विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगानेथिए (भाग एक)

पूरक: प्रवचनहरूलाई शब्दमा उतार्दा उत्पन्न हुने समस्याहरूको विश्लेषण

मैले कतिपय मानिसहरूले अनुलेखकहरूले पछिल्ला केही प्रवचनहरूका सुरुका कथाहरू हटाएर त्यसपछि आउने प्रवचनहरूका औपचारिक विषयवस्तु मात्र छोडे भनेर भनेको सुनेँ। के वास्तवमा कुरा यही हो? कुन कथाहरूलाई त्यसपछि आउने प्रवचनहरूबाट अलग गरिएको थियो? (दाबाओ र साओबाओको कथा, डेमिङ र सियाओमिङको कथा, र पूँजीबारे चर्चा: “बस्, त्यस्तै हुन देऊ!”) यी तीन कथाहरूलाई प्रवचनहरूका विषयवस्तुबाट अलग गरिएको थियो, तर किन? के कारणले? अनुलेखकहरूले अगाडि आउने कथाहरू तीपछि आउने प्रवचनहरूका विषयवस्तुसँग मेल खाँदैनन् भन्ने सोचेर तिनलाई अलग गरेका थिए अरे। के यो न्यायोचित थियो? अनुलेखकहरूले यही गरेको कुरा यही हो। तिनीहरू अति अहङ्‍कारी र आत्म-धर्मी थिए, जसले कथाहरूलाई निकालेर गरेर तिनलाई प्रवचनका विषयवस्तुविना अलग-अलग अध्यायहरूमा राखे। तिमीहरू यसो गर्नुको परिणाम राम्रो थियो भन्छौ कि नराम्रो? त्यसबाहेक, के तिमीहरू अगाडि भनिएको कथा त्यसपछिको प्रवचनसँग मिल्नैपर्छ भनेर भन्छौ? के यो साँच्चै आवश्यक छ? (छैन।) त्यसो भए, प्रवचनहरूलाई शब्दमा उतार्नेहरूले कार्यलाई किन यसरी गलत बुझे? तिनीहरूसँग कसरी यस्तो विश्‍वास हुनसक्छ? यहाँ समस्या के छ? तिनीहरूले मनमनै सोचे: “तपाईँले भन्‍नुभएका कथाहरू विषयवस्तुसँग सम्बन्धित छैनन्। म तिनलाई तपाईँका निम्ति जाँच गर्नेछु, र वितरण गर्दा तिनलाई सँगै राख्‍नेछैनँ। प्रवचनहरू प्रवचनहरू नै हुन्; तिनलाई एकअर्कासँग सुसङ्‍गत रूपमा मिल्‍न दिऔँ। अघिल्ला कथाका विषयवस्तुले प्रवचनका विषयवस्तुमा हस्तक्षेप गर्नुहुँदैन। मैले तिनलाई तपाईँका निम्ति जाँच गर्नुपर्छ, किनकि तपाईँ आफैँले समस्या बुझ्‍नुहुन्‍न।” के यो असल अभिप्राय हो? तिनीहरूको यो असल असल अभिप्राय कहाँबाट उत्पन्न हुन्‍छ? के यो मानव धारणाहरूबाट उत्पन्‍न हुन्छ? (हो।) जब म प्रचार गर्छु, के मैले सबै कुरा यति व्यापक रूपमा विचार गर्नुपर्छ? के मैले सुनाउने हरेक कथा त्यसपछि आउने विषयवस्तुसँग मिल्नैपर्छ? (पर्दैन।) यसको आवश्यकता छैन; यसलाई प्रावधान, धारणा भनिन्छ। अनुलेखकहरूले के गल्ती गरे? (आफ्ना धारणा र कल्पनाहरूअनुसार काम गरे।) अरू के? (लापरवाहीपूर्वक र मनमानी तरिकाले काम गरे।) यस किसिमको व्यवहारको प्रकृति के हो भने, यो अलिकति लापरवाहीपूर्ण र मनमानी छ; तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदयको अभाव छ। यसो भन्नु उचित छ, तर यो अझ पनि मामलाको सारभन्दा भिन्न छ। जब तिनीहरूले प्रवचनहरूलाई शब्दमा उतारे, तब तिनीहरूले परमेश्‍वरले भन्‍नुभएको हरेक कुरालाई हेर्न कस्तो किसिमको मनोवृत्ति र कस्तो किसिमको दृष्टिकोण प्रयोग गरे? चाहे ती कथाहरू हुन् वा प्रवचनहरू, तिनीहरूले कस्तो किसिमको मनोवृत्ति धारण गरे, र यी बोलिएका कुराहरूलाई कुन कोणबाट हेरे र सुने? (ज्ञान र सिकाइको कोणबाट।) सही हो। भनिएका कथाहरू र प्रवचनहरूका विषयवस्तुलाई ज्ञानको दृष्टिकोणबाट हेर्नाले यो समस्या उत्पन्‍न हुनेछ। तिनीहरू विश्वास गर्छन् कि मैले प्रवचन दिँदा, जुनसुकै खण्डका बारेमा बोल्‍ने इच्छा गरे पनि, विषयवस्तु एउटा क्रममा हुनैपर्छ; हरेक वाक्य तर्कसङ्‍गत हुनैपर्छ, हरेक वाक्य सबैका धारणाहरूसँग मिल्नैपर्छ, र हरेक खण्डको एउटा कडा लक्ष्य हुनैपर्छ। तिनीहरूले मेरा प्रवचनहरूलाई यही धारणाअनुसार मापन गर्छन्। के यसले आत्मिक बुझाइको अभाव देखाउँछ? (हो।) यो वास्तवमा आत्मिक बुझाइको अभाव नै हो! मैले बोलेको विषयका कुरालाई तर्क र अनुमान प्रयोग गरेर ज्ञानको दृष्टिकोणबाट व्यवहार गर्नु गम्भीर गल्ती गर्नु हो। म सत्यताको सङ्‍गति गरिरहेको छु, भाषणहरू तयार गरिरहेको छैनँ; तँ यसबारे स्पष्ट हुनुपर्छ। तिमीहरूमध्ये ज-जसले भेलामा प्रवचनहरू सुन्यौ र शब्दमा उतारिएपछि तिनलाई पुनः सुन्यौ, के तिमीहरूले तिनीहरूले हटाएका त्यस समयमा भनिएका कुनै महत्त्वपूर्ण बुँदाहरू वा कुराहरूमा ध्यान दियौ? के यस्तो कुनै कुरा भयो? उदाहरणका लागि, सायद तिमीहरूले भेलामा कुनै धेरै प्रेरणादायी र शिक्षाप्रद खण्ड सुन्यौ, तर पछि प्रवचनको रेकर्डिङ सुन्दा त्यो खण्ड त्यहाँ नभएको पायौ; त्यो हटाइएको थियो। के तिमीहरूलाई यस्तो भएको छ? यदि तिमीहरूले ध्यानपूर्वक सुनेनौ भने, तिमीहरूले महसुस नगरेको हुन सक्छ, त्यसैले भविष्यमा ध्यानपूर्वक सुन्‍ने कुरा सुनिश्चित गर। मैले एक पटक एउटा रेकर्डिङ सुनेँ, र जहाँ मैले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणलाई एकदेखि पन्ध्रसम्म सूचिकृत गर्दै तीबारे छलफल गर्न सुरु गरेको मात्र थिएँ, त्यहाँ तिनीहरूले हरेकबाट विस्तृत स्पष्टीकरण र व्याख्याहरू हटाएका थिए, त्यसको साटो पहिलो प्रकटीकरण, दोस्रो प्रकटीकरण, तेस्रो प्रकटीकरण भनेर क्रमैसँग सूचिबद्ध गरेका थिए। प्रत्येक प्रकटीकरण एकपछि अर्को गर्दै छिटो-छिटो, एउटा विद्यालयको शिक्षकले पाठ पढाएभन्दा धेरै छिटो बताइएको थियो। पहिले उक्त प्रवचन नसुनेका र त्यससँग परिचित नभएका अधिकांश मानिसहरूले त्यो सुन्दा चिन्तन गर्ने मौका पाउँदैनथे। तिनीहरूले ध्यानपूर्वक सुन्न चाहँदा तिनीहरू सधैँ रोकिरहनुपर्थ्यो, एउटा वाक्य सुनेर छिट्टै टिपोट गर्ने, त्यसपछि उक्त वाक्यको अर्थबारे मनन गर्ने, अनि अर्को वाक्य बजाउने गर्नुपर्थ्यो। नत्र, गति तीव्र हुनेथ्यो र तिनीहरू पछि पर्न सक्थे। यो प्रवचन रेकर्डिङ्हरू सम्पादन गर्नेहरूले गरेको गम्भीर गल्ती थियो। प्रवचन भनेको कुराकानी, छलफल हो। प्रवचनहरूको विषयवस्तु के हो? तिनले विभिन्न सत्यता र मानिसहरूका विभिन्न स्थितिहरूका बारेमा छलफल गर्छन्; ती सबैमा सत्यता समावेश हुन्छ। त्यसोभए, सत्यतासँग सम्बन्धित यी विषयवस्तुहरू मानिसहरूले सजिलै स्वीकार गर्न र बुझ्न सक्छन् कि तिनलाई क्रमशः प्रतिक्रिया जनाउनुअघि विचार, मनन र मानसिक प्रशोधनको आवश्यकता पर्छ? (तिनीहरूलाई विचार, मनन र मानसिक प्रशोधनको आवश्यकता पर्दछ।) त्यसोभए, यस परिस्थितिका आधारमा, प्रवचन दिनेले कस्तो गति कायम राख्नुपर्छ? यदि तिनीहरूले मेसिन गनजत्तिकै छिटो बोले भने, त्ले काम गर्नेछ? (गर्नेछैन।) शिक्षकले पढाए जस्तै गरे भने नि? (अहँ।) कसैले भाषण दिए जस्तै गरे भने? (अहँ।) त्यसले बिलकुलै पनि काम गर्नेछैन। प्रवचनको समयमा प्रश्नोत्तरहरू हुनुपर्छ, चिन्तन गर्ने ठाउँ हुनुपर्छ, मानिसहरूलाई जवाफ दिने समय दिनुपर्छ—यो गति उपयुक्त हुन्छ। तिनीहरूले यस सिद्धान्तलाई नबुझी प्रवचनहरूलाई शब्दमा उतारे; के यसले आत्मिक बुझाइको कमी देखाउँछ? (हो।) तिनीहरूसँग वास्तवमै आत्मिक बुझाइको कमी छ। तिनीहरूले सोचे: “तपाईँले भनिरहनुभएका यी कुराहरू मैले सुनिसकेको छु। एक पटक सुनेपछि, म सार सम्झन सक्छु, र तपाईँले जेका बारेमा के कुरा गर्दै हुनुहुन्छ, त्यो मलाई थाहा छ। मेरो अनुभव र प्रवचन रेकर्डिङहरू बारम्बार सम्पादन गरेर मैले पाएको उत्कृष्ट सप प्रयोग गरेर, म यसलाई यसरी नै गर्नेछु र गति बढाउनेछु।” गति बढाउनु आफैँमा धेरै समस्या जस्तो देखिएको थिएन—तर यसले प्रवचनलाई शब्दमा उतार्ने कामलाई के असर गर्छ? यसले त्यसलाई निबन्धमा परिणत गर्दछ। यसलाई निबन्धमा परिणत गरिएपछि, यसले व्यक्तिगत रूपमा सुन्‍ने अनुभूति गुमाउँछ; त्यसपछि के त्यसले त्यही नतिजा प्राप्त गर्न सक्छ? फरक पर्ने त निश्चितै छ। यस भिन्‍नताले त्यसलाई झन् असल बनाउँछ कि खराब? (खराब।) यसले त्यसलाई झन् खराब बनाउँछ। आत्मिक बुझाइ नभएका मानिसहरू आफ्नै पहलमा काम गर्छन्, र आफूलाई चलाख ठान्छन्। तिनीहरू आफू शिक्षित, दक्ष, प्रतिभाशाली र तेजिलो भएको विश्वास गर्छन्, तर अन्त्यमा अव्यावहारिक कामहरू गर्न पुग्छन्। के यो यस्तै होइन? (हो।) मेरा प्रवचनहरूमा, म किन तिमीहरूलाई कहिलेकाहीँ प्रश्‍नहरू सोध्छु? कतिपय मानिसहरू भन्छन्: “सायद हामी निदाउँछौँ भनेर तपाईँ डराउनुहुन्छ होला।” त्यति मात्र हो? म किन कहिलेकाहीँ अन्य मामिलाहरूका बारेमा कुरा गर्छु, विषयवस्तुबाट टाढा जान्छु अनि हल्का र हँसिला कुराहरूबारे छलफल गर्छु? यो तिमीहरूलाई चैनमा रहन दिन, तिमीहरूलाई चिन्तन गर्ने केही ठाउँ दिनलाई हो। यसले तिमीहरूलाई सत्यताको कुनै निश्चित पक्षला झनै फराकिलो रूपमा बुझ्न पनि मद्दत गर्छ, ताकि तिमीहरूले आफ्नो बुझाइलाई वचनहरू, शाब्दिक अर्थ, धर्मसिद्धान्तहरू, वा व्याकरणिक संरचनामा सीमित गर्दैनौ—यो यी कुराहरूमा सीमित हुनु हुँदैन। त्यसैले म कहिलेकाहीँ अन्य चीजहरूका बारेमा कुरा गर्छु; म कहिलेकाहीँ वातावरणलाई हल्का बनाउन चुट्किलाहरू भन्छु, तर वास्तवमा म मुख्यतया निश्चित परिणाम प्राप्त गर्नलाई यसो गर्छु—तिमीहरूले यो बुझ्नुपर्छ।

हेर्, जब कुनै धार्मिक पाष्‍टरले प्रवचन दिन्छ, ऊ मञ्चमा खडा हुन्छ र मानिसहरूको वास्तविक जीवन, तिनीहरूका मानसिक स्थितिहरू, वा तिनीहरूको विद्यमान समस्याहरूसँग अलिकति पनि सम्बन्ध नभएका ती आलस्यपूर्ण विषयहरूका बारेमा मात्र कुरा गर्छ। ती सब मृत शब्द र सिद्धान्तहरू हुन्। तिनीहरूले केही सुमधुर वचनहरूबाहेक अरू केही बोल्दैनन् र केही खोक्रा नाराहरू लगाउँछन्। यसले श्रोताहरूलाई दिक्क बनाउँछ, र तिनीहरूले त्यसबाट केही पनि हासिल गर्दैनन्। अन्तमा, यसले यस्तो परिस्थिति निम्त्याउँछ, जहाँ पाष्टर माथिबाट बोलिरहेको हुन्छ, अनि तल कसैले पनि ध्यान दिइरहेको हुँदैन; त्यहाँ कुनै अन्तरक्रिया नै हुँदैन। के यो पाष्टरले आफ्नो सास खेर फालिरहेको हुँदैन र? पास्टरहरूले केवल आफ्नो जीविकोपार्जनका लागि, आफ्नो अस्तित्वका खातिर मात्र यसरी प्रवचन दिन्छन्; तिनीहरूले आफ्नो मण्डलीका आवश्यकताहरूलाई ध्यान दिँदैनन्। जहाँसम्म अहिले हाम्रो कुरा छ, हामीले प्रवचन दिनु भनेको धार्मिक समारोह आयोजना गर्नु वा कुनै प्रकारको जिम्मेवारी पूरा गर्नु होइन—यो त विभिन्‍न परिणाम हासिल गर्नका लागि हो। परिणामहरू हालिस गर्नका निम्ति सबै पक्षहरू विचार गरिनुपर्छ—सबै प्रकारका मानिसहरूका आवश्यकताहरू, तिनीहरूका धारणाहरू, कल्पनाहरू, र स्थितिहरू, अनि तिनीहरूका दृष्टिकोणहरू सबैलाई ध्यानमा राख्‍नुपर्छ। प्रयोग गरिएको भाषालाई प्रत्येक सामाजिक वर्गका मानिसहरूले कुन हदसम्म स्वीकार गर्न सक्छन् भन्‍ने कुरा पनि विचार गरिनुपर्छ। औपचारिक भाषामा एकदम रुचि राख्‍ने केही शिक्षित मानिसहरूले तुलनात्मक रूपमा व्याकरणिक र तर्कसङ्‍गत केही साहित्यिक शब्दहरू सुन्‍न आवश्यक छ। तिनीहरू ती बुझ्‍न सक्षम हुन्छन्। यस्तो औपचारिक भाषासँग परिचित नभएका समाजको तल्लो तहमा रहेका केही साधारण मानिसहरू पनि छन्; त्यसोभए मैले के गर्नुपर्छ? मैले थोरै स्थानीय बोलीचालीको भाषा बोल्नुपर्छ। विगतमा मैले स्थानीय बोलीचालीको भाषा त्यति प्रयोग गरिनँ, तर यी वर्षहरूमा मैले थोरै सिकेको छु, र अब म कहिलेकाहीँ दुई भाग भएका उखानहरू पनि प्रयोग गर्छु वा चुट्किलाहरू सुनाउँछु। यसरी, सुनेपछि, मानिसहरूको सामाजिक वर्ग जेसुकै भए तापनि सबैले मैले बोलेका सबै कुरा बुझ्‍न सजिलो भएको, र त्यो तिनीहरूसँग झनै निकट रूपमा सम्बन्धित भएको महसुस गर्नेछन्। तर यदि सबै स्थानीय बोलीचालीको भाषामा भएको भए, प्रवचनको विषयवस्तु पर्याप्त रूपमा गहन सुनिने थिएन, त्यसैले यसलाई केही औपचारिक भाषासँग मिलाएर सबै दैनिक जीवनको बोलीचालीमा व्यक्त गरिनुपर्छ; तब मात्र यसले न्यूनतम मापदण्ड पूरा गर्नेछ। स्थानीय बोलीचालीको भाषा प्रयोग हुन थालेपछि, “भनेको मात्र,” “जस्तै,” “मेरो मतलब,” आदि भन्नाले, त्यस्ता धेरै अभिव्यक्तिहरू समावेश गर्नाले सत्यतालाई कुन हदसम्म अभिव्यक्त गरिन्छ भन्‍ने कुरालाई असर गर्न सक्छ। यद्यपि, यदि यो सबै औपचारिक भाषामा, चरणबद्ध रूपमा व्याकरणिक तर्क र तर्कसम्मत विचार प्रयोग गरेर अलिकति पनि गल्ती नगरी सबै कुरा यति व्यवस्थित र औपचारिक रूपमा निबन्ध वा पाठ गरेझैँ, सुरुदेखि अन्तसम्म शब्द-शब्द गरेर विराम चिह्‍नहरूसम्म पनि लेखिएझैँ गरेर भनिएको भए, के तिमीहरूलाई त्यसले काम गर्थ्यो तिमीहरूलाई लाग्छ? त्यो धेरै झन्झटिलो हुनेथ्यो, मसँग त्यसका लागि ऊर्जा छैन। यो एउटा पक्ष हो। साथै, मानिसहरू शिक्षित वा अशिक्षित जे भए तापनि, सबैले आफ्नो मानवताका विभिन्‍न पक्षहरू प्रदर्शन गर्छन्, र मानवताका यी अभिव्यक्तिहरू वास्तविक जीवनसँग सम्बन्धित छन्। त्यसैगरी, दैनिक जीवनको भाषालाई वास्तविक जीवनबाट अलग गर्न सकिँदैन; यसलाई जीवित वातावरणबाट अलग गर्न सकिँदैन। यो जीवित वातावरण यस प्रकारको दैनिक भाषाले भरिएको छ, केही स्थानीय बोलीचालीको भाषा मिसिएको छ, साथै थोरबहुत साहित्यिक स्वाद भएका केही साधारण शब्दावली पनि प्रयोग भएका छन्। यो पर्याप्त छ; यसले मूल रूपमा चासोको पूर्ण दायरालाई समेट्छ र समावेश गर्दछ। मानिसहरू वृद्ध वा जवान, अशिक्षित वा केही ज्ञान भएका जे भएता पनि, मूलतः सबैले यो बोध गर्न सक्छन्, सबैले यो बुझ्‍न सक्छन्; तिनीहरूले दिक्क मान्‍नेछैनन्, र यो आफ्नो पहुँचभन्द बाहिर छ भन्‍ने महसुस गर्नेछैनन्। सङ्‍गति गर्ने र प्रवचनहरू दिने कुराले मानिसहरूका आवश्यकताका सबै पक्षहरूलाई विचार गरी यसै कुरालाई ध्यानमा राख्‍नुपर्छ। यदि कुनै प्रवचनले परिणाम प्राप्त गर्ने हो भने, तैँले यी सबै पक्षहरूलाई विचार गर्नुपर्छ: बोल्ने गति, शब्द छनौट, र अभिव्यक्तिको तरिका। यसअतिरिक्त, कुनै कुरा अभिव्यक्त गर्दा र सत्यताको कुनै पक्षको सङ्‍गति गर्दा, यो कुन बिन्दुमा पूर्ण रूपमा व्यक्त गरिएको हुन्छ? कुन बिन्दुमा यो पर्याप्त रूपमा पूर्ण हुँदैन? कुन पक्षहरू थपिनुपर्छ? यी सबैलाई ध्यानमा राख्नुपर्छ। यदि तैँले यी पक्षहरूलाई विचारसमेत गरिनस् भने, तेरो विचारको क्षमतामा गम्भीर रूपमा कमी छ। जहाँ अरूले दुई आयाममा कल्पना गर्छन्, त्यहाँ तँ तीन आयाममा सोच्‍न सक्षम हुनुपर्छ। तैँले अरूले भन्दा बढी व्यापक र सही रूपमा हेर्नुपर्छ, सबै प्रकारका समस्याहरूलाई स्पष्ट रूपमा हेर्न सक्षम हुनुपर्छ, र यसमा संलग्‍न सत्यता सिद्धान्तहरू पनि महसुस गर्नुपर्छ। यसरी, मानिसहरूले सोच्‍न, व्यक्त गर्न, वा प्रकाश गर्न सक्ने भ्रष्ट स्वभावका सबै पक्षहरू, साथै संलग्‍न स्थितिहरू सबै मूल रूपमा समेटिन्छन् र तिनलाई सबैले बुझ्‍नेछन्। के अनुलेखकहरूसँग यी दक्षता र सोच्‍ने तरिकाहरू पनि हुनुपर्दछ? यदि तिनीहरूसँग यी कुराहरू छैनन्, बरु प्रवचनको मुख्य बुँदा, यसको केन्द्रीय विचार, प्रत्येक खण्डको सारलाई संक्षेपमा प्रस्तुत गर्न सधैँ सिकेको ज्ञानमा भर पर्छन् भने, यो चिनियाँ विद्यार्थीहरूले साहित्यिक पाठहरू अध्ययन गरे जस्तो हुनेछ। शिक्षकले पहिले तिनीहरूलाई सम्पूर्ण पाठको पूर्वावलोकन गराउँछ, त्यसपछि यसलाई ध्यानपूर्वक पढ्न लगाउँछ। पहिलो औपचारिक पाठमा, शिक्षकले पहिलो अनुच्छेदको सारका बारेमा कुरा गर्छ, नयाँ शब्दावलीको परिचय दिन्छ, र समावेश भएको व्याकरणका बारेमा छलफल गर्छ। सबै खण्डहरू अध्ययन गरिसकेपछि, तैँले अझै पनि तिनलाई कण्ठ गर्नुपर्छ, र अन्तमा नयाँ शब्दावलीका साथ वाक्यहरू बनाउनुपर्छ, र पाठको केन्द्रीय विचार र लेखकले सो लेख्नुको उद्देश्य बुझ्नुपर्छ। यसरी, तैँले पाठले व्यक्त गर्न खोजेको कुराको पूर्ण बुझाइ प्राप्त गर्नेछस्। सबैले यी कुराहरू अध्ययन गरेका छन्, सबैलाई तिनका बारेमा थाहा छ, तर यदि तैँले यी कुराहरूलाई प्रवचनलाई शब्दमा उतार्ने कुरामा लागू गरिस् भने, यो त धेरै प्राथमिक कुरा हुन्छ। म तँलाई भनिरहेको छु, तैँले निबन्ध लेख्दा यी प्रयोग गर्न सक्छस्; त्यो लेखनका लागि आधारभूत सामान्य बुद्धि मात्र हो। तर यदि तैँले यो सोचाइ, यो सिद्धान्त, यो विधीलाई कुनै प्रवचनलाई शब्दमा उतार्ने काममा लागु गर्छस् भने, के तैँले गल्ती गर्न सक्दैनस्? पक्कै पनि सक्छस्। म यो कथा किन भन्न चाहन्छु भन्‍ने तँलाई थाहा छैन, तैँले यो कथाबाट बुझ्नुपर्ने सत्यता बुझ्‍ने प्रयास गर्दैनस्—यो गल्ती हो। साथै, के तँ कथा र प्रवचन सामग्री दुवैमा सत्यता बुझ्‍न सक्षम छस्? यदि तैँले यो बुझ्‍न सक्दैनस् भने, तँमा आत्मिक बुझाइको अभाव छ। अलिकति पनि आत्मिक बुझाइ नभएको व्यक्तिसँग प्रवचनहरूलाई शब्दमा उतार्नका निम्ति कस्ता योग्यताहरू हुन सक्छ र?

तिमीहरूलाई म किन कथाहरू भन्छु जस्तो लाग्छ? प्रवचनका अनुलेखकहरूलाई कारण थाहा छैन, त्यसैले तिनीहरू आफ्नै दृष्टिकोण थप्छन्। तिनीहरू यदि म कथाहरू भन्न चाहन्छु भने ती त्यसपछि आउने विषयवस्तुसँग मेल खानैपर्छ भन्ने विश्वास गर्छन्—तिनीहरूलाई म किन कथाहरू भन्‍छु भन्‍ने थाहै छैन। तिमीहरूलाई पनि थाहा छैन, हैन त? तिमीलाई थाहा नभएको हुनाले, म तिमीहरूलाई कारण बताउनेछु। सुरुदेखि अहिलेसम्म, मैले ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणबारे लगभग दश पटक छलफल गरेको छु, र मैले तीमध्ये आधा मात्र समेटेको छु। यदि मैले यस विषयवस्तुका बारेमा एकैचोटिमा कुरा समाप्त गरेको भए, विषय एकदम नीरस हुनेथियो, हैन र? यदि हरेक पटक सुरु गर्दा मैले सिधै कामकुराहरूका बारेमा बोलेँ—पहिले सबैलाई पछिल्लो पटक छलफल गरिएको कुराको समीक्षा गर्न लगाएँ र त्यसपछि बोल्‍न सुरु गरेँ, अनि तिमीहरू सबैले चाहिँ हतार-हतार टिपोट गर्‍यौ, आँखा खुला राख्‍न सङ्‍घर्ष गर्दै लेखिरह्यौ—अनि मैले सिध्याएपछि सबैलाई सारांश प्रस्तुत गर्न लगाएँ, र सबैले चाहिँ आफ्ना आँखा मिच्दै आज सङ्‍गति गरिएका विषयवस्तुहरूलाई पल्टाएर पढ्न थाले, अनि सबैले लगभग याद गरेजस्तो लागेपछि, मैले “आजलाई यति नै, हामी अब समापन गरौँ र यसलाई अर्को पटक निरन्तरता दिऔँ,” भनेर भनेँ भने, सबै जना हैरान हुनेथियौ: “हरेक भेला सधैँ यिनै कुराहरूका बारेमा हुन्छ, उही ढाँचामा हुन्छ; विषयवस्तु अति लामो र सुख्खा हुन्छ।” त्यसमाथि, सत्यताको सङ्‍गति बहुआयामिक हुनुपर्दछ, जहाँ मानिसहरूले एकै साथ सत्यताका सबै पक्षहरूमा प्रगति गरिरहेका हुन्छन्। यो मानिसको जीवन प्रवेश जस्तै हो: व्यक्ति आफ्नो आत्म-ज्ञान, स्वभावगत परिवर्तन, परमेश्‍वरको ज्ञान, उसका आफ्नै विभिन्‍न स्थितिप्रतिको सजगता, र आफ्नो मानवता, अन्तर्दृष्टि, र अन्य सबै पक्षहरूका सन्दर्भमा बढ्नैपर्छ—यी सबै एकै साथ अघि बढ्नुपर्छ। यदि यस समयमा मैले केवल ख्रीष्टविरोधीहरूका बिभिन्‍न प्रकटीकरण खुट्ट्याउने बारेमा छलफल गर्छु भने, मानिसहरूले सत्यताका अन्य पक्षहरूलाई पन्छाउन सक्छन्, र दिनभरि यस्तो सोच्‍न सक्छन्: “को ख्रीष्टविरोधीजस्तो देखिन्छ? के म ख्रीष्टविरोधी हुँ? तिनीहरूमध्ये मेरो वरिपरि कति जना छन्?” यसो गर्नाले सत्यताका अन्य पक्षहरूमा तिनीहरूको प्रवेशलाई असर पार्नेछ। त्यसैले, म प्रवचनको विषयवस्तुमा अर्को एउटा सत्यता कसरी समावेश गर्न सकिन्छ भन्नेबारे सोच्छु, ताकि मानिसहरूले थप सत्यता बुझ्न सकून्; अर्थात्, “ख्रीष्टविरोधीहरूको खुलासा” विषयमा छलफल गर्दा, संयोगवश मानिसहरू अन्य केही पक्षहरू पनि बुझ्‍न सक्षम हुन्छन्। यस्तो प्रवचनको परिणाम झन् राम्रो हुन्छ, होइन र? (हो।) उदाहरणका लागि, तैँले मुख्य खाना खाँदा कहिलेकाहीँ एउटा स्याउ पनि सँगै खान्छस्। यसले थप पोषण प्रदान गर्दछ, होइन र? (हो।) त्यसोभए, मलाई बता, के मैले कथाहरू सुनाउनु आवश्यक छ? (छ।) यो पक्का हो। यदि त्यो आवश्यक नभएको भए, मैले किन ती सुनाउनेथिएँ? केही हल्का र रमाइला विषयहरूमा छलफल गर्न कथाहरू प्रयोग गर्नाले मानिसहरूलाई सत्यताका अन्य पक्षहरूमा केही हासिल र प्राप्त गर्न सहयोग गर्छ। यो राम्रो कुरा हो। यी हल्का विषयहरूमा छलफल गरिसकेपछि, म मुख्य विषयमा फर्कन्छु। यसलाई यसरी मिलाउनु उचित हुन्छ। मुख्य खानाअघि तँ के खान्छस्? (भोक जगाउने खाना।) यो भोक जगाउने खाना हो। भोक जगाउने खानाहरू सामान्यतया धेरै स्वादिष्ट हुन्छन् र तिनले भोक जगाउँछन्, होइन र? त्यसैले, जब म कुनै कथा सुनाउँछु, तैँले त्यस कथाबाट सत्यताको एउटा पक्ष प्राप्त गर्न सक्छस्, तैँले आफ्नो ज्ञान वा तेरो बुझाइलाई अझ गहिरो बनाउन सक्छस्। यो सबै राम्रो हो। निस्सन्देह, आत्मिक बुझाइ नभएकाहरूले कथाहरू सुन्छन् र बाहिरी तह मात्र सुन्छन्, तिनीहरूले बुझ्‍नुपर्ने भित्रको सत्यता देख्दैनन्। तिनीहरूमा आत्मिक बुझाइको कमी हुन्छ—यसबारे केही गर्न सकिँदैन। उदाहरणका लागि, “दाबाओ र साओबाओको कथा” सुन्दा, केही मानिसहरूले दाबाओ खराब थियो र साओबाओ मूर्ख थियो भन्‍ने मात्र सम्झन्छन्। तिनीहरूले दाबाओ र साओबाओका नामहरू सम्झन्छन्, तर कुन परिस्थितिमा कथाको मानिसले आफ्नो भ्रष्ट स्वभाव प्रकट गर्‍यो, कस्तो स्वभाव प्रकट भएको थियो, यो स्वभाव के हो, वा यसको सत्यतासँग के-कस्तो सम्बन्ध छ भनेर याद गर्दैनन्। तैँले के-कस्ता परिस्थितिहरूमा आफैँले यस प्रकारको स्वभाव प्रकट गर्नेथिइस्? के तैँले त्यस्ता शब्दहरू भन्‍नेथिइस्? यदि तैँले, “म त्यस्ता शब्दहरू भन्‍नेथिइनँ” भनेर भन्छस् भने, यो समस्याजनक कुरा हो, किनकि यसले तैँले सत्यता बुझेको छैनस् भन्ने कुरा प्रमाणित गर्छ। कतिपय मानिसहरू भन्छन्: “मैले कुनै निश्‍चित परिस्थितिहरूको सामना गर्दा म त्यस्ता शब्दहरू भन्‍न सक्छु, यो कुनै निश्‍चित स्थितिमा बाहिर आउने एक प्रकारको स्वभाव हो।” तैँले यो थाहा पाएपछि, यो कथा व्यर्थमा सुनेको हुनेछैनस्। कथा सुनेपछि, कतिपय मानिसहरू भन्छन्: “दाबाओ कस्तो प्रकारको व्यक्ति हो? उसले साना बच्चालाईसमेत हेप्छ र ठग्छ। ऊ दुष्ट छ! मैले त्यसरी बच्चाहरूलाई धोका दिनेथिइनँ।” के यो आत्मिक बुझाइको अभाव हुनु होइन? तिनीहरू केवल यस मामिलाका बारेमा कुरा गरिरहेका छन् तर सङ्गति भइरहेको कथाभित्रको सत्यता बुझ्दैनन्। तिनीहरूले परिस्थितिलाई आफूसँग जोड्न सक्दैनन्; यसले आत्मिक बुझाइको अभाव, आत्मिक बुझाइको गम्भीर अभावलाई देखाउँछ। प्रवचनका अनुलेखकहरूले यस समस्याको सामना गर्छन्। कुनै कुरामा सत्यता सामेल हुनेबित्तिकै, कतिपय मानिसहरूले अविश्वासीका विचारहरू प्रकट गर्छन्; सत्यता सामेल हुनेबित्तिकै, कतिपय मानिसहरूमा आत्मिक बुझाइको कमी हुन्छ; सत्यता सामेल हुनेबित्तिकै, कतिपय मानिसहरू विकृति प्रवृत्त हुन्छन्, कतिपय हठी हुन्छन्, कतिपय दुष्ट हुन्छन्, र कतिपय यसप्रति वितृष्ण हुन्छन्। त्यसोभए प्रवचन अनुलेखकहरूको स्वभाव कस्तो हुन्छ? कम्तीमा पनि, तिनीहरू अहङ्कारी र अभिमानी हुन्छन्, आफ्नै पहलमा काम गर्छन्, बुझ्दैनन् र बुझ्‍न खोज्दैनन्। तिनीहरूले यसबारे सोध्ने कामसमेत गरेनन्; तिनीहरूले कथाहरूलाई त्यसपछिको विषयवस्तुबाट सिधै अलग गरे। तिनीहरू सोच्छन्, “यी प्रवचनहरू मलाई शब्दमा उतार्न दिइएको थियो, त्यसैले मसँग यो निर्णय गर्ने अख्तियार छ। मेरो बन्चरोको प्रहारले, म कथाहरू च्वाट्ट पारेर काट्नेछु। तपाईँले मलाई दिनुभएका प्रवचनहरूलाई म यस्तै व्यवहार गर्नेछु। यदि तपाईँलाई यो मनपर्दैन भने, मलाई प्रयोग नगर्नुहोस्।” के यो अहङ्कारी र अभिमानी कुरा होइन र? तिनीहरूले सत्यता ग्रहण गर्न सक्दैनन्, तिनीहरू सत्यता बुझ्दैनन्। तिनीहरूलाई आफ्नो कर्तव्य के हो र आफूले के गर्नुहुन्छ र के गर्नुहुँदैन भन्ने थाहा हुँदैन—तिनीहरूलाई यी कुनै पनि कुरा थाहा हुँदैन। आत्मिक बुझाइ नभएका मानिसहरू केवल अव्यावहारिक कुराहरू, अमानवीय र अशोभनीय कुराहरू मात्र गर्न सक्छन्। तिनीहरू केवल सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्ने कुराहरू पनि गर्छन्, तिनीहरू आफूलाई चलाख ठान्छन् र तिनीहरूमा समर्पणताको अभाव हुन्छ। मेरा प्रवचनहरूका रेकर्डिङहरू तिनीहरूलाई शब्दमा उतार्न दिइएको थियो, र यसलाई सम्हाल्ने सम्बन्धमा उनीहरूसँग जुनसुकै धारणा वा विचारहरू भए तापनि, तिनीहरूले मलाई सोधेनन्। के यो समस्या धेरै गम्भीर छैन? (छ।) कुन हदसम्म गम्भीर? (यसमा परमेश्‍वरका वचनहरूसँग छेडछाड गर्ने प्रकृति छ।) यसमा केही मात्रामा यो स्वभाव छ।

म एउटा कथा सुनाउँछु, सत्यताको एक विशेष पक्षका बारेमा छलफल गर्छु, र त्यसपछि म अन्य पक्षहरूमा प्रवचनहरू दिन्छु। के म यी दुई कुराहरू मिलेका छन् कि छैनन् भनेर विचार गर्दछु? मैले सुरुमा यसलाई विचार गर्नुपर्छ, तर यी दुई पक्षहरू मिलेका हुनुपर्छ भनेर मैले किन जोड दिएको छैन? के म यसबारे सचेत छु? (हो।) त्यसोभए प्रवचनका अनुलेखकहरूका लागि यो किन समस्या बनेको छ? मलाई थाहा छ कि मैले सुनाइरहेको कथाको त्यसपछिको प्रवचनसँग कुनै सम्बन्ध छैन। के तिनीहरू यसबारे सचेत छन्? छैनन्। तिनीहरूले यस मामलालाई होसियारीपूर्वक विचारसमेत गरेका छैनन्। तिनीहरू सोच्छन्, “तपाईँ पवित्र आत्माद्वारा निर्देशित हुनुहुन्छ; जबसम्म यो सत्यता जस्तो सुनिन्छ, ठीकै छ। तपाईँले त्यो दिन एउटा कथा सुनाउनुभयो, र त्यसपछि निश्‍चित विषयवस्तुका बारेमा छलफल गर्नुभयो। यी दुई कुराहरूबिच के सम्बन्ध छ? यस्तो तरिकाले किन बोल्नु? बोल्ने काम सकिएपछि यसबाट के फाइदा हुन सक्छ? तपाईँलाई यी कुनै पनि कुरा थाहा छैन। यसरी काम चल्दैन!” सर्वप्रथम, मैले केबारे बोल्नुपर्छ, म कसरी बोल्छु, र मैले कुन निश्‍चित सामग्रीलाई सम्बोधन गर्छु—मलाई बताओ, के यी निर्णय गर्दा म स्पष्ट मनस्थितिमा हुन्छु? (हुनुहुन्छ।) म वास्तवमै स्पष्ट मनस्थितिमा हुन्छु, म निश्चित रूपमा अलमलिएको स्थितिमा छैनँ; मेरो मनमा विचारको स्पष्ट क्रम छ। यदि कसैसँग आत्मिक बुझाइको कमी छ, ऊ सत्यतालाई कसरी खोज्‍ने भनेर जान्दैन, र अन्धाधुन्ध विश्लेषण र अन्धाधुन्ध वर्गीकरण गर्दछ, अनि यसो गर्नु एकदम राम्रो हो भन्ने सोच्छ भने, के ऊ खाँटी फरिसी होइन? ऊ केवल भव्य खोक्रा सिद्धान्तहरू सुन्‍न मन पराउँछ, र वास्तविक र व्यावहारिक प्रवचनहरू सुन्न मन पराउँदैन। यसको नतिजा यो हुन्छ कि, तिनीहरू सबैभन्दा सतही सत्यतासमेत बुझ्दैनन्। यसले आत्मिक बुझाइको गम्भीर कमीलाई देखाउँछ! परमेश्‍वरको डर मान्‍ने हृदयबिना, मानिसहरू अहङ्कारी र आत्म-धर्मी हुनेछन्, विशेष रूपमा ढिठ बन्दै जानेछन्; आफूले सबै कुरा बुझेको ठानेर कुनै पनि कुराको आलोचना गर्ने हिम्मत गर्नेछन्। भ्रष्ट मानवजाति ठ्याक्कै यही हो; यो तिनीहरूको स्वभाव हो। साहसी हुनु र लापरवाहीपूर्वक काम गर्नु असल कुरा हो कि खराब? (खराब कुरा।) साहसी वा डरपोक हुनुले वास्तवमा फरक पार्दैन; कसैको हृदयमा परमेश्‍वरको डर छ कि छैन भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। पछि, तिमीहरूले प्रवचनको रेकर्डिङ सुन्दा अनुलेखनबाट कुनै पनि मुख्य कुराहरू हटाइएका छन् कि छैनन् भनेर खुट्ट्याउने कुरामा ध्यान देओ। आत्मिक बुझाइ नभएका यी नालायकहरूले कहिलेकाहीँ गर्ने कुराहरूले अनजानमा बाधा र क्षति निम्त्याउन सक्छ। तिनीहरू भन्छन् कि यो जानाजानी गरिएको होइन—यदि यो जानाजानी गरिएको होइन भने, के यसको मतलब तिनीहरूको स्वभाव भ्रष्ट स्वभाव होइन? यो अझै पनि भ्रष्ट स्वभाव नै हो। अहिलेका लागि यस विषयमा यति नै।

पूरक:

जियाओगाङका सपनाहरू

आज म फेरि एउटा कथा सुनाएर सुरु गर्नेछु। के तिमीहरूलाई कथा सुन्‍न मन पर्छ? के तिमीहरूले कथाहरूबाट केही कुरा सिक्‍न सक्छौ? कथाहरूमा विभिन्‍न घटना घट्छन्, र यी घटनाहरूमा सत्यताहरू लुकेका हुन्छन्। कथाका मानिसहरूका केही स्थिति, केही प्रकटीकरण, र केही अभिप्राय र भ्रष्ट स्वभावहरू हुन्छन्। वास्तवमा, यी कुराहरू हरेक व्यक्तिमा हुन्छन्, र ती सबैसँग जोडिएका हुन्छन्। यदि तैँले कथाहरूमा यी कुराहरू बुझ्छस् र चिन्‍न सक्छस् भने, यसले तँमा आत्मिक समझ छ भन्‍ने प्रमाणित गर्छ। कतिपय मानिसहरूले यसो भन्छन्: “ममा आत्मिक समझ छ भनेर तपाईं भन्‍नुहुन्छ—के यसको मतलब म सत्यतालाई प्रेम गर्ने व्यक्ति हुँ?” यस्तै हो भन्‍ने हुँदैन; यी दुई फरक कुराहरू हुन्। कतिपय मानिसहरूमा आत्मिक समझ हुन्छ तर तिनीहरूले सत्यतालाई प्रेम गर्दैनन्। तिनीहरूले बुझ्छन् र त्यसबाहेक केही गर्दैनन्, र तिनीहरू सत्यतासँग आफूलाई तुलना गर्दैनन् वा सत्यता अभ्यास गर्दैनन्। कतिपय मानिसहरूमा आत्मिक समझ हुन्छ, र कथाहरू सुनेपछि, तिनीहरूमा पनि तिनै समस्याहरू छन् भन्‍ने पत्ता लगाउँछन् र कसरी प्रवेश गर्ने र अगाडि बढ्दा कसरी बदलाव ल्याउने भनेर विचार गर्छन्—यी मानिसहरूले चाहेका परिणामहरू प्राप्त गरेका हुन्छन्। त्यसकारण आज, म एउटा कथा सुनाउँछु। विषयवस्तु हल्का छ र सबै जना यो सुन्‍न इच्छुक हुनेछन्। विगत दुई दिनदेखि मैले कुन कथाले बहुसङ्ख्यक मानिसहरूलाई केही सिक्‍न र कथा सुनेपछि सुधारिन, साथै तिनीहरूमा सत्यताको एउटा पक्षको गहन छाप बसाल्‍न, यसलाई वास्तविकतासँग सम्बन्धित गराउन, र सत्यताको एउटा पक्षमा प्रवेश गरेर वा कुनै विचलनलाई सच्याएर यसबाट फाइदा लिन सहयोग गर्छ भनेर सोचिरहेको छु। मैले यसभन्दा अगाडि भनेको कथाको नाम दिन बिर्सिएँ, त्यसैले आज हामी त्यो कथालाई एउटा नाम दिनेछौँ। तिमीहरूको विचारमा यसको शीर्षक के हुनुपर्छ? (विशेष आत्मिक वरदानहरू।) “विशेष” भन्‍ने शब्दलाई छोड; यसलाई “आत्मिक वरदानहरू” भनौँ। यहाँ “विशेष” भन्‍ने शब्द अलि अनौठो सुनिन्छ, र मानिसहरूले आफ्नो ध्यान त्यसैमा केन्द्रित गर्नेछन्। “आत्मिक वरदानहरू” भन्‍ने शब्दको अर्थ अलिक अस्पष्ट छ। त्यसोभए, आज म कुन कथा भन्‍नेछु? आजको कथाको शिर्षक हो, “जियाओगाङका सपनाहरू”। तिमीहरू सबैलाई थाहै छ कि “जियाओ” को अर्थ “सानो” भन्‍ने हुन्छ, अनि “गाङ” भनेको के हो? (“बन्दरगाह”।) ठीक भन्यौ। यो नाम सुनेपछि तिमीहरूलाई कथाको विषयवस्तु थाहा पायौ होला—तिमीहरूले यसबारे अनुमान गरेर लगभग मिलायौ होला। अब म कथा सुरु गर्नेछु।

जियाओगाङ एक उत्साही, अध्ययनशील, र मेहनती जवान व्यक्ति हुन्, र तिनी निकै चलाख छन्। तिनलाई अध्ययन गर्न मन पर्छ, त्यसैले तिनले आजका केही लोकप्रिय कम्प्युटर प्रविधिहरूका बारेमा थोरै सिक्छन्, र परमेश्‍वरको घरमा तिनलाई स्वाभाविक रूपमा नै भिडियो सम्पादन टोलीमा आफ्नो कर्तव्य निर्वाह गर्न खटाइएको हुन्छ। जब जियाओगाङ पहिलो पटक भिडियो सम्पादन टोलीमा सामेल हुन्छन्, तब तिनी निकै खुसी हुन्छन् र तिनलाई गर्व लाग्छ। तिनी जवान भएकाले र तिनी केही प्रविधिहरूमा पोख्त भएका हुनाले, तिनलाई भिडियो बनाउने काम तिनको विशेषज्ञता र साथै तिनको रुचि हो, र तिनलाई त्यस क्षेत्रमा आफ्नो कर्तव्य निर्वाह गरेर आफ्नो विशेषज्ञता प्रयोग गर्न सक्छु र निरन्तर अध्ययनको प्रक्रियामार्फत् यस क्षेत्रमा प्रगति गर्न सक्छु भन्‍ने लाग्छ। यसको साथै, तिनले यहाँ भेट्ने अधिकांश मानिसहरू पनि युवा नै हुन्छन्, र तिनलाई यहाँको वातावरण धेरै मन पर्छ र तिनी आफ्‍नो कर्तव्यमा रमाउँछन्। त्यसकारण, तिनी हरेक दिन काममा व्यस्त हुन्छन् र उत्कटतापूर्वक अध्ययन गर्छन्। यसरी नै जियाओगाङ हरेक दिन काम सुरु गर्न चाँडै उठ्छन्, कहिलेकाहीँ राति अबेरसम्म आराम गर्दैनन्। जियाओगाङले आफ्नो कर्तव्यका लागि धेरै मूल्य चुकाउँछन् र केही कठिनाइहरू भोग्छन्, अनि तिनले स्वाभाविक रूपमा नै सान्दर्भिक व्यावसायिक ज्ञान पनि सिक्छन्; तिनलाई हरेक दिन धेरै फलदायी रूपमा बिताएको छु भन्‍ने लाग्छ। जियाओगाङले आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग नियमित सङ्गति गर्ने र भेलामा सहभागी हुने पनि गर्छन्, र तिनलाई आफूले आफ्‍नो गृहनगरमा बसेर परमेश्‍वरमा विश्‍वास गर्दाको तुलनामा यहाँ आएपछि धेरै प्रगति गरेको छु र वृद्धि भएको छु, र केही काम गर्न सक्छु भन्‍ने लाग्छ। तिनी धेरै खुसी र सन्तुष्ट हुन्छन्। तिनले सुरुमा कम्प्युटर प्रविधि अध्ययन गर्दा, एक दिन कम्प्युटरमा काम गर्नेछु भन्‍ने आशा गरेका थिए, र अहिले तिनको इच्छा बल्‍ल पूरा भएको हुन्छ, त्यसैले तिनले यो अवसरलाई निकै महत्त्व दिन्छन्। समय बित्दै गयो, र जियाओगाङको काम र तिनको पद परिवर्तन भएको हुँदैन। तिनी आफ्नो काम र आफ्नो यो जिम्मेवारी र कर्तव्यमा नै रहिरहन्छन्, र तिनी पहिलेको भन्दा झनै परिपक्‍व भएजस्तो देखिन्छ। तिनले जीवन प्रवेशमा पनि प्रगति गरेका हुन्छन्, तिनले भेलाहरूमा बारम्‍बार आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग परमेश्‍वरका वचनहरूमा सङ्गति र प्रार्थना-अध्ययन गर्ने गर्छन्, र परमेश्‍वरमा विश्‍वास गर्ने तिनको रुचि झन्-झन् दह्रिलो हुँदै गइरहेको हुन्छ। जियाओगाङको विश्‍वास पनि बिस्तारै-बिस्तारै बढिरहेको हुन्छ भनेर भन्न सकिन्छ। त्यसकारण, तिनको एउटा नयाँ सपना हुन्छ: “कम्प्युटरको काम गर्दा म अझ उपयोगी व्यक्ति बन्‍न सकेँ भने निकै राम्रो हुनेथियो!”

दिन प्रतिदिन समय यसरी नै बित्छ, र जियाओगाङले उही कर्तव्य निर्वाह गरिरहन्छन्। एक पटक तिनले एउटा चलचित्र हेर्न पुग्छन्, र पछि यसले उनमा गहिरो प्रभाव पार्छ। किन? फिल्ममा जियाओगाङ जत्तिकै उमेरको एक जवान मानिस हुन्छ, र तिनलाई चलचित्रमा त्यस जवान मान्छेको प्रस्तुति, अभिनय, बोल्‍ने शैली र हाउभाउ निकै मन पर्छ, र तिनलाई अलिकति ईर्ष्या पनि लाग्छ। फिल्म हेरेपछि, तिनले कहिलेकाहीँ यस्तो कल्पना गर्छन्: “यदि म त्यो फिल्मको त्यो जवान व्यक्ति भएको भए कति राम्रो हुनेथियो। म हरेक दिन कम्प्युटरमा सबै प्रकारका भिडियोहरू बनाउँदै अपलोड गर्ने गर्छु, र म जतिसुकै व्यस्त वा थकित भए पनि, वा मैले जतिसुकै कडा परिश्रम गरे पनि, म पर्दा पछाडि काम गर्ने व्यक्ति मात्र हुँ। हामीले कति मेहनत गरिरहेका छौं भनेर कसैले कसरी थाहा पाउन सक्छ र? यदि म चलचित्रको त्यो जवान केटाजस्तै एक दिन ठूलो पर्दामा देखा पर्न पाएँ, र अझ धेरै मानिसहरूले मलाई हेर्न र चिन्‍न सके भने, त्यो राम्रो हुनेथियो!” जियाओग्याङले यो फिल्मका साथै त्यो जवान मानिससँग सम्बन्धित सबै प्रकारका फरक दृश्यहरू बारम्बार हेर्छन्। तिनले जति धेरै हेर्छन्, तिनलाई उति नैईर्ष्या लाग्छ, र मनमा तिनलाई अभिनेता बन्‍ने चाहना त्यति नै बढ्छ। यसरी, जियाओगाङको नयाँ सपनाको जन्‍म हुन्छ। तिनको नयाँ सपना के हो? “म अभिनय सिक्‍न चाहन्छु, र एक योग्य अभिनेता बन्नका लागि लागिपर्न, ठूलो पर्दामा देखा पर्न, त्यो जवानको जस्तै आभा पाउन, र धेरै मानिसहरूलाई मेरो ईर्ष्या गर्ने र मजस्तै हुन चाहने बनाउन चाहन्छु।” त्यस बेलादेखि, जियाओगाङले आफ्नो सपना पूरा गर्न काम गर्न थाल्छन्। आफ्नो खाली समयमा, जियाओगाङ अनलाइन जान्छन् र अभिनयबारे सबै प्रकारका सामग्रीहरू हेर्छन्। तिनले सबै प्रकारका चलचित्र र टेलिभिजन कार्यक्रमहरू पनि हेर्छन्, यस क्रममा तिनले हेर्ने र सिक्‍ने दुवै गर्छन्, अनि अभिनेता बन्‍ने अवसर पाउँछु भन्‍ने कल्पना गर्छन्। दिनहरू यसरी नै एक-एक गरी बित्दै जान्छन्—जियाओगाङले आफ्नो पद सम्हाल्दै अभिनय पेसाको पनि अध्ययन गरिरहेका हुन्छन्। अन्तमा, जियाओगाङले आफ्‍नो धैर्य र लगनशीलताका कारण अभिनयका केही आधारभूत सिद्धान्तहरू राम्ररी सिक्छन्। तिनले कसरी अनुकरण गर्ने भनेर सिकेका हुन्छन्, तिनले अरूको अगाडि कसरी बोल्ने र प्रस्तुति दिने भनेर सिकेका हुन्छन्, र तिनमा अलिकति पनि मञ्चको डर हुँदैन। तिनको बारम्बारको अनुरोधले गर्दा अन्तमा तिनलाई एउटा अवसर प्राप्त हुन्छ: एउटा फिल्म हुन्छ, जसमा मुख्य भूमिकाका लागि एक जना जवान व्यक्तिको आवश्यकता हुन्छ। अडिशनबाट निर्देशकले तिनको रूप, तिनको स्तर, र अभिनयका आधारभूत सीपहरू त्यस भूमिकाका लागि योग्य छ भन्‍ने देख्छन्। यदि तिनले अझै अलिकति तालिम लिए भने, तिनले यो काम गर्न सक्‍नुपर्छ भन्‍ने देख्छन्। यो समाचार सुनेपछि, जियाओगाङ धेरै खुसी हुन्छन्, र सोच्छन्: “म बल्‍ल पर्दा पछाडिबाट पर्दामा देखिने अवस्थामा पुगेँ—मेरो अर्को सपना साकार हुन लागेको छ!” त्यसपछि जियाओगाङलाई चलचित्र निर्माण टोलीमा कर्तव्य निर्वाह गर्न स्थानान्तरण गरिन्छ।

जियाओगाङ फिल्म निर्माण टोलीमा स्थानान्तरण भएपछि, काम गर्ने नयाँ वातावरणले तिनलाई ताजगी र स्फूर्ति दिन्छ। तिनलाई हरेक दिन खुसीसाथ बित्छ, र तिनी त्यहाँ बस्‍ने र काम गर्ने हुनाले, अनि हरेक दिन तिनको सम्पर्कमा आउने धेरै कुराहरू तिनको कम्प्युटरको कामभन्दा बिलकुलै फरक भएकाले यो पहिले जस्तो निरस, मलिन र सीमित किसिमको छैन भन्ने महसुस हुन्छ—तिनी कामको अर्को क्षेत्रमा, अर्को संसारमा बस्छन्। यसरी, जियाओगाङ फिल्म निर्माणको काममा लागिपर्छन्। तिनी हरेक दिन अभिनय गर्न र आफ्ना लाइनहरू सिक्न, निर्देशकको निर्देशन सुन्‍न र आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले कथावस्तुको विश्लेषण गरेको सुन्‍नमा व्यस्त हुन्छन्। जिओगाङका लागि सबैभन्दा गाह्रो भाग भनेको पात्रमा आफूलाई ढाल्नु हो, त्यसैले तिनले आफ्ना लाइनहरू बारम्बार याद गर्छन् र आफ्नो पात्रका बारेमा सोचिरहन्छन्, तिनले कसरी बोल्नुपर्छ र व्यवहार गर्नुपर्छ, कसरी हिँड्नुपर्छ र उभिनुपर्छ, कसरी बस्‍नुपर्छ भन्‍ने जस्ता सबै कुराहरू पुनः सिक्‍नुपर्छ। केही समयसम्म यो जटिल र विविध किसिमको कामलाई निरन्तरता दिएपछि, जियाओगाङले अन्तमा अभिनेता हुन कति गाह्रो छ भन्‍ने महसुस गर्छन्। तिनले हरेक दिन उही लाइनहरू याद गर्नुपर्छ। कहिलेकाहीँ तिनले राम्ररी भन्‍न सक्छन्, तर वास्तविक प्रस्तुति दिँदा, तिनले सधैँ गल्तीहरू गर्छन् र त्यो दृश्य फेरि छायाङ्कन गर्नुपर्छ। तिनको कुनै अभिनय वा हरफ नमिल्दा तिनले बारम्बार निर्देशकको हप्की खानुपर्थ्यो। यदि उनका धेरै प्रस्तुतिहरू लगातार नराम्रा भए भने, तिनी काटछाँटमा पर्नेथिए, र तिनले इज्‍जत गुमाउनेथिए, पीडा भोग्‍नेथिए, र अनौठो हेराइ र गिल्‍लाको सिकार पनि हुनेनेथिए। यी सबै कुरा सामना गरेपछि, जियाओगाङ अलिक हतोत्साहित हुन्छन्, “यदि मलाई ठूलो पर्दाको अभिनेता हुनु यति गाह्रो हुन्छ भन्‍ने थाहा भएको भए, म यहाँ आउनेथिइनँ, तर अहिले म अलिक दलदलमा परेको छु। म यहाँ आइसकेको हुनाले, छायाङ्कन समाप्त हुनुअघि मैले हार मान्‍नु अनुचित हुनेछ, र मैले यसको कुनै हिसाबकिताब दिन सक्नेछैन। यो मेरो सपना थियो, मैले यसलाई साकार बनाउनुपर्छ, तर अगाडिको बाटो कति लामो छ? के म यसमा लगातार हिँडिरहन सक्छु?” जियाओगाङ डगमगाउन थाल्छन्। त्यसपछिका दिनहरूमा, जियाओगाङले आफ्नो दैनिक काम र जीवन सम्हाल्न सङ्घर्ष गर्छन्। प्रत्येक दिन पछिल्लोभन्दा असहनीय हुन्छ, तर तिनले अझै पनि त्यो सहनुपर्छ र आफूलाई अगाडि बढ्न बाध्य पार्नुपर्छ। कल्‍पना गर्न सकिन्छ, जियाओगाङलाई अगाडि बढ्ने क्रममा विभिन्‍न कुरामा समस्याहरू आइपर्ने निश्‍चित छ। तिनले आफूलाई दिइएको काम असाध्यै अनिच्छापूर्वक गर्न थाल्छन्। जब निर्देशकले उनलाई के गर्ने भनेर बताउँछ, तिनले सुनेर उडाइदिन्छन्। पछि, तिनले आफूले हासिल गर्न सक्‍ने सबै कुरा प्राप्त गर्न सक्दो प्रयास गर्छन्, तर यदि तिनले केही गर्न सकेनन् भने, तिनी गम्भीर हुँदैनन्। यस क्षणमा जियाओगाङ कस्तो स्थितिमा हुन्छन्? तिनले निर्देशक वा उनका विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले मनबाट दिएको मार्गदर्शन र सहयोगलाई आफ्नो हृदयमा स्वीकार नगरी प्रत्येक दिन अत्यन्तै अनिच्छुक, नकारात्मक र निष्क्रिय तरिकाले बताइरहन्छन्। तिनलाई लाग्छ, “म यस्तै छु, सुधार गर्ने कुनै ठाउँ छैन। तपाईंहरूले मलाई मेरो क्षमताले भ्याउनेभन्दा बढी काम गराइरहनुभएको छ। यदि हामी यो छायाङ्कन गर्न सक्छौँ भने, गरौँ; यदि सक्दैनौं भने, यसलाई छोडौँ। म आफ्नो कर्तव्य पूरा गर्न मेरो भिडियो सम्पादन टोलीमा फर्कनेछु।” तिनले भिडियो सम्पादन टोलीमा रहेर हरेक दिन कम्प्युटरको अगाडि बसेर काम गर्दा कति राम्रो हुन्थ्यो भन्‍ने सोच्छन्। त्यो धेरै आरामदायी र सजिलो थियो; तिनी धेरै खुसी थिए! तिनको सम्पूर्ण अस्तित्व र तिनको सम्पूर्ण संसार सबै किबोर्ड टाइप गर्ने काममा थियो, तिनले स्पेसल इफेक्ट्स्‌ प्रयोग गरेरै पनि आफूले चाहेको कुरा पाउन सक्थे। जियाओगाङलाई त्यो भर्चुअल संसार निकै आकर्षक लाग्थ्यो। यस बेला, जियाओगाङलाई आफ्नो विगत र भिडियो सम्पादन टोलीमा आफ्नो कर्तव्य निर्वाह गर्दाको समयको झनै याद आउँछ। दिनहरू यसरी नै बित्छन्, त्यसपछि एक रात जियाओगाङलाई निद्रा लाग्दैन। तिनी किन सुत्न सक्दैनन्? तिनले मनमनै यस्तो सोचिरहेका हुन्छन्: “के म अभिनेता बन्‍न लायक छु? यदि म यसको लायक छैनँ भने, म तुरुन्तै भिडियो सम्पादन टोलीमा फर्कनुपर्छ। भिडियो सम्पादन टोलीको कर्तव्य आरामदायी र सजिलो हुन्छ, म कम्प्युटरको अगाडि बस्छु र आधा दिन त्यतिकै बित्छ, र मैले आफ्नै खाना पकाउनु पर्दैन। त्यो कर्तव्य कठिन छैन, किबोर्डमा टाइप गरेपछि सबै कुरा सम्भव हुन्छ, त्यहाँ सीमा भनेको आफ्नो कल्पना मात्रै हुन्छ, केही पनि असम्भव हुँदैन। आजकल, एउटा अभिनेता बनेपछि मैले हरेक दिन बोल्‍नुपर्ने लाइनहरू सिक्‍नुपर्छ र बारम्बार दोहोर्याउनुपर्छ। तैपनि मेरो प्रस्तुति अझै स्तरीय भएको छैन, निर्देशकले प्रायजसो मलाई हप्काउँछन्, र मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूले प्रायजसो मेरो आलोचना गर्छन्। यो कर्तव्य पूरा गर्न साह्रै कठिन रहेछ, बरु भिडियो सम्पादन टोलीमा काम गर्नु नै राम्रो छ!” तिनले यसबारे जति धेरै सोच्छन्, तिनलाई यो कुराको त्यति नै याद आउँछ। तिनी सुत्न नसकेर आधा रातसम्म कोल्टे फेर्छन्, र थकित भएर जागा रहन नसक्‍ने अवस्थामा पुगेपछि मात्रै आधा रातमा निदाउँछन्। जब जियाओगाङले बिहान सबेरै आँखा खोल्छन्, तब तिनको पहिलो विचार यस्तो हुन्छ: “आखिरमा, म छोडेर जाऊँ कि नजाऊँ? के म भिडियो सम्पादन टोलीमा फर्कूँ? यदि म यहीँ बसेँ भने, मलाई हामीले सुटिङ समाप्त गरेपछि फिल्म स्तरीय हुन्छ कि हुँदैन भन्ने समेत थाहा छैन, अनि यसबीचमा मैले कति कष्ट सहनुपर्ने हो, कसलाई थाहा छ र? म एउटा अभिनेता बन्‍न लायकै छैनँ! त्यसबेला, मलाई क्षणिक आवेग र इच्छाले गर्दा अभिनेता बन्‍न मन लागेको थियो, र म साँच्‍चै भ्रमित थिएँ! हेर त, मैले एउटा गलत निर्णय गरेँ र अहिले परिस्थिति सम्‍हाल्‍न निकै गाह्रो भएको छ, र मसँग यस कठिनाइका बारेमा कुरा गर्ने कोही छैन। मेरो हालको अवस्थाको आधारमा हेर्दा, मलाई राम्रो अभिनेता बन्‍न सजिलो हुनेछैन जस्तो देखिन्छ, त्यसैले मैले सकेसम्म चाँडो यो कुरालाई त्याग्‍नुपर्छ। म तुरुन्तै निर्देशकलाई म फर्केर जाँदैछु भनेर भन्नेछु, ताकि मेरो कारणले तिनीहरूको काममा ढिलाइ नहोस्।” त्यसपछि, जिओगाङले साहस बटुलेर निर्देशकलाई यसो भन्छन्: “हेर्नुहोस्, म अभिनेता बन्‍न लायक छैनँ, तर तपाईंहरूलाई मलाई छनौट नगरी हुँदै भएन—मलाई खुरुक्क भिडियो सम्पादन टोलीमा फर्कन दिनुहुन्छ कि?” निर्देशक भन्छन्: “कुनै पनि हालतमा हुँदैन, हामीले यो चलचित्रको आधा छायाङ्कन गरिसकेका छौँ। यदि हामीले अभिनेताहरू परिवर्तन गर्यौँ भने, यसले हाम्रो काममा ढिलाइ गर्नेछ, होइन र?” जियाओगाङले जिद्दी गरेर भन्छ: “के भो र? मेरो सट्टामा तपाईंलाई जो मन लाग्छ त्यसलाई राख्‍नुहोस्, मलाई केही फरक पर्दैन। जे भए पनि, तपाईंले मलाई जान दिनुपर्छ। यदि तपाईंले मलाई जान दिनुभएन भने, म अभिनयमा कुनै मेहनत गर्नेछैनँ!” निर्देशकले जियाओगाङ जान जिद्दी गर्दैछ र तिनीहरूले फिल्मको सुटिङ पूरा गर्न सक्‍नेछैनन् भन्‍ने देख्छ, त्यसैले उसले उसलाई जान दिन्छ।

अन्ततः जियाओगाङ फिल्म निर्माण टोलीबाट भिडियो सम्पादन टोलीमा फर्कन्छन्। तिनी आफ्नो पहिलेको परिचित कार्यस्थलमा फर्कन्छन्। तिनले आफ्नो कुर्सी र आफ्नो कम्प्युटर छुन्छन्, र तिनलाई ती परिचित लाग्छ। तिनलाई यो ठाउँ नै मन पर्छ। तिनी बस्छन्; कुर्सी नरम हुन्छ र कम्प्युटर तयार हुन्छ। “भिडियो बनाउन नै राम्रो हो, यो कर्तव्य थकाइलाग्दो छैन। पर्दा पछाडि काम गर्नुका फाइदाहरू छन्, गल्ती गरेको कसैलाई थाहा हुँदैन, र कसैले आलोचना गर्दैन, तुरुन्तै सच्याए भइहाल्छ।” जियाओगाङले बल्‍ल पर्दा पछाडिको कामदार हुनुका फाइदाहरू पत्ता लगाउँछन्। त्यो बेला तिनको मुड कस्तो हुन्छ? तिनलाई साह्रै आराम र खुसी महसुस हुन्छ, र तिनले सोच्छन्: “मैले सही निर्णय गरेँ। परमेश्‍वरले मलाई मौका दिनुभयो र मलाई यो काममा फर्कन दिनुभयो। यो सौभाग्य पाएकोमा मलाई गर्व महसुस भइरहेको छ!” आफूले एक पटक सही निर्णय गरेकोमा तिनलाई खुसी लाग्छ। त्यसपछिका दिनहरूमा, जियाओगाङले भिडियो सम्पादन टोलीको दैनिकी पछ्याउन थाल्छन्। यस अवधिमा केही विशेष घटना घट्दैन, र जियाओगाङले प्रत्येक दिन सामान्य तरिकाले बिताउँछन्।

एक दिन एउटा भिडियोमा काम गर्दा, जियाओगाङले अचानक नृत्य कार्यक्रममा एउटा हँसाउने र उत्तम दर्जाको युवक भेट्टाउँछन्, जसले धेरै राम्रो प्रस्तुति दिन्छ। तिनले सोच्छन्: “यो मान्छे मेरै उमेरको हो; ऊ नाच्‍न सिपालु र मचाहिँ नाच्‍न नजान्ने कसरी भयो?” फलस्वरूप, जियाओगाङ फेरि लोभिन्छन्। उनमा के विचार आउँछ? (नाच्‍ने।) जियाओगाङलाई नृत्य अध्ययन गर्ने विचार आउँछ। तिनले यो भिडियो क्लिप र युवाको प्रस्तुति बारम्बार हेर्छन्। त्यसपछि तिनले नृत्यको अध्ययन कहाँ गर्ने, कसरी सिक्‍ने, र सबैभन्दा आधारभूत नृत्यहरू के-के हुन् भनेर जाँचबुझ गर्छन्। तिनले काम गर्दाको समयको लाभ उठाउँदै कम्प्युटरमा नृत्यसँग सम्बन्धित शिक्षण सामग्री, भिडियो, र अध्ययन स्रोतहरू पनि बारम्बार खोज्‍ने गर्छन्। अवश्य नै, खोजी गर्दा जियाओगाङले हेरिरहेका मात्रै हुँदैनन्, तर अभ्यास गरेर सिकिरहेका पनि हुन्छन्। नाच्न सिक्नका लागि, जियाओगाङ हरेक दिन बिहानै उठ्छन् र राती ढिलो सुत्छन्। आफूले जानेको जिम्नास्टिक नृत्यको निकै सीमित आधारबाट सुरु गर्दै, तिनले हरेक दिन बिहान सबेरै उठेर जिऊ तन्काउने र हातले भुइँ छुने जस्ता व्यायाम गर्दै लोक नृत्यको आफ्‍नो अध्ययनलाई औपचारिक रूपमा सुरु गर्छन्। अध्ययनको क्रममा जियाओगाङले धेरै शारीरिक पीडा सहन्छन्, र आफ्नो धेरै समय खर्च गर्छन्, र अन्तमा केही सानो उपलब्धि पाउँछन्। जियाओगाङलाई आफ्‍नो अवसर बल्‍ल आएको छ, आफ्नो शरीर अलिक लचक भएकाले र आफूलाई केही नृत्यकला आएको हुनाले मञ्चमा नृत्य गर्न सक्छु भन्‍ने लाग्छ। साथै, अनुकरण र अध्ययनको माध्यमबाट, तिनले सङ्गीत बजाउँदा केही तालहरू लगभग सिकेका हुन्छन्। यी परिस्थितिहरूमा, जियाओगाङलाई आफ्नो कर्तव्य परिवर्तन गर्न मण्डलीमा आवेदन दिने समय आएको छ भन्‍ने लाग्छ। फेरि, बारम्बारको अनुरोधपछि, अन्ततः जियाओगाङको इच्छा पूरा हुन्छ र तिनी नर्तक बन्नका लागि नृत्य टोलीमा सहभागी हुन्छन्। त्यसपछि, अन्य नर्तकहरू जस्तै, जियाओगाङ पनि बिहानको प्रशिक्षणका लागि चाँडै उठ्छन् र नृत्य कार्यक्रमको पूर्वाभ्यास गर्छन्, र नियमित रूपमा भेला सङ्गतिमा सहभागी हुन्छन्, र यी मानिसहरूसँग बसेर नृत्य कार्यक्रमको विश्लेषण गर्छन् र योजना बनाउँछन्। तिनले हरेक दिन यो काम गर्छन्, र जब दिन समाप्त हुन्छ, तिनी यति थकित हुन्छन् कि तिनको ढाड कक्रक्क पर्छ र खुट्टा दुख्छ। घाम-पानी जे भए पनि हरेक दिन यस्तै हुन्छ। सुरु गर्दा, जियाओगाङ नृत्यका बारेमा जिज्ञासाले भरिएका थिए, तर नर्तकको जीवन र विभिन्‍न पक्षहरू बुझेपछि र तीसँग परिचित भएपछि, जियाओगाङलाई नृत्यमा पाइने कुरा यति नै रहेछ भन्‍ने लाग्छ। बारम्बार एउटै नृत्य गर्नुपर्ने, कहिलेकाहीँ गोलीगाँठो मर्काउनुपर्ने, कहिलेकाहीँ ढाड खुम्च्याउनुपर्ने हुन्छ, र चोटपटक लाग्‍ने जोखिम हुन्छ। नाच्दै गर्दा, तिनले सोच्छन्, “ओहो होइन, डान्सरका रूपमा काम गर्न पनि गाह्रो नै रहेछ। हरेक दिन म आफैलाई यति धेरै थकाउँछु कि मेरो सम्पूर्ण शरीरबाट पसिनाको गन्ध आउँछ। त्यति सजिलो रहेनछ। यो भिडियोको काम भन्दा गाह्रो रहेछ! होइन, मैले निरन्तरता दिनुपर्छ!” यस पटक तिनले त्यति सजिलै हार मान्दैनन्, र तिनले अन्तमा नृत्य कार्यक्रमको पूर्वाभ्यास नहुन्जेल डटिरहन्छन्, त्यसपछि, तिनीहरूको नृत्य समीक्षाका लागि पठाइन्छ। समीक्षाको दिनमा, जियाओगाङ कुन मुडमा हुन्छन्? तिनी आफ्नो कडा परिश्रमको नतिजा प्राप्त गर्नका लागि यति उत्साहित र प्रत्याशाले भरिएका हुन्छन् कि तिनले खाना समेत खाँदैनन्। “तिनले धेरै मेहनत गरेका छन्, होइन र?” अन्तमा, जब नतिजा जारी गरिन्छ, तिनीहरूको नृत्यले समीक्षाको पहिलो चरण उतीर्ण गर्दैन। समाचारले जियाओगाङलाई बज्रपात हुन्छ, र तिनको मुड खराब हुन्छ। तिनी लखतरान परेर कुर्सीमा बस्छन्, “हामीले यो नृत्यमा यति लामो समय लगायौँ, र तपाईंले यसलाई एक शब्दले अस्वीकार गर्दै हुनुहुन्छ? के तपाईंलाई नृत्यबारे केही थाहा छ? हामी सिद्धान्तहरू अनुरूप नाच्छौँ, हामी सबैले मूल्य चुकाएका छौँ, र तपाईं हाम्रो नाचलाई यति सजिलै अस्वीकार गर्नुहुन्छ?” त्यसपछि तिनले सोच्छन्, “निर्णय गर्ने काम तिनीहरूको हातमा छ, र यदि तिनीहरूले हाम्रो नृत्यलाई अनुमोदन गरेनन् भने, हामीले यसलाई फेरि संशोधन गर्नुपर्छ। यसबारे बहस गर्नका लागि कोही छैन। हामीले गर्न सक्‍ने अरू केही छैन, त्यसैले पुनः सुरु गरौँ।” समीक्षाको पहिलो चरणमा तिनीहरूको नृत्य अस्वीकार भएको दिन, जियाओगाङले दिउँसोको खाना खाँदैनन्, र तिनले रातीको खाना पनि मन नलागी-नलागी थोरै मात्र खान्छन्। के तिमीहरूलाई तिनी त्यो रात सुत्न सके भन्‍ने लाग्छ? (तिनी सुत्न सकेनन्।) तिनी फेरि सुत्न सकेनन्, तिनको मनमा यस्तो कुरा खेलिरहेको हुन्छ, “म जहाँ गए पनि किन भनेको जस्तो हुँदैन? परमेश्‍वरले मलाई आशिष् दिनुभएको छैन। हामीले दुई महिनादेखि अभ्यास गरिरहेको नृत्यले समीक्षाको पहिलो चरण पार गरेन। मलाई यसले समीक्षाको दोस्रो चरण कहिले पास गर्छ भन्ने थाहा छैन, र त्यो हुनका लागि हामीले कति समय खर्च गर्नुपर्नेछ भन्ने थाहा छैन। मैले कहिले मञ्चमा गएर आधिकारिक रूपमा प्रस्तुति दिन पाउनेछु? म प्रसिद्धिमा पुग्‍ने कुनै आशा छैन!” तिनको मनमा कुरा खेलिरहन्छ, तिनले विचार गरिरहन्छन् र यस्तो सोच्छन्, “भिडियोको काम नै ठीक छ। म गएर बस्छु, किबोर्डमा टाइप गर्छु, र फूल, बोटबिरुवा, र रूखहरू सबै देखा पर्छन्। मैले कराउन लगाउँदा चरा कराउँछन्, कुद्न लगाउँदा घोडा कुद्छन्, मैले जे चाहन्छु, त्यो त्यहीँ हुन्छ। तर नृत्यमा त हामीले समीक्षाहरू उत्तीर्ण गर्नुपर्छ, र म हरेक दिन आफैलाई यति थकाउँछु कि म पसिनाले दुर्गन्धित हुन्छु। कहिलेकाहीँ म यति थकित हुन्छु कि म राम्रोसँग खान वा सुत्न पनि सक्दिनँ, त्यसपछि पनि हाम्रो नृत्यले समीक्षाको पहिलो चरण पार गर्दैन। यो कर्तव्य पनि गाह्रो नै रहेछ। के म भिडियो सम्पादन टोलीमा काम गर्न फर्कँदा नै राम्रो हुँदैन र?” तिनले बारम्‍बार सोचिरहन्छन्, “तर त्यो त साह्रै दयनीय कुरा हो, म फेरि किन डगमगाइरहेको छु? मैले यस्तो सोच्नु हुँदैन, सुत्‍नुपर्छ!” अन्योलमा पर्दै तिनी निदाउँछन्। अर्को दिन तिनी उठ्छन् र लगभग यो सबै कुरा बिर्सीसकेका हुन्छन्, त्यसैले तिनी नाचिरहन्छन् र पूर्वाभ्यास जारी राख्छन्। समीक्षाको दोस्रो चरणको दिन आएपछि, जियाओगाङ फेरि बेचैन हुन्छन्। तिनले प्रश्‍न गर्छन्: “के हाम्रो नृत्य यो समीक्षामा उतीर्ण हुन सक्छ?” सबैले भन्छन्: “के थाहा? उतीर्ण भएन भने, यसले हाम्रो नृत्य पर्याप्त रूपमा राम्रो छैन भनेर प्रमाणित गर्दछ, र हामीले यसमा मेहनत गर्ने कार्यलाई जारी राख्‍नुपर्छ। जब यो पास हुन्छ, त्यतिबेला नै हामीले आधिकारिक रूपमा प्रस्तुति दिनेछौँ र छायाङ्कन गर्नेछौँ। सबै कुरालाई स्वाभाविक रूपमा चल्न दिऔँ र यस मामिलालाई सही तरिकाले लिऔँ।” जियाओगाङ भन्छन्: “होइन, तपाईंहरूले यसलाई सही तरिकाले लिन सक्‍नुहुन्छ, तर मसँग यसका लागि समय छैन।” अन्तमा, दोस्रो चरणको नतिजा बाहिर आउँछ, र तिनीहरूको नृत्य फेरि उत्तीर्ण हुँदैन। जियाओगाङ भन्छन्: “हत्तेरी, मलाई यो थाहा थियो! यो काममा सफल हुन सजिलो छैन! हामी जवान छौँ, सुन्दर छौँ, र हामी नाच्न सक्छौँ। के यी सबल पक्षहरू होइनन्? ती समीक्षकहरूलाई नाच्न नआउने हुनाले तिनीहरूले हाम्रो ईर्ष्या गर्छन्, त्यसैले तिनीहरूले हाम्रो नाचलाई उत्तीर्ण गर्दैनन्। यो कहिले पनि उत्तीर्ण हुँदैन जस्तो लाग्यो, नाच्ने काम सजिलो छैन, म फर्कन्छु।” त्यो रात जियाओगाङ धेरै शान्तिपूर्वक सुत्छन्, किनभने तिनले अर्को दिन सामान प्याक गरेर, त्यहाँबाट बिदा भएर जाने निर्णय गरेका हुन्छन्।

जे भए पनि, अन्ततः जियाओगाङको इच्छा फेरि पूरा भएको छ र उनी फेरि आफ्नो कम्प्युटरको अगाडि बसेर भिडियो सम्पादन गर्ने टोलीमा फर्कन्छ। उसले विगतका ती चिरपरिचित भावनाहरूलाई मनन गर्छ, र सोच्छ, “म पर्दा पछाडिको काम गर्नकै लागि जन्मेको हुँ। म एउटा गुमनाम नायक मात्र हुन सक्छु, मैले यो जीवनमा मञ्चमा उभिने वा प्रख्यात हुने कुनै मौका पाउनेछैन। म केवल आफूलाई सम्हालेर कीबोर्डमा टाइप गर्दै बस्‍नेछु। यो मेरो कर्तव्य हो, त्यसैले म केवल यो काम गर्नेछु।” यी सबै उतार-चढावपछि तिनले आफूलाई स्थिर राखे। तिनको दोस्रो सपना पनि धराशायी, र अधुरो भएको छ। जियाओगाङ एक “मेहनती र अध्ययनशील”, अनि एक “उत्साही र महत्त्वाङ्क्षी” व्यक्ति हुन्—के तिमीहरूलाई तिनी कम्प्युटरमा बस्‍न र यस्तो थकाइलाग्दो काम गर्न त्यति इच्छुक हुनेछन् जस्तो लाग्छ? अहँ, तिनले यस्तो गर्ने सम्‍भावना त्यति छैन।

हालसालै, जियाओग्याङ गायनप्रति आसक्त भएका छन्। तिनी कसरी यति चाँडो परिवर्तन हुन सक्छन्? तिनी किन यस कुराप्रति यति आसक्त छ, अनि तिनी किन मञ्चबाट टाढा बस्‍न सक्दैनन्? तिनको हृदयमा केही कुरा लुकेको छ। यस पटक तिनले आफ्नो कर्तव्य परिवर्तन गर्नका लागि हतारमा अनुरोध गर्दैनन्; तिनले हरेक दिन सामग्रीहरू खोजेर आफ्नो स्वर कौशल र गायन अभ्यास गर्छन्। तिनी प्रायजसो स्वर बसुन्जेल, अनि कहिलेकाहीँ आवाज निकाल्‍न नसक्‍ने अवस्थासम्‍म अभ्यास गर्छन्। तैपनि, जियाओगाङ अझै निरुत्साहित हुँदैनन्, किनभने यस पटक तिनले रणनीति परिवर्तन गरेका छन्। तिनी भन्छन्, “यस पटक मैले वास्तविक अवस्था नबुझी आफ्नो कर्तव्य परिवर्तन गर्नु हुँदैन। म वास्तवमै सावधान हुनुपर्छ, अन्यथा मानिसहरूले मलाई गिल्ला गर्नेछन्। यदि मैले सधैँ मेरो कर्तव्य परिवर्तन गरिरहेँ भने, तिनीहरूले मेरो बारेमा के सोच्नेछन्? तिनीहरूले मलाई हेयभावले हेर्नेछन्। यस पटक मैले गायनमा पोख्त हुन सक्छु, मण्डलीका गायकहरूजत्तिकै राम्रो हुन सक्छु जस्तो आफूलाई लागुञ्‍जेलसम्‍म अभ्यास गरिरहनुपर्छ, त्यसपछि म भजन टोलीमा संलग्‍न हुन आवेदन दिनेछु।” तिनले आफ्नो खाली समयमा र कामको बेला अथक तालिम गर्दै हरेक दिन यसरी अभ्यास गरिरहने प्रयास गर्छन्। एक दिन, जब जियाओगाङले काम गरिरहेका हुन्छन्, तिनको टोलीका अगुवाले अचानक तिनलाई भन्छन्: “जियाओगाङ, तपाईंले कस्तो किसिमको काम गरिरहनुभएको छ? यदि तपाईंले फेरि यसरी नै झारा टारेर काम गर्नुभयो र आफ्नो काममा मेहनत गर्नुभएन भने, तपाईंलाई यसउपरान्त यो कर्तव्य निर्वाह गर्ने अनुमति दिइनेछैन।” जियाओगाङले यसो भन्छन्: “मैले केही गरेको छैनँ।” त्यसपछि, सबै झुम्मिन्छन् र यसो भन्छन्, “जियाओगाङ, के भयो? अहो, तपाईंले त यति ठूलो गल्ती गर्नुभएछ! यस्ता गल्तीहरूलाई धेरै पटक माथिबाट सच्याइएको छ, र पनि तपाईंले कसरी फेरि त्यही गल्ती गर्नुभयो? तपाईं हरेक दिन गाउने अभ्यास गरिरहनुहुन्छ र भिडियो सम्पादनमा ध्यान दिनुहुन्‍न, त्यसैले तपाईं गल्ती गरिरहनुहुन्छ र महत्त्वपूर्ण कुराहरूमा ढिलाइ गर्नुहुन्छ। यदि तपाईंले फेरि यस्तो गल्ती गर्नुभयो भने, मण्डलीले तपाईंलाई निष्कासन गर्नेछ। मण्डलीले तपाईंलाई उप्रान्त चाहनेछैन, र हामी सबैले तपाईंलाई अस्वीकार गर्नेछौँ!” जियाओगाङले स्पष्टीकरण दिइरहन्छन्: “मैले जानी-जानी यसो गरेको होइनँ, म अबदेखि सावधान हुनेछु, मलाई अझै एउटा मौका दिनुहोस्। मलाई निष्कासित नगर्नुहोस्, बिन्ती छ, मलाई निष्कासित नगर्नुहोस्! हे परमेश्‍वर, मलाई बचाउनुहोस्!” जब तिनले यसरी पुकार्छन्, तब तिनले ठूलो हातले आफ्नो काँधमा थमथमाएको महसुस गर्छन्, “जियाओगाङ, उठ! उठ, जियाओगाङ!” के भइरहेको हुन्छ? (उसले सपना देखिरहेको हुन्छ।) तिनले सपना देखिरहेका हुन्छन्। तिनका आँखाहरू बन्द हुन्छन् र तिनी तिल्मिलाएको अवस्थामा हुन्छन्, तिनी आफ्ना हातले हावामा केही समाउन खोजेजस्तो र नङ्ग्र्याएजस्तो गरिरहेका हुन्छन्। सबैले के भएको हो भनेर सोच्छन् र त्यसपछि तिनीहरूले जियाओगाङ आफ्नो किबोर्डमाथि घोप्टिएर सुतिरहेको देख्छन्। एउटा ब्रदरले तिनलाई धाप मार्छन्, र केही धक्का दिइएपछि जियाओगाङ ब्यूँझन्छन्। जब तिनी ब्यूँझन्छन्, तिनले भन्छन्: “अहो, कस्तो डरलाग्दो, म त निष्कासित हुन लागेको थिएँ।” “केका लागि?” जियाओगाङले यसबारे सोच्छन् र केही भएको रहेनछ भन्‍ने देख्छन्। यो आखिर सपना पो रहेछ, अनि उनी सपनामा तर्सेर ब्यूँझेका रहेछन्। कथा यहीँ टुङ्गिन्छ, यो “जियाओगाङका सपनाहरू” भन्‍ने कथा थियो।

यो कथाले कुन समस्याबारे बताउँछ? सपना र वास्तविकता प्रायजसो विरोधाभासी हुन्छन् भन्‍ने तथ्य। धेरैजसो, मानिसहरूले आफ्ना सपनाहरू उचित छन् भन्‍ने सोच्छन्, तर तिनीहरूलाई सपना र वास्तविकता एउटै कुरा हुँदै होइनन् भन्‍ने थाहा हुँदैन। सपनाहरू त केवल तेरा कामना मात्र, तेरा अस्थायी रुचि मात्र हुन्। प्रायजसो, ती त मानिसहरूका प्राथमिकता, महत्त्वाकाङ्क्षा र इच्छाहरू हुन्, जुन तिनीहरूको खोजीको लक्ष्य बन्छन्। मानिसहरूका सपना वास्तविकतासँग पटक्‍कै मिल्दैनन्। यदि मानिसहरूले धेरै सपना देख्छन् भने, तिनीहरूले प्रायजसो के-कस्ता गल्तीहरू गर्नेछन्? तिनीहरूले त्यही बेला गर्नुपर्ने आफूअघिको कामलाई बेवास्ता गर्नेछन्। तिनीहरूले वास्तविकतालाई बेवास्ता गर्नेछन्, र त्यो बेला तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यहरू, तिनीहरूले पूरा गर्नुपर्ने कामहरू, र पूरा गर्नुपर्ने दायित्व र जिम्मेवारीहरूलाई एकातिर पन्छाउनेछन्। तिनीहरूले यी कुराहरूलाई गम्भीरतापूर्वक लिनेछैनन् र तिनीहरूले आफ्‍ना सपनाहरूलाई नै पछ्याइरहनेछन्, तिनलाई पूरा गर्न निरन्तर दौडधूप र कडा परिश्रम गर्नेछन्, र धेरै अर्थहीन कामहरू गर्नेछन्। यसरी, तिनीहरू आफ्‍ना कर्तव्य राम्ररी निर्वाह गर्न असफल हुने मात्र होइन, तिनीहरूले मण्डलीको काममा ढिलाइ गर्न र त्यसलाई बिगार्न पनि सक्छन्। धेरै मानिसहरूले सत्यता बुझेका हुँदैनन् वा सत्यताको खोजी गर्दैनन्। तिनीहरूले कर्तव्य निर्वाह गर्ने कार्यलाई कसरी लिन्छन्? तिनीहरूले यसलाई एक प्रकारको काम, एक प्रकारको रुचि, वा आफ्नो चासोको लगानीका रूपमा लिन्छन्। तिनीहरूले यसलाई परमेश्‍वरले दिनुभएको कुनै मिसन वा काम, वा तिनीहरूले पूरा गर्नुपर्ने जिम्मेवारीका रूपमा लिँदैनन्। तिनीहरूले आफ्‍ना कर्तव्यहरू राम्ररी निर्वाह गर्न सकूँ र परमेश्‍वरको आज्ञा पूरा गर्न सकूँ भनेर आफ्‍ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा सत्यता वा परमेश्‍वरका अभिप्रायहरू बुझ्ने प्रयास त झनै गर्दैनन्। त्यसकारण, आफ्‍ना कर्तव्यहरू निर्वाह गर्ने क्रममा कतिपय मानिसहरू अलिकति कठिनाइको सामना गर्नेबित्तिकै अनिच्‍छुक बन्छन् र भाग्‍न चाहन्छन्। जब तिनीहरूले केही कठिनाइहरूको सामना गर्छन् वा केही असफलताहरू भोग्छन्, तब तिनीहरू पछि हट्छन्, र फेरि भाग्‍न चाहन्छन्। तिनीहरू सत्यताको खोजी गर्दैनन्; तिनीहरू भाग्‍नेबारेमा मात्र सोच्छन्। कछुवा जस्तै, यदि केही समस्या आइपर्यो भने, तिनीहरू आफ्नो खोलमा लुक्ने काम मात्र गर्छन्, त्यसपछि समस्या पार हुञ्‍जेल पर्खन्छन् अनि मात्र देखा पर्छन्। यस्ता मानिसहरू धेरै छन्। विशेष गरी, कतिपय यस्ता मानिसहरू छन् जसलाई कुनै कामका लागि जिम्मेवारी लिन लगाइयो भने, तिनीहरूले कसरी आफ्नो बफादारीता प्रदान गर्न सक्छु, वा यो कर्तव्य कसरी निर्वाह गर्न र यो काम कसरी राम्ररी पूरा गर्न सक्छु भनेर विचार गर्दैनन्। बरु, तिनीहरूले जिम्मेवारीलाई कसरी त्याग्‍ने, काट-छाँट हुनबाट कसरी जोगिने, कुनै पनि जिम्मेवारीबाट कसरी बच्ने, र समस्या वा गल्तीहरू हुँदा त्यसबाट कसरी सकुशल बाहिर निस्कने भनेर विचार गर्छन्। तिनीहरूले कसरी आफ्‍ना कर्तव्यहरू राम्ररी निर्वाह गर्ने र आफ्नो बफादारीता प्रदान गर्ने भन्‍ने बारेमा नभई पहिले कसरी आफ्नै भाग्‍ने बाटो र आफ्नै प्राथमिकता र चासोहरू पूरा गर्ने भनेर विचार गर्छन्। के यस्ता मानिसहरूले सत्यता प्राप्त गर्न सक्छन्? तिनीहरूले सत्यतामा मेहनत गर्दैनन्, र आफ्ना कर्तव्यहरू निर्वाह गर्ने क्रममासत्यता अभ्यास गर्दैनन्। तिनीहरूको मन आफूसँग जे छ त्यसमा नभई जे छैन त्यसै कुरामा जान्छ। तिनीहरूलाई आज यो गर्न मन लाग्छ, भोलि त्यो गर्न मन लाग्छ, र तिनीहरूलाई अरू सबैको कर्तव्य तिनीहरूको भन्दा राम्रो र सजिलो छ भन्‍ने लाग्छ। तैपनि, तिनीहरूले सत्यतामा मेहनत गर्दैनन्। तिनीहरू आफ्ना यी विचारहरूमा के-कस्ता समस्याहरू छन् भनेर सोच्दैनन्, र तिनीहरूले समस्याहरू समाधान गर्न सत्यता खोज्दैनन्। तिनीहरूको दिमाग सधैँ आफ्‍ना सपनाहरू कहिले साकार हुन्छन्, कसले प्रसिद्धिमा कमाएको छ, कसले माथिबाटको पहिचान पाइरहेको छ, कसले काट-छाँटमा नपरी काम गर्छ र बढुवा हुन्छन् भन्‍ने कुरामा नै केन्द्रित हुन्छ। तिनीहरूको मन यी कुराहरूले भरिएको हुन्छ। के सधैँ यी कुराहरूका बारेमा सोच्ने मानिसहरूले पर्याप्त रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्छन्? तिनीहरूले यो कुरा कहिल्यै पूरा गर्न सक्दैनन्। त्यसोभए, कस्ता मानिसहरूले आफ्नो कर्तव्य यसरी निर्वाह गर्छन्? के तिनीहरू सत्यताको पछि लाग्‍ने मानिसहरू हुन्? सर्वप्रथम, एउटा कुरा निश्‍चित छ: यस्ता मानिसहरू सत्यताको पछि लाग्दैनन्। तिनीहरू समाजमा जसोतसो जीवन गुजार्दा जस्तै परमेश्‍वरको घरमा पनि केही आशिष्‌हरूको आनन्द लिन खोज्छन्, प्रख्यात हुन खोज्छन्, र लोकप्रियता कमाउन खोज्छन्। सारको हिसाबमा भन्दा, तिनीहरू कस्तो प्रकारका मानिसहरू हुन्? तिनीहरू गैर-विश्‍वासी हुन्। अविश्‍वासीहरूले बाहिरी संसारमा काम गरेको जस्तो गरी परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्छन्। तिनीहरू कसले बढुवा पायो, को टोली अगुवा बन्यो, को मण्डली अगुवा बन्यो, कसको कामका बारेमा सबैले तारिफ गर्यो, कसलाई प्रशंसा गरियो र उल्‍लेख गरियो भन्‍ने बारेमा ख्याल गर्छन्। तिनीहरू यी कुराहरूको बारेमा ख्याल गर्छन्। यो त कुनै एउटा कम्पनीमा हुने अवस्था जस्तै हो: कसले बढुवा पायो, कसको तलब बढ्यो, कसलाई हाकिमले स्याबासी दियो, र को हाकिमको अन्तरङ्ग बन्यो—मानिसहरूले यी कुराहरूका बारेमा वास्ता गर्छन्। यदि तिनीहरूले परमेश्‍वरको घरमा यी कुराहरू खोज्छन्, र दिनभर यी कुराहरूमा तल्‍लीन पनि हुन्छन् भने, के तिनीहरू पनि अविश्‍वासीहरू जस्तै होइनन् र? सारगत रूपमा त, तिनीहरू अ-विश्‍वासी हुन्; तिनीहरू ठेट गैर-विश्‍वासी हुन्। तिनीहरूले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, तिनीहरूले सेवा मात्रै दिइरहेका हुन्छन् र झाराटारुवा काम गरिरहेका हुन्छन्। तिनीहरूले जुनसुकै प्रवचन सुने पनि सत्यता स्वीकार गर्दैनन्, र तिनीहरूले सत्यता अभ्यास गर्नु त परको कुरा हो। तिनीहरूले परिवर्तन नै नभइकन धेरै वर्ष परमेश्‍वरमा विश्‍वास गरेका हुन्छन्, र तिनीहरूले जति वर्ष आफ्नो कर्तव्य निर्वाह गरे पनि, आफ्नो बफादारीता प्रदान गर्न सक्दैनन्। तिनीहरूमा परमेश्‍वरमाथिको साँचो आस्था हुँदैन, तिनीहरूमा बफादारीता हुँदैन, र तिनीहरू गैर-विश्‍वासी हुन्।

कतिपय मानिसहरू आफ्‍नो कर्तव्य निभाउँदा जिम्‍मेवारी लिन डराउँछन्। यदि मण्डलीले तिनीहरूलाई कुनै काम गर्न दियो भने, सुरुमा तिनीहरूले यो काम गर्दा जिम्‍मेवारी लिनुपर्छ कि पर्दैन भनेर विचार गर्छन्, र पर्छ भने, तिनीहरूले त्यो काम स्विकार्दैनन्। कर्तव्य निभाउनको लागि तिनीहरूका सर्त यस्तो हुन्छः पहिलो, यो साधारण काम हुनुपर्छ; दोस्रो, यो व्यस्त हुने वा थकाउने हुनु हुँदैन; र तेस्रो, जे काम गरे पनि, तिनीहरूले कुनै जिम्‍मेवारी लिनुपर्ने अवस्था हुनु हुँदैन। तिनीहरूले लिने एउटै मात्र कर्तव्य यही हो। यो कस्तो प्रकारको व्यक्ति हो? के यो चिप्ले र छली व्यक्ति होइन र? तिनीहरूले सानोभन्दा सानो जिम्‍मेवारी पनि लिँदैनन्। तिनीहरू रूखबाट पात खस्दा त्यसले तिनीहरूको खप्‍पर फुटाउँछ भनेर समेत डराउँछन्। यस्तो व्यक्तिले कस्तो कर्तव्यचाहिँ पूरा गर्न सक्छ र? परमेश्‍वरको घरमा तिनीहरूको काम के हुन्छ र? परमेश्‍वरको घरको काम शैतानसँग युद्ध गर्ने, साथै राज्यको सुसमाचार फैलाउने हो। कुन कर्तव्यमा जिम्‍मेवारी हुँदैन र? के तिमीहरू अगुवा बन्दा जिम्‍मेवारी लिनुपर्छ भनेर सोच्छौ? के तिनीहरूको जिम्‍मेवारी झन् ठूलो हुँदैन र, अनि तिनीहरूले झन् धेरै जिम्‍मेवारी लिनु पर्दैन र? तैँले सुसमाचार फैलाए पनि, गवाही दिए पनि, भिडियो बनाए पनि, र त्यस्तै अन्य काम गरे पनि, तैँले जुनसुकै काम गरे पनि, त्यो सत्यता सिद्धान्तहरूसँग सम्बन्धित छ भने, यसमा जिम्‍मेवारी निहित हुन्छ। यदि तेरो कर्तव्य निभाउने शैली सिद्धान्तहीन छ भने, यसले परमेश्‍वरको घरको काममा असर गर्छ, र यदि तँ जिम्‍मेवारी लिन डराउँछस् भने, तैँले कुनै पनि कर्तव्य पूरा गर्न सक्दैनस्। आफ्‍नो कर्तव्य निभाउँदा जिम्‍मेवारी लिन डराउने व्यक्ति कायर हुन्छ कि उसको स्वभावमा समस्या हुन्छ? तैँले यो भिन्‍नता छुट्याउन सक्‍नुपर्छ। साँचो कुरा के हो भने, यो कायरताको समस्या होइन। यदि त्यो व्यक्ति सम्पत्तिको पछि लागेको वा आफ्‍नै हितको काम गरिरहेको हुन्थ्यो भने, त्यो व्यक्ति कसरी त्यति साहसी हुन सक्थ्यो? त्यस्ताहरूले जुनसुकै खतरा मोल्‍न सक्थे। तर जब तिनीहरूले मण्डलीको लागि, परमेश्‍वरको घरको लागि काम गर्छन्, तबचाहिँ कुनै खतरा मोल्दैनन्। त्यस्ता मानिसहरू स्वार्थी र घृणित हुन्छन्, र सबैभन्दा विश्‍वासघाती हुन्छन्। आफ्‍नो कर्तव्य निभाउँदा जिम्‍मेवारी नलिने कुनै पनि व्यक्ति परमेश्‍वरप्रति रतीभर इमानदार हुँदैनन्, तिनीहरूको बफादारीताको त कुरै नगरौँ। कस्तो व्यक्तिले जिम्‍मेवारी लिने आँट गर्छ? कस्तो व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्तिमा, जो परमेश्‍वरको घरको कामको सबभन्दा महत्त्वपूर्ण क्षणमा नेतृत्व गर्दै साहसका साथ अघि बढ्छ, जो सबैभन्दा महत्त्वपूर्ण र अर्थपूर्ण काम देख्दा गह्रौँ जिम्मेवारी लिन र ठूलो कठिनाइ भोग्‍न डराउँदैन। त्यो परमेश्‍वरप्रति निष्ठावान्‌ व्यक्ति हो, ख्रीष्‍टको असल सिपाही हो। के आफ्‍नो कर्तव्यमा जिम्‍मेवारी लिन डराउने व्यक्ति सत्यता नबुझेको कारण त्यस्तो भएको हुन्छ? होइन; यो तिनीहरूको मानवताको समस्या हो। तिनीहरूमा न्याय वा जिम्‍मेवारीको कुनै बोध हुँदैन, तिनीहरू स्वार्थी र खराब मानिसहरू हुन्, परमेश्‍वरमा साँचो हृदयले विश्‍वास गर्नेहरू होइनन्, र तिनीहरू सत्यता स्विकार्दै स्विकार्दैनन्। यस कारणले गर्दा, तिनीहरूले मुक्ति पाउन सक्दैनन्। परमेश्‍वरका विश्‍वासीहरूले सत्यता प्राप्त गर्न ठूलो मूल्य चुकाउनुपर्छ, र यो अभ्यास गर्दा तिनीहरूले धेरै बाधाहरू सामना गर्नेछन्। तिनीहरूले त्याग गर्नुपर्छ, आफ्‍ना देहगत हितहरू पन्छाउनुपर्छ, र केही कष्टहरू भोग्‍नुपर्छ। त्यसपछि मात्रै तिनीहरूले सत्यता अभ्यास गर्न सक्‍नेछन्। त्यसो भए, के जिम्‍मेवारी लिन डराउने व्यक्तिले सत्यता अभ्यास गर्न सक्छ? सत्यता अभ्यास गर्न निश्चय नै सक्दैन, त्यो प्राप्त गर्ने त कुरै छाडौँ। तिनीहरू सत्यता अभ्यास गर्न, र आफ्‍ना हितहरूमा हानि खेप्‍न डराउँछन्; तिनीहरूलाई अपमान, बेइज्‍जति र आलोचनाको डर हुन्छ, र तिनीहरू सत्यता अभ्यास गर्ने आँट गर्दैनन्। फलस्वरूप, तिनीहरू सत्यता प्राप्त गर्न पनि सक्दैनन्, र परमेश्‍वरमा विश्‍वास गरेको जति वर्ष भए पनि, तिनीहरूले उहाँको मुक्ति प्राप्त गर्न सक्दैनन्। परमेश्‍वरको घरमा कर्तव्य पूरा गर्न सक्‍ने मानिसहरू मण्डलीको कामको निम्ति बोझ उठाउने, जिम्‍मेवारी लिने, सत्यता सिद्धान्तहरू पालना गर्ने, र कष्ट भोग्‍न र मूल्य चुकाउन सक्ने मानिसहरू हुनुपर्छ। यदि व्यक्तिमा यी क्षेत्रहरूको कमी छ भने, ऊ कर्तव्य निभाउनको लागि अयोग्य हुन्छ र उसमा कर्तव्य निभाउनको लागि चाहिने आवश्यक सर्तहरू पुग्दैन। धेरै मानिसहरू कर्तव्य निर्वाह गर्दा आउने जिम्‍मेवारी लिन डराउँछन्। तिनीहरूको डर मुख्य गरी तीन तरिकाले प्रकट हुन्छ। पहिलो, तिनीहरूले जिम्‍मेवारी लिनुनपर्ने कर्तव्यहरू छनौट गर्छन्। यदि मण्डली अगुवाले तिनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्यको बन्दोबस्त गर्‍यो भने, सुरुमा तिनीहरूले यसको लागि जिम्‍मेवारी लिनुपर्छ कि पर्दैन भनेर सोध्छन्: जिम्‍मेवारी लिनुपर्छ भने, तिनीहरू यसलाई स्विकार्दैनन्। यदि यसको लागि तिनीहरूले जिम्‍मेवारी लिनुपर्दैन तिनीहरू जिम्मेवार हुनुपर्दैन भने, तिनीहरूले यसलाई इच्छा नलागीनलागी स्वीकार गर्छन्, तर अझै पनि तिनीहरूले काम थकाइलाग्दो वा झन्झटिलो छ कि छैन भनेर हेर्ने गर्छन्, र मन नलागीनलागी कर्तव्य पूरा गर्न स्वीकार गरे पनि, तिनीहरूमा यो कर्तव्य राम्ररी पूरा गर्ने जाँगर हुँदैन, र तिनीहरू निस्फिक्री हुन रुचाउँछन्। फुर्सत होस्, परिश्रम गर्नु नपरोस्, र शरीरलाई कठिनाइ नहोस्—यही नै तिनीहरूको सिद्धान्त हो। दोस्रो कुरा के हो भने जब तिनीहरूमा कठिनाइ आइपर्छ वा तिनीहरूले समस्या सामना गर्छन्, तब तिनीहरूले गर्ने पहिलो काम भनेको आफ्‍नो सहजता कायमै राख्‍ने आशा गर्दै यसबारेमा अगुवालाई रिपोर्ट गर्नु र अगुवालाई नै यो सम्‍हाल्‍न र समाधान गर्न लगाउनु हो। अगुवाले यो समस्या कसरी सम्‍हाल्छन् भन्‍नेबारे तिनीहरूलाई कुनै मतलब हुँदैन र यसमा तिनीहरूले कुनै ध्यान दिँदैनन्—जबसम्‍म तिनीहरू आफै जिम्‍मेवार हुनुपर्दैन, तबसम्म तिनीहरूको लागि सबै कुरा ठीक हुन्छ। के त्यसरी कर्तव्य पूरा गर्नु परमेश्‍वरप्रति निष्ठावान हुनु हो? यसलाई जिम्‍मेवारी अरूमा थोपर्नु, कर्तव्यच्युत हुनु, र चाल रच्नु भनिन्छ। यो सबै गफ मात्र हो; तिनीहरूले कुनै वास्तविक काम गरेका हुँदैनन्। तिनीहरूले मनमनै भन्छन्, “यदि यो काम मैले सम्‍हाल्‍नु मेरो जिम्मेवारी हो, र यदि मैले गल्ती गरेँ भने के हुन्छ? दोषीबारे अनुसन्धान गर्दा, के तिनीहरूले मलाई नै तह लगाउनेछैन र? के यसको जिम्‍मेवारी सुरुमा मेरै काँधमा आउँदैन र?” तिनीहरूले यही कुराको बारेमा चिन्ता गर्छन्। तर के परमेश्‍वरले सबैलाई सूक्ष्म छानबिन गर्नुहुन्छ भन्‍ने तँलाई विश्‍वास लाग्छ? सबैले गल्ती गर्छन्। यदि सही अभिप्राय भएको व्यक्तिमा अनुभवको कमी छ र उसले यस्तो कुरा पहिले कहिल्यै सम्‍हालेको छैन, तर उसले सक्दो प्रयास गरेको छ भने, यो कुरा परमेश्‍वरले देख्‍नुहुन्छ। तैँले परमेश्‍वरले सबै कुरा र मानिसको हृदय जाँच्‍नुहुन्छ भनेर विश्‍वास गर्नैपर्छ। यदि व्यक्तिले यो कुरासमेत विश्‍वास गर्दैन भने, के ऊ अविश्वासी होइन र? त्यस्तो व्यक्तिले कर्तव्य पूरा गर्नुको महत्त्व के हुन सक्छ र? उसले यो कर्तव्य निर्वाह गर्नु नगर्नुले वास्तवमै महत्त्व राख्दैन, राख्छ त? ऊ जिम्मेवारी लिन डराउँछ र जिम्मेवारीबाट भाग्छ। केही आइपर्दा, उसले सुरुमै उक्त समस्या सम्हाल्ने उपायबारे सोच्ने कोसिस गर्दैन, बरु पहिले अगुवालाई सम्पर्क गरेर जानकारी दिने गर्छ। अवश्य नै, कतिपय मानिस अगुवालाई जानकारी दिँदा उक्त समस्या आफै सम्हाल्ने कोसिस गर्छन्, तर कतिपय मानिस भने यसो गर्दैनन्, र सुरुमा अगुवालाई सम्पर्क गर्छन् र त्यसपछि केही नगरी निर्देशन पर्खेर बस्छन्। अगुवाले तिनीहरूलाई कुनै कदम चाल्नू भनी निर्देशन दिँदा तिनीहरू कदम चाल्छन्; यदि अगुवाले केही काम गर्नू भनेमा तिनीहरू त्यो गर्छन्। यदि अगुवाले केही पनि भनेन वा निर्देशन दिएन भने, तिनीहरू केही पनि गर्दैनन् र त्यतिकै आलटाल गर्छन्। तिनीहरू कसैले हौसला नदिई वा रेखदेख नगरी बिलकुलै कुनै काम गर्दैनन्। ल भन्, के यस्तो व्यक्तिले कर्तव्य निभाइरहेको हुन्छ? उसले परिश्रम गरिरहेको भए पनि, उसमा वफादारी हुँदैन! व्यक्तिले कर्तव्य पूरा गर्दा जिम्‍मेवारी लिन डराउने अवस्थाको प्रकटीकरण एउटा अर्को तरिकाले पनि हुन्छ। कतिपय मानिसहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, सतही, साधारण, अनि जिम्‍मेवारी लिनुनपर्ने काम मात्रै अलिअलि गर्छन्। तिनीहरूले कठिनाइ भोग्‍नुपर्ने र जिम्‍मेवारी लिनुपर्ने काम अरूको काँधमा हालिदिन्छन्, र केही गल्ती भयो भने, त्यसको दोष तिनै मानिसहरूमा थोपरिदिन्छन् र आफूलाई दोषमुक्त राख्छन्। तिनीहरू गैरजिम्‍मेवार भएको देख्दा, मण्डली अगुवाहरूले धैर्यताको साथ सहयोग गर्छन्, वा तिनीहरूलाई काटछाँट गर्छन्, ताकि तिनीहरूले जिम्‍मेवारी लिन सकून्। तर तिनीहरू अझै पनि जिम्‍मेवारी लिन चाहँदैनन्, र सोच्छन्, “यो कर्तव्य पूरा गर्न कठिन छ। गल्ती भएमा मैले नै यसको जिम्‍मेवारी लिनुपर्नेछ, र मलाई हटाइने र निकालिने सम्‍भावना हुन्छ, र त्यो मेरो लागि अन्त्य हुनेछ।” यो कस्तो प्रकारको मनोवृत्ति हो? यदि आफ्‍नो कर्तव्य निर्वाह गर्दा तिनीहरूमा जिम्‍मेवारीबोध छैन भने, तिनीहरूले कसरी आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? आफूलाई साँचो रूपमा परमेश्‍वरको लागि समर्पित गर्न नसक्नेहरूले कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न सक्दैनन्, र जिम्‍मेवारी लिन डराउनेहरूले कर्तव्य निर्वाह गर्दा काममा ढिलाइ मात्रै गर्छन्। त्यस्ता मानिसहरू भरोसा गर्न योग्य वा भरपर्दा हुँदैनन्; तिनीहरूले पेट भर्नको लागि मात्रै आफ्‍नो कर्तव्य निर्वाह गर्छन्। के यस्ता “भिखारी” हरूलाई हटाइनुपर्छ? पर्छ। परमेश्‍वरको घरले त्यस्ता मानिसहरू चाहँदैन। आफ्नो कर्तव्य निर्वाह गर्ने जिम्मेवारी लिन डराउने मानिसहरूका तीन प्रकटीकरणहरू यिनै हुन्। आफ्नो कर्तव्यमा जिम्मेवारी वहन गर्न डराउने मानिसहरू वफादार सेवाकर्ताको स्तरमा पनि पुग्‍न सक्दैनन्, र कर्तव्य निर्वाह गर्न योग्य हुँदैनन्। आफ्नो कर्तव्यप्रतिको यस्तो मनोवृत्तिले गर्दा कतिपय मानिसहरूलाई निकालिन्छ। अहिले पनि, तिनीहरूले यसको कारण थाहा नपाएका हुन सक्छन् र यसो भन्दै अझै गुनासो गर्न सक्छन्, “मैले आफ्नो कर्तव्य असाध्यै उत्‍साहका साथ पूरा गरेँ, तैपनि किन तिनीहरूले मलाई यति रूखो तरिकाले निकाले?” तिनीहरूले अहिले पनि यो कुरा बुझ्दैनन्। सत्यता नबुझ्नेहरूले आफूलाई किन निकालियो भनेर नबुझी आफ्नो सम्पूर्ण जीवन बिताउँछन्। तिनीहरूले आफ्नो लागि बहाना बनाउँछन्, र यस्तो सोच्दै आफ्नो रक्षा गरिरहन्छन्, “मानिसहरूले आफ्नो सुरक्षा गर्नु प्राकृतिक प्रवृत्ति नै हो, र तिनीहरूले त्यसो गर्नुपर्छ। कसले आफ्नो अलिकति भए पनि रक्षा गर्नु हुँदैन र? कसले आफ्नो बारेमा अलिकति भए पनि सोच्नु हुँदैन र? कसले आफ्नो लागि उम्कने बाटो राख्‍नु पर्दैन र?” आफूमाथि कुनै कुरा आइपर्दा यदि तैँले आफैलाई सुरक्षा गर्छस् र आफ्‍नो लागि पछाडिको ढोका र उम्‍कने बाटो खुला छोडिराख्छस् भने के तैँले सत्यता अभ्यास गरिरहेको हुन्छस् र? यो सत्यता अभ्यास गर्नु होइन—यो कपटी बन्‍नु हो। तैँले अहिले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गरिरहेको छस्। कर्तव्य निर्वाह गर्नुको पहिलो सिद्धान्त के हो त? यो के हो भने तैँले त्यो कर्तव्य सम्पूर्ण हृदय लगाएर निर्वाह गर्नुपर्छ, कुनै कसर बाँकी छाड्नु हुँदैन, र तैँले परमेश्‍वरको घरको हितको संरक्षण गर्नुपर्छ। यो एउटा सत्यता सिद्धान्त हो। आफ्नो लागि पछाडिको ढोका र उम्‍कने बाटो छोड्नु र आफैलाई संरक्षण गर्नु भनेको गैरविश्वासीहरूले पछ्याउने अभ्यासको सिद्धान्त र तिनीहरूको सबैभन्दा उच्‍च दर्शन हो। सबै कुराहरूमा सबैभन्दा पहिले आफ्नै बारे सोच्नु र अन्य सबै कुराभन्दा अगाडि आफ्नै हितलाई राख्नु, अरूको बारेमा नसोच्नु, परमेश्‍वरको घरको हित र अन्य व्यक्तिहरूको हितको बारेमा कुनै सम्बन्ध नराख्नु, आफ्नै हितको बारेमा सबैभन्दा पहिले सोच्नु र त्यसपछि आफ्नो उम्‍कने बाटोको बारेमा सोच्नु—के गैरविश्वासी भनेको त्यही होइन र? गैरविश्वासी भनेको ठ्याक्‍कै यही हो। यस प्रकारको व्यक्ति कर्तव्य निर्वाह गर्नको लागि उपयुक्त हुँदैन। कथाको जियाओगाङ जस्ता केही व्यक्तिहरू अझै छन्—तिनी एक ठेट उदाहरण हुन्। तिनीहरूले सरल तरिकाले केही गर्न सक्दैनन्। तिनीहरू आफूले गर्ने सबै कुरामा समस्याबाट जोगिन चाहन्छन्। तिनीहरू थोरै कठिनाइ वा निराशा पनि भोग्‍न चाहँदैनन्। तिनीहरूको देहलाई आराम हुनुपर्छ, तिनीहरूले नियमित समयमा खान र सुत्न पाउनुपर्छ, र तिनीहरूलाई बतास लाग्‍नु हुँदैन र घामले पनि पोल्‍नु हुँदैन। यसका साथै, तिनीहरूले आफ्नो कामका लागि कुनै जिम्मेवारी लिँदैनन्। तिनीहरूले जे गर्छन्, त्यो तिनीहरूलाई मन पर्ने काम हुनुपर्छ, तिनीहरूले त्यो काम गर्न जानेको हुनुपर्छ, र तिनीहरूलाई मनैदेखि त्यो काम गर्न इच्छा हुनुपर्छ। यदि तिनीहरूले आफूले चाहेको काम गरिरहेका छैनन् भने, तिनीहरूमा अलिकति पनि आज्ञाकारिता हुँदैन। तिनीहरू सधैँ घरी यो र घरी त्यो सोच्छन् र दोधारमा हुन्छन्। तिनीहरू आफूले गर्ने काममा कहिल्यै प्रतिबद्ध हुँदैनन्—तिनीहरूले दुई वटा डुङ्गामा खुट्टा टेकेका हुन्छन्। जब तिनीहरूलाई कष्ट हुन्छ, तिनीहरू पछि हट्न चाहन्छन्। तिनीहरू काटछाँट सहन सक्दैनन्। तिनीहरूबाट ठूल्ठूला मागहरू गर्न सकिँदैन। तिनीहरूले कष्ट भोग्‍न सक्दैनन्। तिनीहरूले जे गर्छन्, त्यो पूर्ण रूपमा तिनीहरूको आफ्नै रुचि र तिनीहरूको आफ्नै योजनामा निर्भर हुन्छ—तिनीहरूभित्र आज्ञाकारिताको एक टुक्रा पनि हुँदैन। यदि यस्तो व्यक्तिले सत्यता खोज्न र आफ्‍नो बारेमा मनन गर्न सक्दैन भने, यी अभ्यास र भ्रष्ट स्वभावहरू परिवर्तन गर्न गाह्रो हुन्छ। परमेश्‍वरको विश्‍वासीका रूपमा कर्तव्य निर्वाह गर्नका लागि कम्‍तीमा पनि थोरै इमानदारिता चाहिन्छ। के तिमीहरूलाई यी मानिसहरू इमान्दार छन् भन्‍ने लाग्छ? जब गम्भीर यत्नको आवश्यकता हुन्छ, तिनीहरू डरले दुलोभित्र पस्छन्। तिनीहरूसँग इमानदारीको एक टुक्रा पनि हुँदैन। यो निकै समस्याजनक र सम्हाल्न गाह्रो कुरा हो। तिनीहरूलाई आफू महान् छु भन्‍ने लाग्छ, र तिनीहरूलाई बर्खास्त वा काटछाँट गरिँदा पनि तिनीहरू अन्यायमा परेको महसुस गर्छन्। यदि मानिसहरूले सत्यताको खोजी गर्दैनन् वा तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्दैनन् भने यो धेरै समस्याको कुरा हो। यो विषयलाई यतिमा नै टुङ्ग्याऔँ—मुख्य बुँदामा जाऔँ।

ख्रीष्टविरोधीहरूले कसरी अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउँछन् भन्ने कुराको विश्लेषण

आजको सङ्गति ख्रीष्टविरोधीहरूले प्रकट गर्ने विभिन्‍न तरिकाहरूका आठौँ बुँदामा आधारित छ: त्यो हो, तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउँथे। के तिमीहरू यो बुँदा बुझ्न सक्षम छौ? सुरुमा तिमीहरूले यो बुँदाका कुन-कुन प्रकटीकरणहरू तिमीहरूले बुझेको कुरासँग मिल्न सक्छन् भन्‍ने बारेमा विचार गर। तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउँथे—शाब्दिक अर्थ सहजै बुझिन्छ, तर त्यसभित्र धेरै स्थितिहरू, र धेरै प्रकारका मानिसहरूले प्रदर्शन गर्ने विभिन्‍न स्वभावहरू, वा ती विभिन्‍न स्वभावहरूले प्रदर्शन गर्ने विभिन्‍न व्यवहारहरू हुन्छन्। यो एउटा ठूलो विषय हो; हामीले यसका केही साना विशेषताहरूबाट यसको बारेमा सङ्गति गर्नुपर्नेछ। यस बुँदालाई यसको शाब्दिक अर्थ अनुसार व्याख्या गर्नका लागि, शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने मानिसहरूले प्रायजसो यसो भन्छन्: “यसको अर्थ यावत् थोकमा तिनीहरूको कुरा सुन्नु हो—तिनीहरूले मानिसहरूलाई आफ्‍नो कुरा सुन्‍न लगाउँछन्, चाहे तिनीहरूले भनेको कुरा सत्यतासँग मेल नखाने नै किन नहोस्। जब तिनीहरूले केही शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन्, तब तिनीहरूले अरूलाई ती कुरा सुन्न लगाउँछन्; जब तिनीहरूले एउटा वाक्यांश बोल्छन्, तब तिनीहरूले त्यो अरूलाई सुन्न लगाउँछन्। तिनीहरू सधैँ अरूलाई आदेश दिन, अरूलाई काम सुम्पन, र जबरजस्ती अरूलाई तिनीहरूको कुरा सुन्न लगाउन उन्मुख हुन्छन्।” यसको शाब्दिक अर्थको बारेमा थोरै कुरा गर्दा के तिनीहरूले प्रायजसो यसरी नै भन्‍ने गर्दैनन् र? अरू के छ? “तिनीहरूले सबै कुरामा आफू सही छु भन्‍ने सोच्छन्। तिनीहरूले सबैलाई तिनीहरूको कुरा सुन्न लगाउँछन्, र मानिसहरूलाई तिनीहरूले भनेको कुरामा समर्पित हुन लगाउँछन्, चाहे त्यो सत्यतासँग मेल नखाने नै किन नहोस्। तिनीहरूले आफूलाई सत्यता र परमेश्‍वरको रूपमा हेर्छन्, र तिनीहरूको पालना गर्दा, मानिसहरू सत्यता र परमेश्‍वरमा समर्पित भइरहेका हुन्छन्। त्यसको अर्थ यही हो।” यदि तिमीहरूले यस विषयमा बोलिरहेका थियौ भने, तिमीहरूले कसरी बोल्थ्यौ त्यस बारेमा विचार गर। यदि तिमीहरूले व्यक्तिगत रूपमा देखेको वा अनुभव गरेको कुराबाट सुरु गर्‍यौ भने, तिमीहरूले कुन तत्वबाट सुरु गर्नेथियौ? हामीले वास्तविकताको बारेमा कुरा गर्ने बित्तिकै, तिमीहरूसँग भन्‍नलाई केही हुँदैन। त्यसोभए के विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँगको सामान्य सङ्गतिमा तिमीहरूसँग पनि भन्नलाई केही कुरा हुँदैन? तिमीहरूले बोल्दै नबोली कसरी आफ्नो काम राम्ररी गर्न सक्छौ? सुरुमा यस प्रकटीकरणका केही ठोस उपाय र व्यवहारहरूका बारेमा कुरा गर। तिमीहरूले तीमध्ये कुन कुरालाई पहिले देखेका वा अवलोकन गरेका छौ? के तिमीहरूलाई केही थाहा छ? (जब म आफ्नो कर्तव्य निर्वाह गरिरहेको हुन्छु, तब ममा केही विचारहरू आउँछन् जुन निकै दह्रिला हुन्छन्, र म साँच्‍चै नै ती अनुसार काम गर्न चाहन्छु। मलाई मेरा ती सोचहरू असल र सही छन् भन्‍ने लाग्छ, र जब अरूले ती कुराहरूप्रति शङ्का गर्छन्, तब म यस विषयमा ढिलाइ गर्नु हुँदैन, यसलाई तुरुन्तै टुङ्गोमा पुर्‍याउनुपर्छ भन्छु। त्यसपछि, म आफूले गर्न चाहेकै कामजबरजस्ती गर्छु। अरूले खोजी गर्न चाहन्छन् होला, तर म तिनीहरूलाई समय दिन चाहन्नँ—म तिनीहरूले मेरा विचारहरू अनुसार काम गरून् भन्ने चाहन्छु।) त्यो ठोस प्रकटीकरण हो। अर्को कुरा कसले भन्‍नेछ? (म एक पटक कसैलाई बढुवा गर्ने र मलजल गर्ने विषयमा दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गरिरहेको थिएँ। वास्तवमा मैले त्यो व्यक्तिलाई बढुवा गर्ने निर्णय पहिले नै गरिसकेको थिएँ। मलाई मैले माथिबाट खोजी गरिसकेको छु, र तिनीहरूलाई बढुवा दिने कार्यमा कुनै समस्या छैन भन्‍ने लाग्यो। केही दाजुभाइ-दिदीबहिनीहरूले अझै पनि यस कुरालाई राम्ररी बुझेका थिएनन्, र हामीले किन त्यो व्यक्तिलाई बढुवा गर्नुपर्छ, सिद्धान्तहरू के-के हुन्, वा सत्यता के हो भन्‍ने बारेमा मैले सङ्गति गरिनँ—मैले केवल तिनीहरूलाई त्यो व्यक्ति कुन तरिकाले असल छ, उसलाई बढुवा गर्नु सिद्धान्तहरू अनुरूप छ भनेर जबरजस्ती बताएँ। मैले तिनीहरूलाई जबरजस्ती मेरो आज्ञापालन गर्न, र मैले गरिरहेको कुरा सही छ भन्‍ने कुरामा विश्‍वास गर्न लगाएँ।) तिमीहरू एक प्रकारका समस्याहरू, र एक प्रकारका स्थितिहरूको बारेमा कुरा गरिरहेका छौ, जुन समग्रमा यो विषयसँग मिल्छ। सत्यता सम्बन्धी तिमीहरूको बुझाइ यति सानो शाब्दिक बुझाइमा नै सीमित छ जस्तो देखिन्छ, त्यसकारण मैले यसको बारेमा सङ्गति गर्नुपर्छ। यदि तिमीहरूले यो बुँदालाई राम्ररी बुझेका थियौ भने, हामी यसलाई छोडेर अर्को विषयमा सङ्गति गर्नेथियौँ। तर, हामीले अहिले नै यसो गर्न मिल्दैन, र योजना अनुसार नै यसको बारेमा सङ्गति गर्नुपर्छ जस्तो देखिन्छ।

ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूको आठौँ बुँदा यस्तो छ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूमा मात्र समर्पित हुन लगाउँछन्। यसमा, ख्रीष्टविरोधीको सारका धेरै अभिव्यक्तिहरू छन्। यो पक्कै पनि एउटा मामला, एउटा वाक्यांश, एउटा दृष्टिकोण, वा परिस्थितिलाई सम्हाल्ने एउटा तरिका होइन; बरु, यो एउटा स्वभाव हो। त्यसोभए यो कस्तो स्वभाव हो? यो विभिन्‍न तरिकाले प्रकट हुन्छ। पहिलो तरिका के हो भने त्यस्ता मानिसहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्। के त्यो कामकुरा गर्ने तरिका हो र? (होइन, यो त एउटा स्वभाव हो।) ठीक भनिस्—यो एउटा स्वभावको प्रकाश हो, जसको सार नै अहङ्कार र आत्मधर्मिकता हुन्छ। त्यस्ता मानिसहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्। पहिलो तरिका त्यही हो। यो प्रकट हुने दोस्रो तरिका के हो भने तिनीहरूसँग मानिसहरूलाई नियन्त्रण गर्ने र विजय गर्ने चाहना र महत्त्वाकाङ्क्षा हुन्छ। के त्यो स्वभाव हो? (हो।) के यो कामकुरा गर्ने तरिका हो? (होइन।) के यो तिमीहरूले भनेका कुराहरूभन्दा फरक छ? तिमीहरूले एकल घटनाहरू, काम गर्ने एकल तरिकाहरूका बारेमा कुरा गरेका छौ—ती कुनै सार होइनन्। के यो प्रकटीकरण तिमीहरूले भनेका कुराहरूभन्दा गम्भीर छैन र? (छ।) यसले जडलाई छुन्छ। अनि तेस्रो तरिका भनेको अरूलाई आफूले लिएको कुनै पनि काममा हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा रेखदेख गर्नबाट रोक्नु हो। के त्यो सार हो? (हो।) यी प्रत्येक सारमा धेरै व्यवहारहरू र काम गर्ने तरिकाहरू समावेश छन्। फेरि पनि, यो सार आठौँ बुँदासँग मिल्छ, होइन र? चौथो तरिका के हो भने तिनीहरूले थोरै अनुभव र ज्ञान प्राप्त गरेपछि, साथै केही पाठहरू सिकेपछि आफू सत्यताको मूर्त रूप बनेको छु भन्‍ने नाटक गर्छन्, जसको अर्थ यदि तिनीहरूले थोरै सत्यतामा सङ्गति गर्न सके भने, तिनीहरूले आफूलाई सत्यता वास्तविकता भएको व्यक्ति ठान्छन्, र तिनीहरू सत्यता भएका व्यक्ति हुन्—सत्यताको अभ्यास गर्ने, सत्यतालाई प्रेम गर्ने, र सत्यता वास्तविकता भएको व्यक्ति हुन् भनेर अरूलाई देखाउन चाहन्छन्। तिनीहरू सत्यताको मूर्त रूप भएको नाटक गर्छन्—के यो कठोर प्रकृतिको मामला होइन र? (हो।) के यो प्रकटीकरण आठौँ बुँदासँग मिल्छ? (मिल्छ।) हो, मिल्छ। आठौँ बुँदा मुख्यतया यी चार तरिकाले प्रकट हुन्छ। सुरुदेखि ती पढेर सुनाऊ। (पहिलो के हो भने त्यस्ता मानिसहरूले कसैसँग मिलेर सहकार्य गर्न सक्दैनन्।) “मिलेर” भन्‍ने शब्दले सहकार्य गर्न सक्नुलाई जनाउँछ; त्यस्ता मानिसहरूले कसैसँग सहकार्य गर्न सक्दै सक्दैनन्। तिनीहरूले आफै कामकुरा गर्छन्, आफ्नो काम एकलै गर्छन्; पहिलो प्रकटीकरणको प्रमुख विशेषता “एकलै” भन्‍ने शब्द हो। अब, दोस्रो कुरा। (तिनीहरूमा अरूलाई नियन्त्रण गर्ने र विजय गर्ने महत्त्वाकाङ्क्षा र चाहना हुन्छ।) के यो गम्भीर प्रकटीकरण हो? (हो।) त्यसोभए, दोस्रो प्रकटीकरणको प्रमुख विशेषता के हो? यसलाई एक शब्दमा वर्णन गर। (दुष्ट।) “दुष्ट” भन्‍ने शब्द एउटा विशेषण हो; यसले तिनीहरूको स्वभावको वर्णन गर्छ। यो शब्द त “नियन्त्रण” भन्‍ने हुनुपर्छ। “नियन्त्रण” गर्नु भनेको एउटा क्रिया हो, जुन त्यस्तो स्वभावबाट उत्पन्न हुने एक प्रकारको कार्य हो। अनि तेस्रो प्रकटीकरण। (तिनीहरूले अरूलाई आफूले लिएको कुनै पनि काममा हस्तक्षेप गर्न, सोधपुछ गर्न, वा रेखदेख गर्नबाट रोक्छन्।) के त्यो ख्रीष्टविरोधीहरूमा आम रूपमा हुने स्वभाव होइन र? (हो।) यो एउटा नमुना स्वभाव हो जुन ख्रीष्टविरोधीहरूमा मात्र हुने गर्छ। के यो प्रकटीकरणलाई सङ्क्षेपमा भन्ने उपयुक्त शब्द छ? छ—“प्रतिरोध गर्नु।” जोसुकै आए पनि, तिनीहरूले प्रतिरोध गर्छन्; र तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरू र साधारण मानिसहरूको रेखदेख र सोधपुछलाई स्वीकार गर्छन् भन्‍ने कुरा त बिर्सिदिऊँ—तिनीहरूले परमेश्‍वरको छानबिनलाई समेत स्विकार्नेछैनन्। के त्यो प्रतिरोध होइन र? (हो।) अनि चौथो प्रकटीकरण। (तिनीहरूले थोरै अनुभव र ज्ञान प्राप्त गरेपछि, साथै केही पाठहरू सिकेपछि आफू सत्यताको मूर्त रूप भएको नाटक गर्छन्।) हामी यसलाई उपयुक्त शब्दले सारांशीकृत गर्नेछौँ: “नाटक गर्नु।” “नाटक” झूटो व्यवहार भन्दा गम्भीर कुरा हो। आठौँ बुँदासँग सम्बन्धित मूलभूत, नमुना व्यवहार, कार्यशैली, र स्वभावहरू यी चार प्रकटीकरणहरूमा नै पाइन्छन्। पहिलो प्रकटीकरणको प्रमुख विशेषता “एकलै” हो। तिनीहरूले कसैसँग सहकार्य गर्दैनन्, बरु आफ्नै तवरले काम गर्न चाहन्छन्। तिनीहरूले आफू बाहेक अरू कसैको कुरा सुन्दैनन् र अरूलाई आफ्‍नो कुरा मात्रै सुन्न लगाउँछन्, अरू कसैको कुरा सुन्न लगाउँदैनन्। यो तिनीहरूको मार्ग हो वा राजमार्ग हो। दोस्रो प्रकटीकरणको प्रमुख विशेषता “नियन्त्रण” हो। तिनीहरू मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन्, र तिनीहरूले तँलाई, तेरा विचारहरूलाई, तेरो कार्यशैलीलाई, तेरो हृदयलाई, र तेरा विचारहरूलाई नियन्त्रण गर्न विभिन्‍न उपायहरू प्रयोग गर्नेछन्। तिनीहरूले तँलाई सत्यता सङ्गति दिँदैनन्। तिनीहरूले तँलाई सत्यता सिद्धान्तहरू बुझाउँदैनन्, र तिनीहरूले तँलाई परमेश्‍वरका अभिप्रायहरू बुझाउँदैनन्। तिनीहरूले तँलाई आफ्नै प्रयोगका लागि नियन्त्रण गर्न चाहन्छन्, ताकि तैँले तिनीहरूका लागि बोल्न सक्, र तिनीहरूका लागि कामहरू गर्न सक्, र तिनीहरूका लागि मेहनत गर्न सक्, ताकि तैँले तिनीहरूलाई उच्च पार्न र तिनीहरूका लागि गवाही दिन सक्। तिनीहरूले तँलाई आफ्नो दास, र कठपुतलीको रूपमा नियन्त्रण गर्न चाहन्छन्। तेस्रो प्रकटीकरणको प्रमुख विशेषता भनेको “प्रतिरोध गर्नु” हो, जसको अर्थ सबै कुरालाई प्रतिरोध गर्नु भन्‍ने हुन्छ—तिनीहरूको काम र बोलीवचनको बारेमा पहिचान वा रेखदेख वा चुनौती हुन सक्‍ने सबै कुरालाई एकमुस्टमा तिनीहरूले प्रतिरोध र विरोध गर्छन्। चौथो प्रकटीकरणको प्रमुख विशेषता भनेको “नाटक गर्नु” हो—तिनीहरूले के बनेको नाटक गर्छन्? तिनीहरूले आफू सत्यताको मूर्त रूप भएको नाटक गर्छन्, अर्थात्, तिनीहरूले भनेको र गरेको कुरा मानिसहरूलाई याद गराउँछन्, र नोटबुकमा समेत लेख्‍न लगाउँछन्। तिनीहरूले भन्छन्, “मनमा याद गरेर मात्र कसरी पुग्छ? तिमीहरूले यसलाई आफ्ना नोटबुकहरूमा लेख्‍नुपर्छ। मैले भनिरहेको कुरा तिमीहरू कसैले पनि बुझ्दैनौ—यो अत्यन्तै गहन कुरा हो!” तिनीहरूले आफ्ना शब्दहरूलाई के ठान्छन्? सत्यता। अब, यहाँदेखि, हामी ती कुराहरूका बारेमा एक-एक गरी सङ्गति गर्नेछौँ।

अ. ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न नसक्नुको विश्लेषण

पहिलो बुँदा के हो भने ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्। ख्रीष्टविरोधीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनुको पहिलो प्रकटीकरण यही हो। तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्—“कसैसँग” भन्‍ने शब्दमा सबै जना पर्छन्। तिनीहरूको व्यक्तित्व अरू कसैको व्यक्तित्वसँग मिले पनि नमिले पनि, र परिस्थितिहरू जस्तोसुकै भए पनि, तिनीहरूले सहकार्य गर्न सक्दै सक्दैनन्। यो भ्रष्टताको कुनै साधारण प्रकटीकरणको प्रश्न नै होइन—यो तिनीहरूको प्रकृतिमा रहेको समस्या हो। कतिपयले भन्छन्, “निश्‍चित मानिसहरूको व्यक्तित्व मेरोसँग मिल्दैन, र त्यसैको कारणले म तिनीहरूसँग सहकार्य गर्न सक्दिनँ।” त्यो व्यक्तित्वसँग सम्बन्धित साधारण समस्या होइन, त्यो त भ्रष्ट स्वभावको समस्या हो। भ्रष्ट स्वभाव हुनु भनेको ख्रीष्टविरोधीको स्वभाव हुनु हो, तर यसको अर्थ उसमा ख्रीष्टविरोधीको सार छ भन्‍ने होइन। यदि कसैले सत्यताको खोजी गर्न सक्छ, र अरूले भनेको कुरा पालना गर्न सक्छ भने, ऊ जोसुकै भए पनि, यो कुरा सत्यतासँग मेल खान्छ भने, के त्यो व्यक्तिलाई अरूसँग सद्भावपूर्ण सहकार्य हासिल गर्न सजिलो हुनेछैन र? (हुनेछ।) सत्यतामा समर्पित हुन सक्‍ने मानिसहरूलाई अरूसँग सहकार्य गर्न सजिलो हुन्छ; सत्यतामा समर्पित हुन नसक्‍ने मानिसहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्। उदाहरणका लागि, कतिपय मानिसहरू निकै अहङ्कारी र आत्मधर्मी हुन्छन्। तिनीहरूले सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्, र तिनीहरूले कसैसँग सद्भावपूर्ण सहकार्य गर्न सक्दैनन्। अब चाहिँ, यो एउटा गम्भीर समस्या हो—तिनीहरूमा ख्रीष्टविरोधीको प्रकृति हुन्छ, र तिनीहरू सत्यता वा परमेश्‍वरमा समर्पित हुन सक्दैनन्। मानिसहरूमा भ्रष्ट स्वभाव हुन्छ: यदि तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्छन् भने, तिनीहरूलाई मुक्ति पाउन सजिलो हुनेछ; तर यदि तिनीहरूमा ख्रीष्टविरोधीको प्रकृति छ र तिनीहरूले सत्यतालाई स्वीकार गर्न सक्दैनन् भने, तिनीहरू समस्यामा छन्—तिनीहरूलाई मुक्ति पाउन सजिलो हुनेछैन। धेरै ख्रीष्टविरोधीहरू मुख्य रूपमा कसैसँग सहकार्य गर्न नसक्‍ने, सधैँ तानाशाही रूपमा काम गर्ने भएकाले नै प्रकाश भएका छन्। के त्यो भ्रष्ट स्वभावको प्रकटीकरण हो कि ख्रीष्टविरोधीको प्रकृति सार हो? कसैसँग सहकार्य गर्न नसक्नु—त्यो कस्तो समस्या हो? अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनुसँग यसको के सम्बन्ध छ? यदि हामीले यो बुँदालाई स्पष्ट रूपमा सङ्गति गर्‍यौँ भने, तैँले ख्रीष्टविरोधीको प्रकृति सार भएका मानिसहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्, तिनीहरूले जोसँग सहकार्य गरिरहेका भए पनि तिनीहरू अलग हुनेछन्, र तिनीहरू कटु प्रतिद्वन्द्वी समेत बन्नेछन् भन्‍ने कुरा देख्‍न सक्‍नेछस्। झट्ट हेर्दा, कतिपय ख्रीष्टविरोधीहरूका सहयोगी वा सहकर्मीहरू छन् जस्तो लाग्‍न सक्छ, तर तथ्य कुरा हो यो कि जब केही आइपर्छ, अरू जति नै सही भए पनि, ख्रीष्टविरोधीहरूले कहिल्यै पनि तिनीहरूले भनेको कुरा सुन्दैनन्। तिनीहरूले यसलाई ध्यान समेत दिँदैनन्, यसको बारेमा छलफल गर्ने वा सङ्गति गर्ने कुरा त परै जाओस्। तिनीहरूले त्यहाँ अरू छँदै छैनन् जस्तो गरेर कुनै ध्यान दिँदैनन्। जब ख्रीष्टविरोधीहरूले अरूले भनेको कुरा सुन्छन्, तब तिनीहरूले अरूलाई देखाउनका लागि झारा टार्ने वा नाटक गर्ने काम मात्रै गर्छन्। तर अन्तिम निर्णय गर्ने समय आएपछि, निर्णय गर्नेहरू ख्रीष्टविरोधीहरू नै हुन्छन्; अरूका शब्दहरू खेर जान्छन्, तिनको कुनै गन्ती हुँदैन। उदाहरणको लागि, जब दुई जना मानिसहरू कुनै कुराको लागि जिम्‍मेवार हुन्छन्, र तिनीहरूमध्ये एक जनामा ख्रीष्टविरोधीको सार छ, तब त्यस व्यक्तिमा के प्रकट हुन्छ? चाहे जेसुकै होस्, काम सुचारु गर्ने, प्रश्‍नहरू गर्ने, कामकुरा मिलाउने, र समाधान निकाल्‍ने उही मात्र हुन्छ। अनि प्रायजसो, त्यस्ता व्यक्तिहरूले आफ्‍नो सहकर्मीलाई पूर्ण रूपमा अन्धकारमा राख्छन्। तिनीहरूको नजरमा उक्त सहकर्मी को हुन्छ? तिनीहरूको सहायक हुँदैनन्, सहकर्मी छ भनेर देखाउन राखेको व्यक्ति मात्रै हुन्छन्। ख्रीष्टविरोधीहरूको नजरमा, सहकर्मीहरू अस्तित्वहीन हुन्छन्। जब-जब समस्या आउँछ, तब ख्रीष्टविरोधीले त्यसबारेमा राम्ररी विचार गर्छ, र कुनै कार्यदिशा तय गरेपछि, तिनीहरूले यसो गर्नुपर्छ भनेर अरू सबैलाई जानकारी दिन्छन्, र कसैलाई पनि प्रश्‍न गर्ने अनुमति हुँदैन। अरूसँगको तिनीहरूको सहकार्यको सार के हुन्छ? मूलतः त्यो अन्तिम निर्णय गर्नु, अरू कसैसित कहिल्यै समस्याहरूबारे छलफल नगर्नु, कामको पूर्ण जिम्मेवारी नलिनु, र आफ्ना सहकर्मीहरूलाई सजावटको वस्तु बनाउनु हो। तिनीहरू सधैँ एक्लै काम गर्छन् र कहिल्यै अरूसित सहकार्य गर्दैनन्। तिनीहरू अरू कसैसित आफ्नो कामबारे कहिल्यै छलफल वा कुराकानी गर्दैनन्, तिनीहरू प्राय: एक्लैले निर्णय लिन्छन् र मामलाहरू सम्हाल्छन्, र धेरै कुरामा, कार्य गरिसकेपछि मात्र कामकुरा कसरी सकाइएका वा सम्हालिएका थिए भनी अरू मानिसले थाहा पाउँछन्। अरू मानिसहरूले तिनीहरूलाई भन्छन्, “सबै समस्याहरू हामीसँग छलफल गरिनुपर्छ। तपाईंले त्यो व्यक्तिलाई कहिले तह लगाउनुभयो? तपाईंले उसलाई कसरी सम्हाल्नुभयो? हामीलाई यसबारेमा कसरी थाहा भएन?” तिनीहरूले न त स्पष्टीकरण दिन्छन् न त कुनै ध्यान नै दिन्छन्; तिनीहरूका लागि, आफ्नो सहकर्मीको कुनै कामै हुँदैन, उनीहरू सजावट वा देखाउने चिज मात्र हुन्। जब केही कुरा आइपर्छ, तिनीहरूले विचार गर्छन्, निर्णयमा पुग्छन्, र आफूलाई जसरी इच्छा लाग्छ त्यसरी काम गर्छन्। तिनीहरूको वरिपरि जति नै धेरै मानिसहरू भए पनि, तिनीहरूले ती मानिसहरू त्यहाँ छैनन् जस्तो व्यवहार गर्छन्। ख्रीष्टविरोधीको लागि, ती मानिसहरू त हावाजस्तै अदृश्य हुन पनि सक्छन्। यसलाई मध्यनजर गर्दा, के अरूसँगको तिनीहरूको साझेदारीको कुनै वास्तविक पक्ष छ? बिलकुलै छैन, तिनीहरूले झारा टार्ने र भूमिका खेलेको बहाना गर्ने काम मात्र गरिरहेका हुन्छन्। अरूले तिनीहरूलाई यसो भन्छन्, “समस्याको सामना गर्दा किन तपाईंले सबैसँग सङ्गति गर्नुहुन्‍न?” तिनीहरूले यसरी जवाफ दिन्छन्, “तिनीहरूलाई के थाहा छ? समूहको अगुवा म हुँ, निर्णय गर्नु मेरै हातको कुरा हो।” अरूले भन्छन्, “अनि तपाईंले किन तपाईंको सहकर्मीसँग सङ्गति गर्नुभएन?” तिनीहरूले उत्तर दिन्छन्, “मैले उहाँलाई भनेँ, र उहाँसँग कुनै राय थिएन।” तिनीहरू आफैले नियमकानुनको धज्जी उडाइरहेको तथ्यलाई ढाकछोप गर्नको लागि अरू मानिससँग कुनै राय छैन वा तिनीहरू आफैले विचार गर्न सक्दैनन् भन्‍ने कुरालाई प्रयोग गर्छन्। तर यसपछि पनि तिनीहरूले अलिकति पनि आत्म-विश्‍लेषण गर्दैनन्। यस्तो व्यक्तिले सत्यतालाई स्विकार्न असम्भव हुनेछ। यो ख्रीष्टविरोधी प्रकृतिको एउटा समस्या हो।

“सहकार्य” भन्‍ने शब्दलाई कसरी व्याख्या र अभ्यास गर्नुपर्छ? (परिस्थितिहरू उत्पन्न हुँदा तिनका बारेमा छलफल गरेर।) हो, यसको अभ्यास गर्ने एउटा तरिका त्यही हो। अरू के छ? (आफ्ना कमजोरीहरूलाई अर्को व्यक्तिको सबल पक्षद्वारा पूर्ति गरेर, अनि एक-अर्काको रेखदेख गरेर।) त्यो पूर्ण रूपमा मिल्छ; त्यसरी अभ्यास गर्नु भनेको मिलेर सहकार्य गर्नु हो। अरू पनि छन्? परिस्थितिहरू आइपर्दा अरूको राय माग्नु—के त्यो सहकार्य होइन र? (हो।) यदि एक जना व्यक्तिले आफ्‍नो विचारमा सङ्गति गर्छ, र अर्कोले आफ्‍नो विचारमा सङ्गति गर्छ, र अन्त्यमा, तिनीहरूले पहिलो व्यक्तिको सङ्गतिलाई लागु गर्छन् भने, किन झारा टार्ने? त्यो सहकार्य होइन—त्यो सिद्धान्तहरूभन्दा बाहिर हुन जान्छ, र यसले सहकार्यका परिणामहरू दिँदैन। यदि तँ मेशिन गनझैँ बोलिरहन्छस्, र अरू बोल्न चाहनेहरूलाई मौका दिँदैनस्, साथै आफ्‍ना सबै विचारहरू बोलिसकेपछि पनि अरूको कुरा सुन्दैनस् भने, के त्यो छलफल हो? के त्यो सङ्गति हो? त्यो त झारातिराइ मात्र हो—त्यो सहकार्य होइन। त्यसोभए सहकार्य भनेको के हो त? यो तब हुन्छ जब तैँले आफ्ना विचार र निर्णयहरू बताइसकेपछि, अरूका राय र विचारहरू माग्‍न सक्छस्, त्यसपछि आफ्‍ना र तिनीहरूका अभिव्यक्ति र विचारहरूलाई तुलना गर्छस्, र एक-दुई जना मानिसहरूले तिनलाई गहन रूपमा बुझेर, अनि सिद्धान्तहरू खोजी गरेर, साझा बुझाइ प्राप्त गर्छन् र अभ्यासको सही मार्ग निर्धारण गर्छन्। छलफल र सङ्गति गर्नु भनेको त्यही हो—“सहकार्य” भनेको त्यही हो। कतिपय मानिसहरूले अगुवाको रूपमा कुनै कुराको वास्तविकता देख्‍न सक्दैनन्, तर तिनीहरूसँग कुनै विकल्प नभएपछि मात्रै अरूसँग यसको बारेमा छलफल गर्छन्। त्यसपछि तिनीहरूले समूहलाई भन्छन्, “मैले यो मामलालाई निरङ्कुश तरिकाले सम्हाल्न मिल्दैन; मैले सबैसँग मिलेर सहकार्य गर्नुपर्छ। हामीले गर्नुपर्ने सही कुरा निर्धारण गर्नका लागि तपाईंहरू सबैलाई यसको बारेमा आफ्नो राय व्यक्त गर्न र छलफल गर्न दिनेछु।” सबैले बोलिसकेर आफ्नो कुरा राखिसकेपछि तिनीहरूले अगुवाले यसको बारेमा के सोच्छन् भनेर सोध्छन्। उसले भन्छ, “सबैले जे चाहन्छन् मैले चाहने पनि त्यही नै हो—म पनि यस्तै सोचिरहेको थिएँ। मैले सुरुदेखि नै यही गर्ने योजना बनाएको छु, र यो छलफलद्वारा, सर्वसम्मति सुनिश्‍चित हुन्छ।” के यो साँचो टिप्पणी हो? यसमा एउटा खोट छ। उसले यस कुरालाई पटक्‍कै बुझ्न सक्दैन, र उसले भनेको कुरामा मानिसहरूलाई बहकाउने र झुक्क्याउने अभिप्राय हुन्छ—यो मानिसहरूले उसलाई सम्मान गरून् भनेर भनिएको हो। उसले सबैको राय माग्‍नु त औपचारिकता मात्रै हो, र ऊ तानाशाही वा निरङ्कुश भइरहेको छैन भनेर सबैलाई भन्‍न लगाउनका लागि हो। त्यो नामबाट जोगिनका लागि, उसले कुराहरूलाई ढाकछोप गर्न यो उपाय लगाउँछ। वास्तवमा, सबैले कुरा गरिरहेका बेला, उसले पटक्‍कै सुनिरहेको हुँदैन, र तिनीहरूले भनेको कुरालाई पटक्‍कै मनमा लिइरहेको हुँदैन। अनि सबैलाई बोल्न लगाउँदा पनि उसले इमानदारी देखाइरहेको हुँदैन। झट्ट हेर्दा, उसले सबैलाई सङ्गति र छलफल गर्न दिइरहेको हुन्छ, तर वास्तवमा, उसले आफ्ना अभिप्रायहरूसँग मिल्दो विधि खोज्नका लागि मात्रै सबैलाई बोल्‍न दिइरहेको हुन्छ। अनि उसले यस विषयमा अघि बढ्ने उचित तरिका निर्धारित गरेपछि, उसले मानिसहरूलाई आफूले जे गर्ने अभिप्राय बनाएको छ त्यसलाई स्वीकार गर्न बाध्य पार्नेछ, चाहे त्यो सही होस् वा नहोस्, र सबैलाई उसको मार्ग सही छ, सबैको अभिप्राय यही हो भन्‍ने सोच्न लगाउनेछ। अन्तमा, उसले यसलाई जबरजस्ती कार्यान्वयन गर्छ। के तैँले यसैलाई सहकार्य भन्छस्? अहँ—त्यसोभए यसलाई के भन्छस्? उसले तानाशाही व्यवहार गरिरहेको छ। ऊ सही भए पनि गलत भए पनि, उसले एकल र अन्तिम निर्णय गर्न चाहन्छ। यसको साथै, जब कुनै घटना घट्छ र उसले यसलाई छर्लङ्ग बुझ्न सक्दैन, तब उसले पहिले अरू सबैलाई बोल्न लगाउँछ। तिनीहरूले बोलिसकेपछि, उसले तिनीहरूका विचारहरूलाई सारांशीकृत गर्छ र आफूलाई मन पर्ने र उपयुक्त लाग्ने विधि खोज्छ, र सबैलाई यो स्विकार्न लगाउँछ। उसले सहकार्यको नाटक गरिरहेको हुन्छ, जसले गर्दा उसले अझै पनि आफूले चाहे अनुसार काम गर्छ—र पनि, एकल र अन्तिम निर्णय गर्ने व्यक्ति ऊ नै हुन्छ। उसले सबैले भनेको कुरामा गल्तीहरू खोज्छ र त्रुटिहरू औँल्याउँछ, टिप्पणी दिन्छ र वातावरण निर्माण गर्छ, त्यसपछि उसले यो सबै कुरालाई संयोजन गरेर एउटा पूर्ण र सटीक अभिव्यक्तिमा बनाउँछ, जसको प्रयोग गरेर उसले आफ्नो निर्णय गर्छ, र सबैलाई आफू अरूभन्दा उच्च छु भन्‍ने देखाउँछ। बाहिरबाट हेर्दा, उसले सबैको सन्देश सुनेको छ जस्तो देखिन्छ, र उसले सबैलाई बोल्न दिन्छ। तर, तथ्य यो हो कि अन्तिममा निर्णय गर्ने व्यक्ति ऊ मात्रै हुन्छ। वास्तवमा उक्त निर्णय हरेकको अन्तर्ज्ञान र विचारहरू नै हो जसलाई उसले केवल सारांशीकृत गरेर अलिक पूर्ण र सटीक तरिकाले प्रस्तुत गरेको हुन्छ। कतिपय मानिसहरूले यो कुरा बुझ्न सक्दैनन्, त्यसकारण उच्च पारिएको व्यक्ति ऊ नै हो भन्‍ने सोच्छन्। उसको यस्तो कार्यको चरित्र के हो? के यो चरम चलाकीपन होइन र? उसले हरेकको सन्देशलाई सारांशीकृत गर्छ र तिनलाई आफ्नै बनाएर व्यक्त गर्छ, ताकि मानिसहरूले उसको आराधना र आज्ञापालन गरून्; अनि अन्त्यमा, हरेकले उसको इच्छाअनुसार काम गर्छ। के त्यो सद्भावपूर्ण सहकार्य हो? यो अहङ्कार र आत्मधार्मिकता, तानाशाहीपन हो—उसले सबै श्रेय आफै लिन्छ। त्यस्ता मानिसहरू अरूसँग सहकार्य गर्दा अत्यन्तै छली, अहङ्कारी र आत्मधर्मी हुन्छन्, र पर्याप्त समय बितेपछि, मानिसहरूले त्यो कुरा देख्‍नेछन्। कतिले भन्‍नेछन्: “तपाईं म कसैसँग सहकार्य गर्न सक्षम नभएको भन्‍नुहुन्छ—अँ, मेरो एक जना साझेदार छ! उसले मसँग राम्ररी सहकार्य गर्छ: म जहाँ जान्छु ऊ त्यहीँ जान्छ, म जे गर्छु उसले त्यही गर्छ; म उसलाई जहाँ पठाउँछु, ऊ त्यहीँ जान्छ, मैले उसलाई जे गर्न लगाउँछु उसले त्यही गर्छ, जसरी गर्न लगाउँछु त्यसरी नै गर्छ।” के सहकार्य भनेको त्यही हो? होइन। त्यसलाई त नोकर बनेको भनिन्छ। तैँले जे भन्छस् नोकरले त्यही गर्छ—के त्यो सहकार्य हो? स्पष्ट रूपमा, ऊ विचार वा दृष्टिकोणहरू नभएको, आफ्नै राय त झनै नभएको, नोकर हो। अनि त्यो बाहेक, तिनीहरूको सोचाइ खुसामद गर्ने किसिमको हुन्छ। तिनीहरू आफूले गर्ने कुनै पनि कुरामा सतर्क हुँदैनन्, बरु मन नलागी-नलागी झारा टार्छन्, र तिनीहरूले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनन्। त्यस्तो सहकार्यले के उद्देश्य पूरा गर्न सक्छ? तिनीहरूको साझेदार जो भए पनि, सधैँ नोकरले जस्तो तिनीहरूले भनेको काम गर्छन्। तिनीहरू अरूले जे भन्छन् त्यही मान्छन् र अरूले जे गर्न लगाउँछन् त्यही गर्छन्। त्यो सहकार्य होइन। सहकार्य भनेको के हो? तिमीहरूले एक-अर्कासँग कामकुराबारे छलफल गर्न, र आफ्ना विचार र रायहरू व्यक्त गर्न सक्नुपर्छ; तिमीहरूले एक-अर्काको परिपूरक बनेर रेखदेख गर्नुपर्छ, र एक-अर्काबाट खोजी गर्नुपर्छ, एक-अर्काको बारेमा सोधपुछ गर्नुपर्छ, र एक-अर्कालाई सतर्क गराउनु पर्छ। सद्भावपूर्ण सहकार्य गर्नु भनेको त्यही हो। उदाहरणको लागि, मानौँ तैँले कुनै कुरा आफ्नै इच्छा अनुसार सम्हालिस्, र कसैले यसो भन्यो, “तपाईंले गलत गर्नुभयो, तपाईं पूर्ण रूपमा सिद्धान्तविपरीत जानुभयो। तपाईंले किन सत्यताको खोजी नगरी यसलाई आफूले चाहे अनुसार सम्‍हाल्‍नुभयो?” यसको जवाफमा, तैँले यसो भन्छस्, “ठीक भन्‍नुभयो—तपाईंले मलाई सचेत गराउनुभएकोमा म खुशी छु! यदि तपाईंले त्यसो नगर्नुभएको भए, यसले विपत्ति ल्याउनेथियो!” एक-अर्कालाई सतर्क गराउनु भनेको त्यही हो। त्यसोभए, एक-अर्काको रेखदेख गर्नु भनेको के हो? हरेक व्यक्तिमा भ्रष्ट स्वभाव हुन्छ, र उसले आफ्नो कर्तव्य पूरा गर्दा झारा टार्न सक्छ, र परमेश्‍वरको घरका हितहरू कायम राख्नुको सट्टा आफ्नै हैसियत र अभिमानको रक्षा मात्रै गर्न सक्छ। हरेक व्यक्तिमा यस्ता स्थितिहरू हुन्छन्। यदि तैँले कसैसँग समस्या छ भन्‍ने थाहा पाइस् भने, तैँले ऊसँग सङ्गति गर्ने पहल गर्नुपर्छ, उसलाई सिद्धान्तहरू अनुसार आफ्नो कर्तव्य पूरा गर्न सम्झाउनुपर्छ, साथै यसलाई आफ्‍नो लागि चेतावनीको उभ्याउनुपर्छ। त्यो पारस्परिक रेखदेख हो। पारस्परिक निगरानीले के काम गर्छ? यसको उद्देश्य परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नु हो, र मानिसहरूलाई गलत मार्गमा जानबाट रोक्नु पनि हो। एक-अर्कालाई प्रोत्साहन दिने र एक-अर्काको रेखदेख गर्ने बाहेक, सहकार्यको अर्को काम पनि हुन्छ: एक-अर्काको बारेमा सोधपुछ गर्नु। उदाहरणको लागि, जब तैँले कुनै व्यक्तिलाई तह लगाउन चाहन्छस्, तब तैँले आफ्नो साझेदारसँग सङ्गति र सोधपुछ गर्नुपर्छ: “मैले यस अघि यस्तो सामना गरेको छैनँ। मलाई यो सम्हाल्न आउँदैन। यसलाई सम्हाल्ने राम्रो तरिका के हो? म यसलाई समाधान गर्नै सक्दिनँ!” तिनीहरूले भन्छन्, “मैले पहिले पनि यस्ता समस्याहरू सम्हालेको छु। त्यो समयको प्रसङ्गयो व्यक्तिको हकमा भन्दा अलिक फरक थियो; यदि हामीले यसलाई त्यस्तै तरिकाले सम्हाल्यौँ भने यो अलि नियम पालना गरेजस्तो हुनेछ। मलाई त अहिले पनि यसलाई सम्हाल्ने राम्रो तरिका थाहा छैन।” तैँले भन्छस्, “मसँग एउटा उपाय छ जसको बारेमा म तपाईंको विचार बुझ्न चाहन्छु। यो व्यक्तिको चरित्र हेर्दा दुष्ट जस्तो देखिन्छ, तर हामी अहिले नै निश्‍चित हुन सक्दैनौँ। तैपनि उसले श्रम गर्न सक्छ, त्यसकारण अहिलेका लागि उसलाई त्यसो गर्न दिऊँ। यदि उसले श्रम गर्न सक्दैन, र बाधा र अवरोध ल्याइरहन्छ भने, हामी उसलाई तह लगाउनेछौँ।” तिनीहरूले यो सुनेर भन्छन्, “त्यो त राम्रो उपाय हो। यो बुद्धिमानी देखिन्छ र पूर्ण रूपमा सिद्धान्तहरू अनुरूप छ, र यो न त दमनकारी छ न यो व्यक्तिगत रिस पोखाउने कार्य नै हो। त्यसोभए यसलाई त्यसरी नै सम्हालौँ।” तिमीहरू दुई जना छलफलमार्फत सहमतिमा पुग्यौ। त्यसरी गरिएको काम सहज रूपमा अघि बढ्छ। मानौँ तिमीहरू दुई जना सहकार्य गरिरहेका छैनौ र कामकुराबारे छलफल गर्दैनौ, र जब तेरो साझेदारलाई कुनै कुरा कसरी सम्हाल्ने भन्‍ने थाहा हुँदैन, तब उसले यो कुरा तेरो काँधमा हालिदिन्छ, र यस्तो सोच्छ, “तपाईंलाई जसरी मन लाग्छ त्यसरी सम्हाल्‍नुहोस्। यदि केही बिग्रियो भने, यो जसरी पनि तपाईंकै जिम्मेवारी हुनेछ—म यसमा हिस्सेदार हुनेछैन।” तैँले तेरो साझेदारले जिम्मेवारी लिन अनिच्छुक भएर काम गरिरहेको छ भन्‍ने देख्‍न सक्छस्, तैपनि तैँले उसलाई त्यो कुरा औँल्याउँदैनस्, बरु आफ्नै इच्छा अनुसार हतारमा काम गर्छस्, र सोच्छस्, “तपाईं जिम्मेवारी लिन चाहनुहुन्‍न? के तपाईं मलाई यो कुरा सम्हाल्न दिन चाहनुहुन्छ? ठीक छ, त्यसोभए म यसलाई सम्हाल्छु—म उसलाई निकाल्‍नेछु।” तिमीहरू दुई जनाको विचार एउटै हुँदैन; हरेकको आफ्नै दृष्टिकोण हुन्छ—अनि परिणाम स्वरूप, यो मामलालाई जथाभाबी रूपमा, सिद्धान्तहरूको उल्लङ्घन गर्दै सम्‍हालिन्छ, अनि श्रम गर्न सक्षम व्यक्तिलाई स्वेच्छाचारी रूपमा हटाइन्छ। के त्यो सद्भावपूर्ण सहकार्य हो? सकारात्मक परिणामहरू हासिल गर्ने एउटै मात्र तरिका भनेको सद्भावपूर्ण सहकार्य हो। यदि एउटा व्यक्तिले जिम्मेवारी लिँदैन र अर्को व्यक्तिले स्वेच्छाचारी रूपमा काम गर्छ भने, त्यो तिनीहरूले सहकार्य नगरेको जस्तै हो। तिनीहरू दुवै जना आफ्नै इच्छा अनुसार काम गरिरहेका हुन्छन्। यस्तो कार्य सम्पादन कसरी सन्तोषजनक हुन सक्छ?

सहकार्य गर्दा कुनै समस्या आइपर्दा, तिमीहरूले एक-अर्कालाई सोधपुछ गर्नुपर्छ र एक-अर्कासँग कुराहरूबारे छलफल गर्नुपर्छ। के ख्रीष्टविरोधीहरूले यसरी अभ्यास गर्न सक्छन्? ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्; तिनीहरू सधैँ एकलौटी शासन स्थापित गर्न चाहन्छन्। यो प्रकटीकरणको विशेषता “एकलो” हो। यसलाई व्याख्या गर्न किन “एकलो” भन्‍ने शब्द प्रयोग गर्ने? किनभने तिनीहरूले कुनै काम गर्नुभन्दा पहिलेपरमेश्वरसामु आएर प्रार्थना गर्दैनन्, न त तिनीहरूले सत्यता सिद्धान्तहरू खोज्छन्, तिनीहरूले सङ्गति गर्न कसैलाई खोजेर “के यो उचित मार्ग हो? कामका बन्दोबस्तहरूमा के तोकिएका छन्? यस्तो कुरालाई कसरी सम्हाल्नुपर्छ?” भनी सोध्ने काम त झनै गर्दैनन्। तिनीहरूले कहिल्यै पनि आफ्ना सहकर्मी र साझेदारहरूसँग कामकुराबारे छलफल गर्दैनन् वा सहमतिमा पुग्न खोज्दैनन्—तिनीहरूले आफ्नै योजना र बन्दोबस्तहरू बनाउँदै, आफ्नै कुराहरू र युक्तिहरूका बारेमा सोचिरहेका हुन्छन्। परमेश्‍वरको घरका कामका बन्दोबस्तहरूको बारेमा सरसर्ती पढेरै तिनीहरूले ती कुरा बुझेको छु भन्‍ने सोच्छन्, त्यसपछि तिनीहरूले अन्धाधुन्ध कामको बन्दोबस्त गर्छन्—अनि अरूले यो कुरा थाहा पाउञ्जेल, कामको बन्दोबस्त भइसकेको हुन्छ। कसैले पनि तिनीहरूकै मुखबाट पहिले नै तिनीहरूका विचार वा भावनाहरू सुन्नु असम्भव हुन्छ, किनभने तिनीहरूले आफ्ना सोचविचारहरू कसैलाई कहिल्यै पनि बताउँदैनन्। कसैले सोध्न सक्छ, “के सबै अगुवा र सेवकहरूका साझेदारहरू हुँदैनन् र?” तिनीहरूको नामको मात्र कुनै साझेदार हुन सक्छ, तर काम गर्ने बेलामा, तिनीहरूसँग कुनै साझेदार हुँदैन—तिनीहरू एकलै काम गर्छन्। अगुवा र सेवकहरू, अनि कुनै पनि कर्तव्य गर्ने सबै व्यक्तिको सहकर्मी हुने भए पनि, ख्रीष्टविरोधीहरूले आफूमा राम्रो क्षमता छ र आफू साधारण मानिसहरूभन्दा असल छु, त्यसकारण साधारण मानिसहरू आफ्नो सहकर्मी हुन योग्य हुँदैनन्, र तिनीहरू सबै आफूभन्दा तल्‍लो स्तरका हुन्छन् भन्‍ने विश्‍वास गर्छन्। त्यसैले ख्रीष्टविरोधीहरू अन्तिम निर्णय आफै गर्न मन पराउँछन् र अरू कसैसँग पनि छलफल गर्न चाहँदैनन्। त्यसो गर्दा आफू केही नकामको अयोग्य देखिनेछु भन्‍ने तिनीहरूलाई लाग्छ। यो कस्तो प्रकारको दृष्टिकोण हो? यो कस्तो प्रकारको स्वभाव हो? के यो अहङ्कारी स्वभाव हो? तिनीहरूले अरूसँग सहकार्य गर्नु र विभिन्‍न विषयमा छलफल गर्नु, तिनीहरूलाई सोधपुछ गर्नु र तिनीहरूबाट खोजी गर्नु अशोभनीय र अपमानजनक, र आत्मसम्मानमा ठेस लगाउने कुरा हो भन्‍ने ठान्छन्। त्यसकारण, आफ्‍नो आत्मसम्‍मानको रक्षा गर्न, तिनीहरूले आफूले गर्ने कुनै कुरामा पारदर्शिता देखाउँदैनन्, न त तिनीहरूले यसबारेमा अरूलाई नै बताउँछन्, अरूसँग यसबारेमा छलफल गर्नु त परै जाओस्। तिनीहरूलाई के लाग्छ भने, अरूसँग छलफल गर्नु भनेको आफू असक्षम छु भन्‍ने देखाउनु हो; सधैँ अरूका विचार माग्‍नु भनेको आफू मूर्ख र आफै विचार गर्न नसक्‍ने छु भनी देखाउनु हो; कुनै काम पूरा गर्न वा केही समस्या समाधान गर्न अरूसँग काम गर्दा त्यसले आफूलाई निकम्मा देखाउँछ। के यो तिनीहरूको अहङ्कारी र मूर्ख मानसिकता होइन र? के यो तिनीहरूको भ्रष्ट स्वभाव होइन र? तिनीहरूभित्रको अहङ्कार र आत्मधार्मिकता एकदमै प्रस्ट देखिन्छ; तिनीहरूले सामान्य मानव समझ पूरै गुमाएका हुन्छन्, र तिनीहरूको दिमाग ठेगानमा हुँदैन। तिनीहरूले सधैँ आफूसित क्षमता छ, आफै कामकुरा फत्ते गर्न सक्छन् र अरूसित सहकार्य गर्नु आवश्यक छैन भन्ने सोच्छन्। तिनीहरूसँग यस्ता भ्रष्ट स्वभाव भएका हुनाले, तिनीहरूले सौहार्दपूर्ण सहकार्य हासिल गर्न सक्दैनन्। तिनीहरूले अरूसँग सहकार्य गर्नु भनेको आफ्नो शक्तिलाई फितलो बनाउनु र टुक्र्याउनु हो, अरूसँग काम बाँड्दा, आफ्‍नै शक्ति कम हुन्छ भन्‍ने विश्‍वास गर्छन् र तिनीहरूले आफ्‍नो लागि सबै कुराको निर्णय गर्न सक्दैनन्, अर्थात् तिनीहरूमा साँचो शक्तिको कमी हुन्छ, जुन तिनीहरूको लागि ठूलो घाटा हो। त्यसकारण, तिनीहरूलाई जेसुकै आइलागे पनि, यदि तिनीहरूलाई यो कुरा बुझेको छु त्यसलाई सम्हाल्ने उचित तरिका जानेको छु भन्‍ने लाग्छ भने, तिनीहरूले यसबारेमा अरू कसैसँग छलफल गर्नेछैनन्, र तिनीहरूले सारा आदेशहरू दिनेछन्। अरूलाई थाहा दिनुभन्दा गल्ती गर्न रुचाउँछन्, अरूसँग शक्ति बाँड्नुभन्दा गलत नै हुन रुचाउँछन्, र आफ्नो काममा अरूलाई हस्तक्षेप गर्न दिनुभन्दा निष्कासित हुन रुचाउँछन्। यस्तो व्यक्ति ख्रीष्टविरोधी हो। तिनीहरूले आफ्‍नो शक्ति अरू कसैसँग बाँड्नुभन्दा, परमेश्‍वरको घरका हितहरूमा हानि पुर्‍याउन, परमेश्‍वरको घरका हितहरूमा सम्झौता गर्न चाहन्छन्। तिनीहरूलाई के लाग्छ भने, आफूले कुनै काम गर्दा वा कुनै मामला सम्हाल्दा, यो कर्तव्यपालन होइन, बरु आफ्नो प्रदर्शन गर्ने र अरूभन्दा विशिष्ट बन्ने, अनि शक्ति प्रयोग गर्ने मौका हो। त्यसकारण, तिनीहरूले अरूसित मिलेर सहकार्य गर्नेछु र मामलाहरू आइपर्दा त्यसबारे अरूसित छलफल गर्नेछु भन्ने गरे पनि, सत्य कुरा के हो भने, तिनीहरू हृदयमा, आफ्नो शक्ति वा हैसियत त्याग्न अनिच्छुक छन्। तिनीहरू सोच्छन् कि यदि तिनीहरूले केही धर्मसिद्धान्त बुझेका छन् र त्यो काम आफै गर्न सक्छन् भने, तिनीहरूले अरू कसैसँग सहकार्य गर्नु पर्दैन; तिनीहरूले सोच्छन्, यो काम आफै अघि बढाउनुपर्छ र आफै पूरा गर्नुपर्छ, र त्यसरी मात्रै यसले तिनीहरूलाई दक्ष बनाउन सक्छ। के यो दृष्टिकोण ठीक छ? तिनीहरूबाट सिद्धान्तहरू उल्लङ्घन भएमा, तिनीहरूले कर्तव्य पूरा गरिरहेका हुँदैनन्, तिनीहरू परमेश्‍वरको आज्ञा पूरा गर्न सक्षम हुँदैनन्, र तिनीहरूले परिश्रम मात्र गरिरहेका हुन्छन् भन्ने कुरा तिनीहरूलाई थाहा हुँदैन। कर्तव्यपालनको दौरान सत्यता सिद्धान्तहरू खोजी गर्नुको सट्टा, तिनीहरूले आफ्‍ना विचार र मनसायहरू अनुसार शक्ति प्रयोग गर्छन्, धाक लगाउँछन्, र आफ्‍नै प्रदर्शन गर्छन्। तिनीहरूको साझेदार सहकर्मी जो भए पनि वा तिनीहरूले जे काम गरे पनि, तिनीहरूले कामकुराबारे छलफल गर्न कहिल्यै चाहँदैनन्, तिनीहरू सधैँ आफै काम गर्न चाहन्छन्, र सधैँ आफै अन्तिम निर्णय लिन चाहन्छन्। तिनीहरूले कामकुरा पूरा गर्न स्पष्टतः शक्तिसँग खेलिरहेका र शक्ति प्रयोग गरिरहेका हुन्छन्। ख्रीष्टविरोधीहरू सबैले शक्तिलाई प्रेम गर्छन्, र जब तिनीहरूसँग हैसियत हुन्छ, तिनीहरू अझै बढी शक्ति चाहन्छन्। अनि, जब ख्रीष्टविरोधीहरूसँग शक्ति हुन्छ, तिनीहरूले आफ्नो हैसियत प्रयोग गरेर प्रदर्शन गर्ने र आफ्‍नो सान देखाउने सम्भावना हुन्छ, ताकि अरूले तिनीहरूलाई आदरभावले हेरून् र तिनीहरू अरूभन्दा फरक देखिन सकून्। यसरी ख्रीष्टविरोधीहरू शक्ति र हैसियतमा लीन हुन्छन्, र आफ्नो शक्ति कहिल्यै परित्याग गर्दैनन्। तिनीहरूले जस्तोसुकै कर्तव्य निर्वाह गरिरहेका भए पनि, यसमा जुनसुकै व्यावसायिक ज्ञानको क्षेत्र समावेश भए पनि, तिनीहरूलाई यसको बारेमा थाहा छैन भन्ने प्रस्टै भए पनि, तिनीहरूले थाहा भएको नाटक गर्नेछन्। अनि यदि कसैले तिनीहरूलाई नबुझेको, र नाटक गरेको आरोप लगायो भने, तिनीहरूले भन्‍नेछन्, “मैले अहिले नै यो कुरा अध्ययन गर्न थाले पनि, म यसलाई तिमीले भन्दा राम्ररी बुझ्नेछु। यो त केही अनलाइन स्रोतहरू खोजेर हेर्दा मात्रै पनि बुझिन्छ, होइन र?” ख्रीष्टविरोधीहरू यति अहङ्कारी र आत्मधर्मी हुन्छन्। तिनीहरूले जे पनि सरल कुराको रूपमा हेर्छन्, र तिनीहरूले यसलाई एकमुस्ट र एकलै लिने आँट गर्छन्। अनि परिणाम स्वरूप, जब माथिले कामको जाँच गर्छ र मामला कस्तो भइरहेको छ भनेर सोध्छ, तब तिनीहरूले यसलाई लगभग पूरा गरिएको छ भनेर भन्छन्। वास्तवमा तिनीहरूले एकलै काम गरिरहेका हुन्छन्, र कसैसँग कामकुराबारे छलफल गर्दैनन्—तिनीहरूले सबै कुराको निर्णय आफैले गर्दै आएका हुन्छन्। यदि तैँले तिनीहरूलाई, “तपाईंले सिद्धान्तहरू अनुसार काम गरिरहनुभएको छ?” भनेर सोधिस् भने, तिनीहरूले गरिरहेको कुरा सही छ र सिद्धान्तहरू अनुरूप छ भनेर प्रमाणित गर्न धेरै सिद्धान्तहरू बताउनेछन्। वास्तवमा, तिनीहरूको सोचाइ विकृत र गलत हुन्छ। तिनीहरूले अरूसँग पटक्‍कै छलफल गरेका हुँदैनन्, बरु सधैँ यसो गर्ने भनेर भन्‍ने, र निर्णय गर्ने तिनीहरू नै हुन्छन्। एक जना व्यक्तिले गर्ने निर्णयहरूमा प्रायजसो गडबडी हुन्छ, त्यसकारण आफूलाई सही र सटीक ठान्‍ने यो कस्तो स्वभाव हो? यो स्पष्ट रूपमा अहङ्कारी स्वभाव हो। तिनीहरूमा अहङ्कारी स्वभाव हुन्छ, र त्यसकारण तिनीहरूले तानाशाही व्यवहार गर्छन्—त्यसकारण तिनीहरूले खराब कामकुरा गर्दै दङ्गा मच्चाउँछन्। यो त निरङ्कुशता हो—एकाधिकार हो। ख्रीष्टविरोधीहरूको स्वभाव यही हो। तिनीहरू कहिल्यै कसैसँग सहकार्य गर्न इच्छुक हुँदैनन्, बरु यसलाई असान्दर्भिक र अनावश्यक ठान्छन्। तिनीहरूले सधैँ आफू अरूभन्दा असल छु, अरू कोही पनि मेरो तुलनामा आउँदैन भन्‍ने सोच्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूसँग हृदयमा अरूसँग सहकार्य गर्ने कुनै चाहना वा इच्छा हुँदैन। तिनीहरू आफूले भनेकै जस्तो होस् भन्ने चाहन्छन्; तिनीहरू एकाधिकार चाहन्छन्। त्यसपछि मात्रै तिनीहरू प्रसन्‍न हुन्छन्—त्यसपछि मात्रै तिनीहरूले आफ्नो श्रेष्ठता प्रदर्शन गरेर अरूलाई आफूमा समर्पित गराउन र आफ्‍नो आराधना गर्ने बनाउन सक्छन्।

यसको अर्को भाग पनि छ, त्यो के हो भने ख्रीष्टविरोधीहरू सधैँ पूर्ण शक्ति प्राप्त गर्न, एकल र अन्तिम निर्णय गर्न चाहन्छन्। तिनीहरूको स्वभावको यो पक्षले तिनीहरूलाई अरूसँग सहकार्य गर्न पनि असमर्थ बनाउँछ। यदि तैँले तिनीहरूलाई सहकार्य गर्न तयार छौ कि छैनौ भनेर सोधिस् भने, तिनीहरूले तयार छौँ भनेर भन्छन्, तर समय आएपछि, तिनीहरूले सहकार्य गर्न सक्दैनन्। यो तिनीहरूको स्वभाव हो। तिनीहरूले किन त्यसो गर्न सक्दैनन्? मानौँ, यदि एउटा ख्रीष्टविरोधी समूह सहायक प्रमुख बन्यो, र अरू कोही समूह प्रमुख बन्यो भने, ख्रीष्टविरोधीको प्रकृति सार भएको त्यो व्यक्ति सहायकबाट प्रमुख बन्‍नेछ, र समूह प्रमुख उसको सहायक बन्‍नेछ। तिनीहरूले यसलाई उल्ट्याउनेछन्। तिनीहरूले कसरी यो कुरा हासिल गर्नेछन्? तिनीहरूसँग धेरै उपायहरू हुन्छन्। तिनीहरूका उपायहरूको एउटा तत्व के हो भने तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूका अगाडि काम गरिरहेका समयहरू—सबैले तिनीहरूलाई सबैभन्दा बढी देख्‍ने समयहरूको—प्रयोग गरेर धेरै बोल्छन् र कार्य गर्छन् र आफ्नो प्रदर्शन गर्छन्, ताकि मानिसहरूले तिनीहरूलाई आदर गरून् साथै तिनीहरू समूह प्रमुखभन्दा निकै असल छन्, र तिनीहरूले समूह प्रमुखलाई जितेका छन् भनेर स्विकारून्। अनि समय बित्दै जाँदा, दाजुभाइ-दिदीबहिनीहरूले समूह प्रमुख समूह सहायक प्रमुख जत्तिको राम्रो छैन भनेर भन्छन्। उक्त ख्रीष्टविरोधी यो सुन्दा प्रसन्न हुन्छ; उसले सोच्छ, “बल्‍ल, तिनीहरूले म ऊभन्दा राम्रो छु भनेर स्वीकार गरे। मैले आफ्‍नो उद्देश्य हासिल गरेको छु।” सामान्य परिस्थितिहरूमा समूह सहायक प्रमुखले पूरा गर्नुपर्ने जिम्मेवारी र दायित्वहरू के-के हुन्? मण्डलीले बन्दोबस्त गरेको काम अघि बढाउन र लागू गर्न समूह प्रमुखसँग सहकार्य गर्नु, र समूह प्रमुखसामु कुराहरू उठाउनु, उसलाई घचघच्याउनु, र रेखदेख गर्नु—र ऊसँग छलफल गरेर सँगै काम गर्नु हो। समूह प्रमुखले मुख्य अगुवाको भूमिका नै खेल्नुपर्छ; समूह सहायक प्रमुखले उसलाई पछाडिबाट साथ दिनुपर्छ, र हरेक परियोजनाको काम राम्ररी अघि बढेको छ भन्‍ने कुरालाई सुनिश्‍चित गर्न ऊसँग सहकार्य गर्नुपर्छ। कामहरू नबिथोल्ने बाहेक, सबै कुरा समूह प्रमुख सँगको सहकार्यमा नै गर्नुपर्छ, ताकि गर्नुपर्ने काम राम्ररी पूरा गरियोस्। यदि समूह प्रमुखका कार्यहरूले सिद्धान्तहरू उल्लङ्घन गर्छन् भने, समूह सहायक प्रमुखले उसलाई यसबारे कुरा उठाउनुपर्छ र सहयोग गर्नुपर्छ, र गल्तीलाई सच्याउनुपर्छ। अनि समूह प्रमुखले सही र राम्ररी गरेको र त्यो सत्यता सिद्धान्तहरू अनुरूप गरेको सबै कामकुरामा, समूह सहायक प्रमुखले यसमा सहयोग र सहकार्य गर्नुपर्छ, र यसको सेवामा पूर्ण प्रयास गर्नुपर्छ, र काम राम्ररी गर्न समूह प्रमुखसँग एउटै हृदय र मनको हुनुपर्छ। यदि कुनै समस्या देखा पर्यो भने, वा यदि समस्या भेटियो भने, तिनीहरू दुवै जनाले यसको समाधानबारे छलफल गर्नुपर्छ। कहिलेकहीँ, दुई वटा कामकुरा एकै पटक गर्नुपर्ने हुन्छ; तिनीहरू दुवैले यस विषयमा छलफल गरेपछि, तिनीहरूले व्यक्तिगत रूपमा आ-आफ्नो काम राम्ररी गर्नुपर्छ। त्यो नै सहकार्य हो—सद्भावपूर्ण सहकार्य। के ख्रीष्टविरोधीहरूले अरूसँग यसरी सहकार्य गर्छन्? कदापि गर्दैनन्। यदि समूह सहायक प्रमुखको रूपमा सेवा गर्ने कुनै ख्रीष्टविरोधी छ भने, उसले समूह प्रमुखसँग पद साट्न, समूह प्रमुखलाई सहायक प्रमुख र सहायक प्रमुखलाई प्रमुख बनाउन के गर्नुपर्छ भनी बुझ्न थाल्छन्, र यसरी नेतृत्व हातमा लिने प्रयास गर्छन्। उसले समूह प्रमुखलाई अनेक कामहरू गर्न आदेश दिन्छ, र सबैलाई आफू समूह प्रमुखभन्दा निकै राम्रो भएको, आफू समूह प्रमुख हुन योग्य भएको देखाउँछ। यसरी, अरूमाझ उसको प्रतिष्ठा बढ्छ, र उसलाई स्वतः समूह प्रमुखको रूपमा चुनिन्छ। उसले जानी-जानी समूह प्रमुखलाई मूर्ख देखाउँछ र इज्जत गुमाउने अवस्थामा पुर्‍याउँछ, यतिसम्म कि अरूले उसलाई हेला गर्छन्। त्यसपछि, उसले आफ्नो बोलीवचनद्वारा, उसलाई गिल्ला गर्छ र व्यङ्ग्य गर्छ, साथै खुलासा गर्छ र होच्याउँछ। बिस्तारै, यी दुई बीचको अन्तर झन्-झन् ठूलो हुँदै जान्छ, र मानिसहरूको हृदयमा तिनीहरूको स्थान झन्-झन् फरक हुँदै जान्छ। यसरी अन्तमा उक्त ख्रीष्टविरोधी समूह प्रमुख बन्छ—उसले मानिसहरूलाई आफ्नो पक्षमा पारेको हुन्छ। त्यसोभए उसको जस्तो स्वभाव लिएर, के उसले अरूसँग मिलेर सहकार्य गर्न सक्छ? सक्दैन। ऊ जुनसुकै स्थानमा भए पनि, आधार स्तम्भ बन्‍न, एकाधिकार जमाउन, शक्ति आफ्नै हातमा लिन चाहन्छ। तेरो पद प्रमुख होस् वा सहायक, ठूलो होस् वा सानो, उसको दृष्टिकोणमा हैसियत र शक्ति ढिलो-चाँडो उसको मात्रै हुनुपर्छ। जोकोहीले ऊसँग कर्तव्य निर्वाह गरिरहेको होस्, वा कुनै परियोजनाको काम गरिरहेको होस्, वा ऊसँग कुनै समस्याको बारेमा छलफल गरिरहेको नै होस्, ऊ आफ्नै तवरले काम गर्ने एकलो व्यक्ति नै रहन्छ। उसले कसैसँग सहकार्य गर्दैन। कसैले पनि उसको जस्तै प्रतिष्ठा वा पद प्राप्त गर्न पाउँदैन, न त उसको जस्तै क्षमता वा ख्याति प्राप्त गर्न नै पाउँछ। कसैले उसलाई जितेर उसको हैसियतलाई खतरामा पार्ने बित्तिकै, उसले आफ्नो हातमा भएको कुनै पनि उपाय लगाएर परिस्थितिलाई परिवर्तन गर्ने कोसिस गर्नेछ। उदाहरणका लागि, सबै जना कुनै विषयमा छलफल गरिरहेका छन्, र जब छलफलको नतिजा आउनै लागेको हुन्छ, तब उसले यो कुरा झलक्‍क हेरेरै बुझ्नेछ र के गर्ने भनेर थाहा पाउनेछ। उसले भन्‍नेछ, “के यो कुरालाई सम्हाल्न साँच्चिकै त्यति गाह्रो छ र? के अझै पनि यसबारे यसरी छलफल गरिरहनुपर्छ र? तिमीहरूले भनेको कुनै पनि कुरा काम लाग्नेछैन!” अनि उसले कसैले पनि नसोचेको नयाँ सिद्धान्त वा उत्कृष्ट सुनिने विचार प्रस्तुत गर्नेछ, अनि अन्तिममा सबैका विचारहरूलाई खण्डन गर्नेछ। उसले त्यसो गरेपछि, यसले मानिसहरूलाई यस्तो सोच्ने तुल्याउँछ, “ऊ उच्च ओहदामा छ, ठीक छ; हामीले किन यसको बारेमा सोचेनौँ? हामी त केवल अज्ञानी मानिसहरू हौँ। त्यो राम्रो होइन—हामीलाई तपाईंकै नेतृत्व चाहिन्छ!” ख्रीष्टविरोधीले चाहने परिणाम नै त्यही हो; उसले सधैँ उत्कृष्ट सुनिने विचारहरू फलाकिरहेको हुन्छ, ताकि ऊ अद्वितीय व्यक्ति देखियोस्, र उसले अरूको सम्मान प्राप्त गर्न सकोस्। अनि उसले मानिसहरूमा कस्तो छाप छोड्छ? उसका विचारहरू साधारण मानिसहरूका भन्दा माथि छन्, साधारण मानिसहरूका भन्दा उच्च छन् भन्‍ने छाप छोड्छ। कति उच्‍च? यदि ऊ छैन भने, समूहले कुनै निर्णय गर्न वा कुनै कुरालाई अन्तिम रूप दिन सक्दैन, त्यसकारण उसले आएर केही भनुञ्जेल तिनीहरूले प्रतीक्षा गर्नुपर्छ। उसले निर्णय गरेपछि, सबैले उसलाई आदर गर्छन्, र यदि उसले भनेको कुरा भ्रमपूर्ण छ भने पनि, सबैले यो उच्च कुरा हो भनेर भन्छन्। यस क्रममा, के उसले मानिसहरूलाई बहकाइरहेको हुँदैन र? त्यसोभए, उसले किन कसैसँग सहकार्य गर्न सक्दैन? उसलाई लाग्छ, “मानिसहरूसँग सहकार्य गर्नु भनेको आफूलाई तिनीहरूको स्तरमा राख्‍नु हो। के दुई वटा बाघ एउटै पहाडमा बस्न सक्छन्? पहाडको राजा एउटै मात्र हुन सक्छ, र त्यो राजसत्ता जसले पकड राख्‍न सक्छ उसैको हुन्छ—र त्यसो गर्न सक्ने भनेको म जस्तो सक्षम व्यक्तिले हो। तिमीहरू सबै जना त्यति तेजिला छैनौ; तिमीहरूको क्षमता कमजोर छ, र तिमीहरू डरपोक छौ। यसको साथै, तिमीहरूले संसारका मानिसहरूलाई धोका दिएका वा मूर्ख बनाएका छैनौ—तिमीहरूलाई अरूले मात्र मूर्ख तुल्याएका छन्। यहाँ अगुवा बन्‍न म मात्र योग्य छु!” उसका लागि, खराब कुराहरू यसरी असल कुरा बन्छन्। उसले आफ्ना यी खराब कुराहरूका बारेमा घमण्ड गर्छ—के त्यो लाजमर्दो कुरा होइन र? उसले किन यी कुराहरू भन्छ? अनि उसले यसरी व्यवहार गर्नुको उद्देश्य के हो? यसको उद्देश्य अगुवा बन्‍नु, चाहे जतिसुकै ठूलो समूहमा किन नहोस्, आफूले प्रमुख स्थान लिनु हो। के उसको अभिप्राय त्यही होइन र? (हो।) त्यसकारण, उसले सबैलाई होच्याउने, अपमान गर्ने, र गिल्ला गर्ने हरेक उपाय सोच्छ, त्यसपछि सबैलाई विश्‍वस्त गराउन र आफूले भनेको कुरा गर्न लगाउनका लागि आफ्ना उत्कृष्ट सुनिने विचारहरू प्रस्तुत गर्छ। के त्यो सहकार्य हो? होइन—के हो त? यो हामीले कुरा गरिरहेको आठौँ बुँदासँग मिल्छ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउँथे। यो सहकार्यको सन्दर्भमा भनिएको हो। के ख्रीष्टविरोधीहरूले—तिनीहरूले जे गरिरहेका भए पनि, आफ्‍नो भाषामा वा आफ्‍नो शैलीमा—अरूसँग सहकार्य गरेर आफ्नो कर्तव्य पूरा गर्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले सहकार्य गर्दैनन्, बरु अरूलाई तिनीहरूको अभिव्यक्ति र विधिहरूमा सहकार्य गर्न माग मात्रै गर्छन्। त्यसोभए के तिनीहरूले अरूबाट सल्लाह लिन सक्छन् त? अवश्यै सक्दैनन्। अरूले तिनीहरूलाई जेसुकै सल्लाह दिए पनि, तिनीहरू यसप्रति अलिक उदासीन हुन्छन्। तिनीहरूले विस्तृत कुराहरू वा कारणहरू सोध्दैनन्, न त परिस्थितिहरूलाई साँच्चै कसरी सम्हाल्ने भनेर नै सोध्छन्, सत्यता सिद्धान्तहरूको खोजी गर्नु त परको कुरा हो। अझै खराब कुरा त, तिनीहरूकै अगाडि हुँदा तिनीहरूले मलाई समेत सोध्दैनन्—तिनीहरूले त मलाई हावा जस्तो ठान्छन्। म तिनीहरूलाई केही समस्या छ कि भनेर सोध्छु, र तिनीहरूले छैन भनेर भन्छन्। स्पष्ट रूपमा, तिनीहरूलाई भर्खरै देखा परेको कुनै कुराको बारेमा के गर्ने भनेर थाहा हुँदैन, तैपनि म तिनीहरूको सामुन्ने हुँदा समेत तिनीहरूले मलाई सोध्दैनन्। त्यसोभए के तिनीहरूले अरू कसैसँग सहकार्य गर्न सक्छन्? तिनीहरूको सहकर्मी हुन कोही पनि योग्य हुँदैन, तिनीहरूको दास र सेवक हुन मात्र योग्य हुन्छ। होइन र? तिनीहरूमध्ये कतिसँग सहकर्मीहरू हुन सक्छन्, तर वास्तवमा, ती सहकर्मीहरू कठपुतलीहरू जस्तै तिनीहरूका सेवक हुन्। तिनीहरूले “यता जाऊ” भन्दा त्यो सहकर्मी जान्छ; “त्यता जाऊ” भन्दा पनि जान्छ; तिनीहरूका सहकर्मीलाई तिनीहरूले जे कुरा थाहा दिन्छन् त्यो थाहा हुन्छ, र जे कुरा थाहा दिन चाहँदैनन् त्यो कुरा तिनीहरूले सोध्‍ने समेत आँट गर्दैनन्। परिस्थितिहरू तिनीहरूले जस्तो भनेका छन् त्यस्तै हुन्छन्। कसैले तिनीहरूलाई यसो भन्‍न सक्छ, “यसरी हुँदैन। कतिपय कुराहरूको जिम्मा तपाईं एकलैले लिन मिल्दैन। तपाईंले सहकार्य गर्नका लागि, तपाईंको रेखदेखका लागि कोही खोज्नुपर्छ। यसको साथै, तपाईंले विगतमा केही काम त्यति राम्रोसँग गर्नुभएन। तपाईंले काम गर्न सक्‍ने, तपाईंसँग सहकार्य गर्न र तपाईंलाई सहयोग गर्न सक्‍ने क्षमता भएको व्यक्ति खोज्नुपर्छ—तपाईंले मण्डलीको काम र परमेश्‍वरको घरका हितहरूको रक्षा गर्नुपर्छ!” तिनीहरूले यसमा भन्‍नेछन्? “यदि तपाईंले मेरो सहकर्मीलाई बर्खास्त गर्नुभयो भने, मेरो सहकर्मी हुन लायक अरू कोही छैन।” तिनीहरूले के भनिरहेका छन्? तिनीहरूले तिनीहरूको कुनै सहकर्मी हुँदैन भनिरहेका छन् कि तिनीहरूले त्यस्तो सेवक वा दास भेट्टाउन सक्दैनन् भनिरहेका छन्? तिनीहरूलाई यस्तो दास वा सेवक, तिनीहरूको आदेश मात्र पालन गर्ने यस्तो “सहकर्मी” भेट्टाउन सकिँदैन भन्‍ने डर हुन्छ। तिमीहरू तिनीहरूले उठाएको यो चुनौतीलाई कसरी समाधान गर्नुपर्छ भन्छौ? तैँले यसो भन्‍न सक्छस्, “ए, सहकर्मी भेट्टाउन सक्‍नुहुन्‍न? त्यसोभए तपाईंले यो परियोजनामा काम गर्नु पर्दैन—तपाईंको सट्टामा जोसँग सहकर्मी छ उसले गर्दा हुन्छ।” के यसरी समस्या समाधान हुँदैन र? यदि तेरो सहकर्मी हुन कोही पनि योग्य छैन र तँसँग कसैले सहकार्य गर्न सक्दैन भने, तँ कस्तो प्राणी होस्? तँ एउटा राक्षस, एउटा मूर्ख व्यक्ति होस्। साँच्चिकै समझ भएका मानिसहरूले त कम्तीमा औसत व्यक्तिसँग सहकार्य गर्न सक्छन्, तर त्यो व्यक्तिको क्षमता अत्यन्तै कमजोर हुनु भएन। त्यो काम लाग्दैन। समझदार मानिसहरूले गर्नुपर्ने पहिलो कुरा भनेको आफ्नो कर्तव्य पूरा गर्दा अरूसँग सहकार्य गर्न सिक्‍नु हो। तिनीहरूले कुनै पनि व्यक्तिसँग सहकार्य गर्न सक्नुपर्छ, तर त्यो व्यक्ति कमजोर मानसिकता भएको व्यक्ति वा दियाबलस भने हुनु हुँदैन, किनभने त्यस्तो अवस्थामा ऊसँग सहकार्य गर्ने कुनै उपाय हुँदैन। धेरैजसो मानिसहरूसँग सहकार्य गर्न सक्नु अत्यन्तै महत्त्वपूर्ण कुरा हो—यो सामान्य समझको लक्षण हो।

ख्रीष्टविरोधीको सबैभन्दा स्पष्ट देखिने एक विशेषता भनेको तिनीहरू शक्तिमा एकाधिकार राख्छन् र आफ्नै तानासाह सञ्चालन गर्छन्: तिनीहरूले कसैको कुरा सुन्दैनन्, कसैलाई पनि सम्मान् गर्दैनन्, र मानिसहरूको सामर्थ्य जस्तोसुकै भए पनि, वा तिनीहरूले जुनसुकै सही दृष्टिकोण र बौद्धिक राय व्यक्त गर्न सक्ने भए पनि, वा तिनीहरूले जति नै उपयुक्त विधिहरू अगाडि सार्ने भए पनि, ख्रीष्टविरोधीहरूले ती कुराहरूमा कुनै चासो दिँदैनन्; यस्तो लाग्छ मानौँ तिनीहरूसँग सहकार्य गर्न वा तिनीहरूले गर्ने कुनै काममा सहभागी हुन कोही पनि योग्य छैन। ख्रीष्टविरोधीहरूसित यस्तो स्वभाव हुन्छ। कतिपय मानिसहरू यो खराब मानवताको हुनु हो भन्छन्—यो कसरी साधारण खराब मानवता मात्र हुन सक्छ र? यो पूर्णतया शैतानी स्वभाव हो, र यस्तो स्वभाव अत्यन्तै उग्र हुन्छ। म किन तिनीहरूको स्वभाव अत्यन्तै उग्र हुन्छ भनेर भन्दै छु त? ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरको सब थोक र मण्डलीको सम्पत्ति कब्जा गर्छन्, ती कुराहरूलाई आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, जुन सबै तिनीहरूले व्यवस्थापन गर्नुपर्ने हो, र तिनीहरूले कसैलाई पनि यसमा हस्तक्षेप गर्न दिँदैनन्। मण्डलीको काम गर्दा तिनीहरूले सोच्ने भनेकै तिनीहरूका आफ्नै हित, तिनीहरूका आफ्नै हैसियत, र तिनीहरूका आफ्नै गौरव मात्र हुन्। तिनीहरू कसैलाई पनि आफ्ना हितहरूमा हानि गर्न दिँदैनन्, क्षमता भएको र आफ्‍नो अनुभवात्मक गवाही सुनाउन सक्‍ने कसैलाई आफ्नो प्रतिष्ठा र हैसियतमा चुनौती दिन दिनु त परको कुरा हो। त्यसकारण, तिनीहरूले अनुभवात्मक गवाहीबारे बोल्न सक्‍ने, र सत्यता सङ्गति गर्न र परमेश्‍वरका चुनिएका मानिसहरूलाई भरणपोषण गर्न सक्‍नेहरूलाई प्रतिस्पर्धीहरू ठानी दबाउने र बहिष्कार गर्ने कोसिस गर्छन्, र तिनीहरू ती मानिसहरूलाई अरू सबैबाट पूर्ण रूपमा अलग्याउने, तिनीहरूको नाममामाथि पूरै हिलो छयाप्‍ने, र तिनीहरूलाई लडाउने उन्माद प्रयास गर्छन्। त्यसपछि मात्रै ख्रीष्टविरोधीहरूले शान्ति महसुस गर्छन्। यदि यी मानिसहरू कहिल्यै नकारात्मक बन्दैनन् र आफ्नो कर्तव्य पूरा गरिरहन, आफ्नो गवाहीबारे बोलिरहन, र अरूलाई साथ दिइरहन सक्षम हुन्छन् भने, ख्रीष्टविरोधीहरू आफ्नो अन्तिम उपायतिर लाग्नेछन्, त्यो हो तिनीहरूको गल्ती कोट्याउनु र तिनीहरूलाई निन्दा गर्नु, वा झूटो आरोप लगाउनु र सताउन र दण्डित गर्न झूटा कारणहरू बनाउनु, र अन्त्यमा तिनीहरूलाई मण्डलीबाट निकाल्नु। त्यसपछि मात्र ख्रीष्टविरोधीहरूलाई पूर्ण आराम मिल्छ। ख्रीष्टविरोधीहरूको सबैभन्दा अन्तर्घाती र दुर्भावपूर्ण कुरा यही हो। तिनीहरूलाई सबभन्दा बढी डर र चिन्ता सत्यता पछ्याउने र साँचो अनुभवात्मक गवाही भएका मानिसहरूको हुन्छ, किनभने यस्तो गवाही भएका मानिसहरूलाई नै परमेश्वरका चुनिएका मानिसहरूले सबभन्दा बढी अनुमोदन र समर्थन गर्छन्, न कि वचन र धर्मसिद्धान्तहरूबारे खोक्रो बकबक गर्नेहरूलाई। ख्रीष्टविरोधीहरूमा साँचो अनुभवात्मक गवाही हुँदैन, न त तिनीहरू सत्यता अभ्यास गर्न नै सक्छन्; बढीमा, तिनीहरू मानिसलाई चापलुसी गर्नका लागि थोरै असल कार्य गर्न सक्षम हुन्छन्। तर तिनीहरूले जति नै असल कार्य गरे पनि वा जति नै मिठा कुरा गरे पनि, यी कुरा असल अनुभवात्मक गवाहीले मानिसलाई दिन सक्ने लाभ र फाइदाको दाँजोमा आउँदैनन्। परमेश्वरका चुनिएका मानिसहरूलाई आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्नेहरूले प्रदान गरेको भरणपोषण र मलजलका प्रभावहरूको विकल्प कुनै कुरा हुन सक्दैन। त्यसैले, जब ख्रीष्टविरोधीहरू कसैले आफ्नो अनुभवात्मक गवाहीबारे बोलेको देख्छन्, तब तिनीहरू आँखा तरेर हेर्छन्। तिनीहरूको हृदयमा आक्रोशको ज्वाला बल्छ, घृणा पैदा हुन्छ, र तिनीहरू वक्तालाई चुप पार्न र थप केही बोल्न नदिन व्यग्र हुन्छन्। यदि उनीहरूले बोल्न जारी राखेमा, ख्रीष्टविरोधीहरूको प्रतिष्ठा पूर्ण रूपमा बरबाद हुनेछ, तिनीहरूको कुरूप अनुहार सबैसामु पर्दाफास हुनेछ, त्यसैले ख्रीष्टविरोधीहरू गवाही दिइरहेको व्यक्तिलाई बाधा दिने र दबाउने निहुँ खोज्छन्। ख्रीष्टविरोधीहरू आफूलाई मात्र वचन र धर्मसिद्धान्तद्वारा मानिसलाई भ्रममा पार्न अनुमति दिन्छन्; तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूलाई आफ्नो अनुभवात्मक गवाही दिएर परमेश्वरको महिमा गाउन दिँदैनन्, यसले ख्रीष्टविरोधीहरू सबभन्दा बढी कस्ता मानिसलाई घृणा गर्छन् र कस्ता मानिसदेखि डराउँछन् भन्ने कुरा देखाउँछ। जब कसैले थोरै कामद्वारा आफूलाई पृथक तुल्याउँछ, वा जब कसैले साँचो गवाहीबारे बोल्न सक्छ, र त्यसबाट परमेश्वरका चुनिएका मानिसहरूले लाभ, सुधार, र सहयोग प्राप्त गर्छन्, र त्यसका कारण सबैबाट ठूलो प्रशंसा मिल्छ, तब ख्रीष्टविरोधीहरूको हृदयमा डाहा र घृणा बढ्छ, र तिनीहरूले त्यस व्यक्तिलाई बहिष्कार गर्ने र दबाउने कोसिस गर्छन्। तिनीहरू त्यस्ता मानिसहरूलाई आफ्‍नो हैसियतमा चुनौती दिनबाट रोक्‍नलाई कुनै पनि हालतमा कुनै पनि काम गर्न दिँदैनन्। सत्यता वास्तविकता भएका मानिसहरू ख्रीष्टविरोधीहरूकै अगाडि ख्रीष्टविरोधीहरूको दरिद्रता, नीचता, कुरूपता, र दुष्टतालाई जोड दिने र प्रकाश पार्ने गर्छन्, त्यसैले ख्रीष्टविरोधीहरूले साथी वा सहकर्मी रोज्दा, सत्यता वास्तविकता भएको, आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने र इमानदार वा सत्यता अभ्यास गर्न सक्ने मानिसलाई कहिल्यै रोज्दैन। यिनीहरू ख्रीष्टविरोधीहरूले सबभन्दा बढी डाहा र घृणा गर्ने मानिस हुन्, अनि तिनीहरू ख्रीष्टविरोधीहरूका आँखाका कसिङ्गर हुन्। सत्यता अभ्यास गर्ने यी मानिसहरूले जति नै असल वा परमेश्वरको घरको कामका लागि लाभदायक कुरा गरे पनि, ख्रीष्टविरोधीहरूले यी कार्यहरूलाई ढाकछोप गर्न सक्दो प्रयास गर्नेछन्। तिनीहरू आफूलाई उच्च पार्ने र अरूलाई होच्याउने माध्यमको रूपमा तथ्यहरू बङ्ग्याएर राम्रा कुराहरूको श्रेय लिने र खराब कामहरूको दोष अरूमाथि थोपर्ने समेत गर्छन्। ख्रीष्टविरोधीहरू सत्यता पछ्याउने र आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्ने मानिसहरूलाई धेरै डाहा र घृणा गर्छन्। तिनीहरू मानिसहरूले आफ्नो हैसियत खतरामा पार्नेछन् भनेर डराउँछन्, त्यसैले ती मानिसलाई आक्रमण र निष्कासन गर्न सक्ने जति सबै गर्छन्। तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूसँग सम्पर्क गर्न वा उनीहरूको नजिक पर्न, वा आफ्नो गवाहीबारे बोल्न सक्ने यी मानिसहरूलाई समर्थन र प्रशंसा गर्न रोक्छन्। यसले नै ख्रीष्टविरोधीहरूको शैतानी प्रकृति अर्थात् सत्यतादेखि वितृष्ण हुने र परमेश्वरलाई घृणा गर्ने प्रकृतिलाई सबभन्दा बढी प्रकाश गर्छ। त्यसैले पनि यसले के प्रमाणित गर्छ भने ख्रीष्टविरोधीहरू मण्डलीका दुष्ट प्रतिगामी हुन्, र मण्डलीको काममा बाधा पुऱ्याउने र परमेश्वरको इच्छाको प्रतिरोध गर्ने व्यक्ति हुन्। यति मात्र होइन, ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूमाझ प्रायः झूटहरू बोल्छन् र तथ्यहरूलाई बङ्ग्याउँछन्, साथै आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्‍ने मानिसहरूलाई होच्याउँछन् र निन्दा गर्छन्। ती मानिसहरूले जस्तोसुकै काम गरे पनि, ख्रीष्टविरोधीहरूले उनीहरूलाई बहिष्कार गर्ने र दमन गर्ने बहाना खोज्छन्, र उनीहरू अहङ्कारी र पाखण्डी छन्, उनीहरूलाई धाक लगाउन मन पर्छ, र उनीहरूले महत्त्वाकाङ्क्षा बोकेका हुन्छन् भन्दै उनीहरूको आलोचना गर्छन्। वास्तवमा, यी मानिसहरूसँग केही अनुभवात्मक गवाही हुन्छ र उनीहरूसँग केही सत्यता वास्तविकता हुन्छ। उनीहरूमा तुलनात्मक रूपमा राम्रो मानवता हुन्छ, विवेक र समझ हुन्छ, र उनीहरू सत्यतालाई स्विकार्न सक्छन्। अनि उनीहरूमा केही कमीकमजोरीहरू, त्रुटिहरू, र कहिलेकहीँ भ्रष्ट स्वभावका प्रकटीकरणहरू हुन सक्‍ने भए पनि, उनीहरूले आत्मचिन्तन र पश्चात्ताप गर्न सक्छन्। परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू, र परमेश्‍वरद्वारा सिद्ध पारिने आशा भएका मानिसहरू यिनीहरू नै हुन्। समग्रमा, यी मानिसहरू कर्तव्य पूरा गर्नका लागि उपयुक्त हुन्छन्। उनीहरूले कर्तव्य निर्वाह गर्ने मापदण्ड र सिद्धान्तहरू पूरा गर्छन्। बरु ख्रीष्टविरोधीहरूले मनमनै सोच्छन्, “मैले कुनै हालतमा यो कुरा सहनेवाला छैन। तँ मेरो क्षेत्रभित्र भूमिका खोज्न रमसँग प्रतिस्पर्धा गर्न चाहन्छस्। त्यो असम्भव छ; त्यसको बारेमा सोच्दै नसोच्। तँ मभन्दा शिक्षित छस्, मभन्दा वाक्पटु छस्, मभन्दा चर्चित छस्, र तँ मैले भन्दा ठूलो बौद्धिकताद्वारा सत्यता पछ्याउँछस्। यदि मैले तँसँग सहकार्य गर्नुपर्यो र मैले गर्नुपर्ने काम तैँले मभन्दा पहिल्यै गरिस् भने त्यसपछि मैले के गर्ने?” के तिनीहरू परमेश्‍वरको घरको हितबारे सोच्छन्? सोच्दैनन्। तिनीहरू केको बारेमा सोच्छन्? तिनीहरू आफ्‍नो हैसियत कसरी कायम राख्‍ने त्यो मात्रै सोच्छन्। ख्रीष्टविरोधीहरू आफूले वास्तविक काम गर्न नसक्‍ने कुरा थाहा भएर पनि, सत्यताको खोजी गर्ने राम्रो क्षमता भएका मानिसहरूलाई जगेर्ना वा प्रवर्धन गर्ने गर्दैनन्; तिनीहरूले प्रवर्धन गर्ने मानिसहरू त केवल तिनीहरूको चापलुसी गर्ने, अरूको आराधना गर्न तयार हुने, हृदयदेखि तिनीहरूलाई अनुमोदन र प्रशंसा गर्ने, चिप्‍लो घस्‍ने, सत्यताको बुझाइ नभएका र छुट्याउने क्षमता नभएकाहरू हुन्। ख्रीष्टविरोधीहरूले आफ्नो सेवा गराउन, आफ्‍नो लागि दौडधूप गराउन, हरेक दिन तिनीहरूको अघिपछि लाग्‍न यी मानिसहरूलाई आफ्‍नो पक्षमा ल्याउँछन्। यसले ख्रीष्टविरोधीहरूलाई मण्डलीमा शक्ति दिन्छ, र धेरै मानिसहरूलाई तिनीहरूको नजिक जाने, र तिनीहरूलाई पछ्याउने तुल्याउँछ, र कसैले पनि तिनीहरूलाई चिढ्याउने आँट गर्दैन। ख्रीष्टविरोधीहरूले वृद्धि-विकास गर्ने ती सबै मानिसहरू सत्यताको खोजी नगर्ने मानिसहरू हुन्छन्। यिनीहरूमध्ये धेरैजसोमा आत्मिक बुझाइको कमी हुन्छ र नियम पालना गर्ने बाहेक यिनीहरूलाई केही आउँदैन। यिनीहरू प्रचलन र शासकहरूको पछि लाग्‍न मन पराउँछन्। यिनीहरू मालिक शक्तिशाली भएपछि साहस पाउनेहरू, अर्थात् मूर्ख मानिसहरूको झुण्ड हुन्। ख्रीष्टविरोधीहरूले आफूलाई यस्ता मानिसहरूका धर्मपिता बनाएका हुन्छन्, र यिनीहरूलाई आफूले भनेको कुरा मान्‍ने बनाएका हुन्छन्। गैरविश्‍वासीहरूको त्यो भनाइ कस्तो पो छ? खराब मानिसको पूज्य पूर्वज बन्‍नुभन्दा असल मानिसको नोकर बन्‍नु नै राम्रो हुन्छ। ख्रीष्टविरोधीहरूले यसको ठ्याक्कै उल्टो काम गर्छन्—तिनीहरू त्यस्ता मानिसहरूको पूज्य पूर्वजझैँ व्यवहार गर्छन्, र उनीहरूलाई तिनीहरूको झन्डा फहराउने र जयजयकार गर्ने मानिसका रूपमा जगेर्ना गर्ने प्रयास गर्छन्। जबजब मण्डलीमा ख्रीष्टविरोधीले शक्ति पाउँछ, तबतब उसले सधैँ भ्रमित र मूर्खहरूलाई नियुक्त गर्छ, जबकि सत्यता बुझ्‍न र अभ्यास गर्न सक्‍ने, र कामको जिम्मा लिन सक्‍ने क्षमतावान् मानिसहरूलाई, विशेष गरी वास्तविक काम गर्न सक्‍ने अगुवा र सेवकहरूलाई भने बहिष्कार र दमन गर्छ। यसरी, मण्डलीमा दुई वटा गुटहरू निर्माण हुन्छन्: एउटा गुटमा तुलनात्मक रूपमा इमानदार मानवता भएका, इमानदारीपूर्वक आफ्नो कर्तव्य पूरा गर्ने, र सत्यता पछ्याउने मानिसहरू हुन्छन्। अर्को गुटमा अन्योलमा परेका र अन्धाधुन्ध मूर्खतापूर्ण काम गर्ने अनि ख्रीष्टविरोधीद्वारा नेतृत्व गरिएका मानिसहरूको समूह हुन्छ। यी दुई वटा गुटहरू जबसम्‍म ख्रीष्ट-विरोधीहरूलाई खुलासा गरेर हटाइँदैन तबसम्‍म एक-अर्कासँग लडिरहनेछन्। ख्रीष्टविरोधीहरू सधैँ इमानदारीका साथ आफ्नो कर्तव्य पूरा गर्ने र सत्यता पछ्याउने मानिसहरूसँग झगडा गर्छन् र उनीहरूको विरुद्धमा काम गर्छन्। के यसले मण्डलीको काममा गम्भीर रूपमा बाधा दिँदैन र? के यसले परमेश्‍वरको काममा बाधा र अवरोध ल्याउँदैन र? के ख्रीष्टविरोधीहरूको यो शक्ति मण्डलीमा परमेश्‍वरको इच्छा पूरा हुनबाट रोक्ने बाधा र अड्चन होइन र? के यो परमेश्‍वरको विरोध गर्ने दुष्ट शक्ति होइन र? ख्रीष्टविरोधीहरू किन यसरी व्यवहार गर्छन्? किनभने, तिनीहरूको विचारमा, यो प्रस्ट हुन्छ कि यदि यी सकारात्मक पात्रहरू खडा भएर अगुवा र सेवक बने भने, उनीहरू ख्रीष्टविरोधीहरूका प्रतिस्पर्धीहरू हुन्छन्; उनीहरू ख्रीष्टविरोधीहरूका विरोधी शक्ति हुन्छन्, र उनीहरूले ख्रीष्ट-विरोधीहरूका शब्दहरू पटक्‍कै सुन्दैनन् वा तिनीहरूको आज्ञापालन गर्दैनन्; उनीहरूले ख्रीष्टविरोधीहरूको हरेक आज्ञा पटक्‍कै पालन गर्दैनन्। यी मानिसहरू नै ख्रीष्टविरोधीहरूको हैसियतलाई चुनौती दिनका लागि पर्याप्त हुनेछन्। ख्रीष्टविरोधीहरूले यी मानिसहरूलाई देख्दा, तिनीहरूको हृदयमा घृणा पैदा हुन्छ; यदि तिनीहरूले यी मानिसहरूलाई बहिष्कार र पराजित गरेर उनीहरूको नाम बरबाद गरेनन् भने तिनीहरूको हृदय शान्त र ढुक्क हुनेछैन। त्यसकारण, तिनीहरूले आफ्नो शक्ति बढाउन र आफ्नो स्तरलाई दह्रिलो बनाउनतर्फ तुरुन्तै काम गर्नुपर्छ। यसरी, तिनीहरूले परमेश्‍वरका चुनिएका अझै धेरै मानिसहरूलाई नियन्त्रण गर्न सक्छन्, र सत्यता पछ्याउने दुईचार जना मानिसहरूले तिनीहरूको हैसियतलाई खतरामा पार्छन् भन्‍ने बारेमा फेरि कहिल्यै चिन्ता गर्नु पर्दैन। ख्रीष्टविरोधीहरूले मण्डलीमा आफ्नै शक्ति निर्माण गर्छन्, तिनीहरूको कुरा सुन्‍ने, आज्ञापालन गर्ने, र तिनीहरूसँग चापलुसी गर्ने मानिसहरूलाई हातमा लिन्छन्, र कामको हरेक पक्षको कार्यभारी बनाएर बढुवा दिन्छन्। के यसो गर्नु परमेश्‍वरको घरको कामका लागि फाइदाजनक हुन्छ? हुँदैन। यो फाइदाजनक नहुने मात्र होइन, यसले मण्डलीको काममा बाधा र अवरोध पनि सिर्जना गर्छ। यदि यो दुष्ट शक्तिले आधाभन्दा बढी मानिसहरूलाई आफ्नो पक्षमा लिएको छ भने, यसले मण्डलीलाई ढाल्ने सम्भावना हुन्छ। किनभने मण्डलीमा सत्यता पछ्याउने मानिसहरू अल्सङ्ख्यामा पर्छन्, जबकि आफ्‍नो पेट भर्नका लागि आएका श्रमिक र अविश्‍वासीहरूको सङ्ख्या कम्तीमा पनि आधा हुन्छ। यस्तो परिस्थितिमा, यदि ख्रीष्टविरोधीहरूले ती मानिसहरूलाई बहकाउने र आफूतिर आकर्षित गर्ने कार्यमा आफ्नो शक्ति केन्द्रित गरेमा, मण्डलीले अगुवाहरू निर्वाचित गर्दा स्वाभाविक रूपमा नै तिनीहरू अग्रस्थानमा आउँछन्। त्यसकारण, परमेश्‍वरको घरले सधैँ निर्वाचनको बेला, सत्यता स्पष्ट नभएसम्म त्यसबारे सङ्गति गर्नुपर्छ भनेर जोड दिन्छ। यदि तैँले सत्यतामा सङ्गति गरेर ख्रीष्टविरोधीहरूलाई खुलासा गर्न र हराउन सकिनस् भने, ख्रीष्टविरोधीहरू मानिसहरूलाई बहकाएर अगुवाको रूपमा निर्वाचित हुन सक्छन्, र तिनीहरूले मण्डलीलाई कब्जामा लिएर नियन्त्रण गर्न सक्छन्। के त्यो खतरनाक कुरा हुनेथिएन र? यदि मण्डलीमा एक-दुई जना ख्रीष्टविरोधी देखा परे भने, यो डराउनुपर्ने कुरा हुनेथिएन, तर यदि ख्रीष्टविरोधीहरू शक्ति बने र तिनीहरूले निश्‍चित स्तरको प्रभाव हासिल गरे भने, त्यो डर मान्‍नुपर्ने कुरा हुनेछ। त्यसकारण, ख्रीष्टविरोधीहरूले त्यो स्तरको प्रभाव हासिल गर्नुभन्दा पहिले नै तिनीहरूलाई मण्डलीबाट उखाल्नुपर्छ र निष्कासित गर्नुपर्छ। यो काम सबैभन्दा उच्‍च प्राथमिकतामा पर्छ, र यसो गर्नु जरुरी हुन्छ। यसको साथै, मण्डलीका ती अविश्‍वासीहरू, विशेष गरी मानिसको आराधना र अनुसरण गर्ने प्रवृत्ति भएकाहरू, शक्तिको पछि लाग्‍न मन पराउनेहरू, दियाबलसहरूका मतियार र दाहिने हात बन्‍न मन पराउनेहरू, गुटबन्दी गर्न मन पराउनेहरू—तिनीहरू जस्ता अविश्‍वासी र दियाबलसहरूलाई तुरुन्तै निकाल्नुपर्छ। ती नीच मानिसहरूको भीडलाई मण्डलीमा बाधा दिने र नियन्त्रण गर्ने शक्ति निर्माण गर्नबाट रोक्ने तरिका त्यही मात्र हो। यो त्यस्तो कुरा हो जसलाई परमेश्‍वरका चुनिएका मानिसहरूले स्पष्ट रूपमा देख्‍नुपर्छ, र सत्यतालाई बुझ्नेहरूले यसको बोझ लिनुपर्छ। मण्डलीको कामको बोझ लिने, परमेश्‍वरका अभिप्रायहरूको ख्याल राख्ने सबै मानिसहरूले यी कुराहरूलाई वास्तविकतामा बुझ्नुपर्छ। तिनीहरूले विशेष गरी ख्रीष्टविरोधी वर्गका व्यक्तिलाई वास्तविक रूपमा चिन्नुपर्छ, साथै मानिसहरूलाई चापलुसी गर्न र आराधना गर्न मन पराउने साना दियाबलसहरूलाई चिन्नुपर्छ, अनि तिनीहरूमाथि प्रतिबन्ध लगाउनुपर्छ कि त तिनीहरूलाई मण्डलीबाट निकाल्नुपर्छ। यस्तो अभ्यासको ठूलो आवश्यकता छ। ख्रीष्टविरोधीहरू जस्ता मानिसहरूले निश्‍चित रूपमा त्यस्ता अन्योलमा परेका, व्यर्थका काम नलाग्‍ने मानिसहरू, र सत्यतालाई स्वीकार नगर्ने वा प्रेम नगर्ने दुष्ट मानिसहरूसँग राम्रो सम्बन्ध स्थापित गर्न अघि सर्छन्। तिनीहरूले तिनीहरूको मन जित्छन् र निकै सद्भावपूर्ण रूपमा, घनिष्ठ रूपमा, र उत्साहको साथ तिनीहरूसँग “सहकार्य” गर्छन्। ती मानिसहरू कस्ता प्राणी हुन्? के तिनीहरू ख्रीष्टविरोधीहरूको समूहका सदस्य होइनन् र? यदि माथिले तिनीहरूको “पूज्य पूर्वज” लाई प्रतिस्थापन गरेमा, यी कर्तव्यनिष्ठ सन्तानहरूले त्यो कुरा सहन सक्दैनन्—तिनीहरूले माथिलाई अनुचित भनी आलोचना गर्नेछन्, र एकजुट भएर ख्रीष्टविरोधीहरूको रक्षा गर्नेछन्। के परमेश्‍वरको घरले तिनीहरूलाई हाबी हुन दिन सक्छ? त्यसले ती सबैमाथि जाल थापेर तिनीहरूलाई निकाल्न मात्रै सक्छ। तिनीहरू ख्रीष्टविरोधीहरूको समूहका पिशाचहरू हुन्, र तिनीहरूमध्ये एक जनालाई पनि छोड्नु हुँदैन। ख्रीष्टविरोधीहरू जस्ता मानिसहरूले विरलै एकलै काम गर्छन्; प्रायजसो, तिनीहरूले कम्तीमा पनि दुई-तीन जना मानिसहरूको समूह बनाएर काम गर्छन्। यद्यपि, केही व्यक्तिगत मामलाहरू हुन्छन्, जसमा ख्रीष्टविरोधीहरूले व्यक्तिगत रूपमा काम गर्छन्। किनभने तिनीहरूसँग कुनै प्रतिभा हुँदैन, वा सायद तिनीहरूले मौका पाएका हुँदैनन्। तर तिनीहरूको अरूसँग मिल्ने कुरा भनेको हैसियतप्रतिको विशेष प्रेम हो। तिनीहरूसँग कुनै सीप वा शिक्षा छैन भन्दैमा तिनीहरूले हैसियतलाई प्रेम गर्दैनन् भन्‍ने नसोच्। त्यो गलत हो। तैँले ख्रीष्टविरोधीको सारलाई स्पष्ट रूपमा देखेको छैनस्—कुनै व्यक्ति ख्रीष्टविरोधी हो भने, उसलाई हैसियत मन पर्छ। ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन् भन्‍ने देख्दा, तिनीहरूले आफ्नो चाकरी गराउन किन यस्ता अन्योलमा परेका मानिसहरूको समूह, फोहोर, र परजीवी मानिसहरूलाई जगेर्ना गर्छन्? के तिनीहरूले यी मानिसहरूसँग सहकार्य गर्ने उद्देश्य राखेका हुन्छन्? यदि तिनीहरूले साँच्‍चै नै तिनीहरूसँग सहकार्य गर्न सक्थे भने, “ख्रीष्ट-विरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्” भन्‍ने अभिव्यक्ति मान्य हुनेथिएन। तिनीहरूले कोहीसँग सहकार्य गर्न सक्दैनन्—त्यो “कोही” भन्‍ने शब्दले मूलतः सकारात्मक मानिसहरूलाई जनाउँछ, तर ख्रीष्टविरोधीको स्वभावलाई ध्यानमा राख्दा, तिनीहरूले आफ्ना मतियारहरूसँग पनि सहकार्य गर्न सक्दैनन्। त्यसोभए, तिनीहरूले यी मानिसहरूलाई जगेर्ना गरेर के गरिरहेका हुन्छन्? तिनीहरू सजिलै हुकुम दिन, चालबाजी गर्न सकिने, आफ्नो स्वतन्त्र विचार नभएका, तिनीहरूले जे भने पनि गर्ने—ख्रीष्टविरोधीहरूको हैसियतको रक्षा गर्न सँगै अघि बढ्ने—अन्योलमा परेका मानिसहरूको समूहलाई जगेर्ना गरिरहेका हुन्छन्। यदि कुनै ख्रीष्टविरोधी आफूमा मात्रै भर पर्ने हो भने, ऊ एकलै हुनेथियो, र आफ्‍नो हैसियतको रक्षा गर्न उसलाई सजिलो हुनेथिएन। त्यसकारण तिनीहरूले अन्योलमा परेका मानिसहरूको एउटा समूहलाई आफ्नो पक्षमा लिन्छन् जसले हरेक दिन तिनीहरूका वरिपरि भेला भएर तिनीहरूको खातिर काम गर्छन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई समेत बहकाउँछन्: तिनीहरूले यी मानिसहरूले कसरी सत्यता पछ्याउँछन् र कसरी कष्ट भोग्छन् भन्‍ने बारेमा कुरा गर्छन्; तिनीहरूले उनीहरू पालनपोषण गर्न लायक छन् भनेर भन्छन्; तिनीहरूले यो पनि भन्छन् कि यी मानिसहरूलाई समस्या पर्दा, तिनीहरूले यसको बारेमा सोधपुछ गर्छन्, र सोध्छन्—कि तिनीहरू सबै आज्ञाकारी र समर्पित मानिसहरू हुन्। के तिनीहरूले सहकार्य गरेर आफ्नो कर्तव्य पूरा गरिरहेका हुन्छन्? ख्रीष्टविरोधीले आफ्नो हैसियतलाई बलियो बनाउनका निम्ति उसको लागि काम गर्ने, उसको दाहिने हात र मतियार बन्‍ने मानिसहरूको समूह खोजिरहेको हुन्छ। त्यो सहकार्य होइन—त्यो त आफ्नै उद्यम चलाउनु हो। ख्रीष्टविरोधीहरूको शक्ति यस्तै हुन्छ।

तिमीहरू के भन्छौ, के अरूसँग सहकार्य गर्नु गाह्रो हुन्छ? वास्तवमा, गाह्रो हुँदैन। तिमीहरूले यो सजिलो छ भनेर समेत भन्‍न सक्छौ। तर पनि किन मानिसहरूलाई यो काम कठिन लाग्छ? किनभने तिनीहरूसँग भ्रष्ट स्वभाव हुन्छ। मानवता, विवेक, र समझ भएका मानिसहरूका लागि, अरूसँग सहकार्य गर्नु तुलनात्मक रूपमा सहज हुन्छ, र सम्भवतः तिनीहरूले यसबाट आनन्द पनि लिन सक्छन्। किनभने कुनै व्यक्तिको क्षेत्र जे भए पनि, र उसले जे गरिरहेको भए पनि, उसले एकलै काम पूरा गर्न सहज हुँदैन, त्यसैले गल्ती औँल्याउने र मदत गर्ने व्यक्ति हुनु सधैँ राम्रो हुन्छ—यसरी काम गर्नु आफू एक्लैले गर्नुभन्दा धेरै सहज हुन्छ। यसको साथै, मानिसहरूको क्षमताले के गर्न सक्छ वा तिनीहरू आफैले के अनुभव गर्न सक्छन् भन्‍ने कुराको पनि सीमा हुन्छ। सबै विषयमा कोही पनि पोख्त हुन सक्दैन; एउटै व्यक्तिले सबै कुरा जान्‍नु, सबै कुरामा सक्षम हुनु, र सबै कुरा हासिल गर्नु असम्‍भव हुन्छ—त्यो असम्‍भव कुरा हो, र सबैमा यो कुराको समझ हुनुपर्छ। त्यसकारण, तैँले महत्त्वपूर्ण वा महत्त्वहीन कार्य जे गरे पनि तँलाई सधैँ सहायता गर्ने, मार्गदर्शन र सल्लाह दिने, वा तँसँग सहकार्य गर्ने कोही चाहिनेछ। यो तैँले अझै सही रूपमा काम गर्ने, थोरै गल्तीहरू गर्ने र तँ बरालिने सम्‍भावना कम हुने कुरा सुनिश्‍चित गर्ने एउटै तरिका हो—र यो राम्रो कुरा हो। परमेश्‍वरको सेवा गर्नु वास्तवमै ठूलो कुरा हो, र तैँले आफ्नो भ्रष्ट स्वभावको समाधान नगर्दा त्यसले तँलाई खतरामा पार्न सक्छ! जब मानिसहरूमा शैतानी स्वभाव हुन्छ, तब तिनीहरूले कुनै पनि बेला र कुनै पनि स्थानमा परमेश्‍वरको विरुद्ध विद्रोह र विरोध गर्न सक्छन्। शैतानी स्वभावअनुसार जिउने मानिसहरूले परमेश्‍वरलाई कुनै पनि बेला इन्कार गर्न, विरोध गर्न, र विश्वासघात गर्न सक्छन्। ख्रीष्टविरोधीहरू अत्यन्तै मूर्ख हुन्छन्, तिनीहरूले यो बुझ्दैनन्, तिनीहरू सोच्छन्, “मलाई शक्ति प्राप्त गर्नका निम्ति धेरै समस्या भएको थियो, म किन यो अरूसँग बाँडूँ? यो अरूलाई दिनुको अर्थ म आफैसँग केही नहुनु हो, होइन र? मैले शक्तिविना कसरी मेरा प्रतिभा र क्षमताहरू प्रदर्शन गर्न सक्छु?” परमेश्‍वरले मानिसहरूलाई जिम्मा दिनुभएको कुरा शक्ति वा हैसियत होइन, कर्तव्य हो भन्‍ने कुरा तिनीहरूलाई थाहा हुँदैन। ख्रीष्टविरोधीहरू शक्ति र हैसियतलाई मात्र स्विकार्छन्, आफ्‍नो कर्तव्यलाई पन्छ्याउँछन्, अनि तिनीहरूले वास्तविक काम गर्दैनन्। यसको साटो, तिनीहरू प्रसिद्धि, लाभ र हैसियत मात्र पछ्याउँछन्, अनि शक्ति खोस्न, परमेश्वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न, र हैसियतका लाभहरू लिन मात्र चाहन्छन्। यसरी काम गर्नु धेरै खतरनाक हुन्छ—यो परमेश्‍वरको विरोध गर्नु हो! आफ्‍नो कर्तव्य उपयुक्त तरिकाले पूरा गर्नुको सट्टा, ख्याति, लाभ र हैसियतको पछि लाग्‍ने कुनै पनि व्यक्तिले आगोसँग खेलिरहेको र आफ्‍नो जीवनसँग खेलिरहेको हुन्छ। अनि, आगोसँग र आफ्नै जीवनसँग खेलिरहेका व्यक्तिहरूले कुनै पनि बेला आफ्‍नो जीवन आफै बरबाद गर्न सक्छन्। आज, अगुवा वा सेवकको रूपमा, तैँले परमेश्‍वरको सेवा गरिरहेको छस्, जुन साधारण कुरा होइन। तैँले कुनै व्यक्तिको लागि काम गरिरहेको छैनस्, बिल तिर्न र हातमुख जोड्नको लागि पनि काम गरिरहेको छैनस्; बरु, तैँले मण्डलीमा आफ्‍नो कर्तव्य निर्वाह गरिरहेको छस्। अनि, विशेष गरी परमेश्वरको आदेशमा नै यो कर्तव्य आएकाले, यसलाई निर्वाह गर्नुको तात्पर्य के हो? यो हो कि तैँले आफ्‍नो कर्तव्य राम्ररी निर्वाह गरे पनि नगरे पनि, तँ त्यसको लागि परमेश्‍वरप्रति जवाफदेही हुन्छस्; अन्त्यमा, परमेश्‍वरलाई एउटा लेखा दिनुपर्छ, र यसमा एउटा परिणाम हुनैपर्छ। तैँले जे स्वीकार गरेको भए पनि त्यो परमेश्‍वरको आज्ञा हुन्छ, त्यो पवित्र जिम्‍मेवारी हुन्छ, त्यसकारण यो जिम्मेवारी जति महत्त्वपूर्ण वा सानोतिनो भए पनि, यो गम्‍भीर विषय हुन्छ। यो कति गम्‍भीर हुन्छ? यसले सानो परिमाणमा तैँले यो जीवनकालमा सत्यता प्राप्त गर्न सक्छस् कि सक्दैनस् र परमेश्वर तँलाई कुन दृष्टिले हेर्नुहुन्छ भन्ने कुरा समेट्छ। ठूलो परिमाणमा, यो प्रत्यक्ष रूपमा तेरा सम्भावनाहरू र भवितव्यसँग, र तेरो परिणामसँग सम्‍बन्धित हुन्छ; यदि तैँले दुष्टता गरिस् र परमेश्‍वरलाई विरोध गरिस् भने, तँलाई दोषी ठहराएर दण्डित गरिनेछ। तैँले आफ्‍नो कर्तव्य निर्वाह गर्दा गर्ने सबै कुराको बारेमा परमेश्‍वरले लेखा राख्‍नुभएको हुन्छ, र यसलाई कसरी अङ्क दिने र मूल्याङ्कन गर्ने भन्‍नेबारेमा उहाँका आफ्‍नै सिद्धान्त र मापदण्डहरू हुन्छन्; आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा तैँले प्रकट गर्ने सबै कुराको आधारमा तेरो परिणामलाई परमेश्‍वरले निर्धारित गर्नुहुन्छ। के यो गम्भीर कुरा हो? वास्तवमै हो! त्यसोभए, यदि तँलाई कुनै काम अह्राइयो भने, के यो तँ आफैले सम्हाल्नुपर्ने कुरा हो? (होइन।) त्यो काम तँ आफैले पूरा गर्न सक्‍ने कुरा होइन, तर यसका लागि तैँले जिम्मेवारी भने लिनुपर्छ। जिम्मेवारी तेरै हो; तैँले त्यो आज्ञा पूरा गर्नैपर्छ। यसले के कुरालाई छुन्छ? यसले सहकार्य, सेवामा कसरी सहकार्य गर्ने, आफ्नो कर्तव्य पूरा गर्न कसरी सहकार्य गर्ने, आफूले पाएको आज्ञा पूरा गर्न कसरी सहकार्य गर्ने, परमेश्‍वरको इच्छा पालना हुने गरी कसरी सहकार्य गर्ने भन्‍ने कुरालाई छुन्छ। यसले यी कुराहरूलाई छुन्छ।

सौहार्दपूर्ण सहकार्यमा धेरै कुरा समावेश हुन्‍छन्। यसमा कम्तीमा पनि, यी धेरै कुराहरूमध्ये एउटाचाहिँ अरूलाई बोल्न र विभिन्‍न सुझावहरू राख्‍न दिनु हो। यदि तँ सच्चा रूपमा विवेकसङ्गत छस् भने, तैँले जुनै प्रकारको काम गरे पनि, पहिले सत्यता सिद्धान्तहरू खोज्न सिक्‍नुपर्छ, र अरूका रायहरू खोज्न अग्रसर हुनुपर्छ। तैँले प्रत्येक सुझावलाई गम्भीरतापूर्वक लिइस् र त्यसपछि अरूसित मिलेर समस्याहरू समाधान गरिस् भने, आधारभूत रूपमा सौहार्दपूर्ण सहकार्यलाई पूर्णता दिनेछस्। यस तरिकाले, तैँले आफ्नो कर्तव्यमा एकदमै कम कठिनाइको सामना गर्नेछस्। जुनै समस्या आइपरे पनि, ती समाधान गर्न र सम्हाल्न सजिलो हुनेछ। यही नै सौहार्दपूर्ण सहकार्यको प्रभाव हो। कहिलेकाहीँ, सानातिना मामिलाहरूमा विवादहरू हुन्छन्, तर जबसम्म यिनले काममा असर गर्दैनन्, ती समस्या बन्नेछैनन्। तथापि, मण्डलीको कामसँग सम्बन्ध भएका महत्त्वपूर्ण र प्रमुख मामिलाहरूमा, तैँले सहमति कायम गर्नुपर्छ र ती समाधान गर्न सत्यता खोजी गर्नुपर्छ। यदि अगुवा वा सेवकको रूपमा, तैँले सधैँ आफूलाई अरूभन्दा माथि ठान्छस्, र त्यो सरकारी पद भएझैँ आफ्नो कर्तव्यमा रमाउँछस्, सधैँ तेरो हैसियतका लाभहरू लिन्छस्, आफ्‍नै योजनाहरू बनाउँदै, सधैँ आफ्नै ख्याति, प्राप्ति र हैसियतको सोचविचार र उपभोग गर्दै, सधैँ आफ्नै उद्यम चलाउँदै, र सधैँ उच्‍च हैसियत प्राप्त गर्ने, अझ धेरै मानिसहरूलाई व्यवस्थापन र नियन्त्रण गर्ने, र आफ्नो शक्तिको दायरा विस्तार गर्ने प्रयास गर्दै, कुनै सरकारी अधिकारीजस्तै गरी, यदि तँ आफ्नो कर्तव्यमा मस्त हुन्छस् भने, त्यो समस्या हो। आफू सरकारी अधिकारी भएजस्तै गरी कुनै महत्त्वपूर्ण कर्तव्यलाई आफ्नो पदको फाइदा उठाउने मौकाको रूपमा लिनु निकै खतरनाक हुन्छ। यदि तँ सधैँ यस्तरी व्यवहार गर्छस्, अरूसँग सहकार्य गर्न चाहँदैनस्, आफ्नो शक्तिलाई कम गर्न र त्यो अरू कसैसित बाँड्न चाहँदैनस्, अरू आफूप्रतिको ध्यान अरू कसैले तानेको चाहँदैनस्, सबैको आकर्षणको केन्द्रबिन्दु बन्‍न खोज्छस्, र आफै मात्र शक्तिको उपभोग गर्न चाहन्छस् भने, तँ एक ख्रीष्टविरोधी होस्। तथापि, यदि तैँले सत्यतालाई प्रायजसो खोजी गर्छस्, आफ्नो देह, प्रेरणा र विचारहरू विरुद्ध विद्रोहको अभ्यास गर्छस्, र आफै अग्रसर भएर अरूसँग सहकार्य गर्न, अरूसित परामर्श र खोजी गर्नलाई मन खोलेर कुरा गर्न, अरूका विचार र सुझावहरूलाई ध्यानपूर्वक सुन्‍न, र जोबाट आएको भए पनि सही र सत्यतासँग मिल्दो सल्लाहलाई स्विकार्न सक्छस् भने, तैँले बुद्धिमानीपूर्ण र सही तरिकाले अभ्यास गरिरहेको हुन्छस्, र तँ गलत मार्गबाट बच्न सक्षम हुन्छस्, र यो तेरो लागि सुरक्षा हो। तैँले अगुवा सम्बन्धी उपाधिहरू त्याग्‍नुपर्छ, हैसियतको तुच्छ धाक लगाउन छोड्नुपर्छ, यसको साटो आफूलाई सामान्य व्यक्ति ठान्‍नुपर्छ, अरूकै बराबरी स्तरमा खडा हुनुपर्छ, र आफ्नो कर्तव्यप्रति जिम्मेवार मनोवृत्ति अपनाउनुपर्छ। यदि तैँले आफ्नो कर्तव्यलाई सधैँ आधिकारिक उपाधि र हैसियत, वा सम्मान ठान्छस्, र अरू मानिसहरूको काम तेरो पदको निम्ति काम र सेवा गर्नु हो भन्ने कल्पना गर्छस् भने, यो समस्याजनक कुरा हो, अनि परमेश्‍वरले तँलाई तिरस्कार गर्नुहुनेछ र उहाँ तँदेखि विरक्तिनुहुनेछ। यदि तैँले आफू अरूसमान नै हुँ, आफूलाई परमेश्‍वरबाट थोरै बढी कार्यादेश र जिम्मेवारी प्राप्त भएको मात्र हो भन्‍ने विश्‍वास गर्छस् भने, यदि तैँले आफूलाई तिनीहरूसँगको समान स्थानमा राख्‍न सिक्‍न सक्छस्, र अरू मानिसले के सोच्छन् भनेर सोध्‍नलाई झुक्‍नसमेत सक्छस् भने, र यदि तैँले तिनीहरूको कुरा गम्भीरतापूर्वक, नजिकबाट र ध्यानपूर्वक सुन्‍न सक्छस् भने, तैँले अरूसित सौहार्दपूर्ण रूपमा सहकार्य गर्नेछस्। यो सौहार्दपूर्ण सहकार्यले कस्तो प्रभाव पार्नेछ? यसको प्रभाव ठूलो हुन्छ। तैँले आफूसित पहिला कहिल्यै नभएका कुराहरू प्राप्त गर्नेछस्, जुन सत्यताको ज्योति र जीवनका वास्तविकताहरू हुन्; तैँले अरूका सद्गुणहरू पत्ता लगाउनेछस् र तिनीहरूका सबल पक्षबाट सिक्नेछस्। अर्को कुरा पनि छ: तँ अरूलाई मूर्ख, मन्द बुद्धिको, बेवकुफ, आफूभन्दा तुच्छ ठान्छस्, तर जब तँ तिनीहरूको राय सुन्छस् वा अरू मानिसले तँसामु आफ्नो मन खोल्छन्, तब तैँले अनजानमै कोही पनि तैँले सोचे जत्ति साधारण हुँदैन, हरव्यक्तिले फरक सोच र विचार दिन सक्छ, र हरव्यक्तिका आफ्नै गुणहरू हुन्छन् भनेर पत्ता लगाउनेछस्। यदि तैँले सौहार्दपूर्ण रूपमा सहकार्य गर्न सिकिस् भने, त्यसले तँलाई अरूका सबल पक्षबाट सिक्न मद्दत गर्ने मात्र नभई तेरो अहङ्कार र पाखण्डिपन खुलासा गर्न र तँलाई आफू चलाख छु भन्ने कल्पना गर्नबाट रोक्न सक्छ। जब तँ आफूलाई अरू सबैभन्दा स्मार्ट र राम्रो छु भन्ठान्न छोड्छस्, तब यो आत्मकेन्द्रित र आत्मप्रशंसा गर्ने स्थितिमा जिउन छोड्नेछस्। अनि त्यसले तँलाई बचाउनेछ, होइन र? अरूसँग सहकार्य गर्दा तैँले सिक्नुपर्ने पाठ र लिनुपर्ने लाभ यही हो।

मानिसहरूसँग व्यवहार गर्ने क्रममा, म धेरैजसो मानिसहरूले के भन्छन् भन्‍ने कुरालाई ध्यान दिएर सुन्छु। म सबै प्रकारका मानिसहरूलाई जाँच्ने, र तिनीहरूले बोलेको कुरा सुन्‍ने, र तिनीहरूले प्रयोग गर्ने भाषा र शैली अध्ययन गर्ने कार्यमा ध्यान दिन्छु। उदाहरणको लागि, तैँले प्रायजसो मानिसहरूमा थोरै मात्र शिक्षा हुन्छ, तर तिनीहरूसँग कुनै व्यवसायको सीप हुँदैन, त्यसकारण तिनीहरूसँग अन्तरक्रिया गर्नु आवश्यक छैन भन्‍ने मान्यता राख्थिस्। वास्तवमा, त्यो सही कुरा होइन। जब तँ यी मानिसहरूसँग, वा केही विशेष मानिसहरूसँग नै सम्पर्कमा आउँछस्, तब तैँले देख्‍न वा महसुस गर्न नसक्‍ने तिनीहरूको अन्तस्करणमा रहेका कुराहरूलाई बुझ्न सक्छस्—जस्तै तिनीहरूका विचार र दृष्टिकोणहरू जस्ता कुराहरू, जसमध्ये केही विकृत हुन्छन्, र केही उचित हुन्छन्। अवश्य नै, त्यो “उचितपन” सत्यताभन्दा निकै टाढा रहेको हुन सक्छ; सत्यतासँग यसको कुनै सम्बन्ध नहुन सक्छ। तर तैँले मानव प्रकृतिका अझै धेरै पक्षहरू जान्न सक्‍नेछस्। के त्यो तेरो लागि राम्रो कुरा होइन र? (हो।) अन्तर्ज्ञान भनेको त्यही हो; यो तेरो अन्तर्ज्ञानलाई बढाउने एउटा उपाय हो। कतिपयले यसो भन्‍न सक्छन्, “आफ्नो अन्तर्ज्ञान बढाएर के नै हुन्छ र?” यसले विभिन्‍न प्रकारका मानिसहरूबारे तेरो बुझाइका लागि, विभिन्‍न प्रकारका मानिसहरूबारे तेरो समझशक्ति र विश्लेषणका लागि, र अझ बढी विभिन्‍न प्रकारका मानिसहरूलाई सहयोग गर्ने तेरो क्षमताका लागि फाइदाजनक हुन्छ। धेरैजसो काम गर्ने मार्ग यही हो। कतिपय मानिसहरू झूटो रूपमा आत्मिक हुन्छन् र तिनीहरूले यस्तो विश्‍वास गर्छन्, “अहिले मैले परमेश्‍वरमा विश्‍वास गर्ने हुनाले, म कार्यक्रमहरू वा समाचार सुन्दिनँ, र म अखबार पढ्दिनँ। म बाहिरी संसारसँग अन्तरक्रिया गर्दिनँ। सबै क्षेत्र र पेसाका सबै मानिसहरू दियाबलस हुन्!” त्यसोभए, तँ गलत छस्। यदि तँसँग सत्यता छ भने, के तँलाई अझै पनि दियाबलसहरूसँग अन्तरक्रिया गर्न डर लाग्छ? परमेश्‍वरले पनि कहिलेकहीँ आत्मिक क्षेत्रमा शैतानसँग मुकाबला गर्नुहुन्छ। के उहाँले यसका लागि आफूलाई परिवर्तन गर्नुहुन्छ? अलिकति पनि गर्नुहुन्‍न। तँलाई दियाबलसहरूसँग मुकाबला गर्न डर लाग्छ, र त्यो डरभित्र, एउटा समस्या हुन्छ। तैँले सत्यतालाई बुझ्दैनस्, तँसँग परमेश्‍वरमाथिको विश्‍वास र सत्यताप्रति गलत बुझाइ र दृष्टिकोण छ, तँसँग धेरै धारणा र कल्पनाहरू छन्, र तँ अत्यन्तै सिद्धान्तवादी छस् भन्‍ने कुरामा चाहिँ तैँले वास्तवमा डर मान्‍नुपर्छ। त्यसकारण, चाहे तँ कुनै अगुवा होस्, सेवक होस् वा समूह प्रमुख होस्, तँ जुनसुकै कामको लागि जिम्मेवार भए पनि र तैँले जुनसुकै भूमिका खेले पनि, तैँले अरूसँग सहकार्य गर्न र तिनीहरूसँग व्यवहार गर्न सिक्‍नैपर्छ। मानिसहरूलाई आफ्‍नो कुरा सुन्न लगाउनका लागि सुन्दा ठूला लाग्ने विचारहरू नबोल्, र सधैँ कुलीनताको नाटक नगर्। यदि तैँले सधैँ सुन्दा ठूला लाग्ने विचारहरू बोल्छस्, र तैँले कहिल्यै सत्यता अभ्यास गर्न, वा अरूसँग सहकार्य गर्न कहिल्यै सक्दैनस् भने, तैँले आफूलाई मूर्ख बनाइरहेको छस्। त्यसपछि त तँलाई कसले पो वास्ता गर्छ र? फरिसीहरूको पतन कसरी भयो? तिनीहरूले सधैँ धर्मशास्त्रीय सिद्धान्तहरू प्रचार गरिरहेका हुन्थे र सुन्दा ठूला लाग्ने विचारहरू फलाकिरहेका हुन्थे। तिनीहरूले यसो गर्दै जाँदा, तिनीहरूको हृदयमा परमेश्‍वर रहनुभएन—तिनीहरूले उहाँलाई इन्कार गरे, र मानिसका धारणा, व्यवस्था र नियमहरू समेत प्रयोग गरेर परमेश्‍वरलाई निन्दा गरे, विरोध गरे, र उहाँलाई क्रूसमा टाँगे। तिनीहरूले दिनभरि बाइबल समात्थे, पढ्थे र अनुसन्धान गर्थे, र सजिलै धर्मशास्त्र वाचन गर्न सक्थे। अनि फलस्वरूप अन्त्यमा के भयो? तिनीहरूलाई परमेश्‍वर कहाँ हुनुहुन्छ, वा उहाँको स्वभाव के हो भन्‍ने थाहा थिएन, र उहाँले धेरै सत्यताहरू व्यक्त गर्नुभएको भए पनि, तिनीहरूले तिनलाई अलिकति पनि स्वीकार गर्दैनथे, बरु उहाँको विरोध र निन्दा गर्थे। के त्यो नै तिनीहरूको अन्त्य थिएन र? त्यसका परिणामहरू कस्ता थिए भन्‍ने कुरा तिमीहरूलाई स्पष्ट रूपमा थाहा छ। के परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वासमा त्यस्ता भ्रमपूर्ण दृष्टिकोणहरू छन्? के तिमीहरू सङ्कुचित छैनौ र? (छौँ नि।) के तैँले म सङ्कुचित भएको देख्छस्? म कहिलेकहीँ समाचार पढ्छु, र कहिलेकहीँ विशेष अतिथिहरूसँगका अन्तर्वार्ताहरू र त्यस्ता अन्य कार्यक्रमहरू हेर्छु; कहिलेकहीँ, म दाजुभाइ-दिदीबहिनीहरूसँग गफ गर्छु, र कहिलेकहीँ, म खाना पकाउने वा सरसफाइ गर्ने व्यक्तिसँग कुरा गर्छु। म आफूले भेट्ने जोसुकैसँग थोरै भए पनि बोल्छु। तैँले कुनै काम लिएको छस्, वा तँसँग केही विशेष प्रतिभा छ, वा तैँले एउटा विशेष मिसन लिएको छस् भन्दैमा, तँ अरूभन्दा विशेष छस् भन्‍ने नसोच्। त्यो गलत हो। तैँले आफूलाई अरूभन्दा विशेष ठान्‍ने बित्तिकै, त्यो गलत विचारले तँलाई थाहै नपाई पिँजडामा थुनेर राख्नेछ—त्यसले तँलाई बाहिरबाट फलाम र काँसाको पर्खाल लगाइदिनेछ। त्यसपछि तँलाई आफू सबैभन्दा माथि छु, तैँले अनेकथरिका कार्यहरू गर्नु हुँदैन, तैँले फलानो व्यक्तिसँग बोल्न वा कुराकानी गर्नु हुँदैन, तँ हाँस्‍न समेत मिल्दैन भन्‍ने लाग्‍नेछ। अनि अन्त्यमा के हुन्छ? तँ कस्तो व्यक्ति बन्छस्? (एकलिएको एकलकाँटे व्यक्ति।) तँ एकलिएको एकलकाँटे व्यक्ति बन्छस्। हेर् त, प्राचीन सम्राटहरूले सधैँ कसो भन्थे, “मै मात्र यस्तो छु”; “म मात्र यस्तो छु, त्यस्तो छु”; “मैले मात्र सोच्छु”—र सधैँ आफूलाई एकलो घोषणा गर्थे। यदि तैँले सधैँ आफूलाई एकलो घोषणा गर्छस् भने, तैँले आफूलाई कति महान् ठान्छस् होला? यति महान् कि तँ साँच्‍चै स्वर्गको पुत्र बनेको छस्? के तँ त्यही होस्? सारगत रूपमा, तँ एक साधारण व्यक्ति होस्। यदि तैँले आफूलाई सधैँ महान् र असाधारण ठान्छस् भने, तँ समस्यामा छस्। अवस्था झन् बिग्रिनेछ। यदि तैँले यस्तो गलत दृष्टिकोणले आफ्नो सांसारिक व्यवहारहरू चलाइस् भने, तेरो काम गर्ने तरिका र माध्यमहरू परिवर्तन हुनेछन्—तेरा सिद्धान्तहरू परिवर्तन हुनेछन्। यदि तैँले आफूलाई सधैँ अलग ठान्छस्, आफू सबैभन्दा उच्च भएको, तैँले फलानो काम गर्न नमिल्ने, त्यस्ता कामकुरा गर्नु तेरो हैसियत र प्रतिष्ठाभन्दा तल हुने ठान्छस् भने, परिस्थितिहरू झन् बिग्रिएका छैनन् र? (छन्।) तँलाई यस्तो लाग्‍नेछ, “मेरो जस्तो हैसियत भएको व्यक्तिले, अरूलाई सबै कुरा बताउनु हुँदैन!” “मेरो जस्तो हैसियत भएको व्यक्तिले, म विद्रोही हुँ भनेर भन्‍नु हुँदैन!” “मेरो जस्तो प्रतिष्ठा भएको व्यक्तिले अरूलाई मेरा कमजोरीहरू, त्रुटिहरू, गल्तीहरू, र शिक्षाको कमी जस्ता अपमानजनक कुराहरू बताउनु हुँदैन—मैले ती कुराहरूका बारेमा कसैलाई बिलकुलै थाहा दिनु हुँदैन!” त्यो थकाइलाग्दो कुरा हुनेछ, होइन र? (हो।) यदि तँ यस्तो थकाइलाग्दो तरिकाले जिइस् भने, के तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छस्? (सक्दिनँ।) समस्या कहाँ पैदा हुन्छ? यो तेरो कर्तव्य र हैसियतप्रतिको तेरो दृष्टिकोणमा पैदा हुन्छ। तँ जति नै ठूलो “पदाधिकारी” भए पनि, तँ जुनसुकै पदमा भए पनि, तँ जति नै धेरै मानिसहरूको प्रभारी भए पनि, वास्तवमा, यो एउटा फरक कर्तव्य बाहेक केही पनि होइन। तँ अरूभन्दा फरक छैनस्। तैँले यसको वास्तविकतालाई देख्‍न सक्दैनस्, बरु सधैँ हृदयमा यस्तो महसुस गर्छस्, “यो फरक कर्तव्यको कुरै होइन—यो त प्रतिष्ठामा हुने भिन्‍नताको कुरा हो। म अरूभन्दा माथि हुनुपर्छ; मैले अरूसँग कसरी सहकार्य गर्न सक्छु? तिनीहरूले मसँग सहकार्य गर्दा पनि त हुन्छ—म चाहिँ तिनीहरूसँग सहकार्य गर्न सक्दिनँ!” यदि तँ सधैँ यस्तै सोचिरहेको हुन्छस्, सधैँ अरूभन्दा माथि हुन चाहन्छस्, सधैँ अरूको काँधमा टेकेर उभिन चाहन्छस्, तिनीहरूभन्दा माथि बसेर तिनीहरूलाई हेयको नजरले हेर्न चाहन्छस् भने, तँलाई मानिसहरूसँग सहकार्य गर्न सजिलो हुनेछैन। तैँले सधैँ यस्तो सोचिरहेको हुनेछस्, “त्यस व्यक्तिलाई के थाहा छ? यदि उसलाई कामकुरा थाहा भएको भए, दाजुभाइ-दिदीबहिनीहरूले उसलाई अगुवाको रूपमा छनौट रोजेका हुनेथिए। त्यसोभए, तिनीहरूले मलाई नै किन रोजे? किनभने म ऊभन्दा अब्बल छु। त्यसकारण, मैले ऊसँग कुराहरूका बारेमा छलफल गर्नु हुँदैन। यदि गरेँ भने, यसको अर्थ म महान् छैन भन्‍ने हुन्छ। म महान् छु भन्‍ने प्रमाणित गर्नका लागि, मैले कामकुराबारे कसैसँग छलफल गर्नु हुँदैन। मसँग कामको बारेमा छलफल गर्न लायक कोही छैन—एक जना पनि छैन!” ख्रीष्टविरोधीहरूले यस्तै सोच्छन्।

मुख्यभूमि चीनमा, कम्युनिस्ट पार्टीले धार्मिक विश्‍वासलाई दबाउँछ। यो भयानक वातावरण हो। परमेश्‍वरका विश्‍वासीहरूले कुनै पनि बेला पक्राउ पर्ने खतराको सामना गर्छन्, त्यसकारण अगुवा र सेवकहरू त्यति बारम्बार भेला हुँदैनन्। कहिलेकहीँ, तिनीहरूले महिनामा एक पटक पनि सहकर्मीहरूको भेला आयोजना गर्न सक्दैनन्; तिनीहरूले भेला हुनका लागि परिस्थितिले साथ नदिएसम्‍म, वा उपयुक्त ठाउँ नभेट्टाएसम्म पर्खन्छन्। त्यसोभए काम कसरी गरिन्छ? जब कामका बन्दोबस्तहरू हुन्छन्, तब ती कुराहरू अरूकहाँ पुर्‍याउन कोही फेला पार्नैपर्छ। एक पटक, हामीले कामका बन्दोबस्तहरू क्षेत्रीय अगुवाकहाँ पुर्‍याउन नजिकैको एक जना भाइलाई फेला पार्‍यौँ यो भाइ साधारण विश्‍वासी थियो, र जब उसले कामका बन्दोबस्तहरू पुर्‍यायो, तब क्षेत्रीय अगुवाले त्यो पढेर यसो भन्यो, “हत्तेरी। मैले यही अपेक्षा गरेको थिएँ।” उसले त्यो भाइको अगाडि के कुराको धाक लगाइरहेको थियो? उसले फाइँफुट्टी लगाइरहेको थियो, ताकि देख्‍नेले यसो भनोस्, “अहो, कति गरिमामय कुरो। कस्तो स्टायल!” त्यो त केही होइन—त्यस लगत्तै, उसले भन्यो, “तिनीहरूले मकहाँ कामका बन्दोबस्तहरू पुर्‍याउन पठाएको व्यक्ति यही हो? उसको स्तर नै मिल्दैन!” यसको अर्थ यो थियो: “म एउटा क्षेत्रीय अगुवा, एउटा महत्त्वपूर्ण अगुवा हुँ। मकहाँ यस्ता कुराहरू पुर्‍याउनका लागि कसरी साधारण विश्‍वासीलाई पठाइयो? के यो हद पार गरेको होइन र? माथिले मलाई साँच्‍चै नीच ठान्छ। म एउटा क्षेत्रीय अगुवा हुँ, त्यसकारण तिनीहरूले कम्तीमा पनि यो कुरा मकहाँ पुर्‍याउन एक जना जिल्‍ला अगुवा पठाउनुपर्थ्यो, तर तिनीहरूले सबैभन्दा तल्लो स्तरको र साधारण विश्‍वासीलाई यो काम गर्न लगाए—उसको स्तर नै मिल्दैन!” यो अगुवा त कस्तो व्यक्ति हो! यो पुर्‍याउने व्यक्तिको स्तर मिल्दैन भन्‍नलाई उसले आफ्नो हैसियतलाई कति धेरै मूल्यवान् ठानेको रहेछ? उसले आफ्नो पदलाई आफ्नो अख्तियार दाबी गर्ने बहानाको रूपमा लिन्छ। के ऊ दुष्ट चिज होइन र? (हो।) ऊ दुष्ट चिज हो, ठीक छ। मण्डलीको काममा, के हामी वस्तुहरू पुर्‍याउन वा सूचनाहरू दिनका लागि पठाइने व्यक्ति रोजीछानी गर्छौँ? मुख्यभूमि चीन जस्तो वातावरणमा, दाजुभाइ-दिदीबहिनीहरूले वस्तुहरू पुर्‍याउन जाँदा यस्ता ठूला जोखिमहरूको सामना गर्छन्, तैपनि जब यो भाइ कामको बन्दोबस्त लिएर आइपुग्यो, तब उसलाई अगुवाले उसको स्तर मिल्दैन भनेर भन्यो, यसको तात्पर्य के थियो भने स्तर मिल्ने व्यक्ति, स्थान र हैसियतको हिसाबमा अगुवासँग मिल्ने व्यक्ति खोज्नुपर्छ, र अन्यथा गर्नु भनेको अगुवालाई हेला गर्नु हो—के त्यो ख्रीष्टविरोधीको स्वभाव होइन र? (हो।) यो ख्रीष्टविरोधीको स्वभाव हो। यो दुष्ट व्यक्तिले कुनै पनि वास्तविक काम गर्न सक्दैन, र ऊसँग कुनै सीप छैन, तैपनि उसले यस्ता मागहरू गर्छ—उसले अझै पनि हैसियतलाई यस्तो जोड दिन्छ। उसको मुख्य थेगो के हो? “उसको स्तर मिल्दैन।” ऊसँग जसले कुरा गरिरहेको भए पनि, उसले सुरुमा सोध्छ, “तिमी कुन स्तरको अगुवा हौ? सानो समूहको प्रमुख? यहाँबाट गइहाल—तिम्रो स्तर नै मिल्दैन!” यदि माथिको दाजुले भेला आयोजना गरेको हो भने, उसले सधैँ अघि बढेर यसो भनिरहेको हुन्छ, “यो दाजु त मण्डली अगुवाहरूमध्ये सबैभन्दा ठूलो हो, र उनीपछि म आउँछु। उनी जहाँ बस्छन्, म स्तर अनुसार उनको छेउमा जान्छु।” उसको मनमा यो कुरा त्यति स्पष्ट हुन्छ। के त्यो लाजमर्दो कुरा होइन र? (हो।) यो अत्यन्तै लाजमर्दो कुरा हो—ऊसँग कुनै आत्मज्ञान हुँदैन! ऊ कति निर्लज्ज हुन्छ? यति निर्लज्ज कि मानिसहरूले घिनाउँछन्। ऊसँग अगुवाको पद भए पनि, उसले के गर्न सक्छ? उसले त्यो काम कति राम्ररी गर्छ? उसले आफ्नो योग्यताको धाक लगाउनुअघि केही नतिजाहरू देखाउनुपर्छ—त्योचाहिँ उचित हुनेछ; त्यो तार्किक कुरा हुनेछ। तर उसले कुनै नतिजा हासिल नगरी, कुनै काम नगरी मानिसहरूलाई पद अनुसार छुट्याउँछ! अनि उसको पद के हो त? क्षेत्रीय अगुवाको रूपमा, उसले त्यति धेरै वास्तविक काम गरेको हुँदैन—ऊ यो दर्जाको योग्य हुँदैन। यदि मैले दर्जा अनुसार मानिसहरूलाई छुट्याउने हो भने, के मेरो नजिक कोही आउन सक्छ? सक्दैन। मानिसहरूसँग अन्तरक्रिया गर्दा के मैले दर्जाको आधारमा भिन्‍नता छुट्याएको देख्छौ? अहँ—मैले जसलाई भेटे पनि, सकेसम्म म ऊसँग अलिकति भए पनि बोल्छु, र समय मिलेन भने, म उसलाई अभिवादन मात्र गर्छु। तैपनि, यो ख्रीष्टविरोधीले त्यसरी सोच्दैन। उसले प्रतिष्ठा, हैसियत, र सामाजिक मूल्यलाई अरू कुनै पनि कुराभन्दा महत्त्वपूर्ण, र आफ्नो जीवनभन्दा पनि बहुमूल्य देख्छ। के तिमीहरूले सँगै आफ्नो कर्तव्य निर्वाह गर्दा दर्जा अनुसार भिन्‍नता छुट्याउँछौ? कतिपय मानिसहरूले जे गर्दा पनि दर्जा अनुसार भिन्‍नता छुट्याउँछन्; केही कुरा हुने बित्तिकै, तिनीहरूले अरू मानिसहरू काम गर्दा र सूचनाहरू दिँदा आफ्नो दर्जाभन्दा बाहिर जान्छन् भन्ने गर्छन्। तिनीहरू कुन दर्जाभन्दा बाहिर गइरहेका हुन्छन्? पहिले आफ्नो कर्तव्य राम्ररी पूरा गर्। तैँले कुनै पनि कर्तव्य राम्ररी पूरा गर्न वा कुनै पनि काम गर्न सक्दैनस्, तैपनि तैँले अझै पनि दर्जाको आधारमा भिन्‍नता छुट्याइरहेको हुन्छस्—तँलाई कसले त्यसो गर्न लगायो? दर्जाको आधारमा भिन्‍नता छुट्याउने बेला भइसकेको छैन। तैँले यो काम हतारमा गरिरहेको छस्; तँसँग कुनै आत्मज्ञान छैन। कहिलेकहीँ हामी कुनै ठाउँमा जान्छौँ र कुनै समस्या समाधान गर्नलाई मानिसहरू भेट्छौँ। के हामी दर्जा अनुसार उपयुक्त मानिसहरूको खोजी गर्छौँ? हामी मूलतः त्यसो गर्दैनौँ। यदि तँ कामको प्रभारी होस् भने, हामी तँलाई खोज्दै जानेछौँ, र यदि तँ छैनस् भने, हामी अरू कोही खोज्नेछौँ। हामी दर्जाका आधारमा र उच्च वा निम्न हैसियतको आधारमा भिन्‍नता छुट्याउँदैनौँ। यदि कसैले आफै यस्ता भिन्‍नताहरू छुट्याउँछ भने, उसमा कुनै आत्मज्ञान हुँदैन, र तिनीहरूले सिद्धान्तहरू बुझेको हुँदैन। यदि तैँले परमेश्‍वरको घरमा हैसियत, पद, र पदका आधारमा गैर-विश्‍वासीहरूले जस्तै मिहिन रूपमा भिन्‍नता छुट्याउँछस् भने, तँमा साँच्‍चै समझको कमी छ! तैँले सत्यता बुझ्दैनस्; तँमा धेरै कुराको कमी छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्नु भनेको के हो भन्‍ने कुरा बुझ्दैनस्।

हामीले भर्खरै अरूसँग सहकार्य गर्ने अभ्यासको बारेमा कुरा गरेका छौँ। के यो काम गर्न सजिलो छ? सत्यताको खोजी गर्न सक्‍ने, थोरै लाजको बोध भएको, र मानवता, विवेक, र समझ भएको जोकोही व्यक्तिले अरूसँग सहकार्यको अभ्यास गर्न सक्छ। कसैसँग सहकार्य गर्न नसक्ने मानिसहरू तिनै हुन् जोसँग मानवता हुँदैन, जो सधैँ हैसियतमाथि एकाधिकार राख्न चाहन्छन्, सधैँ आफ्नो मर्यादा, हैसियत, ख्याति, र प्राप्तिको बारेमा सोच्छन्। अवश्य नै, यो ख्रीष्टविरोधीहरूको एउटा मुख्य प्रकटीकरण हो: तिनीहरूले कसैसँग सहकार्य गर्दैनन्, न त कसैसँग सद्भावपूर्ण सहकार्य नै हासिल गर्न सक्छन्। तिनीहरूले त्यो सिद्धान्त अभ्यास गर्दैनन्। यसको कारण के हो? तिनीहरू शक्ति त्याग्‍न अनिच्छुक हुन्छन्; तिनीहरू आफूले छर्लङ्गै देख्‍न नसक्‍ने कुराहरू छन्, र आफूले परामर्श लिनुपर्ने कुराहरू छन् भनेर अरूलाई थाहा दिन अनिच्छुक हुन्छन्। तिनीहरूले मानिसहरूमा भ्रम छर्छन्, जसले गर्दा मानिसहरूले सोच्छन् कि तिनीहरूले गर्न नसक्‍ने केही छैन, तिनीहरूलाई थाहा नभएको कुरा केही छैन, तिनीहरू कुनै कुरामा अज्ञानी छैनन्, तिनीहरूसँग सबै जवाफहरू छन्, र तिनीहरूका लागि सबै कुरा गर्न सकिने, सम्भव, र हासिल गर्न सकिने हुन्छन्—तिनीहरूलाई अरूको आवश्यकता पर्दैन, न त अरूको सहयोग, सुझाव, वा सल्लाहको नै आवश्यकता पर्छ। एउटा कारण त्यही हो। त्यस बाहेक, ख्रीष्टविरोधीहरूको सबैभन्दा स्पष्ट स्वभाव के हो? अर्थात्, तिनीहरूको सम्पर्कमा आउँदा तिनीहरूको एक-दुई वटा वाक्यांश सुनेरै तैँले छर्लङ्गै देख्न सक्ने स्वभाव के हो? अहङ्कार। तिनीहरू कति अहङ्कारी हुन्छन्? हदभन्दा बढी अहङ्कारी—कुनै मानसिक रोग जस्तै। उदाहरणका लागि, यदि तिनीहरूले एक घुट्को पानी पिए, र यसो गर्दा तिनीहरू राम्रा देखिए भने, तिनीहरूले यसलाई गर्व गर्ने कुराको रूपमा प्रस्तुत गर्नेछन्: “पानी पिउँदा म कस्तो राम्रो देखिन्छु हेर त।” तिनीहरू आफ्‍नो बारेमा फाइँफुट्टी लगाउन र धाक लगाउनमा असाध्यै सिपालु हुन्छन्; तिनीहरू अत्यन्तै निर्लज्ज र लज्जाहीन हुन्छन्। ख्रीष्टविरोधीहरू त्यस्तै हुन्छन्। तिनीहरूको दृष्टिकोणमा, तिनीहरू जति राम्रो कोही छैनन्। तिनीहरू धाक लगाउन निकै सिपालु हुन्छन्, र तिनीहरूमा पूर्णतया आत्मज्ञानको कमी हुन्छ। कतिपय ख्रीष्टविरोधीहरू निकै कुरूप हुन्छन्, तैपनि तिनीहरू अण्डाकार मुहार, बदाम जस्ता आँखा, र धनुष जस्ता आँखी भौँका कारण सुन्दर देखिने सोच्छन्। तिनीहरूमा यति सानो आत्मज्ञान समेत हुँदैन। ३०-४० वर्षको उमेर पुग्दासम्म, एउटा औसत व्यक्तिले आफ्नो रूप र क्षमताहरूको धेरथोर सही मूल्याङ्कन गरिसकेको हुन्छ। तर ख्रीष्टविरोधीहरूमा त्यस्तो समझ हुँदैन। यसमा के समस्या लुकेको हुन्छ? तिनीहरूको अहङ्कारी स्वभावले सामान्य चेतनाको सीमा नाघेको हुन्छ। तिनीहरू कति अहङ्कारी हुन्छन्? तिनीहरू भ्यागुतो जस्ता देखिए पनि, राजहंस जस्तै देखिन्छु भनेर भन्छन्। यसमा, केही हदसम्म के हो र के होइन भनेर छुट्याउने अक्षमता, र कामकुरालाई उल्ट्याउने कुरा हुन्छ। यस्तो हदसम्मको अहङ्कार लाजमर्दो अहङ्कार हो; यसलाई दबाउनै सकिँदैन। जब साधारण मानिसहरूले आफ्नो रूपको बखान गर्छन्, तब तिनीहरूले यो कुरा भन्न नमिल्ने जस्तो लाग्छ र तिनीहरू लज्जित हुन्छन्। तिनीहरूले बोलिसकेपछि, तिनीहरू रातोपिरो हुन्छन् र दिनभरि लज्जित महसुस गर्छन्। ख्रीष्टविरोधीहरू रातोपिरो हुँदैनन्। तिनीहरू आफूले गरेका असल कामकुरा र आफूसँग भएका सबल पक्षहरूका लागि, तिनीहरू जे-जस्ता तरिकाले असल र अरूभन्दा सिपालु छन् त्यसका लागि आफ्नो प्रशंसा गर्छन्—यी शब्दहरू तिनीहरूको मुखबाट यसरी बग्छन्, मानौँ ती साधारण कुरा हुन्। तिनीहरू त लाज समेत मान्दैनन्! यो त हद, लाज, वा चेतनाभन्दा बाहिरको अहङ्कार हो। त्यसैले, ख्रीष्टविरोधीहरूको नजरमा, हरेक सामान्य व्यक्ति—विशेष गरी सत्यताको खोजी गर्ने, र सामान्य मानवताको विवेक र समझ, र सामान्य सोचाइ भएको हरेक व्यक्ति—सामान्यतामा पर्छ, उनीहरूसँग कुनै प्रतिभा हुँदैन, उनीहरू आफूभन्दा तल्लो स्तरका हुन्छन्, र उनीहरूमा तिनीहरूको सामर्थ्य र योग्यताको कमी हुन्छ। तिनीहरू अहङ्कारी हुने भएकाले र तिनीहरूले आफ्नो स्तरमा कोही हुँदैन भन्‍ने विश्‍वास गर्ने भएकाले—यस कारणले गर्दा, तिनीहरूले गर्ने कुनै पनि कुरामा, कसैसँग सहकार्य वा छलफल गर्न चाहँदैनन् भनेर भन्दा अतिशयोक्ति हुँदैन। तिनीहरूले प्रवचनहरू सुन्न, परमेश्‍वरका वचनहरू पढ्न, उहाँका वचनहरूको खुलासा देख्‍न सक्छन्, वा तिनीहरू कहिलेकहीँ काटछाँटमा पर्न सक्छन्, तर जे भए पनि, तिनीहरूले भ्रष्टता प्रकट गरेको र अपराध गरेको कुरा स्वीकार गर्दैनन्, अहङ्कारी र आत्मधर्मी छु भनेर स्वीकार गर्नु त परको कुरा हो। तिनीहरूले आफू साधारण क्षमता भएको साधारण व्यक्ति मात्रै भएको कुरा बुझ्न सक्दैनन्। तिनीहरूले त्यस्ता कुराहरू बुझ्न सक्दैनन्। तैँले तिनीहरूलाई जतिसुकै काटछाँट गरे पनि, तिनीहरूले अझै पनि तिनीहरूको क्षमता राम्रो छ, तिनीहरू साधारण मानिसहरूभन्दा माथि छन् भन्‍ने सोच्छन्। के यो आशाभन्दा बाहिरको कुरा होइन र? (हो।) यो आशाभन्दा बाहिरको कुरा हो। त्यो ख्रीष्टविरोधी हो। तिनीहरूलाई जतिसुकै काटछाँट गरे पनि, तिनीहरूले शिर झुकाएर आफू राम्रो नभएको, र आफू असक्षम भएको भनेर स्वीकार गर्न सक्दैनन्। तिनीहरूको दृष्टिकोणमा, आफ्ना समस्याहरू, गल्तीहरू, वा भ्रष्टतालाई स्वीकार गर्नु भनेको दोषी ठहरिनु, नष्ट हुनु जस्तै हुनेछ। तिनीहरूले सोच्ने तरिका यही हो। तिनीहरूले के सोच्छन् भने अरूले तिनीहरूका गल्तीहरू देख्‍ने बित्तिकै, वा तिनीहरूले आफ्‍नो क्षमता कमजोर छ र आफूमा आत्मिक बुझाइ छैन भन्‍ने कुरालाई स्विकार्ने बित्तिकै, तिनीहरूले परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा ऊर्जा गुमाउनेछन् र तिनीहरूलाई यो अर्थहीन लाग्नेछ, किनभने अबदेखि तिनीहरूको हैसियतको प्रत्याभूति हुनेछैन—तिनीहरूले आफ्नो हैसियत गुमाएका हुनेछन्। तिनीहरूले सोच्छन्, “हैसियत विना जिउनुको कुनै अर्थ छ र? योभन्दा त मर्नु नै राम्रो हुन्छ!” अनि यदि तिनीहरूसँग हैसियत छ भने, तिनीहरू आफ्नो अहङ्कारमा अडिग हुन्छन्, अनियन्त्रित रूपमा खराब कामकुरा गर्न लागिपर्छन्; र यदि कामलाई निरन्तरता दिन नसकेकाले तिनीहरू काटछाँटमा परे भने, तिनीहरू आफ्नो पद त्याग्‍न चाहन्छन्, साथै नकारात्मक र सुस्त बन्छन्। के तँ तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार काम गरून् भन्‍ने चाहन्छस्? यसको बारेमा सोच्दा समेत नसोच्। तिनीहरूले के विश्‍वास गर्छन्? “तपाईंले मलाई एउटा पद दिनुहोस् र म आफै काम गर्छु, त्यसो गर्दा कसो होला? के तपाईं मैले अरूसँग सहकार्य गरेको चाहनुहुन्छ? त्यो त असम्भव छ! मेरो लागि सहकर्मी नखोज्‍नुहोस्—मलाई सहकर्मी चाहिँदैन; मेरो सहकर्मी हुन कोही पनि योग्य छैन। नत्र मलाई प्रयोग नै नगर्नुहोस्—यो काम अरू कसैलाई गर्न लगाउनुहोस्!” यो कस्तो प्राणी हो? “अल्फा पुरुष एक जना मात्रै हुनसक्छ”—यो ख्रीष्टविरोधीहरूको मानसिकता हो, र यी तिनीहरूका प्रकटीकरणहरू हुन्। के यो आशाभन्दा बाहिरको कुरा होइन र? (हो।)

ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन् भन्‍ने पहिलो बुँदाको “सक्दैनन्” भन्‍ने शब्दमा के समावेश हुन्छ? तिनीहरूले कसैसँग सहकार्य गर्दैनन्, र तिनीहरूले अरूसँग सहकार्य हासिल गर्न सक्दैनन् भन्ने कुराहरू समावेश हुन्छन्—के यी यसका दुइटा प्रकारहरू होइनन् र? ख्रीष्टविरोधीहरूको सारले निर्धारित गरे अनुसार, यसमा यी दुई अर्थहरू समावेश छन्। मानिसहरूले तिनीहरूसँग मिलेर काम गर्न सके पनि, यसको सार साँचो सहकार्य होइन—उनीहरू पछाडिबाट तिनीहरूलाई साथ दिने, कामकाज गरिदिने र मामलाहरू मिलाउने नोकर मात्र हुन्। यसलाई सहकार्यको रूपमा अलिकति पनि मान्‍न सकिँदैन। त्यसोभए, “सहकार्य” लाई कसरी परिभाषित गरिन्छ? वास्तवमा, सहकार्यको अन्तिम उद्देश्य भनेको सत्यता सिद्धान्तहरू बुझ्नु, ती अनुसार काम गर्नु, हरेक समस्या समाधान गर्नु, सही निर्णयहरू गर्नु—विचलनमा नपरी सिद्धान्तहरूसँग मिल्ने निर्णयहरू गर्नु, र काममा हुने गल्तीहरूलाई न्यूनीकरण गर्नु हो, ताकि तैँले आफ्‍नो कर्तव्य मात्रै पूरा गर्छस्, आफूले चाहे अनुसार काम गर्दैनस्, र दङ्गा मच्चाउँदैनस्। ख्रीष्टविरोधीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउनुको पहिलो प्रकटीकरण, तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन् भन्‍ने हो। कतिपयले यसो भन्‍न सक्छन्, “कसैसँग सहकार्य गर्न नसक्नु भनेको अरूलाई आफूप्रति मात्र समर्पित हुन लगाउनु जस्तो होइन।” कसैसँग सहकार्य गर्न नसक्नुको अर्थ तिनीहरूले कसैका कुरा सुन्दैनन् वा कसैसँग सुझाव माग्दैनन्—तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू वा सत्यता सिद्धान्तहरू समेत खोज्दैनन् भन्‍ने हुन्छ। तिनीहरू आफ्नै इच्छा अनुसार मात्रै काम र व्यवहार गर्छन्। यसमा के कुरा अन्तर्निहित छ? तिनीहरूको काममा शासन गर्नेहरू सत्यता वा परमेश्‍वर नभई तिनीहरू नै हुन्। त्यसकारण, तिनीहरूको कामको सिद्धान्त भनेको तिनीहरूले भनेको कुरा अरूलाई पालना गर्न लगाउनु हो, र आफूलाई सत्यताझैँ, वा परमेश्‍वरझैँ व्यवहार गर्न लगाउनु हो। के त्यसको प्रकृति त्यही होइन र? कतिपयले यसो भन्‍न सक्छन्, “यदि तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन् भने, सायद तिनीहरूले सत्यता बुझेका छन् र सहकार्य गर्नु आवश्यक छैन।” के यस्तै भइरहेको हुन्छ? कसैले सत्यतालाई जति बुझ्छ र अभ्यास गर्छ, उसले काम गर्दा त्यति नै धेरै स्रोतहरूबाट सोधपुछ र खोजी गर्छ। उसले हानिलाई कम गर्ने र गल्तीहरू हुने सम्भावनालाई कम गर्ने प्रयासमा, मानिसहरूसँग अझै धेरै छलफल र सङ्गति गर्छ। कसैले सत्यतालाई जति धेरै बुझ्छ, ऊसँग त्यति नै धेरै समझ हुन्छ, र ऊ अरूसँग सहकार्य गर्न त्यति नै इच्छुक र सक्षम हुन्छ। होइन र? अनि अरूसँग सहकार्य गर्न कुनै व्यक्ति जति कम इच्छुक र सक्षम छ, जसले अरू कसैको कुरा सुन्दैन, कसैको सुझावको बारेमा विचार गर्दैन, काम गर्दा, परमेश्‍वरको घरका हितहरूलाई विचार गर्दैन र आफ्नो कार्य सत्यता सिद्धान्तहरू अनुरूप छ कि छैन भनेर खोजी गर्न अनिच्छुक हुन्छ—त्यस्ता मानिसहरूले सत्यताको खोजी त्यति नै कम गर्छन् र यसलाई त्यति नै कम बुझ्छन्। तिनीहरूले गल्तीबस के कुरामा विश्‍वास गर्छन्? “दाजुभाइ-दिदीबहिनीहरूले मलाई आफ्नो अगुवाको रूपमा चयन गरेका छन्; परमेश्‍वरले मलाई अगुवा बन्‍ने यो मौका दिनुभएको छ। त्यसकारण, मैले गर्ने सबै कुरा सत्यता अनुरूप हुन्छ—मैले जे गरे पनि, त्यो सही हुन्छ।” के यो गलतफहमी होइन र? तिनीहरूमा किन यस्तो गलतफहमी हुन्छ? एउटा कुरा निश्‍चित छ: त्यस्ता मानिसहरूले सत्यतालाई प्रेम गर्दैनन्। अनि अर्को कुरा: त्यस्ता मानिसहरूले सत्यतालाई बुझ्दै बुझ्दैनन्। यसमा कुनै शङ्का छैन।

ख्रीष्टविरोधीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्। यो गम्भीर समस्या हो। एउटा ख्रीष्टविरोधीले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए पनि, उसले जोसँग सहकार्य गरिरहेको भए पनि, सधैँ द्वन्द्व र विवादहरू हुनेछन्। कतिपयले यसो भन्‍न सक्छन्, “यदि तिनीहरू सरसफाइको प्रभारी हुन् र तिनीहरूले हरेक दिन भवन भित्र सफा गर्छन् भने, अरूसँग सहकार्य नगर्नुको कारण के हुन्छ र?” यसमा स्वभाव सम्‍बन्धी समस्या छ: तिनीहरूले जोसँग अन्तरक्रिया गरिरहेका वा काम गरिरहेका भए पनि, उसलाई सधैँ खिसी गर्छन्, सधैँ उसलाई भाषण दिन, तिनीहरूले भनेको कुरा गर्न लगाउन चाहन्छन्। के तिमीहरू त्यस्तो व्यक्तिले अरूसँग सहकार्य गर्न सक्छ भनेर भन्छौ? तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्; किनभने तिनीहरूको भ्रष्ट स्वभाव अत्यन्तै गम्भीर हुन्छ। तिनीहरूले अरूसँग सहकार्य गर्न नसक्‍ने मात्र नभई तिनीहरूले सधैँ माथिबाट अरूलाई भाषण दिइरहेका र बाधित पारिरहेका हुन्छन्—तिनीहरू सधैँ मानिसहरूको काँधमा बसेर अरूलाई आज्ञापालन गर्न लगाउन चाहन्छन्। यो स्वभावको समस्या मात्रै होइन—यो तिनीहरूको मानवतामा भएको गम्भीर समस्या पनि हो। तिनीहरूमा कुनै विवेक वा समझ हुँदैन। दुष्ट मानिसहरू यस्तै हुन्छन्। तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्; तिनीहरू कसैसँग मिलेर बस्‍न सक्दैनन्। मानिसहरूबीच तिनीहरूको मानवताका साझा कुराहरू के-के हुन्? तीमध्ये कुन कुराहरू एकअर्कासँग मिल्छन्? विवेक र समझ, साथै सत्यतालाई प्रेम गर्ने तिनीहरूको मनोवृत्ति—यी कुराहरू साझा हुन्छन्। यदि दुवै पक्षमा त्यस्तो सामान्य मानवता छ भने, तिनीहरू मिलेर बस्‍न सक्छन्; छैन भने, तिनीहरू मिलेर बस्‍न सक्दैनन्; एउटामा यो कुरा छ र अर्कोमा छैन भने पनि तिनीहरू मिलेर बस्‍न सक्दैनन्। असल मानिसहरू र खराब मानिसहरू मिलेर बस्न सक्दैनन्—हितकारी मानिसहरू र दुष्ट मानिसहरू मिलेर बस्न सक्दैनन्। मानिसहरू सामान्य रूपमा एक-अर्कासँग मिलेर बस्‍नका लागि निश्‍चित सर्तहरू पूरा गर्नैपर्ने हुन्छ: तिनीहरूले एक-अर्कासँग सहकार्य गर्न सक्नका लागि, तिनीहरूसँग कम्तीमा पनि विवेक र समझ हुनुपर्छ, साथै तिनीहरू धैर्य र सहनशील हुनुपर्छ। कुनै कर्तव्य निर्वाह गर्दा सहकार्य गर्नका लागि मानिसहरूको मन मिल्नैपर्छ; तिनीहरूले अर्को पक्षका सबल पक्षलाई प्रयोग गरेर आफ्ना कमजोरीहरूलाई पूर्ति गर्नुपर्छ, र धैर्यता र सहनशीलता राख्नुपर्छ, साथै तिनीहरूको व्यवहारको आधारभूत स्तर कायम राख्नुपर्छ। यसरी नै सद्भावमा मिलेर बस्नुपर्छ, र कहिलेकहीँ द्वन्द्व र विवादहरू हुन सक्‍ने भए पनि, सहकार्य जारी रहन सक्छ, र कम्तीमा कुनै शत्रुता पैदा हुनेछैन। यदि कुनै व्यक्तिसँग त्यस्तो व्यवहारको आधारभूत स्तर छैन, ऊ विवेकशील वा तर्कसङ्गत छैन, र उसले नाफालाई ध्यानमा राखेर काम गर्छ, नाफा मात्रै खोज्छ, सधैँ अरूको खर्चमा नाफा कमाउन चाहन्छ भने, सहकार्य असम्भव हुनेछ। दुष्ट मानिसहरू, र दियाबलस राजाहरूका बीचमा यस्तै हुन्छ, जसले एक-अर्कासँग निरन्तर लडाइँ गर्छन्। आत्मिक क्षेत्रका विभिन्‍न दुष्टात्माहरू एक-अर्कासँग मिल्दैनन्। कहिलेकहीँ दियाबलसहरूले सङ्गठनहरू बनाउन सक्ने भए पनि, यो सबै तिनीहरूका आफ्नै उद्देश्यहरू हासिल गर्नका लागि पारस्परिक रूपमा शोषण गर्ने कार्यमा आधारित हुन्छ। तिनीहरूका सङ्गठनहरू अस्थायी हुन्छन्, र चाँडै नै, ती आफै टुक्रन्छन्। मानिसहरूका हकमा पनि यही कुरा लागू हुन्छ। मानवताविनाका मानिसहरू अरूलाई बरबाद गर्ने कुहिएका स्याउहरू जस्तै हुन्; सामान्य मानवता भएका मानिसहरूसँग मात्रै सहकार्य गर्न सजिलो हुन्छ, तिनीहरू मात्रै अरूप्रति धैर्यवान् र सहनशील हुन्छन्, अरूका रायहरू सुन्न सक्षम हुन्छन्, र आफूले गर्ने काममा आफ्नो हैसियतलाई पन्छाउन, अरूसँग छलफल गरेर त्यो काम गर्न सक्षम हुन्छन्। तिनीहरूमा पनि भ्रष्ट स्वभावहरू हुन्छन्, र तिनीहरूले पनि सधैँ अरूले आफ्नो कुरा सुनून् भन्ने चाहन्छन्—तिनीहरूमा पनि त्यो अभिप्राय हुन्छ—तर तिनीहरूसँग विवेक र समझ हुने हुनाले, र तिनीहरूले सत्यताको खोजी गर्न, र आफूलाई चिन्‍न सक्‍ने, र त्यस्तो काम गर्नु अनुचित भएको महसुस गर्ने हुनाले, र जसका लागि तिनीहरूलाई धिक्‍कार महसुस हुने, र तिनीहरूले आफूलाई नियन्त्रण गर्न सक्‍ने हुनाले, तिनीहरूको काम गर्ने तरिका र उपायहरू बिस्तारै परिवर्तन हुनेछन्। अनि यसरी, तिनीहरूले अरूसँग सहकार्य गर्न सक्‍नेछन्। तिनीहरूले भ्रष्ट स्वभाव प्रकट गरिरहेका हुन्छन्, तर तिनीहरू दुष्ट मानिस होइनन्, र तिनीहरूमा ख्रीष्टविरोधीहरूको सार हुँदैन। अरूसँग सहकार्य गर्दा तिनीहरूलाई कुनै ठूलो समस्या हुँदैन। यदि तिनीहरू दुष्ट मानिस वा ख्रीष्टविरोधी थिए भने, तिनीहरूले अरूसँग सहकार्य गर्न सक्‍नेथिएनन्। सबै दुष्ट मानिसहरू र ख्रीष्टविरोधीहरू यस्तै हुन्छन् जसलाई परमेश्वरको घरले निकाल्छ। तिनीहरूले कसैसँग सहकार्य गर्न सक्दैनन्, र फलस्वरूप तिनीहरू सबै खुलासामा पर्छन् र हटाइन्छन्। तैपनि ख्रीष्टविरोधीहरूको स्वभाव भएका, ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, धेरै काटछाँट भोगेपछि सत्यतालाई स्विकार्न, र साँचो रूपमा पश्चात्ताप गर्न, र अरूसँग धैर्यवान् र सहनशील हुन सक्‍ने मानिसहरू धेरै छन्। त्यस्ता मानिसहरूले बिस्तारै अरूसँग सद्भावपूर्ण रूपमा सहकार्य गर्न सक्छन्। ख्रीष्टविरोधीहरूले मात्रै कसैसँग सहकार्य गर्न सक्दैनन्। तिनीहरूले जति धेरै भ्रष्ट स्वभाव प्रकट गरे पनि, त्यसलाई समाधान गर्न सत्यताको खोजी गर्दैनन्, बरु नैतिकहीन र अनियन्त्रित भएर जिद्दीपूर्वक आफ्नै शैलीमा लागिरहन्छन्। तिनीहरूले अरूसँग सद्भावपूर्ण सहकार्य गर्न नसक्‍ने मात्र होइन—यदि तिनीहरूले कसैले तिनीहरूलाई चिनेको छ र ऊ तिनीहरूसँग असन्तुष्ट छ भन्‍ने देखे भने, तिनीहरू त्यो व्यक्तिलाई कष्ट दिन समेत लागिपर्छन्, र तिनीहरूले ऊप्रति बहिष्करणीय र शत्रुवत् मनोवृत्ति अपनाउँछन्। तिनीहरू त्यस व्यक्तिप्रति वैरभावमा रहनेछन्, जसले गर्दा मण्डलीको काममा कुनै पनि हस्तक्षेप हुन सक्छ। यो ख्रीष्टविरोधीहरूको प्रकृति सारद्वारा निर्धारित हुन्छ।

सद्भावपूर्ण सहकार्य गर्न तालिम लिँदा तिमीहरूले सिक्नुपर्ने पाठहरू के-के हुन्? सहकार्य गर्न सिक्‍नु सत्यतालाई प्रेम गर्ने अभ्यासको एउटा तत्व हो, र यसको एउटा सङ्केत पनि हो। यो एउटा व्यक्तिमा विवेक र चेतना छ भन्‍ने कुरा प्रकट हुने एउटा तरिका हो। तैँले आफूसँग विवेक, मर्यादा र चेतना छ भनेर भन्‍न सक्छस्, तर यदि तैँले कसैसँग सहकार्य गर्न सक्दैनस्, र तेरो परिवार, बाहिरी मानिसहरू, वा साथीहरूसँग मिलेर बस्‍न सक्दैनस्, र तिमीहरूको बोलचाल टुट्छ, र तिमीहरूले साझा कामहरूमा अन्तहीन विवाद गर्छौ, जसले गर्दा तिमीहरू शत्रु बन्छौ भने—यदि तँ कहिल्यै यसरी कसैसँग मिलेर बस्‍न सक्दैनस् भने, तँ खतरामा हुन्छस्। यदि त्यस्तो व्यवहार तेरो सबै भ्रष्ट स्वभावका व्यवहारहरूमध्ये एउटा हो, वा तँसँग भएका सत्यतासँग नमिल्‍ने सबै व्यवहारहरूमध्ये एउटा हो भने, र यो तँलाई थाहा भएको, र तैँले निरन्तर खोजी र परिवर्तन गर्न चाहिरहेको व्यवहार मात्रै हो भने, तँसँग अझै पनि मौका छ। मुक्तिका लागि अझै पनि ठाउँ छ; यो कुनै ठूलो समस्या होइन। तर यदि तँ अन्तर्निहित रूपमा नै यस्तो व्यक्ति होस्, अन्तर्निहित रूपमा नै कसैसँग मिलेर बस्न सक्दैनस्, र यसको बारेमा कुनै कुरा गर्नुको फाइदा छैन भने—तैँले यसलाई काबुमा राख्न सक्दैनस् भने—त्यो गम्भीर समस्या हो। तँलाई सत्यतामा जति सङ्गति दिइए पनि, यदि तैँले यसलाई महत्त्वपूर्ण कुराको रूपमा लिँदैनस्, बरु तँलाई उक्त समस्या ठूलो कुरा होइन, त्यो तेरो सामान्य जीवन हो, तेरो भ्रष्ट स्वभाव प्रकट हुने मुख्य तरिका हो भन्‍ने लाग्छ भने, तँमा ख्रीष्टविरोधीको सार छ। अनि यदि तेरो सार त्यही हो भने, त्यो तँ ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नुभन्दा फरक कुरा हो। कतिपय मानिसहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्छन्, र कतिपय मानिसहरू आफै ख्रीष्टविरोधी हुन्छन्। के त्यसमा भिन्‍नता छैन र? (छ।) ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेहरूले आफ्ना कार्यहरूमा ख्रीष्टविरोधीहरूका यी व्यवहारहरू प्रदर्शन गर्छन्; तिनीहरूले औसत व्यक्तिले भन्दा अलिक देखिने गरी र स्पष्ट रूपमा ख्रीष्टविरोधीको स्वभाव प्रकट गर्छन्, तर तिनीहरूले अझै पनि सत्यतासँग मिल्दो, अनि मानवता र चेतना भएको काम गर्न सक्छन्। यदि कसैले कुनै पनि सकारात्मक काम पटक्कै गर्न सक्दैन, र उसले पूर्णतया ख्रीष्टविरोधीहरूका यी व्यवहार, ख्रीष्टविरोधीको सारका यी प्रकाशहरू मात्रै प्रकट गर्छ भने—उसले गर्ने सबै काम र उसले पूरा गर्ने कर्तव्यहरू त्यस्ता प्रकटीकरणहरू मात्रै हुन्, जसमा सत्यतासँग मिल्दो केही छैन भने—त्यस्तो अवस्थामा, ऊ ख्रीष्टविरोधी हुन्छ।

विगतमा कतिपय अगुवा र सेवकहरूले बारम्बार ख्रीष्टविरोधीका स्वभावहरू प्रकट गर्थे: तिनीहरू बेकाबु र स्वेच्छाचारी थिए, र कुराहरू सधैँ तिनीहरूले भनेकै जस्तो हुनुपर्थ्यो। तर तिनीहरूले कुनै स्पष्ट दुष्टता गरेनन् र तिनीहरूको मानवता भयानक थिएन। काटछाँटमा परेपछि, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सहयोग गरेपछि, स्थानान्तर वा प्रतिस्थापन गरिएपछि, केही समयसम्म नकारात्मक भएपछि, तिनीहरू आफूले पहिले प्रकट गरेका कुराहरू भ्रष्ट स्वभाव हुन् भनेर बल्‍ल सचेत बन्छन्, तिनीहरू पश्चात्ताप गर्न तयार हुन्छन्, र सोच्छन्, “सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जेसुकै भए पनि आफ्नो कर्तव्यमा लागिरहनु हो। म ख्रीष्टविरोधीको मार्गमा हिँडिरहेको भए पनि, मलाई त्यस्तो व्यक्तिको रूपमा वर्गीकरण गरिएन। यो परमेश्‍वरको कृपा हो, त्यसकारण मैले मेरो विश्‍वास र पछ्याइमा मेहनत गर्नैपर्छ। सत्यता पछ्याउने मार्गमा केही पनि गलत छैन।” बिस्तारै, तिनीहरूले आफूलाई परिवर्तन गर्छन्, र त्यसपछि पश्चात्ताप गर्छन्। तिनीहरूमा असल प्रकटीकरणहरू हुन्छन्, तिनीहरूले आफ्ना कर्तव्य पूरा गर्दा सत्यता सिद्धान्तहरू खोजी गर्न सक्छन्, र अरूसँग अन्तरक्रिया गर्दा पनि सत्यता सिद्धान्तहरू खोजी गर्छन्। हरेक हिसाबमा, तिनीहरू सकारात्मक दिशामा प्रवेश गरिरहेका हुन्छन्। के त्यसपछि तिनीहरू परिवर्तन भएका हुँदैनन् र? तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेबाट परिवर्तन भएर सत्यता अभ्यास गर्ने पछ्याउने मार्गमा हिँड्न थालेका हुन्छन्। तिनीहरूले मुक्ति पाउने आशा र मौका हुन्छ। के त्यस्ता मानिसहरूले कुनै बेला ख्रीष्टविरोधीका केही प्रकटीकरणहरू प्रदर्शन गरेका वा तिनीहरू ख्रीष्टविरोधीहरूको मार्गमा हिँडेका हुनाले तैँले तिनीहरूलाई ख्रीष्टविरोधीहरू भनेर वर्गीकरण गर्न मिल्छ? मिल्दैन। ख्रीष्टविरोधीहरू त पश्चात्ताप गर्नभन्दा मर्न तयार हुन्छन्। तिनीहरूमा कुनै लाजको बोध हुँदैन; त्यस बाहेक, तिनीहरू द्वेषपूर्ण र दुष्ट स्वभावका हुन्छन्, र तिनीहरूमा सत्यताप्रति चरम वितृष्णा हुन्छ। के सत्यताप्रति यति धेरै वितृष्ण व्यक्तिले यसलाई अभ्यास गर्न, वा पश्चात्ताप गर्न सक्छ? त्यो असम्भव हुनेछ। तिनीहरू सत्यताप्रति पूर्णतया वितृष्ण हुनुको अर्थ तिनीहरूले कहिल्यै पनि पश्चात्ताप गर्नेछैनन् भन्‍ने हुन्छ। पश्चात्ताप गर्न सक्‍ने मानिसहरूका हकमा एउटा कुरा निश्‍चित छ, र त्यो के हो भने तिनीहरूले गल्ती गरेका हुन्छन् तर परमेश्‍वरका वचनहरूको न्याय र सजायलाई स्विकार्न सक्छन्, सत्यतालाई स्विकार्न सक्छन्, र आफ्ना कर्तव्य पूरा गर्दा सहकार्य गर्न, परमेश्‍वरका वचनहरूलाई आफ्नो व्यक्तिगत सिद्धान्तको रूपमा लिन, र परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको वास्तविकतामा परिणत गर्नका लागि जति सक्दो प्रयास गर्न सक्छन्। तिनीहरूले सत्यतालाई स्विकार्छन्, र भित्री रूपमा, तिनीहरू यसप्रति वितृष्ण हुँदैनन्। के भिन्‍नता यही होइन र? भिन्‍नता यही हो। तैपनि, ख्रीष्टविरोधीहरूले काटछाँटलाई इन्कार गर्न छोड्दैनन्—तिनीहरू सत्यतासँग मेल खाने शब्दहरू बोल्ने कसैको कुरा सुन्दैनन्, र परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने कुरामा विश्‍वास गर्दैनन्, न त तिनलाई सत्यताको रूपमा नै स्विकार्छन्। त्यो तिनीहरूको कस्तो प्रकृति हो? यो चरम रूपमा सत्यताप्रति वितृष्ण हुने र त्यसलाई घृणा गर्ने प्रकृति हो। कसैले सत्यतामा सङ्गति गर्दा वा अनुभवात्मक गवाहीबारे बोल्दा, उसलाई यो कुराप्रति अत्यन्तै दिगमिग हुन्छ, र ऊ सङ्गति गर्ने व्यक्तिप्रति शत्रुवत् हुन्छ। यदि मण्डलीमा कसैले विभिन्‍न मूर्खतापूर्ण र दुष्ट तर्कहरू फैलाइरहेको छ, हास्यास्पद, मूर्खतापूर्ण कुराहरू भनिरहेको छ भने, यसले उसलाई निकै खुशी तुल्याउँछ; ऊ तुरुन्तै तिनीहरूसँग सहमत भएर दलदलमा फस्छ, र निकट रूपमा सहकार्य गर्छ। यो त एउटै ड्याङको मुला भने जस्तै हो, चोरको साथी चोर भने जस्तै हो। यदि तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यतामा सङ्गति गर्दै गरेको वा आफ्नो आत्मज्ञान र इमानदारीपूर्ण पश्चात्तापको अनुभवात्मक गवाही दिँदै गरेको सुने भने, यसले तिनीहरूलाई व्याकुल तुल्याउँछ र तिनीहरू क्रोधित हुन्छन्, र तिनीहरूले त्यो व्यक्तिलाई कसरी बहिष्कार गर्ने र आक्रमण गर्ने भनेर विचार गर्न थाल्छन्। छोटकरीमा भन्दा, तिनीहरूले सत्यता पछ्याउने कसैलाई राम्रो नजरले हेर्दैनन्। तिनीहरू उनीहरूलाई बहिष्कार गर्न र उनीहरूको शत्रु हुन चाहन्छन्। शब्द र धर्मसिद्धान्तहरू प्रचार गरेर धाक लगाउन सिपालु जोकोही व्यक्तिलाई तिनीहरूले साह्रै मन पराउँछन् र निकै अनुमोदन गर्छन्, मानौँ तिनीहरूले एक विश्‍वासपात्र र सहयात्री भेट्टाएका छन्। यदि कसैले “जसले सबैभन्दा धेरै काम गर्छ र सबैभन्दा ठूलो योगदान दिन्छ उसलाई ठूलो इनाम र मुकुट दिइनेछ, र उसले परमेश्‍वरसँग मिलेर शासन गर्नेछ” भनेर भन्यो भने, तिनीहरू अत्यन्तै उत्साहित हुन्छन्, र तिनीहरूको रगत उम्लिन्छ। तिनीहरू आफू अरूभन्दा धेरै माथि भएको, अन्ततः आफू अरूभन्दा अलग देखिन थालेको, अब तिनीहरूले आफूलाई प्रदर्शन गर्ने र आफ्नो मूल्य प्रदर्शन गर्ने ठाउँ पाएको महसुस गर्छन्। त्यसपछि तिनीहरू निकै सन्तुष्ट हुनेछन्। के त्यो सत्यताप्रति वितृष्ण हुनु होइन र? मानौँ तैँले तिनीहरूलाई सङ्गतिमा यसो भन्छस्, “परमेश्‍वरले पावल जस्ता मानिसहरूलाई मन पराउनुहुन्न, र उहाँले ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने, र दिनभरि ‘प्रभु, प्रभु, के मैले तपाईंको लागि धेरै काम गरेको छैन र?’ भन्दै हिँड्ने मानिसहरूलाई सबैभन्दा बढी घिनाउनुहुन्छ। उहाँले दिनभरि उहाँलाई इनाम र मुकुट माग्दै हिँड्ने मानिसहरूलाई घिनाउनुहुन्छ।” यी वचनहरू अवश्य नै सत्यता हुन्, तर यस्तो सङ्गति सुन्दा तिनीहरूले कस्तो अनुभूति गर्छन्? के तिनीहरूले त्यस्ता वचनहरूप्रति आमेन भन्छन् र तिनलाई स्विकार्छन्? तिनीहरूको पहिलो प्रतिक्रिया के हुन्छ? हृदयमा घृणा र सुन्ने अनिच्छा—तिनीहरूले भन्न खोजेको के हुन्छ भने, “तिमीले भनिरहेको कुराप्रति तिमी कसरी यति निश्‍चित हुन सक्छौ? के तिमीले अन्तिम निर्णय गर्छौ र? तिमीले जे भनिरहेका छौ त्यसमा मलाई विश्‍वास लाग्दैन! म जे गर्न चाहन्छु त्यही गर्नेछु। म पनि पावल जस्तै हुनेछु र परमेश्‍वरलाई एउटा मुकुट माग्‍नेछु। त्यसरी, मैले आशिष् र गन्तव्य पाउन सक्छु!” तिनीहरूले पावलका दृष्टिकोणहरूलाई कायम राख्‍न जिद कस्छन्। के तिनीहरूले यसरी परमेश्‍वरको विरुद्धमा लडाइँ गरिरहेका हुँदैनन् र? के त्यो परमेश्‍वरप्रतिको स्पष्ट विरोध होइन र? परमेश्‍वरले पावलको सारलाई खुलासा र विश्लेषण गर्नुभएको छ; उहाँले यसबारे धेरै कुरा बताउनुभएको छ, र उहाँले भन्नुभएको हरेक कुरा सत्य हो—तैपनि यी ख्रीष्टविरोधीहरूले सत्यतालाई वा पावलका सबै कार्य र व्यवहारहरू परमेश्‍वरको विरोधमा थिए भन्‍ने तथ्यलाई स्विकार्दैनन्। तिनीहरूले मनमा अझै पनि यस्तो प्रश्न गर्छन्: “यदि तिमीले केही भन्यौ भने, के त्यसको अर्थ त्यो कुरा सही हो भन्‍ने हुन्छ? कुन आधारमा? मेरो विचारमा, पावलले भनेको र गरेको कुरा सही देखिन्छ। यसमा गलत कुरा केही पनि छैन। म मुकुट र इनाम पछ्याइरहेको छु—म त्यही कुरामा सक्षम छु! के तिमी मलाई रोक्न सक्छौ? म काम गर्न खोज्नेछु; मैले धेरै काम गरिसकेपछि, मसँग पूँजी हुनेछ—मैले योगदान दिएको हुनेछु, त्यसकारण, म स्वर्गको राज्यमा प्रवेश गर्न र इनाम पाउन सक्‍ने हुनेछु। यसमा केही गलत छैन!” तिनीहरू यति जिद्दी हुन्छन्। तिनीहरूले सत्यतालाई अलिकति पनि स्विकार्दैनन्। तैँले तिनीहरूलाई सत्यतामा सङ्गति दिन सक्छस्, तर यो कुरा तिनीहरूले बुझ्नेछैनन्; तिनीहरू यसप्रति वितृष्ण हुन्छन्। परमेश्‍वरका वचनहरू र सत्यताप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यस्तै हुन्छ, र परमेश्‍वरप्रति पनि तिनीहरूको मनोवृत्ति यस्तै हुन्छ। त्यसोभए, सत्यता सुनेपछि तिमीहरूलाई कस्तो महसुस हुन्छ? तँलाई आफूले सत्यता नपछ्याइरहेको, र यसलाई नबुझेको महसुस हुन्छ। तँलाई अझै पनि आफूमा यो कुराको धेरै कमी छ, र आफूले सत्यता वास्तविकतातर्फ लागिपर्नुपर्छ भन्‍ने लाग्छ। अनि जब तैँले आफूलाई परमेश्‍वरका वचनहरूसँग तुलना गर्छस्, तब तँलाई आफूमा धेरै कमीकमजोरी छ, आफ्नो क्षमता कमजोर छ, र आफूमा आत्मिक बुझाइको कमी छ—तँ अझै पनि झाराटारुवा छस्, र तँमा अझै पनि दुष्टता छ भन्‍ने लाग्छ। त्यसपछि, तँ नकारात्मक बन्छस्। के तेरो स्थिति त्यही होइन र? अर्कोतर्फ, ख्रीष्टविरोधीहरू कहिल्यै पनि नकारात्मक हुँदैनन्। तिनीहरू सधैँ अत्यन्तै उत्साहित हुन्छन्, तिनीहरूले कहिल्यै आत्मचिन्तन गर्दैनन् वा आफूलाई चिन्दैनन्, तर आफूसँग कुनै ठूलो समस्या छैन भन्‍ने सोच्छन्। सधैँ अहङ्कारी र आत्मधर्मी हुने मानिसहरू यस्तै हुन्छन्—तिनीहरूले शक्ति हातमा लिने बित्तिकै, तिनीहरू ख्रीष्टविरोधीहरूमा परिणत हुन्छन्।

आ. ख्रीष्टविरोधीहरूले कसरी सधैँ मानिसहरूलाई नियन्त्रण गर्ने र जित्ने चाहना र महत्त्वाकाङ्क्षा राख्छन् भन्ने कुराको विश्लेषण

हामी ख्रीष्टविरोधीहरूले सधैँ मानिसहरूलाई नियन्त्रण गर्ने र जित्ने चाहना र महत्त्वाकाङ्क्षा राख्छन् भन्ने बुँदामा सङ्गति जारी राख्नेछौँ। यो समस्या तिनीहरूले कसैसँग सहकार्य गर्न नसक्नुभन्दा पनि गम्भीर छ। तिमीहरूले अरूलाई नियन्त्रण गर्न र विजय गर्न मन पराउनेहरू कस्ता मानिस हुन् भन्छौ? कस्तो व्यक्तिसँग अरूलाई नियन्त्रण गर्ने र विजय गर्ने महत्त्वाकाङ्क्षा र चाहना हुन्छ? म तिमीहरूलाई एउटा उदाहरण दिन्छु। के हैसियतलाई अत्यन्तै मन पराउने मानिसहरूले अरूलाई नियन्त्रण र विजय गर्नमा आनन्द लिन्छन्? के तिनीहरू ख्रीष्टविरोधीहरू सरह होइनन् र? तिनीहरूले अरू मानिसहरूलाई बहकाउँछन्, नियन्त्रण गर्छन्, र अधीनमा राख्छन्, जसले गर्दा अरूले तिनीहरूलाई आराधना गर्छन् र तिनीहरूको कुरा मान्छन्। यसरी तिनीहरूले मानिसहरूको सम्‍मान र आदर प्राप्त गर्छन्, र आफूप्रति मानिसहरूलाई आराधना गर्न र आदरभावले हेर्न लगाउँछन्। के त्यसपछि मानिसहरूको हृदयमा तिनीहरूका लागि ठाउँ हुँदैन र? यदि मानिसहरू तिनीहरूप्रति विश्‍वस्त भएनन् र उनीहरूले तिनीहरूलाई अनुमोदन गरेनन् भने, के तिनीहरूको आराधना गर्नेथिए? कदापि गर्नेथिएनन्। त्यसकारण, यी मानिसहरूले हैसियत पाएपछि, तिनीहरूले अझै पनि अरूलाई मनाउन, पूर्ण रूपमा उनीहरूको मन जित्न, र आदर गर्न लगाउन आवश्यक पर्छ। त्यसपछि मात्रै मानिसहरूले तिनीहरूको आराधना गर्नेछन्। त्यो एक प्रकारको व्यक्ति हो। अर्को प्रकारको व्यक्ति पनि हुन्छ—जो विशेष गरी अहङ्कारी हुन्छन्। तिनीहरूले पनि मानिसहरूलाई उही तरिकाले व्यवहार गर्छन्: तिनीहरूले सुरुमा मानिसहरूलाई वशमा राख्छन्, सबैलाई तिनीहरूको आराधना र आदर गर्न लगाउँछन्। त्यसपछि मात्रै तिनीहरू सन्तुष्ट हुन्छन्। अत्यन्तै द्वेषपूर्ण मानिसहरू अरूलाई नियन्त्रण गर्न, मानिसहरूलाई आफ्नो कुरा सुन्न लगाउन, आफ्नो वरिपरि राख्न, र आफ्ना लागि काम गराउन पनि मन पराउँछन्। अत्यन्तै अहङ्कारी र द्वेषपूर्ण दुवै स्वभावका मानिसहरूले शक्ति लिएपछि, तिनीहरू ख्रीष्टविरोधी बन्छन्। ख्रीष्टविरोधीहरूसँग सधैँ अरूलाई नियन्त्रण गर्ने र विजय गर्ने महत्त्वाकाङ्क्षा र चाहना हुन्छ; मानिसहरूसँगको भेटघाटमा, तिनीहरू सधैँ अरूले आफूलाई कसरी हेर्छन्, अरूको हृदयमा आफ्ना लागि ठाउँ छ कि छैन, र अरूले आफूलाई आदर र आराधना गर्छन् कि गर्दैनन् भनेर निश्‍चित हुन चाहन्छन्। यदि तिनीहरूले चाकडी गर्न, चापलुसी गर्न र खुसामद गर्न सिपालु व्यक्तिलाई भेटे भने, तिनीहरू अत्यन्तै खुसी हुन्छन्; त्यसपछि तिनीहरू उच्च ओहदामा बसेर मानिसहरूलाई भाषण दिन र बुलन्द विचारहरूबारे बकवास कुरा गर्न, मानिसहरूलाई प्रावधान, विधि, धर्मसिद्धान्त र धारणाहरू सिकाउन थाल्छन्। तिनीहरूले मानिसहरूलाई यी कुराहरू सत्यता हुन् भनेर स्विकार्न लगाउँछन्, र ती कुराहरूलाई सकारात्मक रूपमा समेत प्रस्तुत गर्छन्: “यदि तिमीले यी कुराहरूलाई स्विकार्न सक्छौ भने, तिमी सत्यतालाई प्रेम गर्ने र पछ्याउने व्यक्ति हौ।” अविवेकी मानिसहरूले तिनीहरूले भनेको कुरा उचित छ भनेर सोच्नेछन्, र उनीहरू यो कुरामा स्पष्ट नभए पनि, उनीहरूलाई यो सत्यता अनुरूप छ कि छैन भनेर थाहा नभए पनि, यति मात्र लाग्छ कि तिनीहरूले भनेको कुरामा केही गलत छैन, र यसले सत्यतालाई उल्लङ्घन गर्दैन। त्यसकारण, उनीहरूले ख्रीष्टविरोधीहरूको आज्ञापालन गर्छन्। यदि कसैले ख्रीष्टविरोधीलाई खुट्याउन सक्छ र खुलासा गर्ने सम्भावना छ भने, यसले ख्रीष्टविरोधीलाई रिस उठाउनेछ, जसले ऊमाथि अशिष्ट तरिकाले दोष थोपर्नेछ, उसलाई निन्दा गर्नेछ, र शक्ति देखाएर धम्की दिनेछ। समझहीन मानिसहरू पूर्ण रूपमा ख्रीष्टविरोधीद्वारा वशमा पारिन्छन् र तिनीहरूले हृदयको गहिराइबाट उसको आदर गर्छन्, जसले गर्दा तिनीहरूमा ख्रीष्टविरोधीप्रति आराधना, भरोसा, र भय समेत पैदा हुन्छन्। तिनीहरूलाई ख्रीष्टविरोधीको दासत्वमा परेको छु भन्‍ने आभास हुन्छ, मानौँ तिनीहरूले ख्रीष्टविरोधीको नेतृत्व, शिक्षा र आलोचना गुमाए भने तिनीहरूलाई हृदयमा छटपटि हुनेछ। यी कुराहरूविना, यस्तो लाग्छ कि तिनीहरूलाई सुरक्षाको आभास हुँदैन, र परमेश्‍वरले अब तिनीहरूलाई नचाहन पनि सक्नुहुन्छ। त्यसपछि, ख्रीष्टविरोधी दुखी हुनेछ भन्‍ने डरले सबैले ख्रीष्टविरोधीले काम गर्दा उसको हाउभाउलाई नियाल्न सिकेका हुन्छन्। तिनीहरू सबैले उसलाई खुशी पार्ने प्रयास गर्छन्; त्यस्ता मानिसहरू ख्रीष्टविरोधीलाई पछ्याउने कार्यमा दत्तचित्त भएर लागेका हुन्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो काममा शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्छन्। तिनीहरू मानिसहरूलाई निश्‍चित प्रावधानहरू पालना गर्न सिकाउन सिपालु हुन्छन्; तिनीहरूले मानिसहरूलाई तिनीहरूले पालना गर्नुपर्ने सत्यता सिद्धान्तहरू के-के हुन्, तिनीहरूले किन यसरी नै काम गर्नुपर्छ, परमेश्‍वरका अभिप्रायहरू के-के हुन्, परमेश्‍वरको घरले कामका लागि के-कस्ता बन्दोबस्तहरू गरेको छ, सबैभन्दा अत्यावश्यक र महत्त्वपूर्ण काम के हो, वा गर्नुपर्ने मुख्य काम के हो भनेर कहिल्यै बताउँदैनन्। ख्रीष्टविरोधीहरूले यी महत्त्वपूर्ण कुराहरूका बारेमा बिलकुलै केही भन्दैनन्। तिनीहरूले काम गर्दा र कामको बन्दोबस्त गर्दा कहिल्यै पनि सत्यतामा सङ्गति गर्दैनन्। तिनीहरू आफैले पनि सत्यता सिद्धान्तहरू बुझेका हुँदैनन्, त्यसकारण तिनीहरूले गर्न सक्‍ने भनेकै मानिसहरूलाई केही प्रावधान र धर्मसिद्धान्तहरू पालना गर्न सिकाउनु हो—र यदि मानिसहरू तिनीहरूका भनाइ र प्रावधानहरूको विरुद्धमा गए भने, तिनीहरूले ख्रीष्टविरोधीहरूको गाली र हप्काइको सामना गर्नेछन्। ख्रीष्टविरोधीहरू प्रायः परमेश्‍वरको घरको नाममा काम गर्छन्, उच्च ओहदामा बसेर अरूलाई हप्काउँछन् र भाषण दिन्छन्। कतिपय मानिसहरू तिनीहरूको भाषणद्वारा यति हतोत्साहित समेत हुन्छन् कि ख्रीष्टविरोधीहरूका मापदण्डहरू अनुसार काम नगर्दा तिनीहरूलाई परमेश्‍वरप्रति ऋणी भएको महसुस हुन्छ। के त्यस्ता मानिसहरू ख्रीष्टविरोधीहरूको नियन्त्रणमा आएका छैनन् र? (आएका छन्।) ख्रीष्टविरोधीहरूको यो कस्तो व्यवहार हो? यो दासत्वको व्यवहार हो। “दासत्व” लाई ठूलो रातो अजिङ्गरको राष्ट्रको शब्दमा “मगज परिवर्तन गर्नु” भनिन्छ। यो त ठूलो रातो अजिङ्गरले परमेश्‍वरका विश्‍वासीहरूलाई पक्राउ गरेको जस्तै हो। तिनीहरूलाई यातना दिने बाहेक, यसले अर्को विधि पनि प्रयोग गर्छ: दिमाग भुट्ने काम। चाहे तिनीहरू किसान हुन्, वा श्रमिक हुन्, वा बुद्धिजीवी हुन्, ठूलो रातो अजिङ्गरले मानिसहरूको मगज परिवर्तन गर्नका लागि आफ्ना अनेक किसिमका झूटा शिक्षा र भ्रमहरू—नास्तिकता, क्रम विकासको सिद्धान्त, र मार्क्सवाद-लेनिनवादको प्रयोग गर्छ; मानिसहरूलाई ती कुराहरू जति नै घिनलाग्दा वा घृणित लागे पनि यसले मानिसहरूमा यी कुराहरू जबरजस्ती हालिदिन्छ, त्यसपछि मानिसहरूका हातखुट्टा बाँध्न र तिनीहरूको हृदय नियन्त्रण गर्न यी विचार र सिद्धान्तहरू प्रयोग गर्छ। ठूलो रातो अजिङ्गरले यसरी नै मानिसहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट, सत्यतालाई स्विकार्नबाट, र मुक्ति र सिद्धता प्राप्तिका लागि सत्यता पछ्याउनबाट रोक्छ। त्यसरी नै, ख्रीष्टविरोधीहरूले नियन्त्रणमा राखेका मानिसहरूले जति धेरै प्रवचन सुने पनि, तिनीहरूले सत्यता के हो, वा परमेश्‍वरमा साँच्चिकै केका लागि विश्‍वास गरिन्छ, वा तिनीहरूले कस्तो मार्ग लिनुपर्छ, वा हरेक काम गर्ने क्रममा तिनीहरूमा हुनुपर्ने सही दृष्टिकोण, वा तिनीहरूले लिनुपर्ने अडान के हो भन्‍ने कुरा बुझ्न सक्दैनन्। तिनीहरूले यी कुनै कुरा बुझेका हुँदैनन्; तिनीहरूका हृदयमा शब्द र धर्मसिद्धान्तहरू, अनि ख्रीष्टविरोधीहरूका खोक्रा सिद्धान्तहरू मात्र हुन्छन्। अनि लामो समयसम्म ख्रीष्टविरोधीहरूको बहकाइ र नियन्त्रणमा रहेपछि, तिनीहरू पूर्ण रूपमा ख्रीष्टविरोधीहरू जस्तै बन्छन्: तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्ने, तर सत्यतालाई पटक्‍कै स्वीकार नगर्ने, र यतिसम्म कि परमेश्‍वरको विरोध गर्ने र आफूलाई उहाँको विरुद्धमा खडा गर्ने मानिस बन्छन्। ख्रीष्टविरोधीहरूको बहकाइ र नियन्त्रणमा पर्नेहरू कस्ता मानिस हुन्? निस्सन्देह, तिनीहरूमध्ये कोही पनि सत्यताप्रेमी होइनन्—तिनीहरू सबै पाखण्डी हुन्, परमेश्‍वरमाथिको विश्‍वासमा सत्यता नपछ्याउने र आफ्नो कर्तव्य पूरा गर्दा उचित मामलाहरूमा ध्यान नदिने मानिसहरू हुन्। परमेश्‍वरमाथिको विश्‍वासमा, यी मानिसहरूले परमेश्‍वरलाई पछ्याउँदैनन्; बरु तिनीहरूले ख्रीष्टविरोधीहरूलाई पछ्याउँछन्, तिनीहरू ख्रीष्टविरोधीहरूका दास बन्छन्, र फलस्वरूप तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। यो परिणाम अपरिहार्य हुन्छ।

परमेश्‍वरले मानिसहरूलाई कस्तो सिद्धान्तद्वारा व्यवहार गर्नुहुन्छ? शक्तिद्वारा? नियन्त्रणद्वारा? होइन—यो नियन्त्रणको ठीक विपरीत हो। परमेश्‍वरले मानिसहरूलाई व्यवहार गर्दा कस्तो सिद्धान्त अपनाउनुहुन्छ? (उहाँले तिनीहरूलाई स्वतन्त्र इच्छा दिनुहुन्छ।) हो, उहाँले तँलाई स्वतन्त्र इच्छा दिनुहुन्छ। उहाँले तय गर्नुभएका वातावरणहरूमा तँलाई आफ्नो बुझाइमा आउन सक्षम तुल्याउनुहुन्छ, ताकि तँ स्वाभाविक रूपमा नै मानव बुझाइ र अनुभवमा पुग्न सक्। उहाँले तँलाई सत्यताको एउटा पक्ष स्वाभाविक रूपमा नै बुझ्न मदत गर्नुहुन्छ, ताकि तैँले फेरि यस्तो वातावरणको सामना गर्दा, के गर्ने र के निर्णय गर्ने भनेर तँलाई थाहा होस्। उहाँले तँलाई के सही छ र के गलत छ भनेर हृदयको गहिराइबाट बुझ्न पनि मदत गर्नुहुन्छ, ताकि तैँले अन्तिममा सही मार्ग छनौट गर्। परमेश्‍वरले तँलाई नियन्त्रण गर्नुहुन्न, र उहाँले तँलाई जबरजस्ती गर्नुहुन्न। तर एक ख्रीष्टविरोधीले ठीक यसको विपरीत कार्य गर्छ: उसले तँलाई बहकाएर दिमाग भुट्नेछर प्रशिक्षण दिनेछ, त्यसपछि तँलाई आफ्नो दास बनाउनेछ। मैले किन “दास” भन्‍ने शब्द प्रयोग गरेँ? दास भनेको के हो? यसको अर्थ तैँले ख्रीष्टविरोधी सही छ कि गलत छ भनेर खुट्याउनेछैनस्, र त्यसो गर्ने आँट गर्नेछैनस्—तैँले ऊ सही छ कि गलत छ भनेर थाहा पाउनेछैनस्; तँ हृदयमा अलमलिएको र अन्योलमा परेको हुनेछस्। तँ के सही हो र के सही होइन भन्‍ने कुरामा स्पष्ट हुनेछैनस्; तैँले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्‍ने कुरा तँलाई थाहा हुनेछैन। तैँले कठपुतलीझैँ बनेर ख्रीष्टविरोधीको निर्देशन पर्खिनेछस्, ख्रीष्टविरोधीले आदेश दिएन भने केही गर्ने आँट गर्दैनस्, र उसका आदेशहरू सुनेपछि मात्र काम गर्ने आँट गर्छस्। तैँले आफ्ना जन्मसिद्ध क्षमताहरू गुमाएको हुनेछस्, र तेरो स्वतन्त्र इच्छाले आफ्नो भूमिका खेल्नेछैन। तँ मरेतुल्य बनेको हुनेछस्। तँसँग हृदय त हुनेछ, तर तैँले सोच्न सक्‍नेछैनस्; तँसँग मन त हुनेछ, तर तैँले समस्याहरूका बारेमा विचार गर्न सक्‍नेछैनस्—तैँले के सही र के गलत हो, कस्ता कुराहरू सकारात्मक र कस्ता कुराहरू नकारात्मक हुन्, वा काम गर्ने सही तरिका के हो र काम गर्ने गलत तरिका के हो भनेर थाहा पाउनेछैनस्। तैँले थाहै नपाई ख्रीष्टविरोधीले तँलाई नियन्त्रणमा लिएको हुनेछ। उसले के कुरालाई नियन्त्रण गर्नेछ? तेरो हृदयलाई, कि तेरो मनलाई? तेरो हृदयलाई; त्यसपछि तेरो मन स्वतः उसको नियन्त्रणमा पर्नेछ। उसले तेरा हातखुट्टा कसेर बाँध्‍नेछ, ताकि तैँले हरेक पटक कदम चाल्दा, तँ हिचकिचाहट र शङ्कामा फस्छस्, र पछाडि हट्छस्; त्यसपछि तैँले अर्को कदम चालेर केही कार्य गर्न चाहन्छस्, तर तँ फेरि पछि हट्छस्। तैँले गर्ने हरेक कामकुरामा, तेरो दृष्टि धमिलो र अस्पष्ट हुनेछ। यसलाई ख्रीष्टविरोधीका भ्रामक टिप्पणीहरूबाट अलग गर्न सकिँदैन। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्ने मुख्य तरिका के हो? तिनीहरूले मानिसहरूका धारणा र कल्पनाहरूसँग, मानव भावनाहरूसँग, र मानव तर्कसँग मिल्दा कुराहरू मात्र भन्छन्। तिनीहरूले बोल्दा तिनीहरूमा थोरै भए पनि मानवता छ जस्तो देखिन्छ, तर तिनीहरूमा कुनै सत्यता वास्तविकता हुँदैन। ल भन् त, के ख्रीष्टविरोधीहरूको नियन्त्रणमा रहेका र तिनीहरूलाई पछ्याउने मानिसहरूले परमेश्‍वरको घरमा आफ्नो सारा हृदय र शक्तिले कर्तव्य निर्वाह गर्न सक्छन्? (सक्दैनन्।) त्यसको कारण के हो? तिनीहरूले सत्यता बुझेका हुँदैनन्—मुख्य कारण त्यही हो। अनि अर्को कारण पनि छ: ख्रीष्टविरोधीहरू शक्तिको खेलमा संलग्‍न हुन्छन्; तिनीहरूले आफ्नो कर्तव्य निर्वाहमा सत्यताको अभ्यास गर्दैनन्, न त आफ्नो सारा हृदय र शक्तिले नै कर्तव्य निर्वाह गर्छन्। त्यसोभए के तिनीहरूका नोकरहरूले सत्यताको अभ्यास गर्न सक्छन्? ख्रीष्टविरोधी जस्तो हुन्छ, उसका साथमा रहेका नोकरहरू पनि त्यस्तै हुनेछन्। ख्रीष्टविरोधीहरूले सत्यताको अभ्यास नगर्ने, सिद्धान्तहरूका विरुद्धमा जाने, परमेश्‍वरको घरका हितहरूलाई उल्लङ्घन गर्ने, अनुचित व्यवहार गर्ने र तानाशाहीझैँ व्यवहार गर्ने कार्यमा अग्रसरता जनाउँछन्। के यसले तिनीहरूका नोकरहरूलाई असर गर्दैन र? असर नगर्ने हुँदै हुँदैन। त्यसोभए, तिनीहरूले बन्धनमा पार्ने र नियन्त्रण गर्ने ती मानिसहरूको हालत कस्तो हुनेछ? तिनीहरू एक-अर्काबाट सावधान हुनेछन्, तिनीहरूले एक-अर्काप्रति शङ्का गर्नेछन् र एक-अर्कासँग लडाइँ गर्नेछन्—प्रसिद्धि र प्राप्तिका लागि, चम्किने मौकाका लागि, र पूँजीका लागि प्रतिस्पर्धा गर्नेछन्। भित्री रूपमा, ख्रीष्टविरोधीको नियन्त्रणमा रहेका सबै जना बेमेलमा हुन्छन् र तिनीहरू समान विचारधाराका हुँदैनन्। तिनीहरू आफ्ना व्यवहारमा सतर्क र सावधान हुन्छन्; तिनीहरू एक-अर्कासँग खुलस्त हुँदैनन्, र एक-अर्कासँग तिनीहरूको सामान्य मानव सम्बन्ध हुँदैन। तिनीहरूका बीचमा कुनै सामान्य सङ्गति हुँदैन, प्रार्थनार्थ पठन हुँदैन, कुनै सामान्य आत्मिक जीवन हुँदैन। तिनीहरू पनि संसारका गैरविश्‍वासी र शैतानी समूहहरू जस्तै विभाजित हुन्छन्। कुनै ख्रीष्टविरोधी शक्तिमा हुँदा त्यस्तै हुन्छ। मानिसहरूका बीचमा सतर्कता, खुला र गुप्त सङ्घर्ष, विनाश, डाहा, आलोचना, र कसले कम जिम्मेवारी भन्ने तुलना हुन्छ: “तिमी जिम्मेवारी लिँदैनौ भने, म पनि लिन्नँ। तिमी आफै परमेश्‍वरको घरका हितहरूका बारेमा विचार गर्दैनौ भने, कुन आधारमा मलाई विचार गर्न लगाउँछौ? त्यसोभए म तिनलाई ध्यान नै दिनेछैनँ!” के त्यस्तो ठाउँ परमेश्‍वरको घर हो? होइन। यो कस्तो ठाउँ हो? यो शैतानको गुट हो। त्यहाँ सत्यताले शासन गर्दैन; त्यसमा पवित्र आत्माको काम, वा परमेश्‍वरको आशिष्, वा उहाँको नेतृत्व हुँदैन। त्यसकारण, त्यहाँका सबै मानिसहरू सानातिना दियाबलस जस्तै हुन्छन्। बाहिरी रूपमा, तिनीहरूले अरूका बारेमा बोल्ने प्रशंसाका शब्दहरू राम्रा सुनिन्छन्: “अहो, तिनीहरूले साँच्‍चै नै परमेश्‍वरलाई प्रेम गर्छन्; तिनीहरूले साँच्‍चै नै भेटीहरू दिन्छन्; तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा साँच्चै नै कष्ट भोग्छन्!” तर तिनीहरूलाई कुनै व्यक्तिको मूल्याङ्कन गर्न लगाइयो भने, तिनीहरूले उसको पिठ्यूँ पछाडि भन्‍ने कुरा उसको उपस्थितिमा भन्‍ने कुराभन्दा फरक हुनेछ। यदि दाजुभाइ-दिदीबहिनीहरू कुनै झूटा अगुवाको हातमा परे भने, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्दा छरिएको बालुवाको थुप्रो जस्तै छरपस्ट हुनेछन्—तिनीहरूले नतिजा प्राप्त गर्नेछैनन्, र तिनीहरूसँग पवित्र आत्माको काम हुनेछैन, र तिनीहरूमध्ये धेरैले सत्यता पछ्याउनेछैनन्। त्यसोभए, तिनीहरू ख्रीष्टविरोधीको नियन्त्रणमा परे भने के गर्ने? ती मानिसहरूलाई उप्रान्त मण्डली भनेर भन्‍न मिल्दैन। तिनीहरू पूर्णतया शैतानको गुट र ख्रीष्टविरोधीको समूह अन्तर्गत पर्छन्।

ख्रीष्टविरोधीहरू किन सधैँ मानिसहरूलाई नियन्त्रण गर्न चाहन्छन्? किनभने तिनीहरूले परमेश्‍वरको घरका हितहरूको रक्षा गर्दैनन्, न त तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशबारे वास्ता नै गर्छन्। तिनीहरूले आफ्नो शक्ति, हैसियत, र प्रतिष्ठाको बारेमा मात्र विचार गर्छन्। तिनीहरू मानिसहरूको हृदयलाई नियन्त्रणमा राखे र सबैलाई तिनीहरूको आराधना गर्न लगाए भने, आफ्नो महत्त्वाकाङ्क्षा र चाहना पूरा हुनेछ भन्‍ने विश्‍वास गर्छन्। परमेश्‍वरको घरका हितहरू, वा मण्डलीको काम, वा परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशसँग सम्बन्धित कुराहरूका हकमा भन्दा, तिनीहरूले ती कुराहरूका बारेमा पटक्‍कै वास्ता गर्दैनन्। समस्याहरू देखा पर्दा पनि, तिनीहरूले देख्‍न सक्दैनन्। तिनीहरूले परमेश्‍वरको घरमा कर्मचारीको उचित बन्दोबस्त नभएको ठाउँ कहाँ छ; वा परमेश्‍वरको घरको सम्पत्ति कहाँनेर अनुचित रूपमा बाँडफाँट गरिएको छ, र धेरै हराएको छ, साथै कसले यसलाई हिनामिना गरेको छ; वा कसले तिनीहरूको काममा बाधा र अवरोधहरू ल्याइरहेको छ; वा कसले मानिसहरूलाई अनुचित रूपमा प्रयोग गरिरहेको छ; वा को आफ्नो काममा झाराटारुवा भइरहेको छ भन्‍ने जस्ता समस्याहरू देख्‍न सक्दैनन्—तिनीहरूले त्यस्ता समस्याहरूलाई सम्हाल्नु त झन् परको कुरा हो। तिनीहरूले के कुरा सम्हाल्छन्? तिनीहरूले के-कस्ता कुरामा हस्तक्षेप गर्छन्? (सानातिना मामलामा।) के-कस्ता कुराहरू सानातिना मामला हुन्? केही विवरणहरू दे। (कतिपय अगुवाहरू निश्‍चित दाजुभाइ-दिदीबहिनीहरूको घरका मामलाहरू समाधान गर्नतिर लाग्छन्—उदाहरणका लागि, परिवारमा कोही अर्को कसैसँग मिलिरहेको छैन। यी त दैनिक जीवनका मामला मात्र हुन्।) त्यो त झूटा अगुवाहरूले गर्ने कुरा हो। अनि ख्रीष्टविरोधीहरूले के गर्छन्? (तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूको जीवन प्रवेशलाई वा सत्यता सिद्धान्तहरू विपरीत रहेका कुराहरूलाई ध्यान दिँदैनन्; तिनीहरूले आफ्नो इज्जत र हैसियतलाई छुने कुराहरूलाई मात्र ध्यान दिन्छन्—उदाहरणका लागि, मानिसहरूले तिनीहरूले भनेको कुरा नगर्नु, वा केही मानिसहरूले तिनीहरूलाई घृणा गर्नु जस्ता कुराहरूलाई मात्र ध्यान दिन्छन्। तिनीहरूले त्यस्ता कुराहरू सम्हाल्छन्।) त्यो यसकै पाटो हो। यस्ता कुराहरू हुन्छन्। ख्रीष्टविरोधीहरूले को स्वागत योग्य छैन, कसले तिनीहरूलाई आदर गर्दैन, र कसले तिनीहरूलाई खुट्याउन सक्छ भनेर जाँच गर्छन्। तिनीहरूले यी कुराहरू देख्छन् र तिनलाई दिमागमा राख्छन्; यस्ता कुराहरू तिनीहरूका लागि अत्यन्तै महत्त्वपूर्ण हुन्छन्। अरू के छ? (यदि मण्डलीमा निर्वाचित व्यक्तिमा तिनीहरूलाई खुट्याउन सक्ने क्षमता छ र तिनीहरूसँग उसको विचारधारा मिल्दैन भने, तिनीहरूले त्यस व्यक्तिको गल्ती पत्ता लगाउने, र उसलाई प्रतिस्थापन गर्ने उपायहरू खोज्छन्। तिनीहरू त्यस्तो काम गर्न रुचाउँछन्।) खराब कामकुरा गर्ने व्यक्तिमा जे-जस्ता गल्ती वा समस्याहरू भए पनि, वा उसले जति नै बाधा र अवरोधहरू सिर्जना गरे पनि, ख्रीष्टविरोधीले यसबारे ध्यानै दिँदैन—उसले विशेषतः आफ्नो कर्तव्य पूरा गर्ने र सत्यता पछ्याउने मानिसहरूमा गल्ती खोज्छ, र ती मानिसहरूलाई प्रतिस्थापन गर्ने औचित्य र बहानाहरू खोज्छ। ख्रीष्टविरोधीहरूले अरूलाई नियन्त्रण गर्ने कार्य प्रकट हुने अर्को मुख्य तरिका पनि छ: साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई नियन्त्रण गर्ने बाहेक, तिनीहरूले कामको हरेक पक्षको प्रभारी मानिसहरूलाई नियन्त्रण गर्ने कोसिस गर्छन्। तिनीहरू सधैँ सबै शक्ति आफ्नै पकडमा राख्न चाहन्छन्। त्यसकारण, तिनीहरूले सबै कुराको बारेमा सोध्छन्; तिनीहरू मानिसहरूले कसरी काम गर्छन् भनेर हेर्नका लागि सबै कुरामा ध्यान दिन्छन् र निगरानी राख्छन्। तिनीहरूले मानिसहरूलाई सत्यता सिद्धान्तहरूमा पटक्‍कै सङ्गति दिँदैनन्, वा मानिसहरूलाई काम गर्ने स्वतन्त्रता दिँदैनन्। तिनीहरूले सबैलाई आफूले भनेझैँ गराउन र आफूप्रति समर्पित गराउन चाहन्छन्। तिनीहरू सधैँ आफ्नो शक्ति बाँडिनेछ र अरू मानिसहरूले लिनेछन् भन्ने डरमा हुन्छन्। कुनै समस्याको बारेमा छलफल गर्दा, जति धेरै मानिसहरूले यसको बारेमा सङ्गति गरिरहेका भए पनि वा तिनीहरूको सङ्गतिले जे-जस्ता परिणामहरू दिए पनि, तिनीहरूले यो सबै कुरालाई इन्कार गर्नेछन्, र छलफल फेरि सुरु गर्नुपर्नेछ। अनि यसको अन्तिम नतिजा के हुन्छ? सबैले तिनीहरूको कुरा नसुनेसम्म कुरा सकिएको हुँदैन, र यदि त्यसो भएन भने, तिनीहरूले सङ्गति गरिरहनुपर्छ। यस्तो सङ्गति कहिलेकहीँ मध्यरातसम्‍म चलिरहन्छ, र कोही पनि सुत्न पाउँदैन; तिनीहरूले भनेको कुरा अरूले नसुनेसम्म यो समाप्त हुँदैन। यो ख्रीष्टविरोधीहरूले गर्ने कुरा हो। के यस्तो काम गर्दा, ख्रीष्टविरोधीले कामको जिम्मेवारी लिइरहेको हुन्छ भनेर विश्‍वास गर्ने मानिसहरू छन्? कामको जिम्मेवारी लिनु र ख्रीष्टविरोधीहरूको निरङ्कुशता बीचको भिन्‍नता के हो? (अभिप्रायमा भिन्‍नता हुन्छ।) जब मानिसहरू कामप्रति विवेकशील र जिम्मेवार हुन्छन्, तिनीहरूले सत्यता सिद्धान्तहरूमा स्पष्ट रूपमा सङ्गति गर्नका लागि यसो गर्छन्, ताकि सबैले सत्यता बुझून्। अर्कोतर्फ, ख्रीष्टविरोधीहरू शक्ति कायम राख्‍न, अरूलाई नियन्त्रणमा राख्न, तिनीहरूका रायभन्दा फरक हुने र तिनीहरूको प्रतिष्ठा गुमाउन सक्‍ने सबै दृष्टिकोणहरूलाई खण्डन गर्नका लागि निरङ्कुशहरूझैँ व्यवहार गर्छन्। के यी अभिप्रायहरूका बीचमा भिन्‍नता छैन र? (छ।) तिनीहरूमा के भिन्‍नता छ? के तिमीहरूले त्यसलाई खुट्याउन सक्छौ? सङ्गतिद्वारा मानिसहरूलाई सत्यता सिद्धान्तहरू बुझ्न लगाउनु, र सम्मानका लागि प्रतिस्पर्धा गर्नु—यी दुई बीचको भिन्‍नता के हो? (अभिप्राय।) अभिप्राय मात्र होइन—अभिप्रायहरू त अवश्यै फरक हुन्छन्। (यीमध्ये एउटा शैलीले परमेश्‍वरको घरलाई बढी फाइदा पुर्‍याउनेछ।) तीमध्ये एउटाले परमेश्‍वरको घरलाई बढी फाइदा पुर्‍याउनु अर्को भिन्‍नता हो—जसले परमेश्‍वरको घरका हितहरूबारे विचार गर्छ। तर मुख्य चाहिँ भिन्‍नता के हो? यदि कसैले साँचो रूपमा सत्यतामा सङ्गति गरिरहेको छ भने, तैँले यो कुरा सुन्दा यो व्यक्तिगत स्पष्टीकरण वा प्रतिरक्षा होइन भनेर प्रस्टै हुन्छ। तिनीहरूले सङ्गति गर्ने सबै कुराको अभिप्राय सबैलाई परमेश्‍वरका अभिप्रायहरू बुझ्ने तुल्याउनु हो, र यो सबै परमेश्‍वरका अभिप्रायहरूप्रतिको गवाही हो। यस्तो सङ्गतिले सत्यता सिद्धान्तहरू स्पष्ट पार्छ, र यो सुनेपछि, मानिसहरूले अघि बढ्ने मार्ग प्राप्त गर्छन्—तिनीहरूलाई सिद्धान्तहरू के हुन् भन्‍ने थाहा हुन्छ, भविष्यमा तिनीहरूले के गर्नुपर्छ भन्‍ने थाहा हुन्छ, तिनीहरू आफ्नो कर्तव्य पूरा गर्दा सिद्धान्तहरू विरुद्ध जाने सम्भावना हुँदैन, र तिनीहरूको अभ्यासको लक्ष्य अझै सटीक हुनेछ। यस्तो सङ्गति व्यक्तिगत स्पष्टीकरण वा प्रतिरक्षाद्वारा अलिकति पनि दूषित हुँदैन। तर परिस्थितिलाई आफ्नो पक्षमा पार्न र अरूलाई आफ्नो नियन्त्रणमा राख्‍न चाहने ती मानिसहरूले कसरी प्रचार गर्छन्? तिनीहरूले केका बारेमा प्रचार गर्छन्? तिनीहरूले आफ्नो स्पष्टीकरणबारे, र आफूले गरेको कामको पछाडिका विचार, अभिप्राय, र उद्देश्यहरूबारे प्रचार गर्छन्, ताकि मानिसहरूले यसलाई स्वीकार गरून्, मानून्, र तिनीहरूलाई गलत नबुझून्। यो सबै आफ्‍नो स्पष्टीकरण मात्र हो; यसमा बिलकुलै सत्यता हुँदैन। यदि तैँले ध्यान दिएर सुनिस् भने, तिनीहरूले सङ्गति गर्ने कुरामा कुनै सत्यता हुँदैन—त्यो सबै मानव भनाइ, बहाना, र स्पष्टीकरणहरू मात्र हुन्। यति मात्रै हो। अनि तिनीहरूले बोलेपछि, के सबैले सिद्धान्तहरू बुझ्छन्? बुझ्दैनन्—तर तिनीहरूले वक्ताका अभिप्रायहरूका बारेमा धेरै नै बुझेका हुन्छन्। ख्रीष्टविरोधीहरूको विधि यही हो। तिनीहरूले मानिसहरूलाई यसरी नै नियन्त्रण गर्छन्। तिनीहरूलाई समूहभित्र आफ्‍नो हैसियत र प्रतिष्ठामा क्षति पुगेको छ र त्यसमा असर पुगेको छ भन्‍ने महसुस हुने बित्तिकै, तिनीहरूले तुरुन्तै भेला बोलाउँछन् र जसरी सकिन्छ ती कुराहरूलाई बचाउने कोसिस गर्छन्। अनि तिनीहरूले ती कुराहरूलाई कसरी बचाउँछन्? बहानाहरू बनाएर, स्पष्टीकरणहरू पेश गरेर, तिनीहरूले त्यो बेला सोचिरहेको कुरा भनेर। तिनीहरूले यी कुराहरू भन्‍नुको उद्देश्य के हो? तिनीहरूका बारेमा सबैमा रहेका गलतफहमीहरूलाई हटाउनु। यो त ठ्याक्कै ठूलो रातो अजिङ्गर जस्तै हो: त्यसले कसैलाई कष्ट र दण्ड दिएपछि, यसले उसलाई निर्दोष साबित गर्नेछ र उसलाई जुनसुकै आरोपबाट मुक्त गर्नेछ। यसो गर्नुको उद्देश्य के हो? (ढाकछोप गर्नु।) यसले तँलाई केही नराम्रो गरिसकेपछि तँलाई दोषमुक्त गर्छ र क्षतिपूर्ति दिन्छ, ताकि तैँले ठूलो रातो अजिङ्गर त वास्तवमा असल र भरोसायोग्य रहेछ भन्‍ने सोच्छस्। यसरी, त्यसको शासन खतरामुक्त हुन्छ। ख्रीष्टविरोधीहरू पनि यस्तै हुन्छन्: तिनीहरूले आफ्नो खातिर होइन भने केही पनि बोल्दैनन् वा गर्दैनन्; तिनीहरूले सत्यताको खातिर केही पनि बोल्दैनन्, परमेश्‍वरको घरका हितहरूका खातिर केही बोल्‍नु वा गर्नु त परको कुरा हो। तिनीहरूले भन्‍ने र गर्ने सबै कुरा आफ्नै ख्याति र हैसियतको खातिर हुन्छ। कतिपयले यसो भन्‍न सक्छन्, “तपाईंले तिनीहरूलाई ख्रीष्टविरोधीहरू भनेर परिभाषित गर्नु अन्याय हो, किनभने तिनीहरूले धेरै परिश्रम गर्छन्, र आफ्नो काम अत्यन्तै लगनशीलताका साथ गर्छन्, बिहानदेखि साँझसम्म परमेश्‍वरको घरका लागि काम गर्छन् र दौडधुप गर्छन्। तिनीहरू कहिलेकहीँ व्यस्त भएर खान समेत भ्याउँदैनन्। तिनीहरूले धेरै कष्ट भोगेका छन्!” अनि तिनीहरू कसका निम्ति कष्ट भोग्छन्? (आफ्‍नै निम्ति।) आफ्‍नै निम्ति। यदि तिनीहरूसँग कुनै हैसियत थिएन भने, के तिनीहरूले त्यस्तै गर्नेथिए? तिनीहरू आफ्नो ख्याति र हैसियतका लागि यसरी दौडधुप गर्छन्—तिनीहरूले इनामका लागि यसो गर्छन्। यदि तिनीहरूलाई इनाम दिइएन, वा तिनीहरूसँग कुनै ख्याति, प्राप्ति, वा हैसियत थिएन भने, तिनीहरू धेरै पहिले पछि हटेका हुनेथिए। तिनीहरूले अरूका अगाडि यी कुराहरू गर्छन्, र यसो गर्दा, तिनीहरू परमेश्‍वरलाई ती कुराका बारेमा थाहा दिन चाहन्छन्, र आफूले गरेका सबै कुरालाई मध्यनजर गरेर परमेश्वरले उचित इनाम दिनुहोस् भन्ने चाहन्छन्। तिनीहरूले अन्त्यमा चाहने भनेको इनाम हो; तिनीहरू सत्यता प्राप्त गर्न चाहँदैनन्। तैँले यो कुरा छर्लङ्गै बुझ्नुपर्छ। तिनीहरूलाई पर्याप्त पूँजी सञ्चित गरेको छु भन्‍ने महसुस भएपछि, अरूमाझ बोल्ने अवसर पाउँदा, तिनीहरूले के भन्छन्? पहिलो, आफ्ना योगदानहरूका बारेमा धाक देखाउँछन्—जुन एउटा मनोवैज्ञानिक आक्रमण हो। मनोवैज्ञानिक आक्रमण भनेको के हो? त्यो भनेको तिनीहरूले परमेश्‍वरको घरका लागि धेरै असल कामहरू गरेका छन्, योगदानहरू दिएका छन्, जोखिमहरू लिएका छन्, खतरनाक काम गरेका छन्, धेरै दौडधुप गरेका छन्, र ज्यादै कष्ट भोगेका छन् भनेर सबैलाई अन्तरात्मामा थाहा दिनु हो—आफ्‍ना योग्यताहरू अघि सार्नु र अरूका अगाडि आफ्नो पूँजीको बारेमा कुरा गर्नु हो। दोस्रो, तिनीहरूले केही अवास्तविक सिद्धान्तहरूका बारेमा अनावश्यक र अर्थहीन तरिकाले कुरा गर्छन्, जुन कुरा मानिसहरूलाई बुझे जस्तो लाग्छ, तर तिनीहरूले बुझेका हुँदैनन्। यी सिद्धान्तहरू निकै गहन, रहस्यमय, र अमूर्त सुनिन्छन्, र तिनले मानिसहरूलाई ख्रीष्टविरोधीहरूको आराधना गर्ने तुल्याउँछन्। त्यसपछि, तिनीहरू कसैले कहिल्यै बुझेका छैनन् भन्‍ने लागेका विषयहरूबारे भव्य र दुविधापूर्ण तरिकाले कुरा गर्छन्—उदाहरणका लागि, प्रविधि र अन्तरिक्ष, अर्थ र लेखा, र समाज र राजनीतिका मामलाहरू—अनि भूमिगत मामला र ठगी धन्दाहरूका बारेमा समेत कुरा गर्छन्। तिनीहरूले आफ्नो व्यक्तिगत इतिहास सुनाउँछन्। त्यसोभए यो के हो त? तिनीहरूले शान देखाइरहेका हुन्छन्। अनि तिनीहरूले शान देखाउनुको उद्देश्य भनेको मनोवैज्ञानिक आक्रमण गर्नु हो। के तिमीहरूलाई तिनीहरू मूर्ख हुन् जस्तो लाग्छ? यदि तिनीहरूले भनेको यो कुराले मानिसहरूमा कुनै असर पार्दैनथ्यो भने, के तिनीहरूले यो कुरा भन्नेथिए? भन्दैनथिए। तिनीहरूले यसो भन्‍नुको पछाडि उद्देश्य हुन्छ: यो आफ्ना योग्यताहरू प्रस्तुत गर्ने, धाक लगाउने, र शान देखाउने कार्य हो।

यसको साथै, ख्रीष्टविरोधीहरूले प्रायजसो कस्तो शैली अपनाउँछन्? तिनीहरू जहाँ गए पनि, तिनीहरूले घरमुलीको शैली अपनाउँछन्—तिनीहरू जहाँ गए पनि, यसो भन्छन्, “तिमीहरूले केमा काम गरिरहेका छौ? काम कस्तो भइरहेको छ? कुनै कठिनाइहरू छन्? आफूलाई अह्राइएका कामहरू तुरुन्तै गर! झारा टार्ने काम नगर। परमेश्‍वरको घरको सबै काम महत्त्वपूर्ण हुन्छ, र यसमा ढिलाइ गर्नु हुँदैन!” तिनीहरू ठ्याक्कै घरमुली जस्तै हुन्छन्, जो सधैँ आफ्‍नो घरका मानिसहरूको कामको रेखदेख गर्छन्। तिनीहरू घरमुली हुन् भन्‍नुको अर्थ के हो? यसको अर्थ तिनीहरूको घरका जोकोहीले गल्ती गर्न वा गलत मार्ग लिन सक्छ, त्यसकारण तिनीहरूले तिनीहरूको रेखदेख गर्नुपर्छ; यदि गरेनन् भने, कसैले पनि आफ्नो कर्तव्य पूरा गर्दैनन्—तिनीहरू सबैले ठेस खानेछन्। ख्रीष्टविरोधीहरू विश्‍वास गर्छन् कि अरू सबै मूर्ख हुन्, बच्चा हुन्, यदि तिनीहरूले तिनीहरूका बारेमा ध्यान दिएनन्, यदि तिनीहरूले आँखा झिमिक्क गरे भने, तिनीहरूमध्ये कतिले गल्ती गर्नेछन् र गलत मार्ग लिनेछन्। यो कस्तो दृष्टिकोण हो? के तिनीहरूले घरमुलीको शैली अपनाइरहेका छैनन् र? (छन्।) त्यसोभए के तिनीहरूले ठोस काम गर्छन्? कहिल्यै गर्दैनन्; तिनीहरूले सबै काम अरूलाई गर्न लगाउँछन्, आफू भने प्रशासनतन्त्रमा र मालिक बन्‍ने कार्यमा मात्र ध्यान दिन्छन्, र जब अरूले काम गरिसकेका हुन्छन्, तब यो तिनीहरू आफैले गरेको जस्तै हुन्छ—सबै श्रेय तिनीहरूलाई नै जान्छ। तिनीहरू आफ्नो हैसियतका फाइदाहरू मात्र लिन्छन्; तिनीहरूले परमेश्‍वरको घरको काममा फाइदा हुने काम कहिल्यै गर्दैनन्, र तिनीहरूले कोही आफ्नो कर्तव्य निर्वाह गर्दा झाराटारुवा वा लापरवाह बनिरहेको छ, कसैले मण्डलीको काममा बाधा र अवरोध ल्याइरहेको छ भन्‍ने थाहा पाए पनि, तिनीहरूले उसलाई केवल एक-दुई शब्द अर्ती दिन्छन् र सान्त्वना दिन्छन्, तर उसलाई कहिल्यै खुलासा गर्दैनन् वा प्रतिबन्ध लगाउँदैनन्—तिनीहरूले कहिल्यै कसैलाई चिढ्याउँदैनन्। यदि कसैले पनि तिनीहरूको कुरा सुन्न चाहेन भने, तिनीहरूले यसो भन्छन्, “तिमीहरूको चिन्तामा मेरो हृदय छिया-छिया भएको छ; मैले मुख सुकिञ्जेल बोलेको छु—म यति थकित भएँ कि म झण्डै दुई टुक्रा भएँ! तिमीहरू मलाई साह्रै चिन्तित तुल्याउँछौ!” के तिनीहरूले यसो भन्‍नु लाजमर्दो कुरा होइन र? के यो सुन्दा तिमीहरूलाई घिन लाग्छ? मानिसहरूलाई नियन्त्रण गर्ने ख्रीष्टविरोधीहरूको अटुट चाहना प्रकट हुने एउटा तरिका यही हो। त्यस्ता ख्रीष्टविरोधीहरूले कसरी मानिसहरूसँग सङ्गति गर्छन्? उदाहरणका लागि, तिनीहरूले मलाई यसो भन्छन्, “मभन्दा मुनिका मानिसहरू मैले भनेको मान्दैनन्। तिनीहरू मण्डलीको कामलाई गम्भीरतापूर्वक लिँदैनन्। तिनीहरू झाराटारुवा छन्, र तिनीहरूले परमेश्‍वरको घरको पैसा अन्धाधुन्ध खर्च गर्छन्। तिनीहरू साँच्‍चै पशु हुन्, यी मानिसहरू कुकुरहरूभन्दा तल्लो स्तरका छन्!” यसमा तिनीहरूको भाव कस्तो छ? तिनीहरू आफूलाई अपवाद बनाइरहेका हुन्छन्; तिनीहरूको तात्पर्य यस्तो हुन्छ, “म परमेश्‍वरको घरका हितहरूलाई ध्यान दिन्छु—तिनीहरूले ध्यान दिँदैनन्।” ख्रीष्टविरोधीहरूले आफूलाई को ठानिरहेका हुन्छन्? “ब्रान्ड एम्बेसेडर”। ब्रान्ड एम्बेसेडर भनेको के हो? केही देशका ब्रान्ड एम्बेसेडरहरूलाई हेर—तिनीहरू कस्ता प्रकारका मानिस हुन्? तिनीहरूलाई तिनीहरूको सुन्दरताको कारण छनौट गरिएको हुन्छ; तिनीहरू अत्यन्तै सुन्दर हुन्छन्, राम्ररी बोल्न सक्छन्, र तिनीहरू सबैले तालिम पाएका हुन्छन्। पर्दा पछाडि, तिनीहरू सबैको अग्ला, धनी, र सुन्दर पुरुषहरूसँग, उच्चपदस्थ अधिकारीहरूसँग, धनी व्यापारीहरूसँग सम्बन्ध र लेनदेन हुन्छ—त्यसैले त तिनीहरू ब्रान्ड एम्बेसेडर बनेका हुन्छन्। ब्रान्ड एम्बेसेडर बन्‍नका लागि तिनीहरूले के कुरामा भरोसा गर्छन्? के तिनीहरू सुन्दर रूप, मिलेको शरीर, र वाक्पटुतामा मात्र भरोसा गर्छन्? तिनीहरूले मुख्य रूपमा पर्दा पछाडिको आफ्‍ना सम्बन्धहरूमा भरोसा गर्छन्। के यसले त्यसरी नै काम गर्ने होइन र? (हो।) हो, यसले त्यसरी नै काम गर्छ। सधैँ अगुवा वा घरमुलीको शैली अपनाउने ख्रीष्टविरोधीहरू मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न सधैँ यही शैली र हाउभाउ प्रयोग गर्न चाहन्छन्। के त्यो अलि ब्रान्ड एम्बेसेडरको जस्तो शैली होइन र? तिनीहरू पछाडि हात बाँधेर उभिन्छन्, र दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई शिर हल्लाउँदा र झुकाउँदा, तिनीहरूले यसो भन्छन्, “एकदम राम्रो—राम्रो गर्नू!” त्यसो भन्‍नलाई तिनीहरू को हुन्? तिनीहरूले आफूलाई कुन पदमा नियुक्त गरेका हुन्छन्? म जहाँ गए पनि त्यस्ता कुराहरू भन्दिनँ—के मैले यस्तो भनेको तिमीहरूले कहिल्यै सुनेका छौ? (छैनौँ।) कहिलेकहीँ, म यसो भन्छु, “मनमा शान्ति लिएर आफ्नो कर्तव्य पूरा गर्ने तिमीहरूको यो अवसर सजिलै आउँदैन! तिमीहरूले यो अवसरलाई सदुपयोग गर्नुपर्छ, र आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्नुपर्छ—दुष्टता गरेको र बाधाहरू निम्त्याएकोमा आफूलाई लखेटिने अवस्थामा नपार।” तर म के कारणले यसो भन्छु? इमानदारीका कारण। तर के एउटा ख्रीष्टविरोधीले त्यसरी सोच्छ र? उसले त्यसरी सोच्दैन, र त्यस्तो व्यवहार पनि गर्दैन। उसले अरूलाई राम्रो काम गर्न भन्छ—के ऊ आफैले त्यसो गर्छ त? गर्दैन। उसले अरूलाई राम्रो काम गर्न, उसका लागि काममा मरिमेट्न, परिश्रम गर्न लगाउँछ, र अन्त्यमा, सबै श्रेय उसैले पाउँछ। के तिमीहरू अहिले मेरो लागि मरिमेटेर आफ्नो कर्तव्य निर्वाह गर्छौ? (गर्दैनौँ।) तिमीहरू मेरो लागि परिश्रम पनि गरिरहेका छैनौ; तिमीहरू आफ्नै कर्तव्य र दायित्वहरू निर्वाह गरिरहेका छौ, त्यसपछि परमेश्‍वरको घरले तिमीहरूको भरणपोषण गर्छ। के मैले तिमीहरूको भरणपोषण गर्छु भनेर भन्‍नु अतिशयोक्ति हुन्छ? (हुँदैन।) यो गलत अभिव्यक्ति होइन, र वास्तवमा, परिस्थितिहरू साँच्‍चै यस्तै छन्। तर यदि तिमीहरूले मलाई त्यसो भन्‍न लगायौ भने, म त्यसो भन्दिनथेँ—मेरो मुखबाट त्यो कुरा कहिल्यै निस्कनेथिएन। म यति मात्र भन्नेथिएँ कि परमेश्‍वरको घरले तिमीहरूको भरणपोषण गर्छ: तिमीहरूले परमेश्‍वरको घरमा आफ्ना कर्तव्यहरू निर्वाह गर्यौ भने परमेश्‍वरले तिमीहरूको भरणपोषण गर्नुहुन्छ। त्यसोभए, तिमीहरूले केका लागि आफ्नो कर्तव्य निर्वाह गरिरहेका छौ? (आफ्‍नो लागि।) तिमीहरूले आफ्नै कर्तव्य र दायित्वहरू निर्वाह गरिरहेका छौ; सृजित प्राणीका रूपमा तिमीहरूले पूरा गर्नुपर्ने जिम्मेवारी यही हो। तिमीहरू परमेश्‍वरको उपस्थितिमा यसो गरिरहेका छौ। तिमीहरूले मेरो लागि काम गरिरहेका छौँ भनेर भन्‍न मिल्दै मिल्दैन—मलाई त्यसको आवश्यकता छैन। मेरो लागि कसैले काम गर्नु पर्दैन; म मालिक होइन, न त म कुनै कम्पनीको प्रमुख नै हुँ। मैले तिमीहरूबाट पैसा कमाइरहेको छैन, र तिमीहरूले मेरो खाना खाइरहेका छैनौ। हामी त एक-अर्कासँग सहकार्य मात्रै गरिरहेका छौँ। म तिमीहरूलाई सङ्गति दिनुपर्ने सत्यताहरू सङ्गति गर्छु ताकि तिमीहरूले ती कुरा बुझ्न सक, र तिमीहरू सही मार्गमा हिँड्न सक, अनि त्यसबाट मेरो हृदय ढुक्क हुन्छ—मेरो जिम्मेवारी र दायित्व पूरा भएको हुन्छ। यो पारस्परिक सहकार्य हो, जसमा सबैले आफ्नो भूमिका निर्वाह गरिरहेका हुन्छन्। यो कसले कसलाई शोषण गरिरहेको छ, कसले कसलाई प्रयोग गरिरहेको छ, कसले कसलाई खाना दिएको छ भन्‍ने कुरा होइन। त्यस्तो व्यहोरा नदेखाओ—यसो गर्नु व्यर्थ छ, र यो घिनलाग्दो कुरा हो। साँच्‍चै नै राम्ररी काम गर्, ताकि सबैले देखून्, र अन्त्यमा, परमेश्वरको नजरमा तँ आफ्नो जिम्मेवारी निभाउने राम्रो स्थितिमा हुनेछस्। के ख्रीष्टविरोधीहरूमा त्यस्तो समझ हुन्छ? हुँदैन। यदि तिनीहरूले थोरै जिम्मेवारी लिए, थोरै योगदान दिए, र केही काम गरेका छन् भने, तिनीहरूले यसको धाक दिन्छन्, जुन साँच्‍चै नै घिनलाग्दो हुन्छ—तिनीहरू ब्रान्ड एम्बेसेडर बन्‍न समेत चाहन्छन्। यदि तैँले ब्रान्ड एम्बेसेडर बन्‍ने कोसिस गरिनस्, र तँ केही वास्तविक काममा लागिस् भने, सबै जनाले तँलाई केही आदर गर्नेछन्। यदि तैँले ब्रान्ड एम्बेसेडरको हाउभाउ अपनाउँछस्, तर तैँले कुनै ठोस काम गर्न सक्दैनस्, र माथिले सबै कामको बारेमा चिन्ता गर्नुपर्छ र व्यक्तिगत रूपमा सबै कामको बारेमा निर्देशन दिनुपर्छ, र तँलाई निगरानी गरेर र मार्गदर्शन दिएर अनुगमन गर्नुपर्छ, र कामको हरेक पक्ष माथिले नै गर्नुपर्छ भने, अनि यदि तैँले अझै आफूलाई सक्षम ठान्छस्, तँ अझै सिपालु बनेको छस्, यो सबै तैँले नै गरेको होस् भन्‍ने सोच्छस् भने—के त्यो लाजमर्दो कुरा होइन र? ख्रीष्टविरोधीहरूले यस्तो गर्न सक्छन्। तिनीहरूले परमेश्‍वरको महिमा लुट्छन्। सामान्य मानिसहरूले केही कुरा अनुभव गरेका छन् भने, तिनीहरूले थोरै भए पनि सत्यता बुझ्छन्, र यो कुरा देख्न सक्छन्, “मेरो क्षमता अत्यन्तै कमजोर छ—म केही पनि होइन। माथिले वास्ता र रेखदेख गरेन भने, मलाई सहयोग गर्न मेरो हात थामिदिएन भने, मैले केही गर्न सक्‍नेथिइनँ। म त प्रतिरूप मात्र रहेछु। अब मैले आफूलाई अलि चिनेको छु। मलाई मेरो सीमितता थाहा छ। यदि भविष्यमा माथिले मलाई फेरि काटछाँट गर्‍यो भने ममा कुनै गुनासो हुनेछैन। म चुपचाप समर्पित हुनेछु।” आफ्नो सीमितता थाहा पाएपछि, तैँले सुशील रूपमा र धरातलमा बसेर आफ्नो काम गर्नेछस्। माथिले तँलाई जे अह्राए पनि, तैँले यसलाई राम्रोसँग, आफ्नो सारा हृदय र शक्ति लगाएर गर्नेछस्। के ख्रीष्टविरोधीहरूले गर्ने यही नै हो? अहँ, होइन—तिनीहरूले परमेश्‍वरको घरका हितहरू, वा परमेश्‍वरको घरको कामको बारेमा विचार गर्दैनन्। परमेश्‍वरको घरको सबैभन्दा ठूलो हित के हो? के मण्डलीको सम्पत्ति हो? के परमेश्‍वरलाई चढाइएको भेटी हो? होइन। त्यसोभए के हो त? हरेकले आफ्नो कर्तव्य निर्वाह गर्दा त्यो कामको कुन पक्षमा केन्द्रित हुन्छ? सुसमाचार प्रचार गर्नु र परमेश्‍वरका लागि गवाही दिनु, ताकि सारा मानवजाति परमेश्‍वरलाई बुझेर उहाँकहाँ फर्कून्। परमेश्‍वरको घरको सबैभन्दा ठूलो हित यही हो। अनि त्यो सबैभन्दा ठूलो हित तलतिर फैलँदै जान्छ, र हरेक समूह र कामको हरेक पक्षमा विभाजित हुन्छ, त्यसपछि अझ मिहिन रूपमा विभाजन भएर हरेक व्यक्तिले निर्वाह गर्ने विभिन्‍न कर्तव्यहरूमा पुग्छ। परमेश्‍वरको घरको हित यही हो। के तिमीहरूले यसअघि यो कुरा देखेका छौ? अहँ, छैनौ! मैले परमेश्‍वरको घरका हितहरूका बारेमा कुरा गर्दा, तिमीहरूले ती पैसा, घर, र कारहरू हुन् भन्‍ने सोच्छौ। ती कस्ता प्रकारका हितहरू हुन्? ती त केही भौतिक वस्तु मात्र होइनन् र? के त्यसपछि कतिपय मानिसहरूले, “ती हितहरू होइनन् भने हामी तिनलाई आफूले चाहे अनुसार फजुलमा उडाऔँ” भन्छन्? के त्यो ठीक हो? (होइन।) अवश्य नै होइन! भेटीहरू फजुलमा उडाउनु गम्भीर पाप हो।

मानिसहरूलाई नियन्त्रण गर्ने चाहना र महत्त्वाकाङ्क्षा बाहेक ख्रीष्टविरोधीहरूलाई अरू के कुरामा रुचि हुन्छ? मूलतः केहीमा पनि हुँदैन। तिनीहरूलाई अरू कुनै कुरामा त्यति धेरै चासो हुँदैन। हरव्यक्तिले उचित कर्तव्य निर्वाह गरिरहेको छ छैन, कर्मचारीहरूको उचित बन्दोबस्त गरिएको छ छैन, कसैले मण्डलीको काममा बाधा र व्यवधान ल्याइरहेको छ छैन, मण्डलीको कामको हरेक पक्ष सहज रूपमा अघि बढिरहेको छ छैन, कामको कुन भागमा समस्या छ, कुन भाग अझै कमजोर छ, कुन भागको बारेमा अझै विचार गरिएको छैन, कहाँ काम राम्ररी गरिएको छैन—ख्रीष्टविरोधीहरूले यस्ता कुनै पनि कुराहरूमा आफूलाई संलग्‍न गराउँदैनन्, न त तिनीहरूले तिनका बारेमा सोध्ने नै गर्छन्। तिनीहरूले तिनका बारेमा कहिल्यै वास्ता गर्दैनन्; तिनीहरूले यो ठोस काम कहिल्यै गर्दैनन्। उदाहरणका लागि, अनुवादको काम, भिडियो सम्पादनको काम, चलचित्र निर्माणको काम, लेख-रचनामा आधारित काम, सुसमाचार प्रचारको काम, इत्यादि—तिनीहरूले कामको कुनै पनि पक्षलाई लगनका साथ अनुगमन गर्दैनन्। केही कुरा तिनीहरूको प्रसिद्धि, लाभ, वा हैसियतसँग सम्बन्धित नभएसम्म, त्यसको तिनीहरूसँग कुनै सरोकार छैन जस्तो हुन्छ। त्यसोभए, तिनीहरूले गर्ने एउटै मात्र कुरा के हो? तिनीहरूले केही साधारण मामलाहरू—अर्थात् मानिसहरूले ध्यान दिने र देख्‍ने सतही काम मात्र सम्हाल्छन्। तिनीहरूले आफ्‍नो काम त्यतिमा नै समाप्त गर्छन्, र त्यसलाई आफ्नो योग्यताको रूपमा प्रस्तुत गर्छन्, त्यसपछि आफ्नो हैसियतका फाइदाहरूमा रमाउन थाल्छन्। के ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूको जीवन प्रवेशको वास्ता गर्छन्? गर्दैनन्; तिनीहरूले आफ्नो ख्याति र हैसियतको, साथै जुन मामलामा पृथक देखिन र मानिसहरूलाई आफूप्रति सम्मान र आराधना गराउन सकिन्छ तिनको मात्र वास्ता गर्छन्। त्यसकारण, मण्डलीको काममा जे-जस्ता समस्याहरू उत्पन्न भए पनि, तिनीहरूले न त ती समस्याहरूलाई ध्यान दिन्छन् न तिनका बारेमा सोध्छन्; कुनै समस्या जति नै गम्भीर भए पनि, त्यसले परमेश्‍वरको घरका हितहरूमा जति नै ठूलो घाटा ल्याए पनि, तिनीहरूलाई त्यो समस्या हो भन्‍ने लाग्दैन। ल भन् त, के तिनीहरूमा हृदय त हुन्छ? के तिनीहरू बफादार मानिस हुन्? के तिनीहरू सत्यतालाई प्रेम गर्ने र स्विकार्ने मानिस हुन्? यी कुराहरूका पछाडि प्रश्न चिन्हहरू राखिनुपर्छ। खैर, मण्डलीको काम बरबाद गर्नका लागि तिनीहरूले दिनभरि के गरिरहेका हुन्छन्? तिनीहरूले परमेश्‍वरका अभिप्रायहरूप्रति अलिकति पनि विचार गर्दैनन् भन्‍ने कुरा देखाउन यो नै पर्याप्त छ। तिनीहरू परमेश्‍वरले सुम्पनुभएको अत्यावश्यक काम गर्दैनन्, तर आफूलाई सतही, र सामान्य मामलाहरूमा मात्रै व्यस्त राख्छन्, ताकि अरू मानिसहरूका नजरमा तिनीहरूले काम गरिरहेका छन् जस्तो देखियोस्; बाहिरी रूपमा, तिनीहरू मानिसहरूलाई आफूसँग जोश र आस्था छ भन्‍ने देखाउनका लागि कर्तव्य निर्वाह गर्नमा व्यस्त हुन्छन्। यसले कतिपय मानिसहरूको आँखामा छारो हालिदिन्छ। तर तिनीहरूले मण्डलीको अत्यावश्यक कामको एउटा पक्ष पनि पूरा गर्दैनन्—तिनीहरूले मलजल गर्ने र सत्यता प्रदान गर्ने कुनै काम गर्दैनन्। तिनीहरूले समस्याहरू समाधान गर्न कहिल्यै सत्यताको प्रयोग गर्दैनन्; तिनीहरूले केही साधारण मामलाहरू मात्र सम्हाल्छन्, र आफूलाई राम्रो देखाउने थोरै काम गर्छन्। मण्डलीको अत्यावश्यक कामको हकमा, तिनीहरू झाराटारुवा र गैरजिम्मेवार हुन्छन्—तिनीहरूमा अलिकति पनि जिम्मेवारी बोध हुँदैन। तिनीहरूले जति नै धेरै समस्याहरू उत्पन्न भए पनि तिनलाई समाधान गर्न कहिल्यै सत्यताको खोजी गर्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्यमा झारा टार्छन्। अनि केही सतही र सामान्य मामलाहरू सम्हालेपछि, तिनीहरू आफूले वास्तविक काम गरेको छु भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू अनियन्त्रित रूपमा खराब कामकुरा गर्छन् र स्वेच्छाचारी र तानासाही तरिकाले काम गर्छन्। तिनीहरूले मण्डलीको काम बरबाद र अस्तव्यस्त पार्छन्। कामको कुनै पनि पक्ष उचित स्तरमा र बिना त्रुटि पूरा गरिएको हुँदैन; माथिको हस्तक्षेप, सोधपुछ, र रेखदेखबिना कामको कुनै पनि पक्ष राम्ररी पूरा गरिएको हुँदैन। तैपनि, कतिपय मानिसहरू प्रतिस्थापित भएपछि गुनासो र अवज्ञाले भरिएका हुन्छन्; तिनीहरूले आफ्नै पक्षमा भ्रामक तर्कहरू गर्छन्, र माथिल्लो स्तरका अगुवा र सेवकहरूको काँधमा जिम्मेवारी थोपरिदिन्छन्। के त्यो पूर्ण रूपमा अनुचित कुरा होइन र? केही नभएको अवस्थामा सत्यताप्रति व्यक्तिको साँचो मनोवृत्ति देख्‍न सकिँदैन, तर जब तिनीहरूलाई काटछाँट र प्रतिस्थापन गरिन्छ, तब सत्यताप्रति तिनीहरूको साँचो मनोवृत्ति प्रकट हुन्छ। सत्यतालाई स्विकार्ने मानिसहरूले कुनै पनि परिस्थितिमा स्विकार्न सक्छन्। यदि तिनीहरू गलत छन् भने, तिनीहरूले आफ्नो गल्ती स्विकार्न सक्छन्; तिनीहरूले तथ्यहरूको सामना गरेर सत्यतालाई स्विकार्न सक्छन्। सत्यतालाई प्रेम नगर्ने मानिसहरूले आफ्नो गल्ती खुलासा भए पनि आफू गलत भएको कुरा स्विकार्दैनन्; परमेश्‍वरको घरले तिनीहरूलाई सम्हालेको कुरालाई स्विकार्नु त झन् परको कुरा हो—अनि तिनीहरूमध्ये कतिले स्पष्टीकरणको रूपमा के कुरा समेत प्रयोग गर्छन्? “मैले राम्रै गर्न चाहेको थिएँ—नगरेको मात्र हो। मैले नराम्रो गरेकोमा मलाई दोष दिन मिल्दैन। मेरो मनसाय राम्रो थियो, मैले कष्ट भोगेँ र मूल्य चुकाएँ, र मैले आफूलाई समर्पित गरेँ—कुनै कुरा राम्ररी नगर्नु भनेको दुष्टता गर्नु होइन!” यो स्पष्टीकरण, यो बहाना प्रयोग गर्नु, परमेश्‍वरको घरद्वारा सम्‍हालिन नमान्नु—के त्यो उचित कुरा हो? कुनै व्यक्तिले जे-जस्ता स्पष्टीकरण र बहानाहरू दिए पनि, उसले सत्यताप्रति र परमेश्‍वरप्रतिको आफ्नो मनोवृत्तिलाई लुकाउन सक्दैन। यो उसको प्रकृति सारसँग सम्बन्धित हुन्छ, र यो सबैभन्दा सूचक कुरा हो। केही भएको होस् कि नहोस्, सत्यताप्रतिको तेरो मनोवृत्तिले तेरो प्रकृति सारको प्रतिनिधित्व गर्छ। यो परमेश्‍वरप्रतिको तेरो मनोवृत्ति हो। तैँले सत्यतालाई कसरी व्यवहार गर्छस् भन्‍ने कुरालाई हेरेरै तैँले परमेश्‍वरलाई कसरी व्यवहार गर्छस् भन्ने कुरादेख्‍न सकिन्छ।

मानिसहरूलाई नियन्त्रण गर्ने ख्रीष्टविरोधीहरूको व्यवहारको बारेमा हामीले भर्खरै हाम्रो छलफलमा के कुरालाई समेट्यौँ? (ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्नमा मात्र रुचि राख्ने कुरा।) ठीक भनिस्। अत्यन्तै अहङ्कारी र हैसियतप्रति निकै प्रेम भएका मानिसहरूले मानिसहरूलाई नियन्त्रण गर्नमा प्रचुर “रुचि” राख्छन्। यो “रुचि” सकारात्मक हुँदैन—यो एउटा चाहना र महत्त्वाकाङ्क्षा हो, यो नकारात्मक र अपमानजनक हुन्छ। तिनीहरू किन मानिसहरूलाई नियन्त्रण गर्नमा रुचि राख्छन्? वस्तुगत दृष्टिकोणबाट हेर्दा, यो तिनीहरूको प्रकृति नै हो, तर अर्को कारण पनि छ: अरूलाई नियन्त्रण गर्ने मानिसहरूमा हैसियत, प्रसिद्धि, प्राप्ति, वैभव, र शक्तिप्रति विशेष सोख र स्नेह हुन्छ। के मैले यसलाई यसरी भन्‍न सक्छु? (सक्‍नुहुन्छ।) अनि के त्यो विशेष सोख र स्नेह शैतानको जस्तै हुँदैन र? के त्यो शैतानको सार होइन र? शैतानले मानिसहरूलाई कसरी बहकाउने र नियन्त्रण गर्ने भनेर दिनभरि मनन गर्छ; हरेक दिन, यसले मानिसहरूमा भ्रमपूर्ण विचार र दृष्टिकोणहरू हालिदिन्छ, चाहे त्यो विचार हालिदिएर होस् सिकाएर होस्, वा चाहे परम्परागत संस्कृतिमार्फत होस्, वा विज्ञान, उच्च ज्ञान, र शिक्षाहरूमार्फत होस्—र यसले मानिसहरूमा यी कुराहरू जति हालिदिन्छ, तिनीहरूले त्यति नै यसको आराधना गर्छन्। शैतानले मानिसहरूमा यी कुराहरू हालिदिनुको उद्देश्य के हुन्छ? यसले यसो गरेपछि, मानिसहरूले यसका विचारहरू धारण गर्छन्; तिनीहरूले यसका दर्शनहरू र अस्तित्वको शैली धारण गर्छन्। यो शैतानले मानिसहरूको हृदयमा जरा गाड्नु बराबर हो। तिनीहरू शैतानको तरिकाले जिउँछन्, र तिनीहरूको जियाइ शैतानको जियाइ हो—यो दियाबलसहरूको जियाइ हो। कुरा त्यस्तै होइन र? के ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्नुको प्रकृति पनि यही होइन र? तिनीहरू अरू सबैलाई तिनीहरू जस्तै मानिस बनाउन चाहन्छन्; तिनीहरू चाहन्छन् कि सबै जना तिनीहरूका लागि बाँचून्, तिनीहरूको अधीनमा रहून्, र सबैले तिनीहरूका लागि काम गरून्। अनि सबै कुरा तिनीहरूको नियन्त्रणमा हुनुपर्छ: मानिसहरूका विचार र बोलीवचन, तिनीहरूका बोल्ने शैली, युक्ति, र विचारहरू, तिनीहरूले काम गर्ने दृष्टिकोण र मनोवृत्ति, साथै परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्ति, तिनीहरूको आस्था, र आफ्नो कर्तव्य पूरा गर्ने तिनीहरूको इच्छा र आकाङ्क्षा समेत—यी सबै कुरा तिनीहरूको नियन्त्रणमा हुनुपर्छ। त्यो नियन्त्रण कति गहन हुन्छ? तिनीहरूले सुरुमा मानिसहरूको दिमाग भुटेर उनीहरूलाई प्रशिक्षण दिन्छन्, त्यसपछि सबै मानिसहरूलाई आफूले गर्ने जस्तै कामकुरा गर्न लगाउँछन्। तिनीहरू “धर्मपिता” बन्छन्। मानिसहरूलाई यस्तो बनाउनका लागि, ख्रीष्टविरोधीहरूले धेरै विधिहरू प्रयोग गर्छन्: बहकाउने, विचार हालिदिने, डर देखाउने कार्य हुन्छ, र अरू के हुन्छ? (मनोवैज्ञानिक आक्रमणहरू।) त्यो बहकाउनुकै पाटो हो। अरू के हुन्छ? (जबरजस्ती गर्ने र मानिसहरूलाई किन्‍ने काम।) तिनीहरूले मानिसहरूलाई कसरी किन्छन्? कतिपय मानिसहरूले परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा अनियन्त्रित रूपमा खराब कामकुरा गर्छन्। के ख्रीष्टविरोधीहरूले यो कुरा स्पष्ट रूपमा देख्‍न सक्छन्? यो सबै कुरा तिनीहरूका लागि अत्यन्तै स्पष्ट हुन्छ। त्यसोभए के तिनीहरूले यसलाई सम्हाल्छन्? सम्हाल्दैनन्। अनि किन सम्हाल्दैनन्? तिनीहरूले यस मामलालाई ती मानिसहरू किन्नका लागि प्रयोग गर्न चाहन्छन्; तिनीहरूले उनीहरूलाई भन्छन्, “तपाईंलाई नसम्हालेर मैले तपाईंलाई निगाह गरेको छु। तपाईंले मलाई धन्यवाद दिनुपर्छ। तपाईंले नराम्रो काम गरेको मैले देखेँ, तर मैले तपाईंको बारेमा रिपोर्ट गरिनँ, र मैले तपाईंलाई सम्हालिनँ। मैले दया देखाएँ। के अब तपाईंले मप्रति कृतज्ञताको ऋण तिर्नुपर्दैन र?” त्यसपछि ती मानिसहरू तिनीहरूप्रति कृतज्ञ हुन्छन् र तिनीहरूलाई आफ्ना हितकारी ठान्छन्। त्यसपछि, ख्रीष्टविरोधीहरू र ती मानिसहरू एउटै खोरमा लडीबुडी गर्ने सुँगुर जस्तै हुन्छन्। ख्रीष्टविरोधीहरू शक्तिमा हुँदा, तिनीहरूले त्यस्ता मानिसहरू किन्न सक्छन्: त्यस्ता मानिसहरू जो दुष्टता गर्छन्, जो परमेश्‍वरको घरका हितहरूलाई हानि गर्छन्, जो गोप्य रूपमा परमेश्‍वरको आलोचना गर्छन्, र गोप्य रूपमा परमेश्‍वरको घरको कामलाई कमजोर ठान्छन्। ख्रीष्टविरोधीहरूले यस्तै प्रकारका दुष्ट मानिसहरूको समूहको रक्षा गर्छन्। के यो एक प्रकारको नियन्त्रण होइन र? (हो।) वास्तवमा ख्रीष्टविरोधीहरूलाई यी मानिसहरू परमेश्‍वरको घरका हितहरूको रक्षा गर्ने मानिसहरू होइनन् भन्‍ने कुरा हृदय भित्रैबाट थाहा हुन्छ। तिनीहरू सबैलाई यो कुरा थाहा हुन्छ—त्यो कुरालाई मौन रूपमा बुझिएको हुन्छ—त्यसकारण, तिनीहरूले हातमा हात मिलाएर काम गरिरहेका हुन्छन्। “हामी त उस्तै हौँ। तिमी परमेश्‍वरको घरका हितहरूबारे विचार गर्दैनौ। तिमी परमेश्‍वरलाई बनाउँछौ, र म पनि त्यसै गर्छु; तिमी सत्यता पछ्याउँदैनौ, र म पनि पछ्याउँदिनँ।” ख्रीष्टविरोधीहरूले त्यस्ता मानिसहरू किन्छन्। के यो तिनीहरूलाई किन्‍नु होइन र? (हो।) तिनीहरू परमेश्‍वरको घरका हितहरूमा हानि हुन दिन कुनै सङ्कोच मान्दैनन्। तिनीहरूले परमेश्‍वरको घरका हितहरू चुकाएर यी मानिसहरूलाई अनियन्त्रित रूपमा खराब कामकुरा गर्न, र परमेश्‍वरको घरबाट फाइदा लुट्न दिन्छन्। मानौँ तिनीहरूले यी मानिसहरूको भरणपोषण गरिरहेका छन्, र यी मानिसहरू अवचेतन रूपमा तिनीहरूप्रति कृतज्ञ छन्। जब परमेश्‍वरको घरले यी दुष्ट मानिसहरूलाई तह लगाउने समय आउँछ, तब तिनीहरूले ख्रीष्टविरोधीहरूलाई कसरी हेर्छन्? तिनीहरूले मनमनै भन्छन्, “अहो, हुँदैन। तिनीहरू पहिले नै बर्खास्त भइसकेका छन्। यदि तिनीहरूलाई बर्खास्त नगरिएको भए, हामीले अझै केही समय रमाइलो गर्न सक्थ्यौँ—तिनीहरूले सुरक्षा दिँदा, कसैले पनि मलाई तह लगाउन सकेको थिएन।” तिनीहरू अझै पनि ख्रीष्टविरोधीहरूसँग यति धेरै घनिष्ठता महसुस गर्छन्! ख्रीष्टविरोधीहरूले गर्ने यी सबै कुराहरू बाधा र अवरोध हुन्, मानिसहरूलाई बहकाउने कुराहरू हुन्, र परमेश्‍वरको विरोध गर्ने दुष्ट कार्यहरू हुन् भन्‍ने कुरा स्पष्टै छ। अनि सत्यतालाई प्रेम नगर्ने कुनै पनि व्यक्तिले यी दुष्ट कार्यहरूलाई घृणा गर्नेछैन, र तिनलाई ढाकछोप समेत गरिदिन्छ। उदाहरणका लागि, कुनै अगुवा थियो जसले ख्रीष्टविरोधीहरूको रक्षा गर्थ्यो। माथिले उसलाई मण्डलीमा कसैले बाधा र अवरोध ल्याइरहेको छ कि, वा अनियन्त्रित रूपमा खराब कामकुरा गरिरहेको छ कि, वा कुनै ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाइरहेका छन् कि भनेर सोधेको थियो। उक्त अगुवाले भन्यो, “ठीकै छ, म सोध्छु। म बुझेर भनुँला।” के त्यो उसको कामको पाटो थिएन र? “बुझेर भनुँला” भन्ने भावमा उसले माथिको सामना गर्‍यो, र तिनीहरूले पछि यसको बारेमा थप केही सुनेनन्। उसले जाँचबुझ गरेन—उसले ती मानिसहरूलाई चिढ्याउन चाहेन! अनि माथिले फेरि उसलाई “बुझिस् त?” भनेर सोध्दा उसले भन्यो, “बुझेँ—त्यस्तो कोही पनि रहेनछ।” के त्यो कुरा साँचो थियो? ऊ नै सबैभन्दा ठूलो ख्रीष्टविरोधी, अनि मण्डलीको काममा बाधा दिने, र परमेश्‍वरको घरका हितहरूमा हानि गर्ने मुख्य दोषी थियो। ऊ आफै ख्रीष्टविरोधी थियो—उसले जाँच्‍नलाई के थियो र? ऊ त्यहाँ हुँदा, ऊभन्दा मुनिका मानिसहरूले जे-जस्ता खराब कामहरू गरे पनि, तिनीहरूले जे-जस्ता बाधा र अवरोधहरू ल्याए पनि, कसैले पनि यी कुराहरू जाँच्न सक्दैनथ्यो। उसले तिनीहरूलाई त्यसो गर्नबाट रोक्थ्यो। यसको आशय हेर्दा, यस्तो परिस्थितिमा, के उसले आफ्‍नो अधीनमा रहेका मानिसहरूलाई परमेश्‍वरबाट अलग गरेको थिएन र? थियो। अनि उसले परमेश्‍वरबाट अलग गरेपछि ती मानिसहरूले कसको कुरा सुन्थे? के तिनीहरूले उसको कुरा सुन्दैनथिए र? त्यसकारण, ऊ सहरको गुन्डा, डाँकु अगुवा, स्थानीय अत्याचारी बनेको थियो—उसले ती मानिसहरूलाई आफ्नो नियन्त्रणमा लिएको थियो। उसले कुन विधि प्रयोग गर्‍यो? उसले माथिलाई झुक्यायो र आफूभन्दा मुनिकालाई छल गर्‍यो। उसले आफ्नो मातहतका मानिसहरूलाई किनेको थियो र तिनीहरूसँग मिठाकुरा गर्थ्यो, अनि माथिलाई झुक्याएको थियो—उसले तल के भइरहेको छ भनेर माथिलाई थाहा दिएन। उसले माथिलाई यसको बारेमा केही पनि भनेन, र उसले एउटा देखावटी रूप पनि बनायो। उसले कस्तो देखावटी रूप बनायो? उसले माथिलाई भन्यो, “हाम्रो मण्डलीमा एक जना व्यक्ति छ जसलाई सबै दाजुभाइ-दिदीबहिनीहरूले खराब मानवता भएको, अत्यन्तै दुर्भावपूर्ण, र कुनै पनि कर्तव्य निर्वाह गर्न असक्षम भएको भनेर रिपोर्ट गर्छन्। तपाईं के भन्‍नुहुन्छ—के म उनलाई तह लगाउन सक्छु?” उसले यसो भनेको सुन्दा, त्यस व्यक्तिका प्रकटीकरणहरूबाट ऊ दुष्ट व्यक्ति हो जसलाई तह लगाइनुपर्छ भन्ने प्रस्ट थियो। त्यसकारण, माथिले भन्यो, “त्यसोभए, तिमीहरूले उसलाई तह लगाउन सक्छौ। के तिमीहरूले उसलाई तह लगाएका छौ?” उसले भन्यो, “हामीले उसलाई गत महिना तह लगाएर निकाल्यौँ।” के तथ्यहरू साँच्चिकै उसले भनेको जस्तै थिए त? अझै विस्तृत रूपमा सोधेपछि वास्तवमा के भएको रहेछ? त्यो व्यक्ति ऊसँग नमिल्ने रहेछ। अनि तिनीहरू नमिल्‍नुको एउटा कारण थियो: यस अगुवाले वास्तविक काम गर्दैनथ्यो, र उसले सधैँ दाजुभाइ-दिदीबहिनीहरूका बीचमा समूह र गुटहरू बनाउँदै आएको थियो—उसले ख्रीष्टविरोधीका प्रकटीकरणहरू प्रदर्शन गर्थ्यो, र त्यो व्यक्तिले उसलाई खुट्याएकी थिइ र उसले ती समस्याहरूका बारेमा रिपोर्ट र खुलासा गरी। उसले त्यो रिपोर्ट गर्ने बित्तिकै, अगुवाका अधीनस्थहरूले उसलाई फेला पारे, र अन्ततः उसलाई दण्ड दिएर निकालियो। यस ख्रीष्टविरोधीले आफ्नो मातहतका सबैलाई राम्रोसँग त्यो व्यक्तिको विरुद्धमा उठ्न र उसलाई इन्कार गर्न लगायो, र अन्तमा, उसले त्यो व्यक्तिलाई तह लगाएर निकाल्यो, त्यसपछि उसले माथिलाई यो “खुसीको खबर” रिपोर्ट गर्‍यो। वास्तवमा, साँच्चिकै त्यस्तो भइरहेको थिएन। के मण्डलीमा यस्ता कुराहरू हुन्छन्? हुन्छन्। यी ख्रीष्टविरोधीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई दमन गर्छन्; तिनीहरू ती मानिसहरूलाई दमन गर्छन् जसले तिनीहरूलाई खुट्याउन र तिनीहरूका समस्याहरूका बारेमा रिपोर्ट गर्न सक्छन्, साथै जसले तिनीहरूको प्रकृति सार छर्लङ्गै देख्‍न सक्छन्। तिनीहरूले पहिले आफ्ना पीडितहरूका विरुद्धमा गुनासो समेत पेश गर्छन्, र बाधा दिने मानिसहरू तिनीहरू नै हुन् भनेर माथिलाई रिपोर्ट गर्छन्। वास्तवमा कसले बाधा दिइरहेको हुन्छ? मण्डलीलाई बाधा दिने र नियन्त्रण गर्नेहरू ख्रीष्टविरोधीहरू नै हुन्।

मानिसहरूलाई आफूप्रति समर्पित हुन लगाउने ख्रीष्टविरोधीहरूका उपायहरू के-के हुन्? त्यस्तो एउटा उपाय भनेको तँलाई नियन्त्रण गर्न—तेरा सोचहरू, तेरा विधिहरू, र तैँले हिँड्ने मार्गलाई नियन्त्रण गर्न, साथै तिनीहरूको शक्तिद्वारा समेत तैँले निर्वाह गर्ने कर्तव्यलाई नियन्त्रण गर्न विभिन्न माध्यमहरू प्रयोग गर्नु हो। यदि तँ तिनीहरूको नजिक भइस् भने, तिनीहरूले तँलाई कुनै सजिलो कर्तव्य दिनेछन् जसले तँलाई पृथक हुन मदत गर्छ; यदि तैँले सधैँ तिनीहरूको अवज्ञा गर्छस्, र सधैँ तिनीहरूका गल्तीहरू औँल्याउँछस्, साथै तिनीहरूको भ्रष्टताको समस्या खुलासा गर्छस् भने, तिनीहरूले तँलाई मानिसहरूले मन नपराउने काम गर्न लगाउनेछन्—उदाहरणका लागि, एउटी बहिनीलाई कुनै फोहोरी र थकाइलाग्दो काम गर्न लगाउनु। तिनीहरूले आफूसँग नजिक हुने, आफूलाई चापलुसी गर्ने, र सधैँ आफूले सुन्न चाहेको कुरा भन्‍ने मानिसहरूलाई सजिलो र सफा कामको बन्दोबस्त गरिदिन्छन्। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई यसरी नै व्यवहार गर्छन् र नियन्त्रण गर्छन्। अर्थात्, जब कर्मचारी नियुक्ति र स्थानान्तरण गर्ने शक्तिको कुरा आउँछ, तब कसले के काम गर्छ भन्‍ने कुरा तिनीहरूकै हातमा हुन्छ, र तिनीहरूकै पूर्ण नियन्त्रण हुन्छ। के यो एक प्रकारको महत्त्वाकाङ्क्षा र चाहना मात्र हो? अहँ, होइन। के यो “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउँथे” भन्ने ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको आठौँ बुँदासँग ठ्याक्कै मिल्दैन र? “तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगाउँथे” ले के जनाउँछ? यो प्रकटीकरणमा के गलत छ? यो कुन हिसाबमा गलत छ? तिनीहरूले मानिसहरूलाई जुन कुरामा समर्पित गर्न लगाउँछन् त्यो कुरा पूर्ण रूपमा सत्यताको विरुद्धमा जान्छ। यो सत्यता सिद्धान्तहरूसँग मेल खाँदैन। यो पूर्ण रूपमा परमेश्‍वरको घरका हितहरू र परमेश्‍वरका अभिप्रायहरूका विरुद्धमा जान्छ; यसले परमेश्‍वरको घरका हितहरूको बिलकुलै रक्षा गर्दैन, र यो सत्यतासँग बिलकुलै मेल खाँदैन। तिनीहरूले मानिसहरूलाई पूर्ण रूपमा आफ्नै महत्त्वाकाङ्क्षा, चाहना, प्राथमिकता, रुचि, र धारणाहरूप्रति समर्पित गराउँछन्। के समस्याको सार यही होइन र? ख्रीष्टविरोधीहरूको सार प्रकट हुने एउटा तरिका यही हो। के यसले मामलाको जडलाई छुँदैन र? ख्रीष्टविरोधीहरूले गर्ने यो व्यवहारलाई सजिलै खुट्याउन सकिन्छ। कतिपय अगुवा र सेवकहरू यस्ता हुन्छन् जसले सही र ठीक दृष्टिकोणहरू अघि सार्छन्, र कतिपय मानिसहरू विश्‍वस्त नभए पनि र उनीहरूले ती कुरालाई स्विकार्न नसक्‍ने भए पनि, यी अगुवाहरू ती सही दृष्टिकोणहरूलाई लागु गर्न र तिनलाई अभ्यास गर्नमा लागिपर्न सक्छन्। यो व्यवहार र ख्रीष्टविरोधीहरूको व्यवहारको बीचमा के भिन्‍नता छ? बाहिरबाट हेर्दा दुइटै उस्तै देखिन्छन्, तर तिनको सारमा भिन्‍नता हुन्छ। ख्रीष्टविरोधीहरूले गर्ने भनेको जानाजानी सत्यता र परमेश्‍वरको घरको कामका सिद्धान्तहरू विपरीत जानु, र परमेश्‍वरको घरका लागि कर्तव्य निर्वाह गर्ने र सत्यतामा समर्पित हुने बहानामा मानिसहरूलाई आफूले भनेको कुरा गर्न लगाउनु हो। यो गलत हो—घोर रूपमा, हास्यास्पद रूपमा गलत हो। कतिपय अगुवा र सेवकहरूले सही दृष्टिकोणहरूलाई समर्थन गर्छन्। सत्यता सिद्धान्तहरूसँग मेल खाने कुरालाई समर्थन गर्नुपर्छ; यो अहङ्कार र आत्मधार्मिकता होइन, न त यो मानिसहरूलाई बन्धनमा पार्नु हो—यो त सत्यतालाई समर्थन गर्नु हो। बाहिरी रूपमा यी दुई व्यवहारहरू उस्तै देखिन्छन्, तर तिनका सारहरू फरक छन्: एउटाले सत्यता सिद्धान्तहरूलाई समर्थन गर्छ, र अर्कोले गलत दृष्टिकोणहरूलाई समर्थन गर्छ। ख्रीष्टविरोधीहरू आफूले गर्ने सबै कुरामा सत्यता उल्लङ्घन गर्छन्, त्यसप्रति शत्रुता राख्छन्, र पूर्ण रूपमा आफ्ना व्यक्तिगत महत्त्वाकाङ्क्षा र चाहनाहरूद्वारा प्रेरित हुन्छन्—त्यसैले ख्रीष्टविरोधीहरूले मानिसहरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित गराउँछन्। यो बुँदाको चुरो यही हो। हामीले भर्खरै छलफल गरेको कुरा एउटा स्थापित तथ्य हो। यहाँ चाहना र महत्त्वाकाङ्क्षाहरूले केलाई जनाउँछन्? तिनले कतिपय त्यस्ता मानिसहरूलाई जनाउँछन् जसले स्पष्ट रूपमै ख्रीष्टविरोधीले गर्ने कुराहरू गर्दैनन्, तैपनि तिनीहरूमा यी प्रवृत्तिहरू हुन्छन्। तिनीहरूमा यी प्रवृत्ति र प्रकटीकरणहरू हुन्छन्, जसको अर्थ तिनीहरूमा यी चाहना र महत्त्वाकाङ्क्षाहरू हुन्छन्। तिनीहरू जुनसुकै समूहमा भए पनि, सधैँ अधिकारीलेझैँ मानिसहरूलाई हुकुम चलाउन चाहन्छन्: “तिमी गएर खाना बनाऊ!” “तिमी गएर फलानोलाई खबर गर!” “आफ्नो कर्तव्यमा परिश्रम गर, र अझै बढी बफादार होऊ—परमेश्‍वरले हेरिरहेको छ!” के तिनीहरूले त्यो कुरा भनिरहनु आवश्यक छ? त्यो कस्तो भाव हो? सधैँ प्रभु र मालिकझैँ व्यवहार गर्नलाई तिनीहरू को हुन्? तिनीहरू केही पनि होइनन्, तैपनि तिनीहरूले यस्ता कुराहरू भन्‍ने आँट गर्छन्—के त्यो समझको कमी हुनु होइन र? कतिपयले “तिनीहरू लट्ठक हुन्” भन्न सक्छन्। तर तिनीहरू कुनै साधारण लट्ठक होइनन्—तिनीहरू विशेष हुन्छन्। कसरी विशेष? तिनीहरूले कसैसँग कुनै विषयमा तर्क वा विचारविमर्श गर्दा, तिनीहरू सही भए पनि नभए पनि, तिनीहरूले अन्तिममा जित्नैपर्छ; तिनीहरू सही भए पनि नभए पनि, अन्त्यमा तिनीहरूले भनेजस्तै हुनुपर्छ, तिनीहरूले नै हुकुम गर्नुपर्छ, र निर्णयहरू लिनुपर्छ। तिनीहरूको हैसियत जेसुकै भए पनि, तिनीहरूले निर्णयहरू लिन चाहन्छन्। यदि अर्को व्यक्तिले सही विचार व्यक्त गरेर जित्यो भने, तिनीहरू रिसाउँछन्; तिनीहरूले आफ्नो पद त्याग्छन् र आफ्नो काम रोक्छन्—तिनीहरूले यसो भन्दै छोड्छन्: “तिमीहरू आफूलाई जे मन लाग्छ त्यही भन्‍न सक्छौ—आखिर तिमीहरूले मेरो कुरा मान्‍ने त होइनौ!” के तिनीहरूमा त्यो महत्त्वाकाङ्क्षा र चाहना हुँदैन र? त्यस्ता मानिसहरू प्रभु र मालिक बन्दा, तिनीहरू प्रभारी बन्दा, तिनीहरू अगुवा बन्दा के-कस्ता परिणामहरू आउँछन्? तिनीहरू नमुना ख्रीष्टविरोधी बन्छन्। के तिमीहरूमा यस्ता प्रकटीकरणहरू छन्? त्यो राम्रो कुरा होइन! यदि परमेश्‍वरका विश्‍वासीले सत्यता प्राप्त गरेन, बरु ऊ ख्रीष्टविरोधी बन्यो भने के यो ठूलो विपत्ति हुँदैन र?

गैरविश्‍वासीहरूले मानिसहरूलाई कसरी हेर्छन्? तिनीहरूले कुनै व्यक्तिलाई भेट्दा, तिनीहरूले सुरुमा उसको रूप र पहिरन हेर्छन्; अरूले बोलेको सुन्दा, तिनीहरू सधैँ उनीहरूसँग सिकाइको क्षमता छ कि छैन भनेर हेर्न चाहन्छन्। यदि तिनीहरूले तेरो रूप र पहिरन त्यति हेर्न लायक छैन, र तँ त्यति शिक्षित वा ज्ञानी छैनस् भनेर थाहा पाए भने, तिनीहरूले तँलाई खिसी गर्छन्, र तँसँग कुरा गर्दा नियन्त्रण जमाउन चाहन्छन्। म भन्छु, “यदि तँ तर्क गर्न चाहन्छस् भने गर्, तँ बोल्।” म चुप बस्छु; म झुक्छु। म जहाँ गए पनि परमेश्‍वरको घरका धेरैजसो मानिसहरूले मेरो कुरा सुन्छन्। त्यसकारण, म अरूले बोलेको सुन्‍ने र अरूलाई अझै बढी बोल्न दिने मौकाहरू खोज्छु—म सबैलाई हृदयबाट बोल्न लगाउने, र आफ्‍ना भित्री कठिनाइहरू, र आफ्‍नो ज्ञानको बारेमा कुरा गर्न लगाउने प्रयास गरिरहेको हुन्छु। मैले सुन्दै गर्दा, म केही गडबडीहरू सुन्छु। म तिनीहरूका केही समस्या र कमीकमजोरीहरू सुन्छु, जस्तै तिनीहरू हिँड्ने मार्गमा के-कस्ता समस्याहरू आएका छन्, र मण्डलीको कुन क्षेत्रमा राम्रोसँग काम गरिएको छैन, त्यसमा के-कस्ता समस्याहरू बाँकी छन्, र तिनलाई समाधान गर्न आवश्यक छ कि छैन। म यी कुराहरू सुन्नमा ध्यान केन्द्रित गर्छु। यदि हामी कुनै विषयमा छलफल गरिरहेका छौँ भने—उदाहरणका लागि, यदि मैले कप कागज हो भनेर भनेँ, र तैँले यो प्लास्टिक हो भनेर जिद्दी गरिस् भने, म यसो भन्‍नेछु, “ठीक छ। तँ सही छस्।” म तँसित विवाद गर्दिनँ। कतिपय मानिसहरूले सोच्छन्, “यदि तपाईं सही हुनुहुन्छ भने, तपाईं किन तर्क गर्नुहुन्न?” यो विषयमा निर्भर हुन्छ। यदि यो सत्यतासँग सम्बन्धित कुरा हो भने, तिमीहरूले मेरो कुरा सुन्नु नै सही हुन्छ; यदि त्यो कुनै बाहिरी मामला हो भने, तिमीहरूले जे भने पनि, म त्यसमा संलग्‍न हुनेछैनँ—त्यस्ता कुराहरूसँग मेरो कुनै सम्बन्ध छैन। त्यस्ता कुराहरूका बारेमा तर्क गर्नुको कुनै अर्थ हुँदैन। कतिपय मानिसहरू हुन्छन् जो राज्यका निश्‍चित मामलाहरूका बारेमा छलफल गर्छन्। म तिनीहरूलाई यसो भन्छु, “मैले बुझे अनुसार, कुरा यस्तो हो।” म सुरुमा “मैले बुझे अनुसार” भन्ने वाक्यांश थप्छु; यसमा थोरै भए पनि आत्मज्ञान हुन्छ। म मामलालाई चित्रण गर्नका लागि आफूलाई थाहा भएको एउटा तथ्य प्रस्तुत गर्छु, र भन्छु, “अहिलेको परिस्थिति यस्तो छ, तर यदि कुनै विशेष परिस्थितिहरू छन् भने, तिनका बारेमा मलाई थाहा छैन।” त्यस्तो तथ्यको आधारमा यस मामलालाई मूल्याङ्कन गर्न मैले गर्न सक्‍ने यति नै हो, तर मैले कति जानेको छु भनेर देखाउन खोजेको होइन। म त तिनीहरूलाई सन्दर्भको रूपमा थोरै जानकारी मात्र दिइरहेको हुन्छु—मैले तिनीहरूको भन्दा उच्च स्थान लिन र तिनीहरूलाई दमन गर्न खोजेको होइन, र म कति प्रतिभाशाली छु, म सबै कुरा जान्दछु, तिनीहरूलाई केही पनि थाहा छैन भन्‍ने कुरा देखाउन खोजेको होइन। त्यो मेरो दृष्टिकोण होइन। कतिपय मानिसहरूले मसँग कुराकानी गरिरहँदा, म तिनीहरूलाई थाहा नभएको केही जानकारी उल्लेख गर्छु, र तिनीहरूले भन्छन्, “तपाईं घर भित्रै दिन कटाउनुहुन्छ—तपाईंलाई के थाहा छ?” तिनीहरूलाई त्यो जानकारी थाहा हुँदैन, तैपनि तिनीहरू यसको बारेमा मसँग बहस र लडाइँ गर्न चाहन्छन्। म भन्छु, “ठीक भनिस्। म बाहिर जाँदिनँ, तर मलाई यो कुराचाहिँ थाहा छ। मैले तँलाई यसको बारेमा भनेको मात्रै हुँ, त्यति हो—विश्‍वास गर् कि नगर्।” त्यसमा बहस गर्नुपर्ने कुरा के छ र? यस्तो कुराको बारेमा बहस गर्नु एउटा स्वभाव हो। कतिपय मानिसहरू त कुनै बाहिरी मामलामा यसो भन्दै श्रेष्ठताका लागि प्रतिस्पर्धा समेत गर्न चाहन्छन्: “तपाईंलाई यसको बारेमा कसरी थाहा भयो? मलाई यसको बारेमा किन थाहा भएन? किन तपाईंले यसको हरेक पक्षबारे कुरा गर्न सक्‍नुहुन्छ, तर मैले सक्दिनँ?” उदाहरणका लागि, म यसो भन्छु, “यहाँ बसेका वर्षहरूमा, मैले मौसमको बारेमा एउटा विशेष कुरा पत्ता लगाएको छु: यो ठाउँ धेरै आर्द्र छ।” यो मैले लामो समयसम्म यो ठाउँमा बसेपछि बुझेको कुरा हो—यो एउटा तथ्य हो। तैपनि कतिपय मानिसहरूले यो कुरा सुनेपछि यसो भन्छन्, “के परिस्थिति साँच्‍चै यस्तै छ? त्यसोभए मैले किन आर्द्रता महसुस गरेको छैनँ त?” तैँले आर्द्रता महसुस गरेको छैनस् भन्दैमा, आर्द्रता छैन भन्‍ने हुँदैन। तैँले आफ्नो अनुभूतिको भरमा मात्र कुरा गर्न मिल्दैन—तैँले तथ्याङ्क अनुसार कुरा गर्नुपर्छ। दैनिक मौसम पूर्वानुमानहरूले विस्तृत रूपमा बताउँछन्, र ती कुरा पर्याप्त मात्रामा हेरेपछि, तैँले यहाँ वास्तवमा आर्द्रता छ भनेर थाहा पाउनेछस्। यो मैले कल्पना गरेको कुरा होइन, र मैले अनुभूतिको आधारमा कुरा गरिरहेको छैन। किन? छायाँ पर्ने पर्खालका कुनाहरूमा वर्षैभरि सधैँ लेउ लागेको हुन्छ; वसन्त याममा, म कतिपय ठाउँमा हिँड्ने आँट नै गर्दिनँ, ती ठाउँ अति चिप्‍ला हुन्छन्। यो अवलोकन मैले यो कुरा भोगेर, यसलाई अनुभव गरेर, आफ्नै आँखाले देखेर, र व्यक्तिगत रूपमा अनुभव गरेर आएको हो। यसरी कुरा गर्नु तथ्यहरूको विरुद्धमा जानु होइन, हो त? तर कतिपय मानिसहरूले मसँग बोल्दा मलाई यी कुराहरूका बारेमा चुनौती दिन्छन्—म यहाँ आर्द्रता छ भनेर भन्छु, र तिनीहरूले छैन मात्र भन्छन्। के यिनीहरू अलमल्ल मानिस होइनन् र? (हुन् नि।) कतिपय अभिव्यक्तिहरू वास्तविकताको आधारमा बोलिएका हुन्छन्, किनभने ती अनुभवबाट आएका हुन्छन्, यतिकै कल्पना गरेर भनिएका हुँदैनन्। म किन ती कल्पना होइनन् भनेर भन्छु? किनभने तिनले प्रस्ट रूपमा, राम्ररी, र व्यवस्थित रूपमा विवरणहरू प्रस्तुत गर्छन्, र जब व्यक्तिले ती अभिव्यक्तिहरूमा चर्चा गरिएको कुरा देख्छ र अनुभव गर्छ, तब त्यो भनिएको कुरासँग ठ्याक्कै मिल्छ। के त्यो अवस्थामा ती अभिव्यक्तिहरू सही हुँदैनन् र? (हुन्छन्।) तैपनि यी सही अभिव्यक्तिहरू भए पनि, कतिपय मानिसहरू हुन्छन् जो सधैँ विवाद गर्छन् र मसँग यसरी तर्क गर्छन्। तिनीहरूले केका लागि तर्क गरिरहेका हुन्छन्? के यो घातक लडाइँ हो? के तिनीहरू आफ्नो ज्यानका लागि लडाइ गरिरहेका हुन्छन्? तिनीहरू त्यसका लागि तर्क गरिरहेका हुँदैनन्, कसले बढी जानेको छ भनेर प्रतिस्पर्धा गर्न मात्र चाहन्छन्। तिनीहरूलाई तर्क गर्न मात्र मनपर्छ—यो एउटा स्वभाव हो। तिमीहरूको विचारमा त्यस्ता मानिसहरूलाई कस्तो व्यवहार गर्नुपर्छ? के तँ रिसले आगो भइञ्जेल तिनीहरूको खुलासा गर्न, र तिनीहरूसँग तर्क आवश्यक छ? (छैन।) त्यस्ता अज्ञानी मानिसहरूसँग तर्क गर्नुको कुनै अर्थ हुँदैन। यो बदनाम हुने काम हो। तिनीहरूलाई छोडिदेओ। के त्यो नै पर्याप्त हुँदैन र? त्यस्ता मूर्ख र अविवेकी मानिसहरूसँग तर्क गरेर के फाइदा हुन्छ? यदि कसैले सत्यतासँग सम्बन्धित कुनै विषय नबुझेकोले तर्क वा बहस भयो भने, ठिक छ—तर के यी बाहिरी मामलाहरूका बारेमा तर्क गर्नु अबुझ कार्य होइन र? ख्रीष्टविरोधीहरूको स्वभाव मुख्य रूपमा सत्यतालाई नस्विकार्ने, अहङ्कारी र आत्मधर्मी हुने, सत्यताप्रति वितृष्ण हुने हो। ख्रीष्टविरोधीहरूले कुनै पनि सही शब्दहरू, वा तथ्यहरूसँग मेल खाने टिप्पणी र भनाइहरूलाई समेत स्विकार्दैनन्, अनि तिनीहरूले ती कुराहरू अनुसन्धान गर्नेछन्, र तिनका बारेमा तँसँग विवाद र तर्क गर्नेछन्—अनि सत्यताको बारेमा विवाद र तर्क नगर्ने त कुरै छाडौँ। के त्यो स्वभाव होइन र? (हो।) यो कस्तो स्वभाव हो? अहङ्कार। तिनीहरूको तात्पर्य के हो भने, “तिमीले थोरै मात्र सत्यता बुझेका छौ, होइन र? तिमी बाहिरी मामलाहरू बुझ्दैनौ, त्यसकारण तिमीले तिनका बारेमा मेरो कुरा सुन्नु सही हुनेछ! मुख नबजाऊ—मलाई साँच्‍चै लाटो रिस उठ्छ। यी बाहिरी मामलाहरू सम्हाल्‍ने काम तिम्रो होइन। तिमीले सत्यता बोलेर आफ्ना जिम्मेवारीहरू पूरा गर्दा, म तिम्रो कुरा सुनुँला—तर यी बाहिरी मामलाहरूका बारेमा कुरा गर्न छोड। चुप लाग, किन चुप लाग्दैनौ! तिमीले यी मामलाहरू कहिल्यै सामना गरेका छैनौ भने तिमीलाई के थाहा छ? तिमीले मेरो कुरा सुन्‍नुपर्छ!” हरेक कुरामा, तिनीहरूले मानिसहरूलाई आफ्‍नो कुरा सुन्न लगाउँछन्। तिनीहरूले को हो भनेर समेत नहेरी सबैलाई विजय गर्न चाहन्छन्। त्यो कस्तो स्वभाव हो? के त्यसमा कुनै समझ हुन्छ? (हुँदैन।)

ल भन्, मसँग मिलेर बस्नु सजिलो छ कि गाह्रो छ? (सजिलो।) तँलाई कसरी थाहा भयो? तँ किन यो सजिलो छ भनेर भन्छस्? म तिमीहरूलाई भन्‍नेछु, र आफ्‍नो बारेमा मैले दिएको व्याख्या सही र सटीक छ कि छैन भन्‍ने कुरा तिमीहरूले देख्‍न सक्छौ। पहिलो, मेरो समझ सामान्य छ। यो सामान्यतालाई कसरी व्याख्या गर्न सकिन्छ? यसको अर्थ मसँग सबै मामलाहरूका सम्बन्धमा सही मापदण्ड र सही दृष्टिकोण छ। त्यसरी, के हरप्रकारको कुराका सम्बन्धमा मेरा दृष्टिकोण र अभिव्यक्तिहरू, र हरप्रकारको कुराप्रतिको मेरो मनोवृत्ति सबै सामान्य छैनन् र? (छन्।) ती सामान्य छन्—कम्तीमा पनि, ती सामान्य मानवताको मापदण्ड अनुरूप छन्। दोस्रो, सत्यताले मलाई ठीक ठाउँमा राख्छ। सामान्य चेतनामा कम्तीमा पनि यी दुई वटा कुराहरू हुन्छन्। अनि यसको अर्को पक्ष पनि छ: तिमीहरूले मसँग मिलेर बस्न सजिलो देख्‍नुको कारण के हो भने मसँग सही मापन छ र मलाई हरप्रकारका मानिसहरूको स्तर थाहा छ। मसँग अगुवा र साधारण दाजुभाइ-दिदीबहिनीहरूलाई कसरी व्यवहार गर्ने, वृद्ध र सानालाई कसरी व्यवहार गर्ने, शान देखाउन खोज्ने अहङ्कारी मानिसहरूलाई कसरी व्यवहार गर्ने, र आत्मिक बुझाइ भएका र नभएका मानिसहरूलाई कसरी व्यवहार गर्ने, आदि कुराहरूका बारेमा सही हरप्रकारको व्यक्तिका लागि सही मापन, तरिका र माध्यमहरू छन्। मुख्य रूपमा यो सही मापन, साथै यी तरिका र माध्यमहरू के-के हुन्? ती सत्यता सिद्धान्तहरू अनुसार चल्नु र जथाभाबी रूपमा काम नगर्नु हो। उदाहरणका लागि, मानौँ, मैले तँलाई विश्‍वविद्यालयको विद्यार्थी भएकोमा सम्मान गर्नुपर्‍यो, वा तँलाई किसान भएकोमा खिसी गर्नुपर्‍यो रे—ती सिद्धान्तहरू होइनन्। त्यसोभए, मैले यी सिद्धान्तहरूलाई कसरी बोध गर्ने? व्यक्तिको क्षमता र मानवता, उसले पूरा गर्ने कर्तव्य, परमेश्‍वरमाथिको उसको आस्था, र सत्यताप्रतिको उसको मनोवृत्तिलाई हेरेर। म मानिसहरूलाई यी विभिन्‍न पक्षहरूको संयोजनका आधारमा मूल्याङ्कन गर्छु। तिमीहरूले मसँग मिलेर बस्‍न सजिलो देख्‍नुको अर्को कारण पनि छ, जुन कुराको बारेमा सायद धेरै मानिसहरूले धारणाहरू बोकेका हुन्छन् र त्यसलाई स्विकार्न सक्दैनन्। तिनीहरूले सोच्छन्, “तपाईंसँग हैसियत छ, तर तपाईं किन हैसियत भएको व्यक्ति जस्तो देखिनुहुन्‍न? तपाईं आफ्नो हैसियत प्रदर्शन गर्नुहुन्न; तपाईं आफूलाई उच्च र शक्तिशाली देखाउनुहुन्‍न। मानिसहरूले मनमा तपाईंलाई आदरभावले हेर्नुपर्छ भन्‍ने सोच्छन्—तर किन हो कि मानिसहरूले तपाईंलाई देख्दा, उनीहरूले तपाईंलाई समान स्तरबाट हेर्न वा हेयको दृष्टिले हेर्न उचित मान्छन्?” त्यसकारण, तिनीहरूले मसँग मिलेर बस्न सजिलो छ भन्‍ने सोच्छन्, र तिनीहरू ढुक्क हुन्छन्। कुरा त्यही होइन र? त्यही हो। परिणामस्वरूप तिनीहरूले मलाई डर मान्नुपर्ने व्यक्ति होइन, र मसँग यसरी मिलेर बस्‍नु राम्रो कुरा हो भन्‍ने सोच्छन्। ल भन, यदि मैले तिमीहरूलाई हरेक मोडमा दमन गर्ने, र कुनै ठीक कारणविना काटछाँट गर्ने, र निन्याउरो अनुहार लाएर दिनभरि तिमीहरूलाई हप्काउने र भाषण दिने हो भने, के परिस्थितिहरू फरक हुनेथिएनन् र? तिमीहरूले यस्तो सोच्नेथियौ, “तपाईंको अनौठो व्यक्तित्व र छिनछिनमा परिवर्तन हुने मुडका कारण तपाईंसँग मिलेर बस्‍न अत्यन्तै गाह्रो छ!” त्यसपछि मसँग मिलेर बस्न सजिलो हुनेथिएन। ठ्याक्कै भन्नुपर्दा, मेरा सबै पक्षहरूमा, मेरो व्यक्तित्वमा, मेरो आनन्द र रिसमा, मेरो दुःख र खुसीमा म तिमीहरूका लागि सामान्य देखिने हुनाले, साथै कल्पनामा तिमीहरूले प्रतिष्ठा र उच्च हैसियत भएका मानिसहरूमा अहम् हुनुपर्छ भन्ठान्ने, तर अहिले तिमीहरूले देख्‍ने म अत्यन्तै साधारण भएको हुनाले नै तिमीहरू सावधान हुन छाड्छौ र मसँग मिलेर बस्न सजिलो भएको अनुभूति गर्छौ। यसको साथै, के तिमीहरूलाई मैले बोल्दा शासकवर्गको भाषा प्रयोग गर्छु भन्‍ने लाग्छ? (लाग्दैन।) म त्यस्तो भाषा प्रयोग गर्दिनँ—तिमीहरूले नबुझेका कुराहरूमा म तिमीहरूलाई सकेसम्म मदत गर्छु, र म बिरलै तिमीहरूको मजाक उडाउँछु। म किन बिरलै त्यसो गर्छु? कहिलेकहीँ मलाई निकै रिस उठ्छ र म केही शब्दहरू बोलेर तिमीहरूको मजाक नउडाई बस्न सक्दिनँ, तर मैले तिमीहरू कमजोर बन्न सक्छौ भन्‍ने कुरालाई पनि विचार गर्नुपर्छ, त्यसकारण म तिमीहरूसँग त्यसरी सकेसम्म कम बोल्छु। बरु, म सहनशील, क्षमावान्, र धैर्य छु। म तिमीहरूलाई सकेसम्म र जहाँ सकिन्छ मदत गर्छु, र म तिमीहरूलाई जे-जति सिकाउन सकिन्छ त्यो सिकाउँछु—धेरैजसो परिस्थितिहरूमा म यही गर्छु। किन? किनभने अधिकांश मानिसहरूमा परमेश्‍वरको गवाही दिने र सत्यता बुझ्ने मामलाहरूमा सबैभन्दा धेरै कुराको कमी हुन्छ—तर खाने, पिउने, र रमाउने, वा लुगा लगाउने र मेकअप गर्ने, वा खेल खेल्ने, वा यस्ता जुनसुकै सांसारिक मामलाहरूका बारेमा मानिसहरूलाई सबै थाहा हुन्छ। अर्कोतर्फ, परमेश्‍वरमाथिको विश्‍वासका मामलाहरू, र सत्यतासँग सम्बन्धित मामलाहरूका सम्बन्धमा, मानिसहरू अज्ञानी हुन्छन्; जब परमेश्‍वरको गवाही दिने, साथै आफ्नो व्यावसायिक सीप, सामर्थ्य, र वरदानलाई प्रयोग गरेर परमेश्‍वरको गवाही दिने गरी केही काम गर्ने, र परमेश्‍वरको गवाही दिने केही काम सिर्जना गर्ने कुरामा, भन्नका लागि तिनीहरूसँग केही हुँदैन। त्यस्तो परिस्थिति देख्दा मैले के गर्ने? मैले तिमीहरूलाई सिकाउनुपर्छ, अलिअलि गरेर तालिम दिनुपर्छ, र सके जति राम्रो सिकाउनुपर्छ। म आफूले बुझेका, जानेका, र गर्न सक्‍ने कुराहरू छनौट गर्छु, र एउटा काम नसकिञ्जेल, म तिमीहरूलाई ती कुराहरू सिकाउँछु। म तिमीहरूलाई आफूले सक्ने जति सबै सिकाउँछु—अनि जुन कुराहरू म सिकाउन सक्दिनँ वा सिक्न सकिँदैन, ती कुराहरू तिमीहरूले जेजति बुझ्छौ, तिमीहरूले त्यति नै बुझेका हुन्छौ। यसलाई आफ्नै लयमा चल्न देओ। म तँलाई जबरजस्ती ती कुराहरू बुझ्न लगाउँदिन। अन्तिममा, कतिपय मानिसहरूले यसो भन्छन्, “कुनै पेसालाई बुझेका हामीहरू भुइँमान्छेसामु झुकेका छौँ। यो पेसालाई बुझेका हामीहरूले केही पनि पूरा गर्न सकेका छैनौँ, अनि यो पेसाको बारेमा केही थाहा नभएको यो व्यक्तिले हामीलाई सधैँ सिकाउनुपर्छ। कति अपमानजनक कुरा!” यो अपमानजनक कुरा होइन। सारा मानवजाति विश्‍वासीको रूपमा परमेश्‍वरको गवाही दिन असफल हुन्छन्—यदि मानिसहरू जन्मजातै परमेश्‍वरको गवाही दिन सक्षम हुन्थे भने, कसैले पनि उहाँको विरोध गर्ने थिएन! मानिसहरू शैतान जस्तै हुने र तिनीहरूसँग परमेश्‍वरप्रति शत्रुवत् प्रकृति सार हुने भएकाले तिनीहरूले सत्यता र परमेश्‍वरको गवाहीसँग सम्बन्धित कुराहरू गर्न सक्दैनन्। त्यसोभए, मानिसहरूले के गर्नुपर्छ? तिनीहरूले आफूले गर्न सक्‍ने कुरा गर्नका लागि सबैभन्दा बढी मेहनत लगाए पुग्छ। यदि मसँग सहयोग र प्रशिक्षण प्रदान गर्ने ऊर्जा छ भने, म सहयोग गर्छु। यदि मसँग ऊर्जा छैन, वा म अरू कामकुरामा व्यस्त भएँ र मैले समय मिलाउन सकिनँ भने, तिमीहरूले जे सक्छौ त्यही गर। त्यो सिद्धान्तहरू अनुरूप हुन्छ, होइन र? एउटै मात्र तरिका यही हो। म जबरजस्ती तँलाई आफ्नो क्षमताभन्दा बाहिरको काम गराउँदिनँ। यसो गर्नु बेकार छ—त्यसो गर्नै मिल्दैन। अन्त्यमा, मानिसहरूले सोच्छन्: “तपाईंसँग मिलेर बस्‍न निकै सजिलो छ, र तपाईंका मापदण्डहरू हासिल गर्न सजिला छन्। तपाईंले हामीलाई के गर्नुपर्ने हो भन्नुहोस्, हामी तपाईंले भनेजस्तै गर्नेछौँ।” कतिपय मानिसहरू कहिलेकहीँ काटछाँटमा पर्न सक्छन्। तिनीहरूमध्ये धेरैजसो त्यसबाट सही बुझाइ लिएर निस्कन्छन्। एक-दुई जना मानिसहरूले आफ्नो काम छोड्छन्, र एक-दुई जनाले गोप्य रूपमा बाधाहरू निम्त्याउँछन्, आफ्नो कर्तव्य पूरा गर्न मेहनत गर्दैनन्, र वास्तविक काम गर्दैनन्। त्यसपछि त्यस्ता मानिसहरूलाई प्रतिस्थापन गरिन्छ। यदि तँ काम गर्न इच्छुक छैनस् भने, छोड्। यसका लागि प्रयोग गरिने व्यक्ति तँ नै किन हुनुपर्छ र? हामी तँलाई प्रतिस्थापन गर्नेछौँ—गर्नुपर्ने त्यति मात्र हो। कुरा सजिलो छ, होइन र? यदि भविष्यमा, ती मानिसहरूले पश्चात्ताप गरे, तिनीहरू परिवर्तन भए, र तिनीहरूले आफ्नो काम राम्ररी गरे भने, तिनीहरूलाई अर्को मौका दिइनेछ—र यदि तिनीहरूले अझै पनि त्यसरी नै बाधा र अवरोधहरू ल्याए भने, तिनीहरूलाई फेरि कहिल्यै प्रयोग गरिनेछैन। मैले आज्ञाकारी व्यक्तिलाई प्रयोग गर्नु नै राम्रो हुन्छ। सधैँ त्यस्ता मानिसहरूको झमेलामा पर्नुको के फाइदा? होइन र? त्यो तिनीहरूका लागि गाह्रो र मेरो लागि थकाइलाग्दो हुनेछ। मसँग यी कुराहरूलाई सम्हाल्न अरूसँग कसरी मिलेर बस्नका लागि पनि सिद्धान्तहरू छन्। मसँग मिलेर बस्न सजिलो हुनुको अर्को कारण के हो भने, मानिसहरूसँग मिलेर बस्दा, म कहिल्यै तिनीहरूलाई धेरै कठिन मागहरू पूरा गर्न बाध्य पार्दिनँ। तैँले जे गर्न सक्छस् त्यो गर्; तैँले जुन कामहरू गर्न सक्दैनस्, म तँलाई एक-एक गरी बुझाउनेछु। तैँले आफ्नो सारा हृदयले जे गर्न सक्छस्, त्यो गर्; यदि तैँले मन लगाएर त्यो काम गर्दैनस् भने, म तँलाई जबरजस्ती गर्नेछैन। बाँकी कुरा, अर्थात्, तैँले परमेश्‍वरमा कसरी विश्‍वास गर्छस् भन्‍ने कुरा तेरो आफ्नै मामला हो। यदि तैँले अन्तमा केही हासिल गरिनस् भने, तैँले कसैलाई दोष दिन पाउनेछैनस्। मानिसहरूलाई कसरी व्यवहार गर्ने भन्‍ने सम्बन्धी मेरा सिद्धान्तहरूबारे तँलाई के लाग्छ? के तँलाई ती अलिक लचकदार छन् जस्तो लाग्छ? त्यस्तो पटक्‍कै होइन—मैले यसलाई सम्हाल्ने तरिका पूर्ण रूपमा सिद्धान्तहरू अनुरूप छ। ती कस्ता सिद्धान्तहरू हुन्? मेरो कुरा सुन्यौ भने तिमीहरूले बुझ्नेछौ।

म देहधारी परमेश्‍वर मानवताभित्रै रहेर काम गर्छु—के मैले काम गर्दा पवित्र आत्मा वा परमेश्‍वरको आत्मालाई पूर्ण रूपमा प्रतिस्थापन गर्न सक्छु? अहँ, सक्दिनँ। त्यसकारण, म स्वर्गमा परमेश्‍वरलाई प्रतिस्थापन गरेर उहाँको सबै काम गर्न चाहन्छु भनेर आफ्‍नो सीमाभन्दा बाहिर जाने कोसिस गर्दिनँ। त्यो त म आफैलाई ठूलो बनाउनु हो—म त्यसो गर्न सक्दिनँ। म त एउटा साधारण व्यक्ति हुँ। म जे गर्न सक्छु, त्यही गर्छु। म आफूले राम्ररी गर्न सक्‍ने काम गर्छु; म त्यो पूरा गर्छु, र उचित रूपमा गर्छु। म आफ्‍नो हृदय र सारा शक्ति यही गर्नमा लगाउँछु। त्यति भए पुग्छ। मेरो हातमा पर्ने काम त्यही हो। तर यदि मैले यो कुरा बुझ्‍न सकिनँ, यो तथ्यलाई अवज्ञा गरेँ, र यसलाई स्विकारिनँ, बरु सधैँ महान् भएको बहाना गर्न खोजेँ, सधैँ चम्कने प्रयास गरेँ, सधैँ केही अविश्वसनीय सीप देखाउने प्रयास गरेँ भने, के त्यो सिद्धान्तहरू अनुरूप हुनेछ? हुनेछैन। के तिमीहरूलाई मैले यो कुरा बुझेको छु भन्‍ने लाग्छ? बुझेको छु, एकदम राम्ररी बुझेको छु! परमेश्‍वरको देहले के भन्‍न सक्‍नुहुन्छ र देहले के काम गर्न सक्‍नुहुन्छ भन्‍ने कुराको दायरा उहाँले देहमा गर्नुहुने कामको दायरा हो। यस दायराभन्दा बाहिर, मानिसहरूले व्यक्तिगत रूपमा परमेश्‍वरको ताडना र काटछाँट, र पवित्र आत्माको अन्तर्दृष्टि र मार्गदर्शन अनुभव गर्नु, साथै परमेश्‍वरले दर्शनहरू दिनु, र परमेश्‍वरले कसलाई सिद्ध पार्नुहुन्छ र कसलाई हटाउनुहुन्छ, र सबै मानिसहरूका सम्बन्धमा परमेश्‍वरको दृष्टिकोण र मनोवृत्ति कस्तो छ—यी सबै कुराहरू परमेश्‍वरका मामला हुन्। यदि तिमीहरू मेरो निकट सम्पर्कमा छौ भने, म पनि यी कुराहरू देख्‍न सक्छु—तर मैले जसरी हेरे पनि, तीमध्ये कति देख्‍न सक्छु र? मैले देख्न सक्‍ने मानिसहरूको सङ्ख्या, र मेरो सम्पर्कमा आउने मानिसहरूको सङ्ख्याको सीमा हुन्छ—यसले हरेक व्यक्तिलाई कसरी समेट्न सक्ला? त्यो असम्भव हुनेछ। के तँ यस मामलामा स्पष्ट हुनु पर्दैन र? ल भन् त, के म यस मामलामा स्पष्ट छु? स्पष्ट छु। एउटा सामान्य व्यक्तिले गर्नुपर्ने नै यही हो। म आफूले गर्नु नपर्ने कामकुराका बारेमा सोच्दिनँ। के मानिसहरूले यसो गर्न सक्छन्? सक्दैनन्—तिनीहरूमा त्यो चेतनाको कमी हुन्छ। कतिपय मानिसहरूले मलाई सोध्छन्, “के तपाईंले सधैँ गोप्य रूपमा कुराहरू जाँच गरिरहनुभएको हुँदैन र? के तपाईंले सधैँ कसले के गरिरहेको छ र तिनीहरूले तपाईंको बारेमा गोप्य रूपमा के-कस्ता खराब कुराहरू गरिरहेका छन्, वा कसले लुकेर तपाईंको आलोचना गरिरहेको छ र तपाईंको बारेमा अनुसन्धान गरिरहेको छ भन्‍ने बारेमा सोधपुछ गरिरहनुभएको हुँदैन र?” म तँलाई साँचो कुरा भन्छु: मैले ती कुराहरूका बारेमा कहिल्यै सोधपुछ गरेको छैन। ती कुराहरूको प्रभारी को हो? परमेश्‍वरको आत्मा हुनुहुन्छ—परमेश्‍वरले सबै कुरा छानबिन गर्नुहुन्छ; उहाँले सारा पृथ्वी छानबिन गर्नुहुन्छ र मानिसहरूको हृदय छानबिन गर्नुहुन्छ। यदि तँ परमेश्‍वरको छानबिनमा विश्‍वास गर्दैनस् भने, के तेरो समझ असामान्य छैन र? (हो, छ।) त्यसोभए तँ परमेश्‍वरमा साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति होइनस्, तैँले गलत अडान लिइरहेको छस्, र एउटा ठूलो समस्या देखा परेको छ। म तिमीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्न लगाउँछु, र म यसमा पूर्ण रूपमा विश्‍वास गर्छु। त्यसकारण, मेरा वचन र कार्यहरू यही जगमा निर्माण भएका हुन्छन्। म मेरो सीमाभन्दा बाहिरका कामकुरा गर्दिनँ; म मेरा क्षमताहरूको दायराभन्दा बाहिरका कामकुरा गर्दिनँ। के त्यो स्वभाव होइन र? (हो।) कतिपय मानिसहरूले यसलाई त्यसरी हेर्दैनन्। तिनीहरूले मसँग यो पहिचान, यो हैसियत, र यो शक्ति छ भन्ठान्छन्, त्यसकारण तिनीहरू मैले किन त्यस्तो व्यवहार नगरेको भनेर जान्न चाहन्छन्। तिनीहरूले सोच्छन् कि मैले अझै धेरै कुरा बुझ्नुपर्छ, र अझै धेरै कुरा बोध गर्नुपर्छ, ताकि मसँग अझै धेरै प्रतिष्ठा, अझै ठूलो हैसियत, अझै बढी शक्ति, र अझै बढी अख्तियार छ जस्तो देखियोस्। परमेश्‍वरले मलाई जति धेरै अख्तियार र शक्ति दिनुहुन्छ, मसँग त्यति नै हुने हो। यी कुराहरू मैले सङ्घर्ष गरेर वा खोसेर पाउने होइन। परमेश्‍वरको अख्तियार, उहाँको शक्ति, र उहाँको सर्वशक्तिमान्‌ता कुनै मामुली देहले प्रतिनिधित्व गर्न सक्‍ने कुराहरू होइनन्। यदि तँ त्यसबारे स्पष्ट छैनस् भने, तेरो समझमा केही गडबड छ। यदि तैँले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्षपछि पनि यस कुरालाई बुझ्‍न सक्दैनस् भने, तँ अत्यन्तै मूर्ख र अज्ञानी छस्। त्यस्ता धेरै कुराहरू छन् जसका बारेमा म सोध्दिनँ—तर के मलाई हृदयमा तिनका बारेमा थाहा हुन्छ? (हुन्छ।) मलाई के थाहा हुन्छ? के मलाई सबैको नाम थाहा हुन्छ? के मलाई हरेक व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको कति वर्ष भयो भनेर थाहा हुन्छ? मैले ती कुराहरू जान्नु आवश्यक छैन। मैले हरेकको स्थिति कस्तो छ, हरव्यक्तिमा के कुराको कमी छ, तिनीहरूले कुन हदसम्‍म जीवन प्रवेश प्राप्त गरेका छन्, साथै सबैले के-कस्ता सत्यताहरू सुन्नुपर्छ, र सबैलाई के-कस्ता कुराहरूद्वारा मलजल गर्नुपर्छ, र के-कस्ता कुराहरू प्रदान गर्नुपर्छ भन्‍ने कुरा जाने पुग्छ। मेरो भागमा पर्ने कुरा यही होइन र? मेरो भागमा के पर्छ—मैले के भन्‍नुपर्छ र मैले के काम गर्नुपर्छ भनेर जान्नु—के त्यो चेतना होइन र? (हो।) त्यस्तो चेतना कसरी आउँछ? यदि देहधारी परमेश्‍वरमा यो चेतना समेत थिएन, यदि उहाँसँग यावत् थोक र यावत् घटनाहरू मापन गर्ने मापदण्ड समेत थिएन भने, त्यसपछि बोल्नलाई उहाँसँग कुन सत्यता हुन्थ्यो र? यदि देहधारी परमेश्‍वरले परमेश्‍वरको आत्मासँग लडाइँ गर्नुभयो र हैसियतका लागि उहाँसँग प्रतिस्पर्धा गर्नुभयो भने, केही गडबड भएको हुनेथिएन र? के त्यो गलत हुनेथिएन र? के परिस्थिति त्यस्तो हुन सक्थ्यो? हुन्थेन—त्यो कहिल्यै हुन नसक्‍ने कुरा हो।

कतिपय मानिसहरू सधैँ चिन्ता लिएर यसो भन्छन्, “के तपाईंले सधैँ हाम्रो बारेमा सोधपुछ गरिरहनुभएको र सधैँ गोप्य रूपमा हाम्रो बारेमा अनुसन्धान गरिरहनुभएको हुन्छ? के परमेश्‍वरले सधैँ हामीले उहाँको बारेमा के सोच्छौँ र हामीले हृदयमा उहाँलाई कसरी हेर्छौँ भनेर मापन गर्ने प्रयास गरिरहनुभएको हुन्छ?” म त्यस्ता कुराहरूका बारेमा सोच्दिनँ। ती वाहियात कुरा हुन्! ती कुराहरूका बारेमा सोचेर के फाइदा हुन्छ र? यो सबै परमेश्‍वरको छानबिनभित्र पर्छ। परमेश्‍वरको आत्माका कार्यहरूको दायरा हुन्छ, र देहधारी परमेश्‍वरका कार्यहरूको त अझ बढी हुन्छ। देहधारी परमेश्‍वर नै परमेश्‍वर हुनुहुन्छ, उहाँ सत्यताको अभिव्यक्ति माध्यम र अभिव्यक्ति हुनुहुन्छ, र उहाँले यस चरणमा गर्नुहुने कामले यो चरणको प्रतिनिधित्व गर्छ, अघिल्लो चरणको होइन। देहधारी परमेश्‍वरले यो अवधि र यो क्षेत्रभित्रको काम मात्र गर्न सक्नुहुन्छ। त्यसोभए के यो कामले अर्को चरणको प्रतिनिधित्व गर्न सक्छ? भविष्यमा के होला, त्यो त हामीलाई थाहा हुँदैन। त्यो परमेश्‍वर आफै जान्नुहोला। म हदभन्दा बाहिर जाँदिनँ। म आफूले जे गर्नुपर्ने हो त्यही गर्छु; म आफूले गर्नुपर्ने र गर्न सक्‍ने कामकुरा गर्छु। म कहिल्यै पनि आफूलाई आफ्‍नो सीमाभन्दा बाहिर धकेलेर यसो भन्दिनँ, “म सर्वशक्तिमान् छु! म महान् छु!” त्यो परमेश्‍वरको आत्मा हो; देहधारी परमेश्‍वरले यो अवधिमा परमेश्‍वरले गरिरहनुभएको कामको अभिव्यक्ति र माध्यमलाई मात्रै प्रतिनिधित्व गर्नुहुन्छ। उहाँको कार्यक्षेत्र र उहाँले के काम गर्नुपर्छ भन्‍ने कुरा परमेश्‍वरले पहिले नै निर्धारित गर्नुभएको छ। यदि तैँले “देहधारी ख्रीष्ट सर्वशक्तिमान् हुनुहुन्छ” भनेर भनिस् भने, तँ सही हुनेथिइस् कि गलत? आधा सही, आधा गलत। परमेश्‍वरको आत्मा सर्वशक्तिमान् हुनुहुन्छ; ख्रीष्ट सर्वशक्तिमान् हुनुहुन्छ भनेर भन्‍न सकिँदैन। तैँले परमेश्‍वर सर्वशक्तिमान् हुनुहुन्छ भनेर भन्‍नुपर्छ। त्यो यसलाई व्यक्त गर्ने सटीक र सही तरिका हो, र त्यो तथ्यहरूसँग मेल खान्छ। ममा कस्तो चेतना हुनुपर्छ? सबैले मलाई परमेश्‍वर, परमेश्‍वर स्वयम्, देहधारी परमेश्‍वर भनेर भन्छन्, त्यसकारण के मैले परमेश्‍वर स्वयम् अर्थात् उहाँको आत्माको स्थान लिन सक्छु भन्‍ने विश्‍वास गर्छु त? म त्यो स्थान लिन सक्दिनँ। परमेश्‍वरले मलाई त्यो शक्ति र क्षमता दिनुभए पनि, म त्यो हासिल गर्न सक्दिनँ। यदि मैले यसरी परमेश्‍वरको स्थान लिन सक्‍ने भए, के त्यो लगभग उहाँको स्वभाव र सार विरुद्धको एक प्रकारको ईश्‍वरनिन्दा हुनेथिएन र? देह अत्यन्तै सीमित हुन्छ! यसलाई त्यसरी बुझ्ने होइन; यो विषयलाई त्यो दृष्टिकोणबाट हेर्ने होइन। कुरा त्यही होइन र? (हो।) त्यसकारण, मसँग यी विचारहरू, काम गर्ने यी सिद्धान्तहरू, र हरेक काम गर्ने बारेमा गरिएका विचारहरू भएका हुनाले, धेरै मानिसहरूका नजरमा म परमेश्‍वर जस्तो देख्दिनँ, र कतिपय मानिसहरू हुन्छन् जसले मेरो सम्पर्कमा आउनुभन्दा पहिले नै केही स्वैरकल्पना, कल्पना, र धारणाहरू बोकेका हुन्छन्, जो आफ्नो व्यवहारमा होसियार र सतर्क हुन्छन्, त्यसपछि मलाई भेट्ने बित्तिकै, तिनीहरूले यस्तो सोच्छन्, “उहाँ त एउटा व्यक्ति मात्र हुनुहुन्छ, होइन र? उहाँमा डरलाग्दो कुरा केही छैन।” यसपछि, तिनीहरूले धक मान्दैनन्—तिनीहरू साहसी बन्छन्, र अनियन्त्रित रूपमा खराब कुराहरू गर्ने दुस्साहस गर्छन्। तिनीहरूलाई के भनिन्छ? अविश्‍वासी। यदि तैँले परमेश्‍वरको आत्मामा नभई देहधारी परमेश्‍वरमा मात्र विश्‍वास गर्छस् भने, तँ एक अविश्‍वासी होस्; अनि यदि तैँले देहधारी परमेश्‍वरमा नभई परमेश्‍वरको आत्मामा मात्र विश्‍वास गर्छस् भने पनि, तँ एक अविश्‍वासी नै होस्। देहधारी परमेश्‍वर र परमेश्‍वरको आत्मा एउटै हुनुहुन्छ—उहाँहरू एकै हुनुहुन्छ। उहाँहरू एक-अर्कासँग लडाइँ गर्नुहुन्‍न, उहाँहरू एक-अर्काबाट अलग हुनु त परको कुरा हो, र उहाँहरू आ-आफ्नो अलग अस्तित्व हुनु त झन् परको कुरा हो। उहाँहरू एउटै हुनुहुन्छ—मात्र यति हो कि देहधारी परमेश्‍वरले आफ्नो काम र परमेश्‍वरलाई देहको दृष्टिकोणबाट हेर्नुपर्छ। त्यो देहको काम हो, र तिमीहरूसँग यसको कुनै सम्बन्ध छैन—यो ख्रीष्टको काम हो, र मानवजातिसँग यसको कुनै सम्बन्ध छैन। तैँले यसो भन्न मिल्दैन, “त्यसोभए तपाईंलाई पनि आफू साधारण व्यक्ति हुँ भन्‍ने लाग्छ। ठीक छ, त्यसोभए हामी एउटै प्रकारका मानिसहरू हौँ—हामी सबै उस्तै हौँ।” के यसो भन्‍नु ठीक हुन्छ? यो गल्ती हो। कतिपय मानिसहरूले भन्छन्, “तपाईंसँग मिलेर बस्‍न निकै सजिलो हुन्छ जस्तो देखिन्छ, त्यसकारण औपचारिकताहरू छोडौँ। एक-अर्कालाई साथी अर्थात् मित्रहरूजस्तै व्यवहार गरौँ; एक-अर्काको विश्‍वासपात्र बनौँ—हामी एक-अर्काको मित्र बनौँ।” के त्यसो भन्नु ठीक हो? ती मानिसहरूमा आत्मिक बुझाइ हुँदैन; तिनीहरू अविश्‍वासी हुन्। जति बढी तैँले तिनीहरूसँग आफ्ना भावनाहरू बाँड्छस्, र सत्यता, तथ्यहरू, र सत्यता वास्तविकताका बारेमा कुरा गर्छस्, त्यति नै तिनीहरूले तँलाई खिसी गर्छन्—यी मानिसहरू अविश्‍वासी हुन्। जति बढी तैँले गहन रहस्यहरूबारे बोल्छस्, र सुत्रवाक्य, धर्मसिद्धान्त, र अमूर्त वाक्यहरू बोल्छस्, साथै जति बढी तैँले आफ्नो हैसियतको दाबी गर्छस्, सान देखाउँछस्, र आफ्‍नो प्रदर्शन गर्छस्, त्यति नै तिनीहरूले तँलाई सम्मान गर्छन्—यी मानिसहरू अविश्‍वासी हुन्। जब तिनीहरूले आफ्ना व्यवहारमा सिद्धान्त अनुरूपका र सोच-विचार गर्ने व्यक्तिलाई भेट्छन्, जसले सत्यतासँग मेल खाने कार्यहरू गर्छ, जसले सकारात्मक र नकारात्मक कुराहरूलाई स्पष्ट सीमा छुट्याएर हेर्न सक्छ—जति बढी त्यो व्यक्ति यस्तो हुन्छ, तिनीहरूले उसलाई त्यति नै हेला गर्छन्, र उसलाई ध्यान दिनु पनि आवश्यक छैन भन्‍ने सोच्छन्—यिनीहरू अविश्‍वासी हुन्।

जब म मानिसहरूको सम्पर्कमा आउँछु र तिनीहरूसँग अन्तरक्रिया गर्छु, तब तिनीहरू जोसुकै भए पनि वा अन्तरक्रिया जति लामो भए पनि, के तिनीहरूमध्ये कुनैले “उहाँले सधैँ मलाई नियन्त्रण गर्ने प्रयास गरिरहनुभएको हुन्छ, उहाँले मेरो घरका सबै मामलाहरू नियन्त्रण गर्नुहुन्छ, उहाँले सधैँ मलाई विजय गर्ने प्रयास गरिरहनुभएको हुन्छ” भन्ने महसुस गर्छन्? मैले तँलाई विजय गरिरहेको छैन! त्यसो गरेर के फाइदा हुन्छ? आफै परमेश्‍वरका वचनहरू पढ्, र तिनका बारेमा मनन गरेर बिस्तारै तिनमा प्रवेश गर्। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, पवित्र आत्माले तँमा काम गर्नुहुनेछ, र परमेश्‍वरसँग तेरो लागि आशिष् र मार्गदर्शन हुनेछ। यदि तँ सत्यता पछ्याउने व्यक्ति होइनस्, यदि तँ मैले भनेको हरेक कुराप्रति सधैँ विद्रोह गर्छस्, त्यो कुरा सुन्न चाहँदैनस्, र त्यसलाई स्विकार्दैनस् भने, अन्त्यमा, तँ सधैँ खुलासामा पर्नेछस्, र तैँले कामकुरा गर्दा सधैँ गडबड हुनेछ—तैँले परमेश्‍वरको नेतृत्व पाउनेछैनस्। त्यो कसरी हुन्छ? (परमेश्‍वरले सबै कुरा छानबिन गर्नुहुन्छ।) परमेश्‍वरले सबै कुरा छानबिन गर्ने मात्र होइन। यसलाई तिमीहरू आफैले भोगेर अनुभव गर। जब म केही कुरा भन्छु, तब मानिसहरू यसमा सहमत भए पनि नभए पनि, वा तिनीहरूले यसलाई स्वीकार गरे पनि नगरे पनि, पवित्र आत्माले यसलाई समर्थन गर्नुहुन्छ कि यसप्रति झिजो मान्‍नुहुन्छ? (उहाँले यसलाई समर्थन गर्नुहुन्छ।) पवित्र आत्माले अवश्य नै यसलाई समर्थन गर्नुहुन्छ र यसलाई पटक्‍कै अवमुल्यन गर्नुहुन्‍न। तिमीहरूले यो कुरा याद गर्नु बुद्धिमानी हुनेछ। मानिसहरूले मेरो कुरालाई स्विकार्न सके पनि नसके पनि, एक दिन तथ्यहरू प्रस्ट पारिनेछन्, र देख्नेबित्तिकै, सबैले भन्‍नेछन्, “तपाईंले भन्‍नुभएको कुरा पहिलेदेखि नै सही थिएछ! तपाईंले धेरै पहिले नै यो कुरा भन्‍नुभएको हो—मलाई यसको बारेमा किन थाहा भएन?” तैँले त्यो बेला मेरा वचनहरू मेरो कल्पनाबाट आएका हुन् भनेर विश्‍वास गरेको भए पनि, मेरो मनबाट, वा ज्ञानबाट आएका हुन् भनेर विश्‍वास गरेको भए पनि—एक दिन, केही कुराहरू अनुभव गरेपछि, तँलाई लाग्नेछ, “तपाईंले सधैँ सत्यता नै भन्‍नुभएको रहेछ!” अनि तँ कसरी यो बुझाइमा पुगेको हुनेछस्? अनुभवबाट। यदि तैँले यो ज्ञान प्राप्त गर्न सकिस् भने, के यो मनोविश्लेषणद्वारा प्राप्त गरेको हुन्छस्? अवश्य नै होइन; तँलाई पवित्र आत्माले अगुवाइ गर्नुभएको हुनेछ—यो परमेश्‍वरले गर्नुभएको हुनेछ। गैरविश्‍वासीहरूले जिवनभरि स्वर्ग, पृथ्वी र यावत् थोकसम्बन्धी केही नियमहरूका बारेमा थोरै ज्ञान राख्छन्, तर के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? (सक्दैनन्।) त्यसोभए, तिनीहरूले के कुरा छुटाइरहेका हुन्छन्? (तिनीहरूसँग पवित्र आत्माको काम हुँदैन।) हो। तिनीहरूसँग पवित्र आत्माको काम हुँदैन—तिनीहरूले यही कुरा छुटाइरहेका हुन्छन्। त्यसकारण, तैँले मलाई व्यक्तिको रूपमा जसरी हेरे पनि र मूल्याङ्कन गरे पनि, र मैले बोल्ने वचन र गर्ने कामहरूलाई जसरी लिए पनि, यसले अन्तमा परिणाम त अवश्यै दिन्छ। परमेश्‍वरले काम गर्नुहुनेछ, र उहाँले तेरो निर्णय सही थियो कि गलत थियो, तेरो मनोवृत्ति सही थियो कि गलत थियो, र तेरो दृष्टिकोणमा केही गल्ती थियो कि थिएन भन्‍ने कुरा प्रकाश गर्नुहुनेछ। परमेश्‍वरले आफ्नो देहको कामलाई कायम राख्‍नुहुन्छ। त्यसोभए परमेश्‍वरले किन अरू मानिसहरूलाई समर्थन गर्नुहुन्‍न? उहाँले किन ख्रीष्टविरोधीहरूलाई समर्थन गर्नुहुन्न? किनभने आत्मा र देह एउटै हुन्; उहाँहरूको स्रोत एउटै हो। वास्तवमा, यो कायम राख्‍ने कार्य होइन, अर्थात् तैँले अन्त्यसम्म अनुभव गरिसकेपछि, चाहे ती देहधारी परमेश्‍वरले बोल्नुभएको वचनहरू होऊन् वा पवित्र आत्माको अन्तर्दृष्टिबाट तँमा आएका वचनहरू होऊन्, ती सुसङ्गत हुनेछन्। ती कहिल्यै पनि एक-अर्कासँग बाझिनेछैनन्; ती मिल्नेछन्। के तिमीहरूसँग यसको पुष्टि छ? कतिपय मानिसहरूसँग हुन्छ, तर अरू अझै पनि आफ्नो अनुभवको यो विन्दुमा पुगेका हुँदैनन्, र तिनीहरूसँग यसको पुष्टि हुँदैन। यसको अर्थ तिनीहरूको आस्था अझै पनि त्यो विन्दुमा पुगेको हुँदैन; यो अझै पनि अत्यन्तै सानो हुन्छ। अर्को शब्दमा भन्दा, जब तेरो विश्‍वास निश्‍चित हदमा पुग्छ, तब अचानक एउटा यस्तो दिन आउँछ जब तँलाई यो साधारण देहले बोलेको साधारण वाक्यांश, जुन वाक्यांश सुन्दा तँलाई त्यति प्रभावशाली लागेको थिएन, त्यो तेरा जीवन बनेको छ भन्‍ने महसुस हुन्छ। यो कसरी तेरो जीवन बनेको हुनेछ? तँ आफ्ना कार्यहरूमा थाहै नपाई यसमा भर परिरहेको हुनेछस्। यो तेरो दैनिक जीवनको मार्गनिर्देशन बनेको हुनेछ। अनि तँसँग मार्ग नहुँदा, त्यो वाक्यांश तेरो वास्तविकता बन्नेछ, र यो तँलाई बाटो देखाउने लक्ष्य बन्नेछ; तँ पीडामा हुँदा, त्यो वाक्यांशले तँलाई नकारात्मकताबाट बाहिर निस्कन र तेरो समस्या के हो भनेर बुझ्न मदत गर्नेछ। त्यस्तो अनुभवपछि, तैँले बुझ्नेछस् कि त्यो वाक्यांश जति नै साधारण भए पनि, यसका शब्दहरूमा वजन र जीवन छ—कि यो नै सत्यता हो! यदि तैँले सत्यता पछ्याउने कार्यमा ध्यान दिँदैनस् र सत्यतालाई प्रेम गर्दैनस् भने, तैँले परमेश्‍वर, उहाँको देहधारण, र उहाँले व्यक्त गर्नुहुने सत्यताहरूलाई निन्दा गर्न सक्छस्। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् भने, तेरो अनुभवमा एउटा यस्तो दिन आउनेछ जुन बेला तैँले यसो भन्‍नेछस्, “परमेश्‍वरसँग मिलेर बस्‍न निकै सजिलो छ। देहधारी परमेश्‍वरसँग मिलेर बस्‍न निकै सजिलो छ”—तर कसैले पनि यसो भन्‍नेछैन, “म उहाँसँग यसरी मिलेर बस्दै आइरहेको छु मानौँ उहाँ एक व्यक्ति हुनुहुन्छ।” किन यस्तो हुन्छ? किनभने ख्रीष्टका वचनहरूबारे तेरो अनुभव, र तेरो दैनिक जीवनमा तैँले पवित्र आत्मालाई नदेखेको बेला उहाँले तँमा गर्नुहुने काम उस्तै हुन्छन्। यो “उस्तै” शब्दले तँभित्र के कुरा जगाउनेछ? तैँले भन्‍नेछस्, “परमेश्‍वरले साधारण, आम किसिमको बाहिरी रूप, अर्थात् देहको रूप धारण गर्नुभएको छ, त्यसकारण मानिसहरूले उहाँको सारलाई बेवास्ता गरेका छन्। मानिसहरूमा भ्रष्ट स्वभाव भएकै कारण तिनीहरूले परमेश्‍वरको सारको पक्षलाई देख्‍न सक्दैनन्। तिनीहरूले मानिसले देख्न सक्‍ने पक्ष मात्रै देख्छन्। मानिसहरूमा साँच्‍चै नै सत्यताको कमी हुन्छ!” कुरा यस्तै होइन र? (हो।) हो त। उदाहरणका लागि, यदि कुनै काममा मैले पूरा गर्न नसक्‍ने धेरै पक्षहरू छन् भने, धेरै मानिसहरूले पक्कै पनि धारणाहरू विकास गर्छन्। तर जब मैले कामको हरेक पक्षको केही हिस्सा पूरा गर्न सक्छु, तब सबै जना अलिक शान्त हुन्छन्, र तिनीहरूलाई मनमा अलि सान्त्वना मिल्छ: “ठीक छ। उहाँ परमेश्‍वर जस्तै देखिनुहुन्छ—म यति मात्र भन्‍न सक्छु। उहाँ देहधारी परमेश्‍वर जस्तो देखिनुहुन्छ, उहाँ ख्रीष्ट जस्तो देखिनुहुन्छ। उहाँ सायद ख्रीष्ट हुनुहुन्छ।” मानिसहरूले त्यस्तै खालको परिभाषा मात्र दिन्छन्। तैपनि यदि मैले केवल सत्यतामा सङ्गति गरेर परमेश्‍वरका केही वचनहरू व्यक्त गरेँ, र त्यसभन्दा बढी गरिनँ भने—यदि मैले कुनै पनि कामको बारेमा व्यावहारिक परामर्श दिइनँ, र व्यावहारिक सल्लाह दिन सकिनँ भने, त्यसले मानिसहरूमा यो देहप्रतिको आदर र तिनीहरूले उहाँलाई दिने महत्त्वलाई घटाउनेछ। मानिसहरू देहमा निश्‍चित क्षमता र निश्‍चित प्रतिभाहरू हुनैपर्ने विश्वास गर्छन्। के यो वास्तवमा प्रतिभा हो? होइन। परमेश्‍वरले मानिसहरूलाई सबै प्रकारका प्रतिभा, वरदान, र क्षमताहरू प्रदान गर्न सक्नुहुन्छ, त्यसकारण ल भन्, के परमेश्‍वर स्वयम्‌सँग ती कुराहरू छन्? प्रशस्तै छन्! त्यसकारण, कतिपय मानिसहरूले यो पहेली समाधान गर्न सक्दैनन्, र भन्छन्, “तपाईं आफैलाई गाउन आउँदैन भने कसरी हामीलाई गाउन सिकाउन सक्‍नुहुन्छ? के त्यो कुनै भुइँमान्छेले पेसेवरहरूलाई निर्देशन दिनु सरह होइन र? के त्यो सिद्धान्तहरू विपरीत हुँदैन र?” बुझिराख्, म यसको अपवाद हुँ। किन? यदि तिमीहरूले कुनै कुरा राम्ररी गर्न सक्दैनौ भने, मैले तिमीहरूलाई सहयोगको हात फैलाउनुपर्छ; यदि तिमीहरूले केही गर्न सक्छौ भने, म हात बाँधेर बस्‍न तयार हुन्छु, म हस्तक्षेप गर्न चाहन्नँ—त्यसो गर्दा म लखतरान हुनेछु। यदि तिमीहरूले कुनै काम राम्ररी गर्न सक्छौ भने, मैले किन तिमीहरूलाई सहयोगको हात फैलाउनुपर्‍यो र? मैले यहाँ धाक लगाइरहेको छैनँ, र मैले उत्कृष्ट विचारहरू फलाकिरहेको छैनँ। म त तिमीहरूलाई व्यावसायिक सीपहरूको क्षेत्रमा र सत्यता सिद्धान्तहरूको क्षेत्रमा समान रूपमा सिकाउन मात्र चाहन्छु। तिमीहरू सबैले सीपहरू सिक्नुका साथै सिद्धान्तहरू बुझिसकेपछि, मेरो हृदयबाट ठूलो बोझ हट्नेछ, किनभने ती मेरो भागमा पर्ने कामभन्दा बाहिरका कुराहरू हुन्। कतिपयले भन्छन्, “यदि यो काम तपाईंको भागमा पर्दैन भने, तपाईंले किन गर्नुहुन्छ त?” यो काम गर्नैपर्छ, र मानिसहरू उक्त काम गर्न सक्षम छँदै छैनन्। यदि मैले यसरी नै परामर्श नदिएको भए, गरिएका कामहरू विशेष हुनेथिएनन्, र परमेश्‍वरको गवाही दिँदा नतिजाहरू ठिकठिकै आउनेथिए। यदि मसँग देखाउनका लागि कुनै महत्त्वपूर्ण कामहरू थिएनन् भने, म पनि अलिक लापरवाह र ढुक्‍क हुनेथिएँ, त्यसकारण म मेरो ऊर्जा र शारीरिक अवस्थाले साथ दिएसम्म अलिअलि काम गर्छु। किन? सोच्नुपर्ने कुराहरू धेरै छन्। जब सारा मानवजातिले मानिसहरूले बनाएका कुराहरू देख्छन्, र तिनलाई ग्रहण गर्छन्, तब मानिसहरूमा रहेका हेराइ, दृष्टिकोण, र बुझाइका क्षमताहरू तिनीहरू विश्‍वासी भएको कति लामो समय भयो, तिनीहरूको अनुभव, र तिनीहरूको क्षमता कति छ भन्‍ने हिसाबमा मात्रै फरक हुन्छन्, तर तिनीहरूको सुरुवाती विन्दु मूलतः सबै उस्तै हुन्छन्। तिनीहरूका सुरुवाती विन्दुहरू सत्यताबारे तिनीहरूको बुझाइको आधारमा सत्यता वास्तविकताहरू सम्बन्धी तिनीहरूले प्राप्त गरेका अनुभवहरू हुन्। मानवजातिले बनाउन सक्‍ने कुराहरू यिनै हुन्। म साधारण व्यक्तिको दृष्टिकोणबाट कामकुरा गर्न वा कामहरू सिर्जना गर्न सक्दिनँ। त्यसोभए मैले कस्तो दृष्टिकोण लिनुपर्छ? देहको दृष्टिकोण? म त्यसो गर्न पनि सक्दिनँ। के तँलाई त्यसो गर्नु अनुचित हुनेछ जस्तो लाग्दैन? म ती वचनहरू भन्न, ती कामकुरा गर्न, र ती विचारहरू व्यक्त गर्न, अवश्यै, परमेश्‍वर र उहाँको कामको दृष्टिकोणलाई देहबाटै अपनाउनेथिएँ। के मानवजातिको बीचमा यी कुराहरूको मूल्यलाई पैसामा मापन गर्न सकिन्छ? (सकिँदैन।) सकिँदैन। यी कामहरू एकपटक सम्पन्न, मानवजातिका लागि सधैँभरि टिकिरहने चिज बन्छन्। अवश्य नै, ती साधारण कामहरू पनि सदासर्वदा टिकिरहनेछन्। तर यी कामहरू अनन्त रूपमा र भविष्यसम्‍म नै टिकिरहने हुनाले, र चाहे त्यो परमेश्‍वरमा विश्‍वास गर्ने मार्गदर्शक होस्, वा बन्दोबस्त र सहयोग होस्, तिनले सबै मानवजातिलाई योगदान दिने हुनाले, मैले केही अझ बढी वजनदार कामहरू गर्नुपर्छ, होइन र? त्यसकारण मैले मानवजातिले लिन नसक्‍ने दृष्टिकोणबाट वचनहरू बोल्न र कामहरू गर्न जरुरी छ। म केका लागि यसो गर्छु? मण्डलीको ख्याति बढाउनका लागि। के त्यो मनसाय सही छ? (सही छ।) ल भन्, यदि मण्डलीको ख्याति बढ्यो भने के परमेश्‍वरको गवाही दिनका लागि त्यो फाइदाजनक हुन्छ? (हुन्छ।) के त्यसले यस कार्यलाई बढावा दिन्छ कि रोक्छ? (बढावा दिन्छ।) अवश्य नै—त्यसले निश्चित रूपमा यस कार्यलाई बढावा दिन्छ। जब केही गैरविश्‍वासी र धार्मिक समूहहरूले यी कामहरू देख्छन्, तब तिनीहरू यी चलचित्रहरू कति राम्रा बनेका छन् भन्‍ने देखेर छक्क पर्छन्, र सधैँ पर्दा पछाडि काम गर्ने चलचित्रकर्मीलाई भेट्न चाहन्छन्। म यी मानिसहरूलाई भेट्दिनँ। मसँग यी मानिसहरूलाई भेट्ने समय छैन, र मलाई तिनीहरूले भेट्न खोज्नुको उद्देश्य थाहा छैन। त्यसोभए मैले तिनीहरूलाई भेटेर के फाइदा हुन्छ? यदि यी चलचित्रहरू हेर्ने मानिसहरूले सत्यतालाई स्विकार्न सक्छन् भने, त्यो नै पर्याप्त हुन्छ, र यदि तिनीहरू साँचो मार्गको अनुसन्धान गर्न इच्छुक छन् भने, त्यो झनै राम्रो हो। तिनीहरूले मलाई भेट्न जरुरी छैन। छोटकरीमा भन्दा, म केही महत्त्वपूर्ण कामहरू गर्छु, ताकि मानवजातिले यी कुराहरू देख्दा, तिनीहरूलाई यसको अलिक बढी फाइदा होस्। यी कुराहरू मानवजातिका लागि छोडेर जानु राम्रो कुरा हो कि नराम्रो हो? (राम्रो कुरा हो।) यो सार्थक हुन्छ; यसो गर्दा हुन्छ।

तिमीहरूसँग मिलेर बस्ने मेरो तरिका यही हो। तिमीहरूसँगको मेरो सम्बन्ध यही हो, जुन तिमीहरूले देख्छौ र महसुस गर्छौ। त्यसोभए, तिमीहरूसँग परमेश्‍वरको कस्तो सम्बन्ध छ? के त्यो महसुस गर्न सकिन्छ? उस्तै त हो। यस्तो नसोच, “देहधारी परमेश्‍वर एउटा व्यक्ति हुनुहुन्छ; उहाँसँग मिलेर बस्‍न सजिलो छ। तर स्वर्गका परमेश्‍वरसँग प्रताप र क्रोध भएकाले उहाँसँग मिलेर बस्न सजिलो छैन—उहाँ डरलाग्दो हुनुहुन्छ!” परमेश्‍वर म जस्तै हुनुहुन्छ। उहाँले कुनै टिप्पणी वा विधि, वा बल प्रयोग गरेर तँलाई विजय गर्ने वा नियन्त्रण गर्ने गर्नुहुन्न। उहाँले त्यसो गर्नुहुन्‍न। जसरी तिमीहरूलाई म तिमीहरूसँग मिलेर बसेको महसुस हुन्छ, उहाँ पनि तिमीहरूसँग त्यसरी नै मिलेर बस्‍नुहुन्छ: म तिमीहरूलाई सक्दो कुरा सिकाउँछु, र सक्दो कुरा बुझ्न मदत गर्छु। तिमीहरूले नबुझ्ने कुराहरू म जबरजस्ती तिमीहरूको दिमागमा घुसाउँदिनँ। कतिपयले यसो भन्‍न सक्छन्, “तपाईंले हाम्रो दिमागमा कुराहरू घुसाउँदिनँ भन्‍नुहुन्छ—त्यसोभए, तपाईंले सधैँ सत्यताको प्रचार गरेर के गरिरहनुभएको छ त?” के त्यो सैद्धान्तिकरण गर्नु हो? त्यो त तिमीहरूलाई भरणपोषण गर्नु हो—त्यो तँलाई जबरजस्ती प्रगति गर्न लगाउनु होइन, मलजल गर्नु हो। मलजल उचित कुरा हो; यो एउटा सकारात्मक कुरा हो। कतिपयले भन्‍नेछन्, “के ख्रीष्टविरोधीहरूले मानिसहरूलाई विजय गर्नु परमेश्‍वरले विजय गर्नु जस्तै होइन र?” (होइन।) कुन हिसाबमा होइन? ख्रीष्टविरोधीहरूले मानिसहरूलाई विजय गर्नु र परमेश्‍वरले मानिसहरूलाई विजय गर्नुलाई जनाउन एउटै शब्द प्रयोग गरिन्छ; यो शब्दका ती दुई वटा प्रयोगहरू बीचको सारमा के भिन्‍नता छ? के तिमीहरूले यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्छौ? यदि तिमीहरूले त्यति समेत गर्न सक्दैनौ भने, सत्यता सम्बन्धी तिमीहरूको बुझाइ अत्यन्तै कमजोर छ। (शैतानले मानिसहरूलाई विजय गर्नु भनेको जबरजस्ती नियन्त्रण गर्नु, जब कि परमेश्‍वरले गर्नुहुने विजय सत्यताको भरणपोषण हो—यो मानिसहरूलाई सत्यता सिद्धान्तहरू बताउनु हो, जसलाई मानिसहरूले अभ्यास गरेर जीवन प्राप्त गर्न सक्छन्।) त्यसोभए, म तिमीहरूलाई सोध्छु: शैतानले मानिसहरूलाई नियन्त्रण र विजय गर्छ, तर के त्योसँग सत्यता हुन्छ? (हुँदैन।) शैतान भनेको के हो? यसले केका आधारमा मानिसहरूलाई विजय गर्छ? अर्को शब्दमा भन्दा, मानिसहरूलाई विजय गर्न र तिनीहरूलाई प्राप्त गर्ने प्रयास गर्नका लागि शैतानसँग के योग्यता छ? शैतानसँग बिलकुलै केही छैन। त्यसोभए, त्यसले मानिसहरूलाई विजय गर्न के प्रयोग गर्छ? त्यसले मानिसहरूलाई विजय गरिसकेपछि उनीहरूलाई के कुरा प्रदान गर्न सक्छ? त्यसले तँलाई भ्रष्ट मात्र तुल्याउन सक्छ; त्यसले तँलाई खेलाउन र बरबाद गर्न मात्र सक्छ, र अन्त्यमा, यसले तँलाई बरबाद गरिसकेपछि नरकमा पठाउनेछ। त्यसको विजय र नियन्त्रण कस्तो हुन्छ? यो त दुर्व्यवहार मात्रै हो। त्यसले तँलाई नियन्त्रण र विजय गर्नुको उद्देश्य भनेको तँलाई परमेश्‍वर र सत्यतामा समर्पित हुनबाट रोक्नु, र त्यसप्रति समर्पित गराउनु हो। शैतानका लागि, तँ परमेश्‍वरमा समर्पित हुनु गलत कुरा हो, र त्यसप्रति समर्पित हुनु सही कुरा हो। यदि तँ त्यसप्रति समर्पित भइस्, र त्यसले तँलाई नियन्त्रण र विजय गर्‍यो भने, तैँले परमेश्‍वरलाई त्यागेको हुनेछस् र उहाँलाई पूर्ण रूपमा इन्कार गरेको हुनेछस्। त्यसोभए, परमेश्‍वरले मानिसहरूलाई कसरी विजय गर्नुहुन्छ? परमेश्‍वर स्वयम् नै सत्यता हुनुहुन्छ; उहाँ सबै सकारात्मक कुराहरूको वास्तविकता, सबै सकारात्मक कुराहरूको स्रोत, र सत्यताको स्रोत हुनुहुन्छ। त्यसोभए, मानिसहरू के हुन्? मानिसहरू शैतानले भ्रष्ट तुल्याएका प्राणीहरू हुन्। तिनीहरूसँग सत्यता हुँदैन। त्यसकारण, परमेश्‍वरले सत्यता व्यक्त गरेर साथै मानिसका भ्रष्ट स्वभावहरू खुलासा गरेर मानिसहरूलाई न्याय गर्नुपर्छ र सजाय दिनुपर्छ, र तिनीहरूलाई जाँच र शोधन गर्नुपर्छ, ताकि मानिसहरूले उहाँले बोल्‍नुभएका वचनहरू बुझ्न, र उहाँलाई सृष्टिकर्ताको रूपमा र आफूलाई उहाँका सृजित प्राणीका रूपमा स्विकार्न सकून्, र उहाँसामु आएर उहाँलाई दण्डवत् गर्न, र उहाँको सार्वभौमिकता र बन्दोबस्तहरूलाई स्विकार्न सकून्। के यो सबै सत्यता अनुरूप छैन र? (छ।) त्यसोभए, यो विजय भनेको के हो? यो मानिसहरू प्राप्त गर्नु हो, यो मुक्ति हो; यो एउटा सकारात्मक कुरा हो। यो तँलाई हानि गर्नु होइन। के त्यो र शैतानको विजयको बीचमा कुनै भिन्‍नता छैन र? परमेश्‍वरले मानिसहरूलाई विजय गर्नु उचित कुरा हो। उहाँ सत्यता हुनुहुन्छ, सबै सकारात्मक कुराहरूको स्रोत हुनुहुन्छ। उहाँले “मानवजातिलाई विजय गर्नुहुन्छ” भनेर भन्दा अत्यन्तै उचित हुन्छ! मानवजातिसँग सत्यता हुँदैन, तिनीहरूलाई शैतानले गहिरो रूपमा भ्रष्ट तुल्याएको छ, र आफू जस्तै बनाएको छ। त्यसकारण मानिसहरू परमेश्‍वरमा समर्पित हुँदैनन्, साथै उहाँलाई नकार्छन्, र इन्कार गर्छन्। यसको बारेमा के गर्न सकिन्छ? परमेश्‍वरले सत्यता व्यक्त गर्नुपर्छ र सजाय र न्यायका विधिहरू प्रयोग गर्नुपर्छ, ताकि मानिसहरूले परमेश्‍वर को हुनुहुन्छ, सृष्टिकर्ता को हुनुहुन्छ, सृजित प्राणीहरू को हुन्, र शैतान को हो भनेर बुझून्, साथै तिनीहरू प्रभुलाई चिन्‍न र उहाँकहाँ फर्कन, सृष्टिकर्तालाई स्विकार्न, र उहाँको उपस्थितिमा आफूलाई उहाँका सृजित प्राणीहरू भनी स्विकार्न सक्षम होऊन्। विजयले त्यसैलाई जनाउँछ। परमेश्‍वरले विजय गर्नुभएका मानिसहरूले सत्यता बुझ्छन् कि बुझ्दैनन्? (बुझ्छन्।) अनि शैतानले विजय गरेका मानिसहरूले चाहिँ के प्राप्त गर्छन्? तिनीहरूले कुनै सत्यता बुझेका हुँदैनन्, र तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्छन्, धोका दिन्छन्, र नकार्छन्, उहाँका बारेमा धारणाहरू बोक्छन्, साथै शैतान र ख्रीष्टविरोधीहरूलाई पछ्याउने काम समेत गर्छन्। तिनीहरूले परमेश्‍वरलाई आलोचना गर्न, उहाँको विरुद्धमा विद्रोह गर्न, र उहाँलाई सराप्न पनि सक्छन्, उहाँको सार्वभौमिकतालाई स्वीकार गर्न मान्दैनन्, यसमा समर्पित हुनु त परको कुरा हो। के यिनीहरू स्वीकार्य सृजित प्राणी हुन्? (होइनन्।) तिनीहरू परमेश्‍वरले विजय गर्नुभएका मानिसहरूका ठीक विपरीत हुन्छन्; यसको परिणाम परमेश्‍वरले मानिसहरूलाई विजय गर्नुको विपरीत हुन्छ।

यदि ख्रीष्टविरोधी जस्तो व्यक्तिले हैसियत पाएको छ, र ऊ कतै गयो जहाँ ऊ अगुवा हो भनेर मानिसहरूलाई थाहा छैन भने, के ऊ यसबारे खुसी हुनेछ? हुनेछैन। ऊ जहाँ गए पनि, उसले भएभरको उपाय लगाएर सबैलाई यसो भन्नेछ, “म अगुवा हुँ; मेरो लागि खाना बनाऊ। मैले मीठो खानुपर्छ!” तिमीहरूलाई हैसियतको बारेमा मेरो दृष्टिकोण के हो जस्तो लाग्छ? (तपाईंलाई यसमा रुचि छैन।) त्यो रुचिको कमी कसरी प्रकट हुन्छ? जब म कुनै ठाउँमा जान्छु, म त्यहाँका मानिसहरूलाई सकेसम्म मेरो पहिचानबारे खुला रूपमा प्रचार नगर्न वा मानिसहरूलाई थाहा नदिन भनेर भन्छु। म किन यसो गर्छु? किनभने जब मानिसहरूलाई यसको बारेमा थाहा हुन्छ, तब यो साँच्‍चै पीडादायी बन्छ। यदि तिनीहरूले थाहा पाएनन् भने, तिनीहरूले मलाई आफ्नो हृदयको कुरा थोरै भए पनि भन्न सक्छन्; तिनीहरूले थाहा पाएपछि त्यो पीडादायी बन्छ—तिनीहरूले मेरो अघि मुखमा बुजो लगाउँछन्। ल भन, यदि मसँग मन खोलेर कुरा गर्ने कोही भएन भने के म एकलो हुँदिनँ र? म मानिसहरूलाई थाहा नदिन सक्दो प्रयास गर्छु, ताकि मानिसहरूले मलाई साधारण व्यक्तिझैँ व्यवहार गर्न र मलाई भन्‍न चाहेको कुरा भन्‍न सकून्। मानिसहरूले स्वतन्त्र र मुक्त महसुस गर्नु, मैले तिनीहरूलाई सधैँ बन्धनमा नपार्नु, र तिनीहरू सधैँ मेरो उपस्थितिमा यति विनम्र नबन्‍नु अत्यन्तै राम्रो कुरा हो। तिनीहरूले त्यस्तो व्यवहार गर्नु पर्दैन; मलाई त्यो मन पर्दैन। सत्यता नबुझ्नेहरूले सोच्छन्, “तपाईंलाई अवश्य नै त्यो कुरा मन पर्छ, त्यसकारण म तपाईंलाई त्यस्तै व्यवहार गर्नेछु।” त्यस्ता मानिसहरू देख्छु, म लुक्छु। सधैँ चाकरी गर्ने व्यक्तिलाई देख्दा, म जति सक्दो चाँडो लुक्छु। म त्यस्ता मानिसहरूसँग बिलकुलै सम्पर्कमा रहन चाहन्नँ—यो धेरै झन्झटिलो हुन्छ, यसमा धेरै समस्या हुन्छ! तर ख्रीष्टविरोधीहरू फरक हुन्छन्। तिनीहरूले जहाँ गए पनि मानिसहरूको आदर प्राप्त गर्ने, र विशेष व्यवहार पाउने आशा गर्छन्। अनि तिनीहरूले अझै बढी के कुराको आशा गर्छन्? तिनीहरू रहुञ्जेल, तिनीहरूको नेतृत्वमा रहेका मानिसहरूले पूर्ण रूपमा तिनीहरूको आदेश पालना गर्नेछन्, र सम्झौता नगरी, पूर्ण रूपमा तिनीहरूको पालन गर्नेछन् भन्ने आशा गर्छन्; त्यसपछि तिनीहरूले सोच्छन्, “हेर त—मैले नेतृत्व गरेका सिपाहीहरू, र मैले नेतृत्व गर्ने समूहको बारेमा तिमीलाई के लाग्छ? तिनीहरू सबैले आज्ञाकारी भएर मैले भनेको कुरा मान्छन्।” तिनीहरूले विशेष उपलब्धिको अनुभूति गर्छन्। तिनीहरूले मानिसहरूलाई कठपुतली जस्तो र दास जस्तो बन्न प्रशिक्षण दिन्छन्, जसको कुनै स्वतन्त्र सोच, आफ्नै राय वा दृष्टिकोणहरू हुँदैनन्; तिनीहरूले उनीहरू प्रत्येकलाई असंवेदनशील र मूर्ख बनाउँछन्। त्यसपछि ख्रीष्टविरोधीहरूले हृदयको गहिराइमा आनन्द र प्रसन्‍न महसुस गर्छन्, र आफ्नो कामले नतिजा दिएको, साथै आफ्ना चाहना र महत्त्वाकाङ्क्षाहरू पूरा भएको महसुस गर्छन्। यदि परिस्थितिहरू त्यस्ता भएनन् भने, तिनीहरू हृदयमा दुःखी हुन्छन्: “मानिसहरू किन खुरुक्क मैले भनेको काम गर्दैनन्? तिनीहरूलाई मेरो आज्ञापालन गराउन मैले कुन विधि प्रयोग गर्नुपर्छ? ठीक छ—यदि तिमीलाई म अद्भुत छु भन्‍ने थाहा छैन भने, मैले यो कुरा देखाउनुपर्छ! मसँग स्नातकोत्तर डिग्री छ; तिमीले देखोस् भन्नका लागि म हरेक दिन डिप्लोमाको प्रमाणपत्र आफूसँगै बोकेर हिँड्छु। मैले आठौँ स्तरको अङ्ग्रेजी मूल विषयको परीक्षा पास गरेको छु, र म विद्यार्थी संघको प्रमुख थिएँ। तिमीहरूले मलाई राम्ररी नबुझेको देखिएकाले, म तिमीहरूका अगाडि अलिक आफ्नो प्रदर्शन गर्नेछु!” तिनीहरूले कामको बारेमा छलफल गर्दा यसो भन्छन्, “तिमीहरूको सोचाइ जे-जस्तो छ, भन; निर्धक्क भएर आफ्ना विचारहरू व्यक्त गर—मेरो बन्धनमा नपर।” त्यसपछि, त्यहाँका मानिसहरूले आफ्ना विचारहरू व्यक्त गर्न थाल्छन्। तिनीहरूले आफ्ना कुराहरू राखिसकेपछि, यस स्नातकोत्तर डिग्रीधारी “श्रेष्ठ व्यक्ति” ले भन्छ, “तिमीहरूका विचारहरू राम्रा छैनन्। ती सबै साधारण छन्, र ती सबै सामान्य मानिसहरूका विचार हुन्। मैले साँच्‍चै हस्तक्षेप गर्नैपर्छ—हेर: तिमीहरूले काम गर्न सक्दैनौ! वास्तवमा म यो काम लिन चाहन्नँ, तर म यहाँ नभएको भए, तिमीहरूले साँच्‍चै यो बोझ लिन सक्‍नेथिएनौ, त्यसकारण मैले सघाउनुपर्छ। मैले यसका सम्भावित परिणामबारे सोचेको छु। हामी यसलाई यसरी सम्हाल्नेछौँ। तिमीहरूले उल्लेख गरेका कुनै पनि उपायले काम गर्नेछैन; म तिमीहरूलाई अझै राम्रो उपाय दिनेछु। विगतमा कामका बन्दोबस्तहरूले हामीलाई त्यही गर्न लगाएका थिए—अबदेखि, हामी ती प्रावधानहरू अनुसार चल्नेछैनौँ। अबदेखि हामी त्यसरी काम गर्नेछैनौँ।” कतिपय मानिसहरूले भन्छन्, “यदि हामीले कामका बन्दोबस्तहरू अनुसार काम गरेनौँ भने, यसले परमेश्‍वरको घरलाई ठूलो घाटा ल्याउनेछ।” तिनीहरूले यस्तो प्रतिक्रिया दिन्छन्, “यसको बारेमा त्यति धेरै नसोच—के परमेश्‍वरको घरले यो सानो रकमको बारेमा वास्ता गर्नेछ? नतिजाहरूमा ध्यान दिऊँ—महत्त्वपूर्ण कुरा त ती पो हुन् त। अबदेखि, म जे भन्छु त्यही गर। यदि केही बिग्रियो भने, त्यो मेरो जिम्‍मा भयो!” तिनीहरूलाई कसैले पनि रोक्न सक्दैन। के तिनीहरूले सुन्दा ठूला लाग्ने विचारहरू मात्रै फलाकिरहेका हुँदैनन् र? त्यसो गर्नुको पछाडि तिनीहरूको उद्देश्य के हुन्छ? यो आफ्नो प्रदर्शन गर्नु, र हरेक व्यक्तिलाई आफ्नो अस्तित्वको साथै आफ्‍नो चमकका बारेमा निरन्तर रूपमा स्मरण गराउनु हो। तिनीहरू कुन रूपमा चम्किला हुन्छन्? साधारण मानिसहरूले तिनीहरूलाई नसक्‍नुमा। ख्रीष्टविरोधीहरूले अरू मानिसहरूसँग एउटै दृष्टिकोण राखे पनि, त्यही दृष्टिकोण अरूले व्यक्त गर्दा तिनीहरूले त्यसलाई इन्कार गर्छन्, त्यसपछि त्यसलाई अर्को तरिकाले भनेर फेरि नेतृत्व लिन थाल्छन्। समूहले तिनीहरूको कुरा सुन्छ र भन्छ: “के त्यो उही विचार होइन र?” तिनीहरूले भन्छन्, “उही भए पनि नभए पनि, यो मैले नै भनेको हुँ। यो तिमीहरूले भनेका होइनौ। यो विचारको नेतृत्व गर्ने व्यक्ति म नै हुँ।” तिनीहरूले जति मुख फेरे पनि, तिनीहरूको उद्देश्य सबैलाई विश्‍वस्त गराउनु र मानिसहरूलाई यो कुरा थाहा दिनु हो: “म व्यर्थमा अगुवा भएको होइनँ; म व्यर्थमा समूह अगुवा र इन्‍चार्ज भएको होइनँ। म कुरा मात्र गर्ने व्यक्ति होइन—मसँग प्रतिभा, वरदान, र क्षमताहरू म यो पदमा हुनेथिइनँ।” तिनीहरू नहुँदा कुनै घटना घट्यो भने, अरू कसैले पनि निर्णय गर्न पाउँदैन, र तिनीहरू त्यहाँ छन् भने, तिनीहरूले निर्णय गर्नुपर्छ। सबैले तिनीहरूको अभिव्यक्तिलाई ध्यान दिनुपर्छ। तिनीहरूले निर्णय गरिरहेका छन् भने मात्र सबैले आरामको सास फेर्न सक्छन्; होइन भने, सबैलाई चिन्ता लाग्छ। यदि उनीहरूलाई निर्णय गर्न दिइएन भने, हातको कामलाई सल्टाउन सम्भव हुनेछैन। के उनीहरूले यसो गर्नुको पछाडि उद्देश्य हुँदैन र? उनीहरूले कहिलेकहीँ मनमनै सोच्छन्, “के मैले जे गरिरहेको छु त्यो सही हो? मैले यसो नगर्नु नै राम्रो हुन्छ—म आफूलाई मूर्ख तुल्याइरहेको छु। के ख्रीष्टविरोधीहरूले यसरी नै व्यवहार गर्दैनन् र? त्यसरी हुँदैन; मेरो अभिमान नै महत्त्वपूर्ण कुरा हो। ‘ख्रीष्टविरोधी’? माथिले मलाई दोषी ठहराएको छैन, त्यसकारण म त्यस्तो व्यक्ति होइनँ!” अनि तिनीहरूले पहिले जस्तै व्यवहार गरिरहन्छन्। कहिलेकहीँ, तिनीहरूले जे गरिरहेका छन् त्यसले कामका बन्दोबस्तहरू र सत्यता सिद्धान्तहरू उल्लङ्घन गर्छ, तिनीहरूले स्पष्ट रूपमा नै आफ्नो गरिमा र हैसियतको ख्याल गरिरहेका छन्, तिनीहरूका आफ्नै अभिप्रायहरू छन् भन्‍ने कुरा तिनीहरूलाई राम्ररी थाहा हुन्छ—तैपनि तिनीहरूले परिणामहरूका बारेमा नसोची, अनि परमेश्‍वरको डर मान्ने हृदय त झन् राख्दै नराखी पहिलेदेखि गर्दै आएकै काम गरिरहन्छन्। के यो स्वभावको समस्या होइन र? यस्तो स्वभावले तिनीहरूलाई के गर्नतिर डोर्‍याउँछ? अत्यन्तै अहम्‌वादी हुन, र उन्मत्त भएर खराब कामकुरा गर्नतिर। के तिनीहरूले हृदयमा व्यवहार गर्ने सही तरिका साँच्‍चै थाहा पाएका हुँदैनन्? के तिनीहरूले जे गरिरहेका छन् त्यसले सिद्धान्तहरू उल्लङ्घन गर्छ भन्‍ने कुरा तिनीहरूले साँच्‍चै बुझेका हुँदैनन् र? के तिनीहरूले गरिरहेको कुरा त अरूलाई बहकाउने र नियन्त्रण गर्ने काम हो, र तिनीहरूले दुष्टता गरिरहेका छन् भनेर तिनीहरूलाई साँच्‍चै थाहा हुँदैन र? तिनीहरूले यी कुराहरू जान्दछन् र बुझ्दछन्। त्यसोभए तिनीहरूले यस्तै व्यवहार गरिरहन सक्छन् भन्‍नुको अर्थ तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् र यसप्रति वितृष्ण छन् भन्‍ने हुन्छ। तिनीहरूले आफ्नो मुखबाट निस्केको होइन भने कुनै पनि दृष्टिकोण, तरिका, विधि, वा अभिव्यक्तिलाई इन्कार गर्छन्। के यो महत्त्वाकाङ्क्षा होइन र? (हो।) यसमा महत्त्वाकाङ्क्षा र दुष्ट अभिप्रायहरू हुन्छन्। कस्ता दुष्ट अभिप्रायहरू? यसको पछाडि के लुकेको हुन्छ? (मानिसहरूलाई आफूले भनेको कुरा गर्न लगाउनु।) मानिसहरूलाई आफूले भनेको कुरा गर्न लगाउनु—तिनीहरूले त्यस्तो कुनै पनि फाइदा वा पृथक देखिने मौका गुमाउन, वा यी कुरा अरू कसैको हातमा पर्न दिन सक्दैनन्। हरेक पटक, निर्णयहरू गर्ने तिनीहरू नै हुनुपर्छ; हरेक पटक, हुकुम गर्ने तिनीहरू नै हुनुपर्छ; हरेक पटक, कामका प्रतिफलहरू तिनीहरूको मात्रै हुनुपर्छ, र तिनीहरूलाई मात्रै श्रेय दिइनुपर्छ। अन्तमा, तिनीहरूले सबैमा एउटा प्रवृत्ति विकास गराउँछन्। कस्तो प्रवृत्ति? तिनीहरू समूहमा हुँदा मात्रै काम अघि बढ्न सक्छ भनेर सोच्ने प्रवृत्ति—मानौँ तिनीहरूविना, अरू कसैले पनि बोझ थेग्न सक्दैन। यसो गरेर, के तिनीहरूले आफ्नो उद्देश्य हासिल गरेका हुँदैनन् र? ती मानिसहरू तिनीहरूको नियन्त्रणमा फसेका हुन्छन्। के कारणले गर्दा नियन्त्रणमा परिन्छ? पूर्ण रूपमा विजय गरिनु र पराजित हुनुले—ख्रीष्टविरोधीहरूले तँलाई यातना दिएर तिनीहरूसामु आत्मसमर्पण गर्न लगाउँछन्, यहाँसम्‍म कि तैँले सही र गलत छुट्याउन सक्दैनस्, तिनलाई बिलकुलै खुट्याउने वा सत्यताको कुनै पक्षलाई ती कुरासँग जोड्ने प्रयास गर्दैनस्, तिनीहरूले जे गरे पनि सही हुन्छ भनेर दृढ रूपमा विश्‍वास गर्छस्, र तिनीहरू सही छन् कि गलत छन् भनेर विश्लेषण गर्ने आँट गर्न छोड्छस्। मानिसहरूलाई ख्रीष्टविरोधीहरूले बहकाएपछि र नियन्त्रण गरेपछि आउने परिणामहरू यिनै हुन्, र तुरुन्तै, ती मानिसहरूले ख्रीष्टविरोधीहरूलाई पछ्याउँछन्। होइन र? (हो।) के यो ख्रीष्टविरोधीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित गराउँछन् भन्‍ने तथ्यको स्पष्ट प्रकटीकरण होइन र? (हो।) तिनीहरूले गर्ने सबै कुराको पछाडिका मनसाय र दुष्ट अभिप्रायहरू के-के हुन्, र तिनीहरूका कार्य, तरिका र उपायहरूको, र तिनीहरूका अभिव्यक्तिहरूको स्रोत के हो? तिनीहरूले तँलाई पराजित गर्न, वशमा पार्न, तिनीहरूसामु आत्मसमर्पण गराउन, र को मालिक हो, नेतृत्व लिनका लागि को योग्य छ, कसले अन्तिम निर्णय गर्छ, र अन्तिम निर्णय गर्ने सत्यता होइन—ऊ बाहेक अरू कोही पनि यी मानिसहरूको प्रभु हुन सक्दैन, वा अरू कसैले हुकुम चलाउन सक्दैन, वा निर्णय गर्न सक्दैन भनेर देखाउन चाहन्छन्। तँ सत्यताको कुरा उठाउन चाहन्छस्, तर तैँले कुनै पनि हालतमा सक्दैनस्। तँ फरक-फरक मत राख्न चाहन्छस्—तर यसको बारेमा सोच्दा समेत नसोच्। यो ख्रीष्टविरोधीहरूको कस्तो स्वभाव हो? यो आक्रामकता हो; तिनीहरू मानिसहरूलाई विजय गर्न र नियन्त्रण गर्न चाहन्छन्। चाहे तैँले ख्रीष्टविरोधीहरूका चाहना र महत्त्वाकाङ्क्षाहरूलाई हेर्, वा तिनीहरूको वास्तविक कार्यहरूलाई हेर्, यी सबैले तिनीहरूको आक्रामकता र सत्यताप्रति वितृष्ण हुने स्वभावलाई देखाउँछन्। मानिसहरूलाई विजय गर्ने र नियन्त्रण गर्ने ख्रीष्टविरोधीहरूका यी तरिका, प्रकाश, र प्रकटीकरणहरू, साथै तिनीहरूका सारहरू हामीले सङ्गति गरिरहेको मुख्य विषयसँग पूर्ण रूपमा मिल्छन्। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आफूप्रति मात्र समर्पित हुन लगाउँथे—यसको आशय के हो भने मानिसहरूले तिनीहरूले भने अनुसार गर्नुपर्छ, र त्यसो गर्नु भनेको परमेश्‍वरमा समर्पित हुनु हो। यदि कसैले फरक विचार राख्यो र तिनीहरूले जे गरिरहेका छन् त्यो सत्यता विपरीत छ भनेर भन्यो भने, तिनीहरूले प्रतिवाद गर्नेछन्, “सत्यता विपरीत? हामीलाई भन त—सत्यता भनेको के हो? यदि तिमीले यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्यौ भने, म तिमीसामु झुक्नेछु—तर यदि सकेनौ भने, म तिमीलाई लाजमर्दो स्थितिमा पार्नेछु!” जब तिनीहरूले त्यसो भन्छन्, तब कतिपय मानिसहरू साँच्‍चै डराएर यसो भन्छन्, “म यसलाई स्पष्ट रूपमा व्याख्या गर्न सक्दिनँ, त्यसकारण म तिमीले जे भन्छौ त्यही गर्नेछु।” त्यसरी, ख्रीष्टविरोधीहरूले आफ्नो उद्देश्य हासिल गरेका हुन्छन्। के यस्तो गर्ने मानिसहरू हुन्छन्? (हुन्छन्।) के तिमीहरूले यस्ता कुराहरू गरेका छौ? (छैनौँ।) ख्रीष्टविरोधीहरूमा यो सीप हुन्छ। साधारण व्यक्तिले अरूलाई मनाउन नसक्‍ने देख्यो भने हार मान्छ; उसले त्यो उपाय जानेको हुँदैन। एक हिसाबमा, ऊ यसरी बोल्न र आफ्‍नो कुरा व्यक्त गर्न सक्षम हुँदैन—उसले राम्ररी बोल्न र बहस गर्न सक्दैन। अर्को हिसाबमा, उसको हृदयमा पर्याप्त निर्दयता हुँदैन। यी कुराहरू गर्न सक्‍नेहरूभित्र अवश्य नै दुष्ट स्वभाव हुनुपर्छ। तिनीहरू आक्रामक र पर्याप्त मात्रामा निर्दयी हुनुपर्छ, र तिनीहरूले अरू कसैका भावनाहरूबारे वास्ता गर्नु हुँदैन। यदि कोही तिनीहरूसँग असहमत भयो भने, तिनीहरूले उसलाई अत्यन्तै आक्रामक तरिकाले सताउनेछन्, र तिनीहरूले जति नै क्रूरतापूर्वक सताए पनि, तिनीहरूको विवेकले यसका लागि कुनै ग्लानि वा चेतना महसुस गर्दैन। कसैले भन्छ, “तिनीहरू पहिले नै यति दयनीय छन्; म किन तिनीहरूलाई आफूले भने अनुसार गर्न लगाइरहेको छु? म तिनीहरूलाई त्यसै छाडिदिनेछु—तिनीहरूले ममा होइन, परमेश्‍वरमा विश्‍वास गर्छन्। जसले सत्यतासँग मेल खाने तरिकाले बोल्छ, तिनीहरूले उसैको कुरा मान्न सक्छन्—त्यो व्यक्ति जो भए पनि केही फरक पर्दैन। यस पटक म यस कुरालाई छोडिदिनेछु।” के ख्रीष्टविरोधीहरूले यस तरिकाले सोच्छन्? सोच्दैनन्; ख्रीष्टविरोधीहरूमा त्यस्तो चेतना बिलकुलै हुँदैन। तिनीहरू आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरूका बारेमा अत्यन्तै प्रस्ट हुन्छन्। ब्वाँसोले भेडालाई पक्रे जस्तै तिनीहरूले पनि ती कुराहरूलाई समातिरहन्छन् र छोड्दैनन्। के तैँले ब्वाँसोसँग सम्झौता गर्ने र त्यसलाई भेडा खानबाट रोक्ने कोसिस गरेर हुन्छ? हुँदैन। किन हुँदैन? किनभने त्यसको स्वभाव नै त्यही हो। ब्वाँसोले के विश्‍वास गर्छ? “मलाई भोक लागेको छ। मलाई भेडा खान मन पर्छ। यो ठीक हो। मैले भेडा खान चाहे पनि नचाहे पनि, त्यसले फरक पर्दैन।” त्यसको दर्शन, त्यसका कार्यहरूको मापदण्ड र स्रोत नै त्यही हो। त्यसरी नै, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई विजय र नियन्त्रण गर्दा, के तिनीहरूले यस्तो सोच्छन्, “म परमेश्‍वर होइनँ। मैले मानिसहरूलाई नियन्त्रण गर्नु कति लाजमर्दो कुरा हो। यदि मानिसहरूले मलाई खुट्याए भने, मैले कसरी अनुहार देखाउनु?” के तिनीहरूमा यस्तो लाजको बोध हुन्छ? (हुँदैन।) तिनीहरूमा कुनै लाजको बोध हुँदैन। त्यसोभए, तिनीहरूको मानवतामा के कुराको कमी हुन्छ? लाज, चेतना, र विवेक। तिनीहरूको मानवतामा यी कुराहरू हुँदैनन्। ती कुराहरू नहुँदा, के तिनीहरू अझै मानव हुन्छन्? हुँदैनन्। मानव रूप धारण गरेका सबै जना मानव नै हुन् भन्‍ने हुँदैन—कति जना पिशाच हुन्छन्, कति जना जिउँदा लास हुन्छन्, र कति जना पशु हुन्छन्। त्यसोभए ख्रीष्टविरोधीहरू कस्ता प्राणी हुन्? तिनीहरू दियाबलस हुन्; तिनीहरूमध्ये कति दुष्ट पिशाच हुन्छन्, र कति दुष्टात्मा हुन्छन्। समग्रमा भन्दा, तिनीहरू मानव होइनन्। ख्रीष्टविरोधीहरूमा सामान्य मानवताको समझ, विवेक, र लाज नहुने हुनाले नै तिनीहरूले मानिसहरू र मानिसहरूको हृदयका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गर्न सक्छन्। यसले तिनीहरूको प्रकृति सार दुष्ट छ भन्‍ने देखाउँछ। तिनीहरूले हैसियतका लागि अरूसँग प्रतिस्पर्धा गर्नु उचित होइन, हैसियत र मानिसहरूका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गर्ने कार्य उचित हुनुको त कुरै छोडौँ! यसले झनै बढी तिनीहरू साँचो ख्रीष्टविरोधी हुन्, तिनीहरू दियाबलस र शैतान हुन् भन्‍ने देखाउँछ।

अब हामीले ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूका बारेमा आठौँ विषयवस्तुसम्म सङ्गति गरेका छौँ। के तिमीहरूले अब आफू कस्तो व्यक्ति हुँ भनी हेर्नका लागि ख्रीष्टविरोधीहरू, साथै ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने र तिनीहरूको स्वभाव भएका मानिसहरूसँग आफूलाई जोड्न सक्छौ? (सक्छौँ।) तिमीहरूले यी केही कुराहरूमा जोड्न सक्छौ। यसो गर्दा मानिसहरूका कुन-कुन समस्याहरू समाधान गर्न सकिन्छ? (यसले हामीलाई गलत मार्ग लिनबाट रोक्न सक्छ।) यसले तँलाई गलत मार्गमा हिँड्नबाट रोक्न सक्छ। अरू के छ? (यसले हामीलाई आफ्ना वरिपरिका मानिस, घटना, र परिस्थितिहरूलाई खुट्याउन मदत गर्छ।) यसले तँलाई तेरो वरिपरिका कतिपय मानिसहरूलाई खुट्याउन मदत गर्छ। अरूलाई खुट्याउन सक्‍नु यसकै पाटो हो; तर, मुख्य रूपमा, तैँले आफूलाई, आफूभित्रको ख्रीष्टविरोधीको स्वभाव र आफूले हिँड्ने मार्गलाई खुट्याउन भनेर जान्नैपर्छ। यसले तँलाई आफ्नो कर्तव्य पूरा गर्दा बाटो नबिराउन, र ख्रीष्टविरोधीहरूको मार्ग नलिन मदत गर्नेछ। कुनै व्यक्ति ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्न थालिसकेपछि, के उसलाई फर्कन सजिलो हुन्छ? हुँदैन; ऊ हिँड्न थालिसकेपछि, उसलाई फर्कन सजिलो हुँदैन। के तँलाई यसको कारण थाहा छ? (पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्न।) मुख्य कारण त्यही हो। गलत मार्गमा हिँड्नु खतरनाक कुरा हो, किनभने तैँले परमेश्‍वरको विरुद्धमा सङ्घर्ष गर्ने, उहाँका चुनिएका मानिसहरूका लागि उहाँसँग होड गर्ने, र अन्त्यसम्मै उहाँको विरुद्धमा लडाइँ गर्ने निर्णय गरेको हुन्छस्; तैँले सत्यताको खोजी गरिरहेको वा परमेश्‍वरको मुक्तिलाई स्विकार्न खोजिरहेको हुँदैनस्। त्यस्तो मार्गमा हिँड्न थालिस् भने तँ समस्यामा पर्नेछस्। तँ परमेश्‍वरको विरोधमा उभिरहेको हुनेछस्—तँ आफ्नो व्यक्तिगत इच्छाले उहाँको विरोधमा उभिरहेको हुनेछस्; भन्नुको मतलब, तेरा विचार, दृष्टिकोण, राय, र छनौटहरू सबै परमेश्‍वरप्रति शत्रुवत् हुनेछन्। यदि तँ यो मार्गमा हिँड्नुभन्दा पहिले, तँमा त्यस्ता केही वस्तुगत प्रकटीकरण, स्वभाव, र सारहरू छन् जुन परमेश्‍वरप्रति विरोधी र शत्रुवत् छन्, तैपनि, तँ सधैँ परमेश्‍वरप्रति शत्रुताको मार्गमा, वा ख्रीष्टविरोधीहरूको मार्गमा नहिँड्नलाई हृदयमा सतर्क हुन्छस् भने, तैँले मुक्तिको मौका पाउँछस्। यदि तँ ख्रीष्टविरोधीहरूको मार्गमा, परमेश्‍वरप्रति शत्रुताको मार्गमा हिँडिस् भने, तँ खतरामा पर्छस्। कति ठूलो खतरा हुन्छ? यति ठूलो कि तँलाई फर्कन सजिलो हुनेछैन। भर्खरै केही मानिसहरूले पवित्र आत्माले तिमीहरूमा अबदेखि काम गर्नुहुनेछैन भनेर भने—त्यो कुरा अत्यन्तै स्पष्ट छ! पवित्र आत्माले यस्तो व्यक्तिमा कसरी काम गर्न सक्नुहुन्छ? तँ त्यस्तो मार्गमा हिँड्न थालेपछि, तैँले त्यो निर्णय लिएपछि, तँ खतरामा हुन्छस्। यदि तैँले हृदयमा यो कुरा बुझेको छस्, तर अझै पनि यसो गर्छस् भने, त्यही बाटोमा हिँड्छस्, र त्यस्तो निर्णय गर्छस्, र परिवर्तन नभई वा पश्‍चात्ताप नगरी, सधैँ आफ्ना सिद्धान्तहरू र आफ्‍ना पुराना, र पहिलेका शैली अनुसार काम गर्छस् भने, त्यसले तेरो छनौटलाई जनाउँछ—तैँले परमेश्‍वरप्रति शत्रुताको यो मार्गमा हिँड्ने निर्णय गरेको छस्। यस्तो होइन कि तैँले आफूले के गरिरहेको छु भनेर बुझ्दैनस्—तैँले जानाजानी पाप गरिरहेको छस्। यो त ठ्याक्कै पावल जस्तै हो जसले यस्तो भनेको थियो, “प्रभु, तपाईं को हुनुहुन्छ? तपाईं मलाई किन प्रहार गर्न चाहनुहुन्छ?” उसलाई प्रभु येशू नै प्रभु हुनुहुन्छ, उहाँ ख्रीष्ट हुनुहुन्छ भन्‍ने कुरा राम्ररी थाहा थियो, तैपनि उसले अन्त्यसम्मै उहाँको विरोध गर्‍यो। त्यो जानाजानी पाप गर्नु हो। पावलले प्रभुको गवाही दिएन, न त उसले उहाँलाई उच्च पार्‍यो। उसले सोच्यो, “के तपाईं एक साधारण व्यक्ति मात्र हुनुहुन्‍न र? के तपाईंले आफूसँग शक्ति भएकाले मात्र मलाई प्रहार गरिरहनुभएको छैन र? तपाईंसँग शक्ति त होला, तर म अझै पनि स्वर्गका परमेश्‍वरमा विश्‍वास गर्छु। तपाईं, अर्थात् देहधारण, परमेश्‍वर हुनुहुन्‍न; तपाईं परमेश्‍वरसँग असम्बन्धित हुनुहुन्छ। तपाईं परमेश्‍वरको पुत्र हुनुहुन्छ, र तपाईं हाम्रो बराबर हुनुहुन्छ।” के उसको दृष्टिकोण त्यही थिएन र? पावलको यो दृष्टिकोणको आधार के थियो? प्रभु येशू देहधारी ख्रीष्ट हुनुहुन्छ भन्‍ने थाहा पाएपछि पनि, उसले पहिले जस्तै यो दृष्टिकोणलाई कायम राख्यो। यो एउटा गम्भीर समस्या थियो, र योसँगै उसको परिणाम निर्धारित भयो। उसले सधैँ त्यो दृष्टिकोणलाई कायम राखेको अवस्थामा, के उसले हिँड्ने मार्ग परिवर्तन भएको हुन सक्थ्यो र? व्यक्तिले हिँड्ने मार्ग उसका दृष्टिकोणहरूमा आधारित हुन्छ: तँसँग जस्ता दृष्टिकोणहरू छन्, तैँले हिँड्ने मार्ग त्यस्तै हुन्छ। अनि यसलाई उल्ट्याउँदा, तँ जुन मार्गमा हिँड्छस्, तँमा पैदा हुने, तैँले बोक्ने, तँलाई प्रभाव पार्ने र निर्देशित गर्ने दृष्टिकोणहरू तिनै हुन्। तँ परमेश्‍वरप्रति शत्रुताको मार्गमा हिँड्न थाल्ने बित्तिकै, यी दृष्टिकोणहरूले तँभित्र स्वरूप लिनेछन् र जरा गाड्नेछन्, र त्यसपछि एउटा कुरा निश्‍चित हुन्छ: तैँले अन्त्यसम्मै परमेश्‍वरको विरोध गर्ने पक्‍का हुन्छ; तँ सधैँ तेरा आफ्नै गलत दृष्टिकोण, ज्ञान, र मनोवृत्तिमा अडिग रहने, र तैँले अन्त्यसम्मै परमेश्‍वरविरुद्ध नाराबाजी गर्ने पक्‍का हुन्छ। तैँले आफ्नो मार्ग बिलकुलै उल्टाउने छैनस्—कसैले तँलाई यसो गर्न भन्यो, वा पवित्र आत्माले तँलाई अन्तर्दृष्टि दिनुभयो, वा दाजुभाइ-दिदीबहिनीहरूले तँलाई अर्ती दिए, वा परमेश्‍वरले तँलाई ज्योति दिनुभयो भने पनि तैँले यसो गर्नेछैनस्। तेरा लागि यो स्वीकार्य हुनेछैन। यो तेरो निर्णय हो। तँलाई पहिलो, दोस्रो, र तेस्रो मौका दिइनेछ—यदि तीन पटक पश्चात्ताप गर्ने मौका पाएपछि, तैँले त्यसो गरिनस् भने, भविष्यमा तँसँग मौकाहरू बाँकी रहनेछैनन्। त्यसपछि तैँले जति नै काम गरे पनि र मूल्य चुकाए पनि, यसले परमेश्‍वरको मन छुनेछैन—उहाँले तेरो बारेमा पहिले नै निर्णय गरिसक्‍नुभएको हुनेछ। परमेश्‍वरले तेरो लागि के निर्णय गर्नुभएको हुनेछ? तँलाई सेवा गर्न लगाइनेछ, तँलाई प्रयोग गरिनेछ; अनि तँलाई प्रयोग गरिएपछि, उहाँले तँलाई त्यस्तो ठाउँमा राख्नुहुनेछ जहाँ तँलाई उहाँले निर्णय गर्नुभए अनुसार सजाय र दण्ड दिइनेछ। परमेश्‍वरले कसरी यस्तो निर्णय गर्नुहुन्छ? के यो तेरो क्षणिक सोचाइको कारण हुन्छ? के यो तेरा क्षणिक विचारहरूमा आधारित हुन्छ? तैँले क्षणिक रूपमा गलत मार्गमा टेक्नुमा आधारित हुन्छ? होइन; परमेश्‍वरले तेरो हृदयको गहिराइमा रहेका दृष्टिकोणहरू, सत्यताप्रतिको तेरो दीर्घकालीन मनोवृत्ति, र तैँले हिँड्ने निर्णय गरेको मार्गलाई यसको आधार बनाउनुहुन्छ। तैँले यसरी व्यवहार गर्ने निर्णय गरेको छस्, र जसले जे भने पनि, त्यसले कुनै मतलब राख्दैन; तैँले यो सिद्धान्तलाई भविष्यमा तैँले हिँड्ने मार्गको जगको रूपमा प्रयोग गर्ने निर्णय गरेको छस्। अनि तैँले निर्णय गरिसकेको हुनाले, के परमेश्‍वरले तेरो परिणाम निर्धारण गर्नु पर्दैन र? तेरो परिणाम धेरै पहिले नै निर्धारित भएको हुन्छ; यसका लागि परमेश्‍वरले अन्त्यसम्म पर्खनु पर्दैन। कतिपय मानिसहरूका हकमा, परमेश्‍वरले सधैँ तिनीहरूका प्रकटीकरणहरू हेर्नुहुन्छ—जब यी मानिसहरू अन्ततः बाटोको अन्त्यमा पुग्छन्, तब अन्तिममा तिनीहरूका परिणामहरू तिनीहरूका विभिन्‍न प्रकटीकरणहरूका आधारमा निर्धारित हुन्छन्। कतिपय मानिसहरूले दुष्ट कार्यभन्दा असल कार्य बढी गरेका हुन्छन्; तिनीहरूले परमेश्‍वरप्रति नकारात्मक र दुष्ट मनोवृत्तिभन्दा असल र सकारात्मक मनोवृत्ति बढी बोकेका हुन्छन्, र तिनीहरूका फरक-फरक व्यवहार र प्रकटीकरणहरूको समग्र मापनका आधारमा, तिनीहरूका अन्तिम परिणामहरू निर्धारित हुन्छन्। तर, अरू कतिपयका परिणामहरू तिनीहरूले हिँड्ने मार्गलाई परमेश्‍वरले एकपटक हेरेरै निर्धारित गर्नुहुन्छ। त्यसोभए के परमेश्‍वरले मानिसहरूको परिणाम निर्धारण गर्नुअघि तिनीहरूलाई मौका दिनुहुन्छ? दिनुहुन्छ। कति वटा? सायद ठोस सङ्ख्या छैन। यो कुरा व्यक्तिको प्रकृति सारमा निर्भर हुन्छ, र यो उसको पछ्याइमा पनि आधारित हुन्छ। कतिपय मानिसहरूले तीन वटा मौका पाउन सक्छन्। कतिपय मानिसहरू छुटकारा पाउन अयोग्य हुन्छन्, तिनीहरू अत्यन्तै मूर्ख र हठी हुन्छन्, र तिनीहरूले कुनै पनि सत्यतालाई बिलकुलै स्विकार्दैनन्—तिनीहरूले तीनवटा मौका पाउनुअघि नै तिनीहरूको परिणाम निर्धारित हुन्छ। तर कतिपय मानिसहरूलाई परमेश्‍वरले तिनीहरूको स्थिति अनुसार केही वातावरणहरू मिलाउनुहुन्छ, साथै तिनीहरूको उमेर र तिनीहरूले भोगेका कुराहरूका आधारमा, उहाँले तिनीहरूलाई पाँचवटा मौका दिन सक्नुहुन्छ। यो सत्यतालाई स्विकार्ने क्रममा तिनीहरूले देखाउने प्रकृति, सार, र मनोवृत्तिमा आधारित हुन्छ। परमेश्‍वरले यी कुराहरूका आधारमा व्यक्तिको परिणाम र गन्तव्य निर्धारण गर्नुहुन्छ।

मानिसहरूलाई यावत् कुराहरू आइपर्छन्, र तिनीहरू प्रायः तिनलाई सामना गर्न जान्दैनन्; यदि तिनीहरूले सत्यतालाई बुझ्ने कोसिस गरेनन् भने के यो ठीक हुन्छ? मानिसहरूले सत्यता नबुझ्दा सजिलै गलत मार्ग लिन्छन्। मैले किन यसो भनेँ? मानिसहरूले शैतानका भ्रष्ट स्वभावहरू पछ्याउँछन्, र तिनीहरूबाट निस्कने कुराहरू नै तिनीहरूले स्वाभाविक रूपमा प्रकाश गर्ने कुराहरू हुन्, र तीमध्ये एउटा पनि सत्यतासँग मेल खाँदैन, वा परमेश्‍वरको विरुद्धमा विश्‍वासघाती हुँदैन। त्यसोभए, तिनीहरूले किन सधैँ प्रवचनहरू सुन्नुपर्छ? सधैँ प्रवचनहरू सुन्‍ने, तिनलाई मनन गर्ने, र तिनलाई मनमा लिने; सधैँ प्रार्थना र खोजी गर्ने; परमेश्‍वरको डर मान्ने हृदय, भक्तिको हृदय, सत्यताको तृष्णा गर्ने हृदय लिएर परमेश्‍वरसामु आउने; हरेक दिन भक्ति, प्रार्थना, र परमेश्‍वरका वचनहरू खान र पिउनका लागि समय तय गर्ने; अनि अरूसँग सङ्गति गर्ने, र काम गर्नका लागि अरूसँग सद्भावपूर्ण रूपमा सहकार्य गर्ने; हरेक दिन यी सिद्धान्तहरू अनुसार काम गर्ने, र हरेक दिन तिनलाई पालना गर्ने—परमेश्‍वरले मानिसहरूको अभ्यासका यी विस्तृत तत्त्वहरूले नतिजाहरू दिन्छन् कि दिँदैनन् भनेर हेर्नुहुन्छ। कतिपयले सोध्न सक्छन्, “ती त प्रक्रियाहरू मात्र होइनन् र?” प्रक्रिया भनेको के हो? यी बाहिरी कुराहरू होइनन्—तँसँग यी कुराहरूमा अडिग रहने हृदय छ भने मात्रै तँ अडिग रहन सक्छस्। त्यो हृदयविना, तँ कति दिनसम्म ती कुरामा अडिग रहन सक्थिस्? तँ ती कुरामा अडिग रहन सक्दैनथिस्। कतिपय अगुवाहरू कहिल्यै पनि परमेश्‍वरका वचनहरू खाने र पिउने गर्दैनन् र कहिल्यै पनि उपासनाहरूमा संलग्‍न हुँदैनन्। यसको अर्थ के हो? यसको अर्थ तिनीहरू साँचो विश्‍वासी होइनन्। होइनन् भने, तिनीहरू कसरी अगुवा बन्न पाउँछन्? कतिपय ठाउँमा, कामका लागि योग्य कोही हुँदैन, त्यसैले मण्डलीले यी मानिसहरूलाई नै प्रयोग गरेर काम चलाउनुपर्छ। तिनीहरूले गलत रूपमा सोच्छन्, “म अगुवाको रूपमा चुनिएको छु। मैले परमेश्‍वरका वचनहरू नखाई-नपिई पनि यसरी नै यो काम गर्न सक्छु—मानिसहरूसँग खुट्टा र मुख छ भने, तिनीहरूले यो काम गर्न सक्छन्।” यो मूर्खता हो। परमेश्‍वरले तैँले काम गर्न सक्छस् कि सक्दैनस् भन्‍ने कुरालाई हेर्नुहुन्न—उहाँले त तैँले के गरेको छस् भन्‍ने कुरा पो हेर्नुहुन्छ। तैँले गर्न सक्‍ने काम अरू नै कसैले पनि गर्न सक्छ। अलिकति सामान्य बौद्धिकता भएको जोकोहीले यो काम गर्न सक्छ। तँलाई अगुवाका रूपमा चुनिएकाले, र तैँले त्यो काम गर्न सक्‍ने हुनाले, तेरो सफलताको ग्यारेन्टी हुन्छ, तँ सिद्ध पारिएको छस्, तँसँग बाँच्ने मौका छ भन्‍ने नसोच्। यस्तो हुँदैन। परमेश्‍वरले कहिल्यै पनि तैँले कति गर्छस् भन्‍ने कुरालाई हेर्नुहुन्‍न; उहाँले त तैँले के गरेको छस्, र तँ कुन मार्गमा हिँड्छस् त्यसलाई हेर्नुहुन्छ। यस विषयमा आफूलाई मूर्ख नबना। तैँले यस्तो सोच्छस् होला, “धेरै मानिसहरू छानिएनन् तर म छानिएँ। यस्तो लाग्छ कि म उत्कृष्ट छु, म अरूभन्दा बढी क्षमताको र अब्बल छु।” तेरो केचाहिँ राम्रो छ? तँ राम्रो नै भए पनि, के तँलाई सत्यताको अभ्यास नगर्ने र सत्यतालाई उल्लङ्घन गरेर काम गर्ने अधिकार छ र? तँ राम्रो भए पनि, तँलाई अवश्य नै उपासना वा प्रार्थनामा संलग्‍न नहुने, र काम गर्दा सत्यताको खोजी नगर्ने अधिकार छैन नि, होइन र? तँलाई ती कुराहरू गर्ने अधिकार छैन। कुनै पनि हैसियत वा पद तेरो पूँजी होइन। ती त क्षणिक र बाह्य कुराहरू हुन्। परमेश्‍वरले तेरो बफादारीलाई हेर्नुहुन्छ; उहाँले तैँले सत्यता अभ्यास गरेको, त्यसलाई पछ्याएको, र त्यसप्रतिको तेरो मनोवृत्तिलाई हेर्नुहुन्छ; उहाँले तेरो समर्पणलाई हेर्नुहुन्छ; उहाँले तेरो कर्तव्य र मिसनप्रतिको तेरो मनोवृत्तिलाई हेर्नुहुन्छ। कतिपय मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्नमा धेरै मेहनत लगाउन सक्छन्, तर तिनीहरूले सत्यता सिद्धान्तहरू अनुसार त्यो काम गर्दैनन्। यदि तैँले तिनीहरूलाई सत्यता सिद्धान्तहरू अनुसार काम गर्नुपर्छ भनेर भनिस् भने, तिनीहरूले प्रतिरोध गर्छन्, तिनीहरू रिसाउँछन् र यसलाई स्विकार्दैनन्। त्यसरी नै, तिनीहरूलाई प्रकाश गरिन्छ। के कुरा प्रकाश भएको हुन्छ? तिनीहरूले सत्यतालाई स्विकार्दैनन् भन्‍ने कुरा। तिनीहरू कस्ता प्रकारका मानिस हुन्, जो सत्यतालाई स्विकार्दैनन्? अविश्‍वासीहरू। अविश्‍वासीहरू अन्धाधुन्ध के कुरामा व्यस्त हुन्छन्? तिनीहरू किन आफ्नो व्यस्ततामा यति उत्साहित हुन्छन्? तिनीहरूको एउटा लक्ष्य हुन्छ—तिनीहरूले देख्छन् कि, “मलाई यहाँ पदाधिकारी बन्‍ने एउटा मौका छ, र यदि म बनेँ भने, मैले मण्डलीबाट फाइदा लिन सक्छु, र सबैले मलाई आराधना गर्छन्। यो ठाउँ एकदम राम्रो छ! पेट पाल्न धेरै सजिलो छ, र यो प्रतिष्ठा र नाफा प्राप्त गर्न पनि त्यति नै सजिलो छ; यो हैसियत प्राप्त गर्न अत्यन्तै सजिलो छ—यहाँ पदाधिकारी बन्‍नु अत्यन्तै सजिलो छ!” तिनीहरूले यस जीवनकालमा “पदाधिकारी” बन्न पाउँला भनेर कहिल्यै सोचेका हुँदैनन्। तर तिनीहरूले आफ्नो “पद” गुमाएपछि, आफ्नो साँचो रङ्ग देखाउँछन्। तिनीहरूले परमेश्‍वरको घरका लागि थप कुनै प्रयास गर्दैनन्। के तिनीहरूले अझै पनि कष्ट भोग्‍न र मूल्य चुकाउन सक्नेछन्? सक्नेछैनन्। के त्यसपछि तिनीहरूको खुलासा हुँदैन र? कतिपय मानिसहरूले हैसियत पाएपछि भएभरको शक्ति लगाएर काम गर्छन्, मेहनत गर्छन् र पसिना बगाउँछन्, जति नै कष्ट भोग्नु परे पनि गुनासो गर्दैनन्—तर तिनीहरूले हैसियत गुमाउने बित्तिकै, तिनीहरू नकारात्मक बन्छन्, यहाँसम्म कि तिनीहरूको नकारात्मकताले तिनीहरूमाथि कब्जा जमाउँछ। के त्यसपछि त तिनीहरूको खुलासा हुँदैन र? हैसियतले तिनीहरूलाई प्रकाश गरेको हुन्छ। के तिनीहरूको परीक्षा लिनुपर्ने कुनै आवश्यकता हुन्छ? हुँदैन। लौ त, आजको सङ्गतिलाई हामी यहाँ टुङ्ग्याउँछौँ।

अक्टोबर १, २०१९

अघिल्लो: विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन् (भाग तीन)

अर्को: परिशिष्ट एक: सत्यता के हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्