विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्

हामीले मानिसहरूको हृदय जित्ने, अर्थात् ख्रीष्टविरोधीहरूले कसरी मानिसहरूलाई नियन्त्रण गर्छन् भन्ने विषयको पहिलो प्रकटीकरणसम्बन्धी सङ्गति पूरा गरेका छौँ, र अब हामी दोस्रो प्रकटीकरणबारे सङ्गति गर्नेछौँ। ख्रीष्टविरोधीहरूले मानिसहरूलाई नियन्त्रण गर्न प्रयोग गर्ने दोस्रो विधि मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्नु हो। पहिलो विधिअन्तर्गत मानिसहरूलाई बहकाएर तिनीहरूको हृदय जित्ने कुरा पर्दछ; यसो हेर्दा, यस्तो व्यक्ति एकदमै नम्रतापूर्वक र मानव धारणाअनुरूप बोल्ने, र अरूलाई कुनै हानि नपुऱ्याउने जस्तो देखिन्छ; ऊ तुलनात्मक रूपमा चतुर र अस्पष्ट हुन्छ; अरूले तिनीहरूका दुष्ट अभिप्राय र दुर्भावपूर्ण, खुनी र आक्रामक प्रकटीकरणहरू देख्‍न सक्दैनन्; र तिनीहरूले धूर्त विधिहरूबाहेक अरू केही प्रयोग गर्दैनन्। दोस्रो विधि, अर्थात् मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्ने कार्य अझै स्पष्ट हुन्छ। “आक्रमण र बहिष्कार” भन्‍ने शब्दहरूको अर्थबाट तिनीहरू सकारात्मक नभई अपमानजनक हुन्छन् भनेर भन्‍न सकिन्छ। आक्रमण र बहिष्कार गर्ने यो माध्यम स्पष्ट रूपमा सार्वजनिक र सबैले देख्‍न सक्ने हुन्छ। यो त सडकमा चिच्याउने झगडालु स्त्रीहरूले एकअर्काका कमी-कमजोरीहरू खुलासा गरेको जस्तै हो, जसका शब्दहरू खुलस्त र स्पष्ट हुन्छन्, जुन सुन्‍ने जति सबैले बुझिहाल्छन्। ती शब्दहरूमा निश्‍चित आक्रामकपन हुन्छ, सहनशीलता देखिँदैन, बरु आक्रमण गर्न अग्रसर हुन्छ। ख्रीष्टविरोधीहरूले सार्वजनिक रूपमै मानिसहरूलाई गर्ने दमन, बहिष्कार, आक्रमण, र मानिसका समस्याहरू खुलासा गर्ने कार्यहरू सबै लक्षित हुन्छन्। निःसन्देह नै, तिनीहरूले सत्यता खोजी गर्ने र तिनीहरूलाई चिन्‍न सक्‍ने मानिसहरूलाई निसाना बनाउन यस्ता विधिहरू प्रयोग गर्छन्। यी मानिसहरूलाई चकनाचूर पारेर, तिनीहरूले आफ्‍नै स्थान दह्रिलो बनाउने उद्देश्य हासिल गर्छन्। यसरी मानिसहरूलाई आक्रमण र बहिष्कार गर्नु दुर्भावपूर्ण प्रकृति हो। तिनीहरूको भाषा र बोल्ने शैलीमा आक्रामकता: खुलासा गर्ने, दोष लगाउने, निन्दा गर्ने, र दुष्ट लाञ्छना लगाउने स्वभाव हुन्छ। तिनीहरूले तथ्य बङ्ग्याएर सकारात्मकलाई नकारात्मक अनि नकारात्मकलाई सकारात्मकसमेत बताउँछन्। यसरी कालोलाई सेतो र सेतोलाई कालो भन्दै सही र गलतलाई उल्टोपाल्टो पार्दा मानिसहरूलाई पराजित गर्ने र तिनीहरूको बदनाम गर्ने ख्रीष्टविरोधीहरूको उद्देश्य पूरा हुन्छ। मतविरोधीहरूलाई यसरी आक्रमण र बहिष्कार गर्ने यो कार्य कस्तो मानसिकताबाट उत्पन्न हुन्छ? धेरैजसो यो ईर्ष्यालु मानसिकताबाट आएको हुन्छ। क्रूर स्वभावमा, डाहले कठोर घृणा बोकेको हुन्छ; अनि डाहका कारण ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने गर्छन्। यस्तो परिस्थितिमा, यदि ख्रीष्टविरोधीहरूलाई खुलासा र रिपोर्ट गरियो, तिनीहरूले आफ्‍नो हैसियत गुमाए, र तिनीहरूलाई आघात भयो भने, तिनीहरू अवज्ञाकारी र असन्तुष्ट हुनेछन्, र तिनीहरूलाई उग्र रूपमा प्रतिशोधी बन्‍न झन् सजिलो हुनेछ। प्रतिशोधीता एक प्रकारको मानसिकता हो, र यो भ्रष्ट स्वभावको प्रकार पनि हो। जब ख्रीष्टविरोधीहरूले कसैले तिनीहरूलाई हानि गर्ने काम गरेको, अरू तिनीहरूभन्दा सक्षम रहेको, वा कसैको अभिव्यक्ति र सुझाव तिनीहरूको भन्दा असल वा बुद्धिमानी रहेको, र सबैजना त्यस व्यक्तिको अभिव्यक्ति र सुझावमा सहमत भएको देख्छन्, तब तिनीहरूलाई तिनीहरूको पद खतरामा परेझैँ लाग्छ, तिनीहरूको हृदयमा डाह र घृणा पैदा हुन्छ, र तिनीहरूले आक्रमण गर्छन् र बदला लिन्छन्। बदला लिने क्रममा, ख्रीष्टविरोधीहरूले प्राय: आफ्नो निसानालाई पहिले नै प्रहार गरिहाल्छन्। जबसम्‍म अर्को पक्षले भनेको मान्दैन, तबसम्‍म तिनीहरूले पूर्वसक्रिय रूपमै मान्छेलाई आक्रमण गर्ने र तोड्ने काम गर्छन्। त्यसपछि मात्रै तिनीहरूलाई आफ्नो रिस मरेको झैँ लाग्छ। मानिसहरूलाई आक्रमण र बहिष्कार गर्ने कार्यका अन्य प्रकटीकरणहरू के-के हुन्? (अरूलाई होच्याउनु।) अरूलाई होच्याउने कार्य पनि यो प्रकट हुने एउटा तरिका हो; तैँले जति नै राम्ररी काम गरे पनि, तँ नकारात्मक र कमजोर भएर खडा हुन नसक्‍ने अवस्थामा नपुगुन्जेल, ख्रीष्टविरोधीहरूले तँलाई होच्याउने छन् वा दोष दिनेछन्। त्यसपछि तिनीहरू खुसी हुनेछन्, र तिनीहरूले आफ्‍नो उद्देश्य पूरा गरेका हुनेछन्। के दोष दिनु पनि अरूलाई होच्याउनुको एउटा पाटो हो? (हो।) ख्रीष्टविरोधीहरूले कसरी मानिसहरूलाई दोष दिन्छन्? तिनीहरूले तिललाई पहाड बनाउँछन्। उदाहरणका लागि, तैँले कुनै काम गरिस् जसमा कुनै समस्या छैन, तर तिनीहरूले तँलाई आक्रमण गर्न यसलाई निहुँ बनाउन चाहन्छन्, त्यसकारण यसलाई तँविरुद्ध फाइदाका रूपमा प्रयोग गर्न तिनीहरूले सबै किसिमका उपाय सोच्छन् र तिललाई पहाड बनाएर तँलाई यसरी दोष लगाउँछन् कि ख्रीष्टविरोधीहरूको कुरा सुन्‍नेहरूले यो कुरा ठीकै हो र तैँले गलत काम गरिस् भन्‍ने सोच्छन्। योसँगै, ख्रीष्टविरोधीहरूले आफ्‍नो उद्देश्य पूरा गरेका हुन्छन्। यो मतविरोधीहरूलाई दोष दिनु, आक्रमण गर्नु, र बहिष्कार गर्नु हो। बहिष्कार गर्नु भनेको के हो? यसको अर्थ के हुन्छ भने, वास्तवमा तँ सही छस् भनेर ख्रीष्टविरोधीहरूलाई पनि हृदयमा थाहा हुन्छ, तर तिनीहरू तँलाई डाह र घृणा गर्छन्, तँलाई जानीजानी आक्रमण गर्ने प्रयास गर्छन्, त्यसैले तिनीहरू तैँले गरेको काम गलत हो भन्छन्। त्यसपछि तँलाई विवाद गरेर जित्‍नका लागि तिनीहरूले आफ्‍नै दृष्टिकोण र भ्रमहरू प्रयोग गर्नेछन् र सुन्‍नेहरू सबैलाई विश्‍वासलाग्दो तरिकाले बोलेर तिनीहरूको कुरा नै सही र प्रभावकारी तरिकाले भनिएको छ भन्‍ने अनुभूति गराउँछन्। त्यसपछि, ती सबै मानिसहरू तिनीहरूलाई अनुमोदन गर्छन् र तिनीहरूको पक्षमा खडा हुनेछन्। ख्रीष्टविरोधीहरूले तँलाई आक्रमण गर्न, नकारात्मक र कमजोर बनाउन यसको प्रयोग गर्छन्। योसँगै, तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्ने आफ्‍नो उद्देश्य हासिल गरेका हुन्छन्। मतविरोधीहरूलाई बहिष्कार गर्ने कार्य कहिलेकाहीँ आमनेसामने विवादमार्फत हुन्छ, वा कहिलेकाहीँ कसैप्रतिको आलोचना, खलबल मच्चाउने, निन्दा, र पिठ्यूँपछाडिको कुरा बुनाइमार्फत हुन्छ। उदाहरणका लागि, जब कुनै ख्रीष्टविरोधीले एक जना मतविरोधीलाई बहिष्कार गर्न चाहन्छ, तब उसले पहिले त्यस मतविरोधीको सम्‍बन्ध कोसँग राम्रो छ भनेर पत्ता लगाउँछ। त्यसपछि, उसले त्यस व्यक्तिकहाँ गएर भन्छ: “तपाईंलाई थाहा छ, फलानोले त तपाईंमा क्षमताको कमी छ, बुझ्ने क्षमता कमजोर छ र आत्मिक बुझाइ छैन, र तपाईं सिद्धान्तविनै आफ्‍ना कर्तव्यहरू निर्वाह गर्नुहुन्छ भनेर भनेको थियो। मैले त्यस व्यक्तिसँग बहस गरेँ, किनभने मलाई लाग्छ तपाईं वास्तवमा निकै असल व्यक्ति हुनुहुन्छ।” यसरी कलहको बीउ छरेपछि, यी दुई व्यक्तिबीचको सम्बन्ध झनै चिसिन्छ। त्यो ख्रीष्टविरोधी सम्‍बन्ध पूर्ण रूपमा नतोडिएसम्म निरन्तर कलहको आगोमा घिउ हाल्दै एक छेउमा बसेर हेरिरहन्छ। यसरी, ख्रीष्टविरोधीले मानिसहरू र उसको मतविरोधीबीच कलहको बीउ छर्छ, अनि त्यस मतविरोधीलाई अलग्याउने लक्ष्य पूरा गर्न मानिसहरूलाई ऊबाट टाढा बस्न लगाउँछ। त्यो मतविरोधी पराजित नभएसम्‍म र उसको नाम माटोमा नमिलेसम्‍म, ख्रीष्टविरोधीले त्यो मतविरोधीविरुद्ध लाभ उठाउने अवसर खोजिरहन्छ। ख्रीष्टविरोधीले यसलाई प्रतिद्वन्द्वी ढालेको भन्ने ठान्छ, ताकि यो व्यक्ति उसको हैसियतका लागि खतरा नबनोस्। ख्रीष्टविरोधी आफ्नो मतविरोधीलाई वशमा राख्नु नै राम्रो हुन्छ भन्ने ठान्छ, तर यदि उसलाई वशमा राख्न सकिएन भने, ख्रीष्टविरोधीले उसलाई अलग्याउन अनि त्यसपछि बहिष्कार गर्नका लागि हरसम्भव प्रयास गर्छ। यदि उसलाई बहिष्कार गर्न सकिएन भने, ख्रीष्टविरोधीले उसलाई अलग्याइरहन्छ, अन्त्यमा उसलाई घुँडा टेकाएर दयाको भीख माग्‍न लगाउँछ। ख्रीष्टविरोधीले केही शक्तिलाई आफ्नो पक्षमा ल्याएर सत्यता पछ्याउने वा आफ्नो विचारसँग नमिल्‍ने विचारका मानिसहरूलाई आक्रमण गर्छ। उसले मण्डली भत्काउँछ र यसलाई गुटहरूमा टुक्राउँछ, र अन्त्यमा मण्डली दुई वा तीन गुटमा विभाजित हुन्छ—एउटाले उसको कुरा सुन्छ, अर्कोले उसको कुरा सुन्दैन, र एउटाचाहिँ तटस्थ रहन्छ। उसको “सानदार” मार्गदर्शनमा, झन्-झन् धेरै मानिसले उसको कुरा सुन्छन्, र उसको कुरा नसुन्ने मानिसहरू झन्-झन् कम हुन्छन्। अझ धेरै मानिसहरू ऊसामु झुक्छन्, अनि ख्रीष्टविरोधीभन्दा फरक विचार भएकाहरू अलग्गिन्छन् र बोल्ने हिम्मत गर्दैनन्। उसलाई खुट्ट्याउन वा विरोध गर्न सक्‍ने मानिसहरू झन्-झन् कम हुँदै जान्छन्, र यसरी, ख्रीष्टविरोधीले मण्डलीका अधिकांश मानिसलाई बिस्तारै नियन्त्रणमा लिन्छ र अख्तियारको पद ग्रहण गर्छ। ख्रीष्टविरोधीको लक्ष्य यही हो। ख्रीष्टविरोधीले आफ्‍नो भन्दा फरक राय भएका मानिसहरूसँग व्यवहार गर्दा शून्य सहनशीलता देखाउँछ। ऊ सोच्छ: “तिम्रो राय फरक भए पनि, तिमीले मेरो नेतृत्व मान्नैपर्छ, किनकि अहिले मेरो नै निर्णय चल्छ। तिमी मभन्दा मुनि छौ। यदि तिमी अजिङ्गर हौ भने, तिमी गुँडुल्किनुपर्छ; बाघ हौ भने, तिमी घोप्टिएर लम्पसार पर्नुपर्छ; तिमीसँग जुनै क्षमता भए पनि, म यहाँ भइन्जेल, फाइदा उठाउने वा समस्या खडा गर्ने कुरा सोच्दै नसोच!” ख्रीष्टविरोधीको उद्देश्य यही हुन्छ—एकतर्फी रूपमा मण्डलीलाई नियन्त्रण गर्ने र परमेश्‍वरका चुनिएका मानिसहरूलाई नियन्त्रण गर्ने।

ख्रीष्टविरोधीले मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्नुको मुख्य उद्देश्य के हो? तिनीहरू मण्डलीमा यस्तो स्थिति बनाउन खोज्छन् जहाँ तिनीहरूका आफ्नै आवाजको विपरीत कुनै आवाज नहोस्, जसमा तिनीहरूको शक्ति, तिनीहरूको नेतृत्वकारी हैसियत, र तिनीहरूका कुराहरू सबै निरपेक्ष होऊन्। सबैले तिनीहरूको कुरामा ध्यान दिनुपर्छ, र तिनीहरूको विचार फरक हुँदा पनि तिनीहरूले यसलाई व्यक्त गर्नु हुँदैन, बरु आफ्‍नो हृदयमै भित्रभित्रै कुहिने गरी राख्‍नुपर्छ। खुल्लमखुल्ला तिनीहरूसित असहमत हुन आँट गर्ने जोकोही ख्रीष्टविरोधीहरूका शत्रु बन्छन्, र तिनीहरूले उनीहरूलाई सास्ती दिन हर उपाय सोच्‍नेछन्, र जतिसक्दो चाँडो उनीहरूलाई विलय गराउन चाहनेछन्। आफ्‍नो हैसियतलाई कायम राख्‍न र आफ्‍नो शक्तिलाई रक्षा गर्न ख्रीष्टविरोधीहरूले आफ्ना मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्ने एउटा तरिका यही हो। तिनीहरू सोच्छन्, “तिमीले फरक विचार राख्छौ भने त्यो ठीकै छ, तर तिमीले आफ्नो इच्छाअनुसार त्यसको बारेमा कुरा गर्दै हिँड्नु हुँदैन, मेरो शक्ति र हैसियतको बारेमा सम्झौता गर्ने कुरा त परै जाओस्। यदि तिमी केही भन्न चाहन्छौ भने, तिमीले मलाई व्यक्तिगत रूपमा भन्न सक्छौ। यदि तिमीले त्यो सबैको सामुन्ने भनेर मेरो अपमान गर्‍यौ भने, तिमी समस्या निम्त्याइरहेका छौ, र मैले तिमीलाई ठीक पार्नुपर्छ!” यो कस्तो किसिमको स्वभाव हो? ख्रीष्टविरोधीहरूले अरूलाई स्वतन्त्र रूपमा बोल्‍न दिँदैनन्। यदि तिनीहरूको कुनै राय छ भने—चाहे ख्रीष्टविरोधीको वा अरू कुनै कुराको बारेमा होस्—तिनीहरूले त्यो कुरा यतिकै उठाउन मिल्दैन; तिनीहरूले ख्रीष्टविरोधीको इज्‍जतलाई विचार गर्नुपर्छ। होइन भने, ख्रीष्टविरोधीले तिनीहरूलाई शत्रुका रूपमा व्यवहार गर्नेछ, आक्रमण र बहिष्कार गर्नेछ। यो कस्तो किसिमको प्रकृति हो? यो ख्रीष्टविरोधीको प्रकृति हो। तिनीहरूले किन यसो गर्छन्? तिनीहरूले मण्डलीमा अरू कुनै वैकल्‍पिक आवाज उठ्न दिँदैनन्, मण्डलीमा मतविरोधीहरूलाई रहन दिँदैनन्, परमेश्‍वरका चुनिएका जनहरूलाई खुलस्त रूपमा सत्यताको सङ्गति गर्न र मानिसलाई खुट्ट्याउन दिँदैनन्। तिनीहरूलाई मानिसहरूद्वारा आफ्नो खुलासा गरिने र खुट्ट्याइने सबैभन्दा बढी डर हुन्छ; तिनीहरू आफ्‍नो शक्तिलाई र मानिसहरूको हृदयमा भएको तिनीहरूको हैसियतलाई निरन्तर दह्रिलो पार्ने प्रयास गरिरहेका हुन्छन्, जुन कहिल्यै पनि डग्मगिनु हुँदैन भन्‍ने तिनीहरूलाई लाग्छ। तिनीहरू आफ्नो अभिमान, इज्जत वा हैसियत र अगुवाका रूपमा आफ्नो महत्त्वलाई जोखिम पुर्‍याउने वा असर गर्ने कुनै पनि कुरा कहिल्यै सहन सक्दैनन्। के यो ख्रीष्टविरोधीहरूको दुर्भावपूर्ण प्रकृतिको प्रकटीकरण होइन र? तिनीहरूमा पहिलेदेखि नै रहेको शक्तिसँग सन्तुष्ट नभएर तिनीहरू त्यसलाई सुदृढ र सुरक्षित गर्छन् र अनन्त प्रभुत्व खोज्छन्। तिनीहरूले अरूको व्यवहार मात्र नभई उनीहरूको हृदय पनि नियन्त्रण गर्न चाहन्छन्। ख्रीष्टविरोधीहरूले यी विधिहरू प्रयोग गर्नुको उद्देश्य पूर्णतया आफ्नो शक्ति र हैसियतको रक्षा गर्नु हो, र ती पूर्ण रूपमा शक्तिमा रहिरहने तिनीहरूको इच्‍छाका परिणाम हुन्। यदि ख्रीष्टविरोधीहरूले खुलस्त र इमानदारिताका साथ अनि सत्यताअनुरूप कार्य गरेका भए, तिनीहरू अरूले कुरा बताउलान्, फरक सुझाव देलान्, र तिनीहरूको खुलासा गर्लान् भनेर किन डराउनेथिए त? किनभने तिनीहरूका मनसायहरू अनिष्टकारी र तिनीहरूको विवेक दोषले भरिएका हुन्छन्। ख्रीष्टविरोधीहरूलाई आफूले धेरै दुष्ट कार्यहरू गरेको छु भन्‍ने थाहा हुन्छ, र तिनीहरूको खुलासा भएपछि, तिनीहरूलाई आफ्नो हैसियत जोगाउन गाह्रो हुने मात्र नभई, निकाल्‍नु वा निष्कासन गरिने खतरा पनि हुन्छ। त्यसकारण, तिनीहरू अरूलाई नियन्त्रित र सीमित गर्न, साथै सत्यताबारे सङ्गति गर्न र सुझबुझ प्रयोग गर्नबाट रोक्न कुनै कसर बाँकी राख्दैनन्। विशेष गरी, इन्साफको दह्रिलो बोध भएका वा दुष्ट मानिसहरूलाई खुलासा गर्न साहस गर्नेहरू ख्रीष्टविरोधीका आँखाको कसिङ्गर, निरन्तरको झर्को हुन्छन्। ख्रीष्टविरोधीहरू के सोच्छन् भने, यदि इन्साफको बोध भएकाहरूलाई आफ्नो अधीनमा ल्याइयो र बदनाम गरियो भने, त्यसउपरान्त कसैले पनि तिनीहरूलाई खुलासा गर्ने आँट गर्नेछैन र कुनै विरोधी आवाजहरू हुने छैनन्, जसले ख्रीष्टविरोधीलाई सुरक्षा बोध गराउँछ। यो ख्रीष्टविरोधीले लगातार अपनाउने रणनीति हो। तिनीहरूले शक्तिमाथिको आफ्नो पकडलाई पटक्‍कै छोड्ने छैनन् र त्यसलाई बलियो बनाउने आफ्नो प्रयास कहिल्यै कम गर्ने छैनन्—तिनीहरूले बोल्ने हरेक वाक्य र तिनीहरूले गर्ने सबै कुराको उद्देश्य तिनीहरूको शक्ति र हैसियतको रक्षा गर्नु हुन्छ। विशेष गरी मतविरोधीको उपस्थिति छ भने यस्तो हुन्छ, र मतविरोधीले भनेको वा आफ्नो पिठ्युँ पछाडि तिनीहरूले गरेको निन्दा ख्रीष्टविरोधीले सुन्छ। यस अवस्थामा, तिनीहरूले उक्त मामलालाई तुरुन्तै समाधान गर्नेछन्, चाहे त्यसको लागि एक रातको निन्द्रा र एक दिनको खान नै किन छुटाउन नपरोस्। तिनीहरू कसरी यस्तो मेहनत लगाउन सक्छन् त? किनभने तिनीहरूलाई आफ्नो हैसियत खतरामा छ, त्यसमा चुनौती आइपरेको छ भन्ने लाग्छ। तिनीहरू के महसुस गर्छन् भने यदि आफूले यस्तो कदम चालिएन भने, आफ्नो शक्ति र हैसियत खतरामा पर्नेछ—आफ्ना दुष्ट कार्यहरू र निन्दनीय आचरण खुलासा भएपछि, आफूले आफ्नो हैसियत र शक्ति कायम राख्न नसक्ने मात्र होइन, आफूलाई मण्डलीबाट निकालिनेछ वा निष्कासित गरिनेछ। त्यसैले तिनीहरू हतारपतार उक्त मामला दबाउने र आफूमाथि आइपर्ने गुप्त सबै खतरा हटाउने उपायबारे सोच्छन्। तिनीहरूले आफ्नो हैसियत कायम राख्न सक्ने उपाय यही मात्र हो। ख्रीष्टविरोधीहरूका लागि हैसियत भनेको जीवनको सास हो। कुनै व्यक्तिले तिनीहरूको खुलासा वा रिपोर्ट गर्नेवाला छ भनेर सुन्नेबित्तिकै तिनीहरू त्रसित र बेचैन हुन्छन्, र तिनीहरू भोलिसम्ममा आफ्नो हैसियत गुम्नेछ र हैसियतले तिनीहरूलाई दिने विशेषाधिकारको अनुभूति फेरि कहिल्यै हुनेछैन, न त हैसियतबाट पाइने फाइदा नै पाइन्छ भनी भयभीत हुन्छन्। तिनीहरू त्यसपछि आफूलाई कसैले पनि सम्मान गर्नेछैन वा पछ्याउनेछैन, कसैले पनि तिनीहरूको चापलुसी गर्नेछैन वा आदेश मान्नेछैन भनी डर मान्छन्। तर तिनीहरूका लागि सबभन्दा असहनीय कुरा भनेको आफ्नो हैसियत र शक्ति गुम्नेछ भन्ने मात्र नभई आफूलाई निकालिने वा निष्कासितसमेत गरिने पो हो कि भन्ने हो। यदि त्यसो भयो भने, तिनीहरूलाई हैसियत र शक्तिले दिएका सबै फाइदा र विशेषाधिकारको अनुभूति, साथै परमेश्‍वरमा विश्वास गरेर प्राप्त हुने सबै आशिष् र इनामको आशा क्षणभरमै गुम्छ। यो सम्भावना नै तिनीहरूलाई सहन सबभन्दा कठिन हुन्छ। तिनीहरूले आफ्नो शक्ति र हैसियतले प्रदान गर्ने फाइदा र विशेषाधिकारको आभास गुमाएपछि, तिनीहरूका राम्रा दिनहरू समाप्त हुनेछन्। साथै, धेरै दुष्ट कार्यहरू गरेका कारण, तिनीहरू विपत्तिमा पर्नेछन् र परमेश्‍वरको दण्ड पर्खिरहनेछन्।

मतविरोधी भनेको के हो? ख्रीष्टविरोधीले मतविरोधीहरूका रूपमा हेर्ने मानिसहरू को हुन्? कम्तीमा पनि, तिनीहरू ख्रीष्टविरोधीलाई अगुवाका रूपमा गम्‍भीरतासाथ नलिने मानिसहरू हुन् अर्थात् तिनीहरू ख्रीष्टविरोधीहरूलाई आदर वा आराधना नगर्ने, बरू तिनीहरूलाई साधारण व्यक्तिको रूपमा हेर्ने मानिसहरू हुन्। त्यो एउटा प्रकार हो। त्यसपछि सत्यतालाई प्रेम गर्ने, सत्यताको खोजी गर्ने, आफ्‍नो स्वभाव परिवर्तन गर्न खोज्‍ने, र परमेश्‍वरप्रतिको प्रेमको खोजी गर्ने मानिसहरू छन्; तिनीहरू ख्रीष्टविरोधीको भन्दा फरक मार्ग अपनाउँछन्, र ख्रीष्टविरोधीको नजरमा तिनीहरू मतविरोधीहरू बन्छन्। अरू कोही छन्? (ख्रीष्टविरोधीहरूलाई सधैँ सुझाव दिने, र तिनीहरूको खुलासा गर्ने आँट गर्ने मानिसहरू।) ख्रीष्टविरोधीलाई सुझाव दिन र तिनीहरूलाई खुलासा गर्न आँट गर्ने, वा तिनीहरूको भन्दा फरक विचार राख्‍ने मानिसहरूलाई ख्रीष्टविरोधीले मतविरोधीहरूको रूपमा हेर्छ। अनि अर्को प्रकारका मानिसहरू पनि हुन्छन्: जो क्षमता र सीपमा ख्रीष्टविरोधी जत्तिकै हुन्छन्, जसको बोलीवचन र व्यवहार क्षमता ख्रीष्टविरोधीहरूको जत्तिकै हुन्छ, वा जसलाई ख्रीष्टविरोधीले आफूभन्दा उच्‍च र उनीहरूलाई चिन्‍न सक्‍ने मानिसहरूका रूपमा ठान्छ। ख्रीष्टविरोधीका लागि, यो असह्य, र उसको हैसियतका निम्ति खतरायुक्त हुन्छ। यस्ता मानिसहरू ख्रीष्टविरोधीका सबैभन्दा ठूला मतविरोधीहरू हुन्। ख्रीष्टविरोधीले यस्ता मानिसहरूलाई कम आँक्ने वा थोरै लापरवाह बन्‍ने पनि आँट गर्दैनन्। तिनीहरू यस्ता मानिसहरूलाई काँडाको रूपमा हेर्छन्, सधैँ झिज्याउने कुराका रूपमा हेर्छन्, यस्ता मानिसहरूका विरुद्धमा सधैँ सचेत र सतर्क रहन्छन्, र आफूले गर्ने हरेक कुरामा तिनीहरू यस्ता मानिसहरूबाट टाढा बस्छन्। विशेष गरी जब ख्रीष्टविरोधीले कुनै मतविरोधीले उसलाई पहिचान र खुलासा गर्न लागेको देख्छ, तब तिनीहरू एकदमै अत्तालिन्छन्; यस्तो व्यक्तिलाई बहिष्कार र आक्रमण गर्न उसलाई यति तीव्र इच्‍छा हुन्छ कि त्यस मतविरोधीलाई मण्डलीबाट सफाइ गरेर ननिकालेसम्‍म उसलाई चित्त बुझ्दैन। यस्तो मानसिकता र यस्ता कुराहरूले भरिएको हृदय लिएर, तिनीहरूले के-के गर्न सक्छन् त? के तिनीहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई शत्रुको रूपमा हेर्ने, र तिनीहरूलाई खसाल्‍ने र निकाल्‍ने उपायहरू सोच्‍ने गर्छन्? अवश्य नै गर्छन्। तिनीहरूले मतविरोधीहरूलाई काबुमा राख्ने उपायहरू सोच्दै दिमाग खियाउँछन् र तिनीहरूलाई हराउनका लागि जुनसुकै हदसम्म जान्छन्, होइन र? मतविरोधीहरूलाई काबुमा राख्नुको अर्थ के हो भने, ख्रीष्टविरोधीले सबैलाई आफ्नो कुरा सुन्‍न लगाउँछ, ताकि कसैले पनि अरू केही बोल्ने वा फरक विचार राख्‍ने हिम्मत नै नगरून्, उसको खुलासा गर्नु त परै जाओस्। मतविरोधीलाई हराउनुको अर्थ ख्रीष्टविरोधीले उसलाई फसाउँछ र निन्दा गर्छ, केही झूटा कुरा खडा गरेर त्यस मतविरोधीलाई मूर्खजस्तो देखिने बनाउँछ र काँटछाँटमा पार्छ, जसले गर्दा त्यस व्यक्तिको प्रतिष्ठा भूईंमै गिर्छ। के यस्तो काम गर्नु दुष्ट कार्यको सबैभन्दा ठूलो रूप होइन र? के यसले परमेश्‍वरको स्वभावलाई चिढ्याउँदैन र? ख्रीष्टविरोधीसँग मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्ने धेरै जुक्ति र विधिहरू हुन्छन्। सार्वजनिक रूपमा विवाद र खण्डन गर्नेबाहेक, तिनीहरूको सबैभन्दा शक्तिशाली जुक्ति भनेको मतविरोधीलाई आफूतिर तान्ने अनि भर्ती गरेर तिनीहरू सबैलाई आफ्नो कुरा सुन्न लगाउने हो। यदि मतविरोधीहरूले ख्रीष्टविरोधीका कुरा सुनेनन् भने, उसले गैरविश्वासीहरूले राजनीतिक प्रतिद्वन्द्वीहरूसँग व्यवहार गरेजसरी नै तिनीहरूलाई दमन गर्नेछ, दबाउनेछ, र बदनाम गर्नेछ। ख्रीष्टविरोधीहरू यति दुष्ट र क्रूर हुन्छन्। तर कहिलेकाहीँ, ख्रीष्टविरोधीहरूले मानिसहरूलाई आफूतिर तान्न नरम शैली प्रयोग गर्छन्। उदाहरणका लागि, यदि कुनै मतविरोधी छ, जसको विचार तिनीहरूको विचारसँग मिल्दैन भने, उसले त्यो व्यक्तिलाई मनपर्ने कुरा र उसका कमजोरीहरूलाई हेरेर, त्यस व्यक्तिलाई आफ्‍नो हातमा ल्याउनका लागि सबै प्रकारका घृणित माध्यमहरू प्रयोग गर्छ। वा तिनीहरूले समर्पणताको ढोँग गर्छन् र त्यस मतविरोधीको अगाडि आफ्ना गल्तीहरू स्वीकार गर्छन्, वा मतविरोधीलाई लाभान्वित बनाउन र सन्तुष्ट पार्न जुनसुकै हदसम्म पनि जान्छन्, वा सायद आफ्‍ना नजिकका साथीहरूलाई त्यस मतविरोधीलाई मनाउन लगाउँछन्; त्यसपछि, तिनीहरूले त्यस मतविरोधीसँग सत्यताबारे सङ्गति गरिरहेको बहाना गर्दै भन्छन्: “मण्डलीको कामका लागि हामी मिल्नु एकदम उत्तम कुरा हो; भविष्यमा हामी यस मण्डलीलाई आधा-आधा बाँडौँला। म अगुवा भए पनि, तपाईंका सुझावहरू सुन्‍नेछु। वास्तवमा, तपाईंसँग सहकार्य गर्ने त म नै हुनेछु।” यदि त्यस मतविरोधी सत्यता नबुझ्ने व्यक्ति हो भने, त्यस व्यक्तिलाई भर्ती गर्न ख्रीष्टविरोधीलाई सजिलो हुनेछ। सत्यता बुझ्नेहरूले यो कुरा छर्लङ्ग देखेर भन्‍नेछन्, “यो त एउटा षड्यन्त्रकारी हो; त्यसले खुलेर आक्रमण गरिरहेको छैन, बरु चलाकी गरिरहेको छ—कडा कार्यनीतिहरूको सट्टा नरम शैली अपनाइरहेको छ।” ख्रीष्टविरोधीका लागि, मतविरोधी नै तिनीहरूको हैसियत र शक्तिका लागि खतरा हुन्छ। तिनीहरूको हैसियत र शक्तिलाई चुनौती दिने जोकोही व्यक्तिलाई “तह लगाउन” जुनै पनि हदसम्म ख्रीष्ट विरोधीहरू जानेछन्। यदि यी मानिसहरूलाई साँच्चै अधीनमा ल्याउन वा भर्ती गर्न सकिएन भने, ख्रीष्टविरोधीहरूले तिनीहरूलाई ढलाउनेछन् वा निकाल्‍नेछन्। अन्त्यमा, ख्रीष्ट विरोधीहरूले पूर्ण शक्ति प्राप्त गर्ने र तिनीहरू आफै नै कानुन बन्ने आफ्नो लक्ष्य हासिल गर्नेछन्। ख्रीष्टविरोधीहरूले आफ्नो हैसियत र शक्ति कायम राख्न सधैँ प्रयोग गर्ने विधिहरूमध्ये एउटा यही हो—तिनीहरूले मतविरोधीहरूलाई आक्रमण गर्छन् र बहिष्कार गर्छन्।

ख्रीष्टविरोधीहरूले मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्ने विधि, प्रकटीकरण, त्यस कार्यका उद्देश्य, र स्रोतहरू के-के हुन्? (शैतान।) खासगरी, ती त मानिसका महत्त्वाकाङ्क्षा र चाहनाहरूबाट, र शैतानको प्रकृतिबाट आएका हुन्छन्। त्यसोभए ख्रीष्टविरोधीको लक्ष्य के हो? तिनीहरूको उद्देश्य भनेको शक्ति कब्जा गर्नु, मानिसहरूको हृदय नियन्त्रण गर्नु र आफ्‍नो हैसियतका फाइदाहरूको आनन्द लिनु हो। वास्तविक ख्रीष्टविरोधीमा यही कुरा हुन्छ। मानिसहरूको हृदय जित्ने र मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्ने यी दुईवटा कुराको दृष्टिकोणबाट हेर्दा, एउटा ख्रीष्टविरोधीले “अगुवा” भन्ने शब्दको अर्थ र अगुवाले खेल्ने भूमिकालाई कसरी व्याख्या गर्छ? तिनीहरूलाई अगुवा भनेको आफूसँग शक्ति र हैसियत हुने, आफूले नेतृत्व गर्ने मानिसहरूलाई आदेश दिने, आफूतिर तान्ने, बहकाउने, धम्की दिने र नियन्त्रण गर्ने शक्ति भएको व्यक्ति हो भन्‍ने लाग्छ। तिनीहरूले “अगुवा” भन्‍ने शब्दलाई यसरी बुझेका हुन्छन्। त्यसैले, जब तिनीहरू नेतृत्वको भूमिकामा हुन्छन्, तिनीहरूले आफ्नो काममा यी कार्यनीतिहरू लागू गर्छन्, र तिनीहरूले यसरी नै आफ्नो कर्तव्य निर्वाह गर्छन्। त्यसोभए तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा वास्तवमा के गरिरहेका हुन्छन् त? निर्धक्‍क साथ भन्‍न सकिन्छ, तिनीहरूले दुष्कर्महरू गरिरहेका हुन्छन्, र अझै सटिक रूपमा भन्‍नुपर्दा, तिनीहरूले आफ्नै स्वतन्त्र राज्य स्थापना गरिरहेका हुन्छन्, चुनिएका मानिसहरू, मानिसहरूको हृदय र हैसियतका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गरिरहेका हुन्छन्। तिनीहरू मानिसहरूलाई आफ्नो आराधना गर्न लगाउन मानिसहरूका हृदयमा रहेको परमेश्‍वरको स्थान लिन चाहन्छन्। के तिमीहरूले प्रायजसो त्यस्ता अभिप्राय र उत्प्रेरणाहरू बोक्दैनौ र, अनि त्यस्ता व्यवहार र अभ्यासहरू देखाउँदैनौ र? के तिमीहरूले प्रायजसो यी शैतानी स्वभावहरू प्रकट गर्दैनौ र? (गर्छौँ।) यी शैतानी स्वभावहरूको प्रकटीकरण कत्तिको गम्भीर हुन सक्छ? के यो कुरा तिमीहरूले आफूलाई नै नियन्त्रण गर्न नसक्‍ने अवस्थामा पुगेको हो? यस्तो हुँदा, के तिमीहरू केही चेतना, संयम र अनुशासन वहन गर्न सक्छौ? (सक्छौँ।) मलाई भन, के शक्तिको लोभ नगर्ने त्यस्तो कोही व्यक्ति छ? के शक्ति मन नपराउने कोही हुन्छ? के त्यस्तो कोही छ, जो हैसियतका लाभहरूको लालसा गर्दैन? छैन, कोही छैन। यसको कारण के हो? कारण के हो भने, मानिसहरू सबै शैतानद्वारा भ्रष्ट पारिएका छन्; तिनीहरू सबैमा शैतानी प्रकृति छ। सबै मानिसहरूमा हुने एउटा साझा कुरा के हो भने, तिनीहरू शक्ति, हैसियत, अनि हैसियतका फाइदाहरूको आनन्द लिन मन पराउँछन्। यो सबै मानिसहरूमा हुने विशेषता हो। त्यसोभए कतिपय मानिसहरूलाई किन ख्रीष्टविरोधीका रूपमा लिइन्छ जबकि अरूहरूले केवल ख्रीष्टविरोधीकै स्वभाव प्रकट गर्छन् वा ख्रीष्टविरोधी मार्गमै हिँड्छन्? यी दुई समूह बीच के-कस्ता भिन्‍नताहरू छन्? पहिले, म तिनीहरूको मानवतामा रहेका भिन्‍नताका बारेमा कुरा गर्नेछु। के ख्रीष्टविरोधीहरूमा मानवता हुन्छ? ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने मानिसहरूको मानवता र ख्रीष्टविरोधी स्वयम्‌को मानवताको बीचमा रहेका भिन्‍नताहरू के-के हुन्? (ख्रीष्ट-विरोधीहरूमा विवेक र समझ हुँदैन, तिनीहरूमा मानवता हुँदैन, जबकि ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्ने मानिसहरूमा अझै अलिकति विवेक र समझ हुन्छ। तिनीहरू अझै पनि सत्यता अनि परमेश्‍वरको न्याय र सजाय स्वीकार गर्न सक्छन्, र साँचो पश्चात्ताप पनि देखाउन सक्छन्।) पश्चात्ताप देखाउनु एउटा भिन्‍नता हो। के ख्रीष्टविरोधीहरू पश्चात्ताप गर्न जान्दछन्? (अहँ, जान्दैनन्।) ख्रीष्टविरोधीहरूले सत्यतालाई अलिकति पनि स्वीकार गर्दैनन्; यदि तिनीहरूले ठक्‍कर नै खाए पनि, पश्चात्ताप गर्दैनन्। तिनीहरू आफैलाई कहिल्यै चिन्दैनन्। मानवताको हकमा भन्दा, ख्रीष्टविरोधीको मार्गमा हिँड्ने मानिसहरू र ख्रीष्टविरोधीहरूका बीचमा अर्को भिन्‍नता पनि छ, जुन औसत असल व्यक्ति र दुष्ट व्यक्तिमा हुने भिन्‍नता हो। असल मानिसहरूले विवेक र समझका साथ बोल्‍छन् र कामकुरा गर्छन्, जबकि दुष्ट मानिसहरूमा विवेक र समझ हुँदैन। जब दुष्ट मानिसहरूले कुनै नराम्रो काम गर्छन् र खुलासा हुन्छन्, तिनीहरू अटेर गर्छन्: “सबैलाई थाहा भए पनि, के तिनीहरूले यसबारे केही गर्न सक्छन् र? मलाई जे मन लाग्छ त्यही गर्नेछु! मलाई कसले खुलासा गर्छ वा आलोचना गर्छ भन्ने कुराको मतलब छैन। कसैले मलाई साँच्‍चै के नै गर्न सक्छ र?” दुष्ट व्यक्तिले जतिसुकै नराम्रा कामहरू गरे पनि तिनीहरूलाई लाज हुँदैन। जब एउटा साधारण व्यक्तिले कुनै नराम्रो काम गर्छ, उसले त्यसलाई लुकाउन र ढाक्न चाहन्छ। यदि कसैले तिनीहरूको खुलासा गर्‍यो भने, तिनीहरू लाजले गर्दा कसैको सामना गर्न सक्दैनन् र बाँच्न पनि चाहँदैनन्: “अहो, मैले कसरी यस्तो कुरा गर्न सकेँ? म साँच्‍चै निर्लज्ज व्यक्ति हुँ!” तिनीहरू अत्यन्तै पछुताउँछन् र आफूलाई सराप्ने कामसमेत गर्छन्, अनि फेरि यस्तो काम कहिल्यै नगर्ने कसम खान्छन्। यस्तो व्यवहार नै तिनीहरूसँग लाजको भावना छ, तिनीहरूमा अझै पनि केही मानवता छ भन्‍ने कुराको प्रमाण हो। निर्लज्ज व्यक्तिमा विवेक र समझ हुँदैन, र दुष्ट मानिसहरू सबै निर्लज्ज हुन्छन्। दुष्ट व्यक्तिले जुनसुकै प्रकारको नराम्रो काम गरे पनि, यसले तिनीहरूको अनुहार रातो पार्दैन वा तिनीहरूको मुटुको धड्कन बढाउँदैन, र तिनीहरू अझै पनि निर्लज्ज भएर आफ्नो कार्यको रक्षा गर्नेछन्, नकारात्मक पक्षहरूलाई सकारात्मकमा बदल्नेछन्, र खराब कार्यहरूबारे यसरी बोल्नेछन्, मानौँ ती असल कार्य हुन्। के यस्तो व्यक्तिमा लाजको भाव हुन्छ? (हुँदैन।) यदि तिनीहरूमा यस्तो मनोवृत्ति छ भने, के तिनीहरूले भविष्यमा साँच्‍चै पश्चात्ताप गर्नेछन्? होइन, तिनीहरूले पहिले जस्तै व्यवहार गरिरहनेछन्। यसको मतलब तिनीहरू निर्लज्ज हुन्छन्, र निर्लज्जताको अर्थ विवेक र समझ नहुनु हो। विवेक र समझ भएका मानिसहरू नराम्रो काम गरेकोमा खुलासा भएपछि लाजले कसैको पनि सामना गर्न सक्दैनन्, र तिनीहरूले यस्तो काम फेरि कहिल्यै गर्दैनन्। किन? किनभने तिनीहरूलाई यो लाजमर्दो कुरा थियो भन्‍ने लाग्छ र लाजले गर्दा कसैको अनुहार हेर्न सक्दैनन्; तिनीहरूको मानवतामा लाजको भाव हुन्छ। के यो सामान्य मानवताको न्यूनतम मानक होइन र? (हो।) लाजसमेत महसुस नगर्ने व्यक्तिलाई मानव भन्‍न सकिन्छ र? सकिँदैन। के लाज महसुस नगर्ने व्यक्तिको दिमाग सामान्य हुन्छ? (हुँदैन।) तिनीहरूको दिमाग सामान्य हुँदैन, तिनीहरूमा सकारात्मक कुराहरूप्रतिको प्रेम हुनु त परको कुरा हो। तिनीहरूका लागि विवेक र समझ हुनु एउटा उच्च मानक हो, जसदेखि तिनीहरू निकै टाढा हुन्छन्। अब, ख्रीष्टविरोधीहरू र ख्रीष्टविरोधीहरूको मार्गमा हिँड्नेहरूबीचको सबैभन्दा आधारभूत भिन्‍नता के हो त? जब ख्रीष्टविरोधीको सार भएको व्यक्तिलाई पदका लागि परमेश्‍वरसँग प्रतिस्पर्धा गरेकोमा अरू कसैले खुलासा गर्छ, तब तिनीहरूले आफूले गल्ती गरेको छु भन्‍ने सोच्दैनन्। पछि, तिनीहरूले आफ्‍ना पाठहरू नसिक्‍ने र परमेश्‍वरतिर नफर्कने मात्र होइन, बरु तिनीहरूले अगुवा वा कामदारका रूपमा निर्वाचित हुने मौका पाउनेबित्तिकै पहिलेजस्तै पश्‍चात्ताप गर्नुभन्दा मर्नु निको भन्‍ने सोच्दै हैसियतका लागि परमेश्‍वरसँग होड गर्ने कार्यलाई जारी राख्छन्। के यी मानिसहरूसँग कुनै चेतना हुन्छ? (हुँदैन।) र के चेतना नभएका मानिसहरूले कुनै लाज महसुस गर्छन्? (गर्दैनन्।) त्यस्ता मानिसहरूसँग कुनै चेतना र लाजको भाव हुँदैन। जब सामान्य मानवता, विवेक र समझ भएका मानिसहरू आफूले हैसियतका लागि परमेश्‍वरसँग होड गरिरहेको भन्‍ने कुरा अरूबाट सुन्छन्, तब तिनीहरूले सोच्नेछन्, “ओहो, यो त गम्भीर कुरा हो! म परमेश्‍वरको अनुयायी हुँ! मैले उहाँसँग कसरी हैसियतका लागि होड गर्न सकेँ? हैसियतका लागि परमेश्‍वरसँग होड गर्नु कति लाजमर्दो कुरा हो! यसो गरेर म कति चेतनाहीन, कति मूर्ख, कति विवेकहीन व्यक्ति बनेको रहेछु! मैले कसरी यस्तो काम गर्न सकेँ?” तिनीहरू आफूले गरेको कामका लागि लज्जित हुनेछन् र लजाउनेछन्, र यस्तै अवस्थाहरूको सामना गर्दा, तिनीहरूको लाजको बोधले तिनीहरूको व्यवहारलाई नियन्त्रण गर्नेछ। सबै मानिसहरूको प्रकृति सार शैतानको प्रकृति सार हो, तर सामान्य मानवताको समझ हुनेहरूमा लाजको भाव हुनेछ, र तिनीहरूको व्यवहार नियन्त्रित हुनेछ। सत्यताप्रतिको व्यक्तिको बुझाइ बिस्तारै गहिरो हुँदै गएपछि, र परमेश्‍वरबारे तिनीहरूको ज्ञान र समझ तथा सत्यताप्रतिको समर्पण गहन हुँदै गएपछि, यो लज्जाबोध उप्रान्त न्यूनतम सीमाको रूपमा रहन छोड्नेछ। तिनीहरूलाई सत्यता, र परमेश्‍वरप्रति डर मान्‍ने तिनीहरूको हृदयले झन्-झन् नियन्त्रण गर्दै जानेछ। तिनीहरूले आफूलाई सुधार्ने कार्य जारी राख्‍नेछन्, र झन्-झन् सत्यताअनुरूप व्यवहार गर्दै जानेछन्। तर, के ख्रीष्टविरोधीहरूले सत्यतालाई पछ्याउनेछन्? तिनीहरू बिलकुलै गर्नेछैनन्। तिनीहरूमा सामान्य मानवताको समझ हुँदैन, तिनीहरूलाई सत्यताको पछि लाग्‍नुको अर्थ के हो भन्‍ने थाहा हुँदैन, र तिनीहरूले सत्यताप्रति वितृष्णा गर्छन् साथै तिनीहरूमा यसप्रति अलिकति पनि प्रेम हुँदैन, त्यसोभए तिनीहरूले कसरी सत्यतालाई पछ्याउन सक्छन्? सत्यतालाई पछ्याउनु सामान्य मानवताको एउटा आवश्यकता हो; धार्मिकताका लागि भोकाउने र तिर्खाउनेहरूले मात्र सत्यतालाई प्रेम गर्नेछन् र यसलाई पछ्याउनेछन्। सामान्य मानवता नहुनेहरूले सत्यतालाई कहिल्यै पछ्याउनेछैनन्।

ख्रीष्टविरोधीको बाटोमा हिँड्ने मानिसहरू वास्तविक ख्रीष्टविरोधीहरूभन्दा फरक हुन्छन्। कतिपय मानिसहरूले आफूहरू ख्रीष्टविरोधीको स्वभावले भरिएका, अनि आफूहरूले ख्याति, प्राप्ति र हैसियतलाई पछ्याएका र गहन रूपमा यी कुराको कदर गरेका, साथै तिनलाई कहिल्यै त्याग्‍न नसकेका भन्‍ने देख्छन्। तिनीहरूले आफूहरूसँग ख्रीष्टविरोधीको प्रकृति रहेको र मुक्ति पाउन नसक्ने कुरा दृढतापूर्वक विश्‍वास गर्छन्। यदि तैँले आफूलाई साँचो रूपमा चिनेको छैनस् र तँलाई तँ ख्रीष्टविरोधी होस् कि दुष्ट व्यक्ति होस् भन्‍ने थाहा छैन भने, तैँले तँसँग कुनै लाजको बोध वा भावना छ कि छैन भनेर चिन्तन गर्नुपर्छ। छैन भने, तँ खतरामा छस्, र तँमा दुष्ट व्यक्ति वा ख्रीष्टविरोधीको प्रकृति सार छ भनेर भन्‍न सकिन्छ। यदि तँ अहिले ख्रीष्टविरोधी होइनस् भने पनि, तँ भविष्यमा हुन सक्छस्। सत्यता नपछ्याउनेहरूले सबैभन्दा कम इच्छा गर्ने कुरा भनेको आत्म-चिन्तन गर्ने र आफूलाई चिन्ने हो। तिनीहरू भन्छन्: “मलाई कसैले ख्रीष्टविरोधी भन्छ भन्ने कुराको कुनै मतलब छैन। ख्याति, प्राप्ति र हैसियत कसलाई मन पर्दैन र? जसले आफूलाई ख्याति, प्राप्ति र हैसियत मन पर्दैन भन्छ, त्यसले झूट बोलिरहेको हुन्छ। हैसियत पाएर यसको फाइदाहरूको आनन्द नलिई को बस्‍न सक्छ? मूर्खले मात्र त्यस्तो गर्ला। हैसियतका फाइदाहरूको आनन्द लिन सक्‍नु भनेको क्षमता हो!” कस्तो व्यक्तिले यस्ता कुराहरू भन्छ? के यो सत्यताप्रति वितृष्णा गर्ने व्यक्ति होइन र? यस्तो व्यक्ति असाध्यै जिद्दी हुन्छ—के तिनीहरूलाई मुक्ति दिन सकिन्छ? तिनीहरूलाई पटक्‍कै मुक्ति दिन सकिँदैन, किनभने परमेश्‍वरले दुष्ट मानिसहरूलाई मुक्ति दिनुहुन्‍न; यस्ता मानिसहरू शैतानका वर्गका हुन्, तिनीहरू पशु हुन्। कतिपय मानिसहरूलाई तिनीहरू परमेश्‍वरको मुक्तिको पात्र हुन्छु कि हुँदिन भन्‍ने थाहा हुँदैन। यस अवस्थामा, जब परमेश्‍वरका वचनहरूले तेरो प्रकृति सार र तेरो भ्रष्ट स्वभावको खुलासा गर्दछन्, तब तैँले यसलाई महसुस गर्न र मनमा लाज मान्‍न सक्छस् कि सक्दैनस्, र तँलाई परमेश्‍वरले खुलासा गर्नुभएको कुरा तेरो साँचो स्वरूप हो भन्‍ने लाग्छ कि लाग्दैन, र त्यसले तँलाई लज्जित र आफू लुक्‍ने कुनै ठाउँ छैन जस्तो महसुस गराउँछ कि गराउँदैन भन्ने कुरालाई नियालेर हेर्। यदि तँलाई यस्तो लाजको बोध भयो भने, यदि तँमा यस्तो जागरूकता आयो भने, यो राम्रो कुरा हो। यस्तो भन्‍ने मानिसहरू पनि छन्: “परमेश्‍वरका वचनहरूले मेरो राम्ररी खुलासा गरेका छन्। म लाजले कसैको अनुहार हेर्न सक्दिनँ र म लुक्‍ने ठाउँ कहीँ छैन। मेरो विचारमा त मलाई नरकमा पठाउनुपर्छ, म परमेश्‍वरको मुक्तिको योग्य छैनँ। मेरो नकारात्मकता यति धेरै छ कि म बाँच्न योग्य पनि छैन जस्तो लाग्छ। म मर्नुपर्छ र यो सब कुरालाई यहीँ टुङ्ग्याउनुपर्छ।” यस्तो महसुस गर्नु राम्रो कुरा हो कि नराम्रो कुरा हो? यो राम्रो कुरा हो। कतिपय मानिसहरूले यो कुरा बुझ्दैनन्, र भन्छन्: “यो कसरी राम्रो कुरा हुन सक्छ?” (यसले त्यो व्यक्तिमा लाजको बोध छ भन्‍ने देखाउँछ।) यस कुरालाई लाजले निर्धारित गर्दैन। सर्वप्रथम, यस्तो भावना हुनुको अर्थ तैँले कम्‍तीमा पनि परमेश्‍वरका वचनहरू बुझेको छस् भन्‍ने हुन्छ। दोस्रो, तेरो आत्मज्ञानको आधार के हो? (परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्नु।) ठीक भनिस्। तँ परमेश्‍वरका वचनहरू सत्यता हुन् भन्‍ने स्वीकार गर्छस्, जसको अर्थ के हो भने, तैँले मुक्ति पाउन सक्छस् कि सक्दैनस् र तँ कस्तो व्यक्ति होस् भनेर मूल्याङ्कन गर्ने मानकका रूपमा परमेश्‍वरका वचनहरू प्रयोग गरिरहेको छस्—तैँले उहाँका वचनहरूलाई आत्म-मूल्याङ्कनको मानक बनाइसकेको छस्। यसले तँमा ती वचनहरूप्रति साँचो विश्‍वास छ भन्‍ने प्रमाणित गर्दछ। जब तँसँग परमेश्‍वरप्रति साँचो विश्‍वास हुन्छ, तब मात्र तैँले उहाँका वचनहरूलाई सत्यता अनि आत्म-मूल्याङ्कनको मानक मान्‍न सक्छस्। जसले यसो गर्छ, उसले मुक्त हुने मौका पाउँछ—यो कुरा कुनै व्यक्तिमा लाजको बोध छ कि छैन भन्‍ने जस्तो सरल छैन।

जहाँसम्‍म ख्रीष्टविरोधीहरूले मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्ने प्रकटीकरणको कुरा छ, हामीले “मतविरोधी” भन्‍ने शब्दको परिभाषाबारे छलफल गरिसकेका छौँ। त्यसोभए कुन-कुन मानिसहरू यस शब्‍दको दायराभित्र पर्छन्? यसमा मुख्यतया ख्रीष्टविरोधीहरूको भन्दा फरक दृष्टिकोण राख्‍ने र तिनीहरूले भन्दा फरक बाटो हिँड्ने मानिसहरू पर्छन्। ख्रीष्टविरोधीहरूको नजरमा, यी सबै मानिसहरू मतविरोधी बन्छन्, र ख्रीष्टविरोधीहरूको आक्रमणको निशाना तिनीहरू नै हुन्छन्। ख्रीष्टविरोधीहरूले मतविरोधीहरूलाई आक्रमण र बहिष्कार गर्नु पूर्ण रूपमा न्यायसङ्गत कार्य हो, यो परमेश्‍वरको घरको कामको रक्षा गर्नु र मण्डलीको जीवनको रक्षा गर्नु हो भन्ने विश्वास गर्छन्, तर वास्तवमा यो तिनीहरूको आफ्नै हैसियत र शक्तिको रक्षा गर्ने माध्यम र विधि हो। यसले परमेश्‍वरको घरको कामको हिफाजत गर्दै गर्दैन, यसले परमेश्‍वरका चुनिएकाहरूका लागि मण्डली जीवनको सामान्य व्यवस्था कायम राख्‍नु त परको कुरा हो। यहाँ उल्लेख गरिएका केही मतविरोधीहरू सत्यताको पछि लाग्‍ने मानिसहरू हुन्। हामी यसबारे निश्‍चित हुन सक्छौँ, किनभने ख्रीष्टविरोधीहरू सत्यताको पछि लाग्ने मानिसहरूको विरुद्धमा जान्छन्, र सत्यताको पछि लाग्‍नेहरूले मात्र ख्रीष्टविरोधीहरूलाई खुट्ट्याउन सक्छन्।

जनवरी २२, २०१९

अघिल्लो: विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्

अर्को: विषयवस्तु तीन: तिनीहरूले सत्यता पछ्याउनेहरूलाई बहिष्कार र आक्रमण गर्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्