विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्
पूरक: मुसाको सिकार
भर्खरै, मैले एउटा नयाँ मामालाका बारेमा सुनेँ। यो मानिसहरूको व्यवहार र स्वभावसँग कसरी सम्बन्धित छ, यो कथा केका बारेमा हो, र यसले कस्तो प्रकारको समस्यालाई चित्रण गर्दछ भन्ने कुरा सुन्नुहोस् र सोच्नुहोस्। जब केही चिनियाँ मानिसहरू अमेरिका आए, तिनीहरूले यहाँको सामाजिक वातावरण र परिवेश चीनको भन्दा धेरै फरक भएको देखे, योबाहेक तिनीहरूलाई एउटा अर्को कुरा पनि निकै चाखलाग्दो लाग्यो। त्यो के थियो भने, यो देशमा मानिसहरू स्वतन्त्र मात्र थिएनन्, तर सबै प्रकारका जीवित प्राणी र जनावरहरू पनि धेरै स्वतन्त्र थिए, अनि कसैले पनि तिनीहरूलाई हानि गरिरहेको थिएन। मानव स्वतन्त्रता निस्सन्देह सामाजिक प्रणालीहरूको उपज हो, त्यसैले सबै प्रकारका जीवित प्राणी र जनावरहरूका लागि के कुराले स्वतन्त्रता ल्याउँछ? के यो सामाजिक प्रणालीहरूसँग सम्बन्धित छ? (छ।) यो सामाजिक प्रणाली र सरकारी नीतिहरूले कसरी सम्पूर्ण प्राकृतिक वातावरणको सुरक्षा र व्यवस्थापन गर्छ भन्ने कुरासँग सम्बन्धित छ। यहाँ, जङ्गली जनावरहरू जताततै हुन्छन् र तिनलाई सबैतिर देख्न सकिन्छ। उदाहरणका लागि, राजमार्गको छेउको घाँसे मैदानमा घाँस खाँदै गरेका जङ्गली हाँस देख्न सकिन्छ, र केही पार्क, घाँसे मैदान र जङ्गलहरूमा कसैले केही हरिण, भालु, वा ब्वाँसाका साथै टर्की, मुनाल, र विभिन्न प्रकारका चरा र अन्य जङ्गली जनावरहरू देख्न सकिन्छ। जब मानिसहरूले यस्तो दृश्य देख्छन्, तिनीहरूमा पर्ने पहिलो प्रभाव के हुन्छ? (तिनीहरूलाई लाग्छ कि तिनीहरूले प्रकृति देखेका छन्।) अनि प्रकृति देख्दा तिनीहरूलाई कस्तो अनुभूति हुन्छ? के तिनीहरूले यसो भन्नेछैनन्: “हेर त तिनीहरूको यो देश। मान्छे मात्र होइन, यहाँका जनावरहरू पनि स्वतन्त्र छन्। यस ठाउँमा जनावरका रूपमा पुनर्जन्म लिनु चीनमा मानिस भएर बाँच्नुभन्दा राम्रो हुन्छ, किनभने यहाँ जनावरहरू पनि स्वतन्त्र छन्, र कसैले पनि तिनीहरूलाई दुर्व्यवहार गर्दैन?” के तिनीहरूमा त्यस्ता भावनाहरू हुँदैनन्? (हुन्छन्।) यहाँ लामो समयदेखि बसेकाहरूका लागि यी कुराहरू सामान्य हुन्छन्, र बिल्कुलै असामान्य हुँदैनन्; तिनीहरूलाई यी कुराहरू धेरै सामान्य छन् भन्ने लाग्छ। तर यस प्रकारको वातावरणसँग परिचित भएपछि कतिपय मानिसहरूमा केही सक्रिय विचारहरू देखा पर्न थाल्छन्: “यी सबै जनावरहरू धेरै स्वतन्त्र छन्, र कसैले पनि तिनीहरूको सुपरिवेक्षण वा निगरानी गर्दैनन्, त्यसोभए के म तिनलाई समात्न र खान सक्छु? यदि मैले तिनलाई खान सके धेरै राम्रो हुन्थ्यो, तर यदि तिनीहरू कानुनद्वारा संरक्षित छन् भने त म अन्धाधुन्ध यसो गर्न सक्दिनँ। मैले यसबारे बुझ्नुपर्छ।” जानकारीको जाँच गरेपछि, तिनीहरूले जङ्गली जनावरहरू राष्ट्रिय कानुनद्वारा समान रूपमा संरक्षित छन् भन्ने कुरा कानुनले स्षप्ट पारेको, र मानिसहरूले आफ्नो इच्छाअनुसार तिनलाई सिकार गर्न र मार्न सक्दैनन् भन्ने कुरा देख्छन्। यदि मानिसहरू जनावरहरूको सिकार गर्न चाहन्छन् भने, तिनीहरूले राज्यद्वारा निर्धारित सिकार क्षेत्रभित्र त्यसो गर्नुपर्छ; तिनीहरूलाई इजाजतपत्र पनि चाहिन्छ, र तिनीहरूले समात्ने जनावरहरूका लागि शुल्क तिर्नुपर्ने हुन सक्छ। संक्षेपमा, कानुनले यी वन्यजन्तुहरूको संरक्षण गर्दछ र तिनका बारेमा स्पष्ट नियमहरू तय गरेको छ। केही मानिसहरूले वन्यजन्तुहरूको संरक्षणको कानुन बुझ्न सक्दैनन्, र तिनीहरू सोच्छन्: “यहाँ धेरै स्वादिष्ट जङ्गली व्यञ्जनहरू छन्, तैपनि सरकारले हामीलाई हाम्रो इच्छाअनुसार तिनलाई समात्ने र खाने अनुमति दिँदैन। यो दुःखद कुरा हो! चीनमा कसैले पनि यसको वास्ता गर्दैन: ‘यदि कसैले रिपोर्ट गरेन भने, अधिकारीहरूले यसको अनुसन्धान गर्नेछैनन्।’ यो कुरा कसैले पनि थाहा नपाएसम्म, तपाईँले जनावरलाई समात्न र खान सक्नुहुन्छ। तर तपाईँले लोकतान्त्रिक देशमा यसो गर्न सक्नुहुन्न। यहाँ कानुनी प्रावधानहरू छन्, र मैले अरूको भूमिमा आफूलाई जे मन लाग्यो त्यही गर्न मिल्दैन। तर यी सबै जनावरहरू जङ्गली सिकार हुन्; दुःखको कुरा, हामी तिनलाई हेर्न मात्र सक्छौँ तर खान भने सक्दैनौँ! मैले कुनै समाधानका बारेमा सोच्नुपर्छ। कसैलाई थाहा नदिई र कानुन उल्लङ्घन नगरी मैले यो सिकार कसरी खान सक्छु?” केही मानिसहरूले एउटा युक्ति सोच्छन्, र भन्छन्: “यदि मैले जनावरहरूलाई आकर्षित गर्न खोर बनाएर त्यसमा केही स्वादिष्ट खानेकुरा राखेँ, जङ्गली खरायोजस्ता केही स-सानाहरूलाई पक्रेँ, र तिनलाई मारेर खानका लागि एकान्त ठाउँ भेट्टाएँ भने, मैले कानून उल्लङ्घन गरेको हुनेछैन, होइन र? ती साना जनावरहरू राज्यद्वारा संरक्षित छैनन्, र कानुनमा तिनीहरूका बारेमा कुनै निश्चित नियमहरू छैनन्। यदि मैले यो गरेँ भने, म जङ्गली सिकार खान सक्छु र मैले कानून उल्लङ्घन गरिरहेको छैनँ भन्ने कुरा पनि सुनिश्चित गर्न सक्छु। यो त दुवै हातमा लड्डु हुनुसरह हो।” तिनीहरूमा यो विचार आएपछि, तिनीहरूले एउटा खोर बनाई सिकार गर्न सुरु गर्छन्। दुई दिन नबित्दै, खोरमा एउटा मुसा आउँछ, र तिनीहरूले हतार-हतार त्यसलाई मार्छन् र खान्छन्, अनि यो साँच्चै जङ्गली सिकार हो भन्ने महसुस गर्छन्! यसलाई खाएर तिनीहरू के निष्कर्षमा पुग्छन्? “जङ्गली जनावरहरू धेरै स्वादिष्ट हुन्छन्। अबदेखि म अन्य प्रकारका सिकारहरू खाने अझ धेरै तरिकाहरूका बारेमा सोच्नेछु। जबसम्म मैले कानुन तोड्दिनँ, तबसम्म म तिनलाई खान डराउँदिनँ।” कथा यहाँ समाप्त हुन्छ।
कतिपय मानिसहरू सोध्छन्, “यो कथा साँचो हो कि यो मनगढन्ते हो?” अहिलेका लागि, यो साँचो हो कि मनगढन्ते हो, र यो वास्तवमै भएको थियो कि थिएन भनेर चिन्ता नगर। यस कथाका आधारमा, यस्तो काम गर्ने मानिसहरूमा के समस्या छ भनेर सोच। के यस प्रकारको कुरा गर्नु गम्भीर गल्ती हो? के यसलाई कानुनको उल्लङ्घन मानिन्छ? के यसलाई अनैतिक मानिन्छ? (मानिन्छ।) के यो नैतिकता, वा मानवता, वा अरू केही कुरा विरुद्ध जान्छ? पहिले, मलाई भन: यस प्रकारको व्यवहार प्रशंसाको योग्य छ कि निन्दाको? तिमीहरू कुन पक्ष लिन्छौ? (निन्दा।) चाहे यो नैतिकताको विरुद्ध होस्, कानूनको विरुद्ध होस्, वा मानवताको विरुद्ध होस्, जे भए पनि, यस प्रकारको व्यवहार खराब हो, र यो मानवता भएका मानिसहरूको व्यवहार होइन। त्यसो भए यो के हो? के यस प्रकारको स्वभाव वा व्यवहार गम्भीर समस्या हो? तिमीहरू आफ्नो मानकअनुसार यस मामिलाको मूल्याङ्कन कसरी गर्छौ? दैनिक जीवनमा र मानिसहरूका सबै समूहका बिचमा, के यस्तो व्यवहार सामान्य हो? (हो।) यो अत्यन्तै धूर्त वा दुष्ट कार्य होइन, तर यो अनुचित छ, र यो सामान्य मानवता भएका मानिसहरूसँग हुनुपर्ने प्रकटीकरण होइन। ठ्याक्कै भन्नुपर्दा, यो कस्तो प्रकारको प्रकटीकरण हो? अगाडि बढ र यसलाई वर्गीकृत गर। यो कस्तो प्रकारको व्यवहार हो? के यसलाई प्रोस्ताहन गरिनुपर्छ? (पर्दैन।) यो प्रोत्साहन योग्य छैन र मानिसहरूले यसको प्रशंसा गर्दैनन्, त्यसैले यसलाई निन्दा र तिरस्कार गरिनुपर्छ। यस प्रकारको व्यवहार सामान्य हो, यो प्रायः मानिसहरूका सबै समूहमाझ र दैनिक जीवनमा देखा पर्दछ, यो बारम्बार देखिने गर्छ, र यस प्रकारका कुराहरू बारम्बार गर्ने धेरै मानिसहरू छन्। त्यसोभए, के यस विषय अलग्गै छलफल गरिनु लायक छैन, जसबाट प्रत्येक व्यक्तिले यस मामलाको सही परिभाषा थाहा पाउन सकोस्, र सम्भव भएसम्म यस प्रकारको व्यवहारबाट आफूलाई टाढा राख्न सकोस्? के त्यो राम्रो हुनेथिएन र? (हुनेथियो।) त्यसोभए यसलाई परिभाषित गरौँ—यो कस्तो प्रकारको व्यवहार हो? के यो अहङ्कारी व्यवहार हो? के यो छली व्यवहार हो? के यो छली व्यवहार हो? (होइन।) के यो दुष्ट व्यवहार हो? (थोरै हो।) यो त्यससँग केही हदसम्म नजिक छ। तिमीहरूले सिकेका र बुझेका शब्दहरूमध्ये, के यस्ता कुनै शब्द छन्, जसले यस प्रकारको व्यवहारलाई परिभाषित गर्न सक्छ? (नीच।) नीच, यसमा यो गुण अलिकति त छ। यस शब्दमा यस प्रकारको व्यवहार र सार समाहित छ, तर यसलाई सम्पूर्ण अनि पूर्ण रूपमा सारांशित गर्दैन। यो व्यवहारलाई दुर्भावनापूर्ण मान्न सकिँदैन, किनकि यदि मुसा मार्नु दुर्भावनापूर्ण हुन्थ्यो भने, मुसा उन्मूलन गर्ने कार्य नकारात्मक हुनेथियो। मुसा उन्मूलन गर्नु सकारात्मक कुरा हो; मुसाले मानिसहरूलाई हानि पुर्याउँछ, त्यसैले तिनलाई नष्ट गर्नु सही हो। तर तिनलाई नष्ट गर्नु र तिनलाई खानुको बिचमा कुनै भिन्नता छैन र? (छ।) त्यसोभए यस व्यवहारलाई कसरी सङ्क्षेपित गर्न सकिन्छ? यस प्रकारको व्यवहारसँग सम्बन्धित कुन शब्दहरू तिमीहरू सोच्न सक्छौ? (पतित।) (नीच चरित्र।) नीच चरित्र, तल्लो र पतित। दैनिक जीवनमा नीच, अनुचित व्यवहारलाई सङ्क्षेपित गर्न कुन शब्द प्रयोग गरिन्छ? (घिनलाग्दो।) “घिनलाग्दो” शब्दले ठ्याक्कै र स्पष्ट रूपमा यस प्रकारको व्यवहारलाई सङ्क्षेपमा वर्णन गर्छ। यसलाई किन “घिनलाग्दो” भनेर परिभाषित गरिएको छ? यदि यसलाई तल्लो, स्वार्थी वा पतित भनिन्छ भने, त्यो धिनलाग्दो मानिसहरूद्वारा अभिव्यक्त गरिनेएक प्रकारको प्रकटीकरण मात्र हो। “घिनलाग्दो” मा धेरै अर्थहरू समावेश हुन्छन्—तल्लो हुनु, भाँड हुनु, पतित हुनु, स्वार्थी हुनु, अनैतिक हुनु, अनुशासित नहुनु, आफ्ना कार्यहरूमाखुला वा इमानदार नहुनु, र यसको सट्टा चलाखीपूर्ण तरिकाले कार्य गर्नु, र अनुचित कार्यहरू मात्र गर्नु। घिनलाग्दा मानिसहरूका विभिन्न व्यवहार र प्रकटीकरणहरू यिनै हुन्। उदाहरणका लागि, यदि एक सामान्य व्यक्तिले केही गर्न चाहन्छ भने, जबसम्म त्यो उचित छ, तिनीहरू यसलाई खुला तरिकाले गर्छन्, र यदि यसले कानुन उल्लङ्घन गर्छ भने, तिनीहरूले छोड्छन् र त्यसो गर्दैनन्। घिनलाग्दा मानिसहरू उस्तै हुँदैनन्; तिनीहरूले आफ्नो लक्ष्य हासिल गर्न जुन-सुकै उपाय अपनाउँछन् र कानुनका सीमितताहरूको प्रतिवाद गर्नका निम्ति रणनीतिहरू बनाउँछन्। तिनीहरूले कानुनलाई छलेर आफ्नो लक्ष्य पूरा गर्ने तरिकाहरूको खोजी गर्छन्, चाहे यसो गर्नु नैतिकता, सदाचार वा मानवताको अनुरूप किन नहोस्, अनि परिणाम जेसुकै होस्। तिनीहरू यी कुनै पनि कुराको वास्ता गर्दैनन्, र हरसम्भव तरिकाले आफ्नो लक्ष्यहरू प्राप्त गर्न मात्र खोज्छन्। यो नै “घिनलाग्दो” हुनु हो। के घिनलाग्दा मानिसहरूमा कुनै निष्ठा वा मर्यादा हुन्छ? (हुँदैन।) तिनीहरू कुलीन हुन् कि नीच मानिसहरू हुन्? (नीच।) तिनीहरू कसरी नीच हुन्? (तिनीहरूको आचरणको कुनै पनि नैतिक आधार हुँदैन।) त्यो सही हो, यस प्रकारको व्यक्तिको आचरणमा कुनै आधार वा सिद्धान्तहरू हुँदैनन्; तिनीहरूले परिणामहरूबारे विचार गर्दैनन्, र आफूले चाहेको कुरा मात्र गर्छन्। तिनीहरूलाई कानुन, नैतिकता, तिनीहरूको विवेकले तिनीहरूका कार्यहरू स्वीकार गर्न सक्छ कि सक्दैन, वा तिनीहरूलाई कसैले भर्त्सना, मूल्याङ्कन वा निन्दा गर्छ भन्ने कुराको वास्ता हुँदैन। तिनीहरू यी सबैप्रति उदासीन हुन्छन्, र जबसम्म तिनीहरूले लाभ उठाइरहेका र आनन्द लिइरहेका हुन्छन्, तबसम्म तिनीहरूलाई कुनै मतलब हुँदैन। तिनीहरूको काम गर्ने तरिका पतित छ, तिनीहरूको विचार घृणित छ, र यी दुवै लज्जास्पद कुरा हुन्। घिनलाग्दो हुनुको अर्थ यही हो। के हामीले अगाडि कुरा गरेका कैयौँ स्वभावहरूको प्रकटीकरणद्वारा “घिनलाग्दो” शब्दलाई प्रतिस्थापन गर्न सकिन्छ? त्यसले वास्तवमै काम गर्नेछैन। “घिनलाग्दो” शब्द एकदम विशेष छ, त्यसोभए के घिनलाग्दा मानिसहरू विशेष प्रकारका मानिसहरू हुन्? तिनीहरू होइनन्। के तिमीहरूमा कुनै घिनलाग्दो कुरा छ? (छ।) यसका विशिष्ट प्रकटीकरणहरू के हुन्? (कहिलेकाहीँ मानिसहरूले आफ्नो अनुहार धोएपछि, बेसिनभरि पानी छोडिदिन्छन् र त्यसलाई पुछ्दैनन्। अनि जब मानिसहरूले खाना खाइसक्छन्, तिनीहरूले टेबलबाट भातका सिता र तरकारीको झोललाई सफा गर्दैनन्। जब तिनीहरूका लुगा फोहोर हुन्छन्, तिनीहरूले तिनलाई नपट्याई छेउतिर फ्याँक्छन्। मलाई लाग्छ कि यी पनि धिनलाग्दो हुनुका प्रकटीकरणहरू हुन्।) वास्तवमा, यी सबै कुराहरू दैनिक जीवनका सा-साना विवरणहरू हुन्, र फोहोरी हुनु भनेको वास्तवमा घिनलाग्दो हुनु होइन, यो मानवतामा जिउनुसँग सम्बन्धित छ। यदि कसैले समूहमा रहँदा अरूका लागि फाइदाजनक कुराहरू गर्दैन, र यदि कसैलाई उचित वा शिष्ट तरिकाले हुर्काइएको छैन, र मानिसहरूलाई रिस उठाउँछ अनि आफूलाई अरूले घृणा गर्ने तुल्याउँछ, र जुनसुकै ठाउँमा जाँदा त्यहाँका नियम वा प्रणालीहरूको पालना गर्न जान्दैन, र उसमा यो चेतनाको अभाव छ भने, के उसको मानवतामा कुनै कमी छैन? (छ।) केको कमी छ? यसमा समझको कमी छ। के यस्ता मानिसहरूमा मर्यादाको कमी छैन? (छ।) तिनीहरूमा कुनै मर्यादा छैन, कुनै निष्ठा छैन, र तिनीहरूलाई खराब तरिकाले लालनपालन गरियो। यो मानव आचरणको आधार रेखा, र सामान्य मानवता जिउनुसँग सम्बन्धित छ। यदि कसैले यी मापदण्डहरू समेत पूरा गर्न सक्दैन भने, उसले कसरी सत्यता अभ्यास गर्न सक्ला? उसले कसरी परमेश्वरको महिमा गर्न सक्ला? उसले कसरी सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न सक्ला? ऊ यी कुनै पनि कार्य गर्नबाट धेरै टाढा छ। यस प्रकारको व्यक्तिसँग विवेक वा समझ हुँदैन—के उसलाई व्यवस्थापन गर्न सजिलो हुन्छ? के उसका लागि परिवर्तन हुन सजिलो हुन्छ? पक्कै पनि सजिलो हुँदैन। त्यसोभए ऊ कसरी परिवर्तन हुन सक्छ? यो सबैले उसमाथि निगरानी राख्ने, उसलाई नियन्त्रण र प्रोत्साहन गर्ने कुरामा निर्भर हुनेछ। गम्भीर अवस्थामा, सबैजना उसको आलोचना गर्न खडा हुनुपर्छ। यो आलोचनाको लक्ष्य के हो? यो उसलाई सहयोग गर्न, उलाई राम्रो व्यवहार गर्नलाई मद्दत गर्न, र उसलाई अपमानजनक र नराम्रा कार्यहरू गर्नबाट रोक्नका लागि हो। त्यसोभए, घिनलाग्दो हुनुले वास्तवमा केलाई जनाउँछ? यसका प्राथमिक लक्षण र प्रकटीकरणहरू के हुन्? मेरो सारांश सही छ कि छैन, हेर। घिनलाग्दा मानिसहरू के बराबर छन्? तिनीहरू अनियन्त्रित, खराब तरिकाले हुर्काइएका, जङ्गली जनावरहरू जस्तै छन्, र यसका प्राथमिक प्रकटीकरणहरू अहङ्कार, पाशविकता, संयमको कमी, जथाभाबी कार्य गर्नु, सत्यतालाई थोरै मात्र पनि स्वीकार नगर्नु, साथै आफूलाई जे मन लाग्यो त्यही गर्नु, कसैलाई पनि नसुन्नु, वा जोकोहीलाई आफ्नो व्यवस्थापन गर्न अनुमति दिनु, जोसुकैको विरुद्धमा पनि जाने साहस गर्नु, र अरू कसैको ख्याल नगर्नु हो। मलाई भन, के घिनलाग्दो हुनुका विभिन्न प्रकटीकरणहरू गम्भीर छन्? (छन्।) कम्तीमा पनि, अहङ्कार, समझविहीनता र जथाभाबी कार्य गर्ने स्वभाव निकै गम्भीर छ। यदि यस्तो व्यक्तिले परमेश्वरको मूल्याङ्कन वा विरोध प्रतिरोध गर्ने कुराहरू नगरेको देखिए तापनि, आफ्नो अहङ्कारी स्वभावको कारणले उसले दुष्टता गर्ने र उहाँको प्रतिरोध गर्ने ठूलो सम्भावना हुन्छ। उसका सबै कार्यहरू उसको भ्रष्ट स्वभावका प्रकटीकरण हुन्। जब एक व्यक्ति एक निश्चित बिन्दुसम्म घिनलाग्दो बन्छ, ऊ एक डाँकु र दियाबलस बन्छ, र डाँकु र दियाबलसहरूले सत्यतालाई कहिल्यै स्वीकार गर्दैनन्—तिनीहरूलाई केवल नष्ट गर्न मात्र सकिन्छ।
के यस कथाका बारेमा कुरा गर्नुको कुनै मूल्य छ? (छ।) यस कथाले मानिसको प्रकृति सार वा स्वभावलाई नछोए पनि, यो मानिसको व्यवहारसँग सम्बन्धित छ, जुन मानिसको सारभन्दा फरक वा त्यससँग असम्बन्धित छैन। यस कथालाई के नाम दिनुपर्छ? यसलाई रूपक गुण भएको नाम दिऔँ, र यसलाई धेरै सिधा नबनाऔँ। (मुसाको सिकार।) “मुसाको सिकार” एकदम राम्रो छ। कसैले “पूर्ण रूपमा वैध” तरिकाले मुसा पक्रियो र भन्यो: “म के गर्न सक्छु? यो दौडेर यहाँ भित्र पस्यो र म यसका निम्ति दुःखी छु। यसअलावा, यसलाई चोट लागेको छ। यदि यो फेरि बाहिर गयो भने, यो मर्नेछ, र त्यसपछि अन्य जनावरहरूले यसलाई यसै पनि खाने नै छन्, त्यसोभए मैले यसलाई किन नखाने? के त्यो पूर्ण रूपमा वैध हुँदैन?” त्यो मुसालाई खानका लागि तिनीहरूले ती सबै बहाना र कारणहरू बनाए, र त्यसपछि यसलाई शुद्ध विवेकका साथ खाए। यो नै “घिनलाग्दो” हुनु हो। यस्तो होइन कि अमेरिकामा मानिसहरूले मासु खान मिल्दैन, त्यसैले त्यस्तो काम गर्नका लागि यति धेरै झन्झट बेहोर्नु र यो सबै प्रयास लगाउनु उपयुक्त छैन। यो घिनलाग्दो मानिसहरूले गर्ने कुरा हो। के सामान्य मानिसहरूले यस प्रकारको काम गर्छन्? के मानवता र निष्ठा भएका मानिसहरूले यस प्रकारको काम गर्छन्? (गर्दैनन्।) तिनीहरूले किन त्यसो गर्दैनन्? यो निष्ठासँग सम्बन्धित छ। स्वभावले सुधार्न नसकिने चोरहरूले सधैँ साना-ठूला चोरी-चकारी र लाजमर्दा कामहरू गर्ने गर्छन्। के तिनीहरूको घरमा कुनै कुराको कमी छ? छ नै भन्ने हुँदैन। तिनीहरू घिनलाग्दा भएकाले, तिनीहरूले आफ्ना रुचिहरू र आफ्नो अतृप्त लोभी स्वभावलाई सन्तुष्ट पार्न चोरीमा निर्भर रहँदै चोरी गर्नैपर्छ। यी कुराहरूले तिनीहरूको हृदयलाई सान्त्वना दिन्छ। यदि तिनीहरूले यस प्रकारको काम गरेनन् भने, तिनीहरूले उदास महसुस गर्नेछन्। यो नै “घिनलाग्दो” हुनु हो। अब, म कथालाई अन्त्य गर्छु र मुख्य विषयतिर जान्छु।
मैले मुख्य विषयका बारेमा कुरा गर्नुअघि, पहिले हाम्रो अघिल्लो सङ्गतिको विषयवस्तुबारे मनन गरौँ। परमेश्वरका चुनिएका मानिसहरूले निर्वाह गर्ने कर्तव्यहरूलाई छ मुख्य श्रेणीहरूमा विभाजन गर्न सकिन्छ। हामीले पहिलो श्रेणीका बारेमा छलफल सक्काइसकेका छौँ, जुन सुसमाचार फैलाउने कर्तव्य निर्वाह गर्ने मानिसहरू हुन्। दोस्रो श्रेणीमा ती पर्छन्, जसले विभिन्न तहमा रहेर मण्डलीमा अगुवा र सेवकहरूको कर्तव्य निर्वाह गर्छन्। यस श्रेणीका सदस्यहरूलाई मूलतः दुई मुख्य प्रकारहरूमा विभाजन गर्न सकिन्छ, र अघिल्लो पटक हामीले यी प्रकारहरूमध्ये एउटा, अर्थात् ख्रीष्टविरोधीहरूका बारेमा कुरा गरेका थियौँ। ख्रीष्टविरोधीहरूले कसरी काम गर्छन्, तिनीहरूमा कुन प्रकटीकरणहरू छन् र तिनीहरूले गर्ने कुन कामकुराले तिनीहरूलाई ख्रीष्टविरोधीका रूपमा परिभाषित गर्न सक्छ—हामीले ख्रीष्टविरोधीका यी प्रकटीकरण र स्वभावहरूलाई वर्गीकृत गर्यौँ। त्यहाँ कुन विशिष्ट कुराहरू थिए? (विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्; विषयवस्तु दुई: तिनीहरूले मतविरोधीहरूलाई आक्रमण र निष्कासन गर्छन्; विषयवस्तु तीन: तिनीहरू सत्यताको पछि लाग्नेहरूलाई बहिष्कार र आक्रमण गर्छन्; विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्; विषयवस्तु पाँच: तिनीहरूले मानिसहरूलाई भ्रममा पार्छन्, लोभ्याउँछन्, धम्काउँछन् र नियन्त्रणमा राख्छन्।) अघिल्लो पटक, पाँच विषयवस्तुहरूलाई सारांशित गरिएको थियो, र तिमीहरूले ती सबैलाई टिपोट गर्यौ। अब अन्यलाई टिपोट गर। विषयवस्तु छ: तिनीहरू कुटिल शैलीमा काम गर्छन्, तिनीहरू स्वेच्छाचारी र तानाशाही हुन्छन्, तिनीहरू अरूसँग कहिल्यै सङ्गति गर्दैनन्, र अरूलाई जबरजस्ती आज्ञापालन गर्न लगाउँछन्; विषयवस्तु सात: तिनीहरू दुष्ट, कपटी, र छली हुन्छन्; विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगानेथिए; विषयवस्तु नौ: तिनीहरूले आफैलाई पृथक् तुल्याउन अनि तिनीहरूका आफ्नै चासो र महत्वाकांक्षाहरूलाई पूरा गर्नको लागि आफ्ना कर्तव्य पूरा गर्छन्; तिनीहरूले परमेश्वरको घरको चासोहरूलाई कहिल्यै विचार गर्दैनन्, अनि ती चासोहरूलाई समेत बेच्छन् र ती व्यक्तिगत महिमासँग साट्छन्; विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन्; विषयवस्तु एघार: तिनीहरू कुनै गलत काम गर्दा, काटछाँट स्विकार्दैनन्, न त तिनीहरूमा पश्चात्तापको मनोवृत्ति नै हुन्छ, बरु तिनीहरूले धारणाहरू फैलाउँछन् र सार्वजनिक रूपमा परमेश्वरको आलोचना गर्छन्; विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत र आशिष् प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्; विषयवस्तु तेह्र: तिनीहरूले मानिसहरूको हृदयको साथै मण्डलीको आर्थिक पक्ष नियन्त्रण गर्छन्; विषयवस्तु चौध: तिनीहरू परमेश्वरको घरलाई आफ्नै व्यक्तिगत अधिकारक्षेत्रको रूपमा लिन्छन्; विषयवस्तु पन्ध्र: तिनीहरूले परमेश्वरको अस्तित्वमा विश्वास गर्दैनन्, र तिनीहरूले ख्रीष्टको सारलाई इन्कार गर्छन्। यसमा जम्मा १५ विषयवस्तु छन्, र ती सबैले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणको चिरफार र खुलासा गर्छन्। यी १५ विषयवस्तुले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकारका व्यवहार, प्रकटीकरण र स्वभावलाई मूलतः सङ्क्षेपमा प्रस्तुत गर्छन्। बाहिरी रूपमा, तीमध्ये केही व्यवहारजस्ता देखिन्छन्, तर यी व्यवहारका पछाडि ख्रीष्टविरोधीहरूको अन्तर्निहित स्वभाव सार लुकेको हुन्छ। शाब्दिक अर्थको हिसाबले, के यी १५ विषयवस्तु बुझ्न सजिला छैनन् र? ती सबै सरल भाषामा व्यक्त गरिएका छन्, र एक हिसाबमा, ती बुझ्न सजिला छन्, साथै, ती हरेकले सङ्क्षेपमा बताएका कुरा मानिसका प्रकटीकरण, प्रकाश, र सारसँग सम्बन्धित छन्। प्रत्येक विषयवस्तु स्वभावको एक प्रकार हो; यो क्षणिक व्यवहार वा विचार होइन। स्वभाव के हो? कसैले स्वभाव के हो भनेर कसरी व्याख्या गर्न सक्छ? कुनै व्यक्ति जहाँ गए पनि, उसका सोच, विचार, कामकुराहरू गर्ने सिद्धान्त, सञ्चालनका विधिहरू, र उसले पछ्याइरहेको लक्ष्य समय र भौगोलिक अवस्थितिमा आएका परिवर्तनसँगै परिवर्तन नहुनु नै स्वभाव हो। यदि कुनै व्यक्तिको काम गर्ने तरिका उसको वातावरण परिवर्तन हुनेबित्तिकै हराउँछ भने, यो भ्रष्ट स्वभावको प्रकाश होइन, बरु एउटा क्षणिक व्यवहार हो। वास्तविक स्वभावले केलाई जनाउँछ? (यसले कुनै पनि समयमा र कुनै पनि ठाउँमा व्यक्तिमाथि प्रभुत्व जमाउन सक्छ।) त्यो सही हो, यसले कुनै पनि समय र स्थानको परवाह नगरी, ससर्त अङ्कुश वा प्रभावहरूबिना व्यक्तिका भनाइ र कार्यहरूमाथि प्रभुत्व जमाउन सक्छ; यो नै एउटा सार हो। कोही व्यक्ति बाँच्नका लागि निर्भर रहने कुरा नै सार हो; यो समय, स्थान, वा अन्य बाह्य कारकहरूमा आएको परिवर्तनका आधारमा परिवर्तन हुँदैन। यो नै एक व्यक्तिको सार हो। कतिपय मानिस भन्छन्: “तपाईँले सङ्क्षेपमा प्रस्तुत गरेका ख्रीष्टविरोधीका यी १५ वटा प्रकटीकरणमध्ये लगभग सबै ममा छन्, तर म हैसियतलाई पछ्याउँदिन र म कुनै महत्त्वाकाङ्क्षाका साथ जन्मेको थिइनँ। त्यसबाहेक, अहिले मैले कुनै जिम्मेवारी वहन गरेको छैनँ। म अगुवा वा सेवक होइन, र म चर्चामा रहन मन पराउँदिनँ, त्यसैले के ख्रीष्टविरोधीहरूको प्रकृति सार मेरा लागि अप्रासङ्गिक छैन? यदि यो अप्रासङ्गिक छ भने, के मैले यी सङ्गति सुन्नुपर्ने वा आफूलाई तीसँग दाँज्नुपर्ने आवश्यकता छैन भन्ने कुरा सत्य होइन र?” के चिजहरू यस्तै नै हुन्? (होइन।) त्यसोभए ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणलाई कसरी लिनुपर्छ? यी प्रकटीकरणका बारेमा सङ्गति गरिएका सत्यताहरूलाई कसरी लिनुपर्छ? व्यक्तिले सत्यता बुझ्नुपर्छ र यी सङ्गतिभित्र आफूलाई चिन्नुपर्छ, त्यसपछि सही बाटो भेट्टाउनुपर्छ, र आफ्नो कर्तव्य निर्वाह र परमेश्वरको सेवामा सिद्धान्तहरू प्राप्त गर्नुपर्छ। यस तरिकाले मात्र ऊ ख्रीष्टविरोधीहरूको बाटोबाट अलग हुन र सिद्ध पारिने बाटोमा लाग्न सक्छ। यदि तिमीहरूले ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणसँग आफूलाई जोड्न सक्यौ भने, यो तिमीहरूका निम्ति एउटा चेतावनी, सम्झौटो, खुलासा, र न्याय हुनेछ। यदि तिमीहरूले तिनलाई आफूसँग जोड्न सक्दैनौ, तर तिमीहरूसँग पनि यस्तै स्थितिहरू छन् भन्ने कुरा महसुस गर्न सक्छौ भने, तिमीहरूले आफ्नो बारेमा थप चिन्तन गर्ने र जान्ने प्रयास गर्नुपर्छ, र ती स्थिति समाधान गर्नका निम्ति सत्यताको खोजी गर्नुपर्छ। यसरी, तिमीहरूले पनि आफ्नो भ्रष्ट स्वभाव बिस्तारै फाल्न र ख्रीष्टविरोधीहरूको बाटोमा हिँड्नबाट जोगिन सक्छौ।
ख्रीष्टविरोधीहरूले कसरी आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन् भन्ने कुराको चिरफार
आजको सङ्गति ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको चौथो विषयवस्तु: आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने भन्नेबारेमा छ। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने, आफ्नो सान देखाउने, मानिसहरूले आफूलाई उच्च ठानून् र आराधना गरून् भन्ने प्रयास गर्ने—भ्रष्ट मानवजाति यी कुराहरू गर्न सक्षम छ। जब मानिसहरू आफ्नो शैतानी प्रकृतिले शासित हुन्छन् तिनीहरूले यसरी स्वतः प्रतिक्रिया दिन्छन्, र यो सबै भ्रष्ट मानवजातिको निम्ति सामान्य हो। मानिसहरूले सामान्यतया कसरी आफ्नै बढाइ गर्छन् र आफ्नै गवाही दिन्छन्? तिनीहरूले मानिसलाई आफूलाई उच्च ठान्न र आफ्नो आराधना गर्न लगाउने उद्देश्य कसरी प्राप्त गर्छन्? तिनीहरूले कति धेरै काम गरेका छन्, तिनीहरूले कति कष्ट भोगेका छन्, तिनीहरूले आफैँलाई कति समर्पित गरेका छन्, र तिनीहरूले कति धेरै मूल्य चुकाएका छन् भनेर तिनीहरूले गवाही दिन्छन्। तिनीहरू आफ्ना पुँजीबारे कुरा गरेर आफूलाई उच्च पार्छन्, जसले तिनीहरूलाई मानिसहरूका मनमा अझ उच्च, बलियो र अधिक सुरक्षित स्थान दिन्छ, ताकि अझ धेरै मानिसहरूले तिनीहरूलाई कदर गरून्, उच्च ठानून्, प्रशंसा गरून्, साथै आराधना गरून् र आदरभावले हेरून् र अनुसरणसमेत गरून्। यो लक्ष्य प्राप्त गर्न मानिसहरूले हेर्दाखेरि परमेश्वरको गवाही दिएजस्तो देखिने तर आधारभूत रूपमा आफैँलाई उच्च पार्ने र आफैबारे गवाही दिने धेरै कुराहरू गर्छन्। के यसरी व्यवहार गर्नु उचित हो त? तिनीहरू चेतनाको दायराबाहिर छन् र तिनीहरूमा शरम छैन, अर्थात्, तिनीहरू तिनीहरूले परमेश्वरका निम्ति के गरेका छन् र उहाँको निम्ति कति कष्ट भोगेका छन् भन्ने कुराको कुनै शरमविना गवाही दिन्छन्। तिनीहरूले आफूमा भएका वरदान, प्रतिभाहरू, अनुभव, विशेष सीपहरू, संसारसँग व्यवहार गर्ने तिनीहरूका चतुर तौरतरिकाहरू, मानिसहरूसँग खेल्नको निम्ति तिनीहरूले प्रयोग गर्ने माध्यमहरू, आदि इत्यादिको तडकभडक पनि देखाउँछन्। आफूबारे बढाइ गर्ने र गवाही दिने तिनीहरूको तरिका भनेको तडकभडक देखाउनु र अरूलाई होच्याउनु हो। मानिसहरूले जहिले पनि तिनीहरूको विलक्षण प्रतिभा मात्र देखून् भनेर तिनीहरूले आफ्ना कमजोरी, कमीहरू र अपर्याप्तताहरू लुकाउँदै भेष बदल्छन् र आफूलाई प्रस्तुत गर्छन्। तिनीहरूले नकारात्मक अनुभव गरेको कुरा अरू मानिसहरूलाई बताउने हिम्मत पनि गर्दैनन्; तिनीहरूसँग खुल्ने र सङ्गति गर्ने हिम्मतको अभाव हुन्छ र तिनीहरूले गल्ती गर्दा त्यसलाई लुकाउने र छोप्ने अधिकतम प्रयास गर्छन्। तिनीहरूले आफ्नो कर्तव्य निभाउने दौरानमा मण्डलीको काममा पुर्याएको हानिलाई कहिले पनि उल्लेख गर्दैनन्। तर तिनीहरूले गरेको सानो योगदान वा प्राप्त गरेको केही साना सफलताहरू देखाउन छिटा हुन्छन्। तिनीहरू कति सक्षम छन्, तिनीहरूको क्षमता कति उच्च छ, तिनीहरू कति असाधारण छन् र तिनीहरू सामान्य मानिसहरूभन्दा कति असल छन् भन्ने कुरा सारा संसारलाई थाहा दिन कुनै प्रतीक्षा गर्दैनन्। के यो तिनीहरू आफैबारे बढाइ गर्ने र गवाही दिने तरिका होइन र? के आफूबारे बढाइ गर्ने र गवाही दिने कार्य विवेक र समझ भएको व्यक्तिले गर्ने कार्य हो? होइन। त्यसो भए, मानिसहरूले यसो गर्दा प्रायः कस्तो स्वभाव प्रकट हुन्छ त? अहङ्कार। यो यसरी प्रकट हुने एक मुख्य स्वभाव हो, त्यसपछि कपट आउँछ जसमा अरू मानिसहरूलाई आफूलाई उच्च सम्मान गर्ने तुल्याउनको निम्ति सम्भव भएसम्मका सबै कुरा गर्ने कुरा सामेल हुन्छ। तिनीहरूका शब्दहरू पूर्ण रूपमा निर्विवाद हुन्छन् र तिनमा अभिप्रेरणा र कपट-योजनाहरू प्रस्ट रूपले समावेश हुन्छन्, तिनीहरू आफूलाई प्रदर्शन गरिरहेका हुन्छन्, तैपनि तिनीहरू यो तथ्य लुकाउन चाहन्छन्। तिनीहरूले जे भन्छन् त्यसको परिणाम भनेको मानिसहरूलाई तिनीहरू अरूभन्दा असल छन्, तिनीहरूको बराबर कोही पनि छैन र सबै जना तिनीहरूभन्दा निकृष्ट छन् भन्ने अनुभव गराउनु हो। अनि के यो परिणाम गोप्य तरिकाबाट प्राप्त गर्न सकिन्न? यस्तो तरिकाको पछाडि कस्तो स्वभाव हुन्छ? अनि के त्यहाँ दुष्टताका कुनै तत्त्वहरू हुन्छन्? (छन्।) यो एक प्रकारको दुष्ट स्वभाव हो। तिनीहरूले प्रयोग गर्ने तरिकाहरू छलपूर्ण स्वभावद्वारा निर्देशित भएको देख्न सकिन्छ—त्यसो भए, यो दुष्ट छ भनेर म किन भन्छु त? दुष्टतासँग यसको के सम्बन्ध छ? तिमीहरूलाई के लाग्छ: आफ्नै बढाइ गर्ने र आफ्नै गवाही दिने आफ्ना उद्देश्यहरूबारे तिनीहरू खुलस्त हुन सक्छन्? तिनीहरू खुलस्त हुन सक्दैनन्। तर तिनीहरूका हृदयको गहिराइमा सधैँ एउटा आकाङ्क्षा हुन्छ, अनि तिनीहरूले भन्ने र गर्ने कुरा त्यही आकाङ्क्षाको सघाउको निम्ति हो, र तिनीहरूले बोल्ने र गर्ने कुराहरूपछाडिको उद्देश्य र अभिप्रेरणाहरू गोप्य राखिन्छन्। उदाहरणको लागि, यी लक्ष्यहरू हासिल गर्नको निम्ति तिनीहरूले गलत निर्देशन वा केही अनुचित युक्तिहरूको प्रयोग गर्नेछन्। के यस्तो गोपनीयता धूर्त प्रकृतिको छैन र? अनि यस्तो धूर्तपनलाई दुष्ट भन्न सकिन्न र? सकिन्छ, यसलाई वास्तवमा दुष्ट भन्न सकिन्छ र यो छलभन्दा गहिरो हुन्छ। तिनीहरूले आफ्ना उद्देश्यहरू पूरा गर्न निश्चित तरिका वा विधि प्रयोग गर्छन्। यो स्वभाव छलीपन हो। तर तिनीहरूको हृदयको गहिराइमा भएको मानिसहरूले सधैँ आफूलाई पछ्याऊन्, आफूलाई आदर र आराधना गरून् भन्ने महत्त्वाकाङ्क्षा र चाहनाले तिनीहरूलाई आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिनेतर्फ, अनि अनैतिक र निर्जज्ज रूपमा यी कुराहरू गर्नेतर्फ डोर्याउँछ। यो कुन स्वभाव हो? यो दुष्टताको स्तरसम्म पुग्छ। दुष्टता भनेको साधारण सङ्कीर्ण मानसिकता वा छली हुनु र झूट बोल्नु मात्र होइन। यदि कुनै व्यक्ति साधारण भ्रष्टतादेखि दुष्टताको स्तरसम्म पुग्न सक्छ भने, के यासको अर्थ ऊ झनै गहन रूपमा भ्रष्ट छ भन्ने हुदैन र? (हुन्छ।) त्यसोभए यो दुष्टताको स्तर वर्णन गर त—यसलाई उपयुक्त रूपमा कसरी राख्न सकिन्छ? व्यक्ति किन साधारण भ्रष्टतादेखि दुष्टताको स्तरसम्म पुग्छ? के तिमीहरू यो कुरा स्पष्ट रूपमा देख्न सक्छौ? छलीपन र दुष्टताबीचको भिन्नता के हो? दुष्टता र छलीपनबीच प्रकट हुने तरिकामा नजिकको सम्बन्ध छ, तर दुष्टता अझै गम्भीर हुन्छ—त्यो छलीपनको चरम रूप हो। यदि कसैमा दुष्ट स्वभाव छ भनेर भनिन्छ भने, त्यो व्यक्ति साधारण रूपको छली होइन, किनकि साधारण छलीपनको अर्थ ऊ आफ्नो बानीले ठग हो वा ऊ आफ्नो कार्यमा इमानदार छैन भन्ने मात्र पनि हुन सक्छ, जबकि दुष्टता त्योभन्दा बढी गम्भीर हुन्छ छलीपनभन्दा बढी गहन स्तरको हुन्छ। दुष्ट स्वभाव भएको कुनै व्यक्तिको छलीपन औसत व्यक्तिको भन्दा ठूलो र बढी गम्भीर हुन्छ, उसका कामकुराहरू गर्ने साधन र विधिहरू, र उसका कार्यपछाडिका कुचक्रहरू सबै बढी धूर्त र गोप्य हुन्छन्, र अधिकांश मानिसहरूले यो कुरा छर्लङ्ग देख्न सक्दैनन्। दुष्टता भनेको यही नै हो।
ख्रीष्टविरोधीले आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु एक औसत व्यक्तिले त्यस्तै गर्नुभन्दा कसरी फरक छ? औसत व्यक्तिले मानिसहरूलाई आफूलाई सम्मान गर्ने तुल्याउन प्रायः धाक देखाउने र आफ्नो प्रदर्शन गर्ने गर्छ, र उसमा यी स्वभाव र स्थितिहरूका प्रकटीकरणहरू पनि हुन्छन्, त्यसोभए ख्रीष्टविरोधीले आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु साधारण व्यक्तिहरूले त्यही गर्नुभन्दा कसरी फरक छ त? फरक कहाँ छ? तँ यसबारे प्रष्ट हुनुपर्छ—आफूलाई कहिलेकाहीँ उचाल्नु वा आफूबारे धाक देखाउनुका सबै प्रकटीकरणलाई ख्रीष्टविरोधीहरूको श्रेणीमा एकसाथ नराख्। के यो अवधारणात्मक त्रुटि होइन र? (हो।) त्यसोभए यो मामिलालाई कसरी स्पष्ट रूपमा छुट्ट्याउन सकिन्छ? फरक कहाँ छ? यदि तैँले यो कुरा स्पष्ट रूपमा बताउन सक्छस् भने, तैँले ख्रीष्टविरोधीको सार के हो भनेर राम्ररी बुझ्न सक्छस्। एकपटक प्रयास गर् त। (ख्रीष्टविरोधीहरूको काम गर्ने तरिका बढी गोप्य हुन्छ; तिनीहरूले मानिसहरूलाई बहकाउन निकै उचित देखिने माध्यम प्रयोग गर्छन्। तिनीहरूले कुनै उचित मामिलाबारे बोलिरहेजस्तो देखिन्छ, तर तैँले थाहा पाउनुभन्दा अगाडि नै तिनीहरूले आफूलाई उचाल्न र आफूबारे गवाही दिन थाल्छन्, र यो कुरा कसैलाई महसुसै हुँदैन। तिनीहरूका माध्यमहरू तुलनात्मक रूपमा गोप्य हुन्छन्।) तुलनात्मक रूपमा गोप्य भन्नुको अर्थ हो—यो तिनीहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने तरिकामार्फत आफूलाई विशिष्ट तुल्याउनु हो। अरू केही छ? मलाई भन त, सचेतन रूपमा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु र अचेतन रूपमा सोही कुरा गर्नुको प्रकृतिबीच के भिन्नता छ? (अभिप्रयाहरू भिन्न हुन्छन्।) के भिन्नता यहीँ छैन र? (छ।) जब भ्रष्ट स्वभावहरू भएको कुनै औसत व्यक्तिले आफूलाई उचाल्छ र तडकभडक देखाउँछ, त्यो आफ्नो प्रदर्शन गर्नको लागि मात्र हुन्छ। आफ्नो प्रदर्शन गरिसकेपछि, त्यो कुरा त्यहीँ सकिन्छ, र तिनीहरूले अरू मानिसहरूले तिनीहरूलाई राम्रो सोच्छन् कि नराम्रो भन्नेबारे वास्ता गर्दैनन्। तिनीहरूको मनसाय त्यति स्पष्ट हुँदैन, यो तिनीहरूमाथि एउटा स्वभाव हाबी भएको, एउटा स्वभाव प्रकट भएको कुरा हो। कुरा त्यति नै हो। के यस्तो स्वभाव बदल्न सजिलो हुन्छ? यदि यो व्यक्तिले सत्यता पछ्याउँछ भने, जब उसले काटछाँट, न्याय र सजाय अनुभव गर्छ, तब ऊ बिस्तारै बदलिन सक्नेछ। उसले बिस्तारै लज्जा र चेतना बोध प्राप्त गर्नेछ, र उसले यस्तो व्यवहार झन्झन् कम देखाउनेछ। उसले यस्तो व्यवहारको निन्दा गर्नेछ, र उसले संयम अपनाउनेछ र आफूमाथि लगाम लगाउनेछ। यो अचेतन रूपमा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु हो। सचेतन रूपमा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु र अचेतन रूपमा सोही गर्नुभित्र उही स्वभावहरू रहने भए पनि, ती दुईका प्रकृति फरक हुन्छन्? ती कसरी प्रकृतिमा फरक हुन्छन्? सचेतन रूपमा आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने काम कुनै मनसाय राखेर गरिन्छ। यस्तो गर्ने मानिसहरूले यत्तिकै बोलिरहेका हुँदैनन्—तिनीहरूले हरेकपटक आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने गरिरहँदा निश्चित अभिप्रायहरू र गुप्त उद्देश्यहरू बोकिरहेका हुन्छन्, र तिनीहरूले यस्तो कार्य शैतानी महत्त्वाकाङ्क्षा र चाहनाहरूसाथ गर्ने गर्छन्। सतही रूपमा उस्तै खालका प्रकटीकरणहरू देखिन्छन्। दुवै अवस्थामा मानिसहरूले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने गरिरहेका हुन्छन्, तर परमेश्वरले अचेतन रूपमा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुलाई कसरी परिभाषित गर्नुहुन्छ? भ्रष्ट स्वभावको प्रकटीकरणको रूपमा। अनि परमेश्वरले सचेतन रूपमा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुलाई कसरी परिभाषित गर्नुहुन्छ? कुनै व्यक्तिले मानिसहरूलाई ऊबारे राम्रो सोच्ने, र उसलाई आराधना र आदर गर्ने, र त्यसपछि उसलाई पछ्याउने तुल्याउने उद्देश्यसाथ मानिसहरूलाई बहकाउन चाहनुको रूपमा। उसका कार्यहरू प्रकृतिले नै बहकाउने किसिमका हुन्छन्। त्यसैले, उसमा मानिसहरूलाई बहकाउने, र मानिसहरूले उसलाई पछ्याऊन् र आराधना गरून् भनेर तिनीहरूलाई स्वामित्वमा पार्ने मनसाय हुनेबित्तिकै, उसले बोल्दा र व्यवहार गर्दा सत्यता नबुझ्ने र गहिरो जग नभएकाहरूलाई सजिलै बहकाउन र बराल्न सक्ने केही माध्यम र विधिहरू प्रयोग गर्नेछ। त्यस्ता मानिसहरूमा सुझबुझ नहुने मात्र नभई बरु उल्टै तिनीहरूले यो व्यक्तिले भन्ने कुरा सही हुन् भन्ने सोच्छन्, र तिनीहरूले उसलाई सम्मानको नजरले हेर्न र ऊबारे राम्रो सोच्न सक्छन्, र समय बित्दै जाँदा तिनीहरूले उसलाई आराधना गर्ने र पछ्याउनेसमेत गर्छन्। दैनिक जीवनमा घट्ने सबैभन्दा आम घटना के हो भने, कुनै व्यक्तिले प्रवचन सुनेपछि उसले त्यसलाई निकै राम्रोसँग बुझेजस्तो देखिन्छ, तर पछि उसमाथि केही आइपर्दा, उसले त्यसलाई सुल्झाउन जान्दै जान्दैन। ऊ खोजी गर्न परमेश्वरसामु जान्छ, तर यसबाट कुनै नतिजा निस्कँदैन, र अन्त्यमा ऊ यो मामिलाबारे सोधखोज गर्न अगुवाकहाँ जानैपर्छ र ऊसँग समाधान माग्नैपर्छ। हरेकपटक उसमाथि केही आइपर्दा, उसले आफ्नो अगुवालाई नै त्यो समाधान गरिमाग्न चाहन्छ। यो त केही मानिसहरूको लागि अफिम सेवन एउटा लत र दोहोरिने व्यवहार बन्नु, र समयसँगै तिनीहरू त्यो सेवन नगरी बस्नै नसक्नुजस्तै हो। त्यसैले, ख्रीष्टविरोधहरूले आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु सानो कद भएका, समझ नभएका, मूर्ख र अज्ञानीहरूको लागि थाहै नपाई एकप्रकारको लागुपदार्थ बन्छ। तिनीहरूमाथि केही आइपर्दा, तिनीहरू त्यसबारे सोध्न ख्रीष्टविरोधीकहाँ जान्छन्, र त्यो ख्रीष्टविरोधीले कुनै आदेश दिएन भने, सबै जना त्यो मामिलाबारे छलफल गरेर सहमतिमा पुगिसकेका भए पनि, तिनीहरूले केही गर्ने आँट गर्दैनन्। तिनीहरूमा ख्रीष्टविरोधीको इच्छाविरुद्ध गएर दमनमा पर्ने डर हुन्छ, त्यसैले तिनीहरूले हरेक मामिलामा ख्रीष्टविरोधीले बोलिसकपछि मात्रै कुनै कदम चाल्ने आँट गर्छन्। सत्यता सिद्धान्तहरू स्पष्ट रूपमा बुझिसकेपछि पनि, तिनीहरूले कुनै निर्णय लिने वा मामिला सम्हाल्ने आँट गर्दैनन्, बरु अन्तिम फैसला र निर्णयको लागि तिनीहरूले आदरसाथ हेर्ने “मालिक” लाई नै पर्खन्छन्। यदि मालिकले केही भनेन भने, त्यो मामिला सम्हाल्ने जुनसुकै व्यक्तिले पनि आफूले गर्नुपर्ने के हो भन्नेबारे अनिश्चित महसुस गर्छ। के यी मानिसहरूलाई विष लागेको छैन र? (छ।) विष लाग्नुको अर्थ यही हो। तिनीहरूलाई यति गहिरो गरी विष लाग्नको लागि ख्रीष्टविरोधीले कति काम गर्नुपर्छ, र तिनीहरूलाई कति विष दिनुपर्छ? यदि ख्रीष्टविरोधीले आफूलाई बारम्बार चिरफार गर्यो र आफूलाई चिन्यो, अनि मानिसहरूले देखून् भनी आफ्ना कमीकमजोरी, गल्ती, र अपराधहरू खुला रूपमा पेश गर्यो भने, के उसलाई सबैले अझैँ पनि यसैगरी आराधना गर्नेथिए त? बिलकुलै गर्नेथिएनन्। यस्तो देखिन्छ कि ख्रीष्टविरोधीले आफूलाई उचाल्न र आफूबारे गवाही दिनमा धेरै नै मेहनत लगाउँछ, त्यसैकारण उसले यस्तो “सफलता” प्राप्त गरेको हो। उसले चाहने परिणाम नै यही हो। ऊबिना त कसैले पनि कसरी उचित तरिकाले कर्तव्य निर्वाह गर्ने भनेर जान्नेछैन, र हरेक व्यक्ति अन्योलमा पर्नेछ। यो स्पष्ट छ कि ख्रीष्टविरोधीले यी मानिसहरूलाई नियन्त्रण गर्दा सुटुक्क धेरै विष खुवाउँछ र धेरै मेहनत लगाउँछ! यदि उसले थोरै शब्दहरू मात्र बोलेको भए, के यी मानिसहरू अझै पनि ऊद्वारा यसरी बाँधिनेथिए त? बिलकुलै बाँधिनेथिएनन्। जब ख्रीष्टविरोधीले मानिसहरूलाई उसलाई आराधना गर्ने, र सम्मानको नजरले हेर्ने र हरेक मामिलामा उसको कुरा सुन्ने तुल्याउने लक्ष्य हासिल गर्न सफलता पाएको हुन्छ, तब के उसले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने धेरै कुरा गरेको र धेरै वचन बोलेको हुँदैन र? यसो गरेर उसले के-कस्तो परिणाम हासिल गर्छ? यो कस्तो हुन्छ भने, मानिसहरूसँग मार्ग हुँदैन र तिनीहरू ऊबिना जिइरहन सक्दै सक्दैनन्—ऊबिना आकासै खस्ला र पृथ्वी घुम्न छोड्ला, र परमेश्वरमा विश्वास गर्नुको कुनै मूल्य वा अर्थ नहोला, र प्रवचनहरू सुन्नु व्यर्थ होला भनेजस्तै हुन्छ। यो कस्तो पनि हुन्छ भने, ख्रीष्टविरोधी वरपर हुँदा मानिसहरूले आफ्नो जीवनमा केही आशा छ भन्ने महसुस गर्छन्, तर यदि ख्रीष्टविरोधी मर्यो भने तिनीहरूले आफ्नो सबै आशा गुमेजस्तो महसुस गर्नेछन्। के यी मानिसहरूलाई शैतानले बन्दी बनाएको छैन र? (छ।) अनि के यस्ता मानिसहरू त्यसैको योग्य हुँदैनन् र? (हुन्छन्।) हामी किन तिनीहरू त्यसैको योग्य हुन्छन् भनेर भन्दै छौँ? परमेश्वर तैँले विश्वास गर्नुपर्ने एउटै उहाँ हुनुहुन्छ, त्यसैले तँ किन ख्रीष्टविरोधीहरूलाई आराधाना गर्छस् र पछ्याउँछस्, र त्यसलाई किन हरमोडमा तँलाई बाँध्न र नियन्त्रण गर्न दिन्छस्? यसबाहेक, व्यक्तिले जुनसुकै कर्तव्य निर्वाह गरिरहेको भए, परमेश्वरको घरले मानिसहरूलाई स्पष्ट सिद्धान्त र नियमहरू उपलब्ध गराएको छ। यदि कुनै व्यक्तिले आफैँ हल गर्न नसक्ने कुनै कठिनाइ आइपर्यो भने, उसले सत्यता बुझ्ने कुनै मानिसबाट खोजी गर्नुपर्छ, र अझ गम्भीर मामिलाहरूमा माथिबाट खोजी गर्नुपर्छ। तर तैँले सत्यता खोजी नगर्ने मात्र नभई, उल्टै मानिसहरूलाई आराधना र आदर गर्छस्, यी ख्रीष्टविरोधीहरूले भनेको कुरा पत्याउँछस्। त्यसकारण तँ शैतानको नोकर बनेको छस्, र यसको दोषी तँ आफै होइनस् र? के तँ यसकै योग्य छैनस् र? आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु ख्रीष्टविरोधहरूमाझको साझा व्यवहार र प्रकटीकरण हो, र यो सबैभन्दा आम प्रकटीकरणहरूमध्येको एक हो। ख्रीष्टविरोधीहरूले कसरी आफूलाई उचाल्छन् र आफूबारे गवाही दिन्छन् भन्ने कुराको मुख्य विशेषता के हो? औसत व्यक्तिले कसरी आफूलाई उचाल्छ र आफूबारे गवाही दिन्छ भन्ने कुराभन्दा यो कसरी फरक छ? यसरी कि, यो कदमपछाडि ख्रीष्टविरोधीहरूका आफ्नै उद्देश्यहरू हुन्छन्, र तिनीहरूले यो अचेतन रूपमा बिलकुलै गरिरहेका हुँदैनन्। बरु, तिनीहरूले उद्देश्य, चाहना र महत्त्वाकाङ्क्षा पालिरहेका हुन्छन्, र तिनीहरूले यसरी आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुका परिणामहरू यति भयानक छन् कि तीबारे मनन गर्न पनि गाह्रो छ—तिनीहरूले मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न सक्छन्।
म एउटा उदाहरण दिन्छु। तिमीहरू यस्तो खालको प्रकटीकरण र स्वभाव आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुसँग सम्बन्धित छन् कि छैनन् भनेर सोच्न सक्छौ। एकपटक एउटा अगुवा थियो, जसले कुनै निश्चित ठाउँमा दुई वा तीन वर्ष मण्डलीको काम गरेको थियो। ऊ एकपछि अर्को मण्डलीमा भौँतारिएको थियो र अन्ततः उसले त्यहाँ आफ्नो जरा गाडेको थियो। उसले आफ्नो जरा गाडेको थियो भन्नुको अर्थ के हो? यसको अर्थ के हो भने, अधिकांश मानिसहरूले उसलाई चिन्थे र उसलाई उच्च सोच्थे, र ऊ त्यो ठाउँमा तुलनात्मक रूपले निकै प्रख्यात थियो। मानिसहरूले उसलाई देख्नेबित्तिकै उसलाई स्वागत गर्थे, उसको लागि आफ्नो सिट छाड्थे, र मीठो खानेकुरा दिन्थे। त्यहाँ विमति राख्ने कुनै आवाज थिएन, उसलाई विरोध गर्ने एक जना पनि थिएन; सबै जना त्यो अगुवासँग राम्ररी नै परिचित थिए, र तिनीहरूले भित्रैदेखि उसको काम गर्ने तरिका अनुमोदन गर्थे र उसको नेतृत्व स्विकार्थे। उक्त अगुवाले त्यहाँ कति काम गर्यो, कति बोल्यो, वा केबारे बोल्यो भन्ने कुरा त ठ्याक्कै थाहा छैन; यी विवरणहरू अज्ञात छन्, तर छोटकरीमा भन्नुपर्दा, अधिकांश मानिसहरूले उसको नेतृत्व राम्रैसित स्विकार्थे। केही समय बितेपछि त्यो अगुवाले भयो: “यहाँका ब्रदर-सिस्टरहरू सबै आज्ञाकारी र समर्पणकारी छन्, र मण्डलीमा कामकुरा हरहिसाबमा राम्ररी चलिरहेका छन्। दुर्भाग्यवश, एउटा कुरा भने पूर्ण रूपमा सन्तोषजनक छैन, र त्यो के हो भने, यहाँको वातावरण नराम्रो छ। यदि वातावरण उपयुक्त भएको भए, हामीले कुनै राम्रो र घमाइलो दिन पारेर हजारौँ मानिसहरूको साथमा ठूलो भेला आयोजना गर्न एउटा विशाल पार्क जान पाउनेथ्यौँ, र हामीले माइक्रोफोन र एक जोडी ठूला स्पिकरबाट सत्यता प्रवाह गर्नेथ्यौँ, र अझ धेरै मानिसलाई परमेश्वरमाथिको विश्वासमा लिएर आउनेथ्यौँ। के त्यसपछि हाम्रो कामले फल फलाउनेथिएन र?” यो सुनेपछि सबैले “आमेन” भने र त्यसलाई स्विकारे। मलाई भन त, “हामीले सत्यता प्रवाह गर्नेथ्यौँ” भन्ने वाक्यांशमा कुनै समस्या छ? (छ।) त्यो समस्या के हो? (त्यो अगुवाले आफूलाई परमेश्वरका रूपमा व्यवहार गर्दै थियो।) तिमीहरू सबैले यसमा समस्या छ भनेर चिन्यौ, तर त्यहाँका रनभुल्ल परेका मानिसहरूले चिनेनन्। तिनीहरूले यो वाक्यको उत्तर पनि “आमेन” भनेर दिए! के सत्यता यो अगुवाद्वारा प्रवाहित हुन्छ? ऊ को हो? ऊ एउटा साधारण अगुवा हो; उसले केही वर्ष काम गर्यो र त्यसपछि आफूलाई अरू हरेकभन्दा वरिष्ठ सोच्यो र आफू को हो भन्ने कुरा बिर्स्यो, र सत्यता व्यक्त गर्नसमेत चाह्यो—यो त उसको लागि धैरै ठूलो कार्य हुनेथ्यो। यसले के प्रमाणित गर्छ? यसले प्रमाणित गर्छ कि उसलाई आफू को हुँ भन्ने थाहै थिएन, र आफूले के कर्तव्य निर्वाह गरिरहेको छु भन्ने पनि थाहै थिएन। उसमा यस्तो स्वभाव भएकोले, के उसको सधैँजसोको काम र बोली सत्यतासँग मिल्ला त? उसको सधैँजसोको काम र बोली निश्चय नै भ्रामक र दुष्ट वचनहरूले भरिएका हुन्छन्, र तिनले मण्डलीलाई भरणपोषण र मलजल गर्ने परिणाम बिलकुलै हासिल गर्न सक्दैनन्। ऊ सत्यता के हो भनेरसमेत जान्दैन, झन् सत्यता व्यक्त गर्नुको अर्थ के हो भनी जान्नु त टाढाको कुरा हो। केवल दुई वा तीन वर्ष कतै काम गरेपछि उसलाई आफूसँग केही प्रतिष्ठा र पूँजी छ भन्ने लाग्यो, र त्यसपछि उसले आफू को हुँ भन्ने बिर्सियो, आफूबारे निकै राम्रो महसुस गर्यो, र आफै सत्यता व्यक्त गर्न चाह्यो। के यस्तो गलत धारणा हुनु घिनलाग्दो कुरा होइन र? यो गलत धारणा कहाँबाट आउँछ? के उसमा कुनै मानसिक गडबडी थियो, कि त्यो एउटा क्षणिक आवेग थियो? उसले अलिकति काम गर्यो, स्थानीय मण्डलीमा कसैले पनि उसको विरोध गरेन, उसको लागि सबथोक सहज रूपमा चलिरहेजस्तो देखिन्थ्यो, त्यसैले उसले सबथोक आफूले गरेको कामको परिणाम हो भनेर विश्वास गर्यो, र एक्कासि त्यसको श्रेय आफूले लिन सक्छु भन्ने महसुस गर्यो। उसले सोच्यो, “यदि म यस्तो महत्त्वपूर्ण काम गर्न सक्छु भने, के म परमेश्वर होइन र? अनि यदि म परमेश्वर हुँ भने, मलाई अहिले निकै उकुसमुकुस भइरहेको छ—बाहिरी वातावरण योभन्दा राम्रो भएको भए, मैले सत्यता व्यक्त गर्न सक्थेँ!” उसको दिमागमा एक्कासि यो सोच आयो। के उसको दिमाग खराब छैन र? (छ।) उसको दिमाग खराब छ। के उसमा समझ्को कमी छैन र? के शैतान र ख्रीष्टविरोधीहरूका कार्य र वचनहरूमा सामान्य मानवताको समझ हुन सक्छ र? बिलकुलै हुन सक्दैन। त्यो अगुवाले अलिकति काम गर्यो र केही नतिजा निकाल्यो, र त्यसपछि एक्कासि आफू मानव हुँ भन्ने बिर्सियो। के उसले त्यस्ता अनुचित वचनहरू ओकल्न सक्नु उसका स्वभावहरूसँग सम्बन्धित छैन र? (छ।) कसरी सम्बन्धित छ? उसका स्वभावहरूभित्र के ऊ अनुयायी बन्न इच्छुक छ? के उसलाई आफू परमेश्वरको एक साधारण अनुयायी मात्र हुँ भन्ने थाहा छ? उसलाई बिलकुलै थाहा छैन। उसले आफ्नो हैसियत र पहिचान अरूको भन्दा अत्यन्तै सम्मानजनक र श्रेष्ठ छ भन्ने विश्वास गर्छ। के तिमीहरू यसप्रकारको व्यवहार र त्यसको प्रकृतिसँग परिचित छैनौ र? शैतानलाई किन मध्य-हावामा फ्याँकियो? (ऊ परमेश्वरकै बराबरीमा रहन चाहन्थ्यो।) त्यसको कारण उसले परमेश्वरको बराबरीमा रहन चाहनु थियो। शैतानलाई ब्रह्माण्डमा आफ्नो स्थान थाहा नभएकोले, आफू को हुँ भन्ने थाहा नभएकोले, र आफ्नो हैसियत थाहा नभएकोले, परमेश्वरले त्यसलाई आफू हिँडिरहेको स्थानमै हिँड्न दिनुहुँदा, शैतानले आफूलाई नै परमेश्वर सोच्न थाल्यो। उसले परमेश्वरले गर्नुभएका काम नै गर्न, उसले उहाँको प्रतिनिधित्व गर्न, उहाँलाई प्रतिस्थापित गर्न, र उहाँको अस्तित्व इन्कार्न चाह्यो, र फलस्वरूप त्यसलाई मध्य-हावामा फ्याँकियो। ख्रीष्टविरोधीहरूले पनि यस्तै प्रकारका कार्य गर्छन्, तिनीहरूका कार्यको प्रकृति उही हुन्छ, अनि ती कार्य र शैतानको कार्यको स्रोत एउटै छ। ख्रीष्टविरोधीको हकमा, त्यस्तो प्रकटीकरण कहिलेकाहीँ हुने प्रकटीकरण वा लहडको परिणाम होइन—यो त पूर्णतया तिनीहरूको शैतानी प्रकृतिको प्रभुत्व र तिनीहरूको शैतानी स्वभावको प्राकृतिक प्रकटीकरण हो। मैले भर्खरै कुरा गरेको अगुवाको प्रकटीकरणको प्रकृति के हो? (यो ख्रीष्टविरोधीको प्रकृति हो।) हामी किन आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने विषयवस्तुको लागि यो प्रकटीकरण छलफल गरिरहेका छौँ? यो प्रकटीकरणको प्रकृति कसरी आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुसँग सम्बन्धित छ? उसले बोलेको “सत्यता प्रवाह गर्नु” भन्ने कुराको प्रकृति के थियो? म किन यो कुरा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुसँग सम्बन्धित छन् भनेर भन्छु? (त्यो अगुवाले विश्वास गर्यो कि उसले मानिसहरूलाई सत्यता उपलब्ध गराउन सक्छ।) उसले भनेको कुराको मतलब यही थियो। उसले त्यस्ता कुराहरू भन्दा त्यो कुरा सुन्ने मानिसहरूले सोचे, “तपाईंको चालढाल निकै प्रभावशाली छ, र तपाईं यस्तो भावले बोल्न सक्नुहुन्छ—यो त परमेश्वरले बोल्नुपर्ने खालको भाव होइन र? के यो परमेश्वरमा हुनुपर्ने प्रभावशाली चालढाल र आकाङ्क्षा होइन र?” के त्यो अगुवाले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने उद्देश्य हासिल गरेको थिएन र? उसले अचेतन रूपमै मानिसहरूलाई आफूप्रति सम्मान, आराधना, र प्रशंसाको भाव विकास गर्ने तुल्याएको थियो। के त्यही भएको थिएन र? (थियो।) ख्रीष्टविरोधीको घिनलाग्दो रूप यही हो; यो ख्रीष्टविरोधीले गोप्य रूपमा आफूलाई उचालेको र आफूबारे गवाही दिएको हो।
के आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुका अन्य केही प्रकटीकरण छन्? यो मामिलामा तिमीहरू सबैले आत्मचिन्तन गर्नुपर्छ। के तिमीहरूले आफूबारे गवाही दिनेजस्तो काम गर्नेथ्यौ? के तिमीहरू आफ्नो विवेक र समझद्वारा बाँधिएर आफूलाई त्यस्तो लज्जाजनक कार्य गर्नबाट रोक्न सक्छौ? यदि तँ आफूलाई संयमित राख्न सक्छस् भने, यसले तँमा चेतना छ, र तँ ख्रीष्टविरोधीहरूभन्दा फरक छस् भन्ने प्रमाणित गर्छ। यदि तँमा यो चेतना छैन, र तँमा यस्ता खालका महत्त्वाकाङ्क्षा र चाहनाहरू छन्, अनि तँ आफूबारे गवाही दिनेजस्तो काम गर्न सक्षम छस् भने, तँ एक ख्रीष्टविरोधीसमान होस्। त्यसोभए, तिमीहरूको अवस्था कस्तो छ? के तिमीहरू संयमसाथ कार्य गर्छौ? यदि तँमा परमेश्वरको डर मान्ने हृदय छ, लज्जाबोध, र चेतना छ भने, तैँले ती कुराहरू गर्न चाहे पनि, तैँले सोच्नेछस् कि तिनले परमेश्वरलाई चिढ्याउनेछन् र परमेश्वरले तिनलाई घृणा गर्नुहुनेछ, अनि त्यसपछि तैँले आफूलाई संयमित राख्न सक्नेछस् र तैँले आफूबारे गवाही दिने आँट गर्नेछैनस्। यदि तैँले आफूलाई एकपटक अनि त्यसपछि फेरि दुईपटक संयमित राखेपछि, यी विचार, यी अभिप्राय र सोचहरू केही समयपछि अलिअलि गर्दै कम हुन थाल्नेछन्। तँमा यी विचारबारे समझ हुनेछ र तँलाई यी घृणास्पद र घिनलाग्दो छन् भनेर महसुस हुनेछ, यस्ता कुराहरू गर्ने तेरा आवेग र चाहनाहरू कम हुनेछन्, र तँ बिस्तारै आफूमाथि लगाम लगाउन र आफूलाई नियन्त्रण गर्न सक्नेछस्, यस हदसम्म कि यी विचारहरू झन्झन् लामो अन्तरालमा मात्र उत्पन्न हुन थाल्नेछन्। यदि तँलाई यी विचारहरूबारे थाहा छ, तर आफूलाई संयमित राख्न सक्दैनस्, र तैँले अत्यन्तै दह्रिला उद्देश्यहरू बोक्छस्, मानिसहरूलाई तेरो आराधना गर्ने तुल्याउन मात्र चाहन्छस्, र तँलाई कसैले पनि आराधना गरेन वा पछ्याएन भने असन्तुष्ट महसुस गर्छस्, र घृणाले भरिन्छस्, र केही गर्न चाहन्छस्, र निर्लज्ज रूपमा आफूबारे गवाही दिन र आफ्नो प्रदर्शन गर्न सक्छस् भने—तँ ख्रीष्टविरोधी होस्। अनि तेरो अवस्थाचाहिँ कस्तो छ त? (जब म यी कुराहरूबारे सचेत हुन्छु, तब म आफूलाई संयमित राख्न सक्छु।) आफूलाई संयमित राख्न तँ केमा निर्भर रहन्छस्? (म परमेश्वरबारे केही ज्ञान राख्न र परमेश्वरको डर मान्ने हृदय हुनमा निर्भर हुन्छु।) यदि व्यक्तिसँग परमेश्वरको डर मान्ने हृदय छ भने, उसले संयम अपनाउन सक्छ। संयम आफूलाई रोकेर वा आफूलाई अवरोध गरेर हासिल हुँदैन, यो त सत्यता बुझेर अनि परमेश्वरको डर मानेर हासिल हुने परिणाम हो। व्यक्तिले चेतना र संज्ञानको माध्यमले आफूलाई संयमित पार्छ, र साथसाथै व्यक्तिमा अलिकति परमेश्वरको डर मान्ने हृदय भएकोले र परमेश्वलाई चिढ्याउने डर भएकोले, उसले संयम अपनाउँछ। यदि तेरो चेतनाले तँलाई संयमित बनाउन सक्दैन, र तँसित परमेश्वरको डर मान्ने हृदय पनि छैन, र आफूबारे गवाही दिँदा तैँले लाज महसुस गर्दैनस् र त्यसो गरिरहन चाहन्छस्, र आफ्नो उद्देश्य पूरा नभएसम्म हार मान्दैनस् भने—तँ ख्रीष्टविरोधी होस्।
आफूलाई उचाल्न र आफूबारे गवाही दिनको लागि ख्रीष्टविरोधीहरूमा हुने तरिका र प्रकटीकरणहरू थुप्रै छन्। कुनैकुनै तरिकामा ख्रीष्टविरोधीहरूले सिधै आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु, र आफ्ना सबै असल गुणहरूबारे कुरा गर्नु संलग्न हुन्छ भने, कुनैकुनै तरिकामा चाहिँ तिनीहरूले मानिसहरूलाई चुपचाप तिनीहरूबारे उच्च विचार राख्ने र तिनीहरूलाई आदरसाथ हेर्ने, आराधना गर्ने, र पछ्याउने तुल्याउने, र मानिसहरूको हृदयमा ठाउँसमेत ओगट्ने उद्देश्य पूरा गर्ने अप्रत्यक्ष वाक्यांश र उपायहरू खोज्नु संलग्न हुन्छ—त्यस्तो व्यवहारको प्रकृति यस्तै हुन्छ। आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने ख्रीष्टविरोधीहरूको स्वभाव त्यसको प्रकृति, त्यसले ल्याउने नतिजा, साथै त्यो प्रकट हुने तरिका, अनि त्यसका अन्तर्निहित अभिप्राय र उद्देश्यको हिसाबमा साधारण मानिसहरूको स्वभावभन्दा फरक हुन्छ। अझ भन्ने हो भने, के आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने मानिसहरू आफ्ना सबै असल गुणहरूबारे मात्र कुरा गर्छन्? कहिलेकाहीँ तिनीहरू आफ्ना खराब पक्षहरूबारे पनि कुरा गर्छन्, तर त्यसो गर्दा के तिनीहरू साँच्चै आफ्नो बारे चिरफार र जान्ने प्रयास गरिरहेका हुन्छन्? (हुँदैनन्।) त्यसोभए व्यक्तिले आफ्नो आत्मज्ञान साँचो होइन, त्यो दूषित छ र त्यसको पछाडि उद्देश्य छ भनी कसरी पत्ता लगाउँछ? व्यक्तिले कसरी यो मामिला राम्ररी बुझ्न सक्छ? यहाँ मुख्य कुरा के हो भने, तिनीहरूले आफूलाई जान्ने र आफ्ना कमजोरी, खोट, कमी, र भ्रष्ट स्वभावहरू खुलासा गर्ने प्रयास गरिरहँदा आफूलाई दोषमुक्त गर्ने बहाना र कारणहरू पनि खोजिरहेका हुन्छन्। तिनीहरूले मानिसहरूलाई लुकीछिपी यसो भनिरहेका हुन्छन्, “मैले मात्रै होइन, सबैले गल्ती गर्न सक्छन्। तिमीहरू सबैले पनि गल्ती गर्न सक्छौ। मैले गरेको गल्ती क्षमायोग्य छ; यो सानो गल्ती हो। यदि तिमीहरूले यही गल्ती गरेका भए, मामिला मेरो भन्दा गम्भीर हुनेथ्यो, किनकि तिमीहरूले आत्मचिन्तन र आफूलाई चिरफार गर्नेथेनौ। मैले केही गल्ती गरे पनि, म तिमीहरूभन्दा उत्तम छु र ममा बढी चेतना र सत्यनिष्ठा छ।” जब सबैले यो कुरा सुन्छन्, तिनीहरूले सोच्छन्, “तपाईँ ठ्याक्कै सही भन्नुभो। तपाईँले सत्यता यति धेरै बुझ्नुभएको छ, र तपाईँसँग साँच्चै कद छ। गल्ती गर्दा तपाईँ आत्मचिन्तन गर्न आफूलाई चिरफार गर्न सक्नुहुन्छ; तपाईँ हामीभन्दा धेरै राम्रो हुनुहुन्छ। हामीले गल्ती गर्यौँ भने हामी आत्मचिन्तन गर्दैनौँ र आफूलाई जान्ने प्रयास गर्दैनौँ, र लाजको डरले हामी आफूलाई चिरफार गर्ने आँट पनि गर्दैनौँ। तपाईँसँग हाम्रोभन्दा ठूलो कद र धेरै साहस छ।” यी मानिसहरूले गल्ती गरेर पनि अरूको सम्मान जिते र आफ्नै प्रशंसाका गीत गाए—यो कुन स्वभाव हो? कतिपय ख्रीष्टविरोधीहरू बहाना गर्न, मानिसहरूलाई ठग्न र नाटक गर्नमा निकै पोख्त हुन्छन्। सत्यता बुझ्ने मानिसहरू भेट्दा तिनीहरू आफ्नो आत्मज्ञानबारे कुरा गर्न थाल्छन्, र आफू दियाबलस र शैतान हुँ, आफ्नो मानवता खराब छ, र आफू श्राप पाउन योग्य छु भनेरसमेत भन्छन्। मानौँ तैँले तिनीहरूलाई यस्तो सोधिस् रे, “तपाईँ आफू दियाबलस र शैतान हुँ भनेर भन्नुहुन्छ, त्यसोभए तपाईँले के-कस्ता दुष्ट कार्य गर्नुभयो त?” तिनीहरूले भन्छन्: “मैले केही पनि गरिनँ, तर म दियाबलस हुँ। अनि म दियाबलस मात्र होइन; म त शैतान पनि हुँ।” तैँले त्यसपछि तिनीहरूलाई सोध्छस्, “तपाईँ आफू दियाबलस र शैतान हुँ भनेर भन्नुहुन्छ, त्यसोभए तपाईँले दियाबलस र शैतानका कुन दुष्ट कार्य गर्नुभयो, अनि तपाईँले कसरी परमेश्वरलाई प्रतिरोध गर्नुभयो? के तपाईँ आफूले गरेका दुष्ट कार्यहरूबारे बताउन सक्नुहुन्छ?” तिनीहरूले भन्नेछन्: “मैले केही पनि दुष्टता गरिनँ!” त्यसपछि तँ झनै जोड गर्छस् र सोध्छस्, “यदि तपाईँले केही पनि दुष्टता गर्नुभएको छैन भने, तपाईँ किन आफू दियाबलस र शैतान हुँ भनेर भन्नुहुन्छ। यसो भनेर तपाईँले के हासिल गर्न खोजिरहेको हो?” जब तँ तिनीहरूसँग यसरी गम्भीर बन्छस्, तब तिनीहरूसँग भन्नको लागि केही पनि हुनेछैन। वास्तवमा तिनीहरूले धेरै खराब कार्यहरू गरेका हुन्छन्, तर तिनीहरूले तँसँग त्यसका तथ्यहरू बिलकुलै बताउनेछैनन्। तिनीहरूले आफ्नो आत्मज्ञानबारे खोक्रो रूपमा बताउन केही ठूल्ठूला कुरा मात्र गर्नेछन् र केही धर्मसिद्धान्तहरू फलाक्नेछन्। विशेषगरी तिनीहरूले मानिसहरूलाई कसरी आफूतिर ताने, कसरी छल गरे, मानिसहरूलाई भावनाको आधारमा कसरी प्रयोग गरे, परमेश्वरको घरका हितहरूलाई कसरी गम्भीर रूपमा लिएनन्, कसरी कार्य प्रबन्धहरूविरुद्ध गए, कसरी माथिलाई छल गरे, ब्रदर-सिस्टरहरूबाट कसरी कुराहरू लुकाए, र परमेश्वरको घरको हितलाई कति क्षति पुर्याए भन्ने तथ्यहरूबारे तिनीहरूले एक शब्द पनि बोल्नेछैनन। के यो आफूबारेको साँचो ज्ञान हो र? (होइन।) तिनीहरूले आफू दियाबलस र शैतान हुँ भनेर भनिरहँदा, के तिनीहरूले आफूलाई उचाल्न र आफूबारे गवाही दिन आत्मज्ञानको नाटक गरिरहेका हुँदैनन् र? के यो तिनीहरूले प्रयोग गर्ने एउटा विधि होइन र? (हो।) एउटा औसत व्यक्तिले यो विधिलाई छर्लङ्ग देख्न सक्दैन। कतिपय अगुवाहरू बर्खास्त गरिएपछि पनि केही समयलगत्तै पुनः चुनिन्छन्, र यसको कारण सोध्दा कतिपय मानिसहरूले यसो भन्छन्: “त्यो अगुवा राम्रो क्षमताको छ। उसलाई ऊ दियाबलस र शैतान हो भनेर थाहा छ। अरू कसमा यो स्तरको ज्ञान छ र? साँच्चै सत्यता पछ्याउने मानिसहरूमा मात्रै यस्तो ज्ञान हुन्छ। हामीमध्ये कसैले पनि आफूबारे यो ज्ञान प्राप्त गर्न सक्दैनौँ; औसत व्यक्तिमा यस्तो कद हुँदैन। यसैकारण सबैले उसैलाई चुने।” यहाँ के भइरहेको छ? यी मानिसहरू बहकिएका छन्। यो अगुवालाई ऊ दियाबलस र शैतान हो भनेर थाहा थियो, तर ऊ सबैद्वारा चुनिएको थियो, त्यसैले उसले ऊ दियाबलस र शैतान हो भनेर भन्नुले मानिसहरूमाथि के-कस्तो प्रभाव र परिणाम निम्त्याउँछ? (यसले मानिसहरूलाई तिनीहरूबारे उच्च विचार राख्ने तुल्याउँछ।) त्यो सही हो, यसले मानिसहरूलाई तिनीहरूबारे अझ बढी उच्च विचार राख्ने तुल्याउँछ। गैरविश्वासीहरूले यो विधिलाई “अघि बढ्नको लागि पछि हट्नु” भन्छन्। यसको मतलब, मानिसहरूलाई तिनीहरूबारे अझ बढी उच्च सोच्ने तुल्याउन तिनीहरूले पहिला आफूबारे खराब कुराहरू बताउँछन्, ताकि अरूले तिनीहरू आफूलाई उदाङ्गो पार्न र आफूलाई चिन्न सक्छन्, र तिनीहरूसँग गहिराइ र अन्तर्दृष्टि, र गहन बुझाइ छ भनेर विश्वास गरून्, र यही कारणले गर्दा सबैले तिनीहरूलाई अझ धेरै आराधना गर्छन्। अनि सबैले तिनीहरूलाई अझ धेरै आराधना गर्नुको परिणाम के हुन्छ? फेरि अगुवाहरू चुन्ने समय आउँदा तिनीहरूलाई अझै पनि त्यो भूमिकाको लागि सर्वश्रेष्ट मानिन्छ। के यो निकै चलाख विधि होइन र? यदि तिनीहरूले आफ्नो आत्मज्ञानबारे यसरी कुरा नगरेका भए र आफू दियाबलस र शैतान हुँ भनेर नभनेका भए, बरु नकारात्मक मात्र भएका भए, अरूले तिनीहरूलाई देख्दा यसो भन्नेथिए, “तैँले बर्खास्त भएर आफ्नो हैसियत गुमाउनेबित्तिकै तँ नकारात्मक भइस्। तँ हामीलाई नकारात्मक नहुनू भनेर सिकाउने गर्थिस्, तर अहिले तेरो नकारात्मकता हाम्रो भन्दा गम्भीर छ। हामी तँलाई चुन्नेछैनौँ।” यस्तो अगुवालाई कसैले पनि उच्च सोच्नेछैनन्। अरूमा अझै पनि ऊबारे समझ नहुने भए पनि, तिनीहरूले कम्तीमा उसलाई फेरि आफ्नो अगुवा चुन्नेछैनन्, र यो व्यक्तिले अरूलाई आफूबारे उच्च सोच्ने तुल्याउने उद्देश्य पूरा गर्न सक्नेछैन। तर यो अगुवाले अग्रसरता लिँदै यसो भन्छ: “म दियाबलस र शैतान हुँ; परमेश्वरले मलाई श्राप देलान् र नरकको अठारौँ तहमा पठाउलान् र सारा अनन्तकालसम्म मलाई पुनर्जन्म लिने अनुमति नदेलान्!” यो सुनेर केही मानिसहरू उसको लागि दःखी हुन्छन् र भन्छन्: “हाम्रा अगुवाले धेरै कष्ट भोगेका छन्। ओह, उनीमाथि कति ठूलो अन्याय भएको छ! यदि परमेश्वरले उनलाई अगुवा बन्ने अनुमति दिनुभएन भने, हामी नै उनलाई चुन्नेछौँ।” सबैले यो अगुवालाई त्यो हदसम्म समर्थन गर्छन्, त्यसैले के तिनीहरू बहकिएका छैनन् र? तिनीहरूका वचनहरूको मूल उद्देश्यको पुष्टि भएको छ, जसले तिनीहरूले साँच्चै मानिसहरूलाई यसरी बहकाइरहेका छन् भनेर प्रमाणित गर्छ। शैतानले कहिलेकाहीँ आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने काम गरेर मानिसहरूलाई बहकाउँछ, र अरू कुनै विकल्प नहुँदा त्यसले कहिलेकाहीँ घुमाउरो पाराले आफ्ना गल्तीहरू स्विकार्न सक्छ, तर यो सब ढोँग हो, र त्यसको उद्देश्य मानिसहरूको सहानुभूति र बुझाइ प्राप्त गर्नु मात्र हुन्छ। त्यसले यस्तोसमेत भन्नेछ, “कोही पनि सिद्ध हुँदैन। सबैमा भ्रष्ट स्वभावहरू हुन्छन् र सबैले गल्ती गर्न सक्छन्। जबसम्म व्यक्तिले आफ्ना गल्तीहरू सच्याउन सक्छ, तबसम्म ऊ असल मानिस नै हुन्छ।” मानिसहरूले यो सुनेपछि तिनीहरूलाई यो सही हो भन्ने लाग्छ, र तिनीहरूले शैतानलाई आराधना गर्न र पछ्याउन जारी राख्छन्। शैतानको विधि भनेको सक्रिय रूपमा आफ्ना गल्तीहरू स्विकार्नु, र गोप्य रूपमा आफूलाई उचाल्नु र मानिसहरूको हृदयमा आफ्नो स्थानलाई माथि सार्नु हो, ताकि मानिसहरूले त्यसका सबथोक—त्यसका त्रुटिहरूसमेत—स्विकारून् र त्यसपछि ती त्रुटिहरूलाई माफ गरून्, तिनलाई बिस्तारै बिर्सिऊन्, र अन्ततः शैतानलाई पूर्ण रूपमा स्विकारून्, मृत्युसम्मै त्यसप्रति बफादार रहून्, त्यसलाई कहिल्यै नछोडून् वा नत्यागून्, र त्यसलाई अन्त्यसम्मै पछ्याउन्। के यो शैतानको काम गर्ने तरिका होइन र? शैतानले यसरी नै काम गर्छ, र ख्रीष्टविरोधीहरूले पनि मानिसहरूलाई आफूलाई आराधना गर्ने र पछ्याउने तुल्याउने आफ्नो महत्त्वाकाङ्क्षा र उद्देश्य पूरा गर्न यसप्रकारको विधि प्रयोग गर्छ। यसका परिणामहरू पनि उस्तै हुन्छन्, र शैतानले मानिसहरूलाई बहकाउने र भ्रष्ट तुल्याउने परिणामभन्दा कति पनि फरक हुँदैनन्।
जब केही मानिसहरूले आफ्नो आत्मज्ञानबारे कुरा गर्छन्, तिनीहरू आफूलाई पूरै अस्तव्यस्त र केही न कामको व्यक्तिको रूपमा चित्रित गर्छन्, र आफू दियाबलस र शैतान हुँ, आफू श्रापित हुन योग्य छु, र आफूलाई परमेश्वरले हटाउनुभयो भने गुनासो गर्नेछैन भनेरसमेत भन्छन्। तर यी मानिसहरूमा आफ्नो प्रकृति सार वा भ्रष्ट स्वभावहरूबारे साँचो बुझाइ हुँदैन, र तिनीहरूले आफ्नो वास्तविक स्थितिबारे कुनै कुरा पनि बताउन सक्दैनन्। त्यसको साटो तिनीहरूले अरूलाई बहकाउन देखावटी ढर्रा प्रयोग गर्ने प्रयास गर्छन्, र मानिसहरूलाई झुक्क्याउन र छल गर्न सक्रिय रूपमा आफ्ना गल्तीहरू स्विकार्ने र “अघि बढ्न पछि हट्ने” विधि र शैली प्रयोग गर्छन्, र त्यसपछि मानिसहरूलाई आफूबारे राम्रो राय राख्ने तुल्याउँछन्। यही नै ख्रीष्टविरोधीहरूको अभ्यास हो। अर्कोपल्ट कुनै यस्तो व्यक्तिसँग सामना भयो भने तिमीहरूले उसलाई कस्तो व्यवहार गर्नुपर्छ? (विस्तृत विवरणहरू नियाल्नुपर्छ।) ठीक भन्यौ, तिमीहरूले मामिला अनुसन्धान गर्न र विस्तृत विवरणहरू नियाल्न सिक्नुपर्छ। अनि तिमीहरूले कत्तिको गहन रूपमा अनुसन्धान गर्नुपर्छ? यति गहन रूपमा कि, जबसम्म उसले दयाको भीक माग्दै यसो भन्दैन, “म तिमीहरूलाई फेरि कहिल्यै बहकाउनेछैन। तिमीहरूले मलाई आफ्नो अगुवा चुन्यौ भने पनि म त्यो भूमिका वहन गर्नेछैन।” उसलाई यसो भन, “हामी तँबाट फेरि कहिल्यै बहकिनेछैनौँ वा तँलाई अगुवा चुन्नेछैनौँ, त्यसैले सपना देख्न बन्द गर्!” यो कस्तो लाग्यो? ती सबै मानिसहरू, जसले आफ्नो आत्मज्ञानबारे निकै बढाइचढाइ गरेर बोल्छन्, र आफूलाई सराप्नेसमेत गर्छन्, र सुन्दा तीमध्ये केही पनि साँचो लाग्दैनन्, तिनीहरू झूटा आत्मिक व्यक्ति र पाखण्डीहरू हुन्, र तिनीहरूका सबै शब्दहरू बहकाउने खालका हुन्छन्। त्यस्ता मानिसहरूको बोलीमा एक विशेषता र केही मसिना विवरणहरू हुन्छन्, जसलाई तैँले खुट्ट्याउन सक्नुपर्छ। उदाहरणको लागि, मलाई भन् त, यदि कुनै व्यक्तिलाई भेटीहरू सुरक्षित राख्ने एउटा शपथ लेख्न लगाइयो भने, त्यो शपथको पहिलो वाक्य के हुनुपर्छ? चेतना र मानवता भएको कुनै व्यक्तिले के लेख्ला? आफ्नो उचित स्थानमा उभिन र आफ्नो मनोवृत्ति उदाङ्गो पार्न उसले कस्तो भाव र वाक्यांश प्रयोग गर्ला? साधारण मानिसहरूले बोल्दा त तिनीहरूले साधारण रूपमै बोलिरहेका छन् भनेर सबैले महसुस गर्न सक्छन्, तर दुष्ट मानिसहरू वा ख्रीष्टविरोधीहरूजस्ता महत्त्वाकाङ्क्षी कोटिका मानिसहरूले बोल्दा, तिनीहरूसित खास भाव हुन्छ, जुन औसत व्यक्तिको भन्दा फरक हुन्छ। उदाहरणको लागि, तिनीहरूले यसो भन्छन्: “यदि म, फलानोले परमेश्वरका भेटीहरूको एक पैसा पनि हिनामिना गरेँ भने, मैले दयनीय रूपले मर्नुपरोस्—मैले गाडीले किचिएर मर्नुपरोस्!” यो कस्तो भाव हो? तिनीहरू “म” भन्ने शब्दबाट सुरु गर्छन्, सबैभन्दा उच्च सुनिने भाव अपनाउँछन्—तिनीहरूको भाव र बोल्ने शैलीपछाडिको उत्प्रेरणा तिनीहरूले प्रयोग गर्ने आक्षरिक शब्दहरूमा देख्न सकिन्छ। पहिलो शब्द “म” हुन्छ—तिनीहरूले सबैभन्दा उच्च सुनिने भाव, र निकै तिखो स्वर अपनाउँछन्—के यो निकै उच्च सुनिने शपथ होइन र? यसप्रकारको शपथलाई के भनिन्छ? यसलाई उच्च सुनिने र पाखण्डी शपथ भनिन्छ। यस्तो आक्रामकतासाथ शपथ लेख्नु—यो कस्तो खालको स्वभाव हो? यो एक शपथ हो, त्यसोभए तैँले कोसामु शपथ खाँदै छस्? तैँले परमेश्वरसामु शपथ खाँदै छस्, त्यसकारण यो मामिलामा एक सामान्य व्यक्तिले कसरी बोल्नुपर्छ? उसले नम्र तरिकाले बोल्नुपर्छ, आफ्नो उचित स्थानमा उभिनुपर्छ, परमेश्वरलाई प्रार्थना गर्नुपर्छ, र हृदयदेखि बोल्नुपर्छ। उसले उच्च-सुनिने शब्दहरू प्रयोग गर्नु वा आक्रामक बन्नु हुँदैन। त्यस्ता मानिसहरू शपथ खाइरहँदा पनि त्यति आक्रामक हुन्छन्—तिनीहरूको शैतानी स्वभाव यति गम्भीर हुन्छ! तिनीहरूको अर्थ यस्तो हुन्छ: “तँलाई ममाथि भरोसा छैन? तँलाई मैले परमेश्वरको घरको फाइदा उठाइरहेको छु, भेटी चोरिरहेको छु भन्ने डर छ? तँ मलाई प्रयोग गर्छस् र ममाथि भरोसा छैन, र तँ मलाई शपथ खान भन्छस्—ठीक छ, म शपथ खानेछु, मैले यो शपथ खाने आँट गर्छु गर्दिनँ, पर्खेर हेर्! मलाई त लाग्दैन कि म त्यस्तो केही गर्न सक्छु।” यो कस्तो मनोवृत्ति हो? यो आक्रामकता र निर्लज्जता हो। तिनीहरू परमेश्वरविरुद्ध रडाको मच्चाउने दुस्साहससमेत गर्छन्, र आफूलाई सही ठहर्याउन र मानिसहरूलाई बहकाउन शपथ प्रयोग गर्छन्। के यो परमेश्वरको डर मान्नु हो त? यसमा त अलिकति पनि धर्मपरायणता छैन। यस्तो खालको व्यक्ति शैतान र ख्रीष्टविरोधी हो; ख्रीष्टविरोधीहरूले यसरी नै बोल्छन्। रडाको मच्चाउने आशयले शपथ खानु—यो कस्तो खालको स्वभाव हो? के यस्तो खालको व्यक्तिलाई अझै पनि मुक्ति दिन सकिन्छ? के तिमीहरूले यस्तो खालको व्यक्ति पहिले भेटका छौ? तिमीहरू यस्ता प्रकटीकरण, खुलासा वा स्वभावहरू खुट्ट्याउन जान्दैनौ, जान्दछौ र? कति मानिसहरू त यस्तो खालको व्यक्ति समझदार, आत्मिक बुझाइयुक्त, इमानदार, र परमेश्वरप्रति बफादार भएको विश्वास गर्छन्। के यो मूर्खता होइन र? के यो समझको कमी होइन र? यो घोर व्यवहार र स्वभाव तिनीहरूको शपथको आक्षरिक शब्द र वाक्यांशमा देख्न सकिन्छ, तर मानिसहरूले अझै पनि यो ख्रीष्टविरोधी असल छ भन्ने सोच्छन्। के यी मानिसहरूले सत्यता बुझ्छन् त? यस्तो लाग्छ तिमीहरू सबैले धर्मसिद्धान्तहरू मात्र बुझ्छौ, तिमीहरूले धर्मसिद्धान्तबारे कुरा गर्न र खोक्रा शब्दहरू बोल्न मात्र सक्छौ, र खास मामिला र समस्याहरू खुट्ट्याउन सक्दैनौ। भविष्यमा यस्ता मामिलाहरू सामना गर्यौ भने, के तिमीहरू खुट्ट्याउन सक्नेछौ? (हो, सक्नेछौँ।) यस्ता शपथ लेख्नेहरू सबै पशुहरू हुन् र तिनीहरू कसैमा मानवता छैन। के तिमीहरूले पहिले यस्तो खालको शपथ देखेका छौ? के तिमीहरूले पहिले यस्तो खालको शपथ लेखेका छौ? (छौँ।) के त्यसको भाव र सुरुवात पनि यसको जस्तै थियो? (योजत्तिको सिधा थिएन।) त्यसोभए के त्यसको प्रकृति उही थियो? (थियो।) त्यसको प्रकृति उही थियो। शपथ खानु भनेको युद्धमैदानमा प्रवेश गर्नुजस्तो होइन, जसमा वीरतापूर्ण आत्मबलिदान आवश्यक हुन्छ। यसमा त्यस्तो भावना आवश्यक पर्दैन। जब तैँले परमेश्वरको शपथ खान्छस्, तैँले त्यसबारे राम्रोसँग सोच्नुपर्छ, र तैँले यो शपथ खान किन आवश्यक छ, र तैँले कसको लागि शपथ खाँदै छस् र प्रतिज्ञा गर्दै छस् भन्ने कुरा बुझ्नुपर्छ। परमेश्वरले एक खालको भावना होइन, बरु व्यक्तिको मनोवृत्ति चाहनुहुन्छ। तेरो त्यो भावना आक्रामक र रडाको मच्चाउने किसिमको छ; त्यो शैतानको अहङ्कारी स्वभावको प्रकटीकरण हो। त्यो धर्मपरायणता र सृष्टि गरिएको प्राणीहरूमा हुनुपर्ने प्रकटीकरण होइन, र त्यो सृष्टि गरिएको प्राणीहरूले लिनुपर्ने दृष्टिकोण त झनै होइन। के यस्तो प्रकटीकरण देखाउने मानिसहरू राष्ट्रिय वीरताद्वारा प्रभावित छैनन् र? के यो यससँग सम्बन्धित छ? मानिसहरूलाई गहन रूपमा विष लगाइएको छ—तिनीहरू एउटा शपथ वा प्रतिज्ञा लेख्नेबित्तिकै युगौँयुगदेखिका सबै प्रसिद्ध व्यक्तित्वहरूबारे सोच्छन्, जो आफ्नो देश र जनताप्रति बफादार थिए। ती प्रसिद्ध व्यक्तित्वहरू शैतानको गिरोहका हिस्सा थिए, र तिनीहरूले आफूलाई अलग देखाउन र आफ्नै गवाही दिन, अनि मानिसहरूको हृदयमा स्थान ओगट्न र राम्रो प्रतिष्ठा बनाउनको लागि निर्लज्जपूर्वक काम गरेका थिए, ताकि इतिहासमा अमर रहँदै तिनीहरूले अनन्तसम्म रहिरहने राम्रो नाम कमाउन सकून्। पछिका पुस्ताले यसलाई तिनीहरूले देशप्रति अन्धभक्ति गरेको रूपमा मूल्याङ्कन गरे; के तिमीहरूलाई तिनीहरू साँच्चै अन्धा थिए भन्ने लाग्छ? यो सबैभन्दा विश्वासघाती, र दुष्ट अभ्यास हो, र यसभित्र व्यक्तिगत मनसाय हुन्छ। यो अन्धोपन होइन, र निश्चय नै भक्ति पनि होइन—यो त दुष्टता हो।
ख्रीष्टविरोधीहरूको आफूबारे गवाही दिने कार्यबारे हामीले धेरै सङ्गति गरिसकेका छौँ। के यो विषयसँग सान्दर्भिक अरू कुनै कुराहरू छन्, जुन तिमीहरूले अझै पनि राम्रोसँग बुझेका छैनौ? कतिपय मानिसहरूले बोली प्रयोग गरी आफूबारे गवाही दिन्छन्, र आडम्बर देखाउने केही वचनहरू बोल्छन्, जबकि अरू मानिसहरूले व्यवहार प्रयोग गर्छन्। आफूबारे गवाही दिन व्यवहार प्रयोग गर्ने मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? बाहिरबाट हेर्दा, तिनीहरू मानिसहरूका धारणाहरूसँग मेल खाने, मानिसहरूको ध्यान आकर्षित गर्ने, र मानिसहरूले निकै भद्र र नैतिक मापदण्डहरूअनुरूप भन्ठानेका केही व्यवहारमा संलग्न हुन्छन्। यी व्यवहारले मानिसहरूलाई तिनीहरू सम्मानजनक, निष्ठायुक्त, परमेश्वरलाई प्रेम गर्ने, धर्मपरायण, र साँच्चै परमेश्वरको डर मान्ने हृदय भएका, र सत्यता पछ्याउने मानिसहरू हुन् भन्ने सोच्ने तुल्याउँछ। तिनीहरू मानिसहरूलाई बहकाउन प्रायः केही बाहिरी असल व्यवहार प्रदर्शन गर्छन्—के यसमा पनि आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुको गन्ध आउँदैन र? मानिसहरूले प्रायः अरूलाई तिनीहरूबारे उच्च सोच्ने र तिनीहरूलाई सम्मानको दृष्टिले हेर्ने तुल्याउन शब्दहरूको माध्यमबाट, तिनीहरू कसरी जनमानसभन्दा भिन्न छन् र तिनीहरूसँग कसरी अरूभन्दा बुद्धिमानी विचारहरू छन् भनेर व्यक्त गर्न स्पष्ट बोली प्रयोग गर्दै आफूलाई उचाल्छन् र आफूबारे गवाही दिन्छन्। तर प्रत्यक्ष बोली संलग्न नभएका त्यस्ता केही विधिहरू छन्, जसमा मानिसहरूले तिनीहरू अरूभन्दा राम्रा छन् भनेर गवाही दिनुको सट्टा बाहिरी अभ्यासहरू प्रयोग गर्छन्। यसप्रकारका अभ्यासहरू राम्रोसित सोचविचार गरिएका हुन्छन्, तिनमा निश्चित अभिप्राय र मनसाय हुन्छन्, र ती निकै उद्देश्यपूर्ण हुन्छन्। तिनलाई राम्ररी बेरिएको र प्रशोधित गरिएको हुन्छ, त्यसैले मानिसहरूले देख्ने भनेका केही व्यवहार र अभ्यास मात्र हुन्, जुन मानिसहरूका धारणासँग मिल्ने, भद्र, धर्मपरायण, र सन्तको शिष्टतासँग मिल्ने, र परमेश्वरलाई प्रेम गर्ने, परमेश्वरको डर मान्ने, र सत्यतासँग मिल्नेसमेत हुन्छन्। यसले आफूलाई उचाल्ने र आफूबारे गवाही दिने र मानिसहरूलाई आफूबारे उच्च सोच्ने र आफूलाई आराधना गर्ने तुल्याउने उही उद्देश्य पूरा गर्छ। के तिमीहरूले कहिल्यै त्यस्तो कुरा सामना गरेका वा देखेका छौ? के तिमीहरूमा यी प्रकटीकरणहरू छन्? के मैले छलफल गरिरहेका यी कुरा र यो विषय वास्तविक जीवनभन्दा अलग छन्? वास्तवमा, ती अलग छैनन्। म तिनीहरूलाई एउटा सामान्य उदाहरण दिन्छु। कतिपय मानिसहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा बाहिरबाट तिनीहरू अत्यन्तै व्यस्त देखिन्छन्; तिनीहरू जानीजानी अरूले खानपिन गरिरहेको वा सुतिरहेको बेला काम गर्न जारी राख्छन्, र अरूले आफ्नो कर्तव्य निर्वाह गर्न सुरु गर्दा तिनीहरू खानपिन ग्र्न वा सुत्न जान्छन्। तिनीहरूले यसो गर्नुको उद्देश्य के हो? तिनीहरू ध्यान आकर्षित गर्न र सबैलाई तिनीहरू कर्तव्य निर्वाह गर्नमा अति व्यस्त रहेको र तिनीहरूसँग खानपिन गर्ने वा सुत्ने समयसमेत नभएको देखाउन चाहन्छन्। तिनीहरू सोच्छन्: “तिमीहरू साँच्चै कुनै बोझ उठाउँदैनौ। तिमीहरू कसरी खानपिन गर्ने र सुत्नेबारे यति सक्रिय हुन्छौ? तिमीहरू केही न कामका हौ! मलाई हेर, म काम गरिरहेको छु, जबकि तिमीहरू सबै खानपिन गरिरहेका छौ, र तिमीहरू राती सुतिरहेको बेलासमेत म काम गरिरहेको छु। के तिमीहरूले यसरी कष्ट भोग्न सक्नेथ्यौ? म यो कष्ट सहन सक्छु; मैले त आफ्नो व्यवहारमार्फत एउटा उदाहरण स्थापित गरिरहेको छु।” तिमीहरू यस्तो व्यवहार र प्रकटीकरणबारे के सोच्छौ? के यी मानिसहरूले जानीजानी यस्तो गरिरहेका छैनन् र? केही मानिसहरूले जानीजानी यी कुराहरू गरिरहेका हुन्छन्, र यो कस्तो खालको व्यवहार हो? यी मानिसहरू गैरअनुरूपतावादी बन्न चाहन्छन्; तिनीहरू जनमानसभन्दा अलग हुन र मानिसहरूलाई आफू रातभर कर्तव्य निर्वाह गर्नमा व्यस्त रहेको, र कष्ट सहन विशेष सक्षम रहेको देखाउन चाहन्छन्। यसरी सबैजनाले तिनीहरूको काँधमा यति बोझ रहेको छ कि तिनीहरू काममा व्यस्त रहेर खानपिन गर्न वा सुत्नसमेत नपाएको भन्ने सोच्दै तिनीहरूको लागि दुःखी हुनेछन् र तिनीहरूप्रति सहानुभूति देखाउनेछन्। अनि, यदि तिनीहरूलाई मुक्ति दिन सकिन्न भने, सबैले तिनीहरूको लागि परमेश्वरसँग याचना गर्नेछन्, तिनीहरूको तर्फबाट अनुनय विनय गर्नेछन्, र तिनीहरूको लागि प्रार्थना गर्नेछन्। यसो गर्दा, ती मानिसहरूले अरूलाई छल्न र जालझेलपूर्ण तरिकाले तिनीहरूको सहानुभूति र प्रशंसा पाउन कष्ट सहने र मूल्य चुकाउनेजस्ता मान्छेका धारणाहरूसँग मेल खाने असल व्यवहार र अभ्यासहरू प्रयोग गरिरहेका हुन्छन्। अनि यसको अन्तिम नतिजा के हुन्छ? तिनीहरूको सम्पर्कमा आएका र तिनीहरूले मूल्य चुकाएको देखेका सबैले एकै स्वरमा यसो भन्नेछन्: “हाम्रो अगुवा नै सबैभन्दा योग्य, अनि कष्ट भोग्न र मूल्य चुकाउन सबैभन्दा सक्षम छन्!” त्यसपछि, के तिनीहरूले मानिसहरूलाई बहकाउने आफ्नो उद्देश्य पूरा गरेका हुँदैनन् र? अनि, एकदिन परमेश्वरको घरले यसो भन्छ: “तिमीहरूको अगुवाले वास्तविक काम गर्दैन। उसले बिनाकुनै उद्देश्य आफूलाई व्यस्त राख्छ र काम गर्छ; उसले लापरवाहीपूर्वक कार्य गर्छ र ऊ स्वेच्छाचारी र तानाशाही प्रकृतिको छ। उसले मण्डलीको काम अस्तव्यस्त पारेको छ, आफूले गर्नुपर्ने काम गरेको छैन, सुसमाचार कार्य वा चलचित्र निर्माण कार्य गरेको छैन, र मण्डली जीवन पनि गञ्जागोल भएको छ। ब्रदर-सिस्टरहरूले सत्यता बुझ्दैनन्, तिनीहरूसँग जीवन प्रवेश छैन, र तिनीहरूले गवाही लेखहरू लेख्न सक्दैनन्। सबैभन्दा दयनीय कुरा त, तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरू खुट्ट्याउनसमेत सक्दैनन्। यस्तो खालको अगुवा अत्यन्तै असक्षम हुन्छ; ऊ बर्खास्त गरिनुपर्ने झूटो अगुवा हो!” के यी परिस्थितिहरूमा उसलाई बर्खास्त गर्न सजिलो हुन्छ? यो एकदमै गाह्रो हुन सक्छ। ब्रदर-सिस्टरहरू सबैले उसलाई अनुमोदन र समर्थन गर्ने हुनाले, यदि कसैले त्यो अगुवालाई बर्खास्त गर्न खोज्यो भने, ती ब्रदर-सिस्टरहरूले विरोध दर्ज गर्नेछन् र उसलाई राखिराख्न माथिलाई अनुरोध गर्नेछन्। किन त्यस्तो परिणाम हुन्छ त? किनकि त्यो झूटो अगुवाले मानिसहरूलाई प्रभावित गर्न, आफ्नो पक्षमा पार्न, र बहकाउन कष्ट भोग्ने र मूल्य चुकाउने, साथै राम्रो सुनिने शब्दहरूजस्ता बाहिरी असल व्यवहारहरू प्रयोग गर्छ। मानिसहरूलाई बहकाउन उसले यी झूटा रूप प्रयोग गरेपछि सबैले उसको लागि बोल्नेछन् र उसलाई छोड्न असमर्थ हुनेछन्। तिनीहरूलाई त्यो अगुवाले धेरै वास्तविक काम गरेको छैन, र परमेश्वरका चुनिएका जनलाई सत्यता बुझ्न र जीवन प्रवेश प्राप्त गर्न मार्गदर्शन गरेको छैन भन्ने स्पष्ट थाहा हुन्छ, तैपनि ती मानिसहरूले अझै उसलाई समर्थन गर्छन्, अनुमोदन गर्छन्, र पछ्याउँछन्, यसको अर्थ तिनीहरूले सत्यता र जीवन पाउनेछैनन् भन्ने कुरासमेत ख्याल गर्दैनन्। यसअलावा, त्यो अगुवाको बहकाउमा परेर ती मानिसहरू सबैले उसको आराधना गर्छन्, ऊबाहेक अरू कुनै अगुवा स्विकार्दैनन्, र अबउप्रान्त परमेश्वरलाई समेत चाहँदैनन्। के तिनीहरूले त्यो अगुवालाई परमेश्वरको रूपमा व्यवहार गरिरहेका छैनन् र? यदि परमेश्वरको घरले त्यो व्यक्तिले वास्तविक काम गर्दैन र ऊ झूटो अगुवा र ख्रीष्टविरोधी हो भनेर भन्छ भने, उसको मण्डलीका मानिसहरूले विरोध र विद्रोह गर्नेछन्। मलाई भन त, त्यो ख्रीष्टविरोधीले कुन हदसम्म ती मानिसहरूलाई बहकाएको छ? यदि यो पवित्र आत्माको काम हो भने, मानिसहरूको अवस्था केवल सुध्रिरहने छ, अनि तिनीहरूले अझ बढी सत्यता बुझ्नेछन, परमेश्वरप्रति अझ बढी समर्पित हुनेछन्, हृदयमा परमेश्वरको लागि अझ बढी ठाउँ बनाउनेछन्, र झूटा अगुवा र ख्रीष्टविरोधीहरू खुट्ट्याउन अझ बढी सक्षम हुनेछन्। यो दृष्टिकोणबाट हेर्द, हामीले भर्खरै छलफल गरेको परिस्थिति बिलकुलै पवित्र आत्माको काम होइन—केही समयसम्म काम गरेपछि केवल ख्रीष्टविरोधी र दुष्टात्माहरूले मानिसहरूलाई यो हदसम्म बहकाउन सक्छन्। यी ख्रीष्टविरोधीहरूले धेरै मानिसहरूलाई बहकाएका र नियन्त्रण गरेका छन्, र तिनीहरूको हृदयमा ख्रीष्टविरोधीहरूको लागि मात्र ठाउँ हुन्छ र परमेश्वरको लागि कुनै ठाउँ हुँदैन। बाहिरी असल व्यवहारमार्फत आफूलाई उचाल्ने र आफूबारे गवाही दिने गरेर ख्रीष्टविरोधीहरूले प्राप्त गर्ने अन्तिम परिणाम यही हो। तिनीहरूले आफूलाई उचाल्न र आफूबारे गवाही दिन कष्ट भोग्ने र मूल्य चुकाउने बाहिरी व्यवहारहरू प्रयोग गर्छन्, जुन ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउन र नियन्त्रण गर्न प्रयोग गर्ने माध्यमहरूमध्येको एक हो। अब तिमीहरूले यो मामिला स्पष्टसँग देख्छौ, होइन र? के ख्रीष्टविरोधीहरूले मानिसहरूलाई बहकाउन कष्ट सहने र मूल्य चुकाउने बाहिरी व्यवहारहरू प्रयोग गर्नु निकै धूर्त र कपटी कुरा होइन र? अनि के तिमीहरूले पनि कहिलेकाहीँ यी कुराहरू गर्दैनौ र? कति मानिसहरूले त अबेरसम्म जागा रहेर कर्तव्य निर्वाह गर्नको लागि ऊर्जा बढाउन कफीसमेत पिउने गर्छन्। ब्रदर-सिस्टहरू तिनीहरूको स्वास्थ्यबारे चिन्तित भएर तिनीहरूको लागि कुखुराको झोल पकाउँछन्। तिनीहरूले झोल पिइसकेपछि यसो भन्छन्, “परमेश्वरलाई धन्यवाद! मैले परमेश्वरको अनुग्रह प्राप गरेको छु। म यसको योग्य छैनँ। मैले यो खुकुराको झोल पिइसकेकोले मैले झनै दक्षतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ!” वास्तवमा, तिनीहरूले आफ्नो कुशलता कत्ति पनि नबढाई सधैँजसरी नै कर्तव्य निर्वाह गर्न जारी राख्छन्। के तिनीहरूले ढोँग गरिरहेका छैनन् र? तिनीहरूले ढोँग गरिरहेका छन्, र यस्तो खालको व्यवहार पनि गोप्य रूपमा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु हो; यसले हासिल गर्ने परिणाम भनेको मानिसहरूलाई तिनीहरूलाई अनुमोदन गर्ने, तिनीहरूबारे उच्च सोच्ने, र तिनीहरूका कट्टर अनुयायी बन्ने तुल्याउनु हो। यदि मानिसहरूमा यस्तो खालको मानसिकता भयो भने, के तिनीहरूले परमेश्वरलाई बिर्सेका हुँदैनन् र? त्यसउप्रान्त त तिनीहरूको हृदयमा परमेश्वर हुनुहुन्न, तब तिनीहरूले दिनरात कोबारे सोच्छन् त? तिनीहरूले आफ्नो “असल अगुवा”, आफ्नो “प्रिय” बारे सोच्छन्। कति ख्रीष्टविरोधीहरू त सतहमा अधिकांश मानिसहरूप्रति निकै प्रेमिलो हुन्छन्, र तिनीहरूले बोल्दा केही शैलीहरू प्रयोग गर्छन्, ताकि मानिसहरूले तिनीहरू प्रेमिलो छन् भन्ने देखून्, र तिनीहरूको नजिक हुन इच्छुक होऊन्। तिनीहरू आफूनजिक आउने र आफूसँग कुराकानी गर्ने जोकोहीसित मुस्कुराउँछन्, र त्यस्ता मानिसहरूसँग निकै नम्र लबजमा कुरा गर्छन्। तिनीहरूले केही ब्रदर-सिस्टरहरू आफ्ना कार्यमा सिद्धान्तहीन भएको देख्दा, र फलस्वरूप मण्डलीको हितमा हानि पुग्दासमेत तिनीहरूलाई कति पनि काटछाँट गर्दैनन्, तिनीहरूले कर्तव्य निर्वाह गरिरहँदा केवल अर्ती-उपदेश र सान्त्वना दिन्छन्, र मनाउँछन्—तिनीहरूले सबैलाई आफूसामु नल्याउन्जेलसम्म मानिसहरूलाई मनाउने र फकाउने गरिरहन्छन्। मानिसहरू बिस्तारै यी मानिसहरूद्वारा प्रभावित हुन्छन्; सबैले तिनीहरूको प्रेमिलो हृदय अनुमोदन गर्छन्, र तिनीहरूलाई परमेश्वरलाई प्रेम गर्ने मानिसहरू भनेर बोलाउँछन्। अन्ततः सबैले तिनीहरूलाई आराधना गर्छन् र हरेक मामिलामा तिनीहरूको सङ्गति खोज्छन्, र तिनीहरूले यी ख्रीष्टविरोधीहरूलाई सम्पूर्ण रूपमा आफ्ना सबैभन्दा भित्री सोच र विचारहरू बताउँछन्, यति हदसम्म कि तिनीहरूले त्यसउप्रान्त परमेश्वरलाई आराधना गर्ने वा परमेश्वरका वचनमा सत्यता खोज्नेसमेत गर्दैनन्। के यी मानिसहरू यी ख्रीष्टविरोधीहरूद्वारा बहकिएका छैनन् र? यो ख्रीष्टविरोधीहरूले मानिसहरू बहकाउन प्रयोग गर्ने अर्को माध्यम हो। जब तिमीहरू यी व्यवहार र अभ्यासहरूमा संलग्न हुन्छौ, वा यी अभिप्रायहरू राख्छौ, के तिमीहरू यसमा समस्या छ भन्नेबारे सचेत हुन्छौ? अनि यसबारे सचेत भएपछि, के तैँले आफ्ना कार्यहरूको दिशा बदल्न सक्छस्? यदि तैँले सचेत भएपछि र आफ्ना व्यवहार, अभ्यास, वा अभिप्रायहरू समस्याजनक छन् भनेर जाँचेपछि, आत्मचिन्तन गर्न र साँचो पछुतो महसुस गर्न सक्छस् भने, यसले तैँले आफ्नो दिशा परिवर्तन गरेको छस् भन्ने प्रमाणित गर्छ। यदि तँ आफ्ना समस्याबारे सचेत छस् तर तिनलाई वास्ता गर्दैनस् र आफ्नै मनसायअनुरूप व्यवहार गर्छस्, र आफूलाई बाहिर निकाल्नै नसक्ने हदसम्म झन्झन् गहिराइमा डुब्दै जान्छस् भने, तैँले दिशा परिवर्तन गरेको हुँदैनस् र तैँले जानीजानी आफूलाई परमेश्वरविरुद्ध खडा गरिरहेको छस्, आफूलाई उचाल्दै छस् र आफूबारे गवाही दिइरहेको छस्, र साँचो मार्गबाट टाढा बरालिइरहेको छस्। यो कस्तो स्वभाव हो? यो ख्रीष्टविरोधी स्वभाव हो। के यो गम्भीर छ? (छ।) यो कति गम्भीर छ? व्यक्तिले झनै बढी कपटी र छली माध्यम प्रयोग गर्नु, मानिसहरूलाई बहकाउन कष्ट सहाइ र मूल्य चुकाइ प्रयोग गर्नु, र तिनीहरूलाई आफूलाई आराधना गर्ने र पछ्याउने तुल्याउन खोज्नुको परिणाम व्यक्तिले खुल्लमखुल्ला आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुसरह हुन्छ—ती उही प्रकृतिका हुन्छन्। तैँले आफूलाई उचाल्न र आफूबारे गवाही दिन जुनसुकै माध्यम प्रयोग गरे पनि, चाहे त्यो स्पष्ट बोली होस् वा केही प्रस्ट असल व्यवहार होस्, त्यो सब उही प्रकृतिकै हुन्छ। त्यसमा ख्रीष्टविरोधीको गुण, र परमेश्वरका चुनिएका जनहरूको लागि उहाँसँग लड्ने गुण हुन्छ। तेरा प्रकटीकरणहरूले जुन रूप लिए पनि वा तैँले जुनसुकै माध्यम प्रयोग गरे पनि, जबसम्म तेरो मनसाय बदलिँदैन र परिणामहरू उही हुन्छन्, तबसम्म त्यो सब उही प्रकृतिको हुन्छ। यसरी यो प्रस्ट हुन्छ कि ख्रीष्टविरोधीहरू निकै चतुर हुन्छन् र तिनीहरू सत्यतालाई प्रेम गर्ने वा पछ्याउने गर्दैनन्। तर तिनीहरू मानिसहरूलाई बहकाउने माध्यमको रूपमा कष्ट सहन र मूल्य चुकाउन सक्षम हुन्छन्—ख्रीष्टविरोधीहरूको दुष्टता नै यही हो।
कतिपय मानिसहरू अन्य व्यक्तिहरूलाई आफू बुद्धिजीवी र ज्ञानी हुँ, र आफ्नो कार्य निकै गहन छन् भनी सोच्ने तुल्याउन, र त्यसरी मानिसहरूलाई आफ्नो आराधना गर्ने तुल्याउने आफ्नो उद्देश्य पूरा गर्न केही बेतुकका सिद्धान्त र अमूर्त तर्कहरूबारे कुरा गर्छन्। अर्थात्, तिनीहरू हरेक मामिलामा सहभागी हुन र आफ्नो राय व्यक्त गर्न चाहन्छन्, र सबैले अन्तिम निर्णय गरिसकेका छन् भने पनि, यदि तिनीहरू त्यसदेखि सहमत छैनन् भने, तिनीहरूले आफ्नो प्रदर्शन गर्न केही उच्च सुनिने विचारहरू फलाक्छन्। के यो आफूलाई उचाल्ने र आफूबारे गवाही दिने एउटा माध्यम होइन र? कुनैकुनै मामिलामा सबैले एकअर्कासँग छलफल र विचार-विमर्श गरी सिद्धान्तहरू फेला पारिसकेका र कार्य योजनाहरूबारे निर्णय गरिसकेका हुन्छन्, तर तिनीहरूले त्यो निर्णय स्विकार्दैनन् र अनुचित ढङ्गले कामकुरा अवरोध पार्छन्, र यसो भन्छन्, “त्यसरी हुँदैन। तिमीहरूले यसबारे विस्तारमा सोचविचार गरेका छैनौ। हामीले कुरा गरेका यी पक्षहरूबाहेक, मैले एउटा अर्कोबारे पनि सोचेको छु।” वास्तवमा, तिनीहरूले सोचेको पक्ष कुनै बेतुकको सिद्धान्त मात्र हुन्छ; तिनीहरूले ससानो कुरामा बखेडा झिकिरहेका हुन्छन्। तिनीहरू आफूले ससानो कुरामा बखेडा झिकिरहेको र अरू मानिसहरूको लागि परिस्थिति गाह्रो बनाइरहेको कुराबारे पूर्ण रूपमा सचेत हुन्छन्, तैपनि तिनीहरूले त्यसो गरिछोड्छन्। त्यसो गर्नुमा तिनीहरूको के उद्देश्य हुन्छ? त्यसको उद्देश्य मानिसहरूलाई तिनीहरू फरक छन्, र अरूभन्दा चलाख छन् भनेर देखाउनु हो। तिनीहरूको अर्थ यस्तो हुन्छ, “त्यसोभए तिमीहरू सबै यो स्तरमा पो छौ? मैले आफू माथिल्लो स्तरमा भएको कुरा तिमीहरूलाई देखाउनैपर्ने भो।” तिनीहरू प्रायः अरू कसैले भनेको कुनै पनि कुरा वास्ता गर्दैनन्, तर कुनै महत्त्वपूर्ण कुरा आइपर्नेबित्तिकै कामकुरा बिगार्न थालिहाल्छन्। यस्तो व्यक्तिलाई के भनिन्छ? बोलचालको भाषामा तिनीहरूलाई गनगने र बिग्रेको अण्डा भनिन्छ। यस्तो गनगनेका आम तौरतरिकाहरू के-के हुन्? तिनीहरू उच्च-सुनिने विचारहरू भट्याउन र कुनै नीच र कुटिल अभ्यासमा संलग्न हुन मन पराउँछन्। यदि तैँले तिनीहरूलाई एउटा सही कार्य योजना प्रस्तुत गर्न भनिस् भने, तिनीहरूले एउटा पनि प्रस्तुत गर्न सक्नेछैनन्, र तिनीहरूलाई कुनै गम्भीर कुरा सम्हाल्न लगाइस् भने तिनीहरूले त्यो पनि गर्न सक्नेछैनन्। तिनीहरूले नीच कुराहरू मात्र गर्छन्, र सधैँ मानिसहरूलाई “चकित” पार्न र आफ्नो क्षमताको धाक लगाउन चाहन्छन्। त्यो एउटा भनाइ के हो रे? “बुढी आइमाईले लाली लाई—तिमीहरूलाई देखाउनलाई”। यसको अर्थ तिनीहरू सधैँ आफ्ना क्षमताको धाक लाउँछन्, र तिनीहरूले राम्रोसित त्यसो गर्न सके पनि वा नसके पनि मानिसहरूलाई यस्तो कुरा थाहा दिन चाहन्छन्, “म तिमीहरूभन्दा बढी असाधारण छु। तिमीहरू कोही पनि कुनै कामका छैनौ, तिमीहरू केवल नश्वर, साधारण मानिसहरू हौ। म असाधारण र परलौकिक छु। म तिमीहरूलाई चकित पार्न आफ्ना विचारहरू बाँड्नेछु र त्यसपछि तिमीहरूले म श्रेष्टतर छु कि छैन भनेर देख्न सक्नेछौ।” के यो कामकुरा बिगार्नु होइन र? तिनीहरूले जानीजानी कामकुरा बिगारिरहेका हुन्छन्। यो कस्तो खालको व्यवहार हो? तिनीहरूले बाधा र अवरोधहरू उत्पन्न गरिरहेका छन्। तिनीहरूको अर्थ यस्तो हुन्छ: मैले यो मामिलामा म कति चलाख छु भनेर देखाएको छैन, त्यसैले चाहे जोसुकैको हितमाथि हानि पुगे पनि र जोसुकैको मेहनत खेर गए पनि, सबैले म श्रेष्ठतर, सक्षम, र सामर्थ्यवान् छु भनेर विश्वास नगरुन्जेल मैले यसलाई ध्वंस गर्नेछु। त्यसपछि मात्र यो मामिलालाई बिनारोकटोक अगाडि बढ्न दिनेछु। के यस्ता खराब मानिसहरू हुन्छन्? (हुन्छन्। कहिलेकाहीँ अरूले कुनै मामिलाबारे छलफल गरिसकेका र एउटा उपयुक्त योजना पत्ता लगाइसकेका हुन्थे, तर तिनीहरूले निर्णय प्रक्रियादौरान मलाई जानकारी नदिएकाले मैले जानीजानी त्यसमा केही त्रुटिहरू औल्याएँ।) जब तैँले यसो गरिस्, के तँलाई आफ्नो हृदयमा यो सही हो कि गलत हो भन्ने थाहा थियो? के तँलाई यो समस्याको प्रकृति गम्भीर छ, यसले बाधा र अवरोधहरू उत्पन्न गरिरहेको छ भन्ने थाहा थियो? (त्यसबेला म यसबारे सचेत थिइनँ, तर ब्रदर-सिस्टहरूको काटछाँट, र परमेश्वरका न्याय र सजायका वचनहरूको खानपानमार्फत मैले यो समस्या गम्भीर प्रकृतिको छ, यसले मण्डलीको काममा बाधा र अवरोध उत्पन्न गरिरहेको छ, र यो एक खालको शैतानी व्यवहार हो भन्ने देखेँ।) तैँले यो कति गम्भीर छ भनेर देखेकोले, त्यसपछि तँमाथि त्यस्तै कुराहरू आइपर्दा, के तँ अलि बदलिन र आफ्नो तौरतरिकाको सवालमा केही प्रवेश पाउन सक्षम भइस् त? (भएँ। जब मैले यस्ता सोच र विचारहरू प्रकट गरेँ, म यो शैतानी स्वभाव हो, मैले त्यसरी काम गर्न मिल्दैन भनेर सचे भएँ, र मैले सचेत रूपमै परमेश्वरलाई आराधना गर्न र ती गलत सोच र विचारहरूविरुद्ध विद्रोह गर्न सकेँ।) तँ धेरथोर रूपमा बदलिन सकिस्। तँलाई भ्रष्टताका त्यस्ता समस्याहरू आइपर्दा, तैँले तिनलाई समाधान गर्न सत्यता खोज्नुपर्छ, आफूलाई संयमित राख्नुपर्छ, र परमेश्वरलाई प्रार्थना गर्नुपर्छ। जब तैँले मानिसहरूले तँलाई घृणाको नजरले हेर्छन्, तँबारे उच्च सोच्दैनन् वा तँलाई गम्भीरतापूर्वक लिँदैनन् भनेर सोच्छस्, र फलस्वरूप अवरोध निम्त्याउन चाहन्छस् भने, यस्तो सोच आउँदा तँ यो कुरा सामान्य मानवताबाट नभई शैतानी स्वभावबाट आएको हो, र तँ यसरी नै चलिरहिस् भने यसले समस्या खडा गर्नेछ, र तैँले सम्भवतः परमेश्वरको स्वभाव चिढ्याउनेछ्स् भनेर सचेत हुनुपर्छ। तैँले पहिला आफूलाई संयमित राख्न जान्नुपर्छ, र त्यसपछि परमेश्वरलाई प्रार्थना गर्न उहाँसामु आउनुपर्छ र आफ्नो दिशा परिवर्तन गर्नुपर्छ। जब मानिसहरू आफ्नै विचारहरू, आफ्नै भ्रष्ट स्वभाहरूभित्र जिउँछन्, तब तिनीहरूले गर्ने कुनै पनि कुरा सत्यताअनुरूप हुँदैन र ती कुनैले पनि परमेश्वरलाई सन्तुष्ट पार्न सक्दैनन्; तिनीहरूले गर्ने जुनसुकै कुरा पनि उहाँप्रति शत्रुतापूर्ण हुन्छन्। तिमीहरूले अब यो तथ्य चिन्न सक्छौ, सक्दैनौ र? सधैँ ख्याति र लाभको निम्ति लड्नु, र प्रतिष्ठा र हैसियत पाउनको लागि मण्डलीको काममा बाधा र अवरोध उत्पन्न गर्न नहिचकिचाउनु ख्रीष्टविरोधीहरूका सबैभन्दा प्रस्ट प्रकटीकरणहरू हुन्। वास्तवमा, सबै मानिसहरूमा यी प्रकटीकरणहरू हुन्छन्, तर यदि तैँले यो कुरा चिन्न र स्विकार्न सक्छस्, र त्यसपछि आफ्नो दिशा परिवर्तन गर्न, परमेश्वरसामु साँचो पश्चात्तापको मनोवृत्ति अपनाउन, र आफ्ना तौरतरिका, व्यवहार, र स्वभावहरू बदल्न सक्छस् भने, तँ सत्यता पछ्याइरहेको व्यक्ति होस्। यदि तँ यी वास्ताविक समस्याहरू स्विकार्दैनस् भने, तँसँग निश्चय नै पश्चात्तापको मनोवृत्ति छैन, र तँ सत्यता पछ्याउने व्यक्ति होइनस्। यदि तँ ख्रीष्टविरोधीको मार्ग हिँडिरहन्छस्, र अन्त्यसम्मै यो मार्ग पछ्याउँछस्, तैपनि यो समस्या होइन भन्ने सोच्छस् र पश्चात्ताप गर्न इच्छुक हुँदैनस्, र यसरी नै कार्य गरिरहन्छस् र सेवक तथा अगुवाहरूसँग ख्याति र लाभको निम्ति प्रतिस्पर्धा गर्छस्, र अरूभन्दा झनै अब्बल हुन, भीडभन्दा अलग देखिन, र आफू जुन समूहमा भए पनि अरूभन्दा राम्रो हुनमा जोड दिन्छस् भने, तँ समस्यामा छस्! यदि तँ प्रतिष्ठा र हैसियत पछ्याइरहन्छस् र जिद्दी भई पश्चात्ताप गर्न इन्कार गर्छस् भने, तँ ख्रीष्टविरोधी होस् र तँ अन्त्यमा दण्डित हुने निश्चत छ। परमेश्वरका वचनहरू, सत्यता, विवेक र समझले तँमाथि प्रभाव पार्दैनन्, र तैँले ख्रीष्टविरोधीहरूको अन्त्य पाउने निश्चित छ। तँलाई मुक्ति दिन सकिन्न, तँ छुटकारायोग्य छैनस्! मानिसहरूले मुक्ति पाउन र परमेश्वरको डर मान्ने र दुष्टताबाट अलग बस्ने बाटो हिँड्न सक्ने वा नसक्ने कुरा तिनीहरूले आफूलाई जानिसकेपछि साँचो पश्चात्तापका प्रकटीकरणहरू प्रदर्शन गर्छन् कि गर्दैनन् भन्ने कुरा, र तिनीहरूले सत्यतालाई लिने तरिका, साथै तिनीहरूले छनोट गर्ने मार्गमा निर्भर हुन्छ। यदि तैँले ख्रीष्टविरोधीको मार्ग छोड्दैनस्, बरु आफ्नै महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्ने छनोट गर्छस्, निर्लज्ज रूपमा सत्यताविरुद्ध जान्छस्, र आफूलाई परमेश्वरविरुद्ध खडा गर्छस् भने, तँ छुटकारायोग्य छैनस्। यदि कुनै व्यक्ति आफूले गरेका गल्तीहरूको गम्भीरता जति भए पनि वा आफूले जति वटा दुष्कर्महरू गरे पनि डर मान्न जान्दैन, र उसले दोषी महसुस गर्दैन, र आफ्नो लागि बहानाहरू बनाइरहन्छ, कति पनि पछुतो मान्दैन भने, ऊ खाँटी ख्रीष्टविरोधी र दियाबलस हो। यदि कसैमा ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरू मात्र छन्, तर उसले आफ्ना गल्तीहरू स्विकार्न, पछाडि फर्कन, र पछुतो मान्ने हृदय राख्न सक्छ भने, यो ख्रीष्टविरोधीहरूभन्दा भिन्न प्रकृतिको कुरा हो र यो पूर्णतया अर्कै मामिला हो। त्यसैले, कसैले मुक्ति पाउन सक्छ कि सक्दैन भन्ने कुरा मुख्यतः उसले आत्मचिन्तन गर्न सक्छ कि सक्दैन, उसमा पश्चात्तापको हृदय छ कि छैन, र ऊ सत्यता पछ्याउने मार्ग हिँड्न सक्छ कि सक्दैन भन्ने कुरामा निर्भर हुन्छ।
चौथो विषयवस्तु, अर्थात् आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु ख्रीष्टविरोधीहरूको एकनासे तौरतरिका हो। तिमीहरू ख्रीष्टविरोधीहरूले आफूलाई उचाल्न र आफूबारे गवाही दिन प्रयोग गर्ने प्रस्ट माध्यम, तरिका, र विधिहरू खुट्ट्याउन सक्छौ, तर के तिमीहरू बढी गुप्त व्यवहार र प्रकटीकरणहरू खुट्ट्याउन सक्छौ त? आफूलाई उचाल्न र आफूबारे गवाही दिन बोली प्रयोग गर्नेजस्ता प्रस्ट कुराहरूको सवालमा तिमीहरूले यी कुराहरू प्रकट गर्छौ, अरूले पनि यी कुराहरू प्रकट गरेको देखेका छौ, र तिमीहरूले तिनीहरूलाई खुट्ट्याउन सक्छौ। तर कुनै बोली प्रयोग गरिएन र व्यवहारसम्बन्धी प्रकटीकरणहरू मात्र भए भने, के तिमीहरू अझै पनि तिनीहरूलाई खुट्ट्याउन सक्छौ? यो भन्न सकिन्छ कि अधिकांश मानिसहरूले खुट्ट्याउन सक्दै सक्दैनन्। त्यसोभए, ख्रीष्टविरोधीहरूले आफूलाई उचाल्ने र आफूबारे गवाही दिने व्यवहारका विशेषताहरू के-के हुन्? तिनीहरूको व्यवहार निश्चय नै मान्छेका धारणा, कल्पना, नैतिकता, विवेक, र भावनाहरूसँग मेल खान्छन्। अरू के? (यसले मानिसहरूको अनुमोदन र आराधना बटुल्छ।) यसले अनुमोदन र आराधना बटुल्छ; यसले पैदा गर्ने परिणाम नै यही हो। यदि हामीले यसलाई परिणामको दृष्टिकोणबाट हेर्ने हो भने, यो व्यवहारमा बहकाउने गुण हुन्छ। यो कार्यको प्रकृतिको दुष्टिकोणबाट हेर्दा, यो निकै उद्देश्यपूर्ण हुन्छ। उदाहरणको लागि, यदि कुनै व्यक्ति बिरामी भयो भने र उसले मानिसहरूलाई बहकाउन र आफूलाई राम्रो सोच्ने तुल्याउन चाहन्छ भने, उसले मानिसहरूको अगाडि आफ्नो औषधि खानेछ कि आसपास कोही पनि नभएको बेलामा? (मानिसहरूको अगाडि।) के यसको पछाडि कुनै मनसाय छैन र? यसको अर्थ ऊ निकै उद्देश्यपूर्ण भइरहेको छ भन्ने हो। उसले यसरी औषधि खानुको उद्देश्य के हो? उसले यसो गरेर आफैँ श्रेय लिन चाहन्छ, र तँलाई यसो भन्छ: “हेर, म आफ्नो कर्तव्य निर्वाह गरेर यति थाकेको छु कि म बिरामी नै परेको छु, तापनि मैले गुनासो गरेको वा एक थोपा आँसु झारेको छैन। मैले आफ्नो बिमारको उपचार गरिरहेको छु, तर औषधि लिँदै गर्दा पनि म आफ्नो कर्तव्य निर्वाहमा लागिरहन्छु।” वास्तवमा, यस्ताहरूले कर्तव्य निर्वाह गर्दै थकित भएर वा परमेश्वरमा विश्वास गर्न थालेपछि नै यो रोग लागेको हो भन्ने हुँदैन। तिनीहरूले मानिसहरूमाझ एउटा सन्देश प्रवाह गर्नको लागि मात्र हरप्रकारका व्यवहार प्रयोग गर्ने प्रयास गरिरहेका हुन्छन्, र त्यो सन्देश के हो भने, तिनीहरूले कष्ट भोगिरहेका र मूल्य चुकाइरहेका छन्, तिनीहरूले यो वातावरणमा धेरै कष्ट भोगेका छन् तर एकपटक पनि गुनासो गरेका छैनन्, र अझै पनि सक्रिय रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन्, र तिनीहरूमा कष्ट भोग्ने इच्छाशक्ति छ। यसले मानिसहरूलाई अप्रत्यक्ष रूपमा के भनिरहेको छ? यो कि परमेश्वरप्रतिको तिनीहरूको बफादारिता निस्सन्देह छ। तिनीहरूले व्यक्त गर्न खोजेको कुरा के हो भने, तिनीहरू बफादार र मूल्य चुकाउन इच्छुक छन्। के यो गोप्य रूपमा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु होइन र? यदि तिनीहरूमा समझ भएको भए, तिनीहरूले यो मामिला उठाउनेथिएनन्, तिनीहरूले आसपास कोही नभएको बेला परमेश्वरलाई आराधना गर्नेथिए, अनि आफ्नो सङ्कल्प व्यक्त गर्नेथिए, र आफूलाई जान्ने प्रयास गर्नेथिए वा सामान्य रूपमा आफ्नो औषधि खानेथिए। छोटकरीमा भन्नुपर्दा, तिनीहरूले मानिसहरूलाई आफूले कष्ट भोगिरहेको छु, बफादारीपूर्वक कर्तव्य निर्वाह गरिरहेको छु, र आफूले इनाम पाउनुपर्छ भनेर भन्नको लागि ती बाहिरी व्यवहारहरू प्रयोग गर्नेथिएनन्। तिनीहरूले यी अभिप्रायहरू राख्नेथिएनन्। तर यदि तिनीहरूले निकै देखावटी व्यवहार गरे भने, र आफूबारे मानिसहरूले राम्रो सोचून् र आफूलाई प्रशंसा गरून् भन्ने चाहना राखे भने, त्यो पनि निकै उद्देश्यपूर्ण हुन्छ। अनि तिनीहरूको उद्देश्य के हो? त्यो तिनीहरूले मानिसहरूलाई प्रवाह गर्ने सन्देशमार्फत आफूलाई उचाल्ने र आफूबारे गवाही दिने परिणाम हासिल गर्नु हो। यदि तिनीहरू बफादार छन् भने परमेश्वरले त्यो थाहा पाउनुहुनेछ, त्यसैले तिनीहरूले किन अरू मानिसहरूलाई यसको धाक देखाउनु र सबैलाई यसबारे जान्ने तुल्याउनुपर्छ र? तिनीहरूले सबैलाई यसबारे जान्ने तुल्याउनुको उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूलाई तिनीहरूबारे उच्च सोच्ने तुल्याउनु हो। यदि तिनीहरूले यो उद्देश्य नराखेको भए, तिनीहरूले बिनाकुनै अभिप्राय कार्य गर्नेथिए, र अरूले तिनीहरूले यी काम गरेको देख्नेथिएनन्। यदि तिनीहरू निकै उद्देश्यपूर्ण हुन्छन् भने, तिनीहरूले आफ्ना कार्यको परिमाण मापन गर्नेछन्, र गनगन गर्नेछन्, सबैजना वरपर भएपछि मात्र कसैलाई आफ्नो औषधि ल्याउन लगाउनेछन्, र तामझामसाथ सार्वजनिक रूपमै त्यो कुरा खोल्नेछन्। यसमा निकै स्पष्ट उद्देश्य छ। यदि तिनीहरूसँग यो उद्देश्य नभएको भए, तिनीहरूले आफ्नो औषधि खान छेउछाउमा कोही नहुन्जेल पर्खिनेथिए। तेरो कष्ट भोग्ने र मूल्य चुकाउने इच्छा परमेश्वरसँगको तेरो सम्बन्धसँग सम्बन्धित छ; तैँले त्यसलाई प्रस्ट पार्नु वा अरूलाई बताउनु आवश्यक छैन। तिनीहरूको सहानुभूति र प्रशंसा पाउनुबाहेक, के तैँले तिनीहरूबाट पाउन सक्ने अरू केही छ र? अहँ, केही पनि छैन। तैँले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा केही कष्ट भोग्दा र कुनै मूल्य चुकाउँदा, एक हिसाबले यी तैँले गर्नुपर्ने कुराहरू हुन् र तँ यी कुराहरू गर्न इच्छुक छस्, र तैँले आफ्नै कर्तव्य निर्वाह गरिरहेको छस्। अर्को हिसाबले, यी तैँले एउटा सृष्टि गरिएको प्राणीको नाताले सृष्टिकर्ताप्रति देखाउनुपर्ने प्रकटीकरणहरू हुन्, त्यसैले तैँले किन तिनलाई प्रचार गर्नुपर्छ र? जब तैँले तिनलाई प्रचार गर्छस्, ती घिनलाग्दो बन्छन्; त्यस्तो व्यवहारको प्रकृति कस्तो बन्छ? त्यो आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु र अरूलाई बहकाउनु बन्छ—प्रकृति बदलिन्छ। उदाहरणको लागि, कति मानिसहरूले सधैँ अरूसामु आफ्नो टाउको कन्याउँछन्, र कसैले तिनीहरूलाई यसबारे सोध्दा यसो भन्छन्: “मैले दस दिनभन्दा बेसीदेखि कपाल धोएको छैन—मैले एकपछि अर्को गर्दै सुसमाचार ग्रहणकर्ताहरूसँग भेट्दै आइरहेको छु। एकदिन मैले कपाल धुन समय निकाल्ने प्रयास गरेँ, तर एक सम्भावित सुसमाचार ग्रहणकर्ता अनुसन्धान गर्न आइपुगे र म उठेर हिँड्नै सकिनँ।” वास्तवमा तिनीहरूले मानिसहरूलाई आफू कर्तव्य निर्वाह गर्नमा निकै व्यस्त रहेको देखाउन जानीजानी कपाल नधोएका हुन्। यसलाई रबाफ देखाउनु भनिन्छ। तिनीहरूले रबाफ देखाउनुपछाडि के उद्देश्य हुन्छ? यसको उद्देश्य मानिसहरूलाई आफूबारे उच्च सोच्ने तुल्याउनु हुन्छ, र यो व्यवहारको प्रकृति भनेको आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु हो। तिनीहरूले यस्तो सानो मामिलालाई समेत त्यत्तिकै छोड्दैनन्, तिललाई पहाड बनाउन चाहन्छन्, र यसलाई आफ्नो प्रदर्शन गर्न, आफ्ना महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न, मानिसहरूलाई आफूबारे उच्च सोच्ने र आफूलाई आराधना गर्ने तुल्याउने उद्देश्य पूरा गर्न प्रयोग गर्न मिल्ने एक खालको मूल्यवान् संसाधनमा परिणत गर्छन्। के यो लाजमर्दो कुरा होइन र? यो लाजमर्दो र घिनलाग्दो कुरा हो। यी सब कुराहरू कहाँबाट आउँछन्? यी शैतानको भ्रष्ट स्वभावबाट आउँछन्, जसभित्र ढोँग, कपट, दुष्टता, र महत्त्वाकाङ्क्षा हुन्छन्। यस्ता मानिसहरूले लगातार आफ्नो छवि, हैसियत, र प्रतिष्ठाबारे सोचिरहेका हुन्छन्। तिनीहरूले कुनै कुरालाई पनि खेर जान दिँदैनन्, तिनीहरू सधैँ ती कुराहरूलाई मानिसहरूलाई आफूबारे उच्च सोच्ने र आफूलाई आराधन गर्ने तुल्याउन प्रयोग गर्न मिल्ने पूँजी र संसाधनमा परिणत गर्ने उपायहरू खोजिरहेका हुन्छन्। अन्त्यमा आफ्नो उद्देश्य पूरा गरेपछि तिनीहरू त्यसबारे वास्ता नै नगर्नेजस्तो व्यवहार गर्छन्। यो पनि एकप्रकारको छद्मभेष हो, र भित्रभित्रै तिनीहरू गोप्य रूपमा उत्सव मनाइरहेका र आफूदेखि सन्तुष्ट भइरहेका हुन्छन्। के यो झनै घिनलाग्दो कुरा होइन र? तिनीहरूसँग पहिल्यै निकै उच्च हैसियत हुन्छ, सबैले तिनीहरूलाई सम्मान गर्छन्, आदरको नजरले हेर्छन्, तिनीहरूको आज्ञा मान्छन्, र तिनीहरूलाई पछ्याउँछन् भन्ने कुरा स्पष्ट छ, तर बाहिरबाहिर तिनीहरू अझै पनि हैसियत मन नपराउनेजस्तो नाटक गर्छन्। यो त झनै पाखण्डी कुरा हो। अन्त्यमा सबैजना तिनीहरूको बहकाउमा पर्छन्, र तिनीहरू विनाकुनै महत्त्वाकाङ्क्षा जन्मेका र कर्मशील मानिसहरू हुन् भनेर भन्छन्। वास्तवमा एउटा सानो परीक्षाले नै यसलाई खुलासा गर्न सक्छ: यदि तिनीहरूबाट तिनीहरूको हैसियत खोसियो भने, तिनीहरूले तुरुन्तै आफ्नो कर्तव्य निर्वाह गर्न छोड्नेछन्। यो झट्टै हुनेछ; एउटा सानो कुराले नै तिनीहरूका महत्त्वाकाङ्क्षाहरू खुलासा गर्नेछ। शैतानको भ्रष्ट स्वभावले मानिसहरूमा ल्याउने व्यवहार र तौरतरिकाहरू, साथै मानिसहरूका विभिन्न कुरूप स्थितिहरू यिनै हुन्। यी प्रकटीकरणहरूबाट देख्न सकिन्छ कि मानिसहरूले हैसियत मन पराउँछन् र अरूको हृदयमा ठाउँ ओगट्न चाहन्छन्। तिनीहरू अरूको हृदय ओगट्न, अरूको मन जित्न, अरूलाई आफूलाई आराधना गर्ने, सम्मानको नजरले हेर्ने, र पछ्याउने तुल्याउन, र त्यसरी अरू मानिसहरूको हृदयमा परमेश्वरको ठाउँ प्रतिस्थापित गर्न चाहन्छन्। हरेक व्यक्तिले जन्मेदेखि नै राख्ने चाहना यही हो। अनि यसले के प्रमाणित गर्छ? यो कि, मानिसहरूको जीवनमा तिनीहरूलाई नियन्त्रण गर्ने कुरा भनेको शैतानको स्वभाव हो। भ्रष्ट मानवजातिमाझ हैसियत मन नपराउने एक जना पनि हुँदैन—मूर्खहरूसमेत अधिकारी बन्न चाहन्छन्, र मन्द बुद्धिवालहरूसमेत अरूलाई व्यवस्थापन गर्न चाहन्छन्। सबैले हैसियत मन पराउँछन्, र सबैले हसियतकै खातिर काम गर्छन्, र हैसियतकै लागि परमेश्वरसँग होड गर्छन्। सबैसँग यस्तो खालको व्यवहार र तौरतरिका, साथै यस्तो खालको स्वभाव हुन्छन्। त्यसैले जब हामी ख्रीष्टविरोधीहरूले आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुको खुलासा गरिरहेका हुन्छौँ, हामीले हरव्यक्तिका भ्रष्ट स्वभावहरू पनि खुलासा गरिरहेका हुन्छौँ। यो खुलासा गर्नुको उद्देश्य के हो? यो उद्देश्य आफूलाई उचाल्ने र आफूबारे गवाही दिने यी व्यवहार र प्रकटीकरणहरू सामान्य मानवतामा हुनुपर्ने कुरा होइनन्, बरु भ्रष्ट स्वभावहरूका प्रकटीकरण, अनि नकारात्मक, घृणास्पद हुन् भनेर मानिसहरूलाई बुझाउनु हो। आफूलाई उचाल्ने र आफूबारे गवाही दिने तेरा विधिहरू जतिसुकै चतुर भए पनि, अनि तेरा कार्यहरू जतिसुकै गोप्य भए पनि, यीमध्ये कुनै पनि कुरा सामान्य मानवतामा हुनुपर्ने कुरा होइनन्, र यी सबलाई परमेश्वरले घृणा, निन्दा, धिक्कार गर्नुहुन्छ। त्यसकारण मानिसहरूले यी सब तौरतरिका पन्छाउनुपर्छ। आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु भनेको परमेश्वरले मानिसहरूको लागि सिर्जना गर्नुभएको अन्तर्निहित प्रवृत्ति होइन—बरु यो त शैतानको भ्रष्ट स्वभावका ठेट प्रकटीकरणहरूमध्येको एक हो, र त्योभन्दा पनि बढी, यो त शैतानको भ्रष्ट सारका सबैभन्दा ठेट र विशिष्ट प्रकटीकरण र तौरतरिकामध्येको एक हो।
के आफूलाई उचाल्ने र आफूबारे गवाही दिने विविध प्रकटीकरणहरू, चाहे बोल्ने र कार्य गर्ने स्पष्ट वा अलिक गुप्त तरिका जेसुकै भए पनि, तिनलाई बुझ्ने सम्बन्धमा केही विशिष्ट उदाहरणहरूबारे सङ्गति गर्नु तिमीहरूको लागि मद्दतगार हुन्छ? (हो, मद्दतगार हुन्छ।) यसले केमा मद्दत गर्छ? यसले मानिसहरूलाई आफू र अरूलाई खुट्ट्याउन मद्दत गर्छ। मैले कुरा गरिरहेका ती स्थिति, प्रकटीकरण, र खुलासाहरू तिमीहरूले प्रायः प्रदर्शन गरिरहने कुराहरू हुन्, र तिमीहरूले ती कुराहरूसँग आफ्नो स्थिति दाँज्नुपर्छ, र आफू ठ्याक्कै के हो, बाँच्नको लागि आफू निर्भर हुने र भर पर्ने जीवन ठ्याक्कै के हो, यो जीवनभित्र ठ्याक्कै के छ, र यी स्वभावहरूले मानिसहरूलाई ठ्याक्कै के गर्ने, र के जिउने तुल्याउँछन् भनेर बुझ्नुपर्छ। यी खास व्यवहार, प्रकटीकरण, तौरतरिका, र स्वभावहरू बुझेर मानिसहरूले बिस्तारै आफूलाई चिरफार गर्न र आफूलाई, आफ्नो सार, र परमेश्वरविरुद्ध रहेको आफ्नो प्रकृति बुझ्न, र त्यसरी यी तौरतरिकाहरू त्याग्न, परमेश्वरसामु आउन र साँचो रूपमा आफूलाई फनक्क फर्काउन, र सत्यताअनुरूप अभ्यास गर्न र त्यसमा जिउन सक्छन्। कति मानिसहरूले यसो भन्छन्: “आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु सत्यतासँग मेल नखाने, अनि शैतान र ख्रीष्टविरोधीहरूको तौरतरिका भएकोले, यदि मैले केही बोलिनँ वा गरिनँ भने, के त्यसको अर्थ मैले आफूलाई उचालिरहेको र आफूबारे गवाही दिइरहेको छैन भन्ने हुँदैन र?” यो सही होइन। त्यसोभए, कसरी कार्य गर्नुचाहिँ आफ्नो बढाइ नगर्नु र गवाही नदिनु हो। यदि तैँले कुनै मामलाको सम्बन्धमा रवाफ देखाउँछस् र आफूबारे गवाही दिन्छस् भने, तैँले केही मानिसहरूलाई तँलाई राम्रो ठान्न र तेरो आराधना गर्न लगाउने परिणाम प्राप्त गर्नेछस्। तर यदि तैँले त्यही मामलाका सम्बन्धमा आफूलाई उदाङ्गो पार्छस् र आफ्नो आत्मज्ञान बाँड्छस् भने, यसको प्रकृति फरक हुन्छ। के यो साँचो होइन र? आफ्नो आत्मज्ञानबारे कुरा गर्नका लागि आफूलाई उदाङ्गो पार्नु भनेको सामान्य मानवतामा हुनुपर्ने कुरा हो। यो एउटा सकारात्मक कुरा हो। यदि तँ आफूलाई साँच्चिकै जान्दछस् र आफ्नो स्थितिबारे सही, साँचो र प्रस्ट रूपले बोल्छस् भने; यदि तँ पूर्णतया परमेश्वरका वचनहरूमा आधारित ज्ञानबारे बोल्छस् भने; यदि तेरो कुरा सुन्नेहरूलाई त्यसबाट शिक्षा र लाभ मिल्छ भने; अनि यदि तँ परमेश्वरको कामको गवाही दिन्छस् र उहाँको महिमा गाउँछस् भने, त्यो नै परमेश्वरबारे गवाही दिनु हो। यदि, आफूलाई उदाङ्गो पारेर, तैँले आफ्ना सबल पक्षहरू, तैँले कति कष्ट भोगेको छस् र मूल्य तिरेको छस्, अनि आफ्नो गवाहीमा दृढ रहेको छस् भन्नेबारे धेरै कुरा गर्छस्, र फलस्वरूप, मानिसहरूले तँलाई राम्रो ठान्छन् र तेरो आराधना गर्छन् भने, यो आफूबारे गवाही दिनु हो। तैँले यी दुई व्यवहारहरूबीचको भिन्नता बताउन सक्नुपर्छ। उदाहरणका लागि, परीक्षाहरू सामना गर्दा तँ कति कमजोर र नकारात्मक थिइस्, र प्रार्थना गर्नुका साथै सत्यता खोजेपछि कसरी तैँले अन्ततः परमेश्वरको अभिप्राय बुझिस्, आस्था प्राप्त गरिस्, र आफ्नो गवाहीमा दृढ रहिस् भनी व्याख्या गर्नुचाहिँ परमेश्वरबारे बढाइ गर्नु र गवाही दिनु हो। यो रवाफ देखाउनु र आफूबारे गवाही दिनु कदापि होइन। त्यसकारण, तँ रवाफ देखाइरहेको र आफूबारे गवाही दिइरहेको छस् कि छैनस् भन्ने कुरा प्रमुख रूपमा तँ आफ्ना वास्तविक अनुभवहरूबारे कुरा गरिरहेको छस् कि छैनस्, र तैँले परमेश्वरबारे गवाही दिने परिणाम हासिल गर्छस् कि गर्दैनस् भन्नेमा भर पर्छ; तैँले आफ्नो अनुभवात्मक गवाहीबारे बोल्दा तेरा अभिप्राय र उद्देश्यहरू के हुन् भन्ने कुरा हेर्न पनि जरुरी छ। त्यसो गर्दा तँ कस्तो व्यवहारमा लागिरहेको छस् भनी खुट्ट्याउन सजिलो हुनेछ। तैँले गवाही दिँदा तेरो अभिप्राय सही छ भने, मानिसहरूले तँलाई राम्रो ठानेर तेरो आराधना गरे पनि, त्यो खासै समस्या होइन। यदि तेरो अभिप्राय गलत छ भने, कसैले पनि तँलाई राम्रो नठाने पनि र तेरो आराधना नगरे पनि, त्यो समस्या नै हो—अनि यदि मानिसहरूले तँलाई राम्रो ठान्छन् र तेरो आराधना गर्छन् भने, त्यो झनै समस्या हो। त्यसकारण, कुनै व्यक्तिले आफूबारे बढाइ गरिरहेको र गवाही दिइरहेको छ कि छैन भनी निर्धारण गर्न तैँले नतिजाहरू मात्र हेर्न मिल्दैन। तैँले मूल रूपमा उसको अभिप्राय हेर्नैपर्छ; यी दुई व्यवहारहरूबीच भिन्नता छुट्ट्याउने सही उपाय अभिप्रायहरूमा आधारित हुन्छ। यदि तैँले यसलाई नतिजाहरूका आधारमा मात्र खुट्ट्याउने कोसिस गर्छस् भने, तैँले असल मानिसहरूलाई झूटो आरोप लगाउने सम्भावना हुनेछ। कतिपय मानिसहरूले अत्यन्तै साँचो गवाही दिन्छन्, र अरू केही मानिसहरूले फलस्वरूप उनीहरूलाई राम्रो मान्छन् र उनीहरूको आराधना गर्छन्—के तैँले ती मानिसहरू आफूबारे गवाही दिइरहेका छन् भन्न मिल्छ? अहँ, मिल्दैन। ती मानिसहरूमा समस्या छैन, तिनीहरूले दिने गवाही र गर्ने कर्तव्यले अरूलाई फाइदा गर्छ, र विकृत बुझाइ भएका मूर्ख र अज्ञानी मानिसहरूले मात्र अरू मानिसहरूको आराधना गर्छन्। मानिसहरूले आफूबारे बढाइ गरिरहेका र गवाही दिइरहेका छन् कि छैनन् भनी खुट्ट्याउने कडी नै वक्ताको अभिप्रायलाई हेर्नु हो। यदि तेरो भ्रष्टता कसरी खुलासा भयो, र तँ कसरी बदलिएको छस् भनी सबैलाई देखाउनु, र अरूलाई यसबाट लाभ लिन सक्षम पार्नु नै तेरो अभिप्राय हो भने, तेरा शब्दहरू गम्भीर र साँचो हुन्, र ती तथ्यहरूसँग मिल्दो छन्। यस्ता अभिप्रायहरू सही हुन्, र तैँले रवाफ देखाइरहेको वा आफूबारे गवाही दिइरहेको छैनस्। यदि तेरो अभिप्राय नै तिनीहरूले तँलाई राम्रो मानून् र तेरो आराधना गरून् भन्नका लागि तँसित वास्तविक अनुभवहरू छन्, तँ बदलिएको छस् र तँसित सत्यता वास्तविकता छ भनेर सबैलाई देखाउनु हो भने, यी अभिप्रायहरू गलत छन्। त्यो रवाफ देखाउनु र आफूबारे गवाही दिनु हो। यदि तैँले भन्ने गरेको अनुभवात्मक गवाही झूटो, दूषित छ, र त्यसको उद्देश्य मानिसहरूलाई छल्ने, तिनीहरूलाई तेरो साँचो स्थिति हेर्नबाट रोक्ने, र तेरा अभिप्रायहरू, भ्रष्टता, कमजोरी, वा नकारात्मकता अरूसामु खुलासा हुनबाट रोक्ने हो भने, यस्ता शब्दहरू छली र भ्रामक हुन्छन्। यो झूटो गवाही हो, यो परमेश्वरलाई झुक्याउनु र परमेश्वरको अपमान गर्नु हो, र परमेश्वरले सबैभन्दा बढी घृणा गर्ने कुरा यही हो। यी स्थितिहरूबीच प्रस्ट भिन्नताहरू छन्, र ती सबैलाई अभिप्रायका आधारमा खुट्ट्याउन सकिन्छ। यदि तँ अरूलाई खुट्ट्याउन सक्छस् भने, तैँले तिनीहरूको स्थिति छर्लङ्ग देख्न सक्नेछस्, र त्यसपछि तैँले आफूलाई खुट्ट्याउन, र आफ्नो स्थिति छर्लङ्ग देख्न सक्नेछस्।
यी सब प्रवचनहरू सुनिसकेपछि पनि मानिसहरूले पहिलेजसरी नै आफूलाई उचाल्न र आफूबारे गवाही दिन जारी राख्छन्। तिमीहरूले त्यस्ता मानिसहरूलाई कसरी लिनुपर्छ? तिनीहरूलाई खुट्ट्याउनुपर्छ, तिनीहरूको खुलासा गर्नुपर्छ, र तिनीहरूबाट टाढा बस्नुपर्छ। यदि सन्दर्भको रूपमा तिनीहरूका शब्दहरूको कुनै मूल्य छ भने, तैँले ती वचनहरू ग्रहण गर्नुपर्छ, तर तिनको कुनै सन्दर्भ मूल्य छैन भने, तैँले तिनलाई त्याग्नुपर्छ र तीद्वारा प्रभावित हुनु हुँदैन। यदि ती मानिसहरू अगुवा हुन् भने, तिनीहरूको खुलासा गर्, तिनीहरूलाई रिपोर्ट गर्, तिनीहरूलाई त्याग्, र तिनीहरूको अगुवाइ अस्वीकार गर्। यसो भन्: “तँ सधैँ आफूबारे गवाही दिन्छस् र आफूलाई उचाल्छस्, तँ सधैँ हामीलाई चेतनाशून्य बनाउँछस् र नियन्त्रण गर्छस्, र बहकाउँछस्। हामी सबै परमेश्वरबाट झनै टाढिएका छौँ, र हाम्रो हृदयमा परमेश्वरसमेत हुनुहुन्न—यसमा त केवल तँ छस्। अब हामी खडा हुनेछौँ र तँलाई त्याग्नेछौँ।” तिमीहरूले यसरी नै व्यवहार गर्नुपर्छ, तिमीहरूले एकअर्काको निगरानी गर्नुपर्छ, आफ्नो पनि र अरूको पनि निगरानी गर्नुपर्छ। के तिमीहरूले प्रायः अरूको अगाडि आफ्नो टाउको कन्याएका, वा मानिसहरूको पिठ्यूँपछाडि साँच्चै टन्नै खाजा खाइरहेर पनि तिनीहरूलाई आफूले धेरै छाक छोडेको छु भनेर भनेका छैनौ? कहिलेकाहीँ वातावरणको कारणले मानिसहरूले काममा व्यस्तता हुनगई एक महिनासम्म ननुहाउनु, वा नुहाउने वा टाउको धुने कामलाई थाती राख्नु सामान्य कुरा हो। यी सब सामान्य घटना हुन्, र ती मानिसहरूले चुकाउनुपर्ने मूल्य हुन्। ती ठूला कुरा होइनन्—तिललाई पहाड नबनाओ। यदि कसैले त्यस्ता मामिलालाई ती जत्रा छन्, त्योभन्दा ठूलो बनाउँछ, र जानीजानी अरूसामु टाउको कन्याउँछ र आफूले धेरै दिनसम्म कपाल नधोएको भनेर भन्छ, जानीजानी अरूसामु औषधि खान्छ, वा आफू थकित र निकै खराब शारीरिक अवस्थामा रहेको नाटक गर्छ भने, उसको खुलासा गर्न सबै जना खडा हुनुपर्छ र ऊप्रति अप्रसन्नता व्यक्त गर्नुपर्छ। यसरी त्यो निर्लज्ज व्यक्तिलाई रोक्न सकिन्छ। ऊ पाखण्डी भइरहेको छ, उसले अरूले देखून् भनी रवाफ देखाइरहेको छ, र अझै पनि मानिसहरूलाई आफ्नो व्यवहार अनुमोदन गर्ने, आफूलाई ईर्ष्या, प्रशंसा, र सराहनाको नजरले हेर्ने तुल्याउने प्रयास गरिरहेको छ। के उसले मानिसहरूलाई छल गरिरहेको छैन र? यी तौरतरिका त फरिसीहरूले हातमा धर्मशास्त्र बोकेर सडक किनारमा परमेश्वरलाई प्रार्थना गरेसमान हो। यी कुरा योभन्दा फरक होइनन्। कसैले फरिसीहरूले हातमा धर्मशास्त्र बोकेर सडक किनारमा उभिएर धर्मशास्त्र पढिरहेको वा प्रार्थना गरिरहेको कुरा उल्लेख गर्नेबित्तिकै यी मानिसहरूले सोच्छन्, “यो निकै लज्जाजनक कुरा हो। मैले त त्यस्तो केही गर्नेथिइनँ।” तैपनि तिनीहरू जानीजानी अरूसामु औषधि खान्छन् वा आफ्नो टाउको कन्याउँछन्, र आफूले गरिरहेको कुरा उस्तै प्रकृतिको छ भन्नेबारे अनभिज्ञ रहन्छन्। तिनीहरूले यसलाई छर्लङ्ग देख्न सक्दैनन्। पछि त्यस्ता मामिलाहरू सामना गर्दा, तिमीहरूले यस्ता मानिसहरूलाई खुट्ट्याउन र खुलासा गर्न सिक्नुपर्छ, तिनीहरूको सबै पाखण्ड खुलासा गर्नुपर्छ—त्यसपछि तिनीहरूले त्यसरी व्यवहार गर्ने आँट गर्नेछैनन्। तिमीहरूले तिनीहरूलाई अलिअलि दबाब दिनुपर्छ, र तिनीहरूलाई त्यस्ता तौरतरिका, व्यवहार, र स्वभावहरू लज्जास्पद, र सबैप्रति एकदमै घृणित छन् भनेर सोच्ने तुल्याउनुपर्छ। यदि मानिसहरूले तिनलाई घृणा गर्छन् भने, के परमेश्वरले पनि तिनलाई घृणा गर्नुहुन्छ? उहाँले झनै बढी घृणा गर्नुहुन्छ। भित्री रूपमा तँ केही पनि होइनस्। तैँले आफूलाई उचाल्ने र आफूबारे गवाही दिने काम नगरे पनि, तँ पहिल्यै पर्याप्त रूपमा दयनीय छस्, त्यसैले यदि तँ त्यति दयनीय भएर पनि आफूलाई उचाल्छस् र आफूबारे गवाही दिन्छस् भने, के मानिसहरूले यसलाई घिनाउनेछैनन् र? तैँले कहिल्यै बफादारीपूर्वक कर्तव्य निर्वाह गरेको छैनस्, तैँले कहिल्यै सिद्धान्तअनुरूप कार्य गरेको छैनस्, र तैँले कुनै पनि हिसाबमा परमेश्वरका मापदण्डहरू पूरा गरेको छैनस्। तँ समस्यामा परिसकेको छस्, त्यसैले यदि तैँले आफूलाई उचाल्ने र आफूबारे गवाही दिने काम पनि गर्छस् भने, तेरो लागि परिस्थिति झनै कठिन हुनेछैन र? तँ परमेश्वरका मापदण्डहरू, र मुक्ति पाउने मानक पूरा गर्नबाट झनै टाढा पुग्नेछस्।
मलाई भन त, आफूलाई उचाल्ने र आफूबारे गवाही दिने समस्याको प्रकृति कस्तो हुन्छ? शैतानले मानिसहरूलाई त्यो हदसम्म भ्रष्ट पारेको छ; के तिनीहरूको मानवता र समझ अब सामान्य छैन, होइन र? के तिमीहरूले कर्तव्य निर्वाह गर्ने क्रममा आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुका प्रकटीकरणहरू देखाएका छौ? यसबारे कसले बोल्न सक्छ? (मैले त्यस्तो एउटा प्रकटीकरण देखाएको छु। अबेर रातसम्म आफ्नो कर्तव्य निर्वाह गरिरहँदा म भेला समूहलाई एउटा सन्देश पठाउँछु, ताकि अरूले म यो बेलासम्म पनि सुतेको छैन भनेर जानून्, र मैले कष्ट सहन र मूल्य चुकाउन सक्छु भनेर सोचून्। मैले यो आफैले गरेको छु र अरूले पनि प्रायः गरेको देखेको छु।) यस्ता मानिसहरू टन्नै छन्, र अल्पसङ्ख्यामा छैनन् जस्तो देखिन्छ। के त्यस्तो कुरा गर्नु अनावश्यक कुरा होइन र? यो कति मूर्खतापूर्ण छ! अरू कसले केही भन्न चाहन्छ? (मैले त्यस्तो प्रकटीकरण देखाएको छु। जब म मण्डलीको काममा केही समस्या देख्छु, तब तिनलाई सुल्झाउनमा जोश देखाउँछु, र मानिसहरूमा म निकै उत्साही रहेको झूटो छाप छोड्छु, तर अधिकांश समय म बोलेपछि वास्तवमा केही पनि गर्दिनँ। मेरा कार्यहरू अगाडि बढ्दैनन् र ती प्रभावकारी हुँदैनन्, र अन्त्यमा समस्या समाधान हुँदैन, र मामिला ज्यूँ को त्यूँ रहन्छ। म मानिसहरूलाई छल्न र म सत्यता अभ्यास गर्दिनँ भन्ने तथ्य ढाकछोप गर्न आफ्नो सतही उत्साह प्रयोग गर्छु।) तैँले खोक्रा शब्दहरू बोलिरहेको छस्, ठूलो कुरा गरिरहेको छस्, र कुनै वास्तविक कदम उठाइरहेको छैनस्। तँ मानिसहरूलाई आफ्नो जोश देखाउँछस्, मानौँ तैँले सत्यता अभ्यास गरिरहेको छ्स्, तर कुनै काम गर्ने समय आउँदा तँ इमानदारीपूर्वक त्यो गर्नमा लाग्दैनस् र नाराहरू मात्र फलाक्छस्। तैँले धूमधमाकाबाट सुरु गरेर अन्ततः काम फासफुस पार्छस्, मामिलाहरू अपूर्ण छोड्छस्। त्यस्तो प्रकटीकरण पनि बहकाउने खालको हुन्छ। अनि भविष्यमा त्यस्तै केही आइपर्दा के तैँले यसलाई खुट्ट्याउनेछ्स् त? (अब म यसलाई धेरथोर रूपमा खुट्ट्याउन सक्छु।) त्यसोभए के तँमा दिशाबोध छ त? यदि तँमाथि फेरि त्यस्तै कुरा आइपर्यो भने, तैँले दुई फरक पाइला पछ्याउन सक्छस्: पहिलो पाइला हो, तैँले यो मामिला सम्हाल्न सक्छस् कि सक्दैनस् भनी मूल्याङ्कन गर्नु। यदि तैँले सक्छस् भने, तँ गम्भीरतापूर्वक र व्यावहारिक रूपमा यसमा लाग्नुपर्छ। दोस्रो पाइलाचाहिँ परमेश्वरसामु प्रार्थना गर्नु र उहाँलाई यो मामिलामा तँलाई मार्गदर्शन गर्न आग्रह गर्नु हो, र तैँले कुनै कदम चाल्दा तैँले सबैको सुपरिवेक्षण स्विकार्नु, साथसाथै यो कार्य पूरा गर्नको लागि सबैसँग सहकार्य गर्न र साथसाथ काम गर्नमा दृढसङ्कल्पित हुनु पनि पर्छ। यदि तैँले चरणबद्ध र व्यावहारिक रूपमा कामकुराहरू गर्न सिकिस् भने, तैँले यो समस्या समाधान गर्नेछस्। यदि तँ सधैँ खोक्रा वचनहरू बोल्छस्, ठूला कुरा गर्छस्, चिच्याउँछस्, तर कुनै काम गर्दा सतही रूपमा झारा मात्र टार्छस्, र व्यावहारिक हुँदै हुँदैनस् भने, तँ लुच्चो व्यक्ति होस्। तैँले मण्डलीको काममा समस्या छ भनेर देख्न र त्यो समस्या कसरी समाधान गर्न सकिन्छ भनेर सुझाव दिन सक्नुले तँमा सामर्थ्य हुन सक्छ र यो मामिला हल गर्ने कार्यक्षमता हुन सक्छ भनेर प्रमाणित गर्छ। यति मात्र हो कि, तेरो स्वभावमा समस्या छ—तँ हडबडे व्यवहार गर्छस्, मूल्य चुकाउन इच्छुक छैनस्, र खोक्रा नाराहरू फलाक्नमै केन्द्रित हुन्छस्। कुनै समस्या पत्ता लगाइस् भने, सुरुमा तैँले त्यसलाई समाधान गर्न सक्छु कि सक्दिनँ भनी हेर्, र यदि सक्छस् भने त्यो कार्य सम्हाल् र अन्त्यसम्मै त्यसमा लाग्, समस्या समाधान गर्, आफ्नो जिम्मेवारी पूरा गर्, र परमेश्वरलाई त्यसको हिसाबकिताब दे। आफ्नो कर्तव्य पूरा गर्नु र व्यावहारिक तरिकाले कार्य गर्नु र आफूलाई उचित व्यवहारमा ढाल्नुको अर्थ यही हो। यदि तैँले यो समस्या समाधान गर्न सक्दैनस् भने, त्यसलाई आफ्नो अगुवाकहाँ रिपोर्ट गर् र यो मामिला सम्हाल्न कोचाहिँ सबैभन्दा उपयुक्त छ भनी हेर्। सबभन्दा पहिला, तैँले आफ्नो जिम्मेवारी पूरा गर्नैपर्छ; यसरी तँ आफ्नो कर्तव्यमा कायम रहेको र सही स्थानमा खडा भएको हुनेछस्। समस्या पत्ता लगाएपछि यदि तँ त्यसलाई समाधान गर्न सक्दैनस् तर रिपोर्ट गर्न सक्छस् भने, तैँले आफ्नो पहिलो जिम्मेवारी पूरा गरेको हुनेछस्। यदि तँलाई यो आफूले निर्वाह गर्नुपर्ने कर्तव्य हो र यो गर्न आफू सक्षम छु भन्ने लाग्छ भने, तैँले आफ्ना ब्रदर-सिस्टरहरूको सहयोग माग्नुपर्छ, सुरुमा सिद्धान्तहरूबारे सङ्गति गर्नुपर्छ र योजना बनाउनुपर्छ, अनि त्यसपछि यो मामिला पूरा गर्न सौहार्दपूर्वक साथसाथ काम गर्नुपर्छ। यो तेरो दोस्रो जिम्मेवारी हो। यदि तैँले यी दुवै जिम्मेवारी वहन गर्न सक्छस् भने, तैँले आफ्नो कर्तव्य राम्ररी पूरा गरेको हुनेछस्, र तँ एक योग्य सृष्टि गरिएको प्राणी हुनेछस्। मानिसहरूका कर्तव्यहरू यी दुई पक्षबाहेक अरू केहीले बनेको हुँदैन। यदि तैँले आफूले देख्ने र गर्न सक्ने कामहरू आफ्नो हातमा लिन सक्छस्, र तँ आफ्नो कर्तव्य राम्ररी निर्वाह गर्न सक्षम छस् भने, तँ परमेश्वरको अभिप्रायअनुरूपको छ्स्।
के आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुका अन्य केही प्रकटीकरणहरू छन्? (ममा हालसालै यस्तै एउटा प्रकटीकरण देखिएको थियो। कर्तव्य निर्वाह गरिरहेको बेला, मैले सारा दिन आफूलाई कामकाजमा व्यस्त राखेँ, र र मण्डलीमा त्यस्ता केही समस्या आइपरे, जसलाई मैले व्यावहारिक रूपमा हल गरिनँ, बरु झाराटारुवा तरिकाले सम्हालेँ। तर केही मानिसहरूले म हरदिन आफ्नो कर्तव्य निर्वाह गर्नमा व्यस्त रहेको देखे, त्यसैले तिनीहरूले मप्रति आदरभाव राखे र मेरो प्रशंसा गरे। के यो व्यवहारमा पनि आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुका तत्त्वहरू छैनन् र? म यो मामिला स्पष्टसँग देख्न सक्दिनँ र सधैँ अलिअलि बाँधिएको महसुस गर्छु।) के यो आफूबारे गवाही दिनु हो? यदि तँ आफ्नो कर्तव्य निर्वाह गर्नमा व्यस्त रहन्छस्, कष्ट भोग्न सक्छस् र गुनासो गर्दैनस्, अनि परमेश्वरका चुनिएका जनले तँलाई आदरभावले हेर्छन् र तेरो प्रशंसा गर्छन् भने, यो सामान्य हो र आफूबारे गवाही दिएकोले भएको होइन। तँ केवल आफ्नो कर्तव्य निर्वाह गर्नमा व्यस्त छस् र तडकभडक वा रबाफ देखाइरहेको छैनस्, र तँ आफ्ना कष्टका अनुभवबारे पनि लगातार बोलिरहँदैनस्, त्यसैले यो आफूबारे गवाही दिनुसँग सम्बन्धित छैन। तर धेरै मानिसहरू आफ्नो कर्तव्य निर्वाह गरिरहँदा व्यस्त देखिन्छन्, जबकि वास्तवमा तिनीहरूको कामले कुनै परिणाम ल्याएको हुँदैन र तिनीहरूले कुनै समस्या समाधान गरेका हुँदैनन्। के परमेश्वरले त्यसरी व्यस्त हुने मानिसहरूलाई अनुमोदन गर्नुहुन्छ? यदि तैँले सत्यता बुझ्ने र सिद्धान्तहरू बोध गर्ने मानिसहरूले दुई घण्टामै समाधान गर्न सक्ने सरल समस्याहरूमा दिनभर लगाएर व्यस्त रहन्छस्, र निकै थकित भएको र धेरै कष्ट भोगेको महसुस गर्छस् भने, के तैँले बेकाममै आफूलाई व्यस्त राखिरहेको, र कुनै उद्देश्यबिना दौडधुप गरिरहेको हुँदैनस् र? के तैँले यसरी कर्तव्य निर्वाह गरेर परमेश्वरको अनुमोदन पाउन सक्छस्? (सक्दिनँ।) तँ निकै कम कुशलतासाथ काम गरिरहेको छस्! यो मामिलामा तैँले सत्यता सिद्धान्तहरू खोज्नुपर्छ। कहिलेकाहीँ मानिसहरूको हातमा धेरै काम हुन्छन् र तिनीहरू साँच्चै व्यस्त हुन्छन्, जुन सामान्य कुरा हो, तर कहिलेकाहीँ तिनीहरूसँग गर्नको लागि खासै केही हुँदैन, तैपनि तिनीहरू व्यस्त हुन्छन्? यो के कारणले हुन्छ? एउटा कारण के हो भने, तेरो कामको योजना र प्रबन्ध उचित रूपमा गरिएका छैनन्। तैँले प्रमुख कामका कर्तव्यहरू बुझ्नुपर्छ, उचित रूपमा तिनको योजना र प्रबन्ध गर्नुपर्छ, र अझ बढी कुशलतासाथ कर्तव्य निर्वाह गर्नुपर्छ। बिनाकुनै उद्देश्य दौडधुप गर्नु र व्यर्थमै आफूलाई व्यस्त राख्ने कार्यलाई परमेश्वरले अनुमोदन गर्नुहुनेछैन। अर्को परिस्थितिचाहिँ के हो भने, तेरो अभिप्राय मानिसहरूलाई तँ व्यस्त छस् भनेर देखाउनु हुन्छ, र तैँले यो माध्यम र छद्मभेषलाई अरूलाई छल्न प्रयोग गर्छस्। भेला हुँदा कतिपय अगुवा र सेवकहरूले वास्तविक समस्या समाधान गर्दैनन् र बरु अर्थहीन टिप्पणी गर्छन्, लगातार विषयबाहिर जान्छन् र मुख्य बिन्दुमा नपुगी बोलेको बोल्यै गर्छन्। व्यस्त हुने यो तरिका—कार्यकुशलता वा प्रगतिमा प्रयास नलगाउनु—लाई केही न काममा व्यस्त राख्नु भनिन्छ। अनि यो कस्तो मनोवृत्ति हो? के यो आफ्नो काममा झारा टार्नु, लापरवाह हुनु, समय काट्नु, र अन्त्यमा यस्तो सोचिरहनु हो, “अन्य मानिसहरू वा परमेश्वरले जे सोचे पनि, मेरो विवेक प्रस्ट हुन्जेल म ठीकै हुनेछु। कम्तीमा मैले आलस्यमा दिन काटिरहेको त छैनँ, कम्तीमा मैले सित्तैमा भात खाइरहेको त छैन।” बाहिरबाट हेर्दा तैँले आलस्यमा दिन काटिरहेजस्तो, र सित्तैमा भात खाइरहेजस्तो नदेखिन सक्छ, र तँ हरदिन भेलाहरूमा सहभागी भइरहेको वा कर्तव्य निर्वाह गरिरहेको, र तैँले गर्ने सबथोक मण्डलीसँग सम्बन्धित भएजस्तो देखिन सक्छ, तर वास्तवमा भित्रभित्रै तँलाई आफूले गर्ने कामकुराहरू उपयोगी वा मूल्यवान् छैनन्, र तैँले केवल झारा टारिरहेको छस् भनेर थाहा हुन्छ। यो समस्याजनक कुरा हो। अनि, तैँले आफ्नो कर्तव्य कत्तिको राम्ररी निर्वाह गरिरहेको छस् त? तँलाई आफूमा समस्या छ भनेर राम्ररी थाहा छ, तर तँ त्यसलाई समाधान गर्न सत्यता खोज्दैनस्—यो झाराटारुवा, चेतनाशून्य, र हठी हुनु हो। कर्तव्य निर्वाह गर्दा झाराटारुवा हुनु र ढिलाइ गर्नुको परिणाम के हुन्छ? तैँले निश्चय नै परमेश्वरको अनुमोदन पाउनेछैनस्, किनकि तँ सिद्धान्त वा कुशलतासाथ कार्य गर्दैनस्, र यसरी कर्तव्य निर्वाह गर्नु भनेको विशुद्ध रूपमा श्रम गर्नु हो। यदि तँलाई काटछाँट र मद्दत गरिन्छ, र पनि तैँले पश्चात्ताप गर्दैनस्, र गुनासोसमेत गर्छस् र काम गर्दा नकारात्मक हुन्छस् र सुस्ताउँछस् भने, तँलाई हटाउन मात्र सकिन्छ। त्यसैले, यदि तँ झाराटारुवा हुनुको समस्या समाधान गर्न सत्यता पछ्याउँदैनस् भने, तैँले जतिसुकै समय कर्तव्य निर्वाह गरे पनि, त्यो काम लाग्नेछैन, र तैँले बफादारीसाथ आफ्नो कर्तव्य निर्वाह गर्ने मानक पूरा गर्नेछैनस्। यो मनन गर्न योग्य समस्या हो। परमेश्वरले मानिसहरू सिद्धान्तसाथ कार्य गरून्, तिनीहरूले सत्यता अभ्यास गरून्, र तिनीहरू इमानदार होऊन् भन्ने मापदण्ड दिनुहुन्छ। यदि व्यक्ति यी सत्यताहरूमा प्रवेश गर्न सक्छ भने, उसले आफ्नो कर्तव्य निर्वाहमा फल प्राप्त गर्नेछ, र कम्तीमा पनि उसले सिद्धान्तसाथ कार्य गर्न सक्नेछ। आफ्नो कार्यकुशलता बढाउनुको जग र कडी यहीँ हुन्छ। यदि व्यक्तिसँग सत्यता सिद्धान्तहरू छैनन् भने, उसले जति व्यस्ततासाथ कर्तव्य निर्वाह गरे पनि, साँचो नतिजा पाउनेछैन। मानिसहरूले आफ्नो कर्तव्य बफादारीसाथ निर्वाह गरिरहेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्दा, परमेश्वरले तिनीहरू कति समयसम्म कर्तव्य निर्वाह गर्छन् भनेर हेर्नुहुन्न, बरु तिनीहरूका व्यावहारिक नतिजा र कार्यकुशलता हेर्नुहुन्छ, र तिनीहरूले सिद्धान्तसाथ र सत्यताअनुरूप कार्य गरिरहेका छन् कि छैनन् भनेर हेर्नुहुन्छ। सामान्य भाषामा भन्नुपर्दा, उहाँले मानिसहरूको कर्तव्य निर्वाहमा साँचो अनुभवात्मक गवाही र जीवन प्रवेश छ कि छैन भनेर हेर्नुहुन्छ। यदि मानिसहरूसँग कुनै सत्यता वास्तविकता छैन भने, तिनीहरू केवल श्रमिकहरू हुन्, तर यदि तिनीहरूले सत्यता अभ्यास गर्न र सिद्धान्तसाथ कार्य गर्न सक्छन् भने, त्यो तिनीहरूले परमेश्वरका मानिसहरूको रूपमा आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् भन्ने कुराको सङ्केत हो। यो तुलनामार्फत के बुझ्न सकिन्छ भने, आफ्नो कर्तव्य निर्वाह गर्ने मानक पूरा गर्नेहरूलाई मात्र परमेश्वरका मानिसहरू मान्न सकिन्छ। मानक पुरा नगर्नेहरू सधैँ झाराटारुवा हुन्छन्, तिनीहरू श्रमिकहरू हुन्। यदि व्यक्तिले सत्यता बुझ्न र सिद्धान्तसाथ कार्य गर्न सक्छ भने, उसको लागि कुनै पनि कर्तव्य निर्वाह गर्नु समस्या हुनेछैन, र केही समयसम्म प्रयास लगाइरह्यो भने, उसले अन्ततः आफ्नो कर्तव्य निर्वाह गर्नुका मानक पूरा गर्नेछ। कमजोर क्षमता भएका वा सधैँ झारा टार्नेहरूको लागि भने मापदण्डहरू पूरा गर्न गाह्रो हुनेछ, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नु श्रम गर्नुबाहेक अरू केही हुनेछैन। जहाँसम्म अलमलमा परेका, मूर्ख, र उचित काम नगर्ने, सत्यता जेजसरी सङ्गति गरे पनि त्यसलाई नस्विकार्ने, र लापरवाहीपूर्वक कार्य गरिरहने कमजोर मानवता भएका मानिसहरूलाई भने हटाउन मात्र सकिन्छ, र तिनीहरूले चाहेअनुसार परमेश्वरमा विश्वास गर्नको लागि छाड्न मात्र सकिन्छ। त्यसैले, यदि व्यक्तिले आफ्नो कर्तव्य सिद्धान्तसाथ निर्वाह गर्दैन र बिनाकुनै उद्देश्य दौडधुप गरिरहन्छ र हरदिन केही न कामको कुरामा व्यस्त रहन्छ भने, उसले यसलाई समाधान गर्न र सिद्धान्तसाथ कार्य गर्न तत्कालै सत्यता खोज्नुपर्छ। उसले हरदिन सामान्य रूपमा आफ्नो कर्तव्य निर्वाह गर्न सक्नुपर्छ र उसले लामो समयसम्म काम गर्दा त्यसमै सन्तुष्ट हुनुहुन्न, र कार्यकुशलता र पूर्ण तयार वस्तु उत्पादन गर्नमा महत्त्व दिनुपर्छ—त्यस्ता मानिसहरूले मात्र परमेश्वरको अनुमोदन पाउँछन् र बफादारीपूर्वक कर्तव्य निर्वाह गर्छन्।
अचेल परमेश्वरलाई पछ्याउने र कर्तव्य निर्वाह गर्ने धेरै मानिसहरू छन्, तर तिनीहरूमध्येको एउटा जमातले कहिल्यै सत्यता पछ्याएका छैनन्, र कर्तव्य निर्वाह गर्दा तिनीहरू सधैँ लापरवाह तरिकाले र आफ्नै इच्छाअनुसार कार्य गर्छन्, र आफूलाई जे मन लाग्यो त्यही गर्छन्। तिनीहरू ठूला गल्तीहरू त गर्दैनन्, तर हरसमय सानातिना गल्तीहरू गरिरहेका हुन्छन्, विशेष गरी हरदिन निकै व्यस्त रहेजस्तो देखिन्छन्, जबकि वास्तवमा तिनीहरूले कुनै पनि उचित मामिला सम्हालिरहेका हुँदैनन्, बरु सुस्ताएर आफ्नो समय बिताइरहेका हुन्छन्। यो पनि भन्न सकिन्छ कि तिनीहरू जसोतसो अघि बढ्नको लागि मात्र आफ्नो काम गर्छन्। के त्यस्ता मानिसहरू खतरामा छैनन् र? यदि कुनै व्यक्तिले आफ्नो कर्तव्य र परमेश्वरको आज्ञालाई सधैँ त्यस्तो श्रद्धाहीन मनोवृत्तिले लिन्छ भने, त्यसले कस्ता दुष्परिणामहरू निम्त्याउन सक्छ? अप्रभावकारी रूपले काम गर्नु र कर्तव्यबाट बर्खास्त गरिनु भनेको त सामान्य परिणाम हो—यदि कुनै व्यक्तिले विभिन्न किसिमका दुष्ट कार्यहरू गर्छ भने, उसले त निष्कासनमा पर्नुपर्नेछ, र त्यस्तो व्यक्तिलाई परमेश्वरले शैतानको हातमा सुम्पनुहुनेछ। शैतानको हातमा सुम्पिइनुको अर्थ के हो? यसको अर्थ परमेश्वरले उप्रान्त तिनीहरूको हेरचाह गर्नुहुनेछैन, परमेश्वरले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन, र तिनीहरूले गलत मार्ग लिन थाल्नेछन् र त्यसपछि दण्डित हुनेछन् भन्ने हो। तैँले यो बुझ्छस्, बुझ्दैनस् र? अहिले परमेश्वरले मानिसहरूलाई खुलासा गर्ने समय हो, र यदि तैँले अस्थायी रूपमा सही मार्ग पछ्याइरहेको छैनस् भने, परमेश्वरले तँलाई आफ्ना समस्याहरू पहिचान गर्ने मौका दिन व्यावहारिक वातावरण प्रयोग गर्नुहुनेछ। तर यदि तँ परमेश्वरले तँलाई आत्मचिन्तन गर्न केही समय दिनुभएको छ, परमेश्वरले तँलाई अन्तिम मौका दिइरहनुभएको छ भनेर जानेपछि पनि पछि फर्कँदैनस् र जिद्दीपूर्वक झाराटारुवा तरिकाले कर्तव्य निर्वाह गर्न जारी राख्छस् भने, परमेश्वरले कार्य गर्नुहुनेछ। परमेश्वरले निनवे सहरलाई ध्वस्त पार्नुहुँदा, के उहाँले तुरुन्तै त्यसो गर्नुभयो? गर्नुभएन। परमेश्वरले कार्य गर्नुहुँदा उहाँको पहिलो कदम के थियो? उहाँले पहिले योनालाई सूचित गर्नुभयो, र सारा प्रक्रिया कसरी अघि बढ्नेछ र उहाँका अभिप्राय के हुन् भनेर उसलाई स्पष्ट रूपमा बताउनुभयो। त्यसपछि योना निनवे गयो र सहरको चारैतिर डुल्यो, र यस्तो घोषणा गर्यो: “चालीस दिनपछि निनवे ध्वस्त पारिनेछ” (योना ३:४)। यो सन्देश सबैको कानमा पुग्यो; पुरुष र महिला, युवा र वृद्ध, र सबै क्षेत्रका मानिसहरूले यसबारे सुने—हरेक घरले यसबारे जानकारी पाए, र तिनीहरूका राजाले समेत यो समाचार सुने। परमेश्वरले किन त्यस्तो तरिकाले कार्य गर्नुभयो? यो मामिला हेरेर कुनै पनि व्यक्तिले उहाँले मानिसहरूलाई मुक्ति दिइरहनुभएको छ कि, कि खुलासा गरिरहनुभएको वा दण्डित गरिरहनुभएको छ भनेर देख्न सक्छ, साथै उहाँले मानिसहरूसँग व्यवहार गर्ने तरिकाहरूका प्रक्रिया र सिद्धान्तहरू छन् भनेर पनि देख्न सक्छ। उहाँले एक्कासी सनकमा आएर कार्य गरिरहनुभएको, र कसैको रूप मन नपराएर तत्कालै उसलाई नष्ट पारिरहनुभएको छैन। बरु उहाँ केही समय बित्न दिनुहुन्छ। उहाँले यो समय बित्न दिनुको उद्देश्य के हो? (मानिसहरूलाई पश्चात्ताप गर्न दिनु।) यसको उद्देश्य निनवेका मानिसहरूलाई उहाँले के गर्न लाग्नुभएको छ भनेर जानकारी दिनु, र तिनीहरूलाई आत्मचिन्तन गर्न र अलिअलि गर्दै उहाँका अभिप्रायहरू बुझ्न र बिस्तारै पछाडि फर्कन दिनु हो। मानिसहरूले यो कुरा पहिचान गर्ने एउटा प्रक्रिया हुन्छ, र यी ४० दिन भनेको परमेश्वरले मानिसहरूलाई पछाडि फर्कन दिनुभएको समय हो। यदि तिनीहरू ४० दिनपछि पनि फर्किएका र उहाँसामु पाप कबुल गरेका हुँदैनन् भने, परमेश्वरले यो मामिलामा उहाँले जे गर्नेछु भनेर भन्नुभएको थियो, त्यसैअनुसार काम पूरा गर्नुहुनेछ, किनभने परमेश्वर जे भन्नुहुन्छ, त्यो त्यत्तिकै भनिएको हुँदैन, उहाँ जे भन्नुहुन्छ त्यो भएरै छाड्छ—यी कुराहरूमा कुनै असत्यता छैन। त्यसोभए, यो समाचार पाएपछि निनवेका मानिसहरूको प्रतिक्रिया के थियो? के तिनीहरूले आफूलाई तुरुन्तै भाङ्ग्राले ढाके र खरानी धसे? होइन, त्यसमा पनि एउटा प्रक्रिया थियो। सुरुमा त मानिसहरूलाई शङ्का लाग्यो: “परमेश्वरले हामीलाई नष्ट गर्न लाग्नुभएको छ; के उहाँले साँच्चै त्यसो भन्नुभयो? हामीले के गर्यौँ र?” अनि, त्यसपछि सबै घरपरिवारले यो मामिलाबारे एकअर्कालाई जानकारी गराए र सँगसँगै छलफल गरे। तिनीहरूलाई सङ्कट आइपरेको र आफूहरू जीवन र मृत्युको दोबाटो पुगेको महसुस भयो। त्यसैले तिनीहरूले के गर्नुपर्थ्यो? तिनीहरूले कबुल र पश्चात्ताप गर्नुपर्थ्यो कि शङ्कालु भई प्रतिरोध गर्नुपर्थ्यो? यदि तिनीहरूले साँच्चै शङ्कालु भई प्रतिरोध गर्ने छनौट गर्थे भने, त्यसको परिणामस्वरूप तिनीहरू ४० दिनपछि नष्ट पारिन्थे, तर यदि तिनीहरूले पाप स्वीकार गरेर पछाडि फर्कन्थे भने, तिनीहरूसँग अझै पनि एउटा जीवनडोरी हुनेथ्यो। यो मामिलाबारे धेरै दिनसम्म हरेक तहमा छलफल गरेपछि, जनताको अत्यन्तै सानो अल्पसङ्ख्यक भागले पाप स्विकार्ने र पछाडि फर्किने मनोवृत्ति अपनाउन सके। तिनीहरूले आराधनामा आफ्नो शिर झुकाउन, बलि चढाउन, वा केही असल व्यवहार र प्रकटीकरणहरू देखाउन सके। तर यो सहरलाई बचाउने एउटा सबैभन्दा महत्त्वपूर्ण व्यक्तित्व थियो—त्यो को थियो? त्यो निनवेको राजा थियो। उसले राजादेखि रङ्कसम्म सारा देशलाई आफूलाई भाङ्ग्रा र खरानीले ढाक्न, आफ्नो पप स्विकार्न र यहोवा परमेश्वरसामु पश्चात्ताप गर्न आदेश दियो। त्यस्तो आदेश जारी भएपछि के सहरको कसैले आज्ञापालन नगर्ने आँट गर्न सक्थ्यो र? राजासँग यस्तो खालको शक्ति हुन्छ। यदि उसले आफूसँग भएको शक्ति केही खराब काम गर्न प्रयोग गरेको भए, देशका जनाताले ठूलो विपत्ति भोग्नुपर्नेथ्यो, तर उसले यो शक्ति असल कार्य गर्नमा, परमेश्वरलाई आराधना गर्ने र पुनः उहाँतिर फर्कने काममा प्रयोग गर्यो, र सहर सुरक्षित भयो, सारा देशका जनता बचे, र तिनीहरूसँग दोषमुक्त हुने आशा रह्यो। के यो यस राजाको एउटा सोचबाटै निर्धारित भएको थिएन र? यदि उसले यसो भनेका भए, “तिमीहरू पश्चात्ताप गर्न इच्छुक भए नि वा नभए नि म त्यो गर्नेछैनँ; तिमीहरू आफ्नो ख्याल आफैँ राख। म त्यस्ता कुराहरूमा विश्वास गर्दिनँ, र मैले कुनै दुष्टता गरेको छैन। अझ, मसँग हैसियत छ, त्यसैले परमेश्वरले मलाई के नै गर्न सक्नुहुन्छ र? के उहाँले मलाई सिंहासनबाट प्रतिबन्ध लगाउन सक्नुहुन्छ र? सहर नष्ट हुन्छ भने होओस्। यी जनताबिना पनि म पहिलेजस्तै राजै हुन्छु!” यदि ऊसँग यस्तो विचार, यस्तो सोचाइ भएको भए के हुन्थ्यो? झनै कम जनता बच्नेथिए, र परमेश्वरले सायद अन्ततः पश्चात्ताप गर्न इच्छुक मानिसहरूलाई मात्र छानेर बाहिर निकाल्नुहुनेथ्यो। अनि उहाँले तिनीहरूलाई बाहिर निकाल्नुभएपछि, पश्चात्ताप गर्नुभन्दा मर्न रोज्नेहरू सहरसँगै नष्ट पारिन्थे, र त्यो राजा पनि अवश्यै तिनीहरूमध्येकै एक हुनेथ्यो। पश्चात्ताप गर्न इच्छुकहरूचाहिँ परमेश्वरले तिनीहरूलाई सहरबाट बाहिर निकाल्नुभएपछि जिइरहन सक्नेथिए। तर यसको सबैभन्दा सुन्दर कुरा के थियो भने, निनवेका राजाले आफूलाई भाङ्ग्रा र खरानीले ढाक्नमा अगुवाइ गर्न, र सहरका आम जनता, चाहे ती महिला वा पुरुष, युवा वा वृद्ध जो भए नि—तिनीहरू जो भए नि, चाहे ती उच्चपदस्थ अधिकारी वा निम्नवर्गीय किसान जो भए नि—अभिजात वर्गदेखि साधारण जनतासम्म सबैलाई आफूलाई भाङ्ग्रा र खरानीले ढाक्न र यहोवा परमेश्वरसामु आराधनामा घुँडा टेक्न, लम्पसार परेर आफ्नो पाप स्विकार्न, पछाडि फर्कने मनोवृत्ति व्यक्त गर्न, दुष्ट मार्गबाट तर्कन, र आफ्ना हातका दुष्टता त्याग्न, परमेश्वरसामु पश्चात्ताप गर्न, र उहाँले तिनीहरूलाई नष्ट नगर्नुहोओस् भनी प्रार्थना गर्न आदेश दिन पनि सके। निनवेका राजाले पश्चात्ताप गर्दै र परमेश्वरसामु आफ्नो पाप स्विकार्दै अगुवाइ गरे, र त्यसो गरेर सहरका सारा जनतालाई बचाए, र ऊसँगै धेरै मानिसहरूले लाभ पाए। यसो गर्न अगुवाइ गरेर ऊ निकै मूल्यवान् बन्यो। यो राजाले आफ्ना मानिसहरूलाई परमेश्वरतिर फर्कन अगुवाइ गरेको कुरालाई परमेश्वर सम्झना गर्नुहुन्छ।
के ख्रीष्टविरोधीहरूले आफूलाई उचाल्नु र आफूबारे गवाही दिनुका विषयवस्तुबारे यति मिहिन ढङ्गले सङ्गति गर्नुले तिमीहरूलाई कुनै फाइदा पुर्याउँछ? यसरी बारम्बार सङ्गति गर्दा, उदाहरणहरू दिँदा, कथाहरू सुनाउँदा, यसलाई वर्णन र परिभाषित गर्न विभिन्न माध्यम र पदावली प्रयोग गर्दा पनि—यदि मानिसहरूले अझै बुझेनन् भने तिनीहरूमा साँच्चै आत्मिक बुझाइको कमी हुन्छ, र यस्ता मानिसहरू छुटकारायोग्य हुँदैनन्। यस्तो मिहिन ढङ्गले सङ्गति गर्नुको उद्देश्य के हो? यसको उद्देश्य मानिसहरूले यी वचनहरू सुनेपछि तिनीहरूले बुझ्ने र स्विकार्ने कुरा धर्मसिद्धान्तहरू हुनेछैनन्, शाब्दिक अर्थ हुनेछैनन्, र कुनै निश्चित अभिव्यक्ति हुनेछैनन्, बरु विभिन्न कुराहरू जेजस्ता हुन्छन् सोबारेको सत्यता हुनेछन् र मानिसहरूको सार, तिनीहरूको अस्तित्व, र तिनीहरूको जीवनसँग सम्बन्धित केही सत्यता र सिद्धान्तहरू हुनेछन् भन्ने कुरा सुनिश्चित गर्नु हो। यदि तिमीहरू मैले कुरा गरेका यी भनाइ वा यी उदाहरणहरूलाई आफ्नो वास्तविक स्थिति वा आफूले जीवनमा प्रकट गर्ने कुराहरूसँग तुलना गर्न सक्छौ भने, तिमीहरू सत्यता बुझ्न सक्छौ र आत्मिक बुझाइ भएका मानिसहरू हौ। तुलना गर्नुको अर्थ छलफल गरिएका हरेक उदाहरण र मामिलालाई आफ्नो स्थितिसँग जोड्नु, सङ्गति गरिएको सत्यताको हरेक पक्षलाई आफ्नो आफ्नै स्थिति र प्रकटीकरणसँग जोड्नु हो। यदि तँ यी कुराहरूलाई एकसाथ जोड्न र लागु गर्न जान्दछस् भने, तँसँग आत्मिक बुझाइ छ, तँसँग सत्यता वास्तविकतामा प्रवेश गर्ने आशा छ, र तँ सत्यता बुझ्न सक्छस्। यदि तँ जे भनिए पनि बुझ्दैनस् भने, यदि तँ यी मामिला आफूसँग जोड्न सक्दैनस् भने, यदि तँलाई आफूले जे सुने पनि त्यो तैँले प्रकट गर्ने कुरा र तेरो आफ्नो प्रकृति सारसँग सम्बन्धित छैन भन्ने महसुस हुन्छ भने, र यदि तैँले सहसम्बन्ध पत्ता लगाउन सक्दैनस् भने, तँ पूर्णतः अज्ञानी होस् र तँ आफ्नो दिमागमा केही पनि छिराउन सक्दैनस्; तँमा आत्मिक बुझाइ छँदै छैन। आत्मिक बुझाइ नभएका यस्ता मानिसहरू श्रम गर्नको लागि मात्रै उपयुक्त हुन्छन् र तिनीहरू सत्यता वास्तविकतामा प्रवेश गर्न सक्दैनन्। मुक्ति पाउन चाहने मानिसहरू सत्यता वास्तविकतामा प्रवेश गर्नैपर्छ, र सत्यता वास्तविकतामा प्रवेश गर्नको लागि व्यक्तिले मैले बताएका यी वचन र यी कथा तथा परिस्थितिहरू, साथै हरेक मामिला, हरेक प्रकारका प्रकटीकरण, र हरेक किसिमका व्यक्तिका सार र तिनीहरूका प्रकटीकरण र स्थिति के कस्ता छन् भनेर बुझ्नैपर्छ, र यी सबलाई आफूसँग तुलना गर्न सक्षम बन्नैपर्छ। यसरी मात्र तिनीहरूले सत्यता बुझ्न सक्छन्; यदि तिनीहरू यो बिन्दुसम्म पुगेनन् भने, तिनीहरूले यो बुझ्न सक्दैनन्। यो मानिसहरूले कुखुरा पालेजस्तै कुरा हो—यदि व्यक्तिले छ महिनासम्म एउटा कुखुरा पाल्यो, तैपनि त्यसले अण्डा पारेन भने, के त्यो कुखुराले अण्डा पार्दैन भनेर भन्न सकिन्छ? (सकिँदैन।) यदि मालिकले तीन वर्षदेखि त्यो कुखुरा पालेको छ र त्यसलाई दानापानी र सागपात खुवाएको छ, तर त्यसले जे खाए पनि अण्डा पार्दैन भने, के त्यो कुखुराले अण्डा पार्दैन भनेर भन्न सकिन्छ? (सकिन्छ।) त्यसैले कति मानिसहरूले जुनसुकै प्रवचन सुने पनि वा तैँले तिनीहरूलाई सत्यताबारे जेजसरी सङ्गति गरे पनि, तिनीहरू बुझ्दैनन्। यी आत्मिक बुझाइ नभएका व्यक्ति हुन्। अर्को खालका व्यक्ति पनि हुन्छन्, जसले सुनेको कुरा बुझ्न सक्छन् तर त्यसलाई अभ्यास गर्दैनन्, पछाडि फर्कँदैनन्। यस्ता खालका व्यक्तिहरू सक्किसकेका व्यक्तिहरू हुन् र तिनीहरू सदोम सहरका मानिसहरूजस्तै—विनाशका वस्तु हुन अभिशप्त भएकाहरू हुन्। ख्रीष्टविरोधीहरू यही वर्गका मानिसहरू हुन्; तैँले सत्यताबारे जेजसरी सङ्गति गरे पनि तिनीहरू पछाडि फर्कनेछैनन्। के यो केवल हठी स्वभाव हो र? (होइन।) तिनीहरूमा परमेश्वरको विरोध गर्ने र सत्यताप्रति शत्रुभाव राख्ने प्रकृति सार हुन्छ, र त्यस्ता व्यक्तिहरूले सत्यता बुझ्नु त हुँदै नहुने कुरा हो। तिनीहरू सत्यतालाई शत्रु बनाउँछन्, सत्यता र परमेश्वरको विरोध गर्छन्, र सकारात्मक कुराहरूप्रति शत्रुवत् हुन्छन्, त्यसैले तैँले सत्यताबारे सङ्गति गर्दा तिनीहरूले त्यसलाई सत्यताको रूपमा लिँदैनन्, बरु एकप्रकारको सिद्धान्त, विद्वत्ता वा धर्मसिद्धान्तको रूपमा लिन्छन्। तिनीहरू सङ्गति सुनेपछि आफ्नो हृदयलाई त्यसले भर्छन्, ताकि त्यसपछि तिनीहरूले फुर्ति लाउन र आफ्नो स्वार्थ, हैसियत, ख्याति र लाभ कमाउन सकून्। तिनीहरूको उद्देश्य यही हो। तैँले सत्यताबारे जेजसरी सङ्गति गरे नि र जुनै उदाहरणबारे छलफल गरे नि, तँ तिनीहरूलाई सुधार्न सक्दैनस्, र तिनीहरूका अभिप्राय उल्ट्याउन र तिनीहरूको काम गर्ने तरिका बदल्न सक्दैनस्। तिनीहरू सत्यता नपछ्याउने मानिसहरू हुन्। सत्यता सुनेपछि त्यो नस्विकार्ने र अभ्यास नगर्ने मानिसहरूलाई सत्यताद्वारा बदल्न सकिँदैन, र परमेश्वरले त्यस्ता मानिसहरूलाई मुक्ति दिनुहुनेछैन। यस्ता मानिसहरूलाई मूलतः सत्यताप्रति शत्रुभाव राख्ने मानिसहरूको रूपमा परिभाषित गर्न सकिन्छ, र तोकेरै भन्नुपर्दा, तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। ख्रीष्टविरोधी र साधारण मानिसहरूबीचको भिन्नता यही हो।
केही मानिसहरूमा ख्रीष्टविरोधी स्वभाव हुन्छ, र तिनीहरूले प्राय: केही भ्रष्ट स्वभावहरू प्रकट गर्छन्, तर त्यस्ता प्रकटीकरणहरू हुँदाहुँदै पनि, तिनीहरूले चिन्तन गरेर आफ्नो बारेमा जान्दछन्, र तिनीहरू सत्यता स्वीकार र अवलम्बन गर्न सक्षम हुन्छन्, र केही समयपछि तिनीहरूमा परिवर्तन देख्न सकिन्छ। तिनीहरू मुक्तिको सम्भावित पात्रहरू हुन्। कति मानिसहरू बाहिरबाट हेर्दा विभिन्न कुराहरू त्याग्न, आफूलाई अर्पित गर्न, कष्ट भोग्न र मूल्य चुकाउन सक्षम देखिन्छन्, तर तिनीहरूको प्रकृति सारमा तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र त्यसलाई घृणा गर्छन्। तिनीहरूसँग सत्यताबारे सङ्गति गर्दा तिनीहरू त्यसप्रति वितृष्ण हुन्छन् र त्यसको विरोध गर्छन्। भेला र प्रवचन भइरहँदा तिनीहरू उङ्छन् र निदाउँछन्। तिनीहरूलाई ती पट्यारलाग्दा लाग्छन् र सुनिरहेको कुरा बुझे पनि त्यो अभ्यास गर्दैनन्। अन्य केही मानिसहरू इमानदारीपूर्वक प्रवचन सुनिरहेजस्तो देखिन्छन्, तर तिनीहरूको हृदयले सत्यताको तृष्णा गर्दैन र परमेश्वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति यस्तो के हुन्छ कि, तिनीहरूले तिनलाई एकप्रकारको आत्मिक ज्ञान वा सिद्धान्तको रूपमा मूल्याङ्कन गर्छन्। त्यसैले तिनीहरू जति वर्षदेखि विश्वासी रहिआएका, वा तिनीहरूले परमेश्वरका जतिसुकै वचनहरू पढेका, वा जतिसुकै प्रवचन सुनेका भए पनि, हैसियत पछ्याउने र शक्तिलाई सम्मान गर्नेप्रतिको तिनीहरूको दृष्टिकोण, वा सत्यताप्रति वितृष्ण हुने, सत्यतालाई घृणा गर्ने, र परमेश्वरको प्रतिरोध गर्ने तिनीहरूको मनोवृत्तिमा कुनै बदलाव आउँदैन। तिनीहरू ठेट ख्रीष्टविरोधीहरू हुन्। यदि तैँले तिनीहरूलाई “तैँले मानिसहरूलाई आफूतिर तान्न खोजिरहेको छस्, र आफूलाई उचाल्दा र आफूबारे गवाही दिँदा तैँले मानिसहरूलाई बहकाइरहेको र हैसियतको लागि परमेश्वरसँग होड गरिरहेको छस्। यी शैतान र ख्रीष्टविरोधीहरूले गर्ने कार्यहरू हुन्” भनेर तिनीहरूको खुलासा गरिस् भने, के तिनीहरू त्यस्तो निन्दा स्विकार्न सक्षम हुन्छन्? बिलकुलै हुँदैनन्। तिनीहरू के सोच्छन्? “मैले यसरी कार्य गर्नु सही हो, त्यसैले म यसरी नै कार्य गर्छु। तैँले मलाई जसरी निन्दा गरे पनि, तैँले जे भने पनि, र त्यो जतिसुकै सही देखिए पनि, म काम गर्ने यो तरिका, यो चाहना, यो पछ्याइ छोड्नेछैन।” त्यसकारण, यो कुरा तय हुन्छ: तिनीहरू ख्रीष्टविरोधीहरू हुन्। तैँले बोल्ने जुनसुकै कुराले पनि तिनीहरूका दृष्टिकोण, मनसाय, कार्यसूची, महत्त्वाकाङ्क्षा, वा चाहनाहरू बदल्न सक्दैन। यो ख्रीष्टविरोधीहरूको ठेट प्रकृति सार हो; तिनलाई कसैले पनि बदल्न सक्दैन। तिनीहरूसँग मानिसहरूले जेजसरी सङ्गति गरे पनि, वा उनीहरूले जेजस्तो बोली वा शब्दावली प्रयोग गरे पनि, समय, स्थान, वा सन्दर्भ जे भए पनि, तिनीहरूलाई कुनै कुराले पनि बदल्न सक्दैन। तिनीहरूको परिवेश जेजसरी बदलिए पनि, तिनीहरू वरपरका मानिस, घटना, र वस्तुहरू जेजसरी बदलिए पनि, वा परमेश्वरले जति ठूला चिन्ह वा आश्चर्यकर्महरू देखाए पनि, परमेश्वरले तिनीहरूलाई जति अनुग्रह प्रदान गरे पनि, वा जेजसरी दण्डित गरे पनि, विभिन्न कुराहरू हेर्ने तिनीहरूको तरिका र तिनीहरूको कार्यसूची कहिल्यै बदलिनेछैन, र शक्ति हत्याउने तिनीहरूको महत्त्वाकाङ्क्षा र चाहना कहिल्यै बदलिनेछैन। आफूलाई कुनै व्यवहारमा ढाल्ने र अरूसँग अन्तरक्रिया गर्ने तिनीहरूको तरिका कहिल्यै बदलिनेछैन, न त सत्यता र परमेश्वरलाई घृणा गर्ने तिनीहरूको मनोवृत्ति नै बदलिनेछ। जब अरूले तिनीहरूले जे गरिरहेका छन् त्यो आफैलाई उच्च बनाउने र आफ्नै गवाही दिने अनि मानिसहरूलाई बहकाउने कार्य हो भनी भन्छन्, तब तिनीहरू आफ्नो बोल्ने शैली बदलेर यस्तो बनाउँछन्, जसबारे अरूले कुनै दोष भेट्टाउन वा खुट्ट्याउन सक्दैनन्। तिनीहरूले आफ्नो व्यवस्थापनलाई जारी राख्न र परमेश्वरका चुनिएका मानिसहरूलाई शासन र नियन्त्रण गर्ने लक्ष्य प्राप्त गर्न अझ बढी धूर्त उपायहरू प्रयोग गर्छन्। ख्रीष्टविरोधीमा यही कुरा प्रकट हुन्छ, र ख्रीष्टविरोधी सारद्वारा यही कुरा उत्पन्न हुन्छ। तिनीहरूलाई दण्ड दिइनेछ, तिनीहरूको अन्त्य आएको छ, तिनीहरू श्रापित छन् भनेर परमेश्वरले भन्नुभए पनि, के यो कुराले तिनीहरूको सार परिवर्तन गर्नसक्छ र? के यसले सत्यताप्रतिको तिनीहरूको दृष्टिकोण परिवर्तन गर्न सक्छ र? के यसले हैसियत, ख्याति, र लाभप्रतिको तिनीहरूको प्रेम बदल्न सक्छ र? सक्दैन। शैतानले भ्रष्ट पारेका मानिसहरूलाई परमेश्वरको आराधना गर्ने सामान्य मानिसहरूमा परिणत गर्नु नै परमेश्वरको काम हो; यो हासिल गर्न सकिन्छ। तर भूतात्माहरू, मानिसको खाल ओढेका मानिसहरू, जसको सार शैतानी छ, र जो परमेश्वरप्रति शत्रुवत् छन्, के तिनीहरूलाई सामान्य मानिसहरूमा परिवर्तन गर्नु सम्भव छ र? त्यो असम्भव हुनेछ। परमेश्वर यसप्रकारको काम गर्नुहुन्न; यी मानिसहरू परमेश्वरले मुक्ति दिनुहुनेहरूमा पर्दैनन्। त्यसो भए, परमेश्वरले यस्ता मानिसहरूलाई कसरी परिभाषित गर्नुहुन्छ? तिनीहरू शैतानकाहरू हुन्। तिनीहरू परमेश्वरको छनौट वा मुक्तिका पात्रहरू होइनन्; परमेश्वरले यस्ता मानिसहरू चाहनुहुन्न। तिनीहरूले परमेश्वरमा जति लामो समयदेखि विश्वास गरेका भए पनि, तिनीहरूले जति धेरै दुःख भोगेका वा तिनीहरूले जे हासिल गरेका भए पनि, तिनीहरूको कार्यसूची बदलिँदैन। तिनीहरूले आफ्ना महत्त्वाकाङ्क्षा वा चाहनाहरू त्याग्दैनन्, तिनीहरूले परमेश्वरसँग प्रतिष्ठा र मानिसहरूको निम्ति होड गर्ने आफ्नो अभिप्राय र लालसा त्याग्न सक्ने त कुरै नगरौँ। त्यस्ता मानिसहरू सच्चा ख्रीष्टविरोधीहरू हुन्।
कति मानिसहरू भन्छन्, “ख्रीष्टविरोधीहरूले दुष्टता र परमेश्वरको प्रतिरोध गर्न सक्नु भनेको तिनीहरू क्षणिक रूपमा अलमल्ल परेको कारणले होइन र? यदि परमेश्वरले तिनीहरूलाई केही चिन्ह र आश्चर्यकर्म देखाउनुहुन्थ्यो वा तिनीहरूले परमेश्वरलाई देखून् भनेर तिनीहरूलाई सानोतिनो दण्ड दिनुहुन्थ्यो भने, के त्यसपछि तिनीहरू परमेश्वरलाई मान्न र परमेश्वरप्रति समर्पित हुन सक्नेथिएनन् र? के त्यसपछि तिनीहरूले परमेश्वर सत्यता हुनुहुन्छ भनेर स्विकार्न र मान्न र उप्रान्त हैसियतको लागि परमेश्वरसँग होड नगर्न सक्नेथिएनन् र? के तिनीहरूले परमेश्वरले कुनै चिन्ह वा आश्चर्यकर्म गर्नुभएको साक्षात् अनुभव नपाएर वा परमेश्वरको आत्मिक शरीर नदेखेर तिनीहरूमा आस्था नभएको, र त्यसैले तिनीहरू निकै कमजोर भएका र त्यसपछि शैतानद्वारा छलिएका होइनन् र?” अहँ, त्यस्तो होइन। ख्रीष्टविरोधीहरूका महत्त्वाकाङ्क्षा, चाहना, र सार कुनै व्यक्ति अस्थायी रूपमा छलिनु र मूर्ख हुनु र सत्यता नबुझ्नुभन्दा पूर्णतः फरक र भिन्न हुन्छन्। ख्रीष्टविरोधीहरूमा अन्तर्निहित रूपमै शैतानी प्रकृति हुन्छ र तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र जन्मेदेखि नै सत्यतालाई घृणा गर्छन्। तिनीहरू परमेश्वरसँग मेल नखाने, परमेश्वरको प्रतिरोध गर्ने र अन्त्यसम्मै परमेश्वरसँग होड गर्ने शैतानहरू हुन्, र तिनीहरू मानव खाल ओढेका जीवित शैतानहरू हुन्। त्यस्ता मानिसहरूलाई तिनीहरूको प्रकृति सारअनुसार ख्रीष्टविरोधीको रूपमा परिभाषित गरिन्छ, र त्यसकारण तिनीहरूले परमेश्वरको घरमा कुन भूमिका खेल्न र के काम गर्न सक्छन्? तिनीहरूले परमेश्वरको कामलाई बाधा र अवरोध गर्छन्, ध्वस्त पार्छन्, र नष्ट गर्छन्। ती मानिसहरू परमेश्वरको घरमा यस्ता कुराहरू नगरी बस्न सक्दैनन्। तिनीहरू यस्तै प्रकारका कुराहरू हुन्, तिनीहरूमा शैतानी प्रकृति हुन्छ, र यो त भेडाहरू खाने मनसाय बोकेर तिनको बथानमा ब्वाँसो छिरेजस्तै हो—तिनीहरूको एक मात्र उद्देश्य यही हो। अर्को दृष्टिकोणबाट बोल्नुपर्दा, परमेश्वरले किन यी मानिसहरूलाई उहाँको घरमा देखा पर्न दिनुहुन्छ? ताकि परमेश्वरका चुनिएका मानिसहरूको समझशक्ति बढ्दै जाओस्। दियाबलस शैतान कस्तो देखिन्छ, त्यसका कार्यहरूको सार के हो, त्यसका विशिष्ट प्रकटीकरणहरू के हुन्, वा त्यसले संसारमा कसरी मानिसहरूलाई बहकाउँछ र परमेश्वरको विरोध गर्छ भनेर कसैले देखेको छैन। दियाबलस शैतानलाई उल्लेख गर्दा, तिनीहरूलाई त्यो अमूर्त र खोक्रो लाग्छ, त्यो पर्याप्त मात्रामा ठोस नभएजस्तो लाग्छ। तिनीहरू सोध्छन्, “शैतान कहाँ छ?” जवाफ यस्तो आउँछ, “हावामा”। “त्यसोभए यो शैतान कति ठूलो छ? यसले खास रूपमा के-कस्ता आश्चर्यकर्महरू गर्न सक्छ? यसले परमेश्वरलाई ठ्याक्कै कसरी विरोध गर्छ? यसको प्रकृति सार के हो?” तिनीहरूलाई यो सब निकै अमूर्त, अस्पष्ट वा खोक्रो लाग्छ। तर तिनीहरूले ख्रीष्टविरोधीहरूका प्रकटीकरण र खुलासाहरूमार्फत यी कुरालाई शैतानले गर्ने कुरा र त्यसको प्रकृति सारसँग जुधाएर हेर्न सक्छन्, र त्यसपछि त्यो सब कुरा ठोस बन्छ, र त्यसउप्रान्त अमूर्त वा खोक्रो रहँदैन। अनि त्यो सब ठोस बनेपछि, मानिसहरूले त्यो बोलेको सुन्न सक्छन्, र त्यसको व्यवहार देख्न र ध्यानपूर्वक त्यसको प्रकृति सार खुट्ट्याउन सक्छन्। यसरी, के तिनीहरूले परमेश्वरले कुरा गर्नुभएको दियाबलस शैतानको सार झन् ठोस र वास्तविक बनेको छ, र यसबारे तिनीहरूले व्यावहारिक तुलना गर्न सक्छन् भनेर महसुस गर्दैनन् र? कति मानिसहरू अपरिपक्व कदका हुन्छन् र सत्यता बुझ्दैनन्, र कुनै क्षणिक मूर्खताको कारण तिनीहरू ख्रीष्टविरोधीहरूको छल र बहकाउमा पर्छन्, त्यसैले तिनीहरू एक वर्ष र सोभन्दा बढी समय छोडेर जान्छन्। परमेश्वरको घर फर्किएपछि तिनीहरूले शैतानलाई पछ्याउँदा राम्रो नहुँदो रहेछ भनेर महसुस गर्छन्। यी मानिसहरूले सुरुमा ख्रीष्टविरोधीहरूलाई पछ्याउन थाल्दा आफूसँग पर्याप्त समझ र ठूलो आत्मविश्वास भएको महसुस गर्छन्, र यसो भन्छन्, “माथिले हामीले ख्रीष्टविरोधीहरूलाई पछ्याऔँ भन्ने चाहँदैन, तैपनि हामी तिनीहरूलाई पछ्याउनेछौँ, र एकदिन हामी सही प्रमाणित हुनेछौँ!” यसको परिणाम यो हुन्छ कि, केही समयपछि नै तिनीहरूले पवित्र आत्माको काम गुमाएको महसुस गर्छन्, र तिनीहरू आफ्नो हृदयमा कुनै सम्पुष्टीकरण महसुस गर्न सक्दैनन्। तिनीहरूलाई परमेश्वर अब तिनीहरूसँग नहुनुभएझैँ, तिनीहरूको आस्थाले आफ्नो अर्थ र दिशा गुमाएझैँ महसुस हुन्छ, र तिनीहरूले बिस्तारै ख्रीष्टविरोधीहरूबारे झन्झन् बढी समझ प्राप्त गर्दै जान्छन्। तिनीहरू पहिले ख्रीष्टविरोधीहरूले साँच्चै सत्यता बुझ्छन्, र उनीहरूलाई पछ्याएर तिनीहरूले आफ्नो आस्थामा केही बिराउनेछैनन् भनेर सोच्थे, तर अब तिनीहरूले ख्रीष्टविरोधीहरूमा गम्भीर समस्याहरू हुन्छन्, र ख्रीष्टविरोधीहरू सत्यता बुझेझैँ गरी बोल्छन्, तर कहिल्यै सत्यता अभ्यास गर्दैनन्—र यो तथ्य हो भनेर देख्छन्। तिनीहरूले यति धेरै लामो समयसम्म ख्रीष्टविरोधेहरूलाई पछ्याएर पनि कुनै सत्यता प्राप्त नगरेको, र ख्रीष्टविरोधीहरूलाई पछ्याउन जारी राख्नु निकै खतरनाक कुरा भएको देख्छन्, र त्यसैले तिनीहरूले पछुतो महसुस गर्छन्, ख्रीष्टविरोधीहरूलाई इन्कार्छन्, र परमेश्वरको घर फर्कन इच्छुक हुन्छन्। परमेश्वरको घरले त्यस्ता व्यक्तिहरूलाई फिर्ता लिएपछि तिनीहरूलाई आफ्नो अनुभव बताउन भनिन्छ, र तिनीहरूले भन्छन्, “त्यो ख्रीष्टविरोधी मानिसहरूलाई बहकाउन निकै सिपालु थियो। त्यतिबेला मैले ऊबारे जे सोचे पनि ऊ सही लाग्थ्यो, तर त्यसको परिणाम के निस्कियो भने, उसलाई पछ्याएको एक वर्षभन्दा बढी समयपछि पनि मैले केही पाइनँ, कुनै सत्यता बुझिनँ, र अलिकति पनि सत्यता वास्तविकता प्राप्त गरिनँ। मैले बहुमूल्य समय खेर फालेँ। मैले ठूलो क्षति बेहोरेको छु!” असफलताको यो अनुभव तिनीहरूको सबैभन्दा गहन स्मृति बन्छ। परमेश्वरको घर फर्किएपछि तिनीहरूले जति धेरै प्रवचनहरू सुन्छन्, त्यति नै सत्यता बुझ्न थाल्छन् र तिनीहरूको हृदय त्यति नै उज्ज्वल बन्छ। त्यो ख्रीष्टविरोधीलाई पछ्याएको समय सम्झँदा र आफूले कसरी क्षति बेहोरेँ भनेर देख्दा, तिनीहरू ख्रीष्टविरोधीहरू साँच्चै शैतान हुन् र तिनीहरूसँग मूलतः कुनै सत्यता हुँदैन, परमेश्वर मात्र सत्यता हुनुहुन्छ भनेर महसुस गर्न पुग्छन्, र तिनीहरूले फेरि कहिल्यै कुनै मानवलाई पछ्याउने आँट गर्दैनन्। जब फेरि अगुवा चुन्ने समय आउँछ, तब तिनीहरूले यस्तो सोच्दै होसियारीपूर्वक मतदान गर्छन्, “यदि मैले कुनै निश्चित व्यक्तिलाई मतदान गरेँ भने, सम्भवतः कुनै ख्रीष्टविरोधी चुनिनेछ। यदि मैले कुनै निश्चित व्यक्तिलाई मतदान गरिनँ भने, सायद कुनै ख्रीष्टविरोधी चुनिनेछैन। म होसियार हुनैपर्छ र मानिसहरूलाई सिद्धान्तअनुसार मूल्याङ्कन गर्नैपर्छ।” के अब तिनीहरूका कार्य सिद्धान्त र मानकमा आधारित छैनन् र? (हो, छन्।) यो राम्रो कुरा हो। कति मानिसहरू ख्रीष्टविरोधीहरूको बहकाउमा पर्छन् र यसो भन्छन्, “हामीलाई किन यस्तो भएको हो? के परमेश्वरले हामीलाई पन्छाउनुभएको हो? के अब उहाँले हाम्रो वास्ता गर्नुहुन्न?” त्यस्तो परिस्थितिमा परमेश्वरले तँलाई ख्रीष्टविरोधीहरूलाई नपछ्याउनू भनेर भन्नुभयो भने, के तँ त्यसमा सहमत हुनेछस्? अहँ, हुनेछैनस्। तँ अझै पनि तिनीहरूलाई पछ्याउन जिद गर्नेछस्, अनि परमेश्वरले तँलाई त्यसो गर्ने अनुमति दिएर तथ्यहरू प्रयोग गर्दै तँलाई पाठ सिकाउन मात्र सक्नुहुनेछ। ख्रीष्टविरोधीहरूलाई केही समयसम्म पछ्याएपछि तँ अचानक होसमा आउँछस् र आफूले जीवनमा ठूलो क्षति भोगेको देख्छस्, र त्यसपछि मात्र तैँले पछुतो महसुस गर्छस् र ख्रीष्टविरोधीहरूलाई इन्कार्न र फेरि परमेश्वरसामु फर्कन इच्छुक हुन्छस्। भाग्यवश, परमेश्वर सहनशील र कृपालु हुनुहुन्छ, र उहाँ तँलाई अझै पनि चाहनुहुन्छ। उहाँले नचाहनुभएको भए तँ सक्किसक्थिस्, तँसँग मुक्ति पाउने कुनै मौका हुनेथिएन—ख्रीष्टविरोधीहरूलाई पछ्याउनुको कुनै राम्रो अन्त्य हुँदैन।
तैँले ख्रीष्टविरोधीहरूलाई स्पष्ट रूपमा देख्नुपर्छ र सही ढङ्गले पहिचान गर्नुपर्छ। तैँले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरण खुट्ट्याउन जान्नुपर्छ, र साथसाथै, तेरो प्रकृति सारका धेरै कुरा ख्रीष्टविरोधीहरूको समान छन् भनेर प्रस्टसँग जान्नुपर्छ। किनभने तिमीहरू सबै शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिमा पर्छौ, र एकमात्र फरक के हो भने, ख्रीष्टविरोधीहरू शैतानको पूर्ण नियन्त्रणमा हुन्छन्, र तिनीहरू शैतानका मतियार बनेका छन् र तिनीहरू त्यसैको पक्षबाट बोल्छन्। तँ पनि भ्रष्ट मानवजातिमै पर्छस्, तर तँ सत्यता स्विकार्न सक्छस् र तँसँग मुक्ति पाउने आशा छ। तर सारको हिसाबमा तँसँग ख्रीष्टविरोधीहरूसँग मिल्दोजुल्दो धेरै कुरा छन्, र तेरा विधि र कार्यसूची उस्तै छन्। यति मात्र हो कि, तँ सत्यता र प्रवचनहरू सुनेपछि, बाटो बदल्न सक्छस्, र तैँले बाटो बदल्न सक्नुले तँसँग मुक्ति पाउने आशा छ भन्ने कुरा निर्धारित गर्छ—तँ र ख्रीष्टविरोधीहरूबीचको भिन्नता यही हो। त्यसकारण, मैले ख्रीष्टविरोधीहरूको खुलासा गर्दा तैँले पनि तुलना गरेर तँ र ख्रीष्टविरोधीहरूबीच कुन-कुन कुराहरू मिल्दोजुल्दो छन्, र तेरो सारका कुन-कुन प्रकटीकरण, स्वभाव, र पक्ष तिनीहरूका जस्तै छन् भनेर पहिचान गर्नुपर्छ। यसो गरेर के तैँले त्यसपछि आफूलाई अझ राम्ररी चिन्न सक्नेछैनस् र? यदि तँ सधैँ विरोधभाव महसुस गर्छस्, आफू ख्रीष्टविरोधी नभएको विश्वास गर्छस्, ख्रीष्टविरोधीहरूप्रति चरम घृणा महसुस गर्छस्, र यो तुलना वा आत्मचिन्तन गर्न र आफूले पछ्याइरहेको मार्ग बुझ्न अनिच्छुक हुन्छस् भने, त्यसको परिणाम के हुनेछ? शैतानी स्वभाव भएपछि तँ ख्रीष्टविरोधी बन्ने ठूलो सम्भावना हुन्छ। किनकि कुनै पनि ख्रीष्टविरोधी जानीजानी ख्रीष्टविरोधी बन्न चाहेर त्यसपछि ख्रीष्टविरोधी बन्दैन; उसले सत्यता नपछ्याउने हुनाले ऊ त्यस्तो बन्छ, अनि अन्ततः उसले स्वतः ख्रीष्टविरोधी मार्ग पछ्याउन पुग्छ। धार्मिक संसारका सत्यतालाई प्रेम नगर्नेहरू सबै ख्रीष्टविरोधी होइनन् र? आफ्नो प्रकृति सारबारे आत्मचिन्तन नगर्ने र त्यसलाई नबुझ्ने, र आफ्नै धारणा र कल्पनाहरूअनुसार परमेश्वरमा विश्वास गर्ने हरेक व्यक्ति ख्रीष्टविरोधी हो। तैँले ख्रीष्टविरोधी मार्ग हिँड्न थाल्नेबित्तिकै, तैँले हैसियत पाउनेबित्तिकै, र साथमा तँसँग केही खुबी र ज्ञान छ, र सबैले तेरो प्रशंसा गर्छन् भने, जब तैँले काम गर्ने समय लामो हुँदै जान्छ, तब तैँले मानिसहरूको हृदयमा ठाउँ बनाउन पुग्छस्। तँ जिम्मेवार भएको कामको दायरा बढ्दै गएपछि, तैँले झन्झन् धेरै मानिसहरूलाई अगुवाइ गर्न पुग्छस्, र तैँले झन्झन् धेरै पूँजी प्राप्त गर्न थाल्छस्, र तँ खाँटी पावल बन्छस्। के यो सब तँमै निर्भर हुन्छ त? तँसँग यो मार्ग पछ्याउने कुनै योजना थिएन, तर तँ कसरी जानीनजानी ख्रीष्टविरोधी मार्ग हिँड्न थालिस्। यसको एउटा महत्त्वपूर्ण कारण के हो भने, यदि तँ सत्यता पछ्याउँदैनस् भने, तैँले निश्चय नै हैसियत र प्रतिष्ठा पछ्याउनेछस्, तँ आफ्नै व्यवसायमा संलग्न हुनेछस्, र अन्त्यमा थाहा नपाईकनै तैँले ख्रीष्टविरोधी मार्ग पछ्याइरहेको हुनेछस्। यदि ख्रीष्टविरोधी मार्ग पछ्याइरहेका मानिसहरूले समयमै बाटो बदलेनन् भने, हैसियत प्राप्त गरेपछि तिनीहरू ख्रीष्टविरोधी बन्ने ठूलो सम्भावना हुन्छ—यो नतिजा अवश्यम्भावी हुन्छ। यदि तिनीहरूले यो मामिला स्पष्टसँग देख्न सक्दैनन् भने तिनीहरू खतरामा छन्, किनकि सबैमा भ्रष्ट स्वभावहरू हुन्छन् र सबैले प्रतिष्ठा र हैसियत मन पराउँछन्; यदि तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् भने, प्रतिष्ठा र हैसियतको कारण लड्ने ठूलो सम्भावना हुन्छ, र यो कुरालाई कसैले पनि इन्कार गर्न सक्दैन। तैँले भन्छस्, “मसँग कहिलेकाहीँ मात्रै यी प्रकटीकरणहरू हुन्छन्, यी अस्थायी प्रकटीकरण मात्र हुन्। ममा ख्रीष्टविरोधीहरूको जस्तै सार भए पनि, म ख्रीष्टविरोधीहरूभन्दा भिन्न छु किनकि ममा तिनीहरूमा भएजत्तिका ठूला महत्त्वाकाङ्क्षाहरू छैनन्। साथै, आफ्नो कर्तव्य निर्वाह गरिरहेको बेला म आत्मचिन्तन गरिरहेको, पश्चात्ताप गरिरहेको, र सत्यता खोजिरहेको हुन्छु, र म सत्यता सिद्धान्तअनुसार कार्य गरिरहेको हुन्छु। मेरो व्यवहार विश्लेषण गरेर हेर्दा, म ख्रीष्टविरोधी होइन र ममा ख्रीष्टविरोधी हुने इच्छा पनि छैन, त्यसकारण म सम्भवतः ख्रीष्टविरोधी कदापि हुन सक्दिनँ।” तँ अहिले ख्रीष्टविरोधी नहोलास्, तर के तँ आफूले ख्रीष्टविरोधी मार्ग नपछ्याउने र आफू ख्रीष्टविरोधी नबन्ने कुरा सुनिश्चित गर्न सक्छस्? के तँ त्यस्तो प्रत्याभूति गर्न सक्छस्? अहँ, तँ सक्दैनस्। त्यसोभए तैँले कसरी त्यस्तो प्रत्याभूति गर्न सक्छस्? त्यसो गर्ने एक मात्र तरिका भनेको सत्यता पछ्याउनु हो। त्यसोभए तैँले कसरी सत्यता पछ्याउनुपर्छ? के तँसँग त्यसो गर्ने कुनै तरिका छ? सबभन्दा पहिले, तैँले तँमा ख्रीष्टविरोधीहरूकै स्वभाव सार छ भन्ने तथ्य स्विकार्नुपर्छ। तँ अहिले ख्रीष्टविरोधी त होइनस्, तर तेरो लागि सबैभन्दा घातक र खतरनाक कुरा के हो? त्यो तँमा ख्रीष्टविरोधीहरूकै प्रकृति सार हुनु हो। के यो तेरो लागि राम्रो कुरा हो? (होइन।) निश्चय नै होइन। यो तेरो लागि एकदमै घातक छ। त्यसकारण, तैँले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको खुलासा गर्ने यी प्रवचनहरू सुनिरहँदा, तँसँग यी कुराहरूको कुनै सम्बन्ध छैन भनेर नसोच्; यो गलत मनोवृत्ति हो। त्यसोभए, यी तथ्य र प्रकटीकरणहरू स्विकार्न तँसँग कस्तो प्रकारको मनोवृत्ति हुनुपर्छ? यी कुराहरूसँग आफूलाई दाँज्, आफूमा ख्रीष्टविरोधीको प्रकृति सार छ भन्ने कुरा स्विकार्, र त्यसपछि आफ्ना कुन-कुन प्रकटीकरण र खुलासाहरू ख्रीष्टविरोधीहरूसँग मिल्दोजुल्दो छन् भनेर पत्ता लगाउन आफैलाई जाँच्। सुरुमा यो तथ्य स्विकार्—आफ्नो भेष बदल्ने वा आफूलाई चिटिक्क पारेर प्रस्तुत गर्ने प्रयास नगर्। तैँले हिँड्ने मार्ग ख्रीष्टविरोधी मार्ग हो, त्यसैले तँ ख्रीष्टविरोधी होस् भनेर भन्नु तथ्यअनुरूप कुरा हो; यति मात्र हो कि, परमेश्वरको घरले तँलाई अहिलेसम्म त्यसरी परिभाषित गरिसकेको छैन र तँलाई पश्चात्ताप गर्ने मौका दिइरहेको छ, कुरो त्यति नै हो। के तैँले कुरो बुझिस्? सुरुमा, यो तथ्य मान् र स्वीकार गर्, अनि त्यसपछि तैँले गर्नुपर्ने कुरा भनेको परमेश्वरसामु आएर तँलाई ताडना दिन र नियन्त्रणमा राख्न आग्रह गर्नु हो। परमेश्वरको उपस्थितिको ज्योति वा उहाँको सुरक्षाबाट बाहिर ननिक्ली, अनि यसरी तैँले काम गर्दा तँलाई तेरो विवेक र समझले नियन्त्रणमा राख्नेछ, र तँसँग तँलाई ज्योति दिन, अगुवाइ गर्न, र नियन्त्रणमा राख्न परमेश्वरका वचनहरू पनि हुनेछन्। यसअतिरिक्त, तँलाई मार्गदर्शन गर्न, तेरो लागि चेतावनीको काम गर्नको लागि तेरो वरिपरिका मानिस, घटना, र वस्तुहरूको प्रबन्ध गर्न र तँलाई ताडना दिन तँसँग पवित्र आत्माको काम हुनेछ। परमेश्वरले तँलाई कसरी चेतावनी दिनुहुन्छ? परमेश्वरले धेरै तरिकाले कार्य गर्नुहुन्छ। परमेश्वरले कहिलेकाहीँ तँलाई तेरो हृदयमा प्रस्टै देखिने भावना हुने तुल्याउनुहुन्छ, जसबाट तैँले आफूलाई नियन्त्रणमा राख्नुपर्छ, तैँले मनोमानी ढङ्गले व्यवहार गर्नु हुँदैन, यदि तैँले गलत तरिकाले कार्य गरिस् भने, तैँले परमेश्वरलाई लज्जित बनाउनेछस् र तँ मूर्खजस्तो देखिनेछस् भनेर स्पष्टसँग बुझ्नेछस्, अनि त्यसैले तैँले आफूलाई संयमित बनाउँछस्। के यो परमेश्वरले तेरो सुरक्षा गर्नुभएको होइन र? यो एउटा तरिका हो। परमेश्वरले कहिलेकाहीँ तँलाई तँभित्रै गाली गर्नुहुनेछ र तँलाई त्यसरी कार्य गर्नु लज्जास्पद कुरा हो, उहाँले त्यसलाई घृणा गर्नुहुन्छ, त्यो श्रापित कुरा हो भनेर बताउन स्पष्ट वचनहरू प्रदान गर्नुहुन्छ, अर्थात् तैँले आफूसँग तुलना गर् भनेर उहाँले तँलाई गाली गर्न स्पष्ट वचहरू प्रयोग गर्नुहुन्छ। परमेश्वरले तँलाई यसरी गाली गर्नुको उद्देश्य के हो? उहाँले तेरो विवेकलाई केही महसुस गराउन त्यसो गर्नुहुन्छ, र जब तैँले केही महसुस गर्छस्, तब तैँले प्रभाव, नतिजा, र आफ्नो लज्जाबोधबारे ख्याल गर्नेछस्, र तैँले आफ्नो कार्य र अभ्यासमा केही संयमता अपनाउनेछस्। यस्ता धेरै अनुभव बटुलिसकेपछि, तैँले पत्तो पाउनेछस् कि यी भ्रष्ट स्वभावहरूको जरा मानिसहरूभित्र गाडिएको भए पनि, जब मानिसहरू सत्यता स्विकार्न र आफ्ना भ्रष्ट स्वभावहरूको सत्यतालाई स्पष्टसँग सक्षम हुन्छन्, तब तिनीहरूले उद्देश्यपूर्ण रूपमा आफ्नो देहविरुद्ध विद्रोह गर्न सक्छन्; जब मानिसहरू सत्यता अभ्यास गर्न सक्षम हुन्छन्, तब तिनीहरूको शैतानी स्वभाव पखालिन्छ र बदलिन्छ। मान्छेको शैतानी स्वभाव अविनाशी वा अपरिवर्तनीय हुँदैन—जब तँ सत्यता स्विकार्न र त्यो अभ्यास गर्न सक्षम हुन्छस्, तब तेरो शैतानी स्वभाव प्राकृतिक रूपमै भत्किनेछ र प्रतिस्थापित हुनेछ। अनि, सत्यता अभ्यास गर्नु कति मीठो हुन्छ भन्ने कुराको स्वाद चाखेपछि, तैँले यस्तो सोच्नेछस्, “म पहिले कति निर्लज्ज थिएँ। मेरा शब्दहरू जतिसुकै धृष्ट भए पनि वा अरूलाई मेरो आराधना गर्ने तुल्याउन मैले आफूलाई जसरी उचाले पनि, मलाई अलिकति पनि लाज लागेन र त्यसपछि पनि मसँग कुनै सचेतना थिएन। अहिले मलाई मैले त्यसरी व्यवहार गर्नु गलत थियो र त्यसरी मैले इज्जत गुमाएँ, र ममाथि दुनियाँकै नजर छ जस्तो महसुस भइरहेको छ।” यो परमेश्वरको काम हो। उहाँले तँलाई एउटा भावना दिनुहुन्छ, र तँलाई आफूले आफैलाई गाली गरेजस्तो महसुस हुन्छ, त्यसपछि तैँले दुष्टता गर्ने वा आफ्नै मार्गमा टाँस्सिरहने काम गर्नेछैनस्। अनि, आफूलाई उचाल्ने र आफूबारे गवाही दिने तेरा तरिकाहरू तैँले थाहै नपाई झन्झन् कम हुँदै जान्छन्, र तैँले झन्झन् बढी संयमता अपनाउँछस्, र तैँले यसरी कार्य गर्दा झन्झन् तेरो हृदयले चैन पाएको र तेरो विवेक शान्त भएको महसुस गर्छस्—यो ज्योतिमा जिउनु हो, र अब तैँले आत्तिन वा आफूलाई लुकाउन झुट वा मीठा शब्दहरू बोल्न आवश्यक पर्दैन। विगतमा तैँले आफ्नो प्रतिष्ठा जोगाउन झुट बोलिस् र हरदिन त्यसलाई निरन्तरता दिइरहिस्। तैँले हरेकपटक झुट बोल्दा तैँले त्यसलाई निरन्तरता दिइरहनुपर्थ्यो, आफ्नो झुट पकडिइने पो हो कि भन्दै निकै डराउनुपर्थ्यो। यसको परिणाम के भयो भने, तैँले झन्झन् धेरै झुट बोलिरहिस्, अनि तैँले पछि आफ्ना झुटलाई निरन्तरता दिन ठूलो मेहनत लगाउनुपर्यो र दिमाग खियाउनुपर्यो; तैँले यस्तो जीवन जिइरहेको थिइस्, जुन न त मानवको जस्तो देखिन्थ्यो, न त दानवको जस्तो नै, र त्यो अत्यन्तै थकाइलाग्दो थियो! अहिले तँ इमानदार व्यक्ति बन्ने प्रयास गरिरहेको छस्, र तैँले आफ्नो हृदय खोल्न र साँचो कुरा बोल्न सक्छस्। तैँले झुट बोल्न र त्यसलाई हरदिन निरन्तरता दिन आवश्यक छैन, तँ अब झुटद्वारा बाँधिएको छैनस्, तँ पहिलेभन्दा निकै कम कष्ट भोग्छस्, तँ झन्झन् आरामदायी, स्वतन्त्र, र आजाद जीवन जिउँछस्, र आफ्नो हृदयको अन्तस्करणमा तँ शान्ति र खुसीका भावनाहरूको आनन्द उठाउँछस्—तँ यो जीवनको मिठास चाखिरहेको छस्। अनि तैँले यो जीवनको मिठास चाखिरहँदा, तेरो आन्तरिक संसार अबदेखि छली, दुष्ट, वा गलत रहँदैन। बरु, तँलाई कुनै समस्या आइपर्दा, तँ परमेश्वरलाई प्रार्थना गर्छस् र सत्यता खोज्छस्, र कुनै समस्या आइपर्दा, तँ अरूसँग छलफल गर्न सक्छस्, र अब एकतर्फी रूपले वा मनोमानी ढङ्गले कार्य गर्न छोडेको छस्। तँलाई झन्झन् बढी यो महसुस हुन्छ कि पहिलेको तेरो काम गर्ने तरिका घृणित थियो र अबउप्रान्त त्यसरी काम गर्न चाहँदैनस्। यसको साटो, तैँले जुन तरिका सत्यता, समझ, र परमेश्वरका अभिप्रायहरूअनुरूप छ, त्यही तरिकाले कार्य गर्छस्; तेरो कार्य गर्ने तरिका बदलिएको छ। जब तैँले यी कुराहरू हासिल गर्न सक्छस्, तब के त्यसको अर्थ तैँले ख्रीष्टविरोधी मार्ग छाडेको छस् भन्ने हुँदैन र? अनि जब तैँले ख्रीष्टविरोधी मार्ग छाडेको हुन्छस्, के त्यसको अर्थ तँ मुक्ति पाउने मार्ग हिँड्न थालेको छस् भन्ने होइन र? जब तँ मुक्ति पाउने मार्ग हिँड्न थालेको हुन्छस् र प्रायः परमेश्वरसामु आउने गर्छस्, तब तेरो मनोवृत्ति, मनसाय, दृष्टिकोण, तेरो जीवनको लक्ष्य र दिशा त्यसउप्रान्त परमेश्वरको विरोधमा हुँदैन, र तँ सकारात्मक कुराहरू मन पराउन, र निष्पक्षता, धार्मिकता, र सत्यतालाई प्रेम गर्न थाल्छस्। जब यो हुन्छ, तेरो सबैभन्दा भित्री हृदय र विचारहरू रूपान्तरण हुन थालेका हुन्छन्। जब तँ मुक्ति पाउने मार्ग हिँड्न थालेको हुन्छस्, के तँ अझै पनि ख्रीष्टविरोधी बन्न सक्छस् र? के तैँले अझै पनि जानीजानी परमेश्वरको प्रतिरोध गर्न सक्छस् र? अहँ, सक्दैनस्, र अब तँ खतराभन्दा बाहिर छस्। यो स्थितिमा प्रवेश गरेपछि मात्रै मानिसहरू परमेश्वरमाथिको आस्थाको सही मार्गमा हुनेछन्, र यसरी खोजी गरेर अनि सत्यता स्विकारेर मात्रै तिनीहरूले आफ्नो शैतानी प्रकृति र ख्रीष्टविरोधी प्रकृतिले निम्त्याएका समस्या, नियन्त्रण, र बाधा फाल्न सक्छन्। के अब तँ सत्यता पछ्याउने जीवनको सही मार्ग हिँड्न थालेको छस् त? छैनस् भने, छिटो गर् र त्यसमा हिँड्न लागिपर्। यदि तँ सत्यता पछ्याने मार्गमा लाग्न सक्दैनस् भने, तँ अझै पनि खतरामा जिइरहेको हुनेछस्—ख्रीष्टविरोधीहरूको मार्ग हिँड्ने जोकोही जुनसुकै समय हटाइने खतरामा हुन्छन्।
धेरैजसो मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा प्रतिष्ठा, हैसियत, पैसा र स्वार्थको लागि लड्दालड्दा लखतरान परेर मन र तनमा थकित भई आफ्नै ख्रीष्टविरोधी स्वभावसँग सङ्घर्ष गरिरहेका हुन्छन्। त्यसोभए यो समस्या कहिले समाधान हुन सक्छ? सत्यता पछ्याएर अनि सत्यता स्विकार्न सक्षम भएर मात्रै तैँले बिस्तारै तेरो ख्रीष्टविरोधी प्रकृति सारका बाधा र बन्धनहरू फाल्न र तेरो शैतानी स्वभावलाई बिस्तारै कमजोर हुने र बिलाउने तुल्याउन सक्छस्, अनि त्यसो गरेर तँसँग आफूलाई शैतानको शक्तिबाट मुक्त गर्ने आशा हुनेछ। के तैँले तँ कहिल्यै बदलिन सक्दैनस्, कहिल्यै सत्यतालाई प्रेम गर्न सक्दैनस्, र कहिल्यै सत्यता सिद्धान्तअनुसार कामकुरा सम्हाल्दैनस् भन्ने महसुस गर्दै, र आफैलाइ झापड हानेर आँसुका धारा बगाउने हदसम्म आफूलाई घृणा गर्दै, यी कुराहरूको कारण एकलै रोएको छस्? के तैँले यो कुरा धेरैचोटि गरेको छस्? यदि व्यक्तिले धेरैचोटि यस्तो गरेको छैन भने, के त्यसले उसलाई चेतनाशून्य बनाउँदैन र? त्यस्तो व्यक्तिले कहिल्यै आफू भ्रष्ट भएको बोध गर्न सक्दैन, र उसले अझै पनि आफूले राम्ररी नै काम गर्छु, आफूसँग क्षमता र प्रतिभा छ, र आफूले धेरै सत्यता बुझ्छु, र सत्यता सिद्धान्तअनुसार धेरै कुरा सम्हाल्न सक्छु भनेर विश्वास गर्छ, र ऊ निकै निश्चिन्त हुन्छ—त्यस्तो व्यक्ति चेतनाशून्य हुन्छ, उसले आफूलाई महान् सोच्छ, र यो उसको लागि निकै खतरनाक कुरा हो! के तिमीहरूले अब आफ्नो कद निकै सानो छ, आफ्ना भ्रष्ट स्वभावहरू फाल्नदेखि निकै टाढा छौ, र अझै पनि खतराको क्षेत्रमै छौ भनेर साँच्चै बोध गर्न सक्छौ? सत्यता नपछ्याउने मानिसहरूमा यो बोध हुँदैन, न त पवित्र आत्माको काम नभएका व्यक्तिहरूमै यो बोध हुन्छ। धेरजसो मानिसहरू रनभुल्ल र अलमल्ल परेका हुन्छन्, र तिनीहरू आफूले व्यवस्थित रूपमा आफ्नो कर्तव्य निर्वाह गरुन्जेल र दुष्टता नगरुन्जेल आफूले ख्रीष्टविरोधी बाटो पछ्याइरहेको हुँदैन र आफूले हरप्रकारका दुष्टताहरू नगरुन्जेल आफू ख्रीष्टविरोधी हुँदिनँ भनेर सोच्छन्। यसले गर्दा धेरैजसो समय तिनीहरू चेनाशून्यताको स्थितिमा हुन्छन्, र प्रायः आफैसँग सन्तुष्ट हुन्छन्, र आफू महान् भएको र आफूले चाँडै मुक्ति पाउने, र ख्रीष्टविरोधीहरूको मार्गसँग आफ्नो कुनै सम्बन्ध नभएको सोच्छन्। तँ यो स्थितिमा छस् कि छैनस् भनेर मापन गर्न तिमीहरूका दैनिक प्रार्थनाहरू प्रयोग गर्न सकिन्छ। हरेक दिन परमेश्वरसामु आउँदा तिमीहरू के प्रार्थना गर्छौ? यदि तँ हरेक दिन “हे परमेश्वर, म तपाईंलाई प्रेम गर्छु! हे परमेश्वर, म तपाईंमा समर्पित हुन इच्छुक छु! हे परमेश्वर, म तपाईंले मलाई दिनुभएको आज्ञा पूरा गर्न इच्छुक छ! म बफादारीपूर्वक कर्तव्य निर्वाह गर्न सक्छु, र म तपाईंलाई सन्तुष्ट पार्न र तपाईंद्वारा सिद्ध पारिन दृढसङ्कल्पित छु। ममा जेजस्ता ख्रीष्टविरोधी प्रकटीकरणहरू भए पनि वा मैले आफूलाई जति थोरै जानेको भए पनि, तपाईं अझै पनि मलाई प्रेम गर्नुहुन्छ र मलाई मुक्ति दिने इच्छा राख्नुहुन्छ” भनेर भन्छस् भने, यो कस्तो प्रकटीकरण हो? यो चेतनाशून्यता हो, तँ दृढसङ्कल्प मात्र व्यक्त गर्छस्, र तँसँग आफ्नै प्रकृति सारबारे अलिकति पनि बुझाइ छैन। तँ उत्साहपूर्ण चरणमा छस्, तर सत्यता वास्तविकता पाउनुभन्दा धेरै टाढा छस्। तिमीहरूले एकचोटि साँचो प्रार्थना गर्नु, परमेश्वरलाई आफ्नो मनको कुरा भन्नु, उहाँलाई आफ्नो वास्तविक परिस्थितिबारे बताउनु, आफ्नो हृदयमा शान्ति र खुसी महसुस गर्नु, र आफू साँच्चै परमेश्वरसामु जिइरहेको महसुस गर्नुभन्दा पहिले कति समय बित्छ? मलाई भन त, तिमीहरूले एकपटक यो गर्नुभन्दा पहिले कति समय बित्छ? एक महिना, दुई महिना, छ महिना, वा एक वर्ष? यदि तिमीहरूले एकचोटि पनि साँचो प्रार्थना गरेका छैनौ र तिमीहरू अझै पनि धार्मिक संसारका मानिसहरूले झैँ प्रार्थना गर्छौ, सधैँ परमेश्वरलाई प्रेम गर्छु भनेर भन्छौ, सधैँ आफ्नो दृढसङ्कल्प व्यक्त गर्छौ, र सधैँ उही पूर्वनिर्धारित वाक्यांश बोल्छौ भने, तिमीहरूमा धेरै कमी छ र तिमीहरूसँग सत्यता वास्तविकता छँदै छैन। सामान्यतया परमेश्वरमा तीन वा पाँच वर्षदेखि विश्वास गर्दै आइरहेका मानिसहरू परमेश्वरसामु आउँदा त्यस्ता केटाकेटीका जस्ता र अज्ञानी कुरा गर्दैनन्, किनकि तिनीहरू आफूले परमेश्वरलाई पछ्याउने कुरामा पक्का हुन्छन्, र तिनीहरूसँग आस्था पनि हुन्छ, र तिनीहरूले परमेश्वरको काम, परमेश्वरका अभिप्राय, परमेश्वरको व्यवस्थापन योजना, र परमेश्वरको कामको उद्देश्यका दर्शनका सत्यता स्पष्टसँग बुझिसकेका हुन्छन्। परमेश्वरसामु आउँदा तिनीहरूले प्रायः केको लागि प्रार्थना गर्छन्? एउटाचाहिँ आफूलाई जान्नको लागि हो, र अर्कोचाहिँ केही सत्य वचन बोल्नको लागि हो: हे परमेश्वर, आज मलाई केही कठिनाइ आइपरेको छ, मैले त्यस्तो केही गरेको छु, जसले मलाई तपाईंप्रति ऋणी बनाएको छ, ममा केही मामिलामा कमी छ, र म तपाईंलाई मेरो सुरक्षा गर्न, र मलाई अगुवाइ गर्न, अन्तर्दृष्टि र ज्योति दिन अनुरोध गर्छु। यो व्यक्तिले सत्यता वास्तविकतासँग सम्बन्धित केही साँचो कुरा बोल्न थाल्छ, र उसले अबउप्रान्त भर्खरै विश्वास गर्न थालेका ती उत्साहपूर्ण मानिसहरूले बोल्ने दृढसङ्कल्प र नाराका अभिव्यक्तिहरू बोल्दैन। उसले किन ती कुराहरू बोल्दैन? उसलाई त्यस्तो कुरा गर्नुको कुनै अर्थ छैन, त्यस्ता कुराले सत्यता वा जीवन प्रवेशको आफ्नो भित्री आवश्यकता पूरा गर्न सक्दैनन् भनेर महसुस हुन्छ। तैँले जतिसुकै वर्ष विश्वास गरेको भए पनि, तैँले झारा टारे पनि वा परमेश्वरलाई प्रार्थना गर्दा उहाँसामु इमानदारीपूर्वक आए पनि, तँ दस दिनमा कति दिन ती खोक्रा वचन र भनाइहरू बोल्छस्? कसैले एक दिन भन्न सक्छ, त्यसोभए उसले बाँकी नौ दिन के प्रार्थना गर्छ? यदि उसको प्रार्थना उसको कर्तव्य र जीवन प्रवेशसँग सम्बन्धित छ भने, ठीकै छ, र यसले उसले सत्यता, परमेश्वरका वचन, र आफ्नो कर्तव्यप्रति केही बोझ बोकिरहेको छ, र ऊ अब त्यस्तो चेतनाशून्य छैन भनेर देखाउँछ। मैले “ऊ अब चेतनाशून्य छैन” भनेर भन्नुको अर्थ के हो? यसको अर्थ के हो भने, मानिसहरूका भ्रष्ट स्वभाव र विभिन्न स्थितिहरू उल्लेख हुँदा, उसले केही महसुस गर्छ र उसमा केही सचेतना आउँछ, र उसले बुझ्न पनि सक्छ। उसले बुझाइ र बोध हासिल गर्न सक्छ, र ती मामिलाहरू जसरी व्याख्या गरिए पनि उसले ती बुझ्न सक्छ र उसले लगभग कदममा कदम मिलाउन सक्छ—यसले उसले केही कद प्राप्त गरेको छ भन्ने देखाउँछ। चेतनाशून्य व्यक्तिहरूले के-कस्ता प्रकटीकरणहरू प्रदर्शन गर्छन्? तिनीहरू हरेक दिन पहिलेजसरी नै जिउँछन्, केहीमा लागिपर्दैनन् र केही प्रगति गर्दैनन्, र त्यसैले परमेश्वरलाई प्रार्थना गर्दा त्यही पुराना कुराहरू बोल्छन्। तिनीहरू जीवन प्रवेशबारे केही बुझ्दैनन्, तिनीहरूमा कुनै आत्मिक बुझाइ हुँदैन, तिनीहरू केही महसुस गर्दैनन्, जतिसुकै प्रवचन सुने पनि तिनीहरूले कुनै प्रतिक्रिया जनाउँदैनन्, र सत्यता जेजसरी सङ्गति गरिए पनि तिनीहरूलाई त्यो सब नीरस र एउटै अर्थ दिने लाग्छ। त्यसोभए के तिनीहरूसँग परमेश्वरलाई भन्नको लागि केही हुन्छ त? परमेश्वरसामु आउँदा मानिसहरूले के प्रार्थना गर्छन् र के भन्छन् भन्ने कुरा तिनीहरूले हृदयमा परमेश्वरलाई भन्न चाहेका कुरामा भर पर्छ, र तिनीहरूलाई ती कुरा परमेश्वरलाई भन्नैपर्छ भन्ने लाग्छ। तेरो हृदयमा तँसँग कम्तीमा पनि परमेश्वरका मापदण्डहरूबारेको बुझाइ, तैँले सामना गर्ने कठिनाइ, र तैँले परमेश्वरका मापदण्डहरू कसरी पूरा गर्नुपर्छ भन्ने कुराको बुझाइ हुनैपर्छ। यदि तेरो हृदयमा केही पनि छैन, र तैँले मीठो सुनिने शब्दहरू र केही नारा र धर्मसिद्धान्त मात्र बोल्न सक्छस्, र झारा मात्र टार्छस् भने, त्यो प्रार्थना होइन। तैँले त्यतिका वर्षसम्म निष्ठाको प्रतिज्ञा गरेको छस् तर यदि तैँले कुनै व्यावहारिक काम गरेकै छैनस्, र अन्त्यमा तैँले अझै पनि परमेश्वरलाई धोका दिने, उहाँलाई इन्कार्ने, र कुनै पनि समय छोडेर जाने सम्भावना हुन्छ भने, यसले तँसँग कद छैन भन्ने देखाउँछ। अहिले तिमीहरू परमेश्वरसामु प्रार्थना गर्न आउँदा, यदि तैँले परमेश्वरसँगको तेरो सम्बन्धलाई परमेश्वरका मापदण्ड र तेरो आफ्नै स्वभावगत परिवर्तनसँग सान्दर्भिक बनाउन सक्छस् भने, परमेश्वरसँगको तेरो सम्बन्ध स्थापित भएको हुनेछ, तैँले ख्रीष्टविरोधी मार्ग पछ्याउनेछैनस्, र यसको अर्थ तँ परमेश्वरमाथिको आस्थाको सही मार्ग लागेको हुनेछस्।
के तिमीहरू अब ख्रीष्टविरोधीहरूका आफूलाई उचाल्ने र आफूबारे गवाही दिने प्रकटीकरणहरू, साथै त्यस्ता व्यवहारको प्रकृतिका परिभाषाहरूबारे प्रस्ट छौ? के ख्रीष्टविरोधीहरूका प्रकटीकरण र साधारण व्यक्तिहरूका प्रकटीकरणहरूबीच कुनै भिन्नता छ? साँच्चै कुनै समस्या सामना गर्दा, के तिमीहरू तुलना गर्न सक्छौ? के तिमीहरू ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूलाई साधारण भ्रष्ट मानिसहरूका प्रकटीकरणहरूको रूपमा र साधारण भ्रष्ट मानिसहरूका प्रकटीकरणहरूलाई ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूको रूपमा लिन सक्छौ? तिमीहरूले यी दुई कुराहरूबीच कसरी फरक छुट्टयाउनुपर्छ? व्यक्तिको स्वभावलाई उसका निरन्तरका प्रकटीकरण र खुलासाहरूबाट र उसको सारलाई उसको स्वभावबाट मूल्याङ्कन गर्नु ऊबारे परिभाषा तयार गर्ने सही तरिका हो। ख्रीष्टविरोधीहरू सत्यता स्विकार्ने वा परमेश्वरलाई उचाल्ने गर्दैनन्; तिनीहरू केवल आफूलाई उचाल्छन् र आफूबारे गवाही दिन्छन्। यो प्रकटीकरण अत्यन्तै स्पष्ट र टड्कारो हुन्छ, र यो पूर्णतः तिनीहरूको शैतनी प्रकृतिको वशमा हुन्छ। साधारण मानिसहरूले पनि आफूलाई उचाल्ने र आफूबारे गवाही दिने गरे पनि, तैँले तिनीहरूसँग सत्यता सङ्गति गर्दा तिनीहरूले त्यसलाई स्विकार्न र परमेश्वर सत्यता हुनुहुन्छ भनेर मान्न सक्छन्, र तिनीहरू सत्यता स्विकार्न सक्छन्, यति मात्र हो कि तिनीहरूको परिवर्तन चाँडै वा सजिलै आउँदैन—ख्रीष्टविरोधीहरू र साधारण मानिसहरूबीचको भिन्नता यही हो। अब यति भनिसकेपछि, के तिनीहरूलाई खुट्ट्याउन सजिलो हुन्छ? ख्रीष्टविरोधीहरूको एउटा विशेषता हुन्छ: तिनीहरूले सत्यतालाई प्रेम नगर्दा वा सत्यतालाई इन्कार गर्दा, के तिनीहरू सीधै त्यसलाई इन्कार गर्छन्? (त्यसो गर्दैनन्।) तिनीहरूले सत्यतालाई इन्कार गर्न कुन विधि प्रयोग गर्छन्, जसले तँलाई तिनीहरू सत्यतालाई मान्दैनन् भनेर देखाउँछ? तिनीहरू तँलाई खण्डन गर्न तर्कजाल प्रयोग गर्छन्, र तैँले सङ्गति गरिरहेको कुरा सत्यता होइन, र तिनीहरूले सङ्गति गरिरहेको कुरा मात्र सत्यता हो भनेर भन्छन्। उदाहरणको लागि, तिनीहरू आफूबारे गवाही दिन्छन् र कसैले तिनीहरूको खुलासा गर्दा, पछि गएर तिनीहरूले के-कस्ता प्रदर्शन गर्छन्, जसले गर्दा तिनीहरू सत्यतालाई प्रेम गर्दैनन् वा त्यसलाई स्विकार्दैनन् भनेर अरूले पुष्टि गर्न सक्छन्? तर्कजाल गर्नु र आफूलाई ठीक ठहर्याउनु एउटा कुरा हो, अनि त्यहाँ तथ्यगत सत्यता ढाकछोप गर्ने अर्को कुरा पनि छ, र त्यो तथ्यगत सत्यता तिनीहरूको एजेन्डा हो। तिनीहरूको एजेन्डा आफूबारे गवाही दिनु हो ताकि अरूले तिनीहरूलाई उच्च सम्मान दिऊन्। तिनीहरूले तँलाई तिनीहरूको एजेन्डा थाहा पाउन दिँदैनन्; तिनीहरूले केवल झुटा र मनमोहक कुरा गर्छन्, तर्कजाल गर्छन्, तँलाई छल गर्छन्, अलमल्ल पार्छन्, ताकि अन्त्यमा तैँले तिनीहरू आफूबारे गवाही दिइरहेका छैनन् भनेर भन्छस्, र त्यसपछि तिनीहरूले आफ्नो उद्देश्य पूरा गरेका हुन्छन्। तिनीहरू झुटा र मनमोहक कुरा गर्छन्, तर्कजाल गर्छन्, मानिसहरूलाई छल्छन्, आफूबारे गवाही दिइरहेको कुरा स्विकार्दैनन्, तैँले तिनीहरूको खुलासा गरेको स्विकार्दैनन्, तेरो हप्कीदप्की स्विकार्दैनन्, र यो तथ्यमा तिनीहरूलाई परिभाषित गरिँदा त्यसलाई त झनै स्विकार्दैनन्। तिनीहरू यो कुरा पटक्कै स्विकार्दैनन्, र यसो भन्दै बहाना पनि बनाउँछन्, “त्यो मैले आफूबारे गवाही दिइरहेको होइन। मैले त्यसो भन्नुको कारण र सन्दर्भ छ। त्यो परिस्थितिमा केही अनुपयुक्त कुराहरू गर्नु पूर्णतया सामान्य कुरा हो र यो समस्या होइन। के त्यसलाई मैले आफूबारे गवाही दिएको मान्न सकिन्छ र? अझ भन्ने हो भने त, मैले नै यो सब काम गरेको छु र मैले नाम नकमाए पनि त्यसो गर्नमा कष्ट भोगेको छु। केही व्यक्तिले मलाई उच्च सम्मान र आराधना गर्नु कुनै ठूलो कुरा होइन।” तिनीहरूलाई त्यस्तो लज्जास्पद व्यवहार, त्यस्तो घिनलाग्दो कार्य पनि ठूलो कुरा लाग्दैन—के यो सत्यता स्विकार्ने मनोवृत्ति हो त? तिनीहरू यी दुष्ट कार्यको कारण लज्जाबोध गर्दैनन्, र आफूलाई महान्समेत ठान्छन्—यो दुष्ट मानिसहरूको सार हो। ख्रीष्टविरोधीहरू आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु पूर्णतया उचित र आफूले गर्नुपर्ने कुरा हो भन्ने विश्वास गर्छन्। तिनीहरू सोच्छन्, “ममा क्षमता भएकोले, म यो गर्छु—के अन्य मानिसहरू यो गर्न लायक छन्? मैले सबैको साथ कमाएको छु, मैले मण्डलीको काम गर्नमा धेरै मेहनत लगाएको छु, मैले परमेश्वरको घरमा ठूल्ठूला योगदानहरू गरेको छु र धेरै जोखिम मोलेको छु! के तिमीले मलाई कुनै इनाम वा लाभ नदिनु न्यायोचित कुरा हो? के परमेश्वर धर्मी छैनन् र? के उनले हरेक व्यक्तिलाई उसका कार्यअनुसार नै केही दिँदैनन् र? त्यसैले यी सबै योगदान गर्नाले र यो सब जोखिम मोल्नाले, यसले मलाई सबैको साथको हकदार बनाउँदैन र?” तिनीहरू आफूले कर्तव्य निर्वाह गरेबापत केही पाउनुपर्छ, र न्यूनतम इनाम भनेको आफूले सबैको साथ र निष्ठा, सम्मान, र लाभ उपभोग गर्न पाउनु हुनुपर्छ र त्यो सबको हकदार आफू हुँ भन्ने सोच्छन्। के यो सत्यता स्विकार्ने मनोवृत्ति हो त? (होइन।) त्यसोभए यहाँ सत्यता के हो त? उदाहरणको लागि, तैँले तिनीहरूलाई यसो भन्छस् रे, “मानिसहरूले जति कष्ट भोगे पनि, तिनीहरू सृष्टि गरिएका प्राणीहरू हुन्, र तिनीहरूले कष्ट भोग्नुपर्छ किनकि तिनीहरूमा भ्रष्ट स्वभावहरू छन्। कर्तव्य निर्वाह गरिरहँदा कष्ट भोग्नु भनेको मानिसहरूले कष्ट भोग्ने एउटा तरिका मात्र हो। हामी जति नै सक्षम भए पनि वा हामीमा जस्तोसुकै प्रतिभा भए पनि, हामीले कुनै इनामको अपेक्षा वा परमेश्वरसँग सौदाबाजी गर्नुहुन्न।” के यो सत्यता होइन र? यो सृष्टि गरिएका प्राणीहरूले बुझ्नुपर्ने सबैभन्दा मूलभूत सत्यता हो। तर के संसारसँग व्यवहार गर्ने तिनीहरूका दर्शनहरू, र तिनीहरूका सोच र विचारहरूमा यो सत्यता पाउन सकिन्छ? (सकिँदैन।) यो सत्यता सुन्दा के तिनीहरू यसलाई स्विकार्छन्? अहँ, स्विकार्दैनन्। तिनीहरूको मनोवृत्ति के हुन्छ? तिनीहरू परमेश्वरको घरमा हुनु भनेको बाह्य संसारमा हुनुजस्तै हो, र तिनीहरूलाई तिनीहरूको श्रमअनुसार इनाम दिइनैपर्छ, र तिनीहरूले कर्तव्य गरेबापत केही पाउनैपर्छ, र तिनीहरूले कुनै जोखिम उठाए भने, लाभ र अनुग्रह पाउनैपर्छ, तिनीहरू त्यसका हकदार हुन् भन्ने सोच्छन्। कर्तव्य निर्वाह गर्नु भनेको हरेक व्यक्तिको जिम्मेवारी र दायित्व हो, र यसमा पारिश्रमिक संलग्न हुँदैन। के ख्रीष्टविरोधीहरू यो सत्यता स्विकार्छन्? तिनीहरूको मनोवृत्ति के हुन्छ? तिनीहरू तिरस्कारपूर्ण र विरोधी हुन्छन्, र यसो भन्छन्, “ए मूर्खहरू हो, तिमीहरू यस्तोसमेत स्विकार्छौ! के यो सत्यता हो? यो सत्यता होइन, यो त मानिसहरूलाई छल गर्नु मात्र हो। मानिसहरूमाझ निष्पक्षता र समानता हुनुपर्छ—त्यही नै सत्यता हो!” यो कस्तो खालको भनाइ हो? यो शैतानको तर्क र विधर्मी कुरा हो र यो तर्कजाल हो। अनि के तिनीहरूले सत्यता नबुझ्नेहरूलाई बहकाउन सक्छन्? तिनीहरूले उनीहरूलाई सजिलै बहकाउन सक्छन्! कतिपय मानिसहरू कमजोर हुन्छन्, तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्नुसँग सम्बन्धित सत्यताहरू बुझ्दैनन्, साथै तिनीहरूमा सामर्थ्य र बोध क्षमताको कमी हुन्छ, र तिनीहरूसँग त्यति आस्था हुँदैन, र त्यस्ता कुराहरू सुन्दा तिनीहरूलाई बिलकुलै सही हो जस्तो लाग्छ, र तिनीहरू यस्तो सोच्छन्, “हो त। म कसरी यति मूर्ख हुन सकेँ? मैले आज बल्ल बुझ्ने व्यक्ति भेटेँ। उसले भनेको कुरा सही हो!” यी मानिसहरू यथोचित र आफ्ना धारणाहरूसँग मिल्ने कुराहरू मात्र सुन्छन् र स्विकार्छन्; तिनीहरू परमेश्वरका वचनहरूलाई परमेश्वरका वचन सत्यता हुन् भन्ने सिद्धान्तअनुसार लिँदैनन्। परमेश्वरका वचन मानिसहरूका भावना, मानिसहरूका सोचाइ र तर्क, मानिसहरूका रीतिरिवाज र बानीव्यवहार वा परम्परागत संस्कृतिसँग मिले पनि वा नमिले पनि, परमेश्वरका वचन नै अन्तिम हुन्, र सुरुदेखि अन्त्यसम्म ती हरेक वचन सत्यता हुन्। परमेश्वरका वचनलाई कसैले प्रश्न वा विश्लेषण गर्नुपर्दैन, र सारा मानवजातिले तिनलाई सही वा गलत जे ठाने पनि, वा कसैले तिनलाई स्विकार्न सके पनि वा नसके पनि, परमेश्वरका वचन सदासर्वदा सत्यता हुन्। परमेश्वरका वचनलाई समयको परीक्षामा खरो उत्रनुपर्दैन, न त तिनलाई मानवजातिले अनुभवको माध्यबाट पुष्टि गर्नुपर्ने जरुरी नै छ—परमेश्वरका वचन सत्यता हुन्। के ख्रीष्टविरोधीहरू यही सोच्छन् त? तिनीहरू त यस्तो सोच्छन्, “परमेश्वर व्यावहारिक हुनुपर्छ! परमेश्वरको धार्मिकताको अर्थ के हो? के धेरै कष्ट भोग्ने र एकदमै सक्षम व्यक्तिहरूले ठूला इनाम पाउने, र थोरै कष्ट भोग्ने, धेरै सक्षम नभएका, र कुनै योगदान नगर्नेहरूले थोरै इनाम पाउने होइन र?” के परमेश्वरले यसो भन्नुहुन्छ? (भन्नुहुन्न।) परमेश्वरले यसो भन्नुहुन्न। परमेश्वरले के भन्नुहुन्छ? परमेश्वरले कर्तव्य निर्वाह गर्नु हरेक व्यक्तिले गर्नुपर्ने काम हो, कर्तव्य निर्वाह गर्नुका आफ्नै सिद्धान्तहरू हुन्छन्, सबैले सत्यता सिद्धान्तअनुरूप कर्तव्य निर्वाह गर्नुपर्छ, र सृष्टि गरिएका प्राणीहरूले गर्नुपर्ने यही हो भनेर भन्नुहुन्छ। के यहाँ कहीँकतै पारिश्रमिक उल्लेख गरिएको छ? कहीँकतै इनाम उल्लेख गरिएको छ? (छैन।) यहाँ कहीँकतै पारिश्रमिक वा इनाम उल्लेख गरिएको छैन—यो एउटा दायित्व हो। “दायित्व” को अर्थ के हो? दायित्व भनेको मानिसहरूले गर्नुपर्ने कुरा हो, जसमा आफ्नो श्रमअनुसार इनाम पाउने कुरा लागु हुँदैन। परमेश्वरले आफ्नो कर्तव्य धेरै निर्वाह गर्नेले ठूलो इनाम पाउनुपर्छ, र आफ्नो कर्तव्य थोरै वा काम नलाग्ने तरिकाले निर्वाह गर्नेले सानो इनाम पाउनुपर्छ भनेर कहिल्यै तोक्नुभएन—परमेश्वरले कहिल्यै यस्तो कुरा भन्नुभएन। त्यसोभए परमेश्वरका वचनले के भन्छन्? परमेश्वर भन्नुहुन्छ, कर्तव्य निर्वाह गर्नु भनेको हरेक व्यक्तिले गर्नुपर्ने काम र सृष्टि गरिएका प्राणीहरूले गर्नुपर्ने कुरा हो—यही नै सत्यता हो। के ख्रीष्टविरोधीहरू यसलाई यसरी नै बुझ्छन्? तिनीहरू परमेश्वरका यी वचनलाई कसरी लिन्छन्? तिनीहरू तिनलाई फरक तरिकाले लिन्छन्। तिनीहरूका आफ्नै स्वार्थको नजरबाट, तिनीहरूसँग परमेश्वरका वचनको विकृत व्याख्या हुन्छ। ठ्याक्कै भन्नुपर्दा, तिनीहरूले परमेश्वरका वचनलाई छेडछाड गर्छन्, परमेश्वरका वचन र सत्यतालाई अर्को व्याख्यामा रूपान्तरण गर्न आफ्नै माध्यम र बुझाइ प्रयोग गर्छन्। अनि त्यस्तो व्याख्याको प्रकृति कस्तो हुन्छ? यो तिनीहरूको लागि लाभदायी हुन्छ, यसले मानिसहरूलाई बहकाउन सक्छ, र यसले मानिसलाई उक्साउन र लोभ्याउन सक्छ। तिनीहरूले परमेश्वरका वचनलाई आफ्नो बोल्ने तरिका बनाउँछन्, मानौँ ती तिनीहरूले व्यक्त गरिरहेका सत्यता हुन्, र परमेश्वरले केही भनिसक्नुभएपछि, तिनीहरूलाई परमेश्वरको त्यो भन्ने तरिका र परमेश्वरका वचनहरूका सिद्धान्तलाई आफ्नै तरिकामा बदल्नुपर्छ। के तिनीहरूले त्यसलाई आफ्नै तरिकामा बदलेपछि त्यो सत्यता रहन्छ त? अहँ, रहँदैन—त्यो भ्रान्ति र विधर्मी कुरा हुन्छ। के तिमीहरू यो मामिला खुट्ट्याउन सक्छौ? (एक हदसम्म सक्छौँ।) एकदमै धेरै प्रवचनहरू सुनेपछि केही मानिसहरूले केही समझ पाएका छन्। ख्रीष्टविरोधीहरूले सत्यताप्रति विरोध र इन्कार गर्नुको सार के हो? (यो परमेश्वरका वचनलाई छेडछाड गर्नु र तिनको विकृत व्याख्या गर्नु हो।) अनि तिनीहरूले परमेश्वरका वचनलाई छेडछाड गर्नु र तिनको विकृत व्याख्या गर्नुको उद्देश्य के हो? त्यसको उद्देश्य मानिसहरूले सत्यता नस्विकारून् र त्यसको साटो तिनीहरूका भ्रान्ति र विधर्मी कुरा स्विकारून् भन्ने हो। तिनीहरूले आफ्नै सोचाइ र तर्क, आफ्नै स्वार्थ र दृष्टिकोण, र आफ्नै धारणाअनुसार सत्यताको गलत व्याख्या गर्छन्। तब त्यो तिनीहरूको लागि लाभदायी हुन्छ, र तिनीहरूले केही मूर्ख र अज्ञानी, र सत्यता नबुझ्ने मानिसहरूलाई उक्साउन र बहकाउन पनि सक्छन्। सुरुमा सुन्दा तँलाई तिनीहरूका वचन सही लाग्न सक्छ, तर तिनलाई ध्यान दिएर विश्लेषण गरिस् भने, तैँले तीभित्र लुकेका शैतानका महत्त्वाकाङ्क्षा र षड्यन्त्रहरू पाउनेछस्। तिनीहरूका महत्त्वाकाङ्क्षा र षड्यन्त्रहरूको उद्देश्य के हो? त्यो उद्देश्य आफूलाई लाभ पुर्याउनु, कामकुरा गर्ने आफ्नो तरिका र व्यवहारलाई मान्य बनाउनु, मानिसहरूलाई आफ्नो राम्रो मूल्याङ्कन गर्ने तुल्याउनु, अनि आफ्नो खराब र दुष्ट व्यवहारलाई सत्यतासँग मेल खाने उचित व्यवहार र कामकुरा गर्ने तरिकामा परिणत गर्नु हो। यसरी तिनीहरू मानिसहरूले तिनीहरूलाई इन्कार गर्नेछैनन्, र परमेश्वरले तिनीहरूलाई निन्दा गर्नुहुनेछैन भनेर सोच्छन्। तिनीहरूले आफूलाई मानिसहरूले इन्कार नगरून् भनेर उनीहरूलाई बहकाउन त सक्लान्, तर के तिनीहरूले परमेश्वरलाई तिनीहरूको निन्दा नगर्ने तुल्याउन सक्छन् त? के मान्छेले परमेश्वरको सार बदल्न सक्छ? (सक्दैन।) ख्रीष्टविरोधीहरू यहीँनेर सबैभन्दा बढी मूर्ख हुन्छन्। तिनीहरू आफ्नो कथन मान्य बन्न सकोस्, र त्यसरी परमेश्वरका वाणीलाई अस्वीकार गर्न र सत्यताको अस्तित्व इन्कार्न सकियोस् भनेर एक खाले भ्रान्ति र विधर्मी कुरा सोचविचार गर्नको लागि आफ्नो वाक्पटु बोली र “चतुर दिमाग” प्रयोग गर्न चाहन्छन्—के यो तिनीहरूले गलत तरिकाले सोच्नु होइन र? के तिनीहरूले आफ्नो उद्देश्य पूरा गर्न सक्छन्? (सक्दैनन्।) कति मानिसहरू कुनै ख्रीष्टविरोधीहरूले केही मानिसहरूलाई बहकाउँदा के गर्न सकिन्छ भनेर सोध्छन्। यदि त्यस्ता मानिसहरूलाई साँच्चै बहकाइएको छ र तिनीहरू आफ्नो बाटो बदल्न सक्दैनन् भने, यसको अर्थ तिनीहरू खुलासा हुन्छन् र निकालामा पर्छन्, र तिनीहरू त्यसैको हकदार हुन्छन् भन्ने हुन्छ। यो तिनीहरू अभिशप्त भइरहेको र उम्कन नसकिरहेको कुरा हो; तिनीहरू मर्न अभिशप्त छन्, र परमेश्वरले कहिल्यै त्यस्ता मानिसहरूलाई मुक्ति दिने योजना बनाउनुभएन। तिनीहरू झूटा बहाना बनाएर मण्डली छिर्छन् र केही श्रम गर्छन् र केही अनुग्रह पाउँछन्, र परमेश्वरले उप्रान्त तिनीहरूलाई नचाहनुभएपछि, तिनीहरूलाई शैतानको हातमा सुम्पनुहुन्छ। अचम्मको कुरा त, तिनीहरूले कुनै भ्रान्ति र विधर्मी कुरा सुन्छन्, र सुनेपछि ताली बजाउँछन् र त्यसलाई अनुमोदन गर्छन्, र त्यसपछि शैतानलाई पछ्याउँछन्। यो के हो? यो सेवा प्रदान गर्न लगाउन शैतानलाई प्रयोग गर्नु हो। प्रकाशको पुस्तकमा एउटा पद छ, जसले यस्तो भन्छ, “अन्यायी, अझै अन्यायी नै रहिरहोस्: अनि फोहोरी, अझै फोहोरी नै रहिरहोस्: र धर्मी, अझै धर्मी नै रहिरहोस्: अनि पवित्र, अझै पवित्र नै रहिरहोस्” (प्रकाश २२:११)। यसको अर्थ मानिसहरूलाई तिनीहरूकै प्रकारअनुसार छुट्ट्याउनु हो। ख्रीष्टविरोधीहरूलाई पछ्याउने मानिसहरूको हकमा, के यो तिनीहरूको क्षणिक लापरवाही मात्र हो? के यो परमेश्वरले निगरानी नगर्नुभएकोले भएको हो? यो तिनीहरू मर्न अभिशप्त भएको कुरा हो! केही समयसम्म त्यस्ता मानिसहरूको सङ्गत गरेपछि, तैँले देख्नेछस् तिनीहरू मुक्ति पाउन लायक छैनन्—तिनीहरू अत्यन्तै दयनीय छन्! तिनीहरूको चरित्र र सत्यताको पछ्याइ विश्लेषण गर्दा, तिनीहरूको प्रकृति दुष्ट र सत्यताप्रति वितृष्ण छ, र तिनीहरू मुक्ति पाउन लायक छैनन्, तिनीहरू परमेश्वरबाट त्यस्तो अद्भुत अनुग्रह पाउन लायक छैनन्। यदि परमेश्वरले तिनीहरूलाई त्यो अनुग्रह दिनुभएन भने, तिनीहरूले त्यो पाउनेछैनन्, र तिनीहरूलाई दुई शब्दमा सबैभन्दा सटिक रूपले सारांशित गर्ने तरिका भनेको “मर्न अभिशप्त” भनेर भन्नु हो।
आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु ख्रीष्टविरोधीहरूको प्रमुख प्रकटीकरण हो, र तिनीहरूको सारलाई यो प्रकटीकरणअनुसार परिभाषित गर्नु अत्यन्तै उचित र ठोस कुरा हो—यो खोक्रो परिभाषा होइन। तिनीहरूका एजेन्डा, महत्त्वाकाङ्क्षा, तिनीहरूका सारका प्रकटीकरण, र तिनीहरूका कार्यका लगातारका उद्देश्य हेरेर के देख्न सकिन्छ भने आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु भनेको ख्रीष्टविरोधीहरूको एउटा विशेषतामूलक प्रकटीकरण नै हो। के कहिल्यै आफूलाई नउचाल्ने र आफूबारे गवाही नदिने त्यस्ता कुनै ख्रीष्टविरोधी हुन्छन् र? (हुँदैनन्।) किन हुँदैनन्? किनकि तिनीहरूका महत्त्वाकाङ्क्षा र चाहनाहरू अत्यन्तै विशाल हुन्छन्, र तिनीहरूले तिनलाई नियन्त्रण गर्न सक्दैनन्। तिनीहरू जुन समूहका मानिसहरूमाझ जिए पनि, यदि तिनीहरूलाई कसैले उचालेन र आराधना गरेन भने, तिनीहरूलाई जीवनको कुनै मूल्य वा अर्थ छैन भन्ने लाग्छ, र त्यसकारण तिनीहरू आफ्नो उद्देश्य पूरा गर्नहेतु आफूलाई उचाल्न र आफूबारे गवाही दिन निकै तत्पर हुन्छन्। तिनीहरू अरूभन्दा श्रेष्ठ हुन जिउँछन्, र तिनीहरूलाई मानिसहरूको आराधना र पछ्याइको आवश्यकता हुन्छ, र ती मानिसहरू झर्कोलाग्ने, घिनलाग्ने झिँगा वा भिकारीहरूको झुन्डजस्तो भए पनि, तिनीहरूले त्यसको मतलब गर्दैनन्। तिनीहरूलाई आराधना गर्ने र पछ्याउने मानिसहरू हुन्जेल तिनीहरूले सहज नै महसुस गर्नेछन्। तिनीहरूले प्रख्यात गायकहरूले झैँ प्रशंसकहरूबाट जोडदार ताली पाउन सके, तिनीहरूको खुसीको कुनै सीमा हुनेछैन, तिनीहरू त्यसको आनन्द उठाउन मन पराउँछन्—यो ख्रीष्टविरोधीहरूको प्रकृति हो। ख्रीष्टविरोधीहरूलाई जेजस्ता मानिसहरूले पछ्याए वा आराधना गरे पनि, तिनीहरूले उनीहरू सबैलाई मन पराउँछन्। ख्रीष्टविरोधीहरूलाई पछ्याउने मानिसहरू सबैभन्दा दयनीय र घिनलाग्दा भए पनि, उनीहरू पशू नै भए पनि, उनीहरूले तिनीहरूको हैसियतका महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्न सकुन्जेल तिनीहरूले मतलब गर्दैनन्। त्यसोभए के ख्रीष्टविरोधीहरूले आफूलाई उचाल्न र आफूबारे गवाही दिन, र जहाँ गए नि आफ्नो प्रदर्शन गर्नबाट आफूलाई रोक्न सक्छन् त? (सक्दैनन्।) यो तिनीहरूको सार हो। मलाई भन त, परमेश्वरलाई साँच्चै पछ्याउनेहरू कस्ता मानिसहरू हुन्? मानवजातिमाझ परमेश्वरले चुन्न र मुक्ति दिन चाहनुहुने एकप्रकारका व्यक्ति हुन्छन्, र ती मानिसहरूमा न्यूनतम विवेक, समझ, र लाज हुन्छ। तीभन्दा अलि राम्राहरू सत्यता, सकारात्मक कुरा, र परमेश्वरको निष्पक्षता र धार्मिकतालाई प्रेम गर्न सक्षम हुन्छन्; तिनीहरू दुष्टतालाई घृणा गर्न सक्षम हुन्छन्, तिनीहरू अन्यायपूर्ण वा दुष्ट कुरा देख्दा क्रुद्ध हुन्छन्, र तिनीहरूले यी कुराबारे केही गर्न नसके पनि तिनलाई घृणा गर्छन्—कम्तीमा पनि ती परमेश्वरले चाहनुहुने मानिसहरू हुन्। यस्तो मानवता र सार नहुनेहरूलाई भने परमेश्वरले चाहनुहुन्न, चाहे तिनीहरूले परमेश्वरको असलताबारे वा परमेश्वर कति महान् हुनुहुन्छ भनेर जति नै कुरा किन नगरून्। उदाहरणको लागि, धार्मिक संसारका फरिसीहरूले तिनै पुराना खोक्रा सिद्धान्त र सतही शब्दहरू प्रयोग गरेर परमेश्वरलाई उचाल्छन् र परमेश्वरको गवाही दिन्छन्, र तिनीहरू दुई हजार वर्षपछि पनि त्यही कुरा दोहोर्याउन वाक्क मान्दैनन्। अहिले परमेश्वरले यति धेरै सत्यता व्यक्त गरिरहनुभएको छ, तर तिनीहरूले तिनलाई देख्न सक्दैनन्, र तिनलाई बेवास्ता गर्छन्, र कतिले त तिनलाई निन्दा र तीविरुद्ध ईशनिन्दासमेत गर्छन्। यसले तिनीहरूलाई पूर्ण रूपले खुलसा गर्छ, र परमेश्वरले धेरै पहिले नै तिनीहरूलाई ढोँगी फरिसीको रूपमा परिभाषित गर्नुभएको छ, र ती सबै शैतानको गिरोहका हिस्सा हुन्; परमेश्वरले तिनीहरूलाई पिशाच र शैतान, सुँगुर र कुकुर भनेर नामाकरण गर्नुभएको छ। जब ख्रीष्टविरोधीहरू मानिसहरूको त्यस्तो समूहमा पुग्छन् र जब तिनीहरूले तीमध्ये धेरै कमले मात्र सत्यता बुझ्न सक्छन्, तीमध्ये कसैसँग पनि समझ वा प्रतिभा छैन भन्ने देख्छन्, तब तिनीहरू आफ्नो प्रदर्शन गर्ने यो मौकाको फाइदा उठाउन हतारिन्छन्। कतिले त तिनीहरू एकसाथ दुई विश्वस्तरीय विश्वविद्यालयमा भर्ना भएको, तर परमेश्वरमा विश्वास गर्न आएर उहाँको आज्ञा स्विकार्न पुगेपछि अन्ततः पढ्न नगएको भनेर धाक देखाउँछन्। तिनीहरूले यसो भनेको सुनेपछि कतिले तिनीहरूलाई निकै उच्च सम्मानसाथ हेर्न थाल्छन्। यदि तँ सत्यता बुझ्दैनस्, र यदि तैँले मन पराउने कुरा र तेरो विश्वदृष्टि ती संसारिक मानिसहरूका जस्तै छन् भने, तैँले यस्ता मानिसहरूलाई आराधना गर्नेछस्, र त्यसैले ख्रीष्टविरोधीहरूले त्यस्ता कुरा गर्दा तँ तिनीहरूको बहकाउ र छलमा पर्नेछस्। ख्रीष्टविरोधीहरूले यसरी नै गोप्य रूपमा आफूलाई उचाल्छन्, र समझ नभएका ती मूर्ख मानिसहरू तिनीहरूको बहकाउमा पर्छन्। ख्रीष्टविरोधीहरू निकै खुसी हुन पुग्छन्, र आफूमुनिका कोही पनि सामान्य छैनन् भन्ने सोच्छन्, जबकि वास्तवमा ती मानिसहरू अलमल्ल परेका र कुनै काम नलाग्ने मानिसहरूका झुन्ड मात्र हुन्छन्। सत्यता बोध गर्ने क्षमता नभएकाहरू सबै शैतान र ख्रीष्टविरोधीहरूको बहकाउमा पर्न सक्छन्। शैतान र ख्रीष्टविरोधीहरूले बोलेको सुन्दा तिनीहरूले ती कुरा आफ्नै सोच र स्वादसँग मिलेको महसुस गर्छन्, र त्यसैले तिनीहरूलाई ती कुरा सुन्दा आनन्द आउँछ। तिनीहरू आफूले सुनेको कुरा मूल्याङ्कन गर्न सामान्य सोचाइ प्रयोग गर्न असक्षम हुन्छन्, न त तिनीहरूले आफूलाई ती कुरा खुट्ट्याउन मद्दत गर्न सत्यता बुझ्ने कुनै व्यक्ति नै भेट्टाउँछन्; आफूले सुनिरहेको कुरा उचित लागुन्जेल, तिनीहरू त्यो स्विकार्न इच्छुक हुन्छन्, र तिनीहरू थाहै नपाई बहकाउमा पर्छन्। सत्यता बोध गर्ने क्षमता र समझ भएकाहरूले ख्रीष्टविरोधीहरू बोलेको सुन्दा, तिनीहरूले ती मानिसहरूले अरूलाई बहकाउन खोजिरहेका छन् भनेर थाहा पाउँछन् र तिनीहरूलाई इन्कार गर्छन्। समझ नभएका ती अलमलिएका मानिसहरूले चाहिँ ख्रीष्टविरोधीहरूसँग ज्ञान, राम्रो क्षमता, र भावी सम्भाव्यता भएको विश्वास गर्छन्। तिनीहरूले विविध कुराहरूलाई यसरी नै हेर्छन्, र कुनै सतही घटनाले नै तिनीहरू बहकिन्छन्; तिनीहरूले सत्यता सिद्धान्त के हुन् भनेर जान्दैनन्, र तिनीहरू शैतानलाई पछ्याउनतिर लाग्छन्। के त्यस्ता मानिसहरूले आफ्नै मूर्खता र अज्ञानताको कारण आफ्नो विनाश निम्त्याउँदैनन् र? यो कुरा यस्तै हुन्छ। यदि तँसँग ख्रीष्टविरोधीहरूले आफूलाई बारम्बार उचाल्ने र आफूबारे गवाही दिने प्रकटीकरणहरूबारे, वा त्यसो गर्ने तिनीहरूका विभिन्न तरिकाहरूबारे समझ छ, र तैँले तिनीहरूका बोलीपछाडिका उद्देश्य र एजेन्डा ठम्याउन सक्छस् भने, तँलाई ख्रीष्टविरोधीहरूको सार छर्लङ्गै देख्न सजिलो हुनेछ, र त्यसपछि तैँले तत्कालै तिनीहरूलाई इन्कार्न र सराप्न, अनि तिनीहरूलाई फेरि कहिल्यै नभेट्न सक्नेछस्। तैँले किन यसो गर्नेछस्? किनकि ख्रीष्टविरोधीहरूले बोलेको र कार्य गरेको देख्दा, तैँले तिनीहरूलाई तिरस्कार र घृणा गर्नेछस्, र तँलाई झिँगाहरू देखेझैँ गरी तिनीहरूप्रति घिन लाग्नेछ र तिनीहरूलाई सक्दो चाँडो धपाउनुपर्ने हुन्छ। त्यसकारण, ख्रीष्टविरोधीहरूका कार्य र व्यवहारबारे समझ भएपछि, तैँले तत्कालै तिनीहरूको खुलासा गर्नुपर्छ, ताकि अरूले तिनीहरूलाई खुट्ट्याउन, र सिद्धान्तअनुसार मण्डलीबाट निष्कासित गर्न सकून्। के तिमीहरू यसो गर्ने आँट गर्छौ? यदि परमेश्वरका चुनिएका मानिसहरूले यसो गर्न सक्छन् भने, यसले तिनीहरूको कद बढेको छ, र तिनीहरू परमेश्वरका अभिप्राय ख्याल गर्न र परमेश्वरको घरको काम रक्षा गर्न सक्छन् भन्ने देखाउँछ। जब परमेश्वरका चुनिएका मानिसहरूले सत्यता बुझ्छन् र तिनीहरूसँग समझ हुन्छ, त्यसउप्रान्त ख्रीष्टविरोधीहरूले मण्डली वा परमेश्वरको घरमा खुट्टा टेक्ने ठाउँ पाउनेछैनन्।
ख्रीष्टविरोधीहरूले जुनसुकै अवसरमा पनि मौका मिले आफ्नो प्रदर्शन गर्छन् र आफूबारे गवाही दिन्छन्, र तिनीहरू आफूलाई पुज्ने र आफूलाई प्रशंसा, ईर्ष्या, र श्रद्धाको नजरले हेर्ने मानिसहरू भएसम्म खुसी नै रहन्छन्—तिनीहरू ती मानिसहरू को कुन भन्नेबारे कुनै वास्ता गर्दैनन्। के तिनीहरूसित आफूलाई पछ्याउने, आराधना गर्ने, र आदरभावले हेर्ने मानिसहरूको लागि कुनै मानक हुन्छ? (हुँदैन।) ती मानिसहरू मूर्ख, मानसिक रूपमा असक्षम, र दुष्ट मानिसहरू भए नि, वा अविश्वासीहरू भए नि, तिनीहरू जेजस्ता खालका मानिसहरू भए नि, तिनीहरू फालिनु र हटाइनुसमेत पर्ने मानिसहरू भए नि, जबसम्म ती मानिसहरूले ख्रीष्टविरोधीहरूलाई पछ्याउन, आराधना गर्न र उचाल्न सक्छन्, तबसम्म ती ख्रीष्टविरोधीहरूले तिनीहरूलाई स्विकार्छन, तिनीहरूलाई निकै मन पराउँछन्, र तिनीहरूलाई आफ्नो पक्षमा ल्याउँछन् र तिनीहरूको सुरक्षा गर्छन्। ख्रीष्टविरोधीहरूले ती मानिसहरूलाई आफ्नो भेडा, आफ्नो व्यक्तिगत सम्पत्तिको रूपमा लिन्छन्, र अरू कसैलाई पनि तिनीहरूलाई सरुवा गर्न, खुलासा गर्न वा तह लाउन दिँदैनन्। ती मानिसहरूले ख्रीष्टविरोधीहरूको जेजसरी चापलुसी गरेर कृपापात्र बने नि, तिनीहरूले जस्तोसुकै वाक्कलाग्दो र घिनलाग्दो कुरा गरे नि, ख्रीष्टविरोधीहरूले ती सबको आनन्द उठाउँछन्; ती मानिसहरूले ख्रीष्टविरोधहरूको खुसामद गरुन्जेल तिनीहरूलाई त्यो सब ठीकै लाग्छ। ख्रीष्टविरोधीहरूले बोल्ने र गर्ने सबथोक आफूलाई मानिसहरूले उच्च सम्मान दिऊन्, मन पराऊन्, र पछ्याऊन् भनेर हुन्छ, अनि आफूलाई पछ्याउने मानिसहरूले जतिसुकै नराम्रा काम गरे नि, तिनीहरूले उनीहरूलाई अनुसन्धान गर्दैनन्, र उनीहरूको मानवता जति नै कपटी र द्वेषपूर्ण भए नि त्यसको मतलब गर्दैनन्। जबसम्म आफूलाई ती मानिसहरूले पछ्याउँछन् र आराधना गर्छन्, तबसम्म ख्रीष्टविरोधीहरूले उनीहरूलाई मन पराउँछन्, र जबसम्म ती मानिसहरूले ख्रीष्टविरोधीहरूको शक्ति र हैसियत कायम राखिदिन सक्छन्, र तिनीहरूविरुद्ध जाने वा तिनीहरूको विरोध गर्ने गर्दैनन्, तबसम्म ख्रीष्टविरोधीहरूले औधी सन्तुष्ट महसुस गर्छन्—ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। तर त्यसको ठीक उल्टो रूपमा, सधैँ ख्रीष्टविरोधीहरूको खुलासा गर्ने र तिनीहरूलाई आफूलाई उचाल्न र आफूबारे गवाही दिनबाट रोक्ने, र त्यसो गरेकोमा तिनीहरूलाई तिरस्कार गर्ने, साथै तिनीहरूसँग सत्यता सङ्गति गर्ने, तिनीहरूको समस्याको सार छर्लङ्ग देख्ने र तिनीहरूबारे साँचो समझ भएका मानिसहरूलाई ख्रीष्टविरोधीहरूले कस्तो व्यवहार गर्छन्? तिनीहरू सरमले तुरुन्तै रिसाउँछन्, र ती मानिसहरूविरुद्ध सतर्क रहन्छन्, तिनीहरूलाई बहिष्कार र आक्रमण गर्छन्, अन्ततः तिनीहरूलाई खुट्ट्याउन र विरोध गर्न सक्नेहरूलाई एकल्याउने तरिकाहरू सोच्छन्। तिनीहरूले यसो गर्नुको कारण के हो? त्यो के हो भने, जब तिनीहरूले आफूलाई उचालिरहेका र आफूबारे गवाही दिइरहेका हुन्छन्, तब तिनीहरूले ती मानिसहरू आँखाको कसिङ्गर र काँडा हुन्, र ती मानिसहरूले तिनीहरूलाई खुट्ट्याउनेछन् र इन्कार्नेछन्, र खुलासा गर्नेछन्, र तिनीहरूको राम्रो चलिरहेको कामकुरा बरबाद पार्नेछन् भनेर सोच्छन्। ती मानिसहरूमाथि आँखा पर्नेबित्तिकै ख्रीष्टविरोधीहरूको हृदयमा असहज महसुस हुन्छ र त्यसैले ख्रीष्टविरोधीहरू ती मानिसहरूलाई तह लाउने हो भने, तिनीहरूले फेरि आफूलाई उचाल्दा र आफूबारे गवाही दिँदा, तिनीहरूलाई खुलासा वा रोकटोक गर्ने कोही हुनेछैनन्, र तिनीहरूले अनियन्त्रित रूपले दुष्टता गर्न सक्नेछन् भन्ने सोच्दै, सधैँ ती मानिसहरूलाई तह लाउन चाहन्छन्। ख्रीष्टविरोधीहरूले कार्य गर्ने सिद्धान्त यही हो। आफूलाई जेजस्ता मानिसहरूले खुसामद, प्रशंसा वा उचाल्ने गरे नि, र ती मानिसहरूले बोल्ने कुरा तथ्यअनुरूप भए नि नभए नि, र उनीहरूले झूट बोलिरहेका भए नि, ख्रीष्टविरोधीहरू उनीहरूलाई स्विकार्न इच्छुक हुन्छन्, उनीहरूलाई सुनेर आनन्द मान्छन्, र उनीहरूलाई हृदयको गहिराइदेखि नै मन पराउँछन्। तिनीहरूले ती मानिसहरूमा जेजस्तो समस्या भए नि त्यसको ख्याल गर्दैनन्, र ती मानिसहरूमा समस्या रहेको पत्तो पाए नि तिनलाई ढाकछोप गर्छन्, लुकाउँछन्, र तीबारे एक शब्द बोल्दैनन्। जबसम्म आफ्नो आसपास ती मानिसहरू रहन्छन् र जबसम्म उनीहरूले आफूलाई पछ्याउँछन् र खुसामद गर्छन्, तबसम्म ख्रीष्टविरोधीहरूले त्यसको आनन्द उठाउँछन्। ख्रीष्टविरोधीहरूले यसरी नै काम गर्छन्। के तिमीहरू ख्रीष्टविरोधीहरूले गर्ने ती कुरा गर्न सक्छौ? उदाहरणको लागि, मानौँ रे, तिमीहरू मण्डलीका अगुवा र सेवकहरू हौ, परमेश्वरका चुनिएका जनमाझ हैसियत र प्रतिष्ठा भएका मानिसहरू हौ। यदि ब्रदर-सिस्टरहरूले तँलाई उच्च सम्मान गरे, खुसामद गरे, चापलुसी गरे, र तँलाई तैँले राम्रो प्रवचन दिन्छस्, तँ सुन्दर छ्स् र तिनीहरूको लागि तँ सबैभन्दा राम्रो अगुवा होस् भन्दै निरन्तर प्रशंसा गरे भने, तैँले कस्तो महसुस गर्नेछस्? के तैँले तिनीहरूका शब्दपछाडिका मनसाय खुट्ट्याउन सक्नेछस्? के तैँले त्यस्ता मानिसहरूलाई इन्कार्न र तिनीहरूबाट टाढा रहन सक्नेछस्? यदि सक्नेछैनस् भने, तँ खतरामा छस्। तँलाई तँ त्यति सुन्दर छैनस्, तँ सत्यता वास्तविकताबारे सङ्गति गर्न सक्दैनस् भनेर स्पष्टसँग थाहा छ, तैपनि मानिसहरूले तँलाई यसरी खुसामद गर्दा तँ खुसी हुन्छस्, र सधैँ त्यस्ता मानिसहरूको नजिक जान र तिनीहरूको बढुवा गर्न चाहन्छस् भने, के त्यसको अर्थ तँ खतरामा छस् भन्ने हुँदैन र? यसको अर्थ तँ खतरामा छस् भन्ने नै हो।
जब अगुवा र सेवकहरूले काम गरिरहेका हुन्छन्, तिनीहरूले कहिलेकाहीँ पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति पाउँछन्, तिनीहरूले केही साँचो अनुभवहरूबारे कुरा गर्न सक्छन्, र स्वाभाविक रूपमै तिनीहरूले मानिसहरूलाई तिनीहरूको उच्च सम्मान र आराधना गर्ने तुल्याउँछन्, र स्वाभाविक रूपमै तिनीहरूले मानिसहरूलाई छायाँजसरी तिनीहरूलाई पछ्याउने तुल्याउँछन्—यस्ता समयमा तिनीहरूले यी कुरालाई कसरी लिनुपर्छ? सबैका आ-आफ्नै झुकावहरू हुन्छन्, सबैजना घमन्डी हुन्छन्; यदि तिनीहरूले कसैले तिनीहरूबारे अनुमोदन र खुसामदले भरिएका कुरा गरेको सुने भने, तिनीहरूले त्यसको निकै आनन्द उठाउँछन्। यस्तो महसुस गर्नु सामान्य कुरा हो र यो ठूलो कुरा होइन। तर यदि तिनीहरूले तिनीहरूमाथि प्रशंसाको वर्षा गर्न, र तिनीहरूको खुसामद गर्न सक्ने कुनै मान्छेलाई बढुवा गरे, र कुनै महत्त्वपूर्ण काममा खटाए भने, त्योचाहिँ खतरनाक हुन्छ। किनभने अरूको खुसामद गर्ने र प्रशंसाको वर्षा गर्ने मानिसहरू अत्यन्तै धूर्त र कपटी हुन्छन्, र तिनीहरू इमानदार वा सत्यनिष्ठ हुँदैनन्। त्यस्ता मानिसहरूले हैसियत पाउनेबित्तिकै तिनीहरू परमेश्वरका चुनिएका मानिसहरूको जीवन प्रवेश वा मण्डलीको कामको लागि लाभदायी हुँदैनन्। ती मानिसहरू धूर्त हुन्छन् र काम बिगार्नमा सबैभन्दा सक्षम हुन्छन्। तुलनात्मक रूपमा सीधा मानिसहरूले कहिल्यै अरूमाथि प्रशंसाको वर्षा गर्दैनन्। यदि तिनीहरूले तँलाई हृदयमा अनुमोदन गरे भने पनि त्यो कुरा ठूलो स्वरले भन्दैनन्, बरु तिनीहरूले तँमा कमीकमजोरी रहेको वा तैँले केही गलत गरेको पत्ता लगाए भने, तँलाई त्यो कुरा औँल्याइदिन्छन्। तर कति मानिसहरूले सीधा मानिसहरूलाई मन पराउँदैनन्, र त्यसैले जब कसैले तिनीहरूका कमीकमजोरी औँल्याउँछन् वा तिनीहरूलाई गाली गर्छन्, तब तिनीहरूले त्यो व्यक्तिलाई दमन र बहिष्कार गर्छन्, र उसका त्रुटि र कमीकमजोरीहरूको फाइदा उठाउँदै, उसलाई निरन्तर मूल्याङ्कन र निन्दा गर्छन्। यसो गरेर, के तिनीहरूले असल मानिसहरूलाई दमन र हानि गरिरहेका हुँदैनन् र? परमेश्वरले यस्ता कुरा गर्नुलाई र यस्ता असल मानिसहरूलाई सताउनुलाई सबैभन्दा धेरै घृणा गर्नुहुन्छ। असल मानिसहरूलाई सताउनु भनेको खलनायकी काम हो। अनि यदि कसैले धेरै असल मानिसहरूलाई सताउँछ भने, ऊ दियाबलस हो। अगुवा र सेवकहरूले सबैलाई न्यायोचित रूपमा र प्रेमपूर्वक व्यवहार गर्नुपर्छ, र तिनीहरूले सिद्धान्तअनुसार मामिलाहरू सम्हाल्नुपर्छ। विशेषगरी जब मानिसहरूले तेरो खुसामद र चापलुसी गर्छन्, र तेरो वरिपरि घुम्छन्, तब तैँले तिनीहरूलाई सही ढङ्गले व्यवहार गर्नुपर्छ, प्रेमपूर्वक सहयोग गर्नुपर्छ, र तिनीहरूलाई अविश्वासीहरूले गर्नेजस्तो मानिसहरूको खुसामद गर्नमा नभई आफ्नो उचित काम गर्नमा लगाउनुपर्छ; आफ्नो अडान र दृष्टिकोण स्पष्टसँग राख्, तिनीहरूलाई अपमानित र लज्जित महसुस गरा ताकि तिनीहरूले फेरि कहिल्यै त्यस्तो नगरून्। यदि तँ सिद्धान्तहरू पालना गर्न र मानिसहरूलाई उचित व्यवहार गर्न सक्छस् भने, के यी घृणित जोकर र शैतानको प्रकारका मानिसहरूले लज्जित महसुस गर्नेछैनन्? यसले शैतानलाई लज्जित महसुस गराउनेछ, र परमेश्वरलाई सन्तुष्ट तुल्याउनेछ। अरूको खुसामद गर्न मन पराउने मानिसहरूले अगुवा र सेवकहरू सबैले आफ्नो खुसामद गर्ने मानिसहरूलाई प्रेम गर्छन्, र जब कसैले तिनीहरूको खुसामद वा चापलुसी गर्ने कुनै कुरा बोल्छ, तब तिनीहरूको अभिमान र हैसियतको चाहना तृप्त हुन्छ भन्ठान्छन्। सत्यतालाई प्रेम गर्ने मानिसहरूले यसलाई कत्ति पनि मन पराउँदैनन्, र तिनीहरूले यसलाई अत्यन्तै घृणा गर्छन् र घिनाउँछन्। झूटा अगुवाहरूले मात्र आफ्नो खुसामद गरेको मन पराउँछन्। परमेश्वरको घरले तिनीहरूलाई सराहना र प्रशंसा नगर्न सक्छ, तर यदि परमेश्वरका चुनिएका जनले तिनीहरूलाई सराहना र प्रशंसा गरे भने, तिनीहरू सन्तुष्ट हुन्छन् र त्यसको निकै आनन्द उठाउँछन्, र अन्ततः त्यसबाट केही सान्त्वना प्राप्त गर्छन्। ख्रीष्टविरोधीहरूले त आफ्नो खुसामद गरेकोबाट झनै धेरै आनन्द लिन्छन्, र तिनीहरूलाई सबैभन्दा धेरै आनन्द आउने कुरा भनेकै त्यस्ता मानिसहरू तिनीहरूको नजिक आउनु र तिनीहरूको वरिपरि घुम्नु हो। के यो समस्याजनक कुरा होइन र? ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्; तिनीहरू मानिसहरूले आफ्नो प्रशंसा र सराहना गरेको, आराधना गरेको र पछ्याएको मन पराउँछन्, जबकि सत्यतालाई पछ्याउने तुलनात्मक रूपमा सीधा मानिसहरूले यी कुनै कुरा पनि मन पराउँदैनन्। तँ आफूसँग सत्य बोल्न सक्ने मानिसहरूको नजिक हुनुपर्छ; आफ्नो आसपास यस्ता मानिस हुनु तेरो लागि निकै फाइदाजनक हुन्छ। विशेषगरी, तँमा कुनै समस्या पत्ता लगाएपछि तँलाई गाली र खुलासा गर्ने आँट भएका असल मानिसहरू तेरो वरिपरि हुँदाखेरि, त्यसले तँलाई बाटो बिराउनबाट रोक्न सक्छ। तिनीहरूले तेरो हैसियत के हो भनेर वास्ता गर्दैनन्, र तिनीहरूले तैँले सत्यता सिद्धान्तविरुद्ध केही गरेको पत्ता लगाउनेबित्तिकै, आवश्यक परे तँलाई गाली र खुलासा गर्नेछन्। त्यस्ता मानिसहरू मात्र सीधा, र न्यायबोध भएका मानिसहरू हुन्, र तिनीहरूले तँलाई जसरी खुलासा वा गाली गरे नि यो सबले तेरो मद्दत गर्छ, र यो सब तेरो सुपरिवेक्षण गर्न र तँलाई अघि ठेल्नको लागि हो। तैँले त्यस्ता मानिसहरूको छेउ जानुपर्छ; तेरो छेउ त्यस्ता मानिसहरू हुनु, र तिनीहरूले तँलाई मद्दत गर्नुले तँलाई तुलनात्मक रूपमा सुरक्षित बनाउँछ—परमेश्वरको सुरक्षा हुनु भनेको यही हो। सत्यता बुझ्ने र सिद्धान्तहरू पालना गर्ने मानिसहरूले तेरो साथ रही तँलाई सुपरिवेक्षण गर्नु तैँले राम्ररी तेरो कर्तव्य निभाउन र काम गर्नको लागि निकै फाइदाजनक हुन्छ। तैँले तेरो खुसामद र चापलुसी गर्ने ती धूर्त, छली मानिसहरूलाई आफ्नो सहायक कदापि बनाउनु हुँदैन; त्यस्ता मानिसहरू तँसँग टाँस्सिनु भनेको तँमाथि गन्हाउने झिँगा भन्किनुजस्तै हो, तँ धेरै ब्याक्टेरिया र भाइरसको सम्पर्कमा आउनेछस्! त्यस्ता मानिसहरूले तँलाई अवरोध गर्ने र तेरो काममा असर पार्ने सम्भावना हुन्छ, तिनीहरूले तँलाई परीक्षामा फसाउने र बाटो बिराउने तुल्याउन सक्छन्, र तिनीहरूले तँमाथि विपत्ति र प्रकोप निम्त्याउन सक्छन्। तँ तिनीहरूदेखि टाढै रहनुपर्छ, र जति टाढा भयो त्यति नै राम्रो, र यदि तैँले तिनीहरूमा अविश्वासीहरूको सार छ भनेर खुट्ट्याउन सकिस् र तिनीहरूलाई मण्डलीबाट फाल्न सकिस् भने त झनै राम्रो। जब सत्यता पछ्याउने सीधा व्यक्तिले तँमा कुनै समस्या देख्छ, तब तेरो हैसियत जे भए नि, तैँले ऊसँग जस्तो व्यवहार गरे नि, र उसलाई बर्खास्त नै गरे नि, उसले तुरुन्तै तँलाई सत्य बताउनेछ। उसले कहिल्यै त्यसलाई ढाकछोप वा टालटुल गर्नेछैन। तेरो वरिपरि यस्ता अझ धेरै मानिसहरू हुनु निकै फाइदाजनक कुरा हो! जब तैँले सिद्धान्तविपरीत हुने कुनै काम गर्छस्, तब तिनीहरूले तेरो खुलासा गर्नेछन्, तेरा समस्याबारे रायहरू व्यक्त गर्नेछन्, र स्पष्ट र इमानदार रूपमा तेरा समस्या र त्रुटिहरू औँल्याउनेछन्; तिनीहरूले तँलाई आफ्नो इज्जत जोगाउन मद्दत गर्नेछैनन्, र तँलाई धेरै मानिसहरूसामु लाजबाट बच्ने मौकासमेत दिनेछैनन्। तैँले यस्ता मानिसहरूसँग कस्तो व्यवहार गर्नुपर्छ? तैँले तिनीहरूलाई दण्डित गर्नुपर्छ कि तिनीहरूको नजिक जानुपर्छ? (तिनीहरूको नजिक जानुपर्छ।) सही हो। तैँले आफ्नो हृदय खोल्नुपर्छ र तिनीहरूसँग यसो भन्दै सङ्गति गर्नुपर्छ, “तिमीले ममा रहेको समस्या औँल्याएको सही थियो। त्यतिबेला म अभिमान र हैसियतका सोचहरूले भरिएको थिएँ। मलाई लाग्यो, म यत्तिका वर्षदेखि अगुवा रहिआएको छु, तैपनि तिमीले मलाई आफ्नो इज्ज्जत जोगाउन मद्दत नगरेको मात्र होइन, बरु उल्टै धेरै मानिसहरूसामु मेरा समस्याहरू औँल्याई पनि दियौ, त्यसैले मैले त्यो कुरा स्विकार्न सकिनँ। तर अहिले मलाई थाहा भएको छ, मैले गरेको कुरा सिद्धान्तहरू र सत्यतासँग साँच्चै मेल खाँदैनथे, र मैले त्यसो गर्नु हुन्नथ्यो। अगुवा पद पाउनुको मतलब के हो? के यो बस मेरो कर्तव्य होइन र? हामी सबैले आफ्नो कर्तव्य निर्वाह गरिरहेका छौँ र हसियतमा हामी सबै बराबर छौँ। फरक के मात्र हो भने, मैले अलि धेरै जिम्मेवारी वहन गरेको छु, कुरा त्यति त हो। यदि तिमीले भविष्यमा कुनै समस्या पत्ता लगायौ भने, तिमीले जे भन्नुपर्ने हो त्यो भने हुन्छ, र हामीहरूबीच कुनै व्यक्तिगत द्वेष हुनेछैन। सत्यताप्रतिको हाम्रो बोधमा हामीहरूबीच कुनै भिन्नता भयो भने, हामीले सँगसँगै सङ्गति गर्न सक्छौँ। परमेश्वरको घरमा, अनि परमेश्वर र सत्यतासामु हामी अलग होइन एकजुट हुनेछौँ।” यो सत्यता अभ्यास गर्ने र त्यसलाई प्रेम गर्ने मनोवृत्ति हो। यदि तैँले ख्रीष्टविरोधी मार्गबाट टाढा रहने इच्छा गर्छस् भने, तैँले के गर्नुपर्छ? तैँले सत्यतालाई प्रेम गर्ने, सीधा मानिसहरूको नजिक जान अग्रसरता लिनुपर्छ, र तेरा समस्याहरू औँल्याउन सक्ने, सत्य बोल्न सक्ने र तेरा समस्याहरू पत्ता लगाउँदा तँलाई गाली गर्न सक्ने, र विशेषगरी तेरा समस्याहरू पत्ता लगाउँदा तँलाई काटछाँट गर्न सक्ने मानिसहरूको नजिक जानुपर्छ—तेरो लागि सबैभन्दा फाइदाजनक व्यक्ति तिनै हुन्, र तैँले तिनीहरूको कदर गर्नुपर्छ। यदि तैँले त्यस्ता असल मानिसहरूलाई बहिष्कार गर्छस् र निकाल्छस् भने, तैँले परमेश्वरको सुरक्षा गुमाउनेछस्, र तँमाथि बिस्तारै विपत्ति आइपर्नेछ। असल र सत्यता बुझ्ने मानिसहरूको नजिक आउँदा, तैँले शान्ति र खुसी पाउनेछस्, र विपत्तिलाई आफूभन्दा टाढा राख्न सक्नेछस्; नीच, निर्लज्ज, र तेरो खुसामद गर्ने मानिसहरूको नजिक गइस् भने, तँ खतरामा पर्नेछस्। तँ सजिलै धोका र छलमा पर्ने मात्र होइन, तँमाथि कुनै पनि समय विपत्ति आइपर्नसमेत सक्नेछ। तँलाई कस्तो खालको व्यक्तिले फाइदा पुर्याउँछ भनेर तैँले जान्नैपर्छ—तैँले केही गलत गर्दा, वा आफूलाई उचाल्दा र आफूबारे गवाही दिँदा र अरूलाई बहकाउँदा, तँलाई खबरदारी गर्ने मानिसहरूले नै तँलाई सबैभन्दा बढी फाइदा पुर्याउन सक्छन्। त्यस्ता मानिसहरूको नजिक जानु नै लिनुपर्ने सही मार्ग हो। के तिमीहरू यसो गर्न सक्षम छौ? यदि कसैले तेरो प्रतिष्ठामा आँच पुर्याउने कुनै कुरा बोल्छ र तँ आफ्नो बाँकी जीवन ऊदेखि रिसाउँदै “तैँले किन मेरो खुलासा गरिस्? मैले तँलाई कहिल्यै नराम्रो व्यवहार गरेको छैन। तैँले किन सधैँ मेरो लागि कामकुरा कठिन बनाउँछस्?” भनेर भन्छस् र आफ्नो हृदयमा द्वेष पाल्छस्, र एउटा दरार उत्पन्न हुन्छ, र तँ सधैँ “म अगुवा हुँ, मसँग यो पहिचान र हैसियत छ, र म तँलाई त्यसरी बोल्ने अनुमति दिनेछैन” भनेर सोचिबस्छस् भने, यो कस्तो प्रकटीकरण हो? यो सत्यता नस्विकार्नु र आफूलाई अरूविरुद्ध खडा गर्नु हो; यो समझप्रतिको बहिरोपन हो। के तेरो यो हैसियतको सोचले समस्या खडा गरिरहेको छैन र? यसले तेरा भ्रष्ट प्रकटीकरणहरू अत्यन्तै गम्भीर छन् भनेर देखाउँछ। सधैँ हैसियतका सोच पाल्नेहरू गम्भीर ख्रीष्टविरोधी स्वभाव भएका मानिसहरू हुन्। यदि तिनीहरूले पनि दुष्टता गरे भने, तिनीहरूलाई एकदमै तुरुन्तै खुलासा गरिनेछ र हटाइनेछ। मानिसहरूले सत्यता इन्कार्नु र नस्विकार्नु अत्यन्तै खतरनाक कुरा हो! सधैँ हैसियतको लागि होड गर्ने चाहना राख्नु र हैसियतका फाइदाहरूको लोभ गर्न चाहनु खतराका सङ्केतहरू हुन्। जब व्यक्तिको हृदय सधैँ हैसियतद्वारा बाँधिएको हुन्छ, तब के उसले अझै पनि सत्यता अभ्यास गर्न र सिद्धान्तअनुसार कामकुरा सम्हाल्न सक्छ र? यदि व्यक्तिले सत्यता अभ्यास गर्न सक्दैन र सधैँ ख्याति, लाभ, र हैसियतको खातिर कार्य गर्छ, र काम गर्नको लागि सधैँ आफ्नो शक्ति प्रयोग गर्छ भने, के ऊ आफ्नो साँचो रङ्ग देखाइरहेको प्रस्ट ख्रीष्टविरोधी होइन र?
आफूलाई उचाल्ने र आफूबारे गवाही दिनेजस्ता प्रकटीकरणहरू ख्रीष्टविरोधीहरूका सबैभन्दा आम प्रकटीकरणहरू हुन्। चाहे दैनिक जीवनमा होस् वा तिनीहरूले अरूसँग व्यवहार गर्ने तरिकामा तरिका होस्, वा मण्डली जीवनमा नै किन नहोस्, यी प्रकटीकरणहरू सधैँ देख्न सकिन्छ, किनभने यी प्रकटीकरणहरू भ्रष्ट स्वभावहरूका खुलासाहरू हुन्। उदाहारणको लागि, व्यक्तिले आफ्नो कर्तव्यलाई कसरी लिन्छ, अरूलाई कस्तो व्यवहार गर्छ, र अरूलाई कसरी खुट्ट्याउँछ भन्ने कुराहरूसँग सम्बन्धित सत्यताहरूमाथि हामीले सङ्गति गरिसकेका छौँ। के तिमीहरूले आफ्नो सामान्य जीवनमा यी कुराहरूका ठोस प्रकटीकरणहरू चिनेका छौ, तर तिनलाई समस्याको रूपमा अनुभूत गर्नचाहिँ नसकेका हौ? कि तिमीहरू यी खास समस्याहरूमा आधारित भएर प्रवेश गर्न लागिपरेकै छैनौ? यदि तिमीहरू स्वभावहरूबाट सुरु गर्दैनौ, वा कहिलेकाहीँ यी प्रकटीकरणहरू प्रदर्शन गर्छौ तैपनि ती स्वभावगत समस्या हुन् कि होइनन् भनेर जान्दैनौ, र त्यसैले तिनलाई बेवास्ता गर्छौ भने, तिमीहरू स्वभावगत परिवर्तन हासिल गर्नदेखि धेरै टाढा छौ। यदि तैँले यी प्रकटीकरणहरू आफूलाई उचाल्नु र आफूबारे गवाही दिनु हो भनेर बुझ्न सक्दैनस् भने, यदि तैँले यी प्रकटीकरणहरू तेरो भ्रष्ट स्वभावद्वारा सञ्चालित छन् भनेर जान्दैनस्, र तिनलाई एकप्रकारको व्यक्तित्व विशेषता वा काम गर्ने जन्मजात तरिका वा संज्ञानका रूपमा लिन्छस्, र तिनलाई कम आँक्छस्, र तिनलाई आफ्नो भ्रष्ट स्वभाव र भ्रष्ट सारका प्रकटीकरणहरूको रूपमा लिँदैनस् भने, तँलाई सम्बन्धित भ्रष्ट स्वभाव बदल्न गाह्रो हुनेछ। त्यो कुरा, जसलाई मानिसहरूले स्वभावहरूसँग सम्बन्धित छ भनेर जान्न सक्छन्, चाहे त्यो काम गर्ने तरिका होस् वा तिनीहरूको स्थिति होस्, चाहे त्यो बाहिरी व्यवहार होस् वा तिनीहरूको बोली र वचन होस्, चाहे त्यो तिनीहरूको सोच वा दृष्टिकोण होस् वा निश्चित मामिलाबारे तिनीहरूको बुझाइ होस्, जबसम्म त्यो स्वभाव सारसँग सम्बन्धित हुन्छ, तिनीहरूले त्यसलाई सधैँ मान्छेको प्रकृति सारको मूर्तरूप वा प्रकटीकरणको रूपमा लिनुपर्छ, र यसरी के तिनीहरूको बुझाइ फराकिलो हुनेछैन र? तिनीहरूले ठूला कुराहरू, जस्तै व्यक्तिले परमेश्वरको प्रतिरोध गर्छ, सत्यतालाई प्रेम गर्दैन, ऊ हैसियतको भोको हुन्छ, वा व्यक्तिले आफूले बोल्ने कुराद्वारा मानिसहरूलाई बहकाउँछ भन्नेजस्ता कुराहरू मात्र नभई, कुनै खास विचार र मनसायजस्ता साना कुरादेखि तर्क वा अभिव्यक्तिजस्ता ठूला कुराहरूसम्मका सबथोक बुझ्नुपर्छ। मैले भर्खरै कुल छ वटा कुराहरू उल्लेख गरेँ, जसमा कुनै निश्चित मामिलासम्बन्धी व्यक्तिका सोच र विचारहरू, साथै बुझाइ पनि थिए। सोच र विचारहरू भनेका व्यक्तिका चेतना र विचारमा रहने कुरा हुन्; बुझाइचाहिँ पहिचान गरिसकिएको कुरा हो, जसबारे ठोस शब्द र अभिव्यक्तिहरू निर्माण गर्न सकिन्छ; र त्यसपछि व्यवहार र बोली छन्। कुल चार कुराहरू छन्। अनि अभिव्यक्ति र तर्कहरू पनि छन्। अभिव्यक्ति र तर्कहरू केको विपरित हुन्? (मनसाय र विचारहरूको।) विचारहरू दिमागमा अचेतन रूपमै उत्पन्न हुने अमूर्त कुराहरू हुन्। तिनलाई सही वा गलत भनेर परिभाषित गरिसकिएको हुँदैन, तैँले तिनलाई केवल सोच्छस्, र तिनले तँभित्र मूर्तरूप लिइसकेका हुँदैनन्, जबकि बोलिएका तर्कहरू निर्मित भइसकेका हुन्छन्। कुल तीन वटा समूह र छ वटा कुराहरू छन्। यी छ कुराहरूलाई आफ्ना भ्रष्ट स्वभावहरूको सार चिरफार गर्ने र स्वभावगत परिवर्तन हासिल गर्ने मार्गका रूपमा लेओ, अबदेखि यी छ कुरामार्फत आफ्ना भ्रष्ट स्वभाव र भ्रष्ट सार जान्न लागिपर, अनि यसरी अन्ततः तिमीहरूले आफूलाई साँचो रूपमा जान्न पुग्नेछौ।
के तिमीहरूलाई आजको सङ्गति सुनेपछि आफूले सुनेका कुराहरू पचाउन केही समय आवश्यक पर्छ? के तिमीहरू भेला भएको बेला यो जगको आधारमा केही ज्योति सङ्गति गर्न वा आफ्नो तुलना गर्न सक्छौ? यो सबैभन्दा महत्त्वपूर्ण, र तिमीहरूको लागि सबैभन्दा फाइदाजनक कुरा हो। जब तिमीहरू सँगसँगै भेला हुन्छौ, तब तिमीहरूले सङ्गति गर्नुपर्छ, विचारहरू आदानप्रदान गर्नुपर्छ, र आफ्ना अनुभव र अनुभूतिहरूबारे छलफल गर्नुपर्छ—यो नै सबैभन्दा प्रभावकारी हुन्छ। हामीले पहिले जहिल्यै “चिन्तन” भन्ने शब्द प्रयोग गर्यौँ; बोलीचालीको भाषामा हामी “उगेरो चपाउनु” भन्छौँ। यसको अर्थ अझ बढी पढ्नु, अझ बढी प्रार्थना-वाचन गर्नु, अझ बढी सोच्नु, र अझ बढी खोजी गर्नु, र आफूले त्यसबेला बुझेका, साथै नबुझेका र धर्मसिद्धान्त ठानेका कुरा, महत्त्वपूर्ण कुरा, सबैले गलत बुझेका कुरा, र आफूले बोध नगरेका कुराहरूलाई लिनु, अनि सङ्गतिमा ती सबै कुराहरूमा केन्द्रित हुनु—“उगेरो चपाउनु” भनेको यही हो। यो तरिकामार्फत, यी सत्यताहरूका विवरण, सत्यताहरूबीचका विभिन्न भिन्नता, र हरेक सत्यताका परिभाषाहरूसम्बन्धी तिमीहरूको बुझाइ झन्झन् स्पष्ट र सटिक बन्दै जान्छ। तिमीहरूले हालैका वर्षहरूमा बुझेका र अभ्यास गरेका विभिन्न सत्यताहरू पहिलेभन्दा अझ अस्पष्ट भएजस्तो लाग्छ कि स्पष्ट? (अझ स्पष्ट।) अनि यी वर्षहरूमा के परमेश्वरमाथिको विश्वासको तिमीहरूको मार्ग, आफूलाई उचित आचणमा ढाल्ने तिमीहरूको दिशा, र तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्नुपछाडिका मनसाय, उत्प्रेरणा, र प्रेरक-शक्तिमा कुनै ठूलो परिवर्तन आएको छ? (परमेश्वरको केही सजाय र ताडना भोगेपछि, अनि परमेश्वरका वचनहरू खानपिन गरेपछि, मलाई केही परिवर्तन आएजस्तो लाग्छ।) परिवर्तन आएको कुरा सही हो, र हुनुपर्ने कुरा पनि त्यही नै हो। कति मानिसहरू त सुरुदेखि नै उदासीन रहिआएका छन् र त्यति धेरै प्रवचनहरू सुनेर पनि तिनीहरू अलिकति पनि परिवर्तन भएका छैनन्। तिनीहरू हृदयको अन्तस्करणमा उत्प्रेरित भएका छैनन्, अर्थात् तिनीहरू हिँडिरहेको दिशा कुनै पनि भेला वा सङ्गतिले परिवर्तन गर्न सक्दैन—तिनीहरू अति चेतनाशून्य र मन्दबुद्धिका छन्! मुक्ति पाउने मार्ग अब झन्झन् स्पष्ट हुँदै गएको हुनुपर्छ, र अनुभव बटुलेकाहरूले परमेश्वरले मान्छेलाई मुक्ति दिने तरिका र उहाँले त्यसो गर्नुको उद्देश्य स्पष्ट र प्रस्ट रूपमा देख्न सक्छन्। यदि यतिका वर्षसम्म परमेश्वरमा विश्वास गरेर पनि, तैँले परमेश्वरले कसरी मानिसहरूलाई मुक्ति दिनुहुन्छ र कसरी तिनीहरूबाट भ्रष्टता पखाल्नुहुन्छ भनेर जान्दैनस् भने, त्यसले तँमा अलिकति पनि सत्यताको बुझाइ र परमेश्वरको कामको बोध छैन भन्ने देखाउँछ। के त्यस्ता सबै मानिसहरू आफ्नो आस्थामा दिग्भ्रमित छैनन् र?
मार्च २०, २०१९