अध्याय १८
बिजुलीको एक चमकमा, प्रत्येक पशुलाई त्यसको वास्तविक रूपमा प्रकट गरिन्छ। त्यसरी नै, मेरो ज्योतिद्वारा प्रज्वलित भएर मानिसले फेरि त्यो पवित्रता प्राप्त गरेको छ, जुन एकचोटि ऊसँग थियो। अहो, प्राचीन भ्रष्ट संसार! अन्त्यमा, यो फोहोर पानीमा लडेको छ र सतहमुनि डुब्दै हिलोमा पुरिएको छ! ए, सारा मानवजाति, मेरो आफ्नै सृष्टि! अन्त्यमा तिनीहरू फेरि ज्योतिमा रही जीवनमा फर्केर आएका छन्, अस्तित्वको लागि जग भेट्टाएका छन् र हिलोमा सङ्घर्ष गर्न छोडेका छन्। ए, सृष्टिका असङ्ख्य थोकहरू जसलाई म मेरा हातमा समात्छु! तिनीहरू मेरा वचनद्वारा कसरी नयाँ बन्न सक्दैनन्? ज्योतिमा तिनीहरू आफ्ना काम कसरी गर्न सक्दैनन् र? पृथ्वी अब मरेतुल्य शान्त र चुप छैन, स्वर्ग अब उजाड र दुःखी छैन। स्वर्ग र पृथ्वी, शून्यताद्वारा अब अलग छैनन्, ती फेरि कहिल्यै अलग नहुने गरी एक भएर जोडिएका छन्। हर्षोल्लासको यो अवसरमा, उमङ्गको यस क्षणमा, मेरो धार्मिकता र मेरो पवित्रता सारा ब्रह्माण्डमा फैलिएको छ, र सारा मानवजातिले नरोकिकन तिनको ज्यादै गुणगान गर्छन्। स्वर्गका सहरहरू आनन्दले हाँस्दैछन्, र पृथ्वीको राज्य खुसीले नाच्दैछ। यसबेला, को रमाइरहेको छैन, अनि को रोइरहेको पनि छैन? पृथ्वी त्यसको सुरुको अवस्थामा स्वर्गको स्वामित्वमा हुन्छ, र स्वर्ग पृथ्वीसँग एक भएको छ। मानिस स्वर्ग र पृथ्वीलाई जोड्ने डोरी हो, र मानिसको पवित्रता र नवीकरणको कारण, स्वर्ग उप्रान्त पृथ्वीबाट लुकाइएको छैन, र पृथ्वी अब स्वर्गप्रति मौन छैन। मानिसहरूका अनुहारमा प्रसन्नताको मुस्कान छाएको छ र तिनीहरूका हृदयमा असीमित मिठास लुकेको छ। मानिसले मानिससँग झगडा गर्दैन, न त मानिसले एकअर्कासित मुक्का प्रहार गर्छ। के मेरो ज्योतिमा अरूसित मिलापमा नबस्ने कोही छन्? के मेरो दिनमा मेरो नाउँको बदनाम गर्ने कोही छन्? सबै मानिसहरूले आफ्ना भयभीत नजर मतिर लगाउँछन्, र तिनीहरूले आफ्नो हृदयमा मलाई गुप्तमा पुकार्छन्। मैले मानवजातिका सबै कार्यलाई जाँचेको छु: शुद्ध पारिएका मानिसहरूमध्ये कोही पनि मप्रति अनाज्ञाकारी छैनन्, कसैले पनि ममाथि दोष लाउँदैनन्। सबै मानिस मेरो स्वभावले भरिएका छन्। सबै मानिस मलाई चिन्न आइरहेका छन्, मेरो नजिक आउँदैछन् र मेरो भक्ति गरिरहेका छन्। म मानिसको आत्मामा दृढ भएर खडा हुन्छु, मानिसको नजरमा म सर्वोच्च शिखरमा उभिएको छु, र म मानिसको नसाको रगतमा बहन्छु। मानिसको हृदयमा भएको आनन्दपूर्ण प्रशंसाले पृथ्वीका सबै ठाउँ भरिन्छ, हावा तेज र ताजा छ, बाक्लो कुहिराहरूले अब जमिनलाई ढाक्दैनन्, र सूर्य अति उज्ज्वल भएर चम्कन्छ।
अब, मेरो राज्यलाई हेर, जहाँ म सबैमाथिका राजा हुँ, र जहाँ म सबैमाथि शक्ति चलाउँछु। सृष्टिको सुरुदेखि अहिलेसम्म, मद्वारा निर्देशित मेरा छोराहरूले जीवनका धेरै कठिनाइ, संसारका धेरै अन्याय, मानव क्षेत्रका धेरै उतावचडाव भोगेका छन्, तर अहिले तिनीहरू मेरो ज्योतिमा बस्छन्। हिजोको अन्यायका लागि को रुँदैन र? आजसम्म आइपुग्नका निम्ति सहेका कठिनाइहरूका निम्ति कसले आँसु बगाउँदैन र? र फेरि, यस अवसरमा आफैलाई ममा समर्पण गर्ने कोही छ? यो मौकामा आफ्नो हृदयमा बढिरहेको जोस व्यक्त नगर्ने कोही छ? यस घडीमा, आफूले अनुभव गरेका कुराहरू नभन्ने कोही छ? यसबेला, सबै मानिसले आफ्नो सबैभन्दा उत्तम भाग मलाई समर्पित गरिरहेका छन्। कति जना हिजोको आफ्नो मूर्खताका लागि अफसोस गर्दै पीडामा बसिरहेका छन्, कति जनाले हिजोको आफ्ना खोजहरूका निम्ति आफैलाई घृणा गर्छन्! मानिसहरू सबैले आफूलाई चिनेका छन्, तिनीहरू सबैले शैतानका काम र मेरो अद्भुत कार्यलाई देखेका छन्, र तिनीहरूका हृदयभित्र, अब मेरो लागि ठाउँ छ। अब म मानिसहरूमाझको घृणा वा अस्वीकृतिको सामना गर्नेछैनँ, किनकि मेरो महान् काम पहिले नै पूरा भइसकेको छ, र अब त्यसमा कुनै बाधा छैन। आज, मेरो राज्यका छोराहरूमध्ये, आफ्ना चिन्ताहरूमा ध्यान नदिने कोही छ? मेरो काम गर्ने तरिकाहरूको कारणबारे धेरै ध्यान नदिने कोही छन्? मेरो खातिर इमानदारीसाथ आफूलाई अर्पण गर्ने कोही छन्? के तिमीहरूको हृदयभित्रका अशुद्धताहरू कम भएका छन्? वा के ती बढेका छन्? यदि तिमीहरूको हृदयमा भएका अशुद्ध कुराहरू कम भएका छैनन्, र ती बढेका पनि छैनन् भने, म तिमीहरूजस्ता मानिसलाई निश्चित रूपमा फालिदिनेछु। म मेरो आफ्नै हृदयअनुसारका पवित्र मानिसहरू चाहन्छु, मेरो विरुद्ध विद्रोह गर्ने अशुद्ध भूतात्माहरू होइनन्। मानवजातिसँग मैले गरेका मागहरू उच्च नभए पनि, मानिसका हृदयभित्रको संसार यति जटिल छ कि मानवजाति सजिलै मेरो इच्छामा सहमत हुन सक्दैन वा उसले तुरुन्तै मेरा अभिप्रायहरू पूरा गर्न सक्दैन। धेरै मानिसले अन्तिम विजयको माला कब्जा गर्ने आशामा आफैलाई गुप्त रूपमा अर्पित गरिरहेका छन्। धेरै जना तिनीहरूको सम्पूर्ण शक्ति लगाएर सङ्घर्ष गरिरहेका छन्, यसरी दोस्रो पटक शैतानको कब्जामा परिएला भनी डराएर, एकै क्षणका लागि पनि सुस्त हुने आँट समेत गर्दैनन्। तिनीहरूले अब मेरो विरुद्धमा गुनासोहरू गर्ने आँट गर्दैनन्, तर मेरो अगि अटल रूपमा आफ्नो बफादारी देखाउँछन्। मैले धेरै मानिसले बोलेका हृदयस्पर्शी शब्दहरू, धेरै मानिसले पीडाको बीचमा तिनीहरूको पीडादायी अनुभवहरूबारे बताएको सुनेको छु; मैले डरलाग्दो सङ्कटमा पनि मप्रति बफादार रहने धेरैलाई देखेको छु, र मैले ढुङ्गेनी बाटोमा हिँड्दै बाहिर निस्कने बाटो खोज्ने धेरैलाई देखेको छु। यस्ता परिस्थितिहरूमा, तिनीहरूले कहिल्यै गुनासो गरेका छैनन्; यहाँसम्म कि, तिनीहरूले ज्योति भेट्टाउन नसक्दा केही हदसम्म निराश भए पनि तिनीहरूले एक पटक पनि गुनासो गरेनन्। तर धेरै मानिसले आफ्नो हृदयको गहिराइबाट सराप्दै स्वर्गबारे दुर्वाच्य बोलेका र पृथ्वीलाई आरोप लगाएका पनि मैले सुनेको छु, र धेरै जना आफ्नो हैरानीको बीचमा आफूलाई निराश अवस्थामा छोडिदिएको, फोहोर र मैलाले ढाकिनको लागि आफूलाई बेकम्मा ठानेर फोहोरको भाँडोमा फालिदिएको पनि मैले देखेको छु। मैले धेरै मानिसले तिनीहरूको हैसियत परिवर्तनको कारण एकअर्कासँग झगडा गरेको सुनेको छु, जसले तिनीहरूको अनुहारमा परिवर्तन ल्याउँदछ, यसरी तिनीहरूका सङ्गी मानवहरूसँगको तिनीहरूको सम्बन्ध बदलिन्छ, अनि मित्रहरू मित्र बन्न छोड्छन् र शत्रु बन्छन्, तिनीहरूका जिब्रोले एकअर्कालाई आक्रमण गर्छन्। धेरै जना मानिसहरूले मेरा वचनहरूलाई मेसिनगनका गोलीहरू जस्तै प्रयोग गर्दछन्, जबसम्म मानिसहरूको शान्त संसार जताततै होहल्लाले भरिँदैन तबसम्म थाहै नपाई अरूलाई गोली हान्छन्। भाग्यवश, अब यो दिन आएको छ; नत्र यो मेसिनगनको निष्ठुर मारमा परेर कति जना नाश हुनेथिए कसलाई थाहा छ।
मेरा वचनहरू जारी गरिएपछि, र सबै मानवजातिको अवस्थाको गतिलाई कायम राख्दै, मेरो राज्य एकपछि अर्को चरण गर्दै पृथ्वीमा ओर्लन्छ। अब मानिसले चिन्तापूर्ण विचारहरू मनमा राख्नेछैन, वा अरू मानिसहरूको विचारमा “लिप्त” बनाउँदैन, वा तिनीहरूको पक्षमा “विचार लिँदैन।” यसैले, पृथ्वीमा निरन्तर विवादहरू हुन छोड्छन्, र मेरा वचनहरू जारी गरिएपछि, आधुनिक युगका विभिन्न “हात-हतियारहरू” हटाइन्छन्। मानिस फेरि मानिससँग मिलापमा बस्छ, फेरि मानव हृदयले मिलापको भावना चम्काउँछ, र अब कसैले आफैलाई गोप्य आक्रमणबाट जोगाउनुपर्दैन। सबै मानवजाति सामान्य अवस्थामा फर्किएका छन् र एउटा नयाँ जीवन सुरु भएको छ। नयाँ परिवेशमा बसोबास गर्दै, धेरै सङ्ख्यामा मानिसहरू आफ्ना वरिपरि हेर्छन्, तिनीहरू पूर्ण नयाँ संसारमा प्रवेश गरेजस्तो महसुस गर्छन्, यसकारण तिनीहरू तत्कालै आफ्नो वर्तमान वातावरणमा घुलमेल हुन सक्दैनन् वा झट्टै सही मार्गमा प्रवेश गर्न सक्दैनन्। अनि यसैले, जहाँसम्म मानवजातिको कुरा छ, यो “आत्मा त साँच्चै तयार छ, तर शरीर दुर्बल छ” भन्ने अवस्था हुन्छ। म आफैले मानिसले जस्तै दुःखको तीतोपना अनुभव गरेको छैनँ, तापनि मानिसको अपर्याप्तताहरूबारे जान्नुपर्ने सबै कुरा म जान्दछु। म मानिसका आवश्यकताहरूसँग घनिष्ठ रूपमा परिचित छु, र उसका कमजोरीहरूबारे मैले पूर्ण रूपमा बुझेको छु। यस कारणले गर्दा, म मानिसको कमीकमजोरीको कारण उसको हाँसो उडाउँदिनँ; म उसको अधार्मिकताको आधारमा, म सबैलाई सही मार्गमा पुग्न सक्षम तुल्याउन उपयुक्त मात्रामा “शिक्षा” प्रदान मात्र गर्छु, ताकि मानवजाति घुमिहिँड्ने अनाथहरू हुन छोडून् र घर भएका शिशुहरू नबनून्। तापनि, मेरा कार्यहरू सिद्धान्तहरूद्वारा सञ्चालित छन्। यदि मानिसहरू ममा रहेको आनन्द उपभोग गर्न चाहँदैनन् भने, म तिनीहरूले आफ्ना हृदयमा जे राखेका छन् त्यसैसित अगाडि बढ्न र तिनीहरूलाई अतल कुण्डमा पठाउन मात्र सक्छु। यस मोडमा, कुनै पनि व्यक्तिले आफ्नो हृदयमा गुनासोहरू राख्नुहुँदैन, तर सबै जनाले मैले गरेको प्रबन्धमा मेरो धार्मिकता देख्न सक्नुपर्छ। म मानवजातिलाई मलाई प्रेम गर्न कर गर्दिनँ, न त मलाई प्रेम गरेको कारण कुनै मानिसलाई म प्रहार नै गर्दछु। ममा पूर्ण स्वतन्त्रता छ, पूर्ण छुटकारा छ। मानिसको भाग्य मेरो हातमा भए पनि, मैले मानिसलाई स्वतन्त्र इच्छा दिएको छु, जुन मेरो नियन्त्रणमा छैन। यस तरिकाले, मेरो प्रशासनिक आदेशको कारण मानिसहरूले “समस्या” मा फस्ने तरिकाहरू आविष्कार गर्दैनन्, बरु, मेरो महानतामा निर्भर हुँदै, “छुटकारा” प्राप्त गर्नेछन्। यसरी, धेरै मानिसले मेरो नियन्त्रणमा रहनुभन्दा बरु आफ्नो स्वतन्त्रताबाट बाहिर निस्कने बाटो खोज्छन्।
मैले मानवजातिसँग सधैँ उदार व्यवहार गरेको छु, मानिसहरूमाथि कहिल्यै पनि समाधान गर्न नसकिने समस्या लादेको छैनँ, एकै जना व्यक्तिलाई पनि कहिल्यै कठिनाइमा पारेको छैनँ। के कुरा यही होइन र? धेरै मानिसले मलाई प्रेम नगरे पनि, यस किसिमको मनोवृत्तिले धेरै दुःखी हुनुको साटो मैले तिनीहरूलाई स्वतन्त्रता दिएको छु, र तिनीहरूलाई तिक्तता र कष्टको समुद्रमा स्वतन्त्र रूपमा पौडिन दिएको छु। किनभने मानिस एक अनादरको भाँडो हो; मैले आफ्नो हातमा राखेको आशिष् उसले देखे पनि, उसले त्यो उपभोग गर्ने कुनै चासो राख्दैन, बरु शैतानको हातबाट विपत्ति भोग्छ, यसद्वारा “पोषण” को रूपमा शैतानद्वारा उपभोग हुनका निम्ति आफैलाई विनाशमा लैजान्छ। निश्चय नै, मेरो ज्योतिलाई आफ्नै आँखाले देख्नेहरू पनि छन्, र यसरी तिनीहरू वर्तमान समयको अस्पष्ट तुवाँलोमा जिइरहेका भए पनि, तिनीहरूले यी तुवाँलोको कारण ज्योतिमा विश्वास गुमाएका छैनन्, बरु बाधाहरूको छरपस्टिएको बाटोको तुवाँलोमा पनि छामछुम गर्ने र खोज्ने कार्यलाई जारी राखेका छन्। जब मानिसले मेरो विरुद्धमा विद्रोह गर्छ, म ऊमाथि आफ्नो भीषण क्रोध बर्साउँछु, यसरी मानिस आफ्नै अनाज्ञाकारिताद्वारा नाश हुन सक्छ। जब उसले मेरो आज्ञापालन गर्छ, म ऊबाट लुकेर रहन्छु, यसरी उसको हृदयको गहिराइमा यस्तो प्रेम जगाउँछु, जुन प्रेमले मलाई फुस्ल्याउँदैन, तर मलाई आनन्द दिन खोज्छ। यसरी धेरै चोटि, मानिसले मेरो खोजी गर्दा, मैले उसको साँचो विश्वास प्रकट हुन सकोस् भनेर आफ्ना आँखा बन्द गरेर मौन बसेको छु। तर जब म बोल्दिनँ, मानिसको विश्वास तुरुन्तै परिवर्तन हुन्छ, र म उसका सबै “नक्कली पक्ष” मात्र देख्दछु, किनकि मानिसले मलाई कहिल्यै इमानदारीपूर्वक प्रेम गरेको छैन। जब म आफैलाई प्रकट गर्छु तब मात्र सबै मानिसले ठूलो “विश्वास” देखाउँछन्; तर जब म मेरो गोप्य ठाउँमा लुकेको हुन्छु, तिनीहरू हृदयमा कमजोर र दुर्बल हुन्छन्, मानौं तिनीहरू म अप्रसन्न हुन्छु कि भनी डराउँछन्; त्यहाँ कोही यस्ता पनि छन्, जसले मेरो अनुहार हेर्न नसकेर मलाई “गहन प्रशोधन” गर्छन्, यसरी मेरो अस्तित्वको सत्यतालाई अस्वीकार गर्छन्; धेरै जना यस्तो अवस्थामा रहन्छन्; धेरै जनामा यो मानसिकता छ। यो आफैमा भएको कुरूपतालाई ढाक्न खोज्ने सबै मानिसहरूको निजी प्रवृत्ति मात्र हो। यसकारण, तिनीहरू आफ्नै अपर्याप्ततामा ध्यान दिन अनिच्छुक हुन्छन्, र दाँत किट्दै र अनुहार लुकाउँदै मेरा वचनहरूको सत्यतालाई मात्र स्वीकार गर्छन्।
मार्च १७, १९९२