अध्याय ४४

मानिसहरूले मेरो कार्यलाई परिपूरक कुराको रूपमा लिन्छन्; तिनीहरूले यसको खातिर खान छोड्ने वा निद्रा त्याग्‍ने गर्दैनन्, त्यसकारण मैले मानिसलाई मप्रतिको उसको आचरण अनुसार उचित मागहरू गर्ने बाहेक मसँग अरू कुनै विकल्‍प छैन। मलाई याद छ, मैलै एक पटक मानिसलाई धेरै अनुग्रह र धेरै आशिष दिएँ, तर यी कुराहरू खोसी लिएर ऊ तुरुन्तै गइहाल्यो। यो यस्तो थियो मानौं मैले ती अचेत रूपमा उसलाई दिएको थिएँ। त्यसकारण, मानिसले मलाई सधैँ उसका आफ्‍नै धारणाहरूको माध्यमद्वारा प्रेम गरेको छ। मानिसले मलाई साँचो रूपमा प्रेम गरोस् भन्‍ने म चाहन्छु; तैपनि, आज मानिसहरूले मलाई तिनीहरूको साँचो प्रेम दिन नसकेर अझै पनि आफ्‍नो खुट्टा घिस्याउँछन्। तिनीहरूका कल्‍पनामा, तिनीहरूले के विश्‍वास गर्छन् भने यदि तिनीहरूले मलाई साँचो प्रेम दिए भने, तिनीहरूसँग केही पनि बाँकी रहनेछैन। जब म यो कुराको विरोध गर्छु, तिनीहरूको सम्पूर्ण शरीर काम्छ—तैपनि तिनीहरू मलाई तिनीहरूको साँचो प्रेम दिन असमर्थ नै रहन्छन्। यस्तो लाग्छ मानौं तिनीहरूले केही कुराको प्रतीक्षा गरिरहेका छन्, त्यसकारण के भइरहेको छ त्यसको सत्यता मलाई कहिल्यै नबताई तिनीहरू अगाडि हेर्छन्। यस्तो लाग्छ मानौं तिनीहरूको मुखमा टेप लगाइएको छ, त्यसकारण तिनीहरूको बोली लगातार लडबडिरहन्छ। यस्तो लाग्छ, मानिसको अघि म निर्दयी पुँजीपति बनेको छु। मानिसहरूले सधैँ मप्रति डर मान्छन्: मलाई देखेपछि, तिनीहरूको परिस्‍थितिहरूको बारेमा मैले तिनीहरूलाई के सोध्‍नेछु भनेर भयभीत हुँदै तिनीहरू तुरुन्तै नाम-निशाना नै नछोडी विलय हुन्छन्। मानिसहरू आफ्‍ना “सङ्गी गाउँलेहरू” लाई किन इमानदार प्रेम गर्न सक्छन् भन्ने मलाई थाहा छैन, तैपनि आत्मामा सीधा रहेको मलाई तिनीहरू प्रेम गर्न सक्दैनन्। यसको कारण, म सुस्केरा हाल्छु: मानिसहरूले किन सधैँ मानिसको संसारमा आफ्‍नो प्रेम पोखाउँछन्? किन म मानिसको प्रेमलाई चाख्‍न सक्दिनँ? के म मानवजातिमध्येको एक नभएकोले हो? मानिसहरूले मलाई पहाडतिरको जङ्गलीलाई जस्तो व्यवहार गर्छन्। यस्तो लाग्छ, मानौं मसँग सामान्य व्यक्तिमा हुने सबै भागहरूको कमी छ, त्यसकारण, मेरो अघि मानिसहरूले उच्‍च नैतिक शैलीको बहाना गर्छन्। तिनीहरूले प्रायजसो मलाई हप्काउन तिनीहरूको अघि घिस्याएर लैजान्छन्, यस क्रममा तिनीहरूले पूर्वस्कूली उमेरको बच्‍चालाई जस्तै मलाई गाली गर्छन्; मानिसहरूले सधैँ मेरो अघि शिक्षकको भूमिका खेल्छन्, किनभने, तिनीहरूको यादहरू अनुसार, म तर्कहीन र अशिक्षित व्यक्ति हुँ। म मानिसहरूलाई तिनीहरूका असफलताको लागि सजाय दिँदिन, तर तिनीहरूलाई नियमित “आर्थिक सहयोग” प्राप्त गर्न दिँदै तिनीहरूलाई उचित सहयोग गर्छु। मानिस सधैँ महाविपत्तिको बीचमा जिएको र यसबाट उम्कन उसलाई कठिन भएको हुनाले, र यो महाविपत्तिको बीचमा, उसले मलाई सधैँ पुकारेको हुनाले, म उसको हातमा सामयिक रूपमा “खाद्य आपूर्तिहरू” राखिदिन्छु, यसरी सबै मानिसहरूलाई नयाँ युगको ठूलो परिवारमा जिउन, र ठूलो परिवारको न्यानोपन अनुभव गर्न दिन्छु। जब म मानिसको बीचमा हुने कामलाई अवलोकन गर्छु, म उसका विभिन्‍न दोषहरूलाई पत्ता लगाउँछु, परिणाम स्वरूप, म उसलाई सहयोग गर्छु। यस बेला पनि, मानिसको बीचमा अझै पनि असाधारण गरिबी लागेको छ, त्यसकारण तिनीहरूलाई गरिबीबाट माथि उठाउँदै मैले “विपन्‍न क्षेत्रहरू” मा उचित हेरचाह प्रदान गरेको छु। सबै मानिसहरूलाई सकेसम्‍म धेरै अनुग्रह प्रदान गर्दै मैले काम गर्ने माध्यमहरू यही हो।

पृथ्वीका मानिसहरूले अचेत रूपमा सजाय भोग्छन्, त्यसकारण तिनीहरूलाई पृथ्वीमा मेरो अनुग्रहको उपभोग गर्ने सौभाग्य प्रदान गर्दै म तिनीहरूलाई मेरो ठूलो हात बढाएर तिनीहरूलाई मेरो छेउमा तानेर ल्याउँछु। पृथ्वीमा रित्तो र मूल्य विहीन कुरा के छैन? म मानिसको संसारका सबै स्थानहरूमा हिँड्छु, र मानिसको निम्ति मनोहर हुने धेरै चर्चित स्मारकहरू र प्राकृतिक दृश्यहरू कैयौं भए पनि, म जहाँ जान्छु त्यहाँ जीवनशक्तिको अभाव भएको धेरै भइसकेको देख्छु। त्यसपछि मात्रै पृथ्वी त अन्धकारमय र उजाड रहेछ भन्‍ने मलाई लाग्छ: पृथ्वीमा, जीवन विलोप भएर गएको धेरै भइसक्यो। त्यहाँ मृत्युको गन्ध मात्रै छ, त्यसकारण मैले सधैँ मानिसलाई छिटो गरेर यो कष्टको स्थान त्याग्‍न आह्‍वान गरेको छु। म रिक्तताको सूचक मात्रै देख्छु। म मैले छनौट गरेकाहरूलाई मेरो हातमा भएको जीवन हुत्याएर दिने मौका लिन्छु; तुरुन्तै, भूमिमा हरियालीको सानो टुक्रा देखा पर्छ। मानिसहरू पृथ्वीको जीवन्त कुराहरूको आनन्द लिन इच्‍छुक छन्, तर यसमा मलाई कुनै चैन मिल्दैन; मानिसहरूले सधैँ पृथ्वीका कुराहरूलाई बहुमूल्य ठान्छन्, र तिनीहरूको रिक्ततालाई कहिल्यै देख्दैनन्, यहाँसम्‍म कि आजको दिनसम्‍म आइपुगेर पनि, तिनीहरूले अझै पनि पृथ्वीमा किन कुनै जीवन अस्तित्वमा छैन भनेर बुझ्दैनन्। आज, म ब्रह्माण्डमा हिँड्ने क्रममा, सबै मानिसहरूले म जहाँ छु त्यस स्थानको अनुग्रहको आनन्द लिन सक्छन्, र तिनीहरूले जीवनको स्रोतको खोजी कहिल्यै नगरिकन यसलाई सम्पत्तिको रूपमा प्रयोग गर्छन्। मैले दिने कुरालाई तिनीहरू सबैले सम्पत्तिको रूपमा प्रयोग गर्छन्, तैपनि तिनीहरूमध्ये कसैले पनि जीवनशक्तिको मूल कार्यलाई गर्ने प्रयास गर्दैनन्। प्राकृतिक स्रोत-साधनहरूको प्रयोग वा विकास कसरी गर्ने तिनीहरूलाई थाहा छैन, त्यसकारण तिनीहरू कङ्गाल अवस्थामा रहन्छन्। म मानिसको बीचमा बस्छु, म मानिसको बीचमा जिउँछु, तैपनि आज मानिसले अझै मलाई चिन्दैन। म घरबाट धेरै टाढा भएको कारण मानिसहरूले मलाई धेरै सहयोग गरे पनि, यस्तो लाग्छ मानौं मैले मानिससँग ठीक मित्रता गाँस्‍न बाँकी नै छ, त्यसकारण म अझै पनि मानव संसारको अनुचितपनलाई अनुभव गर्छु: मेरो नजरमा आखिर मानवजाति रित्तो नै छ, र मानिसको बीचमा कुनै पनि मूल्यको कुनै सम्पत्ति छैन। मानव जीवनको बारेमा मानिसहरूसँग कस्तो दृष्टिकोण छ मलाई थाहा छैन, तर, समग्रमा, मेरो आफ्‍नै दृष्टिकोणलाई भने “रित्तो” भन्‍ने शब्‍दबाट अलग गर्न सकिँदैन। आशा छ मानिसहरूले मलाई यसको कारण नराम्रो सोच्दैनन्, किनभने म निकै स्पष्ट छु, र म विनम्र हुने प्रयास गर्दिन। तैपनि, म मानिसहरूलाई मैले जे विचार गर्छु त्यसमा निकै ध्यान दिन सल्‍लाह दिन्छु, किनभने मेरा वचनहरू आखिर तिनीहरूका लागि उपयोगी छन्। “रिक्तता” को बारेमा मानिसहरूको बुझाइ के छ सो मलाई थाहा छैन। मेरो आशा के छ भने, तिनीहरूले यो काममा थोरै भए पनि प्रयास लगाऊन्। तिनीहरूले मानव जीवनलाई व्यावहारिक रूपमा अनुभव गर्नु र यसमा कुनै मूल्यवान् “कच्चा धातुको लुकेको गुण” भेट्टाउन सक्छन् कि भनेर हेर्नु नै राम्रो हुन्छ। म मानिसहरूको सकारात्मकतालाई निरुत्साहित गर्न खोजिरहेको छैन; म तिनीहरूले मेरा वचनहरूबाट केही ज्ञान प्राप्त गरून् भन्‍ने मात्रै चाहन्छु। मानव मामलाहरूको खातिर म सधैँ दौडधूप गर्छु, तर अहिले कुराहरू जस्तो अवस्थामा छन्, त्यसको लागि पनि मानिसहरूले अझै पनि धन्यवादको एक शब्‍द बोलेका छैनन्, मानौं तिनीहरू अत्यन्तै व्यस्त थिए र त्यसो गर्न बिर्सिए। आज समेत, मानिस दिनभरि दौडधूप गरेर त्यसले के प्रभाव पारेको छ त्यो कुरा मैले अझै बुझ्दिन। आज समेत, मानिसहरूको हृदयमा मेरो लागि कुनै स्थान छैन, त्यसकारण, फेरि पनि म अझै गहिरो विचारमा पर्छु। म आफै “मानिसहरूसँग किन मलाई साँचो रूपमा प्रेम गर्ने हृदय छैन” भन्‍ने कुराको अनुसन्धानमा लाग्‍न थालेको छु। म मानिसलाई “अप्रेसन टेबल” मा राख्‍नेछु, म उसको “हृदय” लाई चिरफार गर्नेछु, र उसको हृदयको मार्गलाई केले रोकेको छ र उसलाई के कुराले मलाई प्रेम गर्नबाट रोकेको छ सो हेर्नेछु। “छुरा” को प्रभावमा, मानिसहरूले आफ्‍नो आँखा चिम्लन्छन्, र मैले कहिले सुरु गर्ला भनेर पर्खन्छन्, किनभने यस बेला, तिनीहरू पूर्ण रूपमा समर्पित भएका हुन्छन्; तिनीहरूको हृदयमा, म अरू धेरै अशुद्धताहरू भेट्टाउँछु। तिनीहरूमध्ये सबैभन्दा मुख्य कुरा मानिसहरूका आफ्‍नै कुराहरू हुन्। तिनीहरूको शरीरभन्दा बाहिर तिनीहरूसँग थोरै कुरा भए पनि, तिनीहरूको शरीरभित्रका कुराहरू अनगिन्ती छन्। यस्तो छ मानौं मानिसको हृदय भण्डारण गर्ने ठूलो बाकस हो, जुन सम्पत्ति र मानिसहरूलाई चाहिने सबै कुराले भरिएको छ। यस क्षणमा मात्रै म मानिसहरूले मलाई किन कुनै आदर गर्दैन भन्‍ने कुरालाई बुझ्छु: यसको कारण के हो भने तिनीहरूमा ठूलो आत्म-पर्याप्तता छ—तिनीहरूलाई मेरो सहायताको के खाँचो? त्यसकारण, म मानिसबाट बिदा हुन्छु, किनभने मानिसहरूलाई मेरो सहायताको कुनै खाँचो छैन; म किन “लाज विहीन भई काम गर्नु” र तिनीहरूको घृणा कमाउनु?

किन भनेर कसलाई थाहा छ र, तर म सधैँ मानिसको बीचमा बोल्‍न इच्‍छुक रहिआएको छु, मानौं मैले आफैलाई नियन्त्रण गर्न सक्दिनँ। तसर्थ, मानिसहरूले मलाई व्यर्थको ठानेका छन्, र तिनीहरूले मलाई तामाको सिक्‍काभन्दा पनि कम मूल्यको छु भन्‍नेजस्तै गरी व्यवहार गर्छन्; तिनीहरूले मलाई आदर गर्नुपर्ने कुराको रूपमा व्यवहार गर्दैनन्। तिनीहरूले मेरो कदर गर्दैनन्, र तिनीहरूले मलाई जहिले मन लाग्छ तब घरमा घिस्याएर लैजान्छन्, त्यसपछि फेरि पनि मलाई सार्वजनिक रूपमा “खुलासा” गर्दै बाहिर फ्याँक्छन्। मानिसको नीच व्यवहारलाई नै म सबैभन्दा बढी घृणा गर्छु, तसर्थ म मानिस विवेक रहित छ भनेर खुलस्त भन्छु। तर मानिसहरू दुराग्रही छन्; तिनीहरूले आफ्‍ना “तरवार र भाला” लिन्छन् र मेरा वचनहरू वास्तविकता विपरीत छन् भन्दै, मैले तिनीहरूलाई गुन्डा बनाउँछु भन्दै मसँग लडाइँ गर्छन्—तर तिनीहरूको हिंसात्‍मक व्यवहारको कारण म तिनीहरूमाथि प्रतिकार दण्ड ल्याउँदिन। मानिसहरूलाई जित्‍न र तिनीहरूलाई आफैप्रति लज्‍जित तुल्याउनको लागि म मेरा सत्यताहरूको प्रयोग मात्रै गर्छु, अनि तिनीहरू चुपचाप पछि हट्छन्। म मानिससँग प्रतिस्पर्धा गर्दिन, किनभने त्यसको कुनै फाइदा छैन। म मेरो कर्तव्य पालन गर्छु, र मानिसले पनि आफ्‍नो कर्तव्य पालन गर्न सक्छ र मेरो विरुद्धमा काम गर्दैन भन्‍ने आशा गर्छु। के यसरी मिलेर बस्‍नु अझै राम्रो होइन र? हाम्रो सम्‍बन्धमा किन चोट पुर्‍याउने? हामी यतिका वर्षसम्‍म मिलेर बसेका छौ—हामी दुवैको लागि समस्या पैदा गर्नुको के आवश्यक छ र? के त्यो हाम्रो इज्‍जतको लागि कुनै फाइदा नहुने कुरा हुनेथिएन र? हाम्रो वर्षौंको “पुरानो मित्रता,” “पुरानो चिनजान”—रूखो तरिकाले छुट्टिनुको के आवश्यक छ र? के त्यसो गर्नु असल हुन्छ? मानिसहरूले परिणामलाई ध्यान दिऊन्, तिनीहरूले आफ्‍नो लागि के असल छ भन्‍ने कुरा जानून् भन्‍ने म आशा गर्छु। आज मानिसप्रतिको मेरो आचरण उसको जीवनकालभरिको छलफलको लागि पर्याप्त छ—किन मानिसहरूले सधैँ मेरो दयालाई पहिचान गर्न सक्दैनन्? के तिनीहरूसँग अभिव्यक्तिको शक्तिको कमी भएकोले हो? के तिनीहरूसँग पर्याप्त शब्दभण्डार नभएकोले हो? किन तिनीहरूसँग सधैँ बोल्‍ने शब्‍द हुँदैन? मैले कस्तो व्यवहार गर्छु भन्‍ने बारेमा को अनजान छ? मेरा कामहरूको बारेमा मानिसहरूलाई पूर्ण रूपमा थाहा छ—यति मात्रै हो कि, तिनीहरूले सधैँ अरूबाट फाइदा लिन चाहन्छन्, त्यसकारण तिनीहरू कहिल्यै पनि आफ्‍ना चासोहरूलाई पन्छ्याउन इच्‍छुक हुँदैनन्। यदि कुनै वाक्यांशले तिनीहरूको आफ्‍नै रुचिहरूलाई छोयो भने, तिनीहरूले नियन्त्रणको हात प्राप्त नगरुञ्‍जेल तिनीहरू ढुक्‍क हुन मान्दैनन्—त्यसको के नै अर्थ हुन्छ र? मानिसहरूले योगदान दिन सक्‍ने कुरामा प्रतिस्पर्धा गर्न सक्दैनन्, तर तिनीहरूले प्राप्त गर्न सक्‍ने कुरामा तिनीहरू संघर्ष गर्छन्। तिनीहरूको हैसियतमा कुनै आनन्द नभए पनि, तिनीहरूले यसलाई अत्यन्तै बहुमूल्य ठान्छन्, यहाँसम्‍म कि तिनीहरूले यसलाई बहुमूल्य सम्पत्तिको रूपमा समेत लिन्छन्—त्यसकारण, तिनीहरू हैसियतका लाभहरूलाई त्याग्‍नुभन्दा मेरो सजायलाई भोग्‍न तयार हुन्छन्। मानिसहरूले आफूलाई आवश्यकताभन्दा बढी उच्‍च ठान्छन्, त्यसकारण तिनीहरू आफूलाई पन्छ्याउन कहिल्यै तयार हुँदैनन्। मानिस सम्‍बन्धी मेरो मूल्याङ्कनमा सायद केही साना गल्तीहरू हुन सक्छन्, वा सायद मैले उसलाई त्यस्तो पदवी नाम दिएको छु जुन कठोर पनि छैन वा कोमल पनि छैन, तर समग्रमा, मेरो आशा भनेको मानिसहरूले यसलाई चेतावनीको रूपमा लिऊन् भन्‍ने हो।

मे २१, १९९२

अघिल्लो: अध्याय ४३

अर्को: अध्याय ४५

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

आज परमेश्‍वरको कामलाई बुझ्‍नु

यी समयहरूमा परमेश्‍वरको काम बुझ्नु भनेको, सामान्यतया, आखिरी दिनहरूमा देहधारी परमेश्‍वरको मुख्य सेवकाइ के हो, र पृथ्वीमा उहाँ के गर्न...

परमेश्‍वरको कामको दर्शन (३)

परमेश्‍वर पहिलो पटक पवित्र आत्माद्वारा गर्भधारण भई देह बन्नुभयो, र यो उहाँले गर्न चाहनुभएको कामसँग सान्दर्भिक थियो। अनुग्रहको युग येशूको...

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्