परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

आज हामी एउटा महत्त्वपूर्ण विषयको बारेमा सङ्‍गति गर्दैछौँ। परमेश्‍वरको कामको प्रारम्भदेखि नै यस विषयमा छलफल हुँदै आएको छ र यो हरेक व्यक्तिको निम्ति धेरै महत्त्वपूर्ण छ। अर्को शब्दमा, यो परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा हरेकले सामना गर्नुपर्ने विषय हो; यो सामना गर्नै पर्ने विषय हो। यो महत्त्वपूर्ण, अपरिहार्य विषय हो जसबाट मानवजाति टाढा जानै सक्दैन। महत्त्वको कुरा गर्दा, परमेश्‍वरमा विश्‍वास गर्ने हरेकको निम्ति सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? केही मानिसहरू परमेश्‍वरको इच्छा बुझ्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने सोच्छन्; कतिले परमेश्‍वरका वचनहरू अझ बढी खानु र पिउनु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने विश्‍वास गर्छन्; कतिले आफैलाई चिन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने ठान्छन्; अरूले परमेश्‍वरद्वारा प्रदान गरिने मुक्ति कसरी प्राप्त गर्ने, परमेश्‍वरलाई कसरी पछ्याउने र परमेश्‍वरको इच्छा कसरी पूरा गर्ने भन्‍ने कुरा जान्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भन्‍ने धारणा राख्छन्। आज हामी यी सबै विषयहरूलाई पन्छ्याउनेछौँ। त्यसो भए आज हामी के कुराको बारेमा छलफल गर्दैछौँ त? आजको विषय परमेश्‍वर भन्‍ने विषय हो। के यो सबै मानिसहरूको निम्ति सबैभन्दा महत्त्वपूर्ण विषय हो? यस विषयमा के कुरा समावेश हुन्छ? अवश्य नै, यसलाई परमेश्‍वरको स्वभाव, परमेश्‍वरको सार र परमेश्‍वरको कामबाट अलग गर्न सकिँदैन। यसैले आज “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्” को बारेमा छलफल गरौँ।

मानिसले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको समयदेखि नै, परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् जस्ता विषयहरूका बारेमा तिनीहरूले सामना गरेका छन्। परमेश्‍वरको कामको बारेमा कुरा गर्दा, कतिपय मानिसहरूले यसो भन्‍नेछन्: “परमेश्‍वरको काम हामीमा गरिन्छ; हामीले दैनिक रूपमा यसको अनुभव गर्छौं, त्यसैले हामी यससँग अपरिचित छैनौँ।” परमेश्‍वरको स्वभावको बारेमा कुरा गर्दा, कतिले यसो भन्‍नेछन्: “परमेश्‍वरको स्वभाव हाम्रो सम्पूर्ण जीवनभर हामीले अध्ययन, अन्वेषण र ध्यान दिने विषय हो, यसैले यससँग हामी परिचित हुनैपर्छ।” परमेश्‍वर स्वयम्‌को बारेमा कुरा गर्दा, कतिले भन्‍नेछन्: “हामीले पछ्याउने, हामीले विश्‍वास गर्ने र हामीले खोजी गर्ने परमेश्‍वर स्वयम्‌लाई नै हो; अनि हामी उहाँको बारेमा अनभिज्ञ पनि छैनौँ।” परमेश्‍वरले सृष्टिदेखि आफ्नो काम कहिल्यै रोक्‍नुभएको छैन; आफ्नो कामको दौरान उहाँले आफ्नो स्वभावलाई व्यक्त गर्ने कार्य जारी राख्नुभएको छ र आफ्नो वचनलाई व्यक्त गर्ने विभिन्‍न माध्यमहरू प्रयोग गर्नुभएको छ। त्यही समयमा, उहाँले आफैलाई र आफ्नो सारलाई मानवजातिकहाँ व्यक्त गर्ने कार्य, मानिसप्रतिको उहाँको इच्छा र मानिसबाट उहाँले चाहेको कुरालाई व्यक्त गर्ने कार्यलाई उहाँले कहिले पनि रोक्‍नुभएको छैन। यसैले, शाब्दिक रूपमा भन्‍नुपर्दा, यी विषयहरूमा कोही पनि अपरिचित छैन। तैपनि, आज परमेश्‍वरलाई पछ्याउने मानिसहरूको लागि भने, परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् सबै वास्तवमा धेरै बिराना कुराहरू हुन्। किन यस्तो भयो? मानिसले परमेश्‍वरको कामको अनुभव गर्दा, तिनीहरू परमेश्‍वरको सम्पर्कमा पनि आउँछन्, यसले तिनीहरूलाई तिनीहरूले परमेश्‍वरको स्वभाव बुझेका छन् वा यो कस्तो हुन्छ भन्‍ने कुराको केही बुझाइ प्राप्त गरेका छन् भन्‍ने महसुस गराउँछ। यसै गरी, मानिसले परमेश्‍वरको काम वा परमेश्‍वरको स्वभावसँग आफू अपरिचित छु भन्‍ने सोच्दैन। बरु, मानिसले आफू परमेश्‍वरसँग एकदमै परिचित भएको र परमेश्‍वरको बारेमा आफूलाई धेरै थाहा भएको ठान्छ। तर वर्तमान परिस्थितिमा, अरू कुरा बाहेक, परमेश्‍वर बारेको यो बुझाइ, तिनीहरूले पुस्तकहरूमा पढेको कुरामा, व्यक्तिगत अनुभवमा, कल्पनामा सीमित छ, र तीभन्दा बढी त, तिनीहरूका आफ्नै आँखाले देखेका तथ्यहरूमा सीमित छ—ती सबै साँचो परमेश्‍वर स्वयम्‌देखि टाढा छन्। र यो “टाढा” कति टाढा छ? सायद मानिस आफैलाई निश्‍चित रूपमा थाहा छैन, वा सायद मानिसलाई थोरै अनुभूति, आभास छ—तर जब परमेश्‍वर स्वयम्‌को कुरा आउँछ, उहाँको बारेमा मानिसको बुझाइ साँचो परमेश्‍वर स्वयम्‌को सारबाट धेरै टाढा छ। यसैले, “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्” जस्तो विषयको निम्ति हामी व्यवस्थित र ठोस तवरले सङ्गतिमा रहनु अपरिहार्य छ।

वास्तवमा, परमेश्‍वरको स्वभाव सबैका निम्ति खुला छ र लुकेको छैन, किनकि परमेश्‍वरले कुनै व्यक्तिलाई कहिले पनि जानी-जानी बेवास्ता गर्नुभएको छैन र मानिसहरूले उहाँलाई नचिनून् वा नबुझून् भनेर जानी-जानी कहिले पनि आफूलाई लुकाउनुभएको छैन। जहिले पनि खुला रहनु र खुला रूपले हरेक व्यक्तिको सामना गर्नु परमेश्‍वरको स्वभाव हो। परमेश्‍वरको व्यवस्थापनमा, हरेकको सामना गरेर परमेश्‍वरले आफ्‍नो काम गर्नुहुन्छ र हरेक व्यक्तिमा उहाँको काम गरिन्छ। उहाँले यो काम गर्ने क्रममा, हरेक व्यक्तिलाई दिशानिर्देशित गर्न र भरणपोषण गराउनको निम्ति उहाँले आफ्नो स्वभावलाई निरन्तर रूपमा प्रकट गरिरहनुभएको छ र उहाँको सार, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ, ती कुरा को प्रयोग निरन्तर रूपमा गरिरहनुभएको छ। हरेक युग र हरेक चरणमा, परिस्थितिहरू असल र खराब जस्ता भए पनि, परमेश्‍वरको स्वभाव हरेकको निम्ति सधैँ खुला रहन्छ र जसरी उहाँको जीवनले नित्य र अटुट रूपमा मानवजातिको निम्ति भरणपोषण र सहयोग गरिरहेको छ, त्यसरी नै उहाँसँग जे छ त्यो र उहाँको अस्तित्व हरेकको लागि सधैँ खुला छन्। यी सबैको बाबजुद, कतिको निम्ति परमेश्‍वरको स्वभाव गुप्त नै रहन्छ। किन? किनकि यी मानिसहरू परमेश्‍वरको कामभित्र नै जिउने र परमेश्‍वरलाई पछ्याउने भए पनि, तिनीहरूले कहिले पनि परमेश्‍वरलाई बुझ्‍न खोजेका छैनन् न त उहाँलाई चिन्‍न नै चाहेका छन्, तिनीहरू परमेश्‍वरको नजिक जाने त कुरै नगरौँ। ती मानिसहरूको निम्ति, परमेश्‍वरको स्वभाव जान्‍नु तिनीहरूको अन्त्य नजिक छ भन्‍ने कुराको सङ्‍केत हो; यसको अर्थ परमेश्‍वरको स्वभावद्वारा तिनीहरूलाई न्याय गरिन र दोषी ठहर्‍याइन लागेको छ भन्‍ने हुन्छ। यसर्थ, तिनीहरूले कहिले पनि परमेश्‍वर वा उहाँको स्वभावलाई बुझ्‍ने इच्छा गरेका छैनन्, न त परमेश्‍वरको इच्छाको गहिरो समझ वा ज्ञानको लालच नै गरेका छन्। तिनीहरूले सचेत सहकार्यको माध्यमबाट परमेश्‍वरको इच्छालाई बुझ्‍न खोज्दैनन्—तिनीहरूले जहिले पनि आनन्द मात्रै मनाउँछन् र तिनीहरूले गर्न चाहेको कुरा गर्नबाट कहिले पनि थाक्दैनन्; तिनीहरूले विश्‍वास गर्न चाहेको परमेश्‍वरमा विश्‍वास गर्छन्; तिनीहरूका कल्पनाहरूमा मात्र अस्तित्वमा रहनुभएका परमेश्‍वरमा, तिनीहरूका धारणामा मात्र अस्तित्वमा रहनुभएको परमेश्‍वरलाई विश्‍वास गर्छन्; र तिनीहरूको दैनिक जीवनमा तिनीहरूबाट अलग नहुनुभएका परमेश्‍वरमा विश्‍वास गर्छन्। तर जब साँचो परमेश्‍वर स्वयम्‌को कुरा आउँछ तिनीहरू त्यसलाई पूर्ण रूपमा महत्त्वहीन ठान्छन् र उहाँलाई बुझ्‍ने वा उहाँलाई ध्यान दिने कुनै पनि चाहना तिनीहरूमा हुँदैन, उहाँको नजिकमा जाने इच्छाको त कुरै नगरौँ। तिनीहरूले परमेश्‍वरले व्यक्त गर्नुभएका वचनहरूलाई आफ्नो सजावटको निम्ति, आफैलाई सुन्दर देखाउनको लागि मात्र प्रयोग गर्छन्। तिनीहरूको विचारमा, यसले तिनीहरूलाई पहिले नै सफल विश्‍वासीहरू र आफ्ना हृदयमा परमेश्‍वरप्रति विश्‍वास गर्ने मानिसहरू बनाउँछ। तिनीहरूका हृदयमा तिनीहरूका कल्पना, तिनीहरूका धारणा र परमेश्‍वर सम्बन्धी आफ्नै व्यक्तिगत परिभाषाहरूद्वारा तिनीहरू निर्देशित छन्। अर्कोतिर, साँचो परमेश्‍वर स्वयम्‌प्रति चाहिँ तिनीहरूको कुनै सरोकार हुँदैन। किनकि, साँचो परमेश्‍वर स्वयम्‌लाई तिनीहरूले बुझ्‍ने, परमेश्‍वरको साँचो स्वभावलाई बुझ्‍ने र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो कुरा बुझ्ने भएका भए, यसको अर्थ यही हुन्थ्यो कि तिनीहरूका कामहरू, तिनीहरूको विश्‍वास र तिनीहरूका खोजहरू दोषी ठहरिनेथिए। यसैले तिनीहरू परमेश्‍वरको सार बुझ्‍न अनिच्छुक छन् र परमेश्‍वरलाई सक्रिय रूपमा खोज्‍न वा अझ राम्ररी परमेश्‍वरलाई बुझ्‍नको निम्ति प्रार्थना गर्न, परमेश्‍वरको इच्छा अझ राम्ररी जान्‍न र परमेश्‍वरको स्वभाव अझ राम्ररी बुझ्‍न तिनीहरू अनिच्छुक छन्। बरु तिनीहरू बनाइएको, खोक्रो र अस्पष्ट परमेश्‍वर चाहन्छन्। बरु परमेश्‍वर तिनीहरूले कल्पना गरे जस्तो भएको, तिनीहरूले चाहेको बेलामा जे पनि गरिदिन सक्‍ने, अटुट रूपमा पूर्ति गर्न सक्‍ने र सधैँ उपलब्ध हुने जन भएको चाहन्छन्। तिनीहरूले परमेश्‍वरको अनुग्रहको आनन्द लिन चाहँदा, परमेश्‍वर त्यो अनुग्रह बनेको तिनीहरू चाहन्छन्। तिनीहरूलाई परमेश्‍वरको आशिष्‌को आवश्यकता पर्दा परमेश्‍वर त्यो आशिष्‌ बनेको तिनीहरू चाहन्छन्। प्रतिकूल परिस्थितिको सामना गर्नुपर्दा, तिनीहरूको ढाल बनेर तिनीहरूलाई निर्भीक बनाउनुभएको होस् भनेर परमेश्‍वरसँग माग्छन्। यी मानिसहरूको परमेश्‍वर बारेको ज्ञान अनुग्रह र आशिष्‌को परिधिभित्र अड्केको हुन्छ। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् बारेको तिनीहरूको बुझाइ तिनीहरूकै कल्पनाहरू, शब्दहरू र सिद्धान्तहरूमा मात्र सीमित हुन्छ। तर परमेश्‍वरको स्वभाव जान्‍न उत्सुक, परमेश्‍वर स्वयम्‌लाई साँच्चिकै देख्‍न चाहने, र साँचो रूपमा परमेश्‍वरको स्वभाव र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई बुझ्‍न खोज्‍ने मानिसहरू पनि छन्। यी मानिसहरू सत्यताको वास्तविकता र परमेश्‍वरबाट प्राप्त मुक्तिको खोजीमा छन् र परमेश्‍वरद्वारा प्राप्त विजय, मुक्ति र सिद्धताको खोजी गर्छन्। तिनीहरू परमेश्‍वरको वचन पढ्नलाई आफ्ना हृदयको प्रयोग गर्छन्, परमेश्‍वरले तिनीहरूको निम्ति प्रबन्ध गर्नुभएको हरेक परिस्थिति र हरेक व्यक्ति, घटना र कुराको कदर गर्नको निम्ति आफ्ना हृदयको प्रयोग गर्छन् र तिनीहरू इमानदारीसाथ प्रार्थना गर्छन् र खोज्छन्। तिनीहरूले सबैभन्दा धेरै जान्‍न चाहने कुरा भनेको परमेश्‍वरको इच्छा नै हो, र तिनीहरूले सबैभन्दा धेरै बुझ्‍न चाहने कुरा भनेको परमेश्‍वरको साँचो स्वभाव र सार हो, ताकि तिनीहरूले परमेश्‍वरलाई अपमानित नगरून् र आफ्ना अनुभवहरूद्वारा अधिक रूपमा परमेश्‍वरको सुन्दरता र उहाँको साँचो पक्ष देख्‍न सकून्। यस्तो पनि हो कि तिनीहरूको हृदयमा साँचो रूपमा वास्तविक परमेश्‍वर रहनुहुनेछ, र परमेश्‍वर तिनीहरूको हृदयहरूमा बास गर्नुहुनेछ, यसरी तिनीहरू कल्पना, धारणाहरू वा अस्पष्टतामा जिउनेछैनन्। यी मानिसहरूमा परमेश्‍वरको स्वभाव र सार जान्‍ने उत्कट इच्छा हुनुको कारण यही हो कि मानवजातिको अनुभवको दौरानमा तिनीहरूलाई हरेक पल परमेश्‍वरको स्वभाव र सारको जरुरत पर्छ; कुनै व्यक्तिको जीवनभर जीवनको पूर्ति गर्ने काम उहाँको स्वभाव र सारले नै गर्छ। तिनीहरूले परमेश्‍वरको स्वभाव बुझेपछि, तिनीहरू परमेश्‍वरको अझ डर मान्‍न सक्षम हुन्छन्, परमेश्‍वरको काममा अझ सहकार्य गर्छन्, र परमेश्‍वरको इच्छाप्रति अझ ध्यान दिने हुन्छन् र तिनीहरूको क्षमताले भ्याएसम्म आफ्नो कर्तव्य निर्वाह गर्छन्। दुई किसिमका मानिसहरूले परमेश्‍वरको स्वभावप्रति राख्‍ने मनोवृत्तिहरू यस्ता हुन्छन्। पहिलो प्रकारले परमेश्‍वरको स्वभाव बुझ्‍न चाहँदैनन्। तिनीहरूले परमेश्‍वरको स्वभाव जान्‍न चाहन्छन्, परमेश्‍वर स्वयम्‌लाई अर्थात् परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यस कुरालाई जान्‍न चाहन्छन् र साँचो रूपमा परमेश्‍वरको इच्छाको कदर गर्छौं भने पनि, भित्री रूपमा तिनीहरूले परमेश्‍वरको अस्तित्व नहोस् भन्‍ने चाहन्छन्। किनभने यस्ता किसिमका मानिसहरू निरन्तर परमेश्‍वरको अवज्ञा र विरोध गर्छन्; तिनीहरूका आफ्नै हृदयमा ओहोदाको निम्ति परमेश्‍वरसँग लडाइँ गर्छन् र परमेश्‍वरको अस्तित्वमा प्रायः शङ्‍का गर्छन् वा इन्कार गर्छन्। परमेश्‍वरको स्वभाव वा साँचो परमेश्‍वर स्वयम्‌ले तिनीहरूको हृदयमा बास गरेको तिनीहरू चाहँदैनन्। तिनीहरूका केवल आफ्नै इच्छा, कल्पना र महत्वाकांक्षा मात्र पूरा गर्न चाहन्छन्। यसैले, यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न सक्छन्, परमेश्‍वरलाई पछ्याउन सक्छन् र उहाँको निम्ति आफ्ना परिवार र जागिरहरू पनि छोड्न सक्छन्, तर तिनीहरूले आफ्ना दुष्ट मार्गहरूलाई छोड्दैनन्। कतिले भेटी चोर्छन् वा फजुल खर्च गर्छन्, वा गुप्तमा परमेश्‍वरलाई सराप्छन् भने, अरूले आफ्नै गवाही दिन, आफ्नै बढाइचढाइ गर्न तथा मानिसहरू र हैसियतको निम्ति परमेश्‍वरसँग प्रतिस्पर्धा गर्नको निम्ति बारम्बार आफ्ना पदहरूलाई प्रयोग गर्न सक्छन्। तिनीहरूलाई मानिसहरूले पुजून् भनेर अनेक विधि र उपायहरूको प्रयोग गर्छन्, मानिसहरूलाई जित्‍न र तिनीहरूलाई नियन्त्रणमा लिन निरन्तर प्रयास गर्छन्। कतिले तिनीहरूलाई परमेश्‍वर ठानेर परमेश्‍वरलाई झैँ व्यवहार गरिनुपर्छ भनेर जानी-जानी मानिसहरूलाई बहकाउँछन् पनि। तिनीहरूले आफू भ्रष्ट छन्—तिनीहरू ज्यादै भ्रष्ट र अहङ्कारी छन्, तिनीहरूलाई पुज्‍नु हुँदैन र तिनीहरूले जति नै असल गरे तापनि त्यो सबै परमेश्‍वरले तिनीहरूलाई उच्च पार्नुभएकोले हो र तिनीहरूले त आफूले गर्नुपर्ने कुरा मात्र गरेका हुन् भनेर कहिले पनि कसैलाई बताउँदैनन्। तिनीहरूले यी कुराहरू किन भन्दैनन्? किनकि मानिसहरूको हृदयबाट आफ्नो स्थान गुम्छ कि भन्‍ने गहिरो डर तिनीहरूमा हुन्छ। यसैले यस्ता मानिसहरूले कहिले पनि परमेश्‍वरलाई उच्च पार्दैनन् र परमेश्‍वरको गवाही कहिले पनि बन्दैनन्, किनकि तिनीहरूले परमेश्‍वरलाई बुझ्‍ने प्रयास कहिले पनि गरेका हुँदैनन्। के तिनीहरूले परमेश्‍वरलाई नबुझीकन उहाँलाई चिन्‍न सक्छन्? असम्भव! यसैले, “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्” विषयका शब्दहरू सामान्य हुन सक्छन्, तिनको अर्थ हरेक व्यक्तिका निम्ति फरक हुन्छ। बारम्बार परमेश्‍वरको अवज्ञा गर्ने, परमेश्‍वरको विरोध गर्ने, र परमेश्‍वरप्रति शत्रुतापूर्ण व्यवहार गर्ने व्यक्तिको निम्ति भने, ती वचनहरूले दण्डको सङ्‍केत गर्छन्; जबकि सत्यता वास्तविकताको खोजी गर्ने र परमेश्‍वरको इच्छा खोज्‍न अक्सर परमेश्‍वरको सामु आउने व्यक्तिले माछाले पानीलाई जसरी लिन्छ त्यसरी नै यस्ता वचनहरूलाई लिन्छ। तर तिमीहरूका बीचमा यस्ता पनि छन्, जसलाई परमेश्‍वरको स्वभाव र परमेश्‍वरको कामको बारेमा सुन्दा टाउको दुख्‍न सुरु हुन्छ, तिनीहरूको हृदय विरोधले पूर्ण हुन्छ, र तिनीहरूले अत्यन्तै असहज महसुस गर्छन्। तर तिमीहरूका बीचमा यो आफूलाई ठ्याक्‍कै चाहिने विषय हो भनेर सोच्‍ने अन्य व्यक्तिहरू पनि छन् किनकि यो तिनीहरूको लागि धेरै फाइदाजनक छ। यो तिनीहरूको जीवन अनुभवदेखि छुटाउन नमिल्ने कुरा हो; यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो, परमेश्‍वरमा गरिने विश्‍वासको जग, र मानवजातिले त्याग्‍न नसक्ने कुरा हो। तिमीहरू सबैको निम्ति यो विषय नजिक पनि टाढा पनि, अपरिचित पनि परिचित पनि दुवै लाग्‍न सक्छ। तर जे भए पनि यो सबैले सुन्‍नै पर्ने, जान्‍नै पर्ने र बुझ्‍नै पर्ने विषय हो। तैँले यसलाई जसरी लिए पनि, जसरी हेरे पनि वा जसरी बुझे पनि, यस विषयको महत्त्वलाई उपेक्षा गर्न सकिन्‍न।

परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभएदेखि नै आफ्नो काम गर्दै आउनुभएको छ। सुरुमा यो एकदमै सरल काम थियो, तर सरलताको बाबजुद, यसमा परमेश्‍वरको सार र स्वभावको अभिव्यक्ति सामेल थियो। अहिले परमेश्‍वरको कामको उत्थान भएको, र उहाँलाई पछ्याउने हरेक व्यक्तिमा यो काम असाधारण र ठोस बनेको भए पनि, उहाँको वचनको महान् अभिव्यक्तिसँगै, परमेश्‍वरको व्यक्तित्व मानवजातिबाट लुकेको छ। उहाँ दुई पटक देहधारी हुनुभयो, तापनि बाइबलीय वृत्तान्तहरूदेखि लिएर आधुनिक समयसम्म कसले परमेश्‍वरको वास्तविक व्यक्तित्वलाई देखेको छ? तिमीहरूको समझको आधारमा, के कसैले परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेको छ? छैन। कसैले पनि परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेको छैन, अर्थात् कसैले पनि परमेश्‍वरको साँचो व्यक्तित्व देखेको छैन। यस कुरामा सबै सहमत छन्। यसको अर्थ यही हो कि परमेश्‍वरको वास्तविक व्यक्तित्व, वा परमेश्‍वरका आत्मा उहाँले सृष्टि गर्नुभएका आदम र हव्वा तथा उहाँले स्वीकार गर्नुभएका धर्मी अय्यूब लगायत सारा मानवजातिदेखि लुकेको छ। तिनीहरूमध्ये कसैले पनि परमेश्‍वरको वास्तविक व्यक्तित्व देखेनन्। तर परमेश्‍वरले आफ्नो वास्तविक व्यक्तित्वलाई किन जानाजान लुकाउनुहुन्छ? कतिपय मानिसहरू भन्छन्: “मानिसहरू तर्सिन्छन् कि भनेर परमेश्‍वर डराउनुहुन्छ।” अरू भन्छन्: “मानिस अति नै सानो र परमेश्‍वर अति नै महान् हुनुभएको कारण परमेश्‍वरले आफ्नो वास्तविक व्यक्तित्व लुकाउनुहुन्छ; मानवले उहाँलाई हेर्न सक्दैनन्, नत्रता तिनीहरू मर्नेछन्।” यसो भन्‍नेहरू पनि छन्: “परमेश्‍वर हरेक दिन आफ्नो कामको व्यवस्थापनमा व्यस्त हुनुहुन्छ, र अरूले देख्‍ने गरी देखा पर्ने उहाँसँग समय नहुन सक्छ।” तिमीहरूले जे विश्‍वास गरे तापनि, मेरो निष्कर्ष यहाँ छ। त्यो निष्कर्ष के हो? त्यो यही हो कि मानिसहरूले उहाँको वास्तविक व्यक्तित्व देखेको परमेश्‍वर चाहनुहुन्‍न। मानवताबाट लुकेर रहने कार्य नै परमेश्‍वरले जानाजान गर्ने कार्य हो। अर्को शब्दमा, उहाँको वास्तविक व्यक्तित्व मानिसहरूले नदेखून् भन्‍ने परमेश्‍वरको अभिप्राय छ। यो कुरा तिमीहरूलाई अहिलेसम्ममा स्पष्ट हुनुपर्ने हो। यदि परमेश्‍वरले आफ्नो व्यक्तित्व कसैलाई कहिल्यै पनि प्रकट गर्नुभएको छैन भने, के परमेश्‍वरको व्यक्तित्व अस्तित्वमा छ भन्‍ने तिमीहरू सोच्छौ? (उहाँ अस्तित्वमा हुनुहुन्छ।) अवश्य उहाँ हुनुहुन्छ। परमेश्‍वरको व्यक्तित्व अस्तित्वमा छ भन्‍नेमा कुनै शङ्का छैन। तर परमेश्‍वरको व्यक्तित्व कति महान् छ वा उहाँ कस्तो देखिनुहुन्छ भन्‍ने सन्दर्भमा, के मानवजातिले यी प्रश्‍नहरूको छानबिन गर्नुपर्छ? पर्दैन। यसको जवाफ नकारात्मक छ। यदि परमेश्‍वरको व्यक्तित्व हाम्रो खोजको विषय होइन भने, के चाहिँ हो त? (परमेश्‍वरको स्वभाव।) (परमेश्‍वरको काम।) तथापि औपचारिक विषयको बारेमा सङ्‍गति गर्नुभन्दा पहिले, केही समय अगाडि हामीले छलफल गरिरहेको कुरामा फर्कौं: परमेश्‍वरले आफ्नो व्यक्तित्व मानवजातिकहाँ किन कहिले पनि प्रकट गर्नुभएको छैन? परमेश्‍वरले किन उहाँको व्यक्तित्व जानाजान मानवजातिदेखि लुकाउनुहुन्छ? यसको एउटै कारण छ र त्यो यो हो: परमेश्‍वरले सृष्टि गर्नुभएको मानिसले हजारौँ वर्षको उहाँको कामको अनुभव गरेको भए तापनि, परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वरको सार बुझ्‍ने एक जना पनि छैन। परमेश्‍वरको नजरमा, त्यस्ता मानिसहरू उहाँको विरुद्धमा हुन्छन् र उहाँको विरुद्ध लाग्‍ने मानिसहरूको अघि उहाँले आफैलाई देखाउनुहुन्‍न। परमेश्‍वरले उहाँको व्यक्तित्व मानवजातिकहाँ प्रकट नगर्नुको र उहाँले आफ्नो व्यक्तित्व जानाजान मानवजातिबाट लुकाउनुको एउटै कारण यही हो। के अब परमेश्‍वरको स्वभाव जान्‍नुको महत्त्व तिमीहरूलाई स्पष्ट भयो?

परमेश्‍वरको व्यवस्थापनको अस्तित्वदेखि नै, उहाँ सधैँ आफ्नो काम सम्पन्न गर्नको निम्ति पूर्ण रूपमा समर्पित हुँदै आउनुभएको छ। उहाँको व्यक्तित्व मानिसदेखि लुके तापनि, मानिसमा उहाँको काम गर्दै, उहाँको स्वभाव व्यक्त गर्दै, सारा मानवजातिलाई आफ्नो सारले मार्गनिर्देशित गर्दै र हरेक व्यक्तिमा उहाँको शक्ति, उहाँको बुद्धि र उहाँको अधिकारद्वारा आफ्नो काम गर्दै उहाँ सधैँ मानिसको साथमा रहँदै आउनुभएको छ, यसरी उहाँले व्यवस्थाको युग, अनुग्रहको युग र आजको राज्यको युगलाई अस्तित्वमा ल्याउनुभयो। परमेश्‍वरले उहाँको व्यक्तित्व मानिसबाट लुकाउनुभए पनि, उहाँको स्वभाव, उहाँको अस्तित्व र सम्पत्तिहरू र मानवजातिप्रति उहाँको इच्छा मानिसले देखून् र अनुभव गरून् भनेर खुला रूपमा मानिसको सामु प्रकट गरिएका छन्। अर्को शब्दमा, मानवजातिले परमेश्‍वरलाई देख्‍न र छुन नसके तापनि, मानवजातिले देख्‍ने परमेश्‍वरको स्वभाव र सार पूर्णतया परमेश्‍वर स्वयम्‌को अभिव्यक्तिहरू हुन्। के त्यो सत्य होइन? परमेश्‍वरले आफ्‍नो कामको निम्ति जुनसुकै मार्ग वा तरिकाको प्रयोग गरे तापनि, उहाँले सधैँ आफ्नो साँचो पहिचानद्वारा मानिसहरूसँग व्यवहार गर्नुहुन्छ, उहाँले अनिवार्य रूपमा गर्नुपर्ने काम गर्नुहुन्छ र उहाँले भन्‍नै पर्ने वचनहरू भन्‍नुहुन्छ। परमेश्‍वरले जुनसुकै ओहोदाबाट बोल्नुभए तापनि—उहाँ तेस्रो स्वर्गमा खडा भइरहनुभएको हुन सक्छ, वा शरीरमा खडा भइरहनुभएको हुन सक्छ, वा सामान्य व्यक्तिको रूपमा—उहाँ सधैँ आफ्नो सारा हृदय र सारा मनले मानिससँग बोल्‍नुहुन्छ, कुनै कपट वा गोप्यताविना। उहाँले आफ्नो काम सम्पन्न गर्नुहुँदा परमेश्‍वरले कुनै पनि किसिमको आरक्षणविना, आफ्नो वचन र आफ्नो स्वभाव व्यक्त गर्नुहुन्छ र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई व्यक्त गर्नुहुन्छ। उहाँले आफ्नो जीवन, उहाँको सारतत्व र उहाँसँग भएका कुराहरूद्वारा मानवजातिलाई मार्गनिर्देशित गर्नुहुन्छ। व्यवस्थाको युगमा अर्थात् मानवजातिको शिशु युगमा “अदृष्य र अस्पृश्य” परमेश्‍वरको मार्गनिर्देशनमा मानिसले यसरी नै जियो।

परमेश्‍वर व्यवस्थाको युगपछि पहिलो पटक देह बन्नुभयो—जुन देहधारण साढे तेत्तीस वर्षसम्म रह्यो। मानवजातिको निम्ति, के साढे तेत्तीस वर्ष लामो समय हो? (यो लामो समय होइन।) मानवजातिको आयु तीस वर्षभन्दा धेरै लामो हुने भएकोले, मानिसको लागि यो धेरै लामो समय होइन। तर देहधारी परमेश्‍वरको निम्ति, साढे तेत्तीस वर्ष साँच्चै लामो थियो। उहाँ एक व्यक्ति बन्‍नुभयो—परमेश्‍वरको काम र कार्यभारको जिम्मा लिने एक साधारण व्यक्ति बन्‍नुभयो। यसको अर्थ यो हुन्छ कि उहाँले एक साधारण व्यक्तिले सम्हाल्न नसक्‍ने काम सम्हाल्नुपर्ने थियो, यसको साथै साधारण मानिसहरूले सहन नसक्‍ने कष्ट पनि सहनुपर्ने थियो। उहाँको कामको सुरुदेखि क्रूसमा टाँगिनुभएको समयसम्म, अनुग्रहको युगमा प्रभु येशू ख्रीष्टले भोग्‍नुभएको कष्ट आजका मानिसहरूले व्यक्तिगत रूपमा देख्‍न सक्‍ने कुरा नहुन सक्छ, तर के तिमीहरूले बाइबलका कथाहरू पढेर कम्तीमा पनि यसको बारेमा अन्दाज लगाउन सक्दैनौ? यी अभिलिखित तथ्यहरूमा जतिसुकै विवरणहरू भए पनि समग्रमा यस समयमा परमेश्‍वरको काम पूर्ण रूपमा कठिन र कष्टकर थियो। भ्रष्ट मानवको लागि, साढे तेत्तीस वर्षको अवधि लामो समय होइन; थोरै कष्ट सहनु सानो कुरा हो। तर पवित्र, निष्कलङ्‍क परमेश्‍वर, जसले सारा मानवजातिको पापहरू बोक्‍नुपरेको थियो र पापीहरूसँग खानु, सुत्‍नु र बस्‍नुपरेको थियो, उहाँको लागि यो पीडा अविश्‍वसनीय रूपले ठूलो थियो। उहाँ सृष्टिकर्ता हुनुहुन्छ, सारा कुराहरूका सार्वभौम र हरेक कुराका शासक हुनुहुन्छ, तथापि जब उहाँ संसारमा आउनुभयो, उहाँले भ्रष्ट मानवको थिचोमिचो र क्रूरता सहनुपर्‍यो। उहाँको काम पूरा गर्न र मानवजातिलाई दुःखको सागरबाट उद्धार गर्न, उहाँ मानिसबाट निन्दित हुनुभयो र उहाँले सारा मानवजातिका पापहरू बोक्‍नुपर्‍यो। उहाँले भोग्‍नुभएको कष्टको मात्रा साधारण मानिसहरूले सम्भवतः बुझ्न सक्दैनन् र यसलाई सराहना गर्न सक्दैनन्। यो कष्टले केको प्रतिनिधित्व गर्छ? यसले मानवजातिप्रति भएको परमेश्‍वरको समर्पणताको प्रतिनिधित्व गर्छ। मानिसका पापहरूको छुटकाराको निम्ति र यस चरणको आफ्नो काम सम्पन्‍न गर्नको निम्ति उहाँले भोग्‍नुभएको अपमान र मानिसको मुक्तिको लागि उहाँले तिर्नुभएको मूल्यको प्रतिनिधित्व यसले गर्छ। यसको यो पनि अर्थ हुन्छ कि परमेश्‍वरले मानिसलाई क्रूसद्वारा छुटकारा दिनुहुनेथियो। यो रगतमा, जीवनमा तिरिएको मूल्य हो र यो मूल्य सृष्टि गरिएका कुनै पनि प्राणीले तिर्न सक्दैनन्। किनकि उहाँमा परमेश्‍वरको सार छ र परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै उहाँमा छ, उहाँले यस्ता किसिमका कष्टहरू सहन र यस्ता किसिमका कामहरू गर्न सक्‍नुहुन्छ। उहाँद्वारा सृष्टि गरिएका कुनै पनि प्राणीले उहाँको साटोमा यो कुरा गर्न सक्दैनथियो। यो अनुग्रहको युगमा परमेश्‍वरले गर्नुभएको कार्य र उहाँको स्वभावको प्रकाश हो। के यसले परमेश्‍वरसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई केही मात्रामा प्रकट गर्छ? के यो मानवजातिले थाहा पाउन लायकको छ? त्यस युगमा, मानिसले परमेश्‍वरको व्यक्तित्व नदेखे तापनि, तिनीहरूले परमेश्‍वरको पाप बलि प्राप्त गरे र तिनीहरूलाई परमेश्‍वरले क्रूसद्वारा छुटकारा दिनुभयो। परमेश्‍वरले अनुग्रहको युगमा गर्नुभएको कामप्रति मानवजाति अपरिचित नहुन सक्छ, तर के यस अवधिमा परमेश्‍वरले व्यक्त गर्नुभएको स्वभाव र इच्छासँग कोही परिचित छ? मानिसले परमेश्‍वरले फरक-फरक युगहरूमा र विभिन्‍न माध्यमहरूद्वारा गर्नुभएका कामको विवरणको बारेमा वा परमेश्‍वरले आफ्नो काम सम्पन्न गरिरहनुभएको समयमा घटित परमेश्‍वरसँग सम्बन्धित कथाको बारेमा विरलै मात्र जान्दछ। यी विवरण र कथाहरू परमेश्‍वर सम्‍बन्धी केही जानकारी वा किंवदन्तीहरूभन्दा बढी होइनन् र परमेश्‍वरका स्वभाव र सारसँग तिनीहरूको केही सम्बन्ध छैन। यसैले मानिसहरूले परमेश्‍वरको बारेमा जति धेरै कथाहरू जाने तापनि, यसको अर्थ तिनीहरूसँग परमेश्‍वरको स्वभाव र उहाँको सारको बारेमा गहिरो बुझाइ र ज्ञान छ भन्‍ने हुँदैन। व्यवस्थाको युगमा जस्तै, अनुग्रहको युगका मानिसहरूले देहमा हुनुभएको परमेश्‍वरसँग तत्कालीन र घनिष्ठ भेट अनुभव गरेका भए तापनि, परमेश्‍वरको स्वभाव र परमेश्‍वरको सार बारेको तिनीहरूको ज्ञान वास्तवमा अस्तित्वमा थिएन।

राज्यको युगमा, पहिले जसरी नै, परमेश्‍वर फेरि एक पटक देह बन्‍नुभएको छ। कामको यस अवधिमा, परमेश्‍वरले अझै पनि खुलेरै उहाँका वचन व्यक्त गर्दै हुनुहुन्छ, उहाँले गर्नुपर्ने काम गर्दै हुनुहुन्छ र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो व्यक्त गर्दै हुनुहुन्छ। यसको साथै, उहाँले मानिसको अनाज्ञाकारिता र अज्ञानतालाई झेल्‍ने र सहने काम निरन्तर गरिरहनुहुन्छ। के परमेश्‍वरले यस कामको अवधिमा पनि आफ्नो स्वभावलाई प्रकट गर्ने र उहाँको इच्छालाई व्यक्त गर्ने कार्यलाई निरन्तरता दिनुहुन्‍न र? यसैले, मानिसको सृष्टिको सुरुदेखि अहिलेसम्म, परमेश्‍वरको स्वभाव, उहाँको अस्तित्व र सम्पत्तिहरू र उहाँको इच्छा हरेक मानिसको निम्ति सधैँ खुला रहिआएको छ। परमेश्‍वरले कहिले पनि जानाजान उहाँको सार, उहाँको स्वभाव वा उहाँको इच्छालाई लुकाउनुभएको छैन। मानवजातिले परमेश्‍वरले के गर्दै हुनुहुन्छ, उहाँको इच्छा के हो भन्‍ने कुराको वास्ता नराखेको मात्र हो—यसैले मानिससँग परमेश्‍वरको बारेमा यस्तो अपर्याप्त बुझाइ छ। अर्को शब्दमा, परमेश्‍वरले आफ्नो व्यक्तित्वलाई लुकाउँदै गर्दा हरेक पटक उहाँको इच्छा, स्वभाव र सारलाई हरबखत खुला रूपमा प्रस्तुत गर्दै उहाँ मानवजातिको सामु खडा भइरहनुभएको हुन्छ। एक अर्थमा, परमेश्‍वरको व्यक्तित्व मानिसहरूको निम्ति पनि खुला छ, तर मानिसको अन्धोपन र अनाज्ञाकारिताको कारण, तिनीहरूले परमेश्‍वरको देखापराइलाई कहिले पनि देख्‍न सक्दैनन्। यसैले, यदि त्यसो हो भने, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌लाई बुझ्‍ने कार्य सबैको निम्ति सजिलो हुनुपर्ने होइन र? यो एउटा कठिन प्रश्‍न हो, होइन र? तिमीहरू भन्छौ यो सजिलो छ, तर जब कतिपय मानिसहरूले परमेश्‍वरलाई चिन्‍न खोज्छन्, वास्तवमा तिनीहरूले उहाँलाई चिन्‍न वा उहाँको बारेमा स्पष्ट रूपले बुझ्‍न सक्दैनन्—यो सधैँ धमिलो र अस्पष्ट हुन्छ। तर यो सजिलो छैन भनी तिमीहरू भन्छौ भने, त्यो पनि सही होइन। यति लामो समयसम्म परमेश्‍वरको कामको पात्र भएको कारण, आफ्ना अनुभवहरूद्वारा सबैले परमेश्‍वरसँग साँचो अनुभव गरेको हुनुपर्ने हो। तिनीहरूले आफ्ना हृदयमा केही हदसम्म परमेश्‍वरको अनुभूति गरेका वा परमेश्‍वरको आत्मिक छुवाइको महसुस गरेका हुनुपर्ने हो, र तिनीहरूले कम्तीमा पनि परमेश्‍वरको स्वभावको बारेमा केही अवधारणात्मक जागरूकता प्राप्त गरेका वा उहाँको बारेमा केही बुझेका हुनुपर्ने हो। मानिसले परमेश्‍वरलाई पछ्याउन थालेको समयदेखि अहिलेसम्म, मानवजातिले धेरै कुरा प्राप्त गरेको छ, तर मानिसको कमजोर योग्यता, अज्ञानता, विद्रोह र विविध अभिप्रायहरूजस्ता कारणहरूले गर्दा मानवजातिले तीमध्ये धेरै कुरा गुमाएको पनि छ। के परमेश्‍वरले मानवजातिलाई पहिले नै प्रशस्त कुरा दिनुभएको छैन र? परमेश्‍वरले मानवजातिबाट आफ्नो व्यक्तित्व लुकाउनुभए तापनि, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ ती सबै र उहाँको जीवन मानवको निम्ति उपलब्ध गराउनुहुन्छ; मानवजातिमा परमेश्‍वर बारेको ज्ञान अहिले भएको जस्तो मात्र हुनु नपर्ने हो। यसैले परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌को विषयमा तिमीहरूसँग थप सङ्‍गति गर्नुपर्ने जरुरत छ भन्‍ने मलाई लाग्छ। परमेश्‍वरले मानिसमा लगानी गर्नुभएको हजारौँ वर्षको वास्ता र ख्याल खेर नजाओस् र मानवजातिले तिनीहरूप्रतिको परमेश्‍वरको इच्छालाई साँचो रूपमा बुझ्‍न र सराहना गर्न सकोस् भन्‍ने यसको उद्देश्य हो। ताकि मानिसहरू परमेश्‍वर बारेको तिनीहरूको बुझाइमा अर्को चरणमा प्रवेश गर्न सकून् भन्‍ने हो। यसले परमेश्‍वरलाई मानिसहरूको हृदयहरूमा उहाँको वास्तविक स्थानमा फर्काउने पनि छ; अर्थात् यसले परमेश्‍वरले पाउनुपर्ने कुरा प्रदान गर्नेछ।

परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌को बारेमा बुझ्‍नको निम्ति, तैँले सानो सुरुवात गर्नुपर्छ। तर कहाँबाट सानो सुरुवात गर्ने? सुरुवात गर्नको निम्ति, मैले बाइबलबाट केही अध्यायहरू छानेको छु। तल दिइएको जानकारीमा बाइबलका पदहरू समावेश गरिएका छन्, ती सबै परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् बारेको विषयसँग सम्बन्धित छन्। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्को बारेमा बुझ्‍नको निम्ति तिमीहरूलाई सहायता गर्नको निम्ति मैले विशेषगरी सन्दर्भ सामग्रीको रूपमा यी उद्धृत खण्डहरू भेटाएको छु। यिनीहरूमा सहभागी भएर, परमेश्‍वरले आफ्ना विगतका कामद्वारा कस्तो किसिमको परमेश्‍वरको स्वभाव प्रकट गर्नुभएको छ र उहाँको सारका कुन पक्षहरू मानिसका लागि अज्ञात छन् भन्‍ने कुरा देख्‍न सक्ने छौँ। यी अध्यायहरू पुराना हुन सक्छन्, तर हामीले सङ्‍गति गर्दै गरेको विषयचाहिँ मानिसहरूसँग नभएका र तिनीहरूले कहिल्यै नसुनेका केही नयाँ कुरा हो। तिमीहरूमध्ये केहीलाई यो कुरा अबोधगम्य लाग्‍न सक्छ—आदम र हव्वाको कुरा ल्याउनु र पछाडि फर्केर नोआको कुरा गर्नु त्यही कदमहरूलाई पुनः पछ्याउनु होइन र? तिमीहरूले जे सोचे तापनि, यस विषयमा सङ्‍गति गर्नको निम्ति यी अध्यायहरू धेरै नै लाभदायक छन् र आजको सङ्‍गतिको निम्ति तिनले शिक्षण मूलपाठ वा प्रत्यक्ष सामाग्रीहरूको काम गर्न सक्छन्। मैले यो सङ्‍गति सकुञ्‍जेलसम्ममा यी अध्यायहरू छान्‍नु पछाडिको मेरो अभिप्रायहरू तिमीहरूले बुझ्‍ने छौ। पहिले बाइबल पढेकाहरूले यी केही पदहरू पढेका हुन सक्छन्, तर ती पदलाई साँचो रूपमा नबुझेका हुन सक्छन्। पहिले, छोटकरीमा तिनीहरूको समीक्षा गरौँ, त्यसपछि हाम्रो सङ्‍गतिको दौरानमा हरेकलाई विस्तृतमा हेरौँ।

आदम र हव्वा मानवजातिका पुर्खा हुन्। हामीले बाइबलका पात्रहरूलाई उल्लेख गर्नुपर्‍यो भने, ती दुईबाट सुरु गर्नुपर्छ। अर्कोचाहिँ नोआ हो, मानवजातिको दोस्रो पुर्खा। तेस्रो पात्र को हो? (अब्राहाम।) के तिमीहरू सबैलाई अब्राहामको कथा थाहा छ? तिमीहरूमध्ये केहीलाई थाहा हुन सक्छ, तर अन्यलाई स्पष्ट थाहा नहुन सक्छ। चौथो पात्र को हो? सदोमको विनाशको कथामा कसको बारेमा उल्लेख छ? (लोत।) तर लोतलाई यहाँ उद्धृत गरिएको छैन। यसले कसलाई जनाउँछ? (अब्राहामलाई।) अब्राहामको कथामा उल्लेख गरिएको मुख्य कुराचाहिँ यहोवा परमेश्‍वरले भन्‍नुभएको कुरा हो। के तिमीहरू यसलाई देख्छौ? पाँचौँ पात्र को हो? (अय्यूब।) परमेश्‍वरले उहाँको अहिलेको कामको चरणमा अय्यूबको कथालाई धेरै उल्लेख गर्नुभएको छैन र? त्यसो भए के तिमीहरू यस कथालाई धेरै वास्ता गर्छौ? यदि तिमीहरू धेरै वास्ता गर्छौ भने, के तिमीहरूले बाइबलमा अय्यूबको कथालाई ध्यान दिएर पढेका छौ? अय्यूबले भनेका र गरेका कुराहरू के तिमीहरूलाई थाहा छ? तिमीहरू जसले यसलाई सबैभन्दा धेरै पढेका छौ, तिमीहरूले कति पटक पढेका छौ? के यसलाई अक्सर पढ्छौ? हङकङका दिदीबहिनीहरू हामीलाई भन। (हामी अनुग्रहको समयमा हुँदा मैले केही पटक पढेकी थिएँ।) त्यसपछि तिमीहरूले फेरि पढेका छैनौ? त्यो रोदनकारी छ। म तिमीहरूलाई भन्छु: परमेश्‍वरको कामको यस चरणमा उहाँले अय्यूबलाई धेरै पटक उल्लेख गर्नुभएको छ, जुनचाहिँ उहाँका अभिप्रायहरूको प्रतिबिम्ब हो। उहाँले अय्यूबलाई धेरै पटक उल्लेख गर्नुभयो तर यसले तिमीहरूको ध्यान खिचेन भन्‍ने कुरा यस कुराको प्रमाण हो कि तिमीहरूमा असल मानिसहरू र परमेश्‍वरको भय मान्‍ने तथा दुष्टबाट अलग रहने मानिसहरू बन्‍ने इच्छा छैन। किनकि परमेश्‍वरले उद्धृत गर्नुभएको अय्यूबको कथाको अपूर्ण धारणामा नै तिमीहरू सन्तुष्ट छौ। तिमीहरू केवल कथा बुझ्‍ने कुरामा नै सन्तुष्ट छौ, तर अय्यूब को हो र परमेश्‍वरले अय्यूबको बारेमा धेरै घटनाहरूमा उल्लेख गर्नुभएको कुरा पछाडिको उद्देश्यलाई वास्ता राख्दैनौ र विस्तृतमा बुझ्‍न खोज्दैनौ। यदि परमेश्‍वरले प्रशंसा गरेको त्यस्तो व्यक्तिको बारेमा तिमीहरूलाई चासो छैन भने, तिमीहरूले केमा ध्यान दिइरहेका छौ? परमेश्‍वरले उल्लेख गर्नुभएको यस्तो महत्त्वपूर्ण व्यक्तिको बारेमा तिमीहरूले वास्ता राख्दैनौ वा त्यसको बारेमा बुझ्ने कोसिस गर्दैनौ भने, परमेश्‍वरको वचनप्रतिको तिमीहरूको मनोवृत्तिको बारेमा त्यसले के भन्छ? के त्यो खेदजनक कुरा होइन? तिमीहरूमध्ये धेरै जना व्यवहारिक कुराहरूमा संलग्‍न हुँदैनौ वा सत्यताको खोजी गर्दैनौ भन्‍ने कुरालाई यसले प्रमाणित गर्दैन र? यदि तैँले सत्यताको खोजी गरिस् भने परमेश्‍वरले स्वीकार गर्नुभएका मानिसहरूमा र परमेश्‍वरले भन्‍नुभएका पात्रहरूका कथाहरूमा तैँले आवश्यक ध्यान दिने छस्। तँ तिनीहरूको मापदण्ड अनुसार जिउन सके पनि वा तँलाई तिनीहरूका कथाहरू हृदय-स्पर्शी लागे पनि, तँ छिटो गएर तिनीहरूको बारेमा पढ्नेछस्, तिनीहरूलाई बुझ्‍ने प्रयास गर्नेछस्, तिनीहरूको उदाहरण पछ्याउने तरिकाहरू खोज्‍नेछस् र तेरो क्षमताले भ्याएसम्म गर्नेछस्। सत्यताको चाहना राख्‍नेले यसरी नै काम गर्नुपर्छ। तर तथ्य यही हो कि यहाँ बसेका तिमीहरूमध्ये धेरैले अय्यूबको कथा कहिले पनि पढेका छैनौ—र यसले धेरै कुरा बताउँछ।

मैले भर्खरै छलफल गर्दै गरेको विषयमा फर्कौं। पुरानो करारको व्यवस्थाको युगसँग सम्बन्धित धर्मशास्त्रको यस खण्डमा, बाइबल पढ्ने धेरैजसो मानिसहरूलाई थाहा भएका उच्च प्रतिनिधिमूलक पात्रहरू बारेका निश्‍चित कथाहरूमा ध्यान दिने निर्णय मैले गरेको छु। यी पात्रहरू बारेका कथाहरू पढ्ने जो कोहीले तिनीहरूमाथि परमेश्‍वरले गर्नुभएको काम र तिनीहरूसँग परमेश्‍वरले बोल्‍नुभएका वचनहरू आजका मानिसहरूका निम्ति पनि मूर्त र सुलभ छन् भन्‍ने कुराको महसुस गर्न सक्नेछन्। जब तैँले बाइबलमा सङ्ग्रहित यी कथाहरू पढ्छस्, इतिहासका ती समयहरूमा परमेश्‍वरले आफ्नो काम कसरी गर्नुभयो र मानिसहरूसँग कस्तो व्यवहार गर्नुभयो भन्‍ने कुरा तैँले अझ राम्ररी बुझ्छस्। तर तैँले ती कथाहरू स्वयम् वा तिनमा भएका पात्रहरूमा ध्यान दे भनेर मैले यी अध्यायहरूको बारेमा आज छलफल गरेको होइन। बरु, यी पात्रहरूका कथाहरूमार्फत तैँले परमेश्‍वरका कामहरू र उहाँको स्वभावलाई देख्‍न सक् भनेर मैले यसो गरेको हुँ। यसले तँलाई परमेश्‍वरलाई सजिलै जान्‍न र बुझ्‍न, उहाँको वास्तविक पक्ष हेर्न सक्षम तुल्याउनेछ; यसले उहाँ बारेको तेरा अनुमान र धारणाहरूलाई हटाउनेछ र अस्पष्टताले ढाकेको विश्‍वासको बाटो मोड्न तँलाई मदत गर्ने छ। तँसँग बलियो जग नभएसम्म, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌लाई बुझ्‍ने कोसिसले निःसहाय, शक्तिहीन र कहाँबाट सुरु गर्ने कुरा थाहा नभएको अनिश्‍चिततातर्फ डोर्याउन सक्छ। यसले मलाई एउटा विधि र तरिकाको विकास गर्न प्रेरित गर्‍यो जसले परमेश्‍वरलाई अझ राम्ररी बुझ्‍न, परमेश्‍वरको इच्छालाई साँचो तरिकाले सराहना गर्न, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌लाई बुझ्‍नको निम्ति तेरो मदत गर्छ, र तँलाई परमेश्‍वरको अस्तित्व वास्तविक रूपमा अनुभव गर्न र मानवजातिप्रति उहाँको इच्छालाई सराहना गर्न दिन्छ। के यी सबै तिमीहरूकै फाइदाका लागि हुने छैनन् र? तिमीहरूले अहिले यी कथा र धर्मशास्त्रका खण्डहरू पुनः पढ्दा तिमीहरूका हृदयहरूमा के महसुस गर्छौ? के मैले छानेका धर्मशास्त्रका खण्डहरू अनावश्यक हुन् जस्तो तिमीहरूलाई लाग्छ? मैले भर्खरै तिमीहरूलाई भनेका कुराहरूलाई मैले पुनः जोड दिनुपर्छ: परमेश्‍वरले मानिसहरूमा आफ्नो काम कसरी गर्नुहुन्छ भन्‍ने कुरा देख्‍न र मानवजातिप्रति उहाँको मनोवृत्ति अझ राम्ररी बुझ्‍नको निम्ति तिमीहरूलाई मदत गर्नु नै तिमीहरूलाई यी पात्रहरूका कथाहरू पढ्‍न लगाउनुको उद्देश्य हो। तिमीहरूलाई यो समझ प्राप्त गर्नका निम्ति केले मदत गर्ने छ? विगतमा परमेश्‍वरले गर्नुभएको कामलाई बुझ्‍ने र त्यसलाई परमेश्‍वरले अहिले गरिरहनुभएको कामसँग जोड्‍ने कार्यले उहाँका असङ्ख्य पक्षहरू बुझ्‍न तिमीहरूलाई मदत गर्छ। यी असङ्ख्य पक्षहरू वास्तविक छन् र परमेश्‍वरलाई जान्‍न चाहने सबैले यी कुराहरू जान्‍नु र बुझ्‍नुपर्छ।

धर्मशास्त्रलाई उद्धृत गर्दै आदम र हव्वाको कथा सुरु गरौँ।

अ. आदम र हव्वा

१. आदमलाई परमेश्‍वरको आज्ञा

उत्पत्ति २:१५-१७  अनि यहोवा परमेश्‍वरले मानिसलाई लिनुभयो र अदनको बगैँचामा त्यसको हेरचाह गर्न र काटछाँट गर्न राख्‍नुभयो। अनि यहोवा परमेश्‍वरले मानिसलाई आज्ञा गर्दै भन्‍नुभयो, तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।

यी पदहरूबाट तिमीहरूले के बुझ्यौ? धर्मशास्त्रको यस खण्डले तिमीहरूलाई कस्तो महसुस गराउँछ? मैले किन आदमलाई परमेश्‍वरले दिनुभएको आज्ञाको बारेमा कुरा गर्ने निर्णय गरेँ? के अहिले तिमीहरू हरेकको मनमा परमेश्‍वर र आदमको बिम्ब छ? तिमीहरूले कल्पना गर्ने कोसिस गर्न सक्छौ: यदि त्यस दृष्यमा तिमीहरू भएको भए, तिमीहरूलाई भित्रबाट परमेश्‍वर कस्तो हुनुहुन्थ्यो होला जस्तो लाग्छ? यस बारेको सोचाइले तिमीहरूलाई कस्तो महसुस गराउँछ? यो हृदयस्पर्शी र हृदयलाई आनन्दित गराउने तस्वीर हो। यसभित्र परमेश्‍वर र मानिस मात्र भएता पनि, उहाँहरू बीचको घनिष्ठताले तिमीहरूमा श्रद्धाको भाव भर्दछ: परमेश्‍वरको भरिपूर्ण प्रेम मानिसलाई सित्तैँमा दिइएको छ र यसले मानिसलाई घेर्छ; मानिस निर्दोष र शुद्ध छ अनि भारमुक्त र निर्धक्क रूपमा परमेश्‍वरको नजरमुनि आनन्दपूर्वक जिइरहेको छ; परमेश्‍वरले मानिस परमेश्‍वरको सुरक्षा र आशिष्‌मा बस्दा मानिसप्रति चासो देखाउनुहुन्छ; मानिसले गर्ने र भन्‍ने हरेक कुरा परमेश्‍वरसँग छुटाउनै नमिल्‍ने गरी जोडिएका छन् र तिनलाई परमेश्‍वरबाट अलग गर्न सकिन्‍न।

यसलाई परमेश्‍वरले मानिसको सृष्टिपछि उसलाई दिनुभएको पहिलो आज्ञा भन्‍न सकिन्छ। यस आज्ञाले के व्यक्त गर्दछ? यसले परमेश्‍वरको इच्छाको बारेमा व्यक्त गर्दछ, यसले मानवजातिप्रति उहाँका चिन्ताहरूको बारेमा पनि व्यक्त गर्दछ। यो परमेश्‍वरको पहिलो आज्ञा हो र यो परमेश्‍वरले मानिसको निम्ति चिन्ता व्यक्त गर्नुभएको पहिलो पटक पनि हो। यसको अर्थ, परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभएको बेलादेखि नै ऊप्रति आफ्नो जिम्मेवारी महसुस गर्नुभयो। उहाँको जिम्मेवारी के हो? उहाँले मानिसको सुरक्षा गर्नुपर्छ, मानिसको हेरचाह गर्नुपर्छ। मानिसले उहाँका वचनहरूमा भरोसा गर्न र तिनको आज्ञा पालन गर्न सक्छ भन्‍ने कुराको आशा उहाँ गर्नुहुन्छ। यो परमेश्‍वरले मानिसबाट आशा गर्नुभएको पहिलो कुरा पनि हो। यही आशामा परमेश्‍वर निम्न कुरा भन्‍नुहुन्छ: “तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।” यी सरल वचनहरूले परमेश्‍वरको इच्छाको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरले उहाँको हृदयमा मानिसप्रति चासो देखाउन थाल्‍नुभएको कुरालाई पनि यिनीहरूले प्रकट गर्छन्। सबै कुराहरूमध्ये, आदम मात्र परमेश्‍वरको प्रतिरूपमा बनाइएको थियो; परमेश्‍वरले जीवनको सास फुकिदिनुभएको जीवित प्राणी आदम मात्र थियो; ऊ परमेश्‍वरसँग हिँड्न र कुराकानी गर्न सक्थ्यो। यसैले परमेश्‍वरले उसलाई यो आज्ञा दिनुभयो। परमेश्‍वरले आफ्नो आज्ञामा मानिसले के गर्न सक्‍छ र के गर्न सक्दैन भन्‍ने कुराहरू एकदमै सरल तरिकाले बताउनुभयो।

यी केही सरल वचनहरूमा, हामीले परमेश्‍वरको हृदय देख्छौँ। तर कस्तो किसिमको हृदयले आफैँलाई देखाउँछ? के परमेश्‍वरको हृदयमा प्रेम छ? के त्यहाँ चासो छ? यी पदहरूमा, परमेश्‍वरको प्रेम र चासोलाई सराहना गर्न मात्र होइन तर घनिष्ठ रूपले महसुस पनि गर्न सकिन्छ। के तिमीहरू सहमत हुँदैनौ? मैले यसो भनेको सुनेर पनि, के तिमीहरू यिनीहरू सामान्य वचनहरू मात्र हुन् भन्‍ने सोच्छौ? जे भए पनि ती त्यति सामान्य पनि छैनन्, होइन र? के तिमीहरूलाई पहिले यसको बारेमा अवगत थियो? परमेश्‍वरले व्यक्तिगत रूपमा तँलाई यी वचनहरू भन्‍नुभयो भने, तैँले भित्री रूपमा कस्तो महसुस गर्ने थिइस्? यदि तँ मानव नभएको भए, यदि तेरो हृदय कठोर भएको भए, तैँले केही महसुस गर्न सक्‍ने थिइनस्, तैँले परमेश्‍वरको प्रेमलाई सराहना गर्न सक्‍ने थिइनस् र तैँले परमेश्‍वरको हृदय बुझ्‍ने कोसिस गर्ने थिइनस्। तर मानवीय चेत र विवेक भएको व्यक्ति भएको कारण तैँले फरक महसुस गर्ने थिइस्। तैँले न्यानोपन महसुस गर्ने थिइस्, तैँले वास्ता गरिएको र प्रेम गरिएको महसुस गर्ने थिइस् र तैँले सुख महसुस गर्ने थिइस्। के यो सही होइन? जब तैँले यी कुराहरूको अनुभव गर्छस्, तैँले परमेश्‍वरप्रति कस्तो व्यवहार गर्ने छस्? के तैँले परमेश्‍वरमा जोडिएको महसुस गर्ने छस्? के तैँले हृदयको गहिराइबाट परमेश्‍वरलाई प्रेम र सम्मान गर्ने छस्? के तेरो हृदय परमेश्‍वरको नजिक जाने छ? यसबाट तैँले मानिसको निम्ति परमेश्‍वरको प्रेम कति महत्त्वपूर्ण छ भ‍न्‍ने देख्‍न सक्छस्। तर मानिसले परमेश्‍वरको प्रेमको सराहना गर्नु र त्यसलाई बुझ्‍नु अझ जरुरी छ? वास्तवमा, परमेश्‍वरले आफ्नो कामको चरणमा उस्तै धेरै कुराहरू भन्‍नुहुन्‍न र? के आज परमेश्‍वरको हृदयको सराहना गर्ने मानिसहरू छन्? के तिमीहरूले मैले भर्खरै भनेका परमेश्‍वरका इच्छाको सराहना गर्न सक्छौ? वास्तवमा यो यति ठोस, मूर्त र वास्तविक हुँदा पनि तिमीहरूले परमेश्‍वरको इच्छाको सराहना गर्न सक्दैनौ। त्यसैले तिमीहरूमा परमेश्‍वरको वास्तविक ज्ञान र समझ छैन भनेर म भन्छु। के यो साँचो होइन? तर अहिलेलाई यति मै छाडौँ।

२. परमेश्‍वरले हव्वालाई सृष्टि गर्नुहुन्छ

उत्पत्ति २:१८-२०  अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो, मानिस एकलो रहन राम्रो होइन; म त्यसको निम्ति सहयोगी बनाउनेछु। अनि यहोवा परमेश्‍वरले जमिनबाट भूमिका हरेक जनावर र आकाशका हरेक पन्‍छी बनाउनुभयो; र त्यसले तिनलाई के नामले बोलाउँदो रहेछ भन्‍ने हेर्नलाई उहाँले तिनीहरूलाई आदमकहाँ ल्याउनुभयो: र आदमले हरेक जीवित प्राणीलाई जे नामले बोलायो, त्यसपछि त्यसको नाम त्यही रह्‍यो। अनि आदमले सबै चौपाया र आकाशका पन्‍छीहरू र भूमिका हरेक जनावरको नाम राखे; तर आदमको निम्ति सहयोगी भेटिएन।

उत्पत्ति २:२२-२३  अनि यहोवा परमेश्‍वरले पुरुषबाट जुन करङ लिनुभएको थियो त्यसबाट स्‍त्री बनाउनुभयो, र तिनलाई पुरुषकहाँ ल्याउनुभयो। अनि आदमले भने, यो त मेरै हड्डीहरूको हड्डी र मासुको मासु हो: तिनलाई स्‍त्री भनिनेछ किनभने तिनलाई पुरुषबाट लिइएको थियो।

धर्मशास्त्रको यस खण्डमा एउटा महत्त्वपूर्ण पङ्‍क्ति छ: “आदमले हरेक जीवित प्राणीलाई जे नामले बोलायो, त्यसपछि त्यसको नाम त्यही रह्‍यो।” यसैले, सबै जीवित प्राणीहरूको नाम कसले राख्यो? आदमले, परमेश्‍वरले होइन। यस पङ्‍क्तिले मानवजातिलाई एउटा तथ्य भन्छ: परमेश्‍वरले मानिसको सृष्टि गर्दा नै उसलाई बुद्धि दिनुभयो। यसको अर्थ, मानिसको बुद्धि परमेश्‍वरबाट आएको हो। यो एक निश्‍चितता हो। तर किन? परमेश्‍वरले आदमको सृष्टि गर्नुभएपछि, के आदम विद्यालय गयो? के उसलाई पढ्न आउँथ्यो? परमेश्‍वरले विभिन्‍न जीवित प्राणीहरू बनाउनुभएपछि, के आदमले यी सबै प्राणीहरूको पहिचान गर्‍यो? के परमेश्‍वरले उसलाई तिनीहरूको नाम के-के थिए भनी बताउनुभयो? परमेश्‍वरले उसलाई यी प्राणीहरूका नामहरू कसरी राख्‍ने भनेर पनि अवश्य सिकाउनुभएन। सत्य त्यही हो! त्यसो भए यी जीवित प्राणीहरूको नाम कसरी राख्‍ने र तिनीहरूलाई के नाम दिने भनेर आदमलाई कसरी थाहा भयो? यो आदमको सृष्टि गर्दा परमेश्‍वरले आदममा के कुरा थपिदिनुभयो भन्‍ने प्रश्‍नको जवाफसँग सम्बन्धित छ। यी तथ्यहरूले प्रमाणित गर्छन् कि परमेश्‍वरले मानिसको सृष्टि गर्नुहुँदा आफ्नो बुद्धि पनि उसमा थपिदिनुभयो। यो मुख्य बुँदा हो, त्यसैले ध्यान दिएर सुन। तिमीहरूले बुझ्‍नुपर्ने अर्को मुख्य बुँदा पनि छ: आदमले जीवित प्राणीहरूको नाम राखेपछि, ती नामहरू परमेश्‍वरको शब्दावलीमा स्थापित भए। म किन यो कुरा उल्लेख गर्छु? किनकि यसमा परमेश्‍वरको स्वभाव सामेल छ र यस बुँदाको थप व्याख्या मैले गर्नुपर्छ।

परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभयो, उसमा जीवनको सास फुकिदिनुभयो र उसलाई उहाँको बुद्धिबाट केही, उहाँको क्षमताहरू र उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यो दिनुभयो। परमेश्‍वरले मानिसलाई यी सबै कुराहरू दिनुभएपछि, मानिस केही कुराहरू स्वतन्त्र रूपमा गर्न सक्‍ने र आफैँले सोच्‍न सक्‍ने भयो। मानिसले सोचेको र गरेको कुरा परमेश्‍वरको नजरमा असल छ भने, परमेश्‍वरले त्यसको पुष्टि गर्नुहुन्छ र हस्तक्षेप गर्नुहुन्‍न। यदि मानिसले गरेको कुरा सही छ भने, परमेश्‍वरले यसलाई हुन दिनुहुन्छ। त्यसो भए, “आदमले हरेक जीवित प्राणीलाई जे नामले बोलायो, त्यसपछि त्यसको नाम त्यही रह्‍यो” वाक्यांशले के कुराको सङ्‍केत गर्छ? यसले विविध जीवित प्राणीहरूका कुनै पनि नामलाई परमेश्‍वरले परिवर्तन गर्नुपर्छ भन्‍ने लागेन भन्‍ने कुराको सङ्‍केत गर्दछ। कुनै प्राणीलाई आदमले जे नाम दियो, परमेश्‍वरले “त्यस्तै होस्” भनेर उक्त प्राणीको नामलाई स्वीकार गर्नुहुन्थ्यो। के यस विषयमा परमेश्‍वरले कुनै धारणा व्यक्त गर्नुभयो? होइन, उहाँले अवश्य नै गर्नुभएन। त्यसो भए, यसबाट तिमीहरूले के बुझ्छौ? परमेश्‍वरले मानिसलाई बुद्धि दिनुभयो र मानिसले परमेश्‍वरले दिनुभएको बुद्धिलाई कुराहरू गर्नको निम्ति प्रयोग गर्‍यो। यदि मानिसले गरेको कुरा परमेश्‍वरको नजरमा सकारात्मक छ भने, परमेश्‍वरले कुनै पनि न्याय वा आलोचना नगरी त्यसलाई पुष्टि गर्नुहुन्छ, मान्यता दिनुहुन्छ र स्वीकार गर्नुहुन्छ। यो कार्य कुनै पनि व्यक्ति वा दुष्ट आत्मा वा शैतानले गर्न सक्दैन। के तिमीहरूले यहाँ परमेश्‍वरको स्वभावको प्रकाश देख्‍छौ? के मानवजाति, भ्रष्ट व्यक्ति वा शैतानले तिनीहरूकै सामुन्‍ने आफ्नो नाममा कसैलाई केही गर्ने अनुमति दिन्छन् र? अवश्य नै दिँदैनन्! के तिनीहरूले अर्को व्यक्ति वा तिनीहरूभन्दा फरक अर्को शक्तिसँग यस स्थानको निम्ति लड्लान्? अवश्य नै तिनीहरूले यसो गर्ने छन्! यदि आदमसँग त्यति बेला कुनै भ्रष्ट व्यक्ति वा शैतान भएको भए, तिनीहरूले आदमले गरेको कुराको खण्डन गर्ने थिए। तिनीहरूमा स्वतन्त्र सोच्‍न सक्‍ने खुबी र आफ्नै अद्वितीय अन्तर्दृष्टि छ भन्‍ने कुरालाई प्रमाणित गर्नको निम्ति, आदमले गरेका सबै कुराहरूलाई तिनीहरूले पूर्ण रूपमा इन्कार गर्ने थिए: “तिमीले यसको नाम यस्तो राख्‍न चाहन्छौ? ठीकै छ, मचाहिँ यसलाई यो नामले बोलाउने छैन, म यसलाई त्यो नामले बोलाउँछु; तिमीले यसलाई टम भन्यौ तर म यसलाई ह्‍यारी भन्‍ने छु। म कति बाठो छु भन्‍ने कुरा मैले देखाउनुपर्छ।” यो कस्तो किसिमको स्वभाव हो? के असभ्य अहङ्कार होइन? अनि परमेश्‍वरचाहिँ कस्तो हुनुहुन्छ? के उहाँसँग यस्तो स्वभाव छ? के आदमले गरिरहेको कुरामा परमेश्‍वरले अनौठो आपत्ति जनाउनुभयो? यसको जवाफ प्रष्ट रूपमा “जनाउनु भएन” हुन्छ। परमेश्‍वरले प्रकट गर्नुहुने स्वभावमा तर्क-वितर्क गर्ने बानी, अहङ्कार वा स्व-धार्मिकताको कति पनि सङ्‍केत छैन। यति कुराचाहिँ यहाँ स्पष्ट छ। यो सानो कुरा जस्तो देखिन सक्छ, तर यदि तैँले परमेश्‍वरको सार बुझ्‍दैनस् भने, यदि तेरो हृदयले परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र परमेश्‍वरको मनोवृत्ति कस्तो छ भन्‍ने कुरा बुझ्‍ने प्रयास गर्दैन भने, तैँले परमेश्‍वरको स्वभाव बुझ्दैनस् वा परमेश्‍वरको स्वभावको अभिव्यक्ति र प्रकाश जान्‍ने छैनस्। के कुरा यही होइन? के मैले भर्खरै वर्णन गरेको कुरासँग तिमीहरू सहमत छौ? आदमले गरेका कार्यहरूको जवाफमा, परमेश्‍वरले भव्यतापूर्ण तरिकाले यस्तो घोषणा गर्नुभएन, “तैँले असल गरिस्, तैँले सही गरिस् र म सहमत छु!” उहाँको हृदयमा भने परमेश्‍वरले आदमले गरेको कामलाई स्वीकार गर्नुभयो, सराहना गर्नुभयो र प्रशंसा गर्नुभयो। सृष्टिदेखि यता परमेश्‍वरको निम्ति मानिसले उहाँको निर्देशनमा गरेको यो पहिलो कुरा थियो। परमेश्‍वरको साटोमा र परमेश्‍वरको खातिर, मानिसले यसो गरेको थियो। परमेश्‍वरको नजरमा, परमेश्‍वरले मानिसलाई दिनुभएको बुद्धिको कारण यसो भएको थियो। परमेश्‍वरले यसलाई असल, सकारात्मक कुराको रूपमा देख्‍नुभयो। आदमले त्यस बेला गरेको कुरा मानिसमा परमेश्‍वरको बुद्धिको पहिलो प्रस्फुटन हो। परमेश्‍वरको दृष्टिमा यो राम्रो प्रस्फुटन थियो। यहाँ मैले तिमीहरूलाई भन्‍न खोजेको कुरा यही हो कि परमेश्‍वरले मानवजाति उहाँलाई प्रस्फुटन गर्ने जीवित प्राणी बनोस् भन्‍ने उद्देश्यका खातिर नै परमेश्‍वरले मानिसलाई उहाँसँग जे छ तथा उहाँ जे हुनुहुन्छ त्यो र उहाँको बुद्धि प्रदान गर्नुभयो। किनभने यस्तो जीवित प्राणीले उहाँको पक्षमा काम गरोस् भन्‍ने नै ठ्याक्‍कै परमेश्‍वरले चाहिरहनुभएको कुरा थियो।

३. परमेश्‍वरले आदम र हव्वाको निम्ति छालाका लुगा बनाउनुहुन्छ

उत्पत्ति ३:२०-२१  अनि आदमले आफ्नी पत्‍नीको नाउँ हव्वा राखे; किनभने तिनी सारा जीवितहरूकी आमा थिइन्। यहोवा परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।

यस तेस्रो खण्डलाई हेरौँ, जसले के उल्‍लेख गर्छ भने, आदमले हव्वालाई नाम दिनुको पछाडि वास्तवमा अर्थ छ। सृष्टि गरिएपछि, आदमसँग उसका आफ्नै विचारहरू थिए र उसले धेरै कुरा बुझ्थ्यो भन्‍ने यसले देखाउँछ। तर अहिलेको निम्ति, उसले के बुझ्यो र उसले कति बुझ्यो भन्‍ने कुराको हामी अध्ययन वा खोजी गर्न गइरहेका छैनौँ, किनकि तेस्रो खण्ड छलफल गर्नुको मेरो उद्देश्य त्यो होइन। त्यसो भए, मैले जोड दिन खोजेको मूल बुँदा के हो त? यस पङ्‌क्तिलाई हेरौँ, “यहोवा परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।” आजको हाम्रो सङ्‍गतिमा हामीले धर्मशास्त्रको यस पङ्‌क्तिको बारेमा छलफल गरेनौँ भने, यी वचनहरूका गहिरा आशयहरूलाई तिमीहरूले कहिल्यै पनि स्पष्ट रूपमा बुझ्न सक्दैनौ। सुरुमा, म केही सङ्केतहरू दिन्छु। तिमीहरू इच्छा गर्छौ भने, आदम र हव्वा बसोबास गरिरहेका अदनको बगैँचाको कल्पना गर। परमेश्‍वर तिनीहरूलाई भेट गर्न जानुहुन्छ, तर तिनीहरू नाङ्गै भएका कारण तिनीहरू लुक्छन्। परमेश्‍वरले तिनीहरूलाई देख्‍न सक्‍नुहुन्‍न र उहाँले तिनीहरूलाई बोलाउनुभएपछि, तिनीहरू भन्छन्, “हाम्रा शरीरहरू नाङ्‍गै भएका कारण हामीले तपाईंलाई भेट्ने हिम्मत गरेनौँ।” तिनीहरू नाङ्गै भएका कारण तिनीहरूले परमेश्‍वरलाई भेट्ने हिम्मत गर्दैनन्। त्यसो भए, यहोवा परमेश्‍वरले तिनीहरूको निम्ति के गर्नुहुन्छ? मूल पाठले भन्छ: “यहोवा परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।” यसबाट, परमेश्‍वरले तिनीहरूको लुगा बनाउनको निम्ति के प्रयोग गर्नुभयो भनेर के तिमीहरू बुझ्छौ? परमेश्‍वरले तिनीहरूको लुगा बनाउनको निम्ति जनावरको छाला प्रयोग गर्नुभयो। यसको अर्थ, मानिसले वस्त्रको रूपमा लगाऊन् भनेर परमेश्‍वरले जनावरको रौँको लुगा बनाउनुभयो। परमेश्‍वरले मानिसको निम्ति बनाउनुभएको पहिलो पहिरन यिनै थिए। आजको मापदण्डअनुसार जनावरको रौँको लुगा विलासी वस्तु हो र सबैले यसलाई किनेर लगाउन सक्दैनन्। यदि कसैले तँलाई सोध्छ: “हाम्रा पुर्खाहरूले लगाएको पहिलो पहिरन के थियो?” तैँले जवाफ दिन सक्छस्: “जनावरको रौँको कपडा।” “त्यो रौँको लुगा कसले बनायो?” तैँले यस्तो जवाफ दिन सक्छस्: “यसलाई परमेश्‍वरले बनाउनुभयो!” यो नै यहाँको मुख्य बुँदा हो: यो लुगा परमेश्‍वरले बनाउनुभएको थियो। के यो छलफल गर्न योग्य कुरा होइन? मेरो वर्णन सुनेपछि, के तिमीहरूको मनमा एउटा तस्विर आयो? कम्तीमा पनि मोटामोटी ढाँचा तिमीहरूमा हुनुपर्ने हो। मानिसको पहिलो पहिरन के थियो भन्‍ने कुरा तिमीहरूलाई थाहा होस् भनेर मैले यसो भनेको होइन। त्यसो भए कुरा के हो त? विषयचाहिँ जनावरको रौँको लुगा होइन, तर उहाँले यहाँ गर्नुभएका कुरामा परमेश्‍वरले प्रकट गर्नुभए अनुसार उहाँको स्वभाव, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई मानिसहरूले कसरी बुझ्छन् भन्‍ने कुराको हो।

“यहोवा परमेश्‍वरले आदम र तिनकी पत्‍नीका निम्ति छालाका वस्‍त्रहरू बनाइदिनुभयो र तिनीहरूलाई लगाइदिनुभयो।” यस दृश्यमा, परमेश्‍वरले आदम र हव्‍वासँग हुँदा कस्तो भूमिका लिनुभयो भन्‍ने हामी देख्छौँ? केवल दुई जना मानवप्राणी मात्र रहेको यस संसारमा परमेश्‍वरले आफैलाई कसरी प्रकट गर्नुहुन्छ? के उहाँले आफैलाई परमेश्‍वरको भूमिकामा प्रकट गर्नुहुन्छ? हङकङका दाजुभाइ र दिदीबहिनीहरू, जवाफ देऊ। (बाबुआमाको भूमिकामा।) दक्षिण कोरियाका भाइ-बहिनीहरू, परमेश्‍वर कस्तो भूमिकामा देखा पर्नुहुन्छ भनी तिमीहरू सोच्छौ? (परिवारको शिर।) ताइवानका भाइ-बहिनीहरू, तिमीहरू के सोच्छौ? (आदम र हव्वाको परिवारको सदस्यको भूमिका।) परमेश्‍वर आदम र हव्वाको परिवारको सदस्यको रूपमा देखा पर्नुहुन्छ भनेर तिमीहरूमध्ये केहीले सोच्छौ भने, केहीले परमेश्‍वर परिवारको शिरको रूपमा देखा पर्नुहुन्छ भनी भन्छन् र अन्यले उहाँ बाबुआमाको रूपमा देखा पर्नुहुन्छ भनी भन्छन्। यी सबै धेरै नै उचित छन्। तर म के भन्‍न खोज्दैछु भन्‍ने के तिमीहरू देख्छौ? परमेश्‍वरले यी दुई मानिसको सृष्टि गर्नुभयो र तिनीहरूलाई आफ्नै सङ्गीहरूको रूपमा व्यवहार गर्नुभयो। तिनीहरूको एक मात्र परिवारको रूपमा परमेश्‍वरले तिनीहरूको जीवनको हेरचाह गर्नुभयो र तिनीहरूको गाँस, बास र कपासका आवश्यकताहरू पूरा गर्नुभयो। यहाँ, परमेश्‍वर आदम र हव्वाको बाबुआमाको रूपमा देखापर्नुहुन्छ। जब परमेश्‍वरले यसो गर्नुहुन्छ, मानिसले परमेश्‍वर कति उच्च हुनुहुन्छ भन्‍ने देख्दैन; उसले परमेश्‍वरको सर्व-श्रेष्ठता, उहाँको रहस्य र विशेष गरी उहाँको क्रोध वा प्रतापलाई देख्दैन। उसले मानिसप्रतिको परमेश्‍वरको विनम्रता, उहाँको स्‍नेह, उहाँको चासो र उसको निम्ति उहाँको जिम्‍मेवारी र वास्ता मात्र देख्छ। आदम र हव्‍वासँग परमेश्‍वरले गर्नुभएको व्यवहारको मनोवृत्ति र तरिका आमाबुबाले आफ्ना छोराछोरीहरूलाई गर्ने व्यवहारसँग मेल खान्छन्। आमाबाबुले आफ्ना छोरा-छोरीहरूलाई कसरी प्रेम, हेरचाह र वास्ता गर्छन् यो त्यस्तै पनि छ—वास्तविक, देख्‍न सकिने र मूर्त। आफैलाई उच्च र शक्तिशाली स्थानमा उठाउनुको साटो, परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसको लागि पहिरन बनाउन छालाको प्रयोग गर्नुभयो। यो जनावरको रौँको लुगा तिनीहरूको लाज ढाक्‍नको लागि थियो कि तिनीहरूलाई जाडोबाट बचाउनका लागि थियो त्यो महत्त्वपूर्ण छैन। मानिसको शरीर ढाक्‍ने यो पहिरन परमेश्‍वरले व्यक्तिगत रूपमा आफ्नै हातले बनाउनुभएको थियो भन्‍ने कुरा चाहिँ महत्त्वपूर्ण छ। परमेश्‍वरले गर्नुहुन्छ भनी मानिसहरूले कल्पना गरे जस्तो पहिरनलाई अस्तित्वमा ल्याउन वा अन्य आश्‍चर्यजनक माध्यमको प्रयोग गर्ने बारेमा सोच्‍नु भन्दा पनि परमेश्‍वरले गर्नुहुन्‍न होला वा उहाँले यसो गर्नु हुँदैन भनेर मानिसले सोच्‍ने किसिमको काम नै परमेश्‍वरले वैधानिक रूपमा गर्नुभयो। यो सानो कुरा जस्तो देखिन्छ—यो कुरा उल्लेखनीय छ भन्‍ने समेत कतिपय मानिसहरूलाई लाग्दैन—तर यसले उहाँको बारेमा अस्पष्ट धारणाहरू बोकेर परमेश्‍वरलाई पछ्याउने कुनै पनि व्यक्तिलाई उहाँको सच्चाइ र सुन्दरताको बारेमा अन्तर्दृष्टि प्राप्त गर्ने र उहाँको विश्‍वासयोग्यता र विनम्रता देख्‍ने तुल्याउँछ। यसले आफैलाई उच्च र शक्तिशाली ठान्‍ने अत्यन्तै अहङ्कारी मानिसहरूलाई परमेश्‍वरको सच्चाइ र विनम्रताको सामुन्‍ने आफ्ना घमण्डी शिरहरू लाजले झुकाउने बनाउँछ। यहाँ परमेश्‍वरको सच्चाइ र विनम्रताले मानिसहरूलाई परमेश्‍वर कति स्‍नेही हुनुहुन्छ भन्‍ने कुरा देख्‍न थप सक्षम बनाउँछ। यसको विपरीत, मानिसहरूले आफ्ना हृदयमा राखेका “अपार” परमेश्‍वर, “स्‍नेही” परमेश्‍वर र “सर्वशक्तिमान्” परमेश्‍वर तुच्छ र कुरूप बनेको छ र सानो छुवाइले पनि चकनाचूर हुन्छ। जब तैँले यो पद देख्छस् र यो कथा सुन्छस्, परमेश्‍वरले यस्तो कुरा गर्नुभएको कारण के तैँले परमेश्‍वरलाई तिरस्कार गर्छस्? केही मानिसहरूले त्यसो गर्लान्, तर अरूले उल्टो प्रतिक्रिया दिनेछन्। तिनीहरूले परमेश्‍वर सच्‍चा र प्रेमयोग्य हुनुहुन्छ र परमेश्‍वरको सच्चाइ र सुन्दरताले नै तिनीहरूलाई द्रवीभूत पार्छ। तिनीहरूले परमेश्‍वरको वास्तविक पक्ष जति धेरै देख्छन्, तिनीहरूले त्यति नै धेरै परमेश्‍वरको प्रेमको साँचो अस्तित्व, आफ्ना हृदयमा परमेश्‍वरको महत्त्व, र उहाँ हरेक क्षण कसरी तिनीहरूको छेउमा खडा हुनुहुन्छ भन्‍ने कुराको सराहना गर्न सक्छन्।

अब, हाम्रो छलफललाई वर्तमानसँग जोडौँ। यदि परमेश्‍वरले आफूले सुरुमा सृष्टि गर्नुभएका मानिसहरूको निम्ति मानिसहरूले सोच्‍न वा अपेक्षा गर्न पनि हिम्मत गर्न नसक्‍ने यी विभिन्‍न साना कुराहरू गर्न सक्‍नुहुन्छ भने, के परमेश्‍वरले आजका मानिसहरूको निम्ति पनि यस्ता कुराहरू गर्न सक्‍नुहुन्छ? केहीले भन्छन्, “सक्‍नुहुन्छ!” किन सक्‍नुहुन्छ त? किनकि परमेश्‍वरको सार बहाना होइन र उहाँको सुन्दरता बहाना होइन। परमेश्‍वरको सार वास्तवमा नै अस्तित्वमा छ र यो अरूले थप्‍ने कुरा होइन, र फरक समय, ठाउँ र युगहरू अनुसार बदलिने कुरा होइन। मानिसहरूले सामान्य र नगण्य सोचेका कुराहरू गरेर मात्र परमेश्‍वरको सच्चाइ र सुन्दरतालाई साँचो रूपमा बाहिर ल्याउन सकिन्छ—यो यति सामान्य हुन्छ कि उहाँले यो कुरा गर्न सक्नुहुन्छ भन्‍ने कुरा मानिसहरूले सोच्‍न पनि सक्दैनन्। परमेश्‍वर कपटी हुनुहुन्न। उहाँको स्वभाव र सारमा कुनै पनि अतिशयोक्ति, भेष बदल्ने कुरा, घमण्ड वा अहङ्कार छैन। उहाँले कहिले पनि सेखी गर्नुहुन्‍न, तर उहाँले सृष्टि गर्नुभएको मानवजातिलाई विश्‍वासयोग्यता र निष्कपटताका साथ प्रेम गर्नुहुन्छ, वास्ता गर्नुहुन्छ, हेरचाह गर्नुहुन्छ, अगुवाइ गर्नुहुन्छ। परमेश्‍वरले गर्नुहुने कामलाई मानिसहरूले जति थोरै सराहना, अनुभव गरे पनि वा देखे पनि, उहाँले यो कार्य निश्‍चय नै गर्दै हुनुहुन्छ। परमेश्‍वरसँग यस्तो सार छ भन्‍ने कुरा जानेर के यसले परमेश्‍वरप्रति भएको मानिसहरूको प्रेमलाई प्रभाव पार्छ? के यसले परमेश्‍वरप्रति भएको तिनीहरूको भयलाई प्रभाव पार्छ? मलाई आशा छ तैँले परमेश्‍वरको वास्तविक पक्ष बुझेपछि, तँ अझ उहाँको नजिक जानेछस् र मानवजातिप्रतिको उहाँको प्रेम र वास्तालाई साँचो रूपले सराहना गर्न सक्‍नेछस्, साथै तेरो हृदय परमेश्‍वरलाई दिन सक्‍नेछस् र उहाँ बारेका सन्देह र शङ्काहरूदेखि छुटकारा पाउनेछस्। परमेश्‍वरले मानिसको निम्ति सबै कुरा चुपचाप गर्दैहुनुहुन्छ, सबै कुरा उहाँको निष्कपटता, विश्‍वासयोग्यता र प्रेमका साथ शान्तिपूर्वक तरिकाले गर्दैहुनुहुन्छ। तर उहाँले गर्नुहुने कुराहरूप्रति उहाँमा कुनै आशङ्का वा पछुतोहरू छैनन्, न त कसैले कुनै पनि तरिकाले उहाँले गर्नुभएका कुराको मूल्य चुकाउन नै आवश्यक छ वा मानवजातिबाट केही प्राप्त गर्ने अभिप्राय नै उहाँसँग छ। मानवजातिको साँचो विश्‍वास र प्रेम प्राप्त गर्नु नै उहाँले गर्नुभएका सबै कुराको एक मात्र उद्देश्य हो। र यसैको साथ, पहिलो विषयलाई म यहीँ अन्त गर्नेछु।

के यी छलफलहरूले तिमीहरूलाई सहायता गर्‍यो? ती कति सहयोगी भएका छन्? (हामीसँग परमेश्‍वरको प्रेमको बारेमा अझै धेरै बुझाइ र ज्ञान छ।) (सङ्‍गतिको यस विधिले हामीलाई भविष्यमा परमेश्‍वरको वचनको सराहना गर्न, उहाँका भावनाहरू र उहाँले ती कुराहरू भन्नुहुँदा उहाँले भन्‍नुभएका कुराहरू पछाडिका अर्थ बुझ्‍न र उहाँले त्यस समय कस्तो महसुस गर्नुभयो भन्‍ने कुरा बुझ्‍न मदत गर्न सक्छ।) के तिमीहरूमध्ये कोही यी वचनहरू पढेपछि परमेश्‍वरको वास्तविक अस्तित्वको बारेमा अझ उत्कट तवरले सजग छौ? के परमेश्‍वरको अस्तित्व खोक्रो र अस्पष्ट छैन रहेछ भन्‍ने अनुभव गर्छौ? तिमीहरूले यसको अनुभव गरेपछि, के तिमीहरूले परमेश्‍वर तिमीहरूको छेवैमा हुनुहुन्छ भन्‍ने महसुस गर्न सक्छौ? सायद अहिले त्यो अनुभूति त्यति स्पष्ट छैन वा तिमीहरूले अझै त्यसको महसुस गर्न सकेका छैनौ होला। तर एक दिन, जब तिमीहरूका हृदयमा साँचो रूपमा गहिरो बुझाइ र परमेश्‍वरको स्वभाव र सारको वास्तविक ज्ञान हुन्छ, तब तैँले परमेश्‍वर तेरो छेवैमा हुनुहुन्छ भन्‍ने अनुभूति गर्न सक्‍नेछस्—तैँले आफ्नो हृदयमा परमेश्‍वरलाई कहिल्यै पनि साँचो रूपमा स्वीकार गरेको थिइनस्। र सत्य यही हो!

सङ्‍गतिको यस तरिकाको बारेमा तिमीहरूलाई के लाग्छ? के तिमीहरूले यसलाई बुझ्‍न सक्छौ? के तिमीहरूलाई परमेश्‍वरको काम र परमेश्‍वरको स्वभाव सम्बन्धी विषय ज्यादै भारी लाग्छ? तिमीहरूलाई कस्तो लाग्छ? (धेरै राम्रो, उत्साहित।) के कुराले तिमीहरूलाई राम्रो महसुस गरायो? तिमीहरू किन उत्साहित भयौ? (यो अदनको बगैँचामा अर्थात् परमेश्‍वरको छेउमा फर्केर गए जस्तै थियो।) “परमेश्‍वरको स्वभाव” मानिसहरूको निम्ति वास्तवमा अपरिचित विषय हो, किनकि तिमीहरूले प्रायजसो कल्पना गर्ने र पुस्तकहरूमा पढ्ने र सङ्गतिहरूमा सुन्‍ने कुराहरूले तिमीहरूलाई हात्ती छुने दृष्टिविहीन व्यक्तिहरू जस्तै महसुस गराएको छ—तिमीहरूले आफ्ना हातहरूले छामिरहेका मात्र छौ, तर वास्तवमा तिमीहरूले कल्‍पनामा वास्तविक चित्र उतार्न सक्दैनौ। अन्धाधुन्ध यताउता छामछुम गरेर यसले तँलाई परमेश्‍वरको बारेमा अपूर्ण बुझाइ पनि दिँदैन, उहाँ सम्‍बन्धी स्पष्ट अवधारणाको त कुरै नगरौँ; यसले परमेश्‍वरको स्वभाव र सारको उचित परिभाषा दिनबाट तँलाई रोकेर तेरो कल्पनालाई भड्काउने काम मात्र गर्छ र तेरो कल्पनाबाट उत्पन्‍न अनिश्‍चितताहरूले तेरो हृदयमा अपरिहार्य रूपमै शङ्काहरू भर्नेछ। जब तँ केही कुराको बारेमा निश्‍चित हुँदैनस् तर पनि बुझ्‍ने कोसिस गर्छस्, तब तेरो हृदयमा सधैँ विरोधाभासहरू तथा द्वन्द्व हुनेछन् र तँमा अशान्तिको भाव पनि हुनेछ, जसले तँलाई भ्रमित र अन्योलमा पार्नेछन्। परमेश्‍वरको खोजी गर्न, परमेश्‍वरलाई जान्‍न र उहाँलाई स्पष्ट देख्‍न खोज्‍ने चाहना गर्नु तर कहिले पनि जवाफ पत्ता लगाउन नसक्‍ने जस्तो देखिनु पीडादायी कुरा होइन र? अवश्य नै, यी वचनहरू परमेश्‍वरको डर मान्‍न र उहाँलाई सन्तुष्ट तुल्याउन खोज्‍नेहरूको निम्ति लक्षित छन्। यस्ता कुराहरूमा ध्यान नदिने मानिसहरूको निम्ति यसले केही अर्थ राख्दैन, किनकि परमेश्‍वरको वास्तविकता र अस्तित्व केवल किंवदन्ती वा कल्पना हुन् भन्‍ने कुरा तिनीहरूले सबैभन्दा बढी आशा गरेको कुरा हो, ताकि तिनीहरूले आफूलाई जे मन लाग्छ त्यही गर्न सकून्, ताकि तिनीहरू सबैभन्दा ठूलो र सबैभन्दा महत्त्वपूर्ण हुन सकून्, ताकि तिनीहरूले परिणामहरूको कुनै मतलब नै नराखी दुष्ट कामहरू गर्न सकून्, यसैले तिनीहरूले दण्डको सामना गर्न वा कुनै जिम्मेवारी बहन गर्न नपरोस्, ताकि परमेश्‍वरले दुष्ट काम गर्नेहरूका निम्ति भन्‍नुभएका कुराहरू तिनीहरूमा लागू नहोस्। यी मानिसहरू परमेश्‍वरको स्वभाव बुझ्‍नको निम्ति इच्छुक छैनन्। परमेश्‍वर र उहाँको बारेमा सबै कुरा जान्‍ने कोसिस गर्दागर्दै तिनीहरू बिरामी परेका छन् र थाकेका छन्। परमेश्‍वर अस्तित्वमा नभएको भए हुनेथियो भन्‍ने तिनीहरू रुचाउँछन्। यी मानिसहरूले परमेश्‍वरको विरोध गर्छन्, र तिनीहरू बहिष्कृत हुनेहरूमध्येमा पर्छन्।

यसपछि, हामी नोआको कथा र यो कसरी परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम्‌ भन्‍ने विषयसँग सम्बन्धित छ भन्‍ने कुराको छलफल गर्नेछौँ।

धर्मशास्त्रको यस खण्डमा परमेश्‍वरले नोआलाई के गरिरहनुभएको तिमीहरू देख्छौ? सायद यहाँ बसेका सबैले धर्मशास्त्रको पढाइबाट यसको बारेमा केही जान्दछ: परमेश्‍वरले नोआलाई जहाज बनाउने तुल्याउनुभयो, त्यसपछि परमेश्‍वरले जलप्रलयद्वारा संसारको विनाश गर्नुभयो। परमेश्‍वरले नोआलाई तिनको आठ जनाको परिवारलाई बचाउन जहाज बनाउन लगाउनुभयो, जसले तिनीहरूलाई बच्‍ने र मानवजातिको अर्को पुस्ताको पुर्खा बन्‍ने अनुमति दियो। अब धर्मशास्त्रतिर फर्कौं।

आ. नोआ

१. परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने अभिप्राय राख्‍नुहुन्छ र नोआलाई जहाज बनाउने निर्देशन दिनुहुन्छ

उत्पत्ति ६:९-१४  नोआका पुस्ताहरू यी नै हुन्: नोआ तिनका पुस्ताका एक धर्मी र सिद्ध मानिस थिए र नोआ परमेश्‍वरसँग हिँड्थे। र नोआले तीन छोराहरू शेम, हाम र येपेतलाई जन्माए। पृथ्वी पनि परमेश्‍वरको सामुन्‍ने भ्रष्ट नै थियो र पृथ्वी हिंसाले भरिएको थियो। अनि परमेश्‍वरले पृथ्वीलाई हेर्नुभयो र त्यो भ्रष्ट थियो किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए। अनि परमेश्‍वरले नोआलाई भन्‍नुभयो, मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर्, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु। तैँले गोपेर काठको एउटा जहाज बना; जहाजमा तैँले कोठाहरू बना र त्यसलाई भित्र र बाहिर अलकत्राले लिप्।

उत्पत्ति ६:१८-२२  तर तँसँग म मेरो करार स्थापित गर्नेछु; र तँ अनि तँसँग तेरा छोराहरू र तेरी श्रीमती र तेरा छोराहरूका श्रीमतीहरू सँगै जहाजमा आउनेछौ। अनि सबै किसिमका हरेक जीवित प्राणीहरूमध्ये, हरेक प्रजातिका दुई-दुई गरेर तँसँगै जीवित राख्‍नको निम्ति तैँले जहाजमा ल्याउनेछस्; तिनीहरू भाले र पोथी हुनेछन्; पंक्षीहरूबाट तिनीहरूका प्रजाति अनुसार, पशुहरूबाट तिनीहरूका प्रजाति अनुसार र पृथ्वीमा घस्रने हरेक प्राणीबाट तिनीहरूका प्रजाति अनुसार, हरेक प्राणीबाट दुई वटा जीव जीवित रहनलाई तँकहाँ आउनेछन्। अनि खाइने सबै आहारा तँसँग लैजानू र तैँले त्यो तँसँग जम्मा गरेर राख्‍नू; र त्यो तँ र तिनीहरूका निम्ति आहारा हुनेछ। नोआले त्यस्तै गरे; तिनले परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम सबै गरे।

यी दुई खण्डहरू पढेपछि के तिमीहरूले नोआको बारेमा सामान्य समझ प्राप्त गर्‍यौ? नोआ कस्ता व्यक्ति थिए? मूल पाठ यस्तो छ: “नोआ तिनका पुस्ताका एक धर्मी र सिद्ध मानिस थिए।” आधुनिक मानिसहरूको बुझाइमा, ती दिनहरूका “धर्मी मानिस” भनेको कस्तो किसिमको व्यक्ति हो? धर्मी मानिस सिद्ध मानिस हुनुपर्छ। यो सिद्ध मानिस मानिसको दृष्टिमा वा परमेश्‍वरको दृष्टिमा सिद्ध थियो कि थिएन भन्‍ने तिमीहरूलाई थाहा छ? यसमा कुनै शङ्कै छैन, यो सिद्ध मानिस परमेश्‍वरको दृष्टिमा सिद्ध मानिस थियो, तर मानिसको दृष्टिमा सिद्ध थिएन। यो निश्‍चित छ! किनकि मानिस अन्धो छ र त्यसले देख्दैन, र परमेश्‍वरले मात्र सारा पृथ्वी र हरेक मानिसलाई हेर्नुहुन्छ, र नोआ सिद्ध मानिस थियो भन्‍ने कुरा परमेश्‍वरलाई मात्र थाहा थियो। यसैले, संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने परमेश्‍वरको योजना नोआलाई बोलाएको बेला नै सुरु भयो।

त्यस युगमा, परमेश्‍वरले नोआलाई अत्यन्तै महत्त्वपूर्ण कुरा गर्नका निम्ति बोलाउनुभयो। यो काम किन गरिनुपर्‍यो? किनकि त्यस बेला परमेश्‍वरको हृदयमा एउटा योजना थियो। संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने उहाँको योजना थियो। उहाँले संसारलाई किन नष्ट गर्नुहुने थियो? यहाँ यस्तो भनिएको छ: “पृथ्वी पनि परमेश्‍वरको सामुन्‍ने भ्रष्ट नै थियो र पृथ्वी हिंसाले भरिएको थियो।” “पृथ्वी हिंसाले भरिएको थियो” वाक्यांशबाट तिमीहरूले के बुझ्छौ? यो पृथ्वीमा भएको एउटा घटना थियो जहाँ संसार र यसमा भएका मानिसहरू चरम रूपमा भ्रष्ट भएका थिए; यसैले “पृथ्वी हिंसाले भरिएको थियो”। आजको भाषामा, “हिंसाले भरिएको थियो” को अर्थ सबै कुरा सन्तुलन बाहिर जानु भन्‍ने हुन्छ। मानिसको निम्ति, यसको अर्थ यो हुन्छ कि जीवनका हरेक पक्षमा क्रमको सारा झलक हराएको थियो, र हरेक कुरा अस्तव्यस्त र अप्रबन्धनीय बनेको थियो। परमेश्‍वरको दृष्टिमा, यसको अर्थ संसारका मानिसहरू अति नै भ्रष्ट भएका थिए। तर कुन हदसम्मको भ्रष्ट? यो हदसम्मको भ्रष्ट कि परमेश्‍वरले तिनीहरूलाई हेर्न वा तिनीहरूप्रति धैर्य गर्नै सक्‍नुभएन। यो हदसम्मको भ्रष्ट कि परमेश्‍वरले तिनीहरूलाई नष्ट गर्ने अभिप्राय राख्‍नुभयो। जब परमेश्‍वरले संसारलाई नष्ट गर्ने निर्णय लिनुभयो, उहाँले जहाज बनाउने व्यक्ति खोज्‍ने योजना बनाउनुभयो। परमेश्‍वरले यो काम सम्पन्न गर्नको निम्ति नोआलाई छान्‍नुभयो; अर्थात् उहाँले नोआलाई जहाज बनाउन लगाउनुभयो। उहाँले किन नोआलाई छान्‍नुभयो? परमेश्‍वरको नजरमा, नोआ धर्मी मानिस थियो; परमेश्‍वरले जस्तो निर्देशन दिनुभयो नोआले त्यही गर्‍यो। यसको अर्थ यही हो, परमेश्‍वरले जे भन्‍नुभयो त्यो गर्न नोआ इच्छुक थियो। परमेश्‍वरले उहाँसँग काम गर्न, उहाँले दिनुभएको जिम्मालाई पूरा गर्न—उहाँको काम पृथ्वीमा पूरा गर्नको निम्ति यस्तै मानिसको चाहना गर्नुभयो। त्यस बेला, के यस्तो काम पूरा गर्ने नोआ बाहेक अर्को व्यक्ति थियो? अवश्य थिएन! नोआ एक मात्र उम्मेदवार, परमेश्‍वरले जिम्मा दिनुभएको काम पूरा गर्ने एक मात्र व्यक्ति थियो, र यसैले परमेश्‍वरले उसलाई छान्‍नुभयो। तर के मानिसहरूलाई मुक्ति दिने सम्‍बन्धी परमेश्‍वरका सीमा र मापदण्डहरू आज पनि उस्तै छन् जस्तो त्यस बेला थिए? जवाफ यो छ, पक्कै पनि भिन्‍नता छ! अनि मैले किन यो सोधेको हुँ? त्यस बेला परमेश्‍वरको नजरमा नोआ मात्र धर्मी मानिस थियो, यसले यही जनाउँछ कि न त उसकी पत्नी न त उसका छोराहरू वा बुहारीहरू नै धर्मी मानिसहरू थिए, तर परमेश्‍वरले नोआको कारण तिनीहरूलाई बचाउनुभयो। परमेश्‍वरले अहिले गरे जस्तो तिनीहरूसँग केही कुराको माग गर्नुभएन, बरु उहाँले नोआका परिवारका आठै जना सदस्यहरूलाई जीवित राख्नुभयो। नोआको धार्मिकताको कारण तिनीहरूले परमेश्‍वरको आशिष्‌ प्राप्त गरे। नोआविना, तिनीहरू कसैले पनि परमेश्‍वरले जिम्मा दिनुभएको काम पूरा गर्न सक्‍ने थिएनन्। यसैले संसारको विनाशबाट बच्‍नुपर्ने मानिस नोआ मात्र थियो, र अन्यचाहिँ सहवर्ती हकदारहरू मात्र थिए। परमेश्‍वरले औपचारिक रूपमा आफ्नो व्यवस्थापनको काम सुरु गर्नु अगाडिको युगमा, उहाँले मानिसहरूसँग व्यवहार गर्ने र तिनीहरूबाट माग गर्ने कुराका सिद्धान्त र मापदण्डहरू तुलनात्मक रूपमा खुकुला थिए भन्‍ने यसले देखाउँछ। आजका मानिसहरूको निम्ति नोआको आठ जनाको परिवारसँग परमेश्‍वरले गर्नुभएको व्यवहारमा “निष्पक्षता” को अभाव भएको जस्तो देखिन्छ। तर मानिसहरूमा उहाँले अहिले गरेको कामको आयतन र अहिले उहाँले व्यक्त गर्नुहुने उहाँको वचनको ठूलो परिमाणको तुलनामा नोआको आठ जनाको परिवारलाई गर्नुभएको व्यवहार त्यस बेलाको उहाँको कामको पृष्ठभूमिको कार्य सिद्धान्त मात्र थियो। तुलना गर्दा, नोआको आठ जनाको परिवारले परमेश्‍वरबाट धेरै पाए कि आजका मानिसहरूले?

नोआलाई बोलाइएको कुरा एउटा सामान्य तथ्य हो, तर हामीले यस अभिलेखमा कुरा गरिरहेको मुख्य बुँदा—परमेश्‍वरको स्वभाव, उहाँको इच्छा र उहाँको सार—चाहिँ सामान्य कुरा होइन। परमेश्‍वरका यी विभिन्‍न पक्षहरूलाई बुझ्‍नको निम्ति, हामीले पहिले परमेश्‍वरले कस्तो किसिमको व्यक्तिलाई बोलाउने इच्छा गर्नुहुन्छ भन्‍ने कुरा बुझ्‍नुपर्छ, र यसको माध्यमद्वारा उहाँको स्वभाव, इच्छा, र सार बुझ्‍नुपर्छ। यो महत्त्वपूर्ण छ। यसैले परमेश्‍वरको नजरमा, उहाँले बोलाउने मानिस कस्तो किसिमको व्यक्ति हुन्छ? उक्त व्यक्ति उहाँका वचनहरू सुन्‍न सक्ने र उहाँका निर्देशनहरू मान्‍न सक्ने व्यक्ति हुनुपर्छ। साथै, उक्त व्यक्ति जिम्मेवारी बोध गर्ने, परमेश्‍वरको वचनलाई पूरा गर्नैपर्ने जिम्मेवारी र कर्तव्यको रूपमा व्यवहार गरेर यसलाई पूरा गर्ने हुनुपर्छ। के त्यसो भए उक्त व्यक्तिले परमेश्‍वरलाई चिनेको हुनुपर्छ? होइन। त्यस बेला, नोआले परमेश्‍वरका शिक्षाहरूको बारेमा त्यति सुनेको थिएन वा परमेश्‍वरको कुनै पनि कामको अनुभव गरेको थिएन। यसैले, नोआसँग परमेश्‍वरको बारेमा थोरै ज्ञान थियो। नोआ परमेश्‍वरसँग हिँड्थे भनेर अभिलेख राखेको भएता पनि, के उसले कहिल्यै परमेश्‍वरको व्यक्तित्वलाई देख्यो? यसको जवाफ हुन्छ, निश्‍चय नै देखेन! किनकि ती दिनहरूमा, परमेश्‍वरका दूतहरू मात्र मानिसहरूका माझमा आउँथे। तिनीहरूका बोली र काममा तिनीहरूले परमेश्‍वरको प्रतिनिधित्व गरे तापनि, तिनीहरूले केवल परमेश्‍वरको इच्छा र उहाँका अभिप्रायहरू व्यक्त गर्थे। परमेश्‍वरको व्यक्तित्व मानिसकहाँ आमने सामने प्रकट गरिएको थिएन। धर्मशास्त्रको यस खण्डमा, नोआले के गर्नुपर्ने थियो र उसलाई परमेश्‍वरका निर्देशनहरू के थिए भन्‍ने मात्र देख्छौं। यसैले परमेश्‍वरले यहाँ अभिव्यक्त गर्नुभएको सार के थियो? परमेश्‍वरले गर्ने हरेक काम सूक्ष्मताका साथ योजना गरिन्छन्। जब उहाँले भइरहेको कुनै कुरा वा परिस्थितिलाई हेर्नुहुन्छ, त्यसको मापन गर्ने मापदण्ड उहाँको नजरमा हुन्छ र त्यसको सामना गर्नको निम्ति उहाँले कुनै योजना सुरु गर्नुपर्छ कि पर्दैन अथवा त्यस कुरा वा परिस्थितिको सामना गर्नको निम्ति कुन तरिका अवलम्बन गर्नुपर्छ भ‍न्‍ने कुराको निर्धारण त्यही मापदण्डले गर्छ। सबै कुराप्रति उहाँ उदासीन वा भावना विहीन हुनुहुन्‍न। वास्तविकता यसको ठीक विपरीत छ। परमेश्‍वरले नोआलाई के भन्‍नुभयो भन्‍ने कुरालाई व्यक्त गर्ने एउटा पद यहाँ छ: “मेरा सामुन्‍ने सारा देहको अन्त आएको छ; किनकि तिनीहरूद्वारा पृथ्वी हिंसाले भरिएको छ; अनि, हेर्, म तिनीहरूलाई पृथ्वीसहित नष्ट गर्नेछु।” परमेश्‍वरले यसो भन्‍नुहुँदा के उहाँले मानवलाई मात्र नष्ट गर्दै हुनुहुन्थ्यो भन्‍ने अर्थ यसले दिन्छ? होइन! उहाँले शरीर भएका सबै जीवित प्राणीहरूलाई नष्ट गर्न गइरहनुभएको थियो भनी परमेश्‍वरले भन्नुभयो। परमेश्‍वरले किन विनाशको चाहना गर्नुभयो? यहाँ परमेश्‍वरको स्वभावको अर्को प्रकाश छ: परमेश्‍वरको नजरमा, मानिसको भ्रष्टता, देहका सबै प्राणीहरूको फोहोरीपन, हिंसा र अनाज्ञाकारीताप्रति उहाँको धैर्यको सीमा छ। उहाँको सीमा के हो? यो परमेश्‍वरले भन्‍नुभए जस्तै हो: “परमेश्‍वरले पृथ्वीलाई हेर्नुभयो र त्यो भ्रष्ट थियो किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए।” यो “किनकि पृथ्वीमा भएका सारा देहले आफ्नो मार्ग भ्रष्ट पारेका थिए” भन्‍ने वाक्यांशको अर्थ के हो? यसको अर्थ यही हो, परमेश्‍वरलाई पछयाउनेहरू, परमेश्‍वरको नाम पुकार्नेहरू, परमेश्‍वरलाई होमबली चढाउनेहरू, परमेश्‍वरलाई मुखले स्वीकार गर्ने र परमेश्‍वरको स्तुति गर्नेहरू लगायत कुनै पनि जीवित प्राणीहरू—तिनीहरूको व्यवहार भ्रष्टताले पूर्ण भएर त्यो परमेश्‍वरको नजरमा पुगेपछि, उहाँले तिनीहरूलाई पनि नष्ट गर्नुपर्ने हुन्थ्यो। त्यही नै परमेश्‍वरको सीमा थियो। त्यसो भए मानिस र देहका सारा प्राणीहरूको भ्रष्टतासँग परमेश्‍वर कुन हदसम्म धैर्य रहनुभयो? सबै मानिसहरू, चाहे तिनीहरू परमेश्‍वरका अनुयायीहरू होऊन् वा विश्‍वास नगर्ने मानिसहरू होऊन्, तिनीहरू सही बाटोमा नहिँडुञ्‍जेलसम्म। त्यो हदसम्म, जब परमेश्‍वरका अनुयायीहरू हुन् वा अविश्‍वासीहरू, ती सबै मानिसहरू सही मार्गमा हिँडिरहेका थिएनन्। त्यो हदसम्म, जब मानिस नैतिक रूपमा भ्रष्ट भई दुष्टताले पूरै भरिएको थियो, र परमेश्‍वरको अस्तित्वमा विश्‍वास गर्ने कोही थिएन, र संसारलाई परमेश्‍वरले शासन गर्नुहुन्छ र परमेश्‍वरले मानिसहरूको लागि ज्योति र सही मार्ग ल्याउन सक्‍नुहुन्छ भनेर विश्‍वास गर्ने कोही थिएन। अनि त्यो हदसम्म, जब मानिसले परमेश्‍वरको अस्तित्वलाई घृणा गर्‍यो र परमेश्‍वरलाई अस्तित्वमा आउन दिएन। जब मानिसको भ्रष्टता यस बिन्दुमा पुग्छ, तब परमेश्‍वरले सहन सक्‍नुहुन्‍न। केले यसलाई प्रतिस्थापन गर्ने छ? परमेश्‍वरको क्रोध र परमेश्‍वरको दण्डको आगमनले। के त्यो परमेश्‍वरको स्वभावको आंशिक प्रकाश थिएन? यस वर्तमान युगमा, के कोही पनि मानिसहरू परमेश्‍वरको नजरमा धर्मी छैनन्? के परमेश्‍वरको नजरमा सिद्ध मानिसहरू कोही पनि छैनन्? के यो युग पृथ्वीमा रहेका देहका सारा प्राणीहरूको व्यवहार परमेश्‍वरको नजरमा भ्रष्ट भएको युग होइन? यस दिन र युगमा—परमेश्‍वरले पूर्ण बनाउन चाहनुभएका र परमेश्‍वरलाई पछयाउन र उहाँको मुक्तिलाई स्वीकार गर्न सक्ने बाहेकका—देहका सबै मानिसहरूले परमेश्‍वरको धैर्यको सीमालाई चुनौती दिइरहेका छैनन्? के तिमीहरूको नजिकै भइरहेका सबै कुराहरू—तिमीहरूका आफ्नै आँखाले देख्‍ने र तिमीहरूका कानले सुन्‍ने र यस संसारमा व्यक्तिगत रूपले हरेक दिन अनुभव गर्ने कुराहरू—हिंसाले पूर्ण छैनन्? परमेश्‍वरको नजरमा, यस्तो संसार, यस्तो युग, अन्त हुनुपर्दैन र? वर्तमान युगको पृष्ठभूमि नोआको समयको पृष्ठभूमिभन्दा फरक भएता पनि, मानिसको भ्रष्टताप्रति परमेश्‍वरको भावनाहरू र क्रोध उस्तै छ। आफ्नो कामको कारण परमेश्‍वर धैर्य रहन सक्षम हुनुभएको छ, तर परिस्थिति र स्थितिहरूलाई मध्यनजर गर्दा, परमेश्‍वरको नजरमा, यो संसार धेरै पहिले नै नष्ट गरिसक्‍नुपर्नेथियो। संसारलाई जलप्रलयद्वारा नष्ट गर्दाको समयमा भएको भन्दा धेरै परका परिस्थितिहरू छन्। तर भिन्‍नता के छ? यो कुरा परमेश्‍वरको हृदयलाई सबैभन्दा बढी दुःखी बनाउने, र सायद तिमीहरूमध्ये कसैले पनि बुझ्‍ने नसक्ने कुरा पनि हो।

उहाँले जलप्रलयद्वारा संसारलाई नाश गर्नुहुँदा, परमेश्‍वरले नोआलाई जहाज बनाउन र केही तयारीको काम गर्न बोलाउन सक्षम हुनुभयो। परमेश्‍वरले एक जना मानिस—नोआ—लाई उहाँको निम्ति यी शृङ्खलाबद्ध कुराहरू गर्न बोलाउन सक्‍नुभयो। तर यस वर्तमान युगमा, परमेश्‍वरले बोलावट गर्नुपर्ने कोही पनि छैन। यो किन? यहाँ बस्‍ने हरेक व्यक्तिले सम्भवतः त्यो कारण राम्ररी बुझ्छन् र जान्दछन्। के तिमीहरू मैले यो कुरा भनेको चाहन्छौ? मैले यसलाई ठूलो आवाजमा भनेँ भने तिमीहरूको अपमान हुन सक्छ र सबै उदास हुन सक्छौ। केही मानिसहरूले भन्‍न सक्छन्: “हामी धर्मी मानिसहरू र परमेश्‍वरको नजरमा सिद्ध मानिसहरू नभए तापनि यदि परमेश्‍वरले हामीलाई केही कुरा गर्न लगाउनुभयो भने, हामी अझ पनि त्यो काम गर्न सक्षम छौँ। पहिले, उहाँले विनाशकारी विपत्ति आउँदै छ भन्‍नुहुँदा, विपत्तिमा चाहिने खाना र सरसामानहरू हामीले तयार गर्‍यौं। के त्यो सबै परमेश्‍वरका मागहरूबमोजिम गरिएको थिएन र? के हामीले साँच्चै परमेश्‍वरको काममा सहकार्य गरेनौँ र? हामीले गरेका यी कुराहरूलाई नोआले गरेको कामसँग तुलना गर्न सकिन्‍न र? हामीले गरेको काम गर्नु साँचो आज्ञापालन होइन र? के हामीले परमेश्‍वरको निर्देशनलाई पछ्याइरहेका थिएनौँ र? के हामीले परमेश्‍वरले भनेको कुरा गरेनौँ किनकि हामीसँग परमेश्‍वरको वचनप्रति विश्‍वास छ? त्यसो भए परमेश्‍वर अझ पनि किन दुःखी हुनुहुन्छ? बोलावट गर्नुपर्ने कोही पनि छैन भनेर किन परमेश्‍वरले भन्‍नुहुन्छ?” तिमीहरू र नोआका कार्यहरूमा कुनै फरक छ? फरक के छ? (अहिलेको विपत्तिको निम्ति खाना तयार गर्नु हाम्रो आफ्नै अभिप्राय थियो।) (हाम्रा कार्यहरू “धर्मी” ठहरिँदैनन्, जबकि नोआचाहिँ परमेश्‍वरको नजरमा धर्मी थिए।) तिमीहरूले भनेको कुरा त्यति धेरै नमिल्दो कुरा होइन। नोआले गरेको कार्य मानिसहरूले अहिले गरेको कामभन्दा धेरै हदसम्म फरक थियो। नोआले परमेश्‍वरले भनेबमोजिम गर्दा उसलाई परमेश्‍वरको अभिप्रायको बारेमा थाहा थिएन। परमेश्‍वरले के कुरा हासिल गर्न खोज्‍नुभयो भन्‍ने कुरा उसलाई थाहा थिएन। परमेश्‍वरले उसलाई आज्ञा मात्र दिनुभएको थियो र उसलाई केही कुरा गर्ने निर्देशन दिनुभयो र उक्त कामको बारेमा धेरै व्याख्याविना नै नोआले अगाडि बढेर त्यो गर्‍यो। उसले गुप्त रूपमा परमेश्‍वरको अभिप्रायहरूको बारेमा थाहा पाउने कोसिस गरेन, न त उसले परमेश्‍वरको प्रतिरोध नै गर्‍यो वा बेइमानी नै देखायो। उसले गएर शुद्ध र सरल हृदयले भनेबमोजिम त्यो काम गर्‍यो। परमेश्‍वरले गर्न लगाउनुभएको कुरा उसले गर्‍यो र परमेश्‍वरको वचन पालना गर्ने र सुन्‍ने कार्यले उसले गर्ने कामको विश्‍वासमा टेवा दियो। परमेश्‍वरले सुम्पिनुभएको कामलाई उसले सिधा र सरल तरिकाले व्यवहार गर्‍यो। उसको सार—उसका कार्यहरूको सार आज्ञापालन थियो, द्वितीय-अनुमान थिएन, प्रतिरोध थिएन, र योभन्दा बढी त, उसको आफ्नै चाहनाहरू वा आफ्ना फाइदा र बेफाइदाहरूको बारेमा उसले सोचेन। थप कुरा त, परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नेछु भन्दा नोआले कहिल्यै हुन्छ भनेर सोधेन र के हुन्छ भनेर सोधेन, र उसले परमेश्‍वरले कसरी संसारलाई नष्ट गर्दै हुनुहुन्छ भनेर निश्‍चय नै सोधेन। उसले परमेश्‍वरले निर्देशन दिए बमोजिम मात्र गर्‍यो। तथापि परमेश्‍वरले त्यो बनाइनुपर्छ र त्यो केबाट बनिनुपर्छ भन्‍ने चाहनुभयो, परमेश्‍वरले अह्राएबमोजिम उसले गर्‍यो र तत्कालै काम सुरु गर्‍यो। उसले परमेश्‍वरको निर्देशनहरूबमोजिम परमेश्‍वरलाई सन्तुष्ट पार्ने मनोवृत्तिका साथ काम गर्‍यो। के उसले विपत्तिबाट आफूलाई बचाउनको निम्ति यसो गर्‍यो? होइन। के उसले परमेश्‍वरलाई संसारको विनाश हुनुभन्दा अघि कति लामो समय हुनेथियो भनी सोध्यो? सोधेन। के उसले जहाज बनाउनको निम्ति कति समय लाग्छ भनेर परमेश्‍वरलाई सोध्यो वा के उसलाई यो थाहा थियो? उसलाई त्यो पनि थाहा थिएन। उसले त आज्ञापालन गर्‍यो, सुन्यो र त्यस बमोजिम गर्‍यो। अहिलेका मानिसहरू त्यस्ता छैनन्: परमेश्‍वरको वचनबाट थोरै मात्र जानकारी चुहिने बित्तिकै, हावामा पातहरू बजेको सुन्‍ने बित्तिकै, तिनीहरू तुरुन्त कामको निम्ति तयार हुन्छन्, जेसुकै होस् वा जस्तोसुकै मूल्य चुकाउनु परोस्, घटनापछि तिनीहरूले खाने, पिउने र प्रयोग गर्ने कुराहरूको जोहो गर्नतिर लाग्छन्, विपत्ति आइपर्दा भाग्‍ने बाटोहरूको योजना पनि गर्न थाल्छन्। त्योभन्दा चाखलाग्दो कुरा त के छ भने, यस्तो महत्त्वपूर्ण क्षणमा “काम फत्ते गर्ने कुरामा” मानव दिमाग धेरै राम्रो छ। परमेश्‍वरले कुनै निर्देशनहरू नदिनुभएका परिस्थितिहरूमा मानिसले सबै कुरा उचित तवरले योजना गर्न सक्छ। त्यस्ता योजनाहरूको वर्णन गर्न तिमीले “सिद्ध” शब्दको प्रयोग गर्न सक्छौ। परमेश्‍वरले के भन्‍नुहुन्छ, परमेश्‍वरका अभिप्रायहरू के छन् वा परमेश्‍वरले के चाहनुहुन्छ भ‍न्‍ने कुराहरूलाई कसैले पनि वास्ता गर्दैन र कसैले पनि सराहना गर्ने कोसिस गर्दैन। के यो नै आजका मानिसहरू र नोआ बीचको ठूलो फरक होइन र?

नोआको कथाको यस अभिलेखमा, के तिमीहरूले परमेश्‍वरको स्वभावको एक भाग देख्छौ? मानिसको भ्रष्टता, फोहोरीपन र हिंसाप्रति परमेश्‍वरको धैर्यको सीमा छ। उहाँ त्यो सीमामा पुगेपछि, उहाँले धैर्य गर्नुहुने छैन र बरु उहाँले उहाँको नयाँ व्यवस्थापन र नयाँ योजना सुरु गर्नुहुनेछ, उहाँले जे गर्नुपर्ने हो त्यो गर्न सुरु गर्नुहुनेछ, उहाँका कामहरू र उहाँको स्वभावको अर्को पक्ष प्रकट गर्नुहुनेछ। उहाँको यो कार्य उहाँ कहिले पनि मानिसबाट चोट पुर्याइनुहुन्न वा उहाँ अधिकार र क्रोधले पूर्ण हुनुहुन्छ भन्‍ने कुराको प्रदर्शनको निम्ति होइन, र यो उहाँले मानवजातिको विनाश गर्न सक्‍नुहुन्छ भन्‍ने कुरा देखाउनको लागि होइन। यस प्रकारको मानवजाति उहाँको सामुन्‍ने जिएको, उहाँको प्रभुत्वमा जिएको कुरालाई उहाँको स्वभाव र उहाँको पवित्र सारले अनुमति दिँदैन वा धैर्य गर्दैन। यसको अर्थ यही हो, सारा मानवजाति उहाँको विरुद्धमा हुँदा, पृथ्वीमा मुक्त गर्न सक्ने कोही पनि नहुँदा यस्तो मानवजातिप्रति उहाँले धैर्य गर्नुहुनेछैन र कुनै पनि सन्देहविना नै यस्तो प्रकारको मानवजातिलाई नष्ट गर्ने योजना कार्यान्वयन गर्नुहुनेछ। परमेश्‍वरद्वारा गरिने यस्तो कार्यको निर्धारण परमेश्‍वरको स्वभावले गर्छ। यो आवश्यक परिणाम हो, र परमेश्‍वरको प्रभुत्वमा सृष्टि गरिएका हरेक प्राणीले सहनुपर्ने परिणाम हो। के यसले अहिलेको वर्तमान युगमा, आफ्नो योजना पूरा गर्न र उहाँले मुक्ति दिन चाहनुभएका मानिसहरूलाई मुक्त गर्नको निम्ति परमेश्‍वरले पर्खनुहुन्‍न भन्‍ने देखाउँदैन र? यी परिस्थितिहरूमा, परमेश्‍वरले के कुराको सबैभन्दा धेरै वास्ता राख्‍नुहुन्छ? उहाँलाई नपछ्याउनेहरूले उहाँप्रति कस्तो व्यवहार गर्छन् वा उहाँको विरोध गर्नेहरूले उहाँप्रति कस्तो व्यवहार गर्छन् वा प्रतिरोध गर्छन् वा मानवजातिले कसरी उहाँको निन्दा गर्दैछन् भन्‍ने कुरा होइन। उहाँलाई पछ्याउनेहरू, उहाँको व्यवस्थापन योजनामा उहाँका मुक्तिका पात्रहरूलाई उहाँले सिद्ध पार्नुभएको छ कि छैन, तिनीहरू उहाँको सन्तुष्टिको योग्य भएका छन् कि छैनन् त्यो कुरालाई मात्रै उहाँले वास्ता गर्नुहुन्छ। उहाँलाई पछ्याउने बाहेकका मानिसहरूलाई उहाँले आफ्नो क्रोध अभिव्यक्त गर्नको निम्ति दण्ड दिने काम विरलै मात्र गर्नुहुन्छ। उदाहरणको निम्ति: सुनामी, भूकम्प र ज्वालामुखीहरू। साथै, उहाँलाई पछ्याउनेहरू र उहाँले मुक्ति दिन लाग्‍नुभएका मानिसहरूलाई उहाँले मजबुत सुरक्षा र हेरचाह गर्दै हुनुहुन्छ। परमेश्‍वरको स्वभाव यही हो: एकातिर, उहाँले पूर्ण बनाउने अभिप्राय राख्‍नुभएका मानिसहरूप्रति उहाँ एकदमै धैर्य र सहन गर्न सक्‍नुहुन्छ, र उहाँले सकेसम्म तिनीहरूको निम्ति प्रतिक्षा गर्न सक्‍नुहुन्छ; अर्कोतिर, उहाँलाई नपछ्याउने र उहाँको विरोध गर्ने शैतान-जस्ता मानिसहरूलाई परमेश्‍वरले उत्कटतापूर्वक घृणा र हेला गर्नुहुन्छ। यस्ता शैतान-जस्ताहरूले उहाँलाई पछ्याऊन् कि नपछ्याऊन् वा उहाँको आराधना गरून् कि नगरून् भन्‍ने कुराको वास्ता उहाँ राख्‍नुहुन्‍न, तैपनि तिनीहरूप्रति उहाँको हृदयमा धैर्यता धारण गर्दै उहाँले तिनीहरूलाई घृणा गर्नुहुन्छ र यी शैतान-जस्ताहरूको अन्त्य निर्धारण गर्दै गर्दा, उहाँको व्यवस्थापन योजनाका चरणहरूको आगमनको प्रतिक्षा पनि उहाँ गर्दै हुनुहुन्छ।

अर्को खण्ड हेरौँ।

२. जलप्रलयपछि नोआलाई परमेश्‍वरको आशिष्

उत्पत्ति ९:१-६  अनि परमेश्‍वरले नोआ र तिनका छोराहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई भन्‍नुभयो, फलवन्त र वृद्धि भएर पृथ्वीलाई फेरि भर। र पृथ्वीका हरेक पशुमाथि, आकाशका हरेक पंक्षीमाथि, पृथ्वीमा चहलपहल गर्ने सबैमाथि र समुद्रका सबै माछाहरूमाथि तिमीहरूको डर र भय रहनेछ; तिनीहरू तेरा हातमा सुम्पिएका छन्। हरेक सजीव प्राणी तेरो निम्ति मासु हुनेछन्; मैले हरिया वनस्पतिझैँ तिमीहरूलाई सबै कुरा दिएको छु। तर रगतसँगको मासु, जुन रगत हो, तिमीहरूले खानेछैनौ। र म निश्‍चय नै तिमीहरूका जीवनका रगत लिनेछु; म हरेक पशुको साटो, र हरेक मानिसको साटो त्यो लिनेछु; हरेको मानिसको भाइको साटो म मानिसको जीवन लिनेछु। जसले मानिसको रगत बगाउँछ, मानिसबाटै त्यसको रगत बगाइनेछ: किनकि परमेश्‍वरले मानिसलाई आफ्नै स्वरूपमा बनाउनुभयो।

यस खण्डमा तिमीहरू के देख्छौ? मैले यी पदहरू किन छानेँ? मैले किन जहाजमा नोआ र उसका परिवारका सदस्यहरूको जीवन बारेको एक अंश छानिनँ? किनकि आज हामीले बातचित गरिरहेको विषयसँग उक्त जानकारीको धेरै सम्बन्ध छैन। हामीले परमेश्‍वरको स्वभावमा ध्यान केन्द्रित गर्न गइरहेका छौँ। यदि तिमीहरू ती विवरणहरूको बारेमा जान्‍न चाहन्छौ भने, बाइबलमा आफै पढ्न सक्छौ। हामी त्यसको बारेमा यहाँ कुरा गर्नेछैनौँ। परमेश्‍वरका कार्यहरूलाई कसरी जान्‍ने भन्‍ने नै आज हामीले कुरा गर्न गइरहेको मुख्य विषय हो।

नोआले परमेश्‍वरको निर्देशनहरूको पालना गर्दै जहाज बनाएर परमेश्‍वरले संसारलाई नष्ट गर्नको निम्ति प्रयोग गर्नुभएका जलप्रलयको दिनहरूमा जिएपछि, तिनका आठ जनाको सारा परिवार बाँचे। नोआका आठ जनाको परिवार बाहेकका सबै मानवजाति नष्ट पारिए, र पृथ्वीका सारा जीवित प्राणीहरू नष्ट पारिए। नोआलाई परमेश्‍वरले आशिष्‌ दिनुभयो र उसलाई र उसका छोराहरूलाई केही कुराहरू भन्‍नुभयो। ती कुराहरू परमेश्‍वरले उसलाई प्रदान गर्नुहुने कुराहरू र उसमाथि परमेश्‍वरको आशिष् थिए। यो आशिष् र प्रतिज्ञा परमेश्‍वरले उहाँलाई सुन्‍ने र उहाँका निर्देशनहरू स्वीकार गर्नेलाई दिनुहुन्छ र यो परमेश्‍वरले मानिसहरूलाई इनाम दिने तरिका पनि हो। यसको अर्थ, परमेश्‍वरको नजरमा नोआ सिद्ध वा धर्मी मानिस भएता पनि र उसले परमेश्‍वरको बारेमा जति धेरै जानेको भएता पनि, छोटकरीमा भन्‍नुपर्दा, नोआ र उसका तीन छोराहरू सबैले परमेश्‍वरको वचनहरू सुने, परमेश्‍वरको काममा सहकार्य गरे र परमेश्‍वरका निर्देशनहरूबमोजिम तिनीहरूले गर्नुपर्ने काम गरे। फलस्वरूप, तिनीहरूले जलप्रलयबाट संसारको विनाशको क्रममा परमेश्‍वरको निम्ति मानव र विभिन्‍न किसिमका जीवित प्राणीहरूको रक्षा गरे र तिनीहरूले परमेश्‍वरको व्यवस्थापन योजनाको नयाँ चरणको निम्ति ठूलो योगदान गरे। उसले गरेका सबै कुराहरूको निम्ति, परमेश्‍वरले उसलाई आशिष् दिनुभयो। आजका मानिसहरूका निम्ति, नोआले गरेको काम उल्लेखनीय नहुन सक्छ। केहीले यस्तो पनि सोच्‍न सक्छन्: “नोआले केही पनि गरेनन्; परमेश्‍वरले तिनलाई बचाउने निर्णय गर्नुभएको थियो, यसैले तिनी निश्‍चय नै बाँच्‍ने थिए। ऊ जीवित रहनु उसको आफ्नै उपलब्धिहरूका कारणले थिएन। यो परमेश्‍वरले होओस् भनेर चाहनुभयो किनकि मानिस निष्क्रिय छ।” तर परमेश्‍वरले त्यस्तो सोचिरहनुभएको थिएन। परमेश्‍वरको निम्ति, कुनै व्यक्ति महान् होस् कि तुच्छ होस् उहाँको इच्छा र उहाँको योजना सहज तरिकाले हासिल होस् भनेर यदि तिनीहरूले उहाँलाई सुन्‍न, उहाँका निर्देशनहरू र उहाँले सुम्पेका कुराहरूको पालना गर्न सक्छन्, र उहाँको काम, उहाँको इच्छा, र उहाँको योजनामा सहकार्य गर्न सक्छन् भने, त्यो व्यवहार उहाँको सम्झना र उहाँको आशिष्‌ प्राप्त गर्न योग्य ठहरिन्छ। परमेश्‍वरले त्यस्ता मानिसहरूलाई मूल्यवान् ठान्नुहुन्छ र उहाँका निम्ति गरिएका तिनीहरूका कामहरू, तिनीहरूको प्रेम र स्‍नेहलाई उहाँले कदर गर्नुहुन्छ। यो परमेश्‍वरको मनोवृत्ति हो। त्यसो भए परमेश्‍वरले नोआलाई किन आशिष् दिनुभयो? किनकि मानिसका त्यस्ता कार्यहरू र आज्ञाकारिताप्रति परमेश्‍वरले यसरी व्यवहार गर्नुहुन्छ।

परमेश्‍वरले नोआलाई दिनुभएको आशिष्‌को बारेमा, केही मानिसहरूले भ‍न्‍नेछन्: “यदि मानिसले परमेश्‍वरलाई सुन्यो र परमेश्‍वरलाई सन्तुष्ट पार्‍यो भने, परमेश्‍वरले मानिसलाई आशिष्‌ दिनुहुन्छ। के यो भन्‍नुपर्ने कुरा हो र?” के हामी त्यसो भन्‍न सक्छौँ? कतिपय मानिसहरू भन्छन्: “सक्दैनौँ।” किन हामीले त्यसो भन्‍न सक्दैनौँ? केही मानिसहरू भन्छन्: “मानिस परमेश्‍वरको आशिष्‌मा आनन्द लिने योग्यको छैन।” त्यो पूर्ण रूपमा सही छैन। किनभने कुनै एक व्यक्तिले परमेश्‍वरले सुम्पिनुभएको कुरालाई स्वीकार गर्दा त्यसका कामहरू असल वा खराब के छन् र त्यस व्यक्तिले आज्ञा पालना गर्‍यो कि गरेन र त्यस व्यक्तिले परमेश्‍वरको इच्छालाई सन्तुष्ट गर्‍यो कि गरेन र तिनीहरूले गरेको कामले मापदण्ड पूरा गर्छ कि गर्दैन भन्‍ने कुराको निर्णय गर्नको निम्ति परमेश्‍वरसँग मापदण्ड छ। परमेश्‍वरले मानिसको हृदयको वास्ता राख्‍नुहुन्छ, तिनीहरूको सतही कामहरूलाई होइन। कसैले जुनसुकै तवरले काम गरे पनि, जबसम्‍म तिनीहरूले केही न केही गर्छन्, परमेश्‍वरले त्यसलाई आशिष् दिनुपर्छ भन्‍ने छैन। परमेश्‍वरको बारेमा मानिसहरूमा यही गलत बुझाइ छ। परमेश्‍वरले कुनै कुराहरूको अन्तिम परिणाम मात्र हेर्नुहुन्‍न तर उहाँले मानिसको हृदय कस्तो छ र यी कुराहरूको विकास क्रममा मानिसको मनोवृत्ति कस्तो छ भन्‍ने कुरामा पनि उहाँले जोड दिनुहुन्छ र उहाँले तिनीहरूको आज्ञाकारिता, ध्यान र तिनीहरूको हृदयमा परमेश्‍वरलाई सन्तुष्ट पार्ने चाहना छ कि छैन भनेर हेर्नुहुन्छ। नोआले त्यस समयमा परमेश्‍वरको बारेमा कति जानेका थिए? के त्यो तिमीहरूले अहिले जानेका धर्मसिद्धान्तहरू जति नै थियो? परमेश्‍वर बारेका धारणा र ज्ञान जस्ता सत्यताका पक्षहरूको आधारमा हेर्दा, के उसले तिमीहरूले जत्तिकै मलजल र हेरचाह प्राप्त गर्‍यो? होइन, गरेन! तर नकार्नै नसकिने एउटा तथ्य छ: आजका मानिसहरूको चेतना, मन र हृदयहरूको गहिराइमा, परमेश्‍वरप्रति तिनीहरूका धारणा र मनोवृत्तिहरू अस्पष्ट र अनेकार्थी छन्। मानिसहरूका एक भागसँग परमेश्‍वरको अस्तित्व प्रति नकारात्मक मनोवृत्ति छ पनि भन्‍न सकिन्छ। तर नोआको हृदय र चेतनामा, परमेश्‍वरको उपस्थिति पूर्ण र शङ्कारहित थियो र त्यसैले परमेश्‍वरप्रति उसको आज्ञाकारिता विशुद्ध र जाँचको सामना गर्न सक्‍ने किसिमको थियो। परमेश्‍वरप्रति उसको हृदय शुद्ध र खुला थियो। परमेश्‍वरको हरेक वचनलाई पछ्याउनको निम्ति उसलाई मनाउन धर्मसिद्धान्तहरूको धेरै ज्ञानको आवश्यकता परेन, न त उसलाई परमेश्‍वरले सुम्पनुभएको कुरालाई स्वीकार गर्न र परमेश्‍वरले उसलाई गर्न लगाउनुभएका कुराहरू गर्न सक्षम हुनको निम्ति परमेश्‍वरको अस्तित्वलाई प्रमाणित गर्ने धेरै तथ्यहरूको आवश्यकता नै उसलाई पर्‍यो। नोआ र आजका मानिसहरू बीचको आधारभूत फरक यही नै हो। परमेश्‍वरको नजरमा सिद्ध मानिसको वास्तविक परिभाषा पनि यही हो। परमेश्‍वरले नोआ जस्ता मानिसहरूको चाहना गर्नुहुन्छ। ऊ जस्तै मानिसलाई परमेश्‍वरले प्रशंसा गर्नुहुन्छ र ऊ पनि परमेश्‍वरले आशिष् दिने ठीकै प्रकारको व्यक्ति हो। के यसबाट तिमीहरूले केही अन्तर्दृष्टि प्राप्त गर्‍यौ? मानिसहरूले मानिसहरूलाई बाहिरबाट हेर्छन्, जबकि परमेश्‍वरले मानिसहरूको हृदय र तिनीहरूको सारहरू हेर्नुहुन्छ। परमेश्‍वरले कसैलाई पनि उहाँप्रति उत्साह विहीन वा शङ्का हुने अनुमति दिनुहुन्‍न, न त उहाँले मानिसहरूलाई उहाँप्रति शङ्का गर्ने वा कुनै पनि प्रकारले उहाँको जाँच गर्ने अनुमति नै दिनुहुन्छ। यसर्थ, आजका मानिसहरू परमेश्‍वरको वचनसँग आमनेसामने भएता पनि—परमेश्‍वरसँग आमनेसामने भएता पनि—तिनीहरूको हृदयका गहिराइमा भएको केही कुरा, तिनीहरूको भ्रष्टतापूर्ण तत्वको अस्तित्व र उहाँप्रति तिनीहरूको शत्रुतापूर्ण मनोवृत्तिको कारणले, परमेश्‍वरप्रति साँचो विश्‍वास गर्नबाट तिनीहरूलाई अवरोध गरेको छ र उहाँप्रति आज्ञाकारी हुनबाट रोकेको छ। यसैले परमेश्‍वरले नोआलाई दिनुभएको जस्तै आशिष् प्राप्त गर्न तिनीहरूलाई धेरै कठिन छ।

अब, परमेश्‍वरले इन्द्रेनीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा कसरी प्रयोग गर्नुभयो भन्‍ने बारेमा धर्मशास्त्रको यस खण्डलाई हेरौँ।

३. परमेश्‍वरले इन्द्रेनीलाई मानिससँगको आफ्नो करारको प्रतीकको रूपमा प्रयोग गर्नुहुन्छ

उत्पत्ति ९:११-१३  अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ। अनि परमेश्‍वरले भन्‍नुभयो, यो म र तिमीहरू र तिमीहरूसँग भएका हरेक जीवित प्राणीका बीच अनन्त पुस्तासम्मको निम्ति मैले बनाएको करारको चिनो हो: म बादलमा इन्द्रेनी राख्‍नेछु र त्यो म र पृथ्वीको बीचमा भएको करारको चिनो हुनेछ।

धेरैजसो मानिसहरूलाई इन्द्रेनी के हो भन्‍ने थाहा छ र इन्द्रेनीहरूसँग सम्बन्धित कथाहरू सुनेका छन्। जहाँसम्म बाइबलमा भएको इन्द्रेनीको कथाको कुरा छ, केही मानिसहरूले यसलाई विश्‍वास गर्छन् र केहीले यसलाई किंवदन्तीको रूपमा लिन्छन् भने, अन्यले यसलाई विश्‍वास नै गर्दैनन्। जेसुकै भए तापनि इन्द्रेनीसँग सम्बन्धित सारा घटनाहरू परमेश्‍वरका काम थिए र परमेश्‍वरले मानिसको व्यवस्थापन गर्ने प्रक्रियाको क्रममा ती घटनाहरू घटेका थिए। यी घटनाहरूलाई बाइबलमा ठीक तरिकाले अभिलिखित गरिएका छन्। यी अभिलेखहरूले त्यस समयमा परमेश्‍वरको मनस्थिति कस्तो थियो वा परमेश्‍वरले बोल्‍नुभएका वचनहरू पछाडिका इरादाहरू के थिए भन्‍ने बारेमा बताउँदैनन्। यसअतिरिक्त, परमेश्‍वरले यी कुराहरू बोल्नुहुँदा कस्तो महसुस गरिरहनुभएको थियो भन्‍ने कुराको सराहना कसैले पनि गर्न सक्दैन। तथापि, यस सम्पूर्ण घटनाको विषयमा परमेश्‍वरको मनको अवस्था पाठका हरफहरूबाट प्रकटित हुन्छ। परमेश्‍वरका त्यस समयका सोचहरू उहाँको वचनका हरेक शब्द र वाक्यांशमार्फत तत्कालै स्पष्ट भए जस्तो लाग्छ।

मानिसहरूले चासो राख्‍नुपर्ने र तिनीहरूले सबैभन्दा बढी जान्‍न खोज्‍नुपर्ने कुरा भनेकै परमेश्‍वरका सोचहरू हुन्। किनकि परमेश्‍वरका सोचहरू परमेश्‍वर सम्‍बन्धी मानिसको बुझाइसँग जटिल तवरले सम्बन्धित छन् र परमेश्‍वर सम्‍बन्धी मानिसको बुझाइ मानिसको जीवनप्रवेशसँग जोडिएको अपरिहार्य कडी हो। यसैले, यी घटनाहरू घट्दाको समयमा परमेश्‍वरले के सोचिरहनुभएको थियो?

मूल रूपमा, परमेश्‍वरले आफ्नो नजरमा धेरै असल र उहाँसँग नजिक रहेको मानवजातिको सृष्टि गर्नुभयो तर उहाँविरुद्ध विद्रोहमा गएपछि तिनीहरूलाई जलप्रलयद्वारा नष्ट पारियो। यस्तो मानवजाति तत्कालै यसरी गायब हुँदा के परमेश्‍वरलाई दुःख लाग्‍यो? अवश्य नै उहाँलाई दुःख लाग्यो! त्यसो भए, त्यस पीडाप्रति उहाँको अभिव्यक्ति के थियो? त्यसलाई बाइबलमा कसरी अभिलिखित गरिएको थियो? बाइबलमा यसलाई यसरी लेखिएको थियो: “अनि म तिमीहरूसँग मेरो करार स्थापित गर्नेछु, न त जलप्रलयको पानीले अब उप्रान्त सबै मानिसहरूलाई नष्ट गर्नेछ, न त पृथ्वीलाई नष्ट गर्नको निम्ति कुनै जलप्रलय नै हुनेछ।” यस सरल वाक्यले परमेश्‍वरका सोचहरू प्रकट गर्छ। संसारको विनाशले परमेश्‍वरलाई धेरै पीडा दियो। मानिसका शब्दमा भन्नुपर्दा, उहाँ धेरै दुःखी हुनुभयो। हामी कल्पना गर्न सक्छौँ: एकताका जीवनले भरिएको पृथ्वी जलप्रलयद्वारा नष्ट पारिएपछि कस्तो भयो? एकताका मानवजातिले भरिएको पृथ्वी त्यस समय कस्तो देखियो? मानव बसोबासरहित, जीवित प्राणी रहित र जताततै पानी र पानीको सतहमा पूर्ण विनाश। संसारको सृष्टि गर्दा, के यस्तो दृष्य परमेश्‍वरको मौलिक इरादा थियो? अवश्य नै थिएन! परमेश्‍वरको मौलिक इरादा भनेको सारा भूमि जीवनले भरिएको देख्नु, उहाँले सृष्टि गर्नुभएको मानवजातिले उहाँको आराधना गरेको देख्नु थियो, उहाँको आराधना गर्ने एकलो व्यक्ति वा उसलाई सुम्पिएको काम पूरा गर्ने उहाँको बोलावटको जवाफ दिने एकलो नोआलाई मात्र पाउनु होइन। मानवजाति गायब हुँदा, परमेश्‍वरले मौलिक रूपमा इरादा राख्‍नुभएको कुरालाई होइन बरु त्यसको ठीक विपरीत कुरालाई देख्‍नुभयो। उहाँको हृदय कसरी पीडामा नहुन सक्थ्यो र? यसैले उहाँले आफ्नो स्वभाव प्रकट गरिरहनुहुँदा र आफ्ना संवेगहरू अभिव्यक्त गरिरहनुहुँदा परमेश्‍वरले एउटा निर्णय लिनुभयो। उहाँले कस्तो किसिमको निर्णय लिनुभयो त? परमेश्‍वरले मानवजातिलाई जलप्रलयद्वारा फेरि नष्ट गर्नुहुनेछैन भन्‍ने प्रतिज्ञा स्वरूप, मानिससँगको करारको रूपमा बादलमा इन्द्रेनी (अर्थात्, हामीले देख्‍ने इन्द्रेनी) बनाउने निर्णय। साथै, यो परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नुभयो भनेर मानिसहरूलाई बताउनलाई पनि थियो, ताकि परमेश्‍वरले किन यस्तो काम गर्नुहुन्छ भनेर मानवजातिले सदैव सम्झिरहोस्।

के त्यस बेलाको संसारको विनाश परमेश्‍वरको चाहना थियो? यो पक्कै पनि परमेश्‍वरले चाहनुभएको कुरा थिएन। हामीले विनाशपछिको पृथ्वीको एउटा सानो खण्डको दयनीय अवस्थाको बारेमा कल्पना गर्न सक्छौँ, तर हामीले परमेश्‍वरको दृष्टिमा त्यस बेलाको उक्त दृष्य कस्तो थियो भन्‍ने कुराको अलिकति पनि कल्पना गर्न सक्दैनौँ। उक्त दृष्य, अर्थात् जलप्रलयद्वारा पृथ्वीको विनाशपछिको तस्विर देख्‍नुभएपछि परमेश्‍वरले कस्तो अनुभव गरिरहनुभएको थियो भनेर अहिलेका वा त्यस बेलाका कुनै पनि मानिसहरूले कल्पना गर्न वा त्यसको सराहना गर्न सक्दैनन् भनेर हामी भन्‍न सक्छौँ। मानिसको अवज्ञाको कारण परमेश्‍वरलाई यसो गर्न कर लाग्यो, तर जलप्रलयद्वारा संसारको यो विनाशबाट परमेश्‍वरको हृदयले भोगेको पीडा एउटा यस्तो सत्य हो जसलाई कसैले पनि मापन गर्न वा सराहना गर्न सक्दैन। यसैले परमेश्‍वरले मानवजातिसँग एउटा करार बाँध्नुभयो, जसमार्फत उहाँले मानिसहरूलाई परमेश्‍वरले एकताका यस्तो पनि गर्नुभएको थियो भन्‍ने कुरा सम्झना गराउने र परमेश्‍वरले फेरि संसारलाई यसरी विनाश गर्नुहुनेछैन भनेर तिनीहरू सामु शपथ लिने लक्ष्य लिनुभयो। यस करारमा हामीले परमेश्‍वरको हृदयलाई देख्छौँ—परमेश्‍वरले यस मानवजातिको विनाश गर्नुहुँदा उहाँको हृदय पीडामा थियो भन्‍ने हामी देख्छौँ। मानिसको भाषामा भन्दा, परमेश्‍वरले मानवजातिको विनाश गर्नुहुँदा र मानवजाति लोप हुँदै गर्दा उहाँको हृदय रोइरहेको र पीडाले भरिएको थियो। यसलाई वर्णन गर्ने सबैभन्दा उत्तम तरिका यही होइन र? मानवहरूले मानवीय भावनाहरूलाई चित्रित गर्न यी शब्दहरूको प्रयोग गर्छन्, तर मानिसको भाषामा धेरै नै कमी भएको कारण परमेश्‍वरका भावना र संवेगहरूको वर्णन गर्नको निम्ति तिनीहरूको प्रयोग गर्नु मेरो लागि त्यति खराब कुरा होइन, र तिनीहरू त्यति अतिरञ्जक पनि होइनन्। तिनीहरूले तिमीहरूलाई कम्तीमा पनि त्यति बेला परमेश्‍वरको मनस्थिति कस्तो थियो भन्‍ने बारेमा धेरै स्पष्ट र धेरै उचित बुझाइ प्रदान गर्छन्। अब तिमीहरूले इन्द्रेनी फेरि देख्दा के सोच्‍नेछौ? कम्तीमा पनि जलप्रलयद्वारा संसारको विनाश गर्नुभएपछि परमेश्‍वर कसरी शोकमा हुनुहुन्थ्यो भन्‍ने कुरा तिमीहरूले सम्झनेछौ। परमेश्‍वरले यस संसारलाई घृणा गर्नुभए तापनि र यस मानवजातिलाई घृणा गर्नुभए तापनि, उहाँले आफ्नै हातले बनाउनुभएको मानवजातिको विनाश गर्नुहुँदा, उहाँको हृदय पीडामा थियो, यसलाई भुल्नको निम्ति संघर्षरत, यसलाई सहन गर्न अनिच्छुक र कठिन अवस्थामा थियो। उहाँको एउटै सान्त्वना नोआको आठ जनाको परिवारमा थियो। नोआको सहकार्यले गर्दा नै सबै कुराको सृष्टि गर्दाको उहाँका कठिन प्रयासहरू खेर गएनन्। परमेश्‍वरले कष्ट भोग्दै गर्नुभएको समयमा, उहाँको पीडामा मलम लगाउने कुरा यही मात्र थियो। त्यस बेलादेखि परमेश्‍वरले मानवजातिप्रतिका उहाँका सबै अपेक्षाहरू नोआको परिवारमाथि राख्‍नुभयो, यस आशामा कि तिनीहरू उहाँको श्रापमा होइन, उहाँका आशिष्‌मा जिउन सकून्, यस आशामा कि तिनीहरूले फेरि कहिल्यै पनि परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नुभएको नदेखून् र यस आशामा कि तिनीहरू नष्ट नगरिऊन्।

यसबाट हामीले परमेश्‍वरको स्वभावको कुन भागको बारेमा सिक्‍नुपर्छ? मानिस उहाँको विरोधी भएको हुनाले परमेश्‍वरले मानिसलाई घृणा गर्नुभएको थियो, तर उहाँको हृदयमा मानवजातिप्रतिको उहाँको वास्ता, चासो र दया अपरिवर्तित नै रहे। उहाँले मानवजातिको विनाश गर्दा पनि उहाँको हृदय अपरिवर्तित नै रह्‍यो। जब मानवजाति परमेश्‍वरप्रति गम्भीर हदसम्म भ्रष्टता र अनाज्ञाकारिताले भरिपूर्ण भयो, तब परमेश्‍वरले उहाँको स्वभाव र सारको कारण र उहाँका सिद्धान्तहरूबमोजिम यस मानवजातिलाई नष्ट गर्नुपर्ने भयो। तर परमेश्‍वरको सारको कारण उहाँले अझै पनि मानवजातिमाथि दया गर्नुभयो र तिनीहरू बाँचिरहून् भनेर मानवजातिलाई उद्धार गर्न विभिन्‍न तरिकाहरू प्रयोग गर्न चाहनुभयो। तर मानिसले परमेश्‍वरको विरोध गर्‍यो, परमेश्‍वरको अवज्ञा गर्न जारी राख्यो र परमेश्‍वरको मुक्तिलाई स्वीकार गर्न इन्कार गर्‍यो; भन्नुको अर्थ उसले उहाँका असल अभिप्रायहरू स्वीकार गर्न इन्कार गर्‍यो। परमेश्‍वरले तिनीहरूलाई जसरी बोलाउनुभएको भए तापनि, तिनीहरूलाई जसरी सम्झाउनुभएको भए तापनि, तिनीहरूको निम्ति जसरी आपूर्ति गरिदिनुभएको भए तापनि, तिनीहरूलाई जसरी सहायता गर्नुभएको भए तापनि वा तिनीहरूलाई जसरी सहन गर्नुभएको भए तापनि, मानिसले त्यसलाई बुझेनन् वा सराहना गरेनन्, न त तिनीहरूले कुनै ध्यान नै दिए। परमेश्‍वरले आफ्नो पीडामा, मानिसले आफ्नो दिशा बदल्छ कि भनेर पर्खँदै तिनीहरूलाई अझै पनि हदैसम्मको सहनशीलता प्रदान गर्न भुल्नुभएन। उहाँको हद पार भएपछि बिनासङ्‍कोच उहाँले आफूले गर्नुपर्ने काम गर्नुभयो। अर्को शब्दमा भन्नुपर्दा, परमेश्‍वरले मानवजातिको विनाश गर्ने योजना बनाउनुभएको समयदेखि मानवजातिको विनाश गर्ने कार्य सुरु गर्नुभएको समयसम्म निश्‍चित समयावधि र प्रक्रिया थियो। यो प्रक्रिया मानिसलाई मार्ग परिवर्तन गर्न सक्षम तुल्याउनको निम्ति अस्तित्वमा थियो र यही नै परमेश्‍वरले मानिसलाई दिनुभएको अन्तिम मौका थियो। मानवजातिको विनाश गर्नुअघिको यस अवधिमा परमेश्‍वरले के गर्नुभयो? परमेश्‍वरले भारी मात्रामा सम्झाउने र प्रोत्साहन गर्ने काम गर्नुभयो। परमेश्‍वरको हृदय जतिसुकै पीडा र शोकमा भएको भए तापनि उहाँले मानवजातिमा आफ्नो वास्ता, चासो र प्रचुर कृपा निरन्तर प्रदान गर्नुभयो। यसबाट हामी के देख्छौँ? निःसन्देह, हामी देख्छौँ कि मानवजातिप्रति परमेश्‍वरको प्रेम वास्तविक छ, केवल ओठे भक्ति जस्तो मात्र छैन। यो वास्तविक, मूर्त र सराहनीय छ, नक्कली, मिलावट भएको, छली वा कपटी छैन। परमेश्‍वरले कहिले पनि छलको प्रयोग गर्नुहुन्‍न वा उहाँ प्रेमयोग्य हुनुहुन्‍छ भन्‍ने देखाउन नक्कली छवि प्रयोग गर्नुहुन्‍न। उहाँले आफ्नो प्रेमिलोपन मानिसहरूलाई देखाउनको निम्ति वा आफ्नो प्रेमिलोपन र पवित्रताको देखावटी प्रदर्शन गर्न कहिले पनि झूटो साक्षीको प्रयोग गर्नुहुन्‍न। के परमेश्‍वरको स्वभावका यी पक्षहरू मानिसको प्रेमको योग्य छैनन्? के तिनीहरू आराधनाका योग्य छैनन्? के तिनीहरू स्‍नेहपूर्वक याद गरिन योग्य छैनन्? यस बिन्दुमा म तिमीहरूलाई सोध्‍न चाहन्छु: यी वचनहरू सुनेपछि के तिमीहरू परमेश्‍वरको महानता खाली कागजमा लेखिएका खोक्रा शब्दहरू मात्र हुन् भन्‍ने सोच्छौ? के परमेश्‍वरको प्रेमिलोपन खोक्रा शब्दहरू मात्र हुन्? होइनन्! अवश्य होइनन्! उहाँले आफ्नो काम गर्नुहुँदाको हरेक समय व्यवहारिक अभिव्यक्ति प्राप्त गर्ने परमेश्‍वरको सर्वोच्चता, महानता, पवित्रता, सहनशीलता, प्रेम आदि जस्ता परमेश्‍वरको स्वभाव र सारका विविध पक्षहरूको हरेक विवरण मानिसप्रति भएको उहाँको इच्छामा समाविष्ट छन् र हरेक व्यक्तिमा ती पूरा गरिन्छन् र प्रतिबिम्बित हुन्छन्। तैँले यसको अनुभव पहिले गरेको वा नगरेको भए पनि परमेश्‍वर हरप्रकारले हरेक व्यक्तिको हेरचाह गर्ने स्वभावको हुनुहुन्छ र उहाँले हरेक व्यक्तिको हृदयलाई चेतावनी दिन र हरेक व्यक्तिको आत्मालाई ब्यूँझाउनको निम्ति उहाँको निष्कपट हृदय, बुद्धि, र विभिन्‍न विधिहरूको प्रयोग गर्नुहुन्छ। यो निर्विवाद तथ्य हो। यहाँ जति जना मानिस बसिरहेका भए तापनि परमेश्‍वरको सहनशीलता, धैर्यता, र सुन्दरताप्रति हरेक व्यक्तिको आफ्नै अनुभव र अनुभूतिहरू छन्। परमेश्‍वर सम्‍बन्धी यी अनुभवहरू र उहाँप्रतिका यी अनुभूति र बुझाइहरू, छोटकरीमा भन्दा यी सबै सकारात्मक कुराहरू परमेश्‍वरबाट आएका हुन्। यसैले हरेक व्यक्तिका परमेश्‍वर सम्‍बन्धी अनुभवहरू र ज्ञानलाई एकीकृत गरेर र तिनीहरूलाई आज हामीले पढेका बाइबलका खण्डहरूसँग मिलाउँदा, के तिमीहरूसँग अब परमेश्‍वरको बारेमा अझ वास्तविक र उचित बुझाइ हुन्छ?

यो कथा पढेपछि र यस घटनाद्वारा प्रकट गरिएको परमेश्‍वरको केही स्वभाव बुझेपछि, तिमीहरूमा परमेश्‍वरप्रति कस्तो किसिमको नयाँ ज्ञान आउँछ? के यसले तिमीहरूलाई परमेश्‍वर र उहाँको हृदयको बारेमा गहिरो बुझाइ दिएको छ? के अहिले नोआको कथा फेरि पढ्दा तिमीहरूले फरक अनुभव गर्छौ? तिमीहरूको विचारमा यी बाइबलका पदहरूको बारेमा सङ्‍गति गर्नु अनावश्यक थियो? अब हामीले तिनीहरूको बारेमा सङ्‍गति गरेका छौँ, के तिमीहरूलाई यो अनावश्यक थियो भन्‍ने लाग्छ? यो निश्‍चय नै आवश्यक थियो! हामीले पढेको कथा भए तापनि यो परमेश्‍वरले गर्नुभएको कामको सत्य अभिलेख हो। मेरो लक्ष्य तिमीहरूलाई यी कथाहरूका विवरणहरू वा यस पात्रलाई बुझ्‍न सक्षम तुल्याउनु होइन, न त तिमीहरूले गएर यस पात्रको बारेमा अध्ययन गर्न सक भन्‍ने नै हो र निश्‍चय नै तिमीहरूले गएर बाइबल अध्ययन गर भन्‍ने हुँदै होइन। तिमीहरूले बुझ्दै छौ? के यी कथाहरूले परमेश्‍वर सम्‍बन्धी तिमीहरूको ज्ञान बढाए? यो कथाले परमेश्‍वर सम्‍बन्धी तिमीहरूको बुझाइमा के कुरा थप्यो? हङकङका दाजुभाइ तथा दिदीबहिनीहरू हामीलाई भन्‍नुहोस्। (परमेश्‍वरको प्रेम हामीमध्ये कोही पनि भ्रष्ट मानवहरूमा नभएको हामीले देख्यौं।) दक्षिण कोरियाका दाजुभाइ दिदीबहिनीहरू हामीलाई भन्‍नुहोस्। (मानिसप्रतिको परमेश्‍वरको प्रेम वास्तविक हो। मानिसप्रतिको उहाँको प्रेममा उहाँको स्वभाव र उहाँको महानता, पवित्रता, सर्वोच्चता र उहाँको धैर्यता छ। हाम्रो लागि यो गहिरो बुझाइ प्राप्त गर्ने कोसिसको लायक छ।) (सङ्‍गति गर्दै गर्दा, एकातिर म परमेश्‍वरको धर्मी र पवित्र स्वभाव देख्‍न सक्छु र मानवजातिप्रति परमेश्‍वरको चासो, मानवजातिप्रति परमेश्‍वरको दया पनि म देख्‍न सक्छु र अर्कोतिर परमेश्‍वरले गर्नुहुने सबै कुरा र उहाँसँग भएका सबै सोच र विचारहरूले मानवजातिप्रतिको उहाँको प्रेम र चासोलाई प्रकट गर्छन् भन्‍ने कुरा म देख्न सक्छु।) (मानवजाति गम्भीर हदसम्म दुष्ट भएको कारण परमेश्‍वरले संसारलाई नष्ट गर्नको निम्ति जलप्रलयको प्रयोग गर्नुभयो भन्‍ने मेरो विगतको बुझाइ थियो, र परमेश्‍वरले यस मानवजातिलाई घृणा गर्नुभएको कारण तिनीहरूको विनाश गर्नुभएको जस्तो लाग्थ्यो। आज नोआको कथाको बारेमा परमेश्‍वरले बताउनुभयो र परमेश्‍वरको हृदय पीडाले भरिएको थियो भन्‍नुभएपछि मात्र परमेश्‍वरले यस मानवजातिलाई जान दिन अनिच्छुक हुनुहुन्थ्यो भन्‍ने महसुस मलाई भयो। मानवजाति अत्यन्तै अनाज्ञाकारी भएको कारणले मात्र परमेश्‍वरसँग तिनीहरूलाई नष्ट गर्नुबाहेक अर्को छनौट बाँकी रहेन। वास्तवमा यस समय परमेश्‍वरको हृदय धेरै नै दुःखी थियो। यसबाट उहाँको स्वभावमा मानवजातिप्रति परमेश्‍वरको वास्ता र चासो म देख्‍न सक्छु। यो मलाई पहिले थाहा नभएको कुरा हो।) धेरै राम्रो! तिमीहरू अर्को चरणमा जान सक्छौ। (यो कुरा सुनेपछि म धेरै प्रभावित भएँ। मैले विगतमा बाइबल पढेकी थिएँ तर आजको जस्तो अनुभव कहिले पनि गरिनँ जहाँ परमेश्‍वरले प्रत्यक्ष रूपमा यी कुराहरूको चिरफार गर्नुहुन्छ ताकि हामीले उहाँलाई चिन्‍न सकौँ। परमेश्‍वरले हामीलाई यसरी बाइबल हेर्न सँगसँगै डोर्‍याउने कामले मानिसको भ्रष्टताको अगाडि मानवजातिप्रति परमेश्‍वरको सार प्रेम र वास्ता थियो भन्‍ने कुरा जान्‍न मलाई सक्षम तुल्यायो। मानिस भ्रष्ट भएको समयदेखि वर्तमानका अन्तिम दिनहरूसम्म पनि परमेश्‍वरको स्वभाव धर्मी नै छ र उहाँको प्रेम र वास्ता अपरिवर्तनीय नै छ। सृष्टिदेखि अहिलेसम्म मानिस भ्रष्ट भए तापनि परमेश्‍वरको प्रेमको सार कहिले पनि परिवर्तन हुँदैन भन्‍ने यसले देखाउँछ।) (समयको परिवर्तन वा उहाँको कामको स्थानको कारण परमेश्‍वरको सार बदलिनेछैन भन्‍ ने कुरा आज मैले देखेँ। मैले यो पनि देखेँ कि मानिस भ्रष्ट भएपछि परमेश्‍वरले संसारको सृष्टि गरिरहनुभएको होस् वा यसलाई नष्ट गरिरहनुभएको होस्, उहाँले गर्नुहुने हरेक कुराको अर्थ छ र त्यसमा उहाँको स्वभाव रहन्छ। यसैले परमेश्‍वरको प्रेम अनन्त र अपरिमेय छ भन्‍ने मैले देखेँ र अन्य दाजुभाइ दिदीबहिनीहरूले उल्लेख गरेझैँ उहाँले संसारको विनाश गर्दा मानवजातिप्रति उहाँको वास्ता र दया पनि मैले देखेँ।) (यी कुराहरूको बारेमा मलाई पहिले निश्‍चय नै थाहा थिएन। आज यो कुरा सुनेपछि परमेश्‍वर साँच्चै विश्‍वसनीय, साँच्चै भरोसायोग्य र विश्‍वासको योग्य र उहाँ वास्तवमा नै अस्तित्वमा हुनुहुन्छ भन्‍ने महसुस मैले गरेँ। परमेश्‍वरको स्वभाव र प्रेम वास्तवमा यति ठोस छ भनेर मेरो हृदयमा साँच्चिकै सराहना गर्न सक्छु। आजको कुरा सुनेपछि मैले गरेको अनुभूति यही हो।) अत्यन्तै राम्रो! यस्तो लाग्छ तिमीहरूले सुनेका कुरा हृदयमा राखेका छौ।

के तिमीहरूले आज हामीले सङ्‍गति गरेका सबै कथाहरू लगायत सबै बाइबल पदहरूबाट केही कुरा थाहा पायौ? आफ्ना सोचहरू अभिव्यक्त गर्न वा मानवजातिप्रति आफ्नो प्रेम र वास्ताको वर्णन गर्न के परमेश्‍वरले आफ्नै भाषाको प्रयोग गर्नुभएको छ? उहाँले मानवजातिप्रति कति चासो राख्‍नुहुन्छ वा प्रेम गर्नुहुन्छ भन्‍ने कुरा व्यक्त गर्नको निम्ति उहाँले सरल भाषा प्रयोग गर्नुभएको अभिलेख छ? छैन। के यो सही होइन र? तिमीहरूका बीचमा धेरै जना यस्ता छन् जसले बाइबल वा बाइबल बाहेकका अन्य पुस्तकहरू पढेका छन्। के तिमीहरूमध्ये कसैले त्यस्ता वचनहरू देखेका छौ? यसको जवाफ पक्कै पनि “छैन” हुन्छ! अर्थात्, परमेश्‍वरका वचन र उहाँका कामको अभिलेख लगायत बाइबलको अभिलेखमा परमेश्‍वरले कुनै पनि युग वा अवधिमा मानवजातिप्रति उहाँको प्रेम र वास्ता व्यक्त गर्न वा आफ्ना अनुभूतिहरूको वर्णन गर्न कहिल्यै आफ्नै विधिको प्रयोग गर्नुभएन, न त उहाँले आफ्ना भावनाहरू व्यक्त गर्न बोली वा कार्यहरूको नै कहिल्यै प्रयोग गर्नुभयो—के यो तथ्य होइन र? म किन यसो भन्दैछु त? मैले किन यो कुरा उल्लेख गर्नुपर्छ? किनकि यसमा पनि परमेश्‍वरको सुन्दरता र उहाँको स्वभाव सामेल छ।

परमेश्‍वरले मानवजातिको सृष्टि गर्नुभयो; चाहे तिनीहरू भ्रष्ट भएका होऊन् वा चाहे तिनीहरूले उहाँलाई पछ्याऊन् वा नपछ्याऊन्, परमेश्‍वरले मानवजातिलाई उहाँका खेलौनाहरूको रूपमा होइन, उहाँको सबैभन्दा बढी स्‍नेहपूर्वक प्रेम गरिने प्राणीहरूको रूपमा व्यवहार गर्नुहुन्छ—वा मानवजातिहरूले भन्‍ने शब्दमा, उहाँका अत्यन्तै प्यारा मानिसहरूको रूपमा व्यवहार गर्नुहुन्छ। परमेश्‍वरले उहाँ सृष्टिकर्ता हुनुहुन्छ र मानिस उहाँको सृष्टि हो भनेर भन्‍नुभए पनि, यसले दर्जामा केही भिन्नता देखाए पनि, परमेश्‍वरले मानवजातिको निम्ति गर्नुभएका सबै कुराहरू वास्तवमा यस प्रकारको सम्बन्धभन्दा धेरै माथि छन्। परमेश्‍वरले मानवजातिलाई प्रेम गर्नुहुन्छ र मानवजातिको हेरचाह गर्नुहुन्छ, र मानवजातिको निम्ति चासो देखाउनुहुन्छ, साथै उहाँले निरन्तर र अटुट रूपमा मानवजातिको भरणपोषण गर्नुहुन्छ। उहाँले आफ्नो हृदयमा यसलाई थप काम वा धेरै श्रेय लिनुपर्ने कुरा हो भन्‍ने महसुस गर्नुहुन्‍न। न त उहाँले मानवजातिलाई बचाउने, तिनीहरूको निम्ति आपूर्ति गर्ने र तिनीहरूलाई सबै कुरा प्रदान गर्ने कुराले मानवजातिको निम्ति ठूलो योगदान गरिरहेको छ भन्‍ने नै ठान्‍नुहुन्छ। उहाँले चुपचाप शान्तिसाथ उहाँको आफ्नै तरिकाले र उहाँको आफ्नै सार र उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ त्यस मार्फत मानवजातिको भरणपोषण गर्नुहुन्छ। मानवजातिले उहाँबाट जति भरणपोषण र जति सहायता पाए पनि परमेश्‍वरले कहिल्यै पनि त्यसको श्रेय लिने बारेमा सोच्‍नुहुन्‍न वा श्रेय लिने कोसिस गर्नुहुन्‍न। यसको निर्धारण परमेश्‍वरको सारले गर्छ र ठ्याक्कै यही नै परमेश्‍वरको स्वभावको साँचो अभिव्यक्ति हो। यसैले, बाइबल वा अरू कुनै पुस्तकहरूमा नै किन नहोस्, परमेश्‍वरले आफ्ना सोचहरू अभिव्यक्त गर्नुभएको हामी कहिल्यै देख्दैनौँ र मानवजाति उहाँप्रति आभारी होओस् वा मानवजातिले उहाँको प्रशंसा गरोस् भन्‍ने लक्ष्य राखेर परमेश्‍वरले मानव समक्ष उहाँले यी कुराहरू किन गर्नुहुन्छ, वा उहाँले मानवजातिको निम्ति किन यति वास्ता राख्‍नुहुन्छ भन्‍ने बारेमा व्याख्या वा घोषणा गर्नुभएको हामी कहिल्यै देख्दैनौँ। उहाँलाई चोट लाग्दा, उहाँको हृदय अत्यन्तै पीडामा हुँदा पनि उहाँले मानवजातिप्रति आफ्नो दायित्वलाई वा मानवजातिप्रतिको उहाँको चासोलाई कहिल्यै बिर्सनुहुन्‍न; उहाँले यी सबै चोटहरूलाई एकलै र मौनतामा सहनुहुन्छ। यसको ठीक विपरीत, उहाँले सधैँ गर्नुभएजस्तै परमेश्‍वरले मानवजातिको निम्ति निरन्तर भरणपोषण उपलब्ध गराउनुहुन्छ। मानवजातिले प्रायः परमेश्‍वरको प्रशंसा र उहाँको साक्षी दिए तापनि यी कुनै पनि व्यवहारहरू परमेश्‍वरद्वारा आवश्यक गरिएका कुरा होइनन्। किनकि परमेश्‍वरले मानवजातिको निम्ति गर्नुभएका कुनै पनि असल कुराहरूको बदलामा उहाँले कृतज्ञता वा परिपूर्तिको आशा गर्नुहुन्‍न। अर्कोतर्फ, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्‍नेहरू, परमेश्‍वरलाई साँच्‍चै पछ्याउनेहरू, उहाँलाई सुन्‍ने र उहाँप्रति निष्ठावान हुनेहरू र उहाँको आज्ञापालन गर्न सक्‍ने मानिसहरूले प्रायः उहाँका आशिष्‌हरू प्राप्त गर्नेछन्, र परमेश्‍वरले कुनै पनि सन्देहविना नै यस्ता आशिष्‌हरू प्रदान गर्नुहुनेछ। यसअतिरिक्त, मानिसहरूले परमेश्‍वरबाट प्राप्त गर्ने आशिष्‌हरू प्रायः गरेर तिनीहरूका कल्पना बाहिरका हुन्छन्, र मानवजातिले गरेका काम वा तिनीहरूले तिरेको मूल्यबाट औचित्य सिद्ध गर्न नसक्‍ने किसिमका पनि हुन्छन्। मानवजातिले परमेश्‍वरका आशिष्‌हरूमा आनन्‍द मनाउँदै गर्दा, परमेश्‍वर के गर्दै हुनुहुन्छ भन्‍ने कुराको मतलब के कसैले गर्छ? परमेश्‍वरले कस्तो अनुभूति गर्दै हुनुहुन्छ भन्‍ने कुराको चासो के कसैले देखाउँछ? के कसैले परमेश्‍वरको पीडालाई सराहना गर्ने कोसिस गर्छ? यसको जवाफ जोडदार रूपमा “गर्दैन” भन्‍ने हुन्छ! के नोआ लगायतका मानवजातिले त्यस समय परमेश्‍वरले महसुस गर्नुभएको पीडाको सराहना गर्न सक्छ? परमेश्‍वरले किन यस्तो करार बाँध्‍नुभयो भन्‍ने कुराको सराहना कसैले गर्न सक्छ? तिनीहरूले सक्दैनन्! मानवजातिले परमेश्‍वरको पीडा नबुझेको र मानिस तथा परमेश्‍वर बीचको दूरी वा तिनीहरूको हैसियतमा भएको फरकको कारणले परमेश्‍वरको पीडाको सराहना नगरेका होइनन्; बरु परमेश्‍वरका कुनै पनि अनुभूतिहरूप्रति मानवजातिलाई कुनै पनि वास्ता नभएको कारणले यस्तो भएको हो। मानवजातिले सोच्छ कि परमेश्‍वर स्वतन्त्र हुनुहुन्छ—यसैले उहाँको वास्ता गर्न, उहाँलाई बुझ्‍न वा उहाँप्रति ध्यान दिनको निम्ति परमेश्‍वरलाई मानिसहरूको आवश्यकता पर्दैन। परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ, यसैले उहाँसँग पीडा छैन, भावनाहरू छैनन्; उहाँ दुःखी हुनुहुन्‍न, उहाँलाई शोकको अनुभूति हुँदैन, उहाँ रुनु पनि हुन्‍न। परमेश्‍वर, परमेश्‍वर नै हुनुहुन्छ, यसैले उहाँलाई कुनै पनि भावनात्मक अभिव्यक्तिहरूको जरुरत पर्दैन र उहाँलाई कुनै पनि भावनात्मक ढाडसको जरुरत पर्दैन। केही परिस्थितिहरूमा उहाँलाई यी कुराहरूको आवश्यकता पर्‍यो भने उहाँले एक्लै सहन गर्न सक्‍नुहुन्छ र उहाँलाई मानवजातिको कुनै पनि सहयोग चाहिँदैन। यसको विपरीत, कमजोर, अपरिपक्‍व मानवहरूलाई पो हरसमय र हरेक ठाउँ उहाँको सान्त्वना, प्रबन्ध, उत्साह र तिनीहरूका भावनाहरूमा उहाँको सान्त्वनाको जरुरत पर्छ। मानवजातिको हृदयको गहिराइमा यस्ता कुराहरू लुकेर रहेका हुन्छन्: मानिस कमजोर छ, तिनीहरूलाई हरप्रकारले परमेश्‍वरको हेरचाहको खाँचो छ, परमेश्‍वरबाट प्राप्त गर्नुपर्ने हरेक वास्ता प्राप्त गर्न तिनीहरू योग्य छन् र तिनीहरूलाई जे कुरा तिनीहरूको हुनुपर्छ भन्‍ने लाग्छ त्यो कुरा तिनीहरूले परमेश्‍वरबाट माग्‍नुपर्छ। परमेश्‍वर बलियो हुनुहुन्छ; उहाँसँग सबै कुरा छ र उहाँ मानवजातिको संरक्षक र आशिष् दिने व्यक्ति बन्‍नुपर्छ। उहाँ पहिले नै परमेश्‍वर हुनुभएको हुनाले उहाँ सर्वशक्तिमान् हुनुहुन्छ र उहाँलाई मानवजातिबाट कहिल्यै पनि केही कुराको आवश्यकता पर्दैन।

मानिसले परमेश्‍वरका कुनै पनि प्रकाशहरूमा ध्यान नदिने हुनाले, उसले कहिल्यै पनि परमेश्‍वरको शोक, पीडा वा आनन्दको महसुस गरेको छैन। तर यसको विपरीत मानिसका सबै अभिव्यक्तिहरूलाई परमेश्‍वरले उहाँका हत्केला झैँ जान्‍नुहुन्छ। हरेक व्यक्तिका परिवर्तनशील विचारहरूको अवलोकन गर्दै र तिनीहरूलाई सान्त्वना र अर्ती दिँदै तथा मार्गनिर्देशन गर्दै र प्रबोधित गर्दै परमेश्‍वरले हरसमय र हरेक ठाउँमा हरेकको आवश्यकता परिपूर्ति गर्नुहुन्छ। मानवजातिप्रति परमेश्‍वरले गर्नुभएका सबै कुराहरू र तिनीहरूका निम्ति उहाँले तिर्नुभएका मूल्यहरूको सन्दर्भमा, के मानिसहरूले बाइबलका खण्डहरू वा परमेश्‍वरले आजसम्म भन्नुभएका अन्य कुराहरूमा परमेश्‍वरले मानिसबाट केही कुराको माग गर्नुहुनेछ भन्‍ने कुरा भेट्टाएका छन्? छैनन्! यसको विपरीत, मानिसहरूले परमेश्‍वरका विचारहरूलाई जतिसुकै बेवास्ता गरे तापनि, उहाँले तिनीहरूको निम्ति तयार गर्नुभएको सुन्दर गन्तव्यमा तिनीहरू पुग्‍न सकून् भनेर तिनीहरूलाई परमेश्‍वरको साँचो मार्ग पछ्याउन सक्षम बनाउन उहाँले निरन्तर रूपमा मानवजातिको निम्ति प्रबन्ध गर्नुहुन्छ र तिनीहरूलाई सहयोग गर्नुहुन्छ। परमेश्‍वरको बारेमा कुरा गर्दा उहाँसँग जे छ र उहाँ जो हुनुहुन्छ, उहाँको अनुग्रह, उहाँको कृपा र उहाँका सबै इनामहरू बिना कुनै सन्देह उहाँलाई प्रेम गर्ने र उहाँलाई पछ्याउनेहरूलाई दिइनेछन्। तर उहाँले भोग्‍नुभएका पीडा वा उहाँको मनस्थिति कसैसँग पनि प्रकट गर्नुहुन्‍न, र उहाँको बारेमा विचार गरेन वा उहाँको इच्छा बुझेन भनेर उहाँले कसैको बारेमा पनि गुनासो गर्नुहुन्‍न। मानवजातिले बुझ्‍ने दिनको प्रतिक्षा गर्दै उहाँले यी सबै कुराहरू मौनतामा सहनुहुन्छ।

मैले यी कुराहरू यहाँ किन भनेको हुँ? मैले भनेका कुराहरूबाट तिमीहरू के देख्छौ? परमेश्‍वरको सार र स्वभावमा यस्तो केही कुरा छ जसलाई बेवास्ता गर्न सजिलो छ, यस्तो कुरा जुन परमेश्‍वरमा मात्र छ र अन्य कुनै मानिसमा छैन, अन्य व्यक्तिहरूले महान् ठानेका मानिसहरू, असल मानिसहरू वा तिनीहरूका कल्पनाका परमेश्‍वरमा पनि छैन। यो कुरा के हो त? यो परमेश्‍वरको निःस्वार्थीपन हो। निःस्वार्थीपनको कुरा गर्दा तैँले आफूलाई पनि एकदमै निःस्वार्थ ठान्‍न सक्छस्, किनकि जब तेरा छोराछोरीको कुरा हुन्छ, तब तैँले तिनीहरूसँग कहिले पनि मोलतोल र सौदा गर्दैनस्, वा जब तेरा अभिभावकहरूको कुरा आउँछ तब पनि तैँले आफूलाई तिनीहरूप्रति निःस्वार्थ रहेको ठान्न सक्छस्। तैँले जेसुकै सोचे तापनि तँमा कम्तीमा पनि निःस्वार्थ शब्दको अवधारणा छ र तैँले यो सकारात्मक शब्द हो र निःस्वार्थ व्यक्ति हुनु भनेको भद्रता हो भन्‍ने सोच्छस्। जब तँ निःस्वार्थ हुन्छस्, तैँले आफैलाई ठूलो मान दिन्छस्। तर सबै कुराहरूमा, मानिसहरू, घटनाहरू, वस्तुहरूमाझ र उहाँको काममा परमेश्‍वरको निःस्वार्थीपन देख्‍ने कोही पनि छैन। अवस्था किन यस्तो छ त? किनकि मानिस धेरै स्वार्थी छ! म किन त्यसो भन्छु त? मानवजाति भौतिक संसारमा जिउँछ। तैँले परमेश्‍वरलाई पछ्याउन सक्छस्, तर तैँले कहिले पनि परमेश्‍वरले कसरी तेरो भरणपोषण गर्नुहुन्छ, कसरी तँलाई प्रेम गर्नुहुन्छ र कसरी तेरो निम्ति चासो देखाउनुहुन्छ भन्‍ने कुरा देख्दैनस् वा सराहना गर्दैनस्। त्यसो भए तैँले; के देख्छस् त? तैँले तँलाई प्रेम वा स्‍नेह गर्ने तेरो रगतको साइनो भएका आफन्त जनहरू देख्छस्। तैँले तेरो देहको निम्ति फाइदा हुने कुराहरू देख्छस्, तैँले आफूले प्रेम गर्ने मानिस र वस्तुहरूको वास्ता गर्छस्। मानिसको तथाकथित निःस्वार्थीपन भनेको नै यही हो। यद्यपि, त्यस्ता “निःस्वार्थ” मानिसहरूले तिनीहरूलाई जीवन दिनुहुने परमेश्‍वरको बारेमा कहिले पनि चासो देखाउँदैनन्। परमेश्‍वरको निःस्वार्थीपनको तुलनामा मानिसको निःस्वार्थीपन स्वार्थी र घृणित हुन्छ। मानिसले विश्‍वास गर्ने निःस्वार्थीपन खोक्रो र अवास्तविक, मिलावट भएको, परमेश्‍वरसँग नमिल्ने र परमेश्‍वरसँग सम्बन्ध नभएको हुन्छ। मानिसको निःस्वार्थीपन उसकै निम्ति हुन्छ भने परमेश्‍वरको निःस्वार्थीपन उहाँको सारको साँचो प्रकटीकरण हो। यथार्थमा परमेश्‍वरको निःस्वार्थीपनकै कारण परमेश्‍वरद्वारा निरन्तर मानिसको भरणपोषण हुन्छ। मैले आज कुरा गर्दै गरेको विषयले तिमीहरूलाई गहिरो प्रभाव नपारेको हुन सक्छ र तिमीहरूले केवल सहमतिमा टाउको हल्लाएको मात्र हुनसक्छ, तर जब तैँले तेरो हृदयमा परमेश्‍वरको हृदयको सराहना गर्ने कोसिस गर्छस्, तैँले नचाहँदा-नचाहँदै यो पत्ता लगाउनेछस्: तैँले यो संसारमा महसुस गर्ने सबै मानिसहरू, पदार्थहरू र वस्तुहरूमाझ परमेश्‍वरको निःस्वार्थीपन मात्र वास्तविक र मूर्त छ किनकि तेरो लागि परमेश्‍वरको प्रेम मात्र शर्त रहित र निष्कलङ्‍क छ। परमेश्‍वरबाहेक अरू जोकोहीको तथाकथित निःस्वार्थीपन बनावटी, सतही, अप्रामाणिक हुन्छ; यसमा उद्देश्य हुन्छ, निश्‍चित अभिप्रायहरू हुन्छन्, यसमा केही पाउँदा केही गुमाउने हुन्छ र यो परीक्षामा खरो उत्रन सक्दैन। तिमीहरूले यसलाई फोहोरी र घृणित समेत भन्‍न सक्छौ। के तिमीहरू यी वचनहरूप्रति सहमत छौ?

तिमीहरू यी विषयहरूप्रति अपरिचित छौ र तिमीहरूले यसलाई साँचो तवरले बुझ्‍नु अगाडि त्यसमा डुब्‍नको निम्ति तिमीहरूलाई केही समयको जरुरत छ भन्‍ने मलाई थाहा छ। तिमीहरू यी मामिला र विषयहरूप्रति जति अपरिचित हुन्छौ, त्यति नै यी विषयहरू तिमीहरूका हृदयमा छैनन् भन्‍ने यसले प्रमाणित गर्छ। यदि मैले यी विषयहरू उल्लेख नगरेको भए, तिमीहरूमध्ये कसैले तिनीहरूको बारेमा जान्‍ने थियो त? मलाई विश्‍वास छ, तिमीहरूले तिनीहरूलाई जान्‍ने थिएनौ। यो निश्‍चय नै हो। तिमीहरूले जति नै बोध गर्न वा बुझ्‍न सके तापनि छोटकरीमा भन्‍नुपर्दा मैले बोल्ने विषयहरू मानिसहरूमा सबैभन्दा धेरै कमी भएको र तिनीहरूले सबैभन्दा धेरै जान्‍नुपर्ने विषयहरू हुन्। यी विषयहरू सबैका लागि धेरै महत्त्वपूर्ण छन्—तिनीहरू मूल्यवान् छन् र तिनीहरू जीवन हुन् र अगाडिको यात्राको निम्ति तिमीहरूमा यी कुराहरू हुनैपर्छ। मार्गनिर्देशन गर्ने यी वचनहरूविना तथा परमेश्‍वरको स्वभाव र सारको बुझाइविना तैँले परमेश्‍वरको बारेमा सधैँ प्रश्‍न-चिन्ह बोकेर हिँड्नेछस्। यदि तैँले परमेश्‍वरलाई नै बुझ्दैनस् भने तैँले कसरी परमेश्‍वरमाथि उचित तवरले विश्‍वास गर्न सक्छस्? परमेश्‍वरका भावनाहरू, उहाँको इच्छा, उहाँको मनको अवस्था, उहाँले के सोच्दै हुनुहुन्छ, केले उहाँलाई दुःखी तुल्याउँछ र केले उहाँलाई खुसी तुल्याउँछ भन्‍ने बारेमा तँलाई केही थाहा छैन, यसैले तँ कसरी परमेश्‍वरको हृदयप्रति विचारशील हुन सक्छस्?

परमेश्‍वर दुःखी हुनुहुँदा उहाँलाई पटक्कै ध्यान नदिने मानिसजातिको उहाँले सामना गर्नुहुन्छ, एउटा यस्तो मानवजाति जसले उहाँलाई पछ्याउँछ र उहाँलाई प्रेम गर्छु भन्‍ने दाबी गर्छ तर उहाँका अनुभूतिहरूलाई उपेक्षा गर्छ। उहाँको हृदय कसरी पीडामा हुँदैन र? परमेश्‍वरको व्यवस्थापनको काममा उहाँले आफ्नो कामलाई इमानदारीताका साथ आफ्नो कार्य जारी राख्‍नुहुन्छ र हरेक व्यक्तिसँग बोल्‍नुहुन्छ र कुनै कुरा नलुकाई वा ढाकछोप नगरी नै तिनीहरूको सामना गर्नुहुन्छ; तर यसको विपरीत उहाँलाई पछ्याउने हरेक व्यक्तिले उहाँको नजिक जाने मार्ग बन्द गरेर बस्छ र कोही पनि सक्रिय तरिकाले उहाँको नजिक जान, उहाँको हृदयलाई बुझ्‍न वा उहाँका अनुभूतिहरूप्रति ध्यान दिन इच्छुक छैन। परमेश्‍वरको नजिक हुन चाहनेहरू पनि उहाँको नजिक हुन, उहाँको हृदयप्रति विचारशील हुन वा उहाँलाई बुझ्‍ने कोसिस गर्न चाहँदैनन्। परमेश्‍वर आनन्द र खुसी हुनुहुँदा उहाँको खुसी बाँड्ने कोही पनि छैन। मानिसहरूले परमेश्‍वरलाई गलत रूपमा बुझ्दा उहाँको घाइते हृदयलाई सान्त्वना दिने एक जना पनि छैन। जब उहाँको हृदय पीडामा हुन्छ, तब उहाँको व्यथा सुन्न इच्छुक एक जना पनि छैन। परमेश्‍वरको व्यवस्थापनको कामका यी हजारौँ वर्षहरूमा परमेश्‍वरको छेउमा खडा भएर उहाँका आनन्द र शोकहरू बाँडचुँड गर्ने त परै जाओस् परमेश्‍वरको भावनाहरू बुझ्‍ने पनि कोही छैन, उहाँलाई बुझ्‍ने वा उहाँको सराहना गर्ने कोही पनि छैन। परमेश्‍वर एकलो हुनुहुन्छ। उहाँ एकलो हुनुहुन्छ! भ्रष्ट मानवजातिले उहाँको विरोध गरेको कारण उहाँ एकलो हुनुभएको होइन, बरु आत्मिक हुन चाहनेहरू, परमेश्‍वरलाई चिन्‍न र बुझ्‍न चाहनेहरू र आफ्नो जीवन उहाँको निम्ति अर्पण गर्न इच्छुक भएकाहरूले पनि उहाँका विचारहरू नजान्ने वा उहाँको स्वभाव र उहाँका भावनाहरू नबुझ्ने कारणले गर्दा हो।

नोआको कथाको अन्त्यमा परमेश्‍वरले आफ्नो अनुभूतिलाई व्यक्त गर्न अनौठो विधिको प्रयोग गर्नुभएको हामी देख्छौँ। यो धेरै विशेष विधि थियो: यो संसारलाई जलप्रलयद्वारा नष्ट गर्ने परमेश्‍वरको कार्यलाई अन्त गर्ने करार स्थापित गर्ने कार्य थियो। सतहमा करार स्थापित गर्नु सामान्य कुरा जस्तै लाग्छ। यो दुई पक्षका हितहरूको रक्षा गर्नको निम्ति दुवै पक्षलाई एकसाथ जोड्ने र सहमति तोड्नदेखि रोक्‍न वचनहरूको प्रयोग गर्नुभन्दा धेरै होइन। बनावटलाई हेर्दा, यो धेरै सामान्य कुरा हो, तर यसो गर्नुपछाडिको परमेश्‍वरको अभिप्रेरणा र इरादालाई हेर्ने हो भने यो परमेश्‍वरको स्वभाव र मनको स्थितिको वास्तविक प्रकटीकरण हो। यदि तैँले यी वचनहरूलाई पन्छाएर तिनीहरूलाई बेवास्ता गरिस् भने, यदि मैले तिमीहरूलाई सत्य कुरा कहिल्यै भनिनँ भने, मानवजातिले परमेश्‍वरको सोचलाई कहिल्यै जान्‍ने छैन। सायद तेरो कल्पनामा यो करार बाँध्दा परमेश्‍वर मुस्कुराइरहनुभएको थियो होला वा सायद उहाँको मुहारको भाव गम्भीर थियो होला, तर परमेश्‍वरको मुहारको भाव कस्तो थियो भनेर मानिसहरूले सामान्य भावहरूजस्तो कल्पना गरे तापनि उहाँको एकलोपनको त कुरै छोडौँ कसैले पनि परमेश्‍वरको हृदय वा उहाँका पीडा देख्‍न सक्दैनथियो। कसैले पनि आफूमाथि भरोसा गर्न परमेश्‍वरलाई बाध्य पार्न सक्दैन वा कसैले पनि आफूलाई परमेश्‍वरको भरोसायोग्य बनाउन सक्दैन वा उहाँले आफ्ना विचारहरू अभिव्यक्त गर्नुहुने वा उहाँका पीडाहरू गोप्य रूपमा सुनाउनुहुने व्यक्ति बनाउन सक्दैन। त्यसैले परमेश्‍वरसँग यसो गर्नुबाहेक कुनै विकल्प थिएन। सतही रूपमा, परमेश्‍वरले मानवजातिलाई सजिलै बिदाइ गर्ने सजिलो कार्य गर्नुभयो, संसारलाई जलप्रलयद्वारा अन्त गरेर उहाँले पुराना कुराहरूलाई समाधान र उचित अन्त्य गर्नुभयो। तथापि, परमेश्‍वरले यस बेलाको पीडालाई हृदयको गहिराइमा लुकाएर राख्‍नुभयो। परमेश्‍वरले आफ्ना व्यथाहरू सुनाउनको लागि कोही नभएको बेला, उहाँले संसारलाई फेरि जलप्रलयद्वारा नष्ट गर्नुहुनेछैन भनेर परमेश्‍वरले मानवजातिसँग करार स्थापित गर्नुभयो। जब इन्द्रेनी देखा पर्‍यो, यसको उद्देश्य मानिसहरूलाई यस्तो घटना पनि घटेको थियो भन्‍ने कुराको सम्झना दिलाउनु र तिनीहरू दुष्टताबाट अलग रहनुपर्छ भनी सावधान गराउनु थियो। त्यस्तो पीडादायी अवस्थामा पनि परमेश्‍वरले मानवजातिलाई बिर्सनुभएन र अझ पनि तिनीहरूको निम्ति चासो देखाउनुभयो। के यो परमेश्‍वरको प्रेम र निःस्वार्थीपन होइन र? तर मानिसहरूले कष्ट भोग्दा के सोच्छन् त? के यही बेला तिनीहरूलाई परमेश्‍वरको सबैभन्दा बढी आवश्यकता पर्दैन र? यस्तो समयमा, परमेश्‍वरबाट तिनीहरूलाई सान्त्वना मिलोस् भनेर मानिसहरूले परमेश्‍वरलाई निम्त्याउँछन्। जेसुकै भए पनि, परमेश्‍वरले मानिसहरूलाई कहिले पनि निराश पार्नुहुन्न, र उहाँले सधैँ मानिसहरूलाई तिनीहरूका कठिन परिस्थितिहरूबाट बाहिर निस्कन र ज्योतिमा हिँड्न सक्षम तुल्याउनुहुन्छ। परमेश्‍वरले मानवजातिको निम्ति यसरी प्रबन्ध गर्नुहुने भए तापनि मानिसको हृदयमा परमेश्‍वर शान्ति दिने चक्की वा सान्त्वना दिने औषधिभन्दा बढी हुनुहुन्‍न। परमेश्‍वर कष्टमा हुनुभएको बेला, उहाँको हृदय घायल भएको बेला, सृष्टि गरिएको प्राणी वा उहाँलाई साथ दिने वा उहाँलाई सान्त्वना दिने व्यक्ति पाउन चाहनु परमेश्‍वरको असाधारण इच्छा हो। मानिसले कहिले पनि परमेश्‍वरको अनुभूतिहरूप्रति ध्यान दिँदैन, यसैले परमेश्‍वरले उहाँलाई सान्त्वना दिने व्यक्ति न त माग्नुहुन्छ न त आशा गर्नुहुन्छ। उहाँले आफ्नो भाव व्यक्त गर्नको निम्ति आफ्नै विधिहरूको प्रयोग गर्नुहुन्छ। केही कष्टहरू भोग्नु परमेश्‍वरको निम्ति ठूलो कठिनाइको कुरा होइन भनेर मानिसहरूले सोच्छन्, तर जब तैँले साँचो रूपमा परमेश्‍वरलाई बुझ्‍ने कोसिस गर्छस्, जब उहाँले गर्नुभएका हरेक कुराहरूप्रति परमेश्‍वरको इमान्दार इरादाहरूलाई सराहना गर्न सक्छस् तब मात्र तैँले परमेश्‍वरको महानता र उहाँको निःस्वार्थीपनलाई बुझ्‍न सक्छस्। परमेश्‍वरले इन्द्रेनीको प्रयोग गरेर मानवजातिसँग करार स्थापित गर्नुभए तापनि उहाँले किन यसो गर्नुभयो—उहाँले यो करार किन स्थापित गर्नुभयो—भनेर कसैलाई पनि भन्‍नुभएन, अर्थात् उहाँले आफ्ना वास्तविक विचारहरू कहिले पनि कसैलाई भन्‍नुभएन। किनकि परमेश्‍वरले आफ्नै हातहरूले सृष्टि गर्नुभएका मानवजातिप्रति उहाँको प्रेमको गहिराइलाई कसैले पनि बुझ्‍न सक्दैन, र मानवजातिको विनाश गर्दा उहाँको हृदयले भोगेको कष्टलाई पनि कसैले सराहना गर्न सक्दैन। यसैले, उहाँले कस्तो अनुभूति गर्नुभयो भनेर मानिसहरूलाई भन्‍नुहुन्थ्यो भने पनि तिनीहरूले उहाँको भरोसा लिन सक्‍ने थिएनन्। कष्टमा हुँदाहुँदै पनि उहाँले आफ्नो कामको अर्को चरणलाई अझ पनि निरन्तरता दिइरहनुभएको छ। सबै कष्टहरूलाई चुपचाप आफैँ सहँदै परमेश्‍वरले मानवजातिलाई सधैँ आफ्नो सर्वोत्तम पक्ष र सबैभन्दा असल थोकहरू दिनुहुन्छ। परमेश्‍वरले कहिले पनि ती कष्टहरूको खुलासा गर्नुहुन्न। बरु, उहाँले तिनीहरूलाई सहनुहुन्छ र चुपचाप प्रतीक्षा गर्नुहुन्छ। परमेश्‍वरको सहनशीलता उदासीन, सुस्त वा असहाय छैन न त यो कमजोरीको सङ्केत नै हो। बरु उहाँको प्रेम र सार सधैँ निःस्वार्थ रहिआएको छ। यो उहाँको सार र स्वभावको स्वभाविक प्रकटीकरण र साँचो सृष्टिकर्ताको रूपमा परमेश्‍वरको पहिचानको वास्तविक मूर्तरूप हो।

यति भनिसकेपछि पनि, केहीले मैले भन्‍न खोजेको कुराको गलत व्याख्या गर्दै यस्तो सोच्न सक्छन्, “मानिसहरूलाई परमेश्‍वरप्रति दयाको अनुभव गराउने इरादाले परमेश्‍वरको अनुभूतिहरूलाई यति धेरै भावका साथ यसरी विस्तारमा वर्णन गरिएको हो र?” के त्यही इरादा हो त? (होइन।) मैले तिमीहरूलाई यी कुराहरू बताउनुको उद्देश्य तिमीहरूले परमेश्‍वरलाई अझ राम्ररी चिन्‍ने, उहाँका असङ्ख्य पक्षहरू बुझ्‍ने, उहाँका भावनाहरू बुझ्‍ने तथा परमेश्‍वरको सार र स्वभाव मानिसका खोक्रा शब्दहरू वा तिनीहरूका शब्द र सिद्धान्तहरू वा तिनीहरूका कल्पनाहरूद्वारा होइन बरु अलिअलि गर्दै उहाँका कामद्वारा ठोस रूपमा प्रकट गरिएका छन् भन्‍ने कुराको सराहना गर्ने बनाउनु हो। यसको अर्थ, परमेश्‍वर र परमेश्‍वरको सार साँच्चिकै अस्तित्वमा छ—तिनीहरू चित्रहरू होइनन्, कल्पनाहरू होइनन्, मानिसद्वारा बनाइएका होइनन् र निश्‍चय नै मानिसका मनगढन्ते कुरा होइनन्। के अब तिमीहरूले यसलाई पहिचान गर्‍यौ त? यदि तिमीहरूले यसको पहिचान गर्‍यौ भने आजका मेरा वचनहरूले आफ्नो लक्ष्य हासिल गरे।

आज हामीले तीन विषयहरूमा छलफल गर्‍यौँ। यी तीन विषयहरूको बारेमा गरिएको हाम्रो सङ्‍गतिबाट हरेकले धेरै कुराहरू प्राप्त गरे भन्‍ने मेरो भरोसा छ। यी तिन विषयहरूद्वारा मैले व्याख्या गरेका परमेश्‍वरका विचारहरू वा मैले उल्लेख गरेका परमेश्‍वरको स्वभाव र सारले परमेश्‍वरको बारेमा मानिसहरूको कल्पना र बुझाइलाई रूपान्तरण गरेको छ, परमेश्‍वरप्रतिको हरेकको विश्‍वासलाई पनि रूपान्तरण गरेको छ, र यसअतिरिक्त हरेकले आफ्नो हृदयमा आदर गरेका परमेश्‍वरको तस्विरलाई रूपान्तरण गरेको छ भनेर म निश्‍चयताका साथ भन्‍न सक्छु। जेसुकै होस्, बाइबलका यी दुई खण्डहरूमा परमेश्‍वरको स्वभावको बारेमा तिमीहरूले जे सिकेका छौ ती कुराहरू तिमीहरूका निम्ति फाइदाजनक छन् भन्‍ने मेरो आशा छ र तिमीहरू यहाँबाट फर्केर गएपछि यसको बारेमा चिन्तन-मनन गर्नेछौ भन्‍ने आशा गर्छु। आजको सभा यही समाप्त हुन्छ। फेरि भेटौँला।

नोभेम्बर ४, २०१३

अघिल्लो: परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने

अर्को: परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् २

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्