विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग पाँच)

इ. परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्नु

आज हामी यसअघिकै सङ्गतिलाई जारी राख्नेछौँ, जसले “तिनीहरू सत्यतालाई तिरस्कार गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू मान्दैनन्, र परमेश्‍वरको घरका प्रबन्धहरूको बेवास्ता गर्छन्” भन्‍ने ख्रीष्टविरोधीहरूको दसौँ प्रकटीकरणलाई सम्बोधन गरेको थियो। यस विषयवस्तुलाई तीन खण्डमा विभाजन गरिएको छ। पहिलो दुइटा सङ्गति गरिसकिएका छन्, र आज हामी ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन् भन्‍ने तेस्रो खण्ड सङ्गति गर्नेछौँ। यसअघि, यस पक्षबारे केही प्रकटीकरण र भनाइहरूबारे सङ्गति गरिएको थियो, जस्तै ख्रीष्टविरोधीहरू कसरी परमेश्‍वरका वचनहरूलाई शङ्का गर्छन्, तिनलाई विश्‍वास गर्दैनन्, तीप्रति जिज्ञासाले भरिएका हुन्छन्, र तिनीहरूमा कसरी विश्‍वासको कुनै पनि तत्त्व हुँदैन र केवल शङ्का, जाँच र अनुमान मात्र हुन्छन्। छोटकरीमा भन्‍नुपर्दा, ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूलाई सत्यता मान्दैनन्, न त तिनलाई अभ्यास नै गर्छन्। मामलाहरू सामना गर्नुपर्दा, तिनीहरू परमेश्‍वरका वचनहरूअनुसार अभ्यासका सिद्धान्तहरू खोज्दैनन्। हृदयमा, तिनीहरू बारम्बार परमेश्‍वरका वचनहरूप्रति शङ्का, प्रतिरोध, र इन्कार गर्छन्। यी सबैलाई ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू तिरस्कार गर्नुका प्रकटीकरणहरू मान्‍न सकिन्छ। आज हामी ख्रीष्टविरोधीहरूले ठ्याक्कै कसरी परमेश्‍वरका वचनहरू तिरस्कार गर्छन् भनेर चिरफार गर्न परमेश्‍वरका वचनहरूप्रति ख्रीष्टविरोधीहरूका अझ गहन र विशिष्ट मनोवृत्ति र कार्यहरूबारे थप सङ्गति गर्नेछौँ। ख्रीष्टविरोधीहरूले कसरी परमेश्‍वरका वचनहरू तिरस्कार गर्छन् भन्‍ने सन्दर्भमा, हामी एक-एक विषयवस्तु सङ्गति गर्नेछौँ। के यो तरिका बढी प्रस्ट हुँदैन र? (हुन्छ।) यदि मैले साधारण तरिकाले सङ्गति गर्नुपर्‍यो, र तिमीहरूमा निश्‍चित बोध क्षमता, पर्याप्त सामर्थ्य, र आत्मिक बुझाइ थियो, र तिमीहरूले प्राय: परमेश्‍वरका वचनहरूबाट ज्योति प्राप्त गर्थ्यौ भने, मैले यसअघि जे सङ्गति गरेँ त्यो नै वास्तवमा तिमीहरूको लागि पर्याप्त हुनेथ्यो। तर धेरैजसो मानिसहरूमा परमेश्‍वरका वचनहरू बुझ्ने क्षमता नै हुँदैन; तिनीहरू परमेश्‍वरका वचनहरूलाई बुझ्‍नुपर्ने सत्यताको रूपमा लिने स्तरमा पुगेकै हुँदैनन्। त्यसकारण, हामीले एक-एक विषयवस्तु सङ्गति गर्नुपर्छ। यस विषयलाई विशिष्टीकृत रूपमा धेरै स-साना खण्डहरूमा विभाजित गरिएको छ।

क. ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्छन् र अर्थ्याउँछन्

पहिलो विषयवस्तु ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्छन् र अर्थ्याउँछन् भन्‍ने हो। यसअघि, हामीले केही विशेष उदाहरणहरूमार्फत यस पक्षबारे सङ्गति गरेका छौँ, तर लक्षित र विस्तृत चिरफार नगरी संक्षिप्त रूपमा मात्र सङ्गति गर्‍यौँ। ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्नु र अर्थ्याउनुका प्रकटीकरणहरू के-के हुन्? यस विषयवस्तु सम्बन्धमा, ख्रीष्टविरोधीहरूले कस्तो व्यवहार गर्छन्? ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूप्रति यस्तो व्यवहार देखाउन र यस्ता कार्यहरू अपनाउन सक्नुले, तिनीहरूको प्रकृतिको दृष्टिकोणबाट, तिनीहरू हृदयमा परमेश्‍वरका वचनहरू सत्यता हुन्, ती पवित्र र अनुल्लङ्घनीय प्रकृतिका छन् भनी विश्‍वास गर्दैनन् भन्‍ने जनाउँछ। परमेश्‍वरले सत्यताका वचनहरूको जुनसुकै पक्ष व्यक्त गर्नुभए पनि, मानिसहरूलाई ती सामान्य वा गहन जस्तोसुकै लागे पनि, त्यो परमेश्‍वरका वचनहरू नै हो, त्यो सत्यता नै हो, र त्यो छुट्ट्याउनै नमिल्नेगरी तिनीहरूको जीवन प्रवेश, स्वभाव रूपान्तरण, र मुक्तिसित जोडिएको हुन्छ। तर ख्रीष्टविरोधीहरूले यसलाई यो तरिकाले हेर्दैनन्; तिनीहरू हृदयमा यसबारे सचेत हुँदैनन्, न त तिनीहरूमा यस्तो चेतना वा बुझाइ नै हुन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरू सत्यता हुन् भनी विश्‍वास गर्दैनन्, न त आफ्नो जीवन प्रवेशको लागि परमेश्‍वरका वचनहरूको ठूलो महत्त्वलाई नै चिन्छन्। त्यसको उल्टो, तिनीहरूले परमेश्‍वरका वचनहरू बाहिरबाट हेर्दा मानव वचनहरूजस्ता मात्र र निकै साधारण देखिने विश्‍वास गर्छन्। परमेश्‍वर, परमेश्‍वरको घर, र मण्डलीलाई पछ्याउने सबैले तिनलाई “परमेश्‍वरका वचनहरू” भनेको कारणले मात्र ती अति महत्त्वपूर्ण देखिन्छन्। तर वास्तवमा, बाहिरबाट हेर्दा, परमेश्‍वरका वचनहरू मानिसहरूले अक्सर बोलिरहने साधारण वाक्यांशहरूजस्ता मात्र देखिन्छन्। शाब्दिक रूपमा, यी वचनहरूमा मानव भाषाका तत्त्वहरू छन्, तिनमा मानव भाषाका तर्क, सोच, र शब्दावली छन्, जसमा केही बोलीचालीका शब्दहरू, टुक्काहरू, भनाइहरू, र दुई-अंशीय उखानहरूसमेत पर्छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई व्यक्तिले कल्पना गरेजस्तो भव्य, अगम्य, वा गहन कुराको रूपमा, वा स्वर्गबाट आएका पौराणिक धर्मशास्‍त्रहरूको रूपमा हेर्दैनन्। तिनीहरूको लागि, ती सरल र साधारण मात्र हुन्छन्। तसर्थ, धेरै सूक्ष्मजाँचपछि, तिनीहरू अन्ततः हृदयमा एउटा निर्क्योलमा पुग्छन्: यी वचनहरू केवल सरल भाषा हुन्, यी निकै व्यावहारिक छन्, यी विश्‍वासीहरूले पढ्नुपर्ने कुराहरू हुन्, र यी व्यक्तिको व्यवहार र आस्थामा मदत गर्न सक्ने वचनहरू हुन्। धेरै पढेपछि, तिनीहरू यही निष्कर्षमा पुग्छन्। कतिपय ख्रीष्टविरोधी र अहम्‌वादीहरूले पनि परमेश्‍वरका वचनहरू लिन्छन् र एकैपटकमा धेरै अध्याय र पृष्ठहरू पढ्छन्। कतिपयले त एक महिनामै “वचन देहमा देखा पर्नुहुन्छ” भन्‍ने पुस्तकसमेत सुरुदेखि अन्त्यसम्म पूरै पढ्छन्, जसले तिनीहरूको मन र सोचमा गहन छाप पार्छ। तिनीहरूले केही आत्मिक शब्दावलीहरू, परमेश्‍वरको बोलीको भाव र शैली, साथै परमेश्‍वरका अलग-अलग चरणका वचनहरूको विषयवस्तुबारेसमेत सामान्य बुझाइ प्राप्त गर्छन्। पढिसकेपछि, तिनीहरूले यसो भन्छन्, “परमेश्‍वरका वचनहरू ठिकठिकै मात्र छन्। मैले ती सबै एकपटकमै पढेर परमेश्‍वरको छ-हजार वर्षे व्यवस्थापन योजनाको साधारण विषयवस्तु बुझेको छु। त्यसकारण, परमेश्‍वरका वचनहरू त्यति गहन छैनन्। परमेश्‍वरका वचनहरूलाई उचालेर सत्यताको स्तरमा पुर्‍याउनु, र मानिसहरूको जीवन प्रवेशको लागि अत्यावश्यक कुरा ठान्‍नु अलि चरमता हो जस्तो देखिन्छ।” त्यसकारण, तिनीहरूले यी वचनहरूलाई जसरी हेरे पनि, परमेश्‍वरका वचनहरूबारे तिनीहरूको हृदयको अन्तिम निर्क्योल यही हुन्छ कि ती वचनहरू मानिसहरूले कल्पना गरेजस्तो गहन वा बुझ्न गाह्रो छैनन्। शिक्षित र आँखाहरू भएको जोकसैले तिनलाई बुझ्न सक्छन्। बारम्बार पढेपछि पनि तिनीहरूले परमेश्‍वरका वचनहरूबाट मानिसहरूले बुझ्नुपर्ने विभिन्‍न सत्यताहरू चिन्‍न र बुझ्न, अनि तीबाट अन्तर्दृष्टि, भरणपोषण, र सहयोग प्राप्त गर्न नसक्ने मात्र नभई, तिनीहरूलाई परमेश्‍वरका वचनहरू सत्यता र स्वर्गका धर्मशास्‍त्रहरूभन्दा धेरै पर छन् भन्‍ने पनि लाग्छ। यस्तो निष्कर्षमा पुगेपछि, ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई झनै बढी तिरस्कार गर्छन्। तिनीहरू परमेश्‍वरका वचनहरू यति मात्र हुन्, परमेश्‍वर यति मात्र हुनुहुन्छ, र सत्यता भनेको यो मात्र हो भन्‍ने विश्‍वास गर्छन्। यस्तो मनोवृत्ति र बुझाइले, परमेश्‍वरका वचनहरू र “वचन देहमा देखा पर्नुहुन्छ” भन्‍ने पुस्तकप्रति ख्रीष्टविरोधीहरूको भित्री अडानले तिनीहरूलाई परमेश्‍वरका वचनहरू र सत्यतालाई झनै तिरस्कार गर्ने तुल्याउँछ। तिनीहरूले आफ्नो ज्ञान र बुद्धि प्रयोग गर्दै, र साथमा आफ्ना स्मरण र चलाखीपनमा भरोसा गरेर यी वचनहरूका विषयवस्तु र तथाकथित सिद्धान्तहरू, र तिनमा प्रयोग भएका केही भाव, शैली, र सामान्य अभिव्यक्ति र टुक्काहरू भएका शब्दावलीहरू तीव्र गतिमा बुझ्छन्। त्यसपछि, तिनीहरूले आफूले सबथोक हासिल गरेको र आफूसँग सबै कुरा भएको महसुस गर्छन्। यस्तो बुझाइ र मनोवृत्तिले तिनीहरूलाई हृदयमा परमेश्‍वरका वचनहरूलाई झनै लापरवाहीपूर्वक तिरस्कार गर्ने र सवाल उठाउने साथै परमेश्‍वरको पहिचान र सारबारे झनै शङ्का गर्ने तुल्याउँछ।

ख्रीष्टविरोधीहरूको प्रकृति हेर्दा, यो देख्‍न सकिन्छ कि तिनीहरू सत्यताप्रति प्रतिकूल हुन्छन्, र तिनीहरूले सकारात्मक कुराहरू तिरस्कार गर्छन्, र परमेश्‍वरको नम्रता र गुप्तता, अनि परमेश्‍वरको विश्‍वसनीयता, वास्तविकता, र प्रेमिलोपन तिरस्कार गर्छन्। यो तिरस्कारको श्रृङ्खलाले ख्रीष्टविरोधीहरूलाई अचेतन र स्वाभाविक तवरमा केही वाकवाकलाग्दा कार्यहरू गराउँछ जसलाई परमेश्‍वरले घिनाउनुहुन्छ र निन्दा गर्नुहुन्छ। यी कार्यहरूमा स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्ने र अर्थ्याउने कार्यहरू पर्छन्। छेडछाड गर्नुले के जनाउँछ? ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूमा सत्यता हुन्छ र परमेश्‍वरका वचनहरूले मानिसहरूलाई जीवन प्रदान गर्न सक्छन् भनेर विश्‍वास गर्दैनन्, र यी वचनहरू मान्छेले बाँच्नको लागि भरोसा गर्ने जग र मान्छेको प्रगतिको दिशा र मार्ग हुन् भनेर त झनै विश्‍वास गर्दैनन्। त्यसकारण, तिनीहरू परमेश्‍वरले किन यी तरिकाले बोल्नुहुन्छ भनेर बुझ्दैनन्, न त तिनीहरू परमेश्‍वरले किन यस्ता वचनहरू विशेष सन्दर्भमा बोल्नुहुन्छ भनेर नै जान्दछन्, र तिनीहरू परमेश्‍वरले किन यी विशेष विषयवस्तुहरू बोल्नुहुन्छ भन्‍नेबारे त झनै अनभिज्ञ हुन्छन्। यी विषयवस्तुहरू कसरी आए, परमेश्‍वरले के सोच्नुहुन्छ, र यी वचनहरू बोल्ने क्रममा मानिसहरूमा के देख्ने, के हासिल गर्ने, र के हुन दिने उद्देश्य राख्नुहुन्छ भन्‍ने सन्दर्भमा, साथै—यी वचनहरूमा—परमेश्‍वरले हासिल गर्ने उद्देश्य राख्नुभएका सबै कुराहरू, उहाँका अभिप्रायहरू, र सत्यता सन्दर्भमा, ख्रीष्टविरोधीहरू पूर्णतया अनभिज्ञ र अज्ञानी हुन्छन्—यस सम्बन्धमा तिनीहरू ज्ञानहीन आम मानिसजस्तै हुन्। त्यसकारण, तिनीहरू हृदयमा परमेश्‍वरले यो वाक्यांश यस तरिकाले नभन्‍नुपर्थ्यो, त्यो वाक्य यसपछि आउनुपर्छ, यस वाक्यलाई यस तरिकाले भन्‍नुपर्छ, त्यस अनुच्छेदमा यस्तो भाव वा त्यस्तो आरोहअवरोह हुनुपर्छ, यो शब्द चयन गलत छ, र त्यो शब्द असंवेदनशील छ र परमेश्‍वरको पहिचानसँग सुहाउँदो छैन भन्‍ने महसुस गर्छन्, र यसरी तिनीहरूले आफ्ना रायहरू निर्माण गर्छन्। तिनीहरूको नजरमा, परमेश्‍वरका वचनहरू यस संसारको कुनै पनि चर्चित वा महान् व्यक्तिका कामजति राम्रा छैनन्। तिनीहरूलाई परमेश्‍वरको वाणी पर्याप्त मात्रामा मिहिन छैन, त्यो शब्दहरूको थुप्रो मात्र हो, र नजिकबाट सूक्ष्मजाँच गर्दा, केही वचनहरू मानव व्याकरण र शब्दका नियमहरूअनुरूप हुँदैनन् भन्‍ने महसुस हुन्छ। “यी वचनहरूमा कसरी सत्यता हुन सक्छ? यी कसरी परमेश्‍वरका वचनहरू हुन सक्छन्? ती कसरी सत्यता हुन सक्छन्?” ख्रीष्टविरोधीहरूले हृदयमा अनुमान लगाउनु र मनन गर्नुको साथसाथै शङ्का र निन्दा पनि गरिरहेका हुन्छन्। यस्तो मनोवृत्ति, यस्ता सोचहरू, र परमेश्‍वरका वचनहरूमाथि यस्तो दृष्टिकोण बोकेर, ख्रीष्टविरोधीहरूले आफ्ना दुष्ट पन्जाहरू तयार पार्छन्।

मलाई केही वर्षअघि भजन समूहमा एउटा घटना घटेको याद छ। तिनीहरू मण्डलीमा गाउनको लागि परमेश्‍वरका वचनहरूको एउटा अत्यावश्यक अनुच्छेदको सङ्गीत रचना गर्न चाहन्थे। रचनाको क्रममा, तिनीहरूले परमेश्‍वरको वाणी र शब्द सङ्ख्या लयसँग नमिलेको पाए; शब्दरचनाको प्रत्येक हरफमा धेरै शब्दहरू थिए। यसअलावा, पूरै गीतको लयलाई परमेश्‍वरका वचनहरूसँग जोड्दा, त्यसले शब्दहरू अति धेरै र लामो बनाउँथ्यो। अनि, तिनीहरूले के समाधान निकाले त? तिनीहरूले एउटा उपाय भेट्टाए: तिनीहरूले प्रस्ट अर्थ नबदलिनेगरी परमेश्‍वरका वचनहरूका केही वाक्यांश र शब्दावलीहरू हेरफेर गरे—उदाहरणको लागि, चार अक्षरी टुक्कालाई दुई अक्षरी शब्दमा परिणत गर्ने, वा लामो, अनावश्यक, र बकवास वाक्यहरूलाई मेटाउने काम गरे। यस सिद्धान्तलाई पछ्याएर, तिनीहरूले परमेश्‍वरका वचनहरूको सम्पादित संस्करणमा सङ्गीत भरे र गाउनको लागि त्यसलाई मण्डलीमा प्रसारित गरे। अन्योलमा परेर धेरैजसो मानिसहरूले त्यसलाई परमेश्‍वरका वचनहरूको भजन भन्ठाने, तर यस्तो अनुच्छेद बिलकुलै परमेश्‍वरको वचन थिएन भनेर कसलाई थाहा थियो र? त्यो त ख्रीष्टविरोधीहरूद्वारा स्वेच्छाचारी रूपमा परिमार्जित र सङ्क्षेपित, छेडछाड र हेरफेर गरिएको अनुच्छेद थियो। पछि, जब एउटा कार्यक्रमको लागि यस भजनलाई तयार पारिँदै थियो, मैले उक्त भजन परमेश्‍वरका वचनहरूको कुन अध्यायमा आधारित छ भनेर सोधेँ। तिनीहरूले मलाई त्यो कुनै विशेष अध्यायको पहिलो अनुच्छेद भएको बताए। मैले त्यो अनुच्छेद फेला पारेँ र त्यसलाई भजन सङ्ग्रहमा भएकोसँग तुलना गरेँ, र त्यसबाट म निकै चकित भएँ। भजन सङ्ग्रहको उक्त अनुच्छेद परमेश्‍वरका वचनहरूको अध्यायबाट छानिएको खण्ड हो भनिएको थियो, तर त्यसलाई चिन्नै नसकिनेगरी हेरफेर गरिएको थियो। त्यो वाणीको भाव पूरै हराएको थियो, धेरै महत्त्वपूर्ण वचनहरू छुटेका थिए, वाणीको विषयवस्तु भद्रगोल भएको थियो, साथै शब्दहरूको अनुक्रमसमेत उल्टो पारिएको थियो। यदि यो अनुच्छेद फलानो अध्यायबाट लिइएको हो भनी कसैले पनि मलाई नभनेको भए, मलाई लाग्दैन कि यो कुन अध्यायबाट लिइएको हो भनेर कसैले पनि थाहा पाउन सक्थ्यो; यो मूल अनुच्छेदसँग बिलकुलै मिल्दैनथ्यो। बाहिरबाट हेर्दा, यी मानिसहरूले आफ्नो कर्तव्य गरिरहेका थिए: परमेश्‍वरका वचनहरूमा सङ्गीत भरेर सबैलाई गाउन र अपनाउन दिएपछि, परमेश्‍वरका वचनहरूले निरन्तर रूपमा मानिसहरूलाई डोर्‍याउन र मार्गदर्शन गर्न सक्थे, र यसबाट मानिसहरूलाई परमेश्‍वरका वचनहरूमा प्रवेश गर्न मदत मिल्न सक्थ्यो। यो कस्तो गजबको कार्य थियो! तर ख्रीष्टविरोधीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदै नहुने भएकोले, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई साधारण मानिसहरूले कुराकानी गर्दा बोलेका शब्दहरूकै रूपमा लिए, र स्वेच्छाचारी रूपमा तिनलाई मेटाउने र छेडछाड गर्ने काम गरे। एउटा पनि प्रश्‍न नसोधी र कसैको पनि अनुमति वा सहमति नलिई—वा कसैबाट अख्तियारी प्राप्त गर्ने काम त झनै नगरी—तिनीहरूले परमेश्‍वरका वचनहरूलाई पूर्ण रूपमा परिवर्तन गरे, तैपनि मानिसहरूलाई भने तिनीहरूले आफूले आफ्नो कर्तव्य गरिरहेको, र यसरी परमेश्‍वरका वचनहरूमा सङ्गीत भरेको विश्‍वास दिलाए। यो कस्तो व्यवहार र तरिका हो? यस्तो व्यवहार र यस्तो तरिकामा लाग्ने व्यक्तिको स्वभाव कस्तो हुन्छ? जो यस्तो विधि अपनाउँछन्, जो परमेश्‍वरका वचनहरूलाई यस्तो मनोवृत्तिले हेर्छन्, के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई हेर्ने तरिकामा तिनीहरूको हृदयभित्र वास्तवमा कुनै डर हुन्छ? के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रिय ठान्छन्? के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा लिन्छन्? परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको आदररहित र सामान्य मनोवृत्तिलाई हेर्दा, तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रिय नठान्‍ने मात्र नभई, तिनलाई खेलौनाको रूपमा समेत लिन्छन्, र लहडैलहडमा यतिकै तिनलाई हेरफेर गरिदिन्छन्। के परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्तिले परमेश्‍वर स्वयम्‌प्रतिको तिनीहरूको मनोवृत्तिलाई जनाउँदैन र? (जनाउँछ।) यो ठ्याक्कै एउटै कुरा हो। परमेश्‍वरका वचनहरूले परमेश्‍वर स्वयम्‌लाई जनाउँछन्; ती परमेश्‍वरको अभिव्यक्ति, उहाँको स्वभावको अभिव्यक्ति, र उहाँको सारको प्रकटीकरण हुन्। यदि मानिसहरूले परमेश्‍वरका वचनहरूप्रति यति आदररहित र लापरवाह व्यवहार गर्छन् भने, तिनीहरूले परमेश्‍वरलाई कस्तो व्यवहार गर्छन् भनेर भनिरहनै पर्दैन। यसले धेरै कुरा बताउँछ।

मानिसहरू बाहिरी रूपमा परमेश्‍वरलाई पछ्याउँछन्, उहाँको निम्ति त्याग गर्छन्, समर्पित हुन्छन्, र कठिनाइ सहन्छन्, तर परमेश्‍वरका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति अत्यन्तै आदररहित र सामान्य हुन्छ। ख्रीष्टविरोधीहरूले “वचन देहमा देखा पर्नुहुन्छ” भन्‍ने पुस्तकलाई सुन्दर तरिकाले सजाउन, कपडामा बेर्न, र सबैभन्दा सुरक्षित स्थानमा राख्न पनि सक्छन्। तर यसले के प्रमाणित गर्न सक्छ? के यसले तिनीहरूले परमेश्‍वरका वचनहरूलाई प्रिय ठान्छन्, तिनीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुन्छ भन्‍ने देखाउन सक्छ र? के यी देखावटी कार्यहरूले परमेश्‍वरका वचनहरूप्रति तिनीहरूका आदररहित मनोवृत्तिलाई छोप्न सक्छन् र? सक्दैनन्। जबजब तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्छन्, तिनीहरू सधैँ तिनका केही शब्द, अभिव्यक्ति, र भावहरू हेरफेर गर्न चाहन्छन्। अनि कतिपय ख्रीष्टविरोधीहरू कुन हदसम्म दुस्साहसी हुन्छन्? जब तिनीहरूले परमेश्‍वरका वचनहरूमा आफ्ना धारणाहरूसँग नमिल्दो कुनै कुरा भेटाउँछन्, वा तिनीहरूलाई कुनै अनुचित शब्द प्रयोग गरिएको छ वा व्याकरण मिलेको छैन भन्‍ने लाग्छ, वा तिनीहरूलाई कुनै विरामचिन्ह नै गलत छ भन्‍ने लाग्छ, तब तिनीहरूले परमेश्‍वरका वचनहरूमा विरामचिन्ह राख्न नमिलेको, अनुचित शब्द चयन गरेको, वा बेमनासिब लाग्ने भनाइ रहेको कुरा सारा संसारले थाहा पाऊन् भन्‍ने कामना गर्दै, उक्त मामलालाई चर्को सोरले उद्घोष गर्दै बढाइचढाइ गर्नेछन्। तिनीहरूले उपहास र तिरस्कारी भावले यो कुरा फैलाउँछन्। यस्तो लाग्छ, यी क्षणहरूमा, तिनीहरूले अन्ततः परमेश्‍वरका वचनहरूमा त्रुटिहरूको प्रमाण, फाइदा उठाउने मौका, र खोट भेटाएको ठान्छन्, र तिनीहरू अन्ततः परमेश्‍वरका वचनहरूमा पनि गल्तीहरू हुन्छन् र परमेश्‍वर सिद्ध हुनुहुन्‍न भनेर विश्‍वस्त हुन्छन्। के यो ख्रीष्टविरोधी स्वभाव होइन र? ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरूमा गल्ती र त्रुटिहरू भेटाउने उद्देश्य राख्छन्; यो शत्रुताको मनोवृत्ति हो, समर्पण र स्वीकारको मनोवृत्ति होइन। ख्रीष्टविरोधीहरूले स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्ने र अर्थ्याउनेबारे भन्‍नुपर्दा, के भर्खरै उल्लेख गरिएको भजन समूहमा घटेको घटनालाई परमेश्‍वरका वचनहरूलाई छेडछाड गरेको मान्‍न सकिन्छ? (सकिन्छ।) ल भन् त, कस्तो व्यक्तिले यति स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूलाई हेरफेर गर्छ होला? के तिनीहरूमा परमेश्‍वरको कुनै डर हुन्छ? (हुँदैन।) यो कस्तो स्वभाव हो? पहिलो कुरा, के तिनीहरूले परमेश्‍वरका वचनहरूलाई परमेश्‍वरका वचनहरूको रूपमा लिन्छन्? (लिँदैनन्।) त्यसोभए तिनीहरूले परमेश्‍वरका वचनहरूलाई केको रूपमा लिन्छन्? तिनीहरूले तिनलाई मानव शब्दहरूको रूपमा लिन्छन्। मानिसहरूको अनुभवात्मक गवाहीका शब्दहरू मिलेका छैनन् वा अधुरा छन् भने तिनलाई हेरफेर गर्नु स्वीकार्य होला, तर परमेश्‍वरका वचनहरूलाई पनि त्यसै गर्ने आँट गर्नु, यो कस्तो प्रकृतिको कुरा हो? के यो परमेश्‍वरको डर मान्‍ने हृदयबिना मनोमानी रूपमा र लापरवाहीपूर्वक कार्य गर्नु होइन र? स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूमाथि टिप्पणी गर्ने र तिनलाई हेरफेर गर्ने, र आफ्ना विचार वा दृष्टिकोणसँग नमिल्नेबित्तिकै तिनलाई परिवर्तन गर्ने आँट गर्नु—के यो गम्भीर प्रकृतिको कुरा होइन र? (हो।)

परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्नमा अरू को संलग्न छ? सुसमाचार फैलाउने क्रममा, केही सुसमाचार स्विकार्ने सम्भावना भएकाहरू परमेश्‍वरका वचनहरूको सम्पर्कमा आउँछन् र तिनीहरूले परमेश्‍वरको भाव, शैली, उहाँको बोल्ने दृष्टिकोण, र त्यसमा प्रयोग हुने शब्द र सर्वनामहरूसमेत, र अन्य धेरै पक्षहरूबारे विभिन्‍न धारणाहरू बनाउँछन्। फरकफरक मानिसहरू सबैका फरकफरक धारणाहरू हुन्छन्; फरक सम्प्रदायका मानिसहरूका फरकफरक रुचि र मागहरू हुन्छन्। सुसमाचार टोलीका कतिपय सदस्यहरूले यसो भन्छन्, “यस तरिकाले सुसमाचार फैलाउन गाह्रो छ! परमेश्‍वरका कतिपय वचनहरू अति कठोर छन्; कतिपय वचनहरू हेर्दा त परमेश्‍वरले मानिसहरूलाई सरापिरहनुभएजस्तो देखिन्छ। तिनीहरू बिलकुलै नम्र छैनन्, तिनमा प्रेम छैन, र ती सबै दैनिक प्रयोजनका भाषा हुन्। कति वचनहरू त विशेष रूपले निश्‍चित जातिहरूप्रति लक्षित हुन्छन्, जबकि कतिपयले चाहिँ रहस्यहरू खोल्छन्—मानिसहरूलाई यी कुनै पनि कुरा स्वीकार्य लाग्दैनन्! यी वचनहरू सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूको लागि परमेश्‍वरको नयाँ काम स्विकार्नमा अवरोध बनेका छन्। हामी के गरौँ?” अनि कसैले भन्छ, “मसँग एउटा समाधान छ। सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले यी वचनहरूको कारण परमेश्‍वरको नयाँ काम स्विकार्न सक्दैनन् भने, तिनलाई किन नमेटाउने? मानिसहरूले स्विकार्न अनिच्छुक वचन र विषयवस्तुहरू छन् भने, एउटै वाक्य नै भए पनि, ती सबैलाई चिन्ह लगाउने, र छाप्ने क्रममा तिनलाई हटाइदिने। यसो गरियो भने, सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूले ती पढ्दा, त्यसमा तिनीहरूको स्वभिमानमा चोट पुर्‍याउने वा तिनीहरूको चित्त दुखाउने कुनै पनि वचनहरू हुनेछैनन्, न त तिनीहरूका धारणाहरूसँग नमिल्ने कुनै कुरा नै हुनेछन्। परमेश्‍वरका सबै वचनहरू उचित हुनेछन्, ती वचन स्विकार्नेहरूमा कुनै पनि धारणाहरू हुनेछैनन्, र तिनीहरूले सहज रूपमा परमेश्‍वरको नयाँ काम स्विकार्न सक्नेछन्।” सुसमाचार टोलीका कतिपयले वास्तवमै यसो गरे, तिनीहरूले माथि नसोधी वा माथिको अनुमतिसमेत नलिई यी सङ्क्षेपित र छेडछाड गरिएका परमेश्‍वरका वचनहरूका पर्चा छापेर व्यापक रूपमा वितरण गरे। काममा आफूलाई सहज होस् भनेर, अनि अझ बढी मानिसहरू प्राप्त गर्न, आफ्नो कार्य क्षमता देखाउन, र आफ्नो कर्तव्यमा बफादार देखिन, तिनीहरूले यो विधि रचे र यसलाई पुस्तकको रूपमा छापेर वास्तविकतामा समेत परिणत गरे। तर यो पुस्तक “वचन देहमा देखा पर्नुहुन्छ” भन्‍ने पुस्तकभन्दा पूर्ण रूपमा फरक छ। के यो परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्ने विधि होइन र? (हो।) के परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्नु भनेको परमेश्‍वरको प्रतिरोध गर्ने एउटा तरिका हो भनेर धेरैजसो मानिसहरूलाई थाहा हुन्छ? (हुन्छ।) के धेरैजसो मानिसहरूमा यो चेतना छ? आज, यति धेरै सङ्गति गरेपछि, तिमीहरूले सजिलै हुन्छ भन्‍न सक्छौ। तर यदि तिमीहरूले तिन वा पाँच वर्षपहिले सुसमाचार फैलाइरहेको भए, के परमेश्‍वरको एउटा शब्द वा वाक्यसमेत हेरफेर गर्नु हुँदैन भनेर तिमीहरूलाई थाहा हुनेथ्यो? के तिमीहरूमा परमेश्‍वरको डर मान्‍ने यस्तो हृदय हुनेथ्यो? (हुनेथिएन।) त्यसोभए, कुन सन्दर्भमा चाहिँ तिमीहरूमा यो चेतना हुँदैनथ्यो? के तिमीहरूमा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदै नभएको सन्दर्भमा तिमीहरूले स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्ने आँट गरेका हुनेथ्यौ? यदि कसैमा परमेश्‍वरको डर मान्‍ने हृदय हुँदै हुँदैन भने, तिनीहरूले स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्ने आँट गर्नेछन्, र यसरी मूल अर्थ, परमेश्‍वरको वाणीको शैली, र परमेश्‍वरका वचनहरूको कुनै निश्‍चित अनुच्छेदले पार्न चाहेको प्रभाव परिवर्तन गरिदिनेछन्, र यस अनुच्छेदका अभिप्रायहरू, चुरो कुरा, र यसले जोड दिने कुराहरू हटाइदिनेछन्—यो सबै छेडछाड गर्नु हो।

केही वर्षअघि, एउटा जम्काभेटमा, सुसमाचार टोलीको एकजनाले एउटा प्रश्‍न उठायो: “कुनै निश्‍चित जातीय समूहलाई परमेश्‍वरको नयाँ कामको गवाही दिँदा, उनीहरू घृणा महसुस गर्छन् र जुन भागमा परमेश्‍वरले उनीहरूको खुलासा गर्नुहुन्छ ती भागहरू सुन्‍न अनिच्छुक हुन्छन्, र उनीहरूले ती भागहरूबारे धारणाहरू बनाउँछन्। त्यसकारण ती वचनहरू तिनीहरूले परमेश्‍वरको नयाँ काम स्विकार्नमा बाधक बन्छन्। हामीले ती वचनहरूलाई हेरफेर गर्ने सोचिरहेका छौँ। तिनलाई परिवर्तन गरेपछि, उनीहरूले तिनलाई स्विकार्न सक्नेछन्, र परमेश्‍वरको नयाँ काम वा परमेश्‍वरको यो देहधारणबारे कुनै धारणाहरू बाँकी रहनेछैनन्।” तिमीहरूलाई यो प्रश्‍नबारे के लाग्छ? यसरी भेटेर सुसमाचारको कामबारे छलफल गर्ने यो अवसर नभएको भए, तिनीहरू आफैले जिम्‍मा लिएर यी वचनहरू हेरफेर गरिसकेका हुन सक्थे। सायद तिनीहरूले कल्पना गरेअनुसार, त्यस जातीय समूहका तीन, पाँच, दस, वा त्योभन्दा बढी मानिसहरूले त्यसपछि परमेश्‍वरको नयाँ काम स्विकार्न सक्थे। तर त्यसलाई अहिलेको लागि यही छोडे पनि, सुसमाचार फैलाउनेहरू सधैँ परमेश्‍वरका वचनहरूलाई परिवर्तन गरेर मानव धारणाहरूअनुरूप बनाउन चाहन्छन्। तिनीहरू जुन वचनहरूमा परमेश्‍वरले भ्रष्ट मानवजातिको खुलासा र न्याय गर्नुहुन्छ, जुन वचनहरूमा उहाँले भ्रष्ट मानवजातिको सार खुलासा गर्नुहुन्छ, तिनीहरू ती वचनहरू सधैँ मेटाउन चाहन्छन्। यो कस्तो प्रकृतिको व्यवहार हो? के यसप्रकारको कार्यले परमेश्‍वरको डर मान्‍ने हृदय प्रतिबिम्बित गर्छ? (गर्दैन।) मेरो विचारमा त, कुनै निश्‍चित जात वा सम्प्रदायका मानिसहरूमा परमेश्‍वरका वचनहरूबारे धारणाहरू हुने होइन; मूलतः सुसमाचार फैलाउने मानिसहरूमै धारणाहरू हुन्छन्। परमेश्‍वरका वचनहरू तिनीहरूको लागि स्वीकार्य हुँदैनन्; तिनीहरू तिनको खण्डन गर्छन् र भित्री रूपमा तीप्रति प्रतिकूल हुन्छन्, तिनीहरू परमेश्‍वरका यी वचनहरू सुन्‍न चाहँदैनन् र तिनीहरूलाई यी वचनहरू मन पर्दैनन्। तिनीहरू यदि यी साँच्चिकै परमेश्‍वरका वचनहरू हुन् भने, ती प्रेममय हुनुपर्छ र तिनले यति उदाङ्गो र प्रस्ट रूपमा मानिसहरूको खुलासा गर्नु हुँदैन, त्यसो गर्नु त गालामा चड्कन हान्‍नुजस्तै हो भन्ठान्छन्। त्यसकारण, यदि तिनीहरूले सुसमाचार फैलाउनुपर्‍यो भने, तिनीहरू यी वचनहरूलाई हटाउन जोरदार माग गर्छन्। सुसमाचार फैलाउन र मानिसहरू प्राप्त गर्नको लागि, के परमेश्‍वरले एकपटक मात्र पनि सम्झौता गर्न, र अझ बढी कुशलतापूर्वक र मिठासपूर्वक बोल्न सक्नुहुन्छ? अझ धेरै मानिसहरूलाई परमेश्‍वरको नयाँ काम स्वीकार गराउन, अझ धेरै मानिसहरूलाई परमेश्‍वरसामु ल्याउन, के परमेश्‍वरले उहाँको रणनीति र बोल्ने शैली परिवर्तन गर्न, भ्रष्ट मानवजातिसँग सम्झौता गर्न र तिनीहरूसामु झुक्न, शिर निहुराउन, माफी माग्न, र क्षमायाचना गर्न मिल्छ? तसर्थ, समस्या मूलत: सुसमाचारको काम गर्नेहरूमै हुन्छ, कुनै निश्‍चित सम्प्रदायका मानिसहरूमा होइन। परमेश्‍वरका वचनहरूको एउटा शब्द वा वाक्य परिवर्तन नगरी पनि, र परमेश्‍वरका वचनहरूले सारा मानिसहरूलाई धारणाहरू बनाउने तुल्याउनुको बाबजुद पनि, धेरै मानिसहरू अझै पनि बिस्तारै परमेश्‍वरसामु आउँछन् र उहाँको नयाँ काम स्विकार्छन्। के तिनीहरूका धारणाहरूले तिनीहरूलाई परमेश्‍वरको नयाँ काम स्विकार्नबाट रोकेका छन् र? बिलकुलै रोकेका छैनन्। यदि परमेश्‍वरले बोल्नुभएका यी वचनहरू मानिसलाई चाहिने कुरा हुन्‍नथे भने र तिनले मानिसको वास्तविक परिस्थिति प्रतिबिम्बित गर्दैनथे भने, मानिसहरूले परमेश्‍वरका वचनहरू नस्विकार्नुलाई पनि बुझ्न सकिन्थ्यो, र परमेश्‍वरले उहाँको बोल्ने तरिका र उहाँको वाणीका विषयवस्तु परिवर्तन गर्न सक्नुहुन्थ्यो। तर परमेश्‍वरले बोल्नुभएको हरेक शब्द र वाक्यले मानिसको वास्तविक परिस्थिति झल्काउँछ र त्यो मानिसको जीवन प्रवेश र मुक्तिसँग सम्बन्धित हुन्छ। यदि मानिसहरूले धारणाहरू बोकेका छन् र तिनलाई स्विकार्न सक्दैनन् भने, यसले मानवहरू दुष्ट, फोहोरी, र अत्यन्तै गहिरो रूपमा भ्रष्ट तुल्याइएका छन्, र तिनीहरू परमेश्‍वरसामु आउन लायक छैनन् भन्‍ने प्रमाणित गर्छ। यसले परमेश्‍वरका वचनहरू गलत छन् वा ती सत्यता होइनन् भन्‍ने प्रमाणित गर्दैन।

परमेश्‍वरका वचनहरू र कामबारे भ्रष्ट मानवजातिमा धारणाहरू हुनुलाई कसरी सम्बोधन गरिनुपर्छ? सुसमाचार फैलाउनेहरूले परमेश्‍वरका वचनहरूको मलजल पाएका छन् र धेरै वर्षसम्म ती वचनहरू सुनेका छन्। तिमीहरू कति सत्यता बुझ्छौ भन्‍ने कुरा बिर्सँदा र सैद्धान्तिक रूपमा मात्र बोल्दा, परमेश्‍वरको कामका परिदृष्टिहरू, परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरको छ-हजार वर्षे व्यवस्थापन कार्य योजनाको उद्देश्य, मानिसलाई मुक्ति दिने परमेश्‍वरको काम—के तिमीहरूले सत्यताका यी सबै पक्षहरू बुझेका, याद गरेका र बोध गरेका छैनौ र? यदि तँ यी सबै कुराले सुसज्जित भएको भए, के तँ अझै पनि मानिसहरूमा धारणाहरू हुने कुराले डराउनेथिस् र? यदि तँलाई डर लाग्छ भने, सुसमाचार स्विकार्ने सम्भावना भएकाहरूलाई तैँले पूर्वसक्रिय रूपमा प्रस्ट पार्नुपर्छ; तिनीहरूलाई परमेश्‍वरका अभिप्रायहरूको गवाही दिनुपर्छ, र सत्यताबारे प्रस्ट रूपमा बुझाउनुपर्छ! यदि तैँले धेरै वर्षसम्म परमेश्‍वरका वचनहरू सुनेपछि पनि तीबारे बुझाउन वा प्रस्ट पार्न सक्दैनस् भने, तँ पूर्णतया बेकार छस्! तैँले यो कर्तव्य गरिरहेको छस्, र तँ हरदिन यी शीर्षकहरू, यी विषयवस्तुहरू, र यी मामलाहरूमा संलग्न हुन्छस्—सुसमाचार फैलाएर मानिसहरू प्राप्त गर्नको लागि तँ किन अझै पनि परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्नेजस्तो घृणास्पद विधि प्रयोग गर्नेबारे सोच्छस्? बाहिरबाट हेर्दा, यो कुनै गलत कार्य, कुनै घृणास्पद उपाय, अयोग्यता प्रदर्शनजस्तो मात्र देखिएला, तर मूलभूत रूपमा यो एउटा ख्रीष्टविरोधीको सारको प्रस्ट प्रकटीकरण हो—त्योभन्दा कम कतै होइन। परमेश्‍वरको वचनलाई मूल्यवान् ठानेर जोगाउने, परमेश्‍वरको वचनको कदर गर्ने, परमेश्‍वरको वचनको डर मान्‍ने, परमेश्‍वरले भन्‍नुभएका हरेक शब्द र वाक्यका साथै उहाँले हरेक खण्डमा जसरी बोल्‍नुहुन्छ र जे बोल्‍नुहुन्छ त्यसको आदर गर्नेहरू परमेश्‍वरका मानिसहरू नै हुन्। परमेश्‍वरका शत्रुहरूले मात्र प्रायजसो उहाँका वचनहरूको ठट्टा र अपमान गर्छन्। तिनीहरूले तिनलाई तिरस्कार गर्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा, सृष्टिकर्ताले व्यक्त गर्नुभएका वचनहरूको रूपमा लिँदैनन्। त्यसकारण, तिनीहरूका हृदयमा तिनीहरूले प्राय परमेश्‍वरका वचनहरूलाई बिगार्ने र मनोमानी तरिकाले व्याख्या गर्ने इच्छा गर्छन्। अन्तमा, धेरै मानिसहरूबाट प्रशंसा पाउनको निम्ति तिनीहरूले परमेश्‍वरका वचनलाई बदल्नका निम्ति आफ्ना मार्गहरू, आफ्ना विचारका तरिकाहरू र आफ्ना सोचका तर्कको प्रयोग गर्छन्, ताकि ती वचनहरू भ्रष्ट मानवका स्वादहरू, भ्रष्ट मानवका दृष्टिकोणहरू र भ्रष्ट मानवका सोच्ने शैली र दर्शनसँग मिलून्। परमेश्‍वरका वचनहरूको जुनसुकै भाग भए पनि, यो जसरी बोलिए पनि र जुनसुकै दृष्टिकोणबाट बोलिए पनि परमेश्‍वरको वचन भनेको परमेश्‍वरको वचन नै हो। भ्रष्ट मानवजातिले अझ सहज तरिकाले बुझ्‍न, कदर गर्न सकोस् र अझ सहज तरिकाले परमेश्‍वरको वचन प्राप्त गर्न सकोस् ताकि तिनीहरूले उहाँका वचनहरूका सत्यता बुझ्‍न सकून् भनेर परमेश्‍वरले आफ्ना अभिप्रायहरूबारे बुझाउन र मानवजातिले प्रवेश गर्नुपर्ने कुरा बताउनको निम्ति प्रायजसो मानव भाषाहरू, मानव विधिहरूका साथै मार्गहरू, बोलीको सुर र मानिसहरूको निम्ति बोल्‍नलाई सहज हुने मौखिक तर्क प्रयोग गर्नुहुन्छ। तापनि परमेश्‍वरलाई निन्दा गर्न र उहाँको वचन सत्यता हो भन्‍ने कुरालाई इन्कार गर्नको निम्ति ख्रीष्ट विरोधीहरूले यी नै अस्पष्ट विधिहरू र यो अस्पष्ट स्वर अनि विभिन्‍न अस्पष्ट वचनहरू उपयोग गर्छन्। के कुरा यही होइन र? (हो।) यी ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूसित तुलना गर्नहेतु प्राय: चर्चित मानिसहरूका ज्ञान र कामहरू, साथै चर्चित मानिसहरूका भाषण, शब्दावली, र चालढालसमेत प्रयोग गर्छन्। तिनीहरूले जति तुलना गर्छन्, त्यति नै तिनीहरूलाई परमेश्‍वरका वचनहरू ज्यादै सतही, ज्यादै सिधा, ज्यादै बोलीचालीका भाषाजस्तो लाग्छन्। तसर्थ, तिनीहरू झन्झन् परेश्‍वरका वचनहरूलाई हेरफेर गर्न, ती वचनहरूलाई “सच्याउन,” साथै परमेश्‍वरको बोल्ने भाव, शैली र दृष्टिकोणलाई “सच्याउन” चाहन्छन्। परमेश्‍वरले जेजसरी बोल्नुभए पनि वा उहाँका वचनहरूले मान्छेलाई जति नै फाइदा दिने भए पनि, ख्रीष्टविरोधीहरूले हृदयमा परमेश्‍वरका वचनहरूलाई कहिल्यै सत्यता मान्दैनन्। तिनीहरूले परमेश्‍वरका वचनहरूमा सत्यता, अभ्यासका सिद्धान्तहरू, वा जीवन प्रवेशको मार्ग खोज्दै खोज्दैनन्। त्यसको साटो, तिनीहरूले निरन्तर रूपमा परमेश्‍वरका वचनहरूलाई सूक्ष्मजाँचको दृष्टिकोणले, अध्ययनको मनोवृत्तिले, पूर्ण सूक्ष्मजाँच र अनुसन्धानको मनोवृत्तिले हेर्छन्। सम्पूर्ण सूक्ष्मजाँच र अनुसन्धानपछि, तिनीहरूले अझै पनि परिवर्तन र संशोधन गर्न आवश्यक रहेका परमेश्‍वरका धैरै वचनहरू छन् भन्‍ने महसुस गर्छन्। तसर्थ, ख्रीष्टविरोधीहरूको हकमा भन्‍नुपर्दा, तिनीहरू पहिलोपटक परमेश्‍वरका वचनहरूको सम्पर्कमा आएको दिनदेखि दस, बीस, वा तीस वर्षपछिसम्म पनि, भित्री रूपमा तिनीहरूले अझै परमेश्‍वरका वचनहरूमा मानिसहरूले चर्चा गर्ने गरेको जीवन, सत्यता, राज्यको प्रवेशद्वार वा स्वर्ग जाने मार्ग हुन्छन् भनी विश्‍वास गर्दैनन्। तिनीहरूले त्यो कुरा देख्न र थाहा पाउन सक्दैनन्। त्यसोभए, तिनीहरूले के महसुस गर्छन्? तिनीहरू जति बढी विश्‍वास गर्‍यो, त्यति नै बढी परमेश्‍वरका वचनहरू अत्यन्तै बोलीचालीको भाषाजस्तो लाग्नुको कारण के होला भनेर अचम्म मान्छन्। तिनीहरू जति बढी विश्‍वास गर्‍यो, त्यति नै कम तिनीहरूलाई परमेश्‍वरका वचनहरूमा चासो लाग्नुको कारण के होला भनेर अचम्म मान्छन्। तिनीहरूले परमेश्‍वरका वचनहरू साँच्चिकै सत्यता हुन होइनन् भनेर शङ्का गर्न थाल्छन्। यो कस्तो सङ्केत हो? राम्रो सङ्केत हो कि नराम्रो सङ्केत हो? (नराम्रो सङ्केत हो।) तिनीहरूले यो अवस्थासम्म परमेश्‍वरमा विश्‍वास गरेको हुनु पनि ठूलै आश्‍चर्य हो! तिनीहरूको विश्‍वास निकासहीन मार्गमा पुगिसकेको छ, तिनीहरूले सत्यतालाई पूर्ण रूपमा देख्न छाडिसकेका छन्। के यो तिनीहरूको आस्थाको अन्त्य होइन र?

के तिमीहरूले यो तथ्य थाहा पाएका छौ? सबैजनाले जुन दिनदेखि परमेश्‍वरमा विश्‍वास गर्न, उहाँका वचनहरू पढ्न, आफ्ना परिवार, करियर, अध्ययन, र संसारमा आफ्ना सम्भाव्यताहरू त्याग्न थाले, त्यही दिनदेखि नै सबैजना एउटै सुरुवाती बिन्दुमा थिए। तर दौडको दौरान, कतिपय मानिसहरू थाहै नपाई पछि परे र तिनीहरूले त्यसउप्रान्त आफ्नो कर्तव्य गर्न चाहेनन्। तिनीहरू कहाँ गए? कतिपय समूह “ख” मा झरे, अरू साधारण मण्डलीहरूमा पुगे, र कतिपयचाहिँ बल्लतल्ल आंशिककालीन मण्डलीमा रहन सफल भए। जो परमेश्‍वरको घरमा आफ्नो कर्तव्य गर्न चाहँदैनन् र निकालाको निशानामा पर्छन्, र कर्तव्य गर्न जसको योग्यता नै पुग्दैन—तिनीहरू किन आज तिनीहरू जहाँ छन् त्यहाँ पुगे त? यदि तैँले परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिलाई मानव नजरले हेर्ने कोसिस गरिस् भने, तैँले त्यसलाई देख्नै सक्दैनस्, किनकि तिनीहरूको हृदयमा के छ भनेर तँलाई थाहै छैन। तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन् कि घृणा गर्छन्, तिनीहरूले उहाँको प्रतिरोध गर्छन् कि तिनीहरू उहाँप्रति समर्पित हुन्छन्, तैँले भन्‍न सक्दैनस्। त्यसकारण, तैँले व्यक्तिको स्वभाव सार कसरी निर्धारण गर्छस्? यो सजिलो छ: बस तैँले परमेश्‍वरका वचनहरूप्रतिको तिनीहरूको मनोवृत्ति हेर्। परमेश्‍वरका वचनहरूप्रति तिनीहरूका मनोवृत्ति सन्दर्भमा यस समूहका मानिसहरूको एउटा साझा विशेषता छ: परिस्थिति जस्तोसुकै भए पनि, तिनीहरूले भरणपोषणको लागि परमेश्‍वरका वचनहरूको आवश्यकता महसुस गर्दैनन्। तिनीहरूले जस्तोसुकै कठिनाइहरू सामना गर्नुपरे पनि, तिनीहरू सिद्धान्तहरू खोजी गर्ने वा परमेश्‍वरका वचनहरूमा सत्यता खोज्‍ने काम गर्दैनन्। यी मानिसहरूले परमेश्‍वरका वचनहरू विरलै पढ्छन्, र कसैले परमेश्‍वरका वचनहरू प्रार्थना-वाचन गर्दा वा तीबारे आफ्नो बुझाइ सङ्गति गर्दा तिनीहरूले घिनसमेत महसुस गर्छन्। अनि, तिनीहरूले त्यो घिन कसरी देखाउँछन्? तिनीहरू सोच्छन्, “तिमीले भनिरहेको सबै कुरा मलाई पहिल्यै थाहा छ; तिमीले भन्नै पर्दैन। मैले यसअघि नै परमेश्‍वरका यी वचनहरू पढेको छु; म सबथोक बुझ्छु।” यदि तिनीहरूले सबथोक बुझ्थे भने, तिनीहरू किन निकालिए? तिनीहरूलाई किन समूह “ख” मा झारियो? यहाँ के भइरहेको छ? यसको जड के हो भने, यी मानिसहरूले मूलभूत रूपमा परमेश्‍वरका वचनहरू स्विकार्दैनन्; तिनीहरू तिनलाई तिरस्कार गर्छन् र तीप्रति शत्रुवत्‌ हुन्छन्। के परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्ने र तीप्रति शत्रुवत्‌ रहने व्यक्तिले तिनको अभ्यास गर्न सक्छ? तैँले तिनीहरूलाई “यदि तिमीलाई कुनै परिस्थिति आइपरेको छ भने, तिमीले परमेश्‍वरका वचनहरू पढ्नुपर्छ!” भनेर भन्दा, तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरूले कस्ता विशेष प्रतिक्रियाहरू जनाउँछन्? (तिनीहरूले व्यावहारिक समस्यालाई व्यावहारिक समाधानहरू चाहिन्छन्; परमेश्‍वरका वचनहरू पढ्नु आवश्यक छैन भन्‍नेछन्।) तिनीहरू परमेश्‍वरका वचनहरू पढ्नु अस्पष्ट पद्धति हो, र व्यावहारिक समस्याहरूलाई व्यावहारिक समाधानहरूको आवश्यकता पर्छ भन्ठान्छन्। यो एक ख्रीष्टविरोधीको भाव हो। तिनीहरूले भन्‍न खोजेको के हो? “मानवहरूका आफ्नै तरिकाहरू हुन्छन्; परमेश्‍वरका वचनहरू पढेर के काम? के तिमीलाई परमेश्‍वरका वचनहरूले सबथोक समाधान गर्न सक्छन् जस्तो लाग्छ?” यदि कुनै व्यक्तिलाई केही कठिनाइ आइपर्‍यो भने, तिनीहरूले त्यो एउटा कठिनाइ मात्र हो, त्यस व्यक्तिको भित्री स्थिति वा स्वभावको प्रतिबिम्ब बिलकुलै होइन भन्‍ने अनुमान लाउँछन्। तिनीहरूले त्यो कुरा देख्दैनन्, न त त्यसलाई तथ्यको रूपमा नै लिन्छन्। तिनीहरू यस्तो विश्‍वास गर्छन्, “मानव कठिनाइहरू भनेको कुनै यन्त्रको पेच हराउनुजस्तै हो; पेच हालेपछि त्यो समाधान भइहाल्छ। किन परमेश्‍वरका वचनहरू खोजी गर्नु? त्यो सबै झूटो आत्मिकता हो। म त कहिल्यै त्यस्तो गर्दिनथेँ; यो मूर्खता हो! के तिमीलाई परमेश्‍वरका वचनहरूले सबथोक समाधान गर्न सक्छन् जस्तो लाग्छ? त्यस्तो बिलकुलै हुँदैन।” प्रस्ट रूपले नै यो सत्यता नस्विकार्ने व्यक्ति हो। यसअलावा, जब केही मानिसहरूले समस्याहरू सामना गर्छन्, र मदत गर्नलाई जब तैँले तिनीहरूसित सङ्गति गर्छस्, र तिनीहरूलाई परमेश्‍वरका वचनहरूको एउटा अनुच्छेद पढेर सुनाउँछस्, तब त्यो सुनेपछि तिनीहरूले यस्तो प्रतिक्रिया दिन्छन्: “मैले त्यो अनुच्छेद कण्ठ पारिसकेको छु, मैले त्यो धेरैपटक वाचन गरेको छु। तिमी किन मलाई भनिरहेका छौ? म यो कुरा तिमीले भन्दा राम्रो बुझ्छु, र यो बेकार छ, यसले मेरो समस्या समाधान गर्नेछैन!” यहाँ समस्या के हो त? (तिनीहरू सत्यता स्विकार्दैनन्।) तिनीहरू सत्यता स्विकार्दैनन् र तिनीहरूको आफ्नै भ्रष्टता स्विकार्न मान्दैनन्, र त्यो समस्याजनक कुरा हो। तिनीहरू आफ्नो भ्रष्टता स्विकार्दैनन्, र त्यसैले तिनीहरू परमेश्‍वरका वचनहरू पढ्नु भनेको झारा टार्नु मात्र हो, यो बेकार हो भन्ठान्छन्। तिनीहरू आफ्ना समस्याहरू समाधान गर्न तीव्र उपाय, अर्थात् चमत्कारिक उपचार खोज्न चाहन्छन्, र यो समस्याको सार भनेकै सत्यता स्विकार्न नमान्‍नु हो।

के तिमीहरूसँग परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्ने र अर्थ्याउने प्रकटीकरणका कुनै उदाहरणहरू छन्? (समूहगायन एल्बमको बीसौँ भिडियो निर्माणको क्रममा, परमेश्‍वरले धर्मशास्‍त्र पाठहरू एकएक गरेर पर्दामा सूचीबद्ध गर्न निर्देशन दिनुभयो। त्यो बेला, केही दाजुभाइ-दिदीबहिनीहरूले धर्मशास्‍त्र पाठहरू ज्यादै लामो भएको पाए र तिनीहरूले केही वाक्यांशहरू मेटाए। पछि, परमेश्‍वरले यो कुरा थाहा पाउनुभयो र निकै कठोर रूपमा चिरफार गर्दै यो परमेश्‍वरका वचनहरूको निन्दा हो भनेर भन्‍नुभयो।) बाइबलमा अभिलिखित परमेश्‍वरका मूल वचनहरूबारे भन्‍नुपर्दा, ती परमेश्‍वरका वचनहरू हुन् र तिनलाई मानिसहरूले हेरफेर गर्नु हुँदैन, साथै कतिपय अगमवक्ताका अगमवाणीहरूमा पनि यही कुरा लागु हुन्छ; ती पनि परमेश्‍वरका वचनहरू नै हुन्, ती परमेश्‍वरद्वारा प्रेरित कुरा हुन् र तिनलाई पनि हेरफेर गर्न हुँदैन। मेरो विचारमा, ती वचनहरू मूल भाषामा नभई अनूदित भए पनि, धैरै वर्षको परिमार्जनपछि अनूदित वचनहरूको अर्थ धेरै मात्रामा सही नै रहिआएको छ। तैँले यो कुरा मान्‍नुपर्छ। त्यसकारण, ती वचनहरूलाई नियमित सङ्गतिमा प्रयोग गर्दा तिनलाई पूरै भन्‍नु आवश्यक छैन; केवल चुरो कुरो बताए पुग्छ। तर वास्तविक तथ्यहरू परिवर्तन गरिनु हुँदैन। यदि उद्धृत गर्नुपर्‍यो भने, मूल वाक्यहरूलाई पूरै उद्धृत गरिनुपर्छ। यो सिद्धान्त कस्तो लाग्छ? (राम्रो।) तर किन यस तरिकाले गर्नुपर्‍यो? कति मानिसहरू भन्छन्, “ती सबै विगतका कुरा हुन्, के हामी यति गम्भीर हुन आवश्यक छ र?” होइन, यो त मनोवृत्ति, अर्थात् मानसिकताको कुरा हो। चाहे विगत, वर्तमान वा भविष्य जहिलेसुकै होस्, परमेश्‍वरका वचनहरू परमेश्‍वरका वचनहरू नै हुन् र तिनलाई मानव शब्दहरूसँग बराबर ठान्‍नु हुँदैन। मानिसहरूले परमेश्‍वरका वचनहरूलाई अत्यन्तै गम्भीर मनोवृत्तिले हेर्नुपर्छ। बाइबललाई मूल भाषाबाट विविध भाषाहरूमा अनुवाद गरिएपछि, कतिपय अर्थहरू मूल अर्थसँग ठ्याक्कै नमिल्न सक्छन्, वा अनुवाद र मूल पाठका एउटै वाक्यबीच अन्तरहरू हुन सक्छन्। अनुवादकहरूले “नोट: यस्तो यस्तो हो” भनेर थप्न सक्छन्, वा कोष्ठकमा “अथवा … भनेर अनुदित” भनी थप्न सक्छन्। के तिमीहरूलाई बाइबलका मूल पाठहरू अनुवाद गर्ने सबै मानिसहरू परमेश्‍वरका विश्‍वासी थिए भन्‍ने लाग्छ? (थिए नै भन्‍न सकिन्‍न।) तिनीहरू निश्‍चय नै परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने मानिसहरू थिएनन्, त्यसैले तिनीहरूले कसरी यो काम यति दुरुस्त रूपमा सम्हाल्न सक्थे र? गैरविश्‍वासीहरू यसलाई व्यावसायिकता भन्‍ने गर्छन्, तर परमेश्‍वरका विश्‍वासीहरूले यसलाई परमेश्‍वरको डर मान्‍ने हृदय भएको भनेर भन्‍नुपर्छ। यदि तँसित यति पनि परमेश्‍वरको डर मान्‍ने हृदय छैन भने, के तँ अझै पनि परमेश्‍वरको विश्‍वासी होस् र?

तँसित परमेश्‍वरका वचनहरूप्रति भक्त मनोवृत्ति हुनुपर्छ, साथै भेला भएर तैँले परमेश्‍वरका वचनहरूमाथि सङ्गति गर्दा, ती पढिसकेपछि, तैँले आफ्नो ज्ञान र यी अनुभवहरूबाट सिकेका कुराहरूबारे बोल्दा आफ्ना व्यक्तिगत अनुभवहरू जोड्न सक्छस्। तर तैँले परमेश्‍वरका वचनहरूलाई तेरो आफ्नै निजी कामको रूपमा लिन र जसरी मन लाग्छ त्यसरी अर्थ्याउनु हुँदैन। परमेश्‍वरको वचनलाई तेरो व्याख्याको जरुरत पर्दैन, न त तैँले तिनलाई स्पष्ट र बुझ्‍ने गरी व्याख्या नै गर्न सक्छस्। तँसँग सामान्य अन्तर्दृष्टि र ज्योति वा अनुभव हुनु नै पर्याप्त छ, तर सत्यताको व्याख्या गर्ने कोसिस गर्नु, वा मानिसहरूलाई परमेश्‍वरका अभिप्रायहरूबारे बुझाउनको निम्ति तेरो व्याख्याको प्रयोग गर्नु असम्भव हुनेछ। यस तरिकाले काम गर्नु गलत हो। उदाहरणको लागि, मानिसहरूले परमेश्‍वरका वचनहरूमा परमेश्‍वरले इमानदार मानिसहरूलाई प्रेम गर्नुहुन्छ भन्‍ने कुरा पढ्छन्। एकपटक परमेश्‍वरले मानिसलाई भन्‍नुभयो, “तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्: किनकि यीभन्दा बढी जे छ त्यो दुष्टबाट आउँछ” (मत्ती ५:३७)। आज, परमेश्‍वरका वचनहरूले पनि मानिसहरूलाई इमानदार हुन आह्‍वान गर्छन्। त्यसोभए परमेश्‍वरका वचन र मापदण्डहरूप्रति लिनुपर्ने सही मनोवृत्ति कस्तो हुनुपर्छ? परमेश्‍वरको वचनमा खोज्: परमेश्‍वरले भन्‍नुभयो, “तिमीहरूको बोलीवचन होलाई, हो; होइनलाई, होइन भन्‍ने होस्।” त्यसोभए, जो परमेश्‍वरका नजरमा इमानदार छन्, तिनीहरूले ठ्याक्कै कस्तो व्यवहार गर्छन्? इमानदार मानिसहरू कसरी बोल्छन्, तिनीहरू कस्तो कार्य गर्छन्, तिनीहरूले आफ्नो कर्तव्यलाई कसरी हेर्छन्, र तिनीहरू कसरी अरूसँग सौहार्दपूर्ण तरिकाले काम गर्छन्? मानिसहरूले यी सिद्धान्त र अभ्यासका मार्गहरूको निम्ति परमेश्‍वरको वचनको खोजी गर्नुपर्छ र तिनीहरू उहाँले तोक्‍नुभएजस्तो इमानदार मानिस बन्‍नुपर्छ। यो सही आचरण हो, सत्यता खोज्‍नेहरूसँग हुनुपर्ने आचरण यही हो। त्यसोभए सत्यतालाई खोजी वा प्रेम नगर्नेहरू, साथै परमेश्‍वर र उहाँका वचनहरूको डर मान्‍ने हृदय नहुनेहरू कस्तो व्यवहार गर्छन्? परमेश्‍वरका वचनहरू पढेपछि तिनीहरूले सोच्छन्, “परमेश्‍वर मानिसहरू इमानदार होऊन् भन्‍ने माग गर्छन्; यसअघि प्रभु येशूले भनेको नै त्यही हो। आज परमेश्‍वर फेरि एकपटक मानिसहरूलाई इमानदार हुनुपर्छ भन्दै छन्। मैले थाहा छ—के इमानदार मानिसहरू तिनै होइनन् जो निष्कपट छन्? के यो मानिसहरूले भनेजस्तो सोझा मानिसहरू सधैँ सफल हुन्छन्, असल मानिसहरूसँग शान्तिपूर्ण जीवन हुन्छ र निष्कपट मानिसहरूलाई ठग्नु पाप हो भन्‍ने होइन र? हेर, निष्कपट मानिसहरूले भोगेका अन्यायहरूमा परमेश्‍वरले मल लगाउँदै हुनुहुन्छ।” के यी वचनहरू सत्यता हुन्? के यी तिनीहरूले परमेश्‍वरका वचनहरूबाट पहिचान गरेका सत्यता सिद्धान्तहरू हुन्? (होइनन्।) त्यसो भए यी वचनहरू के हुन्? के तिनलाई विधर्म र भ्रम भन्‍न सकिन्छ? (सकिन्छ।) जसमा आत्मिक बुझाइ नै छैन र जो सत्यतालाई प्रेम गर्दैनन्, तिनीहरूले सधैँ परमेश्‍वरका वचनहरूलाई मानवजातिमाझ सुन्दा राम्रो र सही सुनिने भनी विश्‍वास गरिएको कुरासँग जोड्छन्। के यो परमेश्‍वरका वचनहरूको अवमूल्यन गर्नु होइन र? के यो सत्यतालाई मानवजातिको एक किसिमको नारा, अर्थात् कसरी स्व-आचरण अँगाल्‍ने भन्‍ने कुराको तर्क होइन र? परमेश्‍वरले मानिसहरूलाई इमानदार हुन आह्वान गर्नुहुन्छ, तर यी मानिसहरू इमानदारहरूले कस्तो व्यवहार गर्छन्, कसरी इमानदार हुने, र इमानदार हुनुका नियमहरू के-के हुन् भन्‍ने कुराहरू बेवास्ता गर्छन्, र निर्धक्क भएर परमेश्‍वरले नै मानिसहरूलाई निष्कपट हुनू भनेर भन्‍नुहुन्छ, र निष्कपट, बेकामे र मूर्खहरू सबै इमानदार हुन्छन् भनेर भन्छन्। के यो परमेश्‍वरका वचनहरूको अपव्याख्या होइन र? तिनीहरूले परमेश्‍वरका वचनहरूको अपव्याख्या गर्छन्, तैपनि अझै आफूलाई धेरै चलाख सोच्छन्, र सँगसँगै परमेश्‍वरका वचनहरू योभन्दा बढी केही पनि होइनन् भन्‍ने सोच्छन्: “सत्यता त्यति गहन छैन, के यो निष्कपट व्यक्ति हुनु मात्र होइन र? के निष्कपट व्यक्ति बन्‍नु निकै सामान्य होइन र? चोरी गर्ने, मानिसहरूलाई गाली दिने वा अरूलाई हिर्काउने काम नगर्। ‘ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्‍नू।’ सबै कुरामा अरूप्रति नरम बन्नू, आफूलाई कडाइ गर्नू र अरूलाई सहनू, असल बन्‍नू अनि असल व्यक्तिको जीवनमा शान्ति हुन्छ।” तिनीहरू धेरै बोल्‍छन्, तर ती कुनै पनि सत्यतासँग मेल खाँदैनन्; यो झूटो शिक्षा र भ्रमबाहेक केही पनि होइन। परमेश्‍वरका वचनहरूसँग यसको केही सम्बन्ध छ जस्तो देखिन्छ, तीसँग यसको थोरै सम्बन्ध भएजस्तो देखिन्छ, तर जब व्यक्तिले मनन गर्छ र उक्त मामलालाई खुट्ट्याउँछ, तब उसले यो भ्रामक भनाइ मात्र हो, मानिसहरूको सोचमा बाधा दिने भ्रमबाहेक अरू केही होइन भनेर थाहा पाउँछ। उदाहरणको लागि, परमेश्‍वरले भन्‍नुहुन्छ कि उहाँको सारमा प्रेम छ, र उहाँले मानिसलाई प्रेम गर्नुहुन्छ। मानिसप्रतिको परमेश्‍वरको प्रेम उहाँले भन्‍नुहुने कुरा, मानिससित व्यवहार गर्ने उहाँको तरिका, मानिसलाई मुक्ति दिने उहाँका कष्टसाध्य प्रयासहरू, र उहाँले मानिसमा जेजसरी काम गर्नुहुन्छ त्यसका अनेकौँ पक्षहरूमार्फत मानिसहरूलाई देखाइन्छ, अनि मानिसलाई उहाँको मुक्ति देखाइने कार्यसँगसँगै मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय र परमेश्‍वरले जुन माध्यममार्फत मानिसहरूलाई मुक्ति दिनुहुन्छ त्यो पनि प्रस्ट पारिन्छ, ताकि मानिसहरूले परमेश्‍वरको प्रेम चिनून्। आत्मिक बुझाइ नभएका ती मानिसहरूले के सोच्छन्? “परमेश्‍वर मानिसलाई प्रेम गर्ने परमेश्‍वर हुनुहुन्छ, परमेश्‍वरले हरेक व्यक्तिले मुक्ति पाओस् भन्‍ने चाहनुहुन्छ र उहाँ कसैले पनि विनाश भोग्न परोस् भन्‍ने चाहनुहुन्‍न। परमेश्‍वरले फर्किआएको फजुलखर्चे छोरो सुनभन्दा मूल्यवान् हुन्छ भनेर भन्न्नुभएको छ।” के परमेश्‍वरको यसो भन्‍नुभयो? के यी परमेश्‍वरका मूल वचनहरू हुन्? (होइनन्।) तिनीहरूले अरू के-के भन्छन्? “साततले मन्दिर बनाउनुभन्दा एउटा जीवन बचाउनु ठूलो हो” र “बुद्ध उपकारी हुनुहुन्छ।” के तिनीहरूले कुरा उल्टाइरहेका छैनन् र? प्रस्टै छ, तिनीहरू आत्मिक, परमेश्‍वरका वचनहरू बुझ्ने, र सत्यतालाई प्रेम गर्ने भएको नाटक मात्र गरिरहेका छन्; तिनीहरू स्पष्टतः बाहिरिया, साधारण, र आत्मिक बुझाइबिनाका मूर्ख मानिसहरू हुन्। मैले यस्ता धेरै मानिसहरू भेटेको छु—तिनीहरू अविवेकी मान्छेहरू हुन्, जो बोल्नमा निडर छन् तर तिनीहरूको दिमाग छैन, तिनीहरूका मनमा रहेका सोच र उब्जिने विचारहरू झूटो शिक्षा, भ्रम र छलबाहेक केही होइनन्। जोसँग अरूलाई भ्रममा पार्ने सबैभन्दा बढी शक्ति छ र जो अक्सर यी झूटो शिक्षा र भ्रमहरू, साथै मनासिब देखिने केही आध्यात्मिक तर्कहरू प्रयोग गरी अरूलाई भ्रममा पार्न, आफूले भनेको कुरा तिनीहरूलाई जबरजस्ती पालना र अभ्यास गराउन सक्छन्—यी मानिसहरू ख्रीष्टविरोधीहरू हुन्। हेर्दाखेरि तिनीहरू अत्यन्तै आत्मिक देखिन्छन्, अक्सर अरूसामु परमेश्‍वरको वचनका अनुच्छेदहरू उद्धृत गर्छन्, र मनलाग्दी रूपमा तिनलाई अर्थ्याइसकेपछि तिनीहरूले केही झूटो शिक्षा र भ्रमहरू छर्छन्। यस्ता मानिसहरू हरेक मण्डलीमा पाउन सकिन्छ। तिनीहरू मानिसहरूलाई सहयोग र अगुवाइ गर्ने नाममा परमेश्‍वरका वचनहरू उद्धृत गर्छन् र तीबारे सङ्गति गर्छन्, तर खासमा तिनीहरूले मानिसहरूमा न त परमेश्‍वरका वचनहरूका मानिसहरूप्रतिका मापदण्ड न त परमेश्‍वरका वचनहरूका सत्यता सिद्धान्तहरू नै हालिरहेका हुन्छन्, बरु तिनीहरूले परमेश्‍वरका वचनहरूको आधारमा तोडमोड, व्याख्या र कल्पना गरेका झूटो शिक्षा र भ्रमहरू हालिरहेका हुन्छन्, र यसरी तिनीहरूले मानिसहरूलाई परमेश्‍वरका वचनहरूबाट तर्काउने र त्यसको साटो तिनीहरूको आज्ञापालन गर्ने तुल्याउने र मानिसहरूलाई बाधा दिने र भ्रममा पार्ने गरिरहेका हुन्छन्। उदाहरणको लागि, यसो भन्‍नेहरू पनि छन्: “उनको छ-हजार वर्षे व्यवस्थापन योजनाको काम गर्दा, परमेश्‍वरले सारा मानवजातिबाट त्यागिएको र प्रतिरोध गरिएको अनुभव गरेका छन्; परमेश्‍वर परमेश्‍वर नै हुन्, र उनको हृदयका कुनै सीमा छैनन्! मानिसहरूले भनजस्तै, ‘प्रधानमन्त्रीको हृदय यति ठूलो छ कि त्यसले डुङ्गा थेग्न सक्छ’ र ‘बदला लिन भलाद्मीलाई कहिल्यै ढिला हुँदैन।’ परमेश्‍वर कति सदाशयी हुनुहुन्छ!” हेर्दाखेरि तिनीहरूले परमेश्‍वरको र परमेश्‍वरसँग जे छ र मानिसहरूको लागि उहाँ जे हुनुहुन्छ त्यसको गवाही दिइरहेका देखिन्छन्, तर तिनीहरूले वास्तवमा कस्तो सन्देश प्रवाह गरिरहेका छन्? के यो सत्यता हो? के यो साँच्चिकै परमेश्‍वरको सार हो? (होइन।) तिनीहरू कसको गवाही दिइरहेका छन्? तिनीहरू प्रधानमन्त्रीको गवाही दिइरहेका छन्। तिनीहरू परमेश्‍वरलाई प्रधानमन्त्री, अर्थात् कुनै भलाद्मीसँग दाँजिरहेका छन्—के यो ईशनिन्दा होइन र? के परमेश्‍वरका वचनहरूमा यस्ता शब्दहरू भेटिन सक्छन्? (सक्दैनन्।) त्यसोभए यी शब्दहरू कहाँबाट आए? शैतानबाट। ख्रीष्टविरोधीहरूले परमेश्‍वरको गवाही नदिने मात्र नभई, तथ्यहरू बङ्ग्याउने र परमेश्‍वरविरुद्ध ईशनिन्दा गर्ने, अनि जग नभएका, परमेश्‍वरमाथि साँचो आस्था नभएका, र सत्यता बुझ्न असक्षमहरूलाई अक्सर भ्रममा पार्ने काम पनि गर्छन्। यी मानिसहरू सानो कदका हुन्छन्, तिनीहरूको कुनै जग हुँदैन, र सत्यता बुझ्ने कुनै क्षमता हुँदैन, त्यसकारण तिनीहरू यी झूटो शिक्षा र भ्रमहरूमा फस्छन्। ख्रीष्टविरोधीहरू झूटो शिक्षा र भ्रमहरूलाई आत्मिक भनाइको रूपमा लिन्छन्, र परमेश्‍वरको प्रेमबारे यसो भन्छन्, “परमेश्‍वरले हरेक व्यक्तिले मुक्ति पाओस् भन्‍ने चाहनुहुन्छ र उहाँ कसैले पनि विनाश भोग्न परोस् भन्‍ने चाहनुहुन्‍न।” मानिसप्रति परमेश्‍वरको के मापदण्ड तोक्‍नुहुन्छ भन्‍नेबारे बोल्दा, तिनीहरूले बोल्ने अर्को कुरा “असल व्यक्तिको जीवनमा शान्ति हुन्छ” भन्‍ने हो। अनि परमेश्‍वरले मानिसका अपराधहरू नसम्झनुहुने र उहाँले तिनीहरूलाई पश्‍चात्ताप गर्ने मौका दिनुहुनेबारे तिनीहरू यसो भन्छन्, “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू।” के परमेश्‍वरका वचनहरूमा यस्ता वचनहरू भेटिन सक्छन्? (सक्दैनन्।) मलाई किन यी शब्दहरू सुन्‍नेबित्तिकै यति धेरै रिस उठ्छ? किन यी शब्दहरूले मलाई यति झन्झट गराउँछन्? मलाई किन यति दुःख लाग्छ? यी मानिसहरूले कति वर्षदेखि परमेश्‍वरका वचनहरू पढ्दै आएका छन्? के तिनीहरू मन्द बुद्धिवाल हुन्, कि तिनीहरू पागल भइसके? परमेश्‍वरका वचनहरूमा यस्ता कुराहरू कहाँ उल्लेखित छन्? परमेश्‍वरले मानिसहरू निष्कपट होऊन् भनेर कहिले भन्‍नुभयो? परमेश्‍वरले “ज्यान लिएर केही पाइँदैन, टाउको मात्र छिनिन्छ; जहाँ सम्भव छ, त्यहाँ नरम बन्नू” भन्‍ने भनाइ मानिसहरूले पालना गरून् भनेर कहिले भन्‍नुभयो? के परमेश्‍वरले यसै गर्नुहुन्छ? तिनीहरूले बढावा दिने यी झूटो शिक्षा र भ्रमहरू मानवजातिप्रतिका परमेश्‍वरका मापदण्डहरू, उहाँका अभिप्रायहरू, र सत्यता सिद्धान्तहरूसँग कहाँ जोडिन्छन्? ती पूर्णतया असम्बन्धित छन्। उदाहरणको लागि, परमेश्‍वर मानिसहरूलाई आदर्श, इच्छा, र लक्ष्यहरू राख्न दिनुहुन्छ, तर ख्रीष्टविरोधीहरू यसो भन्छन्: “परमेश्‍वर हामीलाई लक्ष्यहरू राख्न हौसला दिन्छन्। यसलाई राम्रोसँग बुझाउने एउटा भनाइ छ: ‘जुन सिपाही जनरल बन्‍न चाहँदैन, ऊ असल सिपाही नै होइन।’” यो भनाइ एक प्रकारको सामाजिक प्रवृत्ति, अर्थात् सामाजिक दृष्टिकोण हो—के यो परमेश्‍वरको घरमा प्रयोग गर्न उचित छ? के यो उपयोगी छ? (छैन।) यो भनाइ परमेश्‍वरका वचनहरूमध्ये कुनसँग मिल्छ? के यो परमेश्‍वरका वचनहरूसँग सम्बन्धित छ? (छैन।) त्यसोभए ख्रीष्टविरोधीहरूले किन यो कुरा भन्छन् त? तिनीहरूले यो कुरा भन्‍नुको उद्देश्य तिनीहरू अत्यन्तै आत्मिक छन्, तिनीहरूमा परमेश्‍वरका वचनहरूको बुझाइ छ र तिनीहरूले ती वचनबाट अन्तर्दृष्टि पाएका छन्, तिनीहरूमा सत्यता बुझ्ने क्षमता छ, र तिनीहरू अज्ञानी आम मानिस होइनन् भनेर मानिसहरूलाई गहिरो रूपमा अनुभूत गराउनु हो। तर के यसबाट तिनीहरूको अपेक्षित उद्देश्य पूरा हुन्छ? यी वचनहरू सुनेपछि, के तिमीहरूलाई हृदयमा स्वीकार महसुस हुन्छ कि घिन? (घिन।) त्यसले तँलाई कुन रूपमा घिन महसुस गराउँछ? (ख्रीष्टविरोधीहरूले शैतानका भ्रमहरूलाई परमेश्‍वरका वचनहरूसँग जोड्छन्, र तिनलाई गलत अर्थ्याउँछन्। तिनीहरूले बोल्ने यी सबै शब्दहरूमा आत्मिक बुझाइ हुँदैन।) ख्रीष्टविरोधीहरूले आत्मिक बुझाइको कमी देखाउने शब्दहरू मात्र बोल्छन्, र मानिसहरूलाई ती सुनेपछि घिन लाग्ने र वितृष्ण हुने तुल्याउँछन्। स्पष्टै छ, तिनीहरू परमेश्‍वरका वचनहरू बुझ्‍न र बोध गर्न सक्दैनन्, र तिनीहरूमा परमेश्‍वरका वचनहरू बुझ्ने सामर्थ्य र क्षमता हुँदैन, तैपनि तिनीहरू तिनलाई बुझेको बहाना गर्छन् र निर्लज्ज रूपमा अरूसामु तिनलाई अर्थ्याउँछन्, र मानिसहरूलाई घिन लाग्ने र कुनै सुधार नदिलाउने, बरु मानिसहरूका सोचमा निराशा थपिदिने असान्दर्भिक र अनुभवहीन वचनहरू बोल्छन्। यो साँच्चिकै घृणित कुरा हो! तिमीहरूले यस्ता मानिसहरूलाई भेट्दा के गर्नुपर्छ? (तिनीहरूले जे भनिरहेका छन्, हामीले त्यसका भ्रामक पाटोहरू चिरफार गर्नुपर्छ।) तैँले यो काम कसरी गर्नुपर्छ? वास्तवमा, यो निकै सजिलो छ। तिनीहरूलाई यसो भन्: “तिमीले परमेश्‍वरका वचनहरू पढेपछि तीबारे धेरै बुझेजस्तो देखिँदैन।” तिनीहरूले जवाफ देलान्: “मलाई त त्यस्तो लाग्दैन, मलाई मेरो बुझाइ राम्रो छ जस्तो लाग्छ।” तैँले भन्, “जेजस्तो भए पनि तिमीलाई राम्रै लाग्छ, त्यसैले तिम्रो तर्कअनुसार, के परमेश्‍वरका वचनहरू मानव विधर्म र भ्रमबराबर हुन् त? यदि तिमी यी विधर्म र भ्रमहरूसित सहमत छौ भने, तिमीले किन परमेश्‍वरका वचनहरू पढ्नुपर्‍यो र? तिमीले ती पढ्नु जरुरी छैन। तिम्रो यो समस्या अब गम्भीर भएको छ—तिमी परमेश्‍वरका वचनहरूलाई दुष्ट मानवजातिको दुनियाँसँग व्यवहार गर्ने दर्शनको रूपमा, दुष्ट मानवजातिका कामकुरा सम्हाल्ने विधि र दृष्टिकोणहरूको रूपमा लिइरहेका छौ। तिम्रो विचारमा त परमेश्‍वरले नाम लिनुहुने इमानदार मानिसहरू निष्कपट, पटमूर्ख र अनाडी मानिसहरूजस्तै हुन्। तिमी परमेश्‍वरले बोल्नुभएको हरेक वचनलाई मानव दृष्टिकोणले अर्थ्याउँछौ, र तिनलाई दुष्ट मानवजातिले सिर्जना गरेका भ्रम र भनाइहरूसँग बराबर ठान्छौ। त्यसोभए, के तिमी परमेश्‍वरका वचनहरू मानव शब्द, मानव भाषा, र मानव विधर्म र भ्रमहरू हुन् भन्‍न खोजिरहेका छौ? परमेश्‍वरका वचनहरूलाई यस तरिकाले बुझेर, तिमीले तिनको बोध गरिरहेका हुँदैनौ; तिमीले त ती वचन र परमेश्‍वर दुवैविरुद्ध ईशनिन्दा गरिरहेका हुन्छौ।” के तिमीहरू सबैले यी वचनहरू प्रस्ट रूपमा बोल्न सक्नेथियौ? यदि परमेश्‍वरका वचनहरूले ख्रीष्टविरोधीहरूले भनेकै कुरा भन्‍न खोजेका हुन् भने, परमेश्‍वरले किन सिधै ती वचनहरू भन्‍नुहुन्‍न? जब परमेश्‍वरले मानिसहरूलाई इमानदार बन्‍न भन्‍नुहुन्छ, उहाँले किन तिनीहरूलाई निष्कपट र असल मानिस बन्‍नू भनेर त्यतिमै रोकिनुहुन्‍न? के यो फरक शब्दहरू प्रयोग गरिएको मात्र हो त? (होइन।) परमेश्‍वरका वचनहरू सत्यता हुन्, र तिनैभित्र मानिसहरूले अभ्यास गर्ने मार्ग हुन्छ। मानिसहरूले परमेश्‍वरका वचनहरूअनुसार कार्य गर्ने र जिउने गरेमा, तिनीहरू परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने मानिस, अर्थात् परमेश्‍वरका अभिप्रायअनुरूपका मानिस बन्‍न सक्छन्। जबकि मानवले भनेअनुसार कार्य गर्ने र जिउने गरेमा त्यसले व्यक्तिलाई पूर्ण रूपमा गोलमाले व्यक्ति, अर्थात् ठ्याक्कै जिउँदो शैतान बनाउँछ। के तिमीहरू यो पहिचान गर्छौ? यदि तिमीहरूले इमानदार व्यक्ति बन्‍नेबारे परमेश्‍वरले भन्‍नुभएअनुसार कार्य र अभ्यास गर्‍यौ भने, त्यसको नतिजा के हुन्थ्यो होला? अनि यदि तिमीहरूले मानवले भन्‍ने गरेको असल र निष्कपट व्यक्तिले झैँ कार्य गर्‍यौ र जियौ भने त्यसको नतिजा के हुन्थ्यो होला? के नतिजाहरू फरक हुनेथिएनन् र? (हुनेथिए।) त्यसोभए इमानदार व्यक्ति भएर जिउँदाको नतिजा के हुन्छ? (सामान्य मानवता हुनु, परमेश्‍वरको आराधना गर्न सक्नु, जे हो त्यही भन्‍न सक्नु, र परमेश्‍वरसित स्पष्ट र खुलस्त हुन सक्नु। यदि कसैले मानव परिभाषाको निष्कपट र असल व्यक्तिको रूपमा आफूलाई आचरणमा ढाल्छ भने, ऊ झन्झन् धूर्त र भेष बदल्नमा माहिर बन्छ, उसले मिठा शब्दहरू मात्र बोल्छ, ऊ दुनियाँसँग व्यवहार गर्ने शैतानको दर्शनद्वारा जिउँछ, र ऊ जिउँदो शैतान बन्छ।) देखिस्, भिन्‍नता छ नि, छैन त? परमेश्‍वरले भन्‍नुभएको इमानदार व्यक्तिले झैँ कार्य गर्ने र जिउने गरेमा, त्यसले व्यक्तिको हृदय झन्झन् शुद्ध बनाउँछ; उसको हृदय परमेश्‍वरसामु खुलस्त बन्‍न सक्छ, र उसले छद्मभेष, छल, वा झूटबिना परमेश्‍वरलाई हृदय दिन सक्छ। उसको हृदय परमेश्‍वरबाट लुक्दैन बरु उहाँसामु खुलस्त हुन्छ; उसले भित्री रूपमा जे सोच्छ त्यही नै बाहिरी रूपमा प्रकट गर्छ र जिउँछ, साथै बाहिरी रूपमा उसले जे प्रकट गर्छ र जिउँछ त्यो उसको भित्री कुरासँग मिल्छ। परमेश्‍वर यही चाहनुहुन्छ; यही नै सत्यता हो। तर अर्कोतिर, मानिसहरूले निष्कपट र असल भन्‍ने व्यक्तिले आफूलाई आचरणमा ढाल्ने र अभ्यास गर्ने सिद्धान्तहरू के-के हुन्? वास्तवमा, त्यो सबै छद्मभेष हो। तिनीहरू आफूले सोचिरहेको कुरा सजिलै भन्दैनन्, न त अरूलाई नै देखाउँछन्। तिनीहरू अरूको आत्मसम्मान वा रुचिहरूमा अविवेकी तरिकाले हानि गर्दैनन्, तर अरूलाई हानि नगर्नु भनेको आत्मरक्षाको लागि पनि हो। तिनीहरू भित्री रूपमा सजग हुन्छन् र बाहिरी रूपमा रङ्ग मिलाउँछन्, र तिनीहरू अत्यन्तै भक्त, सहनशील, धैर्य र कृपालु देखिन्छन्। तर तिनीहरू भित्री रूपमा के सोचिरहेका छन् भनेर कसैले देख्न सक्दैन; तिनीहरूमा भ्रष्टता, प्रतिरोध र विद्रोह हुन्छ, तर अरूले त्यो कुरा देख्न सक्दैनन्। बाहिरी रूपमा, तिनीहरू निकै सुधारात्मक, नम्र, र दयालु देखिने बहाना गर्छन्। तिनीहरूले जतिसुकै खराब काम गरे पनि, वा तिनीहरू भित्री रूपमा जतिसुकै विद्रोही र दुष्ट भए पनि, त्यो कुरा कसैले भन्‍न सक्दैन। बाहिरी रूपमा, तिनीहरू अरूलाई मदत गर्न र दीनदुःखीलाई दान दिन पनि इच्छुक हुन्छन्, र सच्चा जिउँदो लेइ फेङझैँ सधैँ प्रतिकार्य गर्न तयार हुन्छन्। तिनीहरू सधैँ मुस्कुराउने र अरूलाई आफ्नो सर्वोत्कृष्ट पाटो देखाउने गर्छन्, साथै तिनीहरू गोप्य रूपमा जति रोए पनि अरूसामु सधैँ मुस्कुराउँछन्, र मानिसहरूलाई सुधार पाएको महसुस गराउँछन्। के मानिसहरूले भन्‍ने गरेको असल व्यक्ति यही होइन र? यो असल व्यक्तिलाई कुनै इमानदार व्यक्तिसँग तुलना गर्दा, कुनचाहिँ सकारात्मक हुन्छ? कुन व्यक्तिमा सत्यता वास्तविकता हुन्छ? (इमानदार व्यक्तिमा।) इमानदार मानिसहरूमा सत्यता वास्तविकता हुन्छ, तिनीहरूले परमेश्‍वरको प्रेम पाउँछन्, र परमेश्‍वरले तोक्‍नुभएका उहाँका मापदण्डहरू पूरा गर्छन्, तर असल र र निष्कपट मानिसहरूले ती मापदण्ड पूरा गर्दैनन्; परमेश्‍वरले निन्दा र तिरस्कार गर्नुहुने मानिसहरू ठ्याक्कै तिनीहरू नै हुन्। जब परमेश्‍वरले मापदण्ड तोक्‍नुभएका इमानदार मानिसहरूलाई ख्रीष्टविरोधीहरूले केवल असल वा निष्कपट मानिसहरूको रूपमा अर्थ्याउँछन्, के यो परमेश्‍वरले भन्‍नुभएको कुरालाई थाहा नपाउनेगरी निन्दा गर्नु होइन र? के यो परमेश्‍वरका वचनहरूको ईशनिन्दा गर्नु होइन र? के यो सत्यताको ईशनिन्दा गर्नु होइन र? यो त प्रस्ट तथ्य हो। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू बुझ्दैनन्, सत्यता के हो भनेर त झनै बुझ्दैनन्, तैपनि तिनीहरू गलत तर्कहरूको सहारा लिएर अन्धाधुन्ध रूपमा आफ्नै व्याख्याहरू लागु गर्छन्, केही नबुझ्दा पनि बुझेको नाटक गर्छन्, र आफ्नै इच्छाअनुसार व्यापक रूपमा परमेश्‍वरका वचनहरूलाई गलत अर्थ्याउँछन्, र अरूलाई भ्रममा पार्ने र बाधा दिने काम गर्छन्। के तिमीहरूले यस्तो व्यवहार गर्नेथियौ? परमेश्‍वरका वचनहरू नबुझेको प्रस्ट हुँदाहुँदै पनि बुझेको बहाना गर्नु, र आफ्नो शाब्दिक बुझाइको आधारमा आफ्नै शब्दावली, अभिव्यक्ति, र दृष्टिकोणहरू प्रयोग गरेर परमेश्‍वरका वचनहरूलाई अर्थ्याउनु र सीमित पार्नु—यो ख्रीष्टविरोधी स्वभाव हो।

परमेश्‍वर र मानिसका वचनहरूका बीचमा, अनि सत्यता र धर्मसिद्धान्त बीच के तात्त्विक भिन्‍नता हुन्छ? परमेश्‍वरका वचनहरूले मानिसहरूलाई समझ र विवेकमा वृद्धि गराउँछ, सिद्धान्तअनुसार व्यवहार गर्ने र बढ्दो रूपमा सकारात्मक कुराहरूको वास्तविकतामा जिउने बनाउँछ। अर्को तर्फ, मानिसका वचनहरू मानिसहरूका स्वाद र धारणाहरूसँग एकदमै मिलेको देखिन सक्छन्, तर ती सत्यता नभएका हुनाले, तिनीहरू खतराहरू र परीक्षाले, विधर्म र भ्रमहरूले भरिएका हुन्छन्, अनि यसैले यदि मानिसहरूले यी वचनहरूअनुसार व्यवहार गरे भने, तिनीहरूको जियाइ परमेश्‍वर र परमेश्‍वरको मापदण्डहरूभन्दा झन् टाढा हुन जान्छ। त्योभन्दा गम्भीर कुरा त, मानिसहरूले जिउने तरिका झन् दुष्ट र शैतानसँग मिल्‍ने हुन जान्छ। जब मानिसहरू मानिसका विधर्म र भ्रमहरूअनुसार जिउँछन्, जब तिनीहरूले यी तर्कहरूलाई पूर्ण रूपमा अङ्‍गाल्छन्, तिनीहरू शैतान झैँ जिउँछन्। अनि के शैतानझैँ जिउनुले तिनीहरू शैतान हुन् भन्‍ने जनाउँदैन र? (जनाउँछ।) यसैले तिनीहरू “सफलतापूर्वक” जिउँदो शैतान बनेका छन्। कतिपय मानिसहरूले भन्छन्, “म यो कुरामा विश्‍वास गर्दिनँ। म त बस अरूले मन पराउने निष्कपट व्यक्ति बन्‍न चाहन्छु। म सबैले असल ठान्‍ने व्यक्ति बन्‍न चाहन्छु अनि त्यसपछि परमेश्‍वर मप्रति खुसी हुनुहुन्छ कि हुनुहुन्‍न हेर्नेछु।” यदि तैँले परमेश्‍वरले भन्‍नुभएको कुरा विश्‍वास गर्दैनस् भने, जा र हेर्—परमेश्‍वरका वचनहरू सत्यता हुन् कि होइनन् वा मानिसका धारणाहरू सत्यता हुन् कि भनेर हेर्। परमेश्‍वरका वचनहरू र मानिसका वचनहरूको सारको बीचको फरक यही हो। सत्यता तथा विधर्म र भ्रमहरू बीचको महत्वपूर्ण फरक यही हो। मानिसका विधर्म र भ्रमहरू मानिसहरूका स्वादसँग जतिसुकै मिल्‍ने देखिए तापनि, ती कहिले पनि तिनीहरूका जीवन बन्‍न सक्दैनन्; यसै बीच, परमेश्‍वरका वचनहरू जतिसुकै अशोभित, जति सामान्य, मानिसहरूका धारणाहरूसँग नमिल्‍ने देखिए तापनि, तिनको सार सत्यता हो, अनि यदि मानिसहरूले गर्ने र जिउने कुरा परमेश्‍वरका वचनहरूका सिद्धान्तहरूअनुसार छन् भने, अन्ततः कुनै दिन तिनीहरू सृष्टि गरिएका साँच्चिकै योग्य प्राणी बन्‍नेछन्, अनि परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्षम हुनेछन्। तर यसको उल्टो, यदि मानिसहरूले परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्दैनन् र परमेश्‍वरका मापदण्डहरूअनुसार कार्य गर्दैनन् भने, तिनीहरू सृष्टि गरिएको योग्य प्राणी बन्‍न सक्दैनन्। तिनीहरूका कार्यहरू र तिनीहरूले हिँड्ने मार्गलाई परमेश्‍वरले तिरस्कार मात्र गर्नुहुनेछ; यो तथ्य हो। यो सङ्गतिमार्फत, के तिमीहरूले परमेश्‍वरका वचनहरूबारे नयाँ बुझाइ वा अवधारणा प्राप्त गरेका छौ? परमेश्‍वरका वचनहरू के हुन्? ती सत्यता, मार्ग र जीवन हुन्—यसमा कुनै झूट छैन। ख्रीष्टविरोधीहरू, अर्थात् जो सकारात्मक कुराहरूप्रति जन्मैदेखि प्रतिकूल रहेका छन् र जसले तिनलाई घृणा गर्छन्, तिनीहरूले मात्र परमेश्‍वरका वचनहरूलाई तिरस्कारपूर्वक हेर्छन्, परमेश्‍वरका वचनहरूलाई सत्यता मान्दैनन्, र परमेश्‍वरका वचनहरू सत्यता, मार्ग र जीवन हुन् भन्‍ने तथ्यलाई नकार्छन्। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरका वचनहरूलाई आफ्नो जीवनको रूपमा स्विकार्नेछैनन्; तिनीहरू त्यस्ता मानिसहरू हुन् जसले मुक्ति पाउनै सक्दैनन्। यस्तो सङ्गति गरेपछि, कतिपयले यी प्रकटीकरणहरू परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्दै स्वेच्छाचारी रूपमा अर्थ्याउनुबराबर हुन्, र यी ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरू हुन् भनी बुझ्छन्। के तिमीहरूले यसमा परमेश्‍वरका वचनहरू व्यवस्थित गर्नेहरू पनि पर्छन् भनेर भन्‍नेथियौ? (पर्छन्।) पर्छन् र? छेडछाड गर्नुको अर्थ के हो? (यसको अर्थ परमेश्‍वरका वचनहरूको मूल अर्थ बदलिनेगरी स्वेच्छाचारी रूपमा केही कुरा मेटाउनु वा थप्नु हो। छेडछाड गर्नु भनेको यही हो। यदि उहाँका वचनहरू सिद्धान्तहरूअनुसार व्यवस्थित गरिएमा यो छेडछाड गर्नु होइन।) ठिक भनिस्, तिमीहरूले बुझ्नुपर्ने कुरा त्यही हो। यो बुझाइ भएमा, परमेश्‍वरका वचनहरूलाई व्यवस्थित गर्दा तिमीहरूलाई कुनै चिन्ता हुनेछैन, होइन त? के अब तिमीहरूले सिद्धान्तहरू राम्रोसँग बुझ्न सक्छौ? जब तँलाई व्यवस्थित गर्न भनिन्छ, त्यो छेडछाड गर्न भनिएको होइन। अनुवादका काम गर्नेहरू पनि छन्—यी मानिसहरूलाई परमेश्‍वरका वचनहरू सिधै अनुवाद गर्न र परमेश्‍वरका वचनहरूको मूल अर्थ र परमेश्‍वरका आफ्नै वचनहरूलाई अर्को भाषामा अनुवाद गर्न भनिन्छ, तर अनुवाद गर्ने क्रममा परमेश्‍वरका वचनहरूलाई अर्थ्याउनू भनिँदैन। तँ तिनलाई अर्थ्याउन योग्य छैनस्, साथै तैँले यो कुरालाई ध्यान दिन र यसमा सजग रहन जरुरी छ। सिद्धान्तहरूलाई राम्रोसँग बोध गर्नु, र छेडछाड गर्नुमा के पर्छ के पर्दैन भनी बुझ्नु—यी सिद्धान्तहरू राम्रोसँग बोध गरिस् भने यस्ता त्रुटिहरू कमै हुनेछन्। यदि तैँले यी सिद्धान्तहरू बुझ्दैनस् र व्यवस्थित गर्ने क्रममा सधैँ अर्थ थप्न वा परिमार्जन गर्न चाहन्छस् भने, र तँलाई सधैँ यो कुरा भन्‍ने परमेश्‍वरको तरिका त्यति आदर्शवान् छैन वा गलत देखिन्छ भन्‍ने लाग्छ भने, र तँ यो कुरा कुनै निश्‍चित तरिकाले भन्‍नुपर्ने हो भनेर सोच्छस् भने, यस्ता सोचहरूले तँलाई छेडछाडको गल्ती गर्ने जोखिममा पार्नेछन्। अनि जुन अनुवादकहरूले “मलाई परमेश्‍वरका वचनहरूको यो वाक्यले भन्‍न खोजेको कुरा थाहा छ, त्यसकारण म त्यही अर्थको आधारमा अनुवाद गर्नेछु। त्यसलाई अनुवाद गरिसकेपछि, पाठकले त्यो कुरा बुझ्नेछन् र कुरै सकिनेछ, होइन र? खोज वा प्रार्थना-वाचन गर्न आवश्यक हुनेछैन; उनीहरूले सिधै अन्तर्दृष्टि र ज्योति ग्रहण गर्नेछन्” भन्छन्—के यो गल्ती होइन र? यसो गर्दा सिद्धान्तहरू उल्लङ्घन हुन्छन्; यो स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरू अर्थ्याउनु हो। सारांशमा भन्‍नुपर्दा, परमेश्‍वरका वचनहरूलाई कहिल्यै पनि कुनै उपन्यास, कुनै चर्चित व्यक्तिका लेखहरू, वा विद्वत् मन्थनसँग जोडिएको कुनै कुराका मानव शब्दहरूझैँ व्यवहार नगर्। परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्नु वा स्वेच्छाचारी रूपमा अर्थ्याउनु हुँदैन, र त्यसअलावा, परमेश्‍वरका वचनहरू खाँदा, पिउँदा र प्रार्थना-वाचन गर्दा तिनलाई व्यक्तिले खोजी, स्वीकार, र समर्पणको मनोवृत्तिले हेर्नुपर्छ। त्यसपछि मात्र व्यक्तिले सत्यता देख्न, परमेश्‍वरका अभिप्रायहरू बुझ्न, परमेश्‍वरका वचनहरूमा मार्ग भेट्टाउन, आफ्ना भ्रष्ट स्वभावहरू सुल्झाउन, र कर्तव्य गर्ने क्रममा र जीवनमा आइपर्ने विभिन्‍न कठिनाइहरू समाधान गर्न सक्छ। यो नतिजा हासिल गर्नुले परमेश्‍वरका वचनहरूप्रति तेरो मनोवृत्ति सही छ भन्‍ने प्रमाणित गर्छ। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरू तिरस्कार गर्नुको पहिलो प्रकटीकरण—स्वेच्छाचारी रूपमा परमेश्‍वरका वचनहरूलाई छेडछाड गर्नु र अर्थ्याउनु—बारे हाम्रो सङ्गति यहीँ टुङ्गिन्छ।

ख. ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाँदा परमेश्‍वरका वचनहरूलाई नकार्छन्

दोस्रो प्रकटीकरण ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाँदा परमेश्‍वरका वचनहरूलाई नकार्छन् भन्‍ने हो। परमेश्‍वरको काममा, सुरुदेखि हालसम्म, परमेश्‍वरले धेरै वचनहरू बोल्नुभएको छ। यी वचनहरूको दायरा फराकिलो छ, र तिनका विषयवस्तु प्रचुर छन्, जसमा मानिसहरूका अभिप्राय र दृष्टिकोणहरूसँग सम्बन्धित पक्षहरू, साथै तिनीहरूले परमेश्‍वरको सेवा गर्नेलगायतका धेरै कुराहरू पर्छन्। अनि अवश्यै मानिसहरूका भ्रष्ट स्वभावहरूसम्बन्धी अझ धेरै कुराहरू छन्, र अझ बढी भाग त परमेश्‍वरका अभिप्रायहरू र मानवजातिप्रतिका परमेश्‍वरका मापदण्डहरूसँग सम्बन्धित छन्। यी वचनहरूमाझ, परमेश्‍वरले विविध बोल्‍ने विधिहरू अपनाउनुभएको छ। यी विविध बोल्ने विधिहरूमा पनि कतिपय बोलीका भावहरू सुरुमा तुलनात्मक रूपमा मानवनिकट छन्, र त्यसपछि ती मानवजातिको न्याय र खुलासा, साथै मानवजातिमाथिको विजयसँग नजिक छन्, र त्यसपछि तिनले क्रमिक रूपमा मानिसहरूलाई सत्यताका विविध पक्षहरू बताउँछन्। यी वचनहरूको विषयवस्तु बहुआयामी छ, तर जति नै बृहत् भए पनि, त्यो सबै भ्रष्ट मानवजातिलाई चाहिने कुरा नै हो। सबैभन्दा विशेष विषयवस्तुको सानो अंशबाहेक, यी अधिकांश वचनहरू मानव भाषाका ढाँचाहरूअनुसार, र सारा मानवले स्विकार्न सक्ने भाव, शब्द, र भाषिक तर्क प्रयोग गरेर बोलिएका छन्। छोटकरीमा भन्‍नुपर्दा, यी स्वरूपका भाषा र बोलीका यी सबै शैली र विधिहरू सामान्य र बुझ्न निकै सजिला छन्। यदि कसैसँग सामान्य सोच, साथै सामान्य दिमाग र समझ छ भने, उसले परमेश्‍वरका यी वचनहरू बुझ्न सक्छ। यसको आशय हो: जबसम्‍म व्यक्तिका सोचहरू सामान्य हुन्छन्, तबसम्‍म यी वचनहरू पढेपछि, उसले अभ्यासको मार्ग भेट्टाउन, आफूलाई चिन्‍न, परमेश्‍वरका अभिप्रायहरू बुझ्न, र अभ्यासका सिद्धान्तहरू भेट्टाउन सक्छ। जबसम्‍म व्यक्तिसँग हृदय र सामान्य सोचहरू हुन्छ, तबसम्‍म परमेश्‍वरका यी वचनहरूले मानिसहरूलाई मदत गर्न र जीवनका विभिन्‍न कठिनाइहरूमा मार्गदर्शन गर्न सक्छन्, र साथसाथै मानिसहरूलाई तिनीहरूका आफ्नै भ्रष्ट स्वभावहरू बुझ्न सक्षम तुल्याउन पनि सक्छन्। परमेश्‍वरका वचनहरूको अधिकांश विषयवस्तु यस्तै छ, तर एउटा भागचाहिँ ईश्‍वरीयताको दृष्टिकोणबाट, अर्थात् आत्माको दृष्टिकोणबाट बोलिएको छ। विषयवस्तुको यो भाग निकै विशेष छ। सारा मानवजातिको नजरमा, उहाँका वचनहरूको यो भाग निकै गहन र बुझ्न कठिन छ। यो रहस्यझैँ देखिन्छ, र अगमवाणीजस्तो पनि देखिन्छ। यो वाणीको हरेक वाक्य, हरेक अनुच्छेद, र हरेक अध्यायमा, मानिसहरूलाई परमेश्‍वरको आशय खुट्ट्याउन निकै गाह्रो हुन्छ, परमेश्‍वरका वचनहरूको सन्दर्भ र मानिसहरूप्रतिका परमेश्‍वरका मापदण्डहरू, साथै मानिसहरूले खोजिरहेका सत्यता सिद्धान्तहरू भेट्टाउन गाह्रो हुन्छ। त्यसोभए, यो उहाँका वचनहरूको कुन भाग हो? यो “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू” र त्यसका परिशिष्टहरू हुन्। उहाँका वचनहरूको यो भाग बुझ्न मानिसहरूलाई निकै कठिन हुन्छ। अब हामी पहिला मानिसहरूलाई बुझ्न कठिन हुने यो अंश परमेश्‍वरले किन बोल्नुहुन्छ भन्‍ने कुरालाई थाती राखौँ, र त्यसको साटो हामीले सङ्गति गर्नुपर्ने “ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाँदा परमेश्‍वरका वचनहरूलाई नकार्छन्” भन्‍ने विषयको कुन भाग मैले उल्लेख गरेको यो अंशसँग सम्बन्धित छ भन्‍नेबारे कुरा गरौँ। परमेश्‍वरले बोल्नुहुने अधिकांश सामान्य, बुझ्न सजिला, र जटिल तर सामान्य तरिकाले व्यक्त गरिएका वचनहरू, साथै मानिसको लागि परमेश्‍वरका चेतावनी र ताकिताहरू, अर्तीहरू र ढाडस दिने वचनहरू, खुलासा र न्यायका वचनहरू, भरणपोषण र मार्गदर्शनका वचनहरू सन्दर्भमा, सत्यता बिलकुलै नपछ्याउनेहरूले, “परमेश्‍वर” शब्दलाई देवत्व प्रदान गरेर अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्नेहरूले यी वचनहरू परमेश्‍वरका वचनझैँ देखिँदैनन् भन्‍ने सोच्छन्। तिनीहरूलाई यी वचनहरू अति सामान्य, अति सिधा—सादा कुराजस्तो लाग्छन्। तिनीहरू हरेक अध्याय ज्यादै लामो भएको भन्ठान्छन्। तिनीहरू यी वचनहरू पढ्न चाहँदैनन्। तिनीहरू ती वचनहरूमा गहनता र रहस्य नभएकोले ती पढ्नलायक छैनन् भन्‍ने सोच्छन्। त्यसकारण, तिनीहरूको विचारमा यी वचनहरू परमेश्‍वरका वचनहरू होइनन्। यी वचनहरूका विषयवस्तु, तरिका, र शैली तिनीहरूको रुचिसँग नमिल्ने भएकोले तिनीहरूले यसो भन्छन्। त्यसोभए, तिनीहरूको रुचिचाहिँ के हो त? तिनीहरू गहन पाठहरू, अर्थात् मानिसहरूले जति पढे पनि बुझ्नै नसकिने वचनहरू पढ्न चाहन्छन्, जस्तो कि बुझ्नै नसकिने स्वर्गको पुस्तक; तिनीहरू यी कुराहरू पढ्न चाहन्छन्। ख्रीष्टविरोधीहरू परमेश्‍वरले प्रदान गर्नुभएका यी वचनहरूलाई तिरस्कार गर्छन् जुन मानव रुचि सुहाउँदो तरिका, भाव र शैलीमा बोलिएका छन्। तिनीहरू यी वचनहरूप्रति धारणा, अवहेलना, र गिल्लाले भरिएका हुन्छन्। त्यसकारण, यी मानिसहरू मानिसहरूलाई जीवन प्रदान गर्न सक्ने यी सामान्य, र बुझ्न सजिला वचनहरू पढ्ने, हेर्ने, वा सुन्‍ने गर्दैनन्। हृदयमा, तिनीहरू यी वचनहरूप्रति शत्रुवत् र प्रतिरोधी महसुस गर्छन्, साथै तिनलाई स्विकार्न मान्दैनन्। तिनीहरू किन यी वचनहरूलाई अस्वीकार गर्न, र तीप्रति प्रतिरोधी र शत्रुवत् महसुस गर्न सक्छन्? एउटा कारण निश्‍चित छ: तिनीहरूले यी वचनहरू देहधारी परमेश्‍वरको दृष्टिकोणबाट बोलिएका हुन् भन्‍ने विश्‍वास गर्छन्, त्यसकारण तिनीहरूले यी वचनहरू मानव वचनहरू हुन् भन्‍ने ठान्छन्। मानव वचनहरूको अवधारणा के हो? ख्रीष्टविरोधीहरूको विचारमा, परमेश्‍वरका वचनहरू, स्वर्गका धर्मग्रन्थहरू मात्र तिनीहरूले पढ्नयोग्य हुन्छन्। गहन, बुझ्नै नसकिने, र रहस्यमय वचनहरू मात्र तिनीहरूले पढ्नलायक हुन्छन्। यी सामान्य र सजिलै बुझिने मानव लेखहरू तिनीहरूले पढ्नलायक हुँदैनन्, र तिनीहरूको “ग्रहणशील” नजरमा पर्दैनन्, र तिनीहरूले तिनलाई तिरस्कार गर्छन्। तिनीहरूले यी वचनहरू बिलकुलै पढ्दैनन्, यीभित्रका सत्यता स्विकार्ने त कुरै छाडौँ।

यताउता हेर, र परमेश्‍वरका वचनहरू कसले पढ्दैन, त्यो नियाल्; कसैले परमेश्‍वरका वचनहरू सङ्गति गरिरहेको बेला को उठेर हिँड्छ; परमेश्‍वरका वचनहरू पढेको वा सत्यता सङ्गति गरेको सुनेपछि कसलाई हाइ आउँछ, को तन्किने, छटपटाउने, अधैर्य हुने गर्छ, र कसले निस्केर जाने बहाना बनाउने वा हस्तक्षेप गर्ने, र विषयलाई अर्कैतिर मोड्ने गर्छ, त्यो नियाल्—यस्ता मानिसहरू खतरामा हुन्छन्। तैँले धर्मशास्‍त्र, कुनै पनि भ्रमहरू, वा कुनै पनि मानव दृष्टिकोणहरूबारे कुरा गर्दा, तिनीहरूले बसेर सुन्‍नेछन्। तर तैँले परमेश्‍वरका वचनहरू प्रचार गर्न, प्रार्थना-वाचन गर्न, तीबारे सङ्गति गर्न, वा तिनलाई उच्च पार्न थाल्नेबित्तिकै, तिनीहरू बदलिन्छन्, असाधारण र पैशाचिक चालढाल प्रकट गर्छन्। जब तिनीहरूले परमेश्‍वरका वचनहरू पढेको सुन्छन्, तब तिनीहरू बेचैन हुन्छन् र झर्को मान्छन्, र कसैले सत्यतामाथि सङ्गति गरेको सुन्‍नेबित्तिकै तिनीहरू शत्रुवत् बन्छन्, र उठेर हिँड्छन्। यो कस्तो प्रकृतिको कुरा हो? यो कस्तो स्वभाव हो? ख्रीष्टविरोधीहरू यस्तै हुन्छन्। कतिपयले भन्‍न सक्छन्, “तिमीले कसरी तिनीहरूलाई ख्रीष्टविरोधी नाम दिन मिल्छ? सायद तिनीहरू नयाँ विश्‍वासी हुन् जसमा परमेश्‍वरका वचनहरूप्रति अझै रुचि पलाएको छैन वा जसले परमेश्‍वरका वचनहरूको मिठास चाखेको छैन। के तिमीलाई नयाँ विश्‍वासीहरू कदको हिसाबले सानो हुने सम्भावना हुन्छ भन्‍ने लाग्दैन?” यदि तिनीहरू सानो कद भएका र परमेश्‍वरका वचनहरूमा रुचि नभएका नयाँ विश्‍वासीहरू हुन् भने, तैँले अरू विषयबारे कुरा गर्दा तिनीहरू किन घिन मान्दैनन्? यदि तैँले महाविपत्तिहरू, मानवजातिको भविष्य, रहस्यहरू, वा प्रकाशको पुस्तकबारे छलफल गर्दा, तिनीहरूले थपक्क बसेर सुन्‍न सक्छन् सक्दैनन्, त्यो हेर्। त्यसबेला तिनीहरूले फरक व्यवहार गर्छन्। ख्रीष्टविरोधीहरूको प्रकृति सारको दृष्टिकोणबाट हेर्दा, तिनीहरू सत्यताप्रति शत्रुवत् हुन्छन्। सत्यताप्रतिको यो शत्रुवत् प्रकृति सार कसरी प्रकट हुन्छ? परमेश्‍वरका वचनहरू सुनेपछि, तिनीहरू घिन महसुस गर्छन् र उँघ्छन्, साथै तिरस्कार, अधैर्य, र सुन्‍ने अनिच्छाका विभिन्‍न भावहरू प्रकट गर्छन्। तिनीहरूको पैशाचिक चालढाल यसरी प्रकट हुन्छ। बाहिरी रूपमा त तिनीहरू आफ्नो कर्तव्य गरिरहेका छन् र आफूलाई परमेश्‍वरका अनुयायी मान्छन् जस्तो देखिन्छ। तर सत्यता सङ्गति गर्दा र परमेश्‍वरका वचनहरू सङ्गति गर्दा तिनीहरू किन अनियन्त्रित बन्छन्? त्यसबेला तिनीहरू किन थपक्क बस्न सक्दैनन्? यस्तो लाग्छ मानौँ परमेश्‍वरका वचनहरूले तरबार नै बोकेका छन्। परमेश्‍वरका वचनहरूले के तिनीहरूलाई घोच्छन्? परमेश्‍वरका वचनहरूले के तिनीहरूलाई निन्दा गर्छन्? गर्दैनन्। यी अधिकांश वचनहरू मानिसहरूको पोषणको लागि हुन्, र ती सुनेपछि, मानिसहरू ब्युँझन, जिउने उपाय भेट्टाउन, र मानव स्वरूपमा जिउनको लागि पुनर्जीवित हुन सक्छन्। त्यसोभए कतिपय मानिसहरूले यी वचनहरू सुनेपछि किन असाधारण प्रतिक्रिया जनाउँछन्? यो दियाबलसले आफ्नो साँचो चालढाल प्रकट गरेको हो। तैँले धर्मशास्‍त्र, झूटो शिक्षा, वा प्रकाशको पुस्तकबारे कुरा गर्दा तिनीहरू घिन महसुस गर्दैनन्। तैँले निष्कपट हुने, मान्छे खुसी पारिहिँड्ने व्यक्ति बन्‍नेबारे कुरा गरिस्, वा वीरताका कथाहरू सुनाइस् भने पनि, तिनीहरू घिन महसुस गर्दैनन्। तर तिनीहरूले परमेश्‍वरका वचनहरू पढेको सुन्‍नेबित्तिकै तिनीहरू घिन महसुस गर्छन्, उठ्छन्, र निस्केर जान चाहन्छन्। यदि तैँले तिनीहरूलाई राम्रोसँग सुन्‍न भनी अर्ती दिइस् भने, तिनीहरू झगडा गर्न तयार बन्छन् र रिसाएर तँलाई घुरेर हेर्छन्। यस्ता मानिसहरूले परमेश्‍वरका वचनहरू आफूभित्र लिन किन सक्दैनन्? परमेश्‍वरका वचनहरू सुन्दा तिनीहरू थपक्क बस्नै सक्दैनन्—यहाँ के भइरहेको छ? यसले तिनीहरूभित्रको आत्मा असाधारण छ, यो सत्यताप्रति वितृष्ण र परमेश्‍वरप्रति वैरी आत्मा हो भन्‍ने प्रमाणित गर्छ। परमेश्‍वरका वचनहरू सुन्‍नेबित्तिकै तिनीहरू भित्री रूपमा हडबडाउँछन्, र तिनीहरूभित्रको पिशाच सक्रिय बन्छ, र यसकारण तिनीहरू थपक्क बस्नै सक्दैनन्। यही नै ख्रीष्टविरोधी सार हो। त्यसकारण, बाहिरबाट ख्रीष्टविरोधीहरू आफ्ना धारणाहरूसँग मेल नखाने परमेश्‍वरका वचनहरूलाई तिरस्कार गर्छन्। तर यो “आफ्ना धारणाहरूसँग मेल नखाने” भन्‍नाले वास्तवमा के जनाउँछ? यसले प्रस्ट रूपमा तिनीहरूले यी वचनहरूलाई निन्दा गर्छन्, यी वचनहरू परमेश्‍वरबाट आएका हुन् भनी मान्दैनन् र यिनलाई सत्यताको रूपमा वा मानिसहरूलाई मुक्ति दिने जीवन मार्गको रूपमा मान्दैनन्। तिनीहरूका धारणाहरूअनुसार नहुनु भनेको त एउटा बहाना अर्थात् सतही कुरा मात्र हो। तिनीहरूका धारणाहरूसँग मेल नखानु भन्‍नुको अर्थ के हो? के परमेश्‍वरले बोल्नुभएका यी सबै वचनहरूबारे हरव्यक्तिका कुनै पनि धारणाहरू हुँदैनन् र? के हरव्यक्तिले यिनलाई परमेश्‍वरका वचनहरूको रूपमा अर्थात् सत्यताको रूपमा स्विकार्न सक्छ त? सक्दैन—हरव्यक्तिले, धेरथोर मात्रामा, कुनै न कुनै तहमा, केही सोच, धारणा, वा दृष्टिकोणहरू बोकेको हुन्छ जुन परमेश्‍वरका वचनहरूसित बाझिन्छन् वा विरोधाभासी हुन्छन्। तर धेरैजसो मानिसहरूमा सामान्य चेतना हुन्छ, र यस चेतनाले तिनीहरूलाई आफ्ना धारणाहरूसँग मेल नखाने परेमश्‍वरका वचनहरू सामना गर्दा उत्पन्‍न हुने मनोवृत्तिलाई जित्न मदत गर्न सक्छ। तिनीहरूको चेतनाले तिनीहरूलाई यसो भन्छ, “यो मेरा धारणाहरूसँग मेल नखाए पनि, यी परमेश्‍वरका वचनहरू नै हुन्; यो मेरा धारणाहरूसँग मेल नखाने, म यसलाई सुन्‍न हिचकिचाउने, मलाई यो गलत हो भन्‍ने लाग्ने, र मलाई यो मेरा सोचहरूसँग बाझिन्छन् भन्‍ने लाग्ने भए पनि, यी वचनहरू सत्यता नै हुन्। म बिस्तारै यिनलाई स्विकार्नेछु, र कुनै दिन जब म यो सबै कुरा चिन्छु, तब म मेरा धारणाहरू त्याग्नेछु।” तिनीहरूको चेतनाले तिनीहरूलाई पहिला आफ्ना धारणाहरू पाखा लगाउनू, तिनीहरूका धारणाहरू सत्यता होइनन् र तिनले परमेश्‍वरका वचनहरूलाई प्रतिस्थापित गर्न सक्दैनन् भन्छ। तिनीहरूको चेतनाले तिनीहरूलाई आफ्ना धारणा र दृष्टिकोणहरूलाई परमेश्‍वरका वचनहरूसँग जुधाउनुको साटो समर्पण र इमानदारीको मनोवृत्तिले परमेश्‍वरका वचनहरू स्विकार्नू भन्छ। तसर्थ, तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्दा, आफ्ना धारणासँग मेल खानेहरूलाई स्विकार्न र बसेर शान्त रूपले सुन्‍न सक्छन्। अनि तिनीहरूका धारणाहरूसँग मेल नखाने वचनहरूबारे पनि तिनीहरू समाधानहरू खोजिरहेका हुन्छन्, आफ्ना धारणाहरूलाई पाखा लगाएर परमेश्‍वरसँग मिल्दो हुने प्रयत्न गर्छन्। धेरैजसो चेतनशील मानिसहरूको सामान्य व्यवहार यही हो। तर “आफ्ना धारणाहरूसँग मेल नखाने” भनेर ख्रीष्टविरोधीहरूले उल्लेख गर्ने कुरा साधारण मानिसहरूले भनेजस्तो होइन। ख्रीष्टविरोधीहरूको मामलामा, यसका गम्भीर समस्याहरू छन्; यो पूर्णतया परमेश्‍वरका कार्य, वचन, सार र स्वभावभन्दा उल्टो, अर्थात् शैतानी स्वभाव सारमा पर्ने कुरा हो। तिनीहरूको मामलामा, यो परमेश्‍वरका वचनहरूको निन्दा, ईशनिन्दा, र उपहास हो। तिनीहरू परमेश्‍वरले बोल्नुभएको यो सामान्य र सजिलै बुझिने मानव भाषा सत्यता होइन र यसले मानिसहरूलाई मुक्ति दिन सक्दैन भन्‍ने विश्‍वास गर्छन्। ख्रीष्टविरोधीहरूले “आफ्ना धारणाहरूसँग मेल नखाने” भन्‍नुको ठ्याक्कै अर्थ यही हो। त्यसोभए यसको सार के हो त? वास्तवमा, यो परमेश्‍वरको निन्दा, अस्वीकार, र ईशनिन्दा हो।

जब परमेश्‍वरले मानवताको दृष्टिकोणबाट अर्थात् तेस्रो पक्षीय दृष्टिकोणबाट मानव भाषाका ढाँचा, संरचना, र शब्दावली प्रयोग गरेर मानिसहरूसित बोल्नुहुन्छ, तब ख्रीष्टविरोधीहरू यी वचनहरू पर्याप्त मात्रामा गहन हुँदैनन्, परमेश्‍वरका वचन भन्‍न योग्य हुँदैनन् भन्‍ने विश्‍वास गर्छन्, त्यसकारण तिनीहरू यी वचनहरू स्विकार्नभन्दा मर्न तयार हुन्छन्। कतिपय मानिसहरू भन्छन्, “तपाईं तिनीहरूले स्विकार्दैनन् भन्‍नुहुन्छ, तर तिनीहरूले पनि परमेश्‍वरका वचनहरू खाने र पिउने गर्छन्, कहिलेकाहीँ तिनीहरूमा आत्मिक भक्ति हुन्छ, र कहिलेकाहीँ तिनीहरूले हामीसँग सङ्गति गर्दा, परमेश्‍वरका वचनहरूसमेत उद्धृत गर्छन्। तपाईं त्यसलाई कसरी व्याख्या गर्नुहुन्छ?” त्यो फरक मामला हो; त्यो सतही कुरा मात्र हो, मूल रूपमा त ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वचनहरूलाई यसरी परिभाषित गर्छन्: “मानिसको देहधारी पुत्रले बोलेका वचनहरू सत्यतासँग समेत बराबर हुँदैनन्, परमेश्‍वरका वचनहरूसँग बराबर हुने त कुरै छाडौँ, त्यसकारण मैले तिनलाई स्विकार्न, खान, पिउन वा तीप्रति समर्पित हुन आवश्यक छैन।” तर परमेश्‍वर देहधारी हुनुभएको देहले आत्माको दृष्टिकोणबाट अर्थात् ईश्‍वरत्वको दृष्टिकोणबाट व्यक्त गर्नुभएको भाग, अर्थात्—सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू—को हकमा भन्‍नुपर्दा, यो ख्रीष्टविरोधीहरूले देख्न सक्ने तर तिनीहरू पुग्न नसक्ने कुरा हो। यो तिनीहरूलाई निकै चाख लाग्ने परमेश्‍वरका वचनहरूको पाटो हो। यो चाखले के जनाउँछ? यसले ख्रीष्टविरोधीहरूले यी वचनहरूमाथि र्‍याल चुहाउनु र यस्तो सोच्नुलाई जनाउँछ, “तिम्रो वाणीको ठ्याक्कै यही भागकै कारण तिमीजस्तो महत्त्वहीन, मामुली, र हाम्रो नजरमा केही न कामको व्यक्ति परमेश्‍वर बनेको छ। यो अत्यन्तै पक्षपात भयो, न्याय नै भएन!” तर तिनीहरूलाई एउटा पक्षचाहिँ “खुसी मान्‍नलायक” लाग्छ। ठ्याक्कै भन्‍नुपर्दा, परमेश्‍वरका वचनहरूको यो भागको अभिव्यक्तिकै कारण स्वर्गको परमेश्‍वरको प्रशंसा र श्रद्धा गर्ने तिनीहरूका चाहना र महत्त्वाकाङ्क्षा पूरा हुन्छन्। यसले तिनीहरूको लागि नयाँ दायरा खोल्छ र तिनीहरू यसो भन्छन्, “क्या गजब, परमेश्‍वर साँच्चिकै परमेश्‍वर रहेछन्! यी तेस्रो स्वर्गका परमेश्‍वर, अर्थात् सबैभन्दा महान् परमेश्‍वर हुन्। उनी वास्तवमै परमेश्‍वर बन्‍न लायक छन्; यस्ता वचनहरू बोल्नु भनेको चानचुनै कुरै होइन। मानवले एउटा पनि वाक्य बुझ्न सक्दैन, यी वचनहरू अत्यन्तै गहन छन्, अगमवक्ताका अगमवाणीहरूभन्दा पनि गहन छन्!” ख्रीष्टविरोधीहरूले यी वचनहरू पढ्दैपिच्छे तिनीहरूको हृदय ईर्ष्या र डाहले भरिएको हुन्छ, र स्वर्गको परमेश्‍वरप्रति प्रशंसाले भरिएको हुन्छ। तिनीहरूले यी वचनहरू पढ्दैपिच्छे आफूले परमेश्‍वरलाई सबैभन्दा बढी प्रेम गर्ने महसुस गर्छन्; तिनीहरूले यी वचनहरू पढ्दैपिच्छे आफू परमेश्‍वरसँग सबैभन्दा नजिक रहेको महसुस गर्छन्। यी वचनहरूले परमेश्‍वरबारे तिनीहरूको जिज्ञासा धेरै मात्रामा पूरा गर्छन्। यस भागको परमेश्‍वरको वाणीमा, तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू, परमेश्‍वरले बोल्नुभएका प्रत्येक वाक्यहरूको प्रसङ्ग, यसले हासिल गर्न चाहेको अन्तिम प्रभाव, वा यसको अन्तर्निहित अर्थ बिलकुलै बुझ्न नसक्ने भए पनि, अझै तिनीहरूले यस भागका उहाँका वचनहरूलाई ठूलो अपेक्षासाथ प्रतीक्षा गर्छन्। किन? किनकि यो भाग बुझ्न गाह्रो छ, यसमा देहधारी परमेश्‍वरमा देखिएको मानवताको आभास छैन, यो मानवताको दृष्टिकोणबाट वा तेस्रो पक्षीय दृष्टिकोणबाट बोलिएको छैन। यस भागमा, तिनीहरूले परमेश्‍वरको महान्‌ता, र उहाँको अथाहपन देख्छन्, र उहाँलाई देख्न सकिने तर पुग्न नसकिने कुराको रूपमा पनि बुझ्छन्। जति त्यसो हुन्छ, त्यति नै तिनीहरूले स्वर्गको परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ, र धर्तीको परमेश्‍वर अत्यन्तै महत्त्वहीन हुनुहुन्छ, उहाँमा विश्‍वास गर्न कठिन छ, र उहाँ विश्‍वासलायक हुनुहुन्‍न भन्‍ने ठान्छन्। परमेश्‍वरका वचनहरूको यही भागको कारण कतिपय मानिसहरूले आखिरी दिनहरूको परमेश्‍वरको काम स्विकारेका हुन् भन्‍नु अतिशयोक्ति हुँदैन। कतिपय त विशेषगरी यी वचनहरूकै लागि आखिरी दिनहरूको परमेश्‍वरको काममा आएका छन्, र कतिपयचाहिँ यहाँ उहाँका वचनहरूको यो भाग पूरा हुने प्रतीक्षा मात्र गरिरहेका छन्। अझ भन्‍ने हो भने, यी वचनहरूमार्फत कतिपयले स्वर्गको परमेश्‍वरको अस्तित्व पुष्टि गरेका छन् र यसकारण धर्तीको परमेश्‍वरको नम्रता र महत्त्वहीनतालाई झनै बढी तिरस्कार गर्छन्। तिनीहरूले उहाँका वचनहरूको यो भाग जति बढी पढ्छन्, त्यति नै बढी तिनीहरूलाई धर्तीको परमेश्‍वर अर्थात् देहधारी परमेश्‍वरले अत्यन्तै सतही रूपमा बोल्नुहुन्छ भन्‍ने महसुस हुन्छ। तिनीहरू भन्छन्, “तिम्रा वचनहरू बुझ्न ज्यादै सजिला छन्। तिमी किन त्यस्तो कुरा बोल्दैनौ जुन हामीले बुझ्नै नसकौँ? तिमी किन केही रहस्यहरूबारे बोल्दैनौ? किन तेस्रो स्वर्गको भाषा नबोलेको? किन ईश्‍वरीय भाषामा नबोलेको? हामीलाई हाम्रो क्षितिज फैलाउन र दिमाग बढाउन देऊ। यदि तिमीले त्यसरी बोल्यौ र कार्य गर्‍यौ भने, के हाम्रो आस्था बढ्नेथिएन र? के हामीले तिम्रो प्रतिरोध गर्न रोक्नेथिएनौँ र? यदि तिमीले त्यो तरिकाले हामीसँग बोल्यौ र हामीलाई अगुवाइ गर्‍यौ भने, के तिम्रो हैसियत अझै उच्च हुनेथिएन र? त्यसपछि त हामीले तिमीलाई कसरी तिरस्कार गर्न सक्छौँ र?” के यो अलि बेमनासिब कुरा होइन र? यो पूर्णतया अविवेकी कुरा हो! के समझप्रतिरोधी मानिसहरूमा सामान्य मानवता हुन्छ र, के तिनीहरूमा सामान्य मानवताको सोचाइ हुन्छ र? (हुँदैन।) त्यसोभए, के यसप्रकारका ख्रीष्टविरोधीहरूमा, अर्थात् परमेश्‍वरका वचनहरूप्रति यसरी प्रतिक्रिया जनाउने मानिसहरूमा, सामान्य चेतना हुन्छ? (हुँदैन।) कहिलेकाहीँ मानिसहरू गफ गरिरहेको भेटेमा म तिनीहरूसँगै कुराकानीमा सामेल हुन्छु। तर अचम्मको कुरा, तिनीहरूले यति ठूला विषयहरूमा कुरा गर्छन् कि म बीचमा बोल्न वा छलफलमा संलग्न हुनै सक्दिनँ। तिनीहरू यसो भन्छन्, “तिमी यसमा अट्दैनौ भन्‍ने प्रस्टै छ। तिमी तेस्रो स्वर्गको भाषा बोल्न सक्दैनौ। हामी तेस्रो स्वर्गको भाषा बोलिरहेका छौँ, जुन साधारण मानिसहरूले बुझ्नै सक्दैनन्। त्यसैले तिमी परमेश्‍वर भएर के भो त? तिमीले अझै पनि बुझ्न सक्दैनौ, त्यसकारण हामीले तिमीलाई सामेल गराउनु हुँदैन।” ल भन् त, यस्ता परिस्थितिहरूमा मैले के गर्नुपर्छ? मानिसहरूले समझदार हुन सिक्नुपर्छ। जब म तिनीहरूले तेस्रो स्वर्गको यस्तो उच्च र शक्तिशाली भाषा बोलेको देख्छु, र जब म त्यो स्तरमा पुग्न सक्दिनँ, तब मैले आफूलाई मूर्ख तुल्याउनुभन्दा निस्केर हिँड्नुपर्छ। कतिपय ख्रीष्टविरोधीहरूले खुलेआम यी झूटो शिक्षा, भ्रम, र खोक्रो रूपमा अव्यावहारिक वचनहरू प्रचार गर्छन्, जुन प्रस्ट रूपमा शैतानबाट, अर्थात् प्रधान दूतबाट उत्पत्ति हुन्छ। तिनीहरूले बोल्ने वचनहरू परिष्कृत र उच्च सुनिन्छन्, जुन अधिकांश सामान्य मानिसहरूको पहुँचबाहिर हुन्छन्। पहुँचबाहिर हुनु भन्‍नुको अर्थ के हो? यसको अर्थ तैँले त्यो सुन्‍नेबित्तिकै त्यो दुष्ट कुराकानी हो, र त्यसलाई अस्वीकार गर्नुपर्छ भनेर थाहा पाउँछस्।

ख्रीष्टविरोधीहरूले आफ्ना धारणाहरूसँग मेल नखाने परमेश्‍वरका वचनहरूलाई नकार्नुको सार के हो? के तैँले प्रस्ट रूपमा यो कुरा देखेको छस्? तिनीहरूले वास्तवमा परमेश्‍वरका यी वचनहरू पढ्दासमेत पढ्दैनन्। सुरुमा, जिज्ञासाको कारण तिनीहरूले परमेश्‍वरका वचनहरू देखावटी रूपमा सरसरती पढ्छन्। एकपटक हेरेपछि, तिनीहरूले सोच्छन्, “यी अधिकांश वचनहरू पढ्नलायक छैनन्, तिनमा कुनै व्यावहारिक, मूल्यवान्, वा उल्लेखनीय कुरा, र गहन अनुसन्धान गर्नलायक केही छैन।” पढ्दै जाँदा, तिनीहरू सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू भन्‍ने भागमा पुग्छन्। तिनीहरूले यस भागमा उचाइ र गहिराइसहितको ईश्‍वरीय भाषाको स्वाद भएको, र यो मानवले खोजबिन र अनुसन्धान गर्न लायक भएको महसुस गर्छन्—यो तिनीहरूको रुचिसुहाउँदो हुन्छ। अब तिनीहरू केको अपेक्षा गरिरहेका छन्? “यस भागबारे कसले बुझाउन सक्छ? परमेश्‍वरको अभिप्राय ठ्याक्कै के हो? परमेश्‍वरका वचनहरूको हरेक अनुच्छेदको अर्थ के हो, र त्यो कसरी पूरा हुनेछ?” ख्रीष्टविरोधीहरूले सबैभन्दा बढी पत्ता लगाउन चाहने कुरा नै यही हो, तर तिनीहरू आफै यो कुरा बुझ्न सक्दैनन्। तिमीहरूलाई के लाग्छ, के तिनीहरूलाई भन्‍नुपर्छ? (भन्‍न आवश्यक छैन।) किन आवश्यक छैन? के दियाबलसहरू परमेश्‍वरका वचनहरू सुन्‍न योग्य हुन्छन्? के तिनीहरू परमेश्‍वरका रहस्यहरू जान्‍न योग्य छन्? (छैनन्।) परमेश्‍वरका रहस्यहरू उहाँलाई विश्‍वास गर्ने, पछ्याउने र उहाँमा समर्पित हुनेहरूसमक्ष प्रकट गरिन्छ, तर दियाबलस र शैतानबाट लुकाइन्छ, तिनीहरू त्यसको लायक नै हुँदैनन्। त्यसकारण, यदि कुनै दिन परमेश्‍वरले उहाँका वचनहरूको यस भागका रहस्यहरू र सार, साथै यी वचनहरूका जड र प्रसङ्ग खुलासा गर्ने निर्णय गर्नुभयो भने, यो परमेश्‍वरका चुनिएका मानिसहरूलाई प्रकट गरिनेछ, र तिनीहरूलाई थाहा दिइनेछ, तर शैतान र दियाबलसहरूलाई कहिल्यै प्रकट गरिनेछैन। यदि तिमीहरू सत्यता पछ्याउने मानिसहरू हौ र सौभाग्यले अन्त्यसम्म रहन सक्यौ भने, तिमीहरूले उहाँका वचनहरूको यो भागको विषयवस्तु बुझ्ने अवसर पाउनेछौ। परमेश्‍वरका वचनहरूमा, अनि उहाँको काममा पनि धेरै रहस्यहरू छन्। उदाहरणको लागि, परमेश्‍वरको हालको देहधारण; बाइबलमा र यसअघिका भविष्यवाणीहरूमा, यसबारे धेरथोर, र ठूलो-सानो मात्रामा खासै प्रस्ट नभएका केही अगमवाणीहरू भए पनि, यी सबै अगमवाणीहरू निकै गोप्य छन्। परमेश्‍वरको हालको देहधारण, सम्पूर्ण मानवजातिमाझ र पूरै छ-हजार वर्षे व्यवस्थापन योजनाभर, सबैभन्दा ठूलो रहस्य र सबैभन्दा गोप्य मामला हो। मानवहरूलाई थाहा छैन, स्वर्गदूतहरूलाई थाहा छैन, परमेश्‍वरका सारा सृष्टिहरूलाई थाहा छैन; सबैभन्दा सक्षम शैतानलाई समेत यस मामलाबारे थाहा छैन। त्यसलाई किन थाहा छैन? यदि परमेश्‍वरले बताउन चाहनुभयो भने, के त्यसले अति सजिलै थाहा पाउनेथिएन र? त्यसोभए त्यसलाई किन थाहा छैन? एउटा कुराचाहिँ निश्‍चित छ: परमेश्‍वर त्यसले थाहा पाओस् भन्‍ने चाहनुहुन्‍न। धेरै चिन्ह, अगमवाणी, र तथ्यहरूले यो घटनालाई औँल्याइरहेको, र यसको आगमनलाई इङ्गित र भविष्यवाणी गरिरहेको भए पनि, त्यसले थाहा पाओस् भनेर परमेश्‍वरले इच्छा नगर्नुहुन्जेलसम्‍म शैतानले कहिल्यै थाहा पाउनेछैन। यो तथ्य हो। जब परमेश्‍वरले त्यसले थाहा पाओस् भन्‍ने चाहनुहुन्छ तब उहाँले यो कुरा सिधै भन्‍नुहुनेछ। यदि परमेश्‍वरले यो कुरा भन्‍नुभएन र यसबारे बोल्नुभएन भने, यी तथ्यहरू र भविष्यदर्शी कुराहरू देखा परे पनि, परमेश्‍वरले त्यसलाई अन्धो पार्न सक्नुहुन्छ, र त्यसले यो कुरा थाहा पाउन सक्नेछैन। के शैतानको सामर्थ्य ठूलो छ र? त्यसलाई यस तरिकाले हेर्दा, ठूलो छैन। परमेश्‍वरको देहधारणजस्तो यति महत्त्वपूर्ण कार्यबारे भन्‍नुपर्दा, चाहे त्यो मानव संसारमा होस्, भौतिक संसारमा होस्, वा आत्मिक क्षेत्रमा होस्, के त्यसका केही चिन्हहरू हुनेथिएनन् र? यदि यी सबै चिन्हहरूलाई समग्रमा हेरिएमा, परमेश्‍वरले कार्यान्वयन गर्न चाहनुभएको यो कार्य सजिलै देखिनेथ्यो। त्यसोभए शैतानलाई त्यसबारे किन थाहा हुँदैन? परमेश्‍वरले ठूलो रातो अजिङ्गरको देशमा यतिका वर्ष काम गर्नुभएपछि पनि त्यसले किन परमेश्‍वरले गर्नुभएको यस कार्यको महत्त्व बुझ्दैन? त्यसले थाहा पाउन्जेलसम्‍ममा, यो कार्य पहिल्यै पूरा भइसकेको हुनेछ, शैतानले यसमा हस्तक्षेप गर्न सक्दैन, र यस कार्यका नतिजा र फल पहिल्यै निर्धारण भइसकेका हुनेछन्। त्यसबेलासम्म, के शैतानले सत्यता पत्ता लगाउन निकै ढिला हुँदैन र? के यसले “शैतान सधैँ परमेश्‍वरबाट पराजित शत्रु हुनेछ” भन्‍ने भनाइ पूरा गर्दैन र? कुरा ठ्याक्कै त्यही हो। ख्रीष्टविरोधीहरू परमेश्‍वरका वचनहरू मानव धारणा वा रुचिहरूसँग मेल नखाउन्जेल तिनीहरूले तिनलाई नकार्न सक्छन् र त्यसपछि परमेश्‍वर परमेश्‍वर हुन छोड्नुहुनेछ भन्‍ने गलत विश्‍वास गर्छन्। तिनीहरू परमेश्‍वरको देहधारणले उल्लेखनीय चिज केही हासिल गर्न सक्दैन, र त्यो तथ्य बन्‍न सक्दैन भन्ठान्छन्। के यो गम्भीर गल्ती होइन र? गलत आकलन गरेर तिनीहरू आफ्नै पासोमा फसेका छन्। तिनीहरू किन आफ्नै पासोमा फसेका छन्? ठ्याक्कै भन्‍नुपर्दा परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिनहेतु मानव धारणाहरूसँग मेल नखाने वा भव्य नदेखिने यी साधारण वचनहरू प्रयोग गर्दै बोल्ने र काम गर्ने गर्नुहुन्छ। ठ्याक्कै भन्‍नुपर्दा यी साधारण वचनहरूका अन्तर्निहित विषयवस्तुमै परमेश्‍वरका अभिप्रायहरू, र सत्यता, मार्ग र जीवन हुन्छन्। भ्रष्ट मानवजातिलाई मुक्ति दिन र परमेश्‍वरको व्यवस्थापन योजना पूरा गर्न यी वचनहरू पर्याप्त छन्। यसैबीच, यी साधारण वचनहरू निन्दा गर्नेहरूलाई हटाइनेछ, निन्दा गरिनेछ, र अन्त्यमा दण्ड दिइहुनेछ। तिनीहरूले यस्तो गलत सोच राख्छन्, “म तिम्रा यी वचनहरू स्विकार्नेछैनँ, म तिनलाई मूल्यवान् ठान्दिनँ! तिम्रा वचनहरू मेरा धारणाहरूसँग मेल खाँदैनन्, ती मेरा धारणा, दृष्टिकोण, वा सोच्ने तरिकासँग मेल खाँदैनन्, त्यसकारण म तिनलाई अस्वीकार गर्न सक्छु, म तिनलाई प्रतिरोध र निन्दा गर्न सक्छु, अनि त्यसपछि तिमीले केही हासिल गर्नेछैनौ!” तिनीहरू गलत छन्। ख्रीष्टविरोधीहरूले परमेश्‍वरका यी वचनहरू नस्विकार्नु भनेको तिनीहरू आफ्नै पासोमा फस्नु हो; परमेश्‍वरले कहिल्यै पनि तिनीहरूले स्विकारून् भन्‍ने अभिप्राय राख्नुभएन, तर किन? किनकि तिनीहरू शैतान र दियाबलसका मानिसहरू हुन्। परमेश्‍वरले कहिल्यै पनि तिनीहरूलाई मुक्ति दिने वा बदल्ने योजना गर्नुभएन; तथ्य यही हो। त्यसोभए, अन्तिम तथ्य के हो त? परमेश्‍वरका वचनहरू नकार्ने, निन्दा गर्ने र अस्वीकार गर्ने काम गरेपछि ख्रीष्टविरोधीहरू परमेश्‍वरद्वारा निन्दित र तिरस्कृत हुन्छन्। यसबाट तिमीहरूले के बुझ्नुपर्छ? परमेश्‍वरका वचनहरू मानव धारणा र कल्पनाहरूसँग मेल नखानु नै तैँले तिनलाई नस्विकार्ने कारण बन्‍नु हुँदैन। परमेश्‍वरका वचनका भागहरू तेरा धारणाहरूसँग मेल नखानुको अर्थ यो होइन कि ती सत्यता होइनन्, र त्यसैको कारणले तैँले तिनलाई नकार्नु हुँदैन। त्यसको उल्टो, परमेश्‍वरका वचनहरू तेरा धारणाहरूसँग जति मेल खाँदैनन्, त्यति नै धेरै तैँले आफ्ना धारणाहरू पन्छाएर सत्यता खोज्नुपर्छ। परमेश्‍वरका वचनहरू तेरा धारणाहरूसँग जति मेल खाँदैनन्, त्यति नै धेरै तिनले तँसित के छैन, तँमा केको कमी छ, तैँले आफूमा के भर्नुपर्छ, र विशेषगरी तैँले के कुरा बदल्न र केमा प्रवेश गर्न खोज्नुपर्छ भन्‍ने कुरा जनाउँछन्। तिमीहरूले बुझ्नुपर्ने कुरा यही हो।

ख्रीष्टविरोधीहरू आफूलाई भव्य, महान्, र कुलीन ठान्छन्। यदि तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्नुपर्‍यो भने, तिनीहरूले दिव्य वाणीहरू, अर्थात् तेस्रो स्वर्गबाट परमेश्‍वरले बोल्नुभएका वचनहरू नै रोज्नुपर्छ, वा आमसाधारण मानिसहरूलाई बुझ्न र राम्रोसँग बोध गर्न गाह्रो हुने परमेश्‍वरका केही गहन वचनहरू नै पढ्नुपर्छ। तिनीहरूले परमेश्‍वरका वचनहरूमा सत्यता वा अभ्यासको मार्ग चाहँदैनन्, बरु तिनीहरूका आफ्नै जिज्ञासा, खोक्रा सोच, महत्त्वाकाङ्क्षा र चाहनाहरू पूरा गर्ने चाहना राख्छन्। त्यसैले, यदि तैँले आफ्नो वरपरका केही मानिसहरूले परमेश्‍वरका वचनहरूका बढी सामान्य र सजिलै बुझिने भागहरू, अर्थात् मानवताको दृष्टिकोणबाट बोलिएका परमेश्‍वरका वचनहरूलाई बेवास्ता गरेको, वा सङ्गीत भरेपछि तिनलाई गाउने कामसमेत नगरेको, बरु चयनशील तरिकाले परमेश्‍वरका वचनहरूलाई हेरेको, सुनेको वा पढेको देखिस् भने, यस्ता मानिसहरूमा एउटा समस्या हुन्छ। कतिपयले सोध्‍न सक्छन्, “कस्तो समस्या? के यो तिनीहरूको सोचाइको समस्या हो कि मनोवैज्ञानिक समस्या हो?” दुवै होइन; यस्ता मानिसहरूमा स्वभावको समस्या हुन्छ। के तिमीहरूले कतिपय मानिसहरूले परमेश्‍वरका वचनका भजनहरू गाउँदा दैनिक जीवनका सत्यतासँग सम्बन्धित भजनहरू नगाउने, आफूलाई चिन्‍नेबारेका भजनहरू गाउन अनिच्छुक हुने, मानिसहरूका भ्रष्ट स्वभाव, धार्मिक धारणा, र परमेश्‍वरमा विश्‍वास गर्नेबारेमा रहेका गलत विचारहरू खुलासा गर्ने भजनहरू गाउन नचाहने, साथै मानिसहरूलाई इमानदार हुन लगाउने परमेश्‍वरका मापदण्डहरू भएका भजनहरू गाउन अनिच्छुक हुने गरेको देखेका छौ? खासगरी परमेश्‍वरको देहधारणसम्बन्धी वचन र विषयवस्तुहरू, र परमेश्‍वरको नम्रता र गुप्तताको गवाही दिने, देहधारी परमेश्‍वरको प्रशंसा गर्ने र गवाही दिने भजनहरू तिनीहरूले एक शब्दसमेत गाउँदैनन्, र अरू कसैले गाउन थाल्नेबित्तिकै तिनीहरू घिन महसुस गर्छन्। तर जब तिनीहरूले स्वर्गको परमेश्‍वर अर्थात् परमेश्‍वरको आत्माको गवाही दिने र प्रशंसा गर्नेबारे, परमेश्‍वरको धर्मी स्वभाव, पराभौतिकता, कृत्य, प्रशासनिक आदेश, र क्रोधको गवाही दिनेबारे गाउँछन्, तिनीहरूले ठूलो जोशसाथ गाउने गर्छन् र एक अवर्णनीय भावसमेत प्रकट गर्छन्। तिनीहरूले यस्ता भजनहरू गाउँदा, तिनीहरू अनौठो बन्छन्; तिनीहरूले अनुहार बिगार्छन्, र तिनीहरूको दुष्ट चालढाल देखा पर्छ। परमेश्‍वरको धर्मी र प्रतापी स्वभावबारे गाउँदा, तिनीहरूले झोकमा टेबुल ठटाउँछन् र खुट्टा बजार्छन्; परमेश्‍वरले क्रोध प्रकट गर्नुभई सारा मानवजातिमाथि महाविपत्ति ल्याउनुहुनेबारे गाउँदा, तिनीहरू दाह्रा किट्दै, मुहार रातो र सुन्निएको जस्तो पार्दै गाउँछन्। के यस्ता मानिसहरूको आत्मामा समस्या हुँदैन र? उदाहरणको लागि, परमेश्‍वरले भन्‍नुहुन्छ, “जब म ठूलो क्रोध प्रकट गर्छु, तब राष्ट्रहरू हल्लिनेछन्”; यस भनाइलाई लयमा हाल्दा यो प्रथम पुरुषबाट तृतीय पुरुष “जब परमेश्‍वरले ठूलो क्रोध प्रकट गर्नुहुन्छ, तब राष्ट्रहरू हल्लिनेछन्” भन्‍ने बन्छ। सामान्य मानसिकताले यी परमेश्‍वरका वचनहरू हुन् भन्छ, यो परमेश्‍वरका वचनहरू गाएर उहाँको स्वभाव बुझ्नु हो, र यो परमेश्‍वरको स्वभाव र मानसिकता, साथै परमेश्‍वरले तृतीय पुरुष अर्थात् मानव दृष्टिकोणबाट बोल्नुको प्रसङ्ग बुझ्नु हो भन्छ। सामान्य मानवताको समझ र प्रतिक्रिया यही हो। तर ख्रीष्टविरोधीहरूले यसलाई कसरी गाउँछन्? तिनीहरूले तृतीय पुरुषलाई परिवर्तन गर्दैनन्, र तिनीहरूको मानसिकता सामान्य मानिसहरूको भन्दा फरक हुन्छ। सामान्य मानिसहरूले “परमेश्‍वर” भन्दै गाउँदा, तिनीहरूले सोच्छन्, “यी परमेश्‍वरका कार्यहरू हुन्, परमेश्‍वरका वचनहरू हुन्; परमेश्‍वरले यही भन्‍नुहुन्छ।” तर ख्रीष्टविरोधीहरूले गाउँदा के सोच्छन्? तिनीहरूको मानसिकताले भन्छ, “मैले गरेको यही हो, मैले भनेको यही हो, मैले देखाउने क्रोध र प्रकट गर्ने स्वभाव यही हो।” के यो फरक छैन र? तिनीहरूले खुलस्त रूपमा सबैका अगाडि “जब म ठूलो क्रोध प्रकट गर्छु, तब राष्ट्रहरू हल्लिनेछन्” भनेर गाउने आँट नगर्ने भए पनि, तिनीहरूले हृदयमा गाउने त्यसरी नै हो। तिनीहरू क्रोध प्रकट गर्ने र राष्ट्रहरू हल्लाउने तिनीहरू नै भएको सोच्छन्, त्यसकारण तिनीहरू सच्चा भावनाले यी वचनहरू गाउँछन्। के यसले तिनीहरूमा समस्या छ भन्‍ने जनाउँदैन र? सुरुदेखि अन्त्यसम्म, ख्रीष्टविरोधीहरूले परमेश्‍वरलाई मान्यता नदिनुको कारण तिनीहरू परमेश्‍वर हुन चाहनु हो। तिनीहरू परमेश्‍वरलाई अस्वीकार गरेर, मानिसहरूलाई तिनीहरू परमेश्‍वर भएको विश्‍वास गराएर, साथै तिनीहरूलाई मानवजातिको परमेश्‍वरको रूपमा मान्यता दिन लगाएर आफूलाई स्थापित गर्न चाहन्छन्। कुरा ठ्याक्कै त्यही हो। त्यसकारण, परमेश्‍वरले उहाँको ईश्‍वरत्वमा बोल्नुभएको अनुच्छेद पढ्दा, सामान्य मानवताको समझ भएका मानिसहरूले त्यसलाई तृतीय पुरुषको दृष्टिकोणबाट बुझ्ने र प्रार्थना-वाचन गर्ने, साथै परमेश्‍वरका अभिप्रायहरूबारे मनन गर्ने गर्छन्। तर ख्रीष्टविरोधीहरू फरक हुन्छन्। जब तिनीहरूले यी वचनहरू गाउने वा पढ्ने गर्छन्, तिनीहरू आफैले यस्तो स्वभाव व्यक्त गर्ने, यस्तो स्वभाव र सारमा जिउने तीव्र इच्छा अनुभव गरिरहेका हुन्छन्। तिनीहरू परमेश्‍वरलाई प्रतिस्थापन गर्ने उद्देश्य राख्छन्, परमेश्‍वरको बोल्ने लवज, परमेश्‍वरका वाणीहरूभित्रका शैली, शब्द, र स्वभाव, उहाँको बोलीको लवज, उहाँका सारा भावहरू, र उहाँले प्रकट गर्नुहुने स्वभावहरूको अनुकरण गर्ने कोसिस गर्छन्। तिनीहरू कट्टर ख्रीष्टविरोधी हुन्। तिनीहरू परमेश्‍वरले झैँ बोल्न नसक्ने, परमेश्‍वरको स्वभाव व्यक्त गर्न नसक्ने, र अनुकरणमा असफल हुने भएकाले, जब परमेश्‍वरले आफ्नो ईश्‍वरत्वमा बोल्नुहुन्छ, तब ख्रीष्टविरोधीहरूले अन्तत: परमेश्‍वरको अनुकरण गर्ने र परमेश्‍वर हुने कोसिस गर्ने मौका देख्छन्। परमेश्‍वरको ईश्‍वरत्वको दृष्टिकोणबाट बोलिएका उहाँका वाणीहरूले ख्रीष्टविरोधीहरूलाई सङ्केत र निर्देशनहरू प्रदान गर्छन्, परमेश्‍वरको बोल्ने तरिका, उहाँले मानिसलाई सम्बोधन गर्न प्रयोग गर्नुहुने लवज, शैली, दृष्टिकोण र स्वरको आरोहअवरोहबारे थाहा दिन्छन्। तिनीहरूले परमेश्‍वरको ईश्‍वरत्वमा व्यक्त गरिएका उहाँका वचनहरूलाई प्रिय ठान्‍नु र आराधना गर्नुको एउटा लक्ष्य यही हो। त्यसकारण, दैनिक जीवनमा, केही मानिसहरूले परमेश्‍वरको घरको कामको लागि वा दाजुभाइ-दिदीबहिनीहरूको जीवनको लागि जिम्मेवार हुने बहानामा परमेश्‍वरको लवज अनुकरण गरेर अरूलाई भाषण दिएको देखिने सम्भावना प्राय भइरहन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरूलाई समेत हुबहु उद्धृत गरेर मानिसहरूलाई भाषण दिने, निन्दा गर्ने, काटछाँट गर्ने, र खुलासा गर्ने गर्छन्। धेरै तथ्यहरूको जड र प्रसङ्गबाट जाँच्दा तिनीहरूका कार्यहरूपछाडिको उद्देश्य कुनै सच्चा बफादारी, इन्साफको भाव, वा जिम्मेवारी होइन—त्यसको साटो, तिनीहरू परमेश्‍वरको स्थान र दृष्टिकोणबाट परमेश्‍वरको काम गर्ने कोसिस गर्छन्, र परमेश्‍वरलाई प्रतिस्थापित गर्ने उद्देश्य राख्छन्। कति मानिसहरू भन्छन्, “तिनीहरूले कहिल्यै परमेश्‍वरलाई प्रतिस्थापित गर्न चाहन्छु भनेका छैनन्।” तिनीहरूले त्यसो भनिरहनु आवश्यक छैन; तिनीहरूका कार्यहरूको सार, जड र प्रेरणालाई हेरेर नै यो बताउन सकिन्छ; यो निर्क्योल गर्न सकिन्छ कि यही नै ख्रीष्टविरोधीको बाधा र विधिहरू हो। प्रकटीकरण जेजस्तो भए पनि, परमेश्‍वर हुन चाहनु, जुनसुकै तवरले यस्तो नियत बोक्नु—के सामान्य मानवता भएको व्यक्तिले गर्नुपर्ने यही हो त? (होइन।) के यस्तो व्यक्तिलाई यसैको आधारमा मात्र ख्रीष्टविरोधी भन्‍न मिल्छ? (मिल्छ।) यो एउटै कुरा नै पर्याप्त छ। तेरो कद जतिसुकै ठूलो भए पनि, यदि तँ सधैँ परमेश्‍वर हुन चाहन्छस्, र लापरवाही रूपमा परमेश्‍वरको अनुकरण गर्छस्, र तँलाई परमेश्‍वरको रूपमा लिन अरूलाई आदेश दिन्छस् भने, यस्ता कार्य, व्यवहार र स्वभावहरूमा ख्रीष्टविरोधी सार हुन्छ। कुनै व्यक्तिलाई ख्रीष्टविरोधी भन्‍न यो एउटै कुरा पर्याप्त हुन्छ। यो ख्रीष्टविरोधीको स्वभाव वा व्यवहार होइन, ख्रीष्टविरोधी सार हुनुको प्रकटीकरण हो।

ल भन् त, प्रकृतिको हिसाबले कुन बढी गम्भीर छ: परमेश्‍वर हुन चाहनु कि सधैँ हैसियत खोज्ने महत्त्वाकाङ्क्षा र चाहनाहरू राख्नु? (परमेश्‍वर हुन चाहनु।) मानिसहरूमा महत्त्वाकाङ्क्षा र अहङ्कारी स्वभाव हुन्छन्, र तिनीहरू आफ्नो हैसियत प्रस्तुत गर्न रुचाउँछन्, र कहिलेकाहीँ यस हैसियतले दिने लाभहरूको आनन्द लिन्छन्, र यसलाई बहुमूल्य ठान्छन्—यो एउटा भ्रष्ट स्वभाव हो, र यो परिवर्तन हुन सक्छ। तर परमेश्‍वर हुन चाहनु, परमेश्‍वरको बोल्‍ने लवज अनुकरण गर्नु, परमेश्‍वरको बोल्ने शैली अनुकरण गर्नु, र पूराका पूरा परमेश्‍वरका वचनहरू उद्धृत गर्नु, तिनलाई हुबहु वाचन गर्नु र आफूले ठ्याक्कै परमेश्‍वरजस्तै बोल्न र कार्य गर्न सक्छु, आफ्नो लवज र बोल्ने शैली परमेश्‍वरकोसँग अत्यन्तै मिल्छ भनी अरूलाई गलत सोच्‍ने तुल्याउनु, र अन्त्यमा आफू परमेश्‍वर वा लगभग परमेश्‍वरजस्तै भएको भनी अरूलाई गलत विश्‍वास गराउनु, र कतिलाई त आफूलाई परमेश्‍वरको रूपमा हेर्नसमेत लगाउनु—त्यो समस्याजनक कुरा हो; यो सुल्झाउन नसकिने समस्या अर्थात् निको नहुने रोग हो। के परमेश्‍वर हुन चाहनु चानचुने मामला हो त? परमेश्‍वरको पहिचान उहाँको सारद्वारा निर्धारित हुन्छ। परमेश्‍वर देहधारी हुनुभएको देहको सार र स्वभाव उहाँका व्यक्तिगत प्रयत्नहरूबाट प्राप्त हुने वा समाज, राष्ट्र, मानवजाति, वा कुनै व्यक्तिद्वारा विकास गरिने कुरा होइन, र यो परमेश्‍वर स्वयम्‌द्वारा विकास गरिने कुरा पनि होइन। परमेश्‍वरको सार त परमेश्‍वरमा अन्तर्निहित रूपमै हुन्छ। उहाँलाई मानव सहयोग वा सहकार्य आवश्यक पर्दैन, न त कुनै वातावरणीय वा सांसारिक परिवर्तनहरू नै आवश्यक पर्छ। परमेश्‍वरसित परमेश्‍वरको रूपमा उहाँको पहिचान छ, त्यसकारण उहाँको सार धेरै पहिले नै पूर्वनिर्धारित भएको छ; यो अन्तर्निहित कुरा हो। उहाँले सत्यता व्यक्त गर्ने क्षमता मानवबाट सिक्नुभएको होइन, न त यो तिनीहरूले नै विकास गरेको कुरा हो। ख्रीष्टविरोधीहरूले यस मामलालाई राम्रोसँग बोध गर्न सक्दैनन्। तिनीहरू मूर्खतापूर्वक यो विश्‍वास गर्छन् कि यदि तिनीहरूले परमेश्‍वरको बोल्ने लवज र शैलीको अत्यन्तै राम्रो अनुकरण गर्न सकेर मानिसहरूले तिनीहरूलाई अझ बढी परमेश्‍वरजस्तो ठानेमा तिनीहरू परमेश्‍वर हुन योग्य हुन्छन्। अझ भन्‍ने हो भने, मानिसहरूलाई अनभिज्ञ र अन्योल पार्ने केही खोक्रा, अव्यावहारिक, अबोधगम्य तथाकथित “परमेश्‍वरका वचनहरू” बोलेर, तिनीहरू मानिसहरूले तिनीहरूलाई परमेश्‍वर ठान्‍न सक्ने, र तिनीहरूले परमेश्‍वर बन्‍ने मौका पाउन सक्ने भन्ठान्छन्। के यो खतरनाक मामला होइन र?

ख्रीष्टविरोधीहरूको हृदयमा परमेश्‍वर बन्‍ने चाहना र महत्त्वाकाङ्क्षा सधैँ सक्रिय हुन्छन्। तिनीहरूले एकातिर परमेश्‍वरका वचनहरूलाई नकार्ने र निन्दा गर्ने गर्छन्, र अर्कोतरि तिनीहरू उहाँको बोल्ने लवज पनि अनुकरण गर्छन्। कस्तो घृणास्पद, दुष्ट, लज्जास्पद, र नीच कार्य! तिनीहरू परमेश्‍वर हुने चाहनाले आसक्त र विक्षिप्त हुन्छन्। के यो घिनलाग्दो कुरा होइन र? (हो।) के तिमीहरूमध्ये कसैले परमेश्‍वर हुने चाहना बोकेका छौ? जो परमेश्‍वर हुन चाहन्छ ऊ दण्डित हुनेछ! जो परमेश्‍वर हुन चाहन्छ ऊ नष्ट हुनेछ! यो तथ्य हो, यो बढाइचढाइ वा तँलाई तर्साउने प्रयास होइन। विश्‍वास लाग्दैन? कोसिस गरिहेर्। त्यसतर्फ सोच्, त्यसमाथि काम गर्, अनि तैँले त्यसलाई भित्री रूपमा सहन सक्छस् सक्दैनस् हेर्, भित्री रूपमा कस्तो महसुस हुन्छ हेर्। यदि यस्ता कार्यहरू गरेर भित्री रूपमा तँलाई खुसी, गर्विलो, र सन्तुष्ट महसुस हुन्छ भने, तँमा केही समस्या छ, र तँ खतरामा छस्। तर यदि त्यस तरिकाले काम गर्दा तँलाई आत्मग्लानि हुन्छ, विवेकले घोच्छ, अरू मानिसहरू वा परमेश्‍वरलाई भेट्न अति लाज लाग्छ भने, तँमा केही विवेक छ, तँमा सामान्य मानवताको केही चेतना छ। धेरै मानिसहरू परमेश्‍वर हुने आकाङ्क्षा राख्छन्। परमेश्‍वरको देहधारण भनेको के हो भनेर नबुझी, परमेश्‍वरको बोलीको लवज र शैली नचिनी, यो जानकारी बोध नगरी, तिनीहरूले यो कुरामा रुचि राख्‍न र महत्त्वाकाङ्क्षा र योजनाहरू बनाउन सक्छन्, तर कसरी अघि बढ्ने भन्‍ने थाहा नभएर तिनीहरूले लापरवाही रूपमा कार्य गर्ने आँट गर्दैनन्। बढीमा, तिनीहरूले आत्मिक भएको, उद्धार पाएको, पवित्र रहेको, वा मुक्तियोग्य भएको बहाना गर्छन्। तर तिनीहरूले परमेश्‍वरबारे केही जानकारी पाइसकेपछि, तिनीहरूका महत्त्वाकाङ्क्षाहरू अङ्कुराउन थाल्छन्, र तिनीहरूले कार्य गर्न थाल्छन्। तिनीहरूले के गर्छन्? एउटा प्रस्ट प्रकटीकरणचाहिँ तिनीहरू परमेश्‍वरले बोल्नुभएका गहन र बुझ्नै नसकिने वचनहरू बढीभन्दा बढी पढ्छन्। ती वचनहरूमा, तिनीहरू परमेश्‍वरको बोलीका मनोवृत्ति, शैली, लवज, र शब्दहरूसँग परिचित हुन्छन्, र त्यसपछि तिनीहरूले ती कुराहरू गहिराइमा अध्ययन गरेर तिनको अनुकरण गर्ने कोसिस गर्छन्। जति धेरै परिचित भयो, त्यति नै राम्रो, यहाँसम्‍म कि तिनीहरूले आँखा चिम्लेरै परमेश्‍वरको बोलीको लवज र शैली थाहा पाउन सक्छन्। ती कुराहरू तिनीहरूले गम्भीरतासाथ कण्ठ पार्छन्, र त्योसँगसँगै मानिसहरूमाझ अभ्यास र रिहर्सल गर्छन्, आफ्नो बोलीमा यो शैली, छाँट, लवज, र शब्दहरू अनुकरण गर्छन्, र त्यसपछि यो तरिकाले कार्य गर्दा र बोल्दा आफूलाई परमेश्‍वर भएको महसुस हुन्छ हुँदैन भनी गहिरो रूपमा अनुभव गर्छन्। जब तिनीहरू यो अभ्यासमा अझ बढी परिचित र दक्ष बन्छन्, तब तिनीहरूले थाहै नपाई आफूलाई परमेश्‍वरको स्थानमा राख्छन्। अचानक, कुनै दिन, कसैले भन्छ, “तिनीहरूको भावना र बोलीको लवज परमेश्‍वरको जस्तै-जस्तै लाग्छ। तिनीहरूसँग कुरा गर्दा परमेश्‍वरसँग भएझैँ महसुस हुन्छ; तिनीहरूका शब्दहरूमा परमेश्‍वरको बोलीको स्वाद छ।” अचानक यस्ता टिप्पणीहरू सुनेपछि, तिनीहरूको हृदय असीमित सन्तुष्टिले भरिन्छ, तिनीहरूलाई अन्तत: आफ्नो कामना पूरा भएको, र आफू परमेश्‍वर बनेको महसुस हुन्छ। के अब तिनीहरू सक्किएका होइनन् र? हिँड्नलाई अन्य मार्गहरू हुँदाहुँदै विनाशको मार्ग किन रोज्नु? के यो काल खोज्नु होइन र? यस्ता सोचहरू राख्नु नै खतरनाक हो—यी सोचहरूलाई व्यवहारमा उतार्नु त झनै खतरनाक हो। यदि कसैका कार्यहरू नियन्त्रणभन्दा बाहिर जान्छन् र तिनीहरू अन्त्यसम्म यही दिशा पछ्याउँछन्, यसमा सफल बनेर यसलाई वास्तविकता बनाउन दृढ हुन्छन् भने, तिनीहरू पूर्ण विनाशका निशाना बन्छन्। कति ख्रीष्टविरोधीहरू त वास्तवमा यसै दिशातर्फ काम र प्रयत्न गरिरहेका हुन्छन्। के तिमीहरूले यस्ता मानिसहरू देखेका वा भेटेका छौ? (म मूलभूमि चीनमा हुँदा, मैले परमेश्‍वरको बोलीको लवज अनुकरण गर्ने र अक्सर परमेश्‍वर हुने सोच राख्ने एक व्यक्ति भेटेँ। त्यो समयमा, दुईतीन जनाले उसलाई परमेश्‍वर ठान्थे, र एकजना त उसलाई देख्दा घुँडा टेकेर ऊसामु लम्पसार नै पर्थ्यो।) व्यक्तिले परमेश्‍वर बन्‍न जतिसुकै कोसिस गरे पनि, त्यो निकासहीन बाटो हो। के तिमीहरूले यो कुरा छर्लङ्गै देखेका छौ? मानवजातिप्रतिका परमेश्‍वरका सारा वचनहरूको अभिव्यक्ति र भरणपोषणको उद्देश्य मानिसहरूलाई परमेश्‍वरका अभिप्रायहरू बुझ्न र मुक्ति प्राप्त गर्न मदत गर्नु हो। यदि मानिसहरूले परमेश्‍वरले यी सन्देशहरू व्यक्त गर्नुभएकोले, तिनीहरूले ती सन्देशहरूबाट परमेश्‍वर बन्‍ने विस्तृत कुराहरू सिक्नुपर्छ र परमेश्‍वर हुन, परमेश्‍वरको अनुकरण गर्न, परमेश्‍वर बन्‍न खोज्नुपर्छ भन्‍ने गलत विश्‍वास राख्छन् भने, तिनीहरू सिद्धिन्छन्। यो विनाशतर्फको मार्ग हो; तैँले यसलाई कहिल्यै अनुकरण गर्नु हुँदैन। कति मानिसहरू भन्छन्, “परमेश्‍वरको अनुकरण नगर्न अलि गाह्रो छ। परमेश्‍वरले बोलेको सुन्दैपिच्छे, म परमेश्‍वरको पहिचान बोकेर बोल्नु कति सम्मानजनक र भव्य सुनिन्छ भनेर सोच्छु। त्यो किन त्यति मधुर र मनमोहक सुनिन्छ? मलाई किन परमेश्‍वरले बोल्दा परमेश्‍वर हुनु अति राम्रो अनुभूति हो भन्‍ने लाग्छ? परमेश्‍वरको पहिचान बोक्‍ने व्यक्ति बोल्दा अत्यन्तै फरक सुनिन्छ।” तसर्थ, तिनीहरूले थाहै नपाई परमेश्‍वरका केही लवज र शब्दहरू नक्कल गर्न थाल्छन्। आत्मगत चाहनामा, तिनीहरू परमेश्‍वर हुन वा यति खुलेर परमेश्‍वर बन्‍न नचाहे पनि, तिनीहरूले अनुकरण गर्नुको मूलजड के हो? के यो तिनीहरूले सत्यता र परमेश्‍वरका वचनहरूलाई प्रिय ठान्‍ने भएकोले हो? (होइन।) त्यसोभए के हो त? (यो परमेश्‍वर हुन चाहने मनसायबाट आएको हो।) यदि ममा यो पहिचान वा हैसियत थिएन र मैले यी वचनहरू बोलेको भए, कसैले मेरो अनुकरण गर्नेथियो र? मलाई कसैले चासो दिनेथिएन, मलाई कसैले उच्च ठान्‍नेथिएन; तथ्य त्यही होइन र? मसित यो पहिचान र हैसियत नहुँदा पनि, मैले मानिसहरूसित कुराकानी र सङ्गति गरेँ। त्यसबेला मलाई कसले गम्भीरतापूर्वक लिन्थ्यो र? तिनीहरू मलाई सानो उमेरको, उच्च शिक्षा नभएको र कुनै सामाजिक हैसियत नभएको देख्नेबित्तिकै मेरै मण्डली वा अरू कुनै मण्डलीका कसैले पनि मलाई साँच्चिकै गम्भीरतापूर्वक लिँदैनथे, न त आफ्नो कर्तव्य गरिरहेका र मसित अन्तरक्रिया गरिरहेका मानिसहरूमध्ये कसैले नै मलाई गम्भीरतापूर्वक लिन्थ्यो। मैले सही र इमानदारीसाथ बोले पनि, कसैले ध्यान दिँदैनथ्यो। किन? पहिचान वा हैसियतबिना अरूको नजरमा परिँदैन; जे बोले पनि त्यसले अर्थ राख्दैन, चाहे त्यो सही वा सत्यता नै किन नहोस्। तैँले जे बोले पनि मानिसहरूले त्यो सबै गलत हो भनेर नकार्न सक्छन्। त्यसपछि, कसैले तेरो अनुकरण गर्ला र? पहिचान वा हैसियतबिनाको निकै औसत र साधारण व्यक्ति—तेरो अनुकरण गर्ने कष्ट कसले गर्छ? मानिसहरूको नजरमा, यस्तो व्यक्ति विद्यमानताहीन हुन्छ र प्रशंसायोग्य हुँदैन; यदि तिनीहरूले तँलाई हेप्दैनन् भने, तँ भाग्यमानी होस्। तेरो अनुकरण गरेर के काम? के अरूले हेयको दृष्टिले हेर्न, हेप्न, र विभेद गर्न सकून् भनेर तिनीहरूले तेरो अनुकरण गर्छन् र? मानिसहरू कसको अनुकरण गर्छन्? तिनीहरू तिनीहरूको नजरमा जसको विद्यमानता र महान्‌ता छ, जोसँग हैसियत र पहिचान छ, तिनकै अनुकरण गर्छन्। मानिसहरू ती व्यक्तिहरूकै अनुकरण गर्छन्। व्यक्तिले पहिचान र हैसियत प्राप्त गरेपछि, उही व्यक्तिले उही कुराहरू भने पनि, ऊ किन अरूको नजरमा फरक देखिन्छ? ऊ कसरी एक्कासी विद्यमानता भएको र अनुकरणयोग्य देखिन्छ? मानिसहरू साँच्चिकै के अनुकरण गरिरहेका हुन्छन्? तिनीहरूले स्विकार्ने, नक्कल गर्ने र प्रशंसा गर्ने कुरा सत्यता वा सकारात्मक कुराहरू नभई, बाह्य महान्‌ता अर्थात् देखावटी हैसियत मात्र हो। कुरा त्यही होइन र? यदि मसित कुनै पहिचान वा हैसियत नभएको भए, मैले सत्यतासँग मिल्दो कुरा जति नै बोले पनि वा जतिसुकै आत्मिक वचनहरू बोले पनि, के ती वचनहरूलाई तिमीहरूमाझ फैलाउन सकिन्थ्यो र? सकिन्‍नथ्यो; यसमा कसैले चासो नदिनेथ्यो। तर मैले मेरो पहिचान र हैसियत प्राप्त गरिसकेपछि, मैले अक्सर बोलिरहने मेरा केही वचनहरू, मेरा बोलीचालीको भाषा, मेरो शब्दचयन, मेरो बोल्ने तौरतरिका र शैली—धेरै मानिसहरूले यी कुराहरू अनुकरण गर्न थाल्छन्। यो कुरा सुन्दा मलाई घिन लाग्छ। कति घिन लाग्छ? यो कुरा सुन्दा मलाई बान्ता आउला जस्तो हुन्छ। मेरो अनुकरण गर्ने जोकोहीप्रति मलाई घिन लाग्छ, मेरो अनुकरण जोकोहीदेखि मलाई दिगमिग हुन्छ, यतिसम्म कि म तिनीहरूको भर्त्सनासमेत गर्छु! मानिसहरूले यी कुराहरू अनुकरण गर्नुपछाडिको अभिप्राय र लक्ष्य के हो? परमेश्‍वरको बोलीको लवज नक्कल गर्नु, र परमेश्‍वर हुँदाको अनुभूति चाख्नु हो; तथ्य त्यही होइन र? यो हैसियत चाहने, हैसियतको पदबाट बोल्न चाहने, पहिचान र हैसियत भएको व्यक्तिको लवज र शैलीमा बोल्ने र कार्य गर्ने, र आफूसँग पनि हैसियत, पहिचान र मूल्य भएझैँ देखिने भन्‍ने कुरा हो—कुरा यति होइन र? यदि तैँले कुनै साधारण व्यक्तिको अनुकरण गरिस् भने, त्यो ठूलो समस्या होइन; बढीमा त्यो एउटा अहङ्कारी स्वभाव मात्र हो। तर यदि तैँले परमेश्‍वरको लवज र बोल्ने शैली अनुकरण गरिस् भने, समस्या त्यहीँबाट सुरु हुन्छ। म त भन्छु, तैँले बारुदी सुरुङमाथि पाइला टेकिरहेको हुनेछस्।

परमेश्‍वरका वचनहरूमा एउटा वाक्यांश छ: परमेश्‍वर दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुनुहुन्छ। “दुष्टतालाई घृणा गर्नु” ले के जनाउँछ? परमेश्‍वरको पहिचान र हैसियत अद्वितीय छन्। परमेश्‍वरको पवित्रता, धार्मिकता, अख्तियार, र प्रेम त्यस्ता विशेषताहरू हुन्, जुन कुनै पनि सृष्टि गरिएका वा सृष्टि नगरिएका प्राणीमा हुँदैनन्; यी कुराहरू अनुकरण गर्ने कोसिस गर्नु ईशनिन्दा हो। तँसित यी विशेषताहरू छैनन् भने, तँ किन यी कुरा अनुकरण गर्ने कोसिस गर्छस्? तँसित यी विशेषताहरू छैनन् भने, तँ किन परमेश्‍वर हुने कोसिस गर्छस्? अनुकरण गर्दा, के तैँले परमेश्‍वर हुने अर्थात् परमेश्‍वर बन्‍ने अभिप्राय राखिरहेको हुँदैनस् र? कि तैँले परमेश्‍वरलाई आदर गर्ने भएकोले, उहाँको प्रेमिलोपन र सारको ईर्ष्या गर्ने भएकोले, उहाँको अनुकरण गरेको होस्? कदापि होइन; त्यसको लागि तँसित चरित्र र कद छैन। तँ परमेश्‍वर हुने लालसा पूरा गर्न, मानिसहरूको प्रशंसा र सम्मान पाउन, र मानिसहरूमाझ परमेश्‍वरले झैँ व्यवहार पाउन मात्र चाहन्छस्। के यो लाजमर्दो कार्य होइन र? यो पूर्णतया अपमानजनक कार्य हो! अनुकरण आफैमा अप्रिय कुरा हो, र परमेश्‍वर हुने आकाङ्क्षा राख्नु घिनलाग्दो मात्र होइन; यो निन्दनीय कुरा हो। त्यसकारण, म तिमीहरूलाई गम्भीरतासाथ भन्छु, चाहे मैले जेसुकै भनेको वा जेसुकै गरेको होस्, वा चाहे तिमीहरूको हृदयमा ईर्ष्या वा डाह पैदा गराउन मैले जेसुकै भनूँ वा गरूँ, तिमीहरूले सम्झनैपर्ने एउटा कुरा हो: मेरो अनुकरण कहिल्यै नगर्नू। तिमीहरूले अनुकरण गर्ने अभिप्राय त्याग्नैपर्छ, तिमीहरूले अनुकरणको मानसिकताविरुद्ध विद्रोह गर्नैपर्छ र परमेश्‍वरलाई चिढ्याउनबाट जोगिनैपर्छ। यो एउटा गम्भीर मामला हो! परमेश्‍वरको बोलीको लवज, बोल्ने शैली, र स्वभावलाई मामुली कुराको रूपमा लिएर ओठेसेवा गर्ने, स्वेच्छाचारी रूपमा आफूअनुकूल प्रयोग गर्ने र खेलबाड गर्ने भ्रष्ट मानव परमेश्‍वरको लागि घिनलाग्दो हुन्छ। यदि तैँले त्यसो गर्छस् भने, तैँले परमेश्‍वरको स्वभाव चिढ्याइरहेको छस्—यस्तो कहिल्यै नगर्! तैँले देहधारी परमेश्‍वरको बोल्ने शैली र लवज अनुकरण गरेको मैले सुन्‍न नसके पनि, तँमा यस्तो स्वभाव र यस्ता सोचहरू छन् भन्‍ने थाहा पाउँदा नै मलाई पूरै घिन लाग्छ। यदि तैँले सम्पूर्ण मानवजाति वा सर्वसाधारणलाई सम्बोधन गर्ने उद्देश्यले परमेश्‍वरको आत्माको लवज अनुकरण गर्छस् भने, के तैँले काल खोजिरहेको छैनस् र? यसबारे सबैजना सतर्क रहनुपर्छ; यस्तो कहिल्यै नगर्! कति मानिसहरूले सोध्ने गर्थे, “परमेश्‍वरको स्वभाव चिढ्याउनुको अर्थ के हो?” आज, म तँलाई एउटा कुरा भन्‍छु: परमेश्‍वरको लवज र बोल्ने शैली, साथै परमेश्‍वरको पहिचान र हैसियतसँग सम्बन्धित धेरै कुराहरू, चाहे ती बाह्य होऊन् वा आन्तरिक, ती सबै परमेश्‍वरको स्वभावविरुद्धको अपराधमा पर्छन्। तिमीहरूले कसैगरी यो सम्झनैपर्छ र यो अपराध कहिल्यै गर्नु हुँदैन! यदि तैँले यो अपराध गर्छस् र तत्काल आफूलाई सच्याउन, आफूविरुद्ध विद्रोह गर्न, र आफूलाई रूपान्तरण गर्न सक्छस् भने, आशा अझै बाँकी रहन्छ। तर यदि तँ निरन्तर यही मार्गमा लागिरहन्छस् भने, तँ एक ख्रीष्टविरोधी कहलिनेछस्, र म तँलाई सत्य बताउँछु: परमेश्‍वरको नजरमा, त्यसपछि कुनै सच्चिने मौका हुनेछैन—तँ पूर्ण रूपमा सक्किनेछस्। याद राख्, परमेश्‍वर दुष्टतालाई घृणा गर्ने परमेश्‍वर हुनुहुन्छ। तैँले परमेश्‍वरको पहिचान र सारसँग सम्बन्धित हरेक पक्षलाई अधिकतम सतर्कतासाथ हेर्नुपर्छ र त्यसलाई हल्का रूपमा लिनै हुँदैन। यदि परमेश्‍वरको बोल्ने शैली र लवज कुनै भ्रष्ट मानवको मुखबाट व्यक्त गरिएमा, यो परमेश्‍वरविरुद्धको ठूलो अपमान र ईशनिन्दा हो, जसलाई परमेश्‍वरले किमार्थ सहन सक्नुहुन्‍न। मानवहरूले यस्तो अपराध कहिल्यै गर्नु हुँदै हुँदैन। कुरो बुझिस्? यदि तैँले यस्तो अपराध गरिस् भने, तँ मर्छस्! यदि तँ मेरो कुरा सुन्दैनस् र ममा विश्‍वास गर्दैनस् भने, त्यसै गरिहेर्, अनि जब तैँले साँच्चिकै आफैलाई विपत्ति निम्त्याउँछस्, तब तैँले मैले भनिनँ भनेर मलाई दोष नलगा।

अगस्ट १५, २०२०

अघिल्लो: विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग चार)

अर्को: विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग छ)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्