तेह्र पत्रहरूमा तँ कहाँ खडा हुन्छस्?
बाइबलको नयाँ करारमा पावलका तेह्र पत्रहरू छन्। पावलले आफूले काम गरेको अवधिमा येशू ख्रीष्टमा विश्वास गर्ने मण्डलीहरूलाई यी तेह्र पत्रहरू लेखे। यसको अर्थ, येशूको स्वर्ग-आरोहण भएपछि पावललाई खडा गरियो र तिनले यी पत्रहरू लेखे। यी पत्रहरू प्रभु येशूको मृत्युपछि भएको उहाँको पुनरुत्थान र स्वर्ग-आरोहणका गवाहीहरू हुन्, र तिनले पश्चाताप र क्रूस बहन गर्ने मार्गको प्रचार गर्छन्। अवश्य नै, यी सबै सन्देश र गवाहीहरू तत्कालीन यहूदिया वरपरका विविध स्थानका दाजुभाइ र दिदीबहिनीहरूलाई सिकाउने उद्देश्यका लागि थिए, किनभने त्यति बेला पावल प्रभु येशूका सेवक थिए र तिनलाई प्रभु येशूको गवाही दिन खडा गरिएको थियो। पवित्र आत्माको कामको हरेक अवधिमा, उहाँका विविध काम गर्न अर्थात् परमेश्वर स्वयम्ले पूरा गर्नुहुने कामलाई जारी राख्न प्रेरितहरूको काम गर्नका लागि धेरै मानिसहरू खडा गरिएका थिए। यदि पवित्र आत्माले प्रत्यक्ष रूपमा आफैले यो काम गर्नुभएको भए, र मानिसहरू कसैलाई पनि खडा नगरिएको भए, यो काम पूरा गर्न एकदमै मुस्किल हुनेथ्यो। यसरी, पावल त्यस्तो व्यक्ति बने जसलाई दमस्कसतर्फ जाने बाटोमा प्रहार गरियो, र जसलाई त्यसपछि प्रभु येशूको गवाही दिनको लागि खडा गरियो। तिनी येशूका बाह्र चेलाहरू बाहेकका एक प्रेरित थिए। सुसमाचार फैलाउनका अलावा, तिनले विविध स्थानका मण्डलीहरूको गोठालो गर्ने काम गरे, जसमा मण्डलीहरूका दाजुभाइ-दिदीबहिनीहरूको हेरविचार गर्ने कार्य पर्थ्यो—अर्को शब्दमा भन्दा, दाजुभाइ र दिदीबहिनीहरूलाई प्रभुमा डोर्याउने कार्य पर्थ्यो। पावलका गवाही भनेको प्रभु येशूको पुनरुत्थान र स्वर्ग-आरोहणको तथ्यलाई सर्वविदित तुल्याउनु र मानिसहरूलाई पश्चाताप गर्न, स्वीकार गर्न र क्रूसको मार्गमा हिँड्न सिकाउनु थियो। तिनी येशू ख्रीष्टका त्यति बेलाका एक गवाही थिए।
पावलका तेह्र पत्रलाई बाइबलमा प्रयोग गर्नको लागि छनौट गरिएको थियो। तिनले ती सबै तेह्र पत्रहरू विविध स्थानका मानिसहरूको विभिन्न स्थितिहरूलाई सम्बोधन गर्नको लागि लेखे। तिनले ती पत्रहरू लेख्नको लागि पवित्र आत्माद्वारा प्रेरणा पाए र तिनले सबैतिरका दाजुभाइ-दिदीबहिनीहरूलाई प्रेरितको स्थानबाट (अर्थात् प्रभु येशूको सेवकको दृष्टिकोणबाट) सिकाए। तसर्थ, पावलका पत्रहरू अगमवाणीहरू वा सोझै दर्शनहरूबाट आएका थिएनन्, बरु तिनले गरेका कामबाट आएका थिए। ती पत्रहरू त्यति अनौठा छैनन्, न त ती अगमवाणीहरू जति बुझ्न नै अप्ठ्यारा छन्। तिनलाई केवल पत्रहरूको रूपमा लेखिएको छ, र तिनमा न त अगमवाणीहरू न त रहस्यहरू नै समावेश गरिएका छन्; तिनमा निर्देशनका सामान्य शब्दहरू मात्रै समावेश छन्। तिनका धेरै शब्दहरू मानिसहरूले टिप्न वा बुझ्न गाह्रो हुन सक्छ, तापनि ती केवल पावलका आफ्नै व्याख्या र पवित्र आत्माको अन्तर्दृष्टिबाट आएका हुन्। पावल एक प्रेरित मात्र थिए; तिनी प्रभु येशूद्वारा प्रयोग गरिएका सेवक थिए, अगमवक्ता थिएनन्। विभिन्न ठाउँहरूमा जाने क्रममा तिनले मण्डलीका दाजुभाइ र दिदीबहिनीहरूलाई यी पत्रहरू लेखे, वा तिनी बिरामी परेको बेला, तिनले खास रूपमा जाने भनी सोचेका तर जान नसकेका मण्डलीहरूलाई यी पत्रहरू लेखे। यसरी नै, तिनका पत्रहरूलाई मानिसहरूले राखे र पछि भावी पुस्ताले तिनलाई सङ्कलित गरे, व्यवस्थित पारे र बाइबलमा चार सुसमचारको पछाडि राखे। अवश्य नै, तिनले लेखेका सबै सर्वोत्कृष्ट पत्रहरू छनौट गरी तिनीहरूले एक संगालो तयार पारे। यी पत्रहरू मण्डलीहरूका दाजुभाइ र दिदीबहिनीहरूको जीवनको लागि लाभदायक थिए र खास गरी ती तिनको जीवनकालमा अत्यन्तै प्रसिद्ध थिए। जब पावलले ती पत्रहरू लेखे, तिनको उद्देश्य दाजुभाइ र दिदीबहिनीहरूलाई अभ्यासको मार्ग पत्ता लगाउन सक्षम तुल्याउने आत्मिक कृति लेख्नु वा आफ्ना अनुभवहरू व्यक्त गर्नको लागि आत्मिक जीवनी लेख्नु थिएन; तिनले लेखक बन्नको लागि पुस्तक लेख्न चाहेका थिएनन्। तिनले त केवल प्रभु येशूका मण्डलीहरूका दाजुभाइ र दिदीबहिनीहरूलाई पत्रहरू लेखेका थिए। तिनले एक सेवकको हैसियतबाट आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई सिकाउन, आफ्ना बोझहरू, प्रभु येशूका इच्छाहरू र भविष्यको लागि उहाँले मानिसहरूलाई सुम्पनुभएका यावत् कार्यहरूको बारेमा बताउनको लागि लेखे। पावलले गरेको काम यही थियो। तिनका वचनहरू भविष्यका सबै दाजुभाइ र दिदीबहिनीहरूको लागि ज्ञानवर्धक थिए। तिनले यी धेरै पत्रहरूमा बताएका सत्यताहरू अनुग्रहको युगमा मानिसहरूले अभ्यास गर्नुपर्ने सत्यताहरू थिए, त्यसैले यी पत्रहरूलाई पछिल्ला पुस्ताहरूले नयाँ करारमा राखे। पावलका परिणामहरू अन्त्यमा जे-जस्तो हुनगए पनि, तिनी आफ्नो समयमा प्रयोग गरिएका व्यक्ति थिए जसले मण्डलीहरूका आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई भरणपोषण गरे। तिनको परिणाम तिनको सारका साथै तिनलाई सुरुमा प्रहार गरिएको घटनाद्वारा निर्धारित भयो। तिनले त्यो समयमा ती वचनहरू बोल्न सके किनभने तिनको साथमा पवित्र आत्माको काम थियो र यही कामको कारण पावलले मण्डलीहरूको लागि बोझ बोकेका थिए। यसरी, तिनले आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई भरणपोषण प्रदान गर्न सके। तथापि, केही निश्चित विशेष परिस्थितिहरूको कारण, पावल व्यक्तिगत रूपमा मण्डलीहरूमा काम गर्न जान सक्दैनथे, त्यसैले तिनले प्रभुमा रहेका आफ्ना दाजुभाइ र दिदी बहिनीहरूलाई अर्ती दिनको लागि पत्रहरू लेखे। सुरुमा, पावलले प्रभु येशूका चेलाहरूलाई दुःख दिए, तर येशूको स्वर्ग-आरोहण भएपछि, अर्थात् पावलले “ज्योति देखे” पछि, तिनले येशूका चेलाहरूलाई दुःख दिन छाडे, त्यसपछि प्रभुको मार्गको खातिर सुसमाचार प्रचार गर्ने सन्तहरूलाई कहिल्यै दुःख दिएनन्। पावलले येशूलाई उज्यालो ज्योतिको रूपमा आफूकहाँ देखा पर्नुभएको देखेपछि, तिनले प्रभुको आज्ञा स्वीकार गरे र यसरी तिनी पवित्र आत्माले सुसमाचार फैलाउन प्रयोग गर्नुभएको एक व्यक्ति बने।
त्यति बेला पावलको काम आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई सहायता र भरणपोषण प्रदान गर्नु मात्र थियो। तिनी आफ्नो करियर बनाउन वा साहित्यिक कृति लेख्न, समस्या समाधानको अन्य बाटो अन्वेषण गर्न वा मण्डलीहरूका मानिसहरूलाई तिनीहरूले नयाँ प्रवेश पाउन सकून् भनी डोर्याउनको लागि बाइबल बाहेकका अन्य मार्ग पत्ता लगाउन चाहने मानिसहरूजस्ता थिएनन्। पावल यस्ता व्यक्ति थिए, जसलाई प्रयोग गरिएको थियो; आफूले गरेका कार्यहरूमा तिनले केवल आफ्नो कर्तव्य निर्वाह गरिरहेका थिए। यदि तिनले मण्डलीहरूको लागि बोझ नबोकेका भए, तिनले आफ्नो कर्तव्य बेवास्ता गरेको भनेर मानिन्थ्यो। यदि कुनै बाधा पुऱ्याउने घटना घटेको भए वा मण्डलीमा त्यहाँका मानिसहरूमा असामान्य स्थिति पैदा गराउने किसिमको कुनै धोकाको घटना घटेको भए, तिनले आफ्नो काम उचित रूपमा सम्पन्न गर्न नसकेको भनेर मान्न सकिन्थ्यो। यदि कुनै कामदारले मण्डलीप्रतिको बोझ वहन गर्छ र आफ्नो क्षमताले भ्याएअनुसार सर्वश्रेष्ठ रूपमा पनि काम गर्छ भने, त्यसले उक्त व्यक्ति योग्य अर्थात् प्रयोग गर्न सकिने कामदार हो भन्ने प्रमाणित गर्छ। यदि कुनै व्यक्तिले मण्डलीप्रति कुनै बोझको अनुभूति गर्दैन र तिनीहरूको काममा कुनै पनि नतिजा हासिल गर्दैन र तिनीहरूले डोर्याएका अधिकांश व्यक्तिहरू कमजोर छन् वा तिनीहरू पतितसमेत हुन्छन् भने, त्यस्तो कामदारले आफ्नो कर्तव्य पूरा गरेको हुँदैन। यस रूपमा, पावल अपवाद थिएनन्, त्यसकारण तिनले मण्डलीहरूको हेरविचार गर्नुपर्थ्यो र तिनका दाजुभाइ र दिदीबहिनीहरूलाई बारम्बार पत्रहरू लेख्नुपर्थ्यो; यसरी मात्रै तिनले मण्डलीहरूलाई भरणपोषण गर्न र तिनका दाजुभाइ-दिदीबहिनीहरूलाई हेरचाह गर्न सक्थे; यस तरिकामार्फत मात्र मण्डलीहरूले तिनीबाट भरणपोषण र गोठालोपन प्राप्त गर्न सक्थे। तिनले लेखेका पत्रहरूका वचनहरू एकदमै गहन थिए, तर ती पत्रहरू तिनले पवित्र आत्माको अन्तर्दृष्टि प्राप्त गरिसकेको अवस्थामा तिनका दाजुभाइ र दिदीबहिनीहरूलाई लेखिएका थिए, र ती पत्रहरूमा तिनले आफ्ना व्यक्तिगत अनुभवहरू र तिनले अनुभूति गरेको बोझलाई समेटेका थिए। पावल पवित्र आत्माले प्रयोग गर्नुभएको व्यक्ति मात्रै थिए, र तिनका पत्रहरूको विषयवस्तुभित्र तिनका व्यक्तिगत अनुभवहरू छरिएर रहेका थिए। तिनले गरेको कामले एक प्रेरितको कामलाई मात्र प्रतिनिधित्व गर्छ, पवित्र आत्माले प्रत्यक्ष रूपमा गर्नुभएको कामलाई प्रतिनिधित्व गर्दैन र यो ख्रीष्टको कामभन्दा भिन्न पनि छ। पावलले आफ्नो कर्तव्य मात्र निर्वाह गरिरहेका थिए, त्यसकारण तिनले प्रभुमा आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई आफ्नो जिम्मेवारीका साथसाथै आफ्ना व्यक्तिगत अनुभवहरू र अन्तर्दृष्टिद्वारा भरणपोषण गरे। पावलले आफ्ना व्यक्तिगत अन्तर्दृष्टि र बुझाइ प्रदान गरेर केवल परमेश्वरको आज्ञाको कामलाई अघि बढाइरहेका थिए; यो पक्कै पनि परमेश्वर स्वयम्ले प्रत्यक्ष रूपमा गर्नुभएको काम थिएन। यसरी, पावलको काममा मण्डलीहरूको कामप्रतिको मानव अनुभव अनि मानव दृष्टिकोण र बुझाइको मिश्रण थियो। तैपनि, यी मानव दृष्टिकोण र बुझाइलाई दुष्ट आत्माको काम वा देह र रगतको काम भनेर भन्न सकिँदैन; ती कामलाई पवित्र आत्माद्वारा अन्तर्दृष्टि प्राप्त गरेको व्यक्तिका ज्ञान र अनुभवहरू भनेर मात्र भन्न सकिन्छ। यसबाट मैले के भन्न खोजेको हुँ भने पावलका पत्रहरू स्वर्गबाट आएका होइनन्। ती पवित्र छैनन्, र पवित्र आत्माद्वारा बोलिएका वा व्यक्त गरिएका हुँदै होइनन्; ती केवल मण्डलीहरूप्रति पावलको बोझको अभिव्यक्ति मात्र हुन्। यसो भन्नुको मेरो उद्देश्य तिमीहरूलाई परमेश्वरको काम र मानिसको कामबीचको भिन्नता बुझाउनु हो: परमेश्वरको कामले परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्छ जबकि मानिसको कामले मानिसका कर्तव्य र अनुभवहरूलाई प्रतिनिधित्व गर्छ। कसैले पनि परमेश्वरको सामान्य कामलाई मानिसको इच्छाको रूपमा र उहाँको अलौकिक कामलाई परमेश्वरको इच्छाको रूपमा लिनु हुँदैन; यसअलावा, कसैले पनि मानिसको उच्च प्रवचनलाई परमेश्वरका वाणीहरू वा स्वर्गबाट आएका पुस्तकहरूको रूपमा लिनु हुँदैन। यस्ता सबै दृष्टिकोणहरू नीतिपरक हुँदैनन्। पावलका तेह्र पत्रहरूको चिरफार गरेको सुनेपछि, धेरै मानिसहरूले पावलका पत्रहरू पढ्नु हुँदैन र पावल भयानक रूपमा पापी मान्छे थिए भनी विश्वास गर्छन्। धेरै मानिसहरू यस्ता पनि छन् जो सोच्छन् कि मेरा वचनहरू संवेदनाहीन छन्, पावलका पत्रहरूसम्बन्धी मेरो लेखाजोखा सही छैनन् र ती पत्रहरूलाई मानिसका अनुभव र बोझहरूको अभिव्यक्तिको रूपमा लिन सकिँदैन। तिनीहरू विश्वास गर्छन् कि तिनलाई परमेश्वरका वचनहरूको रूपमा लिइनुपर्छ, ती यूहन्नाको प्रकाशको पुस्तकजस्तै महत्त्वपूर्ण छन्, तिनलाई छोट्याउन वा तिनमा थपथाप गर्न सकिँदैन र यसअलावा, तिनलाई हल्का रूपमा व्याख्या गरिनु हुँदैन। के यी सबै मानव दाबीहरू गलत छैनन् र? के त्यो पूर्णतया मानिसहरूमा कुनै विवेक नभएको तथ्यले गर्दा भएको होइन र? पावलका पत्रहरूले मानिसहरूलाई धेरै फाइदा गर्छन्, र तिनको इतिहास २,००० वर्षभन्दा पुरानो छ। तथापि, आजको दिनसम्म, धेरै मानिसहरूले त्यति बेला तिनले के भनेका थिए भनी बुझ्न सक्दैनन्। मानिसहरूले पावलका पत्रहरू ईसाइजगतकै सर्वोत्कृष्ट कृति हुन्, अनि कसैले पनि तिनको व्याख्या गर्न सक्दैन र तिनलाई पूर्ण रूपमा बुझ्न सक्दैन भन्ने ठान्छन्। वास्तवमा, यी पत्रहरू कुनै आत्मिक व्यक्तिको जीवनीजस्तै छन् र तिनीहरूलाई येशूका वचनहरू वा यूहन्नाका महान् दर्शनहरूसँग तुलना गर्न सकिँदैन। यसको तुलनामा, यूहन्नाले जे देखेका थिए त्यो स्वर्गबाट आएका महान् दर्शनहरू, अर्थात् परमेश्वर स्वयम्को कामका अगमवाणीहरू थिए, जुन मानिसहरूद्वारा प्राप्त गर्न नसकिने थिए जबकि पावलका पत्रहरू मानिसले जे देख्यो र अनुभव गर्यो त्यसको वृतान्त मात्रै थियो। तिनीहरू मानिसहरूले गर्न सक्ने कुराहरू हुन् तर अगमवाणीहरू वा दर्शनहरू होइनन्; तिनीहरू केवल विभिन्न स्थानहरूमा पठाइएका पत्रहरू हुन्। तथापि, त्यति बेलाका मानिसहरूको लागि पावल एक कामदार थिए र त्यसैले तिनका वचनहरूको महत्त्व थियो किनभने तिनी यस्ता व्यक्ति थिए जसले आफूलाई सुम्पिइएको काम स्वीकार गरेका थिए। यसर्थ, तिनका पत्रहरू ख्रीष्टको खोजी गर्ने व्यक्तिहरू सबैको लागि फाइदाजनक थिए। ख्रीष्टले व्यक्तिगत रूपमा ती वचनहरू नबोल्नुभएको भए तापनि, त्यो समयको लागि आखिर ती अत्यावश्यक थिए। यसैले, पावलपश्चात आएका मानिसहरूले तिनका पत्रहरूलाई बाइबलमा राखे र आजका दिनसम्म हस्तान्तरण हुँदै आउने तुल्याए। के तिमीहरूले मेरो अर्थ बुझ्दै छौ? म तिमीहरूलाई यी पत्रहरूको सही विवरण प्रदान गर्दै छु र मानिसहरूको लागि सन्दर्भ सामग्रीको रूपमा तिनीहरूको फाइदा र महत्त्वलाई इन्कार नगरी तिनलाई चिरफार गर्दै छु। मेरा वचनहरू पढिसकेपछि, यदि तिमीहरूले पावलका पत्रहरूलाई इन्कार गर्ने मात्र नगरी तिनीहरूलाई विधर्मी वा महत्वहीनसमेत निर्धारण गर्छौ भने, के मात्रै भन्न सकिन्छ भने तिमीहरूको बुझ्ने क्षमता एकदमै कमजोर छ र विभिन्न कुराहरूप्रतिको तिमीहरूको अन्तर्दृष्टि र मूल्याङ्कन क्षमता पनि त्यस्तै नै छ; अवश्य पनि मेरा वचनहरूलाई अत्यन्तै एकतर्फी छन् भनेर भन्ने सकिँदैन। के तिमीहरूले अहिले बुझ्यौ? तिमीहरूले बुझ्नुपर्ने महत्वपूर्ण कुराहरू भनेका पावलले काम गर्दाको त्यो समयको वास्तविक अवस्था र ती पत्रहरू लेखिनुपछाडिको पृष्ठभूमि हुन्। यदि तिमीहरूमा यी परिस्थितिहरूको सही दृष्टिकोण छ भने तिमीहरूमा पावलका पत्रहरूको बारेमा पनि सही दृष्टिकोण हुनेछ। यसको साथै, तैँले यी पत्रहरूको सार बुझेपछि बाइबलसम्बन्धी तेरो विश्लेषण पनि सही हुनेछ, र तैँले पछिल्ला पुस्ताका मानिसहरूले किन वर्षौंसम्म पावलका पत्रहरूको आराधना गरे, साथै पावललाई किन धेरै मानिसहरूले परमेश्वरको रूपमा लिए भन्ने कुरा बुझ्नेछस्। यदि तिमीहरूले नबुझेको भए, तिमीहरूले पनि यस्तै सोच्दैनथ्यौ र?
जो परमेश्वर स्वयम् होइन उसले परमेश्वर स्वयम्लाई प्रतिनिधित्व गर्न सक्दैन। पावलको कामलाई मानव दृष्टिकोणको एक हिस्सा र पवित्र आत्माको अन्तर्दृष्टिको एक हिस्सा भनेर मात्र भन्न सकिन्छ। पावलले यी पत्रहरू मानव दृष्टिकोणबाट, पवित्र आत्माको अन्तर्दृष्टिद्वारा लेखे। यो दुर्लभ कुरा होइन। त्यसकारण, तिनका वचनहरूमा केही मानव अनुभवहरू मिश्रित हुनु अपरिहार्य थियो र तिनले पछि गएर आफ्ना दाजुभाइ र दिदीबहिनीहरूलाई भरणपोषण र साथ प्रदान गर्न आफ्नै व्यक्तिगत अनुभवहरूको प्रयोग गरे। तिनले लेखेका यी पत्रहरूलाई जीवन अध्ययनको रूपमा वर्गीकरण गर्न सकिँदैन, न त तीनलाई जीवनी वा सन्देशको रूपमा वर्गीकरण नै गर्न सकिन्छ। यसअलावा, ती पत्रहरू न त मण्डलीहरूद्वारा अभ्यास गरिने सत्यताहरू थिए न त मण्डलीका प्रशासनिक विधिहरू नै थिए। बोझ बोकेको एक व्यक्तिको रूपमा अर्थात पवित्र आत्माले काम सुम्पिनुभएको व्यक्तिको रूपमा, यो तिनीहरूले गर्नैपर्ने काम मात्र हो। यदि पवित्र आत्माले मानिसहरूलाई खडा गर्नुभएर तिनीहरूलाई बोझ बोक्न लगाउनुहुन्छ तर तिनीहरूले मण्डलीको कामको जिम्मा लिँदैनन् र यसको काम-कारबाही राम्रोसँग सञ्चालन गर्न सक्दैनन् वा यसका यावत् समस्याहरूलाई चित्तबुझ्दो रूपमा सुल्झाउन सक्दैनन् भने, यसले ती मानिसहरूले आफ्नो कर्तव्य उचित रूपले पूरा गरेनन् भन्ने प्रमाणित गर्छ। त्यसकारण, एक प्रेरितले आफ्नो कामको सिलसिलामा पत्रहरू लेख्न सक्नु त्यति रहस्यमय कुरा होइन। यो त तिनीहरूको कामको हिस्सा हो; तिनीहरू यसो गर्नु बाध्य थिए। पत्रहरू लेख्नुको तिनीहरूको उद्देश्य जीवन अध्ययन वा आत्मिक जीवनी लेख्नु थिएन र निश्चय पनि यो कुरा सन्तहरूको लागि अप्ठ्यारोबाट बाहिर निस्कने अर्को मार्ग खुला गर्नको लागि थिएन। बरु, तिनीहरूले त आफ्नो कार्यभार पूरा गर्न र परमेश्वरको बफादार सेवक हुनको लागि यसो गरेका थिए, ताकि परमेश्वरले तिनीहरूलाई सुम्पिनुभएको कामको सन्दर्भमा तिनीहरूले उहाँलाई लेखा दिन सकून्। तिनीहरूले आफैले आफ्नो लागि र आफ्ना दाजुभाइ र दिदीबहिनीहरूको लागि जिम्मेवारी लिनुपर्थ्यो र तिनीहरूले आफ्नो काम राम्ररी गर्नुपर्थ्यो र मण्डलीको काम-कारबाहीलाई हृदयभित्र राख्नुपर्थ्यो: यी सबै कुरा तिनीहरूको कामको हिस्सा मात्र थिए।
यदि तिमीहरूले पावलका पत्रहरूको बारेमा बुझाइ हासिल गर्यौ भने, तिमीहरूसँग पत्रुस र यूहन्ना दुवैका पत्रहरूको बारेमा पनि सही विचार र विश्लेषण हुनेछ। तिमीहरूले फेरि कहिल्यै पनि यी पत्रहरूलाई पवित्र र उल्लङ्घन गर्न नसकिने, स्वर्गबाट आएका पुस्तकहरूको रूपमा लिनेछैनौ, तिमीहरूले पावललाई परमेश्वरको रूपमा लिनु त परै जाओस्। आखिर, परमेश्वरको काम मानिसको कामभन्दा फरक छ, र यसअलावा, उहाँका अभिव्यक्तिहरू कसरी तिनीहरूका जस्तै हुन सक्छन्? परमेश्वरसँग उहाँको आफ्नै विशेष स्वभाव छ, जबकि मानिससँग उसले पूरा गर्नुपर्ने कर्तव्यहरू हुन्छन्। परमेश्वरको स्वभाव उहाँका कामहरूमा व्यक्त हुन्छ, जबकि मानिसको कर्तव्य उसको अनुभवहरूमा समाविष्ट हुन्छ र उसको खोजहरूमा व्यक्त हुन्छ। यसैले कुनै कुरा परमेश्वरको अभिव्यक्ति हो कि मानिसको अभिव्यक्ति हो भन्ने कुरा गरिएको कामद्वारा नै स्पष्ट हुन्छ। परमेश्वर स्वयम्द्वारा यसको व्याख्या गरिनु आवश्यक छैन, न त यसमा मानिसले गवाही बन्ने प्रयास गर्नु नै आवश्यक छ; यसअतिरिक्त, यसको लागि परमेश्वर स्वयम्ले कुनै मानिसलाई दमन गर्न आवश्यक पर्दैन। यो सबै प्राकृतिक प्रकाशको रूपमा आउँछ; न त यो जबरजस्ती हुने कुरा हो न त यो मानिसले हस्तक्षेप गर्न सक्ने कुरा नै हो। मानिसको कर्तव्यलाई तिनीहरूका अनुभवहरूद्वारा जान्न सकिन्छ र यसको निम्ति मानिसहरूले कुनै पनि थप अनुभवको काम गर्नु जरुरत छैन। मानिसको सारा सार तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा प्रकट हुन्छ, जबकि परमेश्वरले आफ्नो काम गर्दा आफ्नो अन्तर्निहित स्वभाव व्यक्त गर्न सक्नुहुन्छ। यदि यो मानिसको काम हो भने यसलाई ढाकछोप गर्न सकिँदैन। यदि यो परमेश्वरको काम हो भने, परमेश्वरको स्वभावलाई जोकोहीद्वारा लुकाउन झन् असम्भव हुन्छ, मानिसले नियन्त्रण गर्ने कुरा त परै जाओस्। कुनै पनि मानिसलाई परमेश्वर भन्न सकिँदैन, न त तिनीहरूको काम र वचनहरूलाई पवित्र भनेर हेर्न वा अपरिवर्तनीय ठान्न सकिन्छ। परमेश्वरलाई मानव भन्न सकिन्छ किनकि उहाँले देह धारण गर्नुभयो, तर उहाँको कामलाई मानिसको काम वा मानिसको कर्तव्यको रूपमा लिन सकिँदैन। यसअतिरिक्त, परमेश्वरका वाणीहरू र पावलका पत्रहरूलाई समान रूपमा हेर्न सकिँदैन, न त परमेश्वरको न्याय र सजाय अनि मानिसका निर्देशनका वचनहरूलाई समान रूपमा लिन सकिन्छ। यसैले परमेश्वरका कामलाई मानिसका कामदेखि फरक छुट्याउने सिद्धान्तहरू छन्। यिनीहरूलाई कामको क्षेत्र वा यसको अस्थायी प्रभावकारिताअनुसार नभई तिनीहरूका सारहरूअनुसार छुट्याइन्छ। यस विषयमा, धेरै मानिसहरूले सिद्धान्तहरूको गल्ती गर्छन्। किनकि मानिसले बाहिरी कुरा हेर्छ, जुन तिनीहरूले हासिल गर्न सक्छन्, जबकि परमेश्वरले सारलाई हेर्नुहुन्छ, जसलाई मानवजातिका भौतिक आँखाले अवलोकन गर्न सक्दैनन्। यदि तैँले परमेश्वरका वचनहरू र कामलाई औसत मानिसका कर्तव्यहरूको रूपमा लिन्छस् भने र मानिसका ठूला परिमाणका कामलाई मानिसले पूरा गर्ने कर्तव्यको रूपमा नभई देहधारण गर्नुभएका परमेश्वरको कामको रूपमा हेर्छस् भने, के तैँले सिद्धान्तमा गल्ती गरेको हुँदैनस् र? मानिसका पत्र र जीवनीहरूलाई सजिलै लेख्न सकिन्छ, तर पवित्र आत्माको कामको जगमा मात्र त्यसो गर्न सकिन्छ। तैपनि, परमेश्वरका अभिव्यक्तिहरू र कामलाई मानिसद्वारा वा मानिसको बुद्धि र सोचद्वारा सजिलै हासिल गर्न सकिँदैन, न त मानिसहरूले तिनीहरूलाई अन्वेषण गरिसकेपछि पूर्ण रूपमा व्याख्या नै गर्न सक्छन्। यदि सिद्धान्तका यी विषयहरूले तिमीहरूमा कुनै किसिमका प्रतिक्रिया पैदा गर्दैनन् भने, तिमीहरूका विश्वास स्पष्ट रूपमा त्यति सत्य वा शुद्ध छैन। तिमीहरूको विश्वास अस्पष्टताले भरिएको छ र यो अन्योलग्रस्त र सिद्धान्तविहीन दुवै छ भनेर मात्रै भन्न सकिन्छ। परमेश्वर र मानिसका सबैभन्दा आधारभूत विषयहरूको पनि बुझाइ नभएको यस प्रकारको विश्वास के पूर्ण रूपमा समझ नै नभएको विश्वास होइन र? सारा इतिहासमा, कसरी पावल एक मात्र प्रयोग गरिएका व्यक्ति हुन सके? कसरी उनी मण्डलीको लागि काम गर्ने एक मात्र व्यक्ति हुन सके? कसरी उनी मण्डलीलाई भरणपोषण गर्न पत्र लेख्ने एक मात्र व्यक्ति हुन सके? यी मानिसहरूको कामको मात्रा र प्रभाव जे-जस्तो भए पनि वा तिनीहरूको कामको नतिजासमेत जे-जस्तो भए पनि, के त्यस्ता कामका सिद्धान्तहरू र सार उस्तै छैनन् र? के तिनमा परमेश्वरको कामभन्दा पूर्ण रूपमा फरक कुराहरू छैनन् र? परमेश्वरको कामको प्रत्येक चरणको बीचमा स्पष्ट भिन्नताहरू भए पनि र उहाँका कामका धेरै तरिकाहरू सबै उस्तै नभए पनि, के तिनीहरूको सार र स्रोत एउटै होइन र? यसै गरी, यदि व्यक्ति अहिले यी कुराहरूको बारेमा अझै स्पष्ट छैन भने, त्यस्ता व्यक्तिहरूमा तर्कको अत्यन्तै अभाव हुन्छ। यी वचनहरू पढिसकेपछि यदि व्यक्ति अझै पनि पावलका पत्रहरू पवित्र र उल्लङ्घन गर्न नसकिने अनि कुनै आत्मिक व्यक्तित्वको जीवनीभन्दा फरक छन् भनी भन्छ भने, उक्त व्यक्तिको तर्कशक्ति अत्यन्तै विकृत छ र त्यस्तो व्यक्ति निःसन्देह धर्मसिद्धान्तको एक यस्तो विशेषज्ञ हो जोसँग अलिकति पनि दिमाग छैन। तैँले पावललाई आराधना गरे पनि, तैँले तिनीप्रतिको स्नेही भावनालाई तथ्यहरूको सत्यता बङ्ग्याउन वा सत्यतालाई खण्डन गर्न प्रयोग गर्न सक्दैनस्। यसअलावा, मैले भनेका कुराहरूले कुनै पनि हालतमा पावलका सम्पूर्ण काम र पत्रहरूलाई जलाई खरानी पार्दैन वा सन्दर्भ सामग्रीको रूपमा तिनीहरूको महत्त्वलाई पूर्ण रूपमा नकार्दैन। जेहोस्, यी वचनहरू बोल्नुपछाडिको मेरो उद्देश्य तिमीहरूले यावत् कुरा र मानिसहरूको बारेमा उचित बुझाइ र मनासिब विश्लेषण गर्न सक भन्ने हो: यो मात्रै सामान्य तर्कशक्ति हो; सत्यता धारण गरेका धर्मी मानिसहरूले जुन कुराले मात्र आफूलाई सुसज्जित पार्नुपर्छ त्यो कुरा यही हो।