परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

हाम्रो पछिल्लो भेलामा हामीले एउटा अत्यन्तै महत्त्वपूर्ण विषयको बारेमा सङ्गति गर्‍यौँ। त्यो के थियो के तिमीहरूलाई सम्झना छ? म त्यो कुरा दोहोर्‍याउन चाहन्छु। हाम्रो पछिल्लो सङ्गतिको विषय थियो: परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्। के यो तिमीहरूका लागि महत्त्वपूर्ण विषय हो? यसको कुन भाग तिमीहरूलाई सबैभन्दा महत्त्वपूर्ण छ? परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव, वा परमेश्‍वर स्वयम्? तिमीहरूका निम्ति कुनचाहिँ सबैभन्दा धेरै चाखलाग्दो छ? तिमीहरू कुन विषयमा सबैभन्दा धेरै सुन्‍न चाहन्छौ? मलाई थाहा छ त्यो प्रश्‍नको उत्तर दिन तिमीहरूलाई गाह्रो हुन्छ, किनकि परमेश्‍वरको स्वभाव उहाँको कामको हरेक पक्षमा देख्‍न सकिन्छ, र उहाँको स्वभाव सधैँ उहाँको काम र सबै ठाउँमा प्रकट हुन्छ, र त्यसले वास्तवमा, परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्छ; परमेश्‍वरको समग्र व्यवस्थापन योजनामा, परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् सबैलाई एकअर्काबाट अलग गर्न सकिँदैन।

परमेश्‍वरको कामको बारेमा हामीले गरेको पछिल्लो सङ्गतिको विषयवस्तु बाइबलमा अभिलिखित धेरै पहिले घटेका घटनाहरू थिए। ती सबै नै मानिस र परमेश्‍वरसम्‍बन्धी कथाहरू थिए, र ती मानिसमाथि घटेका घटनाहरूका बारेमा थिए, साथै तिनमा परमेश्‍वरको सहभागिता र अभिव्यक्ति पनि सामेल थिए, त्यसकारण यी कथाहरूले परमेश्‍वरलाई चिन्‍नका लागि विशेष मूल्य र महत्त्व राख्छन्। उहाँले मानवजातिलाई सृष्टि गर्नुभएलगत्तै, परमेश्‍वर मानिससँग संलग्‍न हुन र मानिससँग कुराकानी गर्न थाल्नुभयो, र उहाँको स्वभाव मानिससमक्ष प्रकट हुन थाल्यो। अर्को शब्दमा भन्दा, जब परमेश्‍वर मानवजातिसँग पहिलोपटक संलग्‍न हुनुभयो, त्यस समयदेखि नै उहाँले विनारोकावट मानिससामु उहाँको सार र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सार्वजनिक गर्न थाल्नुभयो। पहिलेका मानिसहरू वा आजका मानिसहरूले यसलाई देख्‍न वा बुझ्न सके पनि नसके पनि, परमेश्‍वर मानिससँग बोल्नुहुन्छ र मानिसहरूको माझमा काम गर्नुहुन्छ, र यस क्रममा आफ्नो स्वभाव प्रकट गर्नुहुन्छ र आफ्नो सार व्यक्त गर्नुहुन्छ—यो एउटा तथ्य हो र यसलाई कुनै पनि व्यक्तिले अस्वीकार गर्न सक्दैन। यसको अर्थ यो पनि हो कि परमेश्‍वरको स्वभाव, परमेश्‍वरको सार, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो उहाँ काम गर्नुहुँदा र मानिससित संलग्‍न हुनुहुँदा निरन्तर बाहिर निस्किरहन्छन् र प्रकट भइरहन्छन्। उहाँले कुनै कुरा कहिल्यै लुकाउनुभएको वा गुप्त राख्‍नुभएको छैन, उहाँ त सबै सार्वजनिक गर्नुहुन्छ र कुनै पनि कुरा नलुकाईकन आफ्नो स्वभाव प्रकट गर्नुहुन्छ। यसरी, मानिसले परमेश्‍वरलाई चिन्‍न र उहाँको स्वभाव र सार बुझ्न सक्छ भनी उहाँ आशा गर्नुहुन्छ। मानिसले उहाँको स्वभाव र सारलाई अनन्त रहस्यको रूपमा व्यवहार गरेको उहाँ चाहनुहुन्‍न, न त उहाँ मानवजातिले परमेश्‍वरलाई कहिल्यै समाधान गर्न नसकिने पहेली ठानेको नै चाहनुहुन्छ। जब मानवजातिले परमेश्‍वरलाई चिन्छ तब मात्र मानिसले अघि बढ्ने बाटो चिन्छ र परमेश्‍वरको मार्गनिर्देशन स्वीकार्न सक्छ, र केवल यस्तै मानिस मात्र परमेश्‍वरको अधीनमा बस्‍न र परमेश्‍वरका आशिष्‌हरूमाझ ज्योतिमा जिउन सक्छ।

परमेश्‍वरबाट बाहिर निस्किएका र प्रकट गरिएका वचनहरू र स्वभावले उहाँको इच्छालाई प्रतिनिधित्व गर्छन् र तिनले उहाँको सारलाई पनि प्रतिनिधित्व गर्छन्। जब परमेश्‍वर मानिससँग संलग्‍न हुनुहुन्छ, उहाँले जे भन्‍नुभए पनि वा गर्नुभए पनि वा जस्तै स्वभाव प्रकट गर्नुभए पनि, र मानिसले परमेश्‍वरको सारलाई र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई जस्तो देखे पनि ती सबैले मानिसका निम्ति परमेश्‍वरको इच्छालाई प्रतिनिधित्व गर्छन्। मानिस थाहा पाउन, सम्झन वा बुझ्न जति नै सक्षम भए पनि, त्यो सबैले परमेश्‍वरको इच्छालाई—मानिसको निम्ति परमेश्‍वरको इच्छालाई प्रतिनिधित्व गर्छ। यसमा कुनै शङ्का छैन! मानवजातिका लागि परमेश्‍वरको इच्छा भनेको उहाँ मानिसहरू कस्तो भएको चाहनुहुन्छ, उहाँ तिनीहरूले के गरेको चाहनुहुन्छ, उहाँ तिनीहरू कसरी बाँचेको चाहनुहुन्छ, र उहाँ तिनीहरू कसरी परमेश्‍वरको इच्छा पूरा गर्न सक्षम बनेको चाहनुहुन्छ भन्‍ने हो। के यी परमेश्‍वरको सारबाट अलग हुन नसक्‍ने कुराहरू हुन्? अर्को शब्‍दमा भन्दा, परमेश्‍वरले उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै प्रकट गर्नुहुन्छ, त्यसको साथै उहाँले मानिसलाई मापदण्डहरू दिनुहुन्छ। त्यसमा कुनै झूट हुँदैन, कुनै ढोँग हुँदैन, लुकाउने कुनै कुरा हुँदैन, र कुनै अलङ्कार हुँदैन। तैपनि मानिस किन जान्‍न असमर्थ छ, र किन मानिसले कहिल्यै पनि परमेश्‍वरको स्वभावलाई राम्ररी बुझ्न सकेको छैन? किन मानिसले कहिल्यै परमेश्‍वरको इच्छालाई बुझ्न सकेको छैन? जुन कुरा परमेश्‍वर आफैले प्रकट गर्नुहुन्छ र बाहिर निकाल्नुहुन्छ त्यो उहाँ स्वयम्‌सँग जे छ र उहाँ स्वयम्‌ जे हुनुहुन्छ त्यही हो; यो उहाँको वास्तविक स्वभावको प्रत्येक भाग र पक्ष हो—त्यसो भए, मानिसले चाहिँ किन देख्‍न सक्दैन त? किन मानिसले पूर्ण ज्ञान प्राप्त गर्न सक्दैन? यसको एउटा महत्त्वपूर्ण कारण छ। त्यसो भए, यो कारण के हो त? सृष्टिको समयदेखि यता मानिसले परमेश्‍वरसित कहिल्यै पनि परमेश्‍वरको रूपमा व्यवहार गरेको छैन। सुरुसुरुको समयमा, परमेश्‍वरले मानिसको सम्बन्धमा जे गर्नुभए पनि—भर्खरै सृष्टि गरिएको मानिसले परमेश्‍वरसँग एक मित्रसँग जस्तो, भर पर्न सकिने कुनै व्यक्तिसँग जस्तो मात्र व्यवहार गर्थ्यो, र मानिसलाई परमेश्‍वरको बारेमा कुनै ज्ञान वा बुझाइ नै थिएन। भन्‍नुको अर्थ, मानिसले उक्त अस्तित्वबाट के निस्केर आएको छ भनी जान्दैनथ्यो—त्यो अस्तित्व जसमाथि ऊ भर पर्थ्यो, जसलाई उसले आफ्नो मित्रको रूपमा हेर्थ्यो—त्यस्तो अस्तित्वबाट अर्थात् उहाँबाट निस्केर आएको कुरा परमेश्‍वरको सार थियो, र उक्त अस्तित्व सबै थोकमाथि शासन गर्नुहुने एउटै उहाँ हुनुहुन्छ भन्‍ने पनि उसलाई थाहा थिएन। सरल रूपमा भन्‍नुपर्दा, त्यस समयका मानिसहरूले परमेश्‍वरलाई चिन्दै चिन्दैनथे। तिनीहरू स्वर्ग र पृथ्वी अनि सबै थोक उहाँद्वारा बनाइएका हुन् भनी जान्दैनथे, र उहाँ कहाँबाट आउनुभएको हो भनेर तिनीहरूलाई थाहा थिएन र त्यसबाहेक, उहाँ के हुनुहुन्थ्यो भनेर पनि तिनीहरूलाई थाहा थिएन। अवश्य नै, त्यतिखेर परमेश्‍वर मानिसले उहाँलाई चिनोस् वा बुझोस्, वा उहाँले गर्नुभएका सबै कुरा बुझोस्, वा उहाँको इच्छाको बारेमा उसँग ज्ञान होस् भनी चाहनुभएको थिएन, किनकि त्यो समय मानवजातिलाई सृष्टि गरिएको सुरुसुरुको समय थियो। जब परमेश्‍वरले व्यवस्थाको युगको कामको तयारी गर्न थाल्नुभयो, परमेश्‍वरले मानिसका निम्ति केही गर्न र मानिसलाई केही मापदण्डहरू पनि दिन थाल्नुभयो, र त्यस क्रममा उहाँले मानिसलाई भेटीहरू कसरी चढाउनुपर्छ र परमेश्‍वरको आराधना कसरी गर्नुपर्छ भनेर बताउनुभयो। तब मात्र मानिसले परमेश्‍वरको बारेमा केही सामान्य विचारहरू प्राप्त गर्‍यो, र त्यसपछि मात्र उसले मानिस र परमेश्‍वरबीचको भिन्‍नताका साथै परमेश्‍वरले नै मानवजातिलाई सृष्टि गर्नुभएको हो भनी थाहा पायो। जब मानिसले परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ र मानिस, मानिस नै हो भनी थाहा पायो, तब परमेश्‍वर र मानिसको बीचमा निश्‍चित दूरी आयो, तर पनि परमेश्‍वरले मानिसमा उहाँको बारेमा ठूलो ज्ञान वा गहन बुझाइ हुनुपर्छ भनेर भन्‍नुभएन। यसरी, परमेश्‍वरले उहाँको कामका चरण र परिस्थितिहरूअनुसार मानिसबाट विभिन्‍न मापदण्डहरू अपेक्षा गर्नुहुन्छ। यसमा तँ के देख्छस्? तैँले परमेश्‍वरको स्वभावको कुन पक्षलाई बुझ्छस्? के परमेश्‍वर वास्तविक हुनुहुन्छ? के मानिसप्रति परमेश्‍वरका मापदण्डहरू उचित छन्? परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभएपछिको सुरुसुरुको समयमा, जब परमेश्‍वरले विजय गर्ने र मानिसलाई सिद्ध पार्ने काम गर्नु बाँकी नै थियो, र ऊसँग त्यति धेरै वचनहरू बोल्नुभएको थिएन, त्यस बेला उहाँले मानिसबाट थोरै कुरा मात्र अपेक्षा गर्नुभयो। मानिसले जे गरे पनि र जस्तै व्यवहार गरे पनि—उसले परमेश्‍वरलाई चिढ्याउने केही काम गरे पनि—परमेश्‍वरले क्षमा गर्नुभयो र ती सबलाई बेवास्ता गर्नुभयो। किनभने उहाँले मानिसलाई के दिनुभएको छ र मानिसभित्र के छ भनी परमेश्‍वर जान्‍नुहुन्थ्यो, र त्यसैले उहाँले मानिसलाई दिनुपर्ने मापदण्डहरूको स्तर जान्‍नुहुन्थ्यो। त्यस समयमा उहाँका मापदण्डहरूको स्तर एकदम कम भएको भए पनि, यसको अर्थ उहाँको स्वभाव महान्‌ थिएन, वा उहाँको बुद्धि र सर्वशक्तिमान्‌ता खोक्रा वचनहरू मात्र थिए भन्‍ने होइन। मानिसका लागि परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌लाई जान्‍ने एउटै मात्र उपाय छ: परमेश्‍वरको व्यवस्थापनको काम र मानवजातिको मुक्तिको कार्यका चरणहरू पछ्याउँदै परमेश्‍वरले मानवजातिसित बोल्नुहुने वचनहरू स्वीकार गर्ने। मानिसले परमेश्‍वरसित के छ र उहाँ के हुनुहुन्छ भनी जानेपछि र उसले परमेश्‍वरको स्वभावलाई जानेपछि, के उसले अझै पनि परमेश्‍वरलाई उहाँको वास्तविक व्यक्तित्व देखाउन बिन्ती गर्छ? गर्दैन, मानिसले बिन्ती गर्दैन, र सोध्‍ने हिम्मत पनि गर्दैन, किनकि परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ सो बुझिसकेपछि, मानिसले पहिले नै साँचो परमेश्‍वर स्वयम्‌लाई र उहाँको वास्तविक व्यक्तित्वलाई देखिसकेको हुन्छ। यो अपरिहार्य परिणाम हो।

परमेश्‍वरको कार्य र योजना निरन्तर अघि बढ्दै गएपछि, र उहाँले फेरि कहिल्यै जलप्रलयद्वारा यस संसारलाई नाश गर्नुहुनेछैन भन्‍ने एउटा चिह्नस्वरूप मानिससँग इन्द्रेनीको करार स्थापित गर्नुभएपछि, परमेश्‍वरले उहाँसित एकै मनका हुनसक्‍ने व्यक्तिहरूलाई प्राप्त गर्ने तीव्र इच्छा गर्नुभयो। पृथ्वीमा उहाँका इच्छा पूरा गर्न सक्‍ने मानिसहरूलाई प्राप्त गर्ने, अझ भन्‍ने हो भने अन्धकारको शक्तिबाट स्वतन्त्र हुन सक्‍ने र शैतानको वशमा नपर्ने मानिसहरूको समूह अर्थात् पृथ्वीमा उहाँको साक्षी दिन सक्‍ने मानिसहरूको समूह प्राप्त गर्ने तीव्र इच्छा पनि उहाँमा थियो। यस्ता मानिसहरूको समूहलाई प्राप्त गर्नु परमेश्‍वरको लामो समयदेखिको चाहना थियो, उहाँले सृष्टिको समयदेखि नै प्रतीक्षा गर्नुभएको कुरा त्यही थियो। यसैले, परमेश्‍वरले संसारलाई नष्ट पार्न प्रयोग गर्नुभएको जलप्रलय वा मानिससितको उहाँको करार जे-जस्तो भए पनि, परमेश्‍वरको इच्छा, मानसिकता, योजना, र आशाहरू सबै उही थियो। उहाँले जे गर्न चाहनुहुन्थ्यो अर्थात् उहाँले सृष्टिको समयभन्दा पहिलेदेखि नै चाहनुभएको कुरा भनेको मानवजातिको माझमा उहाँले प्राप्त गर्न चाहनुभएका मानिसहरूलाई प्राप्त गर्नु थियो—त्यस्ता मानिसहरूको झुन्ड प्राप्त गर्नु थियो जसले उहाँको स्वभावलाई जान्‍न र उहाँको इच्छालाई बुझ्न सक्छ, एउटा यस्तो झुन्ड जसले उहाँको आराधना गर्न सक्छ। त्यस्ता मानिसहरूको झुन्डले साँच्‍चै उहाँको गवाही दिन सक्थे, र यो भन्‍न सकिन्छ कि तिनीहरू उहाँकै विश्‍वासपात्रहरू हुन्थे।

आज, हामी परमेश्‍वरका पाइलाहरू पहिल्याउने र उहाँको कार्यका चरणहरूलाई पछ्याउने कार्यलाई जारी राखौँ, ताकि हामीले परमेश्‍वरका विचार र योजनाहरू, र परमेश्‍वरसँग सम्बन्धित विभिन्‍न विवरणहरू सबै पत्ता लगाउन सकौँ, जुन सबैलाई लामो समयदेखि “मोहोर लगाएर बन्द” गरिएको छ। यी कुराहरूद्वारा हामी परमेश्‍वरको स्वभावको बारेमा जान्‍न सक्‍नेछौँ, परमेश्‍वरको सार बुझ्नेछौँ, हामी परमेश्‍वरलाई हाम्रो हृदयमा आउन दिनेछौँ, र हामी सबै बिस्तारै परमेश्‍वरको नजिक पुग्‍नेछौँ, र यसरी परमेश्‍वर र हामीबीचको दूरी कम गर्नेछौँ।

पछिल्लो समय हामीले चर्चा गरेको कुराको एक पक्ष भनेको परमेश्‍वरले मानिससित किन करार बाँध्‍नुभयो भन्‍ने विषयसँग सम्बन्धित छ। यसपटक, हामी तलका बाइबलका खण्डहरूको बारेमा सङ्गति गर्नेछौँ। हामी धर्मशास्‍त्रबाट पढ्दै यस कार्यलाई सुरु गरौँ।

अ. अब्राहाम

१. परमेश्‍वरले अब्राहामलाई एउटा छोरा दिने प्रतिज्ञा गर्नुभयो

उत्पत्ति १७:१५-१७ अनि परमेश्‍वरले अब्राहामलाई भन्‍नुभयो, तेरी श्रीमती साराईलाई तैँले साराई नामले नबोलाउनू, तर त्यसको नाम सारा हुनेछ। अनि म त्यसलाई आशिष् दिनेछु र त्यसबाट तँलाई एउटा छोरा पनि दिनेछु: हो, म त्यसलाई आशिष् दिनेछु र त्यो जातिहरूकी आमा हुनेछे; त्यसबाट मानिसहरूका राजाहरू आउनेछन्। तब अब्राहाम घोप्टो परेर हाँसे अनि आफ्नो हृदयमा भने, के सय वर्ष पुगेको व्यक्तिबाट बच्‍चा जन्मेला र? अनि के नब्बे वर्ष पुगेकी साराले बच्‍चा जन्माउलिन् र?

उत्पत्ति १७:२१-२२ तर म इसहाकसँग मेरो करार स्थापित गर्नेछु, जसलाई अर्को वर्ष तोकेको यस समयमा साराले तेरो निम्ति इसहाकलाई जन्माउनेछे। अनि उहाँ तिनीसँग बोल्‍न छोड्नुभयो र परमेश्‍वर अब्राहामदेखि माथि जानुभयो।

परमेश्‍वरले जुन काम गर्ने सङ्कल्प गर्नुहुन्छ त्यसमा कसैले बाधा दिन सक्दैन

तिमीहरू सबैले भर्खरै अब्राहामको कथा सुन्यौ, हैन त? जलप्रलयले संसारलाई नाश पारेपछि परमेश्‍वरले तिनलाई चुन्‍नुभएको थियो, तिनको नाउँ अब्राहाम थियो, र जब तिनी सय वर्षका भए र उनकी पत्‍नी सारा नब्बे वर्षकी भइन्, तब परमेश्‍वरको प्रतिज्ञा तिनीकहाँ आयो। परमेश्‍वरले तिनीसँग कस्तो प्रतिज्ञा गर्नुभयो? परमेश्‍वरले त्यो कुराको प्रतिज्ञा गर्नुभयो जुन कुरालाई धर्मशास्‍त्रमा उल्लेख गरिएको छ: “अनि म त्यसलाई आशिष् दिनेछु र त्यसबाट तँलाई एउटा छोरा पनि दिनेछु।” परमेश्‍वरले तिनलाई छोरा दिने प्रतिज्ञाको पछि के-कस्तो पृष्ठभूमि थियो? धर्मशास्‍त्रले निम्‍न विवरण दिएको छ: “तब अब्राहाम घोप्टो परेर हाँसे अनि आफ्नो हृदयमा भने, के सय वर्ष पुगेको व्यक्तिबाट बच्‍चा जन्मेला र? अनि के नब्बे वर्ष पुगेकी साराले बच्‍चा जन्माउलिन् र?” अर्को शब्‍दमा भन्दा, यस वृद्ध दम्पती सन्तान जन्माउनको लागि अति नै वृद्ध भइसकेका थिए। परमेश्‍वरले तिनीसित प्रतिज्ञा गर्नुभएपछि अब्राहामले के गरे? तिनी हाँस्दै घोप्टो परे, अनि आफैलाई भने, “के सय वर्ष पुगेको व्यक्तिबाट बच्‍चा जन्मेला र?” अब्राहामले त्यो असम्भव छ भन्‍ने विश्‍वास गरे—जसको अर्थ के हो भने, परमेश्‍वरले तिनीसँग गर्नुभएको प्रतिज्ञा एउटा ठट्टाभन्दा बढी केही पनि होइन भनी तिनले विश्‍वास गरे। मानिसको दृष्टिकोणबाट, यो मानिसद्वारा हासिल नहुने कुरा हो, र त्यस्तै यो परमेश्‍वरका निम्ति पनि हासिल गर्न नसकिने र असम्भव कुरा हो। सायद, अब्राहामका लागि यो हाँसोको कुरा थियो: “परमेश्‍वरले मानिसको सृष्टि त गर्नुभयो, तर त्यस्तो वृद्ध व्यक्तिले सन्तान जन्माउन सक्दैन भन्‍ने उहाँलाई थाहा छैन जस्तो छ; उहाँले मलाई छोरा जन्‍माउन लगाउन सक्‍नुहुन्छ भन्‍ने परमेश्‍वरलाई लाग्छ, उहाँ मलाई एउटा छोरा दिने कुरा गर्नुहुन्छ—यो निश्‍चय नै असम्भव छ!” यसैले, अब्राहाम मनमनै यो कुरा सोच्दै घोप्टो परे, अनि हाँसे: “असम्भव—परमेश्‍वरले मसँग ठट्टा गर्दै हुनुहुन्छ, यो सत्य हुन सक्दैन!” तिनले परमेश्‍वरका वचनहरूलाई गम्भीरताका साथ लिएनन्। यसैले परमेश्‍वरको नजरमा, अब्राहाम कस्तो किसिमका मानिस थिए? (धर्मी।) तिनी धर्मी मानिस भनेर कहाँ उल्‍लेख गरिएको थियो? तिमीहरूलाई लाग्छ कि परमेश्‍वर जसलाई बोलाउनुहुन्छ तिनीहरू सबै नै धर्मी र सिद्ध हुन्, तिनीहरू सबै नै परमेश्‍वरसँग हिँड्ने मानिसहरू हुन्। तिमीहरू धर्मसिद्धान्त पालन गर्छौ! तिमीहरूले स्पष्ट रूपमा बुझ्नुपर्छ कि जब परमेश्‍वरले कसैलाई परिभाषित गर्नुहुन्छ, उहाँले मनमानी रूपमा त्यसो गर्नुहुन्‍न। यहाँ, परमेश्‍वरले अब्राहाम धर्मी थिए भन्‍नुभएन। उहाँको हृदयमा, परमेश्‍वरसँग प्रत्येक व्यक्तिलाई नाप्‍ने मापदण्डहरू हुन्छन्। परमेश्‍वरले अब्राहाम कस्तो किसिमका व्यक्ति थिए भनी नबताउनुभएको भए पनि, तिनको आचरणको हिसाबले, परमेश्‍वरमाथि अब्राहामको विश्‍वास कस्तो किसिमको थियो? के यो अलिअलि अमूर्त थियो? वा के तिनी ठूलो विश्‍वास भएको व्यक्ति थिए? होइन, तिनी त्यस्तो थिएनन्। तिनको हाँसो र विचारले तिनी वास्तवमा को हुन् भनेर देखाए, त्यसैले तिनी धर्मी थिए भन्‍ने तिमीहरूको विचार तिमीहरूको कल्पनाको कुरा मात्र हो, यो धर्मसिद्धान्तको अन्धाधुन्ध प्रयोग हो, र यो एक गैरजिम्मेवार मूल्याङ्कन हो। के परमेश्‍वरले अब्राहामको हाँसो र उनका थोरै अभिव्यक्तिहरू देख्‍नुभयो? के उहाँलाई ती कुराहरू थाहा थियो? परमेश्‍वरलाई थाहा थियो। तर के परमेश्‍वरले आफूले गर्न खोज्नुभएको कुरा बदल्नुभयो? बदल्नुभएन! जब परमेश्‍वरले योजना बनाउनुभयो र यो मानिसलाई चुन्‍ने सङ्कल्प गर्नुभयो, तब त्यो पूरा भयो। न त कुनै मानिसका विचारहरूले, न उसको आचरणले परमेश्‍वरलाई अलिकति पनि प्रभाव पार्न वा उहाँलाई हस्तक्षेप नै गर्न सक्छ; परमेश्‍वरले मनमानी ढङ्गले आफ्नो योजना परिवर्तन गर्नुहुन्‍न, न त उहाँले मानिसको आचरण, वा उसले अनजानमा गरेको व्यवहारको कारण आवेगमा आएर आफ्नो योजनालाई बदल्नुहुन्छ। अनि, उत्पत्ति १७:२१-२२ मा के लेखिएको छ? “तर म इसहाकसँग मेरो करार स्थापित गर्नेछु, जसलाई अर्को वर्ष तोकेको यस समयमा साराले तेरो निम्ति इसहाकलाई जन्माउनेछे। अनि उहाँ तिनीसँग बोल्‍न छोड्नुभयो र परमेश्‍वर अब्राहामदेखि माथि जानुभयो।” परमेश्‍वरले अब्राहामले सोचेका वा भनेका कुरामा अलिकति पनि ध्यान दिनुभएन। उहाँले बेवास्ता गर्नुको कारण के थियो? किनभने त्यतिखेर, परमेश्‍वरले ती मानिसमा ठूलो विश्‍वास भएको, वा तिनी परमेश्‍वरको ठूलो ज्ञान प्राप्त गर्न सक्‍ने, वा अझ भन्‍ने हो भने, तिनी परमेश्‍वरले गर्नुभएको वा भन्‍नुभएको कुरा बुझ्ने क्षमता भएको हुनुपर्छ भनी मापदण्ड निर्धारण गर्नुभएन। त्यसकारण, उहाँले सङ्कल्प गर्नुभएको काम, उहाँले चुन्‍ने सङ्कल्प गर्नुभएका मानिसहरू वा उहाँका कार्यका सिद्धान्तहरू मानिसले राम्ररी बुझ्नुपर्छ भनी उहाँले भन्‍नुभएन, किनकि मानिसको कद अपर्याप्त थियो। त्यस बेला, अब्राहामले जे गरे पनि र तिनले जसरी व्यवहार गरे पनि त्यसलाई परमेश्‍वरले सामान्य मान्‍नुभयो। उहाँले निन्दा वा गाली गर्नुभएन, तर केवल यति भन्‍नुभयो: “अर्को वर्ष तोकेको यस समयमा साराले तेरो निम्ति इसहाकलाई जन्माउनेछे।” परमेश्‍वरले यी वचनहरू घोषणा गर्नुभएपछि, यो कुरा एक-एक चरण गर्दै पूरा भयो; परमेश्‍वरको दृष्टिमा, उहाँको योजनाले जुन कुरा हासिल गर्नुपर्ने थियो त्यो पहिले नै हासिल भइसकेको थियो। यसका लागि बन्दोबस्तहरू पूरा गरिसकेपछि, परमेश्‍वर जानुभयो। मानिसले जे गर्छ वा सोच्छ, मानिसले जे बुझ्छ, अनि मानिसका योजनाहरू—यी कुनैको पनि परमेश्‍वरसित कुनै सम्बन्ध हुँदैन। सबै कुरा परमेश्‍वरको योजनाअनुसार, उहाँले तोक्‍नुभएको समय र चरणहरूलाई कायम गर्दै अगाडि बढ्छन्। परमेश्‍वरको कामको सिद्धान्त यस्तै हुन्छ। मानिसले सोच्ने वा जान्‍ने कुनै पनि कुरामा परमेश्‍वरले हस्तक्षेप गर्नुहुन्‍न, तैपनि मानिसले विश्‍वास गरेन वा बुझेन भन्दैमा उहाँले आफ्नो योजनालाई वा आफ्नो कामलाई त्याग्‍नुहुन्‍न। तसर्थ, तथ्यहरू परमेश्‍वरको योजना र विचारअनुसार पूरा हुन्छन्। हामी बाइबलमा ठ्याक्‍कै त्यस्तै देख्छौँ: परमेश्‍वरले इसहाकको जन्म उहाँले तय गर्नुभएको समयमै हुने बनाउनुभयो। के तथ्यहरूले मानिसको व्यवहार र आचरणले परमेश्‍वरको काममा बाधा पुर्‍यायो भनी प्रमाणित गर्छन्? तिनीहरूले परमेश्‍वरको काममा बाधा पुर्‍याएनन्! के परमेश्‍वरमाथिको मानिसको थोरै विश्‍वास, र परमेश्‍वरको बारेमा तिनीहरूको धारणा र कल्पनाले परमेश्‍वरको कामलाई असर गरे? अहँ, तिनीहरूले गरेनन्! थोरै पनि गरेनन्! परमेश्‍वरको व्यवस्थापन योजना कुनै मानिस, पदार्थ, वा वातावरणद्वारा प्रभावित हुँदैन। उहाँले गर्छु भनी अठोट गर्नुभएका सबै कुरा ठीक समयमा र उहाँको योजनाअनुसार पूरा हुन्छन्, र उहाँको काममा कुनै पनि मानिसले हस्तक्षेप गर्न सक्दैन। परमेश्‍वरले मानिसको मूर्खता र अज्ञानताका केही पक्षहरूलाई बेवास्ता गर्नुहुन्छ, र उहाँप्रतिको मानिसको प्रतिरोध र धारणाहरूका केही पक्षहरूलाई पनि बेवास्ता गर्नुहुन्छ, र चाहे जेसुकै भए पनि आफूले गर्नुपर्ने काम उहाँले गरिछाड्नुहुन्छ। यो परमेश्‍वरको स्वभाव हो, र यो उहाँको सर्वव्यापकताको प्रतिबिम्ब हो।

२. अब्राहामले इसहाकलाई बलि चढाउँछन्

उत्पत्ति २२:२-३ अनि उहाँले भन्‍नुभयो, अब आफ्नो छोरो, तैँले माया गर्ने तेरो एकमात्र छोरो इसहाकलाई साथमा लिएर मोरीयाहको देशमा जा; अनि मैले तँलाई पर्वतहरूमध्ये जुन पर्वतमा जा भन्‍नेछु त्यसलाई त्यहाँ होमबलि चढा। अनि अब्राहाम बिहान सबेरै उठे र आफ्नो गधामा काठी कसे र आफूसँग आफ्ना जवान मानिसहरूमध्ये दुई जना र आफ्नो छोरो इसहाकलाई लिए, अनि होमबलिको निम्ति दाउरा चिरे, र उठे, अनि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा गए।

उत्पत्ति २२:९-१० अनि तिनीहरू परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा आए; अनि अब्राहामले त्यहाँ एउटा वेदी बनाए अनि दाउरा मिलाएर राखे र आफ्नो छोरो इसहाकलाई बाँधे अनि उसलाई वेदीमा दाउरामाथि राखे। अनि अब्राहामले आफ्नो हात तन्काए अनि आफ्नो छोरोलाई मार्न छुरी लिए।

परमेश्‍वरको व्यवस्थापन कार्य र मानिसको मुक्ति अब्राहामले इसहाकलाई बलि चढाएको घटनाबाट सुरु हुन्छ

अब्राहामलाई एउटा छोरो दिनुभएपछि, परमेश्‍वरले अब्राहामलाई भन्‍नुभएको वचन पूरा भयो। यसको अर्थ परमेश्‍वरको योजना यहीँ रोकियो भन्‍ने होइन; यसको विपरीत, मानवजातिको व्यवस्थापन र मुक्तिको लागि परमेश्‍वरको भव्य योजना भर्खरै मात्र सुरु भएको थियो र उहाँले अब्राहामलाई एउटा छोरा दिनुभएको आशिष् त उहाँको समग्र व्यवस्थापन योजनाका लागि एक प्रारब्ध मात्र थियो। अब्राहामले इसहाकलाई बलि चढाउनेबित्तिकै शैतानसित परमेश्‍वरको लडाइँ चुपचाप सुरु भइसकेको थियो भनेर कसलाई थाहा थियो र?

मानिस मूर्ख छ कि छैन सो परमेश्‍वरले वास्ता गर्नुहुन्‍न—उहाँले केवल मानिस साँचो होस् भनेर मात्र भन्‍नुहुन्छ

यसपछि, हामी परमेश्‍वरले अब्राहामलाई के गर्नुभयो सो हेरौँ। उत्पत्ति २२:२ मा, परमेश्‍वरले अब्राहामलाई निम्‍न आज्ञा दिनुभयो: “अब आफ्नो छोरो, तैँले माया गर्ने तेरो एकमात्र छोरो इसहाकलाई साथमा लिएर मोरीयाहको देशमा जा; अनि मैले तँलाई पर्वतहरूमध्ये जुन पर्वतमा जा भन्‍नेछु त्यसलाई त्यहाँ होमबलि चढा।” परमेश्‍वरले भन्‍नुभएको वचनको अर्थ स्पष्ट थियो: उहाँले अब्राहामलाई तिनले प्रेम गर्ने तिनको एक मात्र छोरो इसहाकलाई होमबलि दिनू भनेर भन्‍नुभएको थियो। आज यसलाई हेर्दा, के परमेश्‍वरको आज्ञा अझै पनि मानव धारणासँग नमिल्दो छ? छ! त्यति बेला परमेश्‍वरले गर्नुभएका सबै कुरा मानिसको धारणाको विरुद्ध छ। यो मानिसका निम्ति बुझ्न नसकिने कुरा हो। तिनीहरूको धारणामा, मानिसहरू निम्‍न कुरामा विश्‍वास गर्छन्: जब मानिसले विश्‍वास नै गरेन, र यसलाई असम्भव ठान्यो, तब परमेश्‍वरले उसलाई एउटा छोरो दिनुभयो, र उसले एउटा छोरा पाएपछि, परमेश्‍वरले उसलाई आफ्नो छोराको बलि चढाउनू भन्‍नुभयो। के यो पूर्ण रूपमा अविश्‍वसनीय छैन र! परमेश्‍वरले वास्तवमा के गर्न चाहनुहुन्थ्यो? परमेश्‍वरको वास्तविक अभिप्राय के थियो? उहाँले विनासर्त अब्राहामलाई एउटा छोरा दिनुभयो, तर उहाँले अब्राहामलाई विनासर्त बलि चढाउनू पनि भन्‍नुभयो। के यो अति धेरै थियो? तेस्रो पक्षको दृष्टिकोणबाट हेर्दा, यो केवल अति धेरै मात्र होइन, केही हदसम्म “विनाकारण समस्या उत्पन्‍न गर्ने” मामला पनि थियो। तर परमेश्‍वरले अति धेरै कुरा माग्दै हुनुहुन्छ भन्‍ने अब्राहाम आफैले विश्‍वास गरेनन्। यसबारे तिनको आफ्नै केही थोरै धारणाहरू भएको भए पनि र तिनले परमेश्‍वरलाई केही शङ्का गरेको भए पनि, तिनी अझै पनि बलि चढाउन तयार भए। यस स्थितिमा, अब्राहाम आफ्नो छोराको बलि चढाउन तयार थिए भनी प्रमाणित गर्ने के कुरालाई देख्छस्? यी वाक्यहरूमा के भनिएको छ? मूल पाठले निम्‍न विवरणहरू दिन्छ: “अनि अब्राहाम बिहान सबेरै उठे र आफ्नो गधामा काठी कसे र आफूसँग आफ्ना जवान मानिसहरूमध्ये दुई जना र आफ्नो छोरो इसहाकलाई लिए, अनि होमबलिको निम्ति दाउरा चिरे, र उठे, अनि परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा गए” (उत्पत्ति २२:३)। “अनि तिनीहरू परमेश्‍वरले तिनलाई भन्‍नुभएको ठाउँमा आए; अनि अब्राहामले त्यहाँ एउटा वेदी बनाए अनि दाउरा मिलाएर राखे र आफ्नो छोरो इसहाकलाई बाँधे अनि उसलाई वेदीमा दाउरामाथि राखे। अनि अब्राहामले आफ्नो हात तन्काए अनि आफ्नो छोरोलाई मार्न छुरी लिए” (उत्पत्ति २२:९-१०)। जब अब्राहामले आफ्नो छोरोलाई मार्न हात बढाएर हतियार उठाए, के परमेश्‍वरले तिनका कार्यहरू देख्‍नुभयो? उहाँले देख्‍नुभयो। परमेश्‍वरले अब्राहामलाई तिनको छोराको बलि चढाउनू भन्‍नुभएदेखि अब्राहामले इसहाकलाई बलि चढाउन हतियार उठाएको सम्पूर्ण प्रक्रियाले सुरुदेखि नै परमेश्‍वरलाई अब्राहामको हृदय कस्तो छ भन्‍ने देखायो, र तिनको पहिलेको मूर्खता, अज्ञानता र परमेश्‍वरको बारेमा गलत बुझाइको बाबजुद पनि, त्यसबेला अब्राहामको हृदय परमेश्‍वरप्रति साँचो र इमानदार थियो, र तिनले परमेश्‍वरबाट पाएको आफ्नो छोरा इसहाकलाई फेरि साँच्‍चै नै परमेश्‍वरलाई नै फिर्ता दिन लागेका थिए। परमेश्‍वरले तिनमा आज्ञापालन देख्‍नुभयो, त्यस्तो आज्ञापालन जुन उहाँ चाहनुहुन्थ्यो।

मान्छेलाई परमेश्‍वरले बुझ्नै नसकिने र अविश्‍वसनीय धेरै कामहरू गर्नुहुन्छ भन्‍ने लाग्छ। जब परमेश्‍वरले कसैलाई योजनाबद्ध रूपमा चलाउन चाहनुहुन्छ, यो योजनाबद्ध कार्य प्रायः मानिसको धारणासँग मिल्दैन र उसले बुझ्न नसक्‍ने हुन्छ, तर यही बेमेल र बुझ्न नसक्‍ने कुरा नै मानिसको निम्ति परमेश्‍वरको परीक्षा र जाँच हो। यसबीच, अब्राहाम आफूभित्रै परमेश्‍वरप्रति आज्ञाकारिता प्रकट गर्न सक्षम थिए, जुन तिनी परमेश्‍वरको मापदण्ड पूरा गर्न सक्षम हुनुको सबैभन्दा आधारभूत सर्त थियो। जब अब्राहामले परमेश्‍वरको मापदण्ड पूरा गर्न सक्षम भएर इसहाकलाई बलि चढाए, तब मात्र परमेश्‍वर साँच्‍चै मानव जातिप्रति, अर्थात् उहाँले चुन्‍नुभएको अब्राहामप्रति आश्‍वस्तता र स्वीकृति महसुस गर्नुभयो। तब मात्र परमेश्‍वर उहाँले चुन्‍नुभएको यो व्यक्ति अति आवश्यक अगुवा हो, जसले उहाँको प्रतिज्ञा र त्यसपछिको व्यवस्थापन योजना पूरा गर्न सक्छ भनी निश्‍चित हुनुभयो। यो एउटा परीक्षा र जाँच मात्र रहेको भए पनि, परमेश्‍वरले सन्तुष्ट महसुस गर्नुभयो, उहाँले उहाँप्रतिको मानिसको प्रेम महसुस गर्नुभयो, र उहाँले यसअघि मानिसबाट कहिल्यै नपाएको सान्त्वना पाएको महसुस गर्नुभयो। जुन क्षण अब्राहामले इसहाकलाई मार्न छुरी उठाए, के परमेश्‍वरले तिनलाई रोक्‍नुभयो? परमेश्‍वरले अब्राहामलाई इसहाकको बलि चढाउन दिनुभएन, किनकि इसहाकको ज्यान लिने अभिप्राय परमेश्‍वरको थिएन। यसैले, परमेश्‍वरले ठीक समयमा अब्राहामलाई रोक्‍नुभयो। परमेश्‍वरका लागि, अब्राहामको आज्ञाकारिता यसअघि नै परीक्षामा सफल भइसकेको थियो, तिनले जे गरे त्यो पर्याप्त थियो, र परमेश्‍वरले आफूले गर्न चाहनुभएको कामको नतिजा देखिसक्‍नुभएको थियो। के यो नतिजा परमेश्‍वरको निम्ति सन्तोषजनक थियो? यो भन्‍न सकिन्छ कि यो नतिजा परमेश्‍वरको निम्ति सन्तोषजनक थियो, यही कुरा परमेश्‍वरले चाहनुभएको थियो, र यही कुरा हेर्ने परमेश्‍वरको तृष्णा थियो। के यो सत्य हो? विभिन्‍न सन्दर्भहरूमा, परमेश्‍वरले प्रत्येक व्यक्तिलाई जाँच्ने विभिन्‍न तरिकाहरू प्रयोग गर्नुहुने भए पनि, अब्राहाममा उहाँले जे चाहनुहुन्थ्यो त्यो देख्‍नुभयो, अब्राहामको हृदय साँचो छ, र तिनको आज्ञाकारिता सर्तरहित छ भन्‍ने देख्‍नुभयो। वास्तवमा परमेश्‍वरले चाहनुभएको पनि त्यस्तै “सर्तरहित” कुरा थियो। मानिसहरू प्रायः भन्छन्, “मैले यो पहिले नै चढाइसकेँ, मैले पहिले नै त्यो त्यागिसकेको छु—परमेश्‍वर अझै पनि किन मसँग सन्तुष्ट हुनुहुन्‍न? उहाँले किन मलाई परीक्षाहरू गरिरहनुहुन्छ? उहाँले किन मलाई जाँच गरिरहनुहुन्छ?” यसले एउटा तथ्यलाई प्रकट गर्छ: परमेश्‍वरले तेरो हृदय देख्‍नुभएको छैन, र तेरो हृदय प्राप्त गर्नुभएको छैन। भन्‍नुको तात्पर्य, जसरी अब्राहामले आफ्नै छोरालाई बलि चढाउनका निम्ति आफ्नै हातले हतियार उठाए, तिनले जुन इमानदारिता देखाए, त्यस्तो इमानदारिता उहाँले तँमा देख्‍नुभएको छैन। उहाँले तेरो सर्तरहित आज्ञाकारिता देख्‍नुभएको छैन, र तँबाट सान्त्वना पाउनुभएको छैन। यसैले, परमेश्‍वरले तँलाई जाँचिरहनु स्वाभाविक कुरा हो। के यो सत्य होइन र? जहाँसम्म यो विषयको कुरा छ, हामी यसलाई यहीँ छोड्नेछौँ। यसपछि, हामी “अब्राहामलाई परमेश्‍वरको प्रतिज्ञा” पढ्नेछौँ।

३. अब्राहामलाई परमेश्‍वरको प्रतिज्ञा

उत्पत्ति २२:१६-१८ यहोवाले भन्‍नुभयो, म आफैले शपथ खाएको छु किनभने तैँले यो गरेको छस् र तैँले तेरो छोरा अर्थात् तेरो एक मात्र छोरा मलाई नदिई आफूसँग राखेको छैनस्: आशिष्‌मा म तँलाई आशिष्‌ दिनेछु र वृद्धिमा तेरा सन्तानलाई बढाएर आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह वृद्धि गर्नेछु; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्; किनभने तैँले मेरो वचन पालन गरेको छस्।

यो परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌को सम्पूर्ण विवरण हो। संक्षिप्त भए पनि, यसको विषयवस्तु समृद्ध छ: यसमा परमेश्‍वरले अब्राहामलाई वरदान दिनुको कारण, र पृष्ठभूमि, र उहाँले अब्राहामलाई दिनुभएको कुरा के थियो सो कुरा समावेश छन्। यसमा परमेश्‍वर आनन्द र उत्साहले ओतप्रोत भएर यी वचनहरू बोल्नुभएको, साथै उहाँको वचन सुन्‍न सक्‍नेहरूलाई प्राप्त गर्ने उहाँको चाहनाको तीव्रता पनि छ। यसमा, हामी परमेश्‍वरका वचनहरू पालन गर्ने र उहाँका आज्ञाहरू मान्‍नेहरूप्रति उहाँको स्‍नेह र प्रेम देख्छौँ। यसरी हामी परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर्न चुकाउनुहुने मूल्य, र मानिसहरूलाई प्राप्त गर्नको लागि उहाँले समर्पण गर्नुहुने वास्ता र विचारलाई देख्छौँ। यसबाहेक, “म आफैले शपथ खाएको छु,” भन्‍ने वचनहरू भएको यो खण्डले हामीलाई परमेश्‍वरले उहाँको व्यवस्थापन योजनाको यो कामको दृश्यपछाडि सहनुभएको तीतोपना र पीडाको कडा आभास दिलाउँछ। यो विचारोत्तेजक खण्ड हो, र यो घटनापछि आउनेहरूका लागि यसको विशेष महत्त्व थियो, र उनीहरूमा यसको दूरगामी प्रभाव पारेको थियो।

मानिसले उसको इमानदारिता र आज्ञापालनको कारण परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्छ

के हामीले यहाँ पढेको परमेश्‍वरले अब्राहामलाई दिनुभएको आशिष्‌ महान् थियो? यो कतिसम्म महान् थियो? यहाँ एउटा मुख्य वाक्य छ: “र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌।” यो वाक्यले के देखाउँछ भने, अब्राहामले त्यस्ता आशिष्‌हरू पाए जुन तिनीभन्दा अघि वा पछि आएका कसैलाई पनि दिइएन। परमेश्‍वरले भन्‍नुहुँदा अब्राहामले तिनको एक मात्र प्रिय छोरा परमेश्‍वरलाई फर्काइदिए (यहाँ हामीले “बलि चढाउनु” भन्‍न सक्दैनौं; तिनले आफ्नो छोरा परमेश्‍वरलाई फर्काइदिए भनेर हामीले भन्‍नुपर्छ), परमेश्‍वरले अब्राहामलाई इसहाकको बलि चढाउनबाट मात्र रोक्‍नुभएन, उहाँले त तिनलाई आशिष्‌ पनि दिनुभयो। उहाँले अब्राहामलाई कुन प्रतिज्ञाको आशिष्‌ दिनुभयो? उहाँले तिनका सन्तानलाई वृद्धि गर्ने प्रतिज्ञा दिनुभयो। अनि तिनीहरू कतिसम्म वृद्धि हुनेवाला थिए? धर्मशास्‍त्रले निम्‍न विवरण दिन्छ: “आकाशका ताराहरूसरह, र समुद्र किनारको बालुवासरह; र तेरा सन्तानले त्यसका शत्रुहरूको प्रवेशद्वार कब्जा गर्नेछन्; र तेरा सन्तानमा पृथ्वीका सबै जातिहरूले आशिष्‌ पाउनेछन्‌।” परमेश्‍वरले कुन सन्दर्भमा यी वचनहरू बोल्‍नुभयो? भन्‍नुको अर्थ, अब्राहामले कसरी परमेश्‍वरको आशिष्‌ पाए? तिनले धर्मशास्‍त्रमा परमेश्‍वरले भन्‍नुभएजस्तै गरी ती प्राप्त गरे: “किनभने तैँले मेरो वचन पालन गरेको छस्।” अर्थात्, अब्राहामले परमेश्‍वरको आज्ञापालन गरेका थिए, तिनले परमेश्‍वरले भन्‍नुभएका, माग्‍नुभएका र आज्ञा गर्नुभएका सबै काम एउटै पनि गुनासो नगरी पूरा गरे, यसैले परमेश्‍वरले तिनीसित त्यस्तो प्रतिज्ञा गर्नुभयो। यस प्रतिज्ञामा एउटा महत्त्वपूर्ण वाक्य छ, जुन त्यस समयका परमेश्‍वरका विचारहरूसँग सम्बन्धित छ। के तिमीहरूले यो देखेका छौ? हुन सक्छ, तिमीहरूले “म आफैले शपथ खाएको छु” भन्‍ने परमेश्‍वरका वचनहरूमा त्यति ध्यान दिएका छैनौ होला। ती वचनहरूको अर्थ के हो भने, जब परमेश्‍वरले यी वचनहरू बोल्नुभयो, उहाँ आफैले शपथ खानुभयो। शपथ खाँदा मानिसहरू के कसम खाने गर्छन्? तिनीहरू स्वर्गको कसम खान्छन्, भन्‍नुको अर्थ, तिनीहरूले परमेश्‍वरसित शपथ खान्छन् र परमेश्‍वरको नाउँमा कसम खान्छन्। परमेश्‍वरले कुन घटनाको कारण आफ्‍नै नाममा कसम खानुभयो भन्‍नेबारेमा मानिसहरूलाई त्यत्ति ज्ञान नहुन सक्छ, तर मैले तिमीहरूलाई सही प्रकारले बताएपछि तिमीहरूले बुझ्न सक्‍नेछौ। परमेश्‍वरले उहाँको वचन मात्र सुन्‍ने तर उहाँको हृदयलाई नबुझ्ने एक जना मानिसको सामना गर्नुभएपछि एकचोटि फेरि उहाँले एकलो र अन्योल महसुस गर्नुभयो। निराशामा—र यो पनि भन्‍न सकिन्छ कि अवचेतन रूपमा—परमेश्‍वरले एउटा अत्यन्त स्वाभाविक काम गर्नुभयो: परमेश्‍वरले आफ्नो हात आफ्नो हृदयमा राख्‍नुभयो र अब्राहामलाई यो प्रतिज्ञा दिनुहुँदा आफैलाई सम्बोधन गर्नुभयो, र यस क्रममा परमेश्‍वरले “म आफैले शपथ खाएको छु” भन्‍नुभएको मानिसले सुन्यो। परमेश्‍वरका कार्यहरूद्वारा तँ आफ्‍नै बारेमा सोच्न सक्छस्। जब तँ आफ्नो हात आफ्नो हृदयमा राख्छस् र आफैसँग बोल्छस्, तब के तैँले आफूले भनेको कुरा स्पष्ट बुझ्छस्? के तेरो मनोवृत्ति इमानदार छ? के तँ आफ्नो हृदयसित खुलस्त कुरा गर्न सक्छस्? यसैले, हामी यहाँ देख्छौँ कि परमेश्‍वर अब्राहामसँग बोल्नुहुँदा उहाँ गम्भीर र इमानदार हुनुहुन्थ्यो। अब्राहामसँग बोल्नुहुँदा र तिनलाई आशिष्‌ दिनुहुँदा, परमेश्‍वर आफैसित पनि बोलिरहनुभएको थियो। उहाँले आफैलाई भन्दै हुनुहुन्थ्यो: म अब्राहामलाई आशिष् दिनेछु, र त्यसका सन्तान आकाशका ताराहरूजत्तिकै असङ्ख्य र समुद्रको किनारको बालुवासरह प्रशस्त बनाउनेछु, किनकि त्यसले मेरो वचन पालन गर्‍यो र म त्यसैलाई चुन्छु। जब परमेश्‍वरले “म आफैले शपथ खाएको छु” भन्‍नुभयो, तब अब्राहाममा उहाँले इस्राएलको चुनिएका मानिसहरू जन्माउनुहुनेछ भनी सङ्कल्प गर्नुभयो र त्यसपछि उहाँले ती मानिसहरूलाई उहाँको कामको गतिअनुसार अगाडि बढाउनुहुनेथ्यो। अर्थात्, परमेश्‍वरले अब्राहामका सन्तानलाई परमेश्‍वरको व्यवस्थापनको काम वहन गर्न लगाउनुहुनेथ्यो, र परमेश्‍वरको काम र परमेश्‍वरद्वारा व्यक्त गरिएको कुरा अब्राहामबाट सुरु हुनेथ्यो र अब्राहामका सन्तानमा जारी रहनेथ्यो, र यस प्रकारले मानिसलाई मुक्ति दिने परमेश्‍वरको इच्छा साकार हुनेथ्यो। तिमीहरू के भन्छौ, के यो एक आशिषित कुरा होइन र? मानिसका लागि योभन्दा ठूलो आशिष्‌ अर्को कुनै छैन; यो भन्‍न सकिन्छ कि यो नै सबैभन्दा धेरै रूपमा आशिषित कुरा हो। अब्राहामले प्राप्त गरेको आशिष्‌ तिनको सन्तान धेरै वृद्धि हुनु थिएन, बरु परमेश्‍वरद्वारा अब्राहामको सन्तानमा उहाँको व्यवस्थापन, उहाँको आज्ञा र उहाँको काम हासिल गर्नु थियो। यसको अर्थ के हो भने, अब्राहामले पाएका आशिष्‌हरू अस्थायी थिएनन्, ती आशिष्‌ त परमेश्‍वरको व्यवस्थापन योजना अगाडि बढ्दै जाँदा निरन्तर रहिरहे। जब परमेश्‍वर बोल्नुभयो, जब परमेश्‍वरले आफ्नै नाउँमा शपथ खानुभयो, उहाँले पहिले नै सङ्कल्प गरिसक्‍नुभएको थियो। के त्यो सङ्कल्पको प्रक्रिया सत्य थियो? के त्यो वास्तविक थियो? त्यस समयदेखि यता, उहाँका प्रयासहरू, उहाँले तिर्नुभएको मूल्य, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँका सबै थोक, र उहाँको जीवनसमेत अब्राहाम र अब्राहामका सन्तानहरूलाई दिइनेछ भनी परमेश्‍वरले सङ्कल्‍प गर्नुभयो। यसरी परमेश्‍वरले यो पनि सङ्कल्प गर्नुभयो कि मानिसहरूको त्यो झुन्डबाट सुरु गरेर, उहाँले आफ्ना कार्यहरू प्रकट गर्नुहुनेछ, र मानिसलाई उहाँको बुद्धि, अख्तियार र शक्ति देखाउनुहुनेछ।

परमेश्‍वरलाई चिन्‍नेहरू र उहाँको गवाही दिन सक्‍नेहरूलाई प्राप्त गर्नु परमेश्‍वरको अपरिवर्तनीय इच्छा हो

परमेश्‍वरले आफैसँग बोल्‍ने क्रममा उहाँ अब्राहामसँग पनि बोल्नुभयो, तर परमेश्‍वरले तिनलाई दिनुभएको आशिष्‌ सुन्‍नुबाहेक, के अब्राहामले त्यस बेला परमेश्‍वरका सबै वचनहरूमा उहाँको वास्तविक इच्छा बुझ्न सके? तिनले सकेनन्! यसैले, जब परमेश्‍वरले आफ्नै नाउँमा शपथ खानुभयो, त्यस बेला उहाँको हृदय एकलो र दुःखी थियो। उहाँले चाहनुभएको र योजना बनाउनुभएको कुरा बुझ्ने एक जना व्यक्ति पनि थिएन। त्यस बेला, अब्राहामलगायत कोही पनि उहाँसँग हिम्मतसाथ बोल्न सक्दैनथ्यो, उहाँले गर्नुपर्ने काममा उहाँसँग सहकार्य गर्न सक्‍ने कोही हुनु त झन् परै जाओस्। बाहिरबाट हेर्दा, परमेश्‍वरले अब्राहामलाई प्राप्त गर्नुभएको थियो, जसले उहाँको वचन पालन गर्न सक्थ्यो। तर वास्तवमा, यस व्यक्तिको परमेश्‍वरसम्बन्धी ज्ञान अति नै थोरै थियो। परमेश्‍वरले अब्राहामलाई आशिष्‌ दिइसक्‍नुभएको थियो, तापनि परमेश्‍वरको हृदय अझै सन्तुष्ट थिएन। परमेश्‍वर सन्तुष्ट हुनुहुन्‍नथ्यो भन्‍नुको अर्थ के हो? यसको अर्थ उहाँको व्यवस्थापन भर्खरै मात्र सुरु भएको थियो, र उहाँले प्राप्त गर्न चाहनुभएका मानिसहरू, उहाँले हेर्न चाहनुभएका मानिसहरू, उहाँले प्रेम गर्नुभएका मानिसहरू अझै पनि उहाँबाट धेरै टाढा थिए; उहाँलाई समय चाहिएको थियो, उहाँले पर्खनु आवश्यक थियो, उहाँ धैर्यवान् हुनु आवश्यक थियो। किनकि त्यस समय उहाँलाई के चाहिएको थियो, वा उहाँले के प्राप्त गर्न चाहनुभएको थियो वा उहाँले के चाहनुहुन्थ्यो भनेर जान्‍ने परमेश्‍वर स्वयम्‌बाहेक अरू कोही थिएन। यसैले, परमेश्‍वर अत्यन्तै उत्साहित हुनुभएको त्यो बेला, उहाँले आफ्‍नो हृदय भारी भएको पनि महसुस गर्नुभयो। तैपनि उहाँले आफ्ना पाइलाहरू रोक्‍नुभएन, र उहाँले आफूले गर्नुपर्ने कामको अर्को चरणको योजना बनाउँदै जानुभयो।

परमेश्‍वरले अब्राहामलाई दिनुभएको प्रतिज्ञामा तिमीहरू के देख्छौ? परमेश्‍वरले अब्राहामलाई महान् आशिष्‌ दिनुभयो, किनकि तिनले परमेश्‍वरको वचन पालन गरे। बाहिरबाट हेर्दा यो कुरा सामान्य देखिए पनि, र अवश्य नै यसमा हामी परमेश्‍वरको हृदय देख्छौँ: परमेश्‍वर विशेष गरी उहाँप्रतिको मानिसको आज्ञाकारितालाई मूल्यवान् ठान्‍नुहुन्छ अनि उहाँको बारेमा मानिसको बुझाइ र उहाँप्रतिको इमानदारितालाई कदर गर्नुहुन्छ। परमेश्‍वरले यस्तो इमानदारितालाई कति हदसम्म कदर गर्नुहुन्छ? उहाँले त्यसलाई कति हदसम्म कदर गर्नुहुन्छ भनी तिमीहरू बुझ्न सक्दैनौ होला, अनि यसलाई महसुस गर्ने त झन् कोही पनि नहुन सक्छ। परमेश्‍वरले अब्राहामलाई एउटा छोरा दिनुभयो र त्यो छोरो ठूलो भएपछि परमेश्‍वरले अब्राहामलाई आफ्नो छोराको बलि चढाउनू भनी भन्‍नुभयो। अब्राहामले परमेश्‍वरको हरेक आज्ञा पालन गरे, तिनले परमेश्‍वरको वचन पालन गरे, र तिनको इमानदारिताले परमेश्‍वरको हृदय छोयो र परमेश्‍वरले यसलाई मूल्यवान् ठान्‍नुभयो। परमेश्‍वरले यसलाई कति मूल्यवान् ठान्‍नुभयो? अनि, परमेश्‍वरले यसलाई किन मूल्यवान् ठान्‍नुभयो? कसैले पनि परमेश्‍वरको वचन नबुझेको वा उहाँको हृदयलाई नबुझेको समयमा अब्राहामले यस्तो काम गरे जसले स्वर्ग हल्लायो र पृथ्वी थर्कायो, र त्यसले परमेश्‍वरलाई अभूतपूर्व सन्तुष्टि प्रदान गर्‍यो, र उहाँका वचनहरू पालन गर्न सक्‍ने कुनै व्यक्तिलाई प्राप्त गर्नुको आनन्द परमेश्‍वरलाई दियो। यो सन्तुष्टि र आनन्द परमेश्‍वरको आफ्नै हातले बनाएको प्राणीबाट आयो, र त्यो मानिसले परमेश्‍वरलाई चढाएको पहिलो “बलिदान” थियो र मानिसलाई सृष्टि गरिएको समयदेखि यता परमेश्‍वरले सबैभन्दा बढी त्यसलाई नै मूल्यवान् ठान्‍नुभएको थियो। यो बलिको प्रतीक्षा गर्न परमेश्‍वरलाई निकै कठिन भएको थियो, र उहाँले त्यसलाई उहाँले सृष्टि गर्नुभएको मानिसबाट पाउनुभएको पहिलो सबैभन्दा महत्त्वपूर्ण उपहारको रूपमा लिनुभयो। यसले परमेश्‍वरलाई उहाँको प्रयास र उहाँले तिर्नुभएको मूल्यको पहिलो फल देखायो, र यसले गर्दा उहाँले मानवजातिमा आशा देख्‍नुभयो। त्यसपछि, उहाँलाई साथ दिन, उहाँसित इमानदार व्यवहार गर्न, र इमानदारीसाथ उहाँको वास्ता गर्नका निम्ति परमेश्‍वरले त्यस्ता मानिसहरूको झुन्डको अझ ठूलो चाहना गर्नुभयो। परमेश्‍वरले अब्राहाम जीवित रहिरहून् भन्‍नेसमेत आशा गर्नुभयो, किनकि उहाँले आफ्नो व्यवस्थापनलाई अगाडि बढाउँदै जाने क्रममा अब्राहामको जस्तो हृदयले उहाँलाई साथ देओस् र त्यस्तो हृदय उहाँको साथमा रहोस् भनी इच्छा गर्नुभयो। परमेश्‍वरले जे चाहनुभएको भए पनि त्यो एउटा इच्छा, एउटा विचार मात्र थियो—किनकि अब्राहाम त उहाँको आज्ञापालन गर्न सक्‍ने एक मानिस मात्र थिए, र तिनमा रत्तीभर पनि परमेश्‍वरको बारेमा बुझाइ वा ज्ञान थिएन। अब्राहाम त्यस्तो मानिस थिए जो मानिसबाट परमेश्‍वरले अपेक्षा गर्नुभएका मापदण्डहरूको स्तरभन्दा धेरै तल थिए, र ती मापदण्डहरू यी थिए: परमेश्‍वरलाई चिन्‍नु, परमेश्‍वरको गवाही दिन सक्‍नु, र परमेश्‍वरसँग एक मनको हुनु। यसैले अब्राहाम परमेश्‍वरसँग हिँड्न सकेनन्। अब्राहामले इसहाकलाई बलि चढाउने घटनामा परमेश्‍वरले अब्राहामको इमानदारिता र आज्ञाकारिता देख्‍नुभयो, र तिनले परमेश्‍वरको जाँचको सामना गर्न सकेको देख्‍नुभयो। परमेश्‍वरले तिनको इमानदारिता र आज्ञाकारितालाई स्वीकार गर्नुभएको भए पनि, तिनी परमेश्‍वरको विश्‍वासपात्र बन्‍न, परमेश्‍वरलाई चिन्‍ने र बुझ्ने व्यक्ति बन्‍न, र परमेश्‍वरको स्वभावको बारेमा ज्ञान भएको व्यक्ति बन्‍न अझै योग्य भइसकेका थिएनन्; तिनी परमेश्‍वरसँग एकै मनको हुने र परमेश्‍वरको इच्छा पूरा गर्न सक्‍ने क्षमताबाट अझै धेरै टाढा थिए। त्यसकारण, हृदयमा परमेश्‍वर अझै एकलो र चिन्तित हुनुहुन्थ्यो। परमेश्‍वर जतिजति एकलो र चिन्तित हुनुभयो, त्यतित्यति नै उहाँले आफ्नो व्यवस्थापनलाई जतिसक्दो चाँडो निरन्तरता दिनु, र उहाँको व्यवस्थापन योजना पूरा गर्न र उहाँको इच्छा हासिल गर्न जतिसक्दो चाँडो मानिसहरूको एउटा झुन्ड चुन्‍नु र प्राप्त गर्नु आवश्यक भयो। यो परमेश्‍वरको उत्सुक इच्छा थियो, र यो सुरुदेखि आजसम्म अपरिवर्तित छ। आदिमा उहाँले मानिसलाई सृष्टि गर्नुभएदेखि यता, परमेश्‍वरले विजेताहरूको एउटा झुन्डको चाहना गर्नुभएको छ, यस्तो झुन्ड जुन उहाँको साथमा हिँड्नेछ र उहाँको स्वभावलाई जान्‍न र बुझ्‍न सक्षम छ। परमेश्‍वरको यो इच्छा कहिल्यै परिवर्तन भएको छैन। उहाँले अझै जति लामो समयसम्म पर्खनु परे पनि, अगाडिको बाटो जति नै कठिन भए पनि, र उहाँले चाहनुभएका उद्देश्यहरू जति नै टाढा भए पनि, परमेश्‍वरले मानिसबाट राख्‍नुभएका अपेक्षाहरू कहिल्यै पनि बदल्नुभएको वा त्याग्‍नुभएको छैन। अब मैले यो भनिसकेपछि, के तिमीहरूले परमेश्‍वरको इच्छाको बारेमा केही महसुस गर्‍यौ? सायद, तिमीहरूले जे महसुस गरेका छौ त्यो गहन नहोला—तर यो बिस्तारै आउनेछ!

अब्राहामको समयमा परमेश्‍वरले एउटा सहर पनि नाश गर्नुभयो। यस सहरलाई सदोम भनिन्थ्यो। अवश्य नै, धेरै मानिसहरू सदोमको कथासँग परिचित छन्, तर त्यो सहरको विनाशको पृष्ठभूमि निर्माण गर्ने परमेश्‍वरका विचारहरूको बारेमा कसैलाई पनि थाहा छैन।

यसैले आज, परमेश्‍वरले अब्राहामसँग गर्नुभएको तलको बातचितद्वारा हामी त्यस समयका उहाँका विचारहरूका बारेमा सिक्‍नेछौँ, साथै उहाँको स्वभावको बारेमा पनि सिक्‍नेछौँ। अब, हामी धर्मशास्‍त्रका निम्‍न खण्डहरू पढौँ।

आ. परमेश्‍वरले सदोमलाई नष्ट गर्नैपर्ने हुन्छ

उत्पत्ति १८:२६ अनि यहोवाले भन्नुभयो, यदि मैले सदोममा सहरभित्र पचास जना धर्मी भेट्टाएँ भने, म तिनीहरूका खातिर त्यो सबै ठाउँलाई छोडिदिनेछु।

उत्पत्ति १८:२९ अनि तिनी फेरि उहाँसँग बोले र भने, केही गरी त्यहाँ चालीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ।

उत्पत्ति १८:३० अनि तिनले उहाँलाई भने, केही गरी त्यहाँ तीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ।

उत्पत्ति १८:३१ अनि तिनले भने, केही गरी त्यहाँ बीस जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसलाई नष्ट गर्नेछैनँ।

उत्पत्ति १८:३२ अनि तिनले भने, केही गरी त्यहाँ दश जना पाइए भने। अनि उहाँले भन्‍नुभयो, म त्यसलाई नष्ट गर्नेछैनँ।

यी मैले बाइबलबाट चुनेका केही खण्डहरू हुन्। ती पूर्ण, मूल संस्करणहरू होइनन्। यदि तिमीहरू ती खण्डहरू हेर्न चाहन्छौ भने, आफै बाइबलमा हेर्न सक्छौ; समय बचत गर्नका लागि, मैले मूल सामग्रीको केही भाग हटाएको छु। यहाँ मैले केही मुख्य खण्ड र वाक्यहरू मात्र चुनेको छु, र आजको हाम्रो सङ्गतिसित सम्‍बन्धित नरहेका विभिन्‍न वाक्यहरूलाई हटाएको छु। हामीले सङ्गति गर्ने सबै खण्ड र विषयहरूमा, हामी कथाहरूको विवरण र मानिसका आचरणहरूमा त्यत्ति ध्यान दिँदैनौँ; त्यसको सट्टा, हामी केवल त्यस बेला परमेश्‍वरका विचार र योजनाहरू के थिए भन्‍ने बारेमा मात्र कुरा गर्छौं। परमेश्‍वरका विचार र योजनाहरूमा हामी परमेश्‍वरको स्वभाव देख्‍नेछौँ र परमेश्‍वरले गर्नुभएका सबै कुराबाट हामी साँचो परमेश्‍वर स्वयम्‌लाई देख्‍नेछौँ—यसमा हामी आफ्नो उद्देश्य हासिल गर्नेछौँ।

परमेश्‍वरका वचनहरू र उहाँका आज्ञाहरू पालन गर्न सक्‍नेहरूलाई मात्र उहाँले वास्ता गर्नुहुन्छ

माथिका खण्डहरूमा धेरै वटा मुख्य शब्‍दहरू अर्थात् सङ्ख्याहरू छन्। सबैभन्दा पहिला, यहोवाले सहरमा पचास जना धर्मी भेट्टाउनुभयो भने, उहाँले त्यो ठाउँलाई जोगाउनुहुनेछ भनी भन्‍नुभयो, यसको मतलब, उहाँले त्यो सहरलाई नष्ट पार्नुहुनेथेन। वास्तवमा, के सदोममा पचास जना धर्मी मानिस थिए त? थिएनन्। त्यसको लगत्तै, अब्राहामले परमेश्‍वरलाई के भने? तिनले भने, यदि त्यहाँ चालीस जना भेट्टाइयो भने? तर परमेश्‍वरले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ। फेरि, अब्राहामले भने, हुन सक्छ तीस जना भेट्टाइयो भने? तर परमेश्‍वरले भन्‍नुभयो, म त्यसो गर्नेछैनँ। र कतै बीस जना भेट्टाइयो भने? म त्यसो गर्नेछैनँ। दस जना? म त्यसो गर्नेछैनँ। के त्यो सहरमा वास्तवमा दस जना धर्मी मानिसहरू थिए? त्यहाँ दस जना थिएनन्—तर एक जना थियो। अनि त्यो एक जना को थियो? ऊ लोत थियो। त्यस समयमा सदोममा एक जना मात्र धर्मी व्यक्ति थियो, तर के यो सङ्ख्या सुनेर परमेश्‍वरले धेरै कडा वा कठोर व्यवहार गर्दै हुनुहुन्थ्यो? होइन, गर्नुभएको थिएन! अनि जब मानिसले यसो भन्दै सोधिरह्यो, “चालीस जना भए के गर्नुहुन्थ्यो?” “तीस जना भए के गर्नुहुन्थ्यो?” आखिरीमा तिनले भने, “दस जना भए के गर्नुहुन्थ्यो?” परमेश्‍वरले भन्‍नुभयो, “यदि त्यहाँ दस जना मात्र भए पनि म सहरलाई नाश गर्दिनँ। म त्यसलाई जोगाउनेछु, र ती दस जनाबाहेक अरू मानिसलाई पनि क्षमा दिनेछु।” यदि त्यहाँ दस जना मात्र थिए भने पनि तिनीहरू दया पाउन योग्य हुन्थे, तर अवस्था यस्तो थियो कि सदोमको धर्मी जनको सङ्ख्या वास्तवमा त्यत्ति पनि थिएन। त्यसपछि तँ देख्छस् कि परमेश्‍वरको नजरमा त्यो सहरका मानिसहरूका पाप र दुष्टता यति धेरै थियो कि उनीहरूलाई नष्ट गर्नुबाहेक परमेश्‍वरसँग अर्को कुनै विकल्प थिएन। परमेश्‍वरले यदि त्यहाँ पचास जना धर्मी छन् भने उहाँले त्यो सहरलाई नष्ट गर्नुहुनेछैन भनी भन्‍नुभएको वचनको अर्थ के थियो? यी सङ्ख्याहरू परमेश्‍वरका लागि महत्त्वपूर्ण थिएनन्। सबैभन्दा महत्त्वपूर्ण कुरा, त्यो सहरमा उहाँले चाहनुभएका धर्मीहरू छन् कि छैनन् भन्‍ने थियो। यदि सहरमा केवल एक जना मात्र धर्मी व्यक्ति हुन्थ्यो भने पनि, परमेश्‍वरले त्यस सहरको विनाश हुँदा उनीहरूलाई नोक्सानमा पर्न दिनुहुनेथेन। यसको अर्थ यो हो कि चाहे परमेश्‍वरले त्यो सहरलाई नष्ट गर्नुभए पनि वा नगर्नुभए पनि, र त्यसमा धर्मी मानिसहरू जति जना नै भए पनि, परमेश्‍वरको नजरमा त्यो पापी सहर श्रापित र निन्दनीय थियो, यसैले त्यसलाई नाश पारिनुपर्थ्यो, र परमेश्‍वरको नजरबाट त्यो विलुप्त हुनुपर्थ्यो, तर धर्मीजन भने बाँकी रहनुपर्थ्यो। युग जुनसुकै भए पनि, मानवजातिको विकासको चरण जुनसुकै भए पनि, परमेश्‍वरको मनोवृत्ति परिवर्तन हुँदैन: उहाँ दुष्टतालाई घृणा गर्नुहुन्छ, र उहाँको नजरमा जो धर्मी छन्, तिनैको वास्ता गर्नुहुन्छ। परमेश्‍वरको यो स्पष्ट मनोवृत्ति परमेश्‍वरको सारको साँचो प्रकाश पनि हो। त्यो सहरमा एक जना मात्र धर्मी व्यक्ति भएकोले, परमेश्‍वर धेरै हिचकिचाउनुभएन। अन्तिम परिणाम के थियो भने सदोम अनिवार्य रूपमा नष्ट हुने नै भयो। तिमीहरू यसमा के देख्छौ? त्यस युगमा, परमेश्‍वरले एउटा सहरमा पचास जना धर्मी भए त्यसलाई नाश पार्नुहुनेथिएन, र त्यहाँ दस जना भए पनि नाश पार्नुहुनेथिएन, र यसको अर्थ के हो भने, केही मानिसहरूले उहाँको डर मान्‍न र आराधना गर्न सकेको कारण परमेश्‍वरले मानवजातिप्रति क्षमाशील र सहनशील हुने वा तिनीहरूलाई अगुवाइ गर्ने निर्णय गर्नुहुनेथ्यो। परमेश्‍वरले मानिसका धर्मी कार्यहरूलाई ठूलो महत्त्व दिनुहुन्छ, उहाँको आराधना गर्नेहरूलाई उहाँले ठूलो महत्त्व दिनुहुन्छ, अनि उहाँको अगाडि असल कार्यहरू गर्नेहरूलाई उहाँले ठूलो महत्त्व दिनुहुन्छ।

प्रारम्भिक कालदेखि आजसम्म, के तिमीहरूले कहिल्यै बाइबलमा परमेश्‍वरले कुनै व्यक्तिलाई सत्यता व्यक्त गर्नुभएको वा परमेश्‍वरको मार्गको बारेमा कुरा गरिरहनुभएको बारेमा पढेका छौ? छैनौ, कहिल्यै पढेका छैनौ। मानिसका लागि बोलिएका परमेश्‍वरका वचनहरू जुन हामीले पढेका छौँ, तिनले मानिसहरूलाई के गर्नुपर्छ भन्‍ने मात्र बताए। केहीले गरे, केहीले गरेनन्; कतिले विश्‍वास गरे, र कतिले गरेनन्। त्यहाँ भएको त्यत्ति नै थियो। त्यसैले त्यस युगका धर्मीहरू—जो परमेश्‍वरको नजरमा धर्मी थिए—तिनीहरू केवल ती व्यक्तिहरू थिए जसले परमेश्‍वरको वचन सुन्‍न र परमेश्‍वरका आज्ञाहरू पालन गर्न सक्थे। तिनीहरू मानिसहरूको माझमा परमेश्‍वरका वचनहरू लैजाने सेवकहरू थिए। के त्यस्ता मानिसहरूलाई परमेश्‍वर चिन्‍नेहरू भनेर भन्‍न सकिन्छ? के तिनीहरूलाई परमेश्‍वरद्वारा सिद्ध पारिएका मानिसहरू भनी भन्‍न सकिन्छ? सकिँदैन, तिनीहरूलाई त्यसो भन्‍न सकिँदैन। त्यसैले तिनीहरूको सङ्ख्या जति नै भए पनि, के परमेश्‍वरको नजरमा यी धर्मी व्यक्तिहरू परमेश्‍वरका विश्‍वासपात्र भनिन योग्य थिए? के तिनीहरूलाई परमेश्‍वरका साक्षीहरू भन्‍न सकिन्छ? अवश्य सकिँदैन! तिनीहरू अवश्य नै परमेश्‍वरका विश्‍वासपात्र र साक्षीहरू भनिन योग्य थिएनन्। त्यसो भए, परमेश्‍वरले त्यस्ता मानिसहरूलाई के भनेर बोलाउनुभयो? बाइबलको पुरानो करारमा हामीले भर्खर पढेका पदहरूसम्म, परमेश्‍वरले तिनीहरूलाई “मेरो सेवक” भनी सम्बोधन गर्नुभएका धेरै वटा उदाहरणहरू छन्। भन्‍नुको अर्थ, त्यो बेला परमेश्‍वरको नजरमा ती धर्मी मानिसहरू परमेश्‍वरका सेवकहरू थिए, तिनीहरू पृथ्वीमा उहाँको सेवा गर्ने मानिसहरू थिए। अनि परमेश्‍वरले यो विशेष उपाधिको बारेमा के सोच्नुभयो? उहाँले तिनीहरूलाई किन त्यसरी बोलाउनुभयो? के परमेश्‍वरको हृदयमा मानिसहरूलाई सम्बोधन गर्ने विशेष उपाधिहरूका मापदण्डहरू छन्? उहाँसित निश्‍चय नै छ। परमेश्‍वरले मानिसहरूलाई धर्मी, सिद्ध, सोझो वा सेवकहरू जे भनेर सम्बोधन गर्नुभए पनि उहाँसित मापदण्डहरू हुन्छन्। जब उहाँले कसैलाई उहाँको सेवक भन्‍नुहुन्छ, तब उहाँले त्यो व्यक्ति उहाँका सन्देशहरू ग्रहण गर्न, उहाँका आज्ञाहरू पालन गर्न र सन्देशवाहकहरूबाट आज्ञा गरिएका काम पूरा गर्न सक्छ भन्‍ने दृढ विश्‍वास गर्नुहुन्छ। यस व्यक्तिले के काम गर्छ? यस्ता व्यक्तिहरूले ती कार्यहरू गर्छन् जुन कार्यहरू परमेश्‍वरले मानिसलाई पृथ्वीमा गर्न र अघि बढाउन लगाउनुहुन्छ। त्यस बेला, के परमेश्‍वरले मानिसलाई पृथ्वीमा गर्नू र अघि बढाउनू भनी भन्‍नुभएको कामलाई परमेश्‍वरको मार्ग भन्‍न सकिन्छ? अहँ, सकिँदैन। किनकि त्यस समयमा, परमेश्‍वरले मानिसलाई केही साधारण कार्यहरू मात्र गर्न लगाउनुभएको थियो; उहाँले केही साधारण आज्ञाहरूमात्र गरेर, मानिसलाई यो वा त्यो गर्नू मात्र भन्‍नुभयो, त्योभन्दा बढी केही पनि गर्न लगाउनुभएन। परमेश्‍वरले आफ्नो योजनाअनुसार काम गर्दै हुनुहुन्थ्यो। किनकि, त्यस समयमा यसको लागि आवश्यक धेरै अवस्थाहरू छँदै थिएनन्, समय अझै आइपुगेको थिएन, र मानवजातिका लागि परमेश्‍वरको मार्ग वहन गर्नु गाह्रो थियो, र यसरी परमेश्‍वरको मार्ग अझै पनि परमेश्‍वरको हृदयदेखि जारी हुन बाँकी नै थियो। परमेश्‍वरले जुन धर्मी मानिसहरूको कुरा गर्नुभयो तिनीहरूलाई आफ्ना दासहरूका रूपमा देख्‍नुभयो—चाहे ती तीस जना हुन् वा बीस जना। जब परमेश्‍वरका दूतहरू यी दासहरूकहाँ आए, तिनीहरूले उनीहरूलाई स्वीकार गर्न सके, र उनीहरूका आज्ञाहरू अनुसरण गरे, र उनीहरूका वचनहरूअनुसार कार्य गरे। परमेश्‍वरको नजरमा जो सेवकहरू थिए तिनीहरूले वास्तवमा यसै गर्नुपर्छ, र यही कुरा हासिल गर्नुपर्छ। परमेश्‍वरले मानिसहरूसँग विवेकशील रूपमा अपील गर्नुहुन्छ। तिनीहरू अहिलेका तिमीहरूजस्‍तै भएको कारणले—तिनीहरूले धेरै प्रचार सुनेका, परमेश्‍वरले के गर्नुहुन्छ भनी जानेका, परमेश्‍वरको धेरै इच्छा बुझेका, उहाँको व्यवस्थापन योजनालाई बुझेका कारणले—होइन बरु तिनीहरू आफ्नो मानवतामा इमानदार रहेका र परमेश्‍वरका वचनहरू पालन गर्न सक्‍ने भएकाले उहाँले तिनीहरूलाई आफ्‍ना सेवकहरू भनी भन्‍नुभयो। जब परमेश्‍वरले उनीहरूलाई आदेश दिनुभयो, तिनीहरू आफूले जे गरिरहेका हुन्थे, ती सबैलाई पन्छाएर परमेश्‍वरले अह्राउनुभएको आदेश पूरा गर्न सक्थे। त्यसैले परमेश्‍वरका लागि, सेवक पदवीको अर्को तहको अर्थ के हो भने, उनीहरूले पृथ्वीमा उहाँको काममा सहकार्य गरे, र तिनीहरू परमेश्‍वरका सन्देशवाहकहरू नभएका भए पनि पृथ्वीमा तिनीहरू परमेश्‍वरका वचनहरू कार्यान्वयन र लागू गर्नेहरू थिए। त्यसैले तैँले यी सेवकहरू वा धर्मी मानिसहरूले परमेश्‍वरको हृदयको ठूलो बोझ बोकेको देख्छस्। परमेश्‍वरले पृथ्वीमा सुरु गर्नुपर्ने काम मानिसहरूले उहाँसँग सहकार्य नगरी हुन सक्दैनथ्यो, र परमेश्‍वरका सेवकहरूले लिएका भूमिका परमेश्‍वरका सन्देशवाहकहरूले पूरा गर्न सक्दैनथे। परमेश्‍वरले यी सेवकहरूलाई अह्राउनुभएका प्रत्येक काम उहाँका लागि ठूलो महत्त्वका थिए, र त्यसकारण उहाँले तिनीहरूलाई गुमाउन सक्‍नुहुन्‍नथ्यो। परमेश्‍वरसँग यी सेवकहरूको सहकार्य नभएको भए, मानवजातिको माझमा उहाँको कार्य ठप्प हुनेथ्यो, जसको परिणामस्वरूप परमेश्‍वरको व्यवस्थापन योजना र परमेश्‍वरको आशा व्यर्थ हुनेथ्यो।

परमेश्‍वरले जसलाई वास्ता गर्नुहुन्छ तिनीहरूप्रति उहाँ अत्यन्तै कृपालु हुनुहुन्छ, र जसलाई उहाँले घृणा र अस्वीकार गर्नुहुन्छ तिनीहरूप्रति उहाँ अति नै क्रोधित हुनुहुन्छ

बाइबलका विवरणहरूमा भनिएअनुसार, के सदोममा परमेश्‍वरका दसजना सेवक थिए? अहँ, थिएनन्! के त्यो सहर परमेश्‍वरद्वारा बचाइन योग्य थियो? त्यो सहरका एक व्यक्ति, अर्थात् लोतले मात्र परमेश्‍वरका सन्देशवाहकहरूलाई स्वागत गरे। यसको तात्पर्य के हो भने, त्यस सहरमा परमेश्‍वरका एक मात्र सेवक थिए, र परमेश्‍वरसँग लोतलाई बचाउनु र सदोम सहरलाई नाश गर्नुबाहेक अरू कुनै विकल्प थिएन। माथि उल्‍लेखित अब्राहाम र परमेश्‍वरबीचको कुराकानी सरल देखिन्छ, तर ती कुराकानीले केही गहन कुरालाई प्रस्ट पार्छन्: परमेश्‍वरका कार्यहरूका सिद्धान्तहरू हुन्छन्, र निर्णय लिनुअघि उहाँले लामो समयसम्म अवलोकन र सोचविचार गरेर बिताउनुहुन्छ; सही समय नआउञ्‍जेल उहाँले कुनै निर्णय गर्नुहुन्‍न वा झटपट कुनै पनि निष्कर्ष निकाल्नुहुन्‍न। अब्राहाम र परमेश्‍वरबीचको बातचितले हामीलाई के देखाउँछ भने, सदोमलाई नाश गर्ने परमेश्‍वरको निर्णय अलिकति पनि गलत थिएन, किनकि परमेश्‍वरलाई त्यो सहरमा चालीस जना, तीस जना, वा बीस जना पनि धर्मी जन छैनन् भन्‍ने कुरा पहिल्यै थाहा थियो। त्यहाँ दस जना पनि थिएनन्। सहरका एक मात्र धर्मी व्यक्ति लोत थियो। सदोममा भएका सबै घटनाहरू र यसका परिस्थितिहरूलाई परमेश्‍वरले अवलोकन गर्नुभयो, र उहाँको निम्ति यो कुरा आफ्नै हत्केलाजत्तिकै अत्यन्तै परिचित थियो। तसर्थ उहाँको निर्णय गलत हुन सक्दैनथ्यो। यसको विपरीत, परमेश्‍वरको सर्वशक्तिमान्‌ताको तुलनामा, मानिस अति चेतनाशून्य, अति मूर्ख र अज्ञानी, र अति अदूरदर्शी छ। अब्राहाम र परमेश्‍वरबीचको बातचितमा हामी यही कुरा देख्छौँ। सुरुदेखि अहिलेसम्म परमेश्‍वरले आफ्नो स्वभाव प्रस्तुत गर्दै आउनुभएको छ। त्यसै गरी, यहाँ हामीले देख्‍नैपर्ने परमेश्‍वरको स्वभाव पनि छ। सङ्ख्याहरू सरल हुन्छन्—तिनले केही पनि प्रदर्शन गर्दैनन्—तर यहाँ परमेश्‍वरको स्वभावको एउटा महत्त्वपूर्ण अभिव्यक्ति छ। पचास धर्मीहरू भएको भए परमेश्‍वरले त्यस सहरलाई नष्ट गर्नुहुनेथेन। के यो परमेश्‍वरको कृपाले गर्दा हो? के यो उहाँको प्रेम र सहनशीलताको कारणले गर्दा हो? के तिमीहरूले परमेश्‍वरको स्वभावको यो पक्षलाई देख्यौ? त्यहाँ दस जना धर्मीहरू मात्र भए पनि, परमेश्‍वरले ती दस जना धर्मी मानिसहरूको खातिर त्यो सहरलाई नष्ट गर्नुहुनेथेन। के यो परमेश्‍वरको सहनशीलता र प्रेम हो वा होइन? ती धर्मी मानिसहरूप्रतिको परमेश्‍वरको कृपा, सहिष्णुता, र चिन्ताको कारण, उहाँले सहरलाई नष्ट पार्नुहुनेथेन। यो परमेश्‍वरको सहनशीलता हो। अनि, अन्त्यमा हामी के परिणाम देख्छौँ? जब अब्राहामले भने, “केही गरी त्यहाँ दश जना पाइए भने,” र परमेश्‍वरले भन्‍नुभयो, “म त्यसलाई नष्ट गर्नेछैनँ।” त्यसपछि, अब्राहामले थप केही भनेनन्, किनकि सदोममा तिनले भनेका दस जना धर्मी व्यक्तिहरू थिएनन् र तिनीसँग भन्‍नुपर्ने कुनै कुरा थिएन, अनि त्यस बेला परमेश्‍वरले सदोमलाई किन नाश गर्ने सङ्कल्प गर्नुभयो भन्‍ने कुरा तिनले बुझे। यसमा, तँ परमेश्‍वरको कस्तो स्वभाव देख्छस्? परमेश्‍वरले कस्तो प्रकारको सङ्कल्प गर्नुभयो? परमेश्‍वरले सङ्कल्प गर्नुभयो कि यदि त्यो सहरमा दस धर्मीहरू नभएको भए, उहाँले यसको अस्तित्व रहन दिनुहुनेथेन र यसलाई अवश्य नै नाश गर्नुहुनेथ्यो। के यो परमेश्‍वरको क्रोध होइन र? के यो क्रोधले परमेश्‍वरको स्वभावको प्रतिनिधित्व गर्छ? के यो स्वभाव परमेश्‍वरको पवित्र सारको प्रकटीकरण हो? के यो मानिसले चिढ्याउनु नहुने परमेश्‍वरको धर्मी सारको प्रकटीकरण हो? सदोममा दस जना पनि धर्मी मानिस नभएको पुष्टि भएपछि, परमेश्‍वरले त्यो सहर नष्ट पार्ने निश्‍चय गर्नुभयो, र त्यस सहरभित्रका मानिसहरूलाई कठोर सजाय दिनेवाला हुनुहुन्थ्यो, किनकि उनीहरूले परमेश्‍वरको विरोध गरेका थिए र तिनीहरू अति फोहोरी र भ्रष्ट बनेका थिए।

हामीले यी खण्डहरूलाई किन यसरी विश्‍लेषण गरेका छौँ? किनभने यी केही सरल वाक्यहरूले परमेश्‍वरको प्रशस्त कृपा र गहिरो क्रोधको स्वभावलाई पूर्ण रूपमा व्यक्त गर्छन्। धर्मीहरूको कदर गर्ने र कृपा गर्ने, तिनीहरूप्रति सहिष्णु हुने र उनीहरूको वास्ता गर्नेबाहेक, परमेश्‍वरको हृदयमा सदोमका भ्रष्ट भइसकेका सबै मानिसहरूप्रति गहन घृणा थियो। यो प्रशस्त कृपा र गहिरो क्रोध थियो कि थिएन? परमेश्‍वरले कुन माध्यमले सहरलाई नाश गर्नुभयो? आगोद्वारा। उहाँले किन त्यसलाई आगोले जलाएर नाश गर्नुभयो? जब तँ कुनै थोक आगोमा जलिरहेको देख्छस्, वा जब तँ केही जलाउन थाल्छस्, तब त्यसप्रति तँमा कस्ता भावनाहरू आउँछन्? तँ त्यो किन जलाउन चाहन्छस्? के तँलाई अब त्यो आवश्यक छैन, तँ अब त्यसलाई हेर्न चाहँदैनस् भन्‍ने लाग्छ? के तँ त्यसलाई त्याग्‍न चाहन्छस्? परमेश्‍वरले आगोको प्रयोग गर्नु भनेको परित्याग र घृणा हो, र उहाँ अब सदोमलाई हेर्न चाहनुहुन्‍न भन्‍ने हो। यही भावनाको कारण परमेश्‍वरले सदोमलाई आगोले पूर्ण रूपले नाश पार्नुभयो। आगोको प्रयोगले परमेश्‍वर कति धेरै रिसाउनुभएको थियो भन्‍ने कुराको प्रतिनिधित्व गर्छ। परमेश्‍वरको कृपा र सहिष्णुता साँच्‍चै अस्तित्वमा छ, तर परमेश्‍वरले उहाँको क्रोध प्रकट गर्नुभएको बेलामा परमेश्‍वरको पवित्रता र धार्मिकताले मानिसलाई परमेश्‍वरको कुनै उल्‍लङ्घन नसहने पक्षलाई पनि देखाउँछ। जब मानिस परमेश्‍वरका आज्ञाहरू पालन गर्न र परमेश्‍वरका मापदण्डहरूअनुसार काम गर्न पूर्ण रूपमा सक्षम हुन्छ, तब परमेश्‍वर मानिसप्रति प्रशस्त मात्रामा कृपालु हुनुहुन्छ; जब मानिस उहाँप्रतिको भ्रष्टता, घृणा र शत्रुताले भरिन्छ, परमेश्‍वर गम्भीर रूपले रिसाउनुहुन्छ। कुन हदसम्म उहाँ गम्भीर रूपले रिसाउनुहुन्छ? जबसम्म परमेश्‍वरले मानिसको प्रतिरोध र दुष्‍कर्महरू देख्‍नुहुनेछैन, जबसम्म तिनीहरू उहाँको नजरबाट हट्दैनन् तबसम्म उहाँको क्रोध रहनेछ। तब मात्र परमेश्‍वरको रिस हराउनेछ। अर्को शब्दमा भन्दा, व्यक्ति चाहे जो सुकै भए पनि, यदि तिनीहरूको हृदय परमेश्‍वरबाट टाढा भएको छ र परमेश्‍वरबाट कहिल्यै नफर्कने गरी तर्किगएको छ भने, चाहे जुनसुकै देखापराइ वा आफ्ना व्यक्तिगत चाहनाहरूको आधारमा तिनीहरूले जस्तै प्रकारले आराधना गर्ने, आफ्नो शरीर र सोचविचारमा परमेश्‍वरलाई पछ्याउने र आज्ञापालन गर्ने चाहना गरे पनि, परमेश्‍वरको क्रोध नरोकिने गरी बर्सिनेछ। मानिसलाई प्रशस्त मौकाहरू दिइसकेपछि जब परमेश्‍वरले गम्भीर रूपमा आफ्नो क्रोध पोखाउनुहुन्छ तब यस्तो अवस्था हुनेछ कि उहाँले त्यो फिर्ता लिने कुनै उपाय हुनेछैन, र उहाँ त्यस्तो मानव जातिसित फेरि कहिल्यै कृपालु र सहनशील हुनुहुनेछैन। यो परमेश्‍वरको स्वभावको एक पक्ष हो, जसले कुनै उल्‍लङ्घन सहँदैन। यहाँ, परमेश्‍वरले एउटा सहरलाई नाश पार्नु मानिसहरूलाई सामान्य लाग्छ, किनकि परमेश्‍वरको नजरमा, पापले भरिएको सहर अस्तित्वमा रहन र निरन्तर टिक्‍न सक्दैन, र त्यो परमेश्‍वरद्वारा नष्ट पारिनु तर्कसंगत थियो जस्तो लाग्छ। तैपनि उहाँले सदोमलाई नाश गर्नुभन्दा अघि र पछि जे भयो त्यसमा हामी परमेश्‍वरको स्वभावको सम्पूर्णता देख्छौँ। उहाँ दयालु र सुन्दर र असल कुराहरूप्रति सहनशील र कृपालु हुनुहुन्छ; खराब, पापी र दुष्ट कुराहरूप्रति उहाँ गम्भीर रूपमा क्रोधित हुनुहुन्छ, यहाँसम्म कि उहाँको क्रोध पनि कहिल्यै समाप्त हुँदैन। परमेश्‍वरका स्वभावका दुई वटा प्रमुख र अति महत्वपूर्ण पक्षहरू यिनै हुन्, र अझ भन्‍ने हो भने, यी पक्षहरू परमेश्‍वरद्वारा सुरुदेखि अन्त्यसम्मै प्रकट गरिएका छन्: प्रशस्त कृपा र गम्भीर क्रोध। तिमीहरूमध्ये धेरै जनाले परमेश्‍वरको केही कृपाको अनुभव गरेका छौ, तर तिमीहरूमध्ये थोरैले मात्र परमेश्‍वरको क्रोधलाई बुझेका छौ। परमेश्‍वरको कृपा र प्रेमिलोदयालुपन प्रत्येक व्यक्तिमा देख्‍न सकिन्छ; अर्थात्, परमेश्‍वर प्रत्येक व्यक्तिप्रति प्रशस्त रूपमा कृपालु हुनुभएको छ। तैपनि तिमीहरूमध्येको कुनै पनि व्यक्ति वा मानिसहरूको समूहप्रति बिरलै मात्र परमेश्‍वर अत्यन्तै रिसाउनुभएको छ—वा यसो पनि भन्‍न सकिन्छ कि उहाँ कहिल्यै पनि रिसाउनुभएकै छैन। ढुक्‍क होओ! ढिलो होस् वा चाँडो, परमेश्‍वरको क्रोधलाई प्रत्येक व्यक्तिले देख्‍नेछ र अनुभव गर्नेछ, तर अहिले त्यो समय आइसकेको छैन। किन यस्तो हुन्छ? किनकि जब परमेश्‍वर कोहीसँग निरन्तर रिसाउनुहुन्छ, अर्थात् जब उहाँले तिनीहरूमाथि आफ्नो गहिरो क्रोध प्रकट गर्नुहुन्छ, त्यसको अर्थ के हुन्छ भने, उहाँले लामो समयदेखि त्यस व्यक्तिलाई घृणा र अस्वीकार गर्दै आउनुभएको छ, उहाँले तिनीहरूको अस्तित्वलाई तुच्छ ठान्‍नुहुन्छ, र उहाँ तिनीहरूको अस्तित्वलाई सहन सक्‍नुहुन्‍न; उहाँको क्रोध तिनीहरूमाथि आउनेबित्तिकै तिनीहरू हराउनेछन्। आज, परमेश्‍वरको काम त्यस बिन्दुमा पुग्‍न बाँकी नै छ। परमेश्‍वर गहन रूपले रिसाउनुभएपछि तिमीहरूमध्ये कसैले पनि त्यसलाई सहन गर्न सक्‍नेछैनौ। तब तिमीहरू देख्छौ कि यस समयमा परमेश्‍वर तिमीहरू सबैप्रति प्रशस्त मात्रामा कृपालु हुनुहुन्छ, र तिमीहरूले उहाँको गहिरो रिस देख्‍न बाँकी नै छ। यदि यसमा विश्‍वस्त नभएका मानिसहरू छन् भने, तैँले परमेश्‍वरको क्रोध तँमाथि आओस् भनेर भन्‍न सक्छस्, ताकि तैँले परमेश्‍वरको क्रोध र मानिसको उल्‍लङ्घन नसहने उहाँको स्वभाव अस्तित्वमा छ कि छैन भनी अनुभव गर्नेछस्। के तिमीहरू हिम्मत गर्छौ?

आखिरी दिनहरूका मानिसहरूले परमेश्‍वरका वचनहरूमा मात्र उहाँको क्रोध देख्छन्, तर परमेश्‍वरको क्रोधलाई साँच्‍चै अनुभव गर्दैनन्

के धर्मशास्‍त्रका यी खण्डहरूमा देखिएका परमेश्‍वरको स्वभावका दुई पक्षहरू सङ्गतिको योग्य छन्? यो कथा सुनेपछि, के तिमीहरूसँग परमेश्‍वरको बारेमा नयाँ बुझाइ आएको छ? तँसँग कस्तो प्रकारको बुझाइ छ? यो भन्‍न सकिन्छ कि सृष्टिको समयदेखि आजसम्म, यस अन्तिम समूहले जस्तो परमेश्‍वरको अनुग्रह वा कृपा र प्रेमिलोदयालुपनको आनन्द कुनै समूहले उठाएको छैन। अन्तिम चरणमा, परमेश्‍वरले न्याय र सजायको काम गरिसक्‍नुभएको, र उहाँले उहाँको काम प्रताप र क्रोधको साथ गरिसक्‍नुभएको भए पनि, धेरैजसो समय परमेश्‍वरले आफ्नो काम पूरा गर्न केवल वचनहरूको मात्र प्रयोग गर्नुहुन्छ; उहाँले शिक्षा दिन र मलजल गर्न, आपूर्ति र पोषण प्रदान गर्नका लागि वचनहरूको प्रयोग गर्नुहुन्छ। यसबीच, परमेश्‍वरको क्रोधलाई सधैँ लुकाएर राखिएको छ, र परमेश्‍वरका वचनहरूमा उहाँको क्रोधपूर्ण स्वभावको अनुभव गरेको बाहेक, थोरै मानिसहरूले मात्र उहाँको क्रोध व्यक्तिगत रूपमा अनुभव गरेका छन्। भन्‍नुको अर्थ, परमेश्‍वरले न्याय र सजायको काम गर्नुभएको अवधिमा, परमेश्‍वरका वचनहरूमा प्रकट भएको क्रोधले मानिसहरूलाई परमेश्‍वरको प्रताप र उल्‍लङ्घनप्रतिको उहाँको असहिष्णुताको अनुभव गराउने भए पनि, यो क्रोध उहाँका वचनहरूभन्दा पर जान सक्दैन। अर्को शब्दमा भन्दा, परमेश्‍वरले मानिसलाई हप्काउन, मानिसलाई उदाङ्गो पार्न, मानिसको न्याय गर्न, मानिसलाई सजाय दिन र मानिसलाई दोषी ठहराउन समेत वचनहरूकै प्रयोग गर्नुहुन्छ—तर परमेश्‍वर अझैसम्म मानिससित असाध्यै रिसाउनुभएको छैन र उहाँले आफ्नो वचनबाहेक अन्य माध्यमद्वारा मानिसमाथि आफ्नो क्रोध थोरै मात्र प्रकट गर्नुभएको छ। यसरी, यस युगमा मानिसले अनुभव गरेको परमेश्‍वरको कृपा र प्रेमिलोदयालुपन परमेश्‍वरको वास्तविक स्वभावको प्रकाश हो भने, मानिसद्वारा अनुभव गरिएको परमेश्‍वरको क्रोध केवल उहाँका वाणीहरूको शैली र भावनाको प्रभाव हो। धेरै मानिसहरूले यो प्रभावलाई गलत प्रकारले साँचो अनुभव र परमेश्‍वरको क्रोधको सही ज्ञानको रूपमा लिन्छन्। फलस्वरूप, धेरैजसो मानिसहरूले परमेश्‍वरका वचनहरूमा उहाँको कृपा र प्रेमिलोदयालुपन देखेको, र मानिसको उल्‍लङ्घनप्रतिको परमेश्‍वरको असहिष्णुता अवलोकन गरेको, र तीमध्ये धेरैले मानिसप्रति परमेश्‍वरको कृपा र सहिष्णुतालाई पनि बुझेको विश्‍वास गर्छन्। तर मानिसको व्यवहार जति नै खराब भए पनि, वा उसको स्वभाव जति नै भ्रष्ट भए पनि, परमेश्‍वरले सधैँ सहनुभएको छ। सहने क्रममा, उहाँको उद्देश्य भनेको आफूले बोलेका वचनहरू, आफूले गरेका प्रयासहरू र आफूले चुकाएको मूल्यले आफूले प्राप्त गर्न चाहेका व्यक्तिहरूमा प्रभाव पारून् भनेर प्रतीक्षा गर्नु हो। जसरी मानिसहरू जन्‍मनेबित्तिकै वयस्क हुँदैनन्, त्यसरी नै यस्तो परिणामको प्रतीक्षा गर्न समय लाग्छ, र यसको लागि मानिसलाई विभिन्‍न वातावरणहरूको निर्माण गरिदिनुपर्ने आवश्यकता हुन्छ; परिपक्‍व वयस्क बन्‍नका लागि अठार वा उन्‍नाइस वर्ष लाग्छ, र केही मानिसहरूलाई त बीस वा तीस वर्ष पनि लाग्छ। परमेश्‍वरले यो प्रक्रिया समाप्त भइञ्‍जेल पर्खनुहुन्छ, उहाँ त्यस्तो समयको प्रतीक्षा गर्नुहुन्छ, र उहाँले यो परिणाम आउने दिन कुर्नुहुन्छ। उहाँले प्रतीक्षा गर्ने समयभरि, परमेश्‍वरले प्रशस्त कृपा गर्नुहुन्छ। तैपनि, परमेश्‍वरको कामको अवधिमा, उहाँको गम्भीर विरोध गरेको कारण अत्यन्त थोरै मानिसहरूलाई मात्र प्रहार गरिन्छ, र केही मानिसहरूलाई दण्डित गरिन्छ। त्यस्ता उदाहरणहरू मानिसको उल्लङ्घन नसहने परमेश्‍वरको स्वभावको अझ ठूलो प्रमाण हुन्, र तिनले चुनिएका मानिसहरूप्रतिको परमेश्‍वरको सहिष्णुता र धैर्यताको वास्तविक अस्तित्वलाई पूर्ण रूपमा पुष्टि गर्छन्। अवश्य नै, यी ठेट उदाहरणहरूमा, यी मानिसहरूमा हुने परमेश्‍वरको स्वभावको केही भागको प्रकटीकरणले परमेश्‍वरको समग्र व्यवस्थापन योजनालाई कुनै असर गर्दैन। वास्तवमा, परमेश्‍वरको कामको यो अन्तिम चरणमा, आफूले पर्खिरहेको अवधिभरि परमेश्‍वरले सहनुभएको छ, र उहाँलाई पछ्याउनेहरूको मुक्तिको लागि उहाँले आफ्नो धैर्यता र जीवन दिनुभएको छ। के तिमीहरू यस कुरालाई देख्छौ? परमेश्‍वरले कुनै कारणविना आफ्नो योजना उल्टाउनुहुन्‍न। उहाँले आफ्नो क्रोध प्रकट गर्न सक्‍नुहुन्छ, र उहाँ कृपालु पनि हुन सक्‍नुहुन्छ; यो परमेश्‍वरको स्वभावका दुई मुख्य पाटोको प्रकाश हो। यो स्पष्ट छ कि स्पष्ट छैन? अर्को शब्दमा भन्दा, जब परमेश्‍वरको कुरा आउँछ, तब सही र गलत, धर्मी र अधर्मी, सकारात्मक र नकारात्मक—यी सबै कुरा मानिसलाई स्पष्ट रूपमा देखाइन्छ। उहाँले के गर्नुहुनेछ, उहाँलाई के मन पर्छ, उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ—यी सबै कुरा उहाँको स्वभावमा प्रत्यक्ष रूपमा झल्किन सक्छन्। त्यस्ता कुराहरू स्वाभाविक र स्पष्ट रूपमा परमेश्‍वरको काममा पनि देख्‍न सकिन्छ, र ती अस्पष्ट वा सामान्य छैनन्; बरु, ती कुराले त सबै मानिसहरूलाई परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई विशेष र ठोस रूपमा, सत्य र व्यावहारिक तरिकामा देखाउँछन्। साँचो परमेश्‍वर स्वयम्‌ भनेकै यही हो।

परमेश्‍वरको स्वभावलाई मानिसबाट कहिल्यै लुकाइएको छैन—मानिसको हृदयचाहिँ परमेश्‍वरबाट तर्केर गएको छ

यदि मैले यी कुराको बारेमा सङ्गति नगरेको भए, तिमीहरूमध्ये कसैले पनि बाइबलका कथाहरूमा परमेश्‍वरको वास्तविक स्वभावलाई देख्‍नेथेनौ। तथ्य यही हो। किनभने बाइबलका यी कथाहरूले परमेश्‍वरले गर्नुभएका केही कुराहरूको बारेमा वर्णन गरे तापनि, परमेश्‍वरले थोरै वचन मात्र बोल्नुभयो, र उहाँले आफ्नो स्वभावको प्रत्यक्ष परिचय दिनुभएन वा मानिसको सामु खुलेर आफ्नो इच्छा व्यक्त गर्नुभएन। पछिल्ला पुस्ताहरूले यी विवरणहरूलाई कथाबाहेक अरू केही ठानेका छैनन्, र मानिसहरूलाई लाग्छ कि परमेश्‍वरले आफूलाई मानिसहरूबाट लुकाउनुहुन्छ, मानिसहरूबाट लुकाइएको त्यो कुरा परमेश्‍वरको व्यक्तित्व होइन, बरु उहाँको स्वभाव र इच्छा हो। आजको मेरो सङ्गतिपछि, के तिमीहरूलाई अझै पनि परमेश्‍वर मानिसबाट पूर्ण रूपमा लुक्‍नुभएको छ भन्‍ने लाग्छ? के तिमीहरूलाई अझै पनि परमेश्‍वरको स्वभाव मानिसबाट लुकेको छ भन्‍ने विश्‍वास छ?

सृष्टिको समयदेखि नै, परमेश्‍वरको स्वभाव उहाँको काम सँगसँगै साथमा रहेको छ। यसलाई मानिसबाट कहिल्यै पनि लुकाइएको छैन, बरु यसलाई मानिसका लागि पूर्ण प्रचारित र स्पष्ट गरिएको छ। तैपनि, समय बित्दै जाँदा मानिसको हृदय परमेश्‍वरबाट झन्झन् टाढा हुँदै गएको छ, र मानिसको भ्रष्टता अझै गहिरो हुँदै जाँदा, मानिस र परमेश्‍वर एकअर्काबाट झन्झन् टाढा बनेका छन्। बिस्तारै तर निश्‍चित रूपमा, मानिस परमेश्‍वरको दृष्टिबाट हराएको छ। मानिस परमेश्‍वरलाई “देख्‍न” असमर्थ भएको छ, जसको कारण ऊ परमेश्‍वरको कुनै “खबर” बिना रहेको छ; तसर्थ, परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने उसलाई थाहा छैन, र ऊ परमेश्‍वरको अस्तित्वलाई नै पूर्ण रूपमा अस्वीकार गर्ने हदसम्म पुग्छ। फलस्वरूप, मानिसले परमेश्‍वरको स्वभावलाई, र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्न नसक्‍नु परमेश्‍वर मानिसबाट लुक्‍नुभएकोले गर्दा होइन, उसको हृदय परमेश्‍वरबाट टाढा गएकोले गर्दा भएको हो। मानिसले परमेश्‍वरमा विश्‍वास गरे पनि मानिसको हृदय परमेश्‍वररहित छ, र परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ भन्‍ने कुराप्रति ऊ अनभिज्ञ छ, र ऊ परमेश्‍वरलाई प्रेम गर्न पनि चाहँदैन, किनकि उसको हृदय कहिल्यै परमेश्‍वरको नजिक जाँदैन र ऊ सधैँ परमेश्‍वरदेखि टाढा रहन्छ। फलस्वरूप, मानिसको हृदय परमेश्‍वरदेखि टाढा छ। त्यसो भए, उसको हृदय कहाँ छ? वास्तवमा, मानिसको हृदय कहीँ पनि गएको छैन: परमेश्‍वरलाई हृदय दिनु वा परमेश्‍वरले हेरून् भनी हृदय देखाउनुको साटो उसले आफ्नो हृदय आफ्नै निम्ति राखेको छ। यस्तो हुँदाहुँदै पनि केही मानिसहरूले प्राय: “हे परमेश्‍वर, मेरो हृदयमा हेर्नुहोस्—म के सोच्छु ती सबै तपाईँ जान्‍नुहुन्छ” भन्दै प्रार्थना गर्छन् र कतिले त परमेश्‍वरलाई आफूमाथि नियाल्न दिने शपथसमेत खान्छन्, शपथ भङ्ग गरे दण्ड दिइओस् भनेरसमेत भन्छन्। मानिसले परमेश्‍वरलाई उसको हृदयभित्र हेर्ने अनुमति दिए पनि, त्यसको अर्थ मानिस परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरू पालन गर्न सक्षम छ भन्‍ने हुँदैन, न त उसले आफ्नो भाग्य र सम्भावनाहरू र उसका सबै कुराहरू परमेश्‍वरको नियन्त्रणमा छोडेको छ भन्‍ने नै हुन्छ। यसैले, तैँले परमेश्‍वरको अघि शपथ खाए पनि वा उहाँको अघि जे घोषणा गरे पनि परमेश्‍वरको नजरमा तेरो हृदय अझैसम्म उहाँका निम्ति बन्द रहेको छ, किनकि तैँले परमेश्‍वरलाई तेरो हृदयमा हेर्न मात्र दिन्छस् तर उहाँलाई त्यसमाथि नियन्त्रण गर्न दिँदैनस्। अर्को शब्दमा भन्दा, तैँले परमेश्‍वरलाई आफ्नो हृदय बिलकुलै दिएको छैनस्, र परमेश्‍वरलाई सुनाउनको लागि राम्रो सुनिने वचनहरू मात्र बोल्छस्; यस क्रममा तैँले परमेश्‍वरबाट आफ्ना विभिन्‍न छली अभिप्रायहरू लुकाउँछस्, यसको साथै तेरा षड्यन्त्र, युक्ति र योजनाहरू पनि लुकाउँछस् र तैँले आफ्नो सम्भाव्यता र नियतिलाई आफ्नै हातमा पक्रेर राख्छस्, र तँ ती कुरा परमेश्‍वरले खोस्‍नुहुनेछ भनी साह्रै डराउँछस्। यसप्रकार, परमेश्‍वरले कहिल्यै पनि उहाँप्रतिको मानिसको इमानदारिता देख्‍नुहुन्‍न। परमेश्‍वरले मानिसको हृदयको गहिराइलाई अवलोकन गर्नुहुने, र मानिसले के सोचिरहेको छ र उसले आफ्‍नो हृदयमा के गर्ने इच्छा गर्छ, र उसको हृदयभित्र के-कस्ता कुराहरू राखिएका छन् भनी देख्‍न सक्‍नुहुने भए तापनि, मानिसको हृदय परमेश्‍वरको स्वामित्वमा हुँदैन, र उसले परमेश्‍वरको नियन्त्रणमा रहने गरी आफ्नो हृदय दिएको हुँदैन। भन्‍नुको अर्थ, परमेश्‍वरसँग अवलोकन गर्ने अधिकार त हुन्छ, तर नियन्त्रण गर्ने अधिकार भने हुँदैन। मानिसले आफ्नो व्यक्तिपरक चेतनामा आफूलाई परमेश्‍वरको बन्दोबस्तमा सुम्पने चाह वा इच्छा गर्दैन। मानिसले आफैलाई परमेश्‍वरको लागि बन्द गरेको त छ नै, अझ यहाँ त त्यस्ता मानिसहरू पनि छन् जो झूटो प्रभाव पार्न र परमेश्‍वरको भरोसा जित्‍न चिप्ले कुरा र चापलुसी गर्दै, अनि आफ्नो वास्तविक अनुहार परमेश्‍वरको नजरबाट लुकाउँदै आफ्नो हृदय ढाक्‍ने उपायहरू सोच्छन्। परमेश्‍वरलाई देख्‍न नदिनुको पछाडि तिनीहरूको उद्देश्य भनेको तिनीहरू वास्तवमा कस्ता छन् त्यो परमेश्‍वरलाई बुझ्न नदिनु हो। तिनीहरू आफ्नो हृदय परमेश्‍वरलाई दिन चाहँदैनन्, बरु आफ्नै निम्ति राख्‍न चाहन्छन्। यसको भित्री अर्थ यही हो कि मानिसले जे गर्छ र उसले जे चाहन्छ ती सबै नै मानिस आफैद्वारा योजना, अनुमान र निर्णय गरिएको हुन्छ; उसलाई परमेश्‍वरको सहभागिता वा हस्तक्षेपको आवश्यकता पर्दैन, परमेश्‍वरको योजनाबद्ध कार्य र बन्दोबस्तहरू उसलाई आवश्यक हुने त कुरै नगरौँ। यसैले, चाहे परमेश्‍वरका आज्ञाहरू, उहाँका आदेशहरूको सम्बन्धमा होस् वा परमेश्‍वरले मानिससँग गर्नुभएका मापदण्डहरूको सम्‍बन्धमा होस्, मानिसका निर्णयहरू उसका आफ्नै इच्छा र चासोहरूमा, त्यो बेलाको उसको आफ्नै अवस्था र परिस्थितिहरूमा आधारित हुन्छन्। मानिसले जहिल्यै पनि ऊ हिँड्नुपर्ने बाटोको बारेमा मूल्याङ्कन गर्न र त्यसलाई चुन्‍न उसले जानेको ज्ञान र जानकारी, र उसको आफ्नै बुद्धिको प्रयोग गर्छ, र उसले परमेश्‍वरलाई हस्तक्षेप वा नियन्त्रणको अनुमति दिँदैन। परमेश्‍वरले देख्‍नुहुने मानिसको हृदय यही हो।

सुरुदेखि आजको दिनसम्म, मानिस मात्र परमेश्‍वरसँग कुराकानी गर्न सक्षम रहेको छ। अर्थात्, सबै जीवित प्राणीहरू र परमेश्‍वरका सृष्टिहरूमध्ये मानिसबाहेक अरू कुनै पनि जीव परमेश्‍वरसँग कुराकानी गर्न सक्षम रहेको छैन। मानिससित कान छन् जसद्वारा उसले सुन्‍न सक्छ, र उसँग आँखा छन् जसद्वारा उसले देख्‍न सक्छ; ऊसित भाषा छ, र आफ्नै विचारहरू र स्वतन्त्र इच्छा छ। ऊसित ती सबै कुराहरू छन् जुन परमेश्‍वर बोल्नुभएको सुन्‍न, परमेश्‍वरको इच्छा बुझ्न र परमेश्‍वरको आदेश स्वीकार गर्नका निम्ति चाहिन्छ, र यसकारण मानिस उहाँको जस्तै मनमस्तिष्क भएको सहयात्री होस् र उहाँको साथमा हिँड्न सकोस् भन्‍ने चाहना गर्दै परमेश्‍वरले उहाँका सबै चाहनाहरू मानिसलाई प्रदान गर्नुहुन्छ। जबदेखि परमेश्‍वरले व्यवस्थापन गर्न थाल्नुभयो, त्यसै बेलादेखि मानिसले आफ्नो हृदय उहाँलाई दिओस्, परमेश्‍वरलाई त्यो शुद्ध र सुसज्‍जित पार्न दिओस्, उसलाई परमेश्‍वरका निम्ति सन्तोषजनक र परमेश्‍वरको प्रिय बनाउन, उसलाई परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने बनाउन दिओस् भनेर उहाँले पर्खिरहनुभएको छ। परमेश्‍वरले सधैँ बाटो हेर्दै यो नतिजा पर्खिरहनुभएको छ। के बाइबलका विवरणहरूमा कुनै त्यस्ता मानिसहरू छन्? अर्थात्, के बाइबलमा त्यस्तो कुनै व्यक्ति छ जसले आफ्‍नो हृदय परमेश्‍वरलाई दिन सक्छ? के यो युगभन्दा अगाडिको कुनै उदाहरण छ? आज, हामी बाइबलका विवरणहरू पढ्ने क्रमलाई जारी राखौँ र आज हामीले चर्चा गरिरहेको “परमेश्‍वरलाई आफ्नो हृदय दिने” भन्‍ने विषयसँग यो व्यक्ति, अर्थात् अय्यूबले गरेका कामको कुनै सम्बन्ध छ कि छैन हेरौँ। अय्यूब परमेश्‍वरका निम्ति चित्तबुझ्दो र परमेश्‍वरद्वारा प्रेम गरिएका थिए कि थिएनन् सो हेरौँ।

अय्यूबको बारेमा तिमीहरूको विचार के छ? केही मानिसहरू मूल पवित्रशास्‍त्रलाई उद्धृत गर्दै भन्छन् कि अय्यूब परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे। “परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे”: अय्यूबको विषयमा परमेश्‍वरको मूल्याङ्कन यही हो। यदि तिमीहरूले आफ्नै वचनहरू प्रयोग गर्‍यौ भने, तिमीहरू अय्यूबको वर्णन कसरी ठीकसँग गर्न सक्छौ? कतिपय मानिसहरू भन्छन्, अय्यूब असल र विवेकी मानिस थिए; कसैकसैले भन्छन्, तिनले परमेश्‍वरमा साँचो विश्‍वास गर्थे; कसैकसैले अय्यूब एक धर्मी र हितैसी व्यक्ति थिए भनी भन्छन्। तिमीहरूले अय्यूबको विश्‍वास देखेका छौ, भन्‍नुको अर्थ, तिमीहरूले आफ्नो हृदयमा अय्यूबलाई ठूलो महत्त्व दिन्छौ र तिनको विश्‍वासको ईर्ष्या गर्छौ। त्यसैले आज हामी अय्यूबमा त्यस्तो कुन कुरा थियो, जसको कारण परमेश्‍वर तिनीसित प्रसन्‍न बन्‍नुभयो सो कुरा हेरौँ। अब, हामी धर्मशास्‍त्रका निम्‍न खण्डहरूलाई पढौँ।

इ. अय्यूब

१. परमेश्‍वरद्वारा गरिएको र बाइबलमा भएको अय्यूबको मूल्याङ्कन

अय्यूब १:१ ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।

अय्यूब १:५ अनि भोजका दिन सकिएपछि अय्यूबले तिनीहरूलाई शुद्ध पार्थे, अनि बिहान सबेरै उठ्थे र ती सबैका सङ्ख्याबमोजिम होमबलि चढाउँथे: किनकि अय्यूबले भन्थे, मेरा छोराहरूले पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई सरापे होलान्। अय्यूबले निरन्तर यसो गर्थे।

अय्यूब १:८ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।

तिमीहरूले यी खण्डहरूमा देख्‍ने मुख्य बुँदा के हो? धर्मशास्‍त्रका यी तीन संक्षिप्त खण्डहरू सबै नै अय्यूबसँग सम्बन्धित छन्। संक्षिप्त भए पनि, तिनी कस्ता किसिमका व्यक्ति थिए भनी यी खण्डहरूले स्पष्ट रूपमा बताउँछन्। अय्यूबको दैनिक व्यवहार र तिनको आचरणको विवरणमार्फत यी खण्डहरूले सबैलाई के कुरा बताउँछन् भने परमेश्‍वरले अय्यूबको बारेमा गर्नुभएको मूल्याङ्कन आधारहीन थिएन बरु उचित रूपमा तथ्यपरक थियो। यी खण्डहरूले हामीलाई चाहे अय्यूबको बारेमा मानिसले गरेको मूल्याङ्कन होस् (अय्यूब १:१), वा तिनको बारेमा परमेश्‍वरले गर्नुभएको मूल्याङ्कन (अय्यूब १:८), ती दुवै नै अय्यूबले परमेश्‍वर र मानिसको अघि गरेका कार्यहरूका नतिजा हुन् (अय्यूब १:५) भन्‍ने कुरा बताउँछन्।

पहिले हामी यो खण्ड पढौँ: “ऊज देशमा एक जना मानिस थिए, जसको नाम अय्यूब थियो; र त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।” यो अय्यूबको बारेमा बाइबलमा गरिएको पहिलो मूल्याङ्कन हो, र यो वाक्य, लेखक आफैले गरेको अय्यूबको मूल्याङ्कन हो। स्वाभाविक रूपमा, यसले मानिसले गरेको अय्यूबको मूल्याङ्कनको पनि प्रतिनिधित्व गर्छ, जुन हो “त्यस मानिस सिद्ध र धर्मी थिए अनि तिनी परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।” अर्को, हामी परमेश्‍वरले गर्नुभएको अय्यूबको मूल्याङ्कन पढौँ: “त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।” ती दुईमध्ये एउटा मानिसबाट र अर्को परमेश्‍वरबाट आयो; ती एउटै विषयवस्तु भएका दुईवटा मूल्याङ्कन हुन्। त्यसैले यो देख्‍न सकिन्छ कि अय्यूबको व्यवहार र आचरणको बारेमा मानिसलाई थाहा थियो र परमेश्‍वरद्वारा प्रशंसा गरिएको थियो। अर्को शब्दमा भन्दा, मानिसको अघि र परमेश्‍वरको अघि अय्यूबको आचरण एकसमान थियो; तिनले परमेश्‍वरद्वारा अवलोकन होस् भनेर हरसमय आफ्नो व्यवहार र अभिप्राय उहाँको सामु राख्थे र तिनी परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति थिए। यसरी, परमेश्‍वरको नजरमा, पृथ्वीका मानिसहरूमा अय्यूब मात्र सिद्ध र सोझो थिए, जो परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे।

अय्यूबले आफ्नो दैनिक जीवनमा परमेश्‍वरको भय मानेको र दुष्टताबाट अलग बसेको विशेष प्रकटीकरणहरू

यसपछि, हामी अय्यूबले परमेश्‍वरको भय मानेको र दुष्टताबाट अलग बसको विशेष प्रकटीकरणहरूलाई हेरौँ। यसभन्दा अघि र पछिका खण्डहरूबाहेक हामी अय्यूब १:५ पनि पढौँ, जुन अय्यूबले परमेश्‍वरको भय मानेको र दुष्टताबाट अलग बसेको एक विशेष प्रकटीकरण हो। यो खण्ड तिनी आफ्नो दैनिक जीवनमा कसरी परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट टाढा बस्थे भन्‍ने कुरासित सम्बन्धित छ; सबैभन्दा मुख्य कुरा, तिनले परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍नका लागि जे गर्नुपर्थ्यो त्यो मात्र गरेनन्, आफ्ना छोराछोरीहरूका लागि समेत नियमित रूपमा परमेश्‍वरलाई होमबलि चढाए। तिनीहरूले भोज खाँदा “पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई सरापे होलान्” कि भनी तिनी डराउँथे। अय्यूबमा यो डर कसरी प्रकट भयो? मूल पाठले निम्‍न विवरण दिन्छ: “अनि भोजका दिन सकिएपछि अय्यूबले तिनीहरूलाई शुद्ध पार्थे, अनि बिहान सबेरै उठ्थे र ती सबैका सङ्ख्याबमोजिम होमबलि चढाउँथे।” अय्यूबको आचरणले हामीलाई के देखाउँछ भने, परमेश्‍वरप्रतिको तिनको भय तिनको बाहिरी आचरणमा प्रकट हुनुको सट्टा तिनको हृदयभित्रबाट आएको थियो र परमेश्‍वरप्रतिको तिनको भय तिनको दैनिक जीवनको हरेक पक्षमा हरसमय पाउन सकिन्थ्यो, किनकि तिनले आफैलाई दुष्टताबाट अलग मात्र राख्दैनथे, आफ्ना छोराछोरीहरूको तर्फबाट समेत होमबलिहरू चढाउँथे। अर्को शब्दमा भन्दा, अय्यूब परमेश्‍वरको विरुद्धमा पाप गर्ने र आफ्नै हृदयमा परमेश्‍वरलाई इन्कार गर्नेबारेमा गहन रूपमा डराउने मात्र होइन, तिनका छोराछोरीहरूले परमेश्‍वरको विरुद्धमा पाप गरे होलान् र उनीहरूका हृदयमा उहाँलाई इन्कार गरे होलान् भनेर समेत चिन्तित हुन्थे। यसबाट देख्‍न सकिन्छ कि परमेश्‍वरप्रतिको अय्यूबको भयको सत्यता जाँचमा खरो उत्रन्छ, र यो कुनै पनि मानिसको शङ्काभन्दा पर छ। तिनले यो काम कहिलेकहीँ गर्थे कि बारम्बार गर्थे? पाठको अन्तिम वाक्य यस्तो छ, “अय्यूबले निरन्तर यसो गर्थे।” यी शब्दहरूको अर्थ यो हो कि अय्यूबले कहिलेकहीँ वा तिनलाई मन लागेको बेला मात्र गएर आफ्ना छोराछोरीहरूलाई हेर्दैनथे, न त तिनले प्रार्थनामार्फत नै परमेश्‍वरसामु पाप स्वीकार गर्ने गर्थे। बरु, तिनले आफ्ना छोराछोरीहरूलाई नियमित रूपमा पवित्र हुन पठाउँथे र तिनीहरूका लागि होमबलि चढाउँथे। यहाँ “निरन्तर रूपमा” भन्‍ने शब्दको अर्थ तिनले एक वा दुई दिन, वा एक क्षणका लागि त्यसो गर्थे भन्‍ने हुँदैन। यसले के भनिरहेको छ भने परमेश्‍वरप्रतिको अय्यूबको डर अस्थायी थिएन, र यो ज्ञान वा बोलेका वचनहरूमा सीमित थिएन; बरु, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गले तिनको हृदयलाई मार्गनिर्देशित गरेको थियो, त्यसले नै तिनको व्यवहारलाई निर्देशित गरेको थियो, र तिनको हृदयमा यो नै तिनको अस्तित्वको मूल थियो। तिनले निरन्तर यो कुरा गर्थे भन्‍ने तथ्यले के देखाउँछ भने, तिनी आफ्नो हृदयमा प्रायजसो आफैले पनि परमेश्‍वरको विरुद्धमा पाप गरिएला कि भनी डराउँथे र आफ्ना छोराछोरीहरूले पनि परमेश्‍वरको विरुद्ध पाप गर्लान् कि भनी डराउँथे। यसले तिनको हृदयमा परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कुराको वजन कति थियो भन्‍ने कुरालाई दर्साउँछ। तिनले निरन्तर यो काम गरे, किनकि तिनको हृदयमा भय र डर थियो—तिनले परमेश्‍वरको विरुद्धमा दुष्कर्म र पाप गरे कि अनि तिनी परमेश्‍वरको मार्गबाट तर्केर गए कि र त्यसरी परमेश्‍वरलाई सन्तुष्ट तुल्याउन असक्षम भए कि भनी डराउँथे। यसको साथसाथै, तिनी आफ्ना छोराछोरीले परमेश्‍वरलाई रिस उठाए कि भनी तिनीहरूको बारेमा पनि चिन्तित हुन्थे। अय्यूबको दैनिक जीवनमा तिनको सामान्य आचरण ठीक यस्तै थियो। तिनको यही सामान्य आचरणले प्रमाणित गर्छ कि अय्यूब परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे भन्‍ने कुरा केवल खोक्रा शब्दहरू थिएनन्, अय्यूब त साँच्‍चै नै त्यस्तो वास्तविकतामा जिउँथे। “अय्यूबले निरन्तर यसो गर्थे”: यी वचनले हामीलाई परमेश्‍वरको सामु अय्यूबले गर्ने गरेका दैनिक कार्यहरूको बारेमा बताउँछन्। जब तिनले निरन्तर त्यसो गरे, के तिनको व्यवहार र तिनको हृदय परमेश्‍वरको सामुन्‍ने पुग्यो? अर्को शब्दमा, के परमेश्‍वर तिनको हृदय र तिनको व्यवहारबाट प्रायजसो प्रसन्‍न बन्‍नुहुन्थ्यो? अनि, अय्यूबले कुन स्थिति र कुन सन्दर्भमा निरन्तर त्यसो गरिरहे? केही मानिसहरू भन्छन्: “परमेश्‍वर घरीघरी अय्यूबसामु देखा पर्नुहुन्थ्यो, त्यसैले तिनले त्यस्तो गरे।” कोही भन्छन्: “तिनमा दुष्टताबाट अलग बस्‍ने इच्छा भएकोले तिनले निरन्तर त्यसो गरे।” अनि, कोही भन्छन्: “सायद तिनलाई आफ्नो धनसम्पत्ति सजिलै प्राप्त भएको थिएन भन्‍ने लाग्थ्यो, र त्यो आफूलाई परमेश्‍वरले दिनुभएको हो भन्‍ने थाहा थियो, त्यसैले तिनी परमेश्‍वरको विरुद्ध पाप गर्दा वा उहाँलाई चिढ्याउँदा त्यो सम्पत्ति गुमाउनु पर्ला भनी साह्रै डराउँथे।” के यी दाबीहरूमध्ये कुनै सत्य छ? स्पष्ट छ, सत्य छैन। किनकि परमेश्‍वरको नजरमा त, परमेश्‍वरले अय्यूबको बारेमा जुन कुरा सबैभन्दा बढी स्वीकार र कदर गर्नुभएको थियो, त्यो कुरा अय्यूबले निरन्तर त्यसो गरे भन्‍ने तथ्य थिएन; बरु त्यो त अय्यूबको आचरण थियो जुन तिनलाई शैतानको हातमा सुम्पिँदा र तिनको परीक्षा हुँदा परमेश्‍वर, मानिस र शैतानसामु तिनले देखाएका थिए। तलका खण्डहरूले अत्यन्त पत्यारिला प्रमाणहरू प्रदान गर्छन्, त्यस्ता प्रमाणहरू जसले हामीलाई परमेश्‍वरले गर्नुभएको अय्यूबको मूल्याङ्कनको सत्यता देखाउँछन्। यसपछि, हामी धर्मशास्‍त्रका निम्‍न खण्डहरू पढौँ।

२. शैतानले पहिलोपटक अय्यूबलाई परीक्षा गर्छ (तिनको पशुधन चोरिन्छ र तिनका छोराछोरीहरूमाथि विपत्ति आइपर्छ)

क. परमेश्‍वरले बोल्नुभएका वचनहरू

अय्यूब १:८ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।

अय्यूब १:१२ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, हेर्, त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा। त्यसैले शैतान यहोवाको छेउबाट गयो।

ख. शैतानको जबाफ

अय्यूब १:९-११ त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्।

अय्यूबको विश्‍वास सिद्ध होस् भनेर परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति दिनुहुन्छ

अय्यूब १:८ त्यो पहिलो विवरण हो जहाँ हामी बाइबलमा यहोवा परमेश्‍वर र शैतानबीचको वार्तालाप देख्छौँ। त्यसो भए, परमेश्‍वरले के भन्‍नुभयो? मूल पाठले निम्‍न विवरण प्रदान गर्छ: “अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।” यो शैतानको अगाडि अय्यूबको विषयमा परमेश्‍वरले गर्नुभएको मूल्याङ्कन थियो; परमेश्‍वरले भन्‍नुभयो कि तिनी एक सिद्ध र सोझो मानिस हुन्, त्यस्तो व्यक्ति जो परमेश्‍वरको भय मान्थे र दुष्टताबाट अलग बस्थे। परमेश्‍वर र शैतानबीच यी कुराहरू हुनुभन्दा अघि, परमेश्‍वरले अय्यूबलाई जाँच्न शैतानलाई प्रयोग गर्ने—उहाँले अय्यूबलाई शैतानको हातमा सुम्पने सङ्कल्प गर्नुभएको थियो। एक हिसाबमा, यसले अय्यूबको सम्बन्धमा परमेश्‍वरको अवलोकन र मूल्याङ्कन सही र त्रुटिहीन छ भनी साबित गर्थ्यो, र अय्यूबको गवाहीद्वारा शैतान सर्ममा पर्नेथ्यो; अर्को हिसाबमा, त्यसले परमेश्‍वरमाथिको अय्यूबको विश्‍वास र परमेश्‍वरप्रतिको भयलाई सिद्ध बनाउँथ्यो। त्यसैले, जब शैतान परमेश्‍वरको सामु आयो, परमेश्‍वरले दोहोरो अर्थ लाग्‍ने कुरा गर्नुभएन। उहाँले सिधा कुरा गर्दै शैतानलाई सोध्‍नुभयो: “के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।” परमेश्‍वरको प्रश्‍नमा निम्‍न अर्थहरू छन्: शैतानले सबै ठाउँ घुम्‍ने गरेको र अय्यूबको बारेमा चियो गर्ने गरेको परमेश्‍वरलाई थाहा थियो। यसले अय्यूबलाई धेरैपटक परीक्षा र हमला गरेको थियो र त्यो परमेश्‍वरमाथिको तिनको विश्‍वास र परमेश्‍वरप्रतिको भय स्थिर रहिरहन सक्दैन भनी प्रमाणित गर्न तिनीमाथि विनाश ल्याउने उपायको खोजीमा थियो। अय्यूबले परमेश्‍वरलाई त्यागुन् र त्यसले तिनलाई परमेश्‍वरको हातबाट खोस्‍न सकोस् भनेर शैतानले अय्यूबलाई भताभुङ्ग पार्ने अवसरहरू पनि खोज्यो। तैपनि परमेश्‍वरले अय्यूबको हृदयभित्र हेर्नुभयो र तिनलाई अति सिद्ध र धर्मी, र परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्तिको रूपमा देख्‍नुभयो। अय्यूब सिद्ध र इमानदार मानिस हुन् जो परमेश्‍वरको भय मान्छ र दुष्टताबाट अलग बस्छ, अय्यूबले कहिल्यै परमेश्‍वरलाई त्याग्दैनन् र शैतानको पछि लाग्दैनन् भनी शैतानलाई बताउन परमेश्‍वरले एउटा प्रश्‍नको प्रयोग गर्नुभयो। परमेश्‍वरबाट अय्यूबको मूल्याङ्कन सुनेपछि शैतानमा अपमानको साथमा क्रोध उत्पन्‍न भयो अनि अय्यूबलाई खोसेर लिन त्यो अझ अधीर भयो, किनकि शैतानले कहिल्यै पनि कुनै व्यक्ति सिद्ध र इमानदार हुन सक्छ, वा उनीहरू परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छन् भनी विश्‍वास गरेको थिएन। यसको साथै, शैतानले मानिसमा भएको सिद्धता र इमानदारितालाई पनि घृणा गर्थ्यो, र परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्‍ने मानिसहरूलाई घिनाउँथ्यो। यसैले अय्यूब १:९-११ मा यो लेखिएको छ, “त्यसपछि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? के तपाईंले तिनको वरिपरि, र तिनको घरवरिपरि, र तिनीसँग भएका सबै थोकलाई चारैतिरबाट बार हाल्नुभएको छैन र? तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ। तर अहिले तपाईंको हात पसार्नुहोस्, र तिनीसँग भएका सबै थोक छोइदिनुहोस्, अनि तिनले तपाईंलाई सोझै सराप्‍नेछन्।” परमेश्‍वर शैतानको द्वेषपूर्ण प्रकृतिसँग राम्ररी परिचित हुनुहुन्थ्यो, र शैतानले धेरै अघिदेखि अय्यूबमाथि विनाश ल्याउने योजना गरिरहेको छ भन्‍ने कुरा उहाँलाई राम्ररी थाहा थियो, यसैले परमेश्‍वरले अय्यूब सिद्ध र इमानदार छन्, तिनी परमेश्‍वरसँग डराउँछन् र दुष्टताबाट अलग बस्छन् भनी शैतानलाई फेरि बताउँदै त्यसलाई ठीक बाटोमा ल्याउन, त्यसको वास्तविक अनुहार देखाउन चाहनुभयो, र अय्यूबलाई आक्रमण गर्न र परीक्षामा पार्न दिनुभयो। अर्को शब्दमा भन्दा, परमेश्‍वरले जानीजानी अय्यूब सिद्ध र इमानदार छन्, र तिनी परमेश्‍वरसँग डराउँछन् र दुष्टताबाट अलग बस्छन् भनी जोड दिनुभयो, र यसरी अय्यूब सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति भएकोमा शैतानले घृणा र क्रोध गरेको कारण उहाँले शैतानलाई अय्यूबमाथि आक्रमण गर्ने अनुमति दिनुभयो। परिणामस्वरूप, परमेश्‍वरले अय्यूब सिद्ध र इमानदार, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति हुन् भन्‍ने देखाएर शैतानलाई लज्‍जित पार्नुहुनेथ्यो, र यसरी शैतान पूर्ण रूपले अपमानित र पराजित हुनेथ्यो। त्यसपछि, शैतानले अब अय्यूबको सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको भय, वा दुष्टताबाट अलग बस्‍ने तिनको आचरणको बारेमा फेरि कहिल्यै शङ्का गर्ने वा आरोप लगाउनेथेन। यसरी, परमेश्‍वरको जाँच र शैतानको परीक्षा करिबकरिब अपरिहार्य नै थियो। परमेश्‍वरको जाँच र शैतानको परीक्षाको सामना गर्न सक्‍ने व्यक्ति अय्यूब मात्र थिए। यस वार्तालापपछि, शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति प्रदान गरियो। यसरी शैतानको आक्रमणको पहिलो चरण सुरु भयो। यी आक्रमणहरूको निसाना अय्यूबको सम्पत्ति थियो, किनकि शैतानले अय्यूबको विरुद्धमा निम्‍न आरोप लगाएको थियो: “के अय्यूबले परमेश्‍वरको भय त्यत्तिकै मान्छ र? … तपाईंले तिनको हातका कामहरूमा आशिष्‌ दिनुभएको छ र तिनको धनसम्पत्ति मुलुकभरि वृद्धि भएको छ।” फलस्वरूप, परमेश्‍वरले शैतानलाई अय्यूबका सबै कुरा खोस्‍ने अनुमति दिनुभयो—परमेश्‍वरले शैतानसँग कुरा गर्नुको उद्देश्य यही थियो। यद्यपि, परमेश्‍वरले शैतानसँग एउटा सर्त राख्‍नुभयो: “त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा” (अय्यूब १:१२)। परमेश्‍वरले यही सर्तमा शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति दिनुभयो र अय्यूबलाई शैतानको हातमा राख्‍नुभयो, र उहाँले शैतानका लागि यो सीमा तोकिदिनुभयो: उहाँले शैतानलाई अय्यूबको कुनै हानि नगर्न आज्ञा दिनुभयो। अय्यूब सिद्ध र इमानदार छन् भनी परमेश्‍वरले पहिचान गर्नुभएको थियो, र उहाँको सामु अय्यूबको सिद्धता र इमानदारिता शङ्का गर्न नसकिने छ, परीक्षामा पर्दा तिनी खडा हुन सक्छन् भन्‍ने विश्‍वास उहाँलाई थियो, त्यसैले परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति दिनुभयो, तर शैतानलाई केही सीमाहरू तोकिदिनुभयो: शैतानलाई अय्यूबका सबै सम्पत्ति खोस्‍ने अनुमति दिइयो, तर त्यसले तिनीमाथि औंला उठाउन सक्दैनथ्यो। यसको अर्थ के हो? यसको अर्थ के हो भने, त्यसबेला परमेश्‍वरले अय्यूबलाई पूर्ण रूपमा शैतानको हातमा दिनुभएन। शैतानले आफूले चाहेको जुनसुकै तरिकाले अय्यूबको परीक्षा गर्न सक्थ्यो, तर त्यसले अय्यूबलाई चोट पुर्‍याउन सक्दैनथ्यो—तिनको टाउकोको एउटा कपालसमेत छुन सक्दैनथ्यो—किनकि मानिसका सबै कुरा परमेश्‍वरद्वारा नियन्त्रित हुन्छ, र किनकि मानिस बाँच्छ कि मर्छ भन्‍ने कुराको निर्णय परमेश्‍वरले गर्नुहुन्छ। शैतानसँग यो अनुमति छैन। परमेश्‍वरले शैतानलाई यो कुरा भन्‍नुभएपछि शैतानलाई त्यो काम सुरु गर्न आतुरी भयो। त्यसले अय्यूबलाई परीक्षा गर्न सबै माध्यमहरू प्रयोग गर्‍यो, र केही समयपछि नै अय्यूबले परमेश्‍वरले तिनलाई दिनुभएका कैयौँ भेडा र गोरुहरू र सबै सम्पत्ति गुमाइसकेका थिए…। यसरी परमेश्‍वरको परीक्षा तिनीमाथि आइपर्‍यो।

बाइबलले हामीलाई अय्यूबको परीक्षा कहाँबाट उत्पत्ति भयो भन्‍नेबारेमा बताउने भए पनि, ती परीक्षाहरूको शिकार भएका अय्यूब आफैलाई के भइरहेको छ भन्‍ने थाहा थियो? अय्यूब केवल एक मरणशील मानिस थिए; अवश्य नै, तिनलाई आफ्नो वरिपरि प्रकट भइरहेको घटनाको बारेमा केही पनि थाहा थिएन। तैपनि, तिनमा भएको परमेश्‍वरको भयका साथै तिनको सिद्धता र सोझोपनले तिनलाई आफूमाथि परमेश्‍वरको परीक्षा आएको छ भन्‍ने थाहा दिलायो। आत्मिक क्षेत्रमा के भएको थियो भन्‍ने तिनलाई थाहा थिएन, न त यी परीक्षाहरूका पछाडि रहेका परमेश्‍वरका अभिप्रायहरूको बारेमा नै तिनलाई थाहा थियो। तर उनीमाथि जे आइपरे पनि, तिनी आफ्नो सिद्धता र सोझोपनमा दृढ रहनुपर्छ, र परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा रहनुपर्छ भन्‍ने कुरा तिनलाई थाहा थियो। यी मामिलाहरूप्रतिको अय्यूबको मनोवृत्ति र प्रतिक्रियालाई परमेश्‍वरले स्पष्ट रूपमा देख्‍नुभएको थियो। परमेश्‍वरले के देख्‍नुभयो? उहाँले परमेश्‍वरको भय मान्‍ने अय्यूबको हृदय देख्‍नुभयो, किनकि सुरुदेखि अय्यूबको परीक्षा गरिएको बेलासम्‍म, अय्यूबको हृदय परमेश्‍वरप्रति खुला थियो, त्यो परमेश्‍वरको सामु उदाङ्गो पारिएको थियो, र अय्यूबले आफ्नो सिद्धता वा सोझोपन त्याग गरेनन्, न त तिनले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्ग नै त्यागे, न त्यसबाट तर्केर नै गए—परमेश्‍वरका निम्ति योभन्दा बढी सन्तोषजनक अरू कुनै कुरा थिएन। यसपछि हामी अय्यूब कस्ता परीक्षाहरूमार्फत गुज्रे, र तिनले यी जाँचहरूको सामना कसरी गरे सो हेर्नेछौँ। अब हामी धर्मशास्‍त्रबाट केही पढौँ।

ग. अय्यूबको प्रतिक्रिया

अय्यूब १:२०-२१ त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे, अनि तिनले भने, म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु: यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।

अय्यूब आफूसित भएका सबै थोक फर्काउन आफै तयार हुने अवस्था परमेश्‍वरप्रतिको तिनको भयबाट आउँछ

परमेश्‍वरले शैतानलाई “त्यससँग भएको सबै तेरो शक्तिमा छ; त्यसमाथि मात्रै तैँले तेरो हात नलगा,” भन्‍नुभएपछि, शैतान त्यहाँबाट गयो र त्यसको लगत्तै अय्यूब अचानक र भयङ्कर आक्रमणको शिकार भए: सुरुमा, तिनका गोरु र गधाहरू लुटिए र तिनका केही नोकरहरू मारिए; त्यसपछि तिनका भेडा र अन्य नोकरचाकर आगोमा भस्म भए। त्यसपछि, तिनका ऊँटहरू लगियो र तिनका अझ धेरै नोकरचाकरको हत्या गरियो। अन्त्यमा, तिनका छोराछोरीहरूको ज्यान लिइयो। यो चरणबद्ध आक्रमण अय्यूबले पहिलो परीक्षाको अवधिमा भोगेका यातनाहरू थिए। परमेश्‍वरको आज्ञाअनुसार, यी आक्रमणहरूको अवधिमा शैतानले अय्यूबका सम्पत्ति र छोराछोरीहरूलाई मात्र लक्षित गर्‍यो, तर अय्यूब स्वयम्‌लाई हानि गरेन। यद्यपि, अय्यूब धेरै सम्पत्ति भएको धनी मानिसबाट तुरुन्तै केही पनि नभएको व्यक्तिमा परिणत भए। कसैले पनि यो स्तब्ध पार्ने गरी अचानक गरिएको प्रहार सामना गर्न सक्दैनथ्यो वा त्यसप्रति उचित प्रतिक्रिया देखाउन सक्दैनथ्यो, तर अय्यूबले आफ्नो असाधारण पक्ष प्रकट गरे। धर्मशास्‍त्रले निम्‍न विवरण प्रदान गर्छ: “त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे।” आफ्ना छोराछोरीहरू र सबै सम्पत्ति गुमाएको खबर सुनेपछि अय्यूबले दिएको पहिलो प्रतिक्रिया यही थियो। सबैभन्दा महत्त्वपूर्ण कुरा, तिनी स्तब्ध भएको वा डरले ग्रस्त भएको देखिएका थिएनन्, तिनले क्रोध वा घृणा प्रकट गर्ने कुरा त परै जाओस्। त्यसपछि तँ के देख्छस् भने, आफ्नो हृदयमा तिनले यो बुझिसकेका थिए कि ती विपत्तिहरू संयोगले आएका होइनन्, वा ती मानिसको हातद्वारा भएका होइनन्, वा त्यो प्रतिशोध वा दण्डको आगमन त झन् हुनै सक्दैन। बरु, यहोवाको परीक्षा तिनीमाथि आएको थियो; तिनको सम्पत्ति र छोराछोरीहरू लिन चाहने यहोवा नै हुनुहुन्थ्यो। त्यस बेला अय्यूब एकदम शान्त र स्पष्ट विचारका थिए। तिनको सिद्ध र सोझो मानवताले तिनलाई आफूमा परेका विपत्तिहरूबारे तर्कसंगत र स्वाभाविक रूपमा सही विचार र निर्णय गर्न सक्षम तुल्यायो, र यसको परिणामस्वरूप तिनले असाधारण शान्तिका साथ व्यवहार गरे: “त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे।” “आफ्‍नो खास्टो च्याते” भन्‍नुको अर्थ तिनी वस्‍त्रहीन थिए, र तिनीसित केही थिएन भन्‍ने हुन्छ। “आफ्‍नो कपाल खौरे” भन्‍नुको अर्थ तिनी नवजात शिशुको रूपमा परमेश्‍वरको सामु फर्के; “भूँइमा लम्पसार परे र आराधना गरे” भन्‍नुको अर्थ तिनी संसारमा नाङ्गै आएका थिए, र आज तिनीसित केही थिएन, तिनी नवजात शिशुजस्तो बनेर परमेश्‍वरको सामु फर्केका थिए। आफूमाथि परिआएका सबै कुराहरूप्रति अय्यूबको जुन मनोवृत्ति थियो, त्यो परमेश्‍वरको कुनै पनि प्राणीले हासिल गर्न सक्दैनथ्यो। यहोवामाथिको तिनको विश्‍वास विश्‍वासको क्षेत्रभन्दा पनि माथि पुगेको थियो; परमेश्‍वरप्रतिको तिनको भय, परमेश्‍वरप्रतिको तिनको आज्ञाकारिता यही थियो; तिनले परमेश्‍वरलाई उहाँले तिनलाई दिनुभएको निम्ति मात्र धन्यवाद दिएनन्, तिनीबाट उहाँले खोस्‍नुभएको निम्ति पनि धन्यवाद दिए। यसबाहेक, तिनले आफ्नो जीवनसहित आफ्नो स्वामित्वमा भएका सम्पूर्ण कुराहरू आफै परमेश्‍वरकहाँ फर्काउन सके।

परमेश्‍वरप्रतिको अय्यूबको भय र आज्ञाकारिता मानवजातिका लागि एउटा उदाहरण हो, र तिनको सिद्धता र सोझोपन मानिसमा हुनैपर्ने मानवताको चरम सीमा थिए। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तैपनि तिनले परमेश्‍वर साँच्‍चै नै हुनुहुन्छ भनी बुझे, र यो कुरा बुझेकाले नै तिनले परमेश्‍वरको भय माने, र परमेश्‍वरप्रतिको तिनको भयको कारण तिनले परमेश्‍वरको आज्ञापालन गर्न सके। तिनले आफूसँग भएका सबै थोकहरूमाथि परमेश्‍वरलाई स्वतन्त्र रूपमा नियन्त्रण गर्न दिए, तैपनि तिनले गुनासो गरेनन्, र परमेश्‍वरको सामु घोप्टो परे, र त्यस बेला यदि परमेश्‍वरले तिनको देह लिनुभयो भने पनि तिनले कुनै गुनासो नगरी खुसीसाथ उहाँलाई त्यसो गर्न दिनेथेँ भनी भने। तिनको सम्पूर्ण आचरण तिनको सिद्ध र सोझो मानवताको उपज थियो। भन्‍नुको अर्थ, तिनको निर्दोषता, इमानदारिता र दयाको परिणामस्वरूप, अय्यूब परमेश्‍वरको अस्तित्वसम्बन्धी आफ्नो बुझाइ र अनुभवमा अटल थिए। यही जगको आधारमा तिनले आफ्नै लागि मापदण्ड तय गरे अनि परमेश्‍वरले तिनलाई अगुवाइ गर्नुभएअनुसार र सबै थोकमाझ तिनले देखेका परमेश्‍वरका कार्यहरूअनुसार परमेश्‍वरको सामु आफ्नो सोचविचार, व्यवहार, आचरण र कार्य सिद्धान्तहरूलाई यही मापदण्डअनुरूप बनाए। समय बित्दै जाँदा, तिनका अनुभवहरूले तिनमा परमेश्‍वरप्रतिको साँचो र वास्तविक भय उत्पन्‍न गरायो र तिनलाई दुष्टताबाट अलग बस्‍ने बनायो। अय्यूबले दह्रिलो गरी पक्रेको निष्ठाको स्रोत यही थियो। अय्यूबमा निष्कपट, निर्दोष र दयालु मानवता थियो, र तिनीसँग परमेश्‍वरको भय मान्‍ने, परमेश्‍वरको आज्ञापालन गर्ने र दुष्टताबाट अलग बस्‍ने वास्तविक अनुभव थियो, साथै “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ” भन्‍ने ज्ञान पनि थियो। यी कुराहरूको कारणले गर्दा मात्र तिनी शैतानको त्यस्तो डरलाग्दो आक्रमणमाझ आफ्नो गवाहीमा दृढ भएर खडा हुन सकेका थिए, र त्यही कारणहरूले गर्दा मात्रै तिनले आफूमाथि परमेश्‍वरका जाँचहरू आइलाग्दा परमेश्‍वरलाई निराश नपार्न र सन्तोषजनक जबाफ दिन सके। त्यो पहिलो परीक्षाको अवधिमा अय्यूबको आचरण एकदम इमानदार किसिमको भए तापनि, पछिका पुस्ताहरूले जीवनभर प्रयत्‍न गरेपछि पनि यस्तो इमानदारी प्राप्त गर्ने निश्‍चित थिएन, न त उनीहरूमा माथि वर्णन गरिएको अय्यूबको आचरण हुन्छ भन्‍ने जरुरी नै थियो। आज, अय्यूबको इमानदार आचरणको सामना गर्नुपर्दा, र परमेश्‍वरमा विश्‍वास गर्ने र परमेश्‍वरलाई पछ्याउने दाबी गर्नेहरूले चिच्याउँदै परमेश्‍वरसामु देखाएको “पूर्ण आज्ञापालन र मृत्युपर्यन्त बफादारिता” को सङ्कल्पसँग तुलना गर्दा, के तिमीहरूलाई गहन रूपमा लाज हुन्छ कि हुँदैन?

जब तँ पवित्रशास्‍त्रमा अय्यूब र तिनको परिवारले भोगेका सबै कुराहरू पढ्छस्, तब तेरो प्रतिक्रिया कस्तो हुन्छ? के तँ आफ्ना विचारमा हराउँछस्? के तँ स्तब्ध हुन्छस्? के अय्यूबमाथि आइपरेका परीक्षाहरूलाई “डरलाग्दो” भनेर वर्णन गर्न सकिन्छ? अर्को शब्दमा भन्दा, धर्मशास्‍त्रमा वर्णन गरिएका अय्यूबका परीक्षाहरू पढ्दा नै भयावह लाग्छन्, वास्तविक जीवनमा त झन् ती कस्ता थिए होलान्! त्यसरी तँ देख्छस् कि अय्यूबमाथि आइपरेको कुरा एउटा “अभ्यास प्रशिक्षण” थिएन, तर वास्तविक “लडाइँ” थियो, जसमा वास्तविक “बन्दुकहरू” र “गोलीहरू” थिए। तर कसको हातद्वारा तिनी परीक्षाहरूमा पारिएका थिए? अवश्य नै, ती शैतानको काम थिए, र शैतानले आफ्नै हातले यी काम गरेको थियो। यसको बावजूद पनि, यी कुराहरू गर्ने अधिकार परमेश्‍वरले दिनुभएको थियो। के परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा कुन माध्यमद्वारा गर्नुपर्छ भनी बताउनुभएको थियो? उहाँले बताउनुभएको थिएन। परमेश्‍वरले केवल एउटा सर्त राख्‍नुभयो जुन शैतानले पालन गर्नुपर्थ्यो, र त्यसपछि अय्यूबमाथि परीक्षा आयो। जब अय्यूबमाथि परीक्षा आयो, त्यसले मानिसहरूलाई शैतानको दुष्टता र कुरूपता, मानिसप्रति त्यसको द्वेष र घृणा, अनि परमेश्‍वरसँगको त्यसको शत्रुताको ज्ञान दियो। यसमा हामी देख्छौँ कि त्यो परीक्षा कतिसम्म क्रूर थियो भन्‍ने कुरा शब्दहरूमा वर्णन गर्नै सकिँदैन। यो भन्‍न सकिन्छ कि शैतानले मानिससित जुन द्वेषपूर्ण प्रकृतिले दुर्व्यवहार गर्‍यो त्यो प्रकृति र त्यसको कुरूप अनुहार त्यो क्षणमा पूर्ण रूपमा प्रकट भएको थियो। शैतानले यो मौका अर्थात् परमेश्‍वरको अनुमतिमा प्रदान गरिएको मौकालाई उग्र र क्रूर रूपमा अय्यूबलाई दुर्व्यवहार गर्न प्रयोग गर्‍यो, र त्यो क्रूरताको तरिका र तह आजका मानिसहरूका निम्ति पूर्ण रूपमा अकल्पनीय र असहनीय छ। अय्यूब शैतानको परीक्षामा परेका थिए र यो परीक्षाको अवधिमा तिनी आफ्नो साक्षीमा दृढ रहे भनेर भन्‍नुभन्दा पनि परमेश्‍वरले तिनका निम्ति तय गर्नुभएका परीक्षाहरूमा अय्यूबले आफ्नो सिद्धता र इमानदारिताको रक्षा गर्न, र परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको रक्षा गर्न शैतानसँग प्रतिस्पर्धा गरे भन्‍नु उपयुक्त हुन्छ। यस प्रतिस्पर्धामा, अय्यूबले अत्यन्तै धेरै मूल्यका भेडा र गाईवस्तुहरू गुमाए, तिनले आफ्नो सबै सम्पत्ति गुमाए, र तिनले आफ्ना छोराछोरीहरू गुमाए। तर तिनले आफ्नो सिद्धता, इमानदारी वा परमेश्‍वरप्रतिको डरलाई त्यागेनन्‌। अर्को शब्दमा भन्‍ने हो भने, शैतानसँगको यो प्रतिस्पर्धामा, अय्यूबले आफ्नो सिद्धता, इमानदारी र परमेश्‍वरप्रतिको डर गुमाउनुभन्दा पनि आफ्‍नो सम्पत्ति र छोराछोरी गुमाउन रुचाए। तिनले मानिस हुनु भनेको के हो त्यसको जड समात्‍न रुचाए। अय्यूबले आफ्नो सम्पत्ति गुमाएको सम्पूर्ण प्रक्रियाको बारेमा धर्मशास्‍त्रले संक्षिप्त विवरण प्रदान गर्छ, र साथै अय्यूबको आचरण र मनोवृत्ति बारेमा पनि वर्णन गर्छ। यी जटिल, संक्षिप्त विवरणहरूले अय्यूब यस परीक्षाको सामना गर्दा लगभग शान्त थिए भन्‍ने भाव प्रदान गर्छ, तर वास्तवमा जे भएको थियो त्यो घटनालाई पुन: सिर्जित गर्ने हो भने—यस क्रममा शैतानको द्वेषपूर्ण प्रकृतिलाई पनि ध्यानमा राखियो भने—स्थितिहरू यी वाक्यहरूमा वर्णन गरेझैँ सरल वा सजिलो हुनेथिएनन्। वास्तविकता अत्यन्तै क्रूर थियो। मानवजाति र परमेश्‍वरले स्विकार्नुहुने सबैसित शैतानले त्यस स्तरको विनाश र घृणाद्वारा व्यवहार गर्छ। यदि परमेश्‍वरले शैतानलाई अय्यूबको हानि नगर्नू भनी नभन्‍नुभएको भए, निश्‍चय नै शैतानले तिनलाई कुनै पछुतो नगरी मार्नेथ्यो। कुनै पनि मानिसले परमेश्‍वरको आराधना गरेको शैतान चाहँदैन, न त परमेश्‍वरको नजरमा धर्मी र सिद्ध साथै सोझो व्यक्तिले परमेश्‍वरको भय मानेको र खराबीबाट अलग बसेको नै त्यो चाहन्छ। मानिसहरू परमेश्‍वरसित डराउनु र दुष्टताबाट अलग रहनुको अर्थ तिनीहरूले शैतानलाई त्याग्‍नु र त्यसबाट अलग बस्‍नु हो, त्यसैले शैतानले परमेश्‍वरको अनुमतिको फाइदा उठायो र कुनै दया नगरी अय्यूबमाथि आफ्नो क्रोध र घृणा पोखायो। यसरी, अय्यूबले मनमस्तिष्कदेखि देहसम्म, भित्रदेखि बाहिरसम्म भोगेको यातना कति ठूलो थियो भनी तैँले देख्छस्। आज हामी त्यसबेला अवस्था कस्तो थियो भनी देख्दैनौँ र बाइबल विवरणहरूबाट त्यस बेला पीडामा पर्दा अय्यूबका भावनाहरू कस्ता थिए भन्‍ने संक्षिप्त झलक मात्र प्राप्त गर्न सक्छौँ।

अय्यूबको अटल इमानदारिताले शैतानलाई सर्ममा पार्छ र त्यो आत्तिएर भाग्छ

अनि, अय्यूब त्यस यातनामा पर्दा परमेश्‍वरले के गर्नुभयो? परमेश्‍वरले अवलोकन गर्नुभयो, र हेर्नुभयो, र परिणामको प्रतीक्षा गर्नुभयो। जब परमेश्‍वरले अवलोकन गर्नुभयो र हेर्नुभयो, उहाँले कस्तो महसुस गर्नुभयो? उहाँले निश्‍चय पनि शोक महसुस गर्नुभयो। तर आफूले अनुभूति गरेको शोकको कारण, के परमेश्‍वरले शैतानलाई अय्यूबको परीक्षा गर्ने अनुमति दिनुभएकोमा पछुतो गर्नुभयो? यसको उत्तर हो, गर्नुभएन, उहाँले त्यस्तो पछुतो महसुस गर्नुभएन। किनकि अय्यूब सिद्ध र सोझो छन्, र तिनी परमेश्‍वरको भय मान्छन् र दुष्टताबाट अलग बस्छन् भन्‍ने कुरामा उहाँ पूर्ण विश्‍वास गर्नुहुन्थ्यो। परमेश्‍वरले शैतानलाई केवल परमेश्‍वरको सामु अय्यूबको धार्मिकता जाँच गर्न, र त्यसको आफ्नै दुष्टता र घृणितपन प्रकट गर्ने अवसर प्रदान गर्नुभएको थियो। यसबाहेक, यो घटना अय्यूबले संसारका मानिसहरू, शैतान र परमेश्‍वरलाई पछ्याउने सबैको सामु समेत आफ्नो धार्मिकता र आफूले परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने गरेको बारेमा गवाही दिने मौका थियो। के अन्तिम परिणामले अय्यूबप्रतिको परमेश्‍वरको मूल्याङ्कन ठीक र त्रुटिरहित थियो भन्‍ने प्रमाणित गर्‍यो? के अय्यूबले साँच्‍चै शैतानलाई पराजित गरे? यहाँ हामी अय्यूबले बोलेका मुख्य वचनहरू पढ्छौँ, र ती वचनहरू तिनले शैतानलाई पराजित गरेको प्रमाण हुन्। तिनले भने: “म मेरी आमाको गर्भबाट नाङ्गै आएँ र म नाङ्गै फर्कनेछु।” यो परमेश्‍वरप्रतिको अय्यूबको आज्ञाकारिताको मनोवृत्ति हो। त्यसपछि तिनले भने: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” अय्यूबले बोलेका यी वचनहरूले के प्रमाणित गर्छन् भने, परमेश्‍वरले मानिसको हृदयको गहिराइलाई अवलोकन गर्नुहुन्छ, उहाँले मानिसको मनमस्तिष्कभित्र देख्‍न सक्‍नुहुन्छ, र ती वचनहरूले प्रमाणित गर्छन् कि उहाँले अय्यूबलाई गर्नुभएको अनुमोदन गल्तीरहित थियो, परमेश्‍वरले अनुमोदन गर्नुभएको यी व्यक्ति धर्मी थिए। “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।” यी वचनहरू परमेश्‍वरका लागि अय्यूबको गवाही हुन्। यी साधारण वचनहरूले नै शैतानलाई भयभीत पार्‍यो, त्यसलाई सर्ममा पार्‍यो र त्यो आत्तिएर भाग्यो, र त्यसबाहेक, त्यसले शैतानलाई साङ्ला लगायो र त्यसलाई कुनै स्रोतसाधनविहीन अवस्थामा छोडिदियो। त्यसै गरी, यी वचनहरूले शैतानलाई यहोवा परमेश्‍वरले गर्नुभएका कार्यहरूको अद्‌भुतता र सामर्थ्य महसुस गरायो र परमेश्‍वरको मार्गद्वारा सञ्‍चालित हृदय भएको व्यक्तिको असाधारण चमत्कार महसुस गरायो। त्यसबाहेक, ती वचनहरूले परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग रहने मार्गमा लागेको सानो र तुच्छ व्यक्तिले देखाएको शक्तिशाली जीवनशक्ति शैतानलाई देखाए। यसरी पहिलो प्रतिस्पर्धामा शैतानको हार भयो। “यसबाट शिक्षा” पाए पनि शैतानले अय्यूबलाई छोड्ने विचार गरेको थिएन, न त त्यसको द्वेषपूर्ण प्रकृतिमा कुनै परिवर्तन नै आएको थियो। शैतानले अय्यूबमाथि हमला गर्न कोसिस गर्‍यो, र फेरि एकपटक परमेश्‍वरको सामु आयो …

अब, अय्यूब दोस्रोपटक परीक्षामा परेको बारे धर्मशास्‍त्रका केही खण्ड हेरौँ।

३. शैतानले फेरि एकपटक अय्यूबलाई परीक्षा गर्छ (अय्यूबको शरीरभरि खटिरा निस्कन्छन्)

क. परमेश्‍वरले बोल्नुभएका वचनहरू

अय्यूब २:३ अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। अनि, त्यो अझै आफ्नो निष्ठामा दृढ छ, यद्यपि कुनै कारणविना नै त्यसलाई नष्ट पार्न तैँले मलाई त्यसको विरुद्धमा उक्साइस्।

अय्यूब २:६ अनि यहोवाले शैतानलाई भन्नुभयो, हेर्, त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा।

ख. शैतानले बोलेका वचनहरू

अय्यूब २:४-५ अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ।

ग. अय्यूबले कसरी जाँचको सामना गर्दछ

अय्यूब २:९-१० तब तिनकी श्रीमतीले तिनलाई भनिन्, के तपाईं अझै पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्। तर तिनले उनलाई भने, तिमी मूर्ख स्‍त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने? यी सबै कुरामा अय्यूबले आफ्ना ओठहरूद्वारा पाप गरेनन्।

अय्यूब ३:३-४ म जन्मेको दिन र बालक जन्मिएको छ भनी भनिएको त्यो रात नष्ट होस्। त्यो दिन अन्धकार होस्; यसलाई परमेश्‍वरले माथिबाट वास्ता नगर्नुभएको होस्, न त त्यसमाथि ज्योति नै चम्कियोस्।

परमेश्‍वरको मार्गप्रतिको अय्यूबको प्रेमले सबै कुरालाई उछिन्छ

धर्मशास्‍त्रले परमेश्‍वर र शैतानबीचका वचनहरूलाई यसरी वर्णन गर्छ: “अनि यहोवाले शैतानलाई भन्‍नुभयो, के तैँले मेरो सेवक अय्यूबलाई विचार गरेको छस्? त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन। अनि, त्यो अझै आफ्नो निष्ठामा दृढ छ, यद्यपि कुनै कारणविना नै त्यसलाई नष्ट पार्न तैँले मलाई त्यसको विरुद्धमा उक्साइस्” (अय्यूब २:३)। यस बातचितमा, परमेश्‍वरले शैतानलाई पनि त्यही प्रश्‍न सोध्‍नुहुन्छ। यो यस्तो प्रश्‍न हो जसले हामीलाई पहिलो परीक्षाको अवधिमा अय्यूबले प्रदर्शन गरेको र जिएको जीवनको बारेमा यहोवा परमेश्‍वरले गर्नुभएको सकारात्मक मूल्याङ्कन देखाउँछ, र यो मुल्याङ्कन शैतानको परीक्षामा पर्नुअघि अय्यूबको बारेमा परमेश्‍वरले गर्नुभएको मूल्याङ्कनभन्दा फरक छैन। भन्‍नुको अर्थ, तिनीमाथि परीक्षा आउनुभन्दा पहिले, परमेश्‍वरको नजरमा अय्यूब सिद्ध थिए, र यसैले परमेश्‍वरले तिनी र तिनको परिवारलाई बचाउनुभयो, र तिनलाई आशीर्वाद दिनुभयो; तिनी परमेश्‍वरको नजरमा आशिषित हुन लायक थिए। परीक्षापछि, अय्यूबले आफ्नो ओठद्वारा पाप गरेनन्, किनकि तिनले आफ्नो सम्पत्ति र आफ्ना छोराछोरीहरू गुमाएको भए पनि तिनले यहोवाको नाउँको प्रशंसा गरिरहे। तिनको वास्तविक आचरणले गर्दा परमेश्‍वरले तिनको प्रशंसा गर्नुभयो र यसको कारणले गर्दा, परमेश्‍वरले तिनलाई पूर्णाङ्क दिनुभयो। किनकि अय्यूबको नजरमा, तिनका सन्तान वा सम्पत्ति तिनलाई परमेश्‍वरको त्याग गर्ने तुल्याउन काफी थिएनन्। अर्को शब्दमा भन्दा, तिनको हृदयमा भएको परमेश्‍वरको स्थान तिनका सन्तान वा सम्पत्तिको कुनै भागले लिन सक्दैनथ्यो। पहिलो परीक्षाको अवधिमा, अय्यूबले परमेश्‍वरलाई उहाँप्रतिको तिनको प्रेम र परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने तिनको मार्गले अरू सबै कुरालाई उछिन्छ भनी देखाए। यो परीक्षाले अय्यूबलाई यहोवा परमेश्‍वरबाट इनाम प्राप्त गरिने र उहाँद्वारा आफ्नो सम्पत्ति र छोराछोरीहरू खोसिने अनुभव मात्र दियो।

अय्यूबका लागि, यो एउटा साँचो अनुभव थियो जसले तिनको आत्मालाई धोएर सफा गर्‍यो; यो जीवनको बप्‍तिस्मा थियो जसले तिनको अस्तित्वलाई पूरा गर्‍यो, र यसबाहेक, यो एक भव्य चाड थियो जसले परमेश्‍वरप्रतिको तिनको आज्ञाकारिता र डरको जाँच गर्‍यो। परीक्षाको कारण अय्यूब धनी मानिसदेखि केही पनि नभएको मानिसमा परिणत भए, र यसले तिनलाई शैतानले मानवजातिमाथि गर्ने दुर्व्यवहारको पनि अनुभव गरायो। अभावले तिनलाई शैतानको घृणा गर्ने बनाएन; बरु, शैतानका दुष्कर्महरूमा तिनले शैतानको कुरूपता र घृणित रूपका साथै शैतानको परमेश्‍वरसँगको शत्रुता पनि देखे, र त्यसले तिनलाई परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा दृढतासाथ सदा रहन प्रोत्साहित गर्‍यो। तिनले सम्पत्ति, छोराछोरी वा आफन्तहरूजस्ता बाह्य कारकहरूको कारण कहिल्यै पनि परमेश्‍वरलाई नत्याग्‍ने र परमेश्‍वरको मार्गलाई पिठ्यूँ नफर्काउने, र कहिल्यै पनि शैतान, सम्पत्ति वा कुनै पनि व्यक्तिको दास नहुने शपथ खाए। यहोवा परमेश्‍वरबाहेक अरू कोही पनि तिनका प्रभु वा परमेश्‍वर हुन सक्दैनथ्यो। अय्यूबको आकांक्षा त्यस्तै थियो। अर्कोतर्फ, अय्यूबले यस परीक्षाबाट केही प्राप्त पनि गरेका थिए: परमेश्‍वरले तिनलाई दिनुभएका परीक्षाहरूमाझ तिनले ठूलो धन कमाएका थिए।

अय्यूबले विगतका धेरै दशकहरूको आफ्नो जीवन अवधिमा यहोवाका कार्यहरू देखेका थिए र यहोवा परमेश्‍वरबाट आशिष्‌ प्राप्त गरेका थिए। ती आशिष्‌हरूले गर्दा तिनलाई अत्यन्त असहज र ऋणी महसुस भएको थियो, किनकि तिनलाई आफूले परमेश्‍वरका निम्ति केही नगरेको, तैपनि यस्तो ठूलो आशिष्‌ र यति धेरै अनुग्रह उपभोग गर्न पाएको विश्‍वास थियो। यसकारण, परमेश्‍वरको ऋण तिर्न सकूँ भन्‍ने आशा गर्दै, परमेश्‍वरको कार्य र महान्‌ताको गवाही दिने मौका पाउने आशा गर्दै, र परमेश्‍वरले आफ्नो आज्ञाकारिताको परीक्षा लिनुहुने आशा गर्दै, र यसबाहेक, तिनको आज्ञाकारिता र विश्‍वासले परमेश्‍वरको अनुमोदन प्राप्त गरुन्जेलसम्‍म आफ्नो विश्‍वासलाई शुद्ध पार्न सकिने आशा गर्दै, तिनले आफ्नो हृदयमा बारम्बार प्रार्थना गर्थे। त्यसपछि जब अय्यूबमाथि जाँच आइलाग्यो, तब तिनले आफ्नो प्रार्थना परमेश्‍वरले सुन्‍नुभएछ भनी विश्‍वास गरे। अय्यूबले यस अवसरलाई सबैभन्दा बढी कदर गरे, यसैले तिनले यसलाई हल्‍कासँग लिने आँट गरेनन्, किनभने यसमार्फत तिनको जीवनभरको सबैभन्दा ठूलो इच्छा पूरा हुन सक्थ्यो। यस अवसरको आगमनको अर्थ परमेश्‍वरप्रतिको तिनको आज्ञाकारिता र डरलाई जाँच्न र शुद्ध बनाउन सकिन्छ भन्‍ने थियो। यसबाहेक, यसको अर्थ अय्यूबले परमेश्‍वरको स्वीकृति प्राप्त गरेर आफैलाई परमेश्‍वरको नजिक ल्याउने मौका पाएका थिए भन्‍ने थियो। परीक्षाको क्रममा, त्यस्तो विश्‍वास र खोजले तिनलाई अझ सिद्ध हुन, र परमेश्‍वरको इच्छाको अझ ठूलो बुझाइ प्राप्त गर्न सहयोग गर्‍यो। अय्यूब परमेश्‍वरको आशिष्‌ र अनुग्रहका लागि पनि कृतज्ञ थिए, तिनले आफ्नो हृदयमा परमेश्‍वरका कामहरूको निम्ति ठूलो प्रशंसा गरे, र तिनी परमेश्‍वरको अझ बढी भय मान्‍ने र उहाँलाई आदर गर्ने व्यक्ति बने र तिनले अझ अधिक रूपमा परमेश्‍वरको प्रेम, महान्‌ता र पवित्रताको इच्‍छा गरे। यस समयमा, परमेश्‍वरको नजरमा अय्यूब अझै पनि परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने व्यक्ति थिए, तैपनि उनका अनुभवहरूका हिसाबमा, अय्यूबको विश्‍वास र ज्ञानमा निकै ठूलो प्रगति हुँदै गयो: तिनको विश्‍वास बढेको थियो र तिनको आज्ञाकारिताले जग पाएको थियो, परमेश्‍वरप्रतिको तिनको डर अझै गहन बनेको थियो। यस परीक्षाले अय्यूबको आत्मा र जीवनलाई रूपान्तरण गरेको भए तापनि, त्यस्तो परिवर्तनले अय्यूबलाई सन्तुष्ट पारेन, न त यसले तिनको प्रगतिलाई नै सुस्त पार्‍यो। यस परीक्षाबाट आफूले के प्राप्त गरेको छु भन्‍ने हिसाबकिताब गर्दै, र आफ्नै कमीकमजोरीहरूलाई ध्यानमा राख्दै, तिनले चुपचाप प्रार्थना गरे, र तिनीमाथि अर्को परीक्षा आउने समयको प्रतीक्षा गरे, किनकि तिनी आफूमाथि आउने परमेश्‍वरको अर्को परीक्षाको अवधिमा आफ्नो विश्‍वास, आज्ञाकारिता र परमेश्‍वरप्रतिको भय अझ माथि पुगोस् भन्‍ने चाहन्थे।

परमेश्‍वरले मानिसका भित्री विचारहरू र मानिसले बोल्ने र गर्ने सबै कुरा अवलोकन गर्नुहुन्छ। अय्यूबका विचारहरू यहोवा परमेश्‍वरको कानमा पुगे, र परमेश्‍वरले तिनको प्रार्थना सुन्‍नुभयो, र यसरी आशा गरिएअनुसार नै अय्यूबका लागि परमेश्‍वरको अर्को परीक्षा आयो।

चरम पीडामाझ, अय्यूबले साँचो रूपमा मानवजातिप्रतिको परमेश्‍वरको वास्ता महसुस गर्छन्

यहोवा परमेश्‍वरले शैतानलाई गर्नुभएको प्रश्‍नपछि शैतान गोप्य रूपमा खुसी थियो। किनकि परमेश्‍वरको नजरमा सिद्ध रहेको मानिसमाथि हमला गर्ने अनुमति फेरि एकपटक दिइनेछ भन्‍ने कुरा शैतानलाई थाहा भयो—शैतानको लागि, यो एउटा दुर्लभ अवसर थियो। शैतानले यस अवसरलाई अय्यूबको विश्‍वासको जग पुरै भत्काइदिन, तिनलाई परमेश्‍वरमाथिको विश्‍वास गुमाउन लगाउनका निम्ति प्रयोग गर्न चाहेको थियो र अबउप्रान्त तिनलाई परमेश्‍वरको भय नमान्‍ने वा यहोवाको नाउँलाई धन्यको नभन्‍ने बनाउन चाहन्थ्यो। यसले शैतानलाई एउटा मौका दिनेथ्यो: जुनसुकै ठाउँ वा समय जे भए पनि यसले अय्यूबलाई त्यसको आज्ञा मान्‍ने खेलौना बनाउनेथ्यो। शैतानले आफ्ना दुष्ट अभिप्रायहरूलाई एक कण पनि नदेखिने गरी लुकायो, तर त्यसले आफ्नो दुष्ट प्रकृतिलाई भने नियन्त्रणमा राख्‍न सकेन। यो मामिलाको वास्तविकताको छनक, धर्मशास्‍त्रमा लेखिएअनुसार, यहोवा परमेश्‍वरका वचनहरूप्रति त्यसले दिइएको उत्तरमा पाइन्छ: “अनि शैतानले यहोवालाई जवाफ दियो र भन्यो, छालाको निम्ति छाला, हो, मानिसले आफ्नो जीवनको निम्ति आफूसँग भएको सब थोक दिनेछ। तर अहिले तपाईंको हात पसार्नुहोस् र त्यसको हाड र छालामा छोइदिनुहोस्, अनि त्यसले तपाईंलाई सोझै सराप्‍नेछ” (अय्यूब २:४-५)। परमेश्‍वर र शैतानबीचको यस कुराकानीबाट शैतानको द्वेषको आवश्यक ज्ञान र अनुभूति प्राप्त नहुने त कुरै आउँदैन। शैतानका यी भ्रमहरूलाई सुनेपछि, सत्यलाई प्रेम गर्ने र दुष्टतालाई घृणा गर्ने सबैले अवश्य नै शैतानको तुच्छता र निर्लज्‍जतालाई अझ बढी घृणा गर्नेछन्, शैतानका भ्रमहरू देखेर भयभीत र विचलित हुन्छन्, र यसैबीच तिनीहरूले अय्यूबको निम्ति गहिरो प्रार्थना गर्छन् र हार्दिक शुभकामना दिन्छन्, र यी सोझा मानिसले सिद्धता प्राप्त गर्न सकून् भनेर प्रार्थना गर्छन्, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने यी व्यक्तिले शैतानको परीक्षामाथि सदा विजय प्राप्त गर्न सकून् र परमेश्‍वरको अगुवाइ र आशिष्‌हरूमाझ ज्योतिमा बाँचिरहन सकून् भनेर कामना गर्छन्; त्यसैगरी, त्यस्ता मानिसहरूले अय्यूबका धर्मी कार्यहरू सधैँ अघि बढिरहून् र परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग रहने मार्गमा हिँड्नेहरू सबैलाई प्रोत्साहन दिइरहून् भनी कामना गर्नेछन्। शैतानको द्वेषपूर्ण अभिप्राय यो घोषणामा देख्‍न सकिने भए पनि, परमेश्‍वर शैतानको “बिन्ती” मा निस्फिक्रीसाथ सहमत हुनुभयो—तर उहाँले एउटा सर्त पनि राख्‍नुभयो: “त्यो तेरै हातमा छ; तर त्यसको जीवन बचा” (अय्यूब २:६)। यसपटक शैतानले अय्यूबको हाड र मासुभित्रै हानि पुर्‍याउन आफ्नो हात फैलाउन पाऊँ भनी अनुरोध गरेको हुनाले परमेश्‍वरले भन्‍नुभयो, “तर त्यसको जीवन बचा।” यी वचनहरूको अर्थ के हो भने, उहाँले अय्यूबको देह शैतानलाई दिनुभएको थियो, तर अय्यूबको जीवनचाहिँ परमेश्‍वरकै हातमा थियो। शैतानले अय्यूबको जीवन लिन सक्दैनथ्यो, तर यसबाहेक शैतानले अय्यूबको विरुद्ध कुनै पनि माध्यम वा विधि प्रयोग गर्न सक्थ्यो।

परमेश्‍वरको अनुमति प्राप्त गरिसकेपछि, शैतान दगुरेर अय्यूबको अघि गयो, र तिनको छालामा कष्ट दिनका लागि आफ्नो हात बढायो र यसले गर्दा तिनको शरीरभरि खटिरा निस्क्यो, अनि अय्यूबले आफ्‍नो छालामा पीडा अनुभूति गरे। अय्यूबले यहोवा परमेश्‍वरको अद्‌भुतता र पवित्रताको प्रशंसा गरे, जसले शैतानको धृष्टतामा झनै उद्दण्डता ल्यायो। मानिसलाई चोट पुर्‍याउँदा शैतानलाई आनन्द महसुस भयो, यसैले यसले आफ्नो हात तन्कायो र अय्यूबको शरीरलाई प्रहार गर्‍यो, जसले गर्दा तिनको शरीरका खटिरा पाके। अय्यूबले तुरुन्तै आफ्नो शरीरमा अतुलनीय दुखाइ र पीडा महसुस गरे, र आफ्‍नो हातले शिरदेखि पाउसम्म सुमसुम्याउन बाध्य भए, मानौँ देहको पीडाद्वारा तिनको आत्मामा पुगेको चोटलाई यसले नै कम गर्छ। तिनलाई लाग्यो कि परमेश्‍वर तिनको छेवैमा रही तिनलाई हेर्दै हुनुहुन्छ, अनि तिनले आफैलाई सक्दो बलियो बनाउने कोसिस गरे। तिनले फेरि भुइँमा घुँडा टेके, र भने: “तपाईंले मानिसको हृदयभित्र हेर्नुहुन्छ, तपाईं उसको दुःख देख्‍नुहुन्छ; किन उसको कमजोरीले तपाईंलाई चिन्तित बनाउँछ? यहोवा परमेश्‍वरको नाउँको प्रशंसा होस्।” शैतानले अय्यूबको असह्य पीडा त देख्यो, तर अय्यूबले यहोवा परमेश्‍वरको नाउँलाई त्यागेको देखेन। यसैले तिनका अङ्गहरू टुक्राटुक्रा पार्ने उत्कट इच्‍छा गर्दै त्यसले अय्यूबका हाडहरूमा कष्ट पुर्‍याउनका लागि झट्टै आफ्नो हात फैलायो। तुरुन्तै, अय्यूबले अभूतपूर्व यातना महसुस गरे; मानौँ तिनका हाडहरूबाट मासु च्यातेर निकालिएको छ, मानौँ तिनका हाडहरू टुक्राटुक्रा पारी काटिएका छन्। यो कष्टदायी यातनाले गर्दा तिनले मर्नु नै राम्रो हुन्छ भनी सोचे…। पीडा सहने तिनको क्षमता सीमामा पुगिसकेको थियो…। तिनी चिच्याउन चाहन्थे, तिनी पीडा कम गर्ने प्रयासमा आफ्नो शरीरको छाला च्यात्‍न चाहन्थे—तैपनि तिनले आफ्‍नो चिच्याहट रोके, अनि आफ्नो शरीरको छाला च्यातेनन्, किनकि शैतानले तिनको कमजोरी देखोस् भन्‍ने तिनले चाहेनन्। त्यसैले अय्यूबले फेरि एकपटक घुँडा टेके, तर यसपटक तिनले यहोवा परमेश्‍वरको उपस्थिति महसुस गरेनन्। तिनलाई थाहा थियो, यहोवा परमेश्‍वर सधैँ तिनको अघि, तिनको पछाडि र तिनको दुवैपट्टि रहनुहुन्थ्यो। तर तिनको पीडाको घडीमा, परमेश्‍वरले एकपटक पनि हेर्नुभएन; उहाँले आफ्नो अनुहार छोप्‍नुभयो र लुक्‍नुभयो, किनकि उहाँले मानिसको सृष्टि गर्नुको अर्थ मानिसमाथि दुःख ल्याउनु थिएन। यस समयमा, अय्यूब रुँदैथिए र यो शारीरिक पीडा सहने सक्दो प्रयास गर्दैथिए, तैपनि तिनले अझै पनि परमेश्‍वरलाई धन्यवाद दिनबाट आफूलाई रोक्‍न सकेनन्: “मानिस पहिलो प्रहारमा ढल्छ, ऊ कमजोर र शक्तिहीन छ, ऊ जवान र अज्ञानी छ—तपाईं किन उसको त्यति धेरै वास्ता गर्नु र कोमल हुन चाहनुहुन्छ? तपाईंले मलाई प्रहार गर्नुभयो, तैपनि त्यसो गर्दा तपाईंलाई दुःख लाग्छ। मानिसको मोल कति छ र तपाईं त्यसको वास्ता र फिक्री गर्नुहुन्छ?” अय्यूबका प्रार्थनाहरू परमेश्‍वरको कानमा पुगे, तर परमेश्‍वर मौन रहनुभयो, कुनै आवाजविना हेरी मात्र बस्‍नुभयो…। भएभरका सबै प्रयास गर्दा पनि केही सीप नलागेपछि शैतान चुपचाप बिदा भयो, तर शैतान गए पनि पनि अय्यूबमाथि परमेश्‍वरको जाँचको अन्त्य भएन। अय्यूबमा प्रकट भएको परमेश्‍वरको शक्तिलाई सार्वजनिक गरिएको थिएन, त्यसकारण शैतान त्यहाँबाट गएपछि पनि अय्यूबको कथा अन्त्य भएन। अन्य पात्रहरूको प्रवेश भएपछि अचम्‍मका थप दृश्यहरू देखिन बाँकी नै थियो।

अय्यूबको परमेश्‍वरप्रतिको भय र दुष्टताबाट अलग बस्‍ने कार्यको अर्को प्रकटीकरण भनेको सबै कुरामा तिनले परमेश्‍वरको नाउँ उच्‍च पार्नु हो

अय्यूबले शैतानको विनाश भोगेका थिए, तैपनि तिनले यहोवा परमेश्‍वरको नाउँलाई त्यागेनन्। पहिले बाहिर आउने व्यक्ति तिनकी पत्‍नी थिइन् र सबै मानिसका आँखाले देख्‍ने गरी शैतानको भूमिका खेल्दै तिनले अय्यूबलाई आक्रमण गरिन्। मूल पाठले यसको वर्णन यसरी गर्छ: “तब तिनकी श्रीमतीले तिनलाई भनिन्, के तपाईं अझै पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)। यी वचनहरू मानिसको भेषमा शैतानले बोलेका वचनहरू थिए। ती आक्रमण र आरोप थिए, साथसाथै प्रलोभन, परीक्षा र निन्दा पनि थिए। अय्यूबको देहमा आक्रमण गर्दा असफल भएपछि, शैतानले सीधै अय्यूबको निष्ठामाथि आक्रमण गर्‍यो, अनि अय्यूबलाई आफ्नो निष्ठा त्याग गर्न, परमेश्‍वरलाई इन्कार गर्न र अझै जिउने इच्‍छा मार्न लगाउनको लागि यसको प्रयोग गर्‍यो। त्यसैले पनि शैतानले अय्यूबलाई परीक्षा गर्न यस्ता शब्दहरू प्रयोग गर्ने इच्छा गर्‍यो: यदि अय्यूबले यहोवाको नाउँ त्यागे भने तिनले त्यस्तो पीडा सहनुपर्दैनथ्यो; तिनले आफूलाई देहको कष्टबाट मुक्त गर्न सक्थे। आफ्नी पत्‍नीको सल्लाह सुनेर अय्यूबले उनलाई यसो भन्दै हप्काए, “तिमी मूर्ख स्‍त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:१०)। अय्यूबले धेरै अघिबाटै यी वचनहरूको बारेमा जानेका थिए, तर यो समयमा तिनको बारेमा अय्यूबको ज्ञानको सत्यता प्रमाणित भयो।

जब तिनलाई तिनकी पत्‍नीले परमेश्‍वरलाई सरापेर मर्ने सल्लाह दिइन्, उनको भनाइको अर्थ यो थियो: “तपाईंका परमेश्‍वरले तपाईंसँग यस्तो व्यवहार गर्नुहुन्छ, त्यसैले उहाँलाई किन नसराप्‍ने? अझै पनि जिएर तपाईं के गर्दै हुनुहुन्‍छ? तपाईंका परमेश्‍वर तपाईंप्रति यति अन्यायी हुनुहुन्छ, तैपनि तपाईं अझै भन्‍नुहुन्छ ‘यहोवाको नाउँको प्रशंसा होस्।’ जब तपाईं उहाँको नाउँलाई धन्यको भन्‍नुहुन्छ भने उहाँले तपाईंमाथि कसरी विपत्ति ल्याउन सक्‍नुहुन्छ? चाँडो गर्नुहोस् र परमेश्‍वरको नाउँ त्याग्‍नुहोस्, र अबउप्रान्त उहाँको पछि लाग्‍न छोड्नुहोस्। तब तपाईंका समस्याहरू समाप्त हुनेछन्।” यस समयमा, परमेश्‍वरले अय्यूबमा हेर्न चाहनुभएको गवाही उत्पन्‍न भयो। कुनै साधारण व्यक्तिले त्यस्तो गवाही दिन सक्‍नेथेन, न त हामी बाइबलका कुनै कथाहरूमा यस्तो कुरा पढ्न पाउँछौँ—तर अय्यूबले यी वचनहरू बोल्नुभन्दा धेरै अघि नै परमेश्‍वरले यो कुरा देखिसक्‍नुभएको थियो। परमेश्‍वरले अय्यूबलाई परमेश्‍वर सही हुनुहुन्छ भनी सबैसामु प्रमाणित गर्न दिन मात्र यस अवसरको प्रयोग गर्न चाहनुभयो। आफ्नी पत्‍नीको सल्लाह सुनेर, अय्यूबले आफ्नो निष्ठा त्याग्‍ने वा परमेश्‍वरलाई छोड्ने काम गरेनन्, बरू उल्टै आफ्नी पत्‍नीलाई समेत यसो भने: “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” के यी वचनहरूमा ठूलो वजन छ? यहाँ, यी वचनहरूको वजन प्रमाणित गर्न सक्‍ने एउटै मात्र तथ्य छ। यी वचनहरूको वजन भनेको के हो भने, ती वचनहरूलाई परमेश्‍वरले आफ्नो हृदयमा स्वीकार गर्नुभएको छ, परमेश्‍वरले चाहनुभएका कुराहरू तिनै हुन्, परमेश्‍वरले सुन्‍न चाहनुभएका वचनहरू तिनै हुन्, र परमेश्‍वरले देख्‍न चाहनुभएका परिणामहरू तिनै हुन्; यी वचनहरू अय्यूबको गवाहीको गुदी पनि हुन्। यसमा, अय्यूबको सिद्धता, इमानदारिता, परमेश्‍वरको भय, र दुष्टताबाट अलग बस्‍ने कार्य साबित भएका थिए। तिनी परीक्षामा पर्दा, तिनका सम्पूर्ण शरीर खटिराहरूले भरिँदा, तिनले अत्याधिक यातना भोग्‍नुपर्दा, र तिनकी पत्‍नी र मित्रहरूले तिनलाई सल्लाह दिँदा पनि तिनले यस्ता वचनहरू बोल्न सके, र यसैमा अय्यूबको बहुमूल्यता छ। अर्को प्रकारले भन्‍नुपर्दा, तिनलाई आफ्नो हृदयमा के विश्‍वास थियो भने, जुनसुकै परीक्षा आए पनि वा जस्तोसुकै गम्‍भीर कष्ट वा सतावट आए पनि, तिनीमाथि मृत्यु नै आइपरे पनि तिनले परमेश्‍वरलाई त्याग्‍नेछैनन् वा परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गलाई लत्याउनेछैनन्। त्यसैले तँ देख्छस् कि तिनको हृदयमा परमेश्‍वरको सबैभन्दा महत्त्वपूर्ण स्थान थियो, र तिनको हृदयमा परमेश्‍वर मात्र हुनुहुन्थ्यो। यसैकारण, हामी धर्मशास्‍त्रमा तिनको बारेमा यस्तो वर्णन पढ्छौं: यी सबै कुरामा अय्यूबले आफ्ना ओठहरूद्वारा पाप गरेनन्। तिनले आफ्‍नो ओठद्वारा पाप नगरेका मात्र नभई आफ्नो हृदयमा पनि कहिल्यै परमेश्‍वरबारे गुनासो गरेनन्। तिनले परमेश्‍वरको विषयमा चोट पुर्‍याउने वचनहरू बोलेनन्, न त तिनले परमेश्‍वरको विरुद्धमा पाप नै गरे। तिनको मुखले परमेश्‍वरको नाउँलाई धन्यको मात्र भनेन, तिनले त आफ्नो हृदयमा परमेश्‍वरको नाउँलाई धन्यको समेत भने; तिनको मुख र हृदय एकजस्तै भएका थिए। परमेश्‍वरले देख्‍नुभएको वास्तविक अय्यूब यही थियो, र यही कारणले गर्दा परमेश्‍वरले अय्यूबको कदर गर्नुभयो।

अय्यूबको विषयमा मानिसहरूमा भएका धेरै भ्रमहरू

अय्यूबले भोगेको कष्ट परमेश्‍वरले पठाउनुभएका सन्देशवाहकहरूको काम थिएन, न त त्यो परमेश्‍वरको आफ्नै हातद्वारा भएको थियो। त्यो त परमेश्‍वरको शत्रु शैतानले व्यक्तिगत रूपमा पैदा गरेको थियो। यसैको फलस्वरूप, अय्यूबले भोगेका कठिनाइहरूको स्तर प्रगाढ थियो। तैपनि, यस पलमा अय्यूबले निस्सन्देह रूपमा आफ्नो मनभित्र भएको परमेश्‍वरसम्‍बन्धी दैनिक ज्ञान, आफ्नो दैनिक कार्यका सिद्धान्तहरू र परमेश्‍वरप्रतिको आफ्नो मनोवृति प्रकट गरिरहेका थिए—सत्य यही हो। यदि अय्यूब परीक्षामा नपरेका भए, यदि परमेश्‍वरले अय्यूबमाथि जाँचहरू नल्याउनुभएको भए, अय्यूबले “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्,” भनेर भन्दा, तँ तिनलाई पाखण्डी भन्‍नेथिइस्; परमेश्‍वरले तिनलाई त्यत्ति धेरै सम्पत्तिहरू दिनुभएको थियो, त्यसैले तिनले अवश्य यहोवाको नाउँलाई धन्यको भन्‍नेथे। यदि परीक्षाहरूमा पर्नुभन्दा अघि अय्यूबले “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” भन्थे भने, तैँले अय्यूब बढाइचढाइ कुरा गर्दै छन्, र तिनले परमेश्‍वरको नाउँ त्याग्‍नेछैनन् किनकि तिनले बारम्बार परमेश्‍वरको हातबाट आशिष् पाएका छन् भनी भन्‍नेथिइस्। यदि परमेश्‍वरले तिनीमाथि विपत्ति ल्याउनुभएको भए, तिनले अवश्य नै परमेश्‍वरको नाउँलाई त्याग्‍नेथिए भनेर तैँले भन्‍नेथिइस्। तर जब अय्यूबले आफूलाई यस्तो परिस्थितिमा पाए जुन कसैले पनि चाहँदैन वा देख्‍न मन पराउँदैन, जुन परिस्थितिमा कोही पनि पर्न चाहँदैन, जुन परिस्थितिमा पर्ने डर तिनीहरूलाई थियो, जुन परिस्थितिलाई परमेश्‍वरले पनि हेर्न सक्‍नुभएन, तब अय्यूबले अझै पनि आफ्नो निष्ठा थामेर राख्‍न सके: “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्,” अनि “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” यस समयमा, अय्यूबको आचरणको सामना गर्नुपर्दा, ती ठूलठूला कुरा गर्ने अनि शब्द र सिद्धान्तहरूको कुरा गर्न मन पराउने मानिसहरू सबै चुपचाप हुन्छन्। बोलीमा मात्र परमेश्‍वरको नाउँको गुणगान गर्ने, तर परमेश्‍वरका जाँचहरू कहिल्यै स्वीकार नगर्नेहरू अय्यूबको दृढ निष्ठाद्वारा दोषी ठहरिन्छन्, र मानिस परमेश्‍वरको मार्गमा दृढ रहन सक्षम छ भनी कहिल्यै पनि विश्‍वास नगर्नेहरू अय्यूबको साक्षीको न्यायमा पर्छन्। यी परीक्षाहरूको अवधिमा अय्यूबको आचरण र तिनले बोलेका शब्दहरूको सामना गर्नुपर्दा, कोहीकोही मानिसहरू अलमल्लमा पर्नेछन्, कतिले डाह महसुस गर्नेछन्, कसैलाई शङ्का लाग्‍नेछ र अझ कोही त चासो नभएको जस्तो गरी अय्यूबको साक्षीप्रति नाक बङ्ग्याउँछन्, किनभने तिनीहरूले जाँचको समयमा अय्यूबमाथि आइपरेको यातना देखेका, र अय्यूबले बोलेका वचनहरू पढेका मात्र नभई अय्यूबमाथि परीक्षाहरू आइपर्दा तिनले प्रकट गरेको मानव “कमजोरी” लाई पनि देखेका छन्। यो “कमजोरी” नै अय्यूबको सिद्धताको त्रुटि हो, परमेश्‍वरको नजरमा सिद्ध रहेको मानिसमा भएको खोट हो भन्‍ने तिनीहरू विश्‍वास गर्छन्। भन्‍नुको अर्थ, सिद्ध मानिसहरू त्रुटिरहित हुन्छन्, निष्खोट वा कपटरहित हुन्छन्, उनीहरूमा कुनै कमजोरी हुँदैन, पीडाको ज्ञान हुँदैन, उनीहरू कहिल्यै दुःखी वा निरास महसुस गर्दैनन्, र घृणा वा कुनै बाहिरी चरम व्यवहार गर्दैनन् भन्‍ने विश्‍वास गरिन्छ; फलस्वरूप, धेरैजसो मानिसहरू अय्यूब साँच्‍चै सिद्ध थिए भनी विश्‍वास गर्दैनन्। जाँचको अवधिमा तिनले देखाएका धेरैजसो व्यवहारलाई मानिसहरू स्वीकार गर्दैनन्। उदाहरणको लागि, जब अय्यूबले आफ्नो सम्पत्ति र छोराछोरीहरू गुमाए, मानिसहरूले सोचेजस्तो तिनी आँसुमा डुबेनन्। तिनमा “शिष्टताको अभाव” भएको कुराले मानिसहरूलाई तिनी कठोर मनका थिए भन्‍ने सोच्न बाध्य पार्छ, किनकि आफ्नो परिवारको निम्ति तिनमा आँसु र स्‍नेह थिएन। यो अय्यूबको बारेमा तिनीहरूमा परेको प्रारम्भिक नराम्रो छाप हो। तिनले त्यसपछि देखाएको व्यवहार उनीहरूलाई झन् अचम्‍मको लाग्छ: “आफ्‍नो खास्टो च्याते” को कुरालाई मानिसहरूले परमेश्‍वरप्रतिको उनको अनादरको रूपमा हेर्छन्, र “आफ्‍नो कपाल खौरे” भन्‍ने वाक्यलाई तिनीहरू परमेश्‍वरप्रतिको अय्यूबको निन्दा र विरोध हो भनेर गलत रूपमा विश्‍वास गर्छन्। अय्यूबका “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्,” भन्‍ने वचनहरूबाहेक, अय्यूबमा पाइएको र परमेश्‍वरले प्रशंसनीय ठान्‍नुभएको तिनको कुनै पनि धार्मिकताबारे मानिसहरूले केही पनि बुझेनन्, र यसरी तिनीहरूमध्ये धेरैले गर्ने अय्यूबको मूल्याङ्कन केवल नबुझेको कुरा, गलत बुझाइ, शङ्का, निन्दा र सैद्धान्तिक रूपमा मात्र दिइएको स्वीकृतिबाहेक अरू केही हुँदैन। तिनीहरूमध्ये कसैले पनि अय्यूब सिद्ध र इमानदार मानिस थिए, तिनी परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग रहने व्यक्ति थिए भनी यहोवा परमेश्‍वरले बोल्‍नुभएका वचनहरूलाई साँच्‍चै बुझ्न र कदर गर्न सक्दैनन्।

माथि उल्लेख गरिएझैँ, अय्यूबको बारेमा आफूमा परेको छापको आधारमा, मानिसहरूले तिनको धार्मिकतामा अझ शङ्का गर्छन्, किनभने धर्मशास्‍त्रमा लेखिएका अय्यूबका कार्यहरू र तिनको आचरण मानिसहरूले कल्‍पना गरेजस्तो अत्यन्तै धर्ती हल्लाउने खालका थिएनन्। तिनले कुनै ठूला कार्यहरू नगरेका मात्र नभई तिनले खरानीमा बसेर आफैलाई कन्याउन माटोको भाँडाको खपटा पनि लिएका थिए। यो कार्यले पनि मानिसहरूलाई चकित पार्छ र तिनीहरूले अय्यूबको धार्मिकताको बारेमा शङ्का गर्ने, र इन्कारसमेत गर्ने गर्छन्, किनकि आफैलाई कन्याउँदा अय्यूबले परमेश्‍वरसँग प्रार्थना वा वाचा गरेनन्; न त तिनले पीडाको आँसु नै झारे। यस समयमा, मानिसहरू अय्यूबको कमजोरी मात्र देख्छन्, र अरू केही देख्दैनन्, र त्यसैले अय्यूबले, “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” भनेको सुन्दा पनि तिनीहरूमा कुनै प्रभाव पर्दैन, वा तिनीहरू अनिश्‍चित नै रहन्छन्, र अझै पनि अय्यूबका वचनहरूबाट तिनको धार्मिकतालाई पत्ता लगाउन सक्दैनन्। आफ्नो परीक्षा र सतावटको बेला अय्यूबले मानिसहरूमा छाड्ने आधारभूत छाप भनेकै तिनी गुलामझैँ लुरुक्‍क पर्ने खालको पनि थिएनन् र अहङ्कारी पनि थिएनन् भन्‍ने हो। तिनको हृदयको गहिराइमा देखा परेको व्यवहारपछाडिको कथालाई मानिसहरूले देख्दैनन्, न त उनीहरूले तिनको हृदयमा परमेश्‍वरको डर देख्छन् न त तिनले दुष्टबाट अलग रहने मार्गको सिद्धान्त पालना गरेको नै देख्छन्। तिनको धैर्यताको कारण, मानिसहरूले तिनको सिद्धता र इमानदारिता रित्तो वचनहरू मात्र थिए, परमेश्‍वरप्रतिको तिनको डर अफवाह मात्र थियो भन्‍ने ठान्छन्; यसैबीच, बाहिरी रूपमा तिनले प्रकट गरेको “कमजोरी” ले उनीहरूमा गहिरो प्रभाव पार्छ, जसले उनीहरूलाई त्यस विषयमा “नयाँ दृष्टिकोण” दिन्छ, र परमेश्‍वरले सिद्ध र इमानदार भनी परिभाषित गर्नुहुने यी मानिसप्रति “नयाँ बुझाइ” पनि दिन्छ। अय्यूबले आफ्नो मुख खोलेर आफू जन्मेको दिनलाई सराप्दा, तब यस्तो “नयाँ दृष्टिकोण” र “नयाँ बुझाइ” प्रमाणित हुन्छन्।

तिनले भोग्‍नुपरेको यातनाको स्तर कुनै पनि मानिसका लागि अकल्पनीय र नबुझिने रहेको भए पनि, तिनले कुनै धर्मविरोधी कुराहरू बोलेनन्, बरु आफ्नै तरिकाले आफ्‍नो शरीरको पीडा कम गरे। धर्मशास्‍त्रमा लेखिएझैँ तिनले भने: “म जन्मेको दिन र बालक जन्मिएको छ भनी भनिएको त्यो रात नष्ट होस्” (अय्यूब ३:३)। सायद कसैले पनि यी वचनहरूलाई महत्त्वपूर्ण ठानेको छैन होला, र सायद ती वचनमा ध्यान दिने मानिसहरू पनि छन् होला। तिमीहरूको विचारमा, के ती वचनहरूको अर्थ अय्यूबले परमेश्‍वरको विरोध गरेका हुन् भन्‍ने हो? के ती परमेश्‍वरविरुद्धका गुनासो हुन्? मलाई थाहा छ, तिमीहरूमध्ये धेरै जनामा अय्यूबले बोलेका यी वचनहरूबारे निश्‍चित विचारहरू छन् र तिमीहरूमध्ये धेरै जनाले के विश्‍वास गर्छौ भने, यदि अय्यूब सिद्ध र इमानदार थिए भने तिनले कुनै कमजोरी वा शोक देखाउँदैनथिए, र तिनले शैतानको कुनै पनि आक्रमणलाई सकरात्मक रूपमा सामना गर्नुपर्थ्यो, र शैतानका परीक्षाहरूको सामना गर्दा मुस्कुराउनु समेत पर्थ्यो। शैतानले तिनको शरीरमा ल्याएको कुनै पनि यातनाप्रति तिनले थोरै पनि प्रतिक्रिया दिनु हुँदैनथ्यो, न त तिनले आफ्नो हृदयमा भएको कुनै पनि भावनालाई नै देखाउनु हुन्थ्यो। तिनले परमेश्‍वरलाई ती परीक्षाहरू अझ कठोर बनाउनुहोस् भनेरसमेत अनुरोध गर्नुपर्थ्यो। अटल र परमेश्‍वरसँग साँच्‍चै डराउने र दुष्टताबाट टाढा रहने व्यक्तिले यही कुरा प्रकट गर्नुपर्छ र उसमा यही कुरा हुनुपर्छ। यस चरम यातनाको दौरान, अय्यूबले आफ्नो जन्म दिनलाई सराप्‍नेबाहेक केही पनि गरेनन्। उनले परमेश्‍वरको बारेमा गुनासो गरेनन्, तिनमा परमेश्‍वरको विरोध गर्ने कुनै अभिप्राय हुनु त परै जाओस्। यो गर्नुभन्दा भन्‍नु धेरै सजिलो छ, किनकि प्राचीन समयदेखि आजसम्म कसैले यस्ता परीक्षाहरूको सामना गरेको वा अय्यूबले भोगेका पीडा भोगेको छैन। त्यसो भए किन कसैलाई पनि अय्यूबको जस्तो परीक्षामा पारिएको छैन? किनभने परमेश्‍वर दृष्टिकोणमा, कसैले पनि त्यस्तो जिम्मेवारी वा आदेश लिन सक्दैन, अय्यूबले गरेजस्तै कसैले पनि गर्न सक्दैन, र यसबाहेक, आफूमाथि यातना आइपर्दा अय्यूबले जस्तो कसैले पनि आफ्नो जन्मदिनलाई सराप्‍नेबाहेक परमेश्‍वरको नाउँलाई नत्याग्‍ने बरु यहोवा परमेश्‍वरको नाउँलाई धन्यको भनिरहने कार्य गर्न सक्दैन। कसैले यो गर्न सक्छ? जब हामी अय्यूबको बारेमा यो कुरा भन्छौं, के हामी तिनको व्यवहारको प्रशंसा गरिरहेका हुन्छौं? तिनी एक धर्मी व्यक्ति थिए, र तिनले परमेश्‍वरको निम्ति त्यस्तो गवाही दिन सके, र तिनले शैतानलाई आफ्‍नो हातले टाउको छोपेर भाग्‍ने बनाउन सके, ताकि परमेश्‍वरलाई दोष लगाउन त्यो फेरि कहिल्यै उहाँको सामुन्‍ने नआओस्—त्यसो भए तिनको प्रशंसा गर्नुमा के गलत छ? के तिमीहरूको स्तर परमेश्‍वरको भन्दा उच्‍च भएकोले हुन सक्छ? के तिमीहरूमाथि परीक्षाहरू आउँदा तिमीहरू अय्यूबले भन्दा राम्रो व्यवहार गर्न सक्‍ने भएकोले हुन सक्छ? परमेश्‍वरले अय्यूबको प्रशंसा गर्नुभयो—यसबारेमा तिमीहरूलाई के आपत्ति हुन सक्छ?

अय्यूबले आफ्नो जन्मदिनलाई सराप्छन्, किनकि तिनी आफूबाट परमेश्‍वरलाई कष्ट पुगेको चाहँदैनन्

म बारम्बार भन्छु कि परमेश्‍वरले मानिसको हृदयभित्र हेर्नुहुन्छ, जबकि मानिसहरूले बाहिर हेर्छन्। परमेश्‍वरले मानिसको हृदयभित्र हेर्नुहुने भएकोले, उहाँले तिनीहरूको सार बुझ्नुहुन्छ, जबकि मानिसहरूले अरू मानिसहरूको सार तिनीहरूको बाहिरी कुराको आधारमा परिभाषित गर्छन्। अय्यूबले आफ्नो मुख खोलेर आफू जन्मेको दिनलाई सराप्दा, यस कार्यले अय्यूबका तीन मित्रलगायत सबै आत्मिक व्यक्तिहरूलाई चकित पार्‍यो। मानिस परमेश्‍वरबाट आयो, र उहाँबाट आएको जीवन र देहका साथै आफ्नो जन्मदिनका लागि उहाँप्रति कृतज्ञ हुनुपर्छ, र उसले ती कुरालाई सराप्‍नु हुँदैन। यो साधारण मानिसहरूले बुझ्‍न र विचार गर्न सक्‍ने कुरा हो। परमेश्‍वरलाई पछ्याउने जोकोहीको लागि, यो बुझाइ पवित्र र अनुल्लङ्घनीय छ, र यो कहिल्यै परिवर्तन हुन नसक्‍ने सत्यता हो। तर अय्यूबले भने नियमहरू तोडे: तिनले आफ्नो जन्मदिनलाई सरापे। यसलाई साधारण मानिसहरूले निषेधित क्षेत्र पार गर्ने कार्य मान्छन्। अय्यूब मानिसहरूको बुझाइ र सहानुभूतिको हकदार नरहेको मात्र नभई परमेश्‍वरको क्षमाको पनि हकदार छैनन्। यसको साथै, अझ धेरै मानिसहरू अय्यूबको धार्मिकताप्रति शङ्कालु बन्छन्, किनकि अय्यूबलाई तिनीमाथि परमेश्‍वरले देखाउनुभएको कृपाले आफैप्रति लिप्त बनाएको थियो भन्‍ने देखिन्छ; यसले तिनलाई यति दुस्साहसी र लापरवाह बनायो कि तिनले आफ्नो जीवनकालमा आफूलाई आशिष् दिने र हेरचाह गर्नुहुने परमेश्‍वरलाई धन्यवाद नदिएका मात्र नभई आफ्नो जन्मदिनलाई समेत नाश होस् भनी धिक्‍कारे। यदि यो परमेश्‍वरको विरोध होइन भने, के हो त? त्यस्तो सतहीपनले मानिसहरूलाई अय्यूबको यस कार्यको भर्त्सना गर्ने प्रमाण प्रदान गर्छ, तर त्यसबेला अय्यूबले साँच्‍चै के सोचिरहेका थिए भनेर कसले थाहा पाउन सक्छ? अय्यूबले किन त्यस्तो व्यवहार गरे भनेर कसले जान्‍न सक्छ? केवल परमेश्‍वर र अय्यूबलाई मात्र यसको भित्री कथा र कारणहरू थाहा छ।

जब शैतानले अय्यूबका हाडहरूमा पीडा दिन आफ्नो हात फैलायो, अय्यूब यसको पकडमा परे र तिनीसँग उम्कने कुनै साधन वा प्रतिरोध गर्ने बल थिएन। तिनको शरीर र प्राणले ठूलो पीडा भोग्‍नुपरेको थियो र यस पीडाले तिनलाई देहमा जिउने मानवको तुच्छता, कमजोरी र शक्तिहीनताको गहन चेतना दिलायो। साथै, परमेश्‍वरले किन मानवजातिको वास्ता गर्न र उसलाई हेरचाह गर्न ध्यान दिनुहुन्छ भन्‍ने कुराको पनि तिनले गहन बोध र समझ प्राप्त गरे। शैतानको पकडमा हुँदा, अय्यूबले देह एवं रगतको मानिस वास्तवमै अति शक्तिहीन र कमजोर छ भन्‍ने महसुस गरे। जब तिनले घुँडा टेके र परमेश्‍वरलाई प्रार्थना गरे, परमेश्‍वरले आफ्नो अनुहार छोप्दै र लुक्दै हुनुहुन्छ जस्तो तिनले महसुस गरे, किनकि परमेश्‍वरले तिनलाई पूर्ण रूपमा शैतानको हातमा सुम्पिदिनुभएको थियो। त्यही समयमा, परमेश्‍वर पनि तिनको निम्ति विलाप गर्नुभयो, साथसाथै तिनको लागि दुःखी पनि हुनुभयो; परमेश्‍वर तिनको पीडाद्वारा पीडित हुनुभयो, र तिनको चोटद्वारा चोट सहनुभयो…। अय्यूबले परमेश्‍वरको पीडा महसुस गरे, साथसाथै यो परमेश्‍वरका लागि कति धेरै असहनीय थियो भनेर पनि महसुस गरे…। अय्यूबले परमेश्‍वरमा कुनै शोक ल्याउन चाहेनन्, न त तिनी परमेश्‍वरले तिनको लागि बिलौना गर्नुभएको नै चाहन्थे, आफूद्वारा परमेश्‍वरलाई पीडा पुगेको तिनले हेर्न चाहने कुरा त परै जाओस्। यस समयमा, देहले आफूमाथि ल्याएको पीडा अबदेखि सहन नपरोस् भनेर अय्यूबले आफ्नो शरीरबाट आफूलाई अलग पार्न मात्र खोजेका थिए, किनकि यसो गर्दा तिनको पीडाले पनि परमेश्‍वरलाई पीडा दिन छोड्थ्यो—तर तिनले त्यसो गर्न सकेनन्, र तिनले देहको पीडा मात्र नभई परमेश्‍वरलाई चिन्तित नतुल्याउन चाहेको कष्ट पनि सहनुपर्‍यो। एउटा शरीरबाट आएको र अर्को आत्माबाट आएको यी दुई पीडाहरूले अय्यूबलाई हृदयविदारक, कलेजो चिर्ने पीडा दियो, र देह एवं रगतले बनेको मानिसका सीमितताहरूले कसरी उसलाई निराश र असहाय महसुस गराउन सक्छ भन्‍ने महसुस गरायो। यस्तो परिस्थितिमा परमेश्‍वरप्रतिको तिनको चाहना झनै उत्कट र शैतानप्रतिको तिनको घृणा झनै तीव्र हुँदै गयो। यस समयमा, अय्यूबले उनको खातिर परमेश्‍वरले आँशु झार्नुभएको वा पीडा भोग्‍नुभएको देख्‍नुभन्दा आफू मानव संसारमा कहिल्यै नजन्मेको भए, र तिनी अस्तित्वमा नभएको भए हुनेथ्यो भन्‍ने कामना गरे। तिनले आफ्नो शरीरलाई गहन रूपमा घृणा गर्न थाले, आफू जन्मेको दिन, र आफूसँग जोडिएका सबै थोकका लागि समेत तिनले दिक्‍क र थकित महसुस गर्न थाले। तिनी आफू जन्मेको दिन वा त्यससँग सम्‍बन्धित कुनै पनि कुरा सुन्‍न चाहँदैनथे, त्यसैले तिनले आफ्नो मुख खोले र आफ्नो जन्म दिनलाई सरापे: “म जन्मेको दिन र बालक जन्मिएको छ भनी भनिएको त्यो रात नष्ट होस्। त्यो दिन अन्धकार होस्; यसलाई परमेश्‍वरले माथिबाट वास्ता नगर्नुभएको होस्, न त त्यसमाथि ज्योति नै चम्कियोस्” (अय्यूब ३:३-४)। अय्यूबका वचनहरूले उनी आफैप्रतिको तिनको घृणालाई प्रस्तुत गर्छन्, “म जन्मेको दिन र बालक जन्मिएको छ भनी भनिएको त्यो रात नष्ट होस्,” साथै तिनले आफैप्रति अनुभव गरेको दोषलाई र परमेश्‍वरलाई पीडा दिएकोमा तिनी ऋणी भएको महसुस गरेको कुरालाई पनि यसले बताउँछ। “त्यो दिन अन्धकार होस्; यसलाई परमेश्‍वरले माथिबाट वास्ता नगर्नुभएको होस्, न त त्यसमाथि ज्योति नै चम्कियोस्।” यी दुई खण्डहरू अय्यूबलाई त्यो बेला कस्तो अनुभूति भएको थियो भन्‍ने कुराको चरम अभिव्यक्ति हुन्, र सबैको निम्ति यसले तिनको सिद्धता र इमानदारितालाई प्रदर्शन गर्छ। यसैबीच, अय्यूबले चाहेजस्तै, परमेश्‍वरप्रतिको तिनको विश्‍वास र आज्ञाकारिता र परमेश्‍वरप्रतिको डर साँच्‍चै उच्‍च भएका थिए। अवश्य नै, परमेश्‍वरले अपेक्षा गर्नुभएको उत्थान यही थियो।

अय्यूबले शैतानलाई पराजित गर्छन् र परमेश्‍वरको नजरमा साँचो मानिस बन्छन्

जब अय्यूबले पहिलोपल्ट आफ्‍ना परीक्षाहरू भोगेका थिए, तब तिनीबाट तिनका सबै सम्पत्ति र सबै छोराछोरी खोसियो, तर त्यसको परिणामस्वरूप तिनी पछारिएनन् वा परमेश्‍वरको विरुद्धमा बोलेर कुनै पाप गरेनन्। तिनले शैतानका परीक्षाहरूलाई जितेका थिए, र तिनले आफ्नो भौतिक सम्पत्ति, सन्तान र सबै सांसारिक सम्पत्ति गुमाउने जाँचहरूमा विजय हासिल गरेका थिए, जसको अर्थ के हो भने, परमेश्‍वरले तिनीबाट सबै थोक लैजानुहुँदा तिनले उहाँको आज्ञापालन गर्न सके, र परमेश्‍वरले गर्नुभएका कार्यका निम्ति तिनले परमेश्‍वरलाई धन्यवाद दिन र प्रशंसा चढाउन पनि सके। शैतानको पहिलो परीक्षाको समयमा अय्यूबको आचरण यही थियो, र परमेश्‍वरको पहिलो जाँचको समयमा अय्यूबको गवाही पनि यही थियो। दोस्रो जाँचको अवधिमा शैतानले अय्यूबलाई कष्ट दिन आफ्नो हात फैलायो र अय्यूबले पहिला कहिल्यै अनुभव नगरेको पीडा भोग्‍नु परेको भए तापनि, तिनको गवाही फेरि पनि मानिसहरूलाई छक्‍क पार्न काफी थियो। तिनले फेरि एकपटक शैतानलाई पराजित गर्न आफ्नो धैर्यता, दृढ विश्‍वास र परमेश्‍वरप्रतिको आज्ञाकारिताको साथसाथै परमेश्‍वरप्रतिको आफ्नो भयको प्रयोग गरे, र परमेश्‍वरले तिनको आचरण र गवाहीलाई फेरि एकपटक स्वीकार र समर्थन गर्नुभयो। यो परीक्षामा पर्दा, अय्यूबले आफ्नो वास्तविक आचरणको प्रयोग गरेर, देहको पीडाले परमेश्‍वरप्रतिको तिनको विश्‍वास र आज्ञापालनलाई परिवर्तन गर्न वा परमेश्‍वरप्रतिको तिनको भक्ति र परमेश्‍वरको डर मान्‍ने हृदयलाई हटाउन सक्दैन भनी शैतानसामु घोषणा गरे; मृत्युको सामना गर्दा तिनले परमेश्‍वरलाई वा आफ्नो सिद्धता र इमानदारितालाई त्याग्‍नेवाला थिएनन्। अय्यूबको दृढ सङ्कल्पले शैतानलाई डरपोक बनायो, तिनको विश्‍वासले शैतानलाई काँतर र थुरथुर बनायो, उनले जुन तीव्रतासाथ शैतानविरुद्ध जीवनमृत्युको युद्ध लडे त्यसले शैतानमा गहिरो घृणा र आक्रोश उत्पन्‍न गरायो; तिनको सिद्धता र इमानदारिताले शैतानलाई तिनको विरुद्ध केही गर्न नसक्‍ने अवस्थामा छोड्यो, यहाँसम्‍म कि शैतानले तिनीमाथि आक्रमण गर्न छोडिदियो र यहोवा परमेश्‍वरसामु अय्यूबविरुद्ध आफूले लगाएको आरोपलाई त्याग्यो। यसको अर्थ अय्यूबले संसारलाई जितेका थिए, तिनले देहलाई जितेका थिए, तिनले शैतानलाई जितेका थिए, र तिनले मृत्युलाई पनि जितेका थिए; तिनी पूर्ण र समग्र रूपमा परमेश्‍वरको मानिस थिए। यी दुई परीक्षाको अवधिमा अय्यूब आफ्नो गवाहीमा अडिग थिए, तिनले वास्तवमा आफ्नो सिद्धता र इमानदारितामा जिए, र परमेश्‍वरसँग डराउने र दुष्टताबाट अलग बस्‍नेसम्‍बन्धी आफ्नो जीवनका सिद्धान्तहरूको दायरा फराकिलो बनाए। यी दुई परीक्षाहरू भोगिसकेपछि, अय्यूबमा एक समृद्ध अनुभवको जन्म भयो, र यो अनुभवले तिनलाई अझ परिपक्‍व र अनुभवी बनायो, यसले तिनलाई अझ बलियो र अझ ठूलो दृढ विश्‍वास भएको व्यक्ति बनायो, र यसले तिनलाई आफूले दह्रिलो गरी पक्रिराखेको सत्यनिष्ठाको सहीपन र सुयोग्यताप्रति अझ बढी विश्‍वस्त बनायो। यहोवा परमेश्‍वरले गर्नुभएको अय्यूबको जाँचले तिनलाई मानिसप्रतिको परमेश्‍वरको चिन्ताको गहिरो बुझाइ र अनुभूति प्रदान गर्‍यो, र परमेश्‍वरको प्रेमको अनमोलता महसुस गरायो, र यसपछि परमेश्‍वरप्रतिको तिनको डरमा परमेश्‍वरप्रतिको गहिरो वास्ता र प्रेम थपियो। यहोवा परमेश्‍वरले गर्नुभएको जाँचले अय्यूबलाई उहाँबाट अलग गर्नुको साटो तिनको हृदयलाई परमेश्‍वरको अझ नजिक बनायो। अय्यूबले भोगेको दैहिक पीडा चरम सीमामा पुगेपछि, तिनको बारेमा यहोवा परमेश्‍वरले गर्नुभएको चिन्ताको कारण तिनले आफ्नो जन्मदिनलाई सराप्‍नुबाहेक तिनीसँग अरू कुनै विकल्प थिएन। यस्तो आचरण धेरै पहिले योजना गरिएको थिएन, बरु तिनले आफ्नो हृदयमा परमेश्‍वरप्रति गरेको प्रेम र वास्ताको कारण प्राकृतिक रूपमा प्रकट भएको कुरा थियो, यो परमेश्‍वरप्रतिको तिनको वास्ता र प्रेमको प्राकृतिक प्रकटीकरण थियो। भन्‍नुको अर्थ, तिनले आफैलाई घृणा गर्थे, र तिनी परमेश्‍वरलाई यातना दिन इच्छुक थिएनन्, र यातना दिन पनि सक्दैनथे, त्यसैले तिनको वास्ता र प्रेम निःस्वार्थताको चरम सीमामा पुगेको थियो। यस समयमा, अय्यूबले आफ्नो लामो समयदेखिको परमेश्‍वरप्रतिको आदर र तिर्सना, अनि परमेश्‍वरप्रतिको भक्तिलाई परमेश्‍वरप्रतिको वास्ता र प्रेमको स्तरमा पुर्‍याए। साथै, तिनले परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र आज्ञाकारिता र परमेश्‍वरप्रतिको भयलाई पनि वास्ता र प्रेमको स्तरसम्म पुर्‍याए। तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने केही पनि गरेनन्, तिनले परमेश्‍वरलाई चोट पुर्‍याउने कुनै आचरण प्रस्तुत गरेनन्, र तिनले आफ्नै कारणले गर्दा परमेश्‍वरमा कुनै दुःख, शोक वा बेखुसी ल्याएनन्। परमेश्‍वरको नजरमा, अय्यूब पहिलेको अय्यूबजस्तै रहेका भए तापनि, अय्यूबको विश्‍वास, आज्ञाकारिता र परमेश्‍वरप्रतिको भयले परमेश्‍वरलाई पूर्ण सन्तुष्टि र आनन्द दियो। यस समयमा, परमेश्‍वरले अपेक्षा गर्नुभएको सिद्धतालाई अय्यूबले प्राप्त गरेका थिए; तिनी वास्तवमै परमेश्‍वरको नजरमा “सिद्ध र सोझो” व्यक्ति भनी बोलाउन योग्य मानिस बनेका थिए। तिनको धर्मी कामले तिनलाई शैतानमाथि विजय प्राप्त गर्न र परमेश्‍वरप्रतिको आफ्‍नो गवाहीमा दृढ रहने तुल्यायो। त्यसै गरी, तिनको धर्मी कामले तिनलाई सिद्ध पनि बनायो, र तिनको जीवनको मूल्यलाई पहिलेको भन्दा उच्‍च र सबैभन्दा अगाडि बनायो, र ती कुराहरूले तिनलाई शैतानले अबउप्रान्त आक्रमण गर्न वा परीक्षामा पार्न नसक्‍ने पहिलो व्यक्ति पनि बनायो। अय्यूब धर्मी भएका हुनाले, तिनलाई शैतानले दोष लगायो र परीक्षामा पार्‍यो; अय्यूब धर्मी भएका हुनाले नै, तिनलाई शैतानको हातमा सुम्पिइयो; अनि अय्यूब धर्मी भएका हुनाले नै, तिनले शैतानलाई जिते र हराए, र आफ्नो गवाहीमा दृढ रहे। त्यसउप्रान्त अय्यूब फेरि कहिल्यै शैतानको हातमा नपर्ने पहिलो मानिस बने, र तिनी वास्तवमै परमेश्‍वरको सिंहासनको अगाडि आए, र शैतानको जासुसी वा विनाशविनाको अवस्थामा परमेश्‍वरको आशिष्‌मुनि ज्योतिमा बाँचे…। तिनी परमेश्‍वरको नजरमा एक साँचो मानिस बनेका थिए। तिनी स्वतन्त्र भएका थिए …

अय्यूबको विषयमा

अय्यूबले कसरी परीक्षाहरूको सामना गरे भन्‍ने कुराको बारेमा जानिसकेपछि, तिमीहरूमध्ये धेरैले अय्यूबको बारेमा अझ बढी जान्‍न चाहनेछौ, विशेष गरी त्यस रहस्यको बारेमा जान्‍न चाहनेछौ जसमार्फत तिनले परमेश्‍वरको प्रशंसा पाए। त्यसैले, आज हामी अय्यूबको बारेमा कुरा गरौँ!

अय्यूबको दैनिक जीवनमा हामी तिनको सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको भय, र दुष्टताबाट अलग बस्‍ने आचरण देख्छौँ

यदि अय्यूबको बारेमा कुरा गर्ने हो भने, हामीले यो कुरा परमेश्‍वरले उहाँको आफ्नै मुखद्वारा गर्नुभएको अय्यूबको मूल्याङ्कनबाट सुरु गर्नुपर्छ: “त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने पृथ्वीमा कोही पनि छैन।”

पहिले हामी अय्यूबको सिद्धता र सोझोपनको बारेमा जानौँ।

“सिद्ध” र “सोझो” भन्‍ने शब्दहरूसम्‍बन्धी तिमीहरूको बुझाइ के छ? के तिमीहरू अय्यूब दोष लाउन नसकिने, आदरणीय थिए भन्‍ने विश्‍वास गर्छौ? यो अवश्य नै “सिद्ध” र “सोझो” शब्दहरूको ठेट अर्थ र बुझाइ हुनेछ। अय्यूबलाई वास्तविक रूपले बुझ्नका निम्ति शब्द, पुस्तक, र सिद्धान्तहरूले मात्रै कुनै उत्तर प्रदान गर्दैनन्, यसको लागि त वास्तविक जीवनको सन्दर्भ अभिन्‍न हुन्छ। हामी अय्यूबको पारिवारिक जीवनलाई, र जीवनमा तिनको सामान्य आचरण कस्तो थियो भन्‍ने कुरालाई हेर्दै सुरु गर्नेछौँ। यसले हामीलाई तिनका जीवनका सिद्धान्तहरू र उद्देश्यहरूको बारेमा, साथसाथै उनको व्यक्तित्व र खोजीको बारेमा बताउँछ। अब हामी अय्यूब १:३ का अन्तिम वचनहरू पढौँ: “त्यस मानिस पूर्वका सबै मानिसहरूभन्दा महान् थिए।” यी वचनहरूले के भनिरहेका छन् भने, अय्यूबको स्थान र स्थिति एकदम उच्‍च थियो, तर तिनी पूर्वका सबै मानिसहरूमध्ये सबैभन्दा ठूलो हुनुको कारण तिनको प्रशस्त सम्पत्ति भएकोले हो कि तिनी सिद्ध र सोझो थिए र दुष्टताबाट टाढा बस्‍ने र परमेश्‍वरको डर मान्‍ने मानिस भएकोले हो सो कुरा हामीलाई नबताइएको भए पनि, समग्रमा, हामी सबैलाई थाहा छ कि अय्यूबको स्थान र स्थिति धेरै नै मूल्यवान् थियो। बाइबलमा लेखिएअनुसार, अय्यूबको बारेमा मानिसहरूमा आउने पहिलो विचार भनेकै अय्यूब सिद्ध छन्, तिनी परमेश्‍वरसँग डराउँछन् र दुष्टताबाट अलग बस्छन्, र तिनीसँग धेरै धन र सम्मानजनक हैसियत छ भन्‍ने थियो। त्यस्तो वातावरणमा र त्यस्ता परिस्थितिहरूमा जिइरहेको सामान्य व्यक्तिका लागि, अय्यूबको आहार, जीवनको गुणस्तर, र तिनको व्यक्तिगत जीवनका विभिन्‍न पक्षहरू नै अधिकांश व्यक्तिको ध्यानको केन्द्रबिन्दु हुनेथ्यो; यसर्थ, हामीले धर्मशास्‍त्र पढ्न जारी राख्‍नुपर्छ: “अनि तिनका छोराहरू जान्थे र आफ्नो पालोमा आ-आफ्ना घरमा भोज गर्थे; र तिनीहरूसँग खान र पिउनको निम्ति तिनीहरूले आफ्ना बहिनीहरू ल्याउँथे। अनि भोजका दिन सकिएपछि अय्यूबले तिनीहरूलाई शुद्ध पार्थे, अनि बिहान सबेरै उठ्थे र ती सबैका सङ्ख्याबमोजिम होमबलि चढाउँथे: किनकि अय्यूबले भन्थे, मेरा छोराहरूले पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई सरापे होलान्। अय्यूबले निरन्तर यसो गर्थे” (अय्यूब १:४-५)। यो खण्डले हामीलाई दुईवटा कुरा बताउँछ: पहिलो के हो भने, अय्यूबका छोराछोरीहरूले नियमित भोज गर्थे, र धेरै खाने र पिउने गर्थे; दोस्रो कुरा के हो भने, अय्यूबले निरन्तर होमबलि चढाउँथे, किनभने तिनका छोराछोरीहरूले पाप गरे होलान् र आफ्नो हृदयमा परमेश्‍वरलाई त्यागे होलान् भनी तिनले चिन्ता गर्थे। यसमा दुई फरक प्रकारका मानिसहरूको जीवनको बारेमा वर्णन गरिएको छ। पहिलो, अय्यूबका छोराछोरीहरू उनीहरूको सम्पन्‍नताको कारण प्राय: भोज गर्थे, खर्चिलो जीवन बिताउँथे, उनीहरूले आफ्नो हृदयले चाहेअनुसार पिउँथे र खान्थे, र भौतिक सम्पत्तिले ल्याएको उच्‍च गुणस्तरको जीवनको आनन्द उठाउँथे। त्यस्तो जीवन बिताएपछि, उनीहरूले प्रायजसो पाप गर्नु र परमेश्‍वरलाई अपमान गर्नु अपरिहार्य नै थियो—तैपनि तिनीहरूले आफैलाई पवित्र बनाउँदैनथे वा होमबलि चढाउँदैनथे। यसरी तैँले देख्छस् कि उनीहरूको हृदयमा परमेश्‍वरको निम्ति कुनै स्थान थिएन, उनीहरूले परमेश्‍वरको अनुग्रहको बारेमा कुनै विचार गर्दैनथे, न त परमेश्‍वरलाई चिढ्याउनेबारेमा नै तिनीहरू डराउँथे, उनीहरू आफ्नो हृदयमा परमेश्‍वरलाई त्याग्‍नेबारेमा डराउनु त परै जाओस्। अवश्य पनि, हाम्रो ध्यान अय्यूबका छोराछोरीहरूमा नभई अय्यूबले त्यस्ता कुराहरूको सामना गर्दा के गर्थे भन्‍नेमा छ; यस खण्डमा वर्णन गरिएको अर्को कुरा यही हो, जसमा अय्यूबको दैनिक जीवन र तिनको मानवता सार समावेश छ। जहाँ बाइबलले अय्यूबका छोराछोरीहरूको भोजको वर्णन गर्छ, त्यहाँ अय्यूबको उल्लेख गरिएको छैन; भनिन्छ कि तिनका छोराछोरीहरूले मात्रै प्रायजसो सँगै खानपान गर्थे। अर्को शब्दमा भन्दा, तिनले भोजहरू आयोजना गर्दैनथे, न त उच्छृङ्खलताको साथ खानपान गर्न तिनी आफ्ना छोराछोरीहरूसँग सहभागी नै हुन्थे। धनी र धेरै सम्पत्ति र नोकरचाकरको मालिक भए पनि अय्यूबको जीवन एक विलासी जीवन थिएन। तिनी आफ्नो सर्वोत्कृष्ट जिउने वातावरणको धोकामा परेका थिएनन्, र तिनी आफ्नो सम्पत्तिको कारण देहको आनन्दमा मग्‍न हुँदैनथे वा होमबलि चढाउन बिर्सँदैनथे, ती कुराले तिनलाई आफ्नो हृदयभित्रबाट बिस्तारै परमेश्‍वरलाई त्याग्‍दै जाने बनाउने त कुरै नगरौँ। त्यसैले स्पष्ट छ, अय्यूब आफ्नो जीवनशैलीमा अनुशासित थिए, परमेश्‍वरले तिनलाई दिनुभएको आशिष्‌को कारण तिनी लोभी वा सुखवादी बनेका थिएनन् र तिनी जीवनको गुणस्तरमा लिप्त थिएनन्। बरु, तिनी नम्र र विनयी थिए, तिनी आडम्बरी थिएनन्, र तिनी परमेश्‍वरको सामु सतर्क र सावधान थिए। तिनले प्रायजसो परमेश्‍वरका अनुग्रह र आशिष्‌हरूमा ध्यान दिन्थे, र परमेश्‍वरको डर मान्‍ने हृदय निरन्तर बोकिरहन्थे। आफ्नो दैनिक जीवनमा, अय्यूब प्रायजसो चाँडै उठेर आफ्ना छोराछोरीहरूका लागि होमबलि चढाउँथे। अर्को शब्दमा भन्‍नुपर्दा, अय्यूब आफू मात्रै परमेश्‍वरसँग डराउँदैनथे, तिनी त आफ्ना छोराछोरीहरू पनि परमेश्‍वरसँग डराऊन् र परमेश्‍वरविरुद्ध पाप नगरून् भन्‍ने आशा गर्थे। अय्यूबको भौतिक सम्पत्तिहरूले तिनको हृदयमा कुनै स्थान लिएनन्, न त ती कुराले परमेश्‍वरले लिनुभएको स्थान नै लिए; चाहे तिनको आफ्नै लागि होस् वा तिनका छोराछोरीहरूका लागि होस्, अय्यूबका दैनिक कार्यहरू सबै परमेश्‍वरसँग डराउने र दुष्टताबाट टाढा रहने कुरासित सम्बन्धित थिए। यहोवा परमेश्‍वरप्रतिको तिनको डर तिनको मुखमा मात्र सीमित थिएन, बरु त्यो डर त तिनले आफ्नो दैनिक जीवनको हरेक भागमा लागू गर्ने र प्रतिबिम्‍बित गर्ने कुरा थियो। अय्यूबको यो वास्तविक आचरणले हामीलाई तिनी इमानदार थिए, र तिनीसँग न्याय र सकारात्मक कुराहरू मन पराउने सार थियो भन्‍ने देखाउँछ। अय्यूबले प्रायजसो आफ्ना छोराछोरीहरूलाई पठाउँथे र पवित्र पार्थे भन्‍नुको अर्थ तिनले आफ्ना छोराछोरीहरूको व्यवहारलाई प्रतिबन्ध गर्थे वा अनुमोदन गर्दैनथे; बरु, आफ्नो हृदयमा तिनी उनीहरूको व्यवहारबाट दिक्‍क थिए, र उनीहरूलाई निन्दा गर्थे। तिनी आफ्ना छोराछोरीहरूको व्यवहार यहोवा परमेश्‍वरलाई मन पर्दैन भन्‍ने निष्कर्षमा पुगेका थिए र यसैले तिनले उनीहरूलाई प्रायजसो यहोवा परमेश्‍वरको सामु जान र आफ्ना पापहरू स्वीकार गर्न आग्रह गर्थे। अय्यूबको कार्यले हामीलाई तिनको मानवताको अर्को पक्षलाई देखाउँछ, जसमा तिनी प्रायजसो पाप गर्ने र परमेश्‍वरलाई क्रोधित बनाउने मानिसहरूका साथ कहिल्यै हिँडेनन्, बरु तिनीहरूलाई त्यागे र तिनीहरूबाट टाढिए। यी मानिसहरू तिनका छोराछोरीहरू भए पनि, तिनले तिनीहरू आफ्‍ना प्रियजन हुन् भन्दैमा आफ्नो आचरणका सिद्धान्तहरू त्यागेनन्, न त तिनी आफ्नै भावनाका कारण तिनीहरूका पापहरूलाई नै सहेर त्यसमा लागे। बरु, तिनले उनीहरूलाई पश्‍चात्ताप गर्न र यहोवा परमेश्‍वरको सहनशीलता प्राप्त गर्न आग्रह गरे, र आफ्नै लोभी आनन्दको खातिर परमेश्‍वरलाई नत्याग्‍न चेतावनी दिए। अय्यूबले अरूसँग जसरी व्यवहार गर्थे त्यसका सिद्धान्तहरू परमेश्‍वरप्रतिको तिनको भय र दुष्टताबाट अलग बस्‍ने सिद्धान्तहरूबाट अलग गर्न नसकिने थिए। परमेश्‍वरले स्वीकार गर्नुभएको कुरालाई उनले प्रेम गर्थे, र परमेश्‍वरले घिनाउनुभएका कुरालाई तिनी घृणा गर्थे; तिनी हृदयबाट परमेश्‍वरको भय मान्‍नेहरूलाई मन पराउँथे, र परमेश्‍वरको विरुद्ध दुष्कर्म र पाप गर्नेहरूलाई घृणा गर्थे। त्यस्तो प्रेम र घृणा तिनको दैनिक जीवनमा प्रदर्शित हुन्थे, र यही नै परमेश्‍वरका आँखाले देखेको अय्यूबको सोझोपन थियो। स्वाभाविक रूपमा, अय्यूबले आफ्नो दैनिक जीवनमा अरूसँगको सम्‍बन्धमा प्रकट गर्ने गरेको साँचो मानवताको प्रकटीकरण र जियाइ यही थियो, र यसको बारेमा हामीले सिक्‍नैपर्छ।

परीक्षाहरूको बेला अय्यूबको मानवताका प्रकटीकरणहरू (परीक्षाहरूको अवधिमा अय्यूबद्वारा प्रदर्शित सिद्धता, इमानदारिता, परमेश्‍वरप्रतिको डर, र दुष्टताबाट अलग बस्‍ने आचरण)

हामीले माथि अय्यूबको मानवताका विभिन्‍न पक्षहरूका बारेमा कुरा गर्‍यौँ, जुन तिनका परीक्षाहरूभन्दा अघि तिनको दैनिक जीवनमा प्रदर्शित भएका थिए। अवश्य नै, यी विभिन्‍न प्रकटीकरणहरूले अय्यूबको इमानदारिता, परमेश्‍वरप्रतिको भय, र दुष्टताबाट अलग बस्‍ने आचरणको बारेमा प्रारम्‍भिक परिचय र बुझाइ प्रदान गर्छन्, र स्वाभाविक रूपमा एक सुरुवाती पुष्टि पनि प्रदान गर्छन्। मैले “प्रारम्भिक” भनी भन्‍नुको अर्थ के हो भने, धेरैजसो मानिसहरूसँग अझै पनि अय्यूबको व्यक्तित्वको बारेमा र जुन हदसम्म तिनले परमेश्‍वरको आज्ञापालन र डर मान्‍ने बाटो पछ्याएका थिए त्यसको बारेमा साँचो बुझाइ छैन। भन्‍नुको अर्थ, अय्यूबको सम्बन्धमा धेरैजसो मानिसहरूको बुझाइ बाइबलका यी दुईवटा खण्डले दिने केही हदसम्‍म सकारात्मक झल्कोभन्दा बढी गहन छैन, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्” र “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” तसर्थ, परमेश्‍वरका परीक्षाहरू आउँदा अय्यूबले आफ्नो मानवता कसरी जिए भन्‍ने कुरा हामीले बुझ्नु अति आवश्यक छ; यस तरिकाले, अय्यूबको वास्तविक मानवता सम्पूर्ण रूपमा सबैलाई देखाइनेछ।

जब अय्यूबले तिनको सम्पत्ति चोरी भएको, तिनका छोराछोरीहरूले आफ्नो ज्यान गुमाएका अनि तिनका नोकरहरू मारिएका खबर सुने तब तिनले यस्तो प्रतिक्रिया दिए: “त्यसपछि अय्यूब उठे, आफ्‍नो खास्टो च्याते, आफ्‍नो कपाल खौरे, भूँइमा लम्पसार परे र आराधना गरे” (अय्यूब १:२०)। यी वचनहरूले हामीलाई एउटा तथ्य बताउँछ: यो खबर सुनेपछि, अय्यूब डरले थरथर काँपेनन्, तिनी चिच्याएनन् वा समाचार ल्याउने नोकरहरूलाई दोष लगाएनन्, तिनले अपराध भएको घटनाको अनुसन्धान गरेर वास्तवमा के भएको थियो सो पत्ता लगाउन जाँचबुझ गर्नु त परै जाओस्। तिनले आफ्नो सम्पत्ति गुमाएकोमा कुनै पीडा वा अफसोस प्रकट गरेनन्, न त आफ्ना छोराछोरी र प्रियजन गुमाएकोले तिनी आँसुमा नै डुबे। त्यसको विपरीत, तिनले आफ्नो खास्टो च्याते, र कपाल खौरी भुइँमा घोप्टो परेर आराधना गरे। अय्यूबका व्यवहारहरू कुनै साधारण मानिसका जस्ता छैनन्। ती व्यवहारले धेरै मानिसहरूलाई अन्योलमा पार्छन्, र तिनीहरूले आफ्नो हृदयभित्र अय्यूबलाई तिनको “कठोरता” का लागि गाली गर्छन्। अचानक आफ्नो सम्पत्ति गुमाउँदा, सामान्य मानिसहरू अत्यन्तै दुःखी वा निराश देखिन्छन् वा कतिपय मानिसहरू भने गहिरो उदासीनतामा पनि पर्न सक्छन्। किनकि मानिसहरूको हृदयभित्र तिनीहरूको सम्पत्तिले जीवनभरिको परिश्रमको प्रतिनिधित्व गर्छ—त्यसैमा तिनीहरूको अस्तित्व निर्भर हुन्छ, त्यसैको आशाले तिनीहरूलाई जीवित राख्छ; तिनीहरूले सम्पत्ति गुमाउनु भनेको तिनीहरूको परिश्रम व्यर्थ हुनु हो, तिनीहरू आशाविहीन हुनु हो, र तिनीहरूको भविष्य नै नहुनु हो। कुनै पनि सामान्य व्यक्तिसँग आफ्नो सम्पत्तिप्रति यस्तै मनोवृत्ति हुन्छ र त्योसित उसको घनिष्ठ सम्बन्ध हुन्छ, र मानिसहरूका नजरमा सम्पत्तिको महत्त्व पनि यस्तै हुन्छ। त्यसैले, धेरैजसो मानिसहरू अय्यूबले आफ्नो सम्पत्ति गुमाउँदा पनि उदासीन मनोवृत्ति देखाएकोले अलमल्ल पर्छन्। आज, हामी अय्यूबको हृदयभित्र के भइरहेको थियो भन्‍ने कुरा व्याख्या गरी यी सबै मानिसहरूले महसुस गरेका भ्रमहरूलाई हटाउनेछौं।

सामान्य ज्ञानले के भन्छ भने, परमेश्‍वरले यस्तो प्रशस्त सम्पत्ति दिनुभएकोले यी सम्पत्तिहरू गुमाउँदा अय्यूबले परमेश्‍वरको सामु लज्‍जित महसुस गर्नुपर्नेथ्यो, किनकि तिनले ती कुराको हेरचाह वा रेखदेख गरेनन्; परमेश्‍वरले तिनलाई दिनुभएको सम्पत्ति तिनले सम्हालेर राखेनन्। यसैले जब तिनले आफ्नो सम्पत्ति चोरी भएको सुने, त्यसबेला पहिलो प्रतिक्रियास्वरूप तिनले घटनास्थल गएर चोरी भएका सबै चीजबीजको सूची बनाउने र परमेश्‍वरसामु स्वीकार गर्ने कार्य गर्नुपर्थ्यो ताकि तिनले फेरि एकचोटि परमेश्‍वरका आशिष्‌हरू प्राप्त गरून्। तर अय्यूबले त्यसो गरेनन्, र तिनले त्यसो नगर्नुका आफ्नै स्वाभाविक कारणहरू थिए। अय्यूबले आफ्नो हृदयमा यो विश्‍वास गरेका थिए कि तिनीसँग भएका सबै थोक परमेश्‍वरले दिनुभएको थियो र ती तिनको आफ्नै परिश्रमका फल थिएनन्। त्यसैले तिनले ती आशिष्‌हरूलाई फाइदा उठाउनुपर्ने पूँजीको रूपमा लिएनन्, बरु यसको सट्टा तिनले सम्पूर्ण शक्ति लगाई आफ्नो जिउने सिद्धान्तलाई त्यही मार्गमा आधारित गरे जुन मार्गलाई तिनले पालन गर्नुपर्थ्यो। तिनले परमेश्‍वरका आशिष्‌हरूको कदर गरे अनि तिनका लागि उहाँलाई धन्यवाद दिए, तर तिनी आशिष्‌हरूद्वारा मोहित भएनन्, न त तिनले ती अझै बढी प्राप्त गर्न नै प्रयास गरे। सम्पत्तिप्रति तिनको मनोवृत्ति यस्तै थियो। तिनले न त आशिष् प्राप्त गर्नका लागि केही गरे, न त परमेश्‍वरका आशिष्‌हरूको कमी हुन्छ वा ती गुमाउनुपर्छ भनेर नै चिन्ता वा लोभ नै गरे; तिनी न त परमेश्‍वरका आशिष्‌हरूको कारण उग्र रूपमा उत्तेजित हुँदै खुसी भए, न त बारम्बार आशिष्‌ पाएको कारण तिनले परमेश्‍वरको मार्गलाई बेवास्ता गर्ने वा परमेश्‍वरको अनुग्रहलाई बिर्सने कार्य नै गरे। आफ्‍नो सम्पत्तिप्रति अय्यूबले देखाएको मनोवृत्तिले मानिसहरूसामु तिनको वास्तविक मानवता प्रकट गर्छ: पहिलो कुरा, अय्यूब लोभी थिएनन्, र आफ्नो भौतिक जीवनमा तिनले अपेक्षाहरू गर्दैनथिए। दोस्रो कुरा, अय्यूबले कहिल्यै पनि आफूसँग भएका सबै थोक परमेश्‍वरले खोस्‍नुहुनेछ भनी चिन्ता वा डर मानेनन्, जुन तिनको हृदयमा भएको परमेश्‍वरप्रतिको आज्ञाकारिताको मनोवृत्ति थियो; अर्थात्, परमेश्‍वरले कहिले खोस्‍नुहुन्छ, वा उहाँले खोस्‍नुहुन्छ कि हुन्‍न भन्‍नेबारेमा कहिल्यै कुनै अपेक्षा वा गुनासो गरेनन्, र त्यसो गर्नुको कारण पनि सोधेनन्, केवल परमेश्‍वरको बन्दोबस्तहरू मात्र पालन गर्न खोजे। तेस्रो कुरा, तिनले आफ्नो सम्पत्ति आफ्नै परिश्रमबाट आएको हो भनी कहिल्यै विश्‍वास गर्दैनथे, बरु परमेश्‍वरले दिनुभएको हो भन्‍ने ठान्थे। परमेश्‍वरमाथिको अय्यूबको विश्‍वास यस्तै थियो र यो तिनको दृढ निश्‍चयताको सङ्केत हो। के अय्यूबको मानवता र तिनको दैनिक सच्‍चा खोज यी तीन-बुँदे सारांशमा स्पष्ट भएका छन्? अय्यूबको मानवता र खोज तिनले आफ्नो सम्पत्ति गुमाउनुपर्दा पनि तिनको शान्त आचरणको अभिन्‍न हिस्‍साको रूपमा रहेका थिए। तिनको दैनिक खोजको कारणले गर्दा नै परमेश्‍वरका जाँचहरू आएको समयमा अय्यूबमा यसो भन्‍न सक्‍ने कद र दृढ विश्‍वास थियो, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्,” यी वचनहरू रातारात प्राप्त भएका थिएनन्, न त ती अय्यूबको दिमागमा अचानक देखा परेका नै थिए। ती त तिनले धेरै वर्ष जीवन अनुभव गर्ने क्रममा देखेका र प्राप्त गरेका कुराहरू थिए। परमेश्‍वरका आशिष्‌हरू मात्र खोज्ने र परमेश्‍वरले उनीहरूबाट खोस्‍नुहोला भनी डराउने, त्यसरी खोसिएको मन नपराउने र त्यसबारेमा गुनासो गर्ने सबै मानिसहरूको तुलनामा, के अय्यूबको आज्ञाकारिता एकदमै वास्तविक छैन र? परमेश्‍वर हुनुहुन्छ भनेर विश्‍वास गर्ने, तर परमेश्‍वरले सबै थोकमाथि शासन गर्नुहुन्छ भनी विश्‍वास नगर्नेहरूको तुलनामा, के अय्यूबमा ठूलो इमानदारिता र सोझोपन छैन र?

अय्यूबको तर्कसङ्गतता

अय्यूबका वास्तविक अनुभवहरू र तिनको सोझोपन र इमानदार मानवताको अर्थ के हो भने, तिनले आफ्नो सम्पत्ति र आफ्ना छोराछोरीहरू गुमाउँदा सबैभन्दा तर्कसंगत निर्णय र छनौट गरे। त्यस्ता तर्कसंगत छनौटहरू तिनको दैनिक खोज र तिनले आफ्नो दैनिक जीवनको समयमा थाहा पाएका परमेश्‍वरका कार्यहरूबाट अलग गर्नै नसकिने थिए। अय्यूबको इमानदारिताले तिनलाई सबै थोकमाथि यहोवाको हात छ भनी विश्‍वास गर्न सक्षम बनायो। तिनको विश्‍वासले तिनलाई सबै कुरामाथि यहोवा परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यबारे थाहा दिलायो; तिनको ज्ञानले तिनलाई यहोवा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्न इच्छुक र सक्षम बनायो; तिनको आज्ञाकारिताले तिनलाई यहोवा परमेश्‍वरसित झन्‍झन् साँचो रूपमा डराउन समर्थ तुल्यायो; तिनको डरले दुष्टताबाट अलग बस्‍ने तिनको कार्यलाई झन्-झन् वास्तविक बनायो; अन्त्यमा, अय्यूब सिद्ध भए किनकि तिनी परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे; तिनको सिद्धताले तिनलाई ज्ञानी बनायो र तिनलाई अत्याधिक तर्कसङ्गतता दिलायो।

हामीले यो “तर्कसंगत” भन्‍ने शब्दलाई कसरी बुझ्नुपर्छ? यसको शाब्दिक अर्थ राम्रो चेतनामा हुनु, आफ्नो सोचविचारमा तार्किक र समझदार हुनु, बोलीवचन, व्यवहार र निर्णयमा चुस्त हुनु, र सही अनि स्थिर नैतिक मापदण्डहरू धारण गर्नु भन्‍ने हुन्छ। तैपनि अय्यूबको तर्कलाई भने यति सजिलै वर्णन गर्न सकिँदैन। यहाँ अय्यूबमा अत्याधिक तर्कसङ्गतता थियो भनेर भनिँदा, यो तिनको मानवता र परमेश्‍वरसामु तिनको आचरणको सम्बन्धमा भनिएको हो। अय्यूब इमानदार भएका हुनाले, तिनी परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्न र यसलाई पालना गर्न सक्षम थिए जसले तिनलाई यस्तो अरू कसैले प्राप्त गर्न नसक्‍ने ज्ञान दियो, र यस ज्ञानले तिनलाई आफूमाथि आइलाग्‍ने कुराहरूलाई अझ राम्ररी पत्ता लगाउन, विचार गर्न, र परिभाषित गर्न सक्षम तुल्यायो, जसले तिनलाई के गर्नुपर्छ र कुन कुरा पक्रिनुपर्छ भनी सही र स्पष्ट रूपमा बुझ्न मदत गर्‍यो। भन्‍नुको अर्थ, तिनका वचनहरू, व्यवहार, तिनका कार्यपछाडिका सिद्धान्तहरू, र तिनको व्यवहारका आचार-संहिता नियमित, स्पष्ट, र विशिष्ट थिए, र ती अन्धाधुन्ध, आवेगपूर्ण वा भावनात्मक थिएनन्। तिनीमाथि जे आइपरे पनि त्यसप्रति कसरी व्यवहार गर्नुपर्छ सो तिनलाई थाहा थियो, जटिल घटनाहरूबीचको सम्बन्धलाई कसरी सन्तुलनमा राख्‍नुपर्छ भनी तिनले जान्दथे, र समात्‍नुपर्ने बाटोलाई कसरी समात्‍नुपर्छ भन्‍ने तिनलाई थाहा थियो, र अझ भन्‍ने हो भने, यहोवा परमेश्‍वरले दिनुहुँदा र लिनुहुँदा कस्तो व्यवहार गर्नुपर्छ भनेर तिनी जान्दथे। अय्यूबको तर्कसङ्गतता यही थियो। अय्यूब यस्तै तर्कसङ्गतताले सुसज्‍जित भएको कारण नै तिनले आफ्‍नो सम्पत्ति र आफ्‍ना छोराछोरी गुमाउँदा पनि यसो भन्‍न सके, “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ; यहोवाको नाउँको प्रशंसा होस्।”

जब अय्यूबले शरीरको ठूलो पीडा र आफ्ना आफन्त र साथीहरूको विरोधको सामना गर्नुपर्‍यो, र जब तिनले मृत्युको सामना गर्नुपर्‍यो, तब तिनको वास्तविक आचरणले फेरि एकपल्ट सबैलाई तिनको वास्तविक अनुहार देखायो।

अय्यूबको वास्तविक अनुहार: साँचो, शुद्ध, र झूटरहित

हामी अय्यूब २:७-८ लाई पढौँ: “यसैले शैतान यहोवाको छेउबाट गयो र अय्यूबको खुट्टाको पैतालादेखि टाउकोसम्मै पोल्‍ने खटिराहरू उब्जाइदियो। अनि तिनले आफूलाई कन्याउन माटोको भाँडाको एउटा खपटा लिए; अनि तिनी खरानीमा बसे।” यो अय्यूबको शरीरमा पीडादायक खटिराहरू निस्केको बेला तिनको आचरण कस्तो थियो भन्‍ने व्याख्या हो। यस समयमा, पीडा सहने क्रममा अय्यूब खरानीमा बसे। कसैले पनि तिनको उपचार गरेनन्, र कसैले पनि तिनको शरीरको पीडा कम गर्न मद्दत गरेनन्; बरु, तिनले खटिरा कन्याउन फुटेका माटोका भाँडाका टुक्राहरू प्रयोग गरे। सतही रूपमा, यो केवल अय्यूबको यातनाको एक चरण मात्र थियो, र तिनको मानवता र परमेश्‍वरप्रतिको भयसँग यसको कुनै सम्बन्ध थिएन, किनकि अय्यूबले यस बेला आफ्नो मनस्थिति र विचार व्यक्त गर्न कुनै शब्द बोलेनन्। तैपनि, अय्यूबका व्यवहारहरू र तिनको आचरण तिनको मानवताको वास्तविक अभिव्यक्ति नै हुन्। अघिल्लो अध्यायको अभिलेखमा हामीले पूर्वको संसारमा अय्यूब सबैभन्दा महान् व्यक्ति थिए भनेर पढ्यौँ। यसैबीच, दोस्रो अध्यायको यो खण्डले पूर्वका यस महान् व्यक्तिले खरानीमा बसेर फुटेका माटोका भाँडाका टुक्राहरू प्रयोग गरे भन्‍ने देखाउँछ। के यी दुई वर्णनबीच स्पष्ट भिन्‍नता छैन र? यो एउटा यस्तो भिन्‍नता हो जसले हामीलाई अय्यूबको वास्तविक जीवन देखाउँछ: आफ्नो प्रतिष्ठित स्थान र हैसियतको बाबजुद पनि, तिनले यी कुराहरूलाई कहिल्यै प्रेम गरेनन् न त यी कुराहरूमा कुनै ध्यान नै दिए; अरूले तिनको प्रतिष्ठालाई कसरी हेर्छन् भनेर तिनले वास्ता गरेनन्, न त तिनको काम वा आचरणले तिनको प्रतिष्ठामा कुनै नकारात्मक असर पार्ला कि भनेर नै तिनी चिन्तित थिए; तिनी हैसियतका लाभहरूमा लिप्त भएनन्, न त तिनले हैसियत र प्रतिष्ठाको साथमा आउने महिमाको आनन्द नै लिए। तिनले केवल यहोवा परमेश्‍वरको नजरमा आफ्नो मूल्य र आफ्नो जीवनको महत्त्वको बारेमा मात्रै चिन्ता गरे। अय्यूबको साँचो व्यक्तित्व नै तिनको सार थियो: तिनले प्रसिद्धि र सम्पत्तिलाई प्रेम गरेनन्, र तिनी प्रसिद्धि र सम्पत्तिका लागि जिएनन्; तिनी साँचो, र शुद्ध, अनि झूटरहित थिए।

अय्यूबले प्रेम र घृणालाई छुट्ट्याए

अय्यूबको मानवताको अर्को पक्षलाई तिनी र तिनकी पत्‍नीबीचको यो बातचितमा देखाइएको छ: “तब तिनकी श्रीमतीले तिनलाई भनिन्, के तपाईं अझै पनि आफ्नो निष्ठा कायम राख्‍नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्। तर तिनले उनलाई भने, तिमी मूर्ख स्‍त्रीले जस्तै कुरा गर्छौ। के? के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” (अय्यूब २:९-१०)। तिनले भोगेका यातना देखेर, अय्यूबकी पत्‍नीले तिनलाई त्यस पीडाबाट बच्न मदत गर्नलाई सल्लाह दिन खोजिन्, तर उनका “असल मनसायहरू” ले अय्यूबको स्वीकृति प्राप्त गरेनन्; बरु ती कुराले तिनलाई रिस उठ्यो, किनकि उनले यहोवा परमेश्‍वरमाथिको तिनको विश्‍वास र आज्ञापालनलाई इन्कार गरेकी थिइन्, र साथै यहोवा परमेश्‍वरको अस्तित्वलाई पनि इन्कार गरेकी थिइन्। अय्यूबको लागि यो असहनीय थियो, किनकि तिनले कहिल्यै पनि परमेश्‍वरको विरुद्ध वा उहाँलाई चोट पुर्‍याउने वा अरूको विषयमा केही भन्‍ने काम कहिल्यै गरेका थिएनन्। अरूले परमेश्‍वरको निन्दा र अपमान गर्ने कुरा बोलेको देख्दा तिनी कसरी उदासीन हुन सक्थे र? यसैले तिनले आफ्नी पत्‍नीलाई “मूर्ख स्‍त्री” भनी भने। आफ्नी पत्‍नीप्रति अय्यूबको मनोवृत्ति क्रोध र घृणाका साथसाथै निन्दा र हप्कीले भरिएको थियो। यो अय्यूबको मानवताको स्वाभाविक अभिव्यक्ति थियो—प्रेम र घृणाबीचको भिन्‍नता छुट्ट्याउने—यो तिनको सोझो मानवताको एक साँचो प्रतिनिधित्व थियो। अय्यूबमा न्यायको बोध थियो—जसले तिनलाई दुष्टताका बतास र छालहरूलाई घृणा गर्ने बनायो, वाहियात विधर्म, हास्यास्पद बहसहरू र लाजलाग्दो दाबीहरूलाई घृणा, निन्दा र अस्वीकार गर्ने बनायो, अनि तिनलाई भीडहरूले अस्वीकार गर्दा र नजिकका मानिसहरूले त्याग्दा पनि तिनलाई आफ्नै सही सिद्धान्तहरू र अडानप्रति सच्‍चा रहने व्यक्ति तुल्यायो।

अय्यूबको दयालुपन र इमानदारिता

अय्यूबको आचरणबाट हामी तिनको मानवताका विभिन्‍न पक्षहरूको अभिव्यक्ति देख्‍न सक्छौँ, त्यसकारण अय्यूबले आफू जन्मेको दिनलाई सराप्‍न मुख खोल्दा हामी तिनको मानवताको कुन कुरालाई देख्छौँ? तल हामी यही विषयमा बताउनेछौँ।

माथि, मैले अय्यूबले आफू जन्मेको दिनलाई सरापेको पृष्ठभूमि बताएको छु। तिमीहरू यसमा के देख्छौ? यदि अय्यूब कठोर हृदयको र प्रेमरहित थिए भने, यदि तिनी उदासीन र भावनाहीन र मानवता नभएका व्यक्ति भएका भए, के तिनले परमेश्‍वरको हृदयको चाहनाको वास्ता गर्थे होला? के तिनले परमेश्‍वरको हृदयको चाहनालाई वास्ता गरेको कारण आफू जन्मेको दिनलाई तुच्छ ठान्‍न सक्थे? अर्को शब्दमा भन्‍नुपर्दा, यदि अय्यूब कठोर हृदयका र मानवता नभएका व्यक्ति भएका भए, के तिनी परमेश्‍वरको पीडाले व्याकुल हुन सक्थे? के परमेश्‍वर तिनको कारण शोकमा डुब्‍नुभएकोले गर्दा तिनले आफ्नो जन्म दिनलाई सराप्‍न सक्थे? यसको उत्तर हो, बिलकुल होइन! अय्यूब दयालु थिए, यसैले तिनले परमेश्‍वरको हृदयको वास्ता गरे; अय्यूबले परमेश्‍वरको हृदयको वास्ता राखेकाले नै तिनले परमेश्‍वरको पीडा महसुस गरे; तिनी दयालु थिए, यसैले तिनले परमेश्‍वरको कष्टको अनुभव गरेर ठूलो यातना सहे; तिनले परमेश्‍वरको पीडा महसुस गरेकाले नै तिनले आफू जन्मेको दिनलाई घृणा गर्न थाले, र यसरी तिनले आफ्नो जन्मदिनलाई सरापे। बाहिरका मानिसहरूका निम्ति, अय्यूबको परीक्षाको अवधिमा तिनले देखाएको सम्पूर्ण आचरण उदाहरणीय छ। केवल तिनले आफू जन्मेको दिनलाई सरापेको कुराले मात्र तिनको सिद्धता र सोझोपनमाथि प्रश्‍न चिन्‍ह खडा गर्छ, वा एउटा फरक मूल्याङ्कन प्रदान गर्छ। वास्तवमा यो अय्यूबको मानवता सारको सबैभन्दा साँचो अभिव्यक्ति थियो। तिनको मानवताको सार लुकाइएको वा पोको पारिएको थिएन, वा अरू कसैद्वारा संशोधित गरिएको थिएन। जब तिनले आफू जन्मेको दिनलाई सरापे, तब तिनले आफ्नो हृदयको गहिराइमा भएको दयालुपन र इमानदारिता प्रदर्शित गरे; तिनी त जरुवा मूलजस्तै थिए, जसको पानी यति स्वच्छ र पारदर्शी हुन्छ कि त्यसको भुइँ पनि देखिन्छ।

अय्यूबको बारेमा यी सबै कुरा जानिसकेपछि, धेरैजसो मानिसहरूमा अवश्य नै अय्यूबको मानवता सारको सही र वस्तुपरक मूल्याङ्कन हुनेछ। उनीहरूमा परमेश्‍वरले भन्‍नुभएको अय्यूबको सिद्धता र सोझोपनको बारेमा पनि गहन, व्यावहारिक र अझ उच्‍च बुझाइ र कदर हुनुपर्छ। आशा छ, यो बुझाइ र कदरले मानिसहरूलाई परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा हिँड्ने कार्यको थालनी गर्न मदत गर्नेछ।

परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुभएको तथ्य र परमेश्‍वरको कामका उद्देश्यबीच रहेको सम्बन्ध

अधिकांश मानिसले अब अय्यूब सिद्ध र सोझो थिए र तिनी परमेश्‍वरसँग डराउँथे र दुष्टताबाट अलग बस्थे भनी बुझ्‍ने भए पनि, यस्तो कुराको पहिचानले उनीहरूलाई परमेश्‍वरको इच्छाको बृहत बुझाइ प्रदान गर्दैन। यसको साथसाथै अय्यूबको मानवता र खोजप्रति ईर्ष्या गर्दै, उनीहरूले परमेश्‍वरको बारेमा निम्‍न प्रश्‍नहरू सोध्छन्: अय्यूब यति सिद्ध र सोझो थिए, मानिसहरूले तिनलाई यति धेरै मन पराउँथे भने, किन परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुभयो र त्यति धेरै यातना भोग्‍न लाउनुभयो? यस्ता प्रश्‍नहरू धेरै मानिसको हृदयमा अवश्य उत्पन्‍न हुन सक्छ वा यो शङ्का नै धेरै मानिसको हृदयमा प्रश्‍नको रूपमा रहेको हुन सक्छ। यसले यति धेरै मानिसलाई अलमल्ल पारेको हुनाले, हामीले यो प्रश्‍नलाई उठाएर यसलाई राम्रोसँग व्याख्या गर्नुपर्छ।

परमेश्‍वरले गर्नुहुने सबै कुरा आवश्यक र असाधारण महत्त्वका छन्, किनकि उहाँले मानिसमा गर्नुहुने सबै काम उहाँको व्यवस्थापन र मानवजातिको मुक्तिसित सम्बन्धित छन्। स्वाभाविक रूपमा, अय्यूब परमेश्‍वरको नजरमा सिद्ध र इमानदार भएका भए पनि, उहाँले तिनमा गर्नुभएको काम अरूभन्दा फरक छैन। अर्को शब्दमा भन्दा, परमेश्‍वरले चाहे जे गर्नु भए पनि वा जुनसुकै साधनहरूद्वारा त्यो काम गर्नु भए पनि, मूल्य जति लागे पनि, उहाँको ध्येय जेसुकै नै भए पनि उहाँका कार्यहरूको उद्देश्य परिवर्तन हुँदैन। परमेश्‍वरको उद्देश्य मानिसभित्र परमेश्‍वरका वचनहरू काममा लगाउनु हो, साथै मानिसका निम्ति रहेका उहाँका मापदण्डहरू र इच्छालाई पनि मानिसभित्र काममा लगाउनु हो; अर्को शब्दमा भन्दा, यो भनेको परमेश्‍वरले सकारात्मक भनी विश्‍वास गर्नुभएका सबैकुरा उहाँका चरणहरूअनुसार मानिसभित्र गराउनु हो, जसले मानिसलाई परमेश्‍वरको हृदय बुझ्न र परमेश्‍वरको सार बोध गर्न सक्षम बनाउँछ, र मानिसलाई परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्ने मौका दिन्छ, र यसरी मानिसले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने आचरण हासिल गर्न सक्छ—यो सबै कुरा परमेश्‍वरले गर्नुहुने हर कार्यमा रहेको उहाँको उद्देश्यको एक पक्ष हो। अर्को पक्ष के हो भने, शैतान परमेश्‍वरको काममा प्रतिभार र सेवा गर्ने पात्र भएकोले मानिसलाई प्रायः शैतानको हातमा नै सुम्पिइन्छ; मानिसहरूलाई शैतानका परीक्षा र आक्रमणहरूमा शैतानको दुष्टता, कुरूपता र घिनलाग्दो अवस्था देखाई, उहाँले मानिसलाई शैतानलाई घृणा गर्ने, र नकारात्मक कुरा चिन्‍न र बुझ्न सक्‍ने तुल्याउनुहुन्छ। यो प्रक्रियाले तिनीहरूलाई बिस्तारै शैतानका नियन्त्रण र आरोपहरू, बाधा र आक्रमणहरूबाट स्वतन्त्र हुन मदत गर्छ, र यो तबसम्म जारी रहन्छ जबसम्म परमेश्‍वरका वचनहरू, परमेश्‍वरको बारेमा तिनीहरूको ज्ञान र आज्ञापालन, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास र उहाँप्रतिको भयको कारण तिनीहरूले शैतानका आक्रमण र आरोपहरूमाथि विजय हासिल गर्दैनन्; अनि मात्र तिनीहरूले शैतानको सत्ताबाट पूर्ण रूपमा छुटकारा पाउनेछन्। मानिसहरूको छुटकाराको अर्थ शैतान हारेको छ भन्‍ने हो, र यसको अर्थ तिनीहरू अबउप्रान्त शैतानको मुखभित्रको आहार हुँदैनन्—निल्नुको साटो शैतानले तिनीहरूलाई छोडिदिएको छ भन्‍ने हुन्छ। त्यस्ता मानिसहरू सोझा भएकाले, तिनीहरूसित परमेश्‍वरप्रतिको विश्‍वास, आज्ञापालन र भय भएकोले, र तिनीहरू पूर्ण रूपमा शैतानबाट अलग भएकोले त्यस्तो हुन्छ। तिनीहरूले शैतानलाई लज्‍जित बनाउँछन्, तिनीहरूले शैतानलाई कायर बनाउँछन्, र तिनीहरूले शैतानलाई पूर्ण रूपमा पराजित गर्छन्। परमेश्‍वरलाई पछ्याउने, उहाँको आज्ञापालन गर्ने र उहाँको भय मान्‍ने तिनीहरूको दृढ विश्‍वासले नै शैतानलाई पराजित गर्छ, र शैतानलाई पूर्ण रूपमा तिनीहरूलाई त्याग्‍ने बनाउँछ। यस्ता मानिसहरू मात्र वास्तवमा परमेश्‍वरद्वारा साँचो रूपमा प्राप्त गरिएका हुन्छन्, र परमेश्‍वरले मानिसलाई मुक्ति दिनुको अन्तिम उद्देश्य पनि यही हो। यदि परमेश्‍वरलाई पछ्याउनेहरू मुक्ति पाउन र परमेश्‍वरद्वारा पूर्ण रूपमा प्राप्त गरिन चाहन्छन् भने, तिनीहरू सबैले शैतानबाट आउने ठूला र साना दुवै किसिमका प्रलोभन र आक्रमणहरूको सामना गर्नैपर्छ। जो यी प्रलोभन र आक्रमणहरू पार गरी बाहिर निस्कन्छन् र शैतानलाई पूर्ण रूपले पराजित गर्न सक्षम हुन्छन्, तिनीहरू नै परमेश्‍वरबाट मुक्ति पाएकाहरू हुन्। भन्‍नुको अर्थ, जसले परमेश्‍वरतर्फको मुक्ति पाएका हुन्छन् तिनीहरू परमेश्‍वरका जाँचहरूमार्फत गुज्रेका, र शैतानका अनगन्ती परीक्षा र आक्रमणमा परेकाहरू हुन्। परमेश्‍वरतर्फको मुक्ति पाएकाहरूले परमेश्‍वरका इच्छा र मापदण्डहरू बुझ्छन्, र तिनीहरूले परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई कुनै विरोध नगरी स्वीकार गर्न सक्छन्, र शैतानका परीक्षाहरूको माझमा पनि तिनीहरूले परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग रहने मार्ग छोड्दैनन्। परमेश्‍वरतर्फको मुक्ति पाएकाहरूमा इमानदारिता हुन्छ, तिनीहरू दयालु हृदयका हुन्छन्, तिनीहरूले प्रेम र घृणाबीच भिन्‍नता छुट्याउँछन्, तिनीहरूसँग न्यायको चेतना हुन्छ र तिनीहरू तर्कसङ्गत हुन्छन्, र तिनीहरूले परमेश्‍वरलाई वास्ता गर्न र परमेश्‍वरका सबै थोकलाई मूल्यवान् सम्झेर राख्‍न सक्छन्। त्यस्ता मानिसहरू शैतानको बन्धन, जासुसी, आरोप वा दुर्व्यवहारमा पर्दैनन्; तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुन्छन्, तिनीहरूलाई पूर्ण रूपमा मुक्ति र छुटकारा दिइएको हुन्छन्। अय्यूब त्यस्तै स्वतन्त्र मानिस थिए, र परमेश्‍वरले तिनलाई शैतानको हातमा सुम्पनुको अर्थ पनि ठीक यही थियो।

शैतानले अय्यूबलाई दुर्व्यवहार गरेको थियो, तर तिनले अनन्त स्वतन्त्रता र छुटकारा पनि पाएका थिए, र तिनले फेरि कहिल्यै पनि शैतानको भ्रष्टता, दुर्व्यवहार र आरोपहरूको अधीनमा नपर्ने, बरु परमेश्‍वरको मुहारको ज्योतिमा स्वतन्त्र र भारमुक्त जीवन जिउन पाउने र परमेश्‍वरका आशिष्‌हरूमाझ जिउने अधिकार प्राप्त गरेका थिए। यो अधिकार कसैले पनि खोस्‍न वा नष्ट गर्न वा कब्जा गर्न सक्‍दैनथ्यो। यो अय्यूबलाई तिनको विश्‍वास, दृढ सङ्कल्प, र परमेश्‍वरप्रतिको आज्ञाकारिता र भयको सट्टामा दिइएको थियो; पृथ्वीमा परमेश्‍वरको साँचो सृष्टिको रूपमा विनाबाधा सृष्टिकर्ताको आराधना गर्नको लागि अय्यूबले पृथ्वीमा आनन्द र खुसी प्राप्त गर्न, र अधिकार र हक प्राप्त गर्न आफ्नो जीवनको मूल्य चुकाए, जुन पूर्णतया स्वाभाविक र न्यायोचित थियो। अय्यूबले भोगेका परीक्षाहरूको सबैभन्दा ठूलो प्रतिफल पनि यही थियो।

जब मानिसहरूलाई मुक्ति दिन बाँकी नै हुन्छ, तिनीहरूको जीवनलाई बारम्बार शैतानले बाधा दिने र नियन्त्रण गर्नेसमेत गरेको हुन्छ। अर्को शब्दमा भन्दा, मुक्ति नपाएका मानिसहरू शैतानका कैदीहरू हुन्, तिनीहरूसँग स्वतन्त्रता हुँदैन, तिनीहरूलाई शैतानले त्यागेको हुँदैन, तिनीहरू परमेश्‍वरको आराधना गर्न योग्य वा हकदार हुँदैनन्, र तिनीहरूलाई शैतानले नजिकबाट खेदो र भयानक आक्रमण गरेको हुन्छ। त्यस्ता मानिसहरूसँग बताउन सकिने कुनै खुसी हुँदैन, तिनीहरूसँग बताउन सकिने सामान्य अस्तित्वको कुनै अधिकार हुँदैन, र यसबाहेक तिनीहरूसँग बताउन सकिने कुनै मर्यादा हुँदैन। यदि तँ खडा भएर परमेश्‍वरप्रतिको आफ्नो विश्‍वास र उहाँप्रतिको आज्ञापालन र भयलाई जीवन र मृत्युको लडाइँ लड्ने हतियारको रूपमा प्रयोग गर्दै शैतानसित युद्ध गरिस् भने मात्र तैँले शैतानलाई पूर्ण रूपमा पराजित गर्नेछस्, र त्यसलाई पिठिउँ फर्काएर भाग्‍ने र तँलाई देख्दा डरछेरुवा बन्‍ने तुल्याउन सक्छस्, ताकि त्यसले तेरो विरुद्धका आक्रमण र आरोपहरूलाई पूर्ण रूपमा त्यागोस्—तब मात्र तैँले मुक्ति र स्वतन्त्रता पाउँछस्। यदि तँ शैतानबाट पूर्ण रूपमा अलग हुन चाहन्छस् तर शैतानलाई पराजित गर्न मदत गर्ने हातहतियारहरूद्वारा सुसज्‍जित छैनस् भने तँ अझै पनि खतरामै छस्। समय बित्दै जाँदा, जब तँ शैतानद्वारा अत्यन्‍तै धेरै सताइएर तँमा अलिकति पनि शक्ति बाँकी रहँदैन, जब तँ अझै पनि गवाही दिन असमर्थ रहन्छस्, जब तैँले अझै पनि आफूलाई आफूविरुद्धका शैतानका आरोप र आक्रमणहरूबाट पूर्ण रूपमा स्वतन्त्र तुल्याएको हुँदैनस्, तब तँमा मुक्ति पाउने आशा निकै थोरै हुनेछ। आखिरीमा, जब परमेश्‍वरको कामको समाप्तिको घोषणा गरिनेछ, आफैलाई स्वतन्त्र पार्न नसक्‍ने गरी तँ अझै पनि शैतानको पकडमै हुनेछस्, र यसरी तँसँग कहिल्यै पनि मौका वा आशा हुनेछैन। अनि, यसको तात्पर्य भनेको, त्यस्ता मानिसहरू पूर्ण रूपमा शैतानको कैदमा परेका हुनेछन् भन्‍ने हो।

परमेश्‍वरका जाँचहरूलाई स्वीकार गर, शैतानका परीक्षाहरूलाई जित, र परमेश्‍वरलाई तिमीहरूको सम्पूर्ण अस्तित्व प्राप्त गर्न देओ

मानिसहरूका निम्ति परमेश्‍वरको अनन्त प्रबन्ध र सहयोगको कामको अवधिमा उहाँले मानिसलाई आफ्नो सम्पूर्ण इच्छा र आवश्यकताहरूको बारेमा बताउनुहुन्छ र उहाँको काम, स्वभाव अनि उहाँसित के छ र को हुनुहुन्छ भनी मानिसलाई देखाउनुहुन्छ। यसको उद्देश्य मानिसलाई कदले सुसज्‍जित पार्नु हो, र मानिस परमेश्‍वरको पछि लाग्दा उसलाई उहाँबाट विभिन्‍न सत्यताहरू प्राप्त गर्न दिनु हो—ती सत्यताहरू परमेश्‍वरले मानिसलाई शैतानसित लड्नका निम्ति दिनुभएका हतियारहरू हुन्। यसरी सुसज्‍जित भएपछि मानिसले परमेश्‍वरका परीक्षाहरूको सामना गर्नैपर्छ। परमेश्‍वरसित मानिसलाई परीक्षा गर्ने धेरै वटा साधन र उपायहरू छन्, तर ती सबैमा परमेश्‍वरको शत्रु शैतानको “सहकार्य” आवश्यक पर्छ। भन्‍नुको अर्थ, मानिसलाई शैतानसँग लड्ने हातहतियारहरू दिनुभएपछि परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पिनुहुन्छ र शैतानलाई मानिसको कद “जाँच्ने” अनुमति दिनुहुन्छ। यदि मानिस शैतानको युद्ध संरचनाबाट निस्कन सक्यो भने, यदि ऊ शैतानको घेराउबाट उम्केर अझै जीवित रहन सक्यो भने, मानिस त्यो जाँचमा सफल भएको हुनेछ। तर यदि मानिस शैतानको युद्ध संरचना छोड्न असफल हुन्छ र शैतानको अघि आत्मसमर्पण गर्छ भने, ऊ त्यो जाँचमा सफल भएको हुनेछैन। परमेश्‍वरले मानिसको जुनसुकै पक्षलाई जाँच्नु भए पनि, उहाँको मापदण्डचाहिँ शैतानले आक्रमण गर्दा मानिस आफ्नो गवाहीमा दृढ रूपमा खडा हुन्छ कि हुँदैन, र शैतानको पासोमा परेपछि उसले परमेश्‍वरलाई त्यागेर शैतानको अघि समर्पित हुन्छ कि हुँदैन भन्‍ने नै हुन्छ। यो भन्‍न सकिन्छ कि मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले शैतानलाई जित्‍न र पराजित गर्न सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर गर्छ, र उसले स्वतन्त्रता हासिल गर्न सक्छ कि सक्दैन भन्‍ने कुरा शैतानसित लड्नका लागि परमेश्‍वरले उसलाई दिनुभएका हातहतियारहरू उसले आफ्नै बलबूताले उठाउन सक्छ कि सक्दैन र शैतानलाई पूर्ण रूपमा आशा मार्ने र उसलाई दुःख दिन छोड्ने बनाउन सक्छ कि सक्दैन भन्‍ने कुरामा निर्भर हुन्छ। यदि शैतानले आशा मारेर कसैलाई छोडेर जान्छ भने त्यसको अर्थ यही हुन्छ कि अब फेरि शैतानले त्यस व्यक्तिलाई परमेश्‍वरबाट खोस्‍ने कोसिस कहिल्यै गर्नेछैन, त्यस व्यक्तिलाई फेरि कहिल्यै पनि आरोप लगाउने र बाधा दिने गर्नेछैन, फेरि उसलाई कहिल्यै पनि कष्ट दिइरहन वा आक्रमण गरिरहन मात्र चाहँदैन; त्यस्तो व्यक्ति मात्र वास्तवमा परमेश्‍वरद्वारा प्राप्त गरिएको हुनेछ। परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर्ने सम्पूर्ण प्रक्रिया यही हो।

अय्यूबको साक्षीले पछिका पुस्ताहरूलाई दिएको चेतावनी र अन्तर्ज्ञान

परमेश्‍वरले कुनै मानिसलाई जुन प्रकारले पूर्ण रूपमा प्राप्त गर्नुहुन्छ त्यस प्रक्रियालाई बुझ्ने क्रममा, मानिसहरूले परमेश्‍वरले अय्यूबलाई शैतानको हातमा सुम्पनुको उद्देश्य र महत्त्व पनि बुझ्नेछन्। मानिसहरू अब फेरि अय्यूबको यातनाबाट विचलित हुँदैनन्, र त्यसको महत्त्वको नयाँ बुझाइ प्राप्त गर्छन्। तिनीहरू अब आफू पनि अय्यूबकै जस्तो परीक्षामा परिन्छ कि भनी चिन्तित हुँदैनन्, र अब फेरि उनीहरूले परमेश्‍वरका जाँचहरू आउँदा तिनको विरोध वा इन्कार गर्दैनन्। अय्यूबको विश्‍वास, आज्ञाकारिता र शैतानलाई जितेको तिनको गवाही मानिसहरूका निम्ति ठूलो सहयोग र उत्साहको स्रोत भएर आएको छ। अय्यूबमा तिनीहरूले आफ्नै मुक्तिको आशा देख्छन्, अनि विश्‍वास र आज्ञापालनका साथै परमेश्‍वरको भयद्वारा शैतानलाई पराजित गर्न, शैतानमाथि विजय पाउन पूर्ण रूपमा सम्भव छ भनी बुझ्छन्। तिनीहरूले यो देख्छन् कि जबसम्म उनीहरूले कुनै विरोध नगरी परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरूलाई स्वीकार गर्छन्, जबसम्‍म सबै कुरा गुमाइसकेपछि पनि परमेश्‍वरलाई नत्याग्‍ने दृढ सङ्कल्प र विश्‍वास गर्छन्, तबसम्‍म उनीहरूले शैतानलाई लज्‍जित पार्न र हराउन सक्छन्, र उनीहरूले आफ्नो प्राण गुमाउनु परे पनि शैतानलाई भयभीत बनाउन र तुरुन्तै धपाउनको लागि उनीहरूमा आफ्नो गवाहीमा दृढ भई खडा हुने सङ्कल्प र दृढता मात्र हुनुपर्छ भनी बुझ्छन्। अय्यूबको गवाही पछिका पुस्ताहरूका लागि एउटा चेतावनी हो, र यो चेतावनीले उनीहरूलाई भन्छ कि यदि उनीहरूले शैतानलाई पराजित गरेनन् भने उनीहरूले शैतानका आरोप र बाधाहरूबाट आफूलाई कहिल्यै पनि छुटकारा दिलाउन सक्‍नेछैनन्, न त उनीहरू कहिल्यै शैतानको दुर्व्यवहार र आक्रमणहरूबाट उम्कन नै सक्‍नेछन्। अय्यूबको गवाहीले पछिका पुस्ताहरूलाई अन्तर्दृष्टि प्रदान गरेको छ। यो अन्तर्दृष्टिले मानिसहरूलाई उनीहरू सिद्ध र सोझो छन् भने मात्र परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छन् भन्‍ने कुरा सिकाउँछ; यसले के पनि सिकाउँछ भने, उनीहरू परमेश्‍वरको भय मान्छन् र दुष्टताबाट अलग बस्छन् भने मात्र उनीहरूले परमेश्‍वरको बलियो र जोडदार गवाही दिन सक्छन्; उनीहरूले परमेश्‍वरको निम्ति बलियो र जोडदार गवाही दिन्छन् भने मात्र उनीहरू कहिल्यै शैतानको नियन्त्रणमा पर्न सक्दैनन् र परमेश्‍वरको अगुवाइ र सुरक्षाको अधीनमा जिउन सक्‍छन्—तब मात्र उनीहरूले वास्तविक रूपमा मुक्ति पाएका हुनेछन्। अय्यूबको व्यक्तित्व र तिनको जीवनको खोजलाई मुक्तिको खोजी गर्ने प्रत्येक व्यक्तिले अनुकरण गर्नुपर्छ। तिनले आफ्नो सम्पूर्ण जीवन जसरी जिए र जाँचहरूको अवधिमा तिनको आचरण जस्तो थियो, ती सबै नै परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको खोजी गर्नेहरूको लागि अनमोल सम्पत्ति हुन्।

अय्यूबको गवाहीले परमेश्‍वरलाई सान्त्वना दिलाउँछ

यदि मैले अहिले तिमीहरूलाई अय्यूब एक माया लाग्दो व्यक्ति हुन् भनेर भनेँ भने तिमीहरू यी वचनहरूभित्रका अर्थलाई सायद महसुस गर्न सक्दैनौ, र मैले यी सबै कुराहरू बोल्नुपछाडिको भावनालाई सायद बुझ्न सक्दैनौ; तर त्यो दिनसम्म पर्ख जब तिमीहरूले अय्यूबले जस्तै वा अय्यूबका जस्तै जाँचहरू भोग्‍नेछौ, जब तिमीहरू कठिन परिस्थितिहरूबाट गुज्रनेछौ, जब परमेश्‍वरले व्यक्तिगत रूपले तिमीहरूका निम्ति मिलाउनुभएका जाँचहरूको अनुभव गर्नेछौ, र जब तिमीहरूले शैतानमाथि विजय प्राप्त गर्न र परिक्षाहरूमाझ परमेश्‍वरको साक्षी दिनका लागि तिमीहरूले आफ्नो सबै कुरा दिनेछौ, र अपमान र कठिनाइ सहनेछौ—तब मैले बोलेका यी शब्दहरूको अर्थ तैँले महसुस गर्न सक्‍नेछस्। त्यस बेला तैँले आफूलाई अय्यूबभन्दा धेरै सानो भएको महसुस गर्नेछस्, तैँले अय्यूब कति सानदार छन् र तिनी अनुकरणयोग्य छन् भन्‍ने महसुस गर्छस्। जब त्यो समय आउँछ, तब अय्यूबले बोलेका ती उत्कृष्ट वचनहरू भ्रष्ट र यस समयमा बाँचिरहेको मानिसका लागि कति महत्त्वपूर्ण छन् भनी तैँले बुझ्नेछस्, र आजका मानिसहरूका निम्ति अय्यूबले हासिल गरेका कुराहरू हासिल गर्न कति गाह्रो छ भनी बुझ्नेछस्। जब तैँले यो गाह्रो भएको महसुस गर्छस्, तब परमेश्‍वरको हृदय कतिको चिन्तित र व्याकुल छ भनी बुझ्नेछस्, त्यस्ता मानिसहरूलाई प्राप्त गर्न परमेश्‍वरले तिर्नुभएको मूल्य कति उच्‍च छ, र परमेश्‍वरले मानवजातिका निम्ति गर्नुहुने काम र खर्च कति बहुमूल्य छ भनी बुझ्नेछस्। अहिले तिमीहरूले यी वचनहरू सुनिसकेका छौ, के अब तिमीहरूसँग अय्यूबको बारेमा सही बुझाइ र सही मूल्याङ्कन छ? तिमीहरूको नजरमा, के अय्यूब साँचो रूपमा परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने एक सिद्ध र सोझो मानिस थिए? मलाई विश्‍वास छ, अधिकांश मानिसले अवश्य नै थिए भनी भन्‍नेछन्। किनकि अय्यूबले जे व्यवहार गरे र जे प्रकट गरे ती तथ्यहरूलाई कुनै पनि व्यक्ति वा शैतानले इन्कार गर्न सक्दैन। ती अय्यूबले शैतानमाथि हासिल गरेको विजयको सबैभन्दा शक्तिशाली प्रमाण हुन्। यो प्रमाण अय्यूबमै पैदा भएको थियो, र यो परमेश्‍वरले प्राप्त गर्नुभएको पहिलो गवाही थियो। त्यसकारण, जब शैतानका परीक्षाहरूमा अय्यूब विजयी भए, र परमेश्‍वरको गवाही दिए, तब परमेश्‍वरले अय्यूबमा आशा देख्‍नुभयो र अय्यूबबाट उहाँको हृदयलाई सान्त्वना मिल्यो। सृष्टिको समयदेखि अय्यूबको समयसम्म, परमेश्‍वरले सान्त्वना वास्तवमा कस्तो हुन्छ, र मानिसबाट सान्त्वना पाउनु भनेको के हो सो अनुभव गर्नुभएको यो पहिलोपटक थियो। उहाँको निम्ति दिइएको साँचो गवाही उहाँले देख्‍नुभएको र प्राप्त गर्नुभएको यो पहिलोपटक थियो।

मलाई विश्‍वास छ, अय्यूबको गवाही र तिनका विभिन्‍न पक्षहरूको विवरण सुनेपछि, अधिकांश मानिसले आफ्नो अगाडिको मार्गका लागि योजनाहरू बनाउनेछन्। त्यसै गरी मलाई यो पनि विश्‍वास छ कि चिन्ता र डरले भरिएका धेरैजसो मानिसहरूले बिस्तारै तन र मनमा शान्ति पाउन थाल्नेछन् र अलिअलि गर्दै आराम महसुस गर्न थाल्नेछन् …

तलका खण्डहरू पनि अय्यूबसम्‍बन्धी विवरण हुन्। हामी पढ्दै जाऔं।

४. अय्यूबले कानको सुनाइद्वारा परमेश्‍वरको बारेमा सुन्छन्

अय्यूब ९:११ हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई दख्दिनँ: उहाँ जानुहुन्छ, तर म उहाँलाई देख्दिनँ।

अय्यूब २३:८-९ हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्‍न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ, तर म उहाँलाई देख्‍न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ।

अय्यूब ४२:२-६ मलाई थाहा छ तपाईंले सबै थोक गर्न सक्‍नुहुन्छ, अनि तपाईंदेखि कुनै पनि विचारलाई लुकाउन सकिन्‍न। कसले ज्ञानविना सल्लाहलाई लुकाउँछ? यसैले मैले नबुझ्‍ने कुरा मैले बोलेको छु; मेरो निम्ति अत्यन्तै अचम्मका कुराहरू, जुन मलाई थाहा थिएन। सुन्‍नुहोस्, म तपाईंलाई बिन्ती गर्छु, अनि म बोल्‍नेछु: म तपाईंसँग माग गर्छु र तपाईंलाई मतर्फ घोषणा गर्छु। मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले नै तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्‍चात्ताप गर्छु।

परमेश्‍वरले आफैलाई अय्यूबको सामु प्रकट नगर्नुभएको भए पनि, अय्यूबले परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास गर्छन्

यी वचनहरूले जोड दिएको कुरा के हो? यसमा एउटा तथ्य छ भन्‍ने कुरा तिमीहरू कसैलाई थाहा छ? सर्वप्रथम, अय्यूबले परमेश्‍वर हुनुहुन्छ भनेर कसरी थाहा पाए? अनि, परमेश्‍वरले नै स्वर्ग, पृथ्वी र सबै थोकमाथि शासन गर्नुहुन्छ भनी तिनले कसरी जाने? यो एउटा खण्डले यी दुई प्रश्‍नको उत्तर दिन्छ: “मेरो कानको सुनाइद्वारा मैले तपाईंको बारेमा सुनेको छु: तर अब मेरो आँखाले नै तपाईंलाई देख्छ। म किन आफैलाई घृणा गर्छु, अनि धुलो र खरानीमा पश्‍चात्ताप गर्छु।” यी वचनहरूबाट हामी के सिक्छौं भने परमेश्‍वरलाई आफ्नै आँखाले देख्‍नुको सट्टा अय्यूबले परमेश्‍वरबारे किंवदन्तीहरूबाट जानेका थिए। यिनै परिस्थितिमा तिनी परमेश्‍वरलाई पछ्याउने मार्गमा हिँड्न थाले, अनि पछि तिनले आफ्नो जीवनलगायत सबै कुरामा परमेश्‍वरको अस्तित्व भएको पुष्टि गरे। यहाँ एउटा इन्कार गर्न नसकिने तथ्य छ—त्यो के हो त? परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा लाग्‍न सके पनि अय्यूबले परमेश्‍वरलाई कहिल्यै देखेका थिएनन्। यस कुरामा तिनी आजका मानिसजस्तै थिएनन् र? अय्यूबले कहिल्यै परमेश्‍वरलाई देखेका थिएनन्, यसको अर्थ, तिनले परमेश्‍वरबारे सुनेको भए पनि, परमेश्‍वर कहाँ हुनुहुन्छ वा परमेश्‍वर कस्तो हुनुहुन्छ वा परमेश्‍वरले के गर्दै हुनुहुन्छ भन्‍ने कुरा तिनलाई थाहा थिएन। यी सबै व्यक्तिपरक कुराहरू हुन्; वस्तुपरक रूपमा भन्‍नुपर्दाचाहिँ, तिनले परमेश्‍वरलाई पछ्याएको भए पनि परमेश्‍वर कहिल्यै तिनको अघि देखा पर्नुभएन वा तिनीसँग बोल्नुभएन। के यो तथ्य होइन र? परमेश्‍वरले अय्यूबसँग बोल्‍नुभएको वा तिनलाई कुनै आज्ञा दिनुभएको थिएन, तैपनि अय्यूबले परमेश्‍वरको अस्तित्व र सबै कुरामाथि रहेको उहाँको सार्वभौमिकतालाई देखेका थिए, र अय्यूबले कानको सुनाइमार्फत परमेश्‍वरबारे किंवदन्तीहरूबाट थाहा पाएपछि परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने जीवन बिताउन थालेका थिए। अय्यूबले परमेश्‍वरलाई पछ्याउने कार्यको सुरुवात र प्रक्रिया यही थियो। तर तिनले परमेश्‍वरको जति नै भय माने पनि र दुष्टताबाट जति नै अलग बसे पनि, आफ्नो निष्ठामा जति नै अडिग भए पनि, परमेश्‍वर अझै तिनीकहाँ देखा पर्नुभएन। हामी यो खण्ड पढौं। तिनले भने, “हेर्नुहोस्, उहाँ मेरो छेउबाट हिँड्नुहुन्छ, र म उहाँलाई दख्दिनँ: उहाँ जानुहुन्छ, तर म उहाँलाई देख्दिनँ” (अय्यूब ९:११)। यी वचनहरूको अर्थ के हो भने अय्यूबले आफ्नो वरिपरि परमेश्‍वरको अनुभव गरेका हुन पनि सक्छ वा नहुन पनि सक्छ—तर तिनले परमेश्‍वरलाई कहिल्यै पनि देख्‍न सकेका थिएनन्। कहिलेकहीँ तिनले परमेश्‍वर आफ्नो अघिअघि जानुभएको, वा उहाँले काम गर्नुभएको, वा मानिसलाई अगुवाइ गर्नुभएको कल्पना गर्थे, तर त्यस्तो घटना घटेको तिनले कहिल्यै थाहा पाएनन्। परमेश्‍वर मानिसकहाँ त्यसबेला आउनुहुन्छ जब उसले आशा गरेको हुँदैन; परमेश्‍वर कहिले आफूकहाँ आउनुहुन्छ वा कहाँ उसको सामु आउनुहुन्छ सो उसलाई थाहा हुँदैन, किनकि मानिसले परमेश्‍वरलाई देख्‍न सक्दैन, यसैले मानिसको लागि परमेश्‍वर ऊबाट लुक्‍नुभएको हुन्‍छ।

परमेश्‍वर अय्यूबबाट लुक्‍नुभएको तथ्यले उहाँमाथिको तिनको विश्‍वास हल्लिएन

त्यसपछि, तलको धर्मशास्‍त्रको खण्डमा, अय्यूब भन्छन्, “हेर्नुहोस्, म अगाडि बढ्छु तर उहाँ त्यहाँ हुनुहुन्‍न; अनि पछाडि फर्कन्छु, तर उहाँलाई देख्दिनँ: देब्रे हातपट्टि, जहाँ उहाँ काम गर्नुहुन्छ, तर म उहाँलाई देख्‍न सक्दिनँ: मैले नदेखूँ भनेर उहाँले आफैलाई दाहिने हातपट्टि लुकाउनुहुन्छ” (अय्यूब २३:८-९)। यस विवरणमा हामी के थाहा पाउछौं भने अय्यूबको अनुभवमा परमेश्‍वर पूर्ण रूपमा तिनीबाट लुक्‍नुभएको थियो; परमेश्‍वर खुल्लमखुल्ला तिनीकहाँ देखा पर्नुभएको थिएन, न त उहाँले तिनीसँग खुल्लमखुल्ला कुनै वचन नै बोल्नुभएको थियो, तर पनि अय्यूब आफ्नो हृदयमा परमेश्‍वरको अस्तित्वप्रति विश्‍वस्त थिए। तिनले सधैँ परमेश्‍वर तिनको अघिअघि हिँडिरहनुभएको हुन सक्छ, वा तिनको छेउमा काम गरिरहनुभएको हुन सक्छ, र तिनले परमेश्‍वरलाई देख्‍न नसके पनि परमेश्‍वर तिनको छेउमा हुनुहुन्छ, र तिनीसँग सम्‍बन्धित सबथोक सञ्‍चालन गर्दै हुनुहुन्छ भन्‍ने विश्‍वास गर्थे। अय्यूबले कहिल्यै परमेश्‍वरलाई देखेका थिएनन्, तर तिनी आफ्नो विश्‍वासमा दृढ रहन सक्षम थिए, जुन अरू कनै पनि व्यक्तिले गर्न सकेन। किन अरू मानिसले त्यसो गर्न सकेनन्? किनकि परमेश्‍वर अय्यूबसँग बोल्नुभएन वा तिनको सामु देखा पर्नुभएन, र यदि तिनले साँच्‍चै विश्‍वास नगरेको भए तिनी निरन्तर त्यसो गरिरहन सक्‍नेथेनन्, न त तिनी परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा नै लागिरहन नै सक्थे। के यो सत्य होइन? जब तँ अय्यूबले भनेका यी वचनहरू पढ्छस् तब तँलाई कस्तो लाग्छ? के तँलाई अय्यूबको सिद्धता र सोझोपन र परमेश्‍वरको सामु तिनको धार्मिकता साँचो हो, र परमेश्‍वरको तर्फबाट भएको अतिशयोक्ति होइन भन्‍ने लाग्छ? परमेश्‍वरले अय्यूबलाई अन्य मानिसहरूलाई जस्तै व्यवहार गर्नुभयो र तिनको सामु देखा पर्नुभएन वा कुरा गर्नुभएन, तैपनि अय्यूब अझै पनि आफ्नो निष्ठामा अडिग रहे, तिनले अझै पनि परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास राखे र यसबाहेक, परमेश्‍वरलाई चिढ्याउँछु कि भन्‍ने डरको कारण तिनले बारम्बार होमबलि चढाए र परमेश्‍वरलाई प्रार्थना गरे। परमेश्‍वरलाई नदेखे पनि उहाँको भय मान्‍ने अय्यूबको क्षमतामा, हामी तिनले सकारात्मक कुराहरूलाई कति धेरै प्रेम गर्थे, र तिनको विश्‍वास कति दृढ र वास्तविक थियो भन्‍ने कुरा देख्छौं। तिनले परमेश्‍वर तिनीबाट लुक्‍नुभयो भन्दैमा परमेश्‍वरको अस्तित्वलाई इन्कार गरेनन्, न त परमेश्‍वरलाई कहिल्यै नदेखेको कारण आफ्नो विश्‍वास नै गुमाए र परमेश्‍वरलाई नै त्यागे। बरु, सबै थोकमाथि शासन गर्ने परमेश्‍वरको लुकेको कामको माझमा तिनले परमेश्‍वरको अस्तित्वलाई बुझेका र परमेश्‍वरको सार्वभौमिकता र शक्ति महसुस गरेका थिए। परमेश्‍वरलाई नदेखे पनि तिनी सोझो हुन छाडेनन्, न त परमेश्‍वर तिनको अगाडि कहिल्यै देखा नपर्नुभएको कारणले नै तिनले परमेश्‍वरको भय मान्‍ने र दुष्टाबाट अलग बस्‍ने मार्गलाई नै त्यागे। परमेश्‍वर आफ्नो अस्तित्व प्रमाणित गर्न तिनको अघि देखा परून् भनेर अय्यूबले कहिल्यै अनुरोध गरेनन्, किनकि तिनले सबै थोकमाथिको परमेश्‍वरको सार्वभौमिकतालाई देखिसकेका थिए र अरूले प्राप्त नगरेका आशिष्‌ र अनुग्रह आफूले प्राप्त गरेको छु भन्‍ने तिनलाई विश्‍वास थियो। परमेश्‍वर तिनीबाट लुक्‍नुभएको भए पनि परमेश्‍वरमाथिको तिनको विश्‍वास कहिल्यै डगमगाएन। यसैले, तिनले अरू कसैले नपाएको फल अर्थात् परमेश्‍वरको अनुमोदन र परमेश्‍वरको आशिष् प्राप्त गरे।

अय्यूब परमेश्‍वरको नाउँलाई धन्यको भन्छन् र आशिष्‌ वा विपत्तिबारे सोच्दैनन्

धर्मशास्‍त्रमा भएका अय्यूबका कथाहरूमा कहीँ पनि उल्लेख नभएको एउटा तथ्य छ, र आज हामी यही तथ्यमा ध्यान केन्द्रित गर्नेछौं। अय्यूबले कहिल्यै पनि आफ्‍नै आँखाले परमेश्‍वरलाई देखेका वा आफ्नै कानले परमेश्‍वरका वचनहरू सुनेका थिएनन्, तैपनि अय्यूबको हृदयमा परमेश्‍वरको स्थान थियो। परमेश्‍वरप्रति अय्यूबको मनोवृति कस्तो थियो? यो “यहोवाको नाउँको प्रशंसा होस्” भनेर पहिले उल्‍लेख गरिएजस्तै थियो। तिनले विनासर्त, जस्तोसुकै परिस्थिति भए पनि र कुनै तर्कको बन्धनमा नबाँधिई परमेश्‍वरको नाउँलाई धन्यको भने। हामी देख्छौं कि अय्यूबले आफ्नो हृदय परमेश्‍वरलाई दिएका थिए, र त्यसलाई परमेश्‍वरद्वारा नियन्त्रित हुन दिएका थिए; तिनका सबै सोच, सबै निर्णय, र तिनले आफ्नो हृदयमा बनाएका सबै योजना परमेश्‍वरको अघि खुला रूपमा राखिएका थिए, र ती कुराहरू परमेश्‍वरबाट लुकाइएका थिएनन्। तिनको हृदय परमेश्‍वरको विरोधमा उभिएको थिएन, र तिनले परमेश्‍वरसँग कहिल्यै पनि आफ्नो निम्ति केही गर्न वा दिन आग्रह गरेनन्, र परमेश्‍वरको आराधनाबाट सबै कुरा प्राप्त गर्ने अनावश्यक चाहना राखेनन्। अय्यूबले परमेश्‍वरसँग व्यापारको कुरा गरेनन्, र कुनै बिन्ती वा मागहरू गरेनन्। तिनले परमेश्‍वरको नाउँको प्रशंसा गर्नुको कारण सबै थोकमाथि शासन गर्ने परमेश्‍वरको महान् शक्ति र अख्तियार थियो, र त्यो तिनले आशिष्‌ पाएको वा विपत्तिले प्रहार गरेको कुरामा निर्भर थिएन। परमेश्‍वरले मानिसहरूलाई आशिष्‌ दिनुभए पनि वा तिनीहरूमाथि विपत्ति ल्याउनुभए पनि, उहाँको शक्ति र अख्तियार परिवर्तन हुँदैन, यसैले कुनै व्यक्तिका परिस्थितिहरू जस्तोसुकै भए पनि परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ भन्‍ने तिनलाई विश्‍वास थियो। परमेश्‍वरको सार्वभौमिकताको कारण मानिसले परमेश्‍वरबाट आशिष्‌ पाउँछ, र जब मानिसमाथि विपत्ति आइलाग्‍छ, त्यो पनि परमेश्‍वरको सार्वभौमिकताकै कारणले हुन्छ। परमेश्‍वरको शक्ति र अख्तियारले मानिसको सम्बन्धमा सबै कुराको शासन र प्रबन्ध गर्छन्; मानिसको नियतिका परिवर्तनहरू परमेश्‍वरको शक्ति र अख्तियारकै प्रकटीकरण हुन्, र व्यक्तिको दृष्टिकोण जस्तोसुकै भए पनि परमेश्‍वरको नाउँको प्रशंसा गरिनुपर्छ। अय्यूबले आफ्‍नो जीवनकालमा अनुभव गरेको र थाहा पाएको कुरा यही हो। अय्यूबका सबै विचार र कार्य परमेश्‍वरको कानमा परे र उहाँसामु आइपुगे, र उहाँले त्यसलाई महत्त्वपूर्ण कुराको रूपमा हेर्नुभयो। परमेश्‍वरले अय्यूबको यो ज्ञानको कदर गर्नुभयो, र त्यस्तो हृदय भएकोमा अय्यूबलाई मूल्यवान् ठान्‍नुभयो। त्यो हृदयले सधैँ परमेश्‍वरको आज्ञा पर्खन्थ्यो र जुनसुकै समय वा ठाउँ भए पनि आफूमाथि आइपरेको हर कुराको स्वागत गर्थ्यो। अय्यूबले परमेश्‍वरसँग कुनै माग राखेनन्। तिनले परमेश्‍वरबाट आएका सबै प्रबन्धहरूको प्रतीक्षा, स्वीकार, सामना, र पालन गर्ने मापदण्ड आफ्नै लागि तय गरे; तिनले त्यसो गर्नु आफ्नो कर्तव्य हो भन्‍ने विश्‍वास गरे, र परमेश्‍वर पनि ठीक त्यस्तै चाहनुहुन्थ्यो। अय्यूबले कहिल्यै पनि परमेश्‍वरलाई देखेका थिएनन्, न त तिनले उहाँले कुनै वचन बोल्नुभएको, कुनै आदेश जारी गर्नुभएको, कुनै शिक्षा दिनुभएको वा तिनलाई निर्देशन दिनुभएको नै सुनेका थिए। आजका शब्दमा भन्‍नुपर्दा, परमेश्‍वरले सत्यताको सम्बन्धमा तिनलाई कुनै अन्तर्दृष्टि, मार्गनिर्देशन वा भरणपोषण प्रदान नगर्नुभएको अवस्थामा पनि, तिनमा परमेश्‍वरप्रतिको त्यस्तो ज्ञान र मनोवृति हुनु बहुमूल्य कुरा थियो, र तिनले त्यस्तो कुरा प्रकट गर्नु परमेश्‍वरका लागि पर्याप्त थियो, र तिनको गवाहीलाई परमेश्‍वरले प्रशंसा र कदर गर्नुभयो। अय्यूबले कहिल्यै परमेश्‍वरलाई देखेका वा परमेश्‍वरले आफूलाई व्यक्तिगत तवरमा कुनै शिक्षा दिनुभएको सुनेका थिएनन्, तर परमेश्‍वरका निम्ति तिनको हृदय र तिनी स्वयम्‌ ती सबै व्यक्तिहरूभन्दा धेरै बहुमूल्य थिए जो परमेश्‍वरको सामु गहन सिद्धान्तको हिसाबमा मात्र कुरा गर्न सक्थे, जसले केवल बलिदानहरू चढाएका कुराहरूको गफ लाउन र घमन्ड गर्न सक्थे, जोसँग परमेश्‍वरबारे कहिल्यै पनि साँचो ज्ञान थिएन, र जो कहिल्यै पनि परमेश्‍वरको भय मान्दैनथे। किनभने अय्यूबको हृदय शुद्ध र परमेश्‍वरबाट लुकेको थिएन, र तिनको मानवता इमानदार र दयालु थियो, र तिनले न्याय र सकारात्मक कुरालाई प्रेम गर्थे। यस्तो हृदय र मानवता भएको मानिसले मात्र परमेश्‍वरको मार्ग अनुसरण गर्न सक्थ्यो, र परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्थ्यो। त्यस्तो व्यक्तिले परमेश्‍वरको सार्वभौमिकतालाई देख्‍न सक्थ्यो, उहाँको अख्तियार र शक्तिलाई देख्‍न सक्थ्यो, र उहाँको सार्वभौमिकता र प्रबन्धहरूप्रतिको आज्ञापालन हासिल गर्न सक्थ्यो। केवल त्यस्तो मानिसले मात्र परमेश्‍वरको नाउँको प्रशंसा गर्न सक्थो। किनकि परमेश्‍वरले तिनलाई आशिष् दिनुहुन्छ कि तिनीमाथि विपत्ति ल्याउनुहुन्छ भन्‍ने कुरालाई तिनले हेरेनन्; किनकि सबै कुरा परमेश्‍वरकै हातले नियन्त्रण गर्छ, र मानिसले चिन्ता गर्नु भनेको मूर्खता, अज्ञानता र तर्कहीनताको सङ्केत हो, सबै कुरामा परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तथ्यमा शङ्का गर्नुको सङ्केत हो र परमेश्‍वरसँग नडराउनुको सङ्केत हो भन्‍ने तिनी जान्दथे। अय्यूबको ज्ञान परमेश्‍वरले चाहनुभएको जस्तै थियो। त्यसो भए, के अय्यूबसँग परमेश्‍वरबारे तिमीहरूमा भन्दा बढी सैद्धान्तिक ज्ञान थियो? त्यस समयमा परमेश्‍वरका काम र वाणीहरू थोरै थिए, त्यसकारण परमेश्‍वरको ज्ञान प्राप्त गर्नु सजिलो कुरा थिएन। अय्यूबले त्यस्तो उपलब्धि हासिल गर्नु निकै ठूलो कुरा थियो। तिनले परमेश्‍वरको कामको अनुभव गरेका थिएनन्, तिनले न त उहाँ बोल्नुभएको सुनेका थिए, न त परमेश्‍वरको अनुहार नै देखेका थिए। परमेश्‍वरप्रति तिनले त्यस्तो मनोवृति अँगाल्न सक्षम हुनुको कारण पूर्णतया तिनको मानवता र तिनको व्यक्तिगत खोजी नै थियो, जुन मानवता र खोजी आजका मानिसहरूमा छैनन्। त्यसैल त त्यो युगमा परमेश्‍वरले भन्‍नुभयो, “तिनी जस्तो सिद्ध र सोझो, पृथ्वीमा कोही पनि छैन।” त्यो युगमा परमेश्‍वरले तिनको बारेमा पहिले नै त्यस्तो मूल्याङ्कन गरिसक्‍नुभएको थियो, र त्यस्तै निष्कर्षमा पुगिसक्‍नुभएको थियो। आज त्यो अझ कति सत्य हुन्थ्यो होला?

परमेश्‍वर मानिसबाट लुक्‍नुभएको भए पनि, सबै थोकमाझ भएका उहाँका कामहरू नै उहाँलाई जान्‍नका निम्ति पर्याप्त छन्

अय्यूबले परमेश्‍वरको अनुहार देखेका वा परमेश्‍वरले बोल्नुभएका वचनहरू सुनेका थिएनन्, व्यक्तिगत रूपमा तिनले परमेश्‍वरको कामको अनुभव गर्ने त कुरै नगरौं। यद्यपि तिनका परीक्षाहरूको समयमा परमेश्‍वरप्रतिको तिनको भय र गवाहीलाई सबैले देखे, र ती कुरालाई परमेश्‍वरले मन पराउनुभयो, ती कुराप्रति उहाँ प्रसन्‍न हुनुभयो र ती कुरालाई उहाँले प्रशंसा गर्नुभयो, र मानिसहरूले तिनको ईर्ष्या गरे, र सराहना गरे, र त्योभन्दा पनि बढी तिनीहरूले तिनको प्रशंसा गरे। तिनको जीवनमा महान् वा असाधारण कुरा केही पनि थिएन: एउटा सामान्य व्यक्तिले जस्तै तिनले सामान्य जीवन जिउँथे, बिहान सूर्य उदाउँदा काम गर्न बाहिर जान्थे र सूर्य अस्ताएपछि आराम गर्न घर फर्कन्थे। फरक यति मात्र हो कि तिनको जीवनका अति सामान्य धेरै दशकहरूमा, तिनले परमेश्‍वरको मार्गबारे अन्तर्दृष्टि प्राप्त गरे, र अन्य कुनै व्यक्तिले कहिल्यै थाहा नपाएको परमेश्‍वरको महान् शक्ति र सार्वभौमिकताबारे थाहा पाए र बुझे। तिनी कुनै साधारण व्यक्तिभन्दा चतुर थिएनन्, तिनको जीवन खासै कठोर थिएन, र यसबाहेक तिनीसँग कुनै विशेष सीप पनि थिएन। तर तिनमा यस्तो व्यक्तित्व थियो जुन इमानदार, दयालु र सोझो थियो, यस्तो व्यक्तित्व जसले निष्पक्षता, धार्मिकता र सकारात्मक कुराहरू मन पराउँथ्यो—यस्ता कुनै पनि कुरा साधारण मानिसहरूमा हुँदैनन्। तिनले प्रेम र घृणाबीच भिन्‍नता छुट्याउँथे, तिनमा न्यायको बोध थियो, तिनी नझुक्‍ने र दृढ थिए, र आफ्नो सोचविचारमा विस्तृत सावधानी आपनाउँथे। यसरी पृथ्वीमा बितेको आफ्नो साधारण समयमा तिनले परमेश्‍वरले गर्नुभएका सबै असाधारण कामहरू देखे, र परमेश्‍वरको महानता, पवित्रता र धार्मिकता देखे, र मानिसका निम्ति परमेश्‍वरको चासो, अनुग्रह र सुरक्षा देखे, र सर्वोच्‍च परमेश्‍वरको सम्माननीयता र अख्तियार देखे। कुनै पनि सामान्य मानिसले प्राप्त गर्न नसक्‍ने यी कुराहरू अय्यूबले प्राप्त गर्न सक्‍नुको पहिलो कारण तिनमा एउटा शुद्ध हृदय हुनु, र तिनको हृदय परमेश्‍वरको स्वामित्वमा र सृष्टिकर्ताद्वारा डोर्‍याइएको अवस्थामा हुनु थियो। दोस्रो कारण तिनको खोजी थियो: तिनले निर्दोष र सिद्ध हुनेबारेमा खोजी गरे, र स्वर्गको इच्छा पालन गर्ने, परमेश्‍वरद्वारा प्रेम गरिएको र दुष्टताबाट अलग बस्‍ने व्यक्ति बन्‍नेबारेमा खोजी गरे। परमेश्‍वरलाई देख्‍न वा परमेश्‍वरका वचनहरू सुन्‍न नसकेका बेला तिनमा यी कुराहरू थिए र तिनी यिनै कुराका पछि लागे। तिनले परमेश्‍वरलाई कहिल्यै नदेखेका भए पनि, परमेश्‍वरले जुन साधनहरूमार्फत सबै थोकमाथि शासन गर्नुहुन्छ ती साधनहरूको बारेमा तिनले जानेका, र परमेश्‍वरले जुन बुद्धिमार्फत त्यस्तो शासन गर्नुहुन्छ त्यो बुद्धिलाई बुझेका थिए। तिनले परमेश्‍वरले बोल्नुभएका वचनहरू कहिल्यै पनि नसुनेका भए पनि, मानिसलाई दिने र मानिसबाट फिर्ता लिने सबै काम परमेश्‍वरबाटै हुन्छ भनी तिनले जानेका थिए। तिनको जीवनका वर्षहरू कुनै साधारण व्यक्तिको भन्दा फरक नभएका भए पनि, तिनले आफ्नो जीवनको सामान्यताद्वारा परमेश्‍वरको सबै कुरामाथिको सार्वभौमिकतासम्बन्धी तिनको ज्ञानमा असर पर्न, वा उहाँको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको अनुसरण गर्ने कार्य प्रभावित हुन दिएनन्। तिनको नजरमा, सबै थोकका नियमहरू परमेश्‍वरका कार्यहरूले भरिएका थिए, र परमेश्‍वरको सार्वभौमिकतालाई व्यक्तिको जीवनको जुनसुकै भागमा देख्‍न सकिन्थ्यो। तिनले परमेश्‍वरलाई देखेका थिएनन्, तर तिनले परमेश्‍वरका कामहरू जताततै छन् भनी बुझ्न सके र पृथ्वीमा बितेको तिनको अति सामान्य समयमा तिनले आफ्नो जीवनको हरेक कुनामा परमेश्‍वरका असाधारण र अचम्मका कामहरू देख्‍न र महसुस गर्न सके, र तिनले परमेश्‍वरको अचम्मका प्रबन्धहरू देख्‍न सके। परमेश्‍वरको लुप्तपन र मौनताले अय्यूबलाई उहाँको काम बुझ्न बाधा दिएनन्, न त ती कुराले सबै कुरामाथि परमेश्‍वरको सार्वभौमिकता छ भन्‍ने तिनको ज्ञानलाई नै प्रभावित गरे। तिनको जीवन, तिनको दैनिक जीवनको अवधिमा, सबै थोकहरूमाझ लुक्‍नुभएका परमेश्‍वरका सार्वभौमिकता र प्रबन्धहरूको साकार रूप थियो। परमेश्‍वर सबै कुराको माझमा मौन रहनुभएर पनि उहाँले सबै कुराका नियमहरू सञ्‍चालन गर्दै उहाँको हृदयको आवाज र उहाँका वचनहरू व्यक्त गर्नुहुन्छ, र अय्यूबले आफ्नो दैनिक जीवनमा परमेश्‍वरको हृदयको त्यो आवाज र परमेश्‍वरका ती वचनहरू सुने र बुझे। यसैले तिमीहरू देख्‍न सक्छौ कि यदि मानिसहरूमा अय्यूबको जस्तै मानवता र खोजी छन् भने तिनीहरूले पनि अय्यूबले जस्तै अनुभूति र ज्ञान प्राप्त गर्न सक्छन्, अनि परमेश्‍वरको सबै थोकमाथिको सार्वभौमिकताबारे अय्यूबले जस्तै बुझाइ र ज्ञान प्राप्त गर्न सक्छन्। परमेश्‍वर अय्यूबको सामु देखा पर्नुभएको वा तिनीसँग बोल्नुभएको थिएन, तैपनि तिनी सिद्ध र सोझो हुन, अनि परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सके। अर्को शब्दमा भन्दा, परमेश्‍वर मानिसको सामु देखा पर्नु वा बोल्नुभएन भने पनि सबै थोकमाझ परमेश्‍वरले गर्नुभएका कामहरू र उहाँको सबै थोकमाथिको सार्वभौमिकता नै परमेश्‍वरको अस्तित्व, शक्ति र अख्तियारको बारेमा सचेत रहन मानिसका निम्ति पर्याप्त हुन्छ, र परमेश्‍वरको शक्ति र अख्तियार नै मानिसलाई परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गको अनुसरण गर्न लगाउन पर्याप्त हुन्छ। अय्यूबजस्ता साधारण व्यक्तिले परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग रहन सके भने, परमेश्‍वरलाई पछ्याउने प्रत्येक साधारण व्यक्तिले पनि त्यसो गर्न सक्‍नुपर्छ। यी शब्दहरू तार्किक अनुमान जस्तो लाग्‍न सक्‍ने भए पनि यस कुराले कामकुराका नियमहरू उल्लङ्घन गर्दैन। यद्यपि, तथ्यहरू अपेक्षाहरूसँग मेल खाएका छैनन्: परमेश्‍वरको भय मान्‍नु र दुष्टताबाट अलग बस्‍नु, यो केवल अय्यूबका लागि मात्र आरक्षण गरिएको कुरा हो जस्तो देखिन्छ। “परमेश्‍वरको भय मान्‍नु र दुष्टताबाट अलग बस्‍नु” भनेर उल्‍लेख गर्नेबित्तिकै मानिसहरूले यो केवल अय्यूबले मात्र गर्नुपर्ने कुरा हो भन्‍ने सोच्छन्, मानौं परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने कुरामा अय्यूबको लेबल टाँसिएको छ र अरू मानिससँग त्यसको केही सम्बन्ध छैन। यसको कारण स्पष्ट छ: अय्यूबसँग मात्र त्यस्तो व्यक्तित्व थियो जुन इमानदार, दयालु र सोझो थियो, र जसले निष्पक्षता, धार्मिकता र सकारात्मक कुरालाई प्रेम गर्थ्यो, त्यसैले अय्यूब मात्र परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा हिँड्न सके। तिमीहरूले यहाँ इङ्गित अर्थलाई बुझेको हुनुपर्छ—किनकि इमानदार, दयालु र सोझो मानवता भएको, निष्पक्षता र धार्मिकतालाई प्रेम गर्ने, र सकारात्मक मानवता भएको कोही पनि नभएको हुनाले कसैले पनि परमेश्‍वरको भय मान्दैन र कोही पनि दुष्टताबाट अलग बस्‍न सक्दैन, र त्यसकारण मानिसहरूले परीक्षाहरूमाझ कहिल्यै पनि परमेश्‍वरको आनन्द प्राप्त गर्न वा दृढ भएर खडा हुन सक्दैन। यसको अर्थ यो पनि हो कि अय्यूबबाहेकका सबै मानिस अझै पनि शैतानद्वारा बाँधिएका र त्यसको पासोमा छन्; तिनीहरू सबैलाई यसले दोषारोपण, आक्रमण र दुर्व्यवहार गर्छ। तिनीहरू सबैलाई शैतानले निल्न खोज्छ, र तिनीहरू सबै स्वतन्त्रताविहीन छन्, र तिनीहरू शैतानले बन्दी बनाएका कैदीहरू हुन्।

यदि मानिसको हृदयमा परमेश्‍वरप्रति दुस्मनी छ भने, उसले कसरी परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सक्छ?

आजका मानिसहरूसँग अय्यूबको जस्तै मानवता नभएको हुनाले, तिनीहरूको प्रकृति सार, र परमेश्‍वरप्रति तिनीहरूको मनोवृति कस्तो हुन्छ? के तिनीहरू परमेश्‍वरसित डराउँछन्? के तिनीहरू दुष्टताबाट अलग बस्छन्? जो परमेश्‍वरसँग डराउँदैनन् वा दुष्टताबाट अलग बस्‍दैनन्, तिनीहरूलाई दुई शब्दमा व्याख्या गर्न सकिन्छ: “परमेश्‍वरका शत्रुहरू”। तिमीहरूले प्रायजसो यी दुई शब्द बोल्छौ, तर कहिल्यै पनि त्यसको वास्तविक अर्थ जानेका छैनौ। “परमेश्‍वरका शत्रुहरू” भन्‍ने शब्दहरूमा सार छ: यी शब्‍दहरूले मानिसलाई परमेश्‍वरले शत्रुको रूपमा हेर्नुहुन्छ भनेर भन्दैनन्, बरु मानिसले परमेश्‍वरलाई शत्रुको रूपमा हेर्छ भनेर भन्छन्। सर्वप्रथम, जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थाल्छन्, तीमध्ये कोसँग चाहिँ आफ्नै उद्देश्य, प्रेरणा र महत्त्वाकाङ्क्षाहरू हुँदैनन्? तिनीहरूको एक भागले परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने र उहाँको अस्तित्वलाई देख्‍ने भए पनि, उहाँमाथिको तिनीहरूको विश्‍वासमा अझै पनि ती अभिप्रायहरू हुन्छन्, र उहाँमा विश्‍वास गर्नुको तिनीहरूको अन्तिम लक्ष्य उहाँको आशिष्‌ र आफूले चाहेको कुरा प्राप्त गर्नु रहेको हुन्छ। मानिसहरूले जीवन अनुभवहरू गर्ने क्रममा प्रायजसो मनमनै सोच्ने गर्छन्: “मैले परमेश्‍वरका लागि आफ्नो परिवार र जागिर छोडेको छु, तर उहाँले चाहिँ मलाई के दिनुभएको छ र? मैले यसमा थप्‍नुपर्छ, र यसलाई पुष्टि गर्नुपर्छ—के मैले हालसालै कुनै आशिष्‌ पाएको छु र? यस समयमा मैले धेरै थोक दिएको छु, धेरै दौडधूप गरेको छु, र धेरै दुःख भोगेको छु—के त्यसको सट्टामा परमेश्‍वरले मेरो लागि कुनै प्रतिज्ञा गर्नुभएको छ? के उहाँले मेरा असल कामहरू याद गर्नुभएको छ? मेरो अन्त्य कस्तो हुनेछ? के म परमेश्‍वरको आशिष् पाउन सक्छु? …” प्रत्येक व्यक्तिले निरन्तर आफ्नो हृदयभित्र यस्तो हिसाबकिताब गर्ने गर्छ, र तिनीहरूले आफ्‍ना अभिप्राय, महत्त्वाकाङ्क्षा र लेनदेनको मानसिकताले भरिएका मागहरू परमेश्‍वरसँग गर्छन्। भन्‍नुको अर्थ, मानिसले आफ्नो हृदयमा निरन्तर परमेश्‍वरको जाँच गरिरहेको हुन्छ, परमेश्‍वरबारे निरन्तर योजनाहरू बनाइरहेको हुन्छ, उसको आफ्नै व्यक्तिगत उद्देश्यका लागि निरन्तर परमेश्‍वरसँग तर्क गरिरहेको हुन्छ, र उसले चाहेको कुरा परमेश्‍वरले दिन सक्‍नुहुन्छ कि सक्‍नुहुन्‍न भनी हेर्नलाई परमेश्‍वरबाट अभिव्यक्ति निकाल्ने कोसिस गरिरहेको हुन्छ। परमेश्‍वरको पछि लाग्‍ने क्रममा, मानिसले परमेश्‍वरलाई परमेश्‍वरजस्तो व्यवहार गर्दैन। मानिसले जहिले पनि उहाँसँग सौदाबाजी गर्ने कोसिस गरेको छ, निरन्तर उहाँसँग मागहरू गरेको छ, र उसलाई औँलो दिँदा डुँडुलो निल्‍ने कोसिस गर्दै हरेक पाइलामा उहाँलाई दबाब दिएको छ। मानिसले परमेश्‍वरसँग सौदाबाजी गर्ने क्रममा उहाँसँग तर्क पनि गर्ने गर्छ, र कति मानिसहरू त यस्ता पनि छन्, जो आफूमाथि परीक्षाहरू आइलाग्दा वा आफूले कुनै विशेष परिस्थितिको सामना गर्नुपर्दा, आफ्नो काममा कमजोर, निष्क्रिय र सुस्त हुन्छन्, र परमेश्‍वरबारे गुनासैगुनासो गर्छन्। मानिसले पहिलोपटक परमेश्‍वरमा विश्‍वास गर्न थालेको समयदेखि नै उसले परमेश्‍वरलाई प्रशस्तताको स्रोत, र हर समस्याको समाधान ठानेको छ र उसले आफूलाई परमेश्‍वरको सबैभन्दा ठूलो ऋणदाता ठानेको छ, मानौं परमेश्‍वरबाट आशिष्‌ र प्रतिज्ञाहरू प्राप्त गर्न खोज्नु उसको जन्मजात अधिकार र कर्तव्य हो, र परमेश्‍वरको जिम्मेवारीचाहिँ मानिसको सुरक्षा र वास्ता गर्नु अनि उसको निम्ति प्रबन्ध गरिदिनु हो। “परमेश्‍वरमाथिको विश्‍वास” बारे उहाँमा विश्‍वास गर्नेहरू सबैको आधारभूत बुझाइ यही हो, र यही नै परमेश्‍वरमाथिको विश्‍वासको अवधारणाबारे तिनीहरूको सबैभन्दा गहन बुझाइ पनि हो। मानिसको प्रकृति सारदेखि उसको व्यक्तिपरक खोजसम्म, कुनै कुरा पनि परमेश्‍वरको भयसँग सम्बन्धित छैन। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसको उद्देश्य र उसले गर्ने परमेश्‍वरको आराधनाको बीचमा सम्भवतः कुनै सम्बन्ध छैन। भन्‍नुको अर्थ, परमेश्‍वरमा विश्‍वास गर्दा उहाँको भय मान्‍नु र आराधना गर्नु पनि आवश्यक छ भन्‍ने कुरा मानिसले न त कहिल्यै विचार गरेको न त बुझेको नै छ। यस्ता अवस्थाहरूलाई विचार गर्दा, मानिसको सार स्पष्ट हुन्छ। यो सार के हो त? यो यही हो कि मानिसको हृदय द्वेषपूर्ण छ, यसभित्र धोखा र छल हुन्छ, यसले निष्पक्षता र धार्मिकता र जे सकारात्मक छ त्यो मन पराउँदैन, र यो घृणित र लोभी हुन्‍छ। मानिसको हृदय परमेश्‍वरको निम्ति योभन्दा बढी बन्द हुन सक्दैन; उसले त्यो हृदय परमेश्‍वरलाई पटक्‍कै दिएको छैन। परमेश्‍वरले मानिसको साँचो हृदय कहिल्यै देख्‍नुभएको छैन, न त कहिल्यै मानिसद्वारा उहाँको आराधना नै भएको छ। परमेश्‍वरले जति नै ठूलो मोल तिर्नुभए पनि वा जति नै धेरै काम गर्नुभए पनि, वा मानिसका निम्ति जति नै धेरै प्रबन्ध गर्नु भए पनि, मानिस अन्धो नै रहन्छ र ती सबैप्रति पूर्ण रूपमा उदासीन भइदिन्छ। मानिसले आफ्नो हृदय परमेश्‍वरलाई कहिल्यै दिएको छैन, उसले केवल आफ्नै लागि आफ्नो हृदयलाई ध्यान दिन, र आफ्नै निर्णयहरू गर्न चाहन्छ—यसको अर्थ के हो भने, मानिसले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने बाटो पछ्याउन वा परमेश्‍वरको सार्वभौमिकता र प्रबन्धहरू पालन गर्न चाहँदैन, न त उसले परमेश्‍वरलाई परमेश्‍वरको रूपमा आराधना गर्न नै चाहन्छ। आज मानिसको स्थिति यस्तै छ। अब हामी फेरि अय्यूबलाई हेरौं। सबैभन्दा पहिला, के तिनले परमेश्‍वरसँग लेनदेन गरे? के परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने तिनको दृढ अडानको पछाडि तिनको कुनै अभिप्राय थियो? त्यस बेला, के परमेश्‍वरले कसैसँग आउनेवाला अन्त्यबारे कुरा गर्नुभएको थियो? त्यस बेला, परमेश्‍वरले कसैसँग पनि अन्त्यको बारेमा प्रतिज्ञा गर्नुभएन, र यही पृष्ठभूमिमा अय्यूबले परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्‍न सके। के आजका मानिसहरू अय्यूबको दाँजोमा खडा हुन सक्छन्? यसमा धेरै ठूलो असमानता छ; तिनीहरू फरक समूहमा पर्छन्। अय्यूबसँग परमेश्‍वरबारे त्यति धेरै ज्ञान नभएको भए पनि, तिनले आफ्नो हृदय परमेश्‍वरलाई दिएका थिए र तिनको हृदय परमेश्‍वरको स्वामित्वमा थियो। तिनले परमेश्‍वरसँग कहिल्यै पनि कुनै लेनदेन गरेनन्, र परमेश्‍वरप्रति तिनको कुनै उग्र चाहना वा मागहरू थिएनन्; बरु, तिनले “यहोवाले दिनुभयो र यहोवाले नै लानुभएको छ” भन्‍ने विश्‍वास गरे। आफ्‍नो जीवनको धेरै वर्षको अवधिमा परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गप्रति सच्‍चा रहेर तिनले यही देखेका र प्राप्त गरेका थिए। त्यसै गरी, तिनले यी वचनहरूले प्रतिनिधित्व गर्ने प्रतिफलहरू पनि प्राप्त गरेका थिए: “के हामीले परमेश्‍वरको हातबाट असल कुराचाहिँ ग्रहण गर्ने र दुष्टताचाहिँ ग्रहण नगर्ने?” यी दुई वाक्य तिनले जीवनको अनुभव गर्ने क्रममा परमेश्‍वरप्रतिको आफ्नो आज्ञाकारी मनोवृतिको परिणामस्वरूप देखेका र जानेका थिए, र यी कुरा तिनका सबैभन्दा शक्तिशाली हतियार थिए जसद्वारा तिनले शैतानका परीक्षाहरूमा विजय पाएका थिए, र यी कुरा नै परमेश्‍वरको गवाही दिन तिनी दृढ भएर खडा हुनुको आधार थिए। यस क्षणमा, के तिमीहरू अय्यूबलाई एक सानदार व्यक्तिको रूपमा कल्पना गर्छौ? के तिमीहरू त्यस्तो व्यक्ति बन्‍ने आशा गर्छौ? के तिमीहरू शैतानका परीक्षाहरूबाट गुज्रनुपर्छ कि भनी डराउँछौ? के तिमीहरू परमेश्‍वरसित आफूलाई पनि अय्यूबको जस्तै परीक्षाहरूमा पारिदिनुहोस् भनी प्रार्थना गर्ने सङ्कल्प गर्छौ? निस्सन्देह, धेरैजसो मानिसहरूले यस्ता कुराहरूका लागि प्रार्थना गर्ने आँट गर्दैनन्। त्यसैले यो स्पष्ट छ कि तिमीहरूको विश्‍वास अति नै सानो छ; अय्यूबको तुलनामा तिमीहरूको विश्‍वास उल्लेख गर्नु पनि अयोग्य छ। तिमीहरू परमेश्‍वरका शत्रु हौ, तिमीहरू परमेश्‍वरसँग डराउँदैनौ, तिमीहरू परमेश्‍वरप्रतिको आफ्नो गवाहीमा अडिग रहन सक्दैनौ, र तिमीहरू शैतानको आक्रमण, आरोप र परीक्षाहरूमाथि विजयी हुन सक्दैनौ। कुन कुराले तिमीहरूलाई परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्त गर्न योग्य बनाउँछ? अय्यूबको कथा सुनेपछि र मानिसलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय र मानिसको मुक्तिको अर्थ बुझिसकेपछि, के तिमीहरूसँग अब अय्यूबले जस्तै परीक्षाहरू स्वीकार गर्ने विश्‍वास छ? के तिमीहरू आफैले परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मार्गमा लाग्‍ने थोरै सङ्कल्प गर्नुपर्दैन र?

परमेश्‍वरका परीक्षाहरूबारे कुनै शङ्का नगर

अय्यूबको जाँच समाप्त भई तिनीबाट गवाही प्राप्त गरेपश्‍चात्, परमेश्‍वरले अय्यूबजस्ता मानिसहरूको एउटा समूह—वा एकभन्दा बढी समूहहरू—प्राप्त गर्ने सङ्कल्प गर्नुभयो, तर शैतानलाई फेरि आफूसित बाजी लगाएर अय्यूबका निम्ति प्रयोग गरिएको युक्तिद्वारा कुनै पनि व्यक्तिलाई परीक्षा, आक्रमण र दुर्व्यवहार गर्न नदिने दृढ सङ्कल्प गर्नुभयो। परमेश्‍वरले शैतानलाई फेरि कहिल्यै पनि मानिसमाथि त्यस्तो गर्ने अनुमति दिनुभएन—मानिस कमजोर, मूर्ख र अनजान छ, त्यसैले शैतानले अय्यूबलाई परीक्षा गर्नु नै काफी थियो! शैतानलाई त्यसले चाहेअनुसार मानिसहरूसित दुर्व्यवहार गर्न नदिनु परमेश्‍वरको कृपा हो। परमेश्‍वरका लागि, अय्यूबले शैतानको परीक्षा र दुर्व्यवहार भोग्‍नु नै काफी थियो। परमेश्‍वरले शैतानलाई फेरि त्यस्तो कुनै पनि कार्य गर्ने अनुमति दिनुभएन, किनकि परमेश्‍वरलाई पछ्याउने सबै मानिसहरूको जीवन र सबै थोकलाई उहाँले नै शासन र योजनाबद्ध गर्नुहुन्छ, र परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई आफ्नो इच्छाअनुसार प्रभावित गर्ने अधिकार शैतानसँग छैन—तिमीहरूले यो कुरा स्पष्ट बुझ्नुपर्छ! परमेश्‍वरले मानिसको कमजोरीको वास्ता गर्नुहुन्छ, र उसको मूर्खता र अज्ञानतालाई बुझ्नुहुन्छ। मानिसले पूर्ण रूपमा मुक्ति पाओस् भनेर परमेश्‍वरले उसलाई शैतानको हातमा सुम्पनैपर्छ, तैपनि परमेश्‍वर कहिल्यै पनि शैतानले मानिसलाई मूर्ख बनाएको र दुर्व्यवहार गरेको देख्‍न चाहनुहुन्‍न, र उहाँ मानिसले सधैँ दुःख भोगेको पनि देख्‍न चाहनुहुन्‍न। मान्छेलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र परमेश्‍वरले मान्छेका सबै कुरालाई शासन र प्रबन्ध गर्नुहुन्छ भन्‍ने कुरा पूर्णतया स्वाभाविक र न्यायोचित कुरा हो; यो परमेश्‍वरको जिम्मेवारी हो, र यो त्यही अख्तियार हो जसद्वारा परमेश्‍वरले सबै कुरामाथि शासन गर्नुहुन्छ! परमेश्‍वरले शैतानलाई मनलाग्दो किसिमले मानवजातिलाई दुर्व्यवहार र दुरुपयोग गर्ने अनुमति दिनुहुन्‍न, उहाँले मानवजातिलाई बहकाउन शैतानलाई विभिन्‍न युक्तिहरू प्रयोग गर्न दिनुहुन्‍न, र यसबाहेक, उहाँले शैतानलाई मानवजातिमाथि रहेको परमेश्‍वरको सार्वभौमिकतामा हस्तक्षेप गर्ने अनुमति दिनुहुन्‍न, न त त्यसलाई यावत् थोकमाथि परमेश्‍वरले शासन गर्ने ती सबै नियम कुल्चन र नाश गर्न नै दिनुहुन्छ, मानवजातिलाई व्यवस्थापन गर्ने र मुक्ति दिने परमेश्‍वरको महान् कार्य बिथोल्न उहाँले त्यसलाई अनुमति दिनुहुने त प्रश्‍नै उठ्दैन! परमेश्‍वरले जसलाई बचाउन चाहनुहुन्छ, र जसले परमेश्‍वरबारे गवाही दिन सक्छन्, तिनीहरू नै परमेश्‍वरको छ हजार वर्षे व्यवस्थापन योजनाको केन्द्र र सर्वोत्कृष्ट परिणाम हुन्, यसको साथै तिनीहरू उहाँको छ हजार वर्षे कामका प्रयासहरूको मूल्य पनि हुन्। परमेश्‍वरले कसरी तिनीहरूलाई सहजै शैतानको हातमा दिन सक्‍नुहुन्छ र?

मानिसहरू प्रायजसो परमेश्‍वरको जाँचको बारेमा चिन्ता गर्छन् र डराउँछन्, तैपनि तिनीहरू जहिल्यै पनि शैतानको पासो र खतरनाक क्षेत्रमा जिइरहेका हुन्छन् जहाँ तिनीहरूलाई शैतानले आक्रमण र दुर्व्यवहार गर्छ—तैपनि तिनीहरू डराउँदैनन्, र निश्‍चिन्त रहन्‍छन्। यो के हुँदै छ? परमेश्‍वरमाथिको मानिसको विश्‍वास उसले देख्‍न सक्‍ने कुराहरूमा मात्र सीमित छ। उसमा मानिसप्रतिको परमेश्‍वरको प्रेम र चासो, वा उहाँको कोमलता र ध्यानप्रति थोरै पनि कदर छैन। तर परमेश्‍वरको परीक्षा, न्याय र सजाय, अनि महिमा र क्रोधबारे सानो चिन्ता र डरको कारण मानिससँग परमेश्‍वरका असल अभिप्रायहरूबारे थोरै बुझाइ पनि छैन। परीक्षाहरूबारे उल्लेख गर्नेबित्तिकै, मानिसहरू परमेश्‍वरको गोप्य उद्देश्य छ कि भन्‍ने महसुस गर्छन् र कसैकसैले त परमेश्‍वरले दुष्ट योजनाहरू बनाउनुहुन्छ भन्‍नेसमेत विश्‍वास गर्छन्, तर परमेश्‍वरले तिनीहरूलाई वास्तवमा के गर्नुहुनेछ भनी जान्दैनन्; त्यसकारण, तिनीहरूले परमेश्‍वरका सार्वभौमिकता र व्यवस्थाहरूप्रतिको आज्ञाकारिताबारे कुरा गर्दैगर्दा, तिनीहरू मानिसमाथि परमेश्‍वरको सार्वभौमिकता र मानिसको निम्ति उहाँका प्रबन्धहरूको विरोध गर्न आफूले गर्नसक्‍ने सबै कुरा गर्छन्, किनकि तिनीहरू के विश्‍वास गर्छन् भने, यदि तिनीहरू होसियार भएनन् भने तिनीहरू परमेश्‍वरद्वारा बहकिनेछन्, यदि तिनीहरूले आफ्नै नियतिमा बलियो पकड कायम राख्दैनन् भने तिनीहरूसित भएका सबै कुरा परमेश्‍वरले लिन सक्‍नुहुनेछ, र तिनीहरूको जीवनसमेत अन्त्य हुनेछ। मानिस शैतानको शिविरमा छ, तर ऊ शैतानद्वारा दुर्व्यवहार हुनेबारेमा कहिल्यै चिन्तित हुँदैन, अनि उसलाई शैतानले दुर्व्यवहार गर्छ, तर शैतानले कैद गर्ला भनी कहिल्यै डराउँदैन। उसले परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्छु भनेर भनिरहन्छ, तर उसले कहिल्यै परमेश्‍वरमा विश्‍वास गरेको हुँदैन वा परमेश्‍वरले मानिसलाई साँच्‍चै शैतानको पन्जाबाट मुक्त गर्नुहुनेछ भनी विश्‍वास गरेको हुँदैन। यदि, मानिस अय्यूबजस्तै, परमेश्‍वरको योजनाबद्ध कार्यहरू र प्रबन्धको अधीनमा रहन सक्छ भने, यदि उसले आफ्नो सम्पूर्ण अस्तित्व परमेश्‍वरको हातमा दिन सक्छ भने, के मानिसको अन्त्य पनि अय्यूबको जस्तै हुनेछैन र? अर्थात् के उसले परमेश्‍वरका आशिष्‌हरू प्राप्त गर्नेछैन र? यदि मानिसले परमेश्‍वरको नियमलाई स्वीकार गर्न र यसमा ऊ समर्पित हुन सक्छ भने, गुमाउनुपर्ने के छ र? यसैले, म सल्लाह दिन्छु कि तिमीहरू आफ्ना कार्यहरूमा होसियार होओ, र तिमीहरूमाथि आउनेवाला सबै कुराप्रति सतर्क बस। विवेकहीन वा लापरवाही नहोओ, अनि परमेश्‍वर र उहाँले तिमीहरूको निम्ति प्रबन्ध गर्नुभएका मानिसहरू, मामिला र वस्तुहरूसित आफ्नो तातो रगत वा प्राकृतिकतामा भर पर्दै वा आफ्ना कल्पना र धारणाअनुसार व्यवहार नगर; परमेश्‍वरको क्रोध जगाउनदेखि बच्नलाई तिमीहरू आफ्ना कार्यहरूमा सतर्क हुनैपर्छ, र तिमीहरूले प्रार्थना गर्नैपर्छ र अझ बढी खोजी गर्नैपर्छ। यो कुरा याद राख!

त्यसपछि, हामी अय्यूब तिनका परीक्षाहरूपछि कस्ता भएका थिए भनी हेर्नेछौं।

५. परीक्षाहरूपछिका अय्यूब

अय्यूब ४२:७-९ अनि यस्तो भयो, यहोवाले अय्यूबसँग यी वचनहरू बोल्नुभएपछि, यहोवाले एलीपज तेमानीलाई भन्‍नुभयो, मेरो क्रोध तँ र तेरा दुई मित्रहरूको विरुद्ध दन्केको छ: किनभने मेरो सेवक अय्यूबले बोलेजस्तो तिमीहरूले मेरो बारे ठीक कुरा बोलेका छैनौ। यसकारण, अहिले नै आफूसँग सात वटा साँढे र सात वटा भेडाहरू लैजाओ, र मेरो सेवक अय्यूबकहाँ जाओ, आफ्नो निम्ति होमबलि चढाऊ, र मेरो सेवक अय्यूबले तिमीहरूको निम्ति प्रार्थना गरिदिनेछ: किनभने म त्यसलाई स्वीकार गर्नेछु: नत्र तिमीहरूले मेरो सेवक अय्यूबले जस्तै मेरो बारेमा ठीक नबोलेकोमा म तिमीहरूसँग तिमीहरूको मूर्खताअनुसार व्यवहार गर्छु। त्यसैले एलीपज तेमानी, बिल्दाद शुही र सोपर नमाती गए र यहोवाले आज्ञा गर्नुभएबमोजिम गरे: यहोवाले अय्यूबलाई स्वीकार पनि गर्नुभयो।

अय्यूब ४२:१० अनि अय्यूबले आफ्ना मित्रहरूको निम्ति प्रार्थना गरेपछि यहोवाले तिनलाई बन्धनमुक्त गराउनुभयो: यहोवाले अय्यूबलाई पहिले तिनीसँग भएको भन्दा दुई गुणा बढी दिनुभयो।

अय्यूब ४२:१२ त्यसैले यहोवाले अय्यूबको उत्तरार्धमा तिनको पूर्वार्धमा भन्दा बढी आशिष्‌ दिनुभयो: किनभने तिनीसित चौध हजार भेडा, छ हजार ऊँट, एक हजार हल गोरु र एक हजार पोथी गधा थिए।

अय्यूब ४२:१७ यसरी अय्यूब वृद्ध र दीर्घायु भएर मरे।

परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍नेहरूलाई उहाँ कदरका साथ हेर्नुहुन्छ, तर मूर्खहरूलाई तुच्छ व्यक्तिको रूपमा हेर्नुहुन्छ

अय्यूब ४२:७-९ मा, परमेश्‍वरले अय्यूब उहाँको सेवक हुन् भनी भन्‍नुभएको छ। अय्यूबलाई उल्‍लेख गर्न उहाँले “सेवक” शब्दको प्रयोग गर्नुभएको तथ्यले, उहाँको हृदयमा रहेको अय्यूबको महत्त्वलाई दर्साउँछ; परमेश्‍वरले अय्यूबलाई कुनै सम्‍मानजनक नामले नबोलाउनुभएको भए पनि, यो पदवीले परमेश्‍वरको हृदयभित्र रहेको अय्यूबको महत्त्वमा कुनै असर पारेको थिएन। यहाँ “सेवक” शब्‍द परमेश्‍वरले अय्यूबलाई दिनुभएको उपनाम हो। “मेरो सेवक अय्यूब” भनी परमेश्‍वरले धेरैपटक उल्‍लेख गर्नुभएको तथ्यले अय्यूबसँग उहाँ कति धेरै प्रसन्‍न हुनुहुन्थ्यो भन्‍ने देखाउँछ। परमेश्‍वरले “सेवक” शब्दपछाडिको अर्थ नखुलाउनुभएको भए पनि, “सेवक” शब्दको परिभाषा धर्मशास्‍त्रको यस खण्डमा दिइएका उहाँका वचनहरूमा देख्‍न सकिन्छ। एलीपज तेमानीको बारेमा परमेश्‍वरले सर्वप्रथम यसो भन्‍नुभयो: “मेरो क्रोध तँ र तेरा दुई मित्रहरूको विरुद्ध दन्केको छ: किनभने मेरो सेवक अय्यूबले बोलेजस्तो तिमीहरूले मेरो बारे ठीक कुरा बोलेका छैनौ।” यी वचनहरू परमेश्‍वरले अय्यूबको परीक्षा गर्नुभएपछि तिनले भनेका र गरेका सबै कुरा सही र सत्य हुन् भनी उहाँले स्वीकार गर्नुभएको छ भनी मानिसहरूलाई खुला रूपमा पहिलोपटक बताउनुभएका कुरा हुन् र अय्यूबले गरेका र भनेका सबै कुराको सटीकता र सहीपनलाई उहाँले खुला रूपमा पहिलोपटक पुष्टि गर्नुभएका कुरा हुन्। परमेश्‍वर एलीपज र अरूसँग तिनीहरूका गलत र अनुचित कुराहरूको कारण रिसाउनुभएको थियो, किनकि अय्यूबले जस्तै तिनीहरूले परमेश्‍वरको उपस्थिति देख्‍न वा उहाँले तिनीहरूको जीवनमा बोल्नुभएका वचनहरू सुन्‍न सकेका थिएनन्, तैपनि अय्यूबसँग परमेश्‍वरबारे त्यस्तो सही ज्ञान थियो, तर तिनीहरूले भने परमेश्‍वरबारे अन्धाधुन्ध अनुमान मात्र गर्न सक्थे, र तिनीहरू आफूले गर्ने सबै कुरामा परमेश्‍वरको इच्छाको उल्लङ्घन गर्थे र उहाँको धैर्यको जाँच गर्थे। फलस्वरूप, अय्यूबले गरेका र भनेका सबै कुरालाई स्वीकार गर्दै परमेश्‍वर अरूप्रति क्रोधित हुनुभयो, किनकि उहाँले तिनीहरूमा वास्तविक रूपमा परमेश्‍वरको कुनै डर देख्‍न नसक्‍नुभएको मात्र होइन, तिनीहरूले भनेका कुराहरूमा पनि परमेश्‍वरको डरको कुनै कुरा सुन्‍नुभएन। त्यसकारण परमेश्‍वरले तिनीहरूलाई निम्‍न कुराको आदेश गर्नुभयो: “यसकारण, अहिले नै आफूसँग सात वटा साँढे र सात वटा भेडाहरू लैजाओ, र मेरो सेवक अय्यूबकहाँ जाओ, आफ्नो निम्ति होमबलि चढाऊ, र मेरो सेवक अय्यूबले तिमीहरूको निम्ति प्रार्थना गरिदिनेछ: किनभने म त्यसलाई स्वीकार गर्नेछु: नत्र तिमीहरूले मेरो सेवक अय्यूबले जस्तै मेरो बारेमा ठीक नबोलेकोमा म तिमीहरूसँग तिमीहरूको मूर्खताअनुसार व्यवहार गर्छु।” यस खण्डमा परमेश्‍वरले एलीपज र अरूलाई आफ्ना पापबाट छुटकारा दिलाउने केही कुरा गर्नू भनी भन्दै हुनुहुन्छ, किनकि तिनीहरूको मूर्खता यहोवा परमेश्‍वरको विरुद्धमा पाप थियो र यसरी तिनीहरूले आफ्ना गल्तीहरू समाधान गर्न होमबलि चढाउनुपर्नेथ्यो। होमबलिहरू प्रायजसो परमेश्‍वरलाई चढाइन्छ, तर त्यसमा अनौठो कुरा के थियो भने ती होमबलि अय्यूबलाई चढाउनुपर्नेथ्यो। अय्यूबलाई परमेश्‍वरले स्विकार्नुभयो, किनकि तिनले आफ्नो परीक्षाको बेला परमेश्‍वरको गवाही दिएका थिए। यसैबीच, अय्यूबका यी साथीहरूलाई तिनको परीक्षाको समयमा पर्दाफास गरियो, तिनीहरू आफ्नो मूर्खताको कारण परमेश्‍वरद्वारा निन्दित भए र तिनीहरूले परमेश्‍वरको क्रोधलाई उक्साए, र उहाँले दण्ड दिनुपर्‍यो—अय्यूबको सामु होमबलि चढाउन लगाई दण्ड दिनुर्‍यो—त्यसपछि अय्यूबले तिनीहरूप्रतिको परमेश्‍वरको दण्ड र क्रोध हटाउन प्रार्थना गरे। परमेश्‍वरको उद्देश्य तिनीहरूलाई सर्ममा पार्नु थियो, किनकि तिनीहरू परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍ने मानिसहरू थिएनन् र तिनीहरूले अय्यूबको निष्ठाको निन्दा गरेका थिए। एकातिर, परमेश्‍वरले तिनीहरूलाई उहाँले तिनीहरूका कार्यहरू स्वीकार गर्नुहुन्‍न, तर अय्यूबलाई महान् रूपमा स्वीकार गर्नुहुन्छ र तिनमा आनन्दित हुनुहुन्छ भनेर भन्दै हुनुहुन्थ्यो; अर्कोतिर, उहाँले तिनीहरूलाई के भन्दै हुनुहुन्थ्यो भने, उहाँद्वारा स्वीकार भएमा मानिस परमेश्‍वरसामु उच्‍च पारिइनेछ, र मानिसको मूर्खताको कारण परमेश्‍वरले उसलाई घृणा गर्नुहुन्छ, र यही मूर्खताको कारण उसले परमेश्‍वरलाई चिढ्याउँछ, र परमेश्‍वरको नजरमा ऊ तुच्छ र घृणित हुन्छ। परमेश्‍वरले दुई प्रकारका मानिसबारे दिनुभएका परिभाषा यिनै हुन्, यी दुई प्रकारका मानिसप्रतिको परमेश्‍वरका मनोवृति यिनै हुन्, र परमेश्‍वरले यी दुई प्रकारका मानिसबारे बताउनुभएको मूल्य र स्तर यिनै हुन्। परमेश्‍वरले अय्यूबलाई उहाँको सेवक भनेर बोलाउनुभएको भए पनि, उहाँको नजरमा यी सेवक प्रिय थिए र तिनलाई अरूका निम्ति प्रार्थना गर्ने र तिनीहरूका गल्तीहरू क्षमा गर्ने अधिकार दिइएको थियो। यी सेवकले परमेश्‍वरसँग सीधै कुरा गर्न सक्थे र उहाँसामु सीधै आउन सक्थे, र तिनको हैसियत अरूको भन्दा उच्‍च र सम्‍मानजनक थियो। परमेश्‍वरले भन्‍नुभएको “सेवक” शब्दको वास्तविक अर्थ यही हो। अय्यूबले परमेश्‍वरको भय मानेकाले र दुष्टताबाट अलग बसेकाले तिनलाई यो विशेष सम्मान दिइएको थियो, र अरूले परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग नबस्‍ने नगरेकाले उहाँले तिनीहरूलाई सेवक भनी बोलाउनुभएन। परमेश्‍वरका अति नै फरक यी दुई मनोवृति दुई थरीका मानिसप्रति उहाँका मनोवृति हुन्: परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍नेहरूलाई परमेश्‍वरले स्वीकार गर्नुहुन्छ र तिनीहरू उहाँको नजरमा बहुमूल्य हुन्छन्, अर्कोतिर मूर्खहरूले परमेश्‍वरको भय मान्दैनन् र तिनीहरू दुष्टताबाट अलग बस्‍न असक्षम हुन्छन् र तिनीहरूले परमेश्‍वरको कृपा प्राप्त गर्न सक्दैनन्, परमेश्‍वरले तिनीहरूलाई प्रायः घृणा र निन्दा गर्नुहुन्छ, र तिनीहरू परमेश्‍वरको नजरमा तुच्छ हुन्छन्।

परमेश्‍वरले अय्यूबलाई अख्तियार प्रदान गर्नुहुन्छ

अय्यूबले आफ्ना साथीहरूका लागि प्रार्थना गरे, र केही पछि, अय्यूबको प्रार्थनाको कारण, परमेश्‍वरले तिनीहरूसँग तिनीहरूको मूर्खताअनुसार व्यवहार गर्नुभएन—उहाँले तिनीहरूलाई कुनै दण्ड दिनुभएन वा तिनीहरूको कुनै प्रतिकार गर्नुभएन। त्यस्तो किन भयो? किनकि परमेश्‍वरका सेवक अय्यूबले तिनीहरूका लागि गरेका प्रार्थनाहरू उहाँको कानमा पुगेका थिए; परमेश्‍वरले तिनीहरूलाई क्षमा दिनुभयो, किनकि उहाँले अय्यूबका प्रार्थनाहरू स्वीकार गर्नुभयो। अनि, हामी यसमा के देख्छौं? जब परमेश्‍वरले कसैलाई आशिष् दिनुहुन्छ, उहाँले तिनीहरूलाई केवल भौतिक कुराहरू मात्र नभई धेरै इनामहरू दिनुहुन्छ: परमेश्‍वरले तिनीहरूलाई अख्तियार पनि दिनुहुन्छ, अरूका लागि प्रार्थना गर्ने अधिकार दिनुहुन्छ, र ती व्यक्तिहरूका अपराधहरूलाई भुलिदिनुहुन्छ र बेवास्ता गरिदिनुहुन्छ, किनभने उहाँले यी प्रार्थनाहरू सुन्‍नुहुन्छ। परमेश्‍वरले अय्यूबलाई यही अख्तियार दिनुभयो। तिनीहरूको निन्दा रोक्‍ने अय्यूबको प्रार्थनाद्वारा यहोवा परमेश्‍वरले ती मूर्ख मानिसहरूलाई सर्ममा पार्नुभयो—जुन अवश्य पनि, एलीपज र अन्य व्यक्तिहरूका लागि उहाँको विशेष दण्ड थियो।

अय्यूब फेरि एकपल्ट परमेश्‍वरद्वारा आशिषित हुन्‍छन्, र फेरि कहिल्यै पनि शैतानको आरोप खेप्दैनन्

यहोवा परमेश्‍वरका वाणीहरूमा “मेरो सेवक अय्यूबले बोलेजस्तो तिमीहरूले मेरो बारे ठीक कुरा बोलेका छैनौ” भन्‍ने वचनहरू छन्। अब, अय्यूबले भनेको कुराचाहिँ के थियो त? हामीले यसबारेमा, साथै अय्यूबको पुस्तकमा अय्यूबले बोलेका कुराहरूका रूपमा उल्लेख गरिएका धेरै पृष्ठका वचनहरूका बरेमा पहिल्यै कुरा गरेका थियौं। यी सबै, धेरै पृष्ठका वचनहरूमा, अय्यूबले एकपटक पनि परमेश्‍वरबारे गुनासो वा शङ्का गरेनन्। तिनी केवल परिणाम पर्खन्छन्। यो पर्खाइ नै तिनको आज्ञाकारी मनोवृति थियो, अनि यो मनोवृति र तिनले परमेश्‍वरलाई भनेका वचनहरूको फलस्वरूप, तिनी परमेश्‍वरद्वारा स्वीकार गरिए। जब तिनले परीक्षाहरू सहे र कठिनाइ भोगे, परमेश्‍वर तिनको साथमा रहनुभयो, र उहाँको उपस्थितिले तिनको कठिनाइ कम नभएको भए पनि, उहाँले जे देख्‍ने इच्छा गर्नुभएको थियो त्यही देख्‍नुभयो र उहाँले जे सुन्‍ने इच्छा गर्नुभएको त्यही सुन्‍नुभयो। अय्यूबको प्रत्येक वचन र काम परमेश्‍वरको आँखा र कानमा पुगे; परमेश्‍वरले सुन्‍नुभयो, र देख्‍नुभयो—यो तथ्य हो। परमेश्‍वरसम्बन्धी अय्यूबको ज्ञान, र त्यसबेला, त्यस अवधिमा तिनको हृदयमा परमेश्‍वरबारे रहेका विचारहरू, वास्तवमा आजका मानिसहरूको जस्तो सुस्पष्ट थिएनन्, तर त्यस समयको सन्दर्भमा, परमेश्‍वरले अझै पनि तिनले भनेका सबै कुरालाई मान्यता दिनुभयो, किनकि तिनको व्यवहार र तिनको हृदयमा रहेका विचार, साथै तिनले व्यक्त र प्रकट गरेका कुराहरू उहाँका मापदण्डका लागि पर्याप्त थिए। अय्यूब परीक्षामा परेका बेला, तिनले आफ्नो हृदयमा सोचेका र सङ्कल्प गरेका कुराहरूले परमेश्‍वरलाई परिणाम देखाए, जुन परमेश्‍वरको लागि सन्तोषजनक थियो। त्यसपछि परमेश्‍वरले अय्यूबको परीक्षा हटाउनुभयो र अय्यूब समस्याहरूबाट बाहिर निस्किए, र तिनका परीक्षाहरू सकिए र ती फेरि तिनीमाथि आइलागेनन्। अय्यूब पहिले नै परीक्षाहरूमा परेका थिए र ती परीक्षाको बेला तिनी दृढ भएर खडा भएका थिए, र शैतानमाथि पूर्ण विजयी भएका थिए, त्यसैले परमेश्‍वरले तिनलाई आशिष्‌हरू दिनुभयो जुन पाउन तिनी योग्य थिए। अय्यूब ४२:१०, १२ मा उल्लेख गरिएअनुसार, अय्यूबलाई फेरि आशिष्‌ दिइयो र तिनले पहिलेको भन्दा बढी आशिष्‌ पाए। त्यस समयमा शैतान पछि हटेको थियो, र त्यपछि त्यसले केही पनि भनेन वा गरेन, र त्यसबेलादेखि यता शैतानले अय्यूबलाई फेरि कुनै बाधा दिएन वा आक्रमण गरेन, र अय्यूबले परमेश्‍वरबाट पाएका आशिष्‌हरूको विरुद्धमा शैतानले फेरि कुनै आरोप लगाएन।

अय्यूबले आफ्नो जीवनको उत्तरार्ध परमेश्‍वरका आशिष्‌हरूमाझ बिताउँछन्

त्यसबेला परमेश्‍वरका आशिष्‌हरू केवल भेडा, गाईवस्तु, ऊँट, भौतिक सम्पत्ति आदिमा मात्र सीमित रहेको भए पनि, उहाँले आफ्‍नो हृदयबाटै अय्यूबलाई दिन चाहनुभएका आशिष्‌हरू तीभन्दा बढी थिए। त्यसबेला, के उहाँले अय्यूबलाई दिन चाहनुभएका अनन्त प्रतिज्ञाहरू उल्लेख गरिएका थिए? परमेश्‍वरले अय्यूबलाई दिनुभएका आशिष्‌हरूमा, उहाँले तिनको अन्त्यबारे चर्चा वा विषय उठान गर्नुभएन। परमेश्‍वरको हृदयमा अय्यूबको जेजस्तो महत्त्व वा स्थान रहेको भए पनि सारांशमा भन्‍नुपर्दा, परमेश्‍वर उहाँका आशिष्‌हरूमा अत्यन्तै होसियार हुनुभएको थियो। परमेश्‍वरले अय्यूबको अन्त्यको घोषणा गर्नुभएन। यसको अर्थ के हो? त्यस बेला, परमेश्‍वरको योजना मानिसको अन्त्यको घोषणा गर्ने स्थितिमा पुग्‍न बाँकी नै थियो, त्यो योजना अझै उहाँको कामको अन्तिम चरणमा प्रवेश गर्न बाँकी नै थियो, त्यसैले परमेश्‍वरले मानिसलाई भौतिक आशिष्‌हरू मात्र प्रदान गर्नुभयो तर अन्त्यको कुनै उल्लेख गर्नुभएन। यसको अर्थ यही हो कि अय्यूबको जीवनको उत्तरार्ध परमेश्‍वरका आशिष्‌हरूमाझ बितेको थियो, जुन कुराले तिनलाई अरू मानिसहरूभन्दा फरक बनायो—तर तिनीहरूझैं तिनी बुढा भए, र कुनै पनि सामान्य मानिसजस्तै तिनले संसारबाट बिदा लिने दिन आयो। त्यसैले यो उल्लेख गरिएको छ कि “यसरी अय्यूब वृद्ध र दीर्घायु भएर मरे” (अय्यूब ४२:१७)। यहाँ “दीर्घायु भएर मरे” भन्‍नुको अर्थ के हो? परमेश्‍वरले मानिसहरूको अन्त्यको घोषणा गर्नुभन्दा अघिको युगमा, उहाँले अय्यूबको जीवनको अपेक्षित आयु निर्धारित गर्नुभयो, र जब तिनको उमेर पुग्यो तब उहाँले तिनलाई यस संसारबाट स्वाभाविक रूपमा बिदा हुने अनुमति दिनुभयो। अय्यूबले दोस्रो आशिष्‌ पाएदेखि तिनको मृत्युसम्म परमेश्‍वरले कुनै कठिनाइ थप्‍नुभएन। परमेश्‍वरका लागि, अय्यूबको मृत्यु स्वाभाविक र आवश्यक थियो; त्यो अति सामान्य कुरा थियो, र त्यो न त न्याय थियो, न त दण्ड नै थियो। अय्यूबले आफू जीवित छँदा परमेश्‍वरको आराधना गरे अनि उहाँको भय माने; मृत्युपछि तिनको कस्तो प्रकारको अन्त्य भयो भन्‍ने सम्बन्धमा, परमेश्‍वरले केही पनि भन्‍नुभएन, न त यसबारे कुनै टिप्पणी नै गर्नुभयो। परमेश्‍वरसित आफूले भन्‍ने र गर्ने कुरामा गहन औचित्यको भाव हुन्छ, र उहाँका वचनहरूका विषयवस्तु र सिद्धान्तहरू उहाँको कामको चरण र उहाँले काम गरिरहनुभएको युगअनुरूप हुन्छ। अय्यूबजस्तो कुनै व्यक्तिको निम्ति परमेश्‍वरको हृदयमा कस्तो किसिमको अन्त्य हुन्थ्यो? के परमेश्‍वरले आफ्नो हृदयमा कुनै पनि प्रकारको निर्णय गर्नुभएको थियो? अवश्य पनि उहाँले गर्नुभएको थियो! यति मात्र हो कि मानिसको निम्ति त्यो अज्ञात थियो; परमेश्‍वरले त्यो कुरा मानिसलाई बताउन चाहनुभएन, न त मानिसलाई त्यो बताउने उहाँको कुनै अभिप्राय नै थियो। यसरी सतही रूपमा भन्‍नुपर्दा, अय्यूब दीर्घायु भएर मरे, र अय्यूबको जीवन त्यही थियो।

अय्यूबले आफ्‍नो जीवनकालमा जिएको मूल्य

के अय्यूबले मूल्यवान् जीवन जिए? मूल्य कहाँ थियो? किन तिनले मूल्यवान् जीवन बिताए भनेर भनिन्छ? मानिसको निम्ति तिनको मूल्य के थियो? मानिसको दृष्टिकोणबाट हेर्दा, तिनी शैतान एवं संसारका मानिसहरूको सामु परमेश्‍वरको सानदार गवाही दिने कार्यका लागि परमेश्‍वरले मुक्ति दिन चाहनुभएको मानवजातिका प्रतिनिधि थिए। तिनले परमेश्‍वरको एक सृष्टिले पूरा गर्नुपर्ने कर्तव्य पूरा गरे, एउटा उदाहरण बसाले, र परमेश्‍वरले मुक्ति दिन चाहनुभएकाहरू सबैको लागि नमुनाको रूपमा काम गरे, र यसरी मानिसहरूलाई परमेश्‍वरमाथि भरोसा राखेर शैतानमाथि विजयी हुन सम्भव छ भनेर देखाए। परमेश्‍वरका लागि तिनको मूल्य के थियो? परमेश्‍वरका लागि, अय्यूबको जीवनको मूल्य उहाँको भय मान्‍ने, उहाँको आराधना गर्ने, उहाँका कामहरूको गवाही दिने, र उहाँका कार्यहरूको प्रशंसा गर्ने, र यसरी उहाँका निम्ति सान्त्वना र आनन्द ल्याउन सक्‍ने तिनको क्षमतामा निहित छ; परमेश्‍वरका लागि अय्यूबको जीवनको मूल्य अय्यूबले मानवजातिमाझ परमेश्‍वरलाई महिमा प्राप्त होस्, उहाँको हृदयलाई सान्त्वना मिलोस् र उहाँको उत्सुक हृदयले परिणाम र आशा देखोस् भनी आफ्नो मृत्युअघि कसरी परीक्षाहरूको सामना गरे, शैतानमाथि विजय पाए, अनि शैतान र संसारका मानिसहरूसामु परमेश्‍वरको सानदार गवाही दिए भन्‍ने कुरामा पनि निहित छ। तिनको गवाहीले परमेश्‍वरको गवाही भई दृढ भएर खडा हुन सक्‍ने क्षमता र मानवजातिलाई व्यवस्थापन गर्ने परमेश्‍वरको काममा उहाँको तर्फबाट शैतानलाई लज्‍जित पार्ने सामर्थ्यको नजीर प्रस्तुत गर्‍यो। के यो अय्यूबको जीवनको मूल्य होइन र? अय्यूबले परमेश्‍वरको हृदयलाई सान्त्वना दिलाए, परमेश्‍वरलाई महिमा प्राप्त गर्नुको आनन्दको पूर्वानुभव गराए, र परमेश्‍वरको व्यवस्थापन योजनाका लागि एउटा राम्रो सुरुवात प्रदान गरे। त्यस समयदेखि यता, अय्यूबको नाउँ परमेश्‍वरको महिमा प्राप्तिको प्रतीक र शैतानमाथिको मानवजातिको विजयको चिह्न बन्यो। अय्यूबले आफ्नो जीवनकालमा जुन कुरालाई जीवनको रूपमा जिए त्यो कुराका साथै शैतानमाथिको तिनको उल्लेखनीय विजयलाई परमेश्‍वरले सदासर्वदा कदर गर्नुहुनेछ, र तिनको सिद्धता, सोझोपन र परमेश्‍वरको भयलाई भावी पुस्ताहरूले श्रद्धा र अनुकरण गर्नेछन्। परमेश्‍वरले तिनलाई सधैँ एक निष्खोट, चम्किलो मोतीझैं मोल गर्नुहुनेछ र त्यसरी नै तिनी मानिसद्वारा मूल्यवान् ठानिनका लागि पनि योग्य छन्!

यसपछि, हामी व्यवस्थाको युगको अवधिको परमेश्‍वरको कार्यलाई हेरौं।

ई. व्यवस्थाको युगका नियमहरू

दश आज्ञा

वेदीहरू निर्माण गर्ने सिद्धान्तहरू

नोकरहरूसँग व्यवहार गर्ने नियमहरू

चोरी र क्षतिपूर्तिका नियमहरू

शबाथ वर्ष र तीनवटा चाड मनाउने

शबाथ दिनका नियमहरू

बलिहरूका नियमहरू

होमबलि

अन्‍नबलि

मेलबलि

पापबलि

दोषबलि

पूजाहारीहरूद्वारा चढाइने बलिहरूका (हारून र तिनका छोराहरूलाई मान्‍न आदेश दिइएका) नियमहरू

पूजाहारीहरूद्वारा चढाइने होमबलिहरू

पूजाहारीहरूद्वारा चढाइने अन्‍नबलिहरू

पूजाहारीहरूद्वारा चढाइने पापबलिहरू

पूजाहारीहरूद्वारा चढाइने दोषबलिहरू

पूजाहारीहरूद्वारा चढाइने मेलबलिहरू

पूजाहारीहरूद्वारा चढाइने बलिहरू खाने नियमहरू

शुद्ध र अशुद्ध पशुहरू (खान हुने र नहुने पशुहरू)

सुत्केरी भएपछि स्‍त्रीहरूलाई शुद्धीकरण गरिने नियमहरू

कुष्ठरोगीलाई जाँच्ने मापदण्डहरू

कुष्ठ रोगबाट निको भएकाहरूका निम्ति नियमहरू

सङ्क्रमित घरहरू शुद्धीकरण गर्ने नियमहरू

धातु रोगले ग्रस्त व्यक्तिहरूका निम्ति नियमहरू

वर्षमा एकचोटि मनाउनुपर्ने प्रायश्‍चितको चाड

गाईवस्तु र भेडाहरू काट्ने नियमहरू

अन्यजातिहरूका घृणित चालचलन पालन गर्न मनाही (हाडनाताकरणी नगर्ने, आदि)

मानिसहरूले पालन गर्नैपर्ने नियमहरू (“तिमीहरू पवित्र हुनेछौ: किनभने म तिमीहरूको परमेश्‍वर यहोवा पवित्र छु” (लेवी १९:२))

आफ्ना छोराछोरीहरू मोलोखलाई बलि चढाउनेहरूलाई प्राणदण्ड

व्यभिचारको अपराधका निम्ति दिइने दण्डका नियमहरू

पूजाहारीहरूले पालन गर्नुपर्ने नियमहरू (तिनीहरूका दैनिक व्यवहार, पवित्र थोकहरू उपभोग गर्ने नियमहरू, बलिहरू चढाउने नियमहरू, आदि)

पालन गर्नुपर्ने चाडहरू (शबाथ दिन, निस्तार-चाड, पेन्तिकोस, प्रायश्‍चितको दिन, आदि)

अन्य नियमहरू (बत्तीहरू बाल्ने, पुनर्स्थापनाको वर्ष, जमिनको छुटकारा, शपथहरू खाने, दशांश दिने, आदि)

व्यवस्थाको युगका नियमहरू परमेश्‍वरले सारा मानवजातिलाई मार्गनिर्देशन गर्नुहुन्छ भन्‍ने कुराको वास्तविक प्रमाण हुन्

त्यसो भए, तिमीहरूले व्यवस्थाको युगका यी नियम र सिद्धान्तहरू पढेका छौ, होइन त? के ती नियमहरूले विस्तृत दायरा समेट्छन्? पहिले, तिनीहरूले दश आज्ञाको कुरा गर्छन्, त्यसपछि वेदीहरू कसरी बनाउने भन्‍ने सम्‍बन्धी र अन्य नियमहरू छन्। यी पछि शबाथ-दिन पालन गर्ने र तीनवटा चाड मनाउने सम्‍बन्धी नियमहरू छन्, अनि त्यसपछि बलिहरू चढाउने नियमहरू छन्। के तिमीहरूले कति प्रकारका बलिहरू छन् भन्‍ने देख्यौ? होमबलि, अन्‍नबलि, मेलबलि, पापबलि, आदि छन्। ती पछि पूजाहारीहरूले चढाउने बलिहरूका नियमहरू छन् जसमा पूजाहारीले चढाउने होमबलि र अन्‍नबलि, साथै अन्य प्रकारका बलिसम्बन्धी नियमहरू हुन्। नियमहरूको आठौं समूह पूजाहारीहरूले बलिहरू खानेसँग सम्बन्धित छ। त्यसपछि मानिसहरूको जीवन अवधिमा के पालन गर्नुपर्छ भन्‍ने नियमहरू छन्। यसमा मानिसहरूको जीवनका धेरै पक्षका लागि नियमहरू छन्, जस्तै उनीहरूले के खानु हुन्छ र के खानु हुँदैन, सुत्केरी भएपछि स्‍त्रीहरूको शुद्धीकरण, र कुष्ठ रोगबाट निको भएकाहरू सम्‍बन्धी नियमहरू। यी नियमहरूमा, परमेश्‍वरले रोगको बारेमा पनि कुरा गर्नुभएको छ, र भेडा र गाईवस्तु, आदिलाई मार्ने सम्‍बन्धी नियमहरू पनि छन्। भेडा र गाईवस्तुहरू परमेश्‍वरले बनाउनुभएको थियो, र परमेश्‍वरले भन्‍नुभए अनुसार मात्र तैँले तिनीहरूलाई मार्नुपर्छ; अवश्य नै, परमेश्‍वरका वचनहरूको पछाडि कारण छ; अवश्य नै परमेश्‍वरले घोषणा गर्नुभए अनुसार यो काम गर्नु नै उचित छ, र यो निश्‍चय नै मानिसको लाभदायक छ! यसमा पालन गर्नुपर्ने चाड र नियमहरू पनि छन्, जस्तै शबाथ दिन, निस्तार-चाड, र अन्य—यी सबैको बारेमा परमेश्‍वरले बताउनुभएको छ। अब हामी अन्तिम नियमहरूलाई हेरौं: अन्य नियमहरू—बत्तीहरू बाल्‍नु, पुनर्स्थापनाको वर्ष, जमिनको छुटकारा, शपथ खानु, दशांश चढाउनु, आदि। के यी कुराहरूले विस्तृत दायरालाई समेट्छन्? यहाँ कुरा गर्नुपर्ने पहिलो विषय भनेको मानिसहरूले चढाउने बलि हो। त्यसपछि चोरी र क्षतिपूर्ति, र शबाथ दिनको पालन गर्ने नियमहरू छन्…; जीवनको हरेक कार्य यसमा समावेश छ। भन्‍नुको अर्थ, जब परमेश्‍वरले आफ्नो व्यवस्थापन योजनाको आधिकारिक काम सुरु गर्नुभयो, त्यसबेला उहाँले ती धेरै नियमहरू स्थापित गर्नुभयो जुन मानिसले पालन गर्नुपर्थ्यो। ती नियमहरू मानिसलाई पृथ्वीमा मानिसको सामान्य जीवन जिउन दिनका निम्ति थिए, यस्तो सामान्य जीवन जुन परमेश्‍वर र उहाँको मार्गनिर्देशनबाट अलग गर्न नसकिने हुन्छ। परमेश्‍वरले मानिसलाई पहिले वेदीहरू कसरी बनाउने, वेदीहरू कसरी स्थापित गर्ने भन्‍ने कुरा बताउनुभयो। त्यसपछि, उहाँले मानिसलाई बलिहरू कसरी चढाउने भनी बताउनुभयो, र मानिस कसरी जिउनुपर्छ—उसले जीवनमा कुन कुरामा ध्यान दिनुपर्छ, उसले के पालन गर्नुपर्छ अनि उसले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्‍ने कुराहरू स्थापित गर्नुभयो। परमेश्‍वरले मानिसका लागि जे प्रबन्ध गर्नुभयो त्यो सबै कुरा समेट्ने किसिमको थियो र यी रीतिथिति, नियम र सिद्धान्तहरूद्वारा उहाँले मानिसको व्यवहारको मानकीकरण गर्नुभयो, तिनीहरूको जीवनलाई अगुवाइ गर्नुभयो, परमेश्‍वरको व्यवस्थातर्फ तिनीहरूको सुरुवात निर्देशित गर्नुभयो, तिनीहरूलाई परमेश्‍वरको वेदीको अघि आउन डोर्‍याउनुभयो, र तिनीहरूलाई उहाँले मानिसका निम्ति बनाउनुभएका सबै कुरामाझ सुव्यवस्था, निरन्तरता र सन्तुलनसहितको जीवन बिताउन डोर्‍याउनुभयो। परमेश्‍वरले सबैभन्दा पहिले यी साधारण नियम र सिद्धान्तहरू मानिसका लागि सीमा तोक्‍न प्रयोग गर्नुभयो, ताकि पृथ्वीमा मानिससँग परमेश्‍वरको आराधना गर्ने सामान्य जीवन होस्; उहाँको छ हजार वर्षे व्यवस्थापन योजनाको सुरुको विशेष विषय यही हो। ती नीति र नियमहरूले धेरै व्यापक विषय समेट्छन्, ती व्यवस्थाको युगमा परमेश्‍वरले मानवजातिलाई दिनुभएका मार्गनिर्देशनका विशिष्ट कुराहरू हुन्, व्यवस्थाको युगभन्दा पहिले आएका मानिसहरूले ती स्वीकार र पालन गर्नुपर्थ्यो, ती व्यवस्थाको युगमा परमेश्‍वरले गर्नुभएका कामहरूको लिखित विवरण हुन्, र ती सारा मानवजातिमाथि परमेश्‍वरको नेतृत्व र मार्गनिर्देशनका वास्तविक प्रमाण हुन्।

मानवजाति परमेश्‍वरका शिक्षा र प्रबन्धहरूबाट सदा अभिन्‍न छ

यी नियमहरूमा हामी उहाँको कामप्रति, उहाँको व्यवस्थापनप्रति र मानवजातिप्रति परमेश्‍वरको मनोवृत्ति गम्भीर, विवेकशील, कठोर र जिम्मेवार छ भन्‍ने देख्छौं। उहाँले मानवजातिमाझ गर्नुपर्ने काम आफ्ना चरणहरूअनुसार अलिकति पनि भिन्‍नता नगरी गर्नुहुन्छ, र उहाँले आफूले बोल्नुपर्ने वचनहरू थोरै त्रुटि पनि नगरीकन वा कुनै कुरा नछुटाईकन बोल्दै, मानिस परमेश्‍वरको नेतृत्वबाट अभिन्‍न छ भनी देखाउँदै, र उहाँले मानवजातिका लागि गर्नुहुने र भन्‍नुहुने सबै कुरा कति महत्त्वपूर्ण छन् भनी देखाउँदै त्यसो गर्नुहुन्छ। मानिस अर्को युगमा जस्तोसुकै हुने भए पनि, सुरुमा अर्थात् व्यवस्थाको युगको अवधिमा, परमेश्‍वरले यी साधारण कार्यहरू गर्नुभयो। परमेश्‍वर, संसार र त्यस युगका मानवजातिप्रतिका मानिसहरूका अवधारणाहरू परमेश्‍वरका लागि अमूर्त र अस्पष्ट थिए, र उनीहरूसँग केही सचेत विचार र अभिप्रायहरू रहेका भए पनि, ती सबै अस्पष्ट र गलत थिए, र यसरी मानवजाति तिनीहरूप्रतिको परमेश्‍वरको शिक्षा र प्रबन्धहरूबाट अभिन्‍न थियो। प्रारम्भिक मानवजातिलाई केही पनि थाहा थिएन, त्यसैले परमेश्‍वरले जीवन-अस्तित्वका अति सतही र आधारभूत सिद्धान्तहरू र जीउनका लागि आवश्यक नियमहरूबाट मानिसलाई सिकाउन थाल्नुपर्‍यो र मानव हृदयमा यी कुराहरू बिस्तारै आत्मसात् गराउँदै लानुपर्‍यो। वचनहरूको रूपमा रहेका यी नियमहरू र यी विधानहरूमार्फत, परमेश्‍वरले मानिसलाई उहाँको बारेमा क्रमिक बुझाइ, उहाँको नेतृत्वको बारेमा क्रमिक बोध र ज्ञान, अनि मानिस र उहाँबीचको सम्बन्धको आधारभूत अवधारणा प्रदान गर्नुभयो। यस प्रभावलाई हासिल गरिसकेपछि मात्र, परमेश्‍वरले पछि गर्नुपर्ने काम अलिअलि गर्दै गर्न सक्‍नुभयो। यसरी, यी नियमहरू र व्यवस्थाको युगमा परमेश्‍वरले गर्नुभएका कामहरू मानवजातिलाई मुक्ति दिने उहाँको कार्यको आधारशिला हुन् र परमेश्‍वरको व्यवस्थापन योजनाको कामको पहिलो चरण हुन्। व्यवस्थाको युगको कार्यअघि, परमेश्‍वरले आदम, हव्वा र तिनीहरूका सन्तानहरूसँग बोल्‍नुभएको भए पनि, ती आज्ञा र शिक्षाहरू मानिसलाई एकएक गरी जारी गर्न सकिने गरी व्यवस्थित वा विशिष्ट थिएनन्, र ती लेखिएका थिएनन्, न त ती नियम बनेका नै थिए। किनभने त्यस समयमा, परमेश्‍वरको योजना त्यति टाढासम्म पुगेको थिएन; परमेश्‍वरले मानिसलाई त्यो चरणमा ल्याउनुभएपछि मात्र, उहाँले व्यवस्थाको युगका ती नियमहरू बोल्न, र मानिसहरूलाई ती पूरा गर्न लगाउन थाल्न सक्‍नुभयो। यो एउटा आवश्यक प्रक्रिया थियो, र यसको परिणाम अपरिहार्य थियो। ती साधारण परम्परा र नियमहरूले मानिसलाई परमेश्‍वरको व्यवस्थापन कार्यका चरणहरू र उहाँको व्यवस्थापन योजनामा प्रकट भएका ईश्‍वरीय बुद्धिलाई देखाउँछ। उहाँको गवाही दिने मानिसहरूको समूह प्राप्त गर्नको लागि, र उहाँको जस्तै मन भएका मानिसहरूको समूह प्राप्त गर्नको लागि, सुरुवात गर्न कुन विषयवस्तु र साधन प्रयोग गर्ने, र निरन्तरताको लागि कस्ता साधनहरूको प्रयोग गर्ने र अन्त्य गर्नको लागि कस्ता साधनको प्रयोग गर्ने भनेर परमेश्‍वरलाई थाहा हुन्छ। मानिसभित्र के छ त्यो उहाँलाई थाहा हुन्छ, र मानिसमा के अभाव छ त्यो उहाँलाई थाहा हुन्छ। आफूले के प्रदान गर्नुपर्छ र कसरी मानिसलाई अगुवाइ गर्नुपर्छ भन्‍ने उहाँलाई थाहा छ र त्यसरी नै मानिसले के गर्नुपर्छ र के गर्नु हुँदैन भन्‍ने पनि उहाँलाई थाहा छ। मानिस कठपुतली जस्तै हो: उसलाई परमेश्‍वरको इच्छाको बारेमा कुनै ज्ञान नभएको भए पनि परमेश्‍वरको व्यवस्थापन कामको अगुवाइमा, एकपछि अर्को चरण गर्दै आजसम्म आइपुग्‍नुबाहेक उसँग कुनै विकल्‍प थिएन। आफूले के गर्नुपर्छ भन्‍नेबारेमा परमेश्‍वरको हृदयमा कुनै पनि अस्पष्टता थिएन; उहाँको हृदयमा एकदम प्रस्ट र स्पष्ट योजना थियो, र सतहीदेखि गहनतर्फ अघि बढ्दै आफ्‍ना चरणहरू र योजनाहरूअनुसार नै उहाँले आफूले चाहनुभएको काम अघि बढाउनुभयो। उहाँले पछि आफूले गर्नुपर्ने कामको बारेमा कुनै सङ्केत नगर्नुभएको भए पनि, त्यसपछिका उहाँका कार्यहरू उहाँको योजनाअनुसार नै गरिँदै र अघि बढ्दै गए, जुन परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसको प्रकटीकरण, र परमेश्‍वरको अख्तियार पनि हो। उहाँले व्यवस्थापन योजनाको जुनै चरणमा काम गरिरहनुभएको भए पनि, उहाँको स्वभाव र उहाँको सारले उहाँ स्वयमलाई प्रतिनिधित्व गर्छ। यो बिलकुलै सत्य कुरा हो। कामको युग, वा चरणको बाबजुत पनि, कहिल्यै परिवर्तन नहुने कुराहरू पनि छन्: परमेश्‍वरले कस्ता किसिमका मानिसहरूलाई प्रेम गर्नुहुन्छ, कस्ता मानिसहरूलाई घृणा गर्नुहुन्छ, उहाँको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो सबै परिवर्तन हुँदैनन्। परमेश्‍वरले व्यवस्थाको युगको क्रममा स्थापना गर्नुभएका यी नियम र सिद्धान्तहरू आजका मानिसहरूका लागि धेरै सरल र सतही देखिने भए पनि, र तिनलाई बुझ्न र प्राप्त गर्न सजिलो भए पनि, त्यसमा परमेश्‍वरको बुद्धि छ, र त्यसमा परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कुरा छ। यी साधारण देखिने नियमहरूभित्र मानवजातिप्रतिको परमेश्‍वरको जिम्मेवारी र वास्ता, साथसाथै उहाँका विचारहरूको अति उत्तम सार व्यक्त गरिएको छ, र यसरी मानिसहरूलाई वास्तवमै परमेश्‍वरले सबै थोकहरूमाथि शासन गर्नुहुन्छ र सबै थोकहरूलाई उहाँको हातले नै नियन्त्रण गर्छ भन्‍ने कुरा महसुस गराउँछ। मानवजातिले जत्ति नै ज्ञान हासिल गरे पनि, वा उसले जत्ति नै सिद्धान्त वा रहस्यहरू बुझे पनि, परमेश्‍वरको लागि यी कुनै पनि कुराले मानवजातिप्रतिको उहाँको प्रबन्ध, र नेतृत्वको स्थान लिन सक्दैन; मानवजाति सदासर्वदा परमेश्‍वरको मार्गदर्शन र परमेश्‍वरको व्यक्तिगत कार्यबाट अभिन्‍न हुनेछ। मानिस र परमेश्‍वरबीचको सम्बन्ध यस्तो अभिन्‍न छ। परमेश्‍वरले तँलाई एउटा आज्ञा, वा एउटा नियम दिनुभए पनि, वा उहाँको इच्छा बुझ्नका लागि तँलाई सत्यता प्रदान गर्नुभए पनि, उहाँले जेसुकै गर्नुभए पनि, परमेश्‍वरको उद्देश्य भनेको मानिसलाई सुन्दर भोलिको दिनतिर डोर्‍याउनु हो। परमेश्‍वरद्वारा बोलिएका वचनहरू र उहाँले गर्नुहुने कामहरू, दुवै उहाँको सारको एक पक्षको प्रकाश हो, र उहाँको स्वभाव र उहाँको बुद्धिको एक पक्षको प्रकाश हो; ती उहाँको व्यवस्थापन योजनाको अपरिहार्य चरण हुन्। यस कुरालाई नजरअन्दाज गर्नु हुँदैन! परमेश्‍वरले जे गर्नुहुन्छ त्यसमा उहाँको इच्छा हुन्छ; परमेश्‍वर गलत टिप्पणीहरूदेखि डराउनुहुन्‍न, न त उहाँबारे मानिसको कुनै धारणा वा विचारहरूसँग नै उहाँ डराउनुहुन्छ। उहाँले कुनै पनि व्यक्ति, पदार्थ, वा वस्तुको पावन्दीमा नपरी केवल आफ्नो काम गर्नुहुन्छ र आफ्नो व्यवस्थापन योजनाअनुसार आफ्नो व्यवस्थापनलाई जारी राख्‍नुहुन्छ।

ठीक छ। आजको लागि यति नै। अर्कोपटक भेटौंला!

नोभेम्बर ९, २०१३

अघिल्लो: परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

अर्को: परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्