परिशिष्ट: अध्याय १
म तिमीहरूलाई जे गर भन्छु त्यो मैले बताउने गरेको अस्पष्ट र रित्तो सिद्धान्त होइन, न त यो मानिसको मस्तिष्कले कल्पना गर्नै नसक्ने वा मानिसको देहले हासिल गर्नै नसक्ने कुरा नै हो। मेरो घरभित्र को पूर्ण रूपमा बफादार रहन सक्छ? अनि मेरो राज्यभित्र कसले आफ्नो सम्पूर्णता अर्पण गर्न सक्छ? मेरो इच्छा प्रकट नभएको भए, के तिमीहरूले आफैलाई मेरो हृदय सन्तुष्ट तुल्याउने मापदण्ड दिनेथियौ? कसैले पनि मेरो हृदयलाई कहिल्यै बुझेको छैन, अनि कसैले पनि मेरो इच्छालाई कहिल्यै बुझेको छैन। कसले मेरो अनुहार कहिल्यै देखेको वा मेरो आवाज कहिल्यै सुनेको छ? के पत्रुसले मेरो अनुहार देखे वा मेरो आवाज सुने? वा पावलले मेरो अनुहार देखे वा मेरो आवाज सुने? वा यूहन्नाले मेरो अनुहार देखे वा मेरो आवाज सुने? वा याकूबले मेरो अनुहार देखे वा मेरो आवाज सुने? कसलाई मैले कहिल्यै भेष प्रदान गरेको छु, वा मैले प्राप्त गरेको छु, वा मैले प्रयोग गरेको छु? पहिलो पटक म देह बनेको घटना ईश्वरीयतामा भएको भए पनि, मैले धारण गरेको देहले मानिसका कष्टहरूलाई जानेको थिएन, किनभने म एउटा रूप लिएर देहधारी भएको थिइनँ, त्यसकारण देहले पूर्ण रूपमा मेरो इच्छा पूरा गर्यो भनेर भन्न सकिँदैन। जब मेरो ईश्वरीयताले कुनै बाधा वा अवरोधविना सामान्य मानवताको व्यक्तित्वमा मैले गरेजस्तो गर्न र मैले बोलेजस्तो बोल्न सक्छ, तब मात्रै देहमा मेरो इच्छा पूरा भएको छ भनेर भन्न सकिन्छ। मेरो सामान्य मानवताले मेरो ईश्वरीयतालाई ढाक्न सक्ने भएको हुनाले, यसरी नम्र र गुप्त रहने मेरो इच्छा हासिल हुन्छ। देहमा गरिने कामको चरणको अवधिमा, ईश्वरीयताले प्रत्यक्ष रूपमा नै काम गर्ने भए पनि, त्यस्ता कार्यहरूलाई मानिसहरूले सहजै देख्न सक्दैनन्, जुन सामान्य मानवताको जीवन र कार्यहरूको कारणले गर्दा मात्रै हो। यो देहधारणले पहिलो देहधारणले जस्तो ४० दिन उपवास बस्न सक्दैन, तर सामान्य रूपमा काम गर्न र बोल्न सक्छ; उहाँले रहस्यहरू प्रकट गर्नुभए पनि, उहाँ अत्यन्तै सामान्य हुनुहुन्छ; यो मानिसले कल्पना गरेजस्तो छैन—उहाँको आवाज मेघगर्जनको जस्तो छैन, उहाँको अनुहार ज्योतिले चम्किँदैन, र उहाँ हिँड्नुहुँदा स्वर्ग थर्किँदैन। यदि त्यस्तो भएको भए, त्यसमा मेरो कुनै बुद्धि हुनेथिएन, र शैतानलाई लज्जित पार्न र हराउन असम्भव हुनेथियो।
जब म सामान्य मानवताको आवरण भित्रबाट मेरो ईश्वरीयता प्रकट गर्छु, मैले पूर्ण महिमा प्राप्त गर्छु, मेरो महान् काम पूरा हुन्छ, र कुनै पनि कुराले कुनै कठिनाइ ल्याउँदैन। यसको कारण के हो भने मेरो देहधारणको मुख्य उद्देश्य मलाई विश्वास गर्ने सबैलाई देहमा रहेको मेरो ईश्वरीयताका कामहरू देखाउनु, र व्यावहारिक परमेश्वर स्वयम्लाई देखाउनु हो, यसरी अदृश्य र अस्पृश्य परमेश्वरले मानिसहरूको हृदयमा लिएको स्थानलाई हटाउनु हो। मसँग पूर्ण ईश्वरीयताको सार भए पनि, मैले सामान्य व्यक्तिले जस्तै खाने, वस्त्र लगाउने, सुत्ने, बास गर्ने, र काम गर्ने भएकोले, म सामान्य व्यक्तिजस्तै बोल्ने र हाँस्ने हुनाले र मसँग सामान्य व्यक्तिको जस्तै खाँचोहरू भएको हुनाले, मलाई “व्यावहारिक परमेश्वर” भनेर भनिन्छ। यो अमूर्त छैन, र यो बुझ्न सजिलो छ; यसमा मेरो कामको केन्द्रबिन्दु कुन भागमा छ, र मेरो ध्यान कामको कुन चरणमा केन्द्रित छ भन्ने कुरालाई देख्न सकिन्छ। मेरो देहधारणको मुख्य उद्देश्य भनेको सामान्य मानवताद्वारा मेरो ईश्वरीयतालाई प्रकट गर्नु हो। मेरो कामको केन्द्रबिन्दु न्यायको युगको दोस्रो भागमा छ भन्ने कुरालाई देख्न कठिन छैन।
ममा, कहिल्यै मानव जीवन रहेको छैन, न त मानव जीवनको कुनै अवशेष नै रहेको छ। मानव जीवनले ममा कहिल्यै कुनै स्थान लिएको छैन, र मेरो ईश्वरीयताको प्रकाशलाई कहिल्यै दबाएको छैन। तसर्थ, स्वर्गको मेरो आवाज र मेरो आत्माको इच्छा जति धेरै व्यक्त हुन्छन्, शैतान त्यति नै लज्जित हुन सक्छ, र यसरी सामान्य मानवतामा मेरो इच्छालाई पूरा गर्ने काम त्यति नै सहज हुन्छ। यसले मात्रै पनि शैतानलाई हराएको छ; शैतानलाई पहिले नै पूर्ण रूपमा लज्जित पारिएको छ। म लुप्त भए पनि, यसले मेरो ईश्वरीयताका वाणी र कार्यहरूमा वाधा दिँदैन—म विजयी बनेको छु र मैले पूर्ण महिमा प्राप्त गरेको छु भन्ने कुरालाई देखाउन यो नै पर्याप्त छ। देहको मेरो काम बाधारहित भएकोले, र अहिले व्यावहारिक परमेश्वरले मानिसहरूको हृदयमा स्थान प्राप्त गर्नुभएको र तिनीहरूको हृदयमा जरा गाड्नुभएको हुनाले, मैले शैतानलाई हराएको छु भन्ने कुरा पूर्ण रूपमा प्रमाणित भएको छ। अनि मानिसको बीचमा शैतानले थप कुनै पनि काम गर्न नसक्ने भएकोले, र मानिसको देहमा शैतानको गुण हाल्न कठिन भएको हुनाले, मेरो इच्छा कुनै बाधाविना नै अघि बढ्नेछ। मेरो कामको विषयवस्तु मुख्य रूपमा सबै मानिसहरूलाई मेरा आश्चर्यजनक कार्यहरू र मेरो साँचो अनुहार देखाउनको लागि हो: म पहुँचभन्दा बाहिर छैनँ, म आकाश छुने गरी उभिँदिनँ, र म स्वरूपविहीन र आकारविहीन छैनँ। म हावाजस्तो अदृश्य छैनँ, न त म सहजै उडेर जाने र तैरिरहने बादलजस्तो नै छु; बरु, म मानिसको बीचमा जिउने र मैले मानिसको बीचमा मिठास, अमिलो, तीतो, र पिरो अनुभव गर्ने भए पनि, मेरो देह सारगत रूपमा मानिसको भन्दा फरक छ। धेरैजसो मानिसहरूलाई मसँग उठबस गर्न कठिन हुन्छ, तैपनि धेरैजसोले मसँग उठबस गर्ने चाहना गर्छन्। यो त यस्तो भयो कि मानौं देहधारी परमेश्वरभित्र, विशाल, अथाह रहस्यहरू छन्। ईश्वरीयताको प्रत्यक्ष प्रकाशको कारण, र मानव स्वरूपको आवरणको कारण, मानिसहरूले मलाई कृपालु र प्रेमिलो परमेश्वर ठान्दै मबाट आदरणीय दूरी कायम राख्छन्, तर मेरो प्रताप र क्रोधप्रति भयभीत पनि हुन्छन्। तसर्थ, तिनीहरूले आफ्नो हृदयमा मसँग उत्सुकताको साथ बोल्न चाहन्छन्, तैपनि तिनीहरूले आफूले चाहेजस्तो गर्न सक्दैनन्—तिनीहरूको हृदयले जे इच्छा गर्छ, तिनीहरूको सामर्थ्यमा त्यसैको कमी हुन्छ। यी परिस्थितिहरूमा हुने हरेकका स्थितिहरू यस्तै हुन्छन्—मानिसहरू जति यस्तो हुन्छन्, मेरो स्वभावका विभिन्न पक्षको प्रकाशको प्रमाण त्यति नै ठूलो हुन्छ, यसरी परमेश्वरलाई चिन्ने मानिसहरूको उद्देश्य हासिल हुन्छ। तर यो गौण कुरा हो; मुख्य कुरा भनेको मानिसहरूलाई मेरो देहले गरेका आश्चर्यजनक कार्यहरू जान्न लगाउनु, तिनीहरूलाई परमेश्वरको सार चिनाउनु हो; म मानिसहरूले कल्पना गरेजस्तो असामान्य र अलौकिक छैन। बरु, म सबै कुरामा सामान्य रहेको व्यावहारिक परमेश्वर हुँ। मानिसहरूका धारणाहरूभित्र मेरो स्थान हराउँछ, र तिनीहरूले मलाई यथार्थमा चिन्न पुग्छन्। त्यसपछि मात्रै मैले मानिसहरूको मनमा मेरो साँचो स्थान लिन्छु।
सबै मानिसहरूका अघि, मानिसहरूले कदर गर्ने कुनै अलौकिक काम मैले कहिल्यै नगरेको मात्रै होइन, म त अत्यन्तै सामान्य र साधारण पनि छु; मैले जानी-जानी मानिसहरूलाई मेरो देहधारी शरीरमा परमेश्वरको सङ्केत दिने कुनै पनि कुरा देखाउँदिनँ। तर मेरा वचनहरूको कारण, मानिसहरू पूर्ण रूपमा विजय गरिएका छन्, र तिनीहरू मेरो गवाहीमा समर्पित हुन्छन्। त्यसरी मात्रै मानिसहरूले कुनै गलत बुझाइविना र परमेश्वर वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ भन्ने पूर्ण विश्वासको आधारमा देहमा रहेको मलाई चिन्छन्। यसरी, मेरो बारेमा रहेको मानिसहरूको ज्ञान अझै वास्तविक, अझै स्पष्ट, र तिनीहरूको असल बानीबेहोराबाट पूर्ण रूपमा निष्खोट बन्छ; यो सबै मेरो ईश्वरीयताको बारेमा मानिसहरूलाई अझै ठूलो ज्ञान दिँदै मेरो ईश्वरीयताले प्रत्यक्ष रूपमा काम गरेको परिणामबाट आउँछ, किनभने ईश्वरीयता मात्रै परमेश्वरको साँचो अनुहार र परमेश्वरको अन्तर्निहित गुण हो। मानिसहरूले यो कुरालाई देख्नुपर्छ। मैले चाहने भनेका ईश्वरीयतामा रहेका वचन, कर्म, र कार्यहरू हुन्—म मानवतामा रहेका वचन र कार्यहरूका बारेमा वास्ता गर्दिनँ। मेरो उद्देश्य भनेको ईश्वरीयतामा जिउनु र काम गर्नु हो—म मानवतामा जरा गाड्न र उम्रन चाहन्नँ, र म मानवतामा वास गर्न चाहन्नँ। के मैले भनिरहेको कुरा तिमीहरूले बुझ्दैछौ? म मानव रूपमा आएको पाहुना भए पनि, म यो चाहँदिनँ; म पूर्ण रूपमा ईश्वरीयतामा व्यवहार गर्छु, र यसरी मात्रै मानिसहरूले मेरो साँचो अनुहारलाई राम्ररी बुझ्न सक्छन्।