सुसमाचार फैलाउने काम पनि मानिसलाई मुक्ति दिने काम नै हो
सबै मानिसले पृथ्वीमा मेरो कामको उद्देश्य, अर्थात्, म अन्ततः के प्राप्त गर्ने अभिप्राय राख्छु, र यो काम पूरा हुनुअघि मैले यसमा कुन स्तर हासिल गर्नैपर्छ भन्ने कुरा बुझ्नु आवश्यक छ। आजको दिनसम्म मेरो साथमा हिँडेपछि पनि, यदि मानिसहरूले मेरो काम वास्तवमा के हो भन्ने बुझ्दैनन् भने, के तिनीहरू व्यर्थमा मेरो साथमा हिँडेका होइनन् र? यदि मानिसहरू मलाई पछ्याउँछन् भने, तिनीहरूलाई मेरा अभिप्रायहरू थाहा हुनुपर्छ। म हजारौँ वर्षदेखि पृथ्वीमा काम गर्दै आएको छु, र आजको दिनसम्म, म निरन्तर यसरी नै मेरो काम गरिरहन्छु। मेरो काममा धेरै वटा परियोजना रहेका भए पनि, यसको उद्देश्य अपरिवर्तित रहन्छ; उदाहरणका लागि, म मानिसप्रति न्याय र सजायले भरिएको भए पनि, मैले गर्ने काम अझै पनि उसलाई मुक्ति दिनकै खातिर हो, र मानिसलाई पूर्ण पारिएपछि मेरा सबै अन्यजाति राष्ट्रमाझ मेरो सुसमाचार अझ राम्ररी फैलाउन र मेरो काम अझ राम्ररी विस्तार गर्नकै खातिर हो। त्यसैले आज, धेरै मानिस धेरै अघिदेखि नै अत्यन्तै निराश भएको समयमा, म अझै पनि मेरो काम जारी राख्छु, म मानिसलाई न्याय गर्न र सजाय दिन मैले गर्नुपर्ने काम जारी राख्छु। मानिस मेरा कुराहरूबाट वाक्क भएको छ, र उसलाई मेरो काममा चासो राख्ने कुनै चाहना छैन भन्ने तथ्यको बाबजुद, म अझै पनि मेरो भागको काम गरिरहेकै छु, किनभने मेरो कामको उद्देश्य अपरिवर्तित रहन्छ, र मेरो मूल योजना तोडिनेछैन। मेरो न्यायको उद्देश्य भनेको मानिसलाई अझ राम्रोसँग ममा समर्पित हुने तुल्याउनु हो, र मेरो सजायको उद्देश्य भनेको मानिसलाई अझ राम्रोसँग परिवर्तन हासिल गर्ने तुल्याउनु हो। मैले गर्ने सबथोक मेरो व्यवस्थापनका खातिर नै हुने भए पनि, मैले मानिसका लागि फाइदाजनक नहुने कुनै काम कहिल्यै गरेको छैनँ, किनकि म इस्राएलभन्दा बाहिरका सबै राष्ट्रलाई इस्राएलीहरूजस्तै समर्पित बनाउने, उनीहरूलाई वास्तविक मानव बनाउने अभिप्राय राख्छु, ताकि मसँग इस्राएलभन्दा बाहिरको भूमिमा पनि पाइला टेक्ने ठाउँ होस्। यो मेरो व्यवस्थापन हो; यो अन्यजाति राष्ट्रहरूमाझको मेरो काम हो। अहिले समेत, धेरै मानिसहरू अझै पनि मेरो व्यवस्थापन बुझ्दैनन्, किनभने उनीहरू त्यस्ता कुराहरूबारे वास्ता गर्दैनन्, बरु आफ्नै भविष्य र गन्तव्यको मात्र वास्ता गर्छन्। मैले जे भने पनि, मानिसहरू मैले गर्ने कामप्रति उदासीन रहन्छन्, यसको सट्टा उनीहरू सारा हृदयले आफ्नो भावी गन्तव्यमा केन्द्रित हुन्छन्। यदि कामकुरा यसरी नै चलिरहेमा, मेरो काम कसरी फैलिन सक्छ? मेरो सुसमाचार कसरी सारा संसारभरि प्रचार गर्न सकिन्छ? तिमीहरूले थाहा पाउनुपर्छ कि जब मेरो काम फैलिन्छ, म तिमीहरूलाई छरपस्ट पार्नेछु, र यहोवाले इस्राएलको प्रत्येक कुललाई प्रहार गर्नुभएजसरी नै तिमीहरूलाई प्रहार गर्नेछु। यी सबै कुराहरू मेरो सुसमाचार पृथ्वीभरि फैलियोस्, मेरो काम अन्यजाति राष्ट्रहरूसम्म फैलियोस्, जसले मेरो नामलाई वयस्क र बच्चाहरू दुवैमाझ समान रूपमा महान् मानेर सम्मानित गरिने, र सबै जाति र राष्ट्रहरूका मानिसहरूको मुखबाट मेरो पवित्र नामको गुणगान गरिने तुल्याओस् भनेर गरिनेछ। यो अन्तिम युगमा, अन्यजाति राष्ट्रहरूमाझ मेरो नाम महान् भनी उच्च पारियोस्, मेरा कार्य अन्यजाति राष्ट्रहरूका मानिसहरूले देखून्, तिनीहरूले मलाई मेरा कार्यहरूका आधारमा सर्वशक्तिमान् भनून्, र मेरा वचनहरू चाँडै पूरा होऊन्। म इस्राएलीहरूको परमेश्वर मात्र होइन, बरु सबै अन्यजाति राष्ट्रहरूका मानिसहरूको, मैले श्राप दिएका राष्ट्रहरू समेतका मानिसहरूको पनि परमेश्वर हुँ भनेर म सबै मानिसहरूलाई थाहा हुने तुल्याउनेछु। म सबै सृजित प्राणीहरूको परमेश्वर हुँ भनेर सबै मानिसहरूले देख्ने तुल्याउनेछु। मेरो सबैभन्दा ठूलो काम, आखिरी दिनहरूका लागि मेरो कामको योजनाको उद्देश्य, र आखिरी दिनहरूमा मैले पूरा गर्ने अभिप्राय राखेको एउटै काम यही नै हो।
आखिरी दिनहरूमा मात्र हजारौं वर्षदेखि मैले व्यवस्थापन गर्दै आइरहेको कार्य मानिसकहाँ पूर्ण रूपमा प्रकट हुन्छ। अहिले मात्र मैले मानिसलाई मेरो व्यवस्थापनको सम्पूर्ण रहस्य प्रकट गरेको छु, र मानिसले मेरो कामको उद्देश्य जानिसकेको छ, र यति मात्र होइन, मेरा सबै रहस्यहरू बुझ्न पुगेको छ। मैले मानिसलाई पहिले नै त्यो गन्तव्यको बारेमा सबै कुरा बताइसकेको छु, जसको बारेमा उसले चासो राख्छ। मैले मानिसका लागि पहिले नै मेरा सबै रहस्यहरू, अर्थात् ५,९०० वर्षदेखि लुकाइएका रहस्यहरू उजागर गरिसकेको छु। यहोवा को हुनुहुन्छ? मसीह को हुनुहुन्छ? येशू को हुनुहुन्छ? तिमीहरूलाई यो सबै थाहा हुनुपर्छ। मेरो काम यी नामहरूमाथि निर्भर रहन्छ। के तिमीहरूले त्यो बुझेका छौ? मेरो पवित्र नाम कसरी घोषणा गरिनुपर्छ? मलाई मेरा कुनै पनि नामहरूले बोलाउने ती अन्यजातिहरू समक्ष कसरी मेरो नाम फैलाउनुपर्छ? मेरो काम विस्तार हुँदैछ, र म यसको सम्पूर्णता कुनै पनि र सबै जातिहरूमा फैलाउनेछु। मेरो काम तिमीहरूमा गरिसकिएको हुनाले, जसरी यहोवाले इस्राएलमा दाऊदका घरानाका गोठालाहरूलाई प्रहार गर्नुभएको थियो त्यसरी नै म पनि तिमीहरूलाई हरेक जातिमा तितरबितर हुने गरी प्रहार गर्नेछु। किनकि आखिरी दिनहरूमा म सबै जातिहरूलाई टुक्रा-टुक्रा हुने गरी चकनाचूर पार्नेछु र त्यहाँका मानिसहरूलाई नयाँ प्रकारले वितरित हुन लगाउनेछु। जब म फेरि फर्कन्छु, तब सबै देशहरू मेरो जलिरहेको ज्वालाद्वारा तय गरिएका सिमानाहरूमा विभाजित भइसकेका हुनेछन्। त्यस बेला, म मानिसकहाँ रन्किँदो सूर्यका रूपमा नयाँ भई देखा पर्नेछु र उसले पहिला कहिल्यै नदेखेका पवित्र जनका स्वरूपमा ऊकहाँ खुल्ला रूपमा म आफैलाई देखाउनेछु, जसरी म, यहोवा, कुनै बेला विभिन्न यहूदी जातिहरूमाझ हिँडेँको थिएँ, त्यसरी नै अनगिन्ती राष्ट्रमाझ हिँड्नेछु। तत्पश्चात्, म मानिसलाई पृथ्वीमा उसको जीवनमा अगुवाइ गर्नेछु, र उसले निश्चय नै मेरो महिमा ऊमाथि छ भन्ने देख्नेछन्, र आकाशमा हुने बादलको खम्बाले उसको जीवनमा अगुवाइ गरिरहेको पनि देख्नेछ, किनकि म पवित्र स्थानहरूमा देखा पर्नेछु। मानिसले मेरो धार्मिकताको दिन र मेरो महिमाको देखा पराइ पनि देख्नेछ। मैले सारा पृथ्वीमाथि राजाका रूपमा शासन गर्ने र मेरा धेरै पुत्रहरूलाई महिमामा ल्याउने समय त्यही हो। मानिस सारा पृथ्वीभरि झुक्नेछ, र मेरो पवित्र वासस्थान मानिसमाझ बलियो गरी खडा हुनेछ, आजको मेरो कामको चट्टानमाथि निर्माण हुनेछ। मानिसहरू सबैले मन्दिरमा पनि मेरो सेवा गर्नेछन्। फोहोर र घृणित चीजहरूले ढाकिएको वेदी टुक्रा-टुक्रा पारिनेछ र मद्वारा नयाँ बनाइनेछ। नवजात थुमाहरू र बाछाहरू त्यो पवित्र वेदीमाथि थुपारिनेछन्। म आजको मन्दिर भत्काउनेछु र अवश्य नै नयाँ मन्दिर निर्माण गर्नेछु। घृणित मानिसहरूले भरिएको अहिले खडा रहेको मन्दिर ढल्नेछ, र मैले बनाउन लागेको मन्दिर मप्रति अर्पित सेवकहरूले भरिएको हुनेछ। उनीहरू फेरि मेरो मन्दिरको महिमाका लागि खडा हुनेछन् र मेरो सेवा गर्नेछन्। तिमीहरूले पक्कै पनि मैले ठूलो महिमा प्राप्त गर्ने दिन, साथै मैले मन्दिर भत्काएर नयाँ निर्माण गर्ने दिन देख्नेछौ। तिमीहरूले मेरो पवित्र वासस्थान मानिसमाझ आउने दिन पनि पक्कै देख्नेछौ। मानिसले मेरो अवरोहण देखेझैँ, मैले मन्दिर भत्काउने शैलीमा नै, म आफ्नो पवित्र वासस्थान ऊमाझ ल्याउनेछु। मैले प्रत्येक देशलाई चकनाचुर पारेपछि, म तिनलाई नयाँ गरी समेट्नेछु, तत्पश्चात्, मेरो मन्दिर निर्माण र मेरो वेदी स्थापित गर्नेछु, र यसरी सबै मानिसले मलाई बलिदान चढाउन, मेरो मन्दिरमा मेरो सेवा गर्न, र मैले अन्यजाति राष्ट्रहरूमा गर्ने मेरो कामप्रति आफ्नो अर्पण देखाउन सक्छन्। तिनीहरू पूजाहारीका पोसाक र सानदार मुकुटले सुसज्जित वर्तमान दिनका इस्राएलीहरू जस्तै हुनेछन्, म, यहोवाको महिमा, तिनीहरूमाझ हुनेछ, र मेरो प्रताप माथि आकाशमा तिनीहरूसँग अवस्थित हुनेछ। अन्यजाति राष्ट्रहरूमा पनि मेरो काम उही हुनेछ। मेरो काम इस्राएलमा जस्तो थियो, त्यस्तै मेरो काम अन्यजाति राष्ट्रहरूमा पनि हुनेछ, किनभने म मेरो इस्राएलको काम फैलाउनेछु र अन्यजातिहरूका राष्ट्रहरूमा विस्तार गर्नेछु।
मेरो आत्माले महान् काम गर्ने समय, र अन्यजाति राष्ट्रहरूमाझ मैले मेरो काम सुरु गर्ने समय अहिले नै हो। त्योभन्दा बढी, यो त्यो समय हो जब म सबै सृजित प्राणीहरू प्रत्येकलाई तिनीहरूको यथाक्रम श्रेणीमा राख्दै वर्गीकरण गर्छु, ताकि मेरो काम अझ छिटोछरितो रूपमा अगाडि बढ्न सकोस् र त्यो नतिजाहरू हासिल गर्न अझ बढी सक्षम होस्। त्यसैले, म तँबाट के माग गर्छु भने, अझै पनि तँ आफ्नो सम्पूर्ण सत्त्वलाई मेरा सबै काममा अर्पण गर्, अनि, अझ बढी, मैले तँमा गरेका मेरा कामलाई तँ स्पष्ट रूपमा खुट्ट्या र सही रूपमा चिन्, र तँ आफ्नो सम्पूर्ण शक्ति मेरो काममा समर्पित गर्, ताकि मेरो कामले अझ ठूला नतिजाहरू हासिल गर्न सकोस्। यो कुरा तैँले बुझ्नैपर्छ। आपसमा होड गर्न, आकस्मिक योजना खोज्न, वा आफ्नो देहका लागि सुख खोज्नबाट टाढा बस्, ताकि मेरो काममा ढिलाइ नहोस्, र तेरो अद्भुत भविष्यमा छेकथुन नहोस्। तिमीहरूलाई जोगाउनु त कता हो कता, त्यस्ता कार्यले तिमीहरूमाथि विनाश मात्र ल्याउन सक्छ। के यो तेरो मूर्खता हुनेछैन र? तँ आज लिप्त हुने कुरा नै तेरो भविष्यलाई बिगारिरहेको कुरा हो, जबकि तैँले आज सहने पीडाले नै तेरो सुरक्षा गरिरहेको छ। तँ यी चीजहरूबारे स्पष्ट रूपमा सचेत हुनुपर्छ, ताकि आफूलाई उम्किन कठिन लाग्ने परीक्षाको सिकार हुनबाट तँ जोगिन सक्, र बाटो बिराएर बाक्लो कुहिरोभित्र छिरेर फेरि कहिल्यै सूर्य भेट्टाउन असक्षम हुनबाट जोगिन सक्। जब बाक्लो कुहिरो हट्छ, तब तैँले आफूलाई महान् दिनको न्यायमाझ पाउनेछस्। त्यस समयसम्म, मेरो दिन मानिसजातिको नजिक आएको हुनेछ। तँ कसरी मेरो न्यायबाट उम्कनेछस्? तैँले कसरी सूर्यको चर्को तापलाई सहन सक्नेछस्? मैले मानिसलाई मेरो प्रचुरता प्रदान गर्दा, ऊ त्यसलाई आफ्नो छातीमा सँगालेर राख्दैन, बरु कसैको ध्यान नजाने ठाउँमा पन्छाइदिन्छ। मेरो दिन मानिसमाथि ओर्लिँदा, ऊ मेरो प्रचुरता पत्ता लगाउन, वा मैले धेरै अघि उसलाई सुनाएका सत्यताका तीता वचनहरू भेट्टाउन नसक्ने अवस्थामा हुन्छ। ऊ बिलौना गर्नेछ र कराउनेछ, किनभने उसले ज्योतिको चमक गुमाएको छ र ऊ अन्धकारमा खसेको छ। आज तिमीहरू जे देख्छौ त्यो मेरो मुखको धारिलो तरवार मात्र हो; तिमीहरूले मेरो हातको डण्डा वा मैले मानिसलाई जलाउन प्रयोग गर्ने ज्वाला देखेका छैनौ। त्यसैले तिमीहरू मेरो उपस्थितिमा अझै पनि दम्भी र असंयमित छौ, र त्यसैले तिमीहरू मेरो मुखले बोलेको कुराबारे आफ्नो मानव जिब्रोले विवाद गर्दै मेरो घरमा मसँग झगडा गर्छौ। मानिस मसँग डराउँदैन, र आजको दिनसम्म पनि मप्रति शत्रुतामा खडा भइरहन्छ, अझै पनि पटक्कै डराएको महसुस गर्दैन। तिमीहरूको मुखमा अधर्मीहरूका जिब्रो र दाँत छन्। तिमीहरूका शब्द र कार्यहरू हव्वालाई पाप गर्न लोभ्याउने सर्पका जस्तै छन्। तिमीहरू एक-अर्कासँग खुनको बदला खुन, ज्यानको बदला ज्यान लिन्छौ, र तिमीहरू पद, ख्याति र प्राप्ति खोसेर राख्न मेरो उपस्थितिमा सङ्घर्ष गर्छौ, तैपनि म तिमीहरूका शब्द र कार्यहरू गोप्य रूपमा हेरिरहेको छु भन्ने कुरा तिमीहरू थाहा पाउँदैनौ। तिमीहरू मेरो नजरमा पर्नुभन्दा अघि नै, मैले तिमीहरूको हृदयको गहिराइ व्यक्त गरिसकेको छु। मानिस सधैँ मेरो हातको पकडबाट उम्कन र मेरा आँखाहरूको छानबिनबाट छल्न चाहन्छ, तर मैले उसका शब्द वा कार्यहरूलाई कहिल्यै पन्छाएको छैनँ। बरु, म ती शब्द र कार्यहरूलाई जानाजानी मेरा आँखामा पर्न दिन्छु, ताकि म मानिसको अधार्मिकतालाई सजाय दिन सकूँ र उसको विद्रोहीपनमाथि न्याय कार्यान्वयन गर्न सकूँ। तसर्थ, मानिसका गोप्य शब्द र कार्यहरू सधैँ मेरो न्यायको आसनसामु रहन्छन्, र मेरो न्यायले मानिसलाई कहिल्यै छोडेको छैन, किनभने उसको विद्रोहीपन अति धेरै छ। मेरो काम भनेको मेरो आत्माको उपस्थितिमा बोलिएका र गरिएका मानिसका सबै शब्द र कार्यलाई जलाउनु र शुद्ध गर्नु हो। यसरी,[अ] जब म पृथ्वी छोडेर जान्छु, तब मानिसले अझै पनि मप्रतिको आफ्नो बफादारी कायम राख्नेछ, र ऊ अझै पनि मेरो कामप्रति मेरा पवित्र सेवकहरूले मेरो सेवा गर्दा गरेजस्तै व्यवहार गर्न सक्नेछ, जसले गर्दा पृथ्वीमा मेरो काम पूरा हुने दिनसम्म त्यो जारी रहन सकोस्।
फूटनोटहरू:
क. मूल पाठमा “यस प्रकारले” भन्ने वाक्यांश समावेश छैन।