अध्याय १९

मेरा वचनहरूलाई आफ्नो अस्तित्वको आधारको रूपमा लिनु—यही नै मानवजातिको दायित्व हो। मेरा वचनहरूका प्रत्येक र हरेक भागमा मानिसहरूले आफ्‍नो हिस्सा स्थापित गर्नुपर्छ; यसो नगर्नु भनेको आफ्‍नै विनाश खोज्‍नु र आफैमा तिरस्कार निम्त्याउनु हुनेछ। मानवजातिले मलाई चिन्दैन, र यस कारणले गर्दा, तिनीहरूले आफ्‍नो जीवन साटेर चढाउन मकहाँ ल्याउनुको सट्टा, आफ्‍ना हातमा रद्दीको टोकरी बोकेर मेरो अगाडि यताउता गरिरहन्छन्, र त्यसमार्फत मलाई सन्तुष्टि पार्ने प्रयास गर्छन्। तर, त्यस्ता कुराहरूबाट सन्तुष्ट हुनुको सट्टा, म मानवजातिलाई निरन्तर मापदण्ड दिइरहन्छु। म मानिसहरूको योगदान मन पराउँछु, तर तिनीहरूका मागहरूलाई घृणा गर्छु। सबै मानिसहरूसँग लोभले भरिएको हृदय छ; यस्तो लाग्छ, मानौं मानव हृदय पूर्ण रूपमा शैतानको बन्धनमा छ, र त्यसबाट छुटेर कसैले पनि मलाई आफ्‍नो हृदय दिन सक्दैन। जब म बोल्छु, मानिसहरूले मन्त्रमुग्ध भई मेरो आवाजलाई सुन्छन्; तैपनि जब म चुप बस्‍छु, तब तिनीहरूले आफ्‍नै “उद्यम” सुरु गर्न थाल्छन् र मेरा वचनहरूलाई सुन्‍न पूर्ण रूपमा बन्द गर्छन्, मानौं मेरा वचनहरू तिनीहरूको “उद्यम” का पूरक मात्रै हुन्। म मानवजातिप्रति नरम त कहिल्यै भएको छैनँ, तर पनि मानवजातिप्रति म धैर्य र सहनशील नै रहेको छु। त्यसकारण, मेरो उदारताको फलस्वरूप, मानवजाति सबैले आफूलाई ठूलो ठान्‍न थाल्छन् तर तिनीहरू आत्मज्ञान लिन र आत्मसमीक्षा गर्न असक्षम छन्; तिनीहरूले मलाई धोका दिनको लागि मात्र मेरो धैर्यताको फाइदा उठाउँछन्। तिनीहरूमध्ये एक जनाले पनि मलाई इमानदार रूपमा वास्ता गरेको छैन, र तिनीहरूमध्ये एक जनाले पनि साँचो रूपमा आफ्नो हृदयको प्रिय वस्तुको रूपमा मलाई कहिल्यै बहुमूल्य ठानेको छैन; काम नभएको क्षणमा मात्रै तिनीहरूले मलाई झारातिरुवा शैलीको सम्‍मान दिन्छन्। मैले मानवजातिको निम्ति गरेको प्रयास पहिले नै अथाह भइसकेको छ; यसको साथै, मैले मानवहरूमा अभूतपूर्व तरिकाले काम गरेको छु, र यसबाहेक, मसँग जे छ र म जे हुँ, त्यसमार्फत तिनीहरूले केही ज्ञान प्राप्त गर्न र केही परिवर्तन हासिल गर्न सकून् भनेर मैले तिनीहरूलाई थप भार दिएको छु। म मानिसहरूलाई “उपभोक्ताहरू” मात्रै बन्‍न अनुरोध गर्दिनँ; म तिनीहरूलाई “उत्पादकहरू” बन्‍न पनि अनुरोध गर्छु, जसले शैतानलाई हराउँछन्। मैले मानवजातिलाई कुनै कुरा गर्नू भनी नभन्‍ने भए पनि, मसँग मेरा अपेक्षाका मापदण्डहरू छन्, किनभने मैले जे गर्छु त्यसमा एउटा उद्देश्य हुन्छ, साथै मेरा कार्यहरूको एउटा आधार हुन्छ: मानिसहरूले कल्‍पना गरेजस्तो, म जथाभाबी काम गर्दिनँ, न त आफूखुसी मैले स्वर्ग र पृथ्वी अनि सृष्टिका यावत् थोक नै बनाएँ। मेरो कार्यमा, मानवले केही न केही देख्‍नुपर्छ, र यसबाट केही न केही प्राप्त गर्नुपर्छ। तिनीहरूले आफ्‍नो जवानीको वसन्तलाई जथाभाबी खेर फाल्‍नु हुँदैन, वा आफ्‍नो जीवनलाई जथाभाबी फोहोर टिप्‍ने लुगालाई जस्तो व्यवहार गर्नु हुँदैन; बरु, तिनीहरूले मेरो प्रचुरताबाट आनन्‍द उपभोग गर्दै आफ्‍नो सुरक्षाको लागि कडाइका साथ तबसम्म खडा हुनुपर्छ जबसम्म मेरो कारण तिनीहरू शैतानतर्फ पिठ्यूँ फर्काउन र मेरै कारण शैतानविरुद्ध आक्रमण गर्न सक्षम हुँदैनन्। के मानवजातिबाट मैले अपेक्षा गर्ने मापदण्डहरू अत्यन्तै सरल छैनन् र?

जब पूर्वमा ज्योतिको धिपधिपे प्रकाश उदाउँछ, तब ब्रह्माण्डका सारा मानिसहरूले यसमा अलिक बढी ध्यान दिन्छन्। अबउप्रान्त झुल्‍न छोडेका मानिसहरू यो पूर्वीय ज्योतिको स्रोतलाई हेर्न अघि बढ्छन्। तिनीहरूको सीमित क्षमताको कारण, ज्योति कहाँबाट आएको हो भन्‍ने कुरा देख्‍न कोही पनि सक्षम भएको छैन। जब ब्रह्माण्डभित्रका सबैमा पूर्ण प्रकाश पुग्छ, तब मानिसहरू निन्द्रा र सपनाबाट बिउँझन्छन्, र त्यसपछि मात्रै तिनीहरूले मेरो दिन तिनीहरूकहाँ बिस्तारै आएको छ भन्‍ने कुरा महसुस गर्छन्। ज्योतिको आगमनको कारणले गर्दा सारा मानवजातिले उत्सव मनाउँछन्, र यसकारण अबउप्रान्त तिनीहरू गहिरो निद्रा वा अचेत अवस्थामा हुँदैनन्। मेरो ज्योतिको चमकमा, सारा मानवजाति मनमस्तिष्क र दृष्टिमा स्पष्ट बन्छन्, र अचानक जिउनुको आनन्दप्रति सचेत बन्छन्। अध्याँरो कुहिरोले ढाकेको अवस्थामा, म संसारलाई नियाल्छु। पशुहरू सबै विश्राममा छन्; ज्योतिको धिपधिपे प्रकाशको आगमनको कारण, नयाँ जीवन आउँदै छ भन्‍ने कुराप्रति सबै सचेत बन्छन्। यस कारणले गर्दा, पशुहरूसमेत खानेकुरा खोज्‍न आफ्‍ना बासस्थानबाट घस्रँदै निस्कँदै छन्। पक्‍कै पनि बोटबिरुवाहरू पनि अपवाद होइनन्, र म पृथ्वीमा हुँदा नै आफ्नो भूमिका निर्वाह गर्ने प्रतीक्षा गर्दै ज्योतिको चमकमा तिनीहरूका हरिया पातहरू धपक्‍क बलेझैँ देखिन्छन्। सारा मानवजातिले ज्योतिको आगमनको कामना गर्छन्, तर आफ्नो कुरूपतालाई अबउप्रान्त लुकाउने ठाउँ हुनेछैन भनेर गहिरो चिन्ताको कारण तिनीहरू ज्योतिको उदयप्रति डराउँछन्। यसको कारण के हो भने मानिसहरू पूरै नाङ्गो छन्, र तिनीहरूलाई ढाक्‍ने केही पनि छैन। त्यसकारण, ज्योतिको आगमनको फलस्वरूप, धेरै मानिसहरू आत्तिएका छन्, र ज्योति देखा परेको कारण तिनीहरू स्तब्भ भएका छन्। ज्योति देखेपछि, धेरै मानिसहरू असीमित अफसोसले भरिन्छन् र आफ्‍नै अशुद्धताप्रति घिनाउँछन्, तैपनि, तथ्यहरूलाई परिवर्तन गर्न नसक्‍ने हुनाले, मैले गर्ने दण्डाज्ञाको घोषणाको लागि प्रतीक्षा गर्नबाहेक केही पनि गर्न सक्दैनन्। अन्धकारमा कष्ट भोगेर शोधन अनुभव गरेका धेरै मानिसहरूले, ज्योति देखेपछि र तिनीहरूमाथि यसको गहन अर्थको प्रहार परिसकेपछि, ज्योतिलाई फेरि गुमाउने गहिरो डरले गर्दा उक्त ज्योतिलाई कसिलो गरी अङ्गालो हाल्छन्। ज्योतिको अचानक आगमन हुँदा, अभ्यस्त पथबाट बाहिर निस्कनुको सट्टा, धेरैजसो मानिसहरू आफ्‍नो हातको दैनिक काममै व्यस्त रहन्छन् किनभने तिनीहरू धेरै वर्षसम्‍म अन्धा रहेका छन् र ज्योति आएको नदेख्‍ने मात्र नभई यसबाट प्रसन्‍न हुनसमेत सक्दैनन्। मानिसहरूको हृदयमा, म न त उच्‍च छु न त नीच नै छु। तिनीहरूको लागि त, म भए पनि नभए पनि त्यसले केही फरक पार्दैन; यस्तो लाग्‍छ मानौं म अस्तित्वमा थिइनँ भने पनि मानिसहरूको जीवन अलिकति पनि एकलो हुन्‍नथ्यो र म अस्तित्वमा हुँदा पनि, तिनीहरूको जीवन अलिकति पनि आनन्दपूर्ण हुनेछैन। मानवजातिले मलाई कदर नगर्ने हुँदा, मैले तिनीहरूलाई दिने आनन्दहरू थोरै छन्। तैपनि, मानिसहरूले मलाई अलिकति श्रद्धा दिनेबित्तिकै, म पनि तिनीहरूप्रतिको मेरो मनोवृति परिवर्तन गर्नेछु। यस कारणले गर्दा, यो नियमलाई बुझेपछि मात्र मानिसहरू आफैलाई ममा समर्पित गर्न र मेरो हातका कुराहरू माग्‍नका लागि पर्याप्त मात्रामा सौभाग्यशाली हुनेछन्। के मप्रतिको तिनीहरूको प्रेम निश्‍चय नै तिनीहरूका आफ्‍नै रुचिहरूद्वारा मात्रै बाँधिएको छैन र? के मप्रतिको तिनीहरूको विश्‍वास निश्‍चय नै मैले दिने कुराहरूद्वारा मात्रै बाँधिएको छैन र? के मेरो ज्योति नदेखेसम्‍म आफ्‍नो विश्‍वासद्वारा मलाई सच्‍चा रूपमा प्रेम गर्न मानवहरू असक्षम हुने हुन सक्छ? के तिनीहरूको क्षमता र जोस आजका अवस्थाहरूद्वारा वास्तवमै सीमित गरिएका छैनन् र? के मलाई प्रेम गर्नको लागि मानवजातिलाई साहसको खाँचो पर्ने हुन सक्छ?

मेरो अस्तित्वको परिणामस्वरूप, सृष्टिका असंख्य थोकहरू आफू बस्‍ने ठाउँबाटै आज्ञाकारी भई समर्पित हुन्छन्, र मेरो अनुशासनको अनुपस्थितिमा, अनैतिक स्वच्छन्दतामा लिप्त हुँदैन। त्यसकारण, पहाडहरू भूमिमा राष्ट्रहरूबीचका सिमानाहरू बन्छन्, नदी र समुद्रहरू फरकफरक ठाउँका मानिसहरूलाई अलग राख्‍ने अवरोधहरू बन्छन्, र हावा पृथ्वीमाथिको अन्तरिक्षमा व्यक्ति-व्यक्तिबीच बहने कुरा बन्छ। मानवजाति मात्रै मेरो इच्‍छाका मापदण्डहरूलाई साँचो रूपमा पालन गर्न असक्षम छ; सारा सृष्टिमध्ये, मानव मात्रै अनाज्ञाकारीको वर्गमा पर्छ भनेर मैले भन्‍नुको कारण यही हो। मानवजाति कहिल्यै पनि मप्रति साँचो रूपमा समर्पित भएको छैन, र यस कारणले गर्दा, सुरुदेखि नै मैले मानवजातिलाई कठोर अनुशासनमा राखेको छु। मानवजातिमाझ यदि मेरो महिमा सारा ब्रह्माण्डभरि फैलन पुग्छ भने, म मेरो सम्पूर्ण महिमालाई लिनेछु र मानवजातिको अगाडि प्रकट गराउनेछु। अशुद्धतामा रहेको कारण, मानव मेरो महिमालाई हेर्न योग्य छैन, किनभने हजारौं वर्षसम्‍म म कहिल्यै पनि बाहिर आएको छैन, बरु गुप्त रूपमै बसेको छु; यस कारणले गर्दा, तिनीहरूको अघि मेरो महिमा कहिल्यै पनि प्रकट भएको छैन, र तिनीहरू सँधै नै पापको अतलकुण्डमा खसेका छन्। मैले मानिसहरूलाई तिनीहरूको अधार्मिकताको लागि क्षमा गरेको छु, तर आफूलाई कसरी संरक्षण गर्ने भनेर तिनीहरू कसैलाई थाहा छैन; तिनीहरू त आफैलाई पापमा खुला छोड्छन् र आफैलाई यसद्वारा हानि हुन दिन्छन्। के यसले मानवजातिको आत्मसम्‍मान र आत्मप्रेमको कमीलाई देखाउँदैन र? के मानवजातिमाझ, कसैले साँचो रूपमा प्रेम गर्न सक्छ र? मानवजातिको भक्तिको तौल कति नै हुन्छ र? के मानिसहरूको तथाकथित विशुद्धतामा अशुद्ध कुराहरू मिसिएका छैनन् र? के तिनीहरूको भक्ति पूरै भद्रगोल छैन र? मैले चाहने भनेको तिनीहरूको अखण्ड प्रेम हो। मानिसहरूले मलाई चिन्दैनन्, र तिनीहरूले मलाई जान्‍ने प्रयास गरे पनि, तिनीहरूले मलाई तिनीहरूको साँचो र इमानदार हृदय दिँदैनन्। मैले मानवबाट तिनीहरू जे दिन इच्‍छुक छैनन् त्यो कुरा जबरजस्ती लिन सक्दिनँ। यदि तिनीहरूले मलाई तिनीहरूको भक्ति दिए भने, म यसलाई शिष्ट असहमति जाहरे नगरीकनै स्वीकार गर्नेछु। तैपनि, यदि तिनीहरूले मलाई भरोसा गर्दैनन्, र आफ्‍नो सानोभन्दा सानो भाग पनि मलाई दिन इन्कार गर्छन् भने, त्यस विषयमा अझै विवाद गर्दै जानुको सट्टा, म तिनीहरूलाई कुनै अर्को तरिकाले ठेगान लाइदिनेछु र तिनीहरूका लागि उचित गन्तव्य मिलाउनेछु। आकाशमा बटारिने चट्याङ्गले तलका मानिसलाई प्रहार गर्नेछ; पहाडहरू झर्ने क्रममा, तिनले तिनीहरूलाई पुर्नेछन्; भोकाएका जङ्गली जनावरहरूले तिनीहरूलाई निल्‍नेछन्; र समुद्रहरू उर्लेर आई तिनीहरूका शिरमा बजारिनेछन्। मानवजाति फूटको सङ्घर्षमा संलग्‍न हुने क्रममा, सारा मानिसहरूले तिनीहरूका बीचमा पैदा हुने विपत्तिहरूमा आफ्‍नै विनाशको खोजी गर्नेछन्।

मानवजातिमाझ राज्य विस्तार भइरहेको छ, यो मानवजातिमाझ निर्माण भइरहेको छ, र यो मानवजातिमाझ खडा भइरहेको छ; मेरो राज्यलाई नष्ट गर्ने कुनै शक्ति छैन। आज राज्यमा हुने मेरा मानिसहरूमध्ये, अर्थात् तिमीहरूमध्ये कोचाहिँ मानवजातिमाझ रहेको मानव होइनौ र? तिमीहरूमध्ये कोचाहिँ मानव अवस्थाभन्दा बाहिर छौ? जब मेरो नयाँ सुरुवाती बिन्दुको बारेमा भीडमा घोषणा गरिन्छ, तब मानवजातिले कसरी प्रतिक्रिया दिनेछ? मानवजातिको अवस्थालाई तिमीहरूले आफ्‍नै आँखाले देखेका छौ; तिमीहरूले निश्‍चय नै यो संसारमा सदासर्वदा रहने आशा अझै पालेका छैनौ र? म अहिले मेरा मानिसहरूमाझ यत्रतत्र हिँडडुल गरिरहेको छु र म तिनीहरूको माझमा जिउँछु। आज, मप्रति सच्‍चा प्रेम गर्नेहरू—त्यस्ता मानिसहरू धन्य छन्। धन्य छन् मप्रति समर्पित हुनेहरू, तिनीहरू अवश्य नै मेरो राज्यमा रहनेछन्। धन्य छन् मलाई चिन्‍नेहरू, तिनीहरूले अवश्य नै मेरो राज्यमा शक्तिको प्रयोग गर्नेछन्। धन्य छन् मलाई खोजी गर्नेहरू, तिनीहरू निश्‍चय नै शैतानका बन्धनहरूबाट उम्कनेछन् र तिनीहरूले मेरा आशिष्‌हरू उपभोग गर्नेछन्। धन्य छन् आफैलाई त्याग्‍न सक्षम हुनेहरू, तिनीहरू अवश्य नै ममा निहित हुन सक्षम हुनेछन् र तिनीहरूले मेरो राज्यको प्रचुरताको उत्तराधिकार प्राप्त गर्नेछन्। मेरो वरिपरि दौडनेहरूलाई म सम्‍झनेछु, मेरो लागि खर्च गर्नेहरूलाई म आनन्दसाथ अङ्गाल्‍नेछु, र मलाई भेटी चढाउनेहरूलाई म आनन्द प्रदान गर्नेछु। मेरा वचनहरूमा आनन्द प्राप्त गर्नेहरूलाई म आशिष् दिनेछु; तिनीहरू अवश्य नै मेरो राज्यका धुरीहरू अड्याउने खम्‍बा हुनेछन्, मेरो घरमा तिनीहरूले अवश्य नै असीम प्रशस्तता प्राप्त गर्नेछन्, र तिनीहरूसँग कसैलाई पनि तुलना गर्न सकिँदैन। के तिमीहरूलाई दिइएको आशिष्‌हरूलाई तिमीहरूले कहिल्यै स्वीकार गरेका छौ? के तिमीहरूका निम्ति गरिएका प्रतिज्ञाहरूलाई तिमीहरूले कहिल्यै खोजी गरेका छौ? मेरो ज्योतिको अगुवाइमा, तिमीहरूले अवश्य नै अन्धकारको शक्तिको पकडलाई तोड्नेछौ। अन्धकारको बीचमा तिमीहरूलाई अगुवाइ गर्ने ज्योतिलाई तिमीहरूले अवश्य नै गुमाउनेछैनौ। तिमीहरू अवश्य नै सारा सृष्टिका मालिक बन्‍नेछौ। तिमीहरू अवश्य नै शैतानको अघि विजयी बन्‍नेछौ। ठूलो रातो अजिङ्गरको राज्यको पतन हुँदा, तिमीहरू अवश्य नै मेरो विजयको साक्षी बन्‍नलाई धेरै भीडहरूमाझ खडा हुनेछौ। सिनिमको देशमा तिमीहरू अवश्य नै दह्रिलो गरी र अटल रूपमा खडा हुनेछौ। तिमीहरूले सामना गरेका कष्टहरूमार्फत, तिमीहरू मेरा आशिष्‌हरूका उत्तराधिकारी हुनेछौ, र अवश्य नै सम्पूर्ण ब्रह्माण्डमा मेरो महिमालाई चम्काउनेछौ।

मार्च १९, १९९२

अघिल्लो: अध्याय १८

अर्को: अध्याय २०

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

अध्याय ५

पर्वत र नदीहरू परिवर्तन हुन्छन्, जल आफ्नै मार्गमा बहन्छ, र मानिसको जीवन धर्ती र आकाश झैँ निरन्तर रहँदैन। केवल सर्वशक्तिमान्‌ परमेश्‍वर नै...

तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नयाँ बनाइसक्‍नुभएको हुनेछ

के तँ येशूलाई देख्‍न चाहन्छस्? के तँ येशूसँग बस्‍ने इच्छा गर्छस्? के तँ येशूले बोल्नुभएका वचनहरू सुन्‍ने इच्छा गर्छस्? यदि त्यसो हो भने,...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्