अध्याय ३२
जब मानिसहरू मसँग भेला हुन्छन्, मेरो हृदय आनन्दले भरिन्छ। तुरुन्तै, म मेरो हातका आशिषहरू मानिसको बीचमा वर्षाउँछु, यसैले कि मानिसहरू मसँग भेला हुन सकून्, र मेरो आज्ञा नमान्ने शत्रु नहोऊन् तर मसँग मिलेर बस्ने मित्रहरू बनून्। यसैले, म मानिसहरूसँग हार्दिक व्यवहार पनि गर्छु। मेरो काममा मानिसलाई उच्च-स्तरीय संगठनको सदस्यको रूपमा हेरिन्छ, त्यसैले म उसलाई धेरै ध्यान दिन्छु, किनकि ऊ सधैँ मेरो कामको पात्र भएको छ। मैले मानिसका हृदयमा मेरो स्थान बनाएको छु, यसैले कि तिनीहरूको हृदयले मलाई आदर गर्न सकून्—तापनि म किन त्यसो गर्छु भन्ने बारेमा तिनीहरू पूर्ण रूपमा अनभिज्ञ छन्, र तिनीहरूले पर्खने बाहेक अरू केही पनि गर्दैनन्। मैले मानिसहरूको हृदयमा एउटा स्थान बनाएको भए पनि, तिनीहरूले म त्यहाँ बसेको चाहँदैनन्। यसको सट्टामा, तिनीहरू आफ्नो हृदयमा “पवित्र जन” अचानक आउनुभएको होस् भनी प्रतीक्षा गर्छन्। मेरो पहिचान अति “निम्न” भएकोले, म मानिसहरूका मागहरूसँग मेल खाँदिनँ, त्यसैले मलाई तिनीहरूले बाहिर फालिदिन्छन्। तिनीहरूले चाहेका कुरा भनेको त्यो उच्च र शक्तिशाली “म” हो, तर जब म आएँ म मानिसकहाँ त्यसरी देखा परिनँ, त्यसैले तिनीहरूले आफ्नो हृदयमा आउने व्यक्तिलाई पर्खँदै टाढा-टाढा नजर लगाइरहे। जब म मानिसहरूको सामु आएँ, तब तिनीहरूले मलाई भीडहरूको सामु इन्कार गरे। म मानिसद्वारा “निराकरण हुन” का निम्ति पर्खँदै र मानिसहरूले म, यो न्यून “उपज” लाई आखिरमा कस्तो व्यवहार गर्लान् भनी हेर्दै एक छेउमा उभिन मात्र सकेँ। म मानिसहरूका दागहरूलाई हेर्दिनँ, तर तिनीहरूका दाग नलागेका भागहरूलाई हेर्छु, र त्यसबाट म सन्तुष्टि पाउँछु। मानिसहरूका नजरमा, म आकाशबाट झरेको एउटा “सानो तारा” मात्र हुँ; स्वर्गमा म अति तुच्छ मात्र हुँ, र आज पृथ्वीमा भएको मेरो आगमनको आदेश परमेश्वरले दिनुभएको थियो। फलस्वरूप, मानिसहरूले “म” र “परमेश्वर” शब्दहरूका धेरै वटा व्याख्याहरू गरेका छन्, यस क्रममा परमेश्वर र मलाई एउटै र उस्तै ठान्न अत्यन्तै डराउँछन्। मेरो स्वरूपमा परमेश्वरको कुनै पनि रूपरङ्ग नभएकोले मानिसहरू म त्यो सेवक हुँ जो परमेश्वरको परिवारको होइन भनी विश्वास गर्छन्, अनि तिनीहरू यो परमेश्वरको स्वरूप होइन भनी भन्छन्। सायद केही व्यक्तिहरू छन् जसले परमेश्वरलाई देखेका छन्—तर पृथ्वीमा मेरो अन्तर्ज्ञानको कमी भएकोले, परमेश्वर मकहाँ कहिल्यै पनि “देखा पर्नु” भएको छैन। सायद मसँग “विश्वास” थोरै छ, त्यसकारण मानिसहरूले मलाई निम्न व्यक्तिको रूपमा हेर्छन्। मानिसहरूले के सोच्छन् भने, यदि कुनै व्यक्ति साँच्चै परमेश्वर हुन् भने, ऊ निश्चय मानिसको भाषामा दक्ष हुनेछ, किनकि परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ। तर तथ्यहरू ठीक विपरीत छन्: म मानिसको भाषामा विशेषज्ञ नरहेको मात्र होइन, तर कहिलेकहीँ म मानिसका “कमीहरू” का लागि “प्रबन्ध” पनि गर्न सक्दिनँ। फलस्वरूप, मलाई थोरै “ग्लानि” महसुस हुन्छ, किनकि म मानिसहरूले “माग” गरेअनुसार कार्य गर्दिनँ, तर सामग्रीहरू तयार गरेर तिनीहरूको “अभाव” अनुसार काम मात्रै गर्दछु। मैले मानिससँग गरेको माग कुनै पनि प्रकारले ठूलो छैन, तापनि मानिसहरूले यस्तो होइन भनी विश्वास गर्छन्। त्यसैले तिनीहरूको “नम्रता” तिनीहरूको हरेक चालमा प्रकट हुन्छ। तिनीहरू सधैँ मेरो अगाडि हिँड्न, मेरो लागि बाटोमा अगुवाइ गर्न तयार हुन्छन्, किनभने तिनीहरू म हराउनेछु भन्ने डरले भुतुक्क भएका हुन्छन्, म पहाडहरू भित्रको प्राचीन जङ्गलहरूमा भौंतारिनेछु भनी त्रासित भएका हुन्छन्। फलस्वरूप, म कालकोठरीमा पस्नेछु भनी अति डराउँदै मानिसहरूले मलाई सधैँ अगाडि बढाउँछन्। मसँग मानिसहरूको विश्वासको बारेमा केही “सकरात्मक दृष्टिकोण” छ, किनकि तिनीहरूले मेरो लागि भोजन वा निद्राको बारेमा नसोची “मेहनत” गरेका छन्, यहाँसम्म कि, मेरो लागि तिनीहरूले गरेका श्रमहरूले तिनीहरूलाई दिन र रात सुत्न दिएको छैन र कपाल सेतो बनेको छ—तिनीहरूको विश्वास ब्रह्माण्डलाई “उछिनेको” छ र युगौंयुगका प्रेरितहरू र अगमवक्ताहरूलाई “उछिनेको” छ भनेर देखाउन यो नै पर्याप्त छ।
म मानिसहरूको महान् सीपको कारण हर्षसाथ ताली बजाउँदिनँ, न त तिनीहरूको कमीहरूको कारण म तिनीहरूलाई कठोर बनेर नै हेर्छु। म त्यो मात्र गर्छु जुन मेरा हातहरूमा छ। म कसैलाई विशेष व्यवहार गर्दिनँ, तर मेरो योजनाअनुसार काम मात्र गर्छु। तापनि मानिसहरू मेरो इच्छाप्रति अनजान छन् र मबाट आउने कुराहरूका लागि प्रार्थना गरिरहन्छन्, मानौं मैले तिनीहरूलाई दिएका धन-सम्पत्तिहरूले तिनीहरूको आवश्यकताहरूलाई पूरा गर्न सक्दैनन्, मानौं मागले आपूर्तिलाई उछिनेको छ। तर आजको युगमा, मानिसहरू सबैले “मुद्रास्फीति” भइरहेको छ भन्ने महसुस गर्छन्—फलस्वरूप, तिनीहरूका हातहरू मैले तिनीहरूलाई उपभोग गर्न दिएका कुराहरूले भरिएका छन्। यसैकारणले गर्दा नै तिनीहरू मदेखि थकित हुन्छन्, त्यसैले तिनीहरूको जीवन अराजकताले भरिन्छ र तिनीहरूले के खानु हुन्छ र के खानु हुँदैन भन्ने सम्बन्धमा अनभिज्ञ हुन्छन्। कसै-कसैले त मैले तिनीहरूलाई उपभोग गर्न दिएका कुराहरूलाई नजिकबाट हेर्दै लुछेर लिन्छन्। मानिसहरूले अनिकाल भोग्ने गरेका हुनाले, र तिनीहरूले आजको आनन्द हात पार्नु सजिलो नभएको हुनाले, तिनीहरू सबै “निरन्तर कृतज्ञ” छन्, र मप्रतिको तिनीहरूको मनोवृत्तिमा केही परिवर्तन आएको छ। तिनीहरू मेरो सामु पुकारा गरिरहन्छन्; मैले तिनीहरूलाई धेरै कुरा दिएको हुनाले, तिनीहरू मेरो हात समातेर “कृतज्ञताका आवाजहरू” निकालिरहन्छन्। म ब्रह्माण्डभन्दा माथि हिँड्डुल गर्छु, र म हिँड्दा सम्पूर्ण ब्रह्माण्डका मानिसहरूलाई अवलोकन गर्छु। पृथ्वीमा मानिसहरूका भीडहरूको माझमा, कहिल्यै मेरो कामको लागि योग्य वा मलाई साँचो रूपले प्रेम गर्ने कोही आएको छैन। त्यसैले, यस क्षणमा म निराशामा सुस्केरा हाल्छु, र मैले “तिनीहरू सबैलाई एउटै जालमा समात्ने” छु भनी साह्रै डराएर मानिसहरू फेरि कहिल्यै भेला नहुने गरी तुरुन्तै छरपष्ट हुन्छन्। म यो मौकालाई मानिसकहाँ आउन, मेरो काम गर्नका निम्ति प्रयोग गर्दछु—जुन काम उपयुक्त छ—यी छरपष्ट भएका यी मानिसहरूबाट तिनीहरूलाई अर्थात्, जोभित्र काम गर्न मेरो निम्ति उपयुक्त हुन्छ तिनीहरूलाई चुन्छु। म मानिसहरूलाई कहिल्यै उम्कन नसक्ने गरी मेरो सजायको बीचमा “नजरबन्द” गरेर राख्न चाहन्नँ। म केवल त्यो काम गर्छु जुन मैले गर्नैपर्छ। म मानिसको “सहायता” माग्न आएको छु; मेरो व्यवस्थापनमा मानिसको कार्यहरूको अभाव भएकोले, मेरो काम सफलतासाथ पूरा गर्नु सम्भव छैन, त्यसले मेरो कार्यलाई प्रभावकारी ढङ्गमा अगाडि बढ्नबाट रोक्दछ। मलाई के मात्रै आशा छ भने, मानिसहरूमा मसँग सहकार्य गर्ने दृढ सङ्कल्प होस्। म तिनीहरूले मेरो निम्ति राम्रा भोजन पकाऊन्, वा तिनीहरूले कतै मेरो शिर अडाउने राम्रो ठाउँको व्यवस्था गरून्, वा तिनीहरूले मेरो लागि राम्रा लुगाहरू बनाऊन् भनी भन्दिनँ—यी थोकहरूको म अलिकति पनि परवाह गर्दिनँ। जब मानिसहरूले मेरो इच्छालाई बुझेर मेरो छेउमा रहेर मसँगै अगाडि बढ्न सक्छन्, तब म मेरो हृदयमा सन्तुष्ट हुनेछु।
पृथ्वीमा कसले मलाई कहिल्यै आफ्नो हृदयले ग्रहण गरेको छ? कसले मलाई कहिल्यै आफ्नो हृदयले प्रेम गरेको छ? मानिसहरूको प्रेम सधैँ पातलो हुन्छ; मलाई पनि थाहा छैन कि किन तिनीहरूको प्रेम सुक्दैन र पातलोपनबाट विशुद्ध हुन सक्दैन। यसैले, मानिसभित्र धेरै “रहस्यहरू” पनि रहेका छन्। सृष्टि गरिएका प्राणीहरूमध्ये मानिसलाई “चमत्कारी” र “बुझ्न नसकिने” प्राणीको रूपमा हेरिएको छ, त्यसैले मेरो सामु उसका “योग्यताहरू” छन्, मानौं ऊ हैसियतमा म समान छ—तर उसले आफ्नो यो “हैसियत” को विषयमा केही पनि अनौठो कुरा देख्दैन। यसमा, म मानिसहरूलाई यो स्थानमा खडा हुन र त्यसको आनन्द लिन दिँदिनँ भन्ने होइन, तर म चाहन्छु, कि तिनीहरूमा मर्यादाको बोध होस्, तिनीहरूले आफैलाई अति नै उच्च नठानून्; स्वर्ग र पृथ्वीबीच दूरी छ, परमेश्वर र मानिसको बीचको दूरीको त कुरै नगरौं। के परमेश्वर र मानिस बीचको दूरी अझ ठूलो छैन र? पृथ्वीमा, मानिस र म “एउटै डुङ्गामा” छौं, र हामी “आँधीबेहरीमा सँगै बचेर निस्कन्छौं।” मेरो पहिचानले मलाई मानव संसारको कठिनाइ अनुभव गर्नबाट छुट् दिँदैन, र यसै कारणले गर्दा म आजको परिस्थितिमा परेको छु। पृथ्वीमा मैले शान्तिपूर्वक बस्ने ठाउँ कहिल्यै पाइनँ, त्यसैले मानिसहरू भन्छन्, “मानिसको पुत्रले कहिल्यै आफ्नो शिर अडाउने ठाउँ पाउनुभएन।” फलस्वरूप, मानिसहरू मेरो लागि करुणाको आँसु खसाल्दै रोएका पनि छन् र मेरो लागि “राहत कोष” मा केही दर्जन युआन छुट्ट्याएका छन्। यसकारणले गर्दा मात्र मसँग विश्राम गर्ने ठाउँ छ; यदि मानिसहरूको “सहायता” नपाएको भए म कहाँ पुग्नुपर्नेथियो भनी कसले जान्दछ!
जब मेरो काम समाप्त हुन्छ, म मानिसबाट यो “आर्थिक राहत” खोज्नेछैनँ; यसको सट्टामा, म मेरो अन्तर्निहित काम गर्नेछु, र मानिसहरूको आनन्दको लागि “मेरो घरका सबै थोकहरू” म तल ल्याउनेछु। आज, मेरो परीक्षाको बीचमा सबै जना जाँचिएका छन्। जब मेरो हात औपचारिक रूपले मानिसमाथि आउँछ, त्यसबेला मानिसहरूले मलाई प्रशंसाको आँखाले हेर्न छोड्नेछन्, तर मसँग घृणाको व्यवहार गर्नेछन्, र यस बेला एउटा नमुना देखाउनका निम्ति म तिनीहरूका हृदय काटेर तुरुन्तै नाश पार्नेछु। म मानिसको हृदयलाई “सुक्ष्मदर्शक यन्त्र” को मुनि राखेर जाँच्छु—त्यहाँ मेरो लागि साँचो प्रेम छैन। वर्षौंदेखि, मानिसहरूले मलाई धोका दिइरहेका छन् र मलाई मूर्ख बनाइरहेका छन्—तिनीहरूको मुटुको दाहिने भाग र देब्रेतिरको खाली भाग दुवैमा मप्रतिको घृणाको विष रहेछ। यसैले तिनीहरूप्रति ममा यस्तो मनोवृत्ति हुनु कुनै अचम्मको कुरा होइन। तापनि, तिनीहरू यसबारे पूर्ण रूपमा अनजान रहन्छन्, र यसलाई स्वीकार पनि गर्दैनन्। जब म तिनीहरूलाई मेरो अनुसन्धानका परिणामहरू देखाउँछु, तब पनि तिनीहरू जाग्दैनन्; मानौं, तिनीहरूका मनमा यी सबै विगतका कुराहरू छन्, र आज फेरि तिनलाई कोट्ट्याउनु हुँदैन। त्यसैले, मानिसहरू रुचि नदेखाइ केवल “प्रयोगशालाका परिणामहरू” लाई हेर्छन्। तिनीहरूले तालिकाहरूलाई फिर्ता गर्छन् र फड्को मारेर जान्छन्। यसबाहेक, तिनीहरूले यस्ता कुराहरू भन्छन्, “यी महत्त्वपूर्ण छैनन्, ती कुराले मेरो स्वास्थ्यमा कुनै प्रभाव पार्दैनन्।” तिनीहरू तिरस्कारको फिस्स हाँसो हाँस्छन्, त्यसपछि तिनीहरूको आँखामा हल्का धम्कीको हेराइ हुन्छ, मानौं, म त्यति धेरै जान्ने हुनुहुँदैन, र म लापर्बाह हुनैपर्छ। मानौं, मैले तिनीहरूका भित्री रहस्य प्रकट गरेर मानिसको “व्यवस्था” तोडेको छु, यसैले तिनीहरू मलाई अझ बढी घृणा गर्ने बन्छन्। तब मात्र म मानिसहरूको घृणाको स्रोतलाई देख्छु। किनकि जब म हेरिरहेको हुन्छु, तब तिनीहरूको रगत बगिरहेको हुन्छ, र तिनीहरूको शरीरमा धमनीहरूको माध्यमबाट भएर गएपछि त्यो मुटुमा प्रवेश गर्दछ, र त्यस बेला मात्र मैले नयाँ कुरा “पत्ता लगाएको” हुन्छु। तैपनि मानिसहरूले यसको बारेमा केही पनि सोच्दैनन्। तिनीहरू पूर्ण रूपमा लापरवाह हुन्छन् र तिनीहरूले के पाए वा के गुमाए भन्नेबारे केही पनि सोच्दैनन्, जुन तिनीहरूको “निःस्वार्थ” भक्तिको भावनालाई देखाउन पर्याप्त हुन्छ। तिनीहरूले आफ्नै स्वास्थ्यको स्थितिलाई कुनै ध्यान दिँदैनन्, र मेरो लागि “हतार गर्छन्।” यो पनि तिनीहरूको “विश्वासयोग्यता” हो, र तिनीहरूको “प्रशंसनीय” कुरा हो, त्यसैले म तिनीहरूलाई फेरि “प्रशंसा” को एउटा पत्र पठाउँछु, यसैले कि तिनीहरू यसबाट खुसी होऊन्। तर जब तिनीहरूले यो “पत्र” पढ्छन्, तिनीहरूले तुरुन्तै अलिक चिढिएको महसुस गर्छन्, किनकि तिनीहरूले गरेका सबै कुरा मेरो मौन पत्रले अस्वीकार गरेको हुन्छ। मानिसहरूले काम गर्दा मैले सधैँ निर्देशित गरेको छु, तैपनि तिनीहरूले मेरा वचनहरूलाई घृणा गर्छन् भन्ने देखिन्छ; यसैले, मैले आफ्नो मुख खोल्ने बित्तिकै तिनीहरूले आफ्ना आँखाहरू चिम्म पारी बन्द गर्छन् र आफ्ना हातहरूले आफ्ना कानहरू बन्द गर्छन्। तिनीहरूले मेरो प्रेमको कारण मलाई आदरको नजरले हेर्दैनन्, तर मलाई सधैँ घृणा गरेका छन्, किनकि मैले तिनीहरूका कमी-कमजोरीहरू देखाएर, तिनीहरूको स्वामित्वमा रहेका सबै थोकहरू प्रकट गरें, यसैले तिनीहरूले आफ्नो व्यवसायमा नोक्सान भोग्नुपरेको छ, र तिनीहरूको जीविका पनि हराएको छ। त्यसैले गर्दा, मप्रतिको तिनीहरूका घृणा बढ्दछ।
अप्रिल १४, १९९२