परिशिष्ट दुई: नोआ र अब्राहामले कसरी परमेश्वरका वचनहरू पालना गरे र उहाँप्रति समर्पित भए (भाग एक)
अ. नोआले जहाज बनाए
आज, म तिमीहरूलाई थुप्रै कथाहरू सुनाएर सुरु गर्न जाँदैछु। मैले बोल्न गइरहेको विषय सुन, अनि हामीले पहिले कुरा गरेका विषयहरूसँग यसको कुनै सम्बन्ध छ कि भनी हेर। यी कथाहरू गहन छैनन्, सायद तिमीहरू सबैले ती बुझ्नेछौ। हामीले यी कथाहरू पहिले पनि सुनाएका छौँ, ती पुराना कथाहरू हुन्। पहिलो कथा नोआको हो। नोआको समयमा, मानवजाति अत्यन्तै भ्रष्ट थियो: मानिसहरूले मूर्तिको आराधना गर्थे, परमेश्वरको प्रतिरोध गर्थे, र हरप्रकारका दुष्ट कार्यहरू गर्थे। तिनीहरूको दुष्कर्म परमेश्वरको आँखाले देख्यो, तिनीहरूले बोलेका शब्दहरू परमेश्वरका कानमा पुगे, अनि परमेश्वरले यस मानवजातिलाई जलप्रलयले नष्ट गर्ने, यस संसारलाई मेटाउने तय गर्नुभयो। त्यसोभए के एक जना पनि बाँकी नरहने गरी सबै मानिसहरूलाई उन्मूलन नै गरिने थियो त? होइन। एउटा व्यक्ति भाग्यशाली थिए, उनलाई परमेश्वरले निगाह गर्नुभयो, र उनी परमेश्वरले गर्नुहुने विनाशको निशाना हुनेथिएनन्। यी मानिस नोआ थिए। परमेश्वरले जलप्रलयले संसारलाई विनाश गरिसक्नुभएपछि नोआ बाँकी रहनेथिए। परमेश्वरले यो युग र यो मानव जातिलाई विनाश गर्ने तय गरिसकेपछि, उहाँले केही गर्नुभयो। त्यो के थियो? एक दिन, परमेश्वरले आकाशबाट नोआलाई बोलाउनुभयो। उहाँले यसो भन्नुभयो, “नोआ, यो मानवजातिको दुष्टता मेरो कानमा आइपुगेको छ, र मैले यस संसारलाई जलप्रलयले नष्ट गर्ने तय गरेको छु। तैँले गोपेर काठको एउटा जहाज बनाउनुपर्छ। म तँलाई त्यो जहाजका आयामहरू दिनेछु, र तैँले त्यस जहाजभित्र राख्नहेतु सबै प्रकारका जीवित प्राणीहरू जम्मा गर्नुपर्छ। जब जहाज पूरा हुन्छ र त्यसभित्र परमेश्वरद्वारा सृजित हरेक जीवित प्राणीको एउटा भाले र एउटा पोथी जम्मा गरिन्छन्, तब परमेश्वरको दिन आउनेछ। त्यो समयमा, म तँलाई एउटा सङ्केत दिनेछु।” यी वचनहरू बोलेपछि, परमेश्वर प्रस्थान गर्नुभयो। अनि परमेश्वरका यी वचनहरू सुनेपछि, नोआले परमेश्वरले भनेका हरेक कार्य, नछुटाई गर्न थाले। उनले के गरे? उनले परमेश्वरले बताउनुभएको गोपेर काठ, र जहाज बनाउन आवश्यक विभिन्न सामाग्रीहरू खोजे। उनले सबै प्रकारका जीवित प्राणीलाई जम्मा गर्ने र पालनपोषण गर्ने तयारी पनि गरे। यी दुवै महत्त्वपूर्ण कार्यहरू उनका हृदयमा गडिएका थिए। परमेश्वरले नोआलाई ठूलो जहाज बनाउने काम सुम्पनुभएदेखि, “परमेश्वरले कहिले संसार नष्ट गर्दै हुनुहुन्छ? उहाँले त्यसो गर्ने सङ्केत मलाई कहिले दिँदै हुनुहुन्छ?” भनेर उनले एक पल पनि सोचेनन्। नोआले यस्ता कुरामा चिन्तन गर्नुभन्दा परमेश्वरले उनलाई भन्नुभएको प्रत्येक कुरालाई हृदयमा लिए र त्यसपछि प्रत्येकलाई कार्यान्वयन गरे। परमेश्वरले सुम्पनुभएको कुरा स्वीकार गरेपछि, नोआले अलिकति पनि लापरवाही नगरी परमेश्वरले भन्नुभएको ठूलो जहाज निर्माण गर्न थाले, मानौँ यो उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा हो। दिनहरू बिते, वर्षहरू बिते, आज भोलि बन्यो, यो वर्ष अर्को वर्ष भयो। परमेश्वरले नोआलाई कहिल्यै निरीक्षण गर्नुभएन, र हौसला दिनुभएन, तर यो सम्पूर्ण समयभरि नोआ परमेश्वरले सुम्पनुभएको महत्त्वपूर्ण काममा लागिरहे। परमेश्वरले भन्नुभएको एकएक शब्द र वाक्यांश ढुङ्गाको पाटीमा कुँदिएका शब्दजस्तै नोआको हृदयमा अङ्कित भएका थिए। बाहिरी संसारमा जे-जस्ता परिवर्तनहरू भए पनि, उनका वरपरका मानिसहरूले खिसीटिउरी गरे पनि, जस्तोसुकै दुःखकष्ट आइपरे पनि वा जस्तोसुकै समस्याको सामना गर्नुपरे पनि, उनी यो सम्पूर्ण समयभरि परमेश्वरद्वारा सुम्पिइएको काममा कहिल्यै निराश नभई वा लत्तो छोड्ने सोच नराखी लागिरहे। परमेश्वरका वचनहरू नोआको हृदयमा अङ्कित भएका थिए, र ती उनको जीवनका वास्तविकता बनेका थिए। नोआले ठूलो जहाज निर्माणको लागि चाहिने सबै सामग्री तयार गरे अनि परमेश्वरले निर्माण गर्न आज्ञा दिनुभएको त्यो ठूलो जहाजका स्वरूप र विशेषताहरू नोआले सावधानीसाथ चलाएको हथौडा र छिनोको प्रहारमार्फत बिस्तारै आकारमा आउन थाले। हुरीबतास र वर्षाभरि, अनि मानिसहरूको खिल्ली वा निन्दाको बाबजुद पनि, नोआको जीवन वर्षौंवर्ष यही तरिकामा अघि बढ्यो। नोआसित कहिल्यै अर्को एक शब्द पनि नबोली, परमेश्वरले गोप्य रूपमा उनको हरेक कार्य हेर्नुभयो, र नोआको व्यवहारले उहाँको हृदय छोयो। तर नोआले यो कुरा न त थाहा पाए, न त महसुस नै गरे; उनले सुरुदेखि अन्त्यसम्म केवल त्यो ठूलो जहाज निर्माण गरे, र परमेश्वरका वचनप्रति अटल विश्वासका साथ सबै प्रकारका जीवित प्राणीलाई एकट्ठा गरे। नोआले पालन गर्नुपर्ने र पूरा गर्नुपर्ने त्योभन्दा उच्च निर्देशन उनको हृदयमा अरू थिएन: परमेश्वरका वचनहरू उनको जीवनभरिका निर्देशन र लक्ष्य थिए। त्यसैले, परमेश्वरले उनलाई जेसुकै भन्नुभए पनि, जेसुकै गर्न अह्राउनुभए पनि, जेसुकै गर्न आज्ञा दिनुभए पनि, नोआले त्यस कुरालाई पूर्ण रूपमा स्वीकार गरे, र त्यसलाई हृदयमा राखे; उनले यसलाई आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण कुरा ठाने, र त्यहीअनुसार सम्हाले। उनले त्यो कुरा नबिर्सने र त्यसलाई मनमा राख्ने मात्र गरेनन्, उनले त त्यसलाई आफ्नो दैनिक जीवनमा समेत कार्यान्वयन गरे, आफ्नो जीवन प्रयोग गरेर परमेश्वरको आज्ञा सिविकारे र कार्यान्वयन गरे। यसरी, फलेकमाथि फलेक जोड्दै त्यो ठूलो जहाजको निर्माण भयो। नोआको हरेक चाल, उनको हरेक दिन परमेश्वरका वचनहरू र आज्ञाप्रति समर्पित थियो। नोआले महत्त्वपूर्ण कार्य गरिरहेको जस्तो देखिँदैनथ्यो, तर परमेश्वरको नजरमा, नोआले गरेका सबै काम, उनले केही हासिल गर्न चालेको हरेक कदम, उनको हातले गरेको हरेक परिश्रमसमेत—ती सबै नै अनमोल र स्मरणयोग्य थिए, र यस मानिसजातिद्वारा अनुकरण गरिन लायक थिए। नोआ परमेश्वरले सुम्पनुभएको काममै लागिरहे। परमेश्वरले बोल्नुभएको हरेक वचन साँचो हो भन्ने कुरामा नोआको अटल विश्वास थियो; यसमा उनलाई कुनै शङ्का थिएन। परिणामस्वरूप, त्यो ठूलो जहाजको निर्माणकार्य पूरा भयो र हरप्रकारका जीवित प्राणी त्यसभित्र जिउन सक्षम भए। परमेश्वरले संसार नष्ट गर्नुभन्दा अघि, उहाँले नोआलाई एउटा सङ्केत दिनुभयो, जसले नोआलाई त्यो जलप्रलय आउनै लागेको छ, र ढिलाइ नगरी उनी त्यो जहाजमा सवार हुनुपर्छ भनी बतायो। नोआले ठ्याक्कै परमेश्वरले भनेजस्तै गरे। जब नोआ जहाजमा सवार भए, जब आकाशबाट भारी वर्षा भयो, नोआले परमेश्वरका वचनहरू साँचो भएका र उहाँका वचनहरू पूरा भएका देखे: परमेश्वरको क्रोध संसारमा आइपरेको थियो, र कसैले पनि यो सब परिवर्तन गर्न सक्थेन।
नोआलाई त्यो जहाज बनाउन कति वर्ष लाग्यो? (१२० वर्ष।) १२० वर्षले आजका मानिसहरूका निम्ति के जनाउँछ? यो एउटा सामान्य व्यक्तिको जीवनकालभन्दा लामो हो। शायद, २ जना मानिसहरूको जीवनकालभन्दा पनि लामो हो। तैपनि यी १२० वर्षसम्म, नोआले एउटै कार्य गरे, र उनले हरेक दिन उही कार्य गरे। त्यो पूर्व-औद्योगिक समयमा, त्यो सूचना र सञ्चार अघिको युगमा, सबथोक मानिसहरूका दुई हातमा र शारीरिक श्रममा निर्भर रहेको त्यो युगमा, नोआले हरेक दिन उही कार्य गरे। १२० वर्षसम्म, उनले हार मानेनन् न त उनी रोकिए नै। एक सय बिस वर्ष: हामी यो कुरा कसरी कल्पना गर्न सक्छौँ? के मानवजातिमा अरू कोही १२० वर्षसम्म एउटै कार्य गर्नमा प्रतिबद्ध रहन सक्थ्यो होला? (सक्थेन।) कोही पनि १२० वर्षसम्म एउटै कार्य गर्नमा प्रतिबद्ध रहन सक्थेन भन्नु आश्चर्य होइन। तर एउटा व्यक्ति थिए जो, परमेश्वरले सुम्पनुभएको कार्यमा, १२० वर्ष सम्म, बिना कुनै परिवर्तन, लागिरहे, जसले कहिल्यै पनि गुनासो गरेनन् वा हार मानेनन्, जो बाहिरी वातावरणबाट प्रभावित भएनन्, र जसले अन्ततः त्यो कार्य ठ्याक्कै परमेश्वरले भनेजस्तै गरी पूरा गरे। यो कस्तो प्रकारको मामला थियो? मानव जातिमा, यो दुर्लभ, असामान्य थियो—अद्वितीय नै थियो। मानव इतिहासको लामो लहरमा, परमेश्वरलाई पछ्याएका सबै मानवजातिमाझ, यो पूर्णतया अतुलनीय थियो। यसमा संलग्न इन्जिनियरिङको भव्यता र कठिनाइ, यसमा चाहिने शारीरिक श्रम र मेहनत, अनि यसमा लागेको समयका सन्दर्भमा, यो कुनै सजिलो कार्य थिएन, जसकारण, जब नोआले यो कार्य गरे, यो मानवजातिमाझ अद्वितीय भयो, र उनी परमेश्वरलाई पछ्याउने सबैका निम्ति एउटा नमुना र उदाहरण हुन्। नोआले एकदुई वटा सन्देशहरू मात्रै सुनेका थिए, र त्यो बेला परमेश्वरले त्यति धेरै वचन व्यक्त गर्नुभएको थिएन, र त्यसैले नोआले त्यति धेरै सत्यता बुझेका थिएनन् भन्नेमा कुनै शङ्का छैन। उनले आधुनिक विज्ञान वा आधुनिक ज्ञान बुझेका थिएनन्। उनी अत्यन्त साधारण मानिस, मानवजातिको एक मामुली सदस्य थिए। तैपनि एक पक्षमा, उनी हरकोहीभन्दा फरक थिए: उनले परमेश्वरका वचनहरू पालना गर्न जान्दथे, उनलाई परमेश्वरका वचनहरू पछ्याउन र पालन गर्न आउँथ्यो, उनलाई मानिसको स्थान के हो थाहा थियो, र उनी परमेश्वरका वचनहरूलाई साँचो रूपमा विश्वास र तीप्रति समर्पित हुन सक्षम थिए—तर त्योभन्दा बढीचाहिँ होइन। नोआका लागि यी सरल सिद्धान्तहरू परमेश्वरले उनलाई सुम्पनुभएका सबै कुरा पूरा गर्नलाई पर्याप्त थिए, र यस काममा उनी केही महिना वा वर्ष वा दशक मात्र नभई, पूरै एक शताब्दीभन्दा बढी समय लागिरहे। के यो गन्ती तीनछक पार्ने खालको छैन र? यो नोआबाहेक अरू कसले गर्न सक्थ्यो र? (कसैले सक्दैनथ्यो।) अनि, किन सक्दैनथ्यो त? कतिपयले सत्यता नबुझेकोले यस्तो भएको हो भन्छन्—तर त्यो तथ्यअनुरूप छैन। नोआले कति धेरै सत्यताहरू बुझ्थे? नोआ किन यी सबै गर्न समर्थ थिए? आजका विश्वासीहरूले परमेश्वरका धेरै वचनहरू पढेका छन्, उनीहरूले केही सत्यता बुझेका छन्—त्यसो भए, उनीहरू किन यो गर्न असमर्थ छन्? अरूहरू मानिसहरूमा भ्रष्ट स्वभाव भएको कारण यसो भएको हो भन्छन्—तर के नोआसित भ्रष्ट स्वभाव थिएन र? किन नोआले यस्तो उपलब्धि हासिल गर्न सके, तर आजका मानिसहरूले सकेनन्? (किनभने आजका मानिसहरू परमेश्वरका वचनहरूलाई विश्वास गर्दैनन्, तिनीहरूले ती वचनहरूलाई न त सत्यताको रूपमा व्यवहार गर्छन् न त पालन नै गर्छन्।) अनि किन उनीहरूले परमेश्वरका वचनहरूलाई सत्यताको रूपमा लिन सक्दैनन्? किन उनीहरू परमेश्वरका वचनहरू पालन गर्न असमर्थ छन्? (उनीहरूसित परमेश्वरको डर मान्ने हृदय छैन।) त्यसो भए, यदि मानिसहरूले सत्यता बुझेकै छैनन्, र त्यति धेरै सत्यता सुनेकै छैनन् भने, तिनीहरूमा परमेश्वरको डर मान्ने हृदय कसरी उत्पन्न हुन्छ त? (तिनीहरूमा मानवता र विवेक हुनैपर्छ।) ठिक भनिस्। मानिसहरूको मानवतामा दुईवटा सबैभन्दा बहुमूल्य कुराहरू हुनैपर्छ: पहिलो विवेक, र दोस्रो सामान्य मानवताको समझ हो। विवेक र सामान्य मानवताको समझ हुनु व्यक्ति बन्नका लागि चाहिने न्यूनतम मापदण्ड हो; यो व्यक्तिलाई मापन गर्ने न्यूनतम, सबैभन्दा आधारभूत मापदण्ड हो। तर यो आजका मानिसहरूमा छैन, र त्यसैले उनीहरूले जतिसुकै सत्यता सुने र बुझे पनि, परमेश्वरको डर मान्ने हृदय हुनु तिनीहरूभन्दा टाढाको कुरा हो। त्यसो भए, आजका मानिसहरू र नोआबीचको फरक के हो? (उनीहरूमा मानवता छैन।) अनि, यो मानवता अभाव हुनुको सार के हो? (पशु र पिशाचहरू।) “पशु र पिशाचहरू” सुन्दा त्यति राम्रो लाग्दैन, तर यो तथ्यहरूअनुरूप छ; यसलाई अलिक विनम्र तरिकामा भन्नुपर्दा, उनीहरूमा मानवता छैन भनेर भन्नुपर्छ। मानवता र समझबिनाका मानिसहरू मानव होइनन्, तिनीहरू पशुभन्दा पनि निम्न स्तरका हुन्। नोआ परमेश्वरको काम पूरा गर्न सक्षम थिए किनभने उनले परमेश्वरका वचनहरू सुनेपछि, तिनलाई दृढताका साथ हृदयमा राख्न सक्षम भए; उनको लागि, परमेश्वरको आज्ञा जीवनभरको कार्य थियो, उनको विश्वास अटल थियो, र उनको इच्छा एक सय वर्षसम्म अपरिवर्तित थियो। किनभने उनीसँग परमेश्वरको डर मान्ने हृदय थियो, उनी वास्तविक व्यक्ति थिए, र उनलाई परमेश्वरले ठूलो जहाज निर्माण गर्ने जिम्मा आफूलाई सुम्पनुभएको छ भन्ने कुराको पूर्ण समझ थियो। नोआजत्तिकै मानवता र समझ भएका मानिसहरू एकदमै कम छन्, नोआजस्तो अर्को व्यक्ति भेट्टाउन धेरै गाह्रो छ।
नोआले वास्तमा एउटा कार्य मात्र गर्न सके। त्यो निकै सरल थियो: परमेश्वरका वचनहरू सुनेपछि, उनले तिनलाई अघि बढाए, र बिनासम्झौता त्यो कार्य गरे। उनले कहिल्यै पनि कुनै शङ्का पालेनन्, न त कहिल्यै हार नै माने। परमेश्वरले उनलाई जे गर्न भन्नुभयो, उनले त्यो गरिरहे, परमेश्वरले भनेजस्तै शैलीमा, सम्झौता नगरी, “किन” भन्ने प्रश्नको, वा आफ्नो नाफा वा नोक्सानको ख्याल नगरी त्यसलाई सम्पादन र कार्यान्वयन गरे। उनले परमेश्वरका वचनहरू सम्झे: “परमेश्वर संसारलाई नष्ट गर्न जाँदै हुनुहुन्छ। तैँले ढिलाइ नगरिकन एउटा जहाज निर्माण गर्नुपर्छ, अनि जब त्यो पूरा हुन्छ र जलप्रलय हुन्छ, तिमीहरू सबै जना त्यो जहाजमा सवार हुनेछौ, र त्यो जहाजमा सवार नभएकाहरू सबै नष्ट हुनेछन्।” उनलाई परमेश्वरले बोल्नुभएको कुरा कहिले पूरा हुनेछ भन्ने थाहा थिएन, उनलाई यति मात्र थाहा थियो कि परमेश्वरले बोल्नुभएको कुरा पूरा हुनैपर्छ, परमेश्वरका सबै वचनहरू साँचो हुन्, तिनमा एउटा पनि झुटो वचन छैन, अनि ती कहिले पूरा हुनेछन्, ती कुन समयमा साकार हुनेछन् भन्ने कुरा परमेश्वरमा निर्भर हुन्छ। उनलाई त्यतिबेला उनको कार्य भनेको परमेश्वरले भन्नुभएका सबै कुरा आफ्नो हृदयमा दृढतापूर्वक राख्नु, अनि त्यसलाई अघि बढाउन कुनै समय खेर नफाल्नु मात्र हो भन्ने थाहा थियो। नोआका सोच यस्ता थिए। उनले यही सोचे, र उनले यही गरे, र तथ्यहरू यिनै हुन्। त्यसोभए, तिमीहरू र नोआबीचको आधारभूत भिन्नता के हो? (जब हामी परमेश्वरको वचन सुन्छौँ, हामी त्यसलाई अभ्यास गर्दैनौँ।) यो त व्यवहार हो, आधारभूत भिन्नता चाहिँ के हो? (हामीमा मानवता छैन।) भिन्नता के हो भने, नोआमा दुइटा कुरा थिए जुन मानिसमा हुनुपर्ने न्यूनतम कुराहरू हुन्—सामान्य मानवताको विवेक र समझ। तिमीहरूमा यी कुराहरू छैनन्। के नोआलाई मानव भन्न सकिन्छ र तिमीहरू मानव कहलिन योग्य छैनौँ भन्नु उचित हुन्छ? (हुन्छ।) म किन यसो भन्छु? तथ्यहरू प्रस्टै छन्: नोआले जे गरे, त्यसको आधा त बिर्सिदेओ, तिमीहरूले त्यसको एउटा सानो अंश पनि गर्न सक्थेनौ। नोआ १२० वर्षसम्म कटिबद्ध रहन सके। तिमीहरू कति वर्षसम्म कटिबद्ध रहन सक्थ्यौ? १००? ५०? १०? पाँच? दुई? आधा वर्ष? तिमीहरूमध्ये को-को आधा वर्ष कटिबद्ध रहन सक्थ्यौ? बाहिर गएर परमेश्वरले भन्नुभएको काठ खोज्नु, त्यसलाई काट्नु, बोक्रा खुर्काउनु, उक्त काठलाई सुकाउनु, त्यसपछि त्यसलाई विभिन्न आकार र नापअनुसार काट्नु—के तिमीहरूले आधा वर्षसम्म यसो गरिरहन सक्थ्यौ? तिमीहरूमध्ये धेरैजसोले टाउको हल्लाउँदैछौ—तिमीहरू आधा वर्ष समेत कटिबद्ध रहन सक्थेनौ। त्यसोभए तीन महिना नि? कतिपय मानिसहरू भन्छन्, “मलाई त तीन महिना पनि गाह्रो हुन्छ जस्तो लाग्छ। म सानो र नाजुक छु। जङ्गलमा लामखुट्टे र अरू कीराहरू हुन्छन्, कमिला र उपियाँ पनि हुन्छन्। ती सबैले टोके भने म त सहन नै सक्थिनँ। अझ भन्नुपर्दा, हरेक दिन बाहिर घाम चर्किरहेको र बतासले हानिरहेको बेलामा काठ काट्ने, त्यो फोहोरी, थकाइलाग्दो काम गर्ने हो भने, मलाई त घामले डढ्न दुई दिन पनि लाग्नेथिएन। म त्यस प्रकारको काम गर्न चाहन्नँ—के मलाई अलि सजिलो कामको अह्राउन मिल्छ?” परमेश्वरले तँलाई के आदेश दिनुहुन्छ भनी तैँले छनोट गर्न मिल्छ? (मिल्दैन।) यदि तँ तीन महिनासम्म त्यसमा लागिरहन सक्दैनस् भने, के तँमा साँचो समर्पण छ? के तँमा समर्पणको वास्तविकता छ? (छैन।) तँ तीन महिना पनि टिक्न सक्थिनस्। त्यसोभए, के आधा महिना टिक्न सक्ने कोही छन्? केही मानिसहरू भन्छन्, “म गोपेरको काठ चिन्न वा रूख ढाल्न सक्दिनँ, मलाई त मैले रूख काटेँ भने त्यो कुन दिशामा ढल्नेछ भन्ने समेत थाहा छैन—ममाथि नै ढल्यो भने के गर्ने? त्यसबाहेक, रूख काटेर ढालिसकेपछि, धेरै भए म एउटा वा दुइटा दाउरा बोक्न सक्थेँ। त्यो भन्दा बढी बोकेँ भने मेरो ढाड र काँध फुस्किन्थ्यो, हैन?” तिमीहरू आधा महिना पनि टिक्न सक्दैनौ। त्यसोभए तिमीहरू के चाहिँ गर्न सक्छौ? तिमीहरूलाई परमेश्वरका वचनहरू पालन गर्न, परमेश्वरका वचनहरूमा समर्पित हुन र उहाँका वचनहरू कार्यान्वयन गर्न भनिँदा तिमीहरूले के हासिल गर्न सक्छौ? कम्प्युटर चलाउन र आदेश दिन बाहेक, तिमीहरू के गर्न सक्षम छौ? यदि यो नोआको समय हुन्थ्यो भने, के परमेश्वरले बोलाउनुहुने व्यक्ति तिमीहरू नै हुनेथ्यौ? बिलकुलै हुनेथिएनौ! तिमीहरू परमेश्वरले बोलाउनुहुने मानिस हुनेथिएनौ; तिमीहरू परमेश्वरले निगाह गर्नुहुने मानिस हुनेथिएनौ। किन? किनभने तँ परमेश्वरका वचनहरू सुनिसकेपछि समर्पित हुन सक्ने व्यक्ति होइनस्। यदि तँ त्यस्तो प्रकारको व्यक्ति होइनस् भने, के तँ बाँच्न लायक छस् त? जलप्रलय आउँदा, के तँ बाँच्न लायक छस्? (छैन।) यदि तँ लायक छैनस् भने, तँलाई नष्ट गरिनेछ। यदि तैँले परमेश्वरका वचनहरू आधा महिनासम्म पनि कार्यान्वयन गर्न सक्दैनस् भने, तँ कस्तो प्रकारको व्यक्ति होस्? के तँ साँच्चै परमेश्वरमा विश्वास गर्ने व्यक्ति होस्? यदि, परमेश्वरका वचनहरू सुनेपछि, तँ तिनलाई अघि बढाउन असक्षम हुन्छस् भने, यदि तँ आधा महिना पनि टिक्न सक्दैनस्, दुई हप्ताको कष्ट समेत सहन सक्दैनस् भने, तैँले बुझेको त्यो अलिकति सत्यताले तँमा के प्रभाव पारिरहेको छ त? यदि त्यसले तँलाई थोरै नियन्त्रणमा समेत राख्दैन भने, तेरा लागि, सत्यता केवल केही शब्दहरू मात्र हो, र त्यसको पटक्कै काम छैन। यदि तैँले ती सबै सत्यताहरू बुझ्छस्, तैपनि तँलाई परमेश्वरका वचनहरू कार्यान्वयन गर्न र १५ दिन कष्ट भोग्न भनिँदा, तैँले त्यो सहन सक्दैनस् भने, तँ कस्तो प्रकारको व्यक्ति होस्? परमेश्वरका नजरमा, के तँ योग्य सृजित प्राणी होस् त? (होइन।) नोआको कष्ट र १२० वर्षको लगनशीलतालाई ख्याल गर्दा, उनीसँग तिमीहरूको दूरी थोरै मात्र होइन—त्यसमा कुनै तुलना नै हुँदैन। परमेश्वरले नोआलाई बोलाउनु र उहाँले गरियोस् भनेर इच्छा गर्नुभएको सबै कुरा उनलाई सुम्पनुको कारण भनेको, परमेश्वरका नजरमा, नोआ उहाँका वचनहरू पालन गर्न सक्षम थिए, उनी ठूलो कार्य सुम्पिन मिल्ने मानिस थिए, भरोसायोग्य थिए, र परमेश्वरले इच्छा गर्नुभएको कुरालाई वास्तविकता बनाउन सक्ने व्यक्ति थिए; परमेश्वरका नजरमा, यिनी साँचो व्यक्ति थिए। अनि तिमीहरू? तिमीहरूले यीमध्ये कुनै पनि कुरा हासिल गर्नै सक्दैनौ। तिमीहरू सबै परमेश्वरका नजरमा के हौ भनी कल्पना गर्न गाह्रो छैन। के तिमीहरू मानव हौ? के तिमीहरू मानव कहलिन योग्य छौ? जवाफ प्रस्टै छ: छैनौ! मैले समयलाई सकेसम्म छोट्याएर १५ दिन अर्थात् केवल दुई हप्ता बनाएँ, तर तिमीहरूमध्ये एकजनाले पनि म गर्न सक्थेँ भनेर भनेनौ। यसले के देखाउँछ? यसले तिमीहरूको आस्था, वफादारी, समर्पण सबै शून्य छ भन्ने देखाउँछ। तिमीहरूले जे कुरालाई आस्था, वफादारी र समर्पण ठान्छौ म त्यसलाई शून्यता ठान्छु! तिमीहरू आफू निकै असल भएको घमण्ड गर्छौ, तर मेरो दृष्टिकोणमा तिमीहरूमा अत्यन्तै धेरै कमी छ!
नोआको कथामा भएका कुराहरूमध्ये एउटा सबैभन्दा अविश्वसनीय, प्रशंसनीय, र अनुकरणीय कुरा भनेको उनको १२० वर्षको लगनशीलता, उनको १२० वर्षको समर्पण र वफादारी हो। हेर, के परमेश्वरले गलत व्यक्ति छनोट गर्नुभएको थियो? (थिएन।) परमेश्वर मानिसको अन्तस्करणलाई नियाल्ने परमेश्वर हुनुहुन्छ। त्यति ठूलो जनसागरमा, उहाँले नोआलाई छान्नुभयो, नोआलाई बोलाउनुभयो, र परमेश्वर आफ्नो छनोटमा गलत हुनुहुन्नथ्यो: नोआले उहाँका अपेक्षाहरू पूरा गरे, उनले परमेश्वरले उनलाई सुम्पनुभएको कुरा सफलतापूर्वक पूरा गरे। गवाही भनेको यही हो। परमेश्वरले चाहनुभएको कुरा यही हो, गवाही यही हो! तर के तिमीहरूमा, यसको कुनै सङ्केत वा सुइँको छ? छैन। स्पष्ट रूपमा, तिमीहरूमा यस्तो गवाही छँदै छैन। तिमीहरूमा प्रकाश हुने, परमेश्वरले देख्नुहुने कुरा, शरमको चिन्ह हो; त्यसमा यस्तो कुनै पनि कुरा छैन, जसको बारेमा कुरा गर्दा, मानिसहरूको आँखामा आँसु आओस्। नोआका विभिन्न प्रकटीकरणहरूको सम्बन्धमा, विशेष गरी एक शताब्दीसम्म आशङ्कारहित रहेको वा नबदलिएको उनको परमेश्वरका वचनहरूप्रतिको दृढ विश्वास, र एक शताब्दीसम्म नडगमगाएको जहाज निर्माण गर्ने लगनशीलताको सम्बन्धमा, अनि उनको यो आस्था र इच्छाशक्तिको सम्बन्धमा कुरा गर्दा, आधुनिक समयमा कसैलाई पनि उनीसँग तुलना गर्न सकिँदैन, कोही पनि उनी समान छैन। तैपनि, नोआको वफादारी र समर्पणबारे कसैले वास्ता गर्दैन, कसैले पनि यसमा मानिसले प्रिय ठान्न र अनुकरण गर्न योग्य कुनै कुरा छ भनेर विश्वास गर्दैन। बरु, अहिले मानिसहरूका लागि के कुरा महत्त्वपूर्ण छ? नाराहरू भट्टयाउनु र धर्मसिद्धान्तबारे बोल्नु। तिनीहरूले धेरै सत्यताहरू बुझेको, र सत्यता प्राप्त गरेको जस्तो देखिन्छ—तर नोआको तुलनामा, तिनीहरूले उनले गरेको सयमा एक भाग, हजारमा एक भाग समेत हासिल गरेका छैनन्। तिनीहरूमा कति कमी छ! आकाश-पातालको फरक छ। नोआको जहाज निर्माण गर्ने कार्यबाट, के तिमीहरूले कस्ता प्रकारका मानिसहरू परमेश्वरका प्रिय हुन्छन् भनेर पत्ता लगाएका छौ? परमेश्वरका प्रियहरूमा कस्तो प्रकारको गुण, हृदय र निष्ठा पाइन्छ? के तिमीहरूसँग नोआमा भएका सबै कुराहरू छन्? यदि तँलाई, तँमा नोआको आस्था र चरित्र छ जस्तो महसुस हुन्छ भने, तैँले परमेश्वरसँग सर्तहरू राख्नु, र उहाँसँग मोलमोलाइ गर्ने प्रयास गर्नु केही हदसम्म क्षम्य नै हुनेथियो। यदि तँलाई, तँमा ती कुरा बिलकुलै छैन जस्तो महसुस हुन्छ भने, म तँलाई सत्य कुरा बताउँछु: आफूलाई नफुर्क्या—तँ केही पनि होइनस्। परमेश्वरका नजरमा, तँ कीराभन्दा पनि कम छस्। तैपनि तैँले परमेश्वरसँग सर्तहरू राख्ने र मोलमोलाइ गर्ने आँट गर्छस्? कतिपय मानिसहरू भन्छन्, “यदि म कीराभन्दा पनि कम भए, मैले परमेश्वरको घरमा कुकुरका रूपमा सेवा गर्दा कसो होला?” हुन्न, तँ यसको लायक छैनस्। किन? तैँले परमेश्वरको घरको ढोकामा समेत राम्रो निगरानी राख्न सक्नेथिइनस्, त्यसैले मेरो नजरमा, तँ सुरक्षा कुकुरसमान समेत छैनस्। के यी वचनहरूबाट तिमीहरूको चित्त दुख्छ? के यो सुन्दा तिमीहरूलाई नराम्रो लाग्छ? यसको उद्देश्य तिमीहरूको आत्म-सम्मानमा चोट पुऱ्याउनु होइन; यो त तथ्यमा आधारित भनाइ हो, प्रमाणमा आधारित दाबी हो, र यो रतीभर झूटो छैन। तिमीहरूले ठ्याक्कै यसरी नै कार्य गर्छौ, तिमीहरूमा ठ्याक्कै यही कुरा प्रदर्शित हुन्छ; तिमीहरूले परमेश्वरलाई ठ्याक्कै यसरी नै व्यवहार गर्छौ, र तिमीहरू परमेश्वरले सुम्पनुभएको सबै कुरालाई पनि यसरी नै लिन्छौ। मैले भनेका सबै कुरा साँचो हुन् र हृदयबाट नै आएका हुन्। हामी नोआको कथाको चर्चा यहीँ अन्त्य गर्छौँ।
आ. अब्राहामले इसाहकलाई बलि चढाए
अर्को सुनाउनलायक कथा छ: अब्राहामको कथा। एक दिन, दुई जना सन्देशवाहकहरू अब्राहामको घर आए, जसले तिनीहरूलाई उत्साहपूर्वक स्वागत गरे। ती सन्देशवाहकहरूलाई परमेश्वरले अब्राहामलाई एउटा छोरा प्रदान गर्नुहुनेछ भनी बताउने कार्यको जिम्मा दिइएको थियो। यो सुन्नेबित्तिकै, अब्राहाम अत्यन्तै हर्षित भए: “मेरो प्रभुलाई धन्यवाद होस्!” तर तिनीहरूको पछाडि, अब्राहामकी श्रीमती सारा हाँसिन्। उनको हाँसोको अर्थ के थियो भने, “त्यो त असम्भव छ, म बुढी भएँ—मैले कसरी सन्तान जन्माउन सक्छु र? मलाई छोरा दिइन्छ अरे, कस्तो ठट्टा गरेको!” साराले त्यो कुरा विश्वास गरिनन्। के ती सन्देशवाहकहरूले साराको हाँसो सुने? (सुने।) तिनीहरूले अवश्य सुने, र परमेश्वरले पनि यो कुरा देख्नुभयो। अनि परमेश्वरले के गर्नुभयो? परमेश्वरले अदृश्य रहेर हेरिरहनुभएको थियो। सारा, अर्थात् ती अज्ञानी महिलाले यो कुरा विश्वास गरिनन्—तर के परमेश्वरले तय गर्नुभएको कुरा मानवको बाधाबाट प्रभावित बन्छ? (बन्दैन।) यो कुनै पनि मानिसको बाधाबाट प्रभावित बन्दैन। जब परमेश्वरले केही काम गर्ने तय गर्नुहुन्छ, कतिपय मानिसले यसो भन्न सक्छन्, “म त्यसमा विश्वास गर्दिनँ, म विरोध गर्छु, इन्कार गर्छु, आपत्ति जनाउँछु, मलाई यससँग समस्या छ।” के तिनीहरूका कुरा मान्य हुन्छन्? (हुँदैनन्।) त्यसोभए जब परमेश्वरले असहमति जनाउने, केही कुरा भन्नचाहने, विश्वास नगर्ने मानिसहरू छन् भन्ने देख्नुहुन्छ, के उहाँले तिनीहरूलाई स्पष्टीकरण दिन आवश्यक हुन्छ? के उहाँले तिनीहरूलाई आफ्नो कामबारे “किन” र “कसरी” भनी व्याख्या गर्न आवश्यक छ? के परमेश्वरले त्यसो गर्नुहुन्छ? गर्नुहुन्न। उहाँले यी अज्ञानी मानिसहरूले के गर्छन् र भन्छन् भन्नेबारे चासो राख्नुहुन्न, तिनीहरूको मनोवृत्ति के छ भन्नेबारे वास्ता गर्नुहुन्न। परमेश्वरको हृदयमा, उहाँले जे गर्न तय गर्नुभएको हुन्छ, त्यो धेरै अघि पक्का भइसकेको हुन्छ: उहाँले गर्नुपर्ने नै यही हो। यावत् थोक र घटनाहरू परमेश्वरका हातको नियन्त्रण र सार्वभौमिकतामा हुन्छन्, जस्तै व्यक्तिले सन्तान कहिले पैदा गर्छ, त्यो कस्तो प्रकारको सन्तान हुन्छ—यो पनि परमेश्वरकै हातमा हुन्छ, यो भनिरहनै पर्दैन। जब परमेश्वरले अब्राहामलाई छोरा दिनुहुनेछ भनेर सुनाउन सन्देशवाहकहरू पठाउनुभयो, परमेश्वरले, वास्तवमा, पछि गर्ने धेरै कुराहरूको योजना धेरै अघि नै बनाइसक्नुभएको थियो। त्यो छोराले के-के जिम्मेवारीहरू लिनेछ, उसको जीवन कस्तो प्रकारको हुनेछ, उसका सन्तति कस्ता हुनेछन्—परमेश्वरले यी सबै कुरा धेरै अघि योजना गरिसक्नुभएको थियो, र त्यसमा कुनै त्रुटि वा हेरफेर हुनेथिएन। त्यसैले, के कुनै अज्ञानी महिलाको हाँसोले केही परिवर्तन गर्न सक्थ्यो त? त्यसले केही पनि परिवर्तन गर्न सक्दैनथ्यो। अनि समय आएपछि, परमेश्वरले आफूले योजना गर्नुभएको जस्तै गर्नुभयो, र यो सबै परमेश्वरले बोल्नुभएको र तय गर्नुभएको अनुसार पूरा भयो।
जब अब्राहाम १०० वर्षका भए, परमेश्वरले उनलाई एउटा छोरा दिनुभयो। १०० वर्षसम्म छोराबिना जिएकाले, अब्राहामका दिनहरू नीरस र एक्लोपनमा बितेका थिए। एउटा निसन्तान, विशेषगरी छोरा नभएको, १०० वर्षे बुढो मानिसलाई कस्तो महसुस हुन्छ? “मेरो जीवनमा केही कुराको अभाव छ। परमेश्वरले मलाई छोरा दिनुभएको छैन, र मेरो जीवन अलि एक्लो, अलि पछुतोपूर्ण लागेको छ।” तर परमेश्वरले उनलाई छोरा दिइनेछ भनेर ती दूतहरू पठाउनुहुँदा अब्राहमको मनोदशा कस्तो थियो? (हर्षित थियो।) हर्षोल्लासबाहेक, उनी प्रत्याशाले पनि भरिएका थिए। उनले परमेश्वरलाई अनुग्रहका लागि, बाँकी वर्षहरूमा उनलाई बच्चा हुर्काउन दिनुभएका कारण धन्यवाद दिए। यो निकै अद्भुत कुरा थियो, र यो त्यसरी नै हुन आएको थियो। त्यसोभए उनी खुसी हुने कारणहरू के-के थिए त? (उनीसँग सन्तति थिए, उनको वंश अगाडि बढ्ने भयो।) त्यो एउटा कुरा भयो। अर्को सबैभन्दा हर्षपूर्ण कुरा पनि थियो—त्यो के थियो? (यो बच्चा परमेश्वरले व्यक्तिगत रूपमा प्रदान गर्नुभएको थियो।) ठिक भनिस्। कुनै साधारण व्यक्तिले बच्चा पाउन लाग्दा, के परमेश्वरले आएर उसलाई भन्नुहुन्छ? के उहाँले, “म व्यक्तिगत रूपमै तँलाई यो बच्चा प्रदान गर्छु जुन मैले तँलाई प्रतिज्ञा गरेको थिएँ” भन्नुहुन्छ? के परमेश्वरले यही नै गर्नुहुन्छ? गर्नुहुन्न। त्यसोभए यो बच्चाबारे केचाहिँ विशेष थियो त? परमेश्वरले दूतहरूमार्फत अब्राहामलाई व्यक्तिगत रूपमा भन्नुभयो, “१०० वर्षको उमेरमा, तैँले एउटा बच्चा पाउनेछस्, जुन परमेश्वरले व्यक्तिगत रूपमा प्रदान गर्नुहुन्छ।” यस बच्चाबारे विशेष कुरा यही थियो: ऊ परमेश्वरले भन्नुभएको, र परमेश्वरले व्यक्तिगत रूपमा दिनुभएको बच्चा थियो। यो निकै हर्षपूर्ण कुरा थियो! अनि के यस बच्चाको विशेष महत्त्व भनेको यो मानिसहरूको मनमा विचारहरूको लहर फैलाउने कारण होइन र? अब्राहामलाई यो बच्चा जन्मेको देख्दा कस्तो महसुस भयो? “अन्तत: मैले एउटा बच्चा पाएको छु। परमेश्वरका वचनहरू पूरा भएका छन्; परमेश्वरले मलाई बच्चा दिने भन्नुभएको थियो, र उहाँले साँच्चै दिनुभयो!” जब यो बच्चा जन्मियो र उनले यसलाई आफ्नै हातले समाए, उनले महसुस गरेको पहिलो कुरा भनेको, “मैले यो बच्चा मानवका हातबाट होइन, परमेश्वरका हातबाट प्राप्त गरेको हुँ। यो बच्चाको आगमन निकै सामयिक छ। उसलाई परमेश्वरले प्रदान गर्नुभएको हो, उसलाई मैले राम्ररी हुर्काउनुपर्छ, राम्ररी शिक्षित तुल्याउनुपर्छ, र उसलाई परमेश्वरको आराधना गर्ने र परमेश्वरका वचनहरू पालन गर्ने बनाउनुपर्छ, किनभने ऊ परमेश्वरबाट आएको हो।” के उनले यो बच्चालाई निकै नै प्रिय ठाने? (ठाने।) यो एउटा विशेष बच्चा थियो। त्यसमा अब्राहामको उमेर पनि जोड्दा, उनले यो बच्चालाई कति प्रिय ठाने भनी कल्पना गर्न गाह्रो हुँदैन। एउटा साधारण व्यक्तिको आफ्नो बच्चाप्रति हुने गर्ने कदर, स्नेह र ममता अब्राहाममा पनि थियो। अब्राहामले परमेश्वरले बोल्नुभएका वचनहरू विश्वास गरे, र आफ्नै आँखाले, उहाँका वचनहरू पूरा भएको देखेका थिए। उनी, यी वचनहरू बोलिएदेखि पूरा भएसम्म तिनको साक्षी पनि रहेका थिए। उनले परमेश्वरका वचनहरू कति अख्तियारपूर्ण छन्, उहाँका कार्यहरू कति चमत्कारी छन्, र सबैभन्दा महत्त्वपूर्ण कुरा, परमेश्वरले मानिसको कति ख्याल राख्नुहुन्छ भन्ने महसुस गरे। त्यो बच्चालाई हेर्दा, अब्राहामले जटिल र गहन भावनाहरू महसुस गरे पनि, उनको हृदयमा परमेश्वरलाई भन्नका लागि एउटै मात्र कुरा थियो। ल भन त, उनले के भने होला? (परमेश्वरलाई धन्यवाद होस्!) “मेरो प्रभुलाई धन्यवाद होस्!” अब्राहाम कृतज्ञ थिए, र उनले परमेश्वरलाई आफ्नो गहन धन्यवाद र प्रशंसा पनि अर्पण गरे। परमेश्वर र अब्राहामका लागि, यो बच्चाको असाधारण महत्त्व थियो। किनभने, परमेश्वरले अब्राहामलाई बच्चा प्रदान गर्छु भनेको क्षणदेखि नै, परमेश्वरले केही कुरा हासिल गर्ने योजना गर्नुभएको र दृढनिश्चयता लिनुभएको थियो: उहाँले यस बच्चाबाट महत्त्वपूर्ण र ठूला कुराहरू हासिल गर्न चाहनुभएको थियो। परमेश्वरका लागि यस बच्चाको महत्त्व त्यस्तो थियो। अनि अब्राहामका लागि, उनीप्रति परमेश्वरको विशेष अनुग्रहका कारणले, परमेश्वरले उनलाई बच्चा प्रदान गर्नुभएकाले, पूरै मानवजातिको इतिहासको दौरान, सारा मानवजातिका सन्दर्भमा, उसको अस्तित्वको मूल्य र अर्थ असाधारण थियो, साधारण छँदै थिएन। अनि कथा त्यहीँ टुङ्गिन्छ त? टुङ्गिदैन। सबैभन्दा महत्त्वपूर्ण भाग सुरु हुन बाँकी नै छ।
अब्राहामले इसहाकलाई परमेश्वरबाट प्राप्त गरेपछि, उनले इसहाकलाई परमेश्वरको आदेश र मागअनुसार हुर्काए। ती साधारण वर्षहरूभर आफ्नो दैनिक जीवनमा, अब्राहामले इसहाकलाई बलि दिन अगुवाइ गरे, र इसहाकलाई स्वर्गमा हुनुहुने परमेश्वरका कथाहरू सुनाए। बिस्तारै-बिस्तारै, इसहाकले कुराहरू बुझ्न थाले। उनले परमेश्वरलाई धन्यवाद दिने, परमेश्वरको प्रशंसा गर्ने, र आज्ञापालन गर्ने, अनि बलि चढाउने तरिकाहरू सिके। उनले भेटी कहिले चढाइन्छ, र वेदी कहाँ छ भन्ने कुरा थाहा पाए। अब, हामी कथाको मुख्य बिन्दुमा जान्छौँ। एक दिन, जब इसहाकले कुराहरू बुझ्न थाले तर उनी परिपक्व हुन बाँकी नै थिए, परमेश्वरले अब्राहामलाई भन्नुभयो, “म यो बलिका लागि थुमा चाहन्नँ। बरु इसहाक नै चढा।” इसहाकलाई अत्यन्तै प्रिय ठान्ने, अब्राहाम जस्ता व्यक्तिका लागि, के परमेश्वरका वचनहरू कुनै अप्रत्याशित घटनाझैँ थिए? अब्राहामको कुरा छोडौँ, जो यति बृद्ध थिए—आफ्नो जीवनको शिखरमा रहेका कति मानिसहरूले—३० र ४० को दशकमा रहेका कति मानिसहरूले—यो खबर सुन्न सक्थे? कसैले सक्थे? (सक्थेनन्।) अनि परमेश्वरका वचनहरू सुनेपछि अब्राहामको प्रतिक्रिया के थियो? “हँ? के परमेश्वरले भन्नुभएको कुरा गलत थियो? परमेश्वर कहिल्यै गलत हुनुहुन्न, त्यसोभए के मेरा बुढा कानले गलत सुनेका हुन् त? म फेरि जाँच गर्छु।” उनले सोधे, “परमेश्वर, के तपाईँले मलाई इसहाकको बलि दिन भनिरहनुभएको हो? के तपाईँ इसहाककै बली चाहनुहुन्छ?” परमेश्वरले भन्नुभयो, “हो, ठिक भनिस्!” यो निश्चित गरेपछि, अब्राहामलाई थाहा भयो कि परमेश्वरका वचनहरू गलत थिएनन्, न त ती परिवर्तन नै हुनेथिए। परमेश्वरले भन्न खोज्नुभएको ठ्याक्कै त्यही थियो। अनि के अब्राहामलाई यो सुन्न गाह्रो भएको थियो? (थियो।) कति गाह्रो भएको थियो? अब्राहामले मनमा यसो सोचे, “यतिका वर्ष पछि, मेरो बच्चा बल्ल हुर्कन थालेको छ। यदि उसलाई जीवित बलिका रूपमा चढाइयो भने, यसको मतलब उसलाई वध गरिने थुमालाई जस्तै वेदीमा छप्काइनेछ। छप्काइनुको अर्थ उसलाई मारिनेछ, र उसलाई मारिनुको अर्थ आजदेखि म यो बच्चाबिना हुनेछु…।” अब्राहामका सोच यहाँसम्म पुगिसकेपछि, के उनले थप सोच्ने हिम्मत गरे? (गरेनन्।) किन गरेनन्? थप सोच्दा हृदयमा चक्कु रोपेझैँ झन् ठूलो पीडा हुनेथ्यो। थप सोचाइले खुसीका कुरा होइन, पीडादायी कुरा ल्याउनेथिए। बच्चालाई केही दिन वा वर्षका लागि नदेखिने गरी अन्यत्र लगिने, तर ऊ त्यहीँ हुने कुरा थिएन; यस्तो होइन कि अब्राहामले निरन्तर उसका बारेमा सोचिरहनेथिए र उसलाई ठूलो भएपछि कुनै उचित समयमा फेरि भेट्ने थिए। कुरा त्यस्तो थिएन। एकचोटि बच्चालाई वेदीमा चढाइसकेपछि, ऊ अब रहनेथिएन, ऊ फेरि कहिल्यै पनि देखिनेथिएन, परमेश्वरलाई उसको बलि चढाइनेथियो, र ऊ परमेश्वरकहाँ फर्केको हुनेथ्यो। परिस्थितिहरू पहिले जस्तै हुनेथिए। बच्चा पाउनुअघि, जीवन एक्लो थियो। यदि परिस्थितिहरू त्यसरी नै अघि बढेका भए, उसले कहिल्यै बच्चा नपाएको भए, के त्यो पिडादायी हुनेथियो? (त्यो धेरै पीडादायी हुने थिएन।) बच्चा पाउनु र त्यसपछि उसलाई गुमाउनु—त्यो अत्यन्तै पीडादायी कुरा हो। यो एक विनाशकारी कुरा हो! यो एक घातक कुरा हो! यो बच्चा परमेश्वरलाई फिर्ता दिनुको मतलब त्यसपश्चात त्यो बच्चा फेरि कहिल्यै देखिनेथिएन, उसको आवाज फेरि कहिल्यै सुनिनेथिएन, अब्राहामले फेरि कहिल्यै उसलाई खेलिरहेको देख्नेथिएनन्, उसलाई हुर्काउन सक्नेथिएनन्, उसलाई हँसाउन सक्नेथिएनन्, ऊ हुर्किरहेको देख्नेथिएनन्, उसको उपस्थितिले ल्याएका ती सबै पारिवारिक हर्षहरूको आनन्द लिन सक्नेथिएनन्। पीडा र तृष्णा मात्र बाँकी रहनेथ्यो। अब्राहामले त्यसबारे जति धेरै सोचे, उनलाई त्यति नै गाह्रो भयो। तर जतिसुकै गाह्रो भए पनि उनको मनमा एउटा कुरा प्रष्ट थियो: “परमेश्वरले जे भन्नुभयो र जे गर्न जाँदै हुनुहुन्छ, त्यो ठट्टा थिएन, त्यो गलत हुन सक्थेन, परिवर्तन त झनै हुन सक्थेन। यसबाहेक, बच्चा परमेश्वरबाट आएको हो, त्यसैले ऊ परमेश्वरलाई नै चढाइनुपर्छ भन्ने कुरा पूर्ण रूपमा प्राकृतिक र न्यायसङ्गत नै हो, र जब परमेश्वरले यो चाहनुहुन्छ, उसलाई बिनासम्झौता परमेश्वरकहाँ फर्काउनु मेरो कर्तव्य नै हो। पारिवारिक हर्षले भरिएको विगतको दशक एक विशेष वरदान बनेको छ, जसको मैले प्रचुर आनन्द लिएको छु; मैले परमेश्वरलाई धन्यवाद दिनुपर्छ, र परमेश्वरसँग अनुचित मागहरू गर्नु हुँदैन। यो बच्चा परमेश्वरको हो, मैले उसलाई आफ्नो भनेर दाबी गर्नु हुँदैन, ऊ मेरो व्यक्तिगत सम्पत्ति होइन। सबै मानिसहरू परमेश्वरबाट आउँछन्। यदि मलाई मेरो आफ्नै जीवन चढाउन भनियो भने पनि, मैले परमेश्वरसँग तर्क गर्ने प्रयास गर्नु वा सर्तहरू राख्नु हुँदैन, परमेश्वरले व्यक्तिगत रूपमै बच्चाको घोषणा गर्नुभएको र बच्चा प्रदान गर्नुभएको खण्डमा त कुरै छाडौँ। यदि परमेश्वरले उसलाई चढाउन भन्नुभयो भने, म चढाउनेछु!”
मिनेट मिनेट, सेकेन्ड सेकेन्ड गर्दै, यसरी समय बित्दै गयो, बलि दिने क्षण झन् नजिकिँदै गयो। तर अब्राहामले, झन् दुःखी हुनुको सट्टा झन्झन् शान्त महसुस गरे। उनलाई के कुराले शान्त बनायो? के कुराले अब्राहामलाई पीडाबाट उम्कन र जे हुन लागेको थियो, त्यसप्रति सही मनोवृत्ति राख्न मद्दत गर्यो? उनले विश्वास गरे कि, परमेश्वरले गर्नुभएका सबै कुरालाई ध्यानमा राख्दै, व्यक्तिको मनोवृत्ति केवल समर्पणको हुनुपर्छ, र मानिसहरूले परमेश्वरसँग तर्क गर्ने प्रयास गर्नु हुँदैन। उनको विचार यस अवस्थामा पुगेपछि, उनलाई पीडा हुन छोड्यो। कलिलो इसहाकलाई बोकेर, उनी पाइला-पाइला गर्दै, वेदीको छेउतर्फ अघि बढे। वेदीमाथि केही पनि थिएन—अरूबेला थुमाले पहिले नै पर्खिरहेको हुन्थ्यो। “बुबा, के तपाईँले आजको बलि तयार गर्न बाँकी नै छ?” इसहाकले सोधे। “होइन भने, आज केको बलि चढाइनेछ?” इसहाकले यो सोध्दा अब्राहामलाई कस्तो महसुस भयो? के यो सम्भव छ कि उनले खुसी महसुस गरे? (छैन।) त्यसोभए उनले के गरे? के उनले हृदयमा परमेश्वरलाई घृणा गरे? के उनले परमेश्वरलाई गुनासो गरे? के उनले प्रतिरोध गरे? (गरेनन्।) यी केही पनि गरेनन्। यो के कुराले देखाउँछ? त्यसपछि जे-जे भयो त्यो सबै कुराबाट अब्राहामले साँच्चै त्यस्ता कुराहरू सोचेनन् भन्ने प्रस्ट हुन्छ। उनले बाल्न लागेको दाउरा वेदीमा राखे र इसहाकलाई बोलाए। अब्राहामले इसहाकलाई वेदीमा बोलाएको दृश्य देख्दा, त्यो क्षणमा, मानिसहरू के सोच्छन्? “तिमी त कस्तो हृदयहीन बुढो मान्छे रहेछौ। तिमीमा मानवता नै छैन। तिमी मानव होइनौ! ऊ तिम्रो छोरा हो, के तिमीले साँच्चै यसो गरेर सहन सक्छौ? के तिमी साँच्चै यसो गर्न सक्छौ? के तिमी साँच्चै यति निर्दयी छौ? के तिमीमा मुटु त छ?” के तिनीहरूले सोच्ने त्यही होइन र? अनि के अब्राहामले यी कुराहरू सोचे? (सोचेनन्।) उनले इसहाकलाई आफ्नो छेउमा बोलाए र, एक शब्द पनि बोल्न नसकी, आफूले तयार पारेको डोरी निकालेर इसहाकको हात र खुट्टा बाँधिदिए। के यी कार्यहरूले यो बलि वास्तविक हुन गइरहेको थियो भन्ने सङ्केत गर्छ कि नक्कली? यो देखाउनका लागि नभई वास्तविक, अदूषित हुनुपर्थ्यो। उनले इसहाकलाई आफ्नो काँधमा उठाए, र त्यो सानो बच्चाले जतिसुकै सङ्घर्ष गरे र कराए पनि अब्राहामले कहिल्यै हार मान्ने सोचेनन्। उनले दृढतापूर्वक आफ्नो सानो छोरोलाई वेदीमा जलाउनका लागि दाउरामाथि राखे। इसहाक रोए, चिच्याए, फुत्किने कोसिस गरे—तर अब्राहामले परमेश्वरलाई बलि दिन कार्यहरू गर्दै थिए, बलिका लागि सबै तयारी गर्दै थिए। इसहाकलाई वेदीमा राखेपछि, अब्राहामले प्राय: थुमाहरू मार्न प्रयोग हुने चक्कु निकाले, र त्यसलाई दुवै हातले दह्रिलो गरी समातेर टाउकोमाथि उठाए, अनि इसहाकतर्फ तेर्स्याए। उनले आफ्ना आँखा बन्द गरे, र चक्कु झर्नै लाग्दा, परमेश्वरले अब्राहामसँग बोल्नुभयो। परमेश्वरले के भन्नुभयो? “अब्राहाम, आफ्नो हातलाई रोक्!” अब्राहामले इसहाकलाई परमेश्वरकहाँ फर्काउनै लागेको बेला परमेश्वरले यस्तो कुरा भन्न सक्नुहुन्छ भनी कहिल्यै कल्पना नै गरेका थिएनन्। यो उनलाई सोच्न आँट आउने कुरा नै थिएन। तर, एक-एक गरेर, परमेश्वरका वचनहरू उनको हृदयमा ठोक्किए। यसरी इसहाक बाँच्यो। त्यो दिन, वास्तवमा परमेश्वरलाई दिइने बलि अब्राहामको पछाडि थियो; त्यो एउटा थुमा थियो। यो परमेश्वरले धेरै पहिले नै तयार गरिसक्नुभएको थियो, तर परमेश्वरले अब्राहामलाई कुनै पूर्व-सङ्केत दिनुभएको थिएन, बरु उनले चक्कु उठाएर रोप्न लागेकै बेला, उहाँले उनलाई रोक्न भन्नुभयो। न त अब्राहाम, न इसहाक, न कसैले यो कल्पना गर्न सक्नेथे। अब्राहामले आँटेको इसहाकको बलि हेर्दा, के अब्राहामले साँच्चै आफ्नो छोराको बलि दिने अभिप्राय राखेका थिए, कि नाटक गरिरहेका थिए? (उनले साँच्चै यसो गर्ने नै अभिप्राय राखेका थिए।) उनले साँच्चै यसो गर्ने नै अभिप्राय राखेका थिए। उनका क्रियाकलापहरू विशुद्ध थिए, त्यसमा कुनै छल समावेश थिएन।
अब्राहामले आफ्नै देह र रगत बलिका रूपमा परमेश्वरलाई चढाए—र जब परमेश्वरले उनलाई यो बलि दिन लगाउनुभयो, अब्राहामले उहाँसँग यसो भन्दै तर्क गर्ने प्रयास गरेनन्, “के हामीले अरू कसैलाई प्रयोग गर्न मिल्दैन र? म नै होस् वा अरू कुनै व्यक्ति।” त्यस्ता कुराहरू भन्नुको सट्टा, अब्राहामले आफ्नो सबैभन्दा प्रिय र बहुमूल्य छोरा परमेश्वरलाई दिए। यो बलि कसरी चढाइयो? उनले परमेश्वरले भनेको कुरा सुनेका थिए, र त्यसपछि अघि सरेर त्यो काम गरिहाले। यदि परमेश्वरले अब्राहामलाई बच्चा दिनुभयो र बच्चा हुर्किसकेपछि, अब्राहामलाई बच्चा फिर्ता दिन भन्नुभयो, र बच्चालाई लैजान चाहनुभयो भने के यो कुरा मानिसहरूलाई अर्थपूर्ण लाग्थ्यो होला त? (लाग्नेथिएन।) मानव दृष्टिकोणबाट, के त्यो पूर्णतया बेमनासिब हुनेथिएन र? के परमेश्वरले अब्राहामसँग खेलबाड गरिरहनुभएको जस्तो देखिने थिएन र? परमेश्वरले अब्राहामलाई एक दिन यो बच्चा दिनुभयो, र केही वर्ष पछि नै, उसलाई लैजान चाहनुभयो। यदि परमेश्वरलाई त्यो बच्चा चाहिएको भए, उहाँले खुरुक्क उसलाई लिएर जानुपर्थ्यो; त्यस व्यक्तिलाई, बच्चालाई वेदीमा बलि चढाउनुपर्छ भनेर यस्तो कष्ट दिनु आवश्यक नै थिएन। बच्चालाई वेदीमा चढाउनुको अर्थ के थियो? यसको अर्थ अब्राहामले उसलाई मार्नुपर्थ्यो र त्यसपछि आफ्नै दुई हातले उसलाई जलाउनुपर्थ्यो। के यो कुनै व्यक्तिले गर्न सक्ने कुरा हो? (होइन।) परमेश्वरले यो बलि माग गर्नुहुँदा उहाँले के भन्न खोज्नुभएको थियो? कि अब्राहाम आफैले यी कामहरू गर्नुपर्छ: आफैले आफ्नो छोरालाई बाँध्नुपर्छ, आफैले उसलाई वेदीमा राख्नुपर्छ, आफैले उसलाई चक्कुले मार्नुपर्छ, र त्यसपछि आफैले उसलाई परमेश्वरलाई चढाइएको बलिका रूपमा जलाउनुपर्छ। मानवलाई, यी मध्ये कुनै पनि कुरा मानिसको भावनाको ख्याल गरिएको जस्तो लाग्दैन; तिनीहरूको धारणा, मानसिकता, नैतिक दर्शन, वा नैतिकता र चलनहरूअनुसार यी मध्ये कुनै पनि कुरा अर्थपूर्ण हुनेथिएनन्। अब्राहाम शून्यतामा जिएनन्, न त उनी काल्पनिक संसारमा नै जिउँथे; उनी मानिसको संसारमा नै जिउँथे। उनमा मानव सोच र मानव विचारहरू थिए। अनि आफूलाई यो सबै कुरा आइपर्दा उनले के सोचे? उनको पीडाअलावा, र उनलाई अन्योलमा पार्ने केही कुराहरू बाहेक, के उनमा विद्रोह वा इन्कार थियो त? के उनले परमेश्वरलाई मौखिक रूपमै आक्रमण र गाली गरे? बिलकुलै गरेनन्। उनले ठ्याक्कै उल्टो गरे: परमेश्वरले अब्राहामलाई यो काम गर्न आदेश दिनुभएदेखिनै, उनले यसलाई हल्का रूपमा लिने आँट गरेनन्; बरु, उनले तुरुन्तै तयारी गर्न थाले। अनि यी तयारीहरू थाल्दा उनको मनस्थिति कस्तो थियो? के उनी प्रसन्न, हर्षित र खुसी थिए? कि उनी पीडित, दुःखी र भारी-मनको थिए? (उनी पीडित र दुःखी थिए।) उनी पीडित थिए! उनको हरेक पाइला गह्रौँ थियो। यस मामलाबारे सचेत भएपछि, र परमेश्वरका वचनहरू सुनेपछि, हरेक दिन अब्राहामलाई एक वर्ष जस्तै महसुस भयो; उनी दुखमय थिए, हर्षित हुनै सक्दैनथे, र उनको मन भारी भएको थियो। तथापि, उनको एउटै मात्र विश्वास के थियो? (कि उनले परमेश्वरका वचनहरू पालन गर्नैपर्छ।) त्यो सही हो, त्यो उनले परमेश्वरका वचनहरू पालन गर्नैपर्छ भन्ने थियो। उनले मनमनै भने, “मेरा प्रभु यहोवाको नाउँ धन्य होस्। म परमेश्वरका मानिसहरूमध्ये एक हुँ, र मैले परमेश्वरका वचनहरू पालन गर्नुपर्छ। चाहे परमेश्वरले भन्नुहुने कुरा सही वा गलत भए पनि, र इसहाक मकहाँ जसरी आएको भए पनि, यदि परमेश्वरले माग गर्नुहुन्छ भने, मैले दिनै पर्छ; मानिसमा यस्तो समझ र मनोवृत्ति भेटिन जरुरी छ।” परमेश्वरका वचनहरू स्वीकार गरेपछि अब्राहाम पीडा वा कठिनाइबाट मुक्त थिएनन्; उनले पीडा महसुस गरे र उनका आफ्नै कठिनाइहरू थिए, र तिनलाई विजय गर्न सजिलो थिएन! तैपनि, अन्त्यमा के भयो? परमेश्वरले चाहनुभएअनुसार, अब्राहामले आफ्नो छोरा, एउटा सानो बच्चालाई वेदीमा ल्याए, र उनले गरेका सबै कुरा परमेश्वरले देख्नुभयो। जसरी परमेश्वरले नोआलाई हेर्नुभएको थियो, त्यसरी नै उहाँले अब्राहामको हरेक चाल हेर्नुभएको थियो, र उनले गरेका सबै कुराहरूले उहाँलाई छोएको थियो। परिस्थितिहरू कसैले सोचेको जस्तो नटुङ्गिए पनि, अब्राहामले जे गरे त्यो सम्पूर्ण मानवजातिमाझ अद्वितीय थियो। के उनी परमेश्वरलाई पछ्याउने सबैका लागि उदाहरण बन्नुपर्छ? (बन्नुपर्छ।) उनी परमेश्वरलाई पछ्याउने सबै मानवजातिका लागि नमुना हुन्। म किन उनलाई मानवजातिका लागि नमुना भन्छु? अब्राहामले धेरै सत्यताहरू बुझेका थिएनन्, न त उनले परमेश्वरले उनलाई नै व्यक्तिगत रूपमा भन्नुभएको कुनै सत्यता वा प्रवचनहरू नै सुनेका थिए। उनले केवल विश्वास, स्वीकार र पालन गरेका थिए। उनको मानवतामा त्यस्तो अद्वितीय कुरा के थियो? (सृजित प्राणीमा हुनुपर्ने समझ।) कुन शब्दहरूले यसलाई प्रतिबिम्बित गर्छन्? (उनले भने, “मेरो प्रभु यहोवाको नाउँ धन्य होस्; मैले परमेश्वरका वचनहरू पालन गर्नुपर्छ, र तिनीहरू मानिसका धारणाहरूअनुरूप भए पनि नभए पनि, म समर्पित हुनैपर्छ।”) यसमा, अब्राहामसँग सामान्य मानवताको समझ थियो। अझ के हो भने, तिनले उनीसँग सामान्य मानवताको विवेक पनि छ भन्ने देखाए। अनि यो विवेक चाहिँ कहाँ झल्किन्थ्यो? अब्राहामलाई थाहा थियो कि इसहाक परमेश्वरले नै प्रदान गर्नुभएको थियो, उनी परमेश्वरको वस्तु थिए, उनी परमेश्वरकै थिए, र अब्राहामले इसहाकसँग सधैँ टाँसिरहनुको सट्टा परमेश्वरले माग्नुभएको बेलामा उनलाई परमेश्वरकहाँ फर्काउनुपर्छ; मानिससँग यस्तो विवेक हुनुपर्छ।
के आजका मानिसहरूमा विवेक र समझ छ? (छैन।) यो कुन कुराहरूमा प्रतिबिम्बित हुन्छ? परमेश्वरले मानिसहरूलाई जतिसुकै अनुग्रह प्रदान गर्नुभए पनि, र तिनीहरूले जतिसुकै आशिष् वा अनुग्रह पाए पनि, तिनीहरूलाई परमेश्वरको प्रेम चुक्ता गर्न भनिँदा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? (प्रतिरोधी, र कहिलेकाहीँ कठिनाइ र थकानको डर मान्ने खालको हुन्छ।) कठिनाइ र थकानको डर मान्नु भनेको विवेक र समझको कमीको ठोस प्रकटीकरण हो। आजकल मानिसहरू बहाना बनाउँछन्, सर्तहरू राख्ने र मोलमोलाइ गर्ने प्रयास गर्छन्—हो कि होइन? (हो।) तिनीहरूले गुनासो पनि गर्छन्, झाराटारुवा र धूर्त तरिकाले कामहरू गर्छन्, र देहसुखको लोभ गर्छन्—यी सबै ठोस प्रकटीकरणहरू हुन्। आजका मानिसहरूमा कुनै विवेक छैन, तैपनि तिनीहरू बारम्बार परमेश्वरको अनुग्रहको प्रशंसा गर्छन्, र त्यस्ता सबै अनुग्रहहरू गन्छन्, र गन्दै गर्दा भावुक भएर रुन्छन्। यद्यपि, तिनीहरूले गनिसकेपछि, कुरा त्यहीँ सक्किन्छ; तिनीहरू अझै पनि झारातिरुवा नै रहन्छन्, झारा टारिरहन्छन्, छली र धूर्त भइरहन्छन्, अनि सुस्ताइरहन्छन्, पश्चात्तापका कुनै निश्चित प्रकटीकरणहरू देखाउँदैनन्। त्यसोभए, तैँले गन्नुको उद्देश्य के थियो त? यो विवेकको कमीको प्रकटीकरण हो। त्यसोभए, समझको कमी कसरी प्रकट हुन्छ? परमेश्वरले तँलाई काटछाँट गर्दा, तैँले गुनासो गर्छस्, तेरो भावनामा ठेस लाग्छ, र तँ उप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्नस् र परमेश्वरसँग प्रेम नै छैन भन्छस्। जब तैँले आफ्नो कर्तव्य निर्वाह गर्दा अलिकति कष्ट भोग्छस्, वा जब परमेश्वरले तेरा लागि तयार पार्नुभएको वातावरण अलि कठिन, चुनौतीपूर्ण, वा गाह्रो हुन्छ, तब तैँले उप्रान्त त्यो कर्तव्य गर्न चाहन्नस्; र परमेश्वरले तयार पार्नुभएका विभिन्न वातावरणहरूमध्ये तैँले कुनैमा पनि समर्पित हुन खोज्न सक्दैनस्, तैँले देहबारे मात्र विचार गर्छस्, र तँ केवल उम्केर छाडा दौडिन चाहन्छस्। के यो समझरहित हुनु हो कि होइन? तँ परमेश्वरका सार्वभौमिकता र बन्दोबस्तहरू स्वीकार गर्न चाहन्नस्, र तँ उहाँबाट केवल लाभहरू प्राप्त गर्न चाहन्छस्। तैँले अलिकति काम गर्दा र थोरै कष्ट भोग्दा आफ्नो योग्यताको दाबी गर्छस्, हैसियतको फाइदा उठाएर आफूलाई अरूभन्दा माथि ठान्छस् र अधिकारी भएको रवाफ देखाउन थाल्छस्। तँमा कुनै वास्तविक काम गर्ने चाहना छैन, न त कुनै वास्तविक काम गर्न सक्ने क्षमता नै छ—तँ केवल आदेश दिन र अधिकारी बन्न चाहन्छस्। तँ नियमकानूनको धज्जी उडाउन, आफूखुसी गर्न, र जथाभाबी दुष्कर्म गर्न चाहन्छस्। उम्कनु र छाडा दौडिनु बाहेक तँमा अरू कुनै कुरा प्रकट हुँदैन। के यो समझ हुनु हो? (होइन।) यदि परमेश्वरले तिमीहरूलाई एउटा असल बच्चा दिनुभयो, र पछि उहाँले सिधै त्यो बच्चा लैजान्छु भन्नुभयो भने, तेरो मनोवृत्ति कस्तो हुनेछ? के तैँले अब्राहामको जस्तै मनोवृत्ति राख्न सक्नेथिस्? (सक्नेथिइनँ।) कतिपय मानिसहरूले यसो भन्नेथिए, “म कसरी सक्दिनँ र? मेरो छोरो बिस वर्षको छ, र मैले उसलाई परमेश्वरको घरमा चढाएँ, जहाँ उसले अहिले कर्तव्य निर्वाह गर्छ!” के यो बलि हो? बढीमा, तैँले आफ्नो बच्चालाई सही मार्गमा डोर्याएको छस्—तर तँसित एउटा गोप्य मनसाय पनि छ: तँलाई तेरो बच्चा नत्र विपत्तिमा परेर नष्ट हुन सक्छ भन्ने डर छ। यस्तो होइन र? तैँले जे गरिरहेको छस् त्यसलाई बलि दिनु भनिँदैन; यो अब्राहामले इसहाकको बलि दिएको जस्तो बिलकुलै होइन। त्यसमा कुनै तुलना नै हुँदैन। अब्राहामले परमेश्वरको आदेश सुनेपछि, उनलाई—वा मानवजातिको अर्को कुनै पनि सदस्यलाई—यो निर्देशन पालन गर्न कति कठिन हुनेथियो? यो संसारको सबैभन्दा कठिन कुरा हुनेथियो; त्योभन्दा कठिन केही हुँदैन। यो केवल एउटा थुमा वा अलिकति पैसा चढाउने कुरा थिएन, र त्यो केवल सांसारिक सम्पत्ति वा भौतिक वस्तु थिएन, न त त्यो जनावर मात्र थियो जसको बलि दिने व्यक्तिसँग कुनै सम्बन्ध नभएको होस्। ती त्यस्ता कुराहरू हुन् जसलाई व्यक्तिले क्षणिक प्रयासमा अर्पण गर्न सक्छ—तर परमेश्वरले त अब्राहामसँग अर्को व्यक्तिको जीवनको बलि माग्नुभएको थियो। त्यो अब्राहामको आफ्नै देह र रगतको थियो। त्यो कति गाह्रो भयो होला! त्यो बच्चाको पनि विशेष पृष्ठभूमि थियो, किनकि ऊ परमेश्वरले नै प्रदान गर्नुभएको थियो। उनलाई बच्चा प्रदान गर्नुमा परमेश्वरको उद्देश्य के थियो? उहाँको उद्देश्य के थियो भने, अब्राहामले एउटा छोरा पाओस् जो हुर्किएर वयस्क हुनेछ, उसले विवाह गर्नेछ र छोराछोरी जन्माउनेछ, र यसरी वंश कायम राख्नेछ। तर अब, यो बच्चा वयस्कतामा पुग्नु अघि नै परमेश्वरलाई फिर्ता दिनुपर्ने थियो, र ती कुराहरू कहिल्यै हुनेथिएनन्। त्यसोभए, परमेश्वरले अब्राहामलाई सन्तान दिनुको अर्थ के रह्यो? के कुनै अवलोकनकर्ताले यसको कुनै अर्थ लगाउन सक्छ? मानिसहरूका धारणाहरूअनुसार, यसले कुनै अर्थ राख्दैन। भ्रष्ट मानवजाति स्वार्थी हुन्छ; कसैले पनि यसको अर्थ लगाउन सक्दैन। अब्राहामले पनि यो बुझ्न सकेनन्; परमेश्वरले उनलाई इसहाकको बलि चढाउनु भनेर माग गर्नुभएको कुरा बाहेक, अन्ततः, परमेश्वरले के गर्न चाहनुभएको हो भन्ने कुरा उनलाई थाहा थिएन। तसर्थ, अब्राहामले के निर्णय गरे? उनको मनोवृत्ति कस्तो थियो? उनले यी सबै कुराहरू बुझ्न नसके पनि परमेश्वरको आदेशअनुसार कार्य गर्न सके; उनले परमेश्वरका वचनहरू पालन गरे र, प्रतिरोध नगरी वा विकल्पको माग नगरी, उहाँका मागका प्रत्येक वचनमा समर्पित भए, परमेश्वरसँग सर्तहरू राख्ने वा तर्क गर्ने प्रयास त झनै गरेनन्। अब्राहाम सबै घटनाहरूको अर्थ लगाउन सक्षम हुनु अघि नै, आज्ञापालन गर्न र समर्पित हुन सक्षम थिए—जुन एकदम दुर्लभ र प्रशंसनीय कुरा हो, र यहाँ बसिरहेका तिमीहरूमध्ये कोहीको क्षमता भन्दा बाहिरको कुरा हो। अब्राहामलाई के भइरहेको थियो भन्ने थाहा थिएन, र परमेश्वरले उनलाई पूरै कथा बताउनुभएको थिएन; तैपनि, उनले मानिसहरू परमेश्वरले जे गर्न चाहनुहुन्छ त्यसमा समर्पित हुनुपर्छ, र तिनीहरूले प्रश्नहरू सोध्नु हुँदैन, यदि परमेश्वरले थप केही भन्नुभएन भने, यो मानिसहरूले बुझ्नुपर्ने कुरा नै होइन भन्ने विश्वास बोकेर, यी सबै कुरालाई गम्भीरताका साथ लिए। कतिपय मानिसहरू भन्छन्, “पक्कै पनि, यसको गहिराइमा त पुग्नैपर्छ, हैन? मर्नै परे पनि, किन भनेर त थाहा पाउनुपर्छ।” के यो सृजित प्राणीमा हुनुपर्ने मनोवृत्ति हो? जब परमेश्वरले तँलाई बुझ्न दिनुभएको छैन भने, के तैँले बुझ्नुपर्छ र? जब तँलाई केही गर्न भनिन्छ, तैँले त्यो काम गर्। कुरालाई किन यति जटिल बनाउनु? यदि परमेश्वरले तैँले बुझोस् भन्ने चाहनुहुन्थ्यो भने, उहाँले पहिले नै तँलाई बुझाइसक्नुभएको हुनेथ्यो; उहाँले नबुझाउनु भएकाले, तैँले बुझ्नु आवश्यक छैन। जब तैँले बुझ्नु आवश्यक छैन, र जब तँ बुझ्न असक्षम छस् भने, सबथोक, तैँले कसरी कार्य गर्छस् र तँ परमेश्वरमा समर्पित हुन सक्छस् कि सक्दैनस् भन्ने कुरामा भर पर्छ। यो तिमीहरूका लागि कठिन छ, हैन र? यस्ता परिस्थितिहरूमा, तिमीहरू समर्पित हुँदैनौ, र तिमीहरूमा गुनासो, गलत व्याख्या, र प्रतिरोध बाहेक केही बाँकी हुँदैन। तिमीहरूले जे प्रदर्शन गर्छौ, अब्राहाम त्यसको ठीक विपरीत थिए। तिमीहरूलाई जस्तै, उनलाई पनि परमेश्वरले के गर्न जाँदै हुनुहुन्छ भन्ने थाहा थिएन, न त उनलाई परमेश्वरका कार्यहरूको कारण नै थाहा थियो; उनले बुझेका थिएनन्। के उनी सोध्न चाहन्थे? के उनी के भइरहेको छ भनेर जान्न चाहन्थे? चाहन्थे, तर यदि परमेश्वरले उनलाई नभन्नुभएको भए, उनी अन्यत्र कहाँ सोध्न जान सक्थे र? उनले कसलाई सोध्न सक्थे? परमेश्वरका मामलाहरू रहस्य हुन्छन्; परमेश्वरका मामलाहरूसँग सम्बन्धित प्रश्नहरूको जवाफ कसले दिन सक्छ? तिनलाई कसले बुझ्न सक्छ? मानिसहरू परमेश्वरको स्थानमा उभिन सक्दैनन्। अरू कसैलाई सोधेमा, तिनीहरूले पनि बुझ्नेछैनन्। तिमीहरूले यसबारे चिन्तन गर्न सक्छौ, तर यसको भेउ पाउनेछैनौ, यो कुरा तिमीहरूले बुझ्नै सक्नेछैनौ। त्यसोभए, यदि तिमीहरूले कुनै कुरा बुझ्दैनौ भने, के त्यसको मतलब तिमीहरूले परमेश्वरले भनेअनुसार गर्नुपर्दैन भन्ने हो त? यदि तिमीहरूले केही कुरा बुझेनौ भने, के तिमीहरूले केवल अवलोकन गर्न, विलम्ब गर्न, अवसर पर्खन र अर्को कुनै विकल्प खोज्न मिल्छ? यदि तिमीहरूले कुनै कुरा बुझ्न सक्दैनौ भने—यदि त्यो तिमीहरूले बोध गर्नै नसक्ने छ भने—के त्यसको मतलब तिमीहरू समर्पित हुनुपर्दैन भन्ने हो त? के त्यसको मतलब तिमीहरूले आफ्नो मानव अधिकारमा अडिएर “मसँग मानव अधिकारहरू छन्; म एक स्वतन्त्र व्यक्ति हुँ, त्यसैले मलाई उटपट्याङ कार्यहरू गराउने तपाईँको के अधिकार छ? म स्वर्ग र पृथ्वीको बिचमा खडा हुन्छु—म तपाइँको अवज्ञा गर्न सक्छु” भन्न सक्छौ भन्ने हो त? के अब्राहामले यही गरे? (गरेनन्।) उनले आफू केवल एक साधारण र नगण्य सृजित प्राणी, परमेश्वरको सार्वभौमिकता अन्तर्गत रहेको एक व्यक्ति भएको विश्वास गरेकाले, उनले आज्ञापालन गर्न र समर्पित हुन, परमेश्वरका कुनै पनि वचनलाई हल्का रूपमा नलिन, बरु तिनलाई तिनको सम्पूर्णतामा अभ्यास गर्न रोजे। परमेश्वरले जे भन्नुहुन्छ, र तिनीहरूलाई जे गर्न भन्नुहुन्छ, मानिसहरूसँग अर्को कुनै विकल्प नै हुँदैन। तिनीहरूले सुन्नैपर्छ, र सुनेपछि, तिनीहरूले गएर अभ्यास गर्नैपर्छ। यसबाहेक, त्यसलाई अभ्यास गर्दा, मानिसहरू पूर्ण रूपमा अनि शान्त मनका साथ समर्पित हुनुपर्छ। यदि तँ परमेश्वर तेरो परमेश्वर हुनुहुन्छ भनी स्विकार्छस् भने, तैँले उहाँका वचनहरू पालन गर्नुपर्छ, आफ्नो हृदयमा उहाँका लागि ठाउँ राख्नुपर्छ र उहाँका वचनहरू अभ्यास गर्नुपर्छ। यदि परमेश्वर तेरो परमेश्वर हुनुहुन्छ भने, उहाँले तँलाई भन्नुहुने कुरालाई तैँले विश्लेषण गर्ने प्रयास गर्नु हुँदैन; उहाँले जे भन्नुहुन्छ त्यही चल्छ, र तैँले बुझ्छस्-बुझ्दैनस् वा बोध गर्छस्-गर्दैनस् भन्ने कुराले फरक पार्दैन। महत्त्वपूर्ण कुरा के हो भने उहाँले जे भन्नुहुन्छ, तैँले त्यसलाई स्वीकार गर्नुपर्छ र तँ त्यसमा समर्पित हुनुपर्छ। परमेश्वरका वचनहरूको कुरा आउँदा अब्राहामको मनोवृत्ति यही थियो। अब्राहाममा यही मनोवृत्ति भएकै कारण उनले परमेश्वरका वचनहरू पालन गर्न सके, परमेश्वरले दिनुभएको आदेशमा समर्पित हुन सके, र परमेश्वरको नजरमा धर्मी र सिद्ध व्यक्ति बन्न सके। ती सबै अभिमानी र अतिवादी मानिसहरूको नजरमा, अब्राहाम आफ्नो आस्थाका खातिर आफ्नै छोराको जीवनलाई बेवास्ता गरेर, उसलाई मार्न सहजै वेदीमा राखेर मूर्ख र अलमल्ल देखिएको तथ्यको बावजुद पनि उनी त्यस्तो व्यक्ति बन्न सके। तिनीहरूले सोचे, त्यो अत्यन्तै गैरजिम्मेवारीपूर्ण कार्य थियो; उनी कस्तो अयोग्य र हृदयहीन बुबा रहेछन् र आफ्नो आस्थाका खातिर यस्तो काम गर्नुमा उनी कति स्वार्थी रहेछन्! सबै मानिसहरूका नजरमा अब्राहाम यस्तै देखिन्थे। तर, के परमेश्वरले उनलाई यसरी नै हेर्नुभयो? हेर्नुभएन। परमेश्वरले उनलाई कसरी हेर्नुभयो? अब्राहाम परमेश्वरले भन्नुभएका कुराहरू पालन गर्न र तिनमा समर्पित हुन सक्षम थिए। उनी कुन हदसम्म समर्पित हुन सक्षम थिए? उनले बिनासम्झौता त्यसो गरे। जब परमेश्वरले उनको सबैभन्दा बहुमूल्य कुरा माग्नुभयो, अब्राहामले परमेश्वरलाई त्यो बच्चा फिर्ता दिए, परमेश्वरका लागि उसलाई त्यागे। परमेश्वरले अब्राहामबाट माग गर्नुभएका सबैकुरा उनले पालन गरे र उनी तिनमा समर्पित भए। चाहे मानिसको दृष्टिकोणबाट हेर्दा होस् वा भ्रष्टहरूको नजरबाट हेर्दा होस्, परमेश्वरको अनुरोध अत्यन्तै अनुचित देखिन्थ्यो, तैपनि अब्राहाम समर्पित हुन सके; यो उनको निष्ठा थियो, जसमा साँचो आस्था र परमेश्वरप्रतिको समर्पण थियो। यो साँचो आस्था र समर्पण कसरी प्रतिबिम्बित हुन्थ्यो? यो केवल दुई शब्दमा प्रतिबिम्बित थियो: उनको आज्ञापालन। एउटा साँचो सृजित प्राणीसँग यो भन्दा बहुमूल्य वा मूल्यवान् कुरा केही हुँदैन, र योभन्दा दुर्लभ र सराहनीय कुरा केही हुँदैन। आजका परमेश्वरका अनुयायीहरूमा ठ्याक्कै यही सबैभन्दा बहुमूल्य, दुर्लभ र सराहनीय कुरा छैन।
आजका मानिसहरू शिक्षित र ज्ञानवान् छन्। तिनीहरू आधुनिक विज्ञान बुझ्छन्, साथै परम्परागत संस्कृति र पतित सामाजिक संस्कारहरूद्वारा गहिरो रूपमा संक्रमित, परिबन्धित र प्रभावित भएका छन्; तिनीहरूको दिमाग विचारहरूको आँधी चल्छ, तिनीहरूमा धारणाहरूका भूलभुलैया छन्, र भित्री रूपमा, तिनीहरू पूर्ण रूपमा अव्यवस्थित अवस्थामा छन्। तिनीहरूले धेरै वर्षसम्म प्रवचनहरू सुनेपछि, र परमेश्वर यावत् थोकमाथि सार्वभौम हुनुहुन्छ भनी स्वीकार र भरोसा गर्दै गर्दा, तिनीहरू अझै पनि परमेश्वरका प्रत्येक वचनहरूप्रति अस्वीकार्य र बेपरवाह मनोवृत्ति राख्छन्। तिनीहरूको यी वचनहरूप्रतिको मनोवृत्ति भनेको तिनलाई बेवास्ता गर्नु हो; तिनलाई नदेखेझैँ र नसुनेझैँ गर्नु हो। यो कस्तो प्रकारको व्यक्ति हो? उसले सबै कुराबारे “किन” भन्ने प्रश्न गर्छ; उसलाई सबै कुरा पत्ता लगाउनुपर्ने र सबै कुरा राम्ररी बुझ्नुपर्ने आवश्यकता महसुस हुन्छ। ऊ सत्यताबारे निकै गम्भीर देखिन्छ; बाहिरबाट हेर्दा, उसको व्यवहार, उसले चुकाउने मूल्य, र उसले त्याग्ने कुराहरूले, परमेश्वरमाथिको आस्था र विश्वासप्रति उसको अदम्य मनोवृत्ति रहेको सङ्केत गर्छ। यद्यपि, तिमीहरूले आफैलाई यो कुरा सोध: के तिमीहरू परमेश्वरको वचन र उहाँको हरेक निर्देशनमा अडिग रहेका छौ? के तिमीहरूले ती सबै लागु गरेका छौ? के तिमीहरू आज्ञाकारी व्यक्ति हौ? यदि, तैँले आफ्नो हृदयमा, यी प्रश्नहरूको “होइन” र “छैन” भन्ने जवाफ दिइरहन्छस् भने, तँसित कस्तो प्रकारको विश्वास छ त? तैँले वास्तवमा के उद्देश्यले परमेश्वरमा विश्वास गर्छस्? उहाँप्रतिको आस्थाबाट तैँले केचाहिँ पाएको छस्? के यी कुराहरू खोजबिन गर्न योग्य छन्? के ती उजागर गर्न योग्य छन्? (छन्।) तिमीहरू सबैले चस्मा लगाउँछौ; तिमीहरू आधुनिक, सभ्य मानिसहरू हौ। तिमीहरूमा वास्तवमा आधुनिक कुरा चाहिँ के छ? तिमीहरूमा सभ्य कुरा चाहिँ के छ? के “आधुनिक” र “सभ्य” हुनुले तँ परमेश्वरका वचनहरू पालन गर्ने व्यक्ति होस् भनेर प्रमाणित गर्छ? यस्ता कुराहरूले कुनै अर्थ राख्दैनन्। कतिपय मानिसहरू भन्छन्, “म निकै शिक्षित छु, र मैले ईश्वरशास्त्र अध्ययन गरेको छु।” कतिले भन्छन्, “मैले शास्त्रीय बाइबल धेरै पटक पढेको छु, र म हिब्रू बोल्छु।” कतिले भन्छन्, “म धेरै पटक इस्राएल गएको छु, र प्रभु येशूले बोक्नुभएको क्रूसलाई आफैले छोएको छु।” कतिले भन्छन्, “म आरारात पर्वतमा गएको छु र मैले जहाजका अवशेषहरू देखेको छु।” कोही भन्छन्, “मैले परमेश्वरलाई देखेको छु” र “म परमेश्वरसामु उचालिएको छु।” यो सबको के काम र? परमेश्वरले तँबाट कुनै कठिन कुरा माग गर्नुहुन्न, केवल तैँले उहाँका वचनहरूलाई ईमानदारीपूर्वक पालन गर् भन्ने माग गर्नुहुन्छ। यदि यो तेरो क्षमता बाहिर छ भने, अरू सबथोक बिर्सिदे; तैँले भनेको केही पनि काम लाग्नेछैन। तिमीहरू सबैलाई नोआ र अब्राहामका कथाहरू थाहा छ, तर केवल कथाहरू जान्नु आफैमा बेकार हो। के तिमीहरूले ती दुई व्यक्तिहरूमा सबैभन्दा दुर्लभ र सराहनीय कुरा के थियो भनेर कहिल्यै सोचेका छौ? के तिमीहरू उनीहरू जस्तै बन्ने इच्छा राख्छौ? (राख्छौँ।) तिमीहरूमा यसको कति इच्छा गर्छौ? कतिपय मानिसहरू भन्छन्, “मलाई उनीहरूजस्तै हुने एकदमै इच्छा छ; खाँदा, सपना देख्दा, आफ्नो कर्तव्य निर्वाह गर्दा, परमेश्वरका वचनहरू पढ्दा, र भजन सिकिरहँदा, म त्यसैको बारेमा सोच्छु। मैले त्यसका लागि धेरै पटक प्रार्थना गरेको छु, र भाकल समेत लेखेको छु। यदि मैले परमेश्वरका वचनहरू पालन नगरेमा उहाँले मलाई सराप दिनुहोस्। मलाई परमेश्वरले मसँग कहिले बोलिरहनुभएको छ भनेर थाहा नहुने मात्र हो; यस्तो होइन कि उहाँले मलाई आकाशमा गर्जनको साथ भन्नुहुन्छ।” यो सबको के काम? तैँले “मलाई एकदम इच्छा छ” भन्नुको अर्थ के हो? (यो केवल एउटा मनोकामना हो; यो केवल एउटा आकाङ्क्षा हो।) आकाङ्क्षाको के काम छ? यो त एउटा जुवाडे जस्तै हो जो हर दिन क्यासिनो जान्छ; उसले सबथोक गुमाएपछि पनि, ऊ अझै जुवा खेल्न चाहन्छ। कहिलेकाहीँ उसले यसो सोच्ला, “एकपटक मात्र कोसिस गर्छु, अनि म छोड्ने र फेरि कहिल्यै जुवा नखेल्ने प्रतिज्ञा गर्छु।” चाहे सपना देखिरहेको होस् वा खाइरहेको होस्, उसले एउटै कुरा सोचिरहन्छ, तर त्यसबारे सोचेपछि, ऊ अझै फर्केर क्यासिनोमै जान्छ। प्रत्येक चोटि जुवा खेल्दा, उसले त्यो नै अन्तिम पटक हो भन्छ; र प्रत्येक चोटि क्यासिनोको ढोकाबाट निस्किँदा, ऊ कहिल्यै फर्केर नआउने भन्छ—तर जीवनभर प्रयास गर्दा पनि, उसले कहिल्यै छोड्न सक्दैन। के तिमीहरू त्यो जुवाडे जस्तै छौ? तिमीहरू बारम्बार कामकुरा गर्ने सङ्कल्प गर्छौ अनि आफ्ना सङ्कल्पहरू अस्वीकार गर्छौ, परमेश्वरलाई धोका दिने त तिमीहरूको प्रवृत्ति नै हो, र यसलाई परिवर्तन गर्न सजिलो छैन।
इ. आजका मानिसहरूले परमेश्वरको वचनलाई कसरी लिन्छन् भन्ने कुराको खुलासा गर्नु
मैले भर्खरै भनेका कथाहरूको विषय क्षेत्र के थियो? (परमेश्वरप्रतिका मनोवृत्तिहरूका बारेमा र हामी कसरी परमेश्वरको वचन पालन गर्न र घटनाहरू घट्दा परमेश्वरमा समर्पित हुन सक्छौँ भन्ने बारेमा।) यी दुई कथाहरूले तिमीहरूलाई सिकाएको मुख्य कुरा के थियो? (आज्ञापालन गर्नु र समर्पित हुनु, अनि परमेश्वरको वचनका मागहरूअनुसार कार्य गर्नु।) आज्ञापालन गर्न सिक्नु, र परमेश्वरका वचनहरू पालन गर्ने अभ्यास गर्नु महत्त्वपूर्ण छ। तँ परमेश्वरको अनुयायी हुँ एक सृजित प्राणी हुँ, परमेश्वरको नजरमा एउटा मानव हुँ भन्छस्। तर, तैँले जिउने र प्रकट गर्ने कुरामा, परमेश्वरका वचनहरू सुनेपछि आउने समर्पण वा अभ्यासको कुनै सङ्केत नै छैन। त्यसोभए, के “सृजित प्राणी,” “परमेश्वरलाई पछ्याउने व्यक्ति” र “परमेश्वरको नजरमा मानव” भन्ने शब्दहरू तँमा लागु हुँदा ती पछाडि प्रश्नवाचक चिन्हहरू राखिनुपर्छ? अनि यी प्रश्नवाचक चिन्हहरू हुँदा, तैँले मुक्तिको कति ठूलो आशा राख्छस्? यो अज्ञात छ, सम्भावनाहरू कम छन्, र तँ आफैले भन्ने हिम्मत गर्दैनस्। यस अघि, मैले तँलाई परमेश्वरका वचनहरू कसरी पालन गर्ने भन्नेबारे दुईवटा शास्त्रीय कथाहरू सुनाएँ। जसले बाइबल पढेको छ र धेरै वर्षदेखि परमेश्वरलाई पछ्याएको छ ऊ यी दुई कथाहरूसँग पहिल्यै परिचित हुन्छ। तर यी कथाहरू पढेर, कसैले पनि सबैभन्दा महत्त्वपूर्ण सत्यताहरू मध्ये एउटा सत्यता बुझेको छैन: परमेश्वरका वचनहरू पालन गर्ने। हामीले परमेश्वरका वचनहरू कसरी पालन गर्ने भन्नेबारे कथाहरू सुनिसकेकाले, अब हामी मानिसहरूले परमेश्वरको वचनहरूको अवज्ञा गरेकासम्बन्धी कथाहरूतर्फ जाऔँ। परमेश्वरका वचनहरूको अवज्ञा उल्लेख भएकाले, यी कथाहरू आजका मानिसहरूका बारेमा नै हुनुपर्छ। मैले भनेका कतिपय कुराहरू सुन्न असहज हुन सक्छन्, र यसले तिमीहरूको गौरव र आत्मसम्मानमा चोट पुर्याउन सक्छ, साथै तिमीहरूमा निष्ठा र मर्यादाको कमी भएको देखाइनेछ।
एउटा जमिनको टुक्रा छ जसमा मैले केही मानिसहरूलाई तरकारी रोप्न भनेँ। यसको उद्देश्य आफ्ना कर्तव्य निर्वाह गरिरहेका मानिसहरूले केही जैविक खाना खान सकून्, र कीटनाशकहरू छरिएका अजैविक तरकारीहरू किन्न नपरोस् भन्ने थियो। यो एउटा राम्रो कुरा थियो, हैन? एक हिसाबले, सबैजना सँगै एउटा ठूलो परिवारझैँ भएर बस्छन्, र सबैले समाजका प्रचलन र कलहबाट टाढा रहेर, सँगै परमेश्वरमा विश्वास गर्न सक्छन्। यस्तो वातावरण सृजना गर्दा सबैलाई ढुक्क भएर आफ्नो कर्तव्य पूरा गर्न मद्दत मिल्छ। त्यो सानो दृष्टिकोण हो। ठूलो दृष्टिकोणबाट हेर्दा, कर्तव्य निर्वाह गर्नेहरूले खाऊन् भन्नका लागि तरकारीहरू रोप्नु, अनि परमेश्वरको सुसमाचार फैलाउनमा भूमिका खेल्नु पनि उपयुक्त हुन्छ। जब म, “कर्तव्य निर्वाह गर्ने मानिसहरूका लागि नजिकै केही तरकारीहरू रोप्नु” भन्छु, के यी वचनहरू बुझ्न सजिला छैनन् र? मैले एउटा निश्चित व्यक्तिलाई त्यसो गर्नू भन्दा, उसले बुझ्यो, र सामान्यतया खाइने केही तरकारीहरू रोप्यो। मलाई लाग्छ तरकारी रोप्नु जस्तो कुरा सरल नै हुन्छ। सबै साधारण मानिसहरूले त्यो गर्न सक्छन्। यो सुसमाचार फैलाउनु वा मण्डलीका कामका विभिन्न क्रियाकलापहरू जत्तिको गाह्रो हुँदैन। त्यसैले मैले त्यसलाई खासै ध्यान दिइनँ। केही समयपछि, म त्यहाँ गएँ र तिनीहरू सबैले आफूले रोपेका तरकारीहरू आफै खाँदै गरेको देखेँ, र कहिलेकाहीँ केही बढी भएको तरकारी तिनीहरूले कुखुरालाई खुवाउने गरेको कुरा सुनेँ। मैले भनेँ, “तिमीहरूले ती सब तरकारीहरू रोप्यौ, अनि उपज राम्रो भयो। के तिमीहरूले मण्डलीहरूलाई केही तरकारी पठाइरहेका छौ? के अरू मण्डलीका मानिसहरूले हामीले रोपेका तरकारी खान पाएका छन्?” कतिपय मानिसहरूले थाहा छैन भने। केहीले अरू ठाउँका मानिसहरूले आफ्नै तरकारी किन्ने गरेका र यहाँका तरकारी नखाने गरेका बताए। सबैले फरक कुरा भने। यसबारे कसैलाई वास्तै थिएन; तिनीहरूले खानलाई आफूसँग अलिकति तरकारी भएसम्म, कुनै समस्या नभएको ठान्थे। के यो घृणित कुरा होइन र? मैले पछि प्रभारी व्यक्तिलाई भनेँ, “तिमीहरूले आफूले उब्जाएको चिज खानु पूर्णतया जायज हो, तर अरू मानिसहरूले पनि त खानु पर्छ। तिमीहरूले यति धेरै रोप्यौ र सबै खान सकेनौ, जबकि अरू ठाउँमा अझै तरकारी किनेरै खानुपर्छ, के यो ठिक हो? के मैले तँलाई यी तरकारीहरू तिमीहरूलाई खान मात्र रोपिएको होइन—तैँले नजिकैका अन्य मण्डलीहरूमा पनि पठाउनुपर्छ भनेर भनेको थिइनँ?” के तिमीहरूलाई यो सानो मामलाको सम्बन्धमा मैले तिनीहरूलाई के गर्ने भनेर भनिरहनुपर्छ र स्पष्ट नियमहरू बनाइरहनुपर्छ जस्तो लाग्छ? के मैले सबैलाई सेवा सङ्गतिमा बोलाएर प्रवचन दिएर यसका बारेमा ठूलो बिगुल फुक्नुपर्थ्यो? (पर्थेन।) मलाई पनि त्यस्तो लाग्दैन। के मानिसहरूमा यस्तो सानो सुझबुझ नहुनु सम्भव छ? यदि त्यसो भएको भए, तिनीहरू मानव हुनेथिएनन्। त्यसैले मैले त्यो व्यक्तिलाई फेरि भनेँ, “ती तरकारी अरू मण्डलीहरूमा झट्टै पठा। जा, त्यो काम फत्ते गर्।” “हुन्छ,” उसले भन्यो, “म हेर्छु।” उसको मनोवृत्ति त्यस्तो थियो। केही समय पछि, म फेरि त्यहाँ गएँ, र खेतमा कल्पना गर्न सकिने सबै प्रकारका तरकारीहरूको ठूलो फैलावट देखेँ। मैले ती रोप्ने मानिसहरूलाई उब्जनी टन्नै भयो कि भएन भनेर सोधेँ। तिनीहरूले, यति धेरै उब्जनी भयो कि तिनीहरूले ती सबै खान नसकेर केही सडेर गए भनेर भने। मैले तिनीहरूलाई नजिकैका मण्डलीहरूमा तिनीहरूले केही पठाए कि पठाएनन् भनेर फेरि सोधेँ। तिनीहरूले थाहा छैन, निश्चित छैनौँ भन्ने जवाफ दिए। तिनीहरूले यो कुरा अत्यन्तै अस्पष्ट र झाराटारुवा तरिकामा भने। यो कुरालाई कसैले गम्भीरतापूर्वक लिएको थिएन भन्ने प्रस्टै थियो। तिनीहरूलाई खानका लागि केही भएसम्म, अरू कसैको प्रवाह थिएन। म फेरिजिम्मेवार व्यक्तिलाई खोज्न गएँ। मैले उसलाई तिनीहरूले कुनै तरकारी पठाएका थिए कि भनेर सोधेँ। उसले पठाएको थियो भनेर भन्यो। मैले कसरी वितरण गरियो भनेर सोधेँ। उसले ती वितरण भइसकेको भनेर भन्यो। यो बिन्दुमा, के तिमीहरूलाई त्यहाँ कुनै समस्या थियो जस्तो लाग्छ? यी मानिसहरूको मनोवृत्ति ठीक थिएन। आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरूमा वफादारी र जिम्मेवारीको मनोवृत्ति थिएन, जुन घृणित कुरा हो—तर जे हुनेवाला थियो त्यो झन् घृणित थियो। पछि, मैले नजिकैका मण्डलीहरूमा दाजुभाइ-दिदीबहिनीहरूलाई तिनीहरूले कुनै तरकारी पाएका थिए कि थिएनन् भनेर सोधेँ। तिनीहरूले जवाफ दिए, “पठाउन त पठाइएका थिए, तर ती बजारमा भुइँमा फालिएका जुन तरकारी हुन्छन् तीभन्दा खराब अवस्थामा थिए। त्यसमा बालुवा र गिट्टी मिसिएको सडेका पातहरूबाहेक केही थिएन। ती खानै नमिल्ने थिए।” यो सुन्दा तिमीहरूलाई कस्तो महसुस हुन्छ? के तिमीहरूको हृदयमा क्रोध जाग्छ? के तिमीहरू क्रोधित छौ? (हजुर।) यदि तिमीहरू सबै क्रोधित छौ भने, के तिमीहरूलाई म रिसाएको थिएँ भन्ने लाग्छ? तिनीहरूले अनिच्छापूर्वक केही तरकारी त पठाए, तर काम राम्रो गरेनन्। अनि यो खराब कामको कारण चाहिँ को थियो? त्यस ठाउँमा एउटा दुष्ट व्यक्ति थियो, जसले ती तरकारी पठाउन रोकेको थियो। मैले तरकारी पठाउन आदेश दिएपछि उसले के भन्यो? “तिमी मलाई यो काम गर्न भन्छौ भने, म केही सडेका पात र हामीले खान नचाहेका तरकारीहरू जम्मा गरेर उनीहरूलाई पठाउनेछु। त्यसलाई पठाइएको नै मानिन्छ, हैन र?” यो थाहा पाएपछि, मैले त्यो दानवी रद्दीको टुक्रालाई निकाल्ने आदेश दिएँ। उसले तानाशाह जस्तै व्यवहार देखाउने आँट गर्नका लागि यो कस्तो प्रकारको ठाउँ थियो? यो परमेश्वरको घर हो। यो समाज होइन, यो खुला बजार होइन। यदि तँ यहाँ झर्कोफर्को गर्छस् र तानाशाहझैँ व्यवहार गर्छस् भने, यो ठाउँ तेरा लागि होइन, र म तँलाई मेरो आँखा अगाडि राख्न सक्दिनँ, झट्ट गैहाल्! मबाट जति सक्छस् त्यत्ति टाढा जा, जहाँबाट आइस् त्यहीँ फर्कि! के तिमीहरूलाई मैले त्यसलाई यसरी सम्हाल्नु उचित थियो जस्तो लाग्छ? (लाग्छ।) किन? (यस्तो व्यक्तिमा मानवताको अत्यन्तै कमी हुन्छ।) त्यसोभए मानवताको कमी भएका केही मानिसहरूलाई किन निकालिएको छैन? कतिपय मानिसहरूमा कुनै विवेक वा समझ हुँदैन, र तिनीहरू सत्यता पछ्याउँदैनन्, तर तिनीहरूले दुष्ट कामकुरा गर्ने, मण्डलीको काममा बाधा पुर्याउने, अरू मानिसहरूको कर्तव्य निर्वाहमा, वा मण्डली जीवनमा प्रभाव पार्ने गर्दैनन्। यस्तो व्यक्तिलाई अहिलेका लागि सेवा दिन राख्नुपर्छ, तर जब उसले दुष्टता गर्छ, बाधा र अवरोध निम्त्याउँछ, तब मात्र उसलाई निकाल्दा फरक पर्दैन। त्यसोभए मैले यो फोहोरको टुक्रालाई किन फाल्नुपर्यो? उसले तानाशाहझैँ व्यवहार गर्न र परमेश्वरको घरमा हैकम चलाउन चाहन्थ्यो। उसले दाजुभाइ—दिदीबहिनीहरूको सामान्य जीवन प्रभावित बनायो, र परमेश्वरको घरको काममा असर पाऱ्यो। कतिपय मानिसहरूले ऊ निकै स्वार्थी, निकै अल्छी छ र उसले झाराटारुवा तरिकाले कर्तव्य निर्वाह गर्छ भने। के कुरो त्यही थियो त? उसले सबै दाजुभाइ—दिदीबहिनीहरू विरुद्ध, कर्तव्य निर्वाह गर्नेहरू विरुद्ध अनि परमेश्वरका विरुद्ध आफूलाई खडा गर्न चाहन्थ्यो। ऊ परमेश्वरको घर कब्जा गर्न चाहन्थ्यो। ऊ परमेश्वरको घरमा हैकम चलाउन चाहन्थ्यो। यदि ऊ हैकम चलाउन चाहन्थ्यो भने, उसले केही असल कार्य गरेको भए हुन्थ्यो। तर उसले कुनै असल कार्य गरेन। उसले गरेको सबै कुराले परमेश्वरको घरको हितलाई हानि गर्यो र परमेश्वरका चुनिएका मानिसहरूलाई चोट दियो। के तिमीहरूले यस्तो व्यक्तिलाई सहन सक्थ्यौ? (सक्दैनथ्यौँ।) यदि तिमीहरू कसैले सक्दैनथ्यौ भने, मैले सक्थेँ जस्तो लाग्छ? त्यस दुष्ट व्यक्तिलाई निकालिएको तथ्यलाई लिएर अझै दुःखी हुने मानिसहरू आज पनि छन्। तिनीहरूले उसलाई छर्लङ्ग बुझ्न सक्दैनन्, र अझै पनि तिनीहरू मनमनै मेरो विरोध गर्छन्। आज त्यस्ता मानिसहरू छन्, जो त्यस व्यक्तिको कुरा उठ्नेबित्तिकै, अझै पनि मैले यो विषयलाई उचित रूपमा सम्हालेँ भन्ने सोच्दैनन्, जो परमेश्वरको घर धर्मी छैन भन्ने सोच्छन्। यो कस्तो खालको गिरोह हो? के तिमीहरूलाई त्यस व्यक्तिले तिनीहरूले उब्जाएको साग कसरी उखेल्थ्यो भन्ने कुरा थाहा छ? सामान्यतया, तिमीहरूले पूरै डाँक्लो उखेलेर खान्छौ, हैन? के कसैले पात मात्र टिप्छ? (टिप्दैन।) यो विचित्र केटोले अरूलाई पूरै डाँक्लो नै उखेल्न दिँदैनथ्यो; उसले तिनीहरूलाई पात मात्र टिप्न भन्थ्यो। मैले यस्तो कुरा देखेको यो पहिलोपटक थियो। तिमीहरूलाई उसले किन यसो गऱ्यो जस्तो लाग्छ? किन उसले अरूलाई पूरै बिरुवा उखेल्न दिएन? किनभने यदि तिनीहरूले पूरै बिरुवा उखेले भने, खेत खाली हुनेथ्यो, र फेरि खेत जोतेर बिरुवा रोप्नुपर्ने हुन्थ्यो। त्यो जमर्को नगर्न, उसले अरूलाई पातहरू टिप्न भन्थ्यो। उसले मानिसहरूलाई यसो गर्न भनेपछि, उसको विरोध गर्ने साहस कसैले गरेन। तिनीहरू उसका दासझैँ थिए—तिनीहरू उसले भनेको सबै कुरा गर्थे। त्यहाँ उसले हैकम चलाउँथ्यो। त्यसोभए के तिमीहरूलाई उसलाई ननिकाल्नु स्वीकार्य हुनेथियो भन्ने लाग्छ? (लाग्दैन।) यस्तो व्यक्तिलाई बस्न दिनु दुर्भाग्य हुनेथ्यो। जब उसले कहिलेकाहीँ केही राम्रो कुरा देखाउँछ भने, त्यो आफ्ना स्वार्थहरू संलग्न नभएकाले हो। उसले गर्ने हरेक कुरालाई राम्ररी हेर्: त्यस्तो एउटा पनि कुरा छैन जसले अरूको हितमा बाधा र क्षति नपुर्याओस्, जसले परमेश्वरको घरको हितलाई हानि नगरोस्। यो व्यक्ति जन्मिँदै भूत थियो, उसले आफूलाई परमेश्वरको विरुद्धमा खडा गर्छ, र ऊ ख्रीष्टविरोधी हो। के त्यस्तो व्यक्तिलाई परमेश्वरको घरमा रहने अनुमति दिन मिल्छ? के ऊ कर्तव्य निर्वाह गर्न लायक छ? (छैन।) तर अझै पनि केही मानिसहरू यस्तो व्यक्तिको प्रतिरक्षा गर्न खोज्छन्। तिनीहरू कति अलमलिएका छन्? यो घृणास्पद कुरा होइन र? के तँ आफूमा प्रेम छ भनेर देखाउन खोज्दैछस्? यदि तँमा प्रेम छ भने, तैँले नै उसको भरणपोषण गर्; यदि तँमा प्रेम छ भने, उसलाई तँलाई हानि पुऱ्याउन दे—तर उसलाई परमेश्वरको घरका हितलाई हानि पुऱ्याउन नदे! यदि तँमा प्रेम छ भने, ऊ पखालिएपछि, ऊसँगै जा—अझै यतै हल्लिएर के गर्दै छस्? के यी मानिसहरू आज्ञाकारी र समर्पित छन्? (छैनन्।) तिनीहरू भूतहरूको गिरोहका रूपमा जन्मेका थिए। त्यो व्यक्तिले मैले भनेको हरेक कुराको अवज्ञा गऱ्यो। यदि मैले पश्चिम भनेँ भने, ऊ पूर्वतिर लाग्थ्यो, र यदि मैले पूर्व भनेँ भने, ऊ पश्चिमतर्फ लाग्थ्यो। उसले हरेक कुरामा मेरो विरोध गर्ने अड्डी कसेको थियो। उसलाई मेरो अलिकति पनि आज्ञापालन गर्न किन यति गाह्रो भयो? के मैले उसलाई अरू दाजुभाइ—दिदीबहिनीहरूलाई तरकारी पठाउन भन्दा ऊ आफ्नो भागबाट वञ्चित हुनेथ्यो? के मैले उसलाई यी तरकारी खाने अधिकारबाट वञ्चित गरिरहेको थिएँ? (थिएन।) त्यसोभए उसले तिनीहरूलाई तरकारी किन पठाएन? उसले आफै बोक्नुपर्ने त थिएन, उसको तर्फबाट कुनै पनि मेहनत लाग्नेथिएन। तर उसले अरूलाई कुनै राम्रो तरकारी नदिएको मात्र होइन, तिनीहरूलाई कुहिएका तरकारी दियो। यसो गर्नका लागि ऊ कत्ति खराब होला? के उसलाई मान्छे मान्न सकिन्छ? मैले उसलाई फोहोर होइन तरकारी पठाउन भन्याथेँ। यति सरल, यति सजिलो, केवल आफ्नो पाखुरा चलाउनुपर्ने कुरा थियो, तर उसले यो समेत गर्न सकेन। के यो कुनै व्यक्ति हो? यदि तँ यस्तो कुरा समेत गर्न सक्दैनस् भने, तैँले कसरी परमेश्वरप्रति समर्पण रहेको दाबी गर्न सक्छस्? तँ जुध्छस्, प्रतिकार गर्छस्, र तैपनि परमेश्वरका घरमा सित्तै खाने बस्ने प्रयास गर्छस्। के त्यस्तो कहिल्यै हुन सक्छ? आज पनि, त्यस्ता मानिसहरू छन् जसले बिर्सेका छैनन्: “तिमीले एक पटक हाम्रो भावनामा चोट पुऱ्याएका थियौ। तिमीले एक पटक हामीमध्ये धेरैलाई निकालेका थियौ, तर हामी सहमत थिएनौँ; हामी तिनीहरू बसून् भन्ने चाहन्थ्यौँ, तर तिमीले तिनीहरूलाई मौका नै दिएनौ। के तिमी धर्मी परमेश्वर हौ?” के तिमीहरूलाई भूतहरूले परमेश्वर धर्मी हुनुहुन्छ भनेर कहिल्यै भन्छन् जस्तो लाग्छ? (लाग्दैन।) तिनीहरूको मुखले त परमेश्वर धर्मी हुनुहुन्छ भन्ला, तर जब परमेश्वरले कार्य गर्नुहुन्छ, त्यो तिनीहरूलाई उचित लाग्दैन; तिनीहरूले परमेश्वरको धार्मिकताको प्रशंसा गर्नै सक्दैनन्। यिनीहरू भूत र पाखण्ड हुन्।
तरकारी पुर्याउने जस्तो सानो मामलाले समेत के देखाउँछ? के मानिसहरूलाई परमेश्वरमा समर्पित हुन र परमेश्वरका वचनहरू पालन गर्न सजिलो छ? (छैन।) मानिसहरू परमेश्वरले प्रदान गर्नुभएको खाना खान्छन्, परमेश्वरले प्रदान गर्नुभएको घरमा बस्छन्, परमेश्वरले प्रदान गर्नुभएका चीजहरू उपयोग गर्छन्, तर परमेश्वरले तिनीहरूलाई उब्रेको तरकारी अरूसँग बाँड्न भन्नुहुँदा, के तिनीहरू समर्पित हुन्छन्? के यी वचनहरू तिनीहरूमा कार्यान्वयन हुन सक्छन्? मानिसहरूमा भए, हुन सक्छन्। तिनलाई कार्यान्वयन गर्न सकिन्छ। तर दियाबलस, शैतान र ख्रीष्टविरोधीहरूमा, ती कहिल्यै कार्यान्वयन हुनेछैनन्। त्यो व्यक्तिले मनमनै सोच्थ्यो, “यदि मैले यी तरकारीहरू पठाएँ भने, के मेरो यो असल कार्य कसैले याद गर्नेछ? यदि अरूले यी तरकारी खाए र त्यो परमेश्वरको अनुग्रह हो, र परमेश्वरले नै मलाई त्यो कार्य गर्न लगाउनुभएको हो भनेमा, यदि सबैले परमेश्वरलाई धन्यवाद दिए भने मलाई चाहिँ कसले धन्यवाद दिनेछ? पर्दा पछाडिको नायक त म हुँ, परिश्रम गर्ने त म थिएँ। मैले नै तरकारी रोपेको थिएँ। तिमीले मलाई धन्यवाद दिनुपर्छ। र यदि दिँदैनौ भने, यदि तिमीलाई यो मैले गरेको हो भनेर थाहा छैन भने, यदि तिमीले मैले उमारेको तरकारी खान पाउँछु भन्ठान्छौ भने तिमी सपना देखिरहेका छौ!” के उसले सोचेको यही होइन र? के यो दुष्ट कुरा होइन र? यो अत्यन्तै दुष्ट कुरा हो! दुष्ट मानिसले कसरी सत्यता अभ्यास गर्न र परमेश्वरका वचनहरू पालन गर्न सक्छ होला र? यो व्यक्ति एउटा दियाबलस र शैतानका रूपमा जन्मिएको थियो। ऊ परमेश्वरको विरोधमा खडा हुन्छ, उसले सत्यताको प्रतिरोध गर्छ, र सत्यतालाई तिरस्कार गर्छ। ऊ परमेश्वरका वचनहरू पालन गर्न असक्षम छ, त्यसकारण के उसले ती पालन गर्नुपर्ने कुनै आवश्यकता त? छैन। त्यसोभए यस्तो मामलालाई कसरी सम्हाल्नुपर्छ? उसलाई निकाल्नुपर्छ, र उसको ठाउँमा आज्ञापालन गर्न सक्ने कोही खोज्नुपर्छ। त्यही हो, त्यो यति सरल छ। यसरी कुराहरू सम्हाल्नु उपयुक्त हुन्छ कि हुँदैन? (उपयुक्त हुन्छ।) मलाई पनि त्यस्तै लाग्छ। यदि ऊ गएन भने, उसले समस्या निम्त्याउनेछ, र अरू सबैलाई हानि पुऱ्याउनेछ। कतिपय मानिसहरू भन्छन्, “के तपाईं उसले तपाईँका वचनहरू पालन नगरेकाले असन्तुष्ट हुनुभएको हो? उसले तपाईँको अवज्ञा गरेको मात्र त हो—के त्यो त्यति गम्भीर कुरा थियो र? तपाईँले उसलाई त्यस्तो मामूली कुराका लागि निकाल्नुभयो, तर उसले वास्तवमा कुनै खराब कार्य गरेको थिएन। उसले केही सडेका तरकारीहरू पठाएको, र एक-दुई पटक केही नपठाएको र तपाईँको आज्ञापालन नगरेको मात्र हो। यो त सानो मामला हो, हैन र?” के कुरा त्यही हो त? (होइन।) त्यसोभए तिमीहरूलाईमैले यसलाई कसरी हेर्छु जस्तो लाग्छ? उसले यति सानो कुरा समेत पालन गर्न सकेन, तैपनि अव्यावहारिक रूपमा कामकुरामा अवरोध पुर्याउने प्रयास गऱ्यो। यो परमेश्वरको घर हो, यहाँ केही पनि उसको थिएन। घाँसको हरेक त्यान्द्रो, हरेक रूख, हरेक डाँडापाखा, यहाँ भएको हरेक जलाशय—ऊसँग यी कुनै पनि कुराहरूमाथि नियन्त्रण गर्ने वा हैकम चलाउने अख्तियार थिएन। उसले हैकम चलाउने, कामकुरालाई अव्यावहारिक रूपमा अवरोध गर्ने प्रयास गऱ्यो। ऊ के थियो? उसको त केही पनि लिइने वा प्रयोग गरिने थिएन, न त उसको केही कुरा नै पठाइएको थियो; उसलाई केवल आफ्नो पाखुरा चलाउन र उसले गर्नुपर्ने जिम्मेवारी पूरा गर्न भनिएको थियो, तैपनि उसले त्यो समेत गर्न सकेन। उसले त्यसो गर्न नसकेकाले, मैले उसलाई विश्वासीका रूपमा स्वीकार गरिनँ, र ऊ परमेश्वरको घरबाट निस्कनुपर्यो, उसलाई निकाल्नुपर्यो! के मैले यसो गर्नु उचित थियो? (थियो।) यी परमेश्वरको घरका प्रशासनिक आदेशहरू हुन्। यदि मैले कुनै त्यस्तो दुष्ट व्यक्तिले दुष्टता गरिरहेको भेट्टाएँ र उसलाई पखालेर निकालिनँ भने, यदि मैले ऊप्रति कुनै पनि मनोवृत्ति व्यक्त गरिनँ भने, तिमीहरूको विचारमा कति जना मानिसहरूलाई हानि पुग्नेथ्यो? के यसले परमेश्वरको घरलाई अस्तव्यस्त बनाउने थिएन र? अनि के परमेश्वरको घरका प्रशासनिक आदेशहरू रित्ता शब्दहरूमा परिणत हुनेथिएनन् र? त्यसोभए परमेश्वरको घरका प्रशासनिक आदेशहरूले बाधा पुऱ्याउने, अव्यावहारिक रूपमा कामकुरामा अवरोध गर्ने र निर्लज्ज रूपमा कार्य गर्ने यी अनाज्ञाकारी भूतहरू र ख्रीष्टविरोधीहरूका सन्दर्भमा के-कस्ता कुराहरू तोकेका छन्? तिनीहरूलाई निकाल्ने र परमेश्वरको घरबाट निष्कासित गर्ने। तिनीहरूलाई दाजुभाइ—दिदीबहिनीहरूको दर्जाबाट पखालेर निकाल्ने। तिनीहरूलाई परमेश्वरको घरको सदस्यका रूपमा गणना नगरिने। तिनीहरूसँग यसरी व्यवहार गर्नेबारे तिमीहरूलाई के लाग्छ? एकपटक यस्ता प्रकारका मानिसहरूलाई पखालेपछि, सबै काम सहज रूपमा अघि बढ्नेछ। दियाबलस र शैतानहरू तरकारी खानेजस्तो सानो कुरामा पनि शोषण गर्न खोज्छन्। यसमा पनि, तिनीहरू हैकम चलाउन र जे मन लाग्यो त्यही गर्न खोज्छन्। हामीले कुरा गरेका सबथोक सानो कुरा हो, तर पनि, यसले सबै सत्यताहरूको सबैभन्दा महत्त्वपूर्ण कुरालाई छुन्छ। सत्यताहरूमध्ये सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको परमेश्वरका वचनहरू पालन गर्नु हो। त्यो समेत गर्न नसक्नेहरूको स्वभाव कस्तो हुन्छ? के तिनीहरूसँग सामान्य मानिसहरूको विवेक र समझ हुन्छ? बिलकुलै हुँदैन। यिनीहरू मानवता नभएका मानिसहरू हुन्।
तरकारीसँगै मानिसले आफ्नो दैनिक जीवनमा मासु र अण्डाको पनि उपभोग गर्नुपर्छ। त्यसैले मैले केही मानिसहरूलाई केही कुखुरा पाल्न, र यी कुखुराहरूलाई अन्न, तरकारी र इत्यादि खुवाउन भनेँ। तिनीहरूलाई छाडा छोडिदिनुपर्छ। त्यसो गरियो भने, तिनीहरूले बजारमा बेचिने भन्दा राम्रा अण्डा पार्नेछन्। कुखुराको मासु आफैमा पनि जैविक हुनेछ; कम्तीमा पनि, यसमा कुनै हर्मोन हुनेछैन, र मानिसहरूले खाँदा त्यो हानिकारक हुँदैन। कुखुराले धेरै मात्रामा अण्डा वा मासु उत्पादन नगर्लान्, तर गुणस्तरको ग्यारेन्टी चाहिँ हुनेछ। मैले यसबाट के भन्न खोजेको भनेर बुझिस्? (बुझेँ।) त्यसोभए ल भन्, मैले भर्खरै भनेको कुरामा कतिवटा जानकारी समावेश छन्? पहिलो, यसरी कुखुरा हुर्काउँदा हामीले खानलाई केही जैविक अण्डा पाउँछौँ। हामीले चाहे जतिवटा खान सके पनि, कम्तीमा, हामीले एन्टिबायोटिक भएको अण्डा खानुपर्ने थिएन। अण्डामा हुनुपर्ने कुरा त्यही नै थियो। दोस्रो, मासुमा चाहिँ हर्मोनहरू हुनु हुँदैन, ताकि मानिसहरूलाई त्यो खान कुनै सङ्कोच नहोस्। के यी कुनै पनि कुरा ठूलो माग थियो र? (थिएन।) मैले राखेका अनुरोधहरू अत्यधिक नभएका मात्र होइनन्, ती व्यावहारिक पनि थिए, हैन? (हो।) पछि, चल्लाहरू किनियो र तिनलाई खुवाइयो। तिनले अण्डा पार्न थालेपछि, हामीले ती अण्डा खायौँ; तैपनि, तिनमा सुपरमार्केटबाट किनेका अण्डामा जस्तै एन्टिबायोटिकको हल्का गन्ध थियो। मैले यसबारे अलिक सोचेँ: के तिनीहरूले तिनलाई एन्टिबायोटिक्स भएको दाना दिइरहेका थिए? पछि, मैले कुखुराको हेरचाह गर्ने मानिसहरूलाई कुखुराले के दाना खाइरहेका छन् भनेर सोध्दा, तिनीहरूले हड्डीको धुलो भने। “हामीलाई यी कुखुराहरूले चाँडै अण्डा पारून् भन्ने छैन। तिनलाई सामान्य जैविक, अप्रतिबन्धित विधिहरू प्रयोग गरेर खुवा। तिनलाई सामान्य रूपमा अण्डा पार्न दे,” मैले भनेँ। “हामीले तिनलाई धेरै अण्डाहरू पार्न पालेका होइनौँ, जैविक अण्डाहरू खान पाऔँ भनेर मात्र हो। चाहिएको त्यत्ति मात्र हो।” मैले यसो भन्नुको अर्थ के थियो? मैले तिनीहरूलाई, कुखुरालाई एन्टिबायोटिक्स, हर्मोन र इत्यादि हालिएका कुनै पनि कुराहरू नखुवाउनू भनिरहेको थिएँ। ती कुखुरालाई अन्य ठाउँका कुखुराले खाने भन्दा फरक दाना दिनुपर्थ्यो। अन्यत्र, कुखुराहरू तीन महिनामै पूर्ण रूपमा हुर्किन्छन्, तिनले हरेक दिन अण्डा पार्छन्, र तिनलाई मारिने दिनसम्म अण्डा दिने मेसिनका रूपमा प्रयोग गरिन्छ। के यसबाट राम्रो अण्डा उत्पादन हुन्छ? अनि के मासु स्वादिष्ठ हुन्छ? (हुँदैन।) मैले कुखुराहरू अप्रतिबन्धित होऊन्, तिनलाई बाहिर चर्न, कीरा र झारपातहरू खान दिइयोस्, र त्यसपछि तिनलाई केही अनाज, दाना इत्यादी खुवाइयोस् भनेँ। यसले गर्दा अण्डा कम उत्पादन हुने भए पनि, गुणस्तर राम्रो हुनेथ्यो; यो कुखुरा र मानिसका लागि राम्रो हुनेथ्यो। के मैले भनेको कुरा हासिल गर्न सजिलो थियो? (थियो।) अनि के यो बुझ्न सजिलो थियो? के मैले भनेको कुरा पालन गर्नमा कुनै कठिनाइ थियो? (यो बुझ्न सजिलो थियो। यो कठिन थिएन।) मलाई त्यसमा कुनै कठिनाइ भएको महसुस भएन। यो सजिलो थियो। मैले यतिवटा अण्डा उत्पादन हुनुपर्छ भनेर कुनै माग गरिनँ, केवल गुणस्तरको माग गरेँ। सामान्य समझ र सोच्ने तरिका सामान्य भएका मानिसहरूले यो सुन्ने बित्तिकै बुझ्नेथे। तिनीहरूले यो सरल छ, सम्भव छ भनेर महसुस गर्नेथे र त्यसपछि चाँडै यसलाई अघि बढाउनेथिए। यसलाई आज्ञाकारी हुनु भनिन्छ। त्यसोभए के ती कुखुरा पाल्ने मानिसहरूले यही गरे त? के तिनीहरूले यसो गर्न सके? यो गर्न सक्नु भनेको सामान्य मानवताको समझ हुनु हुनेथ्यो। यो गर्न नसक्नुको अर्थ भनेको केही समस्या छ भन्ने हुनेथ्यो। मैले यो भने पछि छिट्टै मौसम चिसो भयो। प्रकृतिको सामान्य नियमका आधारमा, यसले कुखुरालाई अण्डा पार्नबाट रोक्नेथ्यो। तर एउटा धेरै उल्लेखनीय कुरा भइदियो: जब जाडो बढ्यो, कुखुराले कम होइन धेरै अण्डा पारे। हरेक दिन खानलाई अण्डा हुन्थे, तर अण्डाका पहेँला भाग पहिले जस्तै पहेँला हुन्थेन, र सेता भाग झन्-झन् कडा बन्दै गए। अण्डा झन्-झन् कम स्वादिलो हुँदै गए। के भइरहेको थियो? मैले भनेँ, “यो के हुँदैछ? यी कुखुराहरूलाई जाडो कटाउनै मुस्किल छ, तिनलाई अहिले मानिसहरूका लागि अण्डा पार्न लगाएर के गर्न खोजेको? यो त अलि क्रूर भयो!” जब पछि मैले गएर सोधेँ, मैले ती कुखुराहरूलाई अझै पनि अन्तैबाट किनेको दाना दिइएको थाहा पाएँ—त्यस्तो दाना जसले वसन्त, ग्रीष्म, शरद वा जाडो जुनसुकै याममा तिनले अण्डा पारिराख्ने प्रत्याभूत गर्छ। “सामान्यतया यो मौसममा कुखुराले अण्डा पार्दैनन्। हामी अण्डाबिना जिउन सक्छौँ। बस तिनको हेरचाह गरिराख्। आउँदो वसन्तमा तिनले फेरि अण्डा पार्न थाल्नेछन्, र ती राम्रो गुणस्तरका हुनेछन्,” मैले भनेँ। “लोभी नबन्। मैले तँलाई तिनलाई निरन्तर अण्डा पार्न लगा भनेको थिइन, न त जाडो याममा पनि अण्डाको आपूर्ति गर् नै भनेको थिएँ। मैले तँसँग यो माग गरेको थिइनँ, तर तैँले किन तिनलाई किनेको दाना दिइरहिस्? तैँले फेरि तिनलाई त्यही दाना खुवाउन पाउँदैनस्।” मैले कुरा प्रस्ट रूपमा बुझिस्? पहिलो कुरा, मैले चाहे जे मौसम भए पनि खानलाई अण्डा हुनैपर्छ भन्ने माग गरेको थिइनँ। दोस्रो कुरा, मैले तिनीहरूलाई कुखुरालाई त्यो दाना खान नदिनू, अण्डा पार्ने प्रक्रियालाई तीव्रता नदिनू भनेँ। के यो सानो अनुरोध हासिल गर्न गाह्रो थियो र? (थिएन।) तर नतिजा के भयो भने, केही समयपछि मैले फेरि हाम्रा कुखुराले पारेका केही अण्डा खाएँ। मैले मनमनै भनेँ: यिनीहरू कत्ति अल्मलिएका हुन्, मैले भनेको कुरा तिनीहरूले कसरी पालन गरेनन्? कुखुराले अझै अण्डा पारिरहेका थिए, त्यसैले तिनीहरूले पक्कै पनि दाना परिवर्तन गरेका थिएनन्—यही भइरहेको थियो।
कुखुरा पालनमा जे भयो, त्यसबाट तिमीहरूले के खुट्टयाउन सक्छौ? (मानिसहरू परमेश्वरका वचनमा समर्पित हुँदैनन् वा तिनलाई पालन गर्दैनन् भन्ने कुरा।) कतिपय मानिसहरूले यसो भने, “परमेश्वरका वचनहरू पालन गर्नु—यसको अर्थ परमेश्वरको इच्छा पछ्याउनु हो। हामीले ठूला र उच्च मामलाहरूमा आज्ञापालन गर्नैपर्छ, ती परमेश्वरको इच्छा, परमेश्वरको कामको कार्यान्वयन, र उहाँको प्रमुख कामसँग सरोकार राख्ने मामला हुन्। तिमीले भन्दै आएका सबै कुराहरू दैनिक जीवनका मामुली मामिलाहरूसँग सम्बन्धित छन्, जसको परमेश्वरको इच्छा पछ्याउनुसँग कुनै सरोकार छैन—त्यसैले हामीले तिमीले भनेअनुसार गर्नुपर्दैन। तिमीले जे कुरा गरिरहेका छौ त्यो हाम्रो कर्तव्यसँग सम्बन्धित छैन, न त परमेश्वरका वचनहरूप्रति हाम्रो समर्पण र आज्ञाकारितासँग नै सम्बन्धित छ, त्यसैले हामीले तिम्रो विरोध गर्नु, हामीले पालन गर्ने कि नगर्ने भनी रोज्नु जायज छ। अझ भन्नुपर्दा, तिमीलाई सामान्य मानव जीवनबारे, पारिवारिक मामिलाबारे के थाहा छ र? तिमी बुझ्दैनौ, त्यसैले तिमीलाई बोल्ने कुनै अधिकार छैन। हामीसँग बेतुकका कुरा नगर—हामीले यो कुरामा तिम्रो आज्ञापालन गर्नुपर्दैन।” तिनीहरूले सोचिरहेको कुरा यही थिएन र? अनि के यस्तो सोच्नु ठिक थियो त? (थिएन।) गल्ती कहाँ भयो? (परमेश्वरको इच्छा पछ्याउने कार्यमा ठूला वा साना कुराहरूमा भिन्नता हुँदैन। यदि ती परमेश्वरका वचनहरू हुन् भने, मानिसहरूले पालन गर्नुपर्छ, र तिनीहरूले समर्पित भएर तिनको अभ्यास गर्नुपर्छ।) कतिपय मानिसहरूले भने, “म परमेश्वरका ती वचनहरू पालन गर्छु जुन सत्यता हुन्। सत्यता होइनन् भने मैले ती वचनहरू पालन गर्नु आवश्यक छैन। म सत्यतामा मात्र समर्पित हुन्छु। ‘परमेश्वरको मार्ग पछ्याउनु’ भनेको परमेश्वरको मुखबाट निस्केका वचनहरूको त्यो भाग, जुन सत्यता हो, त्यसलाई पछ्याउनु, पालन गर्नु र त्यसमा समर्पित हुनु हो। मानिसहरूको जीवनसँग सरोकार राख्ने र सत्यतासँग असम्बन्धित वचनहरूलाई बेवास्ता गर्न सकिन्छ।” के यस्तो बुझाइ सही हो? (होइन।) त्यसोभए तिमीहरू सत्यता र परमेश्वरका वचनहरूलाई कसरी लिन्छौ? के तिनीहरूले परमेश्वरका वचन र सत्यताका बीचमा भेद गरेनन् र? अनि के यसले सत्यतालाई केवल थपनामा परिणत गरेन र? के तिनीहरूले सत्यतालाई धेरै खोक्रो ठानेनन् र? परमेश्वरले गर्नुभएको यावत् थोकको सृष्टि, रूखका पातहरूका आकार र रङ्ग, फूलहरूका आकार र रङ्ग, यावत् थोकहरूको अस्तित्व र विस्तार—के यी सबको सत्यतासँग कुनै सम्बन्ध छ? के यसको मानिसको मुक्तिसँग कुनै सम्बन्ध छ? के मानव शरीरको संरचना सत्यतासँग जोडिएको छ? यीमध्ये कुनै पनि कुरा सत्यतासँग सम्बन्धित छैन, तर ती सबै परमेश्वरबाट आउँछन्। यदि यीमध्ये कुनैले पनि सत्यतासँग सरोकार राख्दैन भने, के तैँले तिनको सहीपनलाई स्विकार्न मिल्दैन र? के तैँले तिनको सहीपनलाई इन्कार गर्न मिल्छ? के तैँले परमेश्वरको सृष्टिको नियमलाई आफ्नो इच्छाअनुसार नष्ट गर्न मिल्छ? (मिल्दैन।) त्यसोभए तेरो मनोवृत्ति कस्तो हुनुपर्छ? तैँले त्यसका नियमहरू पालन गर्नैपर्छ। तैँले नबुझेका कुराहरू छन् भने, परमेश्वरको मुखबाट बोलिएको कुरामा विश्वास गर्नु ठिक हुन्छ। तैँले तिनलाई अध्ययन गर्न, वा धेरै गहिरो रूपमा बुझ्ने प्रयास गर्न आवश्यक छैन—तैँले केवल तिनका नियमहरू उल्लङ्घन गर्नुहुँदैन। भरोसा गर्नु र समर्पित हुनुको अर्थ नै यही हो। जब परमेश्वरले मानिसहरूको दैनिक जीवनमा आवश्यक गराउने, र मानिसको मुक्तिलाई नसमेट्ने बानी, आम सुझबुझ, र दैनिक जीवनका नियमहरू, इत्यादिको कुरा आउँछ, ती सत्यताकै स्तर वा तहमा नभए पनि, ती सबै सकारात्मक कुराहरू हुन्। सबै सकारात्मक कुराहरू परमेश्वरबाट आउँछन्, त्यसैले मानिसहरूले तिनलाई स्वीकार गर्नुपर्छ—यी वचनहरू सही छन्। साथै, मानिस भएको नाताले, तिनीहरूमा कस्तो समझ र विवेक भेटिनुपर्छ? पहिलो नम्बरमा, तिनीहरूले कसरी पालन गर्ने भनेर सिक्नुपर्छ। कसका शब्दहरू पालन गर्ने? दियाबलस र शैतानका शब्दहरू पालन गर्ने? मानिसका शब्दहरू पालन गर्ने? महान् र उत्कृष्ट मानिसहरूका शब्दहरू पालन गर्ने? ख्रीष्टविरोधीहरूका शब्दहरू पालन गर्ने? यीमध्ये कुनै पनि होइन। तिनीहरूले परमेश्वरका वचनहरू पालन गर्नुपर्छ। परमेश्वरका वचनहरू पालन गर्ने सिद्धान्तहरू र निश्चित अभ्यासहरू के-के हुन्? तैँले ती सही छन् कि गलत भनेर विश्लेषण गर्नु पर्दैन, र किन भनेर सोध्नु पर्दैन। तैँले तिनलाई बुझेपछि मात्र अभ्यास गर्नुपर्छ भन्ने छैन। बरु, तैँले पहिला सुन्ने, लागु गर्ने, कार्यान्वयन गर्ने, र पालन गर्ने गर्नुपर्छ, र तेरो पहिलो मनोवृत्ति पनि त्यही नै हुनुपर्छ। तब मात्र तँ एक सृजित प्राणी, साथै योग्य र उचित मानव बन्नेछस्। यदि तैँले व्यवहारका यी सबैभन्दा आधारभूत मापदण्डहरू समेत पूरा गर्न सक्दैनस्, र परमेश्वरले तँ मानव होस् भनेर स्वीकार गर्नुहुन्न भने, के त उहाँसामु आउन सक्छस्? के तँ परमेश्वरका वचनहरू सुन्न लायक छस्? के तँ सत्यता सुन्न लायक छस्? के तँ मुक्तिको लायक छस्? तँ यी कुनै पनि कुराका लागि योग्य छैनस्।
के मैले भर्खरै कुरा गरेका, कुखुरा र अण्डाहरूसँग सम्बन्धित मानिसहरूले आज्ञापालन र समर्पण गरे? (गरेनन्।) तिनीहरूले परमेश्वरका वचनहरूलाई कसरी लिए? तिनीहरूले कानमा हावा चलेको जसरी लिए, र तिनीहरूसँग मनमा एउटा निश्चित विचार थियो: “तिमीलाई जे भन्नु छ भन, र मैले जे गर्नुपर्छ म त्यो गर्नेछु। मलाई तिम्रा मागहरूबारे चासो छैन! मैले तिमीलाई खानका लागि अण्डाहरू आपूर्ति गरे पुग्छ—तिमीले जस्तोसुकै अण्डाहरू खाए पनि मलाई मतलब छैन। तिमी जैविक अण्डा खान चाहन्छौ? सम्भव नै छैन। सपना देखिरहनू! तिमीले मलाई कुखुरा पाल्न भन्यौ, र म तिनलाई यसरी नै हुर्काउँछु, तर तिमी त्यसमाथि आफ्नै मागहरू थप्दै छौ—के तिमीलाई यसबारे बोल्ने अधिकार छ?” के यी आज्ञापालन गर्ने र समर्पित हुने मानिसहरू हुन्? (होइनन्।) तिनीहरू के गर्न खोजिरहेका छन्? तिनीहरू विद्रोह गर्न खोजिरहेका छन्! परमेश्वरको घर भनेको त्यो ठाउँ हो जहाँ परमेश्वरले बोल्नुहुन्छ र काम गर्नुहुन्छ, र त्यो ठाँउ हो जहाँ सत्यताले शासन गर्छ—यदि, परमेश्वरले तिनीहरूको मुखैमा केही भन्नुहुँदा, यी मानिसहरूले पालन गरेनन्, र तिनीहरू समर्पित भएनन् भने, के तिनीहरूले परमेश्वरको पिठ्यूँ पछाडि उहाँको वचन अभ्यास गर्न सक्छन्? त्यो त झनै सम्भव छैन! सम्भावना छैन भन्ने देखि सम्भावना झनै कम छ भन्ने सम्म: यी दुई कुरालाई विचार गर्दा, के परमेश्वर तिनीहरूको परमेश्वर हुनुहुन्छ त? (हुनुहुन्न।) त्यसोभए तिनीहरूको परमेश्वर को हो त? (तिनीहरू आफै हुन्।) ठिक भनिस्—तिनीहरूले आफैलाई परमेश्वरका रूपमा व्यवहार गर्छन्, तिनीहरू आफैमा विश्वास गर्छन्। त्यस्तो अवस्थामा, तिनीहरू अझै किन यतै घुमिरहेका छन्? जब तिनीहरू आफै आफ्नो परमेश्वर हुन् भने, तिनीहरू परमेश्वरमाथिको विश्वासको झण्डा फहराएर के गरिरहेका छन्? के यो अरू मानिसलाई झुक्क्याउनु होइन? के तिनीहरू आफैलाई झुक्क्याइरहेका छैनन् र? यदि त्यस्ता मानिसहरूमा परमेश्वरप्रति यस्तो मनोवृत्ति हुन्छ भने, के तिनीहरूले पालन गर्न सक्छन् त? (बिलकुलै सक्दैनन्।) यति सानो कुरामा समेत, तिनीहरूले परमेश्वरको वचन पालन गर्न वा परमेश्वरमा समर्पित हुन सक्दैनन्, परमेश्वरका वचनहरूले तिनीहरूमा कुनै प्रभाव पार्दैनन्, र तिनीहरू तिनलाई ग्रहण गर्दैनन् र तिनमा समर्पित हुन सक्दैनन्। के त्यस्ता मानिसहरूलाई मुक्ति दिन सकिन्छ? (सकिँदैन।) त्यसोभए तिनीहरू मुक्तिबाट कति टाढा छन्? अत्यन्तै टाढा छन्, नजिक त छँदै छैनन्! भित्री रूपमा, के परमेश्वर उहाँका वचन पालन नगर्ने र आफूलाई उहाँको विरुद्धमा खडा गर्नेहरूलाई मुक्ति दिन इच्छुक हुनुहुन्छ? पक्कै हुनुहुन्न। मानिसहरूले आफ्नै सोचका आधारमा यो मापन गर्दा, तिनीहरू समेत यसो गर्न इच्छुक हुनेथिएनन्। यदि यस प्रकारका दियाबलस र शैतानहरू, हर हिसाबमा तेरो विरोध गर्न, तँविरुद्ध खडा भए भने, के तैँले तिनीहरूलाई मुक्ति दिनेथिइस्? असम्भव। त्यस्ता मानिसहरूलाई कसैले मुक्ति दिन चाहँदैन। त्यस्ता मानिसहरूलाई कसैले पनि साथी बनाउन चाहँदैन। कुखुरा पालनजस्तो यति सानो कुरामा, मानिसहरूको प्रकृतिको खुलासा भयो; यति सानो कुरामा, मानिसहरू मैले भनेको कुरा पालन गर्न असक्षम भए। के यो गम्भीर समस्या होइन र?
अब, भेडासँग सम्बन्धित एउटा मामलाबारे कुरा गरौँ। पक्कै पनि, यो मानिसहरूसँग नै सम्बन्धित छ। वसन्त ऋतु आइसकेको थियो। मौसम न्यानो थियो र फूलहरू फुलेका थिए। हरियाली बढ्दै थियो, घाँस हरियो थियो। सबथोक जीवन्तताले धपक्क बल्न सुरु भइरहेको थियो। भेडाहरूले जाडो यामभरि पराल खाइरहेका थिए, र उप्रान्त खान चाहँदैनथे, त्यसैले तिनीहरू घाँस हरियो भएपछि ताजा घाँस खान उत्साहित थिए। यो भेडीहरूले थुमाहरू जन्माउने बेला पनि थियो, जसको मतलब तिनीहरूले हरियो घाँस खानु अझ बढी आवश्यक थियो। घाँसको गुणस्तर जति उच्च भयो, र घाँस जति धेरै भयो, तिनीहरूले त्यति नै धेरै दूध उत्पादन गर्नेथिए, र थुमाहरू त्यति नै चाँडो हुर्कनेथिए; मानिसहरू पनि यो देखेर खुसी हुनेथिए, यो एउटा आशापूर्वक प्रतीक्षा गर्ने कुरा थियो: शरद ऋतुको आगमनसँगै खानका लागि एउटा राम्रो मोटो थुमा हुनेथियो। अनि मानिसहरूसँग आशापूर्वक प्रतीक्षा गर्नुपर्ने केही कुरा छ भने, के तिनीहरूले थुमाहरूलाई अझ राम्रो घाँस खुवाउने, तिनलाई बलियो र मोटो हुने गरी खुवाउने उपायहरू सोच्नुपर्थ्यो? के तिनीहरूले यस्तो सोच्नुपर्थेन, “अहिले चरनमा घाँस राम्रो छैन। थुमाहरूले यो खाए भने ती सुस्तरी बढ्नेछन्। राम्रो घाँस कहाँ छ?” के तिनीहरूले यसमा अलिकति मिहिनेत लगाएको भए हुँदैनथ्यो? तर भेडाको हेरचाह गर्ने व्यक्तिले के सोचिरहेको थियो भनेर कसलाई थाहा छ र। एक दिन म भेडाहरू हेर्न गएँ। मैले थुमाहरू राम्रो अवस्थामा बसिरहेको देखेँ, र तिनीहरू मानिसहरू देख्दा उफ्रन्थे, आफ्ना अगाडिका खुट्टा मानिसहरूको तिघ्रामा राखेर माथि उठ्थे, र तिनीहरूसँग कुरा गर्न चाहन्थे। कतिपय थुमाहरूका सिङहरू उम्रेका थिए, त्यसैले मैले तिनीहरूका स-साना सिङहरू समातेर तिनीहरूसँग खेलेँ। ती थुमाहरू राम्रो अवस्थामा थिए, तर निकै दुब्ला र फुस्रा थिए। मैले सोचेँ, भेडाहरू निकै नरम छन् र तिनीहरूको ऊन बाक्लो छैन, तर तैपनि तिनीहरू न्याना छन्, अनि मलाई तिनीहरू अलिकति मोटाए भने कति राम्रो हुन्थ्यो होला भन्ने लाग्यो। यो कुरा मनमनै सोच्दै मैले भेडा पाल्ने व्यक्तिलाई सोधेँ, “के यो घाँस कम गुणस्तरको छ? के चरनमा भेडाहरूलाई खानका लागि पर्याप्त घाँस छैन? के जमिन जोतेर अलिकति नयाँ घाँस रोपिनुपर्छ, ताकि तिनीहरूले पर्याप्त खान पाऊन्?” उसले भन्यो, “खानका लागि पर्याप्त मात्रामा हरियो घाँस छैन। अहिले पनि भेडाहरूले पराल खाइरहेका छन्।” यो सुनेर मैले भनेँ, “तँलाई यो कुन सिजन हो भनेर थाहा छैन? किन अझै तिनीहरूलाई पराल खान लगाइरहेको छस्? भेडीहरूले थुमा जन्माएका छन्, तिनीहरूले राम्रो हरियो घाँस खानुपर्छ। तँ किन अझै पनि तिनीहरूलाई पराल खान लगाइरहेको छस्? के तिमीहरूले यसको कुनै समाधानबारे सोचेका छौ?” उसले धेरै बहानाहरू बनायो। जब मैले उसलाई जमिन जोत्न भनेँ, उसले मिल्दैन भयो—यदि जोत्यो भने, भेडाहरूले तत्काल खानेकुरा पाउनेथिएनन्। यो सब सुनेपछि तिमीहरूलाई के लाग्यो? के तिमीहरूलाई कुनै बोझ महसुस हुन्छ? (मैले राम्रो घाँसेमैदान खोज्ने उपायहरू सोच्नेथिएँ, वा अन्त कतैबाट घाँस काटेर ल्याउनेथिएँ।) त्यो समाधान गर्ने एउटा तरिका हो। तैँले समाधानका बारेमा सोच्नुपर्छ। आफ्नो पेट मात्रै भरेर अरू सबथोक नबिर्सी—भेडाहरूले पनि पेटभरि खानुपर्छ। पछि, मैले अरू केही मानिसहरूलाई भने, “के यो जमिन जोत्न सकिन्छ? शरद ऋतुमा रोपे पनि, भेडाहरूले अर्को वर्ष हरियो घाँस खान पाउनेछन्। अझ भन्नुपर्दा, अन्य ठाउँहरूमा दुइटा चरन छन्, के भेडाहरूलाई ताजा घाँस खुवाउन हरेक दिन त्यता चराउन सकिन्छ? यदि दुइटा ठाउँमा पालैपालो चराइयो भने, के भेडाहरूले ताजा घाँस खान पाउनेथिएनन् र?” के मैले भनेको कुरा गर्न सजिलो थियो? (थियो।) कतिपय मानिसहरूले भने, “त्यो गर्नलाई भनेजति सजिलो छैन। तपाईँ सधैँ कामकुरा गर्न सजिला छन् भनेर भन्नुहुन्छ—त्यो कसरी त्यति सजिलो छ? भेडाहरू धेरै छन्, र तिनीहरू दौडिरहँदा, तिनीहरूलाई गोठालो गर्न पटक्कै सजिलो हुँदैन।” तिनीहरूलाई भेडा चराउनै धौधौ थियो, तिनीहरूसँग कति धेरै बहाना र कठिनाइहरू थिए, तर अन्तिममा तिनीहरू सहमत भए। धेरै दिनपछि म फेरि हेर्न गएँ। घाँस यत्ति बढेको थियो कि झन्डै-झन्डै कम्मरसम्म पुग्थ्यो। मलाई अचम्म लाग्यो कि भेडाहरूले खाइरहँदा पनि त्यो कसरी यति धेरै बढ्न सक्यो होला। केही प्रश्नहरू सोधेपछि, मैले थाहा पाएँ: भेडाहरूलाई यहाँ चराउन ल्याइएकै थिएन। ती मानिसहरूसँग बहाना पनि थियो: “त्यो मैदानमा कुनै गोठ छैन, भेडाहरूलाई निकै गर्मी भइरहेको थियो।” मैले भनेँ, “त्यसोभए तिनीहरूलाई एउटा गोठ किन नबनाइदिएको त? भेडाहरू थोरै मात्र छन्। तिमीहरू यहाँ के गर्नका लागि छौ त? के तिमीहरूले यी सामान्नय मामिलाहरू सम्हाल्नुपर्ने होइन?” तिनीहरूले जवाफ दिए, “हामीले त्यो बनाउने कोही भेट्टाउनै सकेका छैनौँ।” मैले भनेँ, “अरू काम गर्नका लागि मान्छे छन् त, यो गर्नका लागि किन कोही छैन? के तैँले कसैलाई खोजेको छस्? तेरो ध्यान भेडाहरूलाई हुर्काउनमा होइन, तिनीहरूलाई खानमा मात्रै छ। तँ कसरी यति स्वार्थी हुन सक्छस्? तँ थुमा खान चाहन्छस् तर तिनीहरूलाई हरियो घाँस खान दिँदैनस्—तँ कसरी यति अनैतिक हुन सक्छस्!” एकपटक तिनीहरूलाई बाध्य पारिएपछि, गोठ बनाइयो र भेडाहरूले हरियो घाँस खान पाए। के तिनीहरूलाई अलिकति ताजा घाँस खान सजिलो थियो? त्यति सरल कार्य गर्न पनि यी मानिसहरूलाई त्यति गाह्रो भयो। हरेक पाइलामा तिनीहरूले बहानाहरू निकाल्थे। जब तिनीहरूसँग कुनै बहाना हुन्थ्यो, र कुनै पनि कठिनाइहरू आइपर्थ्यो, तब तिनीहरूले हार मान्थे र त्यो कुरा सल्टाउन मलाई नै पर्खन्थे। मैले सधैँ के भइरहेको छ भनेर जानकारी राखिरहनुपर्थ्यो, सधैँ यसमा नजर राख्नुपर्थ्यो, मैले सधैँ तिनीहरूलाई दबाब दिनुपर्थ्यो—मैले तिनीहरूलाई दबाब नदिनै मिल्दैनथ्यो। भेडा चराउने जस्तो मामुली कुरामा मैले किन चिन्ता लिनुपर्छ? म तिमीहरूका लागि सबै कुरा तयार गर्छु, त्यसोभए तिमीहरूलाई मेरा केही वचनहरू पालन गराउन किन यति धेरै मिहिनेत लाग्छ? के मैले तँलाई धारिलो पहाड चढ्न वा आगोको समुद्रमा पौडी खेल्न भनिरहेको छु र? कि यो लागु गर्न निकै नै गाह्रो छ? के यो तेरै जिम्मेवारी होइन र? यो हासिल गर्ने शक्ति सबै तँभित्र नै छ, यो तेरो क्षमताहरूको दायराभित्र नै पर्छ। यो धेरै ठूलो माग होइन। तैँले यो कुरा कसरी सम्पन्न गर्न सकिरहेको छैनस्? समस्या कहाँ छ? के मैले तँलाई जहाज निर्माण गर्न भनेँ र? (होइन।) त्यसोभए तँलाई गर्न भनिएको कुरा र जहाज निर्माण गर्नुमा कति ठूलो भिन्नता छ? ठूलो भिन्नता छ। तँलाई गर्न भनिएको कार्य गर्न एकदुई दिन मात्र लाग्नेथियो। यसमा केवल केही शब्दहरू बोल्नुपर्ने हुन्थ्यो। यो हासिल गर्न सकिने थियो। जहाज निर्माण गर्नु एउटा ठूलो कार्य थियो, १०० वर्ष लाग्ने कार्य थियो। म निर्धक्क भएर भन्न सक्छु कि यदि तिमीहरू नोआकै युगमा जन्मेका भए, तिमीहरूमध्ये एक जनाले पनि परमेश्वरका वचनहरू पालन गर्न सक्नेथिएनौ। जब नोआले परमेश्वरका वचनहरू पालन गरे, जब उनले परमेश्वरको आदेश अनुसार, अलि-अलि गरी, जहाज निर्माण गरे, एक छेउमा उभिएर, नोआलाई रोक्ने, उनको गिल्ला गर्ने, उनलाई जिस्क्याउने र उनीमाथि हाँस्ने मानिसहरू तिमीहरू नै हुनेथियौ। तिमीहरू बिलकुलै त्यस्तै व्यक्ति हौ। तिमीहरूमा पालन र समर्पण गर्ने मनोवृत्ति पटक्कै छैन। बरु उल्टै, तिमीहरू परमेश्वरले तिमीहरूलाई विशेष अनुग्रह देखाउनुहोस्, र विशेष रूपमा आशिष् र अन्तर्दृष्टि दिनुहोस् भन्ने माग गर्छौ। तिमीहरू कसरी यति निर्लज्ज हुन सक्छौ? तिमीहरू के भन्छौ, मैले भर्खरै भनेका कुराहरू मध्ये कुनचाहिँ मेरो जिम्मेवारी हो? मैले कुनचाहिँ गर्नुपर्छ? (कुनै पनि गर्नुपर्दैन।) यी सबै कुराहरू मानव मामला हुन्। ती मेरो सरोकारका विषय होइनन्। मैले तिमीहरूलाई हस्तक्षेप नगर्नुपर्ने हो। त्यसोभए म किन संलग्न हुनुपऱ्यो? म यो मेरो कर्तव्य भएकोले होइन, तिमीहरूकै भलाइका लागि गर्छु। तिमीहरू कसैलाई पनि यसबारे चिन्ता छैन, तिमीहरू कसैले पनि यो जिम्मेवारी लिएका छैनौ, तिमीहरू कसैले पनि यी असल अभिप्रायहरू राख्दैनौ—त्यसैले मैले यस सन्दर्भमा थप चिन्ता लिनु परेको छ। तिमीहरूको पालन र सहकार्य मात्र गरे हुन्छ, यो निकै सरल छ—तर तिमीहरूले त्यो समेत गर्न सक्दैनौ। तिमीहरू मान्छे त हौ?
त्यस्तै अर्को झन् गम्भीर घटना पनि घटेको थियो। एउटा स्थानमा भवन निर्माण भइरहेको थियो। भवन निकै अग्लो थियो र त्यसले ठूलै क्षेत्रफल ओगटेको थियो। त्यसभित्र तुलनात्मक रूपमा ठूलो सङ्ख्यामा सर-सामानहरू राखिएका थिए, र तिनलाई सार्न सहज गराउन, कम्तीमा पनि दुईवटा ढोका चाहिनेथियो, र ती कम्तीमा आठ फिट अग्लो हुनुपर्नेथियो। सामान्य मानिसहरूले भए यी सबै कुरा विचार गरेका हुनेथिए। तर कसैले एउटै, छ फिटे ढोका हाल्न अड्डी कस्यो। उसले अरू सबैको सुझावलाई बेवास्ता गर्यो, चाहे ती जोसुकैबाट आएको होस्। के यो व्यक्ति अन्योलमा थियो? ऊ पूर्ण रूपमा फटाहा थियो। पछि, जब कसैले मलाई यसबारे बतायो, मैले त्यस व्यक्तिलाई भनेँ, “तैँले दुईवटा ढोकाहरू हाल्नुपर्छ, र ती अझै अग्लो हुनुपर्छ।” ऊ अनिच्छापूर्वक सहमत भयो। ऊ देखावटी रूपमा त सहमत भयो, तर उसले एकान्तमा के भन्यो? “तिनलाई यति अग्लो बनाएर के अर्थ? ती होचो हुँदैमा के बिग्रिन्छ र?” म पछि फेरि हेर्न गएँ। थप एउटा मात्रै ढोका राखिएको थियो, तर उचाइ उही थियो। अनि उचाइ किन उही थियो? के त्योभन्दा अग्लो ढोका बनाउन असम्भव थियो र? कि ढोकाले छत छुनेथ्यो? खास कुरा के थियो? खास कुरा के थियो भने, ऊ पालन गर्नै चाहँदैनथ्यो। उसले वास्तवमा यस्तो सोचिरहेको थियो, “के यो तिमीमा निर्भर छ र? यहाँको मालिक त म हुँ, मेरै हैकम चल्छ। अरू मानिसहरूले मैले भनेजस्तै गर्छन्, त्यसको उल्टो होइन। तिमीलाई के थाहा छ? के तिमी निर्माण कार्य बुझ्छौ?” के निर्माण कार्य नबुझ्नुको अर्थ मैले अनुपातहरू कस्ता देखिन्छन् भनेर हेर्न मिल्दैन भन्ने हो र? यति अग्लो भवनमा यति होचो ढोका राखियो भने त, ६’२” अग्लो मानिस त्यसमा छिर्दा, ऊ झुकेन भने उसको टाउको ढोकाको फ्रेममा ठोक्किनेथियो। यो कस्तो खालको ढोका थियो? मैले निर्माण कार्य बुझ्नु आवश्यक नै थिएन—ल भन् त, के यसबारे मेरो सोच जायज थियो? के त्यो व्यावहारिक थियो? तर त्यस्तो व्यावहारिकता त्यो व्यक्तिले बुझ्दैनथ्यो। उसले केवल प्रावधानहरू पछ्याउन जान्दथ्यो, र यसो भन्थ्यो: “म जहाँबाट आएको हुँ, त्यहाँ ढोकाहरू सबै यस्तै हुन्छन्। मैले यसलाई तिमीले भने जस्तो अग्लो किन बनाउनुपर्थ्यो? तिमीले मलाई यो गर्न भन्यौ, र मैले यो यसरी नै बनाएँ। यदि तिमीलाई मेरो कुनै उपयोग छैन भने, बिर्सिदिनू! मेरो कामकुरा गर्ने शैली यही हो, र म तिम्रो आज्ञापालन गर्नेछैनँ!” यो कस्तो प्रकारको व्यक्ति थियो? के तिमीहरूलाई परमेश्वरको घरले अझै पनि उसलाई प्रयोग गर्न सक्छ भन्ने लाग्छ? (लाग्दैन।) त्यसोभए उसलाई प्रयोग गर्न नसकिने नै भए के गरिनुपर्छ? त्यस्ता मानिसहरूले परमेश्वरको घरमा झारा टार्ने प्रयास गर्छन्, तिनीहरू तुरुन्तै निकालिदैनन्, दाजुभाइ-दिदीबहिनीहरूले तिनीहरूलाई सहन सक्छन्, र म पनि तिनीहरूलाई सहन सक्छु, तर जब तिनीहरूको मानवताको कुरा आउँछ—तिनीहरूले सत्यता बुझ्छन् कि बुझ्दैनन् भन्ने कुरा बिर्सिदिऊँ—परमेश्वरको घरजस्तो वातावरणमा काम गर्ने र बस्ने व्यक्तिहरू टिकिरहने सम्भावना हुन्छ त? (हुँदैन।) के हामीले तिनीहरूलाई निकाल्नु पर्छ? (पर्दैन।) के तिनीहरू लामो समय मण्डलीमा बस्ने सम्भावना छ? (छैन।) किन छैन? तिनीहरूले आफूलाई भनिएको कुरा बुझ्न सक्छन् कि सक्दैनन् भन्ने कुरालाई छोडौँ। तिनीहरूको स्वभाव यस्तो हुन्छ कि, तिनीहरूले झारा टार्ने प्रयास गरेपछि, घमण्ड गर्न थाल्छन्, र हुकुम चलाउन खोज्छन्। के यसले परमेश्वरको घरका अपेक्षाहरू पूरा गर्न सक्छ? तिनीहरू केही पनि होइनन्, तर आफू निकै असल भएको, परमेश्वरको घरको खम्बा र मुख्य आधार भएको ठान्छन्, जहाँ तिनीहरूले लापरवाहीपूर्वक दुष्कर्महरू गर्छन्, र हुकुम चलाउने प्रयास गर्छन्। तिनीहरू समस्याहरूमा परिहाल्छन्, र लामो समयसम्म रहनेछैनन्। यस प्रकारका मानिसहरूलाई, परमेश्वरको घरले ननिकाले पनि, यहाँ केही बेर बसेपछि, तिनीहरूले परमेश्वरको घरमा मानिसहरू सधैँ सत्यताका बारेमा, सिद्धान्तका बारेमा कुरा गरिरहेका हुन्छन् भन्ने थाहा पाउनेछन्; तिनीहरूलाई यस कुरामा कुनै रुचि हुँदैन, तिनीहरूको कार्यशैली यहाँ केही काम लाग्दैन। तिनीहरू जहाँसुकै गए पनि र जेसुकै गरिरहेका भए पनि, तिनीहरू अरूसँग सहकार्य गर्न सक्दैनन्, र सधैँ हुकुम चलाउन चाहन्छन्। तर त्यसले काम गर्दैन, र तिनीहरूले आफूलाई हरेक हिसाबमा सीमित भएको पाउँछन्। समय बित्दै जाँदा, धेरैजसो दाजुभाइ-दिदीबहिनीहरूले सत्यता र सिद्धान्तहरू बुझ्न थाल्छन्; जब यी मानिसहरूले आफूखुसी गर्ने, मालिक बन्ने र हुकुम चलाउने प्रयास गर्छन्, र सिद्धान्तअनुसार कार्य गर्दैनन्, तब धेरै मानिसहरूले तिनीहरूलाई तिरस्कारको दृष्टिले हेर्छन्—के तिनीहरूले यो सहन सक्छन्? जब त्यस्तो समय आउँछ, तिनीहरूले आफू यी मानिसहरूसँग नमिल्ने, तिनीहरू प्राकृतिक रूपमै यहाँका नभएको, तिनीहरू गलत ठाउँमा भएको महसुस गर्नेछन्: “म कसरी संयोगले परमेश्वरको घरमा आइपुगेँ? मेरो सोचाइ अति सामान्य थियो। मलाई यदि मैले अलिकति प्रयत्न लगाएँ भने, म विपत्तिबाट जोगिन सक्छु र आशिषित हुनेछु भन्ने लाग्यो। त्यस्तो नहोला भन्ने मलाई कहिल्यै लागेन!” तिनीहरू प्राकृतिक रूपमा नै परमेश्वरको घरका होइनन्; केही समय बसेपछि, तिनीहरूको रुचि हराउँछ, तिनीहरू उदासीन हुन्छन्, र तिनीहरूलाई निकालिरहनै पर्दैन—तिनीहरू आफै निस्किन्छन्।
कतिपय मानिसहरू भन्छन्, “के तपाईँले हस्तक्षेप नगर्ने कुनै कुरा छैन? तपाईँ लाउके हुनुहुन्छ, हैन? तपाईँ आफ्नो प्रतिष्ठा स्थापना गर्न, आफ्नो उपस्थिति महसुस गराउन, र सर्वशक्तिमान् छु भनेर मानिसहरूलाई थाहा दिन अरूका मामलाहरूमा हस्तक्षेप गर्नुहुन्छ, होइन त?” ल भन् त, यदि मैले यी कुराहरूको हेरचाह नगरेको भए ठिक हुन्थ्यो? वास्तवमा, म यी कुराहरूको हेरचाह गरिरहन चाहन्नँ, यी त अगुवा र सेवकहरूको जिम्मेवारी हो, तर मैले हेरचाह गरिनँ भने समस्या आउनेथ्यो र भावी काम प्रभावित हुनेथ्यो। यदि तिमीहरूले ती समाधान गर्न सकेका भए, मैले भने अनुसार गरेका भए, के म त्यस्ता मामिलामा संलग्न हुनुपर्थ्यो? यदि मैले तिमीहरूको चासो नराखेको भए, तिमीहरू कुनै प्रकारको मानव रूपमा जिउनेथिएनौ, न त तिमीहरू राम्ररी जिउनेथियौ। तिमीहरू आफैले केही गर्न सक्नेथिएनौ। अनि त्यस्तो अवस्थामा समेत तिमीहरू अझै मेरो आज्ञापालन गर्दैनौ। म तिमीहरूसँग अत्यन्तै सरल मामलाबारे कुरा गर्नेछु: स्वच्छता र आफ्नो जिउने वातावरणको हेरचाह गर्ने जस्तो अत्यन्तै सानो मामला। तिमीहरू यस मामलामा कसरी कार्य गर्छौ? यदि म कतै गएँ र तिमीहरूलाई पहिले नै जानकारी गराइनँ भने, त्यो ठाउँ असाधारण रूपमा फोहोर हुनेछ, र तिमीहरूले त्यो ठाउँ तुरुन्तै सफा गर्नु पर्नेछ, जसले गर्दा तिमीहरूलाई निराश र असहज महसुस हुनेछ। यदि मैले तिमीहरूलाई पहिले नै म आउँदैछु भनेर भनिदिएँ भने, परिस्थिति यति खराब हुँदैन—तर के तिमीहरूलाई मलाई पर्दा पछाडि के भइरहेको छ भन्ने थाहा छैन भन्ने लाग्छ? यी सबै सानातिना मामलाहरू हुन्, सामान्य मानवताका केही सबैभन्दा सरल र आधारभूत कुराहरू हुन्। तर तिमीहरू यस्ता अल्छी छौ। के तिमीहरू साँच्चै आफ्नो कर्तव्य राम्ररी पूरा गर्न सक्छौ? म मूलभूमि चीनका केही ठाउँहरूमा दस वर्षसम्म बसेँ, र मैले त्यहाँका मानिसहरूलाई दोलाइँ पट्टयाएर घाममा सुकाउने, घरहरू सफा गर्ने र घरहरूमा चुलो बाल्ने तरिकाहरू सिकाएँ। तर दश वर्ष सिकाएपछि पनि मैले तिनीहरूलाई सिकाउन सकेको थिइनँ। के म सिकाउन असक्षम भएको हो? होइन, यी मानिसहरू अति नै फोहोरी छन्। पछि मैले सिकाउन छोडेँ। मैले कतै जाँदा नपट्टयाइएको दोलाइँ भेटेँ भने, म फनक्क फर्केर निस्किहाल्थेँ। म किन यसो गर्थेँ? मलाई त्यो दुर्गन्धित र घिनलाग्दो लाग्थ्यो। म सुँगुरको खोरभन्दा पनि खराब ठाउँमा किन बस्नु? म त्यसो गर्न इन्कार गर्छु। यी साना समस्याहरू समेत परिवर्तन गर्न निकै गाह्रो छ। यदि मैले परमेश्वरको इच्छा र परमेश्वरको मार्ग पछ्याउने मापदण्ड अलिकति बढाइदिएँ भने, साँच्चै भन्नुपर्दा, तिमीहरू अलिकति पनि नजिक पुग्नेथिएनौ। आज मैले भन्न खोजेको मुख्य कुरा के हो? परमेश्वरका वचनहरू पालन गर्नु निकै महत्त्वपूर्ण छ, र तिमीहरूले यसलाई बेवास्ता गर्नु हुँदैन। परमेश्वरका वचनहरू पालन गर्नुको अर्थ तैँले परमेश्वरका वचनहरूको विश्लेषण, अध्ययन, छलफल वा खोजीनिती गर्नुपर्छ, वा ती पछाडिका कारणहरू अनुसन्धान गर्नुपर्छ, र किन त्यस्तो भयो भनी कारण निकाल्ने प्रयास गर्नुपर्छ भन्ने होइन; बरु, तैँले उहाँका वचनहरू लागु गर्नुपर्छ र तिनलाई अघि बढाउनुपर्छ। जब परमेश्वर तँसँग बोल्नुहुन्छ, जब उहाँले तँलाई कुनै कार्य गर्ने आदेश दिनुहुन्छ वा केही सुम्पनुहुन्छ, परमेश्वरले त्यसपछि तैँले त्यो कार्यान्वयन गरेको र यसलाई चरणबद्ध रूपमा कसरी लागु गर्छस् भन्ने हेर्न चाहनुहुन्छ। परमेश्वरले तैँले यो मामला बुझ्छस् कि बुझ्दैनस् भन्ने कुरा वास्ता गर्नुहुन्न, न त तँ हृदयमा यसबारे उत्सुक छस् कि छैनस्, वा तँलाई यसबारे कुनै शङ्का छ कि छैन भन्ने कुरा नै वास्ता गर्नुहुन्छ। परमेश्वरले त तैँले त्यो गर्छस् कि गर्दैनस्, तँमा पालन गर्ने र समर्पित हुने मनोवृत्ति छ कि छैन भन्ने कुरा हेर्नुहुन्छ।
संयोगवश, म केही मानिसहरूसँग कार्यक्रमहरूका लागि पोशाकका बारेमा कुरा गरिरहेको थिएँ। मूल सिद्धान्त भनेको पोशाकको रङ्ग र शैली सभ्य, सम्मानजनक, रुचिपूर्ण र सुन्दर हुनुपर्छ भन्ने थियो। ती विचित्र पोशाक जस्तो देखिनु हुँदैनथ्यो। अझ भन्नुपर्दा, धेरै पैसा खर्च गर्नु पर्दैनथ्यो। ती कुनै विशेष डिजाइनरको हुनु पर्दैनथ्यो, ती किन्नका लागि चलेको ब्रान्डका पसलहरूमा त झनै जान पर्दैनथ्यो। पहिरनले कलाकारहरूलाई सुन्दर, सभ्य र सम्मानजनक देखाउनुपर्छ, तिनीहरू प्रस्तुतियोग्य हुनुपर्छ भन्ने मेरो विचार थियो। मञ्चमा धेरै उराठिलो वा अँध्यारो देखिने कुनै पनि कुरा बाहेक रङ्गमा कुनै रोकतोक लगाइएको थिएन। अरू अधिकांश रङ्गहरू ठीकै थिए: जस्तै रातो, गेरु, पहेँलो, हरियो, निलो, नील, बैजनी—यसका लागि कुनै प्रावधानहरू थिएनन्। यो सिद्धान्त नै किन त? परमेश्वरको सृष्टिमा हरेक रङ्ग समावेश हुन्छ। फूलहरू साथै रूख, बोटबिरुवा र चराचुरुङ्गीहरू रङ्गमै देखा पर्छन्। त्यसैले हामीसँग रङ्गबारे कुनै धारणा वा नियमहरू हुनु हुँदैन। यसो भनिसकेपछि मलाई तिनीहरूले बुझ्दैनन् भन्ने डर लाग्यो। मैले तिनीहरूलाई फेरि सोधेँ, र मेरो कुरा सुन्नेहरू सबैले बुझेँ भने पछि मात्रै म आश्वस्त भएँ। बाँकी कुरा मैले भनेका सिद्धान्त अनुसार लागु गर्न सकिन्थ्यो। के यो सामान्य मामला थियो? के यो ठूलै कुरा थियो? के यो एउटा जहाज निर्माण गर्नु भन्दा ठूलो कार्य थियो कि सानो? (सानो थियो।) अब्राहामले इसहाकको बलि दिएको तुलनामा, के यो गाह्रो थियो? (थिएन।) त्यसमा बिलकुलै कठिनाइ थिएन, र त्यो सरल थियो—केवल पहिरनको कुरा थियो। मानिसहरू जन्मेदेखि नै कपडासँग परिचित हुन्छन्; त्यो कुनै गाह्रो मामला थिएन। मैले निश्चित सिद्धान्त निर्धारण गरेपछि मानिसहरूलाई कुराहरू अघि बढाउन झन् सजिलो भएको थियो। मुख्य कुरा तिनीहरूले पालन गर्छन् कि गर्दैनन्, र तिनीहरू त्यसो गर्न इच्छुक छन् कि छैनन् भन्ने थियो। केही समयपछि, जब केही कार्यक्रम र चलतित्रहरू निर्माण भइसकेका थिए, तब मैले सबै मुख्य पात्रहरूका पोशाक निलो छन् भन्ने देखेँ। मैले यसबारे अलिक सोचेँ: “के यी कार्यक्रमहरूका निर्माताहरूको दिमागमा कुनै समस्या छ? म आफ्नो कुरामा निकै प्रस्ट थिएँ। मैले पोशाक निलो हुनुपर्छ, र निलो नलगाउने कसैलाई मञ्चमा आउन दिइनेछैन भन्ने नियम बनाएको थिइनँ। यी मानिसहरूको समस्या के हो? के कुराले तिनीहरूलाई उक्साइरहेको र नियन्त्रण गरिरहेको थियो? के बाहिरी संसारमा प्रचलनहरू परिवर्तन भएर मानिसहरूले अब निलो मात्र लगाउँछन्? होइन। बाहिरी संसारमा रङ्ग र शैलीका बारेमा कुनै नियम हुँदैन, मानिसहरू हर प्रकारका रङ्गहरू लगाउँछन्। त्यसैले हाम्रो मण्डलीमा यस्तो परिस्थिति आउनु अनौठो कुरा हो। पोशाकको अन्तिम जाँच कसले गरिरहेको छ? यो मामला कसको नियन्त्रणमा छ? के योकसैको इशारामा चलिरहेको छ?” यो वास्तवमै कसैको इशारामा चलिरहेको थियो; फलस्वरूप, चाहे शैली जस्तो भए पनि, सबै पोशाकहरू, अपवादबिना, निलो थिए। मैले भनेको कुराले कुनै फरक पारेन। तिनीहरूले सबै पोशाकहरू निलो हुनुपर्छ भनेर पहिल्यै तय गरिसकेका थिए—मानिसहरूले निलो बाहेक अरू केही लगाउने थिएनन्। निलोले आत्मिकता र पवित्रतालाई जनाउँथ्यो; यो परमेश्वरको घरको प्रतीक रङ्ग थियो। यदि तिनीहरूको पोशाक निलो थिएन भने, तिनीहरूले कार्यक्रम प्रदर्शन हुन दिनेथिएनन्, र त्यसो गर्ने आँट गर्नेथिएनन्। मैले यी मानिसहरू सक्किए भनेर भनेँ। यो यति सरल कुरा थियो, मैले हरेक बुँदालाई निकै स्पष्ट रूपमा व्याख्या गरेको थिएँ, र त्यसो गरेपछि तिनीहरूले बुझून् भन्ने निश्चित गरेको थिएँ; हामी सबै सहमत भएपछि मात्र मैले त्यो विषयलाई बन्द गरेको थिएँ। अनि अन्तिम परिणाम के भयो? मैले भनेको कुरा हावै भएर गयो। त्यसलाई कसैले महत्त्व दिएन। तिनीहरूले अझै पनि आफूखुसी कार्य र अभ्यास गरे; मैले भनेको कुरा कसैले अघि बढाएन, कसैले पूरा गरेन। वास्तवमा तिनीहरूले बुझेको छु भन्नुको अर्थ के थियो त? यी मानिसहरूले मलाई हल्का रूपमा लिइरहेका थिए। तिनीहरू सडकमा बस्ने अधबैँसे महिलाहरू जस्तै दिनभर गफ गर्थे। तिनीहरूले मसँग कुरा गर्ने तरिका र तिनीहरूको मनोवृत्ति पनि यही थियो। त्यसैले मेरो हृदयमा एउटा भावना जाग्यो: यी मानिसहरूले ख्रीष्टप्रति देखाएको मनोवृत्ति नै तिनीहरूको परमेश्वरप्रतिको मनोवृत्ति थियो, र यो निकै चिन्ताजनक मनोवृत्ति थियो, एउटा खतरनाक, र खराब सङ्केत थियो। के तिमीहरू यसले के सङ्केत गर्छ भनी जान्न चाहन्छौ? तिमीहरूले थाहा पाउनुपर्छ। मैले तिमीहरूलाई यो भन्नैपर्छ, र तिमीहरूले ध्यानपूर्वक सुन्नैपर्छ: तिमीहरूमा प्रदर्शन हुने कुरालाई मूल्याङ्कन गर्दा, परमेश्वरका वचनहरूप्रति तिमीहरूको मनोवृत्तिलाई हेर्दा, तिमीहरूमध्ये धेरै जना विपत्तिमा डुब्नेछौ; तिमीहरूमध्ये कतिपय दण्डित हुनका लागि अनि कतिपय चाहिँ शोधन गरिनका लागि विपत्तिमा डुब्नेछौ, र विपत्तिबाट भाग्न सकिँदैन। दण्डित हुनेहरू तुरुन्तै मर्नेछन्, तिनीहरू नष्ट हुनेछन्। यद्यपि, विपत्तिमा शोधन भोग्नेहरूका हकमा, यदि त्यसले तिनीहरूलाई पालन गर्न र समर्पित हुन, अनि दृढ उभिन सक्षम बनाउँछ, र तिनीहरूसँग गवाही हुन्छ भने, तब सबैभन्दा कठिन परीक्षा समाप्त हुनेछ; नत्र, भविष्यमा तिनीहरूका लागि कुनै आशा रहँदैन, तिनीहरू खतरामा हुनेछन्, र तिनीहरूले थप अवसरहरू पाउनेछैनन्। के तिमीहरूले मलाई स्पष्ट रूपमा सुन्यौ? (सुन्यौँ।) के यो तिमीहरूका लागि राम्रो कुरा हो जस्तो लाग्छ? छोटकरीमा भन्दा, मेरा लागि, यसले राम्रो सङ्केत गर्दैन। मलाई यो नराम्रो सङ्केत हो जस्तो लाग्छ। मैले तिमीहरूलाई तथ्यहरू दिएको छु; तिमीहरूले जे निर्णय गर्छौ त्यो तिमीहरूमै भर पर्। म यसबारे थप केही भन्दिनँ, म आफ्नो कुरा दोहोर्याउनेछैनँ, म यो कुरालाई फेरि कोट्याउनेछैन।
आज मैले सङ्गति गरिरहेको विषय परमेश्वरका वचनहरूलाई कसरी लिने भन्ने रहेको छ। परमेश्वरका वचनहरू पालन गर्नु र तिनमा समर्पित हुनु निकै महत्त्वपूर्ण हुन्छ। तिनलाई कार्यान्वयन गर्न, लागु गर्न र अभ्यास गर्न सक्नु निकै महत्त्वपूर्ण हुन्छ। कतिपय मानिसहरू भन्छन्, “आज पनि, हामीलाई ख्रीष्टलाई कसरी व्यवहार गर्ने भनेर थाहा नै छैन।” ख्रीष्टलाई कसरी व्यवहार गर्ने भन्ने कुरा निकै सरल छ: ख्रीष्टप्रतिको तेरो मनोवृत्ति नै परमेश्वरप्रतिको तेरो मनोवृत्ति हो। परमेश्वरको नजरमा, परमेश्वरप्रतिको तेरो मनोवृत्ति नै ख्रीष्टप्रतिको तेरो मनोवृत्ति हो। अवश्य नै, ख्रीष्टप्रतिको तेरो मनोवृत्ति स्वर्गमा हुनुहुने परमेश्वरप्रतिको मनोवृत्ति हो। ख्रीष्टप्रतिको तेरो मनोवृत्ति सबै भन्दा वास्तविक हुन्छ—त्यसलाई देख्न सकिन्छ, र त्यसैलाई नै परमेश्वरले सूक्ष्मजाँच गर्नुहुन्छ। मानिसहरू परमेश्वरले चाहनुहुने शैलीमा परमेश्वरलाई कसरी व्यवहार गर्ने भनी बुझ्न चाहन्छन्, र यो सरल छ। तीनवटा बुँदाहरू छन्: पहिलो इमानदार हुनु हो; दोस्रो भनेको सम्मान, ख्रीष्टलाई कसरी सम्मान गर्ने भनेर सिक्नु हो; अनि तेस्रो—र सबैभन्दा महत्त्वपूर्ण बुँदा—उहाँका वचनहरू पालन गर्नु हो। उहाँका वचनहरू पालन गर्नु: के यसको अर्थ कानले सुन्नु हो कि अरू कुनै कुराले? (आफ्नो हृदयले।) के तँसँग हृदय छ? यदि तँसँग हृदय छ भने, त्यसले सुन्। यदि तैँले आफ्नो हृदयले सुनिस् भने मात्र बुझ्नेछस्, र सुनेको कुरालाई अभ्यास गर्न सक्नेछस्। यी तीनवटै बुँदा निकै सरल छन्। तिनको शाब्दिक अर्थ बुझ्न सजिलो हुनुपर्छ, र तार्किक रूपमा भन्दा, तिनलाई अघि बढाउन सजिलो हुनुपर्छ—तर तिमीहरूले तिनलाई कसरी अघि बढाउँछौ, र बढाउन सक्छौ कि सक्दैनौ भन्ने कुरा तिमीहरूमै निर्भर हुन्छ; म थप व्याख्या गर्नेछैनँ। कतिपय मानिसहरू भन्छन्, “तिमी एउटा साधारण व्यक्ति मात्र हौ। हामी किन तिमीसँग इमानदार हुनुपऱ्यो? हामीले तिमीलाई किन सम्मान गर्नुपऱ्यो? हामीले तिम्रा वचनहरू किन पालन गर्नुपऱ्यो?” मसँग मेरा कारणहरू छन्। ती पनि तिनवटै छन्। ध्यान दिएर सुन अनि मेरो कुरा अर्थपूर्ण छ कि छैन भनी हेर। यदि छ भने, तिमीहरूले यसलाई स्विकार्नुपर्छ; यदि तँलाई छैन जस्तो लाग्छ भने, तैँले यसलाई स्विकार्नु पर्दैन, र अर्को मार्ग खोज्न सक्छस्। पहिलो कारण के हो भने, जब देखि तैँले परमेश्वरको कामको यो चरणलाई स्वीकार गरिस्, तैँले मैले भनेका हरेक वचन खाँदै, पिउँदै, तिनको आनन्द लिँदै, र प्रार्थनार्थ पढ्दै आइरहेको छस्। दोस्रो कारण के हो भने, तँ आफै सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउने व्यक्ति भएको, र तँ उहाँका विश्वासीहरूमध्ये एक भएको कुरा स्विकार्छस्। त्यसोभए के तैँले आफू परमेश्वर देहधारी हुनुभएको साधारण देहलाई पछ्याउने व्यक्ति भएको स्विकार्छस् भनेर भन्न मिल्छ? मिल्छ। सङ्क्षेपमा भन्दा, दोस्रो कारण के हो भने, तैँले आफू सर्वशक्तिमान् परमेश्वरलाई पछ्याउने व्यक्ति भएको स्विकार्छस्। तेस्रो कारण चाहिँ सबैभन्दा महत्त्वपूर्ण छ: सम्पूर्ण मानवजातिमध्ये, म मात्र तिमीहरूलाई मानिसहरूका रूपमा हेर्छु। के यो बुँदा महत्त्वपूर्ण छ? (छ।) तिमीहरूले यी तीन बुँदाहरूमध्ये कुनचाहिँ स्विकार्न सक्दैनौ? तिमीहरू के भन्छौ, के मैले भर्खरै बोलेका यी बुँदाहरू मध्ये कुनै पनि असत्य, अवस्तुगत, तथ्यहीन छन्? (छैनन्।) त्यसैले जम्मा-जम्मी छवटा बुँदाहरू छन्। म ती प्रत्येकका बारेमा विस्तृत वर्णन गर्नतिर लाग्नेछैन; तिनलाई आफै मनन गर। मैले यी विषयहरूका बारेमा विस्तृत रूपमा बोलिसकेको छु, त्यसैले तिमीहरूले बुझ्न सक्नुपर्छ।
जुलाई ४, २०२०