अध्याय १५
मानवजाति सबै यस्ता प्राणीहरू हुन् जसमा आत्मज्ञानको कमी छ, र तिनीहरूले आफैलाई चिन्न सक्दैनन्। तर, तिनीहरू अरू सबैलाई भने आफ्नै हत्केलालाई जस्तै गरी चिन्छन्, मानौँ अरूले गरेका र भनेका सबै कुरा उनीहरूकै सामु तिनीहरूले पहिल्यै “निरीक्षण” गरेका छन्, र त्यो गर्नुभन्दा अघि तिनीहरूबाट स्वीकृति लिएको हो। फलस्वरूप, यस्तो लाग्छ कि तिनीहरूले अरू सबैलाई उनीहरूका मनोवैज्ञानिक स्थितिहरूसम्मै पूर्ण रूपमा मापन गरी नै सकेका छन्। मानवजाति सबै यस्तै छन्। आज तिनीहरू परमेश्वरको राज्यको युगमा प्रवेश गरेका भए पनि, तिनीहरूको स्वभाव अपरिवर्तित नै रहेको छ। अझै पनि, तिनीहरू मेरो अगाडि त मैले गरेकै कार्य गर्छन्, तर मेरो पिठिउँपछाडि भने आफ्नै अनौठो “व्यवसाय” गर्नतिर लाग्छन्। तैपनि, केही पछि तिनीहरू मेरो अघि आउँदा पूर्ण फरक व्यक्तिजस्तो हुन्छन्, शान्त अनुहार र स्थिर धड्कन भएका, स्पष्ट रूपमै संयमी र निर्भीक देखिन्छन्। के यही कुराले मानवजातिलाई यति घृणित बनाउँदैन र? धेरै मानिसहरूले दुई फरक प्रकारका अनुहार बोकेर हिँड्छन्—मेरो अगाडि एउटा र मेरो पिठिउँपछाडि अर्को। तिनीहरूमध्ये धेरैले मेरो अगाडि भर्खर जन्मेको थुमाले जस्तो व्यवहार गर्दछन्, तर मेरो पिठिउँपछाडि तिनीहरू हिंस्रक बाघहरूमा परिणत हुन्छन्, र पछि डाँडाहरूमा आनन्दसाथ उड्ने स-साना चराचुरुङ्गीहरूले जस्तो व्यवहार गर्छन्। धेरैले मेरो सामु उद्देश्य र संकल्प देखाउँछन्। धेरै जना तृष्णा र तड्पनको साथमा मेरा वचनहरू खोज्दै आउँछन्, तर मेरो पिठिउँपछाडि हुँदा तिनीहरू ती कुरासँग दिक्क हुन्छन् र तिनलाई त्याग्छन्, मानौँ मेरा वाणीहरू एउटा भार हुन्। मेरो शत्रुले भ्रष्ट पारेको मानवजातिलाई देख्दा, धेरैपटक मैले मानवजातिमा आशा राख्न छोडेको छु। धेरैचोटि तिनीहरू मेरो सामुन्ने आएर आँसु झार्दै माफी मागेका देखेर पनि, तिनीहरूका हृदय सच्चा र तिनीहरूका अभिप्राय इमानदार भए पनि तिनीहरूमा रहेको आत्म-सम्मानको अभाव र सुधार्न नसकिने जिद्दीपनको कारण रिसले तिनीहरूका कामप्रति मैले आफ्ना आँखाहरू चिम्लेको छु। धेरैपटक, मैले मानिसहरू मसँग सहकार्य गर्न विश्वस्त भएका देखेको छु, जो मेरो सामु मेरो अङ्गालोमा न्यानोपन चाख्दै बसेको जस्तो देखिन्छ। धेरैपटक, मेरा चुनिएका मानिसहरूको निर्दोषता, सजीवता र श्रद्धाभाव देखिसकेपछि, कसरी म यी कुराहरूको कारण ठूलो आनन्द लिन सक्दिनँ र? मानवजातिले तिनीहरूका निम्ति मेरा हातहरूमा भएका पूर्वनिर्धारित आशिष्हरू कसरी उपभोग गर्न सकिन्छ भनी जान्दैनन्, किनकि तिनीहरू “आशीर्वाद” र “दुःखकष्ट” दुवैको अर्थ के हो बुझ्दैनन्। यसकारण, मलाई खोजी गर्ने कार्यमा मानवजाति इमानदार हुँदैनन्। यदि भोलीको दिन अस्तित्वमा हुँदैनथ्यो भने, तिमीहरूमध्ये को मेरो सामु उभिँदा चलिरहेको हिउँजस्तो शुद्ध र हिराजस्तो निष्कलङ्क हुन सक्थ्यो? के मप्रतिको तिमीहरूको प्रेम कुनै स्वादिष्ठ भोजन, सुन्दर वस्त्र वा धेरै तलब भएको पदसँग साट्न सकिने वस्तु मात्र हुन सक्छ? के यसलाई तँप्रतिको अरूको प्रेमसँग साट्न सकिन्छ? के कष्टमा परेको अवस्थाले वास्तवमै मानिसहरूलाई मप्रतिको तिनीहरूको प्रेम त्याग्ने प्रेरणा दिन्छ? के दुःख र कष्टहरूको कारण तिनीहरूले मेरो बन्दोबस्तको बारेमा गुनासो गर्नेछन्? कसैले पनि मेरो मुखमा भएको धारिलो तरबारको साँचो कदर गरेको छैन: त्यसको भित्री आशय नै नबुझी तिनीहरू बाह्य अर्थबोध मात्र गर्छन्। यदि मानवजातिले साँच्चै मेरो तरबारको धार देख्न सक्थ्यो भने, तिनीहरू आफ्ना प्वालहरूमा मुसो दगुरेझैँ दगुर्नेथिए। तिनीहरूको बोधोपनको कारण, मानिसहरूले मेरा वचनहरूका कुनै सही अर्थ बुझ्न सक्दैनन्, त्यसैले तिनीहरू मैले बोलेका वाणीहरू कति भयानक छन् वा ती वाणीहरूले मानिसको कति धेरै प्रकृति प्रकट गर्छन् र तिनीहरूका भ्रष्टतालाई मेरा ती वचनहरूले कसरी न्याय गरेका छन् भन्नेबारेमा तिनीहरूलाई केही थाहा छैन। यसकारण, मैले जे भन्छु त्यस विषयमा तिनीहरूका अधकल्चो विचारहरूको फलस्वरूप, धेरैजसो मानिसहरूले उदासीन मनोवृत्ति अपनाएका छन्।
राज्यभित्र, मेरो मुखबाट निस्केका वाणीहरू मात्र होइन, मेरा पाउहरू पनि समस्त भूमिहरूमा सर्वत्र औपचारिक रूपमा हिँड्छन्। यसरी, मैले सबै अशुद्ध र फोहोरी ठाउँहरूलाई विजय गरेको छु, यसरी स्वर्ग मात्र परिवर्तन भइरहेको छैन, पृथ्वी पनि परिवर्तनको प्रक्रियामा छ, र पछि नवीकरण हुनेछ। ब्रह्माण्डभित्र, इन्द्रियहरूलाई आनन्दित र मानिसहरूलाई प्रफुल्लित पार्ने हृदयस्पर्शी पक्ष प्रस्तुत गर्दै, हरेक वस्तु मेरो महिमाको चमकमा नयाँ जस्तै गरी चम्कन्छ, मानौँ यो अहिले शैतानद्वारा बाधा नपारिएको अवस्थामा र बाहिरी शत्रुको आक्रमणबाट स्वतन्त्र रही मानव कल्पनामा पैदा भएका आकाशहरूभन्दा माथिको स्वर्गमा अवस्थित छ। ब्रह्माण्डको सबैभन्दा माथिल्लो ठाउँमा, मेरो आदेशमा असङ्ख्य ताराहरूले आफ्ना तोकिएका स्थानहरू लिन्छन्, अन्धकारको घडीमा ताराहरूका क्षेत्रहरूमा आफ्नो ज्योति फैलाउँछन्। कुनै पनि प्राणीले आज्ञा नमान्ने विचारहरू मनमा राख्ने हिम्मत गर्दैन, र यसरी, मेरो प्रशासनिक आदेशहरूको सारअनुसार सम्पूर्ण ब्रह्माण्ड राम्रोसँग सञ्चालित र व्यवस्थित हुन्छ: कहिल्यै पनि कुनै बाधा उत्पन्न भएको छैन, न त ब्रह्माण्ड कहिल्यै विभाजन नै भएको छ। म ताराहरूभन्दा माथि उड्दै उफ्रन्छु, र जब सूर्यले आफ्ना किरणहरू छर्छ, मेरो हातबाट हाँसका प्वाँखहरू जत्रा हिउँका कणहरूको ठूलो वर्षा गराएर म तिनीहरूको न्यानोपन मेटाइदिन्छु। तैपनि जब म मेरो मन परिवर्तन गर्छु, ती सबै हिउँ पग्लेर नदी बन्छ, र एकै क्षणमा आकाशहरूमुनि सबै ठाउँमा वसन्त आएको हुन्छ र जीवन्त हरियालीले पृथ्वीको सम्पूर्ण दृश्यलाई रूपान्तरण गरेको हुन्छ। म आकाशभन्दा माथि जान्छु, र तुरुन्तै मेरो स्वरूपको कारण पृथ्वीलाई अत्यन्तै कालो अन्धकारले ढाक्छ: चेतावनीविना “रात” आइपुगेको हुन्छ, र संसारभरि यति अँध्यारो हुन्छ कि कसैले आफ्नो अनुहारको अघि आफ्नै हातसमेत देख्न सक्दैन। ज्योति निभेपछि, यस मौकाको फाइदा उठाउँदै, मानिसहरूले एकअर्कोलाई नाश पार्छन्, र एकअर्कोबाट खोस्दै र लुट्दै आपसी विनाशको हिंसात्मक कार्य गर्छन्। पृथ्वीका राष्ट्रहरू अस्तव्यस्त विखण्डनमा पर्छन् र धूमिल अशान्तिको स्थितिमा प्रवेश गर्छन् र अन्ततः ती सबै कुनै पनि छुटकारा पाउनै नसक्ने अवस्थामा पुग्छन्। मानिसहरू आफ्नो पीडामाझ दुःख, विलाप र छटपटीको सास्तीसँग सङ्घर्ष गर्छन् र वेदनामा दयनीय रूपले विलौना गर्छन्, र मानिसको संसारमा एकचोटि फेरि अचानक ज्योति आओस् र यसरी अन्धकारका दिनहरू समाप्त होऊन् र पहिले एकचोटि अस्तित्वमा रहेको त्यो शक्ति पुनर्स्थापित होस् भन्ने इच्छा गर्छन्। तैपनि, मैले मेरा बाहुला झट्कारेर मानवजातिलाई छोडेको धेरै भइसक्यो, संसारका गल्तीहरूका लागि म फेरि कहिल्यै तिनीहरूलाई दया देखाउनेछैनँ: मैले धेरै अघि नै सम्पूर्ण पृथ्वीका मानिसहरूलाई घृणा र तिरस्कार गरेको छु, त्यहाँका अवस्थाहरूप्रति मेरा आँखाहरू चिम्लेको छु, मानवताको हरेक चाल र हाउभाउबाट मेरो अनुहार अर्कोतिर फर्काएको छु, र यसको अपरिपक्वता र निर्दोषताप्रति प्रसन्न हुन छोडेको छु। म संसारलाई फेरि नयाँ बनाउने अर्को योजनामा लागेको छु, ताकि यो नयाँ संसारको चाँडै नै पुनर्जन्म हुन सकोस्, र यो फेरि कहिल्यै नडुबोस्। मानवजातिमाझ, यस्ता धेरै विराना राज्यहरू छन् जो मैले तिनीहरूलाई सही तुल्याऊँ भन्ने प्रतीक्षामा छन्, र यस्ता धेरै गल्तीहरू छन् जसलाई मैले व्यक्तिगत रूपले रोक्नुपर्छ, अनि मैले बढार्नुपर्ने धूलो अधिक छ, र मैले खुलासा गर्नुपर्ने रहस्यहरू कैयौँ छन्। सारा मानवजाति मेरो प्रतीक्षामा छ, र मेरो आगमनको तृष्णा गरिरहेको छ।
पृथ्वीमा, म व्यावहारिक परमेश्वर स्वयम् हुँ जो मानिसहरूका हृदयमा बस्नुहुन्छ; स्वर्गमा, म सारा सृष्टिको मालिक हुँ। मैले पर्वतहरू चढेको र नदीहरूको जङ्घार तरेको छु, र म मानवजातिको माझमा पसेको र बाहिर निस्केको छु। कसले व्यावहारिक परमेश्वर स्वयम्को खुल्लमखुल्ला विरोध गर्ने साहस गर्छ? कसले सर्वशक्तिमान्को सार्वभौमिकताबाट टाढा जाने हिम्मत गर्न सक्छ? कसले कुनै शङ्का नगरी म स्वर्गमा छु भनी भन्न सक्छ? यसबाहेक, म निर्विवाद पृथ्वीमा छु भनेर कसले दाबी गर्न सक्छ? सारा मानवजातिमा यस्तो कोही छैन जसले म बस्ने प्रत्येक ठाउँको बारेमा विस्तृत रूपमा ठीकठीक बताउन सकोस्। के स्वर्गमा हुँदा म अलौकिक परमेश्वर स्वयम् र पृथ्वीमा हुँदा व्यावहारिक परमेश्वर स्वयम् हुन सक्छु? निश्चय नै, म सारा सृष्टिका व्यावहारिक परमेश्वर हो कि होइन भन्ने कुरालाई म सम्पूर्ण सृष्टिको शासक हुनुले वा मैले मानिसको संसारको पीडा अनुभव गर्नुले निर्धारित गर्दैन, गर्छ त? यदि त्यसरी निर्धारित गर्ने भए त, के मानिसहरू आशा नै हराउने गरी अज्ञानी हुँदैनथे र? म स्वर्गमा छु, तर म पृथ्वीमा पनि छु; म सृष्टिका असङ्ख्य वस्तुहरूमाझ र मानिसहरूका भीडहरूमाझ पनि छु। मानिसहरूले मलाई प्रत्येक दिन छुन सक्छन्; यसबाहेक, तिनीहरूले मलाई प्रत्येक दिन देख्न सक्छन्। जहाँसम्म मानवजातिले मलाई देख्ने कुरा छ, तिनीहरूको लागि म कहिले गुप्त जस्तो देखिन्छु र कहिले देख्न सकिने जस्तो हुन्छु; म वास्तवमा अस्तित्वमा छु जस्तो देखिन्छु, तर म अस्तित्वमा नभएको जस्तो पनि देखिन्छु। ममा मानिसहरूले बुझ्न नसक्ने रहस्यहरू छन्। यस्तो लाग्छ, सबै मानिसले आफ्नो हृदयभित्रको असहज भावनाहरू हटाउनका निम्ति ममा भएका अझ अरू रहस्यहरू पत्ता लगाउन माइक्रोस्कोपद्वारा हेरिरहेका छन्। तैपनि, यदि तिनीहरूले एक्स-रे नै प्रयोग गरे भने पनि, मसँग भएका कुनै पनि रहस्यहरूलाई मानवजातिले कसरी उजागर गर्न सक्छ र?
मेरो कामको परिणामस्वरूप, मेरा मानिसहरूले मसँगसँगै महिमा प्राप्त गरेको क्षणमा, त्यो ठूलो रातो अजिङ्गरको ओडार पत्ता लगाइनेछ, सबै हिलो र फोहोर हटाएर सफा गरिनेछ, र कैयौँ वर्षदेखि जमेको सबै प्रदूषित पानी अबउप्रान्त अस्तित्वमै नरहने गरी मेरो दन्केको आगोमा सुकिजानेछ। त्यसपछि, ठूलो रातो अजिङ्गर आगो र गन्धकको कुण्डमा नष्ट हुनेछ। त्यो अजिङ्गरले तिमीहरूलाई खोसेर नलैजाओस् भनी के तिमीहरू साँच्चै मेरो प्रेमिलो वास्तामुनि बस्न तयार छौ? के तिमीहरू साँच्चै त्यसका कपटपूर्ण चाललाई घृणा गर्छौ? कसले मेरो लागि बलियो साक्षी दिन सक्छ? मेरो नाउँको खातिर, मेरो आत्माको खातिर र मेरो सम्पूर्ण व्यवस्थापन योजनाका खातिर, कसले आफ्ना सबै सामर्थ्यको बलिदान दिन सक्छ? आज, जब यो राज्य मानव संसारमा छ, यही समय हो, जुन बेला म मानिसहरूको बीचमा आएको छु। यदि त्यस्तो नभएको भए, के कोही कुनै चिन्ता नगरी मेरो पक्षमा लडाइँको मैदानमा उत्रिन सक्थ्यो र? त्यस राज्यले आकार लिओस्, मेरो हृदय सन्तुष्ट होस्, अनि त्यसबाहेक, मेरो दिन आओस्, सृष्टिका असङ्ख्य थोकहरूको पुनर्जन्म हुने र प्रशस्त मात्रामा बढ्ने समय आओस्, मानिसहरूलाई तिनीहरूका दुःखको समुद्रबाट छुटकारा दिन सकियोस्, भोलिको दिन आओस् र यो आश्चर्यजनक होस्, फलोस् र फुलोस्, र त्यसबाहेक, भविष्यको आनन्द पूरा हुन सकोस् भनेर, सबै मानिसले आफ्नो पूरा शक्तिका साथ संघर्ष गर्दै छन्, मेरो लागि आफैलाई बलिदान गर्न कुनै कसर बाँकी राखेका छैनन्। के यो विजय पहिले नै मेरो भइसकेको छ भन्ने कुराको सङ्केत होइन र? के यो मेरो योजना पूरा भइसेकेको छ भन्ने कुराको निसान होइन र?
आखिरी दिनहरूमा जति धेरै मानिसहरू अस्तित्वमा हुन्छन्, तिनीहरूले संसारको शून्यता त्यति नै धेरै महसुस गर्नेछन्, र उनीहरूसित जीवन जिउने साहस त्यति नै थोरै हुनेछ। यस कारणले गर्दा, अनगिन्ती मानिसहरू निराश भएर मरेका छन्, अरू असङ्ख्य मानिसहरूले आफ्नो खोजमा हरेस खाएका छन्, र अरू अनगिन्ती मानिसहरूले शैतानको हातको नियन्त्रणमा पीडा भोगिरहेका छन्। मैले धेरै मानिसहरूलाई बचाएँ र तीमध्ये धेरैलाई सहयोग गरेँ, र मानिसहरूले ज्योति गुमाएको बेला धेरैपटक मैले तिनीहरूलाई ज्योतिको ठाउँमा फर्काएर ल्याएको छु, ताकि तिनीहरूले मलाई ज्योतिमा चिनून् र खुसीले ममा रमाऊन्। मेरो ज्योति आएको कारण, मेरो राज्यमा बसोबास गर्ने मानिसहरूका हृदयमा भक्ति बढ्छ, किनकि म मानवजातिले प्रेम गर्नुपर्ने परमेश्वर हुँ—त्यो परमेश्वर हुँ, जोसँग मानिसहरू स्नेहसाथ जोडिन्छन्—अनि, तिनीहरू मेरो स्वरूपको प्रभावको छापद्वारा भरिएका हुन्छन्। यद्यपि, सबै कुरा भनिसकिएपछि र गरिसकिएपछि, यो आत्माको काम हो कि देहको काम हो भनेर बुझ्ने कोही हुँदैन। यो एउटा कुरा पूर्ण रूपमा अनुभव गर्न मानिसहरूलाई जीवनभरिको समय लाग्छ। मानिसहरूले तिनीहरूका हृदयभित्रका स्थानहरूमा मलाई कहिल्यै पनि तुच्छ ठानेका छैनन्; बरु तिनीहरू आफ्ना आत्माको गहिराइमा मसँग टाँसिइरहन्छन्। मेरो बुद्धिले उनीहरूको प्रशंसा बढाउँछ, मैले गर्ने आश्चर्यकर्महरू तिनीहरूका आँखाका तृप्ति हुन्, र मेरा वचनहरूले तिनीहरूको दिमाग घुमाउँछ, तैपनि तिनीहरूले तिनलाई प्रेमपूर्वक सम्हालेर राख्छन्। मेरो वास्तविकताले मानिसहरूलाई अन्योल तुल्याउँछ, अवाक् बनाउँछ र छक्क पार्छ, र तापनि तिनीहरू तिनलाई स्वीकार्न तयार हुन्छन्। के यो मानिसहरू जस्ता छन् त्यसको सही मापन होइन र?
मार्च १३, १९९२