काम र प्रवेश (३)
परमेश्वरले मानिसलाई धेरै कुरा जिम्मा दिनुभएको छ र अनगिन्ती तरिकाले तिनीहरूका प्रवेशलाई सम्बोधन गर्नुभएको छ। तर मानिसहरूको क्षमता धेरै नै कमजोर भएकोले परमेश्वरका धेरैजसो वचनहरू जरा हाल्न असफल भएका छन्। यस्तो कम क्षमता हुनुका विभिन्न कारणहरू छन्, जस्तै मानिसको सोच र नैतिकताको भ्रष्टता, र उचित पालनपोषणको अभाव; मानिसको हृदयलाई गम्भीरतापूर्वक पकडमा पार्ने सामन्ती अन्धविश्वासहरू; मानिसको हृदयको गहिराइमा कैयौँ खराब कुराहरू हालिदिने भ्रष्ट र पतित जीवनशैलीहरू; सांस्कृतिक साक्षरताको सतही बुझाइ, करिब अन्ठानब्बे प्रतिशत मानिसहरूसँग सांस्कृतिक साक्षरताको शिक्षा नहुनु, अनि अति थोरैले मात्र उच्च स्तरको सांस्कृतिक शिक्षा प्राप्त गर्नु। त्यसकारण, मानिसहरूलाई परमेश्वर वा आत्माको अर्थ के हो थाहै छैन, तिनीहरूमा सामन्ती अन्धविश्वासबाट प्राप्त भएको परमेश्वरको अनिश्चित र अस्पष्ट चित्र मात्रै छ। हजारौं वर्षदेखिको “राष्ट्रियताको उच्च भावना” का हानिकारक प्रभावहरूका साथै सामन्ती सोच मानिसको हृदयको गहिराइमा छोडिएका छन्, जसद्वारा मानिसहरू बन्धन र साङ्लामा परेका छन्, उनीहरूसँग अलिकति पनि स्वतन्त्रता छैन, आकाङ्क्षा राख्ने र दृढ रहने कुनै चाहना छैन, प्रगति गर्ने कुनै इच्छा छैन, बरु निष्क्रिय र प्रतिगामी भई दास मानसिकता र अन्य यस्तै कुराहरूमा डुबेका छन्—र यी वस्तुगत तत्त्वहरूले मानवजातिको वैचारिक दृष्टिकोण, आदर्श, नैतिकता र स्वभावमा एक अमेट फोहोर र घिनलाग्दो कुरा हालिदिएका छन्। यस्तो लाग्छ, मानिसहरू आतङ्कवादको अन्धकार संसारमा बाँचिरहेका छन्, जसलाई तिनीहरूमध्ये कसैले पनि पार गर्न खोज्दैन, र तिनीहरूमध्ये कसैले पनि आदर्श संसारमा जाने विचार गर्दैन; बरु, तिनीहरू आफ्नो जीवनको नियतिसित सन्तुष्ट छन्, आफ्ना दिनहरू बच्चा जन्माउँदै र हुर्काउँदै, पसिना बगाउँदै, घरको कामकाज गर्दै, एक आरामदायी र सुखी परिवारको सपना देख्दै, र शान्तिसित जीवन बिताउने क्रममा वैवाहिक स्नेह, छोराछोरीको आदर र जीवनको उत्तरार्धको खुसी पाउने सपना बुन्दै जिउँछन्…। दसौं, हजारौं वर्षदेखि अहिलेसम्म मानिसहरूले आफ्नो समय यसरी नै नष्ट पारिरहेका छन्, कसैले पनि सिद्ध जीवन सिर्जना गरेको छैन, सबै जना यस अन्धकार संसारमा प्रसिद्धि र धनको पछि दौडँदै र एकअर्काको विरुद्ध षड्यन्त्र गर्दै एकअर्काको हत्या गर्न तत्पर रहेका छन्। के कहिल्यै कसैले परमेश्वरको इच्छा खोजेको छ? के कसैले कहिल्यै परमेश्वरको काममा ध्यान दिएको छ? अन्धकारको प्रभावमा परेका मानवताका सबै भागहरू लामो समयदेखि मानव प्रकृति बनेको छ, त्यसैले परमेश्वरको काम अघि बढाउन धेरै गाह्रो छ, र मानिसहरूमाझ आज परमेश्वरले तिनीहरूलाई जिम्मा दिनुभएको काममा ध्यान दिने हृदय झन् कम भएको छ। तर जे होस्, मलाई विश्वास छ, मैले यी कुराहरू बोलेकोमा मानिसहरूलाई कुनै आपत्ति हुनेछैन, किनकि म जुन कुरा गर्दै छु त्यो हजारौं वर्षको इतिहास हो। इतिहासका कुरा भनेका तथ्यहरू हुन्, त्यसबाहेक, ती कुराहरू सबैलाई स्पष्ट भएका कलङ्कित घटनाहरू हुन्, यसैले तथ्यको विपरीत कुरा भन्नुको के अर्थ छ र? तर मलाई यो पनि विश्वास छ कि यी वचनहरूलाई देखेर विवेकी मानिसहरू बिउँझनेछन् र उन्नति गर्ने कोसिस गर्नेछन्। परमेश्वर सबै मानिस शान्ति र सन्तुष्टिमा जिऊन् र काम गरून्, साथसाथै परमेश्वरलाई प्रेम गर्न सकून् भन्ने आशा राख्नुहुन्छ। सारा मानवजाति विश्राममा प्रवेश गरोस् भन्ने इच्छा परमेश्वरको छ; योभन्दा पनि बढी, सारा भूमि परमेश्वरको महिमाले भरियोस् भन्ने परमेश्वरको ठूलो इच्छा छ। मानवजाति शैतानद्वारा नराम्ररी भ्रष्ट भएर विस्मृति र अचेत अवस्थामा डुबेर रहनु शर्मको कुरा हो, जसको कारण आज तिनीहरूमा मानिसको स्वरूप पनि छैन। यसरी, मानिसको विचार, नैतिकता र शिक्षाले एउटा महत्त्वपूर्ण कडी बनाउँछ, साथमा सांस्कृतिक साक्षरताको तालिमले दोस्रो कडी बनाउँछ, यसैले मानिसको सांस्कृतिक क्षमता बढाउन र तिनीहरूको आत्मिक दृष्टिकोण बदल्नु उत्तम हुन्छ।
वास्तवमा, परमेश्वरले मानवजातिका लागि तय गर्नुभएका मापदण्डहरू त्यति उच्च छैनन्, तर मानिसको क्षमता र परमेश्वरले तय गर्नुभएको मापदण्डबीचको धाँदो धेरै ठूलो भएकोले धेरै मानिसहरूले आफ्नो टाउको उठाउँछन् र परमेश्वरका मापदण्डहरूतर्फ हेर्छन्, तर तिनीहरूमा ती मापदण्डहरू पूरा गर्ने क्षमताको कमी छ। मानिसहरूको जन्मजात गुण, साथै जन्मपछि तिनीहरूले आफूलाई जे-जस्ता कुराहरूद्वारा सुसज्जित पार्छन्, ती कुराहरू परमेश्वरका मापदण्डहरू पूरा गर्नका लागि पर्याप्त हुँदैनन्। तर यो कुरा बुझ्न सक्नु मात्रै एक अचुक समाधान होइन। पारी गाउँको पानीले तुरुन्त तिर्खा मेट्न सक्दैन। मानिसहरूले आफूहरू धूलोजस्तै तुच्छ हौँ भनेर जाने पनि यदि तिनीहरूमा परमेश्वरको हृदय सन्तुष्ट पार्ने संकल्प छैन भने, र परमेश्वरका मापदण्डहरू पूरा गर्न उन्नत तरिका कहिल्यै अपनाउँदैनन् भने, त्यस किसिमको ज्ञानको के मूल्य हुन्छ र? के यो बाँसको डोकोले इनारको पानी तानेजस्तो पूरै व्यर्थ हुँदैन र? मैले जुन गुत्थीको कुरा गर्दै छु त्यो प्रवेशसित सम्बन्धित छ; मुख्य विषय नै त्यही हो।
मानिसको प्रवेशको क्रममा, जीवन सधैँ न्यास्रो हुन्छ, आत्मिक जीवन दिक्कलाग्दा तत्वहरूले भरिएको हुन्छ, जस्तै प्रार्थना गर्ने, परमेश्वरका वचनहरू खाने र पिउने, वा भेलाहरू आयोजन गर्ने, आदि। यसकारण, मानिसहरूले परमेश्वरमा विश्वास गर्दा कुनै ठूलो आनन्द प्राप्त हुँदैन भन्ने सधैँ महसुस गर्छन्। त्यस्ता आत्मिक गतिविधिहरू सधैँ मानवजातिको मौलिक स्वभावको आधारमा गरिन्छ, जुन शैतानद्वारा भ्रष्ट पारिएको छ। मानिसहरूले कहिलेकहीँ पवित्र आत्माको ज्ञान प्राप्त गर्न सके पनि, तिनीहरूको मौलिक सोच, स्वभाव, जीवनशैली र बानीहरूले अझै पनि जरा गाडेका हुन्छन् र यसैले तिनीहरूको प्रकृति अपरिवर्तित नै रहन्छ। मानिसहरूले गर्ने अन्धविश्वासपूर्ण गतिविधिहरूलाई परमेश्वर सबैभन्दा बढी घृणा गर्नुहुन्छ, तर धेरै मानिसहरूले ती अन्धविश्वासका गतिविधिहरू परमेश्वरले नै आदेश गर्नुभएको हो भन्ने सोच्दै अझै पनि ती कुराहरूलाई त्याग्न सक्दैनन्, र आज पनि तिनीहरूले ती कुराहरूलाई पूर्ण रूपमा हटाउन सकेका छैनन्। जवान मानिसहरूले प्रबन्ध गर्ने विवाहका भोज र दुलहीका सरसमानहरू; नगद उपहार, भोज, र आनन्दका अवसरहरू मनाइने त्यस्तै अन्य तरिकाहरू; हस्तान्तरण हुँदै आएका प्राचीन सूत्रहरू; मृतकहरूका निम्ति गरिने सबै अर्थहीन अन्धविश्वासका कार्य र अन्त्येष्टि संस्कारहरू—यी कुराहरू त परमेश्वरका निम्ति अझ बढी घृणित छन्। आराधनाको दिनसमेत (धार्मिक संसारले पालन गर्ने शबाथको दिन लगायत) उहाँको निम्ति घृणित छ; र सामाजिक सम्बन्ध र मानिस-मानिसबीचको सांसारिक अन्तरक्रियाहरूलाई परमेश्वर धेरै तुच्छ ठान्नुहुन्छ र अस्वीकार गर्नुहुन्छ। सबैले जानेका वसन्त महोत्सव र ख्रीष्टमसको दिन पनि परमेश्वरले आदेश दिनुभएको होइन, यी उत्सवका दिनहरूमा प्रयोग गरिने खेलौना र सजावटहरू जस्तै मनोहर पङ्क्तिहरू, पटकाहरू, बत्ती, पवित्र भोज, ख्रीष्टमस उपहारहरू र ख्रीष्टमसको रमझम, आदि उहाँले आदेश दिनुभएको हुने त कुरै नगरौँ—के यी सबै कुरा मानिसहरूको मनभित्र भएका आदर्शका कुराहरू होइनन् र? शबाथमा रोटी भाँच्ने, दाखमद्य र मिहिन मलमल त झन् बढी आदर्शका कुराहरू हुन्। चीनमा लोकप्रिय रहेका परम्परागत पर्वका दिवसहरू, जस्तै ड्र्यागनको शिर उठाउने दिवस, ड्र्यागन डुङ्गा पर्व, मध्य-शरद पर्व, लावा पर्व, र नयाँ वर्ष, अनि धार्मिक संसारका पर्वहरू जस्तै ईस्टर, बप्तिस्मा दिवस र ख्रीष्टमस, यी सबै अनुचित पर्वहरू प्राचीन समयदेखि आजसम्म धेरै मानिसहरूले आयोजना गर्दै र हस्तान्तरण गर्दै आएका छन्। मानवजातिको समृद्ध कल्पनाशक्ति र सृजनशील अवधारणाले नै तिनीहरूलाई आजको दिनसम्म यसरी हस्तान्तरण गर्न सम्भव तुल्याएको हो। तिनीहरू त्रुटिहीन जस्ता देखिन्छन्, तर यो वास्तवमा शैतानले मानवजातिमाथि खेलेको चाल हो। जुन ठाउँमा शैतानहरूको धेरै भीड हुन्छ, र जुन ठाउँ बढी अप्रचलित र पछौटे हुन्छ, त्यस ठाउँमा सामन्तवादी प्रथाहरू त्यत्ति नै गहिरो रूपमा गाडिएका हुन्छन्। त्यस्ता कुराहरूले मानिसहरूलाई दह्रोसँग बाँधेर राख्छ, तिनीहरूलाई हलचल गर्ने कुनै ठाउँ दिँदैन। धार्मिक संसारका धेरै चाडहरूले ठूलो मौलिकता प्रकट गरेको र परमेश्वरको कामका लागि पुल बनाएको जस्तो देखिन्छ, तर ती वास्तवमा अदृश्य बन्धनहरू हुन्, जसद्वारा शैतानले मानिसहरूलाई बाँध्छ र मानिसहरूलाई परमेश्वरलाई चिन्नको लागि आउनबाट रोक्छ—ती सबै शैतानका चलाकीपूर्ण युक्तिहरू हुन्। वास्तवमा, जब परमेश्वरको कामको एक चरण समाप्त हुन्छ, उहाँले त्यस समयका औजार र शैलीहरूलाई नामनिसानासमेत बाँकी नछोडी पहिल्यै नाश पारिसक्नुभएको हुन्छ। तैपनि, “भक्त विश्वासीहरू” ले ती ठोस भौतिक वस्तुहरूको आराधना गरी नै रहन्छन्; यस क्रममा, तिनीहरूले परमेश्वरसित जे छ त्यसलाई आफ्ना मनको पछाडि धकेल्छन् र त्यसउप्रान्त त्यसको अध्ययन गर्दैनन्। तिनीहरू परमेश्वरप्रतिको प्रेमले पूरा भरिएका जस्ता देखिन्छन्, जबकि वास्तवमा तिनीहरूले उहाँलाई धेरै समयअघि नै घरबाट बाहिर निकालेर शैतानलाई आराधना गर्ने टेबलमा राखेका हुन्छन्। येशू, क्रूस, मरियम, येशूको बप्तिस्मा र अन्तिम भोज आदिका चित्रहरू—यी कुराहरूलाई मानिसहरूले स्वर्गका परमप्रभुको रूपमा मान्छन्, र जहिले पनि “परमप्रभु, स्वर्गमा बस्नुहुने पिता” भनेर पुकारिरहेका हुन्छन्। के यो सबै ठट्टा होइन र? आजको दिनसम्म, त्यस्ता धेरै भनाइ र अभ्यासहरू मानवजातिमाझ हस्तान्तरण गरिएका छन् र ती सबै नै परमेश्वरका निम्ति घृणित छन्; तिनले परमेश्वरको अगाडिको बाटोलाई गम्भीर रूपमा अवरोध गर्छन्, र अझ भन्ने हो भने, मानवजातिको प्रवेशमा ठूलो अवरोध उत्पन्न गर्छन्। शैतानले मानवजातिलाई भ्रष्ट पारेको हदलाई पन्छाएर हेर्दा, मानिसहरूको भित्री अन्तस्करण पूर्ण रूपले विटनेस लीका कानुनहरू, लरेन्सका अनुभवहरू, वाचमेन निका सर्वेक्षणहरू र पावलका कामहरूले भरिएको हुन्छ। परमेश्वरका लागि मानिसमा काम गर्ने कुनै उपाय हुँदैन, किनकि तिनीहरूभित्र अति धेरै व्यक्तिवाद, कानुन, नियम, विनियम, प्रणाली र त्यस्तै अन्य कुराहरू हुन्छन्; मानिसको सामन्ती अन्धविश्वासी प्रवृत्तिबाहेक यी कुराहरूले मानवजातिलाई कब्जा गरेका र नाश पारेका छन्। यस्तो लाग्छ, मानिसहरूका विचारहरू एउटा चाखलाग्दो परिकथा वर्णन गर्ने पूर्ण रङ्गीन, विचित्रका प्राणीहरू बादलमा सवार हुने चलचित्र हो, र त्यो यति कल्पनाशील हुन्छ कि यसले मानिसहरूलाई चकित बनाउँछ, र तिनीहरू स्तब्ध र अवाक् बन्छन्। सत्य कुरा भन्नुपर्दा, परमेश्वर आज जुन काम गर्न आउनुभएको छ त्यो मुख्य रूपमा मानवजातिको अन्धविश्वासका कुराहरू निराकरण गर्न र हटाउनका साथै तिनीहरूका मानसिक दृष्टिकोणलाई पूर्ण रूपान्तरण गर्नु हो। मानवजातिद्वारा पुस्तौंपुस्तादेखि हस्तान्तरण गरिँदै आएको उत्तराधिकारको कारण परमेश्वरको काम आजको दिनसम्म रहेको होइन; यो काम उहाँद्वारा व्यक्तिगत रूपमा सुरु भएको र उहाँद्वारा नै सम्पन्न भएको हो, यसमा सफल हुनको लागि कुनै खास महान् आत्मिक व्यक्तिको विरासत वा कुनै अर्को युगमा परमेश्वरले गर्नुभएको प्रतिनिधिमूलक प्रकृतिको कुनै पनि कामको उत्तराधिकार प्राप्त गर्नुपर्ने आवश्यकता परेन। मानवजातिले यी कुनै पनि कुराको बारेमा चिन्ता लिनुपर्दैन। आज परमेश्वरसँग बोल्ने र काम गर्ने शैली अर्कै छ, त्यसैले मानिसले किन आफैलाई दुःख दिनुपर्छ र? यदि मानिसहरू आफ्ना “पुर्खाहरू” का परम्परालाई जारी राख्दै वर्तमान प्रवाहभित्रको आजको बाटोमा हिँड्छन् भने, तिनीहरू कुनै पनि गन्तव्यमा पुग्नेछैनन्। जसरी परमेश्वरले मानव संसारको वर्ष, महिना र दिनहरूलाई घृणा गर्नुहुन्छ, त्यसरी नै मानिसको व्यवहारको यो विशेष तरिकाप्रति पनि उहाँले असाध्यै घृणा महसुस गर्नुहुन्छ।
मानव स्वभाव परिवर्तन गर्ने उत्तम तरिका भनेको मानिसका भित्री हृदयका ती अंशहरूको उपचार गर्नु हो, जुन गम्भीर रूपमा विषाक्त भएको छ, र यसरी मानिसहरूलाई आफ्नो सोच र नैतिकता परिवर्तन गर्न सुरु गर्ने मौका दिनु हो। सर्वप्रथम, मानिसहरूले यी सबै धार्मिक रीतिथिति, धार्मिक क्रियाकलापहरू, वर्ष र महिनाहरू, र चाडपर्वहरू परमेश्वरका निम्ति घृणित छन् भनेर स्पष्ट रूपमा बुझ्नु आवश्यक छ। सामन्ती सोचका यी बन्धनहरूबाट तिनीहरू मुक्त हुनुपर्छ र तिनीहरूले अन्धविश्वासप्रतिको आफ्नो गहिरो झुकावको नामनिसाना मेटाउनुपर्छ। यी सबै मानवजातिको प्रवेशमा समावेश हुन्छन्। परमेश्वरले किन मानवजातिलाई लौकिक संसारबाट बाहिर निकाल्नुहुन्छ, र किन उहाँले मानवजातिलाई नियम र कानुनबाट टाढा लैजानुहुन्छ भन्ने कुरा तिमीहरूले बुझ्नुपर्छ। यो तिमीहरू प्रवेश गर्ने प्रवेशद्वार हो, र तिमीहरूको आत्मिक अनुभवसँग यी कुराको कुनै सम्बन्ध नभए पनि यी कुराहरू तिमीहरूको प्रवेशलाई रोक्ने र तिमीहरूलाई परमेश्वर चिन्न नदिने सबैभन्दा ठूला अवरोधहरू हुन्। यी कुराहरूले जाल बुन्छन् जसमा मानिसहरू फस्छन्। धेरै मानिसहरूले बाइबल अत्यन्तै धेरै पढ्छन् र बाइबलका धेरै पदहरू कण्ठस्थ सुनाउन सक्छन्। आज आफ्नो प्रवेशमा मानिसहरूले परमेश्वरको कामको यस चरणको आधार र यसको स्रोत बाइबल भएझैँ गरी उहाँको कामको मापन गर्न अचेतन रूपमै बाइबल प्रयोग गर्छन्। जब परमेश्वरको काम बाइबलसँग मिल्छ, मानिसहरूले परमेश्वरको कामलाई दह्रो समर्थन गर्छन् र उहाँलाई नयाँ सम्मानका साथ आदर गर्छन्; जब परमेश्वरको काम बाइबलसँग नमिल्दो हुन्छ, मानिसहरू यति चिन्तित हुन्छन् कि तिनीहरू असिनपसिन हुन्छन् र त्यसभित्र परमेश्वरको कामको आधार खोजी गर्छन्; यदि बाइबलमा परमेश्वरको कामको कुनै उल्लेख छैन भने, मानिसहरूले परमेश्वरलाई बेवास्ता गर्नेछन्। यो भन्न सकिन्छ कि परमेश्वरको कामको कुरा हुँदा धेरै मानिसहरूले यसलाई सतर्कता र होसियारीसाथ स्विकार्छन्, तिनीहरूले यसलाई चुनी-चुनी आज्ञापालन गर्छन्, र यसको बारेमा जान्नका निम्ति उदासीन महसुस गर्छन्; जहाँसम्म विगतका कुराहरूको सवाल छ, तिनीहरूले ती कुराहरूको आधा भागलाई समात्छन् र अर्को आधा भागलाई छोड्छन्। के यसलाई प्रवेश भन्न सकिन्छ? अरूका पुस्तकहरूलाई बहुमूल्य ठानेर समात्दै र तिनलाई परमेश्वरको राज्यको ढोकाको सुनौलो साँचोको रूपमा लिँदै मानिसहरूले आज परमेश्वरले तिनीहरूबाट जे चाहनुहुन्छ त्यसमा कुनै चासो राख्दैनन्। यसबाहेक, धेरै जना “बुद्धिमानी विशेषज्ञहरू” ले परमेश्वरका वचनहरूलाई आफ्नो देब्रे हातमा र अरूका “उत्कृष्ट कृतिहरू” लाई दाहिने हातमा राख्छन्, मानौं परमेश्वरका वचनहरूलाई पूर्ण रूपमा सही छन् भनी प्रमाणित गर्न तिनीहरू यी उत्कृष्ट कृतिहरूभित्र आजका परमेश्वरका वचनहरूको आधार खोज्न चाहन्छन्, र तिनीहरूले कृति नै सिर्जना गर्न लागेजस्तो गरी परमेश्वरका वचनहरूलाई ती उत्कृष्ट कृतिहरूसँग जोड्छन् र अरूलाई ती वचनहरू बताउँछन्। सत्य कुरा भन्ने हो भने, मानवजातिको माझमा धेरै जना “वैज्ञानिक अनुसन्धानकर्ताहरू” छन् जो आजका हालैका वैज्ञानिक उपलब्धिहरू अर्थात् नजीर नभएका वैज्ञानिक उपलब्धिहरूलाई (उदाहरणका लागि, परमेश्वरको काम, परमेश्वरका वचनहरू र जीवनमा प्रवेश गर्ने बाटोलाई) त्यत्ति ठूलो कुरा मान्दैनन्, त्यसैले मानिसहरू सबै “आत्मनिर्भर” छन्, तिनीहरू आफ्नै प्रभावशाली बोलीद्वारा टाढा-टाढासम्म “प्रचार” गर्छन्, र “परमेश्वरको असल नाउँ” को फूर्ति देखाउँछन्। यस्तो बेला तिनीहरूका आफ्नै प्रवेश सङ्कटमा हुन्छ र तिनीहरू परमेश्वरको मापदण्डदेखि त्यत्ति नै टाढा देखिन्छन् जति टाढा अहिलेको क्षणबाट सृष्टिको समय छ। परमेश्वरको काम गर्न कतिको सजिलो छ? यस्तो लाग्छ, मानिसहरूले आफ्नो आधा रूप हिजोका निम्ति छोड्ने, आधा रूप आजको लागि ल्याउने, आधा शैतानलाई दिने र आधा परमेश्वरमा चढाउने भनी पहिल्यै मन बनाइसकेका छन्, मानौं यो तिनीहरूको विवेकलाई सहज बनाउने र केही सान्त्वना महसुस गर्ने तरिका हो। मानिसहरूका भित्री संसारहरू यत्ति कपटपूर्ण छन् कि तिनीहरू भोलीको दिन मात्र होइन हिजोको दिन पनि गुमेर जाला भनी डराउँछन्, शैतान र आजका परमेश्वर दुवै अप्रसन्न होलान् भनी भित्रैदेखि डराउँछन्, जो अहिले छन् जस्तो देखिन्छन् र नभएका जस्तो पनि देखिन्छन्। मानिसहरूले आफ्नो सोच र नैतिकता राम्रोसँग विकास गर्न नसकेका कारण तिनीहरूमा विशेष रूपले विवेकको कमी छ, र तिनीहरूले आजको काम परमेश्वरको हो कि होइन भनी बताउन सक्दैनन्। सायद यस्तो किन होला भने मानिसहरूको सामन्ती र अन्धविश्वासी सोच यति गहिरो छ कि तिनीहरूले लामो समयदेखि अन्धविश्वास र सत्यतालाई अनि परमेश्वर र मूर्तिहरूलाई एउटै श्रेणीमा राखेका छन्, तिनीहरू यी कुराहरूबीचको भिन्नतालाई वास्ता गर्दैनन्, र तिनीहरूले आफ्नो दिमागलाई घोटेर पनि स्पष्ट भेद छुट्ट्याउन नसकेका जस्ता देखिन्छन्। त्यही कारणले गर्दा, मानवजाति आफ्ना बाटोहरूमा रोकिएका छन् र अब अगाडि बढ्न छोडेका छन्। यी सबै समस्याहरू सही प्रकारको वैचारिक शिक्षाको अभावबाट उत्पन्न हुन्छ, जसले तिनीहरूका प्रवेशमा ठूलो कठिनाइ सृजना गर्छ। फलस्वरूप, मानिसहरूले साँचो परमेश्वरको काममा कहिल्यै पनि चासो राख्दैनन्, बरु मानिसकै काममा दृढतापूर्वक टाँसिइरहन्छन्[१] (जस्तै ती मानिसहरू जसलाई उनीहरू महान् व्यक्तिहरू ठान्छन्), मानौं तिनीहरूमा यसैको छाप लागेको छ। के मानवजातिले प्रवेश गर्नुपर्ने ताजा विषयहरू यिनै होइनन् र?
फूटनोट:
१. “दृढतापूर्वक टाँसिइरहन्छन्” व्यङ्गको रूपमा प्रयोग गरिन्छ। यस वाक्यांशले मानिसहरू अटेरी र वशमा राख्न नसकिने हुन्छन्, तिनीहरूले पुराना कुराहरूलाई समातिराख्छन् र तिनलाई छोड्न चाहँदैनन् भन्ने सङ्केत गर्छ।