दुई देहधारणहरूले देहधारणको महत्त्व पूरा गर्छन्
परमेश्वरद्वारा गरिएको कामको हरेक चरणको आफ्नै व्यावहारिक महत्त्व हुन्छ। त्यतिखेर, जब येशू आउनुभयो, उहाँ पुरुषको रूपमा आउनुभयो, र यस पटक जब परमेश्वर आउनुहुन्छ, उहाँको रूप महिला छ। यसबाट, तैँले के देख्न सक्छस् भने परमेश्वरले पुरुष र महिला दुवैको सृष्टि गर्नु उहाँको कामका लागि उपयोगी हुन सक्छ, र उहाँको हकमा लिङ्गको कुनै भेद हुँदैन। जब उहाँको आत्मा आउनुहुन्छ, उहाँ आफूलाई मन लागेको जुनसुकै देह धारण गर्न सक्नुहुन्छ, र उक्त देहले उहाँको प्रतिनिधित्व गर्न सक्छ; चाहे पुरुष होस् वा महिला, यो परमेश्वरको देहधारी शरीर भएसम्म यसले उहाँको प्रतिनिधित्व गर्न सक्छ। यदि येशू आउनुहुँदा एउटी महिलाका रूपमा देखा पर्नुभएको भए, अर्को शब्दमा भन्दा, यदि पवित्र आत्माद्वारा बालकको सट्टा बालिका गर्भधारण गरिएको भए पनि, कामको त्यो चरण त्यसै गरी पूरा भएको हुनेथियो। यदि त्यस्तो भएको भए, कामको वर्तमान चरण यसको सट्टा पुरुषद्वारा गरिनुपर्नेथियो, तर काम त्यसै गरी पूरा हुने नै थियो। प्रत्येक चरणमा गरिने कामको आफ्नै महत्त्व हुन्छ; कामको कुनै पनि चरणले अर्कोलाई दोहोर्याउँदैन, तर ती एक-अर्कासँग बाझ्न पनि बाझिँदैनन्। त्यतिखेर, येशूले आफ्नो काम गर्नुहुँदा, उहाँलाई एक मात्र पुत्र भनिन्थ्यो, र “पुत्र” ले पुरुष लिङ्गलाई जनाउँछ। यस वर्तमान चरणमा एक मात्र पुत्रलाई किन उल्लेख गरिँदैन? किनभने कामका मागहरूले येशूको भन्दा फरक लिङ्ग आवश्यक तुल्याएका छन्। परमेश्वरको हकमा लिङ्गको कुनै भेद हुँदैन। उहाँ आफूलाई जसरी इच्छा लाग्छ त्यसरी आफ्नो काम गर्नुहुन्छ, र आफ्नो काम गर्दा उहाँ कुनै पनि बन्धनमा पर्नुहुन्न, बरु अत्यन्तै स्वतन्त्र हुनुहुन्छ। तैपनि कामको हरेक चरणको आफ्नै व्यावहारिक महत्त्व हुन्छ। परमेश्वर दुई पटक देह बन्नुभयो, र आखिरी दिनहरूमा भएको उहाँको देहधारण अन्तिम पटक हो भन्ने कुरा स्वतः स्पष्ट छ। उहाँ आफ्ना सबै कार्य प्रकट गर्न आउनुभएको छ। यदि यस चरणमा उहाँ देह नबन्नुभएको भए र मानिसले देख्नेगरी उहाँले व्यक्तिगत रूपमा काम नगर्नुभएको भए, मानिस सधैँभरि परमेश्वर त महिला होइन, पुरुष मात्र हुनुहुन्छ भन्ने धारणामा टाँसिइरहनेथियो। यसभन्दा पहिले, सम्पूर्ण मानवजाति परमेश्वर पुरुष मात्र हुन सक्नुहुन्छ र महिलालाई परमेश्वर भन्न सकिँदैन भन्ने विश्वास गर्थे, किनभने सम्पूर्ण मानवजाति महिलाहरूमाथि पुरुषहरूको अख्तियार हुने ठान्थे। तिनीहरू कुनै पनि महिलाले अख्तियार लिन सक्दिन, पुरुषहरूले मात्र सक्छन् भन्ने विश्वास गर्थे। अझ भन्नुपर्दा, तिनीहरू पुरुष भनेको महिलाको शिर हो र महिलाले पुरुषको आज्ञापालन गर्नैपर्छ र उसलाई उछिन्न सक्दिन भनेर समेत भन्थे। विगतका समयहरूमा, पुरुष महिलाको शिर हो भनिँदा, यो सर्पद्वारा बहकाइएका आदम र हव्वाप्रति लक्षित थियो—सुरुमा यहोवाद्वारा सृष्टि गरिएका पुरुष र महिलाप्रति होइन। अवश्य नै, एउटी महिलाले आफ्नो श्रीमान्को पालन गर्नैपर्छ र उसलाई प्रेम गर्नैपर्छ, अनि एउटा श्रीमान्ले आफ्नो परिवारलाई खुवाउन र पालनपोषण गर्न सिक्नैपर्छ। मानवजातिले पृथ्वीमा आफ्नो जीवनमा पालन गर्नैपर्ने भनेर यहोवाद्वारा स्थापित व्यवस्था र विधानहरू यिनै हुन्। यहोवाले महिलालाई भन्नुभयो, “तेरो चाहना तेरो श्रीमान्तर्फ हुनेछ, र उसले तँमाथि शासन गर्नेछ।” मानवजातिले (मतलब, पुरुष र महिला दुवैले) यहोवाको प्रभुत्वअन्तर्गत सामान्य जीवन जिउन सकून्, र मानवजातिको जीवन एउटा ढाँचामा चल्न सकोस्, र त्यसको उचित क्रम नबिग्रियोस् भन्नका लागि मात्र उहाँले यसरी बोल्नुभयो। त्यसकारण, यहोवाले पुरुष र महिलाले कसरी काम गर्नुपर्छ भन्नेबारे उचित नियमहरू बनाउनुभयो, यद्यपि यो पृथ्वीमा जिउने सबै सृजित प्राणीका हकमा मात्रै लागु हुन्थ्यो, र परमेश्वरको देहधारी शरीरसँग यसको कुनै सम्बन्ध थिएन। परमेश्वर कसरी आफ्ना सृजित प्राणीहरू जस्तै हुन सक्नुहुन्थ्यो र? उहाँका वचनहरू उहाँले सृष्टि गर्नुभएको मानवजातितर्फ मात्रै लक्षित थिए; मानवजातिले सामान्य जीवन जिउन सकून् भनेर नै उहाँले पुरुष र महिलाका लागि नियमहरू स्थापित गर्नुभयो। सुरुमा, जब यहोवाले मानवजातिको सृष्टि गर्नुभयो, उहाँले पुरुष र महिला दुवै गरी दुई प्रकारका मानव बनाउनुभयो; र त्यसैले उहाँका देहधारी शरीरहरूमा पुरुष र महिलाको विभाजन छ। उहाँले आदम र हव्वासँग बोल्नुभएका वचनहरूका आधारमा आफ्नो काम निर्धारण गर्नुभएन। उहाँ दुई पटक देह बन्नुभएको कुरा पूर्ण रूपमा उहाँले पहिलो पटक मानवजातिको सृष्टि गर्दाको उहाँको सोचाइअनुसार निर्धारण गरिएको छ; अर्थात्, उहाँले आफ्ना दुई देहधारणको काम भ्रष्ट तुल्याइनुभन्दा पहिलेका पुरुष र महिलाका आधारमा पूरा गर्नुभएको छ। यदि मानवजातिले सर्पद्वारा प्रलोभनमा पारिएका आदम र हव्वालाई यहोवाद्वारा बोलिएका वचनहरू लिएको र तिनलाई परमेश्वरको देहधारणको काममा लागु गरेको हो भने, के येशूले पनि उहाँकी श्रीमतीलाई जसरी प्रेम गर्नुपर्ने हो त्यसरी नै प्रेम गर्नुपर्नेथिएन र? यसरी, के परमेश्वर अझै पनि परमेश्वर नै रहनुहुनेथियो र? अनि यस्तो भएपछि, के उहाँले अझै पनि आफ्नो काम पूरा गर्न सक्नुहुनेथियो र? यदि परमेश्वरको देहधारी शरीर महिला हुनु गलत हुन्थ्यो भने, के परमेश्वरले महिलाको सृष्टि गर्नु पनि सबैभन्दा ठूलो गल्ती हुनेथिएन र? यदि मानिसहरू अझै पनि परमेश्वरले महिलाका रूपमा देहधारण गर्नु गलत हुनेछ भन्ने विश्वास गर्छन् भने, विवाह नगर्नुभएका वा आफ्नी श्रीमतीलाई प्रेम नगर्नुभएका येशूले पनि वर्तमान देहधारणले जत्तिकै गल्ती गर्नुभएको हुनुहुनेथिएन र? तँ वर्तमान दिनमा परमेश्वरको देहधारणको सत्यतालाई मापन गर्न यहोवाले हव्वालाई बोल्नुभएका वचनहरू प्रयोग गर्छस् भने, तैँले अनुग्रहको युगमा देह बन्नुभएका प्रभु येशूको न्याय गर्न यहोवाले आदमलाई बोल्नुभएका वचनहरू नै प्रयोग गर्नुपर्छ। के यी एउटै र उही होइनन् र? तँ सर्पद्वारा नबहकाइएको पुरुषका आधारमा प्रभु येशूको मापन गर्छस् भने, तैँले सर्पद्वारा बहकाइएकी महिलाका आधारमा आजको देहधारणको सत्यतालाई मूल्याङ्कन गर्न मिल्दैन। यो अन्याय हुनेछ! यसरी परमेश्वरलाई मापन गर्नुले तँसँग कुनै समझ छैन भन्ने प्रमाणित गर्छ। जब यहोवा दुई पटक देह बन्नुभयो, त्यतिखेर उहाँको देहको लिङ्ग सर्पद्वारा नबहकाइएका पुरुष र महिलासँग सम्बन्धित थियो; सर्पद्वारा नबहकाइएका पुरुष र महिलाअनुरूप नै उहाँ दुई पटक देह बन्नुभयो। येशूको पुरुषत्व सर्पद्वारा बहकाइएको आदमको जस्तै थियो भन्ने नसोच्। यी दुई पूर्ण रूपमा असम्बन्धित छन्, ती दुई फरक प्रकृतिका पुरुषहरू हुन्। पक्कै पनि येशूको पुरुषत्वले उहाँ सबै महिलाको शिर हुनुहुन्छ तर सबै पुरुषको होइन भन्ने प्रमाणित गर्न सक्दैन, होइन र? के उहाँ सबै यहूदीका (पुरुष र महिला दुवैका) राजा हुनुहुन्न र? उहाँ परमेश्वर स्वयम् हुनुहुन्छ, महिलाको शिर मात्र नभई पुरुषको शिर पनि हुनुहुन्छ। उहाँ सबै सृजित प्राणीका प्रभु र सबै सृजित प्राणीका शिर हुनुहुन्छ। तँ येशूको पुरुषत्वलाई महिलाको शिरको प्रतीक हो भनेर कसरी निर्धारण गर्न सक्छस्? के यो ईशनिन्दा हुनेछैन र? येशू भ्रष्ट नतुल्याइएको पुरुष हुनुहुन्छ। उहाँ परमेश्वर हुनुहुन्छ; उहाँ ख्रीष्ट हुनुहुन्छ; उहाँ नै प्रभु हुनुहुन्छ। उहाँ भ्रष्ट तुल्याइएको आदमजस्तो पुरुष कसरी हुन सक्नुहुन्छ? येशू भनेको परमेश्वरको परमपवित्र आत्माले धारण गर्नुभएको देह हुनुहुन्छ। उहाँ आदमको पुरुषत्व भएको परमेश्वर हुनुहुन्छ भनेर तैँले कसरी भन्न सकिस्? त्यस्तो हो भने, के परमेश्वरको सबै काम गलत हुनेथिएन र? के यहोवाले येशूभित्र सर्पद्वारा बहकाइएको आदमको पुरुषत्व समाहित गर्नुहुनेथियो र? के वर्तमान समयको देहधारण लिङ्गमा येशूभन्दा फरक तर प्रकृतिमा उहाँजस्तै हुनुहुने देहधारी परमेश्वरको कामको अर्को दृष्टान्त होइन र? के तँ अझै पनि महिला नै सर्पद्वारा बहकाइएकी पहिलो व्यक्ति भएकीले, देहधारी परमेश्वर महिला हुन सक्नुहुन्न भनेर भन्ने आँट गर्छस्? के तँ अझै पनि महिला सबैभन्दा फोहोरी र मानवजातिको भ्रष्टताको स्रोत भएकीले, परमेश्वर महिलाका रूपमा देह बन्न बिलकुलै सक्नुहुन्न भन्ने आँट गर्छस्? के तँ “महिलाले सधैँ पुरुषको पालन गर्नुपर्छ र उसले कहिल्यै परमेश्वरलाई प्रकट गर्न वा प्रत्यक्ष रूपमा प्रतिनिधित्व गर्न सक्दिन” भन्ने कुरामा अडिग रहन आँट गर्छस्? विगतमा तैँले बुझेको थिइनस्, तर के अब तैँले परमेश्वरको कामको, विशेष गरी परमेश्वरको देहधारी शरीरको ईशनिन्दा गरिरहन मिल्छ? यदि तैँले यो कुरा प्रस्ट बुझेको छैनस् भने, तैँले जिब्रो सम्हालेर बोल्नु नै उत्तम हुन्छ, नत्र तेरो मूर्खता र अज्ञानता प्रकट हुनेछ र तेरो कुरूपता खुलासा हुनेछ। आफूले सबै कुरा बुझेको छु भन्ने नसोच्। म तँलाई भन्छु कि तैँले देखेको र अनुभव गरेको सबै कुरा मेरो व्यवस्थापनको योजनाको हजारौँ भागको एक भाग बुझ्न पनि अपर्याप्त हुन्छ। त्यसोभए तँ किन यति अहङ्कारी व्यवहार गर्छस्? तँसँग भएको त्यो थोरै प्रतिभा र सानो ज्ञान येशूलाई उहाँको काममा एक सेकेन्ड समेत प्रयोग गर्न पुग्दैन! तँसँग वास्तवमा कति अनुभव छ? तैँले आफ्नो जीवनकालमा देखेका, तैँले सुनेका कुरा, र तैँले कल्पना गरेका कुरा मैले एकै क्षणमा गर्ने कामभन्दा कम छन्! तैँले सानातिना कुरा नकोट्याउनु र गल्ती पत्ता लगाउन नखोज्नु नै बेस हुन्छ। तँ जतिसुकै अहङ्कारी भए पनि, तँ कमिलाको बराबरी समेत नभएको एउटा सृजित प्राणीभन्दा बढी केही होइनस्! तँभित्र जेजति कुरा छ त्यो एउटा कमिलाभित्र हुने कुराभन्दा कम छ! तैँले धेरै कुरा अनुभव गरेको हुँदैमा र तँसँग वरिष्ठता हुँदैमा, यसले तँलाई अहङ्कारी इशारा गर्ने र धृष्ट टिप्पणीहरू गर्ने अधिकार दिन्छ भन्ने नसोच्। के तँसँग यो अनुभव र वरिष्ठता मैले बोलेका वचनहरूले गर्दा भएको होइन र? के तँ ती तेरो आफ्नै श्रम र परिश्रमका कमाइ हुन् भन्ने ठान्छस्? आज, तैँले म देह बनेको देख्छस्, र यसै कारणले मात्रै तँभित्र अवधारणाहरूको बाढी नै आएको छ, र त्यसबाट अनगिन्ती धारणाहरू उब्जिन्छन्। यदि मेरो देहधारण नभएको भए, तँसँग असाधारण प्रतिभाहरू भए पनि, तँसँग यति धेरै अवधारणा हुनेथिएनन्; अनि के तेरा धारणाहरू यिनैबाट उत्पन्न हुँदैनन् र? यदि येशू पहिलो पटक देह नबन्नुभएको भए, के तँलाई देहधारणको बारेमा थाहा नै हुनेथियो र? के तैँले पहिलो देहधारणबाट परमेश्वर देह बन्नुभएको कुरा थाहा पाएको कारणले गर्दा नै तँमा दोस्रो देहधारणलाई गलत ठहराउने प्रयास गर्ने धृष्टता आएको होइन र? तँ किन एउटा समर्पित अनुयायी बन्नुको सट्टा यसको छानबिन गरिरहेको छस्? जब तँ यस प्रवाहमा प्रवेश गरेको हुन्छस् र देहधारी परमेश्वरसमक्ष आएको हुन्छस्, तब के उहाँले तँलाई उहाँको छानबिन गर्न दिनुहुनेछ र? तैँले आफ्नै पारिवारिक इतिहासको छानबिन गर्न पाउँछस्, तर यदि तैँले परमेश्वरको “पारिवारिक इतिहास” को छानबिन गर्ने प्रयास गरिस् भने, के आजका परमेश्वरले तँलाई त्यसो गर्न दिनुहुनेछ र? के तँ अन्धो छैनस्? के तँ आफैलाई तिरस्कृत तुल्याउँदैनस् र?
यदि येशूको काम मात्रै गरिएको भए, र त्यसको परिपूरकका रूपमा आखिरी दिनहरूको यस चरणको कामद्वारा त्यसलाई परिपूरण नगरिएको भए, मानिस सधैँभरि येशू मात्र परमेश्वरका एक मात्र पुत्र हुनुहुन्छ, अर्थात्, परमेश्वरको एउटा मात्र पुत्र छ, र त्यसपछि अर्को नाम लिएर आउने जोकोही परमेश्वरका एक मात्र पुत्र हुनेछैन, परमेश्वर स्वयम् त झनै हुनेछैन भन्ने धारणामा टाँसिइरहनेथियो। मानिसमा पापबलि बन्ने वा परमेश्वरको तर्फबाट शक्ति ग्रहण गर्ने र सम्पूर्ण मानवजातिलाई छुटकारा दिने जोकोही परमेश्वरका एक मात्र पुत्र हुन् भन्ने धारणा रहेको छ। कतिपय मानिस यस्ता छन् जो आउने व्यक्ति पुरुष भएसम्म, उहाँलाई परमेश्वरका एक मात्र पुत्र र परमेश्वरको प्रतिनिधिको रूपमा मान्न सकिन्छ भन्ने विश्वास गर्छन्। यस्ता मानिस समेत छन् जो येशू यहोवाका पुत्र, उहाँका एक मात्र पुत्र हुनुहुन्छ भनेर भन्छन्। के यी मानिसका अत्यन्तै त्रुटिपूर्ण धारणाहरू होइनन् र? यदि परमेश्वर अन्तिम युगमा कामको यो चरण पूरा गर्न नआउनुभएको भए, परमेश्वरको विषयमा सम्पूर्ण मानवजाति एउटा कालो छायाले ढाकिएको हुनेथियो। यदि यस्तो भएको भए, पुरुषले आफूलाई महिलाभन्दा उच्च ठान्नेथियो, र महिलाहरूले कहिल्यै आफ्नो शिर ठाडो पार्न सक्नेथिएनन्, र त्यसपछि एउटी महिलाले पनि मुक्ति पाउन सक्नेथिइन। मानिसहरू सधैँ परमेश्वर पुरुष हुनुहुन्छ, र अझ भन्नुपर्दा उहाँले महिलालाई सधैँ घृणा गर्नुभएको छ र तिनलाई मुक्ति दिनुहुनेछैन भन्ने विश्वास गर्छन्। यदि यस्तो भएको भए, के यहोवाद्वारा सृष्टि गरिएका र भ्रष्ट पनि तुल्याइएका सबै महिलाले कहिल्यै मुक्ति पाउने अवसर पाउनेछैनन् भन्ने कुरा साँचो हुनेथिएन र? त्यसोभए के यहोवाले महिलाको सृष्टि गर्नु, अर्थात् हव्वाको सृष्टि गर्नु व्यर्थ हुनेथिएन र? अनि के महिला अनन्तसम्म नाश हुनेथिइन र? यसकारणले गर्दा, आखिरी दिनहरूको कामको चरण महिलालाई मात्र होइन, सम्पूर्ण मानवजातिलाई मुक्ति दिनका लागि गरिन्छ। यदि कसैले परमेश्वर महिलाका रूपमा देहधारी हुनु महिलालाई मुक्ति दिनका लागि मात्रै थियो भन्ने सोच्छ भने, त्यो व्यक्ति अझ बढी मूर्ख हुनेछ!
आजको कामले अनुग्रहको युगको कामलाई अघि बढाएको छ; अर्थात्, सम्पूर्ण छ हजार वर्षे व्यवस्थापनको योजनाअन्तर्गतको काम अघि बढेको छ। अनुग्रहको युग समाप्त भएको भए पनि, परमेश्वरको काम अझै अघि बढेको र गहिराइमा पुगेको छ। कामको यो चरण अनुग्रहको युग र व्यवस्थाको युगको जगमा टेकेर गरिन्छ भनेर म किन बारम्बार भन्छु? अर्को शब्दमा भन्दा, आजको काम अनुग्रहको युगमा गरिएको कामको निरन्तरता हो, र यो व्यवस्थाको युगमा गरिएको कामभन्दा एक कदम अगाडि रहेको छ। यी तीन वटै चरण एक-अर्कासँग कसिलो रूपमा जोडिएका छन्, र उक्त सञ्जालको हरेक कडी अर्कोसँग कसिलो रूपमा गाँसिएको छ। म किन कामको यो चरण येशूले गर्नुभएको कामको जगमा टेकेर गरिन्छ भनेर पनि भन्छु? यदि यो चरण येशूले गर्नुभएको कामको जगमा टेकेर नगरिएको भए, यस चरणमा अर्को क्रूसीकरण हुनुपर्नेथियो, र अघिल्लो चरणको छुटकाराको काम फेरि सुरुदेखि नै गरिनुपर्नेथियो। यो अर्थहीन हुनेथियो। त्यसैले काम पूर्ण रूपमा समाप्त भएको होइन, बरु युग चाहिँ अघि बढेको हो र काम पहिलेभन्दा उच्च स्तरमा पुगेको हो। कामको यो चरण व्यवस्थाको युगको जगमा र येशूको कामको चट्टानमाथि टेकेर गरिन्छ भनेर भन्न सकिन्छ। परमेश्वरको काम चरणबद्ध रूपमा निर्माण गरिन्छ, र यो चरण कुनै नयाँ सुरुवात होइन। कामका तीन वटै चरणको संयोजनलाई मात्र छ हजार वर्षे व्यवस्थापनको योजना मान्न सकिन्छ। यस चरणको काम अनुग्रहको युगको कामको जगमा टेकेर गरिन्छ। यदि कामका यी दुइटा चरण असम्बन्धित थिए भने, यस चरणमा क्रूसीकरण किन दोहोर्याइँदैन? म किन मानिसका पापहरू वहन गर्दिनँ, बरु यसको सट्टा सिधै मानिसलाई न्याय गर्न र सजाय दिन आउँछु? यदि मानिसलाई न्याय गर्ने र सजाय दिने मेरो काम क्रूसीकरणपछि नआएको भए—साथै मेरो अहिलेको आगमन पवित्र आत्माद्वारा गर्भधारण नगरिएको हुनाले—म मानिसलाई न्याय गर्न र सजाय दिन योग्य हुनेथिइनँ। म येशूसँग एक भएको कारणले गर्दा नै म सिधै मानिसलाई सजाय दिन र न्याय गर्न आउँछु। यस चरणको काम पूर्ण रूपमा अघिल्लो चरणको कामको जगमा टेकेर गरिएको हो। त्यसैकारण यस्तो प्रकारको कामले मात्र मानिसलाई चरणबद्ध रूपमा मुक्तिसम्म पुर्याउन सक्छ। येशू र म एउटै आत्माबाट आउँछौँ। हाम्रा देहहरू असम्बन्धित भए पनि, हाम्रा आत्माहरू एउटै हुन्; हामीले गर्ने कामको विषयवस्तु र हामीले लिने काम एउटै नभए पनि, हाम्रो सार एउटै हो; हाम्रा देहहरूले फरक-फरक रूप धारण गर्छन्, तर यो युगमा आएको परिवर्तन र हाम्रो कामका फरक-फरक मागहरूले गर्दा हो; हाम्रा सेवकाइहरू उस्तै छैनन्, त्यसैले हामीले अगाडि ल्याउने काम र हामीले मानिसलाई प्रकट गर्ने स्वभावहरू पनि फरक छन्। त्यसैकारण मानिसले आज जे देख्छ र बुझ्छ त्यो विगतको जस्तो छैन, जुन युगमा आएको परिवर्तनले गर्दा हो। उहाँहरूको देहका लिङ्ग र रूप फरक भए पनि, र उहाँहरू एउटै परिवारमा नजन्मनुभएका, एउटै कालखण्डमा त झनै नजन्मनुभएका भए पनि, उहाँहरूको आत्मा एउटै हो। उहाँहरूका देहहरूबीच रगतको वा कुनै पनि प्रकारको शारीरिक नाता नभए पनि, उहाँहरू दुई फरक कालखण्डका परमेश्वरका देहधारी शरीर हुनुहुन्छ भन्ने कुरालाई नकार्न सकिँदैन। उहाँहरू परमेश्वरका देहधारी शरीर हुनुहुन्छ भन्ने कुरा खण्डन गर्न नसकिने सत्यता हो। यद्यपि, उहाँहरू एउटै रगतका हुनुहुन्न र उहाँहरूको साझा मानव भाषा छैन। (एक जना यहूदीहरूको भाषा बोल्ने पुरुष हुनुहुन्थ्यो, र अर्की चिनियाँ भाषा मात्रै बोल्ने महिला हुनुहुन्छ।) यिनै कारणले गर्दा उहाँहरू प्रत्येकले गर्नुपर्ने काम गर्नका लागि उहाँहरू फरक-फरक देशमा, र फरक-फरक कालखण्डमा पनि जिउनुभएको छ। उहाँहरू एउटै आत्माका हुनुहुन्छ—अर्थात्, एउटै सारका हुनुहुन्छ—भन्ने तथ्यको बाबजुद, उहाँहरूको देहका बाहिरी आवरणहरूमा पूर्ण समानता केही पनि छैन। उहाँहरूको साझा कुरा भनेको एउटै मानवता मात्रै हो, तर उहाँहरूको देहको बाहिरी रूप र उहाँहरूको जन्मको परिस्थितिको कुरा गर्नुपर्दा, उहाँहरू उस्तै हुनुहुन्न। यी कुराहरूले उहाँहरूको सम्बन्धित काममा वा उहाँहरूबारे मानिसको ज्ञानमा कुनै प्रभाव पार्दैनन्, किनभने, अन्तिम विश्लेषणमा, उहाँहरू एउटै आत्माका हुनुहुन्छ र कसैले पनि उहाँहरूलाई अलग गर्न सक्दैन। उहाँहरूबीच रगतको सम्बन्ध नभए पनि, उहाँहरूको सम्पूर्ण सत्त्व उहाँहरूको आत्माको नियन्त्रणमा हुन्छ, जसले उहाँहरूलाई फरक-फरक कालखण्डमा फरक-फरक काम गर्न सक्षम बनाउँछ, र उहाँहरूका देहहरू फरक-फरक रगतका हुन्। उदाहरणका लागि, यहोवाको आत्मा येशूका आत्माका पिता हुनुहुन्न, र येशूका आत्मा यहोवाका आत्माका पुत्र हुनुहुन्न: उहाँहरू एउटै र उही आत्माका हुनुहुन्छ। त्यसै गरी, आजका देहधारी परमेश्वर र येशूबीच रगतको सम्बन्ध छैन, तर उहाँहरू एक हुनुहुन्छ—किनभने उहाँहरूको आत्मा एक हुनुहुन्छ। परमेश्वर कृपा र प्रेमपूर्ण दयाको काम, साथै मानिसको धर्मी न्याय र सजायको काम, र मानिसमाथि श्राप ल्याउने काम गर्न सक्नुहुन्छ; र अन्त्यमा, उहाँ संसारलाई नष्ट गर्ने र दुष्टहरूलाई दण्ड दिने काम गर्न सक्नुहुन्छ। के उहाँ यी सबै आफैले गर्नुहुन्न र? के यो परमेश्वरको सर्वशक्तिमान्ता होइन र? उहाँ मानिसका लागि व्यवस्थाहरू जारी गर्ने र उसलाई आज्ञाहरू दिने दुवै कार्य गर्न सक्षम हुनुहुन्थ्यो, र उहाँ सुरुका इस्राएलीहरूलाई पृथ्वीमा जीवन जिउनमा अगुवाइ गर्न, र तिनीहरूलाई मन्दिर र वेदीहरू निर्माण गर्नमा मार्गदर्शन गर्न, अनि सबै इस्राएलीलाई आफ्नो प्रभुत्वमा राख्न पनि सक्षम हुनुहुन्थ्यो। उहाँको अख्तियारको कारणले गर्दा, उहाँ इस्राएलका मानिसहरूसँग पृथ्वीमा जिउनुभएको दुई हजार वर्षको दौरान, इस्राएलीहरूले उहाँका विरुद्धमा विद्रोह गर्ने आँट गरेनन्, र तिनीहरू सबैले यहोवाको डर माने र उहाँका आज्ञाहरू पालन गरे। उहाँको अख्तियार र उहाँको सर्वशक्तिमान्ताका कारण गरिएको काम यस्तो थियो। त्यसपछि, अनुग्रहको युगको दौरान, येशू सम्पूर्ण पतित मानवजातिलाई (इस्राएलीहरूलाई मात्र होइन) छुटकारा दिन आउनुभयो। उहाँले मानिसलाई कृपा र प्रेमपूर्ण दया देखाउनुभयो। अनुग्रहको युगमा मानिसले देखेका येशू प्रेमपूर्ण दयाले भरिपूर्ण हुनुहुन्थ्यो र मानिसप्रति सधैँ प्रेमिलो हुनुहुन्थ्यो, किनभने उहाँ मानवजातिलाई पापबाट मुक्ति दिन आउनुभएको थियो। उहाँको क्रूसीकरणले मानवजातिलाई पापबाट पूर्ण रूपमा छुटकारा नदिएसम्म उहाँ मानिसहरूका पापहरू क्षमा गर्न सक्षम हुनुहुन्थ्यो। यस अवधिमा, परमेश्वर कृपा र प्रेमपूर्ण दयाका साथ मानिसको अगाडि देखा पर्नुभयो; अर्थात्, उहाँ मानिसका लागि पापबलि बन्नुभयो र मानिसका पापहरूका लागि क्रूसमा टाँगिनुभयो, ताकि तिनीहरूलाई सधैँका लागि क्षमा गर्न सकियोस्। उहाँ कृपालु, करुणामय, धैर्यवान्, र प्रेमिलो हुनुहुन्थ्यो। अनि अनुग्रहको युगमा येशूलाई पछ्याउने सबै जना त्यसै गरी सबै कुरामा धैर्यवान् र प्रेमिलो हुन खोज्थे। तिनीहरू धैर्यका साथ दुःख सहन्थे, र कुटिँदा, सरापिँदा, वा ढुङ्गाले हानिँदा पनि कहिल्यै प्रतिकार गर्दैनथे। तर अन्तिम चरणमा अब त्यो कुरा त्यस्तै रहन सक्दैन। उदाहरणका लागि, येशू र यहोवा एउटै आत्माका भए पनि उहाँहरूको काम पूर्ण रूपमा उस्तै थिएन। यहोवाको कामले युगको अन्त्य गरेन, बरु युगलाई मार्गदर्शन गर्यो, पृथ्वीमा मानवजातिको जीवनको सुरुवात गर्यो, र आजको काम भनेको अन्यजाति राष्ट्रहरूमा गहिरो रूपमा भ्रष्ट तुल्याइएकाहरूलाई विजय गर्नु, र चीनका परमेश्वरका चुनिएका मानिसहरूलाई मात्र नभई सम्पूर्ण ब्रह्माण्ड र सम्पूर्ण मानवजातिलाई अगुवाइ गर्नु हो। तँलाई यो काम चीनमा मात्रै भइरहेको जस्तो लाग्ला, तर वास्तवमा यो विदेशमा फैलिन थालिसकेको छ। चीनभन्दा बाहिरका मानिसहरू किन बारम्बार साँचो मार्ग खोज्छन्? किनभने आत्माले काम गर्न थालिसक्नुभएको छ, र आज बोलिने वचनहरू सम्पूर्ण ब्रह्माण्डका मानिसहरूप्रति लक्षित छन्। योसँगै, आधा काम सुरु भइसकेको छ। संसारको सृष्टिकालदेखि वर्तमानसम्म, परमेश्वरको आत्माले यो महान् कामलाई गति दिनुभएको छ, र यसबाहेक फरक-फरक युगमा र फरक-फरक देशमा फरक-फरक काम गर्नुभएको छ। हरेक युगका मानिसहरू उहाँको फरक स्वभाव देख्छन्, जुन उहाँले गर्नुहुने फरक काममार्फत स्वाभाविक रूपमा प्रकट हुन्छ। उहाँ कृपा र प्रेमपूर्ण दयाले भरिपूर्ण परमेश्वर हुनुहुन्छ; उहाँ मानिसका लागि पापबलि र मानिसका गोठाला हुनुहुन्छ; तर उहाँ मानिसका न्याय, सजाय, र श्राप पनि हुनुहुन्छ। उहाँले मानिसलाई दुई हजार वर्षसम्म पृथ्वीमा जिउन अगुवाइ गर्न सक्नुभयो, र उहाँले भ्रष्ट मानवजातिलाई पापबाट छुटकारा दिन पनि सक्नुभयो। आज, उहाँलाई नचिन्ने मानवजातिलाई विजय गर्न, र तिनीहरूलाई उहाँको प्रभुत्वमा लम्पसार पार्न, र तिनीहरूलाई उहाँप्रति पूर्ण रूपमा समर्पित गराउन पनि उहाँ सक्षम हुनुहुन्छ। अन्त्यमा, उहाँले ब्रह्माण्डका मानिसहरूभित्र भएका अशुद्ध र अधर्मी कुराहरू सबैलाई भस्म पार्नुहुनेछ, ताकि तिनीहरूलाई उहाँ कृपालु र प्रेमिलो परमेश्वर मात्र होइन, बुद्धि र आश्चर्यकर्महरूका परमेश्वर मात्र होइन, पवित्र परमेश्वर मात्र होइन, यसबाहेक, मानिसको न्याय समेत गर्ने परमेश्वर हुनुहुन्छ भन्ने कुरा देखाउन सकियोस्। मानवजातिमध्येका दुष्टहरूका लागि, उहाँ जलन, न्याय, र दण्ड हुनुहुन्छ; सिद्ध पारिनुपर्नेहरूका लागि, उहाँ सङ्कष्ट, शोधन, र परीक्षाहरू, साथै सान्त्वना, भरणपोषण, वचनहरूको प्रबन्ध, र काटछाँट हुनुहुन्छ। अनि हटाइएकाहरूका लागि, उहाँ दण्ड र कर्मफल हुनुहुन्छ। ल भन्, के परमेश्वर सर्वशक्तिमान् हुनुहुन्न र? तैँले कल्पना गरेजस्तो क्रूसीकरण मात्र होइन, उहाँ कुनै पनि र सबै काम गर्न सक्षम हुनुहुन्छ। तँ परमेश्वरलाई ज्यादै कम आँक्छस्! के तँ उहाँले गर्न सक्ने भनेको उहाँको क्रूसीकरणमार्फत सम्पूर्ण मानवजातिलाई छुटकारा दिनु मात्र हो, र त्यतिमै सीमित छ भन्ने विश्वास गर्छस्? अनि त्यसपछि, के तँ जीवनको रूखको फल खान र जीवनको नदीको पानी पिउन उहाँलाई पछ्याउँदै स्वर्ग जानेछस्? … के त्यो त्यति सरल हुन सक्छ र? ल भन्, तैँले के गरेको छस्? के तँसँग येशूको जीवन छ? तँलाई वास्तवमै उहाँद्वारा छुटकारा दिइएको थियो, तर क्रूसीकरण येशू स्वयम्को काम थियो। एउटा मानवका रूपमा तैँले कुन कर्तव्य पूरा गरेको छस्? तँसँग बाहिरी भक्ति मात्रै छ, तर तँ उहाँको मार्ग बुझ्दैनस्। के तँ उहाँलाई यसरी नै प्रकट गर्छस्? यदि तैँले परमेश्वरको जीवन प्राप्त गरेको छैनस् वा उहाँको धर्मी स्वभावको सम्पूर्णता देखेको छैनस् भने, तैँले आफू जीवन भएको व्यक्ति भएको दाबी गर्न मिल्दैन, र तँ स्वर्गको राज्यको ढोकाबाट पार गर्न योग्य छैनस्।
परमेश्वर एउटा आत्मा त हुनुहुन्छ नै, उहाँ देह पनि बन्न सक्नुहुन्छ। यसबाहेक, उहाँ महिमाको शरीर हुनुहुन्छ। येशूलाई तिमीहरूले नदेखेको भए पनि, उहाँलाई इस्राएलीहरू—त्यस समयका यहूदीहरू—द्वारा देखियो। उहाँ सुरुमा देहको शरीर हुनुहुन्थ्यो, तर उहाँ क्रूसमा टाँगिनुभएपछि, उहाँ महिमाको शरीर बन्नुभयो। उहाँ सर्वसमावेशी आत्मा हुनुहुन्छ र हरेक ठाउँमा काम गर्न सक्नुहुन्छ। उहाँ यहोवा, येशू, वा मसीह जे पनि बन्न सक्नुहुन्छ; अन्त्यमा, उहाँ सर्वशक्तिमान् परमेश्वर पनि बन्न सक्नुहुन्छ। उहाँ धार्मिकता, न्याय, र सजाय हुनुहुन्छ; उहाँ श्राप र क्रोध हुनुहुन्छ; तर उहाँ कृपा र प्रेमपूर्ण दया पनि हुनुहुन्छ। उहाँले गर्नुभएका सबै कामले उहाँको प्रतिनिधित्व गर्न सक्छन्। तँ उहाँ कस्तो प्रकारको परमेश्वर हुनुहुन्छ भनेर भन्छस्? तँ व्याख्या गर्न सक्दैनस्। यदि तँ साँच्चै व्याख्या गर्न सक्दैनस् भने, तैँले परमेश्वरका बारेमा फैसला गर्नु हुँदैन। परमेश्वरले एक चरणमा छुटकाराको काम गर्नुभएकै कारणले उहाँ सधैँभरि कृपा र प्रेमपूर्ण दयाको परमेश्वर हुनुहुन्छ भन्ने फैसला नगर्। के तँ उहाँ कृपालु र प्रेमिलो परमेश्वर मात्र हुनुहुन्छ भन्ने कुरामा निश्चित हुन सक्छस्? यदि उहाँ केवल कृपालु र प्रेमिलो परमेश्वर हुनुहुन्छ भने, उहाँले आखिरी दिनहरूमा युगलाई किन अन्त्य गर्नुहुनेछ? उहाँले किन यति धेरै प्रकोप पठाउनुहुनेछ? मानिसहरूका धारणा र विचारहरूअनुसार, परमेश्वर अन्त्यसम्मै कृपालु र प्रेमिलो हुनुपर्छ, ताकि मानवजातिको अन्तिम सदस्यले पनि मुक्ति पाउन सकोस्। तर आखिरी दिनहरूमा, परमेश्वरलाई शत्रु ठान्ने यस दुष्ट मानवजातिलाई नष्ट गर्न उहाँले किन भूकम्प, महामारी, र अनिकालजस्ता ठूला प्रकोपहरू पठाउनुहुनेछ? उहाँले मानिसलाई किन यी प्रकोपहरू भोग्न दिनुहुनेछ? उहाँ कस्तो प्रकारको परमेश्वर हुनुहुन्छ भन्ने सन्दर्भमा, तिमीहरूमध्ये कसैले पनि भन्ने आँट गर्दैन, र कसैले पनि व्याख्या गर्न सक्दैन। के तँसँग उहाँ आत्मा हुनुहुन्छ भनेर भन्ने आँट छ? के तँसँग उहाँ येशूको देहबाहेक अरू कोही हुनुहुन्न भनेर भन्ने आँट छ? अनि के तँसँग उहाँ मानिसको खातिर सधैँ क्रूसमा टाँगिने परमेश्वर हुनुहुन्छ भनेर भन्ने आँट छ?