विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए (भाग दुई)
पूरक: सामान्य मानवताका तीन पक्षबारे छोटो छलफल
यसपटक हाम्रो सङ्गतिमा हामी कथाहरू सुनाउनेछैनौँ। हामी प्रायजसो चर्चा गरिने एउटा विषयबाट सुरु गर्नेछौँ: मानवता भनेको के हो। विगतमा हामीले यस विषयमा धेरै कुरा भनेका छौँ, र अहिले पनि भन्छौँ। यो बारम्बार उल्लेख गरिने विषय हो, व्यक्तिले आफ्नो दैनिक जीवनमा हरेक दिन सामना गर्ने समस्या हो, व्यक्तिले हरेक दिन सामना र अनुभव गर्न सक्ने विषय हो। विषय चाहिँ मानवता भनेको के हो भन्ने रहेको छ। मानवतामा केही महत्त्वपूर्ण कुरा पर्छन्। व्यक्तिको दैनिक जीवनमा प्रकट हुने मानवताका सामान्य प्रकटीकरणहरू केके हुन्? (निष्ठा र इज्जत।) अरू के हो? विवेक र समझ, होइन र? (हो।) तिमीहरू तीबारे प्रायजसो बोल्छौ। अरू कुराहरू केके छन् जसबारे तिमीहरू प्रायजसो कुरा गर्दैनौ? अर्थात्, प्रायः मानवताबारे कुरा गर्दा तिमीहरूले मूलतः नछुने विषयहरू केके हुन्? विवेक र समझ, निष्ठा र इज्जत—यी पहिल्यैदेखि रहिआएका विषयहरू हुन् जसलाई व्यक्तिले नियमित रूपमा सामना गर्नुपर्छ। तिमीहरूले प्रायजसो छलफल गर्ने विवेक, समझ, निष्ठा, र इज्जत अनि तिमीहरूको वास्तविक जीवनबीच कति ठूलो सम्बन्ध छ? त्यो सामग्रीले तिमीहरूको वास्तविक जीवनको अभ्यास र प्रवेशमा कसरी सुधार ल्याएको छ र सहयोग गरेको छ? यो कति फाइदाजनक भएको छ? त्यसोभए, तिमीहरूको दैनिक, सामान्य मानव जीवनसँग निकट सम्बन्ध भएका अरू केकस्ता कुराहरू छन्? म थोरै उदाहरण भन्नेछु, र ती तिमीहरूले नियमित रूपमा सामना गर्ने विषयहरू हुन् कि होइनन् भनेर हामी हेर्नेछौँ। मानवतासँग सम्बन्धित हाम्रो सामग्रीबारे कुरा गर्दा, हामी सुरुमा उक्त सामग्री सकारात्मक छ कि नकारात्मक छ, र यो सामान्य मानवतासँग सम्बन्धित छ कि असामान्य मानवतासँग सम्बन्धित छ भन्ने कुरालाई थाती राख्नेछौँ। हामीले भर्खरै उल्लेख गरेका विषयहरूबाहेक, मानिसहरूले दैनिक जीवनमा विभिन्न प्रकारका मानिस, घटना, र कामकुरालाई व्यवहार गर्दा देखाउने मनोवृत्ति पनि छ। के त्यो एउटा होइन र? के त्यो मानवतासँग सम्बन्धित छैन र? (छ।) अर्को पनि छ, जुन दैनिक जीवनमा आफ्ना परिवेशहरूप्रति मानिसहरूको व्यवस्थापन हो, र अझै अर्को, विपरीत लिङ्गीसँगको सम्पर्कमा मानिसहरूको मनोवृत्ति र व्यवहार हो। के यी तीनवटा कुरा मानवतासँग सम्बन्धित छन्? (छन्।) ती सबै सम्बन्धित छन्। अब हामीले छलफल गर्नलागेको विषयका सम्बन्धमा, हामी मानिसको सत्यता पछ्याइ, परमेश्वरमाथिको विश्वासमा कसरी सत्यता वास्तविकतामा प्रवेश गर्ने, र विभिन्न प्रकारका सबै सिद्धान्त कसरी पालना गर्नेजस्ता विषयहरूलाई थाती राख्नेछौँ, र मानवताबारे मात्र कुरा गर्नेछौँ। त्यसोभए, यी तीन बुँदा—के मानवतासँग तिनको ठूलै सम्बन्ध छ? (छ।) ती तीनबुँदाहरू केके हुन्? फेरि भन त। (पहिलो, मानिसहरूले दैनिक जीवनमा विभिन्न प्रकारका मानिस, घटना, र कामकुरालाई व्यवहार गर्दा देखाउने मनोवृत्ति हो। दोस्रो दैनिक जीवनमा आफ्ना परिवेशहरूप्रति मानिसहरूको व्यवस्थापन हो। तेस्रो, दैनिक जीवनमा विपरीत लिङ्गीसँगको सम्पर्कमा मानिसहरूको मनोवृत्ति र व्यवहार हो।) अनि ती तीन बुँदामा के कुरा समावेश छ? (मानवता।) हामी किन यी तीन कुराहरूमा मानवता समावेश छ, ती यससँग सम्बन्धित छन् भनेर भन्छौँ? हामीले किन यी तीन वटा कुरालाई प्रस्तुत गर्छौँ? हामी किन विवेक र समझको पक्षबारे कुरा गरिरहेका छैनौँ? हामीले किन यी तीन बुँदाबारे कुरा गर्नका लागि सामान्यतया छलफल गरिने पक्षहरूलाई पन्छाइरहेका छौँ? यी तीन बुँदा हामीले पहिले चर्चा गरेका मानवतासँग सम्बन्धित विवेक, समझ, निष्ठा, र इज्जतभन्दा अझ उन्नत छन् कि अझ अल्पविकसित छन्? (ती अझ अल्पविकसित छन्।) त्यसोभए के यी कुराहरूबारे छलफल गर्नु तिमीहरूको अवमूल्यन गर्नु हो? (होइन।) त्यसोभए, हामीले किन तीबारे छलफल गर्ने? (ती व्यावहारिक छन्।) ती बढी व्यावहारिक छन्। तिमीहरूले प्राप्त गरेको कारण त्यही हो? हामी किन यसबारे कुरा गर्न गइरहेका छौँ? किनभने मैले समस्याहरू भेट्टाएको छु; परिस्थितिहरू र मानिसहरूको दैनिक जीवनमा देखापर्ने विभिन्न व्यवहारको सन्दर्भमा, मैले मानिसहरूको वास्तविक जीवनसँग निकट रूपमा सम्बन्धित केही समस्या भेट्टाएको छु, र तिनलाई एक-एक गरी सङ्गतिका लागि प्रस्तुत गर्नु जरुरी हुन्छ। यदि मानिसहरूले परमेश्वरमाथिको आफ्नो विश्वासमा वास्तविक जीवन, अनि सामान्य मानवता र दैनिक जीवनका विभिन्न व्यवहारलाई पन्छाएर हठपूर्वक सत्यता—अर्थात् परमेश्वरले प्रेम गर्ने व्यक्ति बन्नुजस्ता गहन सत्यताहरूलाई मात्र पछ्याए भने—ल भन, त्यसले केकस्ता समस्याहरू ल्याउनेछ? सत्यता पछ्याउने क्रममा कुनै व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न सक्ने आधारभूत सर्त के हो? (उसले वास्तविक जीवनमा नै यसो गर्नुपर्छ।) अरू के छ? (उसलाई सामान्य मानवता चाहिन्छ।) ठिक भन्यौ—उसमा सामान्य मानवता हुनु नै पर्छ, जसमा विवेक, समझ, निष्ठा, र इज्जतबाहेक, हामीले भर्खरै उल्लेख गरेका तीन बुँदा समावेश हुन्छन्। यदि कसैले मानवतासँग सम्बन्धित यी तीन बुँदामा मापदण्डहरू पूरा गर्न वा सामान्यता हासिल गर्न सक्दैन भने उसले सत्यता पछ्याउने र खोजी गर्नेबारे कुरा गर्नु अलिक खोक्रो कुरा हुनेछ। सत्यता पछ्याउनु, सत्यता वास्तविकताको प्रवेश पछ्याउनु, मुक्ति पछ्याउनु—यी कुराहरू सबैले हासिल गर्न सक्दैनन्, सत्यतालाई प्रेम गर्ने र सामान्य मानवता भएका थोरै मानिसले मात्रै हासिल गर्न सक्छन्। यदि कसैलाई सामान्य मानवता भएको व्यक्तिमा के हुनुपर्छ, वा उसले के गर्नुपर्छ, वा निश्चित मानिस, घटना, र कामकुराका सम्बन्धमा उसमा कस्तो मनोवृत्ति र दृष्टिकोण हुनुपर्छ भन्ने कुरा थाहा छैन भने, के त्यो व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? के उसको सत्यता पछ्याइले नतिजाहरू ल्याउन सक्छ? दुःखको कुरा, सक्दैन।
क. मानिसहरूले विभिन्न प्रकारका मानिस, घटना र कामकुरालाई व्यवहार गर्दा देखाउने मनोवृत्ति
हामी सुरुमा मानवतासँग सम्बन्धित पहिलो बुँदाको बारेमा सङ्गति गर्नेछौँ, त्यो हो: मानिसहरूले दैनिक जीवनमा विभिन्न प्रकारका मानिस, घटना र कामकुरालाई व्यवहार गर्दा देखाउने मनोवृत्ति। सबैले “दैनिक जीवन” अर्थ बुझ्छन्। यसलाई थप व्याख्या गर्नु आवश्यक छैन। त्यसोभए, मानवतासँग सम्बन्धित मुख्य मानिस, घटना, र कामकुरा केके हुन्? अर्थात्, सामान्य मानवताको स्तरमा पुग्ने, यसको दायरासँग सम्बन्धित भएको, र यससँग सम्बन्धित कुरा के छ? (मानिस र परिस्थितिहरूसँग संलग्न हुनु।) त्यो यसको एउटा अंश हो। व्यक्तिले सिक्नुपर्ने ज्ञान र व्यावसायिक सिपहरू पनि छन्, र दैनिक जीवनका लागि चाहिने सामान्य ज्ञान पनि छ। यी सबै सामान्य मानवता भएको व्यक्तिले बुझ्नुपर्ने र उसमा हुनुपर्ने कुराका पाटाहरू हुन्। उदाहरणका लागि, कतिपय मानिसले सिकर्मी वा मिस्त्रीको काम सिक्छन्, र अरूले सवारी चलाउन वा गाडी मर्मत गर्न सिक्छन्। यी सिप र शिल्पहरू हुन्, र यस्तो शिल्प जान्नु भनेको त्यस शिल्पको व्यावसायिक उद्यममा निपुण हुनु हो। त्यसोभए, निपुण व्यक्तिका रूपमा गनिनका लागि व्यक्तिले कुन हद र कुन स्तरसम्मको सिप सिक्नुपर्छ? उसले कम्तीमा पनि स्वीकार्य मापदण्डअनुसार तयारी उत्पादन दिन सक्नुपर्छ। कतिपय मानिस अत्यन्तै कमसल काम गर्छन्। तिनीहरूले गर्ने कामहरू पर्याप्त स्तरका हुँदैनन्, यहाँसम्म कि तिनलाई हेर्नसमेत सकिँदैन। त्यसमा भएको समस्या के हो? त्यसले आफ्नो उद्यमप्रतिको तिनीहरूको मनोवृत्तिलाई सम्बन्धित गर्छ। कतिपय मानिसमा विवेकशील मनोवृत्ति हुँदैन। तिनीहरू सोच्छन्, “यदि मैले बनाएको कुराले काम गर्छ भने, त्यो नै ठिक्कको हुन्छ। केही वर्षसम्म यसैले काम चलाएर, यसलाई सुल्झाउँछु।” के सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने दृष्टिकोण यस्तै हो? (होइन।) कतिपय मानिसमा आ, जेसुकै होस् है भन्ने उदासीन मनोवृत्ति हुन्छ। तिनीहरूलाई “ठिक्कको” ले नै पुग्छ। यो गैरजिम्मेवार मनोवृत्ति हो। कुनै पनि कुरालाई त्यति अमर्यादित र गैरजिम्मेवार ढङ्गले सम्हाल्नु भ्रष्ट स्वभावभित्र पर्ने कुरो हो: प्राय यसलाई मानिसहरूले बदमासपन भन्छन्। आफूले गर्ने हरेक मामिलामा, तिनीहरू “त्यो लगभग सही छ” र “काफी नजिक छ” भन्ने हदसम्म काम गर्छन्; यो त “होला,” “सायद,” र “पाँचमा चार” भन्ने मनोवृत्ति हो; तिनीहरू कामचलाउ तवरले काम गर्छन्, न्यूनतम मात्रामा काम गर्नमा सन्तुष्ट छन्, र जालझेल गरेर माथि पुग्नमा सन्तुष्ट छन्; तिनीहरू कुनै पनि कुरालाई गम्भीर रूपमा लिनु वा ठ्याक्कै मिलाउनुको कुनै अर्थ देख्दैनन्, झन् तिनीहरूले सत्यता सिद्धान्तहरूको खोजी गर्नुमा कुनै अर्थ देख्ने त कुरै नगरौँ। के यो भ्रष्ट स्वभावभित्रको कुरा होइन र? के यो सामान्य मानवताको प्रकटीकरण हो? अहँ, होइन। यसलाई अहङ्कार भन्नु सही हुन्छ, र यसलाई दुराचार भन्नु पनि सम्पूर्ण रूपमा उचित नै हुन्छ—तर यसलाई पूर्ण रूपमा बुझ्नका निम्ति मिल्ने शब्द “बदमासपन” हो। धेरैजसो मानिसभित्र बदमासपन हुन्छ, त्यसको मात्रा मात्र फरक पर्ने हो। हरेक मामिलामा, तिनीहरू झाराटारुवा र लापर्बाही तरिकाले कामकुरा गर्ने इच्छा राख्छन्, र तिनीहरूले गर्ने हरेक कुरामा छलको गन्ध पाइन्छ। तिनीहरू अरूलाई सकेसम्म धोका दिन्छन्, सकेसम्म चोर बाटो अपनाउँछन् र सम्भव भएसम्म समय बचाउँछन्। तिनीहरू मनमनै विचार गर्छन्, “जबसम्म म खुलासा हुनबाट बच्न सक्छु र मैले कुनै समस्या खडा गर्दिनँ र मलाई जवाफदेही बनाइँदैन, तबसम्म म झारा टार्दै अघि बढ्न सक्छु। मैले निकै राम्रो काम गर्नुपर्दैन, त्यसो गर्दा ज्यादै दुःख हुन्छ।” यस्ता मानिसहरू निपुण हुने गरी केही पनि सिक्दैनन्, अनि तिनीहरू अध्ययन गर्नमा आफूलाई होम्ने वा कष्ट सहने र मूल्य चुकाउने काम गर्दैनन्। तिनीहरू कुनै विषयलाई सतही रूपमा मात्र बुझ्न चाहन्छन्, र त्यसपछि आफूले जान्नुपर्ने सबै कुरा जानिसकेको विश्वास गर्दै आफूलाई त्यस विषयको प्रवीण भन्छन्, र लटरपर गर्दै अगाडि बढ्नलाई त्यसैमा भर पर्छन्। अरू मानिस, घटना र कामकुराहरूप्रति मानिसहरूको मनोवृत्ति यही हुन्छ होइन र? के यो असल मनोवृत्ति हो त? अहँ, यो असल मनोवृत्ति होइन। सरल शब्दमा यसलाई “लटरपटर गर्दै अघि बढ्नु” भनिन्छ। यस्तो बदमासपन सबै भ्रष्ट मानवजातिमा विद्यमान छ। आफ्नो मानवतामा बदमाशपन भएका मानिसहरू आफूले गर्ने जुनसुकै कुरामा “लटरपटर गर्दै अघि बढ्ने” दृष्टिकोण र मनोवृत्ति राख्छन्। के यस्ता मानिसहरू आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम हुन्छन्? हुँदैनन्। के तिनीहरू सिद्धान्तअनुसार कामकुरा गर्न सक्षम हुन्छन् त? यो त झनै असम्भव छ।
कतिपय मानिस आफूले गर्ने कुनै पनि कुरामा समर्पित नभएर अव्यवस्थित, झाराटारुवा, र गैरजिम्मेवार हुन्छन्। उदाहरणका लागि, कतिपय मानिसले गाडी चलाउन सिक्छन्, तैपनि गाडी चलाउँदा के कुरामा ध्यान दिनुपर्छ, वा कुन गतिमा चलाउँदा इन्जिनमा क्षति पुग्छ भनेर अनुभवी चालकहरूलाई कहिल्यै सोध्दैनन्। तिनीहरू सोध्दैनन्, चलाउने काम मात्र गर्छन्—अनि फलस्वरूप तिनीहरूले आफ्नो गाडी बिगार्छन्। तिनीहरू गाडीलाई लात्तीले हान्दै यसो भन्छन्, “यो त साह्रै कमजोर छ। मलाई मर्सिडीज वा बीएमडब्ल्यू देऊ, यो पुरानो गाडीको काम छैन—यो थोत्रो भइसक्यो!” त्यो कस्तो मनोवृत्ति हो? तिनीहरू भौतिक चिजहरूप्रति माया र हेरचाह देखाउँदैनन्, र तिनलाई राम्रो अवस्थामा राख्ने सोच्दैनन्, बरु जानाजानी तिनलाई भत्काउँछन् र बिगार्छन्। कतिपय मानिस अव्यवस्थित र लापरवाह जीवन जिउँछन्। तिनीहरू दिनभरि सबै कुरा जथाभाबी र लापरवाह तरिकाले गर्छन्। यिनीहरू कस्ता प्रकारका मानिस हुन्? (ध्यान नदिने मानिसहरू।) “ध्यान नदिने मानिसहरू” भन्नु त यसलाई राम्रो भनेको भयो—तैँले तिनीहरूलाई “हेल्चेक्र्याइँ गर्ने मानिसहरू” भन्नुपर्छ; “नीच मानिसहरू” पनि सुहाउँछ। के त्यो हदभन्दा बढी भयो? कसैले भद्र र नीच मानिसहरूबीचको भिन्नता कसरी बताउन सक्छ? खालि कर्तव्यप्रति तिनीहरूको मनोवृत्ति र व्यवहारलाई हेर्, र समस्याहरू उत्पन्न हुँदा तिनीहरूले कामकुरालाई कुन रूपमा लिन्छन् र कस्तो व्यवहार गर्छन् भनेर हेर्। निष्ठा र मर्यादा भएका मानिसहरू आफ्नो कार्यमा सूक्ष्मदर्शी, कर्तव्यपरायण र मेहनती हुन्छन् र तिनीहरू मूल्य तिर्न तयार हुन्छन्। निष्ठा र मर्यादा नभएका मानिसहरू आफ्नो कार्यमा लापरवाही र असावधान हुन्छन्, तिनीहरू सधैँ कुनै न कुनै छल गर्ने र सधैँ लटरपटर गर्दै अघि बढ्ने हुन्छन्। तिनीहरूले जुनै कार्यविधि अध्ययन गरे पनि, त्यो लगनशील भई सिक्दैनन्, र त्यो सिक्न सक्दैनन्, अनि तिनीहरू त्यो अध्ययन गर्न जति समय खर्चे पनि, तिनीहरू पूर्णतया अज्ञानी नै रहन्छन्। यिनीहरू खराब चरित्र भएका मानिस हुन्। धेरैजसो मानिस आफ्नो कर्तव्य पूरा गर्दा झारा टार्छन्। त्यसमा कस्तो स्वभावले काम गरिरहेको हुन्छ? (बदमासपन।) बदमास मानिसहरू आफ्नो कर्तव्यलाई कसरी लिन्छन्? अवश्य नै, तिनीहरूमा त्यसप्रति सही मनोवृत्ति हुँदैन, र तिनीहरू अवश्य नै त्यसप्रति झाराटारुवा हुन्छन्। यसको अर्थ तिनीहरूमा सामान्य मानवता हुँदैन। अत्यन्तै बदमास मानिसहरू पशुजस्तै हुन्छन्। यो त कुकुर पाल्नु जस्तै हो: यदि तैँले रेखदेख गरिनस् भने, त्यसले सामानहरू चपाउनेछ र तेरा सबै फर्निचर र सामान नष्ट गर्नेछ। त्यो त घाटा हुन्छ। कुकुरहरू पशु हुन्; तिनीहरूले वस्तुहरूलाई प्रेमपूर्वक स्याहार्ने सोच्दैनन्, र तैँले तिनलाई कामकुराहरूप्रति जबाफदेही ठहर्याउन मिल्दैन—तैँले तिनीहरूलाई सम्हाल्नु मात्रै पर्छ। यदि तैँले त्यसो नगरेर एउटा पशुलाई दङ्गा मच्चाउन र तेरो जीवनमा बाधा पार्न दिन्छस् भने, त्यसले तेरो मानवतामा केही कुराको कमी छ भन्ने देखाउँछ। त्यसोभए तँ पशुभन्दा त्यति फरक छैनस्। तेरो बौद्धिक क्षमता अत्यन्तै न्यून छ—तँ केही काम नलाग्ने व्यक्ति होस्। त्यसोभए, तँ कसरी त्यसलाई राम्ररी सम्हाल्छस्? तैँले त्यसलाई निश्चित परिधिभित्र सीमित राख्ने उपाय सोच्नुपर्छ, वा त्यसलाई हरेक दिन निर्धारित समयमा दुई-तीन पटक छोड्ने गरी खोरमा राख्नुपर्छ, ताकि त्यसले पर्याप्त गतिविधि गर्न पाओस्। त्यसले जे पायो त्यही टोक्ने त्यसको बानीलाई नियन्त्रण गर्नेछ, र त्यसलाई स्वस्थ राख्नका लागि कसरत पनि प्रदान गर्नेछ। त्यसरी, कुकुरलाई राम्ररी सम्हाल्न सकिन्छ, र तेरो वातावरणको पनि सुरक्षा हुन्छ। यदि कुनै व्यक्तिले आफूले सामना गर्ने कुराहरूलाई सम्हाल्न सक्दैन र उसमा सही मनोवृत्ति छैन भने, उसको मानवतामा केही कुराको कमी हुन्छ। यसले सामान्य मानवताको मापदण्ड पूरा गर्न सक्दैन। अथवा, खाना पकाउने सन्दर्भमा भन्दा: साधारण मानिसहरूले तरकारी भुट्दा थोरै मात्र तेल प्रयोग गर्छन्, तर कतिपय महिला धेरै तेल प्रयोग गर्छन्। तँ धनी नै भए पनि, तैँले तेल खेर फाल्नु हुँदैन—तैँले उचित मात्रामा प्रयोग गर्नुपर्छ। तर यी महिलाहरूलाई यसको मतलब हुँदैन; यदि तिनीहरूले तरकारी भुट्दा झुक्किएर धेरै तेल हाले भने, बढी भएको तेल निकालेर भुइँमा पोखाउँछन्। त्यो खेर फाल्नु हो, होइन र? भौतिक कुराहरूप्रति त्यस्तो मनोवृत्ति भएको व्यक्तिलाई प्रायः के भनेर बोलाइन्छ? “अपव्ययी”—वा, अपमानजनक भाषामा भन्दा, “फजुलखर्ची गर्ने व्यक्ति।” भौतिक वस्तुहरू कहाँबाट आउँछन्? ती परमेश्वरले दिनुभएको हुन्छ। कतिपय मानिस आफ्नो सम्पत्ति आफै कमाएको हुँ भनेर भन्छन्—तर परमेश्वरले दिनुभएन भने तैँले कति चाहिँ कमाउन सक्थिस्? उहाँले तँलाई जीवन दिनुभयो। यदि उहाँले तँलाई जीवन नदिनुभएको भए, तँसँग केही पनि हुनेथिएन र तँ केही पनि हुनेथिइनस्, त्यसकारण के तँसँग अझै पनि ती भौतिक चिजहरू हुन सक्थे र? परमेश्वरले तँलाई साधारण परिवारलाई भन्दा बढी दिनुभएको हुन सक्छ, तर तैँले जुन मनोवृत्ति र दृष्टिकोणले यसलाई फजुलमा उडाउँछस्, के त्यो सही हो? यसलाई मानवताको हिसाबमा कसरी परिभाषित गर्ने? त्यस्तो व्यक्तिको मानवता कमजोर हुन्छ। फजुल खर्च, सामानहरूलाई फजुलमा उडाउने, सामानहरूको प्रेमपूर्वक हेरचाह गर्न नजान्ने—त्यस्तो व्यक्तिमा सामान्य मानवता हुँदैन। कतिपय मानिसले परमेश्वरको घरका कुराहरूलाई होसियारीका साथ सम्हाल्नेसमेत सोच्दैनन्। कुनै कुरा परमेश्वरको घरको स्वामित्वमा हुन्छ। उसले यो कुरा देख्छ। तैपनि यदि पानी पर्न लाग्यो, र त्यो भिजेमा नराम्रो हुन्छ भने, उसले के सोच्छ? “भिज्यो भने पनि केही हुँदैन। आखिर यो मेरो होइन क्यारे। म यसलाई त्यतिकै छोड्नेछु।” त्यसपछि, ऊ निस्केर हिँड्छ। त्यो मनोवृत्तिलाई के भनिन्छ? स्वार्थीपन। के ऊ सोचाइमा सिधा हुन्छ? हुँदैन भने, कस्तो हुन्छ? (कुटिल।) यदि कुनै व्यक्ति सिधा छैन भने, के ऊ कुटिल हुँदैन र? के सिधा सोचाइ नराख्ने मानिसहरूमा सामान्य मानवता हुन्छ? अवश्य नै हुँदैन। हाम्रो पहिलो विषयवस्तु, अर्थात् मानिसहरूले विभिन्न प्रकारका मानिस, घटना र कामकुरालाई व्यवहार गर्दा देखाउने मनोवृत्तिका सम्बन्धमा भन्दा, हामीले कति वटा पक्षबारे कुरा गर्यौँ? बदमासपन अर्थात् फोहोरको कुरा गर्यौँ। अरू के? (नीच र कुटिल हुनु।) यस्तो बोलीचालीको भाषा—के तिमीहरूले दैनिक जीवनमा आत्मचिन्तन गर्दा, आफूलाई चिन्दा, र विश्लेषण गर्दा यस्ता शब्दहरू प्रयोग गर्छौ? (गर्दैनौँ।) कसैले पनि गर्दैन। त्यसोभए, तिमीहरूले केकस्ता शब्दहरू प्रयोग गर्छौ? तिमीहरू ठुलठुला शब्दहरू प्रयोग गर्छौ—बोलीचालीको भाषा त कसैले प्रयोग गर्दैन।
धेरै मानिस आफूलाई निकै महान् ठान्छन् किनकि तिनीहरू परमेश्वरमा विश्वास गर्छन्। विशेष गरी, केही सिप र व्यावसायिक ज्ञान भएका, वा उच्च डिग्रीसमेत हासिल गरेका मानिसहरूलाई आफू साधारण मानिसभन्दा माथि छु भन्ने लाग्छ। आफूप्रति खुसी भएर तिनीहरू सोच्छन्, “मैले मेरो स्थिर र सुरक्षित सांसारिक करियरसमेत त्यागेँ, र म सित्तैँमा खाना खान परमेश्वरको घरमा आएको होइन। मजस्तो दक्ष व्यक्तिले परमेश्वरको घरमा योगदान दिन सक्छ। म परमेश्वरका लागि आफूलाई समर्पित गर्छु र कष्ट भोग्छु। म त यी साधारण मानिसहरूसँग सामूहिक रूपमा एउटै कोठामा बस्छु र एउटै खाना खान्छु। म कस्तो स्तरीय छु!” तिनीहरू आफूसँग अत्यन्तै सम्मानयोग्य निष्ठा छ, आफू अरू सबै जनाभन्दा आदर्शमय छु भन्ने सोच्छन्। तिनीहरू यस कुरामा निरन्तर आनन्द लिन्छन्। तथ्य के हो भने तिनीहरूको मानवतामा धेरै कुराको कमी हुन्छ, र तिनीहरूलाई यो कुरा थाहा नहुने मात्र होइन, तिनीहरू आफू महान् छु, आफ्नो चरित्र साधारण मानिसहरूको भन्दा महान् छ भन्ने सोचेर मक्ख पर्छन्। वास्तवमा, त्यसमा “सामान्य मानवता” को “मानवता” भन्दा पहिले आउने “सामान्य” शब्दको मापदण्ड पूरा गर्ने कुनै पनि कुरा हुँदैन। त्यसमा कुनै पनि कुराले त्यो मापदण्ड पूरा गर्दैन; सबै कुरा मापदण्डभन्दा धेरै तल हुन्छ। तिनीहरूको विवेक कस्तो हो? तिनीहरूमा विवेक नै हुँदैन। तिनीहरूको चरित्र नि? त्यो राम्रो हुँदैन। तिनीहरूका निष्ठा र गुणहरू? ती कुनै पनि कुरा राम्रो हुँदैन। सबै जना सँगै बस्दा, कतिपय मानिससँग बहुमूल्य कुरा भएमा, तिनीहरू त्यसलाई खुल्ला राख्ने आँट गर्दैनन्। किन? यसको एउटा पक्ष के हो भने तिनीहरू अरूलाई भरोसा गर्दैनन्, र अर्को पक्ष के हो भने जहाँ धेरै मानिस हुन्छन्, त्यहाँ भरपर्दो नभएका मानिसहरू हुन्छन्, र तिनीहरूमध्ये कतिले त लामो हात गर्न सक्छन्—तिनीहरूले चोर्नसमेत सक्छन्। यी मानिसहरूको चरित्र खराब हुन्छ। कतिपय मानिस खाना खाने बेला सबैभन्दा राम्रो भाग रोज्छन्, र आफूभन्दा पछाडि जति जनाले खान बाँकी भए पनि, तिनीहरू ती कुरा अघाउन्जेल खान्छन्। के त्यो अत्यन्तै स्वार्थी व्यवहार होइन र? कतिपयले खाँदा अरूबारे सोच्छन्। यसले केलाई चित्रण गर्छ? यसले के देखाउँछ भने यी पछिल्ला मानिसहरू अरूबारे सोच्ने समझदार मानिस हुन्। तिनीहरू अरूका लागि राखिदिन अलि कम खान्छन्। गुणस्तरीय हुनु भनेको त्यही हो। परमेश्वरको घरमा, कतिपय मानिसमा मानवता हुन्छ, तर कतिपयमा यसको अलि कमी हुन्छ। तिनीहरू सामान्य मानवताको मापदण्डसमेत पूरा गर्न सक्दैनन्। मैले उल्लेख गरेका व्यवहारहरूका आधारमा भन्दा, के तिमीहरूमध्ये सामान्य मानवता भएका मानिसहरू धेरै छन्? कि धेरै छैनन्? तिमीहरूले सामान्यतया यस्ता व्यवहारहरू प्रदर्शन गर्दा, के तिमीहरू ती समस्या हुन् भनेर थाहा पाउन सक्छौ? तैँले कुनै भ्रष्ट स्वभाव प्रकट गर्दा, के तँ त्यसबारे सचेत हुन्छस्? यदि तँ त्यसबारे सचेत हुन्छस्, तैँले त्यो महसुस गर्न सक्छस्, र तँ परिवर्तन हुन चाहन्छस् भने, तँमा थोरै मानवता छ—यो सामान्यतामा नपुगेको मात्र हो। यदि तँ त्यसबारे नै सचेत छैनस् भने, के तँलाई मानवता भएको व्यक्ति मान्न सकिन्छ? सकिँदैन। यो असल वा खराब मानवताको, सामान्य वा असामान्य मानवताको कुरा होइन—तँमा कुनै मानवता छैन। उदाहरणका लागि, खाना खाने बेलामा, कतिपय मानिस एक थाल सुँगुरको मासु देख्दा बोसो भएको र नभएको सबै लुट्न थाल्छन्, र नसकिन्जेल रोकिँदैनन्। के तिमीहरूले कहिल्यै जनावरहरू खानाका लागि झगडा गरेको देखेका छौ? (देखेका छौँ।) दृश्य उस्तै हो, तर त्यो त जनावरको कुरा भयो; मानिसको हकमा भन्दा, के त्यो लडाइँ सामान्य मानवताको पाटो हो? (त्यो सामान्य मानवता होइन।) सामान्य मानवता भएका मानिसहरूले के गर्नेथिए? (तिनीहरू आफूसँग जे छ त्यसैमा सन्तुष्ट हुनेथिए, लोभी हुनेथिएनन्।) त्यो निकै तथ्यगत अभिव्यक्ति हो। त्यसोभए व्यक्ति कसरी लोभी नहुन सक्छ? सामान्य मानवता भएका मानिसहरूमा यस समस्याप्रति केकस्ता विचार र चासो हुनुपर्छ, जसमार्फत व्यक्तिले सटीक रूपमा काम गर्न सक्छ? पहिला, तेरो सोचाइ सही हुनुपर्छ। उदाहरणका लागि, एउटी महिलाले सोच्छे, “आज सुँगुरको मासु धेरै भुटिएको रहेछ। मलाई अझै बढी खान मन छ, तर वरिपरि मेरा दाजुभाइहरू देख्दा मलाई अलि लाज लागेको छ। म के गरूँ? सायद म उनीहरूले खाइसकेपछि मात्र खान्छु होला। म अरूले मजस्तो महिला कसरी यति घिचुवा हुन सकेको भनेर सोचून् भन्ने चाहन्नँ। त्यो कति अपमानजनक कुरा हुनेछ!” यस्तो सोच्नु एउटी महिलाका लागि सामान्य कुरा हो, किनभने तिनीहरू सामान्यतया अलिक संवेदनशील हुन्छन्। धेरैजसो पुरुषहरू सोच्छन्, “भुटेको सुँगुरको मासु साह्रै मिठो हुन्छ। म चाहिँ खाइहाल्नुपर्यो।” तिनीहरू सुरुमै चपस्टिकले टिप्न पुग्छन्, र अरूले के सोच्छन् भनेर पर्बाह गर्दैनन्। तर कतिपय पुरुष त्योभन्दा अलिक बढी तर्कसङ्गत हुन्छन्। तिनीहरू एक गाँस खाएपछि, यसबारे केही विचार गर्छन्: “मभन्दा पछाडि धेरै जनाले अझै खान बाँकी छ। मैले खान छोड्नुपर्छ र अरूका लागि राखिदिनुपर्छ।” तिनीहरूले त्यसरी सोच्न र व्यवहार गर्न सक्नुले तिनीहरू समझदार व्यक्ति हुन्, र तिनीहरूमा स्वाभाविक रूपमा नै सामान्य मानवता हुन्छ भन्ने देखाउँछ। कतिपय मानिस तुकहीन विषयतर्फ मोडिन्छन्: “परमेश्वर मानिसहरूले सुँगुरको मासु खाएको चाहनुहुन्न, त्यसकारण म एक गाँस पनि खाँदिनँ। यसको अर्थ ममा अझै धेरै मानवता छ भन्ने हुन्छ, होइन र?” त्यो तुकहीन सोचाइ हो। म यस उदाहरणद्वारा के कुरा प्रदर्शन गरिरहेको छु? मानिसहरूले हरेक प्रकारको व्यक्ति, घटना, र कामकुराप्रति सही मनोवृत्ति अपनाउनुपर्छ भन्ने कुरा। मानवताको चेतना, विवेक, निष्ठा, र इज्जतको दृष्टिकोणबाट लिइने सोचमार्फत यो सही मनोवृत्तिमा पुगिन्छ। यदि तैँले यस्तो मानसिकता बोकेर अभ्यास गरिस् भने, तँ मूलतः सामान्य मानवताअनुरूप हुनेछस्।
मानिस, घटना, र कामकुराहरूप्रति कसैको मनोवृत्ति भनेको उसले मानिस र परिस्थितिहरूसँग कसरी व्यवहार गर्छ भन्ने कुरा उसको दैनिक जीवनमा प्रकट हुने तरिका भन्दा बढी केही होइन। यी प्रकटीकरणहरू तैँले गर्नुपर्ने कामसँग त्यति धेरै सम्बन्धित नहुन सक्छन्, वा ती यसबाट टाढा हुन सक्छन्, तर परमेश्वरमाथिको विश्वास खोक्रो हुँदैन: परमेश्वरका विश्वासीहरू शून्यतामा होइन, वास्तविक जीवनमा जिउँछन्। तिनीहरूलाई वास्तविक जीवनबाट अलग गर्नु हुँदैन। मानिसहरूको मनोवृत्ति र सोचाइ कस्तो हुनुपर्छ, चाहे त्यो व्यावसायिक सिपप्रति होस् वा केही कुराबारे सामान्य बुद्धि वा ज्ञानप्रति? के सधैँ लटरपटर गर्दै अघि बढ्ने मानसिकता राख्नु सही हुन्छ? कतिपय मानिस यी कुराहरूबारे सधैँ अलमल्ल हुन्छन्—के त्यसले काम चल्नेछ? के तिनीहरूको दृष्टिकोणमा नै समस्या छैन र? तिनीहरूको दृष्टिकोणमा समस्या हुनु यसकै पाटो हो; त्यसबाहेक, यो तिनीहरूको चरित्रसँग सम्बन्धित हुन्छ। ठूलो रातो अजिङ्गरले चीनमा हजारौँ वर्षदेखि शासन गरेको छ, त्यो सधैँ अभियान र सङ्घर्षहरूमा संलग्न भएको छ। त्यसले अर्थतन्त्रको विकास गर्दैन, र साधारण मानिसहरूको जीवनबारे सोच्दैन। अन्त्यमा, मानिसहरूमा जे पर्छ त्यही टर्छ भन्ने एक प्रकारको बदमासपन विकास भयो। तिनीहरू सबै काममा झारा टार्छन् र अदूरदर्शी दृष्टिकोण अपनाउँछन्। तिनीहरू आफ्नो कुनै पनि अध्ययनमा उत्कृष्टता हासिल गर्ने लक्ष्य राख्दैनन्, न त तिनीहरू यो कुरा हासिल गर्न नै सक्छन्। तिनीहरू सधैँ अदूरदर्शी दृष्टिकोणले काम गरिरहेका हुन्छन्: तिनीहरू बजारमा के कुराको आवश्यकता छ भनेर हेर्छन्, त्यसपछि केही पनि नसोची सम्पत्ति कमाइन्जेलसम्म हतार-हतार त्यो सामान उत्पादन गर्नतिर लाग्छन्। तिनीहरू यस जगभन्दा अगाडि थप विकास गर्दैनन्, वा थप वैज्ञानिक अनुसन्धान गर्दैनन्, वा अझै सिद्ध उत्कृष्टता हासिल गर्न लागिपर्दैनन्, जसले गर्दा चीनका साना उद्योग, ठूला उद्योग, र अरू सबै क्षेत्रको विश्व बजारमा कुनै अत्याधुनिक उत्पादनहरू छैनन्। तैपनि चिनियाँहरू घमण्ड गर्छन्: “चीनमा हामीसँग ५,००० वर्षदेखिको पहिलो स्तरको परम्परागत संस्कृति छ। हामी चिनियाँहरू दयालु र मेहनती छौँ।” त्यसोभए, चीनले किन मानिसहरूलाई ठग्नका लागि नक्कली सामानहरू बनाइरहन्छ? किन तिनीहरूसँग विश्वव्यापी बजारमा प्रतिस्पर्धा गर्न सक्ने लगभग केही पनि छैन? त्यहाँ के भइरहेको छ? के चीनसँग अत्याधुनिक उत्पादनहरू छन्? चिनियाँ मानिसहरूसँग एउटा “अत्याधुनिक” चिज छ, र त्यो नक्कल गर्ने र नक्कली सामान बनाउने सिप हो—छल गर्ने सिप हो। त्यसमा तिनीहरूको बदमासपन हुन्छ। कतिपयले भन्नेछन्, “किन तपाईं हामीलाई यसरी चित्रण गर्नुहुन्छ? के यसले हाम्रो अवमूल्यन र अपमान हुन्छ जस्तो तपाईंलाई लाग्दैन र?” त्यस्तो हो त? चिनियाँहरूले गर्ने केही कुरालाई हेर्दा, यसो भन्नु वास्तवमा उचित नै देखिन्छ। के बजारमा वा आम मानिसहरूमाझ आफ्नो काम आफूले गर्नुपर्ने काम गर्ने कतिपय चिनियाँ मानिसहरू छन्? निकै थोरै छन्, र आफ्नो उचित काममा ध्यान दिने थोरै मानिसहरूले सामाजिक वातावरण कति प्रतिकूल छ, र यसबाट कुनै फाइदा हुँदैन भन्ने देख्दा, तिनीहरू प्रयास गर्न छोड्छन् र हरेस खान्छन्।
मानवतासँग सम्बन्धित कुराहरू—अरू मानिस, घटना अनि कामकुरासित व्यवहार गर्दा मानिसहरूले प्रकट गर्ने मनोवृत्ति, सोच, र दृष्टिकोणहरू—ती निकै सूचक छन्। त्यसले केको बारेमा बताउँछ त? त्यसले व्यक्तिको चरित्र र ऊ भद्र तथा सिधा व्यक्ति हो कि होइन भनी देखाउँछ। शालीन र सिधा हुनु भनेको के हो? के परम्परागत हुनु शालीन र सिधा हुनु हो? के सभ्य र सुशील बन्नु शालीन र सिधा हुनु हो? (होइन।) के नियमहरू अक्षरशः पालना गर्नु शालीन र सिधा हुनु हो? (होइन।) यीमध्ये कुनै पनि होइन। त्यसोभए, शालीन र सिधा हुनु भनेको के हो? यदि कुनै व्यक्ति वास्तवमै भद्र र सिधा छ भने, उसले जेसुकै गरे पनि, एक निश्चित मानसिकताले त्यो काम गर्छ: “मलाई यो कुरा गर्न मन परे पनि, मन नपरे पनि, यो मेरा अभिरुचिहरूको क्षेत्रभित्र परे पनि, नपरे पनि वा यसमा मेरो थोरै अभिरुचि भए पनि, नभए पनि—यो मलाई गर्नका निम्ति दिइएको हो, त्यसैले म यसलाई राम्रोसित गर्नेछु। म यसलाई सुरुदेखि नै अध्ययन गर्न थाल्नेछु अनि समझदार र व्यवहारिक भएर म एकपल्टमा एउटा गरी यसको दायित्व वहन गर्नेछु। अन्त्यमा, म यस काममा जति टाढा पुगे पनि मैले मेरो सक्दो गरेको हुन्छु।” कम्तीमा, तँसित समझदार र व्यवहारिक मनोवृत्ति र मानसिकता हुनुपर्छ। यदि, कामको जिम्मा लिएको क्षणदेखि तँ यसलाई अव्यवस्थित तरिकाले गर्छस् र यसबारे अलिकति पनि वास्ता गर्दैनस्—यदि तँ यसलाई गम्भीरतापूर्वक लिँदैनस् अनि सान्दर्भिक स्रोतहरूलाई हेर्दैनस्, विस्तारपूर्वक तयारीहरू गर्दैनस् अथवा अरूलाई खोज्दैनस् र तिनीहरूसित परामर्श लिँदैनस् भने; अनि त्योभन्दा पनि, यदि तैँले त्यसलाई निरन्तर सुधार गर्न सकूँ, यो सिप वा पेसामा प्रवीणता हासिल गर्न सकूँ भनेर यो कुरा अध्ययन गर्न समय बढाउँदैनस्, तर यसप्रति लापरवाही मनोवृत्ति र यसलाई व्यवहार गर्दा जसोतसो धान्नेमनोवृत्ति कायम राख्छस् भने यो तेरो मानवताकै समस्या हो। के यो झारा टार्नु मात्रै होइन र? कतिले भन्छन्, “तपाईंले मलाई यस्तो कर्तव्य दिनुभएको, मलाई यो मन पर्दैन।” यदि तँलाई मन पर्दैन भने यसलाई स्वीकार नगर्—अनि तैँले स्वीकार गरिस् भने यसलाई गम्भीर र जिम्मेवारपूर्ण मनोवृत्तिले सुल्झाउनुपर्छ। तँसित हुनुपर्ने मनोवृत्ति यही हो। के यो सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने कुरा होइन र? भद्र र सिधा हुनु भनेको यही हो। सामान्य मानवताको यस पक्षमा, तँमा कम्तीमा पनि सचेतता, कर्तव्यपरायणता र मूल्य चुकाउने इच्छा, साथमा समझदार र व्यवहारिक, लगनशील र जिम्मेवार मनोवृत्ति आवश्यक हुन्छ। यी कुराहरू हुनु पर्याप्त छ।
मण्डलीमा सबै किसिमका मानिस हुन्छन्। सत्यतालाई प्रेम गर्ने मानिसहरूको मानवता अलिक राम्रो हुन्छ, र तिनीहरू आफूले कुनै भ्रष्ट स्वभाव प्रकट गर्दा, सजिलै सच्चिन्छन्। सत्यतालाई प्रेम नगर्नेहरूको मानवता धेरै खराब हुन्छ। यदि कुनै व्यक्ति परमेश्वरको आज्ञाप्रति आफूलाई समर्पित गर्दैन र गैरजिम्मेवार हुन्छ भने, के ऊ भरोसा गर्न अयोग्य हुँदैन र? त्यस्तो मानवता व्यर्थ हुन्छ र त्यसको कुनै मूल्य हुँदैन। यो तुच्छ हुन्छ। तँ परमेश्वरमा विश्वास गर्छस्। चाहे त्यो तँलाई परमेश्वरको आज्ञा होस् वा मण्डलीको, यदि तँ आज्ञालाई झाराटारुवा र गैरजिम्मेवार मनोवृत्तिले लिन्छस् भने, के तेरो मनोवृत्ति सामान्य मानवता भएको व्यक्तिमा हुनुपर्ने मनोवृत्ति हो? कतिपयले यसो भन्न सक्छन्, “म दाजुभाइ-दिदीबहिनीहरूले गर्न दिएका कामहरूलाई गम्भीर रूपमा लिँदिनँ, तर म परमेश्वरले गर्न दिएका कामहरूमा सफल हुने कुरामा ग्यारेन्टी दिन्छु। म ती कामलाई राम्ररी लिनेछु।” के त्यो सही विचार हो? (होइन।) कुन हिसाबमा सही होइन? भरोसायोग्य नभएको र सद्गुणको कमी भएको, मानवतामा यी कुराहरूको कमी भएको व्यक्ति—ऊ कोप्रति साँचो हुन सक्छ? कसैप्रति हुन सक्दैन। आफ्नै व्यक्तिगत कामकाजमा समेत, ऊ ठग्ने र झारा टार्ने गर्छ। के त्यस्तो व्यक्ति नीच र बेकार होइन र? यदि कुनै व्यक्ति अरूले अह्राएका कामहरूमा समर्पित, जिम्मेवार र भरोसायोग्य हुन सक्छ भने, के उसले परमेश्वरबाट प्राप्त गरेको आज्ञालाई अझै खराब तरिकाले सम्हाल्छ र? यदि विवेक र समझ भएको ऊजस्तो व्यक्तिले सत्यता बुझेको छ भने, उसले परमेश्वरबाट प्राप्त गरेको आज्ञा र आफ्नो कर्तव्य निर्वाहमा खराब काम गर्नु हुँदैन। सद्गुणको कमी भएका विवेकहीन मानिसहरूले भन्दा उसले अवश्य नै धेरै राम्रो काम गर्नेछ। तिनीहरूको चारित्रिक भिन्नता त्यही हो। कतिपयले भन्छन्, “यदि तपाईंले मलाई कुकुर वा बिरालोको हेरचाह गर्न लगाउनुभयो भने म त्यसलाई गम्भीरतापूर्वक लिन्नथेँ, तर यदि मलाई परमेश्वरको घरको महत्त्वपूर्ण काम दिइयो भने, म अवश्यै त्यसलाई राम्ररी पूरा गर्नेथिएँ।” के यो मान्य कुरा हो? (होइन।) किन होइन? कुनै व्यक्तिले पाएको आज्ञा जेसुकै भए पनि, यदि उसले ठूला र साना दुवै मामलामा सही दृष्टिकोण राख्छ, र यदि ऊ हृदयमा सही छ र उसमा आदर्शमयी गुण छ, निष्ठा छ, र ऊ भरोसायोग्य छ, उसमा नैतिक आचरण छ भने, त्यो बहुमूल्य कुरा हो, र त्यो फरक कुरा हो। त्यस्ता मानिसहरूले कुनै पनि मामलालाई आफ्नो नैतिकता र विश्वसनीयताका साथ सम्हाल्छन्। यदि कुनै अनैतिक र अविश्वसनीय व्यक्तिले “परमेश्वरले मलाई कुनै काम गर्नका लागि सिधै आज्ञा दिनुभयो भने, म अवश्य नै यसलाई राम्ररी सम्हाल्नेछु” भनेर भन्यो भने, के त्यो साँचो हुनेछ? यो अलिक बढिचढाइ र छली कुरा हुनेछ। तँ विवेक वा समझविना अरूप्रति कसरी भरोसायोग्य हुन सक्छस्? तेरा शब्दहरू खोक्रा सुनिन्छन्—ती त चाल हुन्। परमेश्वरको घरमा कुनै बेला एउटा ठाउँको रक्षा गर्नका लागि दुईवटा स-साना कुकुरहरू पालिएका थिए। तिनीहरूलाई हेरचाह गर्ने काम कसैलाई दिइएको थियो, र ऊ ती कुकुरहरूलाई आफ्नै जस्तो गरेर हेरचाह र रेखदेख गर्थ्यो। त्यस व्यक्तिलाई कुकुर त्यति मन पर्दैनथ्यो, तर ऊ तिनको राम्ररी हेरचाह गर्थ्यो। कुनै कुकुर बिरामी हुँदा, ऊ त्यसको उपचार गर्थ्यो, त्यसलाई नुहाइदिन्थ्यो, र समयमा नै खुवाउँथ्यो। उसलाई कुकुर मन पर्दैनथ्यो होला, तर उसले ती कुकुरहरूको हेरचाह गर्ने कामलाई आफूले पाएको आज्ञा र जिम्मेवारीका रूपमा लियो। के त्यसमा मानवतामा हुनुपर्ने कुनै कुरा छैन र? उसमा मानवता थियो, त्यसकारण ऊ काम राम्ररी गर्थ्यो। पछि ती दुईवटा कुकुरलाई अर्को व्यक्तिको हेरचाहमा राखियो, र एक महिनाभित्र नै ती दुब्लाएर दयनीय अवस्थामा पुगे। के भएको थियो? कुकुरहरू बिरामी हुँदा कसैले वास्ता गरेन वा ध्यान दिएन, र तिनीहरूको मुड खराब भएकाले तिनीहरूलाई खानेकुरा रुचेन। यसरी तिनीहरू यति धेरै दुब्लाएका थिए; त्यस व्यक्तिले तिनीहरूको हेरचाह त्यसरी गरेको थियो। के मानिसहरूबीच कुनै भिन्नता हुन्छ? (हुन्छ।) कहाँ? (तिनीहरूको मानवतामा।) के कुकुरको राम्रो हेरचाह गर्ने व्यक्तिले धेरै सत्यता बुझेको थियो? बुझेको नै थियो भन्ने छैन। अनि तिनीहरूलाई राम्ररी हेरचाह नगर्ने व्यक्तिले परमेश्वरमा विश्वास गरेको धेरै भएको थिएन भन्ने पनि थिएन। त्यसोभए, ती दुई बीच किन यस्तो ठूलो भिन्नता भयो? किनभने तिनीहरूको चरित्र नै फरक थियो। कतिपय मानिस विश्वासयोग्य हुन्छन्। जब तिनीहरू कसैलाई आफ्नो वचन दिन्छन्, तब तिनीहरू अन्तमा आफूले बोलेको कुरा पूरा गर्छन् र त्यसको जिम्मेवारी लिन्छन्, चाहे तिनीहरूलाई त्यो काम गर्न मन परून् वा नपरून्। जब तिनीहरू कुनै कामको जिम्मेवारी लिन्छन्, तब त्यो काम एक-एक गर्दै अवश्यै पूरा गर्छन्। तिनीहरू अरूले दिने श्रेयमा खरो उत्रन्छन्, र आफ्नो पनि चित्त बुझाउँछन्। तिनीहरूमा विवेक हुन्छ, र त्यसद्वारा तिनीहरू सबै कुरा मापन गर्छन्। कतिपय मानिसमा विवेक नै हुँदैन। तिनीहरू वचन दिन्छन् र पछि यसलाई पूरा गर्न केही पनि गर्दैनन्। तिनीहरू यसो भन्दैनन्, “तिनीहरूले ममा विश्वास गरेका छन्। तिनीहरूको भरोसा कायम राख्नका लागि, मैले त्यो काम राम्ररी पूरा गर्नुपर्छ।” तिनीहरूमा त्यस्तो हृदय हुँदैन, र तिनीहरू त्यसरी पनि सोच्दैनन्। के त्यो मानवताको भिन्नता होइन र? ल भन् त, के राम्रो काम गर्ने व्यक्तिलाई त्यसो गर्न कठिन लाग्यो? उसलाई त्यो अत्यन्तै थकाइलाग्दो वा कठिन लागेको थिएन। ऊ कसरी काम राम्रोसँग गर्ने भनेर पत्ता लगाउनका लागि दिमाग खियाउँदैनथ्यो, र यस विषयमा बारम्बार प्रार्थना गर्दैनथ्यो। के गर्दा उचित हुन्छ भनेर उसलाई हृदयमा थाहा थियो, त्यसकारण उसले त्यो बोझ लियो। बोझ लिन नचाहने व्यक्तिले पनि कर्तव्यलाई स्विकार्यो, र यसलाई स्विकारेपछि उसलाई झन्झट लाग्यो। कुकुरहरू भुक्दा ऊ झर्किएर तिनीहरूलाई हप्काउँथ्यो: “फेरि भुक् त, भुक्छस्? फेरि एकपटक भुकिस् भने म तँलाई लात्तीले हानेर मारिदिन्छु!” के यहाँ मानवताको भिन्नता छैन र? छ, ठूलो भिन्नता छ। तैँले केही काम गराउँदा कतिपय मानिसलाई झिजो लाग्छ, झमेला लाग्छ, तैँले तिनीहरूलाई कम स्वतन्त्रता दिएको छस् भन्ने लाग्छ। “अर्को काम? मैले गर्नुपर्ने काम धेरै छ—म यहाँ यतिकै समय कटाइरहेको छैनँ!” त्यसकारण, तिनीहरू त्यो कुरालाई पन्छाउन, आफ्नो जिम्मेवारी पूरा नगरेकामा आफूलाई सफाइ दिन सबै किसिमका बहाना बनाउँछन्। तिनीहरूसँग कुनै विवेक वा समझ हुँदैन, न त तिनीहरू आफूलाई जाँच्छन्, बरु आफ्नो खराब मानवताको बचाउ गर्नका लागि स्पष्टीकरण दिन्छन् र बहानाहरू बनाउँछन्। खराब मानवता भएका मानिसहरू यसरी नै व्यवहार गर्छन्। त्यसोभए के त्यस्तो व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? (सक्दैन।) किन सक्दैन? ऊ सत्यतालाई प्रेम गर्दैन, र सकारात्मक कुराहरूलाई प्रेम गर्दैन। कुरा त्यही होइन र? उसमा न त सामान्य मानवता हुन्छ न त सकारात्मक कुराहरूको वास्तविकता नै हुन्छ। ऊभित्र त्यो सार हुँदैन। त्यसोभए, सत्यता र सामान्य मानवताबीच के सम्बन्ध हुन्छ? कुनै व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न र उसले सत्यताको अभ्यास गर्नका लागि उसको मानवताभित्र हुनैपर्ने कुरा के हो? सुरुमा त उसमा विवेक र समझ हुनैपर्छ। उसले जे गरिरहेको भए पनि, उसमा सही मनोवृत्ति, सही सोचाइ, र सही दृष्टिकोण हुनैपर्छ। यी कुराहरू छन् भने मात्र व्यक्तिमा सामान्य मानवता हुन सक्छ—र सामान्य मानवता छ भने मात्र व्यक्तिले सत्यता स्विकार्न र अभ्यास गर्न सक्छ।
ख. आफ्ना परिवेशहरूप्रति मानिसहरूको व्यवस्थापन
दोस्रो बुँदा: आफ्ना दैनिक जीवनका परिवेशहरूप्रति मानिसहरूको व्यवस्थापन। यस बुँदाले सामान्य मानवताको कुन क्षेत्रलाई समेट्छ? (आफ्नो जियाइ परिवेशलाई।) अनि त्यसमा केके समावेश हुन्छन्? यसमा मुख्य गरी दुईवटा व्यापक क्षेत्र समावेश हुन्छन्: व्यक्तिको व्यक्तिगत जीवनमा मात्र सीमित रहने उसको जिउने परिवेश, र उसले बारम्बार सामना गर्ने सार्वजनिक परिवेश। अनि यी दुईवटा व्यापक क्षेत्रमा खास गरी केके पर्छन्? व्यक्तिको जीवनशैली, साथै उसले गर्ने स्वच्छता व्यवस्थापन र उसको परिवेश। यसलाई अझै टुक्र्याएर हेर्दा, व्यक्तिको जीवनशैलीमा केके पर्छन्? काम र आराम, आहार र दैनिक रूपमा आफ्नो स्वास्थ्यको रक्षाजस्ता कुराहरू, साथै दैनिक जीवनबारे सामान्य ज्ञान। हामी पहिलो अर्थात्, काम र आरामबाट सुरु गर्नेछौँ। ती कुरा नियमित र निर्धारित तरिकाले गरे पुग्छ। कामको कारण राती अबेरसम्म वा तोकिएको समयभन्दा बढी समयसम्म काम गर्नुपर्नेजस्ता विशेष परिस्थितिहरूमा बाहेक काम र आराम प्रायजसो नियमित र निर्धारित नै हुनुपर्छ। त्यो नै सही तरिका हो। कतिपय मानिस राति जागा बस्न मन पराउँछन्। तिनीहरू साँझमा सुत्दैनन्, बरु यावत् किसिमका कामकुरामा व्यस्त हुन्छन्। अरूले बिहानै उठेर काम सुरु नगरेसम्म तिनीहरू सुत्दैनन्, र राति अरू सुत्ने बेलामा, तिनीहरू उठेर काम गर्न थाल्छन्। के त्यस्ता मानिसहरू हुँदैनन् र? सधैँ अरूसँग नमिल्ने, सधैँ विशेष हुने—त्यस्ता मानिसहरू त्यति समझदार हुँदैनन्। विशेष अवस्थामा बाहेक, सामान्य परिस्थितिहरूमा सबैको कार्यको तालमेल आधारभूत रूपमा मिल्नुपर्छ। अर्को के हो? (आहार।) सामान्य मानवताका खानपानका आवश्यकताहरू पूरा गर्न सजिलो हुन्छ, होइन र? (हो।) यो सजिलो छ। तर, के मानिसहरूमा आहारबारे केही भ्रमपूर्ण दृष्टिकोणहरू हुँदैनन् र? कतिपयले भन्छन्, “हामी परमेश्वरमा विश्वास गर्छौँ, र सबै कुरा उहाँको हातमा छ। जुन तरिकाले खाए पनि पेटमा असर गर्दैन। हामी स्वतन्त्र रूपमा आफ्नो इच्छाले आफूलाई मन परेको कुरा खान्छौँ। परमेश्वरले हाम्रो रक्षा गर्नुहुने हुनाले यो कुनै समस्याको विषय नै होइन।” के त्यस्तो बुझाइ भएका मानिसहरू छैनन् र? के यसमा अलिक विकृत कुरा छैन र? त्यस्तो बुझाइ असामान्य हो; त्यस्तो बुझाइ भएकाहरूको सोचाइ सामान्य हुँदैन। अरू त्यस्ता पनि हुन्छन् जो जियाइसम्बन्धी सामान्य, अर्थात् आम ज्ञान र देहको ख्याल गर्नुबीच झुक्किन्छन्। तिनीहरू जियाइसम्बन्धी सामान्य ज्ञानमा ध्यान दिनु भनेको देहको ख्याल गर्नु हो भन्ने विश्वास गर्छन्। के त्यस्तो विश्वास गर्ने मानिसहरू छैनन् र? (छन्।) उदाहरणका लागि, कतिपय मानिसमा पेट पोल्ने समस्या हुन्छ र तिनीहरू मसालेदार, उत्तेजक खानेकुरा खाँदैनन्। कतिपयले तिनीहरूलाई यसो भन्छन्, “त्यो त तिम्रो खानपानसम्बन्धी रुचि हो; तिमी देहको ख्याल गरिरहेका छौ। तिमीले यसविरुद्ध विद्रोह गर्नुपर्छ। तिमी त्यस्ता ठाउँहरूमा जानेछौ जहाँ खानेकुरा त्यही नै हुन्छ, अनि तिमीले त्यो खानु नै पर्ने हुन्छ। तिमी कसरी नखाइ बस्न सक्छौ?” के त्यस्तो बुझाइ भएका मानिसहरू छैनन् र? (छन्।) कतिपय मानिस कुनै निश्चित कुरा खान सक्दैनन् तर पनि देहविरुद्ध विद्रोह गर्नका लागि, असुविधा सहँदै त्यो खान अड्डी कस्छन्। म भन्छु, “तँलाई खान मन छैन भने, नखा। खाइनस् भनेर कसैले पनि तँलाई निन्दा गर्नेछैन।” तिनीहरू भन्छन्, “हुँदैन, मैले खानुपर्छ!” त्यस्तो अवस्थामा, तिनीहरू असहजता भोग्न लायक हुन्छन्। तिनीहरू आफैले यो कुरा निम्त्याएका हुन्छन्। तिनीहरूले नै आफ्ना लागि प्रावधानहरू बनाउँछन्, त्यसकारण तिनलाई तिनीहरूले नै पालन गर्नुपर्छ। त्यसोभए के त्यो कुरा नखानु गलत हुन्छ? (हुँदैन।) हुँदैन। निश्चित स्वास्थ्य समस्या भएका अरू मानिसलाई कतिपय खानाको एलर्जी हुन्छ। तिनीहरू ती कुराहरूबाट जोगिनुपर्छ र तिनीहरूले ती खानु हुँदैन। कतिपयलाई खुर्सानीको एलर्जी हुन्छ, त्यसकारण तिनीहरूले ती खान हुँदैन, तैपनि तिनीहरू खान जिद्दी गर्छन्। तिनीहरू त्यो नै देहविरुद्ध विद्रोह गर्नु हो भन्ने विश्वास गर्दै ती खाइरहन्छन्। के त्यो विकृत बुझाइ होइन र? हो त। यदि तिनीहरूले कुनै कुरा खानु हुँदैन भने, ती कुरा खानु हुँदैन। तिनीहरूले आफ्नो शरीरविरुद्ध केका लागि लडाइँ गरिरहेका हुन्छन्? के त्यो तिनीहरू लापरवाही हुनु होइन र? (हो।) त्यो प्रावधान पालना गर्नु पर्दैन, न त त्यसरी आफ्नो देहविरुद्ध विद्रोह नै गर्नु पर्छ। हरेकको आफ्नै शारीरिक अवस्था हुन्छ: कतिको पेट खराब हुन्छ; कतिको मुटु कमजोर हुन्छ; कतिको आँखा कमजोर हुन्छ; कतिलाई धेरै पसिना आउँछ; कतिलाई कहिल्यै पसिना आउँदैन। हरेक व्यक्तिको अवस्था फरक हुन्छ; तैँले आफ्नै अवस्थाअनुसार समायोजन गर्नुपर्छ। यी अवस्थाहरूलाई एउटै वाक्यले स्पष्ट पार्छ: जीवनमा अलिक आम सुझबुझ सिक्ने गर। यहाँ “आम सुझबुझ” को अर्थ के हो? यसको अर्थ तैँले के खाँदा आफ्ना लागि हानिकारक हुन्छ र के खाँदा फाइदाजनक हुन्छ भनेर जान्नुपर्छ भन्ने हो। यदि कुनै चिजको स्वाद मिठो छैन तर त्यो तेरो स्वास्थ्यका लागि राम्रो हुन्छ भने, तैँले आफ्नो स्वास्थ्यको खातिर त्यो खानैपर्छ; यदि कुनै चिज स्वादिलो छ, तर खाएपछि तँ बिरामी हुन्छस् भने, त्यो चिज नखा। त्यो आम सुझबुझ हो। त्यसबाहेक, मानिसहरूले स्वस्थ रहन केही सामान्य सुझबुझका तरिकाहरू पनि थाहा पाउनुपर्छ। वर्षको चारवटै याममा समय, जलवायु, र ऋतुले नै तेरो खानपानलाई निर्धारित गर्नुपर्छ—यो एउटा मुख्य सिद्धान्त हो। आफ्नो शरीरसँग लडाइँ नगर्—यो सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने विचार र बुझाइ हो। कतिपय मानिसमा पेटसम्बन्धी रोग हुन्छ र उत्तेजक खानेकुरा खाँदा तिनीहरूलाई पखाला लाग्छ। त्यसकारण, त्यस्ता कुरा नखाओ। तैपनि कतिपयले “मलाई डर लाग्दैन। परमेश्वरले मलाई सुरक्षा गरिरहनुभएको छ” भन्छन्, अनि फलस्वरूप खाना खाएपछि तिनीहरू पखालाले ग्रस्त हुन्छन्। तिनीहरू त परमेश्वरले नै तिनीहरूलाई परीक्षामा पारिरहनुभएको र शोधन गरिरहनुभएको छ भनेरसमेत भन्छन्। के तिनीहरू हास्यास्पद मानिस होइनन् र? यदि तिनीहरू हास्यास्पद होइनन् भने, परिणामहरूबारे ध्यान नदिई खाने भयानक घिचुवा हुन्। त्यस्ता मानिसहरूमा धेरै समस्या हुन्छन्। तिनीहरू आफ्नो भोक नियन्त्रण गर्न सक्दैनन्, बरु यसो भन्छन्, “मलाई डर लाग्दैन। परमेश्वरले मलाई सुरक्षा गरिरहनुभएको छ!” समस्याबारे तिनीहरूको बुझाइ कस्तो छ? यो विकृत छ; तिनीहरू सत्यता बुझ्दैनन्, तैपनि यसलाई अन्धाधुन्ध लागु गर्ने प्रयास गर्छन्। तिनीहरूलाई पेट पोल्ने समस्या छ, र पनि तिनीहरू जे पायो त्यही खान्छन्, अनि परिणामस्वरूप तिनीहरूलाई पखाला लाग्दा, तिनीहरू यो त परमेश्वरले परीक्षा लिइरहनुभएको र शोधन गरिरहनुभएको हो भनेर भन्छन्—के त्यो प्रावधानहरूलाई अन्धाधुन्ध लागु गर्नु होइन र? त्यस्तो बेतुका व्यक्तिले यस्तो बकवास कुरा गर्नु भनेको—के त्यो परमेश्वरविरुद्धको निन्दा होइन र? के पवित्र आत्माले त्यस्तो बेतुका व्यक्तिमा काम गर्नुहुन्छ? (गर्नुहुन्न।) यदि तैँले सत्यता बुझेको छैनस् भने, कामकुरामा प्रावधानहरू अन्धाधुन्ध रूपमा लागु गर्नु हुँदैन। के परमेश्वर कुनै पनि व्यक्तिलाई अन्धाधुन्ध परीक्षा लिनुहुन्छ? निश्चय नै लिनुहुन्न। तँ त त्यसका लागि योग्यसमेत हुँदैनस्; तेरो कद त्यहाँ पुगेको हुँदैन—त्यसकारण, परमेश्वर तेरो परीक्षा लिनुहुन्न। कस्ता-कस्ता खानेकुरा खाँदा बिरामी भइन्छ भन्ने थाहा नभएको व्यक्ति कमजोर बौद्धिकता भएको मूर्ख व्यक्ति हो। के चेतना र बौद्धिकतामा कमजोर भएका मानिसहरूले परमेश्वरका अभिप्रायहरू बुझ्न सक्छन्? के तिनीहरू सत्यता बुझ्न सक्छन्? (सक्दैनन्।) त्यसोभए के परमेश्वर त्यस्तो व्यक्तिको परीक्षा लिनुहुन्छ? अहँ, लिनुहुन्न। समझको कमी हुनु र बकवास कुरा गर्नु भनेको यही हो। परमेश्वरले मानिसहरूलाई जाँच्नुका सिद्धान्तहरू छन्; ती सत्यतालाई प्रेम गर्ने र पछ्याउने मानिसहरूप्रति, परमेश्वरले प्रयोग गर्ने र उहाँको गवाही दिन सक्ने मानिसहरूप्रति लक्षित हुन्छन्। उहाँ उहाँलाई पछ्याउन र गवाही दिन सक्ने साँचो विश्वास भएका मानिसहरूको परीक्षा लिनुहुन्छ। सहजता र आनन्द मात्रै खोज्ने र सत्यता पटक्कै नपछ्याउने, र निश्चय नै कुराहरूबारे विकृत बुझाइ भएको कुनै पनि व्यक्तिमा पवित्र आत्माको काम हुँदैन। त्यसोभए, के परमेश्वर तिनीहरूलाई परीक्षामा पार्नुहुन्छ? यो पूर्णतया असम्भव कुरा हो।
कतिपय मानिससँग चिनियाँ जडिबुटी औषधीहरू वा स्वास्थ्य खाद्य पदार्थहरूमा पहुँच हुन्छ, र तिनीहरू अनावश्यक रूपमा ती सेवन गर्छन्। कतिपय महिला प्रायजसो छालाको रक्षा गर्ने, त्यसलाई गोरो र कसिलो बनाउने कुराहरू अनुहारमा दल्छन्। तिनीहरू हरेक दिन दुई घण्टा मेकअप लगाउँछन् र त्यसलाई तीन घण्टा लगाएर हटाउँछन्, र अन्तिममा चिन्नै नसकिने गरी आफ्नो छाला बिगार्छन्। तिनीहरू यसोसमेत भन्छन्, “बढ्दो उमेरसँगै सुन्दरता हराउँदै जाने प्राकृतिक नियमलाई कसैले पनि जित्न सक्दैन—मेरो यो बूढो हुँदै गएको छालालाई नै हेर न!” तथ्य के हो भने तिनीहरूले आफ्नो अनुहारमा जथाभाबी चिजहरू नदलेका भए, तिनीहरू यति वृद्ध देखिनेथिएनन्—ती उत्पादनहरू घसेकाले नै तिनीहरू वृद्ध देखिएका हुन्। तिमीहरू त्यसलाई कसरी अर्थ्याउँछौ? (तिनीहरू आफैले यो कुरा निम्त्याएका हुन्।) तिनीहरूले पाउनुपर्ने त्यही हो। सामान्य मानवतामा जिउनका लागि केही सामान्य ज्ञान हुन्छ, र व्यक्तिले यसलाई बोध गर्नुपर्छ, जस्तै आफ्नो स्वास्थ्यको रक्षा गर्ने र रोगहरूबाट बच्नेबारे सामान्य ज्ञान: उदाहरणका लागि, खुट्टाहरू चिसिए भने ढाड दुख्ने समस्या हुन सक्छ, वा प्रारम्भिक रूपमा देखा पर्ने दूरदृष्टिको समस्यालाई कसरी समाधान गर्नुपर्छ, वा लामो समयसम्म कम्प्युटरअगाडि बस्दा त्यसले ल्याउने हानिहरू केके हुन्। आफ्नो स्वास्थ्यको यस्तो सामान्य हेरचाहबारे व्यक्तिले थोरै भए पनि बुझ्नुपर्छ। कतिपयले यसो भन्न सक्छन्, “परमेश्वरमा विश्वास गर्नका लागि, उहाँका वचनहरू मात्रै पढ्नुपर्छ। स्वास्थ्यको सामान्य हेरचाहसम्बन्धी यी सब कुरा सिकेर के फाइदा हुन्छ? मानिसको आयु परमेश्वरले निर्धारित गर्नुहुन्छ; स्वास्थ्यको हेरचाहबारे जति नै धेरै ज्ञान भए पनि कुनै फाइदा हुँदैन। जब तिम्रो मर्ने समय आउँछ, तब कसैले पनि तिमीलाई बचाउन सक्दैन।” झट्ट हेर्दा यो सही देखिन्छ, तर वास्तवमा यो अलिक हास्यास्पद छ। यो त आत्मिक बुझाइ नभएको व्यक्तिले भन्ने कुरा हो। तिनीहरूले थोत्रा शब्द र धर्मसिद्धान्तहरू भट्याउन सिक्छन् र तिनीहरू आत्मिक देखिन्छन्, तर वास्तवमा, तिनीहरूसँग कुनै शुद्ध बुझाइ बिलकुलै हुँदैन। तिनीहरू आफूलाई कुराहरू आइपर्दा कुनै सत्यताको अभ्यास नगरी सके जति राम्रो बोल्दै अन्धाधुन्ध प्रावधानहरू लागु गर्ने प्रयास गर्छन्। उदाहरणका लागि, कतिपय मानिसले तिनीहरूलाई मकैको जाउलो पौष्टिक हुन्छ, र स्वास्थ्यका लागि राम्रो हुन्छ भनेर भन्न सक्छन्। त्यो कुरा तिनीहरू बुझ्दैनन्। तैपनि कसैले सुँगुरको भुटेको मासु स्वस्थकर हुन्छ भनेर भनेको सुनेपछि, तिनीहरू अर्कोपटक देख्नासाथ पेटभरि खान्छन्, र चपाउँदै गर्दा पनि यसो भन्छन्, “म के गर्नु त? मैले यो खानुपर्छ; यो मेरो स्वास्थ्यका लागि हो!” के त्यसो भन्नु छली कुरा होइन र? (हो।) यो छल हो। सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने कुराहरू आफूसँग हुनु, मानिसहरूले जान्नुपर्ने कुरा जान्नु, तेरो उमेरअनुरूपको जीवनको चरणमा तैँले जान्नुपर्ने कुरा जान्नु—सामान्य मानवता हुनु भनेको त्यही नै हो। बिसको दशकमा पुगेका कतिपय मानिस जे पायो त्यही खान्छन्। तिनीहरू कठ्याङ्ग्रिने दिनमा आइस क्युब खान्छन्। त्यो देख्दा ठूलाहरू डराउँछन्, र तिनीहरूलाई पेट दुख्छ, नखाओ भनेर भन्छन्। “पेट दुख्छ? केही हुँदैन,” तिनीहरू भन्छन्, “हेर्नुहोस् त: म हट्टाकट्टा छु!” तिनीहरूलाई त्यस उमेरमा त्यस्ता कुराहरूबारे थाहा हुँदैन। तिनीहरू चालीस वर्ष पुगेपछि हेर्; त्यसपछि तिनीहरूलाई आइस क्युब खान दे। के तिनीहरूले खान्छन्? (खाँदैनन्।) अनि जब तिनीहरू साठी वर्षका हुन्छन्, तब तिनीहरूले बरफ खाने कुरा त बिर्सिदे—तिनीहरूलाई यसको नजिक जान पनि डर लाग्छ। यसको चिसो तिनीहरूको शरीरले सहनै सक्दैन। त्यसलाई अनुभव—अर्थात् जीवनका पाठहरू सिकेको भनिन्छ। यदि साठी वर्ष पुगेको व्यक्तिलाई अझै पनि उसको पेटले धेरै आइस क्यूब सहन सक्दैन, उसको शरीरले त्यो लिन सक्दैन, त्यसले उसलाई बिरामी पार्छ भन्ने थाहा छैन भने, त्यसलाई के भनिन्छ? के उसमा सामान्य मानवताको कमी हुन्छ? उसमा जियाइ अनुभवको कमी हुन्छ। यदि साठी वर्षको हाराहारीमा रहेको कुनै व्यक्तिलाई अझै पनि ढाडका लागि चिसो राम्रो होइन, र खुट्टा चिसो हुँदा ढाड दुख्ने समस्या हुन्छ भन्ने थाहा छैन भने, उसले ती साठी वर्षको अवधि कसरी जिएको होला? उसले पक्कै पनि अल्याङटल्याङ गरेर जिएको हुनुपर्छ। कतिपय मानिसले चालिसको दशकमा पुग्दासम्म जीवन बारे धेरै सामान्य ज्ञानका कुराहरू बुझेका हुन्छन्: उदाहरणका लागि स्वास्थ्यसम्बन्धी सामान्य ज्ञान; अनि भौतिक वस्तुहरू, पैसा, काम, आफन्तहरू, संसारका मामलाहरू, र जीवन इत्यादि कुराहरूका सम्बन्धमा तिनीहरूमा केही सही दृष्टिकोण हुन्छन्। तिनीहरूसँग यी कुराबारे शुद्ध बुझाइ हुन्छ, र तिनीहरूले परमेश्वरमा विश्वास नगरे पनि, यी कुराहरूलाई आफूभन्दा साना उमेरका मानिसहरूले भन्दा अलिक राम्ररी बुझेका हुन्छन्। यिनीहरू सही र गलतबारे बोध भएका, र सामान्य सोचाइ भएका मानिस हुन्। बिसको दशकपछि बाँचेका दुई दशकको अवधिमा, तिनीहरूले धेरै कुरा बुझेका हुन्छन्, जसमध्ये केही त सत्यताको नजिक पुग्छन्। यसले तिनीहरू बुझाइ क्षमता र राम्रो क्षमता भएका मानिस हुन् भन्ने देखाउँछ। अनि यदि तिनीहरू सत्यता पछ्याउने व्यक्ति हुन् भने, सत्यता वास्तविकतामा तिनीहरूको प्रवेश निकै छिटो हुनेछ, किनभने तिनीहरूले ती बिस वर्षमा धेरै कुरा अनुभव गरेका हुनेछन्, र केही सकारात्मक कुरा प्राप्त गरेका हुनेछन्। तिनीहरूका अनुभवहरू परमेश्वरले चर्चा गरेको सत्यता वास्तविकतासँग मिल्नेछन्। तर, यदि त्यस व्यक्तिको मानवतामा धेरै कुराको कमी छ, र ऊसँग सही दृष्टिकोणहरू, वा सामान्य मानवताको सोचाइ छैन, जीवनका सम्बन्धमा, र ती बिस वर्षमा मानिस, घटना, र कामकुराका सम्बन्धमा आउने सामान्य मानवताको बौद्धिकता त झनै छैन भने, तिनीहरूले ती वर्ष व्यर्थमा जिएका हुनेछन्। म पुगेका धेरै ठाउँमा, मैले कतिपय वृद्धा दिदीबहिनीहरूलाई खानेकुरा पकाउन आउँदैन रहेछ भनेर पत्ता लगाएको छु। तिनीहरूले सन्तुलित भोजन मिलाउनसमेत सक्दैनन्। तिनीहरू भुट्नुपर्ने चिजलाई सुप बनाउँछन्, र सुप बनाउनुपर्ने चिजलाई भुट्छन्। मौसमअनुसार खाद्यवस्तु परिवर्तन हुन्छ, तैपनि तिनीहरूको टेबलमा सधैँ एउटै किसिमका खानेकुरा हुन्छन्। त्यो के भएको हो? त्यो त साँच्चिकै बुद्धिको कमी हो, होइन र? तिनीहरूमा सामान्य मानवताको क्षमता हुँदैन। तिनीहरू दैनिक जीवनमा भेटिने विभिन्न खाद्यपदार्थ जस्तै बन्दागोभी र आलुसमेत पकाउन सक्दैनन्। तिनीहरू सबैभन्दा सरल कामहरूसमेत पूरा गर्न र सम्पन्न गर्न सक्दैनन्। तिनीहरूले पछिल्ला पचास-साठी वर्ष कसरी टारे होलान्? के साँच्चै तिनीहरूको हृदयले जीवनसँग कुनै मागहरू नगरेको हुन सक्छ? यदि कसैले आफूले गर्ने कुनै पनि कुराबाट अनुभव लिन सक्दैन भने, त्यस्तो व्यक्तिले कस्तो कर्तव्य राम्ररी निर्वाह गर्न सक्छ? तथ्य कुरा के हो भने मानिसहरूले आफूलाई समर्पित गरेर केही समय तालिम मात्र लिए भने पनि कामकुरा गर्न सिक्न सक्छन्। यदि कसैले केही वर्षको अध्ययनपछि पनि कुनै काम गर्न सक्दैन भने, उसको बुद्धि र क्षमता निकै कमजोर हुनुपर्छ!
अब हामी स्वच्छता व्यवस्थापनबारे थोरै कुरा गरौँ। म भर्खरै दुई ठाउँमा गएको थिएँ जहाँ घर वरिपरि पूरै लथालिङ्ग थियो। सुरुमा त्यहाँ सबै कुरा निकै व्यवस्थित थिए, त्यसोभए ती ठाउँहरू कसरी यस्तो “सुँगुरको खोर” जस्तो बन्न पुगे? यसको कारण के हो भने त्यहाँका मानिसहरू व्यवस्थापन गर्न जान्दैनन्। तिनीहरूसँग सरसफाइसम्बन्धी सामान्य मानवताका चेतना र मागहरू छैनन्। तिनीहरू अल्छी भएको मात्र होइन; त्यसबाहेक, तिनीहरूलाई त्यस्ता अवस्थाहरूमा बस्ने बानी परेको हुन्छ। तिनीहरू कुनै नियम वा बन्देजविना भुइँमा फोहोर छर्छन् र सामानहरू जतासुकै राख्छन्। तिनीहरूले ठाउँ सफा गरेपछि त्यसलाई एकदुई दिन मात्र सफा राख्न सक्छन्; केही दिनपछि, त्यो यति अस्तव्यस्त र फोहोर हुन्छ कि त्यसलाई हेर्न पनि गाह्रो हुन्छ। ल भन्, त्यस्तो परिवेशलाई के भनिन्छ? अनि त्यहाँका मानिसहरू त्यस्तो अवस्थामा आनन्दले खान र सुत्न सक्छन्—तिनीहरू कस्ता मानिस हुन्? तिनीहरू सुँगुरजस्तै छन्, छैनन् र? सरसफाइ, आफ्नो परिवेश, संरचना र व्यवस्थापनबारे तिनीहरूमा कुनै चेतना हुँदैन र तिनीहरू केही बुझ्दैनन्। ठाउँ जति नै फोहोर वा अस्तव्यस्त भए पनि तिनीहरूलाई त्यो कुरा अत्तोपत्तो हुँदैन। त्यसले तिनीहरूलाई असर गर्दैन; तिनीहरू त्यसबारे चिन्तित र विचलित हुँदैनन्। तिनीहरू यो-त्यो नभनी र कुनै मागहरूविना पहिले जसरी नै जिइरहन्छन्। कतिपय ठाउँमा स्वच्छता र परिवेशको राम्रो हेरचाह गरिएको हुन्छ, र तँलाई त्यहाँका मानिसहरूले सफाइलाई ध्यान दिन्छन्, आफ्नो परिवेशलाई व्यवस्थापन गर्न जानेका छन् भन्ने लाग्छ—तर जाँच हुनुभन्दा पहिले तिनीहरूले ठाउँ सफा गर्न मानिसहरू पठाएका हुन्छन् भन्ने कुरा छड्के जाँच नगरेसम्म कसैलाई थाहा हुँदैन। यदि तैँले तिनीहरूलाई पहिले नै आउँदै छु भनेर भनिस् भने, त्यो ठाउँ अवश्यै सफा हुनेछ; यदि तँ तिनीहरूलाई पूर्वसूचना नदिई गइस् भने, तैँले फरक परिवेश भेट्टाउनेछस्, जुन पक्कै पनि फोहोर र अस्तव्यस्त हुनेछ। कतिपय केटीहरूको कोठामा लुगा र जुत्ताहरू छरिएका हुन्छन्, र बाहिर, कोदालो र गैँतीजस्ता औजारहरू लुगासँगै थुप्रिएका हुन्छन्। त्यहाँका कतिपयले आफू अत्यन्तै व्यस्त भएको कारण सफा गर्ने फुर्सद नमिलेको भन्न सक्छन्। के तिनीहरू त्यति व्यस्त थिए? के तिनीहरूले सास फेर्ने फुर्सदसमेत पाएका छैनन् र? यदि पाएका छैनन् भने, त्यो व्यस्तता हो, ठिक छ—तर तिनीहरू पक्कै पनि त्यति धेरै व्यस्त त नहुनु पर्ने हो? आफू बसेको ठाउँ व्यवस्थापन गर्नमा त्यति गाह्रो के छ? सफा र सुव्यवस्थित परिवेश कायम राख्नुमा यति थकाइलाग्दो के छ? के मानवतासँग यसको कुनै सम्बन्ध छ? मानिसहरूलाई किन “सुँगुरको खोर” मा बस्न यति धेरै मन पर्छ? तिनीहरू यस्तो परिवेशमा किन यति सहज मान्छन्? तिनीहरू कसरी यस्तो परिवेशप्रति पूर्ण रूपमा उदासीन हुन सक्छन्? त्यो के भएको हो? परिवेशको राम्रोसँग व्यवस्थापन नहुनुको कारण के हो? यदि म कहिलेकाहीँ कुनै ठाउँमा गएँ र तिनीहरूलाई अग्रिम रूपमा जानकारी गराएँ भने, तिनीहरू त्यस ठाउँलाई सफा र चिटिक्क बनाउँछन्, तर यदि म त्यहाँ बारम्बार गएँ भने तिनीहरूले सफा गर्न छोड्छन्। तिनीहरू भन्छन्, “तपाईं यहाँ प्रायः आइरहनुहुन्छ, त्यसकारण हामी औपचारिकताहरूलाई त्याग्नेछौँ। हामी यस्तै छौँ। सधैँ सफा गरिरहनु थकाइलाग्दो कुरा हो! कोसँग ऊर्जा हुन्छ र? हामी दिनभरि काममा यति व्यस्त हुन्छौँ कि हामीसँग कपाल कोर्ने फुर्सदसमेत हुँदैन!” तिनीहरू यस्ता स्पष्टीकरणहरू दिन्छन्। अनि तिनीहरू अरू कस्ता स्पष्टीकरण दिन्छन्? “यो सब अस्थायी कुरा हो। हामीले यसलाई सिद्ध रूपमा मिलाउनु पर्दैन। जस्तो छ त्यसैले काम चल्छ।” वास्तवमा, सबै कुरा अस्थायी नै हुन्—तर तँ पालमा नै बसे पनि, तैँले यसको हेरचाह गर्नु नै पर्ने हुन्छ, होइन र? त्यो सामान्य मानवता हो। यदि तँमा त्यति पनि सामान्य मानवता छैन भने, तँ पशुहरूभन्दा कति नै फरक हुन्छस् र?
परमेश्वरको घरको एउटा मण्डली छ, जुन पहाड र पानीको नजिक निकै राम्रो स्थानमा अवस्थित छ। त्यहाँ सडक निर्माण गरिएको छ, र नजिकै नदी किनारमा रूखहरू लहरै छन्। यहाँ एउटा सानो पौवा पनि छ, जसको छेउमा सजावटी ढुङ्गाहरू छन्। साँच्चै, यो निकै सुन्दर छ। एक दिन, मैले निकै टाढाबाट त्यो सफा सडकमा एउटा सानो, पहेँलो चिज देखेँ। नजिक आएपछि, मैले त्यो सुन्तलाको बोक्रा रहेछ भन्ने देखेँ। कसले त्यहाँ सजिलै फोहोर फालिदिन्छ, कसलाई थाहा। अनि त्यो सफा पौवामा, कसैले सूर्यमुखीको बियाँ खाएर सबै खोस्टा भुइँभरि फालेको रहेछ। ल भन्, के त्यो व्यक्ति नियमहरू जानेको व्यक्ति थियो? सामान्य मानवतामा, व्यक्तिको स्वच्छता र परिवेशसम्बन्धी माग गरिएका मानकहरू हुन्छन् कि हुँदैनन्? कतिपयले यसो भन्न सक्छन्, “मैले कसरी मापदण्डहरू पूरा गरिनँ र? म हरेक साँझ खुट्टा धुन्छु। कतिपय मानिसले त धुँदैनन्। कतिपय मानिसले त बिहान उठेपछि मुखसमेत धुँदैनन्।” तेरो खुट्टा सफा होला, ठिक छ, तर तेरो काम गर्ने परिवेश चाहिँ किन सुँगुरको खोरजस्तो भएको? तेरो त्यो सफाइले के अर्थ दिन्छ? बढीमा, यसले तँ अत्यन्तै स्वार्थी छस् भन्ने देखाउँछ। तँ सबै कुरालाई व्यवस्थापन गर्न चाहन्छस्—यदि तँ आफ्नो घर-आँगनसमेत व्यवस्थापन गर्न सक्दैनस् भने, तँ कसरी सबै थोकका मालिक बन्न सक्छस्? त्यो साँच्चै लाजमर्दो कुरा हो! यी मानिसहरूले व्यवस्थापन गर्न नसक्ने आफ्नो परिवेश मात्र होइन—तिनीहरू आफ्नो स्वच्छतासमेत व्यवस्थापन गर्न सक्दैनन्, र भुइँमा फोहोर फ्याँक्छन्। तिनीहरूले कसरी यस्तो बानी विकास गरे? तिनीहरूले फलफूलको बोक्रा भुइँमा फ्याँकेर त्यो मल बन्छ भनेर आफूलाई सही साबित गर्न सक्छन्। त्यसोभए त्यसलाई किन मलको थुप्रो वा फोहोर हाल्ने टोकरीमा नराख्ने त? त्यसलाई किन सडकमा वा पौवामा फाल्नु? के पौवा कुहिने फोहोर राख्ने ठाउँ हो? के त्यो नियमहरू बेवास्ता गर्नु होइन र? (हो।) यो त मानवता, समझ, र नैतिकताको अत्यन्तै कमी हुनु हो—तिनीहरू नीच मानिस हुन्! ल भन्, के यस समस्यालाई समाधान गर्ने कुनै उपाय छ? यसलाई कसरी रोक्न सकिन्छ? के रेखदेखले काम गर्नेछ? यस्ता कुराहरूलाई कसले हेरिरहन सक्छ? के गर्नुपर्छ? (तिनीहरूलाई जरिबाना तिराउनुपर्छ।) हो, अन्तिम उपाय त्यही हो। एउटा उचित प्रणाली लागु गर्नैपर्छ। दण्डहीनताको अन्त्य हुनुपर्छ। यी मानिसहरू अत्यन्तै बदमाश छन्—तिनीहरूलाई सच्याउनै सकिँदैन! कतिपय ठाउँमा, कुहिएका काटुन, कुहिएका बोर्ड, र कागजका टुक्राहरू सबैतिर छरिएका हुन्छन्, र त्यहाँका मानिसहरू पछि प्रयोग गर्नका लागि राखेका हौँ भनेर भन्छन्। ती उपयोगी चिजहरू हुन् भने, तिनलाई किन प्रकारअनुसार सफा गरी थुपारेर नराख्ने? त्यसो गर्दा राम्रो देखिने र थोरै ठाउँ ओगट्ने हुँदैन र? धेरैजसो मानिसलाई व्यवस्थापनबारे थाहा हुँदैन। सामानहरू उनीहरूको ठाउँमा यसरी जथाभाबी रूपमा थुप्रिएका र छरपष्ट भएका हुन्छन् कि कुनै खाली ठाउँ नै हुँदैन। त्यो थुप्रो बढ्दै जाँदा झन्-झन् अस्तव्यस्त बन्छ, र अस्तव्यस्त हुँदै गएपछि धुलो आउँछ, र त्यो ठाउँ फोहोर फ्याँक्ने ठाउँ बन्छ, र हेर्दा सबैलाई घिन लाग्छ। के त्यस्ता परिवेशमा जिउने मानिसहरूमा सामान्य मानवता हुन्छ? यदि तिनीहरू आफू बस्ने परिवेशको व्यवस्थापन गर्न सक्दैनन् भने के तिनीहरू क्षमता भएका मानिस हुन्? त्यस्ता मानिसहरू र पशुहरूबीच के भिन्नता हुन्छ? धेरैजसो मानिसले आफू बस्ने ठाउँलाई व्यवस्थापन गर्न नजान्नुको एउटा कारण के हो भने कसैमा पनि स्वच्छताबारे चेतना हुँदैन, न त कसैले आफ्नो परिवेशलाई व्यवस्थापन गर्न नै जान्दछ। तिनीहरूको मनमा यी कुराहरू उठ्दैनन्, र तिनीहरूलाई मानिसहरूको जिउने परिवेश कस्तो हुनुपर्छ भनेर थाहा हुँदैन। तिनीहरू आफू कस्तो परिवेशमा जिउनुपर्छ भन्नेबारे सचेत नभएका पशुजस्तै हुन्। अर्को पक्ष व्यवस्थापकहरूले यी कुराहरूलाई व्यवस्थापन गर्न नजान्नुसँग सम्बन्धित छ। व्यवस्थापकहरू यी कुराको व्यवस्थापन गर्न जान्दैनन्, र व्यवस्थापन गरिएका मानिसहरू यी कुराबारे सक्रिय वा सचेत हुँदैनन्। अन्तमा, सबैको “सहकार्यमा,” त्यो ठाउँ “सुँगुरको खोर” बन्छ। जब यी मानिसहरू कुनै स्थानमा केही समयदेखि बसेका हुन्छन्, तब म एउटा निश्चित अनुभूति लिएर त्यस ठाउँबाट बाहिर निस्किन्छु: “यो ठाउँ किन कहिल्यै सफा हुँदैन? यो किन कहिल्यै पनि घरजस्तो देखिँदैन?” ल भन्, के त्यस्तो ठाउँ देख्दा व्यक्तिको मुड राम्रो हुन सक्छ? (सक्दैन।) के त्यहाँ जाँदा त्यसले तिमीहरूको मुड राम्रो बनाउँछ? (हामीलाई त्यसबारे त्यति धेरै अनुभूति हुँदैन।) तिमीहरूको साँचो प्रतिक्रिया त्यही नै हुनेछ—त्यति धेरै अनुभूति नहुनु। मैले तीमध्ये केही ठाउँका लागि योजनाहरू बनाएको थिएँ, अनि जब काम सकियो र कामकुरालाई नयाँ तरिकाले मिलाइयो, तब सबैले त्यहाँको दृश्यको आनन्द लिए। तर केही दिनपछि, परिस्थितिहरू फेरि पनि अस्तव्यस्त बने। यदि स्वच्छता कायम राख्ने हो भने, मैले कामको व्यवस्थापन गर्नका लागि उपयुक्त व्यक्ति खोज्नुपर्थ्यो। किनभने धेरैजसो मानिस अत्यन्तै फोहोरी हुन्छन्, तिनीहरूले जे काम गरिरहेका छन् त्यसलाई अस्तव्यस्त पार्छन्। कतिपय मानिसले तरकारी टिप्छन् तर तिनीहरूलाई धुने सही ठाउँ थाहा हुँदैन। तिनीहरू यसलाई धुनका लागि सफा ठाउँ खोज्न अड्डी कस्छन्, जसले गर्दा त्यो ठाउँ फोहोर बन्छ। त्यो देख्दा तँलाई कस्तो लाग्नेथियो? के यी मानिसहरू पशुहरूको बगाल होइनन् र? तिनीहरूमा कुनै मानवता हुँदैन! स्वच्छताप्रति कुनै वास्ता नगर्ने र आफ्नो परिवेश व्यवस्थापन कसरी गर्ने भनेर थाहा नभएका यी मानिसहरूलाई हेर्दा, तँ रिसले चूर हुनेथिइस्! यी मानिसहरूलाई बस्नका लागि राम्रो परिवेश दिइएको छ, जहाँ सबथोक राम्ररी मिलेको छ। वसन्तमा यावत् किसिमका फूल र घाँसहरू देखा पर्छन्; त्यहाँ पहाड, पानी र पौवा छ; तिनीहरूले काम गर्ने ठाउँ, बस्ने ठाउँ, र सबै किसिमका सुविधा पाएका छन्। कति राम्रो! तर अन्त्यमा यो कस्तो बन्न पुग्यो? तिनीहरूले यसलाई सामान्य रूपमा लिए; तिनीहरूले दयाको कदर गरेनन्। तिनीहरूले सोचे, “बस्नका लागि यो ठाउँ धेरैजसो ठाउँभन्दा राम्रो छ, तर यो अलि गाउँजस्तै छ। भुइँमा घाँस र हिलोबाहेक केही पनि छैन।” त्यो मानसिकता लिएर, तिनीहरूले त्यस ठाउँलाई बर्बाद पारे। तिनीहरूले आफ्नो परिवेश व्यवस्थापन गर्नेबारे सोचेनन्। त्यस्तो मानवतामा कति धेरै कुराको कमी हुन्छ! त्यसमा मानवतामा हुनुपर्ने कुराहरू हुँदैनन्; ती मानिसहरू आफ्नो जिउने परिवेशका विभिन्न पक्षको सबैभन्दा आधारभूत तरिकाले व्यवस्थापन गर्न पनि सक्दैनन्। ल भन्, मानिसहरूले कसरी आफू बस्ने यस्तो सुन्दर परिवेशलाई बहुमूल्य नठान्न सक्छन्? तिनीहरू कसरी यसको हेरचाह गर्नेबारे नसोची बस्न सक्छन्? किन? के तिनीहरू आफ्नो कर्तव्यमा अत्यन्तै व्यस्त भएको कारण तिनीहरूसँग समयको कमी भएकाले हो? कि तिनीहरूलाई अरू के भइरहेको हुन्छ? के कुनै व्यक्ति आफ्नो कर्तव्यमा व्यस्त हुँदैन र? तिमीहरूभन्दा खराब परिवेशमा बस्ने मानिसहरू पनि छन्, तैपनि तिनीहरू आफ्नो ठाउँको निकै राम्रो हेरचाह गर्छन्। मानिसहरूले यो देखेपछि आदर र सम्मानका साथ तिनीहरूलाई स्याबासी दिन्छन्। अनि त्यसपछि, तिमीहरूको जिउने परिवेशको कुरा आउँछ—अरू भित्रसमेत जानु पर्दैन; बाहिरी भाग हेरेरै तिनीहरूले तँलाई हेला गर्नेछन्। के यो तैँले नै गर्दा भएको होइन र? तेरा क्रियाकलाप र व्यवहारहरूले तँ बस्ने यो अत्यन्तै जर्जर परिवेश सिर्जना गरेका हुन्। जब मानिसहरूले तेरो जिउने परिवेश देख्छन्, त्यो तिनीहरूले तेरो सारलाई देख्नुजस्तै हो। त्यसोभए, के तिनीहरूले तँलाई हेला गरेकामा तैँले तिनीहरूलाई दोष दिन मिल्छ? कुनै व्यक्ति उच्चस्तरीय छ कि निम्नस्तरीय छ, कुलीन छ कि नीच छ भन्ने कुरा अरूको मूल्याङ्कनले निर्धारित गर्दैन, तर ऊ जिउने कुराले निर्धारित गर्छ। यदि तँमा सामान्य मानवताका कुराहरू छन् भने, तँ साँचो मानव स्वरूपमा जिउन सक्छस्। तैँले आफ्नो कुलीन गुण प्रदर्शन गर्न सक्नेछस्, र अरूले स्वतः तँलाई महत्त्व दिनेछन् र सम्मान गर्नेछन्। यदि तँसँग ती कुरा छैनन्, तँसँग स्वच्छतासम्बन्धी सामान्य ज्ञान छैन, तँलाई आफ्नो परिवेशको हेरचाह कसरी गर्ने भन्ने थाहा छैन, र तँ सबै दिन “सुँगुरको खोर” मा बस्छस् र त्यसमा निकै खुसी हुन्छस् भने, यसले तेरो पाशविक गुण प्रकट गर्छ। यसको अर्थ तँ नीच र निम्नस्तरीय होस्। यस्तो नीच र निम्नस्तरीय मानवता भएको, सामान्य मानवतामा हुनुपर्ने सोचाइ, दृष्टिकोण, माग र पछ्याइ पटक्कै नभएको नीच र निम्नस्तरीय व्यक्ति—तीमध्ये कुनै पनि कुरा छैन भने, के त्यस्तो व्यक्तिले सत्यता बुझ्न सक्छ? के ऊ सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? (सक्दैन।) के तिमीहरूलाई पनि उसले सक्दैन भन्ने लाग्छ? किन सक्दैन? कतिपयले भन्नेछन्, “हामीले परमेश्वरमा विश्वास गरेका वर्षहरूमा ती सबै सांसारिक कुराबाट आफूलाई मुक्त गरेको धेरै भएको छ। हामीलाई त्यस्ता कुराहरूको वास्ता हुँदैन! ‘गुणस्तरीय जीवन जिउनु’—त्यो एउटा सांसारिक कुरा हो!” के यसो भन्नेहरू छैनन् र? त्यसोभए के तैँले सास फेर्ने हावा सांसारिक कुरा हो? तैँले लगाउने लुगा, तैँले प्रयोग गर्ने सबै भौतिक सामान—के ती सांसारिक कुराहरू हुन्? तैँले भेला हुनलाई किन बाहिर कुनै खुला ठाउँ खोज्दैनस्? किन कोठामा भेला हुने? के यसो भन्ने मानिसहरू हास्यास्पद होइनन् र? म तँलाई एउटा तथ्य बताउँछु: यदि त्यस्तो व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न चाहन्छ भने, त्यो कठिन हुनेछ। यदि कुनै व्यक्तिले सत्यता वास्तविकतामा प्रवेश गर्ने इच्छा गर्छ भने, उसमा पहिले सामान्य मानवता हुनैपर्छ; त्यसबाहेक, उसले जीवनमा गुणस्तर, शिष्टाचार, र नैतिकता भएको शैली र उद्देश्यलाई पछ्याउन आफ्नो जीवनका ती खराब बानीबेहोरालाई त्याग्नुपर्छ। के यसलाई यसरी व्यक्त गर्नु उपयुक्त हो? त्यसोभए, के यी समस्याहरू सच्याउन सजिला छन्? आफ्नो जीवनशैली परिवर्तन गर्न र आफ्नो जीवनको कुनै खराब बानीलाई हटाउन कति समय लाग्छ? यसमा जतिसक्दो चाँडो प्रवेश गर्नका लागि कुन विधि प्रयोग गर्न जरुरी छ? दण्डबाहेक अरू केकस्ता विधिहरू छन्? (आपसी सुपरिवेक्षण।) आपसी सुपरिवेक्षण एउटा विधि हो; यो कुरा मानिसहरूले यसलाई स्वीकार गर्छन् कि गर्दैनन् भन्ने कुरामा निर्भर हुन्छ। मेरो दृष्टिकोणमा, जरिबाना तिराउनु एउटा शक्तिशाली कदम हो, र यो साँच्चै नै प्रभावकारी कदम हो। तैँले नगद जरिबानामा हात हाल्नेबित्तिकै, मानिसहरूका हितमा हात हालिरहेको हुन्छस्। तिनीहरूको हितमा असर पर्न सक्छ भन्ने डरले तिनीहरूसँग त्यो पालना गर्नेबाहेक अरू कुनै विकल्प हुँदैन। जरिबाना तिराएर हासिल हुने कुरा त्यही हो। तर किन ती मानिसहरूसँग सत्यतामा सङ्गति गरेर केही हासिल हुँदैन? किनभने तिनीहरूमा सामान्य मानवता वा सत्यता स्विकार्नका लागि आवश्यक सर्तहरू हुँदैनन्। त्यसकारण तिनीहरूसँग सत्यतामा सङ्गति गर्नु अप्रभावकारी विधि हो। कुनै पनि कार्य परिवेशमा, सुरुमा वस्तुहरूलाई प्रकारअनुसार वर्गीकरण गर्न, दोस्रोमा सुव्यवस्थित अवस्था कायम राख्न, तेस्रोमा स्वच्छता र सरसफाइ राख्न, त्यसपछि, फोहोरलाई बढार्ने बानीलाई संवर्धन गर्न सिक्। सामान्य मानवतामा हुनुपर्ने कुरा त्यही हो।
कतिपय महिला कपाल कोर्छन् र झरेको कपाल नसोहोरी बाहिर जान्छन्। तिनीहरू हरदिन यसै गर्छन्। के त्यस्तो बानी परिवर्तन गर्न सकिन्छ? तैँले आफ्नो कपाल कोरिसकेपछि, तुरुन्तै सफा गरेर चिटिक्क पार्नुपर्छ। अरूलाई सफा गर्न नलगा—आफ्नो परिवेश आफै राम्ररी व्यवस्थापन गर्। यदि तँ आफ्नो परिवेश राम्ररी व्यवस्थापन गर्न चाहन्छस् भने, तैँले आफैबाट सुरु गर्नुपर्छ। पहिले आफ्नो ठाउँ सफा गर्। त्यसबाहेक, व्यक्ति आफू बसोबास गर्ने सार्वजनिक परिवेशप्रति विचारशील र जिम्मेवार हुनुपर्छ। उदाहरणका लागि, मानिसहरू बस्ने र आराम गर्ने ठाउँहरू व्यवस्थापन गर्ने जिम्मेवारी सबैको हुनुपर्छ। यदि तैँले भुइँमा सुन्तलाको एकदुई वटा बोक्रा देखिस् भने, टिपेर फोहोर राख्ने भाँडोमा हाल्। कतिपय कार्यस्थलमा, काम सकिएपछि जताततै काठका टुक्राटाक्री, काठको भुस, फलामका टुक्राहरू, र काँटीहरू छरिएका हुन्छन्। त्यहाँ गएर तँ होसियार भइनस् भने सजिलै तेरो खुट्टामा काँटीले घोच्न सक्छ। त्यो अत्यन्तै असुरक्षित हुन्छ। तिनीहरू आफ्नो काम गरिसकेपछि किन सफा गरेर स्वच्छता कायम राख्दैनन्? त्यो कस्तो घिनलाग्दो बानी हो? यसो गरेर के तिनीहरू आफ्ना बारेमा स्पष्टीकरण दिन सक्छन्? यस्तो लथालिङ्ग र फोहोरी कार्यस्थल देख्दा मानिसहरूले के सोच्लान्? के पशुहरूले आफ्नो काम यसरी नै गर्दैनन् र? मानवता भएका मानिसहरूले काम सकेपछि सबै कुरा राम्रो तरिकाले सफा गर्नुपर्छ, ताकि अरूले झलक्क हेर्दा नै त्यो काम मानिसले गरेको हो भनेर थाहा पाऊन्। पशुहरूले काम गरिसकेपछि सफा गर्दैनन्, मानौँ सफा गर्ने काम तिनीहरूको होइन र यो तिनीहरूसँग सम्बन्धित छैन। त्यो कस्तो तर्क हो? मैले धेरै मानिस देखेको छु जो काम गरेपछि सफा गर्दैनन्। तिनीहरू सबैमा यस्तो खराब बानी हुन्छ। मैले तिनीहरूलाई हरेक दिन, जब तिनीहरूको काम समाप्त हुन्छ, तब तिनीहरूले कसैलाई फोहोर सफा गर्न लगाउनुपर्छ भनेर भनेँ। हरेक दिन सफा गर्। त्यसो गरेमा, ठाउँ सफा हुनेछ। तिनीहरूले त्यस्तो बानी विकास गर्नैपर्छ। जीवनको बानी विकास गर्नका लागि, व्यक्तिले सुरुमा राम्रो परिवेश कायम गरेर बिस्तारै त्यसको अभ्यस्त हुनुपर्छ। त्यसपछि कुनै दिन, जब त्यो परिवेश परिवर्तन हुन्छ, तब कुनै कुरा फोहोर छ भन्ने देख्दा तिनीहरू आफैलाई नरमाइलो लाग्नेछ। यो त चार-पाँच वर्ष विदेशमा बसेका कतिपय मानिसले सबथोक त्यहाँकै राम्रो छ भनेर सोचेजस्तै हो। एक दिन तिनीहरू आफ्नो गाउँघर फर्केर आउँछन्, र तिनीहरूलाई आफू अचानक विशिष्ट बनेको छु भन्ने लाग्छ। तिनीहरू स्वच्छतामा ध्यान नदिने, र घर सफा नराख्ने अरू मानिसहरूलाई हेला गर्छन्। तिनीहरू एकदुई दिन ननुहाइ बस्न पनि सक्दैनन्। के त्यो तिनीहरूको परिवेशले निर्धारण गरेको होइन र? त्यस्तो चाहिँ भएको हो। त्यसकारण, तैँले सुरुमा आफ्नो व्यक्तिगत स्वच्छता र आफ्नो परिवेश व्यवस्थापन गर्नुपर्छ। आफ्नो कर्तव्य निर्वाह गर्दा सहज महसुस गर्ने तरिका त्यही हो; सामान्य मानवता भएका मानिसहरूमा हुनुपर्ने कुरा पनि यही हो। म पुगेका धेरै ठाउँमा, मैले केटीहरूका कोठाहरू पूर्ण रूपमा लथालिङ्ग र अव्यवस्थित देखेको छु। कतिपयले यसो भन्न सक्छन्, “तपाईं हामी सफासुग्घर भएको चाहनुहुन्छ; के यो तालिम शिविरमा जस्तै हुनुपर्छ?” त्यो सबै गर्नु पर्दैन। हरेक दिन आफ्नो ओछ्यान मिला अनि कोठा सफा गर्। सरसफाइ कायम राख्। यसो गर्ने बानी बसाल्। यदि तैँले हरेक दिन यी कामकुरा गरिस्, र ती कुरा एउटा बानी, नियम बने, र खाना खाएजस्तै स्वाभाविक भए भने, तैँले यस्तो दैनिक जीवनको बानी बसालेको हुनेछस्, र आफ्नो वातावरणप्रतिको तेरो मापदण्ड निकै माथि पुगेको हुनेछ। अनि जब ती माथि पुगेका हुन्छन्, तब तेरो समग्र चालढाल, तेरो मानसिक दृष्टिकोण, तेरो स्वाद, तेरो मानवता, र तेरो इज्जत सबै माथि पुग्नेछन्। तर यदि तँ “सुँगुरको खोर” मा, अर्थात् मानव बस्ने ठाउँमा नभई पशुको गुफा जस्तो ठाउँमा बस्छस् भने, तँमा मानव स्वरूप छैन। उदाहरणका लागि, कतिपय मानिस कुनै कोठामा प्रवेश गर्दा, कोठा र यसको भुइँ सफा छ भन्ने देखेपछि, तिनीहरूले बाहिर केहीबेर आफ्नो जुत्ता पुछेर फोहोर निकाल्नेछन्। तिनीहरूलाई अझै पनि मैलो महसुस हुनेछ, त्यसकारण तिनीहरू कोठामा प्रवेश गर्नुअघि आफ्नो जुत्ता खोल्नेछन्। जब कोठाका मालिकले तिनीहरू कति सफा र आदरणीय छन् भन्ने देख्छन्, तब उसले पनि तिनीहरूलाई आदर गर्नेछ। अरू मानिसहरू हिलोसरीका जुत्ता लाएर भित्र पस्छन्, र भुइँमा हिलो लाग्छ भनेर बिलकुलै सोच्दैनन्। तिनीहरू यसप्रति पूर्ण रूपमा असंवेदनशील हुन्छन्। कोठाका मालिकले तिनीहरू नियमलाई ध्यान नदिने स्वभावको देख्छ। उसले तिनीहरूलाई नराम्रो दृष्टिले हेर्छ, हेला गर्छ, र भविष्यमा कोठामा प्रवेश गर्न दिँदैन। उसले तिनीहरूलाई बाहिर पर्खन लगाउनेछ, र त्यसको अर्थ यस्तो हुनेछ: “तिमी भित्र आउनलायक छैनौ—भित्र आयौ भने तिमीले ठाउँ बरबाद गर्नेछौ, अनि मैले यसलाई सफा गर्न कति लामो समय बिताउनुपर्छ!” उसले तिनीहरूलाई आदर गर्नेछैन। जब उसले तिनीहरूसँग मानव स्वरूप छैन भन्ने देख्छ, तब उसले तिनीहरूलाई आदरसमेत गर्दैन। यदि कुनै व्यक्ति जीवनको यस मोडमा पुग्यो भने, के ऊ अझै पनि मानव नै हुन्छ? ऊभन्दा त कुनै घरपालुवा जनावर नै राम्रो हुन्छ। त्यसकारण, मानिसहरू मानव कहलिनका लागि मानव स्वरूपमा जिउनुपर्छ, र मानव स्वरूपमा जिउनका लागि तिनीहरूसँग सामान्य मानवता हुनैपर्छ। कुनै व्यक्ति जहाँ बस्ने भए पनि, उसले जुनसुकै कर्तव्य पूरा गर्ने भए पनि, नियमहरू पालना गर्नैपर्छ। उसले आफ्नो ठाउँ र स्वच्छतालाई ध्यान दिनैपर्छ, उसमा जिम्मेवारीको बोध र जीवनका असल बानीहरू हुनैपर्छ। उसले आफूले गर्ने सबै कुरामा ध्यान दिनैपर्छ र ऊ गम्भीर हुनैपर्छ, र उसले त्यस कुरालाई राम्ररी गरेर मानक पूरा नगरेसम्म त्यसलाई जारी राख्नैपर्छ। यसरी, मानिसहरूले तँ आफ्नो कर्तव्य निर्वाहमा, साथै आफूलाई आचरणमा ढाल्ने र कामकुरालाई सम्हाल्ने तरिकामा सिधा र शिष्ट छस्, असल व्यक्ति होस् भन्ने देख्नेछन्। तिनीहरूलाई तेरो प्रशंसा गर्न मन लाग्नेछ, र स्वाभाविक रूपमै तिनीहरूले तँलाई आदर गर्नेछन्। तिनीहरूले तँलाई सम्मान पनि गर्नेछन् र महत्त्व दिनेछन्, त्यसकारण तिनीहरूले तँलाई मूर्ख बनाउनेछैनन् वा हेप्नेछैनन्। तिनीहरूले कुनै गिल्ला वा अवहेलना नगरी तँसँग गम्भीर रूपमा कुरा गर्नेछन्। मलाई मानिसहरू मेरो रूपलाई कसरी लिन्छन् भन्ने थाहा छैन, तर मलाई यस्तो महसुस हुन्छ: जब म धेरैजसो मानिसलाई भेट्छु, तब तिनीहरू मजाक गर्ने वा हलुका कुरा गर्ने गर्दैनन्। त्यस्तो किन हुन्छ, त्यो मलाई थाहा छैन। सायद मानिसहरू यस्तो अनुभूति गर्छन्: “तपाईं यति गम्भीर व्यक्ति हुनुहुन्छ, र तपाईं आफ्नो बोलीवचन र व्यवहारमा पनि गम्भीर हुनुहुन्छ। तपाईं एक सिधा व्यक्ति हुनुहुन्छ; तपाईंसँग अन्तरक्रिया गर्दा म मजाक गर्ने आँट गर्दिनथेँ। तपाईं त्यस्तो व्यक्ति हुनुहुन्न भन्ने कुरा पहिलो नजरमा नै स्पष्ट हुन्छ।” कुनै ठाउँमा गएर तैँले मानिसहरूसँग कुराकानी गर्दा, मानिसहरूसँग गफ गर्दा, मानिसहरूसँग अन्तरक्रिया गर्दा, यदि तिनीहरूले तेरो मानवता र नैतिकतामा केही कुरा छ भन्ने महसुस गर्छन् भने—तिनीहरूले यो के हो भनेर स्पष्ट रूपमा भन्न सक्दैनन् होला, तर तैँले हरेक दिन केका बारेमा सोच्छस् भनेर तँलाई थाहा हुनेछ, र कुराहरूलाई कसरी हेर्ने र मानिसहरूसँग कसरी व्यवहार गर्ने भन्नेबारे तँसित सधैँ सिद्धान्त र मापदण्डहरू हुनेछन्—यदि तैँले अरूसँग यसरी नै व्यवहार र अन्तरक्रिया गर्छस् भने, तिनीहरूले तँ अत्यन्तै विवेकशील छस्, आफूले गर्ने सबै कुरामा तँ अत्यन्तै गम्भीर र विवेकशील छस्, अर्थात् तँ सिद्धान्तअनुरूप छस् भनेर भन्नेछन्। यसले अन्तमा तिनीहरूमा कस्तो भावना पैदा गराउनेछ? त्यसबारे बिस्तारै घोरिएर सोच्। यदि तँसँग आफ्नो आत्म-आचरणमा सामान्य मानवता भएकाहरूमा हुनुपर्ने कुराहरू छन् भने, मानिसहरूले तेरो पिठ्युँपछाडि तँलाई कसरी मूल्याङ्कन गर्छन् भन्ने कुराले फरक पार्दैन। यदि तिनीहरूले आफ्नो अन्तस्करणमा तँ सिधा, विवेकशील व्यक्ति होस्, सबै कुराप्रति गम्भीर, जिम्मेवार मनोवृत्ति भएको, सद्गुणी व्यक्ति होस् भन्ने महसुस गर्छन् भने, केही समयसम्म तँसँग व्यवहार र अन्तरक्रिया गरेपछि, तिनीहरूले तँलाई अनुमोदन र सम्मान गर्नेछन्। त्यसपछि, व्यक्तिका रूपमा तेरो केही मूल्य हुनेछ। यदि, केही समयसम्म तेरो सङ्गत गरिसकेपछि, तिनीहरूले तँ केही पनि राम्ररी गर्दैनस्, तँ अल्छी र लोभी छस्, केही पनि सिक्न चाहँदैनस्, तेरा मापदण्डहरू तेरो क्षमताभन्दा माथि छन्, तँ निकै लोभी र स्वार्थी छस्—अनि अझ बढी, तँलाई स्वच्छताप्रति केही मतलब छैन, र तैँले आफ्नो परिवेशको हेरचाह गर्नेबारे विचार गर्दैनस् भन्ने देखे भने; यदि तिनीहरूले तँलाई आफूले गर्ने कुनै पनि कामको भेउ नपाउने छस्, तँ निकै कमजोर क्षमताको छस्, र तँ भरोसाको लायक छैनस्, आफूलाई दिइएको कुनै पनि काम राम्ररी गर्न सक्दैनस् भन्ने देखे भने, मानिसहरूका लागि तेरो बिलकुलै महत्त्व हुनेछैन, र तँ व्यक्तिका रूपमा अमान्य ठहरिनेछस्। समग्रमा अरूका लागि बिलकुलै महत्त्व नराख्नु ठूलो कुरा होइन—के चाहिँ महत्त्वपूर्ण हो भने यदि तँ त्यसरी नै परमेश्वरको हृदयमा पनि हृदय वा आत्माविनाको पशुजस्तै नीच, तल्लो स्तरको, र व्यर्थको छस् भने, तँ समस्यामा छस्। तँ अझै पनि मुक्ति पाउने अवस्थाबाट धेरै टाढा छस्! चरित्र मानकअनुरूप नहुने, बोलीवचन र कार्यहरू पूर्ण रूपमा अनियन्त्रित हुने, पशुजस्तो कुनै व्यक्तिले मुक्ति पाउने कुनै आशा हुन्छ? मैले देखेअनुसार ऊ खतरामा हुन्छ। ढिलो-चाँडो, उसलाई हटाइनेछ।
ग. विपरीत लिङ्गीसँगको सम्पर्कमा मानिसहरूको मनोवृत्ति र व्यवहार
हाम्रो तेस्रो बुँदा, दैनिक जीवनमा विपरीत लिङ्गीसँगको सम्पर्कमा मानिसहरूको मनोवृत्ति र व्यवहार भन्ने हो। यो अरू मानिसमाझ जिउने हरेक व्यक्तिले जुनै उमेरको भए पनि सामना गर्ने समस्या हो। यसमा मानवताको कुन पक्ष समावेश हुन्छ? यसमा व्यक्तिको मर्यादा, उसको लाजको भावना, र उसको व्यवहारको शैली समावेश हुन्छ। कतिपय मानिसले विपरीत लिङ्गीसितको सम्पर्कलाई एकदमै चानचुने कुराका रूपमा लिन्छन्। केही नभएसम्म यो ठूलो मामिला होइन, न त अभिलाषापूर्ण विचारहरूमा लिप्त हुनु वा केही अधर्मी लालसा प्रकट गर्नु नै ठूलो मामिला हो जस्तो तिनीहरूलाई लाग्छ। के सामान्य मानवता भएको व्यक्तिसित यस्ता विचारहरू हुनु हुन्छ त? के यो सामान्य मानवताको चिन्ह हो? जब तँ विवाह गर्ने उमेरको छस् र तँ विपरीत लिङ्गसित सम्पर्कमा आउँछस्, र तँ सम्बन्धमा बस्न चाहन्छस्, तब त्यसलाई सामान्य ढङ्गले गर् अनि कसैले हस्तक्षेप गर्नेछैन। तर कतिपय मानिस सम्बन्धमा बस्न चाहँदैनन्—तिनीहरू आफू आकर्षित भएको व्यक्तिसँग केही दिनसम्म प्रेमलीला गर्छन् अनि तिनीहरूलाई मोहित पार्न सक्ने र तिनीहरूले रुचाएको व्यक्ति भेट्टाएपछि, तिनीहरू देखावट गर्न थाल्छन्। तिनीहरूले कसरी देखावट गर्छन् त? आँखीभौँ उठाउँछन्, आँखा झिम्क्याउँछन् वा कुरा गर्दा आफ्नो आवाजको सुर बदल्छन् वा निश्चित प्रकारले चलफिर गर्छन् वा अरूलाई ध्यानाकर्षण गर्न हास्यास्पद टिप्पणी गर्छन्; यो नै देखावट गर्नु हो। जब सामान्यतया यसो नगर्ने व्यक्तिले यस्ता हाउभाउहरू प्रकट गर्छन्, तब तँ नजिकै तिनीहरूले रुचाएको विपरीत लिङ्गका मानिसहरू छन् भनेर निश्चित हुन सक्छस्। यी मानिसहरू को हुन् त? तैँले भन्लास् कि तिनीहरूले खराब शैलीले आफूलाई व्यवहारमा ढाल्छन् र पुरुष वा स्त्रीबीच स्पष्ट सीमा कायम गर्दैनन्, तर तिनीहरूले कुनै निन्दनीय व्यवहार देखाएका छैनन्। केहीले भन्लान्, तिनीहरू केवल चञ्चल भएका हुन्। अर्को शब्दमा, तिनीहरूमा आत्मसम्मानको कमी हुन्छ; चञ्चल मानिसहरूसँग आत्म-सम्मानको विचार हुँदैन। कतिपय मानिसले दैनिक जीवनमा यस्ता लक्षणहरू प्रकट गर्छन्, तर यसले तिनीहरूको कर्तव्य निर्वाहलाई असर गरेको हुँदैन, न त यसले तिनीहरूलाई काम सकाउनमा नै असर गरेको हुन्छ, त्यसोभए, यो साँच्चै नै समस्या हो त? कतिले भन्छन्: “यसले तिनीहरूको सत्यता पछ्याइलाई बाधा दिँदैन भने, के यसबारे कुरा गर्नु आवश्यक छ त?” यो केसित सम्बन्धित छ त? व्यक्तिको मानवताको लाज र मर्यादासित। मानवता लाज र मर्यादाविना व्यक्तिको मानवता हुन सक्दैन अनि तीविना तिनीहरूको मानवता सामान्य हुन सक्दैन। केही मानिस विश्वसनीय हुन्छन्, तिनीहरूले गर्ने हरेक कुरामा तिनीहरू गम्भीर, जिम्मेवार हुन्छन्, र तिनीहरू कठिन परिश्रम गर्छन्। तिनीहरूसँग कुनै ठूलो समस्या हुँदैन, तर तिनीहरू आफ्नो जीवनको यस पक्षलाई गम्भीर रूपमा लिँदैनन्। जब तँ विपरीत लिङ्गको सदस्यसित जिस्किन्छस्, तब त्यो रचनात्मक हो कि हानीकारक? यदि तँ जिस्किने व्यक्तिको तँसँग माया बस्यो भने नि? तँ यसो भन्न सक्छस्, “मैले चाहेको त्यो होइन”; अँ, तैँले चाहेको त्यो होइन र पनि तँ अझै कसैसित जिस्किन्छस् भने, के तैँले ऊसित खेलबाड गरिरहेको हुँदैनस् र? तैँले उसलाई हानि गरिरहेको हुन्छस्! यो नैतिक बोधको कमी हुनु हो। यसो गर्ने मानिसहरू खराब चरित्रका मानिस हुन्। यसको अतिरिक्त, यदि तँ यस सम्बन्धलाई अघि बढाउन चाहँदैनस् र यसबारे गम्भीर छैनस्, तैपनि तँ अझै आँखीभौँ उठाएर विपरीत लिङ्गीलाई आँखा झिम्क्याउँछस्, रमाइलो र हाँसीमजाक गर्दै देखावट गर्छस्, तँमा स्टाइल छ, तँ सुन्दर वा सुन्दरी होस् भनी देखाउन सबथोक गरिरहेको छस् भने—यदि तँ यसरी देखावट गर्छस् भने वास्तवमा तैँले के गरिरहेको हुन्छस्? (मानिसहरूलाई लोभ्याइरहेको हुन्छ।) यसमा लोभ्याउने अभिप्राय हुन्छ। अब यस्तो प्रकारको लोभ्याउने व्यवहार आदर्शमयी कुरा हो कि कुरूप कुरा? (यो कुरूप कुरा हो।) यहाँ उप्रान्त कुनै मर्यादा हुँदैन। यस संसारका कस्ता मानिसहरूले अरूलाई प्रलोभनमा पार्छन्? वेश्याहरू, छाडा महिलाहरू, बदमास मानिसहरू—यी मानिसहरूलाई लाज भन्ने थाहा हुँदैन। लाज थाहा नहुनु भनेको के हो? यसको अर्थ तिनीहरू अपमानित हुने कुराप्रति असंवेदनशील हुन्छन्। निष्ठा, लाज, र सम्मान, साथै मर्यादा र ख्याति—तिनीहरू यीमध्ये कुनै कुरा वास्ता गर्दैनन्। यस्ता मानिसहरू अङ्ग प्रदर्शन गर्दै र जिस्किँदै हिँड्छन्। तिनीहरूलाई एकदुई जनासँग जिस्किएर पुग्दैन, र तिनीहरूलाई आठदश जनासँग जिस्किनु बढी हो भन्ने लाग्दैन। तिनीहरूलाई खुसी पार्न हजारौँ हजार जना चाहिन्छ। कतिपय विवाहित महिलाका दुई छोराछोरी छन्, र घरबाहिरको कसैलाई यसबारे थाहा हुँदैन। तिनीहरू किन मानिसहरूलाई थाहा दिँदैनन्? तिनीहरूले आफू विवाहित भएको र कसैको भइसकेको भनेर भनेपछि, तिनीहरूले कसैसँग जिस्किन खोजे पनि सक्दैनन्, साथै आफ्नो कामुकता र आकर्षण गुम्नेछ भनेर डर मान्छन्। त्यसकारण तिनीहरू यसबारे खुलस्त हुँदैनन्। के त्यस्ता मानिसहरू बदनामप्रति असंवेदनशील होइनन् र? यदि कसैको मानवतामा यस्ता कुराहरू छन् भने के त्यो सामान्य हो? होइन। यसको आशय के हो भने यदि तँमा त्यस्तो मानवता र त्यस्ता व्यवहारहरू छन् भने, तँमा सामान्य मानवताको कमी छ; यसमा लाज र मर्यादाको कमी छ। कतिपय मानिस विपरीत लिङ्गी मानिसहरूको नजिक पर्नेबित्तिकै आफ्नो कपाल सुमसुम्याउन र लुगा मिलाउन थाल्छन्, वा लाली पाउडर घसेर आफूलाई सुन्दर बनाउन सक्दो प्रयास गर्छन्। यसमा तिनीहरूको उद्देश्य के हुन्छ? तिनीहरूको उद्देश्य भनेको प्रलोभनमा पार्नु हो। यो कुरा सामान्य मानवतामा हुनु हुँदैन। यसरी मानिसहरूलाई प्रलोभनमा पारेर केही महसुस नगर्न सक्नु, यो एकदम सामान्य र साधारण कुरा हो, यो ठूलो कुरा होइन भन्ने सोच्नु भनेको लाजको भावना नहुनु र के गर्नुपर्छ र के गर्नु हुँदैन भन्नेसमेत थाहा नहुनु हो। कतिपय मानिस दश हजार युआन दिइयो भने सडकमा पूर्णतया नग्न भएर तलमाथि हिँड्न तयार हुन्छन्। तिनीहरू कस्तो प्रकारका मानिस हुन्? तिनीहरू लज्जाबोध नभएका मानिस हुन्। तिनीहरू पैसाका लागि लाज नमानी जे पनि गर्छन्। तिनीहरूका लागि निष्ठा, चरित्र, लाज, र मर्यादाको कुनै अर्थ हुँदैन र ती व्यर्थ हुन्छन्। तिनीहरूलाई आफूले देखावट गर्न र अरूलाई प्रलोभनमा पार्न सक्नु आफ्नो प्रतिभा हो, र धेरै मानिसको निगाह प्राप्त गर्दा र धेरै मानिसलाई आफ्नो पछि लगाउँदा मात्र आनन्द पाइन्छ भन्ने लाग्छ। त्यस्तो महिलाका लागि यो नै सबैभन्दा ठूलो सम्मान हो; तिनीहरू त्यसैलाई बहुमूल्य ठान्छन्। तिनीहरू मर्यादा, लज्जाबोध वा चरित्रजस्ता कुराहरूलाई बहुमूल्य ठान्दैनन्। के यो असल मानवता हो? (होइन।) के तिमीहरूले यस्ता व्यवहारहरू प्रदर्शन गरेका छौ? (गरेका छौँ।) त्यसोभए के तिमीहरू ती कुरालाई नियन्त्रण गर्न सक्छौ? तिमीहरू ती कुरालाई प्रायजसो नियन्त्रण गर्न सक्छौ कि कहिलेकहीँ मात्रै? के तिमीहरू आफूलाई नियन्त्रण गर्न सक्छौ? आफूलाई नियन्त्रण गर्न सक्ने मानिसहरूको हृदयमा लाज हुन्छ। हरेक व्यक्तिले क्षणिक रूपमा आवेग र दुराचारको अनुभव गरेको हुन्छ, तर जब आफूलाई नियन्त्रण गर्न सक्नेहरूले यस्तो महसुस गर्छन्, तब तिनीहरूले आफूले गरिरहेको कुरा ठिक होइन, यसले तिनीहरूको इज्जत घटाउँछ, तिनीहरू तुरुन्तै सच्चिनुपर्छ, र तिनीहरूले यो काम गर्न छोड्नुपर्छ भन्ने महसुस गर्छन्। अनि पछि, तिनीहरूलाई फेरि यस्तो आइपर्दा, तिनीहरू आफूलाई नियन्त्रण गर्न सक्छन्। यदि तेरो मानवतामा आत्मसंयम देखाउने यति सानो क्षमतासमेत छैन भने, सत्यता अभ्यास गर्न आह्वान गर्दा तैँले केको विरुद्धमा विद्रोह गर्न सक्छस्? केही मानिसले राम्रा रूप पाएका हुन्छन्, अनि तिनीहरूलाई निरन्तर विपरीत लिङ्गका व्यक्तिहरूले पछ्याइरहेका हुन्छन्; जति बढी मानिसहरूले तिनीहरूलाई पछ्याउँछन्, उति नै तिनीहरू आफ्नो देखावट गर्न सक्ने अवस्थामा छु भन्ने महसुस गर्छन्। के तिनीहरूका लागि यो खतरनाक हुँदैन र? तैँले यस्तो अवस्थामा के गर्नुपर्छ? (यो गुप्त समस्यालाई चिन्ने र यसदेखि टाढा बस्नुपर्छ।) यो साँच्चै नै गुप्त समस्या हो जसदेखि तँ टाढा बस्नुपर्छ—यदि तँ टाढा बसिनस् भने, कुनै व्यक्तिले तँलाई पासोमा पारेको कुरा तैँले पत्ता लगाउनेछस्। तँ पासोमा पर्नुभन्दा अघि नै तैँले आफूलाई यस गुप्त समस्यादेखि टाढा राख्नु आवश्यक हुन्छ; यसलाई आत्मसंयम भनिन्छ। आत्मसंयम हुनेहरूसित लज्जाबोध र मर्यादा हुन्छ। जोसित यो हुँदैन, तिनीहरू आफूलाई लोभ्याउने जोकोहीको पनि लोभ्याइमा पर्न सक्छन् र कसैले तिनीहरूलाई पछ्याउँदा, तिनीहरू लोभ्याइको पासो स्वीकार गर्छन्, जसले समस्या ल्याउन सक्छ। यसबाहेक, तिनीहरूले जानीजानी देखावट पनि गर्छन्, आफूलाई सजाउँछन् र राम्रो कपडा लगाउँछन्, अनि तिनीहरू लगाउनुपर्ने जुन कपडाले आफूलाई धेरै सुन्दर, धेरै आकर्षक र राम्रो बनाउँछ, तिनीहरू विशेष रूपले त्यही कपडा लगाउने निर्णय गर्छन्, र हरेक दिन त्यही लगाउँछन्; यो तिनीहरूका लागि खतरनाक कुरा हो र यसले के देखाउँछ भने तिनीहरूले अरूलाई जानीबुझीकनै लोभ्याउन खोजिरहेका छन्। यदि तँ यी कपडाहरूमा अति आकर्षक र अति कामोत्तेजक देखिन्छस् भने तैँले आफ्नो देह विरुद्ध विद्रोह गरेर यी लुगा लगाउन छोड्नुपर्छ। यदि यस सम्बन्धमा तँसित सङ्कल्प छ भने, तैँले यो कुरा गर्न सक्छस्। तथापि, यदि तँसित यो सङ्कल्प छैन, र तँ जोडी खोज्न चाहन्छस् भने, गएर एउटा खोज्: अरूसँग नजिस्किकन सामान्य रूपमा एकअर्कासँग कुरा गर्। यदि तँ जोडी खोजिरहेको होइनस् तर अरूलाई लोभ्याउँछस् भने यसलाई निर्लज्जका रूपमा परिभाषित गर्न सकिन्छ। तँ आफूले के छनौट गरिरहेको छु भन्ने कुरामा तँ स्पष्ट हुनुपर्छ। के तिमीहरू सबैले सिद्धान्तहरू पालना गर्न सक्छौ? (हामीसित यो सङ्कल्प छ।) यदि तिमीहरूसित यो सङ्कल्प छ भने, तिमीहरूसित ऊर्जा छ, उत्प्रेरणा छ अनि ती पालना गर्न तिमीहरूलाई सजिलो हुनेछ। कतिपय मानिस स्वभावैले भद्र प्रकृतिका हुन्छन्, यसबाहेक, परमेश्वरमा विश्वास गरिसकेपछि तिनीहरू सत्यतालाई पछ्याउँछन् र सही मार्ग लिन्छन्, त्यसकारण तिनीहरूसित त्यो चाहना हुँदैन, अनि तिनीहरू आफूलाई लोभ्याउने प्रयास गर्ने कसैलाई पनि प्रत्युत्तर दिँदैनन्। केही मानिस यसमा पर्ने धेरै जोखिम हुन्छ, जबकि कसैले यसलाई कुनै ध्यानै दिँदैन; केही मानिससित यो सङ्कल्प छ भन्ने प्रतीत हुन्छ, तर तिनीहरू आफै पनि वास्तवमा आफूसँग छ कि छैन भनी बताउन सक्दैनन्। विपरीत लिङ्गका मानिसहरूसँग अन्तरक्रिया गर्ने विषयमा, तैँले सही प्रकारले लिनुपर्ने र पुनःपरीक्षण गर्नुपर्ने कुरा यही हो, र सामान्य मानवताको मर्यादा र लाजको अभिन्न भाग हो भनी पहिचान गर्नुपर्ने कुरा हो। लज्जाबोधको कमी मानवताको कमीसँग कसरी सम्बन्धित हुन्छ? यदि व्यक्तिमा लज्जाबोध छैन भने, उसमा कुनै मानवता हुँदैन भन्नु उचितै हुन्छ। मानवताको कमी भएको हरेक व्यक्तिले किन सत्यतालाई प्रेम गर्दैन? अनि हामी किन व्यक्तिमा मानवता छ भने उसले सत्यता पछ्याउन सक्छ भनेर भन्छौँ? ल भन्, के लज्जाबोध नभएका मानिसहरूलाई के राम्रो हो र के राम्रो होइन भन्ने थाहा हुन्छ? (हुँदैन।) त्यसोभए, जब तिनीहरू परमेश्वरको विरोध गर्ने, उहाँलाई धोका दिने र सत्यता उल्लङ्घन गर्ने खराब कामकुरा गर्छन्, तब के तिनीहरूलाई कुनै आत्मग्लानि हुन्छ? (हुँदैन।) यदि तिनीहरूको विवेकले तिनीहरूलाई घोचेन भने के तिनीहरू सही मार्गमा जान सक्छन्? के तिनीहरू सत्यता पछ्याउन सक्छन्? छाडा, निर्लज्ज मानिसहरू भावशून्य हुन्छन्; तिनीहरूले सकारात्मक र नकारात्मक कुराहरू, वा परमेश्वर केलाई प्रेम गर्नुहुन्छ र केलाई घृणा गर्नुहुन्छ भनेर स्पष्ट रूपमा छुट्याउन सक्दैनन्। त्यसकारण, जब परमेश्वर मानिसहरूलाई इमानदार हुन भन्नुहुन्छ, तब तिनीहरू भन्छन्, “झूट बोल्दैमा के हुन्छ? झूट बोल्नु अपमानजनक कुरा होइन!” के लाज नभएको व्यक्तिले यस्तै भन्दैन र? यदि लज्जाबोध भएको व्यक्तिले इमानदार हुन सकेन र यो कुरा सबैले थाहा पाए भने, के उसको अनुहार रातो हुँदैन र? के उसलाई भित्री रूपमा असहज हुँदैन र? (हुन्छ।) अनि लाज नभएको व्यक्तिले के भन्छ? “इमानदार व्यक्ति हुनु, अरूले के सोच्छन्, तिनीहरूका लागि मेरो के मूल्य छ, वा तिनीहरूले मलाई कति महत्त्व दिन्छन्—यी कुनै पनि कुराले मलाई फरक पार्दैन!” उसले मतलब नै गर्दैन। त्यसोभए के ऊ अझै पनि सत्यता पछ्याउन सक्छ? यदि उसले झूट बोलेपछि उसलाई हृदयमा छटपटी भएको छ कि छैन वा उसलाई कुनै आत्मग्लानि भएको छ कि छैन भने भनेर सोधिस् भने, उसले भन्नेछ, “शान्तिमा हुनु भनेको के हो? आत्मग्लानि हुनु भनेको के हो? यसलाई किन यति ठूलो समस्या बनाउने?” उसमा त्यस्तो कुनै चेतना हुँदैन। के त्यस्तो खराब समझ भएको व्यक्तिले परमेश्वरलाई पछ्याउन सक्छ? के उसले सत्यता पछ्याउन सक्छ? ऊ यसलाई पछ्याउँदैन। उसका लागि, सकारात्मक र नकारात्मक कुराहरूबीच, सत्यता र यसलाई उल्लङ्घन गर्ने कुराबीच कुनै भिन्नता हुँदैन—ती सबै एउटै हुन्। जे भए पनि, ऊ के सोच्छ भने, यदि सबैले प्रयास गरे, आफ्नो कर्तव्य पूरा गरे, र मूल्य चुकाए भने ठिकै हुन्छ। यी कुराहरूबीच भिन्नता छुट्याउने कुनै पनि कुरा हुँदैन। उसले परमेश्वरको प्रतिरोध गर्ने कुनै काम गरिसकेपछि, सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने कुनै काम गरिसकेपछि, अरू कसैका हितमा हानि गर्ने कुनै काम गरिसकेपछि, वा मण्डलीको काममा बाधा दिने कुनै काम गरिसकेपछि उसलाई कुनै आत्मग्लानि महसुस हुँदैन। उसलाई बिलकुलै आत्मग्लानि हुँदैन। यस हिसाबमा, के उसमा लज्जाबोधको कमी छैन र? लज्जाबोध नभएका मानिसहरूले यस्ता कुराहरू खुट्याउन सक्दैनन्। तिनीहरूलाई आफूले चाहेको कुरा गर्न पाए भइहाल्छ। जे गरे पनि हुन्छ; मूल्याङ्कन गर्न सत्यता प्रयोग गरिरहनु आवश्यक हुँदैन। त्यसकारण, लज्जाबोध नभएका मानिसहरू सत्यतालाई बुझ्न वा अभ्यास गर्न सक्दैनन्। लज्जाबोध नहुनु र मानवताको कमी हुनुबीचको सम्बन्ध यही हो। त्यसोभए, तिमीहरूले किन यसो भन्न सकेनौ? तिमीहरू सबैले यस्तो सोचिरहेका छौ, “तपाईँले जे प्रचार गरिरहनुभएको छ, त्यो सत्यतासँग त्यति धेरै सम्बन्धित छैन; यो सत्यताभन्दा निकै फरक छ। हामी प्रायः यी कुराहरू स्पष्ट रूपमा देख्न सक्छौँ, तसर्थ के हामीलाई अझै पनि तपाईँले ती कुराबारे भन्नु आवश्यक छ र?” यदि तिमीहरूलाई सत्यतासँग यसको कुनै सम्बन्ध छैन भन्ने लाग्छ भने, तिमीहरू सत्यता वास्तविकतामा कतिसम्म प्रवेश गरेका छौ? के तिमीहरू सामान्य मानवतामा जिउँछौ? के तिमीहरू साँच्चै सत्यता र मानवता भएका मानिस बनेका छौ? तिमीहरू कदमा अत्यन्तै साना छौ र तिमीहरू यी कुराहरूसमेत पत्ता लगाउन सक्दैनौ, त्यसकारण तिमीहरूमा कस्तो सत्यता वास्तविकता हुन सक्छ र?
परमेश्वरको घरका दशवटा प्रशासनिक आदेशहरूमध्ये एउटाले भन्छ: मानिसमा भ्रष्ट स्वभाव हुन्छ र त्यसबाहेक ऊसँग भावनाहरू छन्। जस्तै कि, परमेश्वरको सेवा गर्दा विपरीत लिङ्गका दुई सदस्यहरू मात्र एकलै रहेर काम गर्न पूर्ण रूपमा निषेध गरिएको छ। त्यसो गरेको थाहा पाइएको खण्डमा, जोकोहीलाई कुनै अपवादविना निष्कासित गरिनेछ। मानिसहरू यो प्रशासनिक आदेशलाई कसरी लिन्छन्? यदि कुनै पुरुषले तीस जनाभन्दा बढी महिलासँग अनुचित सम्बन्ध राखेको छ भने, ल भन्, यो कुरा सुनेका मानिसहरूलाई यसबारे कस्तो महसुस हुन्छ होला? (तिनीहरूले पत्याउनेछैनन्।) यो सुन्दा तँलाई अचम्म लाग्नेछ; तैँले चकित हुँदै भन्नेछस्, “अहो, कति धेरै! त्यो त घिनलाग्दो कुरा हो, होइन र?” अनि त्यस मानिसले तँलाई यो कुरा बताउँदा कस्तो अनुभूति गर्थ्यो होला? (उसले त्यो कुराले आफूलाई फरक नपर्ने जस्तो गरेको हुन्थ्यो।) उसका लागि त्यो कुनै ठूलो कुरा हुनेथिएन। उसलाई आज के खाने भनेर सोध्: “भात।” उसलाई कति जना महिलासँग सुतेको छस् भनेर सोध्: “तीस जना वा त्योभन्दा बढी।” उसले यी दुइटै कुरा बिलकुल उस्तै आवाजमा र उस्तै मानसिकताका साथ भन्नेछ। के त्यस्तो मानवता भएको व्यक्तिका लागि कुनै मुक्ति हुन्छ? हुँदैन, चाहे उसले परमेश्वरमा विश्वास गरेको नै किन नहोस्। त्यस्तो कुरा फ्याट्ट बोल्दा उसलाई लाज नहुने कसरी हुन सक्छ? यो त अपमानजनक कुरा हो! त्यसोभए उसले कसरी फ्याट्ट यसो भन्न सक्यो? ल भन्, के उसमा कुनै लज्जाबोध बाँकी हुन्छ? अहँ, हुँदैन। उसको मानवताभित्रको विवेकको चेतना पहिले नै भावशून्य भइसकेको हुन्छ, र ऊसँग अब कुनै बोध क्षमता बाँकी हुँदैन। यो चरित्रभ्रष्ट हुने मामला मात्र होइन—लाज वा मर्यादाविनाका मानिसहरू अब मानिस रहँदैनन्। बाहिरबाट त तिनीहरू अझै पनि मानिसजस्तै देखिन्छन्, तर तिनीहरूले कुनै कुरा सम्हाल्नुपर्ने बित्तिकै सबै कुरा बिग्रिन्छ। तिनीहरूले कुनै लाज नमानी जे पनि गर्न सक्छन्—अनि त्यसको अर्थ तिनीहरू अब मानिस रहेनन् भन्ने हुन्छ। यी विषयहरूबारे हाम्रो कुराकानीलाई यहीँ समाप्त गरौँ।
आज हामीले छलफल गरेको सामान्य मानवताका यी तीन पक्षबारे घोरिएर विचार गर्—के ती महत्त्वपूर्ण छन्? के सामान्य मानवताका यी कुराहरू सत्यताको पछ्याइबाट अलग छन्? (छैनन्।) त्यसोभए सत्यताको पछ्याइसँग तिनको के सम्बन्ध छ? यदि परमेश्वरमा विश्वास गर्ने व्यक्तिको मानवतामा सावधानी, जिम्मेवारी बोध, वा आफ्ना कामहरूमा ध्यान दिन सक्ने क्षमता छैन भने—यदि उसमा त्यस्तो मानवता छैन भने, उसले परमेश्वरमाथिको विश्वास र सत्यता पछ्याइमा के प्राप्त गर्न सक्छ? हामीले वर्षौँदेखि हरेक क्षेत्रका धेरै सत्यताबारे सङ्गति गरेका छौँ। यदि मानिसहरूले ध्यान दिँदैनन् वा यी सत्यताहरूलाई विवेकपूर्ण मानसिकताले हेर्दैनन्, हचुवाको भरमा काम गर्छन् र विवेकपूर्ण ढङ्गले केही पनि गर्दैनन् भने, के तिनीहरूले यसरी सत्यताको बुझाइ हासिल गर्न सक्छन्? कतिपय मानिसले भन्छन्: “यदि म सत्यताको बुझाइसम्म पुग्न सकिनँ भने, के मैले यी धर्मसिद्धान्त र शब्दावलीहरूलाई याद गर्दा हुँदैन र?” के तैँले अन्तमा यसरी सत्यता प्राप्त गर्न सक्नेछस्? यदि तँमा यस्तो सामान्य मानवता छैन र तेरो मानवताभित्र यी कुराहरू छैनन्, अर्थात् तँमा विभिन्न कुराप्रति विवेकपूर्ण, सावधानीपूर्ण, गम्भीर, र जिम्मेवार मनोवृत्ति छैन भने, सत्यता तेरा लागि धर्मसिद्धान्त र थेगोहरूमा परिणत हुन्छ—यो प्रावधानहरूमा परिणत हुन्छ। तैँले सत्यता प्राप्त गर्न सक्दैनस्, किनभने तँ यसलाई बुझ्न असक्षम छस्। त्यसबाहेक, यदि तँ आफ्नो व्यक्तिगत जीवनको वातावरण, दिनचर्या, र शैलीलाई राम्ररी व्यवस्थापन गर्न सक्दैनस् भने, के सत्यतासँग सम्बन्धित विभिन्न सिद्धान्त र भनाइहरूमा प्रवेश गर्न सक्षम हुनेछस्? हुनेछैनस्। यसका साथै, मानिसहरूले जीवनमा सकारात्मक कुराहरूलाई प्रेम गर्नुपर्छ, साथै नकारात्मक र दुष्ट कुराहरूप्रति हृदयको गहिराइमा तिरस्कार र घृणाको मनोवृत्ति राख्नुपर्छ। केही सत्यतामा प्रवेश गर्ने एकमात्र तरिका यही हो। यसको अर्थ सत्यता पछ्याइमा, तँसँग सही मनोवृत्ति र उचित मानसिकता हुनैपर्छ; तँ सोझो र गम्भीर व्यक्ति हुनैपर्छ। यस्ता मानिसहरूले मात्र सत्यता प्राप्त गर्न सक्छन्। यदि कुनै व्यक्तिमा कुनै लज्जाबोध छैन, र धेरै दुष्ट कामकुरा गरेपछि, परमेश्वरविरुद्ध विद्रोह गर्ने र सत्यता उल्लङ्घन गर्ने धेरै कुराहरू गरेपछि पनि यो ठूलो कुरा होइन भन्ने सोचेर ऊ हृदयमा भावशून्य र बेखबर रहन्छ भने—के यस्तो अवस्थामा उसका लागि सत्यताको कुनै काम हुन्छ? यसको कुनै काम हुँदैन। सत्यताले उसमा कुनै प्रभाव पार्दैन, र यसले उसलाई बन्धनमा पार्न, हप्काउन, मार्गदर्शन गर्न, वा दिशा र बाटो देखाउन सक्दैन, यसको अर्थ ऊ समस्यामा हुन्छ। लज्जाबोधसमेत नभएको व्यक्तिले कसरी सत्यतालाई बुझ्न सक्छ? कुनै व्यक्ति सत्यता बुझ्न सक्ने हुनका लागि, सुरुमा ऊ सकारात्मक र नकारात्मक कुराहरूप्रति हृदयमा संवेदनशील हुनैपर्छ। नकारात्मक वा दुष्ट कुराको उल्लेख गर्दा वा सामना गर्दासमेत उसलाई घृणा लाग्छ, र ऊ आफैले यस्तो काम गर्यो भने, उसलाई लाज लाग्छ र छटपटी हुन्छ। उसले सत्यताप्रति प्रेम महसुस गर्छ र आफ्नो हृदयमा सत्यतालाई स्विकार्न सक्छ; उसले यसलाई प्रयोग गरेर आफूलाई नियन्त्रण गर्न र आफ्नो गलत स्थितिलाई उल्ट्याउन सक्छ। के यी कुराहरू सामान्य मानवतामा हुनुपर्ने कुराहरू होइनन् र? (हुन्।) के यी कुराहरू प्राप्त गरेपछि व्यक्तिलाई सत्यता पछ्याउन सजिलो हुँदैन र? अनि यदि कसैमा तीमध्ये कुनै पनि कुरा छैन भने, सत्यता पछ्याउनेबारे बोल्नु खोक्रो कुरा मात्रै हुन्छ—उसको हृदयमा सकारात्मक कुराहरू छैनन् भने उसले कसरी त्यो काम गर्न सक्छ? तेरो सामान्य मानवतामा यी कुराहरू नभएसम्म सत्यताले तँभित्र जरा गाड्ने, त्यो फुल्ने, र त्यसले फल दिने हुँदैन—त्यतिन्जेलसम्म यसले असर पार्नेछैन। जब तैँले सत्यता बुझेको हुन्छस्, तब तैँले आफ्नो सोचाइलाई परिवर्तन गर्न र आफ्नो व्यवहारलाई नियन्त्रण गर्न सक्नेछस्, र तेरा भ्रष्ट विचारहरू झन्-झन् कम हुनेछन्। यो नै साँचो परिवर्तन हो।
तिमीहरूमा आज हामीले छलफल गरेका सामान्य मानवताका यीमध्ये कतिवटा प्रकटीकरणहरू छन्? तिमीहरूमा कतिवटाको कमी छ? तिमीहरूमा कुन प्रकटीकरण छ? (लज्जाबोध।) लज्जाबोध—त्यो राम्रो कुरा हो। तँमा कम्तीमा पनि लज्जाबोध हुनुपर्छ। अरू के छ? के तिमीहरू सबैसँग मानिस, घटना, र कामकुराका सम्बन्धमा विवेकपूर्ण, र सावधानीपूर्ण मानसिकता र मनोवृत्ति छन्? म के देख्छु भने तिमीहरू जे पनि गर्छौ, त्यसमा तिमीहरू लापरवाह छौ, जोसजाँगर मार्छौ र सुस्ताउँछौ, र तिमीहरूले गर्ने ती कुराहरू देख्दा, मेरो हृदयमा चिन्ता बढ्छ। के तिमीहरू यी समस्याहरू आफै पत्ता लगाउन सक्छौ? के तिमीहरू आफूले ती पत्ता लगाउँदा चिन्तित हुन्छौ? (हुन्छौँ।) कुन रूपमा? यसबारे कुरा गर्। (अहिले भर्खरै परमेश्वरको सङ्गति सुनेपछि, मलाई मसँग त्यति धेरै मानवता छैन, र मेरो कर्तव्य र मेरो जीवनका घटनाहरूप्रति ममा लापरवाह मानसिकता छ भन्ने लागेको छ। म परमेश्वरले माग गर्नुभएका मानकहरूबाट निकै टाढा छु। मलाई अलि डर लागेको छ।) तेरो मानवतामा धेरै कुराको कमी छ, हो कि होइन? तँलाई के लाग्छ भने तैँले वर्षौँदेखि परमेश्वरमा विश्वास गरेको छस् र धेरै सत्यता सुनेको छस्, तैपनि तँसित मानवताका सबैभन्दा आधारभूत कुराहरूसमेत छैनन्—तँ कसरी चिन्तित नभई बस्न सक्छस्? कतिपय मानिससँग थोरै प्राविधिक सिप हुन्छ, तर तिनीहरूले गर्ने सबै कुरा कमसल हुन्छन्। यो सबै न्यून स्तरको हुन्छ, मापदण्डअनुरूप हुँदैन, र तिनीहरू उन्नत र स्तरीय विधिहरू के हुन् भनेर जाँच्दैनन्। के यो तिनीहरूको प्रतिगामी सोच होइन र? उदाहरणका लागि, एकपटक तिनीहरूलाई ढोका हाल्न लगाउँदा तिनीहरूले यसो भने: “हाम्रो ठाउँतिर त धेरैजसो ढोका एकपल्ले मात्रै हुन्छ।” तिनीहरूको त्यो सानो ठाउँले मापदण्ड तय गर्दैन। तिनीहरूले ठूला सहरका व्यावसायिक र आवासीय भवनहरूका ढोकाको शैली हेर्नुपर्छ, त्यसपछि वास्तविक परिस्थितिअनुसार आफ्नो काम गर्नुपर्छ। तैपनि यहाँ, तिनीहरूले मुख खोलेर भने: “हामी हाम्रो घरतिर त दुईपल्ले ढोका बनाउँदैनौँ, र यहाँ धेरै मानिस पनि छैनन्। धेरै भए पनि ठूलो कुरा हुनेथिएन—तिनीहरू चेपाचेप गरेर पस्न सक्छन्।” अर्कोले भन्यो: “यदि मानिसहरू धेरै लामो समयसम्म चेपाचेप भए भने, ढोकाको पल्ला भाँचिनेछ। यस विषयमा कुरा गरौँ। यसपटक हामी अपवादका रूपमा दुईपल्ले ढोका बनाऊँ, हुन्छ?” त्यसपछि तिनीहरूले भने: “हुँदैन! म एकपल्ले ढोका नै बनाउँछु; म दुईपल्ले ढोका बनाउन सक्दिनँ। यो कसरी बनाउने भन्ने कुरा मलाई थाहा हुन्छ कि तपाईँलाई? मलाई—त्यसोभए यस विषयमा तपाईँ किन मेरो कुरा सुन्नुहुन्न? तपाईँले मेरो कुरा सुन्नुपर्छ!” तिनीहरूलाई परिस्थितिअनुसार काम गर्न भनियो, तर तिनीहरूले सुनेनन् र सानो ढोका नै बनाउन अड्डी कसे। के यो झन्झट होइन र? प्रकाश छिरोस् र ठाउँ साँघुरो नदेखियोस् भनेर भित्री र बाहिरी भागबीच सिसा हाल्न लगाउँदा, तिनीहरूले भने, “किन सिसा हाल्ने? त्यो सुरक्षाको जोखिम हुनेछ, होइन र? म त सिसा हाल्दिनँ; यी दुईवटा ढोका नै काफी छन्। हाम्रोतिर त यस्तो ढोका मात्र प्रयोग गर्छौँ।” तिनीहरू अरूलाई दबाउन सधैँ “हाम्रोतिर,” “हाम्रो घरतिर,” “मैले प्राविधिक कुराहरू अध्ययन गरेको छु” जस्ता कुराहरू दोहोर्याइरहन्छन्। के ती कुराहरू सत्यता हुन्? (होइनन्।) बाहिरी मामलाहरूप्रति यस्तो मनोवृत्ति अपनाउनका लागि, तिनीहरूको मानवताभित्र के कुराको कमी भएको हुनुपर्छ? चेतना। अनि तिनीहरूको चेतनामा विशेष गरी कुन कुराको कमी भएको हुनुपर्छ? अन्तर्ज्ञान। तिनीहरूलाई सधैँ आफ्नो ठाउँको सबै कुरा ठिक हो, सबैभन्दा उच्च कुरा त्यही हो, त्यो सबै सत्यता हो भन्ने लाग्छ। के तिनीहरूको चेतना कमजोर छैन र? सामान्य चेतना कस्तो देखिनुपर्छ? सामान्य चेतना भएको भए तिनीहरूले यसो भन्नेथिए, “म धेरै वर्षदेखि यस व्यवसायमा छु, तर मैले त्यति धेरै कुरा देखेको छैनँ। हाम्रोतिर त हामी सबैले ढोकाहरू यसरी नै बनाउँछौँ, त्यसकारण यहाँका ढोकाहरू कति ठूला हुन्छन् हेरौँ। यहाँका मानिसहरूले जे गर्छन् हामी त्यसैमा सहमत हुनेछौँ। यो फरक ठाउँ हो, र यस काममा म लचकदार हुनुपर्छ।” के त्यो चेतना होइन र? (हो।) त्यसोभए के त्यस्तो व्यक्तिमा यस्तो चेतना हुन्छ? हुँदैन—उसमा कुनै समझ हुँदैन। अनि अन्त्यमा यसलाई कसरी सम्हालियो? काम पुनः गर्नुपर्यो। के काम पुनः गर्नु घाटा होइन र? (हो।) हो, घाटा हो। के यस्ता घटनाका उदाहरणहरू धेरै छन्? छन् नि। त्यो व्यक्ति पूरै जिद्दी छ। ऊ कति जिद्दी छ? जसले जे भने पनि ऊ सुन्दैनथ्यो; ऊ मेरो कुरासमेत सुन्दैनथ्यो, र ऊ मेरो खण्डनसमेत गर्थ्यो। मैले भनेँ, “तैँले यो कुरा परिवर्तन गर्नुपर्छ। गरिनस् भने, यो काम तेरा लागि होइन।” अनि उसले यसो भन्ने दुस्साहस गर्यो, “तपाईँलाई मेरो आवश्यकता नपरे पनि म यत्रै ढोका बनाउँछु!” त्यो कस्तो स्वभाव हो? के त्यो सामान्य मानवता हो? (होइन।) यो सामान्य मानवता होइन—त्यसोभए यो कस्तो मानवता हो त? मेरो विचारमा, तिनीहरू अलिक पशुजस्तै छन्। यो त गोरु तिर्खाएको जस्तै हो: यसले गाडामा जति धेरै सामान वा मानिसहरू बोकिरहेको भए पनि, पानीको खाडल वा नदी देख्नेबित्तिकै, गाडालाई सिधै त्यतै तानेर लग्नेछ। जति नै मानिसहरू भए पनि तिनीहरू त्यो तानेर फर्काउन सक्दैनन्। हामी त एउटा पशुको कुरा गरिरहेका छौँ। के मानिसहरूमा पनि यस प्रकारको स्वभाव हुन्छ? जब तिनीहरूमा यस्तो स्वभाव हुन्छ, तब यो सामान्य मानवता होइन, र त्यो खतरनाक कुरा हो। तिनीहरूले तँलाई इन्कार गर्ने, र तेरो कुरा सुन्न छोड्ने बहाना पाउनेछन्। तिनीहरू अत्यन्तै जिद्दी र मूर्ख हुन्छन्। दैनिक जीवनका त्यस्ता कुराहरूमा, यदि तँमा विनम्र भई स्विकार्ने, अरूका रायहरू सुन्ने मनोवृत्ति छैन भने, यदि तँमा अध्ययन गर्ने मनोवृत्ति छैन भने, तँ कसरी सत्यता स्वीकार गर्न सक्षम हुनेछस्? तैँले यसलाई कसरी अभ्यास गर्न सक्नेछस्? सबैले दुईपल्ले ढोका बनाउनु नै उपयुक्त हुन्छ भनेर भन्छन्। तैँले त्योसमेत गर्न सक्दैनस्, र त्यो सत्यता अभ्यास गर्नुको नजिक पनि भएन—तँ कुनै उचित सुझावसमेत सुन्दैनस्। के तैँले सत्यतासँग सम्बन्धित कुनै कुरा सुन्न सक्नेछस्? तँ सधैँ जस्तै सुन्दैनस्। यो कुरा यस्तो स्वभाव भएको व्यक्तिको दिमागमा घुस्दैन र त्यो उसका लागि ठूलो समस्या हुन्छ। यदि कसैको मानवतामा यस्तो समझसमेत छैन भने, उसले कुन सत्यता अभ्यास गर्न सक्छ? ऊ हरेक दिन व्यस्त हुने ती कुराहरू कसका लागि गर्छ? ऊ ती कामहरू पूर्ण रूपमा आफ्नै रुचि, आफ्नै स्वार्थी चाहनाहरूअनुसार गर्छ। हरेक दिन, ऊ दैनिक जीवनमा वरिपरिका मानिस, घटना, र कामकुराहरूप्रति यस प्रकारको दृष्टिकोण राख्छ: “म जे मन लाग्छ त्यही गर्नेछु, जे सोच आउँछ त्यही गर्नेछु, र जे विश्वास लाग्छ त्यही गर्नेछु।” यसलाई के भनिन्छ? दिनभरि, तिनीहरूले सोच्ने सबै कुरा पूर्ण रूपमा दुष्ट हुन्छ। अनि यदि तिनीहरू हृदयमा यति दुष्ट छन् भने, तिनीहरूका कार्यहरू कस्ता होलान्? के त्यस्तो व्यक्ति हुन्छ जसका सबै विचार दुष्ट छन्, तर उसका सबै कार्यहरू अझै पनि सत्यतासँग मिल्छन्? यो ठिक होइन—यो विरोधाभास हुनेछ। उसका विचारहरू सबै दुष्ट छन्, र उसको सुरुवाती विन्दु पूर्ण रूपमा दुष्ट छ, त्यसकारण उसले गर्ने कामकुराहरू कम्तीमा पनि याद गरिनेछैन। अनि याद नगरिने कुराहरूमध्ये, कतिपय अवरोध र बाधा हुन्छन्, कतिपय विनाशकारी हुन्छन्, तर अरू त्यति खराब हुँदैनन्। यदि यी कुराहरूलाई गम्भीरतापूर्वक लिइयो भने, तिनलाई निन्दा गरिनुपर्थ्यो। कुरा त्यस्तै हो।
कतिपय मानिसमा एक प्रकारको गलत दृष्टिकोण हुन्छ, जुन अरूलाई निकै घृणित लाग्छ। यी मानिसहरूमा केही प्रतिभा वा सबल पक्षहरू हुन्छन्, वा सायद कुनै शिल्प, केही दक्षता, वा केही क्षेत्रमा विशेष क्षमता हुन्छ, र तिनीहरूले परमेश्वरमा विश्वास गर्न थालेपछि, आफूलाई विशिष्ट मानिस ठान्छन्। के यो मनोवृत्ति सही हो? यो दृष्टिकोणबारे तिमीहरूलाई के लाग्छ? के यो सामान्य मानवताको सोचाइमा पर्ने कुरा हो? होइन। त्यसोभए यो कस्तो विचार हो त? के यो समझको कमी हुनु होइन र? (हो।) तिनीहरू यस्तो विश्वास गर्छन्, “म साधारण मानिसहरूभन्दा माथि छु किनभने म यो शिल्प जान्दछु, र म परमेश्वरको घरको साधारण व्यक्तिभन्दा राम्रो छु। म शिल्पकला र क्षमता भएको पुरुष हुँ, र म बोल्न सिपालु र प्रतिभाशाली छु। म परमेश्वरको घरको सबैभन्दा उत्कृष्ट व्यक्ति हुँ। म सबैको प्यारो व्यक्ति हुँ। कसैले पनि मलाई आदेश दिन, अगुवाइ गर्न, र कुनै काम गर्ने हुकुम दिन सक्दैन। मसँग यो सीप छ, त्यसकारण म जे चाहन्छु त्यही गर्नेछु। मैले सिद्धान्तहरूबारे सोच्नु पर्दैन—म जे गर्छु त्यो सही र सत्यताअनुरूप हुन्छ।” यो दृष्टिकोणबारे तिमीहरूलाई के लाग्छ? के यस्ता मानिसहरू छैनन् र? त्यस्ता मानिसहरूको कमी छैन, र तिनीहरू आफ्नो शान देखाउनका लागि परमेश्वरको घरमा आएका हुन्छन्। यदि तिनीहरूले आफ्ना सामर्थ्य र सिपहरूलाई परमेश्वरको घरमा कर्तव्य निर्वाह गर्नमा प्रयोग गरे भने, त्यो ठिकै हुनेछ, तर यदि तिनीहरू आफ्नो शान देखाउन आएका हुन् भने त्यो अर्कै प्रकृतिको समस्या हो। यसलाई किन “आफ्नो शान देखाउनु” भनेर भनिन्छ? तिनीहरू परमेश्वरका विश्वासीहरूलाई मूर्ख ठान्छन्, केही जस्तो ठान्दैनन्। के तिनीहरूको सोचाइमा केही गडबडी भएको छैन र? के तिनीहरूको चेतनामा केही समस्या छैन र? के परिस्थिति वास्तवमा यस्तै हुन्छ? के परमेश्वरमा विश्वास गर्ने मानिसहरू साँच्चै नै मूल्यहीन हुन्छन्? (हुँदैनन्।) त्यसोभए ती मानिसहरू उनीहरूलाई किन त्यस रूपमा हेर्छन्? तिनीहरूले किन त्यस्तो सोच्छन्? के कुराले यस्तो विचार पैदा गराउँछ? के तिनीहरू यो कुरा गैरविश्वासीहरूबाट सिक्छन्? तिनीहरू परमेश्वरमा विश्वास गर्ने मानिसहरू केही पनि होइनन्, उनीहरू सबै गृहस्थ श्रीमान-श्रीमती हुन्, उनीहरू सबै किसान हुन्, र उनीहरू समाजको तल्लो तहका मानिस हुन् भन्ने सोच्छन्। तिनीहरूले ठूलो रातो अजिङ्गरको दृष्टिकोण बोकेका हुन्छन्। तिनीहरू के सोच्छन् भने परमेश्वरमा विश्वास गर्ने मानिसहरू असक्षम हुन्छन्, उनीहरू समाजमा आफ्नो बाटो बनाउन सक्दैनन्, र उनीहरूका लागि त्यहाँ कुनै बाटो नभएको र जाने कुनै ठाउँ नभएको हुनाले मात्रै उनीहरूले परमेश्वरमा विश्वास गर्न थालेका हुन्। तिनीहरू आफूसँग केही क्षमता भएकाले, आफूलाई कुनै पेसाबारे थोरै थाहा भएकाले, वा आफूसँग केही प्राविधिक ज्ञान भएकाले आफू परमेश्वरको घरको प्रतिभाशाली व्यक्ति भएको ठान्छन्। के त्यो विचार सही हो? (होइन।) त्यसमा के कुरा गलत छ? तिनीहरू परमेश्वरको घरमा कुनै सक्षम मानिसहरू छैनन् भन्ठान्छन्, र तिनीहरू आफ्नो थोरै व्यावसायिक ज्ञान भएकाले, आफूले शक्ति प्रयोग गर्न र विभिन्न कुराहरूबारे हैकम चलाउने अधिकार राख्न चाहन्छन्। के त्यस्ता मानिसहरू छन्? के तिमीहरूमाझ, वा तिमीहरूसँग परिचित वा तिमीहरूले चिनेका मानिसहरूमाझ यस्ता मानिसहरू छन्? कुनै निश्चित क्षेत्रमा दक्षता भएका मानिसहरू धेरै छन्, र जब तैँले तिनीहरूलाई समूह अगुवा वा सुपरिवेक्षकका रूपमा काम गर्न लगाउँछस्, तब तिनीहरूलाई आफूले कुनै आधिकारिक पद प्राप्त गरेको छु भन्ने लाग्छ। तिनीहरूलाई के लाग्छ भने परमेश्वरको घरमा तिनीहरूको हैकम चल्छ, तिनीहरूले जस्तो अरू कसैले पनि परमेश्वरको घरका हितहरूको ख्याल गर्दैन वा यसका हितहरूको रक्षा तिनीहरूले भन्दा बढी कसैले गर्दैन, र तिनीहरूजस्तो बफादार कोही छैन। तिनीहरू सबै कुराको व्यवस्थापन गर्न र सबै कुरामा सहभागी हुन चाहन्छन्, तर तिनीहरू केही पनि राम्रोसँग व्यवस्थापन गर्दैनन्, न त सत्यता सिद्धान्तहरू खोजी नै गर्छन्। तिनीहरू मेरो कुरासमेत सुन्दैनन्। के त्यस्ता मानिसहरू छन्? (छन्।) त्यस्ता मानिसहरू छन्। तिनीहरू आफूसँग भएको निश्चित सिपको नाममा सबैलाई व्यवस्थापन गर्न र पदमा बस्न चाहन्छन्। उदाहरणका लागि, कतिपय दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई मन नपर्ने कुरा गर्दा, तिनीहरू यसो भन्छन्: “हामीले यी मानिसहरूलाई नियन्त्रण गर्नुपर्छ—तिनीहरू उद्दण्ड छन्!” जब परमेश्वरका विश्वासीहरूमा समस्या हुन्छ, तब तिनीहरूसँग सत्यतामा सङ्गति गर्नैपर्छ। यो कुनै सैन्य शिविर होइन, जहाँ सैन्य नियन्त्रण अभ्यास गर्नैपर्छ। मण्डलीका मामलाहरूमा, परमेश्वरका वचनहरूबारे सङ्गति गरेर अनि मानिसहरूलाई सत्यता बुझाएर मात्र समस्याहरू समाधान गर्न सकिन्छ। सत्यता नस्विकार्ने र स्वेच्छाचारी ढङ्गले र सनकमा काम गर्नेहरू काटछाँटमा पर्न सक्छन्—सत्यतालाई स्वीकार नगर्न दृढ रूपमा लागिपरेका मानिसहरूलाई मात्रै अनुशासनमा राख्न सकिन्छ। सुपरिवेक्षक वा अगुवा र कामदारका रूपमा सेवा गरेका कतिपय मानिससँग स्पष्ट रूपमा नै सत्यता वास्तविकता हुँदैन, तर पनि तिनीहरूले परमेश्वरको घरमा सधैँ शक्ति प्रयोग गर्ने र हैकम जमाउने अधिकार राख्न चाहन्छन्। के यी मानिसहरूमा विवेक र समझ हुन्छ? तिनीहरूलाई कुनै पनि व्यवसायका केही युक्तिहरू मात्रै थाहा हुन्छ तर तिनीहरू अलिकति पनि सत्यता बुझ्दैनन्। तिनीहरू आफूलाई उपयोगी र सक्षम ठान्छन्, र आफूलाई परमेश्वरको घरको औसत व्यक्तिभन्दा असल ठान्छन्, साथै तिनीहरू शक्तिको पदमा रहेर मण्डलीमा आफूले चाहेको कुरा गर्न—अर्थात् एकल, हैकम चलाउने अधिकार राख्न चाहन्छन्। तिनीहरू सत्यता सिद्धान्तहरू खोज्दैनन् बरु आफ्नो इच्छाअनुसार, आफ्नो रुचिअनुसार काम गर्छन्। समस्या के हो? के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? के यस्ता मानिसहरूमा सामान्य मानवताको समझ हुन्छ? तिनीहरूमा यसको एउटा झिल्को पनि हुँदैन। हामी सामान्य मानवतासम्बन्धी हाम्रो सङ्गतिलाई यहीँ समाप्त गर्नेछौँ।
ख्रीष्टविरोधीहरूले कसरी अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउँछन् भन्ने कुराको विश्लेषण
इ. ख्रीष्टविरोधीहरूले आफ्नो काममा अरूलाई हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा सुपरिवेक्षण गर्न नदिनुको चिरफार
हाम्रो पछिल्लो सङ्गतिको विषयलाई जारी राख्दा, ख्रीष्टविरोधीहरू प्रकट हुने विभिन्न तरिकामध्ये आठौँ बुँदा हो: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनेथिए। हामीले यस बुँदालाई चार उपखण्डमा विभाजन गरेका छौँ। दुईवटा हामीले हाम्रो पछिल्लो भेलामा छलफल गर्यौँ: पहिलो, तिनीहरू कसैसँग सहकार्य गर्न सक्दैनन् भन्ने थियो; दोस्रो, तिनीहरूसँग मानिसहरूलाई नियन्त्रण गर्ने र विजय गर्ने चाहना र महत्त्वाकाङ्क्षा हुन्छ। तेस्रो के हो? आफूले लिएको कुनै पनि काममा अरूलाई हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा सुपरिवेक्षण गर्न नदिनु। तिनीहरूले लिएको कुनै पनि काममा के समावेश हुन सक्छ? यसमा अगुवा वा कामदार जिम्मेवार हुन सक्ने कुनै पनि कार्यक्रम, साथै समूह सुपरिवेक्षक वा टोली अगुवा जिम्मेवार हुन सक्ने काम समावेश हुन्छ; यो कुनै क्षेत्रको व्यावसायिक काम, वा कुनै एक व्यक्तिको काम पनि हुन सक्छ। यो कुनै काम लिने व्यक्ति अगुवा वा कामदार पनि हुन सक्छ, वा ऊ कुनै साधारण दाजुभाइ वा दिदीबहिनी पनि हुन सक्छ। यदि तिनीहरू अरूलाई हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा सुपरिवेक्षण गर्न दिँदैनन् भने, तिनीहरू कुन स्थितिमा हुन्छन्? यस निषेधसँग केकस्ता व्यवहारहरू सम्बन्धित छन्? यो ख्रीष्टविरोधीहरूको आठौँ प्रकटीकरणमा पर्ने अर्को व्यवहार हो, र तिनीहरूको सारको अर्को प्रकाश हो। हरेक प्रकारको कर्तव्यमा, केही काम व्यावसायिक हुन्छन्, र कतिपय काम प्रत्यक्ष रूपमा जीवन प्रवेशसँग सम्बन्धित हुन्छन्। व्यावसायिक काममा प्रविधि, ज्ञान, सिकाइ, र कर्मचारी नियुक्तिजस्ता सबै पक्ष समावेश हुन्छन्। यसमा यी सबै समावेश हुन्छन्। कतिपय मानिसले काम लिएपछि, आफै यसमा काम गर्न थाल्छन्। तिनीहरू यसबारे अरूसँग छलफल गर्दैनन्, र जब तिनीहरूलाई कठिनाइ हुन्छ, तब तिनीहरू अरूको विचार लिन चाहँदैनन्; तिनीहरू एक्लो निर्णायक हुन र हैकम चलाउने व्यक्ति बन्न चाहन्छन्। अरूले तिनीहरूलाई अलिकति भए पनि सहयोग गर्ने आशा गर्दै आफ्नो विचार र प्रतिक्रिया दिन सक्छन्—तर के तिनीहरू त्यो स्वीकार गर्छन् त? (गर्दैनन्।) अहँ, गर्दैनन्। त्यो कस्तो स्वभाव हो? कुन स्वभावले तिनीहरूलाई नियन्त्रण गरिरहेको हुन्छ, जसले गर्दा तिनीहरू आफ्नो कर्तव्य निर्वाहमा अरूलाई हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा सुपरिवेक्षण गर्न दिँदैनन्? तिनीहरू यस्तो विश्वास गर्छन्, “मलाई यस क्षेत्रको कामबारे थाहा छ, र मलाई सिद्धान्त थाहा छ। मण्डलीले मलाई यो काम दिएको छ। त्यसकारण, यो काम म आफै गर्नेछु।” तिनीहरू अरूलाई कामसँग सम्बन्धित कुनै जानकारी दिन वा कार्य प्रगतिबारे बताउन अस्वीकार गर्नुको स्पष्टीकरण दिनका लागि प्रायजसो मैले यो पेसा बुझेको छु र म आन्तरिक व्यक्ति हुँ भनेर दाबी गर्छन्। तिनीहरू काममा देखा पर्ने भुल, गल्ती, वा दुर्घटनाहरूबारे पनि अरूलाई बताउन चाहँदैनन्। अरू कसैले यस्तो कुराबारे थाहा पाएपछि र यसबारे सोधपुछ गर्न, संलग्न हुन, वा थप कुरा पत्ता लगाउन चाहनेबित्तिकै, तिनीहरू जवाफ दिन मान्दैनन्, बरु यसो भन्छन्, “मेरो कार्य क्षेत्रभित्रका कुराहरू मेरा कुरा हुन्। तपाईंसँग सोधपुछ गर्ने अधिकार छैन। मण्डलीले तपाईंलाई यो काम दिएको होइन—मण्डलीले यो काम मलाई दिएको हो, र मैले यो कुरा गुप्त राख्नुपर्छ।” के त्यो उचित स्पष्टीकरण हो? के तिनीहरूले “गुप्त राख्नु” सही हुन्छ? (हुँदैन।) किन हुँदैन? के कामको स्थिति, यसमा देखा परेका गल्ती र समस्याहरू, र यसको योजना र दिशाबारे अरूसँग सङ्गति गर्नु भनेको जानकारी खुस्काउनु हो र? (होइन।) जानकारी बाहिर जाँदा मण्डलीको सुरक्षामा खतरा ल्याउने केही निश्चित वृत्तान्तहरू अरूलाई बताउनु अनुचित हुन्छ, तर यो त्यस्तो कार्य होइन। त्यस्ता परिस्थितिहरूमा, ती कुरा नबताउनु ठिक हो। तर यदि तिनीहरूले गोपनीयतालाई स्पष्टीकरणका रूपमा प्रयोग गरिरहेका छन्, र आफ्नो कामको दायराभित्र पर्ने कुनै पनि कुरा अरूलाई बताउँदैनन्, र साधारण दाजुभाइ-दिदीबहिनीहरू अनि अगुवा र कामदारहरूले गरेका सोधपुछ, प्रश्न, वा अनुरोधहरूलाई प्रतिरोध र इन्कार गर्छन् भने, यहाँ समस्या के हो त? उदाहरणका लागि, तिनीहरूले निश्चित तरिकाले कुनै काम गर्न चाहेलान्। अनि, अरू कसैले तिनीहरूलाई भन्छ, “यदि तपाईंले त्यसो गर्नुभयो भने, यसले परमेश्वरको घरका हितमा घाटा ल्याउनेछ, र तपाईं कुबाटो लाग्नुहुनेछ। यसको सट्टा हामीले यसो गर्दा हुँदैन र?” तिनीहरू मनमनै सोच्छन्, “यदि मैले तैँले भनेअनुसार गरेँ भने, त्यसले अरूलाई मेरो तरिका राम्रो छैन भन्ने देखाउनेछ, होइन र? त्यसपछि कामको श्रेय तँलाई नै जानेछ, होइन त? त्यसरी हुँदैन; म तैँले भनेको कुरा गर्नुभन्दा बरु गलत तरिकाले नै गर्छु। म आफ्नो मार्गमै लागिरहनुपर्छ। यसले परमेश्वरको घरका हितहरूमा घाटा गरे पनि मलाई मतलब छैन; मेरो प्रतिष्ठा र हैसियत नै महत्त्वपूर्ण छ—मेरो इज्जत नै महत्त्वपूर्ण छ!” तिनीहरूले गर्ने काम गलत भए पनि, तिनीहरूले आफ्नो गल्ती बढाइरहनेछन्, र कसैलाई पनि हस्तक्षेप गर्न दिनेछैनन्। के त्यो ख्रीष्टविरोधी स्वभाव होइन र? (हो।) अरूलाई हस्तक्षेप गर्न नदिनुको सार के हो? यो आफ्नै उद्यममा संलग्न हुनु हो। तिनीहरूका लागि परमेश्वरको घरका हितहरू महत्त्वपूर्ण हुँदैनन्, र यसको काममा तिनीहरूको ध्यान हुँदैन। तिनीहरू त्यो सिद्धान्तअनुसार काम गर्दैनन्। बरु यसको साटो, तिनीहरू आफ्नो व्यक्तिगत हित अनि आफ्नो हैसियत र प्रतिष्ठामा ध्यान दिएर काम गर्छन्; परमेश्वरको घरका काम र हितहरूले तिनीहरूको आफ्नै हैसियत र हितहरूमा फाइदा पुर्याउनुपर्छ। त्यसकारण त तिनीहरू अरूलाई तिनीहरूको काममा हस्तक्षेप वा सोधपुछ गर्न दिँदैनन्। तिनीहरू के विश्वास गर्छन् भने, कसैले तिनीहरूको काममा हस्तक्षेप गर्नेबित्तिकै, तिनीहरूका हैसियत र हितहरू खतरामा पर्नेछन्, तिनीहरूका कमी र कमजोरीहरू, साथै तिनीहरूको कामका समस्या र विचलनहरू खुलासा हुने सम्भावना हुनेछ। त्यसकारण, तिनीहरूले आफ्नो काममा हस्तक्षेप गर्नबाट अरूलाई रोक्न कम्मर कसेका हुन्छन्, र तिनीहरू अरू कसैको सहकार्य वा सुपरिवेक्षण स्वीकार गर्दैनन्।
ख्रीष्टविरोधी जुनसुकै काममा संलग्न भए पनि, ऊ माथिले यसबारे थप कुरा थाहा पाउनेछ र सोधपुछ गर्नेछ भनेर डराउँछ। यदि माथिले कामको स्थिति वा कर्मचारी नियुक्तिबारे सोधपुछ गर्यो भने, तिनीहरूले केही सानातिना कुराहरूको झाराटारुवा विवरण दिनेछन्, अर्थात् माथिले थाहा पाउँदा केही नहुने र थाहा पाउँदा पनि कुनै दुष्परिणाम आउँदैन भन्ने तिनीहरूलाई लागेका कुराहरूको विवरण दिनेछन्। यदि माथिले अरू बाँकी कुराबारे सोधपुछ गर्यो भने, उसले तिनीहरू उसको कर्तव्य र उसको “आन्तरिक मामला” मा हस्तक्षेप गर्दै छन् भन्ने ठान्छ। उसले तिनीहरूलाई थप कुरा भन्नेछैन, बरु गुँगोको नाटक गर्दै धोका दिनेछ र कुराहरू ढाकछोप गर्नेछ। के उसले परमेश्वरको घरको सुपरिवेक्षण इन्कार गरिरहेको हुँदैन र? (हुन्छ।) अनि कसैले उसको समस्या पत्ता लगाएको छ र त्यसबारे खुलासा गर्न र माथि रिपोर्ट गर्न लागेको छ भने उसले के गर्नेछ? उसले यसलाई रोक्नेछ, हस्तक्षेप गर्नेछ—उसले यस्तो धम्कीसमेत दिनेछ: “यदि तैँले यो कुरा भनिस् र यसले गर्दा हामीलाई माथिले काटछाँट गर्यो भने, यसको दोषी तँ नै हुनेछस्। यदि कसैलाई काटछाँट गरिनु छ भने, त्यो तँ नै हुनेछस्!” के यस्ताहरूले स्वतन्त्र राज्य स्थापना गर्ने प्रयास गरिरहेका हुँदैनन् र? (हुन्छन्।) तिनीहरूले माथिलाई सोधपुछ गर्नसमेत दिँदैनन्, र तिनीहरूको कामको क्षेत्रभित्र पर्ने कुराहरूबारे जान्ने वा ती कुराबारे प्रश्न गर्ने अधिकार कसैलाई हुँदैन, झन् सिफारिसहरू गर्ने अधिकार हुनु त परको कुरा हो। यदि तिनीहरूले कुनै कामको कार्यक्रम हात पारेका छन् भने, त्यो कामको क्षेत्रभित्र पर्ने मामलाहरूबारे तिनीहरूले मात्रै हैकम चलाउन सक्छन्; तिनीहरूले मात्रै फैसला गर्न सक्छन्; तिनीहरूले मात्रै आफूले चाहेअनुसार काम गर्न र बोल्न सक्छन्, र तिनीहरूले जसरी काम गरे पनि, तिनीहरूसँग यसको स्पष्टीकरण हुन्छ। कसैले सोधपुछ गर्यो भने, तिनीहरूले अपनाउने कार्यशैली कस्तो हुन्छ? झाराटराइ र ढाकछोप। अनि अरू केके छन्? (छल।) ठिक भनिस्: छल—तिनीहरूले तँलाई देखावटी रूपसमेत देखाउनेछन्। उदाहरणका लागि, कतिपय मण्डलीमा, अगुवा वा सुसमाचार डिकनले एक महिनाको अवधिमा आफूले जिम्मेवारी पाएको मण्डलीमा तीन जना मानिसलाई मात्रै विश्वासमा ल्याएको हुन सक्छ, जुन अरू मण्डलीको भन्दा निकै नै कम हो। उसलाई यसबारे माथिसमक्ष कुनै हिसाब दिन सकिँदैन भन्ने लाग्छ—त्यसैले, ऊ के गर्छ? जब उसले आफ्नो कामको रिपोर्ट दिन्छ, तब ऊ तीन अङ्कपछि शून्य थप्छ र तीस जना मानिसलाई विश्वासमा ल्याइएको छ भनेर भन्छ। अरू कसैले यसबारे थाहा पाउँछ र उसलाई प्रश्न गर्छ: “के त्यो छल होइन र?” ऊ भन्छ, “छल? किन, हामीले अर्को महिना यसको पूर्ति गर्न तीस जना मानिस विश्वासमा ल्याएपछि यो ठिक हुनेछ, होइन र?” यसका लागि, ऊसँग स्पष्टीकरण हुन्छ। यदि अरू कसैले यो कुरालाई गम्भीरतापूर्वक लियो र माथिलाई तथ्यहरू रिपोर्ट गर्न चाह्यो भने, ऊ त्यस व्यक्तिले उसका लागि समस्या ल्याउँदै छ, र यो कुरा बाहिर फैलाउँदै छ भन्ने ठान्छ। त्यसकारण, उसले त्यसलाई दमन गर्नेछ र तह लगाउनेछ—त्यसलाई समस्यामा पार्नेछ। यसो गर्दा, के उसले मानिसहरूलाई सास्ती दिइरहेको हुँदैन र? के उसले दुष्कर्म गरिरहेको हुँदैन र? ऊ आफ्नो काममा कहिल्यै सत्यता सिद्धान्तहरू खोज्दैन, त्यसकारण काम गर्ने क्रममा उसको उद्देश्य के हुन्छ? आफ्नो हैसियत र रोजीरोटी जोगाउने उद्देश्य हुन्छ। उसले जेजस्ता खराब कुराहरू गरे पनि, आफूले गर्ने कामको अभिप्राय र मनसाय मानिसहरूलाई बताउँदैन। उसलाई त ती कुराहरू कडाइका साथ गोप्य राख्नुपर्छ; उसका लागि ती कुराहरू गुप्त जानकारी हुन्। यस्ता मानिसहरूका लागि सबैभन्दा संवेदनशील विषय के हो? के हो भने, जब तैँले तिनीहरूलाई यस्तो प्रश्न गर्छस्, “तपाईं आजभोलि के गर्दै हुनुहुन्छ? के तपाईंले आफ्नो कर्तव्य निर्वाह गर्दा कुनै परिणामहरू प्राप्त गर्नुभएको छ? के तपाईंको कामको क्षेत्रमा कुनै बाधा वा अवरोधहरू आएका छन्? तपाईंले तिनलाई कसरी सम्हाल्नुभयो? के तपाईं आफ्नो काममा जहाँ हुनुपर्ने हो त्यहाँ हुनुहुन्छ? के तपाईंले आफ्नो कर्तव्य बफादारीसाथ पूरा गरिरहनुभएको छ? के तपाईंको कामका निर्णयहरूले परमेश्वरको घरका हितहरूमा घाटा ल्याएका छन्? के मानकअनुरूप नभएका अगुवाहरूलाई बर्खास्त गरिएको छ? के तुलनात्मक रूपमा सत्यता पछ्याउने राम्रा क्षमताका मानिसहरूलाई बढुवा र संवर्धन गरिएको छ? के तपाईंले तपाईंप्रति अटेरी मानिसहरूलाई दबाउनुभएको छ? तपाईंलाई आफ्नो भ्रष्ट स्वभावबारे के थाहा छ? तपाईं कस्तो व्यक्ति हुनुहुन्छ?” यी विषयहरू तिनीहरूका लागि सबैभन्दा संवेदनशील विषय हुन्। यी प्रश्नहरू सोधिनु नै तिनीहरूका लागि सबैभन्दा डरलाग्दो कुरा हो, त्यसकारण, तैँले प्रश्न सोधुन्जेल पर्खनुको सट्टा, तिनीहरू हतारहतार आफूलाई ढाकछोप गर्ने अर्को विषय खोज्छन्। तिनीहरू तँलाई सबै माध्यमद्वारा बहकाउँदै अहिले वास्तवमा परिस्थिति कस्तो छ भनेर जान्नबाट रोक्न चाहन्छन्। तिनीहरूले तँलाई सधैँ अन्धकारमा राखिरहेका हुन्छन्, र तँलाई तिनीहरू आफ्नो काममा कति अघि बढेका छन् भन्ने कुरा जान्नबाट सधैँ रोक्ने गर्छन्। तिनीहरूमा अलिकति पनि पारदर्शिता हुँदैन। के त्यस्ता मानिसहरूमा परमेश्वरप्रति साँचो विश्वास हुन्छ? के तिनीहरूमा परमेश्वरको डर हुन्छ? हुँदैन। तिनीहरू कहिल्यै सक्रिय रूपमा कामको रिपोर्ट गर्दैनन्, न त आफ्नो कामका दुर्घटनाहरूबारे नै सक्रिय रूपमा रिपोर्ट गर्छन्; तिनीहरू आफ्नो काममा आइपरेका चुनौती र अन्योलबारे कहिल्यै सोध्ने, खोज्ने, वा खुलस्त कुरा गर्ने गर्दैनन्, बरु ती कुराहरू ढाकछोप गर्ने, अरूको आँखामा छारो हाल्ने र छल गर्ने हदसम्म जान्छन्। तिनीहरूको काममा कुनै पारदर्शिता हुँदैन, र माथिबाट तिनीहरूलाई तथ्यगत रिपोर्ट र विवरण दिन दबाब दिइएपछि मात्रै तिनीहरूले मन नलागी-नलागी अलिअलि बताउनेछन्। तिनीहरू आफ्नो प्रतिष्ठा र हैसियतसँग सम्बन्धित कुनै पनि समस्याहरूबारे कुरा गर्नुभन्दा बरु मर्न चाहन्छन्—तिनीहरू यसबारे एक शब्द नबोली मर्नेछन्। बरु, तिनीहरू नबुझेको बहाना गर्छन्। के त्यो ख्रीष्टविरोधी स्वभाव होइन र? यो कस्तो व्यक्ति हो? के यस्तो समस्या सहजै समाधान हुन्छ? यदि माथिले तिनीहरूको काममा निर्देशन दिने हो भने, त्यसप्रति तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? झाराटारुवा हुने। तिनीहरू सहमति जनाएजस्तो गर्छन्, र नोटबुक वा कम्प्युटर निकालेर लगनशीलताका साथ टिपोटसमेत लिन्छन्—तर ती टिपोट लिएपछि, के तिनीहरूले मार्गदर्शन बुझेका हुनेछन् र के तिनीहरूले काम गर्न थाल्नेछन्? (अहँ।) तिनीहरूले तँलाई देखाउन नाटक गरिरहेका हुन्छन्, तँलाई बहकाउन देखावटी गरिरहेका हुन्छन्। तिनीहरूले वास्तवमा के सोचिरहेका हुन्छन्? “यो काम गर्न मलाई दिइएको हुनाले, म जे भन्छु त्यही हुन्छ। म जे गर्न चाहन्छु त्यसमा कसैले पनि हस्तक्षेप गर्न सक्दैन। ‘राज्यका अधिकारीहरू भन्दा स्थानीय अधिकारीहरूसँग नियन्त्रण गर्ने क्षमता बढी हुन्छ’ त्यसकारण मसँग यो अधिकार छ। होइन भने, मलाई यो काम सम्हाल्न नदिए हुन्छ। मलाई बर्खास्त गरे हुन्छ।” तिनीहरू यस्तै सोच्छन्, र यसरी नै व्यवहार गर्छन्। यो कस्तो स्वभाव हो? के यो ख्रीष्टविरोधी स्वभाव होइन र? (हो।) यसको अर्थ समस्या हो। तँलाई हस्तक्षेप वा सोधपुछ गर्ने अनुमति छैन, न त सोधखोज र प्रश्नहरू गर्ने नै अनुमति छ। तिनीहरू यसप्रति निकै संवेदनशील हुन्छन्। तिनीहरू सोच्छन्, “के यो माथिले मेरो समस्या र काम जाँच गर्ने प्रयास गरेको हो? कसले पोल खोल्यो?” आत्तिएर, तिनीहरू कसले आफ्नो पोल खोलिदियो भनेर पत्ता लगाउन संयुक्त प्रयास गर्छन्। अन्ततः तिनीहरूको शङ्का दुई जना मानिसमा सीमित हुन्छ, र तिनीहरूले उनीहरूलाई झोलीतुम्बी बोकाएर घर पठाउँछन्। यो कस्तो समस्या हो? यो ख्रीष्टविरोधीको स्वभाव हो।
ख्रीष्टविरोधीको स्वभावको मुख्य विशेषता के हो? हैसियतमै झुन्डिरहनु र अरूलाई नियन्त्रण गर्नु। तिनीहरू अरूलाई नियन्त्रण गर्नकै लागि हैसियत प्राप्त गर्छन्। तिनीहरूले आफूसँग हैसियत छ भने, वैध रूपमै मानिसहरूलाई आफ्नो नियन्त्रणमा राख्नेछन्। तिनीहरूले वैध रूपमै त्यसो गर्नेछन् भनेर म किन भन्दै छु? किनभने तिनीहरूको काम तिनीहरूलाई परमेश्वरको घरले दिएको हो; तिनीहरूलाई यो काम गर्न दाजुभाइ-दिदीबहिनीहरूले नै छनौट गरेका हुन्। त्यसैले के तिनीहरूलाई आफूले त्यसो गर्नु वैध हुन्छ भन्ने लाग्दैन र? (लाग्छ।) तसर्थ, यो तिनीहरूलाई फाइदा उठाउने अवसर बन्छ, र तिनीहरू मनमा यस्तो सोच्छन्: “तिमीहरूले नै मलाई छनौट गरेका हौ, होइन र? यदि तिमीहरूले मलाई छनौट गरेका हौ भने, मलाई भरोसा गर्नुपर्छ। गैरविश्वासीहरूको भनाइ नै छ: ‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’” यहाँ, तिनीहरू शैतानी उक्तिसमेत लागू गर्छन्। के यो भनाइ सत्यता हो? (होइन।) यो शैतानी विधर्म र भ्रम हो। यदि तैँले तिनीहरूको कामबारे सोधपुछ गरिस् भने, तिनीहरू यस्तो सिद्धान्त लिएर आउँछन्: “‘न त आफूले रोजगारी दिनेहरूलाई शङ्का गर्ने, न त आफूले शङ्का गर्नेहरूलाई रोजगारी दिने।’ यदि तिमी मलाई प्रयोग गर्छौ भने, तिमीले मलाई शङ्का गर्नु हुँदैन। यदि तिमीलाई म कस्तो व्यक्ति हुँ भन्ने थाहा छैन भने, यदि तिमीले मेरो वास्तविकता देखेको छैनौ भने, मलाई प्रयोग नगर। तर तिमीले मलाई प्रयोग गरिरहेको छौ, त्यसकारण म यस पदमा दह्रिलो गरी खडा हुनुपर्छ। मैले भनेकै कुरा हुनुपर्छ।” तिनीहरू जे भन्छन् त्यो सबै कामकाजमा लागू हुनुपर्छ; तिनीहरूलाई यसो गर्न नदिँदा, वा तिनीहरूका लागि सहकर्मी खोज्दा, वा अरूलाई तिनीहरूको सुपरिवेक्षण र मार्गदर्शन गर्न लगाउँदा, काम बन्दैन। यदि कुनै व्यक्ति तिनीहरूको कामबारे जाँच गर्न आयो भने, तिनीहरू हुँदैन भनेर भन्छन्—तिनीहरूलाई आफूले केही गल्ती गरेको छैनँ र जाँच गरिनु पर्दैन भन्ने लाग्छ। अधिकारको हिसाबले, तिनीहरू अरू मानिस, कार्यस्थल, र मण्डलीको काम नियन्त्रण गर्न आफ्नो हैसियत र अख्तियार प्रयोग गर्छन्। के तिनीहरूले स्वतन्त्र राज्य स्थापित गरिरहेका हुँदैनन् र? के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? परमेश्वरको घरले तिनीहरूलाई यो काम र यो कर्तव्य गर्न लगाउन सक्छ, तर यसले तिनीहरूलाई तानाशाहीका रूपमा शक्ति प्रयोग गर्न दिँदैन। के त्यस्ता व्यक्तिले परमेश्वरको अभिप्राय र उहाँको घरका बन्दोबस्तहरू गलत रूपमा बुझेका हुँदैनन् र? तिनीहरूले आफ्नो कर्तव्य राम्ररी पूरा गर्नुको सट्टा किन सधैँ हैसियत र शक्ति पाउन खोजिरहेका हुन्छन्? (तिनीहरू ख्रीष्टविरोधी स्वभावद्वारा सञ्चालित हुन्छन्।) ठिक भन्यौ—ख्रीष्टविरोधीको स्वभाव यस्तै हुन्छ। मण्डलीले तिनीहरूका लागि काम मिलाउँदा तिनीहरू किन यसलाई गलत रूपमा बुझ्छन्? किनभने तिनीहरूलाई अन्तर्निहित रूपमै मानिसहरूलाई नियन्त्रण गर्न मन पर्छ। तिनीहरूको प्रकृति सार यही हो—तिनीहरू यस्तै हुन्छन्। तिनीहरूका लागि काम मिला, अनि तिनीहरूले अब आफूसँग शक्ति र हैसियत छ, र आफ्नो क्षेत्रमा आफ्नो नियन्त्रण छ भन्ने सोचिहाल्छन्। यदि तँ तिनीहरूको क्षेत्रमा गइस् भने, तैँले तिनीहरूले भनेको मान्नुपर्छ। उदाहरणका लागि, परमेश्वरको घरले एकपटक एक अगुवालाई ख्रीष्टविरोधीको काम जाँच्न लगाएको थियो। त्यो अगुवा र त्यो ख्रीष्टविरोधी दुवै मण्डली अगुवा थिए; तिनीहरू एउटै पदका थिए। त्यस ख्रीष्टविरोधीले भन्यो, “तपाईं मण्डली अगुवा हुनुहुन्छ, र म पनि मण्डली अगुवा हुँ। हामी एउटै स्तरका हौँ। तपाईं मेरो काममा हस्तक्षेप नगर्नुहोस्, र म पनि तपाईंको काममा हस्तक्षेप गर्नेछैनँ। मसँग सङ्गति नगर्नुहोस्—तपाईं त्यसो गर्ने पदमा हुनुहुन्न! अनि तपाईं हाम्रो मण्डलीमा काम कसरी भइरहेको छ भनेर सोध्न चाहनुहुन्छ—के माथिले तपाईंलाई यसो गर्न निर्देशन दिएको छ? मलाई प्रमाण देखाउनुहोस् त।” त्यस अगुवाले भन्यो, “माथिले मलाई एउटा सन्देश दिन लगाएको हो। मेरो कुरामा विश्वास लागेन भने गएर सोध्नुहोस्।” त्यस ख्रीष्टविरोधीले भन्यो, “त्यसोभए मसँग सङ्गति गर्न र मेरो विरुद्धमा आरोप लगाउन तपाईंलाई केले अधिकार दिन्छ? मेरो कामअन्तर्गतका कुराहरूबारे सोधपुछ गर्ने अधिकार तपाईंलाई केले दिन्छ? तपाईं त्यसो गर्ने स्थानमा हुनुहुन्न!” के यी शब्दहरू सत्यताअनुरूप छन्? (छैनन्।) यो कस्तो कार्य हो? ख्रीष्टविरोधीले मात्रै गर्ने कार्य हो। गैरविश्वासीहरूमाझ एउटा भनाइ छ: “जसको शक्ति उसकै भक्ति।” तिनीहरू कसको पद उच्च छ, कसको शक्ति धेरै छ, र को बढी सक्षम छ भनेर हेर्न प्रतिस्पर्धा गर्छन्। तिनीहरूले को बढी मानिसहरूको इन्चार्ज हो भनेर हेर्न प्रतिस्पर्धा गर्छन्। अनि परमेश्वरको घरमा, ख्रीष्टविरोधीहरूले यिनै कुराहरू हेर्न अरूसँग प्रतिस्पर्धा गर्छन्। के तिनीहरू गलत ठाउँमा आएका छैनन् र? के भ्रष्ट स्वभाव भएको, तर ख्रीष्टविरोधी नरहेको व्यक्तिले सामान्यतया आफू बराबर स्तरको मण्डली अगुवालाई भेट्दा यस्तो सोच्नेछ? तिनीहरूले केही कुराहरू प्रकट त गर्नेछन्, तर तिनीहरूले सामान्य रूपमै त्यो मण्डली अगुवासँग सङ्गति गर्न सक्नेछन्। तिनीहरूले अवश्य नै यसो भन्नेछैनन्, “के तपाईं मेरो कामबारे सोधपुछ गर्न सक्ने स्थानमा हुनुहुन्छ?” तिनीहरूले त्यसो भन्नेछैनन्, किनभने तिनीहरूमा सामान्य समझ हुन्छ, र तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुन्छ। सामान्य समझ भएको व्यक्तिले कसरी व्यवहार गर्नेछ? उसले यस्तो सोच्नेछ, “हामीलाई मण्डलीको नेतृत्व गर्न लगाउनु—त्यो परमेश्वरले हामीलाई उत्थान गर्नुभएको हो; यो उहाँको आज्ञा हो, र यो हाम्रो कर्तव्य हो। यदि परमेश्वरले हामीलाई यसो गर्ने आज्ञा नदिनुभएको भए, हामी केही कामका हुनेथिएनौँ। यो कुनै आधिकारिक पद होइन। म तपाईंसँग मण्डलीको कामबारे, र दाजुभाइ-दिदीबहिनीहरूको काम कसरी भइरहेको छ भन्नेबारे, र मेरो कामको अनुभवबारे सङ्गति दिन सक्छु।” के ख्रीष्टविरोधीहरूले यी कुराहरूबारे अरूसँग सङ्गति गर्नेछन्? गर्नेछैनन्—तिनीहरूले अवश्य नै यी कुराहरू खुलासा गर्नेछैनन्। त्यसैले, ख्रीष्टविरोधीहरूको एउटा विशेषता भनेको हैसियत र शक्तिको कामना हो जुन साधारण मानिसहरूको भन्दा धेरै हुन्छ, त्यसका साथै तिनीहरू साधारण मानिसहरूभन्दा धूर्त र अन्तर्घाती हुन्छन्। तिनीहरूको धूर्तता र अन्तर्घातीपन कहाँ प्रकट हुन्छ? (तिनीहरू अरूलाई केही पनि भन्दैनन्। तिनीहरू अरूलाई सिधै केही भन्दैनन्।) तिनीहरूलाई हरेक मामला गुप्त, र अरूलाई बताउन नहुने कुरा हो भन्ने लाग्छ। हरेक मामलामा, तिनीहरू अरूप्रति सतर्क हुन्छन्; तिनीहरू सबै कुरा लुकाएर, ढाकछोप गरेर र छोपेर राख्छन्। के तिनीहरू अरूसँगको व्यवहारमा सामान्य अन्तरक्रिया र कुराकानी गर्न सक्छन्? के तिनीहरू हृदयबाट केही भन्न सक्छन्? सक्दैनन्। तिनीहरू तँलाई अन्तर्निहित परिस्थिति मूल्याङ्कन गर्नबाट रोक्न केही सतही उत्साहका कुरा र मनमोहक शब्दहरू मात्रै प्रदान गर्छन्। तिनीहरूसँग केही समय सम्पर्कमा आएपछि, तैँले यस्तो महसुस गर्नेछस्, “हेर, यो व्यक्ति दुष्टजस्तो देखिँदैन, तर पनि किन मलाई सधैँ उसको हृदय अरू मानिसहरूबाट अति टाढो छ जस्तो लाग्छ? उसको सम्पर्कमा हुँदा किन मलाई सधैँ अनौठो लाग्छ? मलाई सधैँ ऊ बुझ्न नसकिने खालको व्यक्ति हो भन्ने महसुस हुन्छ।” के तँलाई त्यस्तो महसुस हुन्छ? (हुन्छ।) त्यो ख्रीष्टविरोधी स्वभाव हो: तिनीहरू सबैप्रति सतर्क हुन्छन्। अनि किन तिनीहरू सतर्क हुन्छन्? किनभने तिनीहरूको नजरमा, जोकोहीले तिनीहरूको हैसियत खतरामा पार्न सक्छ। यदि तिनीहरू सतर्क भएनन् भने, यदि तिनीहरूले आफ्नो सतर्कता छोडे भने, तिनीहरूले अरूलाई तिनीहरूको वास्तविकता, तिनीहरूको वास्तविक पहिचान के हो भनेर थाहा दिन सक्नेछन्—अनि तिनीहरूको हैसियत कायम रहनेछैन। त्यसकारण, जब तिनीहरूले आफ्नो कामको स्थिति र कर्तव्यबारे सोधपुछ गर्ने, वा आफ्नो व्यक्तिगत स्थितिबारे सोधपुछ गर्ने व्यक्ति भेट्छन्, तब तिनीहरू आफूले ढाकछोप गर्न सक्ने कुरा ढाकछोप गर्छन् र लुकाउन सक्ने कुरा लुकाउँछन्। तिनीहरू आफूले लुकाउन नसक्ने कुराहरूलाई सामान्य बनाउने उपाय खोज्छन्, वा तिनीहरू आफै तँबाट लुकेर बस्छन्। कति ख्रीष्टविरोधीहरूमा विचित्र स्वभाव हुन्छ: तिनीहरू अरूको माझमै बस्ने भए पनि, तैँले तिनीहरूले कसैसँग पनि सामान्य अन्तरक्रिया गरेको देख्नेछैनस्, र अरूसँग तिनीहरूको कुनै सामान्य कुराकानी हुँदैन। हरदिन, तिनीहरू एक्लै बस्छन्, खाने बेला देखा पर्छन् र पछि फेरि हराउँछन्। तिनीहरू सधैँ हराउने गर्छन्। तिनीहरू किन अरूसँग अन्तरक्रिया गर्दैनन्? तिनीहरूले आफ्नो परिवारलाई जे पनि भन्नेछन्, तर किन तिनीहरू दाजुभाइ-दिदीबहिनीलाई केही भन्दैनन्? गैरविश्वासीहरूको एउटा भनाइ छ: “धेरै मुख चलाउनेले गल्ती पनि धेरै नै गर्छ।” त्यस्ता मानिसहरू यस सिद्धान्तप्रति प्रतिबद्ध हुन्छन्; तिनीहरू लापरवाही रूपमा बोल्दैनन्, किनभने तिनीहरूले भनेको कुराले तिनीहरूको खेल उदाङ्गो पार्न सक्छ, र तिनीहरूको कमजोरी पर्दाफास गर्न सक्छ। कुन शब्दले तिनीहरूलाई अरूको नजरमा तुच्छ देखाउँछ र तिनीहरूको वास्तविकता के हो भनेर खुलाइदिन्छ भन्ने कुरा थाहा हुँदैन, त्यसैले तिनीहरू अरूबाट तर्कने सक्दो प्रयास गर्छन्। के तिनीहरूको यो तर्काइ अनजानमा हुने कुरा हो, कि यसभित्र यसलाई नियन्त्रण गर्ने केही कुरा हुन्छ? यसलाई नियन्त्रण गर्ने केही न केही हुन्छ। यो कुरा न्यायोचित र आदरणीय हो, कि यो खराब कुरा हो? (खराब कुरा।) अवश्य नै यो खराब कुरा हो। ख्रीष्टविरोधीहरूले व्यवहार गर्ने तरिका यो मात्र होइन—धेरैजसो समय तिनीहरू अरूसँग सामान्य रूपमा कुराकानी वा अन्तरक्रिया नै गर्दैनन्; कहिलेकाहीँ, तिनीहरूले अत्यन्तै स्पष्ट कुरा गर्न र बोल्न पनि सक्छन्—तर तिनीहरू केकस्ता कुराहरूबारे कुरा गर्छन्? तिनीहरूको विषयवस्तु के हुन्छ? तिनीहरूले आफ्नो शान देखाउँदै शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन्। तिनीहरू वास्तविक काम गर्न र वास्तविक समस्याहरू समाधान गर्न सक्छु भनेर भन्छन्, जबकि वास्तवमा तिनीहरूसँग कुनै वास्तविक सिप हुँदैन। तिनीहरूलाई तिनीहरूसँग केकस्ता कमीकमजोरी छन्, तिनीहरूमा अहङ्कारी स्वभाव छ कि छैन भनेर सोध्, अनि तिनीहरूले भन्नेछन्, “भ्रष्ट मानवजातिमाझ को अहङ्कारी छैन र?” हेर त—तिनीहरूको अहङ्कारको पनि आधार हुन्छ। यसले सबैलाई समावेश गर्छ, मानौँ तिनीहरूको अहङ्कार उचित कुरा हो। तिनीहरूले कहिल्यै सत्यता खोजी गर्नेछैनन्, र यस्तो लाग्छ तिनीहरू काममा कुनै समस्या वा कठिनाइहरू छन् भन्ने कुरा महसुसै गर्दैनन्। अनि तैँले तिनीहरूलाई सोधेर वास्तविक परिस्थिति पत्ता लगाउनेछैनस्। जब तिनीहरूको कुनै काम हुँदैन, तब तिनीहरू चुपचाप बस्छन्, र जब तिनीहरू बोल्छन्, तब आफ्नो योग्यताबारे कुरा गरिरहेका हुन्छन्। तिनीहरू कहिल्यै खुलेर कुरा गर्दैनन्; तिनीहरू आफूभित्र केकस्ता विद्रोहीपन वा लालची इच्छाहरू छन्, वा तिनीहरू परमेश्वरसँग कसरी सौदा गर्ने प्रयास गर्छन्, वा तिनीहरूले कोसित झूट बोलेका छन्, वा काम गर्ने क्रममा तिनीहरूको महत्त्वाकाङ्क्षा के हुन्छ भनेर कहिल्यै बताउँदैनन्। तिनीहरू यी समस्याहरूबारे कहिल्यै कुरा उठाउँदैनन्, र अरूले कुरा उठाउँदा, तिनीहरू कुनै चासो लिँदैनन्। तिनीहरूको कामको क्षेत्रभित्रका कुराहरू छुने प्रश्नहरूबारे पनि, तिनीहरू थोरै सतही कुरा मात्रै बोल्छन्। छोटकरीमा भन्दा, तिनीहरूको सम्पर्कमा जति लामो समय रहे पनि, तिनीहरूको कर्तव्यको क्षेत्रभित्र रहेको कुनै पनि कुराबारे थप जान्न चाहेमा, त्यो जान्न हरकसैलाई निकै गाह्रो हुनेछ, चाहे त्यो कुरा कर्मचारीबारे, वा चाहे व्यावसायिक अभ्यासबारे, वा कामको प्रगतिबारे किन नहोस्। तैँले जुनसुकै शैली अपनाए पनि—तैँले आफ्नो प्रश्न अप्रत्यक्ष रूपमा प्रस्तुत गर्ने प्रयास गरे नि, वा सिधै सोधे नि, वा तिनीहरूको नजिकको कसैलाई सोधे नि—तैँले सजिलै परिणामहरू प्राप्त गर्नेछैनस्। त्यो अत्यन्तै कठिन हुन्छ। के त्यो धूर्त कुरा होइन र? (हो।) तिनीहरूबाट विभिन्न कुराबारे वास्तविक जानकारी लिन किन यति कठिन हुन्छ? किन तिनीहरू ती कुराहरू यसरी छोपेर राख्छन्? तिनीहरूको उद्देश्य के हो? तिनीहरू आफ्नो हैसियत र रोजीरोटी जोगाउन चाहन्छन्। तिनीहरू यस्तो विश्वास गर्छन्, “यो हैसियत पाउन, आज म जहाँ छु त्यहाँ आइपुग्न सजिलो थिएन—एकैछिनको लापरवाहीले, मैले मूर्ख भएर गल्ती गरेँ भने, के म समस्यामा पर्दिनँ र? यसका साथै, यदि परमेश्वरको घरलाई मैले गरेका खराब कुराहरू थाहा भयो भने, तिनीहरूले मलाई ठेगान लाउनेछन् कि छैनन्, त्यो कसलाई थाहा?” तैँले खुलस्त हुनेबारे, र इमानदार व्यक्ति बन्नेबारे, र बफादारी रूपमा कर्तव्य निर्वाह गर्नेबारे जति नै कुरा गरे पनि, के यो कुरा तिनीहरूको दिमागमा छिर्छ र? अहँ, छिर्दैन। तिनीहरूका लागि त एउटै आदर्श छ: कुरा फुत्क्यो कि पद खुस्क्यो। यदि तँ अरूलाई सबै कुरा बताउँछस् भने, तँ अयोग्य होस्—काम न काजको व्यक्ति होस्! तिनीहरूको आदर्श त्यही हो। ख्रीष्टविरोधीहरूको स्वभाव यस्तै हुन्छ।
ख्रीष्टविरोधीले जुनसुकै काम गरिरहेको भए पनि, उसले अरूलाई हस्तक्षेप गर्न वा सोधपुछ गर्नबाट निषेध गर्छ, र अझै बढी रूपमा परमेश्वरको घरलाई सुपरिवेक्षण गर्नबाट निषेध गर्छ। तिनीहरूले यसो गर्नुको उद्देश्य के हुन्छ? तिनीहरूले मुख्यतः परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न, र आफ्नो हैसियत र शक्ति जोगाउन चाहन्छन्, र यसको अर्थ तिनीहरूले आफ्नो रोजीरोटी जोगाउनु हो। तिनीहरूको मुख्य उद्देश्य त्यही हो। यदि तिमीहरू अगुवा वा कामदार हौ भने, के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामबारे सोधपुछ र सुपरिवेक्षण गर्छ भन्ने डर लाग्छ? के तिमीहरूलाई परमेश्वरको घरले तिमीहरूको कामका त्रुटि र विचलनहरू पत्ता लगाएर तिमीहरूलाई काटछाँट गर्नेछ भन्ने डर लाग्छ? के तिमीहरूलाई तिमीहरूको वास्तविक क्षमता र कदबारे माथिलाई थाहा भएपछि, उसले तिमीहरूलाई फरक नजरले हेर्नेछ र तिमीहरूलाई बढुवा गर्नेबारे विचार गर्नेछैन भन्ने डर लाग्छ? यदि तँसित यी डर छन् भने, यसले तँ मण्डलीको कामका निम्ति होइन, ख्याति र हैसियतका लागि काम गर्न प्रेरित भइरहेको छस् भन्ने साबित गर्छ, जसबाट तँमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने प्रमाणित हुन्छ। यदि तँमा ख्रीष्टविरोधीको स्वभाव छ भने, तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, र तैँले ख्रीष्टविरोधीहरूले गरेको सबै दुष्टता गर्ने सम्भावना हुन्छ। यदि तेरो हृदयमा परमेश्वरको घरले तेरो कामको सुपरिवेक्षण गर्छ भन्ने डर छैन, र तँ माथिले सोधेका प्रश्न र सोधपुछको साँचो जवाफ केही नलुकाई, र आफूलाई थाहा भएजति दिन सक्छस् भने, तेरो कुरा सही वा गलत जे भए पनि, तैँले जस्तो भ्रष्टता प्रकट गरे पनि—तैँले ख्रीष्टविरोधीको स्वभाव प्रकट गरे पनि—तँलाई कदापि ख्रीष्टविरोधीका रूपमा चित्रण गरिनेछैन। मुख्य कुरा भनेको तैँले आफ्नो ख्रीष्टविरोधी स्वभाव चिन्न सक्छस् कि सक्दैनस्, र यो समस्या हल गर्न सत्यता खोज्न सक्छस् कि सक्दैनस् भन्ने हो। यदि तँ सत्यता स्विकार्ने व्यक्ति होस् भने, तेरो ख्रीष्टविरोधी स्वभाव सच्याउन सकिन्छ। यदि तँलाई आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने कुरा राम्ररी थाहा भएर पनि त्यो हटाउन सत्यता खोज्दैनस्, यदि तँ आइपर्ने समस्याहरू लुकाउने वा समस्याबारे झूट बोल्ने र जिम्मेवारी पन्छाउने कोसिससमेत गर्छस्, अनि काटछाँटमा पर्दा सत्यता स्विकार्दैनस् भने, यो गम्भीर समस्या हो, र तँ ख्रीष्टविरोधीभन्दा फरक होइनस्। तँ आफूमा ख्रीष्टविरोधीको स्वभाव छ भन्ने जानेर पनि किन यसलाई सामना गर्ने आँट गर्दैनस्? किन तँ यसलाई खुलस्त रूपमा लिएर यसो भन्न सक्दैनस्, “यदि माथिबाट मेरो कामबारे सोधपुछ गरिन्छ भने, म आफूलाई थाहा भएको सबै कुरा भन्नेछु, र यदि मैले गरेका खराब कुराहरू खुलासा भए पनि, र माथिलाई थाहा भएपछि उसले मलाई प्रयोग गर्न छोडे पनि, र मैले आफ्नो हैसियत गुमाए पनि, म आफूले भन्नुपर्ने कुरा स्पष्ट रूपमा भन्नेछु”? परमेश्वरको घरले तेरो कामको सुपरिवेक्षण र सोधपुछ गर्नेछ भन्ने डरले तँ सत्यताभन्दा बढी हैसियतलाई बहुमूल्य ठान्छस् भन्ने प्रमाणित गर्छ। के यो ख्रीष्टविरोधीको स्वभाव होइन र? हैसियतलाई सबैभन्दा माथि राख्नु ख्रीष्टविरोधीको स्वभाव हो। तँ किन हैसियतलाई यति बहुमूल्य ठान्छस्? तैँले हैसियतबाट कस्ता-कस्ता फाइदाहरू प्राप्त गर्न सक्छस्? यदि हैसियतले तँमाथि विपत्ति, कठिनाइ, बेइज्जती, र पीडा ल्याउँछ भने, के तँ अझै पनि यसलाई बहुमूल्य ठान्थिस्? (ठान्नेथिइनँ।) हैसियत हुँदा प्राप्त हुने कैयौँ लाभहरू छन्, जस्तै अरू मानिसको डाहा, सम्मान, आदर, र चापलुसी, साथै तिनीहरूको आदर र श्रद्धा। तेरो हैसियतले तँलाई श्रेष्ठता र सौभाग्यको पनि अनुभूति गराउँछ जसले तँलाई गर्व र आत्मसम्मानको अनुभव गराउँछ। यसका साथै, तैँले अरूले उपभोग गर्न नपाउने कुराहरू पनि उपभोग गर्न सक्छस्, जस्तै हैसियतका लाभहरू र विशेष व्यवहार। यी कुराहरूबारे तँ सोच्नसमेत आँट गर्दैनस्, र यी तैँले सपना देखेका र तृष्णा गरेका कुराहरू हुन्। के तँ यी कुराहरूलाई बहुमूल्य ठान्छस्? यदि हैसियत कुनै वास्तविक महत्त्वविनाको खोक्रो कुरा हो भने, र यसको प्रतिरक्षा गरेर कुनै वास्तविक उद्देश्य पूरा हुँदैन भने, के यसलाई बहुमूल्य ठान्नु मूर्खता होइन र? यदि तँ देहका हित र आनन्दजस्ता कुराहरू त्याग्न सक्छस् भने ख्याति, प्राप्ति, र हैसियतले अबउप्रान्त तँलाई बन्धनमा पार्नेछैन। त्यसकारण, हैसियतलाई बहुमूल्य ठान्ने र पछ्याउने समस्या समाधान गर्नुभन्दा पहिले कुन कुरा समाधान गर्नुपर्छ? सबभन्दा पहिले, हैसियतका लाभहरूमा रमाउनका लागि दुष्कर्म र चलाकी गर्ने, कुरा लुकाउने, र ढाकछोप गर्ने, साथै परमेश्वरको घरको सुपरिवेक्षण, सोधपुछ, र अनुसन्धान इन्कार गर्ने समस्याको प्रकृतिलाई छर्लङ्ग देख्न सक्नुपर्छ। के यो परमेश्वरविरुद्धको ठाडो प्रतिरोध र विरोध होइन र? यदि तँ हैसियतका लाभहरू लोभ गर्नुका प्रकृति र परिणामहरू छर्लङ्ग देख्न सक्छस् भने, हैसियतको पछि लाग्ने समस्या समाधान हुनेछ। यदि तँ हैसियतका लाभहरू लालसा गर्नुको सार छर्लङ्गै चिन्न सक्दैनस् भने, यो समस्या कहिल्यै समाधान हुनेछैन।
के तिमीहरू काम गर्न र आफ्नो कर्तव्य निर्वाह गर्न अरूसँग सहकार्य गर्छौ? के तिमीहरू सुपरिवेक्षण स्वीकार गर्छौ? के तिमीहरूले अरूलाई हस्तक्षेप वा सोधपुछ गर्नबाट रोक्न केही गरेका छौ? यदि कसैले सोधपुछ गर्यो भने, के तँ उसलाई प्रतिरोध गर्छस् र यसो भन्छस्, “मेरो काममा हस्तक्षेप गरेर तपाईंले आफूलाई के सोच्नुभएको छ? म हैसियतमा तपाईंभन्दा माथि छु, र मेरो काममा मैले भनेको कुरा हुन्छ। माथिले त सोधपुछ गरेको छैन, तपाईंलाई केले यस्तो अधिकार दियो?” के त्यस्तो कुनै भएको छ? ख्रीष्टविरोधीहरूको मुख्य स्वभाव के हो? हैसियत ओगट्नु र शक्ति हातमा लिनु; परमेश्वरको घरको काममा फाइदा पुर्याउने कुनै पनि कुरा नगर्नु, यसका हितहरूबारे विचार नगर्नु, बरु झाराटारुवा र छली व्यवहार गर्नु, र मन नलगाई काम गर्नु। बाहिरबाट हेर्दा, तिनीहरू आफ्नो काममा निकै ऊर्जासाथ व्यस्त भएका देखिन्छन्, तर तिनीहरूले गर्ने कुराहरू हेर, पहिलो कुरा त, तिनीहरू कुनै प्रगति नै गर्दैनन्; दोस्रो कुरा, तिनीहरू अदक्ष हुन्छन्; अनि तेस्रो कुरा, तिनीहरूले गर्ने कामको प्रभाव खासै केही हुँदैन—त्यो सब पूरै भद्रगोल पारिएको हुन्छ। तिनीहरू एउटा कुरा मात्रै त्याग्दैनन्, र त्यो तिनीहरूले आफ्नो कामले दिने अवसर प्रयोग गरेर शक्ति हत्याउनु र त्यसलाई नछोड्नु हो। अनि जबसम्म तिनीहरूसँग शक्ति हुन्छ, तबसम्म तिनीहरू ठिकठाककै हुन्छन्। तिनीहरूले जुनसुकै काम गरिरहेका भए पनि, चाहे त्यो पेसासँग सम्बन्धित, बाहिरी मामलाहरूसँग सम्बन्धित, प्राविधिक सिपसँग सम्बन्धित होस्, वा अरू पक्षसँग सम्बन्धित होस्, समग्रमा त्यसमा कुनै पारदर्शिता हुँदैन। के यो पारदर्शिता अनजानमा नभएको हो? होइन—अनजानमा हुने कुरा त स्वभावले गर्दा हुँदैन, बरु यो क्षमताको कमी हुनुसँग र काम गर्ने तरिका नबुझ्नुसँग सम्बन्धित हुन्छ। त्यसोभए, मैले किन यो स्वभाव ख्रीष्टविरोधी स्वभाव हो भनेर भनेँ त? तिनीहरूले जानीजानी नाटक गरिरहेका हुन्छन्। तिनीहरूभित्र एउटा अभिप्राय हुन्छ: तिनीहरू जानाजानी तँलाई यी कुराहरू थाहा पाउनबाट रोक्छन्, र जानाजानी नै तँबाट यी कुराहरू लुकाउँछन् र तँलाई देखाउँदैनन्। तिनीहरू तँसँग कम बोल्छन् र कुराकानी कम गर्छन्; तिनीहरू तँसँग गफगाफ कम गर्छन्। तिनीहरूले यी कुराहरू कम गर्छन्, ताकि तैँले सधैँ तिनीहरूलाई दोष दिनेछैनस् र तिनीहरूबारे सोधपुछ गर्नेछैनस्, ताकि तँलाई वास्तवमा के भइरहेको छ भनेर धेरै थाहा हुनेछैन, ताकि तैँले तिनीहरूको साँचो रूप चिन्नेछैनस्। के त्यो जानीजानी गरिने काम होइन र? के यसमा अभिप्राय लुकेको हुँदैन र? तिनीहरूको अभिप्राय र उद्देश्य के हुन्छ? तिनीहरू तँलाई चालबाजी गर्न र छक्काएर अगाडि बढ्न चाहन्छन्; तिनीहरूले तँलाई झूटो छाप पार्छन् र परिस्थितिहरू वास्तवमा कस्ता छन् भनेर जान्न रोक्छन्। तिनीहरूले यो तरिकामार्फत आफ्नो हैसियत जोगाएका हुन्छन्, जसमा तिनीहरू खुसी हुन्छन्। के यसको प्रकृति त्यही होइन र? (हो।) यो ख्रीष्टविरोधीहरूको स्वभाव हो, र त्यो जानाजानी धोका दिनु, झुक्क्याउनु र कुरा ढाकछोप गर्नु हो। यो सबै जानाजानी नै गरिएको हुन्छ। मलाई भन त, अरूसँग भेट्ने समय नै नहुने गरी मानिसहरूलाई यति व्यस्त राख्ने कुन कामको कार्यक्रम हुन्छ? कुनै पनि हुँदैन, होइन र? कुनै पनि कामको कार्यक्रमले व्यक्तिलाई खाना खाने वा सुत्ने समय नहुने गरी वा अरूसँग भेट्ने समय नहुने गरी व्यस्त बनाउँदैन। परिस्थिति अझै त्यति व्यस्त भएको छैन। ती कुराहरूका लागि समय निकाल्न सकिन्छ। त्यसोभए, किन यी मानिसहरूसँग समय हुँदैन त? तिनीहरू तँलाई भेट्न चाहँदैनन्; तिनीहरू तैँले तिनीहरूको कामबारे सोधपुछ गरेको चाहँदैनन्। के त्यो ख्रीष्टविरोधी स्वभाव होइन र? (हो।) तिनीहरू कस्ता प्रकारका मानिस हुन्? के तिनीहरू अविश्वासी होइनन् र? हुन्—हरेक ख्रीष्टविरोधी अविश्वासी हो। यदि तिनीहरू अविश्वासी नभएका भए, तिनीहरूले परमेश्वरको घरको कामलाई आफ्नै हातमा लिने, वा परमेश्वरलाई पछ्याउनेहरूलाई आफ्नो शक्तिमा नियन्त्रित गर्ने काम गर्नेथिएनन्। तिनीहरूले त्यस्ता कुराहरू गर्नेथिएनन्। अविश्वासीहरूको पहिलो व्यवहार के हो भने, तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हँदै हुँदैन। तिनीहरू परमेश्वरमा विश्वास गर्ने बहानामा आफ्नै हितका लागि षड्यन्त्र गर्छन्; तिनीहरू दुस्साहसी र लापरवाह बन्छन्, र पटक्कै डर मान्दैनन्। परमेश्वरमाथिको तिनीहरूको विश्वास साँचो हुँदैन, केवल नारा हुन्छ। परमेश्वरप्रति तिनीहरूको हृदयमा पटक्कै डर हुँदैन।
कतिपय मानिस आफ्नो काममा कसैले हस्तक्षेप गर्ने र सुपरिवेक्षण गर्नेवाला छ भन्ने सुन्दा, कस्तो मनोवृत्ति राख्छन्? “सुपरिवेक्षण गर्नु ठिकै हो। म सुपरिवेक्षण स्विकार्छु। सोधपुछ गर्नु पनि ठिकै हो—तर यदि तपाईँले मलाई साँच्चै सुपरिवेक्षण गर्नुभयो भने, मेरो काम अघि बढाउने कुनै उपाय हुनेछैन। मेरो हात बाँधिएको हुनेछ। यदि तपाईँ सधैँ हैकम जमाउनुहुन्छ र मलाई लागुकर्ता बनाउनुहुन्छ भने, म काम गर्न सक्दिनँ। ‘नाइके एउटा मात्रै हुन सक्छ।’” के यो सिद्धान्त होइन र? यो ख्रीष्टविरोधीहरूको सिद्धान्त हो। यसो भन्ने व्यक्तिमा कस्तो स्वभाव हुन्छ? के यो ख्रीष्टविरोधीको स्वभाव हो? “नाइके एउटा मात्रै हुन सक्छ” भन्नुको अर्थ के हो? तिनीहरूले माथिले सोधपुछ गर्दा त्यो सहन गर्दैनन्। यदि माथिले सोधपुछ गरेन भने, के तेरा कार्यहरूले सत्यता उल्लङ्घन गर्दैनन्? के सोधपुछको कारण तैँले कुनै गलत काम गर्नेछस्? के माथिले तेरो काममा बाधा दिनेछ? मलाई भन् त, काम राम्रो होस् भनेर कि नराम्रो होस् भनेर माथिले मार्गदर्शन दिन्छ, यसबारे सोधपुछ गर्छ, र यसको सुपरिवेक्षण गर्छ? (काम राम्रो होस् भनेर।) त्यसोभए, किन कतिपय मानिस ती सुधार गरिएका परिणामहरू स्वीकार गर्दैनन्? (तिनीहरू ख्रीष्टविरोधी स्वभावद्वारा नियन्त्रित हुन्छन्।) ठिक भन्यौ। यो तिनीहरूको ख्रीष्टविरोधी स्वभाव हो—तिनीहरू आफूलाई रोक्न सक्दैनन्। कसैले तिनीहरू जिम्मेवार रहेको कामबारे सोधपुछ गर्नेबित्तिकै, तिनीहरू रिसाउँछन्। तिनीहरूलाई तिनीहरूका हितहरू, साथै तिनीहरूको हैसियत र शक्ति अरूको हातमा सुम्पिइनेछ भन्ने लाग्छ। त्यसकारण, तिनीहरूलाई असहज हुन्छ। तिनीहरूलाई आफ्ना योजना र प्रक्रियाहरू भताभुङ्ग भएका छन् भन्ने लाग्छ। अनि के त्यसले तिनीहरूलाई फाइदा गर्नेछ त? यदि माथिले कसैलाई बढुवा दिन्छ र त्यस व्यक्तिलाई तिनीहरूसँग सहकार्य गर्न लगाउँछ भने, तिनीहरू सोच्छन्, “मैले यस व्यक्तिलाई प्रयोग गर्ने कुनै योजना बनाएको थिइनँ, तर माथिले ऊ असल छ भनेर जिद्दी गर्दै उसलाई बढुवा दियो। मलाई यो राम्रो लागेको छैन। मैले ऊसँग सहकार्य गरेर कसरी सँगै काम गर्ने? यदि माथिले उसलाई प्रयोग गर्यो भने, म त काम छोड्नेछु!” तिनीहरू मुखले त यसो भन्छन्, तर के तिनीहरूले वास्तवमा आफ्नो हैसियत त्याग्न सक्छन् त? तिनीहरूले सक्दैनन्—तिनीहरूले गरिरहेको कुरा त मुकाबला हो। के तिनीहरूले आफ्नो हैसियत खतरामा पार्ने, आफूलाई उजागर नगर्ने, आफ्नो वर्तमान परिदृश्य बिगार्ने जोकोहीलाई काम गर्न दिनेछन् त? अहँ, दिनेछैनन्। उदाहरणका लागि, जब माथिले कसैलाई बढुवा वा बर्खास्त गर्छन्, तब तिनीहरू के सोच्छन्? “कस्तो ठूलो धोका! तिनीहरूले मलाई समेत सोधेनन्। अरू सबै कुरा छोडौँ, म अझै पनि अगुवा नै हुँ—तिनीहरू किन मलाई पहिले केही बताउँदैनन्? किन, मेरो कुनै महत्त्व छैन जस्तो व्यवहार गरिएको!” आखिर तँ को होस्? के त्यो तेरो काम हो? पहिलो कुरा त, यो तेरो क्षेत्र होइन, दोस्रो कुरा, यी मानिसहरू तँलाई पछ्याउँदैनन्, त्यसकारण किन तँ तिनीहरूका लागि यति महत्त्वपूर्ण हुनुपर्छ? के त्यो सत्यताअनुरूप हुन्छ? कुन सत्यता? व्यक्तिलाई बढुवा दिने वा बर्खास्त गर्नेबारे माथिका सिद्धान्तहरू छन्। माथिले किन कसैलाई बढुवा दिन्छन्? किनभने कामका लागि तिनीहरूको आवश्यकता हुन्छ। माथिले किन कसैलाई बर्खास्त गर्छन्? किनभने कामका लागि अब तिनीहरूको आवश्यकता पर्दैन—तिनीहरू काम गर्न सक्दैनन्। यदि तैँले तिनीहरूलाई बर्खास्त गर्दैनस्, र माथिलाई समेत त्यसो गर्न दिँदैनस् भने, के तँ बेसमझ भइरहेको हुँदैनस् र? (हो।) कतिपयले भन्छन्, “माथिले कसैलाई बर्खास्त गर्नु—त्यो मेरो लागि कति लाजमर्दो कुरा हो। यदि तिनीहरूले कसैलाई बर्खास्त गर्न खोजेका छन् भने, तिनीहरूले मलाई सुटुक्क बताउनुपर्छ, र म आफै त्यो काम गर्नेछु। त्यो मेरो काम हो; त्यो मेरो कामको भाग हो। यदि मैले तिनीहरूलाई बर्खास्त गरेँ भने, यसले म मानिसहरूप्रति कति सचेत छु, र म वास्तविक काम गर्न सक्छु भन्ने कुरा सबैलाई देखाउनेछ। त्यो कति सम्मानको कुरा हुनेथ्यो!” के तिमीहरू यस्तो सोच्छौ? कतिपय मानिस राम्रो नाम र आत्मसम्मान चाहन्छन्, र यस्तो स्पष्टीकरण दिन्छन्। के त्यसले काम गर्छ? के त्यो उचित हुन्छ? एक हिसाबमा, परमेश्वरको घरले सत्यता सिद्धान्तहरूअनुसार आफ्नो काम गर्छ; अर्को हिसाबमा, यसले परिस्थितिहरू जेजस्ता छन् त्यहीअनुसार काम गर्छ। कुनै पनि आदेशको स्तर उपेक्षा गर्ने कुरै आउँदैन, विशेषगरी माथिले गर्ने बढुवा र बर्खासीहरू, वा कुनै कार्य परियोजनाका लागि माथिले दिने मार्गदर्शन र निर्देशनहरूको हकमा भन्दा—त्यस्तो अवस्थामा, यस आदेशको स्तर उपेक्षा गर्ने त झनै कुरा आउँदैन। त्यसोभए, ख्रीष्टविरोधीहरू किन यी “दोषहरू” खोजी गर्छन् त? एउटा कुराचाहिँ निश्चित छ: तिनीहरूले सत्यता बुझेका हुँदैनन्, त्यसकारण तिनीहरू आफ्नो मानव मस्तिष्क र संसारमा उपलब्ध ती प्रक्रियाहरूद्वारा परमेश्वरको घरको काम मूल्याङ्कन गर्छन्। त्यसबाहेक, तिनीहरूको मुख्य उद्देश्य आत्मसुरक्षा गर्नु हुन्छ, र तिनीहरूलाई आफूप्रति गर्व हुनैपर्छ। तिनीहरू आफूले गर्ने सबै कुरामा नरम र चलाख हुन्छन्; तिनीहरू आफू मुनिका मानिसहरूलाई उनीहरूमा कुनै कमीकमजोरी वा त्रुटिहरू छन् भनेर देखाउन सक्दैनन्। तिनीहरूले कति हदसम्म देखावटी रूप कायम राख्नेछन्? कुन हदसम्म भने अरूले तिनीहरूलाई कुनै भ्रष्टता वा कमीकमजोरी नभएको, त्रुटिरहित व्यक्तिका रूपमा हेर्नेछन्। अरूले तिनीहरूलाई माथिले प्रयोग गर्नु उचित हुन्छ र दाजुभाइ-दिदीबहिनीहरूले छनौट गर्नुपर्छ—तिनीहरू सिद्ध व्यक्ति हुन् भन्ने ठान्छन्। के तिनीहरू परिस्थिति यस्तै होस् भन्ने चाहँदैनन् र? के त्यो ख्रीष्टविरोधी स्वभाव होइन र? (हो।) हो, त्यो ख्रीष्टविरोधी स्वभाव नै हो।
हाम्रो भर्खरैको सङ्गति ख्रीष्टविरोधीहरूको एउटा प्राथमिक व्यवहारबारे थियो—तिनीहरूले अरूलाई आफ्नो काममा हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा सुपरिवेक्षण गर्न दिँदैनन्। परमेश्वरको घरले तिनीहरूको काम अनुगमन गर्न, वा यसबारे थप जान्न, वा यसको सुपरिवेक्षण गर्न जुनसुकै बन्दोबस्तहरू गरे पनि, तिनीहरूले त्यसलाई रोक्न र इन्कार्न हरकिसिमका तरकिबहरू प्रयोग गर्नेछन्। उदाहरणका लागि, जब माथिले कतिपय मानिसलाई कुनै परियोजना दिन्छ, तब केही समय बित्छ र पनि कुनै प्रगति हुँदैन। तिनीहरूले यसमा काम गरिरहेका छन् कि छैनन्, वा यो कसरी अघि बढिरहेको छ, वा हस्तक्षेप गर्नुपर्ने कुनै कठिनाइ वा समस्याहरू छन् कि छैनन् भनेर माथिलाई बताउँदैनन्। तिनीहरू कुनै प्रतिक्रिया दिँदैनन्। कतिपय कामहरू जरुरी हुन्छन् र त्यसमा ढिलाइ गर्न सकिँदैन, तैपनि तिनीहरू लामो समयसम्म काम नसकी ढिलासुस्ती गरिरहन्छन्। त्यसपछि माथिले सोधपुछ गर्नैपर्छ। जब माथिले सोधपुछ गर्छ, तब ती मानिसहरूलाई सोधपुछ असहनीय रूपमा लाजमर्दो लाग्छ, र तिनीहरू हृदयदेखि प्रतिरोध गर्छन्: “मलाई यो काम दिइएको दस दिन मात्रै भएको छ। मैले यसमा राम्रोसित हातसमेत हालेको छैन र पनि माथिले सोधपुछ गर्न थालिसक्यो। मानिसहरूप्रति तिनीहरूका मापदण्डहरू अत्यन्तै उच्च छन्!” तिनीहरू सोधपुछमा गल्तीहरू खोजिरहेका हुन्छन्। यसमा के समस्या छ? मलाई भन त, के माथिबाट सोधपुछ हुनु सामान्य कुरा होइन र? यसको एउटा भाग भनेको कार्य प्रगतिको अवस्था, साथै समाधान गरिनुपर्ने कठिनाइहरू के-के हुन् भन्नेबारे थप जान्ने इच्छा हो; यसका साथै, यो तिनीहरूले काम सुम्पेका मानिसहरूको क्षमता कस्तो छ, र तिनीहरूले वास्तवमा समस्याहरू समाधान गर्न र काम राम्ररी गर्न सक्छन् कि सक्दैनन् भन्नेबारे थप जान्ने इच्छा पनि हो। माथिले वास्तविक तथ्यहरू जान्न चाहन्छन्, र प्रायजसो त्यस्ता परिस्थितिहरूमा सोधपुछ गरिरहन्छन्। के त्यो तिनीहरूले गर्नुपर्ने कुरा होइन र? तँलाई समस्याहरू कसरी समाधान गर्ने थाहा छैन र तैँले काम सम्हाल्न सक्दैनस् कि भन्ने चिन्ता माथिलाई हुन्छ। त्यसकारण तिनीहरू सोधपुछ गर्छन्। कति मानिसहरू त्यस्ता सोधपुछको निकै प्रतिरोध गर्छन् र तिनीहरूलाई यसप्रति घृणा लाग्छ। तिनीहरू मानिसहरूलाई सोधपुछ गर्न दिन अनिच्छुक हुन्छन्, र मानिसहरूले सोधपुछ गरे भने, तिनीहरू प्रतिरोधी हुन्छन् र तिनीहरूमा शङ्का हुन्छ, र सधैँ मनमनै विचार गर्छन्, “तिनीहरूले किन सधैँ सोधपुछ गरिरहेका र थप जान्न खोजिरहेका हुन्छन्? के तिनीहरूले मलाई भरोसा नगरेकाले र मलाई तुच्छ ठानेकाले हो? यदि तिनीहरूले मलाई भरोसा गर्दैनन् भने, मलाई प्रयोग गर्नु हुँदैन!” तिनीहरू कहिल्यै पनि माथिका सोधपुछ र सुपरिवेक्षणलाई बुझ्दैनन्, बरु तिनको प्रतिरोध गर्छन्। के यस्ता मानिसहरूमा समझ हुन्छ? तिनीहरू किन माथिलाई आफूसित सोधपुछ गर्न र सुपरिवेक्षण गर्न दिँदैनन्? यसका साथै, तिनीहरू किन प्रतिरोधी र अवज्ञाकारी हुन्छन्? यहाँ समस्या के हो? तिनीहरू आफ्नो कर्तव्य निर्वाह प्रभावकारी छ कि छैन वा यसले कार्य प्रगतिमा बाधा दिन्छ कि दिँदैन भन्ने कुरालाई वास्ता गर्दैनन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा सत्यता सिद्धान्तहरू खोजी गर्दैनन्, बरु आफूलाई जे मन लाग्यो त्यही गर्छन्। तिनीहरू कामका परिणाम वा प्रभावकारिताबारे कुनै विचार गर्दैनन्, र परमेश्वरको घरका हितहरूबारे पटक्कै विचार गर्दैनन्, झन् परमेश्वर के अभिप्राय राख्नुहुन्छ र के मापदण्ड दिनुहुन्छ भन्ने कुरा विचार गर्नु त परै जाओस्। तिनीहरूको सोचाइ यस्तो हुन्छ, “आफ्नो कर्तव्य निर्वाह गर्ने मेरा आफ्नै तरिका र तालिकाहरू छन्। मबाट धेरै माग गर्ने वा कामकुराहरू विस्तृत रूपमा गर्नुपर्ने मापदण्डहरू दिने नगर। मैले आफ्नो कर्तव्य निर्वाह गर्नु नै पर्याप्त कुरा हो। मैले अत्यन्तै थकित हुनु वा अत्यन्तै धेरै कष्ट भोग्नु हुँदैन।” तिनीहरू आफ्ना कामबारे थप जान्नका लागि माथिले गरेका सोधपुछ र प्रयासहरू बुझ्दैनन्। तिनीहरूको यस बुझाइको कमीमा के कुराको अभाव छ? के यो समर्पणको अभाव होइन र? के यो जिम्मेवारीबोधको अभाव हुनु होइन र? बफादारिताको अभाव? यदि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा साँच्चै नै जिम्मेवार र बफादार थिए भने, के तिनीहरूले आफ्नो कामबारे माथिले गरेका सोधपुछहरू इन्कार गर्नेथिए र? (थिएनन्।) तिनीहरूले यो कुरा बुझ्न सक्थे। यदि तिनीहरू साँच्चै नै यो कुरा बुझ्न सक्दैनन् भने, एउटा मात्र सम्भावना हुन्छ: तिनीहरू आफ्नो कर्तव्यलाई आफ्नो पेशा र जीविकोपार्जनका रूपमा हेर्छन्, र यसबाट फाइदा लिन्छन्, अनि आफूले निर्वाह गर्ने कर्तव्यलाई सधैँ इनाम प्राप्त गर्ने सर्त र सौदाबाजीका रूपमा लिन्छन्। तिनीहरू माथिलाई टार्नका लागि प्रतिष्ठाको काम मात्रै अलिअलि गर्छन्, र परमेश्वरको आज्ञालाई आफ्नो कर्तव्य र दायित्वका रूपमा लिने कुनै प्रयास गर्दैनन्। त्यसकारण, जब माथिले तिनीहरूको कामबारे सोधपुछ गर्छ वा यसको सुपरिवेक्षण गर्छ, तब तिनीहरूमा घृणा गर्ने, प्रतिरोधी मानसिकता उत्पन्न हुन्छ। के यस्तै हुँदैन र? (यस्तै हुन्छ।) यो समस्या कहाँबाट आएको हो? यसको सार के हो? त्यो के हो भने, कार्य परियोजनाप्रतिको तिनीहरूको मनोवृत्ति नै गलत हुन्छ। तिनीहरूले कामको प्रभावकारिता र परमेश्वरको घरका हितहरूबारे सोच्नुको सट्टा देहगत सहजता र आराम, अनि आफ्नै हैसियत र आत्मसम्मानबारे मात्रै विचार गर्छन्। तिनीहरू सत्यता सिद्धान्तहरूअनुसार व्यवहार गर्ने प्रयास पटक्कै गर्दैनन्। यदि तिनीहरूमा साँच्चै नै अलिकति विवेक र समझ भएको भए, तिनीहरूले माथिका सोधपुछ र सुपरिवेक्षणलाई बुझ्न सक्थे। तिनीहरूले हृदयदेखि यसो भन्न सक्थे, “माथिले सोधपुछ गर्नु राम्रो कुरा हो। नत्र त मैले सधैँ आफ्नै इच्छाअनुसार काम गरिरहेको हुन्थेँ, जसले गर्दा कामको प्रभावकारितामा बाधा पर्नेथ्यो, वा काम नै बरबादसमेत हुनेथ्यो। माथिले सङ्गति र जाँचपड्ताल गर्छन्, र यसले वास्तवमै वास्तविक समस्याहरू समाधान गरेको छ—यो कति राम्रो कुरा हो!” यसले तिनीहरू जिम्मेवार व्यक्ति हुन् भन्ने देखाउँछ। यदि तिनीहरूले काम आफै लिए भने, यदि कुनै गल्ती वा त्रुटि भयो, र यसले परमेश्वरको घरको काममा कुनै क्षति ल्यायो र त्यसलाई समाधान गर्ने कुनै उपाय हुनेछैन भने, त्यो तिनीहरूले लिन नसक्ने जिम्मेवारी हुनेछ भनेर तिनीहरूलाई डर लाग्छ। के त्यो जिम्मेवारीबोध होइन र? (हो।) यो जिम्मेवारीबोध हो, र यो तिनीहरूले आफ्नो बफादारी पूरा गरिरहेको सङ्केत पनि हो। अरूलाई आफ्नो कामबारे सोधपुछ गर्न नदिने मानिसहरूको मनमा के हुन्छ? “यो काम मेरो मामला हो, काम जिम्मा लिने व्यक्तिका रूपमा हेर्दा कुरा यही हो। म आफ्नो मामलामा आफै निर्णय गर्छु; मसँग अरू कोही संलग्न हुनुपर्दैन!” तिनीहरू विभिन्न कुराहरूबारे आफै सोचविचार गर्छन्, र आफ्नो व्यक्तित्वले तय गरेअनुसार आफूले चाहेको कुरा गर्छन्। तिनीहरू आफूलाई जुन कुराले फाइदा गर्छ त्यही गर्छन्, र कसैलाई पनि यी कुराहरूबारे सोध्ने अनुमति हुँदैन—कसैलाई पनि वास्तविक अवस्थाबारे जान्ने अनुमति हुँदैन। यदि तैँले तिनीहरूलाई “त्यो काम कस्तो भइरहेको छ?” भनेर सोधिस् भने, तिनीहरूले “पख्नोस्” भन्नेछन्। त्यसपछि यदि तैँले “के प्रगति भइरहेको छ?” भनेर सोधिस् भने, तिनीहरूले “सक्न लाग्यो” भन्नेछन्। तैँले तिनीहरूलाई जेसुकै सोधे पनि, तिनीहरूले एकदुई शब्द मात्रै बोल्नेछन्। तिनीहरूले एकपल्टमा एक-दुई शब्द मात्रै बोल्नेछन्, र त्योभन्दा बढी बोल्नेछैनन्—तिनीहरूले एउटै पनि सटीक र निश्चित वाक्य बताउनेछैनन्। के तिमीहरूलाई यस्ता मानिसहरूसँग कुरा गर्नु दिक्क लाग्दो हुन्छ भन्ने लाग्दैन र? तिनीहरू तँलाई थप केही पनि भन्न चाहँदैनन् भन्ने कुरा स्पष्टै छ। यदि तैँले थप प्रश्नहरू सोधिस् भने, तिनीहरू अधीर हुन्छन्: “तपाईँ सानो कुराबारे सोधिरहनुहुन्छ, मानौँ मैले काम पूरा गर्नै सक्दिनँ—मानौँ म कामको योग्यै छैनँ!” तिनीहरू मानिसहरूलाई प्रश्न गर्न दिनै चाहँदैनन्। अनि यदि तैँले तिनीहरूलाई प्रश्न गरिरहिस् भने, तिनीहरूले भन्नेछन्, “म तपाईँका लागि के हुँ, तपाईँको खटनमा बस्ने गधा वा घोडा हुँ? यदि तपाईँ मलाई भरोसा गर्नुहुन्न भने, मलाई प्रयोग नगर्नुहोस्; यदि तपाईँ मलाई प्रयोग गर्नुहुन्छ भने, तपाईँले मलाई भरोसा गर्नुपर्छ—र मलाई भरोसा गर्नुको अर्थ हो, तपाईँले सधैँ सोधपुछ गरिरहनु हुँदैन!” तिनीहरूमा यस्तो मनोवृत्ति हुन्छ। के तिनीहरूले कार्यक्रमहरूलाई आफ्नो कर्तव्यका रूपमा लिइरहेका हुन्छन्? (हुँदैनन्।) ख्रीष्टविरोधीहरू कामलाई आफ्नो कर्तव्यका रूपमा लिँदैनन्, बरु आशिष् र इनाम प्राप्त गर्ने साधनका रूपमा लिन्छन्। तिनीहरू श्रम गर्नमा मात्रै पनि सन्तुष्ट हुन्छन्, जसलाई तिनीहरू आशिष्सँग साट्न चाहन्छन्। त्यसैले तिनीहरू झाराटार्ने मनोवृत्तिले काम गर्छन्। यसको एउटा पक्ष के हो भने, तिनीहरू आफ्नो मर्यादा र आत्मसम्मान जोगाउन अरूलाई आफ्नो काममा हस्तक्षेप गर्न दिन चाहँदैनन्। तिनीहरू आफूले निभाउने कर्तव्य र आफूले गर्ने काम व्यक्तिगत रूपमै आफ्नो स्वामित्वका कुरा हुन् र ती आफ्नै व्यक्तिगत मामला हुन् भन्ने ठान्छन्। त्यसैले तिनीहरू अरूलाई हस्तक्षेप गर्न दिँदैनन्। यसको अर्को पक्ष के हो भने, यदि तिनीहरूले काम राम्ररी गरे भने, यसको श्रेय दाबी गर्न र इनाम माग्न सक्छन्। यदि कसैले हस्तक्षेप गर्यो भने, यो श्रेय तिनीहरू एक्लैको हुँदैन। तिनीहरूलाई अरूले तिनीहरूको श्रेय खोस्लान् भन्ने डर लाग्छ। त्यसैले तिनीहरू आफ्नो काममा अरूलाई हस्तक्षेप गर्न कदापि दिँदैनन्। के ख्रीष्टविरोधी मानिसहरू स्वार्थी र दुष्ट हुँदैनन् र? तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरिरहेका भए पनि, यो तिनीहरूले आफ्नो व्यक्तिगत मामला सम्हालिरहेको जस्तै हुन्छ। तिनीहरू आफूले काम गर्दा त्यो जसरी अघि बढे पनि, अरूलाई हस्तक्षेप गर्न वा सहभागी हुन दिँदैनन्। यदि तिनीहरूले काम राम्ररी गरे भने, त्यसको श्रेय आफूलाई मात्रै दिन्छन्, तर अरू कसैलाई पनि त्यो श्रेय र कार्य नतिजाहरूको भागीदारी दाबी गर्न दिँदैनन्। के त्यो समस्याजनक कुरा होइन र? यो कस्तो स्वभाव हो? यो शैतानको स्वभाव हो। जब शैतानले काम गर्छ, तब यसले कसैलाई पनि हस्तक्षेप गर्न दिँदैन, यसले गर्ने सबै कुरामा हैकम जमाउन र सबै कुरालाई आफ्नो नियन्त्रणमा राख्न चाहन्छ, र कसैले पनि सुपरिवेक्षण वा सोधपुछ गर्न सक्दैन। यदि कसैले हस्तक्षेप गर्यो वा कोही बीचमा आयो भने, त्यो त झन् स्वीकार्य हुँदै हुँदैन। ख्रीष्टविरोधीले यसरी नै व्यवहार गर्छ; तिनीहरूले जे गरे पनि, कसैलाई सोध्ने अनुमति हुँदैन, र तिनीहरूले पर्दापछाडि जसरी काम गरे पनि, हस्तक्षेप गर्ने अनुमति कसैलाई हुँदैन। ख्रीष्टविरोधीको व्यवहार यस्तै हुन्छ। एक हिसाबमा तिनीहरूमा अत्यन्तै अहङ्कारी स्वभाव भएकाले र अर्को हिसाबमा तिनीहरूमा समझको कमी भएकाले तिनीहरू यस्तो व्यवहार गर्छन्। तिनीहरूमा समर्पणको पूर्ण अभाव हुन्छ, र तिनीहरू कसैलाई पनि तिनीहरूको सुपरिवेक्षण वा तिनीहरूको कामको निरीक्षण गर्न दिँदैनन्। यी कार्यहरू साँच्चै नै दुष्टका काम हुन्, जुन सामान्य व्यक्तिको कामभन्दा पूर्ण रूपमा फरक हुन्छन्। काम गर्ने जोकोहीलाई अरूसँगको सहकार्य चाहिन्छ, उसलाई मानिसहरूको सहयोग, सुझाव, र सहकार्यको आवश्यक पर्छ, र यदि कसैले सुपरिवेक्षण वा नियाल्छ भने पनि त्यो नराम्रो कुरा होइन, त्यो आवश्यक कुरा हो। कामको एउटा भागमा गल्तीहरू भए, र नियाल्ने मानिसहरूले ती पत्ता लगाए, अनि तिनलाई तुरुन्तै समाधान गरियो, र काममा भएका घाटाहरू पूर्ति गरियो भने, के यो ठूलो सहयोग हुँदैन र? त्यसकारण, जब बाठा मानिसहरू काम गर्छन्, तब तिनीहरूलाई अरू मानिसहरूले सुपरिवेक्षण, अवलोकन, र सोधपुछ गरेको मन पर्छ। यदि संयोगले गल्ती भयो, र यी मानिसहरूले यो गल्ती औँल्याइदिन सके, अनि गल्तीलाई तुरुन्तै सुधार गरियो भने, के यो निकै चाहिएको परिणाम होइन र? यस संसारमा अरूको सहयोग नचाहिने कोही पनि छैन। अटिजम वा डिप्रेसनमा परेका मानिसहरू मात्रै एकलै बस्न र अरू मानिसहरूसँग सम्पर्कमा वा सञ्चारमा नबसी रहन मन पराउँछन्। जब मानिसहरूलाई अटिजम वा डिप्रेसन भएको हुन्छ, तब तिनीहरू सामान्य हुँदैनन्। तिनीहरूले आफूलाई नियन्त्रण गर्न सक्दैनन्। यदि मानिसहरूको मन र समझ सामान्य छ, र तिनीहरू अरूसँग कुराकानी गर्न चाहँदैनन् र तिनीहरू आफूले गर्ने कुनै पनि कुरा अरूले थाहा नपाऊन् भन्छन्, तिनीहरू विभिन्न कुरा लुकेर, गुप्त रूपमा, पर्दापछाडि गर्न चाहन्छन् भने, र अरूको कुरा पटक्कै सुन्दैनन् भने, त्यस्ता मानिसहरू ख्रीष्टविरोधी हुन्, होइनन् र? तिनीहरू ख्रीष्टविरोधी हुन्।
एकपटक, मैले एउटा मण्डलीको अगुवालाई भेट्दा, दाजुभाइ-दिदीबहिनीहरूले आफ्नो कर्तव्य कसरी निर्वाह गरिरहेका छन् भनेर सोधेँ। मैले सोधेँ, “के मण्डलीमा अहिले मण्डली जीवनमा बाधा दिने कोही छ?” उसले के भन्यो, अनुमान गर्न सक्छस्? “सब ठिक छ; तिनीहरू सबै राम्रै छन्।” मैले सोधेँ, “फलानी बहिनीले आफ्नो कर्तव्य कसरी निर्वाह गरिरहेकी छे?” उसले भन्यो, “राम्ररी गरिरहेकी छे।” त्यसपछि मैले सोधेँ, “उसले परमेश्वरमा विश्वास गरेको कति वर्ष भयो?” उसले भन्यो, “ठिकै छ।” मैले भनेँ, “यो टेबल यहाँ हुनु हुँदैन; यसलाई सार्नुपर्छ।” उसले भन्यो, “म यसबारे विचार गर्नेछु।” मैले भनेँ, “के यस जग्गामा पानी हाल्ने बेला भएको छैन र?” उसले भन्यो, “हामी यस विषयमा सङ्गति गर्नेछौँ।” मैले भनेँ, “तैँले यो वर्ष यस जग्गामा रोपेको फसल यही हो। के तैँले अर्को वर्ष पनि यही रोप्नेछस्?” उसले भन्यो, “हाम्रो निर्णयकर्ता समूहको एउटा योजना छ।” उसले दिएका उत्तरहरू यस्तै थिए। उसलाई सुन्दा तँलाई कस्तो लाग्छ? के तँ उसको कुनै कुरा बुझ्छस्? के तैँले कुनै जानकारी प्राप्त गर्छस्? (कुनै पनि गर्दैनौँ।) उसले तँलाई मूर्ख र बाहिरी व्यक्ति ठानेर अलमलाइरहेको छ भन्ने कुरा तैँले तुरुन्तै थाहा पाउन सक्छस्। बाहिरी व्यक्ति वास्तवमा को हो भन्ने कुरा उसलाई थाहै हुँदैन; गैरविश्वासीहरू यसलाई “पाहुना भएर घरधनीले जस्तो व्यवहार गर्नु” भनेर भन्छन्। उसलाई आफ्नो पहिचान नै थाहा हुँदैन। मैले भनेँ, “तिमीहरू यहाँ धेरै जना बसोबास गर्छौ, र हावा राम्रोसँग खेल्दैन। तिमीहरूले पङ्खा लगाउनुपर्छ, नत्र यहाँ धेरै गर्मी हुनेछ, र मानिसहरू गर्मीले ढल्नेछन्।” उसले भन्यो, “हामी यसबारे कुरा गर्नेछौँ।” मैले उसलाई भनेका सबै कुराका लागि पनि उसले त्यसबारे कुरा गर्नुपर्थ्यो, सङ्गति गर्नुपर्थ्यो, र सोच्नुपर्थ्यो। मैले जेजस्ता बन्दोबस्तहरू गरे पनि, जेजस्ता कुराहरू भने पनि, उसका लागि यसको कुनै अर्थ थिएन। उसका लागि, ती बन्दोबस्त वा आदेशहरू थिएनन्, र उसले तिनलाई लागू गरेन। त्यसैले उसले मेरा वचनहरूलाई के ठान्यो? (उसलाई विचार गर्न दिइएका सुझावहरू।) के मैले उसलाई विचार गर्न सुझाव दिइरहेको थिएँ त? होइन—मैले उसलाई उसले के गर्नुपर्छ, के गर्न जरुरी छ भनेर भनिरहेको थिएँ। के उसले मैले भनेको कुरा बुझिरहेको थिएन र? यदि उसले बुझिरहेको थिएन भने, ऊ आफ्नो पहिचान के हो वा आफूले निर्वाह गरिरहेको कर्तव्य के हो भन्ने थाहा नभएको मूर्ख व्यक्ति थियो। त्यहाँ घरभित्र एयर कन्डिसनविना वा झ्याल नखोली धेरै मानिस बसिरहेका थिए। उसले त पङ्खासमेत जडान गरेको थिएन, र यसका आधारमा ऊ कति बुद्धिमान हुन सक्छ र? ऊ तुरुन्तै घर गइहाल्नुपर्छ—ऊ कसिङ्गर हो, र परमेश्वरको घरलाई कसिङ्गर चाहिँदैन। मानिसहरूलाई कुनै पनि कुराबारे सबै थाहा हुँदैन, तर तिनीहरूले सिक्न सक्छन्। मैले नबुझेका केही कुरा छन्, त्यसकारण म ती कुरा अरूसँग छलफल गर्छु: “यसलाई सम्हाल्ने राम्रो तरिका के हो जस्तो तिमीहरूलाई लाग्छ? तिमीहरू स्वतन्त्र रूपमा सुझावहरू दिन सक्छौ।” यदि कतिपय मानिसले कुनै तरिका सर्वोत्तम हो भन्ने सोचे भने, म भन्छु, “ठिक छ, तैँले भनेअनुसार नै गरौँ न त। आखिर, हामीले के गर्नुपर्छ भनेर मैले अझै सोचेको छैनँ। हामी तैँले भनेकै कुरा गर्नेछौँ।” के त्यो सामान्य मानवताको सोचाइ होइन र? अरूसँग मिलेर बस्नु भनेको यही हो। अरूसँग मिलेर काम गर्दा, मानिसहरूले को श्रेष्ठ छ वा को नीच छ, वा कसले प्रसिद्धि पाउँछ र कसले पाउँदैन, वा कसले विभिन्न कुराबारे हैकम चलाउँछ भनेर भिन्नता छुट्याउनु हुँदैन। यी भिन्नताहरू छुट्याउनु आवश्यक छैन—जसको तरिका सही र सत्यता सिद्धान्तहरूअनुरूप छ, उसैको कुरा सुन्नुपर्छ। के तिमीहरू यसो गर्न सक्छौ? (सक्छौँ।) कतिपय मानिस त्यस्ता हुँदैनन्। ख्रीष्टविरोधीहरू त्यस्ता हुँदैनन्—तिनीहरू हैकम चलाउन मात्रै जिद्दी गर्छन्। त्यो कस्तो कुरा हो? अरूले उठाएको कुरा उचित नै भए पनि तिनीहरू सुन्दैनन्; तिनीहरूलाई यो सही र उचित छ भन्ने थाहा हुन्छ, तर तिनीहरू अरूले प्रस्ताव गरेको कुनै पनि कुरा पालना गर्दैनन्—कुनै कुरा प्रस्ताव गर्ने तिनीहरू आफै हुन् भने मात्रै तिनीहरू खुसी हुन्छन्। यो सानो कुरामा पनि, तिनीहरूले श्रेष्ठताका लागि लडाइँ गर्छन्। त्यो कस्तो स्वभाव हो? ख्रीष्टविरोधी स्वभाव। तिनीहरूले हैसियत, ख्याति, र आत्मसम्मानलाई अति नै महत्त्व दिन्छन्। कति महत्त्व? तिनीहरूका लागि ती कुराहरू तिनीहरूको जीवनभन्दा महत्त्वपूर्ण हुन्छन्—आफ्नो ज्यान नै दिनुपरे पनि, तिनीहरूले आफ्नो हैसियत र प्रसिद्धिको जोगाएरै छोड्नेछन्।
ख्रीष्टविरोधीहरू आफूले गर्ने कुनै पनि काममा अरू कसैको हस्तक्षेप, सोधपुछ, वा सुपरिवेक्षणलाई निषेध गर्छन्, र यो निषेध विभिन्न तरिकाले प्रकट भएको हुन्छ। एउटा चाहिँ इन्कार हो, जुन स्पष्ट र सरल हुन्छ। “मैले काम गर्दा हस्तक्षेप गर्न, सोधपुछ गर्न, र सुपरिवेक्षण गर्न छोड। मैले गर्ने जुनसुकै काम मेरो जिम्मेवारीमा हुन्छ, यो काम कसरी गर्ने मलाई थाहा छ र मलाई कसैले रेखदेख गरिरहनु पर्दैन!” यो सिधै गरिने इन्कार हो। अर्को प्रकटीकरण भनेको स्विकार्ने व्यक्तिजस्तो बन्नु हो, “हुन्छ, सङ्गति गरौँ र काम कसरी गर्ने हेरौँ न” भनी भन्नु, तर जब अरूले साँच्चै सोधपुछ गर्न थाल्छन् र आफ्नो काम बारे थप कुरा जान्न वा केही समस्या औँल्याउन र केही सुझाव दिन थाल्छन्, तब तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? (तिनीहरू ग्रहणशील हुँदैनन्।) ठिक भन्यौ—तिनीहरू स्वीकार गर्न मान्दैनन्, अरूका सुझावहरू इन्कार गर्न तिनीहरू निहुँ र बहाना बनाउँछन्, तिनीहरू गलतलाई सही र सहीलाई गलत अर्थ्याउँछन्, तर वास्तवमा, तिनीहरूलाई हृदयमा आफूले जबरजस्ती तर्क गर्दै छु, अलङ्कृत शब्दहरू बोल्दै छु, आफूले भनेको कुरा सैद्धान्तिक मात्र हो, आफूले बोलेका शब्दहरू अरूले भन्ने कुराजति व्यावहारिक छैनन् भन्ने थाहा हुन्छ। तैपनि तिनीहरू आफ्नो हैसियत जोगाउन—अनि आफू गलत छु र अरू मानिस सही छन् भन्ने पूर्ण रूपमा जानेर पनि—अरूको सही कुरालाई गलत बनाउँछन्, र आफ्ना गलत कुरालाई सही बनाउँछन्, अनि यही कार्यलाई निरन्तरता दिइरहन्छन्, अनि यसरी सही र सत्यताअनुरूपका कामकुरा आफू भएको स्थानमा प्रस्तुत वा लागू गर्न दिँदैनन्। के तिनीहरूले मण्डलीको कामलाई खेल, ठट्टाका रूपमा लिइरहेका हुँदैनन् र? के तिनीहरूले सोधपुछ र सुपरिवेक्षण स्विकार्न इन्कार गरिरहेका हुँदैनन् र? तिनीहरूले तँलाई “मेरो काममा हस्तक्षेप गर्ने अनुमति तपाईँलाई छैन” भन्दै निर्लज्ज रूपमा यो “निषेध” व्यक्त गर्दैनन्। तिनीहरूले गर्ने कुरा त्यस्तो देखिँदैन, तर तिनीहरूको मानसिकता त्यस्तै हुन्छ। तिनीहरू निश्चित चालबाजी प्रयोग गर्छन्, र बाहिरबाट हेर्दा तिनीहरू निकै भक्त देखिन्छन्। तिनीहरूले भन्नेछन्, “अहिले हामीलाई सहयोग चाहिएको नै हो, त्यसैले अहिले तपाईँ यहाँ आउनुभएको हुनाले, हामीसँग अलिकति सङ्गति गर्नुहोस्!” तिनीहरूको उच्चतर तहका अगुवा तिनीहरूले साँच्चै यसो भनेका हुन् भन्ने विश्वास गर्छ, त्यसकारण उसले खास परिस्थितिहरूबारे जस्ताको तस्तै बताउँदै सङ्गति गर्छ। तिनीहरूले अगुवाको कुरा सुनेपछि यस्तो सोच्नेछन्: “ए, तिम्रो दृष्टिकोण त त्यस्तो पो रहेछ—ठिकै छ, तिमीलाई खण्डन गर्न र गलत साबित गर्न म तिमीसँग यस विषयमा विवाद गर्नेछु। म तिमीलाई लज्जित पार्नेछु।” के त्यो स्विकार्ने मनोवृत्ति हो? (होइन।) त्यसोभए यो कस्तो मनोवृत्ति हो त? यो तिनीहरूले गर्ने काममा अरूले हस्तक्षेप, सोधपुछ, वा तिनीहरूको सुपरिवेक्षण गरेको स्विकार्न नमान्नु हो। ख्रीष्टविरोधीहरू त्यसो गर्छन् भन्ने कुरालाई ध्यानमा राख्दा, किन तिनीहरू मानिसहरूअगाडि झूटो रूप धारण गर्छन् र स्वीकार्ने मनोवृत्ति देखाउँछन्? तिनीहरू यसरी मानिसहरूलाई छल गर्छन् भन्ने कुराले तिनीहरू कति धूर्त छन् भन्ने देखाउँछ। तिनीहरूलाई आफ्नो वास्तविकता मानिसहरूले देख्लान् भन्ने डर हुन्छ। अहिले, विशेषगरी केही हदसम्म खुट्ट्याउने क्षमता भएका मानिसहरू पनि छन्, त्यसकारण यदि कुनै ख्रीष्टविरोधीले अरूको सुपरिवेक्षण र सहयोग सिधै इन्कार गर्यो भने, मानिसहरूले यसबारे बताउन र उसलाई छर्लङ्गै चिन्न सक्छन्। त्यसपछि उसले आफ्नो आत्मसम्मान र हैसियत गुमाउँछ, र भविष्यमा उसलाई अगुवा वा कामदारका रूपमा निर्वाचित हुन सजिलो हुँदैन। त्यसकारण, जब माथिल्लो तह अगुवाले उसको काम जाँच गर्छ, तब उसले यसलाई स्विकारेको बहाना गर्छ, मिठो र मक्ख पार्ने कुराहरू बोल्छ, सबैलाई यस्तो सोच्ने तुल्याउँछ, “हेर हाम्रो अगुवा कति भक्त छन्, कति धेरै सत्यता खोजी गर्छन्! हाम्रो अगुवाले हाम्रो जीवन र मण्डलीको कामको हेरचाह गरिरहेका छन्। उनले आफ्नो कर्तव्य निर्वाह गर्दा जिम्मेवारी लिन्छन्। हामी अर्को निर्वाचनमा फेरि उनैलाई छनौट गर्नेछौँ।” तर हुनैलागेको के कुराचाहिँ कसैले देख्दैनन् भने, माथिल्लो तहको अगुवा गएपछि, तुरुन्तै त्यस ख्रीष्टविरोधीले यसो भन्नेछ: “काम जाँच गर्ने त्यस व्यक्तिले भनेको कुरा ठिकै थियो, तर यो हाम्रो मण्डलीका अवस्थासित मिल्छ नै भन्ने छैन। हरेक मण्डलीमा परिस्थिति फरक हुन्छ। हामी तिनीहरूले भनेको कुरा पूर्ण रूपमा लागू गर्न सक्दैनौँ—हामीले यसलाई हाम्रो वास्तविक परिस्थितिका आधारमा विचार गर्नुपर्छ। हामीले प्रावधानहरू एकएक गरी लागू गर्नु हुँदैन!” अनि यो नै सही हो भन्ने सोच्दै सबैले यो कुरा मान्छन्। के तिनीहरू बहकाउमा परेका हुँदैनन् र? ख्रीष्टविरोधीले गर्ने कामको एउटा पाटो भनेको मनमोहक शब्दहरू बोल्नु र अरूको सुपरिवेक्षण स्विकारेको बहाना गर्नु हो; त्यसपछि तुरुन्तै, उसले भित्री रूपमा अरूलाई बहकाउन र तिनीहरूको दिमाग भुट्न सुरु गर्छ। उसले यस दृष्टिकोणका दुवै भागलाई एकैपटक लागू गर्छ। के यस्ताहरूसँग चालबाजीहरू हुँदैनन् र? वास्तवमा धेरै हुन्छन्! बाहिरी रूपमा, तिनीहरू राम्रो बोल्छन् र स्विकारेको नाटक गर्छन्, र यसरी तिनीहरू सबैलाई तिनीहरू कामप्रति निकै जिम्मेवार छन्, तिनीहरूले आफ्नो पद र हैसियत त्याग्न सक्छन्, तिनीहरू निरङ्कुश होइनन्, बरु माथिले वा अरूले गर्ने सुपरिवेक्षण स्विकार्न सक्छन् भनेर विश्वास गराउँछन्—तिनीहरूले यसो गर्दा, दाजुभाइ-दिदीबहिनीहरूलाई विभिन्न कुराका फाइदा र हानिहरूबारे “स्पष्ट पार्छन्”, र विभिन्न परिस्थितिबारे पनि “स्पष्ट पार्छन्।” तिनीहरूको लक्ष्य के हुन्छ? अरू मानिसहरूको हस्तक्षेप, सोधपुछ, वा सुपरिवेक्षण स्वीकार नगर्नु, अनि आफ्नो अहिलेको काम गर्ने शैली उचित, सही, र परमेश्वरको घरका कार्य बन्दोबस्तहरूअनुरूप छन्, र कार्यका सिद्धान्तहरूसँग मिल्दो छन्, त्यसकारण अगुवाका रूपमा तिनीहरूले सिद्धान्तहरूअनुरूप व्यवहार गरिरहेका छन् भनेर दाजुभाइ-दिदीबहिनीहरूलाई सोच्न लगाउनु। वास्तवमा मण्डलीका थोरै मानिसले मात्रै सत्यता बुझेका हुन्छन्; धेरैजसो मानिस निस्सन्देह सही र गलत छुट्याउन सक्दैनन्, तिनीहरू ख्रीष्टविरोधीहरूको वास्तविकतालाई देख्न सक्दैनन्, जसले गर्दा स्वाभाविक रूपमै तिनीहरू ती ख्रीष्टविरोधीहरूको बहकाउमा पर्छन्। उदाहरणका लागि, कतिपय मानिसले केही निश्चित कारणले निद्रा गुमाउँछन्। तिनीहरू रातभरि नसुती बस्छन्। यस्ता दुई प्रकारका मानिस हुन्छन्, र तिनीहरूले निद्रा गुमाएका छन् भन्ने कुरा दुई तरिकाले बाहिर देखा पर्छ। पहिलो प्रकारका मानिसहरू दिनको समयमा मौका पाउनेबित्तिकै सुतिहाल्छन्। तिनीहरू अरूलाई तिनीहरू सुतेका छैनन् भन्ने कुरा थाहै दिँदैनन्। यो एउटा परिस्थिति, कामकुरा यसरी हुने एउटा तरिका हो। यसको पछाडि कुनै अभिप्राय हुँदैन। अर्को प्रकारको व्यक्ति खाना खाँदा झुल्छ र सबैलाई भन्छ, “हिजो राति म सत्दै सुतिनँ!” कसैले सोध्छ, “किन सुत्नुभएन?” अनि ऊ भन्छ, “अनलाइन भेला थियो, र मैले कामका केही समस्याहरू भेट्टाएँ। म ती कुराहरू समाधान गर्न रातभरि बसेँ।” यस्ताहरूले आफू रातभरि सुतेको छैन भन्दै निरन्तर घोषणा गरिरहन्छन्। के तिनीहरू रातभरि बस्न अनिच्छुक थिए? तिनीहरूले किन समूहसामु यो कुरा बखान गरिरहेका हुन्छन्? अनि के त्यो बखानभित्र केही कुरा लुकेको हुन्छ? तिनीहरूको उद्देश्य के हुन्छ? तिनीहरू आफूले के गरेँ भन्ने कुरा अरूलाई थाहा नहोला भन्ने डरले सम्पूर्ण संसारलाई आफ्नो कुरा बताउन चाहन्छन्। तिनीहरू आफूले कष्ट भोगेको, रातभरि नसुतेको, परमेश्वरमाथिको विश्वासमा मूल्य चुकाउन तयार रहेको, र आरामको लोभ नगर्ने गरेको कुरा सबैलाई थाहा होस् भन्ने चाहन्छन्। यसमार्फत, तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूको सहानुभूति र अनुमोदन प्राप्त गर्न चाहन्छन्। तिनीहरू यस्तो सतही कुरा प्रस्तुत गरेर मानिसहरूको हृदय फुस्ल्याउँछन्, र त्यसो गरेर अरूलाई आफ्नो आदर गर्ने बनाउँछन्, र मानिसहरूको हृदयमा प्रतिष्ठा हासिल गर्छन्। अनि तिनीहरूले हैसियत प्राप्त गरेपछि, अवश्य नै अख्तियारसाथ बोल्छन्। के तिनीहरूले अख्तियारसाथ बोल्दा, हैसियतसँग आउने विशेष व्यवहार पाउँदैनन् र? (पाउँछन्।) के तिनीहरूले यो मौका राम्ररी छोपेका छन् भन्ने तँलाई लाग्छ? के तिमीहरू आफू राती नसुतेको वा रातभरि बसेको कुरा अरूलाई बताउँछौ? (हामीले बताएका छौँ।) जब तिमीहरूले त्यसो गर्यौ, तब के यो अनजानमा थियो, कि यसपछाडि कुनै अभिप्राय थियो? तिमीहरूले कसैलाई यो कुरा अचानक बतायौ कि तिमीहरूले भव्य घोषणा र नाटक गरिरहेका थियौ? (यो अचानक भयो।) यसलाई अचानक बताउँदा, यसपछाडि कुनै अभिप्राय हुँदैन; यसले स्वभावको समस्यालाई सङ्केत गर्दैन। यो कुरा जानीजानी बोल्नु र अनजानमा बोल्नुको प्रकृतिमा अवश्य नै भिन्नता हुन्छ। जब कुनै ख्रीष्टविरोधीले काम गर्छ, तब उसले बाहिरी रूपमा अरूको हस्तक्षेप र सोधपुछ स्वीकार गरिरहेको जस्तो देखिए नि, वा उसले ती कुरा ठाडै इन्कार गरिरहेको भए नि—कुरा जे भए नि, उसले गरिरहेको कामपछाडि के मनसाय हुन्छ? तिनीहरूले हैसियत र शक्ति पक्रिरहेका हुन्छन्, र तिनीहरू यसलाई छोड्दैनन्। के तिनीहरूको मनसाय त्यही होइन र? (हो।) ठिक भन्यौ—तिनीहरूले मरीमरी प्राप्त गरेको शक्ति, मरीमरी प्राप्त गरेको हैसियत र प्रतिष्ठा ध्यान हटेको बेला यत्तिकै फुत्किन दिँदैनन्; तिनीहरू आफ्नो काममा हस्तक्षेप गरेर वा यसबारे सोधपुछ गरेर तिनीहरूको शक्ति र प्रभाव कमजोर बनाउन कसैलाई दिँदैनन्। तिनीहरू यस्तो विश्वास गर्छन्: कर्तव्य निर्वाह गर्नु, कामको कार्यक्रम लिनु साँचो कर्तव्य होइन, र तिनीहरूले यसलाई दायित्वका रूपमा गर्नु पर्दैन; बरु, यो त निश्चित शक्ति प्राप्त गर्न, र केही मानिसलाई आफ्नो नियन्त्रणमा राख्नका लागि हो। तिनीहरू शक्ति पाएपछि आफूले अब कसैसँग सल्लाह लिनु पर्दैन, बरु अब आफूसँग इन्चार्ज बन्ने मौका र शक्ति हुन्छ भन्ने विश्वास गर्छन्। तिनीहरूको कर्तव्यप्रतिको मनोवृत्ति यस्तै हुन्छ।
अरू केही व्यक्ति माथिले तिनीहरूको कामबारे सोधपुछ गर्दा झारा मात्र टार्छन्। तिनीहरू सतही प्रस्तुति दिन्छन् र केही हल्काफुल्का मामिलाहरूबारे सोध्छन्, मानौँ तिनीहरू सत्यता खोजी गर्ने व्यक्ति हुन्। उदाहरणका लागि, यदि स्पष्ट रूपमा अवरोध र बाधा हुने कुनै घटना भयो भने, तिनीहरूले यो पैदा गर्ने व्यक्तिलाई तह लगाउनुपर्छ कि पर्दैन भनेर माथिलाई सोध्नेछन्। के त्यस्तो कुरा तिनीहरूको कामकै भाग होइन र? (हो।) यसबारे माथिलाई सोध्नुपछाडिको तिनीहरूको उद्देश्य के हुन्छ? तिनीहरू तँलाई तिनीहरूको देखावटी रूप देखाउन र तिनीहरू त्यस्ता कुराहरूसमेत सोध्छन् भने त्यो तिनीहरू निष्क्रिय छैनन्, तिनीहरूले काम गरिरहेका छन् भन्ने प्रमाण हो भनेर देखाउन चाहन्छन्। तिनीहरूले तँलाई बहकाउन देखावटी रूप मात्रै बनाइरहेका हुन्छन्। वास्तवमा तिनीहरूको हृदयमा केही वास्तविक समस्या हुन्छन्, र ती समाधान गर्न कसरी सत्यतामा सङ्गति गर्ने भनेर तिनीहरूलाई थाहा हुँदैन, न त कुन सिद्धान्तहरू अभ्यास गर्नुपर्छ भन्ने नै थाहा हुन्छ। मानिस र मामलाहरू सम्हाल्ने क्रममा केही कुरा तिनीहरूलाई अस्पष्ट हुन्छन्, तर तिनीहरू कहिल्यै तीबारे सोध्ने वा खोजी गर्ने गर्दैनन्। तिनीहरू हृदयमा यी कुराहरूबारे अनिश्चित हुने हुनाले, के तिनीहरूले यी कुराहरूबारे माथिलाई सोध्नुपर्दैन र? (पर्छ।) तिनीहरू यी कुराहरूबारे निश्चित हुँदैनन् र तिनको वास्तविकता छर्लङ्गै देख्न सक्दैनन्, बरु अन्धाधुन्ध काम गरिरहन्छन्—त्यसका परिणामहरू के हुनेछन्? के तिनीहरूले के हुनेछ भनेर भविष्यवाणी गर्न सक्छन्? के तिनीहरूले ती परिणामहरूको जिम्मेवारी लिन सक्छन्? अहँ, सक्दैनन्। त्यसोभए, तिनीहरू किन यी कुराहरूबारे सोध्दैनन्? तिनीहरूले नसोध्नुको पछाडि केही विचार हुन्छन्। एउटा कारणचाहिँ माथिले तिनीहरूको वास्तविकता पत्ता लगाउँछ भन्ने डर हो: “यदि मैले यो सानो कुरासमेत सम्हाल्न सकिनँ, र यसबारे सोध्नुपऱ्यो भने, माथिले मेरो क्षमता त्यति राम्रो छैन भन्ने सोच्नेछ। के यसले गर्दा माथिले मेरो वास्तविकता छर्लङ्गै देख्नेछैन र?” यसमा के कुरा पनि विचार गरिएको हुन्छ भने, यदि तिनीहरूले सोधे, र माथिको निर्णय तिनीहरूको दृष्टिकोणसँग बाझिन्छ र त्यो फरक हुन्छ भने, तिनीहरूलाई छनौट गर्न गाह्रो हुनेछ। यदि तिनीहरूले माथिले भनेको कुरा गरेनन् भने, तिनीहरूले कामका सिद्धान्तहरू उल्लङ्घन गरिरहेका छन् भनेर माथिले भन्नेछ; यदि तिनीहरूले त्यो कुरा गरे भने, तिनीहरूका हितहरूमा हानि पुग्नेछ। त्यसकारण, तिनीहरू सोध्दैनन्। के त्यो कुरा विचार गरिएको हुँदैन र? (हुन्छ।) हो। यी कुराहरू विचार गर्ने तिनीहरू कस्ता व्यक्ति हुन्? (ख्रीष्टविरोधीहरू।) तिनीहरू साँच्चै नै ख्रीष्टविरोधी हुन्। कुनै पनि कुराबारे तिनीहरूले सोधे नि नसोधे नि, त्यसबारे कुरा उठाए पनि वा सोचे मात्रै भने पनि, तिनीहरूले सत्यताको खोजी गर्दैनन् वा त्यो कुरालाई सिद्धान्तहरूअनुसार व्यवहार गर्दैनन्; सबै कुरामा, तिनीहरू आफ्नै हितहरूलाई पहिलो स्थानमा राख्छन्। तिनीहरूको हृदयमा एउटा सूची हुन्छ, जसमा तिनीहरूले माथिलाई सोधपुछ गर्न र थाहा दिन सक्ने कुराहरू, र तिनीहरूले माथिलाई पटक्कै थाहा दिन नचाहने कुराहरू हुन्छन्। तिनीहरूले ती क्षेत्रहरूलाई सीमाङ्कित गरेर दुई वर्गमा विभाजित गरेका हुन्छन्। तिनीहरू माथिलाई टार्नका लागि तिनीहरूको हैसियतमा कुनै खतरा नपुर्याउने ती सानातिना कुराहरूबारे माथिसँग उत्सुकतासाथ कुरा गर्छन्; तर आफ्नो हैसियतलाई खतरामा पार्न सक्ने कुराहरूबारे, एक शब्द बोल्दैनन्। अनि यदि माथिले ती कुराहरूबारे सोध्यो भने, तिनीहरू के गर्छन्? तिनीहरूले उनीहरूलाई टार्न केही शब्दहरू बोल्नेछन्; तिनीहरूले भन्नेछन्, “ठिक छ, हामी यसबारे छलफल गर्नेछौँ … हामी निरन्तर खोजी गर्नेछौँ …”—प्रतिरोध मान्न सकिने कुनै कुरा नबोली, तँलाई मीठो-मीठो आश्वासन दिन्छन्। हेर्दा त, तिनीहरू निकै समर्पित देखिन्छन्—तर वास्तवमा, तिनीहरूका आफ्नै हिसाबकिताब हुन्छन्। तिनीहरूसँग माथिलाई निर्णय गर्न दिने कुनै योजना हुँदैन; माथिका सुझावहरू लिने र उनीहरूलाई निर्णय गर्न दिने, वा माथिबाट कुनै मार्ग खोज्ने कुनै योजना हुँदैन। तिनीहरूको त्यस्तो कुनै योजना हुँदैन। तिनीहरू माथिलाई हस्तक्षेप गर्न वा वास्तवमा के भइरहेको छ भनेर थाहा दिन चाहँदैनन्। त्यसोभए माथिलाई थाहा हुँदा, तिनीहरूलाई के खतरा हुन्छ त? (तिनीहरू आफ्नो हैसियतमा असुरक्षित हुनेछन्।) तिनीहरू आफ्नो हैसियतमा असुरक्षित हुने मात्र होइनन्—तिनीहरूका योजना र उद्देश्यहरू अब लागू गर्न नसकिने बन्छन्, र यसरी तिनीहरूले आफ्नो दुष्कर्ममा वैधता पाउन सक्नेछैनन्; तिनीहरूले अब आफ्ना योजनाहरू वैध रूपमा, खुलस्त ढङ्गले र निर्लज्जसँग लागू गर्न सक्नेछैनन्। तिनीहरूले सामना गर्ने समस्या यही हो। त्यसोभए, के तिनीहरू आफूलाई फाइदा हुने तरिकाले कसरी व्यवहार गर्ने भनेर निधो गर्न सक्छन् त? तिनीहरू यसबारे अवश्य नै विचार र हिसाबकिताब गर्छन्। के तिमीहरू पनि यस्ता कुराहरू सामना गर्छौ? त्यसोभए तिमीहरू तिनीहरूबारे के सोच्छौ? तिमीहरू तिनलाई कसरी लिन्छौ? म एउटा उदाहरण दिन्छु। एकपटक एक व्यक्ति अगुवा बन्यो र यसैमा ऊ लागिपर्यो; उसलाई सधैँ अरूको आदर पाउन अरूको अगाडि देखावा गर्न मन पर्थ्यो। उसले आफूले चिनेको एक जना गैरविश्वासी भेट्यो, र त्यस व्यक्तिले पैसा सापट लिन चाह्यो। त्यस गैरविश्वासीले यति दयनीय तरिकाले आफ्नो मामला सुनायो कि अगुवाले आवेग र क्षणिक जोसमा सहमति जनायो, त्यसपछि उसले शान्त भएर कुनै हिचकिचाहट नमानी सोच्यो, “मण्डलीको अगुवा म नै हुँ—मण्डलीको पैसाबारे मेरै हैकम चल्नुपर्छ। जब परमेश्वरको घर, मण्डली, र भेटीहरूका सन्दर्भमा—मैले अख्तियार पाएको छु, त्यसैले मैले भनेकै कुरा लागू हुन्छ। आर्थिक कुराहरू व्यवस्थापन गर्ने काम मेरै हो, र कर्मचारी व्यवस्थापन गर्ने काम पनि मेरै हो—यो सबै कुराबारे मेरै हैकम चल्छ!” त्यसकारण, उसले परमेश्वरको घरको पैसा त्यस गैरविश्वासीलाई ऋण दियो। यसो गरेपछि, उसलाई अलिक अप्ठ्यारो लाग्यो, र यसबारे माथिलाई भन्ने कि नभन्ने भनेर विचार गर्यो। यो कुरा उसले भनेको भए, माथिले यसमा सहमति जनाउन सक्दैनथ्यो—त्यसकारण, उसले माथिलाई छल गर्न झूट र बहानाहरू बनाउन थाल्यो। माथिले उसलाई सत्यता सिद्धान्तहरूबारे सङ्गति दियो, तैपनि उसले यसमा कुनै ध्यान दिएन। उसले यसरी नै खुसुखुसु भेटीहरू दुरुपयोग गर्ने दुष्ट कार्य गर्यो। त्यस्तो व्यक्तिले किन भेटीका विषयमा योजना बनाउने आँट गर्छ? तँ केवल मण्डली अगुवा होस्—के तँसँग भेटी व्यवस्थापन गर्ने अधिकार छ? के तैँले भेटी र आर्थिक मामलाहरूबारे हैकम चलाउन पाउँछस्? यदि तँ सामान्य मानवता र समझ भएको, सत्यता पछ्याउने व्यक्ति होस् भने, तैँले परमेश्वरका भेटीहरूलाई कसरी व्यवहार गर्नुपर्छ? के भेटीहरूसँग सम्बन्धित मामलाहरूबारे परमेश्वरको घरले के निर्णय गर्छ भनेर हेर्न माथिलाई बताउनुपर्दैन र? के यस्तो ठूलो कुराबारे जान्ने अधिकार माथिसँग हुँदैन र? हुन्छ। यो तैँले हृदयमा स्पष्ट रूपमा बुझ्नुपर्ने कुरा हो; तँमा हुनुपर्ने समझ यही हो। आर्थिक मामलाहरूको हकमा भन्दा, ठूलो र सानो रकम दुवैको हकमा, माथिलाई जान्ने अधिकार हुन्छ। माथिले सोध्दैन भने त्यो एउटा कुरा हो—तर माथिले सोध्यो भने, तैँले साँचो जवाफ दिनुपर्छ, र माथिले जेसुकै निर्णय गरे पनि तँ त्यसमा समर्पित हुनुपर्छ। के तँसँग हुनुपर्ने समझ यही होइन र? (हो।) तर के ख्रीष्टविरोधीहरू यसो गर्न सक्छन् त? (सक्दैनन्।) ख्रीष्टविरोधीहरू र सामान्य मानिसहरूबीच रहेको भिन्नता त्यही हो। यदि तिनीहरूलाई माथिले कुनै कुराप्रति सहमति नदिने, र तिनीहरूको आत्मसम्मानमा चोट पुग्ने सम्भावना शतप्रतिशत छ भन्ने लाग्यो भने, तिनीहरू यो लुकाउन, माथिलाई यो कुरा थाहा नदिन हरकिसिमका उपायहरू खोज्छन्। तिनीहरू आफूमुनिका मानिसहरूलाई धम्कीसमेत दिएर भन्छन्: “यदि कसैले यो कुरा खुलासा गर्यो भने, ऊ मेरो विरुद्ध हुन्छ। उसले मेरो भनाइ खानेछ। चाहे जेसुकै होस्, म उसलाई तह लाउनेछु!” अनि तिनीहरूका ती डरलाग्दा शब्दहरू सुनेपछि, यो कुरा कसैले पनि माथि रिपोर्ट गर्ने आँट गर्दैन। तिनीहरू किन त्यसो गर्छन्? तिनीहरू ठान्छन्, “यो मेरो अख्तियारको क्षेत्रभित्र पर्छ। मेरो अधिकार क्षेत्रभित्र रहेका मानिस, पैसा, र सामग्रीहरू परिचालन र बाँडफाँट गर्ने अधिकार मसँग छ!” परिचालन र बाँडफाँट गर्ने तिनीहरूका सिद्धान्तहरू केके हुन्? तिनीहरू आफूले चाहेअनुसार बन्दोबस्तहरू गर्छन्, र कुनै पनि सिद्धान्तहरू लागू नगरी स्वेच्छाचारी ढङ्गले पैसा र सामग्रीहरू प्रयोग गर्छन् र बाँड्छन्, तिनीहरू यी कुराहरू अन्धाधुन्ध उडाउँछन् र बरबाद गर्छन्, तर हस्तक्षेप गर्ने अधिकार अरू कसैसँग हुँदैन—यी सबै कुरामा हैकम चलाउने तिनीहरू नै हुनुपर्छ। के तिनीहरू यस्तै सोच्दैनन् र? अवश्य नै, तिनीहरूले यस्तो कुरा स्पष्ट रूपमा भन्दैनन्—तर हृदयमा, तिनीहरूले ठ्याक्कै यही सोचिरहेका हुन्छन्: “आधिकारिक पद हुनुको के अर्थ? के यो सबै पैसा, र खानलाउनकै लागि होइन र? अहिले, म आधिकारिक पदमा छु; मसँग त्यो हैसियत छ। के मैले आफूले चाहेअनुसार गर्नका लागि आफ्नो शक्ति प्रयोग नगर्नु मूर्खता हुनेछैन र?” के तिनीहरू यही विश्वास गर्दैनन् र? (गर्छन्।) तिनीहरूमा यस्तो स्वभाव हुने भएकाले, र तिनीहरूले यस्तो विश्वास गर्ने हुनाले, नैतिकताबारे कति पनि नसोची, र कुनै पनि परिणामबारे ध्यान नदिई, तिनीहरू यस्तो कुरालाई आफूले कल्पना गर्न सक्ने जुनसुकै तरिका र माध्यम प्रयोग गरेर लुकाउने आँट गर्छन्। कुरा यही होइन र? (हो।) तिनीहरू कुरा सही हो कि होइन, वा गर्नुपर्ने सही कुरा के हो, वा सिद्धान्तहरू केके हुन् भनेर मूल्याङ्कन गर्दैनन्। तिनीहरू यी कुराहरू विचार गर्दैनन्; तिनीहरू आफ्ना हितहरू कसले हेरचाह गर्नेछ भन्ने कुरा मात्रै विचार गर्छन्। ख्रीष्टविरोधीहरू धूर्त, स्वार्थी, र दुष्ट व्यक्ति हुन्! तिनीहरू कति दुष्ट हुन्छन्? यसलाई एउटै शब्दमा व्याख्या गर्न सकिन्छ: तिनीहरू लाज पचेका हुन्छन्! ती मानिसहरू तेरा होइनन्, न त ती कुरा नै तेरा हुन्, झन् त्यो पैसा तेरो हुनु त परको कुरा हो—तैपनि तँ यसलाई आफ्नै पैसाका रूपमा लिन, र आफूलाई इच्छा लागेअनुसार प्रयोग गर्न चाहन्छस्। अरूसँग त यसबारे जान्ने अधिकारसमेत हुँदैन; तैँले ती कुराहरू उडाइस् र बरबाद गरिस् नै भने पनि, अरूसँग सोधपुछ गर्ने अधिकार हुँदैन। तँ कुन हदसम्म पुगेको छस्? तँ लाजमर्दो अवस्थामा पुगेको छस्! के यो लाजमर्दो कुरा होइन र? (हो।) त्यो ख्रीष्टविरोधी हो। पैसाको हकमा औसत व्यक्तिसँग कस्तो सीमा हुन्छ जसलाई उसले पार गर्दैन? तिनीहरू ती परमेश्वरका भेटी हुन्, र भेटीहरू परमेश्वरका चुनिएका मानिसहरूले उहाँलाई दिएका हुन्छन्, त्यसकारण ती परमेश्वरका हुन्—र कतिपयले भनेजस्तै, ती उहाँका “व्यक्तिगत सम्पत्ति” हुन् भन्ने सोच्छन्। जुन कुरा परमेश्वरको हो त्यो सर्वसाधारणको होइन, न त त्यो कुनै व्यक्तिको नै हो। परमेश्वरको घरको मालिक को हो? (परमेश्वर।) हो, त्यो मालिक परमेश्वर हो। अनि परमेश्वरको घरमा के समावेश हुन्छ? यसमा हरेक मण्डलीका उहाँका चुनिएका मानिसहरू, साथै हरेक मण्डलीका सबै आपूर्तिका सरसामान र सम्पत्ति समावेश हुन्छन्। यी सबै कुरा परमेश्वरकै हुन्। ती कुनै पनि व्यक्तिका होइनन्, र तिनलाई आफूखुसी प्रयोग गर्ने अधिकार कसैको हुँदैन। के ख्रीष्टविरोधीले यस्तो सोच्छन्? (सोच्दैनन्।) तिनीहरू के विश्वास गर्छन् भने, भेटी जसले व्यवस्थापन गर्छ, जसले त्यसबाट फाइदा लिने मौका पाउँछ त्यो उसैको हो, र यदि कुनै व्यक्ति अगुवा हो भने, त्यसको आनन्द लिने अधिकार उसको हुन्छ। त्यसकारण तिनीहरू निरन्तर आफ्नो सबै शक्तिले हैसियत पछ्याइरहेका हुन्छन्। तिनीहरूले यो कुरा प्राप्त गरेपछि, बल्ल तिनीहरूका सबै आशा पूरा भएका हुन्छन्। तिनीहरू किन हैसियत पछ्याउँछन्? यदि तैँले तिनीहरूलाई सिद्धान्तअनुसार काम गराएर परमेश्वरका चुनिएका मानिसहरूलाई इमानदारीपूर्वक अगुवाइ गर्न लगाए पनि, तिनीहरूलाई मण्डलीको सम्पत्ति वा परमेश्वरको भेटी छुन नदिएको भए, के तिनीहरू अझै माथि जाने आफ्नो प्रयासमा यति सक्रिय हुनेथिए? अवश्य नै हुनेथिएनन्। तिनीहरूले निष्क्रिय भई प्रतीक्षा गर्नेथिए, र परिस्थितिलाई आफै अघि बढ्न दिनेथिए। तिनीहरूले यस्तो सोच्नेथिए, “यदि म निर्वाचित भएँ भने, म काम गर्नेछु र आफ्नो कर्तव्य राम्ररी पूरा गर्नेछु; यदि निर्वाचित भइनँ भने, म कसैको पछि लाग्नेछैनँ। म यसबारे केही भन्ने वा गर्नेछैनँ।” ख्रीष्टविरोधीहरू अगुवाका रूपमा मण्डलीको सबै सम्पत्तिमा हुकुम चलाउने र आनन्द लिने अधिकार व्यक्तिसँग हुन्छ भनेर सोचेको कारणले नै, हैसियत प्राप्त गर्न र हैसियतले ल्याउने सबै कुराको आनन्द लिन दिमाग खियाउँदै माथि चढ्ने प्रयास गर्छन्, र लाज पचाउने हदसम्म पुग्छन्। लाजपचुवा हुनु भनेको के हो? यसको अर्थ लाजमर्दा कुराहरू गर्नु हो—लाजपचुवा हुनु भनेको यही हो। यदि कसैले तिनीहरूलाई “तपाईँले जे गरिरहनुभएको छ त्यो अत्यन्तै लाजमर्दो कुरा हो!” भनेर भन्यो भने पनि, तिनीहरू कुनै वास्ता गर्दैनन्, बरु यस्तो सोच्छन्, “यसमा त्यस्तो लाजमर्दो कुरा के छ र? कसलाई हैसियत मन पर्दैन र? हैसियत पाउँदा कस्तो महसुस हुन्छ के तिमीलाई थाहा छ? पैसामा नियन्त्रण जमाउन पाउँदा कस्तो हुन्छ, थाहा छ? के तिमीलाई त्यो आनन्द थाहा छ? के तिमीलाई त्यो विशेष लाभको अनुभूति थाहा छ? के तिमीले यसको स्वाद चाखेका छौ?” ख्रीष्टविरोधीहरू हृदयभित्र हैसियतलाई यसरी नै हेर्छन्। ख्रीष्टविरोधीहरू आफूले हैसियत प्राप्त गरेपछि, सबै कुरा नियन्त्रण गर्न चाहन्छन्। तिनीहरूले परमेश्वरका भेटीहरू पनि आफ्नो नियन्त्रणमा लिनेछन्। तिनीहरू पैसा खर्च हुने मण्डलीको कामको कुनै पनि पक्षबारे माथिबाट परामर्श नलिई हैकम जमाउन चाहन्छन्। तिनीहरू परमेश्वरको घरको पैसाको मालिक बन्छन्, र परमेश्वरको घर तिनीहरूको बन्छ। तिनीहरूसँग यसबारे अन्तिम निर्णय आफै गर्ने, यसलाई के गर्ने भनेर आफै निर्धारित गर्ने, आफूले चाहेअनुसार त्यो पैसा यस व्यक्ति र त्यस व्यक्तिलाई दिने, र एकएक पैसा कसरी खर्च गर्ने भनेर आफै निर्धारित गर्ने अधिकार हुन्छ। परमेश्वरका भेटीहरूको हकमा भन्दा, तिनीहरू सिद्धान्तअनुसार कहिल्यै होसियारी र सतर्कतासाथ कार्य गर्दैनन्; यसको साटो, तिनीहरू अनावश्यक रूपमा खर्चालु हुन्छन्, र तिनीहरूले जे भन्छन् त्यही हुन्छ। त्यस्तो व्यक्ति खाँटी ख्रीष्टविरोधी हो।
एकपटक एक व्यक्तिले परमेश्वरका भेटीहरू गुप्त रूपले दुरुपयोग गर्यो, जुन गम्भीर समस्या थियो, यो साधारण अपराध थिएन; यो उसको प्रकृति सारको समस्या थियो। जब ऊ कतिपय मामला सम्हाल्दा गैरविश्वासीहरूसँग अन्तरक्रिया गर्थ्यो, तब ऊ आफूसँग पैसा र शक्ति छ भन्ने मानिसहरूलाई सोच्न लगाउन देखावा गरिरहन्थ्यो। परिणामस्वरूप, मानिसहरूले उसलाई पैसा सापट मागे। यस व्यक्तिले तिनीहरूलाई इन्कार गरेन मात्र होइन, बरु उल्टै तिनीहरूलाई पैसा ऋण दिनेसमेत वचन दियो, र त्यसपछि परमेश्वरको घरविरुद्ध छली तरकिब प्रयोग गरेर त्यसो गर्यो। यस व्यक्तिमा गम्भीर समस्या थियो। तैँले यस्तो ठूलो मामला आइपर्दा माथि रिपोर्ट गर्नुपर्छ, र तथ्यहरू व्याख्या गर्नुपर्छ; तैँले श्रेय पाउन र आत्मसम्मान जोगाउनको खातिर परमेश्वरका भेटीहरू प्रयोग गर्दै मानिसहरूसँग व्यवहार गर्नु हुँदैन। परमेश्वरको डर मान्ने हृदय भएको समझदार व्यक्तिले यस्ता कुराहरू सामना गर्दा तिनलाई यसरी नै सम्हाल्छ। तर के ख्रीष्टविरोधीहरू त्यसो गर्छन् त? तिनीहरूलाई किन ख्रीष्टविरोधी भनिन्छ? किनभने तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय हुँदै हुँदैन; तिनीहरू आफूले चाहेअनुसार काम गर्छन्, र परमेश्वर, सत्यता, र परमेश्वरका वचनहरूलाई बेवास्ता गर्छन्। तिनीहरूसँग परमेश्वरप्रति कुनै साँचो समर्पण हुँदैन, र तिनीहरू आफ्नै हित, आफ्नै ख्याति, प्राप्ति, र हैसियतलाई सबैभन्दा महत्त्व दिन्छन्। तिनीहरू मण्डली अगुवा र कामदारहरूलाई बहकाएर गैरविश्वासीहरूलाई पैसा ऋण दिन छलपूर्ण माध्यमहरू प्रयोग गर्छन्। के त्यो तिनीहरूको पैसा हो र? एक-दुई शब्दमै, तिनीहरू सापटी दिन्छन्—के त्यो परमेश्वरका भेटीहरूलाई उपहार बनाउनु होइन र? यो ख्रीष्टविरोधीहरूले गर्ने कुरा हो, र कतिपयले वास्तवमै यस्ता कुराहरू गरेका छन्। तिनीहरूले यस्तो काम गर्न सक्नका लागि, तिनीहरूको स्वभाव दुस्साहसी, अत्यन्तै अहङ्कारी र निकै अन्तर्घाती पनि हुनुपर्छ। के पनि प्रस्टै छ भने तिनीहरू मूर्ख, हुनसम्मकोपटमूर्ख हुन्—तिनीहरू आफूले खनेको खाडलमा आफै पर्छन्। मलाई भन त, त्यस्ता मानिसहरूलाई कसरी तह लाउनुपर्छ? (तिनीहरूलाई निष्कासित गर्नुपर्छ।) त्यति मात्र? निष्कासन मात्र? कसले ती घाटाहरू पूर्ति गर्छ? तिनीहरूलाई क्षतिपूर्ति गर्न लाउनुपर्छ, त्यसपछि निष्कासित गर्नुपर्छ। ख्रीष्टविरोधीहरूले त्यस्तो काम गर्न सक्ने हुँदा, के तिनीहरू निर्लज्ज हुँदैनन् र? तिनीहरू प्रधान स्वर्गदूतभन्दा कसरी फरक हुन्छन् र? प्रधान स्वर्गदूतले लाजलज्जाविना भन्नेथ्यो, “स्वर्ग र पृथ्वी अनि यावत् थोक सृष्टि गर्ने म नै हुँ—मानवजाति त मैले नियन्त्रण गर्ने कुरा हुन्!” यसले मानवजातिलाई मनलागी ढङ्गले कुल्चीमिल्ची पार्छ र भ्रष्ट तुल्याउँछ। जब ख्रीष्टविरोधीले शक्ति लिन्छ, तब त्यसले भन्छ, “तिमीहरू सबैले मलाई विश्वास गर्नुपर्छ र मलाई पछ्याउनुपर्छ। यहाँ म शासन गर्छु, र म नै अन्तिम निर्णय गर्छु। सबै मामलामा मलाई सोध, र मण्डलीको पैसा मकहाँ ल्याओ!” कति मानिसहरू भन्छन्, “हामीले तपाईंलाई मण्डलीको पैसा किन दिनुपर्यो?” अनि ख्रीष्टविरोधीले भन्छ, “म अगुवा हुँ। यसको व्यवस्थापन गर्नु मेरो अधिकारको कुरा हो। मैले भेटीलगायत सबै कुरा व्यवस्थापन गर्नुपर्छ!” अनि त्यसपछि, तिनीहरू सबै कुरा आफ्नो नियन्त्रणमा लिन्छन्। ख्रीष्टविरोधीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्नो जीवन प्रवेशमा केकस्ता समस्या वा कठिनाइहरू छन्, वा तिनीहरूलाई कुनकुन प्रवचनका पुस्तकहरू र परमेश्वरका वचनहरूको कमी छ भन्नेबारे वास्ता गर्दैनन्। तिनीहरूले वास्ता गर्ने भनेको त मण्डलीको पैसा कसले सुरक्षित राख्छ, र त्यो कति छ, र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने मात्र हो। यदि माथिले त्यो मण्डलीको आर्थिक स्थितिबारे सोधपुछ गर्यो भने, तिनीहरूले मण्डलीको पैसा हस्तान्तरण नगर्ने मात्र होइनन्—तिनीहरू माथिलाई तथ्यहरूसमेत थाहा पाउन दिँदैनन्। किन तिनीहरू त्यसो गर्दैनन्? किनभने तिनीहरू मण्डलीको पैसा हिनामिना गर्न र आफ्नै लागि लिन चाहन्छन्। ख्रीष्टविरोधीहरूलाई भौतिक कुरा अनि पैसा, र हैसियतप्रति सबैभन्दा बढी चासो हुन्छ। तिनीहरू बाहिरी रूपमा जसरी बोल्छन्, त्यस्ता हुँदैनन्, “म परमेश्वरमा विश्वास गर्छु। म संसारको पछि लाग्दिनँ, र म पैसाको लोभ गर्दिनँ।” तिनीहरू आफूले बोलेजस्तो हुँदै हुँदैनन्। तिनीहरू किन आफ्ना सबै शक्तिले हैसियत पछ्याउने र त्यसलाई कायम राख्ने गर्छन्? किनभने तिनीहरू आफ्नो अधिकारभित्र पर्ने सबै कुरा खासगरी पैसा र भौतिक कुराहरू प्राप्त गर्न, वा नियन्त्रण र कब्जा गर्न चाहन्छन्। तिनीहरू यो पैसा र यी भौतिक कुराहरू आफ्नो हैसियतबाट आएका लाभ हुन् जस्तो गरी आनन्दसाथ प्रयोग गर्छन्। तिनीहरू नाम र तथ्य दुवैमा शैतानको प्रकृति सार भएका प्रधान स्वर्गदूतका खाँटी सन्तान हुन्। हैसियत पछ्याउने र पैसालाई महत्त्व दिने सबै मानिसको स्वभाव सारमा निश्चय नै समस्या हुन्छ। यो कुरा तिनीहरूमा ख्रीष्टविरोधी स्वभाव हुनुजस्तो सरल कुरा होइन: तिनीहरू अत्यन्तै महत्त्वाकाङ्क्षी हुन्छन्। तिनीहरू परमेश्वरको घरको पैसा नियन्त्रण गर्न चाहन्छन्। यदि तिनीहरूलाई कुनै कामको जिम्मेवारी दिइयो भने, सर्वप्रथम तिनीहरू अरूलाई हस्तक्षेप गर्न दिँदैनन्, न त माथिको सोधपुछ वा सुपरिवेक्षण नै स्वीकार गर्छन्; यसबाहेक, जब तिनीहरू कुनै पनि कामको सुपरिवेक्षक हुन्छन्, तब आफ्नो शान देखाउने, आफूलाई जोगाउने, र आफूलाई उचाल्ने उपायहरू खोज्छन्। तिनीहरू सधैँ सबैभन्दा माथि उठ्न, र अरूमाथि शासन र नियन्त्रण गर्ने मानिस बन्न चाहन्छन्। तिनीहरूले उच्च हैसियत प्रयोग गर्न र त्यसका लागि प्रतिस्पर्धा गर्न, र परमेश्वरको घरको हरेक भाग, र विशेषगरी यसको पैसा नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूलाई पैसाप्रति विशेष प्रेम हुन्छ। जब तिनीहरू पैसा देख्छन्, तब तिनीहरूको तीन नेत्र बल्छ; तिनीहरू आफ्नो दिमागमा सधैँ पैसाबारे र यसका लागि मेहनत गर्नेबारे सोचिरहेका हुन्छन्। यी सबै ख्रीष्टविरोधीहरूका चिन्ह र सङ्केतहरू हुन्। यदि तैँले तिनीहरूसँग सत्यतामा सङ्गति गरिस्, वा दाजुभाइ-दिदीबहिनीहरूको अवस्था जान्ने प्रयास गरिस्, र तिनीहरूमध्ये कति जना कमजोर र नकारात्मक छन्, तिनीहरू प्रत्येकले कर्तव्यमा केकस्ता परिणामहरू प्राप्त गरिरहेको छ, र तिनीहरूमध्ये कोको कर्तव्यका निम्ति उपयुक्त छैनन् भन्नेजस्ता प्रश्नहरू गरिस् भने, ख्रीष्टविरोधीहरूले चासो दिनेछैनन्। तर जब परमेश्वरका भेटीहरूको कुरा आउँछ—पैसा कति छ, यसको सुरक्षा कसले गरिरहेको छ, यसलाई कहाँ राखिएको छ, यसको पासकोड के हो, भन्नेकुरा आदि—तिनीहरूलाई सबैभन्दा बढी चासो लाग्ने कुरा यही हुन्छ। ख्रीष्टविरोधीलाई यी कुराहरूमा असाधारण ज्ञान हुन्छ। तिनीहरूले यी कुराहरू राम्ररी जानेका हुन्छन्। यो पनि ख्रीष्टविरोधीको सङ्केत हो। ख्रीष्टविरोधीहरू मिठा शब्दहरू बोल्न सिपालु हुन्छन्, तर तिनीहरू वास्तविक काम गर्दैनन्, बरु सधैँ परमेश्वरका भेटीहरूबाट आनन्द लिनेबारे सोचिरहन्छन्। मलाई भन त, के ख्रीष्टविरोधीहरू अनैतिक हुँदैनन्? तिनीहरूमा कुनै मानवता हुँदैन—तिनीहरू पूर्ण रूपमा दियाबलस हुन्। आफ्नो काममा, तिनीहरू सधैँ अरूको हस्तक्षेप, सोधपुछ, र सुपरिवेक्षण गर्न दिँदैनन्। ख्रीष्टविरोधीहरूको आठौँ प्रकटीकरणभित्रको तेस्रो व्यवहार यही हो।
केही समयअघि, एउटा देशको एउटा मण्डलीले भवन किन्यो, र यसलाई नवीकरण गर्नुपर्ने भयो, र संयोग के भयो भने त्यस देशको मण्डली अगुवा ख्रीष्टविरोधी थिई जसले अझै आफ्नो साँचो रूप देखाइसकेकी थिइन। त्यस ख्रीष्टविरोधीले कसैले नचिनेको एउटा व्यक्तिलाई नवीकरणको काम दिई, र ऊसँग उसको सम्बन्ध कस्तो थियो भन्ने कुरा कसैलाई थाहा थिएन। परिणामस्वरूप, त्यो दुष्ट व्यक्तिले त्यस परिस्थितिको फाइदा उठायो, र नवीकरणको काममा खर्च गर्नै नपर्ने धेरै पैसा खेर गयो। त्यो घरसँगै केही उपयोगी फर्निचरहरू आएका थिए, तर ती सबै हटाएर र त्यसको ठाउँमा नयाँ फर्निचर खरिद गरियो। त्यसपछि हटाइएका ती पुराना फर्निचर त्यो दुष्ट व्यक्तिले पैसाका लागि बेचिदियो। ती वास्तवमा भाँचिएका थिएनन्—तिनलाई अझै प्रयोग गर्न सकिन्थ्यो—तर त्यो दुष्ट व्यक्तिले पैसा कमाउन, र परिस्थितिको फाइदा उठाउन नयाँ फर्निचर किन्न थप रकम खर्च गर्यो। के त्यस ख्रीष्टविरोधीलाई यी कुराबारे थाहा थियो? थाहा थियो। त्यसोभए, उसले किन त्यसलाई त्यसरी व्यवहार गर्न अनुमति दिई? किनभने तिनीहरूको सम्बन्ध अवश्य नै अस्वाभाविक किसिमको थियो। कतिपय मानिसले समस्या देखे र तिनीहरूले यो कसरी अघि बढिरहेको छ भनेर हेर्न निर्माण कार्यबारे अनुगमन र जाँच गर्न लागेका थिए। तिनीहरूले निर्माण कार्य हेर्छौँ भनेर भन्नेबित्तिकै, त्यो ख्रीष्टविरोधी चिन्तित भई र अत्तालिई, अनि उसले भनी: “हुँदैन! अन्तिम म्याद अझै आइसकेको छैन—कसैले पनि हेर्न मिल्दैन!” उसको जबाफ अत्यन्तै कडा, अत्यन्तै संवेदनशील थियो—के यसभित्र केही कुरा भइरहेको थियो? (थियो।) अब अलिक सचेत भएका ती मानिसहरूले यस विषयमा छलफल गरे: “यसरी हुँदैन। उसले हामीलाई निर्माणकार्य हेर्न दिँदिन। यहाँ अवश्य नै समस्या छ; हामीले गएर यो स्थल हेर्नुपर्छ।” तर काम पूरा भएर हस्तान्तरण गर्ने बेला नभएसम्म ख्रीष्टविरोधीले यसलाई देखाउने थिइन। मलाई भन त, के ती मानिसहरू भ्रमित भएका थिएनन् र? त्यस ख्रीष्टविरोधीले निर्माणकार्य हेर्न नदिनुको अर्थ त्यहाँ केही भइरहेको थियो भनेर प्रमाण थियो। तिनीहरूले तुरुन्तै माथिलाई रिपोर्ट गर्नुपर्थ्यो, वा उसलाई संयुक्त रूपमा हटाउनुपर्थ्यो, वा गएर जबरजस्ती निर्माणकार्य निरीक्षण र जाँच गर्नुपर्थ्यो। त्यो तिनीहरूको जिम्मेवारी थियो। यदि तिनीहरूले त्यो जिम्मेवारी लिन सक्दैनथे भने, त्यसको अर्थ तिनीहरू व्यर्थका, र अयोग्य कायर थिए। ती अयोग्य कायरहरू अडिग रहन सकेनन्। यो तिनीहरूको आफ्नै घरको समस्या थिएन, त्यसकारण तिनीहरूले यसलाई बेवास्ता गरे। तिनीहरू त्यति स्वार्थी र गैरजिम्मेवार थिए। अनि जब काम पूरा भएर हस्तान्तरण गरियो, तब मैले एउटा भिडियोबाट त्यहाँ समस्या रहेछ भन्ने देखेँ। मैले के समस्या देखेँ? एउटा बैठक कोठाको बीचमा एउटा टेबल थियो, र यसको वरपर झकिझकाउ कार्यालयहरूमा प्रयोग गरिनेजस्तै छालाका कुर्सीहरू थिए। म बस्ने कुर्सीहरू सबै साधारण कुर्सी हुन्, त्यसकारण के ती साधारण मानिसहरूले त्यस्ता झकिझकाउ कुराहरू प्रयोग गर्नुपर्छ त? (पर्दैन।) ती दुईले राखेका फर्निचर त्यस्ता खालका थिए, र त्यहाँका मानिसहरूलाई ती सिटहरूमा बस्दा निकै खुसी लाग्यो। समस्या पत्ता लगाएपछि, मैले त्यस बेइमानलाई कल गरेँ र त्यस विषयमा अनुसन्धान गर्न थालेँ। सबैतिर र हरेक कोठामा जाँच गर्दा, धेरै समस्या रहेको र धेरै आर्थिक घाटा भएको कुरा पर्दाफास भयो। घरका पहिलेका केही फर्निचर प्रयोग गर्न लायक थिए, तैपनि त्यो दुष्ट व्यक्तिले ती निकालेर बेच्यो र पैसा लुँड्यायो; यति मात्र होइन, उसले ती महँगा र नयाँ फर्निचरहरू किन्दा पनि थप पैसा लुँड्यायो; त्यसबाहेक, त्यसले मण्डलीमा राख्न नहुने केही उपकरणहरू पनि मण्डलीमा राखिदियो। त्यो दुष्ट व्यक्तिले कसैसँग सल्लाह नलिई यो काम गरेको थियो। जब उसले यसो गर्यो, तब के त्यस ख्रीष्टविरोधीलाई यसबारे थाहा थियो? उसलाई पक्कै पनि थाहा थियो। ऊ हरेक दिन काम गर्ने ठाउँमा जान्थी, र त्यो कुरा देखेपछि, उसले कुनै रिपोर्ट गरिन, बरु उल्टै उसले गरेको फजुल खर्चमा सहमति जनाई। कस्तो दुस्साहस! के ऊ परमेश्वरको विश्वासी हो त? परमेश्वरमा २० वर्ष विश्वास गरेपछि पनि, ऊ यति घृणित थिई, र उसले यस्तो काम गरी—ऊ कस्तो व्यक्ति हो? ऊ त व्यक्ति नै होइन! गैरविश्वासीहरूमाझ रहेका असल मानिसहरूले पनि त्यसो गर्दैनन्; कस्तो अनैतिकता! माथिले निर्माणकार्यबारे उसलाई हरेकपटक सोध्दा, उसले माथिको आँखामा छारो हाल्न आफूले नजानेजस्तो नाटक गरी, र कुराहरू ढाकछोप गरी र लुकाई, अनि अन्त्यमा धेरै समस्या पैदा भए। त्यसोभए, के उसलाई निष्कासित गरेर घाटा क्षतिपूर्ति गर्नका लागि पैसा कमाउन जागिर खोज्न लाउनु अतिशय हुनेथ्यो? (हुनेथिएन।) मलाई भन त, त्यस ख्रीष्टविरोधीले पैसा फर्काउन सके पनि, के उसले यस जीवनमा शान्ति पाउनेथी? के उसले सहज समय पाउन सक्थी? मलाई त लाग्छ उसले आफ्नो सारा जीवन कष्ट भोगेर बिताउनुपर्नेछ। यदि उसको व्यवहारले यस्तो अवस्था ल्याउनेछ भनेर उसलाई थाहा थियो भने, त्यो बेला उसले आखिर किन यस्तो काम गरी त? आखिर उसले किन त्यसो गरी? यो उसले परमेश्वरमा विश्वास गरेको एक-दुई वर्ष मात्रै भएको कुरा पनि थिएन र उसलाई उहाँको घरका नियमहरू थाहा नभएको, वा परमेश्वरको डर मान्ने हृदय हुनु भनेको के हो, वा बफादारी भनेको के हो भन्ने कुरा थाहा नभएको पनि होइन—उहाँमा विश्वास गरेको यति धेरै वर्षपछि पनि, ऊ पटक्कै परिवर्तन भएकी थिइन, र उसले थोरै सेवा दिन सकेकी भए पनि, उसले अझै यस्तो दुष्कर्म गरी! यति घृणित भएकामा, उसलाई निश्चय नै हटाइनुपर्छ र ऊ श्रापित हुनुपर्छ!
ख्रीष्टविरोधीहरूको कार्य शैलीमा एउटा कुरा आम हुन्छ: तिनीहरूले जुनसुकै काम गरिरहेको भए पनि, अरूलाई हस्तक्षेप वा सोधपुछ गर्न दिँदैनन्। तिनीहरूले सधैँ कुरा लुकाउन र ढाकछोप गर्न चाहन्छन्। तिनीहरूसित कुनै गुप्त योजना हुनैपर्छ; त्यसैले तिनीहरू मानिसहरूलाई आफ्नो कामका समस्याहरू पत्ता लगाउन दिँदैनन्। यदि तिनीहरूले सत्यता र सिद्धान्तहरूअनुरूप, र सफा विवेकले सिधा र स्पष्ट तरिकाले काम गर्ने हो भने, तिनीहरूले केबारे चिन्ता गर्नुपर्छ र? त्यसमा केचाहिँ उल्लेख गर्न नसकिने हुन्छ र? तिनीहरू किन अरूलाई सोधपुछ र हस्तक्षेप गर्न दिँदैनन्? तिनीहरूलाई केको चिन्ता लाग्छ? तिनीहरूलाई केको डर लाग्छ? स्पष्टतया, तिनीहरूले केही न केही योजना बनाएका हुन्छन्—यो अत्यन्तै स्पष्ट कुरा हो! ख्रीष्टविरोधीहरू कुनै पारदर्शिताविना काम गर्छन्। जब तिनीहरूले कुनै खराब काम गरेका हुन्छन्, तब यसलाई लुकाउने र ढाकछोप गर्ने तरिकाहरू सोच्छन्, देखावटी झूटहरू बनाउँछन्, र स्पष्ट छलमा संलग्नसमेत हुन्छन्। यसका परिणामहरू केके हुन्? परमेश्वर सबै कुरा छानबीन गर्नुहुन्छ, र अरू मानिसलाई केही समयका लागि कुनै कुराबारे थाहा नहुने भए पनि, र तिनीहरू केही समयका लागि बहकाउमा पर्न सके पनि, परमेश्वरले यो सब प्रकाश गर्ने दिन आउने नै छ। परमेश्वरको नजरमा, सबै कुरा स्पष्ट हुन्छ, सबै कुरा प्रकट हुन्छ। तैँले परमेश्वरबाट कुनै कुरा लुकाउनु व्यर्थ छ। उहाँ सर्वशक्तिमान् हुनुहुन्छ, र जब उहाँ तेरो प्रकाश गर्ने निर्णय गर्नुहुन्छ, तब सबै कुरा स्पष्टसित उदाङ्गो हुनेछन्। आत्मिक बुझाइ नभएका, र प्रधान स्वर्गदूतको प्रकृति भएका ती मूर्खहरू, अर्थात् ख्रीष्टविरोधीहरू मात्रै यस्तो विश्वास गर्छन्, “यदि मैले कडाइसाथ कुराहरू ढाकछोप गरेँ, र तपाईँलाई हस्तक्षेप वा सोधपुछ गर्न दिइनँ, र तपाईँलाई यी कुराहरू सुपरिवेक्षण गर्न दिइनँ भने तपाईँलाई केही थाहा हुनेछैन—अनि यो मण्डली पूर्ण रूपमा मेरो नियन्त्रणमा हुनेछ!” तिनीहरूलाई आफूले राजाका रूपमा शासन गरेमा, परिस्थिति नियन्त्रण गर्न सकिन्छ भन्ने लाग्छ। के परिस्थिति वास्तवमै र साँच्चिकै यस्तै हुन्छ त? तिनीहरूलाई परमेश्वर सर्वशक्तिमान् हुनुहुन्छ भन्ने थाहा हुँदैन; तिनीहरूको चलाकीपन स्वघोषित हुन्छ। परमेश्वर सबै कुरा छानबीन गर्नुहुन्छ। उदाहरणका लागि, मानौँ तैँले आज दुष्कर्म गरेको छस्। परमेश्वरले यसबारे छानबीन गर्नुहुन्छ, तर उहाँ तँलाई प्रकाश गर्नुहुन्न—उहाँले तँलाई पश्चात्ताप गर्ने मौका दिइरहनुभएको हुन्छ। भोलि फेरि तँ दुष्कर्म गर्छस्, र फेरि पनि तैँले यसबारे लेखा दिँदैनस् वा पश्चात्ताप गर्दैनस्; परमेश्वर तँलाई अझै मौका दिनुहुन्छ, र तैँले पश्चात्ताप गर्छस् कि भनेर प्रतीक्षा गर्नुहुन्छ। तर यदि तैँले पश्चात्ताप गरिनस् भने, परमेश्वर तँलाई त्यो मौका दिन चाहनुहुन्न। उहाँले तँलाई घृणा र तिरस्कार गर्नुहुनेछ, र हृदयबाटै तँलाई मुक्ति दिन चाहनुहुनेछैन, र उहाँले तँलाई पूर्ण रूपमा त्याग्नुहुनेछ। त्यस्तो अवस्थामा, उहाँले तँलाई केही मिनेटमै प्रकाश गर्नु हुनेछ, र तैँले ढाकछोप गर्न वा यसलाई रोक्न जेजसरी प्रयास गरे नि, त्यो व्यर्थ हुनेछ। तेरो हात जति नै ठूलो भए नि, के त्यसले आकाश छेक्न सक्छ र? तँ जति नै सक्षम भए नि, के तँ परमेश्वरको नजर छोप्न सक्छस् र? (सक्दिनँ।) ती मानिसका मूर्ख विचारहरू हुन्। जहाँसम्म सर्वशक्तिमान् परमेश्वर वास्तवमा कति सर्वशक्तिमान् हुनुहुन्छ भन्ने कुरा छ, यो कुरा मानिसहरूले पहिले नै उहाँका वचनहरूमा केही मात्रामा अनुभव गर्न सकेका छन्। त्यसबाहेक, ठूलो दुष्कर्म गरेका र परमेश्वरको विरोध गर्ने यो भ्रष्ट मानवजातिका सबै सदस्यले प्रत्यक्ष रूपमा विभिन्न दण्ड सामना गरेका छन्, र यो कुरा देख्ने सबै जना पूर्ण रूपमा विश्वस्त हुन्छन्, र यसलाई प्रतिशोध मान्छन्। गैरविश्वासीहरूले समेत परमेश्वरको धार्मिकताले कुनै उल्लङ्घन सहँदैन भनेर देख्न सक्छन्, त्यसकारण उहाँमा विश्वास गर्नेहरूले यो कुरा अझै बढी देख्न सक्नुपर्छ। परमेश्वरको सर्वशक्तिमान्ता र बुद्धि अमापनीय छ। मानिसले यी कुराहरू स्पष्ट रूपमा देख्न सक्दैन। एउटा गीत नै छ—त्यसले के भन्छ? (“परमेश्वरका कार्यहरू मापन गर्न सकिँदैन।”) यो परमेश्वरको सार हो, उहाँको पहिचान र सारको साँचो प्रकटीकरण हो। तेरा अड्कल वा अनुमानहरू आवश्यक छैनन्। तैँले यी वचनहरूमा विश्वास गरे मात्रै पुग्छ—त्यसपछि तैँले त्यस्ता मूर्ख कामकुरा गर्नेछैनस्। सबै मानिस आफूलाई चलाख ठान्छन्; तिनीहरू पातले आँखा छोप्छन् र भन्छन्, “मलाई देख्न सक्नुहुन्छ?” परमेश्वर भन्नुहुन्छ, “मैले तँलाई पूरै देख्न सक्ने मात्र होइन, म तेरो हृदय पनि देख्न सक्छु, र तँ मानव संसारमा कतिचोटि आएको छस् भनेर पनि देख्न सक्छु,” अनि मानिसहरू तीनछक्क पर्छन्। आफूलाई चलाख नठान्; यस्तो नसोच्, “परमेश्वरलाई यसबारे थाहा छैन, र उहाँलाई त्यसबारे थाहा छैन। कुनै पनि दाजुभाइ-दिदीबहिनीहरूले देखेनन्। कसैलाई थाहा छैन। मेरो आफ्नै सानो युक्ति छ। म कति चलाख छु हेर त!” सत्यता नबुझ्ने वा परमेश्वर सबैमाथि सार्वभौम हुनुहुन्छ भनेर विश्वास नगर्ने यस संसारका कुनै पनि मानिस चलाख हुँदैन। तिनीहरूले जे भने नि वा जे गरे नि, अन्त्यमा त्यो सबै गलत हुन्छ, त्यो सबै सत्यता उल्लङ्घन गर्ने, त्यो सबै परमेश्वरको प्रतिरोध गर्ने हुन्छ। चलाख त एक प्रकारको व्यक्ति मात्रै हुन्छ। त्यो कस्तो प्रकारको हो? त्यो परमेश्वर सबै कुरा छानबीन गर्नुहुन्छ, उहाँ सबै कुरा देख्न सक्नुहुन्छ, र उहाँ सबै कुरामाथि सार्वभौम हुनुहुन्छ भनेर विश्वास गर्ने प्रकार व्यक्ति हो। त्यस्ता मानिसहरू अत्यन्तै चलाख हुन्छन्, किनभने तिनीहरू आफूले गर्ने सबै कुरामा परमेश्वरप्रति समर्पित हुन्छन्; तिनीहरूले गर्ने सबै कुरा सत्यताअनुरूप हुन्छ, त्यो सबलाई परमेश्वर अनुमोदन गर्नुहुन्छ, र आशिष् दिनुहुन्छ। व्यक्ति चलाख छ कि छैन भन्ने कुरा ऊ परमेश्वरमा समर्पित हुन सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ; यो उसले भनेको र गरेको कुरा सत्यताअनुरूप छ कि छैन भन्ने कुरामा निर्भर हुन्छ। यदि तँसँग यो विचार छ भने: “यस विषयमा मलाई यस्तो लाग्छ, र मलाई त्यही गर्न मन लाग्छ, किनभने यसले मलाई फाइदा पुर्याउँछ—तर म अरूलाई यो कुरा बताउन चाहन्नँ, न त म तिनीहरूले यसबारे थाहा पाऊन् भन्ने नै चाहन्छु”—के यो सोच्ने सही तरिका हो? (होइन।) त्यो सोच्ने सही तरिका होइन भन्ने महसुस गरेपछि तैँले के गर्नुपर्छ? तैँले आफूलाई पाठ सिकाउन, आफूलाई मज्जाले थप्पड हान्नुपर्छ। यदि तैँले भनिनस् भने, के तँलाई परमेश्वरले थाहा पाउनुहुनेछैन भन्ने लाग्छ? वास्तवमा तैँले त्यो विचार गरिरहेको बेला परमेश्वर तेरो हृदय जान्नुहुन्छ। उहाँ कसरी जान्नुहुन्छ? परमेश्वरले मानिसको प्रकृति सार देख्नुभएको छ। त्यसोभए, उहाँ किन यस विषयमा तँलाई खुलासा गर्नुहुन्न? उहाँले खुलासा नगरे पनि, तैँले आफै क्रमिक रूपमा यो कुरा बुझ्न सक्नेछस्, किनभने तैँले उहाँका धेरै वचन खाएको र पिएको छस्। तँसँग विवेक र समझ, दिमाग, र सामान्य सोचाइ छ; तैँले आफै सही के हो र गलत के हो भनेर पत्ता लगाउन सक्नुपर्छ। तँ मूर्ख छस् कि छैनस् भनेर हेर्न परमेश्वरले तँलाई बिस्तारै राम्रोसित विचार गर्ने समय र मौका दिइरहनुभएको छ। केही दिनसम्म यस विषयमा विचार गरेपछि तैँले परिणामहरू देख्नेछस्: त्यसपछि तैँले तँ मूर्ख र अबुझ होस्, र तैँले यो मामला परमेश्वरबाट लुकाउने प्रयास गर्नु हुँदैन भन्ने कुरा जान्नेछस्। सबै विषयमा, तैँले सबै कुरा परमेश्वरको अघि उदाङ्गो पार्नुपर्छ र तँ खुलस्त हुनुपर्छ—यो एकमात्र सर्त र अवस्था हो जुन परमेश्वरको अगाडि कायम राखिनुपर्छ। तँ खुलस्त नहुँदा पनि, तँ परमेश्वरको अगाडि खुला हुन्छस्। परमेश्वरको दृष्टिकोणबाट हेर्दा, तँ यसबारे खुलस्त हुन्छस् कि हुँदैनस् भन्ने कुरा उहाँलाई थाहा हुन्छ। यदि तँ त्यसको वास्तविकतालाई देख्न सक्दैनस् भने के अत्यन्तै मूर्ख छैनस् र? त्यसोभए, तँ कसरी बाठो व्यक्ति हुन सक्छस् त? परमेश्वरको अघि आफूलाई उदाङ्गो पारेर। तँलाई थाहा छ, परमेश्वर सबै कुरा छानबीन गर्नुहुन्छ र सबै कुरा जान्नुहुन्छ, त्यसैले आफूलाई चलाख नठान्, अनि उहाँले थाहा पाउनुहुन्न होला भन्ने नसोच्; परमेश्वरले गोप्य रूपमा मानिसहरूको हृदय नियाल्नुहुने हुनाले, बाठा मानिसहरू अझ खुलस्त, अझ शुद्ध र इमानदार हुनुपर्छ—यसो गर्नु बुद्धिमानी काम हो। सधैँ आफू चलाख छु भन्ने लाग्नु; सधैँ आफ्ना ससाना रहस्यहरू लुकाएर राख्ने इच्छा गर्नु; सधैँ अलि गोपनीयता कायम राख्ने प्रयास गर्नु—के त्यो सोच्ने सही तरिका हो? अरूसँग त्यस्तो व्यवहार गर्नु ठिकै हुन्छ, किनभने कतिपय मानिस सकारात्मक चरित्रका हुँदैनन् र तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। यस्ता मानिसहरूसँग तैँले केही कुरा लुकाउन सक्छस्। तिनीहरूसामु आफ्नो हृदय उदाङ्गो नपार्। उदाहरणका लागि, मानौँ तैँले घृणा गर्ने व्यक्ति छ, र तैँले उसको पिठ्यूँपछाडि उसका बारेमा नराम्रो कुरा बोलेको छस्। के तैँले उसलाई यसबारे बताउनुपर्छ? पर्दैन—त्यस्तो कुरा फेरि नगर्नु मात्रै पनि पर्याप्त हुन्छ। यदि तैँले यसबारे कुरा गरिस् भने, यसले तिमीहरूबीचको सम्बन्धमा असर गर्नेछ। तँलाई आफू असल छैनँ, भित्री रूपमा फोहोरी र दुष्ट छु, अरूप्रति डाहा गर्छु, ख्याति र प्राप्तिका लागि प्रतिस्पर्धा गर्न अरूको पिठ्यूँपछाडि कसैको चरित्र हत्या गर्दै खराब कुरा बोलेको छु भन्ने आफ्नो हृदयमा थाहा हुन्छ—कस्तो नीचता! तँ आफू भ्रष्ट छु भन्ने कुरा स्वीकार गर्छस्; तँलाई आफूले गरेको कुरा गलत हो, र आफ्नो प्रकृति दुष्ट छ भन्ने थाहा हुन्छ। त्यसपछि तँ परमेश्वरसामु आएर उहाँलाई प्रार्थना गर्छस्: “हे परमेश्वर, मैले गुप्त रूपमा जे गरेँ त्यो दुष्ट र नीच कुरा थियो—मलाई क्षमा दिनुहोस्, मलाई अगुवाइ गर्नुहोस्, र मलाई हप्काउनुहोस्। म फेरि त्यस्तो कुरा नगर्न प्रयास गर्नेछु।” यसो गर्नु ठिक हो। तैँले मानिसहरूसँगको अन्तरक्रियामा केही चलाकी प्रयोग गर्न सक्छस्, तर परमेश्वरअघि आफूलाई खुलस्त गर्नु नै सबैभन्दा राम्रो हुन्छ, र यदि तँ अभिप्रायहरू लुकाएर राख्छस् र चलाकीहरू प्रयोग गर्छस् भने, समस्यामा पर्नेछस्। तँ आफ्नो मनमा सधैँ सोच्छस्, “परमेश्वरलाई मेरो बारेमा उच्च सोच राख्ने र मैले भित्र सोचेको कुरा थाहा नपाउने तुल्याउन म के भन्न सक्छु? भन्नुपर्ने सही कुरा के हो? मैले धेरै कुरा मसँगै राख्नुपर्छ, म झन् बढी होसियार हुनुपर्छ, मसँग विधि हुनुपर्छ; तब सायद परमेश्वरले मलाई उच्च ठान्नुहुनेछ।” के तँ तैँले सधैँ यसरी सोचिरहिस् भने परमेश्वरलाई थाहा हुनेछैन भन्ने सोच्छस्? परमेश्वर तैँले जे सोचे पनि थाहा पाउनुहुन्छ। यसरी सोच्नु थकाइलाग्दो हुन्छ। इमानदार र साँचो बोल्नु धेरै सरल हुन्छ, र यसले तेरो जीवन झन् सहज बनाउँछ। परमेश्वरले तँ इमानदार र शुद्ध छस्, तँ खुला हृदयको छस् भन्नुहुनेछ—र यो असीमित रूपमा अमूल्य हुन्छ। यदि तँसँग खुलस्त हृदय र इमानदार मनोवृत्ति छ भने, तँ धेरै टाढा गएर मूर्खतापूर्वक काम गर्दा पनि, परमेश्वरका निम्ति यो अपराध हुनेछैन; यो तँ यति धूर्त बन्नुभन्दा असल हुन्छ र तेरो निरन्तरको चिन्तन तथा प्रशोधनभन्दा असल हुन्छ। के ख्रीष्टविरोधीहरूले यी कुराहरू गर्न सक्छन्? (अहँ, सक्दैनन्।)
ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने सबै जना ख्रीष्टविरोधी स्वभावका मानिस हुन्, र ख्रीष्टविरोधी स्वभावका मानिसहरू हिँड्ने मार्ग ख्रीष्टविरोधीहरूको मार्ग हो—तैपनि ख्रीष्टविरोधी स्वभावका मानिस र ख्रीष्टविरोधीहरूबीच अलि भिन्नता हुन्छ। यदि कुनै व्यक्तिमा ख्रीष्टविरोधी स्वभाव छ र ऊ ख्रीष्टविरोधीहरूको मार्ग हिँड्छ भने, त्यसले ऊ ख्रीष्टविरोधी नै हो भन्ने कुरा जनाउँदैन। तर यदि उसले पश्चात्ताप गर्दैन र सत्यता स्वीकार गर्न सक्दैन भने, ऊ ख्रीष्टविरोधी बन्न सक्छ। ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने मानिसहरूले अझै पनि पश्चात्ताप गर्ने आशा र मौका हुन्छ, किनभने तिनीहरू अझै ख्रीष्टविरोधी बनिसकेका हुँदैनन्। यदि तिनीहरूले धेरै किसिमका दुष्ट कामकुरा गरे र तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गरियो, र तिनीहरूलाई तुरुन्तै निकालियो र निष्कासित गरियो भने, तिनीहरूले त्यसउप्रान्त पश्चात्ताप गर्ने मौका पाउनेछैनन्। यदि ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने व्यक्तिले अझै धेरै दुष्ट कामकुरा गरेको छैन भने, यसले कम्तीमा पनि ऊ अझै दुष्ट व्यक्ति होइन भन्ने देखाउँछ। यदि उसले सत्यता स्वीकार गर्न सक्छ भने, उसका लागि आशाको किरण बाँकी हुन्छ। यदि तिनीहरू सत्यता स्वीकार गर्दैनन् भने, चाहे जेसुकै होस्, तिनीहरूले हरकिसिमका दुष्कर्म नगरे पनि, मुक्ति पाउन तिनीहरूलाई एकदमै गाह्रो हुनेछ। किन ख्रीष्टविरोधीले मुक्ति पाउन सक्दैन? किनभने तिनीहरू सत्यता अलिकति पनि स्वीकार गर्दैनन्। परमेश्वरको घरले इमानदार व्यक्ति बन्नेबारे जसरी सङ्गति गरे पनि—व्यक्तिले कसरी खुलस्त र स्पष्ट बन्नुपर्छ, खुलेर भन्नुपर्ने कुरा भन्नुपर्छ, र छलमा संलग्न हुनु हुँदैन भन्नेबारे जसरी सङ्गति गरे पनि—तिनीहरू त्यो स्वीकार गर्न सक्दैनन्। तिनीहरू मानिसहरू इमानदार भए भने तिनीहरूलाई घाटा हुन्छ र सत्य बोल्नु मूर्खता हो भन्ने निरन्तर महसुस गर्छन्। तिनीहरू इमानदार व्यक्ति नबन्न एकदमै दृढ हुन्छन्। ख्रीष्टविरोधीहरूको प्रकृति यही हो, जुन सत्यताप्रति वितृष्णा राख्ने र यसलाई घृणा गर्ने हुन्छ। यदि कसैले अलिकति पनि सत्यता स्वीकार गर्दैन भने, उसले कसरी मुक्ति पाउन सक्छ र? यदि ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने व्यक्तिले सत्यता स्वीकार गर्न सक्छ भने, ऊ र ख्रीष्टविरोधीबीच स्पष्ट भिन्नता हुन्छ। सबै ख्रीष्टविरोधी अलिकति पनि सत्यता स्वीकार नगर्ने मानिस हुन्। तिनीहरूले जति नै धेरै गलत वा दुष्ट कुराहरू गरेका भए पनि, मण्डलीको काम र परमेश्वरको घरका हितहरूमा जति नै ठूलो घाटा ल्याएका भए पनि, कहिल्यै आत्मचिन्तन गर्नेछैनन् र आफूलाई चिन्नेछैनन्। तिनीहरूलाई काटछाँट गरिए पनि, तिनीहरू सत्यता पटक्कै स्वीकार गर्दैनन्; त्यसैले मण्डलीले तिनीहरूलाई दुष्ट मानिस, ख्रीष्टविरोधीका रूपमा चित्रण गर्छ। ख्रीष्टविरोधीले बढीमा उसका कार्यहरूले सिद्धान्तहरू उल्लङ्घन गर्छन् र ती सत्यताअनुरूप छैनन् भन्ने कुरा मात्रै स्वीकार गर्नेछ, तर तिनीहरूले जानीजानी दुष्कर्म गर्छन्, वा जानीजानी परमेश्वरको विरोध गर्छन् भन्ने कुरा कहिल्यै स्वीकार गर्नेछैन। तिनीहरू गल्तीहरू मात्रै स्वीकार गर्छन्, तर सत्यता स्वीकार गर्दैनन्; त्यसपछि, तिनीहरू कुनै सत्यता अभ्यास नगरी पहिलेजस्तै दुष्कर्म गरिरहन्छन्। ख्रीष्टविरोधीले कहिल्यै सत्यता स्वीकार गर्दैन भन्ने तथ्यबाट के देख्न सकिन्छ भने, ख्रीष्टविरोधीहरूको प्रकृति सार सत्यताप्रति वितृष्णा राख्नु र यसलाई घृणा गर्नु हो। तिनीहरूले परमेश्वरमा विश्वास गरेको जति नै वर्ष भए पनि, तिनीहरू सधैँजस्तै परमेश्वरको विरोध गर्ने मानिस नै रहिरहन्छन्। अर्कोतर्फ, साधारण र भ्रष्ट मानवजाति सबैमा ख्रीष्टविरोधी स्वभाव हुन सक्छ, तर तिनीहरू र ख्रीष्टविरोधीहरूबीच भिन्नता हुन्छ। धेरै मानिस यस्ता पनि छन्, जो परमेश्वरका न्याय र खुलासाका वचनहरू सुनेपछि तिनलाई हृदयमा राख्न सक्छन्, र तिनका बारेमा बारम्बार मनन गर्न, र आत्मचिन्तन गर्न सक्छन्। त्यसपछि, तिनीहरूले यस्तो महसुस गर्न सक्छन्, “त्यसको मतलब, त्यो ख्रीष्टविरोधी स्वभाव हो; ख्रीष्टविरोधीहरूको मार्ग हिँड्नु भनेको त्यही हो। कस्तो गम्भीर समस्या! ममा ती स्थिति र व्यवहारहरू छन्; ममा त्यस्तो सार छ—म त्यस्तो व्यक्ति हुँ!” त्यसपछि तिनीहरू त्यो ख्रीष्टविरोधी स्वभाव कसरी त्याग्न र साँचो रूपमा पश्चात्ताप गर्न सकिन्छ भनेर विचार गर्छन्, र त्यसपछि तिनीहरूले ख्रीष्टविरोधीहरूको मार्गमा नहिँड्ने सङ्कल्प गर्न सक्छन्। तिनीहरूले आफ्नो काम र जीवनमा मानिस, घटना, र परिस्थितिहरू अनि परमेश्वरको आज्ञाप्रतिको आफ्नो मनोवृत्तिमा आफ्नो कार्य र व्यवहारबारे मनन गर्न सक्छन्, र आफू किन परमेश्वरमा समर्पित हुन सक्दिनँ, किन आफू सधैँ शैतानी स्वभावअनुसार जिइरहेका हुन्छु, किन आफूले देह र शैतानविरुद्ध विद्रोह गर्न सक्दिनँ भन्नेबारे मनन गर्न सक्छन्। त्यसकारण, तिनीहरूले परमेश्वरलाई प्रार्थना गर्नेछन्, र उहाँको न्याय र सजाय स्वीकार गर्नेछन्, र तिनीहरूलाई आफ्नो भ्रष्ट स्वभाव र शैतानको प्रभावबाट मुक्ति दिन परमेश्वरलाई बिन्ती गर्नेछन्। तिनीहरूमा यसो गर्ने सङ्कल्प हुन्छ भन्ने तथ्यले तिनीहरू सत्यता स्वीकार गर्न सक्छन् भन्ने कुरा प्रमाणित गर्छ। त्यसैगरी तिनीहरू भ्रष्ट स्वभाव पनि प्रकट गर्छन्, र आफ्नै इच्छाअनुसार काम पनि गर्छन्; तर भिन्नता के हो भने, ख्रीष्टविरोधीले स्वतन्त्र राज्य स्थापना गर्ने महत्त्वाकाङ्क्षा र चाहनाहरू मात्रै राख्दैनन्—तिनीहरू त जेसुकै होस् सत्यता पनि स्विकार्दैनन्। यो ख्रीष्टविरोधीको मुख्य कमजोरी हो। अर्कोतर्फ, यदि ख्रीष्टविरोधी स्वभाव भएको व्यक्तिले सत्यता स्विकार्न, र परमेश्वरलाई प्रार्थना गर्न अनि उहाँमा भरोसा गर्न सक्छ भने, र यदि ऊ शैतानको भ्रष्ट स्वभाव त्याग्न, र सत्यता खोजी गर्ने मार्गमा हिँड्न चाहन्छ भने, त्यो प्रार्थना र त्यो सङ्कल्पले उसको जीवन प्रवेशमा केकस्ता तरिकाले फाइदा गर्छ? यसले कम्तीमा पनि उसलाई आत्मचिन्तन गर्न र आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा आफूलाई चिन्न, र समस्याहरू समाधान गर्न सत्यता प्रयोग गर्न मद्दत गर्छ, ताकि ऊ मानकअनुरूप हुनेगरी आफ्नो कर्तव्य पूरा गर्न पुगोस्। यसले उसलाई फाइदा गर्ने एउटा तरिका त्यही हो। त्यसबाहेक, आफ्नो कर्तव्य निर्वाह गर्दा उसले प्राप्त गर्ने तालिमले गर्दा, ऊ सत्यता खोजी गर्ने मार्ग हिँड्न सक्छ। उसले जुनसुकै कठिनाइहरू सामना गरे पनि, सत्यता खोजी गर्न, सत्यता स्विकार्न र अभ्यास गर्न ध्यान दिन सक्छ; उसले क्रमिक रूपमा आफ्नो शैतानी स्वभाव त्याग्न, र परमेश्वरमा समर्पित हुन र उहाँको आराधना गर्न सक्छ। त्यसरी अभ्यास गरेर उसले परमेश्वरको मुक्ति प्राप्त गर्न सक्छ। ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरूले कहिलेकाहीँ भ्रष्टता प्रकट गर्न सक्छन्, र तिनीहरूले नचाहेर पनि अझै आफ्नै ख्याति, प्राप्ति, र हैसियतको हितमा बोल्न र व्यवहार गर्न सक्छन्, र अझै पनि आफ्नै इच्छाअनुसार काम गर्न सक्छन्—तर आफूले भ्रष्ट स्वभाव प्रकट गरिरहेको छु भन्ने महसुस गर्नेबित्तिकै, तिनीहरू पछुतो मान्छन्, र परमेश्वरलाई प्रार्थना गर्छन्। यसले तिनीहरू सत्यता स्वीकार गर्न सक्ने, र परमेश्वरको काममा समर्पित हुने मानिस हुन् भन्ने कुरा प्रमाणित गर्छ; यसले तिनीहरूले जीवन प्रवेश पछ्याइरहेका छन् भन्ने कुरा साबित गर्छ। यस्ता व्यक्तिले जति नै वर्ष अनुभव गरेका भए पनि, र जति नै धेरै भ्रष्टता प्रकट गरेका भए पनि, तिनीहरू अन्ततः सत्यता स्वीकार गर्न, र सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छन्। तिनीहरू परमेश्वरको काममा समर्पित हुने मानिसहरू हुन्। अनि तिनीहरूले यो सब गरेपछि, यसले तिनीहरूले पहिले नै साँचो मार्गमा आफ्नो जग बसालेका छन् भन्ने कुरा देखाउँछ। तर ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने कतिपय मानिस सत्यता स्वीकार गर्न सक्दैनन्। मुक्ति पाउन ख्रीष्टविरोधीहरूलाई जति गाह्रो हुन्छ, तिनीहरूलाई पनि त्यति नै गाह्रो हुन्छ। त्यस्ता मानिसहरू ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने परमेश्वरका वचनहरू सुन्दा केही महसुस गर्दैनन्, बरु उदासीन र भावशून्य हुन्छन्। जब सङ्गति ख्रीष्टविरोधी स्वभावको विषयतिर मोडिन्छ, तब तिनीहरू आफूमा ख्रीष्टविरोधी स्वभाव छ र आफू ख्रीष्टविरोधीहरूको मार्ग हिँडिरहेको छु भन्ने कुरा स्वीकार गर्छन्। तिनीहरू यसबारे निकै राम्रो कुरा गर्छन्। तर जब सत्यता अभ्यास गर्ने समय आउँछ, तब तिनीहरू त्यो गर्न इन्कार गर्छन्; अझै पनि तिनीहरू आफ्नै इच्छाअनुसार, आफ्नै ख्रीष्टविरोधी स्वभावमा भर परेर काम गर्छन्। यदि तैँले तिनीहरूलाई “तपाईँलाई आफूले ख्रीष्टविरोधी स्वभाव प्रकट गर्दा हृदयमा द्वन्द्व हुन्छ? आफ्नो हैसियत रक्षा गर्न बोल्दा, के तपाईँलाई आत्मग्लानि महसुस हुन्छ? जब तपाईँ ख्रीष्टविरोधी स्वभाव प्रकट गर्नुहुन्छ, तब के तपाईँ आत्मचिन्तन गर्नुहुन्छ र आफूलाई चिन्नुहुन्छ? आफ्नो भ्रष्ट स्वभावबारे थाहा पाएपछि के तपाईँलाई हृदयमा पछुतो हुन्छ? के त्यसपछि तपाईँ पश्चात्ताप गर्नुहुन्छ वा बद्लिनुहुन्छ?” भनेर सोधिस् भने, तिनीहरूले पक्कै पनि कुनै उत्तर दिँदैनन्, किनभने तिनीहरूले त्यस्तो कुनै कुरा अनुभव गरेका हुँदैनन्। तिनीहरू केही पनि भन्न सक्दैनन्। के यस्ता मानिसहरू साँचो पश्चात्ताप गर्न सक्छन्? अवश्य नै, यो काम सजिलो हुँदैन। साँचो रूपमा सत्यता खोजी गर्नेहरूलाई आफूभित्र रहेको ख्रीष्टविरोधी स्वभावको कुनै पनि प्रकटीकरणले पीडा दिन्छ, र तिनीहरू चिन्तित हुन्छन्; तिनीहरू यस्तो सोच्छन्: “मैले किन यो शैतानी स्वभाव त्याग्न सक्दिनँ? म किन सधैँ भ्रष्ट स्वभाव प्रकट गरिरहेको हुन्छु? मेरो यो भ्रष्ट स्वभाव किन यति जिद्दी र जटिल छ? सत्यता वास्तविकतामा प्रवेश गर्न किन यति गाह्रो छ?” यसले तिनीहरूको जीवन अनुभव सतही छ, र तिनीहरूको भ्रष्ट स्वभाव पटक्कै समाधान भएको छैन भन्ने देखाउँछ। त्यसैले, कुनै कुरा आइपर्दा, तिनीहरूको हृदयमा यति चर्को युद्ध मच्चिन्छ, र त्यसैले तिनीहरूले त्यो यातनाको धक्का सहन्छन्। तिनीहरूले आफ्नो शैतानी स्वभाव त्याग्ने सङ्कल्प गरे पनि, पक्कै पनि हृदयमा यसविरुद्ध युद्धको अनुभव नगरी तिनीहरू अघि बढ्न सक्दैनन्—त्यो युद्धको स्थिति दिनप्रति दिन तीव्र हुँदै जान्छ। अनि आफूबारेको तिनीहरूको ज्ञान गहन हुँदै जाँदा, र आफू कति गहन रूपमा भ्रष्ट रहेछु भन्ने देख्दा, तिनीहरू सत्यता प्राप्त गर्न अझ बढी तृष्णा गर्छन्, र यसलाई अझै बढी बहुमूल्य ठान्छन्, अनि तिनीहरूले आफूलाई र आफ्नो भ्रष्ट स्वभावलाई चिन्ने क्रममा निरन्तर सत्यता स्विकार्न र अभ्यास गर्न सक्छन्। तिनीहरू क्रमिक रूपमा कदमा वृद्धि हुन्छन्, र तिनीहरूको जीवन स्वभाव साँच्चै परिवर्तन हुन थाल्छ। यदि तिनीहरूले यसरी नै अनुभव गर्ने प्रयास गरिरहे भने, तिनीहरूको परिस्थिति वर्षैपिच्छे झन्-झन् राम्रो हुँदै जान्छ, र अन्त्यमा तिनीहरूले देहलाई जित्न र आफ्नो भ्रष्टता त्याग्न, बारम्बार सत्यता अभ्यास गर्न, र परमेश्वरप्रति समर्पित हुन सक्छन्। जीवन प्रवेश पाउनु सहज छैन! यो त मर्नै लागेको व्यक्तिलाई बचाउनुजस्तै हो: व्यक्तिले पूरा गर्न सक्ने जिम्मेवारी भनेको सत्यतामा सङ्गति गर्नु, तिनीहरूलाई सहयोग गर्नु, र तिनीहरूलाई भरणपोषण गर्नु, वा काटछाँट गर्नु हो। यदि तिनीहरू यो स्वीकार गर्न र यसमा समर्पित हुन सक्छन् भने, तिनीहरूका लागि आशा हुन्छ; तिनीहरू उम्कन सक्ने भाग्यमानी हुन सक्छन्, र मृत्युको मुखबाट बच्छन्। तर यदि तिनीहरू सत्यता स्वीकार गर्न मान्दैनन्, र आफूबारे केही पनि जान्दैनन् भने, तिनीहरू खतरामा हुन्छन्। कति ख्रीष्टविरोधीहरू त तिनीहरूलाई हटाइएपछि एकदुई वर्ष बित्दा पनि आफूलाई चिन्दैनन्, र आफ्ना गल्तीहरू स्वीकार गर्दैनन्। त्यस्तो अवस्थामा, तिनीहरूमा जीवनको कुनै सङ्केत बाँकी हुँदैन, र त्यो तिनीहरूले मुक्ति पाउने आशा गुमाइसकेको प्रमाण हो। के तिमीहरू आफूलाई काटछाँट गरिएको बेला, सत्यता स्वीकार गर्न सक्छौ? (सक्छौँ।) त्यसोभए आशा छ—त्यो राम्रो कुरा हो! यदि तैँले सत्यता स्वीकार गर्न सक्छस् भने, तँसँग मुक्ति पाउने आशा हुन्छ।
यदि तँ मुक्ति पाउन चाहन्छस् भने, तैँले धेरै बाधा पार गर्नुपर्छ। ती केकस्ता बाधाहरू हुन्? आफ्नो भ्रष्ट स्वभावसँगको निरन्तर लडाइँ, अनि शैतान र ख्रीष्टविरोधीहरूको स्वभावसँगको लडाइँ: त्यसले तँलाई नियन्त्रण गर्न चाहन्छ, र तँ त्यसबाट मुक्त हुन चाहन्छस्; त्यसले तँलाई बहकाउन चाहन्छ, र तँ त्यसलाई त्याग्न चाहन्छस्। यदि तँ यो कुरा थाहा पाएपछि पनि आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्दैनस् भने, व्याकुल हुनेछस् र पीडामा हुनेछस्, र तैँले प्रार्थना गर्नेछस्। कहिलेकाहीँ, जबतँ केही समय बितिसकेपछि पनि आफूले अझै शैतानको स्वभावको नियन्त्रण हटाउन नसकेको देख्छस्, तब तँलाई यो निराशाजनक लाग्नेछ, तर तैँले हरेस खानेछैनस्, बरु यति नकारात्मक र निराश भएर अघि बढ्नु हुँदैन——सङ्घर्ष गरिरहनुपर्छ भन्ने महसुस गर्नेछस्। कर्तव्य निर्वाह गर्ने र परमेश्वरको काम अनुभव गर्ने क्रममा, मानिसहरूमा फरक-फरक भित्री प्रतिक्रियाहरू हुन्छन्। छोटकरीमा भन्दा, जीवन भएकाहरू सत्यता खोजी गर्ने मानिस हुन्, र तिनीहरू भित्री रूपमा निरन्तर परिवर्तन भइरहेका हुन्छन्। तिनीहरूको सोचाइ र दृष्टिकोण, तिनीहरूको व्यवहार र अभ्यास, अनि तिनीहरूको मनको गहिराइमा रहेका अभिप्राय, विचार र सोचहरूसमेत निरन्तर परिवर्तन हुनेछन्। यसका साथै, तिनीहरूले सही र गलत के हो, र आफूले केकस्ता गलत कुराहरू गरेको छु, र कुनै सोच्ने तरिका सही हो कि गलत हो, र कुनै दृष्टिकोण सत्यताअनुरूप छ कि छैन, र कुनै तरिकाले काम गर्दा त्यसका सिद्धान्तहरू परमेश्वरका अभिप्रायअनुरूप छन् कि छैनन्, र तिनीहरू परमेश्वरमा समर्पित हुने, सत्यतालाई प्रेम गर्ने व्यक्ति हुन् कि होइनन् भन्ने कुरा झन्-झन् स्पष्ट रूपमा छुट्याउनेछन्। यी कुराहरू तिनीहरूको हृदयमा क्रमिक रूपमा झन्-झन् स्पष्ट हुँदै जानेछन्। त्यसोभए, यी परिणामहरूको प्राप्ति कुन जगमा निर्माण भएको हुन्छ? सत्यताहरू बुझ्दै जाँदा तिनलाई अभ्यास गर्ने र तिनमा प्रवेश गर्ने कार्यको जगमा। अनि, ख्रीष्टविरोधीहरू चाहिँ किन परिवर्तन हुन सक्दैनन्? के तिनीहरू सत्यता बुझ्न नसक्ने हुन्छन्? (होइन।) तिनीहरू बुझ्न त सक्छन्, तर अभ्यास गर्दैनन्, र सुनेर पनि लागू गर्दैनन्। तिनीहरूले यसलाई धर्मसिद्धान्तको रूपमा बुझिरहेका र स्वीकार गरिरहेका हुन सक्छन्, तर के तिनीहरू आफूले बुझ्न सक्ने ती थोरै धर्मसिद्धान्त र प्रावधानहरूसमेत अभ्यास गर्न सक्छन् त? अहँ, अलिकति पनि सक्दैनन्; यदि तैँले तिनीहरूलाई जबरजस्ती गरिस् भने पनि, र यदि तिनीहरूले थकित हुन्जेलसम्म प्रयास गरे भने पनि, तिनीहरू ती कुरा अभ्यास गर्न सक्दैनन्। त्यसैले तिनीहरूका लागि, सत्यतामा प्रवेश गर्नु आकाशको फल नै रहन्छ। ख्रीष्टविरोधीले इमानदार व्यक्ति बन्नेबारे जति नै धेरै कुरा गरे पनि, उसका प्रयासहरू जति नै धेरै ठूला भए पनि, ऊ अझै पनि एउटै इमानदार अभिव्यक्तिसमेत दिन सक्दैन; अनि उसले परमेश्वरका अभिप्रायहरूप्रति विचारशील बन्नेबारे जति नै धेरै कुरा गरे पनि, आफ्ना स्वार्थी र दुष्ट मनसायहरू त्याग्दैन। ऊ स्वार्थी दृष्टिकोणले नै काम गर्छ। जब उसले कुनै राम्रो कुरा, उसलाई फाइदा हुने कुनै कुरा देख्छ, तब ऊ भन्छ, “मलाई देऊ—यो मेरो हो!” ऊ आफ्नो हैसियतका लागि फाइदाजनक जे हुन्छ त्यही भन्छ, र आफूलाई जे कुरा फाइदाजनक हुन्छ त्यही गर्छ। ख्रीष्टविरोधीहरूको सार यही हो। तिनीहरूले क्षणिक मनोवेगको उत्कर्षमा, थोरै भए पनि सत्यता बुझेको छु भन्ने महसुस गर्लान्। तिनीहरूमा जोस आउँछ, र तिनीहरू केही थेगोहरू फलाक्छन्: “मैले अभ्यास गर्नुपर्छ, म परिवर्तन हुनुपर्छ, र मैले परमेश्वरलाई सन्तुष्ट पार्नुपर्छ!” तैपनि जब सत्यता अभ्यास गर्ने समय आउँछ, तब के तिनीहरू त्यसो गर्छन् त? गर्दैनन्। परमेश्वरले जे भन्नुभए पनि, उहाँले जति धेरै सत्यता र तथ्य प्रचार गर्नुभए पनि, र साथमा उहाँले जति धेरै वास्तविक उदाहरणहरू दिनुभए पनि, यसले ख्रीष्टविरोधीको मन छुन सक्दैन, न त यसले तिनीहरूको महत्त्वाकाङ्क्षालाई नै हल्लाउन सक्छ। यो ख्रीष्टविरोधीको विशेषता र सङ्केत हो। तिनीहरूले कुनै पनि सत्यता किमार्थ अभ्यास गर्दैनन्; जब तिनीहरू राम्रोसँग बोल्छन्, तब यो कुरा अरूलाई सुनाउनका लागि हुन्छ, र तिनीहरूले जति नै राम्रोसँग बोले पनि, त्यो आडम्बरी र खोक्रो कुरा मात्रै हुन्छ—तिनीहरूका लागि यो सिद्धान्त मात्र हो। त्यस्ता मानिसहरू वास्तवमा आफ्नो हृदयमा सत्यतालाई केकस्तो स्थान दिन्छन्? मैले ख्रीष्टविरोधीको प्रकृति सार के हो भनेर तिमीहरूलाई पहिले के बताएको छु? (सत्यतालाई घृणा गर्नु।) ठिक भन्यौ। तिनीहरू सत्यतालाई घृणा गर्छन्। तिनीहरू के विश्वास गर्छन् भने, आफ्नो दुष्टता, स्वार्थीपन र नीचता, अहङ्कार, क्रूरता, हैसियत र सम्पत्तिमाथिको कब्जा, र अरूमाथिको आफ्नो नियन्त्रण नै सर्वोच्च सत्यता र सर्वोच्च दर्शन हुन्, र ती कुराभन्दा उच्च अरू केही छैन। तिनीहरूले हैसियत प्राप्त गरेपछि र मानिसहरूलाई नियन्त्रण गर्न सकेपछि, तिनीहरूले आफूले चाहेको जेसुकै कुरा गर्न सक्छन्, र तिनीहरूका सबै महत्त्वाकाङ्क्षा र चाहना हासिल गर्न सकिने हुन्छन्। ख्रीष्टविरोधीको अन्तिम उद्देश्य यही हो।
ख्रीष्टविरोधीहरू सत्यताप्रति वितृष्णा राख्छन् र यसलाई घृणा गर्छन्। के तँ सत्यताप्रति वितृष्णा राख्ने व्यक्तिलाई सत्यता स्विकार्न र अभ्यास गर्न लगाउन सक्छस्? (सक्दिनँ।) त्यसो गर्नु त सुँगुरलाई उड्न लाउनु वा ब्वाँसोलाई पराल खान लाउनुजस्तै हो—के त्यो तिनीहरूलाई असम्भव कुरा गर्न लाउनु होइन र? कहिलेकाहीँ तैँले ब्वाँसो भेडासँग बस्न बगालमा घुसेको देख्नेछस्। यो त भेडा खाने मौका कुर्दै चलाकी गर्नु मात्र हो। यसको प्रकृति कहिल्यै परिवर्तन हुनेछैन। त्यसैगरी, ख्रीष्टविरोधीले सत्यता अभ्यास गर्नु भनेको ब्वाँसोले घाँस खाएर भेडा खाने उसको जन्मजात इच्छा त्याग्नुजस्तै हो: यो असम्भव कुरा हो। ब्वाँसो मांसाहारी प्राणी हो। तिनीहरू भेडा खान्छन्—तिनीहरू सबै किसिमका पशुहरू खान्छन्। तिनीहरूको प्रकृति त्यही हो, र यसलाई परिवर्तन गर्न सकिँदैन। यदि कसैले यसो भन्छ, “म ख्रीष्टविरोधी हो कि होइन थाहा छैन, तर जब सत्यतामा सङ्गति गरिएको सुन्छु, तब मेरो हृदय रिसले चूर हुन्छ, र मलाई यसप्रति घृणा लाग्छ—र जसले मलाई काटछाँट गर्छ, उसलाई त म अझै बढी घृणा गर्छु,” तब के त्यो व्यक्ति ख्रीष्टविरोधी होइन र? (हो।) अनि कसैले भन्छ, “तिम्रो जीवनमा परिस्थितिहरू आइपर्दा, तिमीले समर्पित भएर सत्यता पछ्याउनुपर्छ,” र त्यो पहिलो व्यक्तिले भन्छ, “समर्पित त नापियो! तेस्तो बोल्दै नबोल!” त्यो कस्तो कुरा हो? के यो रिसको झोँक हो? (होइन।) यो कस्तो स्वभाव हो? (सत्यताप्रतिको घृणा।) तिनीहरू यसबारे कुरासमेत गर्दैनन्, र तैँले सत्यतामा सङ्गति गर्नेबित्तिकै, तिनीहरूको प्रकृति प्रकट हुन्छ, र तिनीहरू आफ्नो साँचो रूप देखाउँछन्। सत्यता खोजी गर्ने वा परमेश्वरमा समर्पित हुनेबारे कुनै पनि कुरा सुन्दा तिनीहरूलाई घृणा लाग्छ। तिनीहरूको तिरस्कार कति ठूलो हुन्छ? जब तिनीहरू यस्तो कुरा सुन्छन्, तिनीहरू विस्फोट हुन्छन्। तिनीहरूको शिष्टता हराउँछ; तिनीहरू आक्रोश पोखाउन डर मान्दैनन्। तिनीहरूको घृणा यति हदसम्म जान्छ। त्यसोभए के तिनीहरू सत्यता अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) सत्यता दुष्टका लागि होइन; यो त विवेक र समझ भएका, सत्यता र सकारात्मक कुराहरूलाई प्रेम गर्ने मानिसहरूका लागि हो। यसका लागि यसलाई स्विकार्ने र अभ्यास गर्ने मानिसहरूको आवश्यकता पर्छ। अनि जहाँसम्म सत्यता र सकारात्मक कुराहरूप्रति अत्यन्तै शत्रुता गर्ने ख्रीष्टविरोधी सार भएका दुष्ट मानिसहरूको कुरा छ, तिनीहरू कहिल्यै सत्यता स्वीकार गर्दैनन्। तिनीहरूले परमेश्वरमा विश्वास गरेको जति नै वर्ष भए पनि, तिनीहरूले जति नै धेरै प्रवचन सुने पनि, तिनीहरू सत्यता स्वीकार वा अभ्यास गर्दैनन्। यो नसोच्, कि तिनीहरूले सत्यता नबुझेर सत्यता अभ्यास नगरेका हुन्, र यसबारे थप सुनिसकेपछि कुरा बुझ्नेछन्। यस्तो हुन असम्भव छ, किनभने सत्यताप्रति वितृष्णा राख्ने र यसलाई घृणा गर्ने सबै शैतानकोटिका मानिस हुन्। तिनीहरू कहिल्यै परिवर्तन हुनेछैनन्, र अरू कसैले तिनीहरूलाई परिवर्तन गर्न सक्दैन। यो त प्रधान स्वर्गदूतले परमेश्वरलाई धोका दिएजस्तै हो: के तिमीहरूले कहिल्यै परमेश्वरले म प्रधान स्वर्गदूतलाई मुक्ति दिन्छु भनेर भन्नुभएको सुनेका छौ? परमेश्वरले कहिल्यै यसो भन्नुभएको छैन। त्यसोभए, परमेश्वरले शैतानलाई के गर्नुभयो? उहाँले त्यसलाई मध्य आकाशमा फ्याँक्नुभयो र पृथ्वीमा उहाँको सेवा गर्न लगाउनुभयो, र त्यसलाई त्यसले गर्नुपर्ने काम गर्न लगाउनुभयो। अनि जब त्यसले सेवा प्रदान गरिसक्छ, र जब परमेश्वरको व्यवस्थापन योजना पूरा हुन्छ, तब उहाँले त्यसलाई नष्ट गर्नुहुनेछ, र त्यो समाप्त हुनेछ। के परमेश्वरले यसबारे थप एउटा कुरा पनि बताउनुहुन्छ र? (बताउनुहुन्न।) किन बताउनुहुन्न? किनभने एउटा शब्दमा भन्दा यो व्यर्थ हुनेछ। यसबारे एउटा शब्द भन्नु पनि फाल्तु हुनेछ। परमेश्वरले यो कुरा छर्लङ्गै देख्नुभएको छ: ख्रीष्टविरोधीको प्रकृति सार कहिल्यै परिवर्तन हुन सक्दैन। यो यस्तै हुन्छ।
जब तिमीहरू कुनै ख्रीष्टविरोधीलाई भेट्छौ, तब त्यसलाई कसरी व्यवहार गर्नुपर्छ? कतिपय अगुवालाई झूटा अगुवा वा ख्रीष्टविरोधीहरूका रूपमा चित्रण गरिएको छ र तिनीहरूलाई बर्खास्त गरिएको छ। तिनीहरूमध्ये एकका हकमा भन्दा, केही समयपछि दाजुभाइ-दिदीबहिनीहरूले उसमा केही कार्य सामर्थ्य छ, यसबीच उसले पश्चात्ताप गरेको छ र राम्रो काम गरिरहेको छ भनेर रिपोर्ट गरे। उसले व्यवहारमा राम्रो प्रदर्शन गरिरहेको हो कि वा उसले मनमोहक रूपमा बोलिरहेको हो, वा ऊ आफ्नो भूमिकामा अझै अनुशासित बनेको हो भन्ने कुरा निश्चित रूपमा अलिक स्पष्ट भएन। दाजुभाइ-दिदीबहिनीहरूले उसले राम्रो काम गरिरहेको छ भनेर भनेका हुनाले, र केही कामका लागि जनशक्तिको कमी रहेको हुनाले, उसले केही काम गर्नुपर्छ भन्ने बन्दोबस्त गरियो। अनि परिणामस्वरूप, दुई महिनापछि नै, विश्वासी दाजुभाइ-दिदीबहिनीहरूले फेरि रिपोर्ट गरे: “उसलाई तुरुन्तै बर्खास्त गर्नुहोस्—उसले हामीलाई असहनीय रूपमा दमन गरिरहेको छ। यदि उसलाई बर्खास्त गरिएन भने, हामी आफ्नो कर्तव्य निर्वाह गर्न सक्नेछैनौँ।” तिनीहरू कुनै पनि हालतमा उसलाई प्रयोग गर्न सहमति जनाउँदैनथे; बरु तिनीहरूले जोसुकैलाई अगुवाका रूपमा चयन गर्न सक्थे, तर त्यो व्यक्ति चाहिँ हुनुहुन्थेन। ऊ उही पुरानो नीच व्यक्ति थियो—उसले राम्रो खेल खेल्यो, तर वास्तवमा ऊ अलिकति पनि परिवर्तन भएको थिएन। यहाँ के भइरहेको थियो? उसको प्रकृति पूर्ण रूपमा खुलासा भएको थियो। तँलाई के लाग्छ, यो मामला कसरी सम्हाल्नुपर्छ? दाजुभाइ-दिदीबहिनीहरूले यस्तो कडा प्रतिक्रिया दिएकाले, तिनीहरूले साँच्चै नै अलि समझशक्ति पाएछन् भन्ने कुरा प्रमाणित हुन्छ। उसले कतिपय मानिसलाई बहकाएको थियो, र माथिले उसलाई तह लगाएपछि, केही व्यक्ति उसको प्रतिरक्षा गर्न आए, र पछि केहीले उसले पश्चात्ताप गरिसकेको छ भनेर भने। त्यसकारण, उसलाई फेरि बढुवा दिइयो, र केही समयपछि, उसलाई पूर्ण रूपमा प्रकट गरियो। अब दाजुभाइ-दिदीबहिनीहरूले उसको भित्री रूप छर्लङ्गै देखिसकेका थिए, र उसलाई हटाउन तिनीहरू एकजुट भएका थिए। यी मानिसहरूले अब समझशक्ति प्राप्त गरिरहेका छन् भन्ने माथिले देख्यो। तिनीहरूलाई मलजल गरिएको व्यर्थ भएको थिएन। त्यसकारण, तिनीहरू सबैले उसलाई प्रयोग गर्न सहमति नजनाएकाले, माथिले उसलाई बर्खास्त गरे। तिनीहरूको समझशक्ति कहाँबाट आयो? (सत्यता बुझाइबाट।) हो—तिनीहरूले सत्यता बुझेका थिए। सत्यता बुझाइबाट समझशक्ति आउँछ। के अझै पनि सत्यता र परमेश्वरले त्यहाँ शासन गरिरहनुभएको थिएन र? (थियो।) तिनीहरूले समयमै समझशक्ति पाए: उसलाई बर्खास्त गरिएपछि, दाजुभाइ-दिदीबहिनीहरूले उसको नियन्त्रण भोग्न छोडे। उसको दमनमा मानिसहरूले धेरै कष्ट भोगेका थिए। ऊसँग कुनै मानवता थिएन। उसले उचित काम गरेको थिएन, बरु दाजुभाइ-दिदीबहिनीहरूलाई कर्तव्य निर्वाह गर्नमा बाधा दिएको थियो—उसले आफ्नो शक्ति दुरुपयोग गर्दै तिनीहरूलाई कुल्चिमिल्ची गरेको थियो। त्यसमा कसले सहमति जनाउँछ? मूर्खले—त्यस्तोले मात्र जनाउँछ! जब त्यस्ता मानिसहरूलाई बर्खास्त गरिन्छ, तब के तिनीहरूलाई यसबारे कुनै अनुभूति हुन्छ? पछिल्लोपटक, त्यस व्यक्तिलाई माथिले बर्खास्त गर्यो; यसपटक, उसलाई दाजुभाइ-दिदीबहिनीहरूले हटाए, मञ्चबाट चिच्याउँदै लखेटे—यो जाने तरिका त्यति मनमोहक होइन! उसले सुरुमा पद पाउन चाहेको थियो। तर भयो चाहिँ के भने, उसले कुनै पद प्राप्त गरेन, बरु ऊ एकैचोटि गर्लम्मै गिर्यो, र उसलाई उसको मूल रूपमा पुर्याइयो। के उसले आत्मचिन्तन गर्नुपर्थेन र? (पर्थ्यो।) यदि ऊ सामान्य व्यक्ति, गम्भीर रूपमा भ्रष्ट स्वभाव मात्रै भएको व्यक्ति भएको भए, के उसले पनि आत्मचिन्तन गर्नु पर्दैनथ्यो र? (पर्थ्यो।) एक प्रकारको व्यक्ति हुन्छ, जो चिन्तन गर्दै गर्दैन। तिनीहरू आफू सही छु, आफूले जे गरे पनि सही हुन्छु भन्ने सोच्छन्; तिनीहरू तथ्यहरू स्वीकार गर्दैनन्, सकारात्मक कुराहरू स्वीकार गर्दैनन्, र तिनीहरू अरूले गरेको मूल्याङ्कन स्वीकार गर्दैनन्। यी मानिसहरू ख्रीष्टविरोधीको स्वभाव सार भएका मानिस हुन्। ख्रीष्टविरोधीहरूलाई मात्रै आत्मचिन्तन गर्न आउँदैन। यसको सट्टा तिनीहरू केबारे चिन्तन गर्छन्? “अम्! मेरो भाग्य चम्किने दिन अवश्य आउनेछ। पख तिमीहरू मेरो पकडमा आउनेछौ—त्यसपछि म तिमीहरूलाई कसरी सास्ती दिनेछु, त्यो तिमीहरू देख्नेछौ!” के तिनीहरूले त्यसो गर्ने मौका पाउनेछन् र? (पाउनेछैनन्।) तिनीहरूको मौका सकिसकेको छ। दाजुभाइ-दिदीबहिनीहरूले झन्-झन् धेरै सत्यता बुझ्दै जाँदा, र तिनीहरूले विभिन्न मानिसका विभिन्न सबै स्थिति चिन्न, र खासगरी ख्रीष्टविरोधीहरू चिन्न सकेपछि, ख्रीष्टविरोधीले दुष्कर्म गर्ने ठाउँ झन्-झन् सानो हुँदै जान्छ, र तिनीहरूसँग त्यसो गर्ने अवसर झन्-झन् कम हुँदै जान्छ। तिनीहरूलाई फर्केर आउने प्रयास गर्न सजिलो हुनेछैन। तिनीहरू माथिले समझशक्तिबारे अलिक कम प्रचार गरोस् र तिनीहरू वास्तवमा को हुन् भनेर पत्ता नलगाओस् भन्ने आशा गर्छन्। जब तिनीहरू त्यस्ता सत्यताहरूबारे सङ्गति सुन्छन्, तब तिनीहरूलाई सबै कुरा सकियो भन्ने थाहा हुन्छ, र तिनीहरू आफू फर्केर आउने कुनै आशा छैन भन्ने सोच्छन्। तिनीहरूको चिन्तन यस्तो हुँदैन: “तिनीहरूले खुलासा र पहिचान गरिरहेको कुरा सही छ—यसले पूर्ण रूपमा मेरो स्थितिलाई झल्काउँछ। म कसरी परिवर्तन हुनुपर्छ? यदि मैले यसरी नै आफूलाई आचरणमा ढालिरहेँ भने, के त्यो मेरो लागि अन्त्य हुनेछैन र? मलाई अवश्यै हटाइनेछ। प्रधान स्वर्गदूतको बाटो हिँडेर परमेश्वरको विरोध गर्नुको के फाइदा हुन्छ र?” के तिनीहरू यस्तो मनन गर्छन्? (गर्दैनन्।) तिनीहरू यस्तो मनन गर्दैनन्, र तिनीहरू अवश्य नै आत्मचिन्तन गर्ने र आफूलाई चिन्न खोज्ने पनि गर्दैनन्; बरु, तिनीहरू पश्चात्ताप गर्नुभन्दा मर्नु निको ठान्छन्। तिनीहरूको प्रकृति त्यही हो। तैँले जसरी सत्यता सङ्गति गरे पनि, यसले तिनीहरूलाई जागृत वा पश्चात्ताप गराउँदैन। के पश्चात्तापविना कुनै उम्कने ठाउँ हुन्छ र? (हुँदैन।) तिनीहरू पश्चात्ताप गर्दैनन्। तिनीहरू आफ्नो बाटो नमिठो अन्त्यसम्मै, आफैले खोजेको विनाशसम्मै पछ्याउँछन्, जुन ख्रीष्टविरोधीहरूको प्रकृतिले नियन्त्रित गर्ने कुरा हो।
हामी यो पूरै समय ख्रीष्टविरोधीहरू चिन्ने विषयमा कुरा गरिरहेका छौँ। ख्रीष्टविरोधीहरू यस्तो कुरा सुन्दा कस्तो अनुभूति गर्छन्, तिमीहरूलाई के लाग्छ? भेला हुने बेलामा, तिनीहरू असहनीय यातना महसुस गर्छन्, र हृदयमा तिनीहरू प्रतिरोधी हुन्छन्। के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? (हुन्।) जब भ्रष्ट स्वभाव भएको सामान्य व्यक्तिले आफूमा ख्रीष्टविरोधी स्वभाव छ भन्ने थाहा पाउँछ, तब ऊ थप कुरा सुन्न र बुझ्न धेरै इच्छा गर्छ, किनभने उसले त्यो बुझेपछि परिवर्तन पछ्याउन सक्छ। उसलाई यदि आफूले बुझेन भने, बाटो बिराउनेछु, र एक दिन ख्रीष्टविरोधीहरूको बाटोमा पाइला चाल्न सक्नेछु, जहाँ आफूले ठूलो दुष्कर्म गर्नेछु, विनाशको बाँध खोलिनेछ, र यसरी मुक्ति पाउने मौका गुमाउनेछु, र बरबाद हुनेछु भन्ने लाग्छ। उसलाई यो कुराको डर हुन्छ। ख्रीष्टविरोधीको मानसिकता फरक हुन्छ। तिनीहरू अरू सबैलाई समझबारे बोल्न र त्यस्ता प्रवचनहरू सुन्नबाट रोक्नेबाहेक केही पनि गर्न चाहँदैनन्; उनीहरू सबै जना भ्रमित र समझहीन होऊन्, र तिनीहरूको बहकाउमा परून् भन्ने चाहन्छन्। तिनीहरूलाई त्यही कुराले खुसी तुल्याउँछ। ख्रीष्टविरोधीको सबैभन्दा ठूलो इच्छा के हो? शक्ति लिनु। के तिमीहरू शक्ति लिन चाहन्छौ? (चाहँदैनौँ।) हृदयमा होइन, तर कहिलेकाहीँ मानसिक रूपमा यो मन पर्ने कुराका रूपमा आउँछ, त्यसकारण वास्तवमा यो तँलाई गर्न मन लाग्ने कुरा हो। तँभित्र त्यस्तो व्यक्ति नबन्ने, त्यो बाटो नलिने व्यक्तिगत इच्छा, र भित्री तृष्णा हुन सक्छ, तर जब तेरो जीवनमा कुनै कुरा आइपर्छ, तब तेरो भ्रष्ट स्वभावले तँलाई ढलपल पार्छ र चलाउँछ। तँ आफ्नो हैसियत र प्रभाव कसरी जोगाउने, आफूले कति जना मानिसहरूलाई नियन्त्रण गर्न सक्छु, अरूको आदर पाउन कसरी अख्तियारसाथ बोल्ने भनेर सोच्दै आफ्नो दिमाग खियाउँछस्। जब तैँले सधैँ यी कुराहरूबारे विचार गरिरहेको हुन्छस्, तब तेरो हृदय उप्रान्त तेरो नियन्त्रणमा हुँदैन। यसलाई कुन कुराले नियन्त्रण गरिरहेको हुन्छ? (भ्रष्ट स्वभावले।) हो—यसलाई शैतानको भ्रष्ट स्वभावले नियन्त्रण गरिरहेको हुन्छ। व्यक्तिले आफ्ना देहगत हितहरूको चासोहरूबारे दिनभर मनन गर्ने गर्छ; उसले सधैँ अरूसँग सङ्घर्ष गरिरहेको हुन्छ, र यी सङ्घर्ष गर्ने क्रममा, उसले केही पनि प्राप्त गर्दैन, र यो उसका लागि अत्यन्तै पीडादायी हुन्छ—ऊ देह र शैतानका लागि मात्रै जिउँछ। यसरी व्यक्तिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्ने र परमेश्वरका लागि जिउने आफ्नो सङ्कल्प तय गर्छ, र त्यसपछि परिस्थितिहरू आइपर्दा फेरि हैसियत र हितहरूका लागि सङ्घर्ष गर्छ: घरि यता, घरि उता हुने सङ्घर्ष, जसले उसलाई भित्रैदेखि थकाइ दिन्छ, र जसबाट उसले केही पनि प्राप्त गर्दैन। मलाई भन त, के त्यो जिउने थकाइलाग्दो तरिका होइन र? (हो।) तिनीहरू दिनप्रतिदिन यसरी नै जिउँछन्, र तिनीहरूलाई थाहै नभई, दशकौँ बितिसकेको हुन्छ। कतिपय मानिसले परमेश्वरमा विश्वास गरेको दशबीस वर्ष भइसकेको हुन्छ—तर तिनीहरूले कति सत्यता प्राप्त गरेका हुन्छन्? तिनीहरूको भ्रष्ट स्वभाव कति परिवर्तन भएको हुन्छ? तिनीहरू हरेक दिन कसका लागि जिउँछन्? तिनीहरू के कुरामा व्यस्त हुन्छन्? तिनीहरूले केका लागि आफ्नो दिमाग खियाउँछन्? यो सबै देहका लागि हुन्छ। परमेश्वरले भन्नुभएको छ, “मानिसको हृदयका विचारहरूको हरेक कल्पना निरन्तर दुष्ट मात्र हुन्छ।” के यी वचनहरूमा कुनै गल्ती छ? यसलाई चाख; यसको स्वाद लिएर हेर। जब तँ यी वचनहरूबारे विचार गर्छस्, जब यी वचनहरू अनुभव गर्छस्, तब के तँ डराउँदैनस् र? तैँले यसो भन्न सक्छस्, “मलाई केही डर त लाग्छ नै। बाहिरी रूपमा, म दिनभरि मूल्य चुकाउँछु; म आफूलाई त्याग्छु, र समर्पित हुन्छु, र कष्ट भोग्छु। मेरो देहले त्यही गर्छ—तर मेरो हृदयका सबै विचार दुष्ट छन्। ती सबै सत्यताविरुद्ध जान्छन्। मैले गर्ने धेरै कुरामा, मेरो सुरुवाती विन्दु, मेरो मनसाय, र मेरा उद्देश्यहरू विशुद्ध रूपमा आफ्नै कल्पनाअनुसार दुष्टता गर्नेबारे छन्।” त्यस्तो व्यवहार गर्दा त्यसबाट के आउँछ? दुष्ट कार्यहरू। तब के परमेश्वरले तिनीहरूलाई सम्झनुहुनेछ? कतिपयले यसो भन्न सक्छन्, “मैले परमेश्वरमा विश्वास गरेको बीस वर्ष भयो। मैले सबै कुरा त्यागेको छु—र पनि, परमेश्वर यो कुरा याद गर्नुहुन्न।” तिनीहरू दुःखी हुन्छन्, तिनीहरू पीडामा हुन्छन्। तिनीहरूलाई केले पीडा दिन्छ? यदि परमेश्वर मानिससँग साँच्चै नै कठोर बन्नुभयो भने, मानिससँग घमन्ड गर्ने केही कुरा हुनेछैन। यो सबै परमेश्वरको अनुग्रह, उहाँको कृपा हो—परमेश्वर मानिसप्रति अत्यन्तै सहनशील हुनुहुन्छ। यसबारे विचार गर: परमेश्वर अत्यन्तै पवित्र, अत्यन्तै धर्मी, अत्यन्तै सर्वशक्तिमान् हुनुहुन्छ, र उँहा आफ्ना अनुयायीहरूले दिनभर पूर्ण रूपमा दुष्ट विचार, र सत्यताविरुद्धका विचार, र पूर्णतयाहैसियत, ख्याति, र लाभसम्बन्धी हितका कुराहरूबारे विचार गरेको हेर्नुहुन्छ। के परमेश्वरले आफ्ना अनुयायीहरूले आफूलाई यसरी विरोध गरेको र धोका दिएको सहनुहुनेछ? अवश्य नै सहनुहुनेछैन। यी विचार, सोचाइ, अभिप्राय, र मनसायहरूको प्रभुत्वमा परेका मानिसहरू परमेश्वरविरुद्ध विद्रोह र विरोध गर्दै खुलेआम काम गर्छन्, र यस क्रममा तिनीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहेको र परमेश्वरको काममा सहकार्य गरिरहेको घमन्ड गर्छन्। परमेश्वर यो सब देख्नुहुन्छ, र पनि उहाँले यो सब सहनैपर्छ। उहाँ यसलाई कसरी सहनुहुन्छ? उहाँले सत्यता प्रदान गर्नुहुन्छ; उहाँ मलजल र खुलासा गर्नुहुन्छ; उहाँ अन्तर्दृष्टि र ज्योति दिनुहुन्छ, अनि मार्गदर्शन, सजाय र अनुशासन प्रदान गर्नुहुन्छ—अनि जब त्यो अनुशासन कडा हुन्छ, उहाँले आश्वासन पनि प्रदान गर्नुपर्छ। त्यो सबै गर्नका लागि परमेश्वर कति धैर्यसील हुनुपर्छ! उहाँ यी मानिसहरूको विभिन्न भ्रष्ट स्वभाव देख्नुहुन्छ, तिनीहरूका सबै फरक-फरक प्रकटीकरण, व्यवहार, र विचारहरू दुष्ट छन् भन्ने तथ्य देख्नुहुन्छ—र पनि, उहाँले यसलाई सहन सक्नुहुन्छ। मलाई भन त, के मानिसले यसो गर्न सक्थ्यो? (सक्थेन।) आमाबुबाले छोराछोरीलाई देखाउने धैर्यता वास्तविक हुन्छ, तर परिस्थितिहरू असहनीय बनेपछि तिनीहरूले उनीहरूलाई त्याग्न वा उनीहरूसँगको सम्बन्धसमेत तोड्न सक्छन्। अनि, परमेश्वरले व्यक्तिप्रति प्रदान गर्ने धैर्यता चाहिँ कस्तो हुन्छ नि? तँ जिउने हरेक दिन परमेश्वर तँलाई आफ्नो धैर्यता प्रदान गर्नुहुन्छ। उहाँ यति धैर्यवान् हुनुहुन्छ। त्यो धैर्यताभित्र के हुन्छ? (प्रेम।) प्रेम मात्रै होइन—उहाँ तँबाट अपेक्षा पनि गर्नुहुन्छ। त्यो अपेक्षा के हो? के हो भने, उहाँले गर्ने कामबाट उहाँलाई नतिजा र फसल देख्ने मौका मिलोस्, र मानिसलाई उहाँको प्रेम चाख्न सक्षम पार्न उहाँलाई सफलता मिलोस्। के मानिसमा त्यस्तो प्रेम हुन्छ? हुँदैन। थोरै सिकाइ र शिक्षा पाएपछि, थोरै वरदान वा विशेष सिप पाएपछि, व्यक्तिले आफूलाई अरूभन्दा उच्च स्थानमा छु भन्ने ठान्छ, र साधारण मानिसहरू उसको नजिक आउन सक्दैनन् भन्ने सोच्छ। मानिसको घृणित पक्ष यही हो। के परमेश्वर यसरी नै व्यवहार गर्नुहुन्छ त? उहाँ यसको विपरीत व्यवहार गर्नुहुन्छ: यस्तो अकल्पनीय रूपमा फोहोरी, गहन रूपमा भ्रष्ट भएको मानवजाति नै परमेश्वरले मुक्ति दिने मानिसहरू हुन्; यति मात्र होइन, उहाँ तिनीहरूसँगै बस्नुहुन्छ, तिनीहरूको आमनेसामने रही तिनीहरूसँग कुरा गर्नुहुन्छ र तिनीहरूलाई साथ दिनुहुन्छ। मानिसले त्यसो गर्न सक्दैन।
यसपछिको सङ्गति अर्को एउटा थप समस्याबारे छ। कति मानिसहरू गवाही दिँदा यसो भन्छन्, “मेरो जीवनमा परिस्थितिहरू आउँदैपिच्छे, म परमेश्वरको प्रेम र उहाँको अनुग्रह सम्झन्छु, र भावुक बन्छु। यी कुराहरू सम्झँदा म आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्न छोड्छु।” धेरैजसो मानिसलाई यो अभिव्यक्ति राम्रो छ, यसले साँच्चै नै भ्रष्ट स्वभावको प्रकटीकरणको समस्या समाधान गर्न सक्छ भन्ने लाग्छ। के यी वचनहरू साँच्चै उचित छन् त? अहँ, छैनन्। परमेश्वरको प्रेम, उहाँको सर्वशक्तिमान्ता, मानिसप्रतिको उहाँको सहनशीलता, र उहाँले मानिसमा गर्ने सबै कामले व्यक्तिलाई उत्प्रेरित मात्र गर्न सक्छ—उसको त्यो उत्प्रेरित हुने भाग मानवता, विवेक र समझ हो; तैपनि, त्यसले मानिसको भ्रष्ट स्वभाव हटाउन सक्दैन, न त त्यसले मानिसको पछ्याइको उद्देश्य र दिशा नै परिवर्तन गर्न सक्छ। यही कारणले त परमेश्वर आखिरी दिनहरूको न्यायको काम गर्नुहुन्छ: उहाँ मानिसको भ्रष्ट स्वभावको समस्या समाधान गर्न सत्यता व्यक्त र प्रदान गर्नुहुन्छ। परमेश्वरले गर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? उहाँ सत्यता व्यक्त र सत्यता प्रदान गर्नुहुन्छ, अनि उहाँ मानिसलाई न्याय र सजाय दिनुहुन्छ। उहाँले तँलाई आफ्ना व्यवहारहरू वा उहाँले गर्ने कुराहरूद्वारा तेरो पछ्याइको दिशा र उद्देश्य परिवर्तन गर्न उत्प्रेरित गर्न चाहनुहुन्न। उहाँ त्यसरी काम गर्नुहुन्न। परमेश्वरले मानिससँग जति धैर्यशील छु, वा आफूले मानिसलाई जति ठूलो मूल्य चुकाएर मुक्ति दिन्छु भनेर भन्नुभए पनि, यो कुरा जसरी भन्नुभए पनि, उहाँ मानिसहरूलाई मुक्ति दिने आफ्नो अभिप्राय मात्र बुझाउन चाहनुहुन्छ। मानिसहरू उहाँको कुरा सुनेर कति उत्प्रेरित भएका छन् भन्ने कुराका आधारमा तिनीहरूको हृदय कोमल बनाउन र तिनीहरूलाई परिवर्तन हुन सक्षम पार्न उहाँ यी कुराहरू भन्नुहुन्न। त्यो गर्न सकिँदैन। किन सकिँदैन? मानिसको भ्रष्ट स्वभाव नै उसको प्रकृति सार हो, र त्यो प्रकृति सार नै मानिसहरूले बाँच्नका लागि भर पर्ने जग हो। यो अलिकति प्रोत्साहित गरेर परिवर्तन हुने खराब चलन वा बानी होइन; व्यक्ति खुसी भएपछि, वा केही मात्रामा ज्ञान प्राप्त गरेपछि वा धेरै पुस्तक पढेपछि परिवर्तन हुन्छ भन्ने होइन। त्यो असम्भव छ। कसैले पनि मानिसको प्रकृति परिवर्तन गर्न सक्दैन। सत्यता स्विकारेर अनि प्राप्त गरेर मात्रै व्यक्ति परिवर्तन हुन सक्छ—मानिसहरूलाई परिवर्तन गर्न सक्ने कुरा सत्यता मात्रै हो। यदि तँ आफ्नो जीवन स्वभाव परिवर्तन गर्न चाहन्छस् भने, तैँले सत्यता पछ्याउनैपर्छ, र सत्यता पछ्याउनका लागि तैँले परमेश्वरले बोल्नुहुने विभिन्न सत्यताबारे स्पष्ट बुझाइ प्राप्त गर्दै सुरुवात गर्नैपर्छ। कतिपय मानिसलाई यदि कसैले धर्मसिद्धान्त बुझेको छ भने, उसले पक्कै सत्यता बुझेको हुन्छ भन्ने लाग्छ। योभन्दा गलत कुरा हुनै सक्दैन। यदि तैँले परमेश्वरमाथिको विश्वासको धर्मसिद्धान्त बुझेको छस् र केही आत्मिक सिद्धान्तहरू प्रस्तुत गर्न सक्छस् भने, सत्यता बुझेको छस् भन्ने होइन। अब यसबारे विचार गर्: सत्यताले वास्तवमा केलाई जनाउँछ? म किन सधैँ सत्यता नबुझ्ने मानिसहरू धेरै छन् भनेर भन्छु? तिनीहरूलाई यस्तो लाग्छ, “यदि मैले परमेश्वरका वचनहरूको अर्थ बुझ्न सकेँ भने, सत्यता बुझेको छु,” र “परमेश्वरका सबै वचन सही छन्; ती सबैले हाम्रो हृदय छुन्छन्, त्यसकारण ती हाम्रो साझा भाषा हुन्” भन्ने हुन्छ। मलाई भन् त, यो अभिव्यक्ति सही छ कि छैन? सत्यता बुझ्नु भनेको वास्तवमा के हो? तिनीहरू सत्यता बुझ्दैनन् भनेर हामी किन भन्छौँ? हामी सुरुमा सत्यता के हो भन्नेबारे थोरै भए पनि कुरा गर्नेछौँ। सत्यता सबै सकारात्मक कुराहरूको वास्तविकता हो। त्यसोभए, यी सकारात्मक कुराहरूको वास्तविकता मानिससँग कसरी सम्बन्धित हुन्छ? (परमेश्वर, मेरो बुझाइअनुसार त व्यक्तिले सत्यता बुझेपछि यो प्रकट हुने तरिका के हो भने, उसले जुनसुकै मानिस, घटना र कामकुराहरू सामना गरे पनि, ऊसँग सिद्धान्तहरू हुन्छन् र तिनलाई कसरी सम्हाल्ने भन्ने उसलाई थाहा हुन्छ, र ऊसँग अभ्यास गर्ने मार्ग हुन्छ; सत्यताले उसका कठिनाइहरू समाधान गर्न सक्छ र यो उसको जीवनको वास्तविकता बन्न सक्छ। परमेश्वरले भर्खरै के भन्दै हुनुहुन्थ्यो भने, व्यक्तिले धर्मसिद्धान्त बुझ्नु सत्यताको बुझाइ होइन—उसलाई आफूले सत्यता बुझेको छु जस्तो लाग्छ, तर ऊ आफ्नो वास्तविक जीवनमा आइपर्ने कुनै पनि समस्या र कठिनाइहरू समाधान गर्न सक्दैन। ऊसँग त्यसका लागि कुनै मार्ग हुँदैन; ऊ विभिन्न कुरालाई सत्यतासँग जोड्न सक्दैन।) सत्यता नबुझ्नु भनेको यही हो। भर्खरै भनिएको एउटा कुरा एकदमै सही हो: सत्यता के हो? (सत्यताले मानिसहरूलाई अभ्यास गर्ने मार्ग भेट्टाउन, र सिद्धान्तअनुसार काम गर्न मद्दत गर्न सक्छ; यसले मानिसहरूका कठिनाइहरू समाधान गर्न सक्छ।) ठिक भन्यौ। आफूलाई सत्यता सिद्धान्तहरूसँग तुलना गर्नु र तीअनुसार अभ्यास गर्नु—त्यो नै मार्ग हो। यसले त्यही नै सत्यताको बुझाइ हो भन्ने प्रमाणित गर्छ। यदि तैँले धर्मसिद्धान्त मात्रै बुझेको छस्, र तँलाई कुनै कुरा आइपर्दा, यसलाई लागू गर्न सक्दैनस्, र सिद्धान्तहरू भेट्टाउन सक्दैनस् भने, त्यो सत्यता बुझ्नु होइन। सत्यता के हो त? सत्यता सबै कुरा गर्ने सिद्धान्त र मापदण्डहरू हुन्। होइन र? (हो।) जब म तिमीहरूले सत्यता बुझेका छैनौ भनेर भन्छु, तब मैले तिमीहरूले प्रवचन सुनेपछि धर्मसिद्धान्त मात्रै जानेका हुन्छौ भनेर भनिरहेको हुन्छु। यसभित्र रहेका सत्यताका सिद्धान्त र मापदण्डहरू केके हुन्, वा तिमीहरूको जीवनमा आइपर्ने केकस्ता घटनाहरू सत्यताको त्यो पक्षसँग सम्बन्धित हुन्छन्, वा कुन-कुन स्थितिहरू त्यससँग सम्बन्धित हुन्छन् भन्ने तिमीहरूलाई थाहा हुँदैन, न त तिमीहरूलाई सत्यताको त्यो पक्ष कसरी लागू गर्ने भन्ने नै थाहा हुन्छ। तिमीहरूलाई तीमध्ये कुनै कुरा पनि थाहा हुँदैन। उदाहरणका लागि, मानौँ तिमीहरूले एउटा प्रश्न सोध्यौ। तिमीहरूले यो प्रश्न सोध्नुको अर्थ तिमीहरूलाई सम्बन्धित सत्यता थाहा छैन भन्ने हो। के यसबारे सङ्गति गरेपछि तिमीहरू यो कुरा बुझ्नेछौ? (बुझ्नेछौँ।) सङ्गतिपछि तैँले अलिअलि बुझेको हुन सक्छस्, तर यदि तेरो जीवनमा फेरि यस्तै घटना घट्दा तैँले कुरा बुझ्दैनस् भने, त्यो सत्यताको साँचो बुझाइ होइन। तँलाई त्यो सत्यताका सिद्धान्त र मापदण्डहरूबारे केही थाहा छैन; तँलाई ती कुराहरूबारे कुनै बोध छैन। यसमा कुनै एउटा सत्यता हुन सक्छ, जुन तँलाई आफूले बुझेको छु जस्तो लाग्न सक्छ—तर योसित सम्बन्धित वास्तविकताहरू केके हुन्, र यो मानिसका कुन-कुन स्थितिहरूप्रति लक्षित छ भन्ने हकमा कुरा गर्नुपर्दा, यदि तैँले त्यो सत्यता बुझेको छस् भने, के तँ आफ्नो स्थितिलाई त्यससँग तुलना गर्न सक्छस्? यदि सक्दैनस्, र तेरो साँचो स्थिति के हो भनेर तँलाई कहिल्यै थाहा हुँदैन भने, के तँसँग सत्यताको बुझाइ हुन्छ? (हुँदैन।) यो सत्यताको बुझाइ होइन। जब सत्यता र सिद्धान्तहरूको कुनै पक्षको कुरा आउँछ, तब यदि तँलाई कुन मामला र कुन स्थितिहरू त्यो सत्यतासँग सम्बन्धित छन्, र कुन प्रकारका मानिसहरू वा तेरा आफ्नै कुन-कुन स्थितिहरू त्यो सत्यतासँग सम्बन्धित छन् भन्ने थाहा छ, र तैँले ती कुराहरू समाधान गर्न त्यो सत्यता प्रयोग गर्न पनि सक्छस् भने, त्यसको अर्थ तैँले सत्यता बुझेको छस् भन्ने हो। यदि तँलाई प्रवचन सुन्दा नै बुझेजस्तो लाग्छ, तैपनि तँलाई सङ्गति गर्न लगाइयो भने, आफूले सुनेका वचनहरू मात्रै सुगा रटाइ भन्छस्, तर विभिन्न स्थिति र वास्तविक परिस्थितिहरूका सन्दर्भमा भने यसबारे बोल्न र व्याख्या गर्न सक्दैनस् भने, के त्यो सत्यताको बुझाइ हो? होइन, त्यो सत्यताको बुझाइ होइन। त्यसोभए, के तिमीहरू प्रायः सत्यता बुझ्छौ, कि बुझ्दैनौ? (बुझ्दैनौँ।) किन बुझ्दैनौ? किनभने धेरैजसो सत्यताको हकमा भन्दा, तिमीहरूले ती सुनेपछि धर्मसिद्धान्त मात्र बुझेका हुन्छौ। तिमीहरूले गर्न सक्ने भनेकै यसलाई प्रावधानहरूका रूपमा पालना गर्नु मात्र हो; यसलाई कसरी लचिलो तरिकामा लागू गर्ने भनेर तिमीहरूलाई थाहै हुँदैन। जब तेरो जीवनमा कुनै कुरा आइपर्छ, तब तँ आश्चर्यचकित हुन्छस्; जब तेरो जीवनमा कुनै कुरा आइपर्छ, तब तँ आफूले बुझेको त्यो सानो सिद्धान्त ठाउँको ठाउँ लागू गर्न सक्दैनस्—त्यो व्यर्थ हो। त्यो सत्यताको बुझाइ हो कि होइन? (होइन।) सत्यता नबुझ्नु भनेको त्यही हो। यदि तैँले सत्यता बुझेको छैनस् भने, के हुन्छ? तँ माथि उक्लने प्रयास गर्नुपर्छ, र यसलाई पत्ता लगाउन कष्ट उठाउनुपर्छ। तेरो मानवतामा हुनैपर्ने केही कुरा छन्: तँ आफूले सिक्ने र गर्ने कुरामा होसियार र सावधान हुनैपर्छ। यदि तँ सत्यता पछ्याउन चाहन्छस् तर तँसँग सामान्य मानिसहरूको विवेक र समझ छैन भने, तैँले कहिल्यै पनि सत्यता बुझ्न सक्नेछैनस्, र तेरो विश्वास भ्रमित हुन्छ। यो तेरो क्षमतामा निर्भर हुँदैन; यो तँमा यस्तो मानवता छ कि छैन भन्ने कुरामा मात्रै निर्भर हुन्छ। यदि तँसँग यस्तो मानवता छ भने, तेरो क्षमता मध्यम भए पनि, तँ अझै पनि आधारभूत सत्यताहरू बुझ्न सक्छस्। कम्तीमा यसले सत्यतालाई छुन्छ। अनि यदि तँसँग निकै राम्रो क्षमता छ भने, तैँले बुझ्ने कुरा सत्यताका गहन स्तरका कुराहरू हुन सक्छन्, र त्यस्तो अवस्थामा तँ यसमा अझै गहन रूपमा प्रवेश गर्न सक्नेछस्। यो तेरो क्षमतासँग सम्बन्धित हुन्छ। तर यदि तेरो मानवतामा होसियारी र सावधानीको मनोवृत्ति छैन, र तँ सधैँ अस्पष्ट र अनिश्चित, भ्रमित, सधैँ अन्धकार स्थितिमा हुन्छस् भने—सबै मामलामा अन्धकारमय, अस्पष्ट, र झाराटारुवा हुन्छस् भने, तेरो लागि, सत्यता सधैँ प्रावधान र धर्मसिद्धान्त हुनेछ। तैँले यो प्राप्त गर्न सक्नेछैनस्। मैले यसो भनेको सुनेपछि, के तिमीहरूलाई अहिले सत्यता पछ्याउनु गाह्रो छ भन्ने लाग्छ? यसमा केही हदसम्म कठिनाइ छ, तर यो धेरै हदसम्म पनि हुन सक्छ, वा थोरै हदसम्म पनि हुन सक्छ। यदि तैँले विचार गरिस् र प्रयत्न गरिस् भने, कठिनाइको हद घट्नेछ, र तैँले केही सत्यताहरू प्राप्त गर्नेछस्; यदि तँ सत्यतामा कुनै प्रयत्न लगाउँदैनस्, बरु धर्मसिद्धान्त र बाहिरी अभ्यासहरूमा मात्रै प्रयत्न लगाउँछस् भने, तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्।
के तिमीहरूले यी सत्यताहरूबारे मेरो व्यवस्थित सङ्गतिमार्फत केही कुराको सार छर्लङ्ग देखेका छौ? के तिमीहरूले केही बुझ्यौ? के कुनै कलेजको पाठ्यक्रमको ज्ञानमा भन्दा सत्यताको सानो अंशमा बढी विस्तृत कुरा हुँदैनन् र? (हुन्छन्।) अत्यन्तै धेरै विस्तृत कुरा हुन्छन्। मानिसहरूले ती विस्तृत कुराहरू कण्ठ गर्न र बुझ्न सक्छन् भने, केही वर्षको प्रयासमै, निरन्तर अभ्यास र व्यावहारिक अनुभवद्वारा ती बोध गर्न सक्छन्। व्यक्तिले कुनै शैक्षिक विषय सिक्दा, समय र ऊर्जा खर्च गरेर र त्यसमा ध्यान दिएर मात्रै पनि त्यो बिस्तारै सिक्न सक्छ। तर सत्यता बुझ्नका लागि, आफ्नो मस्तिष्क प्रयोग गरेर मात्रै हुँदैन—तैँले आफ्नो हृदय पनि प्रयोग गर्नुपर्छ। यदि तैँले हृदयमा परमेश्वरका वचनहरू मनन गरिनस् वा हृदयमा तिनलाई अनुभव गरिनस् भने, सत्यता बुझ्न सक्नेछैनस्। आत्मिक बुझाइ भएका, विवेकशील, र बुझ्ने क्षमता भएका मानिसहरू मात्रै सत्यतासम्म पुग्न सक्छन्; आत्मिक बुझाइ नभएका, कमजोर क्षमता भएका, र बुझ्ने क्षमता नभएका मानिसहरू कहिल्यै पनि सत्यतासम्म पुग्न सक्दैनन्। के तिमीहरू लापरवाह मानिस हौ कि एकदमै राम्रो ध्यान दिने मानिस हौ? (हामी लापरवाह मानिस हौँ।) के त्यो खतरनाक कुरा होइन र? के तिमीहरू राम्रो ध्यान दिने हुन सक्छौ? (सक्छौँ।) यो राम्रो कुरा हो; मलाई त्यस्तो कुरा सुन्न मन पर्छ। सधैँ सक्दिनँ भनेर नभन—तैँले प्रयास नगरेसम्म कसरी थाहा हुन्छ र? तैँले यो काम गर्न सक्नुपर्छ। तिमीहरूको पछ्याइप्रतिको तिमीहरूको वर्तमान सङ्कल्प र मनोवृत्ति हेर्दा, तिमीहरूले आधारभूत सत्यताहरू बुझ्ने आशा छ। यो हासिल गर्न सम्भव छ। यदि व्यक्ति आफ्नो हृदय प्रयोग गर्न र मूल्य चुकाउन इच्छुक छ, अनि उसले आफ्नो हृदयमा सत्यताका लागि कडा परिश्रम गर्छ भने, पवित्र आत्माले काम गर्नुहुनेछ र उसलाई सिद्ध पार्नुहुनेछ। यदि उसले आफ्नो हृदयमा सत्यताका लागि मेहनत गर्दैन भने, पवित्र आत्माले काम गर्नुहुनेछैन। याद गर: व्यक्तिले सत्यता बुझ्नका लागि, सक्रिय रूपमा प्रयास गर्नुपर्छ र मूल्य चुकाउनुपर्छ, तर यसबाट चाहेको परिणाम आधा मात्र हासिल हुन सक्छ, यसबाट त्यो भाग मात्रै हासिल हुन सक्छ, जसमा मानिसहरूले आफ्नो तर्फबाट गर्नुपर्ने कामकुरा गर्नुपर्ने हुन्छ। अर्को आधा भाग सत्यता बुझ्ने कार्यको महत्त्वपूर्ण भाग हो, जुन कुराको कमी मानिसहरूमा हुन्छ, र यसलाई हासिल गर्न तिनीहरूले पवित्र आत्माको काम र सिद्धतामा भरोसा गर्नुपर्छ। ज्ञान प्राप्त गर्न र विज्ञानबारे सिक्न मेहनतमा भर पर्नु नै पर्याप्त हुने भए पनि, सत्यता बुझ्नका लागि त्यसले काम गर्दैन भन्ने कुरा तिमीहरूले बिर्सनु हुँदैन। मस्तिष्कमा मात्रै भरोसा गर्नु व्यर्थ हुन्छ—मान्छेले आफ्नो हृदय प्रयोग गर्नैपर्छ, र मूल्य चुकाउनैपर्छ। मूल्य चुकाएर के हासिल हुन्छ? पवित्र आत्माको काम। तर पवित्र आत्माको कामको जग के हो? व्यक्तिको दिमाग पर्याप्त रूपमा सावधान हुनैपर्छ; परमेश्वरले काम गर्नुभन्दा पहिले उसको हृदय पर्याप्त रूपमा शान्त र स्थिर हुनैपर्छ, अनि पर्याप्त रूपमा निष्कपट हुनैपर्छ। पवित्र आत्माको काम गूढ हुन्छ, र यसको स्वाद चाखेका मानिसहरूलाई यो कुरा थाहा हुन्छ। सत्यताप्रति बारम्बार प्रयास गर्ने मानिसहरूले प्रायजसो पवित्र आत्माको अन्तर्दृष्टि अनुभव गर्न सक्छन्, त्यसकारण कर्तव्य निर्वाह गर्ने क्रममा तिनीहरूको अभ्यासको मार्ग सहज हुन्छ, र तिनीहरूको हृदयमा झन्-झन् बढी स्पष्टता हुन्छ। अनुभवविनाका मानिसहरू पवित्र आत्माको काम अनुभव गर्न सक्दैनन्, र तिनीहरूले कहिल्यै पनि सही मार्ग देख्न सक्दैनन्। तिनीहरूका लागि सबै कुरा धमिलो र अस्पष्ट हुन्छन्; सही मार्ग के हो तिनीहरूलाई थाहै हुँदैन। वास्तवमा सत्यता बुझ्न र अभ्यासको मार्ग स्पष्ट रूपमा देख्न गाह्रो छैन: यदि व्यक्तिको हृदयमा यी अवस्थाहरू छन् भने, पवित्र आत्माले काम गर्नुहुन्छ। तर यदि तेरो हृदय ती सर्तहरूबाट तर्किन्छ भने, तैँले पवित्र आत्माको काम पत्ता लगाउन सक्नेछैनस्। यो अमूर्त वा अस्पष्ट हुँदैन। तँ ती स्थितिहरूमा हुँदा र तेरो हृदय ती परिस्थितिहरूमा हुँदा, यदि तैँले खोजी गरिस्, प्रयास गरिस्, मनन गरिस्, र प्रार्थना गरिस् भने, पवित्र आत्माले तँमा काम गर्नुहुनेछ। तर यदि तँ भुलक्कड छस्, सधैँ हैसियतको पछि लाग्न अनि ख्याति र प्राप्तिका लागि सङ्घर्ष गर्न चाहन्छस्, सधैँ फुर्ती लगाउन र बाहिरी रूपमा ध्यान दिन चाहना गर्छस् भने—यदि तँ सधैँ परमेश्वरबाट भागिरहेको, लुकिरहेको, टाढा भइरहेको, र उहाँलाई इन्कार गरिरहेको हुन्छस्, र उहाँप्रति खुला हृदयले खुलस्त भइरहेको हुँदैनस् भने—पवित्र आत्माले काम गर्नुहुनेछैन, उहाँले तँलाई ध्यान दिनुहुनेछैन, र तँलाई हप्कीसमेत दिनुहुनेछैन। पवित्र आत्माको हप्कीसमेत अनुभव नगरेको व्यक्तिले कति धेरै सत्यता बुझ्न सक्छ र? कहिलेकाहीँ, पवित्र आत्माले तँलाई कुनै काम गर्ने सही र गलत तरिका बताउनका लागि हप्की दिनुहुन्छ। जब उहाँ तँलाई त्यस्तो अनुभूति दिनुहुन्छ, तब अन्त्यमा तैँले त्यसबाट के प्राप्त गर्नेछस्? तैँले सही र गलत छुट्याउने क्षमता प्राप्त गर्नेछस्, र त्यो कुराबारे तँलाई एकै नजरमा स्पष्ट हुनेछ: “त्यो तरिका गलत छ—त्यो सिद्धान्तबाहिरको कुरा हो। म त्यसो गर्न सक्दिनँ।” त्यो कुरामार्फत, तैँले सिद्धान्तहरू के हुन्, र परमेश्वरको अभिप्राय के हो, र सत्यता वास्तविकता के हो भन्ने कुरा स्पष्ट रूपमा जान्नेछस्, र त्यसकारण तैँले आफूले के गर्नुपर्छ भन्ने कुरा थाहा पाउनेछस्। तर यदि पवित्र आत्माले काम गर्नुभएन भने, यदि उहाँले तँलाई यस्तो अनुशासन दिनुभएन भने, तँ त्यस्ता कुराहरूको हकमा सधैँ भ्रमित स्थितिमा, र अस्पष्ट नै रहनेछस्। जब ती कुराहरू तेरो जीवनमा आइपर्छन्, तब तँ अक्क न बक्क हुनेछस्; जब ती कुराहरू तेरो जीवनमा आइपर्छन्, तब तँलाई के भइरहेको छ भन्ने नै थाहा हुनेछैन, र तँ तेरो हृदयमा अत्यन्तै भ्रमित हुनेछस्—तँलाई आफूले के गर्नुपर्छ भन्ने कुरा नै स्पष्ट हुनेछैन। तँ चिन्ताले ग्रस्त हुन सक्छस्—तर पवित्र आत्माले किन काम गर्न पाउनुहुन्न? सायद तँभित्रका केही स्थिति सही छैनन्, र तैँले प्रतिरोध गरिरहेको छस्। तँ केद्वारा प्रतिरोध गर्छस्? यदि तँ कुनै गलत दृष्टिकोण वा धारणामा अडिग छस् भने, परमेश्वरले काम गर्नुहुनेछैन, बरु त्यो धारणा वा दृष्टिकोण गलत छ भन्ने तैँले त्यो महसुस नगरेसम्म पर्खिरहनुहुनेछ। पवित्र आत्मा त्यस जगबाट मात्रै काम गर्नुहुन्छ। जब पवित्र आत्माले काम गर्नुहुन्छ, तब उहाँ तँलाई के सही र के गलत छ भनेर जानाजानी थाहा पाउन दिनमा मात्र सीमित रहनुहुन्न। बरु, उहाँ तँलाई बाटो के हो, दिशा र उद्देश्य के हो, र तेरो बुझाइ सत्यताबाट कति टाढा छ भन्ने कुरा स्पष्ट रूपमा देखाउनुहुन्छ। उहाँ तँलाई यो कुरा स्पष्ट रूपमा थाहा दिनुहुन्छ। के तिमीहरूले त्यस्ता कुराहरू अनुभव गरेका छौ? यदि कसैले परमेश्वरमा विश्वास गरेको दशबीस वर्ष भयो, तर पनि उसले त्यस्ता खास कुराहरू अनुभव गरेको छैन भने, ऊ कस्तो व्यक्ति हो? ध्यान नदिने व्यक्ति। यस्ताहरूले प्रायजसो मौखिक रूपमा दोहोर्याइने धर्मसिद्धान्त र थेगोहरू मात्रै प्रस्तुत गर्न सक्छन्, र तिनीहरूका ती केही रणनीति र सरल विधिद्वारा मात्रै समस्याहरू समाधान गर्न सक्छन्। यसका लागि, तिनीहरूले पक्कै थोरै प्रगति गर्छन्—तर तिनीहरूले कहिल्यै पनि सत्यता बुझ्नेछैनन्, र पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुनेछैन। सत्यता पूर्ण रूपमा पहुँचबाहिर हुने त्यस्ता ध्यान नदिने मानिसहरूको हकमा भन्नुपर्दा, पवित्र आत्माले तिनीहरूलाई अन्तर्दृष्टि दिनुभए पनि तिनीहरू यो बुझ्न सक्दैनन्। त्यसकारण, पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न। किन गर्नुहुन्न? के परमेश्वरले पक्षपात गरिरहनुभएको हुन्छ? होइन। त्यसोभए यसको कारण के हो त? त्यो के हो भने, तिनीहरूको क्षमता अत्यन्तै कमजोर हुन्छ, र यो तिनीहरूको पहुँचबाहिर हुन्छ। पवित्र आत्माले काम गर्नुभए पनि तिनीहरू सत्यता बुझ्दैनन्; यदि तिनीहरूलाई कुनै कुरा सिद्धान्त हो भनेर भनियो भने, के तिनीहरूसँग त्यो कुरा बुझ्ने क्षमता हुन्छ त? हुँदैन। त्यसैले, परमेश्वर त्यसो गर्नुहुन्न। के तिमीहरूले यस्ता कुरा अनुभव गरेका छौ? सत्यता निष्पक्ष छ। तैँले यसलाई पछ्याउने क्रममा, यसलाई गहन रूपमा हेर्ने क्रममा, पवित्र आत्माले काम गर्नुहुनेछ, र तैँले यसलाई प्राप्त गर्नेछस्। तर यदि तँ अल्छी छस् र आरामको लालसा गर्छस्, र सत्यतामा प्रयत्न लाउन अनिच्छुक छस् भने, तँ जोसुकै भए पनि पवित्र आत्माले काम गर्नुहुनेछैन, र तैँले सत्यता प्राप्त गर्न सक्नेछैनस्। अब बुझ्यौ? के तिमीहरूले अहिले सत्यता पछ्याइरहेका छौ? जसले यसलाई पछ्याउँछ उसले यो प्राप्त गर्छ, र जसले अन्ततः सत्यता प्राप्त गर्छ ऊ खजाना बन्छ। यसलाई प्राप्त गर्न नसक्नेहरूले तिनीहरूको डाहा गर्न सक्छन्, तर केही हुनेछैन: यदि तिनीहरूले यो मौका गुमाए भने, कुरै सकिनेछ।
सत्यता पछ्याउने सबैभन्दा राम्रो समय अवधि कुन हो? त्यस्तो अवधि, जसमा परमेश्वरले देहमा काम गरिरहनुभएको हुन्छ, र तँसँग आमनेसामने कुराकानी र सङ्गति गरिरहनुभएको हुन्छ, अनि तँलाई मार्गदर्शन र सहयोग गरिरहनुभएको हुन्छ। त्यो सबैभन्दा राम्रो अवधि हो भनेर म किन भन्दै छु? किनभने देहधारी परमेश्वरको काम र वाणीले तँलाई पवित्र आत्माका अभिप्रायहरू बुझ्न, र पवित्र आत्माले कसरी काम गर्नुहुन्छ भनेर जान्न पूर्ण रूपमा सक्षम पार्न सक्छ। देहधारी परमेश्वरले पवित्र आत्माको कामका सिद्धान्त, शैली, तरिका, र माध्यमहरू पूर्ण रूपमा बुझ्न सक्नुहुन्छ, र उहाँ तँलाई यसबारे बताउनुहुन्छ, ताकि तैँले आफै यसबारे छामछुम गर्दै सिक्नु नपरोस्। यो छोटो बाटो अपना, र तँ तुरुन्तै यसमा पुग्न सक्नेछस्। जब देहधारी परमेश्वरले बोल्न छोड्नुहुन्छ र आफ्नो काम समाप्त गर्नुभएको हुन्छ, तब तैँले आफै यसबारे छामछुम गर्दै सिक्नुपर्नेछ। यो देहधारी देहको स्थानमा खडा हुन सक्ने, र तँलाई के गर्ने, र कहाँ जाने, र कस्तो बाटो लिने भनेर स्पष्ट रूपमा बताउन सक्ने कोही पनि छैन। ती कुराहरू तँलाई बताउन सक्ने कोही छैन; कुनै व्यक्ति जति नै आत्मिक भए पनि, उसले त्यो गर्न सक्नेछैन। यसका उदाहरणहरू छन्। यो दुई हजार वर्षदेखि विश्वास गरिरहेका येशूका विश्वासीहरूको हकमा जस्तै हुन्छ: तिनीहरूमध्ये कतिले एक कदम पछि सरेर अहिले पुरानो करार पढ्न र व्यवस्था पालना गर्न थालेका छन्; अनि कतिले क्रूस बोक्ने गर्छन्, आफ्नो कोठामा दश आज्ञा झुन्ड्याउँछन्, र प्रावधान र आज्ञाहरू पालना गर्छन्। अन्त्यमा तिनीहरूले के प्राप्त गरेका छन्? पवित्र आत्माले काम गर्नुहुन्छ, तर यदि परमेश्वरका स्पष्ट वचनहरू छैनन् भने, मानिसहरू सधैँ छामछुम मात्र गरिरहेका हुन्छन्। स्पष्ट शब्दहरूको कमी हुनुको अर्थ के हो? यसको अर्थ मानिसहरूले छामछुम गर्ने कुरा टुङ्गोविनाको हुन्छ भन्ने हो। तैँले यसो गर्नु सही हो र त्यसो गर्नु गलत हो भन्दै तँलाई निश्चितता दिन सक्ने कोही छैन। तँलाई त्यो कुरा भन्न सक्ने कोही छैन। यदि पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभयो भने पनि, र तैँले यो सही हो भनेर विश्वास गरे पनि, के परमेश्वरले अनुमोदन गर्नुहुन्छ र? तँ आफै पनि निश्चित छैनस्, होइन र? (अहँ, हामी छैनौँ।) प्रभु येशूका ती वचनहरू उहाँले दुई हजार वर्ष पहिले छोडेर जानुभएको थियो र तिनलाई बाइबलमा अभिलेख गरियो—अहिले, दुई हजार वर्षपछि, प्रभुका विश्वासीहरूले उहाँको पुनरागमनका विषयमा हरकिसिमका व्याख्याहरू दिएका छन्, र यसको सही व्याख्या वास्तवमा के हो भन्ने कसैलाई थाहा छैन। त्यसकारण, कामको यो चरण स्विकार्नु तिनीहरूका लागि ठूलो तनाव हो। यसले के देखाउँछ? स्पष्ट रूपमा व्यक्त नगरिएका यी अस्पष्ट वचनहरूबारे, दश जनाले दशवटा, र सय जनाले, सयवटा व्याख्याहरू दिन्छन्। हरेकको आआफ्नै स्पष्टीकरण र तर्क हुन्छ। कुन व्याख्या चाहिँ सही हो? जबसम्म परमेश्वर बोल्नुहुन्न वा निष्कर्ष दिनुहुन्न, तबसम्म मानिसले भनेको केही पनि महत्त्वपूर्ण हुँदैन। तेरो सम्प्रदाय जति नै ठूलो भए पनि, यसको सदस्य जति नै धेरै भए पनि, के त्यो परमेश्वरका लागि कुनै महत्त्वको हुन्छ? (हुँदैन।) परमेश्वर तेरो शक्ति हेर्नुहुन्न। यदि संसारको एउटै व्यक्तिले पनि परमेश्वरले गर्ने कुरा स्विकार्न सक्दैन भने पनि, यो कुरा सही नै हुन्छ, र यो सत्यता नै हुन्छ। यो अनन्त र अपरिवर्तनीय तथ्य हो! सबै धर्म र सम्प्रदायले यसलाई यसरी र त्यसरी व्याख्या गर्छन्, र अन्त्यमा के हुन्छ? के तेरो व्याख्या उपयोगी हुन्छ त? (हुँदैन।) परमेश्वर यसलाई एउटै वाक्यले खण्डन गर्नुहुन्छ। तैँले यसलाई जेजसरी व्याख्या गरिरहे पनि, के परमेश्वरले तँलाई ध्यान दिनुहुनेछ? (दिनुहुनेछैन।) परमेश्वरले किन तँलाई ध्यान दिनुहुनेछैन? परमेश्वरले नयाँ काम गर्न थाल्नुभएको छ, र यो अहिले लगभग तीस वर्ष भएको छ। ती मानिसहरूले जति नै अहङ्कारी रूपमा कोलाहल मच्चाए पनि, के उहाँ तिनीहरूलाई ध्यान दिनुहुन्छ र? (दिनुहुन्न।) उहाँले कुनै ध्यान दिनुहुनैछैन। धर्मका मानिसहरूले भन्नेछन्: “तपाईँले तिनीहरूलाई ध्यान दिनुभएन भने, के ती मानिसहरूले मुक्ति पाउन सक्दैनन् र?” वास्तवमा परमेश्वरका वचनहरूले धेरै पहिले नै सबै कुरा स्पष्ट पारेका छन्, र उहाँ जे भन्नुहुन्छ त्यही हुन्छ। धार्मिक संसारसँग जति नै धेरै शक्ति भए पनि, यसको कुनै काम छैन; तिनीहरूको सङ्ख्या जति नै धेरै भए पनि, त्यसले तिनीहरूसँग सत्यता छ भन्ने प्रमाणित गर्दैन। परमेश्वर आफूले जे गर्नुपर्ने हो त्यही गर्नुहुन्छ; उहाँ आफूले जहाँ सुरु गर्नुपर्ने हो, त्यहीँ सुरु गर्नुहुन्छ; उहाँ आफूले जसलाई छनौट गर्नुपर्ने हो, उसैलाई छनौट गर्नुहुन्छ। के उहाँ धार्मिक संसारको प्रभाव र बन्धनमा पर्नुहुन्छ र? (पर्नुहुन्न।) अलिकति पनि पर्नुहुन्न। यो परमेश्वरको काम हो। तैपनि, भ्रष्ट मानवजाति परमेश्वरसँग बहस गर्न, र उहाँलाई दिनभर व्याख्या दिन चाहन्छ—के यसको कुनै काम छ र? तिनीहरू आफूले चाहेअनुसार बाइबलका वचनहरूको अर्थसमेत लाउँछन्—तिनीहरू स्पष्ट रूपमै तिनलाई प्रसङ्गबाहिर लान्छन्, र परमेश्वर तिनलाई पूरा गर्नुहुन्छ भनेर प्रतीक्षा गर्दै जीवनभर तिनमै लागिरहनसमेत चाहन्छन्। तिनीहरूले सपना देखिरहेका छन्! यदि कसैले परमेश्वरका वचनहरूमा सत्यता खोजी गर्दैन, र सधैँ परमेश्वरलाई यो र त्यो काम गर्न अनुरोध गर्न चाहन्छ भने, के त्यो व्यक्तिसँग अझै समझ हुन्छ र? तिनीहरूले के गर्ने प्रयास गरिरहेका हुन्छन्? के तिनीहरू विद्रोह गर्न चाहन्छन्? के तिनीहरू परमेश्वरसँग लड्न चाहन्छन्? जब महाविपत्तिहरू आउँछन्, तब सबै जना चकित हुनेछन्; तिनीहरू रुनेछन् र चिच्याउनेछन्, तर केही अर्थ हुनेछैन। के यो यस्तै हुनेछैन र? यस्तै हुनेछ।
अहिले नै सबैभन्दा राम्रो समय अवधि हो—यही नै परमेश्वरले मानिसहरूलाई मुक्ति दिइरहनुभएको र तिनीहरूलाई सिद्ध पारिरहनुभएको समय हो। यो अवधि गुमाउने दिन नआउन्जेल पर्खेर नबस, अनि यस्तो नसोच: “परमेश्वरले भनेको त्यो कुराको अर्थ के हो? त्यो बेला सोधेको भए राम्रो हुनेथ्यो, अब त सोध्न पनि सक्दिनँ। त्यसोभए म प्रार्थना मात्रै गर्नेछु; पवित्र आत्माले काम गर्नुहुनेछ, र त्यो पनि उस्तै कुरा हो।” के उस्तै हुनेछ त? (हुनेछैन।) यदि त्यसो हुने भए त, दुई हजार वर्षदेखि प्रभुमा विश्वास गर्दै आएका यी मानिसहरू यस्ता हुँदै हुनेथिएनन्। दोस्रो सहस्राब्दीको पहिलो भागमा तथाकथित सन्तहरूले लेखेका वचनहरूलाई हेर् त—ती कति सतही छन्, कति दयनीय छन्! अहिले सबै धर्म र व्यक्तिगत सम्प्रदायहरूका मानिसहरूले गाउने भजनहरूको एउटा ठूलो पुस्तक छ, र ती भजनहरूले परमेश्वरको अनुग्रह र आशिष् पाउनेबारे मात्रै कुरा गर्छन्—ती दुई कुराबारे मात्रै बताउँछन्। के त्यो परमेश्वरको ज्ञान हो त? अहँ, होइन। के यसमा केही सत्यता छ त? (छैन।) तिनीहरूलाई परमेश्वर संसारका मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्ने मात्रै थाहा छ। संसारमा सधैँ एउटै भनाइ छ, जुन कहिल्यै परिवर्तन हुँदैन: “परमेश्वर प्रेम हुनुहुन्छ।” तिनीहरूलाई थाहा भएको एउटै वाक्य त्यही हो। त्यसोभए, परमेश्वर मानिसहरूलाई कसरी प्रेम गर्नुहुन्छ? परमेश्वर अहिले तिनीहरूलाई त्याग्नुहुन्छ र हटाउनुहुन्छ—के उहाँ अझै प्रेम हुनुहुन्छ? तिनीहरूको नजरमा हुनुहुन्न—अब उहाँ प्रेम हुनुहुन्न। यसरी तिनीहरू उहाँलाई निन्दा गर्छन्। त्यस मानिसले सत्यता पछ्याउँदैन र सत्यता बुझ्न सक्दैन भन्ने कुरा सबैभन्दा दयनीय कुरा हो। अहिले यस्तो ठूलो अवसर छ। परमेश्वर सत्यता व्यक्त गर्न र व्यक्तिगत रूपमा मानिसहरूलाई मुक्ति दिन देहधारी हुनुभएको छ। यदि तैँले सत्यता पछ्याइनस् र सत्यता प्राप्त गरिनस् भने, यो अत्यन्तै दयनीय कुरा हुनेछ। यदि तैँले सत्यता पछ्याएको थिइस्, र जोसले पछ्याएको थिइस्, तैपनि अन्त्यमा तैँले सत्यता बुझ्न सकिनस् भने, तँसँग शुद्ध विवेक हुनेथ्यो—कम्तीमा तैँले आफूलाई निराश तुल्याउनेथिइनस्। के तिमीहरूले अहिले आफ्नो पछ्याइ सुरु गरेका छौ? के कर्तव्य पूरा गर्नुलाई सत्यता पछ्याउनुका रूपमा गन्ती गर्न सकिन्छ? यो एकप्रकारको सहकार्यका रूपमा गन्ती हुन्छ, तर सत्यता पछ्याइ हासिल गर्ने हिसाबमा, र सत्यता पछ्याइको रूपमा गन्ती हुने हिसाबमा भने यो अझै त्यस स्तरमा पुगेको हुँदैन। यो त व्यवहारको एक रूप, एकप्रकारको कार्य मात्रै हो—यो त सत्यता पछ्याइको मनोवृत्ति हुनु हो। त्यसोभए, कुनै कुरा कसरी सत्यता पछ्याउने कार्यका रूपमा गन्ती हुन सक्छ त? तैँले यो कुरा सत्यता बुझेर सुरु गर्नुपर्छ। यदि तँ सत्यता बुझ्दैनस्, र कुनै पनि कुरालाई गम्भीरतापूर्वक लिँदैनस्, अनि कहिल्यै सत्यता खोजी नगरी वा सत्यता सिद्धान्तहरूमा ध्यान नदिई आफ्नो कर्तव्यमा झारा टार्छस्, र आफूखुसी गर्छस् भने, के तैँले सत्यता बुझ्न सक्नेछस्? यदि तँ सत्यता नै बुझ्दैनस् भने, कसरी सत्यता पछ्याउन सक्छस्? के त्यो साँचो होइन र? (हो।) सत्यता नपछ्याउनेहरू कस्ता मानिस हुन्? तिनीहरू मूर्ख हुन्। त्यसोभए, तँ कसरी सत्यता पछ्याउँछस्? तैँले यो कार्य सत्यता बुझेर सुरु गर्नुपर्छ। के सत्यता बुझ्नु कठिन हुन्छ? अहँ, हुँदैन। तैँले आफू सम्पर्कमा आउने वातावरण र आफूले निर्वाह गर्ने कर्तव्यबाट सुरु गर्, र सत्यता सिद्धान्तहरूअनुसार अभ्यास र तालिम गर्। यसो गर्दा, यसले तँ सत्यता पछ्याउने मार्ग हिँड्न थालेको छस् भन्ने देखाउँछ। सबैभन्दा पहिला, यी सिद्धान्तहरूबाट खोजी गर्न, मनन गर्न, प्रार्थना गर्न, र अलिअलि गर्दै अन्तर्दृष्टि प्राप्त गर्न थाल्—तैँले प्राप्त गर्ने त्यो अन्तर्दृष्टि नै तैँले बुझ्नुपर्ने सत्यता हो। पहिले आफ्नो कर्तव्य निर्वाहबाट सत्यता खोजी गर्, र सत्यता सिद्धान्तहरूअनुसारको कार्यलाई पछ्या। यी सबै कुरा: जीवनमा तैँले सामना गर्ने मानिस, घटना, र कामकुराहरू, र तेरो कर्तव्यको दायराभित्र पर्ने कुराहरू वास्तविक जीवनबाट अलग गर्न नसकिने हुन्छन्। ती कुराहरूबाट सुरु गर्, र सत्यता सिद्धान्तहरूको बुझाइ प्राप्त गर्—त्यसपछि तैँले जीवन प्रवेश पाउनेछस्।
अक्टोबर २३, २०१९