको अर्को पक्ष अर्थात् सत्यताप्रतिको वितृष्णा, अहङ्कार, दुष्टता, र क्रूरता पनि प्रकट गर्छन्। तिनीहरूले आफूलाई काटछाँट गर्ने जोकोहीलाई घृणा गर्ने गरेको, र “तिमी त व्यक्ति मात्रै हौ, मलाई तिमीसँग डर लाग्दैन!” भनेर सोच्ने गरेको तथ्यमा नै तिनीहरूको अहङ्कार प्रकट हुन्छ। के यो अहङ्कारी कुरा होइन र? (हो।) तिनीहरूको दुष्टता कुन तरिकाले प्रकट हुन्छ? (निराधार प्रत्यारोपहरू लगाउने रूपमा।) निराधार प्रत्यारोप लगाउनु एउटा पक्ष हो, र अर्को पक्ष भनेको आफ्नो स्पष्टीकरण दिन, आफूलाई सही साबित गर्न, र आफ्नो रक्षा गर्न सही शब्दहरू प्रयोग गर्नु हो। यसमा अर्को कुन स्वभाव लुकेको हुन्छ? निराधार प्रत्यारोपहरू लगाउनु क्रूरता पनि हो। ख्रीष्टविरोधीहरूले परमेश्वरको वचन सत्यता हो भनेर स्वीकार गर्दैनन्। यदि कसैले तिनीहरूको यो सार खुलासा गर्यो भने पनि, तिनीहरू आफूले सत्यता नस्विकार्ने तथ्यलाई अझै स्वीकार गर्दैनन्। तिनीहरूले आत्मचिन्तन गर्दैनन् र आफूलाई चिन्ने प्रयास गर्दैनन्; बरु, तिनीहरूले निराधार प्रत्यारोपहरू लगाउँछन्, र अरूलाई दोष दिन सही र राम्रा सुनिने शब्दहरू प्रयोग गर्छन्। तिनीहरूले अरूलाई दोष दिन प्रयोग गर्ने विधि र भनाइहरू धूर्त र दुष्ट हुन्छन्। तिनीहरू अरूलाई दोष दिन र चुप लगाउन कुन-कुन शब्दहरू प्रयोग गर्ने भनेर जान्दछन्, ताकि अब के भन्ने भनेर अरू मानिसहरूलाई थाहा नहोस् र अरूले तिनीहरूलाई केही गर्न नसकून्। यो दुष्टता हो। तिनीहरूको यो विधि र अभ्यास स्पष्ट रूपमै क्रूर स्वभाव हो। ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिने मामलाबाट हामीले चिरफार गर्न सक्ने ख्रीष्टविरोधीहरूका विभिन्न स्वभावहरू यिनै हुन्। के ख्रीष्टविरोधीहरूका यी स्वभाव र प्रकटीकरणहरू हामीले यसअघि बताएका चार वटा विषयवस्तुहरूसँग मिल्दैनन् र? (मिल्छन्।) ती चार वटा विषयवस्तुहरू के-के हुन्? (पहिलो विषयवस्तु भनेको परमेश्वरको वचन सत्यता हो भनेर विश्वास नगर्नु र स्वीकार गर्न नमान्नु हो; दोस्रो विषयवस्तु भनेको तैँले तिनीहरूसँग परमेश्वरको वचनमा सङ्गति गरिस्, र तिनीहरूले सत्यता बुझे भने पनि, तिनीहरूले यसलाई स्वीकार गर्दैनन् भन्ने हो; तेस्रो विषयवस्तु भनेको परमेश्वरको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुन नमान्नु हो; चौथो विषयवस्तु भनेको कहिल्यै पनि साँचो रूपमा पश्चात्ताप नगर्नु हो।) विश्वास नगर्नु, स्वीकार नगर्नु, समर्पित नहुनु, र पश्चात्ताप नगर्नु, यी “चार वटा तथ्य” ले ख्रीष्टविरोधीहरूको सार प्रतिनिधित्व गर्छन्। ख्रीष्टविरोधीहरूले कहिल्यै पनि सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले कहिल्यै पनि तथ्यहरूको अघि शिर झुकाउँदैनन्। यो जिद्दी अपश्चात्तापी मन हो र यो ख्रीष्टविरोधीहरूको प्रकृतिबाट प्रकट हुने कुरा हो। यो ख्रीष्टविरोधीहरूले काटछाँटमा पर्नुलाई कसरी लिन्छन् भन्ने कुराको पहिलो प्रकटीकरण हो। ख्रीष्टविरोधीहरूको स्वभाव सार उस्तै हुने भए पनि, तिनीहरूको मुखबाट आउने प्रसिद्ध भनाइ र महान् आदर्श वाक्यहरू चाहिँ पक्कै पनि उस्तै हुँदैनन्। ख्रीष्टविरोधीहरूले कहिलेकाहीँ एउटा कुरा र कहिलेकाहीँ अर्कै कुरा भन्न सक्छन्, तर तिनीहरूको मुखबाट जस्तोसुकै कुरा निस्के पनि, यसको विशेषता र सार उस्तै हुनेछन्—सत्यता स्वीकार नगर्नु नै तिनीहरूको शब्दहरूको सार हो। यदि तिनीहरूले सत्यता स्वीकार गर्दैनन् भने, तिनीहरूका यी शब्दहरू के हुन् त? के ती सत्यतासँग मेल खाने शब्दहरू हुन् त? के ती मानव शब्दहरू हुन् कि नैतिकतासँग मेल खाने शब्दहरू हुन्? के ती विवेक र समझसँग मेल खाने शब्दहरू हुन्? (ती दुष्ट शब्दहरू हुन्।) ठीक भन्यौ। तिनलाई खोक्रा वा भ्रामक शब्दहरू भनेर भन्दा त्यो त्यति सटीक परिभाषा हुँदैन, तर ती दुष्ट शब्दहरू हुन् भनेर भन्दा मामला स्पष्ट हुन्छ।
जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, जब तिनीहरूलाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूद्वारा आलोचना र खुलासा गरिन्छ, तब तिनीहरूले अरू के-कस्ता शब्दहरू बोल्छन्? कतिपय ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउन गलत कार्यहरू गर्छन् वा केही दुष्ट शब्दहरू बोल्छन्। जब विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले यो कुरा देख्छन्, तब तिनीहरूलाई आलोचना र काटछाँट गर्छन्, र तिनीहरू धूर्त र छली हुन् भनेर खुलासा गर्छन्। तिनीहरू बाहिरी रूपमा त अवज्ञाकारी हुँदैनन्, तर भित्री रूपमा तिनीहरू प्रतिरोधी हुन्छन्, यस्तो लाग्छ मानौँ तिनीहरूले यसो भनिरहेका छन्, “तिमीलाई के थाहा छ? के तिमी मजस्तै ज्ञानले भरिएको छौ? के तिमीले पनि मैले जस्तै धेरै वर्षदेखि परमेश्वरमा विश्वास गरेको छौ? तिमीले परमेश्वरमा विश्वास गरेको कति वर्ष भयो? म आफैलाई तिम्रो स्तरमा झार्दिनँ!” जब अगुवा र सेवकहरूले तिनीहरूलाई काटछाँट गरिरहेका हुन्छन्, तब तिनीहरूले धूर्त मनोवृत्ति अपनाउन सक्छन्, र यसरी बाहिर ठिक्क पार्छन्, र केही राम्रा सुनिने शब्दहरू बोल्छन्, तर गुप्त रूपमा तिनीहरू असन्तुष्ट र अवज्ञाकारी हुन्छन्, र बदला लिने मौका खोज्छन्। यदि तिनीहरूलाई काटछाँट गर्ने काम साधारण दाजुभाइ वा दिदीबहिनीले गरेको हो भने, ख्रीष्टविरोधीहरूले त्यति राम्रो व्यवहार गर्दैनन्—तिनीहरू रिसाउनेछन् र क्रोधित हुनेछन्, र तिनीहरूले प्रतिप्रहार गर्नेछन् र बदला लिनेछन्। जब तिनीहरूले प्रतिप्रहार गर्ने र बदला लिने काम गर्छन्, तब तिनीहरूले प्रायजसो यस्तो कुरा बोल्छन्: “मलाई काटछाँट गर्नको लागि तपाईं अत्यन्तै अपरिपक्व हुनुहुन्छ! यदि मैले परमेश्वरमा विश्वास नगर्ने भए, म कसैको डर मान्नेथिइनँ!” के यी शब्दहरूमा केही गलत छैन र? यस्ता शब्दहरू प्रायजसो गैरविश्वासी र गम्भीर रूपमा धूर्त मानिसहरूले बोल्ने गर्छन्। मण्डलीमा कसरी यस्तो कुरा सुन्न सकिन्छ? यसरी बोल्न सक्ने मानिसहरू एक अनौठो समूह हुन्, र यो अनौठो समूहको चित्तप्रकृति पनि अनौठो नै हुन्छ। तिनीहरूको चित्तप्रकृति कसरी अद्वितीय हुन्छ? त्यस्ता मानिसहरूले मण्डलीभित्र प्रायजसो वरिष्ठताबारे विचार गर्छन्। तिनीहरूले सबैलाई आफूभन्दा नीचा ठान्छन्, सबैलाई घृणा गर्छन्, र सबैलाई भाषण सुनाउन, दण्ड दिन, र गोटीझैँ चलाउन चाहन्छन्। तिनीहरूले तिनीहरू परमेश्वरमा विश्वास गर्ने भए पनि, तिनीहरूको सहकर्मी हुन कोही पनि योग्य छैन भन्ने सोच्छन्। मानिसहरूले तिनीहरूसित दाजुभाइ-दिदीबहिनीहरूजस्तो व्यवहार गर्दा र हृदयदेखि कुरा गर्दा, तिनीहरूको भ्रष्ट स्वभाव खुलासा गर्दा, र तिनीहरूले प्रदर्शन गरेका तर सत्यताअनुरूप नरहेका बोली र व्यवहारहरू काटछाँट गर्दा, तिनीहरूले यी अहङ्कारी शब्दहरू बोल्नु कुनै अचम्म होइन। तिनीहरूले परमेश्वरको घरलाई समाज र आफ्नै राज्यक्षेत्रको रूपमा लिन्छन्, र मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई आफूभन्दा कनिष्ठहरूको रूपमा लिन्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई समाजका मामलाहरूबारे थोरै मात्र थाहा छ र तिनीहरूसँग सतही बुझाइ मात्रै छ, तिनीहरू समाजको तल्लो स्तरमा छन्, जसलाई अरूले हेला गर्छन्, खेलबाड गर्छन्, र कुल्चीमिल्ची पार्छन् भन्ने सोच्छन्। तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई हेप्न र खेलबाड गर्न सजिलो छ, र तिनीहरू त्यस्तो व्यक्ति हुनेछैनन् भन्ने सोच्छन्। त्यसकारण, तिनीहरू तिनीहरूलाई काटछाँट र खुलासा गर्ने व्यक्तिले तिनीहरूलाई हेपिरहेको, हेला गरिरहेको, र बहिष्कार गरिरहेको हुन्छ भन्ने सोच्छन्। तिनीहरू पहिले नै हृदयमा यसबाट सावधान भइसकेका हुन्छन्, “तिमीले मलाई दण्ड दिन र हेप्न सक्छौ भन्ने नसोच! तिमी अझै पनि अपरिपक्व छौ!” के यो “नायकी आत्मा” भएको व्यक्तिले भन्ने कुरा होइन र? तर दुःखको कुरा, यी शब्दहरू सत्यता होइनन्। तँमा जति धेरै आत्मा वा नैतिक निष्ठा भए पनि, परमेश्वरले तँलाई अनुमोदन गर्नुहुनेछैन। परमेश्वरले यस्ता स्वभाव र यस्ता शब्दहरू बोल्ने मानिसहरूलाई घृणा गर्नुहुन्छ। परमेश्वरसामु यस्ता कुराहरू बोल्ने मानिसहरूलाई परमेश्वरले दोषी ठहराउनुहुन्छ र तिरस्कार गर्नुहुन्छ। यी शब्दहरू सत्यता नै हुन् जसरी पक्रेर बस्ने मानिसहरूलाई परमेश्वरले कहिल्यै मुक्ति दिन सक्नुहुन्न। त्यसैले, फेरि हेरौँ, यी शब्दहरूमा के गलत छ? सत्यतासामु सबै समान हुन्छन्, र परमेश्वरको घरमा कर्तव्य पूरा गर्नेहरूको हकमा उमेर वा नीचता र महान्ताको कुनै भिन्नता हुँदैन। कर्तव्यसामु सबै समान हुन्छन्, यति हो तिनीहरूले फरक-फरक काम गर्छन्। कोसँग वरिष्ठता छ भन्ने आधारमा तिनीहरूबीच कुनै भिन्नता हुँदैन। सत्यतासामु सबैले नम्र, समर्पित, र स्वीकार गर्ने हृदय राख्नुपर्छ। मानिसहरूमा यो समझ र यो मनोवृत्ति हुनुपर्छ। त्यसैले, “मलाई काटछाँट गर्नको लागि तपाईं अत्यन्तै अपरिपक्व हुनुहुन्छ!” भनेर भन्ने मानिसहरू समाजको वातावरण, विचारधारा, र फोहोरीपनले भरिएका हुँदैनन् र? तिनीहरूले परमेश्वरको घरलाई समाजको रूपमा लिन्छन्, परमेश्वरको घरका दाजुभाइ-दिदीबहिनीहरूलाई समाजको तल्लो स्तरको कमजोर समूहको रूपमा लिन्छन्, र आफूलाई सबै थोकको मालिक, कसैद्वारा छुन वा चिढ्याउन नसकिने व्यक्ति, र आफूलाई खुलासा गर्ने र काटछाँट गर्नेहरूलाई केही राम्रो हुन नदिने सुनिश्चित गर्ने व्यक्तिको रूपमा लिन्छन्। तिनीहरूले सोच्छन्, परमेश्वरको घर समाजजस्तै हो, र जो दृढ र हैकमवाल छ ऊ दह्रिलो गरी खडा हुन सक्छ, जो निर्दयी, खुँखार, र दुष्ट छ उसलाई कसैले छुने आँट गर्दैन, र काटछाँट हुन स्विकार्ने मानिसहरू सबै अयोग्य र असमर्थ मानिसहरू हुन्। तिनीहरूले सोच्छन्, केही क्षमता भएका मानिसहरूलाई कसैले छुने आँट गर्दैन, गल्ती गरे पनि ती मानिसहरूलाई कसैले खुलासा गर्ने आँट गर्दैन, र तिनीहरू कठोर मानिसहरू हुन्! ख्रीष्टविरोधीहरूले सोच्छन्, तिनीहरू जुनसुकै समूहमा भए पनि, तिनीहरू शक्तिशाली, र अरूले हेप्न वा लरतरले छुन नसक्ने गरी निर्दयी र दुष्ट हुनुपर्छ। तिनीहरूले यो क्षमता र योग्यता हो भन्ने सोच्छन्, र तिनीहरूले हैसियत, ख्याति, र लाभ प्राप्त गर्न, र अन्ततः असल गन्तव्य प्राप्त गर्न यो क्षमता प्रयोग गर्न चाहन्छन्। यो कस्तो स्वभाव हो? यो क्रूर र दुष्ट दुवै हो। ख्रीष्टविरोधीहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले सत्यता बुझ्न सक्दैनन्। तिनीहरूले परमेश्वरको घरमा सत्यताले शासन गर्छ भन्ने कुरा देख्न सक्दैनन्। तिनीहरूले सत्यता स्वीकार गर्ने मानिसहरूले हासिल गर्ने परिवर्तनहरू देख्न सक्दैनन्, र तिनीहरूले ती परिवर्तनहरू देखे पनि, तिनलाई परिवर्तनको रूपमा स्वीकार गर्दैनन्। तिनीहरूले सोच्छन्, ती सबै परिवर्तनहरू नाटक हुन् र ती आत्मसंयमका परिणाम हुन्, र तिनीहरूले यसको खातिर आफूलाई संयम राख्ने र चुपचाप सबै स्विकार्नेछैनन्। तिनीहरूमा यस्तो तर्क हुने हुनाले, तिनीहरूले “तिमीहरूले मलाई दण्ड दिन र हेप्न सक्छौ भन्ने नसोच!” भन्नेजस्ता कुराहरू बोल्न सक्छन्। के यो ख्रीष्टविरोधीहरूको दुष्टता होइन र? त्यस्ता विचार र दृष्टिकोणहरू दुष्ट हुन्। तिनीहरूले यी शब्दहरू बोल्न र यसरी व्यवहार गर्न सक्नु तिनीहरूको क्रूर स्वभावको प्रकटीकरण हो। के मण्डलीमा त्यस्ता मानिसहरू हुन्छन्? जब दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूसँग मनदेखि कुरा गर्छन्, तिनीहरूलाई खुलासा गर्छन्, तिनीहरूका समस्या, कमीकमजोरी, र भ्रष्टताका प्रकटीकरणहरूबारे कुरा गर्छन्, तब तिनीहरूले आफूहरूलाई हेपिएको छ र अपमानित गरिएको छ, र गम्भीरतापूर्वक लिइएको छैन भन्ने सोच्छन्। त्यसपछि तिनीहरूले भन्छन्, “मलाई काटछाँट गर्नको लागि तपाईं अत्यन्तै अपरिपक्व हुनुहुन्छ!” तिनीहरूले चाहे जोसुकैले काटछाँट हुन स्विकारेको देखे पनि, तिनीहरू सधैँ यस्तो सोच्छन्: “के काटछाँट हुन स्विकारेर सत्यता प्राप्त गर्न सक्छौ? त्यो असम्भव हुनेछ!” तिनीहरूले यो कुरा स्विकार्दैनन्। तिनीहरूलाई लाग्छ मानिसहरूलाई काटछाँट गर्नु भनेको तिनीहरूलाई हेप्नु हो र तिनीहरूलाई दण्ड दिने कुनै बहाना खोज्नु हो, र मानिसहरू अत्यन्तै निष्कपट भएकाले नै कुनै सानो गल्ती गर्दा पनि तिनीहरूलाई हेप्ने गरिएको हो। तिनीहरू मानिसहरूलाई काटछाँट गर्नु भनेको तिनीहरूलाई प्रेम र सहयोग गर्नु हो भनेर स्विकार्दैनन्। तिनीहरू मानिसहरूले काटछाँट हुन स्विकारेपछि मात्रै साँचो रूपमा पश्चात्ताप गर्न र परिवर्तन हुन सक्छन् भनेर स्विकार्दैनन्, झन् परमेश्वरको घरमा सत्यताले शासन गर्छ भन्ने तथ्य स्विकार्नु त परै जाओस्। त्यसैले, ख्रीष्टविरोधीहरू प्राय आफूलाई यसो भन्छन्: “जोसुकैले मलाई काटछाँट गरे नि, म त्यसलाई कहिल्यै त्यतिकै छोड्नेछैनँ। मलाई हेप्न म कसैलाई कुनै पनि हालतमा दिनेछैनँ!” कस्तो प्रकारका मानिसहरूले यस्ता शब्दहरू बोल्न सक्छन्? सत्यतालाई नस्विकार्ने र सत्यतालाई घृणा गर्नेहरूले मात्रै यस्ता शब्दहरू बोल्न सक्छन्। यस्तो क्रूर स्वभाव भएको, र यस्ता शब्दहरू बोल्न सक्ने कुनै पनि व्यक्तिमा ख्रीष्टविरोधीहरूको प्रकृति सार हुन्छ, र ऊ शैतान कोटिको हुन्छ।
काटछाँटमा पर्दा, ख्रीष्टविरोधीहरूले अर्को वाक्यांश पनि बोल्छन्: “मैले परमेश्वरमा विश्वास नगरेको भए, म कसैलाई टेर्नेथिइनँ!” यो वाक्यांशको अर्थ के हो? यो निश्चित प्रकारको ख्रीष्टविरोधीले व्यक्त गर्ने आम अभिव्यक्ति हो। तिनीहरूले यसो भन्ने हुनाले, हामी यसलाई चिरफार गरौँ। तिनीहरूले यी शब्दहरू बोल्न सक्ने हुनाले, अवश्य नै तिनको निश्चित अर्थ हुनुपर्छ। झट्ट हेर्दा यी शब्दहरूले भन्न खोजेको ती मानिसहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि, तिनीहरूमा ठूलो परिवर्तन आएको छ भन्ने हो जस्तो लाग्छ। यी शब्दहरूमा कृतज्ञताको बोध भएजस्तो पनि देखिन्छ, जस्तै: “परमेश्वरले मलाई परिवर्तन गरेका छन्, परमेश्वरले मलाई जितेका छन्। यदि परमेश्वरले मलाई परिवर्तन नगरेको भए, म अत्यन्तै अहङ्कारी हुनेथिएँ।” झट्ट हेर्दा यी शब्दहरूले कृतज्ञताको निश्चित मानसिकता बोकेजस्तो देखिन्छ, तर अर्को दृष्टिकोणबाट चिरफार गर्दा, यिनमा ठूलो समस्या देखिन्छ। ख्रीष्टविरोधीहरू भन्छन्, तिनीहरूले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले, तिनीहरूले कसैलाई पनि टेर्दैनथिए। यी मानिसहरूको स्वभाव के हो? (अहङ्कार र क्रूरता।) तिनीहरू अत्यन्तै अहङ्कारी र क्रूर मानिसहरू हुन्, र यदि तिनीहरूले परमेश्वरमा विश्वास नगरेका भए, तिनीहरू ठूलो दुष्टता भएका मानिसहरू हुन्थे। कसैलाई नटेर्नु भनेको कसैलाई आदर नगर्नु हो, र यसको अर्थ हो, तिनीहरूले सबैलाई कुल्चीमिल्ची पार्छन्, र अरू मानिसहरू जति नै महान् वा असल भए पनि, तिनीहरूको नजरमा केही पनि होइनन्। तिनीहरू कसैको अघि झुक्दैनन्, तिनीहरू सबैलाई घृणा गर्छन्, र तिनीहरू कसैको सेवा गर्दैनन्। यदि तिनीहरूलाई कुनै व्यक्तिको सेवा गर्न लगाइयो भने, यसले तिनीहरूको मर्यादामा चोट पुर्याउनेछ। यदि तिनीहरूको सेवा पाउन लायक कोही छ भने, त्यो स्वर्गमा बस्ने परमेश्वर मात्रै हुनुहुन्छ। अहिले तिनीहरूले परमेश्वरमा विश्वास गर्ने हुनाले, तिनीहरूले कसैलाई नटेर्ने यो प्रकटीकरण र खुलासा नियन्त्रण गरेका छन्, र परमेश्वरको घरमा आएपछि तिनीहरूले मन नलागीनलागी समूहमा सामान्य मानिसहरूजस्तै अरूसँग काम गर्न, मामलाहरू सम्हाल्न र अरूसँग अन्तरक्रिया गर्न थालेका छन्। तर जब तिनीहरूले मामलाहरू सम्हाल्छन् र अरूसँग अन्तरक्रिया गर्छन्, तब कतिपय कुराहरू अपरिहार्य रूपमै तिनीहरूले चाहेजस्तो हुँदैनन्, र यसले तिनीहरूको त्यो स्वभाव फेरि देखा पराउँछ, र यसरी यी शब्दहरू पैदा गराउँछ। बाह्य संसारमा तिनीहरूले परमेश्वरमा विश्वास नगरेको हुँदा त तिनीहरूले कसैलाई पनि टेर्दैनथिए, र तिनीहरूसँग अन्तरक्रिया गर्न लायक कोही छैन भन्ने सोच्थे। त्यसोभए, के तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि तिनीहरू परमेश्वरको घरका कुनै पनि विश्वासी दाजुभाइ-दिदीबहिनीको अघि झुकेका हुन्छन् त? (हुँदैनन्।) के सामान्य मानवता र सामान्य समझ भएको व्यक्तिले जुनसुकै समूहमा भए पनि यसरी व्यवहार गर्छ त? (गर्दैन।) गैरविश्वासीहरूले समेत “सँगै हिँड्ने तीन जनामध्ये, कम्तीमा एक जना मेरो शिक्षक हुन सक्छ” भनेर भन्छन्। भन्नुको अर्थ, तीन जना मानिसहरूबीच तँभन्दा बलियो र सिपालु एक व्यक्ति पक्कै हुन्छ, जो तेरो शिक्षक हुन, र तँलाई सहयोग गर्न सक्ने व्यक्ति हुन सक्छ। गैरविश्वासीहरूले त त्यस्ता शब्दहरू बोल्छन्, तर के यी अहङ्कारी मानिसहरूले यी वचनहरूको सत्यता स्वीकार गर्छन्? के तिनीहरूले समूहका अरूसँग समान स्तरमा रहेर अन्तरक्रिया गर्न सक्छन्? के तिनीहरू तर्कसङ्गत हुन सक्छन्? (सक्दैनन्।) त्यसोभए, जब यी ख्रीष्टविरोधीहरू परमेश्वरमा विश्वास नगर्ने गैरविश्वासीहरूमाझ हुन्छन्, तब तिनीहरू कस्ता मानिसहरू हुन्? (तिनीहरू कठिन मानिसहरू हुन्।) ठीक भन्यौ, तिनीहरू बदमासहरू हुन्, तिनीहरू कठिन मानिसहरू हुन्। तिनीहरूको बारे कसैले पनि केही गर्न सक्दैन। कसैले पनि तिनीहरूलाई चिढ्याउने, रिस उठाउने, वा छुने आँट गर्दैन। तिनीहरू बदमासहरू हुन्! यदि तैँले तिनीहरूलाई रिस उठाइस् भने, दुष्परिणामहरू आइपर्नेछन्, यो त क्रूर पिशाचलाई रिस उठाउनुजस्तै हो। सामान्यतया समाजमा त्यस्ता मानिसहरूसँग कसैले निहुँ खोज्ने आँट गर्दैनन्। रूखो र अनुचित बन्नु, र हरेक मोडमा समस्या पैदा गर्नु नै परिस्थिति सम्हाल्ने तिनीहरूका स्वभाव र सिद्धान्तहरू हुन्। कसैले पनि तिनीहरूलाई रिस उठाउने आँट गर्दैन, कसैले तिनीहरूलाई छुने आँट गर्दैन, र कसैले तिनीहरूलाई हेप्ने आँट गर्दैन; मानिसहरूलाई हेप्ने त तिनीहरू मात्र हुन्। यसले तिनीहरूको उद्देश्य हासिल गर्छ। त्यसोभए, के तिनीहरू परमेश्वरको घरमा आएपछि परिवर्तन हुन सक्छन्? के तिनीहरू परिवर्तन भएका हुन्छन्? (अहँ, हुँदैनन्।) तिनीहरू परिवर्तन भएका हुँदैनन्, र तिनीहरू परिवर्तन हुन सक्दैनन् भन्ने कुरा हामीलाई केले देखाउँछ? (तिनीहरूले “मैले परमेश्वरमा विश्वास नगरेको भए, म कसैलाई टेर्नेथिइनँ!” भनेर भन्ने तथ्यले।) तिनीहरूले बारम्बार यी शब्दहरू बोल्दैनन्—तिनीहरूले कुन प्रसङ्गमा यी शब्दहरू बोल्छन्? जब कसैले तिनीहरूको कमीकमजोरी औँल्याउँछ, तिनीहरूको मर्यादामा चोट पुर्याउने कुराहरू बोल्छ, वा तिनीहरूलाई रिस उठाउँछ, तब तिनीहरूले यस्तो वाक्यांश बोल्छन्, “मैले परमेश्वरमा विश्वास नगरेको भए, म कसैलाई टेर्नेथिइनँ! तँ मसँग लडाइँ गर्ने आँट गर्छस्, तैँले आफूलाई को ठान्छस्?” यो कस्तो स्वभाव हो? तिनीहरूले यो वाक्यांशको अगाडि एउटा पूर्ववर्ती वाक्यांशसमेत थप्छन्, “मैले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले, म कसैलाई पनि टेर्दिनथिएँ!” के तैँले अहिले परमेश्वरमा विश्वास गरेपछि पनि तँ कसैको कुरा मान्दैनस् वा सुन्दैनस् होइन र? के तँ अझै पनि उस्तै दियाबलस र शैतान होइनस् र? तिनीहरूलाई परमेश्वरमा विश्वास गरेपछि सुधार भएको छु भन्ने लाग्छ। यदि तिनीहरू परिवर्तन भएर राम्रो बनेका भए, तिनीहरूले कसरी यी शब्दहरू बोल्न सक्छन्? तिनीहरूमा कुनै विवेक वा समझ हुँदैन, र तिनीहरूले खुलेआम झगडा गर्ने र अरूलाई “म एउटा बदमास हुँ र म कसैको डर मान्दिनँ!” भनेर थाहा दिने दुस्साहस गर्छन्। एउटा अत्याचारी, लुच्चो, र बदमाससँग धाक लगाउनलाई के नै हुन्छ र? तिनीहरूसँग घमण्ड गर्नलाई के हुन्छ? तैपनि ख्रीष्टविरोधीहरूले यसरी घमण्ड गर्छन्। तिनीहरूले कुनै बेला तिनीहरू अत्याचारी थिए भन्ने तथ्यलाई आफ्नो गौरवमय विगतको रूपमा लिन्छन्, र तिनीहरूले परमेश्वरको घरमा त्यसबारे धाक लगाउँछन्। परमेश्वरको घर कस्तो ठाउँ हो? यो सत्यताले शासन गर्ने ठाउँ हो। यो पवित्रताको स्थान हो जहाँ परमेश्वरले मानिसहरूलाई मुक्ति दिनुहुन्छ। तैँले यी दुष्ट शब्दहरू बोल्दा यसले कसरी सहन सक्छ? ख्रीष्टविरोधीहरूसँग कुनै लाजको बोध हुँदैन, यी दुष्ट शब्दहरू हुन् भन्ने तिनीहरूलाई थाहा हुँदैन, र तिनीहरूले ती असल वचनहरू र सत्यता हुन् जस्तै गरेर तिनको बारेमा धाकसमेत दिन्छन्। तिनीहरू साँच्चै निर्लज्ज व्यक्तिहरू हुन्, तिनीहरू लाज पचेकाहरू हुन्, र तिनीहरू घृणितहरू हुन्! जब यस्तो व्यक्तिले तिमीहरूसँग दुष्ट शब्दहरू बोल्छ, तब के तिमीहरूसँग यसको खण्डन गर्ने कुनै भन्नलायक कुरा हुन्छ? (मैले एक पटक यस्तो व्यक्ति भेटेको छु; ऊ मण्डलीको कसैसँग झुक्दैनथ्यो। त्यो बेला, उसले मलाई आलोचना गर्न यस्ता शब्दहरू बोल्यो। मसँग कुनै समझशक्ति थिएन, र मैले उसलाई यो कुरा स्विकार्छु भनेर बताएँ।) तैँले यसरी जबाफ दिइस्। यसरी जवाफ दिनु गलत थियो; तैँले गवाही दिइनस्। तैँले त्यसका समस्याहरू औँल्याएर त्यसलाई लाजमा पार्नुपर्थ्यो। जब त्यसले दुष्ट शब्दहरू बोल्छ, तँ झुक्नु हुँदैन, र तैँले ती दुष्ट शब्दहरू मान्नु हुँदैन। तैँले त्यसलाई खुलासा गर्नुपर्छ। परमेश्वरका विजेताहरूमध्येको एक हुन र परमेश्वरको गवाही दिन, तैँले दियाबलसहरू र शैतानलाई लाजमा पार्न सक्नुपर्छ, र शैतानलाई लाजमा पार्न सक्ने र सत्यताअनुरूपका वचनहरू बोल्न सक्नुपर्छ। त्यसले यो कुरा नस्विकारे पनि, त्योसँग भन्ने केही हुँदैन, र आफ्नो व्यवहार सच्याउँदै त्यो समर्पित हुनेछ। के त्यस्तो व्यक्तिलाई तर्साउँदा त्यसले काम गर्छ? तिनीहरूलाई निन्दा गर्दा नि? तिनीहरूसँग छलफल गरेर तिनीहरूलाई फकाउँदा हुन्छ? (हुँदैन।) त्यसोभए केले काम गर्छ? (यदि कसैले मण्डलीमा त्यस्ता शब्दहरू बोल्यो भने, म त यसो भन्थेँ: “के तिमी घोर व्यवहार गर्ने प्रयास गरिरहेको छौ? यदि दाजुभाइ-दिदीबहिनीहरूले सत्यता सङ्गति गर्दा सामान्य रूपमा सुन्न र सत्यता स्वीकार गर्न सक्छौ भने, त्यो ठीकै छ, तर यदि तिमी यहाँ घोर व्यवहार गर्न चाहन्छौ भने, यहाँबाट गइहाल। परमेश्वरको घरले तिमीलाई यहाँ घोर व्यवहार गर्न अनुमति दिँदैन। तिम्रा यी शब्दहरू सत्यताअनुरूप छैनन्। यहाँ आफ्नो तमाशा नदेखाऊ!”) यी शब्दहरू अत्यन्तै शक्तिशाली छन्, तर यस्ता मानिसहरू तानाशाह र डाँकूहरू हुन्। के यस्ता शब्दहरूदेखि तिनीहरू डराउँछन्? (अहँ, डराउँदैनन्।)
म तिमीहरूलाई एउटा कुरा बताउँछु। विगतमा, मैले क जना व्यक्ति भेटेको थिएँ, जसले परमेश्वरमा विश्वास गर्न थाल्नुभन्दा पहिले सेफको रूपमा काम गरेको थियो। उसले एक पटक मलाई यसो भनेको थियो: “जब म बाह्य संसारमा सेफ थिएँ, र जब ती ठूलाठूला व्यक्तिहरू र पदाधिकारीहरू पिउन आउँथे, तब म तिनीहरूसँग कुनै सम्बन्ध राख्न चाहँदिनथिएँ। जब म तिनीहरूको लागि पकाउँथेँ, तब म एउटा हात कम्मरमा, एउटा खुट्टा बूढी औँलामा अड्याएर बस्थेँ, अनि एउटा हातले तिनीहरूको लागि पकाउथें।” उसले बोल्दै गर्दा त्यही हाउभाउ बनाएर पनि देखायो, र उसको व्यवहार अवज्ञाकारीजस्तो पनि र रुष्टजस्तो पनि देखिन्थ्यो। उसको तात्पर्य यस्तो थियो: “गैरविश्वासीहरू कोही पनि मेरो स्तरका होइनन् र म तिनीहरू कसैको अघि झुक्दिनँ। म अत्यन्तै सक्षम छु, र संसारमा मजस्ता मानिसहरू इमानदार हुन्छन्। म पदाधिकारीहरूलाई बाल मतलब गर्दिनँ!” उसले बोल्दा आफैप्रति खुसी हुँदै, सहजसाथ ती हाउभाउ प्रदर्शित गरिरहेको थियो। ऊ ती चाल, हाउभाउ, र शारीरिक मुद्रा प्रदर्शन गर्नमा निकै सिपालु थियो—उसले यस्ता कुराहरू बारम्बार प्रदर्शन गरेको थियो भनेर मैले देख्न सक्थेँ। उसले आफ्नो प्रदर्शन गर्ने र आफ्नो “महिनित विगत” को धाक लाउने केही अभिप्रायसाथ अरूलाई उसको आदर गराउने प्रयासमा यस्तो व्यवहार प्रस्तुत गरिरहेको थियो भनेर म बुझ्न सक्थेँ। उसले यस्तो व्यवहार गरेको देखेर, म मुस्कुराएँ, र त्यसपछि मैले उसलाई भनेँ: “त्यसोभए, तँमा खराब स्वभाव छ।” मैले यो कुरा मुस्कुराउँदै भनेँ, तर अरू केही पनि भनिनँ। उसको अनुहार तुरुन्तै बिग्रियो, र उसले तुरुन्तै आफ्नो हाउभाउ रोक्यो र चुप लाग्यो। त्यहाँदेखि, उसले आफ्नो “महिमित विगत” बारे कहिल्यै कुरा गरेन। मैले उसलाई के भनेँ? (तँमा खराब स्वभाव छ।) यसको अर्थ के थियो? (यसले उसको प्रकृति सार औँल्याइदियो, र उसलाई सरम लाग्यो।) ठीक भन्यौ। के मैले उसलाई रिस उठाएँ? के मैले ऊसँग तर्क गरेँ? के मैले उसको इज्जतमा चोट पुर्याएँ? (होइन।) के मैले ऊसँग अविवेकी ढङ्गले व्यवहार गर्दै यसो भनेँ: “यहाँबाट निस्केर गइहाल्! तैँले परमेश्वरमा विश्वास गरेर के गरिरहेको छस्?” वा “‘उज्ज्वल विगत’ बारे कुरा गर्नलाई तँ अझै बच्चै छस्!”? के मैले यी विधिहरू प्रयोग गरेँ? (गर्नुभएन।) यी कुनै कुरा सङ्केत नगरीकन, मैले एक वाक्य मात्रै बोले, “त्यसोभए, तँमा खराब स्वभाव छ,” र ऊ लज्जित भयो र चुप लाग्यो। थप व्याख्या नगरीकनै मैले मेरो कुरा बुझाएँ। यदि कुनै बुद्धिमानी व्यक्तिले यो सुन्थ्यो भने, उसले यसको अर्थ के हो भनेर तुरुन्तै बुझ्नेथ्यो, र भविष्यमा अझै संयम हुनेथ्यो। तिमीहरूलाई यो शैली कस्तो लाग्यो? (राम्रो।) के उसलाई खाउँला झैँ हेरेर तर्क गर्नु उचित हुन्थ्यो? (अहँ, हुँदैनथ्यो।) यदि कसैले “मैले परमेश्वरमा विश्वास नगरेको भए, म कसैलाई टेर्नेथिइनँ!” भनेर भन्यो भने, तैँले उसलाई यसो भन्नुपर्छ, “यदि तिमीले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले कसैलाई टेर्दैनथ्यौ भने, तिमीमा खराब स्वभाव थियो। यदि तिमीले अहिले परमेश्वरमा विश्वास गरेपछि पनि कसैलाई टेर्न चाहँदैनौ भने, यसको अर्थ तिमीमा त्योभन्दा नि झनै खराब स्वभाव छ र तिम्रो सारमा केही न केही गलत छ भन्ने हुन्छ।” बस यति नै भन्, अनि तिनीहरूको प्रतिक्रिया र व्यवहार अवलोकन गर्। जहाँ दुख्छ त्यहीँ हिर्काउनु भनेको यही हो। के दुष्ट मानिसहरू यी वचनहरू सुनेपछि दुःखित हुनेछन्? तिनीहरू व्याकुल हुनेछन्। तिनीहरूले यस्तो सोच्नेछन्, “म त परमेश्वरमाथिको मेरो विश्वासमा मैले परिवर्तन हासिल गरेको छु भन्ने सोच्थेँ, र मैले आफ्नो योग्यता देखाउन र परमेश्वरमा विश्वास गर्नुभन्दा पहिलेको मेरो महिमित विगतबारे धाक दिन यी शब्दहरूसमेत प्रयोग गर्थेँ। तर समझ भएको कसैले यो मामलापछाडि लाजमर्दो रहस्य रहेको पर्दाफास गर्नेछ, र ममा खराब स्वभाव रहेको खुलासा गर्नेछ भनेर मैले अपेक्षा गरेको थिइनँ।” खराब स्वभावको अर्थ के हो? यसलाई राम्ररी भन्दा, यसको अर्थ तिनीहरूको मानवता राम्रो छैन भन्ने हुन्छ; यसलाई सीधासीधा भन्दा, यसको अर्थ तिनीहरू असल छैनन् भन्ने हुन्छ। समाजका कस्ता मानिसहरू असल हुँदैनन्? (बदमास, ठग, अत्याचारी, र फटाहाहरू।) ठीक भन्यौ, ती मानिसहरू असल हुँदैनन्। तैँले तिनीहरू असल छैनन् र तिनीहरूको स्वभाव खराब छ भनेर भन्नेबित्तिकै, तिनीहरूले बुझिहाल्छन्। तैँले बदमास, फटाहा, अत्याचारी, र दुष्ट मानिसहरू—यी शब्द र यस्ता प्रकारका मानिसहरूबारे कुरा गर्दै छस् भनेर तिनीहरूले बुझ्नेछन्। के तिनीहरू यो वर्गमा पर्छन् भन्ने सुन्दा तिनीहरूलाई राम्रो लाग्नेछ? (लाग्नेछैन।) तिनीहरूलाई पटक्कै राम्रो लाग्नेछैन। अनि के तैँले अरू केही भन्नुपर्छ? (पर्दैन।) तिनीहरूको लाजमर्दो रहस्य त्यो एउटै वाक्यले खुलासा गरेको हुनेछ। “त्यसोभए तँ त्यस्तो व्यक्ति रहेछस्। तैँले अझै पनि यहाँ आफ्नै रोबरवाफ गरिरहेको छस्, र नकारात्मक कुराहरूबारे घमण्ड गरिरहेको छस्, मानौँ ती सकारात्मक कुरा हुन्। तैँले के गर्ने प्रयास गरिरहेको छस्? यो परमेश्वरको घर हो, यहाँ धाक नदेखा। यो तैँले धाक लाउने ठाउँ होइन। यदि तँ धाक लाउन चाहन्छस् भने, गइहाल्। परमेश्वरको घर सत्यताले शासन गर्ने ठाउँ हो, यो तैँले अहम् देखाउने र आफ्ना दुष्ट कार्यहरू उद्घोष गर्ने ठाउँ होइन। तैँले परमेश्वरको घरमा दुष्ट र नकारात्मक कुराहरूबारे रोबरवाफ देखाउनु भनेर भन्नुको अर्थ के हो? तेरो अर्थ के हो भने, परमेश्वरको कामले तँमा परिणामहरू हासिल गरेको छ। के परमेश्वरले यसो भन्नुभएको हो? तैँले परमेश्वरलाई धन्यवाद दिइरहेको छैनस्; तैँले आफ्ना दुष्ट कार्यहरूको घमण्ड गरिरहेको छस्। तैँले यी शब्दहरूद्वारा कसलाई छल्ने प्रयास गरिरहेको छस्? तैँले तीन वर्षको बच्चालाई मूर्ख बनाउन सक्छस् होला, तर तैँले दाजुभाइ-दिदीबहिनीहरूलाई मूर्ख बनाउन सक्दैनस्। तँ यसबाट उम्कन सक्दैनस्!” यसरी तिनीहरूको खुलासा हुन्छ। ख्रीष्टविरोधीहरूले यो सुनेपछि, पहिलो कुरा त तिनीहरूले तँसँग तिनीहरूप्रति कुनै द्वेष छैन भन्ने महसुस गर्नेछन्; दोस्रो कुरा, तेरा वचनहरू ठ्याक्कै निसानामा लाग्नेछन्; तेस्रो कुरा, तैँले तिनीहरूलाई निसाना बनाएको हुनेछैनस्; अनि चौथो कुरा, यी वचनहरू तथ्यहरू हुन्, र तैँले यी वचनहरू बोल्दा अतिशयोक्ति कदापि हुँदैन। यी वचनहरू सुनेपछि, तिनीहरूले तुरुन्तै आफूलाई काबुमा राख्नेछन्। तिनीहरूले किन आफूलाई काबुमा राख्नेछन्? तेरा वचनहरूले तिनीहरूलाई सरम र लाजमा पार्नेछन्। जब तिनीहरू फेरि तेरो छेउमा हुन्छन्, तब तिनीहरू त्यस्ता शब्दहरू दोहोर्याउन लजाउनेछन्। तर तिनीहरूले फेरि यस्ता कुराहरू नबोले पनि, तिनीहरूले सही अवसरचाहिँ खोज्नैपर्छ, र कसले सुन्दै छ भनेर जाँच गर्नैपर्छ। चाहे जे भए पनि तिनीहरूले तेरो छेउमा फेरि ती कुरा बोल्ने आँट गर्नेछैनन्। के यसले तिनीहरूलाई वशीभूत पारेको हुँदैन र? यदि तिमीहरूले त्यस्तो व्यक्ति भेट्यौ भने, के तिमीहरू तिनीहरूसँग यसरी बोल्ने आँट गर्नेछौ? (गर्नेछौ।) यस्तो व्यक्तिलाई व्यवहार गर्ने एउटा तरिका छ। तँ आवेशी वा निर्दयी हुनु पर्दैन, मुस्कुराएर तिनीहरूलाई वशीभूत पार्। शैतानलाई खुलासा गर्नु र लाजमा पार्नु भनेको यही हो। आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुनु भनेको यही हो। त्यसलाई खुलासा गर्ने तेरो क्षमताले प्रमाणित गर्छ कि तैँले उसलाई छर्लङ्गसित देखेको छस्, तँ ऊजस्ता मानिसहरूलाई मन पराउँदैनस्, तैँले ऊजस्ता मानिसहरूलाई घृणा गर्छस्, र तैँले ऊजस्ता मानिसहरूलाई हेयको दृष्टिले हेर्छस्। यी मानिसहरू नकारात्मक पात्रहरूको वर्गमा पर्छन्, र तँ तिनीहरूको ठीक विपरीत व्यक्ति होस्। तेरो अगाडि, तिनीहरूलाई लाग्छ, तिनीहरू नीचा हुन्; र तँ तिनीहरूभन्दा दह्रिलो र सीधा होस्।
जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, जब तिनीहरूलाई बेलाबेलामा विश्वासी दाजुभाइ-दिदीबहिनीहरूद्वारा खुलासा गरिन्छ, तब तिनीहरूले कुन-कुन दुई लाजपचुवा वाक्य बोल्छन्? (“मलाई काटछाँट गर्नको लागि तपाईं अत्यन्तै अपरिपक्व हुनुहुन्छ!” “मैले परमेश्वरमा विश्वास नगरेको भए, म कसैलाई टेर्नेथिइनँ!”) धेरैजसो मानिसहरूले त यी दुई वाक्य बोल्न सक्दैनन्, होइन र? यी शब्दहरूमा के-कस्ता विशेषताहरू छन्? यी ठग र गुइये कुरा हुन्, र यिनमा शैतानको घमण्ड र शैतानको दुष्ट स्वभावका प्रभावशाली शैली छन्। स्पष्टै छ, सामान्य व्यक्तिको मुखबाट यी शब्दहरू निस्कँदैनन्, विशेषतः सत्यता पछ्याउने व्यक्तिको मुखबाट यी शब्दहरू निस्कँदैनन्। निस्सन्देह नै, यी शब्दहरू बोल्ने मानिसहरूमा शैतानको क्रूर स्वभाव नै हुन्छ। तिनीहरू दुष्ट हुन्छन्, र तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्, र तिनीहरूले दुष्ट शक्तिहरू, हिंसा, र शैतानका क्रूर शक्ति र स्वभावप्रति आदर गर्छन्। तिनीहरूले बोल्ने यी दुई वाक्यबाट मात्रै पनि यी सारहरू पत्ता लगाउन सकिन्छ। जब तिनीहरूले यी शब्दहरू बोल्छन्, तब तिनीहरूको स्वभाव र सार खुलासा हुन्छ। साधारण, सामान्य, र भ्रष्ट मानवजातिमाझ, प्रायजसो यस्ता शब्द बोल्ने व्यक्ति असल हुँदैन, तर यी शब्दहरू सुनेर पनि यी शब्दहरू नबोल्ने, यी शब्दहरू बोल्ने मानिसहरूलाई लाजमर्दो र क्रूर ठान्ने, आफू यसरी बोल्न नसक्ने, र कसैलाई जति नै घृणा, इन्कार र हेला गरे पनि यी शब्दहरू बोल्न नसक्ने, र यी शब्दहरू बोल्ने मानिसहरूलाई घृणा गर्ने जोकोही मानिसहरूमा अझै पनि केही न केही लाजबोध हुन्छ र तिनीहरूको मानवतामा अझै पनि सोझो पाटो हुन्छ। तर प्रायजसो यी शब्दहरू बोलिरहने, र यी शब्दहरूलाई मामलाहरू सम्हाल्ने र आफ्नो आनीबानी प्रस्तुत गर्ने तरिकाका सबैभन्दा उच्च सिद्धान्तहरूको रूपमा प्रायजसो लिइरहने मानिसहरू अवश्य नै शैतानको गिरोहका सदस्य र ख्रीष्टविरोधीहरू हुन्। कति मानिसहरू भन्छन्: “मैले परमेश्वरमा विश्वास गर्नुभन्दा पहिले यी शब्दहरू असल हुन् कि खराब हुन् भन्ने मलाई थाहा थिएन। म सानै हुँदा यी शब्दहरू प्रयोग गर्थेँ, तर अलिक उमेर खाएपछि र परिपक्व भएपछि मैले यी कुरा प्रयोग गर्न छोडेँ।” के तिनीहरू ख्रीष्टविरोधीहरू हुन्? होइनन्। जब मानिसहरू उमेरमा साना र अज्ञानी हुन्छन्, जब तिनीहरूले पहिलो पटक समाज र आम मानिसहरू सामना गर्छन्, तब तिनीहरूले यी शब्दहरूलाई असल शब्दहरू, चरित्रवान् शब्दहरू ठान्छन्। तिनीहरू उमेरले अत्यन्तै साना र अपरिपक्व हुन्छन्। जब तिनीहरू अलिक ठूलो हुन्छन्, अनि असल र खराब छुट्याउन, र असल र खराब मानिसहरूबीच भिन्नता देख्न सक्ने हुन्छन्, तब तिनीहरूले यी शब्दहरू बोल्दैनन्। त्यस्ता मानिसहरूमा अझै पनि अलि-अलि विवेक र समझ हुन्छ। यो थोरै विवेक र समझ कहाँबाट आउँछ? यो तिनीहरूको असल कुरालाई दुष्ट कुराबाट छुट्याउने, सत्यता के हो र झूट के हो, सही के हो र गलत के हो भनेर जान्ने क्षमताबाट आउँछ, यो तिनीहरूको काम गर्ने, बोल्ने र मामलाहरू सम्हाल्ने तरिका, र आनीबानी प्रस्तुत गर्ने तरिकामा छनौट र सीमाहरू रहेको तथ्यबाट आउँछ। यो तिनीहरू शैतान नभएको, दुष्ट मानिसहरू नभएको, पशु नभएको, बरु मापदण्ड र सिद्धान्तहरू अनुसार तिनीहरूले आनीबानी प्रस्तुत गर्ने गरेको, र तिनीहरू सीधा मानिसहरू रहेको तथ्यबाट आउँछ।
ख्रीष्टविरोधीहरूलाई खुलासा गर्दा, तिनीहरूका “ज्ञानका वचनहरू”, तिनीहरूका जीवनका आदर्श वाक्यहरू, र तिनीहरूका प्राय बोलिइरहने भनाइहरू पनि सबै प्रकट हुन्छन्। यी कुराहरू प्रकट भएपछि, तिनीहरूको प्रकृति सार पनि देखा पर्छ, र यसलाई अरूले झन्झन् स्पष्ट रूपमा देख्न सक्छन्। यदि यी कुराहरू खुलासा गरिएनन्, र मानिसहरूले यी कहिलेकहीँ वा बारम्बार सुनिने शब्दहरूलाई साधारण शब्दहरू ठाने भने र यी कुराको भित्री वास्तविकता बुझेनन् भने, तिनीहरूले यी कुरालाई वर्गीकरण गर्न सक्नेछैनन्। यदि तैँले यी कुरालाई वर्गीकरण गर्न सकिनस् भने, सत्यतासम्बन्धी तेरो बुझाइ वा सही र गलत सम्बन्धी तेरो ज्ञानको के फाइदा भयो र? के यी कुराहरूले तेरो अडानमा प्रभाव पार्न सक्छन् र? के यिनले तेरो दृष्टिकोणमा प्रभाव पार्न सक्छन्? (अहँ, सक्दैनन्।) त्यसोभए तैँले भ्रष्टताको सामान्य प्रकटीकरण के हो र ख्रीष्टविरोधीको सारको प्रकटीकरण के हो भनेर छुट्याउन सक्दैनस्। जब तैँले यी सारहरूलाई स्पष्ट रूपमा चिन्न र सटीक रूपमा वर्गीकरण र व्याख्या गर्न सक्छस्, र जब सकारात्मकता र नकारात्मकता, अनि सामान्यता र असामान्यताका विभिन्न खुलासा, प्रकटीकरण, स्वभाव र सारहरूलाई स्पष्ट रूपमा चिन्न सक्छस्, तब मात्रै तैँले मानिसहरू र परिस्थितिलाई अझै सटीक रूपमा चिन्न सक्नेछस्। नत्रभने, तैँले ख्रीष्टविरोधीको प्रकटीकरणलाई साधारण भ्रष्टता वा सामान्य प्रकटीकरण हो भनेर सोच्ने गल्ती गर्नेछस्, र तैँले कहिलेकहीँ भ्रष्टताका केही साधारण प्रकटीकरणहरूलाई ख्रीष्टविरोधी सारका प्रकटीकरणहरूको रूपमा लिने गल्ती गर्नेछस्। के यो गोलमाल भएन र? मानौँ तँ अगुवा होस् र तेरो जिम्मेवारीको दायराभित्र ख्रीष्टविरोधीहरू छन् रे। यदि तैँले तिनीहरूलाई चाहिँ बस्न दिइस्, तर भ्रष्टता प्रकट गर्ने साधारण विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई निष्कासन गरिस् भने, के यो गल्ती हुँदैन र? (हुन्छ।) त्यसकारण, यी विस्तृत र विशिष्ट भिन्नताहरूलाई बुझ्नु महत्त्वपूर्ण हुन्छ।
जब ख्रीष्टविरोधीहरूले काटछाँट सामना गर्छन्, तब तिनीहरूको प्रकटीकरण हामीले भर्खरै छलफल गरेका कुराहरूभन्दा धेरै अगाडि जान्छ। तिनीहरूले एक-दुई वटा अप्रिय वाक्यहरू मात्रै बोल्दैनन् वा तिनीहरू अलिअलि आक्रोशित मात्रै हुँदैनन्। तिनीहरूले धेरै कुराहरू गर्छन् र धेरै अप्रिय शब्दहरू बोल्छन्। यति मात्र होइन, तिनीहरूले अझै धेरै दुष्ट कुराहरूसमेत गर्नेछन्, र परमेश्वरको घरको काममा गम्भीर बाधा दिने र सामान्य मण्डली जीवन बिथोल्ने कुराहरूसमेत गर्नेछन्। अब यस्ता केही वाक्य मात्रै बोल्नेबाहेक, ख्रीष्टविरोधीहरूले अरू के-के गर्न सक्छन् भन्नेबारेमा तिमीहरू सङ्गति गर्ने प्रयास गर, जसले तिनीहरू ख्रीष्टविरोधीहरू हुन्, तिनीहरूको कार्य र आचरण ख्रीष्टविरोधीहरूको जस्तै हुन्छ, र तिनीहरूको स्वभाव ख्रीष्टविरोधीहरूको स्वभाव हो भन्ने कुरा स्पष्ट रूपमा देख्न र चिन्न मानिसहरूलाई मदत गरोस्। यसरी, यी ख्रीष्टविरोधीहरूले ठूला व्यवधानहरू पैदा गर्नुभन्दा पहिले तिनीहरूलाई विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले ख्रीष्टविरोधीहरूको रूपमा चिन्न र पहिचान गर्न सक्नेछन्। यसरी, एक हिसाबमा, विश्वासी दाजुभाइ-दिदीबहिनीहरू आफ्नो जीवन प्रवेशमा ठूलो हानि हुनबाट जोगिन सक्छन्, र अर्को हिसाबमा, यी ख्रीष्टविरोधीहरूले परमेश्वरको घरको काममा ल्याउने वाधा र व्यवधानलाई रोक्न सकिन्छ। के यो समस्यालाई ढिलो नगरी चाँडै पत्ता लगाएर समाधान गर्नु, रोक्नु, र सुधार्नु राम्रो हुँदैन र? (हजुर, हुन्छ।) त्यसोभए सङ्गति गर। (जब ख्रीष्टविरोधीहरू काटछाँटमा पर्छन्, तिनीहरूले सत्यता स्विकार्दैनन् र मानिसहरूलाई आक्रमण गर्न केही शब्दहरू बोल्छन्। ख्रीष्टविरोधीहरूलाई जसले सल्लाह दिए पनि, यसले तिनीहरूको हैसियत वा अभिमानलाई छोयो भने, तिनीहरूले मण्डलीमा त्यो व्यक्तिको आलोचना गर्नेछन्, र आफ्नो हैसियत र अभिमान रक्षा गर्न सत्यतासमेत बङ्ग्याउनेछन्।) अरू केही छ? (मैले एकपटक एक दुष्ट व्यक्ति भेटेको थिएँ, जसले उसको बेफाइदाको काम गर्ने जोसुकैलाई मार्ने धम्की दिन्थ्यो। त्यो बेला हामीले सत्यता बुझेका थिएनौँ र हामीमा समझशक्तिको कमी थियो। हामीलाई ऊदेखि डर लाग्थ्यो। उसले कर्तव्य निर्वाह गर्दा स्वेच्छाचारी र लापरवाह रूपमा काम गर्थ्यो, र जब हामीले उसका काममा केही समस्या देख्थ्यौँ र तीबारेमा रिपोर्ट गर्न चाहन्थ्यौँ, तब उसले हामीलाई रोक्थ्यो र रिपोर्ट गर्ने अनुमति दिँदैनथ्यो। हामीसँग सत्यता थिएन, त्यसकारण त्यो बेला हामीले यसबारे तर्क गर्ने आँट गरेनौँ, न त हामीले तुरुन्तै उसको रिपोर्ट नै गर्यौँ, जसले गर्दा अन्तिममा मण्डलीको काममा ठूलो घाटा भयो। ख्रीष्टविरोधीहरूबारे हामीमा समझको कमी भएकोले यस्तो भएको थियो। पछि उसले धेरै दुष्ट कार्य गरेपछि मात्रै उसलाई निष्कासित गरियो।) यो मामलामा तिमीहरू आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुन वा परमेश्वरको घरका हितहरू रक्षा गर्न असफल भयौ, र तिमीहरूले परमेश्वरको घरको काममा घाटा हुन दियौ। यसको लागि तिमीहरू नै जिम्मेवार छौ। अहिले हेर्दा त्यो व्यक्तिलाई सही रूपमा बहिष्कार गरियो र अन्यायी व्यवहार गरिएन भन्ने देखिन्छ। यदि भविष्यमा तिमीहरूले फेरि त्यस्तो व्यक्ति भेट्यौ भने, के तिमीहरू त्यसलाई चिन्न सक्छौ? (परमेश्वरको सङ्गतिमार्फत, मलाई ख्रीष्टविरोधीहरू चिन्ने सत्यताको यो पक्षबारे अलिक स्पष्ट भयो।)
परमेश्वरको घरले किन ख्रीष्टविरोधीहरूलाई निष्कासित गर्न चाहन्छ? तिनीहरूलाई राखेर सेवा गर्न दिनु ठीक हुने हो कि? के तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिनु ठीक हुन्छ? (अहँ, हुँदैन।) के तिनीहरूले सत्यता पछ्याउन सक्ने कुनै सम्भावना हुन्छ? (ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउन सक्दैनन्।) अब तैँले ख्रीष्टविरोधीहरू शैतानका मानिसहरू हुन् र तिनीहरूले पश्चात्ताप गर्न सक्दैनन्, त्यसैले तिनीहरूलाई निष्कासित गरिन्छ भन्ने कुरा पत्ता लगाएको छस्। कसैलाई पनि त्यतिकै निष्कासित गरिँदैन। परमेश्वरको घरले बारम्बार धैर्यधारण गर्छ, तिनीहरूलाई बारम्बार पश्चात्ताप गर्ने मौका दिन्छ, र तिनीहरूलाई छुट दिन्छ, ताकि असल मानिसहरूलाई गलत दोष नलागोस्, र ताकि कसैलाई पनि त्यतिकै निष्कासित वा बरबाद नगरियोस्। तिनीहरूले परमेश्वरमा यति धेरै वर्ष विश्वास गर्नु त्यति सजिलो कुरा होइन; तिनीहरूको भित्री रूप पूर्ण रूपमा नदेखिएसम्म, तिनीहरू पूर्ण रूपमा खुलासा नभएसम्म परमेश्वरको घरले हरकसैप्रति सहनशीलता देखाउँछ। तर के ख्रीष्टविरोधीहरूले पश्चात्ताप गर्न सक्छन्? तिनीहरूले पश्चात्ताप गर्न सक्दैनन्। परमेश्वरको घरमा तिनीहरूले खेल्ने भूमिका शैतानका सेवकहरूको भूमिका हो, जसले परमेश्वरको घरको कामलाई तोड्ने, बाधा र व्यवधान पुर्याउने काम गर्छन्। तिनीहरूसँग केही वरदान र प्रतिभा भए पनि, तिनीहरूले आफ्नो कर्तव्य राम्ररी निभाउन, वा सही मार्ग हिँड्नको लागि कठिन परिश्रम गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूमा केही उपयोगी पक्षहरू भए पनि, तिनीहरूले परमेश्वरको घरको काममा सकारात्मक योगदान दिँदैनन्। तिनीहरूले परमेश्वरको काममा बाधा, व्यवधान, र खलल पुर्याउनेबाहेक अरू केही गर्दैनन्, र तिनीहरूले असल कुराहरू गर्दैनन्। तैँले तिनीहरूलाई अवलोकन गर्न राखिस् र तिनीहरूलाई पश्चात्ताप गर्ने मौका दिइस्, तर तिनीहरू पश्चात्ताप गर्न असमर्थ भए। अन्त्यमा, अपनाइएको समाधान तिनीहरूलाई निष्कासन गर्नु थियो। तिनीहरूलाई निष्कासन गर्नुभन्दा पहिले, तैँले यस्ता व्यक्तिहरू पश्चात्ताप गर्नुभन्दा मर्न रुचाउने ख्रीष्टविरोधीहरू हुन्, र तिनीहरू परमेश्वर र सत्यताविरोधी छन् भन्ने तथ्य देखेको थिइस्। फलस्वरूप, तिनीहरूलाई निष्कासन गरियो। यदि तिनीहरू असल व्यक्ति हुन्थे भने, के तिनीहरूलाई निष्कासन गरिनेथियो? यदि तिनीहरूले सत्यता स्विकारेर पश्चात्ताप गर्न सक्थे भने, के तिनीहरूलाई निष्कासन गरिनेथियो? बढीमा तिनीहरूलाई कर्तव्यबाट बर्खास्त गरिनेथियो र आत्मिक भक्ति र मननमा सहभागी हुन पठाइनेथियो, तर निष्कासन नगरिनेथियो। परमेश्वरको घरले कसैलाई निष्कासन गर्ने निर्णय गरेपछि, यसको अर्थ यदि उसलाई बस्न दिइयो भने ऊ परमेश्वरको घरको लागि काँडा हुनेछ भन्ने हुन्छ। तिनीहरूले असल कुराहरू गर्दैनन्, तिनीहरूले बाधा र व्यवधानहरू मात्रै ल्याउँछन्, र हरकिसिमका खराब कुराहरू गर्छन्। तिनीहरू जुनसुकै मण्डलीमा हुन्थे भने पनि, तिनीहरूले यति हदसम्म बाधा दिनेथिए कि यो बालुवाजस्तै छरपष्ट हुनेथियो, काम ठप्प हुनेथियो, धेरैजसो मानिसहरूलाई निकै निराश लाग्नेथियो र तिनीहरूले परमेश्वरमाथिको विश्वास गुमाउनेथिए, र कति मानिसहरूले त आफ्नो विश्वास समेत त्याग्न चाहनेथियो र कर्तव्य निभाउन जारी राख्न सक्दैनथे। यसको कारण के हो? यो ख्रीष्टविरोधीका बाधाहरूले पैदा गरेको हुन्छ। त्यो मण्डलीमा कुनै आशा हुनको लागि, मण्डली जीवन सामान्य बन्नको लागि, र परमेश्वरमा विश्वास गर्ने सही मार्गमा परमेश्वरका चुनिएका मानिसहरू प्रवेश गर्नको लागि, ख्रीष्टविरोधीलाई तह लगाइनुपर्छ, सफाइ गरिनुपर्छ, र निष्कासित गरिनुपर्छ। कति मानिसहरूले भन्छन्: “परमेश्वर प्रेम हुनुहुन्छ, त्यसैले हामीले ख्रीष्टविरोधीहरूलाई पनि पश्चात्ताप गर्ने मौका दिनुपर्छ।” यी शब्दहरू निकै राम्रा सुनिन्छन्, तर के वास्तविकता साँच्चै यस्तै हुन्छ त? ध्यान दिएर अवलोकन गर: निष्कासित गरिएका कति ख्रीष्टविरोधी र दुष्ट मानिसहरूले पछि आफूलाई चिनेका छन्, र सत्यतालाई पछ्याउन र प्रेम गर्न सकेका छन्? ककसले पश्चात्ताप गरेका छन्? तिनीहरू कसैले पनि पश्चात्ताप गरेका छैनन् र तिनीहरू सबैले जिद्दी भएर आफ्नो पाप स्विकार्न नमानेका छन्, र जति धेरै वर्षपछि तैँले तिनीहरूलाई भेटे पनि, तिनीहरू अझै पनि यस्तै अवस्थामा हुन्छन्, विगतमा भएकै कुराहरूमा अडिग रहेका हुन्छन् र त्यसलाई छोडेका हुँदैनन्, र आफूलाई सही साबित गर्ने र स्पष्टीकरण दिने प्रयास गरिरहेका हुन्छन्। तिनीहरूको स्वभाव कति पनि परिवर्तन भएको हुँदैन। यदि तैँले तिनीहरूलाई फर्काएर मण्डली जीवन सुरु गर्न, र कर्तव्य निभाउन दिइस् भने, तिनीहरूले अझै पनि मण्डलीको काममा बाधा र व्यवधान ल्याउनेछन्। पावलले जस्तै, तिनीहरूले उही पुराना गल्तीहरू गर्नेछन्, आफूलाई उचाल्नेछन् र आफ्नै बारे गवाही दिनेछन्। तिनीहरू सत्यता पछ्याउने मार्ग हिँड्न पटक्कै सक्दैनन्, र आफ्नै पुरानो मार्ग, ख्रीष्टविरोधीको मार्ग, र पावलको मार्ग हिँड्नेछन्। ख्रीष्टविरोधीहरूलाई निष्कासित गर्ने आधार नै यही हो।
ख्रीष्टविरोधीहरू आफ्नो दुराशयी प्रकृतिको कारण, सत्यता पछ्याउने कसैप्रति झुक्दैनन्। तिनीहरूले केही वास्तविक काम गर्न सक्ने हरकुनै अगुवा र सेवकहरूलाई हेयको दृष्टिले हेर्छन्, र हरेक अगुवा र सेवकहरूलाई झूटा भनेर समेत भन्छन्, मानौँ तिनीहरू आफैमात्र सही छन्, र अरू सबै गलत छन्। तिनीहरूसँग जेजसरी सत्यता सङ्गति गरिए पनि, तिनीहरूले काटछाँट हुन पटक्कै स्विकार्दैनन् र अझै पनि आफ्नै दृष्टिकोण कायम राख्छन्। यदि तिनीहरूलाई काटछाँट गर्ने कसैले तिनीहरूलाई पूर्ण रूपमा विश्वस्त तुल्याउन सकेन भने, तिनीहरूले स्विकार्दैनन्। तिनीहरूलाई काटछाँटमा पर्नु व्यर्थ छ र सत्यतासँग यसको कुनै सम्बन्ध छैन भन्ने लाग्छ। तिनीहरूको दृष्टिकोण यही हुन्छ। तिनीहरूले सधैँ आफ्नै दृष्टिकोणहरू कायम राख्छन्, त्यसकारण तिनीहरूलाई सत्यता स्विकार्न निकै गाह्रो हुन्छ, र सँगसँगै, तिनीहरूले आफूलाई काटछाँट गर्नेहरूलाई आलोचना र निन्दा पनि गर्छन्। ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई जसरी लिन्छन् त्यसमा तिनीहरूले कस्तो स्वभाव प्रकट गर्छन्? के तिमीहरूले ख्रीष्टविरोधीको प्रकृति सार के हो भनेर देख्न सक्छौ? ख्रीष्टविरोधीहरूको प्रकृतिमा रहेका मुख्य तत्त्वहरूमध्ये एउटा हो, क्रूरता। “क्रूरता” को अर्थ के हो? यसको अर्थ सत्यताप्रति तिनीहरूमा अत्यन्तै दुष्ट मनोवृत्ति हुन्छ—तिनीहरू यसमा समर्पित हुन नसक्ने, र यसलाई स्विकार्न नमान्ने मात्र होइन, तिनीहरू त आफूलाई काटछाँट गर्नेहरूलाई निन्दासमेत गर्छन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव यही हो। ख्रीष्टविरोधीहरूले सोच्छन् कि काटछाँट हुन स्विकार्ने व्यक्ति हेपाइमा पर्ने खतरामा हुन्छ, र सधैँ अरूलाई काटछाँट गर्ने मानिसहरू सधैँ मानिसहरूलाई गिज्याउन र हेप्न चाहने मानिसहरू हुन्। त्यसैले, ख्रीष्टविरोधीहरूले आफूलाई काटछाँट गर्नेविरुद्ध प्रतिरोध गर्छन्, र त्यो व्यक्तिलाई कठिन समय दिन्छन्। अनि जसले ख्रीष्टविरोधीहरूका कमीकमजोरी वा भ्रष्टताहरूको कुरा उठाउँछ, वा तिनीहरूलाई सत्यता र परमेश्वरका अभिप्रायहरूबारे सङ्गति गर्छ, वा आफूलाई चिन्न लगाउँछ, तिनीहरूले त्यो व्यक्तिले आफूलाई कठिन समय दिइरहेको छ भन्ने सोच्छ र त्यसलाई अप्रिय ठान्छ। तिनीहरूले त्यो व्यक्तिलाई हृदयदेखि नै घृणा गर्छन्, र तिनीहरूसँग बदला लिन्छन् र तिनीहरूलाई कठिनाइमा पार्छन्। ख्रीष्टविरोधीहरूले काटछाँट हुनुलाई जेजसरी लिन्छन् त्यसको अर्को प्रकटीकरण यही हो, र यसबारे हामी सङ्गति गर्नेछौं। तिनीहरूलाई काटछाँट र खुलासा गर्ने हरकसैलाई तिनीहरू घृणा गर्छन्। यो ख्रीष्टविरोधीहरूमा देखिने अत्यन्तै स्पष्ट प्रकटीकरण हो। कस्तो प्रकारका मानिसहरूमा यस्तो क्रूर स्वभाव हुन्छ? दुष्ट मानिसहरूमा। वास्तवमा ख्रीष्टविरोधीहरू दुष्ट मानिसहरू हुन्। त्यसकारण, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूमा मात्रै यस्तो क्रूर स्वभाव हुन्छ। जब क्रूर व्यक्तिले कुनै पनि राम्रो अभिप्रायको सल्लाह, आरोप, शिक्षा वा सहयोग सामना गर्छ, तब उसको मनोवृत्ति कृतज्ञ हुनु वा यसलाई नम्रसाथ स्विकार्नु हुँदैन, बरु लज्जित र क्रोधित हुनु, र चरम शत्रुता, र घृणा महसुस गर्नु, र बदलासमेत लिन चाहनु हुन्छ। कति मानिसहरूले यसो भन्दै ख्रीष्टविरोधीलाई काटछाँट र खुलासा गर्छन्, “तिमी आजभोलि बेलगाम दौडिरहेको छौ, तिमीले सिद्धान्तअनुसार काम गरिरहेको छैनौ, र कर्तव्य निर्वाह गर्दा निरन्तर आफ्नो धाक लगाइरहेको हुन्छौ। तिमीले हैसियतको खातिर काम गरिरहेको छौ र कर्तव्य पूरै भद्रगोल पारिरहेको छौ। के तिमीले परमेश्वरको नजरमा सही काम गरेको छौ? तिमीले कर्तव्य निर्वाह गर्दा किन सत्यता खोजी गरिरहेको छैनौ? तिमीले किन सिद्धान्तअनुसार काम गरिरहेको छैनौ? विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले तिमीसँग सत्यता सङ्गति गर्दा तिमीले किन स्विकारिरहेको छैनौ? तिमी किन तिनलाई बेवास्ता गरिरहेको छौ? तिमी किन आफ्नो खुसी काम गरिरहन्छौ?” यी विभिन्न प्रश्नहरूले, तिनीहरूको भ्रष्टताको प्रकटीकरण खुलासा गर्ने यी वचनहरूले तिनीहरूलाई घोच्छन्: “किन? ‘किन’ भन्ने कुरै छैन—मलाई जे मन लाग्यो त्यही गर्छु! मलाई काटछाँट गर्ने अधिकार तिमीलाई केले दिन्छ? त्यसो गर्नको लागि तिमी को हौ? म स्वेच्छाचारी छु; तिमीले यसबारे के गर्न सक्छौ? अहिले म यो उमेरको छु, त्यसैले कसैले पनि मसँग यसरी बोल्ने आँट गर्दैन। म मात्रै अरूसँग यसरी बोल्न सक्छु; अरू कसैले पनि मसँग यसरी बोल्न सक्दैन। कसले मसित भाषण छाँट्ने आँट गर्छ? मसित भाषण छाँट्न सक्ने व्यक्ति अझै जन्मेको छैन! के तिमीलाई मसित भाषण छाँट्न सक्छु जस्तो लाग्छ?” तिनीहरूको हृदयभित्र घृणा पैदा हुन्छ, र तिनीहरूले बदला लिने मौका खोज्छन्। तिनीहरूले मनमा यस्तो हिसाबकिताब गरिरहेका हुन्छन्: “के मलाई काटछाँट गर्ने यस व्यक्तिको मण्डलीमा शक्ति छ? यदि मैले ऊविरुद्ध बदला लिएँ भने, के कसैले उसको पक्षमा बोल्नेछ? यदि मैले उसलाई कष्ट दिएँ भने, के मण्डलीले मलाई निराकरण गर्नेछ? मसँग एउटा समाधान छ। म व्यक्तिगत रूपमा ऊविरुद्ध बदला लिनेछैनँ; म केही कुरा गुप्त रूपमा गर्नेछु। म उसलाई कष्ट र सर्ममा पार्न उसको परिवारलाई केही गर्नेछु, त्यसरी म यो द्वेषबाट मुक्त हुनेछु। मैले बदला त लिनैपर्छ। मैले अहिले यो कुरालाई त्यतिकै छोड्नु हुँदैन। मैले खेलौना हुनलाई परमेश्वरमा विश्वास गरेको होइन, र म मानिसहरूको मनलाग्दी हेपाइ सहन यहाँ आएको होइन; म त आशिष्हरू प्राप्त गर्न र स्वर्गको राज्य प्रवेश गर्न आएको हुँ! रूखलाई बोक्रा चाहिएजस्तै मानिसहरूलाई पनि अभिमान चाहिन्छ। मानिसहरूसँग आफ्नो इज्जतको लागि लड्ने साहस हुनुपर्छ। तिमीले मलाई खुलासा गर्ने दुस्साहस कसरी गर्यौ, यो त हेपाइ हो! अहिले तिमीले मलाई महत्त्वपूर्ण व्यक्तिलाई जस्तो व्यवहार नगरेकोले, म तिमीलाई नारकीय कष्ट दिनेछु, र परिणामहरू भोग्न लाउनेछु। लडेर हेरौँ न को खतरनाक रहेछ!” खुलासाका केही सरल शब्दहरूले नै ख्रीष्टविरोधीहरूको पारो तात्छ र तिनीहरूमा यस्तो ठूलो घृणा पैदा हुन्छ, र तिनीहरू बदला लिन यति धेरै हदसम्म जान्छन्। तिनीहरूको क्रूर स्वभाव पूर्ण रूपमा उदाङ्गो हुन्छ। जब तिनीहरूले घृणाको कारण अर्को व्यक्तिसित बदला लिन्छन्, तब त्यो अवश्य नै तिनीहरूसँग त्यस व्यक्तिप्रति घृणा भएकोले वा त्यस व्यक्तिसँगको पुरानो ईख भएकोले होइन, तिनीहरूले त त्यो व्यक्तिले तिनीहरूको गल्ती खुलासा गरेकोले यसो गर्छन्। यसले देखाउँछ कि ख्रीष्टविरोधीलाई खुलासा गर्ने काम जसले गरे पनि, र ख्रीष्टविरोधीसँग त्यो व्यक्तिको सम्बन्ध जे भए पनि, त्यो खुलासाले नै तिनीहरूमा घृणा पैदा गर्न र बदला लिने इच्छा जगाउन सक्छ। त्यो व्यक्ति जोसुकै भए पनि, उसले सत्यता बुझे नि नबुझे नि, वा ऊ अगुवा भए नि सेवक भए नि वा परमेश्वरका चुनिएका मानिसहरूको साधारण सदस्य भए नि, उसले ख्रीष्टविरोधीलाई खुलासा र काटछाँट गर्यो भने, ख्रीष्टविरोधीले त्यो व्यक्तिलाई शत्रुको रूपमै लिनेछ। उसले खुलेआम यसोसमेत भन्नेछ, “जसले मलाई काटछाँट गर्छ ऊप्रति म कठोर हुनेछु। जसले मलाई काटछाँट गर्छ, जसले मेरो भित्री कुरा पर्दाफास गर्छ, जसले मलाई परमेश्वरको घरबाट निष्कासित गराउँछ, वा मेरो आशिष्को भाग लुट्छ, उसलाई म त्यतिकै कहिल्यै छोड्नेछुइनँ। बाहिरी संसारमा म यस्तै छु: मलाई समस्या दिने आँट कसैले गर्दैन। मलाई झिज्याउन आँट गर्ने व्यक्ति अझै जन्मेको छैन!” काटछाँट सामना गर्दा ख्रीष्टविरोधीहरूले बोल्ने रूखा शब्दहरू यिनै हुन्। जब तिनीहरूले यी निर्दयी शब्दहरू बोल्छन्, तब यो अरूलाई डर देखाउन बोलिएको हुँदैन, न त तिनीहरूले आफूलाई रक्षा गर्नलाई नै यी आवेगहरू पोखाइरहेका हुन्छन्। तिनीहरू त साँच्चै नै दुष्ट काम गर्न सक्षम हुन्छन्, र तिनीहरूले आफूसँग भएको हरकुनै माध्यमसमेत प्रयोग गर्नेछन्। ख्रीष्टविरोधीहरूको क्रूर स्वभाव यही हो। यस्ता ख्रीष्टविरोधीहरू सामना गर्नुपर्दा, कतिपय अगुवा र सेवकहरूले उनीहरूलाई खुलासा गर्ने वा उनीहरू विरुद्ध कारबाही गर्ने साहस गर्दैनन्, र ख्रीष्टविरोधीहरू अझै खराब हुँदै जान्छन्। तिनीहरूको दुष्कर्म अझै निडर किसिमको बन्छ, तिनीहरूले मानिसहरूलाई बहकाउने र बाधा दिने प्रयास गरिरहन्छन्, र अन्ततः धेरैजसोलाई बहकाउ र नियन्त्रणमा पारिछोड्छन्। यही कुराले नै विपत्ति निम्त्याउँछ। जब आफ्ना दुष्ट कार्यहरूबारे दाजुभाइ-दिदीबहिनीहरूद्वारा खुलासा गरिएको वा माथिका मानिसहरूलाई रिपोर्ट गरिएको थाहा हुन्छ, तब कतिपय ख्रीष्टविरोधीहरूले बदला लिन्छन् र तिनीहरूलाई ठूलो रातो अजिङ्गरको हातमा राखिदिन्छन्—तिनीहरूलाई शैतानको शासनमा सुम्पिदिन्छन्। यो क्रूर स्वभाव हो, होइन र? अनि ख्रीष्टविरोधीहरू यति क्रूर हुन्छन् भने, के तिनीहरूले साँच्चै परमेश्वरमा विश्वास गर्छन् त? अवश्य नै गर्दैनन्। तिनीहरू शैतानका सेवकहरू हुन्, र तिनीहरू मण्डली बिथोल्न आएका हुन्छन्; तिनीहरू परमेश्वरको घरमा घुसपैठ भएका पिशाचहरू हुन् र तिनीहरूले परमेश्वरको काममा बाधा र खलल पुर्याउने बाहेक अरू केही गर्दैनन्, र तिनीहरूले परमेश्वरको विरोध गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू परमेश्वर र परमेश्वरका चुनिएका मानिसहरूका शत्रुहरू हुन्। ख्रीष्टविरोधी पिशाचहरूलाई दाजुभाइ-दिदीबहिनीहरूलाई जस्तै व्यवहार गर्नु ठूलो गल्ती हुनेछ; यस्तो काम गर्नलाई त तँ अन्धो नै हुनुपर्छ। यदि ख्रीष्टविरोधीलाई दाजुभाइ वा दिदीबहिनीको रूपमा मलजल गरियो, खुवाइयो, र सहयोग गरियो भने, वा यदि त्यसलाई सत्यता पछ्याउने व्यक्तिको रूपमा बढुवा गरी महत्त्वपूर्ण पद दिइयो भने, त्यसो गर्ने अगुवाले ठूलो दुष्कर्म गरिरहेको हुन्छ। त्यसले ख्रीष्टविरोधीको दुष्टतामा भूमिका खेलिरहेको हुन्छ, र त्यसलाई हटाइनुपर्छ। त्यस्ता झूटा अगुवाहरू ख्रीष्टविरोधीहरूका मतियारहरू हुन्, र यो भन्न सकिन्छ कि तिनीहरू आफै पनि ख्रीष्टविरोधीहरू हुन् र तिनीहरूलाई सफाइ गरेर निष्कासित गरिनुपर्छ।
जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरूको मनोवृत्ति स्वीकार र आज्ञापालनको मनोवृत्ति हुँदैन। बरु, तिनीहरू सत्यताप्रति प्रतिरोधी र वितृष्ण हुन्छन्, र त्यसले घृणा पैदा गर्छ। तिनीहरूलाई काटछाँट गर्ने, तिनीहरूको भित्री यथार्थ उदाङ्गो पार्ने र तिनीहरूको वास्तविक परिस्थिति खुलासा गर्ने हरेकलाई तिनीहरूले घृणा गर्छन्। तिनीहरूले तँलाई कति हदसम्म घृणा गर्छन्? तिनीहरूले घृणाले दाँत किट्छन्, तँ तिनीहरूको नजरबाट हराइजा भन्ने कामना गर्छन्, र तिमीहरू दुई जना सहअस्तित्वमा रहन सक्दैनौ भन्ने सोच्छन्। यदि ख्रीष्टविरोधीहरू मानिसहरूसँग यस्तो व्यवहार गर्छन् भने, के तिनीहरू आफ्नो खुलासा र निन्दा गर्ने परमेश्वरका वचनहरू स्विकार्न सक्छन् त? अहँ, सक्दैनन्। जसले तिनीहरूको खुलासा गर्छ, उसलाई तिनीहरूले त्यस्तो खुलासा गरेको र तिनीहरूप्रति प्रतिकूल व्यवहार गरेको कारण घृणा गर्नेछन् र बदला लिनेछन्। तिनीहरू आफूलाई काटछाँट गर्ने व्यक्तिलाई आफ्नो नजरबाट हटाउन सकूँ भन्ने चाहन्छन्। तिनीहरू यो व्यक्तिले राम्रो गरिरहेको देख्न सक्दैनन्। यदि यो व्यक्तिको मृत्यु भयो वा ऊ विपत्तिमा पर्यो भने, तिनीहरू खुशी हुन्छन्; यो व्यक्ति जीवित छ भने र उसले अझै पनि परमेश्वरको घरमा कर्तव्य निर्वाह गरिरहेको छ, र सबै कुरा सामान्य रूपमा अघि बढिरहेको छ भने, तिनीहरूले हृदयमा कष्ट, असहजता, र झिजो महसुस गर्छन्। जब तिनीहरूसँग कसैविरुद्ध बदला लिने उपाय हुँदैन, तब तिनीहरूले गुप्त रूपमा उसलाई श्राप दिन्छन्, वा परमेश्वरले त्यो व्यक्तिमाथि दण्ड र बदला बर्साइदिनुहोस्, र तिनीहरूका गुनासाहरू समाधान गरिदिनुहोस् भनेर प्रार्थनासमेत गर्छन्। ख्रीष्टविरोधीहरूमा यो घृणा पैदा भएपछि, यसले श्रृङ्खलाबद्ध कार्यहरू पैदा गराउँछ। यी कार्यहरूमा बदला र श्रापहरू, र अवश्य नै अरूलाई षड्यन्त्रमा पार्ने, निन्दा गर्ने र दोष दिनेजस्ता घृणाबाट पैदा हुने अरू केही कार्यहरू पनि समावेश हुन्छन्। यदि कसैले तिनीहरूलाई काटछाँट गर्यो भने, तिनीहरूले त्यो व्यक्तिलाई पिठ्यूँपछाडि बदनाम गर्छन्। जब त्यो व्यक्तिले कुनै कुरा सही हो भनेर भन्छ, तब तिनीहरूले त्यो गलत हो भनेर भन्छन्। तिनीहरूले त्यो व्यक्तिले गर्ने सबै सकारात्मक कुराहरूलाई बङ्ग्याउँछन् र नकारात्मक बनाउँछन्, र यसरी तिनीहरूको पिठ्यूँपछाडि झूटहरू फैलाउँछन् र बाधाहरू ल्याउँछन्। तिनीहरूले अरू अज्ञानी र वास्तविक कुरा देख्न नसक्ने वा आफूलाई चिन्न नसक्ने मानिसहरूलाई उक्साउँछन् र आफ्नो पक्षमा पार्छन्, ताकि ती मानिसहरूले तिनीहरूको पक्ष लिई तिनीहरूलाई साथ दिन सकून्। स्पष्ट रूपमा नै तिनीहरूलाई काटछाँट गर्ने व्यक्तिले केही नराम्रो काम गरेको हुँदैन, तर तिनीहरूले अझै पनि त्यो व्यक्तिमा केही दुष्कर्महरूको दोष हालिदिन्छन्, ताकि उसले यस्तो काम गर्छ भनेर सबैले गलत विश्वास गरून्, र त्यसपछि त्यो व्यक्तिलाई इन्कार्न लाउन सबैलाई भेला गराउँछन्। ख्रीष्टविरोधीहरूले यसरी मण्डली जीवन बिथोल्छन् र मानिसहरूलाई कर्तव्य निभाउनमा बाधा दिन्छन्। तिनीहरूको लक्ष्य के हो त? तिनीहरूलाई काटछाँट गर्ने व्यक्तिलाई समस्यामा पार्नु र सबैलाई यो व्यक्तिलाई त्याग्न लगाउनु हो। कति ख्रीष्टविरोधीहरू त यसो पनि भन्छन्: “तैँले मलाई काटछाँट गरिस् र कष्ट दिइस्, त्यसकारण म तँलाई सजिलै छोड्दिनँ। काटछाँटमा पर्नु र त्यागिनु के हो भनेर म तँलाई चखाउनेछ। तैँले मसँग जसरी व्यवहार गरिस्, म पनि तँसँग त्यस्तै व्यवहार गर्नेछु। यदि तैँले मलाई सहजता दिइनस् भने, तँलाई पनि सहजता मिल्नेछ भन्ने नसोच्!” जब ख्रीष्टविरोधीहरूले दुष्कर्म गर्छन्, तब कतिपय अगुवा र सेवकहरूले तिनीहरूलाई कुरा गर्न बोलाउँछन्, तिनीहरूलाई तिनीहरूले पश्चात्ताप गर्नैपर्छ भनेर बताउँछन्, र तिनीहरूलाई सहयोग र साथ दिन परमेश्वरका वचनहरू पढेर सुनाउँछन्। तिनीहरूले यो कुरा नस्विकार्ने मात्र होइन, बरु उल्टै अगुवाले कुनै वास्तविक काम गर्दैन र समस्याहरू सुल्झाउन कहिल्यै परमेश्वरको वचन प्रयोग गर्दैन भनेर अफवाह फैलाउन पनि सुरु गर्छन्। वास्तवमा, अगुवाले भर्खरै त्यही काम गरेको हुन्छ, तर तिनीहरूले तथ्यहरू उल्ट्याउँछन् र बङ्ग्याउँछन् र तिनीहरूलाई सहयोग गर्ने व्यक्तिलाई बदनाम गर्छन्। के यो क्रूरता होइन र? यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले देखी-देखी सकारात्मक कुराहरू नकारात्मक हुन्, र तिनीहरूका गलत कार्य, गल्ती, दुष्कर्म, र दुर्भावपूर्ण व्यवहारहरू सत्यता अनुरूपका सकारात्मक कुराहरू हुन् भनेर दाबी गर्छन्। तर तिनीहरूले कर्तव्य निर्वाह गर्दा जति ठूलो गल्ती गरे नि, तिनीहरूले मण्डलीको काममा जति धेरै हानि गरे नि, तिनीहरू त्यो स्विकार्दैनन् वा त्यसलाई पटक्कै गम्भीरतापूर्वक लिँदैनन्। जब तिनीहरूले त्यसबारे कुरा गर्छन्, तब तिनीहरूले त्यसलाई सानोतिनो देखाएर ध्यान दिँदैनन्। यो मामलाको कारण तिनीहरूलाई काटछाँट गर्ने व्यक्ति तिनीहरूको नजरमा पापी बन्छ र आलोचनाको निसाना बन्छ। के यो सेतोलाई कालो भन्नु होइन र? अगुवा वा सेवकले काटछाँट गर्दा कति ख्रीष्टविरोधीहरूले त यसो भन्दै झूटा प्रत्यारोपहरूसमेत लाउँछन्: “हामी दाजुभाइ-दिदीबहिनीहरूले जे-जस्ता गल्तीहरू गरे नि ती सबै अज्ञानता र अगुवा र सेवकहरूले राम्रो काम गर्न नसकेको कारण भएका हुन्छन्। यदि अगुवा र सेवकहरूलाई आफ्नो काम कसरी गर्ने भन्ने थाहा भएको भए, हामीलाई तुरुन्तै सम्झाएको भए, र राम्ररी कामकाज सम्हालेको भए, के परमेश्वरको घरका घाटाहरू कम हुँदैनथिए र? त्यसकारण, हामीले जे-जस्ता गल्तीहरू गरे नि, अगुवा र सेवकहरू नै पूर्ण रूपमा दोषी हुन्छन् र तिनीहरूले नै सबैभन्दा बढी जिम्मेवारी लिनुपर्छ।” के यो झूटो प्रत्यारोप लाउनु होइन र? यी झूटा प्रत्यारोपहरूले सेतोलाई कालो भनिरहेका छन् र यो बदलाको एउटा स्वरूप हो।
ख्रीष्टविरोधीहरूमा अत्यन्तै क्रूर स्वभाव हुन्छ। यदि तैँले तिनीहरूलाई काटछाँट वा खुलासा गर्ने प्रयास गरिस् भने, तिनीहरूले तँलाई घृणा गर्नेछन् र तँमाथि विषालु सर्पहरूले जस्तै दाँत गाड्नेछन्। तैँले जति नै धेरै प्रयास गरे नि तिनीहरूलाई लतारेर वा झट्काएर फ्याँक्न सक्नेछैनस्। त्यस्ता ख्रीष्टविरोधीहरू सामना गर्नुपर्दा, के तिमीहरू डराउँछौ? कति मानिसहरू त डराउँछन् र यसो भन्छन्, “म तिनीहरूलाई काटछाँट गर्ने दुस्साहस गर्दिनँ। तिनीहरू अत्यन्तै आक्रामक छन्, विषालु सर्पहरूजस्ता छन्, र तिनीहरूले मलाई बेह्रे भने, म खत्तमै हुनेछु।” तिनीहरू कस्ता मानिसहरू हुन्? तिनीहरू अत्यन्तै सानो कदका मानिसहरू हुन्, तिनीहरू केही न कामका हुन्, तिनीहरू ख्रीष्टका असल सिपाहीहरू होइनन्, र तिनीहरूले परमेश्वरको गवाही दिन सक्दैनन्। त्यसैले, जब तिमीहरूले त्यस्ता ख्रीष्टविरोधीहरू सामना गर्छौ, तब तिमीहरूले के गर्नुपर्छ? यदि तिनीहरूले तँलाई धम्की दिए वा तेरो ज्यान लिने प्रयास गरे भने, के तँ डराउनेछस्? त्यस्ता परिस्थितिहरूमा, तँ तुरुन्तै दाजुभाइ-दिदीबहिनीहरूसँग एक हुनुपर्छ र ती ख्रीष्टविरोधीहरूलाई मण्डलीबाट नहटाइन्जेल तिमीहरू खडा हुनुपर्छ, र अनुसन्धान गर्नुपर्छ, प्रमाणहरू जुटाउनुपर्छ, र तिनीहरूलाई खुलासा गर्नुपर्छ। पूरैसित समस्या समाधान गर्नु भनेको यही हो। जब तैँले कुनै ख्रीष्टविरोधीलाई पत्ता लगाउँछस् र ऊसँग दुष्ट व्यक्तिका विशेषताहरू छन् र उसले अरूलाई दण्ड दिन र बदला लिन सक्छ भनेर स्पष्टै पहिचान गर्छस्, तब तैँले उसले पहिले दुष्कर्म गरोस् अनि प्रमाण सङ्कलन गरेर उसलाई तह लाउँछु भनेर प्रतीक्षा नगर्। यो निष्क्रियता हो र यसले पहिले नै केही घाटा निम्ताइसकेको हुन्छ। जब ख्रीष्टविरोधीहरूले आफूमा दुष्ट व्यक्तिका लक्षणहरू रहेको देखाउँछन् र जब तिनीहरूले आफ्नो धूर्त र दुर्भावपूर्ण स्वभाव प्रकट गर्छन्, र जब तिनीहरूले यस्तो काम गर्न लागेका हुन्छन्, त्यति नै बेला तिनीहरूलाई सम्हाल्नु, सम्बोधन गर्नु, हटाउनु, र निकाल्नु सबैभन्दा राम्रो हुन्छ। सबैभन्दा समझदार तरिका यही हो। यदि तँलाई ख्रीष्टविरोधीले तँसँग बदला लिने दह्रिलो मौका खोजिरहन्छ भन्ने डर लाग्छ भने, किन ख्रीष्टविरोधीबारे रिपोर्ट र खुलासा गर्न त्यसका दुष्कर्महरूको प्रमाण प्रयोग नगर्ने? त्यसो गरेर, तैँले परमेश्वरका चुनिएका मानिसहरूको अनुमोदन र सहयोग प्राप्त गर्नेछस्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरले तेरा असल कर्महरू र न्यायसङ्गत कार्यहरूलाई सम्झनुहुनेछ। त्यसैले, किन त्यसो नगर्ने? परमेश्वरका चुनिएका मानिसहरूले परमेश्वरको आज्ञालाई सधैँ ध्यानमा राख्नुपर्छ। दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई सफाइ गरी हटाउनु शैतानविरुद्धको युद्धको सबैभन्दा महत्त्वपूर्ण लडाइँ हो। यो लडाइँ जितियो भने, यो विजेताको गवाही बन्नेछ। यो शैतान र दियाबलसहरू विरुद्ध लडिने युद्ध परमेश्वरका चुनिएका मानिसहरूमा हुनुपर्ने अनुभवात्मक गवाही हो। यो विजेताहरूमा हुनैपर्ने सत्यता वास्तविकता हो। तैँले गवाही दिन र मण्डलीको काम रक्षा गर्न सक् भन्ने उद्देश्यले परमेश्वरले मानिसहरूलाई यति धेरै सत्यता दिनुभएको छ, तँलाई यति लामो समयदेखि अगुवाइ गर्नुभएको छ, र तेरो यति धेरै भरणपोषण गर्नुभएको छ। तर लाग्छ, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले दुष्ट कार्यहरू गर्दा र मण्डलीको काममा बाधा दिँदा, तँ डरपोक बन्छस् र पछि हट्छस्, र हातले टाउको छोपेर भाग्छस्—तँ केही न कामको छस्। तँ शैतानहरूलाई जित्न सक्दैनस्, तैँले गवाही दिएको छैनस्, र तँलाई परमेश्वरले घृणा गर्नुहुन्छ। यो महत्त्वपूर्ण क्षणमा, तैँले खडा भएर शैतानहरूसँग युद्ध गर्नुपर्छ, ख्रीष्टविरोधीहरूका दुष्कर्महरू खुलासा गर्नुपर्छ, तिनीहरूलाई निन्दा गर्नु र धिक्कार्नुपर्छ, तिनीहरूलाई लुक्ने ठाउँ दिनु हुँदैन र तिनीहरूलाई मण्डलीबाट सफाइ गरी हटाउनुपर्छ। यसलाई मात्र शैतानमाथि विजय हासिल गर्नु र तिनीहरूको भाग्य समाप्त पार्नु भनेर भन्न सकिन्छ। तँ परमेश्वरका चुनिएका मानिसहरू मध्येको एक होस्, परमेश्वरको एक अनुयायी होस्। तैँले चुनौतीहरूको डर मान्नु हुँदैन; तैँले सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ। विजेता बन्नु भनेको यही हो। यदि दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरूले बदला लेलान् भन्ने डरले तँलाई चुनौतीहरूदेखि डर लाग्छ र तैँले सम्झौता गर्छस् भने, तँ परमेश्वरको अनुयायी होइनस्, र तँ परमेश्वरका चुनिएका मानिसहरू मध्येको एक होइनस्। तँ केही न कामको छस्, र तँ सेवाकर्ताहरूभन्दा पनि नीच छस्। कतिपय कायरहरूले यसो भन्न सक्छन्, “ख्रीष्टविरोधीहरू साह्रै भयानक हुन्छन्; तिनीहरूले जे पनि गर्न सक्छन्। तिनीहरूले ममाथि बदला लिए भने के गर्ने?” यो त भ्रमित कुरा हो। यदि तँलाई ख्रीष्टविरोधीहरूले लिने बदलाको डर लाग्छ भने, परमेश्वरमाथिको तेरो विश्वास कहाँ छ? के परमेश्वरले तेरो जीवनको यति धेरै वर्ष तँलाई रक्षा गर्नुभएको छैन र? के ख्रीष्टविरोधीहरू पनि परमेश्वरको हातमा छैनन् र? यदि परमेश्वरले अनुमति दिनुभएन भने, तिनीहरूले तँलाई के गर्न सक्छन् र? यसअलावा, ख्रीष्टविरोधीहरू जति नै दुष्ट भए नि, तिनीहरूले वास्तवमा के गर्न सक्छन् र? के परमेश्वरका चुनिएका मानिसहरूलाई एक भएर तिनीहरूलाई खुलासा गर्न र तह लगाउन झन् सजिलो हुँदैन र? त्यसैले किन ख्रीष्टविरोधीहरूसँग डर मान्ने? त्यस्ता मानिसहरू केही कामका हुँदैनन् र तिनीहरू परमेश्वरलाई पछ्याउन लायक पनि हुँदैनन्। घर फर्केर जाओ, र आफ्ना छोराछोरी हुर्काओ, र आफ्नो जीवन जिओ। ख्रीष्टविरोधीहरूले मण्डलीको काम बिथोल्दै परमेश्वरका चुनिएका मानिसहरूलाई हानि गरिरहेको बेला, परमेश्वरका चुनिएका मानिसहरूले तिनीहरूको दुष्कर्महरूप्रति कस्तो प्रतिक्रिया दिनुपर्छ? परमेश्वरलाई पछ्याउनेहरू कसरी आफ्नो गवाहीमा दह्रिलो गरी खडा हुनुपर्छ? तिनीहरूले कसरी शैतान र ख्रीष्टविरोधीहरूका शक्तिहरू विरुद्ध लड्नुपर्छ? तँ परमेश्वरमा समर्पित हुँदै बफादार हुन्छस् कि छेउ लाग्दै तैँले परमेश्वरलाई धोका दिन्छस् भन्ने कुरा ख्रीष्टविरोधीहरूले परमेश्वरलाई बाधा दिँदा, दुष्कर्म गर्दा, र विरोध गर्दा पूर्ण रूपमा खुलासा हुनेछ। यदि तँ परमेश्वरमा समर्पित हुने र उहाँप्रति बफादार रहने व्यक्ति होइनस् भने, तँ उहाँलाई धोका दिने व्यक्ति होस्। अर्को कुनै विकल्प छैन। कतिपय भ्रमित व्यक्तिहरू र समझहीन मानिसहरूले न यताको न उताको अडान लिन्छन् र तिनीहरू दुइजिब्रे बन्छन्। परमेश्वरको नजरमा, यी मानिसहरूमा परमेश्वरप्रति कुनै बफादारिता हुँदैन र तिनीहरू उहाँका विश्वासघातीहरू हुन्। कतिपय भ्रमित व्यक्तिहरू आफ्नो कायरताको कारण, ख्रीष्टविरोधीहरूको दण्डको डर मान्छन्, र तिनीहरूले हृदयमा “मैले के गर्ने?” भनेर निरन्तर सोधिरहन्छन्। तैँले यो प्रश्न सोधेर बस्ने होइन। बरु केचाहिँ तैँले गर्नुपर्छ? (आफ्नो कर्तव्य पूरा गर्नुपर्छ, ख्रीष्टविरोधीहरूका दुष्कर्महरू पूर्ण रूपमा खुलासा गर्नुपर्छ, हाम्रा दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी समझ अभ्यास गर्ने भनेर सिक्न मदत गर्नुपर्छ, र ख्रीष्टविरोधीहरूलाई इन्कार्नुपर्छ। हामीले आफ्नो सुरक्षाबारे चिन्ता गर्नु हुँदैन। हामीले विचार गर्नुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको दुष्ट मानिसहरूले मण्डलीको काममा बाधा दिँदा आफ्नो कर्तव्य कसरी पूरा गर्ने भन्ने हो।) यदि यसले तेरो परिवारमा असर पार्छ भने के गर्ने हो? (हामीले कुनै हिचकिचाहटविना आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ। हामीले हाम्रो परिवारप्रतिको माया र तिनीहरूको सुरक्षाको चिन्ताले कर्तव्य त्याग्नु वा आफ्नो गवाहीमा दृढ हुन चुक्नु हुँदैन।) ठीक भनिस्। ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूलाई परमेश्वरको घरमा खडा हुने ठाउँ नदिनलाई, सर्वप्रथम तँ आफ्नो गवाहीमा दृढ भई तिनीहरू विरुद्ध अन्त्यसम्मै लड्नुपर्छ। यदि तिनीहरू परिश्रम गर्न तयार छन् भने, तिनीहरूलाई नियमहरूअनुसार काम गर्न दे, र तिनीहरूले जे गर्न सक्छन् त्यही गर्न दे। यदि तिनीहरू परिश्रम गर्न अनिच्छुक छन् भने, सबैले मिलेर तिनीहरूलाई निष्कासित गर्नुपर्छ ताकि तिनीहरूले परमेश्वरको घरभित्र मण्डलीको काममा बाधा, व्यवधान, वा बरबादी ल्याउन नसकून्। तैँले गर्नुपर्ने पहिलो कुरा र तँ दृढसाथ खडा हुनुपर्ने गवाही यही हो। यसअलावा, तैँले तेरो परिवार र तेरो जीवन सबै परमेश्वरको हातमा छन्, र शैतानले जथाभाबी काम गर्ने आँट गर्दैन भन्ने कुरा बुझ्नुपर्छ। परमेश्वरले भन्नुभएको छ: “परमेश्वरको अनुमतिविना, भूमिमा पानीको थोपा वा बालुवाको कण छुनु समेत शैतानको लागि कठिन हुन्छ; परमेश्वरको अनुमतिविना, शैतानसँग भूमिको कमिलो हल्लाउने स्वतन्त्रतासमेत छैन, परमेश्वरले सृष्टि गर्नुभएको मानवजातिलाई छुने कुरा त परै जाओस्।” तैँले यी वचनहरूमा कति हृदसम्म विश्वास गर्न सक्छस्? ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूविरुद्ध लड्दा त्यसले तेरो विश्वासको मात्रा प्रकट गर्छ। यदि तँसँग परमेश्वरप्रति साँचो विश्वास छ भने, तँसँग साँचो विश्वास हुन्छ। यदि तँसँग परमेश्वरप्रति थोरै मात्र विश्वास छ, र त्यो विश्वास अस्पष्ट र खोक्रो छ भने, तँसँग साँचो विश्वास छैन। यदि तँलाई परमेश्वर यो सबै कुरामाथि सार्वभौम हुन सक्नुहुन्छ र शैतान परमेश्वरको प्रभुत्वमा हुन्छ भन्ने कुरामा विश्वास छैन, र तँ अझै पनि ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको डर मान्छस्, र तिनीहरूले मण्डलीमा दुष्कर्म गर्दा, मण्डलीको काम बिथोल्दा र बरबाद गर्दा तैँले सहन सक्छस्, र आफूलाई रक्षा गर्न शैतानसँग सम्झौता गर्न वा त्यसको कृपा माग्न सक्छस्, तर तिनीहरू विरुद्ध खडा हुन र लड्न आँट गर्दैनस्, र तँ भगुवा, चाटुकार, र रमिते बनेको छस् भने, तँमा परमेश्वरमाथिको साँचो विश्वास छैन। परमेश्वरमाथिको तेरो विश्वासमा प्रश्न उठ्छ, जसले तेरो विश्वासलाई अत्यन्तै दयनीय बनाउँछ! जब तैँले ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूले परमेश्वरको घरमा बाधा र व्यवधानहरू ल्याइरहेको देख्छस् तर उदासीनतामा बस्छस्; जब तैँले आफ्नो जीवन, परिवार र आफ्ना सबै हित रक्षा गर्न परमेश्वरको घर र उहाँका चुनिएका मानिसहरूका हितहरूलाई धोका दिन्छस्, तब तँ एक विश्वासघाती, एक यहूदा बन्छस्। यो सीधा र स्पष्ट कुरा हो। हामी प्रायजसो ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूबारे सङ्गति र चिरफार गर्छौं, र तिनीहरूलाई कसरी चिन्ने र पहिचान गर्ने भनेर छलफल गर्छौं, र यो सबै सत्यताबारे स्पष्ट सङ्गति गर्ने उद्देश्यको लागि, र दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न मानिसहरूलाई समझशक्ति दिने उद्देश्यको लागि हो, ताकि तिनीहरूले ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न सकून्। यसरी, परमेश्वरका चुनिएका मानिसहरू अबदेखि ख्रीष्टविरोधीहरूले बहकाउ वा बाधामा पर्नेछैनन्, र तिनीहरू शैतानको प्रभाव र बन्धनबाट मुक्त हुन सक्नेछन्। तैपनि, कतिपय मानिसहरूको हृदयमा अझै पनि दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू हुन्छन्। तिनीहरूले दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई चिन्ने प्रयास गर्दैनन्; बरु, तिनीहरूले चाटुकार मानिसहरूको भूमिका खेल्छन्। तिनीहरू ख्रीष्टविरोधीहरू विरुद्ध लड्दैनन्, तिनीहरूको लागि स्पष्ट सीमा तोक्ने काम गर्दैनन्, र आफ्नै हितहरू रक्षा गर्न खुकुलो र मध्यमार्गी शैली अपनाउँछन्। तिनीहरूले यी दियाबलसहरू, यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूलाई परमेश्वरको घरमा रहन दिन्छन्, र दियाबलसहरूलाई पालनपोषण गरेर खतरा निम्त्याउँछन्। तिनीहरूले यी दियाबलसहरूलाई मण्डलीको काममा र दाजुभाइ-दिदीबहिनीहरूको कर्तव्य निर्वाहमा बेलगाम बाधा दिने अनुमति दिन्छन्। त्यस्ता मानिसहरूले कस्तो भूमिका खेल्छन्? तिनीहरू ख्रीष्टविरोधीहरूका ढाल र मतियार बन्छन्। तैँले ख्रीष्टविरोधीहरूले जस्तै काम नगरे पनि वा उस्तै दुष्ट कार्यहरू नगरे पनि, तँ तिनीहरूको दुष्कर्ममा सहभागी भएको हुन्छस्—तँ दोषी ठहरिन्छस्। तैँले ख्रीष्टविरोधीहरूलाई सहन्छस् र आश्रय दिन्छस्, र कुनै कारबाही वा अरू केही नगरी तिनीहरूलाई तेरो वरिपरि बरबादी ल्याउन दिन्छस्। के तैँले ख्रीष्टविरोधीहरूको दुष्टतामा सहभागिता जनाएको हुँदैनस् र? त्यसैले कतिपय झूटा अगुवा र चाटुकार मानिसहरू ख्रीष्टविरोधीहरूका मतियार बन्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीको काम बिथोलिरहेको देखेर पनि तिनीहरूलाई खुलासा नगर्ने वा तिनीहरूको निम्ति स्पष्ट सीमा नतोक्ने जोकोही तिनीहरूको सेवक र मतियार बन्छ। तिनीहरूसँग परमेश्वरप्रति समर्पण र बफादारीको कमी हुन्छ। परमेश्वर र शैतानबीचको युद्धका महत्त्वपूर्ण क्षणहरूमा, तिनीहरू शैतानको पक्षमा खडा हुन्छन्, र यसरी ख्रीष्टविरोधीहरूलाई रक्षा गर्छन् र परमेश्वरलाई धोका दिन्छन्। त्यस्ता मानिसहरू परमेश्वरको लागि घृणित हुन्छन्।
जब ख्रीष्टविरोधीहरूले काटछाँट सामना गर्छन्, तब तिनीहरूले प्राय ठूलो प्रतिरोध देखाउँछन्, त्यसपछि तिनीहरूले आफ्नो पक्षमा तर्क गर्न, र मानिसहरूलाई बहकाउन शब्दजाल र वाक्पटुता प्रयोग गर्न सक्दो प्रयास गर्न थाल्छन्। यो निकै आम कुरा हो। सत्यता स्विकार्न नमान्ने ख्रीष्टविरोधीहरूको प्रकटीकरणले सत्यतालाई घृणा गर्ने र सत्यताप्रति प्रतिकूल रहने तिनीहरूको शैतानी प्रकृति पूर्ण रूपमा खुलासा गर्छ। तिनीहरू विशुद्ध रूपमा शैतानको वर्गमा पर्छन्। ख्रीष्टविरोधीहरूले जे गरे नि, तिनीहरूको स्वभाव र सार उदाङ्गो भइहाल्छ। विशेषगरी परमेश्वरको घरमा, तिनीहरूले गर्ने सबै कुरा सत्यता विरुद्ध जान्छ, ती सबै कुरालाई परमेश्वरले निन्दा गर्नुहुन्छ, र ती सबै परमेश्वरको विरोध गर्ने दुष्कर्महरू हुन्, र तिनीहरूले गर्ने ती सबै कुराहरूले ख्रीष्टविरोधीहरू शैतान र पिशाचहरू हुन् भनेर पूर्ण रूपमा पुष्टि गर्छन्। त्यसकारण, काटछाँट स्विकार्ने कुरामा तिनीहरू पक्कै पनि खुशी हुँदैनन्, बरु निश्चय नै अनिच्छुक हुन्छन्, अनि प्रतिरोध र विरोध बाहेक, तिनीहरू काटछाँटलाई घृणा गर्छन्, आफूलाई काटछाँट गर्नेहरूलाई घृणा गर्छन्, र आफ्नो प्रकृति सार र दुष्कर्म खुलासा गर्नेहरूलाई घृणा गर्छन्। ख्रीष्टविरोधीहरू जसले तिनीहरूलाई खुलासा गर्छ उसले तिनीहरूलाई कठिनाइमा पारिरहेको हुन्छ भन्ने सोच्छन्, त्यसकारण तिनीहरू तिनीहरूलाई खुलासा गर्ने जोकोहीसँग प्रतिस्पर्धा र लडाइँ गर्छन्। ख्रीष्टविरोधीहरूको यस्तो प्रकृतिको कारण, तिनीहरू तिनीहरूलाई काटछाँट गर्ने कसैलाई पनि कहिल्यै दया गर्दैनन्, न त तिनीहरूले त्यसो गर्ने कसैलाई सहने वा धैर्य देखाउने नै गर्नेछन्, त्यसो गर्ने कसैप्रति कृतज्ञता महसुस गर्ने वा उसलाई प्रशंसा गर्नु त परै जाओस्। बरु यसको ठीक उल्टो रूपमा, यदि कसैले तिनीहरूलाई काटछाँट गर्छ र यसले गर्दा तिनीहरूको प्रतिष्ठा र इज्जत गुम्छ भने, तिनीहरूले हृदयमा यो व्यक्तिप्रति घृणा राख्नेछन्, र ऊसँग बदला लिने मौका खोज्नेछन्। अरूप्रति तिनीहरूमा कति घृणा हुन्छ! अरूसामु तिनीहरूले यस्तो सोच्छन्, र खुलेआम यस्तो भन्छन्, “आज तैँले मलाई काटछाँट गरिस्, त्यसकारण अब हाम्रो झगडा हुन्छै-हुन्छ। तँ आफ्नो बाटो लाग्, र म आफ्नो बाटो लाग्छु, तर कसम खान्छु, म बदला लिएरै छोड्छु! यदि तैँले मसँग आफ्नो गल्ती स्विकारिस्, मेरो अघि शिर झुकाइस्, वा घुँडा टेकेर बिन्ती गरिस् भने, म तँलाई क्षमा दिनेछु, नत्रभने म यो कुरा कहिल्यै बिर्सनेछैनँ!” ख्रीष्टविरोधीहरूले जे भने नि वा जे गरे नि, तिनीहरू आफूलाई कसैले दयापूर्वक गरेको काटछाँटलाई वा कसैले इमानदारिताको साथ गरेको सहयोगलाई परमेश्वरको प्रेम र मुक्तिको आगमनको रूपमा कहिल्यै हेर्दैनन्। बरु, तिनीहरू यसलाई अपमानको चिन्हको रूपमा, र आफूलाई सबैभन्दा बढी लज्जित पारिएको क्षणको रूपमा लिन्छन्। यसले ख्रीष्टविरोधीहरूले सत्यता पटक्कै स्विकार्दैनन्, र तिनीहरूको स्वभाव सत्यताप्रति प्रतिकूल रहने र घृणा गर्ने स्वभाव हो भन्ने देखाउँछ। के तिमीहरूले कहिल्यै अरूले काटछाँट गरेको कारण अरू विरुद्ध बदला लिने कोही दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरू भेटेका छौ? (छौँ।) तिनीहरूले कसरी बदला लिए? के तिनीहरूको बदला लिने विधि भयानक थियो? (हो, यो भयानक थियो। एक पटक मैले मण्डलीमा एउटा ख्रीष्टविरोधी भेटेको थिएँ, जसले केही दुष्कर्म गरेको थियो, र त्यसपछि मण्डली अगुवाले उसको व्यवहार खुलासा गरेपछि, उसले यो अगुवाले कुनै वास्तविक काम गरेको छैन, र मानिसहरूलाई आफू अघि ल्याउन उसले शब्द र सिद्धान्तहरू बोल्छ भनेर भन्दै मण्डलीमा अफवाह फैलाउन थाल्यो। पछि, जब हामीले यो ख्रीष्टविरोधीलाई खुलासा गर्यौँ, तब सुरुमा उसले आफूलाई ढाकछोप गर्न सफल भयो, तर हामीले उसलाई निरन्तर खुलासा गरिरहन थालेपछि, उसले “मेरो घरपछाडि प्रहरी चौकी छ, तिनीहरू प्राय मेरो घर आइरहन्छन्” भनेर भन्दै हामीलाई धम्की दियो। उसको तात्पर्य यो थियो कि, यदि हामीले उसलाई फेरि खुलासा गर्यौँ भने, उसले हाम्रो बारे प्रहरीमा उजुरी गर्नेछ। उसको क्रूरता प्रकट भएको थियो।) (मैले एक पटक एउटा ख्रीष्टविरोधी भेटेको थिएँ। एक विश्वासी बहिनीले उसको बारे रिपोर्ट गर्दै पत्र लेखेकी थिइन्, र उसले यो पत्र देखेपछि, ती सिस्टर बस्ने ठाउँमा खतरनाक परिस्थिति पैदा भएको थियो, त्यसकारण उसले मण्डलीका सबै मुख्य सहकर्मीहरू भेला गरेर भन्यो, “यो सिस्टरले मलाई रिपोर्ट गर्ने पत्र लेखेपछि किन अचानक यो सिस्टर बस्ने ठाउँमा खतरनाक परिस्थिति पैदा भयो? परमेश्वरले अवश्य नै व्यर्थको काम गर्दैनन्; सायद उनले कसैलाई खुलासा गर्न लागेका छन्!” त्यसपछि उसले केही भड्काउने कुराहरू बोल्यो जसले गर्दा सबैले ती विश्वासी बहिनीमा समस्या छ भन्ने विश्वास गर्दै तिनीमाथि औँला उठाउन थाले। अन्ततः ती बहिनीलाई बर्खास्त गरियो र अर्कै ठाउँ पठाइयो, र तिनले लेखेको पत्रलाई पन्छाइयो, त्यसमा कुनै कामकारबाही भएन। त्यसपछि, हामीले त्यो ख्रीष्टविरोधीले सुरुदेखि अन्त्यसम्मै भनेका कुराहरू तुलना गर्यौँ र उसले हामी प्रत्येकलाई फरक-फरक कुरा भनेको छ भन्ने पत्ता लगायौँ। उसले अत्यन्तै कुटिल र छली व्यवहार गरिरहेको छ भन्ने हामीले देख्यौँ। अन्ततः सङ्गतिमार्फत हामीले उसलाई चिन्यौँ, र यो मामला न्यायोचित रूपमा समाधान भयो।) अब, सबै ख्रीष्टविरोधीहरू दुष्ट मानिसहरू हुन्, र जबसम्म दुष्ट मानिसहरूले शक्ति प्रयोग गर्छन्, तबसम्म तिनीहरू सबै ख्रीष्टविरोधीहरू नै हुन्छन् भन्ने कुरा पुष्टि भएको छ।
जब ख्रीष्टविरोधीहरूले मण्डलीमा बाधा दिइरहेका हुन्छन्, तब त्यो राम्रो कि नराम्रो कुरा हो? (नराम्रो कुरा।) यो कुन हिसाबमा नराम्रो हो? के परमेश्वरले गल्ती गर्नुभएको हुन्छ? के परमेश्वरले ध्यान नदिनुभएको, र ख्रीष्टविरोधीहरूलाई आफ्नो घरमा घुसपैठ हुन दिनुभएको हुन्छ? (होइन।) त्यसो भए के भइरहेको हुन्छ? (परमेश्वरले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा घुसपैठ हुन दिनुहुन्छ, ताकि हामी असल-खराब छुट्याउँदै वृद्धि हुन सकौँ, हामीले तिनीहरूको प्रकृति सारलाई कसरी चिन्ने सो सिक्न सकौँ, शैतानले फेरि हामीलाई कहिल्यै मूर्ख बनाउन नसकोस्, र हामी परमेश्वरको गवाहीमा दह्रिलो गरी खडा हुन सकौँ। यो हाम्रो लागि परमेश्वरको मुक्ति हो।) हामी सधैँ शैतान कति दुष्ट, आक्रामक, र खराब छ, शैतानले सत्यताप्रति वितृष्णा राख्छ र त्यसले सत्यतालाई घृणा गर्छ भनेर भन्छौँ, तर के तँ यो कुरा देख्न सक्छस्? शैतानले आत्मिक क्षेत्रमा के गर्छ देख्न सक्छस्? यसले कसरी बोल्छ र व्यवहार गर्छ, सत्यता र परमेश्वरप्रति यसको मनोवृत्ति के हुन्छ, यसको दुष्टता कहाँ हुन्छ—तैँले यीमध्ये कुनै पनि कुरा देख्न सक्दैनस्। त्यसकारण, शैतान दुष्ट छ, यसले परमेश्वरको विरोध गर्छ, र यसले सत्यताप्रति वितृष्णा राख्छ भनेर हामीले जसरी भने पनि, तेरो मनमा, यो एउटा अभिव्यक्ति मात्रै हुन्छ। यसको कुनै साँचो प्रतिरूप हुँदैन। यो अत्यन्तै खोक्रो हुन्छ, र यो अव्यवहारिक हुन्छ; यसले व्यवहारिक सन्दर्भको काम गर्न सक्दैन। तर व्यक्ति ख्रीष्टविरोधीको सम्पर्कमा आएपछि, उसले शैतानको दुष्ट, कटु स्वभाव र सत्यताप्रति वितृष्णा राख्ने यसको सारलाई अझै स्पष्ट रूपमा देख्छ, र शैतानसम्बन्धी उसको बुझाइ अझै स्पष्ट र व्यवहारिक हुन्छ। मानिसहरू सम्पर्कमा आउने र तिनीहरूले देख्ने यी वास्तविक सङ्ख्या र उदाहरणहरूविना, सत्यतासम्बन्धी मानिसहरूको तथाकथित बुझाइ अस्पष्ट, खोक्रा, र अव्यावहारिक हुन्छन्। तर जब मानिसहरू यी ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको वास्तविक सम्पर्कमा आउँछन्, तब तिनीहरूले कसरी दुष्कर्म र परमेश्वरको विरोध गर्छन् भन्ने कुरा मानिसहरूले देख्छन्, र शैतानको प्रकृति सारलाई पहिचान गर्न सक्छन्। तिनीहरूले यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू शैतानका देहधारण हुन्—तिनीहरू जिउँदा शैतानहरू, जिउँदा दियाबलसहरू हुन् भन्ने देख्छन्। ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरू मानिसहरूसँगको सम्पर्कमा आएपछि यस्तो प्रभाव आउँछ। जब शैतानले दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीको रूपमा पुनर्जन्म लिन्छ, तब यसको देहगत शरीरका क्षमताहरू त्यति धेरै हुँदैनन्, तैपनि त्यसले धेरै खराब कुराहरू गर्न सक्छ, र धेरै समस्याहरू पैदा गर्न सक्छ, र त्यो आनीबानी र व्यवहारमा अत्यन्तै दुष्ट र धूर्त हुन सक्छ। त्यसकारण, शैतानले आत्मिक क्षेत्रमा गर्ने दुष्टता देहमा जिउने दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू सबैले मिलेर गर्ने कूल दुष्टताभन्दा सय वा हजार गुणा बढी हुन्छ। त्यसकारण, दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूसँगको सम्पर्कमा आएपछि मानिसहरूले सिक्ने पाठहरूले तिनीहरूलाई समझशक्ति विकास गर्न र शैतानको अनुहार स्पष्ट देख्न मद्दत गर्छन्। यी कुराहरूले मानिसहरूलाई के सकारात्मक छन् र के नकारात्मक छन्, परमेश्वरले केलाई घृणा गर्नुहुन्छ र केले उहाँलाई खुशी पार्छ, के सत्यता हो र के भ्रामक कुरा हो, के धर्मी हो र के दुष्ट हो, परमेश्वरले ठ्याक्कै केलाई घृणा गर्नुहुन्छ र ठ्याक्कै केलाई प्रेम गर्नुहुन्छ, र परमेश्वरले कस्ता मानिसहरूलाई इन्कार्नुहुन्छ र हटाउनुहुन्छ र कस्ता मानिसहरूलाई अनुमोदन गर्नुहुन्छ र प्राप्त गर्नुहुन्छ भनेर छुट्याउन सिकाउँछन्। यी प्रश्नहरूलाई धर्मसिद्धान्तहरूको हिसाबमा मात्रै बुझ्ने प्रयास गर्नु व्यर्थ हुन्छ। व्यक्तिले धेरै कुराहरू अनुभव गर्नुपर्छ, विशेष गरी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूको बहकाउ र बाधा अनुभव गर्नुपर्छ। व्यक्तिले साँचो समझशक्ति प्राप्त गरेपछि मात्रै उसले यी धेरै सत्यताहरू बुझ्न र परमेश्वरले के मापदण्ड दिनुहुन्छ र उहाँले के प्राप्त गर्न चाहनुहुन्छ भन्नेबारे अझै गहन र व्यावहारिक बुझाइ प्राप्त गर्न सक्छ। के यसले परमेश्वरका अभिप्रायहरूबारे अझै राम्रो बुझाइ प्रदान गर्दैन र? के यसले तँलाई परमेश्वर नै सत्यता हुनुहुन्छ र सबैभन्दा प्रेमिलो उहाँ एक हुनुहुन्छ भन्ने कुरामा अझै निश्चित तुल्याउन सक्दैन र? (सक्छ।) परमेश्वरले मानिसहरूलाई परिस्थितिहरू अनुभव गर्ने क्रममा पाठहरू सिक्ने र समझशक्ति विकास गर्ने तुल्याउनुहुन्छ, र उहाँले निश्चय नै मानिसहरूलाई तालिम दिइरहनुभएको हुन्छ, साथै हरप्रकारका मानिसहरूलाई खुलासा पनि गरिरहनुभएको हुन्छ। जब कतिपय मानिसहरूले दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीलाई भेट्छन्, तब तिनीहरूले उसलाई खुलासा वा पहिचान गर्ने आँट गर्दैनन्, र तिनीहरूसँग सम्पर्क गर्ने आँट पनि गर्दैनन्। तिनीहरू डराउँछन्, र त्यस्ता मानिसहरूबाट टाढा बस्ने प्रयास मात्र गर्छन्, मानौँ तिनीहरूले कुनै विषालु सर्प देखेका छन्। त्यस्ता मानिसहरू पाठहरू सिक्नै नसक्ने गरी डरपोक हुन्छन्, र तिनीहरूले समझशक्ति विकास गर्दैनन्। दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी सामना गर्ने कतिपय मानिसहरूले पाठहरू सिक्ने वा समझशक्ति प्राप्त गर्ने कार्यमा ध्यान दिँदैनन्; तिनीहरूले आफ्नो जिद्दीपनको आधारमा तिनीहरूसँग व्यवहार गर्छन्, र जब ख्रीष्टविरोधीलाई खुलासा र पहिचान गर्ने समय आउँछ, तब तिनीहरू उपयोगी हुन वा व्यावहारिक काम गर्न सक्दैनन्। कतिपय मानिसहरूले ख्रीष्टविरोधीले धेरै दुष्कर्म गरेको देख्छन्, र हृदयमा तिनीहरूलाई यसप्रति वितृष्णा हुन्छ, तर तिनीहरूले यसबारे केही गर्न सक्दैनन्, तिनीहरूलाई तिनीहरूको हात बाँधिएको छ जस्तो लाग्छ। परिणामस्वरूप ख्रीष्टविरोधीले तिनीहरूलाई स्वेच्छाचारी रूपमा खेलौना बनाउँछन्, र तिनीहरूले यो कुरा सहिरहन्छन् र यसलाई चुपचाप अङ्गालिरहन्छन्। तिनीहरूले ख्रीष्टविरोधीलाई लापरवाही रूपमा काम गर्न र मण्डलीको काम बिथोल्न दिइरहन्छन्, र तिनीहरूले उसको बारे रिपोर्ट वा खुलासा गर्दैनन्। तिनीहरू मानवको रूपमा आफ्नो जिम्मेवारी र कर्तव्य निभाउन असफल भएका हुन्छन्। छोटकरीमा भन्दा, जब दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरूले विनाश निम्त्याउँदै मनलाग्दी गर्छन्, तब यसले हरप्रकारका मानिसहरूलाई खुलासा गर्छ, र अवश्य नै, यसले सत्यता पछ्याउने र न्यायबोध भएकाहरूलाई तालिम दिने, र तिनीहरूलाई समझशक्ति र अन्तर्ज्ञान वृद्धि गर्न, यसबाट केही कुरा सिक्न, र परमेश्वरका अभिप्रायहरू बुझ्न मद्दत गर्ने कार्य पनि गर्छ। अन्ततः तिनीहरूले परमेश्वरका कुन-कुन अभिप्रायहरू बुझ्छन्? यो कि परमेश्वरले ख्रीष्टविरोधीहरूलाई मुक्ति दिनुहुन्न, बरु तिनीहरूलाई सेवाको लागि मात्रै प्रयोग गर्नुहुन्छ, र जब ख्रीष्टविरोधीहरूले आफ्नो सेवा पूरा गरिसकेका हुन्छन्, तब परमेश्वरले तिनीहरूलाई खुलासा गर्नुहुन्छ र हटाउनुहुन्छ, र अन्ततः तिनीहरूलाई दण्ड दिनुहुन्छ, किनभने तिनीहरू दुष्ट मानिसहरू हुन् र तिनीहरू शैतानका मानिसहरू हुन्। परमेश्वरले मुक्ति दिनुहुने मानिसहरू आफ्नो भ्रष्ट स्वभावको बाबजुद पनि सकारात्मक कुराहरूलाई प्रेम गर्ने, र परमेश्वर सत्यता हुनुहुन्छ भनेर पहिचान गर्ने, र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूमा समर्पित हुने, र अपराध गरेपछि, साँचो रूपमा पश्चात्ताप गर्न सक्ने समूहका मानिसहरू हुन्। यी मानिसहरूले काटछाँट, न्याय र सजाय स्विकार्न सक्छन्, र अरूले तिनीहरूलाई खुलासा गर्दा वा तिनीहरूका समस्याहरू औँल्याउँदा यसलाई सही रूपमा लिन सक्छन्। परमेश्वरले जसरी काम गर्नुभए पनि, यसलाई स्विकार्ने र यसमा समर्पित हुने, र यसबाट केही सिक्न सक्ने मानिसहरू नै परमेश्वरलाई साँचो रूपमा पछ्याउने, उहाँको काम अनुभव गर्ने, र उहाँद्वारा प्राप्त गरिने समूहका मानिसहरू हुन्।
ख्रीष्टविरोधीहरूले काटछाँटलाई कसरी लिन्छन् भन्ने कुराका प्रकटीकरणहरूबारे हाम्रो सङ्गति यहीँ समाप्त हुन्छ। पछि, तिमीहरूले व्यक्तिगत रूपमा देखेका वा अनुभव गरेका केही उदाहरणहरू भेट्न सक्छौ, र तिनको सारको आधारमा तिनलाई चिरफार गरेर तीबारे सङ्गति गर्न सक्छौ, ताकि दाजुभाइ-दिदीबहिनीहरूले समझशक्ति प्राप्त गर्न सकून्। तिनीहरूले समझशक्ति प्राप्त गर्नुको उद्देश्य के हो? यो अझै धेरै मानिसहरूलाई ख्रीष्टविरोधीहरूलाई इन्कार्न, मण्डलीमा तिनीहरूका दुष्कर्महरू रोक्न र सीमित गर्न, र मानिसहरूले कर्तव्य निर्वाह गर्ने मण्डली र महत्त्वपूर्ण स्थानहरूमा बाधा र व्यवधानहरू ल्याउन, वा मण्डलीको काममा कुनै घाटा ल्याउनबाट तिनीहरूलाई रोक्न सक्षम पार्नको लागि हो। ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूलाई बाँध्नु भनेको यही हो। धेरैजसो ख्रीष्टविरोधीहरूले परमेश्वरलाई सार्वजनिक रूपमा आलोचना नगरे पनि वा मण्डलीमा उहाँको विरोध नगरे पनि, तिनीहरूले गुप्त रूपमा धेरै दुष्कर्महरू गर्छन्। तिनीहरूले मण्डली जीवन बिथोल्छन्, र तिनीहरूले सत्यता सङ्गति गर्ने र सिद्धान्तहरू अनुसार काम गर्ने अगुवा र सेवकहरूलाई बाधा र व्यवधान पुर्याउँछन्। तिनीहरूले परमेश्वरको घरको कामबारे सोचविचार विहीन टिप्पणी गर्छन् र स्वेच्छाचारी आलोचना गर्छन्। तिनीहरूले अगुवा र सेवकहरूलाई दोष दिन्छन्, परमेश्वरका चुनिएका मानिसहरूलाई बहकाउँछन्, र मण्डलीको काममा बाधाहरू ल्याउँछन्, जसले गर्दा परमेश्वरका चुनिएका मानिसहरूले कर्तव्य निर्वाह गर्दा आउने परिणामहरूमा असर हुन्छ। यो परमेश्वरको काममा बाधा दिने ठूलो दुष्टता हो। परमेश्वरका चुनिएका मानिसहरू सबैले ख्रीष्टविरोधीहरूले गर्ने दुष्टता ठूलो दुष्टता हो, त्यो छुटकारा दिनै नसकिने निन्दनीय दुष्टता हो भनेर जान्नुपर्छ। त्यसकारण, ख्रीष्टविरोधीहरू सधैँ परमेश्वरको घरमा बन्धन र प्रतिबन्धमा पर्ने पात्रहरू हुन्। ख्रीष्टविरोधीहरूलाई मण्डलीबाट निष्कासित गरिनैपर्छ—यो परमेश्वरको अभिप्राय अनुरूप हुन्छ। यदि ख्रीष्टविरोधीहरूलाई कुनै मण्डलीमा मनोमानी र स्वेच्छाचारी हुन, दाजुभाइ-दिदीबहिनीहरू नियन्त्रण गर्न र धम्की दिन वा बहकाउन र झुक्याउन जुनसुकै नारा र तर्कहरू बोल्न दिइन्छ भने, र अगुवा र सेवकहरूले यो कुरालाई बेवास्ता गर्छन् र काम गर्दैनन्, र ख्रीष्टविरोधीहरूलाई चिढ्याइएला भन्ने डरले तिनीहरूलाई खुलासा वा प्रतिबन्धित गर्ने आँट गर्दैनन्, र यसले गर्दा त्यो मण्डलीका दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा खेलौना बनाउँछन् र बाधा दिन्छन् भने, त्यो मण्डलीका अगुवाहरू खुसामदी गर्ने मानिसहरू हुन्, र तिनीहरू हटाइनुपर्ने कसिङ्गरहरू हुन्। यदि कुनै मण्डलीका अगुवाहरूसँग ख्रीष्टविरोधी र दुष्ट मानिसहरू छुट्याउने क्षमता छ, र तिनीहरूले परमेश्वरका चुनिएका मानिसहरूलाई खडा भएर तिनीहरूलाई खुलासा गर्न, र परमेश्वरको घरको काम रक्षा गर्न दियाबलसहरूलाई हटाउन मदत गर्छन् भने, यसले दियाबलसहरू र शैतानलाई लज्जित पार्नेछ, र यसले परमेश्वरको अभिप्राय पनि पूरा गर्नेछ। यस्तो मण्डलीका अगुवाहरू सत्यता वास्तविकता भएका योग्य अगुवाहरू हुन्। यदि मण्डलीले ख्रीष्टविरोधीको बाधा भोगिरहेको छ, र दाजुभाइ-दिदीबहिनीहरूले त्यो ख्रीष्टविरोधीलाई पहिचान गरी इन्कारेपछि, त्यसले दाजुभाइ-दिदीबहिनीहरूसँग आक्रामक रूपमा बदला लिन्छ, तिनीहरूलाई दमन गर्छ, र दोष दिन्छ भने, तैपनि यदि मण्डली अगुवाहरूले केही पनि गर्दैनन्, आँखा चिम्लिन्छन्, र कसैलाई चिढ्याउने प्रयास गर्दैनन् भने, ती अगुवाहरू झूटा अगुवाहरू हुन्। तिनीहरू कसिङ्गरहरू हुन् र तिनीहरूलाई हटाइनुपर्छ। मण्डली अगुवाको रूपमा, यदि व्यक्तिले समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न सक्दैन भने, यदि उसले ख्रीष्टविरोधीहरूलाई पहिचान गर्न, सीमित गर्न, र तह लगाउन सक्दैन भने, यदि उसले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा बेलगाम आफूले चाहेअनुसार गर्न र बेकाबु हुन दिन्छ भने, र यदि उसले परमेश्वरका चुनिएकाहरूलाई बहकाउमा पर्नबाट जोगाउन सक्दैन, र परमेश्वरका चुनिएकाहरूलाई सुरक्षा गरेर सामान्य रूपमा कर्तव्य निर्वाह गर्न दिन सक्दैन भने—साथै, यदि उसले मण्डलीको कामको सामान्य प्रगति कायम राख्न सक्दैन भने—त्यो अगुवा कसिङ्गर हो र उसलाई हटाइनुपर्छ। यदि मण्डलीका अगुवाहरूले ख्रीष्टविरोधी निर्दयी र क्रूर भएकोले त्यो त्यसलाई खुलासा गर्न, काटछाँट गर्न, सीमित गर्न, र कारबाही गर्न डर मान्छन् भने, र यसरी त्यसलाई मण्डलीमा अनियन्त्रित हुन, अत्याचारी बन्न, आफूले चाहेजस्तो गर्न, र मण्डलीका धेरै काम अवरुद्ध र ठप्प पार्न दिन्छन् भने, यो मण्डलीका अगुवाहरू पनि कसिङ्गरहरू हुन् र तिनीहरूलाई हटाइनुपर्छ। यदि मण्डलीका अगुवाहरूसँग बदलाको डरले ख्रीष्टविरोधीलाई खुलासा गर्ने साहस कहिल्यै हुँदैन, र तिनीहरूले ख्रीष्टविरोधीका दुष्कर्महरू रोक्ने प्रयास कहिल्यै गर्दैनन् भने, र जसले गर्दा मण्डली जीवन र दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशमा ठूलो बाधा, व्यवधान, र क्षति हुन्छ भने, यो मण्डलीका अगुवाहरू पनि कसिङ्गरहरू हुन् र तिनीहरूलाई हटाइनुपर्छ। के त्यस्ता मानिसहरूको निरन्तर नेतृत्वलाई तिमीहरू समर्थन गर्नेछौ? (गर्नेछैनौँ।) त्यसोभए, त्यस्ता अगुवाहरू भेट्दा तिमीहरूले के गर्नुपर्छ? तैँले तिनीहरूलाई सोध्नुपर्छ, “ख्रीष्टविरोधीहरूले यति ठूलो दुष्कर्म गर्दै छन्, मण्डलीमा तिनीहरूले उत्पात व्यवहार गर्दै छन्, तिनीहरूले मण्डली आफ्नो नियन्त्रणमा लिने प्रयास गर्दै छन्—के तपाईंले तिनीहरूलाई नियन्त्रण गर्न सक्नुहुन्छ? के तपाईंसँग तिनीहरूलाई खुलासा गर्ने साहस छ? यदि तपाईंले तिनीहरूलाई कारबाही गर्ने आँट गर्नुहुन्न भने, राजीनामा दिनुपर्छ। तपाईंले समय बरबाद गर्नु हुँदैन, तुरुन्तै राजीनामा दिइहाल्नुपर्छ। यदि तपाईंले ख्रीष्टविरोधीहरूको डरले आफ्नै देहगत हितहरू रक्षा गर्नुहुन्छ र दाजुभाइ-दिदीबहिनीहरूलाई ख्रीष्टविरोधीहरू र दुष्ट मानिसहरूको हातमा सुम्पिनुहुन्छ भने, तपाईंले श्रापित हुनुपर्छ। तपाईं अगुवा बन्न लायक हुनुहुन्न—तपाईं कसिङ्गर हुनुहुन्छ, तपाईं मरेतुल्य हुनुहुन्छ!” त्यस्ता झूटा अगुवाहरूलाई खुलासा गरेर बर्खास्त गरिनुपर्छ। तिनीहरूले वास्तविक काम गर्दैनन्; दुष्ट मानिसहरू सामना गर्दा, तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई रक्षा गर्दैनन्, बरु दुष्ट मानिसहरूसामु घुँडा टेकेर तिनीहरूसँग सम्झौता गर्छन्, र दयाको भीख माग्छन्, र यसरी आफ्नो नीच अस्तित्व कायम राख्छन्। त्यस्ता अगुवाहरू कसिङ्गरहरू हुन्। तिनीहरू विश्वासघातीहरू हुन्, र तिनीहरूलाई इन्कार गरिनुपर्छ।
यसपछि हामी अर्को बुँदा सङ्गति गर्नेछौं, अर्थात्, ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिँदा तिनीहरूको सम्भाव्यता र नियतिप्रतिको मनोवृत्ति कसरी खुलासा हुन्छ भन्नेबारे सङ्गति गर्नेछौँ। परमेश्वरको घरमा काम गर्ने कतिपय ख्रीष्टविरोधीहरूले गल्तीहरू नगर्न, काटछाँट नभोग्न, माथिको रिस नउठाउन वा आफूले खराब काम गरेको अगुवाहरूलाई थाहा नदिन एकदमै सावधानीसाथ काम गर्ने मनमनै सङ्कल्प गर्छन्, र यदि तिनीहरूले असल कार्य गर्दै छन् भने त्यो कुरा मानिसहरूले देखून् भन्ने सुनिश्चित गर्छन्। तैपनि, जति नै सावधान भए पनि, तिनीहरूको मनसाय र तिनीहरूले लिने मार्ग गलत हुने भएकाले, अनि तिनीहरूले प्रसिद्धि, प्राप्ति, र हैसियतको लागि मात्र बोल्ने र काम गर्ने र सत्यता कहिल्यै नखोज्ने हुनाले, तिनीहरूले प्राय सिद्धान्तहरू उल्लङ्घन गर्छन्, मण्डलीको काममा बाधा र व्यवधान ल्याउँछन्, शैतानका दासहरूको रूपमा काम गर्छन् र बारम्बार धेरै अपराधहरूसमेत गर्छन्। त्यस्ता मानिसहरूले प्राय: सिद्धान्तहरू उल्लङ्घन गर्नु र अपराधहरू गर्नु एकदमै सामान्य र खाट्टी कुरा हो। त्यसकारण, तिनीहरू काटछाँटमा पर्नबाट जोगिन अवश्य नै निकै गाह्रो हुन्छ। तिनीहरूले के देखेका छन् भने कतिपय ख्रीष्टविरोधीलाई खुलासा गरेर हटाइएका छन् किनभने तिनीहरूलाई कडाइका साथ काटछाँट गरिएको छ। तिनीहरूले यी कुरा आफ्नै आँखाले देखेका छन्। ख्रीष्टविरोधीहरू किन यति सतर्कतासाथ काम गर्छन्? एउटा कारणचाहिँ पक्कै पनि के हो भने, तिनीहरू खुलासा हुने र हटाइने डर मान्छन्। तिनीहरू सोच्ने गर्छन्, “म अत्यन्तै होसियार हुनुपर्छ—आखिर, ‘सतर्कता नै सुरक्षाको आधार हो’ र ‘असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।’ मैले यी सिद्धान्तहरू पालना गर्नुपर्छ र हरक्षण आफूलाई गलत काम गर्न वा समस्यामा पर्नबाट जोगिन स्मरण गराउनुपर्छ, अनि आफ्ना भ्रष्टता र अभिप्रायहरू दबाउनुपर्छ र ती कुराहरू कसैलाई देख्न लगाउनु हुँदैन। मैले गलत काम गरिनँ र म अन्त्यसम्मै दृढ रहेँ भने, आशिष्हरू प्राप्त गर्नेछु, र म विपत्तिहरूबाट जोगिनेछु, र परमेश्वरमाथिको विश्वासमा मैले केही प्राप्त गर्नेछु!” तिनीहरूले प्राय यसरी नै आफूलाई प्रोत्साहन, उत्प्रेरणा र उत्साह दिन्छन्। भित्री रूपमा, तिनीहरूलाई लाग्छ कि यदि तिनीहरूले गल्ती गरे भने, आशिष्हरू पाउने तिनीहरूको मौका उल्लेखनीय रूपमा घट्नेछ। के तिनीहरूको हृदयको गहिराइमा यस्तै हिसाबकिताब र विश्वास हुँदैन र? ख्रीष्टविरोधीहरूको यो हिसाबकिताब वा विश्वास सही छ कि गलत छ भन्ने कुरालाई एकातिर पन्छाएर हेर्दा, यसको आधारमा तिनीहरूले आफ्नो काटछाँट हुँदा सबैभन्दा बढी के कुराको चिन्ता गर्छन्? (आफ्ना सम्भाव्यता र नियतिको बारेमा।) तिनीहरूले काटछाँट हुनुलाई आफ्नो सम्भाव्यता र नियतिसँग जोड्छन्—यो तिनीहरूको दुष्ट प्रकृतिसँग सम्बन्धित हुन्छ। तिनीहरूले मनमनै सोच्छन्: “के म हटाइन लागेको हुनाले मलाई यसरी काटछाँट गरिएको हो? के यो मेरो आवश्यकता नभएकोले गरिएको हो? के परमेश्वरको घरले मलाई यो कर्तव्य निर्वाह गर्नबाट रोक्दै छ? के म भरपर्दो देखिँदिनँ र? के मलाई मभन्दा असल व्यक्तिद्वारा प्रतिस्थापित गरिनेछ? यदि म हटाइएँ भने, के मैले अझै आशिष् पाउन सक्नेछु? के म अझै पनि स्वर्गको राज्य प्रवेश गर्न सक्नेछु? मेरो कार्य प्रस्तुति त्यति सन्तोषजनक छैन जस्तो छ, त्यसकारण भविष्यमा म अझै होशियार हुनुपर्छ, र मैले आज्ञाकारी हुन र राम्रो व्यवहार गर्न सिक्नुपर्छ, र कुनै समस्या पैदा गर्नु हुँदैन। मैले धैर्य गर्न र शिर झुकाएर बाँच्न सिक्नुपर्छ। हरेक दिन जब म काम गर्छु, तब म तरबारको धारमा हिँडिरहेको छु भन्ने कल्पना गर्नुपर्छ। मैले आफ्नो सतर्कता त्याग्नु हुँदैन। यस पटक मैले लापरवाही रूपमा आफैले आफूलाई उदाङ्गो पारेर काटछाँटमा परेको भए पनि, तिनीहरूको भाव त्यति कडा सुनिएन। समस्या त्यति गम्भीर छैन जस्तो लाग्यो, मसँग अझै पनि मौका छ जस्तो छ—म अझै पनि विपत्तिहरूबाट उम्कन सक्छु र मैले अझै आशिष् पाउन सक्छु, त्यसकारण मैले यसलाई नम्रतासाथ स्वीकार गर्नुपर्छ। मलाई बर्खास्त गरिने, हटाइने वा निष्कासित गरिने जस्तो त पक्कै छैन, त्यसैले मैले यसरी नै काटछाँट स्विकार्न सक्छु।” के यो काटछाँट स्विकार्ने मनोवृत्ति हो? के यो साँच्चै नै आफ्नो भ्रष्ट स्वभाव चिन्नु हो? के यो साँच्चै पश्चात्ताप गरेर नयाँ बन्न चाहनु हो? के यो सिद्धान्तहरूअनुसार काम गर्ने साँचो सङ्कल्प गर्नु हो? अहँ, होइन। त्यसोभए, तिनीहरूले किन यस्तो व्यवहार गर्छन्? तिनीहरूले विपत्तिहरूबाट उम्कन र आशिष् पाउन सकिएला भन्ने सानो आशाको कारण यसो गर्छन्। त्यो सानो आशा रहुन्जेलसम्म, तिनीहरूले आफूलाई त्याग्न सक्दैनन्, तिनीहरूले आफ्नो साँचो रूप प्रकट गर्न सक्दैनन्, तिनीहरूले अरूलाई आफ्नो हृदयभित्र के छ भनेर बताउन सक्दैनन्, र तिनीहरूले आफूभित्र रहेको द्वेषबारे अरूलाई थाहा दिन सक्दैनन्। तिनीहरूले यी कुराहरू लुकाउनैपर्छ, आफ्नो खास रूप लुकाउनैपर्छ, र अरूलाई तिनीहरू वास्तवमा को हुन् भनेर देखाउनै हुँदैन। त्यसकारण, काटछाँट भएपछि तिनीहरू पटक्कै परिवर्तन हुँदैनन्, र तिनीहरूले पहिलेकै शैलीमा कामकुरा जारी राख्छन्। त्यसैले, तिनीहरूको व्यवहारपछाडि रहेको सिद्धान्त के हो? सबै कुरामा आफ्नै हितहरू रक्षा गर्नु। तिनीहरूले जे-जस्ता गल्तीहरू गरे पनि, तिनीहरूले अरूलाई थाहा दिँदैनन्; तिनीहरूलाई आफू वरपरका सबैलाई तिनीहरू कुनै त्रुटि वा कमीकमजोरी नभएका सिद्ध व्यक्ति हुन्, र तिनीहरूले कहिल्यै गल्ती गर्दैनन् भनेर सोच्न लगाउनैपर्छ। तिनीहरू आफूलाई यसरी नै ढाकछोप गर्छन्। लामो समयसम्म आफ्नो रूप लुकाएपछि, तिनीहरूलाई विपत्तिहरूबाट उम्कने, आशिष् पाउने, र स्वर्गको राज्य प्रवेश गर्ने कुरा लगभग निश्चित छ भन्ने आत्मविश्वास हुन्छ। तर तिनीहरूले आफ्नो कार्य-व्यवहारमा बारम्बार सिद्धान्तहरू उल्लङ्घन गर्ने हुनाले, तिनीहरू काटछाँटमा परेरै छाड्छन्। काटछाँटमा परेपछि तिनीहरूलाई चोट पुग्छ: “मैले धेरै कष्ट भोगेँ; तपाईं मलाई कसरी काटछाँट गर्न सक्नुहुन्छ? आशिष्हरू प्राप्त गर्ने ठूलो घटना किन मेरो जीवनमा घटेको छैन? यो किन मबाट अझै टाढा छ? यो कष्ट कहिले समाप्त हुने हो?” अनि काटछाँटका शब्दहरू सुन्दा, तिनीहरूले यस्तो सोच्छन्, “यदि म फेरि झाराटारुवा भएँ, र मैले सत्यता पछ्याइनँ, र जानीजानी परमेश्वरको घरको काम बिथोल्ने दुष्ट कुराहरू गरेँ भने, मलाई हटाइने र निष्कासित गरिनेछ। के त्यसपछि त मैले मेरा सम्भाव्यता र नियति गुमाउनेछैनँ र? परमेश्वरमा विश्वास गरेका यी वर्षहरूमा मैले भोगेका सबै कष्टहरू व्यर्थ हुनेछन्!” तिनीहरूले बारम्बार धैर्य र आत्मसंयम अभ्यास गर्छन्, र हृदयमा यसो भन्छन्, “मैले यो कुरा भोग्नैपर्छ! मैले यो कुरा सहनैपर्छ! यदि मैले यो सहिनँ भने, मैले भोगेका सबै कष्ट र अन्याय खेर जानेछन्। मैले निरन्तर लागिपर्नैपर्छ। यदि म अन्तसम्मै लागिपरिरहेँ भने, मैले मुक्ति पाउनेछु! यदि कसैले मलाई कुनै अप्रिय कुरा भन्यो भने, म नसुनेजस्तो गर्नेछु। तिनीहरूले मेरो बारे होइन, अरू कसैको बारे कुरा गरिरहेका छन् जस्तो व्यवहार गर्नेछु।” तर तिनीहरूले जसरी सुने पनि, तिनीहरूलाई यसको अर्थ तिनीहरूसँग कुनै गन्तव्य छैन भन्ने नै लाग्छ। अझै पनि तिनीहरूलाई यस पटक काटछाँट गरेर दोषी ठहराइयो भन्ने नै लाग्छ; तिनीहरूलाई आफू निराशाजनक, ज्योति देख्न नसकिने, कुनै भोलि र कुनै भविष्य नभएको अवस्थामा पुगेजस्तो महसुस हुन्छ। यस्तो बेला, के यी दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू धैर्यसाथ बस्न सक्छन् त? (अहँ, सक्दैनन्। तिनीहरूले आशिष् पाउने तिनीहरूको आशा छताछुल्ल भएको देख्छन्, त्यसकारण तिनीहरू धैर्यसाथ बस्न सक्दैनन्।) के तिनीहरू धैर्यसाथ बस्न मात्रै नसक्ने हुन् र? के तिनीहरूले केही गर्नेछैनन् र? (हो, तिनीहरूले केही गर्नेछन्।) तिनीहरूले के-कस्ता कार्यहरू गर्न सक्नेछन्? (तिनीहरूले नकारात्मकता फैलाउन सक्नेछन्, र समझ नभएका केही विश्वासी दाजुभाइ-दिदीबहिनीहरूलाई बहकाएर तिनीहरूको पक्ष लिन, तिनीहरूको प्रतिरक्षा गर्न र तिनीहरूको असन्तुष्टिबारे गुनासो गर्न लगाउन सक्नेछन्।) ठीक भन्यौ, तिनीहरूलाई निराशा महसुस भएपछि, तिनीहरूले यस्ता कार्यहरू गर्नेछन्। तिनीहरूले यस्तो सोच्नेछन्: “तैँले मलाई तालिम दिन वा महत्त्वपूर्ण पदहरूमा राख्न छोडेको छस्, र तँ मलाई हटाउन पनि चाहन्छस्। यदि मैले आशिष् पाउन सक्दिनँ भने, तैँले पनि आफूले आशिष् पाउनेबारे विचार नगर्! यदि यो ठाउँले मलाई राख्दैन भने, मेरो लागि बाहिर कतै ठाउँ छँदै छ, तर म गएँ भने, मैले आफूसँग थप दुई मानिसहरू पनि घिस्याएर लानेछु। तैँले मप्रति निर्दयी व्यवहार गरेको छस्, त्यसकारण म पनि तँलाई दुर्व्यवहार गर्नेछु! के तँ मलाई हटाउन चाहँदैनथिस् र? तैँले यसको लागि मूल्य चुकाउनेछस्!” तिनीहरूले पाखुरा सुर्केर झगडा गर्न सुरु गर्नेछन्, र सत्यतालाई घृणा गर्ने तिनीहरूको प्रकृति सार खुलासा हुनेछ। त्यसपछि आशिष् पाउने तिनीहरूको आशा छताछुल्ल भएसँगै तिनीहरूको जोश, त्याग, समर्पण, र कष्टभोग र मूल्य चुकाइ सबै हराउनेछन्। त्यो बेला, मानिसहरूले परमेश्वरको लागि आफूलाई समर्पित गर्ने तिनीहरूको मूल जोश र तिनीहरूको कष्टभोग र मूल्य चुकाइ सबै झूट र नाटक मात्रै थिएछन् भनेर देख्न सक्नेछन्।
ख्रीष्टविरोधीहरूलाई प्रतिस्थापन गरिएपछि वा हटाइएपछि, तिनीहरूले कुनै संयमबिनै पाखुरा सुर्केर गुनासो गर्छन्, र तिनीहरूको पैशाचिक पाटो खुलासा हुन्छ। कुन पैशाचिक पाटो खुलासा हुन्छ? विगतमा, तिनीहरूले सत्यता पछ्याउन र मुक्ति प्राप्त गर्न कर्तव्य निभाउने बिलकुलै गर्दैनथिए, बरु आशिष् पाउनलाई कर्तव्य निर्वाह गर्थे, र अहिले तिनीहरूले यसबारे सत्यता बताउँछन् र वास्तविक परिस्थिति प्रकाश गर्छन्। तिनीहरू भन्छन्: “यदि मैले स्वर्गको राज्यमा प्रवेश गर्ने वा पछि आशिष् र ठूलो महिमा प्राप्त गर्ने प्रयास नगरिरहेको भए, के म तिमीहरू गोबरभन्दा नीच मानिसहरूसँग घुलमेल हुनेथिएँ र? के तिमीहरू मेरो उपस्थिति पाउन लायक छौ र? तिमीहरू मलाई तालिम वा बढुवा दिँदैनौ, र मलाई हटाउन चाहन्छौ। मलाई हटाउँदा तिमीले मूल्य चुकाउनुपर्छ, र यसका परिणाम भोग्नुपर्छ भनेर एक दिन म देखाउनेछु।” ख्रीष्टविरोधीहरूले यी विचारहरू फैलाउँछन्, र यी दुष्ट शब्दहरू तिनीहरूको मुखबाट निस्कन्छन्। तिनीहरूले पाखुरा सुर्केपछि, तिनीहरूको दुर्भावपूर्ण प्रकृति र द्वेषपूर्ण स्वभाव खुलासा हुन्छन्, र तिनीहरूले धारणाहरू फैलाउन थाल्छन्। तिनीहरूले तुलनात्मक रूपमा सानो कद भएका र समझशक्ति नभएका, सत्यता नपछ्याउने, र प्रायजसो नकारात्मक र कमजोर हुने नयाँ विश्वासीहरू, आफ्नो पक्षमा ल्याउन पनि सुरु गर्छन्, र तिनीहरूले आफ्नो कर्तव्यमा निरन्तर झाराटारुवा हुने र परमेश्वरमा साँचो रूपमा विश्वास नगर्ने मानिसहरूलाई पनि आफ्नो पक्षमा ल्याउँछन्। तिनीहरू आफैले भने जस्तै, “यदि तैँले मलाई हटाइस् भने, मैले अरू धेरैलाई पनि आफूसँगै घिस्याउनुपर्छ!” के तिनीहरूको शैतानी प्रकृति उदाङ्गो भएको हुँदैन र? के सामान्य मानिसहरूले यसो गर्नेथिए? सामान्यतया, भ्रष्ट स्वभाव भएका मानिसहरू बर्खास्त हुँदा निराश हुन्छन् र तिनीहरूलाई चोट पुग्छ, तिनीहरूलाई आफू आशारहित लाग्छ, तर तिनीहरूको विवेकले तिनीहरूलाई यस्तो सोच्न लगाउँछ: “यो हाम्रो आफ्नै गल्ती हो, हामीले आफ्नो कर्तव्य पूरा गरेका छैनौँ। भविष्यमा म अझै राम्रो गर्न लागिपर्नेछु, र परमेश्वरले मलाई कसरी व्यवहार गर्नुहुन्छ र उहाँले मेरो बारे के-कस्ता निर्धारणहरू गर्नुहुन्छ भन्ने कुरा आउँदा, त्यो परमेश्वरको मामला हो। मानिसहरूसँग परमेश्वरमाथि मागहरू लाद्ने कुनै अधिकार छैन। के परमेश्वरका कार्य-हरू मानिसहरूका प्रकटीकरणहरूमा आधारित हुँदैनन् र? यदि व्यक्ति गलत मार्ग हिँड्छ भने, उसलाई अनुशासनमा राखिनुपर्छ र ताडना दिइनुपर्छ, यो कुरा भनिरहनु जरुरी छैन। अहिले, दुःखको कुरा के हो भने, मेरो क्षमता कमजोर छ र म परमेश्वरका अभिप्रायहरू पूरा गर्न सक्दिनँ, र मैले सत्यता सिद्धान्तहरू बुझेको छैनँ र मेरो भ्रष्ट स्वभावका आधारमा म मनोमानी र स्वेच्छाचारी रूपमा कार्य गर्छु। म हटाइन लायककै छु, तर मलाई आशा छ भविष्यमा यसको पूर्ति गर्ने मौका मिल्नेछ!” अलिअलि विवेक भएका मानिसहरू यस्तै मार्ग हिँड्छन्। तिनीहरूले यो समस्यालाई यसरी विचार गर्ने निर्णय गर्छन्, र अन्त्यमा, तिनीहरूले यो समस्यालाई यसरी नै समाधान गर्ने निर्णय पनि गर्छन्। अवश्य नै, यसभित्र सत्यता अभ्यास गर्ने त्यति धेरै तत्त्व छैनन्, तर यी मानिसहरूमा विवेक हुने हुनाले, तिनीहरू परमेश्वरको प्रतिरोध गर्ने, परमेश्वरविरुद्ध ईश्वरनिन्दा गर्ने, वा परमेश्वरको विरोध गर्ने हदसम्म पुग्नेछैनन्। तर ख्रीष्टविरोधीहरू उस्तै हुँदैनन्। तिनीहरूमा द्वेषपूर्ण प्रकृति हुने हुनाले, तिनीहरू परमेश्वरप्रति नैसर्गिक रूपमै विरोधी हुन्छन्। जब तिनीहरूका भविष्य र नियति खतरामा पर्छन् वा ती खोसिन्छ, जब तिनीहरूले बाँच्ने कुनै मौका देख्दैनन्, तब तिनीहरूले धारणाहरू फैलाउने, परमेश्वरको कामको आलोचना गर्ने, र आफू समानका अविश्वासीहरूलाई आफूसँग मिलेर परमेश्वरको घरको काममा बाधा दिन लगाउँछन्। तिनीहरूले आफ्नो विगतका कुनै पनि दुष्कर्म र अपराधहरूका लागि, साथै आफूले परमेश्वरको घरको काम वा सम्पत्तिमा ल्याएका कुनै पनि घाटाहरूका लागि पनि जिम्मेवारी लिन मान्दैनन्। जब परमेश्वरको घरले तिनीहरूलाई ठेगान लाउँछ र हटाउँछ, तब तिनीहरूले एउटा वाक्य बोल्छन्, जुन प्रायजसो ख्रीष्टविरोधीहरूले बोल्ने वाक्य हो। त्यो के हो? (यदि यो ठाउँले मलाई राख्दैन भने, मेरो लागि बाहिर कतै ठाउँ छँदै छ।) के यो अर्को दुष्ट वाक्य होइन र? यो एउटा यस्तो वाक्य हो, जुन सामान्य मानवता, लाज, र विवेक भएको व्यक्तिले बोल्न सक्दैन। हामी यसलाई दुष्ट शब्दहरू भन्छौँ। ख्रीष्टविरोधीहरूले आफू काटछाँटमा पर्दा र आफ्नो हैसियत र प्रतिष्ठा खतरामा छ, आफ्नो हैसियत र प्रतिष्ठालाई चुनौती दिइएको छ, र विशेषगरी आफू आफ्नो भविष्य र गन्तव्यबाट वञ्चित हुन लागेको छु भन्ने महसुस गर्दा प्रकाश गर्ने द्वेषपूर्ण स्वभावहरूका विभिन्न प्रकटीकरणहरू यिनै हुन्; साथ-साथै, तिनीहरूको अविश्वासी सार पनि खुलासा हुन्छ। वास्तवमा, परमेश्वरको घरले मानिसहरूलाई नितान्त रूपमा तिनीहरूले कर्तव्य निर्वाह गर्दा स्वेच्छाचारी र मनोमानी ढङ्गले काम गरेकोले, र यसरी परमेश्वरको घरको काममा बाधा र अवरोध ल्याएकोले, र तिनीहरूले मनन वा पश्चात्ताप नगरेकोले मात्र काटछाँट गर्छ—तब मात्रै परमेश्वरको घरले तिनीहरूलाई काटछाँट गर्छ। यस्तो अवस्थामा, के तिनीहरूलाई काटछाँट गरिनुको अर्थ तिनीहरूलाई हटाइनु भन्ने हुन्छ र? (अहँ, हुँदैन।) अवश्य नै हुँदैन, मानिसहरूले यसलाई सकारात्मक रूपमा स्विकार्नुपर्छ। यस प्रसङ्गमा, कुनै पनि काटछाँट, चाहे त्यो परमेश्वरले गर्नुभएको होस् वा मानिसले गरेको होस्, चाहे त्यो अगुवा र सेवकहरूबाट आएको होस् वा ब्रदर-सिस्टरहरूबाट आएको होस्, त्यो दुर्भावनाले गरिएको हुँदैन, र त्यो मण्डलीको कामका लागि फाइदाजनक हुन्छ। व्यक्तिले स्वेच्छाचारी र मनोमानी ढङ्गले काम गर्दा र परमेश्वरको घरको काममा बाधा दिँदा उसलाई काटछाँट गर्न सक्नु न्यायसङ्गत र सकारात्मक कुरा हो। यो इमानदार मानिसहरू र सत्यतालाई प्रेम गर्ने मानिसहरूले गर्नुपर्ने कुरा हो। तर जब अपराध गरेका कारण काटछाँट गरिएका मानिसहरूले यसलाई स्विकार्दैनन् र यसको सट्टा यसलाई अटेर गर्छन्, र यसरी घृणा र प्रतिकारको मानसिकता पैदा गर्छन्, यो अनुचित र दुष्ट हो। परमेश्वरको घरमा धेरै मानिसहरूले कर्तव्य निर्वाह गर्छन्—तिनीहरूमध्ये कसले चाहिँ काटछाँट अनुभव गरेका हुँदैन र? काटछाँटमा परेका कारण कति मानिसहरू नकारात्मक र अवज्ञाकारी बनेका छन्, वा कतिले आशिष् नपाइएला र आफ्नो कुनै आशा छैन भन्ने सोच्दै आत्महत्यासमेत गर्ने प्रयास गरेका छन्, त्यसकारण कतिले आफ्नो कर्तव्य त्याग्न, अशिष्ट व्यवहार गर्न र झर्कोफर्को गर्न चाहँदै अरूलाई घृणा गर्न थालेका, र तिनीहरूको विरुद्ध प्रतिकार गर्न समेत चाहेका छन्? त्यस्ता मानिसहरू वास्तवमा धेरै छैनन्। दुष्ट मानिसहरूले मात्रै त्यस्ता कुराहरू गर्न सक्छन्। दुष्ट मानिसहरूले मात्रै काटछाँटलाई गरम मिजासका मानिसहरूले गलत व्यवहार गरेको रूपमा लिन सक्छन्। अवश्य नै, परमेश्वरको घरले बताउने सबै काटछाँट उचित हुन्छ, त्यो सबै मण्डलीको काम र व्यक्तिहरूको जीवन प्रवेश गर्नका लागि गरिन्छ। यो परमेश्वरको अभिप्राय अनुरूप, र पूर्ण रूपमा परमेश्वरको वचन अनुरूप रहेको सकारात्मक कुरा हो। जब ख्रीष्टविरोधीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरूले सधैँ आफ्नो प्रतिष्ठा, हैसियत, र मर्यादाको प्रतिरक्षा गर्ने प्रयास गर्छन्, र यसलाई आफ्नै हितहरूसँग, र विशेषगरी आफ्नै भविष्य र नियतिसँग जोड्छन्। यदि काटछाँट हुनु तिनीहरूको प्रतिष्ठा, हैसियत, र मर्यादाको प्रतिकूल छ भने, तिनीहरूले यसलाई स्विकार्न सक्दैनन्। यदि तिनीहरूलाई गम्भीर रूपमा काटछाँट गरिन्छ भने, र यदि यसले तिनीहरूको प्रतिष्ठा, हैसियत, र मर्यादा मात्र नष्ट नगरी तिनीहरूको भविष्य र नियतिमा समेत खतरा पुर्याउँछ भने, तिनीहरूले यसलाई झनै स्विकार्न सक्दैनन्। छोटकरीमा भन्दा, ख्रीष्टविरोधीहरूलाई चाहे जसले काटछाँट गरे पनि, तिनीहरूले यसलाई परमेश्वरबाट आएको हो भनेर स्विकार्न सक्दैनन्, तिनीहरूले आत्म-चिन्तन गर्न र आफूलाई चिन्न सक्दैनन्, र तिनीहरूले काटछाँटमा परेको घटनाबाट पाठहरू सिक्न, साँचो पश्चात्ताप हासिल गर्न, वा कर्तव्य निर्वाहमा राम्रो कार्यप्रदर्शन गर्न सक्दैनन्। यसको साटो, तिनीहरूको हृदयमा द्वन्द्व हुन्छ र तिनीहरूले यो कुरा स्विकार्न नमान्ने र अटेरपनको मनोवृत्ति अपनाउँछन्। यही नै काटछाँटप्रति ख्रीष्टविरोधीहरूले अपनाउने मनोवृत्ति हो, र यसले सत्यताप्रतिको तिनीहरूको मनोवृत्ति पनि प्रतिनिधित्व गर्छ।
काटछाँट हुने कुरा आउँदा, मानिसहरूले कम्तीमा पनि जान्नुपर्ने कुरा के हो? व्यक्तिले आफ्नो कर्तव्य पर्याप्त रूपमा पूरा गर्न काटछाँट अनुभव गर्नैपर्छ—यो अपरिहार्य कुरा हो। यो मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा मुक्ति प्राप्त गर्नका निम्ति दैनिक रूपमा सामना गर्नुपर्ने र नियमित अनुभव गर्नुपर्ने कुरा हो। काटछाँट गरिनबाट कोही पनि टाढा हुन सक्दैन। के कसैको काटछाँट गर्नु उसका सम्भाव्यता र भवितव्यसँग सम्बन्धित कुरा हो? (होइन।) त्यसो भए, कसैलाई केको लागि काटछाँट गरिन्छ? के यो उसलाई दोष दिनको लागि गरिन्छ? (होइन, यो मानिसहरूलाई सत्यता बुझ्न र सिद्धान्तहरूअनुसार आफ्नो कर्तव्य निर्वाह गर्न मदत गर्नलाई गरिन्छ।) त्यो सही हो। यो यसको सबैभन्दा सही बुझाइ हो। कसैलाई काटछाँट गर्नु भनेको एक प्रकारको अनुशासन हो, एक प्रकारको ताडना हो, र स्वाभाविक रूपमा यो मानिसहरूलाई सहायता गर्ने र उपचार गर्ने तरिका पनि हो। काटछाँट गरिँदा, तैँले समयमै तेरो गलत खोजीलाई परिवर्तन गर्ने मौका पाउँछस्। यसले तँलाई हाल तँभित्र भएका समस्याहरूलाई तुरुन्तै पहिचान गर्न, अनि तैँले प्रकट गर्ने भ्रष्ट स्वभावहरूलाई समयमै पहिचान गर्न मदत गर्छ। जे-जस्तो नै भए पनि, काटछाँटले तँलाई तेरा गल्तीहरू चिन्न र सिद्धान्तअनुसार आफ्ना कर्तव्यहरू पूरा गर्न मदत गर्छ, यसले तँलाई विचलनहरू निम्त्याउन र बरालिनदेखि समयमै जोगाउँछ, र यसले तँलाई ठूला समस्याहरू पैदा गर्नदेखि बचाउँछ। के यो मानिसहरूका लागि सबैभन्दा ठूलो सहयोग, सबैभन्दा ठूलो उपचार होइन र? विवेक र समझ भएका व्यक्तिहरूले काटछाँट भोग्नुलाई सही रूपमा हेर्न सक्नुपर्छ। ख्रीष्टविरोधीहरूले किन काटछाँट स्विकार्न सक्दैनन्? किनभने तिनीहरूले काटछाँट परमेश्वरबाट आएको होइन, मानिसबाट आएको हो भन्ने सोच्छन्। तिनीहरू तिनीहरूलाई काटछाँट गर्नेले तिनीहरूको जीवन कठिन बनाइरहेको र तिनीहरूलाई दण्ड दिइरहेको छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीहरूको मानसिकताको आधारमा मूल्याङ्कन गर्दा, तिनीहरूले सत्यता नस्विकार्ने हुनाले नै काटछाँट स्विकार्न नमानेका हुन्। तिनीहरूले काटछाँटबाट पाठ सिक्न सक्दैनन्, र तिनीहरूले आफूलाई चिन्न वा सत्यता खोजी गर्न सक्दैनन्। तिनीहरूले काटछाँट नस्विकार्नुको स्रोत यही हो। तिनीहरूको हृदयमा यस्तो ठूलो समस्या हुन्छ, जसले ख्रीष्टविरोधीहरूको प्रकृति सार सत्यताप्रति प्रतिकूल र शत्रुवत् हुन्छ भन्ने कुरा पुष्टि गर्छ।
मेइ २, २०२०