विषयवस्तु तीन: तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्

ख्रीष्ट विरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्न प्रयोग गर्ने तेस्रो तरिका: तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्। केही मानिसहरू सकारात्मक कुराहरू, इन्साफ र ज्योतिलाई, र सत्यताका बारेमा सङ्गति गर्न मन पराउँछन्। तिनीहरू प्रायः सत्यताको खोजी गर्ने र त्यसलाई पछ्याउने दाजुभाइ-दिदीबहिनीहरूसित सङ्गति गर्न खोज्छन्। यो देखेर ख्रीष्टविरोधी रिसले चूर हुन्छ। उसका लागि, सत्यता पछ्याउनेहरू सबै आँखामा छेस्को, घोच्ने काँडा हुन्; उसले सत्यताको खोजी गर्ने सबैलाई आफ्नो आक्रमण, बहिष्कार र हमलाको सिकार बनाउँछ। निस्सन्देह, ख्रीष्टविरोधीले यी मानिसहरूलाई स्पष्ट रूपमा थाहा पाउन सकिने क्रूर, बर्बर युक्तिहरू चलाएर मात्र आक्रमण गर्दैन। उसले सत्यतामा सङ्गति गर्ने तरिका अपनाउनेछ, र केही शब्द र धर्मसिद्धान्तहरू चलाएर उसले मानिसहरूको मूल्याङ्कन गर्नेछ र तिनीहरूमाथि प्रहार गर्नेछ। यसले मानिसहरूलाई उसले गरिरहेको काम उचित र तर्कसङ्गत छ, ऊ मदतगार भइरहेको छ—उसले जे गरिरहेको छ त्यसमा केही गलत छैन भनी सोच्ने तुल्याउँछ। उसको यी “उचित र तर्कसङ्गत” तरिकाहरू के हुन्? (उसले मानिसहरूलाई मूल्याङ्कन गर्न र तिनीहरूमाथि प्रहार गर्न परमेश्‍वरका वचनहरू उद्धृत गर्छ।) सही हो—उसले मानिसहरूलाई खुलासा गर्न र तिनीहरूलाई मूल्याङ्कन गर्न परमेश्‍वरका वचनहरू उद्धृत गर्छ। यो उसको सबैभन्दा आम विधि हो। सतही रूपमा हेर्दा, यसरी बोल्ने यो तरिका निष्पक्ष, तर्कसङ्गत र एकदमै उचित देखिन्छ, तर भित्र भने, उसको मनसाय अरूको फाइदाका लागि मदत गर्नु होइन, बरु तिनीहरूको खुलासा गर्नु, तिनीहरूलाई मूल्याङ्कन गर्नु, तिनीहरूको निन्दा गर्नु र तिनीहरूलाई अपमान गर्नु हो। उसले हासिल गर्न चाहेको कुरा यही हो। तसर्थ, उसले कहाँबाट सुरु गर्छ भन्‍नेमा समस्या छ। ती मानिसहरूले सत्यतालाई पछ्याउने र प्रेम गर्ने हुनाले, र ख्रीष्टविरोधीका लागि ती खतरा भएका हुनाले उसले यसो गर्छ भनेर चौकस मानिसहरूले बुझ्न सक्छन्। अनि यो कस्तो खतरा हो? सत्यताप्रतिको तिनीहरूको प्रेमले ख्रीष्टविरोधीलाई कुन तरिकाले बाधा पुर्‍याउँछ? (तिनीहरू ख्रीष्टविरोधीलाई छर्लङ्ग देख्न र खुट्ट्याउन सक्छन्।) यो सही हो। यी सत्यताप्रेमीहरू ख्रीष्टविरोधीका लागि सबैभन्दा ठूलो खतरा यस कारणले हुन् कि, तिनीहरूले ख्रीष्टविरोधीले गरेको जस्तोसुकै नराम्रो कुरा पनि खुट्ट्याउन सक्छन्; तिनीहरूले उसको सार छर्लङ्ग देख्न सक्छन् र कहीँ पनि, कुनै पनि समयमा उसलाई खुलासा गर्ने, रिपोर्ट गर्ने, र प्रकाशमा ल्याउने, र त्यसपछि उसलाई निन्दा र अस्वीकार गर्ने, अनि मण्डलीबाट पखालेर फ्याँक्ने सम्भावना हुन्छ। यदि त्यसो भयो भने, उसले सदाका लागि आफ्नो हैसियत र शक्ति गुमाउनेछ, र आशिष् पाउने उसको सम्भावना पूर्ण रूपमा चकनाचूर हुनेछ। यसैले, ख्रीष्टविरोधीका लागि सत्यतालाई पछ्याउने यी मानिसहरू फरक मत राख्नेहरूका अतिरिक्त सबैभन्दा ठूलो खतरा हुन्।

सत्यता पछ्याउने मानिसहरूलाई प्रहार गर्न र तिनीहरूलाई मूल्याङ्कन गर्न परमेश्‍वरका वचनहरूमा सङ्गति प्रयोग गर्ने जस्ता बाहिरी रूपमा उचित देखिने तरिकाहरूका अतिरिक्त, ख्रीष्टविरोधीहरूले तिनीहरूविरुद्ध कठोर कदमहरू समेत चाल्नेछन्। ती कठोर कदमहरू के हुन्? उदाहरणका लागि, तिनीहरूले कुनै अगुवा वा कामदारले जुनसुकै प्रसङ्गमा भए पनि गरेको क्षणिक अपराधको फाइदा उठाउँछन्; चाहे त्यस व्यक्तिले यसबाट ज्ञान प्राप्त गरेको होस् अनि ऊ पश्चात्ताप गर्न सक्ने होस् वा नहोस्, र चाहे त्यो सत्यता पछ्याउने व्यक्ति होस् वा नहोस्, तिनीहरूले त्यो व्यक्तिको मूल्याङ्कन र निन्दा गर्न, र त्यसलाई निकाल्नका लागि तिललाई पहाड बनाउँछन्। झारबाट छुटकारा पाउनका लागि जरा काट्नुपर्छ भनेर ख्रीष्टविरोधीहरूले मान्छन्, र त्यसैले तिनीहरूले त्यस्ता मानिसहरूलाई मण्डलीबाट बाहिर निकाल्छन्, ताकि तिनीहरू ख्रीष्टविरोधीहरूको हैसियतका निम्ति खतरा नबनून्। सबै दुष्ट मानिस र ख्रीष्टविरोधीहरू अगुवा र कामदारहरूका विरुद्ध प्रयोग गर्न सकिने कुराहरूमा कब्जा जमाउन खप्पीस हुन्छन्, र कब्जा जमाइसकेपछि, तिनीहरूले उनीहरूलाई झूटा अगुवा र ख्रीष्टविरोधीका रूपमा निन्दा गर्छन्। यो कुनै सानोतिनो अभियोग होइन! अगुवा र कामदारहरू परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा छानिएका हुन्छन्; तँ किन सधैँ तिनीहरूको विरुद्ध प्रयोग गर्न चीजहरू कब्जा गर्न खोज्छस्? त्यो लाभ उठाउनुमा तेरो लक्ष्य के हो? के तँ तिनीहरूको ठाउँमा अगुवा बन्‍न चाहन्छस्? एक दुष्ट व्यक्तिले कुनै अगुवा वा कामदारलाई झूटा अगुवा र ख्रीष्टविरोधी भएको आरोप लगाइसकेपछि, यदि उसले जीवन्त उदाहरणहरू सूचीबद्ध गर्न सक्छ र त्यो तथ्यसँग मिल्दो छ भनी परमेश्‍वरका चुनिएका मानिसहरूलाई सोच्ने तुल्याउँछ भने, यसले समस्या निम्त्याउँछ। त्यो अगुवा वा कामदारलाई मण्डलीबाट सजिलै बाहिर निकाल्न सकिन्छ। झूटा अगुवा वा ख्रीष्टविरोधी हुनु यति ठूलो अपराध हो कि, एक पटक अपराध प्रमाणित भएपछि, अभियुक्त दोषी ठहरिन्छ, र परमेश्‍वरको विश्‍वासीका रूपमा तिनीहरूको समय समाप्त हुन्छ। यसले तिनीहरूलाई पूर्णतः बर्बाद गर्नेछ, होइन र? यो कति दुष्ट कुरो हो! अझ भन्नुपर्दा, यदि त्यो ख्रीष्टविरोधीले मौका छोपेर आफूलाई अगुवाका रूपमा चयन गराउँछ र मण्डलीलाई नियन्त्रणमा लिन्छ भने, के त्यसपछि परमेश्‍वरका चुनिएका मानिसहरू त्यो ख्रीष्टविरोधीको नियन्त्रणमा हुनेछैनन्? के त्यो मण्डली त्यसपछि ख्रीष्टविरोधीको राज्य हुनेछैन? (हुनेछ।) यो गम्भीर खतरा हो! के दुष्ट मानिस र ख्रीष्ट विरोधीहरूसँग सत्यता पछ्याउनेहरूलाई आक्रमण र बहिष्कार गर्ने अरू कुनै तरिकाहरू छन्? के कोही-कोहीले सत्ता कब्जा गर्न र आफ्नो हैसियत बलियो बनाउन सत्यता पछ्याउने दाजुभाइ र दिदीबहिनीहरूलाई सबैभन्दा खतरनाक ठाउँहरूमा काम गर्न पठाउँदैनन् र? तिनीहरू भन्छन्, “एउटा भर्खरै स्थापित मण्डली छ, जसमा विश्‍वासमा नयाँ रहेका धेरै दाजुभाइ-दिदीबहिनीहरू छन्। तिनीहरूमा कुनै जग छैन र तिनीहरूमा बुद्धिको कमी छ। तिनीहरूलाई मलजल र भरणपोषण गर्न सत्यता बुझ्ने मानिस चाहिएको छ। तपाईं दर्शनहरूको सत्यता बुझ्नुहुन्छ; ती नयाँ विश्‍वासीहरूलाई गएर मलजल गर्न तपाईंजस्तै व्यक्ति चाहिएको छ। यो गर्न कोही पनि उपयुक्त हुँदैन।” अनि यसरी त्यस ख्रीष्टविरोधीले गम्भीर गुप्त खतरालाई हटाउँछ। के उसले वास्तवमै त्यस व्यक्तिलाई मण्डलीको नेतृत्व गर्न र त्यसको भरणपोषण गर्न लगाउन यसो गरिरहेको हुन्छ? (हुँदैन।) हुँदैन; उसले यसो गर्नुको कारण त्यो ठाउँ प्रतिकूल छ, खतरनाक वातावरण भएको छ। उसले त्यस व्यक्तिलाई ठूलो रातो अजिङ्गरले समातेर लैजानेछ भन्‍ने उत्कट प्रत्याशामा मण्डलीको काम गर्न खतरनाक ठाउँमा राख्छ। यदि त्यो व्यक्ति समातियो भने, उक्त ख्रीष्टविरोधीको हैसियतलाई खतरामा पार्ने कोही पनि बाँकी रहनेछैन, र उसले मण्डलीलाई नियन्त्रण गर्न सक्छ। के यो उसको रणनीति होइन र? उसले त्यस व्यक्तिलाई नयाँ विश्‍वासीहरूलाई मलजल गर्न उपयुक्त भएको झुटो कुरा गरी बाहिर पठाउँछ, र यसरी, कसैले पनि उसको कुटिल अभिप्राय देख्न सक्दैन। के यो उसको चतुऱ्याइँ होइन? अनि दाजुभाइ र दिदीबहिनीहरूले त्यो ख्रीष्टविरोधीले यस्ता बन्दोबस्तहरू मिलाएकोमा ऊ चतुर र बुद्धिमान् छ, ऊ परमेश्‍वरको अभिप्रायअनुसारको व्यक्ति हो भन्‍ने सोच्छन्, तर आखिरमा त्यो ख्रीष्टविरोधीले त तिनीहरूलाई धोका दिइरहेको र तिनीहरूको आँखामा पट्टी बाँधिरहेको थियो भन्‍ने देखिन्छ। ख्रीष्टविरोधीको यो तरकिब निकै निश्छल देखिन्छ; वास्तवमा के भइरहेको छ भनेर कसैले पनि स्पष्ट रूपमा देख्न सक्दैन, र सबै जना बहकाउमा पर्छन्। बहकाउमा पर्ने मानिसहरू के सोच्छन् भने, ख्रीष्टविरोधीले उचित र तर्कसङ्गत कुरा गरिरहेको छ, उसले त्यो कामको चिन्ता भएर गरिरहेको छ—तर कसैले पनि तिनीहरूको मनसाय छर्लङ्ग देख्न सक्दैन। ख्रीष्टविरोधीहरू दुष्ट हुन्छन्, होइन र? तिनीहरूले जहाँ खतरा छ, तँलाई त्यहीँ पठाउँछन्, र मनमनै भन्छन्, “के तँ सत्यता पछ्याउँदैनस्? अनि तँ मेरा विरुद्धमा जाँदैनस्? के तँ सधैँ मलाई खुट्ट्याउने र मेरा विरुद्धमा प्रयोग गर्न चीजहरू पक्रने गर्दैनस् र? ठिक छ, त्यसोभए: म यो अवसर तँलाई यहाँबाट टकटकाएर फाल्न प्रयोग गर्नेछु। यदि तँ समातिइस् भने राम्रोकै लागि हुनेछ—तँ फेरि कहिल्यै आफ्नो खुट्टामा उभिनेछैनस्!” ख्रीष्टविरोधीहरूद्वारा मण्डलीमा फसाइएका र सताइएका धेरैजसो मानिस ती हुन्, जोसँग अझ धेरै पछ्याइ छ भन्‍ने कुरा निश्चित छ। यी मानिसहरूलाई सताइँदा र बहिष्कार गरिँदा ख्रीष्टविरोधीहरूले तिनीहरूलाई कसरी लिन्छन्? तिनीहरू मनमनै भन्छन्, “यी मानिसहरू सधैँ प्रवचन सुनिरहेका हुन्छन्; तिनीहरू केही सत्यता बुझ्छन्। म तिनीहरूलाई यत्तिकै सुन्‍न नदिन सक्दिनँ: प्रवचनहरू सबैका कानमा पुग्छन्, त्यसैले तिनीहरूलाई सुन्‍न नदिनुलाई कुनै पनि तरिकाले न्यायोचित ठहराउन सकिन्‍न। तर मानौँ, म तिनीहरूलाई सुन्‍न अनुमति दिन्छु, तर ती प्रवचनमा भनिएका धेरै कुराले झुटा अगुवा र ख्रीष्टविरोधीहरूलाई खुलासा गर्ने भएकाले, तिनीहरूले पर्याप्त सुने अनि बुझाइ र खुट्याउने क्षमता प्राप्त गरेको खण्डमा के त्यसले मलाई राम्रो गर्नेछ? म त ढिलो-चाँडो अगुवाको पदबाट झर्नुपर्ने हुन्छ, होइन र? त्यसरी हुँदैन। मैले नै पहिलो कदम चाल्नुपर्छ।” ख्रीष्टविरोधीमा यस्तो मनसाय आएपछि, ऊ त्यो कार्य गर्न उत्रन्छ। मानिसहरूले सत्यता बुझ्न सकेनन् भने, तिनीहरूमध्येका मुठ्ठीभरले पनि ख्रीष्टविरोधीलाई चिन्‍न सक्नेछैनन्। किन ख्रीष्टविरोधीहरू बचेर निस्कन सफल हुन सक्छन्, जबकि सत्यता पछ्याउने मानिसहरू सिकार बन्छन्? यसको एउटा निश्चित कारण हो: ती मानिसहरूका हृदयमा सत्यता र सकारात्मक कुराप्रति केही प्रेम हुन सक्छ, र तिनीहरूमा सत्यता पछ्याउने केही आकाङ्क्षा हुन सक्छ, तर तिनीहरू एकदमै डरपोक हुन्छन्। तिनीहरू सत्यता बुझ्दैनन्, तिनीहरूमा खुट्याउने क्षमताको कमी हुन्छ, र तिनीहरू एकदमै मूर्ख हुन्छन्; तिनीहरू ख्रीष्टविरोधीको सार छर्लङ्ग देख्न सक्दैनन्, र ख्रीष्टविरोधीको खुलासा गर्न कहिल्यै अघि सर्न सक्दैनन्, जसले गर्दा ख्रीष्टविरोधीले नै पहिलो कदम चाल्छ र त्यसमार्फत तिनीहरूलाई हानि पुर्‍याउँछ। यदि त्यो तिनीहरूले पाउने परिणाम हो वा तिनीहरू यस स्थितिमा पुग्छन् भने, त्यो कसरी भएको हुनेछ? के तिनीहरू ख्रीष्टविरोधीको आक्रमणमा परेका हुनेछैनन् र? (हुनेछन्।) सत्यता पछ्याउने मानिसहरूले यसबाट कस्तो पाठ सिक्नुपर्छ? अगुवा वा कामदारलाई कसरी व्यवहार गर्ने भन्‍ने सम्बन्धमा मानिसहरूसँग हुनुपर्ने मनोवृत्ति के हो? यदि अगुवा वा कामदारले गर्ने काम सही र सत्यताबमोजिम छ भने तैँले तिनीहरूको पालन गर्दा हुन्छ; यदि तिनीहरूले गर्ने काम गलत छ र सत्यताबमोजिम छैन भने तैँले तिनीहरूको पालन गर्नु हुँदैन र तैँले तिनीहरूको खुलासा गर्न, विरोध गर्न र फरक राय अघि सार्न सक्छस्। यदि तिनीहरू वास्तविक काम गर्न सक्षम छैनन् वा मण्डलीको काममा बाधा पुग्नेगरी दुष्कर्महरू गर्छन्, र झुटा अगुवा, झुटा कामदार, वा ख्रीष्टविरोधीका रूपमा प्रकट भएका छन् भने, तैँले तिनीहरूलाई खुट्ट्याउन, खुलासा गर्न र रिपोर्ट गर्न सक्छस्। यद्यपि, केही परमेश्‍वरका चुनिएका मानिसहरू सत्यता बुझ्दैनन् र खास गरी डरपोक हुन्छन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरूले दबाउँछन् र यातना दिन्छन् भनेर डराउँछन्, त्यसैले तिनीहरू सिद्धान्तहरू पालना गर्ने आँट गर्दैनन्। तिनीहरू भन्छन्, “यदि अगुवाले मलाई निष्कासित गर्यो भने म सकिन्छु; यदि उसले सबैलाई मेरो खुलासा गर्न र मलाई त्याग्‍न लगायो भने, म अबउप्रान्त परमेश्‍वरमा विश्‍वास गर्न सक्षम हुनेछैनँ। यदि मलाई मण्डलीबाट निष्कासित गरियो भने, परमेश्‍वरले मलाई चाहनुहुनेछैन र मलाई मुक्ति दिनुहुनेछैन। अनि के मेरो आस्था व्यर्थ भएको हुनेछैन र?” के यस्तो सोचाइ हाँसउठ्दो होइन र? के यस्ता मानिसमा परमेश्‍वरप्रति साँचो आस्था हुन्छ? के कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा परमेश्‍वरको प्रतिनिधित्व गरिरहेको हुनेछ? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई यातना दिनु र निकाल्नु भनेको शैतानको काम हो, र यसको परमेश्‍वरसित कुनै सम्बन्ध छैन; मानिसहरू मण्डलीबाट निकालिँदा वा उनीहरूलाई निष्कासित गरिँदा, त्यो तब मात्र परमेश्‍वरको अभिप्रायबमोजिम हुन्छ जब मण्डली र परमेश्‍वरका चुनिएका सबै जनबीच संयुक्त निर्णय हुन्छ, अनि निकालिने वा निष्कासन गर्ने काम पूर्णतया परमेश्‍वरको घरको कामका बन्दोबस्त र परमेश्‍वरको वचनका सत्यता सिद्धान्तबमोजिम हुन्छन्। झूटो अगुवा वा ख्रीष्टविरोधीद्वारा निष्कासित हुँदैमा कसरी तँलाई मुक्ति दिन सकिँदैन भन्‍ने हुन्छ? यो त शैतान र ख्रीष्टविरोधीले दिने उत्पीडन हो, र यसको मतलब तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्नेछैनस् भन्‍ने होइन। तैँले मुक्ति प्राप्त गर्न सक्नु नसक्नु परमेश्‍वरमा भर पर्छ। कुनै मानव तैँले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्छस् कि सक्दैनस् भनी निर्णय गर्न योग्य हुँदैन। तँ यसबारे प्रस्ट हुनैपर्छ। अनि तँलाई कुनै झूटा अगुवा वा ख्रीष्टविरोधीले गर्ने निष्कासनलाई परमेश्‍वरद्वारा निष्कासन गरिएको ठान्नु—के यो परमेश्‍वरको अपव्याख्या गर्नु होइन र? हो। अनि यो परमेश्‍वरको अपव्याख्या गर्नु मात्र नभई उहाँविरुद्ध विद्रोह गर्नु पनि हो। यो केही हदसम्म परमेश्‍वरको निन्दा पनि हो। के यसरी परमेश्‍वरको अपव्याख्या गर्नु अज्ञानता र मूर्खता होइन र? कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले तँलाई निष्कासन गर्दा किन तँ सत्यता खोज्दैनस्? किन तँ केही समझशक्ति प्राप्त गर्न सत्यता बुझ्ने व्यक्ति खोज्दैनस्? अनि तैँले यो कुरा माथिकाहरूलाई किन रिपोर्ट गर्दैनस्? यसले के प्रमाणित गर्छ भने तँ परमेश्‍वरको घरमा सत्यताको राज चल्छ भनेर विश्‍वास गर्दैनस्, यसले तँमा परमेश्‍वरप्रति साँचो आस्था छैन, तँ परमेश्‍वरमा साँचो विश्‍वास गर्ने व्यक्ति होइनस् भनेर देखाउँछ। यदि तँ परमेश्‍वरको सर्वशक्तिमान्‌तामा भरोसा गर्छस् भने, किन कुनै झूटो अगुवा वा ख्रीष्टविरोधीले प्रतिशोध लिन्छ भनेर डर मान्छस्? के उसले तेरो भाग्य निर्धारण गर्न सक्छ? यदि तँ खुट्ट्याउन सक्छस् र तैँले उसका कार्यहरू सत्यतासँग मेल खाँदैनन् भनी पत्ता लगाइस् भने, सत्यता बुझ्ने परमेश्‍वरका चुनिएका जनहरूसित किन सङ्गति नगर्ने? तँसित मुख छ, त्यसैले किन बोल्ने आँट गर्दैनस्? किन तँ झूटो अगुवा वा ख्रीष्टविरोधीदेखि यति धेरै डराउँछस्? यसले तँ डरपोक, निकम्मा, शैतानको नोकर होस् भनेर प्रमाणित गर्छ। झूटो अगुवा वा ख्रीष्टविरोधीले धम्की दिँदा, यदि तँ माथिकालाई तिनीहरूको रिपोर्ट गर्ने हिम्मत गर्दैनस् भने, यसले तँ शैतानको बन्धनमा परिसकेको छस् र तँ तिनीहरूसँग एकै हृदयको होस् भन्‍ने कुरा देखाउँछ; के यो शैतानलाई पछ्याउनु होइन र? यस्तो व्यक्ति कसरी परमेश्‍वरका चुनिएका मानिसहरूमध्येको एक हुन सक्छ र? शुद्ध र सरल ढङ्गमा भन्नुपर्दा, तिनीहरू मैला हुन्। झूटा अगुवा र ख्रीष्टविरोधीहरूसँग एकै हृदयको हुने सबै कहिल्यै असल हुन सक्दैनन्। तिनीहरू दुष्कर्मी हुन्। त्यस्ता मानिसहरू शैतानको चाकर हुन जन्मेका हुन्छन्—तिनीहरू शैतानका नोकर हुन्, र तिनीहरूले मुक्ति पाउन सक्दैनन्। ख्रीष्टविरोधीहरूले दुष्ट काम गरेको देख्दा तिनीहरूको खुलासा गर्न हिम्मत नगर्ने, तिनीहरू चिढिएलान् कि भनेर डराउने, तिनीहरूलाई जोगाउने र तिनीहरूको आज्ञापालन समेत गर्ने सबै—के तिनीहरू मूर्ख, अज्ञानी मानिस होइनन् र? यदि तँलाई सत्यता सिद्धान्तहरूबारे राम्ररी थाहा छ, तैपनि ती उल्लङ्घन गर्छस्, अनि दुष्ट मानिस र ख्रीष्टविरोधीहरूसँग गठबन्धन गर्छस् र गुटसमेत बनाउँछस् भने, के तैँले शैतानको मतियार र चाकरका रूपमा काम गरिरहेको हुँदैनस् र? त्यसोभए, अन्ततः तँलाई एक दुष्ट व्यक्ति र ख्रीष्टविरोधीहरूको सहयोगीका रूपमा व्यवहार गरिँदा, तँ त्यसको हकदार हुँदैनस् र? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर परमेश्‍वरलाई पछ्याउनुको सट्टा तँ ख्रीष्टविरोधीहरूलाई पछ्याउँदै तिनीहरूको कृपापात्र वा सहयोगीका रूपमा काम गर्छस् भने, के तँ आफ्नै मृत्यु-पत्रमा हस्ताक्षर गर्दै आफ्नै चिहान खन्दै छैनस् त? यदि तँ परमेश्‍वरमा विश्‍वास गर्छस्, तर परमेश्‍वरमा समर्पित हुनुको सट्टा, तैँले परमेश्‍वरका शत्रुहरू—ख्रीष्टविरोधीहरूको अघि हार मान्छस् र तिनीहरूको शरणमा पुग्छस्, अनि यसको नतिजास्वरूप तँलाई यी ख्रीष्टविरोधीहरूले बहकाउँछन् र दुर्व्यवहार गर्छन् भने, तैँले आफैमाथि यस्तो नतिजा ल्याएको हुन्छस्। के तँ यसकै लायक छैनस् र? यदि तँ ख्रीष्टविरोधीलाई तेरो मालिकका रूपमा, तेरो अगुवाका रूपमा, टाउको बिसाउने काँधका रूपमा व्यवहार गर्छस् भने, तैँले शैतानको शरण लिइरहेको छस्, तँ शैतानलाई पछ्याउँदै छस्, यसको मतलब तँ बहकिइस्, र गलत मार्गमा लागिस्, र फर्कनै नसक्ने बाटोमा पाइला टेकिस्। ख्रीष्टविरोधीहरूप्रति तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले तिनीहरूको खुलासा गर्नुपर्छ, र तिनीहरूसँग युद्ध गर्नुपर्छ। यदि तिमीहरूमध्ये एक वा दुई जना मात्र छौ र एक्लै ख्रीष्टविरोधीहरूको सामना गर्न धेरै कमजोर छौ भने, तिमीहरूले यी ख्रीष्टविरोधीहरूको रिपोर्ट र खुलासा गर्न सत्यता बुझेका धेरै व्यक्तिहरूसँग हात मिलाउनुपर्छ, र तिनीहरूलाई ननिकालेसम्म लडिरहनुपर्छ। मैले सुनेको छु, विगत दुई वर्षमा चीनका मुख्य भूभागहरूका केही पाष्टरीय एकाइहरूमा परमेश्‍वरका चुनिएका मानिसहरूले झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई पदमुक्त गर्न एकजुट भए; केही झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरू निर्णयकर्ताको समूहका प्रमुखहरू पनि थिए, तैपनि तिनीहरू यसरी नै परमेश्‍वरका चुनिएका मानिसहरूद्वारा हटाइए। परमेश्‍वरका चुनिएका मानिसहरूले माथिबाट आउने अनुमोदन पर्खनु परेन; सत्यता सिद्धान्तहरूका आधारमा तिनीहरू यी झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई पहिचान गर्न सक्षम थिए—जसले वास्तविक काम गर्दैनथे, र सधैँ दाजुभाइ र दिदीबहिनीहरूलाई यातना दिइरहन्थे, जसले जङ्गली व्यवहार गरिरहेका थिए र परमेश्‍वरको घरको काममा बाधा पुर्‍याइरहेका थिए—र तिनीहरूलाई तुरुन्तै कारवाही गरियो। कसैलाई निर्णयकर्ताका समूहहरूबाट बाहिर धकेलियो, कसैलाई मण्डलीबाट निकालियो—जुन राम्रो कुरो हो! यसले परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरमा विश्‍वासको सही मार्गमा पाइला टेकिसकेका छन् भन्‍ने देखाउँछ। परमेश्‍वरका चुनिएका केही मानिसहरूले सत्यता बुझिसकेका हुनाले र तिनीहरूसँग अहिले अलिकति कद भएको हुनाले, तिनीहरू उप्रान्त शैतानको नियन्त्रण र छलमा पर्दैनन्, तिनीहरू खडा हुन र शैतानको दुष्ट शक्तिहरूसँग लड्ने हिम्मत गर्छन्। यसले मण्डलीमा झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूको हैकम चल्दैन भनेर देखाउँछ। त्यसैले तिनीहरू अब आफ्नो बोली र कार्यमा धृष्ट हुने हिम्मत गर्दैनन्। तिनीहरूले आफ्नो खेल उजागर गर्नेबित्तिकै, तिनीहरूलाई सुपरिवेक्षण गर्न, खुट्ट्याउन र तिनीहरूलाई इन्कार गर्न त्यहाँ कोही हुनेछ। भन्नुको मतलब, साँच्चै सत्यता बुझ्नेहरूको हृदयमा मानिसको हैसियत, प्रतिष्ठा र शक्तिले प्रमुख स्थान लिँदैन। त्यस्ता व्यक्तिहरूले ती चीजहरूलाई महत्त्व दिँदैनन्। जब कसैले सक्रिय ढङ्गले सत्यता खोज्न र त्यसमाथि सङ्गति गर्न सक्छ, र जब तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले हिँड्नुपर्ने मार्ग र अगुवा र कामदारहरूसित कस्तो व्यवहार गर्नुपर्छ भनेर पुन: मूल्याङ्कन र मनन गर्न थाल्छन्, अनि त्यसपछि मानिसहरूले कसलाई पछ्याउनुपर्ने हो, मान्छेलाई पछ्याउने व्यवहार कुन हो अनि परमेश्‍वरलाई पछ्याउने व्यवहार कुन हो, अनि त्यसपछि, धेरै वर्षसम्म यी सत्यताहरूलाई छामछाम-छुमछुम गरेपछि र तिनको अनुभव सँगालेपछि जब तिनीहरूले थाहै नपाई केही सत्यता बुझ्न र खुट्ट्याउन पुग्छन्—त्यतिबेला तिनीहरूले केही कद हासिल गरेका हुनेछन्। सबै कुरामा सत्यता खोज्न सक्षम हुनु भनेको परमेश्‍वरमा विश्‍वासको सही मार्गमा प्रवेश गर्नु हो।

परमेश्‍वरका चुनिएका मानिसहरूका लागि झूटा अगुवाहरू र ख्रीष्टविरोधीहरूलाई चिन्‍न र तिरस्कार गर्न सक्षम हुनु राम्रो कुरा हो, राम्रो घटना हो। केही अगुवाहरूले वास्तविक काम गर्न सक्दैनन्; तिनीहरूले केवल बाधा र अवरोध निम्त्याउँछन्, जसले गर्दा मण्डलीको जीवनमा कुनै शान्ति हुँदैन। सबै दाजुभाइ दिदीबहिनीहरू तिनीहरूलाई अप्रिय मान्छन्, र अन्तमा तिनीहरूलाई अस्वीकार गर्छन्। के तिनीहरूले यसो गर्नु उचित हो? (उचित हो।) त्यहाँ अरू छन् जो अगुवाका रूपमा छानिएका छन्, र सुरुमा, दाजुभाइ र दिदीबहिनीहरू भन्छन्, “हामीले तिनीहरूलाई नै रोजेका हौँ, त्यसैले हामीले तिनीहरूको काममा सहकार्य गर्नुपर्छ।” केही समयपछि, तिनीहरूको छनौट गलत निस्कन्छ: तिनीहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा उत्साहित हुन्छन्, तर तिनीहरूसँग आत्मिक बुझाइ हुँदैन। तिनीहरू विकृति-प्रवृत्त हुन्छन्, र अहङ्कारी र आत्म-धर्मी हुन्छन्; तिनीहरू अरूसँग मामिलाहरूबारे छलफल गर्दैनन्, र तिनीहरू सिद्धान्तअनुसार केही गर्दैनन्, तर केवल जथाभाबी कार्य गर्छन्। यसले सुरक्षा भङ्ग हुन्छ; मण्डलीका दाजुभाइ र दिदीबहिनीहरू निरन्तर गिरफ्तार हुन्छन्, र मण्डलीको कामले ठूलो नोक्सानी बेहोर्छ। अगुवाले आत्मचिन्तन नगर्ने मात्र होइन, तर आफैलाई सही ठहराउँछ, आफ्नो प्रतिरक्षामा बहस गर्छ, अनि जिम्मेवारीबाट पन्छिन्छ। अन्तमा, समूहले तिनीहरूलाई तिनीहरूको पदबाट फिर्ता बोलाउँछ। के तँलाई तिनीहरूले उचित ढङ्गले परिस्थिति सम्हाले जस्तो लाग्छ? (हजुर।) अवश्य नै हो! अनि त्यो व्यक्तिलाई सम्हालेलगत्तै तिनीहरूले अरू कसैलाई चुन्छन्, र केही समयपछि सबैलाई स्पष्ट हुन्छ कि यो व्यक्ति त्यस झूटा अगुवाभन्दा धेरै राम्रो छ, जुन कुराले समूहमा खुट्ट्याउने गुण छ र यसको वृद्धिविकास भएको छ भनेर प्रमाणित गर्दछ। यही प्रक्रियाद्वारा परमेश्‍वरका चुनिएका मानिसहरू जीवनमा वृद्धिविकास हुन्छ। यो एकदम सामान्य कुरो हो। के तँलाई मानिसहरूले यति धेरै वर्षसम्म प्रवचनहरू सुनेपछि, तिनीहरू सबै खुट्ट्याउने गुणयुक्त बन्छन्, र प्रत्येक अगुवा र कामदारका लागि सही छनोट गर्छन्—तिनीहरूले जसलाई छान्छन्, त्यही नै पदमा बस्नेछ जस्तो लाग्छ? के यो यसरी नै चल्छ? (चल्दैन।) जब मानिसहरूले सत्यता सिद्धान्तहरू बुझ्दैनन्, तब तिनीहरूले अगुवा छान्दा सधैँ तीक्ष्ण दिमाग भएको, राम्रो वक्ता, प्रतिभाशाली व्यक्तिलाई ध्यान दिन्छन्। पदमा बसेको केही समयपछि त्यो व्यक्ति झूटा अगुवा वा ख्रीष्टविरोधी हो भनेर प्रष्ट भएपछि मात्र मानिसहरूले खुट्ट्याउन थाल्छन्; त्यसपछि, तिनीहरू फेरि त्यस्तो व्यक्तिलाई छनौट गर्दैनन्। त्यसोभए, अगुवा र कामदार छान्दा ठ्याक्कै कसलाई छान्नुपर्छ? त्यसको कुनै निर्दिष्ट नियमहरू छैनन्। यो त व्यक्तिविशेष सच्चा व्यक्ति हो वा होइन र ऊ सत्यताको पछि लाग्छ कि लाग्दैन भन्‍ने कुरामा सबैभन्दा धेरै निर्भर हुन्छ। जे भए पनि, यदि कोही मानिस दुष्ट वा ख्रीष्टविरोधी हो भने, ऊ जुनसुकै किसिमको मानिस भए पनि, तैँले उसलाई छान्‍नै हुँदैन। यदि तैँले यसो गर्छस् भने, तँ आफ्नै लागि आफै खाडल खनिरहेको हुनेछस्। यस्तै होइन र? (हो।)

हामीले भर्खरै चर्चा गरिरहेको विषयमा फर्कौं, त्यो हो, सत्यता पछ्याउनेहरूलाई ख्रीष्टविरोधीहरूले आक्रमण र बहिष्कार गर्ने: हामीले मूलतः यसमा भन्नुपर्ने कुराहरू भनिसकेका छौँ, हैन र? ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउनेहरूलाई कसरी बहिष्कार र आक्रमण गर्छन्? तिनीहरू प्रायः अरूले तर्कसङ्गत र उचित ठान्‍ने तरिकाहरू प्रयोग गर्छन्, तिनीहरू मानिसहरूलाई आक्रमण गर्न, निन्दा गर्न र बहकाउन सत्यताबारेका वादविवादहरू प्रयोग गरेर लाभ उठाउने समेत गर्छन्। उदाहरणका लागि, एक ख्रीष्टविरोधीले के सोच्दछ भने, यदि उसका सहकर्मी सत्यता पछ्याउने मानिसहरू हुन् भने, तिनीहरूले उसको हैसियतमाथि खतरा पैदा गर्न सक्छन्, अनि त्यसैले ख्रीष्टविरोधीले मानिसहरूलाई बहकाउन र मानिसहरूलाई उसको आदर गर्न लगाउनका लागि वजनदार प्रवचनहरू दिने र आत्मिक सिद्धान्तहरू छलफल गर्नेछ। यसरी, तिनीहरूले आफ्ना सहकर्मी र सहकर्मचारीहरूलाई तुच्छ देखाउन र दबाउन सक्छन्, र मानिसहरूलाई तिनीहरूका अगुवाका सहकर्मीहरू सत्यता पछ्याउने मानिसहरू त हुन्, तैपनि तिनीहरू क्षमता र योग्यताको हिसाबले तिनीहरूको अगुवाको बराबरीका छैनन् भन्‍ने महसुस गराउन सक्छन्। कतिपय मानिसहरू यस्तो पनि भन्छन्, “हाम्रा अगुवाका उपदेशहरू वजनदार छन्, र कसैले तुलना गर्न सक्दैन।” ख्रीष्टविरोधीका लागि यस्तो टिप्पणी सुन्‍नु अत्यन्त सन्तोषजनक कुरो हुन्छ। तिनीहरू मनमनै सोच्छन्, “तँ त मेरो सहकर्मी होस्, के तँमा केही सत्यता वास्तविकताहरू छैनन्? तँ मजस्तो वाकपटुता र उच्चतासाथ किन बोल्न सक्दैनस्? तँ अब पूरै अपमानित भइस्। तँमा क्षमताको कमी छ, तैपनि तँ मसँग प्रतिस्पर्धा गर्ने हिम्मत गर्छस्!” ख्रीष्टविरोधीले यस्तै सोचिरहेको हुन्छ। ख्रीष्टविरोधीको लक्ष्य के हो? तिनीहरू अरू मानिसलाई दबाउने, होच्याउने र आफूलाई तिनीहरूभन्दा माथि राख्नेजस्ता हरसम्भव उपायहरू प्रयोग गर्दै छन्। सत्यता पछ्याउने वा तिनीहरूसँग सहकार्य गर्ने सबैलाई ख्रीष्टविरोधीले यसरी नै व्यवहार गर्ने गर्छ। ख्रीष्टविरोधीले जे गरे पनि, यो तिनीहरूको आफ्नै शक्ति र हैसियतमा केन्द्रित हुन्छ, र तिनीहरू अरूको सम्मान र वाहवाही जित्नका लागि यसो गर्छन्। तिनीहरू अरू कसैलाई पनि आफूलाई उछिन्‍न दिँदैनन्; तिनीहरूभन्दा राम्रो जोकोही पनि तिनीहरूको बेइज्जत, बहिष्कार, र दमन सहन बाध्य हुनैपर्छ। सत्यता पछ्याउने मानिसहरूविरुद्ध ख्रीष्टविरोधीहरूले प्रयोग गर्ने हरेक माध्यमहरूको पछाडि मनसाय र उद्देश्यहरू हुन्छन्। परमेश्‍वरको घरको कामको रक्षा गर्ने प्रयास गर्नुको सट्टा, तिनीहरूको उद्देश्य आफ्‍नै शक्ति र हैसियतको रक्षा गर्नु, साथै परमेश्‍वरका चुनिएका मानिसहरूको हृदयमा आफ्नै पद र छवि कायम राख्‍नु हो। तिनीहरूका तरिका र व्यवहारहरू परमेश्‍वरको घरको कामको निम्ति अवरोध र बाधा हुन्, र तिनले मण्डली जीवनमा पनि हानिकारक असर गर्छन्। के ख्रीष्टविरोधीका दुष्ट कार्यहरूको सबैभन्दा आम प्रकटीकरण यही होइन र? यी दुष्ट कार्यहरूको अलावा, ख्रीष्टविरोधीहरूले तीभन्दा पनि घृणित काम गर्छन्, त्यो के हो भने तिनीहरूले सधैँ सत्यताको खोजी गर्ने मानिसहरूका कमजोरीको कसरी फाइदा उठाउने भनेर पत्ता लगाउने प्रयास गर्छन्। उदाहरणको लागि, यदि कसैले व्यभिचार गर्‍यो वा अरू कुनै अपराध गर्‍यो भने, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई आक्रमण गर्न यी कुराहरूको फाइदा उठाउँछन्, तिनीहरूलाई अपमान, खुलासा, र निन्दा गर्ने मौका हेर्छन्, तिनीहरूको कर्तव्यप्रतिको जोस मार्न अनेक नाम दिन्छन्, जसले गर्दा तिनीहरूले नकारात्मक महसुस गर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूप्रति भेदभाव, बेवास्ता र इन्कार गर्ने पनि बनाउँछन्, जसले गर्दा सत्यता खोजी गर्नेहरू एक्लो बन्छन्। अन्त्यमा, जब सत्यता खोजी गर्नेहरू सबैले नकारात्मक र कमजोर महसुस गर्छन्, सक्रिय रूपमा आफ्‍नो कर्तव्य पूरा गर्न छोड्छन्, र भेलाहरूमा जान मन गर्दैनन्, तब ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। सत्यता खोजी गर्नेहरूले ख्रीष्टविरोधीहरूको हैसियत र शक्तिमा खतरा पुर्‍याउन छोडेकाले, र कसैले पनि तिनीहरूको रिपोर्ट वा खुलासा गर्ने आँट नगर्ने हुनाले तिनीहरू ढुक्‍क हुन्छन्। ख्रीष्टविरोधीले मण्डलीमा सत्यता पछ्याउने मानिसहरूलाई सबैभन्दा धेरै घृणा गर्दछ, विशेष गरी झूटा अगुवा र ख्रीष्टविरोधीको खुलासा र रिपोर्ट गर्ने हिम्मत गर्ने इन्साफको बोध भएका व्यक्तिहरूलाई। ख्रीष्टविरोधीले त्यस्ता मानिसहरूलाई आफ्नो आँखाको कसिङ्गरका रूपमा, आफू छेउको काँडाका रूपमा हेर्छ। सत्यता पछ्याउने र आफ्नो कर्तव्य स्वेच्छाले पूरा गर्ने कोही देखेमा, उसको हृदयमा द्वेष र शत्रुता उत्पन्‍न हुन्छ, अनि उसमा एक थोपा पनि प्रेम हुँदैन। सत्यता पछ्याउने मानिसहरूले जस्तोसुकै कठिनाइहरू भोग्नुपरे पनि वा तिनीहरू जतिसुकै कमजोर र नकारात्मक भए तापनि, एक ख्रीष्टविरोधीले तिनीहरूलाई मद्दत वा समर्थन नगर्ने मात्र गर्दैन—उसले त्यसलाई त्यत्तिकै पन्छाउने मात्र गर्दैन। बरु, ऊ मनमनै खुसी हुन्छ। अनि यदि कसैले ऊमाथि आरोप लगाएको छ वा उसको खुलासा गरेको छ भने, कमजोर भएको मौका छोपेर उसलाई लात हानेर तल झारिदिन्छ, उसलाई पाठ सिकाउन, उसको निन्दा गर्न, उसलाई अघि बढ्ने कुनै बाटो नदिन, अनि अन्तमा उसलाई आफ्नो कर्तव्य निर्वाह गर्न नसक्नेगरी नकारात्मक बनाउन नानाथरीका आरोप लगाउँछ। तब ख्रीष्टविरोधी आफैँमा गर्व गर्छ र त्यो व्यक्तिको दुर्भाग्यमा रमाउन थाल्छ। यसप्रकारका कामहरू गर्नमा ख्रीष्टविरोधीहरू खप्पीस छन्; सत्यता पछ्याउनेहरूलाई बहिष्कार, आक्रमण र निन्दा गर्नु तिनीहरूको सबैभन्दा ठूलो सीप हो। ख्रीष्टविरोधीहरूले के सोच्छन् जसले गर्दा तिनीहरू यस्तो दुष्टता गर्न सक्‍ने बन्छन्? “यदि सत्यता खोजी गर्नेहरूले प्रायः प्रवचनहरू सुने भने, एक दिन तिनीहरूले मेरो व्यवहारको वास्तविकता देख्‍न सक्छन्, र त्यसपछि तिनीहरूले मलाई अवश्य नै खुलासा गरेर प्रतिस्थापन गर्नेछन्। तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्दा, मेरो हैसियत, प्रतिष्ठा, र इज्‍जतमा खतरा आइलाग्छ। पहिले मैले नै प्रहार गर्नुपर्छ, र तिनीहरूलाई बाधा पुर्याउन र निन्दा गर्न गलचेप हात पार्ने मौकाहरू खोजी तिनीहरूलाई नकारात्मक बनाउनु नै राम्रो हुन्छ, ताकि तिनीहरूले आफ्‍नो कर्तव्य निर्वाह गर्ने सबै इच्‍छा गुमाऊन्। अगुवा र कामदारहरू अनि सत्यता खोजी गर्नेहरूको बीचमा द्वन्द्व पनि उत्पन्‍न गराउनेछु, ताकि अगुवा र कामदारहरूले तिनीहरूलाई छिःछि दूरदूर गरून्, तिनीहरूबाट टाढा बसून्, र तिनीहरूलाई महत्त्व वा बढुवा दिन छोडून्। त्यसरी, तिनीहरूसँग सत्यता खोजी गर्ने वा कर्तव्य निर्वाह गर्ने इच्‍छा हुनेछैन। सत्यता खोजी गर्नेहरू नकारात्मक भई बसे भने, त्यो एकदमै राम्रो हुन्छ।” ख्रीष्टविरोधीहरूले हासिल गर्न चाहने उद्देश्य यही हो। जब एक ख्रीष्टविरोधी वा दुष्ट व्यक्तिले तँलाई फसाउँछ, तेरो निन्दा गर्छ, र तिनीहरूको चालद्वारा तँलाई अपमानित गर्छ, तब तँ के भइरहेको छ भनेर खुट्ट्याउन सक्छस्? के तँ शैतानको चालहरू छर्लङ्ग देख्न सक्छस्? तैँले खुट्ट्याउन सिक्नैपर्छ: “तिनीहरूले जे भने, त्यो एकदम ठीक सुनिएको थियो, तर मैले किन नकारात्मक महसुस गर्न थालेँ? म किन अब आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नँ? मेरो मनमा परमेश्‍वरका बारेमा किन शङ्का छ? के तिनीहरूले भनेका कुरामा कुनै समस्या थियो? यसले किन नकारात्मक असर गऱ्यो? मैले किन त्यसबाट परमेश्‍वरका बारेमा गलत बुझाइ र धारणा, अनि उप्रान्त समर्पित हुने चाहना नराख्ने भाव पाएँ? परमेश्‍वरका लागि आफूलाई समर्पित गर्ने मेरो पहिलेको उत्साह र सङ्कल्प अब किन छैन? अनि ममा अचानक परमेश्‍वरको कामका बारेमा केही शङ्का-उपशङ्काहरू छन्—मलाई लाग्छ, मेरा दर्शनहरू स्पष्ट छैनन्। मलाई थाहा छैन, यसप्रकार कर्तव्य निर्वाह गर्नु केका लागि हो, र मलाई लाग्छ, मैले धेरै बर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको छु र कठिनाइहरू भोगेको छु, तैपनि देखाउनका लागि मसित केही पनि छैन। अहिले मेरो मनमा अन्धकार छ।” त्यो अलि असामान्य छ। झट्टै सुन्दा सही लाग्ने शब्दहरूले यस्तो नतिजा किन ल्याउँछन्? तँलाई शब्दहरूमै केही गडबड छ जस्तो लाग्दैन? त्यसोभए, ती कस्ता खालका शब्दहरू हुन्, जसलाई सुन्दा तँमा त्यस्ता प्रतिक्रियाहरू उत्पन्‍न हुन्छन्? कुन प्रकारका शब्दहरू सुन्दा तँलाई परमेश्‍वरप्रति अविश्‍वास जाग्छ? सबैभन्दा पहिले, एउटा कुरा पक्का छ: ख्रीष्टविरोधीका सबै शब्दहरू भ्रामक छन्; सर्पले जस्तै ती सबैले मानिसहरूलाई पाप गर्न, र आफूलाई परमेश्‍वरबाट टाढा राख्न र उहाँलाई अस्वीकार गर्न बहकाउँछन्। तिनीहरूको एउटा शब्दले पनि मानिसहरूको भरणपोषण वा मदत गर्दैन। तिनीहरूको शब्द कहाँबाट आउँछ त? शैतान र दियाबलसहरूबाट। ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउनेहरूलाई आक्रमण र निन्दा गर्न प्रयोग गर्ने शब्दहरूको कुरा गर्दा, के तँ तिनलाई खुट्ट्याउन सक्छस्? ख्रीष्टविरोधीहरूको एउटै मात्र डर भन्‍नुनै मानिसहरू सत्यताको पछि लाग्नु हो। तिनीहरू परमेश्‍वरमा समर्पित मानिसहरूदेखि, परमेश्‍वरलाई पछ्याउन र सृजित प्राणीहरूको कर्तव्य उठाउन अघि बढ्ने मानिसहरूदेखि डराउँछन्; तिनीहरू परमेश्‍वरको अगाडि आउने र सत्यता खोज्ने मानिसहरूदेखि डराउँछन्। तिनीहरूको सबैभन्दा ठूलो डर नै यही हो। किनकि परमेश्‍वरका चुनिएका मानिसहरूले सत्यता पछ्याउने बाटोमा पाइला टेकिसकेपछि तिनीहरूको जीवनमा तीव्र वृद्धि हुन्छ, र यसो हुँदै गर्दा तिनीहरूको कदमा झन्-झन् वृद्धि हुँदै जान्छ—र जब सत्यताले मानिसहरूको हृदयमा राज गर्छ र तिनीहरूको जीवन बन्छ, त्यो ख्रीष्टविरोधीहरूको अन्तिम दिन हुनेछ: त्यसपछि तिनीहरूले निन्दा, प्रकाश र हटाइ, अनि पूर्ण त्यागको सामना गर्नेछन्। यसैले ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउनेहरूलाई सबैभन्दा धेरै घृणा गर्छन्। ख्रीष्टविरोधीको नजरमा, सत्यता पछ्याउनेहरू घृणित शत्रुहरू हुन्, तिनीहरूको आक्रमण र बलजफ्तीका निशानाका साथै तिनीहरूको घृणा र त्याग, हानि र दुर्व्यवहार, र त्योभन्दा बढी, बहकाउन सकिने निशानाहरू हुन्। ख्रीष्टविरोधीहरूसँग सत्यता पछ्याउनेहरूको हृदयलाई बहकाउने, नियन्त्रण गर्ने वा पासोमा पार्ने कुनै तरिका हुँदैन, र तिनीहरूले खुल्लमखुल्ला बहिष्कार गर्न र जथाभावी आक्रमण गर्न सक्दैनन्, त्यसैले तिनीहरूसित एउटै बाँकी कुरो भनेको मानिसहरूलाई आफ्नै तहमा झार्न नरम रणनीतिहरू प्रयोग गरेर सही र सुनुँ सुनुँ लाग्ने कुराहरू भन्‍नु हो। अनि यदि ती व्यक्तिहरूले तिनीहरूलाई पछ्याएनन् र तिनीहरूका लागि उपयोगी हुन सक्दैनन् भने, तिनीहरूलाई बहिष्कार गर्न, नकारात्मक र कमजोर बनाउन, र उप्रान्त आफ्नो कर्तव्य पूरा गर्न इच्छा नै नलाग्ने तुल्याउन—अनि अन्तमा परमेश्‍वरलाई नै त्याग्न लगाउन नीच रणनीतिहरू प्रयोग गर्नेछन्। यो ख्रीष्टविरोधीहरूको मुख्य दुष्ट कार्यहरूमध्ये एक हो, र यो तिनीहरूको प्रकृति सारको अर्को विशिष्ट विशेषता हो। तिनीहरूको प्रकृतिको यो कस्तो विशेषता हो? तिनीहरूको कपटीपन, तिनीहरूको धूर्तता, तिनीहरूको दुर्भावना। मण्डलीमा राज गर्ने आफ्नो महत्वाकाङ्क्षा र लक्ष्य प्राप्तिका निम्ति ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउनेहरूलाई निरन्तर बहकाउने, बहिष्कार र आक्रमण गर्ने प्रयास गर्छन्। तिनीहरूले आफ्नो अकथनीय लक्ष्य प्राप्त गर्न यसो गर्छन्, सत्यता पछ्याउने सबैलाई नकारात्मक र कमजोर बनाउँछन्, तिनीहरूको आस्थालाई उत्साहहीन पार्छन्, र परमेश्‍वरबारे गलत बुझाइ पैदा गराउँछन्। एकपल्ट यी मानिसहरूमा परमेश्‍वरबारे गलत बुझाइ र गुनासाहरू पैदा भएपछि तिनीहरू त्यसउप्रान्त सत्यता पछ्याउने छैनन्, न त तिनीहरूले स्वेच्छाले आफ्नो कर्तव्य निर्वाह गर्नेछन्—र त्यसैले, तिनीहरूले आफूलाई परमेश्‍वरबाट टाढा राख्नेछन्। अनि ख्रीष्टविरोधीका लागि यसको अर्थ के हो? सबैभन्दा पहिले, यसको अर्थ कसैले पनि आफ्नो पदमाथि खतरा पैदा गर्नेछैन; दोस्रो, यी सकारात्मक मानिसहरूले नकारात्मक र कमजोर भएर आफूलाई परमेश्‍वरबाट टाढा राखेपछि, ख्रीष्टविरोधीले मण्डलीमा मानिसहरूलाई बहकाउन र बाँध्न, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्न पूरा छुट पाउनेछ, ताकि तिनीहरू ख्रीष्टविरोधीहरूको पछि लागून्, तिनीहरूको समर्थन गरून् र तिनीहरूको अधिनस्थ भई झुकून्। यसरी, ख्रीष्टविरोधीको लक्ष्य हासिल हुन्छ। यसो गरेर के ख्रीष्टविरोधीहरूले आफ्नो कर्तव्य पूरा गरिरहेका छन्? (छैनन्।) त्यसोभए, तिनीहरूले गर्ने सबै कुराको चरित्र के हो? (तिनीहरूले दुष्टता गरिरहेका छन्।) “दुष्टता गर्नु” भनेको यसलाई सामान्य रूपमा राख्नु हो; विशिष्ट रूपमा भन्दा, तिनीहरूले मानिसहरूलाई बाधा र अड्चन पुर्‍याउँदैछन्, तिनीहरूलाई सत्यता पछ्याउने र परमेश्‍वरबाट मुक्ति पाउने मार्गमा हिँड्नबाट रोकिरहेका छन्। जब कुनै ख्रीष्टविरोधीले कसैलाई सत्यताको पछि लागिरहेको देख्छ, ऊ क्रोधले रातोपिरो हुन्छ; त्यसलाई घृणा गर्छ। त्यो घृणा कुन हदसम्म जान्छ? जब उसले कसैलाई सत्यताको पछि लागिरहेको र ख्रीष्टलाई पछ्याइरहेको, उसलाई भने नपछ्याइरहेको वा उसको आराधना नगरिरहेको र आफू हिँडिरहेको बाटोमा नहिँडिरहेको देख्छ, उसले त्यस व्यक्तिलाई आक्रमण गर्नेछ, बहिष्कार गर्नेछ र दबाउनेछ, अनि उसमा त्यस व्यक्तिलाई गायब गरिदिने उत्कटता हुन्छ। तिनीहरूको घृणा यो हदसम्म जान्छ। सङ्क्षेपमा, ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरूका आधारमा, हामी तिनीहरूले नेतृत्वको कर्तव्य पूरा गरिरहेका छैनन् भनेर निर्धारित गर्न सक्छौँ, किनभने तिनीहरूले मानिसहरूलाई परमेश्‍वरको वचन खान र पिउनमा वा सत्यताबारेको सङ्गतिमा अगुवाइ गरिरहेका छैनन्, र तिनीहरूले मानिसहरूलाई मलजल वा भरणपोषण गरिरहेका छैनन्, सत्यता हासिल गर्न दिइरहेका छैनन्। बरु, तिनीहरूले मण्डलीको जीवनमा बाधा र अवरोध पुर्‍याउँछन्, मण्डलीको कामलाई भताभुङ्ग पार्छन् र नष्ट गर्छन्, र मानिसहरूलाई सत्यता पछ्याउने र मुक्ति प्राप्त गर्ने मार्गमा व्यवधान खडा गर्छन्। तिनीहरू परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउन चाहन्छन् र तिनीहरूलाई मुक्ति पाउने मौका गुमाउने तुल्याउन चाहन्छन्। ख्रीष्टविरोधीहरूले मण्डलीको काममा बाधा र अवरोध पुर्‍याएर हासिल गर्न चाहेको अन्तिम लक्ष्य यही हो।

परमेश्‍वरका चुनिएका जनहरूले ख्रीष्टविरोधीहरूसित कसरी व्यवहार गर्नुपर्छ? तिनीहरूले उनीहरूलाई खुट्ट्याउनुपर्छ, तिनीहरूलाई खुलासा गर्नुपर्छ, तिनीहरूलाई रिपोर्ट गर्नुपर्छ, र तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। तब मात्र परमेश्‍वरलाई अन्तसम्म पछ्याउनु र परमेश्‍वरमा विश्‍वासको सही मार्गमा प्रवेश गर्नु सुनिश्चित हुन सक्छ। ख्रीष्टविरोधीहरूले आफूलाई अगुवाका रूपमा छान्‍नका लागि अरूलाई जसरी बहकाए पनि तिनीहरू तेरा अगुवा होइनन्। तिनीहरूलाई स्वीकार नगर् र तिनीहरूको नेतृत्व स्वीकार नगर्—तैँले तिनीहरूलाई खुट्ट्याउनैपर्छ र तिनीहरूलाई तिरस्कार गर्नैपर्छ, किनभने तिनीहरूले तँलाई सत्यता बुझ्न मद्दत गर्न सक्दैनन्, न त तिनीहरूले तँलाई टेवा दिन सक्छन् वा तेरो लागि प्रबन्ध नै गर्न सक्छन्। यी तथ्यहरू हुन्। यदि तिनीहरूले तँलाई सत्यता वास्तविकतामा डोर्‍याउन सक्दैनन् भने, तिनीहरू अगुवा वा कामदार हुन योग्य छैनन्। यदि तिनीहरूले तँलाई सत्यता बुझ्न र परमेश्‍वरको कामको अनुभव गर्नतिर डोर्‍याउन सक्दैनन् भने, तिनीहरू परमेश्‍वरको विरोध गर्नेहरू हुन्, र तैँले तिनीहरूलाई खुट्ट्याउनुपर्छ, तिनीहरूलाई खुलासा गर्नुपर्छ र तिनीहरूलाई तिरस्कार गर्नुपर्छ। तिनीहरूले गर्ने जुनै काम पनि तँलाई बहकाएर तिनीहरूको पछि लगाउन, र तिनीहरूको गिरोहमा सामेल गराएर मण्डलीको कामलाई कमजोर पार्न र बाधा पुर्‍याउन, तँलाई फकाएर तिनीहरू जस्तै ख्रीष्ट विरोधीहरूको मार्ग लिन लगाउनका लागि हो। तिनीहरू तँलाई तानेर नरकमा पुर्‍याउन चाहन्छन्! यदि तँ तिनीहरूलाई तिनीहरू के हुन् भनेर बताउन सक्दैनस् र तिनीहरू तेरा अगुवा भएकाले तैँले तिनीहरूको आज्ञापालन गर्नुपर्छ र तिनीहरूलाई छुट दिनुपर्छ भनेर विश्‍वास गर्छस् भने, तँ सत्यता र परमेश्‍वर दुवैलाई धोका दिने व्यक्ति होस्—र यस्ता मानिसहरूलाई मुक्ति दिन सकिँदैन। यदि तँ मुक्ति पाउन चाहन्छस् भने, तैँले ठूलो रातो अजिङ्गरको अवरोधलाई मात्र पार गर्नुपर्ने होइन, र तैँले ठूलो रातो अजिङ्गरलाई छर्लङ्ग देख्‍न, यसको घिनलाग्दो अनुहारलाई देखेर यसविरुद्ध पूर्ण रूपमा विद्रोह गर्न सक्षम मात्र हुनुपर्ने होइन—तैँले ख्रीष्टविरोधीहरूको अवरोधलाई पनि पार गर्नुपर्ने हुन्छ। मण्डलीमा, ख्रीष्टविरोधी परमेश्‍वरको मात्रै शत्रु हुँदैन, परमेश्‍वरका चुनिएका मानिसहरूको पनि शत्रु हुन्छ। यदि तिमीहरूले ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्दैनौ भने, तिमीहरू बहकाउमा पर्ने र जितिने, ख्रीष्टविरोधीको मार्गमा हिँड्ने, र परमेश्‍वरद्वारा श्रापित र दण्डित हुने सम्‍भावना हुन्छ। यदि त्यस्तो भयो भने, परमेश्‍वरमाथिको तिमीहरूको विश्‍वास पूर्ण रूपमा असफल हुनेछ। मुक्ति पाउनको लागि मानिसहरूमा के हुनुपर्छ? पहिलो, तिनीहरूले धेरै सत्यता बुझेको हुनुपर्छ, र ख्रीष्टविरोधीको सार, स्वभाव, र मार्गलाई खुट्ट्याउन सक्‍नुपर्छ। परमेश्‍वरमा विश्‍वास गर्दा मानिसहरूलाई पुज्ने वा पछ्याउने अवस्थाबाट निश्‍चित रूपमा बच्‍ने, र परमेश्‍वरलाई अन्त्यसम्‍मै पछ्याउने एक मात्र उपाय यही हो। ख्रीष्टविरोधीलाई खुट्ट्याउन सक्ने मानिसहरूले मात्रै साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्न, उहाँलाई पछ्याउन, र उहाँको लागि गवाही दिन सक्छन्। त्यसपछि कसै-कसैले भन्लान्, “यदि अहिले मसँग यसका लागि सत्यता छैन भने, म के गरूँ?” तैँले अविलम्ब आफूलाई सत्यताले सुसज्जित गर्नैपर्छ; तैँले मानिसहरू र चीजहरूलाई सूक्ष्म रूपमा चिन्‍न सिक्नैपर्छ। ख्रीष्टविरोधीलाई खुट्ट्याउनु चानचुने कुरा होइन, र यसका लागि तिनीहरूको सारलाई स्पष्ट रूपमा देख्‍ने, र तिनीहरूको हरेक कार्यपछाडि लुकेका षड्यन्त्र, चलाकी, र मनसाय र उद्देश्यहरूलाई बुझ्ने क्षमता चाहिन्छ। त्यसरी तँ तिनीहरूको बहकाउ वा नियन्त्रणमा पर्दैनस्, र तँ दह्रिलो गरी खडा हुन, सत्यतालाई सुरक्षित र बलियो रूपमा पछ्याउन, र सत्यता पछ्याउने र मुक्ति पाउने मार्गमा दृढ भएर लागिपर्न सक्छस्। यदि तैँले ख्रीष्टविरोधीका तगारोहरू पार गर्न सक्दैनस् भने तँ ठूलो खतरामा छस् भनेर भन्‍न सकिन्छ, र तैँले ख्रीष्टविरोधीको बहकाउन र पकडमा परी शैतानको प्रभावमा जिउने सम्भावना हुन्छ। यो सम्भव छ कि तिमीहरूको बीचमा केही यस्ता मानिसहरू छन् जसले सत्यता पछ्याउने मानिसहरूलाई बाधा दिन्छन् र ठेस लगाउँछन्, अनि तिनीहरू यी मानिसहरूका शत्रुहरू हुन्। के तँ यो कुरा स्वीकार गर्छस्? केही मानिस छन्, जसले यस तथ्यको सामना गर्ने हिम्मत गर्दैनन्, न त तिनीहरू यसलाई तथ्यका रूपमा स्वीकार गर्ने हिम्मत नै गर्छन्। तर ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउने काम साँच्चै नै मण्डलीमा हुने गर्छ, त्यो पनि प्राय: जसो; यति मात्र हो कि, मानिसहरूले त्यसलाई खुट्ट्याउन सक्दैनन्। यदि तँ यो जाँचमा, अर्थात् ख्रीष्टविरोधीहरूसम्‍बन्धी जाँचमा सफल भइनस् भने—तँ कि त ख्रीष्टविरोधीको बहकाउमा र नियन्त्रणमा पर्छस्, कि त तिनीहरूले तँलाई दुःख, यातना, धक्का दिन्छन्, तँलाई थिचोमिचो र दुर्व्यवहार गर्छन्। आखिरमा, तेरो तुच्छ सानो जीवन लामो समयसम्म टिक्दैन, र सुकेर जान्छ; तँमा उप्रान्त परमेश्‍वरमाथिको विश्‍वास हुँदैन, र तैँले यसो भन्नेछस्, “परमेश्‍वर त धर्मी समेत हुनुहुन्‍न! परमेश्‍वर कहाँ हुनुहुन्छ? यो संसारमा कुनै इन्साफ वा ज्योति छैन, र परमेश्‍वरले मानवजातिलाई मुक्ति दिनुहुन्छ भन्‍ने कुनै कुरा छैन। हामीले पनि आफ्ना दिनहरू काम गर्नु र पैसा कमाउनुमा नै बिताउनु राम्रो हुन्छ!” तैँले परमेश्‍वरलाई इन्कार गर्छस् र परमेश्‍वरबाट तर्किन्छस्, उहाँ हुनुहुन्छ भनेर विश्‍वास गर्न छोड्छस्; तैँले मुक्ति पाउने कुनै पनि आशा पूर्ण रूपमा समाप्त हुन्छ। यसकारण, यदि तँ मुक्ति पाउने स्थानमा पुग्न चाहन्छस् भने तैँले पार गर्नुपर्ने पहिलो जाँच भनेको शैतानलाई बुझ्नु र छर्लङ्ग देख्न सक्ने हुनु हो, साथै तँमा खडा भएर शैतानलाई खुलासा गर्ने र त्याग्ने साहस पनि हुनैपर्छ। त्यसोभए शैतान कहाँ छ? शैतान तेरो छेउमा छ र तेरो वरिपरि छ; त्यसले तेरो हृदयभित्र पनि बास गरिरहेको हुन सक्छ। यदि तँ शैतानको स्वभावभित्र जिइरहेको छस् भने, तँ शैतानको होस् भनेर भन्‍न सकिन्छ। तैँले आत्मिक क्षेत्रको शैतान वा दुष्टात्माहरूलाई देख्न वा छुन सक्दैनस्, तर वास्तविक जीवनमा अस्तित्वमा रहने शैतानहरू र जीवित दियाबलसहरू सबैतिर छन्। सत्यताप्रति वितृष्ण हुने कुनै पनि व्यक्ति दुष्ट हो, र सत्यतालाई स्वीकार नगर्ने कुनै पनि अगुवा वा कामदार ख्रीष्टविरोधी वा झूटो अगुवा हो। के त्यस्ता व्यक्तिहरू शैतान र जिउँदा दियाबलसहरू होइनन् र? तैँले पूजा गर्ने र भर पर्ने मानिसहरू तिनै हुन सक्छन्; तिनीहरू तँलाई डोऱ्याउने मानिसहरू वा तैँले लामो समयदेखि आफ्नो हृदयमा आदर गरेका, विश्‍वास गरेका वा आशा लिएका मानिसहरू हुन सक्छन्। तापनि, वास्तवमा, तिनीहरू तेरो बाटो छेक्ने र तँलाई सत्यता खोजी गर्न र मुक्ति प्राप्त गर्नबाट रोक्ने बाधाहरू हुन्; तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू हुन्। तिनीहरूले तेरो जीवनलाई र तँ हिँड्ने मार्गलाई नियन्त्रण गर्न सक्छन्, र तिनीहरूले मुक्ति पाउने तेरो मौकालाई नाश पार्न सक्छन्। यदि तँ तिनीहरूलाई खुट्ट्याउन र तिनीहरूलाई छर्लङ्ग देख्न असफल भइस् भने, कुनै पनि क्षण अचानक तँ तिनीहरूको बहकाउमा पर्न र पकडमा आउन सक्छस्। यसैले, तँ ठूलो खतरामा छस्। यदि तैँले आफूलाई यो खतराबाट मुक्त गर्न सक्दैनस् भने, तँ शैतानको बलि हुन्छस्। जेहोस्, ख्रीष्टविरोधीको बहकाउ र नियन्त्रणमा परेका, र ख्रीष्टविरोधीको अनुयायी बनेका मानिसहरूले कहिल्यै पनि मुक्ति पाउन सक्दैनन्। तिनीहरूले सत्यतालाई प्रेम वा खोजी नगर्ने हुनाले, परिणामस्वरूप, तिनीहरू ख्रीष्टविरोधीको बहकाउमा पर्नु र तिनीहरूले तिनलाई पछ्याउनु अवश्यम्भावी हुन्छ।

कतिपय मानिसले आफू सत्यता पछ्याउने व्यक्ति हुँ र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्षम छु भनी सोच्छन्। तिनीहरूले आफूलाई बढी मूल्याङ्कन गरिरहेका छन्, होइन र? यदि तैँले आफ्नो दाह्रा देखाउने, खराब मानवता भएको र केही दुष्ट कार्य गरेको कुनै स्पष्ट ख्रीष्टविरोधीलाई भेट्छस् भने, त्यस्तालाई तँ स्वभाविकतः पहिचान गर्न सक्षम हुन्छस्। तर यदि तैँले धर्मनिष्ठ देखिने, धेरै नरम बोली बोल्ने, र असल व्यक्ति जस्तो देखिने कुनै ख्रीष्टविरोधीलाई भेट्छस् भने—एक ख्रीष्टविरोधी जो मानिसहरूको धारणाअनुरूप छ—के तँ अझै पनि तिनीहरू वास्तवमा को हुन् भनेर दाबी गर्न पर्याप्त साहसी छस्? के तँ तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा चित्रण गर्ने हिम्मत गर्छस्? यदि तँ तिनीहरूलाई खुट्ट्याउन असक्षम हुन्छस् भने, तँ तिनीहरूको प्रशंसा गर्न र तिनीहरूलाई प्यारो ठान्‍न बाध्य हुन्छस्, यस्तो अवस्थामा तिनीहरूको व्यवहार, तिनीहरूको विचार र दृष्टिकोण, तिनीहरूका कार्यहरू—तिनीहरूको सत्यताको बुझाइले पनि—तँलाई पक्का प्रभाव पार्नेछ। यी कुराहरूले तँमा कुन हदसम्म प्रभाव पार्नेछ? तैँले ख्रीष्टविरोधीको ईर्ष्या गर्नेछस्, तिनीहरूको नक्कल गर्नेछस्, तिनीहरूको अनुकरण गर्नेछस्, तिनीहरूलाई पछ्याउनेछस्, जसले तेरो जीवन प्रवेशलाई असर गर्नेछ; यसले तेरो सत्यताको खोजी र वास्तविकतामा प्रवेशलाई असर गर्नेछ, यसले परमेश्‍वरप्रतिको तेरो मनोवृत्तिलाई असर गर्नेछ, र यसले तँ वास्तवमा परमेश्‍वरप्रति समर्पित छस् कि छैनस् र तैँले परमेश्‍वरलाई अन्तसम्म पछ्याउँछस् कि पछ्याउँदैनस् भन्‍ने कुरालाई असर गर्छ। अन्ततः ख्रीष्टविरोधी तेरो मूर्ति बन्‍नेछ, तिनीहरूले तेरो हृदयमा स्थान पाउनेछन्, र तँ तिनीहरूबाट उम्कन सक्नेछैनस्। जब तँ यस हदसम्म बहकिएको हुन्छस्, त्यतिबेला तेरो मुक्ति पाउने आशा निकै झिनो हुन्छ, किनभने परमेश्‍वरसँगको तेरो सम्बन्ध चकनाचूर भएको छ, तैँले परमेश्‍वरसँगको सामान्य सम्बन्ध गुमाएको छस्, र खतराको सँघारमा छस्। अनि यो तेरा लागि विपत्ति हो कि आशिष्? निस्सन्देह यो एक विपत्ति हो; यो आशिष् त बिलकुलै होइन। सानातिना कुराहरूमा केही ख्रीष्टविरोधीहरू तँलाई मद्दत गर्न सक्षम हुन्छन्, र तेरा लागि लाभकारी हुन सक्छन्, वा तँलाई अन्तर्दृष्टि दिन शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्न सक्षम हुन्छन्, तर एकपल्ट तँ तिनीहरूको बहकाउमा परेपछि, तँ तिनीहरूको आराधना गर्छस्, र तिनीहरूलाई पछ्याउँछस् भने तँ समस्यामा फस्छस्। तैँले आफ्नो लागि विनाश निम्त्याइस्, र आफ्नो मुक्तिको मौका गुमाइस्। केही मानिसहरू भन्छन्, “तिनीहरू शैतान वा दुष्ट व्यक्ति होइनन्, तिनीहरू आत्मिक, सत्यता पछ्याउने व्यक्ति जस्तो देखिन्छन्।” के यी शब्दहरू सत्य हुन्? (होइनन्।) किन होइनन्? सच्‍चा रूपमा सत्यता पछ्याउने कुनै पनि व्यक्तिले तँलाई दिने मार्गनिर्देशन, सहायता, र प्रबन्धको प्रभाव वा फाइदाले तँलाई परमेश्‍वरको सामु ल्याउने काम गर्छ, यसरी तैँले उहाँको वचन र सत्यको खोजी गर्न सक्छस्, अनि तँ परमेश्‍वरको सामु आउँछस् र उहाँमाथि भर पर्न र उहाँलाई खोज्न सिक्छस्, र उहाँसितको तेरो सम्बन्ध झन्-झन् घनिष्ठ हुँदैजान्छ। त्यसको विपरीत, ख्रीष्टविरोधीसित तेरो सम्बन्ध झनझनै घनिष्ठ हुँदै जान्छ र तँ तिनीहरूको औँलामा नाच्न थाल्छस् भने, के हुन्छ? तँ गलत बाटोमा तर्किनेछस् र आफैमाथि विनाश ल्याउनेछस्। जब तँ एक ख्रीष्टविरोधीसँग घनिष्ठ सम्बन्ध राख्छस्, परमेश्‍वरसँगको तेरो सम्बन्ध टाढिन्छ। अनि यसको परिणाम के हुन्छ? तिनीहरूले तँलाई डोऱ्याउनेछन् र तिनीहरूका अघि ल्याउनेछन्, र तँ परमेश्‍वरबाट टाढिँदै जानेछस्। यदि तेरो हृदयमा कोही मूर्ति छन् भने, एकपल्ट परमेश्‍वरका वचनहरू र कामका बारेमा तैँले आफ्नै धारणा बनाइस् भने, परमेश्‍वरका वचनहरूले तेरो मूर्तिलाई खुलासा गर्दा तँ तुरुन्तै परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछस्, र तैँले परमेश्‍वरको विरोध गर्न र उहाँलाई धोका दिन समेत सक्नेछस्; तैँले आफ्नै मूर्तिको पक्ष लिनेछस् र परमेश्‍वरको विरोध गर्नेछस्। अक्सर यस्तै हुने गर्छ। जब कोही झूटा अगुवा र ख्रीष्टविरोधीलाई बर्खास्त वा निष्कासन गरिन्छ, तब तिनीहरूका सहयोगी र चम्चेहरू तिनीहरूको पक्षमा खडा हुन र गुनासो गर्न थाल्छन्; कतिपय त नकारात्मक बन्छन् र परमेश्‍वरमा विश्‍वास गर्नै छोड्छन्। यो आम कुरा हो, हैन र? अनि किन तिनीहरूले विश्‍वास गर्न छोड्छन्? तिनीहरू भन्छन्, “हाम्रो नेतालाई बर्खास्त र निष्कासित गरिएको छ, त्यसैले म एक साधारण विश्‍वासीको के नै आशा छ र?” यो बकवास होइन र? तिनीहरूका शब्दहरूले तिनीहरू ख्रीष्टविरोधीलाई पछ्याउँछन् र तिनीहरू ख्रीष्टविरोधीद्वारा पूर्ण रूपमा बहकाइएका छन् भनी सङ्केत गर्दछ। अनि उनीहरू बहकाइनुको परिणाम के हुन्छ? ख्रीष्टविरोधी तिनीहरूले आराधना गर्ने मूर्ति बनेको छ; ख्रीष्टविरोधी तिनीहरूको पुर्खाजस्तै भएको छ: तिनीहरूका पुर्खालाई निष्कासित गरिएपछि तिनीहरू कसरी छोडेर जान सक्दैनन् र? तिनीहरू केवल ख्रीष्टविरोधीको कुरा सुन्छन्, र तिनीहरू पूर्णतः ख्रीष्टविरोधीको नियन्त्रणमा छन्। तिनीहरू ख्रीष्टविरोधीले भन्‍ने र गर्ने सबै कुरा सही छ र त्यसलाई सत्यताका रूपमा स्वीकार गर्नुपर्छ र त्यसमा समर्पित हुनुपर्छ भनी सोच्छन्, र त्यसैले तिनीहरूले परमेश्‍वरको घरमा कसैले पनि ख्रीष्टविरोधीको खुलासा र निन्दा गरेको सहँदैनन्। एक पटक ख्रीष्टविरोधीलाई परमेश्‍वरको घरबाट निष्कासन गरिसकेपछि, “रुख ढल्छ र बाँदरहरू तितरबितर हुन्छन्,” भनेजस्तै ख्रीष्टविरोधीलाई पछ्याउनेहरू पनि आफै मण्डली छाडेर जान्छन्। यस्ता कुराहरूले ख्रीष्टविरोधी र तिनीहरूका अनुयायीहरू परमेश्‍वरको काममा बाधा र अवरोध पुर्‍याउन आएका शैतानका नोकरहरू हुन् भन्‍ने देखाउँछन्। एकचोटि परमेश्‍वरका चुनिएका मानिसहरूबाट तिनीहरूको पत्ता लागेपछि, खुलासा गरिएपछि, र तिरस्कार गरिएपछि, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास समाप्त हुन्छ। ख्रीष्टविरोधीका अनुयायीहरू सबैसँग एउटा छर्लङ्गै खुट्ट्याउन सकिने विशेषता छ: कसैको कुराले तिनीहरूलाई असर गर्दैन; तिनीहरू केवल ख्रीष्टविरोधीहरूको कुरा सुन्छन्। अनि एकचोटि तिनीहरू ख्रीष्टविरोधीहरूद्वारा बहकाइएपछि तिनीहरू परमेश्‍वरका वचनहरू सुन्‍न छोड्छन्, र तिनीहरूले ख्रीष्टविरोधीलाई मात्र आफ्नो मालिकका रूपमा मान्यता दिन्छन्। यसो गर्दा, के तिनीहरूलाई बहकाइएको, अनि तिनीहरूलाई नियन्त्रण गरिएको होइन र? ख्रीष्टविरोधीका अनुयायीहरू मात्र ख्रीष्टविरोधीको पक्षमा उभिने प्रयास गर्छन्। जब ख्रीष्टविरोधीहरूको खुलासा र प्रकाश हुन्छ, तिनीहरूलाई पछ्याउने मानिसहरू तिनीहरूका लागि चिन्तित हुन्छन्, तिनीहरूका लागि आँसु बगाउँछन्, तिनीहरूको तर्फबाट गुनासो गर्छन् र तिनीहरूको बचाव गर्ने प्रयास गर्छन्। यस्तो समयमा तिनीहरूले परमेश्‍वरलाई बिर्सेका हुन्छन्, र परमेश्‍वरलाई प्रार्थना गर्न वा सत्यताको खोजी गर्न छोड्छन्; तिनीहरू केवल ख्रीष्टविरोधीहरूको बचाव गर्छन् र तिनीहरूका निम्ति दिमाग खियाउँछन्; तिनीहरूले अब परमेश्‍वरलाई समेत चिन्दैनन्। के तिनीहरू साँच्चै परमेश्‍वरमा विश्‍वास गर्छन्? तिनीहरू वास्तवमा कसमा विश्‍वास गर्छन्? यो पहिले नै छर्लङ्ग छ। तिनीहरूले जे भने पनि वा गरे पनि, ख्रीष्टविरोधीहरूको एउटा मात्र उद्देश्य हुन्छ: त्यो हो, मानिसहरूलाई अगुवाइ गर्नु, तिनीहरूको मालिक बन्‍नु हो, र तिनीहरू सबैले तिनीहरूलाई दासतापूर्वक पछ्याऊन् र आज्ञापालन गरून्, र अन्ततः तिनीहरूलाई परमेश्‍वरलाई जस्तै व्यवहार गरून् भन्‍ने चाहना राख्छन्। पावल हिँडेको बाटोभन्दा यो कसरी फरक छ? जब पावलको काम अन्तिम अवस्थामा पुग्यो, उनले आफ्नो हृदयका शब्दहरू भने; पावलले उनका निम्ति बाँच्नु भनेको ख्रीष्ट हो भने, र यसो भन्‍नुको उनको उद्देश्य प्रभुमा विश्‍वास गर्ने सबैलाई उनको अनुकरण गर्न, उनलाई पछ्याउन र उनलाई परमेश्‍वर जस्तै व्यवहार गर्न लगाउनु थियो। पावलले यी शब्दहरू भन्‍नुको पछाडि यही उद्देश्य थियो, होइन र? र यदि ख्रीष्टविरोधीहरूको काम साँच्चै मानिसहरूले तिनीहरूको आराधना र आज्ञापालन गरेको हदसम्म पुग्छ भने, यी मानिसहरूको हृदयमा परमेश्‍वरका लागि कुनै स्थान हुनेछैन; तिनीहरूका हृदयहरू पहिले नै ख्रीष्टविरोधीहरूले कब्जा गरिसकेका हुनेछन्। परिणाम यही हो। तँ भन्छस्, तँलाई ख्रीष्टविरोधीले बहकाउला भनेर चिन्ता छैन, ख्रीष्टविरोधीलाई पछ्याउँदा कुनै डर छैन, तर यस्तो दाबी गरेर कुनै फाइदा छैन। यो एक सम्भ्रमित टिप्पणी हो। यो किन हो भने, यदि तँ सत्यताको पछि लाग्दैनस् र सधैं मानिसहरूको आराधना गर्छस् र पछ्याउँछस् भने, तैँले अनजानमै ख्रीष्टविरोधीहरूको बाटो अपनाउनेछस्। धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्नु तर अनुभवात्मक गवाही नहुनु, अनि सत्यता र जीवन प्राप्त नगर्नु मात्रै होइन तर परमेश्‍वरको विरोध गर्ने व्यक्ति बन्‍नु: ख्रीष्टविरोधीहरूको पछि लाग्ने व्यक्तिहरूको अन्तिम परिणाम यही हुन्छ, र यसबाट तँ उम्किन सक्दैनस्, यो एक अपरिवर्तनीय तथ्य हो। यो कसैले बिजुलीको करेन्टलाई छुँदा जस्तै हो: त्यसलाई झट्का त पक्कै लाग्छ। कसै-कसैले भन्लान्, “म यो विश्‍वास गर्दिनँ; म डराउँदिनँ”—तर के यो तैँले विश्‍वास गर्नु वा नगर्नु या तँ डराउनु वा नडराउनुसँग सम्बन्धित कुरा हो? एकपल्ट बिजुली छोएपछि, झ्याप्पै! तँलाई करेन्ट लाग्नेछ। तैँले यसलाई विश्‍वास नगरे पनि केही फरक पर्दैन। त्यसलाई विश्‍वास नगर्नु अज्ञानता हो; यो भन्‍नु गैरजिम्मेवार कुरा हो। त्यसकारण, तँ ख्रीष्टविरोधीलाई पछ्याउन इच्छुक भए पनि वा नभए पनि, यदि तँ सत्यताको पछि लाग्दैनस्, र तेरो प्रयासहरू सधैँ ख्याती, प्राप्ति, र हैसियतमै केन्द्रित हुन्छन् भने, तँ ख्रीष्टविरोधीको मार्गमा हिँडिसकेको छस्। पानीमा तैरिएका वस्तुहरू सतहमा आएजस्तै यो नतिजा बिस्तारै बिस्तारै देखिनेछ। यो अपरिहार्य छ। ख्रीष्टविरोधीहरूको कामको उद्देश्य भनेको परमेश्‍वरका योजनाबद्ध कार्य र प्रबन्धहरू स्वीकार गर्नु वा परमेश्‍वरको सार्वभौमिकतामा समर्पित हुनुको सट्टा आफूसामु मानिसहरूलाई डोर्याउनु, मानिसहरूलाई आफ्नो नियन्त्रण र चालबाजी स्विकार्न लगाउनु हो। ख्रीष्टविरोधीहरू मानिसहरूको मन जित्न चाहन्छन्, तिनीहरूलाई प्राप्त गर्न चाहन्छन्, तिनीहरूको उद्देश्य परमेश्‍वरका सबै चुनिएका मानिसहरूलाई नियन्त्रण गर्नु, परमेश्‍वरका चुनिएका मानिसहरूलाई हातमा नियन्त्रण गर्नु हो; तिनीहरू तस्करहरू हुन्। अनि ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्ने आफ्नो उद्देश्य हासिल गर्न के प्रयोग गर्छन्? तिनीहरू मानिसहरूले आराधना गर्ने आत्मिक धर्मसिद्धान्त प्रयोग गर्छन्, देखावटी सिद्धान्तहरू प्रयोग गर्छन्, मानिसहरूलाई बकवास सुनाउन र चढाइबढाइ गर्न, तिनीहरूलाई बहकाउन सिद्धान्तको आराधना गर्ने मानिसहरूको भ्रष्ट मानसिकताको फाइदा उठाउँछन्। सारांशमा भन्‍नुपर्दा, तिनीहरूले भनेका सबै कुरा शब्द र धर्मसिद्धान्तहरू, खोक्रा सिद्धान्तहरू, भ्रामक कुराहरू र सत्यताका विपरीत हुने कुराहरू हुन्। यदि मानिसहरूले सत्यता बुझ्दैनन् भने, तिनीहरू पक्कै पनि बहकिनेछन्; कम्तीमा, तिनीहरू आफ्नो होशमा आउनुअघि केही समयका लागि बहकिनेछन्। ख्रीष्टविरोधीहरूको भण्डाफोर हुँदा तिनीहरू होशमा आउँछन्, त्यतिबेला तिनीहरूले अत्यन्तै पछुतो मान्छन्। ख्रीष्टविरोधीहरूलाई पछ्याउने मानिसहरूले लामो समयदेखि पवित्र आत्माको काम गुमाइसकेका छन्; किनभने तिनीहरूले हृदयमा आफ्नो मूर्तिको उपासना गर्छन्, मानिसहरूलाई पछ्याउँछन्, र तिनीहरू परमेश्‍वरद्वारा तिरस्कृत भएका छन्, र उहाँले तिनीहरूलाई प्रकाश गर्न एकातिर छुट्याएर राख्नुभएको छ। त्यसैकारण ख्रीष्टविरोधीहरूलाई पछ्याउनु अत्यन्तै खतरनाक छ; ख्रीष्टविरोधीहरूजस्तै, ख्रीष्टविरोधीहरूलाई पछ्याउने मानिसहरूलाई पनि परमेश्‍वरले सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। अनि यी मानिसहरूलाई एकातिर छुट्याउनुमा परमेश्‍वरको उद्देश्य के हो? यसको उद्देश्य परमेश्‍वरका चुनिएका मानिसहरूलाई तिनीहरूको होशमा फर्किन, ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन र खुलासा गर्न सक्षम हुनका लागि पर्खनु हो, र यी ख्रीष्टविरोधीहरूलाई पूर्ण रूपमा अस्वीकार गर्नका लागि हो, जुन समयमा ख्रीष्टविरोधीहरूको अन्तिम दिन आइपुगिसकेको हुनेछ। के ख्रीष्टविरोधीहरूले गर्ने सबै कुरा मानिसहरूका निम्ति हानिकारक छैनन् र? तिनीहरू सत्यताको पछि लाग्दैनन् र परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाउने र नियन्त्रण गर्ने प्रयास गर्छन्, तिनीहरू मानिसहरूलाई सत्यताको पछि लाग्न दिँदैनन्, तिनीहरू परमेश्‍वरको काममा समर्पित हुँदैनन्, र परमेश्‍वरका चुनिएका मानिसहरूलाई बहकाएर तिनीहरूको पछि लाग्न लगाउने प्रयास गर्छन्—यी सबैले देखाउँछ, ख्रीष्टविरोधीहरूसँग परमेश्‍वरको डर मान्‍ने र उहाँमा समर्पित हुने हृदय फिटिक्कै छैन, न त सत्यताप्रति नै कुनै प्रेम छ। यसको सट्टा, तिनीहरूले आफ्ना लागि हैसियत र शक्ति हडप्नका लागि परमेश्‍वरको विरोध गर्ने र उहाँका चुनिएका मानिसहरूलाई होड गर्ने जुनसुकै तरिकाबारे सोच्छन्, अन्ततः परमेश्‍वरको विरोधमा आफ्नै राज्य सिर्जना गर्छन्—यी सबले ख्रीष्टविरोधीहरू देहधारी परमेश्‍वरका नश्‍वर शत्रुहरू र परमेश्‍वरको विनाशका पात्रहरू हुन् भनेर देखाउँछ। परमेश्‍वरमा मानिसहरूको विश्‍वासमा ख्रीष्टविरोधीहरूद्वारा बहकाइनु र नियन्त्रित हुनुभन्दा खतरनाक कुरा अरू केही छैन। यदि मानिसहरूले ख्रीष्टविरोधीहरूलाई पछ्याउन थालिसकेका छन्, तिनीहरू पूर्ण रूपमा ख्रीष्ट विरोधीहरूको पक्षमा लागिसकेका छन् भने, तिनीहरू परमेश्‍वरलाई धोका दिएका मानिसहरू हुन् र तिनीहरू परमेश्‍वरको विरुद्धमा छन्, यस्तो अवस्थामा तिनीहरूको परिणाम बताइरहनु आवश्यक छैन।

ख्रीष्टविरोधीहरूले सत्यता पछ्याउने मानिसहरूलाई कसरी बहिष्कार र आक्रमण गर्छन् भन्नेबारे सङ्गतिको धेर थोर कुरा यत्ति नै हो। सत्यता पछ्याउने मानिसहरूलाई बहिष्कार र आक्रमण गर्ने तिनीहरूको उद्देश्य र मनसाय, र तिनीहरूले सत्यता पछ्याउने मानिसहरूसित व्यवहार गर्दा अपनाउने मनोवृत्ति, विधि र तरिकाहरू, साथसाथै सत्यता पछ्याउने मानिसहरूमा ख्रीष्टविरोधीहरूप्रति हुनुपर्ने कार्यवाही—हामीले यी प्रत्येक विषयमा पूर्ण रूपमा नभए पनि थोरै संङ्गति गरेका छौँ। भविष्यको सङ्गतिले खास परिस्थिति र खास मामिलाहरूमा अझै पनि सत्यतालाई छुन सक्ला। यस्तो खास विषयवस्तुमा सङ्गति गर्दा, प्रवचन सुन्‍नेहरूले कस्तो मनोवृत्ति राख्नुपर्छ? तिनीहरूले ध्यान केन्द्रित गर्नुपर्छ, आफूलाई परमेश्‍वरको अगाडि शान्त बनाउनु पर्छ, र विचलित हुनुहुँदैन, किनभने सत्यताको प्रत्येक पक्षमा खास कथन र परिभाषाहरू छन्, र प्रत्येकसँग खास सामग्री र अभ्यासका सिद्धान्तहरू छन्। थप कुरा के हो भने, प्रत्येक विषय क्षेत्रभित्र रहेका, सत्यतासँग सम्बन्धित अवधारणागत कुराहरूमा, साथै मानिसहरूले बुझ्नुपर्ने सत्यता र तिनीहरूले अभ्यास गर्नुपर्ने बाटोका विषयमा हामी विभिन्‍न कोण र तरिकाबाट कुरा गर्नेछौँ। यसले ठोस परिणाम ल्याउनुअघि छर्लङ्ग नभएसम्म यी सबैका बारेमा सङ्गति र विचार गर्नु आवश्यक छ। हामी अब हाम्रो विस्तृत सङ्गतिबाट कसैले कर्तव्य निर्वाह गर्दा त्यसमा संलग्न सत्यता सिद्धान्तहरू मानिसहरूले सोचेजस्तो सरल छैनन् भन्‍ने कुरा बुझ्छौँ। बुझ्‍ने क्षमता नभएकाहरूका निम्ति सत्यता बुझ्नु भनेको साँच्चै नै कठिन कार्य हो। सत्यता बुझ्नु विश्‍वविद्यालयमा जानु जत्तिक्कै केही हदसम्म कठिन हुन्छ, तर यदि बुझ्‍ने क्षमता छ भने यो गाह्रो महसुस हुँदैन। सत्यता सुनेपछि कसैले यसलाई बुझ्न सक्छ भने, तिनीहरूसँग स्वाभाविक रूपमा यो अभ्यास गर्ने मार्ग हुनेछ, र तिनीहरूले सत्यताको अभ्यास गर्न जति धेरै तालिम लिन्छन्, तिनीहरूको अभ्यासमा मार्ग त्यति नै फराकिलो हुनेछ, र तिनीहरूले अझै सटीक रूपमा सिद्धान्तहरू ग्रहण गर्नेछन्। अर्कोतर्फ, यदि तैँले त्यस्ता विस्तृत सङ्गति सुन्दैनस् र सामान्य र अवधारणात्मक कुराहरू मात्र बुझ्छस् भने, अभ्यास गर्नुपर्दा तेरा हातहरू बाँधिनेछन्। जब तैँले सत्यता सिद्धान्तहरू खोज्छस्, तब तँलाई आफू मोडिने जुनै बाटो पनि गलत लाग्नेछ, र तैँले जेसुकै गरे पनि तैँले त्यसलाई सही ढङ्गले बुझ्न असक्षम महसुस गर्नेछस्। तर अब, त्यस्ता ठोस परिभाषा र विशिष्टताहरूको साथ, जब दायरा संकुचित गरिएको छ र सत्यतालाई खास बनाइएको छ, तब सत्यताको अभ्यास पुनः सुरु गर्दा तँ झन् धेरै स्वतन्त्र हुनेछस्, किनकि यो विस्तृत छ। उदाहरणका लागि, मानौँ मैले तँलाई एउटा नोटबुक किन्‍न भनेँ। यदि मैले तँलाई यसको आकार, मोटाई, र मूल्यजस्ता आधारभूत आवश्यकताहरू मात्र बताएँ भने, यी सिद्धान्तहरू बुझ्न र अभ्यास गर्न तँलाई केही प्रयास गर्नुपर्ने आवश्यकता पर्न सक्छ। तर यदि मैले नोटबुकको विशिष्ट रङ्ग, आकार, पृष्ठहरूको सङ्ख्या, विशिष्ट ढाँचा, र कागजको गुणस्तर जस्ता कुराहरू भनेँ भने—त्यस्ता विवरणहरू भनिएपछि तैँले बुझ्ने सिद्धान्तहरू थप ठोस हुनेछैनन् र? अझै तोकेर भन्नुपर्दा, मैले तैँलाई कागजको पाना दिएँ र त्यस्तै खालको एउटा नोटबुक किनेर ल्याउन भनें जसको कागजको गुणस्तर उस्तै, मोटाइ, रङ्ग, र ग्रिड साइज र सङ्ख्या पनि उस्तै होस्, वा मैले तैँलाई हरेक विशेषताको सहनशीलताका लागि खास निर्देशन दिएँ भने, तैँले किन्न जाँदा छनौटका दायराहरू कम हुनेछन् र? (हुनेछन्।) तैँले अभ्यास गर्न जाँदा सान्दर्भिक सिद्धान्तहरू थप ठोस र सरल बन्‍नेछैनन् र? अभ्यास गर्ने सन्दर्भमा यसले तँलाई मद्दत गर्दछ वा बाधा पुर्‍याउँछ? (यो मद्दतकारी हुन्छ।) यो वास्तवमा, मद्दतकारी हुनुपर्ने हो किनकि सत्यताका विभिन्‍नपक्षहरू अझ ठोस र विस्तृत तवरमा बताइनुका साथसाथै खास मामिलाहरू, खास प्रकटीकरणहरू, अनि अभ्यास गर्ने खास तरिकाबारे—यी सबै तँलाई विस्तारमा बुझाइएको छ। अझै पनि तँ यो अभ्यास गर्न सक्दैनस् भने, तँसँग सत्यता बुझ्‍ने क्षमता नै छैन।

तिमीहरू सत्यता प्राप्त गर्न र सिद्ध पारिन सक्छौ कि सक्दैनौ भन्‍ने कुराका लागि तिमीहरूसित सत्यता बुझ्‍ने क्षमता छ कि छैन भन्‍ने कुरा एकदमै महत्त्वपूर्ण छ। यस बिन्दुमा आएर मैले कर्तव्यको उचित निर्वाह गर्ने कार्यसँग सम्बन्धित सत्यताहरू कर्तव्य निर्वाह गर्ने व्यक्तिहरूका आधारमा छ प्रकारमा विभाजन गरेको छु; ती प्रत्येक प्रकारलाई थप विशेष कोटीहरूमा विभाजन गरिएको छ, र प्रत्येक कोटीभित्र विस्तृत सङ्गतिका उपखण्डहरू छन्। तिमीहरूको सन्दर्भमा कुरा गर्नुपर्दा, के यस प्रकारको प्रचार र यस्ता सत्यताहरूमाथिको सङ्गतिले तिमीहरूलाई सत्यता अझ राम्ररी बुझ्न मद्दत गर्छ र तिमीहरूलाई अभ्यास गर्ने थप सिद्धान्तहरू दिन्छ, वा यसले सिद्धान्तहरू भेट्टाउन गाह्रो बनाउँछ? (यसले गर्दा हामीसँग धेरै सिद्धान्तहरू छन्।) यसले तिमीहरूलाई अझ ठूलो समझमा लैजानुपर्ने हो, र त्यसो भएमा, मेरो विस्तृत प्रवचन तिमीहरूका लागि उपयोगी हुनुपर्ने हो। यसले तिमीहरूलाई झनै अलमलमा पार्ने होइन, अझ बढी स्पष्टता प्रदान गर्नुपर्ने हो। यो कसैसित सत्यता बुझ्‍ने क्षमता छ कि छैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि कोही आत्मिक बुझाइ भएको साँच्चै राम्रो क्षमताको व्यक्ति हो भने, ऊ झन्-झन् छर्लङ्ग हुनेछ; यदि कोही कमजोर क्षमताको छ र ऊमा आत्मिक बुझाइको कमी छ भने, तिनीहरू यसलाई कम बुझ्न सक्षम हुनेछन्, र तिनीहरू केवल झन्झनै अलमलिनेछन्। कसै-कसैले भन्लान्, “पहिला मलाई अलिकति बुझेको छु जस्तो लाग्थ्यो, तर अहिले जति सुन्छु, त्यति नै अलमलमा पर्छु, यस्तो लाग्छ, अब मभित्र केही छैन। यस्तो के भइरहेको हो?” यदि जीवन प्रवेशका बारेमा धेरै विस्तारले कुरा गरियो भने, यदि मानिसहरूमा अनुभवको कमी छ र तिनीहरू कमजोर क्षमताका छन् भने, तिनीहरूलाई यो बुझ्न गाह्रो हुन्छ। कुराकानी जति विस्तृत हुन्छ, कमजोर क्षमताका व्यक्तिहरू त्यति नै फस्ने सम्भावना हुन्छ। तिनीहरू किन फस्ने सम्भावना हुन्छ? यसमा धेरै अवस्थाहरू छन्। एउटा हो, यस्ता मानिसहरूमा आत्मिक बुझाइको कमी हुन्छ। तिनीहरूले सत्यता बुझ्दैनन्—अर्थात्, तिनीहरूले सत्यता के हो वा एक विशेष स्थिति के हो भनेर बुझ्दैनन्। तिनीहरू यी कुरा बुझ्दैनन्। यो अवस्था सत्यता बुझ्‍ने क्षमताको अभाव हो। त्यस्ता व्यक्तिहरूका हकमा, एउटै मात्र, अन्तिम उपाय अपनाउनुपर्छ: आवश्यकताअनुसार आदेशहरू कार्यान्वयन गर्न रोबोटलाई प्रोग्रामिङ गरेजस्तै तिनीहरूलाई केही कुरा आइपर्दा तोकेरै के गर्नुपर्छ भनेर बताउनुपर्छ। तिनीहरूले प्रावधानहरू पालना गर्नु मात्र पनि पर्याप्त छ। यस विधिले त्यस्ता मानिसहरूमा नतिजा ल्याउन सक्छ; तिनीहरूका हकमा अरू कुनै उपाय छैन। म अहिले यो अन्तिम उपाय प्रयोग गर्दैछु, अति नै विस्तारमा, ठोस कुराहरूसम्मै बोल्दैछु—क्रमशः ठोस चीजहरूबारे बताउँदैछु। कोही मानिसहरू भन्छन्, तिनीहरूले अझै पनि बुझेका छैनन्, त्यसैले म तिनीहरूलाई तिनीहरूको मार्गमा आइपर्ने जुनसुकै कुरालाई पनि कसरी लिने र कसरी सम्हाल्ने भनेर तोकेरै बताउनेछु। म तिनीहरूलाई प्रावधानहरू पालना गराउँदै छु; मैले गर्न सक्ने यत्ति नै हो, किनभने तिनीहरूसँग सत्यता बुझ्‍ने क्षमता छैन। सबैको स्थिति ठ्याक्कै उस्तै हुँदैन, तर भिन्‍नताहरू कमै हुन्छन्। यदि तिमीहरूले मलाई प्रत्येकका बारेमा तोकेरै र स्पष्टसित बोल्न लगाउँछौ भने, ती सबै विषय छुन मलाई मुश्किल हुनेछ, किनकि तिमीहरूमध्ये धेरैको क्षमता कमजोर छ। आत्मिक बुझाइ र सत्यता बोध गर्ने क्षमता भएका तिमीहरूमध्येकाहरूले कामको त्यो भाग गर्नुपर्छ। मैले आफ्नो काम राम्रोसँग गरिसकेको छु। गर्न सकिने काम त्यति नै हो; मैले सक्दो गरेको छु। सम्पन्‍न गरिएका सबै कामहरू र परमेश्‍वरले देहमा बोल्नुभएका सबै वचनहरू सामान्य व्यक्तिका लागि बुझ्न योग्य र पहुँचयोग्य छन्। सामान्य मानवताको सोच र प्रतिक्रिया भएका मानिसहरूसँग गर्न सकिने यति हदसम्म नै हो। कसै-कसैले सोध्छन्, “के परमेश्‍वरले चमत्कार गर्नुहुन्‍न?” परमेश्‍वरले चमत्कार गर्नुहुन्‍न; यी सबै कुराहरू वास्तविक, व्यावहारिक रूपमा गर्न आवश्यक छ। यो तीन चरणहरूमा परमेश्‍वरको काम जस्तै हो: मानवजातिलाई तिनीहरूको जीवनमा अगुवाइ गर्नका लागि उहाँको व्यवस्थाको घोषणा, त्यसपछि क्रूसमा टाँगिनु र छुटकाराको काम गर्नु, र त्यहाँबाट आखिरी दिनहरू, जसमा परमेश्‍वरको देहधारणले मानवजातिलाई मुक्ति दिने सम्पूर्ण सत्यता व्यक्त गर्नुहुन्छ—प्रत्येक चरण वास्तविक, व्यावहारिक तरिकामा, मानिसको आमनेसामने भई बोलेर अनि काम गरेर पूरा गरिन्छ। यसमा कुनै चमत्कार छैन। सबैभन्दा ठूलो चमत्कार भनेको परमेश्‍वर स्वम् आफै बोल्नुहुन्छ र काम गर्नुहुन्छ, र उहाँले जुनसुकै तरिकाहरू प्रयोग गर्नुभए पनि, अन्ततः मानिसहरूको एक समूहलाई पूर्ण बनाउनुहुनेछ र तिनीहरूलाई प्राप्त गर्नुहुनेछ। यो निश्चित रूपमा पूरा हुनेछ; यो केवल समयको कुरा हो। यो सबैभन्दा ठूलो चिन्ह र आश्चर्यकर्म हो, र परमेश्‍वरले मानिसको हृदयमा सत्यता छिराउन कुनै अन्य अलौकिक विधि प्रयोग गर्नुहुनेछैन। अब जब यी सत्यताहरूमा यसरी विस्तृत रूपमा सङ्गति गरिएको छ, यदि तँमा बुझ्‍ने क्षमता छ र तँ वास्तवमै सत्यता पछ्याउने व्यक्ति होस् भने, यदि तैँले साँच्चै ध्यान दिइस् र अलिकति प्रयास गरिस् भने, तेरा निम्ति सत्यता र अभ्यासका सिद्धान्त बुझ्न असम्भव हुनेछैन। सत्यतालाई माया गर्छु भन्‍ने पनि कोही छन्, तर यतिका वर्षसम्म प्रवचन सुनेर पनि तिनीहरू अझै किन बुझ्दैनन्? यसका दुईवटा सम्भावनाहरू छन्। एउटा यो हो कि तिनीहरूमा अलिकति पनि आत्मिक बुझाइ छैन, र तिनीहरूसँग सत्यता बुझ्‍ने क्षमता छैन; अर्को यो हो कि तिनीहरूले वास्तवमा सत्यतालाई माया गर्दैनन्, र यसलाई पछ्याउन कहिल्यै प्रयास गरेका छैनन्। यी दुई सम्भावित कारण हुन्। कतिपय मानिसहरू तिनीहरूले सत्यता बुझ्दैनन् भनेर भन्छन्, किनभने तिनीहरूले लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेका छैनन्, र धेरै प्रवचनहरू सुनेका छैनन्, र तिनीहरूसँग धेरै अनुभव छैन। यो पनि अर्को कारण हो। यद्यपि, यदि तँ सत्यतालाई साँच्चै माया गर्ने व्यक्ति होस् भने, तैँले परमेश्‍वरमा विश्‍वास गरेका वर्षहरू जति जति बढ्दै जान्छ, सत्यताका बारेमा तेरो बुझाइ पनि बढ्दै जानेछ, र तेरो आत्मिक कद बढ्दै जानेछ।

सत्यताको कुनै पनि पक्षमा सङ्गति गर्दा, यसलाई समस्या समाधान गर्ने गरी पूर्ण रूपमा प्रस्तुत गर्न केवल केही शब्दहरू मात्र पर्याप्त छैनन्। आजका मानिसहरूका लागि, सामान्यीकरण केवल धर्मसिद्धान्त, मात्र सिद्धान्त हुन्। त्यसोभए, म मानिसहरूलाई कसरी बुझाउन र एक पटक कुनै कुरा स्वीकार गरेपछि त्यसलाई तिनीहरूको अभ्यासको सिद्धान्तमा परिणत गर्ने तुल्याउन सक्छु? मैले अझ तोकेरै अनि विस्तारमा बोल्नुपर्छ। मैले कथा सुनाउँदै गरूँ वा सत्यतामा सङ्गति गर्दै गरूँ, वा अभ्यासको कुरा गरूँ, ती समग्रमा थप विस्तृत र खास हुनुपर्छ। खास भाषण तिमीहरूका लागि लाभदायक छ। त्यसैले तिमीहरूका निम्ति कथाहरू र उदाहरणहरू बताउन मैले सधैँ मेरो दिमाग खियाउनैपर्छ, ताकि तिमीहरूले अलि बढी बुझ। म यी सबै सत्यताहरूलाई घटनापिच्छे मूर्त रूप दिन्छु, र म आफूले सङ्गति गर्ने प्रत्येक घटनासँग सत्यताहरूलाई जोड्ने गर्छु, ताकि तिमीहरूको दिमागमा तुलना गर्नका लागि एउटा छवि बनोस्, जससँग तिमीहरूले आफूले कहिल्यै यसरी काम गरेका छौ कि छैनौ वा त्यस्ता मानिसहरूले जस्तो काम गर्नेछौ कि छैनौ, वा त्यसरी कहिल्यै सोचेका छौ कि छैनौ, वा त्यस्तो स्थितिमा कहिल्यै फसेका छौ कि छैनौ भनेर तुलना गर्न सक। जब तिमीहरू यी सत्यताहरू सुन्छौ, म यसलाई यस्तो बनाउँछु जसले गर्दा तिमीहरू निरन्तर त्यसको छवि भाव राख्न सक्छौ, मानौँ तिमीहरू त्यसैमा डुबेका छौ। यही कारण म कथाहरू सुनाउँछु र उदाहरणहरू दिन्छु। कतिपय यस्ता व्यक्तिहरू छन्, जो कथा सुरु हुनेबित्तिकै अधीर हुन्छन्। “अर्को कथा? के म तीन वर्षे बालक हुँ?” तेरो उमेर कलिलो नहोला, तर परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने मार्गका सन्दर्भमा भने तँ तीन वर्षभन्दा कम उमेरको पनि हुन सक्छस्—कुराको चुरो यही हो। त्यसोभए, तिमीहरूलाई तीन वर्षभन्दा सानो बालकका रूपमा व्यवहार गर्नु तिमीहरूको अपमान होइन, र यो अति नै पनि होइन; मैले देखेअनुसार यो तिमीहरूलाई अधिमूल्याङ्कन गर्नु हो। तीन वर्षको बच्चाले कैँची तिखो हुन्छ र यसलाई छुनु हुँदैन भनेर कुनै वयस्कले एकपल्ट भनेको सुन्छ भने, त्यसले यो सिद्धान्तका रूपमा सम्झनेछ। उसले त्यसलाई छुने छैन र त्यससँग मिल्दोजुल्दो उपकरण वा पत्ती पनि छुने छैन। उसले जान्दछ कि ती सबै तीखा छन्; उसले यो सिद्धान्तमा कसरी पोख्त हुनुपर्ने हो, सो जान्दछ। त्यसोभए, के मानिसहरूले आफ्नो अभ्यासमा धेरै पटक अनुभव गरेको कुरामा सिद्धान्तहरू भेट्टाउन सक्छन्? भन्‍नुको मतबल, के तैँले परमेश्‍वरका कार्यहरू पछाडिको अभिप्राय, तँबाट उहाँले गर्नुभएका मागहरू, र उहाँका माग गर्नुभएका मानकहरू के हुन् भनेर बुझ्न सक्छस्? सामान्य व्यक्तिको बुद्धिमत्तालाई हेर्दा तँ यी कुराहरू बुझ्न सक्षम हुनुपर्ने हो। त्यसोभए मैले जे भने पनि, मानिसहरूले कस्ता परिस्थितिहरूमा ती बुझ्दैनन् त? यसो हुनुको प्रमुख कारण पहिलो त मानिसहरू जिइरहेको कोलाहलमय वातावरणसँग सम्बन्धित छ, जहाँ यति धेरै झिनामसिना र बोझिला कामहरू सम्हाल्नुपर्ने हुन्छ कि मानिसहरू परमेश्‍वरको वचन होसियारीसाथ प्रार्थना-पढाइ गर्न पनि इच्छुक हुँदैनन्; तिनीहरू सत्यताका लागि कुनै प्रयासै गर्दैनन्। यो कारणको एउटा पक्ष हो; अर्को पक्ष यो हो कि, सत्यताप्रतिको मानिसहरूको तिर्खा र प्रेम कति थोरै छ भने, यदि दश अङ्कलाई पूर्णाङ्क मान्‍ने हो भने, तिमीहरूको सत्यताप्रतिको प्रेमको वर्तमान हद बढीमा तीन वा पाँच हुनेछ। अतः मानिसहरूले सत्यतालाई नबुझ्नुको र अन्ततः यसलाई प्राप्त नगर्नुको अधिकांश कारण यो हो कि, तिनीहरू आफैले प्रयास लगाएका छैनन्, र साथै तिनीहरूले आफ्नो हृदय त्यसमा लगाउँदैनन्, र तिनीहरूको हृदयमा तिनीहरूले सत्यतालाई कत्ति पनि माया गर्दैनन्। सत्यताप्रतिको मानिसहरूको प्रेम त्यसको स्तरमा पर्याप्त छैन। यो त केवल चासोको कुरो हो; यसमा प्रेमको कुरा आउँदैन। मानिसहरूले संसारमा यति धेरै अप्ठ्याराहरू र कष्टहरू भोगेकै कारण तिनीहरू जीवनयापन गर्न सकिरहेका छैनन्, अनि तिनीहरूले परमेश्‍वरलाई मानिसहरूलाई मुक्ति दिने काम गरेको र प्रत्येक दिन सत्यतामा सङ्गति गरेको देखेकाले र उहाँले मानिसलाई प्रदान गर्नुभएको सबै कुराको प्रशस्तता देखेको कारणले तिनीहरू परमेश्‍वर असल हुनुहुन्छ भनी महसुस गर्छन्, र उहाँका वचनहरू पढ्न र सत्यतातिर अघि बढ्न प्रयास गर्न इच्छुक हुन्छन्। यो तिनीहरूमा भएको चासोको सानो अंश हो। मानिसहरूको हृदयले आफ्नो बढी समय केमा खर्च गर्छ? तिनीहरू सबै भावनात्मक सम्बन्ध, पारस्परिक सम्बन्ध, हैसियत र अभिमान अनि समाजका सबै प्रचलन जस्ता झिनामसिना मुद्दाहरूले जेलिएका छन्। खाना, पहिरन, सिँगारपटार र दैहिक सुखमा नै आफ्नो समय र शक्ति बढी खर्च गर्ने मानिसहरू पनि छन्‌। तिनीहरू यी चीजहरूमा आफ्ना साँच्चै नै बहुमूल्य दिनहरू बर्बाद गर्छन्, र तिनीहरू तिनको महिमा गाउँछन्: “म परमेश्‍वरप्रति आफूलाई समर्पित गर्दै छु!” अन्ततः, अन्तमा, तिनीहरूले फर्केर हेर्छन् र के देख्छन् भने, परमेश्‍वरले यति धेरै वचनहरू भन्‍नुभएको छ र यति लामो समयसम्म काम गर्नुभएको छ, तैपनि तिनीहरूले सत्यता प्राप्त गरेका छैनन्। परमेश्‍वरले तिनीहरूलाई यो प्रदान नगर्नुभएकाले यस्तो भएको होइन, बरु तिनीहरूले परमेश्‍वरले धेरै कुरा व्यक्त गर्नुभएको देखे पनि सत्यतालाई आफ्नो हृदयले स्वीकार नगरेकाले वा आफूलाई सत्यतामा लागू नगरेकाले भएको हो। यही कारणले गर्दा तिनीहरूले परमेश्‍वरमा धेरै वर्षदेखि विश्‍वास गरेको भए तापनि सत्यता र जीवन प्राप्त गर्न सकेनन्, र अन्तमा हटाइए।

जनवरी २२, २०१९

अघिल्लो: विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्

अर्को: विषयवस्तु चार: तिनीहरू आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्