सफलता वा असफलता मानिसले हिँड्ने मार्गमा निर्भर हुन्छ

धेरैजसो मानिसहरूले आफ्‍नो भविष्यको गन्तव्यको खातिर वा अस्थायी आनन्दको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। निराकरणमा नपरेकाहरूको हकमा भन्दा, तिनीहरू स्वर्ग प्रवेश गर्नको लागि, इनामहरू प्राप्त गर्नको लागि परमेश्‍वरमा विश्‍वास गर्छन्। तिनीहरू सिद्ध पारिन, वा परमेश्‍वरको सृष्टिको रूपमा कर्तव्य निभाउनको लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन्। भन्‍नुको अर्थ, धेरैजसो मानिसहरू आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न वा आफ्‍नो कर्तव्य निभाउनको लागि परमेश्‍वरमा विश्‍वास गर्दैनन्। अर्थपूर्ण जीवन जिउनको लागि त मानिसहरूले परमेश्‍वरमा विरलै विश्‍वास गर्छन्, न त मानिस जीवित भएकोले उसले परमेश्‍वरलाई प्रेम गर्नुपर्छ किनभने त्यो पूर्णतया स्वाभाविक र न्यायोचित कुरा अनि मानिसको प्राकृतिक इच्‍छा हो भनेर विश्‍वास गर्नेहरू नै छन्। यसरी, फरकफरक मानिसहरू आ-आफ्‍नै लक्ष्‍यहरूको पछि लाग्‍ने भए तापनि, तिनीहरूको खोजीको लक्ष्‍य र यसको पछाडि रहेको उत्प्रेरणा सबै उस्तै हुन्छन्, र यति मात्र होइन, तिनीहरूमध्ये धेरैको आराधनाका वस्तुहरू लगभग उही हुन्छन्। विगतका हजारौं वर्षको अवधिमा, धेरै विश्‍वासीहरू मरेका छन्, र धेरैले मरेर पनि फेरि पुनर्जन्म पाएका छन्। परमेश्‍वरको खोजी गर्नेहरू एकदुई जना मानिसहरू मात्रै छैनन्, न त एकदुई हजार मात्र नै छन्, तैपनि यीमध्ये धेरैजसो मानिसहरूले तिनीहरूका आफ्‍नै सम्भाव्यताहरू वा महिमापूर्ण भविष्यका आशाहरूका खातिर खोजी गर्छन्। ख्रीष्टप्रति समर्पितहरू एकदमै कम मात्र छन्। धेरैजसो भक्त विश्‍वासीहरू आफ्‍नै जालमा फसेर मरेका छन्, र विजयी मानिसहरूको सङ्ख्या भने अत्यन्तै सानो छ। आजको दिनसम्‍म पनि, मानिसहरूलाई तिनीहरू किन असफल हुन्छन्, वा तिनीहरूको विजयका रहस्यहरू के-के हुन् भन्‍ने नै थाहा छैन। ख्रीष्‍टको पछि लाग्‍नमा तल्लीन हुनेहरूको लागि अझै पनि अचानक अन्तर्दृष्टि प्राप्त भइदिने क्षण आएकै छैन, तिनीहरू यी रहस्यहरूको पिँधमा पुग्‍न सकेका छैनन्, किनभने तिनीहरूलाई थाहै छैन। तिनीहरूले आफ्नो खोजीमा परिश्रमपूर्वक प्रयासहरू गरे तापनि, तिनीहरू जुन हिँड्ने मार्ग हिँड्दै छन् त्यो तिनीहरूभन्दा पहिलेकाहरूले हिँडिसकेको असफलताको मार्ग हो, सफलताको मार्ग होइन। यसरी, तिनीहरूले जसरी खोजी गरे तापनि, के तिनीहरू अझै पनि अन्धकारतर्फ डोर्‍याउने मार्गमै हिँड्दैनन् र? के तिनीहरूले जे प्राप्त गर्छन् त्यो तीतो फल होइन र? विगतमा सफल हुनेहरूको अनुकरण गर्ने मानिसहरू आखिरमा सौभाग्यमा पुग्‍छन् कि कष्टमा पुग्‍छन् भनेर अनुमान गर्न कठिन हुन्‍छ। त्यसैले, असफल भएकाहरूका पाइलाहरू पछ्याएर खोजी गर्ने मानिसहरूको हालत झन् कति नराम्रो होला? के तिनीहरू असफल हुने सम्‍भावना अझै बढी हुँदैन र? तिनीहरू हिँड्ने मार्गको के मूल्य छ र? के तिनीहरूले आफ्‍नो समय बरबाद गरिरहेका छैनन् र? छोटकरीमा भन्दा, मानिसहरू आफ्नो खोजीमा सफल भए पनि असफल भए पनि, तिनीहरूले किन खोजी गर्छन् भन्‍ने कुराको कारण हुन्‍छ, र जसरी मन लाग्यो त्यसरी खोजी गरेको आधारमा तिनीहरूको सफलता वा असफलता निर्धारित हुन्छ भन्‍ने छैन।

परमेश्‍वरमाथिको मानिसको विश्‍वासको सबैभन्दा आधारभूत मापदण्ड भनेको ऊसँग इमानदार हृदय हुनुपर्छ, र उसले आफैलाई पूर्ण रूपमा समर्पित गरेर साँचो रूपमा आज्ञापालन गर्नुपर्छ भन्‍ने हो। साँचो विश्‍वासको साटोमा आफ्‍नो सम्पूर्ण जीवन दिनु नै मानिसको लागि सबैभन्दा कठिन कुरा हो, जसमार्पत उसले सम्पूर्ण सत्यता प्राप्त गर्न, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको उसको कर्तव्य पूरा गर्न सक्छ। यो असफल हुनेहरूले प्राप्त गर्न नसक्‍ने कुरा हो, र ख्रीष्टलाई भेट्टाउन नसक्‍नेहरूको लागि त यो प्राप्त गर्न झनै कठिन कुरा हो। आफैलाई पूर्ण रूपले परमेश्‍वरमा समर्पित गर्नमा मानिस त्यति असल नभएकोले, सृष्टिकर्ताप्रतिको आफ्‍नो कर्तव्य निभाउन मानिस इच्‍छुक नभएकोले, सत्यतालाई देखे पनि यसबाट टाढै बसी मानिस आफ्‍नै मार्गमा हिँड्ने भएकोले, सधैँ असफल भएकाहरूको मार्गलाई पछ्याउँदै मानिसले खोजी गर्ने भएकोले, र सधैँभरि नै मानिसले स्वर्गको अवज्ञा गर्ने भएकोले, मानिस सधैँ असफल हुन्छ, सधैँ शैतानको छलमा पर्छ, र आफ्‍नै जालमा फस्छ। मानिसले ख्रीष्टलाई नचिन्‍ने हुनाले, मानिस सत्यतालाई बुझ्‍न र अनुभव गर्नमा माहिर नभएकोले, मानिस पावलप्रति अत्यन्तै भक्त भएकोले र उसले स्वर्गको अत्यन्तै लालच गर्ने हुनाले, मानिसले सधैँ ख्रीष्‍टलाई उसको आज्ञापालन गर्न लगाउने र परमेश्‍वरलाई हुकुम गर्ने हुनाले, ती महान् व्यक्तित्वहरू र संसारका विभिन्‍न घटनाहरूको अनुभव गर्नेहरू अझै पनि मरणशील नै छन्, र अझै पनि तिनीहरू परमेश्‍वरको सजायको दौरान नै मर्नेछन्। त्यस्ता मानिसहरूको बारेमा मैले भन्‍न सक्‍ने भनेको तिनीहरू दुःखद मृत्यु मर्छन्, र तिनीहरूको परिणाम—तिनीहरूको मृत्यु—न्यायोचित नै हुन्छ भन्‍ने हो। के तिनीहरूको असफलता स्वर्गको नियमको लागि अझै असहनीय हुँदैन र? मानिसको संसारबाट सत्यता आउँछ, तैपनि मानिसहरूमाझ सत्यता ख्रीष्‍टले नै हस्तान्तरण गर्नुभएको हो। यो ख्रीष्टबाट, अर्थात् परमेश्‍वर स्वयम्‌बाट उत्पन्‍न हुन्छ, र यसको लागि मानिस सक्षम छैन। तैपनि ख्रीष्टले सत्यता मात्रै दिनुहुन्छ; मानिस सत्यतासम्‍बन्धी आफ्‍नो खोजीमा सफल हुनेछ कि हुनेछैन भनी निर्णय गर्न उहाँ आउनुहुन्‍न। त्यसैले सत्यतासम्‍बन्धी सफलता वा असफलताको कुरा पूर्ण रूपमा मानिसकै खोजीमा निर्भर हुन्छ। सत्यतासम्‍बन्धी मानिसको सफलता वा असफलता ख्रीष्टसँग कहिल्यै सम्‍बन्धित रहेको छैन, यो कुरा त उसकै खोजीद्वारा निर्धारित हुन्छ। मानिसको गन्तव्य र उसको सफलता वा असफलताको जिम्वारी परमेश्‍वरले नै बोक्‍नुहोस् भनेर यसलाई परमेश्‍वरको टाउकोमा थोपर्न मिल्दैन, किनभने यो परमेश्‍वर स्‍वयम्‌को मामला होइन, यो त परमेश्‍वरका सृष्टिहरूले पूरा गर्नुपर्ने कर्तव्यसँग प्रत्यक्ष रूपमा सम्‍बन्धित छ। पावल र पत्रुसका खोजी र गन्तव्यको बारेमा धेरैजसो मानिसहरूसँग थोरै ज्ञान छ, तैपनि उनीहरूलाई पत्रुस र पावलका परिणामहरूका बारेमा मात्रै थाहा छ, तर पत्रुसको सफलतापछाडिको रहस्य, वा पावललाई असफल तुल्याउने त्रुटिहरूको बारेमा तिनीहरू अनजान छन्। त्यसकारण, यदि तिमीहरू तिनीहरूको खोजीको सारलाई देख्‍न पूर्ण रूपमा असमर्थ छौ भने, तिमीहरूमध्ये धेरैजसोको खोजी असफल नै हुनेछ, र तिमीहरूमध्ये थोरै व्यक्तिहरू सफल भए भने पनि, तिनीहरू पत्रुस बराबर हुनेछैनन्। यदि तेरो खोजीको मार्ग सही छ भने, तँसँग सफलताको आशा हुन्छ; यदि सत्यताको खोजीमा तैँले हिँड्ने बाटो गलत छ भने, तँ सफलता पाउन सदासर्वदा नै असक्षम हुनेछस्, र तैँले पावलको जस्तै परिणाम भोग्‍नेछस्।

पत्रुस सिद्ध पारिएका मानिस थिए। सजाय र न्याय अनुभव गरेर परमेश्‍वरलाई प्रेम गर्ने विशुद्ध हृदय प्राप्त गरिसकेपछि मात्रै तिनलाई पूर्ण रूपमा सिद्ध पारियो; तिनले हिँडेको मार्ग सिद्ध पारिने मार्ग थियो। भन्‍नुको अर्थ, सुरुदेखि नै, पत्रुसले हिँडेको मार्ग सही थियो, र परमेश्‍वरमा विश्‍वास गर्ने उनको उत्प्रेरणा सही थियो, र त्यसकारण तिनी सिद्ध पारिएका व्यक्ति बने र मानिसले पहिले कहिल्यै नहिँडेको मार्गमा तिनले पाइला चाले। तर, सुरुदेखि नै पावल हिँडेको मार्ग ख्रीष्टविरोधी मार्ग थियो, र पवित्र आत्माले तिनलाई प्रयोग गर्न र आफ्‍नो कार्यको लागि तिनका सबै प्रतिभा र योग्यताहरूको सदुपयोग गर्न चाहनुभएको हुनाले मात्रै, तिनले ख्रीष्टका लागि धेरै दशकसम्‍म काम गरे। तिनी पवित्र आत्माद्वारा प्रयोग गरिएका व्यक्ति मात्रै थिए, र येशूले तिनको मानवतालाई निगाहको दृष्टिकोणले हेर्नुभएको कारणले नभई तिनका प्रतिभाहरूको कारण तिनलाई प्रयोग गरिएको थियो। तिनी येशूको लागि काम गर्न खुशी भएको कारणले नभई तिनलाई प्रहार गरिएको कारणले चाहिँ तिनले येशूको लागि काम गर्न सके। पवित्र आत्माको अन्तर्दृष्टि र अगुवाइको कारण तिनले त्यस्तो काम गर्न सके, अनि तिनले गरेको कामले कुनै पनि हालतमा तिनको खोजी वा तिनको मानवतालाई प्रतिनिधित्व गरेन। पावलको कार्यले सेवकको कार्यलाई प्रतिनिधित्व गर्‍यो, भन्‍नुको अर्थ, तिनले एक प्रेरितको रूपमा काम गरे। तर पत्रुस फरक थिए: तिनले पनि केही काम गरे; यो पावलको कामजत्तिकै महान् थिएन, तर तिनले आफ्‍नै प्रवेशको खोजी गर्दै काम गरे, अनि तिनको काम पावलको कामभन्दा फरक थियो। पत्रुसको काम परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीको कर्तव्य पूरा गर्ने काम थियो। तिनले प्रेरितको भूमिकामा रहेर काम गरेनन्, बरु परमेश्‍वरप्रतिको प्रेमको खोजी गर्दै काम गरे। पावलको कार्यको मार्गमा तिनको व्यक्तिगत खोजी पनि समावेश थियो: तिनको खोजी तिनले आफ्नो भविष्यको लागि गरेका आशाहरू र असल गन्तव्यको लागि तिनले गरेका इच्‍छाहरूको खातिर मात्र थियो। आफ्‍नो कामको अवधिमा तिनले शोधन स्वीकार गरेनन्, न त तिनले काटछाँट र निराकरण नै स्वीकार गरे। जबसम्‍म तिनले गर्ने कामले परमेश्‍वरको इच्छालाई सन्तुष्ट पार्छ, र जबसम्म तिनका सबै काम परमेश्‍वरलाई मन पर्छ, तबसम्‍म तिनलाई आखिरमा इनाम मिल्ने नै छ भन्‍ने विश्‍वास तिनको थियो। तिनको काममा कुनै व्यक्तिगत अनुभवहरू थिएनन्—यो सबै तिनको आफ्‍नै खातिर थियो, परिवर्तनको खोजीको सिलसिलामा गरिएको काम थिएन। तिनको काममा गरिएका सबै कुरा लेनदेन थियो, त्यसमा परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीको कर्तव्य वा समर्पण केही पनि समावेश थिएन। पावलको कामको अवधिमा, तिनको पुरानो स्वभावमा कुनै परिवर्तन आएन। तिनको काम अरूको सेवाको लागि मात्रै थियो, र यसले तिनको स्वभावमा परिवर्तन ल्याउन सकेन। सिद्ध नपारिई वा निराकरण नभोगी नै प्रत्यक्ष रूपमा पावलले आफ्‍नो काम गरे र तिनी इनामद्वारा उत्प्रेरित थिए। पत्रुस फरक थिए: तिनी काटछाँट र निराकरण भोगेका र शोधित भएका व्यक्ति गए। पत्रुसको कामको उद्देश्य र उत्प्रेरणा आधारभूत रूपमै पावलको भन्दा फरक थिए। पत्रुसले धेरै मात्रामा काम नगरेका भए तापनि, तिनको स्वभावमा धेरै परिवर्तनहरू भए, र तिनले खोजी गरेको कुरा सत्यता र वास्तविक परिवर्तन थियो। तिनले कामकै खातिर मात्रै आफ्‍नो काम गरेका थिएनन्। पावलले धेरै काम गरेका भए तापनि, यो सबै पवित्र आत्‍माको कार्य थियो, र पावलले यो काममा सहकार्य गरेको भए तापनि, तिनले यसको अनुभव गरेनन्। पत्रुसले थोरै काम गर्नुको कारणचाहिँ पवित्र आत्माले तिनीमार्फत धेरै काम नगर्नुभएकोले गर्दा मात्र थियो। तर तिनीहरूले गरेको कामको मात्राले तिनीहरूलाई सिद्ध पारिने वा नपारिने कुरा निर्धारण गरेन; एउटाको खोजी इनामहरू प्राप्त गर्नको लागि थियो र अर्कोको खोजीचाहिँ परमेश्‍वरको इच्‍छालाई सन्तुष्ट पार्न सुन्दर स्वरूपमा जिउन सक्‍ने हदसम्‍म परमेश्‍वरको निम्ति सर्वोत्तम प्रेम हासिल गर्न र परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्नको लागि थियो। बाहिरी रूपमा तिनीहरू फरक थिए, र त्यसरी नै तिनीहरूका सार पनि फरक थिए। तिनीहरूमध्ये कसलाई सिद्ध पारियो भन्‍ने कुरा तिनीहरूले कति काम गरे भन्‍ने आधारमा तैँले निर्धारित गर्न सक्दैनस्। पत्रुसले परमेश्‍वरलाई प्रेम गर्ने व्यक्तिको स्वरूपअनुसार जिउन, परमेश्‍वरको आज्ञापालन गर्ने व्यक्ति बन्‍न, निराकरण र काटछाँट स्वीकार गर्ने व्यक्ति बन्‍न, र परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीको रूपमा आफ्‍नो कर्तव्य पूरा गर्ने व्यक्ति बन्‍न खोजी गरे। तिनी आफैलाई परमेश्‍वरमा अर्पण गर्न, आफ्‍नो सम्पूर्णतालाई परमेश्‍वरको हातमा समर्पित गर्न, र मृत्युसम्‍मै उहाँको आज्ञापालन गर्न सक्षम थिए। यो नै तिनले गर्छु भनेर संकल्‍प गरेको कुरा थियो, र अझ भन्‍ने हो भने तिनले हासिल गरेको कुरा यही थियो। आखिरमा उनको अन्त्य किन पावलको भन्दा फरक भयो त्यसको आधारभूत कारण यही हो। पवित्र आत्‍माले पत्रुसमा गर्नुभएको काम तिनलाई सिद्ध पार्नको लागि थियो, तर पवित्र आत्‍माले पावलमा गर्नुभएको काम उनलाई प्रयोग गर्नको लागि थियो। किनभने तिनीहरूका प्रकृति र खोजीसम्‍बन्धी तिनीहरूका दृष्टिकोणहरू उस्तै थिएनन्। दुवैसँग पवित्र आत्‍माको कार्य थियो। पत्रुसले यो कार्यलाई आफैमा लागू गरे, र अरूलाई पनि यो प्रदान गरे; यसबीच, पावलले पवित्र आत्माको कार्यको सम्पूर्णता मात्रै अरूलाई प्रदान गरे, तर यसबाट आफूले केही पनि प्राप्त गरेनन्। यसरी, त्यति धेरै वर्षसम्‍म पवित्र आत्माको कार्यलाई अनुभव गरिसकेपछि पनि पावलमा लगभग अस्तित्वमै नरहने परिवर्तनहरू मात्र आएका थिए। तिनी अझै पनि लगभग तिनको प्राकृतिक स्थितिमै रहिरहेका थिए, र तिनी अझै पनि पहिलेकै पावल थिए। धेरै वर्षको कार्यको कठिनाइ भोगिसकेपछि तिनले कसरी “काम” गर्ने र दृढ रहने भन्‍ने मात्रै सिकेका थिए, तर तिनको पुरानो प्रकृति—तिनको अत्यन्तै प्रतिस्पर्धी र भरौटे प्रकृति—अझै पनि रहिरहेकै थियो। धेरै वर्षसम्‍म काम गरिसकेपछि पनि तिनले आफ्‍नो भ्रष्ट स्वभाव चिनेनन्, न त तिनले आफैलाई आफ्‍नो पुरानो स्वभावबाट अलग नै गरेका थिए, र यो अझै पनि तिनको काममा स्पष्टै देख्‍न सकिन्थ्यो। तिनमा कामको थप अनुभव मात्रै थियो, तर त्यति थोरै अनुभवले मात्रै तिनलाई परिवर्तन गर्न सक्दैनथ्यो र अस्तित्वसम्बन्धी तिनका दृष्टिकोणहरू वा तिनको खोजीको महत्त्व बदल्न सक्दैनथ्यो। तिनले ख्रीष्‍टको निम्ति धेरै वर्ष काम गरेका र फेरि प्रभु येशूलाई कहिल्यै नसताएका भए तापनि, तिनको हृदयभित्र परमेश्‍वरसम्‍बन्धी ज्ञानमा कुनै परिवर्तन आएको थिएन। यसको अर्थ तिनले आफैलाई परमेश्‍वरमा समर्पित गर्नको लागि काम गरेनन्, बरु तिनी आफ्‍नो भविष्यको गन्तव्यको लागि काम गर्न बाध्य थिए भन्‍ने हुन्छ। किनभने, सुरुमा उनले ख्रीष्‍टलाई सताए, र तिनी ख्रीष्‍टमा समर्पित भएनन्; तिनी अन्तर्निहित रूपमै ख्रीष्‍टलाई जानीजानी विरोध गर्ने विद्रोही, र पवित्र आत्‍माको कामको बारेमा कुनै ज्ञान नभएको व्यक्ति थिए। उनको काम लगभग समाप्त हुन लागेको बेला पनि, तिनलाई पवित्र आत्‍माको कार्यको बारेमा थाहा थिएन, र तिनले पवित्र आत्‍माको इच्‍छालाई अलिकति पनि ध्यान नदिईकन आफ्‍नै चरित्रअनुसार काम मात्रै गरे। त्यसकारण उनको प्रकृति ख्रीष्टप्रति शत्रुवत् थियो र त्यसले सत्यता पालना गरेन। पवित्र आत्‍माको कार्यले त्यागेको, पवित्र आत्‍माको कार्यलाई नचिन्‍ने, र ख्रीष्‍टलाई पनि विरोध गर्ने यस्तो कुनै व्यक्तिले कसरी मुक्ति पाउन सक्छ र? मानिसले मुक्ति पाउन सक्छ कि सक्दैन भन्‍ने कुरा उसले कति धेरै काम गर्छ, वा ऊ कति धेरै समर्पित हुन्छ भन्‍ने कुरामा निर्भर हुँदैन, यसलाई त उसले पवित्र आत्माको कामलाई चिनेको छ कि छैन, उसले सत्यतालाई अभ्यास गर्न सक्छ कि सक्दैन र खोजीसम्‍बन्धी उसको दृष्टिकोण सत्यतासँग मिल्छ कि मिल्दैन भन्‍ने कुराले निर्धारित गर्छ।

पत्रुसले येशूलाई पछ्याउन थालेपछि प्राकृतिक प्रकाशहरू देखा परेका भए तापनि, प्रकृतिको हिसाबमा तिनी सुरुदेखि नै पवित्र आत्मामा समर्पित हुन र ख्रीष्टको खोजी गर्न इच्‍छुक व्यक्ति थिए। पवित्र आत्‍माप्रतिको तिनको आज्ञापालन विशुद्ध थियो: तिनले ख्याति र सम्पत्तिको खोजी गरेनन्, तिनी त सत्यपालनद्वारा उत्प्रेरित थिए। तीनपटक पत्रुसले ख्रीष्टलाई चिनेकोबारे इन्कार गरेका भए तापनि, र तिनले प्रभु येशूको परीक्षा गरेका भए तापनि, तिनको प्रकृतिसँग त्यस्तो हल्का मानव कमजोरीको कुनै सम्‍बन्ध थिएन, यसले तिनको भविष्यको खोजीलाई कुनै प्रभाव पारेन, र यसले तिनको परीक्षा ख्रीष्टविरोधीको कार्य थियो भनेर पर्याप्त रूपमा प्रमाणित गर्दैन। सामान्य मानव कमजोरी संसारका सबै मानिसहरूमा हुने कुरा हो—के तँ पत्रुस योभन्दा फरक थिए भन्‍ने अपेक्षा गर्छस्? पत्रुसले धेरै मूर्खतापूर्ण गल्तीहरू गरेका हुनाले के मानिसहरूले तिनको बारेमा केही निश्‍चित दृष्टिकोणहरू राख्दैनन् र? अनि पावलले गरेका सबै काम र तिनले लेखेका सबै पत्रहरूका कारण के मानिसहरूले तिनलाई श्रद्धा गर्दैनन् र? मानिस कसरी मानिसको सारलाई देख्‍न सक्षम हुन्थ्यो र? अवश्य नै जोसँग साँचो समझ हुन्छ, के तिनीहरूले त्यति सानो कुरा देख्‍न सक्छन् र? पत्रुसको धेरै वर्षको पीडादायी अनुभवको बारेमा बाइबलमा विवरण नदिइएको भए तापनि, यसले पत्रुससँग वास्तविक अनुभवहरू थिएनन् वा पत्रुस सिद्ध पारिएका थिएनन् भन्‍ने प्रमाणित गर्दैन। परमेश्‍वरको कार्यलाई मानिसले कसरी पूर्ण रूपमा बुझ्‍न सक्छ? बाइबलमा दिइएका विवरणहरू येशूले व्यक्तिगत रूपमा छनौट गर्नुभएको थिएन, ती विवरण त पछिका पुस्ताहरूले सङ्ग्रहित गरेका थिए। त्यसो भएको हुँदा, के बाइबलमा भएका सबै विवरणहरू मानिसका विचारअनुसार चुनिएका थिएनन् र? यसअलावा, पत्रुस र पावलको अन्त्यलाई पत्रहरूमा स्पष्ट रूपमा उल्‍लेख गरिएको छैन, त्यसकारण मानिसले पत्रुस र पावललाई उसका आफ्‍नै दृष्टिकोण र उसका आफ्‍नै रुचिहरूअनुसार मूल्याङ्कन गर्छ। अनि पावलले धेरै काम गरेका हुनाले, उनका “योगदानहरू” अत्यन्तै धेरै भएकाले, धेरैको तिनको भरोसा गरे। के मानिस सतही कुरामा मात्रै केन्द्रित हुँदैन र? मानिस कसरी मानिसको सार देख्‍न सक्षम हुन्थ्यो र? पावल हजारौं वर्षदेखि आराधनाको पात्र बनेको कुरालाई ध्यानमा राख्दा, तिनको कार्यलाई हतारमा इन्कार गर्ने आँट कसले गर्छ र? पत्रुस एक मछुवा मात्रै थिए, त्यसकारण उनको योगदान कसरी पावलको जत्तिकै महान् हुन सक्थ्यो र? तिनीहरूले गरेका योगदानहरूको हिसाबमा, पावललाई पत्रुसभन्दा पहिले इनाम दिइनुपर्नेथ्यो, र परमेश्‍वरको अनुमोदन प्राप्त गर्नको लागि तिनी अझै बढी योग्य हुनुपर्नेथ्यो। पावललाई व्यवहार गर्ने क्रममा परमेश्‍वरले तिनका प्रतिभाहरूद्वारा मात्रै तिनलाई काम गर्न लगाउनुभयो, जबकि परमेश्‍वरले पत्रुसलाई सिद्ध पार्नुभयो भनेर कसले कल्‍पना गर्न सक्थ्यो र? प्रभु येशूले सुरुदेखि नै पत्रुस र पावलको लागि योजना बनाउनुभएको थियो भन्‍ने कुरा साँचो हुँदै होइन: बरु, तिनीहरूका अन्तर्निहित प्रकृतिअनुसार नै तिनीहरूलाई सिद्ध तुल्याइयो वा काममा लगाइयो। त्यसकारण, मानिसहरूले देख्‍ने भनेको मानिसका बाहिरी योगदानहरू मात्रै हुन्, जबकि परमेश्‍वरले मानिसको सारका साथै मानिसले सुरुदेखि नै पछ्याउने मार्ग र मानिसको खोजीको पछाडि रहेको उत्प्रेरणालाई देख्‍नुहुन्छ। मानिसहरूले कुनै पनि मानिसलाई तिनीहरूका आफ्नै धारणा र तिनीहरूका आफ्‍नै दृष्टिकोणअनुसार मापन गर्छन्, तैपनि मानिसको आखिरी अन्त्य उसका बाहिरी कुराहरूअनुसार निर्धारित हुँदैन। त्यसकारण, यदि तैँले सुरुबाटै लिने मार्ग सफलताको मार्ग हो, र खोजीप्रतिको तेरो दृष्टिकोण सुरुदेखि नै सही छ भने, तँ पत्रुसजस्तै होस्; यदि तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो भने, तैँले जेसुकै मूल्य चुकाए तापनि, तेरो अन्त्य अझै पनि पावलको जस्तै हुनेछ। जेसुकै भए तापनि, तेरो गन्तव्य के हुनेछ, र तँ सफल वा असफल हुनेछस् भन्‍ने दुवै कुरा तैँले हिँड्ने बाटो सही छ कि छैन भन्‍ने कुराले निर्धारित गर्छ, तेरो भक्ति वा तैँले चुकाउने मूल्यले निर्धारित गर्दैन। पत्रुस र पावलको सार, र तिनीहरूले पछ्याएका लक्ष्यहरू फरकफरक थिए; मानिसले यी कुराहरूलाई पत्ता लगाउन सक्दैन, र परमेश्‍वरले मात्रै यी कुराहरूलाई पूर्ण रूपमा जान्‍न सक्‍नुहुन्छ। किनभने परमेश्‍वरले मानिसको सार देख्‍नुहुन्छ, जबकि मानिसलाई उसको आफ्‍नै सारको बारेमा केही पनि थाहा हुँदैन। मानिसले मानिसभित्रको सार वा उसको वास्तविक कदलाई देख्‍न सक्दैन, तसर्थ उसले पावल र पत्रुसको असफलता र सफलताका कारणहरू पहिचान गर्न सक्दैन। धेरैजसो मानिसहरूले पत्रुसलाई नभई पावललाई आराधना गर्नुको कारण यो हो कि पावललाई सार्वजनिक कार्यको लागि प्रयोग गरिएको थियो र मानिसले यो कार्यलाई बुझ्‍न सक्छ, र त्यसकारण मानिसहरूले पावलका “उपलब्धिहरूलाई” स्वीकार गर्छन्। तर, पत्रुसका अनुभवहरू मानिसका लागि अदृश्य छन्, र तिनले जे कुराको खोजी गरे त्यसलाई कुनै पनि मानिसले प्राप्त गर्न सक्दैन, र त्यसैले मानिसमा पत्रुसप्रति कुनै चासो छैन।

निराकरण र शोधनको अनुभवद्वारा पत्रुसलाई सिद्ध पारिएको थियो। तिनले भने, “मैले सधैँ परमेश्‍वरका इच्‍छाहरू सन्तुष्ट पार्नुपर्छ। मैले गर्ने सबै कुरामा म परमेश्‍वरका इच्‍छा मात्रै सन्तुष्ट तुल्याउने प्रयास गर्छु, र मलाई दण्ड वा न्याय गरिए पनि, म त्यसो गर्न खुशी नै हुन्छु।” पत्रुसले परमेश्‍वरलाई आफ्‍नो सम्पूर्णता दिए, र उनका काम, वचन, र सम्पूर्ण जीवन सबै नै परमेश्‍वरलाई प्रेम गर्नको खातिर थिए। तिनी पवित्रताको खोजी गर्ने व्यक्ति थिए, र तिनले जति धेरै अनुभव गरे, तिनको हृदयभित्रको गहिराइमा परमेश्‍वरप्रतिको तिनको प्रेम त्यति नै ठूलो बन्यो। यसबीच, पावलले बाहिरी काम मात्रै गरे, र तिनले पनि कठिन परिश्रम नै गरेका भए तापनि, तिनका परिश्रमहरू आफ्‍नो काम उचित रूपमा गरेर इनाम प्राप्त गर्नको खातिर थिए। तिनले कुनै पनि इनाम प्राप्त गर्नेछैनन् भन्‍ने तिनलाई थाहा भएको भए, तिनले आफ्‍नो काम छोड्नेथिए। पत्रुसलाई आफ्‍नो हृदयभित्रको साँचो प्रेमको बारेमा, र व्यवहारिक र हासिल गर्न सकिने कुरामा मात्रै चासो थियो। तिनले इनाम प्राप्त गर्नेछन् कि छैनन् भन्‍ने बारेमा नभई तिनको स्वभाव परिवर्तन हुन सक्छ कि सक्दैन भन्‍ने विषयमा तिनलाई चासो थियो। पावललाई सधैँ कठिन परिश्रम गर्नेबारेमा चासो थियो, तिनलाई बाहिरी काम र भक्तिको बारेमा चासो थियो, र सामान्य मानिसहरूले अनुभव नगरेका धर्मसिद्धान्तहरूका बारेमा चासो थियो। तिनलाई आफ्‍नो अन्तस्करणमा हुने परिवर्तनहरूका बारेमा चासो थिएन, न त परमेश्‍वरप्रतिको साँचो प्रेमको बारेमा नै चासो थियो। पत्रुसका अनुभवहरू परमेश्‍वरप्रतिको साँचो प्रेम र साँचो ज्ञान हासिल गर्नको लागि थियो। तिनका अनुभवहरू परमेश्‍वरसँग अझै घनिष्ठ सम्‍बन्ध प्राप्त गर्न, र व्यावहारिक जियाइ प्राप्त गर्नको लागि थियो। पावलका कामहरू येशूले तिनलाई सुम्‍पिनुभएको कारण र तिनले तृष्णा गरेका कुराहरू प्राप्त गर्नको लागि गरिएका थिए, तर ती काम तिनको आफ्नै बारेको ज्ञान र परमेश्‍वरबारेको ज्ञानसँग सम्‍बन्धित थिएनन्। तिनको कार्य सजाय र न्यायबाट उम्‍कनको खातिर मात्रै थियो। पत्रुसले खोजेको चोखो प्रेम थियो, तर पावलले खोजेको धार्मिकताको मुकुट थियो। पत्रुसले धेरै वर्ष पवित्र आत्‍माको कार्य अनुभव गरेका थिए, र तिनमा ख्रीष्‍टको बारेमा व्यवहारिक ज्ञानका साथै आफ्‍नै बारेमा पनि गहन ज्ञान थियो। त्यसकारण, परमेश्‍वरप्रतिको तिनको प्रेम चोखो थियो। धेरै वर्षको शोधनले येशू र जीवनसम्‍बन्धी उनको ज्ञानलाई उच्‍च पारेको थियो, र तिनको प्रेम निसर्त प्रेम थियो, यो स्वतस्फूर्त प्रेम थियो, र तिनले सट्टामा केही पनि मागेनन्, न त तिनले कुनै लाभहरूको आशा नै गरे। पावलले धेरै वर्षसम्‍म काम गरे, तैपनि तिनमा ख्रीष्‍टसम्‍बन्धी ठूलो ज्ञान थिएन, र तिनको आफ्‍नै बारेको ज्ञान निकै सानो थियो। ख्रीष्टप्रति तिनमा प्रेम नै थिएन, र तिनको काम र तिनले दौडेको दौड आखिरी सम्मान प्राप्त गर्नको लागि थियो। तिनले खोजेको कुरा उत्तम मुकुट थियो, विशुद्ध प्रेम थिएन। तिनले सक्रिय रूपमा होइन, निष्क्रिय रूपमा खोजी गरे; तिनले आफ्‍नो कर्तव्य निभाइरहेका थिएनन्, तर पवित्र आत्‍माको कार्यले तिनलाई आफ्‍नो पकडमा लिइसकेपछि तिनी खोजी गर्न बाध्य भए। त्यसकारण, तिनको खोजीले तिनी परमेश्‍वरले सृष्टि गर्नुभएको योग्य प्राणी थिए भन्‍ने प्रमाणित गर्दैन; परमेश्‍वरले सृष्टि गर्नुभएको योग्य प्राणी त पत्रुस नै थिए जसले आफ्‍नो कर्तव्य पूरा गरे। परमेश्‍वरको निम्ति योगदान दिने सबैले इनाम प्राप्त गर्नुपर्छ भनेर मानिसले सोच्छ, र योगदान जति ठूलो हुन्छ, त्यति नै बढी तिनीहरूले परमेश्‍वरको निगाह प्राप्त गर्नुपर्छ भनेर भन्‍ने गरिन्छ। मानिसको दृष्टिकोणको सार लेनदेनमा आधारित छ, र परमेश्‍वरले सृष्टि गर्नुभएको प्राणीको रूपमा उसले आफ्‍नो कर्तव्य सक्रिय रूपमा निर्वाह गर्ने प्रयास गर्दैन। परमेश्‍वरको लागि, मानिसहरूले जति बढी परमेश्‍वरप्रति साँचो प्रेम र परमेश्‍वरप्रति पूर्ण आज्ञापालन गर्न खोज्छन्—अर्थात्, परमेश्‍वरले सृष्टि गर्नुभएको प्राणीको रूपमा तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न खोज्छन् भने—तिनीहरूले त्यति नै बढी परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छन्। परमेश्‍वरको दृष्टिकोण भनेको मानिसलाई उसको मूल कर्तव्य र प्रतिष्ठालाई पुनर्प्राप्त गर्न लगाउनु हो। मानिस परमेश्‍वरको सृष्टि हो, र त्यसकारण मानिसले परमेश्‍वरबाट कुनै पनि मागहरू गरेर आफैलाई नाघ्‍नु हुँदैन, र परमेश्‍वरको सृष्टिको रूपमा रहेको आफ्‍नो कर्तव्यलाई पूरा गर्नेबाहेक अरू केही पनि गर्नु हुँदैन। पावल र पत्रुसको गन्तव्यको मापन परमेश्‍वरको सृष्टिको रूपमा तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्न सके कि सकेनन् भन्‍ने कुराअनुसार गरियो, तिनीहरूका योगदानको आकारअनुसार गरिएन; तिनीहरूले सुरुदेखि नै जे कुराको खोजी गरे त्यसअनुसार तिनीहरूको गन्तव्य निर्धारित भयो, तिनीहरूले कति धेरै काम गरे, वा अरू मानिसहरूले तिनीहरूको मुल्याङ्कन कसरी गरे त्यसअनुसार निर्धारित भएन। त्यसकारण, परमेश्‍वरको सृष्टिको रूपमा आफ्‍नो कर्तव्यलाई सक्रियताको साथ पूरा गर्न खोज्‍नु नै सफलताको मार्ग हो; परमेश्‍वरप्रतिको साँचो प्रेमको मार्ग खोज्‍नु नै सबैभन्दा सही मार्ग हो; आफ्‍नो पुरानो स्वभाव परिवर्तन गर्न खोज्‍नु, र परमेश्‍वरप्रतिको चोखो प्रेमको खोजी गर्नु नै सफलताको मार्ग हो। सफलताको त्यस्तो मार्ग नै परमेश्‍वरको सृष्टिको रूपमा रहेको मूल कर्तव्य साथै मूल स्वरूप पुनर्प्राप्त गर्ने मार्ग हो। पुनर्प्राप्तिको मार्ग यही हो, र सुरुदेखि अन्त्यसम्‍मै परमेश्‍वरको सम्पूर्ण कार्यको उद्देश्य पनि यही नै हो। यदि मानिसको खोजी व्यक्तिगत लालची मागहरू र तर्कहीन आकांक्षाहरूले कलङ्कित छ भने, हासिल हुने प्रभाव मानिसको स्वभावमा हुने परिवर्तन हुनेछैन। यो पुनर्प्राप्तिको कार्यको विपरीत हुन्छ। यो अवश्य नै पवित्र आत्माले गर्नुहुने काम होइन, र त्यसकारण यस प्रकारको खोजीलाई परमेश्‍वरले स्वीकृति दिनुहुन्‍न भन्‍ने कुरा यसले प्रमाणित गर्छ। परमेश्‍वरले स्वीकृति नदिनुभएको खोजीको के महत्त्व हुन्छ र?

पावलले गरेका काम मानिसको अघि प्रदर्शन गरियो, तर परमेश्‍वरप्रतिको तिनको प्रेम कति चोखो थियो र तिनले आफ्‍नो हृदयको अन्तस्करणमा परमेश्‍वरलाई कति धेरै प्रेम गर्थे—मानिसले यी कुराहरू देख्‍न सक्दैन। तिनले गरेको काम मात्रै मानिसले देख्‍न सक्छ, जसद्वारा मानिसले तिनी अवश्य नै पवित्र आत्माद्वारा प्रयोग गरिएका थिए भन्‍ने जान्‍दछ, र त्यसकारण मानिसले सोच्छ कि पावल पत्रुसभन्दा उत्तम थिए र तिनको काम पावलको भन्दा महान् थियो, किनभने तिनले मण्डलीहरूलाई आवश्यक पोषण प्रदान गर्न सकेका थिए। पत्रुसले आफ्‍नो व्यक्तिगत अनुभवहरूलाई मात्रै हेरे र उनले बेलाबेलामा गर्ने कामको अवधिमा थोरै मानिसहरूलाई मात्रै प्राप्त गरे। तिनका एकदुई वटा त्यति परिचित नरहेका पत्रहरू मात्रै छन्, तर तिनको हृदयको अन्तस्करणमा परमेश्‍वरको लागि कति महान् प्रेम थियो भन्‍ने कुरा कसलाई थाहा छ र? पावलले दिनरात परमेश्‍वरको लागि काम गर्थे: गर्नुपर्ने काम हुन्जेलसम्म उनले त्यो काम गर्थे। यसरी काम गर्दा तिनले मुकुट प्राप्त गर्न र परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्‍नेछन् भन्‍ने तिनलाई लागेको थियो, तर तिनले आफ्‍नो कामद्वारा आफैमा परिवर्तन ल्याउने तरिकाहरूको खोजी गरेनन्। पत्रुसलाई भने परमेश्‍वरको चाहनालाई सन्तुष्ट नगर्ने तिनको जीवनको कुनै पनि कुराले असहज महसुस गराउँथ्यो। यदि यसले परमेश्‍वरको चाहनालाई सन्तुष्ट पार्दैनथ्यो भने, तिनले ग्लानिको अनुभव गर्थे, र परमेश्‍वरको हृदयलाई सन्तुष्ट पार्ने प्रयास गर्नको लागि तिनले उचित मार्गको खोजी गर्थे। तिनले आफ्नो जीवनको सबैभन्दा सानो र महत्त्वहीन पक्षहरूमा समेत आफैलाई परमेश्‍वरको चाहना सन्तुष्ट पार्न लगाउँथे। आफ्‍नो पुरानो स्वभावको हकमा पनि तिनको मापदण्ड कम थिएन, त्यसैले तिनले सत्यतामा अझै गहन रूपमा अघि बढ्नको लागि आफैलाई झन्-झन् कठिन मापदण्डहरू दिन्थे। तर पावलले सतही सम्‍मान र हैसियत मात्रै खोज्थे। तिनले आफैलाई मानिसको अघि प्रदर्शन गर्न खोज्थे, र जीवन प्रवेशमा कुनै पनि गहन प्रगति गर्ने प्रयास गर्दैनथे। तिनलाई वास्तविकताको होइन धर्मसिद्धान्तको चासो थियो। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरको लागि पावलले धेरै काम गरे, तर किन तिनलाई परमेश्‍वरले सम्झनुभएन? पत्रुसले परमेश्‍वरको लागि थोरै कामबाहेक केही पनि गरेनन्, र मण्डलीहरूप्रति ठूलो योगदान दिएनन्, अनि किन तिनलाई नै सिद्ध पारियो?” परमेश्‍वरले आवश्यक गर्नुभएको निश्‍चित विन्दुसम्‍म पत्रुसले परमेश्‍वरलाई प्रेम गरे; यस्ता मानिसहरूसित मात्रै गवाही हुन्छ। पावलको विषयमा के भन्‍ने? कुन हदसम्‍म पावलले परमेश्‍वरलाई प्रेम गरे? के तँलाई थाहा छ? पावलको काम केको लागि गरियो? अनि पत्रुसको काम केको लागि गरियो? पत्रुसले त्यति धेरै काम गरेनन्, तर तिनको हृदयको अन्तस्करणभित्र के थियो, तँलाई थाहा छ? पावलको काम मण्डलीहरूको निम्ति प्रावधान, र मण्डलीहरूको सहयोगसँग सम्‍बन्धित थियो। पत्रुसले अनुभव गरेका कुराहरूचाहिँ तिनको जीवन स्वभावका परिवर्तनहरू थिए; तिनले परमेश्‍वरप्रतिको प्रेम अनुभव गरे। तिनीहरूका सारका भिन्‍नताहरू अब तँलाई थाहा भएको हुनाले, के तँ आखिरमा कसले साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्‍यो, र कसले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गरेन भनी देख्‍न सक्छस्? तिनीहरूमध्ये एकजनाले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्‍यो, तर अर्कोले परमेश्‍वरलाई साँचो रूपमा प्रेम गरेन; एकजनाको स्वभाव परिवर्तन भयो, तर अर्कोको भएन; एउटाले नम्रताको साथ सेवा गर्‍यो, र ऊ सजिलोसित मानिसहरूको दृष्टिमा परेन, तर अर्कोलाई मानिसहरूले आराधना गरे, र ऊ ठूलो छवि भएको व्यक्ति थियो; एउटाले पवित्रताको खोजी गर्‍यो, तर अर्कोले खोजी गरेन, र ऊ अशुद्ध नै चाहिँ नभए पनि उसमा चोखो प्रेम थिएन; एकजनामा साँचो मानवता थियो, तर अर्कोमा थिएन; एकजनामा परमेश्‍वरले सृष्टि गर्नुभएको प्राणीको समझ थियो, र अर्कोमा थिएन। पावल र पत्रुसको सारमा रहेका भिन्‍नताहरू यिनै हुन्। पत्रुसले हिँडेको मार्ग सफलताको मार्ग थियो, जुन सामान्य मानवता पुनर्प्राप्त गर्ने र परमेश्‍वरको सृष्टिको कर्तव्य पुनर्प्राप्त गर्ने मार्ग पनि थियो। पत्रुसले तिनीहरू सबैलाई प्रतिनिधित्व गर्छन् जो सफल छन्। पावलले हिँडेको मार्ग असफलताको मार्ग थियो, र तिनले आफू स्वयमलाई सतही रूपमा समर्पित र अर्पित गर्ने, अनि परमेश्‍वरलाई प्रेम गर्ने सच्‍चा हृदय नभएकाहरू सबैलाई प्रतिनिधित्व गर्छन्। पावलले तिनीहरू सबैलाई प्रतिनिधित्व गर्छन्, जोसँग सत्य छैन। परमेश्‍वरमाथिको विश्‍वासमा, पत्रुसले सबै कुरामा परमेश्‍वरलाई नै सन्तुष्ट पार्न खोजे, र परमेश्‍वरबाट आएका सबै कुरालाई पालना गर्न खोजे। अलिकति पनि गुनासो नगरीकन, तिनले सजाय र न्यायका साथै शोधन, संकष्ट र अभावपूर्ण जीवन स्वीकार गर्न सकेका थिए, जसमध्ये कुनैले पनि परमेश्‍वरलाई प्रेम गर्ने तिनको हृदयलाई बदल्न सकेन। के यो परमेश्‍वरप्रतिको सर्वश्रेष्ठ प्रेम थिएन र? के यो परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीको कर्तव्य पूरा भएको अवस्था थिएन र? सजाय, न्यायमा होस् या संकष्टमा होस्, तैँले सँधै मृत्युसम्‍मै आज्ञापालन हासिल गर्न सक्छस्, र परमेश्‍वरले सृष्टि गर्नुभएको एक प्राणीले हासिल गर्नुपर्ने यही हो, र परमेश्‍वरप्रतिको प्रेमको विशुद्धता यही हो। यदि मानिसले यति हासिल गर्न सक्छ भने, ऊ परमेश्‍वरले सृष्टि गर्नुभएको योग्य प्राणी हो, र सृष्टिकर्ताको चाहनालाई उसले भन्दा राम्ररी सन्तुष्ट पार्ने अरू केही हुँदैन। मानौं तँ परमेश्‍वरको लागि काम गर्न सक्छस्, तर तँ परमेश्‍वरको आज्ञापालन गर्दैनस्, र तँ परमेश्‍वरलाई साँचो रूपमा प्रेम गर्न सक्दैनस्। यसरी त तैँले परमेश्‍वरको सृष्टिको रूपमा आफ्नो कर्तव्य पूरा नगरेको मात्रै हुनेछैनस्, तँलाई त परमेश्‍वरले दोषी पनि ठहर्‍याउनु हुनेछ, किनभने तँ त्यस्तो व्यक्ति होस् जोसँग सत्य छैन, जसले परमेश्‍वरको आज्ञापालन गर्न सक्दैन, र जो परमेश्‍वरप्रति अनाज्ञाकारी छ। तैँले परमेश्‍वरको लागि काम गर्नेबारेमा मात्रै चासो लिन्छस्, तर सत्यता अभ्यास गर्ने वा आफैलाई चिन्‍नेबारेमा चासो लिँदैनस्। तैँले सृष्टिकर्तालाई बुझ्न वा चिन्‍न सक्दैनस्, र सृष्टिकर्ताको आज्ञापालन गर्ने वा उहाँलाई प्रेम गर्ने गर्दैनस्। तँ परमेश्‍वरप्रति अन्तर्निहित रूपमै अनाज्ञाकारी रहेको व्यक्ति होस्, र त्यसकारण त्यस्ता मानिसहरूलाई परमेश्‍वरले प्रिय ठान्‍नुहुन्‍न।

कतिपय मानिसहरू भन्छन्, “पावलले ठूलो मात्रामा काम गरे, र मण्डलीहरूका लागि तिनले ठूलो भार थामे र तिनीहरूका निम्ति धेरै योगदान दिए। पावलका तेह्र वटा पत्रहरूले २,००० वर्षको अनुग्रहको युग धान्यो र ती पत्रहरू सुसमाचारका चार पुस्तकको तुलनमा मात्र दोस्रोमा गनिन्छन्। कसलाई तिनीसित तुलना गर्न सकिन्छ? यूहन्‍नाको प्रकाशको पुस्तकलाई कसैले पनि अर्थ्याउन सक्दैन, जबकि पावलका पत्रहरूले जीवन प्रदान गर्छन्, र तिनले गरेको काम मण्डलीहरूका लागि लाभदायक थियो। अरू कसले यस्ता कुराहरू हासिल गर्न सक्थ्यो र? अनि पत्रुसले के नै काम गर्‍यो र?” जब मानिसले अरूको मापन गर्छ, उसले तिनीहरूको योगदानअनुसार नै मापन गर्छ। जब परमेश्‍वरले मानिसको मापन गर्नुहुन्छ, उहाँले मानिसको प्रकृतिअनुसार मापन गर्नुहुन्छ। जीवनको खोजी गर्नेहरूमध्ये, पावल आफ्‍नै सार थाहा नभएका व्यक्ति थिए। तिनी नम्र वा आज्ञाकारी थिँदै थिएनन्, न त तिनलाई परमेश्‍वरको विरोधमा रहेको आफ्नो सारबारे नै थाहा थियो। त्यसैले, तिनी विस्तृत अनुभवहरूबाट नगुज्रेका र सत्यतालाई अभ्यास नगरेका व्यक्ति थिए। तर पत्रुस फरक थिए। तिनलाई आफ्‍ना असिद्धता, कमजोरी, र परमेश्‍वरको सृष्टिको रूपमा आफूमा रहेको भ्रष्ट स्वभावको बारेमा थाहा थियो, र त्यसकारण उनमा आफ्‍नो स्वभाव परिवर्तन गर्नको लागि अभ्यासको मार्ग थियो; तिनी धर्मसिद्धान्त मात्रै भएका तर कुनै वास्तविकता नभएकाहरूमध्येका एक थिएनन्। परिवर्तन हुनेहरू मुक्ति पाएका नयाँ मानिसहरू हुन्, तिनीहरू सत्यताको खोजी गर्नको लागि योग्य मानिसहरू हुन्। परिवर्तन नहुने मानिसहरू प्राकृतिक रूपमै थोत्रा मानिसहरू हुन्; तिनीहरू मुक्ति नपाएका, अर्थात् परमेश्‍वरले तिरस्कार र इन्कार गर्नुभएका मानिसहरू हुन्। तिनीहरूको काम जति नै ठूलो भए तापनि तिनीहरूलाई परमेश्‍वरले स्मरण गर्नुहुनेछैन। जब तँ यसलाई तेरो आफ्‍नै खोजीसँग तुलना गर्छस्, तब तँ आखिर पत्रुसजस्तो व्यक्ति होस् कि पावल जस्तो व्यक्ति होस्, स्पष्ट हुन्छ। तैँले जे खोजी गर्छस् त्यसमा अझै पनि कुनै सत्यता छैन भने, र आज समेत तँ पावलजस्तै अहङ्कारी र अटेरी छस्, र अझै पनि तिनीजस्तै गफ हाँक्‍ने र धाक लाउने छस् भने, तँ अवश्य नै असफल हुने पथभ्रष्ट व्यक्ति होस्। यदि तँ पत्रुसले खोजी गरेकै कुरा खोज्छस्, यदि तँ अभ्यासहरू र साँचो परिवर्तनहरूको खोजी गर्छस्, अनि तँ अहङ्कारी वा हठी छैनस्, तर तैँले आफ्‍नो कर्तव्य पूरा गर्छस् भने, तँ विजय हासिल गर्न सक्‍ने परमेश्‍वरको सृष्टि बन्‍नेछस्। पावललाई आफ्‍नो सार वा भ्रष्टताको बारेमा थाहा थिएन, तिनलाई आफ्‍नै अवज्ञाको बारेमा थाहा हुने त कुरै नगरौँ। ख्रीष्‍टप्रतिको तिनको घृणित अवज्ञालाई तिनले कहिल्यै उल्‍लेख गरेनन्, न त तिनले अत्यन्तै अफसोस नै गरेका थिए। तिनले छोटो स्पष्टीकरण मात्रै दिए र तिनी आफ्‍नो हृदयको अन्तस्करणमा परमेश्‍वरप्रति पूर्ण रूपमा समर्पित भएनन्। तिनी दमस्कसको बाटोमा लडेको भए तापनि, तिनले आफैभित्रको गहिराइमा हेरेनन्। तिनी निरन्तर काम गरिरहनमै सन्तुष्ट थिए, र तिनले आफैलाई चिन्‍नु र आफ्‍नो पुरानो स्वभाव परिवर्तन गर्नुलाई सबैभन्दा महत्त्वपूर्ण मामिलाको रूपमा लिएनन्। तिनी सत्यता बोल्‍नुमा, आफ्‍नो विवेकको मलमको रूपमा अरूको लागि आवश्यक पोषण प्रदान गर्नुमा, र आफ्‍नो विगतको पापहरूको लागि आफैलाई सान्त्वना दिन र आफैलाई क्षमा दिन येशूका चेलाहरूलाई त्यसउप्रान्त नसताउनुमा नै सन्तुष्ट थिए। तिनले पछ्याएको लक्ष्य भविष्यको मुकुट र सङ्क्रमणकालीन कार्यभन्दा अरू केही थिएन, उनले पछ्याएको लक्ष्य प्रशस्‍त अनुग्रह प्राप्त गर्नु थियो। तिनले पर्याप्त सत्यतालाई खोजी गरेनन्, न त तिनी पहिले आफूले नबुझेको सत्यतामा अझै गहन रूपमा अघि बढ्न नै खोजे। त्यसकारण तिनको आफ्‍नो बारेको ज्ञानलाई झूट भनेर भन्‍न सकिन्छ, र तिनले सजाय वा न्यायलाई स्वीकार गरेनन्। तिनले काम गर्न सके भन्दैमा तिनलाई आफ्‍नो प्रकृति वा सारको ज्ञान थियो भन्‍ने हुँदैन; तिनको ध्यान भनेको बाहिरी अभ्यासहरूमा मात्रै केन्द्रित थियो। यसअलावा, तिनी जेको लागि मरिमेट्थे त्यो परिवर्तन होइन, ज्ञान थियो। तिनको काम पूर्ण रूपमा दमस्कसको बाटोमा येशू देखा पर्नुभएको घटनाको परिणाम थियो। यो तिनले सुरुदेखि नै गर्ने भनी अठोट गरेको कुरा थिएन, न त तिनले आफ्नो पुरानो स्वभावको काटछाँट स्वीकार गरिसकेपछि गरिएको कार्य नै थियो। तिनले जसरी काम गरेको भए तापनि, तिनको पुरानो स्वभाव परिवर्तन भएन, र त्यसकारण तिनको कार्यले तिनले विगतमा गरेका पापहरूको प्रायश्‍चित गरेन, त्यो समयका निश्‍चित मण्डलीहरूमाझ कही निश्‍चित भूमिका मात्रै निर्वाह गर्‍यो। यस्तो व्यक्ति जसको पुरानो स्वभाव परिवर्तन भएन—भन्‍नुको अर्थ, जसले मुक्ति प्राप्त गरेन र जसमा सत्यताको झन् धेरै कमी थियो—तिनी प्रभु येशूले स्वीकार गर्नुभएकाहरूमध्ये एक बन्‍न सक्दैनथे। तिनी येशू ख्रीष्‍टप्रतिको प्रेम र डरले भरिएका व्यक्ति थिएनन्, न त तिनी सत्यताको खोजी गर्नमा सिपालु व्यक्ति नै थिए, तिनी देहधारणको रहस्यलाई खोज्‍ने व्यक्ति थिए भन्‍ने त कुरै नगरौं। तिनी शब्दजालमा निपुर्ण रहेका व्यक्ति मात्रै थिए, र आफूभन्दा उच्‍च वा सत्यता भएका कसैप्रति पनि समर्पित नहुने व्यक्ति थिए। आफ्नो विपरीत वा आफूप्रति शत्रुवत रहेका मानिसहरू वा सत्यताहरूप्रति तिनी डाहा गर्थे, र महान् छवि प्रस्तुत गर्ने र गहन ज्ञान भएका प्रतिभावान् मानिसहरूलाई रुचाउँथे। साँचो मार्गको खोजी गर्ने र सत्यताबाहेक अरू केही कुरामा चासो नदिने गरिब मानिसहरूसँग कुराकानी गर्न तिनलाई मन पर्दैनथ्यो, बरु धर्मसिद्धान्तहरूको बारेमा मात्रै कुरा गर्ने र प्रशस्‍त ज्ञान भएका धार्मिक संस्थाका उच्‍च पदाधिकारीहरूसँग उठबस गर्नमा चासो राख्‍थे। पवित्र आत्माको नयाँ कार्यप्रति तिनीसँग कुनै प्रेम थिएन र पवित्र आत्माको नयाँ कार्यको अभियानमा तिनलाई चासो थिएन। बरु, आम सत्यताहरूभन्दा माथि रहेका नियम र धर्मसिद्धान्तहरूलाई नै तिनी मन पराउँथे। तिनको जन्मजात सार र तिनको खोजीको सम्पूर्णतालाई हेर्दा, तिनलाई सत्यताको खोजी गर्ने इसाई भनेर भन्‍नु योग्य हुँदैन, परमेश्‍वरको घरको विश्‍वासयोग्य सेवक भनेर भन्‍नु त झन् योग्य हुने कुरै आउँदैन, किनभने तिनको ढोँगीपन अत्यन्तै धेरै थियो, र तिनको अवज्ञा अत्यन्तै ठूलो थियो। तिनी प्रभु येशूको सेवकको रूपमा चिनिए तापनि, तिनी स्वर्गको राज्यको प्रवेशद्वारभित्र छिर्न योग्य थिएनन्, किनभने सुरुदेखि अन्त्यसम्‍मका तिनका कार्यहरूलाई धर्मी भनेर भन्‍न सकिँदैन। तिनलाई पाखण्डी र अधर्म गर्ने, तर ख्रीष्टको लागि पनि काम गर्ने व्यक्तिको रूपमा मात्रै हेर्न सकिन्छ। तिनलाई दुष्ट भनेर भन्‍न नसकिए तापनि, तिनलाई अधर्म गर्ने मानिस भनेर भन्‍नु उपयुक्त नै हुन्छ। तिनले धेरै काम गरे, तैपनि तिनलाई तिनले गरेको कामको मात्राको आधारमा होइन, त्यसको गुणस्तर र सारको आधारमा मात्रै मूल्याङ्कन गरिनुपर्छ। यसरी मात्रै यस विषयको भित्रसम्म पुग्‍न सम्‍भव हुन्छ। तिनले सधैँ यस्तो विश्‍वास गरे: “म काम गर्न सक्षम छु; म धेरैजसो मानिसहरूभन्दा उत्तम छु; मैले प्रभुको बोझलाई जति विचार पुर्‍याउनु सक्छु त्यति कसैले पनि सक्दैन, र मैले जत्तिको गहन रूपमा कसैले पनि पश्‍चात्ताप गर्दैन, किनभने महान्‌ ज्योति ममाथि चम्किएको छ, र मैले महान्‌ ज्योति देखेको छु, र त्यसकारण मेरो पश्‍चात्ताप अरू कसैको भन्दा गहन छ।” त्यो बेला, उनले आफ्‍नो हृदयमा यही सोचे। आफ्‍नो कामको अन्त्यतिर, पावलले भने: “मैले लडाइ लडेको छु, मैले मेरो दौड सिध्याएको छु, र मेरो लागि धार्मिकताको मुकुट राखिएको छ।” तिनको लडाइ, काम, र यात्रा पूर्ण रूपमा धार्मिकताको मुकुटकै खातिर थियो, र तिनी सक्रिय रूपमा अघि बढेनन्। आफ्‍नो काममा तिनी झारातिरुवा नरहेको भए तापनि, तिनले आफ्‍ना गल्तीहरूको पूर्ति गर्न, आफ्नो विवेकका ग्‍लानिहरूको भरपाई गर्न मात्रै काम गरेका थिए भनेर भन्‍न सकिन्छ। तिनले आफूले तृष्णा गरेको धार्मिकताको मुकुटलाई चाँडोभन्दा चाँडो प्राप्त गर्न सकूँ भनेर सक्दो चाँडो आफ्‍नो काम सिध्याउने, दौड पूरा गर्ने, र लडाइ लड्ने आशा मात्रै गरेका थिए। तिनले आफ्‍ना अनुभवहरू र साँचो ज्ञानमार्फत प्रभु येशूलाई भेट्ने चाहना गर्नुको सट्टा आफ्नो कामले कमाएका इनामहरू प्रभु येशूलाई भेट्नेबित्तिकै प्राप्त गर्न सकूँ भनेर जतिसक्दो चाँडो आफ्‍नो काम समाप्त गर्ने तृष्णा गरे। तिनले आफैलाई सान्त्वना दिन र भविष्यको मुकुट पाउनको लागि आफ्‍नो कामको प्रयोग गरे। तिनले सत्यता वा परमेश्‍वरलाई होइन, मुकुटलाई मात्रै खोजे। त्यस्तो खोजी कसरी मापदण्डको स्तरमा पुग्‍न सक्छ? तिनको उत्प्रेरणा, तिनको कार्य, तिनले चुकाएको मूल्य, र तिनका सबै प्रयासहरू—ती सबै नै तिनका सुन्दर कल्‍पनाहरूले व्याप्त थिए, र तिनले पूर्ण रूपमा आफ्‍नै चाहनाहरूअनुसार काम गरे। तिनको सम्पूर्ण काममा, तिनले चुकाएको मूल्यभित्र तत्परताको थोरै अंश पनि थिएन; तिनी लेनदेन गर्ने कार्यमा मात्रै संलग्‍न भएका थिए। आफ्‍नो कर्तव्य पूरा गर्नको लागि मात्रै तिनले स्वेच्‍छाले प्रयासहरू गरेका थिएनन्, बरु लेनदेनको उद्देश्य हासिल गर्नको लागि मात्रै स्वेच्‍छाले ती प्रयास गरेका थिए। के त्यस्ता प्रयासहरूको कुनै मूल्य छ र? तिनका अशुद्ध प्रयासहरूलाई कसले तारिफ गर्छ र? त्यस्ता प्रयासहरूप्रति कसैसँग कुनै चासो छ र? तिनको काम भविष्यका सपनाहरूले भरिएको थियो, सुन्दर योजनाले भरिएको थियो, तर त्यसमा मानव स्वभावलाई परिवर्तन गर्ने कुनै मार्ग समावेश थिएन। तिनका धेरैजसो उपकारहरू बहाना मात्रै थिए; तिनको कार्यले जीवन प्रदान गरेन, त्यो त देखावटी शिष्टाचार मात्रै थियो; त्यो लेनदेन गर्ने कार्य मात्रै थियो। त्यस्तो कार्यले मानिसलाई कसरी आफ्‍नो मूल कर्तव्य पुनर्प्राप्त गर्ने मार्गमा डोर्‍याउन सक्छ?

पत्रुसले खोजी गरेका सबै कुरा परमेश्‍वरको हृदयअनुरूप थिए। तिनले परमेश्‍वरका चाहनाहरू पूरा गर्न खोजे, अनि कष्ट र विपत्तिको बाबजुद पनि, तिनी परमेश्‍वरको इच्‍छा पूरा गर्न इच्‍छुक थिए। परमेश्‍वरका विश्‍वासीले गर्ने खोजी योभन्दा ठूलो हुँदैन। पावलले खोजी गरेको कुरा तिनको आफ्‍नै देहद्वारा, तिनका आफ्‍नै धारणाहरूद्वारा, र तिनका आफ्‍नै योजना र युक्तिहरूद्वारा कलङ्कित थियो। तिनी कुनै पनि हालतमा परमेश्‍वरले सृष्टि गर्नुभएको एक योग्य प्राणी थिएनन्, तिनी परमेश्‍वरको इच्‍छा पूरा गर्न खोज्‍ने व्यक्ति थिएनन्। तर पत्रुसचाहिँ परमेश्‍वरको योजनाबद्ध कार्यमा समर्पित हुन खोज्थे, र तिनले गरेको काम ठूलो नभएको भए तापनि, तिनको खोजीपछाडिको अभिप्राय र तिनले हिँडेको मार्ग सही थियो; तिनले धेरै मानिसहरूलाई प्राप्त गर्न नसकेको भए तापनि, तिनले सत्यको मार्ग पछ्याउन सके। यही कारणले गर्दा तिनी परमेश्‍वरले सृष्टि गर्नुभएको एक योग्य प्राणी थिए भनेर भन्‍न सकिन्छ। आज, तँ कामदार नभए तापनि, तैँले परमेश्‍वरको सृष्टिको कर्तव्य निभाउन सक्‍नुपर्छ र परमेश्‍वरका सबै योजनाबद्ध कार्यमा समर्पित हुने प्रयास गर्नुपर्छ। परमेश्‍वरले जे भन्‍नुहुन्छ ती सबैलाई तैँले पालना गर्न, र सबै प्रकारका संकष्ट र शोधन अनुभव गर्न सक्‍नुपर्छ, र तँ कमजोर भए तापनि, आफ्‍नो हृदयमा तैँले परमेश्‍वरलाई प्रेम गर्न सक्‍नुपर्छ। आफ्‍नो जीवनको लागि जिम्‍मेवारी लिनेहरू परमेश्‍वरको सृष्टिको रूपमा कर्तव्य निभाउन इच्‍छुक हुन्छन्, र त्यस्ता मानिसहरूको खोजीसम्‍बन्धी दृष्टिकोण सही हुन्छ। परमेश्‍वरलाई चाहिने मानिसहरू यिनै हुन्। यदि तैँले धेरै काम गरेको छस्, र अरूले तेरा शिक्षाहरू प्राप्त गरेका छन्, तर तँ आफूचाहिँ परिवर्तन भइनस्, र तैँले कुनै पनि गवाही वहन गरेको छैनस्, वा तँमा कुनै साँचो अनुभव छैन, यहाँसम्‍म कि तेरो जीवनको अन्त्यसम्‍म पनि तैँले जे गरेको छस् त्यसले कुनै गवाही वहन गर्दैन भने, के तँ परिवर्तन भएको व्यक्ति होस् र? के तँ सत्यताको खोजी गर्ने व्यक्ति होस्? त्यो बेला, पवित्र आत्माले तँलाई प्रयोग गर्नुभयो, तर जब उहाँले तँलाई प्रयोग गर्नुभयो, तब उहाँले कामको लागि प्रयोग गर्न सकिने तेरो कुनै भागलाई मात्र प्रयोग गर्नुभयो, र प्रयोग गर्न नसकिने तेरो अन्य भागलाई प्रयोग गर्नुभएन। यदि तैँले परिवर्तनको खोजी गरेको थिइस् भने, प्रयोग हुने प्रक्रियाको अवधिमा तँ क्रमिक रूपमा सिद्ध पारिन्थिइस्। तैपनि तँलाई अन्ततः प्राप्त गरिनेछ कि छैन भन्‍नेबारेमा पवित्र आत्माले कुनै जिम्‍मेवारी स्वीकार गर्नुहुन्‍न, र यो तेरो खोजीको तरिकामै निर्भर हुन्छ। यदि तेरो व्यक्तिगत स्वभावमा कुनै परिवर्तन आएको छैन भने, खोजीसम्‍बन्धी तेरो दृष्टिकोण गलत भएकोले नै त्यसो भएको हो। यदि तँलाई कुनै इनाम दिइएन भने, त्यो तेरो आफ्‍नै समस्या हो, र तैँले सत्यता अभ्यास नगरेको हुनाले र तैँले परमेश्‍वरको चाहना पूरा गर्न नसक्‍ने भएकोले यस्तो हुन्छ। त्यसकारण, तेरा व्यक्तिगत अनुभवहरूजत्तिको धेरै महत्त्वपूर्ण अरू केही हुँदैन, र तेरो व्यक्तिगत प्रवेशजत्तिको गम्भीर कुरा अरू केही हुँदैन! कतिपय मानिसहरू यसो भन्‍ने अवस्थामा पुग्छन्, “मैले तपाईंको लागि धेरै काम गरेको छु, र मैले कुनै पनि उल्‍लासपूर्ण उपलब्धिहरू प्राप्त नगरेको भए तापनि, मेरा प्रयासहरूमा म लगनशील नै रहेको छु। के तपाईं मलाई जीवनको फल खानको लागि स्वर्गमा प्रवेश गर्न दिन सक्‍नुहुन्‍न र?” मैले कस्ता प्रकारका मानिसहरूलाई चाहन्छु तैँले जान्‍नैपर्छ; अशुद्धहरूलाई राज्यमा प्रवेश गर्ने अनुमति छैन, तिनीहरूलाई पवित्र भूमि अपवित्र तुल्याउने अनुमति छैन। तैँले धेरै काम गरेको, र धेरै वर्षसम्‍म खटेको हुन सक्‍ने भए तापनि, यदि आखिरमा तँ दयनीय रूपले घिनलाग्‍दो छस् भने, तैँले मेरो राज्यमा प्रवेश गर्न चाहनु स्वर्गको नीति-नियममा असहनीय हुनेछ! संसारले जग बसालेदेखि अहिलेसम्‍म, मसँग चापलुसी गर्नेहरूलाई मैले राज्यमा सहज रूपमा प्रवेश गर्न कहिल्यै दिएको छैन। यो स्वर्गीय नियम हो, र कसैले पनि यसलाई तोड्न सक्दैन! तैँले जीवनको खोजी गर्नैपर्छ। आज, सिद्ध पारिनेहरू पत्रुसजस्तै हुन्: तिनीहरू आफ्‍नै स्वभावमा परिवर्तन खोज्‍ने, र परमेश्‍वरको गवाही वहन गर्न र परमेश्‍वरको सृष्टिको रूपमा आफ्‍नो कर्तव्य निभाउन इच्‍छुक हुने मानिसहरू हुन्। यस्ता मानिसहरूलाई मात्र सिद्ध पारिनेछ। यदि तँ इनामहरूलाई मात्रै आश गर्छस्, र आफ्‍नो जीवन स्वभावलाई परिवर्तन गर्न खोज्दैनस् भने, तेरा सबै प्रयासहरू व्यर्थ हुनेछन्—यो अपरिवर्तनीय सत्यता हो!

पत्रुस र पावलका सारहरूमा रहेका भिन्‍नताबाट तैँले जीवनको खोजी नगर्नेहरू व्यर्थमा परिश्रम गर्छन् भन्‍ने बुझ्‍नुपर्छ! तँ परमेश्‍वरमा विश्‍वास गर्छस् र परमेश्‍वरलाई नै पछ्याउँछस्, त्यसकारण तँमा परमेश्‍वरलाई प्रेम गर्ने हृदय हुनैपर्छ। तैँले आफ्‍नो भ्रष्ट स्वभावलाई पन्छाउनैपर्छ, तैँले परमेश्‍वरको चाहनालाई पूरा गर्न खोज्नुपर्छ, र परमेश्‍वरको सृष्टिको रूपमा तैँले आफ्नो कर्तव्य निभाउनैपर्छ। तैँले परमेश्‍वरमा विश्‍वास गर्ने र पछ्याउने हुनाले, तैँले सबै कुरा उहाँलाई नै चढाउनुपर्छ, र तैँले व्यक्तिगत छनौट वा मागहरू गर्नु हुँदैन, अनि तैँले परमेश्‍वरका चाहनाहरूको पूर्णता हासिल गर्नुपर्छ। तँलाई सृष्टि गरिएको हुनाले, तैँले तँलाई सृष्टि गर्नुहुने प्रभुको आज्ञापालन गर्नुपर्छ, किनभने अन्तर्निहित रूपमा तँप्रति तेरो आफ्‍नै प्रभुत्व छैन, र तँसँग तेरो आफ्नै भवितव्यलाई नियन्त्रण गर्ने कुनै क्षमता छैन। तँ परमेश्‍वरलाई विश्‍वास गर्ने व्यक्ति भएको हुनाले, तैँले पवित्रता र परिवर्तनको खोजी गर्नुपर्छ। तँ परमेश्‍वरको सृष्टि होस्, त्यसकारण तैँले तेरो कर्तव्य पालना गर्नुपर्छ, र तेरो स्थानलाई कायम राख्‍नुपर्छ, अनि तैँले आफ्‍नो कर्तव्यलाई नाघ्‍नु हुँदैन। यो तँलाई धर्मसिद्धान्तद्वारा बन्धनमा पार्नु, वा तँलाई दबाउनको लागि होइन, यो त तैँले तेरो कर्तव्य निभाउन सक्‍ने मार्ग हो, र धार्मिकताको काम गर्ने सबैले यो हासिल गर्न सक्छन् र हासिल गर्नुपर्छ। यदि तैँले पत्रुस र पावलका सारहरूलाई तुलना गरिस् भने, तैँले कसरी खोजी गर्नुपर्ने हो भनी जान्‍नेछस्। पत्रुस र पावलले हिँडेका मार्गहरूमध्ये, एउटा सिद्ध पारिने मार्ग हो, र अर्को निष्कासन हुने मार्ग हो; पत्रुस र पावलले दुई फरकफरक मार्गहरूलाई प्रतिनिधित्व गर्छन्। तिनीहरू दुवैले पवित्र आत्माको काम प्राप्त गरे, र दुवैले पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गरे, र दुवैले प्रभु येशूले तिनीहरूलाई सुम्पनुभएको कुरा स्वीकार गरे, तर ती दुईमा फलेको फल उही थिएन: एउटाले साँचो रूपमा फल फलायो, अर्कोले फलाएन। तिनीहरूका सारहरू, तिनीहरूले गरेका काम, तिनीहरूले बाहिरी रूपमा व्यक्त गरेका कुरा, र तिनीहरूको आखिरी अन्त्यको आधारमा, तैँले कुन मार्ग लिनुपर्छ, कुन मार्गमा हिँड्ने निर्णय गर्नुपर्छ सो बुझ्‍नुपर्छ। तिनीहरूले स्पष्ट रूपमै दुई फरकफरक मार्ग हिँडे। पावल र पत्रुस यी दुई मार्गका सिद्ध उदाहरण थिए र त्यसकारण सुरुदेखि नै तिनीहरू यी दुई मार्गका प्रतीक बने। पावलका अनुभवहरूका मुख्य बुँदाहरू के-के हुन्, र तिनी किन सफल भएनन्? पत्रुसका अनुभवहरूका मुख्य बुँदाहरू के-के हुन्, र तिनले सिद्ध पारिने कार्यलाई कसरी अनुभव गरे? तिनीहरू दुवैले वास्ता गर्ने कुराहरूलाई तैँले तुलना गरिस् भने, परमेश्‍वरले ठ्याक्‍कै कस्तो प्रकारको व्यक्ति चाहनुहुन्छ, परमेश्‍वरको इच्‍छा के हो, परमेश्‍वरको स्वभाव के हो, कस्तो प्रकारको व्यक्तिलाई आखिरमा सिद्ध पारिन्छ, र कस्तो प्रकारको व्यक्तिलाई सिद्ध पारिनेछैन भनी तैँले थाहा पाउनेछस्; सिद्ध पारिनेहरूको स्वभाव के हो, र सिद्ध नपारिनेहरूको स्वभाव के हो सो तैँले जान्‍नेछस्—सारसम्‍बन्धी यी कुराहरू पत्रुस र पावलका अनुभवहरूमा देख्‍न सकिन्छ। परमेश्‍वरले सबै थोक सृष्टि गर्नुभयो, त्यसकारण उहाँले सबै सृष्टिलाई उहाँको प्रभुत्वको अधीनमा आउने र उहाँको प्रभुत्वमा समर्पित हुने तुल्याउनुहुन्छ; उहाँले सबै थोकमाथि हुकुम चलाउनुहुनेछ, ताकि सबै थोक उहाँकै हातमा होऊन्। जीवजन्तु, वनस्पति, मानवजाति, पहाडपर्वत र नदीनाला, अनि तालतलैयालगायत परमेश्‍वरका सबै सृष्टि—सबै नै उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। आकाश र जमिनका सबै थोक उहाँको प्रभुत्वको अधीनमा आउनैपर्छ। तिनीहरूसँग कुनै विकल्‍प हुन सक्दैन र सबै उहाँको योजनाबद्ध कार्यमा समर्पित हुनैपर्छ। यो परमेश्‍वरले आदेश दिनुभएको थियो, र यो परमेश्‍वरको अख्‍तियार हो। परमेश्‍वरले नै सबै थोकमाथि हुकुम चलाउनुहुन्छ, र हरेकलाई उसको प्रकारअनुसार वर्गीकरण गर्दै, र परमेश्‍वरको इच्‍छाअनुसार तिनीहरूलाई आफ्‍नै स्थान प्रदान गरेर सबै थोकलाई व्यवस्थित गर्नुहुन्छ र क्रम मिलाएर राख्‍नुहुन्छ। जति नै ठूलो भए पनि कुनै पनि चीजले परमेश्‍वरलाई उछिन्‍न सक्दैन, परमेश्‍वरले सृष्टि गर्नुभएको मानवजातिलाई नै सबै थोकले सेवा गर्छन्, र कुनैले पनि परमेश्‍वरको आज्ञा उल्‍लङ्घन गर्ने वा परमेश्‍वरमा कुनै मापदण्ड थोपर्ने आँट गर्दैनन्। त्यसकारण, परमेश्‍वरको सृष्टिको रूपमा मानिसले पनि मानिसको कर्तव्य निभाउनैपर्छ। ऊ सबै थोकका प्रभु वा हेरचाह गर्ने व्यक्ति भए तापनि, सबै थोकको माझमा मानिसको हैसियत जति उच्‍च भए तापनि, ऊ परमेश्‍वरको प्रभुत्वको अधीनमा रहेको सानो मानवबाहेक अरू केही होइन, र परमेश्‍वरको सृष्टि अर्थात् महत्त्वहीन मानवजातिबाहेक अरू केही होइन, र ऊ परमेश्‍वरभन्दा माथि कहिल्यै हुनेछैन। परमेश्‍वरको सृष्टिको रूपमा, मानिसले परमेश्‍वरको सृष्टिको कर्तव्य निभाउने प्रयास गर्नुपर्छ, र अरू कुनै छनौटहरू नगरीकन परमेश्‍वरलाई प्रेम गर्न खोज्नुपर्छ, किनभने परमेश्‍वर मानिसको प्रेमको योग्य हुनुहुन्छ। परमेश्‍वरलाई प्रेम गर्न खोज्नेहरूले कुनै पनि व्यक्तिगत लाभहरूको खोजी गर्ने वा आफूले व्यक्तिगत रूपमा तृष्णा गर्ने कुराहरूको खोजी गर्ने गर्नु हुँदैन; खोजी गर्ने सबैभन्दा सही माध्यम यही हो। यदि तैँले सत्यताको खोजी गर्छस् भने, यदि तैँले सत्यता अभ्यास गर्छस् भने, र यदि तैँले आफ्‍नो स्वभावमा परिवर्तन हासिल गर्छस् भने, तैँले हिँड्ने मार्ग सही छ। यदि तैँले देहका आशिष्‌हरूको खोजी गर्छस् भने, र तैँले तेरा आफ्नै धारणाहरूको सत्यता अभ्यास गर्छस् भने, र यदि तेरो स्वभावमा कुनै परिवर्तन आएको छैन, र देहमा हुनुभएका परमेश्‍वरप्रति तँ पूर्ण रूपमा आज्ञाकारी छैनस्, र तँ अझै अस्पष्टतामै जिउँछस् भने, तैँले जे कुराको खोजी गर्छस् त्यसले तँलाई अवश्य नै नरक लैजानेछ, किनभने तैँले हिँड्ने मार्ग असफलताको मार्ग हो। तँलाई सिद्ध पारिनेछ कि हटाइनेछ भन्‍ने कुरा तेरो आफ्‍नै खोजीमा निर्भर हुन्छ, भन्‍नुको अर्थ सफलता वा असफलता मानिसले हिँड्ने मार्गमै निर्भर हुन्छ।

अघिल्लो: तेह्र पत्रहरूमा तँ कहाँ खडा हुन्छस्?

अर्को: परमेश्‍वरको काम र मानिसको काम

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्