अध्याय १६
म मानिसलाई धेरै कुरा भन्न चाहन्छु, मैले उसलाई बताउनुपर्ने धेरै कुरा छन्। तर मानिसमा स्वीकार गर्ने क्षमताको धेरै नै कमी छ; उसले मैले प्रदान गरेअनुसार मेरा वचनहरूलाई पूर्ण रूपमा बुझ्न सक्दैन, र एउटा पक्षलाई मात्रै बुझ्छ, अरू पक्षबारे अनजान रहन्छ। तैपनि म मानिसलाई उसको शक्तिविहीनताको कारण मृत्युदण्ड दिँदिनँ, न त उसको कमजोरीको कारण म शोकमा नै डुब्छु। मानिसले मेरो इच्छालाई नबुझे पनि, सदाझैँ, म मेरो काम गर्छु र बोल्छु मात्रै; जब त्यो दिन आउँछ, मानिसहरूले आफ्नो हृदयको गहिराइबाट मलाई चिन्नेछन्, र आफ्ना विचारहरूमा मलाई याद गर्नेछन्। जब म यो पृथ्वीबाट प्रस्थान गर्छु, तब म मानिसको हृदयको सिंहासनमा उक्लिने दिन पनि ठीक त्यही नै हुनेछ, भन्नुको अर्थ, यो सबै मानिसले मलाई चिन्ने दिन हुनेछ। त्यसकारण, यो मेरा पुत्रहरू र मानिसहरूले पृथ्वीमाथि शासन गर्न थाल्ने दिन पनि हुनेछ। मलाई चिन्नेहरू निश्चय नै मेरो राज्यका खम्बाहरू बन्नेछन्, र मेरो राज्यमा शासन गर्न र शक्ति चलाउनको लागि तिनीहरूबाहेक अरू कोही पनि योग्य हुनेछैनन्। मलाई चिन्नेहरू सबैसँग मेरो सारत्व हुन्छ, र तिनीहरू सबै मानिसका बीचमा मेरो अनुरूप जिउन सक्छन्। मानिसले मलाई कुन हदसम्म चिन्छ भन्ने कुराको मलाई फिक्री छैन: कसैले कुनै पनि हालतमा मेरो कामलाई बाधा गर्न सक्दैन, र मानिसले मलाई कुनै सहयोग गर्न सक्दैन र मेरो लागि उसले केही पनि गर्न सक्दैन। मानिसले मेरो ज्योतिमा मेरो अगुवाइ पछ्याउन, र यो ज्योतिमा मेरो इच्छा खोज्न मात्रै सक्छन्। आज, मानिसहरूसँग योग्यताहरू छन्, र तिनीहरूले मेरो अघि घमण्डको साथ खडा हुन, र कुनै रोकटोकविना मसँग हाँसो र ठट्टा गर्न, अनि मलाई उसकै स्तरको मानिसलाई जस्तो सम्बोधन गर्न सक्छ भन्ने तिनीहरू विश्वास गर्छन्। अझै पनि मानिसले मलाई चिन्दैन, उसले अझै पनि हामीमा उस्तै प्रकृति छ, हामी दुवै देह र रगत हौं, र हामी दुवै मानव संसारमा जिउँछौं भन्ने विश्वास गर्छ। उसको हृदयमा मप्रतिको डर निकै कम छ; ऊ मेरो सामुन्ने हुँदा उसले मलाई आदर गर्छ, तर उसले आत्माको अघि मेरो सेवा गर्न सक्दैन। मानौं मानिसको लागि आत्मा अस्तित्वमा नै हुनुहुन्न। परिणामस्वरूप, कुनै पनि मानिसले आत्मालाई कहिल्यै चिनेको छैन; मेरो देहधारणमा मानिसहरूले देह र रगतको शरीर मात्रै देख्छन्, र परमेश्वरका आत्मालाई बुझ्दैनन्। के यसरी मेरो इच्छालाई साँच्चै पूरा गर्न सकिनेछ? मलाई छल गर्ने कार्यमा मानिसहरू विशेषज्ञ बनेका छन्; मलाई मूर्ख तुल्याउनको लागि तिनीहरूलाई शैतानले विशेष रूपमा तालिम दिएको छ भन्ने देखिन्छ। तैपनि म शैतानको बाधामा पर्दिनँ। पृथ्वीमा मेरो राज्य स्थापित गर्न सकियोस् भनेर, सारा मानवजातिलाई जित्नको लागि र सारा मानवजातिलाई भ्रष्ट तुल्याउनेलाई पराजय गर्नको लागि म अझै पनि मेरो बुद्धिको प्रयोग गर्नेछु।
मानिसको बीचमा, ताराहरूको आकार वा अन्तरिक्षको आकारलाई निधो गर्न प्रयास गर्नेहरू पनि छन्। तैपनि तिनीहरूको अनुसन्धान कहिल्यै पनि सफल प्रमाणित भएको छैन, र तिनीहरूले बेचैन भई शिर निहुराउने र आफैलाई असफलतामा पार्नेबाहेक केही पनि गर्न सक्दैनन्। सबै मानिसका बीचमा खोजी गरिसकेपछि अनि मानिसका असफलताहरूमा उसको गतिशीलतालाई शिर उठाएर अवलोकन गरिसकेपछि, म मप्रति पूर्ण रूपमा विश्वस्त भएको, मेरो आज्ञापालन गर्ने र ममा समर्पित हुने कसैलाई पनि देख्दिनँ। मानिसका महत्त्वाकाङ्क्षाहरू कति अनियन्त्रित छन्! जब गहिराइको सम्पूर्ण अनुहार अँध्यारो थियो, तब मैले मानिसको बीचमा संसारको तीतो स्वाद चाख्न थालेँ। मेरो आत्माले संसारभरि यात्रा गर्छ र सबै मानिसहरूको हृदयलाई नियाल्छ, तैपनि म पनि त्यसरी नै मेरो देहधारी शरीरमा मानवजातिलाई जित्छु। मानिसले मलाई देख्दैन, ऊ अन्धो छ; उसले मलाई चिन्दैन, किनभने ऊ अचेत छ; मानिसले मेरो विरोध गर्छ, किनभने ऊ अवज्ञाकारी छ; मानिस मेरो अघि घुँडा टेक्न आउँछ, किनभने उसमाथि मैले विजय गरेको छु; मानिसले मलाई प्रेम गर्छ, किनभने म अन्तर्निहित रूपमा नै मानिसको प्रेम पाउन योग्य छु; मानिस मेरो अनुरूप जिउँछ र उसले मेरो प्रकटीकरण गर्छ, किनभने मेरो शक्ति र मेरो बुद्धिले उसलाई मेरो हृदयअनुसारको तुल्याउँछ। मानिसको हृदयमा मेरो निम्ति एउटा ठाउँ छ, तर मैले मानिसको आत्मामा बसेको मानिसबाट मप्रतिको प्रेम कहिल्यै प्राप्त गरेको छैन। मानिसको आत्मामा साँच्चै नै उसले अरू सबै कुरालाई भन्दा बढी प्रेम गरेका कुराहरू छन्, तर तीमध्ये म एक होइन, त्यसकारण मानिसको प्रेम साबुनको फिँजजस्तै हो: जब बतास चल्छ, यो फुटेर कहिल्यै नदेखिने गरी हराउँछ। मानिसप्रतिको मेरो मनोवृत्तिमा म सधैँ स्थिर र अपरिवर्तनीय रही आएको छु। के मानवजातिको बीचमा कसैले यस्तै गर्न सक्थ्यो र? मानिसको नजरमा म हावाजस्तै अस्पृश्य र अदृश्य छु, र यही कारणले गर्दा धेरैजसो मानिसले असीमित आकाशमा, वा बटारिएर यताउता चल्ने समुद्रमा, वा शान्त तालमा, वा खोक्रा वचन र धर्मसिद्धान्तहरूमा मात्रै खोजी गर्न सक्छन्। मानवजातिको सारलाई जान्ने एक व्यक्ति पनि छैन, मभित्रको रहस्यबारे केही भन्न सक्ने कुनै व्यक्ति हुने कुरा त परै जाओस्, त्यसकारण म मानिसलाई मैले उसको लागि तय गरेको भनी मानिसले कल्पना गरेका सबैभन्दा उच्च मापदण्डहरू पूरा गर्न लगाउँदिनँ।
मेरा वचनहरूमाझ पहाड-पर्वत ढल्छन्, पानीहरू उल्टो बग्छन्, मानिसहरू समर्पित बन्छन्, र तालहरू नरोकिईकन बगिरहन्छन्। समुद्रहरू बटारिएर रिसाउँदै आकाशतिर गए पनि, मेरा वचनहरूमाझ त्यस्ता समुद्रहरू तालको सतहजस्तै शान्त बन्छन्। मेरो हातको थोरै हल्लाइले पनि प्रखर तुफानहरू तुरुन्तै हराउँछन् र मबाट हटेर जान्छन्, अनि मानव संसार तुरुन्तै पुनः शान्त हुन्छ। तर जब म मेरो क्रोध पोखाउँछु, पर्वतहरू तुरुन्तै अलग हुन्छन्, भूमि तुरुन्तै हल्लन थाल्छ, पानी तुरुन्तै सुक्छ, र मानिस तुरुन्तै विपत्तिको चपेटामा पर्छ। मेरो क्रोधको कारण, म मानिसको चिच्याहटलाई कुनै ध्यान दिँदिनँ, उसका चिच्याहटहरू सुनेर उसलाई कुनै सहयोग गर्दिनँ, किनभने मेरो रिस बढिरहेको छ। जब म स्वर्गहरूका बीचमा हुन्छु, मेरो उपस्थितिले कहिल्यै पनि ताराहरू आत्तिएका छैनन्। बरु, तिनीहरूले मेरो लागि गर्ने काममा आफ्नो हृदय लगाउँछन्, त्यसकारण म तिनीहरूमाथि ज्योति खन्याउँछु, र तिनीहरूलाई अझै चम्किलो गरी चम्कने बनाउँछु, ताकि तिनीहरूले मेरो लागि अझै ठूलो महिमा प्राप्त गरून्। स्वर्गहरू जति चम्किला हुन्छन्, मुनिको संसार त्यति नै अँध्यारो हुन्छ; त्यसकारण धेरै मानिसले मेरा बन्दोबस्तहरू उपयुक्त छैनन् भनेर गुनासो गरेका छन्, धेरैले आफ्नै राज्य निर्माण गर्नको लागि मलाई छोडेका छन्, जसलाई तिनीहरूले मलाई धोका दिन र अन्धकारको स्थिति पुन: ल्याउन प्रयोग गर्छन्। तैपनि कसले पो आफ्नो सङ्कल्पद्वारा यो कुरा हासिल गरेको छ र? अनि को नै पो आफ्नो सङ्कल्पमा सफल भएको छ र? मेरो हातले मिलाएको कुरालाई कसले पो उल्ट्याउन सक्छ र? जब भूमिमा वसन्त छाउँछ, म गोप्य रूपमा र शान्त भई संसारमा ज्योति पठाउँछु, ताकि संसारमा मानिसले अचानक ताजा हावा महसुस गर्न सकोस्। तैपनि ठीक त्यही क्षणमा, म मानिसको आँखा ढाकिदिन्छु, ताकि उसले कुहिरो मात्रै घुमिरहेको देखोस्, र सबै मानिस र कामकुरा अस्पष्ट बनून्। मानिसहरूले मनमनै सुस्केरा हाल्दै यस्तो विचार मात्रै गर्न सक्छन्, “किन ज्योति एक क्षणसम्म मात्रै रह्यो? किन परमेश्वरले मानिसलाई कुहिरो र तुवाँलो मात्रै दिनुहुन्छ?” मानिसहरूको नैराश्यताको बीचमा तुरुन्तै कुहिरो हट्छ, तर जब तिनीहरूले ज्योतिको झलक देखेका मात्र के हुन्छन्, म तिनीहरूमाथि वर्षाको भेल खन्याइदिन्छु, र तिनीहरू सुतिरहेको बेला आँधीबेहरीको मेघगर्जनले तिनीहरूको कानको जाली फुट्छन्। आत्तिएर स्तब्ध भएकोले तिनीहरूसँग शरण लिने कुनै समय हुँदैन, र भारी वर्षाले तिनीहरूलाई निल्छ। एकै क्षणमा, मेरो क्रोधको दन्कोले स्वर्गहरूमुनिका सबै थोकलाई सफाचट पारिदिन्छ। मानिसहरूले त्यसउप्रान्त भारी वर्षाबारे गुनासो गर्दैनन्, र तिनीहरू सबैमा डर मान्ने हृदयको जन्म भएको हुन्छ। यो अचानक भएको भारी वर्षाको कारण, धेरै मानिस आकाशबाट परेको पानीमा डुबेर मर्छन्, र पानीमा लास बन्छन्। म सम्पूर्ण पृथ्वीलाई नियाल्छु र धेरै मानिस बिउँझिरहेका, धेरैले पश्चात्ताप गरिरहेका, धेरै जना स-साना डुङ्गामा चढेर पानीको मुहान खोजिरहेका, मेरो क्षमादानको लागि बिन्ती गर्न धेरै जनाले घुँडा टेकिरहेका, धेरैले ज्योति देखेका, धेरैले मेरो अनुहार देखेका, र धेरैसँग जिउने साहस भएको, र सम्पूर्ण संसार नै रूपान्तरण भएको देख्छु। यो भारी वर्षापछि, सबै थोक मेरो मनमा जस्ता थिए त्यस्तै अवस्थामा फर्कन्छन्, र अबउप्रान्त अवज्ञाकारी छैनन्। चाँडै नै, सारा भूमि हाँसोको आवाजले भरिन्छ, पृथ्वीमा जताततै प्रशंसाको वातावरण हुन्छ, र कुनै ठाउँ पनि मेरो महिमाविहीन हुँदैन। मेरो बुद्धि पृथ्वीमा जताततै र सम्पूर्ण ब्रह्माण्डभरि छ। सबै थोकको बीचमा मेरो बुद्धिका फलहरू छन्, सबै मानिसमाझ मेरो बुद्धिका कृतिहरू भरिपूर्ण छन्; मेरो राज्यमा हरेक थोक सबै थोकजस्ता छन् र मेरा चरनका भेडाहरूझैँ सबै मानिस मेरा स्वर्गहरूमुनि आरामसँग बसोबास गर्छन्। म सबै मानिसमाझ हिँडडुल गर्छु र जताततै हेरिरहेको छु। कुनै पनि कुरा पुरानो देखिन्न र कुनै पनि व्यक्ति पहिलेजस्तो छैन। म सिंहासनमा आराम गर्छु, म सारा ब्रह्माण्डमाथि अडेस लाग्छु, र म पूर्ण रूपमा सन्तुष्ट छु किनकि सबै थोकले आफ्ना पवित्रता पुनः प्राप्त गरेका छन् र म फेरि एक पटक शान्त तरिकाले सियोनभित्र बसोबास गर्न सक्छु, अनि पृथ्वीका मानिसहरूले मेरो मार्गदर्शनमा निर्मल र सन्तुष्ट जीवन जिउन सक्छन्। सबै मानिसले मेरा हातमा सबै कुराको व्यवस्थापन गरिरहेका छन्, सबै मानिसहरूले आफ्ना पहिलेको बुद्धि र मौलिक स्वरूप प्राप्त गरेका छन्; तिनीहरू अबउप्रान्त धूलोले ढाकिएका छैनन्, तर मेरो राज्यमा ती हिराजस्तै पवित्र छन्, हरेकको मुहार मानिसको हृदयभित्र हुनुभएका परमपवित्रको जस्तै छ, किनकि मेरो राज्य मानिसहरूको बीचमा स्थापित गरिएको छ।
मार्च १४, १९९२