अध्याय २०
पवित्र आत्माको काम तिमीहरूलाई पूर्ण रूपमा नयाँ राज्यमा ल्याउँदै निरन्तर अगाडि बढिरहेको छ, जसको अर्थ हो, राज्यको जीवनको वास्तविकता तिमीहरूसामु देखा परेको छ। पवित्र आत्माले बोल्नुभएका वचनहरूले तेरो मुटुभित्रको गम्भीरतालाई प्रत्यक्ष रूपमा प्रकट गरेका छन्, र एकपछि अर्को छवि तिमीहरूसामु देखा पर्दैछ। सत्यताको निम्ति भोकाउने र तिर्खाउनेहरू अनि अधीनमा बस्ने मनसाय भएका सबै सियोनमा रहनेछन् र नयाँ यरूशलेममा बस्नेछन्; मसँग हुँदा तिनीहरूले पक्कै पनि महिमा र सम्मान प्राप्त गर्नेछन् र सुन्दर आशिषहरू बाँड्नेछन्। हाल आत्मिक क्षेत्रका केही रहस्यहरू छन्, जुन तिमीहरूले अहिलेसम्म देखेका छैनौ किनकि तिमीहरूको आत्मिक आँखा खुलेका छैनन्। सबै कुरा एकदम अचम्मका छन्; चमत्कार र आश्चर्यका कामहरू र मानिसहरूले कहिल्यै सोच-विचार नगरेका कुराहरू पनि बिस्तारै प्रकट हुनेछन्। सर्वशक्तिमान परमेश्वरले आफ्ना ठूला-ठूला आश्चर्यकर्महरू देखाउनुहुनेछ ताकि ब्रह्माण्ड र पृथ्वीको कुना-कुना अनि सबै राष्ट्र र सारा मानिसले आफ्नै आँखाले देख्न सकून् र मेरो प्रताप, धार्मिकता, र सर्वशक्तिमान्ता कहाँ छ सो पनि देखून्। दिन नजिकै आउँदैछ! यो अत्यन्त महत्त्वपूर्ण क्षण हो: के तँ पछि हट्नेछस्, कि तँ कहिल्यै पछाडि नफर्किकन अन्तसम्म दृढ रहनेछस्? कुनै पनि व्यक्ति, घटना वा वस्तुलाई नहेर्; संसार, आफ्ना पति-पत्नी, आफ्ना बाल-बच्चा, वा जीवनप्रति आफ्ना शङ्काहरूलाई नहेर्। केवल मेरो प्रेम र कृपालाई हेर, र तिमीहरूलाई प्राप्त गर्नको लागि मैले कति मूल्य चुकाएको छु त्यसलाई हेर। यी तिमीहरूलाई प्रोत्साहित गर्न यी कुरा नै पर्याप्त हुनेछन्।
समय धेरै नजिक छ, र मेरा सबै इच्छाहरू सकेसम्म छिटो पूरा गरिनैपर्छ। मेरो नाममा हुनेहरूलाई म त्याग्नेछैनँ; म तिमीहरू सबैलाई मेरो महिमामा ल्याउनेछु। तैपनि अहिले हेर्दा, यो महत्त्वपूर्ण क्षण हो; त्यो अर्को कदम चाल्न असमर्थ सबैले आफ्नो बाँकी जीवनको निम्ति विलाप गर्नेछन् र पछुतो महसुस गर्नेछन्, यद्यपि यस्तो भावनाको लागि ढीलो भइसकेको हुनेछ। अहिले, मण्डली निर्माण गर्न सकिन्छ कि सकिन्न र तिमीहरू एकअर्काप्रति समर्पित हुन सक्छौ कि सक्दैनौ सो जान्नको लागि तिमीहरूको कदलाई व्यावहारिक परीक्षामा राखिएको छ। यस दृष्टिकोणबाट हर्दा, तेरो समर्पणतामा तैँले छनौट गर्ने कुरा हो; तँ एक व्यक्तिप्रति समर्पित हुन सके पनि, अर्को व्यक्तिमा समर्पित हुन तँलाई गाह्रो हुन्छ। जब तँ मानव धारणाहरूमा भर पर्छस्, तब तँ वास्तवमा समर्पित हुन सक्दैनस्। तैपनि, परमेश्वरका विचारहरू सधैँ मानिसको भन्दा श्रेष्ठ हुन्छन्! ख्रीष्ट पनि मृत्युसम्मै समर्पित हुनुभयो, र क्रूसमा मारिनुभयो। उहाँले कुनै पनि अवस्था वा कारणबारे केही भन्नुभएन; जबसम्म यो उहाँको पिताको इच्छा थियो, उहाँ राजीखुसीले समर्पित हुनुभयो। तेरो समर्पणताको हालको अवस्था अत्यन्तै सीमित छ। म तिमीहरू सबैलाई भन्छु, समर्पणता भनेको मान्छेप्रति समर्पित हुनु होइन; बरु, यसको अर्थ त पवित्र आत्माको कामप्रति समर्पित हुनु र परमेश्वर स्वयमप्रति समर्पित हुनु हो। मेरा वचनहरूले तिमीहरूलाई भित्रबाट नवीकरण र परिवर्तन गर्दैछन्; यदि यस्तो नहुने हो भने, को कसप्रति समर्पित हुनेथियो? तिमीहरू सबै अरू मानिसहरूप्रति समर्पित छौ। तिमीहरूले यो पत्ता लगाउनैपर्छ—समर्पणता के हो र तिमीहरूले कसरी समर्पणताको जीवन जिउन सक्छौ। तिमीहरू मेरो अगाडी अझ अघि आउनैपर्छ अनि यस विषयमा सङ्गति गर्नैपर्छ, त्यसपछि बिस्तारै तिमीहरूले आफ्ना भित्री धारणा र छनौटहरूलाई त्याग्दै यसलाई बुझ्न थाल्नेछौ। जुन तरिकाले म कार्यहरू गर्दछु, त्यसलाई राम्ररी बुझ्न मानिसहरूलाई गाह्रो हुन्छ। यो कुन तरिकामा मानिस राम्रो वा सक्षम छ भन्नेबारे होइन; म परमेश्वरको सर्वशक्तिमान्तालाई देखाउन सबैभन्दा अज्ञानी र सबैभन्दा तुच्छलाई पनि प्रयोग गर्दछु, यसको साथै केही मानिसका धारणा, विचार र छनौटहरू उल्टाउँछु। परमेश्वरका कार्यहरू आश्चर्यजनक छन्; ती मानव समझभन्दा बाहिर छन्!
यदि तँ वास्तवमै मेरो लागि गवाही बन्न चाहन्छस् भने, तैँले सत्यतालाई विकृत रूपमा होइन तर शुद्ध रूपमा बुझ्नुपर्छ। तैँले मेरा वचनहरूलाई अभ्यास गर्नमा ध्यान केन्द्रित गर्नैपर्दछ, र आफ्नो जीवन छोटो समयमै परिपक्व बनाउन खोज्नैपर्छ। कुनै मूल्य नभएका थोकहरूको खोजी नगर्; तिमीहरूको जीवनको प्रगतिमा तिनको कुनै फाइदा छैन। तिमीहरूको जीवन परिपक्व भएपछि मात्र तिमीहरूलाई निर्माण गर्न सकिन्छ; त्यसपछि मात्र तँलाई राज्यमा ल्याउन सकिन्छ—यसलाई नकार्न मिल्दैन। म अझै पनि तँसँग केही कुरा गर्न चाहन्छु; मैले तँलाई धेरै दिएको छु, तर वास्तवमा तैँले कति बुझ्छस्? मैले भनेको कति कुरा तेरो जीवनको वास्तविकता भएको छ? मैले भनेका कति कुरामा तँ जिइरहेको छस्। डोकोले पानी उघाउने प्रयास नगर्; तैँले अन्त्यमा केही पनि प्राप्त गर्नेछैनस्। अरूले अत्यन्तै सजिलो गरी वास्तविक लाभ प्राप्त गरेका छन्; तेरो के छ? के तैँले निःशस्त्र भई र कुनै हतियार नबोकी शैतानलाई हराउन सक्छस्? तैँले जीवनमा मेरा वचनहरूमा अझै बढी भर पर्नैपर्छ, किनकि ती आत्मरक्षाको लागि उत्तम हतियार हुन्। तैँले एउटा कुरा याद राख्नुपर्छ: मेरा वचनहरूलाई तेरो सम्पत्तिको रूपमा नलिनू; यदि तैँले ती बुझ्दैनस् भने, तिनको खोजी गर्दैनस् भने, यदि तँ तिनलाई पत्ता लगाउन वा तिनको बारेमा मसँग कुराकानी गर्न कोसिस गर्दैनस् तर यसको सट्टामा आत्मसन्तुष्ट र आत्म-प्रसन्न छस् भने, तैँले नोक्सान भोग्नेछस्। अहिले तैँले यो पाठबाट सिक्नुपर्दछ, र तैँले आफैलाई अलग राख्नैपर्छ र आफ्ना कमीकमजोरीहरूलाई पूरा गर्न अरूको सामर्थ्यलाई तान्नैपर्छ; आफूले चाहेअनुसार जेसुकै नगर्। समयले कसैलाई पर्खंदैन। तेरा दाजुभाइ-दिदीबहिनीहरूको जीवन दिनदिनै वृद्धि हुँदैछ; तिनीहरू सबैले दैनिक रूपमा परिवर्तन र नवीकरण अनुभव गरिरहेका छन्। तेरा दाजुभाइ-दिदीबहिनीहरूको शक्ति बढ्दैछ, र यो ठूलो कुरा हो! अन्तिम रेखासम्म दौडी; कसैले कसैका ख्याल गर्न सक्नेछैन। मसँग सहकार्य गर्न तेरा आफ्नै व्यक्तिपरक प्रयासहरू लगा। जोसँग दर्शनहरू छन्, अगाडि जाने बाटो जसको छ, जो निराश छैनन्, र जो सधैँ अगाडि हेर्छन्, उनीहरू विजय हुने निश्चित छ। यो महत्त्वपूर्ण क्षण हो। निरुत्साहित वा निराश नहुन सुनिश्चित गर्; तैँले सबै कुराको लागि अगाडि हेर्नैपर्छ, र पछाडि फर्कनैहुँदैन। तैँले सबै कुरा बलिदान दिनैपर्छ, सबै आकांक्षा त्याग्नैपर्छ, र आफ्ना सबै शक्तिसाथ प्रयास गर्। तँमा एक मुठी सास रहिन्जेल, तँ अन्तसम्म दृढ रहनैपर्छ; तँ प्रशंसाको योग्य हुने तरिका यही मात्रै हो।