अध्याय ९

मानिसहरूको कल्‍पनाअनुसार, परमेश्‍वर भनेको परमेश्‍वर नै हुनहुन्छ र मानिसहरू भनेका मानिसहरू नै हुन्। परमेश्‍वरले मानवको भाषा बोल्‍नुहुन्‍न, न त मानिसहरूले नै परमेश्‍वरको भाषा बोल्न सक्छन्। परमेश्‍वरको लागि, मानवजातिले उहाँसँग गरेका मागहरू पूरा गर्नु केक खानुझैँ सहज छ—एक पटकमा सजिलो एक गाँस—जबकि मानवजातिलाई परमेश्‍वरले दिनुभएका मापदण्डहरू मानवजातिको लागि अप्राप्य र असोचनीय हुन्छन्। तर, सत्यता यसको ठीक विपरीत छ: परमेश्‍वरले मानवको “०.१ प्रतिशत” मात्रै माग्‍नुहुन्छ। यो कुरा मानिसहरूको लागि अचम्‍मको मात्रै छैन, यसले त तिनीहरूलाई चकित पनि पार्छ, मानौं तिनीहरू समुद्रमा छन्। परमेश्‍वरको अन्तर्दृष्टि र अनुग्रहको कारणले मात्रै मानिसहरूले परमेश्‍वरको इच्‍छाको बारेमा थोरै ज्ञान प्राप्त गरेका छन्। तैपनि मार्च १ मा सबै मानिसहरू फेरि पनि चकित भए र तिनीहरूले अन्योलतामा टाउको कन्याए; परमेश्‍वरले उहाँका मानिसहरूलाई चमकदार हिउँ बन्नू, उडिहिँड्ने बादल होइन भनेर भन्नुभयो। त्यसो भए, यो “हिउँ” ले केलाई जनाउँछ त? अनि “उडिहिँड्ने बादल” ले केलाई सङ्केत गर्छ त? यस बिन्दुमा, परमेश्‍वरले जानी-जानी नै यी वचनहरूको कुनै गहन अर्थ प्रकट गरिरहनुभएको छैन। यसले मानिसहरूलाई अन्योलतामा डुबाउँछ, र यसरी तिनीहरूले ज्ञानको खोजी गर्ने क्रममा तिनीहरूको विश्‍वासलाई बढाउँछ—किनभने यो त परमेश्‍वरका मानिसहरूलाई दिइएको विशिष्ट मापदण्डबाहेक केही पनि होइन; त्यसकारण मानिसहरू सबैले यी बुझ्‍न नसकिने वचनहरूको बारेमा चिन्तन गर्दै अनजानमा धेरै समय बिताइरहेका हुन्छन्। परिणामस्वरूप, तिनीहरूको मस्तिष्कमा विभिन्‍न विचारहरू पैदा हुन्छन्, तिनीहरूको आँखाअगाडि हिउँका टुक्राहरू उड्छन्, र आकाशमा उडिहिँड्ने बादलहरू तुरुन्तै तिनीहरूको मस्तिष्कमा देखा पर्छन्। उहाँका मानिसहरूलाई चमकदार हिउँ बन्नू, उडिहिँड्ने बादल होइन भनेर परमेश्‍वरले किन भन्नुभयो त? यसको साँचो अर्थ के हो? यी वचनहरूले निश्‍चित रूपमा केलाई जनाउँछ? “हिउँ” ले प्रकृतिलाई सुन्दर मात्रै बनाउँदैन, यो त खेती गर्ने जमिनको लागि पनि राम्रो हुन्छ; ब्याक्टेरिया मार्नको लागि यो राम्रो हुन्छ। भारी हिउँ परेपछि, सबै ब्याक्टेरियालाई चमकदार हिउँले ढाक्छ, र सम्पूर्ण क्षेत्र नै तुरुन्तै जीवनले भरिपूर्ण हुन्छ। त्यसरी नै, परमेश्‍वरका मानिसहरूले देहधारी परमेश्‍वरलाई चिन्‍नुपर्ने मात्र होइन, तिनीहरूले त परमेश्‍वरको देहधारणको तथ्यमा आफूलाई अनुशासनमा पनि राख्‍नुपर्छ; त्यसो गरेर, तिनीहरू सामान्य मानवतामा जिउनेछन्। हिउँले प्रकृतिलाई यसरी नै सुन्दर बनाउँछ; अन्तिममा, परमेश्‍वरका मानिसहरूको परिपक्‍वताले पृथ्वीमा परमेश्‍वरको राज्य स्थापना गर्दै, र परमेश्‍वरको पवित्र नामको प्रचार गर्दै र महिमा गाउँदै ठूलो रातो अजिङ्गरको अन्त्य गर्नेछ, ताकि पृथ्वीको सम्पूर्ण राज्य परमेश्‍वरको धार्मिकताले भरियोस्, उहाँको चमकले चम्कियोस्, र उहाँको महिमाले उज्ज्वल होस्। हरेक ठाउँमा शान्ति र सन्तुष्टि, खुशी र परिपूर्णता, अनि निरन्तर नयाँ भइरहने सुन्दरताका दृश्यहरू हुनेछन्। अहिले अस्तित्वमा रहेका विभिन्‍न महामारीहरू—अधर्म, कुटिलपन र छलीपन, दुष्ट इच्‍छाहरू, आदि-इत्यादि जस्ता भ्रष्ट शैतानी स्वभावहरू—निर्मूल गरिएका हुनेछन्, र यसरी स्वर्ग र पृथ्वी दुवैलाई नवीकरण गरिएको हुनेछ। “ठूलो हिमपातपछि” भन्‍ने वाक्यांशको साँचो अर्थ यही हो। उडिहिँड्ने बादलजस्ता मानिसहरू परमेश्‍वरले उल्‍लेख गर्नुभएका भीडको पछि लाग्‍ने मानिसहरू जस्तै हुन्; यदि शैतानबाट कुनै परीक्षा वा परमेश्‍वरबाट कुनै जाँच आयो भने, तिनीहरू अस्तित्वमा नै नरहने गरी तुरुन्तै उडेर गइहाल्छन्। तिनीहरूको कुनै सारसमेत धेरै पहिले नै मेटिएर अस्तित्व विहीन भइसकेको हुनेछ। यदि मानिसहरू उडिहिँड्ने बादलजस्ता हुन्छन् भने, तिनीहरू परमेश्‍वरको स्वरूपमा जिउन नसक्‍ने मात्र होइन, तिनीहरूले त उहाँको नामलाई बदनाम समेत गर्छन्, किनभने त्यस्ता मानिसहरू कुनै पनि समय वा कुनै पनि स्थानमा खोसेर लगिने खतरामा हुन्छन्; तिनीहरू शैतानका आहारा हुन्—अनि जब शैतानले तिनीहरूलाई कैदी बनाउँछ, तिनीहरूले परमेश्‍वरलाई धोका दिनेछन् र शैतानको सेवा गर्नेछन्। यसले अवश्य नै परमेश्‍वरको नामलाई बदनाम गर्छ, र परमेश्‍वरले सबैभन्दा बढी अफसोस गर्नुहुने कुरा यही हो; त्यस्ता मानिसहरू परमेश्‍वरका शत्रु हुन्। तसर्थ, तिनीहरूमा सामान्य मानिसहरूको सार पनि हुँदैन र व्यावहारिक मूल्य पनि हुँदैन। यही कारणले गर्दा, परमेश्‍वरले आफ्‍ना मानिसहरूको लागि यस्ता सर्तहरू तोक्नुहुन्छ। तैपनि, यी वचनहरूबाट केही कुरा बुझिसकेपछि, मानिसहरूलाई अब के गर्ने भन्‍ने कुरामा अन्योल हुन्छ, किनभने परमेश्‍वरका वचनहरूको विषय परमेश्‍वर स्‍वयम्‌तर्फ फर्किएका छन्, जसले तिनीहरूलाई कठिन परिस्थितिमा राख्छ: “म पवित्र भूमिबाट आएको हुनाले, म त्यो कमलको फूलजस्तो होइन, जसको केवल नाउँ छ तर कुनै सार छैन, किनकि त्यो हिलोबाट आएको हो, पवित्र भूमिबाट होइन।” उहाँले आफ्‍ना मानिसहरूका लागि तोक्नुभएका सर्तहरूको बारेमा बताइसक्‍नुभएपछि, परमेश्‍वरले किन उहाँको आफ्‍नै जन्‍मको बारेमा व्याख्या गर्नुभयो? के यी दुईबीचमा कुनै सम्‍बन्ध हुन सक्छ? वास्तवमा, यी दुई कुराहरूको बीचमा अन्तर्निहित सम्‍बन्ध छ; नत्र, परमेश्‍वरले मानिसहरूलाई त्यसको बारेमा बताउनुहुनेथिएन। हरिया पातहरूको बीचमा, मन्द हावामा कमलको फूल यता-उता हल्लन्छ। यो हेर्दा मनोहर देखिन्छ, र अत्यन्तै प्यारो लाग्छ। मानिसहरू यसलाई हेरेर थाक्दैनन्, र फूलेको कमल टिपेर त्यसलाई नजिकबाट हेर्नको लागि मानिसहरूलाई पानीमा पौडेर जाऊँ-जाऊँ लाग्छ। तैपनि, कमलको फूल हिलोबाट आउँछ, र यसको नाम मात्रै छ तर सार छैन भनेर परमेश्‍वर भन्‍नुहुन्छ; के देखिन्छ भने, परमेश्‍वरले कमलको फूललाई त्यति महत्त्व दिनुहुन्‍न, र यसप्रति उहाँको निश्‍चित घृणा छ भन्‍ने कुरालाई उहाँका वचनहरूले स्पष्ट पार्छन्। युगौंयुगसम्म, धेरैले कमलको फूललाई धेरै प्रशंसा गरेका छन्, किनभने ती फोहोरबाट निष्खोट रूपमा देखा पर्छन्, र कमलको फूलसँग कुनै फूललाई तुलना गर्न सकिँदैन र ती व्याख्या गर्नै नसकिने गरी सुन्दर छन् भनेर इङ्गित गरेको समेत देखिन्छ। तैपनि परमेश्‍वरको नजरमा, कमलको फूलको कुनै महत्त्व छैन—परमेश्‍वर र मानवको बीचमा रहेको भिन्‍नता पनि ठीक यही नै हो। तसर्थ परमेश्‍वर र मानवको बीचको भिन्‍नता स्वर्गको फैलावट र पृथ्वीको जगको बीचमा रहेको दूरी जत्तिकै व्यापक छ भनेर देख्‍न सकिन्छ। कमलको फूल हिलोबाट आउने हुनाले, यसलाई आवश्यक पर्ने पोषण पनि त्यहीँबाट आउँछ। यति मात्र हो कि कमलले आफ्‍नो भेष बदल्न सक्छ र यसरी यसले आँखाको तृष्णा मेटाउँछ। धेरै मानिसहरूले कमलको बाहिरी सुन्दरतालाई मात्रै देख्छन्, तर यसको फोहोरी र अशुद्धताभित्र लुकेको यसको जीवनलाई कसैले पनि देख्दैन। तसर्थ, परमेश्‍वरले यसको नाम मात्रै छ तर सार छैन भनेर भन्‍नुहुन्छ—जुन पूर्ण रूपमा सही र साँचो कुरा हो। के परमेश्‍वरका मानिसहरू आज ठीक यस्तै छैनन् र? परमेश्‍वरप्रतिको तिनीहरूको समर्पणता र विश्‍वास सतही मात्रै छ। परमेश्‍वरको अघि, तिनीहरूले उहाँलाई तिनीहरूप्रति सन्तुष्ट तुल्याउनको लागि चापलुसी गर्छन् र स्वाङ पार्छन्; तैपनि, भित्री रूपमा भने तिनीहरू भ्रष्ट, शैतानी स्वभावले भरिएका हुन्छन्, र तिनीहरूका पेट अशुद्धताले भरिएका हुन्छन्। यही कारणले गर्दा, परमेश्‍वरले मानवलाई परमेश्‍वरप्रतिको तिनीहरूको बफादारीता अशुद्धताले कलङ्कित छ कि छैन वा यो शुद्ध र पूर्ण हृदयको छ कि छैन भनेर सोध्दै प्रश्‍नहरू गर्नुहुन्छ। जब तिनीहरू सेवाकर्ताहरू थिए, धेरै मानिसहरूले परमेश्‍वरलाई मुख खोलेर नै प्रशंसा गर्थे, तर तिनीहरूको हृदयमा भने उहाँलाई सराप्थे। तिनीहरूका शब्‍दहरूमा तिनीहरू परमेश्‍वरमा समर्पित हुन्थे, तर तिनीहरूका हृदयमा भने तिनीहरूले उहाँको अवज्ञा गर्थे। तिनीहरूको मुखले नकारात्मक शब्‍दहरू उच्‍चारण गर्थे, र तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरप्रतिको विरोधलाई राखेका हुन्थे। षड्यन्‍त्रकारी तरिकाले आफ्‍ना कार्यहरू अघि बढाउने मानिसहरू समेत थिए: तिनीहरूले आफ्‍नो मुखबाट अश्लीलता निकाल्थे र अत्यन्तै भ्रष्ट भएर आफ्‍ना हातका हाउभाउ प्रस्तुत गर्थे, अनि ठूलो रातो अजिङ्गरको साँचो अनुहारको स्पष्ट र सजीव अभिव्यक्ति दिन्थे। त्यस्ता मानिसहरू ठूलो रातो अजिङ्गरका बच्‍चा भनिन साँच्‍चै नै योग्य हुन्छन्। तैपनि, आज तिनीहरू निष्ठावान सेवाकर्ताहरूको स्थानमा खडा हुन्छन् र तिनीहरूले आफू परमेश्‍वरका निष्ठावान मानिसहरू भएजस्तो गरी व्यवहार गर्छन्—कस्तो लाज पचेकाहरू! तर यसमा अचम्‍म मान्‍नु पर्दैन; तिनीहरू हिलोबाट आएका हुन्, त्यसकारण तिनीहरूले आफ्‍नो साँचो रङ्ग नदेखाई बस्‍न सक्दैनन्। परमेश्‍वर पवित्र र शुद्ध, अनि साँचो र वास्तविक हुनुहुन्छ, त्यसकारण उहाँको देह आत्माबाट आएको हो। यो ठोस र निर्विवाद कुरा हो। उहाँले परमेश्‍वर स्‍वयम्‌को लागि गवाही दिन मात्र होइन, तर आफूलाई परमेश्‍वरको इच्‍छा पूरा गर्न पूर्ण रूपमा समर्पित गर्न पनि सक्‍नुहुन्छ: यी कार्यहरूले परमेश्‍वरको सारको एउटा पक्षलाई प्रतिनिधित्व गर्छन्। देह स्वरूपसहितको आत्माबाट आउँछ भन्‍नुको अर्थ आत्माले धारण गर्नुहुने देह मानवको देहभन्दा ठोस रूपमा फरक छ, र यो भिन्‍नता प्राथमिक रूपमा तिनीहरूको आत्मामा रहन्छ। “स्वरूपसहितको आत्मा” ले सामान्य मानवताको आवरणभित्र रहेको कारण ईश्‍वरीयताले कसरी भित्रबाट सामान्य रूपमा काम गर्न सक्‍नुहुन्छ त्यस कुरालाई जनाउँछ। यो अलिकति पनि अलौकिक छैन, र यो मानवताद्वारा सीमित छैन। “आत्माको स्वरूप” ले पूर्ण ईश्‍वरीयतालाई जनाउँछ, र यो मानवताद्वारा सीमित छैन। त्यसकारण, परमेश्‍वरको अन्तर्निहित स्वभाव र साँचो स्वरूपलाई देहधारी शरीरमा पूर्ण रूपमा जिउन सकिन्छ, जुन सामान्य र स्थिर मात्र छैन, त्यसमा त प्रताप र क्रोध पनि हुन्छ। पहिलो देहधारी शरीरले मानिसहरूले विचार गर्न सक्‍ने परमेश्‍वरलाई मात्रै प्रस्तुत गर्न सक्यो; अर्थात्, उहाँले चिन्‍ह र अचम्‍मका कामहरू गर्न र अगमवाणीहरू बोल्‍न मात्रै सक्‍नुभयो। तसर्थ, उहाँ परमेश्‍वरको वास्तविकतामा पूर्ण रूपमा जिउनुभएन, त्यसकारण उहाँ स्वरूपसहितको आत्माको मूर्तरूप हुनुहुन्‍नथियो; उहाँ ईश्‍वरीयताको प्रत्यक्ष स्वरूप मात्रै हुनुहुन्थ्यो। यसको साथै, उहाँ सामान्य मानवताभन्दा माथि हुनुभएको हुनाले, उहाँलाई पूर्ण व्यावहारिक परमेश्‍वर स्वयम्‌ भनेर भनिएन, र उहाँमा स्वर्गको अस्पष्ट परमेश्‍वरको थोरै भाग मात्रै थियो; उहाँ मानिसहरूका धारणाहरूको परमेश्‍वर हुनुहुन्थ्यो। यी दुई देहधारणहरूबीचको ठोस भिन्‍नता यही हो।

ब्रह्माण्डको सबैभन्दा उच्‍च स्थानबाट, परमेश्‍वरले मानवको हरेक चाललाई हेर्नुहुन्छ र मानिसहरूले भन्‍ने र गर्ने सबै कुरालाई हेर्नुहुन्छ। उहाँले तिनीहरूको सबै अन्तस्करणका विचारहरूलाई स्पष्टताका साथ अवलोकन गर्नुहुन्छ, तिनलाई कहिल्यै पनि बेवास्ता गर्नुहुन्‍न; त्यसकारण, उहाँका वचनहरूले मानिसहरूको हरेक विचारलाई प्रहार गर्दै तिनीहरूको हृदयलाई छेड्छ, र परमेश्‍वरका वचनहरू बुद्धिमानीपूर्ण र गल्तीविहीन हुन्छन्। “मानिसहरूले मेरो आत्मालाई ‘चिने’ पनि तिनीहरूले अझै पनि मेरो आत्मालाई दुःखी बनाउँछन्। मेरा वचनहरूले सबै मानिसको कुरूप अनुहारका साथै उनीहरूका भित्री विचारहरूलाई उदाङ्गो पार्दछन्, र पृथ्वीमा भएका सबैलाई मेरो सूक्ष्म जाँचको दौरान असफल तुल्याउने गर्दछन्।” यसबाट के कुरा स्पष्ट हुन्छ भने परमेश्‍वरले मानवजातिलाई दिनुभएका मापदण्डहरू अत्यन्तै भारपूर्ण नभए पनि, मानिसहरूले अझै पनि परमेश्‍वरका आत्माको छानबिनलाई सहन सक्दैनन्। “तथापि, असफल भए पनि तिनीहरूका हृदयले मबाट टाढा जाने साहस गर्दैन। सृष्टि गरिएका वस्तुहरू मध्येमा, को चाहिँ मेरा कामहरूको फलस्वरूप मलाई प्रेम गर्न आउँदैन र?” यो परमेश्‍वरको पूर्ण बुद्धि र सर्वशक्तिमान्‌ताको अझै बढी सूचक हो, र यसले यसरी परमेश्‍वरका मानिसहरू सेवाकर्ताको स्थानमा हुँदा तिनीहरूले विचार गरेका सबै कुरा प्रकट गर्छ: “व्यापार” असफल भएपछि, तिनीहरूको मनका “लाखौँ” वा “करोडौँ” रकम शून्यतामा परिणत हुन्छ। तैपनि, परमेश्‍वरको प्रशासनिक आदेशहरूको कारण र परमेश्‍वरको प्रताप र क्रोधको कारण—तिनीहरूले शोकमा आफ्‍नो शिर निहुराउने भए पनि—तिनीहरूले अझै पनि नकारात्मक मनोवृत्तिका साथ परमेश्‍वरको सेवा गरे, र तिनीहरूका विगतका सबै अभ्यासहरू बकम्फुसे गफ बने र तिनलाई बिर्सिइयो। बरु, आफूलाई मनोरञ्जन दिन, आलस्यमा समय बिताउनको लागि, तिनीहरूले आफूलाई र अरू सबैलाई खुशी बनाउने कुराहरू स्वेच्छाले गरे। … मानवको बीचमा वास्तवमा यही भइरहेको थियो। तसर्थ, परमेश्‍वरले मानवजातिलाई मन खोलेर भन्‍नुहुन्छ, “मेरा वचनहरूको परिणामस्वरूप कसले मेरो चाहना गर्दैन र? मेरो प्रेमको परिणामस्वरूप कसमा अनुरागको भावनाहरू उत्पन्न हुँदैन र?” इमानदारीसाथ भन्दा, सबै मानव परमेश्‍वरका वचनहरूलाई स्वीकार गर्न इच्‍छुक छन्, र तिनीहरूका बीचमा परमेश्‍वरको वचन पढ्न मन नपराउने एक जना पनि छैन; यति मात्रै हो कि तिनीहरूले परमेश्‍वरका वचनहरूलाई अभ्यास गर्न सक्दैनन्, किनभने तिनीहरूलाई तिनीहरूको प्रकृतिले बाधा पुऱ्याउँछ। परमेश्‍वरका वचनहरूलाई पढिसकेपछि, धेरै मानिसहरू ती वचनहरूबाट अलग हुन सक्दैनन्, र परमेश्‍वरप्रतिको तिनीहरूको प्रेम तिनीहरूभित्र भरिन्छ। तसर्थ, परमेश्‍वरले फेरि पनि शैतानलाई सराप दिनुहुन्छ, फेरि पनि यसको कुरूप अनुहारलाई खुलासा गर्नुहुन्छ। “यो युग, जहाँ शैतानले दङ्गा गर्दछ र एकदमै निरङ्कुश भएको छ”, त्यो युग परमेश्‍वरले पृथ्वीमा आफ्‍नो आधिकारिक महान् काम सुरु गर्ने युग पनि हो। यसपछि, उहाँले संसारलाई विध्वंस गर्ने कार्य सुरु गर्नुहुन्छ। अर्को शब्‍दमा भन्दा, शैतान पागलझैँ जति दौडन्छ, परमेश्‍वरको दिन त्यति नै चाँडै आउनेछ। तसर्थ, परमेश्‍वरले शैतानको छाडापनको बारेमा जति धेरै बोल्‍नुहुन्छ, परमेश्‍वरले संसारलाई सर्वनाश गर्ने दिन त्यति नै नजिक आउँछ। परमेश्‍वरले शैतानलाई गर्नुभएको घोषणा यही हो।

परमेश्‍वरले किन बारम्बार, “… यसबाहेक, मेरो पिठिउँपछाडि तिनीहरू ती ‘प्रशंसनीय’ फोहोर कारोबारमा संलग्न हुन्छन्। के तँलाई मैले धारण गरेको देहले तेरा कार्यहरू, तेरा व्यवहारहरू र तेरा बोलीवचनहरू केही पनि जान्दैन भनी सोच्छस्?” उहाँले यस्ता वचनहरू एक-दुईपटक मात्रै बोल्‍नुभएन। किन त्यसो भयो त? परमेश्‍वरले मानिसहरूलाई सान्त्वना दिनुभएपछि, र तिनीहरूलाई मानवजातिको लागि परमेश्‍वरको शोकको बारेमा थाहा भएपछि, तिनीहरूलाई आफू अघि बढ्ने क्रममा विगतलाई बिर्सन सहज हुन्छ। तैपनि, परमेश्‍वर मानवप्रति अलिकति पनि नरम हुनुभएको छैन: उहाँले तिनीहरूका विचारहरूलाई निशाना बनाउन जारी राख्‍नुभएको छ। तसर्थ, उहाँले मानिसहरूलाई आफैलाई चिन्‍न, आफ्नो व्यभिचार रोक्‍न, त्यस्तो “प्रशंसनीय” फोहोर कारोबारमा अबउप्रान्त नलाग्‍न, र देहमा हुनुभएका परमेश्‍वरलाई फेरि कहिल्यै धोका नदिन बारम्‍बार आज्ञा गर्नुहुन्छ। मानिसहरूको प्रकृति परिवर्तन नभए तापनि, तिनीहरूलाई एक-दुईपटक स्मरण गराउनु फाइदाजनक नै हुन्छ। यसपछि, तिनीहरूको हृदयका रहस्यहरूलाई प्रकट गर्नको लागि परमेश्‍वरले मानव दृष्टिकोणबाट बोल्‍नुहुन्छ: “मैले धेरै वर्ष बतास र वर्षा सहेको छु, अनि त्यसरी नै मैले मानवीय संसारको तीतोपना अनुभव गरेको छु; तापनि, ध्यान दिएर विचार गर्दा, जत्ति नै धेरै दुःख-कष्टले पनि देहीय मानवजातिलाई ममाथि आशा मार्ने बनाउन सक्दैन, कुनै पनि मिठासले देहीय मानवलाई मप्रति चिसो, निराश वा तिरस्कारपूर्ण पार्ने त कुरै नगरौं। के मप्रतिको तिनीहरूको प्रेम साँच्चै दुःखको कमी वा मिठासको कमीमा सीमित छ?” “सूर्यमुनि सबै कुरा रित्तो छ”—यी वचनहरूको साँच्‍चै नै भित्री अर्थ छ। तसर्थ, कुनै पनि कुराले मानिसलाई उहाँप्रतिको आशा गुमाउने वा उहाँप्रति रुखो बन्‍ने तुल्याउन सक्दैन भनेर परमेश्‍वरले भन्दै हुनुहुन्छ। यदि मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्दैनन् भने, तिनीहरू मरेकै जाती हुन्छ; तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्दैनन् भने, तिनीहरूको कष्ट-भोग व्यर्थ हुन्छ र तिनीहरूले प्राप्त गर्ने खुसी रित्तो हुन्छ, र तिनीहरूको पाप थपिन्छ। उहाँलाई एक जना व्यक्तिले पनि साँचो रूपमा प्रेम नगर्ने हुनाले, उहाँ भन्‍नुहुन्छ, “के मप्रतिको तिनीहरूको प्रेम साँच्चै दुःखको कमी वा मिठासको कमीमा सीमित छ?” मानवजातिको संसारमा, कष्ट वा मिठास नभोगी कसरी कुनै व्यक्ति अस्तित्वमा रहन सक्छ र? परमेश्‍वरले बारम्‍बार यसो भन्‍नुहुन्छ, “एक जना मानिसले पनि कहिल्यै मेरो अनुहारलाई साँचो रूपमा देखेको छैन वा साँचो रूपमा मेरो आवाज सुनेको छैन, किनभने मानवले मलाई साँचो रूपमा चिन्दैन।” परमेश्‍वर भन्‍नुहुन्छ, मानवले उहाँलाई साँचो रूपमा चिन्दैन, तर उहाँले मानिसलाई किन उहाँलाई चिन्‍न लगाउनुहुन्छ? के यो विरोधाभास होइन र? परमेश्‍वरको हरेक वचनको निश्‍चित उद्देश्य हुन्छ। मानव अचेत अवस्थामा पुगेको हुनाले, परमेश्‍वरले अन्त्यमा तिनीहरूको हरेक हृदयको ०.१ प्रतिशत ओगट्नको लागि मानवमार्फत उहाँको १००% काम गर्ने सिद्धान्त प्रयोग गर्नुहुन्छ। परमेश्‍वरले काम गर्ने विधि यही हो, र उहाँका लक्ष्यहरूलाई पूरा गर्नको लागि परमेश्‍वरले यसरी नै काम गर्नुपर्छ। परमेश्‍वरका वचनहरूमा समावेश बुद्धि पनि ठीक यही नै हो। के तिमीहरूले यो कुरालाई बुझ्यौ?

परमेश्‍वर भन्‍नुहुन्छ: “जब म मेरा रहस्यहरू प्रत्यक्ष रूपमा प्रकट गर्दछु र देहमा मेरो इच्छा स्पष्ट गर्दछु, तर तिमीहरूले देख्दैनौ; तिमीहरूले आवाज सुन्छौ, तर तिनीहरूको अर्थ बुझ्दैनौ। म दुःखमा परेको छु। म देहमा भएको भए तापनि, म देहको सेवाको काम गर्न असमर्थ छु।” एक हिसाबमा, मानिसहरूको अचेत अवस्थाको कारण यी वचनहरूले तिनीहरूलाई परमेश्‍वरसँग सहकार्य गर्न अग्रसर हुने तुल्याउँछ; अर्को हिसाबमा, परमेश्‍वरले देहधारी शरीरमा आफ्‍नो ईश्‍वरीयताको साँचो अनुहार प्रकट गर्नुहुन्छ। मानिसहरू कदको हिसाबले अत्यन्तै साना भएका हुनाले, परमेश्‍वर देहमा हुनुभएको अवधिमा दिइने ईश्‍वरीयताको प्रकाश यसलाई स्वीकार गर्ने तिनीहरूको क्षमताअनुसार मात्रै आउँछ। कामको यो चरणमा, धेरैजसो मानिसहरू यसलाई पूर्ण रूपमा स्वीकार गर्न नसक्‍ने अवस्थामा नै रहन्छन्, जुन कुराले तिनीहरू कति ग्रहणशील छैनन् भन्‍ने देखाउँछ। तसर्थ, यो कामको अवधिमा, ईश्‍वरीयताले यसका मूल कार्यहरू सबै पूरा गर्दैन; यसले ती कार्यको एउटा सानो भाग मात्रै पूरा गर्छ। यसले के देखाउँछ भने, भविष्यको काममा, मानवजातिको पुनर्प्राप्तिको स्थितिअनुसार ईश्‍वरीयतालाई क्रमिक रूपमा प्रकट गरिनेछ। तैपनि, ईश्‍वरीयता क्रमिक रूपमा वृद्धि हुँदैन; बरु, यो त देहधारी परमेश्‍वरको सारमा रहेको कुरा हो, र यो मानिसको कदजस्तो हुँदैन।

परमेश्‍वरले मानव सृष्टि गर्नुको उद्देश्य र अर्थ छ, त्यही कारणले गर्दा, परमेश्‍वरले भन्‍नुभयो, “यदि मानवजाति सबै मेरो क्रोधले नष्ट हुन्थ्यो भने, मैले स्वर्ग र पृथ्वी सृष्टि गर्नुको महत्त्व के हुनेछ?” मानव भ्रष्ट भइसकेपछि, परमेश्‍वरले आफ्‍नो आनन्दको लागि तिनीहरूको एउटा समूहलाई प्राप्त गर्ने योजना बनाउनुभयो; सबै मानव नष्ट होस् भन्‍ने उहाँको अभिप्राय थिएन, न त परमेश्‍वरको प्रशासनिक आदेशहरूलाई अलिकति उल्लंघन गर्दासमेत तिनीहरूलाई नास गर्ने उहाँको अभिप्राय थियो। परमेश्‍वरको इच्‍छा त्यस्तो छैन; परमेश्‍वरले भन्‍नुभएजस्तै, त्यसको कुनै अर्थ हुनेथिएन। यो “अर्थविहीनता” कै कारणले परमेश्‍वरको बुद्धिलाई स्पष्ट पारिएको छ। के सबै मानिसहरूलाई सजाय दिने, न्याय गर्ने, र प्रहार गर्ने कार्य गरेर अन्तिममा उहाँलाई साँचो रूपमा प्रेम गर्नेहरूलाई मात्रै छनौट गर्नको लागि परमेश्‍वरले विभिन्‍न माध्यममा बोल्‍नु र काम गर्नुको अझै ठूलो महत्त्व हुँदैन र? ठीक यही किसिमले परमेश्‍वरका कार्यहरूलाई प्रकट गरिन्छ, र यसरी मानवको सृष्टि अझै महत्त्वपूर्ण बन्छ। तसर्थ, परमेश्‍वरका धेरैजसो वचनहरू तिनीहरू छेवैबाट तैरिएर जान्छन् भनेर भनिन्छ; यो एउटा उद्देश्य हासिल गर्नको लागि हो, र उहाँका वचनहरूको एउटा भागको वास्तविकता ठीक यही नै हो।

अघिल्लो: अध्याय ८

अर्को: परिशिष्ट: अध्याय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्