सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो
सबै मानिसहरूले पृथ्वीमा मेरो कामका उद्देश्यहरू बुझ्न आवश्यक छ, भन्नुको अर्थ, म अन्ततः जे प्राप्त गर्न चाहन्छु, र यसलाई पूरा गर्न सक्नुभन्दा पहिले मैले यो काममा कुन स्तर हासिल गर्नुपर्छ। आजको दिनसम्म मसँग हिँडिसकेपछि, यदि मानिसहरूले मेरो काम के हो भन्ने बारेमा बुझेका छैनन् भने, के तिनीहरू मसँग व्यर्थमा हिँडेका होइनन् र? यदि मानिसहरूले मलाई पछ्याउँछन् भने, तिनीहरूले मेरा अभिप्राय पनि जान्नुपर्छ। म यस पृथ्वीमा हजारौं वर्षदेखि काम गर्दै आइरहेको छु, र हालसम्म पनि मेरो कामलाई निरन्तरता दिन्छु। मेरो काममा धेरै परियोजनाहरू भए तापनि, यसको उद्देश्य अपरिवर्तित रहन्छ; यद्यपि म मानिसप्रतिको न्याय र सजायले भरिएको छु, उदाहरणका लागि, मैले जे गर्छु त्यो अझै पनि उसैको मुक्तिको खातिर हो, र मानिसलाई पूर्ण बनाइसकेपछि सबै अन्यजातिहरूका माझ मेरो सुसमाचार अझ फैलाउनको खातिर र मेरो काम अझ विस्तार गर्नको खातिर हो। यसैले आज, धेरै मानिसहरू लामो समयदेखि गहिरो निराशामा डुबेको यस्तो समयमा, म अझै पनि मेरो कामलाई निरन्तरता दिन्छु, मैले मानिसलाई न्याय गर्न र सजाय दिन मैले गर्नुपर्ने काम जारी राख्छु। म जे भन्छु त्योसँग मानिस वाक्क भएको छ भन्ने यथार्थताको बाबजुद पनि, र उसलाई मेरो कामप्रति चासो राख्ने कुनै इच्छा नभए तापनि, म अझै पनि आफ्नो कर्तव्य पूरा गर्दैछु, किनकि मेरो कामको उद्देश्य अपरिवर्तित रहन्छ, र मेरो मौलिक योजना भङ्ग हुनेछैन। मेरो न्यायको उद्देश्य भनेको मानिसलाई राम्रोसँग ममा समर्पित हुन सक्ने बनाउनु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अझ राम्रोसँग परिवर्तन हासिल गर्न सक्षम बनाउनु हो। मैले गर्ने सबथोक मेरो व्यवस्थापनको खातिर नै हुने भए पनि, मैले कहिल्यै त्यस्तो कुनै काम गरेको छैन, जुन मानिसका लागि फाइदाजनक नहोस्, किनकि म इस्राएलभन्दा बाहिरका सबै जातिहरूलाई पनि इस्राएलीहरू जस्तो समर्पित बनाउन, उनीहरूलाई सच्चा मानिसहरू बनाउन चाहन्छु, ताकि इस्राएलभन्दा बाहिरको भूमिमा पनि मैले पाइला टेक्ने ठाउँ पाउन सकूँ। यो मेरो व्यवस्थापन हो; यो अन्यजाति राष्ट्रहरूमाझको मेरो काम हो। अहिले समेत, धेरै मानिसहरूले अझै पनि मेरो व्यवस्थापनलाई बुझ्दैनन्, किनभने उनीहरूले त्यस्ता कुराहरूको वास्ता गर्दैनन्, बरु आफ्नै भविष्य र गन्तव्यको मात्र वास्ता गर्छन्। मैले जे भने पनि, मानिसहरू मैले गर्ने कामप्रति उदासीन रहन्छन्, यसको सट्टामा उनीहरूले सारा हृदयले आफ्नो भावी गन्तव्यमा ध्यान केन्द्रित गर्छन्। यदि कामकुरा यसरी नै चलिरह्यो भने, मेरो काम कसरी फैलिन सक्छ? मेरो सुसमाचार कसरी सारा संसारभरि प्रचार गर्न सकिन्छ? तिमीहरूले थाहा पाउनुपर्छ कि जब मेरो काम फैलिन्छ, म तिमीहरूलाई छरपस्ट पार्नेछु, र जसरी यहोवाले इस्राएलको प्रत्येक कुललाई प्रहार गर्नुभयो त्यसरी नै तिमीहरूलाई पनि प्रहार गर्नेछु। यी सबै कुराहरू मेरो सुसमाचार पृथ्वीभरि फैलियोस्, मेरो काम अन्यजाति राष्ट्रहरूसम्म फैलियोस्, जसले गर्दा मेरो नाम वयस्क र बच्चा दुवैमाझ समान रूपमा महान् भनेर सम्मानित हुन सकोस्, र सबै जाति र राष्ट्रहरूका मानिसहरूको मुखबाट मेरो पवित्र नामको गुणगान गरियोस् भनेर हुनेछन्। यो अन्तिम युगमा, अन्यजाति राष्ट्रहरूमाझ मेरो नाम महान् भनी उच्च पारियोस्, मेरा काम अन्यजाति राष्ट्रहरूका मानिसहरूले देखून्, तिनीहरूले मलाई मेरा कार्यहरूका आधारमा सर्वशक्तिमान् भनेर बोलाऊन्, र मेरा वचनहरू चाँडै पूरा होऊन्। म इस्राएलीहरूको परमेश्वर मात्र होइन, सबै अन्यजाति राष्ट्रहरूका मानिसहरूको, मैले श्राप दिएका राष्ट्रहरू समेतका मानिसहरूको पनि परमेश्वर हुँ भनेर म सबै मानिसहरूलाई बुझाउनेछु। म सृष्टि गरिएका सबै प्राणीहरूको परमेश्वर हुँ भनेर म सबै मानिसहरूलाई बुझ्ने बनाउनेछु। मेरो सबैभन्दा महान् काम, आखिरी दिनहरूको लागि मेरो कार्य योजनाको उद्देश्य, र आखिरी दिनहरूमा मैले हासिल गर्न इच्छा गर्ने एउटै काम यही नै हो।
आखिरी दिनहरूमा मात्र हजारौं वर्षदेखि मैले व्यवस्थापन गर्दै आइरहेको कार्य मानिसकहाँ पूर्ण रूपमा प्रकट हुन्छ। अहिले मात्र मैले मानिसलाई मेरो व्यवस्थापनको सम्पूर्ण रहस्य प्रकट गरेको छु, र मानिसले मेरो कामको उद्देश्य जानिसकेको छ, र यति मात्र होइन, मेरा सबै रहस्यहरू बुझ्न पुगेको छ। मैले मानिसलाई पहिले नै त्यो गन्तव्यको बारेमा सबै कुरा बताइसकेको छु, जसको बारेमा उसले चासो राख्छ। मैले मानिसका लागि पहिले नै मेरा सबै रहस्यहरू, अर्थात् ५,९०० वर्षदेखि लुकाइएका रहस्यहरू उजागर गरिसकेको छु। यहोवा को हुनुहुन्छ? मसीह को हुनुहुन्छ? येशू को हुनुहुन्छ? तिमीहरूलाई यो सबै थाहा हुनुपर्छ। मेरो काम यी नामहरूमाथि निर्भर रहन्छ। के तिमीहरूले त्यो बुझेका छौ? मेरो पवित्र नाम कसरी घोषणा गरिनुपर्छ? मलाई मेरा कुनै पनि नामहरूले बोलाउने ती अन्यजातिहरू समक्ष कसरी मेरो नाम फैलाउनुपर्छ? मेरो काम विस्तार हुँदैछ, र म यसको सम्पूर्णता कुनै पनि र सबै जातिहरूमा फैलाउनेछु। मेरो काम तिमीहरूमा गरिसकिएको हुनाले, जसरी यहोवाले इस्राएलमा दाऊदका घरानाका गोठालाहरूलाई प्रहार गर्नुभएको थियो त्यसरी नै म पनि तिमीहरूलाई हरेक जातिमा तितरबितर हुने गरी प्रहार गर्नेछु। किनकि आखिरी दिनहरूमा म सबै जातिहरूलाई टुक्रा-टुक्रा हुने गरी चकनाचूर पार्नेछु र त्यहाँका मानिसहरूलाई नयाँ प्रकारले वितरित हुन लगाउनेछु। जब म फेरि फर्कन्छु, तब सबै देशहरू पहिले नै मेरो जलिरहेको ज्वालाद्वारा तय गरिएको सीमामा विभाजित भइसकेका हुनेछन्। त्यस बेला म मानवजातिकहाँ रन्किँदो सूर्यका रूपमा नयाँ ढङ्गले देखा पर्नेछु र तिनीहरूले अघि कहिल्यै नदेखेका पवित्र जनका स्वरूपमा तिनीहरूकहाँ खुल्ला रूपमा आफैलाई देखाउनेछु, जसरी म, यहोवा कुनै बेला विभिन्न यहूदी जातिहरूमाझ हिँडेँको थिएँ, त्यसरी नै असङ्ख्या राष्ट्रमाझ हिँड्नेछु। तत्पश्चात्, म मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा अगुवाइ गर्नेछु, र तिनीहरूले पक्कै मेरो महिमा तिनीहरूभन्दा माथि छ, र तिनीहरूको जीवनमा अगुवाइ गरिरहेको आकाशमा बादलको खम्बा देख्नेछन्, किनकि म पवित्र स्थानहरूमा प्रकट हुनेछु। मानिसले मेरो धार्मिकताको दिन र मेरो महिमाको प्रकटीकरण पनि देख्नेछ। मैले सारा पृथ्वीमाथि राजाका रूपमा शासन गर्ने र मेरा धेरै पुत्रहरूलाई महिमामा ल्याउने समय त्यही हो। मानिसहरू सारा पृथ्वीभरि झुक्नेछन्, र मेरो पवित्र वासस्थान मानिसहरूमाझ बलियो गरी खडा हुनेछ, आजको मेरो कामको जगमाथि निर्माण हुनेछ। मानिसहरू सबैले मन्दिरमा पनि मेरो सेवा गर्नेछन्। फोहोर र घृणित चीजहरूले ढाकिएको वेदी टुक्राटुक्रा हुनेछ र मद्वारा नयाँ बनिनेछ। नवजात थुमाहरू र बाछोहरू त्यो पवित्र वेदीमाथि जम्मा हुनेछन्। म आजको मन्दिर भत्काउनेछु र अवश्य नै नयाँ मन्दिर निर्माण गर्नेछु। घृणित मानिसहरूले भरिएको अहिले खडा रहेको मन्दिरढल्नेछ, र मैले बनाएको त्यस मन्दिर मप्रति वफादार सेवकहरूले भरिनेछन्। उनीहरू फेरि मेरो मन्दिरको महिमाका लागि खडा हुनेछन् र मेरो सेवा गर्नेछन्। तिमीहरूले पक्कै पनि मैले ठूलो महिमा प्राप्त गर्ने दिन, साथै मैले मन्दिर भत्काएर नयाँ निर्माण गर्ने दिन देख्नेछौ। तिमीहरूले पक्कै पनि मेरो पवित्र वासस्थान मानिसहरूमाझ आउने दिन पनि देख्नेछौ। मैले मन्दिर भत्काउने तरिकामा नै म आफ्नो पवित्र वासस्थानलाई मानिसहरूमाझ ल्याउनेछु, त्यो तिनीहरूले म तल ओर्लेको देखेजस्तै हुनेछ। मैले प्रत्येक देशलाई धूलोपीठो बनाएपछि, म तिनीहरूलाई नयाँ गरी समेट्नेछु, तत्पश्चात्, मेरो मन्दिर निर्माण र मेरो वेदी स्थापित गर्नेछु, र यसरी सबै मानिसले मलाई बलिदान चढाउन, मेरो मन्दिरमा मेरो सेवा गर्न, र अन्यजाति राष्ट्रहरूमा मेरो कामप्रति आफ्नो बफादारी समर्पित गर्न सक्छन्। तिनीहरू पूजाहारीको पोसाक र सानदार मुकुटले सुसज्जित वर्तमान दिनका इस्राएलीहरू हुनेछन्, म यहोवाको गरिमा तिनीहरूमाझ हुन्छ, र मेरा प्रताप माथि आकाशमा तिनीहरूसँग चम्किन्छ। अन्यजाति राष्ट्रहरूमा पनि मेरो काम त्यस्तै हुनेछ। मेरो काम इस्राएलमा जस्तो थियो, त्यस्तै मेरो काम अन्यजाति राष्ट्रहरूमा पनि हुनेछ, किनभने म मेरो काम इस्राएलमा फैलाउनेछु र अन्यजाति राष्ट्रहरूमा विस्तार गर्नेछु।
मेरो आत्माले महान् काम गर्ने समय, र अन्यजाति राष्ट्रहरूमाझ मैले मेरो काम सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सबै सृजित प्राणीहरू प्रत्येकलाई तिनीहरूको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो रूपमा अगाडि बढ्न सकोस् र त्यो नतिजाहरू हासिल गर्न अझ बढी सक्षम होस्। त्यसैले, म तँबाट के माग गर्छु भने अझै पनि तैँले आफ्नो सम्पूर्ण सत्त्वलाई मेरा सबै काममा अर्पण गर्, अनि, अझ बढी, मैले तँमा गरेका मेरा कामलाई तैँले स्पष्ट रूपमा खुट्ट्या र सही रूपमा हेर्, र तँ आफ्नो सम्पूर्ण मेहनत मेरो काममा समर्पित गर्, ताकि यसले अझ ठूला नतिजाहरू हासिल गर्न सकोस्। यो कुरा तैँले बुझ्नैपर्छ। आपसमा झगडा गर्ने, निस्केर जाने बाटो खोज्ने, वा आफ्नो देहका लागि सुख खोज्नबाट टाढा बस्, ताकि मेरो काममा ढिलाइ नहोस्, र तेरो अद्भुत भविष्यमा ढिलाइ नहोस्। तँलाई जोगाउनु त कता हो कता, त्यस्ता कार्यले तँमाथि विनाश मात्र ल्याउन सक्छ। के यो तेरो मूर्खता हुनेछैन र? तैँले आज लोभी रूपमा आनन्द लिने कुरा नै तेरो भविष्यलाई बिगारिरहेको कुरा हो, जबकि तैँले आज सहने पीडाले नै तेरो सुरक्षा गरिरहेको छ। तँ यी चीजहरूबारे स्पष्ट रूपमा सचेत हुनुपर्छ, ताकि आफूलाई उम्काउन कठिन हुने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र बाक्लो कुहिरोभित्र छिरेर सूर्य भेट्टाउन असक्षम हुनबाट जोगिन सक्। जब बाक्लो कुहिरो हट्छ, तैँले आफूलाई महान् दिनको न्यायमाझ पाउनेछस्। त्यस समयसम्म, मेरो दिन मानिस जातिको नजिक आउँदै गरेको हुनेछ। तँ कसरी मेरो न्यायबाट उम्कनेछस्? तैँले कसरी सूर्यको चर्को तापलाई सहन सक्नेछस्? जब म मानिसलाई मेरो प्रशस्तता दिन्छु, उसले यसलाई आफ्नो छातीमा कदर गरी राख्दैन, तर यसलाई कसैले पनि नदेख्ने ठाउँमा फाल्छ। जब मेरो दिन मानिसमाथि आउँछ, उसले उप्रान्त मेरो प्रशस्तता पत्ता लगाउन सक्दैन, वा धेरै अघि मैले उसलाई भनेका सत्यका तीता वचनहरू भेट्टाउन सक्दैन। ऊ विलाप गर्नेछ र रुनेछ, किनभने उसले ज्योतिको उज्यालो गुमाइसकेको हुन्छ र ऊ अन्धकारमा फसिसकेको हुन्छ। आज तिमीहरूले जे देख्दैछौ त्यो मेरो मुखको धारिलो तरबार मात्र हो। तिमीहरूले मेरो हातमा भएको डन्डा वा मानिसलाई जलाउने आगोको ज्वाला देखेका छैनौ, र यसैले मेरो उपस्थितिमा तिमीहरू अझै पनि अहङ्कारी र असंयमित छौ। यसैले तिमीहरूको मानवीय जिब्रोले मेरो मुखबाट निस्केका कुराहरूसँग बहस गर्दै तिमीहरू अझै मसँग मेरो घरमा झगडा गर्छौ। मानिस मदेखि त्रसित हुँदैन, र उसले आफूलाई आज पनि मसँगको दुस्मनीमा खडा गरेको भए तापनि, ऊ पूर्णतया निर्भय रहन्छ। तिमीहरूको मुखमा अधर्मी जिब्रो र दाँतहरू छन्। तिमीहरूको वचन र व्यवहार सर्पका जस्ता छन् जसले हव्वालाई पाप गर्न लोभ्यायो। तिमीहरूले एक-अर्काबाट आँखाको बदला आँखा र दाँतको बदला दाँत माग गर्छौ, र तिमीहरूले मेरो उपस्थितिमा आफ्नै लागि पद, प्रतिष्ठा, फाइदाको लागि सङ्घर्ष गर्छौ, तर पनि तिमीलाई थाहा छैन, कि मैले तिमीहरूको वचन र व्यवहार गोप्य रूपमा हेर्दैछु। तिमीहरू मेरो उपस्थितिमा आउनुभन्दा पहिले नै, मैले तिमीहरूको हृदयको भित्री आवाजलाई सुनिसकेको छु। मानिस जहिले पनि मेरो हातको पकडबाट उम्कन र मेरो नजरको अवलोकनबाट भाग्न चाहन्छ, तर म उसका वचनहरू वा व्यवहारहरूबाट कहिल्यै पछि हटिँन। यसको सट्टामा, मैले उद्देश्यपूर्ण रूपमा ती वचनहरू वा व्यवहारहरूलाई मेरो नजरमा प्रवेश गर्न दिन्छु, ताकि मैले मानिसको अधर्मको सजाय दिन सकूँ र उसको विद्रोहीपनमाथि न्याय कार्यान्वयन गर्न सकूँ। यसरी, मानिसका गोप्य वचनहरू वा व्यवहारहरू सधैँ मेरो न्याय आसनको अगाडि रहन्छन्, र मेरो न्यायले मानिसलाई कहिल्यै छोडेको छैन, किनकि उसको विद्रोहीपन एकदमै धेरै छ। मेरो काम भनेको मेरो आत्माको उपस्थितिमा बोलिएका र गरिएका मानिसका वचनहरू र व्यवहारहरूलाई जलाउनु र शुद्ध पार्नु हो। यस प्रकारले,[क] जब म पृथ्वी छोड्छु, मानिसहरूले पृथ्वीमा मेरा कामहरू पूर्ण नहुन्जेलसम्मै त्यसलाई जारी राख्दै अझै पनि मप्रति आफ्नो बफादारीता कायम राख्नेछन्, र अझै पनि मेरा पवित्र सेवकहरूले मेरो काममा सेवा गरेजस्तै गरी सेवा गर्नेछन्।
फूटनोटहरू:
क. मूल पाठमा “यस प्रकारले” भन्ने वाक्यांश समावेश छैन।