विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग चार)

आ. परमेश्‍वर देहधारी हुनुभएको देहलाई तिरस्कार गर्नु

पछिल्लो सङ्गतिमा, हामीले ख्रीष्टविरोधीहरूको दसौँ प्रकटीकरणको दोस्रो उपशीर्षकबारे सङ्गति गर्‍यौँ—त्यो हो, परमेश्‍वर देहधारी हुनुभएको देहलाई तिरस्कार गर्नु। हामी हाम्रो सङ्गतिमा कहाँ पुगेका थियौँ? (ख्रीष्टविरोधीहरूले कसरी आफ्नो मुडअनुसार ख्रीष्टलाई व्यवहार गर्छन् भन्‍ने कुरामा।) हामी “तिनीहरूले ख्रीष्टलाई कस्तो व्यवहार गर्छन्, त्यो तिनीहरूको मुडमा भर पर्छ” भन्‍ने विषयवस्तुमा पुगेका थियौँ। पहिला कुन पक्षहरू सङ्गति गरिएका थिए भनी समीक्षा गरौँ। “तिनीहरूको मुडअनुसार” भन्‍ने सम्बन्धमा कतिवटा परिस्थितिहरू चिरफार गरियो? (पाँचवटा परिस्थितिहरू: काटछाँट गरिँदा तिनीहरूको व्यवहार, ख्रीष्ट खेदोमा पर्नुहुँदा, तिनीहरूले ख्रीष्टबारे धारणा विकास गर्दा, तिनीहरू बढुवा वा बरखास्त हुँदा, र विभिन्‍न वातावरणहरू सामना गर्दा, ख्रीष्टप्रति तिनीहरूको व्यवहार।) धेरथोर कुरा त्यही हो। जब तिमीहरूले यी पक्षहरूको विषय सामग्री सुन्छौ, के तिमीहरूले त्यसभित्रका घटनाहरूबारे मात्र सुन्छौ, कि तिनलाई आफूसँग दाँजेर यी घटनाहरूमार्फत सत्यता प्राप्त गर्ने र बुझ्ने पनि गर्छौ? तिमीहरू कस्तो दृष्टिकोणले सुन्छौ? (जब परमेश्‍वरले यी स्थिति र प्रकटीकरणहरू खुलासा र चिरफार गर्नुहुन्छ, म तिनलाई आफूसँग दाँज्न सक्छु। कहिलेकाहीँ, मेरो व्यवहार पूर्ण रूपमा ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूजस्तै नहुन सक्छ, तर प्रकट हुने स्वभाव र प्रकृति सार उस्तै हुन्छन्।) ती खुलासा भएका स्थिति, प्रकटीकरण, र सारहरू धेरथोर मात्रामा सबैमा हुन्छन्। जब मानिसहरूले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्छन्, उनीहरूलाई आफूमा यी भ्रष्ट स्वभावहरूका प्रकटीकरणहरू देख्न कठिन हुन्छ, तर जब परमेश्‍वरमा विश्‍वास गर्ने तिनीहरूको अनुभव बिस्तारै गहन बन्दै जान्छ, तब उनीहरू अचेतन रूपमै निश्‍चित स्वभाव र व्यवहारहरूबारे सचेत बन्छन्। त्यसकारण, अहिले हामीले छलफल गर्ने विषयवस्तुले समेट्ने विशिष्ट प्रकटीकरणहरू तँसित सम्बन्धित भए पनि नभए पनि वा विगतमा तँ यस्तो व्यवहारमा संलग्न भए पनि नभए पनि, यसको मतलब यी मामलाहरू तँसित सम्बन्धित छैनन् भन्‍ने होइन; यसको मतलब तैँले भविष्यमा यस्ता कुरा गर्नेछैनस् भन्‍ने होइन, न त यसको अर्थ तँमा यस्ता स्वभाव र व्यवहारहरू छैनन् भन्‍ने नै हो। हामीले अहिले एक वर्षभन्दा बढी समयदेखि ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरू सङ्गति र खुलासा गर्दै आएका छौँ। कुनै शीर्षकमा एक वर्षभन्दा बढी सङ्गति गरेर अझै पनि नसकिँदा, तिमीहरूलाई के लाग्छ, के हाम्रो सङ्गतिको विषयवस्तु विशिष्ट र व्यापक छ? (यो व्यापक छ।) यो अत्यन्तै विशिष्ट र व्यापक छ! सङ्गति यो स्तरमा पुग्दासमेत, धेरै मानिसहरू अझै आफ्ना पुरानै व्यवहारहरू देखाउँछन्, अलिकति पनि बदलिएका छैनन्। भन्नुको मतलब, यी वचनहरू बोलेर अनि यी स्थिति, स्वभाव र सारहरू खुलासा गर्दा पनि, त्यसले तिनीहरूलाई थोरै पनि मदत गर्दैन। यो अवधिमा, अझै पनि केही मानिसहरू छन्, जो असावधान र नैतिकहीन व्यवहार गर्छन्, स्वेच्छाचारी र तानासाहीपूर्वक कार्य गर्छन्, साथै मनोमानी र लहडी व्यवहार गर्छन्। हैसियत प्राप्त गरेपछि, तिनीहरू पहिलेजस्तै रहन्छन्, वा झन् बढी उग्र बन्छन्, र आफूलाई झनै व्यापक रूपमा खुलासा गर्छन्। यसअलावा, केही मानिसहरू सधैँ प्रतिस्थापन र निकालामा परिरहेका हुन्छन्—यहाँ के भइरहेको हो? (यस्तो किन हुन्छ भने, यी मानिसहरूले कहिल्यै सत्यता स्विकारेका हुँदैनन्; उनीहरूले धैरै प्रवचनहरू सुनेका हुन्छन् तर तिनलाई हृदयमा लिएका हुँदैनन्।) एउटा कारण यो हो कि यी मानिसहरूले कहिल्यै सत्यता स्विकार्दैनन्; उनीहरू सत्यताप्रति वितृष्ण हुन्छन् र सकारात्मक कुराहरूलाई प्रेम गर्दैनन्। अर्को कारण यो हो कि उनीहरूमा अन्तर्निहित रूपमै ख्रीष्टविरोधी सार हुन्छ र उनीहरूले सत्यता वा सकारात्मक कुराहरू स्विकार्न सक्दैनन्। त्यसकारण, मैले ख्रीष्टविरोधीहरूका विभिन्‍न सार र प्रकटीकरणहरूबारे यति विशिष्ट रूपमा सङ्गति र खुलासा गरेको भए पनि, यी ख्रीष्टविरोधी र दुष्ट मानिसहरू अझै पनि बिनाडर र बेकाबु रूपमा काम गर्छन्, र आफूले चाहेको जे पनि गर्छन्। के यो तिनीहरूको सारद्वारा निर्धारित हुँदैन र? यी मानिसहरूले आफ्नो प्रकृति बदल्नु साँच्चिकै असम्भव छ; तिनीहरूले जतिसुकै प्रवचनहरू सुने पनि तिनले तिनीहरूलाई प्रभाव पार्दैनन्, साथै तिनीहरू अपश्‍चात्तापी नै रहन्छन्। तिनीहरूका दैनिक जीवन, कर्तव्य गराइप्रतिको तिनीहरूको मनोवृत्ति, र तिनीहरूको कर्तव्य गराइ शैली हेर्दा, तिनीहरू सत्यता बिलकुलै स्विकार्दैनन् र तिनीहरूका स्वभावहरू कति पनि बदलिएका छैनन्; यी वचनहरू बहिरोलाई सुनाएजस्तै पूर्णतया प्रभावहीन भएका छन्। यी वचनहरूले ख्रीष्टविरोधीहरूलाई त प्रभाव पार्दैनन्, तर के यी वचनहरूले तिमीहरूलाई कुनै निरोधात्मक प्रभाव पारेका छन्? के यिनले केही निश्‍चित व्यवहारहरूलाई वशमा राख्ने र तिमीहरूको विवेक र नैतिकताका स्तरहरू माथि उठाउने काम गरेका छन्? (अलिअलि गरेका छन्।) यदि यिनले कुनै व्यक्तिमाथि यस्तो प्रभाव पारेका छैनन् भने, के ऊ मानव नै हो त? होइन; ऊ दियाबलस हो। अवश्य, यी वचनहरू सुनेपछि, धेरैजसो मानिसहरूले ख्रीष्टविरोधीहरूका विभिन्‍न स्वभाव सारहरू केही मात्रामा खुट्ट्याएका छन्, र भित्रैदेखि ख्रीष्टविरोधीहरूका स्वभावहरूप्रति घृणा विकास गरेका छन्, र त्यो सँगसँगै तिनीहरूका आफ्नै भ्रष्ट स्वभाव सारहरूबारे पनि केही बुझाइ र ज्ञान प्राप्त गरेका छन्। यो एउटा राम्रो सङ्केत, अर्थात् राम्रो कुरा हो। तर के जति धेरै सुन्यो उति धेरै नकारात्मक बन्‍ने मानिसहरू पनि छैनन् र? यी वचनहरू सुनेपछि, तिनीहरू सोच्छन्, “सकियो। ख्रीष्टविरोधीहरूका प्रकटीकरण, स्थिति, र स्वभावहरू खुलासा हुँदैपिच्छे ती पूर्ण रूपमा मेरासँग मिल्छन्। ती मेरो लागि कहिल्यै असान्दर्भिक हुँदैनन्। मैले कहिले आफूलाई ख्रीष्टविरोधीहरूको स्वभावबाट अलग गर्न सक्ने होला? मैले कहिले परमेश्‍वरका मानिसहरूका अर्थात् परमेश्‍वरका प्रिय पुत्रहरूका केही प्रकटीकरणहरू देखाउन सक्ने होला?” तिनीहरू जति बढी सुन्छन्, त्यति नै नकारात्मक बन्छन्, र त्यति नै पछ्याउनको लागि आफूसँग मार्ग नभएको महसुस गर्छन्। के यो प्रतिक्रिया सामान्य हो? (होइन।) के तिमीहरूलाई नकारात्मक महसुस हुन्छ? (हुँदैन।) तिमीहरूले हरेकपटक मैले ख्रीष्टविरोधीहरूका यी प्रकटीकरण र घटनाहरू खुलासा गरेको सुन्दा, के त्यसले घोच्ने वा असहजता निम्त्याउने गर्छ? के तिमीहरूलाई लाज लाग्छ? (त्यसले घोच्छ, हामीलाई लाज लाग्छ।) तिमीहरूलाई जस्तो अनुभूति भए पनि, त्यसले नकारात्मकतातिर नडोर्‍याउनु राम्रो कुरा हो; तिमीहरू अडिग भएर बसेका छौ। तर नकारात्मक नभएर मात्र पुग्दैन; त्यसले उद्देश्य हासिल गर्दैन, त्यो नै अन्तिम लक्ष्य होइन। तिमीहरू यी वचनहरूमार्फत आफूबारेको ज्ञानसम्म पुग्नुपर्छ। यो व्यवहारको एउटा पक्ष बुझ्ने कुरा होइन, यो त तिमीहरूको आफ्नै स्वभाव र सार जान्‍ने कुरा हो। यस बुझाइले तँलाई जीवनमा अभ्यास गर्ने मार्ग भेट्टाउन र आफ्नो कर्तव्य गर्ने क्रममा कस्ता कार्यहरू ख्रीष्टविरोधीहरूको व्यवहारसँग मिल्दो छन्, कस्ता कार्यहरूले ख्रीष्टविरोधीको स्वभाव प्रकट गर्छन्, र कस्ता कार्यहरू शिष्ट हुन् भनी जान्‍न सक्षम तुल्याउनुपर्छ। यदि तैँले यो कुरा हासिल गर्न सकिस् भने, तैँले यी वचनहरू सुनेको व्यर्थ भएको छैन; यिनले तँमाथि प्रभाव पारेका छन्। यसपछि, हामी ख्रीष्टविरोधीहरूले देहधारी परमेश्‍वरलाई कस्तो व्यवहार गर्छन् भन्‍ने कुराको चौथो प्रकटीकरणबारे सङ्गति गर्न जारी राख्नेछौँ—त्यो हो, ख्रीष्टले भन्‍नुभएको कुरा केवल सुन्‍ने, तर न त आज्ञापालन गर्ने न त समर्पित हुने।

घ. ख्रीष्टले भन्‍नुभएको कुरा केवल सुन्‍ने, तर न त आज्ञापालन गर्ने न त समर्पित हुने

ख्रीष्टविरोधीहरू ख्रीष्टले भन्‍नुभएको कुरा केवल सुन्‍ने, तर न त आज्ञापालन गर्ने न त समर्पित नै हुने गर्छन्; त्यसोभए, तिनीहरूले कसरी सुन्छन्? तिनीहरूले जुन मनोवृत्तिले सुन्छन् त्यसलाई मूलतः यस वाक्यांशले सारांशीकृत गर्छ: त्यसमा कुनै अनुपालन र साँचो समर्पण हुँदैन; तिनीहरूले हृदयदेखि स्विकार्दैनन्, तर कानले मात्र सुन्छन्, हृदयले सुन्‍ने वा बुझ्ने गर्दैनन्। त्यसलाई शाब्दिक रूपमा हेर्दा, यस सम्बन्धमा ख्रीष्टविरोधीहरूको व्यवहार र स्वभाव यिनै आधारभूत तत्त्वहरूद्वारा सारांशीकृत गर्न सकिन्छ। ख्रीष्टविरोधीहरूको स्वभाव सारको दृष्टिकोणबाट, यस्ता मानिसहरूले परमेश्‍वरबाट आउने कुनै पनि कुरा वा परमेश्‍वर वा मानवहरूद्वारा राम्रो र सकारात्मक ठानिएका कुनै पनि कुरा, साथै प्राकृतिक नियमहरूअनुरूपका कुनै पनि कुरा न त पालन गर्छन् न त तिनको अधीन स्विकार्छन्; बरु तिनीहरूले यस्ता कुराहरूलाई हेयको दृष्टिले हेर्छन्, र तिनीहरूका आफ्नै दृष्टिकोण र विचारहरू हुन्छन्। के तिनीहरूका दृष्टिकोणहरू सकारात्मक कुराका नियम र व्यवस्थाहरूअनुरूप हुन्छन्? हुँदैनन्। तिनीहरूका दृष्टिकोणहरू दुइटा पक्षहरूमा सीमित छन्: एउटाचाहिँ शैतानका व्यवस्थाहरू हो, अनि अर्कोचाहिँ शैतानको स्वार्थहरू र शैतानको स्वभाव सारअनुरूप छ। त्यसकारण, परमेश्‍वर देहधारी हुनुभएको देहको सन्दर्भमा, ख्रीष्टविरोधीहरूको दृष्टिकोण र मनोवृत्ति अन्ततः दुइटा कुरामा सीमित हुन्छन्: एउटाचाहिँ शैतानका तर्क र व्यवस्थाहरू हो, अनि अर्कोचाहिँ शैतानको स्वभाव सार हो। ख्रीष्टले धर्तीमा एक चरणको काम गर्नुहुँदा, उहाँ परमेश्‍वरको प्रवक्ता हुनुहुन्छ, उहाँले धर्तीमा एक चरणको काम गर्नुहुँदा, उहाँ परमेश्‍वरको अभिव्यक्ति र देहधारण हुनुहुन्छ। यस्तो भूमिकाको लागि, ख्रीष्टिरोधीहरूसित जिज्ञासा र छानबिन गर्ने रुचिको अलावा, र कुनै हैसियत भएको व्यक्तिलाई झैँ उहाँलाई खुसामद र चापलुसी गर्ने व्यवहारको अलावा, तिनीहरूको हृदयमा कुनै साँचो विश्‍वास र पछ्याइ हुँदैन, साँचो प्रेम र समर्पण हुने त झन् कुरै नगरौँ। भ्रष्ट मानवजातिको नजरमा महत्त्वहीन देखिने पात्र ख्रीष्टको सन्दर्भमा भन्नुपर्दा, उहाँको रूप साधारण र सामान्य छ; उहाँको बोली, व्यवहार, र चालढाल, साथै उहाँको मानवताका सबै पक्षहरू पनि साधारण र सामान्य छन्। त्योभन्दा पनि बढी, उहाँले गर्नुहुने कामको स्वरूप, शैली, र विधि सबैको नजरमा अत्यन्तै साधारण, सामान्य, र व्यवहारिक देखिन्छन्। ती अलौकिक, खोक्रा, अस्पष्ट, र वास्तविक जीवनबाट अलग छैनन्। छोटकरीमा भन्‍नुपर्दा, बाहिरबाट ख्रीष्ट निकै उच्‍च देखिनुहुन्‍न। उहाँका बोली, कार्य, र चालढाल गहन वा अमूर्त छैनन्। मानव नजरले हेर्दा, कुनै रहस्यहरू देखिँदैनन्, न त बुझ्नै नसकिने केही नै देखिन्छन्; उहाँ अत्यन्तै व्यवहारिक, अत्यन्तै सामान्य हुनुहुन्छ। देहधारी परमेश्‍वरले गर्नुहुने सम्पूर्ण कामका सार र प्रकृतिबारे छलफल गर्नुअघि, अब हामी देहधारी परमेश्‍वरको यो भूमिकाबारे बाहिरी रूपमा मानिसहरूले देख्ने सबै कुराबारे विचार गरौँ: उहाँको बोली, व्यवहार, चालढाल, दिनचर्या, व्यक्तित्व, रुचि, शैक्षिक स्तर, उहाँले चासो राख्ने र छलफल गर्ने मामलाहरू, उहाँले मानिसहरूसँग गर्ने व्यवहार र अन्तरक्रिया, साथै उहाँले जेबारे ज्ञान सुनाउनुहुन्छ ती कुराहरू, आदि इत्यादि। मानिसको दृष्टिकोणमा, यी सबै अलौकिक, उच्‍च, वा खोक्रा हुँदैनन्, बरु अत्यन्तै व्यावहारिक हुन्छन्। यी सबै पक्षहरू ख्रीष्टलाई पछ्याउने सबैको लागि एउटा परीक्षा हुन्; तर जो साँचो रूपले परमेश्‍वरमा विश्‍वास गर्छन्, जोसँग समझ र विवेक छ, तिनीहरूले केही सत्यता बुझेपछि ख्रीष्टका सारा सामान्य र व्यवहारिक बाह्य प्रकटीकरणहरूलाई बुझ्न, स्विकार्न, र समर्पित हुन देहधारी परमेश्‍वरको वर्गमा सारांशीकृत गर्छन्। तथापि, ख्रीष्टविरोधीहरूले मात्र यसो गर्दैनन्; तिनीहरूले यो गर्नै सक्दैनन्। तिनीहरूलाई तिनीहरूको हृदयको गहिराइमा ख्रीष्टजस्तो यति साधारण व्यक्तित्वमा केही कमी भएझैँ लाग्छ। ठ्याक्कै केचाहिँ कमी हुन्छ त? भित्री रूपमा, ख्रीष्टविरोधीहरूलाई अक्सर यस्तो साधारण व्यक्ति परमेश्‍वरजस्तो देखिँदै देखिँदैन भन्‍ने लाग्छ। तिनीहरूले यस्तो साधारण व्यक्तिले तिनीहरूको साँचो परमेश्‍वर अर्थात् तिनीहरूले कल्पना गरेको ख्रीष्टलाई सुहाउँदो हुने गरी बोल्‍नु, काम गर्नु र व्यवहार गर्नुपर्छ भनेर पनि बारम्बार माग गर्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरूको हृदयको गहिराइमा हेर्दा, तिनीहरू यस्तो साधारण व्यक्तिलाई आफ्नो प्रभु र आफ्नो परमेश्‍वरको रूपमा स्विकार्न अनिच्छुक हुन्छन्। ख्रीष्टको कुनै पक्ष जति सामान्य, व्यावहारिक र साधारण हुन्छ, त्यति नै यसलाई ख्रीष्टविरोधीहरूले तिरस्कार र खिसी गर्छन्, र शत्रुतापूर्वक हेर्नेसमेत गर्छन्। यसर्थ, उहाँका वचनहरूलगायत ख्रीष्टको व्यवहारको कुनै पनि पक्षको सन्दर्भमा भन्नुपर्दा, ख्रीष्टविरोधीहरू भित्री रूपमा तिनलाई स्विकार्न सक्दैनन्, र तिनीहरू तीप्रति प्रतिरोधीसमेत हुन्छन्।

ख्रीष्टको बोलीमा के समावेश हुन्छ? त्यो कहिलेकाहीँ कार्य बन्दोबस्तहरू गर्नेबारेमा हुन्छ, कहिलेकाहीँ कसैका कमीकमजोरी औँल्याउनेबारेमा, कहिलेकाहीँ कुनै निश्‍चित प्रकारको व्यक्तिको भ्रष्ट सार खुलासा गर्नेबारेमा हुन्छ, कहिलेकाहीँ कुनै मामलाका सार र त्यसका सारा विवरणहरू विश्‍लेषण गरेर त्यसका समस्याहरू चिरफार गर्नेबारेमा, कहिलेकाहीँ कुनै मामलाको सही र गलत छुट्ट्याउनेबारेमा हुन्छ, कहिलेकाहीँ एकखाले व्यक्तिको परिणाम निर्धारण गर्नेबारेमा, कहिलेकाहीँ केही मानिसहरूलाई बढुवा गर्नेबारेमा हुन्छ, कहिलेकाहीँ केही मानिसहरूलाई बरखास्त गर्नेबारेमा, अनि कहिलेकाहीँचाहिँ त्यो केही मानिसहरूलाई काटछाँट गर्नेबारेमा र कहिलेकाहीँ केही मानिसहरूलाई सहानुभूति र अर्ती दिनेबारेमा हुन्छ। अवश्य नै, ख्रीष्टले उहाँको कामको बेलामा मानिसहरूको जीवन स्वभावसँग सम्बन्धित जुन सत्यताहरू चर्चा गर्नुहुन्छ, त्यसअलावा, उहाँले हरप्रकारका कुराहरू, साथै मानव ज्ञान र विभिन्‍न व्यावसायिक क्षेत्रहरूसँग सम्बन्धित केही विषयहरूलाई पनि बारम्बार उल्लेख गर्नुहुन्छ। ख्रीष्ट एक सामान्य र व्यावहारिक व्यक्ति हुनुहुन्छ; उहाँ शून्यतामा जिउनुहुन्‍न। उहाँसँग मानव अस्तित्वसम्बन्धी र जीवनसम्बन्धी सारा मामलाहरूबारे सोच र दृष्टिकोणहरू छन्, र उहाँले यी मामलाहरूलाई सिद्धान्तपरक ढङ्गले हेर्नुहुन्छ। यदि यी सिद्धान्तहरू मानिसहरूको अस्तित्व, मानिसहरूको जीवन प्रवेश, र परमेश्‍वरको आराधनाजस्ता विषयहरूसँग सम्बन्धित छन् भने, के ती सबै सत्यता हुन् भनेर भन्‍न मिल्छ? (मिल्छ।) मानव ज्ञान, दर्शन, र केही व्यावसायिक मामलाहरूसम्बन्धी ख्रीष्टले बोल्‍नुहुने वचनहरूलाई सिधै सत्यता भन्‍न मिल्दैन, बरु ती कुराहरू दृष्टिकोण, मनोवृत्ति, र सिद्धान्तको हिसाबले मानिसहरूलाई यी विषयहरूमा थाहा भएका कुराभन्दा फरक हुन्छन्। उदाहरणको लागि, मानवहरू एउटा ज्ञानप्रति आदरपूर्ण मनोवृत्ति अपनाएर त्यसद्वारा जिउन सक्छन्, तर ख्रीष्टले हरप्रकारका ज्ञानलाई चिरफार गर्न र खुट्ट्याउन अनि तिनलाई सही तरिकाले हेर्न सक्नुहुन्छ। उदाहरणको लागि कुनै एउटा पेशामा तिमीहरूको दक्षता र त्यससँग सम्बन्धित ज्ञानबारे तिमीहरूको निपुणताकै कुरा गरौँ। तिमीहरूले यस ज्ञानलाई प्रयोग गरेर के हासिल गर्न सक्छौ? तिमीहरूले आफ्नो कर्तव्य गर्ने क्रममा यस ज्ञानलाई कसरी प्रयोग गर्छौ? के त्यसमा कुनै सत्यता सिद्धान्तहरू संलग्न हुन्छन्? यदि तैँले सत्यता बुझ्दैनस् भने, त्यस्ता कुनै सिद्धान्तहरू हुँदैनन्, र तँ आफ्नो कर्तव्य गर्दा ज्ञानमाथि मात्र भर पर्छस्। म त्यस पेशामा विज्ञ नहुँला वा ममा त्यस ज्ञानबारे गहन बुझाइ नहोला, म मोटामोटी अवधारणा र केही मूलभूत कुराहरू मात्र बुझ्छु र जान्दछु होला, तर म यस ज्ञानलाई एक तरिकाले र सिद्धान्तपरक ढङ्गले प्रयोग गर्न जान्दछु जसले गर्दा त्यस ज्ञानले प्रभावकारी रूपमा परमेश्‍वरको काममा सेवाप्रदान गर्न मदत गर्न सक्छ। भिन्‍नता यही हो। ख्रीष्टविरोधीहरूले सत्यता नस्विकार्ने हुनाले, तिनीहरूले यो कुरा कहिल्यै देख्नेछैनन् र ख्रीष्टको सार साँच्चिकै के हो भनेर कहिल्यै बुझ्नेछैनन्। ख्रीष्टमा परमेश्‍वरको सार छ—यो भनाइ ठ्याक्कै कहाँ वास्तविकता बन्छ र प्रकट हुन्छ, त्यसलाई मानिसहरूले कुन रूपमा हेर्नुपर्छ, अनि त्यसबाट मानिसहरूले कस्ता फाइदा र लाभहरू प्राप्त गर्छन्? ख्रीष्टविरोधीहरूले यो पक्ष कहिल्यै देख्नेछैनन्। किन त्यस्तो हुन्छ? एउटा सबैभन्दा महत्त्वपूर्ण कारण छ: ख्रीष्टविरोधीहरूले परमेश्‍वर देहधारी हुनुभएको देहलाई जसरी हेरे पनि, तिनीहरूले एउटा व्यक्ति मात्र देख्छन्। तिनीहरूले मानव दृष्टिकोणबाट मापन गर्छन्, मानव ज्ञान, अनुभव, बुद्धि, षड्यन्त्र, र छलकपट प्रयोग गरेर हेर्छन्, तर तिनीहरूले जसरी हेरे पनि यस व्यक्तिमा त्यस्तो विशेष केही पनि देख्दैनन्, न त तिनीहरूले उहाँमा परमेश्‍वरको सार छ भनेर खुट्ट्याउन नै सक्छन्। ल भन् त, के तिनीहरूले त्यसलाई नाङ्गो आँखाले देख्न सक्छन्? (सक्दैनन्।) तिनीहरूले सूक्ष्मदर्शक यन्त्र वा एक्स-रे प्रयोग गरेर देख्न सक्छन्? त्यसो गरेमा तिनीहरूले त्यो कुरा देख्ने सम्भावना झनै कम हुन्छ। कतिपय मानिसहरू सोध्छन्: “यदि त्यसलाई नाङ्गो आँखाले वा सूक्ष्मदर्शक यन्त्रले देख्न सकिँदैन भने, के आत्मिक क्षेत्रसँग सम्पर्कमा भएकाहरूले देख्न सक्छन् त?” (सक्दैनन्।) आत्मिक क्षेत्रसँग सम्पर्कमा भएकाहरूले त्यस क्षेत्रलाई देख्न र आत्माहरूलाई बुझ्न सक्छन्, तर देहधारी परमेश्‍वरलाई किन खुट्ट्याउन सक्दैनन्? के तिमीहरूलाई शैतानले परमेश्‍वरलाई आत्मिक क्षेत्रमा देख्न सक्छ जस्तो लाग्छ? (लाग्छ।) परमेश्‍वरजस्तै शैतान पनि आत्मिक क्षेत्रमै हुन्छ, तर के त्यसले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा मान्छ? (मान्दैन।) के त्यसले परमेश्‍वरलाई पछ्याउने वा उहाँमा विश्‍वास गर्ने गर्छ? (गर्दैन।) शैतानले परमेश्‍वरलाई हरदिन देख्न सक्छ, तर त्यसले न त उहाँमा विश्‍वास गर्छ न त उहाँलाई पछ्याउँछ। त्यसैले, आत्मिक क्षेत्रसँग सम्पर्कमा हुनेहरूले परमेश्‍वरको आत्मा देख्ने सक्ने भए पनि, के तिनीहरूले यस आत्मालाई परमेश्‍वरको रूपमा मान्‍नेछन् र? (मान्‍नेछैनन्।) के यो व्याख्याले यो समस्याको जड समाधान गर्छ? (गर्छ।) यसको जड के हो? (तिनीहरू परमेश्‍वरलाई मान्दैनन् र उहाँको डर मान्दैनन्।) भित्री रूपमा, ख्रीष्टविरोधीहरू परमेश्‍वरलाई मान्दैनन्। तिनीहरूका पुर्खाहरूले, तिनीहरूका कुलवंशहरूले परमेश्‍वरलाई मानेनन्। आफ्नै आँखासामु परमेश्‍वर हुनुहुँदा पनि, तिनीहरूले उहाँलाई न त मान्यता दिन्छन् न आराधना गर्छन्। यस्तोमा, तिनीहरूले यति साधारण र मामुली देखिनुहुने देहधारी परमेश्‍वरलाई कसरी आराधना गर्न सक्थे र? कदापि सक्दैनन्। त्यसैले, ख्रीष्टविरोधीहरूले जस्तोसुकै माध्यमहरू प्रयोग गरेर हेरे पनि, त्यो व्यर्थ छ। परमेश्‍वरले उहाँको काम सुरु गर्नुभएको समयदेखि अहिलेसम्म, परमेश्‍वरले धेरै वचनहरू बोल्नुभएको छ र यति महान् काम गर्नुभएको छ। के यो मानव संसारको सबैभन्दा ठूलो चिन्ह र अचम्मको कार्य होइन र? यदि ख्रीष्टविरोधीहरूले त्यो कुरा मान्‍न सक्थे भने, तिनीहरूले धेरै पहिले नै विश्‍वास गरेका हुन्थे; तिनीहरू अहिलेसम्म पर्खिरहेका हुन्‍नथे। के “ख्रीष्टविरोधीहरूले परमेश्‍वरका वास्तविक कार्यहरू पर्याप्त मात्रामा नदेखेर मात्र हो, त्यसैले तिनीहरू विश्‍वस्त छैनन्; यदि परमेश्‍वरले केही चिन्ह र अचम्मका कार्यहरू देखाउने, र तिनीहरूलाई आत्मिक क्षेत्र साँच्चिकै कस्तो छ भनी हेर्न दिने हो भने, र यदि तिनीहरूले परमेश्‍वरको वास्तविक व्यक्तित्व र उहाँका सारा वचनहरू पूरा भएको देखे भने, तिनीहरूले परमेश्‍वरलाई मान्यता दिनेथिए र उहाँलाई पछ्याउनेथिए” भनेर भन्‍ने मानिसहरू पनि छन्? के कुरा त्यही हो त? परमेश्‍वरसित आत्मिक क्षेत्रमा यतिका वर्ष जोरी खोजेर पनि विश्‍वस्त भएनन् भने, के ख्रीष्टविरोधीहरू केही वर्षमै अचानक समर्पित होलान् त? त्यो असम्भव छ; तिनीहरूको प्रकृति सार अपरिवर्तनीय छ। देहधारी परमेश्‍वरले यति धेरै काम गर्नुभएको र यति धेरै वचनहरू बोल्नुभएको छ, तर यी कुनैले पनि तिनीहरूमाथि विजय गर्न सक्दैन, न त तिनीहरूले परमेश्‍वरको पहिचान र सारलाई मान्यता दिन नै सक्छन्। यो तिनीहरूको जन्मसिद्ध प्रकृति हो। यो प्रकृतिले के सङ्केत गर्छ? यसको अर्थ ख्रीष्टविरोधी मानिसहरूले परमेश्‍वर, सत्यता, र सकारात्मक कुराहरूविरुद्ध सदैव युद्ध चलाइरहनेछन्, अन्तिम अवस्थासम्म लडिरहनेछन्, र मृत्युपर्यन्त कहिल्यै रोकिनेछैनन्। के तिनीहरू विनाशयोग्‍य पात्र होइनन् र? “मृत्युपर्यन्त कहिल्यै नरोकिनु” भन्नुको अर्थ के हो? त्यसको अर्थ तिनीहरू परमेश्‍वरका वचनहरूलाई सत्यताको रूपमा मान्नुभन्दा मर्न तयार हुन्छन्, तिनीहरू परमेश्‍वरप्रति समर्पित हुनुभन्दा मर्न तयार हुन्छन्। यो त मृत्युलायक कुरा हो।

ख्रीष्टविरोधीहरू ख्रीष्ट अर्थात् यस साधारण व्यक्तिलाई बाहिरबाट मात्र नभई भित्रैदेखि पनि सूक्ष्मजाँच गर्छन्। यसर्थ, ख्रीष्टले बोल्नु वा कार्य गर्नुहुँदा, ख्रीष्टविरोधीहरूले विभिन्‍न प्रकारका व्यवहारहरू प्रस्तुत गर्छन्। अब हामी ख्रीष्टका बोली र कार्यहरूको प्रतिक्रियास्वरूप ख्रीष्टविरोधीहरूले देखाउने विभिन्‍न प्रकटीकरणहरूमार्फत तिनीहरूको प्रकृति सार खुलासा गरौँ। उदाहरणको लागि, काम र सत्यता सिद्धान्तहरूबारे ख्रीष्टले मानिसहरूसित सङ्गति गर्नुहुँदा, उहाँले केही विशिष्ट अभ्यासहरू उल्लेख गर्नुहुन्छ। यी अभ्यासहरू मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा कुनै काम विशिष्ट रूपले कसरी कार्यान्वयन र लागु गर्नुपर्छ भन्‍नेबारे सम्बन्धित छन्। सामान्य रूपमा भन्नुपर्दा, कुनै पनि काम भनेको सिद्धान्तबारे छलफल गर्नु, नाराहरू फलाक्नु, सबैलाई ऊर्जा प्रदान गर्नु, र सबैलाई शपथ खुवाउनु, अनि त्यतिमै कुरा सक्‍नु होइन; कर्तव्यसँग सम्बन्धित हरेक काम जटिल हुन्छ र त्यसमा निश्‍चित विवरणहरू संलग्न हुन्छन्। उदाहरणको लागि: कसरी सही व्यक्ति छान्‍ने; विभिन्‍न मानिसहरूका फरकफरक स्थितिहरूलाई कसरी सम्हाल्ने र कुन रूपमा हेर्ने; कर्तव्य गर्ने क्रममा उत्पन्‍न हुने विभिन्‍न समस्याहरूलाई कसरी सिद्धान्तहरूअनुसार सम्हाल्ने; कसरी स्वेच्छाचारी र तानासाही रूपमा कार्य नगरी, वा मनोमानी र लहडी व्यवहार नगरी, मानिसहरूमाझ सौहार्दपूर्ण सहकार्य गर्ने; आदि इत्यादि, जसले विभिन्‍न विषयहरू समेट्छन्। कार्यान्वयन गरिनुपर्ने र कोही प्रभारी चाहिने विशेष कामबारे ख्रीष्टले सङ्गति गर्नुहुँदा, व्यक्तिहरूले कठिनाइहरू सामना गर्नुपर्ने हुन सक्छ। नाराहरू फलाक्नु र धर्मसिद्धान्तहरू प्रचार गर्नु सजिलो छ, तर वास्तविक कार्यान्वयन त्यति सजिलो छैन। यी कामहरू गएर वास्तवमै कार्यान्वयन गर्नको लागि, कम्तीमा पनि, मानिसहरूले प्रयत्न गर्नुपर्छ, मूल्य चुकाउनुपर्छ, र समय खर्चनुपर्छ। यो एकातिर उपयुक्त व्यक्तिहरू खोज्‍ने कार्यसँग सम्बन्धित छ, र अर्कोतिर, संलग्‍न पेशाबारे सिक्ने, विभिन्‍न व्यावसायिक पक्षहरूसँग सम्बन्धित आम ज्ञान र सिद्धान्तहरू, र कार्यसञ्चालनका विशिष्ट विधि र शैलीहरू अनुसन्धान गर्ने कार्यसँग सम्बन्धित छ। यसअलावा, तिनीहरूले केही चुनौतीपूर्ण समस्याहरू पनि सामना गर्न सक्छन्। सामान्यतया, यी कठिनाइहरूबारे सुनेपछि सामान्य मानिसहरूले अलि त्रसित, र केही दबाब महसुस गर्छन्, तर जो परमेश्‍वरप्रति बफादार र समर्पित छन्, तिनीहरूले कठिनाइहरू सामना गर्दा र दबाब महसुस गर्दा मौन रूपमा हृदयमा प्रार्थना गर्नेछन्, र तिनीहरूको आस्था बढाउन र अन्तर्दृष्टि र सहयोगको लागि परमेश्‍वरलाई मार्गदर्शन माग्छन्, साथै गल्तीहरू गर्नबाट जोगाइमाग्छन्, ताकि तिनीहरूले प्रस्ट विवेक हासिल गर्नहेतु बफादारी निभाउन र सक्दो मेहनत लगाउन सकून्। तर ख्रीष्टविरोधी मानिसहरू यस्ता हुँदैनन्। जब तिनीहरूले काममा ख्रीष्टद्वारा मिलाइएका केही विशिष्ट प्रबन्धहरूबारे सुन्छन्, र जसलाई तिनीहरूले लागु गर्नुपर्ने हुन्छ र जुन काममा केही कठिनाइहरू हुन्छन्, तब तिनीहरू भित्री रूपमा प्रतिरोधी महसुस गर्न थाल्छन्, र अघि बढ्न अनिच्छुक हुन्छन्। यो अनिच्छा कस्तो देखिन्छ? तिनीहरू भन्छन्: “मलाई किन कहिल्यै राम्रा कुराहरू आइपर्दैनन्? मलाई किन सधैँ समस्याहरू दिइन्छ र मापदण्डहरू थोपरिन्छ? के मलाई निष्क्रिय ठानेर कामहरू अह्राइन्छ कि दास ठानेर? ममाथि चालबाजी गर्न त्यति सजिलो छैन! तिमी यति हल्का रूपमा भन्दै छौ, तिमी किन आफै कोसिस गर्दैनौ!” के यो समर्पण हो? के यो स्वीकारको मनोवृत्ति हो? तिनीहरूले के गरिरहेका छन्? (प्रतिरोध र विरोध गरिरहेका छन्।) यो प्रतिरोध र विरोध कसरी पैदा हुन्छ? उदाहरणको लागि, यदि “एकदुई पाउ सुँगुरको मासु लिएर आइज अनि सबैलाई छोइला बनाएर दे” भनेर अह्राइएमा, के तिनीहरूले यो कुरामा विरोध गर्थे र? (गर्थेनन्।) तर यदि “आज, गएर त्यो बारी जोत्, र त्यो जोत्दाखेरि, तैँले सबै ढुङ्गाहरू पन्साइसकेपछि मात्र खाना खान पाउँछस् है” भनेर भनिएमा, तिनीहरू अनिच्छुक बन्‍नेथे। त्यसमा शारीरिक कठिनाइ, गाह्रो, वा दबाब हुनेबित्तिकै तिनीहरूको रुष्टता देखा पर्छ, र तिनीहरू अघि बढ्न अनिच्छुक बन्छन्; तिनीहरू प्रतिरोध र गुनासो गर्न थाल्छन्: “मलाई किन राम्रा कुराहरू हुँदैनन्? सजिला र हल्का कामहरू आउँदा मलाई किन बेवास्ता गरिन्छ? मलाई किन कठिन, थकाइलाग्दो, वा फोहोरी काममा छानिन्छ? के म निष्कपट र जे भन्यो त्यही गर्नेजस्तो देखिएर हो?” भित्री प्रतिरोध यहीबाट सुरु हुन्छ। तिनीहरू किन यति प्रतिरोधी हुन्छन्? कस्तो “फोहोरी र थकाइलाग्दो काम”? कस्ता “कठिनाइहरू”? के यो सब तिनीहरूको कर्तव्यको पाटो होइन र? जसलाई अह्राइएको हो उसले गर्नुपर्छ; रोजीछानी गर्नुपर्ने त्यस्तो के छ र? के यो जानीजानी तिनीहरूको लागि परिस्थिति कठिन बनाइएको हो र? (होइन।) तर तिनीहरू जानीजानी तिनीहरूको लागि परिस्थिति कठिन बनाइएको हो, तिनीहरूलाई अप्ठेरोमा जाकिएको हो भन्ठान्छन्, त्यसैले तिनीहरू यो कर्तव्य परमेश्‍वरबाट आएको हो भनी स्विकार्दैनन् र त्यसलाई स्विकार्न अनिच्छुक हुन्छन्। यहाँ के भइरहेको छ? के तिनीहरूले कठिनाइहरू सामना गर्नुपर्दा, शारीरिक कष्ट सहनुपर्दा, र अबउप्रान्त सहजतामा जिउन नसक्दा तिनीहरू प्रतिरोधी बन्‍ने हो? के यो निःसर्त, गुनासोरहित समर्पण हो? थोरै गाह्रो हुनेबित्तिकै तिनीहरू अनिच्छुक बन्छन्। तिनीहरू जे गर्न चाहँदैनन्, तिनीहरूलाई जुन काम गाह्रो, गर्न मन नलाग्‍ने, वा अरूद्वारा हेयको दृष्टिले हेरिने भन्‍ने लाग्छ, तिनीहरू त्यसलाई उग्र रूपमा प्रतिरोध, विरोध र अस्वीकार गर्छन्, अलिकति पनि समर्पण देखाउँदैनन्। ख्रीष्टविरोधीहरूले ख्रीष्टका वचनहरू, आदेशहरू, वा उहाँले सङ्गति गर्ने सिद्धान्तहरू सामना गर्नुपर्दा—त्यसले तिनीहरूलाई कठिनाइहरू निम्त्याउनेबित्तिकै वा दुःख भोग्नुपर्ने वा मूल्य चुकाउनुपर्ने तुल्याउनेबित्तिकै—तिनीहरूको पहिलो प्रतिक्रिया प्रतिरोध र इन्कार हुन्छ, र तिनीहरू हृदयमा घिन महसुस गर्छन्। तर तिनीहरूलाई गर्न इच्छा भएको वा फाइदा हुने कुराको सन्दर्भमा, तिनीहरूको मनोवृत्ति त्यस्तो हुँदैन। ख्रीष्टविरोधीहरू चैनमा रमाउने र अरूभन्दा अलग देखिने चाहना राख्छन्, तर तिनीहरूले दैहिक कष्टहरू सामना गर्नुपर्दा, मूल्य चुकाउनुपर्दा, वा अरूलाई चिढ्याउने जोखिम लिनुपर्दा, के तिनीहरू प्रसन्‍न र खुसीसाथ स्विकार्न इच्छुक हुन्छन्? के त्यसपछि तिनीहरूले पूर्ण समर्पण हासिल गर्न सक्छन्? कति पनि सक्दैनन्; तिनीहरूमा पूर्णतः अनाज्ञाकारिता र अवज्ञाको मनोवृत्ति हुन्छ। जब ख्रीष्टविरोधी मानिसहरूले आफूले गर्न नचाहेका काम, र तिनीहरूका प्राथमिकता, रुचि, वा स्वार्थसँग नमिल्ने कुरा सामना गर्छन्, तब ख्रीष्टका वचनहरूप्रति तिनीहरूको मनोवृत्ति पूर्ण इन्कार र प्रतिरोध बन्छ, र त्यसमा एकै थोपा पनि समर्पण हुँदैन।

कतिपय मानिसहरू, ख्रीष्टले बोल्‍नुभएको सुन्दा, यस्ता सोचहरू बनाउन थाल्छन्: “ख्रीष्टले किन यसो भन्नुहुन्छ? उहाँले यो मामलालाई यस्तो दृष्टिकोणले हेर्न कसरी मिल्छ? उहाँले यस्तो राय बोक्न कसरी मिल्छ, उहाँले कुनै कुरालाई कसरी यो तरिकाले परिभाषित गर्न मिल्छ? के यो पनि सत्यता नै हो? के यी पनि परमेश्‍वरका वचनहरू नै हुन्? मलाई त त्यस्तो लाग्दैन। बाइबलमा परमेश्‍वरले जुन तरिकाले बोल्‍नुभएको छ त्यसलाई यी विस्तृत र मामुली कुराहरूमा नगई, एक निश्‍चित तर्कसङ्गतता र फरक तरिकाले रेकर्ड गरिएको छ। ख्रीष्टले किन यसरी बोल्नुहुन्छ? यो सधैँ विवरणहरू, अनि विवरणहरूलाई चिरफार गर्ने कार्यमा केन्द्रित हुन्छ; के परमेश्‍वरले साँच्चिकै यस्तो बोल्न मिल्छ?” तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दैपिच्छे तिनीहरूसँग धारणाहरू हुँदैनन्, र तिनीहरू यस्तो सोच्छन्, “यी परमेश्‍वरका वचनहरू हुन्; मैले जीवन, मुक्ति र आशिष्‌हरू प्राप्त गर्न तिनमा भर पर्नैपर्छ।” तर जब तिनीहरूले वास्तवमै परमेश्‍वरसँग अन्तरक्रिया गर्छन् र केही मामलाहरूबारे उहाँका विचार, टिप्पणी, र मनोवृत्तिहरू, साथै निश्‍चित मानिसहरूलाई सम्हाल्ने उहाँका तरिकाहरूबारे सुन्छन्, तब तिनीहरूले धारणाहरू निर्माण गर्न थाल्छन्, जसलाई मानव धारणाहरूको रूपमा लिन सकिन्छ। जब ख्रीष्टविरोधीहरूले हृदयमा धारणाहरू विकास गर्छन्, के तिनीहरूले तिनीहरूका धारणाहरूलाई काटछाँट गर्न भनी परमेश्‍वरलाई प्रार्थना गर्छन्? कदापि गर्दैनन्। तिनीहरू एक थोपा पनि समर्पणको हृदयबिना आफ्नै धारणाहरूद्वारा निरन्तर परमेश्‍वरका वचनहरू मापन गरिरहन्छन्। यसर्थ, जब तिनीहरूले ख्रीष्टबारे धारणाहरू विकास गर्छन्, तब तिनीहरू भित्री रूपमा प्रतिरोधी महसुस गर्न थाल्छन् र बिस्तारै ख्रीष्टप्रति प्रतिद्वन्द्वात्मक बन्छन्। यस्तो प्रतिद्वन्द्विता सिर्जना हुँदा, के ख्रीष्टविरोधीहरू अझै पनि समर्पित हुने योजनामा हुन्छन्? के तिनीहरू अझै पनि स्विकार्ने योजनामा हुन्छन्? तिनीहरू हृदयमा यस्तो सोच्दै प्रतिरोध गर्न थाल्छन्, “हम्म्, अब मलाई तिमीलाई भन्दा बढी लाभको स्थिति छ। के तिमी परमेश्‍वर हुनुपर्ने होइन र? के तिम्रा सारा वचनहरू सत्यता होइनन् र? तिमीले पनि काम गर्दा तार्किक रूपमा तर्क गर्ने, र मामलाहरूलाई आफ्नै आँखाले देखेको आधारमा मूल्याङ्कन गर्ने रहेछौ। तिम्रा कार्यहरू परमेश्‍वरको सारसँग मिल्दैनन्!” तिनीहरू भित्री रूपमा अनाज्ञाकारी हुन थाल्छन्। जब यो अनाज्ञाकारिता उत्पन्‍न हुन्छ, त्यो बाहिरै प्रकट हुन्छ। तिनीहरूले यसो भन्‍न सक्छन्, “तिमीले भनेको कुरा सही देखिन्छ, तर त्यसबारे परमेश्‍वरले के भन्नुहुन्छ भनेर हेर्न मैले उनका वचनहरू जाँच्नुपर्छ। परमेश्‍वरले मलाई कसरी अगुवाइ गर्छन्, त्यो हेर्न मैले उनलाई प्रार्थना गर्नुपर्छ। परमेश्‍वरले मलाई कसरी मार्गदर्शन र अन्तर्दृष्टि दिन्छन् भनेर हेर्न मैले पर्खन र खोजी गर्न आवश्यक छ। जहाँसम्म तिमीले भनेको कुरा छ, त्यसबारे म सोच्दा पनि सोच्दिनँ, र त्यसलाई मेरा कार्यहरूको आधार बनाउन मिल्दैन।” यो कस्तो प्रकटीकरण हो? (ख्रीष्टलाई नकार्नु।) तिनीहरू ख्रीष्टलाई नकार्छन्, तर तिनीहरू किन अझै “वचन देहमा देखा पर्नुहुन्छ” भन्‍ने पुस्तक पढ्छन्? (परमेश्‍वर, मलाई लाग्छ तिनीहरू स्वर्गको अस्पष्ट परमेश्‍वरलाई मात्र मान्छन् र धर्तीका ख्रीष्टलाई सिधै नकार्छन्।) ख्रीष्टविरोधीहरू निरन्तर खोक्रा वचन र धर्मसिद्धान्तहरूमा जिउँछन्, उच्च र अदृश्य परमेश्‍वरलाई श्रद्धा गर्छन्। त्यसकारण, ती लिखित वचनहरूलाई उच्च श्रद्धा र सम्मान गर्छन् जुन ख्रीष्टका रेकर्ड गरिएका भनाइहरू हुन्, तर तिनीहरूले हरकोहीजस्तै साधारण रहनुभएका ख्रीष्टलाई हृदयमा कुनै प्रकारको हैसियत नभएको व्यक्तिको रूपमा लिन्छन्। के यो विरोधाभासी छैन र? जब तिनीहरूले ख्रीष्टबारे धारणाहरू बनाउँछन्, तब तिनीहरू यसो भन्छन्, “मैले परमेश्‍वरका वचनहरूले के भन्छन् भनी हेर्न प्रार्थना र खोजी गर्नुपर्छ।” परमेश्‍वरका वचनहरू मात्र मान्‍ने तर ख्रीष्टलाई नमान्‍ने तिनीहरू को हुन्? (ख्रीष्टविरोधीहरू।) ख्रीष्टका वचनहरूबारे तिनीहरूका धारणाहरू जतिसुकै ठूला वा गहन होऊन्, ती वचनहरू छापिएपछि, तिनीहरूका धारणाहरू हराउँछन्। ती वचनहरू लेख बनेपछि, तिनीहरूले तिनलाई परमेश्‍वरको रूपमा आराधना गर्छन्। के फरिसीहरू र धार्मिक वृत्तका मानिसहरूले पनि यही गल्ती गरेका होइनन् र? सत्यता नबुझ्दा यी प्रकटीकरण र धारणाहरू सजिलै उत्पन्‍न हुन्छन्। ख्रीष्टविरोधीहरूले धारणाहरू विकास गरेपछि, तिनीहरूको हृदय समर्पित हुन सक्दैन; कुनै समर्पण हुँदैन, प्रतिरोध मात्र रहन्छ।

कस्ता परिस्थितिहरूमा साधारण मानिसहरूले धारणाहरू विकास गर्छन्, वा कस्ता मानिसहरूले धारणाहरू विकास गर्ने सम्भावना हुन्छ? एकखाले ती हुन् जो परमेश्‍वरका वचनहरू बुझ्दैनन्, र अर्कोखाले ती हुन् जसमा आत्मिक बुझाइ हुँदैन र जो सत्यता स्विकार्दैनन्; तिनीहरूले धारणाहरू विकास गर्ने सम्भावना हुन्छ। धारणाहरू उत्पन्‍न भएपछि तिनीहरूले हृदयमा प्रतिरोध गर्न थाल्छन्। उदाहरणको लागि, मैले मानिसहरूलाई कुनै काम त्यसको पृष्ठभूमि, वातावरण, र त्यस समयका मानव आवश्यकताहरूका आधारमा निश्‍चित तरिकाले गर्न भन्‍न सक्छु। पछि, समय बित्दै जाँदा र परिस्थिति बदलिँदै जाँदा, त्यस मामला सम्हाल्ने तरिका र विधि पनि बदलिन सक्छ। तर यस बदलावले ख्रीष्टविरोधीहरूलाई यस्ता धारणाहरू विकास गर्ने अवसर दिन्छ: “तिमीले पहिले यसो भन्यौ, त्यो नै सत्यता हो भनेर घोषणा गर्दै मानिसहरूलाई त्यस तरिकाले अभ्यास गर्न भन्यौ। हामीले बल्लतल्ल बुझ्यौँ र त्यसलाई अभ्यास र पालना गर्न सक्यौँ, र हामीले आशिष्‌हरू पाउने आशा छ भन्‍ने सोच्यौँ, तर अहिले तिमी हामीलाई यो काम फरक तरिकाले गर्न भनिरहेका छौ—यसको मतलब के हो? के तिमीले हामीलाई पीडा दिइरहेका छैनौ र? के तिमीले हामीलाई मानवभन्दा तल्लो स्तरको व्यवहार गरिरहेका छैनौ र? यो काम गर्ने सही तरिका ठ्याक्कै के हो त?” विधि, शैली, वा भनाइमा केही फेरबदल हुनेबित्तिकै त्यसले केही मानिसहरूलाई आक्रोशित बनाउन सक्छ—यी व्यक्तिहरू सत्यता बिलकुलै बुझ्न र बोध गर्न नसक्ने मानिसहरू हुन्। तिनीहरू परमेश्‍वरले जे गर्नुहुन्छ ती सबैलाई पुराना दृष्टिकोणहरू, पुराना सिद्धान्तहरू, केही मानव नैतिकताका मानकहरू, विवेकका मानकहरू, र तार्किक सोचाइ र मानव ज्ञानसमेतद्वारा मापन गर्छन्। जब यो सब कुरा ख्रीष्टको कुरासँग बाझिन्छ वा जब बीचमा अन्तरहरू आउँछन्, तब तिनीहरू त्यसलाई कसरी सम्हाल्‍ने भनी जान्दैनन्। कसरी अघि बढ्ने भनेर अनिश्‍चित हुँदा, साधारण मानिसहरूले पहिला शान्त भएर स्विकार्न सक्नुपर्छ, र त्यसपछि बिस्तारै बुझ्न खोज्नुपर्छ। तर ख्रीष्टविरोधीहरू यस्ता हुँदैनन्। तिनीहरू पहिला प्रतिरोध गर्छन् र त्यसपछि अस्पष्ट परमेश्‍वरसामु प्रार्थना गर्छन्, जसले गर्दा तिनीहरू सत्यता अभ्यास गर्ने र परमेश्‍वरलाई अत्यन्तै प्रेम गर्नेझैँ देखिन्छन्। तिनीहरूले प्रार्थना गर्नुको उद्देश्य के हो? त्यसको उद्देश्य परमेश्‍वरका वचनहरूलाई नकार्ने पर्याप्त प्रमाण खोज्नु, ख्रीष्टले भन्नुभएका कुरालाई निन्दा र आलोचना गर्नु, अनि मनको शान्ति प्राप्त गर्नु हो। तिनीहरूले आफ्ना धारणाहरूलाई यसरी समाधान गर्छन्। के यसले तिनीहरूका धारणाहरू समाधान गर्न सक्छ त? (सक्दैन।) किन सक्दैन? (किनकि तिनीहरू सत्यता स्विकार्दैनन्। तिनीहरू परमेश्‍वरका वचनहरूबाट सत्यता खोजिरहेका हुँदैनन्, बरु परमेश्‍वरलाई नकार्ने कोसिस गरिरहेका हुन्छन्।) ठिक भनिस्, तिनीहरू सत्यता स्विकार्ने मनोवृत्तिले वा सत्यता स्विकार्ने शैलीमा आफ्ना धारणाहरू समाधान गरिरहेका हुँदैनन्। तिनीहरूका धारणाहरू फालिँदैनन्; ती तिनीहरूका हृदयमा रहिरहन्छन्। त्यसकारण, यस्तो शैलीले तिनीहरूका धारणाहरू कहिल्यै समाधान हुनेछैनन्, र यसले तिनीहरूलाई आफ्ना धारणाहरू त्याग्न कहिल्यै दिनेछैन। त्यसको साटो, यी धारणाहरू समयक्रममा थुप्रँदै जान्छन्; जब समय बित्दै जान्छ र तिनीहरूले परमेश्‍वरमाथि विश्‍वास गरेको वर्ष बढ्दै जान्छ, तिनीहरूका धारणा र कल्पनाहरू पनि बढ्दै जान्छन्। फलस्वरूप, ख्रीष्टप्रति अर्थात् यस साधारण व्यक्तिप्रति तिनीहरूको मनोवृत्ति अपरिहार्य रूपमै यी धारणाहरूको बोझले थिचिन्छ। त्यो सँगसँगै, तिनीहरूको हृदयमा ख्रीष्टप्रतिको अवरोध र उहाँप्रतिको तिनीहरूको खिन्‍नता पनि बढ्दै जान्छ। यी अवरोध र धारणाहरू बोक्दै आफ्ना कर्तव्यहरू गरेर, भेलाहरूमा सहभागी भएर, साथै परमेश्‍वरका वचनहरू खाएर पिएर, तिनीहरूले अन्त्यमा केचाहिँ हासिल गर्न सक्छन् र? आशिष्‌हरूप्रतिका चाहनाहरू दिनानुदिन बढ्नेबाहेक तिनीहरूले केही पनि हासिल गर्दैनन्।

के तिमीहरूसँग ख्रीष्टबारे कुनै धारणाहरू छन्? परमेश्‍वरप्रतिका मानिसहरूका मागहरूले ख्रीष्टबारेका तिनीहरूका धारणाहरू तय गर्छन्। यी मागहरू कहाँबाट आउँछन्? ती मानिसहरूका महत्त्वाकाङ्क्षा, चाहना, धारणा, र कल्पनाहरूबाट उत्पन्‍न हुन्छन्। त्यसोभए, मानिसहरूले कस्ता धारणाहरू विकास गर्छन्? तिनीहरू ख्रीष्टले यसो भन्नुपर्छ वा उसो भन्नुपर्छ, उहाँले निश्‍चित तरिकाले बोल्ने र काम गर्ने गर्नुपर्छ भन्ठान्छन्। उदाहरणको लागि, जब कसैले नकारात्मक वा कमजोर महसुस गर्छ, तब उसले सोच्न सक्छ, “परमेश्‍वर भनेको प्रेम होइन र? परमेश्‍वर एक प्रेमिलो माताजस्तै हुन्, एक करुण पिताजस्तै हुन्; परमेश्‍वरले मानिसहरूलाई सहानुभूति प्रदान गर्नुपर्छ। स्वर्गको परमेश्‍वरबारे बिर्सिदेऊ; उहाँ पहुँचभन्दा बाहिर हुनुहुन्छ। अब त परमेश्‍वर धर्तीमा आउनुभएकोले, मानिसहरूसँग यस्तो सहज पहुँच छ। मलाई नकारात्मक महसुस भइरहेकोले, मैले परमेश्‍वरसामु गएर आफ्नो हृदयको कुरा खोल्नुपर्छ।” अनि आफ्नो हृदयका कुरा खोल्ने क्रममा तिनीहरूले आँसु झार्छन्, आफ्ना कठिनाइ र कमजोरीहरूबारे कुरा गर्छन्, र आफ्ना भ्रष्ट स्वभावबारे खुलस्त रूपमा छलफल गर्छन्। मानिसहरू आफ्नो हृदयमा साँच्चिकै के खोजिरहेका हुन्छन्? तिनीहरू सहानुभूति प्राप्त गर्न चाहन्छन्, मिठा शब्दहरू सुन्‍न चाहन्छन्, तिनीहरू परमेश्‍वरले तिनीहरूको निराशा कम गर्ने, तिनीहरूलाई खुसी पार्ने, सहजता दिने, र नकारात्मक महसुस गर्नबाट रोक्‍ने वचनहरू बोल्‍नुहोस् भन्‍ने चाहन्छन्। के कुरा त्यही होइन र? विशेषगरी निश्‍चित प्रकारका व्यक्तिहरूले यस्तो कल्पना गर्छन्: “मानवहरूको हकमा, कमजोरी र नकारात्मकता नै त्यही हो, तर परमेश्‍वरको हकमा, एउटा वाक्यले नै व्यक्तिलाई पूर्ण रूपमा स्फूर्त बनाउन सक्छ, र यसरी उसको हृदयका सारा दुःख र वेदनाहरू तुरुन्तै हराएर जान्छन्। कमजोरी र नकारात्मकता धुवाँझैँ बिलाउँछन्, र उसले जे सामना गर्नुपरे पनि ऊ बलियो भएर रहन सक्छ, अब ऊ कमजोर वा नकारात्मकतामा डुबेको हुँदैन, र ऊ आफ्नो गवाहीमा अडिग रहन्छ। ठिकै छ अब, ख्रीष्टलाई नै बोल्न देऊ!” ल भन् त, यस्तो परिस्थिति आइपर्दा मैले के भन्नुपर्छ? एकातिर, मैले यो व्यक्तिलाई किन नकारात्मक महसुस भइरहेको छ र उसले के कर्तव्य गरिरहेको छ भनेर पत्ता लगाउनुपर्छ; अर्कोतिर, मैले व्यक्तिले आफ्नो कर्तव्य गर्ने क्रममा पालना गर्नुपर्ने सिद्धान्तहरूबारे सङ्गति गर्नुपर्छ। यसो भन्दा प्रस्ट हुँदैन र? जो मूर्ख र जिद्दी छन् र सत्यता स्विकार्दैनन्, तिनीहरूलाई उक्साउन र हौसला दिनको लागि केही अनुशासनात्मक कुरा भन्‍न जरुरी छ। त्यो सँगसँगै, यस्तो व्यक्तिको प्रकृति सार खुलासा गर्न पनि जरुरी हुन्छ, ताकि तिनीहरूले सधैँ नकारात्मक हुनु भनेको के हो र तिनीहरू किन सदैव नकारात्मक हुन्छन् भनी बुझून्। यदि मैले सधैँ नकारात्मक हुनेहरू सत्यता नस्विकार्ने र सत्यतालाई प्रेम नगर्ने मानिसहरू हुन् भनेर भनेँ भने, यो सुनेपछि के तिनीहरूले सहानुभूति पाउन सक्छन्? (सक्दैनन्।) मानौँ मैले यसो भनेँ रे: “निरन्तर नकारात्मक हुनु सामान्य हो। यो बच्‍चाको जस्तो प्रकटीकरण हो; यो कुनै बालकले कुनै वयस्कका बोझहरू बोकेर त्यसको भारको कारण ऊ सदाको लागि नकारात्मक बन्नुजस्तै हो। तँ सानो कदको छस्, कलिलो छस्, र तैँले धेरै अनुभव गरेको छैनस्, त्यसकारण तैँले बिस्तारै सिक्दै जानुपर्छ। यसअलावा, तेरा आमाबुबासँग पनि एउटा जिम्मेवारी छ; तिनीहरूले तँलाई राम्ररी सिकाएका छैनन्, त्यसैले यो तेरो गल्ती होइन।” त्यसपछि उसले सोध्न सक्छ, “त्यसोभए यो मेरो भ्रष्ट स्वभावचाहिँ के हो?” “यो कुनै भ्रष्ट स्वभाव होइन; तँ सानै छस् र राम्रो पारिवारिक वातावरणबाट आएको होस्, त्यति मात्र हो; तँ पुलपुलिएको र मात्तिएको छस्। एकदुई वर्षमा, तँ बढेपछि, तँ सुध्रिनेछस्।” के यो सुनेर उसलाई सान्त्वना मिल्थेन र? यदि मैले उसलाई अँगालो हालेर केही सकारात्मक ऊर्जा दिएँ भने, के उसलाई भित्री रूपमा न्यानो महसुस हुन्थेन र? यसो गरिएमा, उसलाई आफूले परमेश्‍वरको प्रेम र न्यानोपन अनुभव गरेको महसुस हुनेथ्यो। तर ख्रीष्टले सामान्यतया यस्तो व्यवहार गर्नुहुन्‍न। उहाँले हुर्केको बालकहरूलाई सान्त्वनास्वरूप त्यसो गर्न सक्नुहोला, तर हरेक वयस्क व्यक्तिप्रति उहाँले यस्तो व्यवहार गर्नुहुन्‍न; त्यसलाई त मूर्खलाई छल गर्नु भनिन्छ। त्यसको साटो, उहाँले जे हो त्यही बोल्ने, तँलाई मार्ग देखाउने, साँच्चिकै के भइरहेको छ भनी स्पष्ट पार्ने, र तँलाई स्वतन्त्र रूपमा रोज्‍न दिने गर्नुहुन्छ। तँ कस्तो व्यक्ति होस् भन्‍ने कुराले तैँले हिँड्ने मार्ग निर्धारण गर्छ। ख्रीष्टले गर्नुहुने सबथोकको सार हेर्दा, उहाँ मानिसहरूलाई छल वा खेलबाड गरिरहनुभएको हुँदैन, तर तिनीहरूले यसलाई स्विकार्न सक्दैनन्। तिनीहरू तथ्यहरू स्विकार्न सक्दैनन्, तर ख्रीष्टको सार यही हो; उहाँले यस तरिकाले मात्र कार्य गर्न सक्नुहुन्छ। यदि मानिसहरूले यसलाई स्विकार्न सक्दैनन् भने, के यसले मानिसहरू र परमेश्‍वरबीच द्वन्द्व सिर्जना गर्दैन र? यदि तिनीहरूले आफ्नो लक्ष्य हासिल गर्न सक्दैनन् र सत्यता पनि स्विकार्दैनन् भने, के यसले अवरोध सिर्जना गर्दैन र? (गर्छ।) यो मानिसहरूको हृदयमा टाँसिइरहन्छ। मानिसहरूले सुरुमा परमेश्‍वर अत्यन्तै प्रेमिलो र आमा वा हजुरआमाजस्तै नम्र हुनुहुन्छ भन्ठाने। तर अहिले परिस्थिति त्यस्तो नभएको देखेर, अनि अलिकति पनि न्यानोपन महसुस नभएकोले, तिनीहरू निराश महसुस गर्छन्। के “ख्रीष्टको एउटै वाक्यले मलाई नकारात्मकताबाट बाहिर निकाल्न सक्छ” भन्‍ने तिनीहरूको कल्पना पूरा हुन सक्छ? “ख्रीष्ट मेरा समस्याहरू समाधान गर्न आउनुहुन्जेलसम्‍म, म ढुक्क हुन्छ कि मलाई तुरुन्तै भित्री रूपमा न्यानो महसुस हुनेछ, र म फेरि कहिल्यै नकारात्मक बन्‍नेछैन; सबथोक प्रस्ट बन्‍नेछ, र एउटा मार्ग खुल्नेछ।” के यो कल्पना व्यवहार्य छ? के यो लक्ष्य हासिल गर्न सकिन्छ? (सकिँदैन।) त्यसकारण, यस मामलामा, यदि मानिसहरू सधैँ आफ्ना धारणा र कल्पनाहरूमा भर पर्छन् भने, त्यो काम लाग्नेछैन; तिनीहरूले समस्या समाधान गर्नको लागि सत्यता खोज्नैपर्छ।

कतिपय मानिसहरू पर्दापछाडि निश्‍चित कार्यहरू गर्छन्, र मलाई भेट्दा यसो भन्छन्, “म किशोरावस्थामा हुँदा मैले यौन अपवित्रताको पाप गरेँ।” म भन्छु, “कृपया यसबारे मलाई नभन्नू। गोप्य रूपमा प्रार्थना गर्नू र साँचो रूपले पश्‍चात्ताप गर्नू, त्यसपछि समस्या समाधान हुनेछ, अनि परमेश्‍वरले त्यो कुरा सम्झिनुहुनेछैन। तिमीले मसित आमनेसामने भएर त्यो कुरा भन्नु पर्दैन; म यी कुराहरू खोजबिन गर्दिनँ।” जब म तिनीहरूलाई बोल्नबाट रोक्छु, तब तिनीहरू सोच्न थाल्छन्: “के तपाईं साँच्चिकै परमेश्‍वर हुनुहुन्छ? मेरो हृदय अत्यन्तै इमानदार छ, जोशले बलिरहेको छ, तर तपाईंले एक बाल्टी चिसो पानी खन्याएर निभाउनुभयो। म त केवल तपाईंसँग अन्तरङ्ग कुराकानी गर्न चाहन्थेँ, तपाईं किन सुन्नुहुन्‍न? तपाईंले सुन्नुभएको भए, राम्रो हुनेथ्यो; मैले अझै धेरै कुराहरू बताउनु छ।” म भन्छु, “तैँले पाप स्विकार्नुको अन्तिम लक्ष्य भनेको पश्‍चात्ताप गर्नु हो, अनेक बोलीबिस्तार गर्नु होइन। यदि तैँले हृदयको गहिराइमा साँच्चिकै पश्‍चात्ताप गरेको छस् भने, त्यसको स्वरूपले फरक पर्दैन; प्रक्रियामा जानु बेकार छ। सारा बेहोरा र परिस्थितिहरूबारे मलाई प्रस्ट पार्नुको अर्थ तैँले पश्‍चात्ताप गरेको छस् भन्‍ने होइन। यदि तैँले साँच्चिकै पश्‍चात्ताप गरेको छस् भने, तैँले केही नभने पनि, तैँले पश्‍चात्ताप गरेकै हुन्छस्। अनि यदि तैँले पश्‍चात्ताप गरेको छैनस् भने, तैँले त्यसबारे कुरा गरे पनि त्यो व्यर्थ हुनेछ।” कतिपय मानिसहरूले बुझ्दैनन्, म सबथोक सुन्‍न चाहन्छु भन्ठान्छन्, जस्तै परमेश्‍वरमा विश्‍वास गर्नुअघि तिनीहरू यौन रूपमा अपवित्र हुनु, तिनीहरूले चोर्नु, वा अरूलाई निन्दा गर्नु र कुनै दोषमा फसाउनु। तिनीहरू सोच्छन् कि म यी सारा व्यक्तिगत मामलाहरू सुन्‍न इच्छुक छु, कि म सबैका गहिरा सोचहरू र तिनीहरूले गरेका असल वा खराब सबै कार्यहरूबारे थाहा पाउन र बुझ्न चाहन्छु। के यो मानव धारणा होइन र? तिनीहरू गलत छन्। मैले मानिसहरूका भ्रष्ट स्वभावहरू, तिनीहरूका सार, र तिनीहरूले हिँड्ने मार्गबारे मात्र थाहा पाउनुपर्छ; तिनीहरूको मुक्तिको महत्त्वपूर्ण मामलालाई सम्बोधन गर्न यति नै पर्याप्त छ। हरव्यक्तिको वर्तमान जीवन वा भावी जीवनबारे जान्नु आवश्यक छैन; यस्ता विवरणहरूको आवश्यकता छैन। मानिसहरू यस्तो मान्यता राख्छन्: “तपाईं पनि सामान्य र व्यावहारिक हुनुहुन्छ। कतिपय कुराहरू तपाईंलाई थाहा छैन, त्यसैले सायद तपाईंले हरव्यक्तिको पारिवारिक पृष्ठभूमि, तिनीहरू हुर्केको वातावरण, र हुर्किबढ्ने क्रममा तिनीहरूका विशेष अनुभवहरू बुझ्न चाहनुहुन्छ होला, कामको उद्देश्यले तिनीहरूलाई राम्रोसँग चिन्‍न चाहनुहुन्छ होला, र प्रभाव हासिल गरेर तिनीहरूको न्याय र खुलासा गर्न चाहनुहुन्छ होला।” खास कुरा यही हो त? (होइन।) कतिपय मानिसहरू, यी धारणा र कल्पनाहरू बोकेर, मसित भेट्दा मलाई सधैँ तिनीहरूका विगतका कार्यहरूबारे बताउन चाहन्छन्, र भन्छन्, “ओहो, तपाईंलाई थाहै छैन, मेरो परिवार यस्तो थियो…।” म भन्छु, “तेरो परिवारका मामलाहरूबारे कुरा नगर्; परमेश्‍वरमा विश्‍वास गर्दाका केही अनुभवहरू सुना।” अन्यले भन्छन्, “ओहो, तपाईंलाई थाहै छैन, पहिले मेरा धेरै जोडीहरू थिए,” अथवा, “तपाईंलाई थाहै छैन, मैले क-कसलाई कुन-कुन दोषमा फसाएको छु।” के यी कुराहरू भन्नुको कुनै औचित्य छ? (छैन।) तिनीहरूले देहधारी परमेश्‍वर यी मामलाहरू जान्‍न साँच्चिकै इच्छुक हुनुहुन्छ, मानिसहरूका सारा अपमानजनक व्यवहारहरू र मानिसहरूका पतित जीवनका विभिन्‍न विस्तृत पक्षहरू बुझ्न उत्सुक हुनुहुन्छ भन्‍ने सोच्छन्। यस्ता मानिसहरू भेट्दा, म तिनीहरूलाई भन्छु, “यदि तँ गल्ती स्विकार्न र पश्‍चात्ताप गर्न चाहन्छस् भने, गोप्य रूपमा परमेश्‍वरसामु प्रार्थना गर्, मलाई नभन्। मेरो जिम्मेवारी तँलाई कसरी आफ्नो कर्तव्य राम्रोसँग गर्ने र वास्तविक जीवनमा परमेश्‍वरलाई कसरी आराधना गर्ने भनी सिकाउनु मात्र हो, ताकि तँलाई मुक्ति प्राप्त गर्न मदत होस्। हाम्रो भेट हुँदा, हामी यी कुराहरूसँग सम्बन्धित जेसुकैबारे कुरा गर्न सक्छौँ, तर असम्बन्धित मामलाहरू उल्लेख नगर्नु नै बेस हुन्छ।” यो सुनेपछि कतिपय मानिसहरू सोच्न थाल्छन्, “परमेश्‍वरमा साँच्चिकै प्रेम छैन, परमेश्‍वर सहनशील हुनुहुन्‍न।” तिनीहरूको विचारमा, कस्तो व्यक्तिमा प्रेम हुन्छ? कुनै स्थानीय समिति निर्देशकमा, विशेषगरी अरू मानिसहरूका दिनहुँका स-साना मामलाहरू सम्हाल्ने व्यक्तिमा। के मैले यस्ता काम सम्हाल्नुपर्ने हो र? म ती मामलाहरूबारे बिलकुलै चासो राख्दिनँ! तैँले आफ्नो जीवन कसरी जिउँछस्, तैँले के खान्छस् र लाउँछस्, तैँले कसरी पैसा कमाउँछस्, तेरो आर्थिक स्थिति के छ, तँ तेरा छिमेकीहरूसँग कतिको मिल्छस्—म त्यो कुनै पनि कुरामा हस्तक्षेप गर्दिनँ। मानिसहरूले धारणाहरू बनाउँदा ख्रीष्टप्रति तिनीहरूमा हुने मनोवृत्ति यही हो। विशेषगरी तिनीहरूले ख्रीष्टका वचनहरूप्रति धारणाहरू विकास गर्दा वा ख्रीष्टका वचनहरू तिनीहरूका धारणाहरूसँग पूर्ण रूपले विरोधाभासी हुँदा, ख्रीष्टविरोधीहरूले आफ्ना धारणाहरू छाड्ने वा सत्यता स्विकार्ने गर्दैनन्, न त तिनीहरूले आफ्ना धारणाहरू चिरफार गर्ने वा सत्यता खोज्ने नै गर्छन्; त्यसको साटो, तिनीहरू आफ्ना धारणामा अडिन्छन् र ख्रीष्टले भन्‍नुभएका कुरालाई हृदयमा गोप्य तरिकाले निन्दा गर्छन्।

यो आखिरी अवधिमा, परमेश्‍वरले आखिरी दिनहरूको न्यायको काम कार्यान्वयन गर्दै हुनुहुन्छ। परमेश्‍वरको राज्यको सुसमाचार विस्तार हुँदा, परमेश्‍वरको घरमा विभिन्‍न पेशासम्बन्धी धेरै कामहरू उत्पन्‍न भएका छन्, जस्तै सङ्गीत, लेखन, चलचित्र, आदि इत्यादिसँग सम्बन्धित कामहरू। यी कामहरूको दौरान, मूलत: मार्गदर्शन प्रदान गर्दै र विभिन्‍न कामहरूको दिशानिर्देश तय गर्दै, अवश्य नै ख्रीष्ट यी पेशाहरूसँग सम्बन्धित केही कार्यहरूमा पनि संलग्न हुनुभएको छ; उहाँ यही दायराभित्र रहेर काम गर्नुहुन्छ। अवश्य नै ख्रीष्ट यी क्षेत्रहरूसम्बन्धी केही ज्ञान वा सामान्य जानकारीसँग परिचित नहुन पनि सक्नुहुन्छ, र उहाँले नबुझ्ने केही कुराहरू हुन सक्छन्। के यो अत्यन्तै सामान्य कुरा होइन र? धेरैजसो मानिसहरूको लागि, यो कुरा पूर्णतया सामान्य देखिन्छ र यो कुनै ठूलो कुरा हुँदैन किनकि सबैजना सिक्ने क्रममा हुन्छन्, र परमेश्‍वरको मार्गदर्शनमा, हरप्रकारका कामहरू झन्झन् राम्रा मात्र बन्दै जान्छन्, धेरैभन्दा धेरै पूर्ण तयार उत्पादित वस्तुहरू र उच्च गुणस्तरका प्रतिफलहरू सिर्जना हुन्छन्। तर ख्रीष्टविरोधीहरूको लागि, यो कुनै सानोतिनो मामला होइन। तिनीहरू भन्छन्, “तिमी निश्‍चित क्षेत्रसँग पूर्णतया अपरिचित छौ, अज्ञानीसमेत छौ। त्यसमा संलग्न हुन, हामीलाई निर्देशन दिन र मार्गदर्शन गर्न तिमीसँग के अधिकार छ? किन तिम्रो कुरा नै अन्तिम हुनुपर्छ? हामी सबैले किन तिम्रो कुरा सुन्‍ने? के तिम्रो कुरा सुन्नु सही नै हुन्छ भन्‍ने छ? यदि हामीले तिम्रो कुरा सुन्यौँ भने, के हामीले गलत मार्ग लिनेछैनौँ र वा आफ्नो काममा गल्तीहरू गर्नेछैनौँ र? म त्यसबारे खासै निश्‍चित छैन।” जब परमेश्‍वरले काममा मार्गदर्शन प्रदान गर्नुहुन्छ, कतिपय मानिसहरू त्यसलाई शङ्कालु मनोवृत्तिले हेर्छन्: “पहिला उहाँको कुरा तर्कसङ्गत छ छैन र त्यो उहाँको दक्षताको दायरामा पर्छ पर्दैन, साथै त्यो हाम्रा विचारहरूभन्दा श्रेष्ठ छ छैन भनेर हेरौँ। यदि छ भने, हामी त्यसलाई स्विकार्नेछौँ र उहाँको मार्गदर्शन अनुसरण गर्नेछौँ; यदि छैन भने, हामी अर्कै कुरा रोज्‍नेछौँ, र अर्को उपाय खोज्नेछौँ।” तर भित्री रूपमा ख्रीष्टविरोधीहरू पूर्ण अनाज्ञाकारिताको मानसिकता बोक्छन्: “हामी यस क्षेत्रमा धेरै वर्ष काम गरेका व्यावसायिक मानिसहरू हौँ। हामी आँखा चिम्लेरै यो काम पूरा गर्न सक्छौँ। तिम्रो मार्गदर्शन अनुसरण गर्नु भनेको झारा टार्नु मात्र हुनेछ, होइन र? हामीले तिम्रो कुरा किन सुन्‍ने? के तिम्रा सुझावहरू औपचारिक कुरा मात्र होइनन् र? यदि हामीले तिम्रो कुरा सुन्यौँ भने, के त्यसले हामीलाई अयोग्य देखाउनेछैन र? तर अहिले सबैले सुनिरहेका छन्, र मैले उठेर तिम्रो विरोध गर्न मिल्दैन, किनकि यसो गरेमा मलाई ख्रीष्टविरोधीको रूपमा तह लगाइन सक्छ। त्यसैले, म केहीबेर बहाना गर्नेछु, र सुनिरहेको नाटक गर्नेछु, झारा टार्नेछु, र पछि, केही असर नपुग्नेगरी सधैँझैँ अघि बढ्नेछु।” यसरी ख्रीष्टले सत्यता सिद्धान्तहरू जे-जसरी सङ्गति गर्नुभए पनि, उहाँले कामकुराहरू जति नै प्रस्ट रूपमा बुझाउनुभए पनि, ख्रीष्टविरोधीहरूका आफ्नै निर्दिष्ट विचारहरू हुन्छन् र तिनीहरू सधैँ आफूले त्यो पेशा बुझ्ने, आफूमा त्यस क्षेत्रको दक्षता भएको विश्‍वास गर्छन्, र त्यसैले तिनीहरू ख्रीष्टले सङ्गति गरिरहनुभएका सत्यता सिद्धान्तहरू के हुन् भनेर बुझ्‍नै सक्दैनन्। जबजब ख्रीष्टले तिनीहरूका पेशाहरूसँग सम्बन्धित काममा मार्गदर्शन प्रदान गर्नुहुन्छ, तबतब ख्रीष्टविरोधीहरूको लागि त्यो आफ्ना क्षमता र प्रतिभाहरू ख्रीष्टसँग तुलना गर्ने क्षण बन्छ। अझ नराम्रो त, कहिलेकाहीँ, जब ख्रीष्टले तिनीहरूका पेशासँग सम्बन्धित मामलाहरूबारे बोल्नुहुन्छ, तब ख्रीष्टविरोधीहरू त्यसलाई ख्रीष्टले अज्ञानता देखाएको रूपमा हेर्छन्, र तिनीहरू गोप्य रूपमा ख्रीष्टलाई गिल्ला र तिरस्कार गर्छन्, नचाहँदा नचाहँदै तिनीहरूको काममा ख्रीष्टको मार्गदर्शनप्रति झन् बढी प्रतिरोधी र प्रतिकूल महसुस गर्छन्। तिनीहरू हृदयमा पूर्णतया अविश्‍वस्त हुन्छन्, र यसो भन्छन्, “तिमी हामीलाई अनेकथरीका कामहरू गर्न भन्छौ, तर तिमीलाई के थाहा छ? के तिमीले यी क्षेत्रहरूमा संलग्‍न हुने विभिन्‍न चरणहरू त बुझ्छौ? के तिमीलाई तिनले कसरी काम गर्छन् भन्‍नेबारे विशिष्ट विवरण थाहा छ? जब तिमीले हामीलाई चलचित्र निर्माणमा मार्गदर्शन गर्छौ, के तिमी विश्‍वसनीय तरिकाले अभिनय गर्न वा ध्वनि रेकर्ड गर्न जान्दछौ?” यस्ता मामलाहरू सामना गर्दैपिच्छे, ख्रीष्टविरोधीहरू हरेक पेशासँग सम्बन्धित सत्यता सिद्धान्तहरूलाई हृदयमा गम्भीरतासाथ सुन्दैनन्। त्यसको साटो, तिनीहरू गोप्य रूपले ख्रीष्टसँग भित्रभित्रै जोरी खोज्छन्, ख्रीष्टलाई उपहास र गिल्ला गर्न दर्शक भई उभिन्छन्, र तिनीहरूको हृदय अनाज्ञाकारिताले भरिन्छ। जब तिनीहरू आफ्नो काम गर्न जान्छन्, तिनीहरूले देखावटी रूपमा प्रक्रिया पूरा गर्छन्, पहिला परमेश्‍वरले के भन्नुभएको रहेछ भनी हेर्न परमेश्‍वरको सङ्गतिका नोटहरू पुनरावलोकन गर्छन्, र त्यसपछि तिनीहरूले काम गर्न थाल्छन्, र त्यही पुरानै तरिकाले काम गर्छन्। कतिपयले भन्‍न सक्छन्, “परमेश्‍वरले त्यसो भन्नुभएको थिएन, तिमी किन यसरी गरिरहेका छौ?” यसबारे तिनीहरू यसरी जवाफ दिन्छन्, “परमेश्‍वरले यसो भनेनन्, तर के परमेश्‍वरलाई खास परिस्थिति थाहा छ र? वास्तवमा त्यसलाई फत्ते गर्नुपर्ने हामीले होइन र? परमेश्‍वरलाई के थाहा छ र? परमेश्‍वरले त एउटा सिद्धान्त मात्र प्रदान गरे, तर त्यसलाई खास परिस्थितिअनुसार हामीले नै सम्हाल्नुपर्छ। परमेश्‍वर यहाँ भएको भए पनि, त्यसलाई हामीले यस तरिकाले नै सम्हाल्नुपर्थ्यो। परमेश्‍वरका वचनहरू सत्यतासँग सम्बन्धित हुँदा हामी तिनलाई सुन्छौँ, तर जब त्यो व्यावसायिक कामबारे हुन्छ र त्यसमा सत्यता संलग्न हुँदैन, तब हामीले नै निर्णय गर्छौँ।” तिनीहरूले परमेश्‍वरले सङ्गति गर्नुभएका सत्यता सिद्धान्तहरू सुनेका छन्, र तिनको नोट लिएका छन्, र सबैले प्रक्रिया पूरा गरेर नोटहरू पुनरावलोकन गरेका छन्, तर जब काम कसरी गरिनुपर्छ भन्‍ने कुरा आउँछ, तब कसले अन्तिम निर्णय गर्छ? तिनीहरूको हकमा, शक्ति सम्हाल्ने भनेको सत्यताले होइन, ख्रीष्टको हातमा शक्ति हुनुसँग त झन् त्यसको कुनै सम्बन्ध छैन। त्यसोभए, शक्ति कसको हातमा हुन्छ? ख्रीष्टविरोधीले शक्ति हातमा लिएको हुन्छ; अन्तिम निर्णय गर्ने मानव हुन्छ। तिनीहरूको दृष्टिकोणमा, सत्यता भनेको हावाजस्तै हो, अर्थात् धर्मसिद्धान्त र नाराहरू मात्र हो जसलाई अलिअलि चर्चा गरिन्छ र बिर्सिइन्छ—मानिसहरू अझै पनि आफूले जे गर्नु छ त्यही गर्छन्, र जसरी गर्न चाहन्छन् त्यसैगरी गर्छन्। त्यो बेला त, तिनीहरू निकै राम्ररी सहमत भए, र तिनीहरूको मनोवृत्ति अत्यन्तै इमानदार देखिन्थ्यो, तर वास्तविक जीवनको कुरा आउनेबित्तिकै सबथोक बदलिन्छ; यो देखिएजस्तो हुँदैन।

ख्रीष्टविरोधीहरूले निरन्तर रूपमा देहधारी परमेश्‍वरप्रति धारणाहरू र प्रतिरोध बोक्ने हुनाले र तिनीहरू भित्री रूपमा विश्‍वस्त नहुने हुनाले, तिनीहरू मूलत: हृदयमा देहधारी परमेश्‍वरलाई स्वीकार गर्दैनन्। तिनीहरू स्वर्गको परमेश्‍वरमा मात्र विश्‍वास गर्छन्। तिनीहरू पावलजस्तै हुन्छन्: ऊ देहधारी येशूप्रति साँचो रूपमा विश्‍वस्त थिएन, बरु उल्टै धारणाहरूले भरिपूर्ण थियो। त्यसैकारण उसले लेखेका सम्पूर्ण पत्रहरूमा, उसले कहिल्यै येशूको गवाही दिएन, कहिल्यै येशूका वचनहरू सत्यता हुन् भनेर गवाही दिएन, र कहिल्यै उसमा येशूप्रति कुनै प्रेम थियो थिएन भनेर कुरा गरेन। यी मानिसहरूले देख्न सक्ने कुराहरू हुन्; पावल एक साँचो ख्रीष्टविरोधी हो। अब तिमीहरू सबैले पावल एक चिरप्रतिष्ठित ख्रीष्टविरोधीको उदाहरण हो भनी चिन्‍न सक्छौ। ख्रीष्टविरोधीहरूको वर्गमा पर्नेहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरू सत्यता हुन् भनेर माने पनि, के तिनीहरूले सत्यता स्विकार्न सक्छन्? के तिनीहरू ख्रीष्टप्रति समर्पित हुन सक्छन्? के तिनीहरूले ख्रीष्टको गवाही दिन सक्छन्? त्यो फरक मामला हो। के तिनीहरू ख्रीष्टले गर्नुहुने सारा कामप्रति समर्पित हुन सक्छन्? यदि ख्रीष्टले कामको प्रबन्ध गर्नुभयो वा काम अह्राउनुभयो, र त्यो काम गर्ने तरिकाबारे मानिसहरूलाई मार्गदर्शन गर्नुभयो भने, के ख्रीष्टविरोधीहरूले आज्ञापालन गर्न सक्छन्? यस मामलाले मानिसहरूलाई सबैभन्दा प्रस्ट रूपमा खुलासा गर्छ। ख्रीष्टविरोधीहरू आज्ञापालन गर्न सक्दैनन्; तिनीहरू ख्रीष्टका वचनहरूलाई उपेक्षा गर्छन् र मामुली ठान्छन्। त्यसकारण, ख्रीष्टले जस्तोसुकै विशिष्ट मार्गदर्शन प्रदान गर्नुभए पनि वा जस्तोसुकै काम अह्राउनुभए पनि, ख्रीष्टविरोधीहरूले कहिल्यै तिनलाई लागु गर्नेछैनन्। ख्रीष्टविरोधीहरू ख्रीष्टप्रति समर्पित हुन इच्छुक हुँदै हुँदैनन्। उहाँले जे-जसरी कामको प्रबन्ध गर्नुभए पनि, तिनीहरू त्यो काम गर्न अनिच्छुक नै हुन्छन्, सधैँ आफ्नै विचारहरू बुद्धिमानीपूर्ण भएको विश्‍वास गर्छन् र तिनीहरूका आफ्नै योजनाहरू पछ्याउनु नै उत्तम हुने सोच्छन्। यदि तैँले तिनीहरूलाई “परिस्थितिहरू सामना गर्नुपर्दा, तिमीहरूले अरू तीनचार जनासँग सहकार्य गर्नुपर्छ, मिलेर छलफल गर्नुपर्छ, सत्यता सिद्धान्तहरूबारे अझ बढी सङ्गति गर्नुपर्छ, र ती सिद्धान्तहरू उल्लङ्घन नगरी तीअनुसार नै कार्य गर्नुपर्छ” भनेर भनिस् भने, के तिनीहरूले सुन्‍नेछन्? तिनीहरूले बिलकुलै सुन्‍नेछैनन्; तिनीहरूले यी वचनहरूलाई धेरै पहिले नै दिमागको पछिल्तिर फालिसकेका छन् र तिनीहरू अन्तिम निर्णय आफै गर्न चाहन्छन्। तैँले तिनीहरूलाई “यदि समाधान गर्नै नसकिनै कुनै समस्या आयो भने तिमीहरूले माथिबाट खोजी गर्न सक्छौ” भनेर भन्छस्, तर जब साँच्चिकै समस्या आइपर्छ र सबैले माथिबाट खोजी गर्नेबारे सोच्छन्, तब ख्रीष्टविरोधीहरूले यसो भन्छन्, “यस्तो सानो मामलाबारे किन सोध्नु? त्यसले माथि तनाव मात्र दिनेछ। यसलाई हामी आफैँ सम्हाल्न सक्छौँ, सोध्नु आवश्यक छैन! म आफै अन्तिम निर्णय गर्छु, र यदि केही बिग्रेमा म नै त्यसका परिणामहरू भोग्नेछु!” यी शब्दहरू कति मिठा सुनिन्छन्, तर वास्तवमै केही कुरा बिग्रिँदा, के तिनीहरूले त्यसका परिणामहरू साँच्चिकै भोग्न सक्छन्? यदि मण्डलीको काममा कुनै क्षति पुग्यो भने, के तिनीहरूले त्यसका परिणामहरू भोग्न सक्छन्? उदाहरणको लागि, यदि अगुवा र सेवकहरूले लापरवाहीपूर्वक भेलाहरू गरेकोले, दाजुभाइ-दिदीबहिनीहरू भेलाको क्रममा पक्राउ परे, जसको कारण तीमध्ये कतिपय नकारात्मक र कमजोर बने र पछि परे भने, यस्तो जिम्मेवारी कसले वहन गर्न सक्छ? के ख्रीष्टविरोधीहरू आफ्नो कुरामा जिम्मेवार हुन्छन्? तिनीहरू पूर्णतया गैरजिम्मेवार हुन्छन्! कामप्रति ख्रीष्टविरोधीहरूको मनोवृत्ति यही हो। ल भन् त, के ख्रीष्टविरोधीहरू ख्रीष्टले बोल्नुहुने वचनहरूलाई स्विकार्न र तीप्रति समर्पित हुन सक्छन्? (सक्दैनन्।) सत्यता अभ्यास र ख्रीष्टप्रति समर्पित हुनेबारे, ख्रीष्टविरोधीहरूको हृदयमा कस्तो मनोवृत्ति हुन्छ? एउटै शब्‍द हुन्छ: विरोध। तिनीहरूले विरोध गरिरहन्छन्। अनि यो विरोधभित्र कस्तो स्वभाव लुकेको हुन्छ? केले यो पैदा गर्छ? यसलाई अनाज्ञाकारिताले पैदा गरेको हुन्छ। स्वभावको आधारमा, यो सत्यताप्रतिको वितृष्णा हो, यो तिनीहरूको हृदयमा अनाज्ञाकारीता हुनु हो, तिनीहरूले समर्पित हुन नचाहनु हो। अनि, परमेश्‍वरको घरले अगुवा र सेवकहरूलाई सबै निर्णय आफै गर्नुको सट्टा मिलेर काम गर्नू, अरूसँग छलफल गर्न सिक्‍नू भनेर भन्दा, ख्रीष्टविरोधीहरूले आफ्‍नो हृदयमा के सोच्छन्? “मानिसहरूसँग सबै कुरा छलफल गर्नु एकदमै झमेला हुन्छ! म यी कुराहरूको बारेमा निर्णय गर्न सक्छु। अरूसँग मिलेर काम गर्नु, यसबारे तिनीहरूसँग कुरा गर्नु, सिद्धान्तअनुसार काम गर्नु—कस्तो कायर, कस्तो लाजमर्दो!” ख्रीष्टविरोधीहरूले आफूले सत्यता बुझेको छु, सबै कुरा स्पष्ट जानेको छु, आफूसित आफ्‍नै अन्तर्ज्ञान र कार्यशैलीहरू छन् भन्‍ने सोच्छन्, त्यसकारण तिनीहरूले अरूसँग सहकार्य गर्न सक्दैनन्, तिनीहरूले मानिसहरूसँग कुनै पनि विषय छलफल गर्दैनन्, सबै कुरा आफ्‍नै शैलीमा गर्छन्, र अरू कसैसामु झुक्दैनन्! ख्रीष्टविरोधीहरूले समर्पित हुन र अरूसँग सहकार्य गर्न इच्छुक छु भनेर मौखिक घोषणा गरे पनि, तिनीहरूको जबाफ बाहिरबाट जति राम्रो सुनिए पनि, तिनीहरूका शब्‍दहरू जति राम्रो सुनिए पनि, तिनीहरूले आफ्नो विद्रोही स्थिति परिवर्तन गर्न, र आफ्नो शैतानी स्वभाव बदल्न सक्दैनन्। भित्री रूपमा तिनीहरू अत्यन्तै विरोधी हुन्छन्—तर कति हदसम्‍म? ज्ञानको भाषामा भन्‍ने हो भने, यो फरक प्रकृतिका दुई कुराहरूलाई सँगै राख्दा हुने अवस्थाजस्तै हुन्छ: घृणा, जसलाई हामी “विरोध” भनेर अर्थ्याउन सक्छौँ। ख्रीष्टविरोधीहरूको स्वभाव ठीक यस्तै हुन्छ: माथिप्रतिको विरोध। तिनीहरूलाई माथिको विरोध गर्न मन पर्छ र तिनीहरूले कसैको आज्ञापालन गर्दैनन्।

परमेश्‍वरका वचनहरू सामना गर्नुपर्दा ख्रीष्टविरोधीहरूसँग एउटा मात्र मनोवृत्ति हुन्छ, र त्यो हो: अनाज्ञाकारिता; साथै तिनीहरूको एउटै मात्र शैली भनेको विरोध हो। उदाहरणको लागि, म भन्छु, “हाम्रो आँगन निकै ठूलो छ र छहारी छैन। जाडो याममा, आँगनभरि घाम लाग्छ र मानिसहरूले घाम ताप्न पाउँछन्, तर गर्मी याममा अलि तातो हुन्छ। केही बिरुवाहरू किनौँ, त्यस्ता बिरुवाहरू जुन चाँडो बढ्छन्, जसले भविष्यमा पर्याप्त छहारी प्रदान गर्नेछन्, र जुन तुलनात्मक रूपले सफा र सुन्दर हुन्छन्।” यसमा कतिवटा सिद्धान्तहरू छन्? (तीनवटा।) एउटा, बिरुवाहरू चाँडै बढ्छन्, अर्कोचाहिँ ती बिरुवाहरू सफा र तुलनात्मक रूपले राम्रा देखिन्छन्, अनि अर्को भनेको तिनले भविष्यमा पर्याप्त छहारी प्रदान गर्नेछन्, जसको मतलब तिनमा बाक्ला हाँगा र पातहरू हुनुपर्छ। मानिसहरूले यी तीनवटा सिद्धान्तहरू मात्र लागु गर्नुपर्छ; कतिवटा किन्‍ने, तिनलाई कहाँ रोप्ने, र कुन प्रजातिका बिरुवाहरू किन्‍ने भन्‍ने सम्बन्धमा, मैले पनि तिनीहरूलाई जानकारी दिएको छु। के यो काम कार्यान्वयन गर्न सजिलो छ? (छ।) के यसलाई गाह्रो काम मानिन्छ? (मानिँदैन।) यो गाह्रो काम होइन। यो किन गाह्रो छैन? रुख बेच्ने ठाउँहरू छँदै छन्, परमेश्‍वरको घरले खर्च प्रदान गरिहाल्छ, र बिरुवाहरू किन्‍ने आधारभूत सर्तहरू सबै पूरा भएकै छन्। बाँकी भनेको मानिसहरूले त्यसलाई कार्यान्वयन गर्नु मात्र हो; यस काममा त्यस्तो गाह्रो केही पनि छैन। तर ख्रीष्टविरोधीको लागि, एउटा कठिनाइ छ: “के? बिरुवाहरू किन्‍ने? छहारीको लागि र वातावरण सुन्दर बनाउन पैसा खर्च गर्ने? के त्यो देहसुखमा लिप्त हुनु होइन र? त्यो पैसा त परमेश्‍वरलाई चढाइएको भेटी हो, के त्यसलाई त्यस्तो लापरवाहीपूर्वक खर्च गर्न मिल्छ? अलिकति गर्मी भएर के बिग्रिन्छ? घाम परमेश्‍वरले सृष्टि गरेका हुन्; घाममा बस्दैमा तिमी मर्छौ र? त्यसलाई त जिन्दगीका उतारचढाव स्विकार्नु भनिन्छ। यदि तिमी घाममा पर्न चाहँदैनौ भने भित्रै बस। अनि अहिले आएर तिमी यो आरामको लागि पैसा खर्चन चाहन्छौ—तिमी सपनामै हुनुपर्छ!” तिनीहरूले सोच्छन्: “यस मामलामा म आफैले अन्तिम निर्णय गर्न सक्दिनँ; यदि मैले त्यसलाई सिधै विरोध गरेँ भने, त्यो राम्रो हुँदैन। म निन्दित हुन सक्छु, र अरू सहमत नहुन सक्छन्। त्यसैले म यो कुरा निर्णायक मण्डललाई रिपोर्ट गर्नेछु। साथै, दाजुभाइ-दिदीबहिनीहरूलाई पनि आफ्ना रायहरू व्यक्त गर्न दिनु उत्तम हुनेछ। यदि निर्णायक मण्डलले अनुमोदन गर्‍यो भने, हामी बिरुवाहरू किन्‍नेछौँ; यदि उनीहरूले अनुमोदन गरेनन् भने, दाजुभाइ-दिदीबहिनीहरू सहमत भए पनि, हामी किन्‍नेछैनौँ।” तिनीहरूले सबैलाई एकै ठाउँमा भेला पार्छन्, त्यो कुरा उठाउँछन्, र सबैलाई छलफल गर्न र आफ्ना रायहरू व्यक्त गर्न दिन्छन्। सबैले भन्छन्, “बिरुवाहरू किन्नु राम्रो कुरा हो; सबैलाई फाइदा हुन्छ।” ख्रीष्टविरोधीले यो कुरा सुन्छ र भन्छ, “यो कसरी राम्रो कुरा हो? के सबैलाई फाइदा हुँदैमा राम्रो हुन सक्छ? सबैले कसको पैसाबाट लाभ लिइरहेका हुन्छन्? त्यो त परमेश्‍वरको पैसा खर्च गर्नु हो; के त्यो भेटीहरू फजुलमा उडाउनु होइन र? के यो सिद्धान्तहरूअनुरूप छ त?” सबैले मनन गर्छन्: “सबैको लाभको लागि, अर्थात् मानिसहरूको स्वार्थको लागि भेटीहरू फजुलमा उडाउनु अनुचित नै देखिन्छ।” दोहोरो छलफल गरिसकेपछि, अन्तिम निर्णय बिरुवाहरू नकिन्‍ने हुन्छ। पैसा वचत गर्नैपर्छ; जसले आदेश दिए पनि त्यो काम गर्न मिल्दैन। त्यस्तो छलफलपछि, एउटा निष्कर्ष निकालिन्छ। त्यो निष्कर्ष के हुन्छ? “यसपटक ख्रीष्टको आदेश सम्बन्धमा, हाम्रो अन्तिम सङ्कल्प भनेको त्यसको विरोध गर्नु हो; हामी भेटीहरू खर्च गर्नेछैनौँ, परमेश्‍वरको घरको एक सुको पनि खेर फाल्नेछैनौँ। ठोस रूपमा भन्नुपर्दा, यसको अर्थ हामी बिरुवाहरू किन्‍नेछैनौँ, हामी आँगन हरियाली बनाउनेछैनौँ।” निर्णय यही हो। केही दिनपछि, मैले बिरुवाहरू अझै पनि नकिनिएको देख्छु, त्यसैले सोध्छु, “तैँले किन बिरुवाहरू नकिनेको?” “हामी चाँडै किन्‍नेछौँ।” जब सिजन आइपुग्छ र अरूका बिरुवाहरूमा पातहरू उम्रेका हुन्छन्, तिनीहरूले किन अझै पनि कुनै बिरुवा किनेका छैनन्? सोधपुछमार्फत मैले थाहा पाउँछु कि, त्यसबारे छलफल गर्दा, तिनीहरू बिरुवा किन्‍न सहमत भएनन्; मेरा वचनहरू व्यर्थै भए। परामर्श, छलफल र विश्‍लेषण गरेपछि, सबैले सामूहिक रूपमा मेरो आदेश नकार्ने निर्णय गरे, जसको तात्पर्य यो थियो: “यहाँ हाम्रो निर्णय चल्छ। तिमी पाखा लाग। यो हाम्रो घर हो, तिमीसँग यसको कुनै सम्बन्ध छैन।” यो कस्तो शैली हो? के यो विरोध होइन र? तिनीहरू कुन हदसम्म विरोध गरिरहेका छन्? तिनीहरूसँग परमेश्‍वरको घरको पैसा एक सुको पनि खेर नफाल्ने र परमेश्‍वरका भेटीहरू खर्च नगर्ने भनी दाबी गर्ने एउटा आधार छ। तिमीहरूलाई यस आधारबारे के लाग्छ? के यी वचनहरू सही छन्? (छैनन्।) भेटीहरू फजुलमा उडाउने र दुरुपयोग गर्नेहरू अक्सर यिनै ख्रीष्टविरोधीहरू हुन्छन्। तिनीहरू अन्तिम निर्णय गर्न चाहन्छन्, त्यसैले तिनीहरू मूर्ख, अज्ञानी, र समझशक्ति नभएकाहरूलाई भ्रममा पार्न यी सिद्धान्तहरू लिएर आउँछन्। अनि वास्तवमै, कतिपय मानिसहरू त्यसमा फस्छन् र तिनीहरूका कुराअनुसार कार्य गर्छन्, जबकि यी ख्रीष्टविरोधीहरूले ख्रीष्टका वचनहरूलाई बिथोल्छन् र बिगार्छन्, अनि तिनको कार्यान्वयनमा ढिलाइ हुन्छ। यो समस्याको जड के हो? यसको मूलजड परमेश्‍वरका चुनिएका मानिसहरूले ख्रीष्टविरोधीहरूको पाखण्डीपन नदेख्नु, उनीहरू सधैँ मामलाहरूको सतही पक्षद्वारा भ्रममा पारिनु, र उनीहरूले कामकुराहरूको सार बुझ्न नसक्नु हो। ख्रीष्टविरोधीहरूले यी मानिसहरूमाझ तानासाहीपूर्वक अवरोधहरू निम्त्याउँछन्, र यसरी परमेश्‍वरका चुनिएका मानिसहरूमध्येका केही समझहीन मानिसहरूलाई अक्सर भ्रममा र नियन्त्रणमा पार्छन्।

ख्रीष्टले मण्डलीमा गर्नुहुने हरेक विशिष्ट कार्य प्रबन्ध र आदेशमा, यदि कुनै पनि ख्रीष्टविरोधीहरूले बाधा सिर्जना गरिरहेका छैनन् भने, तिनलाई तुरुन्तै लागु गर्न सकिन्छ। तर ख्रीष्टविरोधीले हस्तक्षेप गर्नेबित्तिकै, काममा ढिलाइ हुन्छ र त्यसलाई लागु गर्न सकिँदैन। कहिलेकाहीँ त मानिसहरूले कार्यान्वयन गरून् भनेर ख्रीष्टले चाहनुभएका प्रबन्ध र आदेशहरूलाई ख्रीष्टविरोधीहरूले कुनै न कुनै निहुँमा सिधै अस्वीकृत गर्दिन्छन्। त्यसो गर्दा, तिनीहरूले सबैलाई समेटेर निर्णय लिने प्रक्रिया अपनाउँछन्, र यसो भन्छन्, “यो दाजुभाइ-दिदीबहिनीहरूको मतद्वारा पारित भएको हो; यो सामूहिक निर्णयको नतिजा हो, मेरो भनाइ मात्र होइन।” यसको आशय के हो? यसको आशय के हो भने, दाजुभाइ-दिदीबहिनीहरूका सङ्कल्पहरू सत्यताबमोजिम हुन्छन्, र कुनै समस्या उत्पन्‍न हुँदा, दाजुभाइ-दिदीबहिनीहरूको सामूहिक निर्णय हुनु भनेकै सत्यताले शक्ति चलाउनु हो। तर जब कुनै प्रभारी ख्रीष्टविरोधीले ख्रीष्टको कुराको विरोध गर्छ, के त्यो सत्यताले शक्ति चलाउनु हो त? प्रस्टै छ, यो वास्तवमा ख्रीष्टविरोधीले शक्ति हातमा लिनु हो। के कुनै ख्रीष्टविरोधीले सम्पूर्ण परिस्थिति नियन्त्रण गरिरहेको बेला सत्यताले शक्ति चलाइरहेको छ भन्नु हास्यास्पद र छली कुरा होइन र? ख्रीष्टविरोधीहरू भेष बदल्नमा साँच्चिकै सिपालु हुन्छन्! जब ख्रीष्टले तिनीहरूलाई कुनै कुरा लागु गर्न भन्नुहुन्छ, र जब त्यो परमेश्‍वरले गर्नुभएको हो, र उहाँले सबैको लागि सोचेर कार्य गरिरहनुभएको छ भनेर सबैलाई थाहा दिइन्छ, र जब सबैजना परमेश्‍वरको अनुग्रहको लागि कृतज्ञ हुन्छन्, तब त्यसले ख्रीष्टविरोधीहरूलाई अप्रसन्‍न र असहज महसुस गराउँछ। त्यसपछि तिनीहरू दिमाग खियाएर बाधा दिने र काम बिगार्ने उपायहरू खोज्छन्। तर यदि त्यो तिनीहरूको पहलमा गरिएको हो र अन्त्यमा सबै जना तिनीहरूप्रति कृतज्ञ हुन्छन् र सबैले तिनीहरूको प्रशंसा गर्छन् भने, तिनीहरूले हरकोहीभन्दा बढी सक्रिय भएर त्यसलाई लागु गर्छन्, र जस्तोसुकै कष्ट सहन तयार हुन्छन्। के यस्ता ख्रीष्टविरोधी मानिसहरू घिनलाग्दा हुँदैनन् र? (हुन्छन्।) यो कस्तो स्वभाव हो? (दुष्ट स्वभाव।) ख्रीष्टविरोधीहरू आफ्नो भेष बदल्न, अरूलाई भ्रम र प्रलोभनमा पार्न आफू असल मानिस भएको बहाना बनाउन, र आफूले सत्यता अभ्यास गरिरहेको बहानासमेत बनाउन सक्षम हुन्छन्। यो दुष्टता हो। तैँले कस्तो सत्यता अभ्यास गरिरहेको छस्? तँ ख्रीष्टले दिनुभएका वचन र आदेशहरू नकार्छस्, तिनलाई पालना र लागु गर्न सक्दैनस्। तैँले अभ्यास गर्ने भनी दाबी गरेको सत्यता कहाँ छ? के तँ परमेश्‍वरको विश्‍वासी होस्? के तँ परमेश्‍वरलाई परमेश्‍वरको रूपमा लिन्छस्? तैँले विश्‍वास गर्ने परमेश्‍वर तेरो सहपेसेवर होइन, तेरो सहकर्मी होइन, तेरो साथी होइन; उहाँ ख्रीष्ट हुनुहुन्छ, उहाँ परमेश्‍वर हुनुहुन्छ! के तैँले यो कुरा चिन्दैनस्? ख्रीष्टका वचनहरूलाई सधैँ विश्‍लेषण र सूक्ष्मजाँच गर्नु, तिनको सहीपन खुट्ट्याउने कोसिस गर्नु, र फाइदा-बेफाइदा जोख्न खोज्नु—के तैँले गलत स्थान अँगालिरहेको छैनस् र? ख्रीष्टविरोधीहरू मानिसहरूका शब्दहरूको सूक्ष्मजाँच र विश्‍लेषण गर्न माहिर हुन्छन्, र तिनीहरूले अन्ततः यो अनवरत सूक्ष्मजाँचलाई ख्रीष्टमा लागु गरिछाड्छन्। ख्रीष्टलाई यस तरिकाले सूक्ष्मजाँच र व्यवहार गर्नु—के तिनीहरू परमेश्‍वरका अनुयायी हुन् त? के तिनीहरू अविश्‍वासी मात्र होइनन् र? तिनीहरू सधैँ ख्रीष्टलाई सूक्ष्मजाँच गर्छन्, तर के तिनीहरूले ख्रीष्टको ईश्‍वरीय सार बुझ्न सक्छन् त? तिनीहरूले ख्रीष्टलाई जति धेरै सूक्ष्मजाँच गर्छन्, तिनीहरू त्यति नै धेरै शङ्कापूर्ण बन्छन्, र अन्तत: तिनीहरूले ख्रीष्टलाई एक साधारण व्यक्ति नै ठान्छन्। के तिनीहरूमा कुनै साँचो आस्था वा समर्पण बाँकी छ त? बिलकुलै छैन। ख्रीष्टविरोधीको हृदयमा, ख्रीष्टलाई एक साधारण व्यक्ति मात्र ठानिन्छ। ख्रीष्टलाई मानवको रूपमा व्यवहार गर्नु तिनीहरूलाई स्वाभाविक लाग्छ, त्यसैले तिनीहरू आफूले ख्रीष्टका वचन र आदेशहरूलाई बेवास्ता गर्न सक्‍ने, तिनलाई हृदयमा नलिई केवल भेलाहरूमा छलफल र सूक्ष्मजाँचको लागि उठाउन सक्ने भन्ठान्छन्। अन्त्यमा, काम कसरी गर्ने भनी निर्णय गर्ने ख्रीष्टविरोधी हुन्छ, त्यो परमेश्‍वर हुनुहुन्‍न। तिनीहरूले ख्रीष्टलाई कुन स्तरमा झारिसके? तिनीहरू उहाँलाई एक साधारण अगुवाको रूपमा मात्र हेर्छन्, ख्रीष्टलाई परमेश्‍वरको रूपमा बिलकुलै हेर्दैनन्। के यो र पावलको परमेश्‍वरमाथिको आस्था एउटै प्रकृतिका छैनन् र? पावलले प्रभु येशूलाई कहिल्यै परमेश्‍वरका रूपमा हेरेन, उहाँका वचनहरू कहिल्यै खाएन-पिएन, न त प्रभु येशूप्रति समर्पित हुन नै खोज्यो। उसलाई सधैँ उसले जिउनु नै ख्रीष्ट हो भन्‍ने लाग्थ्यो, उसले प्रभु येशूलाई प्रतिस्थापित गर्ने प्रयास गर्‍यो, र फलस्वरूप, ऊ परमेश्‍वरबाट दण्डित भयो। तैँले ख्रीष्ट देहधारी परमेश्‍वर हुनुहुन्छ भनेर स्विकारेकोले, तँ ख्रीष्टप्रति समर्पित हुनुपर्छ। ख्रीष्टले जे भन्नुभए पनि, तैँले स्विकार्नु र समर्पित हुनुपर्छ, परमेश्‍वरका वचनहरू सही छन् छैनन् वा सत्यतासँग मिल्छन् मिल्दैनन् भनी सूक्ष्मजाँच र छलफल गर्नु हुँदैन। परमेश्‍वरका वचनहरू तैँले विश्‍लेषण र सूक्ष्मजाँच गर्नलाई नभई समर्पित हुन र लागु गर्नलाई हुन्। काम कसरी सुरु गर्ने र कार्यान्वयनका चरणहरू कसरी निर्धारण गर्ने—त्यो नै तिमीहरूको सङ्गति र छलफलको दायरा हो। ख्रीष्टविरोधीहरूले आफ्‍नो हृदयमा सधैँ ख्रीष्टको ईश्‍वरीय सारबारे शङ्का गर्ने र तिनीहरूमा सधैँ अवज्ञाकारी स्वभाव हुने भएकोले, जब ख्रीष्टले तिनीहरूलाई काम गर्न भन्नुहुन्छ, तब तिनीहरूले तिनको बारेमा सधैँ सूक्ष्मजाँच र छलफल गर्छन्, र ती सही छन् कि गलत भनेर निर्धारण गर्न मानिसहरूलाई आग्रह गर्छन्। के यो गम्‍भीर समस्या हो? (हो।) तिनीहरूले ती कुराहरूलाई सत्यताप्रति समर्पणको दृष्टिकोणबाट लिइरहेका हुँदैनन्, बरु परमेश्‍वरको विरोधको दृष्टिकोणबाट लिइरहेका हुन्छन्। यो ख्रीष्टविरोधीहरूको स्वभाव हो। जब तिनीहरूले ख्रीष्‍टका आदेश र कार्य बन्दोबस्तहरूबारे सुन्छन्, तब तिनीहरूले तिनलाई स्विकार्ने र तिनमा समर्पित हुने गर्दैनन्, बरु छलफल गर्न थाल्छन्। अनि तिनीहरूले केबारेमा छलफल गर्छन्? के तिनीहरूले कसरी समर्पण अभ्यास गर्ने भनी छलफल गर्छन्? (गर्दैनन्।) तिनीहरूले ख्रीष्टका वचन र आदेशहरू सही छन् कि गलत भनेर छलफल गर्छन्, र तिनलाई पालना गर्ने कि नगर्ने भनेर जाँच गर्छन्। के तिनीहरूको मनोवृत्ति यी कुराहरू लागू गर्न चाहने किसिमको हुन्छ? हुँदैन—तिनीहरू अझै धेरै मानिसहरूलाई आफूजस्तै बनाउन र ती कुरा नगर्न उक्साउन चाहन्छन्। अनि के ती काम नगर्नु समर्पणको सत्यता अभ्यास गर्नु हो? अवश्य होइन। त्यसो भए। तिनीहरूले के गरिरहेका हुन्छन्? (विरोध।) तिनीहरू आफैले मात्र परमेश्‍वरको विरोध गरिरहेका हुँदैनन्, सामूहिक विरोधको खोजीमा पनि हुन्छन्। यो तिनीहरूको व्यवहारको प्रकृति हो, होइन र? सामूहिक विरोध: सबैलाई आफूजस्तै बनाउनु, सबैलाई आफूले जस्तै सोच्‍ने, आफूले जस्तै बोल्‍ने, आफूले जस्तै निर्णय गर्ने बनाउनु, मिलेर ख्रीष्टको निर्णय र आदेशहरूको विरोध गर्नु। यो ख्रीष्टविरोधीहरूको कार्यप्रणाली हो। ख्रीष्टविरोधीहरूले “सबैले गर्छन् भने यो अपराध होइन” भन्‍नेमा विश्‍वास गर्छन्, त्यसकारण तिनीहरूले आफूसँगै अरूलाई परमेश्‍वरको विरोध गर्न उक्साउँछन्, र यस्तो अवस्थामा परमेश्‍वरको घरले तिनीहरूलाई केही पनि गर्न सक्दैन भन्‍ने सोच्छन्। के यो मूर्खता होइन र? परमेश्‍वरको विरोध गर्नलाई ख्रीष्टविरोधीहरूको आफ्नै क्षमता अत्यन्तै सीमित हुन्छ, तिनीहरू पूरै एक्लै हुन्छन्। त्यसैले, तिनीहरूले सामूहिक रूपमा परमेश्‍वरको विरोध गर्न मानिसहरू भर्ती गर्ने प्रयास गर्छन्, किनभने तिनीहरूले हृदयमा यस्तो सोच्छन्, “म एक हुल मानिसहरूलाई बहकाउनेछु, र मैले जस्तै सोच्‍ने र व्यवहार गर्ने बनाउनेछु। हामीले मिलेर ख्रीष्‍टका वचनहरूलाई इन्कार गर्नेछौँ, र परमेश्‍वरका वचनहरूमा बाधा दिएर, तिनलाई लागू हुनबाट रोक्‍नेछौँ। अनि यदि कोही मेरो काम जाँच्‍न आयो भने, म सबैले यस्तो निर्णय गरेका हुन् भनेर भन्‍नेछु—त्यसपछि तपाईंले के गर्नुहुँदो रहेछ हेर्नेछौँ। म तपाईंको लागि यो काम गर्नेछैनँ, म यसलाई लागू गर्नेछैनँ—हेरौँ, तपाईंले मलाई के गर्नुहुन्छ!” तिनीहरू आफूसँग शक्ति छ, तिनीहरूलाई तह लगाउन परमेश्‍वरको घरले केही गर्न सक्दैन, न त ख्रीष्टले नै केही गर्न सक्नुहुन्छ भन्‍ने सोच्छन्। तिमीहरूलाई के लाग्छ, के यस्तो व्यक्तिलाई तह लगाउन सजिलो हुन्छ? यस्तो व्यक्तिलाई कसरी तह लगाउनुपर्छ? सबैभन्दा सरल विधि भनेको उसलाई बरखास्त र छानबिन गर्नु हो। अनि दियाबलस आफै प्रकट हुनेबित्तिकै एकैलातमा त्यसलाई हटाइदे, त्यसपछि कुरै सकिन्छ। परमेश्‍वरको घरले तँलाई अगुवा हुन दिन्छ, तर तँ समर्पित हुँदैनस् र परमेश्‍वरको विरोध गर्नेसमेत आँट गर्छस्; के तँ दियाबलस होइनस् र? परमेश्‍वरको घरले तँलाई अगुवाइ गर्न खटाउँछ ताकि तैँले खास काम गर्न सक्, ताकि तँ परमेश्‍वरको घरका कार्य प्रबन्धहरूप्रति समर्पित हू, र ताकि तैँले राम्रोसँग कर्तव्य गर्न सक्। तैँले परमेश्‍वरका वचनहरू स्विकार्नु र तिनमा समर्पित हुनुपर्छ; परमेश्‍वरले जे भन्नुहुन्छ, तैँले उहाँका वचनहरूलाई स्विकार्नु र लागु गर्नुपर्छ, उहाँको विरोध गर्नु हुँदैन। तैँले परमेश्‍वरको विरोध गर्नुलाई कर्तव्यको रूपमा लिएको छस्—ठिकै छ, माफी चाहन्छु, तर तँलाई बरखास्त गर्नु नै सबैभन्दा सजिलो समाधान हो। परमेश्‍वरको घरसित तँलाई प्रयोग गर्ने अख्तियार छ र तँलाई बरखास्त गर्ने अख्तियार पनि छ। कति मानिसहरू भन्छन्, “मैले अगुवाको रूपमा राम्रै गरिरहेको थिएँ, मलाई किन बरखास्त गरियो? के यो गधाले भारी बोकिसक्नेबित्तिकै त्यसलाई मारिदिनुजस्तो होइन र?” के तँलाई बरखास्त गरिँदा तैँले वास्तवमै राम्रो काम गरिरहेको थिइस्? जुन गधाले लात्ताले हान्छ र जथाभावी टोक्छ, अनि जतिसुकै तालिम दिइए पनि अह्राइएको काम गर्दैन, “त्यसले भारी बोकिसकेपछि” त्यसलाई मार्नैपर्छ। त्यसलाई कहिले मार्ने भन्‍ने कुराचाहिँ त्यसको कार्यसम्पादनमा भर पर्छ। ल भन् त, के असल गधालाई मार्न कोही इच्छुक हुन्छ होला त? भारी बोक्ने बेलामा, गधा नै सबैभन्दा अत्यावश्यक र महत्त्वपूर्ण सहयोगी हुन्छ। गधाको सबैभन्दा बढी आवश्यकता पर्दा, के कसैले त्यसलाई मार्ने, भारी बोकाउन छोड्ने, र भारी नै नलैजाने मूर्खता गर्छ होला त? कसैले त्यस्तो काम गर्छ त? (गर्दैन।) एउटा परिस्थितिमा मात्र यस्तो हुन्छ: जब गधाले तालिमप्रति चासो दिँदैन, लात्ताले हान्‍न र जथाभावी टोक्न जारी राख्छ, र त्यसलाई भारी बोकाउन असम्भव हुन्छ। त्यही बेलामा तैँले गधालाई भारी बोकाउन छोडेर मार्नुपर्छ, होइन त? (हो।) यस मामलालाई खुट्ट्याउन सक्नेहरूले यो कुरा प्रस्ट रूपमा देख्न सक्छन्। त्यसोभए, अनाज्ञाकारी, अत्यन्तै अटेरी, र कुनै पनि काम कार्यान्वयन गर्न नसक्ने ख्रीष्टविरोधीहरूलाई कसरी तह लगाउनुपर्छ? सबैभन्दा सजिलो विधि भनेको पहिला तिनीहरूलाई पदबाट बरखास्त गर्नु हो। कति मानिसहरूले सोध्छन्, “के बरखास्त गर्दैमा त्यसको अन्त्य हुन्छ र?” किन हतार गर्नु? तिनीहरूको व्यवहार अवलोकन गर्। तिनीहरू बरखास्त भएर तिनीहरूको शक्ति गुमेपछि, यदि तिनीरूले अझै पनि परमेश्‍वरको घरमा श्रम गर्न सक्छन् भने, तिनीहरूलाई निष्कासित गरिनेछैन। तर यदि तिनीहरूले श्रम गर्दैनन्, बरु उल्टै धारणाहरू फैलाएर, दुष्टता गरेर, अनि सबैतिर बाधाहरू सिर्जना गरेर, कामकुरा झनै बिगार्छन् भने, सिद्धान्तहरूअनुसार तिनीहरूलाई निष्कासित गर्नैपर्छ। समग्रमा, के ख्रीष्टविरोधीहरूमा प्रकट हुने यी कुराहरू घृणास्पद छैनन् र? (ती अत्यन्तै घृणास्पद छन्।) अनि केले ती घृणास्पद भएका हुन्? यी ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरमा शक्ति हत्याउन चाहन्छन्; ख्रीष्‍टका वचनहरू तिनीहरूबाट लागु हुन सक्दैनन्, तिनीहरूले तिनलाई लागू गर्दैनन्। मानिसहरू ख्रीष्टका वचनहरूप्रति समर्पित हुन नसक्दा, अवश्य नै अर्को परिस्थिति पनि संलग्‍न भएको हुन सक्छ: कतिपय मानिसहरूमा कमजोर क्षमता हुन्छ, तिनीहरूले परमेश्‍वरका वचनहरू सुन्दा तिनलाई बुझ्‍न सक्दैनन्, र तिनलाई कसरी लागू गर्ने सो तिनीहरूलाई थाहा हुँदैन; तैँले सिकाइस् भने पनि तिनीहरूले ती लागू गर्न सक्दैनन्। यो फरक मामला हो। अहिले हामीले सङ्गति गरिरहेको विषय ख्रीष्टविरोधीहरूको सार हो, र यो मानिसहरू काम गर्न सक्षम छन् कि छैनन्, वा तिनीहरूको क्षमता कस्तो छ भन्‍ने कुरासँग सम्‍बन्धित छैन; यो ख्रीष्टविरोधीहरूको स्वभाव र सारसँग सम्‍बन्धित छ। तिनीहरू ख्रीष्‍ट, परमेश्‍वरको घरका कार्य बन्दोबस्तहरू, र सत्यता सिद्धान्तहरूको पूरै विरोध गरिरहेका हुन्छन्। तिनीहरूमा कुनै समर्पण हुँदैन, विरोध मात्रै हुन्छ। ख्रीष्टविरोधी यस्तै हुन्छ।

तल दिइएको परिस्थिति पहिले उल्लेख गरिएका ख्रीष्टविरोधीहरूका कुन-कुन प्रकटीकरणहरूमा पर्छ भनी सोचविचार गरेर खुट्ट्याओ। एउटा अगुवा थियो जो हरदिन बिहानदेखि बेलुकासम्म काम गर्थ्यो, र निकै जिम्मेवार देखिन्थ्यो। तैपनि, ऊ विरलै देखिन्थ्यो, जसले ऊ काममा निकै व्यस्त छ र शायद यतिकै बसिरहेको छैन भन्‍ने आभास गराउँथ्यो, र उसले मूल्य चुकाउँदै कर्तव्य गरिरहेजस्तो देखिन्थ्यो। पछि, जब उसको आवास घर र आँगनमा काम गर्नुपर्ने थियो, तब हामीले उसलाई काममा अह्राउखटाउ गर्न कसैको प्रबन्ध गर्‍यौँ। हामी नहुँदा, उसले आफै अघि बढेर अह्राउखटाउ गर्न मदत गर्नुपर्थ्यो र कामको लागि जिम्मेवार हुनुपर्थ्यो; उसले आफै पहल गर्नुपर्थ्यो। के यो मनासिब र उचित होइन र? के यी घरायसी कामकाजमा मैले नै सधैँ निगरानी राखिरहनुपर्छ र? (पर्दैन।) प्राय: यस्ता शारीरिक कामहरूले सत्यतालाई साँच्चिकै समेट्दैनन्। मानिसहरूले लगनसाथ काम मात्र गर्नुपर्छ, विनाशकारी कार्यहरूमा संलग्न हुनु हुँदैन, अनुपालन गर्ने हुनुपर्छ, र जे गर्न भनिएको छ त्यही गर्नुपर्छ—यति गर्न सरल र सजिलो छ। पछि, जब त्यस क्षेत्रका कार्यहरू मूलत: सबै पूरा भए, तर चालु व्यवस्थापन अझै पनि आवश्यक नै थियो, र मैले यो जिम्मेवारी उक्त अगुवालाई हस्तान्तरण गरेँ। मैले उसलाई त्यस क्षेत्रको स्वच्छता कायम राख्न, र मर्मतसम्भारका सबै कामहरू राम्रोसँग हेरिने सुनिश्‍चित गर्न भनेँ। त्यसमा मुख्यगरी दुइटा कुराहरू थिए: पहिलो, तोकिएका सबै ठाउँ र कोठाहरूमा भित्रबाहिर दुवैतिर स्वच्छ र सफा राख्ने। दोस्रो, बिरुवाहरूको राम्रो हेरविचार गर्ने; उदाहरणको लागि, भर्खरै रोपिएका बिरुवाहरू नमरून् भनेर तिनमा पानी हाल्ने, सिजनअनुसार र तिनको वृद्धिअनुरूप तिनलाई आवश्यकताअनुसार काटछाँट गर्ने, र आवश्यक पर्दा मल हाल्ने। यिनै दुई कामहरू थिए—के तिमीहरूलाई यो धेरै भयो जस्तो लाग्छ? के यो थकानयुक्त हुन सक्छ? (सक्दैन।) यी दुई कामहरू खासै धेरै होइनन्; खाना खाएपछि टहलाउँदा टहलाउँदै यी दुई काम पूरा गर्न सकिन्छ। यसअलावा, के तैँले आफ्नो जियाइ वातावरणको पनि ख्याल राख्नुपर्दैन र? मानवको रूपमा जिउनु भनेको ठ्याक्कै यस्तै हुन्छ; यसप्रकारका कामहरू सामान्य मानव जीवनका लागि अत्यावश्यक छन्। तैँले आफ्नो जियाइ वातावरण आफैले व्यवस्थापन गर्नुपर्छ। यदि गर्दैनस् भने, तँ जनावरभन्दा फरक छैनस्। त्यसपछि के तँलाई अझै पनि मानव भन्‍न मिल्छ र? जनावरहरूले आफ्ना वरिपरिका ठाउँलाई व्यवस्थित गर्दैनन्; तिनीहरूका शारीरिक आवश्यकताहरू पूरा गर्ने तोकिएका ठाउँहरू हुँदैनन्, र तिनीहरूका खाने र सुत्ने निश्‍चित ठाउँहरू हुँदैनन्। मानवहरू यस अर्थमा जनावरहरूभन्दा श्रेष्ठ छन्; मानवहरूले आफ्नो वातावरण व्यवस्थापन गर्छन्, स्वच्छताबारे ध्यान दिन्छन्, र आफू वरिपरिका ठाउँलाई स्तरीय राख्छन्। त्यसैले, मैले उसलाई यो काम गर्न लगाउनु अतिशय थिएन, होइन र? (हो।) यी कामहरू अह्राएपछि, म अर्को ठाउँ गएँ, र त्यो अगुवाले उक्त काम कार्यान्वयन गर्नुपर्थ्यो। एकदिन, म वातावरण कसरी व्यवस्थित गरिँदै छ भनेर जाँच्न गएँ, र बाटोमा, मलाई मुटु दुख्‍ने, झर्को लाग्‍ने र रिस उठ्ने अनुभूति भयो! तिमीहरूको विचारमा के भयो जस्तो लाग्छ? के कुराले यस्ता संवेगहरू निम्त्याउन सक्छ? (उसले परमेश्‍वरका आदेश र प्रबन्धहरू कार्यान्वयन गरेन।) ठ्याक्कै भनिस्, भन्‍ने नै यस्तै हो—उसले तिनलाई कार्यान्वयन गरेन। म त्यहाँ नहुँदाखेरि, मौसम खासै सुक्खा थिएन, तर भर्खरै रोपिएका बिरुवाका पातहरू सुक्दै थिए, र कतिपय त झर्दै पनि थिए। रिसउठ्दो कुरा त के थियो भने, दुई चर्चित फूलहरू फूल्ने बिरुवाका पातहरू अत्यन्तै हरियोबाट बैजनी रातो भएका थिए, झन्डै पहेँलो हुन लागेका थिए। के यो कुरा सुन्दा तिमीहरूलाई रिस उठ्छ? अझै रिसउठ्ने कुरा त, प्रवेशद्वारमा सिमेन्टले बनाइएको सफा मञ्चमा टोकरीहरू, पोलिथिनका झोलाहरू, फोहोरहरू, काम सक्‍किएर बाँकी रहेका काठका टुक्राहरू, किलाहरू, र ज्यावलहरू छरिएका थिए—सबथोक छरपस्ट थियो, जसले फोहोरी र अव्यवस्थित भद्रगोल स्थिति बनाएको थियो! यस्तो दृश्य देख्दा कोचाहिँ रिसाउँदैन होला र? यस्तोमा नरिसाउने त एकखाले व्यक्ति मात्र हो—जो जनावरसरह हुन्छ, जसको स्तर हुँदैन वा जो आफ्ना वरिपरिका वातावरणप्रति संवेदनशील हुँदैन, गन्ध, स्वच्छता, वा सहजताप्रति उदासीन हुन्छ, र के राम्रो वा नराम्रो भन्‍नेबारे पूर्णतया अनजान हुन्छ। सामान्य मानवता भएको, आफ्नो वातावरणको मापदण्ड र सोच्ने शक्ति भएको जोसुकै व्यक्ति यस्तो अवस्था देखेपछि रिसाउँछ। त्यहाँ मानिसहरूको ठूलै समूह बस्थे, तर तिनीहरूले यति सानो कामसमेत सम्हाल्न सकेनन्। तिनीहरू कस्ता खाले मानिस हुन्? मैले निर्देशन दिएपछि, तिनीहरूले त्यस ठाउँप्रति यस्तो व्यवहार गरे, तिनीहरूले त्यस ठाउँलाई यस्तो बनाए। यहाँको वातावरण व्यवस्थापन गर्नु र यी केही कुराहरू ख्याल राख्नु थकानयुक्त काम होइन, हो र? यसले तेरो कुनै पनि क्रियाकलापमा बाधा पार्दैन, पार्छ र? यसले तेरा भेलाहरूमा, प्रार्थनाहरूमा, वा परमेश्‍वरको वचन पढ्नमा असर पार्दैन, पार्छ त? त्यसोभए यो किन गर्न सकिँदैन? मैले नजिकै बसेर निगरानी गरिरहेको र हेरिरहेको बेलामा यी मानिसहरूले केही काम गर्छन्, तर म निस्केर हिँड्नेबित्तिकै तिनीहरू रोकिन्छन्; कसैले पनि जिम्मेवारी लिँदैन। यहाँ के भइरहेको छ? के तिनीहरू यो ठाउँलाई आफ्नो घर ठान्छन्? (ठान्दैनन्।) तिनीहरू अझै पनि ख्रीष्टको राज्य तिनीहरूको न्यानो घर हो भन्छन्, तर के तिनीहरूले साँच्चिकै त्यस्तै सोच्छन् त? के तिनीहरूले साँच्चै त्यस्तै व्यवहार गर्छन् त? गर्दैनन्। तिनीहरूले आफू जिउने वातावरणलाई समेत व्यवस्थापन गर्दैनन्। मैले तिनीहरूलाई निर्देशन दिएपछि पनि कसैले जिम्मेवारी लिँदैन, र कसैले वास्ता गर्दैन। काम गर्न भनिएमा, तिनीहरूले थोरै काम गर्छन्, तर काम सकिएपछि, तिनीहरूले सरसामान लापरवाहीपूर्वक जथाभाबी फाल्छन्, र सोच्छन्, “जसलाई मतलब छ उसले मिलाएर राखे हुन्छ, यो मेरो चासोको विषय होइन। मलाई खाने र बस्ने व्यवस्था भए पुग्छ।” यो कस्तो प्रकारको मानवता हो? कस्तो प्रकारको नैतिकता हो? के यस्तो व्यक्तिमा अलिकति पनि सामान्य मानवता हुन्छ? यतिका वर्ष परमेश्‍वरमा विश्‍वास गरेर पनि कुनै परिवर्तन नआउनु साँच्चिकै अकल्पनीय कुरा हो! म तिमीहरूको लागि अत्यन्तै धेरै प्रयत्न लगाएर यी काम गर्छु, अत्यन्तै राम्रोसँग सबथोक प्रबन्ध गर्छु। म यहाँ बस्दिनँ, म यो कुनै कुराको आनन्द लिँदिनँ—यो सबै तिमीहरूकै लागि हो। तिमीहरू कृतज्ञ हुनु पर्दैन; बस् आफ्नो जिउने वातावरण व्यवस्थापन गर, त्यति गरे पुग्छ—यो काम गर्न किन यति कठिन भएको? पछि, यस व्यवहारको एउटा कारण रहेछ भनेर मैले थाहा पाएँ। मानिसहरूले आफ्नो परिवार र करियर छाडेका भए पनि वा आफ्नो अध्ययन र भावी सम्भाव्यता त्यागेका भए पनि, तिनीहरू परमेश्‍वरको घरमा आफ्नो कर्तव्य गर्न आउँछन्, न कि मेरा दीर्घकालीन कामदारहरू बन्‍न। किन? तिनीहरूले एक सुको पाउँदैनन्, अनि मेरो कुरा किन सुन्नुपर्‍यो? तिनीहरूले मेरो लागि किन वातावरण व्यवस्थापन गर्नुपर्‍यो? तिनीहरूले मेरो लागि यो प्रयत्न किन गर्नुपर्‍यो र? तिनीहरूले यस्तै सोच्छन्। तिनीहरूलाई आफ्नो काम राम्रोसँग गर्नु र आफ्नो कर्तव्य पूरा गर्नु नै पर्याप्त छ, र आफ्नो कामको दायराभित्रका मामलाहरू सम्हाल्दा आफ्ना जिम्मेवारीहरू पूरा भइहाल्छन् भन्‍ने लाग्छ। मैले अरू जे अह्राए पनि, यदि त्यो तिनीहरूको कर्तव्य र पेशासँग सम्बन्धित छ भने, तिनीहरूले विचार गर्लान्, तर बाँकी कुराको लागि भने मैले अरू नै कोही खोज्नुपर्छ। यसले दिन खोजेको सन्देश के हो भने, “हामी राज्यका मानिसहरू हौँ; हामीले कसरी यस्ता फोहोरी र थकानयुक्त काम गर्न मिल्छ? हामी त श्रेष्ठ मानवहरू हौँ; हामीलाई सधैँ निम्नस्तरीय र अपमानजनक काम गराउँदा हाम्रो छविमा हानि पुग्छ! हामी निश्‍चित पहिचान भएका मानिसहरू हौँ, तिमी किन हाम्रो लागि परिस्थितिहरू कठिन बनाइरहन्छौ?” यो कुरा बुझेपछि, धेरैजसो मानिसहरू किन काम गर्नप्रति वितृष्ण, प्रतिरोधी र अनिच्छुक हुन्छन, र तिनीहरू आफ्नो काम गर्दा किन आफूलाई अरूसँग तुलना गर्छन् र चालबाजी गर्दै आफ्नो कर्तव्यबाट पन्छिन्छन् भन्‍नेबारे मैले केही अन्तर्ज्ञान प्राप्त गरेँ—धेरैजसोले सत्यता पछ्याउँदैनन्, त्यसैले यस्तो भएको रहेछ। सत्यता नपछ्याउनु भनेको त एउटा आम भनाइ हो, तर वास्तवमा, धेरै मानिसहरू स्वभावैले सहजता मन पराउने र कामलाई घृणा गर्ने हुन्छन्। तिनीहरू जसोतसो जीवन धान्‍ने मानसिकताद्वारा नियन्त्रित भएका हुन्छन्, र सँगसँगै, तिनीहरू सत्यता पछ्याउनु भनेको सँगै बसेर कुराकानी र छलफल गर्नु हो भन्‍ने विश्‍वास गर्छन्, जस्तो कि ठूलो रातो अजिङ्गरको राष्ट्रमा मानिसहरू निरन्तर रूपमा बैठक बस्छन्, समाचारपत्र पढ्छन्, र चियाको चुस्की लिन्छन्—तिनीहरूले त्यो नै परमेश्‍वरमा विश्‍वास गर्नु र आफ्नो कर्तव्य गर्नु हो भन्ठान्छन्। किसानहरूले झैँ काम र श्रम गर्ने विषय उठ्नेबित्तिकै, धेरैले सोच्छन्, यसरी जिउनुसँग हामी इसाईहरूको कुनै सम्बन्ध छैन। एक इसाईको जीवन “तल्लो स्तरका सुखहरू” बाट अलग हुन्छ। अन्तर्निहित रूपमा, तिनीहरूले आफू संसारका पट्टाइलाग्दा कुराहरूभन्दा माथि रहेको—सफाइ, कीट नियन्त्रण, खेतीपाती, काटछाँट, फूल रोपाइ, र आदि इत्यादि कुराहरू तिनीहरूसँग असम्बन्धित भएको विश्‍वास गर्छन्; तिनीहरू यस्तो तल्लो स्तरको जीवनयापनबाट धेरै पहिले नै माथि उठिसकेका छन्। के धेरैजसो मानिसहरूको स्थिति यही होइन र? (हो।) के यसप्रकारको स्थिति सच्याउन सजिलो छ? कतिपय मानिसहरूलाई मेसिन चलाउन सिक्न लगाउँदा, तिनीहरूले त्यसलाई गम्भीर रूपमा लिँदैनन् र जानाजानी त्यसलाई नराम्रोसित प्रयोग गरेरसमेत केही दिनमै उक्त मेसिन बिगार्छन्। अनि, भर्खरै किनिएका मेसिनहरू भाँचिन्छन्, र तिनको मर्मत खर्च सस्तो हुँदैन। तिनीहरू सोच्छन्: “तिमीले मलाई सिक्न भनेको होइन र? अब मैले मेसिन भाँचेर मेसिन नै बाँकी नरहेपछि, के मैले विश्राम लिन पाउँछु नि, होइन र? मैले अबदेखि काम गर्नुपर्दैन होला, पर्छ त? तिमी मलाई सिक्न भनिरहन्थ्यौ, त्यसको नतिजा यही हो। के तिमीले यही देख्न चाहेका थियौ?” कतिपय मेसिनहरूको मर्मत खर्च लगभग नयाँ किन्दा जति नै पर्छ। कति मानिसहरू त यस्ता गल्तीहरू गरेपछि पनि बिलकुलै नराम्रो वा ग्लानि महसुस गर्दैनन्। तैँले यसलाई पहिले उल्लेखित “परमेश्‍वरको घरको पैसा एक सुको पनि खर्च नगर्ने, किनकि यो परमेश्‍वरलाई चढाइएको भेटी हो” भन्‍ने धारणासित तुलना गर्दा, कुन भनाइचाहिँ साँचो रूपमा बोलिएको हो, र कुन व्यवहारचाहिँ वास्तविकता हो? तिनीहरूले मेसिन भताभुङ्ग पार्छन्, र दुईपटक मर्मत गर्ने खर्चले नयाँ मेसिन किन्‍न पुग्छ। यो पैसा खेर फाल्ने व्यवहार नै वास्तविकता हो, तर भेटीहरू फजुलमा नउडाउनेसम्बन्धी भनाइ झूटो, छली र भ्रामक कुरा हो। यसअघि छलफल गरिएको उदाहरणको सन्दर्भमा, यदि हामीले यसलाई एक ख्रीष्टविरोधीको स्वभाव वा सारमा वर्गीकृत गर्ने हो भने, यो आजको छलफलको कुन पक्षसँग सम्बन्धित हुनेथ्यो? यसलाई कुन पक्षअन्तर्गत राखिनेथ्यो? तिनीहरू भन्छन्, “म यहाँ आफ्नो कर्तव्य गर्न आएको हुँ, तिम्रो दीर्घकालीन श्रमिक बन्‍नलाई होइन।” के यो भनाइ सही छ? तँ यहाँ आफ्नो कर्तव्य गर्न आएको होस्, तर त्यो कर्तव्यमा के पर्छ र के पर्दैन भनेर कसले तय गरेको छ? के यी कार्यहरू तैँले गर्नुपर्ने कामकै हिस्सा होइनन् र? ठ्याक्‍कै त्यस्तै, जस्तो कि दैनिक जीवनमा बाहिर गई पैसा कमाएर आफ्नो परिवार पाल्नु तेरो जिम्मेवारी हो। यदि तँ सागसब्जी चाहन्छस् र आफैले रोप्ने निर्णय गर्छस् भने, त्यो तेरो निर्णय हो, तर के त्यसको मतलब अन्य घरायसी कामहरू तेरो जिम्मेवारी होइनन् भन्‍ने हो त? तँ यहाँ तेरो कर्तव्य गर्न आएको होस् भन्‍ने भनाइ सही हो, तर तँ दीर्घकालीन श्रमिक बन्‍न आएको होइनस् भन्‍ने भनाइमा समस्या छ। “दीर्घकालीन श्रमिक” भन्नुको अर्थ के हो? तँलाई कसले दीर्घकालीन श्रमिकझैँ व्यवहार गरिरहेको छ? तँलाई कसैले पनि दीर्घकालीन श्रमिक ठानिरहेको छैन, र यी काम गर्दैमा वा थोरै मेहनत लगाउँदैमा तँ दीर्घकालीन श्रमिक बन्दैनस्। म तँलाई दीर्घकालीन श्रमिकको रूपमा हेर्दिनँ, न त परमेश्‍वरको घरले नै तँलाई त्यस रूपमा प्रयोग गर्छ। तैँले जुन तेरो जिम्मेवारी हो त्यही काम गर्छस्; यी सबै तेरो कर्तव्यको दायराभित्रै पर्छन्। सानो तहमा, यसले तेरो दैनिक जीवन सुचारु राख्ने, तेरो शारीरिक सु-स्वास्थ्य र सामान्य शारीरिक कार्यहरू सुनिश्‍चित गर्ने, साथै तँ राम्रोसँग जिउने सुनिश्‍चित गर्ने कुरालाई जनाउँछ। बृहत् तहमा, हरेक काम परमेश्‍वरको कामको विस्तारसँग सम्बन्धित छ। त्यसैले तँ किन यी केही काम गर्न इच्छुक हुन्छस् र अरू काम गर्न इच्छुक हुँदैनस्? तँ किन रोजीछानी गर्छस्? तँ किन थोरै मेहनत लगाउनु, केही सफाइको काम गर्नु, र वातावरण व्यवस्थापन गर्नुलाई दीर्घकालीन श्रमिकको काम, अर्थात् साधारण श्रम मान्छस्? एउटा कारण यस्तो छ: ख्रीष्टका आदेशहरू र उहाँका सारा मापदण्डहरू सन्दर्भमा, मानिसहरू आफूलाई इच्छा लागेका कामलाई आफ्नो कर्तव्यको पाटो मान्छन्, तर तिनीहरूलाई इच्छा नलागेका वा तिनीहरूले प्रतिरोध गर्ने कामलाई दीर्घकालीन श्रमिकका काम ठान्छन्। के यो तथ्यहरू बङ्ग्याउनु होइन र? यसले पक्षपाती बुझाइ जनाउँछ। यो पक्षपाती बुझाइ केले गराउँछ? मानिसहरूका प्राथमिकताहरूले। अनि यी प्राथमिकताहरू कतातिर ढल्केका हुन्छन्? यो कुरा देहले कष्ट पाउँछ पाउँदैन भन्‍नेमा भर पर्छ। यदि देहलाई आराम मिल्दैन, यसले कठिनाइ वा थकान भोग्छ भने, मानिसहरू प्रतिरोधी बन्छन्। तिनीरूलाई गर्न इच्छा लागेका आकर्षक र सम्मानयोग्य कार्यहरूलाई आनाकानीपूर्वक स्विकारिन्छ र त्यसलाई आफ्नो कर्तव्य गरेको मानिन्छ। के यो मनोवृत्तिलाई परमेश्‍वरको विरोध गरेको मान्‍न सकिँदैन र? मानिसहरू आफूलाई गर्न इच्छा नलागेका कार्यहरूको खरो विरोध गर्छन् र तिनलाई पूरा गर्न अस्वीकार गर्छन्; तैँले जति नै राम्रोसँग तर्क गरे पनि, तिनीहरूले सिधै अस्वीकार र विरोध गर्छन्। के मानिसहरूका यी स्थिति र समस्याहरू समाधान गर्न सजिलो छ? यो सबै कुनै व्यक्तिले सत्यतालाई कति प्रेम गर्छ भन्‍ने कुरामा भर पर्छ। यदि कसैले सत्यतालाई बिलकुलै प्रेम गर्दैन र ऊ सत्यताप्रति प्रतिकूल रहन्छ भने, ऊ कहिल्यै बदलिनेछैन। तर यदि तैँले कष्ट भोग्ने इच्छा राख्छस्, देहविरुद्ध विद्रोह गर्न सक्छस्, र तँमा साँचो समर्पण र समर्पणको मनोवृत्ति छ भने, यी कुराहरूलाई सजिलै सुल्ट्याउन सकिन्छ, होइन र? (हो।) व्यक्तिको जीवनमा, कुनै पनि काम नगर्ने भन्‍ने कुरै हुँदैन। कति मानिसहरू भन्छन्, “विगतका सम्राटहरूले कुनै काम गर्दैनथे।” के त्यो वास्तवमै साँचो हो त? अधिकांश सम्राटहरू दरबारीय जीवन जिउँदै आफ्ना सारा दिन बिताउँदैनथे। कतिले त सानै उमेरमा कविता र साहित्य पढ्न थाल्थे, र बिहानदेखि बेलुकासम्म काम गर्थे। गद्दी आरोहण गरेपछि, तिनीहरू छद्मभेषमा मानिसरूका दुःख बुझ्न जान्थे र राष्ट्रिय सङ्कटका समयमा, कति त युद्ध मैदानमा समेत जान्थे। यस्ता सम्राटहरू धेरै नभए पनि, केही त पक्कै थिए। केही पनि नगर्ने सम्राटहरू भए पनि, केही मानिसहरूले भनेजस्तै, ती एकदमै कम सङ्ख्यामा थिए। जुन व्यक्ति आफूलाई तोकिएको कुनै पनि गतिविधिमा संलग्न हुँदैन तर पनि उत्कृष्ट कुराहरू प्राप्त गर्ने सपना देख्छ उसले मनोकल्पना मात्र गरिरहेको हुन्छ।

धेरै मानिसहरू साधारण श्रममा मेहनत लगाउनुलाई सधैँ इज्जत नभएको कुरा भन्ठान्छन्। के यो विचार सही हो? त्यस्ता व्यक्तिहरू पनि छन्, जो यसरी मेहनत लगाउनुलाई श्रम गर्नुको रूपमा हेर्छन्, जो अगुवा र सेवकहरूले मण्डलीको काम गर्नुमात्र कर्तव्य निर्वाह गर्नु हो भन्‍ने विश्‍वास गर्छन्—के यस्तो बुझाइ सही हो? (होइन।) तैँले यस मामलालाई निम्न तरिकाले बुझ्न जरुरी छ: परमेश्‍वरले मानिसहरूलाई गर्नू भनी आवश्यक गराउनुभएका सबै कुराहरू र परमेश्‍वरको घरमा हुने विभिन्‍न प्रकारका काम मानिसहरूले निर्वाह गर्नु आवश्यक छ—यी सबै कुराहरू मानिसहरूका कर्तव्यमा गनिन्छन्। मानिसहरूले जुनसुकै काम गरे पनि, यो उनीहरूले निर्वाह गर्नुपर्ने कर्तव्य हो। कर्तव्यहरूले एकदमै फराकिलो दायरा समेटेका हुन्छन्, र यिनमा थुप्रै क्षेत्रहरू समावेश हुन्छन्, तर तैँले जुनसुकै कर्तव्य निर्वाह गरे पनि, सरल भाषामा भन्‍नुपर्दा, यो तेरो दायित्व र तैँले गर्नुपर्ने काम हो। यदि तैँले यसलाई हृदयबाटै राम्रोसँग निर्वाह गर्न खोज्छस् भने, परमेश्‍वरले तँलाई अनुमोदन गर्नुहुनेछ, र तँलाई साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिको रूपमा मान्नुहुनेछ। तँ जोसुकै भए पनि, यदि तैँले सधैँ आफ्नो कर्तव्यबाट भाग्‍ने वा लुक्‍ने प्रयास गर्छस् भने, त्यहाँ समस्या छ। यसलाई हल्का रूपमा भन्दा, तँ अत्यन्तै अल्छी, अत्यन्तै धूर्त छस्, तँ फोकटमा बस्छस्, तँलाई फुर्सत मन पर्छ र परिश्रम मन पर्दैन। यसलाई अझै गम्‍भीर रूपमा भन्दा, तँ आफ्‍नो कर्तव्य निर्वाह गर्न अनिच्‍छुक छस्, र तँसँग कुनै बफादारी वा समर्पण छैन। यदि तैँले यो सानो कामको भार बोक्न पनि शारीरिक मेहनत लगाउन सक्दैनस् भने, तैँले केचाहिँ गर्न सक्छस्? तैँले के कामचाहिँ राम्ररी गर्न सक्छस्? यदि कुनै व्यक्तिमा आफ्नो कर्तव्यप्रति साँच्चिकै बफादारी र जिम्‍मेवारीबोध छ भने, उसले आफैले निर्णय नगरी जे गर्न लगाइएको छ त्यही गर्नेछ, तर त्यो परमेश्‍वरको मापदण्डले मागेको, र परमेश्‍वरको घरलाई चाहिएको कुरा हुनुपर्छ। के आफूले गर्न सक्ने र गर्नुपर्ने कर्तव्य लिनु र राम्रोसँग गर्नु नै कर्तव्य निर्वाह गर्नुको एउटा सिद्धान्त होइन र? (हो।) बाहिर साधारण श्रम गर्ने कतिपय मानिसहरू असहमत हुन्छन्, र भन्छन्, “तपाईंहरू आफ्नै कोठामा बसेर, घाम र बतासबाट बचेर आफ्‍नो कर्तव्य पूरा गर्दै सारा दिन बिताउनुहुन्छ। यसमा बिलकुलै कठिनाइ छैन, तपाईंहरूको कर्तव्य हाम्रोभन्दा धेरै नै आरामदायी छ। आफूलाई हाम्रो ठाउँमा राख्नुहोस्, अनि बाहिर हावाहुरी र वर्षामा घण्टौँ काम गर्न सहन सक्नुहुन्छ कि हुन्न, हेरौँ न।” वास्तवमा, सबै कर्तव्यमा केही कठिनाइ हुन्छन्। शारीरिक श्रममा शारीरिक कठिनाइ हुन्छ, अनि मानसिक श्रममा मानसिक कठिनाइ हुन्छ; प्रत्येक कर्तव्यको आफ्नै कठिनाइ हुन्छ। सबै कुरा भन्‍नुभन्दा गर्नु कठिन हुन्छ। मानिसहरूले साँच्‍चै कुनै काम गर्न सुरु गर्दा, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको, एक हिसाबमा, तिनीहरूको चरित्र हो, र अर्को हिसाबमा, तिनीहरूले सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन् भन्‍ने हो। सुरुमा हामी चरित्रबारे कुरा गरौँ। यदि कुनै व्यक्ति राम्रो चरित्रको छ भने, उसले सबै कुराको सकारात्मक पक्षलाई देख्छ, उसले सकारात्मक दृष्टिकोणबाट र सत्यताको आधारमा कामकुराहरू स्विकार्न र बोध गर्न सक्षम हुन्छ; अर्थात्, उसको हृदय, चरित्र, र आत्मा इमानदार छन्—यो चरित्रको दृष्टिकोण हो। अब हामी अर्को पक्ष अर्थात् व्यक्तिले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍नेबारेमा कुरा गरौँ। सत्यतालाई प्रेम गर्नु भनेको सत्यता स्वीकार गर्न सक्षम हुनु हो, भन्‍नुको मतलब, तैँले परमेश्‍वरका वचनहरू बुझे पनि वा नबुझे पनि, र तैँले परमेश्‍वरको अभिप्राय बुझे पनि नबुझे पनि, कामबारे र तैँले निर्वाह गर्नुपर्ने कर्तव्यबारे तेरो विचार, राय र दृष्टिकोण सत्यताअनुरूप भए पनि नभए पनि, तैँले अझै पनि यसलाई परमेश्‍वरबाट आएको भनी स्विकार्न सक्छस्; यदि तँ समर्पित र इमानदार छस् भने, त्यो नै काफी हुन्छ, यसले तँलाई आफ्नो कर्तव्य निर्वाह गर्न योग्य बनाउँछ, र यो न्यूनतम मापदण्ड हो। यदि तँ समर्पित र इमानदार छस् भने, तैँले कुनै काम गर्दा, तँ झाराटारुवा हुनेछैनस्, र तँ सुस्ताउनेछैनस्, बरु तैँले त्यसमा आफ्नो पूरै हृदय र शक्ति लगाउनेछस्। यदि कुनै व्यक्तिको भित्री स्थिति गलत छ, र उसमा नकारात्मकता उत्पन्न हुन्छ भने, उसको हुटहुटी हराउँछ, र ऊ झाराटारुवा हुन चाहन्छ; उसलाई आफ्नो स्थिति ठीक छैन भनेर हृदयमा राम्ररी थाहा हुन्छ, तैपनि ऊ सत्यता खोजी गरेर यसलाई सुल्झाउने प्रयास गर्दैन। यस्ता मानिसहरूमा सत्यताप्रति प्रेम हुँदैन, र तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्न अलिअलि मात्र इच्छा गर्छन्; तिनीहरू कुनै पनि प्रयास गर्न वा कठिनाइ भोग्‍न अनिच्छुक हुन्छन्, र सधैँ सुस्ताउने कोसिस गरिरहेका हुन्छन्। वास्तवमा, परमेश्‍वरले पहिले नै यो सबै कुरा सूक्ष्मजाँच गरिसक्नुभएको हुन्छ—त्यसो भए, तिनीहरूलाई किन उहाँ थोरै पनि ध्यान दिनुहन्‍न? परमेश्‍वर त उहाँका चुनिएका मानिसहरू ब्युँझिऊन् र ती मानिसहरूलाई खुट्ट्याएर खुलासा र निष्कासित गरून् भनेर मात्र प्रतीक्षारत हुनुहुन्छ। तैपनि, त्यस्ता मानिसहरूले अझै यस्तो सोच्छन्, “म कति चलाख छु, हेर त। हामी उही खाना खान्छौं, तर काम गरिसकेपछि, तिमीहरू थाकेर लखतरान हुन्छौ र म बिलकुलै थाक्दिनँ। सबैभन्दा बाठो मै हुँ। म त्यस्तो कडा मेहनत गर्दिनँ; जसले कडा मेहनत गर्छ त्यो मूर्ख हो।” के तिनीहरूले इमानदार मानिसहरूलाई यसरी हेर्नु ठीक हुन्छ? हुँदैन। साँच्‍चै भन्‍ने हो भने, आफ्नो कर्तव्य निर्वाह गर्दा कडा मेहनत गर्ने मानिसहरूले सत्यता अभ्यास गरिरहेका र परमेश्‍वरलाई सन्तुष्ट पारिरहेका हुन्छन्, त्यसैले तिनीहरू नै सबैभन्दा बाठा मानिसहरू हुन्। केले तिनीहरूलाई बाठा तुल्याउँछ? तिनीहरू भन्छन्, “म परमेश्‍वरले मलाई गर्न नलगाउनुभएको कुनै पनि कुरा गर्दिन, र म उहाँले गर्न लगाउनुभएको सबथोक गर्छु। उहाँले जे भन्‍नुहुन्छ म त्यही गर्छु, म मेरो हृदय र सारा ऊर्जा यसैमा लगाउँछु, मैले सक्‍ने सबै कुरा यसमा लगाउँछु, र म बिलकुलै झारा टार्दिनँ। मैले यो कुनै व्यक्तिको लागि गरिरहेको छैन, मैले त यो परमेश्‍वरको लागि गरिरहेको छु। परमेश्‍वरले मलाई अत्यन्तै प्रेम गर्नुहुन्छ; परमेश्‍वरलाई सन्तुष्ट पार्न मैले यो काम गर्नुपर्छ।” यो सही मनस्थिति हो। फलस्वरूप, जब मण्डलीले मानिसहरूलाई शुद्धीकरण गर्छ, तब आफ्नो कर्तव्य निर्वाह गर्दा, धुर्त्याइँ गर्नेहरू सबैलाई हटाइन्छ, तर इमानदार र परमेश्‍वरको सूक्ष्मजाँच स्विकार्ने मानिसरू मण्डलीमै रहन्छन्। ती इमानदार मानिसहरूका स्थितिहरूमा सुधार आइरहन्छ, र तिनीहरूमाथि आइपर्ने सबै कुरामा परमेश्‍वरले नै तिनीहरूको रक्षा गर्नुहुन्छ। अनि केले गर्दा तिनीहरूले यो सुरक्षा प्राप्त गर्छन्? किनभने तिनीहरू हृदयमा इमानदार हुन्छन्। तिनीहरूले कर्तव्य निर्वाह गर्दा कठिनाइ वा थकानको डर मान्दैनन्, र तिनीहरू आफूलाई सुम्पिइएको कुनै पनि कुरामा चयनशील हुँदैनन्; तिनीहरूले किन भनेर सोध्दैनन्, तिनीहरू आफूलाई जसो गर्न भनिएको छ त्यसै गर्छन्, कुनै छानबिन वा विश्‍लेषण नगरी, वा अरू कुनै कुराबारे विचार नगरी आज्ञापालन गर्छन्। तिनीहरूले कुनै पनि अनुमानहरू लाउँदैनन्, र सबै थोकमा आज्ञापालन गर्न सक्छन्। तिनीहरूको भित्री स्थिति सधैँ निकै सामान्य हुन्छ। खतरा सामना गर्दा, परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुहुन्छ, जब तिनीहरूमाथि रोग वा महामारी आइलाग्छ, तब पनि परमेश्‍वरले तिनीहरूको रक्षा गर्नुहुन्छ, र भविष्यमा तिनीहरूले आशिष्‌हरू मात्र पाउनेछन्। कतिपय मानिसहरूले यस मामलालाई छर्लङ्गै देख्‍न सक्दैनन्। जब तिनीहरूले इमानदार मानिसहरूले कर्तव्य निर्वाह गर्दा इच्छापूर्वक कठिनाइ र थकान सहेको देख्छन्, तब तिनीहरूले यी इमानदार मानिसहरू मूर्ख हुन् भन्‍ने सोच्छन्। ल भन् त, के यो मूर्खता हो? यो इमानदारी हो, यो साँचो आस्था हो। साँचो आस्थाबिना साँच्‍चिकै कहिल्यै बुझ्न वा बुझाउन नसकिने त्यस्ता धेरै कुराहरू छन्। जसले सत्यता बुझ्छन्, जो सधैँ परमेश्‍वरसामु जिउँछन् र उहाँसँग सामान्य सङ्गत गर्छन्, र जो परमेश्‍वरप्रति साँच्चै समर्पित हुन्छन् र साँच्चिकै उहाँको डर मान्छन्, तिनीहरूलाई मात्र साँच्चिकै के भइरहेको छ भनेर हृदयमा सबैभन्दा प्रस्ट थाहा हुन्छ। किन तिनीहरूलाई चाहिँ थाहा भएको तर अरूलाई नभएको? यो कुरा तिनीहरूले सत्यता अभ्यास गरेर अनि इमानदार मानिस बनेर प्राप्त गरेको अनुभवबाट आउँछ। यो अनुभव कुनै पनि व्यक्तिले दिन सक्दैन, न त यसलाई कसैलाई चोर्न वा लैजान नै सक्छ। के यो आशिष् होइन र? यस्तो आशिषित हुने अवस्था साधारण मानिसहरूले प्राप्त गर्न सक्दैनन्। अनि किन यस्तो भएको? किनभने मानिसहरू अत्यन्तै छली र दुष्ट हुन्छन्; तिनीहरूमा इमानदारीको कमी हुन्छ, तिनीहरू इमानदार मानिस हुन सक्दैनन्, र तिनीहरूमा साँचो हृदय हुँदैन, त्यसैले तिनीहरूले सीमित कुरा मात्र प्राप्त गर्छन्। ख्रीष्टविरोधीहरूको कुरा गर्नुपर्दा, तिनीहरूलाई उल्लेख गर्न झन् कम आश्यक छ। विभिन्‍न मामलाहरूप्रति तिनीहरूका मनोवृत्तिहरू, साथै तिनीहरूको प्रकृति सारको आधारमा, र विशेषगरी ख्रीष्टप्रति तिनीहरूको मनोवृत्तिको आधारमा हेर्दा, ख्रीष्टविरोधी मानिसहरूले यो आशिष् कहिल्यै प्राप्त गर्नेछैनन्। किन यस्तो हुन्छ? किनकि तिनीहरूका हृदय अत्यन्तै दुष्ट र धूर्त हुन्छन्! तिनीहरूले मानिसहरूलाई व्यक्तिअनुसार फरकफरक व्यवहार गर्छन्, तिनीहरू छेपारोले झैँ आफ्नो रङ्ग फेर्छन्, र तिनीहरूका सोचहरू सधैँ चलिरहन्छन्, तिनीहरू केही उपलब्धि हुने नदेखेसम्म कुनै कदम चाल्दैनन्, परमेश्‍वरप्रति इमानदार हुँदैनन्, उहाँप्रति कुनै समर्पण राख्दैनन्, र उहाँसँग लेनदेन मात्र गर्छन्। यस्तो मनोवृत्ति र सारको परिणाम के हुन्छ? के हुन्छ भने, तिनीहरूले जुनसुकै मामलामा पनि विभिन्‍न मानिस र परिस्थितिहरूको सार, साथै यी परिस्थितिहरूसँग सम्बन्धित सत्यताहरू छर्लङ्गै देख्न वा बुझ्न असक्षम हुन्छन्। परमेश्‍वरका वचनहरू तिनीहरूसामु प्रस्तुत छन, र तिनीहरू शिक्षित छन्, पढ्न र विश्‍लेषण गर्न जान्दछन्, बौद्धिक छन्, र सूक्ष्मजाँच गर्न जान्दछन्, तब किन तिनीहरूले बुझ्न सक्दैनन्? तिनीहरू जति वर्षसम्म बाँचे पनि, ८० वर्षसम्म नै बाँचे पनि, तिनीहरूले अझै बुझ्नेछैनन्। तिनीहरूले किन बुझ्नेछैनन्? सबैभन्दा महत्त्वपूर्ण कारण यो हो कि तिनीहरूका आँखामा पट्टी बाँधिएका छन्। कतिपय मानिसहरू भन्छन्, “तर हामीले त तिनीहरूका आँखा छोपिएका देखेका छैनौँ।” छोपिएका त तिनीहरूका हृदयहरू हुन्। छोपिएका भन्नुको मतलब के हो? यसको मतलब तिनीरूका हृदयहरूले अन्तर्दृष्टि पाएका छैनन्; तिनीहरू सदाको लागि छोपिएका छन्। पहिले, “मानिसहरूको हृदय बोधो छ” भनिन्थ्यो। त्यसोभए, ख्रीष्टविरोधीहरूको हृदय कसले बोधो बनाएको हो? वास्तवमा, परमेश्‍वरले नै तिनीहरूलाई अन्तर्दृष्टि नदिनुभएको हो। उहाँ तिनीहरूलाई सिद्ध पार्न वा मुक्ति दिन चाहनुहुन्‍न। उहाँले केवल उचित समयमा, गम्भीर र महत्त्वपूर्ण क्षणहरूमा, तिनीहरूलाई थोरै रोक्न र परमेश्‍वरको घरका हितहरूमा हानि पुग्नबाट जोगाउन मात्र हस्तक्षेप गर्नुहुन्छ। तर जब परमेश्‍वरका वचनहरू, सत्यता, उहाँप्रति समर्पित हुने, आफूलाई चिन्‍ने, र उहाँलाई चिन्‍ने मामलाहरूको कुरा आउँछ, धेरैजसो समय उहाँले तिनीहरूलाई कहिल्यै अन्तर्दृष्टि दिनुहुन्‍न। कतिले भन्लान्, “त्यो ठिक होइन। उहाँले तिनीहरूलाई अन्तर्दृष्टि दिनुहुन्‍न भनेर तपाईंले कसरी भन्‍न मिल्छ? ख्रीष्टविरोधीको रूपमा वर्गीकरण गरिएका कतिपय मानिसहरू निकै चलाख हुन्छन्। कुनै प्रवचन सुनेपछि, यदि तपाईंले तीन घन्टासम्म बोल्नुभयो भने, तिनीहरूले छ घन्टासम्म बोल्न सक्छन्। के त्यो अन्तर्दृष्टि होइन र?” तिनीहरूले जति नै घन्टा बोल्‍न सके पनि, ३० घन्टै बोल्‍न सके पनि, तिनीहरूले बोल्‍ने त केही शब्द र सिद्धान्तहरू मात्र त हो। के फरिसी र शास्‍त्रीहरू यी मानिसहरूभन्दा राम्रो बोल्न सक्दैनथे र? तिनीहरू सबैजना प्रचार गर्न माहिर थिए, र कुशलतापूर्वक बोल्थे, तर त्यसले के फाइदा गर्‍यो? परमेश्‍वर आइपुग्‍नुहुँदा पनि तिनीहरूले उहाँको प्रतिरोध र निन्दा नै गरे। यसबाट तिनीहरूले के पाए? यसबाट तिनीहरूले विनाश, अधोगति, र महाविपत्ति पाए। बाहिरबाट हेर्दा, परमेश्‍वरको घरमा सबैले आफ्नो कर्तव्य निर्वाह गरिरहेको देखिन्छ, हरव्यक्तिले दिनमा तीन छाक खाना खान्छन्, दिनमा आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्, र रातमा विश्राम लिन्छन्। तर धेरै वर्षपछि, विभिन्‍न प्रकारका मानिसहरूबीचका भिन्‍नताहरू उल्लेखनीय बन्छन्, र विभिन्‍न प्रकारका मानिसहरूका परिणामहरू खुलासा हुन्छन् र चिनिन्छन्। कति मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्ने मौखिक घोषणा गर्छन्, तर सही मार्ग पछ्याउँदैनन्, बरु नरकतिर दौडिन्छन्। तर अरूचाहिँ सत्यतालाई प्रेम गर्छन् र निरन्तर त्यसको लागि मरिमेट्छन्, त्यसैले तिनीहरू बिस्तारै सत्यता वास्तविकतामा प्रवेश गर्छन्। कति मानिसहरू सधैँ आरामदायी जीवन जिउन चाहन्छन् र आफ्नो कर्तव्यनिर्वाहमा झन्झन् धूर्त बन्छन्, र अन्त्यमा हटाइन्छन्। कतिले सत्यता स्विकार्न सक्छन्, हृदयमा तिनीहरू झन्झन् इमानदार बन्छन्, र आफ्नो जीवन स्वभावमा परिवर्तनको अनुभव गर्छन्, अनि तिनीहरूले परमेश्‍वर र मानिसहरू दुवैको प्रेम पाउँछन्। कतिले चाहिँ सधैँ वचन र धर्मसिद्धान्तहरू प्रचार गर्नमा जोड दिन्छन्, र प्रचार गरिसकेपछि तिनीहरू परमेश्‍वरद्वारा तिरस्कृत हुन्छन् र यसरी बरबाद हुन्छन्। कतिपयसँग आत्मिक बुझाइ हुँदैन, र तिनीहरूले जति बढी प्रवचनहरू सुन्छन्, तिनीहरू त्यति नै बढी दुविधामा पर्छन्, त्यति नै कम सत्यतामा रुचि राख्छन्, र त्यति नै कम समर्पित बन्छन्, र यसरी तिनीहरू मनोमानी र लहडी तरिकाले कार्य गर्न चाहन्छन्, सधैँ आफ्नै चाहनाहरू पूरा गर्न खोज्छन् र प्रसिद्धि, लाभ र हैसियत प्राप्त गर्ने उद्देश्य राख्छन्—यो खतरनाक कुरा हो। कति मानिसहरू वर्षौँसम्म परमेश्‍वरलाई पछ्याउँछन्, अनि परमेश्‍वरका वचनहरू खाएपछि-पिएपछि र धेरै कुराहरू अनुभव गरेपछि, तिनीहरूले धेरै सत्यताहरू बुझ्छन्, परमेश्‍वरमाथि झन्झन् बढी आस्था राख्छन्, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्छन्। यी सबै मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, मण्डली जीवन जिउँछन्, र आफ्ना कर्तव्यहरू निर्वाह गर्छन्, त्यसोभए किन आठदस वर्षपछि तिनीहरूका नतिजाहरू तिनीहरूको प्रकारअनुसार फरक हुन्छन्? यसले के चित्रण गर्छ? के मानिसहरूको प्रकृति सारमा भिन्‍नताहरू हुँदैनन् र? (हुन्छन्।)

हामीले छलफल गरेका ख्रीष्टविरोधीहरूका प्रकटीकरणहरूमध्ये यो कुन वर्गमा पर्छ भन्‍नेबारे तिमीहरूले सुन्नुपर्ने र विचार गर्नुपर्ने अर्को मामला यहाँ छ। कतिपय मण्डलीहरूमा, दुष्ट मानिसहरूले तानासाही र बेमनासिब तरिकाले कार्य गरिरहेको प्रस्ट देखिन्छ। तिनीहरूले कुनै ठोस काम गर्न सक्दैनन्, तैपनि तिनीहरू सधैँ शक्ति हातमा लिन चाहन्छन्। तिनीहरूले जे काम सुरु गरे पनि त्यसमा बाधा र विनाश निम्त्याउँछन् र सिद्धान्तहरू पालना गर्दैनन्, साथै तिनीहरूले जेसुकै गरे पनि त्यसमा कहिल्यै मूल्य चुकाउन चाहँदैनन्, तैपनि सधैँ अरूले तिनीहरूको कुरा सुनून् भन्‍ने चाहन्छन्। छोटकरीमा भन्दा, यस्तो व्यक्ति मण्लीमा रहुन्जेल ऊबाट अरू धेरैलाई बाधा पुग्नेछ, साथै परमेश्‍वरको घरको काम र मण्डलीको व्यवस्थामा असर र क्षति पुग्नेछ। यस्ता मानिसहरूले खुल्लमखुल्ला कुनै ठूलो दुष्टता वा दाजुभाइ-दिदीबहिनीहरूलाई हानि गर्ने काम नगरे पनि, यदि तैँले तिनीहरूको मानवता, सार, विभिन्‍न मामलाहरूबारे तिनीहरूका दृष्टिकोणहरू, साथै दाजुभाइ-दिदीबहिनीहरू, परमेश्‍वरको घरको काम, र तिनीहरूका आफ्नै कर्तव्यहरूप्रति तिनीहरूका मनोवृत्तिहरू हेरिस् भने, तिनीहरू विशुद्ध रूपमा दुष्टहरूको दर्जामा पर्छन्। यदि दाजुभाइ-दिदीबहिनीहरूले देख्नुपहिले नै यस्तो व्यक्तिसँग मेरो भेट भयो भने, मैले उसलाई कसरी सम्हाल्नुपर्छ? के उसलाई निकाल्‍न उसले कुनै गम्भीर गल्ती गरुन्जेल वा महाविपत्ति निम्त्याउन्जेल कुर्नुपर्छ, र उसले “ठूलो सनसनी मच्चाएपछि” मात्र उसलाई धपाउनुपर्छ? के त्यो जरुरी छ? (छैन।) त्यसोभए मैले के गर्नुपर्छ? कम्तीमा पनि, मैले उसलाई उसको कर्तव्यबाट बरखास्त गर्नुपर्छ। त्यसपछि, मैले उसलाई एक्ल्याएर राख्‍नुपर्छ वा निकाल्नुपर्छ, अरूलाई असर नपुगोस् भनेर उसलाई कर्तव्य गर्न रोक लगाउनुपर्छ। परमेश्‍वरको घरको महत्त्वपूर्ण काममा, यस्ता दुष्ट मानिसहरूलाई उपस्थित हुने अनुमति छैन—के यो सिद्धान्त सही हो? यदि तिनीहरू खुलासा भएका छैनन् भने, भैगो ठिकै छ, तर तिनीहरू खुलासा भएर प्रस्ट रूपमा देखिनुका साथै दुष्ट मानिसहरूको रूपमा चिनिसकिएपछि, के तिनीहरूलाई सफाइ गर्नु ठिक होइन र? (हो।) कति मानिसहरूले भन्‍न सक्छन्, “त्यसरी हुँदैन। तिमीले त तिनीहरूलाई छर्लङ्गै देखेका छौ, तर अरूले देखेका छैनन्। तिनीहरूलाई सफाइ गर्दा अरूलाई असर पर्नेछ। यदि तिमीले तिनीहरूलाई छर्लङ्गै देखेकै कारण सफाइ गर्‍यौ भने, के त्यसको अर्थ तिमी एक्लैले निर्णय गरिरहेका छौ भन्‍ने हुँदैन र? के त्यो साँच्चिकै सत्यतालाई शक्ति सम्हाल्न दिनु हो त? हामीले दाजुभाइ-दिदीबहिनीहरूसँग भेला भएर सङ्गति गर्नुपर्छ, तिनीहरूको चिरफार गर्नुपर्छ, तिनीहरूमाथि वैचारिक काम गर्नुपर्छ, सामग्रीहरू सङ्कलन गर्नुपर्छ र अघि बढ्नुपहिले सबैको अनुमोदन प्राप्त गर्नुपर्छ। तिमीले प्रक्रियाहरू पालना गर्नुपर्छ, यदि गरेनौ भने, के तिमीले मण्डलीको कामका प्रबन्धहरू उल्लङ्घन गरिरहेका हुँदैनौ र? के यो गलत हुँदैन र? पहिला तिमी आफैले मण्डलीका कार्य प्रबन्धहरू पालना गर्नुपर्छ; तिमीले तिनलाई बिथोल्न मिल्दैन। यसअलावा, चाहे त्यो जेसुकै होस्, सबथोक दाजुभाइ-दिदीबहिनीहरूबारे सोचेर नै गरिने होइन र? त्यस्तो हुने भएकोले, तिमीले सबै दाजुभाइ-दिदीबहिनीहरूलाई यसबारे पूर्ण रूपमा सचेत बनाउनुपर्छ र सत्यताको यो पक्षबारे प्रस्ट पार्नुपर्छ। तिमीले तिनीहरूलाई अकमक्‍क पार्नु हुँदैन; तिमीले सबै दाजुभाइ-दिदीबहिनीहरूलाई खुट्ट्याउन सक्षम तुल्याउनुपर्छ।” यदि यी प्रक्रियाहरू पालना गरिएका छैनन् र मैले कसैलाई निकाल्न भनेँ भने, तिमीहरूले त्यो काम कसरी अघि बढाउँथ्यौ? तिमीहरू दुविधामा हुनेथ्यौ, होइन त? तिमीहरूले आफूलाई अल्झिएको अवस्थामा पाउनुले तिमीहरूमा यस्ता दृष्टिकोणहरू छन् भन्‍ने प्रमाणित गर्छ। म जेबारे बोलिरहेको छु त्यो भइसकेको छ। एउटा महत्त्वपूर्ण कार्य परिवेशमा, खराब मानवता भएको एउटा दियाबलसले कर्तव्य गर्ने क्रममा कठिनाइ र थकानबाट बच्ने कोसिस गर्दै छलीपूर्वक सुस्ताउँदै ढिलो काम गर्थ्यो। उसले हरमोडमा मण्डलीको काममा बाधा र अवरोध पुर्‍याउँथ्यो, र काटछाँट गरिँदा, ऊ उपद्रवी बन्थ्यो, र सत्यतालाई पूर्ण रूपमा इन्कार गर्थ्यो। ऊ सधैँ पदमा बसेर निर्णयहरू गर्न र अरूलाई आदेश पनि दिन चाहन्थ्यो, साथै उसले मण्डलीका हितहरूबारे विचार गर्ने वा सिद्धान्तहरू पालना गर्ने काम कहिल्यै गर्दैनथ्यो, उसका प्राथमिकताहरूअनुसार मात्र कार्य गर्थ्यो। ऊ कामको प्रभारी भएको समयमा, मैले उसलाई गर्न भनी निर्देशन दिएका धेरै कुराहरू उसले बेवास्ता गर्‍यो, र मेरा वचनहरू केही पनि होइनझैँ गर्‍यो। आफ्ना कामहरू नगर्नुको अलावा, उसले बाधाहरू पनि निम्त्यायो। मण्डली भनेको आफ्ना कर्तव्यहरू पूरा गर्ने एउटा महत्त्वपूर्ण थलो हो—यदि उसले ऊ आफ्नो कर्तव्य गर्न आएको नभई राजकुमारझैँ आरामदायी रूपमा जिउन वा चाँडै सेवानिवृत्त हुन आएको हो भन्‍ने सोचेको थियो भने, ऊ गलत थियो। परमेश्‍वरको घर न त कुनै कल्याणकारी संस्था हो, न कुनै आवास हो। त्यो मान्छेजस्ता नालायकहरू जहाँ गए पनि काम छैन; तिनीहरू आफ्नो कुनै पनि कर्तव्यमा बफादार हुँदैनन्, सधैँ झारा टार्छन् र यतिकै भौँतारी हिँड्छन्। त्यसकारण, मैले उसलाई तुरुन्तै निकाल्न भनेँ। के यो अभ्यास गर्न सजिलो हुन्थ्यो? (हुन्थ्यो।) तर कुनै एकप्रकारको व्यक्तिको लागि यस्तो सजिलो मामलासमेत कार्यान्वयन गर्न गाह्रो हुन्छ। मैले बोलेको तीन महिनापछि बल्‍ल त्यो दुष्ट व्यक्तिलाई बलजफ्तीपूर्वक निकालेर पठाइयो। यसो गर्नुको कारण के थियो? मैले त्यो मान्छेलाई हटाउने आदेश जारी गरेपछि, त्यस मण्डलीको अगुवाले उक्त काम “कार्यान्वयन” गर्न थाल्यो। उसले यसलाई कसरी कार्यान्वयन गर्‍यो त? उसले एउटा भेला बोलाएर सबैलाई उक्त निर्णयबारे मत हाल्न भन्यो। धेरै छलफल गरेपछि, बहुमत अन्तत: उसलाई हटाउन सहमति भयो, तर विपक्षमा एउटा मत खस्यो, त्यसैले उक्त मामलालाई स्थगित गरियो। त्यो अगुवाले असहमत व्यक्तिलाई पनि सम्बोधन गर्नुपर्ने, र ऊसित छलफल गरेर उसलाई सहमतिमा ल्याउनुपर्ने भन्यो। त्यहीबेला, मैले त्यो मान्छेलाई धपाइयो कि धपाइएन भनेर दुईपटक सोधेँ, र त्यो अगुवाले उसलाई धपाइएको छैन, अझै पनि प्रमाणहरू जुटाउँदै र मिलाउँदै छ भनी जवाफ दियो। मेरो पिठ्यूँपछाडि, उसले यस्तो पनि भन्यो, “एउटा व्यक्ति मात्र पनि असहमत रहुन्जेलसम्‍म, हामीले उसलाई हटाउन मिल्दैन।” उसले यसो भन्नुको मतलब के थियो भने, ऊ त्यो मान्छेलाई हटाउन चाहँदैनथ्यो, त्यसैले उसले यो अनर्थक कारण भेट्टायो। वास्तवमा, उसले अरूलाई झुक्याइरहेको थियो; उसलाई त्यो मान्छे चिढिने डर थियो र उसले त्यसलाई हटाउने आँट गरेन। अन्त्यमा, माथिबाट एउटा अन्तिम चेतावनी आयो: “यो मान्छेलाई धपाउनैपर्छ। यदि ऊ गएन भने, तँ जानैपर्छ। तिमीहरूमध्ये एक जना जानैपर्छ; तँ आफै छान्!” जब उसले यो कुरा सुन्यो, उसले सोच्यो, “म त जान सक्दिनँ; मैले मेरो पदको पर्याप्त आनन्द लिएको छैनँ!” त्यसपछि मात्र उसले त्यो दियाबलसलाई धपायो। ल भन् त, यो अगुवाले दियाबलसलाई किन रक्षा गर्‍यो? के यो ख्रीष्टविरोधी शैली होइन र? यो ठ्याक्कै ख्रीष्टविरोधी व्यवहार हो।

कतिपय मानिसहरूले निरन्तर परमेश्‍वरमाथिको आफ्नो आस्था उद्घोष गरिरहन्छन्, तर जब तिनीहरूलाई घटनाहरू आइपर्छन्, तब तिनीहरूले हरेक दाजुभाइ-दिदीबहिनीको राय खोज्छन्, तर ख्रीष्टको राय कहिल्यै खोज्दैनन्। तिनीहरू ख्रीष्टले के भन्नुहुन्छ, उहाँको निष्कर्ष के हो, उहाँले किन यसो गर्न चाहनुहुन्छ, वा मानिसहरू कसरी समर्पित हुनुपर्छ भन्‍नेबारे सोधपुछ गर्दैनन्। तिनीहरूले प्रत्येक दाजुभाइ-दिदीबहिनीको राय खोजेका छन् र तिनीहरू उनीहरू सबैका राय र विचारहरूलाई सम्मान गर्न सक्छन्, तर तिनीहरू ख्रीष्टले बोल्नुभएको एउटा पनि वाक्य स्विकार्दैनन्, र समर्पित हुने कुनै अभिप्राय देखाउँदैनन्। यसको प्रकृति कस्तो हो? के तिनीहरू ख्रीष्टविरोधी होइनन् र? (हुन्।) यो परिस्थितिमा के भइरहेको हुन्छ? तिनीहरू यस मामलालाई किन कार्यान्वयन गर्दैनन्? कार्यान्वयन गर्न तिनीहरूलाई किन यति गाह्रो हुन्छ? यसको एउटा कारण छ। तिनीहरू सोच्छन्, “ख्रीष्टसँग सत्यता र परमेश्‍वरको सार छ, तर त्यो सबै औपचारिक कुरा मात्र हो, धर्मसिद्धान्त र नाराहरू मात्र हो। वास्तविक मामलाहरूमा, तिमीले कसैलाई पनि बिलकुलै छर्लङ्ग देख्न सक्दैनौ। हामीले सुन्‍नलाई मात्र तिम्रा वचनहरू बोलिएका हुन्, पुस्तकहरूमा छापिएका हुन्, तिम्रा वास्तविक क्षमताहरूसँग तिनको बिलकुलै सम्बन्ध छैन। त्यसकारण, यदि तिमीले कसैलाई दुष्ट व्यक्ति वा ख्रीष्टविरोधी भनेर निर्क्योल गर्छौ भने, त्यो सही नहुन पनि सक्छ। ऊ दुष्ट वा ख्रीष्टविरोधी हो भन्‍ने कुरा मैले किन देखिनँ? म किन यो मामला बुझ्दिनँ?” के तिनीहरूले यस्तै सोच्दैनन् र? तिनीहरू यस्तो विश्‍वास गर्छन्, “तिमीले यस व्यक्तिलाई केवल दुईपटक भेटेका छौ, उसले थोरै शब्दहरू बोलेको र एउटा काम गरेको देखेका छौ, अनि तिमी उसलाई दुष्ट भनेर परिभाषित गर्छौ। दाजुभाइ-दिदीबहिनीहरू त त्यस्तो सोच्दैनन्; तिमीले कसरी त्यस्तो सोच्न सक्छौ? तिम्रा वचनहरू किन यति वजनदार हुनुपर्छ? मैले यस व्यक्तिबाट कुनै पनि दुष्ट कार्यहरू भएको देखेको छैन, न त मलाई उसले कस्ता खराब काम गरेको छ भन्‍ने नै थाहा छ, त्यसकारण म तिम्रो कुरामा ‘आमेन’ भन्‍न सक्दिनँ। तिमीले जे गरिरहेका छौ, त्यसबारे ममा धारणा र संशयहरू छन्। तर धारणाहरू हुँदाहुँदै पनि, मैले तिनलाई सिधै व्यक्त गर्न मिल्दैन, त्यसैले मैले अप्रत्यक्ष विधिहरू प्रयोग गर्नुपर्छ: म दाजुभाइ-दिदीबहिनीहरूलाई मतदानद्वारा यो मामलाको छिनोफानो गर्न दिनेछु। दाजुभाइ-दिदीबहिनीहरू असहमत भए भने, त्यसमा केही गर्न मिल्दैन—के तिमीले उनीहरू सबैलाई काटछाँट गर्न मिल्छ र? यसबाहेक, तिमीले यस व्यक्तिसँग एकदुईपटक मात्र कुरा गरेका छौ, तर त्यसपछि तिमी उसलाई दुष्ट भनेर परिभाषित गर्छौ। तिमी उसलाई थोरै मौका किन दिँदैनौ? दाजुभाइ-दिदीबहिनीहरू कति सहनशील र प्रेमिला छन्, हेर त। म खराब व्यक्ति बन्‍न मिल्दैन; मैले पनि प्रेमिलो बन्नुपर्छ र मानिसहरूलाई मौकाहरू दिनुपर्छ—अति चाँडो अरूबारे निर्णय गरिहाल्ने तिमीजस्तो हुनु हुँदैन। कसैलाई निकाल्नु सजिलो कुरा होइन—त्यो व्यक्ति पछिबाट कमजोर बन्यो भने के गर्ने? समस्याहरू सामना गर्दा, ख्रीष्टले दाजुभाइ-दिदीबहिनीहरूको रक्षा गर्नुपर्छ। उनले दाजुभाइ-दिदीबहिनीहरूको जस्तोसुकै मूर्खता, विद्रोह, वा अज्ञानता सहनुपर्छ र उनी अति निर्णायक र प्रेमरहित बन्नु हुँदैन। के परमेश्‍वरमा प्रचुर कृपा हुनुपर्ने होइन र? त्यो कृपा कहाँ गयो? आफूलाई मननपर्ने जोकसैलाई दुष्ट भनेर परिभाषित गर्नु र उसलाई खेदाउन चाहनु, त्यो बिलकुलै नियमसङ्गत होइन!” यी धारणाहरू हुन्, होइनन् र? (हुन्।) जब ख्रीष्टले केही गर्नुहुन्छ वा कुनै निर्णय गर्नुहुन्छ, यदि तिनीहरू त्यसमा सहमत भएनन् भने, त्यसलाई कार्यान्वयन गर्न गाह्रो हुन्छ। तिनीहरू जानाजान ढिलाइ गर्छन्, विभिन्‍न बहाना र विधिहरू प्रयोग गरेर विरोध गर्छन्; तिनीहरू त्यसलाई कार्यान्वयन गर्न वा आज्ञापालन गर्न सरासर इन्कार गर्छन्। तिनीहरूको अभिप्राय यस्तो हुन्छ: “यदि मैले यसलाई लागु गरिनँ भने, तिम्रो काम पूरा हुनेछैन!” सुन्, यदि तैँले त्यसलाई कार्यान्वयन गर्दैनस् भने, म त्यसलाई कार्यान्वयन गर्न सक्ने व्यक्ति खोजेर उसलाई अगुवा बनाउनेछु, अनि तँ जताबाट आएको थिइस्, त्यतै फर्केर जान सक्छस्! के यो मामलालाई यस तरिकाले सम्हाल्नु पर्दैन र? (पर्छ।) मैले उसलाई त्यसरी नै सिधै र कुशलतापूर्वक धपाएँ—कसैलाई सोधिरहनु परेन।

कति मानिसहरूले सत्यता कहिल्यै बुझ्दैनन् र परमेश्‍वरका वचनहरूबारे सधैँ शङ्का गर्छन्। तिनीहरू भन्छन्, “के सत्यतासँग शक्ति हुनु र ख्रीष्टले शक्ति हातमा लिनु एउटै कुरा हो? ख्रीष्टका वचनहरू सधैँ सही हुन्छन् भन्‍ने छैन, किनकि उनीसँग एउटा मानव पक्ष छ।” तिनीहरू ख्रीष्टले शक्ति हातमा लिएको स्विकार्न सक्दैनन्। यदि परमेश्‍वरको आत्माले शक्ति हातमा लिनुहुन्थ्यो भने, तिनीहरूमा कुनै पनि धारणाहरू हुँदैनथे। यसमा समस्याचाहिँ के हो त? यस्ता मानिसहरूमा स्वर्गको परमेश्‍वरबारे अलिकति पनि शङ्का हुँदैन तर देहधारी परमेश्‍वरबारे सधैँ शङ्का हुन्छ। ख्रीष्टले अति धेरै सत्यता व्यक्त गर्नुभएको छ, तैपनि तिनीहरू उहाँलाई देहधारी परमेश्‍वरको रूपमा चिन्दैनन्। त्यसोभए के तिनीहरूले ख्रीष्ट नै सत्यता, मार्ग र जीवन हुनुहुन्छ भनेर मान्‍न सक्छन् त? त्यो भन्‍न गाह्रो छ। यस्ता मानिसहरूले ख्रीष्टलाई पछ्याए पनि, के तिनीहरूले उहाँको गवाही दिन सक्छन् त? के तिनीहरू ख्रीष्टसँग मिल्छन् त? यी प्रश्‍नहरूको कुनै निश्‍चित जवाफ छैन। यस्ता मानिसहरूले मार्गको अन्त्यसम्मै पछ्याउन सक्छन् सक्दैनन् भन्‍ने कुरा पनि अनिश्‍चित नै छ। कति मानिसहरूचाहिँ परमेश्‍वरको घरमा सत्यतासँग शक्ति हुन्छ भनेर हृदयमा पूर्ण रूपमा स्विकार्छन्। तर सत्यतासँग शक्ति हुनुलाई तिनीहरूले कसरी बुझ्छन्? तिनीहरू जुनुसुकै काम गरिए पनि, यदि त्यो परमेश्‍वरको घरसँग सम्बन्धित छ भने, सबैजनाले छलफल गरेर सँगै निर्णय गर्नुपर्छ भन्‍ने सोच्छन्। सर्वसम्मतिमा पुगियो भने, परिणाम जे-जस्तो भए पनि, त्यसलाई कार्यान्वयन गरिनुपर्छ भन्ठान्छन्। तिनीहरू त्यो नै सत्यतासँग शक्ति हुनु हो भन्‍ने विश्‍वास गर्छन्। के यो विचार सही हो त? यो अत्यन्तै गम्भीर गलतबुझाइ हो; यो सबैभन्दा हास्यास्पद र समझहीन भनाइ हो। सत्यता कहाँबाट आउँछ? यो ख्रीष्टले व्यक्त गर्नुहुन्छ। ख्रीष्ट मात्र सत्यता हुनुहुन्छ, तर भ्रष्ट मानवजातिमा सत्यता बिलकुलै हुँदैन, त्यसोभए मानिसहरूले विचारविमर्शमार्फत कसरी सत्यता निर्माण गर्न सक्छन्? यदि मानिसहरूले विचारविमर्शमार्फत सत्यता निर्माण गर्न सक्ने भए, त्यसले भ्रष्ट मानवजातिमा सत्यता हुन्छ भन्‍ने अर्थ दिनेथ्यो। के त्यो सबैभन्दा हास्यास्पद कुरा होइन र? त्यसकारण, सत्यतासँग शक्ति हुनुको अर्थ ख्रीष्टले शक्ति हातमा लिनु हो, यसको अर्थ परमेश्‍वरका वचनहरूसँग शक्ति हुनु हो, सबैजनासँग शक्ति हुनु वा सबैले निर्णय गर्न पाउनु होइन। सँगै भेला भएर सत्यता र परमेश्‍वरका वचनहरूबारे सङ्गति गर्नु ठिक हो; यो मण्डली जीवन हो। तर यसरी अभ्यास गर्नुको प्रभाव के हुन्छ? यसले सबैलाई सत्यता बुझ्न र परमेश्‍वरका वचनहरू थाहा पाउन मदत गर्छ, सबैलाई परमेश्‍वरका वचनहरूप्रति समर्पित हुन र तीअनुसार काम गर्न सक्षम तुल्याउँछ। मानिसहरूले सत्यता नबुझ्ने भएर नै तिनीहरू त्यसबारे सङ्गति गर्न भेला हुन्छन्। यदि तिनीहरूले सत्यता बुझ्ने भए, तिनीहरू सिधै ख्रीष्ट र परमेश्‍वरका वचनहरूप्रति समर्पित हुन सक्थे; त्यो साँचो समर्पण हुनेथ्यो। यदि कुनै दिन परमेश्‍वरका चुनिएका सबै मानिसहरूले सत्यता बुझेछन् भने, र सबैले सिधै ख्रीष्टप्रति समर्पित हुन, उहाँलाई उच्च पार्न र उहाँको गवाही दिन सकेछन् भने, त्यसले परमेश्‍वरका चुनिएका मानिसहरू पूर्ण तुल्याइएका छन् भन्‍ने सङ्केत गर्नेछ। अझ बढी त, यसले परमेश्‍वरको घर सत्यताद्वारा, अर्थात् ख्रीष्टद्वारा शासित छ भन्‍ने गवाही दिनेछ। यस्ता तथ्य र गवाहीहरूद्वारा मात्र परमेश्‍वरले राजाको रूपमा धर्तीमा शासन गर्नुभएको छ र ख्रीष्टको राज्य देखा परेको छ भन्‍ने कुरा प्रमाणित हुन्छ। तर कतिपय ख्रीष्टविरोधीहरू र झूटा अगुवाहरूले सत्यतासँग शक्ति हुनुलाई कसरी बुझ्छन्? तिनीहरूको कार्यान्वयनमा, सत्यतासँग शक्ति हुनुको अर्थ दाजुभाइ-दिदीबहिनीहरूको हातमा शक्ति हुनु हो। तिनीहरूले जे काम गरे पनि, यदि तिनीहरूले त्यसलाई राम्रोसँग बुझ्न सक्छन् भने, तिनीहरूले त्यसलाई आफ्नै इच्छाअनुसार गर्छन्; यदि बुझ्न सक्दैनन् भने, तिनीहरूले केही मानिसहरूसँग सङ्गति गर्छन् र त्यस समूहलाई निर्णय गर्न दिन्छन्। के यसले सत्यता अभ्यास भइरहेको छ भन्‍ने प्रमाणित गर्न सक्छ? के उक्त समूहको निर्णय परमेश्‍वरका अभिप्रायहरूसँग मिल्छ नै भन्‍ने हुन्छ? के यस्तो अभ्यासले सत्यतासँग शक्ति हुने अवस्था ल्याउन सक्छ? के यसले परमेश्‍वरको घरमा ख्रीष्टको हातमा शक्ति हुन्छ भन्‍ने गवाही दिन सक्छ? तिनीहरू दाजुभाइ-दिदीबहिनीहरूलाई आफ्ना रायहरू व्यक्ति गर्न, आफ्ना दृष्टिकोणहरू छलफल गर्न, र अन्त्यमा सर्वसम्मतिमा पुगेर निर्णयहरू गर्न दिनुलाई सत्यतासँग शक्ति भएको रूपमा लिन्छन्, र यसको आशय दाजुभाइ-दिदीबहिनीहरू सत्यताका प्रवक्ता हुन्, तिनीहरू सत्यताका पर्यायवाची हुन् भन्‍ने हुन्छ। के यसलाई यसरी बुझ्नु सही हो? प्रस्टै छ, यो सही होइन, तर कतिपय ख्रीष्टविरोधी र झूटा अगुवाहरू वास्तवमा यही तरिकाले कार्य गर्छन् र यसलाई यसरी नै कार्यान्वयन गर्छन्। तिनीहरू यसो गरेर तिनीहरूले लोकतन्त्र अभ्यास गरिरहेका छन्, लोकतान्त्रिक निर्णय गरिरहेका छन् र सत्यताअनुरूप भए पनि नभए पनि यो यसरी नै गर्नुपर्छ भन्ठान्छन्। यस तरिकाले कार्य गर्नुको सार के हो? के लोकतान्त्रिक तरिकाले निर्णय गरिएका मामलाहरू स्वत: सत्यताअनुरूप हुन्छन्? के तिनले स्वत: परमेश्‍वरलाई प्रतिनिधित्‍व गर्छन्? यदि लोकतन्त्र नै सत्यता भए, परमेश्‍वरले सत्यता व्यक्त गर्नुपर्ने आवश्यकता नै हुँदैनथ्यो; के लोकतन्त्रलाई शासन गर्न मात्र दिए पनि पुग्दैनथ्यो र? भ्रष्ट मानवजातिले जतिसुकै लोकतन्त्र अभ्यास गरे पनि, यसले लोकतन्त्रको अभ्यासमार्फत सत्यता सिर्जना गर्न सक्दैन। सत्यता परमेश्‍वरबाट आउँछ, ख्रीष्टका अभिव्यक्तिहरूबाट आउँछ। कुनै मानव विधि मानव विचार वा रुचिहरूसँग जतिसुकै मिले पनि, यसले सत्यता प्रतिनिधित्व गर्न सक्दैन। यो तथ्य हो। झूटा अगुवा र ख्रीष्टविरोधीहरूका शैलीहरूको सार भनेको, सत्यतासँग शक्ति हुने नाउँमा, ख्रीष्टलाई पूर्ण रूपमा पाखा लगाउनु, ख्रीष्टलाई लोकतन्त्रद्वारा प्रतिस्थापित गराउनु, र ख्रीष्टको शासनलाई साम्प्रदायिक सङ्गति र लोकतान्त्रिक शासनको विधिद्वारा प्रतिस्थापित गराउनु हो। के यसका प्रकृति र परिणामहरू सजिलै खुट्ट्याउन सकिने खालका छैनन् र? बोधशील मानिसहरूले तिनलाई बुझ्न सक्नुपर्छ। झूटा अगुवा र ख्रीष्टविरोधीहरू ख्रीष्टप्रति समर्पित हुँदैनन्, बरु उहाँलाई इन्कार र अवज्ञा गर्छन्। ख्रीष्टले मण्डलीमा जे सङ्गति गर्नुभए पनि, मानिसहरूले त्यो सुनेर बुझे पनि, त्यसलाई कानको छेउबाट बहेको हावाको रूपमा मात्र लिन्छन् र त्यसलाई कार्यान्वयन गर्न अनिच्छुक हुन्छन्। त्यसको साटो, तिनीहरू झूटा अगुवा र ख्रीष्टविरोधीहरूको कुराप्रति ध्यान दिन्छन्; अन्त्यमा, तिनीहरूका शब्दहरूले नै तिनीहरूको लागि अर्थ राख्छन्। मानिसहरूले ख्रीष्टका वचनहरूअनुसार अभ्यास गर्न सक्नु नसक्नु यी झूटा अगुवा र ख्रीष्टविरोधीहरूका निर्णयहरूमा भर पर्छ, र धेरैजसो मानिसहरूमा तिनीहरूको अनुसरण गर्ने प्रवृत्ति हुन्छ। ख्रीष्टविरोधीहरू मण्डलीको काममाथि कडा निगरानी राख्छन्, आफैले मात्र निर्णयहरू गर्छन् र परमेश्‍वरलाई निर्णय गर्न वा शक्ति हातमा लिन दिँदैनन्। तिनीहरू सोच्छन्, “ख्रीष्ट यहाँ कामको निरीक्षण गर्नलाई मात्र हो। तिमीले आफ्नो कुरा राखेर कामको प्रबन्ध गर्न सक्छौ, तर त्यसलाई कसरी कार्यान्वयन गर्ने, त्यो हाम्रो जिम्मेवारी हो। हाम्रो काममा हस्तक्षेप नगर।” के ख्रीष्टविरोधीहरू यस्तै गर्दैनन् र? ख्रीष्टविरोधीहरू सधैँ यसो भनिरहेका हुन्छन्, “सारा दाजुभाइ-दिदीबहिनीहरूले सङ्गति गरेका छन” अथवा “सारा दाजुभाइ-दिदीबहिनीहरू सर्वसम्मतिमा पुगेका छन्”—के यसो भन्‍नेहरूले खासमा सत्यता बुझ्छन् त? दाजुभाइ-दिदीबहिनीहरू को हुन्? के तिनीहरू शैतानद्वारा गहन रूपमा भ्रष्ट तुल्याइएका एक हुल मानिसहरू मात्र होइनन् र? तिनीहरूले सत्यतालाई कति बुझेका छन्, तिनीहरूमा सत्यता वास्तविकता कति छ? के तिनीहरूले ख्रीष्टको प्रतिनिधित्व गर्न सक्छन्? के तिनीहरू सत्यताका मूर्तरूप हुन्? के तिनीहरू सत्यताका प्रवक्ता बन्‍न सक्छन्? के सत्यतासँग तिनीहरूको कुनै सम्बन्ध छ? (छैन।) सम्बन्ध नै नभए पनि, यस्ता कुराहरू भन्‍नेहरूले दाजुभाइ-दिदीबहिनीहरूलाई किन सधैँ सर्वोच्च ठान्छन्? तिनीहरू किन परमेश्‍वरलाई उच्च पार्ने र उहाँको गवाही दिने गर्दैनन्? तिनीहरू किन सत्यताअनुसार बोल्ने र कार्य गर्ने गर्दैनन्? के यस तरिकाले बोल्नेहरू हास्यास्पद मानिसहरू होइनन् र? वर्षौँ परमेश्‍वरका वचनहरू पढेर अनि प्रवचनहरू सुनेर पनि, तिनीहरूले कुनै पनि सत्यता बुझ्दैनन् र साँचो दाजुभाइ-दिदीबहिनीहरू के हुन् भनेर देख्न सक्दैनन्। के तिनीहरू अन्धा होइनन् र? अब, सबैजना तिनीहरूका प्रकारअनुसार वर्गीकृत गरिएका छन्; धेरैले आफ्नो साँचो चरित्र खुलाएका छन्, तिनीहरू सबैजना शैतानजस्तै छन्—विशुद्ध रूपमा तिनीहरू पशुहरू हुन्। के तिमीहरूले यो कुरा प्रस्टसित देख्न सक्दैनौ? तिमीहरूमा सत्यता बिलकुलै छैन! कति मानिसहरू त मैले ख्रीष्टविरोधीहरूको चिरफार गरेको सुन्‍न इच्छुक नै हुँदैनन्। तिनीहरू भन्छन्, “ओहो, जहिले पनि ख्रीष्टविरोधीहरूजस्ता मामुली चिजबारे कुरा नगर्नूस्; यो लाजमर्दो कुरा हो। तपाईं किन सधैँ ख्रीष्टविरोधीहरूको चिरफार गरिरहनुहुन्छ?” के तिनीहरूको चिरफार नगर्दा हुन्छ त? मानिसहरूलाई खुट्ट्याउन सिकाउनको लागि तिनीहरूलाई यसरी चिरफार गर्नैपर्छ। नत्र, ख्रीष्टविरोधीहरू देखा परेपछि, तिनीहरूले धेरै झूटो शिक्षा र भ्रमहरू छर्नेछन्, तिनीहरूले धेरै मानिसहरूलाई भ्रममा पार्नेछन्, र मण्डलीलाई समेत नियन्त्रणमा लिएर तिनीहरूको आफ्नै स्वतन्त्र राज्य स्थापना गर्नेछन्। के तिमीहरू यस मामलाका परिणामहरू कति गम्भीर छन् भनेर प्रस्टसित देख्छौ? भर्खरै, हामीले सत्यताले शक्ति सम्हाल्नेबारे सङ्गति गर्‍यौँ। उक्त सङ्गतिमार्फत, मानिसहरूले ख्रीष्टविरोधीहरूका हास्यास्पद विधिहरू र समझहीन विचारहरू देखेका छन्। ख्रीष्टविरोधीहरू सधैँ शक्तिलाई आफ्नै हातमा लिन चाहन्छन् र ख्रीष्टले शक्ति हातमा लिनुहोस् भन्‍ने चाहँदैनन्, त्यसैले तिनीहरूले सत्यताको नियमलाई एउटा लोकतान्त्रिक स्वरूपमा ढाल्छन्, र मामलाहरूबारे सबैले सँगै बसेर छलफल गर्नु नै सत्यताले शक्ति सम्हाल्नु हो भनेर वकालत गर्छन्। के यसमा शैतानको छल छैन र? के विचारविमर्शमार्फत सबैजना सत्यतामा पुग्न सक्छन्? सत्यता परमेश्‍वरले व्यक्त गर्नुहुन्छ र यसको उत्पत्ति परमेश्‍वरबाटै हुन्छ। तिमीहरू किन परमेश्‍वरका वचनहरूलाई सिधै अभ्यास गर्न, सिधै परमेश्‍वरमा समर्पित हुन, र सिधै परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुन सक्दैनौ? किन ख्रीष्टका आदेशहरूलाई सबैको विचारविमर्शबाटै निर्क्योल गरिनुपर्ने हो? के यो शैतानको षड्यन्त्र होइन र? ख्रीष्टविरोधीहरूले प्राय: मानिसहरूलाई भ्रममा पार्ने सिद्धान्तहरू बाहिर ल्याउँछन्, र तिनीहरूले जुन काम कार्यान्वयन गरे पनि, तिनीहरूले नै अन्तिम निर्णय गर्छन्, र सत्यता सिद्धान्तहरू पूर्ण रूपमा उल्लङ्घन गर्छन्। यसलाई ख्रीष्टविरोधीका प्रकटीकरणहरूमार्फत हेर्दा, तिनीहरूको स्वभाव ठ्याक्कै कस्तो छ? के तिनीहरू सकारात्मक कुराहरू र सत्यतालाई प्रेम गर्ने मानिसहरू हुन्? के तिनीहरूमा परमेश्‍वरप्रति साँचो समर्पण छ? (छैन।) तिनीहरूको सार भनेकै सत्यताप्रति वितृष्ण हुनु र सत्यतालाई घृणा गर्नु हो। यसअलावा, तिनीहरू यति अहङ्कारी हुन्छन् कि तिनीहरूले सबै चेतना गुमाउँछन्, र तिनीहरूमा मानिसहरूमा हुनुपर्ने आधारभूत विवेक र समझसमेत हुँदैन। यस्ता मानिसहरू मानव कहलिन योग्य हुँदैनन्। तिनीहरू शैतानको वर्गमा पर्छन् भन्‍न मात्र मिल्छ; तिनीहरू दियालसहरू हुन्। जो अलिकति पनि सत्यता स्विकार्दैन, ऊ दियाबलस हो—यसमा कुनै शङ्का छैन।

कतिपय मानिसहरू यस्ता पनि छन्, जो ख्रीष्टका वचनहरूप्रति न त नम्र न त अहङ्कारी मनोवृत्ति अपनाउँछन्। तिनीहरूले न त पूर्ण स्वीकार अभिव्यक्त गर्छन् न त विरोध नै गर्छन्। जब ख्रीष्टले बोल्ने, सत्यता सङ्गति गर्ने, कुनै व्यक्तिलाई खुट्ट्याउने, वा कुनै काम अह्राउने गर्नुहुन्छ, बाहिरबाट हेर्दा, तिनीहरू सुन्दै, टिपोट लिँदै र गम्भीरता देखाउँदै सहकार्य गरिरहेका देखिन्छन्। तिनीहरू विभिन्‍न चिन्हहरू प्रयोग गर्दै सबथोकबारे मिहिन टिपोटहरू लेख्छन्, सत्यतामा निकै रुचि भएजस्ता र ख्रीष्टले भन्‍नुभएका कुरालाई उच्च महत्त्व दिइरहेजस्ता देखिन्छन्, यस्तो लाग्छ मानौँ तिनीहरू सत्यतालाई अत्यधिक प्रेम गर्छन् र ख्रीष्टप्रति अविचलित रूपमा आस्थावान् छन्। तर के यस्ता मानिसहरूको सत्यताप्रतिको मनोवृत्ति, तिनीहरूको स्वभाव र सारलाई यस्तो देखावटी चिजबाट देख्न सकिन्छ? सकिँदैन। यस्ता मानिसहरू बाहिरी रूपमा टिपोट लिइरहेका र सुनिरहेका जस्ता देखिन्छन्, तर तिनीहरूले हृदयमा साँच्चिकै के सोचिरहेका हुन्छन्? जब तिनीहरूले आफ्नो टिपोट हेर्छन्, तिनीहरू यस्तो सोच्छन्, “यो सबै के हो? काम लाग्ने हरफ त एउटै छैन, उच्च देखिने वा सत्यतासँग मिल्दो केही पनि छैन, न त तार्किक लाग्ने कुरा नै छ। म त यसलाई च्यात्दिन्छु होला!” के यो एक प्रकारको मनोवृत्ति होइन र? मैले धेरै मानिसहरू देखेको छु जो प्रवचनहरू सुन्‍ने बेलामा टाउको हल्लाउँछन् र मुहारमा विभिन्‍न भावहरू देखाउँछन्, र त्यो सँगसँगै टिपोटहरू पनि लिन्छन्, तर पछिबाट, त्यसलाई गम्भीरतापूर्वक बिलकुलै लिँदैनन्। तिनीहरू आफूले के कार्यान्वयन गर्नुपर्ने हो त्यो कुरै सम्झिँदैनन्, न त त्यसलाई आफ्नो हृदयमा राख्ने वा व्यवहारमा उतार्ने नै गर्छन्। तिनीहरूले अभ्यास गर्नुपर्ने कुरा अभ्यास गर्ने सम्भावना त झनै कम हुन्छ। तिनीहरूले कार्यान्वयन गर्नुपर्ने कुरा परमेश्‍वरको घरको काम र तिनीहरूको कर्तव्यसँग सम्बन्धित हुन्छ, र तिनीहरू जे कुरामा प्रवेश गर्नुपर्ने हो त्यो कुरा तिनीहरूको व्यक्तिगत प्रवेशसित सम्बन्धित हुन्छ। तिनीहरू आफूले कार्यान्वयन गर्नुपर्ने कुरा कार्यान्वयन गर्दैनन्, र तिनीहरूले आफ्नो व्यक्तिगत प्रवेशलाई गम्भीरतापूर्वक लिने काम त झनै गर्दैनन्। तिनीहरू यसो भन्छन्, “भन्‍नलाई त भन्छन, ख्रीष्टले बोलेको र व्यक्त गरेको हरेक वाक्य नै सत्यता हो, मानिसहरू त्यसैमा प्रवेश गर्नुपर्छ, सत्यता, मार्ग, र जीवन भन्नु नै त्यही हो—तर मैले हरेकपटक लिएको टिपोटमा म कुनै सत्यता वा मार्ग देख्दिनँ, न त मलाई त्यो जीवन हो भन्‍ने अनुभूति नै हुन्छ। त्यसकारण ख्रीष्टसँग परमेश्‍वरको सार छ भन्‍ने भनाइ कसरी पूरा हुन्छ? यसलाई कसरी वास्तविकता बनाउन सकिन्छ? त्यो कसरी मैले देखेको कुरासँग मिल्न सक्छ? त्यो सजिलै त मिल्दैन।” कति मानिसहरू भन्छन्, “यदि तिनीहरूले सुनेपछि तिनीहरूको मनोवृत्ति यस्तो हुन्छ भने, तिनीहरूले किन टिपोट लिए त? तिनीहरूमा उचित, गम्भीर र जिम्मेवार मनोवृत्ति भएझैँ देखिन्थ्यो त; यहाँ के भइरहेको छ?” यसको एउटै मात्र कारण छ। यदि ख्रीष्टले बोल्नुहुँदा सत्यतालाई प्रेम नगर्ने र सत्यताप्रति अत्यन्तै प्रतिकूल रहने व्यक्ति अत्यन्तै गम्भीर र सचेत देखिन सक्छ भने, उसको एउटै मात्र अभिप्राय भनेको जोशजाँगर नचलाई झारा मात्र टार्ने हो, साँचो स्वीकार होइन। प्रत्येकपटक तिनीहरूले परमेश्‍वरका वचनहरू पढ्दा वा ख्रीष्टको सम्पर्कमा आएर उहाँसँग कुरा गर्दा, तिनीहरूले उहाँको तथाकथित उच्चता, अथाहपन वा चमत्कार नभई उहाँको व्यावहारिकता, सामान्यता, र महत्त्वहीनता थाहा पाउँछन्। त्यसकारण, तिनीहरूको आफ्नै दृष्टिकोण र अडानबाट तिनीहरूलाई यस साधारण व्यक्तिका वचनहरू सत्यता, मार्ग, वा जीवनसित जोड्न असम्भव हुन्छ। तिनीहरूले यस व्यक्तिलाई जसरी हेरे पनि एउटा मानव मात्र देख्छन्; तिनीहरू उहाँलाई परमेश्‍वर वा ख्रीष्टको रूपमा लिन सक्दैनन्। त्यसकारण, तिनीहरूले यी अत्यन्तै साधारण वचनहरूलाई पालन गर्नुपर्ने, अभ्यास गर्नुपर्ने, र जिउनको लागि मार्गदर्शन, अस्तित्वको लक्ष्य, आदि इत्यादिको रूपमा प्रयोग गर्नुपर्ने सत्यताको रूपमा लिँदैनन्—तिनीहरूलाई यो निराशाजनक लाग्छ। तिनीहरू भन्छन्, “मैले यी साधारण वचनहरूमा किन कुनै सत्यता देख्न नसकेको? तिमीहरू सबैले चाहिँ कसरी देख्न सकेको? के यी साधारण वचन मात्र होइनन् र? ती त मानव भाषा, मानव लेखन, मानव व्याकरण हुन्, जसमा केही मानव वाक्यांश र शब्दावली प्रयोग गरिन्छन्, र केही मानव उखान र संस्कृतिका पक्षहरू चिरफार गरिन्छन्। यी वचनहरूमा कसरी सत्यता हुन सक्छ? म त्यसलाई किन देख्न सक्दिनँ? तिमीहरू सबैले यो नै सत्यता हो भनेका छौ, त्यसैले म पनि त्यसै गर्नेछु र अरू सबैले जे भन्छन् त्यही भन्‍नेछु; म टिपोटहरू लिनेछु किनकि अरू सबैले त्यही गरिरहेका छन्, तर तिमीहरू सबैले उनलाई सत्यता ठाने पनि म अवश्यै ठान्दिनँ। ‘सत्यता’ भनेको यस्तो पवित्र शब्द हो, यो अत्यन्तै उच्च नै हुनुपर्छ! सत्यताको कुरा गर्दा, त्यसमा परमेश्‍वर संलग्न हुन्छ, र त्यसमा परमेश्‍वर संलग्न हुँदा, त्यो यति साधारण, यति मामुली, यति सामान्य हुन सक्दैन। त्यसकारण, मैले जतिसुकै छानबिन र विश्‍लेषण गरे पनि, म उनमा परमेश्‍वरको कुनै सङ्केत भेट्टाउन सक्दिनँ। यदि उनमा परमेश्‍वरको कुनै सङ्केत छैन भने, उनले हामीलाई कसरी मुक्ति दिन सक्छन्? यो असम्भव छ। यदि उनका वचनहरूले हामीलाई मुक्ति दिन व लाभ दिन सक्दैनन् भने, हामीले उनलाई किन पछ्याउनु? हामीले उनका वचनहरूलाई किन लागु गर्नु? हामी किन उनका वचनहरूद्वारा जिउनु?” अब तिनीहरूले ख्रीष्टविरोधीको रूपमा आफ्ना साँचो रङ्ग देखाएका छन्, छैनन् र? परमेश्‍वर देहधारी हुनुभएको देहप्रति तिनीहरूमा सुरुदेखि अन्त्यसम्‍मै सूक्ष्मजाँचको मनोवृत्ति हुन्छ। तिनीहरूले परमेश्‍वरका वचनहरूप्रति जे-जसरी व्यवहार गर्छन्, त्यसमा न त स्वीकार हुन्छ न त समर्पण नै, झन् तिनीहरूले तिनको अभ्यास गर्ने, तिनमा संलग्न हुने, वा तिनको अनुभव लिने काम गर्लान् भनेर त कुरै नगरौँ। त्यसको साटो, तिनीहरूले परमेश्‍वरका वचनहरूप्रति प्रतिरोध, विरोध र इन्कारको मनोवृत्तिले व्यवहार गर्छन्। तिनीहरू ख्रीष्टले मानिसहरूसँग कुरा गर्नुहुँदा मन नलागीनलागी केही टिपोटहरू लिन्छन्, तर भित्री रूपमा, तिनीहरूले त्यसलाई अलिकति पनि स्विकार्दैनन्। ख्रीष्टसँग अन्तरक्रिया गरेपछि, कति मानिसहरूले यसो भन्छन्, “परमेश्‍वरसित आमनेसामने भएर बोल्नु र सङ्गति गर्नु साँच्चिकै आनन्द हुन्छ।” अनि, ख्रीष्टविरोधीले भन्छ, “म पनि गरिहेर्नेछु। म पनि ख्रीष्टसित आमनेसामने भएर कुरा गर्नेछु र मानिसहरूसँग कुरा गर्दा ख्रीष्टका मुहारका भाव, व्यवहार, र बोली साँच्चिकै कस्ता हुन्छन् भनी हेर्नेछु। म त्यसबाट व्यक्तिले के प्राप्त गर्न वा पत्ता लगाउन सक्छ, मानिसहरूले जग बसाल्नु र उनलाई साँचो परमेश्‍वर ठानेर उनीमाथि अडिग विश्‍वास राख्नु लाभदायक हुन्छ हुँदैन भनेर हेर्नेछु।” ख्रीष्ट र उहाँका वचनहरूप्रति यस्तो मनोवृत्ति बोकेर, के तिनीहरूले कुनै वास्तविक अभ्यास वा कार्यान्वयन गर्न सक्छन्? अहँ, सक्दैनन्। तिनीहरू जोश हेर्न आएका दर्शकभन्दा बढी केही होइनन्, तिनीहरू बिलकुलै सत्यता खोज्न आएका होइनन्। के तिमीहरूलाई यी मानिसहरूले ख्रीष्टलाई व्यवहार गर्ने र उहाँसित कुरा गर्ने मनोवृत्ति कताकता छिमेकका महिलाहरूले आँगनमा बसेर कुनै गम्भीरताबिना गफगाफ गरेको र जे मन लाग्यो त्यही बोलेको जस्तो लाग्दैन? यी मानिसहरूले ख्रीष्टलाई त्यही रूपमा लिन्छन्: “तिमी आफ्ना विचारहरू व्यक्त गर, म आफ्नै विचारमा अडिग रहनेछु। सहमत नहुन सहमत होऔँ; तिमीले मलाई मनाउने अपेक्षा नगर्नू, र म निश्‍चय नै तिमीले भनेको कुरा स्विकार्नेछैन।” के यो त्यस्तै मनोवृत्ति होइन र? यो कस्तो मनोवृत्ति हो? (तिरस्कारी र आदरहीन।) यी मानिसहरू अनौठा छन्। तैँले ख्रीष्टलाई परमेश्‍वर देहधारी हुनुभएको देह मान्दैनस्, त्यसैले तँ किन उहाँमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने गर्छस्? यदि तैँले विश्‍वास गर्दैनस् भने, किन खुरुक्कै छोडेर जाँदैनसन्? तँलाई कसले जबरजस्ती विश्‍वास गर्न लगाइरहेको छ? तँलाई कसैले पनि परमेश्‍वरमा जबरजस्ती विश्‍वास गर्न लगाइरहेको छैन; त्यो तेरो आफ्नै रोजाइ हो।

कति मानिसहरूले कुनै मामलामाथि मेरो सङ्गति सुनेपछि तुरुन्तै विभिन्‍न रायहरू बनाउँछन्: “तिमी यसबारे त्यस्तो सोच्छौ, तर म त यसबारे यस्तो सोच्छु। प्रत्येक मामलाबारे तिम्रा र मेरा आ-आफ्नै विचारहरू छन्; सबैका आ-आफ्ना विचारहरू हुन्छन्।” कस्तो प्राणीले यसो भन्ला? जब परमेश्‍वरले मानिसहरूलाई सत्यता आपूर्ति गर्नुहुन्छ, के यो एकप्रकारको तर्क हो? के परमेश्‍वरका वचनहरू कुनै शैक्षिक सिद्धान्तहरू हुन्? (होइनन्।) त्यसोभए ती के हुन् त? (ती सत्यता हुन्।) अझ प्रस्ट भन् त। (ती मानव आचरणका सिद्धान्त र निर्देशनहरू हुन्, मानिसहरूको जीवनका अत्यावश्यक कुराहरू हुन्।) हामी परमेश्‍वरले मानिसहरूलाई सत्यता आपूर्ति गर्नुहुन्छ भनेर किन भन्छौँ? के उहाँले ज्ञान आपूर्ति गर्नुहुन्छ भनेर कहिल्यै भनिएको छ? (छैन।) हामी किन परमेश्‍वरका वचनहरू मानिसहरूले खान र पिउनलाई हुन् भनेर भन्छौँ? परमेश्‍वरका वचनहरू मानिसहरूका खानाजस्तै हुन्; तिनले तेरो भौतिक शरीरलाई जीवित राख्न र तँलाई जिउन मदत गर्न सक्छन्, र यसअलावा, तिनले तँलाई राम्रोसँग जिउन मदत गर्छन्, तँलाई मानव झल्कोसहित जिउन मदत गर्छन्। व्यक्तिको लागि ती जीवन हुन्! परमेश्‍वरका वचनहरू कुनै ज्ञानको स्वरूप, कुनै तर्क, वा कुनै भनाइ होइनन्। ज्ञान, तर्क, र मानव परम्परागत संस्कृतिले मानिसहरूलाई भ्रष्ट मात्र तुल्याउन सक्छन्। ती कुराहरू भए पनि नभए पनि मानिसहरू जिउन सक्छन्, तर यदि कसैले जिउन चाहन्छ र मापदण्ड पुगेको, र सृष्टि गरिएको योग्य प्राणी बन्‍ने इच्छा गर्छ भने, सत्यताबिना उसले त्यसो गर्न सक्दैन। त्यसोभए सत्यता भनेको ठ्याक्कै के हो त? (यो आफूलाई उचित व्यवहारमा ढाल्ने, कार्य गर्ने, र परमेश्‍वरलाई आराधना गर्ने मापदण्ड हो।) ठिक भनिस्, अलि प्रस्ट भयो। के ख्रीष्टविरोधीहरूले यसलाई यो तरिकाले हेर्छन्? तिनीहरूले यो तथ्यलाई स्विकार्दैनन्। तिनीहरू यो तथ्यलाई विरोध, प्रतिरोध र निन्दा गर्छन्, त्यसकारण तिनीहरूले सत्यता प्राप्त गर्न सक्दैनन्। तिनीहरूका सोचविचारमा, तिनीहरूलाई यस्तो लाग्छ, “तिमी केवल एक साधारण व्यक्ति हौ। तिमीले एउटा कुरा भन्छौ र अरू मानिसहरू तिम्रा वचनहरूअनुसार अभ्यास गर्न थाल्छन्, त्यसैले मैले पनि कुनै सही कुरा भनेर मानिसहरूलाई त्यही अभ्यास गराउन किन मिल्दैन? किन तिमीले भनेको चाहिँ सधैँ सही हुन्छ र मैले भनेको चाहिँ सधैँ गलत हुन्छ? किन तिम्रा वचनहरू सत्यता मानिन्छन् तर मेरा चाहिँ ज्ञान र धर्मसिद्धान्त मानिन्छन्?” यो कुनै कुरामा आधारित छैन—यो त एउटा तथ्य हो, र यो सारद्वारा निर्धारित हुन्छ। ख्रीष्ट नै परमेश्‍वर देहधारी हुनुभएको देह हो, र उहाँको सार नै परमेश्‍वर हो। यसलाई कसैले पनि नकार्न सक्दैन; ख्रीष्टविरोधीहरूले यसलाई मान्‍न वा स्विकार्न इन्कार गरे पनि, तिनीहरूले यसलाई नकार्न सक्दैनन्। जुन क्षण मान्छेले ख्रीष्टलाई छोडेर हिँड्छ र उहाँलाई अस्वीकार गर्छ, त्यो क्षण नै उसको विनाश हुन्छ। ख्रीष्ट र उहाँका वचनहरूबिना कसैले पनि मुक्ति पाउन सक्दैन। के यो तथ्य होइन र? (हो।) ख्रीष्टविरोधीहरूका ती शब्द र सिद्धान्तहरूले मानिसहरूमा कस्तो सुधार ल्याउन सक्छन्? यदि मानिसहरूले तिनलाई स्विकारेनन् भने, के तिनीहरूलाई कुनै घाटा लाग्नेछ? अहँ, कुनै पनि घाटा लाग्‍नेछैन। ख्रीष्टविरोधीहरूका शब्दहरूले कसैमाथि कुनै सकारात्मक प्रभाव पार्दैनन्, बरु थुप्रै नकारात्मक असरहरू पार्छन्। यदि ख्रीष्टले एउटा पनि वाक्य बोल्‍नुहुन्‍नथ्यो, केवल जतिसुकै वर्ष बस्‍न आउनुहुन्थ्यो र जानुअघि सामान्य जीवन मात्र जिउनुहुन्थ्यो भने, मानवजातिले के प्राप्त गर्थे? क्रूस बोक्नुबाहेक, मानवजातिले अरू के प्राप्त गर्न सक्थे? तिनीहरू अझै पनि पापमै जिउँनेथिए, पाप स्विकारेर पश्‍चात्ताप गर्नेथिए, निस्कनै नसक्नेगरी पापमा फसेका हुनेथिए, झन्झन् चरित्रभ्रष्ट बन्‍नेथिए, र अन्त्यमा, परमेश्‍वरको काम सक्‍किँदा, तिनीहरू सबै नष्ट हुनेथिए। त्यो नै मानवजातिको नियति हुनेथ्यो। तर ख्रीष्ट आउनुभयो, र परमेश्‍वरले मान्छेलाई भन्‍न चाहनुभएका सारा वचनहरू व्यक्त गर्नुभयो, मानिसलाई आवश्यक पर्ने सारा सत्यता आपूर्ति गर्नुभयो, र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबै मान्छेसित खुलासा गर्नुभयो। के यसले मान्छेको लागि निर्णायक परिवर्तन ल्याएन र? अर्को शब्दमा भन्नुपर्दा, के ख्रीष्टका वचनहरूले मान्छेको लागि निर्णायक परिवर्तन सिर्जित गरेनन् र? (गरे।) यो निर्णायक परिवर्तन भनेको के हो? मूलतः यो मानवहरूले निन्दा र विनाश सामना गर्नेबाट मुक्ति प्राप्त गर्ने अवसर र आशा पाउनेमा परिणत हुनु हो। के त्यो निर्णायक परिवर्तन होइन र? मानिसहरूको आशा आइपुगेको छ; तिनीहरूले अब नयाँ सुरुवात देख्छन् र मुक्ति पाउने र बाँच्ने आशा प्राप्त गर्छन्। जब परमेश्‍वरले मानवजातिलाई नष्ट गर्नुहुन्छ र दण्डित तुल्याउनुहुन्छ, तिनीहरू विनाश र दण्डबाट उम्‍कन सक्छन्। त्यसकारण, बाँच्न सक्ने यस्तो मानवजातिको लागि, के ख्रीष्ट र उहाँका वचनहरू राम्रो कुरा हुन् कि नराम्रो हुन्? (राम्रो कुरा।) ती राम्रो कुरा हुन्। ख्रीष्टविरोधीहरू यस्तो ख्रीष्ट अर्थात् यस्तो साधारण व्यक्तिप्रति यति शत्रुवत्‌ हुनु र तिनीहरूले उहाँलाई यति धेरै घृणा गर्नु, यो कुरा तिनीहरूको सारद्वारा निर्धारित हुन्छ।

देहधारी परमेश्‍वरप्रति ख्रीष्टविरोधीहरूको व्यवहारको अर्को पनि प्रकटीकरण छ: तिनीहरू यसो भन्छन्, “मैले ख्रीष्ट एक साधारण व्यक्ति भएको देख्नेबित्तिकै, मेरा मनमा धारणाहरू निर्मित भए। ‘वचन देहमा देखा पर्नुहुन्छ’ भन्‍ने पुस्तक परमेश्‍वरको एउटा अभिव्यक्ति हो; यो सत्यता हो, र म यसलाई स्विकार्छु। मसित ‘वचन देहमा देखा पर्नुहुन्छ’ को एउटा प्रति छ, र त्यति भए पुग्छ। मैले ख्रीष्टसँग सम्पर्क गर्नुपर्दैन। यदि ममा धारणाहरू, नकारात्मकता वा कमजोरी छन् भने, म तिनलाई परमेश्‍वरका वचनहरू पढेरै समाधान गर्न सक्छु। देहधारी परमेश्‍वरसँग मेरो सम्पर्क भयो भने, धारणाहरू सजिलै निर्मित हुन्छन्, र यसले म अत्यन्तै गहिरो रूपमा भ्रष्ट तुल्याइएको छु भन्‍ने देखाउनेछ। यदि मलाई परमेश्‍वरले निन्दा गर्नुभयो भने, ममा मुक्तिको कुनै आशा हुनेछैन। त्यसकारण, म आफैले परमेश्‍वरको वचन पढ्नु नै राम्रो हुन्छ। मानिसहरूलाई मुक्ति दिन सक्ने त स्वर्गको परमेश्‍वर नै हो।” परमेश्‍वरका अहिलेका वचनहरू र सङ्गतिले, विशेषगरी ख्रीष्टविरोधीहरूको स्वभाव र सार खुलासा गर्ने ती वचनहरूले ख्रीष्टविरोधीहरूको हृदयलाई सबैभन्दा बढी घोच्छन् र ती तिनीहरूको लागि सबैभन्दा पीडादायी हुन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू हृदयमा परमेश्‍वरले चाँडै धर्ती छोड्नुभए हुन्थ्यो, ताकि आफूले आफ्नै शक्ति प्रयोग गरेर धर्तीमा शासन गर्न सकूँ भन्‍ने कामना गर्छन्। तिनीहरू परमेश्‍वर देहधारी हुनुभएको देह, अर्थात् यस साधारण व्यक्ति, तिनीहरूको लागि वाहियात हो भन्‍ने ठान्छन्। तिनीहरू सधैँ मनन गर्छन्, “ख्रीष्टका प्रवचनहरू सुन्नुअघि, मलाई म सबथोक बुझ्छु, र सबै रूपमा ठिकै छु भन्‍ने लाग्थ्यो, तर ख्रीष्टका प्रवचनहरू सुनेपछि, यो कुरा फरक भएको छ। अहिले मलाई मसँग केही पनि नभएजस्तो महसुस हुन्छ, मलाई म अत्यन्तै मामुली र दयनीय छु जस्तो महसुस हुन्छ।” त्यसकारण, तिनीहरू ख्रीष्टका वचनहरूले तिनीहरूको नभई अरूको खुलासा गरिरहेका छन् भन्‍ने निर्क्योल गर्छन्, र ख्रीष्टका प्रवचनहरू सुन्‍न आवश्यक छैन, “वचन देहमा देखा पर्नुहुन्छ” भन्‍ने पुस्तक पढे पुग्छ भन्‍ने सोच्छन्। ख्रीष्टविरोधीहरूको हृदयमा, तिनीहरूको मुख्य अभिप्राय परमेश्‍वर देह बन्‍नुभएको तथ्य नकार्नु र ख्रीष्टले सत्यता व्यक्त गर्नुहुने तथ्य इन्‍कार्नु हो, र तिनीहरू यसरी परमेश्‍वरमाथिको विश्‍वासमार्फत तिनीहरूले मुक्ति पाउने आशा रहन्छ, र तिनीहरूले मण्डलीमा राजाको रूपमा शासन गर्न सक्छन्, साथै यसमार्फत परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको सुरुवाती अभिप्राय पूरा हुन्छ भन्ठान्छन्। ख्रीष्टविरोधीहरूमा परमेश्‍वरको प्रतिरोध गर्ने जन्मसिद्ध प्रकृति हुन्छ; देहधारी परमेश्‍वरसँग तिनीहरू आगो र पानीजतिकै अमिल्दा, र अनन्त असहमतिमा हुन्छन्। तिनीहरू ख्रीष्ट अस्तित्वमा रहनुभएको हरदिन तिनीहरूलाई प्रगति गर्न कठिन हुनेछ, र तिनीहरू निन्दित हुने, हटाइने, नष्ट पारिने, र दण्डित हुने खतरामा हुनेछन् भन्ठान्छन्। जबसम्म ख्रीष्टले बोल्नुहुन्‍न र काम गर्नुहुन्‍न, जबसम्म परमेश्‍वरका चुनिएका मानिसहरूले परमेश्‍वरलाई आदरभावले हेर्दैनन्, तबसम्‍म ख्रीष्टविरोधीहरूको अवसर हुन्छ। तिनीहरूले आफ्ना क्षमताहरू प्रस्तुत गर्ने मौका पाउँछन्। हातले एक इसारा गर्दा नै मानिसहरूको हुल तिनीहरूको पक्षमा आउनेछन्, र ख्रीष्टविरोधीहरूले राजाको रूपमा शासन गर्न सक्‍नेछन्। ख्रीष्टविरोधीहरूको प्रकृति सार सत्यताप्रति वितृष्ण हुने र ख्रीष्टप्रति घृणा गर्ने हुन्छ। तिनीहरू ख्रीष्टसित को बढी प्रतिभाशाली वा को बढी सक्षम छ भन्‍ने कुरामा प्रतिस्पर्धा गर्छन्; ख्रीष्टसित तिनीहरू कसका वचनहरूमा बढी शक्ति छ र कसका क्षमताहरू ठूला छन् भन्‍ने कुरामा प्रतिस्पर्धा गर्छन्। ख्रीष्टले जस्तै काम गरेर, तिनीहरू अरूलाई तिनीहरू र उहाँ दुवै मानव भए पनि ख्रीष्टका क्षमताहरू र विद्वत्ता कुनै साधारण व्यक्तिका भन्दा राम्रा नभएको देखाउन चाहन्छन्। ख्रीष्टविरोधीहरू ख्रीष्टसँग हरतरिकाले प्रतिस्पर्धा गर्छन्, को राम्रो भनेर होडबाजी गर्छन्, र ख्रीष्ट परमेश्‍वर हुनुहुन्छ, उहाँ परमेश्‍वरको आत्माको मूर्तरूप हुनुहुन्छ, र उहाँ सत्यताको मूर्तरूप हुनुहुन्छ भन्‍ने तथ्यलाई हरेक कोणबाट नकार्ने कोसिस गर्छन्। तिनीहरू ख्रीष्टलाई परमेश्‍वरका चुनिएका मानिसहरूमाझ शक्ति धारण गर्नबाट रोक्न, परमेश्‍वरका वचनहरू परमेश्‍वरका चुनिएका मानिसहरूमाझ फैलाइन वा लागु गरिनबाट रोक्न, साथै ख्रीष्टले गर्नुहुने कामहरू र मानिसहरूप्रतिका उहाँका मापदण्ड र आशाहरू परमेश्‍वरका चुनिएका जनहरूमाझ साकार पारिनबाट रोक्नसमेत हरक्षेत्रका विविध उपाय र विधिहरू पनि सोच्छन्। यस्तो लाग्छ मानौँ ख्रीष्ट उपस्थित हुनुहुँदा, तिनीहरू मण्डलीद्वारा बरखास्त, निन्दित र अस्वीकृत हुन्छन्—र अँध्यारो कुनामा राखिएका एक हुल मानिसहरूमा सीमित हुन्छन्। हामी ख्रीष्टविरोधीहरूका विभिन्‍न प्रकटीकरणहरूमा देख्न सक्छौँ कि स्वभाव र सारको हिसाबले तिनीहरू ख्रीष्टसँग मिल्नै नसक्‍ने हुन्छन्—तिनीहरू उहाँसँग एउटै आकाशमुनि रहन सक्दैनन्! ख्रीष्टविरोधीहरू जन्मेदेखि नै परमेश्‍वरप्रति शत्रुवत्‌ भइआएका छन्; तिनीहरू विशेषगरी परमेश्‍वरको प्रतिरोध गर्न आएका हुन्, र तिनीहरू ख्रीष्टलाई पराजित गर्न र पूरै हराउन चाहन्छन्। तिनीहरू ख्रीष्टले गर्नुहुने सबै काम व्यर्थ र अर्थहीन बनून्, ताकि अन्त्यमा ख्रीष्टलाई धेरै मानिसहरू प्राप्त नहोऊन्, र उहाँले जहाँ काम गर्नुभए पनि कुनै पनि नतिजा नआऊन् भन्‍ने चाहन्छन्। तबमात्र ख्रीष्टविरोधीहरू खुसी हुनेछन्। यदि ख्रीष्टले सत्यताहरू व्यक्त गर्नुहुन्छ, र मानिसहरू तिनका प्यासी छन्, तिनलाई खोज्छन्, तिनलाई खुसीसाथ स्विकार्छन्, र आफूलाई ख्रीष्टप्रति समर्पित गर्न, सबथोक त्याग्न र ख्रीष्टको सुसमाचार फैलाउन इच्छुक छन् भने, ख्रीष्टविरोधीहरू निरुत्साहित हुन्छन् र भोलिको लागि कुनै आशा नभएको, र तिनीहरूले प्रगति गर्ने मौका कहिल्यै पाउनेछैनन् भन्‍ने महसुस गर्छन्, मानौँ तिनीहरूलाई नरकमा पुर्‍याइएको छ। ख्रीष्टविरोधीहरूका यी प्रकटीकरणहरू हेर्दा, के परमेश्‍वरसित लड्ने र उहाँलाई वैरभावपूर्वक हेर्ने तिनीहरूको यो सार अरू कसैले तिनीहरूमा हालिदिएको हो? कदापि होइन; तिनीहरू त्यसलाई बोकेरै जन्मिन्छन्। त्यसकारण, ख्रीष्टविरोधीहरू त्यस्ता व्यक्ति हुन् जो जन्मैदेखि दियाबलसको पुनर्जन्म हुन्, अर्थात् धर्तीमा आएका दियाबलस हुन्। तिनीहरूले सम्भवतः कहिल्यै पनि सत्यता स्विकार्न सक्दैनन्, र तिनीहरूले ख्रीष्टलाई स्विकार्ने, उच्च पार्ने, वा गवाही दिने काम कहिल्यै गर्नेछैनन्। तैँले बाहिरी रूपमा तिनीहरूले ख्रीष्टलाई सार्वजनिक रूपमै आलोचना र निन्दा गरेको नदेखे पनि, साथै तिनीहरूले अनुपालन गरेर केही मेहनत लगाउन र मूल्य चुकाउन सके पनि, तिनीहरूलाई मौका मिल्नेबित्तिकै, र सही समय आउनेबित्तिकै, ख्रीष्टविरोधीहरूको परमेश्‍वरसँगको बेमेलता आफै प्रकट हुनेछ। ख्रीष्टविरोधीहरू परमेश्‍वरसित लड्छन् र स्वतन्त्र राज्य स्थापना गर्छन् भन्‍ने तथ्य सार्वजनिक हुने नै छ। ख्रीष्टविरोधीहरू भएका ठाउँहरूमा यसअघि यी सबै घटनाहरू घटेका छन्, र परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको न्यायको काम गर्नुहुँदाका यी वर्षहरूमा यी घटनाहरू अझ बारम्बार घटेका छन्; धेरै मानिसहरूले यी घटनाहरू अनुभव गरेका र देखेका छन्।

जुन २७, २०२०

अघिल्लो: विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग तीन)

अर्को: विषयवस्तु दस: तिनीहरूले सत्यतालाई घृणा गर्छन्, निर्लज्ज रूपमा सिद्धान्तहरू उल्लङ्घन गर्छन्, र परमेश्‍वरको घरका प्रबन्धहरूलाई बेवास्ता गर्छन् (भाग पाँच)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्