परिशिष्ट तीन: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग दुई)
पछिल्लो भेलामा, हामीले ख्रीष्टविरोधीहरूका विभिन्न प्रकटीकरणहरूको दशौँ विषयवस्तु—“तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू मान्दैनन्, र परमेश्वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन्”—भन्नेबारे सङ्गति गर्यौँ। हामीले विशेष गरी कुन विवरणहरूमा सङ्गति गर्यौँ? (परमेश्वरले मुख्यतया परमेश्वरको वचनलाई कसरी लिने भनेर सङ्गति गर्नुभएको छ।) के यो दशौँ विषवस्तुसँग सम्बन्धित छ? (हो। किनभने, “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू मान्दैनन्, र परमेश्वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन्,” भन्ने विषयवस्तुमा ख्रीष्टविरोधीहरूको एउटा व्यवहार यो हो कि तिनीहरू ख्रीष्टले भन्नुभएको कुरा सुन्छन् मात्र, तर न त त्यसको पालन गर्छन् न त्यसको अधीनमा आउँछन्। तिनीहरूले परमेश्वरका वचनहरू पालन गर्दैनन्, र परमेश्वरका वचनहरू अनुसार अभ्यास पनि गर्दैनन्। पछिल्लो भेलामा, परमेश्वरले परमेश्वरको वचनलाई कसरी लिने, परमेश्वरको वचनलाई कसरी पालन गर्ने, र त्यसपछि परमेश्वरको वचनलाई कसरी लागु र कार्यान्वयन गर्ने भन्नेबारे सङ्गति गर्नुभयो।) यी सबै बुझिएको छ, हैन र? हाम्रो अघिल्लो भेलाको क्रममा मैले दुईवटा कथाहरू भनेँ: एउटा नोआको कथा थियो, र अर्को अब्राहामको। यी बाइबलका दुई उदाहरणीय कथाहरू हुन्। धेरै मानिसहरू यी कथाहरूको बारेमा जान्दछन् र तिनलाई बुझ्छन्, तर तिनलाई बुझेपछि, धेरै कम मानिसहरूलाई परमेश्वरका वचन र मागहरूलाई कसरी लिने भन्ने थाहा हुन्छ। त्यसोभए, हामीले यी दुई कथाहरूमा सङ्गति गर्नुको मुख्य उद्देश्य के थियो? यसको उद्देश्य एउटा व्यक्ति र एउटा सृजित प्राणीको रूपमा, तिनीहरूले परमेश्वरका वचन र मागहरूलाई कसरी लिनुपर्छ—र सृजित प्राणीले लिनु पर्ने ओहदा के हो र परमेश्वरका मागहरूको सामना गर्दा र परमेश्वरका वचनहरू सुन्दै गर्दा तिनीहरूमा कस्तो मनोवृत्ति हुनुपर्छ भनेर थाहा दिनु थियो। मुख्य कुराहरू यिनै हुन्। हामीले पछिल्लो पटक यी दुई कथाहरूमा सङ्गति गर्दा मानिसहरूले यही सत्यता जानून् र बुझून् भन्ने आशय थियो। त्यसैले, हामीले यी दुई कथाहरूमा सङ्गति गरेपछि, के तिमीहरू अब कसरी ख्रीष्टप्रति समर्पित हुने र उहाँका वचनहरू पालन गर्ने, मानिसहरूमा कस्तो मनोवृत्ति हुनुपर्दछ र तिनीहरूको दृष्टिकोण र स्थिति कस्तो हुनुपर्दछ, ख्रीष्टप्रति र ख्रीष्टद्वारा बोलिएका वचनहरूप्रति तिनीहरूको दृष्टिकोण र अडान कस्तो हुनुपर्छ, साथै मानिसहरूले परमेश्वरबाट आउने वचन र मागहरूलाई कसरी लिनुपर्छ र यसभित्र कुन सत्यताहरू बुझ्नुपर्छ भन्ने बारेमा स्पष्ट भयौ? (पहिलो ख्रीष्टसँग इमान्दार हुनु हो, दोस्रो ख्रीष्टको आदर गर्न सिक्नु हो, र तेस्रो उहाँका वचनहरू पालन गर्नु, हाम्रो हृदयले परमेश्वरका वचनहरू सुन्नु हो।) तिमीहरूलाई नियमहरू याद छ। यदि मैले यी नियमहरूको कुरा नगरेको भए, के तिमीहरूले तिनलाई मैले भनेका दुई कथाहरूबाट छुट्याउन सक्ने थियौ? (हामी यति मात्र निष्कर्ष निकाल्न सक्छौँ कि परमेश्वरले जे भन्नुहुन्छ हामीले त्यो कुरा पालन गर्नैपर्छ।) तिमीहरूले केवल सरल, हठधर्मी, र सैद्धान्तिक कार्यशैलीहरू मात्र बुझ्न सक्छौ; तिमीहरू अझै पनि मानिसहरूले खोज्नुपर्ने र बुझ्नुपर्ने यसभित्रका सत्यताहरू बुझ्न वा जान्न असमर्थ छौ। त्यसैले हामी नोआ र अब्राहामका कथाहरूमा विस्तृत रूपमा सङ्गति गरौँ।
अ. परमेश्वरका वचनहरूप्रति नोआको मनोवृत्ति
पहिले नोआको कथाबारे कुरा गरौँ। पछिल्लो भेलामा, हामीले नोआको कथाका कारण र परिणामहरूलाई मोटामोटी रूपमा समेट्यौँ। हामीले किन अझ विशिष्ट रूपमा कुरा गरेनौँ? किनभने धेरैजसो मानिसहरूलाई यस कथाका कारण, परिणाम र निश्चित विवरणहरू पहिले नै थाहा छ। यदि कुनै विवरणहरूको बारेमा तिमीहरू धेरै स्पष्ट छैनौ भने, तिमीहरूले तिनलाई बाइबलमा फेला पार्न सक्छौ। हामी जुन कुरामा सङ्गति गरिरहेका छौँ, त्यो यस कथाका विशेष विवरणहरूको बारेमा नभई्, कथाको नायक नोआले परमेश्वरका वचनहरूलाई कस्तो व्यवहार गरे, मानिसहरूले यसबाट सत्यताका कुन पक्षहरू बुझ्नुपर्छ, र परमेश्वरको मनोवृत्ति के थियो, उहाँले के सोच्नुभयो र नोआले गरेका हरेक क्रियाकलापलाई देखेपछि परमेश्वरको मूल्याङ्कन के थियो भन्ने बारेमा हो। हामीले सङ्गति गर्नुपर्ने विवरणहरू यिनै हुन्। परमेश्वरले मानवजाति, उहाँका अनुयायी, र उहाँले मुक्ति दिनेहरूबाट कस्ता मापदण्डहरू आवश्यक गराउनुहुन्छ भनी हामीलाई बताउनका लागि नोआप्रति परमेश्वरको मनोवृत्ति र नोआले गरेको कामप्रति उहाँको मूल्याङ्कन नै पर्याप्त छन्। के यसमा सत्यताको खोजी गरिनुपर्छ? जहाँ सत्यता खोजी गर्न सकिन्छ, त्यसलाई विस्तारमा चिरफार, मनन र सङ्गति गर्नु लायक हुन्छ। हामी नोआको कथाका विशिष्ट विवरणहरू छलफल गर्नेछैनौँ। आज हामीले जुन विषयमा सङ्गति गर्नेछौँ त्यो परमेश्वरप्रतिको नोआको विभिन्न मनोवृत्तिहरूमा खोज्नुपर्ने सत्यता, साथै नोआबारे परमेश्वरले गर्नुभएको मूल्याङ्कनबाट मानिसहरूले बुझ्नुपर्ने परमेश्वरका माग र अभिप्रायहरू हुन्।
नोआ मानवजातिको एक साधारण सदस्य थिए जसले परमेश्वरको आराधना गरे र उहाँलाई पछ्याए। जब परमेश्वरको वचन तिनीकहाँ आयो, तिनको आचरण सुस्त गतिमा हिँड्ने, ढिलाइ गर्ने, वा आफ्नो समय लिने थिएन। यसको सट्टामा, तिनले परमेश्वरको वचन अत्यन्तै गम्भीरता रूपमा सुने, तिनले परमेश्वरको हरेक वाणी अत्यन्तै सावधानी र ध्यान दिएर सुने, परमेश्वरले तिनलाई आज्ञा गर्नुभएका सबै कुरा मेहनतसाथ सुने र याद गर्ने कोसिस गरे, अलिकति पनि ध्यान कम गर्न आँट गरेनन्। परमेश्वर र परमेश्वरका वचनहरूप्रति तिनको आचरणमा परमेश्वरको डर मान्ने हृदय थियो, जसले तिनको हृदयमा परमेश्वरको स्थान थियो र तिनी परमेश्वरप्रति समर्पित थिए भन्ने देखाउँछ। तिनले परमेश्वरले भन्नुभएका कुरा, परमेश्वरका वचनहरूको विषयवस्तु, परमेश्वरले तिनलाई गराउनुभएका कुराहरू ध्यान दिएर सुने। तिनले विश्लेषण गर्दै होइन, तर स्वीकार गर्दै—होसियारीसाथ सुने। तिनको हृदयमा कुनै इन्कार, विद्वेष वा अधैर्यता थिएन; यसको सट्टामा, परमेश्वरका मागहरूसँग सम्बन्धित प्रत्येक शब्द र कुरालाई तिनले शान्त भावले, होसियारीसाथ र सतर्क हुँदै आफ्नो हृदयमा ध्यान दिए। परमेश्वरले नोआलाई प्रत्येक निर्देशन दिनुभएपछि, तिनले विस्तारपूर्वक, र आफ्नै तरिकाद्वारा परमेश्वरले भन्नुभएका र सुम्पनुभएका सबै कुरा लेखे। तिनले आफ्नै मेहनतहरू पन्साए, तिनको पुरानो जीवनको नियमित कामहरू र योजनाहरू भङ्ग गरे, परमेश्वरले तिनलाई सुम्पनुभएका सबै कुरा गर्न, र परमेश्वरले तिनलाई बनाउने आदेश दिनुभएको जहाजका निम्ति सबै आवश्यक सामग्रीहरू तयार गर्न थाले। परमेश्वरका कुनै पनि वचनहरू, वा परमेश्वरले भन्नुभएका कुनै पनि कुरा, वा परमेश्वरका वचनहरूमा तिनीसित माग गरिएको कुनै पनि विवरणलाई बेवास्ता गर्ने तिनले हिम्मत गरेनन्। तिनको आफ्नै तरिकाद्वारा, तिनले मुख्य बुँदाहरू, परमेश्वरले तिनलाई अह्राउनु र सुम्पनुभएका विवरणहरू लेखे, त्यसपछि तीमाथि बारम्बार चिन्तन र मनन गरे। त्यसपछि, नोआ परमेश्वरले तिनलाई तयारी गर्न भन्नुभएका सबै सामाग्रीहरू खोजी गर्नतिर लागे। स्वाभाविक रूपले, परमेश्वरले तिनलाई दिनुभएको प्रत्येक निर्देशनपछि, तिनले, आफ्नै तरिकाले, चरणबद्ध रूपमा परमेश्वरले तिनलाई सुम्पनुभएको र गर्न निर्देशन दिनुभएको ती सबैका लागि विस्तृत योजनाहरू बनाए र प्रबन्धहरू गरे, जसको आदेश र निर्देशन परमेश्वरले तिनलाई दिनुभएको थियो, त्यसपछि, तिनले आफ्ना योजनाहरू र प्रबन्धहरू, परमेश्वरले अह्राउनुभएको प्रत्येक विवरण र एक-एक चरण गर्दै कार्यान्वयन गरे। यो सम्पूर्ण प्रक्रियाको अवधिमा नोआले ठूलो वा सानो, मानिसको नजरमा उल्लेखनीय वा साधारण जे सबै गरे, त्यो गर्ने निर्देशन परमेश्वरले तिनलाई दिनुभएको थियो, र जुन कुरा परमेश्वरद्वारा बोलिएको र माग गरिएको थियो। नोआले परमेश्वरको आदेश स्वीकार गरेपछि तिनमा जुन कुराहरू प्रदर्शित भए ती सबैबाट यो स्पष्ट हुन्छ कि परमेश्वरका वचनहरूप्रति तिनको दृष्टिकोण सुन्ने मात्र, र त्योभन्दा अरू केही होइन भन्ने थिएन—यी वचनहरू सुनेपछि नोआले आफ्नो राम्रो मनस्थिति भएको, वातावरण सही भएको, र ती पूरा गर्ने अनुकूल समय छनौट गरे भन्ने कुरा त परै जाओस्। यसको सट्टामा, तिनले आफ्नै मेहनतलाई एकातिर पन्साए, तिनको नियमित काम भङ्ग गरे, र त्यस दिनदेखि उता परमेश्वरले आदेश दिनुभएको जहाजको निर्माण कार्यलाई आफ्नो जीवन र अस्तित्वको सबैभन्दा ठूलो प्राथमिकता बनाए र त्यसलाई सोहीअनुसार कार्यान्वयन गरे। परमेश्वरको आदेश र परमेश्वरका वचनहरूप्रति तिनको मनोवृत्ति उदासीन, झारातिराइ, वा लहडी थिएन, यो अस्वीकृति हुने कुरा त परै जाओस्; यसको सट्टामा, तिनले परमेश्वरको वचन ध्यान लाएर सुने, र आफ्नो हृदयलाई ती सम्झन र चिन्तन गर्नमा लगाए। परमेश्वरका वचनहरूप्रति तिनमा स्वीकृति र समर्पणको मनोवृत्ति थियो। परमेश्वरको नजरमा, साँचो सृजित प्राणीमा उहाँका वचनहरूप्रति हुनुपर्ने मनोवृत्ति यही नै हो, जसको उहाँले चाहना राख्नुहुन्छ। यस मनोवृत्तिमा कुनै अस्वीकृति, कुनै झारातिराइ, कुनै मनमानीपन थिएन, न त्यसमा कुनै मानवीय अभिप्राय मिसिएको थियो; यो सम्पूर्ण र पूरा तरिकाले त्यस्तो आचरण थियो जुन एक सृजित मानवजातिमा हुनुपर्छ।
परमेश्वरको आज्ञा स्विकारेपछि, नोआले परमेश्वरले उसलाई सुम्पनुभएको जहाज कसरी बनाउने भनेर योजना बनाउन थाले। तिनले जहाज निर्माण गर्न आवश्यक विभिन्न सामग्री, मानिस र उपकरणहरू खोजे। स्वाभाविक रूपमा, यसमा धेरै कुराहरू समावेश थिए; यो पत्रमा भनिएझैँ सजिलो र सरल थिएन। सबै कुरा हातले, शारीरिक श्रमको माध्यमबाट गरिने त्यो पूर्व-औद्योगिक युगमा, त्यस्तो विशालकाय जहाज निर्माण गर्न, परमेश्वरले सुम्पनुभएको जहाज निर्माण गर्ने कार्य पूरा गर्न कत्ति गाह्रो थियो भनेर कल्पना गर्न गाह्रो छैन। नोआले कसरी योजना बनायो, तयारी गर्यो, डिजाइन गर्यो, साथै सामग्री तथा उपकरणहरू जस्ता विभिन्न कुराहरू फेला पार्यो भन्ने कुरा अवश्यै सामान्य कुरा थिएनन्, र नोआले यति ठूलो जहाज कहिल्यै नदेखेको पनि हुन सक्छ। यस आज्ञालाई स्विकारेपछि, परमेश्वरका वचनहरूका हरेक पङ्क्तिमा लुकेको अर्थ बुझेर अनि परमेश्वरले भन्नुभएको सबै कुराबाट मूल्याङ्कन गरेर नोआले थाहा पाए कि यो कुनै सामान्य मामला होइन, कुनै सजिलो काम होइन। यो कुनै सामान्य वा सजिलो काम थिएन—यसका आशयहरू के थिए? एउटा कुरा त, यसको अर्थ, यो आज्ञा स्विकारेपछि नोआको काँधमा ठूलो बोझ आउनेथ्यो। अझ भन्नुपर्दा, परमेश्वरले जसरी नोआलाई व्यक्तिगत रूपमा बोलाउनुभयो र तिनलाई व्यक्तिगत रूपमा जहाज कसरी निर्माण गर्ने भनी निर्देशन दिनुभयो, यो कुनै साधारण कुरा थिएन, यो कुनै सानोतिनो मामला थिएन। परमेश्वरले भन्नुभएको सबै कुराको विवरणलाई हेर्दा, यो कुनै साधारण व्यक्तिले सहन सक्ने कुरा थिएन। परमेश्वरले नोआलाई बोलाउनुभयो र जहाज निर्माण गर्ने आज्ञा दिनुभयो भन्ने तथ्यले परमेश्वरको हृदयमा नोआको महत्त्वलाई देखाउँछ। जब यस मामलाको कुरा आयो, नोआ पक्कै पनि परमेश्वरका केही अभिप्रायहरू बुझ्न सक्षम थिए—र त्यसो गरिसकेपछि, नोआले आगामी वर्षहरूमा कस्तो प्रकारको जीवन भोग्नुपर्ने छ भनेर महसुस गरे, र तिनी आफूले सामना गर्न लागेका केही कठिनाइहरूबारे सचेत थिए। नोआले परमेश्वरले आफूलाई सुम्पनुभएको कुराको ठूलो कठिनाइ र आफूले सामना गर्नुपर्ने ठूला अग्निपरीक्षाहरू महसुस गरेको र बुझेको भए पनि, तिनमा इन्कार गर्ने कुनै अभिप्राय थिएन, बरु तिनी यहोवा परमेश्वरप्रति अत्यन्तै कृतज्ञ थिए। नोआ किन कृतज्ञ थिए? किनभने परमेश्वरले अप्रत्याशित रूपमा तिनलाई यति महत्त्वपूर्ण कुरा सुम्पनुभएको थियो, र तिनलाई व्यक्तिगत रूपमा हरेक विवरण बताउनुभएको र व्याख्या गर्नुभएको थियो। अझ महत्त्वपूर्ण कुरा, परमेश्वरले नोआलाई जहाज किन बनाउनु पर्ने थियो भनेर सुरुदेखि अन्तसम्मको पूरै कथा पनि बताउनुभएको थियो। यो परमेश्वरको आफ्नै व्यवस्थापन योजनाको विषय थियो, यो परमेश्वरको आफ्नै मामला थियो, तर परमेश्वरले तिनलाई यस मामलाबारे बताउनुभएको थियो, त्यसैले नोआले यसको महत्त्व महसुस गरे। सङ्क्षेपमा, यी विभिन्न चिन्हहरूलाई हेर्दा, परमेश्वरको बोलीको भाव र परमेश्वरले नोआलाई दिनुभएको कुराको विभिन्न पक्षहरूलाई विचार गर्दा, नोआले परमेश्वरले तिनलाई सुम्पनुभएको जहाज निर्माण गर्ने कार्यको महत्त्व बुझ्न सके, तिनले आफ्नो हृदयमा यसको कदर गर्न सके र यसलाई हलुका रूपमा लिने हिम्मत गरेनन्, न त कुनै विवरणलाई बेवास्ता गर्ने साहस नै गरे। त्यसकारण, परमेश्वरले निर्देशनहरू दिइसक्नुभएपछि, नोआले आफ्नो योजना बनाए, र तिनी जहाज निर्माण गर्ने, जनशक्ति खोज्ने, सबै प्रकारका सामग्रीहरू तयार गर्ने र परमेश्वरका वचनहरू अनुसार, विभिन्न प्रकारका जीवित प्राणीहरूलाई क्रमशः जहाजमा जम्मा गर्ने काममा लागे।
जहाज निर्माण गर्ने सम्पूर्ण प्रक्रिया कठिनाइले भरिएको थियो। हालका लागि, नोआले वर्षैपिच्छे तेज बतासहरू, चर्को घाम र मुसलधारे वर्षा, प्रचण्ड गर्मी र अत्यधिक चिसो अनि पालै पालो आउने चार ऋतुहरूलाई कसरी पार गरे भन्ने कुरालाई थाती राखौँ। पहिले जहाज निर्माण गर्नु कति ठूलो काम थियो, तिनले तयार गरेका विभिन्न सामग्रीहरू, र जहाज निर्माण गर्ने क्रममा तिनले सामना गरेका असङ्ख्य कठिनाइहरूबारे कुरा गरौँ। यी कठिनाइहरूमा के-के समावेश थिए? मानिसहरूको धारणा विपरीत, केही भौतिक कार्यहरू पहिलो पटक सधैँ सफल भएनन् र नोआले धेरै असफलताहरू भोग्नुपर्यो। केही कुरा पूरा गरेपछि, यदि त्यो गलत देखियो भने, तिनले त्यसलाई भत्काउँथे, र यसलाई भत्काएपछि, सामग्रीहरू तयार गर्नुपर्थ्यो, र त्यो सबै फेरि सुरुदेखि नै गर्नुपर्थ्यो। त्यो आधुनिक युग जस्तो थिएन, जहाँ सबैले विद्युतीय उपकरणद्वारा सबै काम गर्छन्, र एक पटक यो मिलाएपछि काम निर्धारित कार्यक्रमअनुसार हुन्छ। आजकल यस्तो काम गर्दा, यो यान्त्रिकीकृत हुन्छ, र एकपटक यन्त्रलाई सुचारु गरेपछि, त्यसले काम सम्पन्न गर्न सक्छ। तर नोआ आदिम समाजको युगमा बाँचिरहेका थिए, र सबै काम हातले गरिन्थ्यो अनि आफ्नो आँखा र दिमाग अनि आफ्नै लगनशीलता र शक्ति प्रयोग गरेर आफ्ना दुई हातले सबै काम गर्नुपर्थ्यो। मानिसहरूले अवश्यै सबैभन्दा बढीपरमेश्वरमा भर पर्नु आवश्यक थियो; तिनीहरूले सबैतिर र सधैँ परमेश्वरलाई खोज्न आवश्यक थियो। सबै प्रकारका कठिनाइहरूको सामना गर्ने क्रममा र जहाज निर्माणमा बिताएका दिन र रातहरूमा, नोआले यस विशाल कार्य पूरा गर्दा देखा परेका विभिन्न परिस्थितिहरूको मात्र नभई आफू वरपरका अनेकौँ वातावरणहरूका साथै अरूको उपहास, निन्दा र दुर्वचन पनि सामना गर्नुपर्यो। हामीले ती घटनाहरू घट्दा तिनलाई व्यक्तिगत रूपमा अनुभव नगरे पनि, के नोआले सामना र अनुभव गरेका विभिन्न कठिनाइ, र तिनले भोगेका विभिन्न चुनौतीहरूमध्ये केही कल्पना गर्न सम्भव छैन र? जहाज निर्माण गर्ने क्रममा, नोआले सामना गर्नुपरेको पहिलो कुरा आफ्नो परिवारमा समझको कमी, तिनीहरूको गनगन, गुनासो र धुत्कार समेत थियो। दोस्रो, आफू वरपरका मानिसहरू—आफ्ना आफन्तहरू, आफ्ना साथीहरू, र अन्य सबै प्रकारका व्यक्ति—द्वारा तिनको निन्दा, उपहास र आलोचना गरिनु थियो। तर नोआको एउटा मात्र मनोवृत्ति थियो, जुन परमेश्वरका वचनहरू पालन गर्नु, तिनलाई अन्तिमसम्म नै लागु गर्नु र यसबाट कहिल्यै नडगमगाउनु थियो। नोआले के सङ्कल्प गरेका थिए? “जबसम्म म जीवित रहन्छु, जबसम्म म क्रियाशील रहन सक्छु, म परमेश्वरको आज्ञालाई त्याग्ने छैन।” जहाज निर्माण गर्ने महान् कार्य गर्ने क्रममा उनको प्रेरणा यही नै थियो, साथै परमेश्वरका आज्ञाहरू प्राप्त गरेपछि, र परमेश्वरका वचनहरू सुनेपछि तिनको मनोवृत्ति पनि यही थियो। अनेक प्रकारका समस्या, कठिन परिस्थिति र चुनौतीहरूको सामना गर्दा, नोआ कहिल्यै पछि हटेनन्। तिनका केही थप कठिन ईन्जिनियरिङ कार्यहरू बारम्बार विफल र क्षतिग्रस्त हुँदा, नोआलाई हृदयमा उदास र चिन्तित महसुस भए पनि, जब तिनले परमेश्वरका वचनहरूबारे सोच्थे, जब तिनले परमेश्वरले तिनलाई दिनुभएको आज्ञाका हरेक वचन र परमेश्वरले तिनलाई गर्नुभएको उत्थानलाई सम्झन्थे, तब तिनलाई प्रायः अत्यन्तै उत्प्रेरित महसुस हुन्थ्यो: “म हार मान्न सक्दिनँ, परमेश्वरले मलाई आज्ञा गर्नुभएको र सुम्पनुभएको कुरालाई म त्याग्न सक्दिनँ; यो परमेश्वरको आज्ञा हो, र मैले यसलाई स्वीकार गरेको हुनाले, मैले परमेश्वरले बोल्नुभएका वचन र परमेश्वरको आवाज सुनेको हुनाले र मैले यसलाई परमेश्वरबाट स्वीकार गरेको हुनाले, म पूर्ण रूपमा समर्पित हुनुपर्छ, मानवजातिले हासिल गर्नु पर्ने कुरा यही हो।” तसर्थ, तिनले जुनसुकै प्रकारका कठिनाइहरूभोगे पनि, तिनले जस्तोसुकै उपहास वा अपमान सामना गरे पनि, तिनको शरीर जतिसुकै शिथिल र थकित भए पनि, तिनले परमेश्वरले तिनलाई सुम्पनुभएको कुरालाई त्यागेनन्, र परमेश्वरले भन्नुभएको र आज्ञा गर्नुभएको हरेक वचनलाई निरन्तर मनमा राखे। तिनको परिवेश जतिसुकै परिवर्तन भए पनि, तिनले जतिसुकै ठूलो कठिनाइ सामना गरे पनि, तिनमा विश्वास थियो कि यीमध्ये कुनै पनि कुरा सदाका लागि रहनेछैन, केवल परमेश्वरका वचनहरू कहिल्यै बितेर जानेछैनन्, र परमेश्वरले गर्न भनेर आज्ञा गर्नुभएका कुराहरू मात्र अवश्यै पूरा हुनेछन्। नोआलाई परमेश्वरप्रति साँचो आस्था थियो, र तिनमा हुनुपर्ने समर्पण थियो, अनि तिनले परमेश्वरले अह्राउनुभएको जहाज बनाउने कामलाई निरन्तरता दिए। दिनप्रतिदिन, वर्षेनी, नोआ वृद्ध बन्दै गए, तर तिनको आस्था घटेन, र परमेश्वरको आज्ञा पूरा गर्ने तिनको मनोवृत्ति र दृढतामा कुनै परिवर्तन आएन। तिनको शरीरलाई थकित र शिथिल महसुस भएको, र तिनी बिरामी परेको, हृदयमा तिनी कमजोर भएको समयहरू आए पनि, परमेश्वरको आज्ञा पूरा गर्ने र परमेश्वरको वचनमा समर्पित हुने तिनको दृढता र अठोटमा कमी आएन। नोआले जहाज बनाएका वर्षहरूमा, तिनी परमेश्वरले भन्नुभएका वचनहरू सुन्ने र तिनमा समर्पित हुने अभ्यास गर्दै थिए, र तिनी एक सृजित प्राणी र सामान्य व्यक्तिका रूपमा परमेश्वरको आज्ञा पूरा गर्न आवश्यक पर्ने एक महत्त्वपूर्ण सत्यताको अभ्यास पनि गर्दै थिए। हर रूपमा, सम्पूर्ण प्रक्रिया वास्तवमा एउटै कुरा थियो: जहाज निर्माण गर्ने, परमेश्वरले गर्न भन्नुभएको कुरा राम्रोसँग र पूर्ण रूपमा सम्पन्न गर्ने। तर यो कुरा राम्रोसँग गर्न, र यसलाई सफलतापूर्वक पूरा गर्न के कुराको आवश्यकता थियो? यसमा मानिसहरूको जोस, वा तिनीहरूका नाराहरू आवश्यक थिएनन्, न त क्षणिक लहरमा खाइएका केही शपथहरू, न सृष्टिकर्ताप्रति मानिसहरूको तथाकथित प्रशंसा नै आवश्यक थियो। यसका लागि यी कुराहरू आवश्यक थिएनन्। नोआले जहाजको निर्माण गर्दा, मानिसहरूको तथाकथित प्रशंसा, तिनीहरूको शपथ, तिनीहरूको जोश, र तिनीहरूको आत्मिक संसारमा परमेश्वरमाथिको विश्वासले कुनै काम गरेन; नोआको साँचो विश्वास र परमेश्वरप्रतिको साँचो समर्पणको अगाडि, मानिसहरू अत्यन्तै दीन र दयनीय देखिन्छन्, र तिनीहरूले बुझेका केही धर्मसिद्धान्तहरू अत्यन्तै खोक्रो, फिक्का, कमजोर र निर्बल देखिन्छन्—लाजमर्दो, घृणास्पद र पतितको त कुरै नगरौँ।
नोआलाई जहाज बनाउन १२० वर्ष लाग्यो। यो १२० वर्षको अवधि १२० दिन, वा १० वर्ष, वा २० वर्षको अवधि थिएन, यो त आजको सामान्य व्यक्तिको आयुभन्दा दशकौँ बढीको समय थियो। यो लामो समय अवधि, र यो काम पूरा गर्दा भोग्नुपर्ने कठिनाइ, अनि इन्जिनियरिङ कार्यको विशाल परिमाणलाई हेर्दा, यदि नोआमा साँचो विश्वास हुन्थेन भने, तिनको विश्वास केवल एक सोच, आशा, जोस, वा अस्पष्ट र अमूर्त विश्वास मात्रै हुन्थ्यो भने, के त्यो जहाज बनाउने काम पूरा हुन्थ्यो? यदि परमेश्वरप्रति तिनको समर्पण एउटा मौखिक प्रतिज्ञा हुन्थ्यो भने, यदि यो तिमीहरूले आज गर्नेजस्तो कुनै हस्तलिखित टिपोट मात्रै हुन्थ्यो भने, के त्यो ठूलो जहाज बनाउन सकिन्थ्यो? (सकिन्थेन।) यदि परमेश्वरको आज्ञा स्विकार्नेप्रति तिनको समर्पण केवल इच्छा र सङ्कल्प, वा कामना मात्रै हुन्थ्यो भने, के त्यो ठूलो जहाज बनाउन सकिन्थ्यो? यदि परमेश्वरप्रति नोआको समर्पण केवल त्याग, खर्च, र मूल्यचुकाइका औपचारिकताहरू मात्र पूरा गर्ने, वा थप काम गर्ने, अझ ठूलो मूल्य तिर्ने, र सैद्धान्तिक रूपमा, वा नारामा मात्र परमेश्वरप्रति बफादार हुने हुन्थ्यो भने, के त्यो ठूलो जहाज बनाउन सकिन्थ्यो? (सकिन्थेन।) यो अति नै गाह्रो हुने थियो! यदि परमेश्वरप्रतिको नोआको मनोवृत्ति लेनदेन हुन्थ्यो भने, यदि नोआले यो आशिष् र इनाम पाउनका लागि मात्रै त्यो कुरा स्विकारेको हुन्थ्यो भने, के त्यो ठूलो जहाज बनाउन सकिन्थ्यो? अवश्यै सकिन्थेन! व्यक्तिको जोस १० वा २० वर्ष, वा ५० वा ६० वर्षसम्म रहन सक्छ, तर जब तिनीहरू मर्न लागेका हुन्छन्, तब आफूले केही पनि प्राप्त नगरेको देख्दा, तिनीहरूले परमेश्वरमाथिको विश्वास गुमाउँछन्। २०, ५०, वा ८० वर्षसम्म रहने यो जोस समर्पण वा साँचो आस्था बन्दैन। यो निकै दुःखद कुरा हो। तैपनि नोआमा भएको साँचो आस्था र साँचो समर्पण ठीक त्यही कुरा हो, जुन आजका मानिसहरूमा छैन, र यो त्यही कुरा हो जसलाई आजका मानिसहरूले देख्न सक्दैन, र तिरस्कार र खिसी गर्छन्, वा नाक खुम्च्याउने कामसमेत गर्छन्। नोआले ठूलो जहाज बनाएको वृत्तान्त सुनाउँदा सधैँ वादविवादको भेल पैदा हुन्छ। सबैले यसबारेमा कुरा गर्न सक्छन् र सबैसँग केही न केही भन्ने कुरा हुन्छ। तर नोआमा के थियो, तिनीसँग अभ्यासको कुन मार्ग थियो, तिनमा परमेश्वरले चाहनुभएको कस्तो मनोवृत्ति र परमेश्वरको आज्ञाप्रति कस्तो दृष्टिकोण थियो, वा तिनमापरमेश्वरका वचनहरू सुन्ने र अभ्यास गर्ने सम्बन्धमा कस्तो चरित्र थियो भनेर कसैले पनि सोच्ने वा पत्ता लगाउने प्रयास गर्दैन। त्यसकारण, म भन्छु, आजका मानिसहरू नोआको कथा सुनाउन लायक छैनन्, किनभने यो कथा सुनाउँदा तिनीहरूले नोआलाई पौराणिक व्यक्तित्व, सेतो दाह्री भएको साधारण वृद्ध मानिसबाहेक केही ठान्दैनन्। तिनीहरूले साँच्चै त्यस्तो व्यक्ति थियो त, तिनी वास्तवमा कस्तो थिए त भनेर मनमा प्रश्न गर्छन्, र नोआले परमेश्वरको आज्ञा स्वीकार गरेपछि तिनले कसरी ती प्रकटीकरणहरू देखाए भनेर बुझ्ने प्रयास गर्दैनन्। आज, हामीले नोआले त्यो ठूलो जहाज बनाएको कथालाई पुनः हेर्दा, तिमीहरूलाई के लाग्छ, यो ठूलो घटना थियो कि सानो? के यो एउटा बूढो मान्छे बितेको समयमा एउटा जहाज बनायो भन्ने साधारण कथा हो? (होइन।) सबै मानिसहरूमध्ये, नोआ परमेश्वरको डर मान्ने, परमेश्वरप्रति समर्पित हुने र परमेश्वरको आज्ञा पूरा गर्ने व्यक्ति थिए जो अनुकरणको निम्ति सबैभन्दा योग्य छ; तिनी परमेश्वरद्वारा अनुमोदित भए, र आज परमेश्वरलाई पछ्याउने व्यक्तिहरूको लागि तिनी एक आदर्श हुनुपर्छ। अनि तिनको सबैभन्दा मूल्यवान् कुरा के थियो त? परमेश्वरका वचनहरूप्रति तिनीसँग केवल एउटै आचरण थियो: सुन्नु र स्वीकार गर्नु, स्विकार्नु र समर्पण गर्नु, र आजीवन समर्पित रहनु। यही आचरण नै तिनको सबैभन्दा मूल्यवान् कुरा थियो जसको कारणले गर्दा तिनले परमेश्वरको अनुमोदन पाए। जब परमेश्वरका वचनहरूको कुरा आउँथ्यो, तिनले झारा टार्ने काम गर्दैनथिए, र तिनले ती वचनहरूलाई आफ्नो टाउकोभित्र जाँच, विश्लेषण, प्रतिरोध, वा अस्वीकार गरी मस्तिष्कको पछिल्लो भागमा थन्क्याउने काम गर्दैनथिए; यसको सट्टा, तिनले ती वचनहरूलाई पूर्ण इमानदारितासाथ सुन्थे, तिनीहरूलाई अलिअलि गर्दै आफ्नो हृदयभित्र स्वीकार गर्थे, त्यसपछि तिनलाई कसरी अभ्यास गर्ने, तिनलाई कसरी कार्यान्वयन गर्ने, तिनलाई नबङ्ग्याईकनै कसरी तिनको मौलिक अभिप्रायअनुरूप कार्यान्वयन गर्न सकिन्छ भन्नेबारेमा चिन्तन गर्थे। अनि परमेश्वरका वचनहरूलाई चिन्तन गर्ने क्रममा, तिनले गुप्त रूपमा आफैलाई भन्थे, “यी परमेश्वरका वचनहरू हुन्, यी परमेश्वरका निर्देशनहरू हुन्, यी परमेश्वरका आज्ञाहरू हुन्, म कर्तव्यमा बाँधिएको छु, म समर्पित हुनैपर्छ, मैले कुनै पनि विवरणलाई छोड्नु हुँदैन, म परमेश्वरका इच्छाहरूविरुद्ध जान मिल्दैन, न त मैले उहाँले भन्नुभएका कुराको कुनै एउटा विवरणलाई पनि उपेक्षा गर्न नै सक्छु, अन्यथा म मानव भनिन लायक रहन्न, म परमेश्वरको आज्ञाको लागि अयोग्य हुनेछु, र उहाँद्वारा उच्च पारिन अयोग्य हुनेछु। यदि मैले परमेश्वरले मलाई भन्नुभएका र सुम्पिनुभएका सबै कुरा पूरा गर्न सकिनँ भने, मलाई पछुतो हुनेछ। त्योभन्दा पनि बढी, म परमेश्वरको आज्ञा र उहाँले मलाई उच्च पार्नका लागि अयोग्य हुनेछु, र मसँग सृष्टिकर्तासामु फर्कने मुहार नै हुनेछैन।” नोआले आफ्नो हृदयमा सोचेका र चिन्तन गरेका हरेक कुरा, तिनको हरेक दृष्टिकोण र आचरण, यी सबैले नै निर्धारण गरे कि तिनी अन्ततः परमेश्वरका वचनहरूलाई अभ्यास गर्न र परमेश्वरका वचनहरूलाई वास्तविकता बनाउन, परमेश्वरका वचनहरूलाई परिपूर्ण गराउन, तिनलाई आफ्नो परिश्रममार्फत पूरा हुने र हासिल हुने र आफूमार्फत वास्तविकतामा परिणत हुने, र परमेश्वरको आज्ञा व्यर्थ नहुने बनाउन सक्षम भए। नोआले सोचेका हरेक कुरा, तिनको हृदयमा उत्पन्न भएका हरेक विचार, र परमेश्वरप्रतिको तिनको मनोवृत्तिलाई मूल्याङ्कन गर्दा, नोआ परमेश्वरको आज्ञाको योग्य थिए, तिनी परमेश्वरले भरोसा गर्नुभएको मानिस थिए र परमेश्वरले निगाह गर्नुभएको व्यक्ति थिए। परमेश्वरले मानिसहरूको हरेक वचन र कार्य नियाल्नुहुन्छ, उहाँले तिनीहरूका सोच र विचारहरूलाई नियाल्नुहुन्छ। परमेश्वरको नजरमा, नोआले यस प्रकारले सोच्न सक्नु भनेको उहाँले गलत व्यक्तिलाई रोज्नुभएको थिएन भन्ने हो; नोआले परमेश्वरको आज्ञा र परमेश्वरको भरोसा थेग्न सक्थे, र तिनी परमेश्वरको आज्ञा पूरा गर्न सक्षम थिए: सारा मानवजातिमाझ एक मात्र विकल्प तिनी नै थिए।
परमेश्वरको नजरमा, जहाज निर्माण गर्ने यस्तो ठूलो कार्य पूरा गर्नको लागि नोआ उहाँको एक मात्र रोजाइ थियो। त्यसोभए नोआमा के पाइयो? दुईवटा कुराहरू: साँचो आस्था र साँचो समर्पण। परमेश्वरको हृदयमा, मानिसहरूबाट उहाँले अपेक्षा गर्ने मापदण्डहरू यी नै हुन्। कुरा सरल छ, हैन? (हो।) “एक मात्र रोजाइ” मा यी दुई कुराहरू थिए, जुन कुराहरू धेरै सरल छन्—तर नोआबाहेक, ती अरू कसैमा पाइँदैनन्। कतिपय मानिसहरू भन्छन्, “त्यो कसरी हुन सक्छ? हामीले आफ्ना परिवार र करियर छोडेका छौँ, हामीले काम, सम्भाव्यताहरू र शिक्षा छोडेका छौँ, हामीले आफ्ना जायजेथा र बच्चाहरू त्यागेका छौँ। हेर, हाम्रो आस्था कति ठूलो छ, हामी परमेश्वरलाई कति प्रेम गर्छौं! हामी कसरी नोआभन्दा कम छौँ? यदि परमेश्वरले हामीलाई जहाज निर्माण गर्न भन्नुभयो भने—आधुनिक उद्योग अत्यन्तै विकसित छ, के हामीसँग काठ र प्रशस्त उपकरणहरूको पहुँच छैन? हामीले पनि मेसिनहरू प्रयोग गर्ने भए चर्को घाममा काम गर्न सक्छौँ; हामी पनि बिहानदेखि साँझसम्म काम गर्न सक्छौँ। यस्तो सानो काम पूरा गर्नु कुन ठूलो कुरा हो र? नोआलाई १०० वर्ष लाग्यो, तर हामी यसलाई कम समयमा गर्ने थियौँ ताकि परमेश्वरलाई व्यग्र महसुस नहोस्—हामीलाई १० वर्ष मात्र लाग्ने थियो। तपाईंले भन्नुभयो कि नोआ एक मात्र रोजाइ थियो, तर आज, धेरै सिद्ध उम्मेदवारहरू छन्; हामी जस्तै मानिसहरू जसले आफ्ना परिवार र पेसाहरू त्यागेका छन्, जोसँग परमेश्वरप्रति साँचो आस्था छ, जसले साँच्चै आफैलाई अर्पण गर्छन्—ती सबै सिद्ध उम्मेदवारहरू हुन्। तपाईंले नोआ एक मात्र रोजाइ थियो भनेर कसरी भन्न सक्नुहुन्छ? तपाईंले हामीलाई धेरै कम आँक्नुहुन्छ, होइन र?” के यी शब्दहरूमा कुनै समस्या छ? (छ।) कतिपय मानिसहरू भन्छन्, “नोआको समयमा, विज्ञान र प्रविधि अझै धेरै कम विकसित थिए, ऊसँग बिजुली थिएन, आधुनिक यन्त्रहरू थिएनन्, सबैभन्दा सामान्य विद्युतीय ड्रिल र करौँती वा काँटीहरू समेत थिएनन्। उसले कसरी जहाज निर्माण गरिछाड्यो? आज हामीसँग यी सबै कुराहरू छन्। के हाम्रो निम्ति यो आज्ञा पूरा गर्नु अत्यन्तै सजिलो हुने थिएन र? यदि परमेश्वरले हामीलाई आकाशबाट बोल्नुभयो र जहाज निर्माण गर्न लगाउनुभयो भने, एउटा मात्र होइन—हामीले सजिलैसँग १० ओटा निर्माण गर्न सक्छौँ। यो त केही पनि होइन, यो अत्यन्तै सजिलो काम हो। हे परमेश्वर, तपाईं जे चाहनुहुन्छ, हामीलाई आज्ञा दिनुहोस्। तपाईंलाई जे आवश्यक छ, हामीलाई भन्नुहोस्। हामी धेरै जनालाई जहाज निर्माण गर्न पटक्कै गाह्रो हुने छैन! हामी १०, २०, यहाँसम्म कि १०० ओटा पनि निर्माण गर्न सक्छौँ। तपाईंले जति चाहनुहुन्छ त्यति निर्माण गर्न सक्छौँ।” के कुराहरू त्यति सरल छन्? (छैनन्।) मैले नोआ एक मात्र रोजाइ थियो भन्ने बित्तिकै, केही मानिसहरू मेरो विरोध गर्न चाहन्छन्, तिनीहरू अविश्वस्त हुन्छन्: “तपाईंले प्राचीन व्यक्तिहरूको बारेमा राम्रो सोच्नुहुन्छ किनभने तिनीहरू यहाँ छैनन्। आजका मानिसहरू तपाईंकै सामुन्ने छन्, तर तपाईंले तिनीहरूको राम्रो पक्ष देख्न सक्नुहुन्न। तपाईं आजका मानिसहरूले गरेका सबै राम्रा कामकुराहरू, तिनीहरूका सबै असल कार्यहरू देख्नुहुन्न। नोआले केवल एउटा सानो काम गरेको हो; के त्यतिबेला उद्योग नभएको र सबै शारीरिक श्रम कठिन भएको कारणले गर्दा नै, तपाईंले उसको कामलाई स्मरणीय ठान्नुभएको, उसलाई उदाहरण, आदर्श ठान्नुभएको, अनि आजका मानिसहरूको दुःख र हामीले तपाईंको लागि तिर्ने मूल्य अनि आजको हाम्रो आस्था नदेख्नुभएको होइन र?” के यस्तै हो त? (होइन।) जुनसुकै काल वा युगको भए पनि, चाहे मानिसहरू जिउने वातावरणको अवस्था जस्तोसुकै भए तापनि, यी भौतिक वस्तुहरू र सामान्य वातावरणले कुनै पनि अर्थ राख्दैन, ती महत्त्वपूर्ण छैनन्। केचाहिँ महत्त्वपूर्ण छ? तँ कुन युगमा बाँच्छस् वा तैँले कुन प्रकारको प्रविधिमा निपुणता हासिल गरेको छस् भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण होइन, न त तैँले परमेश्वरका कतिवटा वचनहरू पढेको वा सुनेको छस् भन्ने कुरा नै महत्त्वपूर्ण हो। मानिसहरूमा साँचो आस्था छ कि छैन, तिनीहरूमा साँचो समर्पण छ कि छैन भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हो। यी दुई कुराहरू सबैभन्दा महत्त्वपूर्ण छन्, यीमध्ये कुनै पनि कुराको कमी हुनुहुँदैन। यदि तिमीहरूलाई नोआको समयमा राखिएको भए तिमीहरूमध्ये कसले यो आज्ञा पूरा गर्न सक्थ्यो? म यो भन्ने साहस गर्छु कि तिमीहरू सबै मिलेर काम गरे पनि तिमीहरूले यो पूरा गर्न सक्ने थिएनौ। तिमीहरूले यसको आधा पनि गर्न सक्ने थिएनौ। सबै सामग्रीहरू तयार हुनु अघि नै, तिमीहरूमध्ये धेरै जना परमेश्वरबारे गुनासो गर्दै र उहाँमाथि शङ्का गरेर भागेका हुने थियौ। तिमीहरूमध्ये थोरै जना धेरै आफ्नो दृढता, उत्साह र विचारको कारण धेरै कठिनाइका साथ लागिपर्ने थियौ। तर तिमीहरू कति समयसम्म लागिपर्न सक्थ्यौ? तिमीहरूलाई निरन्तरता दिन कस्तो प्रेरणा चाहिन्छ? साँचो आस्था र साँचो समर्पणबिना तिमीहरू कति वर्षसम्म टिक्थ्यौ? यो चरित्रमा निर्भर हुन्छ। राम्रो चरित्र र थोरै विवेक भएकाहरू आठ वा १० वर्ष, २० वा ३० वर्ष, सायद ५० वर्ष पनि टिक्न सक्छन्। तर ५० वर्ष पछि, तिनीहरूले मनमनै सोच्ने थिए, “परमेश्वर कहिले आउनुहुन्छ? जलप्रलय कहिले आउने छ? परमेश्वरले दिनुभएको चिन्ह कहिले देखा पर्नेछ? मैले आफ्नो सम्पूर्ण जीवन एउटै काम गरेर बिताएको छु। जलप्रलय आएन भने के गर्ने? मैले जीवनभरि धेरै कष्ट भोगेको छु, म ५० वर्षसम्म लागिपरेको छु—यो पर्याप्त छ, यदि मैले अहिले हार माने भने परमेश्वरले यसलाई याद गर्नुहुने छैन वा निन्दा गर्नुहुने छैन। त्यसैले, म मेरो आफ्नै जीवन जिउन गइरहेको छु। परमेश्वरले बोल्ने वा प्रतिक्रिया दिने गर्नुहुन्न। म दिनभरि निलो आकाश र सेतो बादल हेरेर बिताउँछु र केही पनि देख्दिन। परमेश्वर कहाँ हुनुहुन्छ? जो एक पटक गर्जनुभएको र बोल्नुभएको थियो—के त्यो परमेश्वर नै हुनुहुन्थ्यो? के यो भ्रम थियो? यो कहिले समाप्त हुन्छ? परमेश्वरलाई चासो नै छैन। मैले मद्दतको लागि जतिसुकै पुकार्दा पनि, मैले सुन्ने भनेको मौनता मात्र हो र मैले प्रार्थना गर्दा उहाँले मलाई अन्तर्दृष्टि दिने वा मार्गदर्शन गर्ने गर्नुहुन्न। यसलाई बिर्सिदिऔँ!” के तिनीहरूसँग अझै पनि साँचो आस्था हुनेथियो? समय बित्दै जाँदा, तिनीहरू शङ्कालु हुनसक्थे। तिनीहरूले परिवर्तन गर्ने बारेमा सोच्ने थिए, उम्कने बाटो खोज्ने थिए, परमेश्वरको आज्ञालाई पन्छाउने थिए र आफ्नो अल्पकालीन जोस र प्रतिज्ञाहरूलाई त्याग्ने थिए; तिनीहरूले आफ्नै भाग्यलाई नियन्त्रण गर्न र आफ्नै जीवन बिताउन चाहेर, परमेश्वरको आज्ञालाई कम महत्त्व दिने थिए। अनि जब, एक दिन, परमेश्वर व्यक्तिगत रूपमा तिनीहरूलाई आग्रह गर्न आउनुभयो, उहाँले जहाज निर्माणको कार्यप्रगतिको बारेमा सोध्दा, तिनीहरूले भन्ने थिए “उफ्! परमेश्वर वास्तवमै अस्तित्वमा हुनुहुन्छ। त्यसैले परमेश्वर साँच्चिकै हुनुहुन्छ। मैले निर्माण सुरु गर्नै पर्छ!” यदि परमेश्वरले बोल्नुभएन भने, यदि उहाँले तिनीहरूलाई हतार देखाउनु भएन भने, तिनीहरूले यसलाई अत्यावश्यक मामलाको रूपमा हेर्ने थिएनन्; तिनीहरूले यसलाई पर्खिन सकिन्छ भनेर सोच्ने थिए। यस्तो अस्थिर सोचाइ, आनाकानीपूर्वक जसोतसो काम चलाउने यो मनोवृत्ति—के साँचो आस्था भएका मानिसहरूले देखाउनुपर्ने मनोवृत्ति यही हो? (होइन।) यस्तो मनोवृत्ति राख्नु गलत हो, यसको मतलब तिनीहरूसँग साँचो आस्था छैन, साँचो समर्पण त झनै छैन। जब परमेश्वरले तँसँग भेटेरै कुरा गर्नुभयो, तेरो क्षणिक उत्साहले परमेश्वरप्रति तेरो आस्थाको सङ्केत गर्दथ्यो, तर जब परमेश्वरले तँलाई पाखा लगाउनुभयो, र तँलाई आग्रह गर्नुभएन वा निरीक्षण गर्नुभएन वा कुनै सोधपुछ गर्नुभएन भने, तेरो आस्था हराउने थियो। समय बित्दै जाने थियो र परमेश्वरले तँसँग बोल्नुभएन वा उहाँ देखा पर्नुभएन र उहाँले तेरो कामको कुनै निरीक्षण गर्नुभएन भने, तेरो आस्था पूर्ण रूपमा हराउने थियो; तैँले आफ्नै जीवन जिउन र आफ्नै उद्यम गर्न चाहन्थिस् र परमेश्वरको कामलाई तैँले त्यत्ति महत्त्व नदिएर बिर्सनेथिस्; त्यसबेलाको तेरो जोस, शपथ र सङ्कल्पले कुनै अर्थ राख्ने थिएन। के तिमीहरूलाई परमेश्वरले यस्तो व्यक्तिलाई ठूलो जिम्मेवारी दिने आँट गर्नुहुने थियो जस्तो लाग्छ? (अहँ।) किन लाग्दैन? (ऊ भरोसाहीन छ।) ठिक भनिस्। एक शब्द: भरोसाहीन। तँमा साँचो आस्था छैन। तँ भरोसाहीन छस्। त्यसैले, तँ परमेश्वरद्वारा कुनै पनि कुरा सुम्पिन योग्य छैनस्। कतिपय मानिसहरू भन्छन्, “म किन अयोग्य छु? म परमेश्वरले मलाई दिनुभएको कुनै पनि आज्ञा पूरा गर्नेछु—कसलाई थाहा, म यसलाई पूरा गर्न पनि सक्छु!” तैँले आफ्नो दैनिक जीवनमा लापरवाहीपूर्वक कामहरू गर्न सक्छस् र नतिजाहरू अलि कमजोर भए पनि फरक पर्दैन। तर परमेश्वरले सुम्पनुभएका, पूरा होस् भन्ने चाहनुभएका कामकुरा—ती कहिले पो सरल हुन्छन् र? यदि ती कामकुरा कुनै मूर्ख वा ठग, आफूले गर्ने सबै कुरामा झारा टार्ने, यस्तो व्यक्ति, जसले कुनै आज्ञा स्वीकार गरेपछि, जताततै र जहिले पनि कमजोर आस्था बोकेर कार्य गर्ने व्यक्तिलाई सुम्पियो भने, के त्यसले ठूलो जिम्मेवारीलाई ढिलाइ गर्ने थिएन र? यदि तिमीहरूलाई छान्न लगाइयो भने, यदि तिमीहरूले कसैलाई ठूलो काम सुम्पिनुपर्यो भने, तिमीहरूले कस्तो प्रकारको व्यक्तिलाई सुम्पिने थियौ? तैँले कस्तो किसिमको व्यक्तिलाई रोज्ने थिइस्? (एक भरोसायोग्य व्यक्तिलाई।) कम्तीमा पनि, यो व्यक्ति भरपर्दो, चरित्रवान् हुनुपर्छ र समय जस्तोसुकै होस् वा उसले सामना गर्ने कठिनाइहरू जतिसुकै ठूलो किन नहोस्, उसले तैँले सुम्पेको काम पूरा गर्नमा आफ्नो सम्पूर्ण मन र ऊर्जा लगाउनेछ र तँलाई जवाफ दिनेछ। यदि मानिसहरूले यस्तै प्रकारको व्यक्तिलाई काम सुम्पन रोज्छन् भने, परमेश्वरले त झन् कति बढी विचार गर्नुहुन्छ होला! त्यसोभए, जलप्रलयले संसारको विनाश गर्ने यो प्रमुख घटनाको लागि एउटा घटना जसमा जहाजको निर्माण आवश्यक थियो र कोही बाँच्न योग्य व्यक्तिको आवश्यकता थियो भने, परमेश्वरले कसलाई छान्नुहुने थियो? पहिलो कुरा, सिद्धान्तको हिसाबले, उहाँले टिकिरहन योग्य र अर्को युगमा जिउन योग्य व्यक्ति छान्नुहुने थियो। वास्तवमा, अरू सबैभन्दा पहिले, त्यो व्यक्ति परमेश्वरका वचनहरू पालन गर्न सक्षम हुनुपर्छ, उसमा परमेश्वरप्रति साँचो आस्था हुनुपर्छ र परमेश्वरले भन्नुभएको कुरालाई—त्यसमा जेसुकै संलग्न होस्, चाहे त्यो आफ्ना धारणाहरूसँग मिलोस् कि नमिलोस्, चाहे त्यो आफ्नो स्वाद अनुसार होस् कि नहोस्, चाहे त्यो आफ्नो इच्छासँग मिल्ने होस् वा नहोस्—त्यसलाई परमेश्वरको वचनको रूपमा लिनुपर्छ। परमेश्वरले उसलाई जे गर्न भन्नुभए पनि उसले परमेश्वरको पहिचानलाई कहिल्यै नकार्नु हुँदैन, उसले आफूलाई सधैँ सृजित प्राणी मान्नुपर्छ र परमेश्वरका वचनहरू पालन गर्नुलाई सधैँ अनिवार्य कर्तव्यको रूपमा लिनुपर्छ; परमेश्वरले यो विशेष कार्य यस्तै व्यक्तिलाई सुम्पनुहुन्छ। परमेश्वरको हृदयमा, नोआ ठ्याक्कै त्यस्तै व्यक्ति थियो। ऊ नयाँ युगमा रहन योग्य व्यक्ति मात्र थिएन, तर ऊ भारी जिम्मेवारी वहन गर्न सक्ने व्यक्ति पनि थियो, जो परमेश्वरको वचनमा बिना सम्झौता अन्त्यसम्म समर्पित हुन सक्थ्यो र जसले आफ्नो जीवन परमेश्वरले सुम्पनुभएको काम पूरा गर्न प्रयोग गर्ने थियो। उहाँले नोआमा यही कुरा पाउनुभयो। नोआले परमेश्वरको आज्ञा स्वीकार गरेको क्षणदेखि, उसलाई सुम्पिएको हरेक कार्य पूरा गरेसम्म—यस अवधिभर, नोआको आस्था र परमेश्वरप्रति उसको समर्पणको मनोवृत्तिले अत्यन्त महत्त्वपूर्ण भूमिका खेलेको थियो; यी दुइटा कुराहरू बिना, काम पूरा हुन सक्दैनथ्यो र यो आज्ञा पूरा भएको हुँदैनथ्यो।
यदि, परमेश्वरको आज्ञा स्वीकार गर्ने क्रममा, नोआसँग आफ्नै विचार, योजना र धारणाहरू भएको भए, सम्पूर्ण कार्य कसरी परिवर्तन भएको हुने थियो? सर्वप्रथम, परमेश्वरले उसलाई दिनुभएका प्रत्येक विवरण—जस्तै सामग्रीका नाम र प्रकारहरू, पूरै जहाज निर्माण गर्ने साधन र विधिहरू र पूरै जहाजका आकार र आयामहरू—जब नोआले यी सबै सुने, के उसले यस्तो सोच्ने थियो, “यति ठूलो चिज निर्माण गर्न कति वर्ष लाग्ला? यी सबै सामग्रीहरू फेला पार्न कति धेरै मिहिनेत र कठिनाइ सहनु पर्ला? म थकित हुनेछु! पक्कै पनि यस्तो थकानले मेरो जीवनलाई छोटो बनाउने छ, हैन र? हेर त, म कति बुढो भइसकेँ, तैपनि परमेश्वरले मलाई विश्राम दिनुहुन्न, बरु मलाई यस्तो कष्टसाध्य काम गर्न भन्नुहुन्छ—के मैले यो सहन सक्छु? ठिक छ, म यो गर्नेछु, तर मसँग एउटा चाल छ: म मोटामोटी रूपमा मात्र परमेश्वरले भनेअनुसार गर्ने छु। परमेश्वरले एक प्रकारको जलप्रतिरोधी सल्लाको खोजी गर्न भन्नुभयो। मैले केहि त्यो चिज पाउन सकिने ठाउँको बारेमा सुनेको छु, तर यो धेरै टाढा छ र एकदम खतरनाक छ। यसलाई फेला पार्न र प्राप्त गर्नका निम्ति धेरै मिहिनेत गर्नुपर्ने छ, त्यसैले त्यसको सट्टामा नजिकैको समान प्रकारको लगभग उस्तै चिज खोजी गरे कसो होला? यसले कम जोखिम हुने थियो र कम मिहिनेत पनि लाग्ने थियो—यो पनि ठिकै हुन्थ्यो, हैन र?” के नोआसँग त्यस्ता योजनाहरू थिए? यदि थिए भने, के यो साँचो समर्पण हुने थियो? (हुने थिएन।) उदाहरणका लागि: परमेश्वरले उक्त जहाजलाई १०० मिटर अग्लो बनाउन भन्नुभयो। यो सुनेर, के उसले यस्तो सोच्न, सक्थ्यो “सय मिटर भनेको त धेरै अग्लो हो, यसमा कोही चढ्न सक्दैन। के यसमा चढेर काम गर्नु घातक हुँदैन र? त्यसैले म जहाजलाई अलि छोटो बनाउँछु, ५० मिटर गरौँ। त्यो मानिसहरूका लागि चढ्नलाई कम खतरनाक र सजिलो हुनेछ। त्यो ठीक होला, हैन र?” के नोआले त्यस्तो सोचेको हुन्थ्यो होला? (हुँदैनथ्यो।) यदि उसले सोचेको हुन्थ्यो भने, के तँलाई परमेश्वरले गलत व्यक्तिलाई रोज्नुभएको हुन्थ्यो भन्ने लाग्छ? (हो।) नोआको परमेश्वरप्रतिको साँचो आस्था र समर्पणले उसलाई आफ्नै इच्छालाई परित्याग गर्न मद्दत गर्यो; यदि ऊसँग त्यस्ता विचारहरू भए पनि उसले कहिल्यै तीमाथि काम गरेको हुन्थेन। यस कुरामा, परमेश्वरलाई नोआ भरोसायोग्य छ भन्ने थाहा थियो। पहिले, नोआले परमेश्वरले तोक्नुभएको विवरणहरूमा कुनै परिवर्तन गर्ने थिएन, न त उसले आफ्ना विचारहरू थप्ने थियो, उसले आफ्नो व्यक्तिगत फाइदाको लागि परमेश्वरले तोक्नुभएको कुनै पनि विवरणहरू त झन परिवर्तन गर्ने नै थिएन; यसको सट्टामा उसले परमेश्वरले आदेश दिनुभएका कुरालाई अक्षरशः पूरा गर्ने थियो र जहाज निर्माण गर्नलाई सामग्रीहरू प्राप्त गर्न जतिसुकै गाह्रो भए पनि, काम जतिसुकै गाह्रो वा थकानयुक्त भए पनि, उसले काम राम्रोसँग सम्पन्न गर्न सक्दो प्रयास गर्ने थियो र आफ्नो सबै शक्ति प्रयोग गर्ने थियो। के उसलाई यही कुराले भरोसायोग्य बनाएको होइन र? अनि के यो परमेश्वरप्रति उसको साँचो समर्पणको वास्तविक प्रकटीकरण थियो? (हो।) के यो समर्पण निरपेक्ष थियो? (थियो।) अनि यसमा कुनै खोट थिएन, यसमा उसका आफ्नै झुकावहरू थिएनन्, यसमा व्यक्तिगत योजनाहरू मिसिएको थिएन, व्यक्तिगत धारणा वा चासोहरू मिसिने त झन कुरै भएन; बरु, यो विशुद्ध, सरल, र निरपेक्ष समर्पण थियो। अनि के यो हासिल गर्न सजिलो थियो? (थिएन।) कतिपय मानिसहरू असहमत हुन सक्छन्: “त्यसमा त्यति गाह्रो कुरा के छ? के यसमा केवल सोच्न नपर्ने, रोबोट जस्तो बन्ने, परमेश्वरले भनेझैँ गर्ने कुरा मात्र समावेश छैन र—के त्यो सजिलो छैन?” जब कार्य गर्ने समय आउँछ, कठिनाइहरू उत्पन्न हुन्छन्; मानिसहरूका सोचहरू सधैँ परिवर्तन भइरहेका हुन्छन्, तिनीहरूसँग सधैँ आफ्नै झुकावहरू हुन्छन्, र त्यसैले तिनीहरूले परमेश्वरका वचनहरू पूरा गर्न सकिन्छ कि सकिँदैन भनेर शङ्का गर्न सक्छन्; तिनीहरूले परमेश्वरका वचनहरू सुन्दा, तिनलाई स्वीकार गर्न सजिलो हुन्छ, तर जब काम गर्ने समय आउँछ, तब त्यो कठिन बन्छ; कठिनाइ सुरु हुने बित्तिकै, तिनीहरू नकारात्मक बन्ने सम्भावना हुन्छ र तिनीहरूलाई समर्पित हुन सजिलो हुँदैन। त्यसैले, नोआको चरित्र अनि उसको साँचो आस्था र समर्पण, साँच्चै अनुकरणीय छ भन्ने कुरा स्पष्ट छ। त्यसोभए, के तिमीहरू अब परमेश्वरका वचन, आज्ञा र अपेक्षाहरूहरूको सामना गर्दा नोआले कस्तो प्रतिक्रिया र समर्पण देखाए भन्नेबारे प्रस्ट भयौ? यो समर्पण व्यक्तिगत विचारहरूले दूषित थिएन। नोआले दायाँबायाँ नलागी, या साना चतुर चालहरू नचाली वा चतुर बन्न नखोजी, आफूलाई उच्च नसोची र परमेश्वरलाई नै सुझाव दिन सक्ने नसम्झी, परमेश्वरका आज्ञाहरूमा आफ्नो विचार नथपी र आफ्ना असल अभिप्रायहरू नराखी आफैँबाट पूर्ण समर्पण, आज्ञाकारिता र परमेश्वरका वचनहरूको कार्यान्वयनको अपेक्षा गरेको थियो। पूर्ण समर्पण हासिल गर्ने प्रयास गर्दा गर्नुपर्ने अभ्यास यही होइन र?
परमेश्वरले नोआलाई जहाज निर्माण गर्ने आज्ञा दिनुभएपछि उसलाई त्यो काम गर्न कति समय लाग्यो? (एक सय बिस वर्ष।) यी १२० वर्षमा, नोआले एउटा कुरा गर्यो: उसले जहाज बनायो र विभिन्न प्रकारका जीवित प्राणीहरू सङ्कलन गर्यो। यो एउटा मात्र कुरा भएको, धेरैवटा फरक कार्यहरू नभएको भए पनि, यही एउटा कुरामा अत्यन्तै धेरै काम समावेश थियो। त्यसोभए यसो गर्नुको उद्देश्य के थियो? उसले किन यो जहाज निर्माण गर्यो? यसो गर्नुको उद्देश्य र महत्त्व के थियो? परमेश्वरले जलप्रलयद्वारा संसारलाई नष्ट गर्नुहुँदा हरेक प्रकारका जीवित प्राणीहरू बाँच्न सकून् भनेर यसो गरिएको थियो। त्यसैले, नोआले जे गर्यो त्यो, परमेश्वरले जलप्रलयद्वारा संसारको विनाश गर्नु अघि, हरेक प्रकारका जीवित प्राणीको अस्तित्वको लागि तयारी गर्नका लागि गर्यो। अनि परमेश्वरको लागि, के यो अति जरुरी कुरा थियो? परमेश्वरको बोलीको लवज र परमेश्वरले दिनुभएको आदेशको सारबाट, के नोआले परमेश्वर अधीर हुनुहुन्छ र उहाँको अभिप्राय जरुरी छ भन्ने सुन्न सक्थ्यो? (सक्थ्यो।) उदाहरणको लागि, मानिलिऊँ तिमीहरूलाई यसो भनियो, “महामारी आउँदैछ। यो बाहिरी संसारमा फैलिन थालेको छ। तिमीहरूले गर्नुपर्ने एउटा काम छ र यो चाँडै गर्नुपर्छ: चाँडो खाना र मास्क किन। कुरा यति मात्रै हो!” तिमीहरू यसमा के सुन्छौ? के यो अत्यन्तै जरुरी छ? (हो।) त्यसोभए यो कहिले गर्नुपर्छ? के तिमीहरूले अर्को वर्ष, त्यसपछिको वर्ष, वा अहिलेदेखि धेरै वर्ष पर्खनुपर्छ? होइन—यो एउटा जरुरी काम हो, एउटा महत्त्वपूर्ण मामला हो। अरू सबै कुरालाई छोडेर पहिले यसलाई ध्यान देओ। के यी वचनहरूबाट तिमीहरूले यही सुन्छौ? (हो।) त्यसोभए परमेश्वरप्रति समर्पितहरूले के गर्नुपर्छ? तिनीहरूले गरिरहेको काम तुरुन्तै छोड्नुपर्छ। अरू कुनै पनि कुराको अर्थ हुँदैन। परमेश्वरले भर्खरै गर्नका निम्ति दिनुभएको आदेशको सम्बन्धमा उहाँ धेरै अधीर हुनुहुन्छ; तिनीहरूले यो कार्य गर्न र कार्यान्वयन गर्न लागि कुनै समय खेर फाल्नु हुँदैन, जुन परमेश्वरको निम्ति अत्यतन्तै जरुरी छ र जसले परमेश्वरको मनलाई आतुर बनाइराख्छ; तिनीहरूले अन्य कामहरू गर्नु अघि यसलाई पूरा गर्नुपर्छ। समर्पणको अर्थ यही हो। तर यदि तैँले “महामारी आउँदैछ रे? यो फैलिरहेको छ रे? यदि यो फैलिरहेको छ भने, त्यसलाई फैलिन दिनुहोस्—त्यो हामीकहाँ फैलिरहेको छैन। यदि फैलियो भने, हामी त्यतिबेला नै त्यसको सामना गर्नेछौँ। मास्क र खाना किन्ने रे? मास्कहरू त सँधै पाइन्छन्। ती लाए पनि नलाए पनि फरक पर्दैन। हामीसँग खाना छँदै छ नि, त्यसको बारेमा किन चिन्ता गर्ने? केको हतार? महामारी यहाँ नआएसम्म पर्खौँ। हामीसँग अहिले हामीले गर्नुपर्ने अन्य कुराहरू छन्” भन्ने सोच राखेर यसलाई विश्लेषण गर्छौँ भने, के यो समर्पण हो? (होइन।) यो के हो? यसलाई समग्रमा विद्रोह भनिन्छ। अझ विशेष रूपमा भन्दा, यो उदासीनता, विरोध, विश्लेषण र जाँच हो, साथै आफ्नो हृदयमा तिरस्कार राख्नु, यो कहिल्यै हुन सक्दैन भन्ने सोच्नु र यो वास्तविक हो भनेर विश्वास नगर्नु हो। के यस्तो मनोवृत्तिमा साँचो आस्था हुन्छ? (हुँदैन।) तिनीहरूको समग्र हैसियत यो हो: परमेश्वरका वचनहरूको सन्दर्भमा र सत्यताप्रति, तिनीहरूसँग सधैँ ढिलाइ, उदासीनता, र लापरवाहीको मनोवृत्ति हुन्छ; तिनीहरूले हृदयमा यसलाई त्यति महत्त्वपूर्ण ठान्दैनन्। तिनीहरूले सोच्छन्, “हामी तपाईंले भन्नुहुने कुराहरू सुन्नेछौँ जुन सत्यतासँग र तपाईंका उच्च प्रवचनहरूसँग सम्बन्धित छन्—म तिनलाई नबिर्सिऊँ भन्नका लागि लेखेर राख्न हिचकिचाउँदिन। तर तपाईंले खाना र मास्क किन्ने सम्बन्धमा भन्नुहुने कुराहरू सत्यतासँग सम्बन्धित छैनन्, त्यसैले म तिनलाई अस्वीकार गर्न सक्छु, म मनमा तिनलाई उपहास गर्न सक्छु, र म तपाईंलाई उदासीनता र उपेक्षाको मनोवृत्तिले व्यवहार गर्न सक्छु; मैले कानले सुन्नु नै पर्याप्त हुन्छ, तर म हृदयमा जे सोच्छु त्यो तपाईंको चिन्ताको विषय होइन, यो तपाईंको चासोको विषय हुँदै होइन।” के परमेश्वरका वचनहरूप्रति नोआको मनोवृत्ति यही थियो? (थिएन।) ऊ यस्तो थिएन भनेर केले देखाउँछ? हामीले यसको बारेमा कुरा गर्नैपर्छ; यसले तँलाई परमेश्वरप्रति नोआको मनोवृत्ति पूर्ण रूपमा फरक थियो भन्ने कुरा सिकाउनेछ। यसलाई प्रमाणित गर्ने तथ्यहरू पनि छन्।
सबथोक हातैले गर्नुपर्ने र सम्पन्न गर्नुपर्ने त्यो पूर्व-औद्योगिक युगमा, प्रत्येक श्रमसाध्य कार्य धेरै कठिन र समय लाग्ने किसिमको हुन्थ्यो। जब नोआले परमेश्वरको आज्ञा सुने, जब उनले परमेश्वरले व्याख्या गर्नुभएका यावत कुराहरू सुने, उनले यो मामलाको गम्भीरता, र परिस्थितिको गहनता थाहा पाए। उनलाई परमेश्वरले संसारलाई नष्ट गर्दै हुनुहुन्छ भन्ने थाहा भयो। अनि, उहाँले किन यस्तो काम गर्दै हुनुहुन्थ्यो? किनभने मानिसहरू अत्यन्तै दुष्ट थिए, परमेश्वरको वचनमा विश्वास गर्दैनथे, र परमेश्वरको वचनलाई इन्कार समेत गर्थे, साथै परमेश्वरले त्यस मानवजातिलाई घृणा गर्नुहुन्थ्यो। के परमेश्वरले त्यस मानवजातिलाई एकदुई दिनदेखि मात्रै घृणा गर्नुभएको थियो? के परमेश्वरले आवेगमा आएर, “आज मलाई यो मानवजाति मन पर्दैन। म यो मानवजातिलाई नष्ट गर्नेछु, त्यसकारण यो काममा लाग् र मेरो लागि ठूलो जहाज बना” भनेर भन्नुभएको थियो? के यस्तो भएको थियो? होइन। परमेश्वरका वचनहरू सुनेपछि, नोआले परमेश्वरको कुरा बुझे। परमेश्वरले त्यो मानवजातिलाई एकदुई दिनदेखि मात्रै घृणा गर्दै आउनुभएको थिएन; उहाँ यसलाई नष्ट गर्न तत्पर हुनुहुन्थ्यो, ताकि मानवजातिको नयाँ सुरुवात हुन सकोस्। तर यसपटक, परमेश्वरले फेरि अर्को मानवजाति सृष्टि गर्ने चाहना गर्नुभएन; बरु उहाँले नोआ अर्को युगको मालिक, अर्थात् मानवजातिको पुर्खाको रूपमा जिउन सौभाग्यशाली बनोस् भन्ने चाहनुहुन्थ्यो। परमेश्वरले भन्नुभएको कुराको यस पक्षलाई बुझिसकेपछि, नोआले आफ्नो अन्तरात्मादेखि परमेश्वरको जरुरी अभिप्रायलाई बुझ्न सके, उनले परमेश्वरको आतुरीलाई बोध गर्न सके—त्यसकारण, जब परमेश्वरले बोल्नुभयो, त्यसलाई होसियारीसाथ, ध्यानपूर्वक र लगावका साथ सुन्नेबाहेक, नोआलाई हृदयमा केही कुरा महसुस भयो। उनलाई के महसुस भयो? त्यो आतुरी, त्यो संवेग, जुन सृष्टिकर्ताका जरुरी अभिप्रायहरूलाई बुझेपछि साँचो सृजित प्राणीले महसुस गर्नुपर्छ। त्यसकारण, परमेश्वरले जहाज बनाउने आदेश दिइसक्नुभएपछि नोआले मनमा के सोचे? तिनले सोचे, “आजदेखि, ठूलो जहाज बनाउनु जत्तिको अर्थपूर्ण कुरा अरू हुनेछैन, योभन्दा महत्त्वपूर्ण र अत्यावश्यक अरू कुनै कुरा हुनेछैन। मैले सृष्टिकर्ताको हृदयका वचनहरू सुनेको छु, मैले उहाँको जरुरी अभिप्राय थाहा पाएको छु, त्यसकारण मैले ढिलाइ गर्नु हुँदैन; परमेश्वरले भन्नुभएको र बनाउन लगाउनुभएको ठूलो जहाज मैले हतारोसाथ निर्माण गर्नुपर्छ।” नोआको मनोवृत्ति कस्तो थियो? लापरवाह हुन आँट नगर्ने मनोवृत्ति। अनि, उनले जहाज निर्माण गर्ने काम कसरी पूरा गरे? ढिलाइ नगरीकन पूरा गरे। उनले परमेश्वरले भन्नुभएको र निर्देशन दिनुभएको हरेक विवरणलाई लापरवाह वा झाराटारुवा नबनी कुनै ढिलासुस्ती नगरी, र आफ्नो सारा शक्तिले पालन गरेर पूरा गरे। समग्रमा भन्दा, नोआले सृष्टिकर्ताको आज्ञाप्रति समर्पणको मनोवृत्ति राखेका थिए। यसबारे तिनी बेपरवाह थिएनन्, र तिनको हृदयमा प्रतिरोध थिएन, न त उदासीनता नै थियो। बरु, उनले हरेक कुरालाई याद गर्ने क्रममा लगनशील भई सृष्टिकर्ताको अभिप्रायलाई बुझ्ने प्रयास गरे। उनले परमेश्वरको जरुरी अभिप्रायलाई बुझेपछि चाँडो अघि बढ्ने, परमेश्वरले उनलाई भन्नुभएको काम तुरुन्तातुरुन्ती पूरा गरिहाल्ने निर्णय गरे। “तुरुन्तातुरुन्तै” भन्नुको अर्थ के हो? यसको अर्थ पहिले एक महिना लाग्ने कामलाई जतिसक्दो कम समयमा पूरा गर्नु, फिटिक्कै लसकमसक नगरी वा अलिकति पनि आलटाल नगरी, पूरै परियोजनालाई सकेजति अघि बढाएर तोकिएको मितिभन्दा तीन वा पाँच दिनपहिले नै पूरा गर्नु हो। स्वभाविकतः, तिनी हरेक काम गर्दा, हानि र गल्तीहरूलाई कम गर्न र दोहोर्याउनुपर्ने गरी कुनै काम नगर्न सक्दो प्रयास गर्थे; तिनले हरेक काम र प्रक्रियालाई गुणस्तर सुनिश्चित गरेर तोकिएको समयमा नै राम्ररी पूरा गर्थे। यो लसकमसक नगर्ने कार्यको साँचो प्रकटीकरण थियो। त्यसोभए, तिनले लसकमसक नगरी काम गर्न सक्नुको पूर्व शर्त के थियो? (तिनले परमेश्वरको आज्ञा सुनेका थिए।) हो, यसको पूर्वसर्त र प्रसङ्ग त्यही थियो। अब, नोआले किन लसकमसक नगरी काम गर्न सके? कतिपय मानिसहरू नोआमा साँचो समर्पण थियो भनेर भन्छन्। त्यसकारण तिनमा त्यस्तो के थियो जसले गर्दा तिनले त्यस्तो साँचो समर्पण हासिल गर्न सके? (उनले परमेश्वरको हृदयबारे सोच्थे।) सही हो! हृदय हुनु भनेको यही हो! हृदय भएका मानिसहरूले परमेश्वरको हृदयबारे सोच्न सक्छन्; हृदय नभएका मानिसहरू रित्तो खबटा, मूर्ख हुन्, तिनीहरू परमेश्वरको हृदयबारे सोच्न जान्दैनन्। तिनीहरूको मानसिकता यस्तो हुन्छ: “परमेश्वरका लागि यो जति नै आतुरी भए पनि, म वास्ता गर्दिनँ, म जसरी मन लाग्छ त्यसरी नै गर्नेछु—आखिर, म जाँगरमरुवा वा अल्छी होइन।” यस्तो मनोवृत्ति, यस्तो नकारात्मकता, सक्रियताको पूर्ण अभाव—यो परमेश्वरको हृदयबारे विचार गर्ने व्यक्ति होइन, न त उसले परमेश्वरको हृदयबारे सोच्ने तरिका नै बुझ्छ। त्यस्तो अवस्थामा, के तिनीहरूमा साँचो विश्वास हुन्छ? अवश्य नै हुँदैन। नोआले परमेश्वरको हृदयबारे सोच्थे, तिनमा साँचो विश्वास थियो, त्यसकारण तिनले परमेश्वरको आज्ञा पूरा गर्न सके। त्यसैले, परमेश्वरको आज्ञा स्वीकार गरेर केही प्रयास गर्न इच्छुक हुनु मात्रै पर्याप्त हुँदैन। तैँले परमेश्वरका अभिप्रायहरूबारे पनि सोचविचार गर्नैपर्छ, आफ्नो सर्वस्व सुम्पनुपर्छ र बफादार हुनैपर्छ—जसको लागि तँसँग विवेक र समझ हुनुपर्छ; मानिसहरूमा हुनुपर्ने कुरा यही हो, र नोआमा यही कुरा थियो। यदि नोआले ढिलासुस्ती गरेका भए, र तिनमा कुनै आतुरीको आभास, कुनै चिन्ता, कुनै प्रभावकारिता नभएको भए, त्यति ठूलो जहाज बनाउन नोआलाई कति वर्ष लाग्नेथियो, तिमीहरूलाई के लाग्छ? के यो १०० वर्षमा पूरा हुनेथियो? (हुनेथिएन।) निरन्तर निर्माण गर्दा पनि धेरै पुस्तासम्म लाग्नेथियो। एकतर्फ, जहाज जस्तो ठोस कुरा निर्माण गर्न वर्षौं लाग्छ; त्यति मात्र होइन, सबै जीवित प्राणीहरू सङ्कलन गर्न र खोज्नको लागि त्यति नै समय लाग्छ। के यी प्राणीहरूलाई बटुल्नु सजिलो थियो? (थिएन।) थिएन। त्यसकारण, परमेश्वरका आदेशहरू सुनिसकेपछि, र परमेश्वरको जरुरी अभिप्रायलाई बुझिसकेपछि, नोआले यो सहज पनि हुनेछैन र सरल पनि हुनेछैन भन्ने चाल पाए। उनले यो काम परमेश्वरका इच्छाहरू अनुसार पूरा गर्नुपर्छ, र परमेश्वरले दिनुभएको आज्ञा पूरा गर्नुपर्छ, ताकि परमेश्वर सन्तुष्ट र ढुक्क हुनुहुनेछ, परमेश्वरको कामको अर्को चरण सहजताको साथ अघि बढ्नेछ भन्ने तिनलाई थाहा थियो। नोआको हृदय त्यस्तो थियो। अनि यो कस्तो प्रकारको हृदय थियो? यो परमेश्वरका अभिप्रायहरूप्रति विचारशील हृदय थियो। जहाज निर्माणमा नोआको व्यवहारलाई हेर्दा, उनी पूर्ण रूपमा महान् आस्था भएको मानिस थिए र उनले सय वर्षसम्म परमेश्वरको वचनप्रति कुनै शङ्का गरेनन्। उनी केमा निर्भर थिए? उनी परमेश्वरप्रतिको आस्था र समर्पणमा निर्भर थिए। नोआ पूर्ण रूपमा समर्पित हुन सक्षम थिए। उनको पूर्ण समर्पणका विवरणहरू के के हुन्? उनको विचारशीलता। के तिमीहरूसँग यो हृदय छ? (छैन।) तिमीहरू धर्मसिद्धान्तहरू बोल्न र नाराहरू लगाउन सक्षम छौ, तर तिमीहरूले अभ्यास गर्न सक्दैनौ र कठिनाइहरूको सामना गर्दा तिमीहरूले परमेश्वरका आदेशहरू लागु गर्न सक्दैनौ। जब तिमीहरू कुरा गर्छौ, तिमीहरू धेरै स्पष्ट रूपमा कुरा गर्छौ, तर जब वास्तविक कार्यसम्पादनको कुरा आउँछ र तिमीहरूले केही कठिनाइ सामना गर्छौ, तब तिमीहरू नकारात्मक बन्छौ र जब तिमीहरूलाई थोरै कष्ट हुन्छ, तिमीहरू गुनासो गर्न थाल्छौ, र हार मान्न चाहन्छौ। यदि आठदश वर्षसम्म भारी वर्षा भएन भने, तिमीहरू नकारात्मक हुने थियौ र परमेश्वरलाई शङ्का गर्ने थियौ, र यदि अर्को २० वर्ष भारी वर्षा बिना नै बित्यो भने, के तिमीहरू नकारात्मक नै रहिरहने थियौ? नोआले जहाज निर्माण गर्न १०० वर्ष भन्दा बढी समय लगाए र उनी कहिल्यै पनि नकारात्मक भएनन् वा उनले परमेश्वरमा शङ्का गरेनन्, उनले जहाज निर्माण गरिरहे। नोआबाहेक अरू कसले यसो गर्न सक्थ्यो? तिमीहरूमा कस्ता कमी कमजोरीहरू छन्। (हामीसँग सामान्य मानवता वा विवेक छैन।) त्यो सही हो। तिमीहरूसँग नोआको जस्तो चरित्र छैन। नोआले कतिवटा सत्यताहरू बुझे? तिमीहरूको विचारमा के उनले तिमीहरूले भन्दा धेरै सत्यताहरू बुझे? तिमीहरूले धेरै प्रवचनहरू सुनेका छौ। परमेश्वरको देहधारणका रहस्यहरू, परमेश्वरको तीन चरणका कार्यको भित्री सत्यता, परमेश्वरको व्यवस्थापनको योजना; यी मानवजातिलाई सुनाइएका सर्वोच्च र सबैभन्दा गहिरा रहस्यहरू यिनै हुन् र यी सबै तिमीहरूलाई स्पष्ट पारिएका छन्, त्यसोभए तिमीहरूमा अझै पनि नोआको जस्तो मानवता नहुनु र तिमीहरू नोआले गर्न सक्ने काम गर्न असमर्थ हुनुको कारण के हो? तिमीहरूको आस्था र मानवता नोआको भन्दा अत्यन्तै निकृष्ट छन्! यसो भन्न सकिन्छ कि तिमीहरूसँग साँचो आस्था, वा मानवताभित्र हुनुपर्ने न्यूनतम विवेक वा समझ छैन। तिमीहरूले धेरै प्रवचनहरू सुनेका र झट्ट हेर्दा सत्यताहरू बुझेको जस्तो देखिए पनि, तिमीहरूको मानवताको गुणस्तर र तिमीहरूको भ्रष्ट स्वभाव धेरै प्रवचनहरू सुनेर वा सत्यताहरू बुझेर तुरुन्तै परिवर्तन हुन सक्दैनन्। यी कुराहरूको समझबिना, मानिसहरूले आफू प्राचीन सन्तहरूभन्दा धेरै तल्लो स्तरको नभएको महसुस गर्छन्, र मनमनै सोच्छन् “अब हामी परमेश्वरको आज्ञा पनि स्वीकार गर्दैछौँ र परमेश्वरको आफ्नै मुखबाट परमेश्वरको वचन सुन्दैछौँ। हामी परमेश्वरले हामीलाई गर्न भन्नुहुने हरेक कुरालाई पनि गम्भीरतापूर्वक लिइरहेका छौँ। सबैले यी कुराहरूमा सँगै सङ्गति गर्छन् र त्यसपछि योजना बनाउने, तैनाथ गर्ने र कामकुरा पूरा गर्ने काम गर्छन्। हामी कसरी प्राचीन सन्तहरूभन्दा फरक छौँ?” अहिले तिमीहरूले देख्ने भिन्नता ठूलो छ कि छैन? यो विशाल छ, विशेष गरी चरित्रको हिसाबले। आजका मानिसहरू धेरै भ्रष्ट, स्वार्थी र घृणित छन्! तिनीहरूलाई लाभ नहुने हो भने तिनीहरूले सिन्को सम्म भाँच्दैनन्! तिनीहरूलाई लाग्छ कि असल कामकुरा गर्न र असल कार्यहरू तयारी गर्नलाई धेरै मिहिनेत चाहिन्छ! तिनीहरूमा कर्तव्य गर्ने इच्छा छ तर इच्छाशक्ति छैन, तिनीहरू कष्ट भोग्न इच्छुक छन् तर यसलाई सहन सक्दैनन्, तिनीहरू मूल्य तिर्न चाहन्छन् तर सक्दैनन्, तिनीहरू सत्यता अभ्यास गर्न इच्छुक छन् तर यसलाई पूरा गर्न सक्दैनन्, र तिनीहरू परमेश्वरलाई प्रेम गर्न चाहन्छन् तर यसलाई व्यवहारमा उतार्न सक्दैनन्। यस प्रकारको मानवतामा कति कमी छ मलाई बताऊ त! यसको पूर्ति गर्न कति सत्यता बुझ्नु र प्राप्त गर्नुपर्छ?
हामीले भर्खरै नोआले परमेश्वरको अभिप्रायको ख्याल राखेको सन्दर्भमा सङ्गति गर्यौँ, जुन उनको मानवताको बहुमूल्य पाटो थियो। अर्को कुरा पनि छ—त्यो के हो? परमेश्वरका वचनहरू सुनेपछि, नोआले एउटा तथ्य थाहा पाए; त्यसैले पनि उनले परमेश्वरको योजना के हो भनेर थाहा पाए। योजना केवल स्मारकस्वरूप जहाज निर्माण गर्ने, वा मनोरञ्जन पार्क बनाउने वा कुनै ठूलो भवनलाई निशान बनाउने थिएन—कुरो त्यस्तो थिएन। परमेश्वरले भन्नुभएको कुराबाट, नोआलाई एउटा तथ्य थाहा भयो: परमेश्वरले यस दुष्ट मानवजातिलाई घृणा गर्नुहुन्थ्यो, र यस मानवजातिलाई जलप्रलयद्वारा नष्ट गर्नुपर्छ भनी तय गर्नुभएको थियो। यस बीचमा, अर्को युगसम्म बाँच्नेहरूलाई यस जहाजले जलप्रलयबाट बचाउने थियो; यसले तिनीहरूलाई बाँच्न मदत गर्ने थियो। अनि यस तथ्यमा प्रमुख समस्या के थियो? यो थियो कि परमेश्वरले जलप्रलयद्वारा संसारलाई नष्ट गर्नुहुने थियो र उहाँले नोआले जहाज निर्माण गरेर बाँचेको र हरप्रकारको जीवित प्राणी बाँचेको, तर मानवजाति नष्ट भएको चाहनुभयो। के यो ठूलै कुरा थियो? यो कुनै सामान्य पारिवारिक मामला थिएन, न त कुनै व्यक्ति वा जातिसँग सम्बन्धित केही सानो मामला नै थियो; बरु, यसमा एउटा ठूलै कार्य समावेश थियो। कस्तो प्रकारको ठूलो कार्य? परमेश्वरको व्यवस्थापनको योजनासँग सम्बन्धित एउटा कार्य। परमेश्वरले केही ठूलो काम गर्न लाग्नुभएको थियो, यस्तो काम जसले सम्पूर्ण मानवजातिलाई समेट्थ्यो र जुन उहाँको व्यवस्थापन, मानवजातिप्रति उहाँको मनोवृत्ति र यसको भाग्यसँग सम्बन्धित थियो। यो परमेश्वरले नोआलाई यो काम सुम्पनुहुँदा उनले थाहा पाएको तेस्रो जानकारी हो। अनि नोआले परमेश्वरका वचनहरूबाट यो कुरा सुन्दा उनको मनोवृत्ति कस्तो थियो? के त्यो विश्वास, शङ्का, वा पूर्ण अविश्वास के थियो? (विश्वास।) उनले कुन हदसम्म विश्वास गरे? उनले यो विश्वास गरे भनेर कुन तथ्यहरूले प्रमाणित गर्छन्? (परमेश्वरका वचनहरू सुनेपछि, उनले तिनीहरूलाई अभ्यास गर्न थाले र परमेश्वरले भन्नु भएबमोजिम जहाज निर्माण गरे, जसको अर्थ परमेश्वरका वचनहरूप्रति उनमा विश्वासको मनोवृत्ति थियो।) नोआमा प्रदर्शन भएका सबै कुराहरूबाट—नोआले परमेश्वरले सुम्पनुभएको कुरालाई स्विकारेपछिको कार्य सम्पादन र कार्यान्वयनको तहदेखि, अन्त्यमा त्यो सम्पन्न भएको तथ्यसम्म हेर्दा—नोआलाई परमेश्वरले भन्नुभएको हरेक वचनप्रति पूर्ण विश्वास थियो भन्ने देख्न सकिन्छ। उनलाई किन पूर्ण विश्वास थियो? उनलाई कसरी शङ्का लागेन? उनले कसरी यसको विश्लेषण गर्ने प्रयास गरेनन् र हृदयमा यसलाई जाँच गर्ने प्रयास किन गरेनन्? यो केसँग सम्बन्धित छ? (परमेश्वरमाथिको आस्थासँग।) ठिक भनिस्, यो नै परमेश्वरमाथि नोआको साँचो आस्था थियो। त्यसकारण, जब परमेश्वरले बोल्नुभएका सबै कुरा र उहाँका हरेक वचनको कुरा आउँथ्यो, नोआले केवल सुन्ने र स्वीकार गर्ने काम मात्र गरेनन्; बरु उनले अन्तरात्मामा साँचो ज्ञान र आस्था राखे। परमेश्वरले उनलाई जलप्रलय कहिले हुनेछ, वा त्यो आउन कति वर्ष लाग्नेछ, वा उक्त जलप्रलय कुन स्तरको हुनेछ, वा परमेश्वरले संसारलाई नष्ट गरिसकेपछि कस्तो हुनेछ भन्नेजस्ता विभिन्न विवरणहरू नबताए पनि, नोआले परमेश्वरले भन्नुभएको सबै कुरा पहिले नै तथ्य बनिसकेका छन् भनेर विश्वास गरे। नोआले परमेश्वरको वचनलाई कथा, मिथक, केही भनाइ, वा कुनै लेखको रूपमा लिएनन्, तर उनको हृदयको गहिराइमा परमेश्वरले यो गर्न लाग्नुभएको छ र परमेश्वरले पूरा गर्न दृढनिश्चय हुनुभएको कुरालाई कसैले पनि बदल्न सक्दैन भन्ने कुरामा विश्वास गरे र उनी त्यसमा निश्चित थिए। नोआले महसुस गरे कि मानिसहरूले परमेश्वरका वचनहरू र परमेश्वरले पूरा गर्न चाहेको कुराप्रति केवल एउटा मात्र मनोवृत्ति राख्न सक्छन्, जुन यो तथ्यलाई स्वीकार गर्नु, परमेश्वरले दिनुभएको आदेशमा समर्पण गर्नु र परमेश्वरले सहयोग गर्न भन्नुहुने कार्यहरूमा सहकार्य गर्नु हो—उनको मनोवृत्ति यही थियो। अनि नोआको यस्तै—विश्लेषण नगर्ने, जाँच नगर्ने, शङ्का नगर्ने, तर हृदयको गहिराइबाट विश्वास गर्ने र त्यसपछि परमेश्वरको अपेक्षामा र परमेश्वरले पूरा गर्न चाहनुभएको कुरामा सहकार्य गर्ने निर्णय गर्ने—मनोवृत्तिकै कारणले गर्दा जहाज निर्माण र प्रत्येक प्रकारका जीवित प्राणीको सङ्कलन र अस्तित्वको तथ्य पूरा भएको थियो। यदि, परमेश्वरले जलप्रलयले संसारलाई नष्ट गर्नुहुने कुरा सुनेर नोआले शङ्का गरेका भए; यदि उनले यसलाई नदेखेको, अनि यो कहिले हुने हो भनेर थाहा नपाएको, धेरै अज्ञात कुराहरू भएको कारणले यसलाई पूर्ण रूपमा विश्वास नगर्ने आँट गरेका भए, के जहाज निर्माण गर्नेप्रति उनको मानसिकता र विश्वास प्रभावित हुने थियो, के त्यो परिवर्तन हुने थियो? (हुने थियो।) त्यो कसरी परिवर्तन हुने थियो? जहाज निर्माण गर्दा, उनले कन्जुस्याइँ गर्न सक्थे, परमेश्वरका निर्देशहरूलाई बेवास्ता गर्न सक्थे वा परमेश्वरले भन्नुभएझैँ जहाजभित्र हरेक प्रकारका जीवित प्राणीहरू भेला नगर्न सक्थे; परमेश्वरले एउटा भाले र एउटा पोथी हुनैपर्छ भन्नुभएको थियो, जसमा उनले भन्न सक्थे, “तीमध्ये केहीका लागि एउटा मात्र पोथी भए पुग्छ। म तीमध्ये केहीलाई फेला पार्न सक्दिनँ, त्यसैले तिनीहरूको बारेमा बिर्सनुहोस्। संसारलाई नष्ट गर्ने जलप्रलय कहिले हुने छ भनेर कसलाई थाहा छ र।” जहाज निर्माण गर्ने र हरप्रकारका जीवित प्राणीहरू सङ्कलन गर्ने महान् कार्य गर्न १२० वर्ष लाग्यो। यदि नोआलाई परमेश्वरका वचनहरूमा साँचो विश्वास नभएको भए के उनी १२० वर्षसम्म लागिपरेका हुन्थे? पक्कै हुने थिएनन्। बाहिरी संसारको हस्तक्षेप र आफ्ना परिवारका सदस्यहरूको विभिन्न गुनासोहरूको कारण, जो व्यक्तिले परमेश्वरका वचनहरूलाई तथ्य मान्दैन उसको लागि जहाज निर्माण गर्ने कार्य पूरा गर्न धेरै गाह्रो हुने थियो, चाहे १२० वर्ष नै किन नलागोस्। पछिल्लो पटक, मैले तिमीहरूलाई १२० वर्ष लामो समय हो कि होइन भनेर सोधेँ। तिमीहरू सबैले हो भन्यौ। मैले तिमीहरूलाई कति समय टिक्न सक्छौ भनेर सोधेँ र मैले तिमीहरूलाई १५ दिन व्यवस्थापन गर्न सक्छौ भनेर सोध्दा, तिमीहरूमध्ये कसैले पनि सक्छु भनेनौ र मेरो मन दुख्यो। तिमीहरू नोआभन्दा धेरै निकृष्ट छौ। तिमीहरू उनको एउटा रौँ बराबर छैनौ, तिमीहरूमा उनको आस्थाको दश भागको एक भाग पनि छैन। तिमीहरू कत्ति दयनीय छौ! एकातिर, तिमीहरूको मानवता र निष्ठा धेरै कम छ। अर्कोतिर, तिमीहरूमा मूलतः सत्यताको पछ्याइ नै छैन भन्न सकिन्छ। त्यसैले, तिमीहरू परमेश्वरमा साँचो आस्था राख्न असमर्थ छौ, न त तिमीहरूमा साँचो समर्पण नै छ। त्यसोभए तिमीहरू अहिले सम्म कसरी टिकिरहन सकेका छौ—मैले सङ्गति गर्दा तिमीहरू किन अझै पनि बसेर सुनिरहेका हुन्छौ? तिमीहरूमा दुईवटा पक्षहरू पाइन्छन्। एकातिर, तिमीहरू धेरैजसो अझै राम्रो बन्न चाहन्छौ; तिमीहरू नराम्रो मान्छे बन्न चाहँदैनौ। तिमीहरू राम्रो बाटो लिन चाहन्छौ। तिमीहरूसँग यो अलिकति सङ्कल्प छ, तिमीहरूसँग यो थोरै राम्रो आकाङ्क्षा छ। त्यो सँगसँगै, तिमीहरूमध्ये धेरैजसो मृत्युदेखि डराउँछौ। तिमीहरू मृत्युसँग कुन हदसम्म डराउँछौ? बाहिरी संसारमा समस्याको सानो सङ्केत देखा पर्नेबित्तिकै, तिमीहरूमध्ये आफ्नो कर्तव्य पूरा गर्न थप मिहिनेत लगाउनेहरू छौ; जब परिस्थिति शान्त हुन्छ, तिनीहरू आराममा रमाउँछन् र आफ्नो कर्तव्यमा धेरै कम मिहिनेत लगाउँछन्; तिनीहरू सधैँ आफ्नो देहलाई ध्यान दिइरहेका हुन्छन्। नोआको साँचो आस्थाको तुलनामा, तिमीहरूमा प्रकट भएको कुरामा कुनै साँचो आस्था छ? (छैन।) मलाई पनि त्यस्तै लाग्छ। थोरै आस्था भए तापनि, यो दयनीय रूपमा सानो छ र यसले परीक्षाको चुनौतीलाई सामना गर्न सक्दैन।
मैले कहिल्यै पनि कुनै कार्य बन्दोबस्त तयार गरेको छैन, तर मैले प्रायः यस प्रकारका प्रास्तावनाहरू राखिएको सुनेको छु: “अहिले, विभिन्न देशहरू गम्भीर अस्तव्यस्ततामा छन्, सांसारिक प्रवृत्तिहरू झन्-झन् दुष्ट हुँदै गइरहेका छन् र परमेश्वरले मानवजातिलाई दण्ड दिनुहुने छ; हामीले यसो-यसो गरेर आफ्नो कर्तव्यलाई स्वीकार्य स्तरमा पूरा गर्नुपर्छ र परमेश्वरप्रति आफ्नो बफादारी अर्पण गर्नुपर्छ।” “आजकाल, महामारीहरू झन्-झन् गम्भीर हुँदै जान्छन्, वातावरण झन्-झन् प्रतिकूल हुँदै जान्छ, प्रकोपहरू झन्-झन् गम्भीर हुँदै जान्छन्, मानिसहरूले रोग र मृत्युको खतरा सामना गर्छन्, र यदि हामी परमेश्वरमा विश्वास गर्छौँ र परमेश्वरसामु अझ बढी प्रार्थना गर्छौँ भने मात्र हामी प्रकोपबाट बच्ने छौँ, किनकि परमेश्वर मात्र हाम्रो आश्रय हुनुहुन्छ। आजकल, त्यस्ता परिस्थितिहरू र यस्तो वातावरणको सामना गर्दा, हामीले यसो-यसो गरेर असल कार्यहरू तयार गर्नुपर्छ र यस्ता-यस्ता काम गरेर आफूलाई सत्यताद्वारा सुसज्जित गर्नुपर्छ—यो अत्यावश्यक छ।” “यस वर्षको किराको प्रकोप अत्यन्तै गम्भीर थियो, मानवजातिले अनिकालको सामना गर्ने छ र चाँडै नै लुटपाट र सामाजिक अस्थिरताको सामना गर्ने छ, त्यसैले परमेश्वरमा विश्वास गर्नेहरू प्रार्थना गर्न र परमेश्वरको सुरक्षा माग्न बारम्बार परमेश्वरसामु आउनुपर्छ, साथै सामान्य मण्डली जीवन र सामान्य आत्मिक जीवन कायम राख्नुपर्छ।” आदि इत्यादि। त्यसपछि, प्रस्तावना बोलिसकेपछि, निश्चित बन्दोबस्तहरू सुरु हुन्छन्। हरेक पटक, यी प्रस्तावनाहरूले मानिसहरूको आस्थामा समयोचित र निर्णायक भूमिका खेलेका छन्। त्यसैले म सोच्छु, यदि यी प्रस्तावनाहरू र बयानहरू नदिने हो भने के कार्य बन्दोबस्तहरू पूरा हुने थिएनन्? यी प्रस्तावनाहरूबिना, के कार्य बन्दोबस्तहरू कार्य बन्दोबस्त हुने थिएनन्? के तिनीहरूलाई जारी गर्ने कुनै कारण हुने थिएन? यी प्रश्नहरूको जवाफ पक्कै पनि “त्यस्तो होइन” भन्ने हुन्छ। अहिले म के जान्न चाहन्छु भने, मानिसहरूले के उद्देश्य बोकेर परमेश्वरमा विश्वास गर्छन्? परमेश्वरप्रति तिनीहरूको आस्थाको महत्त्व के हो? के तिनीहरूले परमेश्वरले पूरा गर्न चाहनुभएका तथ्यहरू बुझ्छन् कि बुझ्दैनन्? मानिसहरूले परमेश्वरका वचनहरूलाई कुन रूपमा लिनुपर्छ? सृष्टिकर्ताले माग्नुहुने यावत कुराहरूलाई तिनीहरूले कुन रूपमा लिनुपर्छ? के यी प्रश्नहरू विचार गर्न योग्य छन्? यदि मानिसहरूलाई नोआको मानकमा नापिएको भए, मेरो विचारमा तिनीहरूमध्ये कोही पनि “सृजित प्राणी” उपाधिको लायक हुने थिएनन्। तिनीहरू परमेश्वरसामु आउन योग्य हुने थिएनन्। यदि आजका मानिसहरूको आस्था र समर्पणलाई नोआप्रतिको परमेश्वरको मनोवृत्ति र परमेश्वरले नोआलाई छान्नुभएको मापदण्डहरूद्वारा मापन गरिएको भए, के परमेश्वर तिनीहरूसँग सन्तुष्ट हुन सक्नुहुन्थ्यो? (सक्नुहुन्न थियो।) तिनीहरू धेरै टाढा छन्! मानिसहरू सधैँ भन्छन् कि तिनीहरूले परमेश्वरमा विश्वास गर्छन् र उहाँको आराधना गर्छन्, तर यो आस्था र आराधना तिनीहरूमा कसरी प्रकट हुन्छ? वास्तवमा, यो परमेश्वरमा तिनीहरूको निर्भरता, उहाँप्रति तिनीहरूका मागहरू, साथै उहाँको विरुद्धमा तिनीहरूको साँचो विद्रोह र देहधारी परमेश्वरप्रति तिनीहरूको तिरस्कारको रूपमा प्रकट हुन्छ। के यी सबैलाई सत्यताप्रति मानवजातिको अवहेलना र सिद्धान्तको खुला उल्लङ्घनको रूपमा लिन सकिन्छ? वास्तवमा, भएकै त्यही हो—यो नै यसको सार हो। हरेक पटक कार्य बन्दोबस्तहरूमा यी शब्दहरू समावेश हुँदा, मानिसहरूको “आस्था” बढ्छ; हरेक पटक कार्य बन्दोबस्तहरू जारी हुँदा, जब मानिसहरूले कार्य बन्दोबस्तका आवश्यकताहरू र महत्त्व महसुस गर्छन् र ती पूरा गर्न सक्षम हुन्छन्, तब तिनीहरूले आफ्नो समर्पणको स्तरमा वृद्धि भएको छ, अब आफूसँग समर्पण छ भन्ने विश्वास गर्छन्—तर वास्तवमा, के तिनीहरूमा साँच्चै आस्था र साँचो समर्पण हुन्छ? नोआको मानकद्वारा नाप्दा यो कथित आस्था र समर्पण ठ्याक्कै के हो? वास्तवमा, एक प्रकारको लेनदेन हो। यसलाई कसरी सम्भवतः आस्था र साँचो समर्पण मान्न सकिन्छ? यो मानिसहरूको तथाकथित साँचो आस्था के हो? “आखिरी दिनहरू आइसकेका छन्—आशा छ कि परमेश्वरले चाँडै कार्य गर्नुहुने छ! यो कति ठूलो आशिष् हो कि परमेश्वरले संसारलाई नष्ट गर्नुहुँदा म यहाँ हुने छु, कि मैले बाँकी रहने भाग्य पाउने छु र विनाशको विध्वंस भोग्ने छैन। परमेश्वर धेरै असल हुनुहुन्छ, उहाँले मानिसहरूलाई धेरै प्रेम गर्नुहुन्छ, परमेश्वर अत्यन्तै महान् हुनुहुन्छ! उहाँले मानिसलाई धेरै माथि उठाउनुभएको छ, परमेश्वर साँच्चै परमेश्वर हुनुहुन्छ, परमेश्वरले मात्र त्यस्ता कामहरू गर्न सक्नुहुन्छ।” अनि तिनीहरूको तथाकथित साँचो समर्पण के हो? “परमेश्वरले भन्नुहुने सबै कुरा सही हुन्छ। उहाँले जे गराउनुहुन्छ त्यो गर; होइन भने, तिमी विपत्तिमा डुब्ने छौ र तिम्रो निम्ति सबै समाप्त हुने छ, तिमीलाई कसैले पनि बचाउन सक्ने छैन।” तिनीहरूको आस्था साँचो आस्था होइन र तिनीहरूको समर्पण पनि साँचो समर्पण होइन—यी झूटबाहेक अरू केही होइनन्।
आज, संसारका लगभग सबैलाई नोआले जहाज निर्माण गरेको बारेमा थाहा छ, हैन र? तर भित्री कथाबारे कति जनालाई थाहा छ? कति जना मानिसहरूले नोआको साँचो आस्था र समर्पणलाई बुझ्छन्? अनि नोआको बारेमा परमेश्वरको मूल्याङ्कन के थियो भनेर कसले जान्दछ—र चासो राख्छ? कसैले पनि यसतर्फ ध्यान दिँदैन। यसले के देखाउँछ? यसले देखाउँछ कि मानिसहरू सत्यतालाई पछ्याउँदैनन् र सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्। पछिल्लो पटक, मैले यी दुई व्यक्तिहरूका कथाहरूमा सङ्गति गरेपछि, के कसैले फर्केर बाइबलका यी कथाहरूका विवरणहरू पढ्यो? के तिमीहरू नोआ, अब्राहाम र अय्यूबका कथाहरू सुनेर भावुक भयौ? (हो, भयौँ।) के तिमीहरूलाई यी तीन मानिसहरूको डाह लाग्छ? (लाग्छ।) के तिमीहरू उनीहरू जस्तै हुन चाहन्छौ? (हो, चाहन्छौँ।) त्यसोभए, के तिमीहरूले उनीहरूका कथा, र उनीहरूको व्यवहारको सार, परमेश्वरप्रतिको उनीहरूको मनोवृत्ति, साथै उनीहरूको आस्था र समर्पणको बारेमा विस्तृत सङ्गतिहरू गर्यौ? यस्ता प्रकारका मानिसहरू जस्तै हुन चाहने मानिसहरूले कहाँबाट सुरु गर्नुपर्छ? मैले धेरै पहिले अय्यूबको कथा पहिलो पटक पढेको थिएँ र मलाई नोआ र अब्राहामका कथाहरूको बारेमा पनि केही समझ थियो। प्रत्येक पटक म ती तीन मानिसहरूले प्रदर्शन गरेको कुरा, परमेश्वरलेउनीहरूलाई भन्नुभएका र गर्नुभएका कुरा र उनीहरूका विभिन्न मनोवृत्तिहरूबारे पढ्दा र मनमा सोच्दा, मेरा आँसु झर्न खोज्छन्—म भावुक हुन्छु। तिनलाई पढ्दा तिमीहरूलाई चाहिँ के कुराले भावुक बनायो? (परमेश्वरको सङ्गति सुनेपछि, मैले बल्ल थाहा पाएँ कि जब अय्यूब आफ्नो परीक्षाहरूबाट गुज्रिरहेका थिए, तब उनलाई परमेश्वरले उनको निम्ति दुःख भोगिरहनु भएको छ भन्ने लाग्यो र उनले परमेश्वरले दुःख भोगेको नचाहेको हुनाले उनले आफू जन्मेको दिनलाई नै सरापे। मैले हरेक चोटि यो पढ्दा, मलाई अय्यूब साँच्चै परमेश्वरका अभिप्रायहरूप्रति विचारशील थिए भन्ने लाग्थ्यो र म धेरै भावुक हुन्थेँ।) अरू के हुनसक्छ? (नोआले जहाज निर्माण गर्दा यस्तो कठिनाइहरू भोगे, तर उनी अझै पनि परमेश्वरका अभिप्रायहरूप्रति विचारशील हुन सक्षम थिए। अब्राहामलाई १०० वर्षको उमेरमा एउटा बच्चा दिइयो र उनी हर्षले भरिए, तर जब परमेश्वरले उनलाई आफ्नो बच्चा अर्पण गर्न भन्नुभयो, उनी आज्ञापालन र समर्पण गर्न सक्षम भए, तर हामी त्यसो गर्न सक्दैनौँ। हामीसँग नोआ वा अब्राहामको मानवता, विवेक वा समझ छैन। म उनीहरूका कथाहरू पढ्दा प्रशंसाले भरिन्छु र उनीहरू हाम्रा लागि अनुकरणीय आदर्शहरू हुन्।) (तपाईंले पछिल्लो पटक सङ्गति गर्दा भन्नुभयो कि नोआ जहाज निर्माणमा १२० वर्षसम्म लागिपर्न सके र उनले परमेश्वरले सिद्ध रूपमा गर्नू भनेर दिनुभएका आदेशहरू पूरा गरे अनि परमेश्वरका अपेक्षाहरूलाई निराश पारेनन्। यसलाई आफ्नो कर्तव्यप्रतिको मेरो मनोवृत्तिसँग तुलना गर्दा, म देख्छु कि मसँग एकाग्रता बिलकुलै छैन। यसले मलाई ग्लानि महसुस गराउँछ र भावुक पनि बनाउँछ।) तिमीहरू सबै भावुक भएका छौ, हैन र? (हो।) हामी अहिलेका लागि यस विषयमा सङ्गति गर्ने छैनौँ; हामीले नोआ र अब्राहामका कथाहरू सकाएपछि यो सबैबारे छलफल गर्ने छौँ। म तिमीहरूलाई बताउने छु कि कुन भागहरूले मलाई भावविह्वल बनायो र तिमीहरूलाई भावविह्वल बनाउने कुराहरू पनि तिनै थिए कि भनेर हेर्ने छौँ।
हामीले भर्खरै परमेश्वरमाथि नोआको साँचो आस्थाबारे सङ्गति गर्यौँ। जहाज निर्माण गर्ने उनका स्थापित तथ्यहरू नै उनको साँचो आस्था देखाउनका लागि पर्याप्त छन्। नोआको साँचो आस्था उनले गरेका हरेक काममा, उनको हरेक विचारमा र परमेश्वरले उनलाई दिनुभएको आदेशप्रति उनले देखाएको मनोवृत्तिमा प्रदर्शित हुन्छ। यो परमेश्वरमा नोआको साँचो आस्था देखाउनको निम्ति पर्याप्त छ—जुन शङ्कारहित र पूर्ण रूपमा विशुद्ध छ। परमेश्वरले जे गर्न भन्नुभएको थियो त्यो उनका आफ्नै धारणाहरूसँग मिल्दो भए पनि नभए पनि, त्यो उनले जीवनमा गर्ने योजना बनाएको कुरा भए पनि नभए पनि, साथै यो उनको जीवनका कुराहरूसँग जति बाझिए पनि, झन् यो कार्य त जतिसुकै कठिन भए पनि, उनको एउटै मनोवृत्ति थियो: स्वीकार, समर्पण र कार्यान्वयन। अन्ततः, तथ्यहरूले देखाउँछन् कि नोआले बनाएको जहाजले प्रत्येक प्रजातिका जीवित प्राणीहरू, साथै नोआको आफ्नै परिवारलाई बचायो। जब परमेश्वरले जलप्रलय ल्याउनुभयो र मानव जातिलाई नष्ट गर्न थाल्नुभयो, उक्त जहाजले नोआको परिवार र पानीमा तैरिरहेका विभिन्न प्रकारका जीवित प्राणीहरूलाई बोक्यो। परमेश्वरले चालिस दिनसम्म ठूलो जलप्रलय पठाएर पृथ्वीलाई नष्ट गर्नुभयो र नोआको आठ जनाको परिवार र जहाजमा प्रवेश गरेका विभिन्न जीवित प्राणीहरू मात्र बाँचे, अन्य सबै मानिसहरू र जीवित प्राणीहरू नष्ट भए। यी तथ्यहरूबाट के देखिन्छ? नोआमा परमेश्वरप्रति साँचो आस्था र साँचो समर्पण भएको कारण—परमेश्वरसँगको नोआको साँचो सहकार्यमार्फत—परमेश्वरले गर्न चाहनुभएको सबै कुरा साकार भयो; यो सबै वास्तविकतामा परिणत भयो। परमेश्वरले नोआको यही कुरालाई महत्त्व दिनुभयो र नोआले परमेश्वरलाई निराश पारेनन्; उनले परमेश्वरले दिनुभएको महत्त्वपूर्ण आज्ञालाई पूरा गरे र परमेश्वरले सुम्पनुभएको सबै कुरा सम्पन्न गरे। नोआ परमेश्वरको आज्ञा पूरा गर्न सक्षम हुनु एकातिर परमेश्वरको आज्ञाको कारणले थियो भने त्यो सँगसँगै यो धेरै हदसम्म परमेश्वरप्रति नोआको साँचो आस्था र पूर्ण समर्पणको कारणले पनि थियो। नोआसँग यी दुई सबैभन्दा प्रिय वस्तुहरू भएको कारण नै उनलाई परमेश्वरले प्रेम गर्नुभयो; र नोआसँग साँचो आस्था र पूर्ण समर्पण भएकोले नै परमेश्वरले उनलाई बाँकी रहनुपर्ने व्यक्ति र बाँच्न योग्य व्यक्तिको रूपमा देख्नुभयो। नोआ बाहेक सबै जना परमेश्वरको घृणाका पात्र थिए, यसको तात्पर्य तिनीहरू सबै परमेश्वरको सृष्टिमाझ जिउन अयोग्य छन् भन्ने थियो। नोआले जहाज बनाएकोबाट हामीले के देख्नुपर्छ? एउटा कुरा त, हामीले नोआको आदर्श चरित्र देखेका छौँ; नोआमा विवेक र समझ थियो। अर्को कुरा, हामीले परमेश्वरप्रति नोआको साँचो आस्था र साँचो समर्पण देखेका छौँ। यी सबै अनुकरणीय छन्। परमेश्वरको आज्ञाप्रति नोआको आस्था र समर्पणको कारणले गर्दा नै नोआ परमेश्वरको नजरमा प्रिय बने, परमेश्वरले प्रेम गर्ने सृजित प्राणी बने—जुन एक भाग्यशाली र आशिषित् कुरा थियो। त्यस्ता मानिसहरू मात्र परमेश्वरको मुहारको प्रकाशमा जिउन योग्य हुन्छन्; परमेश्वरको नजरमा, तिनीहरू मात्र जिउन योग्य छन्। जिउन योग्य मानिसहरू: यसको अर्थ के हो? यसको अर्थ ती मानिसहरू हुन् जो परमेश्वरले मानवजातिलाई प्रदान गर्नुभएको सबै कुराको आनन्द लिन योग्य छन्, परमेश्वरको मुहारको प्रकाशमा जिउन योग्य छन्, परमेश्वरका आशिष् र प्रतिज्ञाहरू प्राप्त गर्न योग्य छन्; यस्ता मानिसहरू परमेश्वरका प्रिय हुन्छन्, तिनीहरू साँचो सृजित मानिसहरू हुन् र ती परमेश्वरले प्राप्त गर्न चाहनुहुने जनहरू हुन्।
आ. परमेश्वरका वचनहरूप्रति अब्राहामको मनोवृत्ति
अब अब्राहाममा भएका ती कुराहरूलाई हेरौँ जुन पछिल्ला पुस्ताहरूका निम्ति अनुकरणीय छन्। परमेश्वरको सामु अब्राहामको मुख्य कार्य त्यही थियो जुनसँग पछिल्ला पुस्ताहरू राम्ररी परिचित छन् र जुन तिनीहरूलाई राम्रोसँग थाहा छ: इसहाकको बलिदान। अब्राहामले यस मामलामा प्रकट गरेका हरेक पक्ष—चाहे त्यो उनको चरित्र होस्, उनको आस्था होस् वा उनको समर्पण होस्—पछिल्ला पुस्ताहरूका लागि अनुकरणीय छ। त्यसोभए, वास्तवमा, उनले प्रदर्शन गरेका अनुकरणीय विशेष प्रकटीकरणहरू ठ्याक्कै के-के थिए? स्वाभाविक रूपमा, उनले प्रकट गरेका यी विभिन्न कुराहरू खोक्रा थिएनन्, र ती अमूर्त त झनै थिएनन्, अनि ती निश्चित रूपमा कुनै पनि व्यक्तिले बनाएका कपोकल्पित कुरा थिएनन्, यी सबै कुराहरूको प्रमाण छ। परमेश्वरले अब्राहामलाई एउटा छोरा दिनुभयो; परमेश्वरले व्यक्तिगत रूपमा अब्राहामलाई यसको बारेमा बताउनुभयो र अब्राहाम १०० वर्षको हुँदा, उनीबाट इसहाक नामको छोराको जन्म भयो। स्पष्ट रूपमा, यस बालकको उत्पत्ति सामान्य थिएन, ऊ अरू कोही जस्तो थिएन—ऊ परमेश्वरद्वारा व्यक्तिगत रूपमा प्रदान गरिएको थियो। जब एउटा बालक परमेश्वरद्वारा व्यक्तिगत रूपमा प्रदान गरिएको हुन्छ, तब मानिसहरू परमेश्वरले पक्कै पनि उसमा केही महान् कार्य गर्नुहुनेछ, परमेश्वरले उसलाई केही महान् कुरा सुम्पनुहुनेछ, परमेश्वरले ऊमाथि असाधारण कार्यहरू गर्नुहुनेछ, उहाँले त्यस बालकलाई असाधारण बनाउनुहुनेछ, आदि कुराहरू सोच्छन्—अब्राहाम र अन्य मानिसहरूले उच्च आशा राखेका कुराहरू यिनै थिए। तैपनि, परिस्थितिहरूले फरक मोड लिए, र अब्राहामलाई कसैले पनि अपेक्षा गर्न नसक्ने कुरा भयो। परमेश्वरले अब्राहामलाई इसहाक प्रदान गर्नुभयो, अनि जब बलिदानको समय आयो, परमेश्वरले अब्राहामलाई भन्नुभयो, “आज तैँले इसहाक बाहेक केही पनि चढाउनु पर्दैन—त्यो नै पर्याप्त हुन्छ।” यसको अर्थ के थियो? परमेश्वरले अब्राहामलाई एउटा छोरा दिनुभएको थियो अनि जब यो छोरा भर्खरै हुर्कन लागेको थियो, परमेश्वरले उसलाई फिर्ता लिन चाहनुभयो। यसबारे अरू मानिसहरूको दृष्टिकोण यस्तो हुनेथियो: “इसहाक दिने तपाईं नै हुनुहुन्थ्यो। मलाई यो कुरामा विश्वास लागेन, तैपनि तपाईंले यो बालक दिन अड्डी कस्नुभयो। अहिले तपाईं उसको बलिदान चढाउन माग गर्दै हुनुहुन्छ। यो त तपाईंले उसलाई फिर्ता लिनु होइन र? तपाईंले मानिसहरूलाई दिनुभएको कुरा कसरी फिर्ता लिन सक्नुहुन्छ? यदि तपाईं उसलाई लैजान चाहनुहुन्छ भने, लैजानुहोस्। तपाईंले उसलाई चुपचाप फिर्ता लिन सक्नुहुन्छ। मलाई यस्तो पीडा र कष्ट दिन आवश्यक छैन। तपाईं कसरी मैले उसलाई आफ्नै हातले बलि दिएको माग गर्न सक्नुहुन्छ?” के यो धेरै कठिन माग थियो? यो अत्यन्तै कठिन थियो। यो माग सुनेपछि, केही मानिसहरूले भन्नेथिए, “के यो साँच्चै परमेश्वर हुनुहुन्छ? यसरी व्यवहार गर्नु एकदमै अनुचित हो! तपाईंले नै इसहाक दिनुभयो अनि अहिले तपाईं उसलाई फिर्ता माग्दै हुनुहुन्छ। के तपाईं साँच्चिकै सधैँ न्यायोचित हुनुहुन्छ? के तपाईंले गर्ने सबै कुरा सधैँ सही हुन्छ? हुन्छ नै भन्ने छैन। मानिसहरूको जीवन तपाईंको हातमा छ। तपाईंले मलाई एउटा छोरो दिन्छु भन्नुभयो र दिनुभयो पनि; तपाईंसँग त्यो अख्तियार छ, जसरी तपाईंसँग उसलाई फिर्ता लिने अख्तियार छ—तर के तपाईंले फिर्ता लिने तरिका र यो कुरा अलिकति अन्यायपूर्ण भएन र? तपाईंले नै यो बालक दिनुभयो, त्यसैले तपाईंले उसलाई हुर्कन, ठूला कामहरू गर्न र तपाईंका आशिष्हरू हेर्न दिनुपर्छ। तपाईंले कसरी ऊ मरोस् भन्ने माग गर्न सक्नुहुन्छ? उसको मृत्युको आदेश दिनुको सट्टा, तपाईंले मलाई ऊ नदिनुभए राम्रो हुन्थ्यो! त्यसोभए तपाईंले मलाई ऊ किन दिनुभयो? तपाईंले मलाई इसहाक दिनुभयो अनि अहिले तपाईं उसको बलि चढाउन भनिरहनु भएको छ—यो त तपाईंले मलाई थप पीडा दिएको भएन र? के तपाईंले मलाई कठिनाइमा पारिरहनुभएको छैन? त्यसोभए, पहिले तपाईंले मलाई यो छोरो दिनुको के अर्थ भयो?” तिनीहरूले जति नै प्रयास गरे पनि, यस माग पछाडिको तर्क बुझ्न सक्दैनन्; तिनीहरूले यो कुरा जसरी भने पनि, यो तिनीहरूलाई तर्कसङ्गत लाग्दैन र कुनै पनि व्यक्ति यो कुरा बुझ्न सक्षम हुँदैन। तर के परमेश्वरले अब्राहामलाई यसको पछाडिको कारण बताउनुभयो? के उहाँले उसलाई यसका कारणहरू र आफ्नो अभिप्राय बताउनुभयो? के उहाँले बताउनुभयो त? अहँ। परमेश्वरले यति मात्र भन्नुभयो, “भोलिको बलिदानमा, इसहाक चढा,” त्यति मात्रै भन्नुभयो। के परमेश्वरले कुनै स्पष्टीकरण दिनुभयो? (अहँ।) त्यसोभए यी वचनहरूको प्रकृति कस्तो थियो? परमेश्वरको पहिचानको हिसाबले हेर्दा, यी वचनहरू एउटा आदेश थिए जसलाई पूरा गर्नुपर्छ, पालना गर्नुपर्छ र जसमा समर्पित हुनुपर्छ। तर परमेश्वरले भन्नुभएका कुराहरू र यस मामलाको हिसाबले हेर्दा, के मानिसहरूलाई तिनीहरूले गर्नुपर्ने काम गर्न कठिन हुँदैन? मानिसहरू गरिनुपर्ने कामहरू तर्कसङ्गत अनि मानवीय भावनाहरू र विश्वव्यापी मानवीय संवेदनासँग मिल्दो हुनुपर्छ भन्ने सोच्छन्—तर के यीमध्ये कुनै कुरा परमेश्वरले भन्नुभएको कुरामा लागु भयो? (भएन।) त्यसोभए के परमेश्वरले स्पष्टीकरण दिनुपर्थ्यो, अनि आफ्ना विचारहरू र अर्थ व्यक्त गर्नुपर्थ्यो वा मानिसहरूले बुझ्न सकून् भनेर उहाँका वचनहरूबाट उहाँले भन्न खोज्नुभएको कुरा थोरै भए पनि प्रकाश पारिदिनुपर्थ्यो? के परमेश्वरले यस्तो केही गर्नुभयो? उहाँले गर्नुभएन, न त गर्ने योजना नै बनाउनुभयो। यी वचनहरूमा सृष्टिकर्ताले माग गर्नुभएका कुराहरू, उहाँले दिनुभएका आदेशहरू र उहाँले मानिसबाट अपेक्षा गर्नुभएका कुराहरू थिए। यिनै सरल वचनहरू, यी अनुचित वचनहरू—मानिसहरूका भावनाहरूलाई ख्याल नराखिएको यो आदेश र माग—लाई अरू मानिसहरूले, अर्थात् यो दृश्य हेर्ने जो कोहीले पनि केवल गाह्रो, कठिन र अनुचित ठान्ने थिए। तर अब्राहाम, जो वास्तवमा यसमा सामेल थिए, यो सुनेपछि उनको पहिलो अनुभूति हृदयविदारक पीडा थियो! उनले परमेश्वरद्वारा प्रदान गरिएको यस बालक ग्रहण गरेका थिए, त्यतिका वर्ष उसलाई हुर्काउनमा बिताएका थिए, र त्यतिका वर्ष पारिवारिक आनन्द पाएका थिए, तर परमेश्वरको एउटा वाक्य, एउटा आदेशसँगै, यो खुशी, यो जीवित प्राणी, गुम्ने र लगिनेवाला थियो। अब्राहामले सामना गर्नुपरेको कुरा यो पारिवारिक आनन्द गुमाउनु मात्र थिएन, बरु त्यस बालकलाई गुमाएपछिको अनन्त एक्लोपन र लालसाको पीडा थियो। एक वृद्ध मानिसको लागि, यो असह्य थियो। त्यस्ता वचनहरू सुनेपछि, कुनै पनि साधारण व्यक्ति आँसुको भेल बगाएर रुने थियो, होइन र? त्यति मात्र होइन, तिनीहरूले हृदयमा परमेश्वरलाई सराप्ने थिए, परमेश्वरको बारेमा गुनासो गर्ने थिए, परमेश्वरलाई गलत बुझ्ने थिए र परमेश्वरसँग तर्क गर्ने प्रयास गर्ने थिए; तिनीहरूले आफूले गर्न सक्ने सबै कुराहरू, आफ्ना सबै क्षमताहरू र आफ्नो सबै विद्रोहीपन, अशिष्टता र अनुचितता प्रदर्शन गर्नेथिए। तैपनि, आफूलाई पनि उत्तिकै पीडा भए तापनि अब्राहामले यसो गरेनन्। कुनै पनि सामान्य व्यक्तिले जस्तै, उनले तुरुन्तै त्यो पीडा महसुस गरे, तुरुन्तै आफ्नो हृदय छेडिएको अनुभव गरे र तुरुन्तै छोरा गुमाउनुको एक्लोपन महसुस गरे। परमेश्वरका यी वचनहरू मानवीय भावनाको ख्याल नगर्ने, मानिसहरूका लागि अकल्पनीय र मानिसहरूका धारणाहरूसँग अमिल्दो थिए, ती मानवीय भावनाहरूको दृष्टिकोणबाट बोलिएका थिएनन्; ती वचनहरूले मानवीय कठिनाइहरू वा मानवीय भावनात्मक आवश्यकताहरूलाई ध्यान दिँदैनथे र निश्चित रूपमा मानवीय पीडालाई ध्यान दिँदैनथे। परमेश्वरले कठोर तवरले अब्राहामलाई यी वचनहरू प्रहार गर्नुभयो—के परमेश्वरले यी वचनहरू उनको निम्ति कति पीडादायी छन् भनेर वास्ता गर्नुभयो? बाहिरी रूपमा, परमेश्वर असंवेदनशील र बेपरवाह देखिनुहुन्थ्यो; उनले सुनेको सबै कुरा परमेश्वरको आदेश र उहाँको माग थियो। जोकोहीलाई, यो माग मानव संस्कृतिसँग, परम्पराहरूसँग, संवेदनाहरूसँग, यहाँसम्म कि मानवीय नैतिकता र आचारसँग अमिल्दो लाग्ने थियो; यसले नैतिकता र आचारको सीमा नाघेको थियो र यो मानिसहरूको आचरण र मानिसहरूसँग व्यवहार गर्ने नियमहरूका साथै मानिसका भावनाहरूको विरुद्धमा गएको थियो। यस्तो विश्वास गर्नेहरू पनि छन्, “यी वचनहरू अनुचित र अनैतिक मात्र छैनन्—अझ बढी, तिनले कुनै मान्य कारणबिना समस्या मात्रै निम्त्याइरहेका छन्! यी वचनहरू कसरी परमेश्वरद्वारा बोलिएका हुनसक्थे? परमेश्वरका वचनहरू तर्कसङ्गत र न्यायोचित हुनुपर्छ र तिनले मानिसलाई पूर्णतया विश्वस्त पार्नुपर्छ; तिनले कुनै असल कारणबिना समस्या निम्त्याउनु हुँदैन, साथै ती अनाचारी, अनैतिक वा तर्कहीन हुनु हुँदैन। के यी वचनहरू साँच्चिकै सृष्टिकर्ताद्वारा बोलिएका थिए? के सृष्टिकर्ताले त्यस्ता कुराहरू भन्न सक्नुहुन्थ्यो? के सृष्टिकर्ताले आफूले सृष्टि गरेका मानिसहरूलाई यसरी व्यवहार गर्न सक्नुहुन्थ्यो? कुनै पनि हालतमा त्यस्तो हुन सक्दैन।” तैपनि, यी वचनहरू वास्तवमा परमेश्वरको मुखबाट नै निस्केका हुन्। परमेश्वरको मनोवृत्ति र उहाँका वचनहरूको भावको आधारमा हेर्दा, परमेश्वरले आफूले चाहेको कुरा निर्णय गर्नुभएको थियो र छलफलको लागि कुनै ठाउँ थिएन, साथै मानिसहरूलाई छनौट गर्ने अधिकार थिएन; उहाँले मानिसलाई छनौट गर्ने अधिकार दिइरहनुभएको थिएन। परमेश्वरका वचनहरू एउटा माग थिए, ती उहाँले मानिसलाई जारी गर्नुभएको आदेश थिए। अब्राहामको लागि, परमेश्वरका यी वचनहरू अडिग र निर्विवाद थिए; ती परमेश्वरले उनीसँग गरिरहनुभएको अडिग माग थिए जसमा छलफलका लागि ठाउँ नै थिएन। अनि अब्राहामले के निर्णय गरे? हामीले सङ्गति गर्न लागेको मुख्य बुँदा यही नै हो।
परमेश्वरका वचनहरू सुनेपछि, अब्राहामले दुःखित र ठूलो भारीले आफूलाई थिचिरहेको महसुस गर्दै आफ्नो तयारी सुरु गरे। उनले मनमनै चुपचाप प्रार्थना गरे: “हे मेरा परमप्रभु, हे मेरा परमेश्वर। तपाईंले गर्ने सबै कुरा प्रशंसा योग्य छ; यो छोरा तपाईंले दिनुभएको हो, र यदि तपाईंले उसलाई फिर्ता लिन चाहनुहुन्छ भने, मैले उसलाई फिर्ता गर्नुपर्छ।” अब्राहामलाई पीडा भएको हुन सक्छ, तर के यी वचनहरूबाट उनको मनोवृत्ति स्पष्ट थिएन? मानिसहरूले यहाँ के देख्न सक्छन्? तिनीहरूले सामान्य मानवताको कमजोरी, सामान्य मानवताका भावनात्मक चाहनाहरू, साथै अब्राहामको तर्कसङ्गत पक्ष र परमेश्वरप्रति उनको साँचो आस्था समर्पणका पक्षहरू देख्न सक्छन्। उनको तर्कसङ्गत पक्ष के थियो? अब्राहामलाई राम्ररी थाहा थियो कि इसहाक परमेश्वरले दिनुभएको हो, परमेश्वरसँग उसलाई आफ्नो इच्छाबमोजिम व्यवहार गर्ने शक्ति छ, मानिसहरूले यस विषयमा कुनै मूल्याङ्कन गर्नु हुँदैन, सृष्टिकर्ताले भन्नुभएका सबै कुराले सृष्टिकर्ताको प्रतिनिधित्व गर्दछ र चाहे त्यो तर्कसङ्गत देखियोस् कि नदेखियोस्, चाहे त्यो मानव ज्ञान, संस्कृति र नैतिकतासँग मेल खाओस् कि नखाओस्, परमेश्वरको पहिचान र उहाँका वचनहरूको प्रकृति परिवर्तन हुँदैनन्। उनलाई स्पष्ट रूपमा थाहा थियो कि यदि मानिसहरूले परमेश्वरका वचनहरू बुझ्न, बोध गर्न वा पत्ता लगाउन सक्दैनन् भने, त्यो तिनीहरूको काम हो, परमेश्वरले यी वचनहरू व्याख्या गर्नुपर्ने वा स्पष्ट पार्नुपर्ने कुनै कारण छैन, साथै मानिसहरूले परमेश्वरका वचनहरू र अभिप्रायहरू बुझेपछि समर्पण गर्ने मात्र होइन, बरु परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्वरका वचनहरूप्रति उस्तै मनोवृत्ति राख्नुपर्छ: सुन्ने, त्यसपछि स्वीकार गर्ने, अनि समर्पण गर्ने। परमेश्वरले अब्राहामलाई गराउनुभएका सबै कुराहरूप्रति अब्राहामको स्पष्ट रूपले खुट्ट्याउन सकिने मनोवृत्ति यही थियो, र यसमा सामान्य मानवताको चेतनाका साथै साँचो आस्था र साँचो समर्पण पनि समावेश छ। सर्वप्रथम, अब्राहामले के गर्नु आवश्यक थियो? परमेश्वरका वचनहरूका सही र गलत कुराहरूको विश्लेषण नगर्नु, ती ठट्टामा भनिएका हुन् कि भनेर नजाँच्नु वा उहाँको जाँच नगर्नु वा अन्य यस्तै कुराहरू। अब्राहामले त्यस्ता कुराहरूको जाँच गरेनन्। परमेश्वरका वचनहरूप्रति उनको तात्कालिक मनोवृत्ति कस्तो थियो? उनको मनोवृत्ति परमेश्वरका वचनहरू तर्कद्वारा व्याख्या गर्न सकिँदैन—चाहे तिनीहरू तर्कसङ्गत हुन् वा नहुन्, परमेश्वरका वचनहरू परमेश्वरका वचन नै हुन् र परमेश्वरका वचनहरूप्रति मानिसहरूको मनोवृत्तिमा छनौट र जाँचको कुनै ठाउँ हुनु हुँदैन भन्ने थियो; मानिसहरूमा हुनुपर्ने समझ र तिनीहरूले गर्नुपर्ने कुरा भनेको सुन्नु, स्वीकार गर्नु र समर्पण गर्नु हो। सृष्टिकर्ताको पहिचान र सार के हो र सृजित मानिसले कुन स्थान ओगट्नुपर्छ भनेर अब्राहामलाई हृदयमा राम्ररी थाहा थियो। ठ्याक्कै भन्नुपर्दा अब्राहामसँग यस्तो चेतना र यस प्रकारको मनोवृत्ति भएकै कारण उनले असाध्यै पीडा भोग्नुपरे पनि, उनले इसहाकलाई सङ्कोच वा कुनै हिचकिचाहट बिना परमेश्वरलाई अर्पण गरे, र परमेश्वरको चाहनाबमोजिम नै ऊ उहाँलाई फिर्ता गरे। उनलाई परमेश्वरले माग्नुभएको हुनाले उनले इसहाकलाई उहाँकहाँ फर्काउनुपर्छ र उहाँसँग तर्क गर्ने प्रयास गर्नु हुँदैन, वा आफ्नै इच्छा वा मागहरू राख्नु हुँदैन भन्ने महसुस भयो। सृजित प्राणीले सृष्टिकर्ताप्रति राख्नुपर्ने मनोवृत्ति ठ्याक्कै यही नै हो। यसो गर्नको लागि सबैभन्दा कठिन कुरा नै अब्राहामको सबैभन्दा बहुमूल्य कुरा थियो। परमेश्वरले बोल्नुभएका यी वचनहरू अनुचित र मानवीय भावनाहरूको ख्याल नराख्ने किसिमका थिए—मानिसहरूले तिनलाई बुझ्न वा स्विकार्न सक्दैनन् अनि जुनसुकै युग भए पनि वा यो जसलाई यस्तो भए पनि, यी वचनहरूले अर्थ राख्दैनन्, ती अप्राप्य छन्—तर परमेश्वरले अझै पनि यसो गर्न लगाउनुभयो। त्यसोभए के गर्नुपर्छ? धेरैजसो मानिसहरूले यी वचनहरू जाँच्थे अनि यसो गरेको धेरै दिन पछि, तिनीहरूले मनमनै सोच्थे: “परमेश्वरका वचनहरू अनुचित छन्—परमेश्वरले कसरी यसो गर्न सक्नुहुन्छ? के यो एक प्रकारको यातना होइन र? के परमेश्वरले मानिसलाई प्रेम गर्नुहुन्न? उहाँले कसरी मानिसहरूलाई यसरी सताउन सक्नुहुन्छ? म मानिसहरूलाई यसरी सताउने परमेश्वरमाथि विश्वास गर्दिनँ र मैले यी वचनहरूमा समर्पित नहुने निर्णय गर्न पाउँछु।” तर अब्राहामले त्यसो गरेनन्; उनले समर्पित हुने निर्णय गरे। सबैलाई परमेश्वरले बोल्नुभएको र माग गर्नुभएको कुरा गलत थियो, परमेश्वरले मानिसहरूबाट यस्ता मागहरू गर्नु हुँदैन भन्ने लागे पनि, अब्राहाम समर्पित हुन सक्षम भए—जुन उनको सबैभन्दा बहुमूल्य कुरा थियो र अरू मानिसहरूमा ठीक यही कुराको अभाव थियो। यो नै अब्राहामको साँचो समर्पण हो। यसबाहेक, परमेश्वरले उनीबाट अपेक्षा गर्नुभएको कुरा सुनेपछि, उनलाई पहिलो कुरा पक्का थियो कि परमेश्वरले यो ठट्टामा भन्नुभएको थिएन, र त्यो कुनै खेल थिएन। अनि परमेश्वरका वचनहरू यी कुराहरू नभएकाले, ती के थिए त? यो परमेश्वरले गर्नैपर्छ भनेर तय गर्नुभएको कुरालाई कुनै पनि मानिसले परिवर्तन गर्न सक्दैन, परमेश्वरका वचनहरूमा कुनै ठट्टा, जाँच, वा सतावट हुँदैनन्, परमेश्वर भरोसायोग्य हुनुहुन्छ भन्ने कुरा साँचो हो, अनि उहाँले भन्नुभएका सबै कुरा उचित लागे पनि नलागे पनि साँचो हुन् भन्ने अब्राहामको गहन विश्वास थियो। के यो अब्राहामको साँचो आस्था थिएन र? के उनले यसो भने, “परमेश्वरले मलाई इसहाकको बलि चढाउन भन्नुभयो। इसहाक पाएपछि, मैले परमेश्वरलाई राम्रोसँग धन्यवाद दिइनँ—के यो परमेश्वरले मबाट कृतज्ञता माग गरिरहनुभएको हो? त्यसोभए मैले राम्रोसँग आभार देखाउनैपर्छ। मैले म इसहाकलाई अर्पण गर्न इच्छुक छु, म परमेश्वरलाई धन्यवाद दिन इच्छुक छु, म परमेश्वरको अनुग्रहलाई जान्दछु र सम्झन्छु अनि मैले परमेश्वरलाई चिन्तित बनाउने छैनँ भनेर देखाउनैपर्छ। निस्सन्देह, परमेश्वरले मलाई जाँच्न र परीक्षण गर्न यी वचनहरू भन्नुभयो, त्यसैले मैले झारा टार्नुपर्छ। म सबै तयारी गर्नेछु, त्यसपछि म इसहाकसँगै एउटा भेडा ल्याउनेछु, अनि यदि बलिदानको समयमा परमेश्वरले केही भन्नुभएन भने, म भेडाको बलि चढाउनेछु। औपचारिकता पूरा गरे पुग्छ। यदि परमेश्वरले मलाई साँच्चै इसहाकको बलि चढाउन लगाउनुभयो भने, मैले उसलाई वेदीमा देखाउन लैजानुपर्छ; जब समय आउँछ, परमेश्वरले मलाई अझै पनि मेरो बच्चाको नभई भेडाको बलि चढाउन दिन सक्नुहुन्छ”? के अब्राहामले सोचेको कुरा यही थियो? (थिएन।) यदि उनले त्यस्तो सोचेका भए, उनको हृदयमा कुनै पीडा हुने थिएन। यदि उनले त्यस्तो सोचेका भए, उनको हृदयमा कुनै सन्ताप हुनेथिएन। यदि उनले त्यस्ता कुराहरू सोचेका भए, उनीसँग कस्तो प्रकारको निष्ठा हुने थियो? के उनीसँग साँचो आस्था हुने थियो? के उनीसँग साँचो समर्पण हुने थियो? अहँ, हुने थिएन।
इसहाकलाई बलि चढाउने कुरा आउँदा अब्राहामले महसुस गरेको र उत्पन्न गरेको पीडालाई हेर्दा, यो स्पष्ट छ कि उनले परमेश्वरको वचनमा पूर्ण रूपमा विश्वास गरे, परमेश्वरले बोल्नुभएको हरेक वचनमा विश्वास गरे, उनले परमेश्वरले भन्नुभएको सबै कुरालाई ठ्याक्कै परमेश्वरले भन्न खोज्नुभएकै तरिकाले हृदयको गहिराइबाट बुझे, साथै र उनमा परमेश्वरप्रति कुनै शङ्का थिएन। के यही साँचो आस्था हो कि होइन? (हो।) अब्राहामले परमेश्वरमा साँचो आस्था राखे, र यसले अब्राहाम एक इमानदार व्यक्ति थिए भन्ने कुराको चित्रण गर्दछ। परमेश्वरका वचनहरूप्रति उनको एक मात्र मनोवृत्ति आज्ञाकारिता, स्वीकार र समर्पण थियो—उनले परमेश्वरले जे भन्नुभयो त्यो पालना गर्थे। यदि परमेश्वरले कुनै चिज कालो छ भन्नुभयो भने, अब्राहामले यसलाई कालो देख्न नसके पनि, उनले परमेश्वरले भन्नुभएको कुरालाई सत्य मान्थे र उनी त्यो कालो नै हो भनेर विश्वस्त हुन्थे। यदि परमेश्वरले कुनै चिज सेतो छ भन्नुभयो भने, उनी त्यो सेतो छ भन्ने कुरामा विश्वस्त हुन्थे। यो यति सरल छ। परमेश्वरले उनलाई एउटा बच्चा प्रदान गर्नेछु भन्नुभयो र अब्राहामले मनमनै सोचे, “म १०० वर्ष पुगिसकेँ, तर यदि परमेश्वरले नै मलाई एउटा बच्चा दिन गइरहेको छु भन्नुहुन्छ भने, म मेरो परमप्रभु, परमेश्वरप्रति कृतज्ञ हुन्छु!” उनीसँग अरू धेरै विचारहरू थिएनन्, उनी केवल परमेश्वरमा विश्वास गर्थे। यो विश्वासको सार के थियो? उनले परमेश्वरको सार र पहिचानमा विश्वास गरे र सृष्टिकर्ताबारे उनीसँग वास्तविक ज्ञान थियो। उनी ती मानिसहरू जस्तो थिएनन् जसले परमेश्वरलाई सर्वशक्तिमान् र मानवजातिको सृष्टिकर्ता भनेर विश्वास गर्छौँ त भन्छन्, तर हृदयमा यस्ता शङ्काहरू बोक्छन् “के मानिसहरू वास्तवमा बाँदरहरूबाट विकसित भएका हुन्? परमेश्वरले सबै कुराहरू सृष्टि गरेको हो भनिन्छ, तर मानिसहरूले यो कुरा आफ्नै आँखाले देखेका छैनन्।” परमेश्वरले जे भन्नुभए पनि, ती मानिसहरू जहिले पनि आधा विश्वास र आधा शङ्का गर्छन् अनि कुराहरू साँचो वा झूटो छन् भनेर निर्धारण गर्न आफूले देखेको कुरामा भर पर्छन्। तिनीहरू आफ्ना आँखाले देख्न नसकेका कुनै पनि कुरामा शङ्का गर्छन्, त्यसैले जब तिनीहरूले परमेश्वरले बोल्नुभएको सुन्छन्, तिनीहरूले उहाँका वचनहरूको पछाडि प्रश्न चिन्हहरू खडा गर्छन्। तिनीहरू परमेश्वरले अगाडि सार्नुभएका हरेक तथ्य, मामला र आदेशलाई सावधानी, लगन र सतर्कताका साथ जाँच र विश्लेषण गर्छन्। तिनीहरू सोच्छन् कि, परमेश्वरमा विश्वास गर्दा, तिनीहरूले यी वचनहरू वास्तवमा सत्यता हुन् कि होइनन् भनेर हेर्न परमेश्वरका वचनहरू र सत्यतालाई वैज्ञानिक अनुसन्धानको मनोवृत्तिले जाँच्नुपर्छ, अन्यथा तिनीहरू ठगी र छलमा पर्न सक्छन्। तर अब्राहाम यस्तो थिएनन्, उनी विशुद्ध हृदयले परमेश्वरको वचन सुन्थे। यद्यपि, यस अवसरमा, परमेश्वरले अब्राहामलाई आफ्नो एकमात्र छोरा इसहाक उहाँलाई बलि चढाउन आग्रह गर्नुभयो। यसले अब्राहामलाई पीडा दियो, तर उनले अझै पनि समर्पित हुने निर्णय गरे। अब्राहामले परमेश्वरका वचनहरू अपरिवर्तनीय छन् र परमेश्वरका वचनहरू वास्तविकतामा परिणत हुनेछन् भनी विश्वास गरे। सृजित मानवहरूले स्वाभाविक रूपमा परमेश्वरको वचनलाई स्वीकार र पालन गर्नुपर्छ, अनि परमेश्वरको वचनको सामुन्ने, सृजित मानवहरूलाई छनौट गर्ने कुनै अधिकार हुँदैन, तिनीहरूले परमेश्वरको वचनलाई विश्लेषण वा जाँच गर्ने कुरा त परै जाओस्। अब्राहामले परमेश्वरको वचनप्रति राखेको मनोवृत्ति यही थियो। अब्राहाम ठूलो पीडामा भएको, र आफ्नो छोराप्रतिको प्रेम र उसलाई त्याग्ने अनिच्छाले उनलाई अत्यधिक तनाव र पीडा दिएको भए पनि, उनले अझै पनि आफ्नो बच्चालाई परमेश्वरकहाँ फर्काउन नै रोजे। उनी किन इसहाकलाई परमेश्वरकहाँ फर्काउन गइरहेका थिए? परमेश्वरले अब्राहामलाई यसो गर्न नभन्नुभएको भए, उनले आफ्नो छोरालाई फर्काउन पहल गर्नुपर्ने कुनै आवश्यकता नै थिएन, तर परमेश्वरले माग्नुभएको हुनाले उनले आफ्नो छोरा परमेश्वरलाई फिर्ता दिनुपर्थ्यो, बहाना बनाउनुपर्ने कुनै कुरै थिएनन् र उनले परमेश्वरसँग तर्क गर्ने प्रयास गर्नु हुँदैनथ्यो—अब्राहामले बोकेको मनोवृत्ति यही नै थियो। उनी यस्तो शुद्ध हृदयले परमेश्वरमा समर्पित भए। परमेश्वरले चाहनुभएको हेर्ने इच्छा गर्नुभएको कुरा यही नै थियो। अब्राहामको व्यवहार र इसहाकलाई बलि चढाउने सन्दर्भमा उनले हासिल गरेको कुरा नै परमेश्वरले हेर्न चाहनुभएको थियो, अनि यो कुरा परमेश्वरले उनको जाँच र पुष्टि गर्नु थियो। तैपनि, परमेश्वरले अब्राहामलाई नोआलाई जस्तो व्यवहार गर्नुभएन। उहाँले अब्राहामलाई यस मामलाका कारणहरू, यसको प्रक्रिया, वा यसबारे सबै कुरा बताउनुभएन। अब्राहामलाई परमेश्वरले उनलाई इसहाक फिर्ता दिन अनुरोध गर्नुभएको कुरा मात्र थियो, कुरा त्यति नै थियो। उनलाई परमेश्वरले, यसो गर्ने क्रममा, उनको जाँच गरिरहनुभएको छ भन्ने थाहा थिएन, न त उनी यो जाँचमा परिसकेपछि, परमेश्वरले उनी र उनका सन्तानमा के कुरा पूरा गर्न चाहनुभएको थियो भन्नेबारे नै सचेत थिए। परमेश्वरले अब्राहामलाई यो कुनै पनि कुरा बताउनुभएन, उहाँले उनलाई एउटा सामान्य आदेश मात्र दिनुभयो, एउटा अनुरोध मात्र गर्नुभयो। अनि परमेश्वरका यी वचनहरू अत्यन्तै सरल थिए, र तिनले मानव भावनाहरूलाई ख्याल गर्दैनथे भने पनि, अब्राहामले परमेश्वरका इच्छा र आवश्यकता अनुसार काम गरेर परमेश्वरका अपेक्षाहरू पूरा गरे: उनले इसहाकलाई वेदीमा बलिको रूपमा चढाए। उनको हरेक कदमले उनले इसहाकको बलिदान दिनु औपचारिकता पूरा गर्नु मात्रै होइन, उनले झारा टार्ने तरिकाले गरिरहेका थिएनन्, बरु उनी इमानदार थिए र अन्तस्करणदेखि त्यो काम गरिरहेका थिए भन्ने देखाउँथ्यो। उनले इसहाकलाई त्याग्न सहन नसके पनि, त्यसले उनलाई पीडा दिए पनि, सृष्टिकर्ताको मागलाई सामना गर्नुपर्दा, अब्राहामले त्यस्तो विधि रोजे, जुन अरू कुनै पनि व्यक्तिले रोज्दैनथे: सृष्टिकर्ताले माग्नुभएको कुरामा पूर्ण समर्पण, सम्झौता, बहाना, र कुनै पनि सर्तहरू बिनाको समर्पण—परमेश्वरले जस्तो भन्नुभएको थियो उनले त्यस्तै कार्य गरे। अनि परमेश्वरले भन्नुभएको कुरा गर्न सक्ने बेलामा, अब्राहाममा के थियो? एकातिर, उनीभित्र परमेश्वरप्रति साँचो आस्था थियो; उनी सृष्टिकर्ता परमेश्वर हुनुहुन्छ, उनको परमेश्वर, उनको प्रभु हुनुहुन्छ, यावत थोकमाथि सार्वभौम र मानवजातिको सृष्टि गर्ने एउटै परमेश्वर हुनुहुन्छ भन्ने कुरामा निश्चित थिए। यो साँचो आस्था थियो। अर्कोतिर, उनको हृदय शुद्ध थियो। उनी सृष्टिकर्ताले बोल्नुभएको हरेक वचनलाई विश्वास गर्थे, र उहाँले बोल्नुभएको हरेक वचनलाई सरल र सिधा रूपमा स्विकार्न सक्थे। त्यसै गरी अर्कोतिर, आंशिक रूपमा के पनि देखियो भने, सृष्टिकर्ताले उनलाई गर्न लगाउनुभएको कुरा जति नै कठिन भए पनि, उनलाई यसले जति नै पीडा दिए पनि, उनले समर्पणको मनोवृत्ति नै रोजे, परमेश्वरसँग तर्क गर्ने, वा प्रतिरोध गर्ने, वा इन्कार गर्ने प्रयास गरेनन्, बरु, परमेश्वरको मागबमोजिम, उहाँको हरेक वचन, र उहाँले जारी गर्नुभएको आदेशअनुसार कार्य र अभ्यास गर्दै पूर्ण समर्पण गरे। ठ्याक्कै परमेश्वरले गर्न लगाउनुभएको र हेर्न चाहनुभएको अनुसार नै, अब्राहामले इसहाकलाई वेदीमा बलिको रूपमा चढाए, तिनले उसलाई परमेश्वरमा अर्पित गरे—र तिनले गरेको सबै कुराले परमेश्वरले सही व्यक्तिलाई चुन्नुभएको छ भन्ने प्रमाणित गर्यो, र परमेश्वरको नजरमा, तिनी धर्मी थिए।
परमेश्वरले अब्राहामलाई इसहाकको बलिदान दिन आग्रह गर्नुहुँदा सृष्टिकर्ताको स्वभाव र सारको कुन पक्ष प्रकट भयो? परमेश्वरले आफूले स्विकारेका धर्मीहरूलाई उहाँको आफ्नै आवश्यक मापदण्डहरूअनुसार पूर्ण रूपमा व्यवहार गर्नुहुन्छ, जुन उहाँको स्वभाव र सारसँग पूर्ण रूपमा मेल खान्छ भन्ने पक्ष। यी मापदण्डहरूमा कुनै सम्झौता हुन सक्दैन; ती योभन्दा बढी वा कम पूरा हुन मिल्दैन। यी मापदण्डहरूलाई दुरुस्तै पूरा गर्नुपर्छ। अब्राहामले आफ्नो दैनिक जीवनमा गरेका धर्मी कार्यहरू देख्नु परमेश्वरका लागि पर्याप्त थिएन, परमेश्वरले उहाँप्रतिको अब्राहामको साँचो समर्पण अवलोकन गर्न अझै बाँकी थियो र परमेश्वरले जे गर्नुभयो यसैको कारणले गर्नुभयो। परमेश्वरले किन अब्राहाममा साँचो समर्पण देख्न चाहनुभयो? उहाँले अब्राहामलाई किन यो अन्तिम जाँचमा पार्नुभयो? किनभने, हामी सबैलाई थाहा छ, परमेश्वरले अब्राहाम सबै राष्ट्रहरूका पिता भएको चाहनुहुन्थ्यो। के “सबै राष्ट्रहरूका पिता” कुनै पनि साधारण व्यक्तिले थेग्न सक्ने उपाधि हो? होइन। परमेश्वरसँग उहाँका आवश्यक मापदण्डहरू छन् अनि उहाँले जसलाई चाहनुहुन्छ र सिद्ध बनाउनुहुन्छ, र उहाँले जसलाई धर्मी ठान्नुहुन्छ, ती सबैका लागि उहाँका मापदण्डहरू एउटै छन्: साँचो आस्था र पूर्ण समर्पण। परमेश्वरले अब्राहाममा यति महान् कार्य गर्न चाहनुभएकाले, के उहाँले उनीसँग यी दुई कुराहरू नदेखी हतारमा अगाडि बढेर त्यसो गर्नुहुन्थ्यो त? पक्कै गर्नुहुन्नथ्यो। त्यसैले, परमेश्वरले अब्राहामलाई एउटा छोरा दिनुभएपछि, अब्राहामले यस्तो जाँच सामना गर्नु अपरिहार्य थियो; परमेश्वरले गर्ने भनेर दृढनिश्चय गर्नुभएको पहिले नै गर्ने योजना बनाउनुभएको कुरा यही थियो। कामकुराहरू परमेश्वरको इच्छाअनुसार भइदिनुका साथै अब्राहामले परमेश्वरका अपेक्षाहरू पूरा गरेपछि मात्र, परमेश्वरले आफ्नो अर्को चरणको कार्य गर्ने योजना गर्न थाल्नुभयो: अब्राहामका सन्तानहरूलाई आकाशका तारा र समुद्री किनारको बालुवा जत्तिकै असङ्ख्य बनाएर उनलाई सबै राष्ट्रहरूका पिता बनाउने। उहाँले अब्राहामलाई इसहाकको बलिदान दिन आग्रह गर्नुको परिणाम अज्ञात हुँदा र यो अझै साकार हुन बाँकी हुँदा, परमेश्वरले हतारमा काम गर्नुहुनेथिएन; तर यो एकचोटि साकार भएपछि, अब्राहामसँग भएको कुराले परमेश्वरका मापदण्डहरू पूरा गरे, जसको अर्थ परमेश्वरले उनका लागि योजना गर्नुभएका सबै आशिष्हरू उनले प्राप्त गर्नु थियो। तसर्थ, इसहाकको बलिदानबाट यो देख्न सकिन्छ कि परमेश्वरले मानिसहरूमा गर्नुहुने जुनसुकै कार्यका लागि वा तिनीहरूले खेल्ने जुनसुकै भूमिकाका लागि वा उहाँको व्यवस्थापनको योजनामा स्वीकार गर्नुपर्ने जुनसुकै आज्ञाका लागि परमेश्वरले मानिसहरूका निम्ति अपेक्षा र आवश्यक मापदण्डहरू राख्नुहुन्छ। मानिसहरूमाथि परमेश्वरका अपेक्षाहरूका दुई प्रकारका परिणामहरू छन्: एउटा यदि तैँले उहाँले जे माग्नुहुन्छ त्यो गर्न सक्दैनस् भने, तँ हटाइनेछस्; अर्को यदि तैँले गर्न सक्छस् भने, परमेश्वरले तँमा उहाँले चाहनुभएको कुरा उहाँको योजनाबमोजिम पूरा गर्न जारी राख्नुहुनेछ। परमेश्वरले मानिसहरूबाट माग गर्नुहुने साँचो आस्था र पूर्ण समर्पण प्राप्त गर्न मानिसहरूका लागि वास्तवमा धेरै गाह्रो छैनन्। तर चाहे ती सजिला हुन् वा कठिन हुन्, यी दुई कुराहरू, परमेश्वरका निम्ति, मानिसहरूमा पाइनुपर्छ। यदि तैँले यो मापदण्ड पूरा गर्न सक्छस् भने, परमेश्वरले तँलाई योग्य पाउनुहुनेछ र परमेश्वरले थप केही पनि माग्नुहुने छैन; यदि गर्न सक्दैनस् भने, त्यो फरक कुरा हो। परमेश्वरले अब्राहामलाई आफ्नो छोरालाई बलि चढाउन आग्रह गर्नुभएको तथ्यले के देखाउँछ भने अब्राहामसँग अहिलेसम्म परमेश्वरको डर मान्ने हृदय र उहाँप्रति साँचो आस्था हुनु परमेश्वरलाई पर्याप्त लागेन, केही हदसम्म पर्याप्त छ भन्ने लागेन। त्यो पक्कै पनि परमेश्वरको मागको तरिका थिएन; उहाँले आफ्नो तरिकाले अनि मानिसहरूले हासिल गर्न सक्नेअनुसार माग गर्नुहुन्छ र यसमा सम्झौता गर्न सकिन्न। के यो नै परमेश्वरको पवित्रता होइन? (हो।) परमेश्वरको पवित्रता यस्तो हुन्छ।
अब्राहाम जस्तो असल व्यक्ति, जो शुद्ध थियो, जसमा साँचो आस्था र चेतना थियो, उसले पनि परमेश्वरको जाँचलाई स्वीकार गर्नुपर्यो—त्यसैले मानवजातिको नजरमा, के यो जाँचले केही हदसम्म मानवीय भावनाहरूलाई ख्याल नराखेको थिएन र? तर मानवीय भावनाहरूलाई ख्याल नराख्नु नै परमेश्वरको स्वभाव र सारको मूर्त रूप हो र अब्राहामले यस प्रकारको जाँच भोगे। यस जाँचमा, अब्राहामले परमेश्वरप्रति आफ्नो अटल आस्था र सृष्टिकर्ताप्रति अटल समर्पण देखाए। अब्राहाम जाँचमा उत्तीर्ण भए। साधारणतया, अब्राहामले कहिल्यै पनि कुनै उतारचढावहरूको अनुभव गरेका थिएनन्, तर परमेश्वरले उनलाई यसरी जाँच गर्नुभएपछि, उनको सामान्य आस्था र समर्पण वास्तविक साबित भए; यो बाह्य कुरा थिएन, यो कुनै नारा थिएन। परमेश्वरले यस्ता वचनहरू बोल्नुका साथै अब्राहामप्रति यस्तो माग राखेपछि यस्तो परिस्थितिमा उनले अझै पनि अडिग समर्पण कायम राख्न सक्नुले निश्चित रूपमा एउटा कुरा दर्शाउँथ्यो: अब्राहमको हृदयमा, परमेश्वर परमेश्वर नै हुनुहुन्थ्यो र सधैँ परमेश्वर नै रहनुहुने थियो; कुनै पनि परिवर्तनशील कारकहरूका बाबजुद परमेश्वरको पहिचान र सार अपरिवर्तनीय थियो। उनको हृदयमा मानवहरू सधैँभरि मानव नै हुनेथिए र तिनीहरूलाई सृष्टिकर्तासित प्रतिस्पर्धा गर्ने, तर्क गर्ने वा प्रतिस्पर्धा गर्ने अधिकार थिएन, न त तिनीहरूसँग सृष्टिकर्ताले बोलेका वचनहरूको विश्लेषण गर्ने अधिकार नै थियो। अब्राहामले सृष्टिकर्ताका वचनहरू वा सृष्टिकर्ताले माग गर्नुभएका कुनै पनि कुराको सन्दर्भमा मानिसहरूसँग छनौट गर्ने अधिकार छैन; तिनीहरूले गर्नुपर्ने एउटै मात्र कुरा भनेको समर्पित हुनु भन्ने विश्वास गर्थे। अब्राहामको मनोवृत्ति धेरै स्पष्ट थियो—उनीसँग परमेश्वरप्रति साँचो आस्था थियो र यस साँचो आस्थाबाट साँचो समर्पण आउँथ्यो, त्यसैले परमेश्वरले उनलाई जे गर्नुभयो वा उनीबाट जे कुराको माग गर्नुभयो वा परमेश्वरले जे कार्य गर्नुभयो, चाहे त्यो अब्राहामले देखेको, सुनेको वा व्यक्तिगत रूपमा अनुभव गरेको कुरा होस्, यी कुनै पनि कुराले परमेश्वरमाथि उनको साँचो आस्थालाई असर गर्न सक्ने थिएन, यसले परमेश्वरप्रति उनको समर्पणकारी मनोवृत्तिलाई असर गर्न सक्ने त झन कुरै थिएन। जब सृष्टिकर्ताले मानवीय भावनाहरूलाई ख्याल नगरी मानिसबाट अनुचित माग गर्ने केही कुरा भन्नुभयो, जतिसुकै मानिसहरू यी वचनहरूबाट चिढिए पनि, र तिनीहरूले तिनको प्रतिरोध, विश्लेषण र जाँच गरे पनि, वा तिनलाई तिरस्कार समेत गरे पनि, अब्राहामको मनोवृत्ति बाहिरी संसारको वातावरणबाट प्रभावित भएन। परमेश्वरप्रति उनको आस्था र समर्पण परिवर्तन भएन, अनि ती उनको मुखबाट बोलिएका शब्दहरू वा औपचारिकताहरू मात्र थिएनन्; बरु, उनले आफूले विश्वास गरेको परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ, आफूले विश्वास गरेको परमेश्वर स्वर्गका परमेश्वर हुनुहुन्छ भनी प्रमाणित गर्न तथ्यहरूको प्रयोग गरे। अब्राहाममा प्रकट भएका सबै कुराहरूबाट हामी के देख्छौँ? के हामी परमेश्वरको बारेमा उनको शङ्का देख्छौँ? के उनीसँग शङ्काहरू थिए? के उनले परमेश्वरका वचनहरूको जाँच गरे? के उनले तिनको विश्लेषण गरे? (गरेनन्।) कतिपय मानिसहरू भन्छन्, “यदि उनले परमेश्वरका वचनहरूको जाँच वा विश्लेषण गरेनन् भने, उनी केका लागि दुःखी भइरहेका थिए?” के तैँले उनलाई दुःखी हुन दिँदैनस्? उनी धेरै दुःखी भए पनि समर्पित हुन अझै सक्षम थिए—के तँ दुःखी नहुँदापनि समर्पित हुन सक्छस्? तँभित्र कति समर्पण छ? त्यस्तो दुःख र पीडाले अब्राहामको समर्पणमा कुनै प्रभाव नपार्नुले त्यो समर्पण साँचो थियो, त्यो झूट थिएन भन्ने प्रमाणित गर्छ। यो शैतानको सामु, सबै कुराहरू सामु, सबै सृष्टिको सामु सृजित मानवजातिको गवाही थियो, अनि यो गवाही अति शक्तिशाली, अति बहुमूल्य थियो!
नोआ, अब्राहाम र अय्यूबका कथाहरूमा, उनीहरूलाई परमेश्वरका वचन र कार्यहरू आइपर्दा उनीहरूको व्यवहार र बोलीमा अनि उनीहरूको मनोवृत्तिका साथै हरेक वचन र कार्यमा त्यस्तो के कुरा छ जसले पछिल्ला पुस्ताहरूलाई अति प्रभावित बनायो? परमेश्वरका वचनहरू सुनेपछि र परमेश्वरले दिनुभएका आदेश र मागहरू सुनेपछि परमेश्वरका वचनहरूप्रतिको यी तीन व्यक्तिहरूको मनोवृत्ति र उनीहरूको व्यवहार, बोली र मनोवृत्तिबाट परमेश्वर, अर्थात् सृष्टिकर्ताप्रतिको उनीहरूको इमानदारी कति शुद्ध र दृढ थियो भन्ने कुराले नै मानिसहरू सबैभन्दा बढी प्रभावित भए। आज मानिसहरूले यो शुद्धता र धैर्यतालाई मूर्खता र अनुराग भन्न सक्छन्; तर मेरो लागि, तिनीहरूको शुद्धता र धैर्यता नै तिनीहरूको बारेमा सबैभन्दा प्रभावशाली र छुने कुराहरू थिए, र यसभन्दा पनि बढी, अन्य मानिसहरूको पहुँचभन्दा बाहिरका कुराजस्तै महसुस गराउने कुराहरू थिए। यी व्यक्तिहरूबाट मैले एउटा असल व्यक्ति कस्तो देखिन्छ भनेर साँच्चिकै बुझेँ र देखेँ; तिनीहरूको व्यवहार र बोलीबाट, साथै परमेश्वरका वचनहरूको सामना गर्दा तिनीहरूको मनोवृत्तिबाट, अनि तिनीहरूले परमेश्वरका वचनहरू सुन्दा, म परमेश्वरले धर्मी र सिद्ध ठान्नुभएका मानिसहरू कस्ता हुन्छन् भन्ने कुरा देख्छु। अनि यी मानिसहरूका कथाहरू पढेर बुझेपछि मैले अनुभव गर्ने सबैभन्दा आश्चर्यजनक अनुभूति के हो? त्यो यी व्यक्तिहरूप्रतिको गहिरो सम्झना, लगाव र श्रद्धा हो। के यो प्रभावित हुने अनुभूति होइन र? मलाई किन यस्तो अनुभूति हुन्छ? मानवजातिको लामो इतिहासभर यी तीन जना मानिसहरूका कथाहरूको अभिलेख राख्ने, प्रशंसा गर्ने र प्रचार गर्ने कुरामा ध्यान केन्द्रित गर्ने इतिहासको पुस्तक कहिल्यै लेखिएको छैन, न त कसैले पछिल्ला पुस्ताहरूलाई शिक्षा दिन यी कथाहरूको प्रयोग नै गरेको छ, न ती मानिसहरूलाई पछिल्ला पुस्ताहरूले अनुसरण गर्ने मानिसहरूका रूपमा नै लिइएका छन्। तर संसारका मानिसहरूलाई थाहा नभएको एउटा कुरा छ: फरकफरक समयमा, यी तीन जनामध्ये हरेकले परमेश्वरबाट केही फरक कुरा सुने, परमेश्वरबाट फरक आदेश प्राप्त गरे, हरेकलाई परमेश्वरले फरकफरक मागहरू राख्नुभएको थियो, हरेकले परमेश्वरका लागि केही फरक काम गरे, र परमेश्वरद्वारा सुम्पिएको फरकफरक काम पूरा गरे—तैपनि उनीहरू सबैमा एउटा साझा कुरा थियो। यो के थियो? उनीहरू सबैले परमेश्वरका अपेक्षाहरू पूरा गरे। परमेश्वरले बोल्नुभएको सुनेपछि, उनीहरू परमेश्वरले सुम्पनुभएको र माग गर्नुभएको कुरालाई स्विकार्न सक्षम भए, र त्यसपछि उनीहरू परमेश्वरले भन्नुभएको सबै कुरामा समर्पित हुन सक्षम भए, उनीहरू परमेश्वरले आफूबाट माग गर्नुभएको एक-एक कुरामा समर्पित हुन सक्षम भए। परमेश्वरका अपेक्षाहरू पूरा हुने गरी उनीहरूले के गरे? सम्पूर्ण मानवजातिमध्ये, उनीहरू परमेश्वरका वचनहरू सुन्ने, स्विकार्ने र तीप्रति समर्पित हुने, साथै शैतानको सामुन्ने परमेश्वरको लागि जोडदार गवाही दिने उदाहरण बने। उनीहरू मानवजातिका लागि उदाहरण र परमेश्वरको नजरमा सिद्ध र धर्मी भएका कारण, अन्ततः, यसले हामीलाई बताउने सबैभन्दा महत्त्वपूर्ण जानकारी के हो? यो त्यस्तो प्रकारको व्यक्ति हो जसलाई परमेश्वरले चाहनुहुन्छ, त्यस्तो व्यक्ति जोसँग परमेश्वरले भन्नुभएको कुरा बुझ्ने सामर्थ्य छ, जसले सृष्टिकर्ताका वचनहरू सुन्न, बोध गर्न, सम्झन, बुझ्न, तिनमा समर्पित हुन र तिनलाई लागु गर्न आफ्नो हृदयको प्रयोग गर्दछ; यस प्रकारको व्यक्ति परमेश्वरको प्रिय हुन्छ। परमेश्वरले उनीहरूका धर्मी कार्यहरू पुष्टि गर्नु अगाडि उहाँले उनीहरूलाई जतिसुकै ठूलो जाँच र परीक्षाहरूमा पार्नुभए पनि, एकचोटि उनीहरूले परमेश्वरलाई जोडदार गवाही दिएपछि, उनीहरू परमेश्वरको हातमा सबैभन्दा बहुमूल्य बन्छन् र परमेश्वरको नजरमा सदासर्वदा बाँच्ने व्यक्ति बन्छन्। यसले हामीलाई यही तथ्य बताउँछ। नोआ र अब्राहामका कथाहरूमा सङ्गति गरेर मैले तिमीहरूलाई भन्न चाहेको र तिमीहरूले बुझ्नुपर्ने कुरा यही हो। यसको आशय यही हो कि जसले अझै पनि सृष्टिकर्ताका वचनहरू बुझ्दैनन्, र सृष्टिकर्ताका वचनहरू सुन्नु आफ्नो जिम्मेवारी, दायित्व र कर्तव्य हो भनेर अझै पनि जान्दैनन्, साथै सृष्टिकर्ताका वचनहरू स्विकार्नु र तिनमा समर्पित हुनु सृजित मानिसहरूमा हुनुपर्ने मनोवृत्ति हो भन्नेबारे बेखबर छन्, चाहे तिनीहरूले जति वर्षसम्म परमेश्वरलाई पछ्याएका भए पनि—परमेश्वरद्वारा हटाइने त यस्तै मानिसहरू हुन्। परमेश्वरले त्यस्ता मानिसहरूलाई चाहनुहुन्न, उहाँले त्यस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ। त्यसोभए अन्ततः कति जना मानिसहरू सृष्टिकर्ताका वचनहरू सुन्न, स्विकार्न र तिनमा पूर्णतया समर्पित हुन सक्षम हुन्छन्? जति जनाले सक्छन् त्यति नै सक्षम हुन्छन्। जसले धेरै वर्षसम्म परमेश्वरलाई पछ्याएका छन् तर अझै पनि सत्यतालाई तिरस्कार गर्छन्, सिद्धान्तहरूलाई निर्लज्ज रूपमा उल्लङ्घन गर्छन्, अनि जो देहमा वा आत्मिक क्षेत्रमा बोलिएका परमेश्वरका वचनहरूलाई स्विकार्न र तिनमा समर्पित हुन असमर्थ हुन्छन्, तिनीहरूले अन्ततः एउटा परिणाम भोग्नेछन्: हटाइ।
परमेश्वर देहधारी भएर पृथ्वीमा काम गर्न आउनुभएको तिस वर्ष भयो। उहाँले धेरै वचनहरू बोल्नुभएको छ र धेरै सत्यताहरू व्यक्त गर्नुभएको छ। उहाँले जसरी बोल्नुभए पनि, उहाँले बोल्न जुनसुकै विधिहरू प्रयोग गर्नुभए पनि, साथै उहाँले जतिसुकै विषयवस्तु बोल्नुभए पनि, मानिसहरूबाट उहाँको एउटा मात्र अपेक्षा छ, त्यो हो तिनीहरू सुन्न, स्वीकार गर्न र समर्पित हुन सक्षम होऊन्। यद्यपि, त्यस्ता धेरै जना छन् जसले यो सरल अपेक्षालाई बोध गर्न वा पूरा गर्न सक्दैनन्। यो धेरै झन्झटिलो छ र यसले मानवजाति अत्यन्तै गहिरो रूपमा भ्रष्ट तुल्याइएको छ, उसलाई सत्यता स्विकार्नमा ठूलो कठिनाइ छ, र उसलाई सजिलैसँग मुक्ति दिन सकिन्न भन्ने देखाउँछ। मानिसहरूले मानिस परमेश्वरद्वारा सृष्टि गरिएको भन्ने कुरालाई पहिचान गरेर देहधारी परमेश्वर नै परमेश्वर स्वयम् हुनुहुन्छ भन्ने तथ्यलाई स्वीकार गरेको अहिलेको सन्दर्भमा पनि, मानिसहरूले अझै पनि परमेश्वरको विरोध र अवज्ञा गर्छन् र परमेश्वरको वचन र उहाँका अपेक्षाहरूलाई इन्कार गर्छन्। तिनीहरू सृजित प्राणीहरूले परमेश्वरको वचनप्रति कस्तो व्यवहार गर्नुपर्छ र परमेश्वरको वचनप्रति तिनीहरूले कस्तो मनोवृत्ति राख्नुपर्छ भन्ने कुरा नै नबुझी देहधारी परमेश्वरले बोल्नुभएका वचनहरूलाई परीक्षण, विश्लेषण, अस्वीकार गर्छन् र तीप्रति उदासीन हुन्छन्। यो साँच्चै दुःखद कुरा हो। अहिले पनि मानिसहरूलाई तिनीहरू को हुन्, तिनीहरू कुन स्थानमा खडा हुनुपर्छ वा तिनीहरूले के गर्नुपर्छ भन्ने थाहा छैन। कतिपय मानिसहरू यसो भन्दै परमेश्वरको बारेमा निरन्तर गुनासो समेत गर्छन्, “परमेश्वरले किन सधैँ आफ्नो काममा सत्यताहरू व्यक्त गर्नुहुन्छ? उहाँ किन सधैँ हामीले सत्यतालाई स्विकार्नुपर्छ भनेर माग गरिरहनुहुन्छ? जब परमेश्वरले बोल्नुहुन्छ र काम गर्नुहुन्छ, उहाँले हामीसँग परामर्श लिनुपर्छ र हाम्रा लागि परिस्थितिहरू सधैँ कठिन बनाउनु हुँदैन। हामीले पूर्ण रूपमा उहाँको आज्ञापालन गर्नुपर्ने कुनै कारण छैन, हामी मानव अधिकार र स्वतन्त्रता चाहन्छौँ, हामीले परमेश्वरले हाम्रा लागि अघि सार्नुभएका मागहरूमा हात उठाएर मतदान गर्नुपर्छ, अनि हामी सबै जना छलफलमार्फत सहमतिमा पनि पुग्नुपर्छ। परमेश्वरको घरले प्रजातन्त्र लागु गर्नुपर्छ र सबैले मिलेर अन्तिम निर्णय गर्नुपर्छ।” अहिले पनि, धेरै मानिसहरू यो धारणा राख्छन्, र तिनीहरूले यो कुरा खुलस्त रूपमा नभने पनि, हृदयमा बोकेर हिँड्छन्। यदि तँलाई कुनै पनि कुरा सोध्ने, मैले भनेको कुरा मान्नुपर्छ भनेर भन्ने, अनि मैले भनेको कुरामा तेरो पूर्ण समर्पण माग गर्ने हक मसँग छैन भने, कोसँग चाहिँ छ? यदि तैँले स्वर्गमा हुनुहुने परमेश्वरलाई यसो गर्ने हक छ, अनि स्वर्गमा हुनुहुने परमेश्वरले स्वर्गबाट तँसँग आकाशबाट गर्जनको माध्यमबाट बोल्ने हक छ भन्ने विश्वास गर्छस् भने, त्यो राम्रो कुरा हो! यसको मतलब म धैर्यवान् र गम्भीर हुनुपर्दैन वा तँसँग कुरा गरेर मैले मेरो सास खेर फाल्नु पर्दैन—म तँलाई थप केही पनि भन्न चाहन्नँ। यदि तैँले स्वर्गमा हुनुहुने परमेश्वरलाई आकाशबाट, बादलबाट तँसँग बोल्ने हक छ भन्ने विश्वास गर्छस् भने, अगाडि बढ् र सुन्, गएर उहाँका वचनहरू खोज्—स्वर्गमा हुनुहुने परमेश्वरले आकाशमा, बादलमा, आगोको माझबाट तँसँग बोल्ने समय पर्खि। तर एउटा कुरामा चाहिँ तँ प्रस्ट हुनैपर्छ: यदि त्यो दिन साँच्चै आयो भने, तेरो मृत्युको समय आइपुगेको हुनेछ। त्यो दिन नआए राम्रो हुन्थ्यो। “त्यो दिन नआए राम्रो हुन्थ्यो”—यी वचनहरूको अर्थ के हो? परमेश्वर मानिससँग व्यक्तिगत रूपमा पृथ्वीमा आमनेसामने कुरा गर्न, मानिसहरूलाई तिनीहरूले गर्नुपर्ने सबै कुरा बताएर सत्यताहरू जारी गर्न मानव बन्नुभएको छ, तैपनि मानिसहरू घृणाले भरिएका र बेवास्ते छन्; हृदयमा, तिनीहरू गोप्य रूपमा परमेश्वरको प्रतिरोध गर्छन् र उहाँसँग प्रतिस्पर्धा गर्छन्। तिनीहरू पृथ्वीमा रहनुहुने परमेश्वरलाई मानिसहरूमाथि शासन गर्ने प्रयास गर्ने कुनै अधिकार छैन भन्ने विश्वास गरेर सुन्ने इच्छा गर्दैनन्। के मानिसहरूको यस्तो मनोवृत्तिले परमेश्वरलाई खुशी पार्छ कि क्रोधित तुल्याउँछ? (यसले उहाँलाई क्रोधित तुल्याउँछ।) अनि परमेश्वर क्रोधित हुँदा उहाँले के गर्नुहुनेछ? मानिसहरूले परमेश्वरको क्रोध सामना गर्नेछन्—तिमीहरूले यो कुरा बुझ्यौ, हैन? परमेश्वरको क्रोध, नकि परमेश्वरको जाँच; यी दुई अलग अवधारणाहरू हुन्। जब परमेश्वरको क्रोध मानिसहरूमाथि पर्छ, तिनीहरू खतरामा पर्छन्। के तिमीहरूलाई परमेश्वर आफूले प्रेम गर्नेहरूप्रति क्रोधित हुनुहुन्छ भन्ने लाग्छ? के परमेश्वर उहाँको मुहारको प्रकाशमा जिउन योग्य भएकाहरूप्रति क्रोधित हुनुहुन्छ? (हुनुहुन्न।) परमेश्वर कस्तो प्रकारको व्यक्तिप्रति क्रोधित हुनुहुन्छ? जसले धेरै वर्षसम्म उहाँलाई पछ्याएका छन् र अझै पनि उहाँका वचनहरू बुझ्दैनन्, जसलाई परमेश्वरका वचनहरू सुन्नुपर्छ भन्ने अझै पनि थाहा छैन, जोसँग परमेश्वरका वचनहरूलाई स्विकार्ने र तीप्रति समर्पित हुने सचेतनाको कमी छ, परमेश्वरले त्यस्ता मानिसहरूप्रति वितृष्ण महसुस गर्नुहुन्छ, तिनीहरूलाई दिगमिगाउनुहुन्छ, र मुक्ति दिन चाहनुहुन्न। तिमीहरूले यो बुझ्यौ, हैन? त्यसोभए परमेश्वर, देहधारी परमेश्वर र सत्यताप्रति मानिसहरूको मनोवृत्ति कस्तो हुनुपर्छ? (हामीले सुन्नुपर्छ, स्वीकार गर्नुपर्छ र समर्पित हुनुपर्छ।) ठिक भनिस्। तैँले सुन्न, स्वीकार गर्न र समर्पित हुन जरुरी छ। योभन्दा सरल अरू केही छैन। सुनेपछि, तैँले हृदयमा स्वीकार गर्नुपर्छ। यदि तँ केही कुरा स्वीकार गर्न असक्षम छस् भने, तैँले पूर्ण स्वीकार गर्न सक्षम नभएसम्म खोजी गरिरहनुपर्छ—त्यसपछि, तिमीहरूले यसलाई स्विकार्ने बित्तिकै, तिमीहरू समर्पित हुनैपर्छ। समर्पित हुनुको अर्थ के हो? यसको अर्थ अभ्यास र कार्यान्वयन गर्नु हो। कुराहरू सुनेपछि, तिनलाई बेवास्ता नगर्, बाहिरी रूपमा तिनलाई पूरा गर्न प्रतिज्ञा गर्ने, तिनको टिपोट राख्ने, तिनलाई लेखेर राख्ने, तिनलाई कानले सुन्ने, तर हृदयमा नराख्ने, अनि केवल आफ्नो उही पुरानो तालमा अगाडि बढ्ने र काम गर्ने समय आउँदा आफूलाई जे मन लाग्छ त्यो गर्ने, आफूले लेखेका कुराहरूलाई कम महत्त्व दिने र त्यसलाई महत्त्वहीन् ठान्ने काम नगर्। यो समर्पित हुनु होइन। परमेश्वरका वचनहरूप्रति साँचो समर्पणको अर्थ तिनलाई सुन्नु र हृदयले बुझ्नु, अनि तिनलाई साँचो रूपमा स्वीकार गर्नु—तिनलाई एक अपरिहार्य जिम्मेवारीको रूपमा स्वीकार गर्नु हो। यो कुनै व्यक्तिले परमेश्वरका वचनहरू स्विकार्छ भन्ने मामला मात्र होइन; बरु, यो हृदयबाट उहाँका वचनहरू स्वीकार गर्नु, उहाँका वचनहरूप्रतिको आफ्नो स्वीकारोक्तिलाई व्यावहारिक कार्यहरूमा बदल्नु र उहाँका वचनहरूलाई कुनै पनि विचलनबिना कार्यान्वयनमा ल्याउनु हो। यदि तैँले जे सोच्छस्, जे कुरामा हात हाल्छस्, अनि जेजति मूल्य तिर्छस् ती सबै परमेश्वरका मागहरू पूरा गर्नलाई हो भने, त्यो परमेश्वरका वचनहरू कार्यान्वयन गर्नु हो। “समर्पण” ले के जनाउँछ? यसले परमेश्वरका वचनहरूलाई वास्तविकतामा बदल्दै गरिने अभ्यास र कार्यान्वयनलाई जनाउँछ। यदि तैँले परमेश्वरले भन्नुभएका वचनहरू र उहाँका मागहरू नोटबुकमा टिप्छस् र तिनलाई लेखेर राख्छस्, तर हृदयमा तिनको अभिलेख राख्दैनस्, अनि काम गर्ने समय आउँदा आफ्नो इच्छाअनुसार गर्छस्, र बाहिरबाट तैँले परमेश्वरले माग गर्नुभएको कुरा पूरा गरेको जस्तो देखिन्छ, तर तैँले आफ्नै इच्छाअनुसार गरेको छस् भने, यो परमेश्वरको वचन सुन्नु, स्वीकार गर्नु र तिनमा समर्पित हुनु होइन, यो त सत्यतालाई तिरस्कार गर्नु हो, यो सिद्धान्तहरूलाई निर्लज्जपूर्वक उल्लङ्घन गर्नु, र परमेश्वरको घरका बन्दोबस्तहरूलाई बेवास्ता गर्नु हो। यो त विद्रोह हो।
एकपटक, मैले कसैलाई काम गर्न जिम्मा दिएँ। मैले तिनलाई कामबारे बताउँदा, तिनले ध्यान दिएर आफ्नो कपीमा लेखे। त्यो लेख्न तिनी कति ध्यान दिइरहेका छन् भनेर मैले देखेँ—तिनमा कामप्रति बोझको बोध रहेछ, र तिनमा होसियार र जिम्मेवार मनोवृत्ति रहेछ भन्ने देखिन्थ्यो। तिनलाई कामबारे बताएपछि, म तिनीबाट नयाँ खबर पाउने प्रतीक्षामा बसेँ; दुई हप्ता बित्यो, र पनि तिनले खबर पठाएनन्। त्यसकारण, म आफै गएर तिनलाई भेटेँ, र मैले तिनलाई दिएको काम कस्तो भइरहेको छ भनेर सोधेँ। तिनले भने, “अहो—मैले त भुसुक्कै बिर्सेछु! के पो थियो, फेरि भन्नुहोस् त।” तिनको उत्तर तिमीहरूलाई कस्तो लाग्यो? काम गर्दा तिनको त्यस्तो मनोवृत्ति थियो। मैले सोचेँ, “यो व्यक्ति साँच्चै भरपर्दो रहेनछ। तरुन्तै गइहाल्! म तँलाई फेरि हेर्न चाहन्नँ!” मलाई त्यस्तो लाग्यो। त्यसकारण, म तिमीहरूलाई एउटा तथ्य बताउनेछु: तिमीहरूले परमेश्वरका वचनहरूलाई कहिल्यै ठगका झूटहरूसँग जोड्नु हुँदैन—त्यसो गर्नु परमेश्वरको लागि घृणास्पद कुरा हो। कतिपय मानिसहरू बोलेको कुरा पुऱ्याउँछु, र बोली नै मेरो तमसुक हो भनी भन्छन्। यदि त्यसो हो भने, परमेश्वरका वचनहरूको हकमा, के तिनीहरू ती वचन सुनेपछि ती वचनले भनेअनुसार गर्न सक्छन्? के तिनीहरू ती वचनहरूलाई आफ्ना व्यक्तिगत मामिलाहरूलाई जस्तै होसियारीका साथ लागु गर्न सक्छन्? परमेश्वरको हरेक वाक्य महत्त्वपूर्ण हुन्छ। उहाँले ठट्टा कुरा गर्नुहुन्न। उहाँले जे भन्नुहुन्छ, त्यसलाई मानिसहरूले लागु गरेर काममा उतार्नैपर्छ। जब परमेश्वर बोल्नुहुन्छ, के उहाँ मानिसहरूसँग परामर्श लिइरहनुभएको हुन्छ? अवश्य नै हुँदैन। के उहाँले तँलाई बहु-वैकल्पिक प्रश्नहरू सोधिरहनुभएको हुन्छ? अवश्य नै हुँदैन। यदि तैँले परमेश्वरका वचन र आज्ञाहरू आदेश हुन्, मानिसले ती वचनमा भनिएअनुसार गर्नैपर्छ र तिनलाई लागु गर्नैपर्छ भन्ने महसुस गर्न सक्छस् भने, तँसित तिनलाई लागु गरेर काममा उतार्ने दायित्व हुन्छ। यदि तँ परमेश्वरका वचनहरू ठट्टा मात्र हुन्, आफूलाई मन परे गर्न सकिने नत्र नगर्ने सामान्य टिप्पणी मात्र हुन् भनेर सोच्छस्, र तिनलाई त्यसरी लिन्छस् भने, तँमा समझको निकै कमी छ र तँ व्यक्ति कहलिन लायक छैनस्। परमेश्वर तँसँग फेरि कहिल्यै बोल्नुहुनेछैन। परमेश्वरका मापदण्डहरू, उहाँका आदेश र आज्ञाहरूको विषयमा व्यक्तिले सधैँ आफ्नै छनौटहरू गरिरहेको हुन्छ, र ती कुराप्रति झाराटारुवा मनोवृत्ति राखिरहेको हुन्छ भने, ऊ परमेश्वरले तिरस्कार गर्ने खालको व्यक्ति हो। मैले तँलाई सिधै अह्राउने र सुम्पने कुराहरूमा, यदि तँलाई सधैँ मेरो रेखदेख र प्रोत्साहन चाहिन्छ, मैले अनुगमन गर्नुपर्छ, मैले सधैँ चिन्ता गर्नुपर्छ र सोधखोज गर्नुपर्छ, हरेक मोडमा तेरो निम्ति सबथोक जाँच्नुपर्छ भने, तँलाई हटाइनुपर्छ। हालै परमेश्वरको घरबाट हटाइएकाहरूमा यस प्रकारका व्यक्तिहरू धेरै छन्। म तिनीहरूलाई केही कुराहरूमा निर्देशन दिन्छु र त्यसपछि सोध्छु: “के तिमीहरूले त्यो सबै लेख्यौ? के यो प्रस्ट भयो? के तिमीहरूसँग कुनै प्रश्नहरू छन्?” जसमा तिनीहरूले यस्तो जवाफ दिन्छन्: “मैले सबै लेखेको छु, कुनै समस्या छैन, चिन्ता लिनु पर्दैन!” तिनीहरू ती काम गर्न सजिलैसँग सहमत हुन्छन्, मुटुमाथि हात राखेर मेरोसामु कसम समेत खान्छन्। तर के तिनीहरूले सहमति जनाएपछि वास्तवमै यी कुराहरू लागु गर्छन्? अहँ, तिनीहरू कुनै निशानबिना हराउँछन् र तिनीहरूबाट कुनै थप समाचारहरू आउँदैनन्। तिनीहरू आफूलाई मनपर्ने कामहरू तुरुन्तै, तीव्रतर रूपमा र निश्चयताका साथ गर्छन्। तिनीहरू मैले सुम्पेका कुरामा सजिलैसँग सहमत हुन्छन्, तर त्यसपछि तिनीहरूले त्यो कुरालाई बेवास्ता गर्छन्, अनि मैले पछि यस विषयमा उनीहरूसँग सोधपुछ गर्दा, तिनीहरूले केही पनि नगरेको पाउँछु। यस प्रकारको व्यक्तिमा कुनै प्रकारको विवेक वा समझ हुँदैन। तिनीहरू निकम्मा हुन्छन् र कर्तव्य निर्वाह गर्न योग्य हुँदैनन्। तिनीहरू सुँगुर वा कुकुरभन्दा खराब हुन्छन्। जब कसैले पहराको लागि कुकुर पाल्छ, ऊ टाढा हुँदा, उक्त कुकुरले अपरिचित व्यक्तिहरू आउँदा घर र आँगनको हेरविचार गर्ने काममा मद्दत गर्न सक्छ। यस्ता धेरै मानिसहरू छन् जो काम गर्नमा कुकुरहरू जति पनि राम्रा हुँदैनन्। कतिपय मानिसहरूलाई त आफ्नो सानोतिनो कर्तव्य निर्वाह गर्न पनि कसैले सधैँ सुपरिवेक्षण गर्नुपर्छ, र तिनीहरूले केही गर्नु अगाडि जहिले पनि कसैले तिनीहरूको काटछाँट गर्नुपर्छ र निगरानी राख्नुपर्छ। के यो कर्तव्य निर्वाह गर्नु हो? यी मानिसहरू ढँटुवा हुन्! यदि तिनीहरूले यो काम गर्ने योजना बनाएका थिएनन् भने, तिनीहरू किन यसमा सहमत भए? के यो जानाजानी मानिसहरूलाई धोका दिनु होइन? यदि तिनीहरूलाई उक्त काम कठिन हुनेछ भन्ने लागेको भए, तिनीहरूले किन पहिले नै त्यसो भनेनन्? तिनीहरूले किन यसलाई पूरा गर्ने प्रतिज्ञा गरे र त्यसपछि यो काम गरेनन्? यदि तिनीहरूले अरू मानिसहरूलाई धोका दिन्छन् भने उनीहरूले तिनीहरूलाई केही गर्न सक्दैनन्, तर यदि तिनीहरूले परमेश्वरलाई धोका दिन्छन् भने, यसका परिणामहरू के-के हुन्छन्? यस प्रकारको व्यक्तिलाई छुट्याएर हटाउनुपर्छ! के तिमीहरूलाई सत्यतालाई तिरस्कार गर्ने र खुला रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्ने मानिसहरू खराब मानिसहरू हुन् भन्ने लाग्दैन? तिनीहरू सबै खराब मानिसहरू हुन्, तिनीहरू सबै भूतहरू हुन्, र तिनीहरूलाई हटाइनुपर्छ! यी मानिसहरूले मनोमानी व्यवहार गर्ने, सिद्धान्तहरू उल्लङ्घन गर्ने, तिनीहरू विद्रोही र अनाज्ञाकारी भएका, र तिनीहरूले आफ्नै राज्य स्थापना गर्ने हुनाले, साथै तिनीहरू अल्छी र गैरजिम्मेवार भएकाले, तिनीहरूले मण्डलीमा ठूलो क्षति पुर्याएका छन्! यस्तो घाटाको क्षतिपूर्ति कसले दिन सक्छ? कसैले पनि यस्तो जिम्मेवारी वहन गर्न सक्दैन। यी मानिसहरू गुनासो गर्छन् र काटछाँटमा पर्दा तिनीहरू सन्दिग्ध र असन्तुष्ट रहन्छन्। के यी मानिसहरू अनुचित दियाबलस होइनन् र? तिनीहरूलाई साँच्चिकै मदत गर्नै सकिँदैन र तिनीहरूलाई धेरै पहिले नै हटाइनुपर्थ्यो!
के तिमीहरूले आज हामीले सङ्गति गरेको नोआ र अब्राहामका कथाहरूले भन्न खोजेको कुरा बुझ्यौ? के परमेश्वरले मानिसबाट अपेक्षा गर्ने कुरा धेरै कठिन छ? (छैन।) परमेश्वरले मानिसबाट अपेक्षा गर्ने कुरा नै सृजित मानवमा हुनुपर्ने सबैभन्दा आधारभूत कुरा हो; यो पटक्कै कठिन छैन, र यो सबैभन्दा व्यावहारिक र सबैभन्दा यथार्थपरक छ। परमेश्वरद्वारा अनुमोदित हुन मानिसहरूमा साँचो आस्था र पूर्ण समर्पण हुनुपर्दछ; यी दुई कुराहरू भएकाहरूले मात्र साँचो रूपमा मुक्ति पाउँछन्। तर गहिरो रूपमा भ्रष्ट तुल्याइएकाहरू, सत्यतालाई तिरस्कार गर्ने र सकारात्मक कुराहरूप्रति वितृष्ण हुने, अनि सत्यता विरुद्ध जानेहरूका लागि, यी दुई कुराहरूभन्दा बढी कठिन अरू केही हुँदैन! यो केवल परमेश्वरप्रति शुद्ध र खुला हृदय भएकाहरू, मानवता, समझ र विवेक भएका र सकारात्मक कुराहरूलाई प्रेम गर्नेहरूले मात्र प्राप्त गर्न सक्छन्। के तिमीहरूमा यी कुराहरू भेटिन्छन्? अनि मानिसहरूमा हुनुपर्ने लगनशीलता र शुद्धता कसमा भेटिन्छन्? उमेरको हिसाबले, यहाँ बसिरहेका तिमीहरू सबै जना नोआ र अब्राहामभन्दा कान्छा छौ, तर शुद्धताको हिसाबले तिमीहरूलाई उनीहरूसँग तुलना गर्न मिल्दैन। तिमीहरूमा शुद्धता, बौद्धिकता र बुद्धि भैटिदैनन्; तिमीहरूमा तुच्छ छलकपटको भने कुनै कमी छैन। त्यसोभए, यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ? के परमेश्वरका अपेक्षाहरू पूरा गर्ने कुनै उपाय छ? कुनै मार्ग छ? कहाँबाट सुरु गर्ने? (परमेश्वरका वचनहरू सुनेर।) ठिक भनिस्: सुन्न र समर्पित हुन सिकेर। कतिपय मानिसहरू भन्छन्, “कहिलेकाहीँ परमेश्वरले भन्नुभएको कुरो सत्य हुँदैन, र त्यसमा समर्पित हुन सजिलो हुँदैन। यदि परमेश्वरले सत्यताका केही वचनहरू बोल्नुभयो भने, समर्पण सजिलो हुनेथियो।” के यी कुराहरू सही हुन्? (होइनन्।) आज हामीले कुरा गरेका नोआ र अब्राहामका कथाहरूमा तिमीहरूले के पत्ता लगायौ? परमेश्वरको वचन पालन गर्नु र परमेश्वरका अपेक्षाहरूमा समर्पित हुनु मानिसको बाध्यकारी कर्तव्य हो। यदि परमेश्वरले मानिसका धारणाहरूसँग मेल नखाने केही कुरा भन्नुभयो भने, मानिसले यसको विश्लेषण वा जाँच गर्नु हुँदैन। परमेश्वरले जतिसुकै मानिसहरूमा धारणा र प्रतिरोध सिर्जना गर्नेगरी जसको निन्दा गर्नुहोस् वा जसलाई हटाउनुहोस्, परमेश्वरको पहिचान, सार, स्वभाव र हैसियत सदैव अपरिवर्तित रहन्छन्। उहाँ सदासर्वदा परमेश्वर हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ भन्ने कुरामा तँमा कुनै शङ्का नभएकाले, तेरो एकमात्र जिम्मेवारी, तैँले गर्नुपर्ने एक मात्र कुरा भनेको उहाँले भन्नुभएको कुरा पालन गर्नु र उहाँको वचनअनुसार अभ्यास गर्नु हो; यो नै अभ्यासको मार्ग हो। सृजित प्राणीले परमेश्वरका वचनहरूको जाँच, विश्लेषण, छलफल, अस्वीकार, र विरोध गर्नु, तीविरुद्ध विद्रोह वा तिनलाई इन्कार गर्नु हुँदैन; यसलाई परमेश्वरले घृणा गर्नुहुन्छ र यो उहाँले मानिसमा हेर्न चाहनुभएको कुरा होइन। परमेश्वरका वचनहरूलाई ठ्याक्कै कसरी व्यवहार गर्नुपर्छ? तैँले कसरी अभ्यास गर्नुपर्छ? यो वास्तवमा धेरै सजिलो छ: तिनलाई पालन गर्न सिक्, तिनलाई आफ्नो हृदयले सुन्, तिनलाई हृदयले स्वीकार गर् र हृदयले बुझ् अनि त्यसपछि गएर तिनलाई आफ्नो हृदयले अभ्यास र कार्यान्वयन गर्। तैँले आफ्नो हृदयमा जे सुन्छस् र बुझ्छस् त्यो तेरो अभ्याससँग निकट रूपमा सम्बन्धित हुनुपर्छ। यी दुईलाई अलग नगर्; सबै कुरा—तैँले जे अभ्यास गर्छस्, तँ जे कुरामा समर्पित हुन्छस्, तैँले आफ्नै हातले जे गर्छस्, तँ जे-जे कुराको लागि दौडन्छस्—त्यो परमेश्वरको वचनसँग सम्बन्धित हुनुपर्दछ, तब तैँले उहाँका वचनहरूबमोजिम अभ्यास गर्नुपर्छ र आफ्ना कार्यहरूमार्फत तिनलाई कार्यान्वयनमा ल्याउनुपर्छ। सृष्टिकर्ताका वचनहरूप्रति समर्पित हुनु भनेको त्यही हो। परमेश्वरका वचनहरू अभ्यास गर्ने मार्ग यही हो।
जुलाई १८, २०२०