परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

हाम्रो विगतका केही सङ्गतिहरूले तिमीहरू हरेकमाथि ठूलो प्रभाव पारेको छ। हालसम्‍म, मानिसहरूले अन्ततः परमेश्‍वरको साँचो अस्तित्व छ र उहाँ वास्तवमै मानिससित धेरै नजिक हुनुहुन्छ भन्‍ने कुरालाई साँचो प्रकारले महसुस गर्न सक्छन्। मानिसहरूले सम्भवतः परमेश्‍वरमाथि धेरै वर्षदेखि विश्‍वास गरेको भए तापनि तिनीहरूले अहिले जस्तो साँचो प्रकारले उहाँका विचारहरू तथा योजनाहरूलाई बुझ्न सकेका छैनन्, न त तिनीहरूले अहिले जस्तो उहाँका व्यवहारिक कार्यहरूको बारेमा साँचो प्रकारले अनुभव गर्न नै सकेका छन्। चाहे त्यो ज्ञान होस् वा वास्तविक अभ्यास, धेरै मानिसहरूले केही नयाँ कुरा सिकेका छन् र उच्च समझ प्राप्त गरेका छन्, अनि विगतका तिनीहरूका आफ्नै खोजीहरूमा भएका त्रुटिहरूलाई तिनीहरूले महसुस गरेका छन्, आफ्नो अनुभवको सतहीपन अनि तिनीहरूको अधिकांश अनुभव परमेश्‍वरको इच्छासित मेल नखाएको भनी महसुस गरेका छन् अनि मानिसमा रहेको ठूलो कमी परमेश्‍वरको स्वभावसम्बन्धी ज्ञान नै भनी महसुस गरेका छन्। मानिससित भएको ज्ञान केवल एक प्रकारको अनुभूतिमा आधारित ज्ञान मात्रै हो; तर्कसङ्गत ज्ञानको तहमा बढ्नको निम्ति मानिस अनुभवहरूद्वारा बिस्तारै गहिरो र बलियो हुँदै जानु आवश्यक हुन्छ। मानिसले परमेश्‍वरलाई साँचो रीतिले बुझ्नुअघि, तिनीहरूले आफ्नो हृदयमा परमेश्‍वरको अस्तित्वमाथि विश्‍वास गर्छन् तर परमेश्‍वर वास्तवमा कस्तो प्रकारको हुनुहुन्छ, उहाँको इच्छा के हो र उहाँको स्वभाव कस्तो छ, मानिसजातिप्रति उहाँको वास्तविक मनोवृत्ति कस्तो छ जस्ता विशेष प्रश्नहरूको वास्तविक समझ तिनीहरूसित हुँदैन भनेर आत्मपरक दृष्टिकोणले भन्न सकिन्छ। यसले परमेश्‍वरमा रहेको मानिसहरूको विश्‍वासलाई ठूलो संकष्टमा पार्दछ अनि तिनीहरूको विश्‍वासलाई शुद्धता वा सिद्धता प्राप्त गर्नदेखि रोक्दछ। यदि तँ परमेश्‍वरको वचनको सम्मुख नै परिस् भने पनि वा तेरा अनुभवहरूद्वारा परमेश्‍वरसित तेरो जम्काभेट भएको महसुस तैँले गरेको भएतापनि तैँले पूर्ण रूपले परमेश्‍वरलाई बुझ्छस् भनी अझै भन्न सकिँदैन। तैँले परमेश्‍वरका विचारहरू नजानेको कारण अर्थात् उहाँले कुन कुरालाई प्रेम गर्नुहुन्छ र उहाँले कुन कुरालाई घृणा गर्नुहुन्छ, कुन कुराले उहाँलाई क्रोधित तुल्याउँछ अनि कुन कुराले उहाँलाई आनन्दित तुल्याउँछ भनी तैँले नजानेको कारणले तँसित उहाँको साँचो बुझाइ छैन। तेरो विश्‍वास अनिश्चितता र कल्पनाको जगमाथि निर्माण भएको हुन्छ जुन तेरै आत्मपरक चाहनाहरूमा आधारित हुन्छ। यो असली विश्‍वासदेखि अझै टाढा छ अनि तँ साँचो अनुयायी हुनदेखि अझै टाढा छस्। बाइबलीय कथाहरूका उदाहरणहरूबाट दिइएका यी व्याख्याहरूले मानिसहरूलाई परमेश्‍वरको हृदय जान्न दिएको छ, उहाँको कामको हरेक कदममा उहाँले के सोचिरहनुभएको थियो, उहाँले यो काम किन गर्नुभयो, जब उहाँले त्यो काम गर्नुभयो, तब उहाँको सुरुको उद्देश्य तथा योजना के थियो, उहाँले कसरी आफ्‍ना विचारहरू हासिल गर्नुभयो, अनि उहाँले आफ्नो योजना कसरी तयार र विकास गर्नुभयो जस्ता कुराहरू जान्न दिएको छ। यी कथाहरूद्वारा हामीले परमेश्‍वरको छ हजार वर्षीय व्यवस्थापन कार्यको अवधिमा परमेश्‍वरको हरेक निश्चित अभिप्राय तथा हरेक वास्तविक विचारको विस्तारित, निश्‍चित बुझाइ प्राप्त गर्नुका साथै विभिन्न समयहरू तथा युगहरूमा मानिसहरूप्रति उहाँको मनोवृत्तिको बारेमा जान्न सक्छौँ। हरेक परिस्थितिको सामना गर्नुहुँदा उहाँले के सोचिरहनुभएको थियो, उहाँको मनोवृत्ति के थियो र उहाँले कस्तो स्वभाव प्रकट गरिरहनुभएको थियो भनेर यदि मानिसहरूले बुझ्न सकेमा यसले हरेक मानिसलाई परमेश्‍वरको साँचो अस्तित्वलाई अझ गहिरो प्रकारले महसुस गर्न, उहाँको व्यवहारिकता र विशुद्धतालाई अझै गहिरो प्रकारले अनुभूति गर्न सहायता गर्नसक्छ। यी कथाहरू बताउनुमा मेरो उद्देश्य मानिसहरूले बाइबलीय इतिहास बुझून् भन्नको लागि होइन, बाइबलका पदहरू वा यसमा उल्‍लेख मानिसहरूसित तिनीहरू परिचित हुन तिनीहरूलाई सहायता गर्न पनि होइन, न त व्यवस्थाको युगमा परमेश्‍वरले गर्नुभएको कामको पृष्ठभूमि बुझ्न मानिसहरूलाई सहायता गर्नको निम्ति नै हो। यो त परमेश्‍वरको इच्छा, उहाँको स्वभाव तथा उहाँको हरेक सानो अंशको बारेमा मानिसहरूलाई बुझ्न सहायता गर्नुको साथै परमेश्‍वरको अत्यन्त वास्तविक तथा विशुद्ध बुझाइ तथा ज्ञान हासिल गर्न सहायता गर्नको निम्ति हो। यसरी, मानिसहरूको हृदय बिस्तारै परमेश्‍वरप्रति खुल्दै जान्छ, परमेश्‍वरप्रति घनिष्ठ हुँदै जान्छ अनि तिनीहरूले उत्तम प्रकारले परमेश्‍वरलाई, उहाँको स्वभावलाई, उहाँको सारलाई बुझ्न अनि साँचो परमेश्‍वर स्वयमलाई चिन्न सक्छन्।

परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जो हुनुहुन्छ भन्‍ने कुराको ज्ञानले मानिसहरूमाथि सकारात्मक प्रभाव पार्न सक्छ। यसले तिनीहरूलाई परमेश्‍वरमा ज्यादा भरोसा राख्न र साँचो आज्ञाकारीता तथा उहाँको साँचो भय हासिल गर्न सहायता गर्नसक्छ। तब, तिनीहरूले उहाँलाई अन्धाधुन्ध पछ्याउने वा आराधना गर्नेछैनन्। परमेश्‍वरले मूर्खहरूलाई वा भीडलाई अन्धाधुन्ध पछ्याउनेहरूलाई चाहनुहुन्न, बरु त्यस्ता मानिसहरूको झुण्डलाई चाहनुहुन्छ जसको हृदयमा परमेश्‍वरको स्वभावको स्पष्ट बुझाइ तथा ज्ञान हुन्छ, जसले परमेश्‍वरका गवाहीहरूको रूपमा काम गर्न सक्छन्, जसले उहाँको प्रेमिलोपनको कारणले, उहाँसित जे छ र उहाँ जो हुनुहुन्छ, त्यसको कारणले अनि उहाँको धर्मी स्वभावको कारणले परमेश्‍वरलाई कहिल्यै त्याग्दैनन्। परमेश्‍वरको अनुयायीको हैसियतले यदि तेरो हृदयमा परमेश्‍वरको साँचो अस्तित्व, उहाँको स्वभाव, उहाँसित जे छ र उहाँ जो हुनुहुन्छ, मानवजातिलाई उद्धार गर्ने उहाँको योजना आदिको बारेमा अझै स्पष्टताको कमी छ, कुनै द्विविधा वा शङ्का छ भने तेरो विश्‍वासले परमेश्‍वरको प्रशंसालाई हासिल गर्न सक्दैन। यस्तो प्रकारको मानिसले उहाँलाई पछ्याएको परमेश्‍वर चाहनुहुन्न र यस्तो प्रकारको व्यक्ति उहाँको सामु आएको उहाँ चाहनुहुन्न। यस्तो प्रकारको मानिसले परमेश्‍वरलाई नबुझ्‍ने हुनाले, तिनीहरूले उहाँलाई आफ्नो हृदय दिन सक्दैनन्—तिनीहरूको हृदय उहाँको निम्ति बन्द हुन्छ, त्यसैले परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास अशुद्धताहरूले भरिएको हुन्छ। जुन प्रकारले तिनीहरूले परमेश्‍वरलाई पछ्याइरहेका हुन्छन्, त्यसलाई केवल अन्धो अनुसरण मात्र भन्न सकिन्छ। मानिसहरूले तब मात्र साँचो विश्‍वास हासिल गर्न सक्छन् र तिनीहरू उहाँका साँचो अनुयायीहरू हुन सक्छन् जब तिनीहरूसित परमेश्‍वरको साँचो बुझाइ तथा ज्ञान हुन्छ, र यसले तिनीहरूभित्र साँचो आज्ञापालन तथा परमेश्‍वरको भय उत्पन्न गर्दछ। केवल यसरी मात्र तिनीहरूले आफ्नो हृदय परमेश्‍वरलाई दिन सक्छन् र यसलाई उहाँको निम्ति खोल्न सक्छन्। परमेश्‍वरले चाहनुहुने कुरा यही नै हो, किनभने तिनीहरूले गर्ने र सोच्ने हरेक कुराले परमेश्‍वरको परीक्षाको सामना गर्न सक्छ र परमेश्‍वरको गवाही हुन सक्छ। परमेश्‍वरको स्वभाव वा उहाँसित जे छ र उहाँ जो हुनुहुन्छ, वा उहाँले गर्ने हरेक कुरामा उहाँको इच्छा तथा उहाँका विचारहरूको सम्बन्धमा मैले तिमीहरूलाई बताउने कुरा, जुनसुकै दृष्टिकोण वा कोणबाट मैले यो कुरा गरे तापनि, यो परमेश्‍वरको साँचो अस्तित्वको बारेमा तिमीहरूलाई अझ बढी विश्‍वस्त तुल्याउन, मानवजातिको निम्ति उहाँको प्रेमलाई अझ बढी साँचो रीतिले बुझ्न र सराहना गर्न, अनि मानिसहरूको निम्ति उहाँको चासो तथा मानवजातिलाई व्यवस्थापन गर्न तथा मुक्ति दिन उहाँको साँचो चाहनालाई अझ बढी साँचो रीतिले बुझ्न र सराहना गर्न तिमीहरूलाई सहायता गर्नको निम्ति हो।

परमेश्‍वरले संसारको सृष्टि गर्नुभएपश्‍चातका उहाँका सोच, विचार, र कार्यहरूको पुनरावलोकन

आज हामी परमेश्‍वरका विचारहरू, योजनाहरू अनि मानवजातिलाई सृष्टि गर्नुभन्दा अघि उहाँको हरेक चालको बारेमा पहिले सारांश प्रस्तुत गर्नेछौँ। संसारको सृष्टि गर्नुभएदेखि अनुग्रहको युगको आधिकारिक प्रारम्भ भएको समयसम्म उहाँले कुन काम सम्पन्न गर्नुभएको थियो, हामी त्यसबारे हेर्नेछौँ। त्यसपछि हामी मानिसलाई परमेश्‍वरका कुन-कुन विचार तथा योजनाहरू ज्ञात रहेनछन् भनी पत्ता लगाउन सक्‍नेछौँ अनि त्यहाँबाट हामी परमेश्‍वरको व्यवस्थापनसम्बन्धी योजनाको क्रमलाई प्रस्ट्याउन सक्‍नेछौँ अनि उहाँले व्यवस्थापन कार्य सृष्टि गर्नुहुँदाको सन्दर्भ, यसको श्रोत र विकास प्रक्रियालाई हामी पूर्ण रूपले बुझ्न सक्‍नेछौँ, अनि उहाँको व्यवस्थापन कार्यबाट उहाँले कस्ता परिणामहरू चाहनुहुन्छ भन्‍ने कुरालाई पनि हामी पूर्ण रूपले बुझ्न सक्‍नेछौँ—उहाँको व्यवस्थापनसम्बन्धी कामको गुदी तथा उद्देश्य यही नै हो। यी कुराहरू बुझ्न हामी अतीतको एउटा शान्त र सुनसान समयमा फर्किनुपर्छ जब त्यहाँ कुनै मानिसहरू नै थिएनन् …

परमेश्‍वरले व्यक्तिगत रूपमा पहिलो जीवित व्यक्ति सृष्टि गर्नुहुन्छ

जब परमेश्‍वर आफ्नो ओछ्यानबाट उठ्नुभयो, तब उहाँको पहिलो विचार यो थियो: एउटा जीवित व्यक्ति सृष्टि गर्नु—एउटा वास्तविक, जीवित मानिस—एउटा यस्तो मानिस जसको साथमा बस्न सकियोस् र जो उहाँको निरन्तरको साथी हुन सकोस्; यस व्यक्तिले उहाँको कुरा सुन्न सक्थ्यो, अनि उहाँले ऊमाथि भरोसा गर्न र ऊसित कुराकानी गर्न सक्नुहुन्थ्यो। त्यसपछि, पहिलोपल्ट, परमेश्‍वरले एक मुठ्ठी माटो जमिनबाट उठाउनुभयो र उहाँको मनमा उहाँले कल्पना गरे-अनुसार उहाँको स्वरूपमा पहिलो जीवित व्यक्ति सृष्टि गर्नको निम्ति त्यस माटोलाई प्रयोग गर्नुभयो, अनि त्यसपछि उहाँले यस जीवित प्राणलाई एउटा नाउँ दिनुभयो—आदम। जब परमेश्‍वरसित यो जीवित अनि सास फेर्ने व्यक्ति थियो उहाँले कस्तो महसुस गर्नुभयो? पहिलोपल्ट उहाँले प्रियजन वा साथी साथमा हुनुको आनन्द अनुभव गर्नुभयो। उहाँले पहिलोपल्ट पिता हुनुको जिम्मेवारी र त्यसको साथमा आउने फिक्री पनि अनुभव गर्नुभयो। यस जीवित तथा सास फेर्ने व्यक्तिले परमेश्‍वरलाई खुशी तथा आनन्द पनि दियो; उहाँले पहिलोपल्ट चैन अनुभव गर्नुभयो। परमेश्‍वरले गर्नुभएको पहिलो कुरा उहाँको विचार वा वचनहरूले सम्पन्न भएको थिएन, तर उहाँको आफ्नै हातहरूद्वारा सम्पन्न भएको थियो। जब यस्तो प्रकारको प्राणी—जुन जीवित तथा सास फेर्ने थियो—परमेश्‍वरको सामु देह र रगतद्वारा बनिएको, शरीर र रूप भएको अनि परमेश्‍वरसित कुरा गर्न सक्ने भएर खडा भयो, तब उहाँले पहिले कहिल्यै अनुभव नगरेको एक प्रकारको आनन्द अनुभव गर्नुभयो। परमेश्‍वरले साँचो रीतिले आफ्नो जिम्मेवारी अनुभव गर्नुभयो अनि यस जीवित प्राणीले उहाँको हृदयलाई झट्का दिएको मात्र होइन तर उसको हरेक चालले उहाँको हृदयलाई न्यानो पनि पारेको थियो, उहाँको हृदयलाई छोएको पनि थियो। जब यो जीवित प्राणी परमेश्‍वरको सामु खडा भयो, तब उहाँले पहिलोपल्ट त्यस्ता धेरै मानिसहरू प्राप्त गर्ने विचार गर्नुभयो। परमेश्‍वरसित भएको यस पहिलो विचारबाट सुरु भएको घटनाका शृङ्खलाहरू यही थियो। परमेश्‍वरको निम्ति, यी सबै घटनाहरू पहिलोपल्ट घटिरहेका थिए तर यी पहिलो घटनाहरूमा, त्यसबेला उहाँले आनन्द, जिम्मेवारी, फिक्री जे अनुभव गर्नुभएको भए तापनि, ती कुराहरू उहाँले बाँडचुँड गर्नको निम्ति त्यहाँ कोही थिएन। त्यस क्षणदेखि परमेश्‍वरले पहिले कहिल्यै अनुभव नगरेको एकलोपन र दुःख साँचो रूपमा महसुस गर्नुभयो। मानिसले उहाँको प्रेम तथा फिक्री, मानिसको निम्ति उहाँका अभिप्रायहरू ग्रहण गर्न वा बुझ्न सक्दैन भन्‍ने उहाँले महसुस गर्नुभयो, त्यसैले उहाँले आफ्‍नो हृदयमा अझै शोक तथा पीडा अनुभव गर्नुभयो। उहाँले मानिसकै निम्ति यी कुराहरू गर्नुभए तापनि, मानिसलाई त्यस कुराको ज्ञान थिएन अनि उसले बुझेन। मानिसले उहाँलाई खुशी, आनन्द र चैन ल्याउने बाहेक त्यसको साथमा उहाँलाई पहिलोपल्ट पीडा तथा एकलोपनको भावनाहरू पनि ल्याइदियो। त्यस समय परमेश्‍वरका विचार तथा भावनाहरू यही नै थिए। जब परमेश्‍वरले यी कुराहरू गरिरहनुभएको थियो, तब उहाँ आफ्नो हृदयमा आनन्ददेखि दुःख अनि दुःखदेखि पीडा भएर जानुभयो, अनि यी भावनाहरू चिन्ता मिश्रित थिए। उहाँले गर्न चाहना गर्नुभएको कुरा केवल हतारका साथ यस मानिसलाई, यस मानवजातिलाई उहाँको हृदयमा भएको कुरा जान्ने तुल्याउनु थियो, उहाँका अभिप्रायहरू चाँडै बुझ्ने तुल्याउनुथियो। तब, तिनीहरू उहाँका अनुयायीहरू हुनेथिए र उहाँका विचारहरूमा सहभागी हुनेथिए अनि उहाँको इच्छाको पक्षमा खडा हुनेथिए। तिनीहरू उप्रान्त केवल परमेश्‍वर बोल्नुभएको सुनेर अवाक् मात्र हुने थिएनन्; उहाँको काममा कसरी सम्मिलित हुने भनी तिनीहरू उप्रान्त अनजान हुने थिएनन्; विशेष गरी, तिनीहरू परमेश्‍वरका अपेक्षाहरूप्रति उदासीन हुने मानिसहरू हुने थिएनन्। परमेश्‍वरले गर्नुभएका ती प्रथम कुराहरू ज्यादै अर्थपूर्ण थिए र उहाँको व्यवस्थापन योजना तथा आजको मानवजातिको निम्ति त्यसले ठूलो महत्त्व राख्छ।

सबै कुरा र मानवजातिलाई सृष्टि गरिसक्‍नुभएपछि, परमेश्‍वरले विश्राम लिनुभएन। उहाँको व्यवस्थापनलाई अघि बढाउन, अनि मानवजातिमध्येमा उहाँले असाध्यै प्रेम गर्नुभएको मानिसहरूलाई हासिल गर्न उहाँ बेचैन र उत्सुक हुनुहुन्थ्यो।

परमेश्‍वरले व्यवस्थाको युगको बेलातिर श्रृंखलाबद्ध रूपमा अभूतपूर्व कार्यहरू गर्नुहुन्छ

अर्को कुरा, परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभएको लामो समय नबित्दै, हामी सारा संसारमा ठूलो जलप्रलय आएको कुरा बाइबलमा देख्छौँ। नोआलाई जलप्रलयको वृत्तान्तमा उल्लेख गरिएको छ, अनि नोआ नै परमेश्‍वरबाट तोकिएको काम पूरा गर्न उहाँसित सहकार्य गर्नको निम्ति उहाँको बोलावट पाउने पहिलो व्यक्ति थिए। अवश्य नै, पृथ्वीमा उहाँको आज्ञाअनुसार कुनै कुरा गर्नको निम्ति परमेश्‍वरले कुनै व्यक्तिलाई बोलाउनुभएको पनि यो पहिलोपल्ट नै थियो। एकपल्ट नोआले ठूलो जहाज बनाइसकेपछि, परमेश्‍वरले पहिलोपल्ट पृथ्वीमा जलप्रलय ल्याउनुभयो। जब परमेश्‍वरले पृथ्वीलाई जलप्रलयले नष्ट गर्नुभयो, तब मानवजातिलाई सृष्टि गरिसक्नुभएपछि परमेश्‍वर तिनीहरूप्रति घृणाले भरिनुभएको यो पहिलोपल्ट थियो; यही कुराले नै यस मानवजातिलाई जलप्रलयद्वारा नष्ट गर्ने दुःखदायी निर्णय गर्न परमेश्‍वरलाई बाध्य बनायो। जलप्रलयले पृथ्वीलाई नष्ट गरिसकेपछि, परमेश्‍वरले मानिसहरूसित उहाँको पहिलो करार बाँध्नुभयो, पृथ्वीलाई जलप्रलयद्वारा फेरि कहिल्यै नष्ट गर्नुहुनेछैन भनी देखाउनको निम्ति गरिएको एउटा करार। यस करारको चिन्ह इन्द्रेनी थियो। यो मानवजातिसित परमेश्‍वरको पहिलो करार थियो, त्यसैले इन्द्रेनी परमेश्‍वरद्वारा दिइएको करारको पहिलो चिन्ह थियो; इन्द्रेनी अस्तित्वमा रहेको एउटा वास्तविक, भौतिक कुरा हो। इन्द्रेनीको यही अस्तित्वले नै प्रायः परमेश्‍वरलाई उहाँले गुमाउनुभएको अघिल्लो मानवजातिको निम्ति दुःखी अनुभव गराउँछ, अनि तिनीहरूलाई के भएको थियो भनी उहाँलाई याद दिलाउने काम गर्दछ…। परमेश्‍वरले आफ्नो कदमलाई सुस्त गराउनुभएन—आफ्नो व्यवस्थापनमा अर्को कदम चाल्न उहाँ बेचैन र उत्सुक हुनुहुन्थ्यो। त्यसपश्‍चात, परमेश्‍वरले इस्राएलभरि आफ्नो कामको निम्ति आफ्नो पहिलो छनोटको रूपमा अब्राहामलाई चुन्नुभयो। परमेश्‍वरले त्यस्तो उम्‍मेदवार चुन्नुभएको पनि पहिलोपल्ट नै थियो। परमेश्‍वरले यस व्यक्तिद्वारा मानवजातिलाई मुक्ति दिने आफ्नो कामलाई अघि बढाउन अनि यस व्यक्तिका सन्तानहरूका बीचमा आफ्नो कामलाई निरन्तरता दिन सुरु गर्ने अठोट गर्नुभयो। अब्राहमसित परमेश्‍वरले यही गर्नुभयो भन्‍ने बारेमा हामी बाइबलमा देख्न सक्छौँ। तब, परमेश्‍वरले इस्राएललाई आफ्नो पहिलो चुनिएको भूमि बनाउनुभयो, अनि आफ्ना चुनिएका मानिसहरू अर्थात् इस्राएलीहरूद्वारा व्यवस्थाको युगको आफ्नो काम सुरु गर्नुभयो। फेरि एकपल्ट, पहिलोचोटि परमेश्‍वरले इस्राएलीहरूलाई मानवजातिले पछ्याउनुपर्ने स्पष्ट नियम तथा व्यवस्थाहरू दिनुभयो, अनि त्यसलाई सविस्तार बयान गरिदिनुभयो। परमेश्‍वरले मानवजातिलाई त्यस्ता निश्चित, मापदण्डपूर्ण नियमहरू दिनुभएको पहिलोपल्ट थियो जसभित्र तिनीहरूले कसरी बलिदानहरू दिनुपर्छ, कसरी बाँच्नुपर्छ, तिनीहरूले के गर्नु हुन्छ, के गर्नु हुँदैन, तिनीहरूले कुन चाड र दिवसहरू मान्नुपर्छ, अनि तिनीहरूले गर्ने हरेक कुरामा तिनीहरूले पछ्याउनुपर्ने सिद्धान्तहरू पर्दछन्। तिनीहरूले आफ्नो जीवन कसरी जिउनुपर्छ भन्‍ने सम्बन्धमा परमेश्‍वरले त्यस्ता विस्तृत, मापदण्डपूर्ण नियमन तथा सिद्धान्तहरू मानवजातिलाई दिनुभएको यो पहिलोपल्ट थियो।

हरेक पल्ट मैले “पहिलोपल्ट” भन्दा, यसले परमेश्‍वरले पहिले कहिल्यै नलिनुभएको प्रकारको कामलाई सङ्केत गर्दछ। यसले पहिले कहिल्यै अस्तित्वमा नरहेको कामलाई सङ्केत गर्दछ, अनि परमेश्‍वरले मानवजाति र सबै प्रकारका सृष्टि तथा जीवित प्राणीहरूलाई सृष्टि गर्नुभएको भए तापनि, यो चाहिँ एक प्रकारको काम हो जुन उहाँले पहिले कहिल्यै गर्नुभएको थिएन। यो सबै कामभित्र परमेश्‍वरले गर्नुभएको मानवजातिको व्यवस्थापन समावेश थियो; यो सबै मानिसहरू तथा उहाँको मुक्ति र तिनीहरूको व्यवस्थापनसित सम्बन्धित थियो। अब्राहामपछि परमेश्‍वरले फेरि अर्को पहिलो पल्टको काम गर्नुभयो—उहाँले अय्यूबलाई चुन्नुभयो जो व्यवस्थाको अधीनमा जिएका थिए अनि जसले शैतानका परीक्षाहरूको सामना गर्न सके अनि निरन्तर रूपमा परमेश्‍वरको भय मान्दै, खराबीलाई इन्कार गर्दै परमेश्‍वरको निम्ति गवाही भएर जिए। कुनै व्यक्तिलाई परीक्षा गर्न परमेश्‍वरले अनुमति दिनुभएको पनि यो पहिलोपल्ट नै थियो, अनि उहाँले शैतानसित बाजी थाप्नुभएको पनि पहिलो पटक नै थियो। अन्त्यमा, पहिलोपल्ट उहाँले कसैलाई हासिल गर्नुभयो जो गवाहीको रूपमा खडा भएर उहाँको निम्ति गवाही हुन सक्षम भयो र शैतानको सामना गर्दै त्यसलाई पूर्ण रूपले लाजमा पार्न सक्यो। परमेश्‍वरले मानवजातिलाई सृष्टि गर्नुभए यता, परमेश्‍वरले हासिल गर्नुभएको पहिलो व्यक्ति यिनै थिए जो उहाँको गवाही हुन सक्षम भए। उहाँले यस मानिसलाई हासिल गरिसक्‍नुभएपछि, परमेश्‍वर आफ्नो व्यवस्थापनलाई निरन्तरता दिन अनि आफ्नो कामको अर्को चरण कार्यान्वयन गर्न, त्यसको निम्ति उहाँले चुन्नुहुने स्थान तथा मानिसहरू तयार गर्न अझ बढी इच्छुक हुनुभयो।

यो सबैको बारेमा सङ्गति गरिसकेपछि, परमेश्‍वरको इच्छाको बारेमा के तिमीहरूसित साँचो समझ छ त? मानवजाति सम्बन्धी उहाँको व्यवस्थापन, उहाँको मुक्तिको यस घटनालाई परमेश्‍वरले अरू कुनै पनि कुराभन्दा पनि महत्त्वपूर्ण सम्झनुहुन्छ। उहाँले यी सबै कुराहरूलाई केवल आफ्नो मनले मात्र होइन, केवल आफ्‍ना वचनहरूले मात्र पनि होइन, अनि साधारण मनोवृत्तिले त निश्चय नै होइन—उहाँले यी सबै कुराहरू एउटा योजनासहित, एउटा लक्ष्यसहित, मापदण्डहरूसहित, अनि आफ्नो इच्छासहित गर्नुहुन्छ। यो स्पष्ट भइसकेको छ कि मानवजातिलाई मुक्ति दिने यो कामले परमेश्‍वर र मानिस दुवैका निम्ति ठूलो महत्त्व राख्दछ। काम जतिसुकै कठिन नै किन नहोस्, बाधाहरू चाहे जतिसुकै ठूला नै किन नहोऊन्, मानिसहरू चाहे जतिसुकै कमजोर नै किन नहोऊन्, मानवजातिको विद्रोहीपन जतिसुकै गहिरो नै किन नहोस्, यो कुनै पनि कुरा परमेश्‍वरको निम्ति कठिन छैन। आफ्नो ठूलो परिश्रम लगाएर अनि आफैले गर्न चाहनुभएको कामलाई व्यवस्थापन गर्दै परमेश्‍वरले आफैलाई व्यस्त राख्नुहुन्छ। उहाँले सबै कुरालाई पनि व्यवस्थित गर्दैहुनुहुन्छ अनि जसमाथि उहाँले काम गर्नुहुनेछ, ती सबै मानिसहरूमाथि र उहाँले पूरा गर्न चाहनुभएको सबै काममाथि उहाँ आफ्नो सार्वभौमिकता अभ्यास गर्दैहुनुहुन्छ—यी मध्ये कुनै पनि कुरा पहिले कहिल्यै गरिएको थिएन। परमेश्‍वरले यी विधिहरू प्रयोग गर्नुभएको र मानवजातिलाई व्यवस्थित तथा मुक्ति दिने वृहत् परियोजनाको निम्ति मूल्य चुकाउनुभएको यो पहिलोपल्ट हो। जब परमेश्‍वरले यो काम गर्दैहुनुहुन्थ्यो, तब उहाँले बिस्तारै-बिस्तारै आफ्नो ठूलो परिश्रम, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, उहाँको बुद्धि तथा असीमित शक्ति तथा उहाँको स्वभावको हरेक पक्षलाई मानवजातिको सामने पूर्ण रूपले प्रकट गर्दै र खोल्दै हुनुहुन्थ्यो। उहाँले यी कुराहरू खोल्नुहुन्छ र प्रकट गर्नुहुन्छ, जुन उहाँले पहिले यसो कहिल्यै गर्नुभएको थिएन। त्यसैले, सारा ब्रह्माण्डमा परमेश्‍वरले व्यवस्थित र उद्धार गर्ने लक्ष्य राख्नुभएका मानिसहरू बाहेक, कुनै पनि सृष्टि परमेश्‍वरसित यति नजिक रहेका छैनन् जसको उहाँसित त्यस्तो घनिष्ठ सम्‍बन्ध रहेको होस्। उहाँको हृदयमा उहाँले व्यवस्थित गर्न र मुक्ति दिन चाहनुभएको मानवजाति अत्यन्त महत्त्वपूर्ण छ; उहाँले यस मानवजातिलाई सबैभन्दा बढी महत्त्व दिनुहुन्छ। तिनीहरूका निम्ति उहाँले ठूलो मूल्य चुकाउनुभएको भए तापनि, र तिनीहरूले उहाँलाई निरन्तर चोट पुर्‍याए तापनि, उहाँको अवज्ञा गरे तापनि, उहाँले कहिल्यै तिनीहरूलाई वास्ता गर्न छोड्नुहुन्न अनि कुनै गुनासो र अफसोस नगरीकन नै उहाँ आफ्नो काममा अथकतापूर्वक लागिरहनुहुन्छ, किनभने उहाँलाई थाहा छ कि ढिलो वा चाँडो, उहाँको बोलावटप्रति मानिसहरू जागी उठ्नेछन् र उहाँका वचनहरूद्वारा प्रेरित हुनेछन् अनि सृष्टिका प्रभु उहाँ नै हुनुहुन्छ भनी चिनेर उहाँतिर फर्कनेछन् …

आज यी सबै कुरा सुनिसकेपछि, परमेश्‍वरले गर्नुहुने हरेक कुरा धेरै सामान्य रहेछन् भन्‍ने तिमीहरूलाई लाग्यो होला। मानिसहरूका निम्ति परमेश्‍वरका अभिप्रायहरू सधैँ उहाँका वचनहरू र उहाँको कामबाट तिनीहरूले अनुभव गरेका रहेछन् भन्‍ने प्रतीत हुन्छ तर तिनीहरूका भावनाहरू अथवा तिनीहरूको ज्ञान र परमेश्‍वरले के सोचिरहनुभएको छ भन्‍ने कुराबीच सधैँ एउटा निश्चित दूरी हुन्छ। त्यसैले, परमेश्‍वरले मानवजातिलाई किन सृष्टि गर्नुभयो अनि उहाँले आशा राख्नुभएको मानवजाति हासिल गर्ने उहाँको चाहनाको पछि रहेको पृष्ठभूमिको बारेमा सबै मानिसहरूलाई बताउनु आवश्यक छ भन्‍ने मेरो विचार छ। यस कुरा सबैलाई बताउनु अत्यावश्यक छ, ताकि हरेक व्यक्तिले आफ्नो हृदयमा प्रष्ट हुन र बुझ्न सकून्। परमेश्‍वरको हरेक सोचाइ तथा विचार, अनि उहाँको कामको हरेक चरण तथा हरेक अवधि उहाँको समग्र व्यवस्थापनसम्बन्धी कामसित बाँधिएको तथा घनिष्ठ रूपले जोडिएको हुनाले जब तँ परमेश्‍वरका विचारहरू, योजनाहरू र उहाँको कामको हरेक कदममा उहाँको इच्छालाई बुझ्छस्, यो उहाँको व्यवस्थापनसम्बन्धी योजनाको काम कसरी हुन आयो भनी बुझेको समान नै हुन्छ। यही जगमाथि नै परमेश्‍वर सम्‍बन्धी तेरो बुझाइ गहिरो हुन्छ। यद्यपि, संसारलाई पहिलो चोटि सृष्टि गर्नुहुँदा परमेश्‍वरले गर्नुभएको हरेक कुरा, जुन मैले पहिल्यै उल्लेख गरिसकेको छु, तँलाई अहिले सत्यताको खोजीसित असान्दर्भिक केवल एउटा “जानकारी” जस्तो मात्र लाग्ला, तथापि तेरो अनुभवको दौरानमा यस्तो एउटा दिन पनि आउनेछ, जब तैँले यो केवल साधारण एक दुई टुक्रा जानकारीहरू मात्र हुन् भनी सोच्‍नेछैनस्, न त यो केवल एक प्रकारको रहस्य हो भनेर नै सोच्‍नेछस्। तेरो जीवन अघि बढ्दै जाने क्रममा, जब तेरो हृदयमा परमेश्‍वरको केही स्थान हुन्छ, अथवा जब तँ उहाँको इच्छालाई अझ पूर्ण रूपले र गहिरो प्रकारले बुझ्छस्, तब तैँले आज मैले जे कुरा गरिरहेको छु, त्यसको महत्त्व र आवश्यकतालाई साँचो रीतिले बुझ्‍नेछस्। अहिले चाहे जुन हदसम्म तिमीहरूले यो स्वीकार गरे तापनि, तिमीहरूले यी कुराहरूलाई बुझ्नु र जान्नु अझै आवश्यक नै हुन्छ। जब परमेश्‍वरले केही गर्नुहुन्छ, जब उहाँले आफ्नो काम गर्नुहुन्छ, चाहे त्यो उहाँको विचारहरूद्वारा होस् वा उहाँको आफ्नै हातद्वारा होस्, चाहे त्यो उहाँले पहिलोपल्ट गर्नुभएको होस् वा अन्तिम पल्ट, आखिरमा, परमेश्‍वरसित एउटा योजना छ, अनि उहाँका उद्देश्यहरू र उहाँका विचारहरू उहाँले गर्नुहुने हरेक कुरामा हुन्छन्। यी उद्देश्यहरू तथा विचारहरूले परमेश्‍वरको स्वभावलाई प्रतिनिधित्व गर्दछन् र त्यसले उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसलाई प्रकट गर्छन्। यी दुई कुराहरू, अर्थात् परमेश्‍वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई हरेक व्यक्तिले बुझ्नैपर्छ। जब कुनै व्यक्तिले उहाँको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्दछ, तब परमेश्‍वरले जे गर्नुहुन्छ, सो उहाँले किन गर्नुहुन्छ अनि उहाँले जे भन्नुहुन्छ, सो उहाँले किन भन्नुहुन्छ भन्‍ने कुरालाई तिनीहरूले बिस्तारै बुझ्न सक्छन्। त्यसबाट, परमेश्‍वरलाई पछ्याउन, सत्यतालाई अनुसरण गर्न अनि आफ्नो स्वभावलाई परिवर्तन गर्नको निम्ति तिनीहरूसित धेरै विश्‍वास हुनसक्छ। यसको अर्थ, परमेश्‍वरको बारेमा मानिसको बुझाइ तथा परमेश्‍वरमाथिको उसको विश्‍वास अभिन्न कुरा हुन्।

यदि मानिसहरूले ज्ञान हासिल गरेको र समझ प्राप्त गरेको कुरा परमेश्‍वरको स्वभावको बारेमा हो अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको बारेमा हो भने तिनीहरूले हासिल गर्ने कुरा परमेश्‍वरबाट आएको जीवन हुनेछ। जब यो जीवन तँभित्र बनिनेछ, तब परमेश्‍वरप्रतिको तेरो भय झन्-झन् ठूलो हुँदै जानेछ। यो अत्यन्तै स्वभाविक रूपमा आउने प्राप्ति हो। यदि तँ परमेश्‍वरको स्वभाव वा उहाँको सारतत्व बुझ्न वा जान्न चाहँदैनस् भने, यदि तँ यी कुराहरूमाथि मनन वा ध्यान केन्द्रित नै गर्न चाहँदैनस् भने, म निश्‍चयता पूर्वक भन्न सक्छु, कि तैँले परमेश्‍वरमा अहिले जुन विश्‍वासलाई अनुसरण गर्दैछस्, त्यसले तँलाई कहिल्यै उहाँको इच्छा पूरा गर्न वा उहाँको प्रशंसा हासिल गर्न दिनेछैन। अझ त्यसभन्दा बढी, तैँले कहिल्यै साँचो उद्धार प्राप्त गर्नेछैनस्—यी नै अन्तिम परिणामहरू हुन्। जब मानिसहरूले परमेश्‍वरलाई बुझ्दैनन् अनि उहाँको स्वभावलाई जान्दैनन्, तब तिनीहरूको हृदय उहाँप्रति कहिल्यै साँचो रीतिले खुल्न सक्दैन। जब तिनीहरूले परमेश्‍वरलाई चिनेका हुन्छन्, तब तिनीहरूले उहाँको हृदयभित्र जे छ, त्यसलाई अभिरुचि र विश्‍वासका साथ सराहना गर्न अनि त्यसको आनन्द लिन थाल्नेछन्। जब तैँले परमेश्‍वरको हृदयमा जे छ, त्यसलाई सराहना गर्न अनि त्यसको आनन्द लिन थाल्छस्, तब तेरो हृदय बिस्तारै अलि-अलि गर्दै उहाँप्रति खुल्दै जानेछ। जब तेरो हृदय उहाँप्रति खुल्नेछ, तब परमेश्‍वरसितको तेरा कुराकानीहरू, परमेश्‍वरसितको तेरा मागहरू, अनि तेरा आफ्नै अनावश्यक चाहनाहरू कति घिनलाग्दा र तुच्छ रहेछन् भनी तैँले महसुस गर्नेछस्। जब तेरो हृदय परमेश्‍वरप्रति साँचो रीतिले खुल्दछ, तब तैँले उहाँको हृदय त एउटा अनन्त संसार नै रहेछ भनी देख्‍नेछस्, अनि तँ आफूले पहिले कहिल्यै अनुभव नगरेको राज्यभित्र प्रवेश गर्नेछस्। यस राज्यमा कुनै धोका हुँदैन, कुनै छल हुँदैन, कुनै अन्धकार अनि कुनै खराबी हुँदैन। त्यहाँ केवल निष्कपटता र विश्‍वासयोग्यता मात्रै हुन्छ; केवल ज्योति र सच्चाइ हुन्छ; केवल धार्मिकता र दया हुन्छ। यो प्रेम र वास्ताले भरिपूर्ण हुन्छ, करुणा र सहिष्णुताले भरिपूर्ण हुन्छ, अनि यसद्वारा तैँले जीवित हुनुको खुशी र आनन्दलाई अनुभव गर्छस्। जब तैँले परमेश्‍वरप्रति आफ्‍नो हृदय खोल्छस्, तब परमेश्‍वरले यिनै कुराहरू तँलाई प्रकट गरिदिनुहुनेछ। यो अनन्त संसार परमेश्‍वरको बुद्धि तथा सर्वशक्तिमान्‌ताले भरिपूर्ण छ; यो उहाँको प्रेम तथा अख्तियारले पनि भरिपूर्ण छ। यहाँ तैँले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ, कुन कुराले उहाँलाई आनन्द ल्याउँछ, किन उहाँ चिन्ता गर्नुहुन्छ अनि उहाँ किन दुःखी बन्‍नुहुन्छ, उहाँ किन रिसाउनुहुन्छ त्यसको हरेक पक्षलाई देख्‍न सक्छस्…। आफ्नो हृदय परमेश्‍वरको निम्ति खोल्ने र उहाँलाई भित्र आउन दिने हरेक व्यक्तिले यो कुरा देख्न सक्छ। यदि तैँले आफ्नो हृदय परमेश्‍वरको निम्ति खोलिस् भने मात्र परमेश्‍वर तेरो हृदयमा आउन सक्‍नुहुन्छ। यदि उहाँ तेरो हृदयमा आउनुभएको छ भने तैँले उहाँसित जे छ र उहाँ जो हुनुहुन्छ, त्यसलाई मात्र देख्न सक्छस्, तँप्रतिको उहाँका अभिप्रायहरू मात्र तैँले देख्न सक्छस्। त्यस समयमा, परमेश्‍वरको बारेमा सबै कुरा बहुमूल्य छ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यो मूल्यवान् ठानेर जोगाउन लायकको छ भनी तैँले पत्ता लगाउनेछस्। त्यसको तुलनामा, तेरो वरिपरि रहेका मानिसहरू, तेरो जीवनमा रहेका थोक तथा घटनाहरू, तेरा प्रियजनहरू समेत पनि, तेरो जीवनसाथी, अनि तैँले प्रेम गर्ने थोकहरू पनि मुस्किलले उल्लेखनीय हुन्छन्। तिनीहरू साह्रै सानो हुन्छन्, साह्रै नीच हुन्छन्; कुनै भौतिक वस्तुले तँलाई फेरि खिँच्न सक्नेछैन, अथवा कुनै भौतिक वस्तुले तँलाई कहिल्यै लोभ्याएर त्यसको निम्ति कुनै मूल्य चुकाउन लगाउनेछैन भन्‍ने तैँले महसुस गर्नेछस्। परमेश्‍वरको नम्रतामा तैँले उहाँको महान्‌ता र उहाँको सर्वोच्‍चतालाई देख्‍नेछस्। यसको साथै, तैँले पहिले एकदम सानो ठानेको परमेश्‍वरको कुनै काममा तैँले उहाँको अनन्त बुद्धि तथा उहाँको सहनशीलता देख्‍नेछस्, तैँले उहाँको धैर्य, उहाँको सहिष्णुता, तँप्रतिको उहाँको बुझाइलाई देख्‍नेछस्। यसले तँभित्र उहाँको निम्ति श्रद्धा उत्पन्न गर्नेछ। त्यस दिन, मानवजाति कस्तो अशुद्ध संसारमा बाँचिरहेका रहेछन्, अनि तेरो पक्षमा रहेका मानिसहरू अनि तेरो जीवनमा घट्ने घटनाहरू, तैँले प्रेम गर्ने मानिसहरू समेत, तेरो निम्ति तिनीहरूको प्रेम, अनि तेरो निम्ति तिनीहरूको कथित सुरक्षा वा वास्ता समेत पनि उल्लेखनीय छैनन् भन्‍ने तैँले महसुस गर्नेछस्—केवल परमेश्‍वर मात्र तेरो प्रिय हुन्छ, अनि केवल परमेश्‍वरलाई मात्रै तैँले सबैभन्दा बढी मूल्यवान् ठान्छस्। जब त्यो दिन आउँछ, तब यसो भन्‍ने केही मानिसहरू हुनेछन् भन्‍ने म विश्‍वास गर्छु: परमेश्‍वरको प्रेम अत्यन्त महान् छ, अनि उहाँको सारतत्व अत्यन्त पवित्र छ—परमेश्‍वरमा कुनै छल छैन, कुनै खराबी, कुनै ईर्ष्या, कुनै कलह छैन, तर केवल धार्मिकता र विश्‍वसनीयता मात्रै छ, अनि परमेश्‍वरमा जे छ र उहाँ जे हुनुहुन्छ, ती हरेक कुरालाई मानिसहरूले चाहना गर्नुपर्छ। मानिसहरूले त्यसको निम्ति संघर्ष गर्नुपर्छ। यो प्राप्त गर्ने मानिसजातिको क्षमता कुन आधारमाथि बनिएको हुन्छ? यो परमेश्‍वरको स्वभावबारे तिनीहरूको बुझाइमाथि, परमेश्‍वरको सारबारे तिनीहरूको बुझाइमाथि बनिएको हुन्छ। त्यसैले, परमेश्‍वरको स्वभाव अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्नु हरेक व्यक्तिको निम्ति एउटा जीवनभरिको पाठ हो; आफ्नो स्वभावलाई परिवर्तन गर्न र परमेश्‍वरलाई चिन्न संघर्ष गर्ने हरेक व्यक्तिले जीवनभर पछ्याउने लक्ष्य यही हो।

परमेश्‍वर काम गर्नका निम्ति पहिलोपटक देह बन्‍नुहुन्छ

हामीले भर्खरै परमेश्‍वरले गर्नुभएका सबै कामहरूको बारेमा, उहाँले गर्नुभएका अभूतपूर्व कामहरूका श्रृंखलाहरूको बारेमा कुरा गर्‍यौं। यी प्रत्येक कुराहरू परमेश्‍वरको व्यवस्थापन योजना र परमेश्‍वरको इच्छासँग सम्बन्धित छन्। ती परमेश्‍वरको स्वभाव र उहाँको सारसित पनि सम्बन्धित छन्। यदि हामी परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको बारेमा धेरै बुझ्न चाहन्छौँ भने, हामी पुरानो नियममा वा व्यवस्थाको युगमा रोकिन सक्दैनौं—परमेश्‍वरले आफ्नो काममा लिनुभएका कदमहरूलाई पछ्याएर हामी निरन्तर अघि बढ्नुपर्छ। त्यसकारण, परमेश्‍वरले व्यवस्थाको युग सिध्याएर अनुग्रहको युग सुरु गर्नुभएकोले, हाम्रा आफ्नै कदमहरूले पनि अनुग्रहको युगतर्फ पछ्याएको होस्—अनुग्रह तथा उद्धारले भरिपूर्ण युगभित्र। यस युगमा, परमेश्‍वरले फेरि पहिले कहिल्यै नगरिएको कुनै महत्त्वपूर्ण काम गर्नुभयो। यस नयाँ युगमा गरिएको काम परमेश्‍वर तथा मानवजातिको निम्ति एउटा नयाँ सुरुवाती बिन्दु थियो—एउटा यस्तो सुरुवाती बिन्दु जसमा परमेश्‍वरले पहिले कहिल्यै नगरिएको काम गर्नुभएको कुरा समावेश थियो। यो नयाँ काम अभूतपूर्व थियो, यस्तो कुरा जुन मानव तथा सारा सृष्टिको कल्पनाको शक्तिभन्दा परको कुरा थियो। यो यस्तो कुरा थियो जुन अहिले सबै मानिसहरूलाई ज्ञात भइसकेको छ—पहिलो पल्ट, परमेश्‍वर मानिस हुनुभयो, अनि पहिलो पल्ट उहाँले मानिसको रूप लिएर मानिसको नयाँ पहिचानमा रही नयाँ काम सुरु गर्नुभयो। परमेश्‍वरले व्यवस्थाको युगमा आफ्नो काम गरिसक्नुभएको थियो अनि अब उपरान्त उहाँले व्यवस्थाको अधीनमा केही पनि गर्नुहुने वा भन्नुहुने थिएन भन्‍ने कुरालाई यस नयाँ कामले इङ्गित गरेको थियो। न त उहाँले व्यवस्थाको रूपमा अर्थात् व्यवस्थाका सिद्धान्तहरू वा नियमहरू अनुसार केही कुरा भन्नु वा गर्नुहुने नै थियो। यसको अर्थ, उहाँको व्यवस्थामा आधारित सबै काम सदाको निम्ति रोकिएको थियो र यो जारी रहनेथिएन किनभने परमेश्‍वरले नयाँ काम सुरु गर्न र नयाँ कुराहरू गर्न चाहनुभएको थियो। फेरि एक पल्ट उहाँको योजनाको एउटा नयाँ सुरुवाती बिन्दु भयो, अनि त्यसैले परमेश्‍वरले मानवजातिलाई अर्को चरणमा डोर्‍याउनुपर्‍यो।

मानिसहरूको लागि यो समाचार आनन्ददायक थियो कि अनिष्ट सूचक भन्‍ने कुरा हरेक व्यक्तिको सारमा निर्भर हुन्थ्यो। कसै-कसैको लागि यो आनन्ददायक समाचार नभई अनिष्ट सूचक थियो भन्न सकिन्छ किनभने जब परमेश्‍वरले आफ्नो नयाँ काम सुरु गर्नुभयो, तब जुन मानिसहरूले केवल व्यवस्था तथा नियमहरूलाई मात्र पछ्याउँथे, जसले परमेश्‍वरको भय नमानेर केवल सिद्धान्तहरूलाई मात्र पछ्याउँथे, तिनीहरूले आफ्नो पुरानो कामलाई प्रयोग गरेर उहाँको नयाँ कामलाई दोष्याउने प्रवृत्ति थियो। ती मानिसहरूको निम्ति यो अनिष्ट समाचार थियो। तर जो निर्दोष तथा खुला थिए, जो परमेश्‍वरप्रति सच्चा थिए र उहाँको उद्धारलाई ग्रहण गर्न इच्छुक थिए, तिनीहरू सबैका निम्ति परमेश्‍वरको पहिलो देहधारण अत्यन्तै आनन्ददायक समाचार थियो। किनभने, पहिलो पटक मानिसहरूलाई अस्तित्वमा ल्याइएको दिनदेखि यता परमेश्‍वर आत्मामा नभई शरीरमा मानिसहरूकहाँ देखापर्नुभएको र तिनीहरूको माझमा वास गर्नुभएको यो पहिलो पटक थियो; यस पल्ट, उहाँ मानिसको रूपमा जन्मिनुभयो अनि मानिसको पुत्रको रूपमा मानिसहरूको माझमा वास गर्नुभयो, अनि तिनीहरूको बीचमा काम गर्नुभयो। यसले “पहिले” मानिसहरूको धारणाहरूलाई तोड्यो; यो सबै कल्पनाभन्दा परको कुरा थियो। यसबाहेक, परमेश्‍वरका सबै अनुयायीहरूले एउटा ठोस फाइदा हासिल गरे। परमेश्‍वरले पुरानो युगलाई मात्रै अन्त्य गर्नुभएन तर उहाँले काम गर्ने पुराना तरिकाहरू तथा काम गर्ने शैलीलाई पनि अन्त्य गर्नुभयो। उहाँले आफ्ना सन्देशवाहकहरूलाई उपरान्त आफ्नो इच्छा जाहेर गर्न लगाउनुभएन, उहाँ उपरान्त बादलहरूमा लुक्‍नुभएको थिएन, अनि उपरान्त मानिसहरूलाई गर्जनद्वारा हुकुम दिँदै देखापर्नुभएन वा बोल्नुभएन। अघिको कुनै पनि कुराभन्दा पृथक्, मानिसहरूको निम्ति बुझ्‍न वा स्वीकार गर्न कठिन र तिनीहरूको निम्ति एउटा अकल्पनीय विधिद्वारा—देह बनेर—उहाँ त्यस युगको काम सुरु गर्नको निम्ति मानिसको पुत्र हुनुभयो। परमेश्‍वरको यस कार्यले मानवजातिलाई पूर्ण रूपले बेतैयार भएको अवस्थामा भेट्टायो; यसले तिनीहरूलाई अप्ठ्यारोमा पार्‍यो, किनकि परमेश्‍वरले एक पल्ट फेरि नयाँ काम सुरु गर्नुभएको थियो जुन उहाँले पहिले कहिल्यै गर्नुभएको थिएन। आज, हामी यस नयाँ युगमा परमेश्‍वरले कुन नयाँ काम सम्पन्न गर्नुभयो सो बारेमा हेर्नेछौं, अनि यस नयाँ कामबाट उहाँको स्वभाव तथा उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको सम्बन्धमा हामीले सिक्‍नुपर्ने के छ सो बारेमा विचार गर्नेछौँ।

बाइबलको नयाँ नियममा निम्नलिखित वचनहरू लेखिएका छन्:

१. येशूले खानका लागि शबाथको दिनमा गहुँका बाला टिप्‍नुहुन्छ

मत्ती १२:१  त्यस बेला येशू शबाथको दिन गहुँ बारी भएर जानुभयो; अनि उहाँका चेलाहरू भोकाए र गहुँका बालाहरू टिपेर खान थाले।

२. मानिसको पुत्र नै शबाथका प्रभु हुनुहुन्छ

मत्ती १२:६-८  तर म तिमीहरूलाई भन्छु, यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ। तर यदि तिमीहरूले यसको अर्थ के हो भन्‍ने थाहा पाएका भए, म कृपा होइन, बलिदान लिनेछु, तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ। किनकि मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ।

पहिले यस खण्डलाई हेरौँ: “त्यस बेला येशू शबाथको दिन गहुँ बारी भएर जानुभयो; अनि उहाँका चेलाहरू भोकाए र गहुँका बालाहरू टिपेर खान थाले।”

मैले किन यस खण्डलाई छानेँ? परमेश्‍वरको स्वभावसँग यसको के सम्बन्ध छ? यस पाठमा, हामीले जान्‍ने पहिलो कुरा भनेको त्यो शबाथको दिन थियो तर येशू बाहिर जानुभयो र आफ्ना चेलाहरूलाई गहुँ बारी भएर लानुभयो भन्‍ने हो। अझ बढी “छली” कुरा त तिनीहरूले “गहुँका बालाहरू टिपेर खान” समेत थाले। व्यवस्थाको युगमा, यहोवा परमेश्‍वरको व्यवस्थाले मानिसहरूले शबाथको दिनमा अनौपचारिक रूपमा बाहिर जान वा क्रियाकलापहरूमा भाग लिन सक्दैनन् भन्‍ने कुरा निर्धारित गरेको थियो—शबाथको दिनमा गर्न नसकिने धेरै कुराहरू थिए। प्रभु येशूले गर्नुभएको यो कार्य व्यवस्थाको अधीनमा धेरै लामो समयसम्म जिउँदै आएकाहरूको निम्ति बुझ्‍न कठिन कुरा थियो र त्यसले आलोचना निम्त्यायो। तिनीहरूको अन्योल र येशूले जे गर्नुभएको थियो त्यसको बारेमा तिनीहरूले कसरी कुरा गरे भन्‍ने कुरालाई अहिलेको निम्ति पन्छाऔँ र पहिले प्रभु येशूले सबै दिनहरूमध्ये शबाथको दिनमा नै किन यसो गर्नुभयो र व्यवस्थाको अधीनमा जिइरहेका मानिसहरूलाई यस कार्यबाट के कुरा बताउन चाहनुहुन्थ्यो भन्‍ने बारेमा छलफल गरौँ। यस खण्ड र मैले कुरा गर्न चाहेको परमेश्‍वरको स्वभाव बीचको सम्बन्ध यही हो।

जब प्रभु येशू आउनुभयो, तब उहाँले मानिसहरूलाई परमेश्‍वरले व्यवस्थाको युगलाई बिदा गर्नुभएको छ र नयाँ काम सुरु गर्नुभएको छ र यस नयाँ कामले शबाथ दिन पालन गर्न आवश्यक छैन भनी बताउन आफ्नो व्यवहारिक क्रियाहरूको प्रयोग गर्नुभयो। परमेश्‍वर शबाथ दिनको सीमाहरूबाट बाहिर निस्केर आउनु उहाँको नयाँ कामको एउटा पूर्वाभास मात्र थियो; वास्तविक र महान् काम आउन अझै बाँकी नै थियो। जब प्रभु येशूले आफ्नो काम सुरु गर्नुभयो, तब उहाँले व्यवस्थाको युगका “साङ्लोहरू” लाई पछाडि छोडी सक्नुभएको थियो, अनि त्यस युगका विधिविधान तथा सिद्धान्तहरूलाई तोडेर बाहिर निस्कनुभएको थियो। उहाँमा, व्यवस्थासँग सम्बन्धित कुनै छाप थिएन; उहाँले त्यसलाई पूर्ण रूपले हटाइसक्नुभएको थियो र उपरान्त त्यसलाई पालना गर्नुभएन, र त्यस उपरान्त मानवजातिलाई उहाँले पालना गर्न लगाउनुभएन। त्यसैले, यहाँ तँ देख्न सक्छस् कि प्रभु येशू शबाथ दिनमा गहुँका खेतहरूबाट भएर जानुभयो, र प्रभु येशूले विश्राम लिनुभएन; उहाँले बाहिर काम गरिरहनुभएको थियो, विश्राम लिइरहनुभएको थिएन। उहाँको यो कार्य मानिसहरूका धारणाहरूको लागि एउटा झड्को थियो र उहाँ त्यस उपरान्त व्यवस्थाको अधीनमा जिउनुहुन्‍न, उहाँले शबाथ दिनका बन्धनहरूलाई छोड्नुभएको छ र नयाँ काम गर्ने शैलीको साथमा नयाँ स्वरूपमा उहाँ मानवजातिको माझमा देखापर्नुभएको छ भन्‍ने बारे यसले तिनीहरूलाई बतायो। उहाँले आफूसित नयाँ काम ल्याउनुभएको छ, यस्तो काम जुन व्यवस्थाको अधीनमा रहेको अवस्थाबाट उत्पन्न भएर शबाथ दिनबाट बिदा हुँदै सुरु भयो भन्‍ने कुरा उहाँको यस कार्यले मानिसहरूलाई बतायो। जब परमेश्‍वरले आफ्नो नयाँ कामलाई अघि बढाउनुभयो, तब उहाँ उपरान्त विगतमा टाँसिनुभएन, अनि उहाँ व्यवस्थाको युगका विधिविधानहरूको बारेमा उपरान्त चिन्तित हुनुभएन। न त उहाँ पहिलेको युगको आफ्नो कामद्वारा नै प्रभावित हुनुभयो, तर अरू दिनमा झैं शबाथ दिनमा पनि उहाँले आफ्नो काम गर्नुभयो, अनि जब उहाँका चेलाहरू शबाथ दिनमा भोकाउँथे, तब तिनीहरूले खानका निम्ति गहुँका पातहरू टिप्न सके। यो सबै परमेश्‍वरको दृष्टिमा साह्रै सामान्य थियो। परमेश्‍वरको निम्ति, उहाँले गर्न चाहनुभएको नयाँ काममध्ये धेरैजसोको र उहाँले भन्न चाहनुभएको नयाँ वचनहरूमध्ये धेरैजसोको नयाँ सुरुवात हुनु उचित नै हुन्छ। जब उहाँले कुनै नयाँ काम सुरु गर्नुहुन्छ, न त उहाँले विगतको कामलाई उल्लेख गर्नुहुन्छ, न त त्यसलाई जारी नै राख्‍नुहुन्छ। परमेश्‍वरसित उहाँको कामसम्‍बन्धी सिद्धान्तहरू हुने भएकाले, जब उहाँले मानवजातिलाई आफ्नो कामको नयाँ चरणमा ल्याउन चाहनुहुन्छ, अनि जब उहाँको काम उच्च स्तरमा प्रवेश गर्छ तब उहाँले नयाँ काम सुरु गर्न चाहनुहुन्छ। यदि मानिसहरूले पुराना भनाइहरू र विधिविधानहरू अनुसार नै निरन्तर काम गरिरहन्छन् वा तिनीहरूलाई निरन्तर पक्री राख्छन् भने, उहाँले त्यसलाई सम्झने वा अनुमोदन गर्ने गर्नुहुन्न। किनभने उहाँले पहिले नै नयाँ काम ल्याइसक्नुभएको छ, अनि उहाँको कामको नयाँ चरणमा प्रवेश गरिसक्‍नुभएको छ। जब उहाँले नयाँ काम सुरु गर्नुहुन्छ, उहाँ पूर्ण रूपले एउटा नयाँ प्रतिरूपमा, पूर्ण रूपले नयाँ कोणबाट अनि पूर्ण रूपले नयाँ तरिकाले मानवजातिकहाँ देखा पर्नुहुन्छ ताकि मानिसहरूले उहाँको स्वभावका विभिन्न पक्षहरू तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो देख्न सकून्। यो उहाँको नयाँ कामका लक्ष्यहरूमध्ये एउटा हो। परमेश्‍वर पुराना कुराहरूमा टाँसिनुहुन्न वा मानिसहरू हिँडिसकेको बाटो हिँड्नुहुन्न; जब उहाँले काम गर्नुहुन्छ र बोल्नुहुन्छ, उहाँ मानिसहरूले कल्पना गरे जतिकै निषेधक हुनुहुन्न। परमेश्‍वरमा सबै स्वतन्त्र र मुक्त छन्, अनि त्यहाँ कुनै निषेध, कुनै बन्देज छैन—उहाँले मानवजातिकहाँ ल्याउनुहुने कुरा भनेका स्वतन्त्रता तथा छुटकारा हो। उहाँ एक जीवित परमेश्‍वर हुनुहुन्छ, एक परमेश्‍वर जो सच्चा र साँचो रूपले अस्तित्वमा हुनुहुन्छ। उहाँ कठपुतली वा माटोको मूर्ति हुनुहुन्न, अनि उहाँ मानिसहरूले प्रतिस्थापन गर्ने र आराधना गर्ने मूर्तिहरूभन्दा पूर्ण रूपमा अलग हुनुहुन्छ। उहाँ जीवित र सक्रिय हुनुहुन्छ, अनि उहाँका वचनहरू तथा कामले मानवजातिलाई दिने भनेका सबै जीवन र ज्योति, सबै स्वतन्त्रता तथा छुटकारा हुन् किनकि उहाँमा सत्यता, जीवन र बाटो छ—उहाँको कुनै पनि काममा उहाँ कुनै कुराद्वारा करमा पर्नुहुन्न। मानिसहरूले उहाँको नयाँ कामको बारेमा जे भने पनि र तिनीहरूले त्यसलाई जसरी हेरे तापनि वा मूल्याङ्कन गरे तापनि, उहाँले मनको कुनै सन्तापविना नै आफ्नो कामलाई अघि बढाउनुहुन्छ। उहाँको काम वा वचनको सम्बन्धमा कसैका धारणाहरू वा औंला ठड्याउने कुरा वा उहाँको नयाँ कामको सम्बन्धमा तिनीहरूको कडा विरोध वा प्रतिरोधप्रति उहाँ चिन्तित हुनुहुनेछैन। सारा सृष्टिमध्ये कसैले पनि मानव तर्क वा मानव कल्पना, ज्ञान वा नैतिकता प्रयोग गरेर परमेश्‍वरले जे गर्नुहुन्छ, त्यसलाई मापन वा व्याख्या गरेर उहाँको कामलाई बदनाम गर्ने, बाधा दिने वा नोक्सानी पुर्‍याउने गर्न सक्दैन। उहाँको काममा र उहाँले जे गर्नुहुन्छ त्यसमा कुनै प्रतिबन्ध छैन; कुनै मानिस, घटना वा वस्तुद्वारा यसलाई बन्धनमा पारिनेछैन, न त कुनै प्रतिरोधी शक्तिहरूले बाधा दिन्छन्। जहाँसम्म उहाँको नयाँ कामको कुरा छ, उहाँ सदा विजयी राजा हुनुहुन्छ, अनि कुनै पनि प्रतिरोधी शक्तिहरू र मानवजातिका सबै विश्‍वास-विरोधी तथा झूटा तर्कहरूलाई उहाँको पाउदानमुनि कुल्चिइन्छ। उहाँले आफ्‍नो कामको जुनसुकै नयाँ चरण अघि बढाइरहनुभएको भए पनि, यो निश्चय नै मानवजातिको माझमा विकास र विस्तार हुनेछ, अनि यो निश्चय नै उहाँको महान् काम पूर्ण नभएसम्म सारा ब्रह्माण्डभरि विना अवरोध अघि बढ्नेछ। परमेश्‍वरको सर्वशक्तिमान्‌ता र बुद्धि, उहाँको अख्तियार र शक्ति यही हो। यसैले, प्रभु येशूले शबाथ दिनमा खुला रूपमा बाहिर गएर काम गर्न सक्‍नुभयो किनकि उहाँको हृदयमा मानवजातिबाट उत्पन्‍न भएका कुनै नियमहरू, ज्ञान वा सिद्धान्त थिएनन्। उहाँसँग परमेश्‍वरको नयाँ काम र परमेश्‍वरको बाटो थियो। उहाँको काम मानवजातिलाई स्वतन्त्र गर्ने, मानिसहरूलाई मुक्त गर्ने, तिनीहरूलाई ज्योतिमा अस्तित्वमा रहन र बाँच्‍न दिने बाटो थियो। यसै बीच, मूर्ति वा झूटा ईश्‍वरहरूको आराधना गर्नेहरू हरेक दिन सबै किसिमका नियम र निषेधहरूबाट नियन्त्रित भई शैतानको बन्धनमा बाँच्छन्—आज एउटा कुरो निषेध गरिन्छ र भोलि अर्को कुरो—तिनीहरूको जीवनमा कुनै स्वतन्त्रता छैन। तिनीहरू आनन्दविनाको जीवन जिइरहेका, हतकडी लगाइएका कैदी जस्ता छन्। “निषेध” ले केको प्रतिनिधित्व गर्छ? यसले वाधाहरू, बन्धनहरू र दुष्टको प्रतिनिधित्व गर्छ। कुनै व्यक्तिले मूर्ति पूजा गर्ने बित्तिकै तिनीहरूले एक झूटो ईश्‍वर, एक दुष्ट आत्माको पूजा गरिरहेका हुन्छन्। यस्ता क्रियाकलापहरूमा संलग्‍न भएसँगै निषेध आउँछ। तैँले यो वा त्यो खानुहुँदैन, आज तँ बाहिर जान सक्दैनस्, भोलि तैँले पकाउनु हुँदैन, अर्को दिन तँ नयाँ घरमा सर्न सक्दैनस्, विवाहहरू र मृत्यु-संस्कारहरूका साथै बच्चा जन्माउनका लागि समेत निश्चित दिनहरू छनौट गर्नुपर्छ। यसलाई के भनिन्छ? यसलाई निषेध भनिन्छ; यो मानवजातिको बन्धन हो र यो मानिसहरूलाई नियन्त्रण गर्ने र तिनीहरूको हृदय र शरीरहरूलाई नियन्त्रण गर्ने शैतान र दुष्ट आत्माहरूको हतकडी हो। के यी निषेधहरू परमेश्‍वरसँग मौजुद छन्? परमेश्‍वरको पवित्रताको बारेमा कुरा गर्दा, तैँले पहिले यो सोच्‍नुपर्छ: परमेश्‍वरसँग कुनै निषेधहरू छैनन्। आफ्ना वचनहरू र काममा परमेश्‍वरसँग सिद्धान्तहरू छन्, तर निषेधहरू छैनन् किनकि परमेश्‍वर स्वयम् सत्य, बाटो र जीवन हुनुहुन्छ।

अब, हामी धर्मशास्‍त्रको निम्नलिखित खण्डलाई हेर्नेछौं: “तर म तिमीहरूलाई भन्छु, यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ। तर यदि तिमीहरूले यसको अर्थ के हो भन्‍ने थाहा पाएका भए, म बलिदान होइन, कृपा लिनेछु, तिमीहरूले निर्दोषलाई दोष लगाउने थिएनौ। किनकि मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” (मत्ती १२:६-८)। यहाँ “मन्दिर” शब्दले केलाई जनाउँछ? यसलाई सरल भाषामा भन्नुपर्दा, यसले एउटा भव्य, अग्लो भवनलाई सङ्केत गर्दछ, अनि व्यवस्थाको युगमा, मन्दिर पूजाहारीहरूले परमेश्‍वरलाई आराधना गर्ने एउटा ठाउँ थियो। जब प्रभु येशूले, “यस ठाउँमा मन्दिरभन्दा महान् एक जना हुनुहुन्छ” भन्नुभयो, तब “एक जना” ले कसलाई सङ्केत गर्‍यो? स्पष्ट रूपले, “एक जना” देहधारी प्रभु येशू हुनुहुन्थ्यो, किनकि केवल उहाँ मात्र मन्दिरभन्दा महान् हुनुहुन्थ्यो। ती वचनहरूले मानिसहरूलाई के बतायो? त्यसले मानिसहरूलाई मन्दिरबाट बाहिर निस्कन निर्देशन दियो—किनकि परमेश्‍वरले मन्दिरलाई छोडी सक्नुभएको थियो अनि उपरान्त त्यसमा काम गरिरहनुभएको थिएन, त्यसैले मानिसहरूले मन्दिरभन्दा बाहिर परमेश्‍वरका पाइलाहरू खोज्नुपर्छ अनि उहाँको नयाँ काममा उहाँका कदमहरूलाई पछ्याउनुपर्छ। जब प्रभु येशूले यो भन्नुभयो, उहाँका वचनहरू पछाडि एउटा आधार थियो, जुन के थियो भने, व्यवस्थाको अधीनमा, मानिसहरूले मन्दिरलाई स्‍वयम्‌ परमेश्‍वरभन्दा महान् छ भनी हेर्न थालेका थिए। यसको अर्थ, मानिसहरूले परमेश्‍वरको सट्टामा मन्दिरलाई आराधना गर्थे, त्यसैले प्रभु येशूले तिनीहरूलाई मूर्तिहरू पूजा नगर्नू, बरु परमेश्‍वरलाई आराधना गर्नू भनी चेतावनी दिनुभयो किनकि उहाँ सर्वोच्च हुनुहुन्छ। यसरी, उहाँले भन्नुभयो: “म बलिदान होइन, कृपा लिनेछु।” यो स्पष्ट छ कि प्रभु येशूको दृष्टिमा, व्यवस्थाको अधीनमा जिइरहेका अधिकांश मानिसहरूले यहोवाको आराधना गरिरहेका थिएनन्, तर विना कुनै रुचि बलिदानहरू मात्रै चढाइरहेका थिए, अनि यो मूर्तिपूजा सरह भएको प्रभु येशूले ठहर गर्नुभयो। यी मूर्तिपूजकहरूले मन्दिरलाई परमेश्‍वरभन्दा महान् र उच्च देखे। तिनीहरूको हृदयमा परमेश्‍वर नभई केवल मन्दिर मात्र थियो अनि यदि तिनीहरूले मन्दिर गुमाएका भए, तिनीहरूले आफ्नो वासस्थानलाई नै गुमाउने थिए। मन्दिरविना आराधना गर्नको निम्ति तिनीहरूसित कुनै ठाउँ थिएन अनि तिनीहरूले बलिदानहरूको काम गर्न सक्दैनथे। तिनीहरूको कथित “वासस्थान” यस्तो ठाउँ थियो जसलाई तिनीहरूले मन्दिरमा रहन र आफ्नै कामकाजहरू सम्पन्न गर्न यहोवा परमेश्‍वरलाई आराधना गर्ने झूटा बहानाको रूपमा प्रयोग गर्थे। तिनीहरूको कथित “बलिदान” मन्दिरमा सेवा गर्ने नाममा आफ्नै व्यक्तिगत लाजमर्दो कारोबारहरू सम्पन्न गर्ने कार्य मात्रै थियो। यही कारणले मानिसहरूले त्यो बेला परमेश्‍वरभन्दा मन्दिरलाई महान् देखे। प्रभु येशूले मानिसहरूको निम्ति चेतावनीको रूपमा यी वचनहरू बोल्नुभयो किनभने मानिसहरूलाई र परमेश्‍वरलाई धोका दिनको निम्ति तिनीहरूले मन्दिरलाई एउटा आवरणको रूपमा, अनि बलिदानहरूलाई एउटा लुक्ने ठाउँको रूपमा प्रयोग गरिरहेका थिए। यदि यी वचनहरूलाई तैँले वर्तमानमा प्रयोग गरिस् भने, ती अझै पनि उत्तिकै जायज र उत्तिकै सान्दर्भिक हुन्छन्। आजका मानिसहरूले व्यवस्थाको युगका मानिसहरूले भन्दा परमेश्‍वरको बेग्लै कामको अनुभव गरे तापनि, तिनीहरूको प्रकृति सार उही नै छ। आजको कामको सन्दर्भमा, मानिसहरूले अझै पनि त्यही प्रकारका कुराहरू गर्नेछन् जसलाई यी शब्दहरूले प्रतिनिधित्व गर्छन्, “परमेश्‍वरभन्दा महान् मन्दिर छ।” उदाहरणको निम्ति, मानिसहरूले आफ्नो कर्तव्य पूरा गर्ने कुरालाई कामको रूपमा हेर्छन्; तिनीहरूले परमेश्‍वरको निम्ति गवाही हुने तथा ठूलो रातो अजिङ्गरसित लडाईं गर्ने कुरालाई मानव अधिकारको रक्षार्थ, प्रजातन्त्र तथा स्वतन्त्रताको निम्ति गरिने राजनीतिक क्रियाकलापहरूको रूपमा हेर्छन्; तिनीहरूले कर्तव्यलाई आफ्नो जीवनचर्यामा सीप उपयोग गर्ने कुराको रूपमा लिन्छन्, तर परमेश्‍वरको भय मान्ने र खराबीलाई घृणा गर्ने कुरालाई तिनीहरूले पालना गर्नुपर्ने धार्मिक सिद्धान्तको एउटा भागको रूपमा लिन्छन्; अनि यस्तै इत्यादि। के यी सबै व्यवहारहरू वास्तवमा “परमेश्‍वरभन्दा मन्दिर महान् छ” भन्‍ने सरह नै छैन र? फरक यो छ कि, दुई हजार वर्षअघि, मानिसहरूले भौतिक मन्दिरमा व्यक्तिगत व्यापार गर्दैथिए, तर आज मानिसहरूले अमूर्त मन्दिरहरूमा आफ्नो व्यक्तिगत व्यापार गर्छन्। ती मानिसहरू जसले नियमहरूलाई महत्त्व दिन्छन्, तिनीहरूले नियमहरूलाई परमेश्‍वरलाई भन्दा महान् ठान्छन्, ती मानिसहरू जसले हैसियतलाई प्रेम गर्छन्, तिनीहरूले हैसियतलाई परमेश्‍वरभन्दा महान् ठान्छन्, ती जसले जीवनचर्यालाई प्रेम गर्छन्, तिनीहरूले जीवनचर्यालाई परमेश्‍वरभन्दा महान् ठान्छन्, आदि इत्यादि—तिनीहरूका सबै अभिव्यक्तिहरूले मलाई यसो भन्न बाध्य गर्छ: “मानिसहरूले आफ्‍ना शब्‍दहरूद्वारा परमेश्‍वरलाई सबैभन्दा महान् हुनुहुन्छ भनी प्रशंसा त गर्छन् तर तिनीहरूको दृष्टिमा सबै कुरा परमेश्‍वरभन्दा महान् छन्।” किनभने मानिसहरूले परमेश्‍वरलाई पछ्याउने आफ्नो मार्गमा आफ्नो प्रतिभा देखाउने वा आफ्नो व्यवसाय वा आफ्नो जीवनचर्या गर्ने अवसर पाउनेबित्तिकै तिनीहरूले परमेश्‍वरदेखि आफैलाई टाढा बनाउँछन् अनि आफ्नो प्रिय जीवनचर्यामा हाम फाल्छन्। परमेश्‍वरले तिनीहरूलाई जे सुम्पनुभएको छ, अनि उहाँको इच्छा के छ भन्‍ने सम्बन्धमा चाहिँ, ती कुराहरूलाई लामो समयदेखि नै परित्याग गरिएका छन्। यी मानिसहरू र दुई हजार वर्ष अघि मन्दिरमा आफ्नै व्यवसाय गर्ने ती मानिसहरूका बीचमा के फरक छ?

यसपछि, हामी यस अध्यायको अन्तिम वाक्यलाई हेरौं: “किनकि मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ।” के यस वाक्यको व्यवहारिक पक्ष छ? के तिमीहरूले व्यवहारिक पक्ष देख्न सक्छौ? परमेश्‍वरले भन्नुभएको हरेक कुरा उहाँको हृदयबाट आउँछ, त्यसोभए उहाँले किन यसो भन्नुभयो त? यसलाई तिमीहरू कसरी बुझ्छौ? तिमीहरूले अहिले यसको अर्थ बुझेका छौ होला तर यो बोलिएको समयमा धेरै मानिसहरूले यसलाई बुझेनन् किनकि मानवजाति भर्खरै व्यवस्थाको युगबाट बाहिर आएका थिए। तिनीहरूका निम्ति शबाथ दिनबाट अलग हुनु धेरै नै कठिन कुरा थियो, साँचो शबाथ के हो भनी बुझ्ने कुरा त झन् परको कुरा थियो।

“मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” भन्‍ने वाक्यले परमेश्‍वरको हरेक कुरा भौतिक प्रकृतिको छैन, अनि परमेश्‍वरले तेरा सबै भौतिक खाँचोहरू पूरा गर्न सक्नुभए तापनि तेरा सबै भौतिक खाँचोहरू पूरा भइसकेपछि, के यी कुराहरूबाट आउने सन्तुष्टिले तैँले गर्ने सत्यताको खोजीको स्थान लिन सक्छ र? यो स्पष्ट रूपमै सम्भव छैन! परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, ती दुवै सत्यता नै हुन् जसको बारेमा हामीले सङ्गति गरेका छौँ। यसको मूल्यलाई भौतिक वस्तुहरूसित तुलना गर्न सकिँदैन चाहे ती जतिसुकै मूल्यवान् नै किन नहोऊन्, न त यसको मूल्यलाई पैसा वा सम्पत्ति जस्ता कुराहरूमा आकलन गर्न सकिन्छ किनकि यो भौतिक वस्तु होइन, अनि यसले हरेक व्यक्तिको हृदयका खाँचोहरू पूर्ति गर्दछ। हरेक व्यक्तिको निम्ति, यस्ता अमूर्त सत्यताको मूल्य तैँले मूल्यवान् ठान्ने कुनै पनि भौतिक वस्तुहरूको मूल्यभन्दा ठूलो हुनुपर्छ, होइन र? यस अभिव्यक्तिमाथि तिमीहरू धेरै अल्मलिरहनु पर्दैन। मैले भनेको कुराको मुख्य बुँदा के हो भने, परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ, अनि परमेश्‍वर सम्‍बन्धी हरेक कुरा प्रत्येक व्यक्तिको निम्ति सबैभन्दा महत्त्वपूर्ण कुराहरू हुन् र कुनै भौतिक थोकले त्यसको स्थान लिन सक्दैन। म तँलाई एउटा उदाहरण दिन्छु: जब तँ भोकाउँछस्, तँलाई भोजन चाहिन्छ। यो खाना धेरथोर मीठो वा धेरथोर असन्तोषजनक हुन सक्छ, तर पेट भरिएपछि, भोक लागेको त्यो नमीठो अनुभूति हुनेछैन—यो जानेछ। तँ शान्तिमा बस्न सक्नेछस्, अनि तेरो शरीर विश्राममा हुनेछ। मानिसहरूको भोक भोजनले मेट्छ, तर जब तँ परमेश्‍वरलाई पछ्याइरहेको हुन्छस् र तँसँग उहाँको बुझाइ छैन भन्‍ने महसुस गर्छस्, तब तैँले तेरो हृदयको खालीपनलाई कसरी समाधान गर्न सक्छस्? के यसलाई भोजनद्वारा समाधान गर्न सकिन्छ? अथवा, जब तैँले परमेश्‍वरलाई पछ्याइरहेको हुन्छस् अनि उहाँको इच्छालाई बुझ्दैनस्, तब तेरो हृदयको भोकलाई मेटाउनको लागि तैँले के प्रयोग गर्न सक्छस्? परमेश्‍वरद्वारा प्राप्त हुने तेरो मुक्तिको अनुभवको प्रक्रियामा, तेरो स्वभावमा परिवर्तन गर्न खोजिरहँदा, यदि तैँले उहाँको इच्छा बुझ्दैनस् वा उहाँको सत्यता के हो भनी जान्दैनस् भने, यदि तैँले परमेश्‍वरको स्वभावलाई बुझ्दैनस् भने, के तैँले असहज महसुस गर्दैनस् र? के तैँले तेरो हृदयमा ठूलो भोक र तिर्खाको महसुस गर्नेछैनस् र? के यी अनुभूतिहरूले तँलाई तेरो हृदयमा विश्रामको अनुभव गर्नबाट रोक्नेछैन र? त्यसोभए, तैँले तेरो हृदयको त्यो भोकलाई कसरी मेटाउन सक्छस्—के त्यसलाई समाधान गर्ने कुनै उपाय छ? कोही मानिसहरू किनमेल गर्न जान्छन्, कतिपय आफ्‍नो मनको कुरा गर्न साथीहरूकहाँ जान्छन्, कोही लामो सुताइमा लिप्त हुन्छन्, कोही परमेश्‍वरका वचनहरू धेरै पढ्छन्, वा आफ्ना कर्तव्यहरू पूरा गर्न अझै बढी कडा परिश्रम गर्छन् अनि धेरै प्रयास गर्छन्। के यी कुराहरूले तेरा वास्तविक कठिनाइहरूलाई समाधान गर्न सक्छन् र? तिमीहरू सबैले यस प्रकारका अभ्यासहरूलाई पूर्ण रूपले बुझ्दछौ। जब तँ शक्तिहीन महसुस गर्छस्, जब तैँले सत्यताको वास्तविकता र उहाँको इच्छा जान्नको लागि अन्तर्दृष्टि प्राप्त गर्ने ठूलो इच्‍छाको महसुस गर्छस्, तब तँलाई चाहिने सबैभन्दा ठूलो कुरो के हो? तँलाई चाहिने कुरा भनेको पूरा भोजन होइन, अनि केही दयाका वचनहरू पनि होइन, देहको क्षणिक आराम र सन्तुष्टिको कुरा त परै छाडौं—तैँले के गर्नुपर्छ र कसरी गर्नुपर्छ भन्‍ने कुरा परमेश्‍वरले तँलाई प्रत्यक्ष रूपमा र स्पष्ट रूपमा बताउनुभएको, सत्यता के हो सो स्पष्ट रूपमा बताउनुभएको चाहिँ तँलाई चाहिने कुरा हो। यसलाई बुझिसकेपछि यदि तैँले थोरै बुझाइ मात्र पनि प्राप्त गरिस् भने के तँ तेरो हृदयमा तैँले मीठो भोजन खाएको भन्दा बढी सन्तुष्ट हुँदैनस् र? जब तेरो हृदय सन्तुष्ट हुन्छ, के तेरो हृदय र तेरो पूरा व्यक्तित्वले साँचो विश्राम प्राप्त गर्दैन र? यस उपमा तथा विश्लेषणद्वारा, मैले किन तिमीहरूसित “मानिसको पुत्र शबाथको दिनको समेत प्रभु हुनुहुन्छ” भन्‍ने यो वाक्य बाँड्न चाहेँ भन्‍ने कुरा के तैँले अहिले बुझ्छस्? यसको अर्थ के हो भने, परमेश्‍वरबाट जे आउँछ, उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, अनि उहाँको बारेमा रहेका हरेक कुरा अरू कुनै पनि कुराभन्दा ठूलो हुन्छ, जसभित्र तैँले बहुमूल्य भनी विश्‍वास गरेको थोक वा व्यक्ति पनि पर्दछन्। भनाइको अर्थ, यदि कुनै व्यक्तिले परमेश्‍वरको मुखबाट आएका वचनहरू हासिल गर्न सक्दैनन् वा तिनीहरूले परमेश्‍वरको इच्छालाई बुझ्दैनन् भने तिनीहरूले विश्राम प्राप्त गर्न सक्दैनन्। आज तिमीहरूले यो खण्ड हेरेको म किन चाहन्छु भन्‍ने कुरा तिमीहरूको भविष्यका अनुभवहरूमा तिमीहरूले बुझ्नेछौ—यो धेरै महत्त्वपूर्ण छ। परमेश्‍वरले गर्नुहुने सबै कुरा सत्यता र जीवन हो। सत्यता यस्तो कुरा हो जसको कमी मानिसहरूको जीवनमा हुनुहुँदैन, र यो यस्तो कुरा हो जुनविना मानिसहरूले केही पनि गर्न सक्दैनन्; यो नै सबैभन्दा ठूलो कुरा हो भनेर पनि तैँले भन्‍न सक्छस्। तैँले यसलाई देख्‍न वा छुन नसके तापनि, तेरो निम्ति यसको महत्त्वलाई बेवास्ता गर्न सकिँदैन; तेरो हृदयमा विश्राम ल्याउन सक्‍ने एउटै मात्र कुरा यही हो।

के सत्यता सम्‍बन्धी तिमीहरूको बुझाइ तिमीहरूको आफ्नै अवस्थाहरूसित जोडिएको छ? वास्तविक जीवनमा, तैँले सामना गरेका मानिसहरू, घटनाहरू र वस्तुहरूसित कुन-कुन सत्यताहरू सम्बन्धित छन् भनेर तैँले सुरुमा विचार गर्नुपर्छ; यिनै सत्यताहरूको माझमा तैँले परमेश्‍वरको इच्छा पत्ता लगाउन सक्छस् र उहाँको इच्छामा तैँले जे भेटेको छस्, त्यससित जोडिन सक्छस्। यदि तैँले सामना गरेका कुराहरूसित सत्यताका कुन-कुन पक्षहरूले सम्बन्ध राख्छन् भन्‍ने तँलाई थाहा छैन तर प्रत्यक्ष रूपमा परमेश्‍वरको इच्छा खोजी गर्न जान्छस् भने, यो एउटा अन्धो तरिका हो जसले परिणामहरू हासिल गर्न सक्दैन। यदि तँ सत्यताको खोजी गर्न र परमेश्‍वरको इच्छा बुझ्न चाहन्छस् भने, पहिले तैँले कस्ता कुराहरू तँमा घटेका छन्, सत्यताको कुन पक्षहरूसित ती सम्बन्धित छन् सो हेरेर, परमेश्‍वरको वचनमा निश्चित सत्यताको खोजी गर्नु आवश्यक हुन्छ, जुन तैँले अनुभव गरेको कुरासित सम्बन्धित छन्। त्यसपछि तैँले त्यस सत्यतामा तेरो लागि सहि रहेको अभ्यासको मार्गलाई खोजी गर्नुपर्छ; यसरी, तैँले परमेश्‍वरको इच्छाको अप्रत्यक्ष बुझाइ हासिल गर्न सक्छस्। सत्यताको खोजी गर्नु र अभ्यास गर्नु यान्त्रिक रूपले सिद्धान्त प्रयोग गर्नु वा सूत्रलाई पालन गर्नु होइन। सत्यता सूत्रबद्ध हुँदैन, न त यो नियम नै हो। यो मरेको छैन, यो आफैमा जीवन हो, यो सजीव कुरा हो, र यो सृष्टि गरिएको थोकले जीवनमा पछ्याउनुपर्ने नियम र मानिससित जीवनमा हुनुपर्ने नियम हो। यो तैँले अनुभवद्वारा जतिसक्दो धेरै बुझ्‍नुपर्ने कुरा हो। तेरो अनुभवमा तँ जुन अवस्थामा आइपुगे तापनि, तँलाई परमेश्‍वरको वचन वा सत्यतादेखि अलग गर्न सकिँदैन, र परमेश्‍वरको स्वभावको बारेमा तँ जे बुझ्छस्, र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसबारे तँलाई जे थाहा छ, ती सबैलाई परमेश्‍वरका वचनहरूमा व्यक्त गरिएका छन्; ती सत्यतासित फुकाउनै नमिल्ने गरी गाँसिएका छन्। परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, ती आफैमा सत्यता हुन्; सत्यता परमेश्‍वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको विशुद्ध प्रस्फुटन हो। यसले उहाँसित जे छ, र उहाँ जे हुनुहुन्छ, त्यसलाई ठोस बनाउँछ र यसले उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको प्रष्ट अभिव्यक्ति दिन्छ; परमेश्‍वरले के मन पराउनुहुन्छ अनि के मन पराउनुहुन्न, तैँले के गरेको उहाँ चाहनुहुन्छ, अनि उहाँले तँलाई के गर्न अनुमति दिनुहुन्‍न, कुन मानिसहरूलाई उहाँले तुच्छ ठान्नुहुन्छ, कुन मानिसहरूमा उहाँले आनन्द लिनुहुन्छ त्यसबारे यसले तँलाई अझ प्रत्यक्ष रूपमा बताउँछ। परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यताहरूको पछाडि, मानिसहरूले उहाँको आनन्द, रिस, शोक र खुशीको साथै उहाँको सारलाई देख्न सक्छन्—यो उहाँको स्वभावको प्रकटीकरण हो। परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ भनी जान्नु, अनि उहाँको वचनबाट उहाँको स्वभाव बुझ्नु बाहेक, सबैभन्दा महत्त्वपूर्ण खाँचो भनेको व्यक्तिगत अनुभवद्वारा यो बुझाइसम्म पुग्नु हो। यदि परमेश्‍वरलाई चिन्नको लागि व्यक्तिले आफूलाई वास्तविक जीवनबाट हटाउँछ भने, तिनीहरूले त्यसलाई हासिल गर्न सक्षम हुनेछैनन्। परमेश्‍वरको वचनबाट केही बुझाइ हासिल गर्न सक्‍ने मानिसहरू छन्, तापनि तिनीहरूको बुझाइ सिद्धान्तहरू तथा शब्‍दहरूमा सीमित हुन्छ, अनि परमेश्‍वर स्वयम्‌ वास्तवमा कस्तो हुनुहुन्छ भन्‍ने कुराबारे भेद उत्पन्न हुन्छ।

अहिले हामीले कुराकानी गरिरहेको विषय बाइबलमा नै लेखिएका कथाहरूको क्षेत्रभित्र छ। यी कथाहरूद्वारा, अनि घटेका यी घटनाहरूलाई विश्लेषण गर्दा, मानिसहरूले उहाँले प्रकट गर्नुभएको उहाँको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो कुरा बुझ्‍न सक्छन्, अनि यसले गर्दा परमेश्‍वरको हरेक पक्षलाई तिनीहरूले अझ वृहत् रूपमा, अझ गहिरो प्रकारले अनि विस्तार पूर्वक जान्न सक्छन्। त्यसोभए, परमेश्‍वरको हरेक पक्षलाई जान्‍ने एउटै मात्र तरिका यी कथाहरूद्वारा मात्रै हो? होइन, एउटै मात्र तरिका यो होइन! किनकि राज्यको युगमा परमेश्‍वरले जे भन्नुहुन्छ र उहाँले जुन काम गर्नुहुन्छ, त्यसले मानिसहरूलाई उहाँको स्वभावबारे अझ राम्रोसित जान्न र त्यसबारे पूर्ण रूपले जान्न सहायता गर्नसक्छ। तथापि, मलाई के लाग्छ भने, बाइबलमा लेखिएका, मानिसहरूका निम्ति परिचित केही उदाहरण तथा कथाहरूद्वारा नै हामीलाई परमेश्‍वरको स्वभाव जान्न तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्न अलिक सजिलो हुनेछ। यदि यस प्रकारले उहाँलाई चिन्नको निम्ति तँलाई सक्षम तुल्याउन मैले न्याय र सजायका वचनहरू तथा परमेश्‍वरले आज व्यक्त गर्नुहुने सत्यताहरूलाई एक-एक शब्द गरी लिएँ भने, तैँले यो अति सुस्त र वाक्क लाग्दो छ भन्‍ने महसुस गर्नेछस्, अनि कोही मानिसहरूले त परमेश्‍वरका वचनहरू सूत्र बद्ध छन् भन्‍ने समेत महसुस गर्नेछन्। तर यदि मैले मानिसहरूलाई परमेश्‍वरको स्वभाव जान्न सहायता गर्नको निम्ति बाइबलका यी कथाहरूलाई लिएँ भने तिनीहरूले यसलाई दिक्क लाग्दो महसुस ठान्‍नेछैनौ। तैँले भन्न सक्छस्, कि यी उदाहरणहरू व्याख्या गर्ने क्रममा, त्यस समय परमेश्‍वरको हृदयमा के थियो त्यसका विवरणहरू—उहाँको मनस्थिति तथा मनोभाव, उहाँका सोचाइ तथा विचारहरू—मानिसहरूलाई मानव भाषामा नै बताइएको थियो, अनि यो सबैको लक्ष्य परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यो सूत्र बद्ध होइन भनी तिनीहरूलाई बुझाउन, महसुस गर्न दिनु हो। यो दन्त्यकथा वा मानिसहरूले देख्न नसक्ने वा छुन नसक्ने कुनै कुरा होइन। यो साँच्चिकै अस्तित्वमा रहेको कुनै कुरा हो, जसलाई मानिसहरूले महसुस तथा सराहना गर्न सक्छन्। अन्तिम लक्ष्य यही हो। तैँले भन्न सक्छस् कि यस युगमा बाँचिरहेका मानिसहरू धन्यका हुन्। तिनीहरूले परमेश्‍वरको पहिलेका कार्यको बारेमा वृहत् बुझाइ प्राप्त गर्न बाइबलका कथाहरू प्रयोग गर्न सक्छन्; तिनीहरूले उहाँले गर्नुभएको कामद्वारा उहाँको स्वभावलाई देख्न सक्छन्; परमेश्‍वरले व्यक्त गर्नुभएका यी स्वभावहरूद्वारा तिनीहरूले मानवजातिको निम्ति उहाँको इच्छालाई बुझ्न सक्छन्, अनि उहाँको पवित्रताका ठोस प्रकटीकरणहरू तथा मानवको निम्ति उहाँको वास्तालाई बुझ्न सक्छन्, अनि यसरी तिनीहरूले परमेश्‍वरको स्वभावको बारेमा अझ विस्तृत र अझ गहिरो ज्ञान प्राप्त गर्न सक्छन्। मलाई विश्‍वास छ, कि तिमीहरू सबैले अहिले यो महसुस गर्न सक्छौ!

प्रभु येशूले अनुग्रहको युगमा पूरा गर्नुभएको यस कामको क्षेत्रभित्र, तैँले परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको अर्को पक्षलाई देख्न सक्छस्। यो पक्षलाई उहाँको देहद्वारा प्रकट गरिएको थियो, अनि मानिसहरूले उहाँको मानवताको कारण यसलाई देख्न र बुझ्‍न सके। परमेश्‍वरले कसरी देहमा आफ्नो मानवता जिउनुभयो सो कुरा मानिसहरूले मानिसको पुत्रमा देखे, अनि परमेश्‍वरको ईश्‍वरत्व देहद्वारा प्रकट भएको तिनीहरूले देखे। यी दुई प्रकारका प्रकटीकरणहरूले मानिसहरूलाई एउटा वास्तविक परमेश्‍वरलाई देख्ने तुल्यायो, अनि त्यसले मानिसहरूलाई परमेश्‍वरको एउटा फरक अवधारणा निर्माण गर्न लगायो। तथापि, संसारको सृष्टि र व्यवस्थाको युगको अन्त्य बीचको समयावधिमा अर्थात् अनुग्रहको युगभन्दा पहिले मानिसहरूले देखेका, सुनेका र अनुभव गरेका परमेश्‍वरका पक्षहरू भनेका परमेश्‍वरको ईश्‍वरत्व, परमेश्‍वरले अभौतिक क्षेत्रभित्र गर्नुभएका र भन्नुभएका, अनि उहाँले उहाँको देख्‍न वा छुन नसकिने वास्तविक व्यक्तित्वबाट प्रकट गर्नुभएका कुराहरू मात्रै पर्छन्। प्रायजसो, यी कुराहरूले मानिसहरूलाई परमेश्‍वर आफ्नो महानतामा यति उच्च हुनुहुन्छ कि मानिसहरू उहाँको नजिक जान सक्दैनन् भन्‍ने महसुस गरायो। परमेश्‍वरले मानिसहरूलाई प्रायजसो दिनुभएको भाव के थियो भने उहाँलाई बुझ्‍ने तिनीहरूको क्षमताबाट उहाँ घरी देखिनुहुन्थ्यो र घरी हराउनुहुन्थ्यो, अनि मानिसहरूले यो पनि महसुस गरे कि उहाँको हरेक विचार तथा धारणा यति रहस्यमय छ र यति भ्रमपूर्ण छ कि तिनलाई पहुँच गर्ने कुनै बाटो छैन, उहाँलाई बुझ्ने र सराहना गर्ने प्रयासको कुरा त परै छोडौं। मानिसहरूको निम्ति, परमेश्‍वरको हरेक कुरा धेरै टाढाको थियो, यति टाढाको कि मानिसहरूले त्यसलाई देख्न सक्दैनथे, त्यसलाई छुन सक्दैनथे। उहाँ उच्‍चमा आकाशमाथि हुनुहुन्छ भन्‍ने प्रतीत हुन्थ्यो, अनि उहाँ बिलकुल अस्तित्वमा हुनुहुन्न जस्तै प्रतीत हुन्थ्यो। यसैकारण मानिसहरूको निम्ति, परमेश्‍वरको हृदय र मन वा उहाँको कुनै पनि सोचलाई बुझ्‍नु अप्राप्य थियो, अनि तिनीहरूको पहुँचभन्दा पनि परको कुरा थियो। परमेश्‍वरले व्यवस्थाको युगमा केही ठोस काम गर्नुभएको भए तापनि, अनि मानिसहरूलाई उहाँको सराहना गर्न तथा उहाँको बारेमा केही वास्तविक ज्ञान प्राप्त गर्न लगाउनको निम्ति उहाँले केही विशेष वचनहरू जारी गर्नुभएको तथा केही विशेष स्वभावहरू प्रकट गर्नुभएको भए तापनि, अन्त्यमा, परमेश्‍वरसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसका प्रकटीकरणहरू एउटा अभौतिक क्षेत्रबाट आएको थियो, अनि मानिसहरूले जे बुझे, तिनीहरूले जे जाने, त्यो अझै पनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको ईश्‍वरीय पक्षसँग सम्‍बन्धित थियो। उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको यस अभिव्यक्तिद्वारा मानवजातिले उहाँको ठोस अवधारणा प्राप्त गर्न सकेन, अनि परमेश्‍वरबारे तिनीहरूको विचार अझै पनि “पहुँच गर्न नसकिने, अनुभूतिबाट बाहिर-भित्र गरिरहने आत्मिक शरीर” कै क्षेत्रभित्र अड्की बस्यो। परमेश्‍वरले मानिसहरूको सामु देखा पर्न भौतिक क्षेत्रको कुनै विशेष वस्तु वा स्वरूपको प्रयोग नगर्नुभएको कारण, मानव भाषा प्रयोग गरेर बयान गर्न तिनीहरू असमर्थ रहे। परमेश्‍वरको निम्ति स्तर स्थापित गर्न, उहाँलाई ठोस बनाउन र मानवीकरण गर्न, जस्तै उहाँ कति अल्गो हुनुहुन्छ, उहाँ कति ठूलो हुनुहुन्छ, उहाँलाई वास्तवमा के मन पर्छ अनि उहाँको व्यक्तित्व के हो, त्यसको लागि मानिसहरूले आफ्नो हृदय र मनहरूमा सधैँ आफ्नो भाषा प्रयोग गर्न चाहन्थे। वास्तवमा, मानिसहरूले यस प्रकारले सोचिरहेका छन् भन्‍ने कुरा परमेश्‍वरले आफ्‍नो हृदयमा जान्नुहुन्थ्यो। मानिसहरूका खाँचोहरूको बारेमा परमेश्‍वरलाई अत्यन्तै स्पष्ट रूपमा थाहा थियो, अनि अवश्य नै, उहाँले के गर्नुपर्छ भन्‍ने पनि उहाँलाई थाहा थियो, त्यसैले उहाँले अनुग्रहको युगमा बेग्लै तरिकाले आफ्नो काम गर्नुभयो। यो नयाँ तरिका ईश्‍वरीय र मानवीय दुवै थियो। प्रभु येशूले काम गरिरहनुभएको समयावधिमा, परमेश्‍वरसित धेरै मानव अभिव्यक्तिहरू छन् भनी मानिसहरूले देख्न सक्थे। उदाहरणको निम्ति, उहाँले नाच्न सक्नुहुन्थ्यो, उहाँ विवाहहरूमा सहभागी हुन सक्नुहुन्थ्यो, उहाँले मानिसहरूसित कुराकानी गर्न सक्नुहुन्थ्यो, तिनीहरूसित छलफल गर्न सक्नुहुन्थ्यो। त्यसको अतिरिक्त, प्रभु येशूले उहाँको ईश्‍वरत्वलाई प्रतिनिधित्व गर्ने धेरै काम पनि पूरा गर्नुभयो, अनि वास्तवमा उहाँको यो सबै काम परमेश्‍वरको स्वभावको अभिव्यक्ति र प्रकाश थियो। यस अवधिमा, जब परमेश्‍वरको ईश्‍वरत्व मानिसहरूले देख्न र छुन सकिने प्रकारले देहमा प्रकट भयो, तब उहाँ तिनीहरूको बुझाइबाट भित्र-बाहिर गरिरहनुहुन्छ वा तिनीहरू उहाँको नजिक जान सक्दैनन् भन्‍ने कुरालाई मानिसहरूले उपरान्त महसुस गर्न छोडे। यसको विपरीत, तिनीहरूले उहाँको हरेक चालद्वारा, वचनहरूद्वारा, अनि मानिसको पुत्रको कामद्वारा परमेश्‍वरको इच्छालाई जान्‍न वा बुझ्‍न प्रयास गर्न सके। मानिसको देहधारी पुत्रले परमेश्‍वरको ईश्‍वरत्वलाई आफ्नो मानवताद्वारा प्रकट गर्नुभयो अनि मानवजातिलाई परमेश्‍वरको इच्छा प्रकट गर्नुभयो। अनि परमेश्‍वरको इच्छा तथा स्वभावलाई प्रकट गरेर, उहाँले आत्मिक संसारमा बास गर्नुहुने परमेश्‍वरलाई मानिसहरूकहाँ प्रकट पनि गरिदिनुभयो, जसलाई देख्न वा छुन सकिँदैन। मानिसहरूले जे देखे, त्यो भौतिक स्वरूपमा देह र रगतले बनेको परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो। त्यसैले, मानिसको देहधारी पुत्रले परमेश्‍वर स्‍वयम्‌को पहिचान, परमेश्‍वरको हैसियत, प्रतिरूप, स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई ठोस र मानवीय बनाउनुभयो। परमेश्‍वरको प्रतिरूपको सम्बन्धमा मानिसको पुत्रको बाह्य रूपमा केही सीमितताहरू भएको भए तापनि, उहाँको सार अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसले परमेश्‍वर स्वयम्‌को पहिचान तथा हैसियतलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्न सक्थ्यो—व्यक्त गर्ने शैलीमा मात्र केही भिन्नताहरू थिए। मानिसको पुत्रले उहाँको मानवतामा र उहाँको ईश्‍वरीयता दुवैमा परमेश्‍वर स्‍वयम्‌को पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गरेको थियो भन्‍ने कुरालाई हामी इन्कार गर्न सक्दैनौँ। तथापि, यस समयावधिमा परमेश्‍वरले देहद्वारा काम गर्नुभयो, देहको दृष्टिकोणबाट बोल्नुभयो, अनि मानिसको पुत्रको पहिचान र हैसियतमा मानवजातिको सामु उभिनुभयो र यसले मानिसहरूलाई परमेश्‍वरले मानवजातिको सामु दिनुभएका साँचो वचनहरू तथा कामलाई देख्‍ने र अनुभव गर्ने अवसर दियो। यसले मानिसहरूलाई नम्रताको बीचमा उहाँको ईश्‍वरत्व तथा उहाँको महानता देख्ने अन्तर्दृष्टि दिनुको साथै परमेश्‍वरको विशुद्धता तथा वास्तविकताको प्रारम्भिक बुझाइ तथा परिभाषा प्राप्त गर्न पनि दियो। प्रभु येशू ले पूरा गर्नुभएको काम, उहाँले काम गर्ने तरिकाहरू र उहाँले बोल्‍ने दृष्टिकोण, आत्मिक क्षेत्रमा रहेको परमेश्‍वरको वास्तविक व्यक्तित्वभन्दा फरक थियो, तैपनि उहाँको हरेक कुराले परमेश्‍वर स्वयम्‌लाई साँचो रूपमा प्रतिनिधित्व गर्‍यो, जसलाई मानवजातिले कहिल्यै देखेका छैनन्—यसलाई इन्कार गर्न सकिँदैन। भन्‍नुको अर्थ, परमेश्‍वर जुनसुकै रूपमा प्रकट हुनुभए तापनि, उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए तापनि, अथवा उहाँले जुनसुकै प्रतिरूपमा मानवजातिको सामना गर्नुभए तापनि, परमेश्‍वरले अरू केहीलाई होइन, तर आफैलाई प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले अरू कुनै मानवलाई प्रतिनिधित्व गर्न सक्‍नुहुन्‍न, न त भ्रष्ट मानवजातिमध्ये कसैलाई प्रतिनिधित्व गर्नुहुन्छ। परमेश्‍वर, परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ र यसलाई इन्कार गर्न सकिँदैन।

यसपछि हामी प्रभु येशूले अनुग्रहको युगमा बताउनुभएको दृष्टान्तलाई हेर्नेछौं।

३. हराएको भेडाको दृष्टान्त

मत्ती १८:१२-१४  तिमीहरू कसरी सोच्छौ? यदि कुनै मानिससँग एक सय भेडा छन् र तीमध्ये एउटा बरालिन्छ भने के उसले उनान्‍सयलाई छाडेर पर्वतहरूतिर गई बरालिएको भेडालाई खोज्दैन र? अनि यदि उसले भेट्टायो भने, म तिमीहरूलाई साँच्चै भन्दछु, ऊ नबरालिएका अन्य उनान्‍सय भेडाहरूको भन्दा त्यस भेडाको निम्ति धेरै आनन्द मनाउँछ। त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको इच्छा यो छैन, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट होस्।

यो अध्याय एउटा दृष्टान्त हो—यसले मानिसहरूलाई कस्तो प्रकारको अनुभूति दिन्छ? यहाँ प्रयोग गरिएको अभिव्यक्तिको तरिका—दृष्टान्त—मानव भाषाको एउटा अलङ्कार हो, अनि त्यस अर्थमा यो मानव ज्ञानको क्षेत्रभित्र पर्दछ। यदि परमेश्‍वरले व्यवस्थाको युगमा त्यस्तै प्रकारको कुनै कुरा भन्नुभएको भए मानिसहरूले परमेश्‍वरको पहिचानसित ती वचनहरू साँचो रीतिले अनुरूप छैनन् भन्‍ने महसुस गर्थे, तर जब मानिसको पुत्रले अनुग्रहको युगमा यी वचनहरू बोल्नुभयो, यसले मानिसहरूलाई सान्त्वना, न्यानोपन अनि घनिष्ठताको आभास गरायो। जब परमेश्‍वर देह हुनुभयो, जब उहाँ मानिसको रूपमा देखा पर्नुभयो, तब उहाँको हृदयको आवाज व्यक्त गर्न उहाँले आफ्नै मानवताबाट आएको एउटा उचित दृष्टान्त प्रयोग गर्नुभयो। यो आवाजले परमेश्‍वरको आफ्नै आवाज अनि उहाँले त्यस युगमा गर्न चाहनुभएको कामलाई प्रतिनिधित्व गर्‍यो। यसले अनुग्रहको युगमा मानिसहरूप्रतिको परमेश्‍वरको मनोवृत्तिलाई पनि प्रतिनिधित्व गर्‍यो। मानिसहरूप्रति परमेश्‍वरको मनोवृत्तिको दृष्टिकोणबाट हेर्दा, उहाँले हरेक व्यक्तिलाई एउटा भेडासित तुलना गर्नुभयो। यदि एउटा भेडा हरायो भने, त्यसलाई भेट्टाउन उहाँले जे पनि गर्नुहुन्थ्यो। जब उहाँ देहमा हुनुहुन्थ्यो, तब मानवजातिको माझमा परमेश्‍वरले गर्नुभएको कामको सिद्धान्तलाई यसले प्रतिनिधित्व गर्‍यो। परमेश्‍वरले त्यस काममा उहाँको अठोट र मनोवृत्ति कस्तो थियो त्यसलाई बयान गर्न यस दृष्टान्तलाई प्रयोग गर्नुभयो। परमेश्‍वर देह बन्‍नुको फाइदा यही नै थियो: उहाँले मानवजातिको ज्ञानको फाइदा लिन सक्नुहुन्थ्यो अनि मानिसहरूसित बोल्न र आफ्नो इच्छा व्यक्त गर्न मानव भाषाको प्रयोग गर्न सक्नुहुन्थ्यो। उहाँले मानिसलाई मानवीय तरिकामा आफ्नो गहन, ईश्‍वरीय भाषा व्याख्या गर्नुभयो अथवा “अनुवाद गर्नुभयो” जसलाई मानव भाषामा बुझ्न मानिसहरूलाई कठिन हुन्थ्यो। यसले उहाँको इच्छा बुझ्न र उहाँले के गर्न चाहनुहुन्छ भन्‍ने कुरा जान्न मानिसहरूलाई सहायता गर्‍यो। उहाँले मानव भाषा प्रयोग गरेर, अनि तिनीहरूले बुझ्ने किसिमले बताएर पनि मानिसहरूसित मानव दृष्टिकोणमा बातचित गर्न सक्नुहुन्थ्यो। उहाँले मानव भाषा प्रयोग गरेर बोल्न र काम गर्न पनि सक्नुहुन्थ्यो ताकि मानिसहरूले परमेश्‍वरको दया तथा घनिष्ठतालाई महसुस गर्न सकून्, ताकि तिनीहरूले उहाँको हृदयलाई देख्न सकून्। यसमा तिमीहरूले के देख्छौ? के परमेश्‍वरका वचन तथा कामहरूमा कुनै प्रतिबन्ध छ त? मानिसहरूको दृष्टिकोणमा त, परमेश्‍वर स्‍वयम्‌ले के भन्न चाहनुभयो, जुन काम उहाँले गर्न चाहनुभयो त्यसको बारेमा कुरा गर्न वा उहाँको इच्छा व्यक्त गर्न परमेश्‍वरले कुनै पनि प्रकारले मानव ज्ञान, भाषा वा बोल्ने तरिकाहरू प्रयोग गर्न सक्नुहुन्न। तर यो गलत सोचाइ हो। परमेश्‍वरले यस प्रकारको दृष्टान्त प्रयोग गर्नुभयो ताकि मानिसहरूले परमेश्‍वरको वास्तविकता र सच्चाइ महसुस गर्न सकून् अनि त्यस अवधिमा मानिसहरूप्रतिको उहाँको मनोवृत्ति देख्न सकून्। यस दृष्टान्तले लामो समयदेखि व्यवस्थामुनि जिउँदै आइरहेका मानिसहरूलाई सपनाबाट ब्यूँझायो, अनि यसले एकपछि अर्को पुस्ताका मानिसहरूलाई प्रेरित गर्‍यो जो अनुग्रहको युगमा बाँचेका थिए। यस दृष्टान्तको अध्यायलाई पढेर, मानवजातिलाई मुक्ति दिने कार्यमा परमेश्‍वरको इमानदारीतालाई जान्न र परमेश्‍वरको हृदयमा मानवजातिलाई प्रदान गरिएको वजन तथा महत्त्वलाई मानिसहरूले बुझ्दछन्।

यस अध्यायको अन्तिम वाक्यलाई हामी हेरौं: “त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको इच्छा यो छैन, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट होस्।” यो प्रभु येशूका आफ्नै वचनहरू हुन्, कि स्वर्गमा हुनुहुने पिताका वचनहरू हुन्? बाहिरबाट हेर्दा, यो प्रभु येशूले बोलिरहनुभएको जस्तो देखिन्छ तर उहाँको इच्छाले परमेश्‍वरको इच्छालाई प्रतिनिधित्व गर्दछ, त्यसैले उहाँले यसो भन्नुभएको हो: “त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको इच्छा यो छैन, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट होस्।” त्यस समयमा मानिसहरूले स्वर्गमा बस्नुहुने पितालाई मात्रै परमेश्‍वरको रूपमा मान्थे अनि तिनीहरूले आफ्‍नो सामु जुन व्यक्तिलाई देखे, तिनी केवल उहाँले पठाउनुभएका व्यक्ति मात्र हुन् अनि तिनले स्वर्गमा बस्नुहुने पितालाई प्रतिनिधित्व गर्न सक्दैनन् भनी तिनीहरूले विश्‍वास गर्थे। त्यसैकारण, प्रभु येशूले यस दृष्टान्तको अन्त्यमा यो वाक्य थप्नु परेको थियो, ताकि मानिसहरूले साँचो रीतिले मानवजातिको निम्ति परमेश्‍वरको इच्छालाई महसुस गर्न सकून् अनि उहाँले जे भन्नुभयो, त्यसको वास्तविकता र विशुद्धतालाई महसुस गर्न सकून्। यो वाक्य भन्नको निम्ति सरल भए पनि यसलाई वास्ता र प्रेमसहित बोलिएको थियो अनि यसले प्रभु येशूको नम्रता र गुप्तपनलाई प्रकट गरेको थियो। परमेश्‍वर देह हुनुभए तापनि वा उहाँले आत्मिक क्षेत्रमा काम गर्नुभए तापनि, उहाँले मानव हृदयलाई सर्वोत्तम रीतिले जान्नुहुन्थ्यो, अनि मानिसहरूलाई के खाँचो छ सो सर्वोत्तम रीतिले बुझ्नुहुन्थ्यो, मानिसहरूले केको बारेमा चिन्ता गर्छन् सो जान्नुहुन्थ्यो, अनि तिनीहरूलाई कुन कुराले अन्योलमा पार्छ सो उहाँले जान्नुहुन्थ्यो, त्यसैले उहाँले यो वाक्य थप्नुभयो। यस वाक्यले मानवजातिमा लुकेर रहेको एउटा समस्यालाई प्रकाशमा ल्यायो: मानिसको पुत्रले जे भन्‍नुहुन्थ्यो सो बारेमा मानिसहरू शङ्कालु हुन्थे, भनाइको अर्थ, जब प्रभु येशूले बोलिरहनुभएको हुन्थ्यो, तब उहाँले यो कुरा थप्नु पर्थ्यो: “त्यसरी नै स्वर्गमा हुनुहुने तिमीहरूका पिताको इच्छा यो छैन, कि यी सानाहरूमध्ये एक जना पनि नष्ट होस्,” अनि यही आधारमा मात्रै मानिसहरूलाई त्यसको विशुद्धतामा विश्‍वास गर्ने तुल्याउन र त्यसको विश्‍वसनीयता सुधार गर्नको लागि उहाँका वचनहरूले फल फलाउन सक्थ्यो। यसले के देखाउँछ भने, जब परमेश्‍वर मानिसको सामान्य पुत्र हुनुभयो, तब परमेश्‍वर र मानवजातिबीचको सम्‍बन्ध अत्यन्तै अप्ठ्यारो भयो, अनि मानिसको पुत्रको अवस्था निकै लाजमर्दो थियो। यसले त्यस समयमा मानिसहरूको माझमा प्रभु येशूको हैसियत कति महत्त्वहीन थियो सो कुरालाई पनि देखाउँछ। जब उहाँले यो कुरा भन्नुभयो, तब यो वास्तवमा मानिसहरूलाई यो कुरा बताउनको निम्ति थियो: तिमीहरू सुनिश्चित हुन सक्छौ—यी वचनहरूले मेरो हृदयमा के छ भन्‍ने कुरालाई प्रतिनिधित्व गर्दैन, तर ती परमेश्‍वरको इच्छा हुन् जो तिमीहरूको हृदयमा हुनुहुन्छ। मानिसको निम्ति के यो व्यंग्यात्मक कुरा होइन र? देहमा काम गरिरहनुभएको परमेश्‍वरसँग उहाँको व्यक्तित्वमा नभएका धेरै फाइदाहरू रहेको भए तापनि, उहाँले तिनीहरूका शङ्का तथा तिरस्कारहरूको साथै तिनीहरूको संवेदना शून्यता तथा सुस्तपनालाई सामना गर्नुपरेको थियो। यसो भन्न सकिन्छ कि मानिसको पुत्रको कामको प्रक्रिया भनेको मानवजातिको तिरस्कार अनुभव गर्नु तथा उहाँको विरुद्धमा तिनीहरूले गर्ने होडबाजीको प्रक्रियालाई अनुभव गर्नु थियो। त्यसभन्दा बढी, यो निरन्तर रूपमा मानवजातिको भरोसा जित्न अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसद्वारा अनि उहाँको आफ्नै सारद्वारा मानवजातिलाई जित्नको निम्ति काम गर्ने प्रक्रिया थियो। यो देहधारी परमेश्‍वरले शैतानको विरुद्धमा भूमिमा लडाइँ लडिरहनुभएको छ भन्‍ने कुरासँग त्यति सम्‍बन्धित थिएन; यो त परमेश्‍वर एउटा साधारण मानिस हुनुभयो र उहाँलाई पछ्याउनेहरूसित उहाँले संघर्ष गर्नुभयो, अनि यस संघर्षमा मानिसको पुत्रले आफ्नो नम्रताद्वारा, उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसद्वारा, अनि उहाँको प्रेम र बुद्धिद्वारा आफ्नो काम सिध्याउनुभएको कुरासँग सम्‍बन्धित थियो। उहाँले चाहना गर्नुभएका मानिसहरूलाई उहाँले प्राप्त गर्नुभयो, उहाँले पाउन योग्य पहिचान र हैसियतलाई उहाँले जित्नुभयो अनि उहाँ आफ्‍नो सिंहासनमा “फर्किनुभयो”।

यसपछि हामी धर्मशास्त्रका निम्‍न दुई खण्डहरूलाई हेरौं:

४. सत्तरी गुणा सात पल्ट क्षमा देऊ

मत्ती १८:२१-२२  तब पत्रुस उहाँकहाँ आए र भने, प्रभु, मेरो भाइले मेरो विरुद्ध कति पटक पाप गर्दा मैले क्षमा गर्ने? सात पटकसम्‍म? येशूले तिनलाई भन्‍नुभयो, म तिमीलाई सात पटकसम्म भन्दिन: तर, सत्तरी गुणा सात पल्टसम्‍म।

५. प्रभुको प्रेम

मत्ती २२:३७-३९  येशूले तिनलाई भन्‍नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू। यो पहिलो र महान्‌ आज्ञा हो। र दोस्रोचाहिँ यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नुपर्छ।

यी दुई अध्यायहरूमध्ये, एउटाले क्षमाको बारेमा बताउँदछ भने अर्कोले प्रेमको बारेमा। यी दुई विषयहरूले प्रभु येशूले यस अनुग्रहको युगमा गर्न चाहनुभएको कामलाई वास्तविक रूपमा प्रकाशमा ल्याउँछन्।

जब परमेश्‍वर देह बन्‍नुभयो, तब उहाँले आफ्‍नो साथमा आफ्नो कामको एउटा चरण ल्याउनुभयो जुन उहाँले यो युगमा व्यक्त गर्न चाहनुभएको निश्चित काम कार्यहरू र स्वभाव थियो। त्यस अवधिमा, मानिसको पुत्रले गर्नुभएको हरेक कुरा यस युगमा परमेश्‍वरले गर्न चाहनुभएको कामसँग सम्‍बन्धित थियो। उहाँले योभन्दा बढी पनि गर्नुहुन्‍नथियो कम पनि गर्नुहुन्‍नथियो। उहाँले भन्नुभएको हरेक कुरा र उहाँले गर्नुभएको हरेक प्रकारको काम सबै यस युगसित सम्बन्धित थियो। चाहे उहाँले त्यसलाई मानव भाषामा मानव तरिकाले व्यक्त गर्नुभए पनि वा ईश्‍वरीय भाषामा व्यक्त गर्नुभए पनि, अनि चाहे उहाँले जुनसुकै तरिकाले वा जुनसुकै दृष्टिकोणबाट त्यसो गर्नुभए पनि, उहाँको लक्ष्य भनेको उहाँले के गर्न चाहनुहुन्थ्यो, उहाँको इच्छा के हो, अनि मानिसहरूप्रति उहाँका मापदण्डहरू के हुन् सो बुझ्न मानिसहरूलाई सहायता गर्नु थियो। उहाँको इच्छा बुझ्न र जान्न, अनि मानवजातिलाई मुक्ति दिने उहाँको काम बुझ्नको निम्ति मानिसहरूलाई सहायता गर्न उहाँले विभिन्न माध्यम तथा भिन्नाभिन्नै दृष्टिकोणहरू प्रयोग गर्न सक्नुहुन्छ। त्यसैकारण, अनुग्रहको युगमा, प्रभु येशूले मानवजातिलाई आफूले बताउन चाहेको कुरा व्यक्त गर्न उहाँले प्रायजसो मानव भाषाकै प्रयोग गर्नुभएको हामी देख्छौँ। अझ बढी, हामी उहाँलाई एउटा साधारण मार्गदर्शकको दृष्टिकोणबाट उहाँले मानिसहरूसित बोलिरहनुभएको, तिनीहरूका खाँचोहरू पूरा गरिरहनुभएको, तिनीहरूले अनुरोध गरेका कुरामा तिनीहरूलाई सहायता गरिरहनुभएको देख्छौँ। यस प्रकारको काम व्यवस्थाको युगमा देखिएको थिएन जुन अनुग्रहको युगभन्दा पहिले आएको थियो। उहाँ मानवजातिसित अझै बढी घनिष्ठ र दयालु हुनुभयो साथै रूप तथा व्यवहार दुवैमा उहाँले अझै बढी व्यवहारिक परिणामहरू हासिल गर्न सक्नुभयो। मानिसहरूलाई सत्तरी गुणा सात पल्ट क्षमा गर्नुपर्छ भन्‍ने उपमाले साँच्चिकै यस बुँदालाई स्पष्ट पार्दछ। यस उपमामा सङ्ख्याले हासिल गरेको उद्देश्य भनेको प्रभु येशूले त्यस समयमा उहाँको अभिप्रायको बारेमा मानिसहरूलाई बुझ्न लगाउनको लागि यो कुरा बताउनुभएको हो। उहाँको अभिप्राय मानिसहरूले अरूलाई क्षमा गरुन् भन्‍ने थियो—एक पल्ट वा दुई पल्ट होइन, अनि सात पल्ट पनि होइन, तर सत्तरी गुणा सात पल्ट। “सत्तरी गुणा सात” को धारणाभित्र कस्तो प्रकारको विचार सामेल छ त? यो मानिसहरूलाई तिनीहरूको जिम्मेवारीको रूपमा, तिनीहरूले सिक्‍नैपर्ने कुराको रूपमा, अनि तिनीहरूले पछ्याउनै पर्ने “मार्ग” को रूपमा स्वीकार गर्न लगाउनु थियो। यो एउटा उपमा मात्रै भए तापनि, यसले एउटा निर्णायक बुँदालाई प्रकाशमा ल्याउन सहायता गर्दछ। यसले मानिसहरूलाई उहाँको भनाइको अर्थ के हो त्यसलाई गहिरो प्रकारले बुझ्‍न अनि अभ्यासका उचित तरिकाहरू र सिद्धान्तहरू तथा अभ्यासका मापदण्डहरू पत्ता लगाउन सहायता गर्‍यो। यस उपमाले मानिसहरूले क्षमाको बारेमा सिक्‍नुपर्छ र विना सर्त अनगिन्ती पटक क्षमा गर्नुपर्छ तर सहनशीलता र अरूलाई बुझ्‍ने मनोवृत्तिसहित यसो गर्नुपर्छ भनेर स्पष्ट रूपमा बुझ्‍न तिनीहरूलाई सहायता गर्‍यो र तिनीहरूलाई उचित अवधारणा दियो। जब प्रभु येशूले यो भन्नुभयो, तब उहाँको हृदयमा के थियो? के उहाँले साँच्चिकै “सत्तरी गुणा सात” सङ्ख्याको बारेमा सोचिरहनुभएको थियो त? होइन, उहाँले त्यसो गरिरहनुभएको थिएन। परमेश्‍वरले मानिसलाई क्षमा गर्ने कुनै सङ्ख्या छ र? यहाँ उल्लेख गरिएको “सङ्ख्याको गुणा” मा धेरै मानिसहरूले निकै चासो लिन्छन्, जसले साँच्चिकै यस सङ्ख्याको उत्पत्ति र अर्थलाई बुझ्न चाहन्छन्। तिनीहरू प्रभु येशूको मुखबाट यो सङ्ख्या किन निस्कियो सो बुझ्न चाहन्छन्; यस सङ्ख्यामा गहिरो आशय छ भन्‍ने विश्‍वास तिनीहरू गर्दछन्। तर वास्तवमा, यो परमेश्‍वरले प्रयोग गर्नुभएको एउटा मानव अलङ्कार मात्र थियो। कुनै पनि आशय वा अर्थलाई मानवजातिको निम्ति प्रभु येशूका मागहरू अनुसार लिइनुपर्छ। जब परमेश्‍वर अझै देहधारी भइसक्नुभएको थिएन, त्यो बेला उहाँले भन्नुभएको अधिकांश कुरा मानिसहरूले बुझेनन्, किनकि उहाँका वचनहरू पूर्ण ईश्‍वरत्वबाट आएका थिए। उहाँले भन्नुभएको कुराको दृष्टिकोण र सन्दर्भ मानवजातिको लागि अदृश्य र अगम्य थियो यो आत्मिक क्षेत्रबाट व्यक्त गरिएको थियो जसलाई मानिसहरूले देख्न सक्दैनथे। देहमा जिउने मानिसहरू आत्मिक क्षेत्रबाट भएर जान सक्दैनथिए। तर परमेश्‍वर देह बनिसक्‍नुभएपछि उहाँले मानवजातिको दृष्टिकोणबाट बोल्नुभयो, अनि उहाँ आत्मिक क्षेत्रको सीमादेखि बाहिर आउनुभयो र त्यसलाई नाघ्नुभयो। मानवजातिले परमेश्‍वरलाई बुझ्न र चिन्न सकून्, उहाँको अभिप्राय तथा उहाँको अपेक्षित स्तरहरूलाई तिनीहरूको क्षमताको सीमाभित्र तथा तिनीहरूले सक्ने स्तरसम्म आत्मसात् गर्न सकून् भनेर आफ्नो ईश्‍वरीय स्वभाव, इच्छा तथा मनोवृत्तिलाई मानवले कल्पना गर्न सक्ने कुराहरू, तिनीहरूले आफ्‍नो जीवनमा देखेका तथा सामना गरेका कुराहरूद्वारा अनि मानिसहरूले स्वीकार गर्न सक्ने विधिहरू प्रयोग गरेर तिनीहरूले बुझ्न सक्ने ज्ञानद्वारा व्यक्त गर्न सक्नुभयो। मानवजातिमा उहाँको कामको विधि तथा सिद्धान्त यही नै थियो। देहमा काम गर्ने परमेश्‍वरका धेरैजसो तरिका तथा उहाँका सिद्धान्तहरू मानवताको माध्यमले वा मानवताद्वारा हासिल गरिएको भए तापनि, यसले प्रत्यक्ष रूपमा ईश्‍वरत्वद्वारा काम गरेर हासिल गर्न नसकिने परिणामहरू हासिल गर्न सक्यो। परमेश्‍वरले मानवत्वद्वारा गर्नुभएको काम अझै बढी ठोस, विशुद्ध तथा लक्षित थियो, विधिहरू अझ धेरै लचकदार थिए, अनि यो व्यवस्थाको युगमा सम्पन्न गरिएको कामलाई नाघ्‍ने किसिमको थियो।

यसपछि, हामी प्रभुलाई र तेरो छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्ने विषयमा कुरा गरौँ। के यो ईश्‍वरत्वमा प्रत्यक्ष रूपले व्यक्त गरिएको कुरा हो? होइन, स्पष्ट रूपले नै होइन! यी सबै कुराहरू मानिसको पुत्रले मानवतामा बोल्‍नुभएका कुराहरू हुन्; केवल मानवले मात्रै “छिमेकीलाई आफैलाई जस्तै प्रेम गर,” र “तिमीहरूले आफ्नै जीवनलाई हेरचाह गरेजस्तै अरूलाई प्रेम गर” भन्‍ने जस्ता कुरा भन्छन्। यस्तो प्रकारले बोल्‍ने शैली नितान्त रूपले मानवीय शैली हो। परमेश्‍वरले कहिल्यै पनि यस प्रकारले बोल्नुभएको छैन। कम्तीमा, परमेश्‍वरको ईश्‍वरत्वमा उहाँसित यस्तो प्रकारको भाषा छैन किनकि मानवजातिलाई नियमबद्ध गर्न उहाँलाई “छिमेकीलाई आफैलाई जस्तै प्रेम गर” भन्‍ने जस्ता सिद्धान्तको आवश्यकता पर्दैन, किनकि मानवजातिको निम्ति परमेश्‍वरको प्रेम उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसको स्वभाविक प्रकटीकरण हो। के तिमीहरूले कहिल्यै परमेश्‍वरले यस्तो भन्नुभएको सुनेका छौ: “म मानवजातिलाई आफैलाई जस्तै प्रेम गर्छु”? तिमीहरूले यस्तो कुरा सुनेका छैनौ, किनकि प्रेम परमेश्‍वरको सारमा अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसैमा छ। मानवजातिको निम्ति परमेश्‍वरको प्रेम, र उहाँको मनोवृत्ति, अनि उहाँले मानिसहरूलाई व्यवहार गर्ने तरिका, उहाँको स्वभावको स्वभाविक अभिव्यक्ति तथा प्रकटीकरण हुन्। छिमेकीलाई आफैलाई जस्तै प्रेम गर्ने कुरालाई हासिल गर्न उहाँले सतर्क भएर एउटा निश्चित प्रकारले यसो गर्न, वा सतर्क भएर कुनै निश्चित विधि वा नैतिक नियमलाई पछ्याउनु पर्दैन—उहाँसँग पहिले नै यस प्रकारको सार हुन्छ। यसमा तँ के देख्छस्? जब परमेश्‍वरले मानवजातिकहाँ काम गर्नुभयो, उहाँका धेरै विधिहरू, वचनहरू, अनि सत्यताहरू मानवीय तरिकामा व्यक्त भएका थिए। तर, त्यसको साथसाथै, परमेश्‍वरको स्वभाव, उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, अनि उहाँको इच्छालाई, मानिसहरूले जान्न र बुझ्नको निम्ति नै व्यक्त गरिएका थिए। तिनीहरूले जे जाने र बुझे, त्यो वास्तवमै उहाँको सार तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यही थियो, जसले परमेश्‍वर स्वयम्‌को अन्तर्निहित पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गर्दछ। भनाइको अर्थ, देहमा मानिसको पुत्रले जुन हदसम्म सम्भव हुन्छ, र जति ठीक किसिमले सम्भव हुन्छ, त्यति नै मात्रामा परमेश्‍वरको अन्तर्निहित स्वभाव तथा सारलाई प्रकट गर्नुभयो। मानिसको पुत्रको मानवता स्वर्गमा हुनुहुने परमेश्‍वरसितको मानिसको कुराकानी र अन्तरक्रियाको निम्ति बाधा नभएको मात्र होइन, तर यो सृष्टिका प्रभुसित मानवजातिलाई जोड्ने एउटै मात्र माध्यम तथा एउटै मात्र पुल थियो। अब, यस क्षणमा, के अनुग्रहको युगमा प्रभु येशूले गर्नुभएको कामको प्रकृति तथा विधिहरू र कामको हालको चरणबीच धेरै समानताहरू छन् भन्‍ने तिमीहरूलाई लाग्दैन? कामको हालको चरणले पनि परमेश्‍वरको स्वभावलाई प्रकट गर्न धेरै मानव भाषा प्रयोग गर्छ, अनि परमेश्‍वर स्वयम्‌को इच्छालाई प्रकट गर्न मानवजातिको दैनिक जीवन तथा मानव ज्ञानका धेरै भाषा तथा विधिहरूको प्रयोग गर्दछ। परमेश्‍वर देह बनिसक्‍नुभएपछि, उहाँले मानव दृष्टिकोणबाट बोलिरहनुभएको भए तापनि वा ईश्‍वरीय दृष्टिकोणबाट बोलिरहनुभएको भए तापनि, उहाँका धेरैजसो भाषा तथा अभिव्यक्तिका विधिहरू मानव भाषाको माध्यम तथा विधिको माध्यमद्वारा आउँदछ। अर्थात् जब परमेश्‍वर देह बन्नुहुन्छ, तब तेरो निम्ति यो परमेश्‍वरको सर्वशक्ति तथा उहाँको बुद्धि, अनि परमेश्‍वरको हरेक वास्तविक पक्ष जान्‍ने सर्वोत्तम अवसर हो। जब परमेश्‍वर देह हुनुभयो, उहाँ हुर्कँदै जाने क्रममा, उहाँले मानवजातिको ज्ञान, सामान्य बोध, भाषा, अनि मानवताको प्रकटीकरणका विधिहरू बुझ्नुभयो, जान्नुभयो र बोध गर्नुभयो। देहधारी परमेश्‍वरसित यी कुराहरू निहित थिए जुन कुराहरू, उहाँले सृष्टि गर्नुभएको मानिसहरूबाट आएका थिए। ती उहाँको स्वभाव तथा उहाँको ईश्‍वरत्वलाई प्रकट गर्नको निम्ति देहमा हुनुभएका परमेश्‍वरका औजारहरू भए, अनि जब उहाँ मानव दृष्टिकोणबाट अनि मानव भाषा प्रयोग गरेर मानवजातिको माझमा काम गरिरहनुभएको थियो, यसले उहाँको कामलाई अझ सान्दर्भिक, अझ विशुद्ध, अझ सही बनायो। यसले उहाँको कामलाई मानिसहरूको निम्ति अझ सुलभ अनि अझ सजिलै बुझ्न सकिने बनायो, यस प्रकारले परमेश्‍वरले चाहनुभएका परिणामहरू हासिल भए। के यस प्रकारले देहमा काम गर्नु परमेश्‍वरको निम्ति अझ व्यवहारिक कुरा होइन र? के यो परमेश्‍वरको बुद्धि होइन र? जब परमेश्‍वर देह बन्‍नुभयो, जब परमेश्‍वरको देहले आफूले गर्न चाहेको काम गर्न सक्‍यो, त्यसबेला नै उहाँले आफ्नो स्वभाव तथा उहाँको काम व्यवहारिक रूपले प्रकट गर्नुहुन्थ्यो, अनि त्यो यस्तो समय पनि थियो जब उहाँले मानिसका पुत्रको रूपमा आधिकारिक रूपले आफ्नो सेवकाई सुरु गर्न सक्नुहुन्थ्यो। यसको अर्थ के थियो भने, परमेश्‍वर र मानिसको बीचमा उपरान्त कुनै “पुस्ताको अन्तराल” थिएन, परमेश्‍वरले सन्देशवाहकहरूद्वारा सञ्चार गर्ने आफ्नो काम रोक्नु हुनेथियो, अनि परमेश्‍वरले चाहनुभए अनुसार उहाँ आफैले व्यक्तिगत रूपले देहमा सबै वचनहरू तथा काम प्रकट गर्न सक्नुहुन्थ्यो। यसको अर्थ यो पनि थियो कि परमेश्‍वरले मुक्ति दिनुभएका मानिसहरू उहाँसित नजिक थिए, उहाँको व्यवस्थापनको काम नयाँ क्षेत्रभित्र प्रवेश गरिसकेको थियो, अनि सबै मानवजातिले एउटा नयाँ युगको सामना गर्न लागेका थिए।

प्रभु येशू जन्मनुभएको बेला धेरै घटनाहरू घटे भन्‍ने कुरा बाइबल पढेका हरेकले जान्दछन्। ती घटनाहरूमध्ये सबैभन्दा ठूलो उहाँलाई दियाबलसहरूका राजाले खेदेको घटना थियो, जुन यति चरम थियो कि त्यसबेला सहरका दुई वर्षका र त्यसभन्दा मुनिका सबै बच्चाहरू संहार गरिएका थिए। यो स्पष्ट छ कि मानिसहरूको माझमा देह भएर परमेश्‍वरले ठूलो जोखिम उठाउनुभयो; मानवजातिलाई उद्धार गर्ने व्यवस्थापन पूरा गर्नको निम्ति उहाँले चुकाउनुभएको मूल्य ठूलो थियो भन्‍ने कुरा पनि स्पष्ट छ। परमेश्‍वरले मानवजातिको निम्ति देहमा आफ्नो कामको निम्ति सँगाल्नुभएको महान् आशाहरू पनि प्रष्टै छन्। जब परमेश्‍वरको देहले मानवजातिको माझमा काम सम्हाल्न सक्षम भयो, तब उहाँले कस्तो महसुस गर्नुभयो? मानिसहरूले केही हदसम्म त्यसलाई बुझ्न सक्षम हुनुपर्छ, होइन र? कम्तीमा, परमेश्‍वर खुशी हुनुहुन्थ्यो किनकि उहाँले मानवजातिको माझमा आफ्नो नयाँ काम गर्न सुरु गर्न सक्नुभयो। जब प्रभु येशूले बप्तिस्मा लिनुभयो र उहाँले आफ्नो सेवकाई पूरा गर्ने आफ्नो काम आधिकारिक रूपमा सुरु गर्नुभयो, तब परमेश्‍वरको हृदय आनन्दले भाव-विभोर भएको थियो किनकि धेरै वर्षहरूको प्रतीक्षा र तयारीपछि, अन्ततः उहाँले एउटा सामान्य मानिसको देह धारण गर्नुभई मासु र रगतको रूपमा आफ्नो नयाँ काम सुरु गर्न सक्नुभयो जसलाई मानिसहरूले हेर्न र छुन सक्थे। अन्ततः मानिसको पहिचानमा उहाँले मानिसहरूसित आमने-सामने घनिष्ठ भएर बोल्न सक्नुभयो। अन्ततः परमेश्‍वर मानवीय तरिकाहरू तथा मानव भाषाद्वारा मानवजातिसित आमने-सामने आउन सक्नुभयो; उहाँले मानव भाषा प्रयोग गरेर मानवजातिको निम्ति जुटाउन सक्नुभयो, तिनीहरूलाई अन्तर्दृष्टि दिन सक्नुभयो, अनि तिनीहरूलाई सहायता गर्न सक्नुभयो; उहाँले तिनीहरूसित एउटै टेबुलमा खान सक्नुभयो अनि त्यही ठाउँमा बस्न सक्नुभयो। उहाँले मानिसहरूलाई, थोकहरूलाई अनि हरेक कुरालाई मानिसहरूले जुन प्रकारले त्यसलाई देख्थे, त्यही प्रकारले तिनीहरूका आँखाहरूद्वारा देखेजस्तै गरी देख्न सक्नुभयो। परमेश्‍वरको निम्ति, यो पहिले नै देहमा उहाँको कामको पहिलो विजय थियो। यसो पनि भन्न सकिन्छ कि यो एउटा ठूलो कामको परिपूर्णता थियो—यो वास्तवमै यस्तो कुरा थियो जसमा परमेश्‍वर अत्यन्त खुशी हुनुहुन्थ्यो। त्यसबेला देखि सुरु गरेर, पहिलो पल्ट मानवजातिको माझमा आफ्नो काममा परमेश्‍वरले एक प्रकारको चैन महसुस गर्नुभयो। हुन आएका सबै घटनाहरू अति व्यवहारिक तथा अति स्वभाविक थिए, अनि परमेश्‍वरले महसुस गर्नुभएको चैन अत्यन्त साँचो थियो। मानवजातिको निम्ति, जब हरेक पटक परमेश्‍वरको कामको नयाँ चरण पूरा हुन्छ, अनि जब हरेक पल्ट परमेश्‍वरले सन्तुष्ट महसुस गर्नुहुन्छ, त्यसबेला मानवजाति परमेश्‍वर र मुक्तिको नजिक आउन सक्छ। परमेश्‍वरको निम्ति, यो उहाँको नयाँ कामको सुरुवात, उहाँको व्यवस्थापन योजनालाई अघि बढाउनु हो, अनि त्यसबाहेक यी उहाँका अभिप्रायहरू पूरा हुने समय पनि हुन्। मानवजातिको निम्ति, त्यस्तो अवसरको आगमन सौभाग्यपूर्ण, र अत्यन्तै असल कुरा हो; परमेश्‍वरको मुक्तिको प्रतीक्षा गर्ने सबैको लागि, यो अति महत्त्वपूर्ण र आनन्ददायी समाचार हो। जब परमेश्‍वरले कामको एउटा नयाँ चरण अघि बढाउनुहुन्छ, तब उहाँसित एउटा नयाँ सुरुवात हुन्छ, अनि जब यस नयाँ काम र नयाँ सुरुवातलाई मानवजातिको माझमा सुरुवात तथा परिचित गराइन्छ, त्यसबेला कामको यो नयाँ सुरुवातलाई पहिल्यै निर्धारित र पूरा गरिएको हुन्छ अनि अन्तिम असर तथा फललाई परमेश्‍वरले पहिल्यै देखिसक्‍नुभएको हुन्छ। यो यस्तो बेला पनि हो जब यी असरहरूले परमेश्‍वरलाई सन्तुष्ट महसुस गराउँछन्, अनि वास्तवमै, यो उहाँको हृदय खुशी हुने समय पनि हो। परमेश्‍वरले आश्‍वस्त महसुस गर्नुहुन्छ किनकि उहाँको दृष्टिमा, उहाँले खोजी गरिरहनुभएका मानिसहरूलाई उहाँले पहिल्यै देखिसक्नुभएको र निर्धारण गरिसक्नुभएको हुन्छ, अनि यस समूहका मानिसहरूलाई पहिल्यै हासिल गरिसक्नुभएको हुन्छ, जुन समूहले उहाँको कामलाई सफल तुल्याउन र उहाँलाई सन्तुष्टि दिन सक्छन्। यस प्रकारले, उहाँले आफ्ना फिक्रीहरूलाई पन्छ्याउनुहुन्छ, अनि उहाँले खुशी महसुस गर्नुहुन्छ। अर्को शब्दमा, जब परमेश्‍वरको देहले मानिसको माझमा नयाँ कामको सुरुवात गर्न सक्छ, अनि उहाँले जुन काम गर्नैपर्छ, त्यसलाई विना अवरोध सुरु गर्नुहुन्छ, अनि जब उहाँले सबै पूरा भइसकेका छन् भनी महसुस गर्नुहुन्छ, तब उहाँको निम्ति अन्त्य पहिले नै देख्‍न सकिने कुरा भइसकेको हुन्छ। यसको कारणले उहाँ सन्तुष्ट हुनुहुन्छ, अनि उहाँको हृदय खुशी हुन्छ। परमेश्‍वरको खुशी कसरी प्रकट हुन्छ? यसको उत्तर के हुनसक्छ भनेर के तिमीहरूले कल्पना गर्न सक्छौ? के परमेश्‍वर रुनुहुन्छ होला? के परमेश्‍वर रुन सक्नुहुन्छ? के परमेश्‍वरले ताली बजाउन सक्नुहुन्छ? के परमेश्‍वर नाच्न सक्नुहुन्छ? के परमेश्‍वर गाउन सक्नुहुन्छ? यदि सक्नुहुन्छ भने उहाँले के गाउनुहुन्छ? अवश्य, परमेश्‍वरले एउटा सुन्दर, हृदयस्पर्शी गीत गाउन सक्नुहुन्छ, जुन गीतले उहाँको हृदयको आनन्द र खुशीलाई प्रकट गर्न सक्छ। उहाँले मानवजातिको निम्ति, आफ्नो निम्ति, अनि सबै कुराहरूको निम्ति गाउन सक्नुहुन्छ। परमेश्‍वरको खुशीलाई कुनै पनि तरिकाले प्रकट गर्न सकिन्छ—यो सबै सामान्य नै छ किनकि परमेश्‍वरसित आनन्द र पीडाहरू छन्, अनि उहाँका विभिन्न भावनाहरूलाई विभिन्न प्रकारले प्रकट गर्न सकिन्छ। यो उहाँको अधिकार हो, अनि यो भन्दा कुनै पनि कुरा बढी सामान्य तथा उचित हुन सक्दैन। मानिसहरूले यसको बारेमा अन्यथा सोच्नु हुँदैन। तिमीहरूले परमेश्‍वरलाई उहाँले यस्तो वा उस्तो प्रकारले काम गर्नु हुँदैन भनी “पट्टी मन्त्र”[क] प्रयोग गर्ने कोसिस गर्नु हुँदैन, अनि यस प्रकारले उहाँसित भएको उहाँको खुशी वा कुनै भावनालाई सीमित गर्नु हुँदैन। मानिसहरूको हृदयमा परमेश्‍वर खुशी हुन सक्नुहुन्न, आँसु बगाउन सक्नुहुन्न, बिलौना गर्न सक्‍नुहुन्‍न—उहाँले कुनै भावनालाई प्रकट गर्न सक्नुहुन्न। यी दुई सङ्गतिको अवधिमा हामीले गरेको कुराकानीद्वारा, म विश्‍वास गर्छु कि तिमीहरूले उपरान्त परमेश्‍वरलाई यस प्रकारले हेर्नेछैनौ, तर परमेश्‍वरलाई केही स्वतन्त्रता र छुटकारामा जिउन दिनेछौ। यो अति राम्रो कुरा हो। भविष्यमा, तिमीहरूले परमेश्‍वर दुःखी हुनुभएको सुन्दा यदि तिमीहरूले साँच्चि नै परमेश्‍वरको दुःख अनुभव गर्न सक्छौ अनि तिमीहरूले उहाँ खुशी हुनुभएको सुन्दा तिमीहरूले साँच्चि नै परमेश्‍वरको खुशी अनुभव गर्न सक्छौ भने कम्तीमा तिमीहरूले परमेश्‍वरलाई कुन कुराले खुशी बनाउँछ र कुन कुराले दुःखी बनाउँछ भन्‍ने कुरालाई स्पष्ट प्रकारले जान्न र बुझ्न सक्छौ। परमेश्‍वर दुःखी भएको कारण जब तैँले दुःख महसुस गर्न सक्छस्, अनि परमेश्‍वर खुशी हुनुभएको कारण जब तैँले खुशी महसुस गर्न सक्छस्, तब उहाँले तेरो हृदयलाई पूर्ण रूपले हासिल गरिसक्नुभएको हुन्छ अनि तेरो र उहाँको बीचमा उपरान्त कुनै बाधा हुनेछैन। तैँले मानव कल्पना, धारणा र ज्ञानले अबउप्रान्त उहाँलाई बाँध्ने प्रयास गर्नेछैनस्। त्यस समयमा, तेरो हृदयमा परमेश्‍वर जीवित हुनुहुनेछ र जीवन्त हुनुहुनेछ। उहाँ तेरो जीवनको परमेश्‍वर र तेरो सबै कुराको मालिक हुनुहुनेछ। के तिमीहरूसित यस प्रकारका आकांक्षाहरू छन्? के तिमीहरूले यसलाई हासिल गर्न सक्छौ भन्‍नेमा तिमीहरू विश्‍वस्त छौ?

यसपछि, हामी धर्मशास्त्रबाट निम्न अध्यायहरू पढौँ:

६. डाँडाको उपदेश

आनन्द वाणीहरू (मत्ती ५:३-१२)

नून र ज्योति (मत्ती ५:१३-१६)

व्यवस्था (मत्ती ५:१७-२०)

रिस (मत्ती ५:२१-२६)

व्यभिचार (मत्ती ५:२७-३०)

विवाहविच्‍छेद (मत्ती ५:३१-३२)

शपथ (मत्ती ५:३३-३७)

आँखाको बदला आँखा (मत्ती ५:३८-४२)

आफ्नो शत्रुलाई प्रेम गर (मत्ती ५:४३-४८)

दिने विषयमा निर्देशन (मत्ती ६:१-४)

प्रार्थना (मत्ती ६:५-८)

७. प्रभु येशूका दृष्टान्तहरू

बीउ छर्नेको दृष्टान्त (मत्ती १३:१-९)

सामाको दृष्टान्त (मत्ती १३:२४-३०)

रायोको दानाको दृष्टान्त (मत्ती १३:३१-३२)

खमिरको दृष्टान्त (मत्ती १३:३३)

सामाको दृष्टान्त व्याख्या गरिएको (मत्ती १३:३६-४३)

गाडधनको दृष्टान्त (मत्ती १३:४४)

मोतीको दृष्टान्त (मत्ती १३:४५-४६)

महाजालको दृष्टान्त (मत्ती १३:४७-५०)

८. आज्ञाहरू

मत्ती २२:३७-३९  येशूले तिनलाई भन्‍नुभयो, तैँले परमप्रभु आफ्ना परमेश्‍वरलाई आफ्नो सम्पूर्ण हृदयले, आफ्नो सम्पूर्ण प्राणले, आफ्नो सम्पूर्ण मानले प्रेम गर्नू। यो पहिलो र महान्‌ आज्ञा हो। र दोस्रोचाहिँ यस्तै छ, तैँले आफ्नो छिमेकीलाई आफैलाई झैँ प्रेम गर्नुपर्छ।

सुरुमा हामी “डाँडाको उपदेश” का विभिन्न भागहरूलाई एक-एक गरी हेरौँ: यी विभिन्न भागहरूले कुन कुरालाई छोएका छन्? निश्‍चयताको साथमा यसो भन्न सकिन्छ, कि यी विभिन्न भागहरूका विषयवस्तुहरू मानिसहरूको जीवनका निम्ति व्यवस्थाको युगका नीति नियमहरूभन्दा बढी उच्च, बढी ठोस र बढी नजिक छन्। आधुनिक शब्दावलीहरूमा भन्दा, यी कुराहरू मानिसहरूको व्यवहारिक अभ्यासको निम्ति बढी सान्दर्भिक छन्।

हामी निम्न विषयवस्तुको बारेमा पढौँ: तैँले आनन्द वाणीहरूलाई कसरी बुझ्‍नुपर्छ? व्यवस्थाको बारेमा तैँले कसरी बुझ्नुपर्छ? रिसलाई कसरी परिभाषित गरिनुपर्छ? व्यभिचारीहरूलाई कसरी व्यवहार गरिनुपर्छ? विवाहविच्‍छेदको बारेमा कसरी बोलिनुपर्छ, अनि त्यसको बारेमा के कस्ता नियमहरू छन्? कसले विवाहविच्‍छेद गर्न सक्छ अनि कसले विवाहविच्‍छेद गर्न सक्दैन? शपथहरू, आँखाको बदला आँखा, शत्रुलाई प्रेम गर्ने, परोपकारी हुने सम्बन्धमा के भनिएको छ? र यस्तै आदि इत्यादि। यी सबै कुराहरूले परमेश्‍वरमाथि मानवजातिको विश्‍वासको अभ्यासका हरेक पक्ष तथा तिनीहरूले परमेश्‍वरलाई पछ्याउनुपर्ने कुरासित सम्बन्ध राख्छन्। यीमध्ये केही अभ्यासहरू आज लागू हुन्छन्, यद्यपि हाल मानिसहरूले गर्नुपर्नेभन्दा ती सतही छन्—ती त परमेश्‍वरमाथि विश्‍वास गर्दा मानिसहरूले सामना गर्नुपर्ने तुलनात्मक रूपमा आधारभूत सत्यताहरू हुन्। प्रभु येशूले काम सुरु गर्नुभएको समयदेखि नै उहाँले मानिसहरूको जीवन स्वभावमाथि काम सुरु गरिसक्‍नुभएको थियो तर उहाँको कामका यी पक्षहरू व्यवस्थाको जगमाथि नै आधारित थिए। यी विषयहरूको बारेमा बोल्‍ने नियम तथा तरिकाहरूले सत्यतासित कुनै सम्बन्ध राखे त? अवश्य नै राखे! पहिलेका सबै नीति नियम तथा सिद्धान्तहरूका साथै अनुग्रहको युगका यी उपदेशहरू परमेश्‍वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यससित, अनि सत्यतासित सम्बन्धित थिए। परमेश्‍वरले चाहे जे-सुकै व्यक्त गर्नुभए तापनि, उहाँले चाहे अभिव्यक्तिको जुनसुकै तरिका वा भाषा प्रयोग गर्नुभए तापनि उहाँले व्यक्त गर्नुहुने कुराहरूको जग, मूल र सुरुवाती बिन्दु उहाँको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसका सिद्धान्तहरूमा हुन्छन्। यो पूर्ण रूपले सत्य छ। त्यसैले, उहाँले भन्नुभएका यी कुराहरू अहिले अलि सतही जस्तो प्रतीत भए तापनि ती सत्य होइनन् भनी तँ अझै भन्न सक्दैनस्, किनकि अनुग्रहको युगमा परमेश्‍वरको इच्छालाई सन्तुष्ट तुल्याउन अनि तिनीहरूको जीवन स्वभावलाई परिवर्तन गर्ने कुरा हासिल गर्न मानिसहरूका निम्ति ती अपरिहार्य थिए। यी उपदेशहरूमध्ये कुनै एउटा उपदेश सत्यतासित मेल खाँदैन भनी के तँ भन्न सक्छस्? अहँ, तैँले सक्दैनस्! तीमध्ये हरेक नै सत्यता हो किनकि ती सबै परमेश्‍वरले मानवजातिलाई दिनुभएका मापदण्डहरू थिए; ती सबै परमेश्‍वरद्वारा दिइएका सिद्धान्तहरू तथा क्षेत्र थिए, जसले मानिसलाई उसले कसरी व्यवहार गर्नुपर्छ भनी देखाउँछ, अनि यी कुराहरूले परमेश्‍वरको स्वभावलाई प्रतिनिधित्व गर्छ। तथापि, त्यस समयमा तिनीहरूको जीवनको वृद्धि-स्तरको आधारमा, तिनीहरूले स्वीकार गर्न र बुझ्न सक्‍ने कुरा ती मात्रै थिए। मानिसजातिको पापको समाधान अझै भएको थिएन, त्यसकारण प्रभु येशूले यिनै वचनहरू मात्रै जारी गर्न सक्नुभयो, अनि उहाँले त्यस समयका मानिसहरूलाई तिनीहरूले कसरी व्यवहार गर्नुपर्छ, तिनीहरूले के गर्नुपर्छ, तिनीहरूले कुन सिद्धान्तहरू तथा क्षेत्रभित्र रहेर कामहरू गर्नुपर्छ अनि परमेश्‍वरमा कसरी विश्‍वास गर्नुपर्छ र उहाँका मापदण्डहरू पूरा गर्नुपर्छ भनी मानिसहरूलाई बताउन यसै क्षेत्रभित्र रहेका सरल शिक्षाहरूलाई मात्रै प्रयोग गर्न सक्नुहुन्थ्यो। यो सबै त्यस समयका मानवजातिको कदमा आधारित रहेर निर्धारित गरिन्थ्यो। व्यवस्थाको अधीनमा जिइरहेका मानिसहरूका निम्ति यी शिक्षाहरू स्वीकार गर्न सजिलो थिएन, त्यसैले प्रभु येशूले जे सिकाउनुभयो, त्यो यसै क्षेत्रभित्र रहनुपर्थ्यो।

यसपछि, अब हामी “प्रभु येशूका दृष्टान्तहरू” का विभिन्न विषयवस्तुहरूलाई हेर्नेछौँ।

पहिलो, बीउ छर्नेको दृष्टान्त हो। यो एउटा अत्यन्त चाखलाग्दो दृष्टान्त हो; बीउ छर्नु मानिसहरूको जीवनको एउटा साधारण घटना हो। दोस्रो सामाको दृष्टान्त हो। बाली रोप्ने जोकोहीले पनि, विशेष गरी प्रौढहरूले, “सामा” के हो भन्‍ने जान्दछन्। तेस्रो दृष्टान्त रायोको बिउको दृष्टान्त हो। रायो के हो भनी तिमीहरू सबैले जान्दछौ नि, होइन र? यदि तिमीहरूलाई थाहा छैन भने, तिमीहरूले बाइबलमा हेर्न सक्छौ। चौथो दृष्टान्त खमिरको दृष्टान्त हो। अब खमिर खमिर-प्रक्रियाको निम्ति प्रयोग गरिन्छ, र यो मानिसहरूले आफ्नो दैनिक जीवनमा प्रयोग गर्छन् भन्‍ने धेरैजसो मानिसहरूलाई थाहा छ। छैठौँ दृष्टान्त अर्थात् गाडधनको दृष्टान्त; सातौँ, मोतीको दृष्टान्त; अनि आठौँ, अर्थात् महाजालको दृष्टान्त लगायत अरू थप दृष्टान्तहरू सबै मानिसहरूको वास्तविक जीवनबाट निकालिएका र ल्याइएका हुन्। यी दृष्टान्तहरूले कस्तो चित्र प्रस्तुत गर्दछन् त? यो परमेश्‍वर एउटा सामान्य व्यक्ति बनेर मानिसहरूसित बातचित गर्न अनि तिनीहरूलाई जे खाँचो छ, त्यो जुटाउन जीवनको भाषा, अर्थात् मानव भाषाको प्रयोग गर्दै मानवजातिको साथमा जिइरहनुभएको एउटा चित्र हो। जब परमेश्‍वर देह बन्‍नुभयो र लामो समयसम्म मानवजातिको माझमा बस्नुभयो, तब उहाँले मानवजातिका विभिन्न जीवनशैलीहरू अनुभव गर्नुभएपछि र त्यसलाई देख्‍नुभएपछि यी अनुभवहरू आफ्नो ईश्‍वरीय भाषालाई मानव भाषामा परिवर्तन गर्ने उहाँका शैक्षिक सामग्रीहरू भए। अवश्य नै, जीवनमा उहाँले देख्नुभएका र सुन्नुभएका यी कुराहरूले मानिसको पुत्रको मानव अनुभवलाई सम्‍पन्‍न तुल्यायो। जब मानिसहरूले केही सत्यतालाई बुझेको, परमेश्‍वरका केही इच्‍छालाई बुझेको उहाँले चाहनुहुन्थ्यो, तब उहाँले परमेश्‍वरको इच्छा तथा मानवजातिबाट उहाँले चाहनुभएका कुराहरू बताउन माथिका जस्तै दृष्टान्तहरू प्रयोग गर्न सक्नुहुन्थ्यो। यी दृष्टान्तहरू मानिसहरूको जीवनसँग सम्बन्धित थिए; मानव जीवनको सम्पर्कदेखि बाहिर रहेको एउटै पनि दृष्टान्त थिएन। जब प्रभु येशू मानवजातिको माझमा जिउनुभयो, तब उहाँले किसानहरू खेतमा काम गरिरहेको देख्नुभयो, अनि उहाँले सामाहरू के हुन् अनि खमिर प्रयोग गर्नु भनेको के हो भन्‍ने कुरा जान्नुभयो; मानिसहरूले सम्पत्तिलाई प्रेम गर्छन् भनी उहाँले बुझ्नुभयो, त्यसैले उहाँले सम्पत्ति र मोतीका उपमाहरू प्रयोग गर्नुभयो। जीवनमा, उहाँले मछुवाहरूले आफ्ना जालहरू फ्याँकिरहेको बारम्बार देख्नुहुन्थ्यो; प्रभु येशूले मानव जीवनसँग सम्बन्धित यो र अन्य क्रियाकलापहरू देख्नुभयो, अनि उहाँले त्यस प्रकारको जीवन पनि अनुभव गर्नुभयो। अन्य कुनै पनि सामान्य मानवले जस्तै उहाँले तिनीहरूको दैनिक दिनचर्या र दिनको तीन पल्ट खाना खाने चलनको अनुभव गर्नुभयो। उहाँले व्यक्तिगत रूपमा सामान्य व्यक्तिको जीवन अनुभव गर्नुभयो अनि अरूको जीवनलाई पनि अवलोकन गर्नुभयो। जब उहाँले यो सबै अवलोकन गर्नुभयो र व्यक्तिगत रूपले अनुभव गर्नुभयो, तब उहाँले कसरी असल जीवन जिउने वा कसरी स्वतन्त्र र आरामदायी जीवन जिउने भन्‍ने बारेमा विचार गर्नुभएन। बरु, विशुद्ध मानव जीवनका अनुभवहरूबाट प्रभु येशूले मानिसहरूको जीवनका कठिनाइहरूलाई देख्नुभयो। उहाँले शैतानको सत्तामा जिइरहेका र शैतानको भ्रष्टतामुनि पापको जीवन जिइरहेका मानिसहरूको कठिनाइ, दयनीय अवस्था र दुःख देख्नुभयो। जब उहाँले मानव जीवनलाई व्यक्तिगत रूपले अनुभव गर्दैहुनुहुन्थ्यो, तब उहाँले भ्रष्टताको बीचमा जिउने मानिसहरू कति असहाय छन् सो अनुभव गर्नुभयो, अनि उहाँले पापमा जिउने, शैतान र दुष्टताले दिएको उत्पीडनको बीचमा सबै दिशा गुमाएका मानिसहरूको दयनीय अवस्थाहरू अनुभव गर्नुभयो। जब प्रभु येशूले यी कुराहरू देख्नुभयो, तब उहाँले त्यसलाई आफ्नो ईश्‍वरत्वद्वारा देख्नुभयो कि आफ्नो मानवताद्वारा? उहाँको मानवता साँच्चिकै अस्तित्वमा थियो अनि धेरै नै जीवन्त थियो; उहाँले यो सबै अनुभव गर्न र देख्न सक्नुहुन्थ्यो। तर, अवश्य नै, उहाँले यी कुराहरू आफ्नो सारमा, अर्थात् उहाँको ईश्‍वरत्वमा देख्नुभयो। यसको अर्थ, ख्रीष्ट आफै, प्रभु येशू जो एउटा मानिस हुनुहुन्थ्यो, उहाँले यसलाई देख्नुभयो अनि उहाँले देख्नुभएको हरेक कुराले उहाँलाई उहाँ देहमा जिउनुभएको समय अवधिमा उहाँले लिनुभएको कामको महत्त्व र आवश्यकता अनुभूति गरायो। देहमा उहाँले लिनुपर्ने जिम्मेवारी अत्यन्तै विशाल छ, र उहाँले सामना गर्नुहुने पीडा कति निर्दयी हुनेछ भन्‍ने कुरा उहाँलाई थाहा थियो, तैपनि जब उहाँले मानिसजातिलाई पापमा असहाय भएको देख्नुभयो, जब उहाँले व्यवस्थाको अधीनमा तिनीहरूको जीवनको दयनीय अवस्था अनि तिनीहरूले गरेका कमजोर संघर्षहरू देख्नुभयो, तब उहाँ धेरैभन्दा धेरै शोकित हुनुभयो, अनि पापबाट मानिसजातिलाई मुक्ति दिनका निम्ति उहाँ धेरै भन्दा धेरै चिन्तित हुनुभयो। उहाँले जस्तोसुकै कठिनाइको सामना गर्नुपरे तापनि वा जस्तोसुकै पीडा सहनु परे तापनि, पापमा जिइरहेका मानवजातिलाई उद्धार गर्ने उहाँको अठोट बढ्दै गयो। के भन्‍न सकिन्छ भने, यस प्रक्रियामा, उहाँले आफूले गर्नुपर्ने काम तथा आफूलाई सुम्पिएको कामको बारेमा प्रभु येशूले अत्यन्तै स्पष्ट प्रकारले बुझ्न थाल्नुभयो। उहाँले जुन काम गर्नुपर्ने थियो त्यसलाई पूरा गर्न, अर्थात्, मानवजाति अब उप्रान्त पापमा नजिऊन् भनेर तिनीहरूका पापहरू आफूमाथि लिन, मानवजातिको निम्ति प्रायश्चित गर्न उहाँ झन्-झन् उत्सुक हुनुभयो, यसको साथ साथै पापबलिको कारणले परमेश्‍वर मानिसका पापहरू क्षमा गर्न सक्षम हुनुभयो अनि यसले गर्दा उहाँले मानवजातिलाई मुक्ति दिने आफ्नो कामलाई अझ अगाडि बढाउन सक्‍नुहुन्थ्यो। यसो भन्न सकिन्छ, कि प्रभु येशूको हृदयमा, उहाँ आफैलाई मानवजातिको निम्ति अर्पण गर्न, आफैलाई बलिदान गर्न इच्छुक हुनुहुन्थ्यो। उहाँ पापबलिको रूपमा काम गर्न, क्रूसमा टाँगिन पनि इच्छुक हुनुहुन्थ्यो, अनि वास्तवमै उहाँ यो काम पूरा गर्न उत्सुक हुनुहुन्थ्यो। जब उहाँले मानव जीवनको दयनीय अवस्थाहरू देख्नुभयो, तब उहाँले एक मिनेट वा अझ एक सेकेण्ड ढिलाइ नगरिकन जतिसक्दो चाँडो आफ्नो मिशन पूरा गर्न अझ बढी चाहनुभयो। त्यस्तो अपरिहार्यतालाई महसुस गरेर, उहाँले आफ्नो पीडा कति ठूलो हुनेछ भनी विचार गर्नुभएन, न त कति धेरै अपमान सहनुपर्ने हो भन्‍ने बारेमा नै विचार गरिरहनुभयो। उहाँले आफ्नो हृदयमा एउटै अठोट गर्नुभयो: उहाँले आफैलाई अर्पण गर्नुभयो भने, पापबलिको रूपमा उहाँ क्रूसमा टाँगिनुभयो भने, परमेश्‍वरको इच्छा पूरा हुनेछ अनि परमेश्‍वरले नयाँ काम सुरु गर्न सक्नुहुनेछ। मानिसजातिको जीवन तथा पापमा तिनीहरूको अस्तित्वको अवस्था पूर्ण रूपले परिवर्तन हुनेथियो। उहाँको अठोट तथा उहाँले जे गर्ने निर्धारण गर्नुभएको थियो, त्यो मानिसलाई मुक्ति दिने कार्यसित सम्बन्धित थियो अनि उहाँको केवल एउटै उद्देश्य थियो जुन परमेश्‍वरको इच्छा पूरा गर्नु थियो ताकि परमेश्‍वरले आफ्नो कामको अर्को चरण सफलतापूर्वक सुरु गर्न सक्नुभएको होस्। त्यस बेला प्रभु येशूको मनमा यही कुरा थियो।

देहमा जिउनुहुँदा, देहधारी परमेश्‍वरमा सामान्य मानवता थियो; उहाँसित एउटा सामान्य मानिसका भावनाहरू तथा चेतना थियो। खुशी के हो, पीडा के हो सो उहाँलाई थाहा थियो, अनि जब मानवजातिले यस प्रकारको जीवन जिइरहेको उहाँले देख्नुभयो, तब उहाँले मानिसहरूलाई केही शिक्षा दिनु, तिनीहरूलाई केही जुटाइदिनु वा तिनीहरूलाई केही सिकाउनु मात्रै तिनीहरूलाई पापबाट बाहिर निकाल्‍नको निम्ति पर्याप्त हुनेछैन भन्‍ने कुरालाई उहाँले गहिरो प्रकारले महसुस गर्नुभयो। न त तिनीहरूलाई आज्ञाहरू पालन गर्न लगाएर मात्र तिनीहरू पापमुक्त हुन सक्थे—उहाँले मानवजातिको पाप लिएर पापपूर्ण देह बन्‍नुभएपछि मात्रै उहाँले मानवजातिको स्वतन्त्रता अनि मानवजातिको निम्ति परमेश्‍वरको क्षमादान हासिल गर्न सक्‍नुहुनेथियो। त्यसैले, जब प्रभु येशूले मानिसहरूको पापको जीवन अनुभव गर्नुभयो र देख्नुभयो, तब उहाँको हृदयमा मानिसहरूलाई पापमा संघर्ष गर्ने तिनीहरूको जीवनबाट मुक्त गराउने एउटा तीव्र इच्छा प्रकट भयो। यस इच्छाले उहाँलाई उहाँ जतिसक्दो छिटो र सकेसम्‍म चाँडै क्रूसमा गएर मानवजातिका पापहरू लिनुपर्छ भन्‍ने तीव्र रूपमा महसुस गरायो। मानिसहरूसित जिएपछि र पापमा तिनीहरूले जिएको जीवनको दुर्गति देखेपछि, सुनेपछि र महसुस गरेपछि त्यस समयमा प्रभु येशूमा आएका विचारहरू यिनै थिए। मानवजातिको निम्ति देहधारी परमेश्‍वरको त्यस्तो प्रकारको इच्छा हुन सक्थ्यो, उहाँले यस्तो प्रकारको स्वभावलाई व्यक्त गर्न र प्रकट गर्न सक्नुहुन्थ्यो—के यो सामान्य व्यक्तिले प्राप्त गर्न सक्‍ने कुरा होइन र? यस्तो प्रकारको वातावरणमा जिउने सामान्य व्यक्तिले के देख्नेथियो? तिनीहरूले के सोच्नेथिए? यदि सामान्य व्यक्तिले यो सबै कुराको सामना गर्‍यो भने के तिनीहरूले समस्याहरूलाई एउटा उच्च दृष्टिकोणबाट हेर्नेथिए र? पक्कै पनि हेर्ने थिएनन्! देहधारी परमेश्‍वरको बाहिरी रूप दुरुस्त मानिसको जस्तो भए तापनि, अनि उहाँले मानव ज्ञान सिक्नुहुने र मानव भाषा बोल्नुहुने भए तापनि, अनि कहिलेकाहीँ मानवजातिको आफ्नै विधिहरू वा बोल्ने तरिकाहरूद्वारा आफ्ना विचारहरू व्यक्त गर्नुभए तापनि, उहाँले जुन प्रकारले मानिसहरूलाई हेर्नुहुन्छ र कुराहरूको सारलाई हेर्नुहुन्छ, त्यो भ्रष्ट मानिसहरूले मानवजाति तथा कुराहरूको सारलाई हेर्ने तरिका जस्तो छैन। उहाँको दृष्टिकोण र उहाँ जुन उचाइमा खडा हुनुहुन्छ, त्यो भ्रष्ट व्यक्तिको निम्ति अप्राप्य कुरा हो। किनकि परमेश्‍वर सत्य हुनुहुन्छ, किनकि उहाँले जुन देह धारण गर्नुहुन्छ, त्यसमा पनि परमेश्‍वरको सार छ, अनि उहाँका विचारहरू र उहाँको मानवताद्वारा व्यक्त हुने कुरा पनि सत्यता नै हुन्। भ्रष्ट मानिसहरूका निम्ति, उहाँले देहमा जे व्यक्त गर्नुहुन्छ, ती सत्यता अनि जीवनका प्रबन्धहरू हुन्। यी प्रबन्धहरू एउटा व्यक्तिको निम्ति मात्र होइनन्, तर सारा मानवजातिको निम्ति हुन्। कुनै भ्रष्ट व्यक्तिको हृदयमा केवल त्यस्ता थोरै मानिसहरू मात्र हुन्छन् जो तिनीहरूसित सम्बन्धित हुन्छन्। तिनीहरूले यी थोरै मानिसहरूका निम्ति मात्र वास्ता गर्छन् र चिन्ता गर्छन्। जब विनाश आउन लागेको हुन्छ, तिनीहरूले पहिले आफ्नै छोराछोरीहरू, जीवनसाथी वा आमाबाबुको बारेमा सोच्छन्। बढीमा, अलिक बढी दयालु व्यक्तिले कोही आफन्त वा असल साथीको केही विचार गर्लान्, तर त्यस्तो दयालु व्यक्तिका विचारहरू समेत त्यसभन्दा पर जान्छ र? अहँ, कदापि जाँदैन। किनकि मानिसहरू आखिर मानिसहरू नै हुन्, अनि तिनीहरूले मानवको उचाइ तथा दृष्टिकोणबाट मात्र सबै कुरालाई हेर्न सक्छन्। तथापि, देहधारी परमेश्‍वर भ्रष्ट मानिसभन्दा पूर्ण रूपमा फरक हुनुहुन्छ। परमेश्‍वरको देहधारी शरीर चाहे जतिसुकै साधारण, जतिसुकै सामान्य र न्यून भए तापनि अथवा मानिसहरूले जतिसुकै नीच दृष्टिकोणले उहाँलाई तिरस्कार गरे तापनि, मानवजातिप्रति उहाँका विचारहरू तथा उहाँको मनोवृत्ति यस्ता कुराहरू हुन्, जुन कुनै मानिसले हासिल गर्न सक्दैन, कुनै मानिसले अनुकरण गर्न सक्दैन। उहाँले मानवजातिलाई सधैँ ईश्‍वरत्वको दृष्टिकोणबाट, सृष्टिकर्ताको रूपमा रहेको उहाँको उच्‍च स्थानबाट अवलोकन गर्नुहुन्छ। उहाँले मानवजातिलाई सधैँ परमेश्‍वरको सार र मानसिकताबाट हेर्नुहुन्छ। उहाँले मानवजातिलाई एउटा औसत व्यक्तिको न्यून उचाइबाट वा एउटा भ्रष्ट मानिसको दृष्टिकोणबाट बिलकुल हेर्नुहुन्न। जब मानिसहरूले मानवजातिलाई हेर्छन्, तिनीहरूले मानव दृष्टिद्वारा हेर्छन्, अनि तिनीहरूले मानव ज्ञान र मानव नियम तथा सिद्धान्तहरू जस्ता कुराहरूलाई तिनीहरूका मापकको रूपमा प्रयोग गर्छन्। यो मानिसहरूले आफ्नो आँखाले हेर्न सक्ने परिधिभित्र र भ्रष्ट मानिसहरूले हासिल गर्न सक्‍ने परिधिभित्र पर्दछ। जब परमेश्‍वरले मानवजातिलाई हेर्नुहुन्छ, उहाँले ईश्‍वरीय दृष्टिले हेर्नुहुन्छ, अनि उहाँले आफ्नो सार तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई मापकको रूपमा प्रयोग गर्नुहुन्छ। यो परिधिभित्र मानिसहरूले देख्न नसक्ने कुराहरू पर्दछन्, अनि देहधारी परमेश्‍वर तथा भ्रष्ट मानिसहरू पूर्ण रूपले भिन्न हुनु स्थान यहीँ नै हो। यो भिन्नता मानिसहरू र परमेश्‍वरको भिन्नाभिन्नै सारहरू द्वारा निर्धारित हुन्छ—यही भिन्नाभिन्नै सारहरूले नै उहाँहरूको पहिचान अनि स्थानहरू, साथै उहाँहरूले जुन दृष्टिकोण तथा उचाइबाट कुराहरू देख्नुहुन्छ, त्यसलाई निर्धारण गर्दछ। के तिमीहरूले प्रभु येशूमा परमेश्‍वर स्वयम्‌को अभिव्यक्ति र प्रकाशलाई देख्छौ? तिमीहरू भन्न सक्छौ, कि प्रभु येशूले जे गर्नुभयो र भन्नुभयो, त्यो उहाँको सेवकाई र परमेश्‍वरको आफ्नै व्यवस्थापनको कामसित सम्बन्धित थियो, त्यो परमेश्‍वरको सारको सम्पूर्ण अभिव्यक्ति तथा प्रकाश थियो। उहाँसँग मानव प्रकटीकरण थियो, तापनि उहाँको ईश्‍वरीय सार र उहाँको ईश्‍वरत्वको प्रकाशलाई इन्कार गर्न सकिँदैन। के यो मानव प्रकटीकरण साँच्चिकै मानवताको प्रकटीकरण थियो? उहाँको मानव प्रकटीकरण, त्यसको सारमा, भ्रष्ट मानिसहरूको मानव प्रकटीकरणबाट पूर्ण रूपले भिन्न थियो। प्रभु येशू देहधारी परमेश्‍वर हुनुहुन्थ्यो। यदि उहाँ साँच्चिकै साधारण, भ्रष्ट मानिसहरूमध्ये एउटा हुनुहुन्थ्यो भने, के उहाँले मानवजातिको पापलाई ईश्‍वरीय दृष्टिकोणबाट देख्न सक्नुहुन्थ्यो? बिलकुलै सक्‍नुहुन्‍नथियो! मानिसको पुत्र र साधारण मानिसहरू बीचको फरक यही हो। भ्रष्ट मानिसहरू सबै पापमा जिउँछन्, अनि जब कसैले पापलाई देख्छन्, तब तिनीहरूसित यसबारे कुनै निश्‍चित भावना हुँदैन; तिनीहरू सबै हिलोमा बस्ने सुँगुर जस्तै हुन्, जसले कुनै असुविधा वा फोहोरको अनुभूति गर्दैनन्—यसको विपरीत, त्यसले राम्ररी खान्छ र राम्रोसित निदाउँछ। यदि कसैले सुँगुरको खोर सफा गर्‍यो भने सुँगुरले वास्तवमा बिरामी महसुस गर्दछ अनि त्यो सफा नै रहिरहनेछैन। तुरुन्तै, फेरि त्यो हिलोमा सहजताको साथ लडीबुडी खेल्नेछ, किनकि यो एउटा फोहोरी जनावर हो। मानिसहरूले सुँगुरहरूलाई फोहोरी जनावरको रूपमा हेर्छन्, तर यदि तैँले सुँगुर बस्ने कोठाहरूलाई सफा गर्छस् भने पनि यसले कुनै राम्रो अनुभूति गर्दैन—त्यसैले कसैले सुँगुरलाई आफ्नो घरभित्र राख्दैन। मानिसहरूले सुँगुरहरूलाई जुन प्रकारले हेर्छन्, त्यो सुँगुरहरू आफैले कस्तो महसुस गर्छन् भन्‍ने कुराबाट सधैँ भिन्न हुन्छ किनकि मानिसहरू र सुँगुरहरू उही प्रकारका होइनन्। अनि देहधारी मानिसको पुत्र पनि भ्रष्ट मानिसहरू जस्तै होइन, त्यसकारण देहधारी परमेश्‍वर मात्रै ईश्‍वरीय दृष्टिकोणमा परमेश्‍वरको उचाइमा खडा रहन सक्नुहुन्छ, जहाँबाट उहाँले मानवजाति र सबै कुरालाई देख्नुहुन्छ।

उहाँ देह हुनुहुँदा अनि मानवजातिको माझमा जिउनुहुँदा परमेश्‍वरले अनुभव गर्नुहुने कष्टको बारेमा के भन्‍ने? यो कष्ट के हो? के कसैले यसलाई साँचो रीतिले बुझ्न सक्छ? कोही मानिसहरू भन्छन् कि परमेश्‍वरले अति कष्ट भोग्नुहुन्छ, कि उहाँ परमेश्‍वर स्‍वयम्‌ हुनुभए तापनि मानिसहरूले उहाँको सारलाई बुझ्दैनन्, तर उहाँलाई सधैँ व्यक्ति झैँ व्यवहार गर्ने तिनीहरूको प्रवृत्ति हुन्छ, जसले गर्दा उहाँले पीडित भएको तथा अन्यायमा परेको अनुभव गर्नुहुन्छ—तिनीहरू भन्छन्, कि यी कारणहरूले गर्दा, परमेश्‍वरको कष्ट साँच्‍चै ठूलो छ। अरू मानिसहरू भन्छन्, परमेश्‍वर निर्दोष हुनुहुन्छ र पापरहित हुनुहुन्छ, तर उहाँले मानवजातिले जस्तै कष्ट भोग्नुहुन्छ, उहाँले मानवजाति सँगसँगै सतावट, निन्दा, अपमान भोग्नुहुन्छ; तिनीहरू भन्छन्, उहाँले उहाँका अनुयायीहरूको गलत बुझाइ र अनाज्ञाकारिता पनि सहनुहुन्छ—यसरी, परमेश्‍वरको कष्टलाई साँच्चिकै मापन गर्न सकिँदैन भनेर तिनीहरू भन्छन्। अब, यस्तो प्रतीत हुन्छ कि तिमीहरूले साँचो रूपमा परमेश्‍वरलाई बुझ्दैनौ। वास्तवमा, तिमीहरूले जुन कष्टको बारेमा कुरा गर्छौ, त्यो परमेश्‍वरको निम्ति साँचो कष्टको रूपमा गणना हुँदैन किनकि योभन्दा पनि ठूलो कष्ट छ। त्यसोभए, परमेश्‍वर स्वयम्‌को निम्ति साँचो कष्ट के हो त? परमेश्‍वरको देहधारी शरीरको निम्ति साँचो कष्ट के हो त? परमेश्‍वरको निम्ति, मानवजातिले उहाँलाई नबुझ्नु कष्टको रूपमा गणना हुँदैन, न त परमेश्‍वरको बारेमा मानिसहरूसित गलत बुझाइ हुनु र उहाँलाई परमेश्‍वरको रूपमा नहेर्नु नै कष्टको रूपमा गणना हुन्छ। तथापि, मानिसहरूले प्रायजसो के महसुस गर्छन् भने, परमेश्‍वरले ठूलो अन्याय भोगेको हुनुपर्छ, अनि परमेश्‍वरले देहमा बिताउनुभएको समयावधिमा, उहाँले मानवजातिलाई उहाँको व्यक्तित्व देखाउन सक्नुहुन्न र मानिसहरूलाई उहाँको महानता देख्न दिन सक्नुहुन्न, अनि परमेश्‍वरले नम्रतापूर्वक एउटा महत्त्वहीन देहमा आफैलाई लुकाइरहनुभएको छ र यो उहाँको निम्ति एउटा ठूलो यातना हुनुपर्छ। मानिसहरूले परमेश्‍वरको कष्टको बारेमा जे बुझ्न सक्छन् र जे तिनीहरूले देख्न सक्छन्, त्यसबाट नै तिनीहरू प्रभावित हुन्छन् अनि परमेश्‍वरमाथि सबै प्रकारका सहानुभूति व्यक्त गर्छन् र प्रायजसो उहाँको कष्टको निम्ति अलिकति प्रशंसा समेत चढाउँछन्। यथार्थमा, परमेश्‍वरको कष्टको बारेमा मानिसहरूले जे बुझ्दछन् र उहाँले जे साँचो रूपमा महसुस गर्नुहुन्छ, त्यसबीच एउटा भिन्नता छ; एउटा अन्तर छ। म तिमीहरूलाई सत्यता भन्दैछु—परमेश्‍वरको निम्ति, चाहे त्यो परमेश्‍वरका आत्मा होस् कि परमेश्‍वरको देहधारी शरीर होस्, माथि बताइएको कष्ट साँचो कष्ट होइन। त्यसोभए, परमेश्‍वरले वास्तवमा केको कष्ट भोग्‍नुहुन्छ त? हामी देहधारी परमेश्‍वरको दृष्टिकोणबाट मात्रै परमेश्‍वरको कष्टको बारेमा कुरा गरौँ।

जब परमेश्‍वर देहधारी भई एउटा औसत, सामान्य मानिसमा बदलिनुहुन्छ, मानवजातिको माझमा मानिसहरू सँगसँगै जिउनुहुन्छ, के उहाँले मानिसहरूका जिउने सम्‍बन्धी विधिहरू, व्यवस्थाहरू, अनि दर्शनहरूलाई देख्न र महसुस गर्न सक्नुहुन्न र? जिउने सम्‍बन्धी यी विधिहरू तथा व्यवस्थाहरूले उहाँलाई कस्तो महसुस गराउँछन्? के उहाँले आफ्नो हृदयमा घृणाको महसुस गर्नुहुन्छ? किन उहाँले घृणाको महसुस गर्नुहुन्छ? जिउने सम्‍बन्धी मानवजातिका विधि तथा व्यवस्थाहरू के-के हुन् त? कुन सिद्धान्तहरूमा तिनीहरूले जरा बसालेका छन्? तिनीहरू कुन कुरामा आधारित छन्? मानवजातिका विधि, व्यवस्था, अनि आदि इत्यादि कुरा ती जिउने तरिकासित सम्बन्धित भएकोले—यो सबै शैतानको तर्क, ज्ञान र दर्शनको आधारमा सृष्टि गरिएका हुन्। यस प्रकारका व्यवस्थाहरूको अधीनका जिइरहेका मानिसहरूको कुनै मानवता, कुनै सत्यता हुँदैन—तिनीहरू सबैले सत्यताको विरोध गर्छन् र परमेश्‍वरप्रति प्रतिरोधी हुन्छन्। यदि हामी परमेश्‍वरको सारप्रति दृष्टि लगाउँछौँ भने, हामी उहाँको सार शैतानको तर्क, ज्ञान र दर्शनको ठीक विपरीत छ भन्‍ने देख्छौँ। उहाँको सार धार्मिकता, सत्यता र पवित्रता, अनि सबै सकारात्मक कुराहरूको अन्य वास्तविकताहरूले भरिपूर्ण छ। यस्तो सारले सुसम्पन्न हुनुभएका अनि मानवजातिको माझमा वास गर्नुहुने परमेश्‍वरले कस्तो अनुभूति गर्नुहुन्छ? उहाँले आफ्नो हृदयमा कस्तो अनुभूति गर्नुहुन्छ? के यो पीडाले भरिपूर्ण हुँदैन र? उहाँको हृदय पीडाले भरिपूर्ण हुन्छ, एउटा यस्तो पीडा जुन कुनै व्यक्तिले बुझ्न वा अनुभव गर्न सक्दैन। यसको कारण के हो भने, उहाँले सामना गर्नुहुने, जम्काभेट गर्नुहुने, सुन्नुहुने, देख्नुहुने अनि अनुभव गर्नुहुने सबै मानवजातिको भ्रष्टता, खराबी, अनि सत्यताप्रतिको विरुद्धमा अनि प्रतिरोधमा रहेको तिनीहरूको विद्रोह हो। मानिसहरूबाट आउने भनेका सबै उहाँको कष्टका श्रोत हुन्। भनाइको अर्थ, उहाँको सार भ्रष्ट मानिसहरूको जस्तै नभएको हुनाले, मानिसहरूको भ्रष्टता उहाँको सबैभन्दा ठूलो कष्टको श्रोत बन्दछ। जब परमेश्‍वर देहधारी बन्‍नुहुन्छ, के उहाँले उहासँग आम भाषा भएको कसैलाई भेट्टाउन सक्‍नुहुन्छ? त्यस्तो व्यक्तिलाई मानवजातिको माझमा भेट्टाउन सकिँदैन। परमेश्‍वरसित बातचित गर्न सक्‍ने वा परमेश्‍वरसित कुराकानी गर्न सक्‍ने कसैलाई पनि भेट्टाउन सकिँदैन—यसको बारेमा परमेश्‍वरसित कस्तो प्रकारको अनुभूति हुन्छ भनेर तैँले भन्छस्? मानिसहरूले छलफल गर्ने, प्रेम गर्ने, खोजी गर्ने र चाहना गर्ने सबै कुरा पाप र दुष्ट प्रवृत्तिहरूसित सम्‍बन्धित हुन्छन्। जब परमेश्‍वरले यी सबैको सामना गर्नुहुन्छ, के यो उहाँको हृदयको निम्ति छुरा जस्तो हुँदैन र? यस्ता कुराहरूको सामना गर्दा, के उहाँको हृदयमा आनन्द हुनसक्छ र? के उहाँले सान्त्वना भेट्टाउन सक्नुहुन्छ र? उहाँसित बसिरहेका मानिसहरू विद्रोह तथा खराबीले भरिपूर्ण मानिसहरू हुन्—उहाँको हृदयले कसरी कष्ट नभोग्न सक्छ र? यो कष्ट वास्तवमा कति ठूलो छ, अनि यसको बारेमा कसले वास्ता गर्छ र? कसले ध्यान दिन्छ र? अनि यसलाई कसले बुझ्‍न सक्छ? परमेश्‍वरको हृदय बुझ्ने कुनै उपाय मानिसहरूसित छैन। उहाँको कष्ट यस्तो कुरा हो जसलाई मानिसहरूले बुझ्‍न सक्दैनन्, अनि मानवजातिको चिसोपना र संवेदनाशून्यताले परमेश्‍वरको कष्टलाई अझ बढी गहिर्‍याउँदछ।

केही मानिसहरूले ख्रीष्टको दयनीय अवस्थाप्रति प्रायजसो सहानुभूति राख्छन् किनकि बाइबलमा एउटा पद छ जसले भन्छ: “फ्याउराहरू बस्‍ने दुला छन् र पक्षीहरूका गुँड छन्; तर मानिसको पुत्रको निम्ति आफ्नो टाउको राख्‍ने ठाउँ छैन।” जब मानिसहरूले यो सुन्छन्, तब तिनीहरू यसबाट प्रभावित हुन्छन् अनि परमेश्‍वरले सहनुभएको र ख्रीष्टले सहनुभएको सबैभन्दा ठूलो कष्ट यही हो भन्‍ने विश्‍वास गर्छन्। अब, तथ्यहरूको दृष्टिकोणबाट हेरेर भन्दा, के साँचो कुरा त्यही नै हो त? होइन; परमेश्‍वरले यी कठिनाइहरूलाई कष्ट हुन् भनी विश्‍वास गर्नुहुन्न। आफूले देहमा भोग्‍नुभएका कठिनाइहरूको कारणले उहाँले कहिल्यै अन्यायको विरुद्धमा कराउनुभएको छैन, अनि उहाँले मानिसहरूलाई कुनै कुराको भुक्तानी गर्न वा प्रतिफल दिन लगाउनुभएको छैन। तथापि, जब उहाँले मानवजाति र भ्रष्ट जीवन अनि भ्रष्ट मानिसहरूको खराबीको बारेमा सबै कुरा देख्नुहुन्छ, जब मानवजाति शैतानको पकडमा छ अनि शैतानद्वारा बन्दी बनाइएको र उम्कन नसकेको अवस्थामा छ, पापमा जिइरहेका मानिसहरूले सत्यता के हो भनी जान्दैनन् भन्‍ने देख्नुहुन्छ, तब उहाँले यी पापलाई सहन गर्न सक्नुहुन्न। मानिसहरूप्रतिको उहाँको घृणा दिनदिनै बढ्दै जान्छ, तर उहाँले यी सबैलाई पनि सहनुपर्ने हुन्छ। परमेश्‍वरको ठूलो कष्ट यही हो। परमेश्‍वरले आफ्ना अनुयायीहरूको माझमा आफ्नै हृदयको आवाज वा भावनाहरूलाई समेत पूर्ण रूपमा व्यक्त गर्न सक्नुहुन्न, अनि उहाँका अनुयायीहरूको माझमा कसैले पनि उहाँको कष्टलाई साँचो रीतिले बुझ्न सक्दैन। कसैले पनि उहाँलाई बुझ्न वा उहाँको हृदयलाई सान्त्वना दिने कोसिस गर्दैन, जुन हृदयले यो कष्टलाई दिन-प्रतिदिन, वर्षैपिच्‍छे अनि बारम्बार सहिरहन्छ। यो सबैमा तिमीहरू के देख्छौ? परमेश्‍वरले मानिसहरूबाट उहाँले जे दिनुभएको छ, त्यसको बदलामा केही पनि चाहनुहुन्न, तर परमेश्‍वरको सारको कारणले, उहाँले मानवजातिको खराबी, भ्रष्टता र पापलाई बिलकुल सहन सक्नुहुन्न, बरु अत्यन्त वितृष्णा र घृणा अनुभूति गर्नुहुन्छ जसले परमेश्‍वरको हृदय तथा उहाँको देहलाई अन्त्यहीन कष्टमा डोर्‍याउँछ। के तिमीहरूले यो कुरालाई देखेका छौ? सायद तिमीहरूमध्ये कसैले यसलाई देख्न सक्दैनौ, किनकि तिमीहरूमध्ये कसैले परमेश्‍वरलाई साँचो रीतिले बुझ्न सक्दैनौ। समयको अन्तरालमा, यसलाई तिमीहरूले क्रमिक रूपमा आफै अनुभव गर्नुपर्छ।

यसपछि, हामी धर्मशास्त्रका निम्‍न खण्डहरूलाई हेरौँ:

९. येशूले आश्‍चर्यकर्महरू गर्नुहुन्छ

क. येशूले पाँच हजारलाई खुवाउनुहुन्छ

यूहन्‍ना ६:८-१३  उहाँका चेलाहरूमध्ये एक, सिमोन पत्रुसका भाइ अन्द्रियासले उहाँलाई भने, यहाँ एउटा केटो छ, जोसँग जौका पाँच ओटा रोटी र दुई ओटा माछा छन्: तर यति धेरैका माझमा ती त के हुन् र? अनि येशूले भन्‍नुभयो, मानिसहरूलाई बस्‍न लगाओ। त्यस ठाउँमा धेरै घाँस थियो। यसैले लगभग पाँच हजार मानिसहरू बसे। अनि येशूले रोटी लिनुभयो; र उहाँले धन्यवाद दिनुभएपछि, उहाँले चेलाहरूलाई बाँड्नुभयो र चेलाहरूले बसेकाहरूलाई बाँडे; अनि यसैगरी तिनीहरूले सकेसम्म माछा पनि बाँडे। जब तिनीहरू अघाए, उहाँले चेलाहरूलाई भन्‍नुभयो, उब्रेका टुक्राहरू बटुल ताकि केही पनि खेर नजाओस्। यसैले तिनीहरूले ती बटुले र पाँच जौका रोटीका टुक्राहरूले बाह्र डाला भरे, जुन तिनीहरूले खाएको भन्दा ज्यादा थियो।

ख. लाजरसको पुनरुत्थानले परमेश्‍वरलाई महिमित तुल्याउँछ

यूहन्‍ना ११:४३-४४  अनि जब उहाँले त्यसरी बोलिसक्‍नुभएपछि, उहाँले उच्‍च स्वरमा “लाजरस, बाहिर आऊ” भनी भन्‍नुभयो। तब तिनी, अर्थात् कात्रोले हात र खुट्टा बेह्रिएकै अवस्थामा मरेको मानिस बाहिर आए, अनि तिनको अनुहार रुमालले बेह्रिएको थियो। येशूले तिनीहरूलाई भन्‍नुभयो, तिनका कपडाहरू निकाल र तिनलाई जान देओ।

प्रभु येशूले गर्नुभएका आश्‍चर्यकर्महरूमध्ये, हामीले केवल यी दुई वटालाई छानेका छौँ किनकि मैले यहाँ के कुराको बारेमा बोल्न चाहन्छु भनी प्रकट गर्न ती नै पर्याप्त छन्। यी दुई आश्‍चर्यकर्महरू अनुग्रहको समयावधिमा प्रभु येशूले गर्नुभएको आश्‍चर्यकर्महरूमध्ये साँच्चिकै आश्चर्य लाग्दा र अत्यन्त प्रतिनिधिमूलक छन्।

पहिले, हामी पहिलो खण्डलाई हेर्नेछौँ: येशूले पाँच हजारलाई खुवाउनुहुन्छ।

“पाँच वटा रोटी र दुई वटा माछा” को धारणा के हो? साधारणतया, पाँच रोटी र दुई वटा माछाले कति जना मानिसहरूलाई पर्याप्त रूपले खुवाउन सकिन्छ? यदि तैँले तेरो मापनलाई औसत व्यक्तिको भोकमा आधारित गरिस् भने, यो केवल दुई जनालाई मात्र पर्याप्त हुन्छ। सबैभन्दा आधारभूत रूपले यही नै “पाँच वटा रोटी र दुई वटा माछा” को धारणा हो। तथापि, यस अध्यायमा पाँच वटा रोटी र दुई वटा माछाले कति जना मानिसहरूलाई खुवाइयो? धर्मशास्त्रमा अभिलिखित कुरालाई तल दिइएको छ: “त्यस ठाउँमा धेरै घाँस थियो। यसैले लगभग पाँच हजार मानिसहरू बसे।” पाँच वटा रोटी र दुई वटा माछाको तुलनामा के पाँच हजार ठूलो हो? यो संख्या यति ठूलो हो भनेर केले देखाउँछ? मानव दृष्टिकोणबाट हेर्दा, पाँच वटा रोटी र दुई वटा माछा पाँच हजार मानिसहरूको निम्ति बाँडिँदिन असम्भव हुनेथियो, किनकि मानिसहरू र खानाको मात्रा बीचको भिन्नता अति ठूलो छ। यदि हरेक मानिसले एउटा सानो टुक्रा मात्रै खाए पनि यो पाँच हजार मानिसहरूका निम्ति अझै अपर्याप्त हुनेथियो। तर यहाँ, प्रभु येशूले एउटा आश्‍चर्यकर्म गर्नुभयो—पाँच हजार मानिसहरूले पेटभरि खाएको मात्र उहाँले सुनिश्चित गर्नुभएन तर खाना उब्रियो पनि। धर्मशास्त्रले भन्दछ: “जब तिनीहरू अघाए, उहाँले चेलाहरूलाई भन्‍नुभयो, उब्रेका टुक्राहरू बटुल ताकि केही पनि खेर नजाओस्। यसैले तिनीहरूले ती बटुले र पाँच जौका रोटीका टुक्राहरूले बाह्र डाला भरे, जुन तिनीहरूले खाएको भन्दा ज्यादा थियो।” यस आश्‍चर्यकर्मले मानिसहरूलाई प्रभु येशूको पहिचान र हैसियतलाई देख्न, अनि परमेश्‍वरको लागि केही पनि असम्भव छैन भनी देख्न सक्षम तुल्यायो—यस प्रकारले तिनीहरूले परमेश्‍वरको सर्वशक्तिको सत्यतालाई देख्न सके। पाँच वटा रोटी र दुई वटा माछा पाँच हजार जना मानिसहरूलाई खुवाउन पर्याप्त थियो, तर यदि त्यहाँ कुनै खाना नभएको भए, के परमेश्‍वरले पाँच हजार मानिसहरूलाई खुवाउन सक्नुहुन्थ्यो त? अवश्य, उहाँले सक्नुहुन्थ्यो! यो एउटा आश्‍चर्यकर्म थियो, त्यसैले अपरिहार्य रूपले नै मानिसहरूले यो समझभन्दा बाहिरको, विश्‍वासै गर्न कठिन अनि रहस्यमय छ भन्‍ने महसुस गरे, तर परमेश्‍वरको निम्ति त्यस्तो कुरा गर्नु त केही पनि थिएन। परमेश्‍वरको निम्ति यो साधारण कुरा थियो भने, यसलाई व्याख्याको निम्ति अहिले किन अलग गर्ने? किनकि यस आश्‍चर्यकर्मको पछाडि प्रभु येशूको इच्छा छ, जुन इच्‍छालाई मानवजातिले कहिल्यै महसुस गर्न सकेको छैन।

पहिले, हामी यी पाँच हजार मानिसहरू कस्ता प्रकारका थिए सो बारेमा बुझ्ने कोसिस गरौँ। के तिनीहरू प्रभु येशूका अनुयायीहरू थिए? धर्मशास्त्रबाट हामी जान्दछौँ कि तिनीहरू उहाँका अनुयायीहरू थिएनन्। के तिनीहरूले प्रभु येशू को हुनुहुन्छ भनी जान्दथे? निश्चय नै जान्दैनथे! कम्तीमा, तिनीहरूले तिनीहरूको सामु उभिरहनुभएको व्यक्ति ख्रीष्ट नै हुनुहुन्छ भनी जान्दैनथे, वा हुनसक्छ, उहाँको नाउँ के थियो भनी केही मानिसहरूले जान्दथे र उहाँले गर्नुभएका केही कुराहरूको बारेमा जान्दथे वा सुनेका थिए। प्रभु येशूप्रतिको तिनीहरूको उत्सुकता तब मात्रै जागेको थियो जब तिनीहरूले उहाँको बारेमा कथाहरू सुनेका थिए तर तिनीहरूले उहाँलाई पछ्याउँथे भनी तैँले पक्‍कै पनि भन्न सक्दैनस्, तिनीहरूले उहाँलाई चिनेका थिए भन्‍ने कुरा त परै छोडौँ। जब प्रभु येशूले यी पाँच हजार मानिसहरूलाई देख्‍नुभयो, तिनीहरू भोकाएका थिए र तिनीहरूले केवल आफ्नो पेट भर्ने बारेमा मात्रै सोच्न सक्थे, त्यसैले यही सन्दर्भमा प्रभु येशूले तिनीहरूको इच्छालाई सन्तुष्ट पार्नुभयो। जब उहाँले तिनीहरूको इच्छालाई सन्तुष्ट पार्नुभयो, उहाँको हृदयमा के थियो? केवल आफ्नो पेट मात्रै भर्न चाहने यी मानिसहरूप्रति उहाँको मनोवृत्ति के थियो? त्यस समयमा, प्रभु येशूका विचारहरू तथा मनोवृत्ति परमेश्‍वरको स्वभाव तथा सारसित सम्बन्धित थिए। केवल पेटभरि खान मात्रै चाहना गर्ने अनि खाली पेट बोकेका यी पाँच हजार मानिसहरूको सामना गर्दा, उहाँको निम्ति उत्सुकता र आशाले भरिएका यी मानिसहरूको सामना गर्दा, प्रभु येशूले यस आश्‍चर्यकर्मलाई तिनीहरूमाथि अनुग्रह प्रदान गर्नको निम्ति उपयोग गर्ने बारेमा मात्रै सोच्नुभयो। तथापि, तिनीहरू उहाँका चेलाहरू होलान् भनेर उहाँले आफ्नो आशालाई माथि उठाउनुभएन किनकि उहाँलाई थाहा थियो, तिनीहरू केवल रमाइलो गर्न चाहन्थे र पेटभरि खान चाहन्थे, त्यसैले उहाँले त्यहाँ उहाँसित जे थियो, त्यसको सदुपयोग गर्नुभयो र पाँच हजार मानिसहरूलाई खुवाउन पाँच वटा रोटी र दुई वटा माछाको प्रयोग गर्नुभयो। उहाँले उत्साहजनक कुराहरू हेर्न मन पराउने, आश्‍चर्यकर्महरू हेर्न चाहने मानिसहरूका आँखालाई खोलिदिनुभयो अनि तिनीहरूले देहधारी परमेश्‍वरले पूरा गर्न सक्नुहुने कुराहरू आफ्नै आँखाले देखे। प्रभु येशूले छुन सकिने ठोस वस्तुबाट तिनीहरूको उत्सुकतालाई सन्तुष्ट पार्नु भएको भएतापनि, यी पाँच हजार मानिसहरूले केवल राम्रो खाना खान चाहन्छन् भन्‍ने कुरा उहाँलाई आफ्नो हृदयमा पहिले नै थाहा थियो, त्यसैले उहाँले तिनीहरूलाई प्रचार गर्नुभएन वा केही पनि भन्नुभएन—उहाँले तिनीहरूलाई त्यो आश्‍चर्यकर्म जसरी घट्यो, त्यसरी नै देख्न दिनुभयो। उहाँले यी मानिसहरूलाई उहाँलाई साँचो रीतिले पछ्याउने उहाँका चेलाहरूलाई जस्तो व्यवहार गर्न सक्नुभएन तर परमेश्‍वरको हृदयमा सबै सृष्टि उहाँको शासनमुनि हुन्छन्, अनि उहाँको दृष्टिमा भएका सबै सृष्टिलाई उहाँले जब आवश्यक हुन्छ, तब परमेश्‍वरको अनुग्रहको आनन्द लिन दिनुहुन्छ। यी मानिसहरूले रोटी र माछा खाइसकेपछि पनि उहाँ को हुनुहुन्थ्यो भनी जानेनन् र उहाँलाई बुझेनन् वा उहाँको बारेमा कुनै विशेष छाप तिनीहरूमाथि परेन वा उहाँप्रति तिनीहरू कृतज्ञ भएनन्, तैपनि परमेश्‍वरले यसलाई विशेष मुद्दाको रूपमा लिनुभएन—उहाँले तिनीहरूलाई परमेश्‍वरको अनुग्रहको आनन्द लिने एउटा सुन्दर अवसर दिनुभयो। कतिपय मानिसहरू भन्छन्, कि परमेश्‍वरले जे गर्नुहुन्छ, त्यसमा उहाँ सिद्धान्तवादी हुनुहुन्छ, अनि उहाँले अविश्‍वासीहरूलाई रेखदेख वा रक्षा गर्नुहुन्न, र विशेष गरी तिनीहरूलाई उहाँको अनुग्रहको आनन्द लिन दिनुहुन्न। के वास्तवमा कुरा यही हो त? परमेश्‍वरको दृष्टिकोणमा, जबसम्म तिनीहरू उहाँ आफैले सृष्टि गर्नुभएका उहाँका जीवित सृष्टिहरू हुन्, तबसम्म उहाँले तिनीहरूको व्यवस्था र वास्ता गर्नुहुन्छ, र कैयौँ तरिकाले तिनीहरूसँग व्यवहार गर्नुहुन्छ, तिनीहरूको निम्ति योजना बनाउनुहुन्छ र तिनीहरूलाई शासन गर्नुहुन्छ। सबै कुराहरूप्रति परमेश्‍वरका विचार तथा मनोवृत्ति यिनै हुन्।

रोटी र माछा खाने पाँच हजार मानिसहरूले प्रभु येशूलाई पछ्याउने योजना नबनाए तापनि उहाँले तिनीहरूमाथि कुनै कडा मागहरू राख्नुभएन; तिनीहरूले आफ्नो पेटभरि खाइसकेपछि, प्रभु येशूले के गर्नुभयो, तिमीहरूलाई थाहा छ? के उहाँले तिनीहरूलाई प्रचार समेत गर्नुभयो त? यो गरिसकेपछि उहाँ कहाँ जानुभयो? प्रभु येशूले तिनीहरूलाई केही भन्नुभयो भनी धर्मशास्त्रले उल्लेख गर्दैन, यति मात्रै भनिएको छ कि आफ्नो आश्‍चर्यकर्म गरिसक्नुभएपछि उहाँ त्यहाँबाट चुपचाप जानुभयो। के उहाँले यी मानिसहरूबाट कुनै मागहरू गर्नुभयो? त्यहाँ कुनै घृणा थियो? अहँ, तीमध्ये कुनै पनि कुरा थिएन। उहाँलाई पछ्याउन नसक्‍ने यी मानिसहरूलाई उहाँले उप्रान्त कुनै ध्यान दिन चाहनुभएन अनि यस बेला उहाँको हृदय पीडामा थियो। उहाँले मानवजातिको भ्रष्टता देखिसक्नुभएको कारणले अनि मानवजातिबाट आफ्नो तिरस्कार महसुस गरिसक्नुभएको कारणले, जब उहाँले यी मानिसहरूलाई देख्नुभयो र उहाँ तिनीहरूसित हुनुहुन्थ्यो, तब मानव मन्दबुद्धि र अज्ञानताप्रति उहाँ दुःखी हुनुभयो, अनि उहाँको हृदय पीडामा थियो, उहाँले चाहनुभएको एउटै कुरा सकेसम्म चाँडो तिनीहरूलाई छोडेर जानु नै थियो। उहाँको हृदयमा उहाँले तिनीहरूबाट कुनै माग गर्नुभएन, तिनीहरूप्रति उहाँले कुनै ध्यान दिन चाहनुभएन, अनि, त्यति मात्र होइन, उहाँले तिनीहरूमाथि आफ्नो कुनै शक्ति खर्च गर्न चाहनुभएन। तिनीहरूले उहाँलाई पछ्याउन सक्दैनन् भन्‍ने उहाँलाई थाहा थियो तर यो सबैको बाबजुद, तिनीहरूप्रतिको उहाँको मनोवृत्ति अझै पनि स्पष्टै थियो। उहाँले तिनीहरूलाई दयालु व्यवहार गर्न, तिनीहरूलाई अनुग्रह प्रदान गर्न चाहनुहुन्थ्यो, र उहाँको शासनमुनि रहने हरेक सृष्टिप्रति परमेश्‍वरको मनोवृत्ति यही नै थियो—हरेक सृष्टिलाई दयापूर्वक व्यवहार गर्ने, तिनीहरूलाई जुटाउने अनि भरणपोषण गर्ने। प्रभु येशू देहधारी हुनुभएको यही कारणले गर्दा नै उहाँले अत्यन्तै स्वभाविक रूपमा परमेश्‍वरको आफ्नै सार प्रकट गर्नुभयो र यी मानिसहरूलाई दयापूर्वक व्यवहार गर्नुभयो। उहाँले तिनीहरूलाई उदारता तथा सहनशीलताको हृदयले व्यवहार गर्नुभयो, अनि त्यस्तै हृदयले उहाँले तिनीहरूलाई दया देखाउनुभयो। यी मानिसहरूले प्रभु येशूलाई जसरी देखे तापनि, अनि जस्तो प्रकारको परिणाम निस्के तापनि, उहाँले सारा सृष्टिको प्रभुको रूपमा उहाँको पहिचानको आधारमा हरेक सृष्टिसँग व्यवहार गर्नुभयो। उहाँले प्रकट गर्नुभएको हरेक कुरा, परमेश्‍वरको स्वभाव, अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यही नै थियो। प्रभु येशूले चुपचाप यो कुरा गर्नुभयो, अनि चुपचाप जानुभयो—यो परमेश्‍वरको स्वभावको कुन पक्ष हो? के यो परमेश्‍वरको प्रेमपूर्ण दया हो भनेर तिमीहरू भन्‍न सक्छौ? के यो परमेश्‍वरको निस्वार्थपन हो भनी तिमीहरू भन्न सक्छौ? के यो साधारण मानिसले गर्न सक्ने कुरा हो? पक्कै पनि होइन! आधारभूत रूपमा, प्रभु येशूले पाँच वटा रोटी र दुई माछा प्रयोग गरी खुवाउनुभएका यी पाँच हजार जना मानिसहरू को थिए? के तिनीहरू उहाँ अनुरूपका मानिसहरू थिए भनेर तिमीहरू भन्न सक्छौ? के तिनीहरू सबै परमेश्‍वरका प्रतिरोधी थिए भनेर तिमीहरू भन्न सक्छौ? यो निश्‍चयताका साथ भन्न सकिन्छ कि तिनीहरू प्रभु अनुरूपका थिएनन्, अनि तिनीहरूको सार पूर्ण रूपमा परमेश्‍वरप्रति शत्रुवत् थियो। तर, परमेश्‍वरले तिनीहरूलाई कसरी व्यवहार गर्नुभयो? परमेश्‍वरप्रतिको मानिसहरूको शत्रुतालाई शान्त गर्न उहाँले एउटा विधि प्रयोग गर्नुभयो—यस विधिलाई “दया” भनिन्छ। भनाइको अर्थ, प्रभु येशूले तिनीहरूलाई पापीहरूको रूपमा देख्नु भएको भए तापनि, परमेश्‍वरको दृष्टिमा तिनीहरू उहाँकै सृष्टि थिए, त्यसैले उहाँले ती पापीहरूलाई दयापूर्वक नै व्यवहार गर्नुभयो। परमेश्‍वरको सहनशीलता यही हो, अनि यो सहनशीलता परमेश्‍वरको आफ्नै पहिचान तथा सारद्वारा निर्धारित हुन्छ। त्यसैले, यो यस्तो कुरा हो जुन कार्य गर्न परमेश्‍वरद्वारा सृष्टि गरिएका कुनै पनि मानिस सक्षम छैनन्—केवल परमेश्‍वरले मात्रै यो गर्न सक्नुहुन्छ।

जब तैँले मानवजातिप्रति परमेश्‍वरका विचारहरू तथा मनोवृत्तिलाई साँचो रीतिले बुझ्‍न सक्छस्, जब तैँले सृष्टिका हरेक प्राणीको निम्ति परमेश्‍वरका भावनाहरू तथा चिन्तालाई साँचो रीतिले बुझ्न सक्छस्, तब सृष्टिकर्ताद्वारा सृष्टि भएका मानिसहरू प्रत्येकको लागि खर्चिने समर्पण तथा प्रेमलाई तैँले बुझ्न सक्‍नेछस्। जब यो हुनेछ, तब परमेश्‍वरको प्रेमलाई बुझ्न तैँले दुई वटा शब्दहरू प्रयोग गर्नेछस्। ती दुई शब्दहरू के-के हुन्? कतिपय मानिसहरूले “निस्वार्थ” भन्छन् र कतिपय मानिसहरूले “परोपकारी” भन्छन्। यी दुई शब्दहरूमध्ये “परोपकारी” भन्‍ने शब्‍द परमेश्‍वरको प्रेमलाई बयान गर्न सुहाउँदो छैन। मानिसहरूले उदार वा विशाल मन भएको व्यक्तिलाई व्याख्या गर्न यो शब्‍दको प्रयोग गर्छन्। यो शब्दलाई म घृणा गर्छु किनकि यसले जथाभाबी, कुनै भेदभाव नगरी, कुनै सिद्धान्तको परवाह नगरीकन परोपकार गर्ने कुरालाई जनाउँछ। यो अत्यन्तै भावुक झुकाव हो, जुन मूर्ख तथा अन्योलग्रस्त मानिसहरूका निम्ति सामान्य नै हुन्छ। जब परमेश्‍वरको प्रेमलाई बयान गर्न यो शब्‍दको प्रयोग गरिन्छ, तब त्यसमा ईश्‍वरनिन्दाको भाव अवश्य नै हुन्छ। परमेश्‍वरको प्रेमलाई उपयुक्त ढङ्गले बयान गर्ने मसित यहाँ दुई वटा शब्दहरू छन्। ती के-के हुन् त? पहिलो हो, “असीम”। के यो शब्द अत्यन्तै उत्प्रेरणात्मक छैन र? दोस्रो शब्द हो, “विशाल”। यी शब्दहरू पछाडि वास्तविक अर्थ छ जसलाई म परमेश्‍वरको प्रेम बयान गर्न प्रयोग गर्छु। अक्षरिक रूपमा लिँदा, “असीम” ले कुनै कुराको आयतन वा क्षमतालाई बयान गर्छ, तर त्यो कुरा जतिसुकै ठूलो भए तापनि, यो यस्तो कुरा हो जसलाई मानिसहरूले छुन वा देख्न सक्छन्। किनभने यसको अस्तित्व हुन्छ—यो एउटा अमूर्त वस्तु होइन तर मानिसहरूलाई तुलनात्मक रूपमा सही र व्यवहारिक ढङ्गले विचारहरू प्रदान गर्न सक्‍ने कुरा हो। यसलाई तैँले चाहे दुई वा तीन आयामको दृष्टिकोणले हेरे तापनि यसको अस्तित्वलाई तैँले कल्पना गर्नु आवश्यक छैन, किनकि यो वास्तवमै साँचो रूपले अस्तित्वमा भएको कुरा हो। “असीम” भन्‍ने शब्दले परमेश्‍वरको प्रेमलाई बयान गर्दा यसले उहाँको प्रेमको परिमाणलाई निर्धारण गर्ने प्रयास गरेको जस्तो भाव दिए तापनि, यसले उहाँको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिँदैन भन्‍ने अनुभूति पनि दिन्छ। म भन्छु कि परमेश्‍वरको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिन्छ किनकि उहाँको प्रेम रित्तो छैन, न त यो मनगढन्ते कुरा हो। बरु, यो परमेश्‍वरको शासनमुनि रहेका सबै कुराहरूले पाउने कुरा हो, सारा सृष्टिहरूले विविध स्तरहरू तथा विभिन्न दृष्टिकोणहरूबाट उपभोग गर्ने कुरा हो। मानिसहरूले यसलाई देख्न वा छुन नसके तापनि, यस प्रेमले सबै कुराहरूलाई तब भरणपोषण गर्छ र जीवन दिन्छ जब यसलाई तिनीहरूको जीवनमा थोरै-थोरै गरेर प्रकट गरिन्छ, अनि तिनीहरूले बितेर जाने हरेक क्षणमा उपभोग गर्ने परमेश्‍वरको प्रेमलाई भरोसा गर्छन् र त्यसको गवाही दिन्छन्। म परमेश्‍वरको प्रेमको परिमाणलाई निर्धारण गर्न सकिँदैन भनी भन्छु किनकि सबै कुराको निम्ति परमेश्‍वरका विचारहरू, अनि निश्‍चित रूपमा मानिसहरूका लागि उहाँका विचारहरू जस्तै, परमेश्‍वरले सबै कुराहरूको निम्ति प्रबन्ध गर्नुहुन्छ अनि तिनीहरूलाई पालनपोषण गर्नुहुन्छ भन्‍ने कुराको रहस्यलाई बुझ्‍नु मानिसहरूको निम्ति कठिन छ। भन्‍नुको अर्थ, सृष्टिकर्ताले मानवजातिको निम्ति बगाउनुभएको रगत र आँसुलाई कसैले पनि जान्दैन। आफ्नै हातहरूले सृष्टि गर्नुभएको मानवजातिको निम्ति सृष्टिकर्तासित भएको प्रेमको गहिराइ वा वजन कसैले आत्मसात् गर्न सक्दैन, कसैले बुझ्न सक्दैन। परमेश्‍वरको प्रेमलाई असीम भनी बयान गर्नु भनेको मानिसहरूलाई यसको अस्तित्वको चौडाइ तथा सत्यतालाई सराहना तथा बुझ्न सहायता गर्नु हो। यो यसकारण पनि हो ताकि मानिसहरूले अझ गहिरो प्रकारले “सृष्टिकर्ता” को वास्तविक अर्थलाई राम्ररी बुझ्न सकून्, ताकि मानिसहरूले “सृष्टि” भन्‍ने संज्ञाको साँचो अर्थको गहिरो बुझाइ हासिल गर्न सकून्। “विशाल” भन्‍ने शब्दले सामान्यतया कुन कुराको व्याख्या गर्दछ? सामान्यतया समुद्र वा ब्रम्‍हाण्डका व्याख्या गर्न यसको प्रयोग गरिन्छ, उदाहरणको लागि: “विशाल ब्रम्‍हाण्ड” वा “विशाल समुद्र”। ब्रम्‍हाण्डका फैलावट तथा अति गहिराइ मानव समझभन्दा परको कुरा हो; यो यस्तो कुरा हो जसले मानिसको कल्पनालाई उत्तेजित गर्छ, यस्तो कुरा जसको निम्ति तिनीहरूले ठूलो विस्मयको अनुभूति गर्छन्। यसको रहस्य तथा गम्भीरतालाई देख्‍न त सकिन्छ तर यी पहुँचभन्दा पर छन्। जब तँ समुद्रको बारेमा सोच्छस्, तँ यसको चौडाइको बारेमा सोच्छस्—यो असीमित देखिन्छ, अनि तैँले यसको रहस्य र थोकहरूलाई थाम्न सक्ने यसको ठूलो क्षमतालाई अनुभूति गर्न सक्छस्। त्यसैले, यो कति बहुमूल्य छ भनी अनुभूति गर्न, उहाँको प्रेमको अथाह सुन्दरता अनि उहाँको प्रेमको शक्ति अनन्त र व्यापक छ भनी अनुभूति गर्न मानिसहरूलाई सहायता गर्नको लागि मैले परमेश्‍वरको प्रेमलाई बयान गर्न “विशाल” भन्‍ने शब्दको प्रयोग गरेको हुँ। उहाँको प्रेमको पवित्रतालाई अनुभूति गर्न, र उहाँको प्रेमद्वारा प्रकट गरिएको परमेश्‍वरको गौरव तथा उल्‍लङ्घन गर्न नसकिने उहाँको स्वभाव अनुभूति गर्न मानिसहरूलाई सहायता गर्नको लागि मैले यो शब्दको प्रयोग गरेँ। अब, के परमेश्‍वरको प्रेमलाई बयान गर्नको निम्ति “विशाल” भन्‍ने शब्‍द सुहाउँदो शब्द हो भन्‍ने तिमीहरूलाई लाग्छ? के परमेश्‍वरको प्रेम “असीम” र “विशाल” भन्‍ने यी दुई शब्‍दको नापमा पुग्‍न सक्छ? अवश्य सक्छ! मानव भाषामा, यी दुई शब्द मात्रै केही हदसम्म सुहाउँदो छन्, अनि परमेश्‍वरको प्रेमलाई बयान गर्न तुलनात्मक रूपले उचित छन्। के तिमीहरूलाई त्यस्तो लाग्दैन? यदि मैले तिमीहरूलाई परमेश्‍वरको प्रेमबारे बयान गर्न लगाएँ भने के तिमीहरू यी दुई शब्दको प्रयोग गर्छौ? सायद तिमीहरूले त्यसो गर्दैनौ, किनकि परमेश्‍वरको प्रेम सम्‍बन्धी तिमीहरूको बुझाइ तथा सराहना दुई आयामको दृष्टिकोणको क्षेत्रभित्र सीमित छ, अनि यो तीन आयामको स्थानको उचाइमा उक्लेको छैन। यसैले, यदि मैले तिमीहरूलाई परमेश्‍वरको प्रेमको बयान गर्न दिएँ भने तिमीहरूले शब्दहरूको कमी भएको महसुस गर्नेथियौ, सायद तिमीहरू निःशब्द पनि हुने थियौ होला। आज दुई शब्दको बारेमा मैले तिमीहरूसित जुन कुरा गरेँ, त्यसबारे बुझ्न तिमीहरूलाई कठिन भयो होला वा सायद तिमीहरू पूर्ण रूपमा सहमत हुँदैनौ होला। यसले पनि देखाउँछ कि परमेश्‍वरको प्रेम सम्‍बन्धी तिमीहरूको सराहना तथा बुझाइ सतही छ र साँघुरो क्षेत्रभित्र सीमित छ। मैले अघि भनेँ कि परमेश्‍वर निःस्वार्थी हुनुहुन्छ; तिमीहरू “निःस्वार्थी” भन्‍ने यो शब्दलाई सम्झिन्छौ। के परमेश्‍वरको प्रेमलाई निःस्वार्थी भनेर मात्र बयान गर्न सकिन्छ भन्‍ने कुराको सम्‍भावना छ? के यो निकै साँघुरो क्षेत्र होइन र? तिमीहरूले यो विषयमा अझै बढी चिन्तन गर्नुपर्छ ताकि तिमीहरूले यसबाट केही हासिल गर्न सक।

माथि हामीले पहिलो आश्‍चर्यकर्मबाट परमेश्‍वरको स्वभाव अनि उहाँको सारको बारेमा हेर्‍यौँ। यो मानिसहरूले हजारौँ वर्षदेखि पढ्दै आइरहेको एउटा कथा भए तापनि, यसको एउटा साधारण कथावस्तु छ, अनि यसले मानिसहरूलाई एउटा साधारण दृश्य देखाउँछ, तापनि यो साधारण कथावस्तुमा हामी केही मूल्यवान् कुरा देख्न सक्छौँ, जुन परमेश्‍वरको स्वभाव तथा उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ त्यही हो। उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ ती कुराहरूले परमेश्‍वर स्वयम्‌लाई प्रतिनिधित्व गर्दछ अनि ती परमेश्‍वरको आफ्नै विचारहरूको प्रकटीकरण हुन्। जब परमेश्‍वरले आफ्ना विचारहरू प्रकट गर्नुहुन्छ, यो उहाँको हृदयको आवाजको प्रकटीकरण हो। उहाँले के आशा गर्नुहुन्छ भने, उहाँलाई बुझ्न सक्‍ने, उहाँलाई जान्न सक्‍ने अनि उहाँको इच्छालाई बुझ्न सक्‍ने, उहाँको हृदयको आवाज सुन्‍न सक्‍ने र उहाँको इच्छालाई सन्तुष्ट गर्न सक्रिय रूपले सहकार्य गर्न सक्‍ने मानिसहरू हुनेछन्। प्रभु येशूले गर्नुभएका यी कुराहरू परमेश्‍वरको मौन अभिव्यक्ति हुन्।

यसपछि, हामी निम्न खण्डलाई हेरौँ: लाजरसको पुनरुत्थानले परमेश्‍वरलाई महिमित तुल्याउँछ।

यस अध्यायलाई पढिसकेपछि तिमीहरूलाई कस्तो अनुभव भयो? प्रभु येशूले गर्नुभएको यो आश्‍चर्यकर्मको महत्त्व पहिलेको भन्दा धेरै ठूलो छ, किनकि एउटा मरेको मानिसलाई चिहानबाट फर्काएर ल्याउनुभन्दा बढी विस्मयकारी कुनै आश्‍चर्यकर्म हुँदैन। त्यस युगमा, प्रभु येशूले त्यस्तो कुनै काम गर्नु अत्यन्तै अर्थपूर्ण थियो। परमेश्‍वर देह हुनुभएको कारणले, मानिसहरूले उहाँको शारीरिक रूप, उहाँको व्यवहारिक पक्ष, अनि उहाँको महत्त्वहीन पक्ष मात्र देख्न सक्थे। यदि कतिपय मानिसहरूले उहाँको चरित्रको केही कुरा वा उहाँमा भएको जस्तो देखिने केही विशेष क्षमताहरू देखे र बुझे भने पनि प्रभु येशू कहाँबाट आउनुभयो, उहाँको सारमा उहाँ साँच्चै को हुनुहुन्छ, उहाँ वास्तवमा अन्य कुन-कुन कुराहरू गर्न सक्षम हुनुहुन्छ भन्‍ने बारेमा कसैलाई थाहा थिएन। यी सबै कुरा मानिसजातिको निम्ति अज्ञात थियो। धेरै मानिसहरूले प्रभु येशू ख्रीष्टको बारेमा रहेका यी प्रश्‍नहरूको उत्तर दिन, अनि सत्यतालाई जान्नको लागि प्रमाण भेट्टाउन चाहन्थे। के परमेश्‍वरले आफ्‍नो पहिचानलाई प्रमाणित गर्न केही गर्न सक्नुहुन्थ्यो? परमेश्‍वरको निम्ति, यो साह्रै सजिलो थियो—यो सजिलै हासिल गर्न सकिने कुरा थियो। आफ्नो पहिचान तथा सारलाई प्रमाणित गर्न उहाँले केही कुरा कुनै पनि ठाउँमा, कुनै पनि समयमा गर्न सक्नुहुन्थ्यो तर परमेश्‍वरको काम गर्ने आफ्नै तरिकाहरू थिए—योजनासहित, अनि चरणबद्ध रूपमा। उहाँले अन्धाधुन्ध कामहरू गर्नुभएन, बरु जुन कुरा उहाँले मानिसलाई देखाउनुहुन्थ्यो, अर्थले भरिएको हुन्थ्यो त्यस्तो कुनै कुरा गर्न उहाँले ठीक समय र ठीक अवसर खोज्नुहुन्थ्यो। यस प्रकारले, उहाँले आफ्नो अख्तियार तथा पहिचानलाई प्रमाणित गर्नुभयो। त्यसोभए, के लाजरसको पुनरुत्थानले प्रभु येशूको पहिचानलाई प्रमाणित गर्न सक्यो त? धर्मशास्त्रको निम्न अध्यायलाई हेरौँ: “अनि जब उहाँले त्यसरी बोलिसक्‍नुभएपछि, उहाँले उच्‍च स्वरमा ‘लाजरस, बाहिर आऊ’ भनी भन्‍नुभयो। तब मरेको मानिस तिनी बाहिर आए…।” जब प्रभु येशू ख्रीष्टले यसो गर्नुभयो, तब उहाँले केवल एउटा कुरा गर्नुभयो: “लाजरस, बाहिर आऊ।” तब लाजरस उसको चिहानबाट बाहिर आए—प्रभुले उच्चारण गर्नुभएका केवल केही वचनहरूको कारणले यो कार्य सम्पन्न भएको थियो। त्यस समयावधिमा, प्रभु येशूले वेदी खडा गर्नुभएन, अनि उहाँले कुनै अन्य कामहरू गर्नुभएन। उहाँले केवल एउटै कुरा गर्नुभयो। यसलाई आश्‍चर्यकर्म भन्न सकिन्छ कि आज्ञा? अथवा, के त्यो कुनै प्रकारको जादुगरी थियो? झट्ट हेर्दा, यसलाई आश्‍चर्यकर्म भन्न सकिन्छ कि भन्‍ने देखिन्छ, अनि यदि तैँले यसलाई आधुनिक दृष्टिकोणबाट हेर्छस् भने तैँले यसलाई आश्‍चर्यकर्म नै भन्न सक्छस्। तैपनि, यसलाई मृतकबाट प्राण फर्काउनको निम्ति बोलाइने एक प्रकारको जादु भनेर निश्चय नै भन्‍न सकिँदैन, र यो कुनै पनि प्रकारको जादूगरी अवश्य थिएन। यो आश्‍चर्यकर्म सृष्टिकर्ताको अख्तियारको सबैभन्दा सामान्य अनि सानो प्रदर्शन थियो भन्नु सही हुन्छ। यो परमेश्‍वरको अख्तियार र शक्ति हो। कुनै व्यक्तिलाई मर्न दिने, उसको आत्मालाई उसको शरीर छोडेर मृत लोक वा त्यो जहाँसुकै जानुपर्ने हो त्यहाँ जान दिने अधिकार परमेश्‍वरसित छ। व्यक्तिको मृत्यु हुने समय र मृत्युपछि तिनीहरू जानुपर्ने ठाउँ—यी कुराहरू परमेश्‍वरद्वारा निर्धारित हुन्छन्। उहाँले यी निर्णयहरू मानवहरू, घटनाहरू, वस्तुहरू, स्थान वा भूगोलको दबाबमा नपरी कुनै पनि समयमा र कुनै पनि ठाउँमा गर्न सक्नुहुन्छ। यदि उहाँले यो गर्न चाहनुहुन्छ भने उहाँले यो गर्न सक्नुहुन्छ, किनकि सबै कुराहरू र जीवित प्राणीहरू उहाँको शासनको अधीनमा छन् र सबै कुराहरू उहाँको वचन र उहाँको अधिकारद्वारा जन्‍मन्छन्, जिउँछन्, र नष्ट हुन्छन्। उहाँले मृतकलाई बौरी उठाउन सक्नुहुन्छ, अनि यो पनि उहाँले कुनै पनि समयमा, कुनै पनि स्थानमा गर्नसक्ने कुरा हो। यो केवल सृष्टिकर्तामा निहित रहेको अख्तियार हो।

लाजरसलाई मृतकबाट फर्काउने जस्ता कार्यहरू गर्ने क्रममा प्रभु येशूको लक्ष्य भनेको मानिसहरू तथा शैतान देखाउन प्रमाण दिनु थियो, र मानिसहरू तथा शैतानलाई मानवजातिको बारेमा हरेक कुरा, मानवजातिको जीवन तथा मृत्यु परमेश्‍वरद्वारा निर्धारित हुन्छन्, अनि उहाँ देहधारी भइसक्नुभएको भए तापनि, देख्न सकिने भौतिक संसारको साथै मानिसहरूले देख्न नसक्ने आत्मिक संसारमाथि उहाँको हुकुम कायम छ भन्‍ने कुरा जान्‍न दिनु थियो। यो यसकारण गरिएको थियो ताकि मानवजातिको सबै कुरा शैतानको अधीनमा छैन भनी मानवजाति र शैतानले जान्न सकून्। यो परमेश्‍वरको अधिकारको प्रकाश तथा प्रदर्शन थियो, अनि यो मानवजातिको जीवन र मृत्यु परमेश्‍वरको हातमा छन् भनी सबै कुराहरूलाई सन्देश पठाउने परमेश्‍वरको एउटा तरिका पनि थियो। प्रभु येशूले लाजरसलाई गर्नुभएको पुनरुत्थान सृष्टिकर्ताले मानवजातिलाई शिक्षा र प्रशिक्षण दिने एउटा तरिका थियो। यो एउटा यस्तो ठोस कार्य थियो जसमा मानवजातिलाई शिक्षा दिन र प्रबन्ध गर्न उहाँले आफ्नो शक्ति र अख्तियारको प्रयोग गर्नुभयो। यी वचनहरू प्रयोग नगरी सबै कुराहरू उहाँको अधिकारमा छन् भन्‍ने सत्यता मानिसहरूलाई देखाउने सृष्टिकर्ताको तरिका थियो। यो उहाँद्वारा बाहेक अरू कसैमा मुक्ति छैन भनी मानवजातिलाई यी व्यवहारिक कार्यहरूद्वारा बताउने उहाँको एउटा तरिका थियो। मानवजातिलाई प्रशिक्षण दिन उहाँले प्रयोग गर्नुभएको यो शान्त विधि अनन्त, अमेट छ, जसले मानव हृदयहरूमा कहिल्यै ओइलाउन नसक्ने झट्का र अन्तर्दृष्टि ल्याउँछ। लाजरसको पुनरुत्थानले परमेश्‍वरलाई महिमित तुल्यायो—परमेश्‍वरका हरेक अनुयायीहरूमाथि यसको गहिरो प्रभाव छ। यो घटना गहिरो प्रकारले बुझ्ने हरेक व्यक्तिमा केवल परमेश्‍वरले मात्र मानवजातिको जीवन र मृत्युमाथि हुकुम चलाउन सक्नुहुन्छ भन्‍ने बुझाइ र दर्शनलाई यसले दृढतासहित स्थापित गरिदिन्छ। परमेश्‍वरसित यस्तो अख्तियार भए तापनि, लाजरसको मृत्युद्वारा उहाँले मानवजातिको जीवन र मृत्युमाथि आफ्नो सार्वभौमिकता छ भन्‍ने बारेमा सन्देश पठाउनुभएको भए तापनि, यो उहाँको प्राथमिक काम थिएन। परमेश्‍वरले अर्थविनाको कुनै काम गर्नुहुन्न। उहाँले गर्नुहुने हरेक कुरा ठूलो महत्त्वको हुन्छ र यो सम्पत्तिको भण्डारमा एउटा श्रेष्ठ रत्न हो। “एउटा व्यक्तिलाई त्यसको चिहानबाट बाहिर आउने तुल्याउनु” लाई उहाँले आफ्नो कामको प्राथमिक वा एक मात्र उद्देश्य वा अंश बनाउनुहुन्न। परमेश्‍वरले कुनै पनि काम अर्थविना गर्नुहुन्न। एक मात्र घटनाको रूपमा लाजरसको पुनरुत्थान परमेश्‍वरको अख्तियारलाई प्रदर्शन गर्न र प्रभु येशूको पहिचानलाई प्रमाणित गर्न पर्याप्त थियो। त्यसैकारण प्रभु येशूले यस प्रकारको आश्‍चर्यकर्म दोहोर्याउनुभएन। परमेश्‍वरले आफ्नै सिद्धान्तहरू अनुसार कामहरू गर्नुहुन्छ। मानव भाषामा भन्दा, परमेश्‍वरले आफ्नो मन गम्भीर विषयवस्तुहरूले मात्रै भर्नुहुन्छ भनेर भन्‍न सकिन्छ। भनाइको अर्थ, जब परमेश्‍वरले केही गर्नुहुन्छ, तब उहाँ आफ्नो कामको उद्देश्यबाट बहकिनुहुन्न। यस चरणमा उहाँले कुन काम गर्न चाहनुहुन्छ, के पूरा गर्न चाहनुहुन्छ सो उहाँ जान्नुहुन्छ अनि आफ्नो योजनाअनुसार उहाँले दृढतापूर्वक काम गर्नुहुनेछ। यदि भ्रष्ट व्यक्तिसित त्यस्तो प्रकारको क्षमता भएको भए, ऊ कति भयङ्कर छ भनी अरूले जानून्, तिनीहरू उसको सामु झुकून्, उसले तिनीहरूलाई नियन्त्रण गर्न र निल्न सकून् भनेर उसले केवल आफ्नो क्षमता प्रदर्शन गर्ने तरिकाहरूको बारेमा सोचिरहनेथियो। यो शैतानबाट आउने दुष्टता हो—यसलाई भ्रष्टता भनिन्छ। परमेश्‍वरसित यस्तो भ्रष्टता छैन, अनि उहाँसित यस्तो सार छैन। उहाँले केही गर्नुको पछाडि आफैलाई प्रदर्शन गर्नु होइन, तर मानवजातिलाई अझै बढी प्रकाश तथा मार्गदर्शन दिनु हो, त्यसैकारण मानिसहरूले बाइबलमा यस्तो प्रकारको घटनाको उदाहरणहरू अत्यन्तै थोरै मात्रै देख्छन्। यसको अर्थ प्रभु येशूका शक्तिहरू सीमित थिए, वा उहाँ त्यस्ता कुराहरू गर्न असक्षम हुनुहुन्थ्यो भन्‍ने होइन। कुरा केवल यति मात्रै हो कि परमेश्‍वरले त्यो गर्न चाहनुभएन किनकि प्रभु येशूले लाजरसलाई गर्नुभएको पुनरुत्थानको व्यवहारिक महत्त्व थियो, अनि यसको कारण यो पनि हो कि परमेश्‍वर देहधारी हुनुको प्राथमिक काम आश्‍चर्यकर्महरू गर्नु, मानिसहरूलाई मरेको अवस्थाबाट फर्काएर ल्याउनु थिएन, तर मानवजातिको उद्धारको काम थियो। त्यसकारण, प्रभु येशूले पूरा गर्नुभएको अधिकांश काम मानिसहरूलाई शिक्षा दिनु, तिनीहरूको निम्ति उपलब्ध गराउनु, र तिनीहरूलाई सहायता गर्नु थियो, अनि लाजरसलाई पुनरुत्थान गर्नु जस्ता घटनाहरू प्रभु येशूले गर्नुभएको सेवकाइको केवल एउटा सानो अंश मात्र थियो। यति मात्र होइन, के भन्न सकिन्छ भने, “प्रदर्शन गर्नु” परमेश्‍वरको सारको एउटा भाग होइन, त्यसैले धेरै आश्‍चर्यकर्महरू प्रदर्शन नगरेर उहाँले जानी-बुझी आफूमाथि प्रतिबन्ध गरिरहनुभएको थिएन, न त वातावरणीय सीमाहरूको कारणले यसो भएको थियो, अनि शक्तिको कमीको कारणले त निश्‍चय नै यसो भएको थिएन।

जब प्रभु येशूले लाजरसलाई मरेको अवस्थाबाट फर्काइ ल्याउनुभयो, तब उहाँले यी वचनहरू मात्र प्रयोग गर्नुभयो: “लाजरस, बाहिर आऊ।” यसबाहेक उहाँले अरू केही भन्नुभएन। त्यसैले, यी वचनहरूले के कुरालाई प्रदर्शन गर्छ? यी वचनहरूले मरेको मानिसलाई पुनरुत्थान गर्ने लगायत परमेश्‍वरले बोलेर जे पनि सम्पन्न गर्न सक्नुहुन्छ भन्‍ने कुरालाई प्रदर्शन गर्छ। जब परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, जब उहाँले संसार सृष्टि गर्नुभयो, उहाँले वचनहरूद्वारा सो गर्नुभयो—बोलिएका आज्ञाहरू, अख्तियारपूर्ण वचनहरू, अनि यस प्रकारले सबै कुराहरू सृष्टि गरिए, अनि यसरी, यो सम्पन्न भयो। प्रभु येशूद्वारा बोलिएका यी केही वचनहरू स्वर्ग, पृथ्वी र यावत् थोक सृष्टि गर्ने क्रममा परमेश्‍वरले बोल्‍नुभएका वचनहरू जस्तै थिए; यही प्रकारले, तिनमा परमेश्‍वरको अख्तियार र सृष्टिकर्ताको शक्ति थियो। परमेश्‍वरको मुखबाट निस्केका वचनहरूको कारणले सबै थोक बनिए र दृढ भइ खडा रहे, अनि त्यही प्रकारले, प्रभु येशूको मुखबाट निस्केका वचनहरूको कारणले लाजरस आफ्नो चिहानबाट बाहिर निस्क्यो। उहाँको देहधारी शरीरमा प्रदर्शन गरिएको र पूरा भएको परमेश्‍वरको अख्‍तियार यही थियो। यस प्रकारको अख्तियार र क्षमता सृष्टिकर्ताको स्वामित्वको कुरा थियो अनि सृष्टिकर्ता साकार हुनुभएको मानिसको पुत्रको स्वामित्वको कुरा थियो। लाजरसलाई मरेको अवस्थाबाट बिउँताएर परमेश्‍वरले मानवजातिलाई सिकाउनुभएको बुझाइ यही थियो। अब, हामी यस विषयको छलफललाई यहीँ सिध्याउनेछौँ। यसपछि, हामी धर्मशास्त्रबाट थप पढ्नेछौं।

१०. फरिसीहरूद्वारा येशूको आलोचना

मर्कूस ३:२१-२२  अनि जब उहाँका मित्रहरूले यो सुने, उहाँलाई समात्‍न तिनीहरू बाहिर निस्के: किनकि तिनीहरूले भने, उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्‍न। अनि येरूशलेमबाट आएका शास्त्रीहरूले भने, त्यससँग बालजिबुल छ, र त्यसले भूतहरूको राजकुमारद्वारा भूतहरूलाई निकाल्छ।

११. फरिसीहरूलाई येशूको हप्की

मत्ती १२:३१-३२  म किन तिमीहरूलाई भन्दछु, मानिसका सबै किसिमका पापहरू र ईश्‍वरनिन्दा क्षमा गरिनेछन्: तर मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन। र जसले मानिसको पुत्रको विरुद्धमा वचन बोल्छ, उसलाई क्षमा दिइनेछ: तर जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।

मत्ती २३:१३-१५  तर शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने तिमीहरूले मानिसहरूको विरुद्ध स्वर्गको राज्य बन्द गर्छौ: किनभने न त तिमीहरू आफै जान्छौ, न भित्र प्रवेश गरिरहेकाहरूलाई नै प्रवेश गर्न दिन्छौ। शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनकि तिमीहरू विधवाका घरहरू निल्छौ र लामा प्रार्थना गरेको स्वाँग पार्छौ: यसैले तिमीहरूले ठूलो दण्ड पाउनेछौ। शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ! किनभने एक जनालाई आफ्‍नो मतमा ल्याउनको लागि तिमीहरू समुद्र र भूमि चहार्छौ, अनि ऊ मतमा आएपछि उसलाई तिमीहरूभन्दा दुई गुणा बढी नरकको बालक बनाउँछौ।

माथिका दुई खण्डहरूको विषयवस्तु फरक छ। पहिले, हामी पहिलो खण्डलाई हेरौँ: फरिसीहरूद्वारा येशूको आलोचना।

बाइबलमा, येशू स्‍वयम्‌ र उहाँले गर्नुभएका कामहरूको बारेमा फरिसीहरूको मूल्याङ्कन यस्तो थियो: “… तिनीहरूले भने, उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्‍न। … त्यससँग बालजिबुल छ, र त्यसले भूतहरूको राजकुमारद्वारा भूतहरूलाई निकाल्छ” (मर्कूस ३:२१-२२)। प्रभु येशूको बारेमा शास्त्री र फरिसीहरूको न्याय तिनीहरूले अन्य मानिसहरूका वचनहरू अनुकरण गरेर भनेका मात्र थिएनन्, न त त्यो आधारहीन अनुमान नै थियो—यो प्रभु येशूका कार्यहरूका बारेमा तिनीहरूले जे देखे र सुने त्यसबाट तिनीहरूले निकालेको निष्कर्ष थियो। तिनीहरूको निष्कर्ष बाहिरी रूपमा न्यायको नाउँमा गरिएको जस्तो अनि मानिसको नजरमा त्यो न्यायसङ्गत जस्तो देखिएको भए तापनि, तिनीहरूले जुन अहङ्कारले प्रभु येशूलाई न्याय गरे, त्यो तिनीहरूले समेत सहन कठिन थियो। प्रभु येशूप्रतिको तिनीहरूको घृणाको उन्मत्त ऊर्जाले तिनीहरूको आफ्नै जङ्गली आकांक्षाहरू अनि दुष्ट शैतानिक मुखाकृति, साथै द्वेषपूर्ण स्वभावलाई उजागर गरेको थियो जसद्वारा तिनीहरू परमेश्‍वरको विरोध गर्थे। प्रभु येशूको न्याय गर्दा तिनीहरूले भनेका यी कुराहरू तिनीहरूका पागलपूर्ण आकांक्षाहरू, ईर्ष्या, अनि परमेश्‍वर र सत्यताप्रति तिनीहरूको शत्रुताको कुरूप र द्वेषपूर्ण प्रकृतिबाट प्रेरित थिए। तिनीहरूले प्रभु येशूका कामहरूको स्रोतबारे अनुसन्धान गरेनन्, न त उहाँले भन्नुभएको वा गर्नुभएको कामको सारलाई नै अनुसन्धान गरे। त्यसको साटो, उहाँले गर्नुभएको कामलाई तिनीहरूले उन्‍मादपूर्ण उत्तेजनाको अवस्थामा अनि जानाजानी द्वेष भावनाले आक्रमण र अपमान गरे। यहाँसम्‍म कि उहाँको आत्मा अर्थात् पवित्र आत्मा, जुन परमेश्‍वरका आत्मा हो, उहाँलाई जानी-जानी अपमान गरे। तिनीहरूले “उहाँ आफ्नो नियन्त्रणमा हुनुहुन्‍न,” “बालजिबुल,” र “भूतहरूको राजकुमार” भनी भन्‍नुको अर्थ यही हो। भनाइको अर्थ, तिनीहरूले परमेश्‍वरका आत्मालाई बालजिबुल तथा दुष्ट आत्माहरूको राजकुमार हो भनी भने। परमेश्‍वरको देहधारी आत्मा, जसले देह धारण गर्नुभएको थियो, उहाँको कामलाई तिनीहरूले पागलपनको संज्ञा दिए। तिनीहरूले परमेश्‍वरका आत्मालाई बालजिबुल र दियाबलसहरूका राजा भनेर मात्र निन्दा गरेनन्, तर परमेश्‍वरको कामलाई तिरस्कार गरे अनि प्रभु येशूलाई तिरस्कार र निन्दा गरे। परमेश्‍वरप्रतिको तिनीहरूको विरोध र निन्दाको सार शैतान तथा दुष्ट आत्माद्वारा परमेश्‍वरप्रति गरिएको विरोध र निन्दाको सारसित पूर्ण रूपले समान थियो। त्यसले भ्रष्ट मानिसहरूलाई मात्र प्रतिनिधित्व गर्दैनथ्यो तर धेरै हदसम्म, ती शैतानको नै मूर्त रूप थिए। मानवजातिको माझमा तिनीहरू शैतानको माध्यम थिए, अनि तिनीहरू शैतानको मतियार तथा नोकर थिए। प्रभु येशू ख्रीष्टप्रतिको तिनीहरूको निन्दा र तिनीहरूको बदनामीको सार प्रतिष्ठाको निम्ति परमेश्‍वरसितको तिनीहरूको संघर्ष थियो, परमेश्‍वरसितको तिनीहरूको द्वन्द्व थियो, अनि परमेश्‍वरलाई तिनीहरूले गरेको अन्त्यहीन परीक्षा थियो। परमेश्‍वरप्रतिको तिनीहरूको विरोधको सार तथा उहाँप्रतिको तिनीहरूको शत्रुताको मनोवृत्ति, साथै तिनीहरूका वचन तथा तिनीहरूका विचारहरूले प्रत्यक्ष रूपमा परमेश्‍वरका आत्मालाई निन्दा गरेको र क्रोधित तुल्याएको थियो। यसरी, तिनीहरूले जे भने र गरे, त्यस अनुसार परमेश्‍वरले एउटा उचित न्याय निर्धारित गर्नुभयो, अनि तिनीहरूका कार्यहरूलाई पवित्र आत्माको विरुद्धमा गरिएको पाप भएको ठहर गर्नुभयो। यो पाप यस संसारमा अनि आउने संसारमा पनि अक्षम्य हुन्छ, जुन कुरालाई धर्मशास्त्रको निम्न खण्डमा प्रमाणित गरिएको छ: “मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन,” र, “जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।” आज, हामी परमेश्‍वरबाट आएका यी वचनहरूको साँचो अर्थको बारेमा कुरा गरौँ: “उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।” अर्थात्, परमेश्‍वरले कसरी वचनहरूलाई पूरा गर्नुहुन्छ भन्‍ने रहस्यलाई खोलौं: “उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।”

हामीले कुरा गरेको हरेक कुरा मानिसहरू, घटना तथा काम-कुराहरूप्रति परमेश्‍वरको स्वभाव र मनोवृत्तिसँग सम्बन्धित छ। स्वभाविक रूपले, माथिका यी दुई अध्यायहरू पनि यसको कुनै अपवाद होइनन्। धर्मशास्त्रका यी दुई खण्डहरूमा तिमीहरूले केही याद गर्‍यौ? कोही मानिसहरूले भन्छन्, कि तिनीहरूले त्यसमा परमेश्‍वरको क्रोध देख्छन्। कोही मानिसहरू भन्छन्, कि तिनीहरूले परमेश्‍वरको स्वभावको त्यो पक्ष देख्छन् जसले मानवजातिको उल्लङ्घन सहँदैन, अनि यदि मानिसहरूले परमेश्‍वरप्रति कुनै निन्दात्मक काम गर्छन् भने तिनीहरूले परमेश्‍वरको क्षमा प्राप्त गर्ने छैनन्। यी खण्डहरूमा मानिसहरूले मानवजातिको उल्लङ्घनप्रति परमेश्‍वरको क्रोध तथा असहनशीलतालाई देख्छन् भन्‍ने तथ्यको बावजुद पनि, तिनीहरूले अझै उहाँको मनोवृत्तिलाई साँचो रीतिले बुझ्दैनन्। उहाँलाई निन्दा गर्ने र क्रोधित तुल्याउनेप्रति उहाँको साँचो मनोवृत्ति तथा उहाँको दृष्टिकोण यी दुई खण्डहरूमा अन्तर्निहित रूपमा लुकेका छन्। उहाँको मनोवृत्ति र दृष्टिकोणले निम्न खण्डको साँचो अर्थलाई प्रदर्शन गर्दछन्: “जसले पवित्र आत्माको विरुद्धमा बोल्छ, उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा।” जब मानिसहरूले परमेश्‍वरलाई निन्दा गर्छन् अनि जब तिनीहरूले उहाँलाई क्रोधित तुल्याउँछन्, तब उहाँले एउटा फैसला जारी गर्नुहुन्छ, अनि त्यो फैसला उहाँद्वारा जारी गरिएको परिणाम हो। यसलाई बाइबलमा यसरी व्याख्या गरिएको छ: “म किन तिमीहरूलाई भन्दछु, मानिसका सबै किसिमका पापहरू र ईश्‍वरनिन्दा क्षमा गरिनेछन्: तर मानिसले पवित्र आत्माको विरुद्ध गरेको ईश्‍वरनिन्दा क्षमा गरिनेछैन” (मत्ती १२:३१), र “तर शास्‍त्रीहरू र फरिसीहरू, ढोङ्गीहरू हो, तिमीहरूलाई धिक्‍कार छ!” (मत्ती २३:१३)। तथापि, ती शास्त्री तथा फरिसीहरू, साथै यी कुराहरू भन्नुभएपछि प्रभु येशू पागल हुनुहुन्छ भन्‍ने ती मानिसहरूको परिणाम के थियो भनेर के बाइबलमा लेखिएको छ? के तिनीहरूले कुनै दण्ड भोगे भनी लेखिएको छ? छैन—यसलाई निश्चित रूपमा भन्न सकिन्छ। यहाँ “छैन” भनेर त्यस्तो कुनै कुराको अभिलेख छैन भनिएको होइन, तर यति मात्रै कि वास्तवमा मानव आँखाले देख्न सकिने कुनै परिणाम थिएन। “लेखिएको थिएन” भन्‍नुले, निश्चित कुराहरूलाई परिचालन गर्नको निम्ति परमेश्‍वरको मनोवृत्ति तथा सिद्धान्तहरूको मामलालाई स्पष्ट पार्दछ। परमेश्‍वरलाई निन्दा गर्ने वा विरोध गर्ने वा उहाँलाई बदनाम समेत गर्नेहरूप्रति पनि—जानी-जानी उहाँलाई आक्रमण गर्ने, बदनाम गर्ने र सराप्‍ने मानिसहरू—तिनीहरूप्रति उहाँले आफ्नो आँखा चिम्लनुहुन्न वा आफ्नो कान बन्द गर्नुहुन्न तर तिनीहरूप्रति उहाँको स्पष्ट मनोवृत्ति छ। उहाँले यी मानिसहरूलाई तुच्छ ठान्नुहुन्छ, अनि आफ्नो हृदयमा तिनीहरूलाई दोषी ठहर्‍याउनुहुन्छ। तिनीहरूको परिणाम के हुनेछ भनी उहाँले खुल्लमखुल्ला घोषणा समेत गर्नुहुन्छ, ताकि उहाँलाई निन्दा गर्नेहरूप्रति उहाँको स्पष्ट मनोवृत्ति छ भनी मानिसहरूले जान्न सकून् अनि उहाँले तिनीहरूको परिणाम कसरी निर्धारण गर्नुहुन्छ भनी तिनीहरूले जान्न सकून्। तथापि, परमेश्‍वरले यी कुराहरू भनिसक्‍नुभएपछि परमेश्‍वरले ती मानिसहरूलाई कसरी सम्‍हाल्‍नुहुन्छ भन्‍ने सत्यतालाई मानिसहरूले विरलै मात्र देख्न सके, अनि परमेश्‍वरले तिनीहरूको निम्ति जारी गर्नुभएको परिणाम र फैसलापछाडिका सिद्धान्तहरू तिनीहरूले बुझ्न सकेनन्। भन्‍नुको अर्थ, तिनीहरूलाई सम्‍हाल्‍नको निम्ति परमेश्‍वरसँग जुन पद्धति र विधिहरू छन्, तिनलाई मानिसहरूले देख्न सकेनन्। यो, कामहरू गर्ने परमेश्‍वरका सिद्धान्तहरूसित सम्बन्धित छ। परमेश्‍वरले केही मानिसहरूको खराब आचरणको निराकरण गर्न तथ्यहरूको घटनालाई प्रयोग गर्नुहुन्छ। यसको अर्थ, उहाँले तिनीहरूको पापको घोषणा गर्नुहुन्न र त्यसको परिणाम निर्धारण गर्नुहुन्न तर तिनीहरूको भागमा परेको दण्ड र उचित बदला दिन उहाँले प्रत्यक्ष रूपमा तथ्यहरूको घटना प्रयोग गर्नुहुन्छ। जब यी तथ्यहरूको घटना घट्छन्, तब मानिसहरूको देहले दण्ड भोग्नेछन्, यसको अर्थ, यो मानव आँखाहरूले देख्न सक्ने दण्ड हुन्छ। केही मानिसहरूको खराब आचरणको निराकरण गर्दा परमेश्‍वरले तिनीहरूलाई केवल वचनहरूले सराप्नुहुन्छ अनि तिनीहरूमाथि उहाँको रिस बर्सन्छ तर तिनीहरूले पाउने दण्ड मानिसहरूले देख्न नसक्ने कुरा हुनसक्छ। तथापि, यस्तो प्रकारको परिणाम दण्ड दिइनु वा मारिनु जस्ता मानिसहरूले देख्न सक्ने परिणामहरूभन्दा बढी गम्भीर पनि हुनसक्छन्। यसको कारण, यस्तो मानिसलाई नबचाउने, तिनीहरूलाई कृपा वा सहनशीलता नदेखाउने अनि तिनीहरूलाई अब उप्रान्त कुनै अवसरहरू नदिने भनी परमेश्‍वरले निर्धारण गर्नुभएका परिस्थितिहरूमा उहाँले तिनीहरूप्रति राख्‍नुहुने मनोवृत्ति भनेको तिनीहरूलाई पन्छ्याउने नै हुन्छ। यहाँ “पन्छ्याउनु” को अर्थ के हो? यस शब्दको आधारभूत अर्थ भनेको कुनै कुरालाई एकातिर पन्छ्याउनु, त्यसलाई बेवास्ता गर्नु र अब उप्रान्त ध्यान नदिनु भन्‍ने हुन्छ। तर यहाँ जब परमेश्‍वरले “कसैलाई पन्छ्याउनुहुन्छ”, यसको अर्थका दुई भिन्न व्याख्याहरू हुन्छन्: पहिलो व्याख्या हो, उहाँले त्यस व्यक्तिको जीवन तथा त्यस व्यक्तिको सबै कुरा शैतानद्वारा निराकरण गरिनको निम्ति त्यसलाई सुम्पिदिनुहुनेछ, अनि परमेश्‍वर त्यस उपरान्त त्यसप्रति जिम्मेवार हुनुहुनेछैन र त्यस व्यक्तिलाई व्यवस्थित गर्नुहुनेछैन। त्यो व्यक्ति पागल होस् वा मूर्ख वा तिनीहरू मरेका होऊन् वा जीवित वा तिनीहरू दण्डको निम्ति नरकमा झरेका हुन्, यी कुनै पनि कुराले परमेश्‍वरसित सम्बन्ध राख्नेछैन। यसको अर्थ, त्यस्तो सृष्टिको सृष्टिकर्तासित कुनै सम्बन्ध हुनेछैन। दोस्रो व्याख्या हो, त्यस्तो व्यक्तिसित उहाँ स्वयम्‌ले उहाँको आफ्नै हातले केही गर्ने अठोट परमेश्‍वरले गर्नुभएको छ। यो सम्भव छ कि उहाँले यस व्यक्तिको सेवाको उपयोग गर्नुहुनेछ वा उहाँले तिनीहरूलाई प्रतिभारको रूपमा प्रयोग गर्नुहुनेछ। यो सम्भव छ कि यस प्रकारको व्यक्तिलाई निराकरण गर्ने विशेष तरिका उहाँसित छ, तिनीहरूलाई व्यवहार गर्ने एउटा विशेष तरिका छ, उदाहरणको निम्ति, पावलसित गरिएको व्यवहार। परमेश्‍वरको हृदयमा भएको सिद्धान्त तथा मनोवृत्ति यही हो, जसद्वारा उहाँले यस प्रकारको व्यक्तिलाई निराकरण गर्ने अठोट गर्नुभएको छ। त्यसैले, जब मानिसहरूले परमेश्‍वरलाई विरोध गर्छन्, उहाँलाई बदनाम र निन्दा गर्छन्, यदि तिनीहरूले उहाँको स्वभावलाई उत्तेजित गर्छन् वा यदि तिनीहरूले परमेश्‍वरलाई उहाँको सहनशीलताको सीमादेखि पर धकेल्छन् भने, परिस्थितिहरू सोच्न नसकिने हुन्छ। सबैभन्दा गम्भीर परिस्थिति भनेको परमेश्‍वरले तिनीहरूको जीवन र तिनीहरूको सबै कुरा सधैँको लागि शैतानको हातमा सुम्पिदिनुहुनेछ भन्‍ने हो। तिनीहरूलाई अनन्तसम्मै क्षमा गरिनेछैन। यसको अर्थ, यो व्यक्ति शैतानको मुखको भोजन, त्यसको हातको खेलौना बनेको हुन्छ, अनि त्यसभन्दा उता तिनीहरूसित परमेश्‍वरको कुनै सम्बन्ध हुनेछैन। शैतानले अय्यूबलाई परीक्षा गरेपछि कस्तो दुर्दशा भयो भनेर के तिमीहरू कल्पना गर्नसक्छौ? अय्यूबको जीवनमा हानि गर्न शैतानलाई अनुमति नदिइएको परिस्थितिमा समेत, अय्यूबले अझै धेरै कष्ट भोगे। अनि शैतानकै हातमा पूर्ण रूपले सुम्‍पिएको, शैतानकै पकडभित्र रहेको, परमेश्‍वरको वास्ता तथा कृपालाई पूर्ण रूपले गुमाइसकेको, उप्रान्त सृष्टिकर्ताको शासनमुनि नरहेको, परमेश्‍वरको आराधना गर्न र उहाँको शासनमुनि उहाँको सृष्टि हुने अधिकारदेखि वञ्‍चित भएको, अनि सृष्टिका प्रभुसितको आफ्‍नो सम्बन्ध पूर्ण रूपले तोडिएको व्यक्तिलाई शैतानले गर्ने विध्वंसहरूको कल्‍पना गर्न झन् कति गाह्रो छैन र? अय्यूबलाई शैतानले गरेको सतावट मानव आँखाले देख्‍न सकिन्थ्यो तर यदि परमेश्‍वरले कुनै व्यक्तिको जीवन शैतानको हातमा सुम्‍पिदिनुभयो भने, परिणामहरू मानव कल्पनाभन्दा बाहिर हुन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू गाईको रूपमा, वा गधाको रूपमा जन्मिन्छन्, जब कि कतिलाई अशुद्ध, दुष्ट आत्माहरूले भरिएका र कब्जामा पारिएका हुन सक्छन्, इत्यादि। परमेश्‍वरले शैतानको हातमा सुम्पिदिनुभएका कतिपय मानिसहरूका परिणामहरू यस्तै हुन्छन्। बाहिरबाट हेर्दा, प्रभु येशूलाई तिरस्कार गर्ने, बदनाम गर्ने, दोष लगाउने, निन्दा गर्ने मानिसहरूले कुनै परिणामहरू नभोगेका जस्तो देखिन सक्छ। तैपनि, परमेश्‍वरसँग हरेक कुरासँग व्यवहार गर्ने शैली हुन्छ। उहाँले हरेक प्रकारको व्यक्तिसँग जसरी व्यवहार गर्नुहुन्छ, त्यसको परिणाम मानिसहरूलाई बताउन उहाँले स्पष्ट भाषा प्रयोग नगर्न सक्नुहुन्छ। कहिलेकाहीँ, उहाँले प्रत्यक्ष रूपले बोल्नुहुन्न, बरु प्रत्यक्ष रूपले व्यवहार गर्नुहुन्छ। उहाँले यसको बारेमा बोल्नुहुन्न भन्दैमा त्यसको परिणाम हुँदैन भन्‍ने अर्थ लाग्दैन—वास्तवमा, त्यस्तो अवस्थामा परिणाम अझ बढी गम्भीर हुने सम्भावना हुनसक्छ। बाहिरबाट, परमेश्‍वरले कतिपयलाई आफ्नो मनोवृत्तिको बारेमा स्पष्ट प्रकारले बताउनुहुन्‍न भन्‍ने जस्तो देखिन्छ, तर वास्तवमा, परमेश्‍वरले तिनीहरूलाई लामो समयदेखि कुनै ध्यान दिन चाहनुभएको हुँदैन। उहाँले तिनीहरूलाई उप्रान्त हेर्न चाहनुहुन्न। तिनीहरूले गरेका कुराहरू र तिनीहरूको व्यवहारको कारणले, तिनीहरूको प्रकृति सारको कारणले, परमेश्‍वरले तिनीहरूलाई उहाँको दृष्टिबाट हराएको मात्रै चाहनुहुन्छ, तिनीहरूलाई सीधै शैतानको हातमा सुम्पिदिन चाहनुहुन्छ, तिनीहरूको आत्मा, प्राण, शरीर शैतानलाई दिन चाहनुहुन्छ अनि त्यसले तिनीहरूसित जे गरेको चाहन्छ, सो गर्न दिने अनुमति दिन चाहनुहुन्छ। परमेश्‍वरले कति हदसम्म तिनीहरूलाई घृणा गर्नुहुन्छ, तिनीहरूदेखि उहाँ कति हदसम्म चिढिनुभएको छ भन्‍ने कुरा स्पष्ट छ। यदि कुनै व्यक्तिले परमेश्‍वरलाई यस्तो बिन्दुसम्म रिस उठाउँछ कि परमेश्‍वरले तिनीहरूलाई फेरि हेर्न समेत चाहनहुन्न अनि तिनीहरूलाई पूर्ण रूपमा छोडिदिन तयार हुनुहुन्छ, यस्तो बिन्दुसम्म कि उहाँ आफै तिनीहरूसित व्यवहार गर्न चाहनुहुन्न भने—यदि यो यस्तो बिन्दुसम्म आइपुग्छ जहाँ उहाँले तिनीहरूलाई शैतानको हातमा त्यसले चाहेअनुसार गर्न, तिनीहरूलाई नियन्त्रण गर्न, निल्न, र त्यसलाई जस्तो खुशी लाग्छ, त्यसरी व्यवहार गर्न दिनको निम्ति सुम्पिदिनुहुनेछ भने—तब त्यो व्यक्ति पूर्ण रूपमा सिद्धिनेछ। मानिस हुन पाउने त्यसको अधिकार सधैँको निम्ति रद्द भएको हुन्छ, अनि परमेश्‍वरको सृष्टि हुन पाउने तिनीहरूको अधिकार अन्त्यमा आइपुगेको हुन्छ। के यो सबैभन्दा कठोर प्रकारको सजाय होइन र?

माथिका सबै कुरा यी वचनहरूको पूर्ण व्याख्या हो: “उसलाई क्षमा गरिनेछैन, न त यस संसारमा, न त आउनेवाला संसारमा,” अनि धर्मशास्त्रका यी खण्डहरूको बारेमा यसले एउटा सरल टिप्पणीको काम पनि गर्छ। मलाई विश्‍वास छ कि तिमीहरू सबैले अहिले यसलाई बुझेका छौ।

अब हामी धर्मशास्त्रबाट निम्न खण्डहरू पढौं।

१२. उहाँको पुनरुत्थानपछि उहाँका चेलाहरूलाई येशूका वचनहरू

यूहन्‍ना २०:२६-२९  अनि फेरि आठ दिनपछि उहाँका चेलाहरू भित्रै थिए र थोमा पनि तिनीहरूसँग थिए: तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो र बीचमा खडा हुनभयो, र भन्‍नुभयो, तिमीहरूलाई शान्ति होस्। तब उहाँले थोमालाई भन्‍नुभयो, तिम्रो औँला यहाँ ल्याऊ र मेरा हातहरू हेर; र तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ। अनि थोमाले उहाँलाई जवाफ दिँदै भने, मेरा प्रभु र मेरा परमेश्‍वर। येशूले तिनलाई भन्‍नुभयो, थोमा तिमीले मलाई देखेको कारण विश्‍वास गरेका छौ: तिनीहरू धन्य होऊन् जसले देखेका छैनन्, र पनि विश्‍वास गरेका छन्।

यूहन्‍ना २१:१६-१७  उहाँले तिनलाई फेरि दोस्रोपटक भन्‍नुभयो, यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? तिनले उहाँलाई भने, हो, प्रभु; तपाईंलाई थाहा छ म तपाईंलाई प्रेम गर्छु। उहाँले तिनलाई भन्‍नुभयो, मेरा भेडालाई खुवाऊ। उहाँले तिनलाई तेस्रोपटक भन्‍नुभयो, यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ? पत्रुस दुःखित भए किनभने उहाँले तिनलाई तेस्रोपटक “के तिमी मलाई प्रेम गर्छौ?” भनेर भन्‍नुभयो। अनि तिनले उहाँलाई भने, प्रभु, तपाईंलाई सबै कुरा थाहा छ; तपाईंलाई थाहा छ, म तपाईंलाई प्रेम गर्छु। येशूले तिनलाई भन्‍नुभयो, मेरा भेडालाई खुवाऊ।

यी खण्डहरूले प्रभु येशूले उहाँको पुनरुत्थानपछि आफ्ना चेलाहरूलाई गर्नुभएका र भन्‍नुभएका निश्‍चित कुराहरू बयान गरेका छन्। पहिले, हामी पुनरुत्थानअघि र पुनरुत्थानपछि प्रभु येशूमा हुन सक्‍ने कुनै पनि भिन्‍नताहरूलाई हेरौं। के उहाँ केही दिनहरूअघिको त्यही प्रभु येशू हुनुहुन्थ्यो त? धर्मशास्‍त्रमा पुनरुत्थानपछिका प्रभु येशूलाई बयान गर्ने निम्‍न पङ्क्ति छ: “तब ढोकाहरू बन्द भएको अवस्थामा येशू भित्र आउनुभयो र बीचमा खडा हुनभयो, र भन्‍नुभयो, तिमीहरूलाई शान्ति होस्।” यो एकदमै स्पष्ट छ कि त्यस बेला प्रभु येशू अबउप्रान्त देहको शरीरमा हुनुहुन्‍नथ्यो, उहाँ त अब आत्मिक शरीरमा हुनुहुन्थ्यो। किनभने उहाँले देहका सीमाहरूलाई पार गरिसक्‍नुभएको थियो; ढोका बन्द भए पनि, उहाँ मानिसहरूको माझमा आउन सक्‍नुभयो र तिनीहरूले उहाँलाई देख्‍न सके। पुनरुत्थानपछिका प्रभु येशू र पुनरुत्थानअघि देहमा जिइरहनुभएका प्रभु येशूबीचको सबैभन्दा ठूलो भिन्‍नता यही नै हो। त्यस क्षणको आत्मिक शरीरको रूप र त्यसभन्दा अघिका प्रभु येशूको रूपबीच कुनै भिन्‍नता नभएको भए पनि, त्यस क्षणमा प्रभु येशू मानिसहरूका निम्ति पराईजस्तो महसुस हुने व्यक्ति हुनुभएको थियो, किनकि मृतकहरूबाट पुनरुत्थान हुनुभएपछि उहाँ एउटा आत्मिक शरीर हुनुभएको थियो, र उहाँको पहिलेको देहको तुलनामा, उहाँको यो आत्मिक शरीर धेरै अलमल र अन्योलमा पार्ने खालको थियो। यसले पनि प्रभु येशू ख्रीष्ट र मानिसहरूबीचमा धेरै ठूलो दूरी सृजना गर्‍यो, र त्यस क्षणमा प्रभु येशू ख्रीष्ट धेरै रहस्यमय हुनुभएको छ भन्‍ने मानिसहरूले आफ्नो हृदयमा महसुस गरे। मानिसहरूले गरेका यी अनुभूति र भावनाहरूले अकस्मात् तिनीहरूलाई देख्‍न वा छुन नसकिने परमेश्‍वरमा विश्‍वास गर्ने युगमा फर्काइल्यायो। त्यसैले, आफ्नो पुनरुत्थानपछि प्रभु येशूले गर्नुभएको पहिलो कुरा सबैको सामुन्‍ने आफूलाई देखाउनु, उहाँ अस्तित्वमा हुनुहुन्छ भनी पुष्टि गर्नु र उहाँको पुनरुत्थानको तथ्यलाई पुष्टि गर्नु थियो। यसका अतिरिक्त, यस कार्यले मानिसहरूसितको उहाँको सम्बन्धलाई उहाँले देहमा काम गर्नुहुँदा, उहाँ तिनीहरूले देख्‍न र छुन सक्‍ने ख्रीष्ट हुनुहुँदा जस्तो थियो त्यस्तै अवस्थामा पुनर्स्थापित गरिदियो। यसको एउटा परिणाम के थियो भने, प्रभु येशू क्रूसमा टाँगिनुभएपछि उहाँ बौरी उठ्नुभएको थियो भन्‍ने सम्बन्धमा मानिसहरूसित कुनै पनि शङ्का रहेन, र मानवजातिलाई उद्धार गर्ने प्रभु येशूको कामको बारेमा पनि तिनीहरूसित कुनै शङ्का रहेन। अर्को परिणाम के थियो भने, प्रभु येशू उहाँको पुनरुत्थानपछि मानिसहरूकहाँ देखापर्नुभएको र मानिसहरूलाई उहाँले आफूलाई देख्‍न र छुन दिनुभएको तथ्यले मानवजातिलाई अनुग्रहको युगमा दृढतापूर्वक सुरक्षित गर्‍यो, र प्रभु येशू “हराउनुभयो” वा उहाँ “एक शब्द नबोली जानुभयो” भन्‍ने कथित आधारमा अबउप्रान्त मानिसहरू पहिलेको व्यवस्थाको युगमा फर्कनेछैनन् भन्‍ने कुरा पनि सुनिश्‍चित गर्‍यो। यसरी प्रभु येशूले उहाँका शिक्षाहरू तथा उहाँले गर्नुभएका कामलाई तिनीहरूले पछ्याउनेछन् भन्‍ने कुरा पनि सुनिश्‍चित गर्नुभयो। यसरी, अनुग्रहको युगको काममा एउटा नयाँ चरणको औपचारिक सुरुवात भयो, अनि त्यस क्षणदेखि यता, व्यवस्थामुनि जिउँदै आइरहेका मानिसहरू औपचारिक रूपले व्यवस्थाबाट माथि उठे र नयाँ युगमा, नयाँ सुरुवातभित्र प्रवेश गरे। पुनरुत्थानपछि मानवजातिकहाँ प्रभु येशू देखा पर्नुभएको घटनाका बहुमुखी अर्थहरू यिनै हुन्।

प्रभु येशू अहिले आत्मिक शरीरमा वास गरिरहनुभएको थियो, त्यसकारण कसरी मानिसहरूले उहाँलाई छुन र देख्‍न सक्थे? यो प्रश्‍न मानवजातिकहाँ प्रभु येशू देखा पर्नुभएको घटनाको महत्त्वसँग सम्बन्धित छ। हामीले भर्खरै पढेका धर्मशास्‍त्रका खण्डहरूमा तिमीहरूले कुनै कुरा याद गर्‍यौ? सामान्यतया आत्मिक शरीरहरूलाई देख्‍न वा छुन सकिँदैन, र प्रभु येशूले जिम्मा लिनुभएको काम पुनरुत्थानपश्‍चात पूरा भइसकेको थियो। त्यसैले, सैद्धान्तिक हिसाबमा, उहाँ मानिसहरूलाई भेट्न तिनीहरूमाझ आफ्नो मूल स्वरूपमा फर्किजानु बिलकुलै आवश्यक थिएन, तर थोमाजस्ता मानिसहरूकहाँ प्रभु येशूको आत्मिक शरीर देखा पर्नुले उहाँ देखा पर्नुको महत्त्वलाई अझ बढी ठोस बनायो, त्यसैले यसले मानिसहरूको हृदयलाई अझ बढी गहिरो गरी छेड्यो। जब उहाँ थोमाकहाँ आउनुभयो, तब उहाँले शङ्कालु थोमालाई उहाँको हात छुन दिनुभयो र भन्‍नुभयो: “तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ।” यी वचन र कार्यहरू उहाँ पुनरुत्थान भएपछि मात्र प्रभु येशूले भन्‍न र गर्न चाहनुभएका कुराहरू थिएनन्; वास्तवमा, ती उहाँ क्रूसमा टाँगिनुभन्दा अघि उहाँले भन्‍न र गर्न चाहनुभएका कुराहरू थिए, किनकि थोमाका शङ्काहरू त्यस बेला मात्र सुरु भएका थिएनन्, उसका शङ्काहरू त उसले प्रभु येशूलाई पछ्याइरहेको पूरै समय ऊसितै थिए। यो स्पष्ट छ कि उहाँ क्रूसमा टाँगिनुभन्दा अघि नै प्रभु येशूले थोमाजस्ता मानिसहरूको बारेमा बुझिसक्‍नुभएको थियो। अनि, यसबाट हामी के देख्‍न सक्छौँ? उहाँ पुनरुत्थानपछि पनि अझै उही प्रभु येशू हुनुहुन्थ्यो। उहाँको सार परिवर्तन भएको थिएन। तथापि, प्रभु येशू मरेकाहरूबाट जिई उठ्नुभएको अनि आफ्नो मूल स्वरूप, आफ्नो मूल स्वभावमा आत्मिक संसारबाट फर्कनुभएको, साथै उहाँ देहमा रहनुभएको समयमा प्राप्त भएको मानवजातिको बुझाइसहित फर्कनुभएको थियो, त्यसैले थोमालाई उहाँको आत्मिक शरीर देखाउनको लागि मात्रै नभई उहाँको आत्मिक शरीर छुन र त्यसको अस्तित्व अनुभव गर्न दिन, र उसका शङ्काहरू पूर्ण रूपले हटाउनको निम्ति उहाँ पहिले थोमाकहाँ जानुभयो। प्रभु येशू क्रूसमा टाँगिनुभन्दा अघि, थोमा उहाँ ख्रीष्ट हुनुहुन्छ भन्‍ने कुरामा सधैँ शङ्का गर्थे र विश्‍वास गर्न असमर्थ थिए। उसले आफ्नो आँखाले जे देख्‍न सक्थ्यो, उसले आफ्नो हातले जे छुन सक्थ्यो, त्यसको आधारमा मात्रै परमेश्‍वरमाथिको उसको विश्‍वास स्थापित थियो। यस प्रकारको व्यक्तिको विश्‍वासको बारेमा प्रभु येशूलाई राम्ररी थाहा थियो। त्यस्ता व्यक्तिहरूले केवल स्वर्गको परमेश्‍वरमा विश्‍वास गर्थे, तर परमेश्‍वरले पठाउनुभएका एक मात्र पुत्रलाई वा देहमा आउनुभएका ख्रीष्टलाई बिलकुलै विश्‍वास गर्दैनथे, न त तिनीहरूले उहाँलाई स्वीकार नै गर्थे। थोमाले प्रभु येशू ख्रीष्टको अस्तित्व र उहाँ साँच्‍चिकै देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार र विश्‍वास गर्न सकोस् भनेर उहाँले थोमालाई हात बढाएर उहाँको करङ छुन दिनुभयो। के प्रभु येशूको पुनरुत्थानभन्दा अघि र पछिको थोमाको शङ्कामा कुनै भिन्‍नता थियो र? उसले सधैँ शङ्का गरिरहेको थियो अनि प्रभु येशूको आत्मिक शरीर व्यक्तिगत रूपमा ऊकहाँ प्रकट नभएसम्म र उसलाई उहाँको शरीरमा भएका कीलाका डोबहरू छुन नदिएसम्म कसैले पनि उसका शङ्काहरू निवारण गर्न र उसलाई शङ्का गर्न छोड्न लगाउन सक्दैनथ्यो। त्यसैले, प्रभु येशूले थोमालाई उहाँको करङ छुन र कीलाका डोबहरूको अस्तित्व साँच्‍चिकै महसुस गर्न दिनुभएको समयपछि, थोमाको शङ्का हट्यो, अनि उसले प्रभु येशू बौरी उठ्नुभएको हो भनी साँचो रीतिले जान्‍न सक्‍यो, अनि उसले प्रभु येशू साँचो ख्रीष्ट र देहधारी परमेश्‍वर हुनुहुन्छ भनी स्वीकार र विश्‍वास गर्‍यो। यस समयमा, थोमाले अब फेरि कुनै शङ्का नगरेको भए पनि, उसले ख्रीष्टलाई भेट्ने अवसर सधैँका निम्ति गुमाइसकेको थियो। उसले उहाँको साथमा रहने, उहाँलाई पछ्याउने, उहाँलाई चिन्‍ने अवसर सधैँका लागि गुमाइसकेको थियो। उसले आफू ख्रीष्टद्वारा सिद्ध पारिइने मौका गुमाइसकेको थियो। प्रभु येशू देखा पर्नुभएको घटना र उहाँका वचनहरूले शङ्काले भरिएकाहरूको विश्‍वासमा एउटा निष्कर्ष र फैसला प्रदान गर्‍यो। स्वर्गका परमेश्‍वरलाई मात्र विश्‍वास गर्ने र ख्रीष्टलाई विश्‍वास नगर्ने शङ्कालुहरूलाई यो कुरा बताउन उहाँले आफ्नो वास्तविक वचन र कार्यहरू प्रयोग गर्नुभयो: परमेश्‍वरले तिनीहरूको विश्‍वासको तारिफ गर्नुभएन, न त शङ्का गर्दै उहाँलाई पछ्याएकोमा तिनीहरूको तारिफ नै गर्नुभयो। तिनीहरूले परमेश्‍वर र ख्रीष्टलाई पूर्ण रीतिले विश्‍वास गर्ने दिन मात्रै परमेश्‍वरले आफ्‍नो महान् काम पूरा गर्नुभएको दिन हुन सक्थ्यो। अवश्य नै, त्यो दिन तिनीहरूको शङ्कामाथि फैसला गरिने दिन पनि थियो। ख्रीष्टप्रतिको तिनीहरूको मनोवृत्तिले तिनीहरूको नियति निर्धारण गर्‍यो, र तिनीहरूसँग हठी शङ्का हुनुको अर्थ तिनीहरूको विश्‍वासले तिनीहरूको निम्ति कुनै फल फलाएन, र तिनीहरूमा कठोरता हुनुको अर्थ तिनीहरूका आशाहरू व्यर्थ भए। स्वर्गका परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वास भ्रमहरूमा आधारित थियो, अनि ख्रीष्टप्रतिको तिनीहरूको शङ्का वास्तवमा ख्रीष्टप्रतिको तिनीहरूको साँचो मनोवृत्ति थियो, तिनीहरूले प्रभु येशूको शरीरमा भएका कीलाका डोबहरू छोएको भए तापनि, तिनीहरूको विश्‍वास अझै पनि व्यर्थको थियो र तिनीहरूको परिणाम इनारबाट डोकोमा पानी निकाल्‍नुझैँ थियो भनेर भन्‍न सकिन्छ—सबै व्यर्थ थियो। प्रभु येशूले थोमालाई जे भन्‍नुभयो, त्यो हरेक मानिसलाई यो कुरा बताउने उहाँको तरिका थियो भन्‍ने स्पष्ट छ: बौरी उठ्नुभएका प्रभु येशू नै मानिसहरूको माझमा काम गर्दै साढे तेत्तीस वर्ष बिताउनुहुने प्रभु येशू हुनुहुन्छ। उहाँलाई क्रूसमा टाँगिएको र उहाँले मृत्युछायाको घाटी अनुभव गर्नुभएको भए तापनि, र उहाँले पुनरुत्थानको अनुभव गर्नुभएको भए तापनि, उहाँले कुनै पनि पक्षमा कुनै परिवर्तन अनुभव गर्नुभएन। अहिले उहाँको शरीरमा कीलाका डोबहरू भए तापनि, र उहाँ पुनरुत्थान भई र चिहानबाट बाहिर निस्कनुभएको भए तापनि, उहाँको स्वभाव, मानवजातिसम्‍बन्धी उहाँको बुझाइ, र मानवजातिप्रतिका उहाँका अभिप्रायहरू अलिकति पनि बदलिएको थिएन। साथै, उहाँले मानिसहरूलाई उहाँ क्रूसबाट तल ओर्लेर आउनुभएको छ, पापमाथि विजयी हुनुभएको छ, कठिनाइहरूबाट पार पाउनुभएको छ, र मृत्युमाथि विजयी हुनुभएको छ भनी बताउँदै हुनुहुन्थ्यो। कीलाका डोबहरू शैतानमाथिको उहाँको विजयको प्रमाण, सारा मानवजातिलाई सफलतापूर्वक छुटकारा दिनको लागि पापबलि बन्‍नुभएको प्रमाण थियो। उहाँले पहिले नै मानवजातिको पाप लिइसक्‍नुभएको छ र उहाँले छुटकाराको आफ्‍नो काम पूरा गरिसक्‍नुभएको छ भनेर मानिसहरूलाई बताइरहनुभएको थियो। जब उहाँ आफ्ना चेलाहरूलाई भेट्न फर्कनुभयो, तब उहाँले आफ्नो उपस्थितिद्वारा तिनीहरूलाई यो सन्देश दिनुभयो: “म अझै जीवित छु, म अझै अस्तित्वमा छु; आज म साँच्‍चिकै तिमीहरूको माझमा उभिरहेको छु ताकि तिमीहरूले मलाई देख्‍न र छुन सक। म तिमीहरूको साथमा सधैँ हुनेछु।” प्रभु येशूले थोमाको उदाहरणलाई भविष्यका मानिसहरूका निम्ति चेतावनीको रूपमा पनि प्रयोग गर्न चाहनुहुन्थ्यो: तैँले प्रभु येशूमाथिको विश्‍वासमा उहाँलाई देख्‍न वा छुन नसके पनि, तेरो साँचो विश्‍वासको कारणले तँ धन्यको छस्, अनि तेरो साँचो विश्‍वासको कारणले तैँले प्रभु येशूलाई देख्‍न सक्छस्, अनि यस्तो प्रकारको व्यक्ति धन्यको हुन्छ।

थोमाकहाँ प्रकट हुनुहुँदा प्रभु येशूले बोल्नुभएको भनी बाइबलमा लेखिएका यी वचनहरू अनुग्रहको युगका सबै मानिसहरूको निम्ति अत्यन्तै उपयोगी छन्। उहाँ थोमाकहाँ देखा पर्नुभएको घटना र उहाँले तिनलाई भन्‍नुभएका वचनहरूले त्यसपछिका पुस्ताहरूमाथि गहिरो प्रभाव पारेको छ; ती दुवै कुराको अनन्त महत्त्व छ। परमेश्‍वरलाई विश्‍वास गरे पनि, परमेश्‍वरलाई शङ्का गर्ने व्यक्तिलाई थोमाले प्रतिनिधित्व गर्छ। तिनीहरू शङ्कालु प्रकृतिका हुन्छन्, तिनीहरूमा कुटिल हृदय हुन्छ, तिनीहरू विश्‍वासघाती हुन्छन्, र परमेश्‍वरले पूरा गर्न सक्‍नुहुने कुराहरूमा तिनीहरू विश्‍वास गर्दैनन्। तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌ता तथा उहाँको सम्प्रभुतामा विश्‍वास गर्दैनन्, न त तिनीहरूले देहधारी परमेश्‍वरमा नै विश्‍वास गर्छन्। तैपनि, प्रभु येशूको पुनरुत्थानले तिनीहरूका यी गुणहरूलाई प्रहार गर्‍यो, र यसले तिनीहरूलाई आफ्नो शङ्का पत्ता लगाउने, आफ्नो शङ्का पहिचान गर्ने, र आफ्नो विश्‍वासघातलाई स्वीकार गर्ने अवसर पनि प्रदान गर्‍यो, र यसरी तिनीहरू प्रभु येशूको अस्तित्व र पुनरुत्थानमा साँचो रीतिले विश्‍वास गर्ने अवस्थामा आइपुगे। थोमालाई जे भएको थियो, त्यो पछिका पुस्ताहरूको निम्ति एउटा चेतावनी र सावधानी थियो ताकि धेरै मानिसहरूले आफैलाई थोमाजस्तो शङ्कालु नहुन, र यदि तिनीहरू शङ्काले भरिए भने तिनीहरू अन्धकारभित्र डुब्‍नेछन् भनी चेतावनी दिन सकून्। यदि तँ परमेश्‍वरलाई पछ्याउँछस् तर थोमाले जस्तै, परमेश्‍वरको अस्तित्व छ कि छैन भनेर पुष्टि, प्रमाणित र अनुमान गर्न सधैँ प्रभुको करङ र उहाँका कीलाका डोबहरू छुन चाहन्छस् भने परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछ। त्यसैले, मानिसहरू थोमाजस्तो आफ्नै आँखाले देख्‍न सकेपछि मात्र विश्‍वास गर्ने नबनून् तर शुद्ध, इमानदार मानिसहरू बनून्, परमेश्‍वरप्रति शङ्काहरू नपालून्, केवल उहाँलाई विश्‍वास गरून् र पछ्याऊन् भन्‍ने चाहना प्रभु येशूको हुन्छ। यस्ता मानिसहरू धन्यका हुन्छन्। यो उहाँले मानिसहरूबाट गर्नुभएको एउटा सानो अपेक्षा हो, र यो उहाँका अनुयायीहरूको निम्ति एउटा चेतावनी हो।

माथि उल्‍लेखित कुरा शङ्काले भरिएकाहरूप्रतिको प्रभु येशूको मनोवृत्ति हो। त्यसो भए, उहाँलाई इमानदारितापूर्वक विश्‍वास गर्न र पछ्याउन सक्‍ने मानिसहरूका निम्ति चाहिँ प्रभु येशूले के भन्‍नुभयो र के गर्नुभयो? प्रभु येशू र पत्रुसबीचको संवादद्वारा हामी यसपछि यही कुरा हेर्न गइरहेका छौँ।

यस कुराकानीमा, प्रभु येशूले पत्रुसलाई बारम्‍बार एउटा कुरा सोध्‍नुभयो: “यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” यो साँचो रीतिले ख्रीष्टलाई विश्‍वास गर्ने र प्रभुलाई प्रेम गर्नमा लागिपर्ने पत्रुसजस्ता मानिसहरूबाट प्रभु येशूले आफ्‍नो पुनरुत्थानपछि अपेक्षा गर्नुभएको उच्‍च मापदण्ड हो। यो प्रश्‍न एक प्रकारको अनुसन्धान र केरकार थियो, तर त्यो भन्दा पनि बढी, यो पत्रुसजस्ता मानिसहरूको लागि एउटा मापदण्ड र अपेक्षा थियो। प्रभु येशूले यस प्रकारको प्रश्‍न गर्ने विधि प्रयोग गर्नुभयो ताकि मानिसहरूले आफैमाथि चिन्तन गरून् र आफैलाई नियालून् र यो प्रश्‍न सोधून्: मानिसहरूका निम्ति प्रभु येशूका मापदण्डहरू के-के हुन्? के म प्रभुलाई प्रेम गर्छु? के म परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति हुँ? मैले परमेश्‍वरलाई कसरी प्रेम गर्नुपर्छ? प्रभु येशूले यो प्रश्‍न पत्रुसलाई मात्रै सोध्‍नुभएको भए तापनि, सत्य के हो भने, पत्रुसलाई यी प्रश्‍नहरू सोधेर आफ्नो हृदयमा उहाँले परमेश्‍वरलाई प्रेम गर्न खोज्ने धेरै मानिसहरूलाई यही प्रकारको प्रश्‍न सोध्‍न यो अवसरको प्रयोग गर्न चाहनुभयो। पत्रुसले यस प्रकारको व्यक्तिको प्रतिनिधिको रूपमा काम गर्न र प्रभु येशू स्‍वयम्‌को मुखबाट यो प्रश्‍न प्राप्त गर्ने सौभाग्य मात्र पाएका थिए।

आफ्‍नो पुनरुत्थानपछि प्रभु येशूले थोमालाई भन्‍नुभएका “तिम्रो हात यहाँ ल्याऊ र मेरो कोखामा छिराऊ: र अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ” भन्‍ने वचनहरू र पत्रुसलाई “यूहन्‍नाको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्छौ?” भनेर तीनपल्ट गरिएको प्रश्‍नलाई तुलना गर्दा, यसले प्रभु येशूको मनोवृत्तिले कठोरता र प्रश्‍न गर्दाको समयमा उहाँले अनुभव गर्नुभएको आतुरताबारे मानिसहरूलाई अझै राम्ररी अनुभव गराउँछ। शङ्कालु थोमाको बारेमा कुरा गर्दा, उनको छलपूर्ण प्रकृतिको कारण, प्रभु येशूले उसलाई आफ्नो हात बढाएर उहाँको शरीरको कीलाका डोबहरू छुन दिनुभयो जसले उसलाई प्रभु येशू बौरी उठ्नुभएका मानिसको पुत्र हुनुहुन्छ भनी विश्‍वास गर्न र ख्रीष्टको रूपमा रहेको प्रभु येशूको पहिचानलाई स्वीकार गर्न अग्रसर गरायो। प्रभु येशूले थोमालाई कडा रूपले हप्काउनुभएन, र उसलाई मौखिक रूपले कुनै स्पष्ट न्याय पनि गर्नुभएन, तैपनि उहाँले उसलाई बुझ्‍नुभएको छ भनी थोमालाई थाहा दिन व्यवहारिक कार्यहरूको प्रयोग गर्नुभयो, साथै त्यस्तो व्यक्तिप्रतिको आफ्नो मनोवृत्ति तथा अठोटलाई पनि प्रदर्शन गर्नुभयो। त्यस्तो व्यक्तिप्रतिको प्रभु येशूका मापदण्ड र अपेक्षाहरू उहाँले भन्‍नुभएका कुराहरूबाट देख्‍न सकिँदैन, किनकि थोमाजस्ता मानिसहरूमा साँचो विश्‍वासको एक त्यान्द्रो पनि हुँदैन। तिनीहरूको निम्ति प्रभु येशूका मापदण्डहरू सीमित हुन्छन्, तर पत्रुसजस्ता मानिसहरूको निम्ति उहाँले प्रकट गर्नुभएको मनोवृत्ति भने पूर्ण रूपले भिन्‍न छ। पत्रुसले आफ्नो हात बढाएर उहाँका कीलाका डोबहरू छोएको उहाँले चाहनुभएन, न त उहाँले पत्रुसलाई “अविश्‍वासी होइन, तर विश्‍वास गर्ने होऊ” भनेर नै भन्‍नुभयो। बरु, उहाँले पत्रुसलाई बारम्‍बार उही प्रश्‍न सोध्‍नुभयो। यो प्रश्‍न विचारयोग्य र अर्थपूर्ण थियो, यस्तो प्रश्‍नले ख्रीष्टका हरेक अनुयायीलाई अफसोस र डर अनुभूति गराउने मात्र होइन प्रभु येशूको चिन्तित र दुःखी मनस्थितिलाई पनि अनुभूति गर्ने तुल्याउँछ। अनि जब तिनीहरू ठूलो पीडा र कष्टमा हुन्छन्, तब तिनीहरूले प्रभु येशूको चिन्ता र उहाँको वास्तालाई अझ बढी बुझ्‍न सक्छन्; तिनीहरूले उहाँको गम्भीर शिक्षा र शुद्ध, इमान्दार मानिसहरूप्रतिका उहाँका कडा मापदण्डहरू महसुस गर्छन्। प्रभु येशूको प्रश्‍नले मानिसहरूलाई के कुरा महसुस गराउँछ भने, यी सरल शब्दहरूमा प्रकट भएका प्रभुका अपेक्षाहरू केवल उहाँमा विश्‍वास गर्नु र उहाँलाई पछ्याउनु मात्र नभई प्रेमिलोपन प्राप्त गर्नु, आफ्नो प्रभुलाई र आफ्नो परमेश्‍वरलाई प्रेम गर्ने आचरण हासिल गर्नु हो। यस्तो प्रकारको प्रेम वास्तापूर्ण र आज्ञाकारी हुन्छ। यो मानिसहरू परमेश्‍वरको निम्ति जिउनु, परमेश्‍वरको निम्ति मर्नु, सबै कुरा परमेश्‍वरको निम्ति समर्पण गर्नु, र सबै कुरा परमेश्‍वरको निम्ति खर्च गर्नु र दिनु हो। यस्तो प्रेम परमेश्‍वरलाई सान्त्वना दिनु, उहाँलाई गवाहीमा आनन्दित हुन र विश्राममा रहन दिनु पनि हो। यो मानवजातिले परमेश्‍वरको ऋण तिर्नु हो, र मानिसको जिम्मेवारी, दायित्व र कर्तव्य हो, र यो मानिसहरूले आफ्नो सम्पूर्ण जीवनभरि पछ्याउनुपर्ने साँचो बाटो हो। यी तीन प्रश्‍नहरू प्रभु येशूले पत्रुसबाट र सिद्ध तुल्याइने सबै मानिसहरूको लागि तय गर्नुभएको मापदण्ड र आग्रह थियो। यिनै तीन प्रश्‍नहरूले पत्रुसलाई जीवनको अन्त्यसम्म उहाँको मार्ग पछ्याउन अग्रसर र उत्प्रेरित गराए, अनि प्रभु येशू बिदाइ हुने समयमा यिनै प्रश्‍नहरूले पत्रुसलाई सिद्ध पारिने मार्गमा आफ्नो यात्रा सुरु गर्न अग्रसर गराए, र प्रभुप्रतिको उनको प्रेमको कारण यिनै प्रश्‍नले उनलाई प्रभुको हृदयको निम्ति वास्ता गर्न, प्रभुको आज्ञापालन गर्न, प्रभुलाई सान्त्वना प्रदान गर्न, र यही प्रेमको कारण, आफ्नो सम्पूर्ण जीवन र आफ्नो पूरा अस्तित्व अर्पण गर्न अग्रसर गराए।

अनुग्रहको युगको अवधिमा, परमेश्‍वरको कार्य मुख्य रूपमा दुई प्रकारका मानिसहरूका निम्ति थियो। पहिलो प्रकारको व्यक्ति उहाँमा विश्‍वास गर्ने र उहाँलाई पछ्याउने, उहाँका आज्ञाहरूलाई पालन गर्न सक्‍ने र क्रूस उठाउन सक्‍ने, अनि अनुग्रहको युगको साँचो मार्गलाई पछ्याइरहन सक्‍ने व्यक्ति थियो। यस प्रकारको व्यक्तिले परमेश्‍वरको आशिष्‌ प्राप्त गर्न र परमेश्‍वरको अनुग्रहमा आनन्दित हुन सक्थ्यो। दोस्रो प्रकारको व्यक्ति सिद्ध तुल्याइन सकिने पत्रुसजस्तो व्यक्ति हो। त्यसैले, प्रभु येशूको पुनरुत्थान भएपछि, सर्वप्रथम उहाँले सबैभन्दा अर्थपूर्ण यी दुई कुराहरू गर्नुभयो। एउटा थोमासित गरिएको थियो भने अर्को चाहिँ पत्रुससित। यी दुई कुराहरूले केलाई प्रतिनिधित्व गर्छन्? के ती कुराले मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको साँचो अभिप्रायहरूलाई प्रतिनिधित्व गर्छन्? के ती कुराले मानवजातिप्रति परमेश्‍वरको इमानदारितालाई प्रतिनिधित्व गर्छन्? थोमाको जीवनमा उहाँले गर्नुभएको काम मानिसहरूलाई शङ्कालु होइन, विश्‍वास गर्ने मानिसहरू बन्‍नू भनी चेतावनी दिनको लागि थियो। पत्रुसमाथि उहाँले गर्नुभएको काम पत्रुसजस्ता मानिसहरूको विश्‍वासलाई बलियो पार्न र यस्तो व्यक्तिबाट उहाँले अपेक्षा गर्नुभएका मापदण्डहरूलाई स्पष्ट पार्न र त्यस्ता व्यक्तिहरूले पछ्याइरहनुपर्ने लक्ष्यहरू औँल्याउनका लागि थियो।

प्रभु येशू बौरी उठ्नुभएपछि, उहाँ आफूले आवश्यक ठान्‍नुभएका मानिसहरूकहाँ प्रकट हुनुभयो, तिनीहरूसित बोल्नुभयो, र तिनीहरूलाई मापदण्डहरू दिनुभयो, र यसरी उहाँले मानिसहरूका निम्ति आफ्ना अभिप्रायहरू र तिनीहरूबाट गरिएका अपेक्षाहरू छोडेर जानुभयो। भनाइको अर्थ, देहधारी परमेश्‍वर भएको हैसियतले मानवजातिप्रति उहाँको चिन्ता र मानिसहरूको लागि उहाँको मापदण्ड कहिल्यै बदलिएको छैन; उहाँ देहमा हुनुहुँदा र उहाँ क्रूसमा टाँगिएर पुनरुत्थान भई आत्मिक शरीरमा हुनुभएपछि पनि यी उस्तै रहे। उहाँ क्रूसमा टाँगिनुभन्दा अगाडि चेलाहरूको निम्ति चिन्तित हुनुहुन्थ्यो, र उहाँको हृदयमा उहाँ हरेक व्यक्तिको अवस्थाको बारेमा स्पष्ट हुनुहुन्थ्यो, र उहाँले हरेक व्यक्तिको कमी कमजोरी बुझ्नुहुन्थ्यो, र अवश्य नै, उहाँ मर्नुभएपछि पुनरुत्थान भई आत्मिक शरीर बन्‍नुभएपछि पनि हरेक व्यक्तिको बारेमा उहाँको बुझाइ उहाँ देहमा हुनुभएको समयको जस्तै थियो। ख्रीष्टको रूपमा रहेको उहाँको पहिचानबारे मानिसहरू पूर्ण रूपले विश्‍वस्‍त छैनन् भन्‍ने उहाँलाई थाहा थियो, तर देहमा हुँदाको समयमा उहाँले मानिसहरूबाट कडा मापदण्डहरू अपेक्षा गर्नुभएन। तथापि, उहाँ पुनरुत्थान हुनुभएपछि, तिनीहरूकहाँ प्रकट हुनुभयो अनि प्रभु येशू परमेश्‍वरबाट आउनुभएको हो र उहाँ देहधारी परमेश्‍वर हुनुहुन्छ भनी तिनीहरूलाई पूर्ण रूपले विश्‍वस्‍त तुल्याउनुभयो, अनि उहाँ देखा पर्नुभएको घटना र उहाँको पुनरुत्थानको तथ्यलाई मानवजातिको जीवनपर्यन्त खोजीको निम्ति सबैभन्दा ठूलो दर्शन र उत्प्रेरणाको रूपमा प्रयोग गर्नुभयो। मृत्युबाट भएको उहाँको पुनरुत्थानले उहाँलाई पछ्याउनेहरू सबैलाई सामर्थ्य मात्र दिएन यसले त मानवजातिको माझमा अनुग्रहको युगको उहाँको कामलाई पूर्ण रूपले कार्यान्वयन पनि गर्‍यो, र यसरी प्रभु येशूको अनुग्रहको युगको मुक्तिको सुसमाचार मानवजातिको हरेक कुनामा क्रमिक रूपमा फैलँदै गयो। के तँ पुनरुत्थानपछि प्रभु येशू देखा पर्नुभएको घटनाको कुनै महत्त्व थियो भनेर भन्थिस्? यदि तँ त्यस समयको थोमा वा पत्रुस भएको भए, र तेरो जीवनमा तैँले यो अत्यन्तै अर्थपूर्ण कुराको सामना गरेको भए, यसले तँमाथि कस्तो प्रकारको प्रभाव पार्नेथ्यो? के तैँले यसलाई परमेश्‍वरमाथि विश्‍वास गर्ने तेरो जीवनको सबैभन्दा उत्तम र सबैभन्दा ठूलो दर्शनको रूपमा देख्‍नेथिइस्? उहाँलाई पछ्याउने क्रममा, उहाँलाई सन्तुष्ट पार्न प्रयास गर्ने क्रममा, अनि तेरो सारा जीवनमा परमेश्‍वरलाई प्रेम गर्न खोज्ने क्रममा, के यसलाई तैँले आफूलाई उत्प्रेरित गर्ने शक्तिको रूपमा देख्‍नेथिइस्? के तैँले यो महान् दर्शनलाई फैलाउन जीवनभरिको प्रयास अर्पण गर्नेथिइस्? के तैँले प्रभु येशूको मुक्ति फैलाउने कार्यलाई परमेश्‍वरको आज्ञाको रूपमा स्वीकार गर्नेथिइस्? तिमीहरूले यसलाई अनुभव नगरेको भए पनि, आधुनिक मानिसहरूका लागि परमेश्‍वर र उहाँको इच्छाको स्पष्ट बुझाइ प्राप्त गर्न थोमा र पत्रुसका उदाहरणहरू पहिल्यै पर्याप्त छन्। यो भन्‍न सकिन्छ कि परमेश्‍वर देहधारी भइसक्‍नुभएपछि, उहाँले व्यक्तिगत रूपमा मानवजातिमाझको जीवन अनुभव गरिसक्‍नुभएपछि, र व्यक्तिगत रूपमा मानव जीवन अनुभव गरिसक्‍नुभएपछि, र मानवजातिको भ्रष्टता र त्यस समयको मानव जीवनको अवस्था देखिसक्‍नुभएपछि, देहमा हुनुभएका परमेश्‍वरले मानवजाति कति असहाय, विलापमय र दयनीय रहेछ भनी झन् गहन रूपमा महसुस गर्नुभयो। देहमा जिउँदा परमेश्‍वरले धारण गर्नुभएको आफ्नो मानवताको कारणले, आफ्नो शारीरिक अन्तर्ज्ञानको कारण उहाँले मानव अवस्थाको निम्ति अझ धेरै सहानुभूति गर्नुभयो। यसले गर्दा उहाँले आफ्ना अनुयायीहरूका निम्ति अझ बढी फिक्री गर्नुभयो। सायद यी तिमीहरूले बुझ्न नसक्‍ने कुराहरू होलान्, तर देहमा रहनुभएका परमेश्‍वरले उहाँका सबै अनुयायीहरूका निम्ति महसुस गर्नुभएको यो चिन्ता र फिक्रीलाई म केवल दुई शब्द प्रयोग गरेर व्याख्या गर्न सक्छु: “उत्कट चिन्ता”। यो पदावली मानव भाषाबाट आएको भए पनि, र यो अत्यन्तै मानवको जस्तो भए पनि, यसले आफ्‍ना अनुयायीहरूप्रतिका परमेश्‍वरका भावनाहरूलाई साँचो रूपमा व्यक्त र व्याख्या गर्छ। मानिसहरूको निम्ति परमेश्‍वरको उत्कट चिन्ताको सम्बन्धमा भन्दा, तिमीहरूले आफ्ना अनुभवहरूको दौरान यसलाई विस्तारै महसुस गर्नेछौ र यसको स्वाद पाउनेछौ। तथापि, तिमीहरूले आफ्नै स्वभावमा परिवर्तनको खोजी गरेको आधारमा परमेश्‍वरको स्वभावलाई बिस्तारै बुझेर मात्रै यसलाई प्राप्त गर्न सकिन्छ। जब प्रभु येशू यसरी देखा पर्नुभयो, तब यसले मानवजातिमाझ रहेका उहाँका अनुयायीहरूप्रतिको उहाँको उत्कट चिन्तालाई वास्तविकतामा उतार्‍यो र उहाँको आत्मिक शरीरमा, अर्थात् उहाँको ईश्‍वरत्वमा स्थानान्तरण गरायो। उहाँ देखा पर्नुभएको घटनाले मानिसहरूलाई एकपल्ट फेरि परमेश्‍वरको चिन्ता र वास्ता अनुभव र अनुभूति गर्न दियो, साथै युगको आरम्भ गर्ने, युगको अनावरण गर्ने, अनि युगको अन्त्य पनि गर्ने परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरालाई पनि यसले शक्तिशाली रूपमा प्रमाणित गर्‍यो। उहाँ देखा पर्नुभएको घटनाद्वारा, उहाँले सबै मानिसहरूको विश्‍वासलाई बलियो बनाउनुभयो र संसारसामु उहाँ परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ भन्‍ने तथ्य प्रमाणित गर्नुभयो। यसले उहाँका अनुयायीहरूलाई अनन्त पुष्टि प्रदान गर्‍यो, र उहाँ देखा पर्नुभएको घटनामार्फत उहाँले उहाँको नयाँ युगको कामको एउटा चरण पनि आरम्भ गर्नुभयो।

१३. पुनरुत्थानपछि येशूले रोटी खानुहुन्छ र धर्मशास्‍त्रको व्याख्या गर्नुहुन्छ

लूका २४:३०-३२  अनि यस्तो भयो, उहाँ तिनीहरूसँग खान बस्‍नुहुँदा, उहाँले रोटी लिनुभयो र त्यसलाई आशिष्‌ दिनुभयो र त्यो भाँच्‍नुभयो र तिनीहरूलाई दिनुभयो। अनि तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँलाई चिने; अनि उहाँ तिनीहरूका नजरबाट अलप हुनुभयो। अनि तिनीहरूले एक अर्कालाई भने, उहाँले हामीसँग कुरा गर्नुहुँदा र उहाँले हामीलाई धर्मशास्त्रको अर्थ खोलिदिनुहुँदा हाम्रो हृदय हामीभित्र जलेको थिएन र?

१४. चेलाहरूले येशूलाई पोलेको माछा खान दिन्छन्

लूका २४:३६-४३  अनि जब तिनीहरू कुरा गरिरहेका थिए तब येशू स्वयम् तिनीहरूको माझमा खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूलाई शान्ति होस्। तर तिनीहरू भयभीत भएर डराए अनि आफूले प्रेत देख्यौँ भन्‍ने ठाने। अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरू किन व्याकुल हुन्छौ? र तिमीहरूका मनमा किन विचारहरू उत्पन्‍न हुन्छन्? मेरा हात र मेरा खुट्टाहरू हेर, म स्वयम् नै हुँ: मलाई छोओ र हेर; किनकि प्रेतको देह र हाड हुँदैन, तिमीहरूले देख्छौ कि मेरा त छन्। अनि उहाँले बोल्‍नुभएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र खुट्टा देखाउनुभयो। तिनीहरूले आनन्दको कारण विश्‍वास गर्न नसकेर छक्क पर्दा उहाँले तिनीहरूलाई भन्‍नुभयो, तिमीहरूसँग केही मासु छ? अनि तिनीहरूले उहाँलाई पोलेको माछाको एक टुक्रा र महको चाका दिए। अनि उहाँले त्यो लिनुभयो र तिनीहरूका अगाडि खानुभयो।

यसपछि, हामी धर्मशास्‍त्रबाट लिइएका माथिका खण्डहरूलाई हेर्नेछौं। पहिलो खण्ड आफ्नो पुनरुत्थानपछि प्रभु येशूले रोटी खानुभएको र धर्मशास्‍त्र व्याख्या गर्नुभएको बारेमा रहेको वृत्तान्त हो, र दोस्रो खण्ड प्रभु येशूले पोलेको माछा खानुभएको बारेमा रहेको वृत्तान्त हो। यी दुई खण्डहरूले तिमीहरूलाई कसरी परमेश्‍वरको स्वभाव जान्‍न सहयोग गर्छन्? प्रभु येशूले रोटी र त्यसपछि पोलेको माछा खानुभएको वृत्तान्तहरूबाट तिमीहरूको दिमागमा कस्तो प्रकारको चित्रको ख्याल आउँछ, के तिमीहरू कल्पना गर्न सक्छौ? यदि प्रभु येशू तिमीहरूको सामु रोटी खाँदै उभिरहनुभएको थियो भने, तिमीहरूले कस्तो महसुस गर्थ्यौ, के तिमीहरू कल्पना गर्न सक्छौ? वा, यदि उहाँ तिमीहरूसित एउटै टेबुलमा खाँदै हुनुहुन्थ्यो, मानिसहरूसित माछा र रोटी खाँदै हुनुहुन्थ्यो भने, त्यस क्षणमा तँलाई कस्तो अनुभूति हुनेथ्यो? यदि तँ प्रभुको धेरै नजिक भएको, अनि उहाँ तँसित अति घनिष्ठ रहनुभएको महसुस गर्छस् भने, यो अनुभूति ठीक हुन्छ। आफ्नो पुनरुत्थानपछि भेला भएका मानिसहरूको अघि रोटी र माछा खाएर प्रभु येशूले ठीक यही परिणाम ल्याउन चाहनुहुन्थ्यो। यदि प्रभु येशूले आफ्नो पुनरुत्थानपछि मानिसहरूसित बोल्नु मात्र भएको भए, यदि तिनीहरूले उहाँको देह र हाडहरूलाई महसुस गर्न नसकी उहाँलाई पहुँच प्राप्त गर्न नसकिने आत्माको रूपमा महसुस गरेका भए, तिनीहरूले कस्तो महसुस गर्नेथे? के तिनीहरू हतोत्साहित हुनेथेनन् र? हतोत्साहित अनुभव गरेर के मानिसहरूले त्यागिएको अनुभव गर्नेथिएनन् र? के तिनीहरूले आफू र प्रभु येशू ख्रीष्टको बीचमा दूरी अनुभव गर्नेथेनन् र? यस दूरीले परमेश्‍वरसँगको मानिसहरूको सम्बन्धमा कस्तो नकारात्मक प्रभाव सृजना गर्नेथ्यो? मानिसहरू निश्‍चय नै डराउनेथे, त्यसकारण तिनीहरू उहाँको नजिक जाने साहस गर्दैनथे, र यसरी तिनीहरूसँग उहाँलाई एउटा सम्‍मानजनक दूरीमा राख्‍ने मनोवृत्ति हुनेथ्यो। त्यस बेलादेखि तिनीहरूले प्रभु येशू ख्रीष्टसँगको घनिष्ठ सम्बन्धलाई तोड्नेथे र अनुग्रहको युगभन्दा पहिलेजस्तै मानवजाति र स्वर्गका परमेश्‍वरबीचको सम्बन्धमा फर्कनेथे। मानिसहरूले छुन वा महसुस गर्न नसक्‍ने आत्मिक शरीरले परमेश्‍वरसँगको तिनीहरूको घनिष्ठतालाई मेटाइदिनेथ्यो, र यसले प्रभु येशू ख्रीष्ट देहमा हुनुहुँदाको समयमा स्थापित उहाँ र मानिसहरूबीचको कुनै दूरी नभएको घनिष्ठ सम्बन्धलाई अस्तित्वविहीन बनाइदिनेथ्यो। आत्मिक शरीरद्वारा मानिसहरूमा उत्पन्‍न हुने कुराहरू त केवल डर, बेवास्ता र निःशब्द टोलाइ मात्र थिए। तिनीहरूले उहाँसित घनिष्ठ हुने वा उहाँसित कुराकानीमा तल्लीन हुने साहस पनि गर्न सक्दैनथे, उहाँलाई पछ्याउने, भरोसा गर्ने वा उहाँतर्फ दृष्टि लगाउने त परको कुरा हो। परमेश्‍वरले उहाँप्रति मानिसहरूसित यस प्रकारको भावना भएको देख्‍न चाहनुभएन। मानिसहरू उहाँबाट तर्किहिँडेको वा तिनीहरूले आफैलाई उहाँदेखि अलग गरेको उहाँले हेर्न चाहनुभएन; मानिसहरूले उहाँलाई बुझेको, र तिनीहरू उहाँको नजिक आएको र उहाँको परिवार बनेको मात्र उहाँ चाहनुहुन्थ्यो। यदि तेरो आफ्नै परिवारले, तेरा बालबच्‍चाले तँलाई देखे तर तँलाई चिनेनन् र तेरो नजिक आउने साहस गरेनन् बरु सधैँ तँबाट पन्छिन खोजे भने, यदि तैँले तिनीहरूका निम्ति गरेको सबै कुराको बारेमा तिनीहरूको बुझाइ प्राप्त गर्न सकिनस् भने, त्यसले तँलाई कस्तो महसुस गराउनेथ्यो? के त्यो पीडादायक हुनेथेन र? के तेरो हृदय तोडिनेथेन र? मानिसहरू उहाँबाट टाढा बस्दा परमेश्‍वरले ठीक यही अनुभूति गर्नुहुन्छ। त्यसैले, उहाँको पुनरुत्थानपछि, प्रभु येशू अझै पनि उहाँको देह र रगतको स्वरूपमा मानिसहरूकहाँ देखा पर्नुभयो, र फेरि पनि तिनीहरूसित खानपान गर्नुभयो। परमेश्‍वरले मानिसहरूलाई परिवारको रूपमा हेर्नुहुन्छ, र मानवजातिले पनि उहाँलाई तिनीहरूको सबैभन्दा प्रिय एकको रूपमा हेरेको परमेश्‍वर चाहनुहुन्छ; केवल यसरी मात्रै परमेश्‍वरले साँचो रीतिले मानिसहरूलाई प्राप्त गर्नुहुन्छ, र यसरी मात्रै मानिसहरूले परमेश्‍वरलाई साँचो रीतिले प्रेम र आराधना गर्न सक्छन्। अब, प्रभु येशूले आफ्‍नो पुनरुत्थानपछि रोटी खानुभएको र धर्मशास्‍त्र व्याख्या गर्नुभएको, र चेलाहरूले उहाँलाई पोलेको माछा खान दिएको वृत्तान्त सुनाउने धर्मशास्‍त्रका यी दुई खण्डहरूलाई उद्धृत गर्नुपछाडिको मेरो अभिप्रायलाई के तिमीहरू बुझ्‍न सक्छौ?

यो भन्‍न सकिन्छ कि आफ्नो पुनरुत्थानपछि प्रभु येशूले श्रृंखलाबद्ध रूपमा भन्‍नुभएका र गर्नुभएका कुराहरूको निम्ति गम्भीर विचार गरिएको थियो। यी कुराहरू परमेश्‍वरले मानवजातिप्रति गर्नुभएको दया र स्‍नेहले भरिएका थिए, अनि आफू देहमा हुँदाको समयमा उहाँले मानवजातिसँग स्थापित गर्नुभएको घनिष्ठ सम्‍बन्धप्रतिको उहाँको स्‍नेहपूर्ण कदर र सूक्ष्म वास्ताले पनि भरिएका थिए। यति मात्र होइन, यी कुराहरू देहमा हुँदा उहाँले आफ्‍ना अनुयायीहरूसँग खानपान गरेको र जिएको जीवनको याद र तिर्सनाले भरिएका थिए। त्यसैले, मानिसहरूले परमेश्‍वर र मानिसबीचमा दूरी अनुभव गरेको परमेश्‍वरले चाहनुभएन, न त मानवजातिले आफैलाई परमेश्‍वरदेखि दूरी बनाएको नै उहाँले चाहनुभयो। त्यसभन्दा पनि बढी, पहिले मानिसहरूसित अत्यन्तै घनिष्ठ रहनुभएका प्रभु येशू उहाँको पुनरुत्थानपछि त्यही प्रभु हुनुहुन्‍न, उहाँ अबउप्रान्त मानवजातिको साथमा हुनुहुन्‍न किनकि उहाँ आत्मिक संसारमा फर्किसक्‍नुभएको छ, पिताकहाँ फर्किसक्‍नुभएको छ जसलाई देख्‍न वा जोकहाँ पुग्‍न मानिसहरू कहिल्यै सक्दैनन् भन्‍ने अनुभूति मानवजातिले गरेको परमेश्‍वरले चाहनुभएन। उहाँ र मानवजातिबीचमा हैसियतको कुनै भिन्‍नता पैदा भएको अनुभूति मानिसहरूले गरेको उहाँले चाहनुभएन। जब परमेश्‍वरले उहाँलाई पछ्याउन चाहने तर उहाँलाई सम्‍मानजनक दूरीमा राख्‍ने मानिसहरूलाई देख्‍नुहुन्छ, तब उहाँको हृदय पीडामा हुन्छ किनकि त्यसको अर्थ तिनीहरूको हृदय उहाँबाट अत्यन्तै टाढा रहेको छ र उहाँलाई तिनीहरूको हृदय प्राप्त गर्न एकदमै कठिन हुनेछ। त्यसैले, यदि उहाँ मानिसहरूकहाँ तिनीहरूले देख्‍न वा छुन नसक्‍ने आत्मिक शरीरमा प्रकट हुनुभएको भए, यसले मानिसलाई फेरि एकपल्ट परमेश्‍वरबाट टाढा राख्थ्यो, र यसले मानवजातिलाई ख्रीष्ट उहाँको पुनरुत्थानपछि उच्‍च हुनुभएको छ, मानवजातिभन्दा भिन्‍न प्रकारको बन्‍नुभएको छ, र मानिससित अबउप्रान्त एउटै टेबलमा बसेर खान नसक्‍ने व्यक्ति बन्‍नुभएको छ, किनकि मानिसहरू पापी, फोहोरी हुन्छन् र परमेश्‍वरको नजिक कहिल्यै जान सक्दैनन् भनी गलत प्रकारले हेर्ने तुल्याउँथ्यो। बाइबलमा लेखिएअनुसार, मानवजातिका यी गलत बुझाइहरूलाई हटाउन, प्रभु येशूले देहमा हुँदा गर्नुभएकै केही कुराहरू गर्नुभयो: “उहाँले रोटी लिनुभयो र त्यसलाई आशिष्‌ दिनुभयो र त्यो भाँच्‍नुभयो र तिनीहरूलाई दिनुभयो।” उहाँले तिनीहरूलाई विगतमा जस्तै धर्मशास्‍त्र पनि व्याख्या गरिदिनुभयो। प्रभु येशूले गर्नुभएको यो सबै कुराले उहाँलाई देख्‍ने हरेक व्यक्तिलाई प्रभु येशू परिवर्तन हुनुभएको छैन, उहाँ त्यही प्रभु येशू नै हुनुहुन्छ भन्‍ने महसुस गरायो। उहाँलाई क्रूसमा टाँगिएको र उहाँले मृत्यु अनुभव गर्नुभएको भए तापनि, उहाँ पुनरुत्थान हुनुभएको थियो, र उहाँले मानवजातिलाई त्याग्‍नुभएको थिएन। उहाँ मानिसहरूको बीचमा रहनलाई फर्कनुभएको थियो, र उहाँको कुनै कुरा पनि परिवर्तन भएको थिएन। मानिसहरूको माझमा उभिरहनुभएका मानिसका पुत्र उही प्रभु येशू हुनुहुन्थ्यो। उहाँको चालढाल तथा मानिसहरूसित कुराकानी गर्ने उहाँको तौरतरिका अति चिरपरिचित लाग्थ्यो। उहाँ अझै दया, अनुग्रह र सहिष्णुताले अत्यन्तै भरिपूर्ण हुनुहुन्थ्यो—उहाँ अझै त्यही प्रभु येशू हुनुहुन्थ्यो जसले अरूलाई आफैलाई जस्तै प्रेम गर्नुहुन्थ्यो, जसले मानवजातिलाई सत्तरी गुणा सातपल्ट क्षमा गर्न सक्‍नुहुन्थ्यो। उहाँले पहिलेझैँ मानिसहरूसित खानपान गर्नुभयो, धर्मशास्‍त्रको छलफल गर्नुभयो, र त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा, पहिलेजस्तै उहाँ देह र रगतले बनेको हुनुहुन्थ्यो र उहाँलाई छुन र देख्‍न सकिन्थ्यो। उहाँ मानिसको पुत्र नै हुनुहुन्थ्यो, र उहाँले मानिसहरूलाई घनिष्ठता, चैन र हराइसकेको कुनै कुरा भेट्दाको आनन्द अनुभूति गराउनुभयो। ठूलो चैनको साथमा, तिनीहरूले बहादुरीपूर्वक र निर्धक्‍कसाथ यस मानिसको पुत्रमाथि भर पर्न र उहाँतर्फ दृष्टि लगाउन थाले जो मानवजातिलाई आफ्ना पापहरूबाट क्षमा गर्न सक्‍नुहुन्थ्यो। तिनीहरूले विनाहिचकिचाहट प्रभु येशूको नाउँमा प्रार्थना गर्न थाले, उहाँको अनुग्रह, उहाँको आशिष प्राप्त गर्न, र उहाँबाट शान्ति र आनन्द प्राप्त गर्न, उहाँबाट वास्ता र सुरक्षा प्राप्त गर्न प्रार्थना गर्न थाले, र तिनीहरूले प्रभु येशूको नाउँमा रोगीलाई निको पार्न र भूतहरू धपाउन थाले।

प्रभु येशूले देहमा काम गर्नुभएको त्यस समयमा, उहाँका धेरैजसो अनुयायीहरूले उहाँको पहिचान र उहाँले भन्‍नुभएका कुराहरूलाई पूर्ण रूपले प्रमाणित गर्न सकेनन्। जब उहाँ क्रूसको नजिक जाँदै हुनुहुन्थ्यो, तब उहाँका अनुयायीहरूको मनोवृत्ति मूकदर्शकको थियो। त्यसपछि, उहाँ क्रूसमा टाँगिनुभएको समयदेखि उहाँलाई चिहानमा राखिएको समयसम्म, उहाँप्रतिको मानिसहरूको मनोवृत्ति निराशाको थियो। त्यस समयावधिमा, मानिसहरू आफ्नो हृदयमा प्रभु येशूले उहाँ देहमा हुनुहुँदाको समयमा भन्‍नुभएका कुराहरूलाई शङ्का गर्ने अवस्थाबाट उहाँलाई पूर्ण रूपमा इन्कार गर्ने अवस्थातर्फ सरिसकेका थिए। त्यसपछि, जब उहाँ चिहानबाट बाहिर निस्कनुभयो र एकएक गरी मानिसहरूकहाँ प्रकट हुनुभयो, तब उहाँलाई आफ्नै आँखाले देख्‍ने र उहाँको पुनरुत्थानको समाचार सुन्‍ने बहुसंख्यक मानिसहरूले आफ्नो मनोवृत्तिलाई इन्कारको तहदेखि बिस्तारै सुधार गरी शंकाको तहमा ल्याइपुर्‍याए। प्रभु येशूले आफ्नो पुनरुत्थानपछि थोमालाई उहाँको कोखामा हात राख्‍न दिनुभएपछि, अनि उहाँले रोटी भाँचेर भीडको सामु खानुभएपछि, र तिनीहरूकै सामु पोलेको माछा खान अघि बढ्‍नुभएपछि मात्रै तिनीहरूले प्रभु येशू देहमा आउनुभएका ख्रीष्ट हुनुहुन्छ भन्‍ने तथ्यलाई साँचो रीतिले स्वीकार गरे। के भन्‍न सकिन्छ भने, ती मानिसहरूको अघि उभिरहेको देह र रगतको यो आत्मिक शरीरले ती हरेकलाई सपनाबाट ब्यूँझाइरहेजस्तै देखिन्थ्यो: तिनीहरूको सामु उभिरहनुभएको मानिसको पुत्र अनन्तकालदेखि नै अस्तित्वमा रहनुभएका परमेश्‍वर हुनुहुन्थ्यो। उहाँसित एउटा स्वरूप, अनि देह र हाड थियो, र उहाँ मानवजातिको साथमा धेरै लामो समयदेखि रहनुभएको र खानुभएको थियो…। यस बेला, मानिसहरूले उहाँको अस्तित्व अत्यन्तै वास्तविक, अत्यन्तै अचम्‍मको छ भन्‍ने महसुस गरे। त्यसको साथै, तिनीहरू अत्यन्तै आनन्दित र खुशी पनि थिए र भावनाले ओतप्रोत थिए। उहाँ देखा पर्नुभएको घटनाले मानिसहरूलाई साँचो रीतिले उहाँको नम्रता देख्‍न, मानवजातिसँगको उहाँको घनिष्ठता तथा लगाव अनुभव गर्न, र उहाँले तिनीहरूको निम्ति कति धेरै विचार गर्नुभएको रहेछ भन्‍ने कुरा महसुस गर्न दियो। यो छोटो पुनर्मिलनले प्रभु येशूलाई देख्‍ने मानिसहरूलाई एक जीवनकाल नै बितिसकेजस्तो महसुस गरायो। तिनीहरूको व्याकुल, अन्योल, भयभीत, चिन्तित, तृषित र स्तब्ध हृदयले सान्त्वना पायो। तिनीहरू अबउप्रान्त शङ्कालु वा हतोत्साहित थिएनन् किनकि तिनीहरूले अब आशा र भर पर्नको लागि केही छ भन्‍ने महसुस गरे। तिनीहरूको अघि उभिरहनुभएको मानिसको पुत्र तिनीहरूको निम्ति हरसमयका रक्षक बन्‍नेवाला हुनुहुन्थ्यो; उहाँ तिनीहरूको बलियो धरहरा, सारा अनन्तकालको निम्ति तिनीहरूको आश्रय बन्‍नेवाला हुनुहुन्थ्यो।

प्रभु येशू पुनरुत्थान हुनुभएको भए पनि, उहाँको हृदय र उहाँको कामले मानवजातिलाई छोडेको थिएन। मानिसहरूकहाँ देखा परेर, उहाँले तिनीहरूलाई उहाँ जस्तोसुकै स्वरूपमा अस्तित्वमा रहनुभए तापनि उहाँले मानिसहरूलाई साथ दिनुहुनेछ, तिनीहरूसित हिँड्नुहुनेछ र हरपल र हरठाउँ तिनीहरूसित रहनुहुनेछ भनेर बताउनुभयो। उहाँले मानवजातिलाई हरपल र हरठाउँ भरणपोषण र रखवाली गर्नुहुनेछ, उहाँलाई हेर्न र छुन दिनुहुनेछ, र तिनीहरूले कहिल्यै असहाय अनुभव नगर्ने सुनिश्‍चितता ल्याउनुहुनेछ भनी उहाँले तिनीहरूलाई भन्‍नुभयो। तिनीहरू संसारमा कहिल्यै एक्लै जिउनुपर्दैन भनी तिनीहरूले जानून् भन्‍ने पनि प्रभु येशूको चाहना थियो। मानवजातिप्रति परमेश्‍वरको वास्ता छ; परमेश्‍वर तिनीहरूको साथमा हुनुहुन्छ। तिनीहरूले परमेश्‍वरमा सधैँ आड लिन सक्छन्, र उहाँका हरेक अनुयायीका निम्ति उहाँ परिवार हुनुहुन्छ। परमेश्‍वरको आड पाएर, मानवजाति अबउप्रान्त एक्लो वा असहाय हुनेछैन, र उहाँलाई आफ्नो पापबलिको रूपमा स्वीकार गर्नेहरू अबउप्रान्त पापमा बाँधिएका हुनेछैनन्। मानव नजरमा, प्रभु येशूले उहाँको पुनरुत्थानपछि गर्नुभएको कामका यी अंशहरू अत्यन्तै साना कुराहरू थिए, तर मेरो नजरमा, उहाँले गर्नुभएको एकएक कुरा अति अर्थपूर्ण, अति मूल्यवान्, अति महत्त्वपूर्ण र अत्यधिक सार्थकताले भरिएका छन्।

प्रभु येशूले देहमा काम गर्नुभएको समय कठिनाइ तथा दुःखकष्टहरूले भरिएको भए तापनि, उहाँले देह र रगतको आत्मिक शरीरमा देखा परेर मानवजातिलाई छुटकारा दिलाउन त्यस समयको उहाँको देहको कामलाई पूर्ण र सिद्ध प्रकारले पूरा गर्नुभयो। उहाँले देह बनेर आफ्नो सेवकाइ सुरु गर्नुभयो, र आफ्नो दैहिक स्वरूपमा मानवजातिकहाँ देखा परेर आफ्नो सेवकाइ समाप्त पार्नुभयो। ख्रीष्टको रूपमा रहेको आफ्नो पहिचानमार्फत नयाँ युग सुरु गरेर उहाँले अनुग्रहको युगको शुभारम्भ गर्नुभयो। ख्रीष्टको पहिचानमार्फत नै उहाँले अनुग्रहको युगको काम गर्नुभयो र अनुग्रहको युगका आफ्ना सारा अनुयायीहरूलाई सामर्थ्य दिनुभयो र डोर्‍याउनुभयो। परमेश्‍वरको कामको विषयमा के भन्‍न सकिन्छ भने, उहाँले जे सुरु गर्नुहुन्छ, त्यसलाई साँच्‍चिकै सिध्याउनुहुन्छ। त्यसमा चरणहरू र योजना हुन्छन्, र त्यो काम उहाँको बुद्धि, उहाँको सर्वशक्तिमान्‌ता, उहाँका अचम्मका कार्यहरू, र उहाँको प्रेम र कृपाले भरिपूर्ण हुन्छन्। अवश्य नै, परमेश्‍वरको सबै काममा क्रियाशील कडी मानवजातिप्रतिको उहाँको वास्ता नै हो; यो उहाँको फिक्रीका भावनाहरूले यसरी भिजेको छ कि उहाँले त्यसलाई कहिल्यै पन्साउन सक्‍नुहुन्‍न। बाइबलका यी पदहरूमा, आफ्नो पुनरुत्थानपछि प्रभु येशूले गर्नुभएको एकएक कुरामा मानवजातिप्रतिको उहाँको सूक्ष्म वास्ता तथा स्‍नेह प्रकट भएझैँ मानवजातिको निम्ति परमेश्‍वरका अपरिवर्तनीय आशा र फिक्री पनि प्रकट गरिएका छन्। यीमध्ये कुनै पनि कुरा हालको दिनसम्म पनि परिवर्तन भएको छैन—के तिमीहरूले यो कुरा देख्‍न सक्छौ? जब तिमीहरू यसलाई देख्छौ, तब के तिमीहरूको हृदय अचेतन रूपले परमेश्‍वरको नजिक खिचिँदैन र? यदि तिमीहरू त्यस युगमा बाँचेका भए, र प्रभु येशू तिमीहरूले देख्‍न सक भनी आफ्नो पुनरुत्थानपछि मूर्त रूपमा प्रकट हुनुभएको भए, र यदि उहाँ तिमीहरूको अगाडि बसेर रोटी र माछा खानुभयो र तिमीहरूलाई धर्मशास्‍त्र व्याख्या गरिदिनुभयो, र तिमीहरूसित बोल्नुभयो भने, तिमीहरूले कस्तो अनुभूति गर्नेथ्यौ? के तिमीहरूलाई खुशी लाग्थ्यो? कि तिमीहरूलाई खेद लाग्थ्यो? परमेश्‍वरसम्‍बन्धी पहिलेका गलत बुझाइहरू तथा उहाँबाट टाढा हुने काम, परमेश्‍वर विरुद्धका द्वन्द्व तथा शङ्काहरू—के ती सबै त्यत्तिकै हराउनेथिएनन् र? के परमेश्‍वर र मानवजातिबीचको सम्बन्ध अझ सामान्य र अझ उचित हुनेथेन र?

बाइबलका यी सीमित अध्यायहरूलाई व्याख्या गरेर, के तिमीहरूले परमेश्‍वरको स्वभावमा केही खोटहरू भेट्टाउँछौ? के तिमीहरूले परमेश्‍वरको प्रेममा केही मिसावट भेट्टाउँछौ? के परमेश्‍वरको सर्वशक्ति वा बुद्धिमा तिमीहरूले कुनै छल वा खराबी देख्छौ? निश्‍चय नै देख्दैनौ! अब, के तिमीहरूले निश्‍चयताका साथ परमेश्‍वर पवित्र हुनुहुन्छ भनी भन्‍न सक्छौ? के तिमीहरूले निश्‍चयताको साथ परमेश्‍वरको हरेक भावना उहाँको सार तथा स्वभावको प्रकाश हो भनी भन्‍न सक्छौ? म आशा गर्छु कि यी वचनहरू पढिसकेपछि, त्यसबाट तिमीहरूले हासिल गर्ने बुझाइले तिमीहरूलाई स्वभाव बदल्‍ने तथा परमेश्‍वरको डर मान्‍नेसम्बन्धी तिमीहरूको खोजीमा सहयोग गर्नेछ र तिमीहरूलाई लाभ पुर्‍याउनेछ, र त्यसले तिमीहरूमा दिनप्रतिदिन वृद्धि हुने फल फलाउनेछ, ताकि यस खोजीको प्रक्रियामा तिमीहरूलाई परमेश्‍वरको झन्झन् नजिक ल्याइयोस्, परमेश्‍वरले अपेक्षा गर्नुभएको मापदण्डको झन्झन् निकट पुर्‍याइयोस्। तिमीहरू अबउप्रान्त सत्यताको खोजीमा दिक्‍क हुनेछैनौ र सत्यता एवं स्वभाव परिवर्तनको खोजी कष्टप्रद वा निरर्थक कुरा हो भनी अबउप्रान्त अनुभव गर्नेछैनौ। बरु, परमेश्‍वरको साँचो स्वभावको अभिव्यक्ति तथा परमेश्‍वरको पवित्र सारबाट उत्प्रेरित भएर, तिमीहरूले ज्योतिको तिर्सना गर्नेछौ, न्यायको तिर्सना गर्नेछौ, र सत्यताको खोजी गर्ने, परमेश्‍वरको इच्छा सन्तुष्ट पार्ने चाहना गर्नेछौ, अनि तिमीहरू परमेश्‍वरद्वारा प्राप्त गरिएको व्यक्ति अर्थात् एक वास्तविक व्यक्ति बन्‍नेछौ।

आज हामीले उहाँलाई पहिलोपटक देहधारी बनाइएको अनुग्रहको युगमा परमेश्‍वरले गर्नुभएका केही निश्‍चित कुराहरूको बारेमा कुरा गरेका छौँ। यी कुराहरूबाट, हामीले देहमा उहाँले व्यक्त गर्नुभएको तथा प्रकट गर्नुभएको स्वभावलाई, साथै उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसको हरेक पक्षलाई देखेका छौँ। उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ, त्यसका यी सबै पक्षहरू अत्यन्तै मानवीयकरण गरिएको प्रतीत हुन्छ, तर वास्तविकता के हो भने, उहाँले प्रकट गर्नुभएको र व्यक्त गर्नुभएको सबै कुराको सार उहाँको आफ्नै स्वभावबाट अभिन्‍न छ। देहधारी परमेश्‍वरले आफ्नो स्वभावलाई मानवतामा व्यक्त गर्नुभएको हरेक विधि तथा हरेक पक्ष उहाँको आफ्नै सारसित फुकाउनै नमिल्ने गरी जोडिएको छ। त्यसैले, परमेश्‍वर देहधारणको माध्यम प्रयोग गरेर मानवजातिकहाँ आउनुभएको कुरा अत्यन्तै महत्त्वपूर्ण छ। साथै, देहमा उहाँले गर्नुभएको काम पनि महत्त्वपूर्ण छ, तर देहमा जिइरहेका हरेक व्यक्तिका निम्ति, भ्रष्टतामा जिइरहेका हरेक व्यक्तिका निम्ति अझै महत्त्वपूर्ण कुरा भनेको उहाँले प्रकट गर्नुभएको स्वभाव तथा उहाँले व्यक्त गर्नुभएको इच्छा हो। के तिमीहरू यो कुरा बुझ्‍न सक्छौ? परमेश्‍वरको स्वभाव अनि उहाँसित जे छ र उहाँ जे हुनुहुन्छ सो बुझिसकेपछि, परमेश्‍वरलाई कसरी व्यवहार गर्नुपर्छ सो विषयमा के तिमीहरूले कुनै निष्कर्षहरू निकालेका छौ? अन्त्यमा, यस प्रश्‍नको प्रतिक्रियास्वरूप म तिमीहरूलाई तीनवटा सल्लाहहरू दिन चाहन्छु: पहिलो, परमेश्‍वरलाई जाँच नगर्। तैँले परमेश्‍वरलाई जति धेरै बुझे पनि, तैँले परमेश्‍वरको स्वभावबारे जति नै धेरै जाने पनि, उहाँलाई कदापि जाँच नगर्। दोस्रो, परमेश्‍वरसित हैसियतको निम्ति नलड्। परमेश्‍वरले तँलाई जस्तो प्रकारको हैसियत दिनुभए पनि वा तँलाई जस्तो प्रकारको काम सुम्पिनुभए पनि, तँलाई जस्तो प्रकारको कर्तव्य पूरा गर्न खडा गर्नुभए पनि, र परमेश्‍वरको निम्ति तैँले आफैलाई जति नै समर्पित र बलिदान गरेको भए पनि, हैसियतको निम्ति उहाँसित कदापि प्रतिस्पर्धा नगर्। तेस्रो, परमेश्‍वरसित प्रतिस्पर्धा नगर्। उहाँले तँसित जे गर्नुहुन्छ, तेरो निम्ति जे बन्दोबस्त गर्नुहुन्छ र जुन कुराहरू तँकहाँ ल्याउनुहुन्छ, चाहे ती कुराहरूलाई तैँले बुझे पनि, नबुझे पनि वा त्यसप्रति तैँले आफैलाई समर्पण गर्न सके पनि, नसके पनि, परमेश्‍वरसित कदापि प्रतिस्पर्धा नगर्। यदि यी तीन सल्लाहहरूलाई तैँले पालना गर्न सक्छस् भने, तँ लगभग सुरक्षित नै हुनेछस्, र उहाँलाई क्रोधित तुल्याउनेतर्फ तँ उन्मुख हुनेछैनस्। हामी आजको संगति यहीँ नै समाप्त गर्नेछौँ।

नोभेम्बर २३, २०१३

फूटनोट:

क. “पट्टी मन्त्र” एउटा मन्त्र हो जुन भिक्षु ताङ सन्जाङले ‘पश्‍चिमतर्फको यात्रा’ नामक चिनियाँ उपन्यासमा प्रयोग गरेका छन्। उनले सन वुकोङलाई नियन्त्रण गर्न यो मन्त्रको प्रयोग गर्छन्। यसको लागि उनले तिनको टाउकोवरिपरि एउटा धातुको पट्टी बाँधिदिन्छन्, तिनलाई त्यो पट्टीले गम्‍भीर रूपमा टाउको दुखाउँछ, अनि मन्त्र प्रयोग गरी तिनलाई नियन्त्रणमा ल्याउँछन्। यो कुनै व्यक्तिलाई बाँध्‍ने वस्तुको व्याख्या गर्ने एउटा उपमा बनेको छ।

अघिल्लो: परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

अर्को: परमेश्‍वर स्वयम् अद्वितीय १

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्