काम र प्रवेश (२)

तिमीहरूको काम र प्रवेश खराब छ; मानिसले कसरी काम गर्ने भन्‍ने कुरालाई त्यत्ति महत्त्व दिँदैन र जीवन प्रवेशको बारेमा त उसले झन् बढी लापरवाही गर्छ। मानिसले यी कुराहरूलाई आफूले प्रवेश गर्नुपर्ने शिक्षाहरूको रूपमा लिँदैन; त्यसकारण, मानिसले प्रायः जे पनि देख्छ त्यो तिमीहरूको अनुभवमा रित्तो मृगतृष्णाहरू मात्र हुन्छन्। जहाँसम्म कामको प्रश्‍न छ, तिमीहरूलाई त्यति धेरै काम गर्न लगाइँदैन, तर परमेश्‍वरद्वारा सिद्ध पारिनुपर्ने व्यक्तिको रूपमा तिमीहरूले परमेश्‍वरको निम्ति काम गर्ने विषयमा पाठहरू सिक्‍नुपर्छ, ताकि तिमीहरू चाँडै परमेश्‍वरको इच्छाअनुरूप हुन सक। युगौँयुगदेखि जसले काम गरे उनीहरूलाई सेवक वा प्रेरितहरू भनिएको छ, र यी शब्दहरूले परमेश्‍वरद्वारा प्रयोग गरिएका थोरै मानिसहरूलाई बुझाउँछ। तैपनि मैले कुरा गरेको आजको कामले ती सेवक वा प्रेरितहरूलाई मात्र बुझाउँदैन, यो काम त परमेश्‍वरद्वारा सिद्ध पारिनुपर्ने सबै मानिसहरूप्रति लक्षित छ। सायद यसमा थोरै मात्र चासो राख्‍नेहरू धेरै होलान्, तर प्रवेशको खातिर, यस विषयसम्बन्धी सत्यताको बारेमा कुरा गर्नु सबैभन्दा राम्रो हुन्छ।

जहाँसम्म कामको कुरा छ, काम गर्नु भनेको परमेश्‍वरका निम्ति यताउति दौडनु, सबै ठाउँमा प्रचार गर्नु, र उहाँको खातिर अर्पित हुनु हो भन्‍ने मानिसले विश्‍वास गर्छ। यस्तो विश्‍वास सही भए पनि यो अत्यन्तै एकतर्फी छ; परमेश्‍वरले मानिसलाई आग्रह गर्नुभएको कुरा उहाँका निम्ति यताउति दौडधूप गर्नु मात्र होइन; त्योभन्दा बढी, यो काम आत्माभित्रको सेवकाइ र प्रबन्धसित सम्बन्धित छ। धेरै दाजुभाइ-दिदीबहिनीहरूले, यति धेरै वर्षको अनुभवपछि पनि परमेश्‍वरको निम्ति काम गर्नेबारेमा कहिल्यै सोचेका छैनन्, किनकि मानिसले जुन कामको बारेमा सोच्छ त्यो परमेश्‍वरले आग्रह गर्नुभएको कामसित नमिल्दो हुन्छ। त्यसकारण, मानिसमा कामको विषयमा कुनै पनि रुचि छैन, मानिसको प्रवेश एकतर्फी हुनुको मुख्य कारण यही हो। तिमीहरू सबैले परमेश्‍वरका निम्ति काम गर्दै आफ्नो प्रवेश सुरु गर्नुपर्छ, यसरी तिमीहरूले अनुभवको प्रत्येक पक्षलाई राम्ररी अनुभव गर्न सक्छौ। तिमीहरू प्रवेश गर्नुपर्ने यहीभित्र हो। कामले परमेश्‍वरको खातिर यताउति दगुरिहिँड्नु भन्‍ने बुझाउँदैन, यसले त मानिसको जीवन अनि ऊ जसरी जिउँछ त्यस कुराले परमेश्‍वरलाई आनन्द दिन्छ कि दिँदैन भन्‍ने कुरालाई बुझाउँछ। कामले परमेश्‍वरप्रतिको आफ्‍नो भक्ति र परमेश्‍वरसम्बन्धी आफ्नो ज्ञानलाई मानिसहरूले उहाँको निम्ति साक्षी दिन र मानिसको सेवा गर्नको लागि प्रयोग गर्नुलाई बुझाउँछ। मानिसको जिम्मेवारी यही हो र सबै मानिसहरूले बुझ्नुपर्ने यही हो। कसैले भन्‍न सक्छ कि तिमीहरूको प्रवेश नै तिमीहरूको काम हो, र तिमीहरूले परमेश्‍वरका निम्ति काम गरिरहेको बेला प्रवेश गर्ने कोसिस गर्छौ। परमेश्‍वरको कामको अनुभव गर्नु भनेको उहाँको वचन कसरी खाने र पिउने भनी जान्‍नु मात्र होइन; अझ महत्त्वपूर्ण कुरा, तिमीहरूले परमेश्‍वरको बारेमा साक्षी दिन जान्‍नुपर्छ र तिमीहरूले परमेश्‍वरको सेवा गर्नका साथै मानिसको लागि सेवकाइ र आवश्यक प्रबन्ध गर्न सक्‍नुपर्छ। यही नै काम हो, र यो तिमीहरूको प्रवेश पनि हो; प्रत्येक व्यक्तिले हासिल गर्नुपर्ने कुरा यही हो। परमेश्‍वरका निम्ति यताउति दौडनु र सबै ठाउँमा प्रचार गर्नुमा मात्र ध्यान दिनेहरू धेरै छन्, तैपनि तिनीहरूले आफ्नो व्यक्तिगत अनुभवमा ध्यान दिँदैनन् र आत्मिक जीवनमा आफूले गर्नुपर्ने प्रवेशको बारेमा बेवास्ता गर्छन्। यही कुराले नै परमेश्‍वरको सेवा गर्ने मानिसहरूलाई परमेश्‍वरको विरोध गर्ने मानिसहरू बनाएको छ। यतिका वर्षसम्‍म परमेश्‍वरको सेवा र मानिसहरूको लागि सेवकाइ गर्दै आएका यी मानिसहरूले काम र प्रचार गर्नुलाई प्रवेश गर्नु भन्‍ने ठानेका छन् र कसैले पनि आफ्नो व्यक्तिगत आत्मिक अनुभवलाई महत्त्वपूर्ण प्रवेश मानेका छैनन्। बरु, पवित्र आत्माको कामबाट प्राप्त हुने अन्तर्ज्ञानलाई तिनीहरूले अरूलाई शिक्षा दिने पुँजीको रूपमा लिएका छन्। प्रचार गर्दा तिनीहरूमा धेरै बोझ हुन्छ र तिनीहरूले पवित्र आत्माको काम प्राप्त गर्छन्, र त्यसमार्फत तिनीहरू पवित्र आत्माको आवाज प्रकट गरिरहेका हुन्छन्। यस क्षणमा, काम गर्ने व्यक्तिहरू पवित्र आत्माको काम आफ्नै व्यक्तिगत आत्मिक अनुभव बनेझैँ आत्मसन्तोषले भरिएका हुन्छन्; तिनीहरूले आफूले बोलिरहेका सबै वचनहरू आफ्नै व्यक्तिगत अस्तित्वको स्वामित्वमा भएको महसुस गर्छन्, तर फेरि पनि तिनीहरूका आफ्नै अनुभव भने तिनीहरूले वर्णन गरेजस्तो स्पष्ट हुँदैन। अझ अर्को कुरा, बोल्नुभन्दा अघि तिनीहरूलाई आफूले के भन्‍नेछू भन्‍ने थाहै हुँदैन, तर जब पवित्र आत्माले तिनीहरूमा काम गर्नुहुन्छ, तब तिनीहरूका वचनहरू अन्त्यहीन प्रवाहजस्तो गरी बाहिर निस्कन्छन्। तैँले एकपल्ट यसरी प्रचार गरेपछि तँलाई आफ्नो कद वास्तवमा आफूले विश्‍वास गरेजतिको सानो छैन र पवित्र आत्माले आफूमा धेरैचोटि काम गर्नुभएको छ भन्‍ने लाग्छ र त्यसपछि तैँले आफूले पहिले नै त्यो कद प्राप्त गरिसकेको छु भन्‍ने निश्चित गर्छस् र पवित्र आत्माको काम तेरो आफ्नै प्रवेश र तेरो आफ्नै अस्तित्व हो भनी गलत विश्‍वास गर्छस्। तैँले निरन्तर यस्तो अनुभव गरेपछि आफ्नो प्रवेशप्रति तँ सुस्त बन्छस्, थाहै नपाई आलस्यतामा प्रवेश गर्छस् र आफ्नो व्यक्तिगत प्रवेशलाई महत्त्व दिन छोड्छस्। यसकारणले गर्दा, तँ अरूको लागि सेवकाइ गरिरहेको हुँदा, तैँले आफ्नो कद र पवित्र आत्माको कामको बीचमा स्पष्ट भेद छुट्ट्याउनुपर्छ। यसले तेरो प्रवेशलाई अझ सहज बनाउँछ र तेरो अनुभवमा थप फाइदा गराउँछ। मानिसले पवित्र आत्माको कामलाई आफ्नै व्यक्तिगत अनुभवको रूपमा लिँदा त्यो भ्रष्टताको स्रोत बन्छ। त्यही कारणले गर्दा म भन्छु, तैँले जुनसुकै काम गरे पनि आफ्नो प्रवेशलाई एउटा महत्त्वपूर्ण पाठको रूपमा लिनुपर्छ।

व्यक्तिले परमेश्‍वरको इच्छा पूरा गर्न, परमेश्‍वरको हृदयअनुसारका सबै मानिसहरूलाई उहाँको सामु ल्याउन, मानिसलाई परमेश्‍वरकहाँ ल्याई पवित्र आत्माको काम र परमेश्‍वरको अगुवाइसित परिचित गराउनका निम्ति काम गर्छ, र यसरी उसले परमेश्‍वरको कामको फललाई सिद्ध तुल्याउँछ। त्यसकारण, तिमीहरू त्यो कामको सारको बारेमा पूर्ण रूपमा स्पष्ट हुनु आवश्यक हुन्छ। परमेश्‍वरले प्रयोग गर्नुभएको व्यक्तिको रूपमा, प्रत्येक मानिस परमेश्‍वरको निम्ति काम गर्न योग्य हुन्छ, अर्थात् प्रत्येक व्यक्तिले पवित्र आत्माद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ। तैपनि, एउटा कुरा तिमीहरूले बुझ्नुपर्छ: जब मानिसले परमेश्‍वरले आज्ञा गर्नुभएको काम गर्छ, तब उसले परमेश्‍वरद्वारा प्रयोग गरिने मौका पाएको हुन्छ, तर मानिसले जे भन्छ र जान्दछ त्यो पूर्ण रूपले मानिसको कद होइन। तिमीहरूले गर्न सक्‍ने भनेको आफ्नो कामको अवधिमा आफ्नै कमजोरीहरूलाई अझ राम्ररी जान्‍नु र पवित्र आत्माबाट अझ ठूलो अन्तर्ज्ञान प्राप्त गर्नु मात्र हो। यस तरिकाले, तिमीहरू कामको अवधिमा अझ राम्रोसित प्रवेश प्राप्त गर्न सक्षम हुनेछौ। यदि मानिसले परमेश्‍वरबाट आउने अगुवाइलाई उसको आफ्नै प्रवेश र आफूभित्र अन्तर्निहित रूपमा भएको कुरा मान्छ भने मानिसको कद बढ्ने कुनै सम्‍भावना हुँदैन। पवित्र आत्माले मानिसमा जुन अन्तर्दृष्टि ल्याउने काम गर्नुहुन्छ त्यो तिनीहरू सामान्य अवस्थामा हुँदा गर्नुहुन्छ; त्यस्ता समयहरूमा, मानिसहरूले आफूले प्राप्त गरेको अन्तर्दृष्टि आफ्नै कद हो भनी सम्झने भुल गर्छन्, किनकि पवित्र आत्माले जुन प्रकारले अन्तर्दृष्टि दिनुहुन्छ त्यो असाध्यै साधारण हुन्छ, र उहाँले मानिसभित्र अन्तर्निहित रहेका कुरालाई नै प्रयोग गर्नुहुन्छ। जब मानिसहरूले काम गर्छन् र बोल्छन् वा जब तिनीहरूले प्रार्थना र आफ्नो आत्मिक आराधना गरिरहेका हुन्छन्, तब अचानक तिनीहरूलाई एउटा सत्यता स्पष्ट हुन्छ। तैपनि वास्तवमा, मानिसले जे देख्छ त्यो केवल पवित्र आत्माद्वारा दिइएको अन्तर्दृष्टि हुन्छ (स्वाभाविक रूपले यो अन्तर्दृष्टि मानिसको सहकार्यसित जोडिएको हुन्छ) र त्यसले मानिसको वास्तविक कदको प्रतिनिधित्व गर्दैन। मानिस केही कठिनाइ र जाँचहरूको सामना गर्ने अनुभवबाट गुज्रेपछि त्यस्तो परिस्थितिमा मानिसको वास्तविक कद स्पष्ट हुन्छ। तब मात्र मानिसले आफ्नो कद त्यत्ति ठूलो नभएको थाहा पाउँछ, अनि मानिसको स्वार्थीपन, व्यक्तिगत विचारहरू र लालच सबै प्रकट हुन्छन्। यस प्रकारका धेरै वटा अनुभवहरूको चक्रपछि मात्र आफ्नो आत्मामा बिउँतने धेरै जनाले विगतमा आफूले अनुभव गरेका कुराहरू आफ्नै व्यक्तिगत वास्तविकता नभएको, बरु पवित्र आत्माले दिनुभएको क्षणिक प्रकाश भएको, र मानिसले त्यो ज्योति प्राप्त गरेको मात्र हो भनेर थाहा पाउँछन्। जब पवित्र आत्माले मानिसलाई त्यो सत्यता बुझ्ने अन्तर्दृष्टि दिनुहुन्छ, तब परिस्थिति किन त्यस्तो भयो वा त्यो कतातिर जाँदैछ भन्‍ने कुरा नबताईकन पनि त्यो प्रायः स्पष्ट र बुझ्न सकिने किसिमको हुन्छ। भन्‍नुको अर्थ, यो प्रकाशमा मानिसका कठिनाइहरू सम्मिलित नगरीकनै उहाँले सोझै सत्यता प्रकट गर्नुहुन्छ। जब प्रवेश गर्ने प्रक्रियामा मानिसले कठिनाइहरूको सामना गर्छ र पवित्र आत्माको अन्तर्ज्ञानलाई सम्मिलित गर्छ तब त्यो मानिसको वास्तविक अनुभव बन्छ। उदाहरणका निम्ति, एउटी अविवाहित बहिनीले सङ्गतिको समयमा यस्तो बोलिन्: “हामी महिमा र धन खोज्दैनौँ वा पति र पत्‍नीबीचको प्रेमको खुसीको लालच गर्दैनौं; हामी शुद्ध र एकाग्र मनको हृदय परमेश्‍वरमा समर्पण गर्न मात्र चाहन्छौं।” उनले अझै थपिन्: “मानिसहरूले विवाह गरेपछि धेरै कुराले तिनीहरूलाई घेर्छन्, र त्यसउप्रान्त परमेश्‍वरलाई प्रेम गर्ने तिनीहरूको हृदय साँचो रहँदैन। तिनीहरूको हृदय सधैँ तिनीहरूका परिवार र जीवनसाथीले ओगटेको हुन्छ र यसरी तिनीहरूका भित्री संसार धेरै जटिल बन्छ…।” उनी बोलिरहँदा उनले आफ्नो हृदयमा सोचिरहेका कुराहरू उनको मुखबाट निस्केको जस्तो लाग्थ्यो; उनका शब्‍दहरू सानदार र शक्तिशाली थिए, मानौं उनले भनेका सबै कुरा उनको हृदयको गहिराइबाट आएका हुन्, मानौं उनले उत्साहसाथ आफैलाई पूर्ण रूपमा परमेश्‍वरमा सुम्पन चाहेकी छिन् र दाजुभाइ-दिदीबहिनीहरूले पनि उनले जस्तै संकल्प गरून् भन्‍ने आशा लिएकी छिन्। यो भन्‍न सकिन्छ कि यस्तो बेला संकल्प गर्ने तेरा भावनाहरू र मन छुने कुराहरू पूर्ण रूपमा पवित्र आत्माको कामबाट आउँछन्। जब परमेश्‍वरको काम गर्ने तरिका बदलिन्छ, तँ पनि उमेरमा केही वर्ष वृद्धि भएको हुन्छेस्; तैँले आफ्नै उमेरका सहपाठी र मित्रहरूले पति पाइसकेको देख्छेस्, वा फलानो-फलानो केटीको विवाह भएपछि उसको पतिले उसलाई सहरमा लगेको र त्यहाँ उसले जागिर पाएको कुरा सुन्छेस्। उसलाई देख्दा तँ उसलाई शिरदेखि पैतालासम्म आकर्षक र सुन्दर देखेर, उसले तँसँग कुरा गर्दा उसमा देशविदेशका अनुभवहरू देखेर, उसमा एउटै पनि गाउँले पाखेपन नभएको देखेर तँ डाह महसुस गर्न थाल्छेस्। यो देखेर तँभित्र भावनाहरू मडारिन थाल्छन्। तैँले यत्तिञ्‍जेल आफैलाई परमेश्‍वरका निम्ति खर्च गरेकी छेस्, तेरो कुनै परिवार वा पेशा छैन, र तैँले धेरै निराकरणको सामना गरेकी छेस्; तैँले केही समयअघि अधबैँसे उमेरमा प्रवेश गरेकी छेस्, तेरो जवानी धेरै अघि नै चुपचाप चिप्लिसकेको छ, र तँलाई त्यो सपनाजस्तो लाग्छ। यस्तै प्रकारले वर्तमानसम्म आइपुग्दा, अहिले तँलाई कहाँनेर स्थायी रूपमा बस्‍ने भन्‍ने नै थाहा छैन। यस्तो बेला, तँ विचारहरूको भुमरीमा फस्छेस्, मानौं तैँले आफ्नो बुद्धि हराएकी छेस्। पूर्ण रूपमा एकलो भएर अनि निदाउन नसकेर, तँ लामो रातभरि जागै रहन्छेस्, थाहै नभई तैँले परमेश्‍वरसँगका तेरा संकल्प र गम्भीर शपथहरूबारे विचार गर्छेस्, र त्यस्तो हुँदा पनि तँ किन त्यस्तो दुःखद अवस्थामा छेस्? थाहै नपाई चुपचाप आँसुहरू झर्छन्, र तँलाई हृदयमा पीडा महसुस हुन्छ। परमेश्‍वरको सामु प्रार्थना गर्न आउँदा तँलाई याद आउँछ, तँ परमेश्‍वरको साथमा हुँदाका दिनहरूमा तँ कति घनिष्ठ र अभिन्‍न रूपले नजिक थिइस्। तेरा आँखाहरूको अघि एकपछि अर्को दृश्य आउँछन्, र त्यो दिन तैँले लिएको शपथ तेरो कानमा गुञ्‍जिन्छ, “के परमेश्‍वर मात्र मेरो घनिष्ठ हुनुहुन्‍न र?” त्यस बेलासम्म तँ सुँकसुँकाउन थालिसकेकी हुन्छेस्: “हे परमेश्‍वर, प्रिय परमेश्‍वर! मैले पहिल्यै मेरो सम्पूर्ण हृदय तपाईंलाई दिइसकेकी छु। म सधैँभरिका निम्ति तपाईंकै हुन चाहन्छु, र मेरो सारा जीवनभरि म तपाईंलाई अटल प्रेम गर्नेछु।” जब तँ यस्तो तीव्र पीडामा संघर्ष गर्छेस् तब मात्र तैँले परमेश्‍वर साँच्‍चै कति प्रेमिलो हुनुहुन्छ भनी बुझ्छेस्, तब मात्र तैँले स्पष्ट रूपमा थाहा पाउँछेस् कि तैँले धेरै अघि नै परमेश्‍वरलाई तेरा सबै कुरा दिइसकिस्। त्यस्तो प्रहार भोगेपछि, यी कुराहरूमा तँ धेरै परिपक्‍व बन्छेस्, र त्यस बेला भएको पवित्र आत्माको काम मानिस आफैसँग भएको कुरा होइन रहेछ भनी बुझ्छेस्। यो स्थितिपछि तेरा अनुभवहरूमा, तँ प्रवेशको यो पक्षमा मात्रै बाँधिँदैनस्; त्यो तेरा पुराना घाउका चोटहरूले तेरो प्रवेशमा ठूलो फाइदा पुऱ्याएको जस्तो हुन्छ। जबजब तँ यस किसिमको परिस्थितिको सामना गर्छेस्, तैँले त्यो दिन बगाएका आँसुहरूको सम्झना गर्छेस्, मानौं अलग्गिएपछि तँ फेरि परमेश्‍वरसित जोडिएकी छेस्, र तँलाई परमेश्‍वरसित तेरो सम्बन्ध फेरि बिग्रिन्छ कि र तेरो र परमेश्‍वरबीचको भावनात्मक निकटता (सामान्य सम्बन्ध) मा फेरि क्षति पुग्छ कि भन्‍ने डर लागिरहन्छ। तेरो काम र तेरो प्रवेश यही हो। त्यसकारण, पवित्र आत्माको काम प्राप्त गरेसँगै, तिमीहरूले पवित्र आत्माको काम वास्तवमा के हो र आफ्नो प्रवेश के हो त्यो हेर्दै, साथसाथै आफ्नो प्रवेशमा पवित्र आत्माको कामलाई सम्मिलित गर्दै, आफ्नो प्रवेशलाई झन् बढी महत्त्व दिनुपर्छ, र यसरी तिमीहरू पवित्र आत्माद्वारा धेरै प्रकारले सिद्ध पारिनेछौ, अनि पवित्र आत्माको कामको सारले तिमीहरूमा काम गर्न सक्‍नेछ। पवित्र आत्माको कामको अनुभव गर्दै जाँदा तिमीहरूले पवित्र आत्मालाई, साथै तिमीहरू आफैलाई पनि चिन्‍नेछौ, अनि त्यसबाहेक, के थाहा कति धेरै तीव्र दुःखको प्रहारहरूमाझ, तिमीहरूले परमेश्‍वरसित सामान्य सम्बन्ध विकास गर्नेछौ, र तिमीहरू र परमेश्‍वरबीचको सम्बन्ध दिनदिनै झन् घनिष्ठ हुँदै जानेछ। काटछाँट र शोधन गर्ने यस्तै अनगन्ती उदाहरणहरूपछि तिमीहरूले परमेश्‍वरको निम्ति साँचो प्रेम विकास गर्नेछौ। यही कारणले गर्दा, तिमीहरूले दुःख, चोट र सङ्कष्टसित डराउनु हुँदैन भन्‍ने बुझ्‍नुपर्छ; पवित्र आत्माको काम भएर पनि तिमीहरू प्रवेश नहुनुचाहिँ डराउनुपर्ने कुरा हो; जब परमेश्‍वरको काम समाप्त हुने दिन आउँछ, तब तिमीहरूले गरेको परिश्रम व्यर्थ भएको हुनेछ; तिमीहरूले परमेश्‍वरको काम अनुभव गरेको भए पनि तिमीहरूले पवित्र आत्मालाई चिनेका हुँदैनौ वा तिमीहरूले आफ्नो प्रवेश पाएका हुँदैनौ। पवित्र आत्माले जुन अन्तर्ज्ञान दिने काम गर्नुहुन्छ त्यो मानिसको जोस थामेर राख्‍नका निम्ति नभएर मानिसको प्रवेशका निम्ति बाटो खोल्नलाई, साथै मानिसलाई पवित्र आत्माको विषयमा जान्‍न दिनलाई हो, र यस क्षणदेखि परमेश्‍वरप्रतिको डर र भक्ति विकास गर्न मदत गर्नलाई हो।

अघिल्लो: काम र प्रवेश (१)

अर्को: काम र प्रवेश (३)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्